सामञ्जस्यपूर्ण सहकार्यको विषयमा
परमेश्वरको घरमा मानिसहरूले कसरी कर्तव्य निर्वाह गर्छन् भन्ने कुरा गैरविश्वासीहरूमाझ काम कसरी गरिन्छ भन्ने कुराबाट पुरै फरक हुन्छ। के फरक हुन्छ? दाजुभाई दिदीबहिनीहरूले सँगै परमेश्वरका वचनहरू पढ्छन् र तिनीहरू आत्मिक रूपमा जोडिएका हुन्छन्। तिनीहरू एकअर्कासँग सामञ्जस्यतामा बस्न र एकअर्कालाई साँच्चिकै आफ्ना मनमा लागेका कुरा भन्न सक्छन्। तिनीहरू सामान्य र खुला रूपले एकअर्कासँग सत्यता सङ्गति गर्न, परमेश्वरको वचनमा रमाउन र एकअर्कालाई सहयोग गर्न सक्षम हुन्छन्। जसलाई कठिनाइहरू आइपरेका छन् तिनीहरूले समस्या हल गर्न मिलेर सत्यता खोजी गर्छन्, र तिनीहरूले आत्मीय एकता हासिल गर्न, र सत्यता र परमेश्वरसामु समर्पित हुन सक्छन्। तर गैरविश्वासीहरू फरक हुन्छन्। तिनीहरू सबैका आ-आफ्नै गोप्य कुरा हुन्छन्, तिनीहरू खुला रूपले कुरा गर्दैनन्, एकअर्काप्रति सावधान रहन्छन्, र एकअर्काविरुद्ध षड्यन्त्र र प्रतिस्पर्धासमेत गर्छन्। अन्त्यमा, तिनीहरूबीच फाटो आएर तिनीहरू छुट्छन् र आ-आफ्नै बाटो लाग्छन्। मण्डलीमा हुनु र गैरविश्वासी संसारमा हुनुबीचको सबैभन्दा ठुलो फरक भनेको परमेश्वरमा साँचो विश्वास राख्नेहरूले सत्यता स्विकार्न सक्छन्। चाहे जोसुकैसँग समस्या वा कठिनाइ भए पनि, सबैले खुला रूपले सङ्गति गर्न र एकअर्कालाई सहयोग गर्न सक्छन्, र कसैले भ्रष्टता प्रकट गर्यो भने तिनीहरूलाई आलोचना र काटछाँट गर्न सकिन्छ ताकि तिनीहरूले प्रायश्चित गर्न सकून्। एकअर्कालाई प्रेम गर्नु भनेको यही हो। सबै मानिसहरू एकअर्कासँग समान सम्बन्धमा हुन्छन्, र मानिसहरू मिलेर बस्ने सिद्धान्तहरू परमेश्वरको वचनको जगमा बनेका हुन्छन्। यदि कसैले भ्रष्टता प्रकट गर्छ, गलत तरिकाले बोल्छ, वा गल्ती गर्छ भने, तिनीहरूले खुला रूपले सङ्गति गर्न सक्छन्। अनि जब सबैजनाले सत्यता खोजी गर्छन्, एकअर्कालाई सहयोग गर्छन्, र सत्यताको बुझाइ प्राप्त गर्छन्, तब पूर्ण मुक्ति र स्वतन्त्रता प्राप्त हुन्छ। यसरी, मानिसहरू एकअर्काबाट बिलकुलै दूर हुँदैनन्, एकअर्कासँग प्रतिस्पर्धा गर्दैनन्, र एकअर्काप्रति सावधान रहँदैनन्। तिनीहरूले एकजुट भएर एकअर्कालाई हौसला दिन र सबैलाई प्रेम गर्न पनि सक्छन्। यी कुराहरू परमेश्वरको वचनका प्रभाव हुन्। मण्डली जीवनमार्फत, परमेश्वरमा साँचो विश्वास गर्नेहरू सबैले सत्यता बुझ्छन्, भ्रष्टता त्याग्छन्, दाजुभाई दिदीबहिनीहरूसँग सद्भावका साथ मिलेर काम गर्छन्, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छन्, एकअर्कासँग मिलेर बस्छन्, र परमेश्वरसामु जिउँछन्।
यदि तँ राम्रोसित आफ्ना कर्तव्यहरू पूरा गर्न र परमेश्वरका अभिप्रायहरू सन्तुष्ट पार्न चाहन्छस् भने, तैँले अरूसित कसरी सामञ्जस्यपूर्वक काम गर्ने, पहिले त्यो सिक्नुपर्छ। अरू दाजुभाइ-दिदीबहिनीहरूसित समन्वय गर्दा, तैँले यी कुराहरू विचार गर्नुपर्छ: “सामञ्जस्यता के हो? के मेरो बोलीवचन तिनीहरूसित सामञ्जस्यपूर्ण छ? के मेरा सोचविचारहरू तिनीहरूसित सामञ्जस्यपूर्ण छन्? के म जसरी काम गर्छु त्यो तिनीहरूसित सामञ्जस्यपूर्ण छ?” कसरी सामञ्जस्यपूर्वक सहकार्य गर्ने भनी विचार गर्। कहिलेकाहीँ, सामञ्जस्यताको अर्थ सहिष्णुता र सहनशीलता हुन्छ, तर यसको अर्थ आफ्नो विचारमा अडिग रहनु र सिद्धान्तहरू परिपालन गर्नु भन्ने पनि हुन्छ। सामञ्जस्यताको अर्थ अप्ठ्यारो परिस्थिति मत्थर पार्नको लागि सिद्धान्तहरूमा सम्झौता गर्नु वा “मानिसहरूलाई खुसी पार्ने व्यक्ति” बन्ने प्रयास गर्नु वा संयमको बाटोमा लागिरहनु भन्ने हुँदैन—र अवश्य नै यसको अर्थ कसैको कृपा प्राप्त गर्न खोज्नु होइन। सिद्धान्तहरू यिनै हुन्। तैँले यी सिद्धान्तहरू बुझेपछि, थाहै नपाई परमेश्वरका अभिप्रायहरूअनुसार बोल्ने र काम गर्नेछस्, अनि तँ सत्यताको वास्तविकतामा जिउनेछस्, र यसरी