कर्तव्य निर्वाह गर्नेसम्बन्धी वचनहरू

अंश ३०

कर्तव्य भनेको के हो? परमेश्‍वरले मान्छेलाई दिनुभएको आज्ञा नै मान्छेले निर्वाह गर्नुपर्ने कर्तव्य हो। उहाँले तँलाई जे जिम्मा दिनुहुन्छ, त्यसलाई निर्वाह गर्नु नै तेरो कर्तव्य हो। तेरो कर्तव्य निर्वाह गर्नलाई तैँले आफ्नै धरातलमा उभिनुपर्छ र आफ्नो पहुँचबाहिरको कुरा पाउने कोसिस गर्नु हुँदैन। सधैँ आफ्नोभन्दा अरूको जीवन राम्रो छ भनेर नसोच् र आफूले गर्न नसुहाउने कुराहरू गर्ने जिद्दी नगर्। कतिपय मानिसहरू पाहुना राख्‍ने काममा सुहाउने हुन्छन्, तर तिनीहरू अगुवा नै बन्न मरिहत्ते गर्छन्; अरू कतिपयलाई कलाकार हुन सुहाउँछ, तर तिनीहरू निर्देशक हुन चाहन्छन्। सधैँ उपल्लो पदमा पुग्ने कोसिस गर्नु राम्रो होइन। व्यक्तिले आफ्नै भूमिका र पद खोज्नु र तोक्नुपर्छ—समझ भएको व्यक्तिले यसै गर्छ। त्यसपछि उसले परमेश्‍वरको प्रेमको ऋण तिर्न र उहाँलाई सन्तुष्ट पार्न अडिग र स्थिर मनोवृतिसहित आफ्नो कर्तव्य राम्ररी निभाउनुपर्छ। यदि कर्तव्य निभाउने क्रममा व्यक्तिमा यस्तो मनोवृति छ भने, उसको हृदय स्थिर र शान्त हुनेछ, उसले आफ्नो कर्तव्यमा सत्यता स्विकार्न सक्नेछ, र उसले बिस्तारै परमेश्‍वरका मापदण्डहरूबमोजिम आफ्नो कर्तव्य निर्वाह गर्न थाल्नेछ। ऊ आफ्ना भ्रष्ट स्वभावहरू त्याग्न, परमेश्‍वरका सबै बन्दोबस्तप्रति समर्पित हुन, र पर्याप्त मात्रामा आफ्नो कर्तव्य निभाउन सक्षम हुनेछ। यही नै परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने तरिका हो। यदि तैँले परमेश्‍वरको निम्ति साँच्चिकै आफैलाई अर्पित गर्न र उहाँलाई प्रेम गर्ने र सन्तुष्ट तुल्याउने सही मानसिकताले आफ्नो कर्तव्य निभाउन सक्छस् भने, तँलाई पवित्र आत्माको कामले अगुवाइ र मार्गदर्शन गर्नेछ, तँ आफ्नो कर्तव्य निभाउने क्रममा सत्यता अभ्यास गर्न र सिद्धान्तहरूबमोजिम कार्य गर्न इच्छुक हुनेछस्, अनि तँ परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति बन्नेछस्। यस तरिकाले तैँले पूर्ण रूपले साँचो मानव स्वरूप जिउनेछस्। मानिसहरूको जीवन तिनीहरूले आफ्नो कर्तव्य निभाउने क्रममा बिस्तारै वृद्धि हुँदै जान्छ। ज-जसले कर्तव्य निभाउँदैनन्, तिनीहरूले जति नै वर्ष विश्‍वास गरे पनि, सत्यता र जीवन प्राप्त गर्न सक्दैनन्, किनकि तिनीहरूमा परमेश्‍वरको आशिष्‌ हुदैन। परमेश्‍वरले त तिनीहरूलाई मात्र आशिष्‌ प्रदान गर्नुहुन्छ जो उहाँको लागि साँच्चिकै आफैलाई अर्पित गर्छन् र जो आफ्नो क्षमताले भ्याएसम्म राम्ररी कर्तव्य निभाउँछन्। तैँले जे-जस्तो कर्तव्य निर्वाह गर्छस् र तैँले जे गर्न सक्छस्, त्यसलाई तेरो जिम्मेवारी र कर्तव्य ठान्, त्यसलाई स्वीकार गर् र त्यो काम राम्ररी गर्। तैँले कसरी त्यसलाई राम्ररी गर्छस्? ठ्याक्कै परमेश्‍वरका मापदण्डहरूअनुसार गरेर—तेरो सारा हृदय, सारा दिमाग, र सारा शक्ति लगाएर। तैँले यी वचनहरू मनन गर्नुपर्छ र आफूले कसरी सारा हृदयले आफ्नो कर्तव्य निभाउन सक्छु भनी विचार गर्नुपर्छ। उदाहरणको लागि, यदि तैँले कुनै व्यक्तिलाई सिद्धान्तहरूबिना, लापर्बाहीपूर्वक र आफ्नै इच्छाअनुसार आफ्नो कर्तव्य निर्वाह गरिरहेको देख्छस्, र तैँले “मलाई मतलब छैन, त्यो मेरो जिम्मेवारी होइन” भनी मनमनै सोच्छस् भने, के यो सारा हृदयले आफ्नो कर्तव्य निभाउनु हो त? होइन, यो गैरजिम्मेवार हुनु हो। यदि तँ जिम्मेवार व्यक्ति होस् भने, तँलाई यस्तो परिस्थिति आइपर्दा, तैँले यसो भन्नेछस्, “यसरी हुँदैन। यो मेरो रेखदेखको दायरामा नपर्ला, तर म यो समस्या अगुवालाई रिपोर्ट गरेर सिद्धान्तहरूबमोजिम सम्हाल्न लगाउन सक्छु।” त्यसो गरेपछि, त्यो उचित थिएछ भनी सबैले देख्नेछन्, अनि तेरो हृदय शान्त हुनेछ, र तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछस्। त्यसपछि तैँले सारा हृदयले आफ्नो कर्तव्य निभाएको हुनेछस्। तैँले जे कर्तव्य निभाइरहेको भए पनि, यदि तँ सधैँ बेवास्ता गर्छस्, र यसो भन्छस् भने, “यदि मैले यो कर्तव्य सरल तरिकाले र हतारमा गरेँ भने, मैले त्यसलाई कामचलाउ तरिकाले गर्न सक्छु। आखिर, कसैले जाँच गर्ने पनि होइन। मैले आफूसँग भएको सीमित क्षमता र पेशागत सीपद्वारा आफूले सक्दो राम्रो गरेको छु। त्यो जसोतसो पूरा गर्दा भइहाल्छ। यसबाहेक, त्यसबारे कसैले मसँग सोध्ने वा गम्भीर छलफल पनि गर्नेछैन—त्यो त्यति महत्त्वपूर्ण छैन।” के यस्तो आशय र यस्तो मानसिकता हुनु सारा हृदयले आफ्नो कर्तव्य निभाउनु हो र? होइन, यो लापर्बाह र झाराटारुवा हुनु हो, र यो तेरो शैतानी, भ्रष्ट स्वभावको प्रकटीकरण हो। के तैँले तेरो शैतानी स्वभावमा भरोसा गरेर सारा हृदयले आफ्नो कर्तव्य निभाउन सक्छस्? सक्दैनस्, त्यो सम्भव हुनेछैन। त्यसो भए, आफ्नो सारा हृदयले कर्तव्य निभाउनुको मतलब के हो? तैँले यसो भन्नेछस्: “माथिबाट यो कार्यबारे सोधपुछ गर्नुभएको छैन, र परमेश्‍वरको घरका सबै कामहरूमध्येमा यो धेरै महत्त्वपूर्ण देखिँदैन, तैपनि म यो काम राम्ररी गर्नेछु—यो मेरो कर्तव्य हो। कुनै काम महत्त्वपूर्ण हुनु वा नहुनु एउटा कुरा हो; मैले त्यो काम राम्रोसित गर्न सक्नु वा नसक्नु अर्कै कुरा हो।” यहाँ, महत्त्वपूर्ण कुरा के हो? तैँले आफ्नो कर्तव्य राम्ररी र तेरो सारा हृदयले निभाउन सक्नु वा नसक्नु, र तैँले सिद्धान्तहरू पालना गर्न र सत्यताबमोजिम अभ्यास गर्न सक्नु वा नसक्नु। महत्त्वपूर्ण कुरा यही हो। यदि तँ सत्यता अभ्यास गर्न र सिद्धान्तहरूबमोजिम कामकुरा गर्न सक्छस् भने, तँ साँच्चिकै तेरो सारा हृदयले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। यदि तैँले एक प्रकारको कर्तव्य राम्ररी निर्वाह गरेको छस्, तर तँ अझै सन्तुष्ट छैनस् र त्योभन्दा झन् बढी महत्त्वपूर्ण खालको कर्तव्य निर्वाह गर्ने चाहना गर्छस्, अनि तँ त्यसलाई राम्ररी निर्वाह गर्न सक्षम छस् भने, यो झन् ठूलो मात्रामा तेरो सारा हृदयले कर्तव्य निर्वाह गर्नु हो। अनि, यदि तँ तेरो सारा हृदयले आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम छस् भने, यसले के जनाउँछ? एकातिर, यसले तँ परमेश्‍वरका वचनहरूका सिद्धान्तहरूबमोजिम आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस् भन्ने अर्थ दिन्छ। अर्कोतिर, यसको अर्थ तैँले परमेश्‍वरको सूक्ष्म जाँच स्वीकार गरेको छस् र तेरो हृदयमा परमेश्‍वर हुनुहुन्छ भन्‍ने हुन्छ; त्यसको मतलब तँ देखाउनको लागि मात्र, वा आफूलाई जसरी मन लाग्छ त्यसरी मात्र, वा आफ्नो अभिरुचिअनुसार मात्र आफ्नो कर्तव्य निर्वाह गरिरहेको छैनस्—बरु तैँले त्यसलाई परमेश्‍वरले तँलाई दिनुभएको आज्ञाको रूपमा लिइरहेको छस् र तैँले त्यसलाई त्यस्तो जिम्मेवारीसाथ र हृदय लगाएर, अनि तेरो आफ्नै इच्छाअनुसार नभएर पूर्ण रूपमा परमेश्‍वरका मापदण्डहरूअनुसार निर्वाह गरिरहेको छस्। तैँले तेरो सारा हृदय आफ्नो कर्तव्यमा लगाउँदै छस्—यो नै तेरो सारा हृदयले आफ्नो कर्तव्य निभाउनु हो। कतिपय मानिसहरू कर्तव्य निभाउने सत्यताहरू बुझ्दैनन्। जब तिनीहरूलाई कुनै कठिनाइ आइपर्छ, तिनीहरू गुनासो गर्छन्, र सधैँ आफ्ना व्यक्तिगत स्वार्थ, लाभ र क्षतिहरूबारे हल्लीखल्ली गर्छन्। तिनीहरू यस्तो सोच्छन्, “यदि मलाई अगुवाले दिएको कामलाई मैले राम्ररी निर्वाह गरेँ भने, त्यसबाट तिनीहरूलाई सम्मान र गौरव प्राप्त हुनेछ, तर मलाई कसले सम्झनेछ? त्यो काम मैले गरेको भन्ने कुरा कसैले थाहा पाउनेछैन, र त्यसको सबै श्रेय अगुवाले पाउनेछ। के मैले यस तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्नु अरूको सेवा गर्नु होइन र?” यो कस्तो प्रकारको स्वभाव हो? यो विद्रोहीपन हो—तिनीहरू निरर्थक खालका मानिसहरू हुन्। तिनीहरू परमेश्‍वरको आज्ञालाई सही तरिकाले बुझ्दैनन्। तिनीहरू सधैँ अख्तियारवाला पदमा रहन, श्रेय लिन र इनाम प्राप्त गर्न, अनि आफूलाई राम्रो देखाउन चाहन्छन्। तिनीहरू किन सधैँ प्रतिष्ठा र लाभमा केन्द्रित हुन्छन्? यसले देखाउँछ कि तिनीहरूमा प्रतिष्ठा र लाभको अत्यन्तै बलियो चाहना छ, र तिनीहरू बुझ्दैनन् कि कुनै कर्तव्य निर्वाह गर्नु भनेको त परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनलाई हो, वा परमेश्‍वरले हरेक व्यक्तिको हृदयको गहिराइ जाँच्नुहुन्छ। ती मानिसहरूमा परमेश्‍वरमाथिको साँचो आस्था हुँदैन, त्यसैले तिनीहरू तिनीहरूको आफ्नै आँखाले देख्न सक्ने तथ्यहरूको आधारमा फैसलाहरू पारित गर्छन्, जसले गर्दा तिनीहरू गलत विचार निर्माण गर्न पुग्छन्। परिणामस्वरूप, तिनीहरू आफ्नो काममा नकारात्मक र निष्क्रिय बन्छन् र आफ्नो सारा हृदय र सारा शक्तिले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्। तिनीहरूमा साँचो आस्था नभएकोले र परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइ जाँच्नुहुन्छ भनी तिनीहरूलाई थाहा नभएकोले, तिनीहरू अरूले देखून् भनेर आफ्नो कर्तव्य निभाउन, तिनीहरूले सहने कष्ट र कठिनाइबारे अरूलाई थाहा दिन, र अगुवा र सेवकहरूबाट प्रशंसा र अनुमोदन पाउन केन्द्रित हुन्छन्। तिनीहरू सोच्छन् कि तिनीहरूले यस तरिकाले कर्तव्य निर्वाह गरे मात्र त्यो सार्थक हुन्छ र तिनीहरूले त्यो काम गरेको सबैले देखेमा मात्र त्यो गौरवपूर्ण हुन्छ। के यो नीचता होइन र? तिनीहरू परमेश्‍वरमा विश्‍वास त गर्छन्, तर तिनीहरूमा आस्था नभएको मात्र नभई तिनीहरूले कुनै मात्रामा पनि सत्यता स्विकारेका वा बुझेका हुँदैनन्। यस्ता मानिसहरूले कसरी राम्ररी कर्तव्य निर्वाह गर्न सक्छन् र? के तिनीहरूको स्वभावमा समस्या छैन र? यदि तैँले तिनीहरूसित सत्यता सङ्गति गर्न खोजे पनि तिनीहरूले त्यो स्विकार्दैनन् भने, तिनीहरूमा दुष्ट स्वभाव छ। तिनीहरूले आफ्नो सही कर्तव्य पूरा गर्न सक्दैनन् र तिनीहरू आफ्नो कर्तव्यमा अडिदैनन्। ढिलोचाँडो तिनीहरूलाई हटाइनुपर्छ। कर्तव्य निर्वाह गर्नेहरू सामान्य मानवता भएका मानिसहरू हुनुपर्छ। तिनीहरूसँग उचित तर्क हुनुपर्छ र तिनीहरूले परमेश्‍वरका सबै बन्दोबस्त र योजनाबद्ध कार्यहरूप्रति समर्पित हुन सक्‍नुपर्छ। परमेश्‍वरले फरकफरक मानिसहरूलाई फरकफरक क्षमता र वरदान प्रदान गर्नुहुन्छ, र फरकफरक मानिसहरूले फरकफरक कर्तव्य निर्वाह गर्दा उत्तम हुन्छ। तँ रोजीछानी गर्ने हुनु हुँदैन र तैँले आफ्नो रूचिको आधारमा कुनै कर्तव्य रोज्नु हुँदैन, तेरो आफ्नो इच्छासँग मिल्दो, सहज र सजिलो कर्तव्य मात्र छान्‍नु हुँदैन। यो गलत हो। यो तेरो सारा हृदयले कर्तव्य गर्नु होइन, यो त कर्तव्य निर्वाह गर्नु नै होइन। कुनै कर्तव्य निर्वाह गर्नको लागि सर्वप्रथम तैँले आफ्नो सारा हृदय त्यसैमा लगाउनुपर्छ। त्यसपछि, तैँले जे गरिरहेको भए पनि, चाहे त्यो कार्य ठूलो होस् वा सानो, फोहोरी होस् वा थकानयुक्त, मानिसहरूको अगाडि गरिने होस् वा तिनीहरूले नदेख्नेगरी गरिने, वा चाहे त्यो महत्त्वपूर्ण होस् वा महत्त्वहीन, तैँले ती सबैलाई आफ्नो कर्तव्य ठान्नुपर्छ र आफ्नो सारा हृदय, सारा दिमाग र सारा शक्तिले कामकुराहरू गर्ने सिद्धान्त पालना गर्नुपर्छ। आफ्नो कर्तव्य निर्वाह गरेपछि, यदि तँलाई तैँले गरेका केही कामबारे तेरो विवेक पूर्ण सफा छैन, र तैँले आफ्नो सारा हृदय त्यसमा लगाएको भए पनि तेरा केही काम राम्ररी पूरा भएका छैनन् र तेरो प्रयासका नतिजाहरू खासै राम्रा छैनन् भन्ने अनुभूति हुन्छ भने, तैँले के गर्नुपर्छ? कतिपय मानिसहरू यस्तो सोच्छन्, “हुन त, मैले आफ्नो सारा हृदय मेरो कर्तव्यमा लगाएको छु, तर नतिजाहरू खासै राम्रा भएनन्। त्यो मेरो समस्या होइन। अब त्यो परमेश्‍वरकै हातमा छ।” यो कस्तो विचार हो? के यो सही विचार हो? तिनीहरूले परमेश्‍वरको निम्ति साँच्चिकै आफूलाई अर्पित गरिरहेका छैनन् किनकि तिनीहरू सत्यता खोजेर समस्याहरू समाधान गर्न अनिच्छुक छन्; तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न अनिच्छुक छन् र तिनीहरू अझै पनि आफ्नो कर्तव्यमाथि लापर्बाह र झाराटारुवा दृष्टिकोण राख्छन्। यस्ता मानिसहरूमा हृदय नभएझैँ देखिन्छ। जब हामी तेरो सारा हृदयले तेरो कर्तव्य गर्नेबारे कुरा गर्छौँ, त्यसको मतलब तेरो पूरै हृदय प्रयोग गर्नु हो—तैँले आधा मनले आफ्नो कर्तव्य गर्न मिल्दैन, तैँले आफूलाई समर्पित गर्नुपर्छ, ध्यानपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, आफ्नो बफादारी देखाउनुपर्छ, कामकुराहरू राम्ररी गरिनेछ भन्‍ने सुनिश्‍चित गर्न जिम्मेवार मनोवृति अँगाल्नुपर्छ, र आफूले हासिल गर्नुपर्ने नतिजाहरू हासिल गर्नुपर्छ। त्यसपछि मात्र यसलाई आफ्नो सारा हृदयले कर्तव्य निर्वाह गरेको भन्न सकिन्छ। यदि तैँले तेरो कर्तव्यका नतिजाहरू खासै राम्रा नभएको देखिस् र मनमनै यस्तो सोचिस् भने, “मैले आफूले सक्दो राम्रो गरेको छु। मैले निन्द्रा त्यागेको छु, खाना छोडेको छु, र राती अबेरसम्म बसेको छु, कहिलेकाहीँ अरूहरू आराम गर्न र डुल्न निस्केको बेला पनि म गइनँ। मैले कठिनाइहरू सहेको छु र देहसुखको लोभ गरेको छुइनँ। त्यसको मतलब मैले आफ्नो सारा हृदयले आफ्नो कर्तव्य निर्वाह गरेको छु।” के यो विचार सही हो? तैँले समय लगाएको र परिश्रम गरेको छस्। बाहिरी रूपमा, तैँले यी सबै कार्यहरू गरेजस्तो देखिन्छ, तर तैँले प्राप्त गरेका नतिजाहरू राम्रा छैनन्, र तँ यसको जिम्मेवारी स्विकार्दैनस् र यसप्रति मतलब राख्दैनस्। के यो तेरो सारा हृदयले तेरो कर्तव्य गर्नु हो त? (होइन।) यो तेरो सारा हृदयले तेरो कर्तव्य गर्नु होइन। जब कुनै व्यक्तिले कुनै काम आफ्नो सारा हृदयले गरिरहेको छ कि छैन भनी परमेश्‍वरले निर्धारण गर्नुहुन्छ, उहाँले के कुरा हेर्नुहुन्छ? एकातिर, उहाँले तँ त्यो कुरालाई विवेकी र जिम्मेवार मनोवृतिले लिन्छस् कि लिँदैनस् भनी हेर्नुहुन्छ। अर्कोतिर, तैँले त्यो काम गर्दा तँ के सोचिरहेको हुन्छस्, तैँले आफूले निर्वाह गर्नुपर्ने कर्तव्य ध्यानपूर्वक निर्वाह गरिरहेको छस् कि छैनस्, र तैँले निरन्तर रूपमा सत्यता सिद्धान्तहरूबमोजिम त्यो गरिरहेको छस् कि छैनस्, अनि तँलाई कठिनाइ आइपर्दा आफूले राम्ररी कर्तव्य निर्वाह गर्न सकूँ भनेर मन लगाएर सत्यता खोजिरहेको हुन्छस् कि हुँदैनस् भनी हेर्नुहुन्छ। मान्छेले कामकुराहरू गर्दा परमेश्‍वरले हेर्नुहुन्छ र जाँच गर्नुहुन्छ। उहाँ तिनीहरूको हृदयमा सधैँ हेरिरहनुहुन्छ। मानिसहरूलाई थाहा नभए पनि, तिनीहरूले कहिलेकाहीँ उहाँले जाँच्‍नुभएको चाल पाउँछन्। कतिपय मानिसहरू आफ्नो कर्तव्यमा सधैँ लापर्बाह र झाराटारुवा हुन्छन्, र अन्ततः परमेश्‍वरले वातावरणको बन्दोबस्त गरेर तिनीहरूको खुलासा गर्नुहुन्छ। त्यस बिन्दुमा, तिनीहरूले उहाँद्वारा परित्याग गरिएको महसुस गर्छन्, अनि सबैले बुझ्छन् कि तिनीहरू विश्‍वासीजस्ता देखिँदैनन्—तिनीहरू अविश्‍वासी, दियाबलस, र शैतानजस्ता देखिन्छन्। यस्ता मानिसहरू तिनीहरूको कर्तव्य गराइको क्रममा हटाइन्छन्। कतिपय मानिसहरू आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा आफूबारे बारम्बार चिन्तन गर्छन्। कहिलेकाहीँ तिनीहरूले प्राप्त गर्ने नतिजाहरू राम्रा हुँदैनन्, वा कुनै समस्या उत्पन्न हुन्छ, र तिनीहरूले त्यो कुरा आफ्नो हृदयमा महसुस गर्न सक्छन्, अनि तिनीहरू यस्तो सोच्छन्, “के म फेरि पनि लापर्बाह र झाराटारुवा बनिरहेको छु?” तिनीहरूले धिक्‍कारिएको अनुभूति गर्छन्। यस्तो कसरी हुन्छ? त्यो परमेश्‍वरले गराउनुभएको हो, त्यो पवित्र आत्माको अन्तर्दृष्टि हो। त्यसोभए, परमेश्‍वरले किन तँलाई अन्तर्दृष्टि दिइरहनुभएको छ? उहाँले केको आधारमा तँलाई अन्तर्दृष्टि दिइरहनुभएको छ? उहाँले कुन प्रसङ्गमा तँलाई धिक्‍कारिरहनुभएको छ? यसमा तँसित सही मानसिकता हुनुपर्छ र तैँले यसो भन्नुपर्छ, “मैले मेरो सारा हृदयले आफ्नो कर्तव्य निभाउनुपर्छ, त्यसको मतलब सत्यताबमोजिम त्यो निर्वाह गर्नु हो। के मैले साँच्चिकै आफ्नो सारा हृदयले आफ्नो कर्तव्य गरेको छु त?” यदि तँ यसरी यसबारे विचार गरिरहन्छस् भने, परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ र तँलाई यस्तो महसुस गराउनुहुनेछ, “मैले त्यो कार्य मेरो सारा हृदयले गरिनँ। मलाई त राम्रै गरिरहेछु जस्तो लाग्थ्यो, मैले १०० मा ९९ अङ्क ल्याउनुपर्थ्यो। तर अहिले देख्दै छु, यथार्थ त्यस्तो रहेनछ—वास्तवमा म जसोतसो पास गर्न सक्‍ने मात्र रहेछु।” त्यसपछि मात्र तैँले परमेश्‍वर सन्तुष्ट हुनुहुन्‍न भनेर थाहा पाउनेछस्। यो परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुभएको र तैँले वास्तवमा कति राम्ररी आफ्नो कर्तव्य निर्वाह गर्छस् र उहाँका मापदण्डहरूबाट तँ अझै कति टाढा छस् भनी तँलाई बुझाउनुभएको हो। यदि कोही आफ्नो कर्तव्य गराइमा न्युनतम मापदण्डभन्दा निकै तल भए पनि, के परमेश्‍वरले उसलाई अन्तर्दृष्टि दिनुहुनेछ? सायद दिनुहुनेछैन। परमेश्‍वरले कसलाई अन्तर्दृष्टि दिनुहुन्छ? पहिलो, सत्यतालाई प्रेम गर्नेहरूलाई; दोस्रो, आज्ञाकारी मनोवृति भएकाहरूलाई; तेस्रो, सत्यताको तृष्णा गर्नेहरूलाई; र चौथो, हरेक हिसाबमा आफूमाथि जाँच र चिन्तन गर्नेहरूलाई। परमेश्‍वरको अन्तर्दृष्टि प्राप्त गर्न सक्ने मानिसहरू यिनै हुन्। यस तरिकाले अभ्यास र अनुभव गरेपछि, तेरो सारा हृदयले आफ्नो कर्तव्य गर्ने तेरो व्यक्तिगत अनुभव—अर्थात् सत्यता अभ्यासको यो पक्ष र वास्तविकताको यो पक्ष—झन्झन् बढेर अझ ठूलोठूलो हुँदै जानेछ। बिस्तारै, कस्ता मानिसहरूले आफ्नो सारा हृदयले कर्तव्य निर्वाह गर्छन् र कस्ता मानिसहरू गर्दैनन् भन्नेबारे र कर्तव्य निभाउनेप्रति विविध व्यक्तिहरूको मनोवृति र व्यवहारहरूबारे तँ प्रस्ट हुनेछस्। जब तैँले आफूलाई चिन्छस्, तँ अरूलाई चिन्न सक्षम हुनेछस्, र तँ आफ्नो कर्तव्यमा झन्झन् ध्यानमग्‍न बन्दै जानेछस्। तैँले लापर्बाहीपन वा झाराटारुवा हुने अवस्थालाई थोरै पनि बेवास्ता गर्नेछैनस्, र त्यो समस्या समाधान गर्न सत्यता खोज्न सक्नेछस्। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा तैँले सिद्धान्तहरूबमोजिम कामकुराहरू सम्हाल्न सक्नेछस्, तैँले झन्झन् बढी सत्यता अभ्यास गरिरहेको हुनेछस्, अनि तेरो हृदय स्थिर र शान्त हुनेछ। यदि कुनै दिन तैँले आफ्नो कर्तव्य राम्ररी ननिभाएको तँलाई हृदयमा थाहा भयो भने, तैँले के गर्नुपर्छ? तैँले त्यसबारे मनन गर्नुपर्छ, जानकारी लिनुपर्छ, अनि अरूसँग सल्लाह माग्‍नुपर्छ, त्यसपछि तैँले थाहै नपाई त्यस विषयमा बुझाइ प्राप्त गर्नेछस्। के यसले तँलाई आफ्नो कर्तव्य गराइमा मद्दत गर्नेछैन र? (गर्नेछ।) त्यो उपयोगी हुनेछ। तैँले जुनै कर्तव्य निर्वाह गरिरहेको भए पनि यही नै हुनेछ। मानिसहरूले आफ्नो सारा हृदयले कर्तव्य निभाउने, सत्यताका सिद्धान्तहरू खोज्‍ने, र आफ्नो कोसिसमा लागिपर्ने गरुन्जेल, तिनीहरूले अन्त्यमा नतिजा प्राप्त गरिछोड्‍नेछन्।

अंश ३१

मानिसहरूसँग भ्रष्ट स्वभावहरू हुने भएकाले उनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्दा अक्सर झारा टारुवा र लापरवाह हुन्छन्। यो सबैभन्दा गम्भीर समस्यामध्ये एक हो। यदि मानिसहरूले आफ्ना कर्तव्यहरू उचित तरिकाले गर्ने हो भने, पहिला झारा टारुवा शैली र लापरवाहीपनको यो समस्या हल गर्नुपर्छ। उनीहरूसँग यस्ता झारा टारुवा र लापरवाही मनोवृत्ति भइन्जेलसम्म, उनीहरू आफ्ना कर्तव्यहरू उचित तरिकाले गर्न सक्षम हुनेछैनन्। त्यसको अर्थ, झारा टारुवा शैली र लापरवाहीपनको समस्या समाधान गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। त्यसोभए, उनीहरूले कसरी यसलाई अभ्यास गर्नुपर्छ? सर्वप्रथम, उनीहरूले आफ्नो मनस्थितिको समस्या समाधान गर्नुपर्छ; उनीहरूले आफ्ना कर्तव्यहरूलाई सही तरिकाले लिनुपर्छ, छली र बेपरवाह हुने अभिप्राय राख्नुहुन्न, गम्भीरतासाथ र जिम्मेवारीको भावले काम गर्नुपर्छ। कर्तव्य परमेश्‍वरको लागि निर्वाह गरिन्छ, कुनै व्यक्तिको लागि गरिँदैन; यदि मानिसहरू परमेश्‍वरको जाँच स्वीकार गर्न सक्षम छन् भने, उनीहरूसित सही मनस्थिति हुनेछ। त्यसबाहेक, मानिसहरूले केही काम गरेपछि त्यसलाई जाँच्नुपर्छ र त्यसबारे चिन्तन गर्नुपर्छ, अनि यदि उनीहरूको हृदयमा कुनै असहजता छ, र राम्ररी निरीक्षण गर्दा साँच्‍चै समस्या रहेको पत्ता लाग्यो भने, उनीहरूले त्यसमा परिवर्तनहरू गर्नुपर्छ; यी परिवर्तनहरू गरिसकेपछि उनीहरूले हृदयमा सहजता महसुस गर्नेछन्। जब मानिसहरूले असहजता महसुस गर्छन्. यसले कुनै समस्या छ भन्‍ने प्रमाणित गर्छ र उनीहरूले आफूले गरेको कुरालाई, विशेष गरी मुख्य चरणहरूलाई लगनशील भई जाँच गर्नुपर्छ। यो आफ्‍नो कर्तव्यलाई पूरा गर्ने कार्यप्रतिको गम्भीर, जिम्‍मेवार मनोवृत्ति हो। जब व्यक्ति गम्भीर बन्न सक्छ, उसले जिम्‍मेवारी लिन्छ, र आफ्‍नो सारा हृदय र शक्ति लगाउँछ, तब काम उचित तरिकाले पूरा हुनेछ। कहिलेकहीँ, तँ गलत मनस्थितिमा हुन्छस्, र तैँले दिनको उज्यालोजस्तो स्पष्ट समस्या पनि पत्ता लगाउन वा भेट्टाउन सक्दैनस्। यदि तँ सही मनस्थितिमा हुन्थिस् भने, पवित्र आत्‍माको अन्तर्दृष्टि र अगुवाइद्वारा, तैँले समस्या पहिचान गर्न सक्‍नेथिइस्। यदि पवित्र आत्‍माले तँलाई डोऱ्याउँदै र सचेत गराउँदै हृदयमा स्पष्ट हुन र गल्ती कहाँ छ भनेर जान्‍न सहायता गर्नुभएको भए, तँ विचलनलाई सच्याएर सत्यता सिद्धान्तहरूका लागि लागिपर्न सक्नेथिइस्। यदि तँ गलत मनस्थितिमा भएको अनि बेहोसी र लापरवाह बनेको भए, के तैँले यो गल्ती देख्न सक्‍नेथिइस्? तैँले देख्‍न सक्‍नेथिइनस्। यसबाट के देखिन्छ? यसले के देखाउँछ भने मानिसहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सहकार्य गर्नु अत्यन्तै महत्त्वपूर्ण छ; तिनीहरूको मनस्थिति एकदमै महत्त्वपूर्ण छ, र तिनीहरूले आफ्‍ना सोच र विचारहरू कता निर्देशित गर्छन् भन्‍ने पनि महत्त्वपूर्ण छ। मानिसहरूको मनस्थिति कस्तो छ, र आफ्ना कर्तव्यहरू पूरा गर्ने क्रममा तिनीहरूले कति शक्ति लगाउँछन् सो परमेश्‍वरले सूक्ष्म जाँचपड्ताल गर्नुहुन्छ र देख्‍न सक्‍नुहुन्छ। मानिसहरूले आफूले गर्ने कार्यमा तिनीहरूको सारा हृदय र शक्ति लगाउनु निकै महत्त्वपूर्ण छ। तिनीहरूको सहकार्य महत्त्वपूर्ण तत्व हो। यदि मानिसहरूले आफूले पूरा गरेका कर्तव्यहरू र आफूले गरेका कुराहरूमा कुनै पछुतो नगर्ने, र परमेश्‍वरको निम्ति ऋणी नबन्‍ने प्रयास गरे भने मात्रै, तिनीहरूले आफ्‍नो सम्पूर्ण हृदय र शक्तिले काम गरिरहेका हुन्छन्। यदि तँ आफ्नो कर्तव्य निभाउन पूरै हृदय र शक्ति निरन्तर लगाउन सक्दैनस्, यदि तँ लापरवाह र झारा टारुवा भइरहन्छस्, र कामलाई ठूलो हानि पुऱ्याउँछस्, अनि परमेश्‍वरले माग गर्ने परिणाम हासिल गर्न सक्दैनस् भने, तँलाई एउटै कुरा हुन सक्छ: तँ हटाइनेछस्। अनि के त्यसपछि पछुतो गर्ने अझै समय रहनेछ? रहनेछैन। यी कार्यहरू अनन्त विलाप, कलङ्क हुनेछन्! निरन्तर लापरवाह र झाराटारुवा हुनु कलङ्क हो, यो गम्भीर अपराध हो—हो कि होइन? (हो।) तैँले आफ्नो दायित्व, र गर्नुपर्ने सबै कुरा आफ्नो सारा हृदय र शक्तिले पूरा गर्ने प्रयास गर्नैपर्छ, तँ लापरवाह र झाराटारुवा पटक्कै हुनु हुँदैन, वा पछुतो गर्नुपर्ने ठाउँ छोड्नैहुँदैन। यदि तैँले त्यसो गर्न सकिस् भने, तेरो कर्तव्य निर्वाहलाई परमेश्‍वरले स्मरण गर्नुहुनेछ। परमेश्‍वरले स्मरण गर्ने कुराहरू असल कार्य हुन्। त्यसोभए, परमेश्‍वरले खुशीसाथ स्मरण नगर्ने कुराहरू के-के हुन् त? (ती अपराधहरू र दुष्ट कर्महरू हुन्। यदि वर्तमानमा तीबारे यसरी व्याख्या गरियो भने तैँले ती दुष्ट कार्यहरू हुन् भनेर स्वीकार नगर्न सक्छन्, तर यदि यी कुराहरूको गम्‍भीर परिणामहरू देखा पर्ने दिन आयो, र तिनले नकरात्मक प्रभाव उत्पन्न गराए भने, यी कुराहरू व्यवहारगत अपराध मात्रै होइनन्, ती दुष्ट कार्यहरू नै हुन् भन्‍ने तैँले थाहा पाउनेछस्। जब तैँले यस्तो महसुस गर्छस्, तँलाई पछुतो हुनेछ, र तैँले मनमनै विचार गर्नेछस्: “मैले अलिकति होसियारी अपनाएको भए हुनेथियो! सुरुमै अलिकति बढी सोचेको र प्रयास गरेको भए, यो परिणामलाई पन्छ्याउन सकिन्थ्यो।” तेरो हृदयबाट यो अनन्त कलङ्कलाई कुनै कुराले पनि हटाउन सक्‍नेछैन, र यदि यसले तँलाई स्थायी रूपमा ऋणी तुल्यायो भने तँ समस्यामा पर्नेछस्। त्यसैले, तैँले आज प्रत्येक कर्तव्यलाई सफा विवेकले, कुनै पछुतोविना, र परमेश्‍वरले स्मरण गर्ने शैलीमा पूरा गर्न आफ्नो सारा हृदय र शक्ति परमेश्‍वरले तँलाई दिएको आज्ञामा लगाउने प्रयास गर्नैपर्छ। तैँले जे गरे पनि, लापरवाह र झाराटारुवा नबन्। यदि तैँले आवेगमा गल्ती गरिस् र त्यो गम्भीर अपराध हो भने, यो अनन्त कलङ्क बन्नेछ। तँलाई पछुतो भइसकेपछि, तैँले त्यो परिपूर्ति गर्न सक्नेछैनस्, र त्यो स्थायी पछुतो हुनेछ। यी दुवै मार्ग स्पष्ट रूपमा देखिनुपर्छ। परमेश्‍वरको प्रशंसा पाउन तैँले रोज्नुपर्ने मार्ग कुन हो? आफ्‍नो कर्तव्य सारा हृदय र शक्तिले पूरा गर्नु, र कुनै पनि पछुतो नहुने गरी असल कार्यहरू गर्ने तयारी गर्नु र त्यस्ता कार्यहरू बढाउनु। तैँले जे गरे पनि, अरूको कर्तव्य पालनमा बाधा पुग्ने दुष्ट काम नगर्, सत्यता र परमेश्‍वरविरुद्ध हुने परमेश्‍वरको प्रतिरोध गर्ने कुनै पनि काम नगर्, र आफूलाई जीवनभरि पछुतोमा नहाल्। व्यक्तिले धेरै अपराध गरेको छ भने के हुन्छ? तिनीहरूले परमेश्‍वरको उपस्थितिमा तिनीहरूमाथि उहाँको क्रोध ल्याइरहेका हुन्छन्! यदि तैँले अझै बढी अपराध गर्छस् भने, र तँप्रतिको परमेश्‍वरको क्रोध अझै बढ्दै गयो भने, अन्तिममा तँलाई दण्ड हुनेछ।

