परमेश्‍वरको अघि आफ्नो हृदयलाई शान्त राख्ने सम्‍बन्धमा

परमेश्‍वरका वचनहरूमा प्रवेश गर्नका लागि तेरो हृदयलाई उहाँको उपस्थितिमा शान्त गर्नुभन्दा अर्को महत्त्वपूर्ण कदम छैन। यो, वर्तमानमा सबै मानिसहरू तत्कालै प्रवेश गर्नुपर्ने वा सिक्‍नुपर्ने आवश्यक पाठ हो। परमेश्‍वरको अघि तेरो हृदयलाई शान्त पार्ने कुरामा प्रवेश गर्ने मार्गहरू निम्न रहेका छन्:

१. बाहिरी कुराबाट आफ्नो हृदयलाई मुक्त गर्। परमेश्‍वरको अघि शान्त बन्, र उहाँलाई प्रार्थना गर्दा तेरो ध्यान यताउता नडुला।

२. परमेश्‍वर अगाडि तेरो हृदय शान्त राखेर उहाँका वचनहरू खा, पिई र आनन्द उठा।

३. परमेश्‍वरको प्रेमबारे ध्यान र चिन्तन गर् र उहाँको कार्यबारे हृदयमा मनन गर्।

सर्वप्रथम, प्रार्थनाको पक्षबाट सुरु गर्। आफ्नो ध्यान यताउता नडुलाई र निश्चित समयमा प्रार्थना गर्। तँसँग समय जतिसुकै कम भए पनि, तँ काममा जतिसुकै व्यस्त भए पनि, वा तँमाथि जेसुकै आइपरे पनि, हरेक दिन सामान्य रूपमा नै प्रार्थना गर्, र सामान्य रूपमा नै परमेश्‍वरका वचनहरू खा र पिई। परमेश्‍वरका वचनहरू तैँले खाँदा र पिउँदासम्‍म, तेरो परिवेश जेसुकै भए पनि, तैँले तेरो आत्मामा ठूलो आनन्द पाउनेछस्, र तँ तेरो वरिपरिका मानिस, घटना, वा काम-कुराहरूले विचलित हुनेछैनस्। जब तँ परमेश्‍वरलाई आफ्नो हृदयमा सामान्य तरिकाले चिन्तन गर्छस्, बाहिर भइरहेको कुराले तँलाई बाधा दिनेछैन। कद हुनुको अर्थ यही हो। प्रार्थनाबाट सुरु गर्: परमेश्‍वरको अगाडि शान्त भएर प्रार्थना गर्नु नै सबैभन्दा फलदायी हुन्छ। त्यसपछि, परमेश्‍वरका वचनहरू खा र पिई, परमेश्‍वरका वचनहरू मनन गर्दै त्यसमा प्रकाश खोज्, अभ्यासको मार्ग खोज्, परमेश्‍वरले आफ्‍ना वचनहरू बोल्‍नुको उद्देश्य खोज्, र दायाँबायाँ नलागी ती बुझ्। सामान्यतया, बाहिरी कुराहरूबाट विचलित नभई हृदयमा परमेश्‍वरको नजिक आउन, उहाँको प्रेमको चिन्तन गर्न र उहाँका वचनबारे विचार गर्न सक्‍नु तेरो लागि सामान्य हुनुपर्दछ। जब तेरो हृदयले निश्चित मात्रामा शान्ति हासिल गरेको हुन्छ, तेरो परिवेश जस्तोसुकै भए पनि, अन्ततः तेरो हृदय प्रशंसाले नभरिञ्‍जेलसम्म, तँ शान्त भएर ध्यान लगाउन सक्छस् र आफूभित्र परमेश्‍वरको प्रेमको चिन्तन गर्न र साँचो रूपमा उहाँको नजिक जान सक्छस्, र यो प्रार्थनाभन्दा पनि राम्रो हो। त्यसपछि तँसँग निश्‍चित कद हुनेछ। यदि तैँले माथि व्याख्या गरिएका अवस्थाहरू हासिल गर्न सकिस् भने, यो तेरो हृदय परमेश्‍वर अगाडि वास्तवमै शान्त छ भन्‍ने कुराको प्रमाण हुनेछ। यो प्रथम आधारभूत पाठ हो। मानिसहरू परमेश्‍वर अगाडि शान्त हुन सकेपछि मात्रै तिनीहरूलाई पवित्र आत्माले