३२. परमेश्‍वरको जाँच कसरी स्विकार्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

म धर्मी छु, म भरोसायोग्य छु, र म मानिसको अन्तस्करण जाँच गर्ने परमेश्‍वर हुँ! को साँचो हो र को झूटो हो सो म तुरुन्तै प्रकट गर्नेछु। नआत्तिओ; सबै थोकले मेरो समयअनुसार काम गर्दछन्। कसले मलाई इमानदारीसाथ चाहन्छ, र कसले चाहँदैन, त्यो एक-एक गरी म तिमीहरूलाई बताउनेछु। तिमीहरू केवल खाने, पिउने र मेरो उपस्थितिमा आउँदा मेरो नजिक आउने कुरामा मात्रै ध्यान देओ, र मेरो काम म आफै गर्नेछु। तुरुन्तै परिणामहरू प्राप्त गर्नको लागि अनावश्यक रूपमा चिन्तित नहोओ; मेरो काम झट्टै एकै पटक सम्पन्न गर्न सकिने काम होइन। त्यसभित्र मेरा चरणहरू र मेरो बुद्धि छन्, त्यसैले मेरो बुद्धि प्रकट गर्न सकिन्छ। म तिमीहरूलाई मेरा हातहरूले के गरेका छन् त्यो देखाउनेछु—दुष्टलाई दण्ड र असललाई इनाम दिनु। म अवश्य नै कसैको पनि पक्ष लिँदिनँ। तँ, जसले इमानदारीसाथ मलाई प्रेम गर्छ, म तँलाई इमानदारीसाथ प्रेम गर्दछु, जसले मलाई इमानदारीसाथ प्रेम गर्दैनन्, मेरो क्रोध सधैँ तिनीहरूसित रहनेछ, ताकि तिनीहरूले सारा अनन्तताभरि यो स्मरण गरून् कि म नै साँचो परमेश्‍वर, मानिसको अन्तस्करण जाँच्ने परमेश्‍वर हुँ। अरूको सामुन्ने एक प्रकारको र तिनीहरूका पिठिउँपछाडि अर्को प्रकारको व्यवहार नगर्; तैँले गर्ने सबै कुरा म स्पष्ट रूपमा देख्न सक्छु, र तैँले अरूलाई मूर्ख बनाउन सके पनि, मलाई मूर्ख बनाउन सक्दैनस्। म यो सबै स्पष्ट देख्दछु। तैँले कुनै पनि कुरा लुकाउनु सम्भव छैन; सबै थोक मेरा हातमा छन्। आफैलाई धेरै चतुर सम्झँदै तेरो क्षुद्र साना युक्तिहरूले तेरो फाइदा गराउँछ भन्‍ने नठान्। म तँलाई भन्छु: मानिसहरूले जति धेरै योजनाहरू बनाए पनि, चाहे ती हजारौं वा लाखौँ भए पनि, आखिरमा ती मेरो हत्केलाबाट उम्कन सक्दैनन्। सबै थोक र सबै वस्तुहरू मेरा हातहरूद्वारा नियन्त्रित छन्, एक जना व्यक्तिको त कुरै नगरौं! मलाई छल्ने वा मबाट लुक्ने कोसिस नगर्, फुस्लाउने वा लुकाउने कोसिस नगर्। के मेरो महिमित अनुहार, मेरो क्रोध र मेरो न्यायलाई सार्वजनिक रूपमा प्रकट गरिएको छ भन्‍ने तैँले अझै देखेको छैनस् भन्‍ने हुन सक्छ? ज-जसले मलाई इमानदारीसाथ चाहँदैन, म तिनीहरूलाई तुरुन्तै र कृपा नगरी न्याय गर्नेछु। मेरो दयाको अन्त्य भएको छ; अब केही बाँकी छैन। अब उप्रान्त पाखण्डी नबन्, र तेरा असभ्य र लापरवाह चालहरूलाई बन्द गर्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४४