बाहिरबाट हेर्दा, आफ्ना कर्तव्यहरू निर्वाह गर्ने समयभरि कतिपय मानिसहरूसँग कुनै पनि गम्भीर समस्या नभएजस्तो देखिन्छ। तिनीहरूले खुल्लमखुल्ला कुनै दुष्ट काम गर्दैनन्; तिनीहरूले अवरोध वा बाधा ल्याउँदैनन्, वा तिनीहरूले दुष्टले गर्ने काम गर्दैनन्, र तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्दैनन्। आफ्ना कर्तव्यहरू पूरा गर्ने क्रममा, तिनीहरूले कुनै ठूलो गल्ती गर्दैनन् वा सिद्धान्तहरूसँग सम्‍बन्धित समस्याहरू पैदा हुँदैनन्, तर थाहै नपाई केही वर्षमा नै तिनीहरूले सत्यतालाई पटक्‍कै स्वीकार नगरेको, तिनीहरू अविश्‍वासीहरूजस्ता भएको कुरा खुलासा हुन्छ। किन यसो हुन्छ त? अन्य मानिसहरूले समस्या देख्दैनन्, तर परमेश्‍वरले यी मानिसहरूको हृदयको गहिराइलाई जाँच्‍नुहुन्छ, र समस्या देख्‍नुहुन्छ। तिनीहरू आफ्ना कर्तव्यहरूको पालनमा सधैँ झारा टार्ने र पश्‍चात्तापहीन रहँदै आएका हुन्छन्। समय बित्दै जाँदा, प्राकृतिक रूपमै तिनीहरूको खुलासा हुन्छ। पश्‍चात्तापहीन हुनु भनेको के हो त? यसको अर्थ के हो भने, तिनीहरूले सधैँ आफ्ना कर्तव्यहरू निर्वाह गरेका भए पनि तिनीहरूमा तीप्रति सधैँ गलत मनोवृत्ति रहेको हुन्छ, अर्थात् बेहोसी र अल्याङटल्याङ गर्ने, लापरवाह आचरण, र तिनीहरू कहिल्यै पनि विवेकशील हुँदैनन्, आफ्ना कर्तव्यहरूलाई आफ्नो पूरै हृदय दिने कुरा त परै जाओस्। तिनीहरूले थोरै प्रयास गर्न सक्छन्, तर तिनीहरूले झारा टार्ने काम मात्रै गरिरहेका हुन्छन्। तिनीहरूले आफ्ना कर्तव्यहरूमा आफ्नो सम्पूर्णता दिइरहेका हुँदैनन्, र तिनीहरूको अपराधको कहिल्यै अन्त्य हुँदैन। परमेश्‍वरको नजरबाट हेर्दा तिनीहरूले कहिल्यै पश्‍चात्ताप गरेका हुँदैनन्; तिनीहरूले सधैँ झारा टार्ने काम गर्दै र लापरवाह हुँदै आएका हुन्छन् र तिनीहरूमा कहिल्यै कुनै परिवर्तन भएको हुँदैन—अर्थात्, तिनीहरूले आफ्‍नो हातको दुष्टतालाई त्याग्दैनन् र उहाँको सामुन्ने पश्‍चात्ताप गर्दैनन्। परमेश्‍वरले तिनीहरूमा पश्‍चात्तापको मनोवृत्ति देख्‍नुहुन्‍न, र उहाँले तिनीहरूको मनोवृत्ति बदलिएको देख्‍नुहुन्‍न। तिनीहरूले त्यस्तै मनोवृत्ति र विधिअनुसार आफ्ना कर्तव्यहरूलाई र परमेश्‍वरका आज्ञाहरूलाई निरन्तरता दिन्छन्। पूरै समय, यो जिद्दी, कट्टर स्वभावमा कुनै परिवर्तन आउँदैन, यति मात्र होइन, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरप्रति ऋणी अनुभव गरेका हुँदैनन्, तिनीहरूको लापरवाहीपन र झारातिराइ अपराध हो, दुष्कर्म हो भन्‍ने तिनीहरूले कहिल्यै अनुभव गरेका हुँदैनन्। तिनीहरूको हृदयमा, कुनै पनि ऋणी अनुभव, कुनै पछुतो, कुनै आत्मधिक्कार हुँदैन, आत्म-दोषारोपणको कुरा त परै राखौँ। अनि समय बित्दै जाँदा, परमेश्‍वरले यस्तो प्रकारको मानिसलाई सुधार गर्न सकिँदैन भन्‍ने देख्‍नुहुन्छ। परमेश्‍वरले जे भन्‍नुभए पनि, र तिनीहरूले जति धेरै प्रवचन सुने पनि वा तिनीहरूले जति धेरै सत्यता बुझे पनि, तिनीहरूको हृदयमा प्रभाव पर्दैन र तिनीहरूको मनोवृत्ति परिवर्तन हुँदैन वा गलत बाटोबाट फर्की आउँदैन। परमेश्‍वरले यो देख्‍नुहुन्छ र भन्‍नुहुन्छ: “यो व्यक्तिको निम्ति कुनै आशा छैन। मैले भन्‍ने केही कुराले पनि तिनीहरूको हृदयलाई छुँदैन, र मैले भन्‍ने कुनै कुराले पनि तिनीहरूलाई गलत बाटोबाट फर्काउँदैन। तिनीहरूलाई परिवर्तन गर्ने कुनै माध्यम नै छैन। यो व्यक्ति आफ्‍नो कर्तव्य पू्रा गर्नको निम्ति उपयुक्त छैन, र तिनीहरू मेरो घरमा सेवा गर्ने योग्यका छैनन्।” किन परमेश्‍वरले यसो भन्‍नुहुन्छ त? किनभने जब तिनीहरूले आफ्‍नो कर्तव्य निभाउँछन् र काम गर्छन्, तिनीहरू निरन्तर लापरवाह र झाराटारुवा हुन्छन्। तिनीहरूलाई जति नै काटछाँट र निराकरण गरिए पनि, र तिनीहरूप्रति जति नै सहनशीलता र धैर्यता देखाए पनि, त्यसको कुनै प्रभाव हुँदैन र त्यसले तिनीहरूलाई पश्‍चात्ताप गराउन वा बदल्न सक्दैन। यसले तिनीहरूलाई कर्तव्य राम्ररी निभाउने तुल्याउन सक्दैन, यसले तिनीहरूलाई सत्यता खोजी गर्ने मार्ग लिन दिँदैन। त्यसकारण, यो व्यक्तिलाई सुधार गर्न सकिँदैन। जब त्यो व्यक्तिलाई सुधार गर्न सकिँदैन भन्‍ने परमेश्‍वरले निर्धारित गर्नुहुन्छ, के उहाँले यो व्यक्तिलाई अझै पनि पक्रिराख्‍नुहुनेछ त? उहाँले त्यसो गर्नुहुनेछैन। परमेश्‍वरले तिनीहरूलाई छाडिदिनुहुनेछ। कतिपय मानिसहरू सधैँ यसो भन्दै बिन्ती गर्छन्, “हे परमेश्‍वर, मसँग कठोर व्यवहार नगर्नुहोस्, मलाई कष्ट नदिनुहोस्, मलाई अनुशासनमा नराख्‍नुहोस्। मलाई केही स्वतन्त्रता दिनुहोस्! मलाई अलिअलि लापरवाही र औपचारिकताको लागि मात्र काम गर्न दिनुहोस्! म अलिअलि छाडा बनूँ! म आफ्नै मालिक बनूँ!” तिनीहरू बन्धनमा बस्‍न चाहँदैनन्। परमेश्‍वर भन्‍नुहुन्छ, “तैँले सही मार्गमा हिँड्न नचाहने हुनाले, म तँलाई जान दिनेछु। म तँलाई बेलगाम छोडिदिनेछु। जा अनि तँलाई जे मन लाग्छ त्यही गर्। म तँलाई मुक्ति दिनेछैन, किनभने तँलाई सुधार गर्न सकिँदैन।” सुधार गर्न नसकिनेहरूमा विवेकको अनुभूति हुन्छ त? के तिनीहरूसँग ऋणी भएको आभास हुन्छ त? के तिनीहरूसँग दोषारोपणको आभास हुन्छ त? के तिनीहरूले परमेश्‍वरको धिक्कार, अनुशासन, प्रहार, र न्यायलाई अनुभूति गर्न सक्छन् त? तिनीहरूले यो कुरा अनुभूति गर्न सक्दैनन्। यी कुराहरूको बारेमा तिनीहरू अनभिज्ञ हुन्छन्; तिनीहरूको हृदयमा यी कुराहरू अस्पष्ट रूपमा हुन्छन् वा नहुन पनि सक्छन्। जब कुनै व्यक्ति यो चरणसम्म आइपुग्छ र उसको हृदयमा अबउप्रान्त परमेश्‍वर नै हुनुहुन्‍न, तब के उसले मुक्ति प्राप्त गर्न सक्छ त? यो कुरा भन्‍न एकदमै गार्हो छ। जब व्यक्तिको विश्‍वास त्यस्तो बिन्दुमा आइपुगेको हुन्छ, तिनीहरू खतरामा हुन्छन्। यो परिणाम टार्न र त्यस्तो स्थिति पैदा नहुने कुरा सुनिश्चित गर्नको लागि, तिमीहरूले कसरी खोजी गर्नुपर्छ, कसरी अभ्यास गर्नुपर्छ र कुन मार्ग रोज्नुपर्छ भन्‍नेबारे के तिमीहरूलाई थाहा छ? सबैभन्दा महत्त्वपूर्ण कुरा त, सर्वप्रथम सही मार्ग रोज्नुपर्छ र त्यसपछि तिमीले हाल निर्वाह गर्नुपर्ने कर्तव्यलाई राम्रोसँग निर्वाह गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। यो नै न्युनतम मानक, सबैभन्दा आधारभूत मानक हो। यसकै आधारमा तिमीहरूले सत्यता खोज्नुपर्छ र आफ्नो कर्तव्य पर्याप्त मात्रामा पूरा गर्ने मानकहरूका लागि प्रयास गर्नुपर्छ। किनभने तँलाई परमेश्‍वरसँग जोड्ने बन्धनलाई सबैभन्दा स्पष्ट रूपमा प्रतिबिम्‍बित गर्ने कुरा भनेको परमेश्‍वरले तँलाई सुम्पने विषयहरू र उहाँले तँलाई अह्राउनुहुने कर्तव्यहरूप्रति तैँले गर्ने व्यवहार, र तँसँग भएको मनोवृत्ति हो। सबैभन्दा प्रत्यक्ष रूपमा देखिने र सबैभन्दा व्यावहारिक कुरा यही हो। परमेश्‍वर कुरिरहनुभएको छ; उहाँ तेरो मनोवृत्ति हेर्न चाहनुहुन्छ। यो महत्त्वपूर्ण मोडमा, तैँले झट्टै परमेश्‍वरलाई आफ्नो स्थान थाहा दिनुपर्छ, उहाँको आज्ञा स्विकार्नुपर्छ र आफ्नो कर्तव्य राम्ररी निभाउनुपर्छ। जब तैँले यो महत्त्वपूर्ण कुरालाई बुझेर परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा पूरा गर्छस्, तब परमेश्‍वरसँगको तेरो सम्‍बन्ध सामान्य बन्‍नेछ। जब परमेश्‍वरले तँलाई कुनै काम सुम्पनुहुन्छ वा कुनै निश्‍चित कर्तव्य पूरा गर्न लगाउनुहुन्छ, तब यदि तेरो मनोवृत्ति सतही र उदासीन किसिमको हुन्छ, र तैँले यसलाई गम्भीरतासाथ् लिँदैनस् भने, के यो तेरो सारा हृदय र शक्ति दिनुको ठिक विपरीत कुरा हुँदैन र? के तँ यसरी आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छस्? पक्कै पनि सक्दैनस्। तैँले आफ्नो कर्तव्य पर्याप्त रूपमा निभाउने छैनस्। त्यसकारण, आफ्‍नो कर्तव्य पूरा गर्दा तैँले धारण गर्ने मनोवृत्ति, साथै तैँले छनौट गर्ने विधि र मार्ग पनि महत्त्वपूर्ण हुन्छन्। तिनीहरूले जति नै वर्ष परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, आफ्नो कर्तव्य निभाउन नसक्नेहरूलाई हटाइनेछ।

अंश ३२

धेरै मानिसहरू लापरवाह र झारटारूवा तरिकले कर्तव्य निभाउँछन्, तिनीहरू कहिल्यै त्यसलाई गम्भीरतापूर्वक लिँदैनन्, यस्तो लाग्छ मानौँ तिनीहरू अविश्‍वासीहरूको लागि काम गरिरहेका छन्। सबैथोक एक मजाक हो जस्तो गर्दै, तिनीहरू कच्चा, सतही, उदासीन र लापरवाही ढङ्गले काम गर्छन्। यस्तो किन हुन्छ? तिनीहरू सेवा प्रदान गरिरहेका अविश्‍वासीहरू हुन्; तिनीहरू कर्तव्य निभाइरहेका गैरविश्‍वासीहरू हुन्। यस्ता मानिसहरू अत्यन्तै फटाहा हुन्छन्; तिनीहरू छाडा र अनियन्त्रित हुन्छन्, र तिनीहरू अविश्‍वासीहरूभन्दा कति पनि फरक हुँदैनन्। तिनीहरू आफ्नै लागि काम गर्दाचाहिँ, निश्‍चय नै लापरवाह र झाराटारूवा हुँदैनन्, तर कर्तव्य पालना गर्ने कुरामा चाहिँ तिनीहरू किन अलिकति पनि उत्साही वा परिश्रमी हुँदैनन्? तिनीहरूले जे गरे पनि, तिनीहरूले जुनसुकै कर्तव्य निभाए पनि, त्यसमा खेलाँचीपन र बदमासी हुन्छ। यस्ता मानिसहरू सधैँ लापरवाह र झाराटारूवा हुन्छन् र तिनीहरूभित्र कपट लुकेको हुन्छ। के यस्ता मानिसहरूसँग मानवता हुन्छ? तिनीहरूसँग निश्‍चय नै कुनै मानवता हुँदैन; न त तिनीहरूसँग अलिकति पनि विवेक वा समझ नै हुन्छ। छाडा गधा वा छाडा घोडाजस्तै तिनीहरूलाई पनि निरन्तरको व्यवस्थापन र रेखदेख चाहिन्छ। तिनीहरू परमेश्‍वरको घरमाथि छल र कपट गर्छन्। के यसको मतलब तिनीहरूमा उहाँप्रति साँचो विश्‍वास छ भन्ने हो त? के तिनीहरू उहाँको लागि आफैलाई खर्चिरहेका छन् त? तिनीहरू निश्‍चय नै मापदण्डभन्दा तल हुन्छन् र तिनीहरू सेवा प्रदान गर्न पनि योग्य हुँदैनन्। यस्ता मानिसहरूलाई अरू कसैले काममा लगाएको भए, तिनीहरू केही दिनमै निकालिनेथिए। परमेश्‍वरको घरमा तिनीहरूलाई सेवा-कर्ता र कामदार भन्नु पूर्णत: सही हुन्छ, र तिनीहरूलाई निष्कासन मात्र गर्न सकिन्छ। धेरै मानिसहरू प्राय आफ्नो कर्तव्य पालना गर्ने क्रममा लापरवाह र झाराटारूवा हुन्छन्। काँटछाँट र निराकरण गरिने अवस्था आइपर्दा, तिनीहरू अझै पनि सत्यता स्विकार्न इन्कार गर्छन्, र जिद्दी गर्दै आफ्नो कुरा राख्छन् र परमेश्‍वरको घरले उनीहरूप्रति अन्याय गरेको अनि करुणा र सहिष्णुता नदेखाएको गुनासो पनि गर्छन्। के यो अनुचित होइन र? अझ वस्तुगत रूपमा भन्नुपर्दा, यो अहङ्कारी स्वभाव हो, र तिनीहरूसँग थोरै पनि विवेक र समझ हुँदैन। परमेश्‍वरमा साँच्चै विश्‍वास गर्नेहरूले कम्तीमा पनि सत्यता स्विकार्न अनि विवेक र समझ उल्लङ्घन नगरी काम गर्न सक्नुपर्छ। काँटछाँट र निराकरण स्विकार्न र समर्पित हुन नसक्ने मानिसहरू अति अहङ्कारी, आत्मधर्मी र केवल अविवेकी हुन्छन्। तिनीहरूलाई पशु भन्दा अत्युक्ति हुँदैन किनभने तिनीहरू आफूले गर्ने सबै काममा अत्यन्तै बेपरवाह हुन्छन्। तिनीहरू आफूलाई मन लागेअनुसार र परिणामको वास्तै नगरी काम गर्छन्; समस्याहरू आइपरे पनि तिनीहरू मतलब गर्दैनन्। यस्ता मानिसहरू सेवा प्रदान गर्न योग्य हुँदैनन्। तिनीहरूले आफ्नो कर्तव्य यसरी गर्ने हुनाले अन्य मानिसहरू तिनीहरूलाई देखिसहँदैनन् र भरोसा पनि गर्दैनन्। के त्यसोभए परमेश्‍वरले तिनीहरूलाई विश्‍वास गर्न सक्नुहुन्छ त? यो न्यूनतम मापदण्ड पनि पूरा नगर्नाले तिनीहरू सेवा प्रदान गर्न पनि अयोग्य हुन्छन् र तिनीहरूलाई निष्कासन गर्न मात्र सकिन्छ। केही मानिसहरू कत्ति अहङ्कारी हुन सक्छन्? तिनीहरू सधैँ जे पनि गर्न सक्छु भन्‍ने सोच्छन्; तिनीहरूको लागि जेसुकै बन्दोबस्त गरिए पनि, तिनीहरू भन्छन्, “यो निकै सहज छ; यो कुनै ठूलो कुरा होइन। म यो सम्हाल्न सक्छु। सत्यता सिद्धान्तहरूबारे मसँग सङ्गति गर्न मलाई कसैको आवश्यकता छैन; म आफ्नो ख्याल गर्न सक्छु।” यस्तै मनोवृत्तिको कारण अगुवा र सेवक दुवैले यस्ता मानिसहरूलाई देखिसहँदैनन् र तिनीहरूले गर्ने काममा भरोसा गर्दैनन्। के यिनीहरू अहङ्कारी र आत्मधर्मी मानिसहरू होइनन् र? यदि कुनै व्यक्ति अत्यन्तै अहङ्कारी र आत्मधर्मी छ भने, त्यो एकदमै लज्जाजनक व्यवहार हो, र त्यसमा कुनै परिवर्तन भएन भने, तिनीहरूले कहिल्यै आफ्नो कर्तव्य पर्याप्त मात्रामा गर्दैनन्। आफ्नो कर्तव्यपालनप्रति व्यक्तिको मनोवृत्ति कस्तो हुनुपर्छ? व्यक्तिसँग कम्तीमा पनि जिम्मेवारीपूर्ण मनोवृत्ति हुनुपर्छ। व्यक्तिमाथि जस्तोसुकै कठिनाइ र समस्याहरू आइपरे पनि उसले सत्यता सिद्धान्तहरू खोज्नुपर्छ, परमेश्‍वरको घरले माग गर्ने मापदण्ड बुझ्नुपर्छ, र कर्तव्य पालना गरेर कस्तो परिणाम प्राप्त गर्नुपर्छ भन्ने कुरा जान्नुपर्छ। यदि कसैले यी तीन कुराहरू बुझ्यो भने उसले आफ्नो कर्तव्य पर्याप्त मात्रामा निभाउन सक्छ। यदि व्यक्तिले सिद्धान्तहरू बुझ्छ, परमेश्‍वरको घरद्वारा तोकिएको मापदण्ड बुझ्छ, र आफूले प्राप्त गर्नुपर्ने नतिजाहरूबारे जानकार छ भने, उसले जुनसुकै कर्तव्य गरे पनि, के ऊसँग आफ्नो कर्तव्यपालनको लागि बाटो हुँदैन र? त्यसैले, कर्तव्यपालनप्रति व्यक्तिको मनोवृत्ति निकै महत्त्वपूर्ण हुन्छ। सत्यतालाई प्रेम नगर्नेहरू लापरवाह र झाराटारूवा तरिकाले कर्तव्य निभाउँछन्—तिनीहरूसँग सही मनोवृत्ति हुँदैन, तिनीहरू सत्यता सिद्धान्तहरू कहिल्यै खोजी गर्दैनन् र तिनीहरू परमेश्‍वरको घरका मापदण्डहरू र आफूले प्राप्त गर्नुपर्ने नतिजाहरूबारे कहिल्यै सोच्दैनन्। तिनीहरूले कसरी पर्याप्त मात्रामा आफ्नो कर्तव्य गर्न सक्छन्? यदि तँ इमान्दारीसाथ परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होस् भने, तँ लापरवाह र झाराटारूवा भएको बेला, तैँले उहाँलाई प्रार्थना गर्नुपर्छ र आफूबारे आत्मचिन्तन गर्नुपर्छ र आफूलाई चिन्नुपर्छ; तैँले आफ्ना भ्रष्ट स्वभावहरू त्याग्नुपर्छ, तैँले सत्यता सिद्धान्तहरूमाथि मेहनत गर्नुपर्छ, र उहाँले तय गर्नुभएका मापदण्डहरू पूरा गर्ने प्रयास गर्नुपर्छ। यदि तैँले यसरी आफ्नो कर्तव्य गरिस् भने, तैँले बिस्तारै परमेश्‍वरको घरका मापदण्डहरू पूरा गर्न सक्नेछस्। साँचो कुरा के हो भने, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न त्यति गाह्रो छैन। यसको लागि विवेक र समझ हुनुपर्छ, र आफू सोझो र लगनशील हुनुपर्छ, त्यति भए पुग्छ। इमानदारीसाथ काम गरेर सफल बन्‍ने धेरै अविश्‍वासीहरू छन्। तिनीहरूलाई सत्यता सिद्धान्तहरूबारे केही पनि थाहा हुँदैन, र पनि तिनीहरू कसरी यति सफल हुन्छन्? किनभने तिनीहरू सावधान र लगनशील हुन्छन्, त्यसकारण तिनीहरूले उत्सुकतापूर्वक काम गर्न अनि सूक्ष्म कुराहरूमा ध्यान दिन, र यसरी सहजै काम पूरा गर्न सक्छन्। परमेश्‍वरको घरका कुनै पनि कर्तव्यहरू अति कठिन छैनन्। तैँले यसमा आफ्‍नो सारा हृदय लगाइस् र सक्दो प्रयास गरिस् भने, राम्रो काम गर्न सक्छस्। तँ सोझो छैनस्, र आफूले गर्ने कुनै पनि कुरामा तँ लगनशील हुँदैनस्, सधैँ आफूलाई समस्याबाट जोगाउने प्रयास गर्छस्, सधैँ लापरवाही गर्छस् र झारा टार्छस्, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्दैनस्, कामकुरा भताभुङ्ग गरेर परमेश्‍वरको घरमा हानि पुर्‍याउँछस् भने, त्यसको अर्थ तैँले दुष्कर्म गरिरहेको छस्, र यो परमेश्‍वरको निम्ति घृणित अपराध बन्‍नेछ। सुसमाचार सुनाउने महत्त्वपूर्ण क्षणमा, तैँले आफ्‍नो कर्तव्यमा राम्रो परिणाम हासिल गरिनस् र सकारात्मक भूमिका खेलिनस्, वा बाधा र व्यवधान ल्याइस् भने, परमेश्‍वरले स्वाभाविक रूपले तँलाई घृणा गर्नुहुनेछ र तँ हटाइनेछस् अनि तैँले मुक्ति पाउने मौका गुमाउनेछस्। यसमा तँलाई सदैव पछुतो हुनेछ! तँलाई आफ्‍नो कर्तव्य पूरा गरेकोमा परमेश्‍वरले उचाल्‍नु नै तैँले मुक्ति पाउने एक मात्र मौका हो। यदि तँ गैरजिम्‍मेवार भइस्, यसलाई हल्कासित लिएर लापरवाह र झाराटारूवा भइस् भने, तैँले यही मनोवृत्तिले सत्यता र परमेश्‍वरलाई लिनेछस्। यदि तँ अलिकति पनि इमानदार वा आज्ञाकारी छैनस् भने, तैँले कसरी परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छस्? अहिले समय अत्यन्तै बहुमूल्‍य छ; हरेक दिन र हरेक पल महत्त्वपूर्ण छ। यदि तँ सत्यता खोजी गर्दैनस्, जीवन प्रवेशमा ध्यान दिँदैनस्, र लापरवाह र झाराटारूवा छस् र परमेश्‍वरलाई धोका दिन्छस् भने, त्यो साँच्‍चै समझहीन र खतरनाक कुरा हो! परमेश्‍वरले तँलाई घृणा गरेर हटाउनुहुनेबित्तिकै, पवित्र आत्माले तँमा काम गर्न छोड्नुहुनेछ, र त्यसलाई फेरि सुल्ट्याउनु सम्भव हुँदैन। कहिलेकाहीँ, व्यक्तिले एक मिनेटमा गर्ने कामले उसको जीवन नै बरबाद गर्न सक्छ। कहिलेकाहीँ, परमेश्‍वरको स्वभाव चिढ्याउने एउटै शब्दको कारण व्यक्तिलाई खुलासा गरेर निष्कासन गरिन्छ—के यो केही मिनेटकै अन्तरालमा हुनसक्ने कुरा होइन र? यो भनेको त्यस्ता केही मानिसहरूको जस्तै कुरा हो, जसले आफ्ना कर्तव्यहरू निभाए पनि निरन्तर लापरवाहीपूर्वक काम गर्छन्, असावधान व्यवहार गर्छन् र संयमबिना काम गर्छन्। तिनीहरू मूलत: अविश्‍वासी र गैरविश्‍वासीहरू हुन्, र तिनीहरूले जेसुकै गरे पनि काम मात्र बिगार्छन्। फलस्वरूप, त्यस्ता मानिसहरूले परमेश्‍वरको घरमा हानि पुर्‍याउने मात्र होइन, तिनीहरूले आफ्नो मुक्तिको अवसर पनि गुमाउँछन्। यसरी, तिनीहरूको कर्तव्य गर्ने योग्यता पनि रद्द हुन्छ। यसको मतलब तिनीहरूलाई खुलासा गरेर निकालिएको छ, जुन निकै दु:खद कुरा हो। तिनीहरूमध्ये केहीले पश्‍चात्ताप गर्न चाहन्छन्, तर के तिनीहरूले अवसर पाउलान् त? तिमीहरूलाई के लाग्छ? एकपटक निष्कासन गरिएपछि तिनीहरूले आफ्नो अवसर गुमाइसकेका हुनेछन्। अनि, परमेश्‍वरद्वारा एकपटक त्यागिएपछि, तिनीहरूले छुटकारा पाउन लगभग असम्भव नै हुनेछ।

परमेश्‍वरले कस्तो व्यक्तिलाई मुक्ति दिनुहुन्छ? के भन्‍न सकिन्छ भने तिनीहरू सबैमा विवेक र समझ हुन्छ र तिनीहरू सत्यता स्वीकार गर्न सक्छन्, किनभने विवेक र समझ भएकाहरूले मात्रै सत्यता स्विकार्न र त्यसलाई सम्हालेर राख्न सक्छन्, र तिनीहरूले सत्यता स्वीकार गर्न सक्छन् भने, यसलाई अभ्यास गर्न सक्छन्। अविवेकी र समझहीन मानिसहरूमा मानवताको कमी हुन्छ; हामी आफ्नो बोलचालको भाषामा तिनीहरूलाई सद्‌गुणको कमी भएका मानिस भन्छौँ। सद्‌गुणको कमी हुनुको प्रकृति के हो? यो मानवताविहीन र मानव कहलाइन नालायक प्रकृति हो। भनाइ नै छ, व्यक्तिसँग अरू कुराको कमी भए चल्छ, तर सद्‌गुणको कमी चाहिँ हुनु हुँदैन—ऊ त्यसउपरान्तमानव रहन्‍न, ऊ त मानवरूपी पशु बन्छ। परमेश्‍वरविरुद्ध विद्रोह गर्न र उहाँका चुनिएका मानिसहरूलाई हानि गर्न मात्र कामहरू गर्ने पिशाचहरू र दुष्ट राजाहरूलाई हेर्। के तिनीहरूमा सद्‌गुणको कमी छैन र? कमी छ; तिनीहरूमा यही त कमी छ। सद्‌गुणरहित काम धेरै गर्ने मानिसहरूले कठोर अवश्यै प्रतिशोध सामना गर्नेछन्। सद्‌गुणरहित मानिसहरू मानवताहीन हुन्छन्; तिनीहरूले आफ्नो कर्तव्य कसरी राम्रोसँग गर्न सक्छन् र? तिनीहरू कर्तव्य गर्नै अयोग्य हुन्छन्, किनभने तिनीहरू पशु हुन्। सद्‌गुणको कमी भएका ती मानिसहरूले कुनै पनि कर्तव्य राम्रोसँग गर्दैनन्। त्यस्ता मानिसहरू मानव कहलिन योग्य हुँदैनन्। तिनीहरू पशु हुन्, मानव स्वरूपमा रहेका पशु हुन्। विवेक र समझ भएका मानिसहरू मात्र मानव मामिलाहरू सम्हाल्न, वचनबद्ध रहन, विश्‍वासयोग्य हुन र “इमानदार सज्जन” कहलिन लायक हुन सक्छन्। यो “इमानदार सज्जन” भन्ने पदावली परमेश्‍वरको घरमा प्रयोग गरिँदैन। त्यसको सट्टा परमेश्‍वरको घरले मानिसहरू इमानदार होऊन् भन्‍ने चाहन्छ, किनभने त्यही नै सत्यता हो। इमानदार व्यक्तिहरू मात्र विश्‍वासयोग्य हुन्छन्, तिनीहरूसँग मात्र विवेक र समझ हुन्छ, र तिनीहरू मात्रै मानव कहलिन लायक हुन्छन्। यदि व्यक्तिले आफ्नो कर्तव्य पालना गर्ने क्रममा सत्यता स्विकार्न र सिद्धान्तहरूअनुसार व्यवहार गर्न सक्छ, अनि आफ्ना कर्तव्यहरू पर्याप्त मात्रामा गर्न सक्छ भने, त्यो व्यक्ति साँच्चै इमानदार र वास्तवमै विश्‍वासयोग्य हुन्छ। अनि, परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्ने मानिसहरू इमानदार हुन्छन्। विश्‍वासयोग्य र इमानदार व्यक्ति बन्नु भनेको तेरा योग्यता वा तेरो रूपरङ्गसँग सम्बन्धित कुरा होइन, र तेरो क्षमता, सामर्थ्य वा प्रतिभासँग सम्बन्धित कुरा त झन् हुँदै होइन। जबसम्म तँ सत्यता स्विकार्छस्, र जिम्मेवारीपूर्वक काम गर्छस् र जबसम्म तँसँग विवेक र समझ हुन्छ र तँ परमेश्‍वरमा समर्पित हुन सक्छस्, तबसम्म त्यो पर्याप्त नै हुनेछ। व्यक्तिसँग जस्तोसुकै योग्यताहरू भए पनि, वास्तविक सरोकारको विषय ऊसँग सद्‌गुण छ कि छैन भन्ने हो। व्यक्ति सद्‌गुणरहित हुनेबित्तिकै उसलाई मानव मान्न सकिँदैन, बरु उसलाई पशु मान्नुपर्छ। परमेश्‍वरको घरबाट निकालिएका मानिसहरूमा मानवता र सद्‌गुण नभएकै कारण तिनीहरूलाई निकालिएको हो। त्यसैले, परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले सत्यता स्विकार्न सक्नैपर्छ, तिनीहरू इमानदार हुनैपर्छ, तिनीहरूसँग कम्तीमा पनि विवेक र समझ हुनैपर्छ, र तिनीहरूले आफ्ना कर्तव्यहरू राम्रोसँग पालना गर्न र परमेश्‍वरको आज्ञा पूरा गर्न सक्नैपर्छ। यस्ता मानिसहरूले मात्रै परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छन्; उहाँमा साँच्चै विश्‍वास गर्नेहरू र आफूलाई इमान्दारीसाथ उहाँमा अर्पित गर्न सक्नेहरू यिनै हुन्। परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू यिनै हुन्।

के तिमीहरू काम गरिरहेको र कर्तव्य निभाइरहेको बेला आफ्नो व्यवहार र आफ्ना मनसायहरू बारम्बार जाँच्ने गर्छौ? (बिरलै मात्र गर्छौँ।) यदि तिमीहरू आफूलाई बिरलै मात्र जाँच्ने गर्छौ भने, के तिमीहरू आफ्ना भ्रष्ट स्वभावहरू पहिचान गर्न सक्छौ त? के तिमीहरू आफ्नो वास्तविक स्थिति बुझ्न सक्छौ? यदि तैँले आफ्ना भ्रष्ट स्वभावहरू साँच्चै प्रकट गरिस् भने, त्यसका परिणामहरू के हुनेछन्? तँ यी कुराहरूबारे स्पष्ट हुनैपर्छ। यदि व्यक्तिले आफ्नो जाँच गर्दैन, बरु लगातार लापरवाह र झाराटारूवा तरिकाले र बिनाकुनै सिद्धान्त काम गर्छ भने, त्यसको परिणामस्वरूप उसले धेरै दुष्कर्महरू गर्नेछ र उसलाई खुलासा गरेर निष्कासन गरिनेछ। के यो एकदमै गम्भीर परिणाम होइन र? यो समस्या समाधान गर्ने तरिका भनेकै आफैलाई जाँच्नु हो। मलाई भन् त, मानव भ्रष्टता निकै गहिरो भएकोले, के आफूलाई बिरलै मात्र जाँच्नु स्वीकार्य छ त? के व्यक्तिले आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्न सत्यता नखोजी आफ्नो कर्तव्य राम्रोसित निभाउन सक्छ र? यदि भ्रष्ट स्वभावहरू समाधान गरिएन भने, गलत काम गर्न, सिद्धान्तहरू उल्लङ्घन गर्न र दुष्कर्म गर्न निकै सहज हुन्छ। यदि तँ आफूलाई कहिल्यै जाँच्दैनस् भने, त्यो समस्याजनक कुरा हो—तँ अविश्‍वासीभन्दा केही फरक छैनस्। के धेरै मानिसहरू यही कारणले मात्रै निकालिएका छैनन् र? सत्यता पछ्याउने क्रममा व्यक्तिले सत्यता प्राप्त गर्न कसरी अभ्यास गर्नुपर्छ? महत्त्वपूर्ण कुरा भनेको कर्तव्य पालन गर्दा आफैलाई बारम्बार जाँच्नु, आफूले सिद्धान्तहरू उल्लङ्घन गरेको र भ्रष्टता प्रकट गरेको छु कि छुइनँ, र आफूमा गलत मनसायहरू छन् कि छैनन् भनी आत्मचिन्तन गर्नु हो। यदि तैँले परमेश्‍वरका वचनअनुसार आफूबारे आत्मचिन्तन गर्छस् र ती कसरी आफूमा लागू हुन्छन् भनी हेर्छस् भने, तँलाई आफूबारे जान्न सजिलो हुनेछ। यदि यस तरिकाले तैँले आफूबारे आत्मचिन्तन गर्छस् भने, तैँले तेरा भ्रष्ट स्वभावहरू बिस्तारै समाधान गर्नेछस् र आफ्ना दुष्ट विचार अनि हानिकारक मनसाय र प्रेरणाहरू सजिलै समाधान गर्नेछस्। यदि तैँले केही गलत भइसकेपछि मात्रै आत्मचिन्तन गर्छस्, र कुनै गल्ती गरिसकेपछि मात्रै वा कुनै दुष्कर्म गरिसकेपछि मात्रै आत्मचिन्तन गर्छस् भने, त्यतिबेला निकै ढिलो भइसकेको हुनेछ। परिणामहरू निस्किसकेका हुनेछन्, र यो अपराधसरह नै हुनेछ। यदि तँ धेरै दुष्कर्महरू गर्छस् र आफूलाई निष्कासन गरिसकिएपछि मात्रै आत्मचिन्तन गर्छस् भने त्यसबेला धेरै ढिलो भइसकेको हुनेछ र तैँले केवल रुन र दाह्रा किट्न सक्नेछस्। परमेश्‍वरमा साँच्चै विश्‍वास गर्नेहरूले आफ्ना कर्तव्यहरू निभाउन सक्छन्—यो परमेश्‍वरको उत्थान र आशिष् हो, र यो त्यस्तो अवसर हो, जसलाई तैँले कदर गर्नुपर्छ। त्यसैले, तैँले आफ्ना कर्तव्यहरू पूरा गर्ने क्रममा आफूबारे बारम्बार आत्मचिन्तन गरिरहनु एकदमै महत्त्वपूर्ण हुन्छ। व्यक्तिले हरेक कुराबारे बारम्बार चिन्तन र आत्मनिरीक्षण गरिरहनुपर्छ। उसले आफ्ना मनसाय र आफ्नो स्थितिबारे आत्मनिरीक्षण गरिरहनुपर्छ, र आफू परमेश्‍वरसामु जिउँछु कि जिउँदिनँ, आफ्ना कार्यपछाडिका मनसाय सही छन् कि छैनन्, र आफ्ना कार्यका मनसाय र स्रोत दुवैले परमेश्‍वरको जाँच थेग्‍न सक्छन् कि सक्दैनन् र ती दुवैलाई परमेश्‍वरको सूक्ष्म परीक्षण गराइएको छ कि छैन भनी जाँच गरिरहनुपर्छ। कहिलेकाहीँ मानिसहरू आफ्ना कर्तव्यहरू पालना गर्ने क्रममा कठिनाइहरू आइपर्दा सत्यता खोजी गर्नु बोझिलो भएको महसुस गर्छन्। तिनीहरू सोच्छन्, “यत्ति भए पुग्छ। यो पर्याप्त छ त।” यसले मामिलाहरूप्रतिको व्यक्तिको मनोवृत्ति र कर्तव्यप्रतिको उसको मानसिकता प्रतिबिम्बित गर्छ। यो मानिसिकता एकप्रकारको स्थिति हो। यो कस्तो स्थिति हो? के यो आफ्नो कर्तव्यलाई गैरजिम्मेवारी भावले र लापरवाह र झाराटारूवा मनोवृत्तिले हेर्नु होइन र? (हो।) त्यस्तो गम्भीर समस्या विद्यमान रहेको बेला आफूलाई जाँच नगर्नु एकदमै खतरनाक कुरा हो। केही मानिसहरू यस स्थितिलाई बेवास्ता गर्छन्। तिनीहरू सोच्छन्, “अलिअलि लापरवाह र झाराटारूवा हुनु सामान्य कुरा हो, मानिसहरू त्यस्तै त हुन्छन् नि। यसमा के समस्या छ र?” के यी भ्रमित मानिसहरू होइनन् र? के कसैले मामिलाहरूलाई यसरी हेर्नु निकै खतरनाक होइन र? एकपटक निष्कासन गरिएकाहरूलाई हेर् त। के तिनीहरू सधैँ लापरवाह र झाराटारूवा तरिकाले कर्तव्य निभाउँदैनन् र? व्यक्ति लापरवाह र झाराटारूवा भयो भने यस्तै नै हुन्छ। सजिलै लापरवाह र झाराटारूवा हुने मानिसहरूले ढिलोचाँडो आफूलाई बरबाद गर्नेछन्, र तिनीहरू ठ्याक्‍कै मृत्युको मुखमा नपुगुञ्जेल आफ्ना तरिकाहरू बदल्दैनन्। लापरवाह र झाराटारूवा तरिकाले कर्तव्य निभाउनु निकै गम्भीर समस्या हो, र यदि तँ आफूबारे राम्रोसँग आत्मचिन्तन गर्न र समस्याहरू समाधान गर्न सत्यता खोजी गर्न सक्दैनस् भ, त्यो वास्तवमै अत्यन्तै खतरनाक कुरा हो—तँ कुनै पनि बेला निष्कासनमा पर्न सक्छस्। यदि त्यस्तो गम्भीर समस्या छ, तैपनि तैँले आफूलाई जाँच्दैनस् र त्यसलाई समाधान गर्न सत्यता खोजी गर्दैनस् भने, तैँले आफैलाई हानि र बरबाद गर्नेछस्, र जब तँलाई निष्कासन गरिने दिन आउँछ, र जब तँ रुन र दाह्रा किट्न थाल्छस्, त्यतिबेला एकदमै ढिलो भइसकेको हुनेछ।

