मानिस र परमेश्‍वरको बीचका सम्बन्धहरूलाई सुधार गर्नु महत्त्वपूर्ण हुन्छ

परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापना गर्दा, सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरूलाई कसरी लिने भन्ने हो। परमेश्‍वरले जुनसुकै शैलीमा बोल्नुभयो भने पनि, जेसुकै विषयमा वा जुनसुकै हदसम्म कुरा गर्नुभयो भने पनि, तथ्य के हो भने उहाँले जे बोल्नुहुन्छ त्यो मान्छेलाई सबैभन्दा बढी चाहिने, अनि मान्छेले बुझ्नुपर्ने र मान्छेलाई प्रदान गरिनुपर्ने कुरा हो। अझ भन्‍ने हो भने, परमेश्‍वरले बोल्नुभएका वचनहरू मानव मस्तिष्क र मानव सोच, अर्थात मान्छेको जन्मजात क्षमताको पहुँचभित्रै हुन्छन्। ती मान्छेले बोध गर्न र बुझ्न सक्ने हुन्छन्। परमेश्‍वरले जे भन्नुहुन्छ वा गर्नुहुन्छ, चाहे त्यो पवित्र आत्माले व्यक्तिमा काम गरिरहेको होस् वा विभिन्न मानिस, घटना, वस्तु, वा वातावरणहरूबारे परमेश्‍वरको प्रबन्ध होस्, त्यो मान्छेको जन्मजात क्षमता वा उसको सोचको दायराभन्दा बाहिर हुँदैन; बरु, त्यो विशिष्ट, सच्‍चा, र वास्तविक हुन्छ। यदि त्यसलाई व्यक्तिले बुझ्न सक्दैन भने, उसको बुझाइमै केही समस्या छ। यसको मतलब ऊ अत्यन्त कमजोर क्षमता भएको व्यक्ति हो। जस्तोसुकै परिस्थितिमा पनि, परमेश्‍वरले बोल्नुहुने शैली र भाव, उहाँको वाणीको प्रेरणा, र उहाँले मान्छेलाई प्रदान गर्नुहुने सम्पूर्ण वचनहरू परमेश्‍वरका विश्‍वासीहरूले बुझ्नैपर्ने कुराहरू हुन्, र मान्छेले ती सबै बुझ्न सक्छन्। यस्तो किन हुन्छ भने परमेश्‍वरले मान्छेसँग बोल्दै हुनुहुन्छ, र उहाँले मानवको भाषा बोल्नुहुन्छ, अनि आफ्ना यी वचनहरू व्यक्त गर्नुहुँदा, उहाँले मानवमाझ उपलब्ध र मानव पहुँचमा भएका जतिसक्दो बोलीचालीका र विविधीकृत भाषा र शब्दावलीहरूमार्फत व्यक्त गर्दै मान्छेलाई ती वचनहरू प्रदान गर्नुहुन्छ, ताकि फरक सोच र दृष्टिकोण, फरक स्तरको साक्षरता, र फरक शैक्षिक तथा पारिवारिक पृष्ठभूमि भएका मानिसहरू सबैले ती कुरा बोध गर्न र बुझ्न सकून्। परमेश्‍वरले बोल्नुहुने यी सबै वचनहरूमा, तैँले बुझ्‍नुपर्ने केही कुरा हुन्छ: उहाँका वचनहरूमा मान्छेले व्याख्या गर्नै नसक्ने अति गहन वा अमूर्त कुरा केही हुँदैन। जबसम्म कसैमा निश्‍चित क्षमता हुन्छ र ऊ परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्नमा केन्द्रित हुन्छ, तबसम्म उसले सत्यता प्राप्त गर्न र उहाँको इच्छा बोध गर्न सक्छ। परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरू उहाँबाट आउँछन्, तर ती व्यक्त गर्नको लागि उहाँले प्रयोग गर्नुहुने विशेष पदविन्यासलगायत सबै भाषागत स्वरूपहरू मानवका हुन्छन्। ती मानव भाषाका सीमाबाहिर जाँदैनन्। परमेश्‍वरले उहाँका वचनहरू व्यक्त गर्न जुनसुकै स्वरूप प्रयोग गर्नुभए पनि, वा जुनसुकै विधि वा भावले बोल्नुभए पनि, उहाँको पदविन्यास पाश्‍चात्य वा पूर्वीय जे भए तापनि, उहाँले प्राचीन वा आधुनिक मानव भाषा जे बोल्नुभए पनि, के उहाँका वाणीमा मानवजातिले नबुझ्ने वा गैरमानव भाषा छ त? (छैन।) आजसम्म कसैले त्यस्तो केही भेटाएको छैन। कतिपयले भन्छन्, “यो ठिक होइन; मैले त्यस्ता दुईवटा शब्द भेटाएको छुः ‘धार्मिकता’ र ‘प्रताप’।” “धार्मिकता” र “प्रताप” परमेश्‍वरको ईश्‍वरीय सारको एउटा पक्ष वर्णन गर्ने दुईवटा शब्द वा कथनहरू हुन्, तर के यी शब्दहरू मानिसहरूमाझ पनि प्रचलित छैनन् र? (हो, छन्।) यी दुई शब्दहरूबारे तेरो बुझाइ जतिसुकै टाढा भए पनि, तैँले कम्तीमा तिनका सबैभन्दा आधारभूत, मौलिक परिभाषाहरू शब्दकोशमा पाउन सक्छस्, अनि यी सबैभन्दा मौलिक परिभाषाहरूलाई परमेश्‍वरको सार, उहाँको स्वभाव, उहाँसँग जे छ र उहाँ जे हुनहुन्छ त्योसँग तुलना गर्दा, त्यस्तो संयोजनमा, यी शब्दहरू मान्छेको लागि अझ बढी ठोस् बन्छन् र बिलकुलै अमूर्त रहँदैनन्। यसलाई परमेश्‍वरका वचनहरूमा यी शब्दहरूबारे दिइएका तथ्य, टिप्पणी, र स्पष्टीकरणहरूको बृहत्‌ खुलासाहरूसँग जोड्दा, ती सबै मानिसहरूको लागि झन मूर्त, झन प्रस्ट र सचित्ररूपले अझ प्रस्ट, झन प्रामाणिक, मानिसहरूले जान्नुपर्ने परमेश्‍वरको सार, सर्वस्व, र सत्वबाट अझ नजिक बन्छन्। त्यसकारण, परमेश्‍वरको स्वभावजस्ता कुराहरूसँग सम्बन्धित शब्दावली र भनाइहरू तिमीहरूलाई अमूर्त वा रहस्यमय लाग्दैनन्। त्यसो भए मलाई भन्: के मान्छेको सामान्य अभ्यास, तिनीहरूले हिँड्ने मार्ग, र सत्यताका सिद्धान्तहरूको कुरा गर्ने ती सत्यताहरूमा कुनै अमूर्त कुरा छ? (छैन।) त्यसमा पनि कुनै अमूर्त कुरा छैन।

मैले मेरा वचनहरू व्यक्त गर्न र प्रवचनहरू दिन थालेदेखि, मैले सत्यताबारे प्रवचन दिन र सङ्गति गर्न अनि सत्यताका सिद्धान्तहरूबारे छलफल गर्न मानव भाषा—अर्थात् मानवले बुझ्न, अन्तरक्रिया गर्न, र बोध गर्न सक्ने भाषा—प्रयोग गर्ने सक्दो प्रयास गरेको छु, ताकि तिमीहरूले सत्यता राम्ररी बुझ्न सक। के यो अझ बढी मानव विधि होइन? तिमीहरूको लागि यसको के फाइदा छ? यसले तिमीहरूलाई सत्यता अझ बुझ्न अझ सक्षम बनाउँछ। अनि मैले यो तरिकाले बोल्नुको उद्देश्य के हो? तिमीहरूलाई अझ सम्पन्न, अझ विविध भाषा सुन्न सक्षम पार्नु हो, र मानिसहरूलाई सत्यता बुझ्‍न सजिलो पार्न ती विविध भाषा प्रयोग गर्नु हो, ताकि तिनीहरूलाई त्यो पट्यारलाग्दो नलागोस्। बाइबलका पुरानो करार र नयाँ करार दुवैका विविध भाषाहरूमा एक प्रकारको वाक्शैली छ जसले गर्दा मानिसले झल्याँस्स देख्नेबित्तिकै यो बाइबलको, अर्थात बाइबलबाट लिइएको वचन हो भनेर भन्न सक्छन्। यी वचनहरूमा केही साङ्केतिक वा प्रतीकात्मक अर्थ हुन्छ। म आजको भाषाशैली र शब्दावली केही विशिष्ट विशेषताहरूरहित बनाउने प्रयास गर्छु, ताकि मानिसहरूले यो भाषा बाइबलको वाक्शैलीभन्दा व्यापक छ भनेर बुझ्न सकून्। मानिसहरूलाई परमेश्‍वरको वाणीको विषयवस्तु र भावबाट ती वाणी र परमेश्‍वरले बाइबलमा बोल्नुभएका वचनहरूको स्रोत एउटै हो जस्तो लागे पनि, तिनीहरूले ती वाणीको शब्दचयनबाट देख्न सक्छन् कि ती वाणीहरू बाइबलको दायराभन्दा पर, पुरानो करार र नयाँ करारको दायराभन्दा पर, अनि सहस्राब्दीभरि सबै आत्मिक मानिसहरूले प्रयोग गरेका आत्मिक शब्दावलीभन्दा माथि पुगेका छन्। त्यसो भए, तीमध्ये परमेश्‍वरले अहिले बोल्नुहुने शब्दहरू के-के हुन्? तीमध्ये कुनै प्राय मानिसले प्रयोग गर्ने सकारात्मक र प्रशंसात्मक भाषा हुन्, जबकि उहाँका अन्य कतिपय वचनहरू र भाषाचाहिँ मान्छेको भ्रष्ट स्वभाव खुलासा र व्यक्त गर्न बढी उपयुक्त हुने भाषा हुन्। यसमा साहित्य, सङ्गीत, नृत्य, अनुवाद, आदि इत्यादिसम्बन्धी केही विशिष्टीकृत कुराहरू पनि छन्। व्यक्तिको कर्तव्यको क्षेत्र वा व्यावसायिक विज्ञता जेसुकै भए पनि, ती जोकोहीलाई मैले बोल्ने सत्यताहरू वास्तविक जीवन र तिनीहरूको कर्तव्यसित घनिष्ठ रूपले सम्बन्धित छन्, र कुनै पनि पक्षमा सत्यता र मानिसका वास्तविक जीवन वा तिनीहरूले निर्वाह गर्ने कर्तव्यबीच कहिल्यै सम्बन्ध टुट्दैन भन्ने महसुस गराउनु यसको उद्देश्य हो। त्यसैले, के यी सत्यताहरू तेरो लागि अत्यन्तै उपयोगी छैनन् र? (छन्।) यदि मैले यस्ता कुराहरूको वास्तै गर्थिनँ, र अनुवाद, चलचित्र, कला, लेखन, र सङ्गीतसम्बन्धी कुनै पनि