एकता हासिल गर्न सजिलो हुनेछ। परमेश्वरको घरमा, यदि मानिसहरू आफ्ना सांसारिक व्यवहारसम्बन्धी दर्शनहरूअनुसार जिउँछन्, र एकअर्कासँग घुलमिल हुँदा तिनीहरू आफ्नै धारणा, झुकाव, चाहना, स्वार्थी मनसाय, आफ्नै वरदान, र चलाकीपनमा भर पर्छन् भने, यो परमेश्वरको अघि जिउने तरिका होइन, र तिनीहरूले एकता हासिल गर्न सक्दैनन्। यस्तो किन हुन्छ? किनभने जब मानिसहरू शैतानी स्वभावअनुसार जिउँछन्, तब तिनीहरूले एकता हासिल गर्न सक्दैनन्। अनि, यसको अन्तिम परिणाम के हुन्छ? परमेश्वरले तिनीहरूमाथि काम गर्नुहुन्न। परमेश्वरको कामबिना, यदि मानिसहरू आफ्ना थोरै क्षमता र चलाकीहरू, थोरै विशेषज्ञताहरू, र आफूले हासिल गरेका थोरै ज्ञान र सीपहरूमा भर पर्छन् भने, तिनीहरूलाई परमेश्वरको घरमा प्रयोगमा आउन धेरै कठिन हुनेछ, र तिनीहरूलाई उहाँका अभिप्रायहरूअनुसार काम गर्न पनि धेरै कठिन लाग्नेछ। परमेश्वरको कामबिना, तैँले परमेश्वरका अभिप्रायहरू, परमेश्वरका आवश्यकताहरू, वा अभ्यासका सिद्धान्तहरूलाई पनि कहिल्यै बुझ्न सक्नेछैनस्। तँलाई आफ्नो कर्तव्य निर्वाह गर्ने मार्ग वा सिद्धान्तहरू थाहा हुनेछैन, र परमेश्वरका अभिप्रायहरूअनुसार कसरी काम गर्ने वा के-कस्ता कार्यले सत्यता सिद्धान्तहरूको उल्लङ्घन र परमेश्वरको विरोध हुन्छ भन्ने तँलाई कहिल्यै थाहा हुनेछैन। यदि यीमध्ये कुनै पनि कुरा तँलाई स्पष्ट छैन भने, तैँले अन्धाधुन्ध प्रावधानहरू पालना र अनुसरण गरिरहेको मात्रै हुन्छस्। त्यस्तो अन्योलमा रहेर कर्तव्य निर्वाह गर्दा, तँ अवश्य नै असफल हुन्छस्। तैँले कहिल्यै पनि परमेश्वरको अनुमोदन प्राप्त गर्नेछैनस्, र तैँले परमेश्वरलाई तेरो आफ्नै तिरस्कार गराउने निश्चित छ, र त्यसपछि तँ हटाइनेछस्।
जब एउटा कर्तव्य निर्वाह गर्न दुईजनाले सहकार्य गर्छन्, तिनीहरूबीच कहिलेकाहीँ सिद्धान्तको विषयमा विवाद हुन्छ। तिनीहरूका दृष्टिकोण फरकफरक हुन्छन् र तिनीहरू फरकफरक विचारमा पुग्छन्। त्यस्तो अवस्थामा के गर्न सकिन्छ? के यो बारम्बार भइरहने समस्या हो? यो एक सामान्य घटना हो। हरेक व्यक्तिको दिमाग, क्षमता, अन्तर्दृष्टि, उमेर र अनुभव फरक हुन्छ, र कुनै दुई व्यक्तिमा ठ्याक्कै उस्तै विचार र दृष्टिकोण हुनु असम्भव हुन्छ, त्यसैले दुई व्यक्ति फरकफरक दृष्टिकोण र रायमा पुग्नु एकदमै सामान्य घटना हो। योभन्दा नियमित घटना हुनै सक्दैन। यसमा बखेडा गर्नुपर्ने कुनै कुरा छैन। महत्त्वपूर्ण प्रश्न यो हो कि जब त्यस्तो समस्या उत्पन्न हुन्छ, तब परमेश्वरसामु एकता अनि विचार र दृष्टिकोणहरूमा ऐकमत्य ल्याउन कसरी सहकार्य र खोजी गर्नुपर्छ? विचार र दृष्टिकोणहरू एक बनाउने मार्ग के हो? यो मार्ग भनेको सत्यता सिद्धान्तहरूको सान्दर्भिक पक्ष खोजी गर्नु, तेरो आफ्नै वा अरू कसैको अभिप्रायअनुसार काम नगर्नु, बरु परमेश्वरका अभिप्रायहरू खोजी गर्नु हो। सामञ्जस्यपूर्ण सहकार्य गर्ने मार्ग यही हो। जब तँ परमेश्वरका अभिप्रायहरू र उहाँले आवश्यक गर्नुभएका सिद्धान्तहरूको खोजी गर्छस, तब तैँले एकता प्राप्त गर्न सक्नेछस्। नत्र त, कामकुराहरू तेरो तरिकाअनुसार हुँदा अर्को व्यक्ति असन्तुष्ट हुनेथियो, र ती कुराहरू तिनीहरूको तरिकाअनुसार हुँदा तँ अप्रसन्न र असहज हुनेथिस्। तैँले प्रस्टसित परिस्थितिहरू देख्न र कुराहरू छोड्न सक्दैनथिस्, र सधै “के यो काम गर्ने सही तरिका हो त?” भन्दै सोचेर बस्नेथिस्। तैँले साँच्चिकै कोसँग सोच्ने सही तरिका छ भनेर देख्न सक्नेथिनस्, तर सँगसँगै, तँ आफ्नो विचार त्याग्न अनिच्छुक हुनेथिस्। यस्तो अवस्थामा, तैँले सत्यता खोज्नुपर्छ, र सिद्धान्तहरू के-के हुन् र परमेश्वरले के-कस्ता मापदण्ड आवश्यक गराउनुहुन्छ भनेर खोजी गर्नुपर्छ। तैँले परमेश्वरले आवश्यक गराउने मापदण्ड खोजी गरिसकेपछि, अर्को व्यक्तिसँग सङ्गति गर्। अनि, तिनीहरूले आफ्नो दृष्टिकोण र