ङ. कसरी इमानदार व्यक्ति बन्‍ने सम्बन्धमा

३८४. परमेश्‍वरले इमानदार हुनेहरूलाई मन पराउनुहुन्छ भन्‍ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ। परमेश्वरसँग विश्वासयोग्यताको सार छ, र त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्‍वास गर्न सकिन्छ; यसबाहेक, उहाँका कार्यहरू त्रुटिरहित र निर्विवाद छन्, जसका कारण परमेश्‍वर उहाँसँग पूर्ण रूपमा इमानदार हुनेहरूलाई मन पराउनुहुन्छ। इमानदारी भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, कुनै पनि कुरामा परमेश्‍वरप्रति झूटो नहुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, तथ्यहरू कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै छल गर्ने प्रयास नगर्नु, र परमेश्‍वरको चापलुसी गर्ने प्रयासका मात्र कामकुरा नगर्नु हो। छोटकरीमा भन्दा, इमानदार हुनु भनेको आफ्नो बोली-व्यवहारमा विशुद्ध हुनु हो, र परमेश्‍वर वा मानिस कसैलाई पनि छल नगर्नु हो। म जे भन्छु त्यो एकदमै सरल छ, तर तिमीहरूका लागि त्यो अत्यन्तै कठिन छ। धेरै मानिसहरू इमानदारीपूर्वक बोल्नु र कार्य गर्नुभन्दा बरु नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति मसँग अर्कै इलाज छ भन्‍ने कुरा त्यत्ति आश्‍चर्यजनक कुरा होइन। अवश्य पनि, तिमीहरूलाई इमानदार हुन कति गाह्रो छ भन्‍ने कुरा मलाई राम्ररी थाहा छ। तिमीहरू सबै निकै “चलाख” भएकाले, आफ्नै तुच्छ मनस्थितिका आधारमा भद्र मानिसहरूको हृदय मापन गर्न एकदमै सिपालु भएकाले, यसले मेरो कामलाई अझ सरल बनाउँछ। अनि तिमीहरू प्रत्येकले आ-आफ्ना गोप्य कुराहरू छातीमा टाँसेर राखेको हुनाले, ल त्यसोभए, म तिमीहरूलाई अग्निमार्फत “शिक्षा दिन” एक-एक गर्दै प्रकोपमा पार्नेछु, ताकि तत्पश्चात् मेरा वचनहरूमाथिको तिमीहरूको विश्‍वासमा तिमीहरू दृढ हुन सक। अन्ततः, म तिमीहरूको मुखबाट “परमेश्‍वर विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ” भन्‍ने शब्दहरू निचोर्नेछु, जसपछि तिमीहरू आफ्ना छाती पिट्नेछौ, र “मानिसको हृदय अति छली हुन्छ!” भन्दै विलाप गर्नेछौ। यो बेला तिमीहरूको मनस्थिति के हुनेछ? निश्चय नै, तिमीहरू अहिलेको जति घमण्डले आविष्ट हुनेछैनौ! र अहिले भए जति “गहन र दुर्बोध” त झनै हुनेछैनौ। परमेश्‍वरको उपस्थितिमा, कतिपय मानिसहरू निकै अनुशासित हुन्छन्, र निकै “भद्र” हुन्छन्, तर उनीहरूले आत्माको उपस्थितिमा आफ्ना दाह्राहरू देखाउँछन् र नङ्ग्राहरू फिँजाउँछन्। के तिमीहरू त्यस्ता मानिसहरूलाई इमानदार व्यक्तिहरूको श्रेणीमा गणना गर्छौ? यदि तिमीहरू “अन्तर वैयक्तिक सम्बन्धहरू” मा पोख्त भएको पाखण्डी हौ भने म त भन्छु तिमीहरू पक्कै पनि परमेश्‍वरसँग तुच्छ व्यवहार गर्न प्रयास गर्ने व्यक्तिहरू हौ। यदि तेरा शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने, म के भन्छु भने तँ सत्यता अभ्यास गर्न अत्यन्तै अनिच्छुक व्यक्ति होस्। यदि तँसँग भन्नै गाह्रो हुने धेरै निजी मामलाहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू, अर्थात् आफ्ना कठिनाइहरू, अरूसामु उदाङ्गो पार्न अत्यन्तै वितृष्ण छस् भने, म के भन्छु भने, तँ त्यस्तो व्यक्ति होस् जसलाई मुक्ति पाउन ठूलो कठिनाइ हुनेछ, र अँध्यारोबाट बाहिर आउन कठिनाइ हुनेछ। यदि तँलाई सत्यताको मार्ग खोजी गर्दा साँच्चै आनन्द लाग्छ भने, तँ सधैँ उज्यालोमा जिउने व्यक्ति