मानिसको प्रकृति कसरी चिन्ने

आफ्‍नो प्रकृतिलाई कसरी चिन्‍ने? मानिसको प्रकृति के कुराहरूले बनेको हुन्छ? तैँले मानिसका कमजोरीहरू, दोषहरू, अभिप्रायहरू, धारणाहरू, नकारात्मकता, र विद्रोहीपनको बारेमा मात्र जान्दछस्, तर तँ मानिसको प्रकृतिभित्रका कुराहरू पत्ता लगाउन असमर्थ छस्। तैँले बाहिरी तहको बारेमा मात्र जान्दछस् तर यसको उत्पत्ति कहाँ-कसरी भयो भन्ने बारेमा पत्ता लगाउन सक्दैनस्, अनि यस्तो ज्ञानलाई मानिसको प्रकृतिको ज्ञान भनेर भन्न सकिँदैन। कतिपय मानिसहरूले आफूमा अपर्याप्तता र नकरात्मकताहरू रहेको स्विकार्छन् र भन्छन्, “म आफ्नो प्रकृतिलाई बुझ्छु। देख्‍नुभयो, म मेरो अहङ्कार स्विकार्छु। के त्यो मैले आफ्नो प्रकृति बुझ्‍नु होइन र?” अहङ्कार मानिसको प्रकृतिको एक हिस्सा हो, त्यति चाहिँ सत्य हो। तर यसलाई धर्मसिद्धान्तको अर्थमा स्वीकार गर्नु काफी छैन। आफ्नो प्रकृतिको बारेमा जान्नु भनेको के हो? कसरी यसको बारेमा जान्न सकिन्छ? के-के पक्षहरूबाट यसको बारेमा जान्न सकिन्छ? व्यक्तिले प्रकट गर्ने कुराहरूमार्फत उसको प्रकृतिलाई कसरी निश्‍चित रूपमा बुझ्नुपर्छ? सर्वप्रथम, तैँले कुनै व्यक्तिको प्रकृति उसका रुचिहरूमार्फत देख्न सक्छस्। उदाहरणको लागि, केही मानिसहरूमा प्रसिद्ध र प्रतिष्ठित व्यक्तिहरूप्रति विशेष श्रद्धा हुन्छ, केहीले गायक वा चलचित्रका कलाकारहरूलाई विशेष प्रिय ठान्छन्, र केहीचाहिँ खेल खेल्नमा विशेष रुचि राख्छन्। मानिसहरूका यी प्राथमिकताहरूबाट हामीले तिनीहरूको प्रकृति के-कस्तो छ भनेर देख्न सक्छौं। एउटा सरल उदाहरण छ: केही मानिसहरूले कुनै निश्चित गायकलाई आदर्श बनाउन सक्छन्। तिनीहरूले कुन हदसम्म त्यो गायकलाई आदर्श बनाउँछन्? तिनीहरू त्यो गायकको हर चाल, हर मुस्कान, र हर शब्‍दप्रति आशक्त हुने हदसम्म पुग्छन्। तिनीहरू यो गायकप्रति मोहित हुन्छन्, उसले लगाएका सबै कुराहरूको तस्विर खिच्छन् र त्यसपछि त्यो सब नक्कल गर्न थाल्छन्। कुनै व्यक्तिप्रतिको यो तहको आदर्शीकरणले कुन समस्या देखाउँछ? यसले देखाउँछ कि त्यस्तो व्यक्तिको हृदयमा त्यस्ता गैरविश्‍वासी कुराहरू मात्रै छन्, र उसँग सत्यता छैन, उसले सकारात्मक कुराहरू धारण गर्दैन, अनि उसको हृदयमा परमेश्‍वर हुनु त परको कुरा हुन्छ। यो व्यक्तिले सोच्ने, मन पराउने, र खोजी गर्ने सबै कुराहरू शैतानका हुन्; यी कुराहरूले नै यो व्यक्तिको हृदय भरिएको हुन्छ, यी कुराहरूमै हृदय सुम्पिइसकिएको हुन्छ। के तिमीहरूले तिनीहरूको प्रकृति सार के हो भनेर भन्‍न सक्छौ? यदि कुनै कुरालाई चरम हदसम्म प्रेम गरिन्छ भने त्यो कुरा व्यक्तिको जीवन बन्न सक्छ र त्यसले उसको हृदय ढाक्न सक्छ, र यसले यो व्यक्ति यस्तो मूर्तिपूजक व्यक्ति हो जो परमेश्‍वरलाई चाहँदैन, बरु उहाँको सट्टा दियाबलसलाई प्रेम गर्छ भन्ने कुरालाई पूर्ण रूपमा प्रमाणित गर्छ। त्यसकारण, यो निष्कर्ष निकाल्न सकिन्छ कि यस्तो व्यक्तिको प्रकृति भनेको दियाबलसलाई मन पराउने र त्यसको आराधना गर्ने, सत्यलाई मन नपराउने, र परमेश्‍वरलाई नचाहने हो। के कसैको प्रकृतिलाई हेर्ने सही तरिका यही होइन र? यो पूर्ण रूपमा सही छ। मानिसको प्रकृतिलाई यसरी नै चिरफार गरिनुपर्छ। उदाहरणको लागि, केही मानिसहरूले विशेष गरी पावललाई आदर्श मान्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरूमा उपस्थित हुन र प्रवचन दिन मन पराउँछन्, अनि तिनीहरू मानिसहरूले तिनीहरूलाई सुनेको, पुजेको, र तिनीहरूको वरिपरि घुमेको मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन् र तिनीहरूले प्रस्तुत गरेको प्रतिरूपलाई अन्य व्यक्तिहरूले भाउ दिएमा तिनीहरू त्यसको सराहना गर्छन्। अब यी व्यवहारहरूबाट तिनीहरूको प्रकृति चिरफार गरौं: तिनीहरूको प्रकृति के हो? यदि तिनीहरूले साँच्चै यसरी नै व्यवहार गर्छन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन् भनी देखाउन यही काफी हुन्छ। तिनीहरूले परमेश्‍वरको आराधना गर्दै गर्दैनन्; तिनीहरूले अझ उच्च हैसियत खोज्छन् र अन्य व्यक्तिहरू उपर अधिकार जमाउन, तिनीहरूलाई वशमा पार्न र तिनीहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन्। यो शैतानको चिरपरिचित प्रतिरूप हो। तिनीहरूको प्रकृतिको सहजै देख्न सकिने पक्षहरू भनेका अहङ्कार र अभिमान, परमेश्‍वरको आराधना गर्न अनिच्छुक हुनु, र अन्य व्यक्तिहरूले आफ्नो आराधना गरून् भन्ने चाहना गर्नु जस्ता कार्य हुन्। त्यस्ता व्यवहारहरूले तिनीहरूको प्रकृतिको बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्। उदाहरणको लागि, कतिपय मानिसहरू अरूलाई हानि गरेर परिस्थितिको नाजायज फाइदा उठाउन साँच्‍चै नै मन पराउँछन्, र यस्ता मानिसहरूले सबै मामिलामा आफ्‍नै स्वार्थहरू पूरा गर्न चाहन्छन्। तिनीहरूले जे गर्छन् त्यसले तिनीहरूलाई लाभ पुर्‍याउनुपर्छ, नत्र त तिनीहरूले त्यो काम नै गर्दैनन्। कुनै कुराले तिनीहरूलाई कुनै न कुनै फाइदा नपुर्‍याइञ्‍जेलसम्‍म तिनीहरू त्यसको झमेलामा पर्दैनन्, र तिनीहरूका सबै कार्यहरूमा सधैँ गोप्‍य मनसाय हुन्छ। तिनीहरू आफूलाई लाभ पुर्‍याउने सबैको बारेमा राम्रो बोल्छन् र आफ्नो चापलुसी गर्ने जोकोहीलाई बढुवा गर्छन्। तिनीहरूलाई मन पर्ने मानिसहरूमा समस्या भए पनि, तिनीहरूले ती मानिसहरू सही छन् भनेर भन्छन् र तिनीहरूको प्रतिरक्षा गर्ने र तिनीहरूको गल्ती ढाकछोप गर्ने प्रयास गर्छन्। त्यस्ता मानिसहरूमा कस्तो प्रकृति हुन्छ? यी बानीबेहोराहरूबाट तैँले तिनीहरूको प्रकृतिलाई स्पष्ट रूपमा देख्‍न सक्छस्। तिनीहरू हरेक परिस्थितिमा निरन्तर लेनदेनमा संलग्‍न हुँदै आफ्‍ना कार्यबाट तिनीहरूले नाजायज फाइदा उठाउने प्रयास गर्छन्, र तिनीहरूको प्रकृति भनेको पूर्ण हृदयले फाइदाको लोभ गर्ने प्रकृति हो भन्‍ने कुरामा तँ निश्‍चित हुन सक्छस्। तिनीहरूले गर्ने सबै कुरामा आफ्‍नै फाइदा हेरिरहेका हुन्छन्। तिनीहरूलाई फाइदा नभइञ्‍जेलसम्‍म तिनीहरू एकाबिहानै उठ्दैनन्। तिनीहरू सबैभन्दा स्वार्थी मानिसहरू हुन्, र तिनीहरू कहिल्यै चित्त नबुझाउने खालका हुन्छन्। तिनीहरूको प्रकृतिलाई नाफाप्रतिको मोह र सत्यताप्रतिको प्रेमको अभावले प्रकट गर्छ। कतिपय पुरुषहरू स्‍त्रीहरूको नियन्त्रणमा हुन्छन्, र ती स्त्रीहरू जताजता जान्छन् तिनीहरू त्यतैत्यतै लठ्ठिँदै घुमिरहेका हुन्छन्। सुन्दर स्‍त्रीहरू त्यस्ता मानिसहरूको स्‍नेहका पात्र हुन् र तिनैले तिनीहरूको हृदयमा सबैभन्दा ठूलो स्थान लिएका हुन्छन्। तिनीहरू सुन्दर स्त्रीहरूका लागि आफ्‍नो जीवन दिन, र सबै कुरा बलिदान गर्न इच्‍छुक हुन्छन्; स्‍त्रीहरूले तिनीहरूको हृदय भरिएको हुन्छ। यी पुरुषहरूको प्रकृति के हो? तिनीहरूको प्रकृति भनेको सुन्दर स्‍त्रीहरूलाई प्रेम गर्नु र तिनीहरूको पूजा गर्नु र दुष्टतालाई प्रेम गर्नु हो। तिनीहरू दुष्ट, लोभी प्रकृतिका कामवासनाले भरिएका मानिसहरू हुन्। यो तिनीहरूको प्रकृति हो भनेर म किन भन्छु त? तिनीहरूको व्यवहारले लोभी प्रकृति प्रकट गर्छ। यी व्यवहार बेला-बखतमा गरिने अपराध मात्रै होइनन्, न त यस्ता मानिसहरू सर्वसाधारण मानिसहरूभन्दा अलिक खराब मात्रै नै हुन्—बरु तिनीहरू यी कुराहरूमा पूर्ण रूपमा लिप्त भएका हुन्छन्, जुन तिनीहरूको प्रकृति र सार नै बनेको हुन्छ। त्यसकारण, यी कुराहरू तिनीहरूको प्रकृतिको खुलासा बनेका हुन्छन्। व्यक्तिको प्रकृतिका अंशहरू निरन्तर आफै प्रकट भइरहेका हुन्छन्। व्यक्तिले जुनसुकै काम गरे पनि, त्यसले उसको प्रकृतिलाई प्रकट गर्न सक्छ। मानिसहरूले गर्ने हरेक कामकुरामा तिनीहरूका आफ्‍नै मनसाय र उद्देश्यहरू हुन्छन्, र चाहे अतिथिसत्कार होस्, सुसमाचार प्रचार होस्, वा अरू कुनै पनि प्रकारको काम होस्, तिनीहरूले थाहै नपाई आफ्‍नो प्रकृतिको केही अंश प्रकट गर्न सक्छन्, किनभने व्यक्तिको प्रकृति नै उसको जीवन हो, र मानिसहरू जबसम्‍म जीवित हुन्छन् तबसम्‍म आफ्‍नो प्रकृतिद्वारा उत्प्रेरित हुन्छन्। व्यक्तिको प्रकृति कहिलेकहीँ प्रकट हुने वा संयोगबस देखा पर्ने मात्रै हुँदैन; बरु, यसले पूर्ण रूपमा व्यक्तिको सारलाई प्रतिनिधित्व गर्न सक्छ। मानिसहरूको हाड र रगतमा बग्‍ने हरेक कुराले तिनीहरूको प्रकृति र जीवनलाई प्रतिनिधित्व गर्छ। कतिपय मानिसहरूले सुन्दर स्‍त्रीहरू मन पराउँछन्। अरूले रुपियाँपैसा मन पराउँछन्। कतिपयमा हैसियतप्रतिको विशेष प्रेम हुन्छ। कतिले आफ्‍नो प्रतिष्ठा र आफ्‍नो व्यक्तिगत छविलाई मूल्यवान् ठान्छन्। कतिले विशेषतः मूर्तिहरूलाई प्रेम वा आराधना गर्ने गर्छन्। अनि कतिपय मानिसहरू विशेष रूपमा अहङ्कारी र घमण्डी हुन्छन्, तिनीहरू आफ्‍नो हृदयमा कसैप्रति पनि झुक्दैनन् र कदको लागि लागिपर्छन्, तिनीहरूलाई अरूभन्दा माथि हुन र अरूमाथि अख्‍तियार चलाउन मन पर्छ। प्रकृति विभिन्‍न प्रकारका हुन्छन्। मानिसहरूअनुसार ती फरकफरक हुन सक्छन्, तर तिनको आम तत्व भनेका परमेश्‍वरको विरोध गर्नु र उहाँलाई धोका दिनु हो। त्यस हिसाबमा तिनीहरू सबै उस्तै हुन्छन्।