विषयलाई सिधै पन्छाउँथेँ, र यस्ता शब्दहरू कहिल्यै प्रयोग गर्थिनँ, र ती शब्दहरूबाट जानीजानी टाढा बस्थेँ भने, के मैले मेरो काम राम्ररी गर्न सक्थेँ? यदि त्यस्तो हुन्थ्यो भने, मैले अझै पनि त्यसमा केहीकेही योगदान दिन त सक्थेँ, तर तिमीहरूसँग संवाद गर्नचाहिँ कठिनाइपूर्ण नै हुनेथियो। त्यसकारण, म त्यस्तो भाषा अध्ययन गर्न र त्यसमा दक्षता हासिल गर्न ठूलो मेहनत गर्छु। एउटा कुराचाहिँ, यसले तिमीहरूलाई आफ्नो पेशागत कामका परिकल्पना र सिद्धान्तहरूमा मदत गर्न सक्छ; अर्कोचाहिँ, जब तिमीहरूले यी क्षेत्रहरूमा आफ्नो कर्तव्य निर्वाह गर्छौ, त्यसले तिमीहरूलाई तिमीहरूका कर्तव्यभित्र पर्ने पेशागत काम सत्यताबाट अलग हुँदैन भन्‍ने महसुस गराउँछ। तेरो दक्षता वा विशेषज्ञता जे भए पनि, तैँले जे पेशा अध्ययन गरे पनि, तैँले यी वचनहरू पढ्न र बुझ्न सक्छस्, र यी वचनहरूले तँलाई आफ्नो कर्तव्य निर्वाह गर्दैगर्दा सत्यतामा प्रवेश गर्ने लक्ष्य प्राप्त गर्न सक्षम पार्छन्। के यो राम्रो कुरा होइन र? (हो।) यो राम्रो कुरा हो। त्यसो भए, यस्तो राम्रो नतिजा कसरी प्राप्त गर्न सकिन्छ? यसको लागि परमेश्‍वरको मानवतामा केही कुराहरू हुनुपर्छ। ती के-कस्ता कुराहरू हुन्? मैले यसमा कडा मेहनत गर्दै ती कुरामा दक्षता हासिल गर्ने गरी अध्ययन गर्नु नपरे पनि, देहधारी परमेश्‍वरको सामान्य मानवताले विभिन्न विशेषज्ञताहरूबारे अलिअलि बुझ्नैपर्छ। यो मैले सत्यता सङ्गति गर्दा र परमेश्‍वरको गवाही दिँदा सबै क्षेत्रहरूको ज्ञान प्रयोग गर्न सकूँ भनेर मात्र हो। यसले जुनसुकै क्षेत्रका मानिसहरूलाई पनि परमेश्‍वरको घरका गवाहीहरू, साथसाथै सुसमाचार प्रचार गर्ने काममा एकदमै फाइदा पुर्‍याउने विभिन्न चलचित्रका कामहरू बुझ्न र सराहना गर्न मदत गर्छ। यदि मैले सत्यता सङ्गति गर्दा परमेश्‍वरको घरको भाषा मात्र प्रयोग गर्ने, र समाजका विभिन्न, विशिष्टीकृत क्षेत्रहरूको कुनै पनि भाषा र ज्ञान प्रयोग नगर्ने हो भने, नतिजा निकै खराब हुनेथियो। अनि, यो काम राम्ररी गर्न, मैले के हासिल गर्नुपर्छ? मसँग केही हदसम्म पेशागत ज्ञान हुनैपर्छ, त्यसैले म कहिलेकाहीँ गीतहरू सुन्छु, समाचार हेर्छु, पत्रिका पढ्छु, र समयसमयमा समाचारपत्र पढ्छु। बेलाबेलामा, म अविश्‍वासीहरूका केही मामलाहरूमा पनि ध्यान दिन्छु। अविश्‍वासीहरूका मामलाहरूमा विभिन्न कुराहरू पर्छन्, अनि तिनीहरूका केही भाषाहरू परमेश्‍वरको घरमा हुँदैनन्—तर यदि ती भाषालाई प्रवचनको भाषाको रूपमा प्रयोग गरियो भने, कहिलेकाहीँ त्यो अत्यन्त प्रभावकारी हुनेछ, र यसले तिमीहरूलाई मदत गर्नेछ, र तिमीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने मार्ग थकाइलाग्दो वा नीरस नभई फराकिलो भएको महसुस गराउनेछ। यसले तिमीहरूलाई ठूलो सहयोग पुर्‍याउनेछ, र तिमीहरूले त्यसबाट केही उपयोगी कुराहरू सिक्नुपर्छ। तिमीहरूमध्ये धेरैजसो आफ्नो सिकाइमा सफल हुनेछैनौ, तर पर्याप्त क्षमता भएकाहरूले केही उपयोगी कुराहरू सिक्न सक्नेछन्, जसले गर्दा तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाहमा फाइदा पुग्नेछ। जब मसँग केही काम हुँदैन, म समाचार हेरेर अनि सङ्गीत सुनेर अञ्जानमै केही कुराहरू सिक्छु। यसको लागि कुनै विशेष प्रयास गर्नैपर्दैन; म विभिन्‍न कुराहरू सिकेर, हेरेर, सुनेर मेरो फुर्सदको समय बिताउँछु, र त्यो उद्देश्य नभए पनि म तीमध्ये केही कुरामा दक्षता हासिल गर्छु। के मैले यी कुराहरूमा हासिल गरेको दक्षताले काममा असर गर्छ? बिलकुलै गर्दैन—खासमा, मैले त्यसो गर्नु आवश्यक छ। त्यो परमेश्‍वरको घरको लागि र सुसमाचार प्रचारको लागि फाइदाजनक हुन्छ। मैले यी सवालहरूबारे तिमीहरूसँग कुराकानी गर्नुको अर्थ के हो? यसको मतलब परमेश्‍वरले बोल्नुहुने यी वचनहरू तिमीहरूको लागि पहुँचयोग्य हुनुपर्छ, र ती सबै बुझ्न सकिने र अभ्यास गर्न सजिलो हुनुपर्छ। कम्तीमा, यी वचनहरू मानवतामा हुनुपर्ने कुरा हुन्। मैले यी वचनहरू मानवतामा हुनुपर्ने कुराहरू हुन् भन्नुको मतलब, जब परमेश्‍वरले उहाँको काम गर्नुहुन्छ र उहाँका वचनहरू व्यक्त गर्नुहुन्छ, यी पहिल्यै उहाँको मानवतामार्फत प्रशोधन गरिएका हुन्छन्। “प्रशोधन गरिएका” भन्‍नुको अर्थ के हो? एउटा उदाहरण दिनुपर्दा, त्यो गहुँजस्तै हो, जसलाई भुसबाट छुट्याइन्छ र पिँधेर पिठो बनाइन्छ, त्यसपछि रोटी, केक, र चाउचाउ बनाइन्छ। प्रशोधन गरिएपछि, यी चीजहरू तिमीहरूलाई दिइन्छ, र अन्त्यमा तिमीहरूले उपभोग गर्ने भनेको उत्पादित वस्तु, अर्थात तयारी खाना हो। यसमा तिमीहरूको भूमिका के हो? परमेश्‍वरले आज बोल्नुहुने वचनहरूलाई सक्दो चाँडो पूर्ण रूपले खानु र पिउनु हो। अलिअलि गर्दै उहाँका वचनहरू अझ बढी खानू र पिउनू, अझ बढी स्विकार्नू, र अनुभव गर्नू, पचाउनू, अनि निल्नू। यसैलाई तिमीहरूको जीवन र तिमीहरूको कद बनाऊ, र तिमीहरूको जीवनको हरेक दिन र तिमीहरूले निभाउने कर्तव्यमा परमेश्‍वरका वचनहरूलाई हाबी हुन देऊ। परमेश्‍वरले बोल्नुहुने सम्पूर्ण वचनहरू मानवताको भाषामा छन्, र तिनीहरू सजिलै बुझिए पनि, तिनीहरूभित्रको सत्यता बुझ्न र त्यसमा प्रवेश गर्न बिलकुलै सजिलो छैन; भाषा बुझ्न एकदमै सजिलो भए पनि, सत्यतामा प्रवेश गर्नुचाहिँ धेरै चरण भएको प्रक्रिया हो। परमेश्‍वरले थुप्रै वचनहरू बोल्नुभएको छ र मान्छेलाई वर्तमान अवस्थामा ल्याउनुभएको छ, अनि उहाँले बोल्‍नुभएका प्रत्येक वचन अलिअलि गरी तिमीहरूमा पूरा भइरहेको छ, र उहाँले व्यक्त गर्नुभएका सत्यता, साथसाथै मानिसहरूलाई सत्यतामा प्रवेश गरेर मुक्तिको मार्ग हिँड्न मार्गदर्शन गर्ने प्रक्रिया बिस्तारै स्पष्ट र देखिँदो रूपमा तिमीहरूमा सत्य सावित हुँदै पूरा भइरहेको छ। यस्ता परिणामहरू अलिअलि गरी तिमीहरूमा प्रकट गराइनेछ। यसमा अमूर्त कुरा केही छैन। अब, हामी परमेश्‍वरका वचनहरू उहाँको मानवतामार्फत कसरी प्रशोधित हुन्छन् भन्नेतिर नसोचौँ। त्यस प्रक्रियाको अनुसन्धान गर्नु जरुरी छैन—त्यसमा एउटा रहस्य छ जुन मान्छेले अध्ययनमार्फत बुझ्नै सक्दैन। सत्यता स्विकार्नमा मात्र ध्यान दे। यो नै सबैभन्दा बुद्धिमानी निर्णय र सबैभन्दा सही मनोवृति हो। सधैं अनुसन्धान मात्र गर्न चाहनुको कुनै अर्थ छैन। त्यो समय र शक्तिको बर्बादी हो। सत्यता भनेको अध्ययनमार्फत प्राप्त गरिने कुरा होइन, विज्ञानले पत्ता लगाउने त झन कुरै छाडौँ। त्यो सोझै परमेश्‍वरले व्यक्त गर्नुहुन्छ, र अनुभवमार्फत मात्र त्यो बुझ्न र चिन्न सकिन्छ। व्यक्तिले परमेश्‍वरको काम अनुभव गरेर मात्र सत्यता प्राप्त गर्न सक्छ। यदि कसैले मानसिक प्रक्रिया प्रयोग गरेर मात्र कुनै कुराको अध्ययन गर्छ तर अभ्यास गर्दैन र अनुभव छैन भने, उसले सत्यता प्राप्त गर्न सक्दैन। अनुसन्धान नगर्नुबाहेक, परमेश्‍वरका वचनहरूप्रतिको सकारात्मक मनोवृति अरू के हुन सक्छ? स्वीकार, सहकार्य, र अटल आज्ञाकारीता। साँच्चिकै, यदि अध्ययनको लागि कोही सबैभन्दा योग्य छ भने, त्यो मै हुँ, तर पनि म कहिल्यै त्यसो गर्दिनँ। म कहिल्यै यसो भन्दिनँ, “यी वचनहरू कहाँबाट आएका हुन्? ती वचन मलाई कसले सुनायो? ती मलाई कसरी थाहा भयो? ती मैले कहिले थाहा पाएँ? ती अरूलाई पनि थाहा छ? जब म ती वचनहरू बोल्छु, के तिनले