ढ. परमेश्‍वरद्वारा प्रदान गरिने स्वभाव परिवर्तन र सिद्धताको खोजी सम्बन्धमा

५०४. मानिसको स्वभाव रूपान्तरण परमेश्‍वरका विभिन्न प्रकारका कामहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरूविना, मानिस परमेश्‍वरको गवाही दिन र परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभाव रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्‍वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्‍वरको साक्षी भएको छ, र परमेश्‍वरका अभिप्रायहरू अनुरूप भएको छ भन्‍ने सङ्केत गर्छ। आज, देहधारी परमेश्‍वर पृथ्वीमा आफ्नो कार्य गर्न आउनुभएको छ, र उहाँको माग मानिसले उहाँको ज्ञान हासिल गरोस्, उहाँप्रति समर्पित होस्, उहाँको गवाही दिओस्, तिनीहरूले उहाँको व्यावहारिक र सामान्य कार्य जानून्, मानिसका धारणासँग नमिल्ने उहाँका सबै वचन र कार्यहरूप्रति तिनीहरू समर्पित होऊन्, र मानिसलाई बचाउनका साथै मानिसउपर विजय गर्नका लागि उहाँले समापन गर्ने सबै कार्यहरूको गवाही तिनीहरूले दिऊन् भन्‍ने हो। परमेश्‍वरको गवाही दिनेहरूसँग परमेश्‍वरको ज्ञान हुनैपर्छ; यस प्रकारको गवाही मात्र सही र व्यावहारिक हुन्छ, र यस प्रकारको गवाहीले मात्र शैतानलाई लाजमा पार्न सक्छ। उहाँको न्याय, सजाय, र काँटछाँट भोगेर उहाँलाई जानिसकेकाहरूलाई उहाँ आफ्नो गवाही दिनका लागि प्रयोग गर्नुहुन्छ। शैतानले भ्रष्ट तुल्याएका मानिसहरूलाई उहाँले उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ, र त्यसैगरी जसको स्वभाव परिवर्तन भएको छ, र जसले उहाँको आशिषप्राप्त गरेको छ, यी सबैलाई पनि उहाँले गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँद्वारा मुक्ति नपाएको मानिसले आफ्नो मुखबाट उहाँको प्रशंसा गरिरहनु पर्दैन, न त उहाँलाई शैतानको दुष्ट्याइँको प्रशंसा र गवाहीको नै आवश्यकता छ। केवल उहाँलाई चिन्नेहरू मात्र उहाँको गवाही दिन योग्य छन्, र स्वभावमा परिवर्तन भएकाहरू मात्रै उहाँको गवाही दिन योग्य छन्। परमेश्‍वरले जानाजानी मानिसलाई उहाँको नामको बेइज्जत गर्न दिनुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरूले मात्र परमेश्‍वरको गवाही दिन सक्छन्

५०५. मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनि दुःखकष्ट र शोधन भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा अनुशासित र काटछाँट गरिनुपर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति समर्पणता र बफादारिता हासिल गर्न सक्छन्, र अबउप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुन्छ। उहाँका वचनहरूको खुलासा, न्याय, अनुशासन र काटछाँटद्वारा मात्र तिनीहरू अबउप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् र त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि परमेश्‍वरका वर्तमान वचनहरू र उहाँको काम मानिसहरूका धारणाहरूसँग मेल नखाए पनि तिनीहरू ती कुरामा समर्पित हुन सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्छ्याएर स्वेच्छाले समर्पित हुन सक्छन्। विगतमा, स्वभाव परिवर्तनको कुराले मुख्य रूपमा आफ्‍नो विरुद्धमा विद्रोह गर्न सक्‍ने हुनु, देहलाई दुःख भोग्‍न दिनु, आफ्नो शरीरलाई अनुशासनमा राख्‍नु, र आफैलाई शारीरिक अभिलाषाहरूबाट मुक्त गर्नु भन्‍ने कुरालाई बुझाउँथ्यो, जुन स्वभावमा आउने एक प्रकारको परिवर्तन हो। आज, स्वभाव परिवर्तनको साँचो अभिव्यक्ति परमेश्‍वरका वर्तमान वचनहरूमा समर्पित हुनु र उहाँको नयाँ कामलाई साँचो रूपमा जान्‍नु हो भन्‍ने कुरा सबैलाई थाहा छ। यस तरिकाले, मानिसहरूका आफ्‍नै धारणाहरूले रङ्गिएका परमेश्‍वरसम्‍बन्धी तिनीहरूको पहिलेको बुझाइलाई हटाउन सकिन्छ, र तिनीहरूले परमेश्‍वरको साँचो ज्ञान र उहाँप्रतिको समर्पणता हासिल गर्न सक्छन्—यही मात्र स्वभावमा हुने परिवर्तनको सच्‍चा अभिव्यक्ति हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

५०६. मानिसको स्वभाव परिवर्तन गर्ने कुरा उसको सारको ज्ञानबाट र उसको सोचविचार, प्रवृत्ति, र मानसिक दृष्टिकोणको परिवर्तन, अर्थात् आधारभूत परिवर्तनहरूबाट सुरु हुन्छ। यस किसिमले मात्र मानिसको स्वभावमा साँचो परिवर्तनहरू प्राप्‍त हुनेछन्। मानिसमा प्रकट हुने भ्रष्ट स्वभावको मूल कारण शैतानको बहकाइ, भ्रष्टता, र विष हो। मानिसलाई शैतानले बन्धन र नियन्त्रणमा राखेको छ, र शैतानले उसको सोचविचार, नैतिकता, अन्तर्ज्ञान र तर्कशक्तिमा चोट पुर्‍याएको असाधारण हानि उसले भोग्छ। मानिसका आधारभूत कुराहरू शैतानद्वारा भ्रष्‍ट बनाइएको कारण नै र तिनीहरू परमेश्‍वरले तिनीहरूलाई मौलिक रूपमा सृष्टि गर्नुभएको जस्तो अवस्थामा पटक्कै नभएकाले गर्दा नै, मानिसले परमेश्‍वरको विरोध गर्छ र सत्यतालाई स्वीकार गर्न सक्दैन। यसैले, मानिसको स्वभावमा हुने परिवर्तनहरू उसको सोचविचार, अन्तर्दृष्टि, र चेतनामा आउने परिवर्तनबाट सुरु हुन्छ, जसले परमेश्‍वर सम्बन्धी उसको ज्ञान र सत्यता सम्बन्धी उसको ज्ञानलाई परिवर्तन गर्नेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

५०७. मानिस उसको जीवनमा, यदि पखालिन र आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न चाहन्छ भने, यदि ऊ अर्थपूर्ण जीवन जिउन र सृजित प्राणीका रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्नैपर्छ र आफूबाट परमेश्‍वरको अनुशासन र परमेश्‍वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट स्वतन्त्र गर्न सकोस् र ऊ परमेश्‍वरको ज्योतिमा जिउन सकोस्। यो जान कि परमेश्‍वरको सजाय र न्याय नै ज्योति हो र यो मानिसको मुक्तिको ज्योति हो, र मानिसका लागि योभन्दा उत्तम आशिष्, र योभन्दा ठूलो अनुग्रह वा सुरक्षा कुनै छैन। मानिस शैतानको प्रभावमा जिउँछ, र देहको अस्तित्वमा छ; यदि उसलाई शुद्ध पारिँदैन र उसले परमेश्‍वरको सुरक्षा प्राप्त गर्दैन भने, मानिस अझै भ्रष्ट बन्‍नेछ। यदि उसले परमेश्‍वरलाई प्रेम गर्न चाहन्छ भने, उसलाई धोइन र मुक्त गरिनैपर्छ। पत्रुसले प्रार्थना गर्थे, “परमेश्‍वर, तपाईंले मसँग दयालु व्यवहार गर्नुहुँदा म प्रसन्‍न हुन्छु, र सान्त्वनाको अनुभूति गर्छु; जब तपाईंले मलाई सजाय दिनुहुन्छ, म अझै बढी सान्त्वना र आनन्द महसुस गर्छु। म कमजोर भए पनि र मैले अवर्णनीय कष्ट सहे पनि, यसमा आँसु र दुःख भए पनि, यो दुःखको कारण मेरो विद्रोहीपन र कमजोरी हो भनी तपाईं जान्‍नुहुन्छ। म रुन्छु किनभने म तपाईंका अभिप्रायहरूलाई पूरा गर्न सक्दिनँ, म शोक र पछुतो महसुस गर्छु किनभने तपाईंका मागहरूका लागि म अपर्याप्त छु, तर यो स्थिति प्राप्त गर्न म इच्‍छुक छु, तपाईंलाई सन्तुष्ट पार्नको लागि मैले सक्‍ने सबै गर्न म इच्‍छुक छु। तपाईंको सजायले मलाई सुरक्षा दिएको छ र मलाई सर्वोत्तम मुक्ति दिएको छ; तपाईंको न्यायले तपाईंको सहनशीलता र धैर्यतालाई उछिन्छ। तपाईंको सजाय र न्यायविना, मैले तपाईंको कृपा र प्रेमिलोदयालुपनको आनन्द उठाउने थिइनँ। आज तपाईंको प्रेमले स्वर्गहरूलाई उछिनेको र अरू सबै थोकलाई पार गरेको म अझै बढी देख्‍छु। तपाईंको प्रेम त कृपा र प्रेमिलोदयालुपन मात्रै होइन; त्योभन्दा पनि बढी, यो सजाय र न्याय हो। मैले तपाईँको सजाय र न्यायबाट एकदमै धेरै प्राप्त गरेको छु। तपाईँको सजाय र न्यायविना, एक जना पनि शुद्ध पारिन्‍नथ्यो र एक जनाले पनि सृष्टिकर्ताको प्रेम अनुभव नगर्नेथ्यो।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

५०८. यदि तँ सिद्ध पारिन चाहन्छस् भने, पहिले तैँले परमेश्‍वरद्वारा निगाह पाउनुपर्दछ, किनकि उहाँले जसलाई निगाह गर्नुहुन्छ र जो उहाँका अभिप्राय अनुसारका छन् तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ। यदि तँ परमेश्‍वरका अभिप्राय अनुसारको बन्‍न चाहन्छस् भने, तँसँग त्यो हृदय हुनुपर्दछ जो उहाँको कामप्रति समर्पित हुन्छ, तैँले सत्यको पछि लाग्ने कोसिस गर्नुपर्दछ, र तैँले सबै कुरामा परमेश्‍वरको जाँच स्वीकार्नु पर्दछ। के तैँले गर्ने सबै कुरा परमेश्‍वरको जाँचबाट भएर गएका छन्? के तेरो अभिप्राय सही छ? यदि तेरो अभिप्राय सही छ भने, परमेश्‍वरले तँलाई स्याबासी दिनुहुनेछ; यदि तेरो अभिप्राय गलत छ भने, तेरो हृदयले परमेश्‍वरलाई प्रेम गर्दैन, तर शरीर र शैतानलाई प्रेम गर्दछ भन्‍ने त्यसले देखाउँछ। त्यसकारण, तैँले सबै कुरामा परमेश्‍वरको जाँचलाई स्वीकार गर्ने तरिकाको रूपमा प्रार्थनालाई प्रयोग गर्नुपर्छ। जब तैँले प्रार्थना गर्छस्, म त्यस बेला व्यक्तिगत रूपमा तेरो सामु खडा नभए पनि पवित्र आत्मा तेरो साथमा हुनुहुन्छ, र तैँले म र पवित्र आत्मा दुवैसँग नै प्रार्थना गरिरहेको हुन्छस्। तँ यो देहमा किन विश्‍वास गर्छस्? उहाँसित परमेश्‍वरका आत्मा हुनुहुन्छ, त्यसकारण तँ विश्‍वास गर्छस्। यदि उहाँ परमेश्‍वरका आत्मा विहीन हुनुहुन्थ्यो भने के तँ यस व्यक्तिमा विश्‍वास गर्ने थिइस्? जब तँ यस व्यक्तिमा विश्‍वास गर्छस् तब तँ परमेश्‍वरका आत्मामा विश्‍वास गर्छस्। जब तँ यो व्यक्तिमा डर मान्छस्, तब तँ परमेश्‍वरका आत्मासँग डराउँछस्। परमेश्‍वरका आत्मामा विश्‍वास गर्नु भनेको यो व्यक्तिमा विश्‍वास गर्नु हो, र यस व्यक्तिमा विश्‍वास गर्नु भनेको परमेश्‍वरका आत्मामा विश्‍वास गर्नु हो। जब तँ प्रार्थना गर्छस्, तैँले परमेश्‍वरका आत्मा तेरो साथमा भएको र परमेश्‍वर तेरो सामु भएको महसुस गर्छस्, र यसैले तँ उहाँका आत्मालाई प्रार्थना गर्छस्। आज, प्रायः मानिसहरू आफ्ना कामहरू परमेश्‍वरको सामु ल्याउन डराउँछन्; तँ उहाँको शरीरलाई धोका दिन सक्छस्, तर तँ उहाँको आत्मालाई धोका दिन सक्दैनस्। कुनै पनि कुरा जुन परमेश्‍वरको जाँचको अघि टिक्दैन भने त्यो सत्यतासँग अमिल्दो हुन्छ, र त्यसलाई अलग गर्नुपर्दछ; त्यस बाहेकको कुरा गर्नु भनेको परमेश्‍वरको विरुद्धमा पाप हुन्छ। यसैले जब तँ प्रार्थना गर्छस्, जब तँ आफ्ना भाइबहिनीहरूसँग कुराकानी र सङ्गति गर्छस्, र जब तँ आफ्नो काम गर्छस् र तेरो व्यापारको काम गर्छस्, हरसमय तैँले परमेश्‍वरको सामु आफ्नो हृदय राख्नुपर्छ। जब तँ आफ्नो कार्य पूरा गर्छस्, परमेश्‍वर तेरो साथमा हुनुहुन्छ र जबसम्म तेरो अभिप्राय सही हुन्छ र त्यो काम परमेश्‍वरको घरको कामका लागि हुन्छ, उहाँले तैँले गरेका सबै काम स्वीकार गर्नुहुनेछ; तैँले आफ्नो काम पूरा गर्न आफैलाई इमानदारीसाथ समर्पित गर्नुपर्छ। जब तँ प्रार्थना गर्छस्, यदि तँमा परमेश्वरलाई प्रेम गर्ने हृदय छ र परमेश्‍वरको वास्ता, सुरक्षा र जाँचको खोजी गर्छस् भने, यदि यी कुराहरू तेरो उद्देश्य हुन् भने, तेरा प्रार्थनाहरू प्रभावकारी हुनेछन्। उदाहरणका लागि, जब तँ सभाहरूमा प्रार्थना गर्छस्, यदि तैँले आफ्नो हृदय खोल्छस् र परमेश्‍वरसँग प्रार्थना गर्दै कुनै झूटो नबोली आफ्नो हृदयको कुरा उहाँलाई बताउँछस् भने तेरा प्रार्थनाहरू निश्चय प्रभावकारी हुनेछन्। यदि तँमा परमेश्वरलाई प्रेम गर्ने गम्भीर हृदय छ भने, परमेश्‍वरसँग यो शपथ खा: “हे परमेश्‍वर, जो स्वर्गमा, पृथ्वीमा र सबै थोकहरूमा हुनुहुन्छ, म तपाईंसँग शपथ खान्छु: तपाईंका आत्माले मैले गर्ने सबै कामको जाँच गरून् र हरसमय मलाई रक्षा र वास्ता गरून्, र मैले गर्ने सबै कुरा तपाईंको उपस्थितिमा खडा हुन सकोस्। यदि मेरो हृदयले तपाईंलाई कहीँ प्रेम गर्न छोड्छ भने वा यसले तपाईंलाई कहीँ धोका दिन्छ भने, मलाई कठोर दण्ड र सराप दिनुहोस्। मलाई यो संसार वा अर्को संसारमा पनि क्षमा नदिनुहोस्!” के तँ यस्तो शपथ खाने हिम्मत गर्छस्? यदि तँ हिम्मत गर्दैनस् भने त्यसले तँ कायर छस् र तँ अझै पनि आफैलाई प्रेम गर्छस् भन्‍ने देखाउँछ। के तिमीहरूमा यस्तो सङ्कल्‍प छ? यदि यो साँच्‍चै तेरो सङ्कल्‍प हो भने तैँले यो शपथ खानुपर्छ। यदि तँमा यस्तो शपथ खाने सङ्कल्प छ भने परमेश्‍वरले तेरो संकल्प पूरा गर्नुहुनेछ। जब तँ परमेश्‍वरसित शपथ खान्छस्, उहाँले त्यो सुन्नुहुन्छ। परमेश्‍वरले तेरो प्रार्थना र तेरो अभ्यासको मापनद्वारा नै तँ पापी होस् कि धर्मी होस् भन्‍ने निश्चित गर्नुहुन्छ। यो अहिले तिमीहरूलाई सिद्ध बनाउने प्रक्रिया हो र यदि आफू सिद्ध भएकोमा तँमा साँच्‍चै विश्‍वास छ भने तैँले गरेका सबै कुराहरू परमेश्‍वर सामु ल्याउनेछस् र उहाँको जाँच स्वीकार गर्नेछस्; यदि तँ अति नै विद्रोही बनेर केही गर्छस् भने वा यदि तँ परमेश्‍वरलाई धोका दिन्छस् भने, तब उहाँले तेरो शपथलाई फलदायी बनाउनुहुनेछ, र यसैले तेरो विनाश वा दण्ड जे नै भए पनि त्यो तेरो आफ्नै कामले गर्दा हुन्छ। तैँले शपथ खाइस्, त्यसैले तैँले त्यसलाई पूरा गर्नुपर्छ। यदि तँ शपथ खान्छस्, तर त्यसलाई पूरा गर्दैनस् भने, तैँले विनाश भोग्नुपर्नेछ। शपथ तैँले नै खाएको थिइस्, त्यसैले परमेश्‍वरले तेरो शपथलाई सफल तुल्याउनुहुनेछ। कोही-कोही प्रार्थना गरिसकेपछि डराउँछन्, र विलाप गर्छन्, “सबै खत्तम भयो! अनैतिक कार्य गर्ने मेरो सबै मौका गयो; दुष्कर्म गर्ने मेरो मौका गएको छ; सांसारिक लालसाहरूमा लिप्त हुने मेरो मौका सकियो!” यी मानिसहरूले अझै पनि सांसारिकता र पाप मन पराउँछन्, र तिनीहरूले विनाश भोग्ने निश्चित छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले उहाँका अभिप्रायअनुसार हुनेहरूलाई सिद्ध बनाउनुहुन्छ