स्पर्श दिन सक्‍नुहुन्छ, अनि पवित्र आत्माले अन्तर्दृष्टि र ज्योति दिन सक्‍नुहुन्छ, अनि मात्रै तिनीहरूले परमेश्‍वरसँग साँचो सङ्गति गर्न, साथै परमेश्‍वरको इच्छा र पवित्र आत्माको मार्गदर्शन प्राप्‍त गर्न सक्छन्। त्यसपछि तिनीहरू आफ्नो आत्मिक जीवनको सही मार्गमा प्रवेश गरेका हुनेछन्। परमेश्‍वरको अगाडि जिउने तिनीहरूको तालिम जब निश्चित गहिराइमा पुग्छ, र तिनीहरूले आफूलाई त्याग्न, घृणा गर्न, सराप्‍न, र परमेश्‍वरका वचनहरूमा जिउन सक्छन्, तब परमेश्‍वरको अघि तिनीहरूको हृदय साँचो रूपमा शान्तिमा हुन्छ। आफैलाई घृणा गर्न सक्‍नु, आफूलाई सराप्‍न सक्‍नु, र आफैलाई त्याग्‍न सक्‍नु भनेको परमेश्‍वरको कार्यबाट हासिल गर्ने प्रभाव हो, र मानिसहरूले आफ्‍नै प्रयासमा यसो गर्न सक्दैनन्। तसर्थ, परमेश्‍वरको अगाडि हृदयलाई शान्त पार्ने अभ्यास मानिसहरूले तत्कालै प्रवेश गर्नुपर्ने पाठ हो। कतिपय मानिसले परमेश्‍वरको अगाडि आफ्ना हृदयलाई साधारण हिसाबमा शान्त पार्न नसक्ने मात्रै होइन, तर प्रार्थना गर्दा समेत परमेश्‍वरको अघि आफ्ना हृदयलाई शान्त पार्न सक्दैनन्। यो परमेश्‍वरको मापदण्डभन्दा निकै तलको कुरा हो! यदि परमेश्‍वरको अघि तेरो हृदय शान्त हुन सक्दैन भने, के तैँले पवित्र आत्माको स्पर्श प्राप्त गर्न सक्छस्? यदि तँ परमेश्‍वरको अगाडि शान्त हुन नसक्ने मानिस होस् भने, कोही आउँदा अथवा अरूले कुराकानी गर्दा तँ अलमलिने सम्‍भावना हुन्छ, र अरूले काम गर्दा तेरो ध्यान खिचिन सक्छ, जुन अवस्थामा तँ परमेश्‍वरको उपस्थितिमा जिउँदैनस्। यदि तेरो हृदय परमेश्‍वरको अगाडि वास्तवमै शान्त छ भने, बाहिरी दुनियाँमा भइरहेका कुनै पनि कुराले तँलाई बाधा हुनेछैन, वा तँ कुनै पनि व्यक्ति, घटना, वा कुराबाट गाँजिनेछैनस्। यदि तँ यसमा प्रवेश गरेको छस् भने, ती नकारात्मक अवस्था र सबै नकारात्मक कुराहरू—मानव धारणा, जीवन दर्शन, मानिसहरूबीचको असामान्य सम्‍बन्धहरू, अनि उपाय र विचारहरू इत्यादि—स्वतः हराएर जानेछन्। तँ सधैँ परमेश्‍वरका वचनहरूमा चिन्तन गरिरहने भएकोले, र तेरो हृदय सधैँ परमेश्‍वरतर्फ नजिकिरहने हुनाले र सधैँ परमेश्‍वरका वर्तमान वचनहरूले भरिने भएकाले, तैँले थाहै नपाई ती नकारात्मक कुराहरू तँबाट हराएर जानेछन्। जब नयाँ र सकारात्मक कुराहरूले तँलाई भर्छन्, पुराना नकारात्मक कुराहरूको लागि कुनै ठाउँ हुनेछैन, त्यसकारण ती नकारात्मक कुराहरूलाई कुनै ध्यान नदे। तिनीहरूलाई नियन्त्रण गर्नका लागि तैँले कुनै प्रयास गर्नुपर्दैन। तँ परमेश्‍वरको अगाडि शान्त हुने कार्यमा केन्द्रित हुनुपर्छ, तैँले सक्ने जति परमेश्‍वरका वचनहरू खानु, पिउनु, र आनन्द