तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

वर्तमान समयमा पवित्र आत्माले मण्डलीमा कसरी काम गर्दैहुनुहुन्छ? के तैंले यो प्रश्‍नलाई स्पष्ट रूपमा बुझेको छस्? तेरा दाजुभाइ-दिदीबहिनीहरूको सबैभन्दा ठूलो कठिनाइ के हो? तिनीहरूमा सबैभन्दा बढी कुन कुराको कमी छ? हाल, धेरै जना यस्ता मानिसहरू छन् जो परीक्षाहरूबाट भएर जानु पर्दा नकारात्मक बन्छन्, र कसै-कसैले त गुनासो पनि गर्छन्। अरू मानिसहरू अब अगाडि बढिरहेका छैनन्, किनकि परमेश्‍वरले बोलिसक्नुभएको छ। मानिसहरू परमेश्‍वरमाथिको विश्‍वासमा सही मार्गमा प्रवेश गरेका छैनन्। तिनीहरू स्वतन्त्र रूपमा जिउन सक्दैनन्, र तिनीहरूले आफ्नै आत्मिक जीवन कायम राख्‍न सक्दैनन्। कतिपय मानिसहरू पछि लाग्छन् र उत्साहको साथ खोजी गर्छन्, र परमेश्‍वर बोल्नुहुँदा अभ्यास गर्न इच्छुक हुन्छन्, तर जब परमेश्‍वर बोल्नुहुन्न, तिनीहरू अगाडि बढ्न छोड्छन्। मानिसहरूले अझै पनि आफ्नो हृदयमा परमेश्‍वरको इच्छालाई बुझ्न सकेका छैनन् र तिनीहरूसँग परमेश्‍वरप्रति सहज प्रेम छैन; विगतमा तिनीहरू परमेश्‍वरको पछि लागे किनकि उनीहरू बाध्य थिए। अहिले त्यहाँ केही यस्ता मानिसहरू छन् जो परमेश्‍वरको कामद्वारा थकित भएका छन्। के त्यस्ता मानिसहरू खतरामा छैनन् र? धेरै जना मानिसहरू झारा टार्दै अघि बढ्ने स्थितिमा मात्र छन्। तिनीहरूले परमेश्‍वरको वचन खाने र पिउने गरे पनि र उहाँसित प्रार्थना गरे पनि, तिनीहरू आधा मनले त्यसो गर्छन्, र तिनीहरूमा पहिलेको जस्तो उत्साह छैन। अधिकांश मानिसहरू परमेश्‍वरको शोधन र सिद्धताको काममा रुचि राख्दैनन्, र साँच्चै यो यस्तो छ मानौं, तिनीहरू निरन्तर रूपमा नै आन्तरिक जोश रहीत छन्। जब तिनीहरू अपराधहरूद्वारा पराजित हुन्छन्, तिनीहरूले परमेश्‍वरप्रति ऋणी महसुस गर्दैनन्, न त तिनीहरूमा पछुतो गर्ने ज्ञान हुन्छ। तिनीहरू सत्यको पछि लाग्दैनन् वा मण्डली छोड्दैनन्, बरु क्षणिक सुखविलासको पछि लाग्छन्। यी मानिसहरू मूर्ख हुन्, पूर्ण रूपमा मूर्ख! जब समय आउँछ, तब तिनीहरू सबैलाई फालिनेछ, र एकै जनालाई पनि बचाइनेछैन! के तँलाई कुनै व्यक्तिलाई एक पटक मुक्ति दिइयो भने उसले सधैँ मुक्ति पाएको हुनेछ भन्‍ने लाग्छ? यो विश्‍वास पूर्ण रूपमा धोखा हो! जीवनमा प्रवेश गर्ने कुराको पछि नलाग्ने सबैलाई सजाय दिइनेछ। धेरै जना मानिसमा जीवनमा, दर्शनमा प्रवेश गर्ने, वा सत्यको अभ्यास गर्ने कुरामा कुनै खास चासो हुँदैन। तिनीहरू प्रवेश गर्न पछि लाग्दैनन्, र निश्चित रूपमा तिनीहरू अझ गहिराइमा प्रवेश गर्न पछि लाग्दैनन्। के तिनीहरूले आफैलाई नाश पारिरहेका छैनन् र? अहिले, त्यहाँ मानिसहरूको एउटा भाग छ जसको अवस्थामा निरन्तर सुधार भइरहेको छ। पवित्र आत्माले जति धेरै काम गर्नुहुन्छ, तिनीहरूले उति नै बढी आत्मविश्‍वास प्राप्त गर्छन्; तिनीहरूले जति धेरै अनुभव गर्छन्, उति नै धेरै तिनीहरूले परमेश्‍वरको कामको गम्भीर रहस्यलाई महसुस गर्दछन्। तिनीहरू जति गहिराइमा पस्छन्, तिनीहरूले त्यति नै बुझ्छन्। तिनीहरूले