५०९. परमेश्‍वरले मानिसहरूलाई सिद्ध तुल्याउने एउटा नियम छ, जुन यो हो कि उहाँले तेरो वाञ्छनीय पक्षलाई प्रयोग गरेर तँलाई अन्तर्दृष्टि दिनुहुन्छ ताकि तँसँग अभ्यास गर्ने मार्ग होस् र तैँले आफूलाई नकारात्मक अवस्थाहरूबाट अलग गर्न सक् र यसरी तैँले आफ्नो आत्मालाई छुटकारा पाउन सहायता गर्न सक् र तैँले आफूलाई परमेश्‍वरलाई अझ बढी प्रेम गर्न सक्‍ने तुल्याउन सक्। यस्तो प्रकारले तैँले शैतानको भ्रष्ट स्वभावलाई त्याग्‍न सक्छस्। तँ निष्कपट र खुला छस्, आफैलाई चिन्न र सत्यतालाई व्यवहारमा अपनाउन इच्छुक छस्। परमेश्‍वरले निश्चय नै तँलाई आशिष दिनुहुनेछ, त्यसैले जब तँ कमजोर र नकारात्मक हुन्छस्, तब उहाँले तँलाई दोब्बर ज्ञान दिनुहुन्छ, तँलाई अझ बढी आफैलाई चिन्न, आफ्नै निम्ति पश्चात्ताप गर्न अझ बढी इच्छुक बन्न र आफूले अभ्यास गर्नुपर्ने कुरा अभ्यास गर्न अझ बढी सक्षम हुन सहयोग गर्नुहुन्छ। यसरी मात्रै तेरो हृदय शान्त र सहज हुन सक्छ। साधारणतः परमेश्‍वरलाई चिन्ने कुरामा ध्यान लगाउने, आफैलाई चिन्ने कुरामा ध्यान लगाउने, अनि आफ्नै अभ्यासमा ध्यान दिने व्यक्ति बारम्बार परमेश्‍वरको काम, साथसाथै उहाँको मार्गदर्शन र अन्तर्दृष्टि प्राप्त गर्न सक्षम हुनेछ। यदि त्यस्तो व्यक्ति नकारात्मक अवस्थामा छ भने पनि उसले विवेकको कार्य वा परमेश्‍वरको वचनको अन्तर्दृष्टिको कारण परिस्थितिहरू तुरुन्तै बदल्न सक्छ। कुनै व्यक्तिको स्वभावको परिवर्तन तब हासिल हुन्छ जब उसले आफ्नो वास्तविक अवस्था अनि परमेश्‍वरको स्वभाव र कार्यको बारेमा जान्दछ। आफैलाई चिन्न र आफ्‍नो मन खोल्‍न इच्छुक व्यक्ति सत्यतालाई अभ्यास गर्न सक्षम हुनेछ। यस प्रकारको व्यक्ति परमेश्‍वरप्रति बफादार व्यक्ति हो, अनि जुन व्यक्ति परमेश्‍वरप्रति बफादार हुन्छ ऊसित परमेश्‍वरप्रतिको बुझाइ हुन्छ, त्यो बुझाइ चाहे गहिरो होस् वा सतही, थोरै होस् वा प्रशस्त। यो परमेश्‍वरको धार्मिकता हो, र यो त्यस्तो कुरा हो जुन मानिसहरूले प्राप्त गर्छन्; यो उनीहरूको आफ्नै लाभ हो। जुन व्यक्तिमा परमेश्‍वरको ज्ञान हुन्छ ऊ त्यो व्यक्ति हो जोसँग आधार हुन्छ, जोसँग दर्शन हुन्छ। यस प्रकारको व्यक्ति परमेश्‍वरको देहको बारेमा निश्चित हुन्छ, र परमेश्‍वरको वचन र परमेश्‍वरको कामको बारेमा निश्चित हुन्छ। परमेश्‍वरले जसरी काम गर्नुभए पनि वा बोल्नुभए पनि, वा अरू मानिसहरूले जस्तै बाधा दिए पनि ऊ अडिग रहन सक्छ र उसले परमेश्‍वरको लागि साक्षी दिन सक्छ। कुनै व्यक्ति जति बढी यस्तो हुँदै जान्छ, उसले आफूले बुझेको सत्यतालाई त्यति नै बढी अघि बढाउन सक्छ। उसले सधैँ परमेश्‍वरको वचनको अभ्यास गरिरहेको हुनाले उसले परमेश्‍वर सम्बन्धी अझ बढी बुझाइ प्राप्त गर्छ, अनि उसँग सदासर्वदा परमेश्‍वरको लागि साक्षी बनेर खडा हुने दृढ संकल्प हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

५१०. परमेश्‍वरमा विश्‍वास गरेर, यदि मानिसहरू आफ्नो स्वभाव परिवर्तन गर्न चाहन्छन्, भने उनीहरूले आफैलाई वास्तविक जीवनबाट अलग गर्नुहुँदैन। वास्तविक जीवनमा तैँले आफैलाई चिन्नुपर्छ, आफ्‍नो विरुद्ध विद्रोह गर्नुपर्छ, सत्यको अभ्यास गर्नुपर्छ, साथै बिस्तारै रूपान्तरण हासिल गर्नुभन्दा अघि तैँले सबै कुरामा आत्म-आचरणका सिद्धान्तहरू, सामान्य ज्ञान र नियमहरू सिक्नुपर्दछ। यदि तैँले सैद्धान्तिक ज्ञानमा मात्र ध्यान केन्द्रित गर्छस् र वास्तविकताको गहिराइमा नपसी, वास्तविक जीवनमा प्रवेश नगरी केवल धार्मिक विधिविधानहरूमा मात्र जिउँछस् भने तँ वास्तविकताभित्र कहिल्यै पनि प्रवेश गर्नेछैनस्, तैँले आफैलाई, सत्यतालाई वा परमेश्‍वरलाई कहिल्यै जान्नेछैनस्, र तँ सदासर्वदा अन्धो र अज्ञानी हुनेछस्। मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको कार्य तिनीहरूलाई थोरै समयपछि सामान्य मानवीय जीवन बिताउन दिनु होइन, न त उनीहरूका गलत धारणा र सिद्धान्तहरूलाई रूपान्तरण गर्नको लागि नै हो। बरु, उहाँको उद्देश्य मानिसहरूको पुरानो स्वभाव परिवर्तन गर्नु, उनीहरूको पुरानो जीवनशैलीलाई पूर्ण रूपमा बदल्नु, र तिनीहरूको पुरानो सोच र मानसिक दृष्टिकोणलाई बदल्नु हो। केवल मण्डलीको जीवनमा ध्यान केन्द्रित गरेर मात्रै मानिसहरूका पुरानो जीवनका बानीहरू परिवर्तन हुँदैनन् वा उनीहरू लामो समयदेखि बाँचेको पुरानो तरिकाहरू परिवर्तन हुँदैनन्। जे भए पनि, मानिसहरू वास्तविक जीवनबाट अलग हुनुहुँदैन। मानिसहरूले मण्डलीको जीवनमा मात्र होइन, तर वास्तविक जीवनमा समेत सामान्य मानव जीवन जिऊन् भनी परमेश्‍वरले आग्रह गर्नुहुन्छ; तिनीहरूले मण्डलीको जीवनमा मात्र होइन, तर वास्तविक जीवनमा समेत सत्यतामा बाँचून्, र तिनीहरूले मण्डलीको जीवनमा मात्र होइन, वास्तविक जीवनमा समेत आफ्ना कार्यहरू पूरा गरून्। वास्तविकतामा प्रवेश गर्नका लागि, व्यक्तिले सबै थोकलाई वास्तविक जीवनतर्फ मोड्नुपर्छ। यदि, परमेश्‍वरमा विश्‍वास गरेर, वास्तविक जीवनमा प्रवेश गरेपछि मानिसहरूले आफैलाई चिन्न सक्दैनन्, र यदि तिनीहरू वास्तविक जीवनको सामान्य मानवतामा जिउन सक्दैनन् भने तिनीहरू असफल बन्नेछन्। परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू सबै ती मानिसहरू हुन् जो वास्तविक जीवनमा प्रवेश गर्न सक्दैनन्। तिनीहरू सबै ती मानिसहरू हुन् जसले मानवताको कुरा त गर्छन्, तर भूतात्माहरूको प्रकृति बोकेर जिउँछन्। तिनीहरू सबै त्यस्ता मानिसहरू हुन् जसले सत्यको कुरा गर्छन्, तर त्यसको साटो धर्मसिद्धान्तहरूमा जिउँछन्। वास्तविक जीवनमा सत्यताअनुसार जिउन नसक्नेहरू ती हुन् जसले परमेश्‍वरमा विश्‍वास त गर्छन्, तर तिनीहरूलाई उहाँले तिरस्कार गर्नुहुन्छ। तैँले वास्तविक जीवनमा प्रवेश गर्ने अभ्यास गर्नुपर्छ, तेरा आफ्नै कमीहरू, विद्रोह, र अज्ञानतालाई जान्नुपर्छ, र तेरो असामान्य मानवता र कमजोरीहरूलाई जान्नुपर्छ। त्यसरी, तेरो ज्ञान तेरो वास्तविक अवस्था र कठिनाइहरूसँग जोडिनेछ। केवल यस प्रकारको ज्ञान मात्र वास्तविक हुन्छ र तँलाई वास्तविक रूपमा तेरो आफ्नो अवस्था बुझ्ने र स्वभाविक रूपान्तरण प्राप्त गर्ने तुल्याउन सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मण्डलीको जीवन र वास्तविक जीवनको बारेमा छलफल

५११. परमेश्‍वरका वचनहरू खानु र पिउनु, प्रार्थना अभ्यास गर्नु, परमेश्‍वरको बोझ स्वीकार गर्नु, अनि उहाँले तँलाई सुम्पिनुहुने कार्यहरू स्वीकार गर्नु—यो सबै, तेरो सामु मार्ग होस् भनेर हो। परमेश्‍वरको आज्ञाका निम्ति तँसँग जति बढी बोझ हुन्छ, उहाँद्वारा सिद्ध पारिन तँलाई त्यति नै सहज हुन्छ। कतिपयलाई बोलाइँदा समेत तिनीहरू परमेश्‍वरको सेवामा अरूसित समन्वय गर्न अनिच्छुक हुन्छन्; यिनीहरू अल्छी मानिसहरू हुन् जो केवल आरामसित रमाइलो गर्न चाहन्छन्। तँलाई जति बढी अरूसँगको समन्वयमा सेवा गर्न भनिन्छ, तैँले त्यति नै बढी अनुभव हासिल गर्नेछस्। बोझहरू तथा अनुभवहरू धेरै हुँदा तैँले सिद्ध हुनका निम्ति बढी अवसरहरू पाउनेछस्। त्यसकारण, यदि इमानदारीताका साथ तैँले परमेश्‍वरको सेवा गर्न सक्छस् भने तैँले परमेश्‍वरको बोझलाई पनि ध्यान दिनेछस्, त्यसो हुँदा, परमेश्‍वरद्वारा सिद्ध हुनका निम्ति तँसित धेरै अवसरहरू हुनेछन्। हाल केवल त्यस्ता समूहका मानिसहरू नै परमेश्‍वरद्वारा सिद्ध तुल्याँइदैछन्। तँलाई जति बढी पवित्र आत्माले छुनुहुन्छ, तैँले त्यति नै बढी समय परमेश्‍वरको बोझप्रति सचेत हुन अर्पित गर्नेछस्, तँलाई त्यति नै बढी परमेश्‍वरद्वारा सिद्ध तुल्याइनेछ—तबसम्म सिद्ध तुल्याइनेछ जबसम्म तँ अन्ततः परमेश्‍वरले प्रयोग गर्नुहुने व्यक्ति हुँदैनस्। हाल, केही व्यक्तिहरू यस्ता छन् जसले मण्डलीको निम्ति कुनै बोझहरू बोक्दैनन्। यी मानिसहरू सुस्त र लापरवाह छन् अनि यिनीहरूले केवल आफ्नै देहको मात्र वास्ता गर्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन् र तिनीहरू अन्धा पनि हुन्छन्। यदि तैँले यो कुरा स्पष्टसित देख्न सक्दैनस् भने, कुनै पनि बोझ बोक्नेछैनस्। तैँले जति बढी परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्छस्, त्यति नै बढी बोझ उहाँले तँलाई सुम्पिनुहुनेछ। स्वार्थीहरू त्यस्ता कुराहरूको कष्ट भोग्न अनिच्छुक हुन्छन्; तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन् र परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरद्वारा सिद्ध तुल्याइने अवसरहरू गुमाउनेछन्। के तिनीहरूले आफैलाई हानि पुऱ्याइरहेका छैनन् र? यदि तँ परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्ने व्यक्ति होस् भने तँमा मण्डलीको निम्ति साँचो बोझ विकसित हुनेछ। वास्तवमा, यसलाई मण्डलीको निम्ति तैँले बोक्ने बोझ भन्नुको सट्टामा यसलाई तैँले आफ्नै जीवनको खातिर बोक्ने बोझ भन्नु उत्तम हुनेछ किनकि मण्डलीको निम्ति तँमा विकसित यस बोझको उद्देश्य परमेश्‍वरद्वारा सिद्ध तुल्याइनको निम्ति तँलाई यस्ता अनुभवहरू प्रयोग गर्न दिनु हो। त्यसकारण, जो-जसले मण्डलीको निम्ति सबैभन्दा ठूलो बोझ बोक्छ, जो-जसले जीवन प्रवेशका निम्ति बोझ बोक्छ—तिनीहरू नै परमेश्‍वरद्वारा सिद्ध तुल्याइने व्यक्तिहरू हुनेछन्। के तैँले यसलाई स्पष्टसित देखेको छस्? यदि तँ भएको मण्डली बालुवा जस्तै छरिएको छ तर तँ न त चिन्तित हुन्छस् न त बेचैन नै अनि तेरा दाजुभाइ तथा दिदीबहिनीहरूले सामान्य रूपले परमेश्‍वरका वचनहरू खाइरहेका र पिइरहेका नहुँदा पनि आँखा चिम्लिन्छस् भने, तैँले कुनै बोझहरू बोकिरहेको हुँदैनस्। त्यस्ता मानिसहरू परमेश्‍वरले आनन्द लिने प्रकारका मानिसहरू होइनन्। जुन प्रकारका मानिसहरूमा परमेश्‍वरले आनन्द लिनुहुन्छ, तिनीहरू धार्मिकताको निम्ति भोकाउँछन् र तिर्खाउँछन् र परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्छन्। यसरी, तिमीहरू परमेश्‍वरको बोझप्रति अहिले नै सचेत हुनुपर्छ। तिमीहरूले आफू परमेश्‍वरको बोझप्रति सचेत हुनुअघि उहाँले सम्पूर्ण मानवजातिप्रति आफ्नो धर्मी स्वभाव प्रकट गर्नुभइञ्‍जेलसम्म पर्खिनु हुँदैन। के त्यति बेलासम्म धेरै ढिलो हुनेछैन र? परमेश्‍वरद्वारा सिद्ध हुने राम्रो अवसर अहिले नै हो। यदि तैँले यस अवसरलाई आफ्नो हातबाट जान दिइस् भने, मोशाले कनानको असल भूमिमा प्रवेश गर्न असक्षम हुँदा बाँकी जीवनभरि अफसोस गर्दै मरेजस्तै तैँले तेरो बाँकी जीवनभरि अफसोस गर्नेछस्। परमेश्‍वरले सम्पूर्ण मानवजातिलाई आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुँदा तँ अफसोसले भरिनेछस्। परमेश्‍वरले तँलाई सजाय नदिनुभए तापनि अफसोसले भरिएर तैँले आफूलाई सजाय दिनेछस्। कोही-कोही यसद्वारा विश्‍वस्त हुँदैनन् तर यदि तैँले विश्‍वास गर्दैनस् भने, केवल पर्खेर हेर्। केही मानिसहरू यस्ता छन् जसको प्रमुख उद्देश्य यी वचनहरू पूरा गर्नु हो। के तँ यी वचनहरूको खातिर आफैलाई बलिदान गर्न तयार छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर

५१२. पवित्र आत्मासँग प्रत्येक व्यक्तिमा प्रवेश गर्ने मार्ग छ, र उहाँले प्रत्येक व्यक्तिलाई सिद्ध हुने मौका दिनुहुन्छ। तेरो नकारात्मकताद्वारा तँलाई आफ्नै भ्रष्टता चिन्न दिइन्छ, र त्यसपछि नकारात्मकता फाल्दा तैँले अभ्यास गर्ने बाटो पाउनेछस्; यी सबै तँलाई सिद्ध तुल्याइने तरिकाहरू हुन्। यसको अतिरिक्त, निरन्तर मार्गदर्शन र तँभित्रका केही सकारात्मक कुराहरूको ज्योतिमार्फत तैँले सक्रिय रूपमा आफ्नो काम पूरा गर्नेछस्, तेरो अन्तर्ज्ञान वृद्धि हुनेछ र तैँले विवेक प्राप्त गर्नेछस्। जब तेरा अवस्थाहरू राम्रा हुन्छन्, तब तँ विशेष गरी परमेश्‍वरको वचन पढ्न इच्छुक हुन्छस्, र विशेष गरी परमेश्‍वरसँग प्रार्थना गर्न इच्छुक हुन्छस्, र तैँले सुनेका प्रवचनहरूलाई आफ्नै अवस्थासँग जोड्न सक्छस्। यस्तो समयमा परमेश्‍वरले तँलाई सकारात्मक पक्षका केही कुराहरू महसुस गराउँदै तँभित्र अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ। यसरी नै तँलाई सकारात्मक पक्षमा सिद्ध तुल्याइन्छ। नकारात्मक अवस्थाहरूमा, तँ कमजोर र नकारात्मक हुन्छस्; तँलाई तेरो हृदयमा परमेश्‍वर हुनुहुन्‍न भन्‍ने महसुस हुन्छ, तैपनि परमेश्‍वरले तँलाई ज्योति प्रदान गर्नुभई अभ्यासको बाटो प्राप्त गर्न सहयोग गर्नुहुन्छ। यसबाट बाहिर आउनु भनेको नकारात्मक पक्षमा सिद्धता हासिल गर्नु हो। परमेश्‍वरले मानिसलाई सकारात्मक र नकारात्मक दुवै पक्षमा सिद्ध तुल्याउन सक्नुहुन्छ। यो कुरा तैँले परमेश्‍वरद्वारा सिद्ध भएको अनुभव गर्न सक्छस् कि सक्दैनस् अनि तैँले परमेश्‍वरद्वारा आफूलाई सिद्ध तुल्याउन खोज्छस् कि खोज्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तैँले साँच्चै परमेश्‍वरद्वारा आफूलाई सिद्ध तुल्याउन खोज्छस् भने, नकारात्मकताले तेरो हानि गर्न सक्दैन, बरु त्यसले तँमा ती कुराहरू ल्याउन सक्छ, जुन अझ बढी वास्तविक छन्, र तँमा जुन कुराको कमी छ त्यो कुरा जान्न, तेरो वास्तविक अवस्थालाई बुझ्न, अनि मानिससँग केही छैन, र मानिस केही पनि होइन भन्‍ने कुरा बुझ्न तँलाई अझ बढी सक्षम बनाउँछ; यदि तैँले परीक्षाहरूको अनुभव गर्दैनस् भने, तँमा ज्ञान नै हुँदैन, र तैँले जहिले पनि आफूलाई अरूभन्दा माथि र सबैभन्दा उत्तम भएको महसुस गर्नेछस्। यी सबै कुराहरूबाट तैँले पहिले आएका सबै कुरा परमेश्‍वरद्वारा गरिएका अनि परमेश्‍वरद्वारा संरक्षित थिए भनी बुझ्नेछस्। परीक्षाहरूमा प्रवेश गर्दा तँ प्रेम वा विश्‍वासरहित अवस्थामा हुन्छस्, तँमा प्रार्थनाको कमी हुन्छ अनि तँ भजन गाउन असमर्थ हुन्छस्, र यसैबीच तैँले महसुसै नगरी आफैलाई चिन्न थालिसकेको हुन्छस्। परमेश्‍वरसित मानिसलाई सिद्ध तुल्याउने तरिकाहरू धेरै छन्। मानिसको भ्रष्ट स्वभावको काटछाँट गर्न उहाँले हरप्रकारका वातावरणहरू प्रयोग गर्नुहुन्छ र मानिसलाई उदाङ्गो पार्न विभिन्न कुराहरू प्रयोग गर्नुहुन्छ; एउटा सन्दर्भमा, उहाँले मानिसलाई काटछाँट गर्नुहुन्छ, अर्कोमा उहाँले मानिसलाई उदाङ्गो पार्नुहुन्छ, अनि अर्कोमा उहाँले मानिसको हृदयको गहिराइमा भएका “रहस्य” खोतलेर देखाउँदै मानिसलाई प्रकट गर्नुहुन्छ, र मानिसलाई उसका धेरै वटा अवस्थाहरू प्रकट गर्दै उसको प्रकृति देखाउनुहुन्छ। परमेश्‍वर व्यावहारिक हुनुहुन्छ भनी मानिसले जानोस् भनी परमेश्‍वरले धेरै तरिकाहरूद्वारा—प्रकाशद्वारा, मानिसलाई काटछाँट गरेर मानिसको शोधन गरेर अनि सजाय दिएर—मानिसलाई सिद्ध तुल्याउनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

५१३. हाल, तैँले मुख्यतया खोज्नुपर्ने कुराचाहिँ सबै कुरामा परमेश्‍वरले तँलाई सिद्ध पार्नु र तैँले सामना गर्ने सबै मानिस, वस्तु र थोकद्वारा तँलाई सिद्ध पार्नु हो, ताकि उहाँ जे हुनुहुन्छ सो तँभित्र बनियोस्। तैँले पहिले पृथ्वीमा परमेश्‍वरको उत्तराधिकार प्राप्‍त गर्नुपर्छ; अनि मात्र तँ परमेश्‍वरबाट आउने अझ धेरै र ठूला आशिष्‌हरू प्राप्‍त गर्न योग्यको ठहरिनेछस्। तैँले खोजी गर्नुपर्ने सारा कुरा र सबै थोकभन्दा अघि बुझ्नुपर्ने कुरा यी नै हुन्। जति धेरै तँ आफूलाई परमेश्‍वरद्वारा सिद्ध पारिन सबै कुरामा खोजी गर्छस्, उति नै धेरै तैँले सबै थोकमा परमेश्‍वरको बाहुली देख्न सक्छस्, जसको परिणामस्वरूप तँ विविध दृष्टिकोण र विभिन्न कुराद्वारा उहाँको वचनको अस्तित्वभित्र प्रवेश गर्न र उहाँको वचनको वास्तविकताभित्र प्रवेश गर्न तैँले सक्रियपूर्वक खोजी गर्नेछस्। पापहरू मात्र नगर्ने, वा कुनै रायहरू नै नभएको, सांसारिक कुराहरू सम्‍बन्धी दर्शनविनाको र कुनै मानव इच्छाविनाको हुने गरी तँ यस्तो नकारात्मक अवस्थामा सन्तुष्ट हुन सक्दैनस्। परमेश्‍वरले मानिसलाई कैयौं तरिकाले सिद्ध पार्नुहुन्छ; सबै कुरामा सिद्ध पार्ने सम्भावना हुन्छ, अनि उहाँले तँलाई अझ धेरै प्रशस्त हासिल गर्ने पारिन सकारात्मक ढाँचामा मात्र होइन नकारात्मक ढाँचामा पनि सिद्ध पार्न सक्नुहुन्छ। हरेक दिन सिद्ध पार्ने अवसरहरू र परमेश्‍वरद्वारा हासिल गरिन सक्ने समयहरू हुन्छन्। केही समयको निम्ति यस्ता कुरा भोगेपछि, तँमा ठूलो परिवर्तन आउनेछ र यसअघि अज्ञात रहेका धेरै कुरा तैँले स्वभाविक रूपमा बुझ्नेछस्। अरूबाटको शिक्षा आवश्यक पर्दैन; तँलाई थाहा नभइकन नै, परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, ताकि तैँले सबै कुरामा अन्तर्दृष्टि प्राप्‍त गर्न सकेको होस् र तँ आफ्ना सबै अनुभवभित्र विस्तृत रूपमा प्रवेश गर्न सकेको होस्। परमेश्‍वरले निश्‍चय नै मार्गदर्शन गर्नुहुनेछ, ताकि तँ दायाँ वा बायाँतिर मोडिनेछैनस् र यसरी तैँले उहाँद्वारा सिद्ध तुल्याइने मार्गमा कदम राख्‍नेछस्।

… यदि तिमीहरू परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छौ भने, तिमीहरूले सबै विषयमा कसरी अनुभव प्राप्त गर्ने भनेर सिक्नै पर्दछ, र तिमीहरू आफूलाई आइपर्ने हरेक कुरामा अन्तर्दृष्टि प्राप्त गर्न सक्षम हुनुपर्दछ। यो राम्रो होस वा नराम्रो, यसले तँलाई फाइदा पुऱ्याउनुपर्छ, र तँलाई नकारात्मक बनाउनु हुँदैन। जेसुकै होस, तँ परमेश्‍वरको पक्षमा उभिएर मामिलाहरू विचार गर्न सक्षम हुनुपर्दछ, र तिनको विश्लेषण वा अध्ययन मानिसको परिप्रेक्ष्यबाट गर्नु हुँदैन (यो तेरो अनुभवमा एउटा विचलन हुनेथियो)। यदि तैँले यस्तो अनुभव गरिस् भने, तेरो हृदय जीवनको बोझले भरिनेछ; तँ तेरो अभ्यासलाई सजिलै विचलित हुन नदिई सधैँ परमेश्‍वरको अनुहारको ज्योतिमा बस्‍नेछस्। त्यस्तो मानिसको अगाडि उज्ज्वल भविष्य हुन्छ। परमेश्‍वरद्वारा सिद्ध हुने धेरै अवसर छन्। यी सबै कुरा तिमीहरू साँचो रूपमा परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति हौ कि होइनौ र तिमीहरूसँग परमेश्‍वरद्वारा सिद्ध पारिन, परमेश्‍वरद्वारा हासिल गरिन र उहाँको आशिष र उत्तराधिकार प्राप्त गर्न दृढ सङ्कल्प छ कि छैन भन्‍ने कुरामा भर पर्छ। दृढ सङ्कल्प मात्र पर्याप्त छैन; तिमीहरूसँग धेरै ज्ञान हुनुपर्दछ, अन्यथा तिमीहरू सधैँ आफ्नो अभ्यासमा विचलित भइरहेका हुनेछौ। परमेश्‍वर तिमीहरू प्रत्येक र हरेकलाई सिद्ध गर्न इच्छुक हुनुहुन्छ। यथार्थमा भन्‍ने हो भने, धेरैजसो मानिसले लामो समयदेखि परमेश्‍वरको कामलाई स्वीकार गरिसके तापनि, तिनीहरूले आफूलाई केवल परमेश्‍वरको अनुग्रहमा आनन्दित तुल्याउन सीमित गरेका छन् र तिनीहरू परमेश्‍वरबाट थोरै देहको आनन्द प्राप्त गर्न मात्र राजी छन्, अझै धेरै र अझ उच्च प्रकाशहरू प्राप्त गर्न तयार छैनन्। यसले मानिसको हृदय अझै पनि सदाझैँ बाहिर छ भन्‍ने देखाउँछ। मानिसको काम, सेवा र परमेश्‍वरलाई प्रेम गर्ने उसको हृदयमा थोरै अशुद्धता भए पनि, जहाँसम्म उसको भित्री सार र पिछडिएको सोचाइको सवाल छ, उसले अझै पनि निरन्तर देहको शान्ति र आनन्दको खोजी गर्दछ, र परमेश्‍वरले उसलाई सिद्ध पार्नुका सर्त र त्यसका उद्देश्य के हुन सक्छन् भन्‍नेबारे उसले कुनै वास्ता गर्दैन। तसर्थ, धेरैजसो मानिसको जीवन अझै असभ्य र पतित छ। तिनीहरूको जीवन थोरै परिवर्तनसमेत भएको छैन; तिनीहरू परमेश्‍वरप्रतिको विश्‍वासलाई महत्वपूर्ण मामिलाका रूपमा हेर्दैनन्, यस्तो लाग्छ, तिनीहरूको विश्‍वास अरूको लागि हो, झारा टार्ने र लापरवाही छ, उद्देश्यविहीन अस्तित्वमा विचलित हुन्छ। थोरै मानिस मात्र अझ धेरै र मूल्यवान् चीजहरू प्राप्त गर्दै, सबै चीजमा परमेश्‍वरको वचनमा प्रवेश गर्न सक्षम भएका छन्, आज तिनीहरू परमेश्‍वरको घरमा अझ धेरै मूल्यवान् मानिस बनेका छन् र परमेश्‍वरबाट धेरै आशिष पाइरहेका छन्। यदि तँ सबै कुरामा परमेश्‍वरबाट सिद्ध पारिन खोज्छस् र पृथ्वीमा परमेश्‍वरले जे प्रतिज्ञा गर्नुभएको थियो, त्यो कुरा प्राप्त गर्न सक्षम छस् भने, यदि तँ सबै कुरामा परमेश्‍वरद्वारा अन्तर्दृष्टि पाउन खोज्छस् र वर्षहरू निष्क्रिय रूपमा बित्न दिँदैनस् भने, सक्रिय भएर प्रवेश गर्ने आदर्श मार्ग यही हो। केवल यसरी तँ परमेश्‍वरबाट सिद्ध पारिन योग्य र उपयुक्त हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनेहरूका निम्ति दिइएका प्रतिज्ञाहरू

५१४. पवित्र आत्माले परमेश्‍वरले प्रयोग गर्नुहुने केही निश्चित व्यक्तिहरूमाथि मात्र काम गर्नुहुन्न, बरु थप रूपमा उहाँले मण्डलीमा पनि काम गर्नुहुन्छ। उहाँले जोकोहीमाथि काम गरिरहनुभएको हुनसक्छ। उहाँले वर्तमान समयमा तँमाथि काम गर्न सक्नुहुन्छ र तैँले यो काम अनुभव गर्नेछस्। अर्को अवधिमा, उहाँले अर्को कोही व्यक्तिमा काम गर्न सक्नहुन्छ, त्यो अवस्थामा तैँले पछ्याउनको लागि हतारिनुपर्छ; तैँले वर्तमान ज्योतिलाई जति नजिकबाट पछ्याउँछस् तेरो जीवन त्यति नै वृद्धि हुन सक्छ। कुनै व्यक्ति जुनसुकै तौरतरिकाको भए तापनि, यदि पवित्र आत्माले तिनीहरूमाथि काम गर्नुहुन्छ भने, तैँले पछ्याउनैपर्छ। तिनीहरूका अनुभवहरूलाई आफ्ना अनुभवहरूको नजरबाट हेर्, अनि तैँले अझ उच्च कुराहरू प्राप्त गर्नेछस्। यसो गर्दा तँ अझ चाँडो अघि बढ्नेछस्। यो मान्छेको लागि सिद्धताको मार्ग अनि जीवन वृद्धि हुने माध्यम हो। पवित्र आत्माको कामप्रतिको तेरो समर्पणता मार्फत सिद्ध तुल्याइने मार्गमा पुगिन्छ। परमेश्‍वरले तँलाई सिद्ध तुल्याउन कस्तो प्रकारको व्यक्तिमार्फत काम गर्नुहुन्छ भन्‍ने कुरा तँलाई थाहा हुँदैन, न त कस्तो प्रकारको व्यक्ति, घटना, वा वस्तुमार्फत उहाँले तँलाई वस्तुहरू प्राप्त गर्न वा हेर्न दिनुहुन्छ भन्‍ने कुरा नै तँलाई थाहा हुन्छ। यदि तैँले यो सही मार्गमा पाइला टेक्न सकिस् भने, परमेश्‍वरद्वारा तँलाई सिद्ध पारिने ठूलो आशा छ भन्‍ने कुरा यसले देखाउँछ। यदि तैँले सक्दैनस् भने, यसले तेरो भविष्य धमिलो, ज्योति विहीन छ भन्‍ने देखाउँछ। तैँले सही मार्गमा हिँड्न थालेपछि, तैँले सबै कुराहरूमा प्रकाश प्राप्त गर्नेछस्। पवित्र आत्माले अरूलाई जेसुकै प्रकाश गर्नुभए पनि, यदि तँ तिनीहरूको ज्ञानको आधारमा आफै अनुभव लिन अघि बढ्छस् भने, त्यो अनुभव तेरो जीवनको एक हिस्सा बन्नेछ र तैँले त्यो अनुभवको आधारमा अन्य व्यक्तिहरूलाई आपूर्ति गर्न सक्नेछस्। सुगारटाइ गरेर अन्य व्यक्तिहरूलाई वचन आपूर्ति गर्नेहरू त्यस्ता व्यक्तिहरू हुन् जोसँग अनुभवहरू पटक्कै हुँदैन; तैँले तेरो आफ्नो वास्तविक अनुभव र ज्ञानको बारेमा बोल्न सुरु गर्नुअघि, अन्य व्यक्तिहरूको अन्तर्ज्ञान र ज्योतिमार्फत तैँले अभ्यासको तरिका पत्ता लगाउन सिक्नुपर्छ। यो तेरो आफ्नै जीवनको लागि ठूलो फाइदाको कुरो हुनेछ। तँ परमेश्‍वरबाट आउने सबै कुराप्रति हुँदै तैँले यसरी अनुभव गर्नुपर्छ। तैँले तेरो जीवन वृद्धि हुन सकोस् भनेर सबै कुराहरूमा परमेश्‍वरका अभिप्रायहरू प्राप्त गर्ने प्रयास गर्नुपर्छ र सबै कुराहरूमा पाठ सिक्नुपर्छ। त्यस्तो अभ्यासले सबैभन्दा चाँडो प्रगति हासिल हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