अंश ३३

कतिपय मानिसहरू परमेश्‍वरको काम अनुभव गर्न अनि परमेश्‍वरका वचनहरू आफ्नो कर्तव्यपालन वा वास्तविक जीवनमा लागू गर्न जान्दैनन्। तिनीहरू सधैँ सत्यता प्राप्त गर्न र जीवनमा वृद्धि हुन धेरै भेलाहरू धाइरहने कुरामा भर पर्छन्। तर यो अवास्तविक र तर्कविसङ्गत कुरा हो। जीवन त परमेश्‍वरको वचन अनि उहाँको न्याय र सजाय अनुभव गरेर प्राप्त गरिन्छ। उहाँको काम अनुभव गर्न जान्नेहरूले, जुनसुकै कर्तव्य निर्वाह गरे पनि, कर्तव्यपालनको दौरान सत्यता बुझ्न र अभ्यास गर्न, काँटछाँट र निराकरण स्विकार्न, सत्यता सिद्धान्तमा प्रवेश गर्न, आफ्नो स्वभावमा परिवर्तन ल्याउन र परमेश्‍वरद्वारा सिद्ध पारिन सक्छन्। अल्छे र आरामको लोभ गर्ने मानिसहरू कर्तव्य निभाउन अनिच्छुक हुन्छन्, अनि तिनीहरू कर्तव्य निर्वाह गर्दा परमेश्‍वरको काम अनुभव गर्दैनन्, तिनीहरू त बस परमेश्‍वरको घरले तिनीहरूलाई भेला, प्रवचन र सत्यताबारे सङ्गति उपलब्ध गराओस् भनी निरन्तर माग मात्र गरिरहन्छन्। फलस्वरूप, दस वा बीस वर्षको विश्‍वासपछि पनि र असङ्ख्य प्रवचनहरू सुनिसकेपछि पनि, तिनीहरूले सत्यता बुझेका वा प्राप्त गरेका हुँदैनन्। तिनीहरूलाई परमेश्‍वरको काम कसरी अनुभव गर्ने त्यो थाहै हुँदैन्, तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासको अर्थ के हो त्यो बुझ्दैनन्, र तिनीहरू आफूलाई चिन्‍न अनि सत्यता र जीवन प्राप्त गर्न परमेश्‍वरको वचन कसरी अनुभव गर्ने त्यो जान्दैनन्। तिनीहरू आरामको लालसा गर्ने र आफ्नो कर्तव्यबाट पन्छिने मानिसहरू हुन्; त्यसकारण, तिनीहरूले जे-जसरी कर्तव्य निभाउँछन् त्यसैको कारण तिनीहरूलाई खुलासा र निष्कासित गरिन्छ। अहिले, आफ्नो कर्तव्य निर्वाह गर्नमा सन्तुष्ट हुने र सत्यता पछ्याउने कार्यलाई महत्त्व दिने सबै मानिसहरूले कर्तव्य निभाउने क्रममा केही जीवन प्रवेश हासिल गरेका छन्, तिनीहरू भ्रष्टता प्रदर्शन गर्दा आफूलाई चिन्न आत्मचिन्तन गर्छन्, र तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा कठिनाइहरू सामना गर्दा समस्या समाधान गर्नहेतु सत्यताको खोजी र सत्यताबारे सङ्गति गर्छन्। वर्षौँको कर्तव्य निर्वाहपश्‍चात्, तिनीहरूले अनजानमै स्पष्ट प्रतिफल प्राप्त गर्छन्, केही अनुभव गवाहीबारे बोल्न सक्छन्, परमेश्‍वरको काम र उहाँको स्वभावबारे केही ज्ञान धारण गर्न सक्छन्, र यसरी आफ्नो जीवन स्वभावमा परिवर्तन ल्याउन सक्छन्। हाल, हरठाउँका मण्डलीहरूले दुष्ट मानिस अनि बाधा र अवरोध गर्ने मानिसहरूलाई सफाइ गरिरहेका छन्। मण्डलीमै रहिरहेकाहरू सामान्यतया आफ्नो कर्तव्य निर्वाहमा डटिरहने, एक हदसम्म बफादार, र समस्याहरू समाधान गर्न सत्यता खोज्‍ने कार्यलाई महत्त्व दिने मानिसहरू हुन्। तिनीहरू आफ्नो गवाहीमा दृढ रहन सक्ने मानिसहरू हुन्। तिमीहरूले परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्दै र काममा लगाउँदै वास्तविक जीवनमा अनि तिमीहरूले गर्ने कर्तव्यहरूमा उतार्न सिक्नुपर्छ, अनि जब समस्या र कठिनाइहरू देखा पर्छन्, तिनलाई समाधान गर्न तिमीहरूले सत्यता खोजी गर्नुपर्छ। यसअतिरिक्त, तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्‍वरको इच्छालाई ध्यान दिन सिक्‍नुपर्छ, र हरमामिलामा सिद्धान्तअनुसार सत्यता अभ्यास गर्ने र कामकुराहरू सम्हाल्ने काममा लाग्नुपर्छ। तैँले परमेश्‍वरप्रतिको प्रेम अभ्यास गर्न सिक्नुपर्छ, र उहाँलाई प्रेम गर्ने हृदयसाथ उहाँको बोझलाई ध्यान दिनुपर्छ र उहाँलाई सन्तुष्ट पार्न सक्ने हदमा पुग्नुपर्छ। यस्तो व्यक्ति मात्रै परमेश्‍वरलाई साँच्चै प्रेम गर्ने व्यक्ति हो। यस तरिकाले अभ्यास गर्दा, तैँले पूर्ण रूपमा सत्यता नबुझे पनि, आफ्नो कर्तव्य पर्याप्त रूपमा गर्न सक्नेछस्, अनि तैँले आफ्नो लापरवाही र झाराटाराइ समाधान गर्न सक्ने मात्र नभई, कर्तव्य निर्वाह गर्दा परमेश्‍वरप्रतिको प्रेम अभ्यास गर्न, उहाँप्रति समर्पित हुन र उहाँलाई सन्तुष्ट पार्नसमेत सक्नेछस्—जीवन प्रवेशको पाठ भनेकै यही हो। यदि तँ हरमामिलामा यसरी नै सत्यता अभ्यास गर्न र सिद्धान्तअनुसार काम गर्न सक्छस् भने, तँ सत्यता वास्तविकतामा प्रवेश गरिरहेको छस् र तेरो जीवन प्रवेश हुनेछ। आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा तँ जतिसुकै व्यस्त भए पनि, यदि तैँले जीवन प्रवेशको फल प्राप्त गरेको र जीवनमा प्रगति गरेको छस् भने, र तँ परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन सक्छस् भने, तैँले आफ्नो कर्तव्य पालन गर्दा आनन्द महसुस गर्नेछस्। जतिसुकै व्यस्त हुँदा पनि तैँले थकान महसुस गर्नेछैनस्। तेरो हृदयमा सधैँ शान्ति र हर्ष हुनेछ र तैँले विशेष रूपमा समृद्ध र शान्त महसुस गर्नेछस्। तँलाई जस्तोसुकै कठिनाइ आइपरे पनि, तैँले सत्यता खोजी गर्दा, पवित्र आत्माले तँलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुनेछ। अनि, तैँले परमेश्‍वरको आशिष् पाउनेछस्। साथै, आफ्नो कर्तव्यको दौरान व्यस्तता भए नि नभए नि, तैँले बेलाबेलामा उपयुक्त व्यायाम र सचेत तन्दुरुस्ती क्रियाकलापहरूमा संलग्न हुनु महत्त्वपूर्ण छ। यसले रक्तसञ्चार प्रवर्धन गर्नेछ र उच्च ऊर्जा कायम गर्नमा मद्दत पुर्‍याउनेछ र यो निश्‍चित व्यावसायिक रोगहरू रोक्न प्रभावकारी हुन सक्‍नेछ। यो कुरा तैँले आफ्ना कर्तव्यहरू राम्ररी गर्नको निम्ति अत्यन्तै उपयोगी हुन्छ। त्यसैले, आफ्ना कर्तव्यहरू निर्वाह गर्दा, यदि तैँले धेरै पाठहरू सिक्न सक्छस् भने, र धेरै सत्यताबारे बुझाइ प्राप्त गर्न, परमेश्‍वरलाई साँच्चै चिन्न, र अन्त्यमा परमेश्‍वरको डर मान्न र दुष्टतादेखि अलग बस्‍न सक्छस् भने, तँ उहाँको इच्छाअनुरूपको हुनेछस्। यदि तँ परमेश्‍वप्रतिको प्रेम प्राप्त गर्न सक्छस्, उहाँको लागि गवाही दिन सक्छस्, र उहाँसँग हृदय र इच्छाको एकता हासिल गर्न सक्छस् भने, तँ उहाँद्वारा सिद्ध पारिने बाटोमा हिँडिरहेको छस्। यस्तो व्यक्तिले परमेश्‍वरको आशिष् प्राप्त गरेको हुन्छ, र यो निकै आशिषित कुरा हो! यदि तैँले इमान्दारीसाथ परमेश्‍वरको लागि आफैलाई अर्पित गर्छस् भने, तैँले निश्‍चय नै उहाँबाट प्रशस्त आशिष् पाउनेछस्। के परमेश्‍वरको लागि आफैलाई अर्पित नगर्ने र आफ्नो कर्तव्य नगर्ने मानिसहरूले सत्यता प्राप्त गर्न सक्छन्? के तिनीहरूले मुक्ति पाउन सक्छन्? यो भन्न गाह्रो छ। सबै आशिष्‌हरू कर्तव्यपालन र परमेश्‍वरको कामको अनुभवमार्फत मात्रै प्राप्त गर्न सकिन्छ। व्यक्तिले परमेश्‍वरको काम कसरी अनुभव गर्ने अनि न्याय र सजाय, जाँच र शोधन, साथै काँटछाँट र निराकरण कसरी अनुभव गर्ने भनी जान्‍ने भनेको कर्तव्यपालनकै क्रममा हो। अनि, आशिषित हुन सबैभन्दा योग्य कुराहरू पनि यिनै हुन्। यदि व्यक्तिले सत्यतालाई प्रेम गर्‍यो र पछ्यायो भने, उसले अन्तत: सत्यता प्राप्त गर्नेछ, आफ्नो जीवन स्वभाव परिवर्तन गर्नेछ, परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछ र उहाँद्वारा आशिषित व्यक्ति बन्नेछ।

कतिपय मानिसहरू आफ्नो कर्तव्यनिर्वाहको दौरान केही समस्या आइपर्दा सत्यता खोजी गर्दैनन्, सधैँ आफ्नै धारणा र कल्पनाअनुसार जिउँछन्, आफ्नै व्यक्तिगत रुचिअनुसार काम गर्छन् अनि आँखा चिम्लेर आफ्नै इच्छाअनुसार व्यवहार गर्छन्। फलस्वरूप, तिनीहरूले धेरै कुरामा गल्ती गर्छन् र मण्डलीको काममा ढिलाइ गराउँछन्। काँटछाँट र निराकरण सामना गर्दा, तिनीहरू सत्यता स्विकार्दैनन् र आफ्नो हठी र लापरवाही व्यवहार जारी राख्छन्। परिणामत: तिनीहरूले पवित्र आत्माको काम गुमाउँछन् र परमेश्‍वरप्रतिको तिनीहरूको विश्‍वास भ्रमित र अन्धकारमय बन्छ। कतिपय मानिसहरू प्रतिष्ठा र व्यक्तिगत स्वार्थको सौखिन हुन्छन्, र तिनीहरू हैसियतको पछि लाग्छन्, अनि परमेश्‍वरको इच्छाको ख्याल नगरी वा सत्यताबारे कुनै पनि सङ्गति नस्विकारी यिनै कुरामा व्यस्त भइरहन्छन्। अन्तत: तिनीहरू खुलासा र निष्कासित हुन्छन्, र अन्धकारमा डुब्छन्। कतिपय विश्‍वासीहरूले परमेश्‍वरको देहधारणलाई स्विकारे पनि तिनीहरू हृदयदेखि स्वर्गका परमेश्‍वर र परमेश्‍वरका आत्मामा मात्रै विश्‍वास गर्छन्। तिनीहरूसँग व्यावहारिक परमेश्‍वरबारे निरन्तर धारणाहरू हुन्छन् र उहाँले तिनीहरूको वास्तविक रूप थाहा पाउनुहुने डरले तिनीहरू हृदयमा उहाँप्रति सतर्क रहन्छन्। तिनीहरू हरकदममा परमेश्‍वरदेखि तर्किन्छन्, र जब तिनीहरूले उहाँलाई देख्छन्, तब उहाँलाई यसरी हेर्छन् कि मानौँ उहाँ कुनै नौलो व्यक्ति हुनुहुन्छ। फलस्वरूप, कैयौँ वर्षको विश्‍वासको बावजुद पनि तिनीहरूले केही पनि प्राप्त गरेका हुँदैनन् र तिनीहरूमा उहाँप्रति अलिकति पनि विश्‍वास हुँदैन। तिनीहरू अविश्‍वासीहरूभन्दा केही फरक हुँदैनन्। यो पूर्णतया तिनीहरूले सत्यता नपछ्याउनुको कारणले भएको हो। कतिपय मानिसहरू निरन्तर व्यावहारिक परमेश्‍वरलाई भेट्न चाहन्छन्। तिनीहरू परमेश्‍वरलाई खुसी पार्न र उहाँसँग आफ्नो हैसियत बढाइमाग्न चाहन्छन्, ताकि तिनीहरूले मण्डलीमा प्रभाव जमाउन सकून्। परिणामस्वरूप, तिनीहरू आफ्नो बेइमानी, स्पष्टताको कमी, परमेश्‍वरको अनुमोदन भावमाथि निरन्तर अवलोकन, अनि उहाँको अभिप्रायबारे अन्दाज-अनुमानको कारण उहाँद्वारा तिरस्कृत हुन्छन्। तत्पश्‍चात्, परमेश्‍वर त्यस्ता मानिसहरूलाई हेर्न चाहनुहुन्न। यी मानिसहरूको परमेश्‍वरमाथिको विश्‍वासको उद्देश्य के हो? परमेश्‍वरले त्यत्ति धेरै सत्यताहरू व्यक्त गरिरहनुहुँदा पनि, किन तिनीहरू अझै उहाँलाई जाँच गर्छन्? यदि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्छन् भने, किन तिनीहरू सत्यता पछ्याउँदैनन्? किन तिनीहरू निरन्तर महत्त्वाकाङ्क्षी र अभिलाषी हुन्छन्, अनि प्रतिष्ठा, व्यक्तिगत स्वार्थ, हैसयत, सुविधा र लाभ पछ्याउँछन्? परमेश्‍वरमाथिको विश्‍वासपछाडि तिनीहरूले दुर्भावानापूर्ण अभिप्रायहरू पालेका हुन्छन् र मानिसहरूको नजरमा तिनीहरू बुझ्नै नसकिने हुन्छन्। यी सबै गैरविश्‍वासीका व्यवहारहरू हुन्। स्पष्ट रूपमा भन्नुपर्दा, परमेश्‍वरमा विश्‍वास गर्ने तर सत्यता स्वीकार नगर्ने जोकोही अविश्‍वासी हो। सत्यता पछ्याउने, आफ्ना कर्तव्यहरू राम्ररी गर्न खोज्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्न खोज्ने मानिसहरू मात्रै साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्छन् र तिनीहरूले मात्रै उहाँको अनुमोदन प्राप्त गर्न सक्छन्।

अहिले, तिमीहरूको जीवनमा बितेर जाने हरेक दिन र हरेक वर्षको मोल हुन्छ। यो मोल केमा हुन्छ? जब कुनै व्यक्ति सृष्टिकर्तासामु आउँछ, र जब उसले सृष्टिको वस्तुको रूपमा आफ्नो कर्तव्य निभाउँछ र सृष्टिकर्ताबाट सत्यता प्राप्त गर्छ, तब परमेश्‍वरको नजरमा ऊ उपयोगी हुन्छ। आफ्ना विनीत प्रयासहरू परमेश्‍वरको व्यवस्थापन योजनाको लागि समर्पित गर्नुले नै तेरो जीवनको हरेक दिन मूल्यवान्‌ बनाउने होइन र? (हो।) जीवनको हरेक दिनको मोल यही हो, र यो बहुमूल्य छ! यदि तेरो जीवनको हरेक दिनको यस्तो मोल छ भने, आफ्नो कर्तव्य निभाउँदा आइपर्ने अलिकति कष्ट वा बिमारी के नै हो र? मानिसहरूले गुनासो गर्नुहुन्न। परमेश्‍वरको उपस्थितिसामु रहेर मानिसहरूले धेरै लाभ प्राप्त गरेका छन्; तिनीहरूले अदृश्य अनुग्रह र आशिष् अनि कल्पना गर्न वा देख्न सकिने जुनसुकै कुरालाई मात खुवाउने अदृश्य सुरक्षा पाएका छन्। मानिसहरूले कति धेरै कुरा पाएका छन्—कुनै मामुली बिमारीको के अर्थ हुन्छ र? मानिसहरूले सिक्नुपर्ने पाठ यही होइन र? यदि कुनै व्यक्तिले बिमारीमार्फत सत्यता बुझ्न, परमेश्‍वरप्रति आज्ञाकारिता प्राप्त गर्न र उहाँलाई सन्तुष्ट पार्न सक्छ भने, त्यो उहाँले दिनुभएको अर्को आशिष् होइन र? यो संसारमा गुजारा चलाउनेहरूमध्ये कसले चाहिँ शारीरिक बिमारी अनुभव गर्दैन र? तिनीहरूलाई कुनै बिमारी छ कि छैन भनेर कसलाई मतलब हुन्छ र? कसैलाई मतलब हुँदैन, कसैले सोध्दैन र तिनीहरूलाई आश्‍वस्तता प्रदना गर्ने कोही हुँदैन। परमेश्‍वरको घरमा कर्तव्य गर्ने तिमीहरूसँग कुनै आश्‍वस्तता छ त? (छ।) परमेश्‍वरको लागि इमान्दारीसाथ आफैलाई अर्पित गर्ने सबैसँग आश्‍वस्तता हुन्छ र तिनीहरूले उहाँको आशिष् पाउँछन्। तिमीहरू कस्तो खालको आश्‍वस्तता देख्छौ र चिन्छौ? (म अबउप्रान्त संसारका दुष्ट प्रवृत्तिहरूद्वारा प्रभावित वा दूषित हुन्नँ; म अविश्‍वासीहरूको हेपाइ र हानिबाट टाढा रहेको छु, र मसँग सबै कुरामा परमेश्‍वरको संरक्षण र आशिष् छ। म अबउप्रान्त ठूलो रातो अजिङ्गरको नियन्त्रण वा सतावटमा पर्नेछैनँ। म परमेश्‍वरको घरमा बस्नेछु, अन्य दाजुभाइ-दिदीबहिनीहरूसँग बातचित गर्नेछु, अनि मेरो हृदय शान्त, आनन्दित र स्थिर हुनेछ। म हरेक दिन परमेश्‍वरको वचन खाने र पिउनेछु र सत्यता सङ्गति गर्नेछु, अनि मेरो हृदय झन्झन् उज्यालो हुनेछ। सत्यता बुझेपछि, मेरो हृदय विशेष रूपले आनन्दित बन्छ, मेरो आत्माले स्वतन्त्रता र मुक्ति पाउँछ, र त्यसउप्रान्त म दुष्ट र छली मानिसहरूको हातबाट छलिने वा हानि बेहोर्ने छैनँ। त्यसअतिरिक्त, परमेश्‍वरको संरक्षण र आशिष् देखिसकेपछि, अब ममाथि कुनै विपद्‌ आइपर्दा म डराउँदिनँ; र मेरो हृदयले स्थिर र शान्त महसुस गर्छ। मैले भविष्यमा मेरा आधारभूत आवश्यकताहरू पूरा हुन्छन् कि हुँदैनन्, वा म वृद्ध भएपछि कसैले मेरो भरणपोषण गर्छ कि गर्दैन भन्ने सुर्तालाई पन्छाइसकेको छु। परमेश्‍वरको उपस्थितिसामु जिउनु साँच्चै नै आशिष् र हर्षको कुरा हो!) तिमीहरूले अहिले अनुभव गरिरहेको कुरा सीमित छ, तर तिमीहरूले महाविपद्पश्‍चात् धेरै कुराहरू स्पष्टसित बझ्नेछौ र देख्नेछौ। यो सबै परमेश्‍वरको सुरक्षा र उहाँको आशिष् हो। अहिले, तिमीहरूले कहिलेकाहीँ काँटछाँट र निराकरण सामना गर्नुपरे पनि, अनि जाँच र शोधनबाट गुज्रनुपरे पनि, र कहिलेकाहीँ परमेश्‍वरको न्याय र सजाय अनुभव गर्नुपरे पनि, र उहाँको वचनमार्फत कष्ट भोग्नुपरे पनि, यो सबै मुक्ति प्राप्त गर्ने र सिद्ध पार्ने कष्ट हो—यो अविश्‍वासीहरूको जस्तो कष्ट होइन। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, परमेश्‍वरको घरमा आफ्नो कर्तव्य गरेर तँ सृष्टिको उपयोगी वस्तु बन्छस् र तैँले मूल्यवान्‌ र अर्थपूर्ण जीवन जिउँछस्—शैतान र देहको लागि जिउनुको साटो, तँ सत्यता पछ्याउन र परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि जिउँछस्। आफ्ना कर्तव्यहरू पूरा गर्ने क्रममा तैँले धेरै सत्यता र परमेश्‍वरको इच्छाबारे बुझाइ प्राप्त गर्नेछस्। यो सबैभन्दा बहुमूल्य कुरा हो। तैँले सत्यता बुझिसकेपछि, सत्यता वास्तविकतामा प्रवेश गरिसकेपछि, अनि तेरो जीवनको रूपमा सत्यता हासिल गरिसकेपछि, तँ परमेश्‍वरको उपस्थिति र ज्योतिमा जिइरहेको हुनेछस्। तँ अब हरेक दिन आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेको हुन्छस्, तँ जिउने हरेक दिनको आफ्नै प्रतिफल र महत्त्व हुन्छ। तैँले सत्यता पनि प्राप्त गरेको हुन्छस्, र तँ परमेश्‍वरको उपस्थितिसामु जिउँछस्। के यो आफूसँग आश्‍वस्तता हुनु हो? (हो।) यो कस्तो आश्‍वस्तता हो? (शैतानको कब्जामा नपर्ने आश्‍वस्तता।) शैतानको कब्जामा नपर्नेबाहेक, अझै महत्त्वपूर्ण कुरा के हुन्छ? परमेश्‍वरले तँलाई मानवको रूपमा सृष्टि गर्नुभयो, र अहिले तँ आफ्नो कर्तव्य पूरा गर्न, उहाँको इच्छा बुझ्न, सत्यता वास्तविकता धारण गर्न, उहाँको बाटो पछ्याउन र उहाँको इच्छाअनुसार जिउन सक्छस्। परमेश्‍वर तँलाई अनुमोदन गर्नुहुन्छ, र उहाँले तँलाई नष्ट गर्नुहुनेछैन भन्ने कुराको आश्‍वस्तता र ग्यारेन्टी नै त्यही हो। के यो तेरो जीवनको पुँजी होइन र? यी कुराबिना तँ जिइरहन योग्य छस् त? (छैनँ।) व्यक्तिले यो योग्यता कसरी हासिल गर्न सक्छ? के यो सृष्टिको वस्तुको कर्तव्य पूरा गर्न अनि परमेश्‍वरको इच्छा सन्तुष्ट पार्न र उहाँको बाटो पछ्याउन सक्षम भएर, साथै सत्यता वास्तविकता प्राप्त गरेर, अनि परमेश्‍वरको वचनलाई आफ्नै जीवनजस्तो व्यवहार गरेर होइन र? (हो।) यी कुराहरूले गर्दा तँ उहाँको आराधना गर्न सक्छस्, र उहाँको नजरमा तँ सृष्टिको एक सन्तोषजनक वस्तु होस्। उहाँ कसरी तँबाट खुसी हुन सक्नुहुन्न र? परमेश्‍वरले नष्ट गर्न चाहनुहुने मानिसहरू को हुन्? तिनीहरू सृष्टिका कस्ता वस्तुहरू हुन्? (तिनीहरू दुष्कर्मीहरू हुन्।) दुष्कर्म गर्ने जोकोहीले परमेश्‍वरको प्रतिरोध गरिरहेको हुन्छ, र उहाँप्रति उसले वैरभाव राखिरहेको हुन्छ—तिनीहरू परमेश्‍वरका दुश्मनहरू हुन् र सबैभन्दा पहिले तिनीहरूलाई नै नष्ट गरिनेछ। परमेश्‍वरसँग हैसियतको लागि प्रतिस्पर्धा गर्ने ख्रीष्टविरोधीहरू, गैरविश्‍वासीहरू; सत्यतादेखि वाक्क भएकाहरू, परमेश्‍वरप्रति वैरभाव राख्नेहरू, सत्यता नपछ्याउने अनि अन्त्यसम्मै उहाँको विरोध गर्नेहरू, अनि सृष्टिको वस्तुको रूपमा कुनै हदसम्म पनि आफ्नो कर्तव्य निभाउन नसक्नेहरू—परमेश्‍वरले नष्ट गर्न चाहनुहुने मानिसहरू यिनै हुन्। आफ्नो कर्तव्य ननिभाउने कतिपय मानिसहरू गैरविश्‍वासीहरू हुन्। अन्य मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गरे पनि, तिनीहरू जहिल्यै लापरवाह र झाराटारूवा हुन्छन्, र तिनीहरूले दुष्कर्म गर्न र विघ्नवाधा ल्याउन अनि परमेश्‍वरको प्रतिरोध र विरोध गर्न पनि सक्छन्। के यस्ता मानिसहरू परमेश्‍वरको नजरमा सृष्टिको सन्तोषजनक वस्तु ठहरिन सक्छन् र? (अहँ, सक्दैनन्।) सन्तोषजनक नठहरिएका सृष्टिका वस्तुहरूलाई अन्त्यमा के हुनेछ? (परमेश्‍वरले तिनीहरूलाई निष्कासित र नष्ट गर्नुहुनेछ।) के सन्तोषजनक नठहरिएका सृष्टिका वस्तुहरूको जीवनको कुनै मोल हुन्छ र? (हुँदैन।) तिनीहरूले “मेरो जीवनको मोल छ। म जिउन चाहन्छु। म मेरो जीवनमा राम्रा कामहरू गर्न सक्छु!” भनेर सोच्न सक्छन्। तर परमेश्‍वरको नजरमा तिनीहरूले सृष्टिको वस्तुको रूपमा आफ्नो आधारभूत कर्तव्य पनि निभाउन सक्दैनन्। यदि तिनीहरू आफ्नो कर्तव्य पर्याप्त रूपमा गर्न सक्दैनन् भने, के तिनीहरूको जीवन जिउनलायक हुन्छ र? के तिनीहरूको अस्तित्वको कुनै मोल हुन्छ र? यदि तिनीहरूको अस्तित्वको कुनै मोल छैन भने, के परमेश्‍वर अझै पनि तिनीहरूलाई चाहनुहुन्छ र? (चाहनुहुन्न।) परमेश्‍वरले के गर्नुहुनेछ? उहाँले तिनीहरूलाई निष्कासित गर्नुहुनेछ। सामान्य मामिलामा पर्नेहरूलाई पाखा लगाइनेछ र तिनीहरूलाई अशुद्ध दियाबलस र दुष्टात्माको हातमा सुम्पिइनेछ, जबकि गम्भीर मामिलामा पर्नेहरूलाई सजाय दिइनेछ, र अझै गम्भीर मामिलामा पर्नेहरूलाई त नष्ट नै गरिनेछ।

अंश ३४

कतिपय मानिसहरू आफ्‍नो कर्तव्यमा कष्ट भोग्‍ने पटक्कै इच्छा गर्दैनन्, समस्यामा पर्नेबित्तिकै गुनासो गर्छन् र मूल्य चुकाउन मान्दैनन्। यो कस्तो प्रकारको मनोवृत्ति हो? यो झाराटारुवा र लापर्बाह मनोवृत्ति हो। यदि तँ झाराटारुवा र लापर्बाह तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्छस्, र त्यसलाई अपमानजनक मनोवृतिले हेर्छस् भने, त्यसको नतिजा के हुनेछ? तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्‍ने भए पनि, कर्तव्य निर्वाह गर्दा तेरो कार्यप्रदर्शन नराम्रो हुनेछ—तेरो कार्यप्रदर्शन मापदण्डको स्तरमा पुग्‍नेछैन, र तेरो कर्तव्यप्रतिको तेरो मनोवृत्तिसँग परमेश्‍वर निकै असन्तुष्ट हुनुहुनेछ। यदि तैँले परमेश्‍वरलाई प्रार्थना गर्न, सत्यता खोज्न, र यसमा आफ्‍नो सारा हृदय र मन लगाउन सकेको भए, यदि तैँले यसरी सहकार्य गर्न सकेको भए, परमेश्‍वरले पहिले नै तेरो लागि सबै कुरा तयार गरिदिनुभएको हुन्थ्यो, ताकि तैँले मामिलाहरू सम्हाल्दै गर्दा ती सबै उचित ठाउँमा पर्नेथ्यो, र राम्रो नतिजा प्राप्त हुनेथ्यो। तैँले त्यति भयङ्कर ऊर्जा लगाउनु पर्दैन; जब तैँले सहकार्य गर्न आफूले सक्दो प्रयास गर्थिस्, परमेश्‍वरले पहिले नै सबै कुराको बन्दोबस्त गरिसक्‍नुभएको हुनेथ्यो। यदि तँ धूर्त छस् र सुस्ताउँछस् भने, यदि तँ आफ्नो कर्तव्य राम्ररी पूरा गर्दैनस् र सधैँ गलत मार्गमा जान्छस् भने, परमेश्‍वरले तँमाथि कार्य गर्नुहुनेछैन; तैँले यो अवसर गुमाउनेछस्, र परमेश्‍वरले यसो भन्‍नुहुनेछ, “तेरो कामै छैन; म तँलाई प्रयोग गर्न सक्दिनँ। जा, पाखा लाग्। तँलाई चलाक हुन र सुस्ताउन मन पर्छ, होइन त? तँलाई अल्छे हुन र आरामसाथ व्यवहार गर्न मन पर्छ, होइन त? ठिकै छ, सधैँभरी आरामसाथ व्यवहार गर्!” परमेश्‍वरले यो अनुग्रह र अवसर अर्को कुनै व्यक्तिलाई दिनुहुनेछ। तिमीहरू के भन्छौ: यो हार हो कि जित हो? (हार।) यो ठूलो हार हो!

परमेश्‍वरलाई साँच्चिकै प्रेम गर्नेहरू र सत्यता पछ्याउनेहरू सबैलाई उहाँले विभिन्न र फरकफरक परिवेशहरूमा सिद्ध पार्नुहुन्छ। उहाँले मानिसहरूलाई फरकफरक परिवेश वा परीक्षाहरूमार्फत उहाँका वचनहरू अनुभव गर्ने, अनि सत्यता बुझ्ने र उहाँबारे साँचो ज्ञान प्राप्त गर्ने, र अन्ततः सत्यता प्राप्त गर्ने तुल्याउनुहुन्छ। यदि तैँले परमेश्‍वरको काम यस तरिकाले अनुभव गर्छस् भने, तेरो जीवन स्वभाव परिवर्तन हुनेछ, र तैँले सत्यता र जीवन प्राप्त गर्न सक्नेछस्। तिमीहरूले यी वर्षहरूको अनुभवमार्फत केकति कुरा हासिल गरेका छौ? (एकदमै धेरै।) त्यसोभए, के आफ्नो कर्तव्य निर्वाह गर्दा अलिअलि कष्ट सहनु र अलिअलि मूल्य चुकाउनु सार्थक हुँदैन र? त्यसको बदलामा तैँले के प्राप्त गरेको छस्? तैँले सत्यता कति बुझेको छस्? यो एक अमूल्य खजाना हो! मानिसहरू परमेश्‍वरमा विश्‍वास गरेर के प्राप्त गर्न चाहन्छन्? परमेश्‍वरमा विश्‍वास गरेर मानिसहरू के प्राप्त गर्न चाहन्छन्? के त्यो सत्यता र जीवन प्राप्त गर्नु होइन र? के तँलाई यी परिवेशहरू अनुभव नगरीकन सत्यता प्राप्त गर्न सक्छु जस्तो लाग्छ? तैँले कदापि सक्दैनस्। तँलाई केही विशेष कठिनाइहरू आइपर्दा वा तैँले केही विशेष परिवेशहरू सामना गर्दा, यदि तेरो मनोवृति सधैँ ती कुराहरू पन्छाउने वा ती कुराहरूबाट भाग्ने, र हताशपूर्वक ती कुराहरू नकार्ने र मिल्काउने कोसिस गर्ने हुन्छ भने—यदि तँ आफूलाई परमेश्‍वरका योजनाबद्ध कार्यहरूको कृपामा छोड्न चाहँदैनस्, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन अनिच्छुक छस्, र सत्यतालाई आफूमाथि हाबी हुन दिन चाहँदैनस् भने—यदि तँ सधैँ हुकुम जमाउन र तेरो शैतानी स्वभावअनुसार आफ्नो हरेक कुरालाई नियन्त्रण गर्न चाहन्छस् भने, त्यसको परिणामस्वरूप, ढिलोचाँडो परमेश्‍वरले तँलाई पन्छाउनुहुनेछ वा शैतानको जिम्मा लगाउनुहुनेछ। यदि मानिसहरूले यो मामिला बुझ्छन् भने, तिनीहरूले तुरून्तै पछाडि फर्केर परमेश्‍वरले तोक्‍नुभएको सही मार्गअनुसार आफ्नो जीवनको बाटो पछ्याउनुपर्छ। यो नै सही मार्ग हो, र जब मार्ग सही हुन्छ, त्यसको मतलब दिशा पनि सही हुन्छ। बाटोमा खाल्डाखुल्डीहरू हुन सक्छन् र यस अवधिमा कठिनाइहरू आउन सक्छन्, तिनीहरूलाई ठेस लाग्‍न वा कहिलेकाहीँ अलि असन्तुष्टि हुन सक्छ र तिनीहरू कैयौँ दिनसम्म नकारात्मक बन्न पनि सक्छन्। तर जबसम्म तिनीहरूले कर्तव्य निभाउनमा लागिपर्न र कामकुरा ढिलाइ नगराउन सक्छन्, तबसम्म यी सबै समस्याहरू मामुली नै हुनेछन्, तर तिनीहरूले तुरुन्तै आफ्नै बारेमा मनन गर्नुपर्छ, यी समस्याहरू समाधान गर्न सत्यता खोज्नुपर्छ, अनि तिनीहरूले विलम्ब गर्ने, हार मान्‍ने, वा आफ्नो कर्तव्य त्याग्‍ने कदापि गर्नु हुँदैन। यो अत्यन्तै महत्त्वपूर्ण छ। यदि तँ “नकारात्मक र कमजोर हुनु ठूलो कुरा होइन; त्यो भित्री कुरा हो। परमेश्‍वरलाई त्यसबारे थाहा हुँदैन। अनि मैले विगतमा भोगेको कष्ट र चुकाएको मूल्यबारे विचार गर्दा, उहाँ मप्रति अवश्यै उदार हुनुहुनेछ” भनी मनमनै सोच्छस् भने, र यदि यो कमजोरीपन र नकारात्मकता जारी रहन्छ, र परमेश्‍वरले तेरो लागि योजनाबद्ध गर्नुभएको परिवेशमा तैँले सत्यता खोज्‍ने वा पाठ सिक्‍ने गर्दैनस् भने, तैँले बारम्बार तेरा मौकाहरू गुमाउनेछस्, र फलस्वरूप, परमेश्‍वरले तँलाई जे-जस्ता अवसरहरूमार्फत सिद्ध पार्न खोज्नुभएको हो ती सबै अवसरहरू तैँले गुमाउने, बिगार्ने र नष्ट पार्नेछस्। अनि यसको परिणाम के हुनेछ? तेरो हृदयमा झन्झन् अन्धकार छाउनेछ, तैँले आफ्नो प्रार्थनामा परमेश्‍वरको अनुभूति गर्नै छोड्नेछस्, अनि तँ यतिसम्म नकारात्मक बन्नेछस् कि तेरा सोचहरू दुष्टता र घातले भरिएका हुनेछन्। त्यसपछि तँ चरम दुखमा फस्नेछस्, पूरै सामर्थ्यहीन र गहिरो उदासी महसुस गर्नेछस्। तँलाई आफूसँग कुनै मार्ग वा दिशा नभएको, र आफू कुनै ज्योति देख्न वा कुनै आशा भेट्टाउन नसक्ने भएको अनुभूति हुनेछ। के यस तरिकाले जिउनु थकानयुक्त हुन्‍न र? (हो, यो थकानयुक्त हुन्छ।) जो सत्यता खोजी गर्ने उज्यालो मार्गमा हिँड्दैनन् तिनीहरू सदाको लागि शैतानको सत्ता, अनन्त पाप र अन्धकारमा, अनि कुनै आशाबिना जिउनेछन्। के तिमीहरू यी वचनहरूको अर्थ बुझ्न सक्छौ? (मैले सत्यता खोजी गरेर मेरो सारा हृदय र दिमागले आफ्नो कर्तव्य निभाउनुपर्छ।) जब तँलाई कुनै कर्तव्य आइपर्छ, र त्यो तँलाई जिम्मा दिइएको हुन्छ, तब कठिनाइहरू कसरी सामना नगर्ने भनी नसोच्; यदि कुनै कुरा सम्हाल्न कठिन छ भने, त्यसलाई एकातिर पन्साउने र बेवास्ता गर्ने नगर्। तैँले त्यस कुरालाई सिधै सामना गर्नुपर्छ। तैँले सधैँ यो याद राख्‍नुपर्छ कि परमेश्‍वर मानिसहरूको साथमा हुनुहुन्छ, र तिनीहरूलाई कुनै कठिनाइहरू भएमा तिनीहरूले केवल प्रार्थना गरेर उहाँबाट खोजी गर्नुपर्छ, अनि परमेश्‍वर साथमा हुनुहुँदा कुनै कुरा पनि कठिन हुँदैन। तँमा यो विश्‍वास हुनैपर्छ। तैँले परमेश्‍वर नै सबै थोकको शासक हुनुहुन्छ भन्ने विश्‍वास गर्ने भए पनि, किन आफूलाई केही आइपर्दा तँ अझै डर मान्छस् र आफूसँग भरोसायोग्य केही छैन भन्‍ने सोच्छस्? यसले प्रमाणित गर्छ कि तँ परमेश्‍वरमा भरोसा गर्दैनस्। यदि तँ उहाँलाई तेरो साथ र तेरो परमेश्‍वरको रूपमा लिँदैनस् भने, उहाँ तेरो परमेश्‍वर हुनुहुन्न। वास्तविक जीवनमा, तैँले जस्तोसुकै परिस्थितिहरू सामना गरे पनि, तैँले बारम्बार परमेश्‍वरसामु आएर प्रार्थना गर्नु र सत्यता खोज्‍नुपर्छ। तैँले हरदिन एउटा मात्रै मामिलासम्बन्धी सत्यता बुझिस् र केही हासिल गरिस् भने पनि, त्यो समयको नाश भएको हुनेछैन! अहिले तिमीहरू एक दिनमा कति समय परमेश्‍वरसामु आउन सक्छौ? तिमीहरू एक दिनमा परमेश्‍वरसामु कतिपटक आउँछौ? के तिमीहरूले कुनै परिणाम प्राप्त गरेका छौ? यदि कुनै व्यक्ति विरलै परमेश्‍वरसामु आउँछ भने, उसको आत्मा सुकेको र अत्यन्तै अँध्यारो भएको हुनेछ। जब सबै कुरा ठिकै हुन्छ, मानिसहरू परमेश्‍वरबाट टाढा गएर उहाँलाई बेवास्ता गर्छन्, र कठिनाइहरू आइपर्दा मात्र उहाँको खोजी गर्छन्। के यो परमेश्‍वरमा विश्‍वास गर्नु हो त? के यो परमेश्‍वरको काम अनुभव गर्नु हो त? यी कुरा त गैरविश्‍वासीका प्रकटीकरणहरू हुन्। परमेश्‍वरमाथिको यस्तो खालको विश्‍वासले सत्यता र जीवन प्राप्त गर्न असम्भव छ।

