च. परमेश्‍वरप्रतिको आज्ञा पालनको अभ्यास कसरी गर्ने त्यसको सम्बन्धमा

३९१. परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभयो, र उनीहरूलाई पृथ्वीमा राख्नुभयो, र उहाँले उनीहरूलाई त्यस बेलादेखि नै डोर्‍याउनुभएको छ। उहाँले उनीहरूलाई मुक्त गर्नुभयो र मानवजातिको निम्ति पापबलिको रूपमा सेवा गर्नुभयो। अन्तमा, उहाँले अझै मानवजातिलाई जित्नुपर्छ, मानवलाई पूर्ण रूपमा मुक्त गर्नुपर्छ, र उनीहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गर्नुपर्छ। मानवजातिलाई उनीहरूको मौलिक स्वरूप र प्रतिरूपमा पुनर्स्थापना गर्ने कार्यमा—उहाँ सुरुदेखि नै संलग्न हुनुहुन्छ। परमेश्‍वरले उहाँको राज्य स्थापना गर्नुहुनेछ र मानवजातिको मौलिक स्वरूप पुनर्स्थापना गर्नुहुनेछ, जसको अर्थ, परमेश्‍वरले पृथ्वीमा र सारा सृष्टिमाथि उहाँको अधिकार पुनर्स्थापना गर्नुहुनेछ भन्ने हुन्छ। शैतानद्वारा भ्रष्ट भएपछि मानवजातिले परमेश्‍वरको भय मान्ने उनीहरूको हृदय साथै परमेश्‍वरको सृष्टिहरूको अनिवार्य कार्य गुमायो, त्यसैद्वारा उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी शत्रु भए। त्यसपछि मानवजाति शैतानको अधिकार-क्षेत्रमा जियो र शैतानको आज्ञा अनुसरण गर्‍यो; यसरी, परमेश्‍वरसित आफ्नो सृष्टिहरू माझ काम गर्ने कुनै बाटो नै थिएन, र उनीहरूको भयपूर्ण आदरलाई जित्न उहाँ झनै असक्षम हुनुभयो। मानवलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, र उनीहरूले परमेश्‍वरको आराधना गर्नुपर्छ, तर वास्तवमा उनीहरूले उहाँतिर पिठ्यूँ फर्काए र सट्टामा शैतानको आराधना गरे। शैतान नै उनीहरूको हृदयको मूर्ति भयो। यसरी, परमेश्‍वरले उनीहरूको हृदयहरूमा उहाँको स्थान गुमाउनुभयो, भन्नुको मतलब, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुमाउनुभयो। यसकारण, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको अभिप्राय पुनर्स्थापना गर्न, उहाँले उनीहरूका मौलिक प्रतिरूप पुनर्स्थापना गर्नुपर्छ र मानवजातिलाई उनीहरूको भ्रष्ट स्वभावहरूबाट मुक्त गर्नुपर्छ। मानवलाई शैतानको हातबाट पुनः फिर्ता ल्याउन, उहाँले उनीहरूलाई पापबाट मुक्त गर्नुपर्छ। यसरी मात्र परमेश्‍वरले क्रमिक रूपले उनीहरूको मौलिक स्वरूप र कार्य पुनर्स्थापना गर्न सक्नुहुन्छ, र अन्तमा, उहाँको राज्य पुनर्स्थापना गर्नुहुन्छ। मानवलाई परमेश्‍वरको उत्तम आराधना गर्न दिनको निम्ति र पृथ्वीमा उत्तम गरी जिउन दिनको निम्ति ती अनाज्ञाकारिताका सन्तानहरूको आखिरी विनाशलाई कार्यान्वयन पनि गरिनेछ। परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभएको हुनाले, उहाँले उनीहरूलाई उहाँको आराधना गर्न लगाउनुहुनेछ; किनभने उहाँले मानवजातिको मौलिक कार्य पुनर्स्थापना गर्न चाहनुहुन्छ, उहाँले यसलाई पूर्ण रूपमा र विनामिसावट पुनर्स्थापना गर्नुहुनेछ। उहाँको अधिकारको पुनर्स्थापनाको अर्थ मानवजातिलाई उहाँको आराधना गर्न लगाउनु र उहाँको अधीनमा आउन लगाउनु हो भन्ने हुन्छ; यसको अर्थ परमेश्‍वरले मानवलाई उहाँको कारणले जिउन लगाउनुहुनेछ र उहाँको अधिकारको परिणामस्वरूप उहाँका शत्रुहरूलाई नष्ट हुन लगाउनुहुनेछ भन्ने हुन्छ। यसको अर्थ परमेश्‍वरले कुनै मानवबाट विनाप्रतिरोध मानव माझ उहाँ बारेको सबै थोकलाई दृढ रहन लगाउनुहुनेछ भन्ने हुन्छ। परमेश्‍वरले स्थापना गर्ने इच्छा गर्नुभएको राज्य उहाँको आफ्नै राज्य हो। उहाँले चाहनुभएको मानवजातिचाहिँ उहाँको आराधना गर्ने, पूर्ण रूपमा उहाँको अधीनमा रहने र उहाँको महिमा प्रकट गर्ने मानवजाति हो। यदि परमेश्‍वरले नै भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्न भने, मानवजातिलाई सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्नेछ; मानव माझ उहाँको अझै कुनै अधिकार रहनेछैन र पृथ्वीमा उहाँको राज्य अस्तित्वमा रहन सक्नेछैन। यदि परमेश्‍वरप्रति अनाज्ञाकारी भएका ती शत्रुहरूलाई उहाँले नष्ट गर्नुभएन भने, उहाँ उहाँको पूर्ण महिमा हासिल गर्न असक्षम हुनुहुनेछ, न त पृथ्वीमा उहाँको राज्य स्थापना गर्न नै सक्षम हुनुहुनेछ। उहाँको कामको र उहाँको महान्‌ उपलब्धिका पूर्णताका चिन्हहरू यी हुनेछन्: उहाँप्रति अनाज्ञाकारी ती मानवजाति माझका उनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नु र पूर्ण बनाइएकाहरूलाई विश्राममा ल्याउनु। जब मानिसहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गरिएका हुनेछन्, र जब उनीहरूले आ-आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, उनीहरूलाई आ-आफ्नै उचित स्थानहरूमा राख्न सक्छन् र परमेश्‍वरको प्रबन्धहरूको अधीनमा बस्छन्, तब परमेश्‍वरले पृथ्वीमा उहाँको आराधना गर्ने मानिसहरूको एउटा समूह हासिल गर्नुभएको हुनेछ र उहाँले पृथ्वीमा उहाँको आराधना गर्ने उहाँको राज्य स्थापना गरिसकेको हुनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