परमेश्‍वरको प्रेम धेरै महान् छ भन्‍ने महसुस गर्छन्, र तिनीहरू आफैभित्र स्थिर र ज्ञानी भएको महसुस गर्छन्। तिनीहरूमा परमेश्‍वरको कामको बुझाइ हुन्छ। यी ती मानिसहरू हुन् जसभित्र पवित्र आत्माले काम गरिरहनुभएको हुन्छ। कतिपय मानिसहरू भन्छन्: “परमेश्‍वरबाट कुनै नयाँ वचनहरू नआए पनि, म अझै पनि सत्यताको गहिराइमा जान खोज्नुपर्छ, म मेरो वास्तविक अनुभवको सबै कुराका विषयमा गम्भीर हुनुपर्छ र परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नुपर्छ।” यस प्रकारको व्यक्तिसँग पवित्र आत्माको काम हुन्छ। परमेश्‍वरले आफ्‍नो अनुहार नदेखाउनुहुने भए पनि र प्रत्येक व्यक्तिबाट लुक्नुभएको भए पनि, र उहाँले एउटै पनि वचन नबोल्नु भए पनि र कहिलेकहीँ मानिसहरूले आन्तरिक शोधनको अनुभव गर्ने भए पनि, परमेश्‍वरले मानिसहरूलाई पूर्ण रूपमा त्याग्नुभएको छैन। यदि कुनै व्यक्तिले आफूले लागू गर्नुपर्ने सत्यतालाई कायम राख्न सक्दैन भने, तिनीहरूसँग पवित्र आत्माको काम हुँदैन। शोधनको अवधिमा, परमेश्‍वरले आफैलाई प्रकट नगर्नुभएको समयमा, यदि तँमा आत्मविश्‍वास छैन तर तँ कायर हुन्छस् भने, यदि तँ उहाँका वचनहरू अनुभव गर्नमा ध्यान दिँदैनस् भने, तँ परमेश्‍वरको कामबाट भागिरहेको छस्। पछि, तँ बाहिर फालिनेहरूमध्ये एक हुनेछस्। जो परमेश्‍वरको वचनमा प्रवेश गर्न खोज्दैनन्, तिनीहरू उहाँको साक्षी बनेर खडा हुन सक्दैनन्। परमेश्‍वरको लागि साक्षी दिन सक्‍ने र उहाँको इच्छा पूरा गर्न सक्‍ने मानिसहरू सबै परमेश्‍वरका वचनका पछि लाग्नको लागि पूर्ण रूपमा आफ्नो उत्साहमा भर पर्दछन्। परमेश्‍वरले मानिसहरूमा गर्नुहुने काम मुख्य रूपले तिनीहरूलाई सत्य प्रदान गर्नको निम्ति हो; तँलाई जीवनको पछि लगाउनु भनेको तँलाई सिद्ध पार्नका निम्ति हो, र यो सब तँलाई परमेश्‍वरको प्रयोगका लागि उपयुक्त बनाउनको लागि हो। अहिले तैँले पछि लागेको कुरा भनेको रहस्यहरू सुन्नु, परमेश्‍वरको वचन सुन्नु, तेरा आँखाहरूलाई सन्तुष्ट पार्नु र कुनै नयाँपन वा प्रवृत्ति छ कि भनेर हेर्नु, त्यसरी तेरो उत्सुकतालाई मेटाउनका लागि हो। यदि तेरो हृदयको अभिप्राय यही हो भने, तैँले परमेश्‍वरका मागहरूलाई पूरा गर्ने कुनै उपाय छैन। सत्यताको पछि नलाग्‍ने मानिसहरू अन्त्यसम्म पछि लाग्न सक्दैनन्। अहिले, परमेश्‍वरले केही गर्नुभएको छैन भन्ने होइन, बरु मानिसहरूले उहाँसँग सहकार्य गरिरहेका छैनन्, किनकि तिनीहरू उहाँको कामबाट थकित भएका छन्। तिनीहरू उहाँले आशिष दिनका निम्ति बोल्नुहुने वचनहरू मात्र सुन्न चाहन्छन्, र तिनीहरू उहाँको न्याय र सजायका वचनहरू सुन्न इच्छुक हुँदैनन्। यसको कारण के हो? कारण यो हो कि आशिष् प्राप्त गर्ने मानिसहरूको इच्छा पूरा भएको छैन, यसैले तिनीहरू नकारात्मक र कमजोर भएका छन्। यो होइन कि परमेश्‍वरले जानाजानी मानिसहरूलाई उहाँको पछि लाग्न दिनुहुन्न, न त उहाँले जानी-जानी मानवजातिलाई प्रहार गरिरहनुभएको छ। मानिसहरूका अभिप्रायहरू अनुचित भएकोले मात्रै तिनीहरू नकारात्मक र कमजोर छन्। परमेश्‍वर मानिसलाई जीवन दिनुहुने परमेश्‍वर हुनुहुन्छ, र उहाँले मानिसलाई मृत्युमा पार्न दिन सक्नुहुन्न। मानिसहरूको नकारात्मकता, कमजोरीहरू, र विश्‍वासबाट पछि हट्ने कुराहरू सबै तिनीहरूको आफ्नै कामको कारणले भएका हुन्।

