सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ

सत्यताको पछि लागेर मात्र व्यक्तिले स्वभावमा परिवर्तन हासिल गर्न सक्छ: यो मानिसहरूले जान्नु पर्ने र पूर्ण रूपमा बुझ्नु पर्ने कुरा हो। यदि तँसँग सत्यताको पर्याप्त ज्ञान छैन भने, तँ सजिलै चिप्लन र गलत बाटोमा लाग्न सक्छस्। यदि तँ जीवनमा वृद्धि हुन चाहन्छस् भने, तैंले सबै कुरामा सत्यता खोज्नुपर्छ। तैंले जे गरिरहेको भए पनि, तैँले सत्यता अनुरूप हुनका लागि ठीकसँगले व्यवहार गर्ने कोसिस गर्नुपर्छ, र तँभित्र त्यसलाई उल्लङ्घन गर्ने कुन दागहरू छन् त्यो पत्ता लगाउनु पर्छ; तँसँग यी कुराहरूको स्पष्ट बुझाइ हुनुपर्दछ। तैंले जे गरिरहेको भए पनि त्यो सत्यतासँग मेल खान्छ कि खाँदैन र त्यसको मूल्य र अर्थ छ कि छैन भनेर तैंले विचार गर्नुपर्छ। सत्यतासँग मेल खाने कुराहरू तँ गर्न सक्छस्, तर सत्यतासँग मेल नखाने कुराहरू तैँले गर्नुहुँदैन। तैँले गर्न सक्‍ने वा गर्न नसक्‍ने कुराहरूको विषयमा, यदि तैँले त्यसलाई त्याग्‍न सक्छस् भने, तैँले तिनलाई त्याग्‍नुपर्छ। अन्यथा, यदि तैँले केही समयसम्म ती कुराहरू गर्छस् र पछि तैंले ती छाडिदिनुपर्छ भन्‍ने थाहा पाइस् भने, चाँडो निर्णय गर, र तिनलाई तुरुन्तै छोडिदे। तैंले गर्ने सबै कुरामा तैँले यही सिद्धान्त पालना गर्नुपर्छ। कतिपय मानिसहरूले यो प्रश्‍न उठाउँछन्: सत्यताको खोजी गर्नु र त्यसको अभ्यास गर्नु किन नदीको उल्टो धारमा डुङ्गा ख्याउने, र यदि ख्याउन छोडियो भने त्यो पछिल्तिर बगेर जानेजस्तै धेरै गाह्रो छ? तर खराब र अर्थहीन कुरा गर्नु वास्तवमा किन नदीको सिधा धारमा डुङ्गालाई ख्याउनु जस्तो सजिलो हुन्छ? त्यस्तो किन हुन्छ? किनकि मानवजातिको प्रकृति नै परमेश्‍वरलाई धोका दिने हुन्छ। शैतानको प्रकृतिले मानिसभित्र प्रमुख भूमिका खेलेको छ, र यो एक प्रतिरोधी शक्ति हो। निस्सन्देह, परमेश्‍वरलाई धोका दिने प्रकृति भएका मानिसहरूले उहाँलाई धोका दिने कार्यहरू गर्ने सम्‍भावना हुन्छ, र उनीहरूले सकारात्मक कार्यहरू गर्न स्वाभाविक रूपमा गाह्रो हुन्छ। यो पूर्ण रूपमा मानवजातिको प्रकृति सारद्वारा निर्धारित हुन्छ। तैंले साँच्चै सत्यतालाई बुझेपछि र त्यसलाई आफैभित्रबाट प्रेम गर्न थालेपछि, तँलाई सत्यतासित मिल्दोजुल्दो काम गर्न सहज लाग्‍नेछ। तैँले सामान्य तवरमै आफ्‍नो कर्तव्य निभाउनेछस् र सत्यता अभ्यास गर्नेछस्—कुनै कठिनाइविना र आनन्दको साथसमेत पूरा गर्नेछस्, र तँलाई कुनै पनि नकारात्मक कुरा गर्नको लागि धेरै मेहनत लगाउनुपर्छ भन्‍ने अनुभव हुनेछ। तेरो हृदयमा सत्यताले प्रमुख भूमिका खेल्‍ने हुनाले यस्तो हुन्छ। यदि तैंले वास्तवमै मानव जीवनसम्बन्धी सत्यता बुझ्छस् भने, तँसित कस्तो किसिमको व्यक्ति बन्‍ने, कसरी छलकपटरहित र सिधा, इमानदार, अनि परमेश्‍वरको सेवा गर्ने र उहाँको साक्षी दिने व्यक्ति बन्‍ने भन्‍नेबारे पछ्याउने बाटो हुनेछ। अनि तैँले यी सत्यताहरू बुझेपछि, तैँले उहाँलाई चुनौती दिने दुष्कर्महरू कहिल्यै पनि गर्न सक्‍नेछैनस्, न त तैँले झूटो अगुवा, झूटो सेवक, वा ख्रीष्टविरोधीको भूमिका नै कहिल्यै निर्वाह गर्नेछस्। शैतानले तँलाई बहकायो भने पनि वा कसैले तेरो खराबी गऱ्यो भने पनि, तैंले त्यो गर्नेछैनस्; जोसुकैले तँलाई करकापमा पार्ने कोसिस गरे पनि, तैँले अझै पनि त्यस तरिकाले काम गर्नेछैनस्। यदि मानिसहरूले सत्यता प्राप्त गर्छन् र सत्यता उनीहरूको जीवन बन्छ भने, उनीहरू दुष्टलाई घृणा गर्न र नकारात्मक कुराहरूलाई भित्री रूपमा घृणा गर्न सक्षम बन्‍नेछन्। उनीहरूले दुष्ट काम गर्नु कठिन हुनेछ, किनकि उनीहरूको जीवनको स्वभाव परिवर्तन भएको हुन्छ र उनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिएका हुन्छन्।

यदि तैँले आफ्नो हृदयमा साँच्‍चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन जान्‍नेछस् अनि तँ सत्यताको पछि लाग्‍ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्‍वरका अभिप्रायअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्‍नेछैन—यस अवस्थामा तैँले परमेश्‍वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना, दुष्टता गर्न सजिलो हुन्छ, र तैँले आफ्‍नो अभिप्रायविना नै त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र घमन्डी स्वभाव छ भने, परमेश्‍वरको प्रतिरोध नगर् भन्दा त्यसले कुनै फरक पार्दैन, तैँले आफूलाई रोक्‍न सक्दैनस्, यो तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। तैँले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराहरूले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने बनाउँछ; ती कुराहरूले तँलाई अरूको तिरस्कार गर्न लगाउँछ, तेरो