ज्ञानबारे अलिअलि सङ्गति गरे भने, तेरो हृदय प्रस्ट र चम्किलो हुनेछ। तँ आफैबारे सोच्नेछस्, “मेरो सोच्ने तरिका अलि टेढो, अलि सतही छ—तिनीहरूको सोच्ने तरिका राम्रो र परमेश्वरले आवश्यक गराउने मापदण्ड नजिक छ, त्यसैले म आफ्नो सोच्ने तरिका त्यागेर तिनीहरूको तरिका स्विकार्नेछु, र त्यसलाई पालना गर्नेछु। तिनीहरूकै तरिकाले सोचिहेरौँ न त।” अनि, तिनीहरूबाट तैँले केही सिकेकोले, के तँमाथि केही निगाह भएको हुँदैन र? तिनीहरूले केही दिए, र तैँले तयारी वस्तु उपभोग गर्न पाइस्। त्यसलाई परमेश्वरको अनुग्रह भनिन्छ, अनि तँलाई निगाह देखाइएको छ। के तँलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुभएको बेलामा मात्रै तँमाथि निगाह गरिँदै छ भन्ने लाग्छ? जब कसैसित कुनै विचार वा केही अन्तर्दृष्टि हुन्छ, र उसले सङ्गतिमा तँसित त्यो विचार वा अन्तर्दृष्टि बाँड्छ, वा जब तिनीहरूको सिद्धान्तअनुसार केही कुरा अभ्यास गरिन्छ र तैँले त्यसको नतिजा ठिकै देख्छस्, के त्यो केही कुरा हासिल गर्नु होइन र? त्यो निगाह गरिनु हो। दाजुभाइ-दिदीबहिनीहरूबीचको सहकार्य एउटाको कमजोरीलाई अर्को व्यक्तिको सबल पक्षले पूर्ति गर्ने प्रक्रिया हो। तैँले आफ्ना बलिया पक्षहरूलाई अरूका कमजोरीहरू पूर्ति गर्नलाई प्रयोग गर्छस्, अनि अरूले तेरा अपर्याप्तताहरूलाई पूर्ति गर्न आफ्ना बलिया पक्षहरूलाई प्रयोग गर्छन्। यो एउटाको कमजोरीहरूलाई अर्काको बलिया पक्षहरूले सन्तुलित गर्नु र सामञ्जस्यपूर्वक सहकार्य गर्नु हो। सामञ्जस्यपूर्वक सहकार्य गर्दा मात्र मानिसहरू परमेश्वरको सामु आशिषित हुन सक्छन्, अनि मान्छेले जति बढी यसलाई अनुभव गर्छन्, तिनीहरूले त्यति नै बढी वास्तविकता प्राप्त गर्छन्, र तिनीहरू हिँड्दै जाँदा तिनीहरूको मार्ग अझ चहकिलो बन्छ, र तिनीहरूले त्यति नै बढी सहजता महसुस गर्छन्। यदि तँ अरूसित सामञ्जस्यपूर्वक सहकार्य गरिरहेको छैनस् भने; यदि तँ सधैँ कडा विवाद गर्छस् भने, र अरूले भनेका कुराद्वारा कहिल्यै विश्वस्त हुँदैनस् र तिनीहरू तेरो कुरा सुन्न इच्छा गर्दैनन् भने; यदि तैँले अरूको इज्जत बचाउने कोसिस गर्छस्, तैपनि तिनीहरूले तेरो लागि उही कुरा गर्दैनन् र तैँले असहज अनुभुति गर्छस् भने; यदि कसैले केही भनेको कुरालाई लिएर तैँले तिनीहरूलाई असजिलो ठाउँमा ल्याएर खडा गर्छस्, अनि तिनीहरूले त्यस कुरालाई सम्झन्छन्, अनि अर्कोपल्ट कुनै विषय उठ्दा, तिनीहरूले तँलाई त्यही गर्छन् भने—यो कस्तो समस्या हो? के यो त तातो रिस गर्दै बाँच्नु र एकअर्कासँग प्रतिस्पर्धा गर्नु होइन र? यो भ्रष्ट स्वभावअनुसार जिउनु होइन र? यसरी आफ्नो कर्तव्य निर्वाह गरेर तैँले परमेश्वरको स्वीकृति वा आशिष् अवश्य प्राप्त गर्नेछैनस्। यसले परमेश्वरमा तँप्रति तिरस्कार मात्र जगाउनेछ।
तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा सामञ्जस्यपूर्वक समन्वय गर्नुपर्छ। त्यसो गरे मात्र तैँले राम्रो नतिजा पाउनेछस् र परमेश्वरका आवश्यकताहरू पूरा गर्नेछस्। सामञ्जस्यपूर्ण सहकार्य भनेको के हो? कस्ता व्यवहारलाई सामञ्जस्यपूर्ण सहकार्य मानिदैन? मानौँ तैँले तेरो कर्तव्य पूरा गरिस् र मैले मेरो। हामी दुबैले आफ्ना कर्तव्यहरू पूरा गर्यौँ, तर आपसमा कुनै मौन समझदारी, बोलचाल वा सङ्गति गरेनौँ। हामी कुनै किसिमको पारस्परिक समझदारीमा पुगेनौं। हामीलाई हृदयभित्र बस यति थाहा थियो कि “म आफ्नो कर्तव्य निर्वाह गरिरहेको छु अनि तँ आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस। हामी एकअर्कालाई हस्तक्षेप नगरौँला।” के यो सामञ्जस्यपूर्ण सहकार्य हो? बाहिरबाट हेर्दा, यस्ता दुई मानिसहरूबीच कुनै विवाद वा वैचारिक भिन्नताहरू छैनन् जस्तो लाग्छ र तिनीहरू एकअर्कालाई हस्तक्षेप वा नियन्त्रण गरिरहेका छैनन् जस्तो लाग्छ। तथापि, आत्मिक रूपले, तिनीहरूबीच कुनै सामञ्जस्यपूर्ण