परमेश्‍वरको हालको कामले मानिसहरूमा केही शुद्धीकरण ल्याउँदछ, अनि यो शोधन प्राप्त गर्दा दह्रिलो गरी खडा हुनेहरूले मात्र परमेश्‍वरको स्वीकृति पाउनेछन्। उहाँले आफैलाई जसरी लुकाउनुभए पनि, नबोलेर वा काम नगरेर जसरी यो गर्नुभए पनि, तँ अझै पनि जोसका साथ पछि लाग्न सक्छस्। यदि परमेश्‍वरले तँलाई अस्वीकार गर्छु भनेर भन्नुभए पनि, तँ अझै पनि उहाँलाई पछ्याउनेछस्। परमेश्‍वरका लागि अटल गवाही बन्‍नु भनेको यही हो। यदि परमेश्‍वरले आफैलाई तँबाट लुकाउनुभयो र तँ उहाँको पछि लाग्न छोडिस् भने, के त्यो परमेश्‍वरका लागि अटल साक्षी बन्‍नु हो? यदि मानिसहरू साँच्चै प्रवेश गर्दैनन् भने, तिनीहरूसँग वास्तविक कद हुँदैन, र जब तिनीहरूले साँच्चै ठूलो परीक्षाको सामना गर्छन् तब तिनीहरू ठेस लागेर लड्छन्। जब परमेश्‍वरले बोलिरहनुभएको वा तेरो धारणासँग मिल्ने काम गरिरहनुभएको हुँदैन, तँ तोडिन्छस्। यदि परमेश्‍वरले अहिले तेरा धारणा अनुरूप काम गरिरहनुभएको भए, यदि उहाँले तेरो इच्छा पूरा गर्दैहुनुहुन्थ्यो र तँ खडा भएर र सामर्थ्यको साथ पछि लाग्‍न सक्थिस् भने, तँ कुन आधारमा जिइरहेको हुनेथिइस्? म भन्छु, धेरै जना मानिसहरू पूर्ण रूपमा मानवीय उत्सुकतामा निर्भर भई जिइरहेका छन्। तिनीहरूका वास्तविक हृदयमा पछ्याउने चाहना एउटै पनि छैन। सत्यमा प्रवेश गर्ने कार्यको खोजी नगर्ने तर जीवनको उत्सुकतामा भर पर्नेहरू घृणित मानिसहरू हुन्, र तिनीहरू खतरामा हुन्छन्। परमेश्‍वरका विभिन्न प्रकारका कामहरू सबै मानवजातिलाई सिद्ध बनाउनका निम्ति गरिन्छ। तापनि, मानिसहरू सधैँ उत्सुक हुन्छन्, उनीहरू झूटो शिक्षाहरूको बारेमा सोधपुछ गर्न चाहन्छन्, तिनीहरू विदेशको वर्तमान हालखबरको बारेमा चासो राख्छन्—उदाहरणका लागि, तिनीहरू इजरायलमा के भइरहेको छ, वा यदि इजिप्टमा कुनै भूकम्प पो गयो कि भनी जान्न उत्सुक हुन्छन्—तिनीहरू सधैँ आफ्ना स्वार्थी चाहनाहरू तृप्त गर्न केही नयाँ कुराहरू, नौलो कुराहरू खोजिरहेका हुन्छन्। तिनीहरू जीवनको पछि लाग्दैनन्, न त तिनीहरू सिद्ध हुने कुराको पछि नै लाग्छन्। तिनीहरू आफ्नो सुन्दर सपना साकार होस् र तिनीहरूका असंयमी अभिलाषाहरू पूरा होऊन् भनेर केवल परमेश्‍वरको दिन चाँडै आओस् भन्ने चाहन्छन्। यस प्रकारको व्यक्ति व्यावहारिक हुँदैन—तिनीहरू अनुचित दृष्टिकोण भएका मानिसहरू हुन्। सत्यको पछि लाग्नु मात्रै परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको आधार हो, र यदि मानिसहरूले जीवनमा प्रवेश गर्न खोज्दैनन्, यदि तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न खोज्दैनन् भने तिनीहरू दण्डमा पर्नेछन्। दण्ड पाउनु पर्ने मानिसहरू तिनीहरू नै हुन् जोसँग परमेश्‍वरले काम गर्नुभएको समयमा पवित्र आत्माको काम थिएन।