हृदयमा अरू कसैलाई नराखी तँ आफैलाई राखिदिन्छ; तिनले तेरो हृदयमा रहेको परमेश्‍वरको स्थान खोस्छन् र अन्त्यमा तँलाई परमेश्‍वरको स्थानमा बस्‍न लगाउँछन् र मानिसहरू तँप्रति समर्पित होऊन् भन्ने माग गर्छन्, र तँलाई आफ्नै सोच, विचार र धारणाहरूलाई सत्यताको रूपमा आदर गर्न लगाउँछन्। आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्! दुष्कर्म गर्ने समस्या समाधान गर्न, उनीहरूले पहिले आफ्नो प्रकृतिको समस्या समाधान गर्नुपर्छ। स्वभावमा परिवर्तन नगरी यो समस्याको खास समाधान ल्याउन सम्भव हुँदैन। जब तँसित परमेश्‍वरको बारेमा केही बुझाइ हुन्छ, जब तैँले आफ्नै भ्रष्टतालाई देख्न सक्छस् र अहङ्कार र घमन्डको घृणास्पदता र कुरूपतालाई बुझ्छस्, तब तैँले घृणित, बिरामी, र दुःखी महसुस गर्नेछस्। तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न केही कुराहरू होसियारी साथ गर्न सक्नेछस्, अनि यसो गर्दा, सहज महसुस गर्नेछस्। तैँले सचेत भई परमेश्‍वरका वचनहरू पढ्नेछस्, परमेश्‍वको बढाइ गर्नेछस्, परमेश्‍वरका लागि साक्षी दिनेछस्, र हृदयमा आनन्दित महसुस गर्नेछस्। तैंले जानी-जानी आफ्नो साँचो रूप देखाउनेछस्, तेरो कुरूपता प्रकट गर्नेछस्, अनि यसो गरेर, तैंले आफूभित्र खुशी महसुस गर्नेछस् र तैँले तेरो मनको अवस्थामा सुधार भएको महसुस गर्नेछस्। तेरो स्वभावमा परिवर्तन ल्याउन खोज्ने पहिलो चरण भनेको परमेश्‍वरका वचनहरू बुझ्नु र सत्यमा प्रवेश गर्नु हो। सत्यतालाई बुझेर मात्र तैंले भेद-शक्ति प्राप्त गर्न सक्छस्; समझद्वारा मात्र तँ स्थितिहरूलाई पूर्ण रूपमा बुझ्न सक्छस्; सम्पूर्ण रूपमा कुरा बुझेपछि मात्रै तैँले आफूलाई साँचो रूपमा चिन्‍न सक्छस्; तैँले आफूलाई साँचो रूपमा चिनेपछि मात्रै तैँले दैहिकविरुद्ध विद्रोह गर्न र सत्यता अभ्यास गर्न सक्छस्, र यसरी क्रमिक रूपमा तँ परमेश्‍वरमा समर्पित हुँदै जानेछस्, र परमेश्‍वरमाथिको विश्‍वासमा चरणबद्ध रूपमा तँ सही मार्गमा हुनेछस्। सत्यताको पछि लाग्ने क्रममा मानिसहरूले कति दृढ संकल्‍प गरेका हुन्छन् त्यही कुरासँग यो जोडिएको हुन्छ। यदि कसैले साँच्चै दृढ संकल्‍प गरेको छ भने, छ महिना वा एक वर्षपछि उनीहरू सही मार्गमा हिँड्न थाल्‍नेछन्। तीन वा पाँच वर्षभित्र, उनीहरूले परिणामहरू देख्नेछन्, र उनीहरूले जीवनमा प्रगति गरिरहेका छन् भन्‍ने महसुस गर्नेछन्। यदि मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् तर सत्यता खोजी गर्दैनन्, अनि सत्यता अभ्यास गर्ने कार्यमा कहिल्यै ध्यान दिँदैनन् भने, तिनीहरूले दश-बीस वर्ष विश्‍वास गरेको भए पनि कुनै परिवर्तन अनुभव नगरेका हुन सक्छन्। अनि आखिरमा, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको यही हो भनी सोच्नेछन्; तिनीहरू पहिले बाह्य संसारमा जसरी जिइरहेका थिए यो लगभग त्यस्तै रहेछ, अनि जीवित रहनु अर्थहीन कुरा रहेछ भनी सोच्नेछन्। यसले वास्तवमा सत्यताविना, जीवन रित्तो छ भन्‍ने देखाउँछ। तिनीहरूले केही शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्छन् होला, तर अझै पनि असुविधा र असहज महसुस गर्नेछन्। यदि मानिसहरूमा परमेश्‍वर सम्‍बन्धी केही ज्ञान छ भने, कसरी अर्थपूर्ण जीवन जिउनुपर्छ भन्‍ने जान्दछन्, र परमेश्‍वरलाई सन्तुष्ट पार्न केही कुराहरू गर्न सक्छन् भने, तिनीहरूले वास्तविक जीवन यही हो, र यस तरिकाले जिउँदा मात्रै तिनीहरूको जीवनको अर्थ हुन्छ, र परमेश्‍वरलाई सन्तुष्टि दिन, परमेश्‍वरको ऋण तिर्न र सहजता महसुस गर्न यस्तै प्रकारले जिउनुपर्छ भन्‍ने महसुस गर्नेछन्। यदि तिनीहरूले जानी-जानी परमेश्‍वरलाई सन्तुष्ट पार्न, सत्यतालाई अभ्यास गर्न, आफैविरुद्ध विद्रोह गर्न, आफ्ना विचारहरूलाई त्याग्न र परमेश्‍वर अभिप्रायप्रति समर्पित र विचारशील हुन सक्छन् भने—यदि तिनीहरूले यी सबै कुरा होसियार भएर गर्न सक्छन् भने—सत्यतालाई सही रूपमा अभ्यास गर्नु, र सत्यतालाई साँचो रूपले अभ्यास गर्नु भनेको यही नै हो। यो पहिलेको जस्तो कल्‍पनामा भरोसा गर्नु र प्रावधानहरू पालना गर्नु, अनि यो सत्यताको अभ्यास गर्नु हो भनेर सोच्‍नु जस्तो होइन। वास्तवमा, कल्‍पनाहरूमा भरोसा गर्नु र नियमहरू पालना गर्नु निकै थकाइलाग्दो हुन्छ, सत्यता नबुझ्‍नु र सिद्धान्तहरूमा नरही काम गर्नु पनि त्यतिकै थकाइलाग्दो हुन्छ, र उद्देश्यविना अन्धाधुन्ध रूपमा काम गर्नु त झनै थकाइलाग्दो हुन्छ। जब तैँले सत्यता बुझेको हुन्छस्, तब तँ कुनै मानिस, घटना वा कुराको बन्धनमा पर्दैनस्, र तैँले साँचो रूपमा स्वतन्त्रता र रिहाइ पाएको हुन्छस्। तैँले सिद्धान्तको आधारमा काम गर्नेछस्, र तँ ढुक्‍क र खुशी हुनेछस्, अनि तँलाई यसको लागि धेरै मेहनत गर्नुपर्छ वा यसले धेरै कष्ट ल्याउँछ भन्‍ने लाग्दैन। यदि तेरो स्थिति यस्तो छ भने, तँमा सत्यता र मानवता हुन्छ, र तँ स्वभाव परिवर्तन भएको व्यक्ति हुन्छस्।