गर्नुपर्छ, तैँले सक्ने जति परमेश्‍वरको प्रशंसाका भजनहरू गाउनुपर्छ, र परमेश्‍वरलाई तँमा काम गर्ने मौका दिनुपर्छ, किनभने अहिले परमेश्‍वरले मानवजातिलाई व्यक्तिगत रूपमा नै सिद्ध बनाउन चाहनुहुन्छ, र उहाँले तेरो हृदय प्राप्‍त गर्न चाहनुहुन्छ; उहाँको आत्माले तेरो हृदयलाई चलाउँछ र यदि, पवित्र आत्माको मार्गदर्शनको अनुसरण गर्दै तँ परमेश्‍वरको उपस्थितिमा जिउन आउँछस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नेछस्। यदि तैँले परमेश्‍वरका वचनहरूमा जिउने कुरामा ध्यान दिइस् र पवित्र आत्मको अन्तर्दृष्टि र ज्योति प्राप्‍त गर्न सत्यता बारे सङ्गतिमा थप सहभागी भइस् भने, ती धार्मिक धारणा र तेरो आत्म-धर्मी र आत्माभिमानी सबै हराउनेछ, र तैँले परमेश्‍वरका लागि आफूलाई कसरी समर्पित गर्ने, परमेश्‍वरलाई कसरी प्रेम गर्ने, र परमेश्‍वरलाई कसरी सन्तुष्ट बनाउने भनेर थाहा पाउनेछस्। र तैँले थाहै नपाई, परमेश्‍वरभन्दा बाहिरी कुराहरू तेरो विवेकबाट सम्पूर्ण रूपमा उडेर जानेछन्।

परमेश्‍वरका वर्तमान वचनहरू खाँदै र पिउँदै उहाँका वचनहरूमा चिन्तन र प्रार्थना गर्नु परमेश्‍वरको अगाडि शान्त हुने पहिलो खुड्किलो हो। यदि तँ परमेश्‍वरको अगाडि वास्तवमै शान्त हुन सक्छस् भने, पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति तँसँग हुनेछ। सबै आत्मिक जीवन परमेश्‍वरको अगाडि शान्त भएर हासिल हुन्छ। प्रार्थना गर्दा, तँ परमेश्‍वरको अगाडि शान्त हुनुपर्छ, अनि मात्रै तैँले पवित्र आत्माको स्पर्श पाउन सक्छस्। जब तँ परमेश्‍वरको अगाडि शान्त हुन्छस्, जब तँ परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, तब तैँले अन्तर्दृष्टि र ज्योति प्राप्‍त गर्न सक्छस्, र उहाँका वचनहरूको साँचो बुझाइ हासिल गर्न सक्छस्। मनन र सङ्गति र तेरो हृदयमा परमेश्‍वरको नजिक जाने तेरा नियमित गतिविधिहरूमा जब तँ परमेश्‍वरको उपस्थितिमा शान्त हुन्छस्, तैँले परमेश्‍वरसँगको साँचो निकटता प्राप्त गर्न, परमेश्‍वरको प्रेम र उहाँको कार्यको साँचो बुझाइ प्राप्‍त गर्न र परमेश्‍वरका अभिप्रायहरूप्रति साँचो ध्यान र वास्ता देखाउन सक्षम हुनेछस्। तँ जति सामान्य रूपमा परमेश्‍वरको अगाडि शान्त हुन सक्छस्, तैँले त्यति नै धेरै ज्योति प्राप्‍त गर्नेछस् र तेरो आफ्नो भ्रष्ट स्वभाव, तँमा भएको कमजोरी, तैँले प्रवेश गर्नुपर्ने कुरा, तैँले गर्नुपर्ने कार्य, र तेरो खराबी कहाँ छ भनेर त्यति नै धेरै बुझ्न सक्‍नेछस्। यी सबै कुरा परमेश्‍वरको उपस्थितिमा शान्त भएर हासिल गर्न सकिन्छ। यदि तैँले परमेश्‍वरको अगाडि तेरो शान्तिमा वास्तवमै गहिराइ हासिल गरिस् भने, तैँले आत्माका निश्चित