परमेश्‍वरको यस चरणको काममा मानिसहरूले कसरी सहकार्य गर्नुपर्छ? वर्तमान समयमा परमेश्‍वरले मानिसहरूलाई जाँच्दै हुनुहुन्छ। उहाँले कुनै वचन बोल्नुहुन्न, तर आफैलाई लुकाउँदैहुनुहुन्छ र मानिसहरूसँग कुनै सीधा सम्पर्क गरिरहनुभएको छैन। बाहिरबाट हेर्दा, उहाँले कुनै काम गरिरहनुभएको जस्तो देखिँदैन, तर सत्यता के हो भने, उहाँले अझै पनि मानिसभित्र काम गरिरहनुभएको छ। जीवनमा प्रवेशको खोजी गर्ने कुनै पनि व्यक्तिमा जीवनको खोजी गर्ने दर्शन हुन्छ, र तिनीहरूले परमेश्‍वरको काम पूर्ण रूपमा नबुझे पनि कुनै शङ्का गर्दैनन्। तँलाई परमेश्‍वरले के गर्न चाहनुहुन्छ र उहाँले कुन काम सम्पन्न गर्न चाहनुहुन्छ भनी थाहा नभएको बेला परीक्षाहरू भएर जाँदा, तँलाई यो थाहा हुनुपर्छ कि मानव जातिप्रतिको परमेश्‍वरका अभिप्रायहरू सधैँ असल हुन्छन्। यदि तैँले उहाँलाई साँचो हृदयले पछ्याइस् भने उहाँले तँलाई कहिल्यै पनि छोड्नुहुनेछैन, र अन्त्यमा उहाँले निश्चय तँलाई सिद्ध बनाउनुहुनेछ, र मानिसहरूलाई उचित गन्तव्यमा पुर्‍याउनुहुनेछ। वर्तमानमा परमेश्‍वरले मानिसहरूलाई जसरी जाँचिरहनुभएको भए पनि, उहाँले मानिसहरूलाई उचित परिणाम दिने र तिनीहरूले गरेको कामको आधारमा उचित दण्ड दिने दिन आउनेछ। परमेश्‍वरले मानिसहरूलाई कुनै खास बिन्दुमा डोऱ्याएर तिनीहरूलाई एकातिर फालिदिने र तिनीहरूलाई बेवास्ता गर्ने गर्नुहुनेछैन। किनकि परमेश्‍वर भरोसायोग्य हुनुहुन्छ। यस चरणमा, पवित्र आत्माले शोधन गर्ने काम गर्दैहुनुहुन्छ। उहाँले प्रत्येक व्यक्तिलाई शोधन गर्दैहुनुहुन्छ। मृत्युको परीक्षा र सजायको परीक्षाद्वारा बनेका कामका यी चरणहरूमा, शोधनको काम वचनहरूद्वारा अगाडि बढाइएको थियो। मानिसहरूले परमेश्‍वरको कामको अनुभव गर्नका लागि तिनीहरूले पहिले उहाँको वर्तमान कामलाई र मानव जातिले त्यसमा कसरी सहकार्य गर्नुपर्दछ भन्ने कुरालाई बुझ्नुपर्छ। वास्तवमा, यो सबैले बुझ्नु पर्ने कुरा हो। परमेश्‍वरले जे गर्नुभए पनि, चाहे त्यो शोधन होस् जेसुकै होस् वा उहाँ बोलिरहनुभएको छैन भने पनि परमेश्‍वरको कामको एउटै चरण पनि मानव जातिको धारणासँग मिल्दैन। उहाँको कामको प्रत्येक चरणले मानिसहरूका धारणाहरूलाई छताछुल्ल बनाउँछ र तोड्छ। यो उहाँको काम हो। तर परमेश्‍वरको काम एक निश्चित चरणमा पुगेको छ, यसैले चाहे जेसुकै भए पनि उहाँले सबै मानिसलाई मार्नुहुनेछैन भन्‍ने तैँले विश्‍वास गर्नुपर्छ। उहाँले मानव जातिलाई प्रतिज्ञा र आशिषहरू दुवै दिनुहुन्छ, र उहाँलाई पछ्याउनेहरू सबैले उहाँका आशिषहरू प्राप्त गर्न सक्‍नेछन्, तर जसले पछ्याउँदैनन् तिनीहरूलाई परमेश्‍वरले एकातिर पन्छ्याउनुहुनेछ। यो तेरो खोजीमा निर्भर हुन्छ। अरू जेसुकै भए पनि, तैँले यो के विश्‍वास गर्नुपर्छ भने, जब परमेश्‍वरको काम समाप्त हुन्छ, प्रत्येक व्यक्तिले उपयुक्त गन्तव्य पाउनेछ। परमेश्‍वरले मानव जातिलाई सुन्दर आकांक्षाहरू प्रदान गर्नुभएको छ, तर खोजी नगरी ती प्राप्त गर्न सकिँदैन। तैँले अहिले यो देख्न