कुनै व्यक्तिको प्रकृति कस्तो हो भनेर कसरी थाहा पाउने भन्ने सम्बन्धमा, थप केही उदाहरण हेरौँ। उदाहरणको लागि स्वार्थीपनकै कुरा गरौँ। यो भन्‍न सकिन्छ कि स्वार्थीपन कुनै व्यक्तिको प्रकृतिको एउटा तत्व हो। यो तत्‍व सबै मानिसभित्र हुन्छ। कतिपय मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, चरम रूपमा स्वार्थी हुन्छन्, र सबै कुरामा तिनीहरू आफ्नै बारेमा मात्र सोच्छन्, व्यक्तिगत फाइदाबाहेक अरू केही खोज्दैनन्, र तिनीहरूले अरूको बारेमा अलिकति पनि सोच्दैनन्। यो स्वार्थीपनले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्छ। सबै जना नै केही हदसम्‍म स्वार्थी हुन्छन्, तर त्यसमा भिन्‍नता हुन्छ। अरूसँग उठबस गर्दा, कतिपय मानिसहरूले होशियार भएर अरूको वास्ता गर्न, अरूको चिन्ता गर्न, र आफूले गर्ने हरेक कुरामा अरूको बारेमा सोच्‍न सक्छन्। तर कतिपय अरूचाहिँ त्यस्ता हुँदैनन्। यी मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन् र आफ्‍ना दाजुभाइ-दिदीबहिनीहरूलाई पाहनुना राख्दा तुच्छता देखाउँछन्। यिनीहरूले सधैँ आफ्नै परिवारलाई सबैभन्दा मिठो र सबैभन्दा धेरै खानेकुरा दिन्छन्, तर दाजुभाइ-दिदीबहिनीहरूलाई भने अलि नमिठो र अलि कम खानेकुरा मात्रै दिन्छन्। तर जब यिनीहरूका आफ्‍नै आफन्तहरू आउँछन्, यिनीहरूले तिनीहरूको लागि सबैभन्दा आरामदायी बन्दोबस्त मिलाउँछन्। तर जब दाजुभाइ-दिदीबहिनीहरू आउँछन्, तिनीहरूलाई भूँइमा सुत्‍न लगाउँछन्। यिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू आउँदा बास बस्‍न दिनु नै काफी छ भन्‍ने सोच्छन्। जब दाजुभाइ-दिदीबहिनीहरू बिरामी पर्छन् वा कुनै समस्यामा पर्छन्, त्यस्तो व्यक्तिले तिनीहरूको बारेमा कुनै विचार गर्दैन, देखे पनि नदेखेझैँ गर्छ। त्यस्ता मानिसहरूले अरूको वास्ता गर्दैनन् वा अरूको लागि अलिकति पनि चिन्ता लिँदैनन्। तिनीहरूले आफ्‍नै र आफ्‍ना आफन्तहरूको मात्रै वास्ता गर्छन्। तिनीहरूको यो स्वार्थी प्रकृतिले नै तिनीहरू अरूको वास्ता गर्न अनिच्‍छुक हुने प्रवृत्ति निर्धारित गरेको हुन्छ। अरूलाई वास्ता गर्दा घाटा बेहोर्नुपर्छ र त्यो ठूलो समस्या हो भन्‍ने तिनीहरूलाई लाग्छ। कतिपय मानिसहरूले यसो भन्‍न सक्छन्, “अरूको ख्याल कसरी गर्ने त्यो स्वार्थी व्यक्तिलाई थाहा हुँदैन।” त्यो गलत हो। यदि स्वार्थी मानिसहरूलाई अरूको ख्याल गर्न आउँदैन भने, त्यसो भए किन तिनीहरूले आफ्‍ना आफन्तहरूलाई राम्रो व्यवहार गर्छन् र तिनीहरूको खाँचोको पूर्ण वास्ता गर्छन्? कसरी तिनीहरूले आफैमा के कुराको कमी छ र निश्‍चित समयमा के लाउनु वा खानु उचित हुन्छ भनेर तिनीहरूले जान्दछन्? तिनीहरू किन अरूप्रति त्यस्तो हुन सक्दैनन्? वास्तवमा तिनीहरूले सबै कुरा बुझ्छन्, तर तिनीहरू स्वार्थी र तुच्छ हुन्छन्। यो कुरा तिनीहरूको प्रकृतिले निर्धारित गरेको हुन्छ। स्वार्थी मानिसहरू अरूलाई निष्पक्ष व्यवहार गर्न असक्षम हुन्छन्। यसमा दुष्टपनको कुरा पनि छ। परमेश्‍वरको घरले बारम्बार व्यभिचार गर्ने सबैलाई हटाइनुपर्ने नियम तोकेको छ। तर केही मानिसहरूको हकमा, यो क्षणिक अपराध मात्र हुन्छ। के यिनीहरूलाई पनि बारम्बार व्यभिचार गर्नेहरूलाई जस्तै गरी सम्हाल्नुपर्छ? यो सैद्धान्तिक विषय हो। बेलाबखत मात्र व्यभिचार गरेकाहरूलाई दुष्ट प्रकृति भएका मानिसहरू मान्‍न सकिँदैन। यदि कुनै व्यक्ति जता गए पनि विपरीत लिङ्गीहरूसँग बारम्बार जिस्किरहन्छ, र ऊ निर्लज्ज छ र उसमा मानव सम्बन्धबारे कुनै नैतिकता छैन भने, त्यो दुष्ट व्यक्ति हो, र ऊसँग दुष्ट प्रकृति छ। त्यस्ता व्यक्तिहरूले जे कदम चाले नि वा जे काम गरे नि आफ्नो प्रकृति प्रकट गरिछोड्छन्। तिनीहरूको प्रकृति नियन्त्रण गर्न नसकिने हुन्छ र तिनीहरूको हृदय यी फोहोरी कुराले भरिएका हुन्छन्। तिनीहरू जहाँ गए नि विपरीत लिङ्गीहरूसँग जिस्किरहन्छन्, र केही समयको लागि रोकिइहाले पनि, तिनीहरूले वातावरण नमिलेर वा उपयुक्त जोडी नभएर मात्र त्यसो गर्छन्। व्यक्तिको प्रकृतिसम्बन्धी कुराहरू जुनसुकै बेला र जुनसुकै ठाउँमा खुलासा हुन सक्छन्; तीमाथि केही कुराले रोक लगाउन सक्दैन। केही मानिसहरू विशेष गरेर पहिरन, सुन्दरता, र आडम्बरमा फस्छन्; तिनीहरू अति दम्भी हुन्छन्। तिनीहरू दैनिक अनेक पहिरन फेर्छन्। तिनीहरू कसले कति राम्रा लुगा र कति राम्ररी पहिरिन्छन् भनेर हेर्छन्, र यी चीज प्राप्त गर्न नसके, तिनीहरू सुत्नै सक्दैनन्, अनि यी वस्तुहरू प्राप्त गर्न तिनीहरूले पैसा सापटी लिनेछन् वा जतिसुकै मूल्य पनि तिर्नेछन्। यी चीज प्राप्त गर्न सकेनन् भने, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने चाहना गुमाउन सक्छन्, भेलाहरूमा सहभागी हुन मन गर्न छोड्न सक्छन्, र परमेश्‍वरको वचन पढ्नमा निरुत्साहित हुन सक्छन्। तिनीहरूको दिमाग यस्तै कुराहरूले भरिएको हुन्छ। तिनीहरू अरू केहीबारे सोच्नै सक्दैनन्। यस्ता मानिसहरू विशेष दम्भी हुन्छन्, औसत मानिसभन्दा धेरै नै दम्भी हुन्छन्। यो तिनीहरूको प्रकृति र नसानसामै हुने कुरा हो। तिनीहरूको प्रकृति नै दम्भी हुन्छ। कुनै व्यक्तिको प्रकृतिका कुराहरू क्षणिक कमजोरीमार्फत प्रकट हुने होइनन्, बरु ती लगातार भइरहने प्रकटीकरण हुन्। मानिसहरूले जे गरे पनि, तिनमा तिनीहरूका प्रकृतिका तत्वहरू रहिरहन्छन्। बाहिरबाट स्पष्ट नदेखिए पनि, भित्र अशुद्धता रहेकै हुन्छ। कुनै छली व्यक्तिले इमानदारीपूर्वक बोलिहाले पनि, वास्तवमा उसका शब्दहरूपछाडि गुप्त अर्थ लुकेको हुन्छ। तिनीहरूका बोलीहरू अझै छलले दूषित हुन्छन्। छली व्यक्तिले जोसँग पनि छल गर्छ, आफ्ना नातागोता र बालबच्चालाई समेत छोड्दैन। तिनीहरूसँग तँ जतिसुकै खरो भए पनि, तिनीहरूले तँसँग छल गर्नेछन्। यो तिनीहरूको साँचो मुहार हो, यो ठ्याक्‍कै तिनीहरूको प्रकृति हो, जुन परिवर्तन गर्न सजिलो छैन, र यो सधै यस्तै रहिरहनेछ। इमानदार व्यक्तिले कहिलेकाहीँ घुमाउरो र छली कुरा गर्छ, तर ऊ प्राय इमानदार नै हुन्छ, सापेक्षिक गाम्भीर्यतासाथ काम गर्छ, अरूसँग अन्तरक्रिया गर्दा तिनीहरूको फाइदा उठाउँदैन, र अरूसँग बोल्दा तिनीहरूलाई परीक्षा गर्ने अभिप्राय राख्दैन। तिनीहरूले खुलेर हृदयदेखि नै अरूसँग सङ्गति गर्न सक्छन्, र अरू सबैले तिनीहरूलाई निष्कपट ठान्छन्। जब तिनीहरूले कहिलेकाहीँ छली शब्द बोल्छन्, यो केवल तिनीहरूको भ्रष्ट स्वभाव आफै प्रकट भएको कुरा हो। यसले तिनीहरूको प्रकृति जनाउँदैन किनकि तिनीहरू छली मानिस होइनन्। त्यसकारण, जब व्यक्तिको प्रकृतिको कुरा आउँछ, तैँले त्यो प्रकृतिका तत्वहरू के-के हुन् र भ्रष्ट स्वभाव के हो भनी बुझ्‍नुपर्छ। तैँले यी दुईबीचमा स्पष्ट भिन्‍नता छुट्याउन सक्‍नुपर्छ। अहिले, मानिसहरूलाई आफ्नै प्रकृति चिरफार गर्न लगाउँदा, केहीले “म कहिलेकाहीँ रूखो तरिकाले बोल्छु” वा “म असंस्कारी छु र मलाई कस्तो व्यवहार गर्ने भन्ने थाहा छैन” वा “मैले आफ्नो कर्तव्य निर्वाह गर्दा कहिलेकाहीँ अशुद्धताहरू हुन्छन्,” भनेर भन्नेछन्, तर तिनीहरूले आफ्नो प्रकृति कस्तो छ वा आफ्नो मानवता राम्रो छ/छैन त्यसबारे कुरा गर्दैनन्। तिनीहरू त्यस प्रकारका कुराहरू सधैँ पन्छाउँछन्, र सम्भवतः साँचो रूपमा आफूलाई चिन्‍नै सक्दैनन्। जहिले पनि ढाकछोप गरिरहनु र बेइज्जत हुने कुराको डर मानिरहनु स्वीकार्य कुरा होइन। तेरो प्रकृतिमा जे छ, त्यो खोतल्नुपर्छ। यदि खोतल्न सकिन्‍न भने, त्यो बुझ्न सकिन्‍न, र यदि त्यो बुझ्न सकिन्‍न भने परिवर्तन गर्न पनि सकिन्‍न। आफूलाई चिन्ने कुरामा तँ अति कठोर बन्नुपर्छ। तैँले आफैलाई छल गर्नु हुँदैन, र यस कुरामा तँ कामचलाउ तरिकाले लाग्नु हुँदैन।