सहकार्य हुँदैन; तिनीहरूमा एकअर्काप्रति कुनै मौन समझदारी वा वास्ता हुँदैन। यहाँ त दुवैले नै कुनै सहकार्यविना आफ्नै काम गरिरहेका र आफ्नै प्रयास लगाइरहेका मात्र हुन्छन्। के यो काम गर्ने राम्रो तरिका हो र? यस्तो लाग्न सक्छ कि यहाँ कसैले पनि हेरिरहेको, बाधा पुर्याइरहेको, आदेश दिइरहेको, वा आँखा चिम्लेर अर्काको आज्ञा पालन गरिरहेको छैन, र हेर्दा यो तर्कसङ्गत देखिन पनि सक्छ, तर तिनीहरूभित्रै एकप्रकारको भ्रष्ट स्वभाव हुन्छ। ती दुवैले नै आफू नायक बन्न, अरूभन्दा वरिष्ठ हुन वा अरूले भन्दा राम्रो गर्न प्रतिस्पर्धा गर्छन्, त्यसकारण तिनीहरूले अरू कसैलाई प्रेम, वास्ता, वा सहयोग गर्दैनन्। यसमा कुनै सामञ्जस्यपूर्ण सहकार्य छ त? (छैन।) सहकार्यविना, तँ एक्लो लडाइँ लड्दै छस्, र तैँले अनेकौँ कुराहरू अनुत्तम वा अपूर्ण रूपले गर्नेछस्। मान्छेमा यस्तो स्थिति रहोस् भन्ने परमेश्वर चाहनुहुन्न। त्यसले उहाँलाई खुसी बनाउँदैन।
कतिपय मानिसहरू कसैसँग छलफल नगरी वा कसैलाई नभनी आफै काम गर्न मन पराउँछन्। तिनीहरू अरूले आफूलाई कसरी हेर्लान् भन्ने वास्ता नगरी, केवल जसरी मन लाग्यो त्यसरी नै काम गर्छन्। तिनीहरू सोच्छन्, “म अगुवा हुँ, र तिमीहरू परमेश्वरका चुनिएका मानिसहरू हौ, त्यसकारण तिमीहरूले मैले जे गर्छु त्यही पछ्याउनुपर्छ। ठ्याक्कै मैले भने जस्तै गर—यो यस्तै हुनुपर्छ।” तिनीहरूले काम गर्दा अरूलाई जानकारी दिँदैनन् र तिनीहरूको काममा कुनै पारदर्शिता हुँदैन। तिनीहरू सधैँ गुप्त रूपमा मेहनत गरिरहेका र गुप्त रूपमै काम गरिरहेका हुन्छन्। सत्तामाथि एकदलीय एकाधिकार कायम राख्ने ठूलो रातो अजिङ्गरले जस्तै, तिनीहरूले अरूलाई मूल्यहीन र महत्त्वहीन ठान्छन्, र तिनीहरूको आँखामा छारो हाल्ने र तिनीहरूलाई नियन्त्रण गर्ने गर्छन्। तिनीहरूले सधैँ अरूसँग छलफल वा कुराकानी नगरी कामकुराबारे अन्तिम निर्णय आफै गर्न चाहन्छन्, र तिनीहरूले अरूको राय लिने प्रयास कहिल्यै गर्दैनन्। तिमीहरूलाई यस्तो शैली कस्तो लाग्छ? के यसमा सामान्य मानवता हुन्छ? (हुँदैन।) के यो ठूलो रातो अजिङ्गरको प्रकृति होइन र? ठूलो रातो अजिङ्गर तानाशाही छ र स्वेच्छाचारी रूपमा काम गर्न चाहन्छ। के यसप्रकारको भ्रष्ट स्वभाव भएका मानिसहरू ठूलो रातो अजिङ्गरका सन्तान होइनन् र? मानिसले आफूलाई यसरी चिन्नुपर्छ। के तिमीहरू यस्तो कार्य गर्न सक्छौ? (सक्छौँ।) जब तिमीहरूले यसरी व्यवहार गर्छौ, के तिमीहरू त्यसबारे सचेत रहन्छौ? यदि रहन्छौ भने, तिमीहरूका लागि अझै आशा रहन्छ, तर यदि रहन्नौ भने, तिमीहरू निश्चय नै समस्यामा पर्नेछौ, अनि यस्तो भएमा, के तिमीहरू बर्बाद हुँदैनौ र? आफ्नो यस्तो कार्यबारे आफू सचेत भइएन भने के गरिनुपर्छ? (हाम्रा ब्रदर-सिस्टरले त्यो औँल्याइदिनुपर्छ, र हामीलाई काटछाँट गर्नुपर्छ।) यदि तँ पहिला अरूलाई यसो भन्छस् भने, “म स्वभावैले अरूको अगुवाइ गर्न रुचाउँछु, र म तपाईंहरूलाई पहिल्यै भन्दै छु, यदि त्यो भइहाल्यो भने वा त्यस्तो भएको बेलामा, त्यसमा विवाद नगर्नुहोला। तपाईंहरूले मप्रति धैर्यता राख्नुहोला। मलाई थाहा छ यो राम्रो हैन, र म यो कुरा क्रमैसँग बदल्न लागिपरेको छु, त्यसैले आशा छ तपाईंहरू मप्रति सहिष्णु हुनुहुनेछ। त्यसैले यी कुरा हुँदा, धैर्य गर्दै मलाई सहयोग गर्नुहोला, र आउनुहोस् हामी मिलेर सामञ्जस्यपूर्वक सहकार्य गर्ने प्रयास गरौँ।” यस तरिकाले काम गर्नु स्वीकार्य हुन्छ? (हुँदैन। यसमा कुनै समझ छैन।) यसमा कुनै समझ छैन भनेर किन भन्दै छस्? यस्तो भन्नेहरूले सत्यता खोजी गर्ने अभिप्राय राख्दैनन्। तिनीहरूलाई राम्ररी थाहा हुन्छ कि यस तरिकाले काम गर्नु गलत हो, तर तिनीहरूले त्यसरी नै काम गर्न मरिहत्ते गर्छन्, र यस क्रममा अरूलाई बाधा पुर्याउँछन् र अरूको साथ र सहयोग माग्छन्। तिनीहरूको अभिप्रायमा सत्यता अभ्यास गर्ने इच्छा नै हुँदैन। तिनीहरू जानाजान सत्यताविरुद्ध गइरहेका हुन्छन्। जानाजानको उल्लङ्घन—यो त परमेश्वरले सबैभन्दा बढी घृणा गर्नुहुने कुरा हो। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले मात्र यस्ता काम गर्न सक्छन्, र ख्रीष्टविरोधीहरूले गर्ने व्यवहार ठ्याक्कै यस्तै हुन्छ। जानीजानी सत्यताविरुद्ध जाँदा र परमेश्वरको विरोध गर्दा जोकोही पनि खतरामा पर्छ। यो ख्रीष्टविरोधी मार्गमा हिँड्नु हो। यस्ता व्यक्तिहरूले सत्यता अभ्यास गर्दैनन्, बरु अरूलाई बाधित र आकर्षित गर्छन्, अनि तिनीहरूलाई आफूलाई पछ्याउन लगाएर सत्यताविरुद्ध जान दिने र परमेश्वरको विरोध गराउने कोसिस गर्छन्। के तिनीहरूले जानीजानी आफैलाई परमेश्वरविरुद्ध खडा गरिरहेका छैनन् र? खासमा यस तरिकाले काम गर्दा, तिनीहरूले समूहलाई सुरुमै निरोधात्मक जानकारी दिन्छन् र मानिसहरूलाई तिनीहरूबारे अलि लचक हुन अनुरोध गर्दै सबैलाई तिनीहरूको समर्थन गर्न लगाउँछन्। यसो गर्नमा त तिनीहरू झनै धूर्त हुन्छन्। यसो भन्नु भनेको विशुद्ध रूपमा शक्ति प्रदर्शन गर्नु, अन्तिम चेतावनी दिनु हो। तिनीहरूले भन्न खोजेको के हो भने, “यहाँ सुन्, मलाई कसैले हस्तक्षेप गर्ने हैन। साधारण मानिस मेरो लागि केही हैनन्। मेरो चाहना भनेको इन्चार्ज हुने हो। कसैले पनि मसँग बहस गर्न नखोजेकै राम्रो—छलफलको कुनै गुञ्जायस छैन! यो मेरो मामिला होः यदि मलाई केही गराउन चाहन्छस् भने, त्यसमा अन्तिम निर्णय मेरो हुनुपर्छ, र कसैले पनि मसँग सहकार्य गर्न नखोजेकै राम्रो—तैँले चाहेर पनि त्यसको लायक हुनेछैनस्!” के यो आफैलाई उदाङ्गो पार्नु हो त? होइन। यो त भ्रष्ट स्वभाव खुलासा गर्ने समस्या मात्र होइन, यो शैतानको पक्षमा काम गर्ने तरिका हो। त्यस्ताहरू पूर्ण रूपले शासन गर्न चाहन्छन्, र आफूले भनेबमोजिम होस् भन्ने इच्छा राख्छन्, ताकि सबैले आफूले भनेका कुरा गरून्, र सबैले आफूलाई अनुसरण गरून् र आफ्नो आज्ञापालन गरून्। के त्यो दियाबलस प्रकट भएको होइन र? यो एकपटक मात्र हुने भ्रष्ट स्वभावको प्रकटीकरण होइन। ख्रीष्टविरोधीका कार्यहरू उसका शैतानी प्रकृतिद्वारा नियन्त्रित हुन्छन्। तिनीहरू परमेश्वरमा विश्वास गर्छन् र शक्ति जमाउने अभिप्राय बोकेर मण्डलीमा आउँछन्। तिनीहरू आफूलाई परमेश्वरविरुद्ध खडा गर्न र परमेश्वरका चुनिएका मानिसहरूलाई उहाँको प्रतिरोध गर्ने मार्गमा डोर्याउन चाहन्छन्। तिनीहरू ती सबै धार्मिक सम्प्रदायका टाउकेहरू सरह हुन्। तिनीहरू सबैमा ख्रीष्टविरोधी सार हुन्छ, र शैतानले जस्तै तिनीहरू पनि आफूलाई परमेश्वरसँग समान स्तरमा राख्ने इच्छा गर्छन्। यदि परमेश्वरका चुनिएका मानिसहरूमध्ये कसैले कुनै ख्रीष्टविरोधी प्रकट भएको देख्यो भने, उसले त्यसलाई कसरी लिनुपर्छ? के उसले त्यसलाई प्रेमपूर्वक सहयोग गर्नुपर्छ? उसले त्यसलाई खुलासा गर्नु र खुट्याउनुपर्छ, र अरूलाई त्यसको शैतानी मुहार हेर्न दिनुपर्छ, र त्यसपछि त्यसलाई त्याग्नुपर्छ। यो परमेश्वरका चुनिएका मानिसहरूले बुझ्नु र बोध गर्नुपर्ने सिद्धान्त हो। यदि कसैले ख्रीष्टविरोधी प्रकटीकरणलाई भ्रष्ट स्वभावको प्रकाशको अर्थात् क्षणिक अपराधको आवेगको रूपमा लिन्छ, र ख्रीष्टविरोधीको तथाकथित “आत्मज्ञान” र उसका तथाकथित खुलेर कुरा गर्ने र आफैलाई उदाङ्गो पार्ने क्रियाकलापहरूबाट बहकाउमा पर्छ, अनि तिनीहरूसँग सत्यताबारे अझै सङ्गति गर्छ भने, त्यस्ता व्यक्तिहरू पूर्ण रूपले मूर्ख हुन् र तिनीहरूमा स्पष्टतः कुनै खुट्याउने शक्ति हुँदैन। मलाई भन् त, यस्तो ख्रीष्टविरोधी व्यक्तिले आफ्ना भ्रष्ट स्वभावहरू प्रकट गर्दा, के त्यसले खुलस्त भएर अरूसामु आफैलाई उदाङ्गो पार्न सक्छ? आफूले कुनै गलत कार्य गर्दा तिनीहरूले चिन्तन गर्ने वा आफूलाई चिन्ने काम कहिल्यै गर्दैनन्, र तिनीहरूले आफैलाई उदाङ्गो पार्ने काम गरे भने पनि त्यो मानिसहरूलाई