३९२. तैंले परमेश्‍वरमाथि विश्‍वास गर्ने भएकोले, तैंले उहाँको आज्ञापालन गर्नुपर्छ। यदि तैँले यसो गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरमाथि विश्‍वास गर्छस् कि गर्दैनस् त्यसले केही मतलब राख्दैन। यदि तैँले वर्षौंदेखि परमेश्‍वरमाथि विश्‍वास गरेको छस् तर पनि तैँले कहिल्यै पनि उहाँको आज्ञापालन गरेको छैनस् भने र उहाँका वचनहरूको सम्पूर्णतालाई स्वीकार गर्दैनस्, बरु परमेश्‍वरलाई तँमा समर्पित हुन र तेरा आफ्नै धारणाहरू अनुसार कार्य गर्न लगाउँछस् भने, तँ सबैभन्दा उग्र विद्रोही होस्, तँ अविश्‍वासी होस्। यस्ता मानिसहरूले कसरी मानिसका धारणाहरूसँग मेल खाँदै-नखाने परमेश्‍वरका काम र वचनहरूको आज्ञापालन गर्न सक्छन् र? सबैभन्दा उग्र विद्रोहीहरू ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्‍वरको अवज्ञा र प्रतिरोध गर्छन्। तिनीहरू परमेश्‍वरका शत्रुहरू, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूमा सधैँ परमेश्‍वरको नयाँ कामको विरुद्ध शत्रुवत आचरण हुन्छ; तिनीहरूमा समर्पित हुनेबारे त अलिकति पनि मनस्थिति हुँदैन, न त तिनीहरूले कहिल्यै खुशीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। तिनीहरूले अरूको अगाडि आफूलाई उचाल्छन् र कसैको अगाडि आफूलाई समर्पित गर्दैनन्। परमेश्‍वरको अगाडि, तिनीहरूले आफूलाई वचनहरू प्रचार गर्ने काममा सर्वश्रेष्ठ अनि अन्य व्यक्तिहरूमाथि काम गर्नको लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका “सम्पत्तिहरू” लाई कहिल्यै पनि त्याग्दैनन्, बरु तिनलाई तिनीहरूले आराधना गर्ने, अन्य व्यक्तिहरूलाई उपदेश दिने पुर्ख्यौली सम्पत्ति हो भन्ने ठान्छन् र तिनीहरूलाई आदर्श ठान्ने मूर्खहरूलाई प्रवचन दिन तिनीहरूले तिनको प्रयोग गर्छन्। वास्तवमा मण्डलीभित्र केही निश्चित संख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू “अदम्य नायकहरू” हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्‍वरको घरमा बसेका छन्। तिनीहरूले वचन (धर्मसिद्धान्त) प्रचार गर्नुलाई नै तिनीहरूको सबैभन्दा ठूलो कर्तव्यको रूपमा लिन्छन्। वर्षौंवर्ष, पुस्तौंपुस्ता तिनीहरू आफ्नो “पवित्र र अनुल्लंघनीय” कर्तव्यलाई जोशका साथ लागू गरिरहन्छन्। तिनीहरूलाई कसैले पनि छुने आँट गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्‍वरको घरमा “राजाहरू” बन्छन् र युगौँ युगदेखि अरूहरूलाई निरङ्कुशताका साथ व्यवहार गर्दै तिनीहरू नियन्त्रण बाहिर जान्छन्। दुष्टहरूको यो झुण्डले आपसमा हात मिलाएर मेरो कामलाई ध्वस्त पार्न चाहन्छन्; मैले कसरी यी दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र? अर्ध-आज्ञाकारीहरू समेत आखिरीसम्म अघि बढ्न सक्दैनन्, आफ्नो हृदयमा रत्तीभर आज्ञाकारीता नभएका यी निरङ्कुश व्यक्तिहरू आखिरीसम्म अघि बढ्न सक्‍ने कुरा त परै जाओस्! परमेश्‍वरको कामलाई मानिसले सजिलैसँग प्राप्त गर्न सक्दैन। मानिसहरूले तिनीहरूसँग भएको सबै तागत लगाएर पनि यसको एउटा सानो अंश मात्र प्राप्त गर्न सक्छन्, जसले आखिरमा तिनीहरूलाई सिद्ध तुल्याउने बाटो प्रदान गर्छ। त्यसो भए, प्रधान दूतका सन्तानलाई चाहिँ के हुन्छ, जसले परमेश्‍वरको कामलाई विनाश गर्न खोज्छन्? के तिनीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुहुने सम्भावना झन् कम छैन र? मैले विजयको काम गर्नुको उद्देश्य केवल विजय गर्नको लागि विजय गर्ने होइन, बरु धार्मिकता र अधर्मलाई प्रकाश पार्न, मानिसको दण्डको लागि प्रमाण जुटाउन, दुष्टहरूलाई दोषी ठहराउनको लागि हो र यस बाहेक, जसले स्वेच्छाले आज्ञापालन गर्छन् उनीहरूलाई सिद्ध पार्नको लागि विजय गर्नु हो। आखिरमा, सबैलाई तिनीहरूको प्रकारअनुसार अलग गरिनेछ अनि सिद्ध पारिने व्यक्तिहरूमा ती व्यक्तिहरू हुनेछन् जसका सोचहरू र विचारहरू आज्ञाकारिताले भरिपूर्ण हुन्छन्। आखिरमा पूरा गरिनुपर्ने कार्य यही हो। यस बीच, ती व्यक्तिहरू जसका हरेक कार्य विद्रोही छन्, तिनीहरूलाई दण्ड दिइनेछ र आगोमा जल्न पठाइनेछ, अनन्त श्रापको पात्र बनाइनेछ। जब त्यो समय आउँछ, ती युगौँदेखिका “महान र अदम्य नायकहरू” सबैभन्दा क्षुद्र र सबैभन्दा बढी तिरस्कृत “कमजोर र नामर्दहरू” बन्नेछन्। यसले मात्र परमेश्‍वरको धार्मिकताको हरेक पक्ष र मानिसद्वारा अनुल्लंघनीय उहाँको स्वभावलाई चित्रण गर्छ, र यसले मात्र मेरो हृदयमा भएको घृणालाई शान्त पार्छ। के यो कुरा पूर्ण रूपमा तार्किक छ भन्ने कुरामा तिमीहरू सहमत छैनौं र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