आफ्‍नो प्रकृतिलाई बुझ्‍ने कार्यमा प्राथमिक रूपमा आफू कस्तो प्रकारको व्यक्ति हुँ भन्‍ने कुरा बुझ्‍ने कार्य नै समावेश हुन्छ। तँ कुन प्रकारको व्यक्ति होस् त्यसले तँसँग कस्तो प्रकृति छ भन्‍ने कुराको सङ्केत दिन्छ। उदाहरणको लागि, कुनै व्यक्ति यस्तो वा त्यस्तो छ भनेर भन्दा, त्यसले उसको प्रकृतिको धेरै कुरा बताउँछ। व्यक्तिमा रहेको प्रकृतिको प्रकारले ऊ कस्तो प्रकारको व्यक्ति हो भन्ने कुरा निर्धारित गरेको हुन्छ। व्यक्तिको प्रकृति उसको जीवन हो। अनि, व्यक्तिको प्रकृति कस्तो छ, त्यो तैँले कसरी देख्‍न सक्छस्? तँ बारम्‍बार उसको सम्पर्कमा आउनुपर्छ, र तैँले ऊ कस्तो प्रकारको व्यक्ति हो भनेर अवलोकन गर्दै समय बिताउनुपर्छ। उसमा जे कुरा प्रष्टै प्रकट हुन्छ, र जेले उसको सार र चरित्र प्रतिनिधित्व गर्छ, त्यसैलाई उसको प्रकृति सार भनेर भन्‍न सकिन्छ। उसको सारका ती तत्वहरूद्वारा नै उसको प्रकृति बनेको हुन्छ। जब कुनै व्यक्ति कस्तो प्रकारको व्यक्ति हो भनेर पत्ता लगाउने कुरा आउँछ, योचाहिँ अझ सही तरिका हो। मानिसको सार जे हुन्छ, उसको प्रकृति त्यस्तै हुन्छ। व्यक्तिको प्रकृतिले नै ऊ कस्तो प्रकारको व्यक्ति हो भन्‍ने कुरा निर्धारित गर्छ। उदाहरणको लागि, यदि कसैले पैसालाई विशेष मन पराउँछ हो भने, उसको प्रकृतिलाई एकदुई शब्‍दमा सारांशित गर्न सकिन्छ: ऊ पैसा-प्रेमी हो। यदि कसैको सबैभन्दा मुख्य विशेषता भनेको स्‍त्रीलाई मन पराउने हो, र उसले सधैँ स्‍त्रीहरूसँग समय बिताइरहेको हुन्छ, भने, यो व्यक्तिले दुष्टता मन पराउँछ र उसमा दुष्ट प्रकृति छ। कतिपय मानिसहरूले खान धेरै मन पराउँछन्। यदि तैँले त्यस्तो व्यक्तिलाई केही रक्सी र केही मासु दिन्छस् भने, त्यसले तेरो हितमा काम गर्छ। त्यसकारण, यसले यो व्यक्तिमा सुँगुरजस्तै खन्चुवा प्रकृति छ भन्‍ने देखाउँछ। हरेक व्यक्तिमा भ्रष्ट स्वभाव र घातक त्रुटि हुन्छ, अनि उसको वास्तविक जीवनमा उसलाई यो भ्रष्ट स्वभावले नियन्त्रित गर्छ। ऊ यो भ्रष्ट स्वभावअनुसार जिउँछ, यसले उसको प्रकृति प्रतिनिधित्व गर्छ। यो भन्‍न सकिन्छ कि उसको प्रकृति उसको जीवनको अंश हो र त्यही नैँ उसको घातक त्रुटि हो—उसको घातक त्रुटि नै उसको प्रकृति हो। कतिपय मानिसहरूमा स्वीकार्य मानवता छ भन्‍ने देखिन्छ र बाहिरी रूपमा कुनै पनि त्रुटि प्रदर्शन गर्दैनन्, तर तिनीहरूको सबैभन्दा ठूलो कमजोरी भनेकै नाजुकता हुन्छ। तिनीहरूसँग जीवनसम्‍बन्धी कुनै लक्ष्य वा आकांक्षा हुँदैन; तिनीहरू जीवनमा अल्याङटल्याङ गर्दै अघि बढ्छन्, सानोतिनो बाधा आइपर्दा नै पछारिन्छन् र परिस्थिति कठिन हुँदा नकारात्मक भइहाल्छन्। यदि अन्त्यमा तिनीहरूमा धारणा पलाउँछ, र तिनीहरू त्यसउप्रान्त विश्‍वास गर्न नै मन नगर्ने हदमा पुग्छन् भने, तिनीहरूको सबैभन्दा ठूलो कमजोरी नै नाजुकता हो; तिनीहरूको प्रकृति नाजुक छ, तिनीहरू बेकारका छन्, र तिनीहरूलाई मदत गर्न सकिँदैन। कतिपय मानिसहरू अत्यन्तै भावुक हुन्छन्। हरेक दिन, तिनीहरूले बोल्ने सबै कुरामा, अरूसित व्यवहार गर्ने तिनीहरूका सबै तौरतरिकामा, तिनीहरू आफ्नो भावनाअनुसार जिइरहेका हुन्छन्। तिनीहरूले यो व्यक्ति र त्यो व्यक्तिप्रति स्‍नेहको अनुभूति गर्छन्, र तिनीहरू स्‍नेहको शिष्टतामा उठबस गर्दै दिन बिताउँछन्। आफूले समाना गर्ने हरेक काममा, तिनीहरू भावनाको क्षेत्रमा जिउँछन्। जब त्यस्तो व्यक्तिको गैरविश्‍वासी आफन्तको मृत्यु हुन्छ, ऊ तीन दिनसम्‍म रुनेछ, र उसले शव गाड्न दिनछैन। उसमा मरेको व्यक्तिप्रति अझै पनि भावनाहरू हुन्छन् र उसका भावनाहरू अत्यन्तै तीब्र हुन्छन्। यो भन्‍न सकिन्छ कि भावनाहरू नै उसको घातक त्रुटि हो। यस्ता व्यक्तिहरू हर मामिलामा भावनाहरूद्वारा नियन्त्रित हुन्छन्, तिनीहरू सत्यता अभ्यास गर्न वा सिद्धान्तअनुसार काम गर्न असक्षम हुन्छन्, र तिनीहरूमा प्राय परमेश्‍वरविरुद्ध विद्रोह गरिरहने प्रवृत्ति हुन्छ। भावनाहरू नै तिनीहरूका सबैभन्दा ठूला कमजोरी, र घातक त्रुटि हुन्, अनि तिनीहरूका भावनाहरूले तिनीहरूलाई पूर्ण रूपमा बर्बाद र नाश पार्न सक्छन्। अत्यन्तै भावुक मानिसहरू सत्यता अभ्यास गर्न वा परमेश्‍वरप्रति समर्पित हुन असक्षम हुन्छन्। तिनीहरू देहमा लिप्त हुन्छन्, अनि तिनीहरू मूर्ख र बेवकुफ हुन्छन्। यस्ता व्यक्तिहरूको प्रकृति नै एकदमै भावुक हुने हुन्छ, र तिनीहरू आफ्ना भावनाहरूअनुसार जिउँछन्। त्यसकारण, यदि तँ आफ्‍नो स्वभावमा परिवर्तन खोज्छस् भने, तैँले आफ्‍नो प्रकृतिलाई जान्‍नैपर्छ। “नानीदेखि लागेको बानी बदल्न सकिँदैन।” त्यसैले प्रकृति बदल्न सकिन्छ भन्‍ने त कल्पनै नगर्। यदि व्यक्तिको प्रकृति अत्यन्तै खराब छ भने, ऊ कहिल्यै बदलिनेछैन र परमेश्‍वरले उसलाई मुक्ति दिनुहुनेछैन। स्वभावमा हुने रूपान्तरण भनेको के हो? जब सत्यतालाई प्रेम गर्ने कुनै व्यक्तिले परमेश्‍वरको कामको अनुभव गर्दै उहाँका वचनहरूको न्याय र सजाय स्वीकार गर्छ अनि सबै प्रकारका कष्ट र शोधन भोग्छ, तब यस्तो हुने गर्छ। यस्तो व्यक्तिको भित्री शैतानी विषहरू पखालिन्छ अनि उसले आफ्ना भ्रष्ट स्वभावहरू पूर्ण रूपमा फालिदिन्छ ताकि ऊ कहिल्यै पनि परमेश्‍वरविरुद्ध विद्रोह नगर्न वा उहाँको विरोध नगर्नको लागि परमेश्‍वरका वचनहरू र उहाँका सबै योजनाहरू र व्यवस्थापनहरूमा समर्पित हुन सकोस्। स्वभावमा हुने रूपान्तरण यही हो। यदि कुनै व्यक्तिको प्रकृति धेरै खराब छ, र यदि ऊ दुष्ट व्यक्ति हो भने, परमेश्‍वरले उसलाई मुक्ति दिनुहुनेछैन, र पवित्र आत्माले उभित्र काम गर्नुहुनेछैन। अर्को शब्दमा भन्नुपर्दा, यो चिकित्सकले बिरामी हेरेजस्तै होः सुन्निएको छ भने उपचार गर्न सकिन्छ, तर क्यान्सर नै भएको रहेछ भने उसलाई मुक्ति दिलाउन सकिँदैन। स्वभावमा हुने रूपान्तरण भनेको सत्यतालाई प्रेम र स्वीकार गर्ने व्यक्तिले अन्ततः परमेश्‍वरसित विद्रोह गर्ने र परमेश्‍वरविरुद्ध रहेको आफ्नो प्रकृति चिन्‍नु हो। उसले मानिसहरू अति गहन रूपमा भ्रष्ट पारिएका छन् भनेर बुझ्छ, र उसले मानवजातिको निरर्थकता र छलीपन, अनि मानवजातिको दरिद्रता र दयनीय अवस्था पनि बुझ्छ, अनि आखिरमा उसले मानवजातिको प्रकृति सार पनि बुझ्‍न पुग्छ। यी सबै कुरा जानेर, ऊ आफूलाई पूर्ण रूपमा इन्कार्न र आफैविरुद्ध विद्रोह गर्न, परमेश्‍वरका वचनहरूद्वारा जिउन, र हरेक कुरामा सत्यता अभ्यास गर्न सक्षम हुन्छ। ऊ त्यो व्यक्ति हो जसले परमेश्‍वरलाई चिन्छ र जसको स्वभाव रूपान्तरित भएको छ।

सबै मानवजाति शैतानद्वारा भ्रष्ट पारिएका छन्, र मानिसको स्वभाव भनेको परमेश्‍वरलाई धोका दिनु हो। तापनि, शैतानले भ्रष्ट पारिएका सबै मानिसहरूमध्ये केहीले परमेश्‍वरको काममा समर्पित हुन र सत्यतालाई स्वीकार्न सक्छन्। यिनीहरू सत्यता प्राप्त गर्न सक्‍ने र स्वभावमा रूपान्तरण हासिल गर्न सक्‍ने मानिसहरू हुन्। कतिपय मानिसहरूले सत्यता खोजी गर्दैनन्, बरु जस्तो पर्छ त्यस्तै टर्छ भनेर अघि बढ्छन्। तैँले तिनीहरूलाई जे भन्छस् त्यही मान्छन् र त्यही गर्छन्, तिनीहरूले विभिन्‍न कुराहरू त्याग्‍न र आफैलाइ समर्पण गर्न सक्छन्, र तिनीहरूले जुनसुकै कष्ट भोग्‍न सक्छन्। त्यस्ता मानिसहरूमा थोरै विवेक र समझ हुन्छ, र तिनीहरूले मुक्ति पाउने र बाँच्‍ने आशा हुन्छ, तर तिनीहरूको स्वभाव परिवर्तन हुन सक्दैन किनभने तिनीहरूले सत्यता खोजी गर्न सक्दैनन्, र तिनीहरू धर्मसिद्धान्त बुझ्‍नमा नै सन्तुष्ट हुन्छन्। तिनीहरूले विवेक उल्लङ्घन गर्ने कुनै कुरा बोल्ने र गर्ने गर्दैनन्, तिनीहरूले आफ्‍नो कर्तव्य इमानदारीपूर्वक पूरा गर्न सक्छन्, र तिनीहरूले कुनै पनि समस्याबारे गरिएको सत्यताको सङ्गतिलाई स्वीकार गर्न सक्छन्। तैपनि, तिनीहरूले सत्यता खोजी गर्न गम्‍भीर प्रयास गर्दैनन्, तिनीहरूको मन अन्योलमा हुन्छ, र तिनीहरूले सत्यताको सार कहिल्यै बुझ्दैनन्। तिनीहरूको स्वभाव परिवर्तन हुनु असम्‍भव नै हुन्छ। यदि तँ आफूलाई भ्रष्टताबाट धोइन र तेरो जीवन स्वभाव बदल्न चाहन्छस् भने, तँमा सत्यताप्रति प्रेम अनि सत्यता स्वीकार गर्ने क्षमता हुनुपर्छ। सत्यतालाई स्वीकार गर्नु भनेको के हो? सत्यता स्वीकार गर्नुको अर्थ के हो भने, तँसँग जे-जस्तो भ्रष्ट स्वभाव भए तापनि, वा रातो अजिङ्गरको अर्थात् शैतानका जुनसुकै विषहरू तेरो प्रकृतिमा भए तापनि, जब परमेश्‍वरका वचनहरूले यी कुराहरू