५१५. के तँ सिद्ध तुल्याइन साँच्चै नै इच्छुक छस्? यदि तँ साँच्चै नै परमेश्‍वरद्वारा सिद्ध तुल्याइन इच्छुक छस् भने तँमा आफ्नो देहलाई पन्छ्याउने साहस हुनेछ, तँ परमेश्‍वरका वचनहरू कार्यान्वयन गर्न सक्षम हुनेछस्, र तँ नकारात्मक वा कमजोर हुनेछैनस्। तँ परमेश्‍वरबाट आउने सबै कुराहरूप्रति समर्पित हुन सक्नेछस् र तैँले आफ्ना सबै कार्य—चाहे अरूको अगाडि गरिएको होस् वा तिनीहरूको पछाडि गरिएको होस्—परमेश्‍वरलाई प्रस्तुत गर्न सक्छनेछस्। यदि तँ इमानदार व्यक्ति होस् अनि तैँले सबै कुराहरूमा सत्यताको अभ्यास गर्छस् भने तँ सिद्ध तुल्याइने व्यक्ति हुनेछस्। मानिसहरूको अगाडि एक किसिमले कुरा गर्ने अनि तिनीहरूको पिठ्यूँपछाडि अर्कै किसिमले कुरा गर्ने कपटी व्यक्तिहरू सिद्ध तुल्याइन इच्छुक हुँदैनन्। तिनीहरू सबै बरबादी र विनाशका छोराहरू हुन्; तिनीहरू परमेश्‍वरको स्वामित्वमा होइन, तर शैतानको स्वामित्वमा हुन्छन्। तिनीहरू परमेश्‍वरद्वारा चुनिएका मानिसहरू होइनन्! यदि तेरा कार्यहरू र व्यवहारलाई परमेश्‍वरसमक्ष प्रस्तुत गर्न सकिँदैन वा परमेश्‍वरको आत्माले छानबिन गर्न सक्दैन भने यो तँमा केही खराबी छ भन्‍ने कुराको प्रमाण हो। यदि तँ परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्छस् अनि तेरो स्वभावको रूपान्तरणबारे ध्यान दिन्छस् भने मात्र तैँले सिद्ध तुल्याइने बाटोमा पाइला चाल्‍न सक्नेछस्। यदि तँ साँच्चै नै परमेश्‍वरद्वारा सिद्ध तुल्याइन र परमेश्‍वरको इच्छालाई पछ्याउन इच्छुक छस् भने, तैँले एक वचन गुनासो नगरिकनै, परमेश्‍वरको कामबारे मनमानी मूल्याङ्कन नगरी वा निष्कर्ष ननिकाली परमेश्‍वरका सबै कामप्रति समर्पित हुनुपर्छ। परमेश्‍वरद्वारा सिद्ध तुल्याइनको लागि न्यूनतम आवश्यकताहरू यिनै हुन्। परमेश्‍वरद्वारा सिद्ध तुल्याइन चाहने व्यक्तिहरूको लागि आवश्यक मापदण्ड यही हो: परमेश्‍वरलाई प्रेम गर्ने हृदयले सबै कुरामा कार्य गर्नु। परमेश्‍वरलाई प्रेम गर्ने हृदयले कार्य गर्नु भनेको के हो? यसको अर्थ तेरा सबै कार्यहरू र व्यवहार परमेश्‍वरसमक्ष प्रस्तुत गर्न सकिन्छ भन्‍ने हो। अनि तेरा कार्यहरू सही वा गलत जे भए तापनि तँसँग सही आशयहरू भएकोले गर्दा, तैँले तिनलाई परमेश्‍वरसमक्ष वा तेरा दाजुभाइ र दिदीबहिनीहरूसमक्ष देखाउन डराउँदैनस्, र तैँले परमेश्‍वरसमक्ष शपथ लिने साहस गर्छस्। तैँले तेरा हरेक अभिप्राय, सोच र विचारलाई परमेश्‍वरको अवलोकनका लागि उहाँसमक्ष प्रस्तुत गर्नैपर्छ; यदि तैँले यस्तो तरिकाले अभ्यास र प्रवेश गर्छस् भने, तेरो जीवनको प्रगति छिटोछरितो रूपमा हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

५१६. यदि तँ परमेश्‍वरद्वारा प्रयोग हुन र सिद्ध पारिन चाहन्छस् भने, तँसँग सत्यताको हरेक पक्ष हुनुपर्छ: कष्ट भोग्ने इच्छा, आस्था, धैर्य, समर्पणता, र सत्यता खोजी गर्ने र परमेश्‍वरका अभिप्रायहरू बुझ्ने क्षमता, उहाँको शोक र विचारशील मेहनतलाई ख्याल गर्ने क्षमता र यस्तै अरू कुराहरू हुनुपर्छ। व्यक्तिलाई सिद्ध बनाउनु सजिलो हुँदैन, र तैँले अनुभव गर्ने प्रत्येक शोधनको निम्ति तेरो आस्था र प्रेम चाहिन्छ। यदि तँ परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छस् भने मार्गमा दौडधुप गर्नु मात्र पर्याप्त हुँदैन, न त तैँले केवल परमेश्‍वरप्रति आफैलाई समर्पित गर्नु नै पर्याप्त हुन्छ। परमेश्‍वरद्वारा सिद्ध पारिएको व्यक्ति बन्नका निम्ति तँसँग धेरै वटा कुराहरू हुनुपर्छ। जब तँ कष्ट सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्छाउन सक्नुपर्छ र परमेश्‍वरविरुद्ध गुनासो गर्नुहुँदैन। जब परमेश्‍वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँमा उहाँलाई पछ्याउने आस्था हुन सक्नुपर्छ, तैँले आफ्नो पहिलेको प्रेमलाई डगमगाउन र बिलाउन नदिई कायम राख्न सक्नुपर्छ। परमेश्‍वरले चाहे जे गर्नुभए पनि, उहाँले इच्छा गरेअनुसार उहाँलाई योजनाबद्ध गर्न दिनुपर्छ, अनि उहाँविरुद्ध गुनासो गर्नुको साटो तेरो आफ्नै देहलाई सराप्न इच्छुक हुनुपर्छ। तैँले परीक्षाहरू सामना गर्दा परमेश्वरलाई सन्तुष्ट पार्न, तँ प्रिय वस्तु त्याग्ने पीडा सहन र नराम्ररी रुन इच्छुक हुनुपर्छ। यो मात्र साँचो प्रेम र आस्था हो। तेरो वास्तविक कद जे भए पनि तँमा सुरुमा कठिनाइ सहने इच्छा र साँचो आस्था, दुवै हुनुपर्छ, अनि तँमा देहको विरुद्ध विद्रोह गर्ने इच्छा पनि हुनुपर्छ। परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न तँ व्यक्तिगत रूपमा कठिनाइहरू सहन र तेरा व्यक्तिगत रुचिहरू गुमाउन इच्छुक हुनुपर्छ। तँ आफ्नो हृदयमा आफ्नै बारेमा पछुतो गर्न सक्ने पनि हुनुपर्छ: विगतमा तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम थिइस्, र अहिले तैँले आफै पछुतो गर्न सक्छस्। तँमा यी कुनै पनि कुराको कमी हुनु हुँदैन—यिनै कुराहरूद्वारा परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ। यदि तँ यी मापदण्डहरू पूरा गर्न सक्दैनस् भने, तँलाई सिद्ध पार्न सकिँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ

५१७. स्वभावमा हुने रूपान्तरणले व्यक्तिको प्रकृतिको रूपान्तरणलाई जनाउँछ। व्यक्तिको प्रकृतिका कुराहरू बाहिरी व्यवहारबाट अनुभूत गर्न सकिँदैन। ती कुराहरू सीधै उसको अस्तित्वको मूल्य र महत्त्वसँग र जीवनसम्‍बन्धी उसको दृष्टिकोण र उसका मूल्य-मान्यताहरूसँग सम्बन्धित हुन्छन्, अनि ती कुराहरूमा उसका प्राणका गहिराइहरूमा रहेका कुराहरू र उसको सार समावेश हुन्छन्। यदि व्यक्तिले सत्यता स्विकार्न सक्दैन भने, यी पक्षहरूको सन्दर्भमा ऊ कहिल्यै रूपान्तरित हुनेछैन। परमेश्‍वरको कार्य अनुभव गरेर, सत्यमा पूर्ण रूपमा प्रवेश गरेर, अस्तित्व र जीवनसम्‍बन्धी आफ्‍ना मान्यता र विचारहरू परिवर्तन गरेर, विविध कुराहरूप्रतिको आफ्‍नो दृष्टिकोणलाई परमेश्‍वरको वचनसँग मिल्‍दो तुल्याएर, अनि पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित र बफादार हुन योग्य भएर मात्र, उसको स्वभाव रूपान्तरण भएको छ भनेर भन्‍न सकिन्छ। अहिले, तैँले केही प्रयास गरेकोजस्तो देखिन सक्छ, र कर्तव्य निभाउँदा कठिनाइ आइपरे तँ लचकदार हुन सक्छस्, तैँले माथिबाट प्राप्त कामका प्रबन्धहरूलाई अघि बढाउन सक्छस्, वा तँलाई जहाँ जान भनिए पनि तँ त्यहाँ जान सक्छस्। बाहिरी रूपमा, तँ अलि आज्ञाकारी छस् भन्‍ने देखिन्छ होला, तर तेरो धारणासँग नमिल्ने केही कुरा आइपर्दा, तेरो विद्रोहीपन प्रकट हुन्छ। उदाहरणको लागि, तँ काटछाँट हुन मान्दैनस्, र कुनै प्राकृतिक वा मानव सिर्जित विपद्‌ आइपर्दा तँ झनै कम समर्पित हुन्छस्; तैँले आफूभित्रैबाट परमेश्‍वरबारे गुनासोसमेत गर्छस्। त्यसैले, त्यो सानो समर्पण र बाह्य परिवर्तन भनेको व्यवहारमा आउने सानो परिवर्तन मात्र हो। यसमा अलिअलि परिवर्तन त आएको हुन्छ, तर यो तेरो स्वभाव रूपान्तरणको रूपमा गणना हुनको लागि पर्याप्त हुँदैन। तँ धेरै बाटाहरूमा दगुर्न सक्छस्, धेरै कठिनाइ भोग्‍न सक्छस्, र ठूलो अपमान सहन सक्छस्; तैँले परमेश्‍वरको अत्यन्तै नजिक भएको महसुस गर्न सक्छस् र पवित्र आत्माले तँमा केही काम गर्न सक्‍नुहुन्छ। तापनि, जब परमेश्‍वरले तेरा धारणाहरूसँग नमिल्ने केही गर्न लगाउनुहुन्छ, तँ अझै पनि समर्पित हुन सक्दैनस्, बरु बहानाहरू बनाउन खोज्छस्, परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोध गर्छस् र गम्भीर परिस्थितिहरूमा त, उहाँमाथि सवाल खडा गर्दै उहाँविरुद्ध लड्छस्। यो एउटा गम्भीर समस्या हुनेछ! यसले तँमा अझै पनि परमेश्‍वरको प्रतिरोध गर्ने प्रकृति छ, तैँले साँचो रूपमा सत्यता बुझ्दैनस्, र तेरो जीवन स्वभावमा बिलकुलै परिवर्तन आएको छैन भन्‍ने देखाउनेछ। आफूलाई बर्खास्त गरिएपछि वा निकालिएपछि पनि केही मानिसहरूले परमेश्‍वरको आलोचना गर्छन् र उहाँ धर्मी हुनुहुन्‍न भन्छन्। तिनीहरू परमेश्‍वरसँग विवाद र झगडा गर्छन्, र तिनीहरू जहाँ गए पनि परमेश्‍वरबारे आफ्नो धारणा र उहाँप्रति असन्तुष्टि फैलाउँछन्। यस्ता मानिसहरू परमेश्‍वरको प्रतिरोध गर्ने दुष्ट दियाबलस हुन्। दियाबलसको प्रकृति भएका मानिस कहिल्यै परिवर्तन हुँदैनन् र तिनीहरूलाई त्यागिनुपर्छ। जुनसुकै परिस्थितिमा सत्यता खोज्न र स्विकार्न सक्‍ने, र परमेश्‍वरको काममा समर्पित हुनेहरूले मात्र सत्यता प्राप्त गर्ने र स्वभाव परिवर्तन हासिल गर्ने आशा हुन्छ। तैँले आफ्ना अनुभवहरूमा बाहिरी रूपमा सामान्य लाग्‍ने स्थितिहरू खुट्याउन सिक्‍नुपर्छ। प्रार्थना गर्दा तैँले सुँकसुँकाउन र रुन सक्छस्, वा तेरो हृदयले परमेश्‍वरलाई अति प्रेम गर्ने गरेको र तेरो हृदय परमेश्‍वरसँग अति निकट रहेको महसुस गर्न सक्छस्, तैपनि यी स्थितिहरू पवित्र आत्माका काम मात्र हुन् र यो कुराले तँ परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति होस् भन्‍ने जनाउँदैन। यदि पवित्र आत्माले काम नगर्नुहुँदा पनि, र परमेश्‍वरले तेरो धारणासँग नमिल्ने कुराहरू गर्नुहुँदा पनि, तैँले परमेश्‍वरलाई प्रेम गर्न र उहाँमा समर्पित हुन सक्छस् भने मात्र तँ परमेश्‍वरलाई साँच्चै प्रेम गर्ने व्यक्ति होस्। तब मात्र तँ जीवन स्वभाव परिवर्तन भएको व्यक्ति हुन्छस्। यस्तो व्यक्तिमा मात्र सत्यता वास्तविकताहरू हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ

५१८. व्यक्तिको स्वभावमा रूपान्तरण हुनु भनेको व्यवहारमा परिवर्तन हुनु होइन, न त यो बाहिरी परिवर्तनको स्वाङ हो, न जोसका कारण गरिएको अस्थायी परिवर्तन हो। यी परिवर्तनहरू जति नै असल भए पनि, तिनले जीवन स्वभावमा हुने परिवर्तनको ठाउँ लिन सक्दैनन्, किनभने यी बाहिरी परिवर्तनहरू व्यक्तिको आफ्नै प्रयासद्वारा हासिल गर्न सकिन्छ, तर जीवन स्वभावको परिवर्तन मानव प्रयासले मात्रै हासिल गर्न सकिँदैन। यसको लागि परमेश्‍वरको न्याय, सजाय, परीक्षा र शोधनका साथै पवित्र आत्‍माले दिनुहुने सिद्धताको अनुभव गर्नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले केही असल व्यवहार देखाउने भए पनि, तिनीहरूमध्ये एक जना पनि साँचो रूपमा परमेश्‍वरमा समर्पित हुँदैनन्, परमेश्‍वरलाई साँचो प्रेम गर्दैनन्, वा परमेश्‍वरको इच्‍छा पछ्याउन सक्दैनन्। यस्तो किन हुन्छ? किनभने यसको लागि जीवन स्वभावमा परिवर्तन ल्याउनु जरुरी छ, र व्यवहारमा मात्रै परिवर्तन ल्याउनु पर्याप्त हुँदैन। स्वभावमा परिवर्तन आउनुको अर्थ तैँले सत्यताको ज्ञान र अनुभव पाएको छस्, र सत्यता तेरो जीवन बनेको छ, यसले तँलाई निर्देशित गर्न, र तेरो जीवन र तँबारेका सबै कुरा अधीनमा राख्‍न सक्छ भन्‍ने हुन्छ। तेरो जीवन स्वभावमा आउने परिवर्तन यही हो। सत्यतालाई जीवनको रूपमा प्राप्त गरेका मानिसहरू मात्र स्वभाव परिवर्तन भएका मानिसहरू हुन्। विगतमा, तैँले कतिपय सत्यताहरू बुझ्दा पनि तिनलाई अभ्यास गर्न सक्दैनथिस् होला, तर अहिले तैँले आफूले बुझेको सत्यताको कुनै पनि पक्षलाई कुनै बाधा वा कठिनाइविना नै अभ्यास गर्न सक्छस्। जब तैँले सत्यता अभ्यास गर्छस्, तब आफूलाई शान्ति र खुसीले भरिएको पाउनेछस्, तर तैँले सत्यता अभ्यास गर्न सकिनस् भने, तँलाई पीडा हुन्छ र तेरो विवेक खलबलिन्छ। तँ सबै कुरामा सत्यता अभ्यास गर्न सक्छस्, परमेश्‍वरका वचनहरूअनुसार जिउन सक्छस्, र तँसँग जिउने आधार हुन्छ। यसको अर्थ तेरो स्वभाव परिवर्तन भएको छ भन्‍ने हुन्छ। अब तैँले तेरा धारणा र कल्‍पनाहरू, तेरा देहगत प्राथमिकता र खोजीहरू, अनि तैँले पहिले त्याग्‍न नसकेका कुराहरूलाई सहजै त्याग्‍न सक्छस्। तँलाई परमेश्‍वरका वचनहरू साँच्चै असल छन्, र सत्यता अभ्यास गर्नु सर्वोत्तम कुरा हो भन्‍ने लाग्छ। यसको अर्थ तेरो स्वभाव परिवर्तन भएको छ भन्‍ने हुन्छ। स्वभाव परिवर्तन गर्ने कार्य अत्यन्तै सरल छ जस्तो सुनिन्छ, तर वास्तवमा यो यस्तो प्रक्रिया हो जसको लागि धेरै अनुभव चाहिन्छ। यस अवधिमा, मानिसहरूले धेरै कठिनाइहरू भोग्‍नुपर्छ, तिनीहरूले आफ्‍नै शरीरलाई वशमा राख्‍नुपर्छ र देहविरुद्ध विद्रोह गर्नुपर्छ, तिनीहरूले न्याय, सजाय, काटछाँट, परीक्षा र शोधनको पनि सामना गर्नुपर्छ, अनि तिनीहरूले विभिन्‍न असफलता, पतन, भित्री सङ्घर्ष, र हृदयमा कष्ट पनि सहनुपर्छ। यी अनुभवहरूपछि मात्रै मानिसहरूले आफ्‍नो प्रकृतिको बारेमा बुझ्‍न सक्छन्, तर कतिपय कुराहरू बुझेर पनि तुरुन्तै पूर्ण परिवर्तन हासिल गरिहाल्‍न सकिँदैन; तिनीहरूले लामो समयसम्‍म अनुभव गरिसकेपछि मात्रै बल्‍ल आफ्ना भ्रष्ट स्वभावहरू अलिअलि गर्दै फाल्न सक्छन्। त्यसकारण आफ्‍नो स्वभाव परिवर्तन गर्नको लागि जीवनको पूरै अवधि लाग्छ। उदाहरणको लागि, यदि तैँले कुनै मामलामा भ्रष्टता प्रकट गरिस् भने, के तैँले यसलाई महसुस गर्नेबित्तिकै सत्यता अभ्यास गर्न सक्छस् र? सक्दैनस्। बुझाइको यो चरणमा, अरूले तँलाई काटछाँट गर्छन्, र तेरो वातावरणले तँलाई त्यो सत्यता सिद्धान्तहरूअनुरूप काम गर्न बाध्य बनाउँछ। कहिलेकहीँ, तैँले त्यसो गर्ने भनेर मन बनाएको हुँदैनस्, र तैँले मनमनै भन्छस्, “के मैले यो काम यसरी गर्नुपर्छ? किन मैले यसलाई आफूले चाहेअनुसार गर्न सक्दिनँ? किन मलाई सधैँ सत्यता अभ्यास गर्न लगाइन्छ? म यस्तो गर्न चाहन्‍नँ, म यो कुरादेखि थाकिसकेँ!” परमेश्‍वरको काम अनुभव गर्नको लागि निम्‍न प्रक्रिया भएर जानुपर्ने हुन्छ: सत्यता अभ्यास गर्न मन नलाग्‍ने अवस्थादेखि सत्यताको अभ्यास गर्न इच्‍छुक हुने अवस्थासम्‍म; नकारात्मकता र कमजोर अवस्थाबाट सामर्थ्यवान् र देहविरुद्ध विद्रोह गर्ने क्षमतावान्‌ अवस्थासम्‍म। जब मानिसहरू केही परीक्षाहरूको अनुभव गरिसकेको अवस्थामा पुग्छन्, अनि केही जाँच र शोधन अनुभव गर्दै अन्त्यमा परमेश्‍वरका अभिप्राय र केही सत्यताहरू बुझ्‍न पुग्छन्, तब उनीहरू केही हदसम्म खुसी हुनेछन् र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न इच्छुक हुनेछन्। सुरुमा, मानिसहरू सत्यता अभ्यास गर्न अनिच्छुक हुन्छन्। उदाहरणको रूपमा, अर्पित भएर आफ्ना कर्तव्यहरू निर्वाह गर्ने कुरालाई लिऊँ: तँसित आफ्ना कर्तव्यहरू निर्वाह गर्ने र परमेश्‍वरप्रति अर्पित हुने बारेमा केही बुझाइ छ, र तँसँग सत्यतासम्बन्धी केही बुझाइ पनि छ, तर तँ कहिले परमेश्‍वरप्रति पूर्ण रूपमा अर्पित हुन सक्‍नेछस्? तैँले कहिले नाम र काम दुवैमा तेरा कर्तव्यहरू निर्वाह गर्न सक्‍नेछस्? यसको लागि एउटा प्रक्रियाको आवश्यकता पर्दछ। यस प्रक्रियाको क्रममा, तैँले धेरै कष्टहरू भोग्‍नुपर्ने हुनसक्छ। कतिपय मानिसहरूले तेरो काटछाँट गर्न सक्छन्, र अरूले तेरो आलोचना गर्न सक्छन्। सबैको आँखा तेरो सूक्ष्म जाँच गर्दै तँमै केन्द्रित हुनेछ, तब मात्र तैँले आफू गलत भएको र खराब काम गर्ने व्यक्ति आफूले नै भएको, आफ्नो कर्तव्य निर्वाहमा अर्पण नहुनु अस्वीकार्य हुने र आफू लापरवाह हुन नहुने कुरा थाहा पाउन थाल्नेछस्! पवित्र आत्माले तँलाई भित्रबाट अन्तर्दृष्टि दिनुहुनेछ, र तैँले गल्ती गर्दा तेरो निन्दा गर्नुहुन्छ। यस प्रक्रियाको अवधिमा, तैँले आफ्नै बारेमा केही कुराहरू बुझ्न पुग्छस्, र तँलाई तँभित्र अत्यन्तै धेरै अशुद्धताहरू छन्, तँ आफ्नो हृदयमा औधी धेरै व्यक्तिगत अभिप्रायहरू पाल्छस्, र कर्तव्यहरू निर्वाह गर्दा तँमा कैयौँ बेकाबू इच्छाहरू हुन्छन् भनेर थाहा हुनेछ। तैँले यी कुराहरूको सार बुझेपछि, यदि तँ प्रार्थनामा परमेश्‍वरको सामु आएर साँचो पश्‍चात्ताप गर्न सक्छस् भने, तँ ती भ्रष्ट कुराहरूबाट शुद्ध पारिन सक्छस्। यदि तैँले आफ्ना व्यावहारिक समस्याहरू समाधान गर्न यस्तै प्रकारले बारम्बार सत्यताको खोजी गरिस् भने, तैँले बिस्तारै विश्‍वासको सही मार्गमा पाइला टेक्‍नेछस्; तैँले साँचो जीवन अनुभवहरू प्राप्त गर्न थाल्‍नेछस्, र तेरा भ्रष्ट स्वभावहरू क्रमिक रूपमा शुद्ध हुन थाल्‍नेछन्। तेरो भ्रष्टतालाई जति-जति शुद्ध पारिन्छ, तेरो जीवन स्वभाव उति नै बढी रूपान्तरित हुनेछ।