जब मानिसहरूले सत्यता बुझ्दैनन् वा अभ्यास गर्दैनन्, तिनीहरू बारम्बार शैतानको भ्रष्ट स्वभावहरूमा जिउँछन्। तिनीहरू विविध शैतानी पासोभित्र जिउँछन्, आफ्नो भविष्य, गौरव, हैसियत, र अन्य रुचिहरूबारे सोच्छन्, र यी कुराहरूबारे सोचमग्न हुन्छन्। तर यदि तैँले यो मनोवृतिलाई आफ्नो कर्तव्यमा, र सत्यता खोज्न र पछ्याउनमा लागू गरिस् भने, तैँले सत्यता प्राप्त गर्न सक्छस्। उदाहरणको लागि, तँ झिनोमसिनो व्यक्तिगत लाभको लागि सोचमग्न हुन्छस्, तँ त्यसबारे ध्यानपूर्वक र गहन रूपले सोच्छस्, हरेक कुरा सिद्ध पार्ने योजना गर्छस्, र त्यसमा ठूलो सोच र ऊर्जा लगाउँछस्। यदि तैँले त्यही ऊर्जा आफ्नो कर्तव्य निर्वाह गर्नमा र समस्याहरू समाधान गर्नको लागि सत्यता खोज्नमा लगाउने हो भने, परमेश्‍वरमा तँप्रति छुट्टै मनोवृति छ भनेर तैँले देख्नेछस्। मानिसहरू निरन्तर परमेश्‍वरबारे गुनासो गर्छन्: “उहाँ किन अरूलाई राम्रो गर्नुहुन्छ तर मलाई गर्नुहुन्न? उहाँले मलाई किन कहिल्यै अन्तर्दृष्टि दिनुहुन्न? म किन सधैँ कमजोर हुन्छु? म किन तिनीहरूजतिकै राम्रो छुइनँ?” यस्तो किन हुन्छ? परमेश्‍वरले कृपावाद देखाउनुहुन्न। यदि तँ परमेश्‍वरसामु आउँदैनस् र तँलाई आइपर्ने कुराहरू सधैँ आफै समाधान गर्न चाहन्छस् भने, उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुन्न। तँ उहाँलाई प्रार्थना र बिन्ती गर्न आउञ्जेल उहाँले प्रतीक्षा गर्नुहुनेछ, त्यसपछि मात्र उहाँले तँलाई अन्तर्दृष्टि प्रदान गर्नुहुनेछ। परमेश्‍वरले कस्ता मानिसहरूलाई रुचाउनुहुन्छ? परमेश्‍वर मानिसहरूले उहाँबाट के मागून् भनेर प्रतीक्षा गरिरहनुभएको छ? के उहाँ तिनीहरूले ती लाज नभएका मानिसहरूले जस्तै पैसा, आराम, प्रतिष्ठा, लाभ, र आनन्द मागून् भन्ने चाहनुहुन्छ? परमेश्‍वरलाई मानिसहरूले त्यस्ता कुराहरू मागेको मन पर्दैन। परमेश्‍वरबाट यी कुराहरू पाउन खोज्नेहरू लाज नभएका मानिसहरू हुन्, तिनीहरू सबैभन्दा निम्न स्तरका मानिसहरू हुन्, र परमेश्‍वरले तिनीहरूलाई चाहनुहुन्न। उहाँ त ती मानिसहरूलाई चाहनुहुन्छ जो पापबाट जाग्न र उहाँमार्फत सत्यता खोज्न र स्विकार्न सक्छन्—उहाँलाई यसप्रकारका मानिसहरू स्वीकारयोग्य लाग्छन्। तैँले यसरी प्रार्थना गर्नुपर्छः “हे परमेश्‍वर, म गहिरो रूपमा शैतानद्वारा भ्रष्ट तुल्याइएको छु, र म बारम्बार मेरा भ्रष्ट स्वभावहरूमा जिउँछु। म ख्याति र हैसियतका विविध प्रलोभनहरू पार गर्न सक्दिनँ, र म ती कुराहरू सम्हाल्न जान्दिनँ। ममा सत्यताका सिद्धान्तहरूको बुझाइ छैन। बिन्ती छ, मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्,” र “म आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक छु, तर मलाई आफू अपर्याप्त छु भन्ने लाग्छ—एउटा हिसाबमा, मेरो कद अत्यन्तै सानो छ, र अर्को हिसाबमा, ममा यो क्षेत्रको बुझाइ छैन। मलाई कामकुराहरू राम्ररी गर्न सक्दिनँ कि भन्ने चिन्ता लाग्छ। बिन्ती छ, मलाई मार्गदर्शन र मदत दिनुहोस्।” तँ आइज र सत्यता खोज् भनी परमेश्‍वरले प्रतीक्षा गरिरहनुभएको छ। जब तँ इमानदार हृदयले खोजी गर्दै परमेश्‍वरसामु आउँछस्, उहाँले तँलाई अन्तर्दृष्टि र ज्योति दिनुहुनेछ, र त्यसपछि तँसित एउटा मार्ग हुनेछ र तैँले आफ्नो कर्तव्य निर्वाह गर्न जान्नेछस्। यदि तँ सधैँ सत्यता सम्बन्धमा प्रयत्‍न लगाउँछस्, र प्रार्थनामा तेरो साँचो स्थिति परमेश्‍वरसामु ल्याउँछस्, अनि परमेश्‍वरको मार्गदर्शन र अनुग्रह माग्छस् भने, यस तरिकाले तैँले बिस्तारै सत्यता बुझ्दै र अभ्यास गर्दै जानेछस्, र तँ जे-जसरी जिउँछस् त्यसमा मानव स्वरूप, सामान्य मानवता र सत्यता वास्तविकता हुनेछन्। यदि तँ परमेश्‍वरको इच्छाबारे ख्याल गर्दैनस्, र सत्यता पछ्याउँदैनस्, र बारम्बार तेरा विविध रुचिहरूको लागि योजना बनाउँछस्, मनन गर्छस्, र तेरो सोच र मेहनत लगाउँछस्, अनि त्यसमा तेरो जीवनसमेत सुम्पन्छस्, र त्यसको लागि आवश्यक परे जे पनि गर्छस् भने, तैँले मानिसहरूको सम्मानका साथै गौरवका विभिन्न लाभ र स्वरूपहरू त प्राप्त गर्न सक्छस् होला—तर कुन बढी महत्त्वपूर्ण छ, यी कुराहरू कि सत्यता? (सत्यता।) मानिसहरू यस्तो धर्मसिद्धान्त बुझ्छन्, तर तिनीहरू सत्यता पछ्याउँदैनन्, तिनीहरू आफ्नै स्वार्थ र हैसियतलाई महत्त्व दिन्छन्। त्यसकारण, के तिनीहरू यो कुरा साँच्चिकै बुझ्छन्, कि यो गलत बुझाइ हो? (यो गलत बुझाइ हो।) वास्तवमा, तिनीहरू मूर्ख हुन्। तिनीहरूले यो कुरा प्रस्ट रूपमा देख्दैनन्। जब तिनीहरूले यसलाई प्रस्ट रूपमा देख्न सक्छन्, तिनीहरूले थोरै कद प्राप्त गरेका हुनेछन्। यसको लागि तिनीहरूले सत्यता पछ्याउनुपर्छ, र परमेश्‍वरको वचनमाथि प्रयत्‍न लगाउनुपर्छ; तिनीहरूले अन्यौल वा लापर्बाह हुन मिल्दैन। यदि तँ सत्यता पछ्याउँदैनस् र एउटा यस्तो दिन आउँछ जब परमेश्‍वरले तँलाई “परमेश्‍वरले उहाँका वचनहरू बोलिसक्नुभएको छ, उहाँ यो मानवजातिलाई थप केही पनि भन्न चाहनुहुन्न, र थप केही गर्न चाहनुहुन्न, र अब मान्छेको काम निरीक्षण गर्ने समय आएको छ” भनेर भन्नुहुन्छ भने, तँलाई हटाइने तेरो नियति निश्‍चित भएको छ। तेरा समर्थकहरू जतिसुकै धेरै भए पनि, तँसित जति नै धेरै वरदान र प्रतिभाहरू भए पनि, तँ जतिसुकै शिक्षित भए पनि, वा तँसित जति नै प्रतिष्ठा भए पनि, वा यो संसारमा तेरो जतिसुकै नामी पद भए पनि, यीमध्ये कुनै पनि कुरा उपयोगी हुनेछैन। त्यस समयमा, तैँले सत्यताको बहुमूल्यता र महत्त्व थाहा पाउनेछस्, र तैँले सत्यता प्राप्त गरेको छैनस् भने परमेश्‍वरसित तेरो केही सरोकार छैन भनेर तैँले बुझ्नेछस, र तैँले सत्यता प्राप्त नगरीकन परमेश्‍वरमा विश्‍वास गर्नु कति दयनीय र दुखद हुन्छ भन्ने कुरा पनि जान्नेछस्। आजभोलि, कैयौँ मानिसहरूको हृदयमा पहिले नै यो कुराको मलिन आभास त आएको छ, तर यो भावनाले तिनीहरूमा अझै पनि सत्यता पछ्याउने दृढता जगाएको छैन। तिनीहरूले आफ्नो हृदयको गहिराइभित्र सत्यताको बहुमूल्यता र महत्त्व अनुभूत गरेका छैनन्। थोरै चेतना भएर मात्र पुग्दैन; व्यक्तिले यो मामिलाको सार प्रस्ट रूपमा साँच्चिकै देख्‍नु जरुरी छ। जब तैँले त्यसो गर्छस्, यो समस्या समाधान गर्न सत्यताको कुन पक्ष प्रयोग गर्ने भनेर तँलाई थाहा हुनेछ। सत्यताले मात्र मानिसहरूले सामना गर्ने विविध कठिनाइहरू समाधान गर्न सक्छ, र तिनीहरूका विविध गलत सोच, सङ्कीर्ण विचार, चरित्रहीन स्वभावहरू, साथै भ्रष्टतासँग सम्बन्धित विविध समस्याहरू समाधान गर्न सक्छ। सत्यता पछ्याएर अनि समस्याहरू समाधान गर्न निरन्तर रूपले सत्यता प्रयोग गरेर मात्र, तिमीहरूले आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र परमेश्‍वरप्रतिको समर्पण हासिल गर्न सक्छौ। यदि तँ आफूलाई आइपर्ने जस्तोसुकै समस्याहरू समाधान गर्न पनि मानव विधि र मानव संयमतामा मात्र भर पर्छस् भने, तैँले कहिल्यै पनि यी कठिनाइ र भ्रष्ट स्वभावहरू समाधान गर्न सक्नेछैनस्। कतिपय मानिसहरू यसो भन्छन्, “यदि मैले परमरेश्‍वरका वचनहरू अझ बढी पढेँ र हरदिन ती वचन पढ्दै घन्टौँ बिताएँ भने, के मैले निश्‍चित रूपमा स्वभाव परिवर्तन हासिल गर्न सक्नेछु?” त्यो तैँले परमेश्‍वरका वचनहरू कसरी पढ्छस् र तँ सत्यता बुझ्न र व्यवहारमा लागू गर्न सक्छस् कि सक्दैनस् भन्नेमा भर पर्छ। यदि उहाँका वचनहरू पढ्दा तैँले झारा टार्ने काम मात्र गर्छस् तर सत्यता पछ्याउँदैनस् भने, तैँले सत्यता प्राप्त गर्नेछैनस्, अनि यदि तैँले सत्यता प्राप्त गर्दैनस् भने, तेरो जीवन स्वभाव कदापि परिवर्तन हुनेछैन। सारांशमा भन्दा, व्यक्तिले सम्पूर्ण रूपले सत्यता पछ्याउनुपर्छ, र स्वभाव परिवर्तन हासिल गर्न व्यक्तिले सत्यता पछ्याउनु र अभ्यास गर्नुपर्छ। सत्यता अभ्यास नगरी परमेश्‍वरका वचनहरू मात्र पढेर कहिल्यै पर्याप्त हुनेछैन। अरूलाई परमेश्‍वरका वचनहरूको प्रवचन दिनमा र ती वचन कसरी व्यवहारमा लागू गर्ने भनी सुनाउनमा दक्खल भएका, तर आफूले चाहिँ त्यसो नगर्ने फरिसीहरूजस्तो हुनु गलत मार्ग हो। परमेश्‍वरले दिनुभएको मापदण्ड भनेको मानिसहरूले उहाँका वचन धेरै पढून् ताकि तिनीहरूले सत्यता बुझ्न, सत्यता अभ्यास गर्न, र सत्यता वास्तविकतामा जिउन सकून् भन्‍ने हो। परमेश्‍वरले मानिसहरूलाई सत्यता वास्तविकताभित्र प्रवेश गर्न, उहाँको मार्ग पछ्याउन, र सत्यता पछ्याउने जीवनको सही मार्गमा हिँड्न लगाउनु भनेको सीधा रूपमा मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा आफ्नो सारा हृदय र शक्ति लगाऊन् भन्ने उहाँको मापदण्डसित सम्बन्धित छ। परमेश्‍वरलाई पछ्याउँदा, मुक्ति प्राप्त गर्न सक्षम र सिद्ध हुनको लागि, मानिसहरूले आफ्नो कर्तव्य गराइमार्फत उहाँको काम अनुभव गर्नु जरुरी छ।

अंश ३५

अब, के तेरा धारणाहरूसँग नमिल्ने कुराहरू आइपर्दा त्यसले तेरो कर्तव्यपालनमा असर पार्न सक्छ? उदाहरणको लागि, कार्यव्यस्तता आउन सक्छ, र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न मानिसहरूले केही कठिनाइ सहनुपर्ने र अलिअलि मूल्य चुकाउनुपर्ने हुन्छ; त्यसपछि कतिपय मानिसहरूले दिमागमा धारणाहरू विकास गर्छन् र तिनीहरूमा प्रतिरोध उत्पन्न हुन्छ, अनि तिनीहरू नकारात्मक बनेर आफ्नो कार्यमा सुस्ताउन सक्छन्। कहिलेकाहीँ काममा व्यस्तता हुँदैन, र मानिसहरूलाई कर्तव्य निर्वाह गर्न सजिलो बन्छ, र त्यसपछि कतिपय मानिसहरू खुसी महसुस गर्छन् र यस्तो सोच्छन्, “मेरो कर्तव्य निभाउन सधैँ यति सजिलो हुने भए त गज्जब हुनेथ्यो।” तिनीहरू कस्ता खालका मानिसहरू हुन्? तिनीहरू अल्छी व्यक्तिहरू हुन् जो देहसुखको लोभ गर्छन्। के यस्ता मानिसहरू आफ्नो कर्तव्यनिर्वाहमा बफादार हुन्छन्? (हुँदैनन्।) यस्ता मानिसहरू परमेश्‍वरप्रति समर्पित हुन इच्छुक भएको दाबी गर्छन्, तर तिनीहरूको समर्पणमा शर्तहरू हुन्छन्—तिनीहरू समर्पित हुनको लागि परिस्थिति तिनीहरूको आफ्नै धारणासँग मिल्‍नुपर्छ र त्यसले तिनीहरूलाई कुनै कठिनाइ भोगाउनु हुँदैन। यदि तिनीहरूले प्रतिकूलता सामना गरेर कठिनाइ सहनुपर्‍यो भने, तिनीहरूले गुनासैगुनासो गर्छन् र परमेश्‍वरविरुद्ध विद्रोह र विरोधसमेत गर्छन्। तिनीहरू कस्ता मानिसहरू हुन्? तिनीहरू सत्यतालाई प्रेम नगर्ने मानिसहरू हुन्। जब परमेश्‍वरका कार्यहरू तिनीहरूका धारणा र चाहनाहरूसित मिल्छन्, र तिनीहरूले कठिनाइ सहनुपर्ने वा मूल्य चुकाउनुपर्ने हुँदैन, तब तिनीहरू समर्पित हुन सक्छन्। तर यदि परमेश्‍वरको काम तिनीहरूका धारणा र रूचिहरूसँग मिल्दैन, र त्यसको लागि तिनीहरूले कठिनाइ सहनुपर्ने वा मूल्य चुकाउनुपर्ने हुन्छ भने, तिनीहरू समर्पित हुन सक्दैनन्। तिनीहरूले खुल्लमखुल्ला विरोध नगरे पनि, हृदयमा तिनीहरू प्रतिरोधी र रिसाएका हुन्छन्। तिनीहरू आफूले ठूलो कठिनाइ सहिरहेको ठान्छन् र हृदयमा गुनासो पाल्छन्। यो कस्तो समस्या हो? यसले तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् भन्‍ने देखाउँछ। के प्रार्थना, प्रतिज्ञा, वा सङ्कल्पले यो समस्या समाधान हुन सक्छ? (अहँ, सक्दैन।) त्यसोभए, यो समस्या कसरी समाधान गर्नुपर्छ? पहिला, तैँले परमेश्‍वरको इच्छा र उहाँका मापदण्डहरू अनि साँचो समर्पण के हो, त्यो बुझ्‍नुपर्छ। तैँले विद्रोहीपन र विरोध के हुन् भनेर बुझ्‍नुपर्छ, के-कस्ता भ्रष्ट स्वभावहरूले परमेश्‍वरप्रतिको तेरो समर्पणलाई रोकिरहेको छ भनी चिन्तन गर्नुपर्छ, र यी मामिलाहरूबारे छर्लङ्ग हुनुपर्छ। यदि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने, तैँले देहलाई र विशेषगरी तेरा दैहिक रूचिहरूलाई त्याग्न र त्यसपछि परमेश्‍वरप्रतिको समर्पण अभ्यास गर्न, र उहाँका मापदण्डहरूअनुसार कार्य गर्न सक्नेछस्। यस तरिकाले, तँ तेरो भ्रष्ट स्वभाव र विद्रोहीपन समाधान गर्न र परमेश्‍वरप्रति समर्पण हासिल गर्न सक्षम हुनेछस्। यदि तँ सत्यता बुझ्दैनस् भने, तैँले यी मामिलाहरू छर्लङ्गै बुझ्न सक्नेछैनस्, तेरा भित्री स्थितिहरू चिन्न सक्नेछैनस्, र परमेश्‍वरप्रतिको तेरो समर्पणलाई के कुराहरूले रोकिरहेका छन् भनी बुझ्न सक्नेछैनस्। अन्ततः तेरो लागि दैहिकता त्याग्न र परमेश्‍वरप्रतिको समर्पण अभ्यास गर्न असम्भव हुनेछ। यदि व्यक्तिले आफ्नो दैहिक अभिरूचिहरू त्याग्नसमेत सक्दैन भने, तिनीहरूलाई आफ्नो कर्तव्य गराइमा बफादारी हासिल गर्न निकै कठिन हुनेछ। के यस्ता मानिसहरूलाई परमेश्‍वरप्रति समर्पित हुने मानिस मान्न सकिन्छ? बफादारीबिना, के मानिसहरू पर्याप्त रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्? के तिनीहरूले परमेश्‍वरका मापदण्डहरू पूरा गर्न सक्छन्? कदापि सक्दैनन्। यदि व्यक्तिले पर्याप्त रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्छ भने, ऊ कम्तीमा पनि सत्यता अभ्यास गर्न र इमानदारीपूर्वक परमेश्‍वरप्रति समर्पित हुन सक्षम हुनुपर्छ। यदि व्यक्तिले आफ्नो दैहिक अभिरूचिहरू त्याग्न सक्दैन भने, उसले व्यवहारमा सत्यता लागू गर्न सक्दैन। यदि तँ सधैँ आफ्नै इच्छाअनुसार कार्य गर्छस् भने, तँ परमेश्‍वरप्रति समर्पित हुने व्यक्ति होइनस्। तँ कहिलेकाहीँ उहाँमा समर्पित भए पनि, त्यसमा सर्त हुन्छ; परिस्थितिहरू तेरा आफ्नै धारणाहरूसँग मिल्दा र तँ राम्रो मूडमा हुँदा मात्र, तँ समर्पित हुन सक्छस्। यदि परमेश्‍वरका कार्यहरू तेरा धारणाहरूसँग मिल्दैनन् भने, यदि परमेश्‍वरले तेरो लागि बन्दोबस्त गर्नुभएको कर्तव्य र उहाँले तेरो लागि योजनाबद्ध गर्नुभएका परिवेशहरूले तँलाई ठूलो कठिनाइ, असहजता, वा घोर असन्तुष्टिको भावना ल्याउँछन् भने, के तँ समर्पित हुन सक्‍नेछस् र? तँलाई समर्पित हुन कठिन हुनेछ; परमेश्‍वरविरुद्ध विद्रोह गर्न र उहाँको विरोध गर्न तैँले थुप्रै कारणहरू भेट्टाउनेछस्। पछि आत्मचिन्तन गर्दा पनि, तँलाई दैहिकता त्याग्न सजिलो हुनेछैन, किनकि दैहिकता त्याग्नु सामान्य कुरा होइन। व्यक्तिले कसरी दैहिकता त्याग्छ? स्वाभाविक रूपमै उसले सत्यता खोज्‍नुपर्छ। उसले आफ्नो भ्रष्ट सार र भ्रष्ट कुरूपता पनि चिन्‍नुपर्छ, र ऊ आफूलाई घृणा गर्ने र आफ्नो दैहिक अभिरूचिहरू र देहको सारलाई पनि घृणा गर्ने बिन्दुमा पुग्‍नुपर्छ। त्यसपछि मात्र ऊ दैहिकता त्याग्न इच्छुक हुनेछ। यदि उसले सत्यता बुझ्दैन भने, उसले दैहिक कुराहरूलाई घृणा गर्न सक्नेछैन, र त्यस्तो घृणाबिना, दैहिकता त्याग्न असम्भव हुन्छ। त्यसकारण, पछ्याउने मार्ग प्राप्त गर्नको लागि परमेश्‍वरलाई प्रार्थना गर्न र उहाँमाथि भरोसा राख्न आवश्यक छ। सत्यताबिना, मानिसहरूमा शक्ति हुँदैन, र तिनीहरूले चाहेर पनि व्यवहारमा सत्यता लागू गर्न सक्दैनन्। व्यक्तिले सम्पूर्ण रूपले परमेश्‍वरलाई प्रार्थना र भरोसा गर्नुपर्छ।

कतिपय मानिसहरूले सत्यता पछ्याउँदैनन्; तिनीहरू दैहिक आरामको लोभ मात्र गर्छन्, र तिनीहरू सत्यता प्राप्त गर्नहेतु कठिनाइ सहन अनिच्छुक हुन्छन्। जब तिनीहरूले सानो कठिनाइ सामना गर्छन्, तिनीहरू परमेश्‍वरविरुद्ध गुनासो र दोषारोपण गर्छन्, र तिनीहरू समस्या समाधान गर्न सत्यता खोजी गर्दैनन्। बरु तिनीहरू यसो भन्दै परमेश्‍वरलाई प्रार्थनासमेत गर्छन्, “हे परमेश्‍वर, तपाईंको पहिचान र सार अति आदर्शमयी छ। म तपाईंलाई प्रेम गर्न लायकको छुइनँ, तर म तपाईंप्रति समर्पित हुन इच्छुक छु। जस्तोसुकै परिस्थिति आए पनि, म तपाईंप्रति समर्पित हुन इच्छुक छु। तपाईंले मलाई मार्गदर्शन, ज्योति र अन्तर्दृष्टि दिनुहोस्। यदि मैले तपाईंलाई साँच्चिकै प्रेम गर्न र तपाईंको आज्ञापालन गर्न सकिनँ भने, मलाई जाँचेर दण्डित गर्नुहोस्। तपाईंको न्याय ममाथि पर्न दिनुहोस्।” यसरी प्रार्थना गरेपछि, तिनीहरू त्यसबारे राम्रो महसुस गर्छन्, तर के यो खोक्रो वचनहरूको थुप्रो मात्र होइन र? के निरन्तर खोक्रो वचनहरूद्वारा प्रार्थना गर्नाले र धर्मसिद्धान्तका केही वचन र वाक्यांशहरू जप्‍नाले समस्याहरू समाधान हुन सक्छ? (अहँ, सक्दैन।) जब व्यक्तिले खोक्रो वचनहरूमार्फत प्रार्थना गर्छ, यो कस्तो समस्या हो? के त्यसमा अलिअलि छली प्रकृति हुँदैन र? के परमेश्‍वरसामु यसरी प्रार्थना गर्नु उपयोगी हुन्छ? अल्छी हुनु र कष्ट सहन असक्षम हुनु, दैहिक आरामको लोभ गर्नु, सत्यता चिन्नु तर त्यसप्रति समर्पित हुन नसक्नु, आफ्नो कर्तव्यबारे थाहा हुनु तर त्यसको परिपालन गर्न नसक्नु, र आफूले आफ्नो सारा हृदय र शक्ति नलगाएको थाहा हुँदाहुँदै पनि परमेश्‍वरलाई प्रेम गर्ने चाहनाबारे बोल्नु—के यो परमेश्‍वरलाई छल गर्नु होइन र? परमेश्‍वरले धार्मिक संस्कारका प्रार्थनाहरूभन्दा बढी अरू कुनै कुरालाई घृणा गर्नुहुन्‍न। प्रार्थनाहरू निष्कपट छन् भने मात्रै परमेश्‍वरले स्वीकार गर्नुहुन्छ। यदि तँसँग कुनै पनि इमानदार कुरा भन्‍नु छैन भने, चुप लाग्; सधैँ झूटा वचनहरू बोल्दै परमेश्‍वरसामु नआइज वा उहाँलाई छल गर्न आँखा चिम्लेर सपथ नखा। तैँले उहाँलाई कति धेरै प्रेम गर्छस्, तँ उहाँप्रति कति धेरै निष्ठावान हुन चाहन्छस् भन्नेबारे कुरै नगर्। यदि तैँले आफ्‍ना इच्‍छाहरूलाई पूरा गर्न सक्दैनस् भने, यदि तँसँग यो सङ्कल्‍प र कदको कमी छ भने, तैँले परमेश्‍वरसामु आएर यसरी प्रार्थना गर्नै हुँदैन। त्यो त परमेश्‍वरलाई गिल्ला गर्नु हो। गिल्ला गर्नु भनेको के हो? गिल्‍ला गर्नु भनेको कसैलाई ठट्टामा उडाउनु, तिनीहरूलाई खेलौना ठान्‍नु हो। जब मानिसहरू यस्तो स्वभावका लिएर परमेश्‍वरको सामुन्ने प्रार्थना गर्न आउँछन्, तब यो कम्तीमा पनि यो धोका हो। सबैभन्दा खराब स्थितिमा, यदि तैँले बारम्‍बार यसो गर्छस् भने, तँ अत्यन्तै तुच्छ चरित्रको होस्। यदि परमेश्‍वरले तँलाई दोषी ठहराउनुपर्ने हो भने, परमेश्‍वरले त्यसलाई ईशनिन्दा भन्नुहुनेथ्यो! मानिसहरूको हृदयमा परमेश्‍वरप्रति कुनै श्रद्धाभाव छैन, तिनीहरूलाई परमेश्‍वरको आदर कसरी गर्ने, वा उहाँलाई कसरी प्रेम गर्ने र सन्तुष्ट तुल्याउने भन्ने थाहै छैन। यदि तिनीहरूको निम्ति सत्यता स्पष्ट छैन, वा तिनीहरूमा भ्रष्ट स्वभाव छ भने, परमेश्‍वरले यसलाई छोडिदिनुहुनेछ। तर तिनीहरू आफ्ना भ्रष्ट स्वभावहरूमा जिएर परमेश्‍वरसामु आउँछन्, र अविश्‍वासीहरूले अरू मानिसहरूलाई ठग्ने विधिहरू परमेश्‍वरमाथि प्रयोग गर्छन्, र तिनीहरू “गम्भीर भएर” परमेश्‍वरसामु घुँडा टेकेर प्रार्थना गर्छन्, र यी शब्‍दहरू प्रयोग गरेर परमेश्‍वरलाई ठग्ने प्रयास गर्छन्। जब तिनीहरूले प्रार्थना गरिसक्छन्, तिनीहरूले आत्मधिक्कारको अनुभूति नगर्ने मात्र होइन, तिनीहरूको कार्यमा पनि कुनै गम्भीरताको अनुभूति समेत हुँदैन। त्यसो भएको हुँदा, के परमेश्‍वर तिनीहरूको साथमा हुनुहुन्छ त? परमेश्‍वर तिनीहरूको साथमा हुनुहुन्न। के त्यो व्यक्ति जो पूर्ण रूपमा परमेश्‍वरविहीन छ, उसले उहाँको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्छ त? के उसले सत्यतासम्बन्धी अन्तर्दृष्टि प्राप्त गर्न सक्छ त? (अहँ, उसले सक्दैन।) त्यसपछि तिनीहरू समस्यामा हुन्छन्। के तिमीहरूले यसरी धेरैपटक प्रार्थना गरेका छौ? के तिमीहरू बारम्बार यसो गर्दैनौ र? (गर्छौँ।) जब मानिसहरूले बाहिरी संसारमा अत्यन्तै धेरै समय बिताउँछन्, तिनीहरू समाजको दुर्गन्धले गन्‍हाउँछन्, तिनीहरूको फोहोरी प्रकृति अति गम्भीर बन्छ, र तिनीहरू शैतानी विष र दर्शनहरूले भरिन्छन्; तिनीहरूको मुखबाट झूट र छलका शब्‍दहरू आउँछन्, र तिनीहरूका प्रार्थनाहरू खोक्रो वचन र धर्मसिद्धान्तका वचनहरूले भरिएका हुन्छन्, त्यसमा हृदयबाटै आउने बोली वा तिनीहरूका कठिनाइहरूको कुरा केही बोलिएको हुँदैन। तिनीहरू सधैँ आफ्ना व्यक्तिगत रूचिहरूको लागि परमेश्‍वरलाई बिन्ती चढाउँछन् र उहाँका आशिष्‌हरू पाउन खोज्छन्, तिनीहरूमा सत्यता खोज्ने हृदय विरलै हुन्छ, र तिनीहरू परमेश्‍वरप्रति समर्पित हुने हृदयको आधारमा प्रार्थना गर्दैनन्। यस्ता प्रार्थनाहरूले छल र झूट मात्र प्रकट गर्छन्। यी मानिसहरूमा गम्भीर भ्रष्ट स्वभावहरू छन्, तिनीहरू जीवित पिसाच बनेका छन्। परमेश्‍वरसामु प्रार्थनामा आउँदा, तिनीहरू मानव वचनहरू बोल्ने वा हृदयबाट बोल्ने गर्दैनन्। बरु, तिनीहरू परमेश्‍वरसामु शैतानको छल र झूट ल्याउँछन्। के यसले परमेश्‍वरको स्वभाव चिढ्याउँदैन र? के परमेश्‍वरले त्यस्ता प्रार्थनाहरू सुन्न सक्नुहुन्छ र? परमेश्‍वर त्यस्ता मानिसहरूबाट दिक्क हुनुहुन्छ र तिनीहरूलाई उहाँ निश्‍चय नै मन पराउनुहुन्न। त्यस्ता प्रार्थनाहरूलाई परमेश्‍वरलाई छल गर्ने र मूर्ख बनाउने प्रयास भन्न सकिन्छ। यी मानिसहरूले बिलकुलै सत्यता खोजिरहेका हुँदैनन्, न त हृदयबाटै बोलिरहेका र परमेश्‍वरमाथि भरोसै गरिरहेका हुन्छन्। तिनीहरूका प्रार्थनाहरू परमेश्‍वरको इच्छा र उहाँका मापदण्डहरूसँग मिल्दैनन्। भित्री रूपमा, यो भ्रष्टताको क्षणिक प्रकाशले भन्दा पनि मानव प्रकृतिको कारणले भएको हो। यी मानिसहरूले यस्तो सोच्छन्, “म परमेश्‍वरलाई देख्न वा अनुभूति गर्न सक्दिनँ, र परमेश्‍वर कहाँ हुनुहुन्छ भनेर मलाई थाहा छैन। म परमेश्‍वरलाई यसै केही शब्दहरू भन्नेछु, उहाँले सुनिरहनुभएको छ कि छैन, कसलाई के थाहा।” तिनीहरू परमेश्‍वरलाई सन्देह र जाँच गर्ने मानसिकताले प्रार्थना गर्छन्—त्यसरी प्रार्थना गरेपछि तिनीहरूमा कस्तो भावना हुन्छ? के त्यो अझै पनि खोक्रोपन नै हुँदैन र? यसरी बिलकुलै भावनारहित हुनु कष्टदायी कुरा होइन र? प्रार्थना त आस्थाको जगमा बनेको हुन्छ। यो परमेश्‍वरलाई आफ्नो हृदयभित्र प्रार्थना गर्नु, परमेश्‍वरसित हृदयदेखि बोल्नु, उहाँसित आफ्नो हृदय खोल्नु, र उहाँबाट सत्यता प्राप्त गर्न खोज्नु हो। जब व्यक्तिले यस तरिकाले प्रार्थना गर्छ, उसलाई भित्रैदेखि शान्तिको आभास र परमेश्‍वरको उपस्थिति अनुभूत हुनेछ। यो परमेश्‍वरले देखा नपरीकनै तिनीहरूको कुरा सुन्नुभएको हो। जब व्यक्तिले परमेश्‍वरलाई हृदयबाटै यसरी प्रार्थना गर्छ, उसलाई परमेश्‍वरसँग व्यक्तिगत साक्षात्कार भएझैँ अनुभूत हुनेछ। उसको आस्था बलियो बन्‍नेछ, परमेश्‍वरसँग उसको सम्बन्ध झन् आत्मीय बन्नेछ, र ऊ उहाँको एक कदम नजिक पुग्‍नेछ। उसलाई परिपूर्तिबोध अनुभूत हुनेछ र ऊ विशेष रूपले हृदयमा अडिग हुनेछ। प्रार्थनापछि उत्पन्न हुने सच्चा भावनाहरू यिनै हुन्। धार्मिक प्रार्थनाहरू जपेर, मानिसहरू झारा टार्ने काम मात्र गर्छन्, हरदिन उही थोरै वाक्यांशहरू यतिसम्म दोहोर्‍याउँछन् कि तिनीहरूलाई ती वाक्यांशहरू फेरि बोल्‍न पनि मन लाग्दैन। त्यस्ता प्रार्थनाहरूपश्‍चात, तिनीहरूलाई केही अनुभूत हुँदैन, र कुनै नतिजा प्राप्त हुँदैन। के यस्ता मानिसहरूमा साँचो आस्था हुन सक्छ त? त्यो असम्भव छ।

कतिपय मानिसहरू आफ्नो कर्तव्यपालनमा बफादार हुँदैनन्। तिनीहरूले सधैँ लापर्बाही गर्ने र झारा टार्ने, वा आफ्नो कर्तव्य अति कठिन वा थकानयुक्त भएको महसुस गर्ने गर्छन्। तिनीहरू समर्पित हुन चाहँदैनन्, तिनीहरू निरन्तर आफ्नो कर्तव्यबाट उम्कन र त्यसलाई नकार्न चाहन्छन्, र तिनीहरू सधैँ त्यस्ता कर्तव्यहरू मात्र निभाउन चाहन्छन् जुन सजिला हुन्छन्, जसले तिनीहरूलाई कठिनाइमा पार्दैन, जसमा कुनै जोखिम हुँदैन र जसले तिनीहरूलाई दैहिक आरामहरू दिन्छन्। हृदयमा, तिनीहरूलाई आफू अल्छी छु, दैहिक आरामहरूको लोभ गर्छु, र कठिनाइ सहन सक्दिनँ भन्ने थाहा हुन्छ। तैपनि, तिनीहरू आफ्नो खिल्ली उडाइएला भन्ने डरले आफ्ना साँचो विचार कसैसँग कहिल्यै व्यक्त गर्दैनन्। मौखिक रूपले तिनीहरू यसो भन्छन्, “मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ र म परमेश्‍वरप्रति बफादार हुनुपर्छ,” र जब तिनीहरू केही पनि राम्ररी गर्न सक्दैनन्, तिनीहरूले सबैलाई यसो भन्छन्, “मेरो कर्तव्य गराइमा कुनै मानवता र बफादारी छैन।” तर वास्तवमा, तिनीहरू त्यस्तो बिलकुलै सोच्दैनन्। जब कुनै व्यक्ति त्यस्तो स्थितिमा हुन्छ, उसले कसरी तर्कसङ्गत ढङ्गले प्रार्थना गर्न सक्छ र? प्रभु येशूले आफ्नो हृदयद्वारा र इमानदारीसाथ परमेश्‍वरलाई प्रार्थना गर्नू भन्नुभएको छ। जब तँ परमेश्‍वरसामु आउँछस्, तेरो हृदय इमानदार र झूटरहित हुनुपर्छ। आफ्नो हृदयमा एउटा कुरा सोचेर अरूसामु अर्कै कुरा नभन्। यदि तँ कुनै खोल ओडेर परमेश्‍वरसामु आउँछस्, र निबन्ध नै लेखिरहेजस्तो गरेर केही कर्णप्रिय र सुन्दर शब्दहरू ओकल्छस् भने, के त्यसो गर्नु परमेश्‍वरलाई छल्नु होइन र? यसको फलस्वरूप, तँ हृदयबाट र इमानदारीसाथ परमेश्‍वरलाई आराधना गर्ने व्यक्ति होइनस् भनेर उहाँले देख्नुहुनेछ। उहाँले तेरो हृदय इमानदार छैन, त्यो अत्यन्तै पापी र दुष्ट छ, र तैँले दुष्ट अभिप्रायहरू राख्छस् भनेर देख्नुहुनेछ, अनि उहाँले तँलाई त्याग्नुहुनेछ। त्यसकारण, मानिसहरूले आफूलाई बारम्बार आइपर्ने कुराहरू र आफूले प्रायः दैनिक जीवनमा सामना गर्ने समस्याहरूबारे कसरी प्रार्थना गर्नुपर्छ? तिनीहरूले परमेश्‍वरसित हृदयबाट बोल्न सिक्‍नुपर्छ। तँ यसो भन्छस्, “हे परमेश्‍वर, मलाई यो कर्तव्य अत्यन्तै थकानयुक्त लागिरहेको छ। म त्यस्तो व्यक्ति हुँ जो दैहिक आरामको लोभ गर्छ, जो अल्छी छ, र जो कडा मेहनत गर्न रुचाउँदैन। तपाईंले मलाई सुम्पनुभएको कर्तव्यमा म आफ्नो बफादारी देखाउन सक्दिनँ, र म त्यसलाई मेरो सारा शक्तिले निर्वाह गर्न पनि सक्दिनँ। म सधैँ त्यसबाट उम्कन र त्यसलाई नकार्न चाहन्छु, र म सधैँ लापर्बाह र झाराटारुवा हुन्छु। कृपया मलाई अनुशासित गराउनुहोस्।” के यी साँचा शब्दहरू होइनन् र? (हो, साँचा हुन्।) के तँलाई त्यसरी बोल्‍ने आँट छ? त्यसो भनेपछि परमेश्‍वरले एकदिन तँलाई साँच्चिकै अनुशासित गराउनुभयो भने के होला भनेर तँलाई डर लाग्छ, र तँ भयभीत, तनावपूर्ण र चिन्तित बन्छस्। मानिसहरू कर्तव्य निर्वाह गर्दा, सधैँ कठिनाइबाट पन्छिन चाहन्छन्। तिनीहरू दैहिक आरामहरूको लोभी हुन्छन् र सानो कठिनाइ सामना गर्दा नै, केही जोड लाउनुपर्दा वा अलिकति थकित महसुस हुँदा नै तिनीहरू पछि सर्छन्। तिनीहरू निरन्तर छान्ने र रोज्ने काम गर्छन्, अनि आफूलाई सानो कठिनाइ अनुभव हुँदा नै तिनीहरू यस्तो सोच्छन्, “के परमेश्‍वरलाई थाहा हुन्छ? के उहाँले याद गर्नुहुनेछ? त्यस्तो ठूलो कठिनाइ सहेपछि, के मैले भविष्यमा कुनै इनाम प्राप्त गर्नेछु?” तिनीहरू सधैँ प्रतिफल खोजिरहेका हुन्छन्। यी सबै समस्याहरू समाधान गरिनुपर्छ। विगतमा, मैले एकजनालाई सन्देश पुर्‍याउने काम दिएँ, जब ऊ फर्केर मलाई रिपोर्ट गर्न आयो, उसले पहिला आफ्ना ठूला उपलब्धिहरूबारे बतायो। उसले आफूले यसरी समस्या समाधान गरेँ भन्दै व्याख्या गर्‍यो, उसले त्यसबारे यति चिन्ता लिएँ र यति धेरै बोल्नुपर्‍यो, त्यो व्यक्तिलाई सम्हाल्न यति गाह्रो भयो, र त्यस व्यक्तिसित यति धेरै कर्णप्रिय शब्दहरू प्रयोग गरेँ, अनि अन्ततः काम फत्ते गरेँ भनेर सुनायो। उसले निरन्तर त्यसको श्रेय लियो र त्यसबारे बोलिरह्यो। यसको अन्तर्निहित तात्पर्य के हो? “तपाईंले मेरो प्रशंसा गर्नुपर्छ, मलाई वाचा गर्नुपर्छ, र मैले भविष्यमा कस्ता इनामहरू पाउछु भनेर मलाई भन्‍नुपर्छ।” उसले खुल्लमखुल्ला इनाम खोजिरहेको थियो। ल भन् त, के यो सानो काम गर्नु प्रशंसायोग्य कुरा हो? यदि व्यक्तिले अलिकति आफ्नो कर्तव्य निर्वाह गर्दैमा सधैँ प्रशंसा चाहन्छ भने, त्यो कस्तो स्वभाव हो? के त्यो शैतानको प्रकृति होइन र? उसले यो सानो कामको लागि प्रशंसा र इनामको अपेक्षा गर्‍यो—के यसको मतलब उसले महत्त्वपूर्ण काम जिम्मा लिने वा ठूलो काम पूरा गर्ने हो भने उसको व्यवहार झनै खराब हुनेछ भन्ने होइन र? यदि उसले परमेश्‍वरको अनुमोदन र आशिष्‌ प्राप्त गर्न सकेन भने, के उसले विद्रोह गर्दैन र? के ऊ तेस्रो स्वर्गमा गएर परमेश्‍वरसँग विवाद गर्दैन र? अनि, परमेश्‍वरमाथिको विश्‍वासमा ऊ हिँडिरहेको मार्ग कस्तो हो? (ख्रीष्टविरोधी मार्ग।) पावलको जस्तै ख्रीष्टविरोधी मार्ग। पावल सधैँ परमेश्‍वरबाट इनाम र हैसियत पाउन खोज्थ्यो। यदि परमेश्‍वरले त्यो कुरा प्रदान गर्नुहुन्थेन भने, ऊ नकारात्मक बन्थ्यो र आफ्नो काममा सुस्ताउँथ्यो, प्रभूको विरोध गर्थ्यो, र उहाँलाई घात गर्थ्यो। ल भन् त, कस्तो व्यक्तिले आफ्नो कर्तव्यमा थोरै कठिनाइ सहेबापत इनाम चाहन्छ? (दुष्ट व्यक्तिले।) तिनीहरूको मानवता अति दुष्ट हुन्छ। के सामान्य मानिसहरूभित्र यस्ता स्थितिहरू हुन्छन्? हरेक व्यक्तिमा यस्ता स्थितिहरू हुन्छन्। हरेक मान्छेको प्रकृति सार एउटै हुन्छ, यति मात्र हो कि कतिपय मानिसहरूले उतिकै जोडदार रूपमा त्यो प्रस्तुत गर्दैनन्। तिनीहरूमा तर्कसङ्गतता हुन्छ र तिनीहरूलाई थाहा हुन्छ कि यस्ता कार्य र सोचहरू गलत हुन्, र तिनीहरूले परमेश्‍वरलाई इनाम माग्न मिल्दैन। तर त्यस्तो स्थितिबारे व्यक्तिले के गर्नुपर्छ? व्यक्तिले सत्यता खोजेर त्यसलाई समाधान गर्नुपर्छ। सत्यताको कुन पक्षले यो स्थिति समाधान गर्न सक्छ? व्यक्तिले आफू को हुँ, आफू कुन स्थानमा उभिनुपर्छ, आफूले कुन मार्ग पछ्याउनुपर्छ, र आफू कस्तो व्यक्ति हुनुपर्छ भनेर जान्नु अत्यन्तै महत्त्वपूर्ण छ। व्यक्तिले जान्नुपर्ने न्युनतम कुराहरू यिनै हुन्। यदि कुनै व्यक्तिलाई यी कुराहरूसमेत थाहा छैन भने, ऊ सत्यता बुझ्न, सत्यता अभ्यास गर्न, वा मुक्ति पछ्याउनबाट निक्कै टाढा छ।