रहस्यहरू बुझ्न, तँमा हाल परमेश्‍वरले के गर्ने इच्छा गरिरहनुभएको छ भनेर बुझ्न, परमेश्‍वरका वचनहरूको अझ गहन बुझाइ प्राप्त गर्न, उहाँका वचनहरूको आन्तरिक तत्व, उहाँका वचनहरूको सार, उहाँका वचनहरूको अस्तित्वलाई बुझ्न सक्‍नेछस्, र तैँले अभ्यासको मार्गलाई अझै स्पष्ट र सटीक रूपमा देख्न सक्‍नेछस्। तँ तेरो आत्मामा शान्त हुने विषयमा पर्याप्‍त गहिराइ हासिल गर्न असफल भइस् भने, तँ पवित्र आत्माद्वारा थोरै मात्र उत्प्रेरित हुनेछस्; तैँले भित्री रूपमा बलियो अनुभूति गर्नेछस् र केही मात्रामा आनन्द र शान्ति महसुस गर्नेछस्, तर तैँले कुनै पनि कुरालाई गहन रूपमा बुझ्न सक्नेछैनस्। मैले पहिले भनेको छु: यदि मानिसहरूले तिनीहरूको सामर्थ्यको प्रत्येक एकाइलाई काममा लगाउन सकेनन् भने, तिनीहरूलाई मेरो आवाज सुन्न वा मेरा अनुहार हेर्न गाह्रो हुनेछ। यसले परमेश्‍वरको अगाडि शान्तिमा गहिराइ हासिल गर्नुलाई जनाउँछ, र सतही प्रयास गर्नुलाई होइन। परमेश्‍वरको उपस्थितिमा वास्तवमै शान्त हुन सक्ने व्यक्तिले आफूलाई सबै सांसारिक बन्धनबाट मुक्त गर्न सक्छ, र ऊ परमेश्‍वरद्वारा प्राप्‍त गरिन सक्छ। परमेश्‍वरको उपस्थितिमा शान्तिमा हुन नसक्‍ने मानिसहरू अवश्यै दुराचारी र असंयमी हुन्छन्। परमेश्‍वरको अगाडि शान्त हुन सक्ने सबै मानिस परमेश्‍वरको अगाडि धर्मनिष्ठ र परमेश्‍वरको तृष्णा गर्ने हुन्छन्। परमेश्‍वरको अगाडि शान्त रहने व्यक्तिहरूले मात्रै जीवनलाई महत्त्व दिन्छन्, आत्माबाटै सङ्गतिलाई महत्त्व दिन्छन्, तिनीहरू परमेश्‍वरका वचनहरूप्रति तिर्खाएका हुन्छन्, र सत्यको खोजी गर्छन्। परमेश्‍वरको अगाडि शान्त रहने कुरालाई महत्त्व नदिने र शान्त रहन अभ्यास नगर्ने जोकोही व्यक्ति व्यर्थ र सतही हुन्छ, संसारसँग जोडिएको र जीवनविहीन हुन्छ; तिनीहरूले हामी परमेश्‍वरमा विश्‍वास गर्छौ भनेर भने पनि, ओठेसेवा मात्रै गरिरहेका हुन्छन्। परमेश्‍वरले अन्त्यमा जसलाई सिद्ध र पूर्ण गर्नुहुन्छ, तिनीहरू उहाँको उपस्थितिमा शान्त रहन सक्ने व्यक्तिहरू हुन्। तसर्थ, परमेश्‍वरको अगाडि शान्त रहनेहरूलाई ठूला आशिषहरूद्वारा अनुग्रह गरिन्छ। दिनभरिमा परमेश्‍वरका वचनहरू खान र पिउनका लागि विरलै समय निकाल्ने, बाहिरी मामिलामा व्यस्त रहने अनि जीवन प्रवेशलाई थोरै महत्त्व दिने मानिसहरू—तिनीहरू सबै भविष्यको वृद्धिको सम्भावना नभएका ढोङ्गी हुन्। परमेश्‍वरको अगाडि शान्त रहने अनि परमेश्‍वरसँग सच्‍चा रूपमै सङ्गति गर्ने मानिसहरू नै परमेश्‍वरका मानिसहरू हुन्।