परिणाम दिनेछन्? तीबाट के आउनेछन्? म कैयौँ मानिसहरूको अगुवाइ गर्छु—यदि अन्त्यमा मैले चाहिएको परिणाम प्राप्त गरिनँ, र तिनीहरूलाई मुक्तिको मार्गमा डोर्‍याइनँ भने, मैले के गर्ने होला?” भन् त—के यी अनुसन्धान गरिनुपर्ने कुराहरू हुन्? (अहँ, होइनन्।) म यी कुराहरू कहिल्यै अनुसन्धान गर्दिनँ। म जे भन्न चाहन्छु, जे बताउन चाहन्छु, त्यो तिमीहरूलाई सिधै बताउँछु। मलाई त्यो अध्ययन गर्ने मानसिक प्रक्रियामा जान जरुरी छैन। मैले विचार गर्नुपर्ने भनेको यदि मैले कुनै तरिकाले बोलेँ भने तिमीहरूले बुझ्छौ कि बुझ्दैनौ; मैले अझै मूर्त रूपमा बोल्नुपर्छ कि पर्दैन; तिमीहरूले अझै विशिष्ट जानकारी र थप विशिष्ट अभ्यास मार्ग प्राप्त गर भनेर मैले थप उदाहरण र कहानीहरू भन्‍नुपर्छ कि पर्दैन; मैले भन्ने कुराहरू तिमीहरूले बुझेका छौ कि छैनौ; मेरो वाणीको कुनै शब्द, वा शैली र भावको केही कुराले, वा मेरो व्याकरण र शब्दावलीले तिमीहरूलाई गलत बुझ्ने वा अलमलिने पारेको छ कि छैन; वा मेरो वाणीमा तिमीहरूले केही अमूर्त, रहस्यमय, वा खोक्रो महसुस गर्छौ कि गर्दैनौ भन्ने मात्र हो। मैले यी कुराहरू हेर्ने र सोच्‍ने गरे पुग्छ। म बाँकी कुराहरू अनुसन्धान गर्दिनँ। अनुसन्धान नगर्नु मेरो लागि सामान्य हो, तर के त्यो तिमीहरूको लागि सामान्य हो? तिमीहरूको लागि त अनुसन्धान गर्नुचाहिँ एकदमै सामान्य कुरा हो; अनुसन्धान नगर्नु असामान्य हो। यो अचेतन मनको चाहना र भ्रष्ट मानवताबाट आउँछ। तिमीहरू सबैले निश्‍चित रूपमा अनुसन्धान गर्छौ। तर एउटा कुरा छ जसले यो समस्या सुल्झाउन सक्छ: मान्छेले बिस्तारै परमेश्‍वरसित अन्तरक्रिया गर्दै जाँदा, मान्छे र परमेश्‍वरबीचको सम्बन्ध अझ सामान्य बन्छ, र मान्छेले आफ्नो स्थान सही पार्छ र परमेश्‍वरलाई आफ्नो हृदयमा उपयुक्त ठाउँ दिन्छ। जब यो अझ राम्रो हुँदै अझ शिष्ट दिशातर्फ अघि बढ्छ, तब मान्छेमा परमेश्‍वरले गर्नुहुने कामको सचेतना, ज्ञान, निश्‍चयता, र स्वीकार्यता झन गहिराइमा पुग्नेछ, र यसो हुँदा, मान्छेमा देहधारणबारे निश्‍चयता, सचेतना, ज्ञान, र मान्यता पनि अझ गहिराइमा पुग्नेछ। यी कुराहरू अझ गहिरिँदै जाँदा, तिमीहरूले परमेश्‍वरको झन्झन् कम अध्ययन र शङ्का गर्दै जानेछौ, र त्यो झन्झन् घट्दै जानेछ।

मान्छेले किन परमेश्‍वरको अध्ययन गर्छ? किनभने तिनीहरूमा परमेश्‍वरबारे अति धेरै धारणा र कल्पनाहरू, अति धेरै अनिश्‍चित तत्वहरू, अति धेरै शङ्काहरू, तिनीहरूले नबुझ्ने अति धेरै कुराहरू, तिनीहरूलाई अन्यौलमा पार्ने अति धेरै कुराहरू, अति धेरै रहस्यहरू हुन्छन्, र त्यसैले अध्ययनमार्फत तिनीहरू ती कुराहरू पत्ता लगाउन चाहन्छन्। तर तैँले बाहिरी घटना, तेरो विशिष्ट ज्ञान वा मानसिक निर्णय प्रयोग गरेर गर्ने अध्ययनले तँलाई बुझाइमा पुर्‍याउनेछैन; तैँले थुप्रै प्रयास खेर फालिसकेको भएर पनि अझै परमेश्‍वर र सत्यताको अवधारणा बुझ्नेछैनस्। तर सत्यता पछ्याउनेहरूको लागि, प्रतिफल प्राप्त गर्न, परमेश्‍वरबारे साँचो ज्ञान हासिल गर्न र हृदयमा आदर र आज्ञापालन विकास गर्न केही वर्ष मात्र लाग्छ। कतिपय मानिसहरू परमेश्‍वरका वचनहरू वास्तविक र तथ्यगत हुन् भनेर विश्‍वास गर्दैनन्, त्यसैले तिनीहरू सधैँ परमेश्‍वर, उहाँका वचनहरू, र देहधारणसमेतको अध्ययन गर्न चाहन्छन्। जीवन र आत्मासम्बन्धी कुराहरू अध्ययनमार्फत मात्र बुझ्न सकिँदैन। जब त्यो दिन आउँछ जुन दिन तँ यी सत्यताहरू अनुभव गर्छस् अनि सत्यता अभ्यास गर्न र कर्तव्य निभाउनमा सारा ध्यान लगाउँछस्, मूल्य चुकाउँछस् र जोड दिन्छस्, तब तँ मुक्तिको मार्गमा लागिसकेको हुनेछस्, र त्यसउप्रान्त तैँले देहधारी परमेश्‍वरबारे अध्ययन गर्नेछैनस्। मतलब, उहाँ मानव हुनुहुन्छ कि परमेश्‍वर भन्ने प्रश्‍नको जवाफ त्यसबेलासम्म प्राप्त भइसकेको हुनेछ। उहाँको मानवता जतिसुकै सामान्य भए पनि, उहाँ साधारण मानिसहरूसँग जतिसुकै समान हुनुभए पनि, त्यो कुनै महत्त्वको विषय रहनेछैन। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने तैँले अन्त्यमा उहाँको ईश्‍वरीय सार पत्ता लगाइसकेको हुनेछस्, र उहाँले व्यक्त गर्नुहुने सत्यता स्विकारिसकेको हुनेछस्, अनि त्यतिबेलासम्म, तैँले परमेश्‍वर यही व्यक्तिको देहमा देहधारी हुनुभएको हो भन्ने तथ्य हृदयको गहिराइबाटै स्विकारिसकेको हुनेछस्। केही तथ्यहरू, केही प्रक्रियाहरू र केही अनुभवहरूको कारण, र ठक्कर र असफलताहरूबाट सिकेका केही पाठहरूको कारण, तँ आफ्नो भित्री गहिराइमा सत्यताबारे केही कुरा बुझ्न र आफू गलत रहेछु भनेर स्विकार्न सक्षम हुनेछस्। तैँले त्यस व्यक्तिबारे अबउप्रान्त शङ्का वा अध्ययन गर्नेछैनस्, बरु उहाँ व्यावहारिक परमेश्‍वर हुनुहुन्छ, र यो निर्विरोध तथ्यको रूपमा स्थापित कुरा हो भनेर महसुस गर्नेछस्। त्यसपछि तैँले उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर अचेतन मनबाटै निशङ्कोच स्विकारेको हुनेछस्। उहाँको मानवता जतिसुकै सामान्य भए पनि, अनि उहाँले सामान्य व्यक्तिले जस्तै बोल्ने र काम गर्ने भए पनि र उहाँ कुनै रूपमा पनि असाधारण वा शानदार नहनुभए पनि, तैँले उहाँलाई शङ्का गर्नेछैनस्, न त अवहेलना नै गर्नेछस्। विगतमा भएको भए, तैँले देहधारी परमेश्‍वर तेरो धारणाहरूसँग मिल्नुभएको महसुस नगर्नेथिस्, र तैँले उहाँलाई अवहेलना र उपहास गर्दै विद्रोही मनले अध्ययन गर्नेथिस्—तर आजको परिस्थिति बेग्लै छ। आज, जब तँ उहाँका वचनहरूमा रमाउँछस् र तिनलाई ध्यानपूर्वक सुन्छस्, उहाँले व्यक्त गर्नुहुने सबै कुराहरू तैँले फरक दृष्टिकोणबाट स्विकार्छस्। अनि त्यो कुन दृष्टिकोण हो? “म सृष्टि गरिएको प्राणी हुँ। ख्रीष्ट अग्लो नहुनु होला, अनि उहाँको आवाज चर्को नहोला, र उहाँ कुनै रूपले विशेष नदेखिनु होला, तर उहाँको पहिचान मेरोभन्दा फरक छ। उहाँ भ्रष्ट तुल्याइएको मानवजातिको सदस्य हुनुहुन्न; उहाँ हामीमध्येको एक हुनुहुन्न। हामी उहाँसँग समान स्तर र बराबरको छैनौँ।” तेरो पहिलेको दृष्टिकोणदेखि यसमा भिन्नता छ। त्यो भिन्नता कसरी आएको हो? तैँले भित्रैदेखि तेरो शुरुवाती अस्वीकृति र अनैच्छिक अध्ययनबाट परिवर्तन भएर उहाँका वचनहरूलाई जीवन, र तेरो अभ्यासको मार्गको रूपमा स्विकार्छस्, र उहाँमै सत्यता रहेको, उहाँ नै सत्यता, मार्ग, र जीवन भएको, उहाँमा परमेश्‍वरको छायाँ र उहाँको स्वभावको प्रकटीकरण रहेको देखिएको, र परमेश्‍वरको आज्ञा र काम उहाँको व्यक्तित्वमा भएको महसुस गर्छस्। त्यसबखत नै तैँले उहाँलाई पूर्ण रूपले मानेको र स्विकारेको हुनेछस्। जब उहाँप्रतिको तेरो कुनै पनि प्रतिक्रिया र मनोवृति कुनै सृष्टि गरिएको प्राणीमा हुनुपर्ने स्वाभाविक र सही प्रतिक्रिया बनेको हुन्छ, त्यतिखेर तँ यस देहधारी मानिसको पुत्रलाई परमेश्‍वरको रूपमा लिन सक्षम भएको हुनेछस् र त्यसउप्रान्त तँलाई उहाँको अध्ययन गर्न लगाइए पनि तैँले त्यसो गर्नेछैनस्, ठीक त्यसरी नै जसरी तैँले तँ तेरो आमा र बुबाबाट किन जन्मिस् वा तँ किन उनीहरूजस्तो देखिन्छस् भनेर अध्ययन गर्नेछैनस्। जब तँ यस बिन्दुमा पुगेको हुन्छस्, तैँले भित्रैदेखि यस्ता कुराहरू अध्ययन गर्न छोड्छस्। अब ती तेरो दैनिक जीवनको दायरासँग सम्बन्धित विषय र प्रश्‍नहरू