पर्दाफास गर्छन्, तब तैँले ती कुरा स्विकार्नुपर्छ र तँ समर्पित हुनुपर्छ, तैँले फरक निर्णय गर्नु हुँदैन, र तैँले परमेश्‍वरका वचनहरूअनुसार आफूलाई चिन्‍नुपर्छ। परमेश्‍वरका वचनहरू स्विकार्न र सत्यता स्विकार्न सक्‍नु भनेको यही हो। परमेश्‍वरले जेसुकै भन्नुभए तापनि, उहाँका वाणीहरू जति नै कठोर भए तापनि, र उहाँले जुनसुकै वचनहरू प्रयोग गर्नुभए तापनि, उहाँले भन्नुभएका कुराहरू सत्य हुन् भने तैँले तिनलाई स्वीकार गर्न सक्छस् र ती वास्तविकतासँग मेल खान्छन् भने तैँले तिनलाई सकार्न सक्छस्। तैँले परमेश्‍वरका वचनहरूलाई जति गहन रूपमा बुझे पनि तँ ती वचनहरूमा समर्पित हुन सक्छस्, र तँ पवित्र आत्माद्वारा प्रकट गरिएको अनि तेरा दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गरेको ज्योतिलाई स्वीकार गर्न र त्यसमा समर्पित हुन सक्छस्। जब त्यस्तो व्यक्तिले केही हदसम्म सत्यको खोजी गरेको हुन्छ तब उसले सत्य प्राप्त गर्न सक्छ र उसले आफ्नो स्वभावको रूपान्तरण हासिल गर्न सक्छ। सत्यतालाई प्रेम नगर्ने मानिसहरूमा थोरै मानवता भए पनि, तिनीहरूले केही सुकर्म र परमेश्‍वरको लागि त्याग र समर्पण गर्न सक्‍ने भए पनि, तिनीहरू सत्यताबारे अन्योलमा हुन्छन् र यसलाई गम्‍भीर रूपमा लिँदैनन्, त्यसकारण तिनीहरूको जीवन स्वभाव कहिल्यै परिवर्तन हुँदैन। तैँले देख्‍न सक्छस् कि पत्रुससँग पनि अरू चेलाहरूको जस्तै मानवता थियो, तर सत्यताको खोजीमा तिनी अरूभन्दा माथि उठेका थिए। येशूले जेसुकै भन्नुभए पनि, तिनले गम्भीरतासाथ मनन गरे। येशूले सोध्नुभयो, “यूहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले इमानदारीसाथ जबाफ दिए, “म स्वर्गमा हुनुहुने पितालाई मात्र प्रेम गर्छु, तैपनि मैले पृथ्वीका प्रभुलाई प्रेम गरेको छैनँ।” पछि तिनले बुझे, र सोचे, “यो सही होइन, पृथ्वीमा हुनुहुने परमेश्‍वर नै स्वर्गका परमेश्‍वर हुनुहुन्छ। के स्वर्ग र पृथ्वी, दुवैमा हुनुहुने परमेश्‍वर एउटै हुनुहुन्न र? यदि मैले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई मात्र प्रेम गरें भने, मेरो प्रेम व्यावहारिक हुँदैन। मैले पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई पनि प्रेम गर्नुपर्छ, तब मात्र मेरो प्रेम व्यावहारिक हुनेछ।” यसरी, येशूले सोध्‍नुभएको कुराबाट पत्रुसले परमेश्‍वरको वचनको साँचो अर्थ बुझे। परमेश्‍वरलाई प्रेम गर्न, र त्यो प्रेम व्यावहारिक हुनका लागि, व्यक्तिले पृथ्वीमा हुनुहुने देहधारी परमेश्‍वरलाई प्रेम गर्नै पर्छ। अस्पष्ट र अदृश्य परमेश्‍वरलाई प्रेम गर्नु न त वास्तविक न व्यावहारिक नै हुन्छ, तर व्यावहारिक, देखिने परमेश्‍वरलाई प्रेम गर्नु सत्यता हो। येशूका वचनहरूबाट, पत्रुसले सत्यता र परमेश्‍वरको अभिप्रायहरूको बुझाइ प्राप्त गरे। स्पष्ट छ, परमेश्‍वरमाथिको पत्रुसको विश्‍वास केवल सत्यताको पछि लाग्ने कार्यमा मात्रै केन्द्रित थियो। आखिरमा, तिनले व्यावहारिक परमेश्‍वर अर्थात्‌ पृथ्वीमा हुनुहुने परमेश्‍वरको प्रेम पाउन सके। पत्रुस सत्यताको खोजीमा विशेष रूपमा गम्भीर थिए। येशू तिनलाई सल्लाह दिनुहुँदा प्रत्येक पटक नै तिनले येशूका वचनहरूलाई गम्भीरताका साथ विचार गर्थे। सायद तिनले महिनौंसम्म, एक वर्ष, वा पवित्र आत्माले तिनलाई अन्तर्दृष्टि नदिऊञ्जेल धेरै वर्षसम्म मनन-विचार गर्थे र तिनले परमेश्‍वरका वचनहरूको सार बुझ्थे। यसरी, पत्रुस सत्यतामा प्रवेश गरे, र तिनले त्यसो गर्ने क्रममा, तिनको जीवन स्वभाव रूपान्तरण र नवीकरण भयो। यदि व्यक्ति सत्यताको पछि लाग्दैन भने, उसले यसलाई कहिल्यै पनि बुझ्न सक्‍नेछैन। तैँले शब्द र सिद्धान्तहरू दस हजारपटक बोल्‍न सक्लास्, तर ती केवल शब्द र धर्मसिद्धान्तहरू मात्र हुनेछन्। कतिपय मानिसहरूले यति मात्र भन्छन्, “ख्रीष्ट सत्य, बाटो र जीवन हुनुहुन्छ।” यदि तैंले यी शब्दहरूलाई दस हजार पटक दोहोऱ्याइस् भने पनि, त्यो व्यर्थ हुनेछ; तैंले तिनको अर्थ बुझेको हुँदैनस्। ख्रीष्ट सत्य, बाटो र जीवन हुनुहुन्छ भनेर किन भनिन्छ? के तैंले यस विषयमा अनुभवबाट प्राप्त गरेको ज्ञानलाई बताउन सक्छस्? के तँ सत्य, बाटो र जीवनको वास्तविकतामा प्रवेश गरेको छस्? परमेश्‍वरले आफ्‍ना वचनहरू यसकारण बोल्‍नुभएको छ ता कि तिमीहरूले तिनको बारेमा अनुभव र ज्ञान प्राप्त गर्न सक। शब्द र सिद्धान्तहरूको मात्रै कुरा गर्नु व्यर्थ हो। तैंले परमेश्‍वारका वचनहरू बुझेर ती वचनभित्र प्रवेश गरेपछि मात्र तैँले आफैलाई जान्न सक्छस्। यदि तँ परमेश्‍वरका वचनहरूलाई बुझ्दैनस् भने, तैँले आफैलाई चिन्न सक्दैनस्। तँ सत्यता बुझ्छस् भने मात्र तैँले समझशक्ति प्राप्त गर्न सक्छस्; सत्यता नबुझीकन, तैँले समझ पाउन सक्दैनस्। तँ सत्यता बुझ्छस् भने मात्र, तैँले मामिलाहरूलाई स्पष्टसित देख्‍न सक्नेछस्। सत्यता नबुझीकन, तैँले मामिलाहरूलाई स्पष्टसित देख्‍न सक्दैनस्। तँ सत्यता बुझ्छस् भने मात्र तैँले आफैलाई चिन्न सक्छस्। सत्यता नबुझीकन, तैँले आफूलाई चिन्न सक्दैनस्। तैँले सत्यता प्राप्त गरेको छस् भने मात्र तेरो स्वभाव परिवर्तन हुन सक्छ, सत्यताविना तेरो स्वभाव परिवर्तन हुन सक्दैन। तैँले सत्यता प्राप्त गरेको छस् भने मात्र तैँले परमेश्‍वरको अभिप्रायअनुसार सेवा गर्न सक्छस्। सत्यता प्राप्त नगरीकन, तैँले परमेश्‍वरको अभिप्रायअनुसार सेवा गर्न सक्दैनस्। सत्यता प्राप्त गरिसकेपछि मात्रै तैँले परमेश्‍वरको आराधना गर्न सक्छस्। सत्यता नबुझीकन, तैँले उहाँको आराधना गरे पनि, तेरो आराधना धार्मिक संस्कारहरूभन्दा बढी अरू केही पनि हुनेछैन। सत्यताविना, तैँले गर्ने कुनै पनि कुरा वास्तविकता हुँदैन। सत्यता प्राप्त गरेपछि भने, तैँले गर्ने सबै कुरा वास्तविकता हुन्छ। यी सबै थोक परमेश्‍वरका वचनहरूबाट सत्यता प्राप्त गर्ने कुरामा निर्भर हुन्छन्। कतिपय मानिसहरूले सोध्नेछन्, “ठ्याक्कै भन्नुपर्दा परमेश्‍वरका वचनहरूबाट सत्यता प्राप्त गर्नुको मतलब के हो?” के यो सोधिरहनु साँच्चै आवश्यक छ? सबै सत्यता परमेश्‍वरद्वारा व्यक्त गरिएका छन्, र ती सबै परमेश्‍वरका वचनमा छन्। परमेश्‍वरका वचनहरूभन्दा बाहिर कुनै सत्यता छैन। यस्ता कैयौँ मानिसहरू छन् जो शब्द र सिद्धान्तबारे बोल्न सक्नु नै सत्य जान्नु हो भन्ठान्छन्, र यो हास्यास्पद कुरा हो। तैँले धर्मसिद्धान्त बोलेर मात्र सत्यता प्राप्त गर्न सक्दैनस्। परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थ मात्र सङ्गति गरेर के काम? तैँले परमेश्‍वरका वचनहरूको अर्थ, परमेश्‍वरका वचनहरूको स्रोत र ती वचनले पार्न खोजेको प्रभाव बोध गर्नु आवश्यक छ। परमेश्‍वरको वचनमा सत्यता, जीवन, प्रकाश, सिद्धान्त, र मार्गहरू हुन्छन्। परमेश्‍वरको प्रत्येक वचनमा थुप्रै कुराहरू हुन्छन्: तिनीहरूको सोझो अर्थ मात्र बताउने, अनि त्यतिकै छोडिदिने, त्यो काफी हुँदैन। म तँलाई एउटा उदाहरण दिन्छु। परमेश्‍वरले “इमानदार मानिस बन्, छली नबन्” भन्नुभएको छ। यो भनाइको अर्थ के हो? कतिपयले भन्छन्, “यो मानिसहरूलाई इमानदार बन छली नबन भनेको हो, होइन र?” यसको अन्य अर्थ के हुन्छ भनेर तिनीहरूलाई सोधिस् भने, तिनीहरूले यसो भन्नेछन्, “यसको मतलब तिमीहरू छली होइन, इमानदार व्यक्ति बन्नुपर्छ। त्यसले यी दुई कुराहरू मात्र बोल्छ।” तैँले त्यसपछि सोध्न सक्छस्, “इमानदार व्यक्ति बन्नु भनेको ठ्याक्कै के हो त? कस्ता व्यक्तिलाई इमानदार भन्ने? इमानदार व्यक्तिको व्यवहार कस्तो हुन्छ? छली व्यक्तिको व्यवहार कस्तो हुन्छ?” तिनीहरूले यस्तो जवाफ दिनेछन्, “इमानदार व्यक्ति त्यो हो जो इमानदारीपूर्वक बोल्छ, आफ्नो वचनमा झूटोपन मिसाउँदैन, र झूट बोल्दैन। छली व्यक्ति त्यो हो जो घुमाउरो तरिकाले कुरा गर्छ, सत्य बताउँदैन, आफ्नो वचनमा सधैँ अशुद्ध हुन्छ, र झूट बोल्न मन पराउँछ।” तिनीहरूले भन्न सक्ने यति नै हो। मान्छेको सोच अति साधारण हुन्छ। इमानदार मानिसलाई यति साधारण तरिकाले व्याख्या गरेर, के तँ कहिल्यै सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस्? परमेश्‍वरको वचनले इमानदार मानिसबारे के भन्छ? पहिलो, इमानदार मानिसहरूले अरूको बारेमा कुनै शङ्का गर्दैनन्, र दोस्रो, इमानदार मानिसहरूले सत्यता स्विकार्न सक्छन्। यी मूख्य दुई विशेषताहरू हुन्। परमेश्‍वरले यसमार्फत भन्न खोज्नुभएको