३९३. परमेश्‍वरले गर्नुहुने काम एक अवधिदेखि अर्को अवधिमा फरक-फरक हुने गर्छ। यदि तँ कुनै एक चरणमा परमेश्‍वरले गर्नुभएको कामप्रति एकदमै आज्ञाकारी हुन्छस् तर अर्को चरणमा उहाँको कामप्रति तेरो आज्ञाकारीता कमजोर छ भने, वा तैँले आज्ञापालन गर्न नै सक्दैनस् भने, परमेश्‍वरले तँलाई छाड्नुहुनेछ। यदि परमेश्‍वरले यो कदम चाल्नुहुँदा तैँले कदममा कदम मिलाउँछस् भने, परमेश्‍वरले अर्को कदम उठाउनुहुँदा पनि तैँले कदममा कदम मिलाउन जारी राख्नुपर्छ; त्यसपछि मात्र तँ पवित्र आत्माको आज्ञापालन गर्ने व्यक्ति हुन सक्छस्। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले, तँ आफ्नो आज्ञाकारीतामा अटल रहनुपर्छ। तैँले केवल आफूलाई मन लागेको बेलामा आज्ञापालन गर्ने अनि आफूलाई मन नलागेको बेलामा आज्ञापालन नगर्ने गर्नु हुँदैन। यस्तो प्रकारको आज्ञाकारीतालाई परमेश्‍वरले प्रशंसा गर्नुहुन्‍न। यदि मैले सङ्गति गरेको नयाँ कामको गतिलाई तैँले पछ्याउन सक्दैनस् भने, र अघिल्‍ला कुराहरूमा अल्झिरहन्छस् भने, तेरो जीवनमा कसरी प्रगति हुनसक्छ र? परमेश्‍वरको काम भनेको उहाँका वचनहरूद्वारा तँलाई आपूर्ति गर्नु हो। जब तैँले उहाँका वचनहरूको आज्ञापालन गर्छस् वा तिनलाई स्वीकार गर्छस्, तब पवित्र आत्माले अवश्य पनि तँमाथि काम गर्नुहुनेछ। पवित्र आत्माले मैले जे बोल्छु ठ्याक्कै त्यस्तै गर्नुहुन्छ; मैले भनेको जस्तै गर्, अनि पवित्र आत्माले तुरुन्तै तँमाथि काम गर्नुहुनेछ। तिमीहरूले हेर्नको लागि म एक नयाँ ज्योति छाड्छु र तिमीहरूलाई वर्तमानको ज्योतिभित्र ल्याउँछु, र जब तँ यो ज्योतिमा हिँड्छस्, तब पवित्र आत्माले तुरुन्तै तँमाथि काम गर्नुहुनेछ। केही अटेरी व्यक्तिहरू पनि छन् जो भन्छन्, “म तपाईंले जे भन्नुहुन्छ त्यो गर्दै गर्दिनँ।” यो अवस्थामा म तँलाई भन्छु कि तँ अब मार्गको अन्त्यमा आइपुगेको छस्; तँ सुकिसकेको छस् र तँसँग अब बाँकी जीवन नै छैन। तसर्थ, आफ्नो स्वभाव रूपान्तरणको अनुभव गर्दा तैँले वर्तमान ज्योतिसँग कदममा कदम मिलाउनुभन्दा महत्वपूर्ण अरू केही छैन। पवित्र आत्माले परमेश्‍वरले प्रयोग गर्नुहुने केही निश्चित व्यक्तिहरूमाथि मात्र काम गर्नुहुन्न, बरु थप रूपमा उहाँले मण्डलीमा पनि काम गर्नुहुन्छ। उहाँले जोकोहीमाथि काम गरिरहनुभएको हुनसक्छ। उहाँले वर्तमान समयमा तँमाथि काम गर्न सक्नुहुन्छ र तैँले यो काम अनुभव गर्नेछस्। अर्को अवधिमा, उहाँले अर्को कोही व्यक्तिमा काम गर्न सक्नहुन्छ, त्यो अवस्थामा तैँले पछ्याउनको लागि हतारिनुपर्छ; तैंले वर्तमान ज्योतिलाई जति नजिकबाट पछ्याउँछस् तेरो जीवन त्यति नै वृद्धि हुन सक्छ। कुनै व्यक्ति जुनसुकै तौरतरिकाको भए तापनि, यदि पवित्र आत्माले तिनीहरूमाथि काम गर्नुहुन्छ भने, तैँले पछ्याउनैपर्छ। तिनीहरूका अनुभवहरूलाई आफ्ना अनुभवहरूको नजरबाट हेर्, अनि तैँले अझ उच्च कुराहरू प्राप्त गर्नेछस्। यसो गर्दा तँ अझ चाँडो अघि बढ्नेछस्। यो मान्छेको लागि सिद्धताको मार्ग अनि जीवन वृद्धि हुने माध्यम हो। पवित्र आत्माको कामप्रतिको तेरो आज्ञापालन मार्फत सिद्ध तुल्याइने मार्गमा पुगिन्छ। परमेश्‍वरले तँलाई सिद्ध तुल्याउन कस्तो प्रकारको व्यक्तिमार्फत काम गर्नुहुन्छ भन्ने कुरा तँलाई थाहा हुँदैन, न त कस्तो प्रकारको व्यक्ति, घटना, वा वस्तुमार्फत उहाँले तँलाई वस्तुहरू प्राप्त गर्न वा हेर्न दिनुहुन्छ भन्ने कुरा नै तँलाई थाहा हुन्छ। यदि तैँले यो सही मार्गमा पाइला टेक्न सकिस् भने, परमेश्‍वरद्वारा तँलाई सिद्ध पारिने ठूलो आशा छ भन्ने कुरा यसले देखाउँछ। यदि तैँले सक्दैनस् भने, यसले तेरो भविष्य धमिलो, ज्योति विहीन छ भन्ने देखाउँछ। तैँले सही मार्गमा हिँड्न थालेपछि, तैँले सबै कुराहरूमा प्रकाश प्राप्त गर्नेछस्। पवित्र आत्माले अरूलाई जेसुकै प्रकाश गर्नुभए पनि, यदि तँ तिनीहरूको ज्ञानको आधारमा आफै अनुभव लिन अघि बढ्छस् भने, त्यो अनुभव तेरो जीवनको एक हिस्सा बन्नेछ र तैँले त्यो अनुभवको आधारमा अन्य व्यक्तिहरूलाई आपूर्ति गर्न सक्नेछस्। सुगारटाइ गरेर अन्य व्यक्तिहरूलाई वचन आपूर्ति गर्नेहरू त्यस्ता व्यक्तिहरू हुन जोसँग अनुभवहरू पटक्कै हुँदैन; तैँले तेरो आफ्नो वास्तविक अनुभव र ज्ञानको बारेमा बोल्न सुरु गर्नुअघि, अन्य व्यक्तिहरूको अन्तर्ज्ञान र ज्योतिमार्फत तैँले अभ्यासको तरिका पत्ता लगाउन सिक्नुपर्छ। यो तेरो आफ्नै जीवनको लागि ठूलो फाइदाको कुरो हुनेछ। तैँले परमेश्‍वरबाट आउने सबै कुराको आज्ञापालन गर्दै यसरी अनुभव गर्नुपर्छ। तैँले तेरो जीवन वृद्धि हुन सकोस् भनेर सबै कुराहरूमा परमेश्‍वरको इच्छा प्राप्त गर्ने प्रयास गर्नुपर्छ र सबै कुराहरूमा पाठ सिक्नुपर्छ। त्यस्तो अभ्यासले सबैभन्दा चाँडो प्रगति हासिल हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

३९४. परमेश्‍वरको कामप्रतिको समर्पणता यथार्थ र वास्तविक हुनुपर्छ, अनि यो समर्पणतामा जिउनुपर्छ। सतही समर्पणताले मात्रै परमेश्‍वरको स्याबासी प्राप्त गर्न सक्दैन, र आफ्नो स्वभाव परिवर्तन गर्न नखोजिकनै परमेश्‍वरका वचनहरूका सतही पक्षहरूको मात्र आज्ञापालन गर्नु ‍परमेश्‍वरको हृदय अनुसारको हुनु होइन। परमेश्‍वरको आज्ञापालन र परमेश्‍वरको कामप्रतिको समर्पणता दुवै एउटै र उस्तै कुरा हुन्। परमेश्‍वरप्रति मात्र समर्पित हुने तर उहाँको कामप्रति समर्पित नहुने व्यक्तिहरूलाई आज्ञाकारी मान्‍न सकिँदैन, सच्चा रूपमा समर्पित नहुने बरु बाहिरी रूपमा चापलुसी गर्ने व्यक्तिहरूलाई आज्ञाकारी मानिने त झन् कुरै नगरौं। परमेश्‍वरप्रति सच्चा रूपमा समर्पित हुने व्यक्तिहरू सबैले परमेश्‍वरको कामबाट फाइदा लिन सक्छन् र परमेश्‍वरको काम र स्वभावको बारेमा बुझाइ हासिल गर्न सक्छन्। त्यस्ता व्यक्तिहरूले मात्र आफूलाई सच्चा रूपमा परमेश्‍वरप्रति समर्पित गर्न सक्छन्। त्यस्ता व्यक्तिहरूले नयाँ ज्ञान प्राप्त गर्न सक्छन् अनि नयाँ कामबाट तिनीहरूमा नयाँ परिवर्तन आउन सक्छ। यी व्यक्तिहरूलाई मात्र परमेश्‍वरले स्याबासी दिनुहुन्छ, यी व्यक्तिहरूलाई मात्र सिद्ध तुल्याइन्छ, र यी व्यक्तिहरू मात्र स्वभाव परिवर्तन भएका व्यक्तिहरू हुन्। परमेश्‍वरले स्याबासी दिनुभएका व्यक्तिहरू ती व्यक्तिहरू हुन् जो खुशीसाथ परमेश्‍वरप्रति र उहाँका वचन र कामप्रति समर्पित हुन्छन्। त्यस्ता व्यक्तिहरू मात्रै सही हुन्छन्, त्यस्ता व्यक्तिहरूले मात्रै इमान्दारीपूर्वक परमेश्‍वरलाई चाहन्छन् र इमान्दारीपूर्वक परमेश्‍वरको खोजी गर्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