रहेनन्। यी कुराहरूप्रतिको तेरो मनोवृति अध्ययनको चिन्तन गर्नेबाट अध्ययन गर्न आफसेआफ अस्वीकार गर्नेमा परिणत भएको छ, र यसरी तेरो जन्मजात प्रवृति परिवर्तन भएसँगै, तेरो हृदयमा देहधारी परमेश्‍वर कुनै पनि व्यक्तिद्वारा प्रतिस्थापित नहुने उच्‍च हैसियत र कदमा पुग्‍नुहुनेछ, र परमेश्‍वरको हैसियतसहित परमेश्‍वर स्वयम्‌ बन्‍नुहुनेछ। त्यसपछि परमेश्‍वरसित तेरो सम्बन्ध पूर्णतया सामान्य बन्नेछ। यस्तो किन हुन्छ? किनभने तैँले आत्मिक संसार देख्न सक्दैनस्, र आत्मिक संसारको परमेश्‍वर जोकोहीलाई तुलनात्मक रूपले अमूर्त नै लाग्छ। उहाँ कहाँ हुनुहुन्छ, उहाँ कस्तो हुनुहुन्छ, मान्छेप्रति उहाँको मनोवृति के छ, मान्छेसँग बोल्नुहुँदा उहाँले कस्तो भाव प्रकट गर्नुहुन्छ—मानिसलाई यी कुराहरू केही थाहा हुँदैन। आज, तेरो अगाडि जो उभिरहनुभएको छ, उहाँ आकृति र स्वरूपमा व्यक्तिझैँ हुनुहुन्छ, जसलाई परमेश्‍वर भनिन्छ। सुरुमा तेरो प्रतिरोध, शङ्का, धारणा, गलतबुझाइ, र निन्दासमेतका कारण तैँले उहाँलाई बुझ्दैनस्; त्यसपछि, तैँले उहाँका वचनहरू अनुभव गर्छस् र ती वचनलाई जीवन र सत्यता, तेरो अभ्यासको सिद्धान्त अनि तेरो हिँड्ने मार्गको उद्देश्य र दिशाको रूपमा स्विकार्न थाल्छस्; अनि त्यसपछि, तैँले यस सच्चा व्यक्तिलाई स्विकार्छस्, मानौँ उहाँ तेरो मनमा रहनुभएको तर तैँले देख्न नसक्‍ने परमेश्‍वरको भौतिक स्वरूप हुनुहुन्छ। जब तैँले यो महसुस गर्न थाल्छस्, के परमेश्‍वरसितको तेरो सम्बन्ध खोक्रो कुरा हुनेछ र? (हुनेछैन।) अहँ, त्यस्तो हुनेछैन। जब तैँले परमेश्‍वरलाई अस्पष्ट र देख्न नसकिने स्वरूपको रूपमा लिन्छस् र उहाँको मुर्तरूप बनाउँदै उहाँ दैहिक शरीर बन्‍नुभएको छ, अर्थात् सामान्य मानिसमध्येकै एक व्यक्ति, कसैले फर्केर नहर्ने व्यक्ति बन्‍नुभएको छ भन्‍ने हदसम्म पुग्छस्, र त्यसपछि पनि यदि तैँले उहाँसँग सृष्टि गरिएको प्राणी र सृष्टिकर्ताबीचको सम्बन्ध कायम गर्न सक्छस् भने, परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्यभन्दा सामान्य हुनेछ। त्यसपछि तैँले उहाँलाई जे गर्छस्, आधारभूत रूपले त्यो सृष्टि गरिएको प्राणीमा जन्मजातै आउने प्रतिक्रिया हुनेछ। उहाँको शङ्का गर्नू भनिए पनि तैँले त्यसो गर्दैनस्, न त तैँले उहाँको अध्ययन नै गर्नेछस्; तैँले यसो भन्दै उहाँबारे अध्ययन गर्ने कोसिस गर्नेछैनस्, “परमेश्‍वर किन त्यस्तो बोल्नुहुन्छ? उहाँको अभिव्यक्ति किन त्यस्तो हुन्छ? उहाँ किन त्यसरी मुस्कुराउनुहुन्छ र व्यवहार गर्नुहुन्छ?” तँलाई यी कुराहरू पूर्णतया सामान्य लाग्छन्। तैँले मनमनै यसो भन्नेछस्, “परमेश्‍वर यस्तै हुनुहुन्छ र यस्तै नै रहनुपर्छ—हो! उहाँले जे गर्नुहुन्छ, उहाँसँग मेरो सम्बन्ध सामान्य र उस्तै रहनेछ।”

सम्पूर्ण मानवजातिका सोच र धारणाहरूमा, देहधारणमार्फत परमेश्‍वर साधारण मान्छे बन्नु भनेको परमेश्‍वरले गर्नै नहुने काम हो, किनभने सामान्य मानिसहरू समाजमा तल्लो तहमा रहन्छन् र अरूबाट तिरस्कृत हुन्छन्, त्यसैले त्यस्तो उच्च परमेश्‍वरले कुनै महत्त्वहीन व्यक्तिको रूपमा देहधारण गर्नु हुँदैन। यो कुरा मानिसको धारणाको एकदमै प्रतिकूल हुन्छ। आज, परमेश्‍वर एउटा महत्त्वहीन मान्छे भएको बेला तैँले उहाँलाई तेरो परमेश्‍वरको रूपमा मान्न र स्विकार्न सक्नु नै आफैमा गवाही हो। यस्तो कुरा भएपछि, परमेश्‍वरसँगको तेरो सामान्य सम्बन्धमा सम्भवत के कुराले प्रभाव पार्न सक्ला र? केहीले नि सक्दैन। यो कुरालाई ध्यानमा राख्दा, ख्रीष्टलाई तैँले आफ्नो परमेश्‍वरको रूपमा चिन्न सक्नु नै तँ र परमेश्‍वरबीचको सम्बन्ध मापन गर्ने सबैभन्दा महत्त्वपूर्ण मापदण्ड हो। धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् तर परमेश्‍वर नै सत्यता हुनुहुन्छ भनेर स्विकार्दैनन्। अनि, के परमेश्‍वरलाई सत्यता मान्न नसक्नेहरूले परमेश्‍वर तिनीहरूको परमेश्‍वर हुनुहुन्छ भनेर मान्न सक्छन्? परमेश्‍वर नै सत्यता हुनहुन्छ भनेर मान्न नसक्नेहरूको परमेश्‍वरसित कस्तो खालको सम्बन्ध हुन्छ? के तिनीहरूले साँचो रूपमा परमेश्‍वरको आज्ञापालन गर्न सक्छन्? के तिनीहरू परमेश्‍वरलाई चुनौती दिने खालका हुँदैनन् र? तैँले यी कुराहरू प्रष्ट रूपमा बुझ्नुपर्छ। तँ र देहधारी परमेश्‍वर दुवैसँग मानव रूप, मानव स्वरूप, मानव रुचि, र मानव भाषा छन्, र तिमीहरू दुवैजना मानव संसारमा बस्छौ। तर तैँले आफ्नो स्थान सही पार्न, तेरो र परमेश्‍वरको हैसियतबीच भिन्नता छुट्याउन, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सच्याउन सक्छस्। तँ यो सम्बन्धबाहिर जान मिल्दैन, र तैँले यसलाई नाघ्नु हुँदैन। यदि तैँले यो कद प्राप्त गर्न सक्छस् भने, परमेश्‍वरको लागि, तँ पर्याप्त स्तरको हुन्छस्, र कुनै शक्तिले पनि परमेश्‍वरसँगको तेरो सम्बन्ध नष्ट पार्न सक्दैन। यो नै सबैभन्दा स्थिर सम्बन्ध हुनुपर्छ, र यसमा मापदण्ड सबै पूरा भइसकेको हुन्छ। यदि दैहिक शरीरसितको तेरो सम्बन्ध मान्छे र परमेश्‍वरबीचको सम्बन्धको स्तरमा पुग्दैन भने, यदि तँसँग त्यस्तो कुनै सम्बन्ध छैन भने, तैँले “स्वर्गको परमेश्‍वरसित मेरो राम्रो सम्बन्ध छ, र यो एकदमै सामान्य सम्बन्ध हो” भनेर भन्दा, के त्यो साँचो हुन्छ त? हुँदैन। तैँले परमेश्‍वरसँग तेरो राम्रो सम्बन्ध छ भन्छस्, तर त्यो कसले देखेको छ? त्यो कहाँ देखिन्छ? त्यसको कुनै तथ्यगत आधार छैन। मानिसहरू आफ्नो देहमा जिउने र आत्मिक संसारमा छिर्न वा परमेश्‍वरसम्म पुग्न नसक्ने हुन्छन्, त्यसैले तिनीहरूले परमेश्‍वरको आत्मासँग कसरी अन्तरक्रिया गर्न सक्छन्? यतिखेर, के तैँले देहमा रहनुभएका परमेश्‍वरसँग मान्छे र परमेश्‍वरबीचको सामान्य सम्बन्ध स्थापित गर्न सक्छस्? (अहँ।) यसमा, कठिनाइ कहाँनेर छ? मानिसले नबुझ्‍ने सत्यताहरू धेरै छन्। मानिसले बुझ्दैन भन्‍नुको अर्थ के हो? यसको मतलब, भ्रष्ट मानवजातिसँग त्यस्ता दृष्टिकोणहरू र विचारहरू हुन्छन् जुन धेरै पक्षहरूमा देहधारी परमेश्‍वरका दृष्टिकोण र विचारहरूअनुरूप हुँदैनन्; मानिसले जुन सिद्धान्तहरू र आधारअनुसार परिस्थितिहरू सम्हाल्छन्, ती देहधारी परमेश्‍वरका सिद्धान्तहरूसित मेल खाँदैनन्, र मान्छेमा परमेश्‍वरबारे थुप्रै धारणा र कल्पनाहरू पनि हुन्छन्। यी समस्याहरू अझै सुल्झाइएका छैनन्। अनि यी समस्याहरूको जड कहाँ हुन्छ? कुन तत्वले परमेश्‍वर र मानवजातिबीचको सम्बन्धलाई प्रभाव पारिरहेको छ? त्यो मानवजातिको भ्रष्ट स्वभाव हो। अर्थात्, मानवजाति अझै पनि शैतानको विषमा भर परेर शैतानको पक्षमा उभिन्छन्, र मानिसहरूले शैतानकै स्वभाव र सार जिउँछन्। परमेश्‍वरको सार सत्यता हो; उहाँको सार अपरिवर्तनीय छ। यसैले, परमेश्‍वर अनुरूप हुनको निम्ति को परिवर्तन हुनैपर्छ? अवश्य, यो मानवजाति नै हो; यो निश्‍चित कुरा हो। त्यसो भए, मानवजाति कसरी परिवर्तन हुनुपर्छ? तिनीहरू परमेश्‍वरको कामप्रति समर्पित हुनुपर्छ, र तिनीहरूले सत्यता स्विकार्नुपर्छ, न्याय र सजाय स्विकार्नुपर्छ, र काटछाँट र निराकरण हुन स्विकार्नुपर्छ। यो परमेश्‍वरसित सामञ्जस्यता कायम गर्ने मान्छेको एउटै मार्ग हो। यस मार्गमा जब पाइला चाल्‍न थाल्छस्, तब मात्र तैँले बिस्तारै सत्यता बुझ्न, आफ्नो भ्रष्ट स्वभाव त्याग्न, अनि मान्छे र वस्तुहरू दुवैलाई परमेश्‍वरका वचनहरू र सत्यताअनुसार हेर्न सक्छस्। यस तरिकाले, तेरा व्यवहार गर्ने सिद्धान्तहरू, विभिन्‍न वस्तुहरूलाई हेर्ने तेरा दृष्टिकोणहरू, जीवनप्रतिका तेरा दृष्टिकोणहरू र तेरा मान्यताहरू सबै नै परमेश्‍वरका मान्यताहरूसँग अनुरूप हुनेछन्। अनि, तँ र परमेश्‍वरबीचका बाधाहरू कम हुँदै जानेछन्, अबउप्रान्त कुनै विरोधाभासहरू हुनेछैनन्। तैँले परमेश्‍वरको झन्झन् कम अध्ययन गर्नेछस्, तेरो आज्ञापालन स्वाभाविक रूपमै बढेको बढ्यै हुनेछ, र तैँले बिस्तारै परमेश्‍वरसितको पूर्ण सामञ्जस्यता हासिल गर्नेछस्।