जीवन अनुभवको प्रक्रियामा, जेसुकै आइपरे पनि, तैँले सत्यता खोजी गर्न सिक्‍नुपर्छ, र परमेश्‍वरका वचनहरू र सत्यताअनुसार मामलालाई मनन गर्नुपर्छ। जब तँलाई पूर्ण रूपमा परमेश्‍वरका अभिप्रायअनुसार हुने कुराहरू कसरी गर्ने भन्‍ने थाहा हुन्छ, तैँले आफ्‍नो इच्‍छाबाट आएका कुराहरूलाई त्याग्‍न सक्‍नेछस्। तँलाई परमेश्‍वरका अभिप्रायअनुसार कसरी काम गर्ने भन्‍ने थाहा भएपछि, तैँले स्वाभाविक बहाबमा बगेसरी बस त्यसरी नै व्यवहार गर्नुपर्छ; यसरी काम गर्दा निकै ढुक्‍क र सहज महसुस हुन्छ। सत्यता बुझेका मानिसहरूले कामकुरा यसरी नै गर्ने गर्छन्। यदि तैँले आफ्‍नो कर्तव्य निभाउँदा, आफू साँच्‍चै नै प्रभावकारी छु, र आफ्नो काम गर्ने शैलीमा सिद्धान्तहरू छन्, आफ्नो जीवन स्वभाव साँच्‍चै नै परिवर्तन भएको छ, आफूले परमेश्‍वरका चुनिएका जनहरूका निम्ति धेरै असल कुराहरू गरेको छु भनेर मानिसहरूलाई देखाउन सक्छस् भने, तँ सत्यता बुझ्‍ने मानिस् होस्, र तँमा अवश्य नै मानव रूप छ; र तैँले परमेश्‍वरको वचन खाँदा-पिउँदा त्यसमा पक्कै प्रभाव हुन्छ। कसैले साँचो रूपमा सत्यता बुझेपछि, उसले आफ्‍ना विभिन्‍न स्थितिहरू पत्ता लगाउन सक्छ, उसले जटिल मामलाहरूलाई स्पष्ट रूपमा देख्‍न सक्छ, त्यसकारण कसरी उचित रूपमा अभ्यास गर्ने त्यो उसलाई थाहा हुन्छ। यदि व्यक्तिले सत्यता बुझेको छैन र आफ्‍नै स्थिति पत्ता लगाउन सक्दैन भने, उसले आफूविरुद्ध विद्रोह गर्न चाहँदा पनि उसलाई केविरुद्ध वा कसरी विद्रोह गर्ने भन्‍ने थाहा हुँदैन। यदि तिनीहरूले आफ्‍नै इच्‍छा त्याग्‍न चाहन्छन् भने, तिनीहरूलाई आफ्नो इच्‍छामा के गलत छ भन्‍ने थाहा हुँदैन, तिनीहरूले आफ्नो इच्‍छा सत्यताअनुरूप नै छ भन्‍ने सोच्छन्, र तिनीहरूले आफ्नो इच्‍छालाई पवित्र आत्‍माको अन्तर्दृष्टिको रूपमासमेत लिन सक्छन्। त्यस्तो व्यक्तिले आफ्‍नो इच्छा कसरी त्याग्‍छ र? तिनीहरूले त्याग्न सक्‍नेछैनन्, देहविरुद्ध विद्रोह गर्न सक्‍नु त परको कुरा हो। त्यसकारण, जब तैँले सत्यता बुझ्दैनस्, तब तैँले तेरो इच्‍छाबाट आउने गलत कुरा, मानव धारणा, र आफ्नै दया, प्रेम, कष्ट, र मूल्य चुकाइसँग मिल्‍ने कुरालाई सहजै सही र सत्यताअनुरूपका कुराहरू मान्‍न सक्छस्। अनि कसरी तैँले यी मानवीय कुराहरूविरुद्ध विद्रोह गर्न सक्छस् र? तैँले सत्यता बुझ्दैनस्, र सत्यता अभ्यास गर्नु भनेको के हो तँलाई थाहा हुँदैन। तँ पूर्ण रूपमा अन्धकारमा हुन्छस् र के गर्ने भन्‍ने नै तँलाई थाहा हुन सक्दैन, त्यसकारण तैँले आफूलाई असल लाग्‍ने काम मात्र गर्न सक्छस्, अनि परिणामस्वरूप, तेरा कतिपय कार्यमा विकृति हुन्छ। यीमध्ये कति त प्रावधानहरू पालना गरेको कारण आउँछन्, कति जोसले गर्दा, र कति शैतानको अवरोधले गर्दा आउँछन्। सत्यता नबुझ्‍ने मानिसहरू यस्तै हुन्छन्। कामकुरा गर्दा तिनीहरू अत्यन्तै विसङ्गत व्यवहार गर्छन्, र कुनै काम कहिल्यै ठीक तरिकाले गर्दैनन् सधैँ बाटो बिराएर गर्छन्। सत्यता नबुझ्‍ने मानिसहरूको हेर्ने दृष्टि कोण गैरविश्‍वासीहरूको जस्तै हास्यास्पद हुन्छ। तिनीहरूले कसरी सत्यता अभ्यास गर्न सक्छन् र? तिनीहरूले कसरी समस्याहरू समाधान गर्न सक्छन् र? सत्यता बुझ्‍नु त्यति सरल कुरा होइन। व्यक्तिको क्षमता जति उच्‍च वा कमजोर भए पनि, जीवनभरि अनुभव गरिसकेपछि पनि, उसले बुझ्‍ने सत्यताको मात्रा सीमित हुन्छ, र उसले बुझ्‍ने परमेश्‍वरको वचन पनि सीमित नै हुन्छ। तुलनात्मक रूपमा अलिक बढी अनुभव पाएका मानिसहरू केही सत्यता बुझेका मानिसहरू हुन्, र बढीमा तिनीहरूले परमेश्‍वरको विरोध गर्ने कार्यहरू र स्पष्ट रूपमै दुष्ट लाग्‍ने कुराहरू गर्न छोड्न सक्छन्। तिनीहरूले आफ्‍नै कुनै पनि अभिप्रायहरू नमिसाईकन काम गर्न असम्‍भव हुन्छ। मानिसहरूको सोच सामान्य हुन्छ तर तिनीहरूको विचार सधैँ परमेश्‍वरको वचनसँग मिल्‍दो हुन्छ नै भन्‍ने हुँदैन, त्यसैले तिनीहरूको आफ्‍नै इच्‍छा मिसिएर आउनु अपरिहार्य नै हुन्छ। त्यसैले, आफ्‍नै इच्‍छाबाट आउने सबै कुराहरू र परमेश्‍वरको वचन, सत्यता, र पवित्र आत्‍माको अन्तर्दृष्टिको विरुद्धमा जाने कुराहरूलाई छुट्याउने समझशक्ति हुनु महत्त्वपूर्ण छ। यसको लागि तैँले परमेश्‍वरको वचन बुझ्‍न धेरै मेहनत गर्नुपर्छ; तैँले सत्यता बुझेपछि मात्रै तँलाई यस्तो समझशक्ति प्राप्त हुन्छ, अनि त्यसपछि मात्रै तैँले आफूद्वारा दुष्कर्म नगरिने निश्‍चित गर्न सक्छस्।