परमेश्‍वरका वचनहरूलाई तेरो जीवनको रूपमा स्वीकार गर्न उहाँको अगाडि आउनका लागि, तँ पहिले परमेश्‍वरको अगाडि शान्त हुनुपर्छ। तँ परमेश्‍वरको अगाडि शान्त रहेपछि मात्रै उहाँले तँलाई अन्तर्दृष्टि र ज्ञान दिनुहुनेछ। परमेश्‍वरको अगाडि मानिसहरू जति धेरै शान्तिमा रहन्छन्, उहाँको अन्तर्दृष्टि र ज्योति प्राप्‍त गर्न तिनीहरू उति नै धेरै सक्षम हुन्छन्। यी सबै कुराका लागि मानिसहरूसँग धर्मनिष्ठा र विश्‍वास हुनुपर्छ; त्यसरी मात्रै तिनीहरूलाई सिद्ध बनाउन सकिन्छ। आत्मिक जीवनमा प्रवेश गर्ने आधारभूत पाठ भनेको परमेश्‍वरको उपस्थितिमा शान्त रहनु हो। परमेश्‍वरको उपस्थितिमा तँ शान्त रहन सकिस् भने मात्रै तेरा सबै आत्मिक तालिम प्रभावकारी हुनेछ। यदि तेरो हृदय परमेश्‍वरको अगाडि शान्त रहन सक्दैन भने, तैँले पवित्र आत्माको कार्य प्राप्‍त गर्न सक्‍नेछैनस्। तैँले जेसुकै गरिरहेको भए तापनि, यदि तेरो हृदय परमेश्‍वरको अगाडि शान्त छ भने, तँ परमेश्‍वरको उपस्थितिमा जिउने व्यक्ति होस्। तैँले जेसुकै गरिरहेको भए तापनि, यदि तेरो हृदय परमेश्‍वरको अगाडि शान्त छ अनि परमेश्‍वरको नजिक रहन्छ भने, यसले तँ परमेश्‍वरको अगाडि शान्त रहने व्यक्ति होस् भन्‍ने प्रमाणित गर्छ। यदि, तँ अरूसँग बोल्दा, वा हिँड्दा, “मेरो हृदय परमेश्‍वरको नजिक हुँदैछ, अनि बाहिरी कुराहरूमा केन्द्रित छैन, र म परमेश्‍वरको अगाडि शान्त रहन सक्छु” भनेर भन्न सक्छस् भने, तँ परमेश्‍वरको अगाडि शान्त रहन सक्ने व्यक्ति होस्। तेरो हृदयलाई बाहिरी मामिलाहरूमा तान्ने कुनै पनि कुरा वा तेरो हृदयलाई परमेश्‍वरबाट छुट्याउने मानिसहरूसँग संलग्न नबन्। तेरो हृदयलाई परमेश्‍वरको नजिक हुनबाट बाधा दिन सक्ने जुनसुकै कुरा भए पनि, त्यसलाई पाखा लगा, वा त्यसबाट परै बस्। यसो गर्नु तेरो जीवनको लागि ठूलो लाभ हुन्छ। पवित्र आत्माको महान् काम हुने सटीक समय, परमेश्‍वरले मानिसहरूलाई व्यक्तिगत रूपमा सिद्ध गर्नुहुने समय अहिले नै हो। यदि यो क्षणमा तँ परमेश्‍वरको अगाडि शान्त हुन सक्दैनस् भने, तँ परमेश्‍वरको सिंहासन अगाडि फर्कने व्यक्ति होइनस्। यदि तैँले परमेश्‍वरभन्दा बाहेकको अन्य कुराको खोजी गरिस् भने, तँलाई परमेश्‍वरले सिद्ध पार्नुहुने कुनै अवस्था रहनेछैन। परमेश्‍वरबाट यस्ता वाणीहरू सुन्न सक्ने तर आज परमेश्‍वरको अगाडि शान्त रहन असफल हुनेहरू सत्यतालाई र परमेश्‍वरलाई प्रेम नगर्ने मानिसहरू हुन्। यदि तैँले आफूलाई अहिले अर्पण गर्दैनस् भने, तँ के पर्खिरहेको छस्? आफूलाई अर्पण गर्नु भनेको परमेश्‍वरको अगाडि आफ्नो हृदयलाई शान्त पार्नु हो। यो नै साँचो अर्पण हुनेछ। अहिले जसले आफ्नो हृदय परमेश्‍वरमा अर्पण गर्छ, उसलाई परमेश्‍वरले निश्चित रूपमा सिद्ध तुल्याउनुहुन्छ। जेसुकै भए पनि, कुनै पनि कुराले तँलाई बाधा दिन