परमेश्‍वरको विश्‍वासी हुनु भनेको तैँले गर्ने सबै कुरा उहाँको सामु ल्याउनु र उहाँको जाँचको अधीनमा राख्नु हो। यदि तैँले जे गर्छस् त्यो परमेश्‍वरका आत्माको अगाडि ल्याउन सकिन्छ तर परमेश्‍वरको शरीरको अगाडि ल्याउन सकिँदैन भने, त्यसले तँ उहाँको आत्माको जाँचको अधीनमा नआएको देखाउँछ। परमेश्‍वरका आत्मा को हुनुहुन्छ? त्यो कुन व्यक्ति हो जसलाई परमेश्‍वरले साक्षी दिनुहुन्छ? के तिनीहरू एउटै र उही होइनन् र? धेरैले उहाँहरूलाई दुई अलग प्राणीको रूपमा हेर्छन्, र परमेश्‍वरका आत्मा भनेको परमेश्‍वरका आत्मा नै हो, र परमेश्‍वरले जसको साक्षी दिनुहुन्छ, त्यो मानिस मात्र हो भन्‍ने विश्‍वास गर्छन्। तर के तँ गलत हुँदैनस्? यो व्यक्तिले कसको तर्फबाट काम गर्दछ? जसले देहधारी परमेश्‍वरलाई चिन्दैनन् उनीहरूसँग आत्मिक बुझाइ हुँदैन। परमेश्‍वरका आत्मा र उहाँको देहधारी शरीर एक हुनुहुन्छ, किनकि परमेश्‍वरका आत्मा शरीरमा परिणत भएको छ। यदि यो व्यक्ति तँप्रति निष्ठुर छ भने, के परमेश्‍वरका आत्मा दयालु हुनुहुनेछ र? के तँ भ्रमित छैनस् र? आज, परमेश्‍वरको जाँच स्वीकार नगर्नेहरू सबैले उहाँको स्वीकृति प्राप्त गर्न सक्दैनन्, र देहधारी परमेश्‍वरलाई नचिन्नेहरू सिद्ध हुन सक्दैनन्। तैँले गर्ने सबै कामहरूलाई हेर्, र त्यो परमेश्‍वरको सामु ल्याउन सकिन्छ कि सकिँदैन सो हेर्। यदि तैँले गरेका सबै कुराहरू परमेश्‍वरको अगि ल्याउन सकिँदैन भने त्यसले तँ दुष्कर्म गर्ने व्यक्ति होस् भन्‍ने देखाउँछ। के दुष्कर्मीहरूलाई सिद्ध बनाउन सकिन्छ? तैँले गर्ने सबै काम, प्रत्येक कार्य, प्रत्येक उद्देश्य र प्रत्येक प्रतिक्रिया परमेश्‍वरको सामु ल्याउनुपर्छ। यहाँसम्म कि तेरो दैनिक आत्मिक जीवन—तेरा प्रार्थनाहरू, परमेश्‍वरसँगको तेरो घनिष्ठता, तँ परमेश्‍वरका वचनहरू कसरी खान्छस् र पिउँछस्, तेरा भाइबहिनीहरूसित तेरो सङ्गति र मण्डलीभित्रको तेरो जीवन—र साझेदारीमा गरिएको तेरो सेवालाई परमेश्‍वरको जाँचका निम्ति उहाँको सामने ल्याउन सकिन्छ। यो यस्तो अभ्यास हो जसले तँलाई जीवनमा वृद्धि हासिल गर्न मद्दत गर्दछ। परमेश्‍वरको जाँच स्वीकार्ने प्रक्रिया शुद्धीकरणको प्रक्रिया हो। तँ जति धेरै परमेश्‍वरको जाँचलाई स्वीकार गर्न सक्छस्, त्यति नै बढी तँ शुद्ध हुन्छस् र त्यति धेरै तँ परमेश्‍वरका अभिप्रायहरू अनुसारको हुन्छस्, तँ अनैतिक कार्यमा आकर्षित हुनेछैनस्, र तेरो हृदय उहाँको उपस्थितिमा रहनेछ। तैँले उहाँको जाँचलाई जति धेरै स्वीकार गर्छस्, शैतानको अपमान र देहको विरुद्धमा विद्रोह गर्ने तेरो क्षमता त्यति नै बढी हुन्छ। यसैले परमेश्‍वरको जाँचलाई स्वीकार गर्नु भनेको मानिसहरूले अनुसरण गर्नुपर्ने अभ्यास हो। चाहे तैँले जेसुकै गरे पनि, तैँले तेरा भाइबहिनीहरूसित बातचित गर्दा समेत तैँले आफ्ना कार्यहरू परमेश्‍वरको सामु ल्याउन र उहाँको जाँच खोज्न र स्वयम् परमेश्‍वरप्रति समर्पित हुन सक्छस्; यसले तैँले अभ्यास गर्ने कुरालाई अझै सटीक बनाउँछ। तैँले गर्ने सबै कुराहरू परमेश्‍वरको सामु ल्याइस् र परमेश्‍वरको जाँचलाई स्वीकार गरिस् भने मात्र तँ त्यो व्यक्ति हुन सक्छस्, जो परमेश्‍वरको उपस्थितिमा जिउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले उहाँका अभिप्रायअनुसार हुनेहरूलाई सिद्ध बनाउनुहुन्छ

तैँले सबै कुरामा परमेश्‍वरको जाँचलाई स्वीकार गर्ने तरिकाको रूपमा प्रार्थनालाई प्रयोग गर्नुपर्छ। जब तैँले प्रार्थना गर्छस्, म त्यस बेला व्यक्तिगत रूपमा तेरो सामु खडा नभए पनि पवित्र आत्मा तेरो साथमा हुनुहुन्छ, र तैँले म र पवित्र आत्मा दुवैसँग नै प्रार्थना गरिरहेको हुन्छस्। तँ यो देहमा किन विश्‍वास गर्छस्? उहाँसित परमेश्‍वरका आत्मा हुनुहुन्छ, त्यसकारण तँ विश्‍वास गर्छस्। यदि उहाँ परमेश्‍वरका आत्मा विहीन हुनुहुन्थ्यो भने के तँ यस व्यक्तिमा विश्‍वास गर्ने थिइस्? जब तँ यस व्यक्तिमा विश्‍वास गर्छस् तब तँ परमेश्‍वरका आत्मामा विश्‍वास गर्छस्। जब तँ यो व्यक्तिमा डर मान्छस्, तब तँ परमेश्‍वरका आत्मासँग डराउँछस्। परमेश्‍वरका आत्मामा विश्‍वास गर्नु भनेको यो व्यक्तिमा विश्‍वास गर्नु हो, र यस व्यक्तिमा विश्‍वास गर्नु भनेको परमेश्‍वरका आत्मामा विश्‍वास गर्नु हो। जब तँ प्रार्थना गर्छस्, तैँले परमेश्‍वरका आत्मा तेरो साथमा भएको र परमेश्‍वर तेरो सामु भएको महसुस गर्छस्, र यसैले तँ उहाँका आत्मालाई प्रार्थना गर्छस्। आज, प्रायः मानिसहरू आफ्ना कामहरू परमेश्‍वरको सामु ल्याउन डराउँछन्; तँ उहाँको शरीरलाई धोका दिन सक्छस्, तर तँ उहाँको आत्मालाई धोका दिन सक्दैनस्। कुनै पनि कुरा जुन परमेश्‍वरको जाँचको अघि टिक्दैन भने त्यो सत्यतासँग अमिल्दो हुन्छ, र त्यसलाई अलग गर्नुपर्दछ; त्यस बाहेकको कुरा गर्नु भनेको परमेश्‍वरको विरुद्धमा पाप हुन्छ। यसैले जब तँ प्रार्थना गर्छस्, जब तँ आफ्ना भाइबहिनीहरूसँग कुराकानी र सङ्गति गर्छस्, र जब तँ आफ्नो काम गर्छस् र तेरो व्यापारको काम गर्छस्, हरसमय तैँले परमेश्‍वरको सामु आफ्नो हृदय राख्नुपर्छ। जब तँ आफ्नो कार्य पूरा गर्छस्, परमेश्‍वर तेरो साथमा हुनुहुन्छ र जबसम्म तेरो अभिप्राय सही हुन्छ र त्यो काम परमेश्‍वरको घरको कामका लागि हुन्छ, उहाँले तैँले गरेका सबै काम स्वीकार गर्नुहुनेछ; तैँले आफ्नो काम पूरा गर्न आफैलाई इमानदारीसाथ समर्पित गर्नुपर्छ। जब तँ प्रार्थना गर्छस्, यदि तँमा परमेश्वरलाई प्रेम गर्ने हृदय छ र परमेश्‍वरको वास्ता, सुरक्षा र जाँचको खोजी गर्छस् भने, यदि यी कुराहरू तेरो उद्देश्य हुन् भने, तेरा प्रार्थनाहरू प्रभावकारी हुनेछन्। उदाहरणका लागि, जब तँ सभाहरूमा प्रार्थना गर्छस्, यदि तैँले आफ्नो हृदय खोल्छस् र परमेश्‍वरसँग प्रार्थना गर्दै कुनै झूटो नबोली आफ्नो हृदयको कुरा उहाँलाई बताउँछस् भने तेरा प्रार्थनाहरू निश्चय प्रभावकारी हुनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले उहाँका अभिप्रायअनुसार हुनेहरूलाई सिद्ध बनाउनुहुन्छ