के हो? परमेश्‍वर किन यसो भन्नुहुन्छ? परमेश्‍वरको वचनमार्फत, तैँले इमानदार व्यक्ति बन्नुको गहन अर्थ के हो, त्यसले के जनाउँछ, र इमानदार व्यक्तिको ठ्याक्कै परिभाषा के हो भनी बुझ्न सक्छस्। तैँले यो परिभाषा सही रूपमा बुझेपछि, परमेश्‍वरको वचनमा, इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्, छली मानिसहरू के हुन्, र छली व्यक्तिका प्रकटीकरणहरू के-के हुन् भनी तैँले बुझ्न सक्छस्। त्यसपछि यी प्रकटीकरणहरू मूल्याङ्कन गरिस् भने, इमानदार व्यक्ति भनेको के हो र छली व्यक्ति भनेको के हो, साथसाथै छली मानिसहरूले परमेश्‍वरको वचनलाई कसरी लिन्छन्, तिनीहरूले परमेश्‍वरलाई कस्तो व्यवहार गर्छन्, र अन्य मानिसहरूलाई कस्तो व्यवहार गर्छन् भनी तैँले ठ्याक्कै बुझ्नेछस्। यस तरिकाले तैँले परमेश्‍वरका वचनहरू साँचो रूपमा बुझ्नेछस्, र तैँले इमानदार मानिसहरू र छली मानिसहरूबारे मान्छेको अवधारणा परमेश्‍वरको वचनले भनेको कुराभन्दा कति फरक छ भनी जान्नेछस्। परमेश्‍वरको वचनले तँलाई “इमानदार व्यक्ति बन्, छली व्यक्ति नबन्” भन्दाखेरि, त्यसमा थुप्रै कुराहरू हुन्छन्। जब तँ ती वचनहरूको साँचो अर्थ बुझ्छस्, तैँले इमानदार व्यक्ति भनेको के हो र छली व्यक्ति भनेको के हो भन्ने कुरा जान्नेछस्। अभ्यास गर्दा, तैँले निश्‍चित रूपमा इमानदार व्यक्तिको प्रकटीकरण देखिनेगरी कसरी अभ्यास गर्ने भनेर जान्नेछस्, र तैँले अभ्यासको बाटो र इमानदार व्यक्ति बन्नको लागि अभ्यासका सिद्धान्तहरू प्रष्ट रूपमा देख्नेछस्, जसले तँलाई परमेश्‍वरको जाँच पास हुने प्रत्याभूति गर्छ। तैँले यी वचनहरू साँच्चिकै बुझ्छस् र व्यवहारमा लागू गर्छस् भने, तँ परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्षम हुनेछस्। तर यदि यी वचनहरू बुझ्दैनस् भने, तँ इमानदार व्यक्ति बन्नेछैनस्, र तैँले परमेश्‍वरको अनुमोदन कहिल्यै प्राप्त गर्नेछैनस्। परमेश्‍वरका वचनहरूको सच्‍चा बुझाइ हासिल गर्नु सजिलो विषय होइन। यस्तो तरिकाले नसोच: “म परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थ व्याख्या गर्न सक्छु र सबै जनाले मेरो व्याख्या राम्रो छ भनेर भन्छन् र मलाई स्याबासी दिन्छन्, यसको मतलब मैले परमेश्‍वरका वचनहरूलाई बुझ्छु।” यो परमेश्‍वरका वचनहरूलाई बुझ्नु होइन। यदि तैँले परमेश्‍वरका वाणीहरूभित्रबाट केही ज्योति प्राप्त गरेको छस् भने, र तैँले उहाँका वचनहरूको साँचो अर्थको अनुभूति प्राप्त गरेको छस् भने, र यदि तैँले उहाँका वचनहरूपछाडिको अभिप्राय र तिनीहरूले अन्तमा जे-जस्तो प्रभाव पार्नेछन् सो व्यक्त गर्न सक्छस् भने—यदि तैँले यी सबै कुराहरूको बारेमा स्पष्ट बुझाइ हासिल गरिसकेको छस् भने—तैँले परमेश्‍वरका वचनहरूको बारेमा केही तहको बुझाइ हासिल गरेको छस् भन्‍ने मान्न सकिन्छ। यसरी, परमेश्‍वरका वचनहरूलाई बुझ्नु त्यति सरल छैन। तैँले परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थको आलंकारिक व्याख्या गर्न सक्छस् भन्दैमा तैँले तिनलाई बुझ्छस् भनेर भन्न मिल्दैन। तैँले तिनीहरूको शाब्दिक अर्थको जतिसुकै व्याख्या गर्न सक्ने भए तापनि, तेरो व्याख्या अझै पनि मानव कल्पना र मानव सोच शैलीमा आधारित हुन्छ। यो बेकार छ! तैँले कसरी परमेश्‍वरका वचनहरूलाई बुझ्न सक्छस्? यसको कडी भनेको तिनीहरू भित्रैबाट सत्यता खोजी गर्नु हो। त्यस तरिकाले मात्रै तैँले परमेश्‍वरका वचनहरू साँचो रूपमा बुझ्न सक्छस्। परमेश्‍वरले कहिल्यै पनि खोक्रा कुराहरू बोल्नुहुन्‍न। उहाँले बोल्नुहुने हरेक वाक्यमा विस्तृत विवरणहरू हुन्छन्, जसलाई अवश्य नै उहाँका वचनहरूमा थप पर्दाफास गरिन्छ, अनि तिनीहरूलाई फरक रूपमा व्यक्त गर्न सकिन्छ। परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुने शैलीहरूलाई मानिसले पूर्ण रूपमा बुझ्न सक्दैन। परमेश्‍वरका वाणीहरू एकदमै गहन हुन्छन् र तिनलाई मानव सोचाइद्वारा सजिलै बुझ्न सकिँदैन। मानिसहरूले जबसम्म प्रयत्न गर्छन् तबसम्म सत्यताको हरेक पक्षको सम्पूर्ण अर्थ मोटामोटी रूपमा पत्ता लगाउन सक्छन्। तिनीहरूको लागि यसमा बाँकी रहेका विवरणहरू भने तिनीहरूले यसपछि अनुभवहरू गर्दै जाने क्रममा पवित्र आत्माको अन्तर्दृष्टिले भर्दै जानुपर्नेछ। एउटा भाग भनेको मनन गर्दै परमेश्‍वरका वचनहरूको बुझाइ हासिल गर्नु र तिनलाई पढेर तिनको विशेष विषयवस्तु खोजी गर्नु हो। अर्को भागचाहिँ परमेश्‍वरका वचनहरूको अर्थको बुझाइ तिनलाई अनुभव गरेर र पवित्र आत्माबाट अन्तर्दृष्टि प्राप्त गरेर हासिल गर्नु हो। यी दुई पक्षमा निरन्तर प्रगति गरेर, तैँले परमेश्‍वरको वचन बुझ्‍न सक्छस्। यदि तँ यसलाई शाब्दिक रूपमा, पाठको तहमा वा आफ्‍नै सोच र कल्‍पनाको आधारमा अर्थ्याउँछस् भने, यसलाई फूलबुट्टा भर्दै कलात्मक शैलीमा व्याख्या गरे पनि, तैँले अझै पनि साँचो रूपमा सत्यता बुझेको हुँदैनस्, र यो सबै अझै पनि मानव सोच र कल्‍पनामा आधारित हुन्छ। यो पवित्र आत्‍माको अन्तर्दृष्टिबाट प्राप्त गरिएको हुँदैन। मानिसहरूले आफ्‍ना धारणा र कल्‍पनाहरूका आधारमा परमेश्‍वरका वचनहरूलाई अर्थ लगाउने प्रवृत्ति हुन्छ, र यसरी तिनीहरूले आफूलाई परमेश्‍वरका वचनहरू प्रसङ्गबाहिर अर्थ्याउँदै परमेश्‍वरलाई गलत बुझ्‍न र आलोचना गर्न सक्‍ने बनाउँछन्, र यो समस्याको कुरा हो। त्यसकारण, परमेश्‍वरका वचनहरू बुझेर अनि पवित्र आत्‍माको अन्तर्दृष्टि प्राप्त गरेर नै मुख्य रूपमा सत्यता प्राप्त हुन्छ। परमेश्‍वरको वचनको शाब्दिक अर्थ बुझ्‍न र व्याख्या गर्न सक्दैमा तैँले सत्यता प्राप्त गरेको छस् भन्‍ने हुँदैन। यदि शाब्दिक तहमा परमेश्‍वरको वचन बुझ्‍नुको अर्थ तैँले सत्यता बुझेको छस् भन्‍ने हुने भए, तँलाई थोरै शिक्षा र ज्ञान मात्रै चाहिन्थ्यो, तब किन तँलाई पवित्र आत्‍माको अन्तर्दृष्टि चाहिन्थ्यो र? के परमेश्‍वरको काम मानव मस्तिष्कले बुझ्‍न सक्‍ने कुरा हो? त्यसकारण, सत्यता बुझ्‍ने कार्य मानव धारणा वा कल्‍पनामा आधारित हुँदैन। वास्तविक अनुभव र ज्ञान प्राप्त गर्नको लागि तँलाई पवित्र आत्‍माको अन्तर्दृष्टि, ज्योति, र मार्गदर्शन चाहिन्छ। सत्यता बुझ्‍ने र प्राप्त गर्ने प्रक्रिया यही हो, र यो अत्यावश्यक सर्त पनि हो।

तिमीहरूले कसरी मानिसको प्रकृतिलाई बुझ्छौ? सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसलाई मानिसको संसारिक दृष्टिकोण, जीवन दृष्टिकोण र मूल्य-मान्यताहरूको परिप्रेक्ष्यबाट पहिचान गर्नु हो। जो व्यक्तिहरू दियाबलसका हुन् तिनीहरू सबै आफ्नो लागि मात्र जिउँछन्। तिनीहरूको जीवन सम्‍बन्धी दृष्टिकोण र नीति-वाणीहरू शैतानका भनाइहरूबाट आउँछन्, जस्तै, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो”, र यस्तै अन्य भ्रामक कुराहरू। दियाबलस राजाहरू, महान व्यक्तिहरू र दार्शनिकहरूले बोलेका यी सबै शब्दहरू मान्छेका जीवन बनेका छन्। विशेष रूपमा, चिनियाँ मानिसहरूमाझ “सन्त” भनेर कहलिएका कन्फ्युसियसका धेरैजसो शब्दहरू मानिसको जीवन भएको छ। बुद्धधर्म र ताओवादका प्रख्यात उखानहरू र प्रसिद्ध व्यक्तिहरूका बारम्बार उद्धृत गरिने चिरपरिचित भनाइहरू पनि छन्। ती सबै शैतानका दर्शनहरू र शैतानको प्रकृतिका सारसङ्क्षेप हुन्। तिनीहरू शैतानको प्रकृतिका सर्वश्रेष्ठ चित्रणहरू र व्याख्याहरू पनि हुन्। मानिसको हृदयमा हालिएका यी विषहरू सबै शैतानबाट आएका हुन्, र यी विषको सानो अंश पनि परमेश्‍वरबाट आएको होइन। यस्ता दियाबलसरूपी शब्दहरू परमेश्‍वरका वचनहरूको प्रत्यक्ष विपक्षमा हुन्छन्। यो पूर्ण रूपले स्पष्ट छ कि सबै सकारात्मक कुराहरूका वास्तविकताहरू परमेश्‍वरबाट आउँछन्, र मानिसलाई विषाक्त पार्ने सबै नकारात्मक कुराहरू शैतानबाट आउँछन्। त्यसकारण, तैँले व्यक्तिको प्रकृति अनि ऊ कसको अधीनमा छ भन्ने कुरा उसको जीवन दृष्टि अनि उसका मूल्य-मान्यताहरू हेरर ठम्याउन सक्छस्। शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन र प्रकृति बनेका छन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्‍ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। दुनियाँसित व्यवहार गर्ने दर्शनहरूका पनि अन्य शब्दहरू छन्, जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षा दिन्छ, बहकाउँछ, र भ्रष्ट तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमाहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्‍वरले नाश गर्नुहुनेछ, किनकि तिनीहरूले शैतानको सेवा र परमेश्‍वरको प्रतिरोध गर्छन्। कतिपय मानिसहरू समाजमा दशकौंदेखि सार्वजनिक अधिकारीको रूपमा काम गर्दै आएका छन्। तिनीहरूलाई यो प्रश्‍न सोधेको कल्पना गरौं न: “तपाईंले यो पदमा रहेर एकदमै राम्रो काम गर्नुभएको छ, तपाईं के-कस्ता नामुद उक्तिहरू अनुसरण गर्दै जिउनुहुन्छ?” तिनीहरूले भन्‍न सक्छन्, “मैले बुझेको एउटा कुराचाहिँ ‘जसले उपहार ल्यायो, उही हाकिमको प्यारो, अनि चापलुसी नगर्नेले केही पनि उपलब्धि प्राप्त गर्दैन’ भन्‍ने हो।” तिनीहरूको जीवनवृत्ति यही शैतानी दर्शनमा आधारित हुन्छ। के यी शब्दहरूले त्यस्ता मानिसहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? पद प्राप्त गर्नलाई अनैतिक ढङ्गबाट जुनसुकै साधन प्रयोग गर्नु तिनीहरूको प्रकृति बनेको छ, र अधिकारी बन्‍नु र पेशा-व्यवसायमा सफलता पाउनु नै तिनीहरूको लक्ष्य हो। मानिसहरूका जीवन, आचरण र व्यवहारमा अझै थुप्रै शैतानी विषहरू छन्। उदाहरणको लागि, दुनियाँसित व्यवहार गर्ने तिनीहरूका दर्शनहरू, तिनीहरूका काम गर्ने शैलीहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र यी सबै नै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा बगिरहेका सबै कुराहरू शैतानका हुन्। शक्ति हातमा भएका ती सबै अधिकारीहरू अनि तालिम र उपलब्धि हासिल गरेका व्यक्तिहरूको सफलताका आफ्नै बाटाहरू र गोप्य रहस्यहरू हुन्छन्। के ती गोप्य रहस्यहरूले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? तिनीहरूले संसारमा त्यति ठूला कामहरू गरेका छन् तर कसैले पनि तिनका पछाडिका योजनाहरू र षडयन्त्रहरूलाई देखे-बुझेका हुँदैनन्। यसले तिनीहरूको प्रकृति कति घातक र विषालु छ भनेर देखाउँछ। मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र यो भन्‍न सकिन्छ कि मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिरोधी र परमेश्‍वरविरोधी छ, र शैतानका दर्शन र विषहरूले भरिपूर्ण छ र ती दर्शन र विषहरूमा डुबेको छ। यो पूर्णतया शैतानको प्रकृति सार बनेको छ। यही कारणले गर्दा मानिसहरूले परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरको विरुद्धमा उभिन्छन्। यदि मान्छेको प्रकृतिलाई यसरी चिरफार गर्ने हो भने तिनीहरूले आफूलाई सजिलै चिन्‍न सक्छन्।

जब मानिसहरूसँग परमेश्‍वरको स्वभावको बारेमा यथार्थ बुझाइ हुन्छ, जब तिनीहरूले परमेश्‍वरको स्वभाव वास्तविक छ, यो साँच्‍चै पवित्र, र साँच्‍चै धर्मी छ भनेर देख्छन्, र जब तिनीहरूले आफ्‍नो हृदयबाट परमेश्‍वरको पवित्रता र धार्मिकताको प्रशंसा गर्न सक्छन्, तब तिनीहरूले साँच्‍चै नै परमेश्‍वरलाई चिन्‍नेछन्, र तिनीहरूले सत्यता प्राप्त गरेका हुनेछन्। परमेश्‍वरलाई चिनेपछि मात्रै मानिसहरू ज्योतिमा जिउँछन्। परमेश्‍वरलाई चिन्‍नुको प्रत्यक्ष प्रभाव भनेको परमेश्‍वरप्रति साँचो रूपमा प्रेम गर्न र समर्पित हुन सक्षम हुनु हो। साँचो रूपमा परमेश्‍वरलाई चिन्‍ने, अनि सत्यता बुझ्‍ने र सत्यता प्राप्त गर्ने मानिसहरूमा, संसारलाई हेर्ने दृष्टिकोण र जीवनप्रतिको सोचमा वास्तविक परिवर्तन आएको हुन्छ, र त्यसपछि तिनीहरूको जीवन स्वभावमा पनि वास्तविक परिवर्तन आउने गर्छ। जब मानिसहरूसँग सही जीवन उद्देश्यहरू हुन्छन्, र तिनीहरूले सत्यताको खोजी गर्न, र सत्यताअनुसार चल्‍न सक्छन्, जब तिनीहरू पूर्ण रूपमा परमेश्‍वरमा समर्पित हुन र उहाँका वचनहरू अनुसार जिउँछन्, जब तिनीहरूले आफ्नो हृदयको गहिराइभित्रसम्म शान्ति र ज्योति पाएको महसुस गर्छन्, जब तिनीहरूको हृदय अन्धकारबाट स्वतन्त्र हुन्छ, र जब तिनीहरू परमेश्‍वरको उपस्थितिमा सम्पूर्ण रूपले स्वतन्त्र र बाधारहित भएर जिउन सक्छन्, तब मात्र तिनीहरूले सच्‍चा मानव जीवन जिउन सक्छन्, र तब मात्र तिनीहरू सत्यता र मानवता भएका व्यक्ति बनेका हुन्छन्। यसको साथै, तैँले बुझेका र प्राप्त गरेका सबै सत्यताहरू परमेश्‍वरका वचनहरू र परमेश्‍वर स्वयम्‌बाट आएका हुन्। तैँले सृष्टिकर्ता अर्थात् सर्वोच्च परमेश्‍वरबाट अनुमोदन प्राप्त गरेपछि मात्रै, र तँ मानव स्वरूपमा जिइरहेको सृष्टि गरिएको योग्य व्यक्ति होस् भनेर उहाँले भन्‍नुभएपछि मात्रै, तेरो जीवन सबैभन्दा अर्थपूर्ण हुनेछ। परमेश्‍वरको अनुमोदन प्राप्त गर्नुको अर्थ तैँले सत्यता प्राप्त गरेको छस्, र तँ सत्यता र मानवता भएको व्यक्ति होस् भन्‍ने हुन्छ। शैतानको वशमा रहेको आजको संसारमा, र इतिहासको कम्तीमा पनि हजारौं वर्षमा, मानवजातिको बीचमा कसले साँचो मानव जीवन प्राप्त गरेको छ? कसैले पनि गरेको छैन। मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको हुनाले, र तिनीहरू शैतानी दर्शनअनुसार जिउने हुनाले, अनि तिनीहरूले गर्ने हरेक कुरा परमेश्‍वरविरोधी हुने भएकोले, र तिनीहरूको हरेक वाणी र सिद्धान्त शैतानको भ्रष्टताबाट आउने, र परमेश्‍वरका वचनहरूलाई घृणा गर्दै बोलिने भएकोले, तिनीहरू स्पष्टतः परमेश्‍वरलाई विरोध गर्ने मानिसहरू हुन्। यदि तिनीहरूले परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्दैनन् भने, तिनीहरूलाई अनन्त विनाश र बरबादीतर्फ धकेलिनेछ, र तिनीहरूसँग कुनै जीवन रहनेछैन। तिनीहरू ख्याति र लाभको पछि लाग्छन्, महान् वा सुप्रसिद्ध व्यक्ति बन्‍ने प्रयास गर्छन्, र “आउँदा पुस्ताहरूमा आफ्‍नो नाम राख्‍न,” र “सारा इतिहासभरि प्रसिद्ध” हुन चाहन्छन्। यी दुष्ट शब्दहरू हुन्, र पूर्णतया असमर्थनीय छन्। वास्तवमा हरेक महान् वा सुप्रसिद्ध व्यक्ति शैतानकै खेमाको हुन्छ, र कहिल्यै पुनर्जन्‍म नहुने गरी दण्डको लागि नरकको अठाह्रौँ तलामुनि फालिएको हुन्छ। जब भ्रष्ट मानवजातिले यी मानिसहरूको आदर गर्छन्, र तिनीहरूका दुष्ट शब्‍द र भ्रामक कुराहरूलाई स्वीकार गर्छन्, तब भ्रष्ट मानवजाति दियाबलसहरू र शैतानको शिकार बन्छन्। सृष्टि गरिएका प्राणीहरूले सृष्टिकर्ताको आराधना गर्नुपर्छ। यो पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो, किनभने परमेश्‍वर मात्रै सत्यता हुनुहुन्छ। परमेश्‍वरले स्वर्ग र पृथ्वी अनि यावत् थोकको नियन्त्रण गर्नुहुन्छ, र सबै थोकमाथि शासन गर्नुहुन्छ। परमेश्‍वरमा विश्‍वास नगर्नु र परमेश्‍वरमा समर्पित नहुनु भनेको सत्यता प्राप्त गर्न नसक्‍नु हो। यदि तँ परमेश्‍वरका वचनहरूअनुसार जिउँछस् भने, तेरो हृदयको गहिराइमा, तैँले उज्यालो र सहज महसुस गर्नेछस्, र तँ अतुलनीय मिठासमा पनि रमाउनेछस्। जब यस्तो हुन्छ, तैँले साँचो रूपमा जीवन प्राप्त गरेको हुनेछस्। संसारका वैज्ञानिकहरूका उपलब्धिहरू जति नै महान् भए पनि, तिनीहरू मृत्युको नजिक पुग्‍नेबित्तिकै, तिनीहरूले आफू रित्तो हात भएको र तिनीहरूले केही पनि प्राप्त नगरेको अनुभव गर्नेछन्। आइन्स्टाइन र न्यूटनजस्ता उच्‍चप्रशंसित बौद्धिक व्यक्तिहरूले समेत रित्तो महसुस गरे। यसको कारण के थियो भने तिनीहरूसँग सत्यता थिएन, र तिनीहरूमा परमेश्‍वरबारे साँचो बुझाइ थिएन। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, तिनीहरू उहाँको अस्तित्वमा मात्र विश्‍वास गर्थे, तर सत्यता पछ्याउने गर्दैनथे। तिनीहरू बस विज्ञान र अध्ययन-अनुसन्धानमा भर परेर परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा पत्ता लगाउन र प्रमाणित गर्न मात्र चाहन्थे। फलस्वरूप, तिनीहरू दुवैले जीवनभर अध्ययन-अनुसन्धान गरे, तर केही पनि हासिल गरेनन्, र तिनीहरूले आजीवन परमेश्‍वरमा विश्‍वास गरिरहे पनि सत्यता कहिल्यै प्राप्त गरेनन्। तिनीहरूले वैज्ञानिक ज्ञानको मात्रै खोजी गरे, तर तिनीहरूले परमेश्‍वरलाई चिन्‍न खोजेनन्। तिनीहरूले सत्यता प्राप्त गरेनन्, न त तिनीहरूले साँचो जीवन नै प्राप्त गरे। तिमीहरूले आज हिँडिरहेको मार्ग तिनीहरूले हिँडेको मार्ग होइन। तिमीहरूले जे खोजी गर्छौ, त्यो भनेको परमेश्‍वरलाई चिन्‍ने, उहाँमा समर्पित हुने, उहाँको आराधना कसरी गर्ने, र कसरी अर्थपूर्ण जीवन जिउने खोजी हो। यो तिनीहरूले खोजेको कुराभन्दा पूर्ण रूपमा फरक छ। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू भए पनि, तिनीहरूले सत्यता प्राप्त गरेनन्। अहिले, देहधारी परमेश्‍वरले तिमीहरूलाई सत्यताको हरेक पक्षबारे बताइसक्‍नुभएको र तिमीहरूलाई सत्यता र जीवनको मार्ग दिइसक्‍नुभएको छ। तिमीहरूले सत्यता खोजी नगर्नु मूर्खता हुनेछ।