सक्नुपर्छ—परमेश्‍वरले गर्नुहुने मानिसहरूको शुद्धीकरण र उहाँको सजाय उहाँको काम हो, तर मानिसहरूले आफ्नो काम गर्दै हरसमय स्वभावमा परिवर्तन गर्नतिर लागिरहनुपर्छ। तेरो व्यावहारिक अनुभवमा, तैंले सबैभन्दा पहिले परमेश्‍वरको वचन कसरी खानु र पिउनुपर्छ त्यो जान्नुपर्छ; तँ के कुरामा प्रवेश गर्नुपर्छ र तेरा कमजोरीहरू के हुन् सो कुरा तैँले उहाँका वचनहरूमा भेट्टाउनुपर्छ, तैंले तेरो व्यावहारिक अनुभवमा प्रवेशको खोजी गर्नुपर्छ, र अभ्यास गर्नु पर्ने परमेश्‍वरको वचनको खण्ड लिएर त्यसलाई अभ्यास गर्ने कोसिस गर्नुपर्छ। परमेश्‍वरको वचन खानु र पिउनु एउटा पक्ष हो। यसको अतिरिक्त, मण्डलीको जीवन कायमै राख्नुपर्छ, तँसँग सामान्य आत्मिक जीवन हुनुपर्दछ, र तैँले आफ्नो हालको सम्पूर्ण अवस्था परमेश्‍वरमा सुम्पन सक्‍नुपर्छ। उहाँको काम जसरी परिवर्तन भए पनि, तेरो आत्मिक जीवन सामान्य रहनुपर्छ। आत्मिक जीवनले तेरो सामान्य प्रवेशलाई कायम राख्न सक्दछ। परमेश्‍वरले जे गर्नुभए पनि, तैंले आफ्नो आत्मिक जीवनलाई विनाबाधा अगि बढाउनुपर्छ र तेरो कर्तव्य पूरा गर्नुपर्छ। मानिसहरूले गर्नु पर्ने कार्य यही नै हो। यो सबै पवित्र आत्माको काम हो, तर सामान्य अवस्था भएकाहरूका लागि यो सिद्धता हो, असामान्य अवस्था भएकाहरूका लागि यो एउटा परीक्षा हो। पवित्र आत्माको शोधन कार्यको वर्तमान चरणमा, कतिपय मानिसहरूले के भन्छन् भने, परमेश्‍वरको काम धेरै महान् छ र मानिसहरूलाई पूर्ण रूपमा शोधनको आवश्यकता छ, अन्यथा तिनीहरूको कद धेरै सानो हुनेछ र तिनीहरूसित परमेश्‍वरको इच्छा प्राप्त गर्ने कुनै उपाय हुनेछैन। तापनि, जसको अवस्था राम्रो छैन, तिनीहरूको लागि यो परमेश्‍वरको पछि नलाग्ने र भेलाहरूमा नजाने वा परमेश्‍वरका वचनहरू नखाने र नपिउने एउटा कारण बन्छ। परमेश्‍वरको काममा, उहाँले जे गर्नुभए पनि वा उहाँले जुनसुकै परिवर्तन लागू गर्नुभए पनि, मानिसहरूले सामान्य आत्मिक जीवनको आधारभूत आधार कायम राख्नुपर्छ। सायद तँ तेरो आत्मिक जीवनको वर्तमान चरणमा शिथिल भएको छैनस् होला, तापनि तैँले अझै धेरै कुरा प्राप्त गरेको छैनस्, र धेरै बाली काटेको छैनस्। यस्ता परिस्थितिहरूमा, तैंले अझै पनि नियमहरू पालन गर्नुपर्छ; तैंले यी नियमहरू पालन गर्नैपर्छ, ताकि तैंले आफ्नो जीवनमा हानि भोग्नु नपरोस् र ताकि तैँले परमेश्‍वरको इच्छा पूरा गर्न सक्। यदि तेरो आत्मिक जीवन असामान्य छ भने, तैँले परमेश्‍वरको वर्तमान कामलाई बुझ्न सक्दैनस्, र त्यसको साटो तँलाई सधैँ यो तेरा धारणाहरूसँग अमिल्दो छ भन्‍ने लाग्छ, र तैंले उहाँलाई पछ्याउने इच्छा गरे पनि, तँसँग आन्तरिक उत्साहको अभाव हुन्छ। यसैले परमेश्‍वरले वर्तमानमा जे गरिरहनुभएको भए पनि मानिसहरूले सहकार्य गर्नुपर्छ। यदि मानिसहरूले सहकार्य गर्दैनन् भने, पवित्र आत्माले आफ्‍नो काम गर्न सक्नुहुन्न, र यदि मानिसहरूमा सहकार्य गर्ने हृदय छैन भने, तिनीहरूले पवित्र आत्माको काम सायदै प्राप्त गर्न सक्दछन्। यदि तँ आफूभित्र पवित्र आत्माको काम पाउन