आफ्नो स्वभाव बदल्न खोज्ने क्रममा तैँले आफैलाई बुझ्न कार्यमा प्रयत्‍न लगाउनुपर्छ, र तँ आफ्नै प्रकृतिभित्र रहेको शैतानी विष पत्ता लगाउन सक्‍ने गरी एउटा निश्‍चित गहिराइसम्म पुग्‍नुपर्छ। परमेश्‍वरलाई चुनौती दिनु भनेको के हो साथै परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नु भनेको के हो त्यो तैँले थाहा पाउनुपर्छ, र तैँले सबै विषयहरूमा के-कस्ता अभ्यासहरू सत्यताअनुरूप हुन्छन् भनेर जान्‍नुपर्छ। तैँले परमेश्‍वरका अभिप्राय र मानवजातिबाट उहाँले गर्नुभएको मागबारे पनि केही ज्ञान प्राप्त गर्नुपर्छ। परमेश्‍वरको सामु तँमा विवेक र बुद्धि हुनुपर्छ, तैँले घमन्डसाथ बोल्नु हुँदैन वा परमेश्‍वरलाई छल्नु हुँदैन, र तैँले अबदेखि परमेश्‍वरको विरोध गर्न केही पनि गर्नुहुँदैन। त्यसरी, तैँले आफ्नो स्वभाव परिवर्तन गरेको हुनेछस्। स्वभाव रूपान्तरण भएकाहरूले परमेश्‍वरको डर मान्छन्, र परमेश्‍वरको विरुद्ध तिनीहरूको विद्रोह बिस्तारै कम हुँदै जान्छ। यसबाहेक, तिनीहरूका आफ्नो कर्तव्य निर्वाह गर्दा, अरूले तिनीहरूको चिन्ता लिनु आवश्यक पर्दैन, न त पवित्र आत्माले सधैँ उनीहरूमा अनुशासनको काम नै गर्नु आवश्यक हुन्छ। तिनीहरू आधारभूत रूपमा परमेश्‍वरको अधीनमा बस्न सक्छन्, र विभिन्न कुरासम्बन्धी तिनीहरूको दृष्टिकोण सत्यताअनुरूप हुन्छ। यो सबैको परिणाम भनेको परमेश्‍वरसँग मिल्दो हुन सक्‍नु हो। मानौँ, कसैले तँलाई कुनै काम सुम्प्यो। तँलाई तेरो व्यवस्थापन गर्न वा सुपरिवेक्षण गर्न कसैको आवश्यकता पर्दैन। तैँले यो काम परमेश्‍वरको वचन र प्राथनाद्वारा मात्र पूरा गर्न सक्छस्। यो कामको दौरान, तँ लापरवाह वा अहङ्कारी वा स्वधर्मी हुँदैनस्, न त आफ्नै तरिकाले काम गर्छस्; तैँले अरू कसैलाई अवरोध गर्दैनस्, र अरूलाई करूणापूर्वक सहयोग गर्न सक्षम हुन्छस्। तैँले सबैलाई भरणपोषण र लाभ प्राप्त गर्न सहयोग गर्न सक्छस्, र सबैलाई परमेश्‍वरप्रतिको विश्‍वासको सही मार्गमा प्रवेश गर्न मार्गदर्शन गर्न सक्छस्। यसको साथै, तैँले यो कामको दौरान आफ्नै हैसियत वा हित खोज्दैनस्, आफूले नकमाएको केही पनि आफ्नै लागि भनेर लिँदैनस्, आवाजहरू आफ्नै पक्षमा उठाउँदैनस्, र कसैले तँलाई जस्तोसुकै व्यवहार गरे पनि तिनीहरूलाई उचित व्यवहार गर्छस्। तब तँ तुलनात्मक रूपमा राम्रो कद भएको व्यक्ति हुनेछस्। कुनै व्यक्तिले कुनै कामको जिम्मा लिएर परमेश्‍वरका चुनिएका मानिसहरूलाई उहाँको वचनको वास्तविकतामा ल्याउनु सामान्य कुरा होइन। सत्यता वास्तविकताबिना यो काम गर्न सकिँदैन। काम गर्दा ठूला वरदानहरूमा भर पर्नेहरू धेरै छन्, जो लड्छन् र असफल हुन्छन्। सत्यता नभएकाहरू पुरै भरहीन मानिसहरू हुन्, र यदि तिनीहरूले आफ्ना स्वभाव परिवर्तन गरेका छैनन् भने त तिनीहरू झनै भरहीन हुन्छन्। अहिले तेरो कद के छ? तेरो चापलूसी गर्ने व्यक्तिलाई तैँले कसरी व्यवहार गर्नुपर्छ? यदि कसैले तेरो बारे राय राख्छ वा तँलाई आलोचनात्मक रूपले हेर्छ भने, तैँले तिनीहरूलाई कसरी निष्पक्ष र तर्कसङ्गत रूपमा व्यवहार गर्नेछस्? के तँ आफ्ना भावनाहरूमा भर नपरी, पूर्ण रूपमा परमेश्‍वरकै मापदण्डहरूअनुसार मानिसहरूलाई बढुवा र छनौट गर्न सक्षम छस्? के तिमीहरू आफ्नो हालको कदबाट वास्तवमै यी कुराहरू गर्न सक्षम छौ? तैँले एक निश्‍चित स्थानमा धेरै वर्ष काम गरिसकेपछि पनि, यदि अधिकांश मानिसहरूले तेरो बारे राम्रो मुल्याङ्कन गर्दैनन् भने, यसको अर्थ तैँले आफ्ना कर्तव्य पर्याप्त रूपमा गर्दैनस् र तँ परमेश्‍वरद्वारा प्रयोग गरिन योग्य छैनस्। यदि अधिकांश मानिसहरूले तैँले गरेको कुरालाई असल र उचित देख्छन् भने, तँ आधारभूत रूपमै प्रयोग गरिन योग्य छस्। यदि तँसँग सत्यता छैन भने, तँलाई परमेश्‍वरको प्रयोगयोग्य हुने अवस्थामा पुग्न असम्भव छ; तैँले त्यस्तो योग्य हुनको निम्ति सत्यता प्राप्त गर्नुपर्छ।

जीवनको खोजी गर्ने क्रममा, तैँले दुईवटा कुरालाई ध्यान दिनुपर्छ; पहिलो, परमेश्‍वरका वचनहरूभित्रको सत्यतालाई बुझ्‍नु; दोस्रो, परमेश्‍वरका वचनहरूभित्र आफैलाई बुझ्‍नु। यी दुई कुराहरू सबैभन्दा आधारभूत कुराहरू हुन्। परमेश्‍वरको वचनभन्दा बाहिर कुनै जीवन वा सत्यता छैन। यदि तैँले परमेश्‍वरको वचनभित्र सत्यता खोजी गर्दैनस् भने, यसको खोजी गर्न तँ कहाँ जान सक्छस्? संसारमा कहाँ सत्यता छ? के संसारका समाचारपत्र र मिडियाहरूले परमेश्‍वरको वचनबारे रिपोर्ट गर्छन्? के संसारका राजनीतिक दलहरूले परमेश्‍वरको गवाही दिन्छन्? के संसारको कुनै पनि देशमा खुल्लमखुल्ला परमेश्‍वरको वचन फैलाउनु सम्भव कुरा हो? बिल्कुलै होइन। यसै कारणले गर्दा संसारमा कुनै सत्यता छैन र यो संसारमा दियाबलस शैतानले शासन गर्छ र यसै कारण यो संसार अँध्यारो र दुष्ट छ। सत्यताको एक त्यान्द्रो पनि कहाँ छ र? परमेश्‍वरका वचनहरूको सत्यता बुझ्‍नुका सबैभन्दा महत्त्वपूर्ण भागहरू यी