परमेश्‍वरसँगको सामान्य सम्बन्धको अर्थ उहाँको कुनै पनि कार्यलाई शङ्का र इन्कार नगर्नु र उहाँको कार्यप्रति समर्पित हुन सक्नु हो। यसको अर्थ परमेश्‍वरको उपस्थितिमा सही अभिप्राय राख्नु हो, आफ्नो लागि योजना नबनाउनु हो, र सबै कुरामा परमेश्‍वरको परिवारको हितलाई सबैभन्दा पहिले विचार गर्नु हो; यसको अर्थ परमेश्‍वरको सूक्ष्म जाँचलाई स्वीकार गर्नु र परमेश्‍वरका प्रबन्धहरूमा समर्पित हुनु हो। तैँले गर्ने सबै कार्यमा आफ्नो हृदयलाई परमेश्‍वरको उपस्थितिमा शान्त बनाउनु सक्नुपर्छ। तैँले परमेश्‍वरका अभिप्रायहरू नबुझे पनि, तैँले तेरो क्षमताले भ्याएसम्म तेरा कर्तव्य र जिम्मेवारीहरू पूरा गर्नैपर्छ। एकपटक परमेश्‍वरका अभिप्रायहरू तँलाई प्रकट गरिएपछि, तिनमा कार्य गर्, र त्यसो गर्दा त्यति धेरै ढिलो हुनेछैन। जब परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्छ, अनि मानिसहरूसँग तेरो सम्बन्ध सामान्य बन्छ। परमेश्‍वरसँग सामान्य सम्‍बन्ध निर्माण गर्नको लागि, सबै कुरा परमेश्‍वरका वचनहरूको जगमा निर्माण भएको हुनुपर्छ, तैँले आफ्‍नो कर्तव्य परमेश्‍वरका वचनहरूअनुसार निर्वाह गर्न र परमेश्‍वरले अह्राउनुभएको काम पूरा गर्न सक्‍नुपर्छ, तैँले आफ्‍ना दृष्टिकोणहरूलाई सिधा पार्नुपर्छ, र सबै कुरामा सत्यताको खोजी गर्नैपर्छ। तैँले सत्यतालाई बुझेपछि यसलाई अभ्यास गर्नैपर्छ, र तँमाथि जेसुकै आइपरे पनि, तैँले परमेश्‍वरसँग प्रार्थना गर्नैपर्छ र परमेश्‍वरप्रति समर्पित हृदयले खोजी गर्नैपर्छ। यसरी अभ्यास गर्दा, तैँले परमेश्‍वरसँग सामान्य सम्‍बन्ध कायम राख्‍न सक्‍नेछस्। तैँले आफ्‍नो कर्तव्य उचित रूपमा निर्वाह गर्दैगर्दा, परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई फाइदा नपुर्‍याउने कुनै पनि काम नगर्ने, र दाजुभाइ-दिदीबहिनीहरूको लागि उपयोगी नहुने कुनै पनि कुरा नबोल्ने सुनिश्‍चित गर्नुपर्छ। कम्तीमा पनि, तैँले तेरो विवेकको विरुद्ध जाने कुनै पनि काम गर्नु हुँदैन र लाजमर्दो काम त तैँले किमार्थ गर्नु हुँदैन। विशेष गरी, परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने वा उहाँको विरोध गर्ने काम तैँले कदापि गर्नु हुँदैन, र मण्डलीको काम वा जीवनमा बाधा दिने कुनै पनि कुरा गर्नु हुँदै हुँदैन। तैँले गर्ने सबै कार्यमा निष्पक्ष र प्रतिष्ठित बन् र तेरो प्रत्येक कार्य परमेश्‍वर समक्ष पेश गर्न सकिने कुरा सुनिश्चित गर्। कहिलेकाहीँ देह कमजोर बन्न सक्ने भए तापनि, तैँले व्यक्तिगत लाभको लोभविना, स्वार्थी वा तुच्छ कुनै पनि काम नगरी, र बारम्बार आत्मसमीक्षा गर्दै, परमेश्‍वरको परिवारको हितलाई सबैभन्दा अगाडि राख्न सक्नुपर्छ। यस तरिकाले तँ बारम्बार परमेश्‍वरको अगाडि आएर जिउन सक्छ्‍नेछस्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध पूर्ण रूपमा सामान्य बन्‍नेछ।

तैँले गर्ने सबै कुरामा, तैँले तेरो अभिप्राय सही छ वा छैन भनेर जाँच्नुपर्छ। यदि तँ परमेश्‍वरका आवश्यक मापदण्डहरू अनुरूप काम गर्न सक्षम छस् भने, परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य हुन्छ। यो न्यूनतम मापदण्ड हो। आफ्नो अभिप्रायलाई हेर्, र यदि कुनै गलत अभिप्रायहरू उत्पन्न भएको पत्ता लगाइस् भने, तीविरुद्ध विद्रोह गर्न सक्षम बन् र परमेश्‍वरका वचनहरू अनुसार काम गर्; यसरी तँ परमेश्‍वरको अगाडि सही व्यक्ति बन्न सक्छस्, जसले परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य भएको, र तैँले गर्ने सबै कुराहरू परमेश्‍वरका खातिर भएको, तेरो आफ्नो लागि नभएको दर्साउँछ। तैँले भन्‍ने र गर्ने सबै कुरामा, आफ्‍नो हृदयलाई सही राख्‍न र आफ्‍नो व्यवहारमा धर्मी बन्‍न सक्‍ने बन्, र आफ्‍ना भावनाहरूमा नबग्, अनि आफ्‍नै इच्‍छा अनुसार काम नगर्। परमेश्‍वरका विश्‍वासीहरूको चालचलनका सिद्धान्तहरू यिनै हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग तेरो सम्बन्ध कस्तो छ?