के तिमीहरूलाई मसित अन्तरक्रिया गर्न डर लाग्छ? (लाग्दैन।) तिमीहरूलाई लाग्दैन होला, तर मलाई लाग्छ। मलाई के कुराको डर लाग्छ? तिमीहरू अति साना कदका छौ, र तिमीहरूले नबुझ्ने धेरै सत्यताहरू छन्, अनि मैले आफूले गर्ने र भन्ने कुरा तिमीहरूको कदसँग मिल्छ कि मिल्दैन भनेर विचार गर्नुपर्छ। म ती कुरा सिधै भन्न वा गर्न सक्दिनँ, बरू मैले तिमीहरूलाई ती सत्यताहरूबाट गुज्रन र ती अनुभव गर्न पर्याप्त ठाउँ साथसाथै पर्याप्त समय दिनुपर्छ। त्यसपछि, म पर्खन्छु। म तिमीहरूले ती सत्यताहरू बुझ, तिनलाई बिस्तारै स्विकार, र तिमीहरूको कद बढोस् भनेर पर्खन्छु, र त्यस क्षणपछि, म बिस्तारै फेरि पनि तिमीहरूको नजिक पर्ने प्रयास गर्छु। त्यसपछि म तिमीहरूको अवलोकन गर्छु र तिमीहरूको कद बढेको छ कि छैन हेर्छु। यदि बढेको छ भने, म तिमीहरूलाई अलि बढी कुरा भन्छु; तिमीहरूको कद अझै सानै छ भने, म अलि बढी दूरी कायम गर्छु। मैले किन तिमीहरूबाट अलि बढी दूरी कायम गर्नुपर्छ? यदि मैले चाँचाँडो तिमीहरूको अति नजिक आउने र तिमीहरूबाट अति धेरै अपेक्षा गर्ने हो भने, हतारको काम लतार हुनेछ। अनि हतारको काम लतार भयो भने, त्यसको परिणाम के होला? त्यो तिमीहरूले सहन सक्नेभन्दा बढी खतरनाक हुन सक्छ। अहिलेको परिस्थितिलाई हेर्दा त हामी आफ्नो अन्तरक्रियामा सामञ्जस्यता र सम्झौतामा पुग्न सक्दैनौँ, र साथमा हामी सच्चा सम्बन्ध निर्माण गर्न पनि सक्दैनौँ। यदि मैले तिमीहरूसँग बारम्बार सम्पर्कमा आउन वा तिमीहरूसँगै जिउन र तिमीहरूको कर्तव्यको हरेक पक्षमा प्रशिक्षण दिन जिद्दी गर्थेँ भने, त्यो तिमीहरूको लागि तनावपूर्ण हुने थियो। त्यस्तो अवस्थामा तिमीहरूले कष्ट भोग्नुपरेको महसुस गर्ने थियौ। के त्यो मैले सहनैपर्ने अवस्था हुन्थेन र? अनि त्यो सहनुपर्दा, मैले कष्ट भोग्नुपर्थेन र? मैले पनि कष्ट भोग्नुपर्थ्यो। यदि त्यो कष्ट तिमीहरूको फाइदाको लागि थियो भने, यदि त्यसले तिमीहरूको चाँडो प्रगति गराउन सक्थ्यो भने, मैले अलिकति कष्ट भोग्नुपरे पनि म त्यो मतलब गर्दिनथेँ। म बस अलि बढी सहने, अलि कम बोल्ने, अलि उदार बन्ने र अलि धैर्यसाथ तिमीहरूलाई अलि बढी पर्खने थिएँ। यो कुनै चिन्ताको विषय हुने थिएन। यदि तिमीहरूले समयअगावै कुनै कष्ट भोग्यौ भने, के त्यसले केही हदसम्म परिणाम दिन सक्थ्यो? सायद केही विशेष व्यक्तिहरूलाई दिन सक्थ्यो, जसले सत्यता बुझ्न सक्छ र जोसँग विवेक र समझ दुवै छ, जो निष्पक्ष र तर्कसङ्गत छ, र अझ भन्‍ने हो भने जसले सत्यतालाई विशेष प्रेम गर्छ, जसले निरन्तर रूपमा सत्यता पछ्याउन सक्छ, र जो आफ्नो हृदयभित्रैबाट ज्योति र सकारात्मक कुराहरूको प्रेम र खोजीमा कुनै सम्झौता गर्दैन—जो सत्यता पछ्याउनमा सक्रिय र सकारात्मक रहेका पत्रुसजस्तो व्यक्ति हो—यस्तो मानवता, यस्तो खोजी, र यस्तो ग्रहणशीलता भएको व्यक्तिले मात्र समयअगावै यस्तो कष्टबाट गुज्रन सक्छ। तिमीहरूमध्ये यी मापदण्डहरू पुग्ने कोही छ? (छैन।) त्यसो भए, मैले दुखका साथ भन्नुपर्छ कि हामीले दूरी कायम गर्नुपर्छ, ताकि तिमीहरूले समयअगावै कष्टबाट गुज्रन नपरोस्। त्यसो भए, तिमीहरू त्यसबाट कहिले गुज्रिनेछौ? जब तिमीहरूको कद केही हदसम्म बढेको हुन्छ, परमेश्‍वरले तिमीहरूको लागि स्वतः वातावरण, मानिस, घटना, र परिस्थितिहरू मिलाउनुहुनेछ। यो ठ्याक्कै अय्यूबकै जस्तो घटना होः जब उसको कद केही बढ्यो, उसको विरुद्ध एउटा अभियोगसहित शैतान परमेश्‍वरसामु आयो, र परमेश्‍वरले शैतानलाई अय्यूबको परीक्षा गर्न, र अय्यूबलाई परीक्षामा समर्पित गराउन दिनुभयो। परिणामस्वरूप, अय्यूबले आफ्नो सारा सम्पति गुमायो। के यो तिमीहरूको लागि निकै टाढाको कुरा हो? कति टाढाको? यसको एउटा पाटो तिमीहरूको खोजीमा भर पर्छ; अर्को पाटो परमेश्‍वरको कामका मागहरूमा, अर्थात उहाँले आफ्नो योजनामा स्थापित गर्नुभएको समयमा भर पर्छ। त्यो भनेको कस्तो समय हो? त्यो त्यही समय हो जतिखेर मानिसहरू सारभूत रूपमा सबै सत्यताले सुसज्जित हुन्छन् र सत्यता बुझ्छन्। तर यदि केही मानिसहरूको कद अझै पुगेको छैन भने, तिनीहरूलाई के गरिनुपर्छ? जब सही समय आउँछ, परमेश्‍वरले काम गर्नुहुन्छ। के तँलाई आफू लुक्न सक्छु जस्तो लाग्छ? यो मोडबाट लुसुक्‍क भाग्न सक्ने कोही हुँदैन। यसलाई मान्छेको कामको निरीक्षण भनिन्छ, र यसबाट सबैजना गुज्रनैपर्छ। कसैले पनि चाँडो पार गर्न सक्दैन, र कोही पनि पछि पर्दैन। “कसैले पनि चाँडो पार गर्न सक्दैन” भन्नुको मतलब, यदि कुनै व्यक्तिको कद पुगेको छैन, र उसले त्यति धेरै सत्यता सुन्दैन भने, जब त्यो व्यक्तिले परमेश्‍वरलाई उसको परीक्षा लिनु भन्छ, उहाँले लिनुहुन्न। यसमा कसैलाई छूट हुनेछैन, किनकि परमेश्‍वरले सबैलाई बराबर रूपमा हेर्नुहुन्छ, र सबैलाई बराबर अवसरहरू दिनुहुन्छ, अनि उहाँले सबैको लागि बराबर भरणपोषण र बराबर काम गर्नुहुन्छ। त्यसो भए, के अब मैले तिमीहरूको स्थिति र कदबमोजिम त्यस्तो मनोवृति राख्नु तिमीहरूको लागि फाइदाजनक हुँदैन र? (हुन्छ।) त्यो तिमीहरूको लागि एकदमै सही हुन्छ, र तिमीहरूलाई अहिले चाहिने नै त्यही हो। जब तिमीहरू प्रत्येक क्षेत्रमा सामान्य रूपमा आफ्नो कर्तव्य निभाइरहेका हुन्छौ, तिमीहरूलाई बिनाकुनै ढिलाइ तिमीहरूसित हुनुपर्ने र तिमीहरूले बुझ्नुपर्ने सत्यताहरूको आपूर्ति पनि भइरहेको हुन्छ, ताकि तिमीहरूलाई समयमै र चाहेजति भरणपोषण र सहयोग उपलब्ध गराउन सकियोस्। त्यसपछि, तिमीहरूले आफ्नो कर्तव्य निभाउने क्रममा, बिस्तारै यी सत्यताहरू पचाउने, सोस्ने, र अनुभव गर्नेछौ, अनि सत्यताका सिद्धान्तहरू र अभ्यासको मार्ग भेटाउनेछौ; अलिअलि गर्दै तैँले परमेश्‍वरको इच्छा बुझ्नेछस्, र यससँगै मान्छे र परमेश्‍वरको सम्बन्ध ठिक पारिएको हुनेछ र तँ सृष्टि गरिएको प्राणीको स्थानमा बस्नेछस्, जुन आफ्नो स्थान ग्रहण गर्नु र आफ्नो कर्तव्यमा दृढ रहनु हो। यसपछि, कतिपय मानिसहरूले थाहै नपाई परीक्षा र सोधन भोग्न सक्छन्। यस्तो कहिले हुन्छ? म तिमीहरूलाई एउटै वाक्यमा भन्नेछुः परीक्षाहरू योजनाअनुसार नै हुन्छन्। यो अलि अमूर्त हुन सक्छ, तर परमेश्‍वरको लागि, यो यस्तै नै हुन्छ। जब परमेश्‍वरको काम गर्ने समय आउँछ, तैँले जति प्रयास गरे पनि लुक्न सक्नेछैनस्। अब म के गर्नेछु? म आफ्नो पद कायम राख्‍नेछु, आफ्नो स्थानमा बस्नेछु, र आफ्नो काम गर्नेछु, न पछि हट्नेछु न त हतारमा अघि दौडनेछु, बरु निर्दिष्ट क्रमअनुसार आफ्नो काम गर्नेछु। तिमीहरूको मुक्तिका सबै मार्ग खुला छन्—मैले ती न बन्द गर्नेछु न त तिमीहरूको लागि ढिलाइ नै गराउनेछु।