जब केही विशेष कर्तव्यहरू वा बढी तनावपूर्ण र थकानयुक्त कर्तव्यहरू निभाउने कुरा आउँछ, एकातिर, ती कर्तव्यहरू कसरी निर्वाह गर्नुपर्छ, आफूले कस्ता कठिनाइहरू सहनुपर्छ, र आफूले आफ्नो कर्तव्य कसरी परिपालन गर्नुपर्छ र कसरी आफू समर्पित हुनुपर्छ भनी मानिसहरूले सधैँ मनन गर्नुपर्छ। अर्कोतिर, मानिसहरूले आफ्ना अभिप्रायहरूमा कस्ता दुषित कुराहरू छन् र यी कुराहरूले तिनीहरूको कर्तव्य गराइमा कसरी असर पार्छन् भनेर पनि जाँच्नुपर्छ। मानिसहरू कठिनाइ सहन नचाहने प्रवृत्तिसाथ जन्मिन्छन्—कसैले पनि धेरै कठिनाइ सहेर बढी उत्साह वा बढी आनन्द प्राप्त गर्दैन। यस्ता मानिसहरू त अस्तित्वमै छैनन्। देहले कठिनाइ सहनेबित्तिकै मान्छेले चिन्ता र दुःख महसुस गर्नु मान्छेको देहको प्रकृति हो। तर अहिले आफूले निभाउने कर्तव्यमा तिमीहरूले कति कठिनाइ सहनुपर्छ? तैँले केवल थोरै दैहिक थकान सहनुपर्छ र अलि मेहनत लगाउनुपर्छ। यदि तँ यति सानो कठिनाइ पनि सहन सक्दैनस् भने, के तँसँग सङ्कल्प भएको मान्न सकिन्छ र? के तँलाई इमानदारीपूर्वक परमेश्‍वरमा विश्‍वास गर्ने मान्न सकिन्छ र? (सकिँदैन।) यसरी हुँदैन। जब तँ परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुन्छस्, कसैले पनि तेरो सुपरिवेक्षण गरिरहेको हुँदैन। त्यो पूर्ण रूपमा तेरो आफ्नै पहलमा निर्भर हुन्छ। परमेश्‍वरको घरमा कार्य बन्दोबस्त र प्रणालीहरू हुन्छन्, अनि आफ्नो आस्था र आफ्नो विवेक र समझमा भरोसा गर्नु वा नगर्नु व्यक्तिको आफ्नो कुरा हो। तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छस् कि गर्दैनस् भनेर परमेश्‍वरले मात्र जाँच्नुहुन्छ। यदि मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा वा आफ्ना वरिपरिका मानिस, घट्ना वा वस्तुहरूसँग अन्तर्क्रिया गर्दा, तिनीहरूले जे-जस्तो भ्रष्ट स्वभावहरू प्रकट गरे पनि, तिनीहरू त्यसबारे सधैँ अनभिज्ञ हुन्छन् र धिक्‍कार अनुभूति गर्दैनन् भने, के यो असल कुरा हो कि खराब? (यो खराब कुरा हो।) यसलाई किन खराब कुरा मानिन्छ? मान्छेको विवेक र समझको न्यूनतम मापदण्ड हुन्छ। यदि तेरो विवेकमा कुनै चेतना छैन र त्यसले तँलाई खराब कुराहरू गर्नबाट रोक्दैन, वा तेरो व्यवहार संयमित पार्दैन भने, यदि तँ प्रशासनिक आदेशहरू र सिद्धान्तहरू उल्लङ्घन गर्दै मानवतारहित तरिकाले व्यवहार गर्छस्, तर तेरो हृदयमा कुनै धिक्‍कार महसुस हुँदैन भने, के यो नैतिक आधार नहुनु होइन र? के यो तेरो विवेक चेतनारहित हुनु होइन र? (हो।) के तिमीहरू प्राय आफूले केही गलत गर्दा, वा सिद्धान्तहरू उल्लङ्घन गर्दा, वा लामो समयसम्म आफ्नो कर्तव्य निर्वाह गर्नमा बफादार नहुँदा, त्यसबारे सचेत हुन्छौ? (हुन्छौँ।) त्यसपछि, के तेरो विवेकले तँलाई संयमित पार्दै तँलाई तेरो विवेक र समझअनुसार, अनि सत्यता सिद्धान्तहरूबमोजिम कामकुरा गराउन सक्छ? यदि तँ सत्यता बुझ्ने व्यक्ति होस् भने, के तँ आफ्नो विवेकको आधारमा व्यवहार गर्ने तौरतरिकाभन्दा माथि उठेर सत्यता सिद्धान्तहरूबमोजिम व्यवहार गर्न सक्छस्? यदि तैँले त्यसो गर्न सक्छस् भने, तैँले मुक्ति प्राप्त गर्न सक्छस्। आफ्नो कर्तव्य निर्वाह गर्दा कठिनाइ सहन सक्‍नु सजिलो कार्य होइन। विशेष प्रकारको काम राम्ररी गर्नु पनि सजिलो छैन। यी काम गर्न सक्ने मानिसहरूमा निश्‍चय नै परमेश्‍वरका वचनहरू र सत्यताले काम गरिरहेका हुन्छन्। तिनीहरू कठिनाइ र थकानको डरबिना जन्मेका होइनन्। त्यस्तो व्यक्ति त कहाँ भेट्न सकिएला र? यी सबै मानिसहरूमा केही न केही उत्प्रेरणा हुन्छ, र तिनीहरूसँग जगको रूपमा परमेश्‍वरका वचनहरूको केही सत्यता हुन्छ। जब तिनीहरूले आफ्ना कर्तव्यहरू स्विकार्छन्, तिनीहरूका विचार र दृष्टिकोणहरू परिवर्तन हुन्छन्—अनि तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न सजिलो हुन्छ र देहका केही कठिनाइ र थकान सहनु मामुली कुरा लाग्न थाल्छ। तर जो सत्यता बुझ्दैनन् र कामकुरासम्बन्धी जसका विचारहरू परिवर्तन भएका हुँदैनन्, तिनीहरू मानव विचार, धारणा, स्वार्थी चाहना र व्यक्तिगत अभिरूचिहरूअनुसार जिउँछन्, त्यसैले तिनीहरू आफ्नो कर्तव्य निभाउन हिच्किचाउँछन् र अनिच्छुक बन्छन्। उदाहरणको लागि, फोहोरी र थकाइलाग्दो काम गर्ने सम्बन्धमा, कतिपय मानिसहरू यसो भन्छन्, “म परमेमश्‍वरको घरका बन्दोबस्तहरू पालना गर्नेछु। मण्डलीले मेरो लागि जे कर्तव्य बन्दोबस्त गरे पनि, म त्यो गर्नेछु, चाहे त्यो फोहोरी होस् वा थकाइलाग्दो, र चाहे त्यो भव्य होस् वा साधारण। मसँग कुनै मागहरू छैनन्, म त्यसलाई आफ्नो कर्तव्यको रूपमा स्विकार्नेछु। यो परमेश्‍वरले मलाई दिनुभएको आज्ञा हो, र यो थोरै मैला र थकान मैले सहनुपर्ने कठिनाइहरू हुन्।” यसको फलस्वरूप, तिनीहरू आफ्ना काममा संलग्न हुँदा कुनै कठिनाइ सहिरहेको छु भन्ने अनुभूति बिलकुलै गर्दैनन्। अरूलाई त्यो फोहोरी र थकाइलाग्दो लागे पनि, तिनीहरूलाई त्यो सजिलो लाग्छ, किनभने तिनीहरूको हृदय शान्त र अविचलित हुन्छ। त्यो तिनीहरूले परमेश्‍वरको लागि गरिरहेकोले तिनीहरूलाई त्यो कठिन भएजस्तो लाग्दैन। कतिपय मानिसहरू फोहोरी, थकाइलाग्दो, वा सामान्य काम गर्नुलाई तिनीहरूको हैसियत र चरित्रको अपमानको रूपमा लिन्छन्। तिनीहरू त्यसलाई अरूले तिनीहरूलाई सम्मान नगरेको, हेपेको, र तुच्छ नजरले हेरेको रूपमा लिन्छन्। फलस्वरूप, उही काम र कार्यभार सामना गर्नुपर्दा पनि, तिनीहरूलाई त्यो मुस्किल लाग्छ। तिनीहरूले जे गरे पनि, तिनीहरू हृदयमा आक्रोशको भावना बोकेर हिँड्छन्, र परिस्थिति आफूले चाहेजस्तो वा सन्तोषजनक नभएको अनुभूति गर्छन्। भित्री रूपमा, तिनीहरू नकारात्मकता र प्रतिरोधले भरिएका हुन्छन्। तिनीहरू किन नकारात्मक र प्रतिरोधी हुन्छन्? त्यसको जड के हो? धेरैजसो यस्तो किन हुन्छ भने, आफ्नो कर्तव्य निर्वाह गरेर तिनीहरूलाई तलब प्राप्त हुँदैन; सित्तैमा काम गर्नुपरेजस्तो लाग्छ। यदि इनामहरू हुँदो हो त, तिनीहरूलाई यो स्वीकार्य हुन सक्थ्यो, तर तिनीहरूले इनाम पाउँछन् कि पाउँदैनन् भनेर तिनीहरूलाई थाहै हुँदैन। त्यसकारण, मानिसहरूलाई कर्तव्य निभाउनु सार्थक छैन, त्यो बिनाउद्देश्य काम गर्नुसरह हो भन्‍ने लाग्छ, र त्यसैले तिनीहरू कर्तव्य निभाउने सवालमा प्रायः नकारात्मक र प्रतिरोधी बन्छन्। यस्तै हुन्छ होइन र? स्पष्ट रूपमा भन्नुपर्दा, यस्ता मानिसहरू कर्तव्य निभाउन अनिच्छुक हुन्छन्। तर तिनीहरूलाई कसैले जबर्जस्ती गरिरहेका छैनन्, तैपनि तिनीहरू किन कर्तव्य निर्वाह गर्न आइरहेका छन् त? किनभने तिनीहरू आफैलाई यसो गर्न जबर्जस्ती गर्छन्—आशिष्‌ प्राप्त गर्ने र स्वर्गको राज्यमा प्रवेश गर्ने तिनीहरूको चाहनाको कारण तिनीहरूसँग आफ्नो कर्तव्य निर्वाह गर्नुबाहेक अरू कुनै विकल्प छैन। यो तिनीहरू कति विवश छन् भन्ने कुराको प्रकटीकरण हो। तिनीहरूले परमेश्‍वरसित कारोबार गर्ने कोसिस गर्नुपछाडिको मानसिकता यही हो। त्यस्ता मानिसहरूले कसरी हृदयमा नकारात्मकता र प्रतिरोध हुने समस्या समाधान गर्न सक्छन् भनी कतिपयले सोध्छन्। यो समस्या त सत्यता सङ्गति गरेर मात्र समाधान गर्न सकिन्छ। यदि तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन् भने, तिनीहरूसँग जे-जसरी सत्यता सङ्गति गरे पनि, तिनीहरूले त्यो स्विकार्न सक्दैनन्। त्यस्तो अवस्था हेर्दा, तिनीहरू गैरविश्‍वासीहरू हुन्, र तिनीहरूको खुलासा भएको छ। तिनीहरू कारोबार गर्न चाहने र आफूलाई लाभ प्राप्त नहुञ्जेल केही नगर्ने भएकाले, यदि परमेश्‍वरले तिनीहरूलाई इनाम र स्वर्गको राज्यमा प्रवेश दिने वाचा गर्नुभयो, र तिनीहरूलाई एउटा प्रत्याभूतिपत्र लेखिदिनुभयो भने, तिनीहरूले निश्‍चय नै उत्साहसाथ आफ्ना कर्तव्यहरू निर्वाह गर्नेछन्। वास्तवमा, परमेश्‍वरको वाचा खुला हुन्छ, र सत्यता पछ्याउनेहरूले त्यो प्राप्त गर्न सक्छन्। तर सत्यता नपछ्याउनेहरूले त्यो प्राप्त गर्न सक्दैनन्। यो होइन कि तिनीहरू परमेश्‍वरको वाचाबारे सचेत छैनन्; बरु कुरा के हो भने, तिनीहरूलाई हृदयमा त्यो अमूर्त र अनिश्‍चित लाग्छ। तिनीहरूको लागि, परमेश्‍वरको वाचा बाउन्स हुने चेकजस्तै हो—तिनीहरू यसमा विश्‍वास गर्न सक्दैनन्, र यसमा तिनीहरूको साँचो आस्था हुँदैन, र यसमा केही गर्न सकिँदैन। तिनीहरू मूर्त कुराहरू चाहन्छन्, र यदि तैँले तिनीहरूलाई तलब दिन्थिस् भने, तिनीहरू निश्‍चय नै ऊर्जाशील बन्थे। तर विवेक र समझ नभएकाहरू ऊर्जाशील नबन्‍न पनि सक्छन्; तिनीहरू अत्यन्तै दयनीय हुन्छन्। तिनीहरूलाई बाहिरी संसारमा रोजगार दिइन्थ्यो भने पनि, तिनीहरूले लगनसाथ काम गर्दैनथे, तिनीहरू धूर्त हुन्थे र सुस्ताउँथे, अनि तिनीहरू निश्‍चय नै बर्खास्त हुन्थे। यो तिनीहरूको प्रकृतिसम्बन्धी समस्या हो। जो आफ्नो कर्तव्यनिर्वाहमा निरन्तर लापर्बाह र झाराटारुवा हुन्छन्, तिनीहरूको हकमा एउटै मात्र समाधान भनेको तिनीहरूलाई हटाउने र निष्कासन गर्ने हो। सत्यता स्वीकार नगर्नेहरूको लागि अरू कुनै मार्ग हुँदैन। तिनीहरूका सबै बहाना र औचित्य पुस्ट्याइँहरू अनुचित हुन्छन्, र तिनीहरूको मानवताको गुणस्तरबारे छलफल गर्नु आवश्यक छैन।

आजभोलि, अधिकांश मानिसहरूले कर्तव्य निर्वाह गर्न थालेका छन्। के तिमीहरू कर्तव्यहरू के हुन्, ती कसरी उत्पन्न हुन्छन्, र ती कोद्वारा प्रदान गरिन्छन् भनेर बुझ्छौ? (परमेश्‍वरद्वारा मानिसहरूलाई दिइने आज्ञा नै कर्तव्यहरू हुन्।) त्यो ठिक हो। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र उहाँको घरमा आउँछस् भने, यदि तँ परमेश्‍वरको आज्ञा स्विकार्न सक्छस् भने, तँ उहाँको घरको सदस्य होस्। परमेश्‍वरको घरले तेरो लागि बन्दोबस्त गर्ने कार्यहरू, परमेश्‍वरले तँलाई पछ्याउन लगाउनुहुने मार्गहरू, र परमेश्‍वरद्वारा तँलाई दिइने आज्ञाहरू नै तेरा कर्तव्यहरू हुन्, र ती तँलाई परमेश्‍वरले दिनुभएका कुराहरू हुन्। जब तँ परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, उहाँको इच्छा बुझ्छस्, र परमेश्‍वरको घरका बन्दोबस्तहरू सुन्छस् र बुझ्छस्, जब तैँले निर्वाह गर्नुपर्ने कर्तव्य र तैँले पूरा गर्नसक्ने जिम्मेवारीहरू तँलाई हृदयमा थाहा हुन्छ, र जब तैँले परमेश्‍वरको आज्ञा स्विकारेर कर्तव्य निर्वाह गर्न थाल्छस्, तब तँ परमेश्‍वरको घरको एक सदस्य र सुसमाचार विस्तारको एउटा पाटो बन्छस्। परमेश्‍वरले तँलाई उहाँको घरको एउटा सदस्य र उहाँको कामको विस्तारको एउटा पाटोको रूपमा मान्नुहुन्छ। यस बिन्दुमा, तँसँग तैँले निभाउनुपर्ने कर्तव्य हुन्छ। तँ जे गर्न सक्षम भए पनि, तैँले जे हासिल गर्न सक्ने भए पनि, ती तेरा जिम्मेवारीहरू र तेरा कर्तव्य हुन्। यो भन्‍न सकिन्छ कि ती परमेश्‍वरको आज्ञा, तेरो मिसन, र तेरो अनिवार्य कर्तव्य हुन्। कर्तव्यहरू परमेश्‍वरबाट आउँछन्; ती परमेश्‍वरले मानिसलाई सुम्पनुहुने जिम्मेवारी र आज्ञाहरू हुन्। त्यसो भए, मानिसले यसलाई कसरी बुझ्‍नुपर्छ? “यो मेरो कर्तव्य र परमेश्‍वरले मलाई दिनुभएको आज्ञा भएकोले, यो मेरो दायित्व र जिम्मेवारी हो। मैले यसलाई मेरो अनिवार्य कर्तव्यको रूपमा स्वीकार गर्नुपर्छ र यसो गर्नु मात्र सही हो। मैले यसलाई अस्वीकार वा इन्कार गर्नु हुँदैन; मैले रोज्नु र छनौट गर्नु मिल्दैन। ममाथि जे आइपर्छ त्यो निश्‍चय नै मैले गर्नुपर्ने कुरा हो। मसँग छनौट गर्ने अधिकार नभएकोहोइन—तर मैले छनौट गर्नु हुँदैन।” सृष्टि गरिएको प्राणीमा हुनुपर्ने बोध यही हो। यो समर्पणको मनोवृति हो। कतिपय मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा निरन्तर सजिलो काम मात्र रोज्छन्, सधैँ सजिलो र आनन्द हुने काम मात्र गर्न चाहन्छन्, र परमेश्‍वरको घरका बन्दोबस्तहरूप्रति समर्पित हुन सक्दैनन्। यसले देखाउँछ कि तिनीहरूको कद अत्यन्तै सानो छ, र तिनीहरूमा सामान्य मानव समझ छैन। यदि तिनीहरू जवान व्यक्ति हुन् र तिनीहरूलाई घरमा कुनै कठिनाइ भोग्‍न नदिई पुलपुल्याइएको र लाडप्यार गरिएको छ भने, तिनीहरू अलि जिद्दी हुनु ठिकै हो। जबसम्म तिनीहरूले सत्यता स्विकार्न सक्छन्, तबसम्म यो बिस्तारै परिवर्तन हुँदै जानेछ। तर यदि तीस वा चालिस पार गरेको वयस्कले यस्तो विद्रोही रूपले व्यवहार गर्छ भने, त्यो अल्छीपनको समस्या हो। अल्छीपन जन्मजात रोग हो र यो उपचार गर्न सबैभन्दा कठिन हुन्छ। यो व्यक्तिको प्रकृतिसम्बन्धी समस्या हो, र अन्य कुनै पनि विकल्परहित विशेष परिवेश वा परिस्थितिहरूमा मात्र यस्ता मानिसहरूले अलिअलि कठिनाइ र थकान सहन सक्छन्। यो कतिपय मगन्तेहरू मगन्ते भएकै कारण अरूको तिरस्कार र विभेद भोग्नुपर्नेबारे सचेत हुँदाहुँदै पनि तिनीहरूको अल्छीपन र काम गर्ने अनिच्छाले गर्दा, तिनीहरूसँग मगन्ते जीवन अँगाल्नुको विकल्प नहुनुजस्तै हो। अन्यथा, तिनीहरूले भोकभोकै मर्नुपर्नेछ। निष्कर्षमा भन्नुपर्दा, यदि कुनै व्यक्तिले आफ्नो कर्तव्य विवेकपूर्वक र जिम्मेवारीपूर्वक निर्वाह गर्न सक्दैन भने, ढिलोचाँडो उसलाई निष्कासन गरिनेछ। सबैभन्दा ठूलो अपराध भनेकै परमेश्‍वरमा विश्‍वास गर्नु तर उहाँप्रति समर्पित नहुनु हो। यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्न अस्वीकार गर्छस् वा तँ निरन्तर रूपले कठिनाइहरू भोग्न चाहँदैनस् र परिश्रम गर्न डराउँछस् भने, तँ विवेक र समझ नभएको व्यक्ति होस्। तँ कर्तव्य निर्वाह गर्न लायकको छैनस्, तँ निस्केर जान सक्छस्। कुनै दिन, जब तैँले आफ्नो कर्तव्य निर्वाह नगर्नु भनेको सृष्टिको प्रभूले तँलाई दिनुभएको आज्ञा अस्वीकार गर्नुजस्तै हो, र तँ परमेश्‍वरविरुद्ध विद्रोह गर्ने व्यक्ति होस्, र तँसँग विवेक र समझ छैन भन्‍ने महसुस गर्छस्, र जब तैँले परमेश्‍वरमा विश्‍वास गर्नेहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ र त्यसो गर्नु आवश्यक छ भन्‍ने महसुस गर्छस्, तब तैँले आफै उचित व्यवहार गर्नुपर्छ र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। यो नै समर्पण हो। यदि व्यक्ति आफ्नो कर्तव्यमा विद्रोही वा नकारात्मक छ भने, अर्थात् यदि उसले परमेश्‍वरप्रति बिलकुलै समर्पण देखाउँदैन भने, त्यस्तो व्यक्तिले उहाँको लागि इमानदारीपूर्वक आफूलाई अमर्पित गरिरहेको हुँदैन। स्वेच्छाले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु नै परमेश्‍वरप्रतिको समर्पणको न्यूनतम अभिव्यक्ति हो। त्यसोभए, कर्तव्यहरू कसरी पैदा हुन्छन्? (कर्तव्यहरू परमेश्‍वरबाटै आउँछन्; ती परमेश्‍वरले मानिसहरूलाई दिनुभएका जिम्मेवारीहरू हुन्।) कर्तव्यहरू परमेश्‍वरले मानिसहरूलाई दिनुभएका जिम्मेवारीहरू हुन्, त्यसो भए के अविश्‍वासीहरूसँग कर्तव्यहरू हुन्छन् त? (अहँ, हुँदैनन्।) तँ किन तिनीहरूसँग कर्तव्य हुँदैन भनेर भन्छस्? (तिनीहरू परमेश्‍वरको घरका मानिसहरू होइनन्।) त्यो ठिक हो, अविश्‍वासीहरू आफ्नो दैहिक जीवनमा मात्र आफूलाई व्यस्त राख्छन्, र तिनीहरूका कार्यहरू कर्तव्य भन्नलायक हुँदैनन्। अविश्‍वासीहरू सांसारिक र शैतानका मानिसहरू हुन्। परमेश्‍वरले तिनीहरूको जीवन नियति—तिनीहरू जन्मेको समय, तिनीहरू जन्मेको परिवार, हुर्केपछि तिनीहरूले गर्ने काम, र तिनीहरूको मृत्युको समय—मात्र बन्दोबस्त गर्नुहुन्छ, उहाँले तिनीहरूलाई न त चुन्‍नुहुन्छ, न त मुक्ति नै दिनुहुन्छ। परमेश्‍वरमा विश्‍वास गर्नेहरू फरक हुन्छन्। सीमित अर्थमा, परमेश्‍वरको घरमा तिनीहरूले गर्ने हरेक काम नै तिनीहरूले निभाउनुपर्ने कर्तव्य हो। बृहत अर्थमा, परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाभित्र, परमेश्‍वरको कामसँग सहकार्य गर्नु नै हरेक सृष्टि गरिएको प्राणीले निर्वाह गर्ने कर्तव्य हो। सरल रूपमा भन्नुपर्दा, तिनीहरूले यसरी परमेश्‍वरको व्यवस्थापन योजनाको लागि सेवा गरिरहेका हुन्छन्। तर तैँले बफादारीसाथ सेवा गरे पनि वा नगरे पनि, तँ परमेश्‍वरको इच्छा पूरा गर्ने व्यक्ति हुनबाट टाढा छस्। खासमा, व्यक्तिले आफ्नो कर्तव्य साँच्चिकै पूरा गर्न, परमेश्‍वरलाई साक्षी दिने परिणाम हासिल गर्न, र उहाँको अनुमोदन प्राप्त गर्न सकेपछि मात्र उसलाई परमेश्‍वरका मानिसहरूमध्येको एक र पूर्ण सृष्टि गरिएको सन्तोषजनक प्राणी मान्न सकिन्छ। यदि तँ परमेश्‍वरले तँलाई सुम्पनुभएको हरेक कर्तव्य राम्ररी निर्वाह गर्छस्, र आवश्यक मापदण्डहरू पूरा गर्छस् भने, तँ परमेश्‍वरको घरको सदस्य र परमेश्‍वरद्वारा उहाँको घरको मान्छेको रूपमा पहिचान गरिएको व्यक्ति होस्।

अंश ३६

“इमानदार व्यक्ति हुनु एकदमै खुसीको कुरा हो” भन्ने गीतका सबै शब्द निकै व्यावहारिक छन् र मैले सङ्गति गर्न यसबाट केही हरफहरू लिएको छु। ल, सबभन्दा पहिले हामी यस हरफबारे सङ्गति गरौँ, “म पूरै हृदय र मनले आफ्नो कर्तव्य पालना गर्छु र मलाई देहको कुनै चिन्ता छैन।” यो कस्तो स्थिति हो? पूरै हृदय र मनले आफ्नो कर्तव्य पालना गर्ने व्यक्ति कस्तो खालको व्यक्ति हो? के उसँग विवेक छ? के उसले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो जिम्मेवारी पूरा गरेको छ? के उसले कुनै पनि तरिकाले परमेश्वको ऋण तिरेकोको छ? (छ।) उसले पूरै हृदय र मनले आफ्नो कर्तव्य पालना गर्न सक्छ भन्ने तथ्यले उसले गम्भीरतापूर्वक, जिम्मेवार भएर, झारा नटारी, चलाकी नगरी वा काम नछली र जिम्मेवारीबाट नभागी यसलाई पूरा गर्दछ भन्ने अर्थ दिन्छ। उसको मनोवृत्ति सही छ, अनि उसको स्थिति र मानसिकता सामान्य छ। उसँग समझ र विवेक छ, उसले परमेश्वरको ख्याल गर्छ, अनि आफ्नो कर्तव्यप्रति बफादार र समर्पित छ। “देहको कुनै चिन्ता छैन” भन्नुको अर्थ के हो? यहाँ पनि केही स्थितिहरू छन्। यसको मूल अर्थ के हो भने ऊ आफ्नो देहको भविष्यबारे चिन्ता गर्दैन र आफ्नो भविष्यका लागि योजना बनाउँदैन। यसको मतलब वृद्ध भएपछि के गर्नेछ, उसको हेरविचार कसले गर्नेछ वा त्योबेला ऊ कसरी जिउनेछ भन्ने कुराबारे उसले ख्याल गर्दैन। ऊ यी कुराहरू कोख्याल गर्दैन, बरु सबै कुरामा परमेश्वरका योजनाबद्ध कार्य र प्रबन्धमा समर्पित हुन्छ। आफ्नो कर्तव्य राम्ररी निभाउनु नै उसको पहिलो र सबैभन्दा प्रमुखकार्य हुन्छ—आफ्नो कर्तव्य पालना गर्नु र परमेश्वरको आज्ञापालन गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्छ। जब मानिसहरूले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्, तब के तिनीहरूमा केही मानव स्वरूप हुँदैन र? यो मानव स्वरूप हुनु नै हो। मानिसहरूले कम्तीमा आफ्नो कर्तव्य राम्ररी निभाउनुपर्छ, यसैप्रति समर्पित हुनुपर्छ, अनि आफ्नो पूरै हृदय र मन यसमा लगाउनुपर्छ। “आफ्‍नो कर्तव्य पालना गर्नु” भनेको के हो? यसको अर्थ मानिसहरूले जस्तोसुकै कठिनाइहरू सामना गरे पनि, लत्तो नछाड्नु, भगुवा नहुनु, वा आफ्‍नो जिम्‍मेवारीबाट पछि नहट्नु भन्‍ने हो। व्यक्तिले आफूले सक्‍नेजति सबै गर्नुपर्छ। आफ्‍नो कर्तव्य पालना गर्नु भनेको यही हो। उदाहरणको लागि, मानौँ तेरो लागि केही काम गर्ने बन्दोबस्त मिलाइएको छ अनि तँलाई रेखदेख गर्ने, सुपरिवेक्षण गर्ने वा गर्-गर् भन्‍ने कोही छैन। यस्तो बेला तैँले आफ्‍नो कर्तव्य पालना गर्नु भनेको कस्तो हुन्छ? (परमेश्‍वरको सुक्ष्म जाँचलाई स्वीकार गर्नु र उहाँको उपस्थितिमा जिउनु।) परमेश्‍वरको सुक्ष्म जाँचलाई स्वीकार गर्नु पहिलो कदम हो; यो यसको एउटा भाग हो। अर्को भाग भनेको आफ्‍नो सारा मन र मस्तिष्कले आफ्नो कर्तव्य निभाउनु हो। आफ्‍नो सारा मन मस्तिष्कले कर्तव्य निभाउन सक्षम हुनको निम्ति तैँले के गर्नुपर्छ? तैँले सत्यतालाई स्वीकार गरेर अभ्यास गर्नुपर्छ; अर्थात तैँले परमेश्‍वरका मागहरूलाई स्वीकार र पालना गर्नुपर्छ; तैँले आफ्‍नो कर्तव्यलाई आफ्‍नै व्यक्तिगत मामिलाहरू सम्हाले झैँ गरी सम्हाल्नुपर्छ, र त्यसको लागि तँलाई कसैको निगरानी, परिवेक्षण, तैँले सही तरिकामा कर्तव्य गरिरहेको छस कि छैनस् भनेर जाँच, प्रोत्साहन, निरीक्षण वा निराकरण वा काटछाँटको समेत खाँचो हुनु हुँदैन। तैँले मनमा यस्तो सोचेको हुनुपर्छ, “यो कर्तव्य पूरा गर्ने मेरो जिम्‍मेवारी हो। यो मेरो भाग हो, र यो काम गर्न मलाई दिइएको हुनाले, र मलाई सिद्धान्तहरू बताइएको र मैले ती बुझेको हुनाले, म एकोहोरो भएर लागिरहनेछु। यसलाई राम्ररी पूरा गर्न म आफूले सकेजति गर्नेछु।” तँ यो कर्तव्य निभाउन दृढ रहनुपर्छ, र कुनै व्यक्ति, मामला वा कुराले बाधित हुनुहुन्न। आफ्‍नो सारा मन र मस्तिष्कसहित आफ्‍नो कर्तव्य पालना गर्नु भनेको यही हो र मानिसहरूमा हुनुपर्ने स्वरूप यही हो। त्यसो भए, आफ्‍नो कर्तव्य सारा मन र मस्तिष्कसहित पालना गर्नको लागि मानिसहरू के कुराले सुसज्‍जित हुनुपर्छ? तिनीहरूमा सर्वप्रथम सृष्टि गरिएको प्राणीहरूमा हुनुपर्ने विवेक हुनुपर्छ। न्यूनतम कुरा त्यही हो। त्यसबाहेक, ऊ समर्पित पनि हुनुपर्छ। व्यक्तिले एक मानवको रूपमा, परमेश्‍वरको आज्ञा स्वीकार गर्नका निम्ति ऊ भक्ति-भावयुक्त हुनुपर्छ। व्यक्ति परमेश्‍वरप्रति मात्र पूर्ण रूपमा भक्ति-भावयुक्त हुनुपर्छ, र ऊ आधा मनको हुनु हुँदैन, वा जिम्मेवारी उठाउन असफल हुनु हुँदैन; आफ्नै रुचिहरू वा मनस्थितिको आधारमा कार्य गर्नु गलत हो, यसो गर्नु भक्ति-भावयुक्त हुनु होइन। भक्ति-भावयुक्त हुनुको अर्थ के हो त? यसको अर्थ यही हो कि तैँले आफ्ना कर्तव्यहरू निभाउँछस् र आफ्नो मनस्थिति, वातावरण, वा अरू मानिस, मामिला र कामकुराहरूद्वारा प्रभावित र बाध्य हुँदैनस्। तैँले मनमनै यस्तो सोच्नैपर्छ, “मैले यो आज्ञा परमेश्‍वरबाट पाएको छु; उहाँले मलाई यो दिनुभएको हो। यसको अर्थ मैले गर्नुपर्ने यही नै हो, त्यसकारण, म यसलाई मेरो आफ्नै मामिलाहरू गरे झैँ गरी, राम्रा परिणामहरू ल्याउने जुनसुकै तरिकाद्वारा र परमेश्‍वरलाई सन्तुष्ट पार्ने कुरालाई महत्त्व दिंदै गर्नेछु।” जब तँ यस्तो अवस्थामा हुन्छस्, तेरो विवेक नियन्त्रणमा हुने मात्र होइन, तर तँ भित्र भक्ति-भाव पनि हुन्छ। यदि तँ दक्ष बन्‍ने र परिणामहरू प्राप्त गर्ने आकाङ्क्षा गर्दैनस्, त्यो कार्य सम्पन्‍न गर्दा नै सन्तुष्ट हुन्छस्, अनि त्यसमा आफ्नो पूरै प्रयास लगाउनु नै पर्याप्त हुन्छ भनी विचार गर्छस् भने, त्यो मानिसहरूको विवेकको मापदण्ड पूरा गर्नु मात्र हो, र त्यसलाई भक्ति मान्‍न सकिंदैन। परमेश्‍वरको भक्त हुनु, विवेकको मापदण्डभन्दा उच्‍च माग र मापदण्ड हो। यो आफ्नो पूरै प्रयत्न लगाउने कुरा मात्र होइन; त्यसमा तैँले आफ्नो सम्पूर्ण हृदय पनि लगाउनुपर्छ। तैँले आफ्नो हृदयमा सधैं आफ्नो कर्तव्यलाई आफूले गर्नुपर्ने कामको रूपमा लिनुपर्छ, त्यस कामको लागि बोझ लिनुपर्छ, यदि तैँले सानो गल्ती गरिस् वा तँ लापरवाह स्थितिमा भइस् भने तैँले केही गाली सहनुपर्छ, र तैँले यस्तो आचरण देखाउनुहुँदैन भनी महसुस गर्नुपर्छ किनकि यसले तँलाई परमेश्‍वरप्रति अत्यन्तै ऋणी बनाउँछ। जुन मानिसहरूमा साँच्‍चै विवेक र समझ हुन्छ उनीहरूले कसैले निगरानी वा सुपरिवेक्षण गरिरहेको भए वा नभए पनि आफ्नो कर्तव्य आफूले गर्नुपर्ने कामजस्तै ठानेर पूरा गर्छन्। परमेश्‍वर उनीहरूसँग खुसी हुनु भए पनि वा नहुनु भए पनि र परमेश्वरले उनीहरूसँग जस्तोसुकै व्यवहार गर्नुभए पनि, आफ्ना कर्तव्यहरू राम्ररी गर्न अनि परमेश्‍वरले उनीहरूलाई सुम्पनुभएको आज्ञा पूरा गर्न उनीहरूले सधैं आफैसँग कठोर मापदण्डहरू राख्छन्। यसैलाई भक्ति भनिन्छ। के यो विवेकको मापदण्डभन्दा पनि उच्‍च मापदण्ड होइन र? विवेकको मापदण्डअनुसार व्यवहार गर्दा, मानिसहरू प्राय बाहिरी कुराहरूद्वारा प्रभावित हुन्छन्, वा आफ्नो कर्तव्यमा आफ्नो सबै प्रयास लगाउनु मात्रै पनि पर्याप्त हुन्छ भन्ठान्छन्; शुद्धताको स्तर त्यति उच्‍च हुँदैन। तर, “भक्ति” र “विश्‍वासयोग्य ढङ्गले आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्‍ने क्षमता” बारे कुरा गर्दा, शुद्धताको स्तर उच्‍च हुन्छ। यो प्रयास लगाउनु मात्रै होइन; यसको लागि तैँले आफ्‍नो कर्तव्यमा आफ्नो सारा हृदय, मन, शरीर, र प्राण लगाउनु आवश्यक हुन्छ। तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न कहिलेकाहीँ थोरै शारीरिक कठिनाइ सहनैपर्छ। तैँले मूल्य चुकाउनैपर्छ र आफ्नो सम्पूर्ण ध्यान आफ्नो कर्तव्य निभाउनमा केन्द्रित गर्नुपर्छ। तैँले जुनसुकै परिस्थितिको सामना गरे पनि त्यसले तेरो कर्तव्यमा असर पार्नेछैन वा तेरो कर्तव्यपालनमा ढिलासुस्ती निम्त्याउने छैन र तैँले परमेश्वरलाई सन्तुष्ट बनाउन सक्नेछस्। यसो गर्न तैँले मूल्य चुकाउन सक्नैपर्छ। तैँले आफ्नो दैहिक परिवार, व्यक्तिगत मामिला र स्वार्थ त्याग्नैपर्छ। तैँले आफ्नो घमण्ड, अभिमान, भावना, भौतिक सुख र तेरो युवा अवस्थाका उत्कृष्ट वर्षहरू, तेरो विवाह, तेरो भविष्य र तेरो भाग्यजस्ता सबै कुरालाई त्याग्नुपर्छ, र तैँले स्वेच्छाले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। त्यसपछि, तैँले पाएको हुनेछस् र यसरी जिएर तँसँग मानव स्वरूपहुनेछ। यस्ता मानिसमा विवेक हुने मात्रै होइन, तिनीहरूले विवेकको मापदण्डलाई परमेश्वरले मानिससँग माग गर्नुहुने भक्तिभाव आफैबाट माग गर्ने आधारका रूपमा अनि यो भक्तिभावलाई आफैलाई मूल्याङ्कन गर्ने साधनका रूपमा प्रयोग गर्छन्। तिनीहरू लगनका साथ यस लक्ष्य तर्फ लागि पर्छन्। यस्ता मानिसहरू पृथ्वीमा दुर्लभ हुन्छन्। परमेश्वरद्वारा चुनिएका हजारौँ वा दशौँ हजारमा, यस्तो मान्छे एक जना मात्र हुन्छ। के यस्ता मानिसले मूल्यवान जीवन जिउँछन्? के तिनीहरू परमेश्वरले कदर गर्नुहुने मानिस हुन्? निश्चय नै, तिनीहरूले मूल्यावान जीवन जिउँछन् र तिनीहरू परमेश्वरले कदर गर्नुहुने मानिस हुन्।

यो गीतको अर्को हरफले यसो भन्छ, “मेरो योग्यता कम भए पनि, मसँग इमानदार हृदय छ।” यी वचनहरू अत्यन्तै वास्तविक सुनिन्छन्, र परमेश्‍वरले मानिसबाट गर्नुहुने एउटा मागबारे कुरा गर्छ। कस्तो माग? यो माग के हो भने, यदि मानिसहरूमा योग्यताको कमी छ भने, त्यो संसारको अन्त्य होइन, तर उनीहरूमा इमानदार हृदय हुनुपर्छ र छ भने, उनीहरूले परमेश्‍वरको स्याबासी प्राप्त गर्न सक्छन्। तेरो परिस्थिति वा पृष्ठभूमि जस्तोसुकै भए पनि, तँ इमानदार व्यक्ति हुनुपर्छ, इमानदारीसाथ बोल्नुपर्छ, इमानदारीसाथ व्यवहार गर्नुपर्छ, तेरो सम्पूर्ण मनमस्तिष्कले आफ्नो कर्तव्य पूरा गर्न सक्‍नुपर्छ, तँ आफ्नो कर्तव्य निभाउनमा समर्पित हुनुपर्छ, तैँले झारा टार्न खोज्नु हुँदैन, छट्टु वा छली व्यक्ति हुनुहुँदैन, झुट बोल्नु वा धोका दिनु हुँदैन, र घुमाएर कुरा गर्नुहुँदैन। तँ त्यस्तो व्यक्ति बन्‍नुपर्छ, जसले सत्यताअनुसार कार्य गर्छ, र जो सत्यतालाई पछ्याउँछ। धेरै मानिसहरू आफ्नो क्षमता कमजोर भएको र आफूले कहिल्यै आफ्नो कर्तव्य राम्ररी वा मापदण्डअनुरूप ननिभाएको सोच्छन्। तिनीहरूले आफूले गर्ने काम सक्दो राम्ररी गर्छन्, तर कहिल्यै सिद्धान्त बुझ्न सक्दैनन् र अझै पनि त्यत्ति राम्रा परिणामहरू प्राप्त गर्न सक्दैनन्। अन्तत:, उनीहरू केवल आफू कम क्षमताको भएको गुनासो गर्छन् अनि नकारात्मक हुन्छन्। त्यसोभए, के कमजोर क्षमता भएको व्यक्तिका लागि अघि बढ्ने मार्ग नै छैन त? कमजोर क्षमता हुनु कुनै घातक रोग होइन र परमेश्वरले कमजोर क्षमता भएका मानिसहरूलाई म मुक्ति नै दिन्नँ भनेर कहिल्यै भन्नुभएन। परमेश्वरले पहिले भन्नुभएझैँ, उहाँलाई इमानदार तर अज्ञानी व्यक्तिहरूको चिन्ता लाग्छ। अज्ञानी हुनुको अर्थ के हो? अज्ञानता धेरैजसो कमजोर क्षमता हुँदा देखा पर्छ। जब मानिसहरू कमजोर क्षमताका हुन्छन्, तब तिनीहरूमा सत्यताबारे सतही बुझाइ हुन्छ। यो विशिष्ट वा पर्याप्त व्यावहारिक हुँदैन, र प्रायः सतही स्तर वा शाब्दिक बुझाइमा सीमित हुन्छ—यो धर्मसिद्धान्त र नियमहरूमा सीमित हुन्छ। त्यसैले तिनीहरूले धेरै समस्याहरूलाई बुझ्न सक्दैनन् र कर्तव्य निर्वाह गर्दा कहिल्यै सिद्धान्तहरू आत्मसात् गर्न, वा आफ्नो कर्तव्य राम्ररी निभाउन सक्दैनन्। त्यसोभए, के परमेश्वरले कमजोर क्षमता भएका मानिसहरू चाहनुहुन्न? (चाहनुहुन्छ।) परमेश्वरले मानिसलाई कुन मार्ग वा दिशा देखाउनुहुन्छ? (इमानदार व्यक्ति बन्ने।) के त्यति भनेर मात्र तँ इमानदार व्यक्ति बन्न सक्छस्? (सक्दैनस्, तँमा इमानदार व्यक्तिको प्रकटीकरण हुनैपर्छ।) इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्? पहिलो, परमेश्‍वरका वचनहरूप्रति कुनै शङ्का नहुनु। यो इमानदार व्यक्तिको एउटा प्रकटीकरण हो। यसबाहेक, सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण भनेको सबै कुरामा सत्यता खोजी र अभ्यास गर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ आफू इमानदार छु भन्छस्, तर सधैं परमेश्‍वरका वचनहरूलाई तेरो दिमागको पछाडिको भागमा धकेलेर राख्छस् र जे मन लाग्यो त्यही गर्छस् भने, के त्यो इमानदार व्यक्तिको प्रकटीकरण हो त? तँ भन्छस्, “मेरो योग्यता कम भए पनि मसँग इमानदार हृदय छ।” तापनि जब तँमाथि कुनै काम-कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्‍नुपर्ला वा आफूले त्यो काम राम्रोसँग गरिएन भने, त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, त्यसकारण तँ आफ्नो कर्तव्यबाट तर्किन बहानाहरू बनाउँछस् वा त्यो गर्न अरू कसैलाई सिफारिस गर्छस्। के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? अवश्य होइन। त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा भक्तिसाथ लाग्‍नुपर्छ, र परमेश्‍वरको इच्‍छालाई सन्तुष्ट पार्न लागिपर्नुपर्छ। यसले आफूलाई धेरै तरिकामा प्रकट गर्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु र आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। ती इमानदारीका प्रकटीकरणहरू हुन्। अर्को तरिका भनेको आफ्‍नो कर्तव्य राम्ररी निभाउन आफ्‍नो सारा हृदय र बल लगाउनु, सबै काम उचित रूपमा गर्नु, र परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि आफ्‍नो कर्तव्यमा आफ्‍नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्। यदि तैँले आफूले जानेको र बुझेको कुरा गर्दैनस्, अनि आफ्नो प्रयासको ५० वा ६० प्रतिशत मात्र लगाउँछस् भने, त्यसमा आफ्नो सारा हृदय र सारा बल लगाइरहेको छैनस्।बरु तँ धूर्त होस् र सुस्त हुँदै छस्। के यसरी आफ्ना कर्तव्य निर्वाह गर्ने मानिसहरू इमानदार हुन् त? अवश्य होइनन्। परमेश्‍वरलाई यस्ता धूर्त र छली मानिसहरूको कुनै काम हुँदैन; तिनीहरूलाई हटाउनैपर्छ। परमेश्‍वरले इमान्दार मानिसहरूलाई मात्र कर्तव्य निभाउन प्रयोग गर्नुहुन्छ। भक्त सेवाकर्ताहरूसमेत इमानदार हुनैपर्छ। लामो समयदेखिका लापरवाह, झाराटारुवा मानिसहरू, धूर्त र सुस्त हुन खोज्ने मानिसहरू सबै छली हुन्, तिनीहरू सबै पिशाच हुन्, तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरमा साँचो विश्‍वास गर्दैन, र तिनीहरू सबैलाई हटाइनेछ। कतिपय मानिसहरू सोच्छन्, “इमानदार व्यक्ति बन्‍नु भनेको सत्य बोल्‍नु र झूट नबोल्‍नु मात्रै हो। इमानदार व्यक्ति बन्‍न साँच्‍चै सहज हुन्छ।” यो विचार तिमीहरूलाई कस्तो लाग्छ? के इमानदार व्यक्ति बन्नुको दायरा यति सीमित छ? निश्चित रूपमा छैन। तैँले आफ्नो हृदयलाई प्रकट गर्नुपर्छ र त्यो परमेश्‍वरलाई दिनुपर्छ। इमानदार व्यक्तिमा यस्तै मनोवृत्ति हुनुपर्छ। त्यसैले त इमानदार हृदय अत्यन्तै बहुमूल्‍य हुन्छ। यसले के सङ्केत गर्छ? यसले के सङ्केत गर्छ भने, इमानदार हृदयले तेरो व्यवहारलाई नियन्त्रण र तेरो स्थितिलाई परिवर्तन गर्न सक्छ। यसले तँलाई सही निर्णय गर्न, र परमेश्‍वरमा समर्पित भएर उहाँको अनुमोदन प्राप्त गर्न अगुवाइ गर्न सक्छ। यस्तो हृदय साँच्चै मूल्यवान् हुन्छ। यदि तँसँग यस्तो इमानदार हृदय छ भने, तँ जिउनुपर्ने स्थिति त्यही हो, तैँले त्यसरी नै व्यवहार गर्नुपर्छ र त्यसरी नै आफूलाई समर्पित गर्नुपर्छ। तैँले यी बोललाई राम्रोसँग मनन गर्नुपर्छ। कुनै पनि वाक्य त्यसको शाब्दिक अर्थ जत्तिकै सरल हुँदैन र यसलाई मनन गरेर साँच्चै बुझिस् भने तैँले केही प्राप्त गरेको हुनेछस्।