बहकाउने कार्य मात्र हुन्छ, त्यो आफैलाई सही साबित गर्ने प्रयासबाहेक अरू केही हुँदैन। साँचो रूपमा खुलस्त हुनु र आफैलाई उदाङ्गो पार्नु भनेको वास्तवमा के हो, त्यो खुट्याउनु आवश्यक छ। यदि तिनीहरूले “मेरो खराब मिजास छ, त्यसैले मलाई उक्साउने काम नगर्नुहोस्!” भन्छन् भने, के यो आफैलाई उदाङ्गो पार्नु हो? (होइन।) तिनीहरूले आफूलाई नउक्साउन, र उक्साएमा तँ आफैले खनेको खाल्डोमा पर्नेछस् भनेर तँलाई चेतावनी दिइरहेका हुन्छन्। मानौँ, तिनीहरूले यसो भने, “मेरो घरमा मैले जे भन्छु त्यही हुन्छ। मेरा बुबाआमाले पनि मैले जे भन्छु त्यही गर्नुपर्छ। मसँग यस्तो रिस छ, र तपाईंहरूले मलाई त्यसको लागि क्षमा गर्नुपर्छ—त्यसमा मैले गर्न सक्ने केही छैन। मेरा बुबाआमा भन्नुहुन्छ, महान् प्रतिभासँगै भयङ्कर रिस पनि हुन्छ, त्यसकारण त्यसको लागि उहाँहरूले मलाई माफ गर्नुहुन्छ।” के यसलाई आफैलाई उदाङ्गो पारेको भन्न सकिन्छ? (सकिँदैन।) तिनीहरू तँलाई भनिरहेका छन् कि महान् प्रतिभामा खराब मिजास हुन्छ, त्यसैले तैँले तिनीहरूलाई क्षमा गर्नुपर्छ। यदि तिनीहरूले यसो भन्छन् भनेः “बच्चै हुँदादेखि ममा यो मिजास थियो। मैले जे भन्छु त्यही हुनुपर्छ। म सिद्धता र आफूले चाहेको कुराको पछि लाग्छु। परमेश्वरमा विश्वास गर्न थालेदेखि अहिले म धेरै राम्रो भएको छु, र धेरैजसो कुरामा म सहनशीलता अपनाउन र आफूलाई नियन्त्रणमा राख्न सक्छु, तर अझै पनि म सिद्धता नै खोजी गर्छु। यदि कुनै कुरा सिद्ध छैन भने, त्यसले कुनै काम गर्दैन र म त्यसलाई स्विकार्न सक्दिनँ।” के यो आफैलाई उदाङ्गो पार्नु हो? (होइन।) त्यसो भए के हो त? यो अरूमा आफूप्रति सम्मानको भावना जगाउन आफ्नै प्रशंसा गर्नु र आफू कति शक्तिशाली छु भनेर फूर्ति लाउनु हो, ठीक त्यसरी नै जसरी ठग र गुण्डाहरूले एकअर्कासित जम्काभेट हुँदा हिंसात्मक आत्मप्रशंसा र प्रदर्शन गर्छन्, यस्तो लाग्छ मानौँ तिनीहरूले यसो भन्न खोजिरहेछन्, “तँलाई मसँग जोरी खोज्न सक्छु जस्तो लाग्छ? यदि लाग्छ भने, आइज, पाखुरीमा कति दम छ हेरौँ!” शैतानको मुहार यही नै हैन र? हो, शैतानको मुहार यही हो। आफैलाई उदाङ्गो पार्ने सबै तरिका उस्तै हुँदैनन्। ख्रीष्टविरोधीहरूले आफैलाई उदाङ्गो पार्दा, तिनीहरूले अरूलाई धम्क्याउन, त्रसित पार्न, र डर देखाउन चाहन्छन्। तिनीहरू जहिले पनि अरूलाई आफ्नो वशमा राख्न चाहन्छन्। यो शैतानको मुहार हो। यो खुलस्त हुने साधारण र सामान्य तरिका होइन। सामान्य मानवतामा जिउनको लागि व्यक्तिहरूले कसरी खुलेर कुरा गर्नु र आफैलाई उदाङ्गो पार्नुपर्छ? अरूलाई आफ्नो हृदयको भित्री वास्तविकता देखाउँदै, आफ्नो भ्रष्ट स्वभावको प्रकटीकरणबारे खुलस्त कुरा गरेर, र त्यसपछि परमेश्वरका वचनहरूको आधारमा समस्याको सारलाई चिरफार र पहिचान गरेर, र आफ्नो हृदयको भित्री कुनाबाट आफूलाई घृणा र तिरस्कार गरेर। आफैलाई उदाङ्गो पार्दा, तिनीहरूले आफैलाई उचित साबित गर्ने वा स्पष्टीकरण दिएर पन्छिने कोसिस गर्नु हुँदैन, बरु यसको साटो तिनीहरूले सत्यता अभ्यास गर्नुपर्छ र इमानदार व्यक्ति हुनुपर्छ। कतिपय मानिसहरूमा स्पष्ट रूपमै खराब मिजास हुन्छ तर तिनीहरूले सधैँ आफूलाई झङ्गिने व्यक्ति हुँ भनी उल्लेख गर्छन्। के यो औचित्य साबित गर्ने प्रयास होइन र? खराब स्वभाव भनेको खराब स्वभाव नै हो। जब कुनै व्यक्तिले कुनै समझहीन काम वा सबैलाई हानि गर्ने कुनै काम गरेको हुन्छ, तब समस्या तिनीहरूको स्वभाव र मानवतामा हुन्छ, तर तिनीहरूले सधैँ आफ्नो मिजास क्षणिक रूपमा नियन्त्रणबाहिर गयो वा अलिक रिस उठ्यो भन्छन्। तिनीहरूले समस्याको सार कहिल्यै बुझ्दैनन्। के यो साँच्चै आफ्नो चिरफार गर्नु र आफूलाई उदाङ्गो पार्नु हो त? पहिलो कुरा त, मान्छेले आधारभूत स्तरमा आफ्नो समस्या बुझ्न र आफूलाई विश्लेषण गर्न र उदाङ्गो पार्नको लागि, तिनीहरूसँग