होस्। यदि तँ परमेश्‍वरको घरमा सेवाकर्ता हुनमा निकै खुसी छस्, गुमनाम रही लगनशील र निष्ठावान् भई काम गर्छस्, सधैँ दिन्छस् र कहिल्यै लिँदैनस् भने म भन्छु, तँ बफादार सन्त होस् किनभने तँ कुनै इनाम खोज्दैनस्, तँ केवल इमानदार व्यक्ति भइरहेको छस्। यदि तँ खुलस्त हुन इच्छुक छस् भने, यदि तँ आफ्नो सबथोक समर्पित गर्न इच्छुक छस् भने, यदि तँ परमेश्‍वरका लागि आफ्नो जीवन बलिदान गर्न र आफ्नो गवाहीमा दृढ रहन सक्षम छस् भने, यदि तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्रै जान्ने तर आफूबारे नसोच्ने र आफ्ना लागि केही नलिने हदसम्मको इमानदार छस् भने, तब म भन्छु, त्यस्ता मानिसहरू ज्योतिमा पोषित हुनेहरू हुन् र तिनीहरू राज्यमा सदासर्वदा जिउनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

३८५. अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्। यदि तँ छली छस् भने, तँ सबै मानिस र विषयहरूप्रति सतर्क बन्नेछस् र शङ्कालु बन्नेछस्, यसैले मप्रतिको तेरो विश्‍वास शङ्काको जगमाथि निर्माण हुनेछ। त्यस्तो विश्‍वासलाई म कहिल्यै स्विकार्न सक्दिनँ। साँचो विश्‍वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ। र यदि तँ परमेश्‍वरलाई शङ्का गर्न जिम्‍मेवार छस् र जानी-जानी उहाँको बारेमा अनुमान गर्छस् भने निस्सन्देह तँ सबै मानिसहरूमध्ये सबैभन्दा छली होस्। तँ परमेश्‍वर मानिसजस्तो हुन सक्नुहुन्छ कि सक्‍नुहुन्‍न भनेर अनुमान लगाउँछस्: क्षमा गर्नै नसकिने पापी, क्षुद्र चरित्र भएको, निष्पक्षता र विवेकरहित, न्यायको भावना नभएको, हिंस्रक युक्तिमा लागेको, छलपूर्ण र धूर्त, दुष्ट र अन्धकारद्वारा प्रसन्न, र यस्तै अरू। के मानिसहरूमा परमेश्‍वरको अलिकति पनि ज्ञान नभएको कारण तिनीहरूमा यस्ता विचारहरू आएका होइनन् र? त्यस्तो विश्‍वास पापभन्दा कम होइन! केही यस्ता व्यक्तिहरू पनि छन्, जसले मलाई प्रसन्न तुल्याउनेहरू चापलुसी गर्ने र चिप्लो घस्नेहरू हुन्, अनि त्यस्ता सीपको अभाव हुनेहरूलाई परमेश्‍वरको भवनमा स्वागत गरिँदैन र तिनीहरूले त्यहाँ आफ्नो स्थान गुमाउनेछन् भनी विश्‍वास गर्छन्। यतिका वर्षहरूमा तिमीहरूले प्राप्त गरेको ज्ञान के यही मात्र हो? के तिमीहरूले प्राप्त गरेको यही नै हो? अनि मेरो बारेमा तिमीहरूको ज्ञान यी भ्रमहरूमा रोकिँदैन; अनि त्योभन्दा अझ नराम्रो तिमीहरूले गरेका परमेश्‍वरका आत्माको निन्दा र स्वर्गको बदनाम हो। यसैले म भन्छु, कि तिमीहरूको जस्तो विश्‍वासले तिमीहरूलाई मबाट अझ टाढा बनाउँछ र मेरो विरुद्धमा अझ ठूलो विरोधी बनाउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने

३८६. आज, प्रायः मानिसहरू आफ्ना कामहरू परमेश्‍वरको सामु ल्याउन डराउँछन्; तँ उहाँको शरीरलाई धोका दिन सक्छस्, तर तँ उहाँको आत्मालाई धोका दिन सक्दैनस्। कुनै पनि कुरा जुन परमेश्‍वरको जाँचको अघि टिक्दैन भने त्यो सत्यतासँग अमिल्दो हुन्छ, र त्यसलाई अलग गर्नुपर्दछ; त्यस बाहेकको कुरा गर्नु भनेको परमेश्‍वरको विरुद्धमा पाप हुन्छ। यसैले जब तँ प्रार्थना गर्छस्, जब तँ आफ्ना भाइबहिनीहरूसँग कुराकानी र सङ्गति गर्छस्, र जब तँ आफ्नो काम गर्छस् र तेरो व्यापारको काम गर्छस्, हरसमय तैँले परमेश्‍वरको सामु आफ्नो हृदय राख्नुपर्छ। जब तँ आफ्नो कार्य पूरा गर्छस्, परमेश्‍वर तेरो साथमा हुनुहुन्छ र जबसम्म तेरो अभिप्राय सही हुन्छ र त्यो