३९५. परमेश्‍वर देह मा हुनुभएको समयमा, उहाँले मानिसहरूबाट चाहनुभएको समर्पणमा, तिनीहरूले कल्पना गरेजस्तो, दोष लाउने वा विरोध गर्ने कार्यबाट अलग बस्ने कुराहरू छैनन्। बरु, उहाँ मानिसहरूले जिउनका निम्ति र तिनीहरू जीवित रहने जगको रूपमा उहाँका वचनहरूलाई सिद्धान्तको रूपमा प्रयोग गरून्, तिनीहरूले उहाँका वचनहरूको सारलाई पूर्ण रूपमा व्यवहारमा उतारून् र उहाँको इच्छा पूर्ण रूपमा पूरा गरून् भन्ने चाहनुहुन्छ। मानिसहरूलाई देहधारी परमेश्‍वरको अधीनमा बस्‍न लगाउने मागको एउटा पक्षले उहाँका वचनहरूलाई व्यवहारमा लागू गर्ने कार्यलाई जनाउँछ भने, अर्को पक्षले उहाँको सामान्यता र व्यावहारिकतामा समर्पित हुन सक्‍नुलाई जनाउँछ। यी दुवै ठोस् हुनुपर्दछ। यी दुवै पक्षहरू हासिल गर्न सक्‍नेहरू सबै आफ्नो हृदयमा परमेश्‍वरप्रति साँचो प्रेम राख्‍नेहरू हुन्। तिनीहरू सबै त्यस्ता मानिसहरू हुन् जो परमेश्‍वरद्वारा प्राप्त गरिएका छन्, र तिनीहरू सबैले परमेश्‍वरलाई आफ्नो जीवनलाई प्रेम गरेजस्तै प्रेम गर्दछन्। …

आज देहधारी परमेश्‍वरले प्राप्त गर्न चाहनुभएका मानिसहरू ती हुन् जो उहाँको इच्छाअनुरूप छन्। तिनीहरू केवल उहाँको कामप्रति समर्पित हुनुपर्छ, र तिनीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरसम्बन्धी विचारहरू राख्दै अस्पष्टतामा जिउन र देहमा आउनुभएका परमेश्‍वरका निम्ति परिस्थिति कठिन बनाउन छोड्नुपर्छ। उहाँको आज्ञापालन गर्न सक्‍नेहरू तिनीहरू हुन् जो पूर्ण रूपमा उहाँको वचन सुन्छन् र उहाँको प्रबन्धहरूमा समर्पित हुन्छन्। त्यस्ता मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्‍वर वास्तवमा कस्तो हुनुहुन्छ वा अहिले स्वर्गमा हुनुहुने परमेश्‍वरले मानवजातिमाझ कस्तो किसिमको काम गर्दै हुनुहुन्छ भन्‍ने कुरालाई कुनै वास्ता गर्दैनन्; तिनीहरूले पृथ्वीका परमेश्‍वरलाई पूर्ण रूपमा आफ्नो हृदय दिन्छन् र आफ्नो सम्पूर्ण अस्तित्व उहाँको सामु राखिदिन्छन्। तिनीहरूले आफ्नो सुरक्षालाई कहिल्यै पनि कुनै ध्यान दिँदैनन्, न त तिनीहरूले देहमा हुनुहुने परमेश्‍वरको सामान्यता र व्यावहारिकताको बारेमा नै अनावश्यक ध्यान दिन्छन्। देहधारी परमेश्‍वरमा समर्पित हुने मानिसहरूलाई उहाँले सिद्ध पार्न सक्‍नुहुन्छ। स्वर्गका परमेश्‍वरमा विश्‍वास गर्नेहरूले केही पनि पाउनेछैनन्। किनकि स्वर्गका परमेश्‍वरले नभई पृथ्वीका परमेश्‍वरले मानिसहरूलाई प्रतिज्ञा र आशीर्वादहरू दिनुहुन्छ। मानिसहरूले स्वर्गका परमेश्‍वरलाई सधैँ ठूलो बनाउने र पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई सामान्य मानिसको रूपमा हेर्ने गर्नु हुँदैन; त्यसो गर्नु अनुचित हो। स्वर्गमा हुनुहुने परमेश्‍वर महान् र अद्भुत बुद्धिका हुनुहुन्छ, तर यसको कुनै अस्तित्वमा हुँदैन; पृथ्वीका परमेश्‍वर अति औसत र महत्त्वहीन हुनुहुन्छ, र सामान्य पनि हुनुहुन्छ। उहाँसँग असाधारण दिमाग छैन वा उहाँले पृथ्वी नै भत्काउन सक्‍ने कार्यहरू गर्नुहुन्‍न; उहाँले केवल सामान्य र व्यावहारिक ढङ्गले कार्य गर्नुहुन्छ र बोल्नुहुन्छ। उहाँले मेघगर्जनको माध्यमबाट बोल्‍ने वा हावा र वर्षालाई आज्ञा दिने नगर्नुभए तापनि, उहाँ साँच्‍चै नै स्वर्गका परमेश्‍वरका देहधारण हुनुहुन्छ, र उहाँ वास्तवमै मानवजातिमाझ बास गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। मानिसहरूले आफूले बुझ्न सक्‍ने र परमेश्‍वर भनी आफूले गरेका कल्पनाहरूसँग मेल खाने व्यक्तिलाई उच्‍च पार्नु हुँदैन र आफूले स्विकार्न र कल्पना गर्नै नसक्‍ने व्यक्तिलाई तुच्छ ठान्‍नु हुँदैन। यो सबै मानिसहरूको विद्रोहबाट आउँछ; यो सबै नै परमेश्‍वरप्रति मानवजातिको विरोधको स्रोत हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्