चाहन्छस् भने, र यदि तँ परमेश्‍वरको स्वीकृति प्राप्त गर्न चाहन्छस् भने, तैंले परमेश्‍वरको सामु आफ्नो सुरुको भक्ति कायम राख्नुपर्छ। अब, तँमा गहन बुझाइ, उच्च सिद्धान्त, वा अरू त्यस्तै थोकहरू हुनु आवश्यक छैन—यति मात्र आवश्यक छ कि तैंले मूल आधारमा परमेश्‍वरको वचनलाई थाम्नुपर्छ। यदि मानिसहरूले परमेश्‍वरसँग सहकार्य गर्दैनन् र गहन प्रवेशको खोजी गर्दैनन् भने, परमेश्‍वरले तिनीहरूबाट ती सबै थोकहरू खोस्नुहुनेछ जुन सुरुमा तिनीहरूको थियो। भित्रपट्टि, मानिसहरू सधैँ सहजताको लोभ गर्छन् र पहिलेबाटै जे उपलब्ध छ त्यसमा रमाउँछन्। तिनीहरू कुनै पनि मूल्य नचुकाई परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्त गर्न चाहन्छन्। यी मानवजातिले मनमा राख्‍ने अनावश्यक विचारहरू हुन्। कुनै मूल्य नचुकाई जीवन प्राप्त गर्नु—तर के कुनै कुरा कहिल्यै यस्तो सजिलो भएको छ? जब कसैले परमेश्‍वरमा विश्‍वास गर्दछ र जीवनमा प्रवेश गर्न खोज्छ र आफ्नो स्वभाव बदल्‍न खोज्छ, त्यसका निम्ति तिनीहरूले मूल्य चुकाउनुपर्छ र परमेश्‍वरले जे गर्नुभए पनि तिनीहरू सधैँ उहाँको पछि लाग्ने अवस्था प्राप्त गर्नुपर्छ। यो मानिसहरूले गर्नैपर्ने कुरा हो। यदि तैंले यी सबै कुरालाई नियमको रूपमा पालन गरिस् भने पनि, तैंले सधैँ यसलाई अनुसरण गर्नुपर्दछ, र जति ठूलो परीक्षाहरू आए पनि, तैंले परमेश्‍वरसितको आफ्नो सामान्य सम्बन्धलाई त्याग्‍नु हुँदैन। तैँले प्रार्थना गर्न, तेरो मण्डलीको जीवनलाई कायम राख्‍न सक्‍नुपर्छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई कहिल्यै त्याग्नु हुँदैन। जब परमेश्‍वरले तँलाई जाँच्नुहुन्छ, त्यस बेला पनि तैंले अझै सत्यतालाई खोज्नुपर्छ। यो आत्मिक जीवनको न्यूनतम मापदण्ड हो। सधैँ खोज्ने इच्छा राख्‍नु, र सहकार्य गर्ने प्रयास गर्नु, तेरा सबै ऊर्जा प्रयोग गर्नु—के यो गर्न सकिन्छ? यदि मानिसहरूले यसलाई आधारको रूपमा लिए भने, तिनीहरूले भेद-ज्ञान हासिल गर्न र वास्तविकतामा प्रवेश प्राप्त गर्न सक्छन्। जब तेरो आफ्नै अवस्था सामान्य हुन्छ त्यस बेला परमेश्‍वरको वचन स्वीकार गर्नु सजिलो हुन्छ; यस्ता अवस्थाहरूमा सत्यताको अभ्यास गर्न कठिन हुँदैन, र तँलाई परमेश्‍वरको काम महान् छ भन्ने लाग्छ। तर यदि तेरो अवस्था नराम्रो छ भने, परमेश्‍वरको काम जति नै महान् भए पनि र कुनै व्यक्तिले जति सुन्दर ढङ्गले बोले पनि, तैँले त्यसमा कुनै ध्यान दिनेछैनस्। जब कुनै व्यक्तिको अवस्था असामान्य हुन्छ, तब परमेश्‍वरले तिनीहरूमा काम गर्न सक्नुहुन्न, अनि तिनीहरूले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्दैनन्।