काम परमेश्‍वरको घरको कामका लागि हुन्छ, उहाँले तैँले गरेका सबै काम स्वीकार गर्नुहुनेछ; तैँले आफ्नो काम पूरा गर्न आफैलाई इमानदारीसाथ समर्पित गर्नुपर्छ। जब तँ प्रार्थना गर्छस्, यदि तँमा परमेश्वरलाई प्रेम गर्ने हृदय छ र परमेश्‍वरको वास्ता, सुरक्षा र जाँचको खोजी गर्छस् भने, यदि यी कुराहरू तेरो उद्देश्य हुन् भने, तेरा प्रार्थनाहरू प्रभावकारी हुनेछन्। उदाहरणका लागि, जब तँ सभाहरूमा प्रार्थना गर्छस्, यदि तैँले आफ्नो हृदय खोल्छस् र परमेश्‍वरसँग प्रार्थना गर्दै कुनै झूटो नबोली आफ्नो हृदयको कुरा उहाँलाई बताउँछस् भने तेरा प्रार्थनाहरू निश्चय प्रभावकारी हुनेछन्। …

परमेश्‍वरको विश्‍वासी हुनु भनेको तैँले गर्ने सबै कुरा उहाँको सामु ल्याउनु र उहाँको जाँचको अधीनमा राख्नु हो। यदि तैँले जे गर्छस् त्यो परमेश्‍वरका आत्माको अगाडि ल्याउन सकिन्छ तर परमेश्‍वरको शरीरको अगाडि ल्याउन सकिँदैन भने, त्यसले तँ उहाँको आत्माको जाँचको अधीनमा नआएको देखाउँछ। परमेश्‍वरका आत्मा को हुनुहुन्छ? त्यो कुन व्यक्ति हो जसलाई परमेश्‍वरले साक्षी दिनुहुन्छ? के तिनीहरू एउटै र उही होइनन् र? धेरैले उहाँहरूलाई दुई अलग प्राणीको रूपमा हेर्छन्, र परमेश्‍वरका आत्मा भनेको परमेश्‍वरका आत्मा नै हो, र परमेश्‍वरले जसको साक्षी दिनुहुन्छ, त्यो मानिस मात्र हो भन्‍ने विश्‍वास गर्छन्। तर के तँ गलत हुँदैनस्? यो व्यक्तिले कसको तर्फबाट काम गर्दछ? जसले देहधारी परमेश्‍वरलाई चिन्दैनन् उनीहरूसँग आत्मिक बुझाइ हुँदैन। परमेश्‍वरका आत्मा र उहाँको देहधारी शरीर एक हुनुहुन्छ, किनकि परमेश्‍वरका आत्मा शरीरमा परिणत भएको छ। यदि यो व्यक्ति तँप्रति निष्ठुर छ भने, के परमेश्‍वरका आत्मा दयालु हुनुहुनेछ र? के तँ भ्रमित छैनस् र? आज, परमेश्‍वरको जाँच स्वीकार नगर्नेहरू सबैले उहाँको स्वीकृति प्राप्त गर्न सक्दैनन्, र देहधारी परमेश्‍वरलाई नचिन्नेहरू सिद्ध हुन सक्दैनन्। तैँले गर्ने सबै कामहरूलाई हेर्, र त्यो परमेश्‍वरको सामु ल्याउन सकिन्छ कि सकिँदैन सो हेर्। यदि तैँले गरेका सबै कुराहरू परमेश्‍वरको अगि ल्याउन सकिँदैन भने त्यसले तँ दुष्कर्म गर्ने व्यक्ति होस् भन्‍ने देखाउँछ। के दुष्कर्मीहरूलाई सिद्ध बनाउन सकिन्छ? तैँले गर्ने सबै काम, प्रत्येक कार्य, प्रत्येक उद्देश्य र प्रत्येक प्रतिक्रिया परमेश्‍वरको सामु ल्याउनुपर्छ। यहाँसम्म कि तेरो दैनिक आत्मिक जीवन—तेरा प्रार्थनाहरू, परमेश्‍वरसँगको तेरो घनिष्ठता, परमेश्‍वरका वचनहरूको तेरो खुवाइ र पियाइ, तेरा भाइबहिनीहरूसित तेरो सङ्गति र मण्डलीभित्रको तेरो जीवन—र सहकार्यमा गरिएको तेरो सेवालाई परमेश्‍वरको छानबिनका निम्ति उहाँको सामने ल्याउन सकिन्छ। यो यस्तो अभ्यास हो जसले तँलाई जीवनमा वृद्धि हासिल गर्न मद्दत गर्दछ। परमेश्‍वरको जाँच स्वीकार्ने प्रक्रिया शुद्धीकरणको प्रक्रिया हो। तँ जति धेरै परमेश्‍वरको जाँचलाई स्वीकार गर्न सक्छस्, त्यति नै बढी तँ शुद्ध हुन्छस् र त्यति धेरै तँ परमेश्‍वरका अभिप्रायहरू अनुसारको हुन्छस्, तँ अनैतिक कार्यमा आकर्षित हुनेछैनस्, र तेरो हृदय उहाँको उपस्थितिमा रहनेछ। तैँले उहाँको जाँचलाई जति धेरै स्वीकार गर्छस्, शैतानको अपमान र देहको विरुद्धमा विद्रोह गर्ने तेरो क्षमता त्यति नै बढी हुन्छ। यसैले परमेश्‍वरको जाँचलाई स्वीकार गर्नु भनेको मानिसहरूले अनुसरण गर्नुपर्ने अभ्यास हो। चाहे