“के तपाईंलाई पछ्याएर हामीले मुक्ति प्राप्त गर्न सक्छौँ?” भनेर चिन्ता गर्दै के कसैले सोध्छ? सायद कतिपय मानिसहरूले यो प्रश्‍नबारे कहिल्यै सोचेका छैनन् होला, तर त्यो भनेको शङ्का नै नमानेको जस्तो होइन, शङ्का त अझै पनि विद्यमान हुन सक्छ। त्यसैले, म तँलाई साँचो कुरा भन्नेछुः तैँले चिन्ता लिनुपर्दैन। तैँलेभन्दा पहिला त मैले चिन्ता लिनुपर्छ; सबैभन्दा बढी चिन्ता लिनुपर्ने मैले हो, तर म कहिल्यै चिन्ता लिँदिनँ, अनि तँचाहिँ केको बारेमा चिन्तित छस्? के तँ ज्यादै चिन्ता लिइरहेको छैनस् र? तँ अति चिन्ता लिन्छस् जबकि त्यो आवश्यक नै छैन। म यो मामलामा कहिल्यै चिन्ता लिँदिनँ किनभने यो मैले जिम्मेवारी लिनैपर्ने कुरा होइन। के यो राम्रो कुरा होइन र? त्यसो भए, त्यसको जिम्मेवारी कसले लिन्छ? कतिपयले भन्छन्, “तपाईंले यसो भन्नु त अति गैरजिम्मेवार बन्नु हो! यदि तपाईं जिम्मेवार हुनुहुन्न भने, को छ त?” मैले जिम्मेवारी लिनुपर्दैन किनकि मसँग त्यस्तो चिन्ता कहिल्यै हुँदैन। मैले भय मान्नुपर्ने, र यो मामला जाँच गर्नुपर्ने जरुरी छैन। यदि मैले “ओहो! म तिमीहरूको परिणाम र गन्तव्यको भार बोक्न सक्दिनँ! मैले आफूले चाल्ने प्रत्येक कदम र बोल्ने प्रत्येक शब्दको अध्ययन र विश्‍लेषण गर्ने, अनि ती कुराको नतिजा हेरेर मात्र काम गर्ने पक्का गर्नुपर्छ” भन्दै चिन्ता लिने हो भने, म लापरवाह मानिनेछु। तर म कहिल्यै चिन्ता लिन्नँ; म कुनै कुराले कस्तो परिणाम निम्त्याउला भनेर कहिल्यै अनुसन्धान गर्दिनँ। किन यस्तो हो त? कसैकसैले भन्छन्, “तपाईंले यो मामलाको सार बुझ्नुभएको छ।” होइन। सामान्यतया, कुनै व्यक्तिले केही कुराको पूर्ण अनुसन्धान र विश्‍लेषण गरेको छ भने मात्र उसले त्यसको सार बुझेको भन्न सकिन्छ, तर म अचेतन मनले नै यस मामलामा कहिल्यै अनुसन्धान गर्दिनँ, ठिक त्यसरी नै जसरी कुनै व्यक्तिले आफू किन आफ्ना बुबाआमाजस्तै देखिन्छु भनेर कहिल्यै अनुसन्धान गर्दैन। म अचेतन मनले नै त्यस्ता कुराहरूको अनुसन्धान गर्दिनँ—ती मेरा सोचमै हुँदैनन्। मामलाहरू अनुसन्धान नगर्दा राम्रो परिणाम आउँछ, त्यसैले के तिमीहरूले यो कसरी गर्ने भनेर सिक्नुपर्दैन? कतिपयले भन्लान्, “तपाईं त अचेतन मनले नै मामलाहरू अनुसन्धान गर्नुहुन्न। हामीले त्यसो गर्न कसरी सिक्नुपर्ने हो? त्यो हामीले सिक्न सक्ने कुरै होइन!” यसमा अलिअलि सङ्गति आवश्यक पर्ने कुरा छ। परमेश्‍वरको देहधारण, दैहिकतामा उहाँको मूर्तरूप, उहाँ मानव बन्‍नुभएको अवस्था—यो व्यक्ति ठ्याक्कै कसरी अस्तित्वमा आयो भन्ने कुरा अनुसन्धान गरिरहनु नपर्ने सामान्य प्रक्रिया हो। सरल भाषामा भन्नुपर्दा, परमेश्‍वर मानव बन्नुभएको छ। परमेश्‍वरले यस मानव शरीरमा के गर्नुहुन्छ र उहाँ कसरी प्रकट हुनुहुन्छ भन्ने कुरामा कुनै रहस्य छ? (छ।) के यो मामलामा अनुसन्धान गर्नु आवश्यक छ? यसमा अनुसन्धान गर्नु आवश्यक छैन, बरु तिमीहरूले त्यसको सत्यता खोजी गर्नु आवश्यक छ। अनि, त्यसको सत्यता के हो? के तिमीहरूले त्यो स्पष्टसित देख्न सक्छौ? व्यक्तिको सार, हैसियत, र उसको मिसन एउटै पारिएको हुन्छ। उसको मिसन नै उसको सार, उसको नैसर्गिक प्रवृत्ति हुन्; उसले जे जिउँछ, उसले जे प्रकट गर्छ, जे गर्न ऊ इच्छुक बन्छ, र ऊ जे कुराले भरिन्छ—त्यो नै उसको सार, साथसाथै उसको नैसर्गिक प्रवृत्ति र मिसन हुन्छ, जुन सबै मिलेर एकता आउँछ। यसबाट तिमीहरूले के बुझ्छौ? यहाँ एउटा तथ्य छ जुन तिमीहरूले देख्न सक्नुपर्छ, त्यो के हो भने परमेश्‍वरको देहधारणको विषय निर्विवाद छ। परमेश्‍वरले कैयौँ सत्यताहरू व्यक्त गर्नुहुन्छ, र मान्छेले ती जति धेरै पढ्छ, उति नै धेरै बुझ्छ; उसले जति बढी पढ्छ, उति बढी तिनलाई सत्यता ठान्छ; र उसले तिनलाई जति धेरै अनुभव र अभ्यास गर्छ, उसको हृदय उति धेरै उज्यालो हुन्छ, अनि यस्तो भएपछि, परमेश्‍वरसितको उसको सम्बन्ध पनि झन बढी सामान्य बन्छ। के यो कुरालाई साँच्चिकै अनुसन्धान गर्नुपर्छ त? तैँले जतिसुकै अनुसन्धान गर्; सत्यता के हो भनेर तैँले अनुसन्धानमार्फत बुझ्नेछैनस्। सत्यताको बुझाइ अनुभवमा भर पर्छ। व्यक्तिले अझ बढी अनुभवहरू प्राप्त गर्दै जाँदा, उसले सत्यता के हो भनेर स्वभाविक रूपले बुझ्छ, र सत्यता बुझिसकेपछि उसले स्वभाविक रूपले परमेश्‍वरबारे ज्ञान प्राप्त गर्छ। त्यसैले मैले परमेश्‍वरको कामबारे ज्ञान हासिल गर्ने कुरा सत्यता बुझ्ने कुरामा भर पर्छ भन्ने गर्छु। केही मूर्ख मानिसहरू सत्यतालाई प्रेम गर्दैनन् र कहिल्यै सत्यता अभ्यास गर्दैनन्, र परमेश्‍वरलाई विश्‍वास गर्न थालेदेखि नै तिनीहरूले उहाँको अध्ययन गर्दै आएका छन्। तर जतिसुकै अध्ययन गरून्, के तिनीहरूले यस तरिकाले परमेश्‍वरबारे ज्ञान हासिल गर्न सक्छन् र? त्यो असम्भव कुरा हो। धार्मिक संसारले सहस्राब्दीऔँदेखि परमेश्‍वरको अध्ययन गर्दै आएको छ र एकजनाले पनि उहाँलाई साँच्चिकै चिनेको छैन। तिनीहरूले वर्षौँसम्म परमेश्‍वरमा विश्‍वास गर्छन्, तैपनि अन्त्यमा, “म परमेश्‍वरको अस्तित्वमा गहिरो रूपमा विश्‍वास गर्छु” भनेर मात्र भन्न सक्छन्। के ती परमेश्‍वरलाई चिन्ने व्यक्तिले बोल्ने शब्दहरू हुन्? के तैँले अहिले पनि परमेश्‍वरको अध्ययन गर्छस्? तैँले उहाँलाई कति वर्षदेखि अध्ययन गर्दै आएको छस्? के तेरो अध्ययनले केही परिणाम दिएको छ? म तँलाई भन्छुः देहधारी परमेश्‍वरले उहाँ को हुनहुन्छ भनेर कहिल्यै अनुसन्धान गर्नुहुन्न, न उहाँभित्र उहाँको एउटाबाहेक अर्को कुनै आवाज नै छ। मान्छेले देख्दा, उहाँले सोच्ने, जिउने, र गर्ने कुरा एक व्यक्तिको सोच र कार्य मात्र हो, र उहाँले पनि आफूलाई काम गर्दै र सोच्दै गरेको एक व्यक्ति ठान्नुहुन्छ। यहाँ के भइरहेको छ? उहाँभित्र एउटाबाहेक अर्को जीवन छैन। त्यसो भए, यस जीवनको सार के हो त? व्यक्तिले बाहिरबाट हेर्दा, त्यसलाई साधारण व्यक्तिको जीवन मात्र हो भन्ने ठानेर त्यसको भित्री वास्तविकता बुझ्न सक्दैन, तर उहाँको मिसन र उहाँले गर्नुहुने कामको सार हेर्दा, कसरी परमेश्‍वरको छायाँ उहाँमाथि परेको हो त? यो कुरा बुझ्नलायक छ। परमेश्‍वरको छायाँ परेको र परमेश्‍वरको सारको प्रकटीकरण भएको यो दैहिक शरीर ठ्याक्कै को हो भन्ने कुरा खोजी र गहन अनुसन्धान गर्नलायक छ। अनि, के यो देहको शरीरलाई उहाँ किन यस्तो व्यक्ति हुनुभएको, वा सारमा उहाँ को हुनुहुन्छ भन्ने कुरा थाहा नहुनु सामान्य हो? त्यो पूर्ण रूपले सामान्य कुरा हो; अलौकिक होइन। कतिपयले यसो भन्नेछन्, “अलौकिक होइन? यो त परमेश्‍वर नै भएन नि। परमेश्‍वर त अलौकिक हुनुपर्छ!” यो “हुनुपर्छ” भन्ने कहाँबाट आउँछ? त्यो मान्छेका धारणा र कल्पनाहरूबाट आउँछ। खासमा, परमेश्‍वरको पहिलो काम, अर्थात उहाँको पहिलो व्यवहार के हो, जसको बारेमा मान्छेलाई थाहा छ र उसमा त्यसको छाप परेको छ? सुरुमा, परमेश्‍वरले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो, र छैटौँ दिनमा, उहाँले केही माटो लिनुभयो र त्यसबाट एउटा मान्छे बनाउनुभयो, र त्यसको नाम आदम राख्दिनुभयो। त्यसपछि उहाँले आदमलाई निद्रामा पार्नुभयो र उसको शरीरबाट एउटा करङ् झिकेर त्यसबाट अर्को मान्छे, हव्वा बनाउनुभयो। परमेश्‍वरका यी कार्यहरू र व्यवहारहरूको क्रम