यदि मानिसहरूमा अलिकति पनि आत्मविश्‍वास छैन भने, तिनीहरूलाई त्यो बाटोमा अगि बढिरहन सहज हुँदैन। अहिले सबै जनाले देख्न सक्छन् कि परमेश्‍वरको काम मानिसहरूका धारणाहरूसँग अलिकति पनि मिल्दैन। परमेश्‍वरले धेरै काम गर्नुभएको छ र धेरै वचनहरू बोल्नुभएको छ, जुन मानिसका धारणाहरूभन्दा पूर्ण रूपमा फरक छ। यसैले, मानिसहरूले पहिले नै जे देखेका छन् र तिनीहरूका अनुभवहरूबाट जे प्राप्त गरेका छन् त्यसमा खडा हुनका निम्ति तिनीहरूमा आत्मविश्‍वास र इच्‍छाशक्ति हुनुपर्दछ। परमेश्‍वरले मानिसहरूमा जे गर्नुभए पनि, तिनीहरूमा जे छ त्यसलाई तिनीहरूले थामेर राख्नुपर्छ, अनि परमेश्‍वरको सामु इमानदार हुनुपर्छ, र अन्त्यसम्मै उहाँप्रति समर्पित रहनुपर्छ। यही नै मानवजातिको कर्तव्य हो। मानिसहरूले जे गर्नुपर्छ त्यसलाई तिनीहरूले कायम राख्‍नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्नको लागि उहाँप्रति आज्ञाकारी हुनुपर्छ र उहाँको कामको अनुभव चाहिन्छ। परमेश्‍वरले यति धेरै काम गर्नुभयो—यो भन्न सकिन्छ कि, मानिसहरूका लागि यो सिद्धता, शोधन र अझ बढी, सजाय नै हो। परमेश्‍वरको कामको एक चरण पनि मानव धारणासँग मिल्दोजुल्दो छैन; मानिसहरूले आनन्द लिएका कुरा भनेको परमेश्‍वरको कठोर वचनहरू हुन्। जब परमेश्‍वर आउनुहुन्छ, मानिसहरूले उहाँको प्रताप र उहाँको क्रोध उपभोग गर्नुपर्दछ। यद्यपि, उहाँको वचन जति नै कठोर भए पनि, उहाँ मानव जातिलाई मुक्ति दिन र सिद्ध पार्न आउनुहुन्छ। प्राणीहरूको रूपमा, मानिसहरूले आफूले गर्नुपर्ने कर्तव्यहरू पूरा गर्नुपर्दछ, र शोधनको बीचमा परमेश्‍वरका लागि साक्षी बनेर खडा हुनुपर्छ। प्रत्येक परीक्षामा तिनीहरूले आफूले बोक्नुपर्ने गवाही थामेर राख्नुपर्छ, र परमेश्‍वरको खातिर त्यो शानदार तरिकाले गर्नुपर्दछ। यसो गर्ने व्यक्ति विजेता हो। परमेश्‍वरले तँलाई जसरी शोधन गर्नुभए पनि, तँमा पूरा आत्मविश्वास हुन्छ र तैँले उहाँमाथिको भरोसा कहिल्यै गुमाउँदैनस्। मानिसहरूले जे गर्नु पर्ने हो तँ त्यही गर्छस्। परमेश्‍वरले मानिसबाट यही माग गर्नुहुन्छ, र मानिसको हृदय पूर्ण रूपमा उहाँमा फर्कनु र बितेर जाने हरेक क्षणमा उहाँतर्फ फर्कन सक्ने हुनुपर्दछ। यो एक विजेता हो। परमेश्‍वरले जस-जसलाई “विजेताहरू” भनी सम्बोधन गर्नुहुन्छ तिनीहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानको घेराबन्दीमा पर्छन्, अर्थात् जब तिनीहरूले आफैलाई अन्धकारको शक्ति बीचमा पाउँछन् त्यस बेला पनि तिनीहरू गवाही बनी खडा हुन सक्छन् र परमेश्‍वरमाथिको आफ्नो निश्‍चयता र भक्तिलाई कायम राख्न सक्छन्। यदि तैँले जुनसुकै अवस्थामा परमेश्‍वरको सामु शुद्ध हृदय राख्न र परमेश्‍वरप्रति तेरो साँचो प्रेमलाई कायम राख्‍न सक्छस् भने, तँ परमेश्‍वरको सामुन्ने गवाही बनी खडा भइरहेको हुन्छस्, र परमेश्‍वरले यसैलाई “विजेता” हुनु भनी भन्‍नुहुन्छ। यदि परमेश्‍वरले तँलाई आशिष् दिनुहुँदा तेरो खोजी सर्वोत्कृष्ट हुन्छ तर उहाँको आशिषविना तँ पछि हट्छस् भने के यो शुद्धता हो? यो मार्ग सत्य हो भनी तँ निश्चित भएको हुनाले, तैँले यसलाई अन्त्यसम्मै पछ्याइरहनुपर्छ; तैँले परमेश्‍वरप्रतिको आफ्नो भक्तिलाई कायमै राख्नुपर्छ। तँलाई सिद्ध बनाउन परमेश्‍वर स्वयम्‌ आउनुभएको तैँले देखेका हुनाले, तैँले आफ्नो सम्पूर्ण हृदय उहाँलाई दिनुपर्दछ। उहाँले जे गर्नुभए पनि यदि तँ उहाँलाई पछ्याउन सक्छस् भने, अन्त्यमा