३९६. परमेश्‍वरको आज्ञाकारी हुने कार्यको चाबीचाँहि नयाँ ज्योतिप्रति कृतज्ञ हुनु, र यसलाई स्वीकार गर्न सक्नु र यसलाई व्यवहारमा लागू गर्न सक्नु हो। यही नै साँचो आज्ञाकारीता हो। परमेश्‍वरप्रति तृषित नहुनेहरू नै उद्देश्यका साथ उहाँमा समर्पित हुन नसक्ने मानिसहरू हुन्, र आफ्ना यथास्थितिमा सन्तुष्ट भएको फलस्वरूप तिनीहरूले परमेश्‍वरको विरोध मात्र गर्न सक्छन्। त्यस मानिसहरूले परमेश्‍वरको आज्ञालाई पालन गर्न नसक्नुको कारण के हो भने, ऊ पहिले आएको कुराको बन्धनमा बाँधिएको हुन्छ। पहिले आएका कुराहरूले मानिसहरूलाई परमेश्‍वरका बारेमा अनेक किसिमका धारणाहरू र अनुमानहरू प्रदान गरेका छन्, र तिनीहरूका मनमा यी कुराहरू परमेश्‍वरको स्वरूप बनेको छ। यसरी, तिनीहरूले विश्‍वास गर्ने कुराहरू आफ्नै धारणाहरू र तिनीहरूका आफ्नै कल्पनाका मापदण्डहरू हुन्। यदि तैँले आज वास्तविक काम गर्नुहुने परमेश्‍वरलाई तेरो कल्पनाको परमेश्‍वरसँग तुलना गर्छस् भने, तेरो विश्‍वास शैतानबाट आउँछ, र तेरा आफ्नै प्राथमिकताहरूद्वारा दूषित पारिएको हुन्छ, परमेश्‍वरले यस किसिमको विश्‍वास चाहनुहुन्न। तिनीहरूका योग्यताहरू जति नै उच्च भए पनि, र तिनीहरू समर्पित नै भएपनि—तिनीहरूले उहाँका काममा पूरै जीवनका प्रयासहरू समर्पण गरेका भएपनि, तिनीहरूले आफैलाई शहीद तुल्याएका भएपनि—यस किसिमको विश्‍वास भएको कुनै पनि व्यक्तिलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्न। उहाँले तिनीहरूमाथि थोरै अनुग्रह मात्र दिनुहुन्छ र केही समयका लागि यसको आनन्द लिन दिनुहुन्छ। यस किसिमका व्यक्तिहरू सत्यतालाई व्यवहारमा लागू गर्न असक्षम हुन्छन्। पवित्र आत्माले तिनीहरूभित्र काम गर्नुहुन्न, र परमेश्‍वरले तिनीहरू प्रत्येकलाई हटाउनुहुनेछ। जवान र वृद्ध जो भए पनि, आफ्नो विश्‍वासमा परमेश्‍वरको आज्ञापालन नगर्ने र गलत अभिप्राय बोकेर हिँड्ने मानिसहरू विरोध गर्ने र बाधा दिने मानिसहरू हुन् र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले हटाउनुहुनेछ भन्नेमा कुनै प्रश्न छैन। जो परमेश्‍वरप्रति अलिकति पनि आज्ञाकारी छैनन्, जसले उहाँको नामलाई त्यतिकै स्वीकार गर्छन्, र परमेश्‍वरको दयालुपन र प्रेमिलोपनको बारेमा केही जानेका हुन्छन्, र पनि पवित्र आत्माका कदमहरूलाई पछ्याउँदैनन्, र पवित्र आत्माका वर्तमान कार्य र वचनहरूलाई पालना गर्दैनन् भने—यस्ता मानिसहरू परमेश्‍वरको अनुग्रहले मात्र बाँचेका हुन्छन्, र तिनीहरूलाई उहाँले लिनुहुनेछैन वा सिद्ध पार्नुहुनेछैन। परमेश्‍वरले मानिसहरूका आज्ञाकारिताद्वारा, परमेश्‍वरको वचनलाई खाने, पिउने र यसमा आनन्द मनाउने, र तिनीहरूका कार्यद्वारा, र तिनीहरूका जीवनमा आउने दुःख र शोधनद्वारा परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्नुहुन्छ। यस किसिमको विश्‍वासद्वारा मात्र मानिसहरूका भित्री स्वभाव परिवर्तन हुनेछ, र त्यसपछि मात्र तिनीहरूले परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्नेछन्। परमेश्‍वरको अनुग्रहमा बाँचेर मात्र सन्तुष्ट नभई, सक्रिय रूपमा सत्यतालाई चाहने र खोज्ने, र परमेश्‍वरद्वारा केही कुरा प्राप्तिका लागि खोजी गर्ने—सचेत भएर परमेश्‍वरको आज्ञा पालन गर्नु भनेको यही नै हो र उहाँले चाहनुहुने विश्‍वास पनि यही नै हो। परमेश्‍वरको अनुग्रहमा आनन्द गर्ने बाहेक अरू केही कुरा नगर्ने व्यक्तिहरूलाई सिद्ध पार्न वा परिवर्तन गर्न सकिँदैन। अनि तिनीहरूका आज्ञाकारीता, भक्ति, प्रेम, र धैर्यता सबै सतही मात्र हुन्। परमेश्‍वरको अनुग्रहमा मात्र रमाउनेहरूले परमेश्‍वरलाई साँचो रूपमा चिन्न सक्दैनन्, अनि तिनीहरूले परमेश्‍वरलाई चिने भने पनि, तिनीहरूको ज्ञान सतही हुन्छ, र “परमेश्‍वरले मानिसहरूलाई प्रेम गर्नुहुन्छ,” वा “परमेश्‍वर मानिसहरूप्रति करुणामय हुनुहुन्छ” भन्ने जस्ता कुराहरू तिनीहरू गर्छन्। यसले मानिसको जीवनलाई प्रतिनिधित्व गर्दैन, र मानिसहरूले साँच्चै परमेश्‍वरलाई चिनेका छन् भन्ने कुरालाई पनि देखाउँदैन। जब परमेश्‍वरको वचनले तिनीहरूलाई शोधन गर्छ, वा उहाँका जाँचहरू तिनीहरूमाथि आउँछन्, मानिसहरूले परमेश्‍वरको आज्ञा पालन गर्न सक्दैनन्—बरु, तिनीहरू शङ्कालु हुन्छन्, र पतन हुन्छन्—तब तिनीहरू अलिकति पनि आज्ञाकारी भएका हुँदैनन्। तिनीहरूभित्र, परमेश्‍वरमा राखिएको विश्‍वास सम्बन्धी धेरै नियमहरू र प्रतिबन्धहरू, धेरै वर्षको विश्‍वासका नतिजा स्वरूप आएका पुराना अनुभवहरू, वा बाइबलमा आधारित विभिन्न सिद्धान्तहरू हुन्छन्। के यस किसिमका मानिसहरूले परमेश्‍वरको आज्ञा पालन गर्नसक्छन्? यी मानिसहरू मानवीय कुराहरूले भरिएका हुन्छन्—तिनीहरूले कसरी परमेश्‍वरको आज्ञा पालन गर्नसक्छन्? तिनीहरूका “आज्ञाकारीता” व्यक्तिगत प्राथमिकता अनुसार हुन्छन्—के परमेश्‍वरले यस किसिमको आज्ञाकारीता चाहनुहुन्छ? यो परमेश्‍वरमा भएको आज्ञाकारीता होइन, तर सिद्धान्तप्रतिको भक्ति हो। यो आत्म-सन्तुष्टि र आत्म-कृतज्ञता हो। यदि तँ यो परमेश्‍वरप्रति गरिएको आज्ञाकारीता हो भनी भन्छस् भने, के तैँले उहाँको निन्दा गरिरहेको हुँदैनस् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ

३९७. आफ्ना विश्‍वासमा परमेश्‍वरमा आज्ञाकारी हुन नखोज्नेहरूले उहाँको विरोध गरेका हुन्छन्। मानिसहरूले सत्यताको खोजी गरून्, उहाँका वचनमा तिर्खाउन्, उहाँका वचनलाई खाऊन् र पिऊन्, र त्यसलाई व्यवहारमा प्रयोग गरून् भनी परमेश्‍वर चाहनुहुन्छ, यसरी तिनीहरूले परमेश्‍वरप्रतिको आज्ञाकारीतालाई प्राप्त गर्न सक्नेछन्। यदि तेरा सच्चा अभिप्रायहरू यी नै हुन् भने, अवश्य पनि परमेश्‍वरले तँलाई माथि उठाउनुहुनेछ, र अवश्य पनि तँप्रति अनुग्रहकारी हुनुहुनेछ। यो शङ्का गर्न नपर्ने र परिवर्तन नहुने कुरा हो। यदि तँ परमेश्‍वरको आज्ञा पालन नगर्ने अभिप्राय राख्छस्, अनि तेरा लक्ष्यहरू अरू नै छन् भने, तैँले भनेका र गरेका सबै कुराहरू—परमेश्‍वरको सामु गरेका प्रार्थनाहरू, र तेरो प्रत्येक कार्य समेत—उहाँका विरोधमा हुनेछन्। सायद तँ नम्र भएर बोल्ने र सहज व्यवहार गर्ने व्यक्ति हुनसक्छस्, तेरो प्रत्येक कार्य र अभिव्यक्ति उचित देखिन सक्छ, अनि तँ आज्ञा पालन गर्ने व्यक्तिजस्तो देखिन्छस् होला, तर जब परमेश्‍वरमाथिको तेरो विश्‍वासका अभिप्रायहरू र दृष्टिकोणहरूका कुरा आउँछन्, तब तैँले गरेका ती सबै कुराहरू परमेश्‍वरका विरोधमा हुन्छन्। तैँले गरेका सबै कुराहरू दुष्ट हुन्छन्। भेडाजस्तै आज्ञाकारी देखिने, तर जसका हृदयमा भने दुष्ट उद्देश्यहरू बोकेर हिँड्ने, मानिसहरू भेडाका भेषमा देखिने ब्‍वाँसाहरू हुन्। तिनीहरूले सीधै परमेश्‍वरलाई चिढ्याउँछन्, र परमेश्‍वरले तिनीहरूमध्ये एक जनालाई पनि बाँकी राख्नुहुनेछैन। पवित्र आत्माले तिनीहरू हरेकलाई प्रकाश गर्नुहुनेछ र ढोङ्गीहरू प्रत्येकलाई निश्चय नै पवित्र आत्माले तिरस्कार गर्नुहुनेछ र इन्कार गर्नुहुनेछ भन्ने कुरालाई उहाँले सबैका सामुन्ने देखाउनुहुनेछ। चिन्ता नगर्: परमेश्‍वरले तिनीहरू प्रत्येकबाट लेखा लिनुहुनेछ र तिनीहरू प्रत्येकलाई त्याग्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ

३९८. मानिसहरूले परमेश्‍वरको आज्ञापालन गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराको मापन गर्ने क्रममा, ध्यान दिनुपर्ने मुख्य कुरा भनेको तिनीहरूले परमेश्‍वरबाट कुनै अत्याधिक थोकहरू चाहन्छन् कि चाहँदैनन्, अनि तिनीहरूको आफ्नै गुप्त अभिप्रायहरू छन् कि छैनन् भन्‍ने हो। यदि मानिसहरूले सधैँ परमेश्‍वरसँग माग गरिरहेका छन् भने, त्यसले तिनीहरू उहाँप्रति आज्ञाकारी छैनन् प्रमाणित गर्दछ। तँलाई जेसुकै भए पनि, यदि तैँले त्यो परमेश्‍वरबाट प्राप्त गर्न सक्दैनस् भने, सत्यको खोजी गर्न सक्दैनस् भने, सधैँ तेरा आफ्नै व्यक्तिपरक तर्कबाट बोलिरहेको हुन्छस् भने, र सधैँ तँ मात्र सही छस् भन्‍ने महसुस गर्छस् भने, र अझै पनि तँ परमेश्‍वरलाई शङ्का गर्न सक्छस् भने, तँ समस्यामा पर्नेछस्। त्यस्ता मानिसहरू परमेश्‍वरप्रति सबैभन्दा बढी अहङ्कारी र विद्रोही हुन्छन्। सधैँ परमेश्‍वरसँग माग गर्ने मानिसहरूले कहिल्यै पनि उहाँको आज्ञापालन गर्न सक्दैनन्। यदि तैँले परमेश्‍वरसँग माग गर्छस् भने, त्यसले तँ परमेश्‍वरसँग सौदाबाजी गर्दैछस्, तैँले आफ्नै विचारहरू चुनिरहेको छस्, र तेरा आफ्नै विचारअनुसार कार्य गरिरहेको छस् भन्‍ने प्रमाणित गर्दछ। यसो गरेर, तैँले परमेश्‍वरलाई धोका दिन्छस्, र तँमा आज्ञाकारीता हुँदैन। परमेश्‍वरसँग माग गर्नु मूर्खता हो; यदि तँ साँच्चै उहाँ परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छस् भने, तैँले उहाँसँग माग गर्ने हिम्मत गर्नेछैनस्, न त तँ उहाँसँग कुनै माग गर्ने योग्यको नै हुनेछस्, चाहे ती उचित होऊन् वा नहोऊन्। यदि तँसँग साँचो विश्‍वास छ, र उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्छस् भने, उहाँको आराधना गर्ने र आज्ञापालन गर्ने बाहेक अरू कुनै विकल्प तँसँग हुनेछैन। आजका मानिसहरूसँग छनौट मात्र हुँदैन, तर परमेश्‍वरले तिनीहरूका आफ्नै विचारहरू अनुसार काम गरून् भनी माग समेत गर्छन्। तिनीहरूले आफ्नै विचारहरूलाई छनौट गर्छन् र तिनीहरूले भने अनुसार परमेश्‍वरले काम गरून् भनी माग गर्छन्, र तिनीहरू आफैले चाहिँ परमेश्‍वरका विचारहरू अनुसार काम गर्न आवश्यक ठान्दैनन्। त्यसैले, तिनीहरूभित्र कुनै साँचो विश्‍वास हुँदैन, न त तिनीहरूका विश्‍वासको कुनै सार नै हुन्छ। जब तैँले परमेश्‍वरसित थोरै मागहरू गर्न सक्छस्, तेरो साँचो विश्‍वास र तेरो आज्ञापालन बढ्नेछ, र तेरो समझशक्ति पनि तुलनात्मक रूपमा सामान्य हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्

३९९. वास्तविक जीवनका समस्याहरूको सामना गर्ने क्रममा, तैँले परमेश्‍वरको अख्तियार र उहाँको सार्वभौमिकतालाई कसरी जान्‍नु र बुझ्‍नुपर्छ? जब तैँले यी समस्याहरूको सामना गर्छस् अनि तिनलाई कसरी बुझ्‍ने, सम्हाल्ने, र अनुभव गर्ने भन्‍ने तँलाई थाहा हुँदैन, तब समर्पित हुने तेरो अभिप्रायलाई, समर्पित हुने तेरो इच्‍छालाई, र परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूप्रतिको तेरो समर्पणताको वास्तविकतालाई देखाउन तैँले कस्तो मनोवृत्ति अपनाउनुपर्छ? पहिलो, तैँले प्रतीक्षा गर्न सिक्‍नुपर्छ; त्यसपछि तैँले खोजी गर्न सिक्‍नुपर्छ; अनि त्यसपछि तैँले समर्पित हुन सिक्‍नुपर्छ। “प्रतीक्षा गर्नु” भनेको परमेश्‍वरको समयलाई प्रतीक्षा गर्नु हो, उहाँले तेरो निम्ति बन्दोबस्त गर्नुभएका मानिसहरू, घटनाहरू र काम-कुराहरूलाई प्रतीक्षा गर्नु हो, उहाँको इच्‍छा आफै तँकहाँ क्रमिक रूपमा प्रकट हुनको लागि प्रतीक्षा गर्नु हो। “खोजी गर्नु” भनेको उहाँले योजना गर्नुभएका मानिसहरू, घटनाहरू, र काम-कुराहरूमार्फत तेरो निम्ति परमेश्‍वरका विचारपूर्ण अभिप्रायहरूलाई अवलोकन गर्नु र बुझ्‍नु हो, तिनीहरूमार्फत सत्यतालाई बुझ्‍नु हो, मानिसहरूले हासिल गर्नैपर्ने कुराहरू र तिनीहरूले पालना गर्नैपर्ने मार्गहरूलाई बुझ्‍नु हो, परमेश्‍वरले मानिसहरूमा के-कस्ता परिणामहरू हासिल गर्न चाहनुहुन्छ अनि उहाँले तिनमा के-कस्ता उपलब्धिहरू प्राप्त गर्न चाहनुहुन्छ त्यसलाई बुझ्‍नु हो। “समर्पित हुनु” ले चाहिँ अवश्य नै परमेश्‍वरले योजनाबद्ध गर्नुभएका मानिसहरू, घटनाहरू, र काम-कुराहरूलाई स्वीकार गर्नुलाई जनाउँछ, उहाँको सार्वभौमिकता स्वीकार गर्नुलाई जनाउँछ अनि यसमार्फत सृष्टिकर्ताले कसरी मानिसको नियतीलाई नियन्त्रण गर्नुहुन्छ, उहाँले कसरी मानिसलाई उहाँको जीवन आपूर्ति गर्नुहुन्छ, मानिसभित्र उहाँले कसरी सत्यताको काम गर्नुहुन्छ सो जान्‍नुलाई जनाउँछ। परमेश्‍वरका बन्दोबस्तहरू र सार्वभौमिकताको अधीनमा रहेका यावत् थोकले प्राकृतिक नियमहरू पालना गर्छन्, अनि यदि तैँले परमेश्‍वरलाई तेरो लागि सबै कुराहरू बन्दोबस्त गर्न र नियन्त्रण गर्न दिने संकल्प गरिस् भने, तैँले प्रतीक्षा गर्न सिक्‍नैपर्छ, तैँले खोजी गर्न सिक्‍नैपर्छ, अनि तैँले समर्पित हुन सिक्‍नैपर्छ। परमेश्‍वरको अख्तियारमा समर्पित हुन चाहने हरेक व्यक्तिले अपनाउनुपर्ने मनोवृत्ति यही हो, परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूलाई स्वीकार गर्न चाहने हरेक व्यक्तिमा हुनुपर्ने आधारभूत गुण यही हो। त्यस्तो मनोवृत्ति धारण गर्नको लागि, त्यस्तो गुण प्राप्त गर्नको लागि, तैँले अझै बढी परिश्रम गर्नैपर्छ। साँचो वास्तविकतामा तैँले प्रवेश गर्न सक्‍ने एउटै मार्ग यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