यस गीतको अर्को हरफ हेरौँ: “सबथोकमा पूरै भक्तिभावसहित परमेश्वरको इच्छालाई सन्तुष्ट पार।” यी शब्दहरूमा अभ्यासको मार्ग छ। केही मानिसहरू कर्तव्य निभाउने सिलसिलामा कठिनाइहरू सामना गर्दा नकारात्मक बन्छन्, र यसले तिनीहरूलाई कर्तव्य निभाउन अनिच्छुक बनाउँछ। यी मानिसहरूमा केही त खराबी छ। के तिनीहरूले इमानदारीपूर्वक आफूलाई परमेश्वरमा समर्पित गरिरहेका पनि छन् र? तिनीहरूले कठिनाइहरू सामना गर्दा तिनीहरू किन नकारात्मक हुन्छन्, र समस्याहरू समाधान गर्न किन सत्यता खोजी गर्न सक्दैनन् भनेर चिन्तन गर्नुपर्छ। यदि तिनीहरू आत्मचिन्तन गर्न र सत्यता खोज्न सक्छन् भने, तिनीहरूले आफ्ना समस्याहरू बुझ्न सक्नेछन्। वास्तवमा, मानिसहरूको सबभन्दा ठूलो कठिनाइ भनेको मुख्यतः भ्रष्ट स्वभावको समस्या हो। यदि तैँले सत्यता खोज्न सक्छस् भने तेरो भ्रष्ट स्वभाव ठीक गर्न सजिलो हुनेछ। आफ्नो भ्रष्ट स्वभाव ठीक गर्नेबित्तिकै, तैँले परमेश्वरको इच्छालाई सन्तुष्ट पार्न सबैथोकमा पूर्ण रूपले समर्पित हुन हु सक्नेछस्। “सबैथोक” भनेको कुरा जेसुकै होस्, चाहे त्यो परमेश्वरले तँलाई दिनुभएको कुनै कुरा होस्, अगुवा वा सेवकले तेरा लागि प्रबन्ध गरेको कुनै कुरा होस्, वा तैँले अचानक सामना गरेको कुनै कुरा नै किन नहोस्, जबसम्म यो तैँले गर्नुपर्ने कुरा हुन्छ र जबसम्म तैँले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छस्, तबसम्म तँ यसमा पूर्ण रूपले समर्पित लहुनुपर्छ, आफ्नो जिम्मेवारी र कर्तव्य निभाउनुपर्छ, अनि परमेश्वरको इच्छालाई सन्तुष्ट पार्नुलाई नै आफ्नो सिद्धान्त बनाउनुपर्छ। यो सिद्धान्त अलिक भव्य सुनिन्छ र मानिसहरूलाई यसअनुसार जिउन अलिक कठिन हुन्छ। अलि व्यावहारिक शब्दमा भन्दा, यसको अर्थ तैँले आफ्नो कर्तव्य राम्ररी निभाउनु हो। कर्तव्य पालना गर्नु र यसलाई राम्ररी पूरा गर्नु सजिलो छैन। चाहे अगुवा हुँदा होस् वा सेवक हुँदा, वा अरू कुनै कर्तव्य गर्दा होस्, तैँले केही सत्यताहरू बुझ्नैपर्छ। के तैँले सत्यता नबुझी आफ्नो कर्तव्य राम्रोसँग निभाउन सक्छस्? के तैँले सत्यताका सिद्धान्तहरू पालना नगरी यसलाई राम्रोसँग निभाउन सक्छस्? यदि तैँले सत्यताका सबै पक्ष बुझ्छस् र सत्यता सिद्धान्तअनुसार अभ्यास गर्न सक्छस् भने, तैँले आफ्नो कर्तव्य राम्रोसँग निभाएको, कर्तव्य पालना गरेको, र सत्यता वास्तविकतामा प्रवेश गरेको हुनेछस् अनि परमेश्वरको इच्छालाई सन्तुष्ट पार्न सक्नेछस्। अभ्यास गर्ने मार्ग यही हो। के यो गर्न सजिलो छ? तैँले निर्वाह गर्ने कर्तव्य तँलाई मन पर्छ र त्यसमा सिपालु छस् भने, तैँले यो आफ्नो जिम्मेवारी र दायित्व हो, अनि यो कार्य गर्नु पूर्णतः सही र उचित हो भन्ने महसुस गर्नेछस्। तँ हर्षित, खुसी र सहज महसुस गर्नेछस्। यो तैँले गर्न चाहेको कुरा हुनेछ, तँ यसमा पूर्ण रूपले समर्पित हुन सक्नेछस् र आफूले परमेश्वरलाई सन्तुष्ट बनाइरहेको महसुस गर्नेछस्। तर कुनै दिन तैँले आफूलाई मन नपर्ने वा पहिले कहिल्यै नगरेको कर्तव्य सामना गर्दा, के तँ त्यसमा पूर्ण रूपले समर्पित हुन सक्नेछस्? यसले तैँले सत्यता अभ्यास गरिहेको छस् कि छैनस् भनेर परीक्षण गर्नेछ। उदाहरणका लागि, यदि तेरो कर्तव्य भजन समूहमा छ, र तँ गाउन सक्छस् अनि तँलाई मन पर्छ भने, तँ यो कर्तव्य निभाउन इच्छुक हुनेछस्। यदि तँलाई अर्को कर्तव्य दिइयो, त्यसमा तँलाई सुसमाचार प्रचार गर्न भनियो र यो काम अलिक कठिन छ भने, के तैँले यसको पालना गर्न सक्नेछस्? तैँले यसबारे सोच्नेछस् अनि यसो भन्नेछस्, “म गीत गाउन मन पराउँछु।” यसको अर्थ के हो? यसको अर्थ यो हो कि तँ सुसमाचार सुनाउन चाहँदैनस्। यसको स्पष्ट अर्थ यही हो। तैँले यसो भनिरहनेछस्, “म गीत गाउन मन पराउँछु।” यदि कुनै अगुवा वा सेवकले “तपाईँले सुसमाचार प्रचार गर्ने तालिम लिएर आफूलाई अझ धेरै सत्यताले सुसज्जित गर्दा हुँदैन र? यो तपाईँको जीवन वृद्धिका लागि फाइदाजनक हुनेछ।” भनेर तँसँग तर्क गरे भने, तँ अझै पनि जिद्दी गर्दै यसो भन्छस्, “मलाई गीत गाउन मन पर्छ, मलाई नाच्न मन पर्छ।” चाहे तिनीहरूले जेसुकै भनून्, तँ सुसमाचार प्रचार गर्न चाहँदैनस्। तँ किन जान चाहँदैनस्? (किनभने तँलाई रुचि छैन।) तँलाई रुचि छैन, त्यसैले तँ जान चाहँदैनस्—यहाँ रहेको समस्या के हो? समस्या के हो भने तँ आफ्नो कर्तव्य आफ्ना प्राथमिकता र व्यक्तिगत रुचिअनुसार छनोट गर्छस् र आज्ञापालन गर्दैनस्। तँमा आज्ञाकारिता छैन, र समस्या त्यहीनै हो। यदि तँ यस समस्याको हल गर्न सत्यता खोज्दैनस् भने, तैँले साँचो आज्ञाकारिता खासै देखाइरहेको छैनस्। तैँले यस अवस्थामा साँचो आज्ञाकारिता देखाउन के गर्नुपर्छ? तैँले परमेश्वरको इच्छा सन्तुष्ट पार्न के गर्न सक्छस्? यही बेला हो, जब तैँले सत्यताको यस पक्षबारे चिन्तन-मनन गरेर सङ्गति गर्नुपर्छ। यदि तँ परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्न सबथोकमा आफ्नो पूरै भक्ति अर्पण गर्न चाहन्छस् भने, तैँले एउटा मात्र कर्तव्य निभाएर त्यसो गर्न सक्दैनस्; तैँले परमेश्‍वरले तँलाई दिनुहुने कुनै पनि आज्ञालाई स्वीकार गर्नुपर्छ। चाहे त्यो तेरा चाखअनुसार होस् वा नहोस् अनि तेरा रुचिहरूसित मेल खाओस् वा नखाओस्, वा त्यो तँलाई गर्न आनन्द नलाग्ने वा तैँले अघि कहिल्यै नगरेको कुरा होस् वा गाह्रो कुरा होस्, तैँले अझै पनि त्यसलाई स्वीकार र पालन गर्नुपर्छ। तैँले त्यसलाई केवल स्वीकार गर्ने मात्रै होइन, बरु त्यसलाई अनुभव गर्दैगर्दा र त्यसमा प्रवेश गर्दै गर्दा तैँलेसक्रिय रूपमा सहकार्य पनि गर्नुपर्छ, र त्यसबारेमा सिक्‍नुपर्छ। तैँले कष्ट भोग्‍नुपरे पनि, तँ थकित, अपहेलित, वा बहिस्कृत भए पनि, तैँले अझै पनि त्यसमा आफ्‍नो पूरै भक्तिभाव लगाउनुपर्छ। यसरी अभ्यास गरेर मात्रै तैँले सबथोकमा पूरै भक्तिभाव लगाउन अनि परमेश्‍वरको इच्छा सन्तुष्ट पार्न सक्नेछस्। तैँले यसलाई आफूले पूरा गर्नुपर्ने कर्तव्य मान्‍नुपर्छ, व्यक्तिगत व्यवसायजस्तो ठान्‍नु हुँदैन। तैँले कर्तव्यहरूलाई कसरी बुझ्नुपर्छ त? सृष्टिकर्ता परमेश्‍वरले कसैलाई दिनुभएको कामको रूपमा हेर्नुपर्छ; मानिसहरूले पाउने कर्तव्य यसरी नै आउँछ। परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा नै तेरो कर्तव्य हो, र तैँले परमेश्‍वरले मापदण्ड दिनुभएअनुसार आफ्‍नो कर्तव्य निभाउनु पूर्ण रूपमा प्राकृतिक र उचित कुरा हो। यदि तँ यो कर्तव्य परमेश्‍वरको आज्ञा हो, र यो तँमाथि आइरहेको परमेश्‍वरको प्रेम र आशिष् हो भनी स्पष्टसँग देख्‍न सक्छस् भने, तैँले परमेश्‍वरलाई प्रेम गर्ने हृदयले आफ्‍नो कर्तव्य स्वीकार गर्न र आफ्‍नो कर्तव्य निभाउँदा तैँले परमेश्‍वरको इच्‍छालाई ध्यान दिन सक्‍नेछस्, र परमेश्‍वरलाई सन्तुष्ट पार्न तैँले सबै कठिनाइहरू पार गर्न सक्‍नेछस्। परमेश्‍वरको लागि साँचो रूपमा आफैलाई समर्पित गर्नेहरूले कहिल्यै पनि परमेश्‍वरको आज्ञालाई इन्कार गर्न सक्दैनन्; तिनीहरूले कहिल्यै पनि कुनै कर्तव्य इन्कार गर्न सक्दैनन्। परमेश्‍वरले तँलाई जे-जस्तो कर्तव्य सुम्पनुभए पनि, यसमा जति नै कठिनाइ आइपर्ने भए पनि, तैँले यसलाईइन्कार गर्नु हुँदैन बरु स्वीकार गर्नुपर्छ। अभ्यासको मार्ग यही हो, र यही नै परमेश्‍वरलाई सन्तुष्ट पार्न सबै कुरामा सत्यताको अभ्यास गर्नु र आफ्नो पूरै भक्तिभाव लगाउनु हो। यहाँ मुख्य कुरा के हो? “सबै कुरा” भन्ने शब्द हो। “सबै कुरा” ले तँलाई मन पर्ने वा तँ सिपालु रहेको कुरालाई जनाउँछ भन्‍ने छैन, तँ परिचित रहेका कुराहरूलाई जनाउनु त परको कुरा हो। कहिलेकहीँ, केही कुराहरू हुन्छन् जसमा तँ सिपालु हुँदैनस्, जुन तैँले सिक्‍नुपर्ने हुन्छ, जुन कठिन हुन्छन् र जसमा तैँले पीडा भोग्नुपर्ने हुन्छ। तैपनि, चाहे कुरा जेसुकै नै होस्, यदि परमेश्‍वरले तँलाई त्यो सुम्पनुभएको छ भने, तैँले त्यो उहाँबाट आएको भनी यसलाई स्विकार्नुपर्छ, र त्यो कर्तव्यलाई स्विकारेर राम्रोसित निर्वाह गर्नुपर्छ, र आफ्नो पूरै भक्तिभाव लगाउनुपर्छ र परमेश्‍वरको इच्‍छा सन्तुष्ट पार्नुपर्छ। अभ्यासको मार्ग भनेको यही हो। जेसुकै आइपरे पनि, तैँले सधैँ सत्यताको खोजी गर्नुपर्छ र कस्तो अभ्यास परमेश्‍वरको इच्‍छाअनुरूप हुन्छ भन्‍ने पत्ता लगाएपछि, तैँले त्यसरी नै अभ्यास गर्नुपर्छ। यसो गरेर मात्रै तँ सत्यता अभ्यास गरिरहेको हुन्छस्, र यसरी मात्रै तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस्।

यस गीतको एउटा अर्को हरफ छ, जसले भन्छ, “म खुला र सोझो छु, छल गर्न जान्दिनँ, ज्योतिमा जिइरहेको छु।” मानिसलाई यो मार्ग कसले दिन्छ? (परमेश्वरले दिनुहुन्छ।) यदि कोही खुला र सोझो छ भने ऊ इमान्दार व्यक्ति हो। उसले आफ्‍नो हृदय पूर्ण रूपमा परमेश्‍वरको निम्ति खोलिदिएको छ र उसँग लुकाउनु पर्ने केही कुरा छैन न त ऊ कुनै कुराबाट लुक्नु पर्ने नै छ। उसले आफ्‍नो हृदय परमेश्‍वरलाई दिएको छ, र उहाँसामु खोलेर देखाइदिएको छ, अर्थात उसले आफ्नो सम्पूर्ण अस्तित्व उहाँमा सुम्पिदिएको छ। त्यसोभए, के ऊ परमेश्‍वरबाट अझै पनि टाढा हुन सक्छ त? अहँ, हुन सक्दैन र त्यसैले उसलाई परमेश्‍वरमा समर्पित हुन सहज हुन्छ। यदि परमेश्‍वरले ऊ छली छ भनी भन्नुभयो भने उसले त्यो कुरा स्विकार्छ। यदि परमेश्‍वरले ऊ अहङ्कारी र स्वधर्मी छ भनी भन्नुहुन्छ भने, उसले त्यो पनि स्विकार्छ र उसले यी कुराहरूलाई स्विकारेर त्यतिकै छोड्ने काम गर्दैन—ऊ पश्‍चात्ताप गर्न, सत्यता सिद्धान्तहरूतर्फ लागिपर्न, र आफू गलत भएको महसुस गर्दा त्यसलाई सच्याउन र आफ्ना गल्तीहरू सुधार्न सक्षम हुन्छ। थाहै नभई, उसले आफ्‍ना धेरै गलत शैलीहरू सुधार गरिसकेका हुन्छ, र ऊ बिस्तारै कमभन्दा कम छली, धोकेबाज, लापरवाह र झाराटारुवा हुँदै जान्छन्। ऊ जति लामो समय यस प्रकारले जिउँछ, त्यत्ति नै बढी खुला र सम्मानजनक बन्नेछ, र त्यति नै बढी इमानदार व्यक्ति बन्ने लक्ष्यको नजिक पुग्नेछ। ज्योतिमा जिउनु भनेकै यही हो। यो सबै महिमा परमेश्‍वरलाई जान्छ। जब मानिसहरू ज्योतिमा जिउँछन् यो परमेश्‍वरले गर्दा नै भएको हुन्छ—यो तिनीहरूले घमण्ड गर्ने कुरा होइन। जब मानिसहरू ज्योतिमा जिउँछन्, तब तिनीहरूले हेरक सत्यता बुझ्छन्, तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ, तिनीहरूलाई आफूले सामना गर्ने हरेक समस्यामा सत्यता खोजी गर्न र त्यसलाई अभ्यास गर्न आउँछ, र तिनीहरू विवेक र समझसाथ जिउँछन्। तिनीहरूलाई धर्मी मानिसहरू भन्‍न नसकिए पनि, परमेश्‍वरको नजरमा तिनीहरूमा केही न केही मानव स्वरूप हुन्छ, र कम्तीमा पनि, तिनीहरूका बोली र कार्यले परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेका हुँदैनन्, आफूलाई समस्या आइपर्दा तिनीहरूले सत्यता खोजी गर्न सक्छन्, र तिनीहरूमा परमेश्‍वरप्रति आज्ञाकारी हृदय हुन्छ। तसर्थ, तिनीहरू तुलनात्मक रूपमा सकुशल र सुरक्षित हुन्छन्, र सम्भवतः परमेश्‍वरलाई धोका दिँदैनन्। उनीहरूमा सत्यताको त्यति गहन ज्ञान नभए पनि, उनीहरू आज्ञापालन गर्न र समर्पित हुन सक्छन्, तिनीहरूसँग परमेश्‍वरको डर मान्ने, र दुष्टताबाट अलग रहने हृदय हुन्छ। जब उनीहरूलाई कुनै कार्य वा कर्तव्य दिइन्छ, उनीहरूले आफ्नो सम्पूर्ण हृदय र मनले त्यो गर्न, र आफ्नो क्षमताले भ्याएसम्म गर्न सक्छन्। यस प्रकारको व्यक्ति भरोसायोग्य हुन्छ र ऊप्रति परमेश्‍वरलाई आत्मविश्‍वास हुन्छ—यस्ता मानिसहरू ज्योतिमा जिउँछन्। के ज्योतिमा जिउनेहरूले परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न सक्छन्? के उनीहरूले अझै पनि परमेश्‍वरबाट आफ्नो हृदय लुकाउन सक्छन्? के अझै पनि तिनीहरूले परमेश्‍वरलाई भन्‍न नसक्‍ने गोप्य कुराहरू हुन्छन्? के तिनीहरूमा अझै पनि गुप्त र चलाकीहरू हुन्छन्? हुँदैनन्। तिनीहरूले परमेश्‍वरसामु पूर्ण रूपमा हृदय खोलेका हुन्छन्, र तिनीहरूले लुकाइरहेको र आँखाबाट ओझेल गरिरहेको कुनै पनि कुरा हुँदैन। तिनीहरूले खुलेर परमेश्‍वरलाई आफ्ना व्यक्तिगत कुराहरू बताउन, उहाँसँग कुनै पनि कुराको बारेमा सङ्गति गर्न, र उहाँलाई सबै कुरा थाहा दिन सक्छन्। तिनीहरूले परमेश्‍वरलाई नभन्‍ने र नदेखाउने कुरा केही पनि हुँदैन। जब मानिसहरूले यो मापदण्ड हासिल गर्छन्, तब तिनीहरूको जीवन सहज, स्वतन्त्र र मुक्त हुन्छ।

अंश ३७

आफ्नो कर्तव्य निर्वाह गर्नु कुन-कुन मुख्य सिद्धान्तहरूमा आधारित छ? व्यक्तिले परमेश्वरको घरका मानक, सिद्धान्त र मागहरूअनुसार कार्य गर्नैपर्छ, सत्यताबमोजिम अभ्यास गर्नैपर्छ, अनि परमेश्वरको वचन र सत्यता प्रयोग गरेर, अनि परमेश्वरको घरको काम र हितको सुरक्षालाई सिद्धान्त मानेर पूरा हृदय र सामर्थ्यले आफ्नो कर्तव्य निर्वाह गर्नैपर्छ। त्यसोभए मानिसहरूले सामान्यतया आफ्ना लागि कसरी कार्य गर्छन्? तिनीहरू मनपरी गर्छन्, आफ्ना कार्यहरूमा आफ्नै हितलाई प्राथमिकता दिएर तिनलाई अरू सबै कुराभन्दा माथि राख्छन्। तिनीहरू जे आफ्नो हितमा हुन्छ त्यही गर्छन्, आफ्नो स्वार्थी देहगत चाहना पूरा गर्नमात्र कार्य गर्छन् अनि न्याय, विवेक र समझबारे अलिकति पनि विचार गर्दैनन्; यस्ता कुरा तिनको हृदयमा नै हुँदैन। तिनीहरू शैतानी स्वभावलाई मात्र पछ्याउँछन् अनि मानिसको प्राथमिकताअनुसार कार्य गर्छन्, जहाँ पनि षड्यन्त्र रच्दै शैतानी दर्शनअनुसार जिउँछन्। यो कस्तो खाले जिउने तरिका हो? यो शैतानको जिउने तरिका हो। परमेश्वरलाई पछ्याउँदा अनि आफ्नो कर्तव्य निर्वाह गर्दा व्यक्तिले सत्यता सिद्धान्तअनुसार कार्य गर्नुपर्छ, र उसमा कम्तीमा पनि विवेक र समझ हुनैपर्छ—यो न्यूनतम मापदण्ड हो। कतिपय मानिस भन्छन्: “आज म खराब मुडमा छु, त्यसैले यस मामिलामा लापरवाह हुन चाहन्छु।” के यसरी कामकुरा गर्नु विवेकपूर्ण हुन्छ? (हुँदैन।) के तिमीहरू लापरवाह हुन चाहेका बेला यसबारे सचेत हुन्छौ? (हुन्छौँ।) के तिमीहरू यसबारे सचेत नहुने क्षणहरू पनि हुन्छन्? (हुन्छन्।) त्यसोभए के तिमीहरू यस्तो भइसकेपछि आफैलाई जाँच्न र यो कुरा पत्ता लगाउन सक्छौ? (थोरबहुत सक्छौँ।) तिमीहरूले आफू लापरवाह भएको पत्ता लगाइसकेपछि अर्को पटक तिमीहरूलाई त्यस्तै लापरवाह हुने र झारा टार्ने विचार आउँदा के तिमीहरू ती विचारलाई त्यागेर तिनलाई समाधान गर्न सक्छौ? (म यसबारे सचेत हुँदा ती विचारहरूलाई थोरबहुत त्याग्न सक्छु।) तैँले हरेक पटक आफ्नो विचार र चाहनालाई त्याग्दा एउटा लडाइँ हुन्छ, र यदि यस लडाइँको अन्त्यमा तेरा स्वार्थी चाहनाहरूले जिते भने तैँले जानीजानी परमेश्वरको विरोध गरेको हुनेछस् र तँ खतरामा पर्नेछस्। मानौँ तैँले १० वर्ष परमेश्वरमा विश्वास गरिस्, अनि पहिलो तीन वर्ष जसोतसो गर्दै सम्हालिस् र धेरथोर इमानदार पनि भइस्, तर तीन वर्षपछि तैँले के बुझिस् भने परमेश्वरमा विश्वास गर्दा सत्यताको अभ्यास र सत्यता वास्तविकतामा प्रवेश गर्नैपर्छ र आफ्नो देहलाई त्याग्नैपर्छ। त्यसपछि, अलिअलि गर्दै तैँले आफ्नो भ्रष्टता र द्वेष अनि आफ्नो दुष्ट र अहङ्कारी स्वभावलाई चिन्न थाल्छ्स्, र त्यतिबेलासम्म तैँले आफूलाई साँचो रूपमा चिन्छस्—तैँले आफ्नो भ्रष्ट सारलाई चिन्छस्। तँलाई सत्यता स्विकार्न अनि आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न एकदमै आवश्यक छ भन्ने महसुस हुन्छ, र यसबेला मात्र तँलाई सत्यता वास्तविकता नहुनु एकदम दयनीय हो भन्ने महसुस हुन्छ। हरेक पटक तिनीहरूको भ्रष्टताको खुलासा हुँदा तिनीहरूको हृदयमा लडाइँ चले पनि, यी हरेक लडाइँमा तिनीहरू आफ्ना स्वार्थी चाहनाहरूलाई पराजित गर्न असफल हुन्छन् र अझै पनि आफ्ना प्राथमिकताअनुसार नै कार्य गर्छन्। वास्तवमा, तिनीहरूको हृदयमा शैतानको स्वभावले अझै पनि हुकुमत चलाइरहेको छ, तसर्थ सत्यता अभ्यास गर्न कठिन छ भन्ने तिनीहरू आफैलाई राम्रोसँग थाहा हुन्छ। यसले तिनीहरूसँग कुनै सत्यता वास्तविकता छैन भन्ने पुष्टि गर्छ अनि तिनीहरूले अन्त्यमा मुक्ति पाउन सक्नेछन् वा छैनन् भन्न एकदम गाह्रो हुन्छ। यदि तँ साँच्चै इच्छा गर्छस् भने तैँले बुझेका सत्यताहरू अभ्यास गर्नुपर्छ र तैँले यी सत्यता अभ्यास गर्दा जुनसुकै भ्रष्ट स्वभावले बाधा पुऱ्याए पनि, तैँले सधैँ परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र उहाँमा भर पर्नुपर्छ, भ्रष्ट स्वभावलाई समाधान गर्न सत्यता खोज्नुपर्छ, तिनका विरूद्ध लड्ने अनि आफ्नो देह त्याग्ने साहस गर्नुपर्छ। यदि तँमा यस्तो विश्वास छ भने तैँले सत्यता अभ्यास गर्न सक्छस्। तँ कहिलेकाहीँ असफल भए पनि निरुत्साहित हुनेछैनस् र शैतानमाथि विजय पाउनका निम्ति अझै पनि परमेश्वरको प्रार्थना र आदर गर्नमा भर पर्न सक्नेछस्। यसरी केही वर्ष लडाइँ लडिसकेपछि तैँले आफ्नो देहमाथि विजय पाउने र सत्यता अभ्यास गर्ने क्षणहरू बढ्नेछन्, र तँ असफल हुने क्षणहरू बिस्तारै घट्नेछन्, अनि कहिलेकाहीँ तँ असफल भइस् भने पनि नकारात्मक हुनेछैनस् र सत्यता अभ्यास गर्न सक्ने नहुञ्जेल परमेश्वरको प्रार्थना र आदर गरिरहनेछस्। यसको अर्थ के हुनेछ भने तेरो अझै पनि केही बिग्रिसकेको छैन, बादलहरू हटेका छन् र तैँले नीलो आकाश देख्न सक्छस्। यदि तँ सत्यता अभ्यास गर्दा कहिलेकाहीँ भए पनि सफल हुन्छस् भने, यसले तँ इच्छा भएको र मुक्ति पाउने सम्भावना भएको व्यक्ति होस् भन्ने पुष्टि गर्छ। सत्यता पछ्याउने मानिसहरू सत्यता अभ्यास गर्दा धेरै असफलताहरूबाट गुज्रिसकेपछि मात्र अन्तत: सत्यता वास्तविकतामा प्रवेश गर्छन्। कोही जति नै पटक असफल भए पनि, र जति नै नकारात्मक भए पनि, तिनीहरूले परमेश्वरमा भर पर्न र उहाँको आदर गर्न सकुञ्जेल तिनीहरू सफल हुने क्षणहरू सधैँ आउनेछन्। तिनीहरू जति नै पटक बारम्बार असफल भए पनि, तिनीहरूले हार नमानेसम्म तिनीहरूको अझै पनि केही बिग्रिसकेको हुनेछैन। तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन्, सिद्धान्तहरूअनुसार कार्य गर्न सक्छन्, मुख्य मामिलाहरूमा—विशेषगरी तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने सम्बन्धमा शैतानसँग सम्झौता गर्नु हुन्न—र आफ्नो कर्तव्यलाई लत्याउनु हुन्न भनी पत्ता लगाउने र त्यसका साथै आफ्नो गवाहीमा पनि दृढ भएर उभिने दिन आएपछि तिनीहरूले मुक्ति पाउने सम्भावना पक्कै हुन्छ।

तिमीहरू हरेक पटक सत्यता अभ्यास गर्दा आन्तरिक लडाइँबाट गुज्रनेछौ। के तिमीहरूमध्ये कसैले पनि लडाइँको अनुभव नै नगरी सत्यता अभ्यास गरेका छौ? बिल्कुलै छैनौ। कुनै व्यक्ति सत्यता वास्तविकतमा प्रवेश गरिसकेको छ अनि खासै कुनै भ्रष्ट स्वभाव देखाउँदैन भने मात्र उसले भीषण लडाइँहरू लडेको हुँदैन। तर, कुनै विशेष परिस्थिति अनि निश्चित सन्दर्भहरूमा ऊ पनि थोरबहुत लडाइँ लडिरहेको हुन्छ। भन्नुको अर्थ, व्यक्तिले जति धेरै सत्यता बुझ्छ, उसले त्यति नै थोरै लडाइँ लड्छ, र जति थोरै सत्यता बुझ्छ, उसले त्यति नै धेरै लडाइँ लड्छ। विशेषगरी नयाँ विश्वासीहरूले हरेक पटक सत्यता अभ्यास गर्दा तिनको हृदयमा हुने लडाइँहरू एकदमै भीषण हुन्छन्। ती लडाइँ किन भीषण हुन्छन्? किनकि मानिसहरूको आफ्नो प्राथमिकता र देहगत रोजाइहरू मात्र नभई व्यावहारिक समस्याहरूका साथै तिनीहरूलाई पछि पारिरहने भ्रष्ट स्वभावहरू पनि हुन्छन्। तैँले बुझ्ने सत्यताको हरेक पक्षका लागि तैँले तँलाई बाधा पुऱ्याइरहेका यी चार पक्षहरूसँग लड्नैपर्छ, अर्थात् तैँले सत्यतालाई अभ्यासमा लागु गर्न सक्नुभन्दा पहिले कम्तीमा पनि यी तीन वा चार अवरोधहरूबाट भएर गुज्रनुपर्छ। के तिमीहरूसँग आफ्ना भ्रष्ट स्वभावहरूसँग लगातार लडिरहने यो अनुभव छ? जब तिमीहरूले सत्यता अभ्यास अनि परमेश्वरको घरको हितको सुरक्षा गर्नुपर्छ, तब के तिमीहरू आफ्ना भ्रष्ट स्वभावहरूको नियन्त्रणलाई परास्त गरेर सत्यताको पक्षमा उभिन सक्छौ? उदाहरणका लागि, तँलाई कसैएक अर्को व्यक्तिसँग मण्डली शुद्ध पार्ने काममा सहकार्य गर्न लगाइएको छ, तर ऊ सधैँ दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्वरले मानिसलाई सकेजति धेरै मुक्ति दिनुहुन्छ, अनि हामीले मानिसलाई प्रेमपूर्वक व्यवहार गर्नुपर्छ र तिनीहरूलाई पश्चात्ताप गर्ने अवसर दिनुपर्छ भनी सङ्गति गर्छ। तैँले उसको सङ्गतिमा केही गडबडी छ भन्ने चाल पाउँछस्, र उसले बोल्ने शब्दहरू सहीजस्तो लागे पनि तैँले विस्तृत विश्लेषण गर्दा उसले अभिप्राय र लक्ष्यहरू पालेको छ, कसैलाई चिढ्याउन इच्छुक छैन, अनि कामका बन्दोबस्तहरू पूरा गर्न चाहँदैन भन्ने पत्ता लगाउँछस्। उसले यसरी सङ्गति गर्दा सानो कद भएका अनि नासमझ मानिसहरूलाई बाधा पुग्नेछ, तिनीहरूले असैद्धान्तिक तवरले मनपरी रूपमा प्रेम देखाउनेछन्, अरूलाई बुझ्न ध्यान पुऱ्याउनेछैनन्, र ख्रीष्टविरोधी, दुष्कर्मी र गैरविश्वासीहरूको खुलासा गर्नेछैनन् वा तिनीहरूबारे खबर गर्नेछैनन्। यो मण्डलीलाई शुद्ध पार्ने काममा बाधा पुर्‍याउनु हो। यदि ख्रीष्टविरोधी, दुष्कर्मी र गैरविश्वासीहरूलाई समयमै शुद्ध पार्न सकिएन भने, यसले परमेश्वरका चुनिएका जनहरूले उहाँको वचन सामान्य रूपमा खाने र पिउने अनि तिनीहरूले सामान्य रूपमा कर्तव्य निर्वाह गर्ने काममा असर पार्नेछ, र विशेषगरी मण्डलीको कामलाई बाधा र अवरोध पुऱ्याउनका साथै परमेश्वरको घरको हितलाई हानि गर्नेछ। यस्तो समयमा, तैँले कसरी अभ्यास गर्नुपर्छ? तैँले समस्या देख्दा दृढ भएर त्यस व्यक्तिको खुलासा गर्नैपर्छ; तैँले उसलाई रोकेर मण्डलीको कामको रक्षा गर्नैपर्छ। तँ सोच्लास्: “हामी काममा साझेदार हौँ। यदि मैले उसको सिधै खुलासा गरेँ र उसले त्यो स्विकारेन भने हाम्रो झगडा पर्नेछैन र? होइन, म यतिकै बोल्न हुँदैन, मिलाएर मात्र बोल्नुपर्छ।” त्यसैले तँ उसलाई सामान्य रूपमा सम्झाउँछस् र केही सुझाव दिन्छस्। तेरो कुरा सुनेपछि उसले त्यो स्विकार्दैन अनि तेरो खण्डन गर्न नानाथरी कारणहरू बक्छ। यदि उसले त्यो स्विकारेन भने परमेश्वरको घरको कामले हानि बेहोर्नेछ। तैँले के गर्नुपर्छ त? तँ परमेश्वरलाई प्रार्थना गर्छस् र भन्छस्: “परमेश्वर, कृपया यसको बन्दोबस्त मिलाउनुहोस् र यसलाई योजनाबद्ध गर्नुहोस्। उसलाई ताडना दिनुहोस्—मैले गर्न सक्ने केही पनि छैन।” तँ उसलाई रोक्न सक्दैनस् भनी सोच्छस् र उसलाई अनियन्त्रित छाडिदिन्छस्। के यो जिम्मेवार व्यवहार हो? के तैँले सत्यता अभ्यास गरेको छस् त? यदि तँ उसलाई रोक्न सक्दैनस् भने किन यो कुरा अगुवा र सेवकहरूलाई बताउँदैनस्? तँ किन यस मामिलालाई भेलामा लगेर सबैलाई यसबारे सङ्गति र छलफल गर्न दिँदैनस्? यदि तैँले यसो गरिनस् भने के तैँले पछि आफूलाई साँच्चै दोष दिने थिइनस् र? यदि तँ, “म यसलाई मिलाउन सक्दिनँ, त्यसैले बरु नदेखेझैँ गर्नेछु। मेरो विवेक सफा रहन्छ” भन्छस् भने तेरो हृदय कस्तो छ? यो अरूलाई साँचो रूपमा प्रेम गर्ने हृदय हो कि हानि पुऱ्याउने हृदय हो? तेरो हृदय एकदम दुष्ट छ, किनकी तँमाथि केही आइपर्दा, तँ अरूलाई चिढ्याउनदेखि डराउँछ्स् र कुनै सिद्धान्त पालन गर्दैनस्। वास्तवमा, यस व्यक्तिले यसरी व्यवहार गर्नुमा उसको आफ्नै लक्ष्य छ र तैँले यस मामिलाबारे उसको कुरा सुन्न हुँदैन भन्ने तँलाई राम्रोसँग थाहा छ। तर, तैँले सिद्धान्तहरूको पालन गर्न र उसले अरूलाई छल गर्नबाट रोक्न सक्दैनस्, जसले अन्तत: परमेश्वरको घरको हितलाई हानि गर्छ। के यसपछि तैँले आफूलाई अलिकति पनि दोष दिने थिइस् र? (दिनेथेँ।) के तैँले आफूलाई दोष दिएर भएको हानि फिर्ता गर्न सक्छस् र? त्यो हानि फिर्ता गर्न सकिँदैन। त्यसपछि, तँ फेरि सोच्छस्: “मैले आफ्नो जिम्मेवारी पूरा गरिसकेकै छु भन्ने परमेश्वरलाई थाहा छ। परमेश्वरले मानिसको हृदयको गहिराइ जाँच्नुहुन्छ।” यी कस्ता शब्द हुन्? यी मानिस र परमेश्वर दुवैलाई ठग्ने छली, शैतानी शब्द हुन्। तैँले आफ्नो जिम्मेवारी पूरा गरेको छैनस् अनि अझ तिनलाई टार्ने कारण र बहाना खोज्छस्। यो छली र हठी व्यवहार हो। के यस्तो व्यक्तिमा परमेश्वरप्रति कुनै इमानदारी हुन्छ र? के उसमा न्यायको समझ हुन्छ र? (हुँदैन।) यो अलिकति पनि सत्यता नस्विकार्ने, शैतानजस्तै व्यक्ति हो। जब तँलाई केही आइपर्छ, तँ संसारसँग जुझ्ने दर्शनअनुसार जिउँछस्, र सत्यता अभ्यास गर्दैनस्। तँलाई सधैँ अरूलाई चिढ्याउँछु भन्‍ने डर लाग्छ, तर परमेश्‍वरलाई चिढ्याउँछु भन्‍ने डर लाग्दैन, र अन्तर्वैयक्तिक सम्‍बन्धहरू जोगाउन तैँले परमेश्‍वरको घरका हितहरूसमेत बलि चढाउँछस्। यसरी व्यवहार गर्नुका परिणामहरू के हुन्छन्? तैँले सधैँ आफ्‍ना अन्तर्वैयक्तिक सम्‍बन्धहरू त राम्ररी जोगाउनेछस्, तर तैँले परमेश्‍वरलाई चिढ्याएको हुनेछस्, र उहाँले तँलाई घृणा र इन्कार गर्नुहुनेछ, र उहाँ तँदेखि क्रोधित हुनुहुनेछ। समग्रमा, कुन राम्रो हो? यदि यो कुरा बताउन सक्दैनस् भने, तँ पूर्ण रूपमा भ्रमित छस्; यसले तैँले अलिकति पनि सत्यता बुझेको छैनस् भन्‍ने प्रमाणित गर्छ। यदि यो कुरा महसुसै नगरी तँ यसरी नै अघि बढिरहन्छस् भने खतरा वास्तवमै निकै ठूलो हुन्छ, र तैँले अन्त्यमा सत्यता प्राप्त गर्न सकिनस् भने नोक्‍सानी बेहोर्ने तँ नै हुनेछस्। यस विषयमा, यदि तैँले सत्यता खोजी गर्दैनस्, र तँ असफल हुन्छस् भने, के भविष्यमा तँ सत्यता खोजी गर्न सक्षम हुनेछस्? यदि तँ अझै त्यसो गर्न सक्दैनस् भने, त्यो अब घाटाको मात्रै कुरा हुनेछैन—अन्त्यमा तँलाई निष्कासित नै गरिनेछ। यदि तँसँग “राम्रो व्यक्ति” का उत्प्रेरणा र दृष्टिकोणहरू छन् भने, सबै कुरामा तँ सत्यताको अभ्यास र सिद्धान्त पालना गर्न असमर्थ हुनेछस्, अनि तँ सधैँ असफल हुनेछस् र लड्नेछस्। यदि तँ ब्युँझिदैनस् र सत्यता खोजी गर्दैनस् भने, तँ गैरविश्‍वासी होस्, र तैँले सत्यता र जीवन कहिल्यै पाउनेछैनस्। त्यसो भए तैँले के गर्नुपर्छ त? त्यस्ता कुराहरूको सामना गर्दा, तैँले म परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र, मुक्तिको लागि बिन्ती गर्दै र उहाँसित आफूलाई सिद्धान्तहरू पालन गर्न, गर्नुपर्ने कुरा गर्न, सिद्धान्तहरूअनुसार कामकुरा सम्‍हाल्‍न, आफू खडा हुनुपर्ने स्थानमा दृढ भएर खडा हुन, परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न, र परमेश्‍वरको घरको काममा कुनै हानि आउन नदिन थप विश्‍वास र सामर्थ्य दिनुहोस् भनी अनुरोध गर्दै उहाँलाई पुकार्नुपर्छ। यदि तैँले आफ्‍नो आत्म-हित, घमण्ड, र “राम्रो व्यक्ति” को दृष्टिकोणलाई त्याग्‍न सकिस् भने, र यदि तैँले आफूले गर्नुपर्ने काम इमानदार, र एकाग्र हृदयले गर्छस् भने, तैँले शैतानलाई जितेको हुनेछस्, अनि सत्यताको यो पक्ष हासिल गरेको हुनेछस्। यदि तँ अरूसँगका तेरा सम्‍बन्धहरू बचाउँदै, कहिल्यै सत्यता अभ्यास नगरी, सिद्धान्तहरू पालन गर्ने आँट नगरी, सधैँ शैतानको दर्शनअनुसार जिउने जिद्दी गर्छस् भने, के तैँले अरू मामलाहरूमा सत्यता अभ्यास गर्न सक्छस्? तँसँग अझै कुनै विश्‍वास वा शक्ति हुनेछैन। यदि तैँले कहिल्यै सत्यता खोजी गर्न वा सत्यता स्वीकार गर्न सक्दैनस् भने, के परमेश्‍वरमाथिको त्यस्तो विश्‍वासले तँलाई सत्यता हासिल गर्न दिन्छ? (दिँदैन।) अनि यदि तैँले सत्यता हासिल गर्न सक्दैनस् भने, के तैँले मुक्ति पाउन सक्छस्? सक्दैनस्। यदि तँ सधैँ शैतानको दर्शनअनुसार जिउँछस्, र तँमा सत्यता वास्तविकता छँदै छैन भने, तैँले कहिल्यै मुक्ति पाउन सक्दैनस्। सत्यता प्राप्त गर्नु मुक्ति पाउनका लागि पूरा गर्नैपर्ने अनिवार्य सर्त हो भन्‍ने कुरा तँलाई स्पष्ट हुनुपर्छ। त्यसो भए तैँले कसरी सत्यता प्राप्त गर्न सक्छस्? यदि तैँले सत्यता अभ्यास गर्न सक्छस् भने, यदि तँ सत्यताअनुसार जिउन सक्छस्, र सत्यता तेरो जीवनको आधार बन्छ भने, तैँले सत्यता र जीवन पाउनेछस्, र तँ मुक्ति पाउनेहरूमध्येको एक हुनेछस्।