एक इमानदार हृदय र इमानदार मनोवृत्ति हुनुपर्छ, र तिनीहरूले आफ्नो स्वभावमा भएका समस्याहरूबारे आफूले बुझेका कुराहरू बोल्नुपर्छ। दोस्रो कुरा, यदि व्यक्तिले आफ्नो स्वभाव अत्यन्तै खराब भएको महसुस गर्छ भने, उसले सबैलाई यसो भन्नुपर्छ, “यदि मैले फेरि त्यस्तो भ्रष्ट स्वभाव प्रकट गरें भने, यसबारे मलाई सचेत गराउन र मेरो काटछाँट गर्न नहिच्किचाउनुहोला। यदि मैले त्यो स्विकार्न सकिनँ भने, मप्रति हरेस नखानुहोला। मेरो भ्रष्ट स्वभावको यो पाटो निकै गम्भीर छ, र मेरो पर्दाफास गर्न मलाई थुप्रैपटक सत्यताको सङ्गति गरिनुपर्छ। म सबैबाट काटछाँट हुन खुसीसाथ स्विकार्छु, र म आशा गर्छु, सबैले ममाथि नजर राख्नुहुनेछ, मलाई सहयोग गर्नुहुनेछ, र मलाई बाटो बिराउनबाट जोगाउनुहुनेछ।” त्यस्तो मनोवृत्ति के हो त? सत्यता स्विकार्ने मनोवृत्ति यही हो। यी कुराहरू भनिसकेपछि, केही मानिसहरूले अलि असहज महसुस गर्छन्। तिनीहरूले मनमनै सोच्छन्, “यदि सबैजना उभिएर मेरो खुलासा गरे भने, मैले के गर्ने होला? के त्यो मैले सहन सकुँला त?” के तिमीहरू अरूले तिमीहरूको खुलासा गर्लान् भनेर डराउने थियौ? (अहँ।) यस्तो आइपर्दा तिमीहरू साहसी बन्नुपर्छ। खुलासा हुन डराउनु लाजमर्दो कुरा हो। यदि तैँले साँचो रूपमा सत्यतालाई प्रेम गर्थिस् भने, के तँ यसरी अपमानित हुने कुराको डर मान्नेथिस्? के सबैले तेरो काटछाँट गर्लान् भनेर डर मान्नेथिस्? यो डर भन्ने चीज कमजोरी, नकारात्मकता, र भ्रष्टताको सङ्केत हो। भ्रष्टता सबैले प्रकट गर्छन्, तर कसरी प्रकट गर्छन् त्यसको सार फरक हुन्छ। जबसम्म कसैले जानीजानी अपराध गर्ने वा बाधा र अवरोध पुर्याउने काम गर्दैन, तबसम्म उसको भ्रष्टताको प्रकटीकरण सामान्य खालको हुन्छ, र सबैजनाले त्यसलाई सही ढङ्गले लिन सक्छन्। यदि कसैले अवरोध वा बाधा पुर्याउने, वा जानीजानी मण्डलीको काममा क्षति पुर्याउने लक्ष्य राखेका हुन्छन् भने, तिनीहरू अरूले आफूलाई खुलासा गर्लान् कि भनेर सबैभन्दा धेरै डर मान्छन्, किनकि यो समस्याको सार अत्यन्तै गम्भीर हुन्छ, र ती पर्दाफास हुनेबितिकै तिनीहरूलाई प्रकाश गरेर हटाइन्छ। तिनीहरूको यो डर मनमा बोझिलो भएर बस्छ। परमेश्वरले आज जसरी काम गर्नुभए पनि, यो सब तिनीहरूलाई तिनीहरूको भ्रष्टताबाट शुद्ध पार्ने र मुक्ति दिने उद्देश्यको लागि हो। यदि तँ सही खालको व्यक्ति होस्, र तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने प्रयास गर्छस् र परमेश्वरको आज्ञा पूरा गर्छस् भने, अधिकांश मानिसहरूले यो कुरालाई प्रस्टसित देख्नेछन्। तिनीहरूले तेरो यो कुरा खुट्याउन सक्छन्। साथै, मानिसको खुलासा, काटछाँट गर्नु भनेको तिनीहरूको लागि समस्या खडा गर्नु होइन। बरु, यो त तिनीहरूलाई समस्या सुल्झाउन मदत गर्नको लागि गरिन्छ ताकि तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न र मण्डलीको काम रक्षा गर्न सकून्। यो विधिवत् कुरा हो। व्यक्तिले आफ्नो भ्रष्ट स्वभाव शुद्ध पार्न सकियोस् भनेर काटछाँट हुन स्विकार्छ। स्वभाव परिवर्तन हासिल गर्न व्यक्तिमा हुनुपर्ने मनोवृत्ति यही हो। व्यक्तिसँग यो मनोवृत्ति भइसकेपछि, उसले अभ्यासको उपयुक्त मार्ग पनि खोज्नुपर्छ, र यस्तो अभ्यासको समय आएपछि, कष्ट भोग्न आवश्यक हुन्छ। द्वन्द्व चल्दा, तिनीहरूले देहको विरुद्ध विद्रोह गर्नुपर्छ र आफ्नो आडम्बर, घमन्ड र भावनाका बाधाहरू पन्छाउनुपर्छ। तिनीहरूले देहका कठिनाइहरू पार गरिसकेपछि, परिस्थिति धेरै सहज बन्छ। यसलाई स्वतन्त्रता र छुटकारा भनेर पनि भन्न सकिन्छ। यो नै सत्यता अभ्यास गर्ने प्रक्रिया हो। केही कष्ट त जहिले पनि भई नै हाल्छ। बिलकुलै कष्ट नभोग्नु असम्भव छ, किनकि देह भ्रष्ट हुन्छ, र मानिसहरूमा आडम्बर र घमन्ड हुन्छ, अनि तिनीहरूले जहिले पनि आफ्नै हित सोच्छन्। यी कुराहरू सत्यता अभ्यासको लागि मानिसका सबैभन्दा ठुला व्यवधान हुन्। त्यसकारण, अलिकति पनि कष्ट नभोगीकन सत्यता अभ्यास गर्न असम्भव छ। जब मानिसहरूले सत्यता अभ्यास गर्नुको मिठास चाख्छन् र साँच्चिकै शान्ति र आनन्द अनुभव गर्छन्, तब तिनीहरू सत्यता अभ्यास गर्न इच्छुक हुन्छन्, र तिनीहरूले आफैलाई अस्वीकार गर्न, देहको विरुद्धमा विद्रोह गर्न, र शैतानमाथि जित हासिल गर्न झन् सहज बन्छ। यसरी तिनीहरू पूर्ण रूपले मुक्त र स्वतन्त्र हुन्छन्।