४००. नोआले परमेश्‍वरले भनेबमोजिम गर्दा उसलाई परमेश्‍वरको अभिप्रायको बारेमा थाहा थिएन। परमेश्‍वरले के कुरा हासिल गर्न खोज्‍नुभयो भन्‍ने कुरा उसलाई थाहा थिएन। परमेश्‍वरले उसलाई आज्ञा मात्र दिनुभएको थियो र उसलाई केही कुरा गर्ने निर्देशन दिनुभयो र उक्त कामको बारेमा धेरै व्याख्याविना नै नोआले अगाडि बढेर त्यो गर्‍यो। उसले गुप्त रूपमा परमेश्‍वरको अभिप्रायहरूको बारेमा थाहा पाउने कोसिस गरेन, न त उसले परमेश्‍वरको प्रतिरोध नै गर्‍यो वा बेइमानी नै देखायो। उसले गएर शुद्ध र सरल हृदयले भनेबमोजिम त्यो काम गर्‍यो। परमेश्‍वरले गर्न लगाउनुभएको कुरा उसले गर्‍यो र परमेश्‍वरको वचन पालना गर्ने र सुन्‍ने कार्यले उसले गर्ने कामको विश्‍वासमा टेवा दियो। परमेश्‍वरले सुम्पिनुभएको कामलाई उसले सिधा र सरल तरिकाले व्यवहार गर्‍यो। उसको सार—उसका कार्यहरूको सार आज्ञापालन थियो, द्वितीय-अनुमान थिएन, प्रतिरोध थिएन, र योभन्दा बढी त, उसको आफ्नै चाहनाहरू वा आफ्ना फाइदा र बेफाइदाहरूको बारेमा उसले सोचेन। थप कुरा त, परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नेछु भन्दा नोआले कहिले हुन्छ भनेर सोधेन र के हुन्छ भनेर सोधेन, र उसले परमेश्‍वरले कसरी संसारलाई नष्ट गर्दै हुनुहुन्छ भनेर निश्‍चय नै सोधेन। उसले परमेश्‍वरले निर्देशन दिए बमोजिम मात्र गर्‍यो। तथापि परमेश्‍वरले त्यो बनाइनुपर्छ र त्यो केबाट बनिनुपर्छ भन्‍ने चाहनुभयो, परमेश्‍वरले अह्राएबमोजिम उसले गर्‍यो र तत्कालै काम सुरु गर्‍यो। उसले परमेश्‍वरको निर्देशनहरूबमोजिम परमेश्‍वरलाई सन्तुष्ट पार्ने मनोवृत्तिका साथ काम गर्‍यो। के उसले विपत्तिबाट आफूलाई बचाउनको निम्ति यसो गर्‍यो? होइन। के उसले परमेश्‍वरलाई संसारको विनाश हुनुभन्दा अघि कति लामो समय हुनेथ्यो भनी सोध्यो? सोधेन। के उसले जहाज बनाउनको निम्ति कति समय लाग्छ भनेर परमेश्‍वरलाई सोध्यो वा के उसलाई यो थाहा थियो? उसलाई त्यो पनि थाहा थिएन। उसले त आज्ञापालन गर्‍यो, सुन्यो र त्यसबमोजिम गर्‍यो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

४०१. परमेश्‍वरमाथिको विश्‍वासमा, पत्रुसले सबै कुरामा परमेश्‍वरलाई नै सन्तुष्ट पार्न खोजे, र परमेश्‍वरबाट आएका सबै कुरालाई पालना गर्न खोजे। अलिकति पनि गुनासो नगरिकन, उनले सजाय र न्याय, साथै शोधन, संकष्ट र उसको जीवनमा नरोकिकन स्वीकार गर्न सकेका थिए, जसमध्ये कुनैले पनि परमेश्‍वरप्रतिको तिनको प्रेमलाई परिवर्तन गर्न सकेन। के यो परमेश्‍वरप्रतिको सर्वश्रेष्ठ प्रेम थिएन र? के यो परमेश्‍वरको एकजना सृष्टिको कर्तव्यको पूर्णता थिएन र? सजाय, न्यायमा होस् या संकष्टमा होस्, तैँले सँधै मृत्युसम्‍मै आज्ञापालन हासिल गर्न सक्छस्, र परमेश्‍वरको एकजना सृष्टिले हासिल गर्नुपर्ने यही नै हो, र परमेश्‍वरप्रतिको प्रेमको विशुद्धता यही नै हो। यदि मानिसले यतिसम्‍म हासिल गर्न सक्छ भने, ऊ परमेश्‍वरको सुयोग्य प्राणी हो, र सृष्टिकर्ताको चाहनालाई यसले जत्तिको राम्ररी सन्तुष्ट पार्नेअरू केही छैन। मानौं तँ परमेश्‍वरको लागि काम गर्न सक्छस्, तैपनि तँ परमेश्‍वरको आज्ञापालन गर्दैनस्, र तँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्दैनस्। यसरी, तैँले परमेश्‍वरको सृष्टिको रूपमा रहेको कर्तव्यलाई पूरा नगरेको मात्रै हुने छैनस्, तर तँलाई परमेश्‍वरले दोषी पनि ठहर्याउनुहुनेछ, किनभने तँ त्यस्तो व्यक्ति होस् जोसँग सत्य छैन, जसले परमेश्‍वरको आज्ञापालन गर्न सक्दैन, र जो परमेश्‍वरप्रति अनाज्ञाकारी छ। तैँले परमेश्‍वरको लागि काम गर्ने बारेमा मात्रै चासो गर्छस्, र सत्यतालाई अभ्यास गर्ने वा आफैलाई चिन्‍ने बारेमा चासो गर्दैनस्। तैँले सृष्टिकर्तालाई भुज्दैनस् वा चिन्दैनस्, र सृष्टिकर्ताको आज्ञापालन गर्दैनस् वा उहाँलाई प्रेम गर्दैनस्। तँ परमेश्‍वरप्रति अन्तर्निहित रूपमा अनाज्ञाकारी रहेको व्यक्ति होस्, र त्यसकारण त्यस्ता मानिसहरूलाई परमेश्‍वरले प्रिय ठान्‍नुहुन्‍न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