अंश ३८

कतिपय मानिसमा आफ्नो कर्तव्य पूरा गर्नहेतु व्यावसायिक ज्ञानको एकदमै कमी हुन्छ, र तिनीहरूलाई कुनै कुरा सिक्न धेरै गाह्रो हुन्छ, यस्तो किन भएको? किनभने उनीहरूमा कमजोर क्षमता हुन्छ। अत्यधिक कम क्षमता भएका मानिसहरू सत्यतासम्म पुग्न सक्दैनन्, र कुराहरू सजिलै सिक्न सक्दैनन्। तिनीहरूमध्ये धेरैजसोमा घातक कमीकमजोरी हुन्छन्; तिनीहरूमा विवेक वा समझ हुँदैन मात्र होइन, तर तिनीहरूको हृदयमा परमेश्वरका लागि कुनै ठाउँ पनि हुँदैन। तिनीहरूका आँखा निर्जीव र लोलाएका हुन्छन् अनि तिनीहरू ठ्याक्कै जनावरजस्तै भावशून्य हुन्छन्। तिनीहरू खान, पिउन र रमाइलो गर्न मात्र जान्दछन्, तिनीहरू अध्ययन गर्दैनन् वा तिनीहरूमा कुनै सीप हुँदैन। तिनीहरू सतही रूपमा मात्र कामकुरा सिक्छन्, र ‘अ’ भन्दा आफूले अलङ्कार बुझेको ठान्छन्। अन्य कसैले अझै बुझाउन चाहेमा तिनीहरू सुन्न चाहँदैनन्, त्यसलाई अनावश्यक मान्छन्। तिनीहरू अरू कसैले भनेको कुनै कुरा सुन्दैनन् वा स्विकार्दैनन्, जसले गर्दा तिनीहरू कुनै कुरा पूरा गर्न सक्दैनन् र मूलतः तिनीहरू बेकार हुन्छन्। कमजोर क्षमताको हुनु नै घातक हो। यदि कुनै व्यक्तिमा खराब स्वभाव छ, नैतिकताको कमी छ, ऊ सल्लाह-सुझाव सुन्दैन, सकारात्मक कुरा स्वीकार गर्दैन, नयाँ कुरा सिक्न र अपनाउन चाहँदैन भने त्यस्तो व्यक्ति बेकारको हो! आफ्नो कर्तव्य पूरा गर्ने मानिसमा विवेक र समझ हुनैपर्छ, उसले आफ्नो सीमा र कमीकमजोरी जान्नैपर्छ, र आफूमा केको कमी छ, र के सुधार गर्नुपर्छ, त्यो बुझ्नैपर्छ। तिनीहरूलाई सधैँ आफूमा धेरै कमी छन् र अध्ययन गरिएन र नयाँ कुरा स्विकारिएन भने हटाइएला भन्ने लाग्नैपर्छ। तिनीहरूलाई मनमा आसन्न सङ्कटको बोध भएमा, तिनीहरू नयाँ कुराहरू सिक्न प्रेरित र इच्छुक हुन्छन्। एकातिर व्यक्तिले आफूलाई सत्यताले सुसज्जित पार्नुपर्छ भने अर्कोतिर आफ्नो कर्तव्य पालनसँग सम्बन्धित व्यावसायिक ज्ञान हासिल गर्नुपर्छ। तिनीहरूले यसरी अभ्यास गरेर उन्नति गर्न सक्छन्, र आफ्नो कर्तव्य निर्वाहले राम्रो परिणाम ल्याउनेछ। आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्दा र मानव स्वरूपअनुसार जिउँदा मात्र व्यक्तिको जीवन मूल्यवान् बन्छ, त्यसैले आफ्नो कर्तव्य निर्वाह गर्नु नै सबैभन्दा अर्थपूर्ण कुरा हो। कतिपय मानिसमा खराब स्वभाव हुन्छ, र तिनीहरू अज्ञानी मात्र नभई अहङ्कारी पनि हुन्छन्। तिनीहरूलाई सधैँ सबै कुरामा सल्लाह लिँदा र सधैँ अरूको कुरा सुन्दा उनीहरूले मलाईलाई तुच्छ ठान्छन् र मेरो इज्जत गुम्छ र यसरी मलाई व्यवहारमा ढाल्नाले मेरो मर्यादा गुम्नेछ भन्ने लाग्छ। वास्तवमा, यसको उल्टो हुन्छ। अहङ्कारी र आत्मधर्मी हुनु, केही नसिक्नु, सबै कुरामा पछि पर्नु र पुरानो पाराको हुनु, अनि ज्ञान, अन्तर्दृष्टि र विचारको कमी हुनुचाहिँ वास्तवमा लाजमर्दो कुरा हो, यस्तो हुँदा व्यक्तिले निष्ठा र मर्यादा गुमाउँछ। कतिपय मानिस कुनै कुरा राम्ररी गर्न सक्दैनन्, तिनीहरूमा आफूले सिक्ने हरकुराबारे आधारभूत बुझाइ हुन्छ, तिनीहरू केही सिद्धान्त मात्र बुझेर सन्तुष्ट हुन्छन् र आफूलाई योग्य ठान्छन्। तर अझै तिनीहरू कुनै कुरा पूरा गर्न सक्दैनन्, र केही ठोस परिणाम निकाल्दैनन्। यदि तैँले तिनीहरूलाई तिमीहरू केही बुझ्दैनौ र तिमीहरूले केही प्राप्त गरेका छैनौ भनेर भनिस् भने, तिनीहरू विश्वस्त हुँदैनन् र आफ्नो कुराको तर्क दिइरहन्छन्। तर तिनीहरूले काम गर्दा झारा टार्छन् र तिनीहरू लापर्बाह हुन्छन्। यदि व्यक्तिले कुनै काम राम्ररी सम्हाल्न सक्दैन भने ऊ बेकामे हुँदैन र? के ऊ निकम्मा हुँदैन र? अत्यन्तै कम क्षमता भएका मान्छेहरूले सरलभन्दा सरल काम पनि राम्ररी सम्हाल्न सक्दैनन्। तिनीहरू निकम्मा हुन्छन् र तिनीहरूको जीवनको कुनै मूल्य हुँदैन। केही मानिस भन्छन्, “म शिक्षा वा ज्ञानविना नै गाउँमा हुर्केँ, र मेरो क्षमता कमजोर छ, म तिमीहरू शहरमा बस्ने मानिसहरू जस्तो छैनँ, तिमीहरू शिक्षित छौ, तिमीहरूमा ज्ञान छ, त्यसैले तिमीहरू सबै कुरामा अब्बल हुन सक्छौ।” के यो भनाइ सही हो त? (होइन।) यसमा के गलत छ? (व्यक्तिले केही हासिल गर्न सक्छ कि सक्दैन भन्ने कुरा उसको वातावरणसँग सम्बन्धित हुँदैन; यो मुख्य रूपमा, उसले सिक्ने र आफूलाई सुधार्ने कोसिस गर्छ कि गर्दैन भन्ने कुरामा भर पर्छ।) परमेश्वर मानिसहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने कुरा उनीहरू कत्तिको शिक्षित छन् वा कस्तो वातावरणमा जन्मे, वा कति प्रतिभाशाली छन् भन्ने कुरामा भर पर्दैन। बरु, उहाँ मानिसहरूलाई उनीहरूको सत्यताप्रतिको मनोवृत्तिको आधारमा व्यवहार गर्नुहुन्छ। यो मनोवृत्ति केसँग सम्बन्धित हुन्छ? यो उनीहरूको मानवतासँग, र साथै स्वभावसँग पनि सम्बन्धित हुन्छ। तँ परमेश्वरमा विश्वास गर्छस् भने तैँले सत्यतालाई सही ढङ्गले व्यवहार गर्न सक्नैपर्छ। यदि तँसँग विनम्र र सत्यता स्विकार्ने मनोवृत्ति छ भने, तँ अलिकति कमजोर क्षमताको भए पनि परमेश्वरले तँलाई अन्तर्दृष्टि दिएर केही प्राप्त गर्न सफल तुल्याउनुहुनेछ। यदि तँ राम्रो क्षमताको छस्, तर सधैँ अहङ्कारी र आत्मधर्मी हुन्छस्, आफूले भनेको सही र अरूले भनेको गलत भनिरहन्छस्, अरूले दिएका सल्लाह-सुझावरू इन्कार गर्छस्, र जसरी सङ्गति गरिए पनि सत्यतालाई अस्वीकारसमेत गर्छस् र सधैँ यसको प्रतिरोध गर्छस् भने, के तँजस्तो व्यक्तिले परमेश्‍वरको अनुमोदन पाउन सक्छ? के तँजस्तो व्यक्तिमा पवित्र आत्माले काम गर्नहुनेछ? गर्नुहुनेछैन। परमेश्‍वरले तँसँग नराम्रो स्वभाव छ र तँ उहाँको अन्तर्ज्ञान पाउन लायक छैनस् भनी भन्‍नुहुनेछ, र यदि तैँले पश्‍चात्ताप गरिनस् भने, कुनै बेला तँसँग भएका कुराहरू पनि उहाँले खोस्‍नुहुनेछ। खुलासा हुनु भनेको यही हो। यस्ता मानिसहरूले दयनीय जीवन जिउँछन्। तिनीहरू स्पष्ट रूपमा कोही पनि होइनन्, र सबै कुरामा अदक्ष छन्, तैपनि तिनीहरू आफूलाई असल, र सबै हिसाबमा अरूभन्दा राम्रो ठान्छन्। तिनीहरूले अरूको छेउमा आफ्‍ना गल्ती, कमी, कमजोरी वा नकारात्मकताबारे कहिल्यै छलफल गर्दैनन्। तिनीहरू सधैँ सक्षम भएको नाटक गरिरहेका हुन्छन् र अरूलाई झूटो छवि प्रस्तुत गरेर आफू सबै कुरामा माहिर भएको, आफूमा कुनै कमजोरी नभएको, आफूलाई कुनै सहयोग नचाहिने, आफूले अरूको विचार सुन्नु नपर्ने, आफ्‍ना कमीकमजोरीलाई परिपूर्ति गर्न अरूको सामर्थ्यबाट सिक्नु नपर्ने र आफू सधैँ अरूभन्दा उत्तम नै रहिरहने भनी सोच्ने तुल्याउन प्रयास गरिरहेका हुन्छन्। यो कस्तो प्रकारको स्वभाव हो? (अहङ्कार।) कति अहङ्कार! यस्ता मानिसहरू दयनीय जीवन जिउँछन्! के तिनीहरू साँच्चै सक्षम छन् त? के तिनीहरू साँच्चै कामकुरा सम्पन्न गर्न सक्छन् त? तिनीहरूले विगतमा धेरै कुराहरू बिगारेका थिए, तर पनि यस्ता मानिसहरूलाई जे पनि गर्न सक्छु जस्तो लाग्छ। के यो अति अव्यावहारिक होइन र? यो हदै समझ नहुने मानिसहरू त मूर्ख नै हुन्। यस्ता मानिसहरू नयाँ कुरा सिक्ने वा नयाँ कुरा स्विकार्ने गर्दैनन्। तिनीहरू भित्रभित्रै सुकिसकेका, सङ्कीर्ण, अनि दरिद्र हुन्छन्, र परिस्थिति जस्तोसुकै भए तापनि तिनीहरू सिद्धान्तहरूलाई पत्ता लगाएर बुझ्न वा परमेश्वरको इच्छा बुझ्न असफल हुन्छन्, अनि नियममा टाँसिरहन, वचन र सिद्धान्तहरू बोल्न र देखावटी गर्न मात्र जान्दछन्। परिणामस्वरूप तिनीहरू कुनै पनि सत्यता बुझ्दैनन् र तिनीहरूमा रत्तिभर सत्यता वास्तविकता हुँदैन, तैपनि तिनीहरू अत्यन्तै अहङ्कारी नै रहन्छन्। तिनीहरू केवल मूर्ख, कुनै पनि तर्क फिटिक्कै नस्विकार्ने मानिस हुन् र निष्कासित हुन मात्रै सक्छन्।

जब तिमीहरूले आफ्‍ना कर्तव्यहरू पूरा गर्न अरूसँग सहकार्य गरिरहेको हुन्छौ, तब के तिमीहरू फरक विचारहरूप्रति खुला मनका हुन्छौ? के तिमीहरु अरूलाई बोल्‍न दिन सक्छौ? (म केही मात्रामा गर्न सक्छु। पहिले, प्रायजसो म दाजुभाइ-दिदीबहिनीहरूको सुझाव सुन्दिनथेँ र आफ्‍नै तरिकाले काम गर्न जिद्दी गर्थेँ। पछि म गलत छु भन्‍ने कुरा तथ्यले प्रमाणित गरेपछि मात्रै, मैले तिनीहरूको धेरैजसो सुझाव सही थिए, सबैले छलफल गरेको समाधान नै उचित थियो, र मैले आफ्नै दृष्टिकोणमा भर परेर कुराहरू स्पष्टसँग देख्न सकिनँ र ममा कमी थियो भन्‍ने थाहा पाएँ। यो अनुभव गरेपछि, सद्‌भावपूर्ण सहकार्य गर्नु कति महत्त्वपूर्ण छ भन्‍ने मैले महसुस गरेँ।) अनि तैँले यसबाट के देख्‍न सक्छस्? यो अनुभव गरेपछि, के तैँले केही लाभ प्राप्त गरिस्, र सत्यता बुझिस्? के तिमीहरूलाई कोही सिद्ध छ भन्‍ने लाग्छ? मानिसहरू जति नै दह्रिला भए पनि, वा जति नै सक्षम र प्रतिभावान् भए पनि, तिनीहरू अझै पनि सिद्ध हुँदैनन्। मानिसहरूले यो कुरालाई मान्‍नैपर्छ, यो तथ्य हो र मानिसहरूमा आफ्‍नो योग्यता र सामर्थ्य वा गल्तीहरूलाई सही तरिकाले व्यवहार गर्न हुनुपर्ने मनोवृत्ति हो; यो मानिसहरूमा हुनुपर्ने तर्कसङ्गतता हो। आफूमा त्यस्तो तर्कसङ्गतता भयो भने, तैँले आफ्‍ना र अरूका सामर्थ्यहरू र कमजोरीहरूलाई उचित तरिकाले सम्हाल्न सक्छस्, र यसले तँलाई तिनीहरूसँग सद्‍भावमा रही काम गर्न सक्‍ने तुल्याउनेछ। यदि तैँले सत्यताको यो पक्ष बुझेको छस् र तँ सत्यता वास्तविकताको यो पक्षमा प्रवेश गर्न सक्छस् भने, दाजुभाइ-दिदीबहिनीहरूको सबल पक्ष प्रयोग गर्दै तिनीहरूसँग सद्‍भावको साथ मिलेर बस्दै आफूसँग भएको कुनै पनि कमजोरीलाई पूर्ति गर्न सक्छस्। यसरी, तैँले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि वा तैँले जे गरिरहेको भए पनि, तँ सधैँ यसमा अझ उत्तम हुँदै जानेछस् र परमेश्‍वरको आशिष्‌ पाउनेछस्। यदि तैँले सधैँ आफूलाई निकै सिपालु रहेको र अरूलाई तुलनात्मक रूपमा खराब रहेको ठान्छस् भने, र तँ सधैँ अन्तिम निर्णय आफै गर्न चाहन्छस् भने, यो समस्यापूर्ण हुनेछ। यो स्वभावसम्‍बन्धी समस्या हो। के त्यस्ता मानिसहरू अहङ्कारी र आत्मधर्मी हुँदैनन् र? मानौँ, तँलाई कसैले राम्रो सल्लाह दिन्छ, तर तँलाई त्यो सल्लाह स्विकारियो भने तिनीहरूले तँलाई तुच्छ ठान्न, र तँ तिनीहरू जत्तिकै राम्रो नभएको सोच्न सक्छन्। त्यसैले बस तँ तिनीहरूको कुरा नसुन्ने निर्णय गर्छस्। बरु तँ तिनीहरूले तँलाई महान् मानिरहून् भनेर तिनीहरूलाई ठूल्ठूला कुराहरू गरेर ओझेलमा पार्न खोज्छस्। यदि तँ मानिसहरूसँग सधैँ यसरी नै अन्तरक्रिया गर्छस् भने, के तिनीहरूसँग मिलेर सहकार्य गर्न सक्छस्? तैँले मिलेर काम गर्न नसक्ने मात्र होइन, परिणामहरू पनि नकारात्मक हुनेछन्। समय बित्दै जाँदा, सबैले तँलाई अत्यन्तै धूर्त र छली, बुझ्नै नसकिने व्यक्ति ठान्नेछन्। तँ सत्यता अभ्यास गर्दैनस्, र इमानदार व्यक्ति होइनस्, त्यसैले अरू मानिस तँबाट परै बस्छन्। यदि सबै मानिस तँबाट पर-परै रहे भने के यसको अर्थ तँ त्यागिएको होइन र? मलाई भन्, सबैले अस्वीकार गर्ने व्यक्तिलाई परमेश्वरले कस्तो व्यवहार गर्नुहुनेछ? परमेश्वरले पनि यस्तो व्यक्तिलाई घृणा गर्नुहुनेछ। परमेश्वर यस्ता मानिसहरूलाई किन घृणा गर्नुहुन्छ? तिनीहरूको कर्तव्य निभाउने मनसाय साँचो भए पनि, परमेश्वर तिनीहरूको तौरतरिकालाई घृणा गर्नुहुन्छ। परमेश्वरको नजरमा तिनीहरूले प्रकट गर्ने स्वभाव अनि तिनीहरूको हरेक सोच, विचार र अभिप्राय खराब हुन्छ, र ती कुरा परमेश्वरले तिरस्कार गर्ने र घिनाउने कुराहरू हुन्। अरूको नजरमा आफूलाई महान् तुल्याउने उद्देश्यले आफ्नो बोली र काममा सधैँ घिनलाग्दा युक्तिहरू प्रयोग गर्ने मानिसहरूको व्यवहारलाई परमेश्वर घृणा गर्नुहुन्छ।

मानिसहरूले परमेश्वरसामु आफ्नो कर्तव्य वा कुनै काम गर्दा तिनीहरूको हृदय शुद्ध हुनैपर्छ: यो ताजा पानीजस्तै—सङ्लो, शुद्ध हुनैपर्छ। त्यसोभए कस्तो प्रकारको मनोवृत्ति सही हो त? सही मनोवृत्ति भनेको तैँले जेसुकै गरिरहेको भए तापनि, तँ अरूसँग आफ्नो हृदयमा भएका जस्तासुकै कुरा, आफ्ना जस्तासुकै विचार छलफल गर्न सक्षम हुनु हो। यदि कसैले तेरो कार्यशैलीले काम गर्दैन भनेर अर्कै विचार राख्यो, र तँलाई त्यो विचार राम्रै लाग्यो भने, तँ आफ्ना तरिकाहरू छोडेर तिनीहरूले सोचेअनुसार कार्यहरू गर्छस्। त्यसो गर्दा, सबैले तँ अरूका सुझावहरू स्विकार्न, सही मार्ग रोज्न, सिद्धान्तअनुसार, अनि पारदर्शिता र स्पष्टसँग काम गर्न सक्छस् भन्ने देख्छन्। तेरो हृदय कालो छैन, तँ इमानदार मनोवृत्तिमा भरपर्दै काम गर्छस् र बोल्छस् भनी सबैले देख्‍नेछन्। तैँले कालोलाई कालो भन्छस्। होलाई हो र होइनलाई होइन भन्छस्। तँमा कुनै छलहरू, कुनै गोप्यता हुँदैन, तँ एक अति नै पारदर्शी व्यक्ति हुन्छस्। के यो एक प्रकारको मनोवृत्ति होइन र? यो मानिसहरू, घटनाहरू र मामिलाहरूप्रति हुने मनोवृत्ति हो र यसले व्यक्तिको स्वभाव प्रतिनिधित्व गर्छ। अर्कोतिर, हुन सक्छ, कुनै व्यक्ति कहिल्यै पनि खुलस्त हुँदैन, र उसले आफूले सोचेका कुराहरू अरूलाई कहिल्यै बताउँदैन। अनि उसले आफूले गर्ने सबै कुरामा कसैसँग पनि कहिल्यै परामर्श लिँदैन, बरु त्यसको साटो अरूप्रति हृदय बन्द राख्छ, यस्तो लाग्छ, ऊ हरेक मोडमा एकैनास अरूसित सतर्क रहन्छ। उसले सकेसम्म आफूलाई बलियोसँग लुकाउँछ। के यो धूर्त व्यक्ति होइन र? उदाहरणका लागि, उसलाई आफ्नो एउटा विचार उत्तम लाग्छ, र उसले यस्तो सोच्छ, “म अहिलेलाई यो आफैसँग राख्छु। यदि मैले यो विचार बताएँ भने, तिमीहरूले यसलाई प्रयोग गर्न सक्‍नेछौ र मेरो गर्जन चोर्न सक्‍नेछौ र म त्यो हुनै दिन्नँ। म यसलाई रोकेर राख्छु।” अथवा यदि त्यहाँ उसले पूर्ण रूपमा नबुझेको कुनै कुरा छ भने यस्तो सोच्नेछ: “म अब बोल्दिनँ। यदि म बोलेँ भने, र कसैले मेरोभन्दा पनि अझ उच्‍च कुरा भन्यो भने के हुन्छ, के म एक मूर्खजस्तो देखिन्‍नँ र? सबै जनाले मेरो रूप छर्लङ्गै देख्‍नेछन्, यसमा मेरो कमजोरी देख्‍नेछन्। मैले केही भन्‍नु हुँदैन।” विचार-विमर्श, अन्तर्निहित आशयलाई जस्तो सुकै भए पनि, ऊ सबैले आफ्नो वास्तविकता छर्लङ्गै देख्नेछन् भनी डराउँछ। ऊ सधैं यस प्रकारको दृष्टिकोण र मनोवृत्तिसाथ आफ्नो कर्तव्य निभाउँछ र मानिस, मामिला र घटनाहरूलाई व्यवहार गर्छ। यो कस्तो प्रकारको स्वभाव हो त? यो त एक बेइमान, छली र दुष्ट स्वभाव हो। सतही रूपमा हेर्दा, उसले आफूले बताउन सक्‍ने सबै कुरा अरूलाई बताएको जस्तो देखिन्छ, तर भित्री रूपमा भने, उसले केही कुरा लुकाउँछ। उसले के लुकाउँछ त? उसले कहिल्यै पनि आफ्‍नो प्रतिष्ठा र रुचिहरूसँग सम्‍बन्धित कुराहरू गर्दैन—उसले यी कुराहरू निजी हुन् भन्ने सोच्छ र यी बारे कसैसँग कुराकानी गर्दैन, चाहे त्यो उसका आमाबाबु नै किन नहोऊन्। उसले कहिल्यै पनि यी कुराहरू भन्दैन। यो समस्या हो! तँलाई के लाग्छ, तैँले यी कुराहरू भनिनस् भने परमेश्वरलाई तीबारे थाहा हुनेछैन? मानिसहरू परमेश्वरलाई थाहा हुन्छ त भन्छन्, तर के तिनीहरू परमेश्वरलाई थाहा हुन्छ भनेर हृदयमा पक्का हुन सक्छन् त? मानिसहरू “परमेश्वरलाई सबै कुरा थाहा छ; मैले हृदयमा सोच्ने कुरा, प्रकट नगरे पनि, परमेश्वर गोप्य रूपमा जाँच गर्नुहुन्छ, परमेश्वरलाई पक्कै थाहा छ। म परमेश्वरबाट केही लुकाउन सक्दिनँ, त्यसैले मैले त्यो कुरा बोल्नैपर्छ, आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खुलेर बताउनैपर्छ। मेरा विचार-धारणाहरू असल वा खराब जे भए पनि मैले साँचो रूपमा ती भन्नैपर्छ। म कुटिल, छली, स्वार्थी वा घिनलाग्दो व्यक्ति हुनु हुँदैन—म इमानदार व्यक्ति हुनैपर्छ।” भनेर कहिल्यै महसुस गर्दैनन्। यदि मानिसहरू यसरी सोच्न सक्छन् भने, यो सही मनोवृत्ति हो। धेरै जना मानिसहरूसित सत्यताको खोजी गर्नुको साटो आ-आफ्नै ससाना एजेन्डाहरू हुन्छन्। तिनीहरूका लागि आफ्नै रुचि, इज्‍जत, र मानिसहरूको मनमा तिनीहरूले ओगटेको स्थान र प्रतिष्ठा नै धेरै महत्त्वपूर्ण हुन्छन्। तिनीहरूले यिनै कुराहरूलाई मात्रै कदर गर्छन्। तिनीहरू यी कुरालाई जकडेर राख्छन् र यिनैलाई आफ्नो जीवन मान्छन्। परमेश्‍वरले तिनीहरूलाई कसरी हेर्नुहुन्छ वा व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा तिनीहरूका निम्ति कम महत्त्वको हुन्छ। अहिलेको लागि तिनीहरूले यसलाई बेवास्ता गर्छन्; अहिलेको लागि तिनीहरू त्यो झुन्डको मालिक हुन् कि होइनन्, मानिसहरूले तिनीहरूलाई हेर्छन् कि हेर्दैनन् वा आफ्नो कुरामा वजन छ कि छैन भन्ने कुरा मात्र विचार गर्छन्।तिनीहरूको प्राथमिक चिन्ता नै ओहोदा ओगट्नु हो। जब मानिसहरू समूहमा हुन्छन्, प्रायः तिनीहरू सबैले यस प्रकारको प्रतिष्ठा, यस प्रकारका मौकाहरू खोज्छन्। जब तिनीहरू उच्‍च प्रतिभाशाली हुन्छन्, निश्‍चय नै तिनीहरू आफ्नो क्षेत्रमा सफल हुन चाहन्छन्; यदि तिनीहरू मध्यम क्षमताका छन् भने पनि, तिनीहरू समूहमा उच्‍च स्थानमा रहन चाहन्छन्; र यदि तिनीहरू औसत क्षमता र योग्यताका भएर समूहमा निम्‍न स्थानमा छन् भने पनि, अरूले आफूलाई उच्‍च नजरले हेरून् भन्‍ने चाहन्छन्, अरूले आफूलाई नीच नामानून् भन्ने चाहन्छन्। यी मानिसहरूले इज्‍जत र मर्यादामै रेखा खिच्छन्: तिनीहरूले यी कुराहरूलाई नै समातिबस्‍नुपर्छ। तिनीहरूसित कुनै निष्ठा हुन सक्दैन, र न त परमेश्‍वरको अनुमोदन न त स्वीकृति पाएका हुन्छन्, तर तिनीहरूले अरूमाझ कमाएको इज्‍जत, हैसियत, वा सम्मान गुमाउन सक्दै-सक्दैनन्—जुन शैतानको स्वभाव हो। तर मानिसहरूलाई यसबारे सचेत नै छैनन्। उनीहरू इज्‍जतको टुक्रालाई आखिरीसम्म समातेर राख्‍नुपर्छ भनी विश्‍वास गर्छन्। यी व्यर्थ र सतही कुराहरूलाई पूर्ण रूपमा त्याग्दा र पन्छाउँदा मात्र तिनीहरू वास्तविक व्यक्ति बन्छन् भन्‍ने कुरा उनीहरूलाई थाहा छैन। यदि व्यक्तिले यी त्याग्नुपर्ने कुराहरूलाई जीवन मानेर रक्षा गर्छ भने, उसले जीवन गुमाउँछ। प्रतिष्ठालाई आफ्नो जीवन बनाउने मानिसहरूले आफ्नो जीवन गुमाउँछन्। तिनीहरूलाई कुन कुरा खतरामा छ भन्‍ने थाहा हुँदैन। त्यसैले, जब तिनीहरूले कार्य गर्छन्, तिनीहरूले सधैं केही न केही आफैभित्र रोकेर राख्छन्, तिनीहरू सधैं आफ्नो इज्‍जत र प्रतिष्ठा जोगाउने कोसिस गर्छन्, तिनीहरू यी कुराहरूलाई पहिलो स्थानमा राख्छन्, केवल आफ्नै उद्देश्य, आफ्नै अनुचित सुरक्षाको कुरा मात्र गर्छन्। तिनीहरूले गर्ने सबै काम आफ्नै लागि हुन्छ। तिनीहरू हर उज्‍ज्वल कुराको पछि दौडन्छन्, र अरूलाई तिनीहरू त्यसको एउटा हिस्सा थिए भनी देखाउँछन्। वास्तवमा तिनीहरूसँग त्यसको कुनै सरोकार हुँदैन, तर तिनीहरू कहिल्यै पृष्ठभूमिमा धकेलिन चाहँदैनन्, तिनीहरू सधैं अरू मानिसहरूले तिनीहरूलाई हेला गर्लान् भनी डराउँछन्,तिनीहरू सधैं अरू मानिसहरूले तिनीहरू केही पनि होइनन्, तिनीहरू केही पनि गर्न असमर्थ छन्, तिनीहरूसँग कुनै सीप छैन भन्लान् भनी डराउँछन्। के यो सबै तिनीहरूको शैतानी स्वभावद्वारा निर्देशित छैन र? जब तँ यी इज्जत र हैसियत जस्ता कुराहरूलाई छोड्न सक्छस्, तब तँ अझ ढुक्‍क र स्वतन्त्र हुनेछस्; तैँले इमानदार हुने बाटोमा पाइला राखेको हुनेछस्। तर धेरैका लागि, यो कुरा हासिल गर्न सजिलो हुँदैन। उदाहरणको लागि, जब क्यामेरा देखा पर्छ, मानिसहरू तछाड-मछाड गर्दै अगाडि आइपुग्छन्; तिनीहरूलाई आफ्नो अनुहार क्यामेरामा पार्न मन पर्छ, जति धेरै कभरेज हुन्छ उति नै राम्रो ठान्छन्; तिनीहरू पर्याप्त कभरेज प्राप्त नहोला कि भनेर डराउँछन्, र यो प्राप्त गर्ने मौकाका लागि कुनै पनि मूल्य चुकाउँछन्। अनि, के यो सबै तिनीहरूको शैतानी स्वभावद्वारा निर्देशित हुँदैन र? यी तिनीहरूका शैतानी स्वभावहरू हुन्। त्यसरी तैँले कभरेज पाउँछस्—त्यसपछि के हुन्छ? मानिसहरूले तँलाई ठूलो मानिस सोच्छन्—अनि के हुन्छ? तिनीहरूले तँलाई आदर्श बनाउँछन्—अनि के हुन्छ? के यीमध्ये कुनै पनि कुराले तँसित सत्यता वास्तविकता छ भनेर प्रमाणित गर्छ त? यीमध्ये कुनै पनि कुराको मूल्य हुँदैन। जब तँ यी कुराहरूलाई जित्‍न सक्छस्—जब तँ तीप्रति उदासीन हुन्छस्, र अबउप्रान्त तँ ती कुराहरूलाई महत्त्वपूर्ण मान्‍न छोड्छस्, जब इज्‍जत, घमण्ड, हैसियत, मानिसहरूको प्रशंसाले अबउप्रान्त तेरा विचार र व्यवहार नियन्त्रण गर्न छोड्छन्, र जब यी कुराहरूले तँ आफ्नो कर्तव्य कसरी निर्वाह गर्छस् भन्‍ने कुरालाई नियन्त्रण गर्ने कुनै प्रश्‍न उठ्दैन—तब तेरो कर्तव्य प्रदर्शन अझ प्रभावकारी र अझ शुद्ध हुनेछ।