सत्यता अभ्यास गर्न सक्‍नेहरूले आफूले गर्ने कामकुराहरूमा परमेश्‍वरको छानबिन स्विकार्न सक्छन्। जब तैँले परमेश्‍वरको छानबिन स्विकार्छस्, तेरो हृदय सोझो बन्‍नेछ। यदि तँ अरूलाई देखाउनको लागि मात्र काम गर्छस्, र सधैँ अरूको प्रशंसा र आदर पाउन चाहन्छस्, तर परमेश्‍वरको छानबिन स्विकार्दैनस् भने, के अझै पनि परमेश्‍वर तेरो हृदयमा हुनुहुन्छ त? यस्ता मानिसहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुँदैन। सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्‍वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तँ परमेश्‍वरका अभिप्रायप्रति विचारशील हुनुपर्छ र तैँले तेरो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्धता छ कि छैन, तँ निष्ठावान बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तैँले तनमन दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामबारे सम्पूर्ण हृदयले सोच्‍ने गरेको छस् कि छैनस् भनी विचार गर्दै यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँमा थोरै क्षमता छ भने, यदि तँ सतही अनुभव भएको व्यक्ति होस् भने वा यदि तँ तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र तैँले राम्रा नतिजाहरू प्राप्त नगर्न सक्छस्—तर तैँले आफ्नो सक्दो प्रयास लगाइसकेको हुन्छस्। तँ आफ्नै स्वार्थी चाहनाहरू वा आफ्नै प्राथमिकताहरू सन्तुष्ट पार्ने गर्दैनस्। त्यसको साटो, तँ मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूलाई निरन्तर ध्यान दिन्छस्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सायद राम्रो नतिजा हासिल नगर्लास्, तर तेरो हृदय सोझिइसकेको हुन्छ; यसअलावा, यदि तैँले आफ्नो कर्तव्यमा आइपरेका समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सक्छस् भने, तँ तेरो कर्तव्यपालनमा मापदण्डअनुरूपको हुनेछस् र साथमा तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। आफूसँग गवाही हुनु भनेकै यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ

तिमीहरू सबैजना कर्तव्य निभाउने मानिसहरू हौ। तिमीहरूमा कम्तीमा पनि, इमानदार हृदय हुनुपर्छ, र तिमीहरूले परमेश्‍वरलाई तँ इमान्दार छस् भनेर देखाउनुपर्छ—तब मात्रै तैँले परमेश्‍वरको अन्तर्दृष्टि, ज्योति र मार्गदर्शन प्राप्त गर्न सक्नेछस्। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तैँले परमेश्‍वरको जाँच स्विकार्नुपर्छ। तँ र अरू मानिसहरूबीच जे-जस्ता बाधाहरू भए पनि, तैँले आफ्नै आडम्बर र प्रतिष्ठालाई जति नै महत्त्व दिए पनि, र तैँले सहजै खुलेर कुरा गर्न नसक्‍ने जे-जस्ता अभिप्रायहरू पाले पनि, यी सबै कुराहरू बिस्तारै परिवर्तन हुँदै जानुपर्छ। हरेक व्यक्तिले चरणबद्ध रूपमा यी भ्रष्ट स्वभावहरू र कठिनाइहरूबाट आफूलाई स्वतन्त्र गर्नुपर्छ, र तिनीहरूका भ्रष्ट स्वभावहरूले खडा गर्ने वाधाहरू छिचोल्‍नुपर्छ। तर तैँले यी वाधाहरू पार गर्नुभन्दा पहिले, के तेरो हृदय परमेश्‍वरसित साँच्‍चिकै इमानदार छ त? के तँ उहाँबाट कुराहरू लुकाउने वा ढाकछोप गर्ने वा उहाँलाई झूटो रूप देखाउने र धोका दिने गर्छस्? तँ आफ्नो हृदयमा यसबारे स्पष्ट हुनुपर्छ। यदि तेरो हृदयमा यी कुराहरू छन् भने, तैँले परमेश्‍वरको जाँच स्विकार्नुपर्छ। यस्ता कुराहरूलाई संयोगको भरमा नछोड् र यस्तो नभन्, “म मेरो सम्पूर्ण जीवन परमेश्‍वरको लागि अर्पित गर्न चाहन्नँ। म परिवार सुरु गर्न र आफ्नै जीवन जिउन चाहन्छु। आशा छ, परमेश्‍वरले मलाई जाँच्नुहुनेछैन, र मेरो निन्दा गर्नुहुनेछैन।” यदि तैँले यी सबै कुराहरू अर्थात् तैँले आफ्नो हृदयभित्र पालेर राखेका अभिप्राय, उद्देश्य, योजना र जीवन लक्ष्यहरू परमेश्‍वरबाट लुकाउँछस् भने, र यदि तैँले विभिन्‍न कुराहरूबारेकाआफ्ना दृष्टिकोणहरू र परमेश्‍वरप्रतिको आस्थाबारेका तेरा विश्‍वासहरू लुकाउँछस् भने, तँ समस्यामा पर्नेछस्। यदि तैँले यी व्यर्थका कुराहरू लुकाउँछस् र यी कुराहरू हल गर्न सत्यता खोजी गर्दैनस् भने, यसले देखाउँछ कि तँ सत्यतालाई प्रेम गर्दैनस्, र तँलाई सत्यता स्विकार्न र प्राप्त गर्न कठिन हुन्छ। तैँले अरू मानिसहरूबाट त यस्ता विभिन्‍न कुराहरू लुकाउन सक्लास्, तर परमेश्‍वरबाट ती कुराहरू लुकाउन सक्दैनस्। यदि तँ परमेश्‍वरमा भरोसा गर्दैनस् भने, उहाँमा विश्‍वास किन गर्छस्? यदि तँसित गोप्य कुराहरू छन्, र ती कुराहरूबारे आफूले खुलेर कुरा गर्दा मानिसहरूले तँलाई अवहेलना गर्लान् भनेर चिन्तित छस् भने र तँसँग सबैसामु खुलेर बोल्ने आँट छैन भने, तैँले बस परमेश्‍वरसित खुलेर कुरा गर्न सक्‍नेछस्। तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, र उहाँप्रतिको विश्‍वासमा आफूले पालेका दुष्ट अभिप्रायहरू, आफ्नो भविष्य र नियतिको खातिर आफूले गरेका कामकुराहरू, र तैँले कसरी प्रतिष्ठा र नाफाको निम्ति मरिहत्ते गरिस् भनेर बोलीबिस्तार लगाउनुपर्छ। यी सबै कुराहरू परमेश्‍वरको अगाडि राख् र उहाँसामु यी सबै खुलासा गर्; यी कुराहरू उहाँबाट नलुका। तेरो हृदय जति नै धेरै मानिसहरूको लागि बन्द गरिएको भए पनि, परमेश्‍वरको लागि तेरो हृदय बन्द नगर्—तैँले उहाँसामु हृदय खोल्नुपर्छ। उहाँमा विश्‍वास गर्नेहरूले कम्तीमा यति इमानदारीता देखाउनैपर्छ। यदि तँसित परमेश्‍वरसामु खुल्ने र उहाँको लागि बन्द नहुने हृदय छ र तँ उहाँको जाँच स्विकार्न सक्छस् भने, उहाँले तँलाई कसरी हेर्नुहुनेछ? यदि तँ अरूसामु खुल्दैनस् भने पनि, यदि तँ उहाँसामु खुल्न सक्छस् भने, परमेश्‍वरले तँलाई इमानदार हृदय भएको इमानदार व्यक्तिको रूपमा हेर्नुहुनेछ। यदि तेरो इमानदार हृदयले उहाँको जाँच स्विकार्न सक्छ भने, यो कुरा उहाँको नजरमा मूल्यवान् हुन्छ, र उहाँले तँभित्र गर्नुपर्ने काम निश्‍चय नै हुनेछ। उदाहरणको लागि, यदि तैँले परमेश्‍वरलाई कुनै कुरामा धोका दिएको छस् भने, उहाँले तँलाई ताडना दिनुहुनेछ। त्यसपछि तैँले उहाँको त्यो ताडना स्विकार्नैपर्छ, र तुरुन्तै उहाँसामु पश्‍चात्ताप र पापस्वीकार गर्नुपर्छ, र आफ्ना गल्तीहरू स्विकार्नुपर्छ; तैँले आफ्नो विद्रोहीपन र भ्रष्टता स्विकार्नुपर्छ, अनि परमेश्‍वरको सजाय र न्याय स्विकार्नुपर्छ, आफ्नो भ्रष्ट स्वभावहरू चिन्‍नुपर्छ, उहाँका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ, र साँचो रूपमा पश्‍चात्ताप गर्नुपर्छ। परमेश्‍वरमाथिको तेरो इमानदार विश्‍वास अनि उहाँमाथिको तेरो सच्‍चा आस्थाको प्रमाण यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ

जब मानिसहरूसँग विचार हुन्छ, तिनीहरूसँग विकल्‍प हुन्छ। यदि तिनीहरूको जीवनमा केही आइपर्‍यो र तिनीहरूले गलत विकल्प रोजे भने, तिनीहरूले आफूलाई परिवर्तन गरेर सही विकल्प रोज्नुपर्छ; तिनीहरू आफ्‍नो गल्तीमै लागिरहनु पटक्कै हुँदैन। यस्ता मानिसहरू अक्कली हुन्छन्। तर यदि तिनीहरूलाई आफूले गलत विकल्प रोजेको कुरा थाहा हुन्छ र पनि आफूलाई परिवर्तन गर्दैनन् भने, तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू होइनन्, र त्यस्ता मानिसहरूले साँचो रूपमा परमेश्‍वरलाई चाहँदैनन्। उदाहरणका लागि, मानिलिऊँ तँ आफ्‍नो कर्तव्य निभाउँदा लापरवाह र सुस्त बन्‍न चाहन्छस्। तँ अल्याङटल्याङ गर्ने, र परमेश्‍वरको सूक्ष्म जाँचबाट पन्छिने प्रयास गर्छस्। त्यस्तो बेला, तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरिहाल्, र यो सही किसिमको व्यवहार हो कि होइन भनेर मनन गर्। त्यसपछि यो कुरा विचार गर्: “म किन परमेश्‍वरमा विश्‍वास गर्छु? त्यस्तो लापरवाहीले मान्छेको आँखा छल्‍न सक्‍ला, तर के परमेश्‍वरको आँखा छल्‍न सक्छ? अनि, मैले लापरवाही गर्नलाई परमेश्‍वरमा विश्‍वास गरेको होइन—यो त मुक्ति पाउनको लागि हो। मैले यसरी व्यवहार गर्नु सामान्य मानवताको अभिव्यक्ति होइन, न त परमेश्‍वरले यसलाई प्रिय नै ठान्‍नुहुन्छ। हो, बाहिर संसारमा मैले लापरवाही गर्न सक्थेँ र आफूलाई मन लागेअनुसार गर्न सक्थेँ, तर अहिले त म परमेश्‍वरको घरमा छु, म परमेश्‍वरको सार्वभौमिकताको अधीनमा, परमेश्‍वरको नजरको सूक्ष्म जाँचमा छु। म एक व्यक्ति हुँ, मैले आफ्‍नो विवेकअनुसार काम गर्नुपर्छ, आफ्‍नो खुशीअनुसार होइन। मैले परमेश्‍वरका वचनहरूअनुसार काम गर्नुपर्छ, म लापरवाह र झाराटारुवा हुनु हुँदैन, म सुस्त बन्‍नु हुँदैन। त्यसो भए, म कसरी सुस्त नभई, लापरवाह र झाराटारुवा काम नगरी बस्‍न सक्छु? मैले केही प्रयास गर्नैपर्छ। भर्खरै मलाई यसरी काम गर्न धेरै झमेला हुन्छ जस्तो लाग्यो, म कठिनाइबाट बच्‍न चाहेँ, तर अब मैले यो कुरा बुझेँ: यसरी काम गर्न धेरै झमेला हुन्छ होला, तर यो प्रभावकारी तरिका हो, त्यसकारण यो काम यसरी नै गरिनुपर्छ।” जब तैँले काम गरिरहेको हुन्छस् र अझै पनि तँलाई कठिनाइको डर लाग्छ, तब त्यस्तो बेला तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर! म अल्छी र छली छु, मलाई अनुशासनमा राख्‍नुहोस् र गाली गर्नुहोस्, ताकि मेरो विवेकले केही अनुभूत गरोस्, अनि मलाई लाजको अनुभूति होस्। म लापरवाह र झाराटारुवा बन्‍न चाहन्‍नँ। बिन्ती छ मलाई अगुवाइ र अन्तर्दृष्टि प्रदान गर्नुहोस्, र मेरो विद्रोहीपन र कुरूपता देखाइदिनुहोस्।” जब तैँले त्यसरी प्रार्थना गर्छस् र आत्मचिन्तन गर्दै आफूलाई चिन्‍ने प्रयास गर्छस्, तब यसले पछुतोको भावना पैदा गर्छ, अनि तैँले आफ्‍नो कुरूपतालाई घृणा गर्न सक्नेछस्, अनि तेरो गलत स्थिति परिवर्तन हुन थाल्छ, र तैँले यस विषयमा मनन गरेर आफूलाई यसो भन्‍न सक्नेछस्, “म किन लापरवाह र झाराटारुवा छु? म किन सधैँ सुस्त हुन खोज्छु? यस्तो व्यवहार गर्नु भनेको विवेक वा समझमा कमी हुनु हो—के म अझै परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति हुँ त? मैले किन यस्ता कुराहरूलाई गम्‍भीर रूपमा लिन सक्दिनँ? के मैले अलिक बढी समय र प्रयास लगाउनु आवश्यक छैन र? यो ठूलो बोझ त होइन। मैले गर्नुपर्ने यही हो; मैले योसमेत गर्न सक्दिनँ भने, के म मानव भनिनसमेत लायक हुन्छु र?” फलस्वरूप, तैँले सङ्कल्‍प गर्नेछस् र शपथ खानेछस्: “हे परमेश्‍वर! मैले तपाईंलाई निराश तुल्याएँ, म साँच्‍चै नै गहन रूपमा भ्रष्ट भएको छु, ममा कुनै विवेक वा समझ छैन, म मानवताहीन छु, अब म पश्‍चात्ताप गर्न चाहन्छु। बिन्ती छ मलाई क्षमा गर्नुहोस्, म अवश्य परिवर्तन हुनेछु। मैले पश्‍चात्ताप गरिनँ भने, तपाईं मलाई दण्ड दिनुहोस्।” त्यसपछि, तेरो मानसिकतामा परिवर्तन आउनेछ, र तँ बदलिन थाल्नेस्। तैँले पहिलेजस्तो लापरवाह र झाराटारुवा नभई, बरु कर्तव्यनिष्ठ भएर काम गर्न र आफ्‍नो कर्तव्य निभाउन थाल्नेछस्, र अब तँ कष्ट भोग्‍न र मूल्य चुकाउन सक्षम हुनेछस्। तँलाई यसरी कर्तव्य पूरा गर्नु अद्‌भूत हुन्छ जस्तो लाग्नेछ, र तेरो हृदयमा शान्ति र आनन्द हुनेछ। जब मानिसहरूले परमेश्‍वरको छानबिन स्वीकार गर्न सक्छन्, उहाँलाई प्रार्थना गर्न र भरोसा गर्न सक्छन्, तब तिनीहरूको स्थिति चाँडै परिवर्तित हुनेछ। जब तेरो हृदयको नकारात्मक स्थिति उल्ट्याइएको हुन्छ, र तैँले आफ्नो अभिप्राय र देहका स्वार्थी चाहनाहरू त्यागेको हुन्छस्, जब तँ देहगत ऐसआराम र आनन्द त्याग्न, अनि परमेश्वरको मापदण्डअनुसार कार्य गर्न सक्षम हुन्छस्, अनि मनोमानी र लापरवाह हुन छोड्छस्, तब तँलाई हृदयमा शान्ति हुनेछ र तेरो विवेकले तँलाई घोच्नेछैन। के देहगत कुरा त्याग्नु र परमेश्वरको मापदण्डअनुसार यस तरिकाले कार्य गर्नु सजिलो छ? यदि मानिसहरूमा परमेश्वरका निम्ति ठूलो आकाङ्क्षा छ भने, तिनीहरू देहगत कुरा त्याग्न र सत्यता अभ्यास गर्न सक्छन्। र यदि तैँले यसरी अभ्यास गर्न सकिस् भने, तँ आफूले थाहै नपाई सत्यताको वास्तविकताभित्र प्रवेश गरिरहेको हुनेछस्। त्यो बिलकुलै कठिन हुनेछैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो

जब कसैले तँसँग खुला हृदयले कुरा गर्ने र यस बेला तेरो अवस्था के छ भनेर पत्ता लगाउने कोसिस गर्दै केही समय तेरो अनुगमन वा अवलोकन गर्छ, वा तँलाई गहन प्रश्‍नहरू सोध्छ, अनि तिनीहरूको आचरण कहिलेकाहीँ केही कठोर भएको बेला तिनीहरूले तेरो निराकरण गर्छन् र तँलाई केही मात्रामा काटछाँट गर्छन्, र अनुशासनमा राख्छन् अनि हप्काउँछन्, तब यो सबै परमेश्‍वरको घरप्रतिको तिनीहरूको कर्तव्यनिष्ठा र जिम्मेवार आचरणकै कारणले गर्दा हो। यसप्रति तँसँग नकारात्मक विचार वा भावना हुनुहुँदैन। यदि तैँले अरूको निरीक्षण, अवलोकन र सोधपुछ स्वीकार गर्न सक्छस् भने त्यसको अर्थ के हुन्छ? त्यसको अर्थ, तैँले आफ्नो हृदयमा परमेश्‍वरको सूक्ष्म परीक्षणलाई स्वीकार्छस् भन्‍ने हुन्छ। यदि तँ मानिसहरूको निरीक्षण, अवलोकन र प्रश्‍नलाई स्वीकार गर्दैनस् भने—यदि तँ यी सबैलाई इन्कार गर्छस् भने—के तँ परमेश्‍वरको सूक्ष्म परीक्षणलाई स्वीकार गर्न सक्षम हुन्छस्? परमेश्‍वरको सूक्ष्म परीक्षण मानिसहरूको सोधपुछभन्दा विस्तृत, गहन र परिशुद्ध हुन्छ; परमेश्‍वरले चाहनुहुने कुरा योभन्दा अझ निश्‍चित, स्पष्ट र गहिरो हुन्छ। यसैले यदि तैँले परमेश्‍वरका चुनिएका मानिसहरूबाट गरिने अनुगमन स्वीकार गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरको सूक्ष्म परीक्षण स्वीकार गर्छस् भन्‍ने तेरो दाबी खोक्रा शब्दहरू मात्र हुँदैनन् र? परमेश्‍वरको सूक्ष्म परीक्षण र जाँचलाई स्वीकार गर्न सक्षम हुनको निम्ति, सर्वप्रथम तँ परमेश्‍वरको घर, अगुवा र सेवकहरू अनि दाजुभाइ तथा दिदीबहिनीहरूको अनुगमनलाई स्वीकार गर्न सक्षम हुनुपर्छ।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू (७)