मण्डली जीवनमा कस्तो खालको वातावरण विकास गरिनुपर्छ? यस्तो वातावरण जसमा, केही घटना घट्दा, सो घटनाको सम्बोधन गरियोस्, न कि व्यक्तिको। कहिलेकाहीँ असहमतिहरूले झगडा निम्त्याउँछन् र रिसको पारो चढ्छ, तर हृदयमा दूरता हुनेछैन। यी सबैथोक मानिसको स्वभाव परिवर्तन गर्न र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि हुन्। यो सब परमेश्वरका अभिप्रायहरू पूरा गराउन सत्यता अभ्यास गर्नु हो। मानिसहरूबीच कुनै घृणा हुँदैन। किनभने सबै मानिसहरू मुक्ति प्राप्त गर्न प्रयासरत हुन्छन्। हरेक व्यक्तिमा उस्तै भ्रष्ट स्वभावहरू हुन्छन्, र कहिलेकाहीँ, सायद कुनै शब्द अति कठोर सुनिन सक्छ वा अलि बढ्ता नै भइदिन सक्छ, वा कसैमा खराब मनोवृत्ति हुन सक्छ। यी कुराहरूमा मानिसहरूले असन्तुष्टि राख्नु हुँदैन। यदि तैँले अझै पनि यो कुरा बुझ्न वा प्रस्ट देख्न सक्दैनस् भने, एउटा अन्तिम उपाय छ: परमेश्वरसामु प्रार्थना गर् अनि आफै विचार गर्, “हामी एउटै परमेश्वरको विश्वास र अनुसरण गर्छौँ, त्यसैले हामीमा जस्तोसुकै विवाद वा फरक विचार भए पनि, हामीलाई जेसुकैले विभाजित गरिरहेको भए पनि, हामी परमेश्वरसामु एक हौँ। हामी एउटै परमेश्वरको प्रार्थना गर्छौँ, त्यसैले हामीले पार लाउन नसक्ने कुरा के नै छ र?” यदि यस तरिकाले तँ यसबारे ध्यानपूर्वक सोच्छस् भने, के तैँले यी व्यवधानहरू पार लाउनेछैनस् र? यी सबैथोक भनिसके र गरिसकेपछि, यसको आखिरी लक्ष्य के हो त? सामञ्जस्यपूर्वक सहकार्य गर्नु, सबै कुरामा परमेश्वरका अभिप्रायहरू पूरा गर्न खोज्नु, र एकता हासिल गर्नु—सैद्धान्तिक एकता, लक्ष्यको एकता, र अभिप्रायको एकता र कार्यको स्रोत हासिल गर्नु। तर यो भन्नलाई सजिलो छ, गर्नचाहिँ गाह्रो। किन यस्तो हुन्छ? (मान्छेमा भ्रष्ट स्वभावहरू हुन्छन्।) ठिक हो। यो मानिसको मिजास, व्यक्तित्व, वा उमेरको फरकले गर्दा, वा मानिसहरू फरक-फरक परिवारका भएकाले गर्दा भएको होइन, बरु मान्छेमा भ्रष्ट स्वभाव भएर हो। त्यही नै मूल कारण हो। यदि तिमीहरू सबैले मान्छेको भ्रष्ट स्वभावमै मूल समस्या भएको प्रस्ट रूपमा देख्न सक्छौ भने, कामकुरा पनि सही तरिकाले सम्हाल्न सक्नेछौ, र समस्या हल गर्न सजिलो हुनेछ। त्यसो भए, हामीले भ्रष्ट स्वभाव कसरी समाधान गर्ने भनेर के अझै विस्तारमा छलफल गर्नु आवश्यक छ? छैन। तिमीहरूले अत्यन्तै धेरै प्रवचनहरू सुनेका छौ र तिमीहरू सबैलाई हिँड्नुपर्ने मार्गबारे केही न केही थाहा छ, र यस सम्बन्धमा तिमीहरू सबैसँग केही न केही अनुभव छ। मानिसहरूले यावत् थोकमा समस्या समाधान गर्न, आफैभित्र रहेका समस्याहरूमाथि चिन्तन गर्न र अरूसँग निष्पक्ष व्यवहार गर्नहेतु सत्यता खोज्नतिर लागिपर्न सकेसम्म, तिनीहरूले मूलतः अरूसँग सामञ्जस्यपूर्ण सहकार्य गर्न सक्नेछन्। मानिसहरूले अहङ्कारी वा आत्मधर्मी हुनुको सट्टा सत्यता स्विकार्न, र अरूको सुझावलाई सही ढङ्गले व्यवहार गर्न सक्छन् भने, तिनीहरू सहकार्य गर्न सक्षम हुन्छन्, र समस्या आइपरेमा, सो समाधान गर्न सत्यता खोजी गरेर सहकार्य गर्न बढी सहज हुनेछ। कुनै व्यक्तिले सत्यता स्विकार्न, र खुलस्त भएर सङ्गति गर्न सकेमा, उसका सहकर्मीहरूले सजिलै प्रभावित भई सत्यता स्विकार्न सक्नेछन्। त्यसपछि सामञ्जस्यपूर्ण सहकार्य हासिल गर्नु ठुलो कुरै रहन्न, र हृदय र मन एक हुने लक्ष्यमा पुग्न पनि सहज हुन्छ।
सेप्टेम्बर ५, २०१७