हुन्: उहाँका वचनहरूभित्र परमेश्‍वरलाई बुझ्‍नु, उहाँका वचनहरूभित्र मानव जीवनलाई बुझ्‍नु, र उहाँका वचनहरूभित्र आफूलाई साँचो साँचो रूपमा बुझ्नु र मानव अस्तित्वको अर्थको बारेमा पत्ता लगाउनु, र सत्यताका अन्य पक्षहरू बुझ्‍नु। सबै सत्यता परमेश्‍वरका वचनहरूभित्र नै छन्। परमेश्‍वरका वचनहरूबाहेक अन्य कुराहरूमार्फत सत्यतामा प्रवेश गर्न सकिँदैन। परमेश्‍वरका वचनहरू अनुभव र अभ्यास गरेर मात्र तैँले सत्यताको बुझाइ हासिल गर्न सक्छस्, र साँचो रूपमा सत्यता बुझ्नु भनेकै परमेश्‍वरका वचनहरू बुझ्नु हो। सबैभन्दा आधारभूत कुरा यही हो। कतिपय मानिसहरूले काम र प्रचार गर्छन् तर बाहिरी रूपमा तिनीहरू परमेश्‍वरको वचनबारे सङ्गति गरिरहेजस्तो देखिए पनि, तिनीहरूले उहाँका वचनहरूको शाब्दिक अर्थबारे मात्रै छलफल गरिरहेका हुन्छन्, र कुनै पनि महत्त्वपूर्ण कुराहरू बताइरहेका हुँदैनन्। तिनीहरूका प्रवचनहरू भाषासम्‍बन्धी पाठ्यपुस्तकका शिक्षाहरूजस्तै—एकएक कुरा र एकएक पक्ष गरी मिलाइएका मात्र हुन्छन्, अनि जब तिनीहरूले बोलिसक्छन्, सबैले यसो भन्दै प्रशंसा गर्छन्, “यो व्यक्तिसँग वास्तविकता छ। उसले कति राम्ररी र कति विस्तृत रूपमा प्रचार गर्‍यो।” त्यस्ता मानिसहरूले प्रचार गरिसकेपछि, तिनीहरूले अरूलाई ती प्रवचनहरू सङ्कलन गरेर मण्डलीहरूमा पठाउन लगाउँछन्। यसो गरेर, तिनीहरू मानिसलाई बहकाउने व्यक्ति बन्छन्। तिनीहरूले प्रवचनमा परमेश्‍वरका वचनहरू उद्धृत गर्छन् र तिनीहरूको प्रवचन सत्यताअनुरूप भएजस्तो सुनिन्छ, तर तिनीहरूले प्रसङ्गबाहिर उद्धरणहरू उद्धृत गर्छन् र सिद्धान्तहरूविरुद्ध जाने विकृत व्याख्याहरू प्रदान गर्छन्। अझै सावधानीपूर्वक हेर्दा, तिमीहरूले ती कुराहरू शब्द र धर्मसिद्धान्तहरू अनि केही मानव कल्‍पना र धारणाहरूका साथै परमेश्‍वरलाई हदबन्दी गर्ने केही कुराहरूसहितका झूटा तर्कहरू मात्रै हुन् भन्‍ने देख्‍नेछौ। के यसप्रकारको सङ्गति र प्रचार परमेश्‍वरको कार्यमा अवरोध गर्नुसरह होइन र? यो परमेश्‍वरलाई विरोध गर्ने सेवा हो। विवेकसङ्गत व्यक्तिले आफ्नो बोलीको दायरा सीमित पार्नुपर्छ—उसलाई आफूले कस्ता खालका शब्दहरू बोल्नुपर्छ, के-कस्ता शब्दहरू आफ्नो कर्तव्यनिर्वाहसँग सम्बन्धित छन्, र कस्ता खालका शब्दहरू परमेश्‍वरले मात्र बोल्न सक्नुहुन्छ भन्‍ने थाहा हुनुपर्छ। मानिसले परमेश्‍वरको स्थानमा खडा भएर बोल्नु हुँदैन। परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भनेर कसैले पनि बुझ्न सक्दैन, त्यसैले कसैले परमेश्‍वरलाई कसरी परिभाषित गर्न सक्छ? मानिस परमेश्‍वरलाई परिभाषित गर्न योग्य छैन। विवेकहीन काम गर्नबाट बच्नको निम्ति यो कुरा बुझ्नुपर्छ। विवेकसङ्गत व्यक्तिको रूपमा, तैँले आफ्नो स्थान चिन्‍नुपर्छ, सही कुरा बोल्न जान्‍नुपर्छ, र बोल्न नहुने कुनै पनि कुरा बोल्‍नु हुँदैन। यदि परमेश्‍वरले नै तँलाई पहिला केही कुरा भन्नुभएको भए पनि, तैँले अरूसमक्ष त्यही कुरा दोहोर्‍याउनु हुँदैन। यदि तँसँग विश्‍वास छ भने, यदि तैँले परमेश्‍वरको वचन सत्यता हो भनी स्विकार्छस् भने, तैँले त्यो अभ्यास गर्नुपर्छ। त्यसबारे बोलेर मात्र केही फाइदा हुँदैन। के सधैँ अरूले तेरो कुरा सुनून्, र तेरो कुरा पालन गरून् भनी इच्छा गर्नु अहङ्कारी हुनु हुँदैन र? परमेश्‍वरको मामलाबारे भन्नुपर्दा, यदी तैँले ती बुझेको छैनस् भने, तैँले ती बुझ्दै बुझ्दैनस्। ती बुझेजस्तो नाटक नगर्, बढ्ता जान्‍ने-सुन्‍ने नबन् – त्यो अत्यन्तै घृणित कुरा हो! तँ आफैप्रति सबै ध्यानाकर्षण गर्दै, सधैँ परमेश्‍वरको स्थानमा खडा हुन र रवाफ देखाउन चाहन्छ्स्, मानौँ तैँले सबथोक बुझेको छस्। अनि, यो वा त्यो काम गर्दै, तँ परमेश्‍वरको झण्डा पनि फहराउन चाहन्छस्। के सामान्य व्यक्तिको समझ त्यही हो? के त्यो सत्यता अभ्यास गर्नु हो? के तँलाई परमेश्‍वरका विचारहरू थाहा छ? के तँसँग परमेश्‍वरको बुद्धि छ? मानिसहरूले सत्यता बुझेकै हुँदैनन्—झन् तिनीहरूमै सत्यता हुने त कुरै भएन। तिनीहरू परमेश्‍वरको गवाही दिन सक्दैनन्, न त परमेश्‍वरमा समर्पित नै हुन सक्छन्। तैपनि तिनीहरू परमेश्‍वरको झण्डा फहराउँदै बोल्न र काम गर्न चाहन्छन्। हरेकसँग यो महत्वाकाङ्क्षा हुन्छ, र यो सबैभन्दा लाजमर्दो र विवेकहीन कुरा हो।