सक्दैन; तँलाई काटछाँट गर्न वा तेरो निराकरण गर्न होस्, वा तैँले नैराश्यता वा असफलता भोग्नु परोस्, परमेश्‍वरको अगाडि तेरो हृदय सदैव शान्त हुनुपर्छ। तँलाई मानिसहरूले जस्तोसुकै व्यवहार गरे पनि, परमेश्‍वरको अगाडि तेरो हृदय शान्त हुनुपर्छ। तैँले जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि—तँ विपत्ति, कष्ट, अत्याचार, वा विभिन्न परीक्षाहरूबाट प्रभावित भए पनि—तेरो हृदय परमेश्‍वरको अगाडि सदैव शान्त हुनुपर्छ; सिद्ध बनाइने मार्गहरू यिनै हुन्। तँ परमेश्‍वरको अगाडि वास्तविक रूपमा शान्त हुँदा मात्रै परमेश्‍वरका वर्तमान वचनहरू तेरो सामु स्पष्ट हुनेछन्। त्यसपछि तैँले अझ सही तरिकाले र दायाँबायाँ नभई, पवित्र आत्माको ज्योति र अन्तर्दृष्टिको अभ्यास गर्न सक्छस्, परमेश्‍वरका अभिप्रायहरूलाई अझ स्पष्टताका साथ बुझ्न सक्छस् जसले तेरो सेवालाई थप स्पष्ट दिशा प्रदान गर्नेछ, पवित्र आत्माको प्रभाव र मार्गदर्शनलाई अझ सटीक ढङ्गले बुझ्न सक्छस्, र पवित्र आत्माको मार्गदर्शन अन्तर्गत जिउने कुरामा ढुक्क हुन सक्छस्। परमेश्‍वरको अगाडि वास्तवमै शान्त रहँदा प्राप्‍त गर्न सकिने प्रभावहरू यस्ता हुन्छन्। मानिसहरू परमेश्‍वरका वचनहरूबारे स्पष्ट नहुनु, अभ्यास गर्ने मार्ग नहुनु, परमेश्‍वरका अभिप्रायहरू बुझ्न असफल हुनु, वा अभ्यासका सिद्धान्तहरूको कमी हुनुका कारण तिनीहरूको हृदय परमेश्‍वरको अगाडि शान्त नभएर हो। परमेश्‍वरको अगाडि शान्त हुनुको उद्देश्य भनेको गम्भीर र व्यावहारिक हुनु हो, परमेश्‍वरका वचनहरूमा शुद्धता र पारदर्शीता खोज्नु हो, र अन्ततः सत्यता बुझ्ने र परमेश्‍वरलाई चिन्ने अवस्थामा आइपुग्नु हो।

यदि तेरो हृदय परमेश्‍वरको अगाडि प्रायजसो शान्त हुँदैन भने, उहाँसँग तँलाई सिद्ध बनाउने कुनै उपाय हुँदैन। सङ्कल्पहीन हुनु भनेको हृदय नहुनुसरह हो, र हृदय नभएको व्यक्ति परमेश्‍वरको अगाडि शान्त रहन सक्दैन; यस्तो व्यक्तिलाई परमेश्‍वरले कति काम गर्नुहुन्छ वा उहाँ कति बोल्नुहुन्छ भनेर थाहा हुँदैन, न त उसलाई अभ्यास कसरी गर्ने भनेर नै थाहा हुन्छ। के यो हृदय नभएको व्यक्ति होइन र? के हृदय नभएको व्यक्ति परमेश्‍वरको अगाडि शान्त रहन सक्छ? हृदय नभएका व्यक्तिहरूलाई सिद्ध बनाउनका लागि परमेश्‍वरसँग कुनै उपाय छैन—तिनीहरू भारी बोक्ने पशुभन्दा फरक हुँदैनन्। परमेश्‍वरले यति स्पष्ट र पारदर्शी भएर बोल्नुभएको छ, तैपनि तेरो हृदयमा प्रभाव परेको छैन, अनि तँ परमेश्‍वरको अगाडि शान्त रहन असमर्थ छस्। के तँ विवेकहीन पशु होइनस्? कतिपय मानिस परमेश्‍वरको अगाडि शान्त रहने अभ्यासबाट भड्किन्छन्। खाना पकाउने समयमा तिनीहरू खाना पकाउँदैनन्, र