अंश ३९

कतिपय मानिसहरू आफ्नो कर्तव्यमा कहिल्यै सही र उचित व्यवहार गर्दैनन्। बरु, तिनीहरू आफूलाई अलग देखाउन निरन्तर नयाँनयाँ कुरा खोजिरहेका र ठूलाठूला कुरा गरिहेका हुन्छन्। के यो राम्रो कुरा हो? के तिनीहरू अरूसँग सौहार्दपूर्वक सहकार्य गर्न सक्छन्? (सक्दैनन्।) कसैले ठूलाठूला कुरा गर्छ भने, त्यो कस्तो स्वभाव हो? (अहङ्कार र आत्मधार्मिकता।) यो अहङ्कार र आत्मधार्मिकता हो। उसको कार्यको प्रकृति कस्तो हुन्छ? (ऊ आफ्नो स्वतन्त्रता स्थापित गर्न, आफ्नै रङ जमाउन र आफ्नै गुट स्थापित गर्न खोजिरहेको हुन्छ।) आफ्नै गुट स्थापित गर्नु भनेको अन्य मानिसहरूलाई आफ्नो आज्ञा मान्न लगाउनु र मामिलाहरू सत्यता सिद्धान्तहरूअनुसार नसम्हाल्नु हो। तिनीहरूको अभिप्राय र उद्देश्य आफ्नो स्वतन्त्रता स्थापना गर्नु र आफ्नै रङ जमाउनु हुन्छ, त्यसैले तिनीहरूको कार्य-व्यवहारमा कामकुराहरूको क्रम बिगार्ने भाव हुन्छ। कामकुराहरूको क्रम बिगार्नु भनेको के हो? यसले विनाश निम्त्याउने कुरा जनाउँछ, यसमा बाधा र अवरोध गर्ने प्रकृति हुन्छ। सामान्यतया, अधिकांश समस्याहरू समूहगत सङ्गति र छलफलबाट हल गर्न सकिन्छ, र यसमा धेरैजसो निर्णयहरू सत्यता सिद्धान्तहरू पालना गरेर गरिन्छ, जुन सही र सटीक दुवै हुन्छन्। तथापि, कतिपय मानिसहरूले निरन्तर यो सहमतिको विरोध गरिरहन्छन्; तिनीहरूले सत्यता नखोज्ने मात्र नभई, परमेश्‍वरको घरको हितलाई बेवास्ता गर्नेसमेत गर्छन्। तिनीहरूले अरूभन्दा अलग देखिन र अरूलाई आफ्नो आदर गर्न लगाउन अनौठा सिद्धान्तहरू प्रस्तुत गर्छन्। तिनीहरू सही निर्णयहरू इन्कार्न र सबैले रोजेको विकल्प खण्डन गर्न चाहन्छन्। यही नै कामकुराहरूको क्रम बिगार्नु र क्षति पुर्‍याउनु, र बाधा र अवरोध सिर्जना गर्नु हो। ठूलाठूला कुरा गर्नुको सार यही हो। त्यसोभए, यसप्रकारको व्यवहारमा कस्तो समस्या हुन्छ? पहिलो त, तिनीहरूले भ्रष्ट स्वभाव देखाइरहेका हुन्छन्, र आज्ञाकारितको पूर्ण अभाव प्रकट गरिरहेका छन्। यसका अतिरिक्त, यी मनमौजी मानिसहरू सधैँ अलग देखिन चाहन्छन्, तिनीहरूले सधैँ अरूलाई आफ्नो सम्मान गर्न लगाउँछन्, र परिणामस्वरूप, तिनीहरूले मण्डलीको कार्यमा बाधा र अवरोध ल्याउँछन्। सत्यताबिना, तिनीहरू कुनै पनि कुरा स्पष्ट देख्न सक्दैनन्, तैपनि आफ्नो प्रदर्शन गर्न ठूलाठूला कुरा गरिरहन्छन्, तर सत्यता भने अलिकति पनि खोजी गर्दैनन्। के यो मनोमानी र लापरवाही हुनु होइन र? व्यक्तिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न अरूसँग सहकार्य गर्न सिक्नु आवश्यक हुन्छ। दुई व्यक्तिबीचको छलफलले कामकुराहरूप्रति एक व्यक्तिको धारणाभन्दा सधैँ धेरै बृहत्‌ र सटीक दृष्टिकोण पैदा गर्छ। यदि कसैले सधैँ परम्पराविरोधी तरिकाले कार्य गर्न चाहन्छ व उसमा अरूले आफूलाई अनुसरण गरून् भनेर ठूलाठूला कुरा गर्ने बानी हुन्छ भने, यो खतरनाक कुरा हो, यो आफ्नै मार्गमा हिँड्नु हो। व्यक्तिले आफूले गर्ने हरेक कुरा अरूसँग छलफल गर्नुपर्छ। अरू सबैले के भन्छन् पहिले त्यो सुन्। यदि बहुसंख्यक मानिसहरूको दृष्टिकोण सही छ र सत्यताअनुरूप छ भने, तैँले यसलाई मान्‍नुपर्छ र तँ यसमा समर्पित हुनुपर्छ। तैँले जे गरे पनि, ठूलाठूला कुरा गर्नु हुँदैन। कुनै पनि मानिसको समूहमा ठूलाठूला कुरा गर्नु राम्रो होइन। जब तँ ठूलाठूला कुरा फलाक्छस्, र यदि यो सत्यता सिद्धान्तअनुरूप छ र अधिकांशले यसलाई स्विकारेका छन् भने यसलाई स्वीकार्य मान्न सकिन्छ। तर यदि यो ती सिद्धान्तहरूविपरीत छ र मण्डलीको कामको लागि हानिकारक छ भने, तैँले यसको जिम्मेवारी लिनैपर्छ र आफूले गरेको कामको दुष्परिणाम भोग्‍नैपर्छ। यसका अतिरिक्त, ठूलाठूला कुरा गर्नु स्वभावसँग सम्बन्धित समस्या पनि हो। यसले तँसँग सत्यता वास्तविकता छैन, बरु तँ आफ्नो भ्रष्ट स्वभावअनुसार जिइरहेको छस् भन्ने प्रमाणित गर्छ। जब तँ ठूलाठूला कुराहरू गर्छस्, तब तैँले अरूलाई अगुवाइ गर्न र कमाण्ड लिन खोजिरहेको हुन्छस्, र तैँले आफ्नै रङ जमाउन र आफ्नै राज्यक्षेत्र स्थापित गर्न पनि खोजिरहेको हुन्छस्; तैँले परमेश्‍वरका चुनिएका सबै मानिसहरूले तेरो कुरा सुनून्, तँलाई अनुसरण गरून् र तेरो आज्ञा मानून् भन्ने चाहिरहेको हुन्छस्। यो ख्रीष्टविरोधी मार्ग हिँड्नु हो। के परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न डोर्‍याउन सक्छु भन्नेमा तँ ढुक्क छस्? के तँ तिनीहरूलाई परमेश्‍वरको राज्यमा लैजान सक्छस्? तँ आफैसँग सत्यताको कमी छ र तैँले परमेश्‍वरलाई प्रतिरोध गर्ने वा धोका दिने कार्यहरू गर्न सक्छस्—यदि तँ अझै पनि परमेश्‍वरका चुनिएका मानिसहरूलाई यो मार्गमा लैजान चाहन्छस् भने, के तँ कट्टर पापी हुँदैनस् र? पावल कट्टर पापी बन्यो र उसले अझैसम्म पनि परमेश्‍वरको सजाय भोगिरहेको छ। यदि तँ ख्रीष्टविरोधी मार्ग हिँड्छस् भने, तँ पावलको मार्ग हिँड्दै छस् र तेरो अन्तिम परिणाम र अन्त्य उसको भन्दा कुनै फरक हुनेछैन। त्यसैले, परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउनेहरूले ठूलाठूला कुरा गर्नु हुँदैन। बरु, सत्यता खोज्न, सत्यता स्विकार्न अनि सत्यता र परमेश्‍वर दुवैप्रति समर्पण हुन सिक्नुपर्छ। यसो गरेर मात्रै तिनीहरूले आफ्नै तरिकामा नचल्ने र कुनै पनि दिशामा बाटो नबिराई आफूले परमेश्‍वरलाई पछ्याउन सक्ने कुरा सुनिश्‍चित गर्न सक्नेछन्। परमेश्‍वरको घरले मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा मैत्रीपूर्ण तरिकाले सहकार्य गरून् भन्ने चाहन्छ। यो अर्थपूर्ण छ र अभ्यासको सही मार्ग पनि हो। सत्यता बुझ्‍ने वा सत्यता आत्मसात् गर्ने क्षमता भएका मण्डलीका मानिसहरूमध्येका हरकोहीलाई पवित्र आत्माको अन्तर्दृष्टि र अगुवाइ मिल्नेछ। व्यक्तिले पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति लिनुपर्छ, यसलाई पूर्ण रूपमा पछ्याउनुपर्छ र यससँग सहकार्य गर्नुपर्छ। यसो गरेर, तैँले हिँड्ने मार्ग सही हुनेछ; यो पवित्र आत्‍माले डोर्‍याउने मार्ग हो। पवित्र आत्‍माले काम गर्ने मानिसहरूमा उहाँले कसरी काम गर्नुहुन्छ र कसरी तिनीहरूलाई डोर्‍याउनुहुन्छ भन्‍ने कुरामा विशेष ध्यान दे। तैँले सुझावहरू दिँदै र आफ्‍ना दृष्टिकोणहरू व्यक्त गर्दै बारम्बार अरूसँग सङ्गति गर्ने गर्नुपर्छ—यो तेरो कर्तव्य र तेरो स्वतन्त्रता हो। तर अन्त्यमा, जब निर्णय गर्नुपर्ने हुन्छ, तब यदि तैँले मात्रै अन्तिम निर्णय गर्छस्, र अरू सबैलाई तैँले भनेको जस्तो गर्न र तेरो इच्छाअनुसार चल्न लगाउँछस् भने, तैँले सिद्धान्तहरू उल्‍लङ्घन गरिरहेको हुन्छस्। बहुसंख्यकको इच्‍छा के हो तैँले त्यसको आधारमा सही कुरा छनौट गर्नुपर्छ, र त्यसपछि अन्तिम निर्णय गर्नुपर्छ। यदि बहुसंख्यकको सुझाव सत्यताका सिद्धान्तहरूअनुरूप छैन भने, तैँले सत्यतामा जोड दिनुपर्छ। यो कुरा सत्यताका सिद्धान्तहरूअनुरूप हुन्छ। यदि तँ सधैँ ठूलाठूला कुरा गर्छस्, र अरूलाई प्रभावित गर्न केही सुसंस्कृत सिद्धान्त प्रस्तुत गर्ने कोसिस गर्छस् तर वास्तवमा, तँलाई हृदयदेखि नै यो कुरा गलत हो भन्ने लाग्छ भने, आफूलाई जबरजस्ती आकर्षणको केन्द्र बनाउन नखोज्। के तैँले गर्नुपर्ने कर्तव्य यही हो त? तेरो कर्तव्य के हो? (आफूले गर्नुपर्ने कर्तव्य पूरा गर्न आफ्नो शक्तिले भ्याएसम्म गर्ने, र आफूले बुझेका कुरा मात्र बोल्ने। आफूसित आफ्नै विचार नहुँदा, अरू सबैका सुझावहरू अझ धेरै सुन्न सिक्ने, बुद्धिमानीपूर्वक विवेचना गर्ने, र सबैसँग मिलेर सहकार्य गर्नसक्ने बिन्दुमा पुग्ने।) यदि कुनै पनि कुरा तैँले स्पष्ट बुझेको छैनस् र तेरो आफ्नो विचार छैन भने सुन्न र आज्ञापालन गर्न अनि सत्यता खोज्न सिक्। तैँले पूरा गर्नुपर्ने कर्तव्य यही हो; यो नै शिष्ट मनोवृत्ति हो। यदि तेरो आफ्नै विचार छैन र मूर्ख देखिन्छु होला, आफूलाई अलग्गै देखाउन सक्दिनँ, र अपमानित हुन्छु होला भनेर सधैँ डराउँछस् भने—यदि तँ अरूले तिरस्कार गर्लान् र तिनीहरूको हृदयमा तेरो स्थान नहोला भनेर डराउँछस् र त्यसैले आफूलाई सधैँ आकर्षणको केन्द्रमा ल्याउन र ठूलाठूला कुरा गर्न चाहन्छस्, र वास्तविकतासँग मेल नखाने बेढङ्गको दाबी प्रस्तुत गर्छस् र त्यो कुरा अरूलाई स्वीकार गर्न लगाउँछस् भने—के तैँले आफ्नो कर्तव्य गरिरहेका छस् त? (छैन।) अनि, तैँले के गरिरहेको छस् त? तँ विनाशकारी भइरहेको छस्। जब तिमीहरूले कुनै व्यक्तिले निरन्तर यसरी कार्य गरिरहेको देख्छौँ, तब तिमीहरूले उसको सीमा निर्धारण गर्नैपर्छ। अनि, यी सीमाहरू कसरी निर्धारण गर्नुपर्छ? तिमीहरूले उसलाई पूर्ण रूपमा चुप बनाउनु पनि पर्दैन, र उसलाई बोल्नबाट पनि रोक्नुपर्दैन। तिमीहरूले उसलाई सङ्गति गर्न दिन सक्छौँ, उसलाई बहिष्कार गर्नु हुँदैन, तर उसको वरिपरि हुने सबैले समझशक्तिको अभ्यास गर्नुपर्छ। यही नै सिद्धान्त हो। उदाहरणको लागि, यदि कसैले गलत दृष्टिकोण प्रस्तुत गर्छ, त्यो पूर्ण रूपमा मान्छेका धारणा र कल्पनाहरूसँग मेल खान्छ, अनि बहुसङ्ख्यक मानिसहरूले त्यो व्यक्तिलाई समर्थन गर्छन् र उसको कुरामा सहमत हुन्छन्, तर समझशक्ति भएका केही मानिसहरूले उसको त्यो दृष्टिकोणमा उसको इच्छा, महत्वाकाङ्क्षा र चाहना मिसिएको छ भनी पत्ता लगाउन सक्छन् भने ती व्यक्तिहरूले उसलाई खुलासा गर्नुपर्छ र उसलाई आत्मचिन्तन गर्न र आफूलाई चिन्न लगाउनुपर्छ। यही नै सही तरिका हो। यदि कसैले पनि समझशक्तिको अभ्यास गर्ने वा आफ्ना विचारहरू व्यक्त गर्ने गर्दैन, र सबैजनाले मान्छे खुसी पारिहिँड्ने व्यक्तिले जस्तै व्यवहार गर्छन् भने, त्यहाँ पक्कै पनि त्यो व्यक्तिको चापलुसी गर्ने, उसलाई अनुमोदन र समर्थन गर्ने, र उसको महत्त्वाकाङ्क्षा र चाहना उक्साउने मानिसहरू हुनेछन्। त्यसपछि त्यो व्यक्तिले साँच्चै नै मण्डलीमा शक्ति बढाउन सुरु गर्नेछ। त्यतिखेर अवस्था खतरनाक हुनेछ, किनभने उक्त व्यक्तिले उसलाई समर्थन गर्नेहरूसँग हात मिलाउनेछ, र आफ्नै फौज बनाउनेछ, अनि दुष्कर्म गर्दै मण्डलीको काम बिथोल्नेछ। यस तरिकाले, उसले ख्रीष्टविरोधी मार्गमा कदम राखिसकेको हुनेछ। एकपटक मण्डलीमा नियन्त्रण जमाइसकेपछि, ऊ ख्रीष्टविरोधी बन्नेछ र उसले आफ्नै स्वतन्त्र राज्य स्थापना गर्न सुरु गर्नेछ।

अंश ४१

परमेश्‍वरको घरमा, जबसम्म मानिसहरू सत्यको पछि लाग्छन्, तबसम्म उनीहरू परमेश्‍वरको सामु एकतामा हुन्छन्, विभाजित हुँदैनन्, र उनीहरूको एउटै साझा लक्ष्य हुन्छ, र त्यो हो: आफ्नो कर्तव्य पूरा गर्नु, आफ्नो काम गर्नु, सत्यता सिद्धान्तहरूअनुसार काम गर्नु, र परमेश्‍वरको इच्छा पूरा गर्नु। यदि तेरा उद्देश्यहरू यसतर्फ लक्षित छैनन् तर तेरो आफ्नै लागि, तेरा आफ्नै स्वार्थी अभिलाषाहरू पूरा गर्नका लागि लक्षित छन् भने, यो भ्रष्ट शैतानी स्वभावको प्रकटीकरण हो। परमेश्‍वरको घरमा, व्यक्तिको कर्तव्य सत्यता सिद्धान्तअनुसार गरिन्छ। अविश्‍वासीहरूका कार्यहरू उनीहरूका शैतानी स्वभावहरूद्वारा नियन्त्रित हुन्छन्। यी दुई अति फरक मार्गहरू हुन्। अविश्‍वासीहरूमाझ, प्रत्येक व्यक्तिले आफ्ना कुरा आफैसँग गर्छ, प्रत्येकसँग आफ्नै उद्देश्य र योजनाहरू हुन्छन्, प्रत्येक व्यक्ति आफ्नै स्वार्थका लागि जिउँछ। यसरी उनीहरू आफूले लिन सक्‍ने कुनै पनि फाइदाका लागि लड्न बाध्य हुन्छन्। उनीहरू पूर्ण रूपले भिन्‍न, विभाजित, बेमेलको अवस्थामा हुन्छन्, किनकि उनीहरूको साझा लक्ष्य हुँदैन। तैपनि उनीहरूको उद्देश्यको प्रकृति एउटै हुन्छ—उनीहरू सबै आफ्नै लागि कार्य गर्छन्। यसमा, सत्यले शासन गर्दैन, शैतानको भ्रष्ट स्वभावसँग पूर्ण शक्ति र प्रभुत्व हुन्छ, आफूमाथिको आफ्नो नियन्त्रण भ्रष्ट शैतानी स्वभावद्वारा खोसिएको हुन्छ—जसको परिणामस्वरूप उनीहरू पापमा अझ गहिरो गरी डुब्छन्। परमेश्‍वरको घरमा, यदि तिमीहरूका कार्यहरूको सिद्धान्त, तरिका, प्रेरणा, र सुरुआत बिन्दु अविश्‍वासीहरूका भन्दा फरक हुँदैन भने, यदि तिमीहरूका कार्यहरू पनि भ्रष्ट शैतानी स्वभावको चलाकी, नियन्त्रण र दाउपेचको अधीनमा हुन्छ र सुरुआती बिन्दु तिमीहरूका आफ्नै स्वार्थहरू, घमन्ड र प्रतिष्ठा हुन्छ भने, तिमीहरूले गरेका कर्तव्य अविश्‍वासीहरूका कार्यहरूभन्दा फरक हुँदैनन्। यदि तिमीहरू सत्यता पछ्याउँछौ भने, तिमीहरूले काम गर्ने तौरतरिका बदल्नुपर्छ। तिमीहरूले आफ्नो हित, व्यक्तिगत अभिप्राय र इच्छाहरू त्याग्नुपर्छ। तिमीहरूले काम गर्दा सर्वप्रथम सबैले मिलेर सत्यता सङ्गति गर्नुपर्छ, अनि आफूहरूमाझ कामको बाँडफाँट गर्नुभन्दा पहिले परमेश्‍वरको इच्छा र मापदण्ड बुझ्नुपर्छ, र यसो गर्दा को कुन कुरामा राम्रो छ र कुन कुरामा कमजोर छ भनेर विचार पुर्‍याउनुपर्छ। तिमीहरूले आफूले गर्नसक्ने काम लिनुपर्छ र आफ्नो कर्तव्यमा दृढतापूर्वक लाग्नुपर्छ। कुनै कुराको लागि पनि झगडा वा खोसाखोस गर्ने गर्नु हुँदैन। तिमीहरूले मिलजुल र सहनशील हुन सिक्नुपर्छ। यदि कसैले भर्खरै कर्तव्य निर्वाह गर्न थालेको छ वा कुनै क्षेत्रको लागि चाहिने सीपहरू भर्खरै सिकेको छ, तर कति कामहरू गर्न सक्दैन भने, तैँले उसलाई दबाब दिनु हुँदैन। तैँले उसलाई अलिक सजिलो हुने काम दिनुपर्छ। यसले उसलाई आफ्नो कर्तव्य निर्वाह गर्दा नतिजाहरू हासिल गर्न सजिलो बनाउँछ। सहनशील, धैर्यवान्‌ र सिद्धान्तनिष्ठ हुनु भनेको यही हो। यो सामान्य मानवतामा हुनुपर्ने एउटा पक्ष हो; यो मानिसहरूका लागि परमेश्‍वरले आवश्यक गर्नुभएको, अनि मानिसहरूले अभ्यास गर्नैपर्ने कुरा हो। यदि तँ निश्‍चित प्रकारको व्यावसायिक काममा निकै दक्ष छस्, र तैँले यो काम अरूले भन्दा अलि लामो समयदेखि गर्दै आएको छस् भने, कठिन कामहरू तँलाई दिइनुपर्छ। तैँले यस कुरालाई परमेश्‍वरबाट आएको हो भनेर स्वीकार र पालना गर्नुपर्छ। छानेर लिने र गनगन गर्ने नगर, र यसो नभन्, “किन मानिसहरूले सधैँ मेरो लागि अवस्था कठिन बनाइदिन्छन्? तिनीहरूले अरूलाई सजिलो काम, र मलाईचाहिँ गाह्रो काम दिन्छन्। के तिनीहरूले मेरो जीवन कठिन बनाउन खोज्दै छैनन् र?” “तेरो जीवन कठिन बनाउन खोज्नु” को अर्थ के हो? कार्य बन्दोबस्त हर व्यक्तिको अवस्थासित मिल्ने गरी तय गरिन्छ—सक्‍नेहरूले धेरै काम गर्नुपर्छ। तैँले धेरै कुरा सिकेको छस् र परमेश्‍वरले तँलाई धेरै कुरा दिनुभएको छ, त्यसकारण तँलाई गह्रौँ बोझ दिनु सही हुन्छ। यो तँलाई दुःख दिनका लागि गरिएको हुँदैन, तँलाई दिइएको बोझ तेरो लागि एकदमै सही हुन्छ: यो तेरो कर्तव्य हो, त्यसकारण रोज्‍ने र छान्‍ने, वा इन्कार गर्ने, वा यसबाट पन्छिने प्रयास नगर्। किन तँलाई यो कठिन लाग्छ? वास्तवमा, तैँले यसमा हृदय लगाइस् भने, यसलाई पूरा गर्न सकिहाल्छस्। तँलाई यो कठिन लाग्‍नु, र आफूलाई अनुचित व्यवहार गरिएको, र जानीजानी दुःख दिइएको जस्तो लाग्‍नु भनेको भ्रष्ट स्वभावको प्रकटीकरण हो, यो आफ्‍नो कर्तव्यलाई इन्कार गर्नु, र यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार नगर्नु हो; यो सत्यता अभ्यास गर्नु होइन। जब तँ आफ्‍नो कर्तव्यमा रोज्‍ने र छान्‍ने काम गर्छस्, अनि घिउजस्तो र सजिलो, र आफूलाई राम्रो देखाउने काम गर्छस् भने, यो शैतानको भ्रष्ट स्वभाव हो। यदि तँ आफ्‍नो कर्तव्यलाई स्वीकार गर्न, र समर्पित हुन सक्दैनस् भने, यसले तँ अझै पनि परमेश्‍वरप्रति विद्रोही छस्, तैँले प्रतिवाद गरिरहेको छस्, इन्कार्ने र उम्‍कने प्रयास गरिरहेको छस् भन्‍ने प्रमाणित गर्छ—यो एउटा भ्रष्ट स्वभाव हो। त्यसो भए, यो भ्रष्ट स्वभाव हो भन्‍ने तँलाई थाहा भएपछि तैँले के गर्नुपर्छ? जब कसैलाई दिइएको काम पूरा गर्न सजिलो छ, तर तँलाई दिइएको कामले तँलाई लामो समयसम्‍म व्यस्त राख्छ, अनि अनुसन्धान गर्न धेरै समय लाग्छ भन्‍ने तँलाई लाग्छ भने, यसले तँलाई बेखुसी बनाउँछ। के तँलाई बेखुसी महसुस हुनु सही कुरा हो? अवश्य होइन। त्यसो भए, यो कुरा गलत हो भन्‍ने तँलाई बोध भएपछि तैँले के गर्नुपर्छ? यदि तँ प्रतिरोध गर्दै यसो भन्छस् भने, “हरेक पटक तिनीहरूले कामको बाँडफाँट गर्दा मलाई गाह्रो, फोहोरी र परिश्रम गर्नुपर्ने काम दिन्छन्, र अरूलाई हलुका, सामान्य र आकर्षक काम दिन्छन्। के तिनीहरूले मलाई जे पनि गराउँदा हुने व्यक्ति सम्झेको हो? यो काम बाँडफाँट गर्ने निष्पक्ष तरिका होइन!”—यदि तेरो सोच यस्तो हो भने, त्यो गलत छ। तर कामको बाँडफाँटमा तलमाथि जेसुकै भए पनि, वा त्यो बाँडफाँट मनासिब र बेमनासिब जुनसुकै रूपले गरिए पनि, परमेश्‍वरले सूक्ष्म जाँच गर्नुहुने कुराचाहिँ के हो? उहाँले सूक्ष्म जाँच गर्नुहुने कुरा व्यक्तिको हृदय हो। उहाँले व्यक्ति हृदयदेखि नै आज्ञाकारी छ कि छैन, परमेश्‍वरको लागि उसले केही बोझ बोक्न सक्छ कि सक्दैन र ऊ परेश्‍वरलाई प्रेम गर्ने व्यक्ति हो कि होइन भनी हेर्नुहुन्छ। परमेश्‍वरको मापदण्डबाट मापन गर्दा, तैँले गरेका बहानाहरू अमान्य छन्, कर्तव्यमा तेरो कार्यसम्पादन मापदण्डअनुरूप छैन र तँसँग सत्यता वास्तविकता छैन। तँसँग आज्ञाकारिता बिलकुलै छैन र केही परिश्रमपूर्ण वा सिकसिकलाग्दो काम गर्नुपर्दा तँ गुनासो गर्छस्। यहाँ यो कस्तो समस्या हो? सर्वप्रथम त, तेरो मानसिकता गलत छ। यसको अर्थ के हो? यसको अर्थ कर्तव्यप्रतिको तेरो मनोवृत्ति गलत छ। यदि तँ आफ्नै खुसी र हितबारे सोचिरहन्छस्, परमेश्‍वरको इच्छाप्रति विचारशील हुँदैनस्, र कुनै आज्ञाकारिता देखाउँदैनस् भने, त्यो तैँले कर्तव्यप्रति राख्नुपर्ने सही मनोवृत्ति होइन। यदि तँ इमानदार भएर परमेश्‍वरको लागि आफूलाई खर्चेको हुन्थिस् र तँसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुन्थ्यो भने, सिकसिकलाग्दो, परिश्रमपूर्ण र गाह्रो काम तँ कसरी सम्हाल्नेथिस्? तेरो मानसिकता फरक हुनेथ्यो: तैँले कठिन हुने जुनसुकै काम रोज्नेथिस् र काँधमा भारी बोझ उठाउन खोज्नेथिस्। अरू मानिसहरूले गर्न नमानेका काम तैँले लिनेथिस्, अनि तैँले यो काम केवल परमेश्‍वरको प्रेमका खातिर र उहाँलाई सन्तुष्ट बनाउनको लागि गर्नेथिस्। यसो गर्दा तँलाई आनन्द आउनेथ्यो, र तैँले कुनै गुनासो गर्नेथिनस्। सिकसिकलाग्दो, परिश्रमपूर्ण र गाह्रो कामले मानिसहरूलाई उनीहरू को हुन् भनेर देखाउँछ। हलुका र आकर्षक काम लिने मानिसहरूभन्दा तँ कसरी फरक छस् र? तँ तिनीहरूभन्दा उत्तम छैनस्। के यो कुरा त्यस्तै होइन र? तैँले कामकुराहरू यसरी नै हेर्नुपर्छ। त्यसैले, मानिसहरूलाई उनीहरू को हुन् भनेर सबभन्दा धेरै खुलासा गर्ने कुरा भनेकै कर्तव्यका दौरान उनीहरूले गर्ने कार्यसम्पादन हो। कतिपय मानिसहरूले अधिकांश समय ठूलाठूला कुरा गर्छन्, र परमेश्‍वरलाई प्रेम गर्न र उहाँको आज्ञापालन गर्न इच्छुक रहेको दाबी गर्छन्, तर जब तिनीहरूले कर्तव्य निभाउने क्रममा कुनै कठिनाइ सामना गर्छन्, तब तिनीहरूको मुखबाट हरप्रकारका गुनासा र नकारात्मक शब्दहरू निस्कन्छन्। यसले उनीहरू पाखण्डी हुन् भनेर स्पष्टै देखाउँछ। यदि कसैले सत्यतालाई प्रेम गर्छ भने, उसले कर्तव्य निर्वाह गर्दा कठिनाइ आइपरे पनि, र उसलाई त्यो कर्तव्य उचित रूपमा दिइएको नभए पनि, उसले आफ्नो कर्तव्यलाई गम्भीरतासाथ लिँदै परमेश्‍वरलाई प्रार्थना गर्नेछ र सत्यता खोज्नेछ। भारी, सिकसिकलाग्दो वा कठिन काम गर्नुपरे पनि उसले गुनासो गर्नेछैन र ऊ आफ्नो कार्य राम्ररी गर्न, कर्तव्य राम्रोसँग सम्पादन गर्न हृदयदेखि नै परमेश्‍वरप्रतिको आज्ञाकारितामा भर पर्न सक्नेछ। यसो गर्दा उसलाई धेरै आनन्द मिल्नेछ र परमेश्‍वरलाई पनि यो देखेर सान्त्वना मिल्नेछ। यस्तो व्यक्तिले नै परमेश्‍वरको अनुमोदन प्राप्त गर्छ। यदि कसैले सिकसिकलाग्दो, कठिन र परिश्रमपूर्ण काम पाउनेबित्तिकै रिसाउने र झर्को मान्ने गर्छ, र कसैलाई आफ्नो आलोचना गर्न दिँदैन भने, यस्तो व्यक्ति परमेश्‍वरको लागि आफूलाई इमानदारीसाथ खर्चिने व्यक्ति होइन। यस्तो व्यक्तिलाई केवल खुलासा गर्न र हटाउन मात्र सकिन्छ। सामान्य अवस्थामा, तिमीहरूसँग यी स्थितिहरू हुँदा, के तिमीहरू समस्याको गम्भीरता बुझ्न सक्छौँ? (केहीकेही बुझ्न सक्छौँ।) यदि केहीकेही बुझ्न सक्छौ भने, के तिमीहरूले यसलाई आफ्नो शक्ति, आफ्नो विश्‍वास र आफ्नो कदको भरमा बदल्न सक्छौ त? तैँले यो मनोवृत्ति बदल्न जरुरी छ। सुरुमा तैँले सोच्नुपर्छ, “यो मनोवृत्ति गलत छ। के यो कर्तव्य निर्वाह गर्दा राम्रो फल मात्र टिप्नु होइन र? यो आज्ञाकारिता होइन। कर्तव्य निर्वाह गर्नु खुसीको कुरा हुनुपर्छ, जुन स्वेच्छाले र प्रसन्न हुँदै गरिनुपर्छ। म किन खुसी छैनँ र म किन दुःखी छु? मेरो कर्तव्य के हो भन्ने मलाई राम्रोसँग थाहा छ र मैले यही गर्नुपर्छ—म किन यसै समर्पित हुन सक्दिनँ? मैले परमेश्‍वरसामु आएर प्रार्थना गर्नैपर्छ, र मेरो हृदयको गहिराइमा यी भ्रष्ट स्वभावहरू किन प्रस्फुटित भइरहेका छन् भनेर जान्नैपर्छ।” त्यसो गरिसकेपछि, तैँले प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर, मलाई स्वेच्छाचारी हुने बानी परिसक्यो—म कसैको कुरा सुन्दिनँ। मेरो मनोवृत्ति गलत छ र ममा कुनै आज्ञाकारिता छैन। कृपया मलाई अनुशासित गर्नुहोस् र आज्ञाकारी बनाउनुहोस्। म दुःखी हुन चाहन्‍नँ। म तपाईँविरुद्ध अब कुनै विद्रोह गर्न चाहन्नँ। कृपया मलाई स्पर्शित गर्नुहोस् र यो कर्तव्य राम्ररी गर्न सक्ने बनाउनुहोस्। म शैतानको लागि जिउन चाहन्‍नँ; म सत्यताको लागि जिउन र सत्यता अभ्यास गर्न चाहन्छु।” जब तैँले यसरी प्रार्थना गर्छस्, तब तँभित्रको स्थिति सुधार हुनेछ र त्यो स्थिति सुधार भएपछि, तँ समर्पित हुन सक्षम हुनेछस्। तैँले सोच्नेछस्, “सो साँच्चै नै धेरै होइन रहेछ। अरूले थोरै गर्दा मैले धेरै गरेको रहेछु, तिनीहरूले रमाइलो गर्दा मैले नगरेको रहेछु, र उनीहरूले रमाइलो गर्दा मैले बेकारको कुरा गर्दो रहेछु। परमेश्‍वरले मलाई थप भार, निकै ठूलो भार दिनुभएको छ; त्यो मप्रति उहाँको सम्मान हो, मप्रतिको कृपा हो र यसले म त्यो भारी बोझ थाम्न सक्छु भन्ने प्रमाणित गर्छ। परमेश्‍वर मप्रति निकै असल हुनुहुन्छ र म आज्ञाकारी हुनैपर्छ।” अनि त्यसपछि तैँले थाहै नपाई तेरो मनोवृत्ति परिवर्तन भइसकेको हुनेछ। सुरुमा कर्तव्य स्विकार्दा, तँसँग खराब मनोवृत्ति थियो। तँ समर्पित हुन सक्षम थिइनस्, तर तैँले यसलाई तुरुन्तै बदल्न सकेको छस्, अनि तुरुन्तै परमेश्‍वरको सूक्ष्मजाँच र अनुशासन स्विकार्न सकेको छस्। अनि, परमेश्‍वरबाट पूर्ण रूपमा कर्तव्य ग्रहण गरी पूर्ण हृदयले यसलाई पूरा गर्न सक्षम नहुन्जेलसम्‍मै, तँ आज्ञाकारी, सत्यता स्वीकार्ने र अभ्यास गर्ने मनोवृत्ति लिएर परमेश्‍वरसामु तुरुन्तै आउन सक्षम भएको छस्। यसमा संघर्षको एउटा प्रक्रिया छ। संघर्षको त्यो प्रक्रिया भनेको तेरो परिवर्तनको प्रक्रिया हो, र तैँले सत्यता स्विकार्ने प्रक्रिया हो। मानिसहरूका लागि त स्वेच्छाले र खुसीसाथ आफ्नो मार्गमा आएका जुनसुकै कुराप्रति कुनै हिचकिचाहटबिना समर्पित हुनु असम्भव हुन्छ। यदि मानिसहरूले यस्तो गर्न सक्थे भने यसको अर्थ तिनीहरूसँग भ्रष्ट स्वभाव थिएन भन्ने हुन्थ्यो र तिनीहरूलाई मुक्ति दिन परमेश्‍वरले सत्यता व्यक्त गर्नुपर्ने आवश्यकता नै हुँदैनथ्यो। मानिसहरूमा विचारहरू उत्पन्न हुन्छन्; तिनीहरूमा गलत मनोवृत्तिहरू हुन्छन्; र तिनीहरू गलत र नकारात्मक स्थितिमा हुन्छन्। यी सबै वास्तविक समस्या हुन्—यी कुराहरू अस्तित्वमा छन्। तर जब यी नकारात्मक र प्रतिकूल स्थिति, नकारात्मक संवेग र भ्रष्ट स्वभावहरूले तेरो व्यवहार, तेरो सोच, र तेरो मनोवृत्तिमाथि हाबी भएर नियन्त्रण जमाउँछन्, तब तैँले गर्ने कामकुराहरू, अभ्यास गर्ने तेरो तरिका र तँ कुन बाटो हिँड्छन् भन्ने कुरा सत्यताप्रतिको तेरो मनोवृत्तिमा निर्भर रहनेछ। तँमा संवेगहरू हुन सक्ला वा तँ नकारात्मक वा विद्रोही स्थितिमा हुन सक्छस्, तर यी कुराहरू तेरो कर्तव्य निर्वाहको क्रममा देखा पर्दा चाँडै नै सुधार हुनेछन्, किनभने तँ परमेश्‍वरको सामु आउँछस्, सत्यता बुझ्छस्, परमेश्‍वरलाई खोजी गर्छस् र तेरो मनोवृत्ति पनि आज्ञाकारिता र सत्यता स्वीकार्ने हुन्छ। त्यसपछि तँ समस्यामुक्त भएर आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छस् र तैँले भ्रष्ट शैतानी स्वाभावको पकड र नियन्त्रणमाथि विजय प्राप्त गर्न सक्नेछस्। अन्त्यमा तँ आफ्नो कर्तव्य पूरा गर्न सफल हुनेछस्, र तैँले परमेश्‍वरको आज्ञा पूरा गर्नेछस्, अनि सुरक्षितसाथ सत्यता र जीवन प्राप्त गर्नेछस्। मानिसहरूले आफ्नो कर्तव्य निभाउने र सत्यता प्राप्त गर्ने प्रक्रिया आफ्नो स्वभाव परिवर्तन गर्ने प्रक्रिया पनि हो। मानिसहरूले पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति पाउने, सत्यता बुझ्ने र सत्यता वास्तविकतामा प्रवेश गर्ने सबै कुरा तिनीहरूको कर्तव्य निर्वाहको क्रममै हुन्छ। अनि, तिनीहरूले कर्तव्य सामान्य रूपमा निभाउन सकूँ भनेर, कठिनाइ हल गर्न अक्सर परमेश्‍वरसामु प्रार्थना गर्न आउने, अनि खोजी गर्न र उहाँको इच्छा बुझ्न आउने सबै कुरा पनि तिनीहरूको कर्तव्य निर्वाहमा कठिनाइहरू आइपर्दा नै हुन्छ। त्यसै गरी, मानिसहरूलाई परमेश्‍वरद्वारा अनुशासित गरिने, तिनीहरूले सत्यता सिद्धान्तहरूअनुसार काम गर्न क्रमैसँग सिक्दै पवित्र आत्मको निर्देशनमा जिउने, अनि आफ्नो कर्तव्य सन्तुष्टजनक रूपमा निर्वाह गर्दै जाने यी सबै कुरा पनि तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममै हुन्छ। यो सत्यताले तेरो हृदय नियन्त्रणमा लिएर त्यसमाथि शासन गरको अवस्था हो।

केही मानिसहरूको सवालमा, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जेसुकै समस्याको सामना गर्नु परे तापनि तिनीहरूले सत्यताको खोजी गर्दैनन् र तिनीहरूले सधैँ आफ्नै विचारहरू, धारणाहरू, कल्पनाहरू र चाहनाहरूअनुसार काम गर्छन्। तिनीहरूले बारम्बार आफ्नै स्वार्थी चाहनाहरू पूरा गरिरहेका हुन्छन् र तिनीहरूका भ्रष्ट स्वभावहरूले तिनीहरूका कामहरूलाई सधैँ नियन्त्रण गरिरहेका हुन्छन्। तिनीहरूले सधैँ आफ्‍नो कर्तव्य पूरा गरेको जस्तो देखिन्छ, तर तिनीहरूले सत्यता कहिल्यै स्वीकार नगरेका हुनाले, र तिनीहरू सत्यताका सिद्धान्तहरूअनुसार काम गर्न असक्षम रहेका हुनाले, तिनीहरू अन्तिममा सत्यता र जीवन प्राप्त गर्न असफल हुनेछन्, र सेवाकर्ता बन्‍नेछन्, सेवाकर्ता नामकै लायक हुनेछन्। त्यसो भए, आफ्ना कर्तव्यहरू निर्वाह गर्दा त्यस्ता मानिसहरू केमा भर परिरहेका हुन्छन् त? तिनीहरू न त सत्यतामा भरपरिरहेका हुन्छन् न त परमेश्‍वरमा नै। तिनीहरूले बुझेको थोरै सत्यताले तिनीहरूको हृदयमा प्रभुत्व जमाएको हुँदैन; यी कर्तव्यहरू निर्वाह गर्नको निम्ति तिनीहरू आफ्नै वरदान र प्रतिभाहरू, तिनीहरूले आर्जन गरेका ज्ञान र तिनीहरूका प्रतिभाहरूका साथै तिनीहरूका आफ्नै इच्छाशक्ति वा असल अभिप्रायहरूमा भर परिरहेका हुन्छन्। अनि यस्तो अवस्थामा, के तिनीहरूले स्वीकार्य मापदण्डअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्‍छन्? जब मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गर्न आफ्‍नो प्राकृतिक स्थिति, धारणा, कल्‍पना, विशेषज्ञता, र सिकाइमा भरोसा गर्छन्, तब तिनीहरूले आफ्‍नो कर्तव्य निभाइरहेका छन्, दुष्कर्म गरिरहेका छैनन् जस्तो देखिए पनि, तिनीहरूले सत्यता अभ्यास गरिरहेका हुँदैनन्, र तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्ने गरी केही काम गरेका हुँदैनन्। त्यसमा बेवास्ता गर्न नमिल्‍ने अर्को समस्या पनि छ: तैँले तेरो कर्तव्य निर्वाह गर्ने क्रममा, यदि तेरा धारणाहरू, कल्पनाहरू र व्यक्तिगत चाहनाहरू कहिले पनि परिवर्तन हुँदैनन् र सत्यताद्वारा प्रतिस्थापन हुँदैनन् भने, र तेरा काम-कार्वाहीहरू र कर्महरू कहिले पनि सत्यतका सिद्धान्तअनुसार हुँदेनन् भने, अन्तिम परिणाम के हुनेछ त? तँसित कुनै जीवनप्रवेश हुनेछैन, तँ सेवाकर्ता बन्‍नेछस्, र यसरी प्रभु येशूका यी वचनहरू पूरा हुनेछन्: “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौं र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौं र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौं र? अनि म तिनीहरूका निम्ती घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२२-२३)। परमेश्‍वरले किन यी प्रयत्न गर्नेहरू र सेवा दिने व्यक्तिहरूलाई दुष्कर्मी भन्‍नुहुन्छ त? एउटा बुँदामा हामी निश्‍चित हुन सक्छौँ, र त्यो के हो भने, यी मानिसहरूले जे कर्तव्यहरू वा कामहरू गरे तापनि, तिनीहरूका प्रेरणाहरू, प्रोत्साहनहरू, अभिप्रायहरू र सोचहरू सम्पूर्ण रूपमा तिनीहरूका स्वार्थी चाहनाहरूबाट नै उत्पन्‍न हुन्छन्, अनि ती तिनीहरूका आफ्‍नै हितहरू र सम्‍भाव्यता रक्षा गर्नका लागि, र तिनीहरूका आफ्‍नै घमण्ड, अभिमान, र हैसियत सन्तुष्ट पार्नका लागि हुन्छन्। यो सब यिनै विचार र हिसाबकिताबहरूमा केन्द्रित हुन्छ, तिनीहरूको हृदयमा कुनै सत्यता हुँदैन, तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने र आज्ञापालन गर्ने हृदय हुँदैन—समस्याको जड यही हो। आज तिमीहरूले पछ्याउनुपर्ने महत्त्वपूर्ण कुरा के हो? सबै कुरामा, तिमीहरूले सत्यता खोजी गर्नुपर्छ, र तिमीहरूले परमेश्‍वरको इच्‍छा र परमेश्‍वरको आज्ञाअनुसार आफ्‍नो कर्तव्य उचित रूपमा निर्वाह गर्नुपर्छ। तिमीहरूले त्यसो गर्‍यौ भने, परमेश्‍वरको स्याबासी प्राप्त गर्नेछौ। त्यसो भए, परमेश्‍वरको आज्ञाअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्नका लागि विशेष रूपमा के काम गर्नुपर्छ? तिमीहरूले गर्ने हरेक कुरामा, तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गर्न, तँमा के-कस्ता मनसायहरू छन्, के-कस्ता विचारहरू छन्, अनि यी मनसाय र विचारहरू सत्यताअनुरूप छन्, छैनन् भनेर मनन गर्नुपर्छ; यदि ती सत्यताअनुरूप छैनन् भने, तिनलाई पन्छाउनुपर्छ, त्यसपछि तिमीहरूले सत्यताका सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ र परमेश्‍वरको सूक्ष्म जाँच स्विकार्नुपर्छ। यसले तैँले सत्यता अभ्यास गर्ने कुरा सुनिश्‍चित गर्नेछ। यदि तँसँग तेरा आफ्‍नै मनसाय र उद्देश्यहरू छन्, र तँलाई तिनले सत्यता उल्‍लङ्घन गर्छन् र ती परमेश्‍वरको इच्‍छाविपरीत छन् भन्‍ने राम्ररी थाहा छ, र पनि तैँले परमेश्‍वरलाई प्रार्थना गर्दैनस्, र समाधानका लागि सत्यता खोजी गर्दैनस् भने, यो खतरनाक कुरा हो, तैँले सहजै दुष्कर्म र परमेश्‍वरविरोधी काम गर्न सक्छस्। यदि हामीले एक-दुईपटक दुष्कर्म गरेर पश्‍चात्ताप गर्‍यौँ भने, हामीसँग अझै पनि मुक्तिको आशा हुन्छ। यदि तैँले दुष्कर्म गरिरहिस्—तैँले हरकिसिमका दुष्कर्महरू गरिस्—तैपनि तैँले अझै पश्‍चात्ताप गरिनस् भने, तँ समस्यामा हुन्छस्: परमेश्‍वरले तँलाई एकातिर हुत्याइदिनुहुनेछ वा त्याग्‍नुहुनेछ, यसको मतलब तँ हटाइने खतरामा हुन्छस्; हरकिसिमका दुष्ट कामहरू गर्ने मानिसहरूलाई अवश्य दण्ड दिइनेछ र हटाइनेछ।

अघिल्लो: परमेश्‍वरको देहधारणबारे जान्‍नेसम्बन्धी वचनहरू

अर्को: आफूलाई चिन्‍नेसम्बन्धी वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्