अहिले, साँचो मार्ग खोजी गर्न संसारभरबाट मानिसहरू आइरहेका छन्, त्यसैले तैँले परमेश्‍वरको गवाही कसरी दिनुपर्छ? यदि तँमा समझ छैन भने, यदि त अहङ्कारी, अभिमानी र लहडबाज छस् अनि जथाभाबी दौडिरहेको छस् भने, के तैँले उहाँको अवज्ञा र निन्दा गरिरहेको छैनस् र? यो कर्तव्य निभाउनु होइन, र परमेश्‍वरको गवाही दिनु त झनै होइन। यो त वास्तवमा आफ्नो शैतानी स्वरूप प्रकट गर्नु हो। साँच्चै विजय गरिएकाहरूले इमानदारीसाथ कसरी बोल्ने र केही वास्तविक गवाही कसरी दिने भनेर सिक्‍नुपर्छ। आफ्ना जीवन अनुभवहरू बाँड्नु अरू कुनै पनि कुराभन्दा राम्रो हो। ठूलाठुला सिद्धान्तहरूको घमण्ड र बखान गरेर—यसको के काम हुन्छ? धेरै वर्ष परमेश्‍वरको काम अनुभव गरिसकेपछि पनि, मानिसहरू अझै शिष्ट बनेका हुँदैनन्। पहिचानको आधारमा मानिसहरू परमेश्‍वरको गवाही दिन लायक हुँदैनन्। विवेकहीन र अहङ्कारी मानिसहरू अझै पनि परमेश्‍वरको गवाही दिन चाहन्छन्—के तैँले परमेश्‍वरलाई लज्जित तुल्याइरहेको र निन्दा गरिरहेको छैनस् र? तँ परमेश्‍वरलाई बुझ्दैनस्। अझ भन्दा, तेरो स्वभावले अझै पनि उहाँको ठाडो अवज्ञा गर्छ। के तेरो गवाहीमा घिनको कण छैन र? त्यसैले मानिस परमेश्‍वरको गवाही दिन योग्य छैन। यदि कसैले तँलाई, “के तँपाई हामीलाई चीनको मूलभूमिमा परमेश्‍वरले गर्नुभएको कामबारे गवाही दिन सक्नुहुन्छ?” भनेर भन्छ र तैँले: “हामीले परमेश्‍वरको धेरै वर्षको काम अनुभव गरेका छौँ, त्यसैले मलाई लाग्छ हामी परमेश्‍वरको गवाही दिन योग्य छौँ,” भनेर भन्छस् भने, के यो समस्या होइन र? फेरी पनि, यो विवेकहीन कुरा हो। मान्छे परमेश्‍वरको गवाही दिन योग्य छैन। तैँले केवल यसो भन्नुपर्छ: “हामी परमेश्‍वरको गवाही दिन योग्य छैनौँ। तैपनि परमेश्‍वरले हामीलाई मुक्ति दिएर अनुग्रह देखाउनुभएको छ। हामीले केही अनुग्रह र परमेश्‍वरको कामको केही अनुभव पाएका छौँ, त्यसैले हामी सङ्गतिमा संलग्न हुन सक्छौँ, तर हामी परमेश्‍वरको गवाही नै दिनेबारे वास्तवमै सोच्न सक्दैनौँ। हामीले आ-आफ्ना अनुभवबारे मात्र बताउन सक्छौँ।” तैँले तँमाथि परमेश्‍वरले कसरी विजय गर्नुभयो, तैँले त्यो बेला कुन- कुन भ्रष्टताहरू प्रकट गरिस्, तँ कति अहङ्कारी थिइस्, तँमाथि विजय गरिइसकेपछि अन्त्यमा कस्तो खालको परिणाम आयो, र तँसँग कस्तो खालको सङ्कल्प थियो भन्नेबारे सङ्गति गर्नुचाहिँ ठिकै हुन्छ। वास्तवमा, परमेश्‍वरको गवाही दिन वास्तविक अनुभवहरूबारे कुराकानी गर्नु उहाँका अभिप्रायसँग सबैभन्दा मेल खाने कुरा हो, र त्यही नै उहाँको मापदण्ड पनि हो। परमेश्‍वरको गवाही दिन पद लिन खोज्नु ठूलो भुल हो—तँ समझरहित र अहङ्कारी दुवै छस्। तैँले यसो भन्नुपर्छ: “म मेरा केही अनुभवहरूबारे बोल्नेछु, तर म परमेश्‍वरको गवाही दिन योग्य छैन। म पहिला केही कुराबारे सङ्गति गर्नेछु। परमेश्‍वर किन चीनमा देहधारी हुनुभयो? तपाईँहरूले यो कुरा सायद राम्ररी बुझ्नुभएको छैन होला, हामीले परमेश्‍वरको कामबाट यो बुझेका छौं। ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको स्थानमा जन्मेका हामी चिनियाँ मानिस, फोहोर ठाउँमा हुर्कियौँ। हामी शैतानद्वारा सबैभन्दा गहन रूपमा भ्रष्ट तुल्याइएका छौँ, हामी अरू हरकोहीभन्दा बढी झूट बोल्छौँ, हाम्रो मानवता सबैभन्दा कम छ, हाम्रो निष्ठा सबैभन्दा तल्लो स्तरको छ, र हामीमा मानवताको झल्कोसमेत छैन। अन्य सबै राष्ट्र र क्षेत्रहरूका परमेश्‍वरका चुनिएका मानिसहरूको तुलनामा, हामी सबैभन्दा तुच्छ, सबैभन्दा फोहोर र सबैभन्दा भ्रष्ट तुल्याइएका मानिसहरू हौँ। त्यसैले हामी परमेश्‍वरको गवाही दिन अयोग्य छौँ, तैपनि हामीलाई परमेश्‍वरको महान् मुक्तिसमक्ष ल्याइएको छ र हामीले परमेश्‍वरको महान् प्रेम प्राप्त गरेका छौँ, त्यसैले हामीले आफ्ना व्यक्तिगत अनुभवात्मक गवाहीहरूबारे बोल्‍नुपर्छ। हामी परमेश्‍वरको अनुग्रहलाई दबाउन सक्दैनौँ।” यस्तो केही भन्नु बढी तर्कसङ्गत हुन्छ। परमेश्‍वरले मानवमाथि विजय पाइसक्‍नुभएपछि, मानिसहरूले अहङ्कारी रूपमा नबोल्ने सुनिश्‍चित गर्न कम्तीमा पनि समझ धारण गरेको हुनुपर्छ। तिनीहरूले “भूँइमा भएको गोबर” जस्तै सानो स्थान लिनु, र केही साँचो कुराहरू बोल्‍नु बेस हुन्छ। विशेष गरी परमेश्‍वरको लागि गवाही दिने क्रममा, यदि तैँले कुनै खोक्रो वा ठूलो गफ र काल्‍पनिक, मनगढन्ते कुरा नगरी, हृदयबाट नै कुनै ठोस कुरा भन्‍न सक्छस् भने, तेरो स्वभाव साँच्‍चै परिवर्तन भइसकेको हुनेछ; परमेश्‍वरद्वारा जितिएपछि तँमा हुनुपर्ने परिवर्तन यही हो। यदि तँसँग यति मात्रामा पनि तर्कशक्ति हुँदैन भने, तँ साँच्‍चै नै मानव स्वरूपविहीन हुन्छस्। भविष्यमा, जब सारा राष्ट्र र क्षेत्रहरूका परमेश्‍वरका चुनिएका मानिसहरू परमेश्‍वरसामु फर्किआएका हुनेछन्, र जब परमेश्‍वरका वचनहरूले तिनीहरूमाथि विजय पाइसकेका हुनेछन्, तब परमेश्‍वरको प्रशंसाको ठूलो भेलामा, यदि तैँले फेरि पनि अहङ्कारी व्यवहार गर्न सुरु गर्छस् भने, र निरन्तर रवाफ देखाउँदै आफ्नो प्रदर्शन गर्छस् भने, तँलाई पूर्ण रूपमा रद्दी बनाएर हटाइनेछ। मानिसहरूले सधैँ उचित व्यवहार गर्नुपर्छ, आफ्‍नो पहिचान र हैसियत चिन्नुपर्छ, र आफ्‍ना पुराना