दैनिक काम गर्ने समयमा तिनीहरू त्यसो गर्दैनन्, तर प्रार्थना र ध्यान मात्रै गरिरहन्छन्। परमेश्‍वरको अगाडि शान्त रहनु भनेको खाना नपकाउनु वा दैनिक काम नगर्नु जस्तो होइन, वा न त जीवन नजिउनु नै हो; बरु, यो त सबै सामान्य अवस्थाहरूमा परमेश्‍वरको अगाडि आफ्नो हृदयलाई शान्त पार्न, अनि आफ्नो हृदयमा परमेश्‍वरको लागि स्थान बनाउन सक्‍नु हो। तैँले प्रार्थना गर्दा, परमेश्‍वरको अगाडि राम्ररी घुँडा टेकेर झुक्नुपर्छ; तैँले दैनिक काम गर्दा वा खाना पकाउँदा, परमेश्‍वरको अगाडि तेरो हृदयलाई शान्त पार्, परमेश्‍वरका वचनहरूको चिन्तन गर्, वा भजन गा। तैँले आफूलाई जस्तोसुकै अवस्थामा पाए पनि, तँसँग अभ्यास गर्ने आफ्नै तरिका हुनुपर्दछ, परमेश्‍वरको नजिक आउनका लागि तैँले सबै कुरा गर्नुपर्छ, र तैँले आफ्‍ना सबै शक्ति लगाएर परमेश्‍वरको अगाडि आफ्नो हृदयलाई शान्त बनाउने प्रयास गर्नुपर्छ। परिस्थितिले दिएमा दत्तचित्त भई प्रार्थना गर्; परिस्थितिले नदिएमा आफ्‍नो हातमा भएको काम गर्दै हृदयमा परमेश्‍वरको नजिक आइज। जब तँ परमेश्‍वरका वचनहरू खान र पिउन सक्छस्, त्यतिबेला परमेश्‍वरका वचनहरू खा र पिई; जब तँ प्रार्थना गर्न सक्छस्, त्यतिबेला प्रार्थना गर्; जब तैँले परमेश्‍वरबारे विचार गर्न सक्छस्, त्यतिबेला उहाँबारे विचार गर्। अर्को शब्दमा भन्नुपर्दा, प्रवेशका लागि आफूलाई आफ्‍नो वातावरणअनुसार तालिम दिन सक्दो गर्। केही मानिसहरू केही पनि नहुँदा परमेश्‍वरको अगाडि शान्त रहन सक्छन्, तर जब केही हुन्छ, तिनीहरूको मन भौँतारिन थाल्छ। त्यसो गर्नु भनेको परमेश्‍वरको अगाडि शान्त रहनु होइन। अनुभव गर्ने सही तरिका हो: कुनै पनि परिस्थितिमा आफ्नो हृदय परमेश्‍वरबाट पर नजानु, वा बाहिरी मानिस, घटना, वा कुराहरूबाट विचलित नहुनु हो, अनि मात्रै कुनै पनि व्यक्ति परमेश्‍वरको अगाडि वास्तवमै शान्तिमा हुन्छ। कतिपय मानिसहरू भन्छन् कि जब तिनीहरू भेलामा हुन्छन्, तिनीहरूको हृदय परमेश्‍वरको अगाडि शान्त रहन सक्छ, तर अरूसँगको सङ्गतिमा तिनीहरू परमेश्‍वरको अगाडि शान्त रहन सक्दैनन्, र तिनीहरूको सोचाइ भौंतारिन्छ। यो परमेश्‍वरको अगाडि शान्त रहनु होइन। आज, अधिकांश मानिस यही अवस्थामा छन्, तिनीहरूको हृदय परमेश्‍वरको अगाडि सधैँ शान्त रहन सक्दैन। तसर्थ, तिमीहरूले यस क्षेत्रमा अभ्यास गर्नका लागि थप प्रयास गर्नुपर्छ, जीवन अनुभवको सही मार्गमा चरणबद्ध रूपमा प्रवेश गर्नुपर्छ, अनि परमेश्‍वरबाट सिद्ध बनाइने मार्गमा अगाडि बढ्नुपर्छ।

अघिल्लो: स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

अर्को: सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्