तैँले जेसुकै गरे पनि, तैँले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसित सङ्गति गर्दा समेत आफ्ना कार्यहरू परमेश्‍वरको सामु ल्याउन र उहाँको जाँच खोज्न र स्वयम् परमेश्‍वरप्रति समर्पित हुन सक्छस्; यसले तैँले अभ्यास गर्ने कुरालाई अझै सटीक बनाउँछ। तैँले गर्ने सबै कुराहरू परमेश्‍वरको सामु ल्याइस् र परमेश्‍वरको जाँचलाई स्वीकार गरिस् भने मात्र तँ त्यो व्यक्ति हुन सक्छस्, जो परमेश्‍वरको उपस्थितिमा जिउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले उहाँका अभिप्रायअनुसार हुनेहरूलाई सिद्ध बनाउनुहुन्छ

३८७. कतिपय मानिसहरूले इमानदार व्यक्ति हुनका लागि मान्छेले सत्य बोल्नुपर्छ र हृदयबाट कुरा गर्नुपर्छ, र तिनीहरूले झूट बोले वा छल गरे भने खुलेर कुरा गर्दै आफूलाई उदाङ्गो पार्नुपर्छ र आफ्नो गल्ती मान्नुपर्छ भनेर भनिएको सुन्दा, तिनीहरू भन्छन्, “इमानदार व्यक्ति हुन कठिन छ। के आफूले सोच्ने सबै कुरा मैले अरूलाई भन्नु जरुरी छ? के सकारात्मक कुराहरूबारे सङ्गति गर्नु नै पर्याप्त छैन र? मैले अरूलाई मेरो अँध्यारो वा भ्रष्ट पक्षबारे बताउनु पर्दैन, पर्छ र?” यदि तैँले अरूसामु आफैलाई उदाङ्गो पार्दैनस् भने, र आफैलाई चिरफार गर्दैनस् भने, तैँले आफूलाई कहिल्यै चिन्नेछैनस्। तैँले आफू कस्तो चीज हुँ भनेर कहिल्यै पहिचान गर्नेछैनस्, अनि अरू मानिसहरूले तँलाई कहिल्यै भरोसा गर्न सक्नेछैनन्। यो तथ्य हो। यदि तँ अरूले तँलाई भरोसा गरून् भन्‍ने चाहन्छस् भने, सर्वप्रथम तँ इमानदार व्यक्ति हुनैपर्छ। इमानदार व्यक्ति बन्‍न, तैँले सुरुमा आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ ताकि हरेक व्यक्तिले त्यसभित्र हेर्न सकून्, तैँले के सोच्दैछस् भनी देख्न सकून्, अनि तेरो साँचो अनुहार हेर्न सकून्। तैँले भेष बदल्ने वा आफूलाई ढाकछोप गर्ने प्रयास गर्नै हुँदैन। त्यसपछि मात्र अरूले तँलाई भरोसा गर्नेछन् र तँलाई इमानदार व्यक्ति मान्‍नेछन्। यही नै इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास, अनि पूर्वसर्त हो। यदि तैँले सधैँ ढोँग गरिरहेको हुन्छस्, सधैँ पवित्रता, आदर्शता, महानता, उच्‍च चरित्रको ढोँग गरिरहेको हुन्छस् भने; यदि तैँले मानिसहरूलाई तेरा भ्रष्टता र तेरा त्रुटिहरू देख्न दिँदैनस् भने; यदि तैँले मानिसहरूलाई तँमा निष्ठा छ, र तँ महान्, आत्मत्यागी, न्यायसङ्गत र निस्वार्थ छस् भनी विश्‍वास दिलाउन तिनीहरूसामु झुटो छवि प्रस्तुत गर्छस् भने, के यो छलीपन र झुटोपन होइन र? के मानिसहरूले समयसँगै तँलाई छर्लङ्ग देख्नेछैनन् र? त्यसकारण, देखावटी भेष प्रयोग गर्ने वा आफूलाई ढाकछोप गर्ने नगर्। यसको साटो, अरूले देखून् भनेर आफूलाई र आफ्नो हृदय उदाङ्गो पार्। यदि तैँले अरू मानिसहरूले देखून् भनेर आफ्नो हृदय उदाङ्गो पार्न सक्छस् भने, यदि तँ आफ्ना सकारात्मक र नकारात्मक दुवै खालका सबै सोच र योजनाहरू उदाङ्गो पार्न सक्छस् भने, के यो इमानदारिता होइन र? यदि तैँले अरू मानिसहरूले देखून् भनेर आफूलाई उदाङ्गो पार्न सक्छस् भने, परमेश्‍वरले समेत तँलाई देख्‍नुहुनेछ। उहाँले भन्नुहुनेछ, “अरू मानिसहरूले देखून् भनेर यदि तैँले आफूलाई उदाङ्गो पारेको होस् भने, तँ अवश्य नै मेरो अगाडि पनि इमानदार छस्।” तर यदि तैँले आफू अरू मानिसहरूको नजरपछाडि र परमेश्‍वरको अगाडि मात्र आफूलाई उदाङ्गो पार्छस्, र उनीहरू साथमा