हेर्दा, के त्यो विशेष चित्रात्मक छैन र? प्रत्येक कार्य अति वास्तविक छ, जुन मान्छेको कल्पना र धारणाभित्रको परमेश्‍वरसित मेल खाँदैन। यो मान्छेले कल्पना गरेको अलौकिकताभन्दा परको कुरा हो। त्यसोभए अब, जब मानिस देहधारी परमेश्‍वरको सम्पर्कमा आउँछन्, र उहाँले बोल्नुहुने वचनहरू सुन्छन्, र उहाँले गर्नुहुने सबै काम हेर्छन्, त्यसपछि ती कुराहरूलाई सुरुमा परमेश्‍वरले मान्छेको सृष्टि गर्नेबेलाका उहाँका कार्य र व्यवहारहरूसँग तुलना गर्छन्, अनि के त्यहाँ भिन्‍नताहरू छन्? कुनै असमानताहरू छन्? हुन सक्छन्, किनकि तैँले ती कार्यहरू कहिल्यै देखेको छैनस्। तर यसलाई व्यावहारिक रूपमा हेर्दा, जब व्यक्तिले परमेश्‍वरको सुरुवातका वाणीहरूको शैली र स्रोतसँग उहाँको अहिलेको बोलाइको शैली र स्रोत तुलना गर्छ, त्यहाँ कुनै आधारभूत असमानता छैन। म किन “आधारभूत” भनिरहेको छु? “आधारभूत” शब्दको आफ्नै अर्थ छ। यहाँ “आधारभूत” को अर्थ के हो? यसको मतलब, परमेश्‍वरले गर्नुहुने वास्तविक कामहरू र परमेश्‍वरको बोल्ने शैलीमा अझै पनि केही अलौकिक तत्व छ भन्ने कुरा मान्छेको मनमा चल्छ, जबकि मान्छेले अहिले देखिरहेको परमेश्‍वरले बोल्ने शैली, तरिका र भाव एकदमै वास्तविक, ग्रहण गर्न र हेर्न सकिने, कुनै अलौकिक तत्वरहित र मान्छेले कल्पना गर्नैनपर्ने खालका छन्। यी दुई कुराहरूबीच दुरी छ, र यो दुरी तिमीहरूको दृष्टिकोणमा अन्ततः आधारभूत रूपले उस्तै नै रहन्छ। अनि, त्यहीँबाट नै यो “आधारभूत” भन्‍ने कुरा आएको हो।

के यी सबैभन्दा सत्यतापूर्ण, मर्मस्पर्शी वचनहरू तिमीहरूलाई आजै सुनाउनु आवश्यक छ? (छ।) यस्ता कुराहरू किन बोल्नुपर्‍यो? थुप्रै मानिसहरूलाई निरन्तर रूपमा देहधारी परमेश्‍वरका यी कुराहरू निकै रहस्यमय र बुझ्न नसकिने लागेका छन्, र तिनीहरू यी कुराहरू अध्ययन गर्ने इच्छा गर्छन्। यी कुराहरू अध्ययन गर्दा परमेश्‍वरसितको तेरो सम्बन्धमा दखल पुग्छ। के तैँले सधैँ परमेश्‍वरको अध्ययन गरेर पनि सत्यतामा प्रवेश गर्न सक्छस्? यदि तँ जहिले पनि उहाँको अध्ययन गरिरहेको हुन्छस् भने, तैँले उहाँका वचनहरूलाई सत्यता मान्नेछैनस्, अनि उहाँसँगको तेरो सम्बन्ध विकृत, विचलित, र असामान्य हुनेछ। त्यसो भए, तैँले आफ्नो सम्बन्धलाई कसरी झन्झन् सामान्य बनाउँदै लान सक्छस्? उहाँले गर्नुहुने सबै काम र उहाँको यो दैहिक शरीरसमेतलाई साधारण तरिकाले लिएर, अनि उहाँलाई हृदयमा अलिअलि गर्दै स्विकार्ने प्रयास गरेर। उहाँलाई हरेक पक्षबाट स्विकार्—उहाँको बोल्ने शैली र भाव, उहाँको बाहिरी रूप अर्थात उहाँ कस्तो देखिनुहुन्छ त्यो पनि स्विकार्। तैँले यो कुरा स्विकार्नैपर्छ। यदि स्विकार्दैनस् र जहिले पनि उहाँको यो वा त्यो कुरा अध्ययन गरिरहन्छस् भने, अन्त्यमा, त्यसको सबैभन्दा नराम्रो असर र घाटा व्यहोर्ने तैँ हुनेछस्। परमेश्‍वरले जारी गर्नुभएको यो तथ्य परिवर्तन हुनेछैन। परमेश्‍वरले नयाँ युग प्रारम्भ गर्नुभएको छ, र त्यसमा उहाँको प्रभाव रहनेछ र त्यसको अगुवाइ उहाँले नै गर्नुहुनेछ। यो तथ्य परिवर्तन हुनेछैन। अनि, यस मामलामा व्यक्तिले कस्तो विकल्प छनौट गर्नुपर्छ? उहाँको अध्ययन नगर्ने, बरु उहाँलाई स्विकार्ने र चिन्ने, अनन्त रूपमा परमेश्‍वरसित आफ्नो सम्बन्ध सच्याइरहने, र सधैँ आफैलाई याद दिलाउने कि “म सृष्टि गरिएको प्राणी हुँ, र म भ्रष्ट तुल्याइएको मानवजातिमा पर्छु; बाहिरी रूपले परमेश्‍वर साधारण व्यक्ति हुनुहुन्छ, तर उहाँभित्र परमेश्‍वरको सार छ। उहाँ परमेश्‍वर हुनुहुन्छ भन्ने तथ्य नकार्न सकिन्न; बाहिरी रूपमा उहाँले जे गर्नुहुन्छ, जे भन्नुहुन्छ र जसरी कार्य गर्नुहुन्छ ती मेरो अध्ययनको दायरामा पर्दैनन्। मसित यस्तो समझ हुनुपर्छ, र मैले यस्तो स्थान लिनुपर्छ।” मैले आज मेरै बारेमा तिमीहरूसित अलिअलि बोलेको छु, ताकि तिमीहरूमा यी कुराहरूबारे बुझाइ र स्पष्टता होस्, तिमीहरू सधैँ दुविधा र रनभुल्लमा नपर, र मैले तिमीहरूलाई थाहा नदिन कुरा लुकाएझैँ अवस्थामा नबस। सत्य के हो भने, मैले तिमीहरूसित भन्‍न नसक्‍ने कुनै रहस्य नै छैन। मैले सोच्ने र गर्न खोज्ने कुरा नै यही हो। त्यसमा अमूर्त कुरा केही छैन, न त रहस्यमयी कुनै कुरा नै छ। तैँले देख्ने मेरो पाटो यस्तै हो, र तैँले देख्न नसक्ने पर्दापछाडिको मेरो पाटो पनि यस्तै हो। त्यो साँच्चिकै यस्तै हो। तर तिमीहरूले बुझ्नैपर्ने एउटा कुरा छः तैँले आफ्नो अगाडि जे तथ्य र घटनाहरू देख्छस्, यदि तँले सत्यता बुझ्दैनस् भने, तैँले ती घटनाहरूलाई नै सत्य र तथ्यको रूपमा लिनेछस्; अनि यदि सत्यता बुझ्छस् भने, तैँले ती घटना र बाहिरी कुराहरूमार्फत तैँले सार र सत्य जान्नेछस्, र त्यसरी परमेश्‍वरसितको तेरो सम्बन्ध झन्झन् सामान्य बन्दै जानेछ। तेरो लागि, परमेश्‍वरको पहिचान, हैसियत, र सार कहिल्यै परिवर्तन हुनेछैन। उहाँ सृष्टिकर्ता हुनुहुन्छ, जो सबैमाथि सार्वभौम हुनुहुन्छ। यो निश्‍चित कुरा हो। तँ सुष्टि गरिएको प्राणी होस्, र यदि तैँले जहिले पनि परमेश्‍वरको देहको बाहिरी रूप अध्ययन गर्छस् भने, तँ समस्यामा पर्छस्। त्यसउप्रान्त परमेश्‍वरसित तेरो सम्बन्ध रहनेछैन, मतलब सृष्टिकर्तासित सृष्टि गरिएको प्राणीको रूपमा तेरो सम्बन्ध रहनेछैन। यसका परिणामहरूबारे विस्तारमा कुरा गर्न जरुरी छैन। ती परिणामहरू अत्यन्तै खराब हुन्छन्। परिणामस्वरूप जे पनि आइपर्न सक्छ—जे पनि हुन सक्छ। यो सम्बन्धबिना, हामीबीच संवाद गर्ने केही विषय हुँदैन। के यति भनेपछि बुझिन्छ? यदि हामीलाई हाम्रो निकट सम्बन्ध कायम राख्नु, र त्यसलाई टिकाउनु छ भने, मान्छेको हैसियत कस्तो हुनुपर्छ? (सुष्टि गरिएको प्राणीको जस्तो।) सधैँभरि सुष्टि गरिएको प्राणीको जस्तो हुनुपर्छ। यसरी मात्र हामी सम्बन्ध गाँस्न सक्छौँ, यसरी मात्र वास्तविक सम्बन्ध अस्तित्वमा रहन सक्छ। यदि तैँले आफू सृष्टि गरिएको प्राणी भएको कुरा स्विकार्दैनस् भने, हामीबीच कुनै सम्बन्ध रहनेछैन। म तँसँग घूलमिल हुनेछुइनँ, न त तँ को होस् भनेर जान्ने इच्छा नै राख्नेछु। हामीलाई केही कुराले बाँध्नेछैन। म तँलाई हस्तक्षेप गर्ने छुइनँ। तँ जसरी चाहन्छस् त्यसरी नै जिउन सक्छस्—त्योसँग मेरो कुनै सरोकार छैन। तैँले मेरो अध्ययन वा निन्दा गर्नु आवश्यक छैन। मेरो पहिचान, हैसियत, र मैले गर्ने सबै चीजहरू तँजस्तो साधारण व्यक्तिले निन्दा गर्न वा निष्कर्ष निकाल्न सक्ने कुरै होइनन्। यी सबै कुराहरूको न्याय गर्ने मान्छेले होइन, परमेश्‍वरले हो। यति भनेपछि त बुझिन्छ, होइन र? के यो सत्यता होइन र? (हो।) त्यसो भए, यसमा मानिसले बुझ्नुपर्ने सत्यता के हो? व्यक्तिले केको आधारमा, केको जगमा परमेश्‍वरसित सामान्य सम्बन्ध कायम राख्न सक्छ? तिनीहरूले आफू सृष्टि गरिएका प्राणी भएको कुरा जान्‍नुपर्छ। यदि तैँले आफू सृष्टि गरिएको प्राणी हुँ भनेर स्विकार्छस् र त्यो जग छ भने, तँ अघि बढ्दै जाँदा, यस्ता थुप्रै कुराहरू आउनेछन् जहाँ तँ बहकिनेछैनस्। तर यदि तँ जहिले पनि उहाँको अध्ययन गर्ने इच्छा राख्छस्, र सो सम्बन्धलाई सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट हेर्दैनस् भने, त्यसको परिणाम दुखदायी र मनन गर्न पनि अति डरलाग्‍ने हुनेछ। तैँले कुरा बुझिस् नि, हैन?