मार्गहरूमा फर्किनु हुँदैन। शैतानको स्वरूप मुख्य रूपमा मानव अहङ्कार र घमन्डमा प्रकट हुन्छ। तैँले आफ्‍नो यो पक्षलाई परिवर्तन नगरेसम्‍म, तँ कहिल्यै पनि मानव स्वरूपको हुनेछैनस्, र तँमा सधैँ शैतानको मुहार हुनेछ। अहङ्कार र अभिमान समाधान गर्नु भनेको सबैभन्दा गाह्रो काम हो, र आफ्नो अहङ्कार र अभिमानबारे अलिअलि ज्ञान हुनु मात्रले पूर्ण रूपान्तरण हासिल गर्न मदत पुर्‍याउँदैन; तैँले अझै पनि विभिन्‍न शोधनहरू भएर जानुपर्ने हुन्छ। न्याय, सजाय र काटछाँट नगरिँदा, दीर्घकालीन रूपमा, तँ अझै पनि खतरामै हुनेछस्। भविष्यमा, जब संसारभरिका परमेश्‍वरका चुनिएका मानिसहरूले उहाँको आखिरी दिनहरूको काम स्वीकार गर्छन् र भन्छन्: “परमेश्‍वरले चीनमा विजेताहरूको समूह प्राप्त गर्नुभएको छ भन्‍नेबारेमा हामीले धेरै पहिले नै अन्तर्दृष्टि पाएका थियौँ,” अनि जब तैँले यो सुन्छस्, तैँले सोच्‍नेछस्: “हामीसँग घमण्ड गर्ने केही पनि छैन, सबै परमेश्‍वरको अनुग्रहद्वारा दिइएको हो। हामी विजेताहरू भनेर बोलाइन योग्यका छैनौं।” तर समय बित्दै जाँदा, तँ केही भन्‍न सक्‍ने बन्दै गएपछि, र तँमा अलिअलि सत्यता हुन थालेपछि, तैँले यस्तो विचार गर्नेछस्: “विदेशीहरूले समेत पवित्र आत्माबाट अन्तर्दृष्टि प्राप्त गरेका छन्, र तिनीहरूले परमेश्‍वरले चीनमा विजेताहरूको समूह निर्माण गर्नुभएको छ भनेर भन्दै छन्, त्यसकारण हामीलाई विजेताहरू मानिनुपर्छ!” तैँले अब यो कुरालाई हृदयमा मौन रूपमा स्वीकार गर्नेछस्, र पछि त बस तैँले यो कुरालाई सार्वजनिक रूपमै स्वीकार गरिदिनेछस्। मानिसहरूले प्रशंसा पाउँदा र हैसियतको जाँचमा पर्दा सहन सक्दैनन्। यदि तँलाई सधैँ प्रशंसा गरियो भने, तँ खतरामा पर्नेछस्। स्वभाव परिवर्तन नभएकाहरू अन्त्यमा दह्रिलो गरी खडा हुन सक्दैनन्।

भ्रष्ट मानवजातिको निम्ति समाधान गर्न सबैभन्दा कठिन भनेको उही पुरानै गल्तीहरू दोहोर्‍याउने समस्या हो। यसलाई रोक्‍नको लागि, मानिसहरू सुरुमै के कुरामा सचेत हुनुपर्छ भने तिनीहरूले सत्यता प्राप्त गर्न बाँकी नै छ, तिनीहरूको जीवन स्वभावमा कुनै परिवर्तन आएको छैन, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरू अझै पनि शैतानको सत्ताअन्तर्गत जिउँछन्, र तिनीहरूले मुक्ति पाएका छैनन्; तिनीहरूले कुनै पनि समय परमेश्‍वरलाई धोका दिने र उहाँबाट टाढा हुने सम्‍भावना हुन्छ। यदि तिनीहरूमा यो सङ्कष्टको बोध छ भने—पछि आउने खतराको लागि बेला छँदै तयार हुनुपर्छ भनेझैँ तिनीहरू तयार भई बसेका छन् भने—तिनीहरूले जसरी भए पनि आफूलाई काबुमा राख्‍न सक्‍नेछन्, र जब तिनीहरूमाथि केही कुरा आइपर्छ, तब तिनीहरूले परमेश्‍वरसँग प्रार्थना गर्नेछन् र उहाँमै भरोसा गर्नेछन्, अनि उही पुरानै गल्तीहरू दोहोर्‍याउनबाट बच्‍नेछन्। तिमीहरू के कुरामा स्पष्ट हुनुपर्छ भने, तिमीहरूको स्वभाव परिवर्तन भएको छैन, परमेश्‍वरलाई धोका दिने प्रकृतिले तिमीहरूभित्र गहिरो जरा गाडेको छ, र यसलाई निकालेर फालिएको छैन, तिमीहरू अझै पनि परमेश्‍वरलाई धोका दिने खतरामा छौ, र तिमीहरूले निरन्तर अनन्त विनाशमा पर्ने सम्‍भावना सामना गर्दै छौ। यो वास्तविक कुरा हो, त्यसैले तिमीहरू होसियार रहनैपर्छ। ध्यान दिनुपर्ने सबैभन्दा मुख्य बुँदाहरू तीन वटा छन्: पहिलो, तिमीहरूले अझै पनि परमेश्‍वरलाई चिनेका छैनौ; दोस्रो, तिमीहरूको स्वभावमा कुनै परिवर्तन आएको छैन; र तेस्रो, तिमीहरू मानिसको साँचो रूपमा जिउन अझै बाँकी छ। यी तीन वटा कुराहरू तथ्यअनुरूप छन्, ती वास्तविक हुन्, र तिमीहरू यी कुराको बारेमा स्पष्ट हुनैपर्छ। तिमीहरूमा आत्मचेतना हुनैपर्छ। यदि तिमीहरूमा यो समस्या समाधान गर्ने इच्‍छा छ भने, तिमीहरूले आफ्‍नै आदर्श वाक्य छनौट गर्नुपर्छ: उदाहरणको लागि, “म भुइँको गोबर हुँ,” वा “म दियाबलस हुँ,” वा “म सधैँ मेरा पुराना मार्गहरूमा फर्कन्छु,” वा “म सधैँ खतरामा हुन्छु।” यीमध्ये कुनै पनि वाक्यले तिमीहरूको व्यक्तिगत आदर्श वाक्यको रूपमा काम गर्न सक्छ, र तिमीहरूले यो कुरा सधैँ सम्‍झिरह्यौ भने उपयोगी हुनेछ। यसलाई मनमनै दोहोर्‍याओ, यसलाई मनन गर, अनि तिमीहरूले कम मात्र गल्ती गर्न वा गल्ती गर्नै छोड्न सक्छौ, वा कम गल्ती गर्न सक्छौ। तथापि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरका वचनहरू पढ्न बढी समय दिनु, सत्यता बुझ्‍नु, आफ्‍नै प्रकृतिलाई चिन्‍नु र आफ्‍नै भ्रष्ट स्वभाव फाल्नु हो। त्यसपछि मात्रै तिमीहरू सुरक्षित हुनेछौ। अर्को कुराचाहिँ “परमेश्‍वरको साक्षी” को स्थान कहिल्यै पनि नलिनु र आफूलाई परमेश्‍वरको साक्षी कहिल्यै पनि नभन्नु हो। तिमीहरूले व्यक्तिगत अनुभवबारे मात्र बोल्न सक्छौ। परमेश्‍वरले तिमीहरूलाई कसरी मुक्ति दिनुभयो