भएको बेलामा तँ सधैँ महान्, आदर्श र निस्वार्थ भएको ढोँग गर्छस् भने, परमेश्‍वरले तेरोबारे के सोच्नुहुनेछ? उहाँले के भन्नुहुनेछ? उहाँले भन्नुहुनेछ, “तँ पूर्ण रूपमा छली व्यक्ति होस्; तँ पूरै पाखण्डी र दुष्ट होस्; अनि तँ इमानदार व्यक्ति होइनस्।” परमेश्‍वरले यसरी तँलाई निन्दा गर्नुहुनेछ। यदि तँ इमानदार व्यक्ति बन्न चाहन्छस् भने, परमेश्‍वरको अगाडि हुँदा होस् वा अरू मानिसहरूको अगाडि हुँदा होस्, तैँले आफ्नो भित्री स्थितिबारे र तेरो हृदयमा भएका शब्दहरूबारे विशुद्ध र खुलस्त वृत्तान्त दिन सक्‍नुपर्छ। के यो हासिल गर्न सजिलो छ? यसका लागि केही समयको अभ्यासका साथै बारम्बारको प्रार्थना अनि परमेश्‍वरमाथिको भर-पराइ आवश्यक पर्छ। तैँले सबै मामलाहरूमा सरल र खुलस्त रूपमा आफ्ना हृदयका कुरा बोल्‍न आफैलाई तालिम दिनैपर्छ। यस प्रकारको तालिमले तैँले प्रगति गर्न सक्छस्। यदि तैँले ठूलो कठिनाइ सामना गरिस् भने, परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ र सत्यता खोज्नैपर्छ; तैँले सत्यता अभ्यास गर्न नसकुञ्जेल, हृदयमा लडाइँ गरेर देहलाई जित्‍नुपर्छ। यसरी अलिअलि गर्दै आफूलाई तालिम दिँदा, तेरो हृदय बिस्तारै खुल्नेछ। तँ झन्झन् विशुद्ध हुँदै जानेछस्, र तेरा शब्द र व्यवहारका प्रभाव पहिलेका भन्दा फरक हुनेछन्। तेरा झूट र जालझेलहरू झन्झन् कम हुँदै जानेछन्, र तँ परमेश्‍वरको अघि जिउन सक्‍नेछस्। त्यसपछि, तँ सारगत रूपमै इमानदार व्यक्ति बनेको हुनेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास

३८८. तिमीहरूको गन्तव्य र तिमीहरूको भाग्य तिमीहरूका निम्ति धेरै महत्त्वपूर्ण छन्—ती तँसँग गम्भीर रूपमा सम्बन्धित कुरा हुन्। तिमीहरू के विश्‍वास गर्छौ भने, यदि तिमीहरूले ठूलो सावधानीका साथ कामकुराहरू गरेनौ भने, यसको अर्थ तिमीहरूसित उप्रान्त गन्तव्य हुनेछैन, तिमीहरूले आफ्नै भाग्यलाई नष्ट गरेका हुन्छौ भन्‍ने हुनेछ। तर आफ्नो गन्तव्यका खातिर मात्र मेहनत लगाउने मानिसहरूले व्यर्थमा परिश्रम गरिरहेका छन् भन्‍ने कुरा के तिमीहरूले कहिल्यै सोचेका छौ? त्यस्ता मेहनतहरू साँचो हुँदैनन्, ती झुटो आवरण र छल मात्र हुन्। यदि त्यसो हो भने, जसले केवल आफ्नो गन्तव्यका खातिर मेहनत लगाउँछन्, तिनीहरू आफ्नो अन्तिम पराजयको सँघारमा हुन्छन्, किनभने परमेश्‍वरप्रतिको विश्‍वासमा असफलताको कारण भनेको छल नै हो। मैले पहिले के भनेको छु भने, मलाई चापलुसी वा लोलोपोतो गरेको, वा उत्सुकतासाथ व्यवहार गरेको मन पर्दैन। मलाई इमानदार मानिसहरूले मेरो सत्यता र मेरा अपेक्षाहरूको सामना गरेको मन पर्छ। अझ त्योभन्दा बढी, जब मानिसहरूले मेरो हृदयका लागि सबैभन्दा बढी ख्याल देखाउन सक्छन्, अनि मेरा खातिर सबै कुरा समर्पित गर्न समेत सक्षम हुन्छन्, मलाई त्यो कुरा मन पर्छ। यसरी मात्रै मेरो हृदयले सान्त्वना पाउन सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। गन्तव्यको सम्‍बन्धमा