४०२. परमेश्‍वरको लागि गुञ्जायमान गवाही दिने कुरा मुख्य रूपले तँसँग व्यावहारिक परमेश्‍वरको बारेमा बुझाइ छ कि छैन र तँ यो व्यक्तिमा समर्पित हुन, मृत्युसम्‍म समेत समर्पित हुन सक्छस् कि सक्दैनस् भन्ने कुरासँग सम्बन्धित हुन्छ, जो व्यक्ति साधारण मात्र हुनुहुन्‍न तर सामान्य पनि हुनुहुन्छ। यदि, समर्पणताद्वारा तैँले साँच्चै परमेश्‍वरको गवाही दिन्छस् भने, त्यसको अर्थ तँलाई परमेश्‍वरले प्राप्त गर्नुभएको छ भन्ने हुन्छ। यदि तँ मृत्युसम्‍मै अधीनमा बस्न सक्छस् र उहाँको अगि गुनासो मुक्त हुन्छस्, कुनै दोष लाउँदैनस्, कुनै निन्दा गर्दैनस्, कुनै धारणाहरू राख्दैनस् र कुनै गुप्त अभिप्रायहरू राख्दैनस् भने यसरी परमेश्‍वरले महिमा प्राप्त गर्नुहुनेछ। एक सामान्य, मानिसद्वारा हेला गरिएको व्यक्तिको अगाडि समर्पित हुनु र कुनै धारणाहरू नराखी मृत्युसम्म समर्पित हुन सक्नु—साँचो गवाही यही हो। मानिसहरू जुन वास्तविकताभित्र पसून् भन्ने परमेश्‍वर चाहनुहुन्छ त्‍योचाहिँ तँ उहाँका वचनहरू पालन गर्न सक्ने, तिनलाई अभ्यास गर्न सक्ने, व्यावहारिक परमेश्‍वर अगाडि झुक्न र तेरा आफ्नै भ्रष्टतालाई जान्न सक्ने, उहाँको सामु तेरो हृदय खोल्‍न, र अन्त्यमा उहाँका यी वचनहरूमार्फत उहाँद्वारा प्राप्त हुन सक्‍ने व्यक्ति बन् भन्ने हो। जब यी वाणी हरूले तँलाई जित्दछ र तँलाई पूर्ण रूपमा उहाँको आज्ञाकारी बनाउँदछ तब परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्छ; यसद्वारा उहाँले शैतानलाई लाजमा पार्नुहुन्छ र उहाँको काम पूरा गर्नुहुन्छ। जब तँमा देहधारी परमेश्‍वरको व्यावहारिकताको बारेमा कुनै धारणा हुँदैन—अर्थात्, जब तँ यो परीक्षामा दृढ भएर खडा हुन्छस्—तब तैँले यो गवाही राम्रोसँग बोकेको हुन्छस्। यदि तैँले यस व्यावहारिक परमेश्‍वरलाई पूर्ण रूपमा बुझ्ने र पत्रुसजस्तै मृत्युसम्म समर्पित हुन सक्‍ने दिन आउँछ, तब तँलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछ र सिद्ध तुल्याउनुहुनेछ। परमेश्‍वरले गर्नुहुने कुनै पनि कुरा तेरा धारणाहरूसँग मेल खाँदैन भने त्यो तेरो लागि परीक्षा हो। यदि परमेश्‍वरको काम तिम्रो विचारसँग मेल खान्थ्यो भने त्यसका निम्ति तैँले दुःख भोग्नु वा तँलाई शुद्ध पारिनु आवश्यक हुँदैनथियो। उहाँको काम अति व्यावहारिक र तेरा धारणाहरू अनुरूप नभएकोले तैँले ती धारणाहरूलाई छोड्नुपर्छ। त्यसैकारणले गर्दा यो तेरो लागि एउटा परीक्षा हो। परमेश्‍वरको व्यावहारिकताको कारणले नै सबै मानिसहरू परीक्षाहरूका बीचमा छन्; उहाँको काम व्यावहारिक छ, अलौकिक होइन। कुनै पनि धारणाहरू नराखी उहाँका व्यावहारिक वचनहरू र उहाँको व्यावहारिक वाणीहरू पूर्ण रूपमा बुझेर, अनि उहाँको काम अझ बढी व्यावहारिक हुँदै जाँदा उहाँलाई साँचो रूपमा प्रेम गर्न सकेर, तँलाई उहाँले प्राप्त गर्नुहुनेछ। परमेश्‍वरद्वारा प्राप्त गरिने मानिसहरूको समूह ती हुन् जसले परमेश्‍वरलाई चिन्छन्; अर्थात्, तिनीहरू जसले उहाँको व्यावहारिकतालाई जान्दछन्। यसबाहेक, तिनीहरू ती हुन् जो परमेश्‍वरको व्यावहारिक कामप्रति समर्पित हुन सक्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्

४०३. मानवजाति विश्राममा प्रवेश गर्न अघि, हरेक किसिमका व्यक्तिलाई दण्ड वा इनाम दिइन्छ भन्ने कुरा उनीहरूले सत्यता खोजेका छन् वा छैनन्, उनीहरूले परमेश्‍वरलाई चिन्छन् वा चिन्दैनन् र उनीहरू दृश्य परमेश्‍वरको अधीनमा बस्न सक्छन् वा सक्दैनन् भन्ने कुरा बमोजिम निर्धारण गरिनेछ। उनीहरू जसले दृश्य परमेश्‍वरको सेवा गरेका छन्, तैपनि न त उहाँलाई चिन्छन्, न उहाँको अधीनमा बस्छन्, उनीहरूमा सत्यताको कमी हुन्छ। यस्ता मानिसहरू दुष्कर्मीहरू हुन् र दुष्टकर्मीहरू दण्डको भागीदार हुनेछन्; यसको अलाबा, उनीहरू उनीहरूका दुष्ट व्यवहार बमोजिम दण्डित हुनेछन्। परमेश्‍वर मानवले विश्‍वास गरिनको निम्ति हुनुहुन्छ र उहाँ उनीहरूका आज्ञाकारीताको योग्य पनि हुनुहुन्छ। अस्पष्ट र अमूर्त परमेश्‍वरमा विश्‍वास राख्नेहरू परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरू हुन् र परमेश्‍वरको अधीनमा बस्न असक्षम हुन्छन्। यदि यी मानिसहरूले अझै उहाँको विजयको कार्यको समय सिद्धिँदासम्म पनि दृश्य परमेश्‍वरमा विश्‍वास गर्न सफल भएनन् भने, देहमा हुनुहुने दृश्य परमेश्‍वरप्रति अनाज्ञाकारी भइरहे र प्रतिरोध गरिरहे भने, यी “अस्पष्टवादी” हरू, निश्‍चय नै, विनाशको पात्रहरू हुनेछन्। यो तिमीहरूकै माझमा रहेको कोहीहरू जस्तो हो—देहधारी परमेश्‍वरलाई मौखिक रूपमा चिन्ने, तैपनि देहधारी परमेश्‍वरको अधीनको सत्यता अभ्यास गर्न नसक्ने कोही पनि, ऊ अन्तमा निष्कासन र विनाशको पात्र हुनेछ। यसको अलाबा, अस्पष्ट र अदृश्य परमेश्‍वरको खोजी गरिरहँदा पनि, उहाँद्वारा व्यक्त गर्नुभएको सत्यतालाई खाँदै र पिउँदै, दृश्य परमेश्‍वरलाई मौखिक रूपमा चिन्ने कोही भविष्यमा अझ धेरै विनाश पारिने सम्भावनामा हुनेछ। परमेश्‍वरको काम पूरा भएपछि आउने विश्रामको समयसम्म यी मानिसहरूमध्ये कोही पनि रहन सक्नेछैनन्, न त यस्तै व्यक्तिहरू जस्तो एकल व्यक्ति नै विश्रामको त्यो समयमा रहन सक्छन्। शैतानी मानिसहरू उनीहरू नै हुन् जसले सत्यता अभ्यास गर्दैन; उनीहरूको सार नै परमेश्‍वरप्रतिको अनाज्ञाकारीता र प्रतिरोध मध्येको एक हो, र उनीहरूमा उहाँको अधीनमा बस्ने हल्का अभिप्राय पनि हुँदैन। यस्ता मानिसहरू सबैलाई नष्ट पारिनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

अघिल्लो: ङ. कसरी इमानदार व्यक्ति बन्‍ने सम्बन्धमा

अर्को: छ. आफ्‍नो कर्तव्य पर्‍याप्त रूपले कसरी पूरा गर्ने सो सम्बन्धमा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्