अहिले धेरै मानिसहरूले आफ्‍ना कर्तव्य निर्वाह गरिरहेका भए पनि, सारगत रूपमा, कति मानिसहरूले आफ्‍नो कर्तव्यमा लटरपटर मात्र गरिरहेका हुन्छन्? कति मानिसहरूले सत्यता स्वीकार गर्न र सत्यता सिद्धान्तहरूअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्छन्? कति मानिसहरूले आफ्‍नो स्वभाव परिवर्तन गरेपछि परमेश्‍वरका मागहरूअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्छन्? यी कुराहरूलाई अझै बढी जाँच गरेर, तँ आफ्‍नो कर्तव्य निर्वाह गर्दा साँच्‍चै मानकको स्तरमा पुगेको छस् कि छैनस् भनेर तैँले जान्‍न सक्‍नेछस्, र तैँले तेरो स्वभाव परिवर्तन भएको छ कि छैन भनेर पनि स्पष्ट रूपमा देख्‍न सक्‍नेछस्। व्यक्तिको स्वभावमा रूपान्तरण हासिल गर्नु साधारण कुरा होइन; यसको अर्थ व्यवहारमा केही परिवर्तनहरू हुनु, सत्यको केही ज्ञान प्राप्त गर्नु, सत्यको प्रत्येक पक्षसँगको आफ्नो अनुभव अलि-अलि बताउन सक्‍नु वा केही परिवर्तन हासिल गर्नु वा अनुशासनमा परेपछि केही समर्पित हुनु मात्र होइन। यी कुराहरूले व्यक्तिको जीवन स्वभावको रूपान्तरणलाई जनाउँदैनन्। म यो किन भन्छु? तँ केही हदसम्म परिवर्तन भएको भए पनि, तैँले अझै पनि साँचो रूपमा सत्यता अभ्यास गरिरहेको छैनस्। सायद तँ अस्थायी रूपमा उपयुक्त वातावरणमा रहेकोले र अवस्था अनुकूल भएकोले, वा तेरो वर्तमान अवस्थाले तँलाई बाध्य तुल्याएकोले, तँ यस प्रकारले व्यवहार गर्छस्। यसबाहेक, यसको साथै, जब तँ राम्रो मनस्थितिमा हुन्छस्, जब तेरो स्थिति सामान्य हुन्छ, र जब तँसँग पवित्र आत्‍माको कार्य हुन्छ, तब तैँले सत्यता अभ्यास गर्न सक्छस्। तर मानौँ तँ परीक्षाको बीचमा छस्, र त्यो बेला तैँले अय्यूबले जस्तै परीक्षाहरूमाझ कष्ट भोगिरहेको छस्, वा तैँले मृत्युको परीक्षा सामना गरिरहेको छस्। जब यस्तो अवस्था आउँछ, के तैँले अझै पनि सत्यता अभ्यास गर्न र गवाहीमा दह्रिलो गरी खडा हुन सक्छस्? के तैँले पनि पत्रुसले भनेजस्तै यसो भन्‍न सक्छस्, “तपाईंलाई चिनेपछि म मर्नुपर्छ भने पनि, म खुसी र आनन्दसाथ किन त्यसो गर्न नसकुँला र?” पत्रुसले कुन कुरालाई महत्त्व दिन्थे? पत्रुसले समर्पणलाई महत्त्व दिन्थे, र तिनले परमेश्‍वरलाई चिन्‍ने कार्यलाई नै सबैभन्दा महत्त्वपूर्ण कुरा मान्थे, त्यसकारण तिनी मृत्युसम्‍मै समर्पित हुन सके। स्वभावको रूपान्तरण रातारात हुँदैन; त्यो हासिल गर्न जीवनभरिको अनुभव चाहिन्छ। सत्यता बुझ्‍नु तुलनात्मक रूपमा सजिलो छ, तर विभिन्‍न परिस्थितिमा सत्यता अभ्यास गर्न सक्षम हुन कठिन छ। किन मानिसहरूलाई सत्यता अभ्यास गर्न सधैँ कठिन हुन्छ? वास्तवमा, यी कठिनाइहरू सीधै मानिसहरूको भ्रष्ट स्वभावसँग सम्‍बन्धित हुन्छन्, र ती सबै भ्रष्ट स्वभावबाट आउने बाधाहरू हुन्। त्यसकारण, सत्यता अभ्यास गर्न सक्षम हुनको लागि तिमीहरूले धेरै कष्ट भोग्‍नु र मूल्य चुकाउनुपर्छ। यदि तँसँग भ्रष्ट स्वभाव नभएको भए, सत्यता अभ्यास गर्नको लागि तैँले कष्ट भोग्‍नु र मूल्य चुकाउनु पर्दैनथ्यो। के यो स्पष्ट तथ्य होइन र? कहिलेकहीँ तैँले सत्यको अभ्यास गरिरहेको छस् भन्‍ने जस्तो लाग्छ, तर वास्तविकतामा, तेरा कार्यहरूको प्रकृतिले तैँले त्यसो गरिरहेको छस् भन्‍ने देखाउँदैन। परमेश्‍वरलाई पछ्याउँदा, धेरै मानिसहरूले आफ्नो परिवार र पेसालाई पन्साएर आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छन्, र त्यसैले तिनीहरूलाई आफूले सत्यता अभ्यास गरिरहेका छौं भन्‍ने विश्‍वास लाग्छ। तर तिनीहरूले साँचो अनुभवको गवाही कहिल्यै दिन सक्दैनन्। यहाँ वास्तवमा के भइरहेको छ? तिनीहरूलाई मानिसका धारणाहरूद्वारा मापन गर्दा, तिनीहरूले सत्यता अभ्यास गरिरहेजस्तो देखिन्छ, तर तिनीहरूले जे अभ्यास गरिरहेका छन् त्यसलाई परमेश्‍वरले सत्यता अभ्यासको रूपमा मान्यता दिनुहुन्‍न। यदि तैँले गर्ने कुराहरूको पछाडि कुनै व्यक्तिगत मनसाय छ र त्यसमा अशुद्धता मिसिएको छ भने, तँ सिद्धान्तबाट विचलित हुने सम्भावना हुन्छ, र त्यो बेला तँलाई सत्यता अभ्यास गरिरहेको भनेर भन्‍न सकिँदैन; यो त केवल एक प्रकारको आचरण हो। कडा अर्थमा भन्‍नुपर्दा, यस प्रकारको आचरणलाई परमेश्‍वरले सायद दोषी नै ठहराउनुहुनेछ; यसलाई उहाँले अनुमोदन गर्नुहुनेछैन वा सम्झनुहुनेछैन। यसलाई सार र जडसम्मै विश्‍लेषण गर्दै जाने हो भने, तँ दुष्कर्म गर्ने व्यक्ति होस्, र तेरा यी बाह्य व्यवहारहरू परमेश्‍वरविरोधी कुरा हुन्। बाहिरबाट, तैँले कुनै कुरालाई अवरोध गरिरहेको वा बाधा दिइरहेको हुँदैनस् र तैँले वास्तविक क्षति गरेको हुँदैनस्। यो तर्कसङ्गत र उचितजस्तो देखिन्छ, तर भित्रचाहिँ यसमा मानव अशुद्धता र अभिप्रायहरू हुन्छन्, र यसको सार दुष्कर्म गर्ने र परमेश्‍वरको विरोध गर्ने खालको हुन्छ। त्यसकारण, तैँले आफ्ना कार्यहरूपछाडिका मनसायलाई हेरेर आफ्नो स्वभाव परिवर्तन भएको छ कि छैन र तैँले सत्यता अभ्यास गरिरहेको छस् कि छैनस् भनेर निर्धारण गर्नुपर्छ। यो कुरा तेरा कार्यहरू तेरा मानव कल्पनाहरूसित मेल खान्छन् कि खाँदैनन्, वा ती तेरो रुचिसँग मिल्छन् कि मिल्दैनन्, त्यसमा निर्भर हुँदैन; यस्ता कुराहरू महत्त्वपूर्ण हुँदैनन्। बरु, यो त तँ परमेश्‍वरका अभिप्रायसँग मिलेको छस् कि छैनस्, तेरा कार्यहरूमा सत्यता वास्तविकता छ वा छैन, र तिनले उहाँले माग गर्नुभएका मानकहरू पूरा गर्छन् कि गर्दैनन् भन्‍ने विषयमा उहाँले भन्‍नुहुने कुरामा निर्भर हुन्छ। परमेश्‍वरका मागहरूको तुलनामा आफैलाई नाप्नु मात्रै सटीक हुन्छ। स्वभावमा रूपान्तरण ल्याउने र सत्यलाई अभ्यास गर्ने कार्य मानिसहरूले कल्पना गरेजस्तो सरल र सजिलो हुँदैन। के अब तिमीहरूले यो बुझ्यौ? के तिमीहरूसँग यसको बारेमा कुनै अनुभव छ? जब समस्याको सारको कुरा आउँदछ, तिमीहरूले यसलाई नबुझ्न सक्छौ; तिमीहरूको प्रवेश अत्यन्तै सतही भएको छ। तिमीहरू चाँडै उठेर ढिलो सुतेर बिहानदेखि बेलुकीसम्‍मै दिनभर दौडधुप गर्छौ, तर तिमीहरूले आफ्नो जीवन स्वभावमा रूपान्तरण प्राप्त गर्न सकेका छैनौ, र स्वभाव रूपान्तरण भनेको के हो भनेर तिमीहरूले बुझ्न सक्दैनौ। यसको अर्थ तिमीहरूको प्रवेश अत्यन्तै सतही छ भन्‍ने हुन्छ, होइन र? तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति लामो समय भए पनि, तिमीहरूले स्वभाव रूपान्तरणसँग सम्बन्धित सार र गहिरा चीजहरूलाई सायद महसुस गरेका छैनौ। के तिमीहरूको स्वभाव परिवर्तन भएको छ भनेर भन्‍न सकिन्छ? परमेश्‍वरले तँलाई अनुमोदन गर्नुहुन्छ कि गर्नुहुन्‍न भनी तैँले कसरी जान्दछस्? कम्तीमा पनि, आफूले गर्ने सबै कार्यमा तैँले आफूलाई अत्यन्तै अटल भएको महसुस गर्नेछस्, र तैँले तेरा कर्तव्यहरू निर्वाह गरिरहेको बेला, परमेश्‍वरको घरमा वा आम रूपमा कुनै पनि काम गरिरहेको बेला पवित्र आत्माले तँलाई मार्गनिर्देशन र अन्तर्दृष्टि दिइरहनुभएको र तँमा काम गरिरहनुभएको महसुस गर्नेछस्। तेरा कार्यहरू परमेश्‍वरका वचनहरूसँग परस्पर मिल्नेछन्, र तैँले केही हदसम्म अनुभव प्राप्त गरेपछि, तैँले विगतमा जसरी व्यवहार गरिस् त्यो तुलनात्मक रूपमा उचित थियो भन्‍ने महसुस गर्नेछस्। तापनि, निश्‍चित अवधिसम्म अनुभव प्राप्त गरेपछि, यदि तैँले विगतमा गरेका केही कामहरू उचित थिएन जस्तो लाग्यो भने, र तँ तीप्रति असन्तुष्ट छस्, र ती कार्यहरू सत्यताअनुरूप थिएनन् भन्‍ने महसुस गर्छस् भने, तैँले गरेको सबै कुराहरू परमेश्‍वरको विरोधमा थिए भन्‍ने यसले प्रमाणित गर्छ। यो तेरा सेवा विद्रोहीपन, प्रतिरोध र काम गर्ने मानवीय तरिकाहरूले भरिएको थियो, र तँ स्वभाव परिवर्तन हासिल गर्न पूर्ण रूपमा असफल भएको छस् भन्‍ने कुराको प्रमाण हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ

५१९. यदि व्यक्तिमा धेरै वटा असल बानीबेहोरा छन् भने, यसको अर्थ ऊसँग सत्यता वास्तविकताहरू छन् भन्‍ने हुँदैन। सत्यताको अभ्यास अनि सिद्धान्तहरूअनुसार काम गरेर मात्रै तैँले सत्यता वास्तविकताहरू प्राप्त गर्न सक्छस्। परमेश्‍वरको डर मानेर अनि दुष्टताबाट टाढा बसेर मात्रै तैँले सत्यता वास्तविकताहरू प्राप्त गर्न सक्छस्। कतिपय मानिसहरू जोसिला हुन्छन्, तिनीहरूले धर्मसिद्धान्तको कुरा गर्न, प्रावधानहरू पालना गर्न, र धेरै वटा राम्रा कामकुराहरू गर्न सक्छन्, तर तिनीहरूका बारेमा बोल्दा तिनीहरूमा अलिअलि मानवता छ मात्र भन्‍न सकिन्छ। धर्मसिद्धान्तको कुरा गर्न र सधैँ प्रावधानहरू पालना गर्न सक्‍ने मानिसहरूले सत्यता अभ्यास गर्न सक्छन् नै भन्‍ने हुँदैन। तिनीहरूले भन्‍ने कुरा सही र समस्यारहित भएझैँ लागे पनि, सत्यताको सारको बारेमा तिनीहरूसँग भन्‍ने कुरा केही हुँदैन। त्यसकारण, कसैले जति धेरै धर्मसिद्धान्तको कुरा बोल्‍न सके पनि, यसको अर्थ उसले सत्यता बुझेको छ भन्‍ने हुँदैन, र उसले जति धेरै धर्मसिद्धान्त बुझेको भए पनि, उसले कुनै समस्या समाधान गर्न सक्दैन। धार्मिक सिद्धान्तकारहरू सबैले बाइबलको व्याख्या गर्न सक्छन्, र अन्त्यमा, तिनीहरू सबै पतन हुन्छन्, किनभने तिनीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएको सम्पूर्ण सत्यता स्वीकार गरेका हुँदैनन्। जुन मानिसहरूले आफ्नो स्वभावमा परिवर्तन अनुभव गरेका हुन्छन् तिनीहरू भिन्नै हुन्छन्; तिनीहरूले सत्यतालाई बुझेका हुन्छन्, तिनीहरू सबै विषयहरूमा विवेकी हुन्छन्, तिनीहरूलाई परमेश्‍वरका अभिप्रायबमोजिम कसरी काम गर्ने, सत्यता सिद्धान्तअनुसार कसरी व्यवहार गर्ने, र परमेश्‍वरलाई सन्तुष्ट पार्न कसरी कार्य गर्ने भनी जानेका हुन्छन्, र आफूले प्रकाश गर्ने भ्रष्टताको प्रकृति तिनीहरूले बुझेका हुन्छन्। जब तिनीहरूका आफ्नै विचारहरू र धारणाहरू प्रकट हुन्छन्, तिनीहरू विवेकी हुन्छन् र देहविरुद्ध विद्रोह गर्ने बन्‍न सक्छन्। स्वभावमा भएको परिवर्तनलाई यसरी नै प्रकट गरिन्छ। स्वभावको परिवर्तन भएका मानिसहरूको मुख्य प्रकटीकरण भनेको तिनीहरूले सत्यतालाई स्पष्टसँग बुझेका हुन्छन् र कार्यहरू पूरा गर्दा तिनीहरूले सत्यतालाई तुलनात्मक रूपमा सटीक रूपले अभ्यास गर्छन् र तिनीहरूले बारम्बार भ्रष्टता प्रकाश गर्दैनन्। सामान्यतया, जसको स्वभाव रूपान्तरण भएको हुन्छ तिनीहरू विशेष रूपमा व्यावहारिक र समझदार देखिन्छन्, र तिनीहरूमा सत्यको ज्ञान भएकोले, तिनीहरूले त्यति धेरै स्व-धार्मिकता वा अहङ्कार प्रकाश गर्दैनन्। तिनीहरूमा प्रकट हुने धेरैजसो भ्रष्टता तिनीहरूले देख्न र बुझ्न सक्छन्, त्यसैले तिनीहरू अहङ्कार गर्दैनन्। तिनीहरूले लिनुपर्ने स्थान के हो र के कस्ता व्यावहारिक कुराहरू गर्नुपर्छ, कसरी कर्तव्यपरायण हुने, के भन्‍ने र के नभन्‍ने, कुन मानिसहरूलाई के भन्‍ने र के गर्ने सो तिनीहरूले निश्‍चित हदसम्म बुझ्न सक्छन्। यसरी, स्वभाव परिवर्तन भएका मानिसहरू तुलनात्मक रूपमा विवेकशील हुन्छन् र त्यस्ता मानिसहरू मात्रै साँचो तवरले मानव स्वरूपमा जिउँछन्। तिनीहरू सत्यता बुझ्छन्, त्यसैले तिनीहरूले सधैँ सत्यताअनुसार बोल्न र परिस्थिति देख्‍न सक्छन्, र आफूले गर्ने सबै कुरामा तिनीहरू सिद्धान्तअनुसार काम गर्छन्; तिनीहरू कुनै पनि व्यक्ति, घटना वा थोकको प्रभावमा परेका हुँदैनन्, र तिनीहरू सबैका आ-आफ्नै विचारहरू हुन्छन् र सत्यता सिद्धान्तलाई समर्थन गर्न सक्छन्। तिनीहरूका स्वभाव तुलनात्मक रूपमा स्थिर हुन्छ, तिनीहरू घरी तातो र घरी चिसो हुँदैनन्, र तिनीहरूका परिस्थितिहरू जस्तोसुकै भए पनि आफ्ना कर्तव्यहरू कसरी उचित रूपले पूरा गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने किसिमको व्यवहार कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुन्छ। जस-जसका स्वभावहरू परिवर्तित भएका हुन्छन्, तिनीहरूले अरूले तिनीहरूको बारेमा राम्रो सोचून् भन्‍ने हेतु बाहिरी रूपमा के गर्नुपर्छ भन्‍ने कुरामा ध्यान लाउँदैनन्; तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न के गर्नुपर्छ सो आन्तरिक रूपमा स्पष्ट बुझेका हुन्छन्। त्यसकारण, बाहिरबाट हेर्दा, तिनीहरू त्यत्ति उत्साहित वा तिनीहरूले कुनै महत्त्वपूर्ण काम गरेको जस्तो नदेखिन सक्छ, तर तिनीहरूले गर्ने सबै कुरा अर्थपूर्ण, मूल्यवान् हुन्छन्, र तिनले व्यावहारिक परिणामहरू ल्याउँछन्। ज-जसका स्वभावहरू परिवर्तन भएका छन् तिनीहरूमा निश्‍चित रूपमा धेरै सत्यता वास्तविकताहरू हुन्छन्, र यसलाई विभिन्‍न कुराहरूप्रति तिनीहरूका दृष्टिकोण र कार्यका सिद्धान्तहरूद्वारा पुष्टि गर्न सकिन्छ। सत्यता प्राप्त नगरेका मानिसहरूले जीवन स्वभावमा कुनै परिवर्तन हासिल गरेका हुँदैनन्। ठ्याक्‍कै भन्दा, स्वभाव परिवर्तन कसरी हासिल गर्न सकिन्छ? मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ, तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्, र तिनीहरू सबैसँग परमेश्‍वरविरोधी प्रकृति छ। परमेश्‍वरले परमेश्‍वरविरोधी प्रकृति भएका र परमेश्‍वरलाई विरोध गर्ने मानिसहरूलाई परमेश्‍वरप्रति समर्पित हुने र उहाँको डर मान्‍ने मानिसहरूमा परिणत गरी मुक्ति दिनुहुन्छ। स्वभाव परिवर्तन भएको व्यक्ति बन्‍नु भनेको यही हो। व्यक्ति जति नै भ्रष्ट भए पनि, तिनीहरूसँग जति नै धेरै भ्रष्ट स्वभावहरू भए पनि, तिनीहरूले सत्यता स्वीकार गर्न, अनि परमेश्‍वरको न्याय र सजाय, र विभिन्‍न परीक्षा र शोधन स्वीकार गर्न सकुञ्जेलसम्म, तिनीहरूसँग परमेश्‍वरबारे साँचो बुझाइ हुन्छ, साथै तिनीहरूले आफ्‍नो प्रकृति सारलाई स्पष्ट देख्‍न सक्छन्। जब तिनीहरूले आफूलाई साँचो रूपमा बुझ्छन्, तब तिनीहरूले आफूलाई र शैतानलाई घृणा गर्न सक्छन् र तिनीहरू शैतानविरुद्ध विद्रोह गर्न, र परमेश्‍वरप्रति पूर्ण रूपमा समर्पणकारी हुन तयार हुन्छन्। व्यक्तिमा यस्तो सङ्कल्प भएपछि, उसले सत्यता खोजी गर्न सक्छ। यदि मानिसहरूमा परमेश्‍वरबारे साँचो ज्ञान छ, तिनीहरूको शैतानी स्वभावलाई शुद्ध पारिएको छ, र तिनीहरूभित्र जरा गाडेर परमेश्‍वरका वचनहरू तिनीहरूका जीवन र अस्तित्वका आधार बनेका छन् भने, यदि तिनीहरू परमेश्‍वरका वचनहरूअनुसार जिउँछन्, र तिनीहरू पूर्ण रूपमा परिवर्तन भएर नयाँ मानिसहरू बनेका छन् भने, यसलाई तिनीहरूको जीवन स्वभावमा आएको परिवर्तनको रूपमा लिन सकिन्छ। स्वभाव परिवर्तन हुनु भनेको उसको मानवता परिपक्‍व र अनुभवी हुनु होइन न त मानिसहरूको बाहिरी स्वभाव पहिलेको भन्दा नम्र हुनु नै हो, यो पहिले तिनीहरू अहङ्कारी थिए, तर अब विवेकी भएर कुराकानी गर्न सक्छन्, वा पहिले तिनीहरूले कसैको कुरा सुन्दैनथे, तर अब अलिकति अरूका कुरा सुन्‍न सक्छन् भन्‍ने होइन; त्यस्ता बाहिरी परिवर्तनलाई स्वभावको रूपान्तरण भनी भन्‍न सकिँदैन। अवश्य, स्वभावमा हुने रूपान्तरणमा त्यस्ता प्रकटीकरणहरू पनि पर्छन्, तर सबैभन्दा महत्त्वपूर्ण भाग भनेको आन्तरिक रूपमा, तिनीहरूका जीवन परिवर्तन भएको हुन्छ। मुख्यतया यस्तो किन हुन्छ भने परमेश्‍वरका वचनहरू र सत्यताले तिनीहरूभित्र जरा गाडेका हुन्छन्, तिनले नै तिनीहरूभित्र शासन गर्छन्, र ती तिनीहरूको जीवन बनेका हुन्छन्। तिनीहरूको दृष्टिकोण पनि बदलिएका हुन्छन्। तिनीहरूले संसारमा अनि मानवजातिलाई के भइरहेको छ, शैतानले मानवजातिलाई कसरी भ्रष्ट तुल्याउँछ, ठूलो रातो अजिङ्गरले कसरी परमेश्‍वरको विरोध गर्छ, र ठूलो रातो अजिङ्गरको सार के हो भन्‍ने कुरा स्पष्ट देख्‍न सक्छन्। तिनीहरूले हृदयमा ठूलो रातो अजिङ्गर, अर्थात् शैतानलाई घृणा गर्न सक्छन्, र तिनीहरूले परमेश्‍वरकहाँ पूर्ण रूपमा फर्केर उहाँलाई पछ्याउन सक्छन्। यसको अर्थ तिनीहरूको जीवन स्वभाव परिवर्तन भएको छ, र तिनीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुभएको छ। जीवन स्वभावमा आउने परिवर्तनहरू आधारभूत परिवर्तनहरू हुन्, जबकि बानीबेहोरामा आउने परिवर्तनहरू सतही परिवर्तनहरू हुन्। जीवन स्वभावमा परिवर्तन हासिल गरेका मानिसहरूले मात्रै सत्यता प्राप्त गरेका हुन्छन्, र तिनीहरूलाई मात्रै परमेश्‍वरले प्राप्त गर्नुभएको हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

५२०. यदि तँ आफूलाई भ्रष्टताबाट धोइन र तेरो जीवन स्वभाव बदल्न चाहन्छस् भने, तँमा सत्यताप्रति प्रेम हुनुपर्छ अनि तँ सत्यता स्वीकार गर्न सक्षम हुनुपर्छ। सत्यतालाई स्वीकार गर्नु भनेको के हो? सत्यता स्वीकार गर्नुको अर्थ के हो भने, तँसँग जे-जस्तो भ्रष्ट स्वभाव भए तापनि, वा रातो अजिङ्गरको अर्थात् शैतानका जुनसुकै विषहरू तेरो प्रकृतिमा भए तापनि, जब परमेश्‍वरका वचनहरूले यी कुराहरू पर्दाफास गर्छन्, तब तैँले ती कुरा स्विकार्नुपर्छ र तँ समर्पित हुनुपर्छ, तैँले फरक निर्णय गर्नु हुँदैन, र तैँले परमेश्‍वरका वचनहरूअनुसार आफूलाई चिन्‍नुपर्छ। परमेश्‍वरका वचनहरू स्विकार्न र सत्यता स्विकार्न सक्‍नु भनेको यही हो। परमेश्‍वरले जेसुकै भन्नुभए तापनि, उहाँका वाणीहरू जति नै कठोर भए तापनि, र उहाँले जुनसुकै वचनहरू प्रयोग गर्नुभए तापनि, उहाँले भन्नुभएका कुराहरू सत्य हुन् भने तैँले तिनलाई स्वीकार गर्न सक्छस् र ती वास्तविकतासँग मेल खान्छन् भने तैँले तिनलाई स्वीकार्न सक्छस्। तैँले परमेश्‍वरका वचनहरूलाई जति गहन रूपमा बुझे पनि तँ ती वचनहरूमा समर्पित हुन सक्छस्, र तँ पवित्र आत्माबाट आएको तेरा दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गर्ने ज्योतिलाई स्वीकार गर्न र त्यसमा समर्पित हुन सक्छस्। जब त्यस्तो व्यक्तिले केही हदसम्म सत्यको खोजी गरेको हुन्छ तब उसले सत्य प्राप्त गर्न सक्छ र उसले आफ्नो स्वभावको रूपान्तरण हासिल गर्न सक्छ। सत्यतालाई प्रेम नगर्ने मानिसहरूमा थोरै मानवता भए पनि, तिनीहरूले केही असल कामकुरा गर्न सक्ने र परमेश्‍वरको लागि त्याग र समर्पण गर्न सक्‍ने भए पनि, तिनीहरू सत्यताबारे अन्योलमा हुन्छन् र यसलाई गम्‍भीर रूपमा लिँदैनन्, त्यसकारण तिनीहरूको जीवन स्वभाव कहिल्यै परिवर्तन हुँदैन। तैँले देख्‍न सक्छस् कि पत्रुससँग पनि अरू चेलाहरूको जस्तै मानवता थियो, तर सत्यताको खोजीमा तिनी अरूभन्दा माथि उठेका थिए। येशूले जेसुकै भन्नुभए पनि, तिनले गम्भीरतासाथ मनन गरे। येशूले सोध्नुभयो, “यूहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले इमानदारीसाथ जबाफ दिए, “म स्वर्गमा हुनुहुने पितालाई मात्र प्रेम गर्छु, तैपनि मैले पृथ्वीका प्रभुलाई प्रेम गरेको छैनँ।” पछि तिनले बुझे, र सोचे, “यो सही होइन, पृथ्वीमा हुनुहुने परमेश्‍वर नै स्वर्गका परमेश्‍वर हुनुहुन्छ। के स्वर्ग र पृथ्वी, दुवैमा हुनुहुने परमेश्‍वर एउटै हुनुहुन्न र? यदि मैले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई मात्र प्रेम गरें भने, मेरो प्रेम व्यावहारिक हुँदैन। मैले पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई पनि प्रेम गर्नुपर्छ, तब मात्र मेरो प्रेम व्यावहारिक हुनेछ।” यसरी, येशूले सोध्‍नुभएको कुराबाट पत्रुसले परमेश्‍वरको वचनको साँचो अर्थ बुझे। परमेश्‍वरलाई प्रेम गर्न, र त्यो प्रेम व्यावहारिक हुनका लागि, व्यक्तिले पृथ्वीमा हुनुहुने देहधारी परमेश्‍वरलाई प्रेम गर्नैपर्छ। अस्पष्ट र अदृश्य परमेश्‍वरलाई प्रेम गर्नु न त वास्तविक न व्यावहारिक नै हुन्छ, तर व्यावहारिक, देखिने परमेश्‍वरलाई प्रेम गर्नु सत्यता हो। येशूका वचनहरूबाट, पत्रुसले सत्यता र परमेश्‍वरको अभिप्रायहरूको बुझाइ प्राप्त गरे। स्पष्ट छ, परमेश्‍वरमाथिको पत्रुसको विश्‍वास केवल सत्यताको पछि लाग्ने कार्यमा मात्रै केन्द्रित थियो। आखिरमा, तिनले व्यावहारिक परमेश्‍वर अर्थात्‌ पृथ्वीमा हुनुहुने परमेश्‍वरको प्रेम पाउन सके। पत्रुस सत्यताको खोजीमा विशेष रूपमा गम्भीर थिए। येशूले तिनलाई सल्लाह दिनुहुँदा प्रत्येक पटक नै तिनले येशूका वचनहरूलाई गम्भीरताका साथ विचार गर्थे। सायद तिनले महिनौंसम्म, एक वर्ष, वा पवित्र आत्माले तिनलाई अन्तर्दृष्टि नदिऊञ्जेल धेरै वर्षसम्म मनन-विचार गर्थे र तिनले परमेश्‍वरका वचनहरूको सार बुझ्थे। यसरी, पत्रुस सत्यतामा प्रवेश गरे, र तिनले त्यसो गर्ने क्रममा, तिनको जीवन स्वभाव रूपान्तरण र नवीकरण भयो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