३८९. सत्यता पछ्याउनका लागि, व्यक्तिले सत्यता अभ्यास गर्ने कार्यमा ध्यान दिनुपर्छ, तर कहाँबाट सत्यताको अभ्यास गर्न सुरु गर्ने त? यसका कुनै नीतिहरू छैनन्। तैँले सत्यताको जुन पक्ष बुझेको छस् त्यही अभ्यास गर्नुपर्छ। यदि तैँले कर्तव्य निर्वाह गर्न सुरु गरेको छस् भने, आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यता अभ्यास गर्न थाल्‍नुपर्छ। आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, अभ्यास गर्नलाई सत्यताका विभिन्‍न पक्षहरू हुन्छन्, र तैँले सत्यताको जुन पक्ष बुझेको छस् त्यही अभ्यास गर्नुपर्छ। उदाहरणका लागि, तैँले एक इमानदार व्यक्ति बनेर इमानदारीपूर्वक बोल्दै र आफ्नो हृदय खोल्दै यस कार्यको सुरुवात गर्नुपर्छ। यदि त्यहाँ कुनै कुरा छ जसको बारेमा तँ आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई भन्‍न धेरै अप्ठ्यारो मान्छस् भने, तैँले घुँडा टेकेर प्रार्थनामार्फत त्यो कुरा परमेश्‍वरलाई भन्‍नुपर्छ। तैँले परमेश्‍वरलाई के भन्‍नुपर्छ त? तेरो हृदयमा जे छ त्यो परमेश्‍वरलाई भन्; खोक्रा गफहरू नगर् वा उहाँलाई धोका दिने कोसिस नगर्। इमानदार भएर सुरु गर्। यदि तँ कमजोर भएको छस् भने, म कमजोर भएको छु भन्; यदि तँ दुष्ट भएको छस् भने, म दुष्ट भएको छु भन्; यदि तँ छली भएको छस् भने, म छली भएको छु भन्; यदि तँमा दुर्भावपूर्ण र कपटी विचारहरू छन् भने, त्यसबारे परमेश्‍वरलाई भन्। यदि तँ सधैँ हैसियतका लागि प्रतिस्पर्धा गर्छस् भने, उहाँलाई यो कुरा पनि भन्। परमेश्‍वरबाट तँमाथि अनुशासन कारबाही हुन दे; उहाँलाई तेरो निम्ति वातावरणहरू खडा गर्न दे; परमेश्‍वरलाई तेरा सबै कठिनाइहरू पार गर्न र तेरा सबै समस्याहरू समाधान गर्न तँलाई सहयोग गर्न दे। तैँले परमेश्‍वरको लागि आफ्नो हृदय खोल्नुपर्छ; त्यसलाई बन्द नगर्। यदि तैँले उहाँलाई आउन दिइनस् भने पनि उहाँले तेरो छानबिन गर्न सक्‍नुहुन्छ। तैपनि, यदि तैँले उहाँको लागि आफ्नो हृदय खुला गरिस् भने, तैँले सत्यता प्राप्त गर्न सक्छस्। त्यसो भए तैँले कुन बाटो रोज्नुपर्छ त? तैँले आफ्नो हृदय खोल्नुपर्छ र परमेश्‍वरलाई आफ्‍नो हृदयको कुरा भन्‍नुपर्छ। तैँले कुनै पनि हालतमा झुटो बोल्नु र छद्म भेष धारण गर्नु हुँदैन। तैँले इमानदार व्यक्ति बनेर सुरुवात गर्नुपर्छ। हामीले वर्षौँदेखि इमानदार व्यक्ति बन्‍नेसम्‍बन्धी सत्यताहरूमा सङ्गति गर्दै आएका छौँ, तैपनि आज पनि यहाँ धेरै मानिसहरू छन् जो उदासीन छन्, जो आफ्ना अभिप्राय, चाहना र उद्देश्‍यहरूअनुसार मात्र बोल्छन् र काम गर्छन्, र जसलाई कहिल्यै पश्‍चात्ताप गर्न मन लाग्दैन। यो इमानदार मानिसहरूको मनोवृत्ति होइन। परमेश्‍वरले मानिसहरूलाई किन इमानदार हुने आग्रह गर्नुहुन्छ? के यो तिनीहरूको लागि मानिसहरूलाई जानेर त्यही अनुसार व्यवहार गर्न सजिलो होस् भनेर हो? अवश्य होइन। परमेश्‍वरले मानिसलाई इमानदार हुन लगाउनुहुन्छ किनभने उहाँले इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ र इमानदारहरूलाई नै आशिष्‌ दिनुहुन्छ। इमानदार व्यक्ति हुनु भनेको विवेक र समझ भएको व्यक्ति हुनु हो। यसको अर्थ भरोसायोग्य व्यक्ति, परमेश्‍वरले प्रेम गर्नुहुने व्यक्ति, र सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई प्रेम गर्न सक्‍ने व्यक्ति बन्‍नु हो। इमानदार व्यक्ति बन्‍नु सामान्य मानवता हुनु र साँचो मानव रूपमा जिउनुको सबैभन्दा आधारभूत प्रकटीकरण हो। यदि कुनै व्यक्ति कहिल्यै इमानदार भएको छैन, वा उसले कहिल्यै इमानदार हुने कुरा सोचेको छैन भने, उसले सत्यता बुझ्न सक्दैन, सत्यता प्राप्त गर्न सक्‍नु त परको कुरा हो। यदि तँ मलाई विश्‍वास गर्दैनस् भने, तँ आफै गएर हेर्, वा गएर आफै अनुभव गर्। इमानदार व्यक्ति बनेमा मात्र परमेश्‍वरको लागि तेरो हृदय खुल्न सक्छ, तैँले सत्यता