तेरो वरपर जे घटना घटे पनि, तैँले सबै कुराबारे परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ। तैँले सधैँ सत्यता खोजी गर्नुपर्छ, आफूलाई संयमित राख्नुपर्छ, आफू परमेश्‍वरसामु जिइरहेको छु, र परमेश्‍वरसँग आफ्नो सामान्य सम्बन्ध छ भनेर सुनिश्चित गर्नुपर्छ। परमेश्‍वर हरसमय मानिसहरूलाई जाँच्नुहुन्छ, र पवित्र आत्माले यस्ता मानिसहरूभित्र काम गर्नुहुन्छ। परमेश्‍वरले कसरी कुनै व्यक्तिको हृदय जाँच्नुहुन्छ? उहाँ आफ्‍नो आँखाले मात्र हेर्नुहुन्‍न, उहाँ तेरा लागि वातावरण बनाउनुहुन्छ र तेरो हृदय आफ्नो हातले छुनुहुन्छ। म किन यो भन्छु? किनकी जब परमेश्‍वर तेरा लागि वातावरण बनाउनुहुन्छ, तब उहाँ तँ त्यसप्रति अप्रसन्‍न छस् र त्यसलाई घृणा गर्छस् वा त्यसलाई मन पराउँछ्स र त्यसप्रति समर्पित हुन्छस्, तँ निष्क्रिय भएर पर्खिन्छस् कि सक्रिय रूपमा सत्यता खोजी गर्छस् भनेर हेर्नुहुन्छ। परमेश्‍वर तेरो हृदय र विचार कसरी परिवर्तन हुन्छन्, र ती कुन दिशामा विकास हुन्छन् त्यो हेर्नुहुन्छ। तेरो हृदयभित्रको अवस्था कहिलेकाहीँ सकारात्मक र कहिलेकाहीँ नकारात्मक हुन्छ। यदि तैँले सत्यता स्वीकार गर्न सक्छस् भने, परमेश्‍वरबाट मानिस, घटना र परिस्थिति, अनि तेरा लागि परमेश्‍वरले मिलाउने विभिन्‍न वातावरणहरूलाई प्राप्त गर्न सक्नेछस् र तिनलाई सही तरिकामा सम्हाल्न सक्नेछस्। परमेश्‍वरका वचनहरू पढेर, र मनन गरेर, तेरा सबै सोच र विचार, तेरा सबै राय, अनि तेरा सबै मुड परमेश्‍वरको वचनको आधारमा परिवर्तन हुनेछन्। तँ यसबारे स्पष्ट हुनेछन्, र परमेश्‍वरले पनि यी सबैको जाँच गर्नुहुनेछ। तैँले यसबारे कसैलाई नबताएको हुने भए पनि, वा यसबारे प्रार्थना नगरेको हुने भए पनि अनि तैँले यो आफ्नो हृदयमा र आफ्नो संसारमा मात्र सोच्ने भए पनि, परमेश्‍वरको दृष्टिकोणबाट यो एकदमै स्पष्ट भएको हुनेछ—उहाँलाई यो स्पष्ट हुनेछ। मानिसहरूले तँलाई आफ्‍ना आँखाले हेर्छन्, तर परमेश्‍वरले आफ्‍नो हृदयले तेरो हृदयलाई छुनुहुन्छ, परमेश्‍वर तँसँग त्यति धेरै नजिक हुनुहुन्छ। यदि तँ परमेश्‍वरको जाँचलाई महसुस गर्न सक्छस् भने, तँ परमेश्‍वरसामु जिइरहेको छस्। यदि तँलाई उहाँको जाँच पटक्कै महसुस गर्न सक्दैनस् भने, तँ आफ्‍नै संसारमा जिइरहेको छस्, र तँ आफ्ना भावना र भ्रष्ट स्वभावअनुसार जिइरहेको छस्, अनि तँ समस्यामा छस्। यदि तँ परमेश्‍वरसामु जिउँदैनस्, तँ र परमेश्‍वरबीच लामो दूरी छ, अनि तँ उहाँबाट टाढा छस्, परमेश्‍वरको इच्छालाई पटक्कै विचार गर्दैनस्, र परमेश्‍वरको जाँचलाई स्वीकार गर्दैनस् भने, परमेश्‍वरलाई यो सब थाहा हुनेछ। उहाँलाई यो बुझ्न एकदमै सजिलो हुनेछ। तसर्थ, जब तँमा सङ्कल्प र उद्देश्य हुन्छ, र तँ परमेश्‍वरद्वारा सिद्ध पारिन, उहाँको इच्‍छा पालन गर्ने, उहाँको डर मान्‍न र दुष्टताबाट अलग बस्‍ने व्यक्ति बन्‍न इच्छुक हुन्छस्, जब तँमा यो सङ्कल्प हुन्छ अनि यी कुराका लागि अक्सर प्रार्थना र अन्तरबिन्ती गर्न सक्छस् र परमेश्‍वरसामु जिउँछस्, उहाबाट कहिल्यै टाढिँदैनस वा उहाँलाई त्याग्दैनस्, तब तँलाई यी कुराहरूबारे स्पष्ट हुन्छ र परमेश्‍वरलाई पनि ती थाहा हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको अघि बारम्‍बार जिएर मात्रै उहाँसँग सामान्य सम्‍बन्ध कायम राख्‍न सकिन्छ