अहिले, तिमीहरूमा सत्यताको बुझाइ अपर्याप्त छ। तँ खोक्रो सिद्धान्त मात्र बोल्न सक्छस्। आफूले जिम्मा लिएको कुनै पनि कामबारे तैँले आफूमा कमी र अन्योल रहेको महसुस गर्छस्। यसले के देखाउँछ भने तेरो जीवन प्रवेश अति देखावटी भएको छ, र तैँले अझै सत्यता प्राप्त गरेको छैनस्। जब तैँले साँचो रूपमा सत्यता बुझ्छस् र परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गर्छस्, तब तँलाई शक्ति मिल्नेछ, यस्तो अटूट शक्ति जसले तेरो शरीर भरिनेछ। त्यसबखत, तैँले आफूभित्र पहिलेभन्दा धेरै उज्यालो महसुस गर्नेछस्, र तँ जतिजति टाढासम्म हिँड्छस् बाटो झन्झन् बढी उज्यालो बन्नेछ। आजभोलि, परमेश्‍वरमा विश्‍वास गर्ने अधिकांश मानिसहरूले अझै पनि सही मार्ग हिँड्न थालेका छैनन् र तिनीहरूले सत्यता बुझ्‍न सकेका छैनन्, त्यसकारण तिनीहरू आफूभित्र अझै पनि खोक्रो महसुस गर्छन्, जीवनलाई कष्ट ठान्छन्, र तिनीहरूसँग आफ्नो कर्तव्य निर्वाह गर्ने शक्ति हुँदैन। तिनीहरूको हृदयमा कुनै दर्शन नआएसम्म परमेश्‍वरका विश्‍वासीहरू यस्तै हुन्छन्। मानिसहरूले सत्यता प्राप्त गरेका छैनन् र तिनीहरू परमेश्‍वरलाई अझै चिन्दैनन्, त्यसकारण तिनीहरू अझै पनि खासै आनन्द महसुस गर्दैनन्। विशेष गरी, तिमीहरू सबैले सतावट भोगेका छौ र घर फर्कन अप्ठ्यारो अनुभव गरेका छौ। कष्ट भोग्दा, तँभित्र मृत्युका सोचहरू र बाँच्ने अनिच्छा पनि जाग्छन्। यी देहका कमजोरीहरू हुन्। केहीले त के पनि सोच्छन् भने, “परमेश्‍वरमा विश्‍वास गर्नु आनन्दमयी हुनुपर्छ। अनुग्रहको युगमा, पवित्र आत्माले मानिसहरूलाई शान्ति र खुसी प्रदान गर्नुभयो। अहिले शान्ति र खुसी एकदमै कम छ, र अनुग्रहको युगको भएजस्तो आनन्द अहिले छैन। आज परमेश्‍वरमा विश्‍वास गर्नु भनेको अत्यन्त पिरोल्ने कुरा भएको छ।” तँलाई के मात्र थाहा छ भने दैहिक आनन्द अरू कुनै पनि चीजभन्दा राम्रो कुरा हो। तर तँलाई थाहा छैन, परमेश्‍वरले आज के काम गर्दै हुनुहुन्छ। तिमीहरूको स्वभाव रूपान्तरण गर्न परमेश्‍वरले तिमीहरूको देहलाई कष्ट भोग्न दिनुपर्छ। तेरो देहले कष्ट भोगे पनि, तँसँग परमेश्‍वरको वचन र उहाँको आशिष्‌ छ। तैँले चाहेर पनि मर्न सक्दैनस्। के तँ परमेश्‍वर नचिन्ने र सत्यता प्राप्त नगर्ने कुरा स्विकार्न सक्छस्? अहिले, बढीमा के मात्र हो भने, मानिसहरूले सत्यता प्राप्त गरेका छैनन्, र तिनीहरूसँग जीवन छैन। तिनीहरू मुक्ति खोज्ने आधा बाटोमा छन्, त्यसैले यस क्रममा तिनीहरूले थोरै कष्ट भोग्नैपर्छ। आज, संसारका हरेक व्यक्तिको परीक्षा भइरहेको छ, परमेश्‍वरसमेत कष्ट भोग्दै हुनुहुन्छ, त्यसकारण के तिमीहरूले कष्ट नभोग्नु उचित कुरा हो त? ठूला विपद्‌मार्फत शोधन नभई सच्चा विश्‍वास हुन सक्दैन, र सत्यता र जीवन प्राप्त गर्न सकिँदैन। परीक्षा र शोधन नभए काम हुँदैन। पत्रुसलाई नै हेर्—अन्त्यमा (ऊ त्रिपन्न वर्ष पुगेपछि) सात वर्षसम्म उसको परीक्षा भयो। ती सात वर्षभरि उसले सयौँ परीक्षाहरू भोग्यो। हरेक केही दिनको अन्तरालमा उसको एउटा परीक्षा हुन्थ्यो, र सबैखाले परीक्षाहरू सामना गरेपछि मात्र उसले जीवन प्राप्त गर्‍यो र आफ्नो स्वभाव रूपान्तरण भएको अनुभव गर्‍यो। जब तैँले साँच्चिकै सत्यता प्राप्त गरेर परमेश्‍वरलाई चिन्‍न पुग्छस्, तैँले आफू परमेश्‍वरको लागि बाँचिरहेको हुनुपर्ने महसुस गर्नेछस्। यदि तँ परमेश्‍वरको लागि बाँच्दैनस् भने, तैँले पछुताउनेछस्; तैँले तेरा बाँकी दिनहरू नमिठो अफसोस र घोर पश्‍चात्तापमा जिउनेछस्। तँ अझै मर्न सक्दैनस्। तँ आफ्नो मुठ्ठी कसेर दृढतापूर्वक बाँचिरहनुपर्छ। तैँले परमेश्‍वरका लागि भनेर जीवन जिउनुपर्छ। जब मानिसहरूमा सत्यता हुन्छ, तिनीहरूसँग यो दृढता हुन्छ र फेरि कहिल्यै मर्ने इच्छा गर्दैनन्। मृत्युले तँलाई तर्साउँदा, तैँले यसो भन्नेछस्, “हे परमेश्‍वर, म मर्न इच्छुक छुइनँ। म अझै पनि तपाईलाई चिन्दिनँ। मैले अझै तपाईँको प्रेमको ऋण तिरेको छुइनँ। तपाईँलाई राम्ररी नचिनीकन म मर्न सक्दिनँ।” के तिमीहरू अहिले यो बिन्दुमा पुगेका छौ? अझै पुगेका छैनौ, छौ र? केही मानिसले परिवारको पीडा भोग्छन्, केहीले विवाहको कष्ट, र केहीले सतावट भोग्छन्, र तिनीहरूको बस्ने ठाउँसमेत हुँदैन। तिनीहरू जहाँसुकै जाऊन्, त्यो अरू कसैको घर हुनेछ, र तिनीहरूले हृदयमा पीडा महसुस गर्छन्। तिमीहरूले अहिले भोगिरहेको पीडा परमेश्‍वरले भोग्नुभएकै पीडा होइन र? तिमीहरू परमेश्‍वरसँगै कष्ट भोगिरहेका छौ, र पीडामा मान्छेलाई परमेश्‍वरले साथ दिनुहुन्छ। आज ख्रीष्टको दुःख, राज्य र अटलतामा तिमीहरू सबैको भूमिका छ, र अन्त्यमा तिमीहरूले महिमा प्राप्त गर्नेछौ! यो कष्ट सार्थक छ। त्यस्तै हो नि, होइन र? तँसँग यो इच्छा नै नहुने हुनु हुँदैन। तैँले आज कष्ट भोग्नुको अर्थ के हो र किन यति धेरै कष्ट भोग्दैछस् त्यो बुझ्नुपर्छ। तैँले सत्यता खोजी गरी परमेश्‍वरको अभिप्रायको बुझाइमा पुग्नुपर्छ, त्यसपछि तँभित्र कष्ट भोग्ने इच्छा जाग्नेछ। यदि तैँले परमेश्‍वरको अभिप्राय बुझ्दैनस्, र कष्ट भोग्नेबारे मात्र सोच्छस् भने, तैँले त्यसबारे जति सोच्छस् उति नै त्यो असहज बन्छ र उति नै बढी तेरो जीवनको बाटो सक्‍किन लागेझैँ नकारात्मक महसुस हुनेछ। तँलाई मृत्युको व्यथाले सताउन थाल्नेछ। यदि तैँले आफ्नो हृदय र सारा कोसिस सत्यतामा लगाउँछस्, र तँ सत्यता बुझ्न सक्षम छस् भने, तेरो हृदय चम्किलो हुनेछ, र तैँले आनन्द अनुभव गर्नेछस्। जीवनमा तैँले आफ्नै हृदयभित्र शान्ति र खुसी पाउनेछस्, र जब रोगले आक्रमण गर्छ वा मृत्यु नजिकिन्छ, तैँले यसो भन्नेछस्, “मैले अझै सत्यता प्राप्त गर्न बाँकी छ, त्यसैले म मर्न सक्दिनँ। मैले परमेश्‍वरमा राम्ररी अर्पित हुनुपर्छ, राम्ररी परमेश्‍वरको गवाही दिनुपर्छ, अनि परमेश्‍वरको प्रेमको ऋण तिर्नुपर्छ। अन्तिममा, म जसरी मरूँला त्यसले फरक पर्दैन, किनकि मैले सन्तोषजनक जीवन जिएको हुनेछु। जेसुकै होस्, म अहिले नै मर्न सक्दिनँ। म दृढ भई बाँचिरहनुपर्छ।” तँ अब यस विषयमा स्पष्ट हुनुपर्छ, र यी कुराहरूबाट तैँले सत्यता बुझ्नुपर्छ। मानिसहरूमा सत्यता छ भने, तिनीहरूसँग बल हुन्छ। तिनीहरूमा सत्यता छ भने, तिनीहरूको शरीरभरि अटूट शक्ति पनि हुन्छ। तिनीहरूमा सत्यता छ भने, दृढता हुन्छ। सत्यताविना, मानिस कुहिएका तरकारीजतिकै गिला हुन्छन्; तिनीहरूमा सत्यता छ भने, तिनीहरू इस्पातजतिकै कडा बन्छन्। परिस्थिति जतिसुकै तितो भए पनि, तिनीहरूले बिलकुलै तिक्तता महसुस गर्नेछैनन्। तँलाई तेरो थोरै कष्ट कतिचाहिँ हो जस्तो लाग्छ? देहधारी परमेश्‍वर अझै कष्ट भोग्दै हुनुहुन्छ! तिमीहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका मानिसहरू हौ र तिमीहरूको प्रकृति परमेश्‍वरलाई धोका दिनु हो। तिमीहरूले थाहै नपाई परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोध गर्ने थुप्रै कामहरू गरेका छौ, र तिमीहरू न्याय र सजाय भोग्न लायक छौ। के बिरामी मानिसहरूलाई उपचार गर्दैगर्दा, तिनीहरूले कष्टको डर मान्‍नु उचित कुरा हो? तिमीहरूमा भ्रष्ट स्वभाव छन्, त्यसकारण के तिमीहरूलाई कुनै पीडाविना नै आफ्नो स्वभाव परिवर्तन गरी जीवन प्राप्त गर्न सक्छु जस्तो लाग्छ? तिमीहरूको कष्ट आफ्नै भ्रष्ट स्वभावले निम्त्याएको हो। तिमीहरूले त्यो पाउनैपर्ने र सहनैपर्ने कुरा हो। न यो निर्दोष हो न त परमेश्‍वरले थोपर्नुभएको नै हो। तिमीहरूले अहिले भोगिरहेको कष्ट आफ्नो कर्तव्यमा दौडधुप गरेको र कडा मेहनत गरेको भन्दा अलिकति बढी हो। कहिलेकाहीँ तिमीहरूले आफ्ना भ्रष्ट स्वभावहरू बिलकुलै परिवर्तन नभएको पाउँछौ, त्यसकारण तिमीहरूले केही शोधन भोग्छौ। कहिलेकाहीँ तिमीहरूले परमेश्‍वरको वचन बुझ्दैनौ वा ती वचनहरू पढ्दा पीडादायी लाग्छन्, त्यसकारण तिमीहरू परमेश्‍वरको वचनको शोधनबाट अलि कष्ट भोग्छौ। अथवा, सायद, तिमीहरूले आफ्नो वास्तविक काम नराम्रोसँग गर्छौ र आफ्नो कर्तव्यमा गल्तीहरू गरिराख्छौ, र तिमीहरू आफ्नो काम गर्न सक्षम नभएकोमा दोषी र आफैप्रति घृणा महसुस गर्छौ, र यसले तिमीहरूलाई केही पीडा दिन्छ। सायद तिमीहरू अरूले प्रगति गरेको देख्छौ तर आफ्नो प्रगति अति सुस्त भएको महसुस गर्छौ, तिमीहरूलाई परमेश्‍वरको वचन बोध गर्न अति धेरै समय लाग्छ, यसमा