कतिपयले भन्छन्, “यदि मैले आफू सृष्टि गरिएको प्राणी हुँ भनेर स्विकारिनँ भने, के हामीबीच कुनै सम्बन्ध बाँकी रहँदैन त? के हामी एकअर्कालाई चिन्दैनौँ त? त्यस स्तरको सम्बन्धबिना पनि हामी मित्र, साथी, नातेदार हुन सक्छौ—हैन र?” अहँ। मेरो कुनै “मित्र” वा साथी छैन, र मसँग निश्‍चय नै त्यस्तो कुनै नातेदार छैन। कसैले सोध्छ, “त्यसो भए, तपाईंका सच्चा नातेदारहरू को हुन् त? के तिनीहरू तपाईंका परिवार हुन्?” होइनन्। मेरा कुनै नातेदारहरू छैनन्, न त मसँग ज्यान थाप्‍ने मान्छे नै छन्। मेरा मातहतमा कोही छैनन् र मसँग सहयोगीहरू पनि छैनन्। सृष्टिकर्ताको दृष्टिकोणमा, उहाँसँग सृष्टिका प्राणीहरूको मात्र सम्बन्ध छ। सृष्टि गरिएका सम्पूर्ण मानवजाति र प्राणीहरूको लागि, परमेश्‍वरको एउटै पहिचान छ—त्यो हो, सृष्टिका प्रभु। त्यो एउटै मात्र सम्बन्ध छ। यदि कसैले यसरी सोध्छ, “हामीबीच असल सम्बन्ध छ। के हामी साथी बन्न सक्दैनौँ? के हामी मित्र हुन सक्दैनौँ?” अहँ। म तँलाई चिन्दिनँ; तँ को होस् म चिन्दिनँ। म तँसित किन साथी बन्थेँ? हाम्रो त्यस्तो केही सम्बन्ध छैन। तिनीहरू भन्छन्, “तपाईं यहाँनेर अति निष्कर्षात्मक भएर बोल्दै हुनुहुन्छ, हैन र? के तपाईं अति कठोर बनिरहनुएको छैन र?” पक्कै पनि यो निष्कर्षात्मक छ। मलाई त्यस्ता सम्बन्धहरूको आवश्यकता छैन। मैले जे गर्छु र भन्छु ती सबै उचित लक्षित वर्गहरूलाई भरणपोषण गर्नको लागि हो—अनि ती लक्षित वर्गहरू को हुन्? तिनीहरू सृष्टि गरिएका मानवजाति, अर्थात सत्यतालाई प्रेम गर्ने मानवजाति हुन्; परमेश्‍वरले मुक्ति दिने लक्षित वर्गहरू यिनै हुन्, र यो मात्र एउटै सम्बन्ध रहेको छ। यो सम्बन्धबाहेक मैले चिनेको अरू कुनै प्रकारको सम्बन्ध छैन। कुरा बुझिस्? (हजुर।) कतिपयले भन्लान, “तपाईंसँग सम्बन्ध गाँस्न कठिन छ!” मसँग सम्बन्ध गाँस्नु कठिन होइन, बरु त्यस्तो सम्बन्ध अस्तित्वमा रहनै सक्दैन। त्यसैले, कसैले पनि “म तपाईंसँग वर्षौँदेखि सम्पर्कमा छु। के हामी साथी होइनौँ र?” भनेर नभनोस्। यदि तैँले आफू सृष्टि गरिएको प्राणी हुँ भनेर स्विकार्छस् भने, हामीबीच सबैभन्दा निकट, सबैभन्दा असल, सबैभन्दा वैध र सबैभन्दा शुद्ध सम्बन्ध हुन्छ। कतिपयले भन्छन्, “मैले त्यत्रो धेरै वर्ष तपाईंको सेवा गरेको छु। के हामी एकअर्कालाई राम्ररी चिन्दैनौँ र? के म तपाईंको विश्‍वासपात्र र नजिकको साथी होइन र?” होइन। मेरो नजिकको साथी कोही छैन। केहीले भन्छन्, “तपाईंले मलाई जहिले पनि आफूलाई लगाउन मनपर्ने कपडा र मनपर्ने मानिसबारे भन्नुहुन्छ, म पनि तपाईंलाई त्यही कुरा भन्छु। हामीले छलफल नगर्ने कुनै विषय नै छैन, अनि हामी साथी भएनौँ र?” अहँ। म मानिसलाई साथी बनाउँदिनँ। मेरो कोही साथी छैन। यदि तँ सृष्टि गरिएको प्राणी होस् भने, हामीले छलफल गर्नुपर्ने कुरा हुन्छ; हामी अन्तरक्रिया गर्न, र सम्बन्ध स्थापना गर्न, अनि सङ्गत गर्न सक्छौँ। तर के हामी एकअर्कासँग सङ्गत गर्न थालेपछि साथी हुन्छौँ? अहँ। सुष्टि गरिएका प्राणी र सृष्टिकर्ताबीचको सम्बन्ध कहिल्यै परिवर्तन हुँदैन। केही मानिसहरूले मलाई आश्रय र सुरक्षा दिएका छन्, र त्यसको लागि तिनीहरू आफूलाई असल गुणवाला र मेरो उद्धारकर्ता भएझैँ ठान्छन्। त्यो त भन्ने तरिकै होइन; सबै कुरा परमेश्‍वरद्वारा योजनाबद्ध गरिएको हुन्छ। यदि तिनीहरूले “के तपाईं जुन थालमा खानुहुन्छ त्यही थालमा चुठिरहनुभएको छैन?” भनेर सोधे भने, त्यो भनाइलाई कसरी व्याख्या गरिनुपर्छ? यदि कसैले केही चीज प्रस्ट देख्न सक्दैन भने, उसले त्यसमा मनोमानी ढङ्गले नियम लागू गर्नु हुँदैन। त्यसो गर्नाले सजिलै आलोचनातर्फ डोर्‍याउँछ। यदि तँलाई आफू सृष्टि गरिएको प्राणी हुँ भन्ने थाहा छ भने, तैँले यो कुरालाई कुन अर्थमा लिनुपर्छ? यदि तैँले यो सम्बन्ध प्रयोग गरेर मलाई जबरजस्ती गर्छस् वा मेरो नजिक हुन वा मलाई मख्‍ख पार्न खोज्छस् भने, म तँलाई भन्छु, तँ गलत छस्। त्यसो गर्ने प्रयास नगर्, यदि तँ मलाई मख्‍ख पार्न खोज्छस् भने म तँबाट दिक्क हुनेछु। केही मानिसहरूले सोध्छन्, “के तपाईंले त्यस्तो कुरा सहनुहुन्थेन र?” अहँ। मानिसले मलाई मख्‍क पार्न खोज्नु गलत हो—यसले सामान्य सम्बन्ध बन्दैन। केही मानिसले यसो भन्‍न सक्छन्, “म जवान, सुन्दर, र स्पष्टवक्ता छु। के परमेश्‍वरले मजस्ता मानिसहरू रुचाउनुहुन्न र?” तैँले यस्तो बोल्नै हुँदैन। यदि तँसित यस्ता सोचहरू छन् भने, तैँले परमेश्‍वरका वचनहरूमा जवाफ खोज्न सक्छस्। मलाई कहिल्यै यसरी दिगदिग नपार्। यति भनेपछि त बुझिस् होला नि? योभन्दा बढी प्रष्ट पार्नै सकिँदैन। अनि, तैँले यसलाई कुन रूपमा ग्रहण गर्नुपर्छ? (मान्छे र परमेश्‍वरबीचको सम्बन्ध भनेको सृष्टि गरिएको प्राणी र सृष्टिकर्ताबीचको सम्बन्ध मात्र हो।) त्यो ठिक हो। मान्छेले आफ्नो स्थान सही पार्नुपर्छ। कुनै परिस्थितिमा पनि, तेरो योग्यताको धाक देखाउने, वरिष्ठतामा भर पर्ने वा ससाना चालबाझी गर्ने नगर्, र तेरो पहिचान वा परमेश्‍वरसित तेरो सम्बन्ध परिवर्तन गर्ने निहुमा जीवन जिउने कुनै पनि दर्शन प्रयोग नगर्। जस्तोसुकै परिस्थितिमा पनि त्यस्तो कोसिस नगर्; त्यसरी त तैँले अस्वीकृत हुने जोखिम मोलिरहेको हुनेछस्। यस्तो अर्थहीन संघर्ष गर्नतिर नलाग्। त्यो व्यर्थ छ! जहिले पनि मानिसहरू किन पुरानै अवस्थामा फर्कन्छन्? आजको कुराकानीपछि, तिमीहरूमध्ये अधिकांशले यो गल्ती गर्नेछैनौ, होइन र? (हो।) त्यसले मेरो चिन्ता हटाउँछ। मलाई यी कुराहरू सोचेर बस्ने इच्छा छैन—त्यसले पीडा दिन्छ! समझ भएका व्यक्तिले यी कुराहरू सजिलै बुझ्छन्। परमेश्‍वरका कैयौँ वचनहरूमा यी कुराहरू उल्लेखित छन, र साँच्चिकै स्विकार्न चाहनेहरूको लागि ती बुझ्न कठिन छैनन्। परमेश्‍वरलाई वर्षौँसम्म पछ्याएका र केही सत्यता बुझेकाहरूलाई यी कुराहरू बुझ्न समस्या हुनेछैन, किनभने मानिसहरूले परमेश्‍वरबाट धेरै कुरा सिकेका छन् र तिनीहरूलाई उहाँको कामबारे पूर्ण रूपमा थाहा छ।

२३ जनवरी, २०१९

अघिल्लो: सुसमाचार सुनाउनु सबै विश्‍वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो

अर्को: आफ्‍नो कर्तव्य राम्रोसँग पूरा गर्नका लागि, सत्यता बुझ्‍नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्