स्वीकार गर्न सक्छस्, तेरो हृदयभित्र सत्यता तेरो जीवन बन्‍न सक्छ, र तैँले सत्यता बुझ्न र प्राप्त गर्न सक्छस्। यदि तेरो हृदय सधैं बन्द छ भने, यदि तँ कसैलाई आफ्‍नो कुरा खुलस्त भन्दैनस् वा हृदयमा भएको कुरा बताउँदैनस्, जसले गर्दा तँलाई कसैले पनि बुझ्दैन भने, तँ अत्यन्तै धूर्त र बुझ्नै नसकिने, र तँ सबैभन्दा छली मानिस होस्। यदि तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् तैपनि परमेश्‍वरको अघि आफ्‍नो मन साँचो रूपले खोल्‍न सक्दैनस् भने, यदि तैँले परमेश्‍वरलाई ढाँट्न वा परमेश्‍वरलाई छल गर्न बढाइचढाइ कुरा गर्न सक्छस् भने, र यदि तैँले परमेश्‍वरको अघि आफ्‍नो हृदय खोल्‍न सक्दैनस्, तर अझै घुमाउरो कुरा गरेर आफ्‍ना अभिप्रायहरूलाई लुकाउन सक्छस् भने, तैँले आफैलाई हानि मात्रै गर्नेछस्, र परमेश्‍वरले तँलाई बेवास्ता गर्नुहुनेछ र तँमा काम गर्नुहुनेछैन। तैँले कुनै पनि सत्यता बुझ्‍नेछैनस्, र तैँले कुनै सत्यता प्राप्त गर्नेछैनस्। अब के तिमीहरूले सत्यता पछ्याउनु र प्राप्त गर्नुको महत्त्व बुझ्‍न सक्यौ? सत्यता पछ्याउनका लागि तिमीहरूले गर्नुपर्ने पहिलो कुरा के हो? तिमीहरू इमानदार व्यक्ति बन्‍नुपर्छ। यदि मानिसहरू इमानदार हुन खोज्छन् भने मात्र तिनीहरूले आफू कति गहन रूपमा भ्रष्ट छु र आफूमा वास्तवमै कुनै मानव स्वरूप छ कि छैन भनेर जान्‍न सक्छन्, र तिनीहरूले स्पष्टसित आफैलाई तौलन वा आफ्ना कमीकमजोरीहरू देख्‍न सक्छन्। जब तिनीहरूले इमानदारीसाथ अभ्यास गरिरहेका हुन्छन् तब मात्र तिनीहरूले कति धेरै झूटो बोल्छन् र तिनीहरूको छलकपट र बेइमानी कतिसम्म गम्भीर रूपमा लुकेका छन् सो थाहा पाउनेछन्। इमानदार बन्ने अभ्यासको अनुभव प्राप्त गरेपछि मात्र मानिसहरूले बिस्तारै उनीहरूको आफ्नै भ्रष्टताको सत्यता जान्‍न सक्छन् र आफ्नै प्रकृति सार चिन्न सक्छन्, अनि मात्र तिनीहरूका भ्रष्ट स्वभावहरूलाई निरन्तर शुद्ध पार्न सकिनेछ। तिनीहरूको भ्रष्ट स्वभाव निरन्तर रूपमा शुद्ध भइरहेको बेला मात्र मानिसहरूले सत्यता प्राप्त गर्न सक्नेछन्। तिमीहरूको समय निकालेर यी वचनहरू अनुभव गर। परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्नुहुन्‍न जो छली छन्। यदि तेरो हृदय इमानदार छैन भने—यदि तँ इमानदार व्यक्ति बन्‍ने प्रयास गर्दैनस् भने—तँलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछैन। त्यसरी नै, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, र तँ परमेश्‍वरलाई प्राप्त गर्न पनि असमर्थ हुनेछस्। तैँले परमेश्‍वरलाई प्राप्त गर्दैनस् भन्‍नुको अर्थ के हो? यदि तैँले परमेश्‍वरलाई प्राप्त गर्दैनस् र तैँले सत्यतालाई बुझेको छैनस् भने, तैँले परमेश्‍वरलाई चिन्‍नेछैनस्, त्यसकारण तँ कुनै पनि हालतमा परमेश्‍वर अनुरूप हुनेछैनस्, जसले गर्दा तँ परमेश्‍वरको शत्रु हुन्छस्। यदि तँ परमेश्‍वर अनुरूप छैनस् भने, परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्‍न; र यदि परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्‍न भने, तैँले मुक्ति पाउनेछैनस्। यदि तैँले मुक्ति प्राप्त गर्ने खोजी गर्दैनस् भने, तँ किन परमेश्‍वरमा विश्‍वास गर्छस्? यदि तैँले मुक्ति प्राप्त गर्न सक्दैनस् भने तँ सधैँका निम्ति परमेश्‍वरको घोर शत्रु बन्नेछस्, र तेरो परिणाम निश्चित भएको हुनेछ। यसैले, यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरू इमानदार बनेर यो काम सुरु गर्नुपर्छ। अन्त्यमा, परमेश्‍वरद्वारा प्राप्त गरिनेहरूमा एउटा चिन्‍ह लगाइनेछ। यो के हो भन्‍ने के तिमीहरूलाई थाहा छ? यसको बारेमा बाइबलमा प्रकाशको पुस्तकमा लेखिएको छ: “तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू निष्खोट छन्” (प्रकाश १४:५)। यहाँ “तिनीहरू” भनेका को हुन्? तिनीहरू परमेश्‍वरद्वारा मुक्ति दिइने, सिद्ध पारिने र प्राप्त गरिने व्यक्तिहरू हुन्। परमेश्‍वरले यी मानिसहरूको वर्णन कसरी गर्नुहुन्छ? तिनीहरूका आत्म-आचरणका विशेषता र अभिव्यक्तिहरू के-के हुन्? तिनीहरू निष्खोट छन्। तिनीहरू कुनै झूटो कुरा बोल्दैनन्। झूटो कुरा नबोल्नुको अर्थ के हो सो सम्भवतः तिमीहरू सबैले जान्‍न र बुझ्न सक्छौ होला: यसको अर्थ इमानदार हुनु हो। “निष्खोट” ले केलाई जनाउँछ? यसले कुनै दुष्कर्म नगर्ने कार्यलाई जनाउँछ। अनि, कुनै दुष्कर्म नगर्ने कार्य कुन जगमा आधारित हुन्छ? यो कार्य अवश्य नै परमेश्‍वरको डर मान्‍ने जगमा आधारित हुन्छ। त्यसकारण, कुनै खोट नहुनु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्‍नु हो। कुनै खोट नभएको मानिसलाई परमेश्‍वरले कसरी परिभाषित गर्नुहुन्छ? परमेश्‍वरको नजरमा, परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति मात्र सिद्ध व्यक्ति हो; तसर्थ, कुनै खोट नभएका मानिसहरू भनेका परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्तिहरू हुन्, र सिद्ध व्यक्तिहरू मात्र निष्खोट हुन्छन्। यो पूर्ण रूपमा सही कुरा हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू

३९०. तैँले तँमा साँचो विश्‍वास र साँचो बफादारीता छ कि छैन, तँमा परमेश्‍वरको लागि कष्ट भोगेको अभिलेख छ कि छैन र तँ सम्पूर्ण रूपले परमेश्‍वरप्रति समर्पण भएको छस् कि छैनस् भनेर थाहा पाउनुपर्छ। यदि तँसँग यी कुराहरूको कमी छ भने तँभित्र विद्रोहीपन, छल, लोभ र गुनासो छन्। तेरो हृदय इमानदारीदेखि दूर भएकोले तैँले परमेश्‍वरबाट कहिल्यै पनि मान्यता प्राप्त गरेको छैनस् र प्रकाशमा कहिल्यै पनि बसेको छैनस्। आखिरमा व्यक्तिको नियति कसरी तय हुन्छ भन्‍ने कुरा उनीहरूसँग इमानदार र रगत झैं रातो हृदय छ कि छैन र उनीहरूसँग विशुद्ध आत्मा छ कि छैन भन्‍ने कुरामा निर्भर रहन्छ। यदि तँ त्यस्तो व्यक्ति होस् जो एकदमै बेइमान छ, त्यस्तो व्यक्ति जोसँग कपटी हृदय छ, त्यस्तो व्यक्ति जोसँग अशुद्ध प्राण छ भने तँ त्यो ठाउँमा पुग्ने कुरा निश्चित छ जहाँ तेरो नियतिको विवरणमा लेखिए अनुरूप तँलाई दण्ड दिइन्छ। यदि तँ आफू एकदमै इमानदार छु भनेर दाबी गर्छस् तर कहिल्यै पनि सत्य अनुरूप व्यवहार गर्न सक्दैनस् वा सत्यको वचन बोल्न सक्दैनस् भने के तैँले अझै परमेश्‍वरबाट इनाम पाउन प्रतीक्षा गरिरहेको छस्? के तँ अझै परमेश्‍वरले तँलाई उहाँको आँखाको नानीझैं राख्नुहुन्छ भन्‍ने आशा गर्छस्? के यस्ता सोचहरू निरर्थक छैनन् र? तैँले सबै कुराहरूमा परमेश्‍वरलाई धोका दिन्छस्; अनि अपवित्र हातहरू भएका तँ जस्तालाई परमेश्‍वरको घरले कसरी अटाउन सक्थ्यो?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

अघिल्लो: घ. न्याय, सजाय, परीक्षाहरू र शोधन भएर कसरी जाने सो सम्‍बन्धमा

अर्को: च. परमेश्‍वरप्रतिको आज्ञा पालनको अभ्यास कसरी गर्ने त्यसको सम्बन्धमा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्