मानिसहरूले सत्यतालाई बुझे पनि, नबुझे पनि, तिनीहरूले कुनै पनि परिस्थितिमा नराम्रा कामहरू गर्नु हुँदैन, महत्वाकांक्षी भएर काम गर्नु हुँदैन वा कुनै कुरादेखि भागेर जाने आशा गर्नुहुँदैन, किनकि परमेश्‍वरले सारा पृथ्वीमाथि निगरानी गर्नुहुन्छ। “सारा पृथ्वी” मा के समाविष्ट हुन्छ? यसमा भौतिक र अभौतिक दुवै समावेश हुन्छ। परमेश्‍वरलाई मापन गर्न, उहाँको अख्तियार र सर्वशक्तिलाई मापन गर्न आफ्नो दिमागको प्रयोग नगर्। अज्ञानी वा दुष्ट केही काम नगर्; ढिलो वा चाँडो, दुष्ट कामहरूको बदला आउनेछन्, अनि परमेश्‍वरले तेरो खुलासा गर्नुहुने दिन आउनेछ र तैँले परिणामहरूलाई स्वीकार गर्नुपर्नेछ। त्यसैले, निश्‍चित मामलाहरूमा परमेश्‍वरले तेरो खुलासा गर्नुअघि तँ आफैले परमेश्‍वरको वचनअनुसार चल्दा र आफैले समस्याहरू पत्ता लगाउँदा र त्यसमाथि मनन गर्दा तँलाई फाइदा हुन्छ। पहिले आफैले कोसिस गरेर समाधान गर्ने प्रयास गर्—परमेश्‍वरले तेरो खुलासा गरूञ्‍जेल नपर्खी। अनि जब उहाँले खुलासा गर्नुहुन्छ, के तँ निष्क्रिय बन्दैनस् र? के तेरो अझै मूल्य हुन्छ र? परमेश्‍वरले तेरो सूक्ष्म छानबिन गर्न थाल्नुभएदेखि उहाँले तेरो खुलासा गर्नुभएको समयसम्म तँ तेरो मूल्यमा, परमेश्‍वरको नजरमा तँ कस्तो देखिन्छस् त्यसमा केही परिवर्तन हुन्छ? कति ठूलो परिवर्तन? परमेश्‍वरले तेरो सूक्ष्म छानबिन गर्नुभएको अवधिमा, परमेश्‍वरले तँलाई अवसरहरू दिनुहुन्छ, उहाँले तेरो खुलासा गर्नुभएको दिनसम्मै उहाँले तँभित्र आशा दिनुहुन्छ—जुन बिन्दुमा तेरो निम्ति उहाँका आशाहरू र उहाँले तँलाई दिनुहुने अवसरहरू ज्यादै भिन्न हुन्छन्। यस भिन्नताले तेरो लागि के ल्याउनेछ? कम गम्भीर परिस्थितिहरूमा, तँ तीमध्ये एउटा हुनसक्छस् जो परमेश्‍वरको हृदयमा तुच्छ हुन्छ अनि पन्साइने अवस्थामा पुगेको हुन्छ। “पन्साइएको अवस्था” को अर्थ के हो? यो पछाडि राखेर नजर राख्नु हो। अनि गम्‍भीर परिस्थितिहरूमा के हुन्छ? परमेश्‍वरले आफ्नो हृदयमा भन्नुहुन्छ, “यो व्यक्ति सङ्कष्ट ल्याउने मान्छे हो, ऊ सेवा गर्न पनि योग्य छैन। म यो व्यक्तिलाई कहिल्यै मुक्ति दिनेछैन!” परमेश्‍वरको मनसाय यस्तो भएपछि, तँ पूर्ण रूपले सिद्धिएको हुन्छस्। त्यसपछि, झुकेर र झगडा गरेर केही फाइदा हुँदैन—परमेश्‍वरले तँलाई पहिल्यै पर्याप्त अवसरहरू दिनुभएको हुन्छ, तथापि तँ हरेक कदममा चुकेको हुन्छस्। तँ धेरै हदसम्‍म गएको हुन्छस्। त्यसैले, तँभित्र जस्तोसुकै मामलाहरू अस्तित्वमा रहे पनि वा तैँले जस्तो प्रकारको भ्रष्टता प्रकट गरे पनि, परमेश्‍वरका वचनहरू पढ्दा वा प्रवचनहरूलाई सुन्दा आफैलाई मनन गर्नुपर्छ र आफूलाई चिन्‍नुपर्छ वा दाजुभाइ र दिदीबहिनीहरूबाट प्रतिक्रिया माग्‍नुपर्छ। तैँले परमेश्‍वरको सूक्ष्म छानबिनलाई स्वीकार गर्नुपर्छ अनि उहाँको अन्तर्दृष्टि र प्रकाश पाउनको निम्ति तँ उहाँको सामु आउनुपर्छ। त्यसलाई तैँले जसरी गरे पनि, जब तैँले पहिल्यै तेरो मामलाहरूलाई पहिचान गरेको हुन्छस् र ढिलो नगरीकन मनन र पश्‍चाताप गर्न सक्छस् भने त्यो एकदम राम्रो हुन्छ। तैँले जेसुकै गरे पनि, परमेश्‍वरले खुलासा गरिञ्‍जेलसम्‍म पर्खेर नबस्, किनकि त्यति बेला अफसोस गर्न अति ढिलो भइसकेको हुनेछ!

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, धूर्त, र छली हुन्छन् (भाग एक)

सम्बन्धित भजनहरू

तिमीले गर्ने सबथोकमा परमेश्‍वरको प्रे‍क्षण स्वीकार गर्नुपर्छ

अघिल्लो: ३१. इमानदार व्यक्ति बन्न कसरी अभ्यास गर्ने

अर्को: ३३. सत्यता प्राप्त गरेर मानिसहरूमा आउने परिवर्तनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्