५२१. प्रकृतिमा परिवर्तन हासिल गर्ने मुख्य कुञ्जी भनेको आफ्नै प्रकृतिलाई जान्‍नु हो, र यो परमेश्‍वरबाट आउने खुलासाहरू अनुरूप हुनुपर्दछ। परमेश्‍वरको वचनमा मात्र व्यक्तिले उसको आफ्नो घिनलाग्दो प्रकृतिलाई जान्‍न सक्छ, आफ्नै प्रकृतिमा रहेको शैतानका विभिन्‍न विषहरू पहिचान गर्न सक्छ, आफू मूर्ख र अज्ञानी छ भनी थाहा पाउन सक्छ, र आफ्नो प्रकृतिमा रहेका कमजोर र नकारात्मक तत्त्वहरूलाई चिन्‍न सक्छ। यी सबै कुरा पूर्ण रूपमा जानेपछि, र तैँले साँचो रूपमा आफूलाई घृणा गर्न र देहविरुद्ध विद्रोह गर्न, परमेश्‍वरको वचन निरन्तर अभ्यास गर्न, आफ्‍नो कर्तव्य निभाउने क्रममा निरन्तर सत्यता पछ्याउन, आफ्‍नो स्वभाव परिवर्तन गर्न, र परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने व्यक्ति बन्‍न सक्षम भएपछि, तँ पत्रुसको मार्गमा हिँड्न थालेको हुनेछस्। परमेश्‍वरको अनुग्रहविना र पवित्र आत्माको अन्तर्दृष्टि र मार्गर्देशनविना यस मार्गमा हिँड्न गाह्रो हुनेथियो, किनकि मानिसहरूसँग सत्यता छैन र तिनीहरू आफैविरुद्ध विद्रोह गर्न सक्दैनन्। पत्रुसको सिद्धताको मार्गमा हिँड्नु मुख्यतः सङ्कल्‍प लिने, विश्‍वास राख्ने र परमेश्‍वरमा भर पर्ने कुरामा निर्भर हुन्छ। त्यसबाहेक, व्यक्ति पवित्र आत्माको कामप्रति समर्पित हुनैपर्छ; सबै कुरामा, व्यक्तिले परमेश्‍वरको वचनविना हर कुरा गर्न सक्दैन। मुख्य पक्षहरू यिनै हुन्, जसमध्ये कुनै पनि कुरालाई उल्लङ्घन गर्न सकिँदैन। अनुभवमाझ आफैलाई चिन्‍नु धेरै कठिन छ; पवित्र आत्माको कामविना, नतिजा आउँदैन। पत्रुसको मार्गमा हिँड्नका लागि, व्यक्तिले आफूलाई चिन्‍न र आफ्‍नो स्वभाव रूपान्तरण गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। पावलको मार्ग जीवन पछ्याउने वा आत्म-ज्ञानमा केन्द्रित गर्ने मार्ग थिएन; तिनले विशेष गरी काम गर्न र यसको प्रभाव र गतिमा ध्यान दिए। तिनको प्रेरणा भनेको तिनको काम र कष्टको बदलीमा परमेश्‍वरको आशिष् प्राप्त गर्नु, र परमेश्‍वरबाट इनाम प्राप्त गर्नुथियो। यो प्रेरणा गलत थियो। पावलले जीवनमा ध्यान केन्द्रित गरेनन्, न त तिनले स्वभाव परिवर्तन गर्नुमा नै कुनै महत्त्व दिए; तिनले केवल इनाममा ध्यान दिए। तिनका लक्ष्यहरू गलत भएकाले तिनले हिँडेको बाटो पनि अवश्य नै गलत थियो। यो तिनको अभिमान र घमण्डी प्रकृतिले ल्याएको थियो। स्पष्टै छ, पावलसँग कुनै सत्यता थिएन, न त तिनीसँग कुनै विवेक वा समझ नै थियो। मानिसहरूलाई बचाउने र परिवर्तन गर्ने क्रममा परमेश्‍वर मुख्यतः तिनीहरूका स्वभाव परिवर्तन गर्नुहुन्छ। उहाँको वचनको उद्देश्य भनेको परिवर्तन भएको स्वभाव प्राप्त गरेपछि प्राप्त हुने परिणाम र परमेश्‍वरलाई चिन्‍ने, उहाँमा समर्पित हुने, र सामान्य तरिकामा उहाँको आराधना गर्ने क्षमताको नतिजा मानिसहरूमा हासिल गर्नु हो। परमेश्‍वरका वचनहरू र उहाँको कार्यको उद्देश्य यही हो। पावलको पछ्याउने तरिका प्रत्यक्ष रूपमै परमेश्‍वरका अभिप्रायको उल्लङ्घनमा र विरोधमा थियो; त्यो पूर्ण रूपमा तिनको विपरीत थियो। तापनि, पत्रुसको पछ्याउने तरिका पूर्ण रूपमा परमेश्‍वरका अभिप्रायअनुरूप थियो: तिनी जीवन, र स्वभाव परिवर्तनमा ध्यान दिन्थे, जुन ठ्याक्कै परमेश्‍वरले आफ्‍नो कामद्वारा मानवजातिमा हासिल गर्न चाहेकै परिणाम हो। त्यसैले पत्रुसको मार्ग आशिषित छ र यसले परमेश्‍वरको अनुमोदन प्राप्त गर्दछ। पावलको मार्ग परमेश्‍वरका अभिप्रायविपरित जाने हुनाले, परमेश्‍वरले त्यसलाई घृणा गर्नुहुन्छ र सराप दिनुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

५२२. आजभोलि, धेरैजसो मानिसहरूमा आफ्‍नो बारेमा अत्यन्तै सतही ज्ञान छ। तिनीहरूले आफ्‍नो प्रकृतिका कुराहरूलाई स्पष्ट रूपमा पटक्कै बुझ्न सकेका छैनन्। तिनीहरूसँग आफूले प्रकट गर्ने केही भ्रष्ट स्थिति, तिनीहरूले सम्भवतः गर्ने कार्यहरू, वा तिनीहरूका केही कमजोरीबारे मात्र ज्ञान छ, र यसले तिनीहरूलाई आफूलाई चिन्न विश्‍वास गर्ने बनाउँछ। त्यसबाहेक, यदि तिनीहरू केही प्रावधान पालना गर्छन्, निश्चित क्षेत्रहरूमा गल्ती गर्दैनन् भन्‍ने कुरालाई निश्‍चित गर्छन्, र केही अपराधहरू गर्नबाट जोगिन्छन् भने, तिनीहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा तिनीहरूसँग वास्तविकता छ भन्‍ने सोच्छन् र तिनीहरूले मुक्ति पाउनेछन् भनी विश्‍वास गर्छन्। यो पूर्णतया मानवीय कल्पना हो। यदि तँ यी कुराहरूमा रहन्छस् भने के तँ साँच्‍चै कुनै अपराधहरू गर्नुबाट जोगिन सक्छस्? के तैँले स्वभावको वास्तविक परिवर्तन प्राप्त गरेको हुन्छस्? के तँ साँच्चै मानव स्वरूपमा जिइरहेको हुन्छस्? के तैँले त्यसरी परमेश्‍वरलाई सच्‍चा रूपमा सन्तुष्ट पार्न सक्छस्? कदापि सक्दैनस्, यो निश्‍चित कुरा हो। व्यक्तिमा उच्च मापदण्डहरू छन् र उसले सत्यता प्राप्त गरेको छ अनि उसको आफ्नै जीवन स्वभावमा केही परिवर्तन पाएको छ भने मात्रै परमेश्‍वरमाथिको विश्‍वासले काम गर्छ। यसको लागि पहिले आफूलाई चिन्‍ने कार्यमा समर्पित हुनुपर्छ। यदि आफूबारे मानिसहरूको ज्ञान अत्यन्तै सतही छ भने, तिनीहरूलाई समस्याहरू समाधान गर्न असम्भव हुनेछ, र तिनीहरूको जीवन स्वभाव निश्चय नै परिवर्तन हुनेछैन। आफैलाई एक गहन स्तरमा जान्‍नु जरुरी हुन्छ, जसको अर्थ आफ्नै प्रकृति जान्‍नु हो: त्यो प्रकृतिमा कुन-कुन तत्त्वहरू समावेश हुन्छन्, ती कुराहरू कसरी उत्पन्‍न भए, र ती कहाँबाट आए। यसबाहेक, के तँ साँच्चै ती कुराहरूलाई घृणा गर्न सक्छस्? के तैँले आफ्नै कुरूप प्राण र तेरो दुष्ट प्रकृतिलाई देखेको छस्? यदि तैँले आफ्ना बारेको सत्यतालाई साँच्चै देख्न सक्छस् भने, आफूलाई घृणा गर्नेछस्। जब तँ आफूलाई घृणा गर्छस् र परमेश्‍वरको वचन अभ्यास गर्छस्, तब तैँले गाह्रो हुन्छ भन्‍ने विश्‍वास नगरी देहविरुद्ध विद्रोह गर्न सक्छस् र सत्यता अभ्यास गर्ने सामर्थ्य पाउनेछस्। किन धेरै मानिसहरू आफ्ना देहगत रुचिहरूका पछि लाग्छन्? किनकि तिनीहरूले आफैलाई अति असल ठान्छन्, तिनीहरूका कार्यहरू सही र उचित छन्, तिनीहरूमा कुनै दोष छैन र तिनीहरू पूर्ण रूपमा सही समेत छन् भन्‍ने महसुस गर्छन्, त्यसैले तिनीहरूले न्याय तिनीहरूकै पक्षमा छ भन्‍ने मान्यतासहित काम गर्न सक्छन्। जब व्यक्तिले आफ्नो वास्तविक प्रकृति के हो—कति कुरूप, कति घृणास्पद र कति दयनीय छ भनी बुझ्दछ—तब ऊ आफैप्रति धेरै घमण्ड गर्दैन, अति अहङ्कारी हुँदैन, र पहिलेको जस्तै आफूसँग त्यति प्रसन्‍न हुँदैन। यस्तो व्यक्तिले यस्तो महसुस गर्छ, “परमेश्‍वरका केही वचनहरू अभ्यास गर्नमा म गम्भीर र व्यावहारिक हुनुपर्छ। यदि होइन भने, म मानिस बन्‍नुको मापदण्डको स्तरसम्म पुग्दिन, र परमेश्‍वरको उपस्थितिमा जिउन लज्जित हुनेछु।” तब मात्र व्यक्तिले साँच्चै आफैलाई तुच्छ, साँच्चै महत्त्वहीन देख्दछ। यसबेला, सत्यता अभ्यास गर्न व्यक्तिलाई सजिलो हुन्छ, र मानिस जस्तो हुनुपर्छ ऊ त्यस्तै देखिन थाल्‍नेछ। मानिसहरूले आफैलाई साँच्चै घृणा गरे भने मात्र तिनीहरूले देहविरुद्ध विद्रोह गर्न सक्छन्। यदि तिनीहरूले आफैलाई घृणा गर्दैनन् भने, तिनीहरूले देहविरुद्ध विद्रोह गर्न सक्‍नेछैनन्। आफैलाई साँचो रूपमा घृणा गर्नु सानोतिनो कुरा होइन। तिनमा भेट्टाइनुपर्ने कुराहरू धेरै हुन्छन्: पहिलो, आफ्नै प्रकृतिलाई जान्‍नु; र दोस्रो, आफूलाई अभावग्रस्त र दयनीय अवस्थाको देख्‍नु, आफैलाई अत्यन्तै सानो र नगण्य रूपमा देख्नु, र आफ्नै दयनीय र फोहोर प्राणलाई देख्नु। जब व्यक्तिले वास्तवमा ऊ के हो भनेर पूर्ण रूपमा बुझ्दछ, र यो नतिजा हासिल हुन्छ, तब उसले आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्दछ, र व्यक्तिले आफैलाई पूर्ण रूपमा चिनेको छ भनी भन्‍न सकिन्छ। तब मात्र व्यक्तिले आफैलाई घृणा गर्न सक्दछ यहाँसम्म कि उसले आफैलाई सराप्छ, र शैतानले उसलाई गम्भीर रूपमा भ्रष्ट पारेकोले ऊ मानिस जस्तो समेत देखिँदैन भन्‍ने उसले महसुस गर्छ। अनि एक दिन, जब मृत्युको खतरा देखा पर्दछ, त्यस्तो व्यक्तिले सोच्‍नेछ, “यो परमेश्‍वरको धर्मी दण्ड हो। परमेश्‍वर साँच्चै धर्मी हुनुहुन्छ; म साँच्चै मर्नुपर्छ!” यस्तो अवस्थामा उसले कुनै गुनासो गर्नेछैन, परमेश्‍वरबारे गुनासो त झनै गर्नेछैन, उसले आफू अभावग्रस्त र दयनीय, अति फोहोर र भ्रष्ट भएकाले परमेश्‍वरद्वारा ऊ हटाइनुपर्छ र नाश पारिनुपर्छ, र उसको जस्तो प्राण पृथ्वीमा जिउन योग्यको छैन भन्‍ने मात्र महसुस गर्छ। त्यसकारण, यस व्यक्तिले परमेश्‍वरको बारेमा गुनासो वा विरोध गर्नेछैन, उहाँको विश्‍वासघात गर्ने कुरा त परै जाओस्। यदि व्यक्तिले आफैलाई चिन्दैन र पनि अझै आफूलाई धेरै असल नै ठान्दछ भने, जब मृत्यु ढोका ढकढक्याउँदै आउँछ, तब यस व्यक्तिले सोच्‍नेछ, “मैले आफ्नो विश्‍वासमा धेरै राम्रो गरेको छु। मैले कति धेरै कठिनतासाथ सत्यता पछ्याएको छु! मैले धेरै कुरा दिएको छु, मैले धेरै दुःख भोगेको छु, तापनि अन्त्यमा, अब परमेश्‍वरले मलाई मर्नु भनिरहनुभएको छ। परमेश्‍वरको धार्मिकता कहाँ छ मलाई थाहा छैन। उहाँले मलाई किन मर्नु भनिरहनुभएको छ? यदि मैले मर्नुपर्छ भने कसले चाहिँ मुक्ति पाउनसक्‍नेछ? के मानवजाति समाप्त हुनेछैन र?” सबैभन्दा पहिले, यस व्यक्तिमा परमेश्‍वरको विषयमा धारणाहरू हुन्छ। दोस्रो, यो व्यक्तिले गुनासो गरिरहेको छ, र कुनै पनि किसिमको समर्पणता देखाइरहेको छैन। यो पावललाई भएको जस्तै हो: जब तिनी मर्न लागेका थिए, तिनले आफैलाई चिनेका थिएनन् र परमेश्‍वरको दण्ड नजिक आइसकेपछि, यो सब धेरै ढिला भइसकेको थियो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

५२३. जब मानिसहरूले सिद्धताको बाटोमा पाइला टेक्छन्, तिनीहरूका पुरानो स्वभाव परिवर्तन हुन सक्छन्। यसबाहेक, तिनीहरूका जीवनहरू बढ्दैजान्छ, र तिनीहरू बिस्तारै सत्यतामा गहिरो रूपमा प्रवेश गर्छन्। तिनीहरू संसारलाई र सत्यताको पछि नलाग्ने सबैलाई घृणा गर्न सक्छन्। तिनीहरूले विशेष गरी आफैलाई घृणा गर्छन्, तर त्योभन्दा बढी तिनीहरूले आफैलाई स्पष्ट रूपमा चिन्छन्। तिनीहरू सत्यमा जिउन इच्छुक बन्छन् र सत्यताको खोजी गर्ने कार्यलाई आफ्नो लक्ष्य बनाउँछन्। तिनीहरू आफ्नै दिमागले उब्जाएका विचारहरू भित्र बस्न अनिच्छुक हुन्छन्, र तिनीहरूले मानिसको स्व-धार्मिकता, हठीपन, र अभिमानप्रति घृणा महसुस गर्दछन्। तिनीहरू मर्यादाको कडा भावनाका साथ बोल्छन्, कामकुराहरू सामना गर्दा विवेक र बुद्धिचलाउँछन्, र परमेश्‍वरप्रति बफादार र समर्पित हुन्छन्। यदि तिनीहरूले सजाय र न्यायको अनुभव गरे भने, तिनीहरू केवल नकारात्मक वा कमजोर हुँदैनन्, तर तिनीहरूले परमेश्‍वरबाट पाएको त्यस सजाय र न्यायका लागि कृतज्ञ बन्छन्। तिनीहरू परमेश्‍वरको सजाय र न्यायविना रहन सक्दैनन्, र त्यसले तिनीहरूको सुरक्षा गर्दछ भनी विश्‍वास गर्छन्। तिनीहरू शान्ति र आनन्द खोज्ने र पेट भर्ने गरी रोटी खान खोज्ने आस्थाको पछि लाग्दैनन्। न त तिनीहरू क्षणिक शारीरिक सुखविलासको पछि लाग्दछन्। सिद्ध पारिएकाहरूमा यही हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (४)

५२४. यदि व्यक्तिले आफ्नो कर्तव्य निभाउँदै परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छ भने, ऊ आफ्ना बोली र कार्यहरूमा सिद्धान्तकेन्द्रित छ भने, र ऊ सत्यताको वास्तविकताका सबै पक्षहरूमा प्रवेश गर्न सक्छ भने, ऊ परमेश्‍वरले सिद्ध तुल्याउनुहुने व्यक्ति हो। यो भन्‍न सकिन्छ कि परमेश्‍वरको काम र वचनहरूले तिनीहरूमा पूर्ण रूपले प्रभाव पारेका छन्, र परमेश्‍वरका वचनहरू तिनीहरूका जीवन बनेका छन्, तिनीहरूले सत्यता हासिल गरेका छन्, र तिनीहरू परमेश्‍वरका वचनहरू अनुरूप जिउन सक्षम छन्। यसपछि, तिनीहरूको देहको प्रकृति—अर्थात्, तिनीहरूको मौलिक अस्तित्वको आधार—थर्किँदै भत्कनेछ र एकाएक ढल्नेछ। मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा धारण गरेपछि मात्रै, तिनीहरू नयाँ मानिसहरू बन्‍नेछन्। यदि परमेश्‍वरका वचनहरू तिनीहरूको जीवन बन्छ भने, यदि परमेश्‍वरको कामको दर्शन, मानवजातिको लागि उहाँका खुलासा र मापदण्डहरू, परमेश्‍वरले मानिसले पूरा गर्नैपर्ने भनी तोक्‍नुभएको मानव जीवनका स्तरहरू तिनीहरूको जीवन बन्छ भने, यदि मानिसहरू यी वचन र सत्यताअनुरूप जिउँछन् भने तिनीहरू परमेश्‍वरका वचनहरूद्वारा सिद्ध तुल्याइन्छन्। त्यस्ता मानिसहरूले पुनर्जन्म पाउँछन् र तिनीहरू परमेश्‍वरका वचनहरूमार्फत नयाँ मानिसहरू बनेका हुन्छन्। पत्रुसले जुन मार्गद्वारा सत्यता खोजी गरे त्यो मार्ग यही हो। यो सिद्ध तुल्याइने मार्ग हो। परमेश्‍वरका वचनहरूद्वारा पत्रुस सिद्ध तुल्याइए, र तिनले परमेश्‍वरका वचनहरूबाट जीवन प्राप्त गरे, परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरू तिनको जीवन बन्यो, अनि तिनी सत्यताप्राप्त व्यक्ति बने।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने

५२५. जब मानिसहरूसँग परमेश्‍वरको स्वभावको बारेमा यथार्थ बुझाइ हुन्छ, जब तिनीहरूले परमेश्‍वरको स्वभाव वास्तविक छ, यो साँच्‍चै पवित्र, र साँच्‍चै धर्मी छ भनेर देख्छन्, र जब तिनीहरूले आफ्‍नो हृदयबाट परमेश्‍वरको पवित्रता र धार्मिकताको प्रशंसा गर्न सक्छन्, तब तिनीहरूले साँच्‍चै नै परमेश्‍वरलाई चिन्‍नेछन्, र तिनीहरूले सत्यता प्राप्त गरेका हुनेछन्। परमेश्‍वरलाई चिनेकाहरू मात्र ज्योतिमा जिउँछन्। परमेश्‍वरलाई चिन्‍नुको प्रत्यक्ष प्रभाव भनेको परमेश्‍वरप्रति साँचो रूपमा प्रेम गर्न र समर्पित हुन सक्षम हुनु हो। जब मानिसहरूले साँचो रूपमा परमेश्‍वरलाई चिन्छन्, सत्यता बुझ्छन् र सत्यता प्राप्त गर्छन्, तब तिनीहरूको संसारलाई हेर्ने दृष्टिकोण र जीवनप्रतिको सोचमा वास्तविक परिवर्तन आउँछ, र त्यसपछि तिनीहरूको जीवन स्वभावमा पनि वास्तविक परिवर्तन आउने गर्छ। जब मानिसहरूसँग सही जीवन उद्देश्यहरू हुन्छन्, र तिनीहरूले सत्यताको खोजी गर्न, र सत्यताअनुसार आफूलाई आचरणमा ढाल्न सक्छन्, जब तिनीहरू पूर्ण रूपमा परमेश्‍वरमा समर्पित हुन र उहाँका वचनहरू अनुसार जिउँछन्, जब तिनीहरूले आफ्नो हृदयको गहिराइमा स्थिर र उज्ज्वल महसुस गर्छन्, तिनीहरूको हृदय अन्धकारमुक्त हुन्छ, र जब तिनीहरू परमेश्‍वरको उपस्थितिमा सम्पूर्ण रूपले स्वतन्त्र र मुक्त भएर जिउन सक्छन्, तब मात्र तिनीहरूले साँचो मानव जीवन प्राप्त गर्छन्, र तब मात्र तिनीहरू सत्यता र मानवता भएका व्यक्ति बनेका हुन्छन्। यसको साथै, तैँले बुझेका र प्राप्त गरेका सबै सत्यताहरू परमेश्‍वरका वचनहरू र परमेश्‍वर स्वयम्‌बाट आएका हुन्। जब तैँले सृष्टिकर्ता अर्थात् सर्वोच्च परमेश्‍वरबाट अनुमोदन प्राप्त गर्छस्, र उहाँले तँ मानकअनुरूपको सृजित प्राणी होस्, र तँ मानव स्वरूपमा जिउँछस् भनेर भनेर भन्‍नुहुन्छ, तब मात्र तेरो जीवन सबैभन्दा अर्थपूर्ण हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

५२६. परमेश्‍वरमाथिको मानिसको विश्‍वासमा, यदि ऊ जीवनका मामलाहरूप्रति गम्‍भीर छैन, उसले सत्यतामा प्रवेश गर्ने कार्यको खोजी गर्दैन, आफ्‍नो स्वभावमा परिवर्तन ल्याउने कार्यको खोजी गर्दैन र परमेश्‍वरको कार्यको ज्ञानको खोजी त झन् गर्दै गर्दैन भने, उसलाई सिद्ध पारिन सकिँदैन। यदि तँ सिद्ध पारिन चाहन्छस् भने, तैँले परमेश्‍वरको कार्यलाई बुझ्‍नैपर्छ। खास गरी, उहाँको सजाय र न्यायको महत्त्वलाई र किन मानिसमा यो कार्य गरिन्छ भन्‍ने कुरालाई तैँले बुझ्‍नैपर्छ। के तँ यस कार्यलाई स्वीकार गर्न सक्छस्? यस प्रकारको सजायको बेला, के तँ पत्रुसको जस्तै अनुभवहरू र ज्ञान प्राप्त गर्न सक्षम हुन्छस्? यदि तैँले परमेश्‍वरको ज्ञान र पवित्र आत्माको कार्यको ज्ञानको खोजी गर्छस् भने, र यदि तैँले आफ्‍नो स्वभाव परिवर्तनको खोजी गर्छस् भने, तँसँग सिद्ध पारिने मौका छ।

सिद्ध पारिनुपर्नेहरूका लागि, विजय गरिने कार्यको यो चरण अपरिहार्य छ; मानिसलाई विजय गरिएपछि मात्र उसले सिद्ध पारिने कार्य अनुभव गर्न सक्छ। विजय गरिएको भूमिका निर्वाह गर्नुमा मात्रै कुनै ठूलो महत्त्व छैन, यसले तँलाई परमेश्‍वरद्वारा प्रयोग गरिनको लागि योग्य तुल्याउनेछैन। सुसमाचार फैलाउने कार्यमा तैँले आफ्‍नो भूमिका निर्वाह गर्ने कुनै माध्यम तँसँग हुनेछैन, किनभने तैँले जीवनको खोजी गर्दैनस्, र आफूभित्रको परिवर्तन र नवीकरणको खोजी गर्दैनस्, त्यसैले तँसँग जीवनसम्‍बन्धी कुनै खास अनुभव छैन। एकपछि अर्को गरिने यो चरणबद्ध कार्यमा, तैँले एकपटक सेवाकर्ताको रूपमा र प्रतिभारको रूपमा काम गरिस्, तर तँ अन्तिममा पत्रुसजस्तै बन्‍ने खोजी गर्दैनस् भने, र जुन मार्गद्वारा पत्रुस सिद्ध पारिए तेरो खोजी त्यसअनुसार छैन भने, स्वाभाविक रूपमै तैँले आफ्‍नो स्वभाव परिवर्तनको अनुभव गर्नेछैनस्। यदि तँ सिद्ध पारिने प्रयासमा लागेको व्यक्ति होस् भने, तैँले साक्षी दिनेछस्, र तैँले यसो भन्‍नेछस्: “परमेश्‍वरको यो चरणबद्ध कार्यमा, मैले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गरेको छु, र मैले ठूलो कष्ट भोगेको भए पनि, परमेश्‍वरले मानिसलाई कसरी सिद्ध पार्नुहुन्छ भन्‍ने कुरा मैले जानेको छु, परमेश्‍वरले गर्नुभएको काम मैले प्राप्त गरेको छु, मैले परमेश्‍वरको धार्मिकताको ज्ञान पाएको छु र उहाँको सजायले मलाई मुक्ति दिएको छ। उहाँको धर्मी स्वभाव ममा आइपरेको छ र मलाई आशिष्‌हरू र अनुग्रह ल्याइदिएको छ; उहाँको न्याय र सजायले नै मलाई सुरक्षा दिएको र शुद्ध पारेको छ। यदि परमेश्‍वरद्वारा मलाई सजाय र न्याय नगरिएको, र परमेश्‍वरको कठोर वचन ममा नआइपरेको भए, मैले परमेश्‍वरलाई चिन्‍न सक्दिनथेँ, न त मुक्ति नै पाउन सक्थेँ। आज म देख्‍छु: सृष्टि गरिएको प्राणीको रूपमा, व्यक्तिले परमेश्‍वरद्वारा सृष्टि गरिएका सबै कुराहरूको आनन्द लिने मात्र होइन, अझै महत्त्वपूर्ण, सृष्टि गरिएका सम्पूर्ण प्राणीहरूले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको धर्मी न्यायमा आनन्द लिनुपर्छ, किनभने परमेश्‍वरको स्वभाव मानिसद्वारा आनन्द लिन योग्य छ। शैतानद्वारा भ्रष्ट तुल्याइएको सृष्टि गरिएको प्राणीको रूपमा, व्यक्तिले परमेश्‍वरको धर्मी न्यायमा आनन्द लिनुपर्छ। उहाँको धर्मी स्वभावमा सजाय र न्याय छ, र त्यति मात्र होइन, त्यसमा महान् प्रेम छ। आज परमेश्‍वरको प्रेम पूर्ण रूपमा प्राप्त गर्न म असक्षम भए पनि, यसलाई देख्‍ने सौभाग्य मैले प्राप्त गरेको छु, र यसमा मैले आशिष् पाएको छु।” सिद्ध पारिएको अनुभव गर्नेहरूले हिँड्ने बाटो यही हो र तिनीहरूले बताउने ज्ञान यही हो। त्यस्ता मानिसहरू पत्रुसजस्तै हुन्; तिनीहरूमा पत्रुसको जस्तै अनुभवहरू छन्। त्यस्ता मानिसहरू जीवन प्राप्त गरेका, सत्यता भएका व्यक्तिहरू हुन्। जब तिनीहरूले अन्त्यसम्‍मै अनुभव गर्छन्, परमेश्‍वरको न्यायको अवधिमा तिनीहरूले आफैलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त गर्नेछन्, र तिनीहरू परमेश्‍वरद्वारा प्राप्त गरिनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

५२७. म पत्रुसजस्ता मानिसहरू, सिद्ध पारिन खोज्ने मानिसहरू चाहन्छु। सत्यताको उत्कट इच्छा र खोजी गर्नेहरूलाई आजको सत्यता दिइन्छ। परमेश्‍वरबाट मुक्ति पाउन इच्छा गर्नेहरूलाई नै यो मुक्ति दिइन्छ र यो तिमीहरूले मात्रै प्राप्त गर्नुपर्छ भन्‍ने छैन। यसको उद्देश्य तिमीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुहोस् भन्‍ने हो; तिमीहरूले आफूलाई परमेश्‍वरले प्राप्त गर्न सक्‍नुहोस् भनेर नै परमेश्‍वरलाई प्राप्त गर्छौ। आज मैले यी वचनहरू तिमीहरूलाई बताएको छु, र तिमीहरूले ती सुनेका छौ, र तिमीहरूले यी वचनहरूअनुसार अभ्यास गर्नुपर्छ। अन्त्यमा, तिमीहरूले यी वचनहरूलाई अभ्यास गर्ने समय नै मैले यी वचनहरूद्वारा तिमीहरूलाई प्राप्त गरेको क्षण हुनेछ; यसै बेला, तिमीहरूले यी वचनहरूलाई पनि प्राप्त गरेका हुनेछौ, अर्थात् तिमीहरूले यो सर्वोच्‍च मुक्तिलाई प्राप्त गरेका हुनेछौ। शुद्ध पारिएपछि तिमीहरू वास्तविक मानव बनेका हुनेछौ। यदि तँ सत्यतामा जिउन वा सिद्ध पारिएको व्यक्तिको स्वरूपमा जिउन सक्दैनस् भने, तँ मानिस होइनस्, बरु जिउँदो लास होस्, पशु होस् किनभने तँ सत्यविहीन छस्, र यसको अर्थ के हो भने तँ यहोवाको सासविहीन छस्, त्यसैले तँ आत्मा नभएको मृत मानिस होस् भनेर भन्‍न सकिन्छ! विजय गरिएपछि साक्षी दिनु सम्‍भव भए पनि, तैँले थोरै मुक्तिबाहेक केही पनि प्राप्त गर्दैनस्, र तँ आत्मा भएको जीवित प्राणी बनेको छैनस्। तैँले सजाय र न्यायको अनुभव गरेको भए पनि, यसको परिणामस्वरूप तेरो स्वभाव नवीकरण वा परिवर्तन भएको छैन; तँ अझै पनि तेरो पुरानै व्यक्तित्व होस्, तँ अझै पनि शैतानको स्वामित्वमै छस्, र तँ शुद्ध पारिएको मानिस होइनस्। सिद्ध पारिएकाहरू मात्रै मूल्यवान् छन् र यस्ता मानिसहरूले मात्रै साँचो जीवन प्राप्त गरेका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

५२८. तिमीहरूले आफ्नो भावी सेवाको मार्गमा कसरी परमेश्‍वरका अभिप्रायलाई सन्तुष्ट पार्न सक्छौ? एउटा महत्त्वपूर्ण कुरा भनेको चाहिँ जीवन प्रवेशको, स्वभाव परिवर्तनको र सत्यतामा गहिरो रूपले प्रवेशको खोजी गर्नु हो—सिद्धता प्राप्त गर्ने र परमेश्‍वरद्वारा प्राप्त गरिने मार्ग यही हो। तिमीहरू सबै परमेश्‍वरको आज्ञा प्राप्त गर्नेहरू हौ, तर त्यो कस्तो प्रकारको आज्ञा हो? यो कामको अर्को चरणसँग सम्बन्धित छ; कार्यको अर्को चरण सम्पूर्ण ब्रह्माण्डमा गरिने अझ ठूलो कार्य हुनेछ, त्यसैले आज, तिमीहरूले आफ्नो जीवन स्वभाव परिवर्तन गर्न खोज्‍नुपर्छ, ताकि भविष्यमा तिमीहरू साँच्‍चै नै परमेश्‍वरले उहाँको कामद्वारा महिमा प्राप्त गर्नुहुने कुराको प्रमाण बन्‍नेछौ, जसले तिमीहरूलाई उहाँको भविष्यको कामको सटीक उदाहरण बनाउँछ। आजको खोजी पूर्णतया भविष्यको कामको लागि जग बसाल्नकै निम्ति हो, ताकि तिमीहरू परमेश्‍वरद्वारा प्रयोग हुन र उहाँको साक्षी दिन सक। यदि तिमीहरूले यसलाई आफ्नो खोजीको लक्ष्य बनाउँछौ भने, तिमीहरू पवित्र आत्माको उपस्थिति प्राप्त गर्न सक्षम हुनेछौ। तैँले आफ्नो खोजको लक्ष्य जति उच्‍च राख्छस्, तँ त्यति नै बढी सिद्ध पारिन सक्छस्। तँ सत्यको पछि जति धेरै लाग्छस्, पवित्र आत्माले त्यति नै धेरै काम गर्नुहुन्छ। तैँले आफ्नो खोजमा जति धेरै ऊर्जा लगाउँछस्, तैँले त्यत्ति नै बढी प्राप्त गर्नेछस्। पवित्र आत्माले मानिसहरूलाई तिनीहरूको भित्री स्थितिअनुसार सिद्ध पार्नुहुन्छ। केही मानिसहरू परमेश्‍वरद्वारा प्रयोग हुन वा उहाँद्वारा सिद्ध हुन इच्छुक हुँदैनन्, तिनीहरू आफ्नो देह सुरक्षित होस् र कुनै किसिमको दुर्भाग्य भोग्‍नु नपरोस् भनेर मात्र भन्छन्। केही मानिसहरू राज्यमा प्रवेश गर्न अनिच्छुक हुन्छन् तर अतल कुण्डमा खसालिन भने तयार हुन्छन्। त्यस्तो अवस्थामा, परमेश्‍वरले पनि तेरो त्यो इच्छा पूरा गरिदिनुहुनेछ। तँ जुन कुराको पछि लाग्छस् परमेश्‍वरले त्यो पूरा गरिदिनुहुनेछ। त्यसो भए, अहिले तँ कुन कुराको पछि लाग्दै छस् त? के सिद्ध पारिने कुराको पछि लाग्दै छस् हो? के तेरा वर्तमान कार्य र व्यवहारहरू परमेश्‍वरद्वारा सिद्ध हुन र उहाँद्वारा प्राप्त गरिनका लागि हुन्? तैँले यसरी नै दिनहुँ निरन्तर आफैलाई मापन गर्नुपर्छ। यदि तँ आफ्नो सम्पूर्ण हृदयले एउटै लक्ष्यको पछि लाग्छस् भने, परमेश्‍वरले निश्‍चित रूपमा तँलाई सिद्ध बनाउनुहुनेछ। पवित्र आत्माको मार्ग यस्तै हुन्छ। पवित्र आत्माले मानिसहरूलाई जुन बाटोमा डोऱ्याउनुहुन्छ त्यो तिनीहरूको खोजको माध्यमबाट प्राप्त हुन्छ। परमेश्‍वरद्वारा सिद्ध हुन र प्राप्त गरिनको लागि तैँले जति धेरै तृष्णा गर्छस्, पवित्र आत्माले तँभित्र त्यत्ति नै बढी काम गर्नुहुनेछ। तँ खोजी गर्न जति असफल हुन्छस्, र तँ जति धेरै नकारात्मक र प्रतिगमनकारी हुन्छस्, तैँले पवित्र आत्मालाई काम गर्ने अवसरहरूबाट त्यति नै वञ्‍चित गर्छस्; समय बित्दै जाँदा, पवित्र आत्माले तँलाई त्याग्‍नुहुनेछ। के तँ परमेश्‍वरद्वारा सिद्ध हुन चाहन्छस्? के तँ परमेश्‍वरद्वारा प्राप्त गरिन चाहन्छस्? के तँ परमेश्‍वरद्वारा प्रयोग गरिन चाहन्छस्? तिमीहरूले परमेश्‍वरद्वारा सिद्ध पारिन, प्राप्त गरिन र प्रयोग गरिनकै निम्ति सबै कुरा गर्दै खोजी गर्नुपर्छ, ताकि ब्रह्माण्ड र यावत् थोकले तिमीहरूमा परमेश्‍वरका कार्यहरू प्रकट भएको देखून्। यावत् थोकमाझ तिमीहरू मालिक हौ र अस्तित्वमा रहेका सबै कुराहरूमाझ तिमीहरूले आफूमार्फत परमेश्‍वरलाई गवाही र महिमाको आनन्द लिन दिनेछौ—तिमीहरू सारा पुस्ताहरूमध्ये सबैभन्दा धन्यका हौ भन्‍ने कुराको प्रमाण यही हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

अघिल्लो: ड. शैतानको प्रभावलाई कसरी त्याग्ने र मुक्ति हासिल गर्ने सो सम्बन्धमा

अर्को: ११. परमेश्‍वरलाई चिन्‍नुसँग सम्बन्धित वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्