भन्‍नेबारे बोल्दा हुन्छ, परमेश्‍वरले तिमीहरूलाई कसरी विजय गर्नुभयो भन्‍नेबारे सङ्गति गर्दा हुन्छ, र उहाँले तिमीहरूलाई के अनुग्रह प्रदान गर्नुभयो भन्नेबारे कुरा गर्दा पनि हुन्छ। यो कहिल्यै नबिर्स कि तिमीहरू सबैभन्दा गहन रूपमा भ्रष्ट तुल्याइएका मानिसहरू हौ; तिमीहरू गोबर र फोहोर हौ। तिमीहरू परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकार्न सक्षम हुनु भनेको परमेश्‍वरले तिमीहरूलाई उत्थान गर्नुभएकोले गर्दा हो। तिमीहरू सबैभन्दा भ्रष्ट र फोहोरी भएकोले मात्र देहधारी परमेश्‍वरले तिमीहरूलाई मुक्ति र यस्तो अपार अनुग्रह प्रदान गर्नुभएको हो। त्यसकारण तिमीहरूसँग आफ्नै बिगुल फुक्न लायक केही पनि छैन, र तिमीहरूले परमेश्‍वरलाई प्रशंसा गर्न र धन्यवाद दिन मात्र सक्छौ। तिमीहरूको मुक्ति विशुद्ध रूपमा परमेश्‍वरको अनुग्रहको कारण भएको हो। किन तिमीहरूलाई सबैभन्दा सौभाग्यशाली मानिसहरू भनिएको हो? तिमीहरूसँग केही फाइदाका कुराहरू वा असल गुण भएकोले तिमीहरूलाई सौभाग्यशाली भनिएको होइन—तिमीहरू चीनमा जन्मेकाले र तिमीहरूलाई शैतानद्वारा सबैभन्दा भ्रष्ट र अपवित्र तुल्याइएको हुनाले मात्र त्यसो भनिएको हो। परमेश्‍वरले सबैभन्दा पहिला ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको भूमिमा रहेका सबैभन्दा फोहोरी र भ्रष्ट तुल्याइएका मानिसहरूलाई मुक्ति दिँदै, र सबैभन्दा पहिला प्रतिरूप र नमुनाहरूको एउटा जत्था तयार गर्दै, आफ्नो व्यवस्थापन योजना पछ्याउनुभएको हो। त्यही कारणले गर्दा उहाँले तिमीहरू सबैलाई चुन्नुभयो; तिमीहरू परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएका र चुन्नुभएका मानिसहरू हौ। यदि परमेश्‍वरसित यो योजना नभएको भए, तिमीहरू अनन्तमा भासिइरहेका हुने थियौ। यसर्थ, तिमीहरूलाई मानिसहरूमध्येका सबैभन्दा सौभाग्यशालीहरू भनेर भन्न सकिन्छ। तर तिमीहरूसँग गर्व गर्नुपर्ने केही पनि छैन, र तिमीहरूले घमण्ड गर्नु नै हुँदैन।

परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनुभव गरेपछि तँलाई नयाँ कुराहरू र वास्तविक अनुभव प्राप्त हुन्छ—त्यसकारण तैँले परमेश्‍वरको गवाही दिनुपर्छ। परमेश्‍वरको बारेमा गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्‍वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, र मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले कस्ता-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्नेबारेमा नै कुरा गर्नुपर्छ। तिमीहरूले तिमीहरूका अनुभवमा कति धेरै भ्रष्टता प्रकट गरिएको छ, तिमीहरूले कति धेरै कष्ट सहेका छौ, परमेश्‍वरको प्रतिरोध गर्न तिमीहरूले कति धेरै कुराहरू गरेका छौ र अन्त्यमा तिमीहरू परमेश्‍वरद्वारा कसरी जितियौ भन्ने कुराहरू पनि गर्नुपर्छ। तिमीहरूसँग परमेश्‍वरको कामको कतिसम्म वास्तविक ज्ञान छ, र तिमीहरूले कसरी परमेश्‍वरका लागि साक्षी दिनुपर्दछ र उहाँको प्रेमको ऋण चुकाउनुपर्छ भन्ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यस प्रकारको भाषामा ठोसता प्रदान गर्नुपर्छ, साथै यसलाई सरल तरिकाले प्रस्तुत गर्नुपर्छ। खोक्रा सिद्धान्तहरूको बारेमा कुरा नगर। धेरै व्यावहारिक भएर बोल; हृदयबाट बोल। तिमीहरूले विभिन्‍न कुराहरूको अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउन आफैलाई गम्भीर देखिने, खोक्रा सिद्धान्तहरूले सुसज्जित नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र मूर्ख देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूको बारेमा बताउनुपर्छ, र अझ बढी हृदयबाट बोल्नुपर्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूका लागि निकै उपयुक्त देखिन्छ। तिमीहरू विगतमा परमेश्‍वरलाई सबैभन्दा धेरै विरोध गर्ने र उहाँप्रति समर्पित हुन सबैभन्दा कम झुकाव राख्‍ने मानिसहरू थियौ, तर अब तिमीहरू जितिएका छौ—त्यो कुरा कहिल्यै नबिर्स। तिमीहरूले यी विषयहरूमा धेरै चिन्तन र मनन गर्नुपर्छ। जब मानिसहरूले ती कुराहरू स्पष्ट बुझ्छन्, तब तिनीहरूलाई गवाही कसरी दिनुपर्छ भन्‍ने थाहा हुनेछ, अन्यथा, तिनीहरूले लाजमर्दो र मूर्ख कामहरू गर्न सक्‍नेछन्, जुन परमेश्‍वरको लागि गवाही दिनु होइन, बरु परमेश्‍वरमाथि लज्‍जा ल्याउनु हो। सच्‍चा अनुभवहरू र सत्यताको बुझाइविना, परमेश्‍वरको लागि गवाही दिनु सम्‍भव हुँदैन। परमेश्‍वरमाथिको भ्रमित र अन्योलपूर्ण विश्‍वास भएका मानिसहरूले परमेश्‍वरको लागि कहिल्यै गवाही दिन सक्दैनन्।

वसन्त, 1999

अघिल्लो: मानिसको प्रकृति कसरी चिन्ने

अर्को: परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सही मार्ग चुन्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्