एकदमै थोरै मात्र प्रकाश भएझैँ महसुस हुन्छ, र यी विषयहरूले तिमीहरूलाई केही कष्ट दिन्छ। कहिलेकाहीँ तिमीहरू ठूलो रातो अजिङ्गरको गिरफ्तार र सतावटको कारण आफ्नो प्रतिकूल वातावरणबाट त्रसित हुन्छौ, त्यसकारण तिमीहरू जहिले पनि भयभीत र बेचैन हुन्छौ, र डरमा जिउँछौ, र यसले तिमीहरूलाई केही कष्ट तुल्याउँछ। योबाहेक तिमीहरूले अरू के कष्ट भोगेका छौ? तिमीहरूलाई भारी शारीरिक काम गर्न लगाइँदैन, न त तिमीहरूलाई पिट्ने वा गाली गर्ने हाकिम वा साहेब नै हुन्छन्, र तिमीहरूलाई कसैले पनि दासलाई जस्तो व्यवहार गर्दैन। तिमीहरूले त्यस्तो कुनै कठिनाइ सहनुपर्दैन। खासमा, तिमीहरूले भोग्ने यो कठिनाइ वास्तविक कठिनाइ होइन। त्यसबारे सोच। कुरा यही होइन र? तिमीहरूले आफ्नो परिवार त्यागेर परमेश्‍वरमा अर्पित हुनुको महत्त्व, र यसो गर्नुको कारण बुझ्नुपर्छ। यदि तँ सत्यता र जीवन खोजी गर्न, र साथसाथै आफ्नो कर्तव्य पूरा गर्न र परमेश्‍वरको प्रेमको ऋण तिर्न त्यसो गर्छस् भने, त्यो पूर्ण रूपमा जायज छ। यो सकारात्मक कुरा हो, यो पूर्ण रूपमा स्वभाविक र न्यायोचित छ, र यो कुराप्रति तँ कहिल्यै पछुताउनेछैनस्। तेरो परिवारलाई जे आइपरे पनि, तैँले त्यसलाई बिर्सन सक्छस्। यदि तैँले स्पष्ट रूपमा यो महत्त्व बुझ्छस् भने, तँलाई कुनै पछुतो हुनेछैन, र तँ नकारात्मक हुनेछैनस्। यदि तैँले सच्चा रूपले आफूलाई परमेश्‍वरमा अर्पित गरिरहेको छैनस्, बरु आशिष्‌ प्राप्त गर्न मेहनत गर्दै छस् भने, यो अर्थहीन छ। जब तैँले यो विषय राम्रोसँग बुझ्छस्, तब समस्या समाधान हुन्छ, र तैँले आफ्नो परिवारबारे चिन्ता लिनुपर्ने आवश्यकता रहनेछैन। सबैथोक परमेश्‍वरकै हातमा हुन्छ। अहिलेसम्म आइपुग्दा, तिमीहरू सबैले केही परीक्षा भोगेका छौ। कतिपय मानिसहरूले केही सत्यता प्राप्त गरेका छन्, तर कतिपयले भने धर्मसिद्धान्तहरू मात्र बुझेका छन् तर कुनै सत्यता प्राप्त गरेका छैनन्। केहीमा राम्रो क्षमताको कारण तुलनात्मक रूपले गहन बोध छ, र कम क्षमता भएकाहरूमा तुलनात्मक रूपले सतही बोध छ। तेरो बोध गहन वा सतही जे-जस्तो भए पनि, तैँले केही सत्यता बुझ्छस् र कुनै परीक्षा सामना गर्दा आफ्नो साक्षीमा दह्रिलो गरी खडा हुन सक्छस् भने, तेरो कष्टको अर्थ र मूल्य रहन्छ। यदि तैँले परमेश्‍वरबाट आएका कुराहरू स्वीकार गर्न सक्दैनस्, र तैँले कुनै पनि कुरालाई मानवीय धारणा र कल्पनाको आधारमा लिन्छस् भने, जतिसुकै कष्ट भोगे पनि, तँसित अनुभवमा आधारित साँचो गवाही कहिल्यै हुनेछैन। अनि, तैँले सत्यता प्राप्त नगरेकोले, तेरो कष्टको कुनै मूल्य हुनेछैन।

तिमीहरूले सबै कुरामा परमेश्‍वरको अभिप्राय खोजी गर्नुपर्छ, र तिमीहरूले सबै कुरामा सत्यता खोजी गर्नुपर्छ। उदाहरणको लागि, जीवनका खानेकुरा, वस्‍त्र, र व्यक्तिगत कुराहरूजस्ता विषयमा तैँले कसरी सत्यता खोजी गर्छस्? के यी कुराहरूमा खोजी गर्नुपर्ने सत्यताहरू छन्? कतिपय मानिसहरूले भन्छन्, “परमेश्‍वरमा विश्‍वास गर या नगर, खुसी भनेको राम्ररी खान-लाउन पाउनु हो। त्योविना, दुख मात्र हुनेछ।” के यो सत्यतासँग मेल खान्छ? प्रचुरतामा जिउने, राम्रो खाने र लाउने कैयौँ मानिसहरू हुन्छन्, जो दैहिक आनन्दका लोभी हुन्छन्। तिनीहरूले सजिलै सत्यता स्विकार्ने वा व्यवहारमा लागू गर्नेसमेत गर्दैनन्, सबथोक त्यागेर तिनीहरू परमेश्‍वरमा अर्पित हुनु त परको कुरा हो। त्यस खालको व्यक्तिले परमेश्‍वरको अनुमोदन प्राप्त गर्दैन, र अन्तिममा, तिनीहरू सबै विपद्‌मा परेर रुनेछन् र दाह्रा किट्नेछन्। के त्यस खालका व्यक्तिमा उल्लेख गर्न लायक खुसी हुन सक्छ? थुप्रै मानिसहरू श्रमिक वा किसान परिवारमा जन्मेर बच्‍चैदेखि धेरै कष्ट भोगेका हुन्छन्। यदि तिनीहरू सत्यता बुझ्न सक्षम छन् भने, तिनीहरूले सम्भवतः त्यो स्विकार्न र व्यवहारमा लागू गर्न सक्छन्, र तिनीहरू कष्टको डर नमानी त्यागहरू गर्न र आफैलाई परमेश्‍वरमा अर्पित गर्न सक्षम हुन्छन्। तिनीहरू परमेश्‍वरको आज्ञाप्रति पूर्ण बफादारी निभाउन सक्षम सक्छन्, र केही त परमेश्‍वरको लागि आफ्नै जीवन दिने हदसम्म पुग्छन्। परमेश्‍वरको घरमा त्यस्ता व्यक्तिको प्रशंसा गरिन्छ। धेरै मानिसहरू दैहिक आनन्दमा अति नै केन्द्रित हुन्छन्। के तिमीहरूले पनि राम्रो खानु र लाउनु वास्तवमै महत्त्वपूर्ण हो भनेर भन्थ्यौ? बिलकुलै होइन। यदि कसैले परमेश्‍वरलाई साँचो रूपमा चिन्‍न र सत्यता प्राप्त गर्न सक्छ भने, आफूले गर्ने सबै कुरामा, उसले परमेश्‍वरको साक्षी दिन्छ र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउँछ। त्यस्तो व्यक्तिले जति नै नराम्ररी खाने-लाउने गरे पनि, उसको जीवनमा अझै पनि मूल्य हुन्छ, र उसले परमेश्‍वरको स्वीकृति प्राप्त गर्न सक्छ। के त्यो सबभन्दा अर्थपूर्ण कुरा होइन र? न त राम्रो खाँदा नै न त राम्रो लाउँदा नै, त्यसले तँ आशिषित हुने कुराको ग्यारेन्टी गर्छ। यदि तैँले परमेश्‍वरविरुद्ध विद्रोह गरिस् वा गलत मार्ग अपनाइस् भने तँ अझै पनि श्रापित नै हुनेछस्, जबकि नराम्रो वस्‍त्र लगाउने वा नराम्रो खानेकुरा खाने तर सत्यता प्राप्त गरेको व्यक्तिलाई परमेश्‍वरले आशिष्‌ दिनुहुनेछ। त्यसकारण, तैँले खाने-लाउने विषयलाई कसरी लिनुपर्छ भन्नेबारेमा सत्यताको खोजी गर्नुपर्छ, र तैँले आफ्‍नो कर्तव्यनिर्वाहलाई कसरी लिनुपर्छ भन्नेबारेमा अझै बढी सत्यता खोजी गर्नुपर्छ। परमेश्‍वरका आज्ञाहरूलाई तैँले कसरी लिन्छस् भन्‍ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ, र त्यो एकदमै गम्भीर विषय हो! यदि परमेश्‍वरले मानिसहरूलाई सुम्‍पनुभएको कुरा तैँले पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तँलाई सजाय दिइनुपर्छ। परमेश्‍वरले सुम्पनुभएका आज्ञाहरूलाई मानिसहरूले पूरा गर्नुपर्छ भन्ने कुरा पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो। यो मान्छेको सर्वोच्च उत्तरदायित्व हो, र यो कुरा तिनीहरूको जीवन जत्तिकै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्‍वरका आज्ञाहरूलाई गम्भीरताका साथ लिँदैनस् भने तैँले उहाँलाई सबैभन्दा घोर रूपले धोका दिइरहेको हुन्छस्। यसमा, तँ यहूदाभन्दा पनि बढी विलापमय हुन्छस्, र तँ श्रापित हुनुपर्छ। मानिसहरूले आफूलाई परमेश्‍वरले जे सुम्‍पनुहुन्छ सो कुराप्रति कस्तो व्यवहार गर्ने भन्नेबारेमा पूर्ण बुझाइ हासिल गर्नुपर्छ र तिनीहरूले कम्तीमा पनि उहाँले मानवजातिलाई सुम्पिनुभएका आज्ञाहरू परमेश्‍वरबाट प्राप्त पदोन्नति र विशेष कृपाहरू हुन् र ती सबैभन्दा महिमामयी कुराहरू हुन् भनेर बुझ्‍नुपर्छ। अन्य सबै कुराहरूलाई त्याग्न सकिन्छ। यदि व्यक्तिले आफ्नो जीवन नै बलिदान दिनुपर्छ भने पनि, उसले परमेश्‍वरका आज्ञाहरू पूरा गर्नैपर्छ। यहाँ हेर्, के यसमा खोजी गर्नुपर्ने सत्यता छैन र? आफ्नो स्वभावमा परिवर्तन हासिल गर्नु पूर्ण रूपमा सत्यताको खोजी गर्ने कार्यसँग जोडिएको हुन्छ! यदि तैँले मानिसहरू किन जिउँछन्, र तैँले जीवनलाई कसरी हेर्नुपर्छभन्ने सत्यतालाई बुझिस् भने, के जीवनसम्‍बन्धी तेरो दृष्टिकोण परिवर्तन हुनेछैन र? यहाँ त खोजी गर्नुपर्ने सत्यता अझै धेरै छ। परमेश्‍वरलाई प्रेम गर्ने कार्यमा कुन सत्यता पाउन सकिन्छ? किन मानवले उहाँलाई प्रेम गर्नैपर्छ? उहाँलाई प्रेम गर्नुको महत्त्व के हो? यदि व्यक्तिसँग परमेश्‍वरलाई प्रेम गर्ने सत्यताको स्पष्ट बुझाइ छ भने, र उसले उहाँलाई हृदयको गहिराइदेखि नै प्रेम गर्न सक्छ र उसमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय अलिकति छ भने, ऊसित जीवन सच्‍चा छ र ऊ सबैभन्दा आशिषितहरूमध्येको एक हो। सबै कुरामा सत्यता खोजी गर्नेहरूको जीवनमा सबैभन्दा छिटो प्रगति हुन्छ, र तिनीहरूले स्वभावको रूपान्तरण हासिल गर्न सक्छन्। सबै कुरामा सत्यता खोजी गर्नेहरूलाई नै परमेश्‍वरले प्रेम गर्नुहुन्छ। यदि व्यक्तिले सबै कुरामा धारणा र धर्मसिद्धान्तहरू बोकेर हिँड्छ वा नियमहरू पालना गर्छ भने, उसले कुनै प्रगति गर्नेछैन। उसले कहिल्यै पनि सत्यता प्राप्त गर्नेछैन, र ढिलोचाँडो उसलाई हटाइनेछ। परमेश्‍वरले यस्तो व्यक्तिलाई सबैभन्दा बढी तिरस्कार गर्नुहुन्छ।

वसन्त, १९९९

अघिल्लो: कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ

अर्को: सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्