उहाँले तेरो निम्ति प्रतिकूल परिणाम निर्धारित गर्नुभए पनि, त्यसले परमेश्‍वरको अगाडि तिम्रो शुद्धतालाई कायम राखिरहेको हुन्छ। परमेश्‍वरलाई पवित्र आत्मिक शरीर र शुद्ध कुमारीत्व चढाउनु भनेको परमेश्‍वरको अगाडि इमानदार हृदय राख्नु हो। मानव जातिका लागि, इमानदारीता भनेको शुद्धता हो, र परमेश्‍वरप्रति इमानदार हुन सक्ने क्षमता हुनु भनेको शुद्धता कायम राख्नु हो। तैँले अभ्यास गर्नुपर्ने कुरा यही हो। जब तैँले प्रार्थना गर्नुपर्छ, तब प्रार्थना गर्; जब तँ सङ्गतिमा भेला हुनुपर्छ, तैँले त्यसै गर्नुपर्छ; जब तैँले भजन गाउनुपर्छ, तैँले भजनहरू गा; जब तैँले देहलाई त्याग्नुपर्छ, तैँले शरीरलाई त्यागी दे। जब तैँले आफ्नो कर्तव्य पूरा गर्छस्, तैँले त्यसमा अलमल गर्नु हुँदैन; जब तैँले परीक्षाहरूको सामना गर्नुपर्छ, तँ दृढ भई खडा हुनू। परमेश्‍वरप्रतिको भक्ति यही हो। यदि तँ मानिसहरूले जे गर्नुपर्छ त्यसलाई कायम राख्दैनस् भने, तेरा पहिलेका सबै दुःख र संकल्पहरू व्यर्थ भएका छन्।

परमेश्‍वरको कामको हरेक चरणका लागि, मानिसहरूले सहकार्य गर्नुपर्ने तरिका हुन्छ। परमेश्‍वरले मानिसहरूलाई शोधन गर्नुहुन्छ ताकि शोधनबाट भएर जाँदा तिनीहरूमा हिम्मत आओस्। मानिसहरूले परमेश्‍वरबाट सिद्ध हुन सक्ने आत्मविश्‍वास प्राप्त गर्न सकून् र उहाँका शोधनहरू स्वीकार गर्न र परमेश्‍वरले गर्नुहुने निराकरण र छाँटकाँटको सामना गर्न सकून् भनेर परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्नुहुन्छ। मानिसहरूभित्र ज्ञान र ज्योति ल्याउन र उहाँसँग मिलेर काम र अभ्यास गर्न लगाउनको लागि परमेश्‍वरका आत्माले मानिसहरूभित्र काम गर्नुहुन्छ। शोधनको अवधिमा परमेश्‍वर बोल्नुहुन्न। उहाँले आफ्नो आवाज निकाल्नुहुन्न, तर अझै पनि मानिसहरूले गर्नु पर्ने काम हुन्छ। तँसँग जे छ त्यसलाई तैँले पक्रिराख्‍नु पर्छ, तैँले अझै पनि परमेश्‍वरसँग प्रार्थना गर्न सक्‍नुपर्छ, परमेश्‍वरको नजिक हुनुपर्छ, र परमेश्‍वर सामु साक्षी दिन सक्नुपर्छ; यसो गरेर तैँले आफ्नो कर्तव्य पूरा गर्नेछस्। तिमीहरू सबैले परमेश्‍वरको कार्यबाट उहाँले मानिसहरूको आत्मविश्‍वास र प्रेम जाँच्नुहुँदा उनीहरूले उहाँसित अझ बढी प्रार्थना गर्नुपर्छ, र अझ बढी उनीहरूले उहाँको सामु परमेश्‍वरका वचनहरूको स्वाद पाउनुपर्छ भन्‍ने कुरालाई स्पष्ट रूपमा देख्‍नुपर्छ। यदि परमेश्‍वरले तँलाई ज्ञान दिनुहुन्छ र तँलाई उहाँको इच्छा बुझ्न दिनुहुन्छ, तैपनि तैँले यीमध्ये कुनैलाई पनि अभ्यास गर्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। जब तैँले परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्छस्, तैँले अझै पनि उहाँसँग प्रार्थना गर्न सक्‍नुपर्छ, र जब उहाँका वचनहरूको स्वाद लिन्छस् तँ उहाँको सामु आउनुपर्छ र निराश वा चिसोपनाको कुनै सङ्केतविना उहाँप्रति निश्‍चयताले भरिनुपर्छ। परमेश्‍वरका वचनहरूलाई अभ्यास नगर्नेहरू भेलाहरूको बेला सामर्थ्यले भरिएका हुन्छन्, तर जब तिनीहरू घर फर्कन्छन् तिनीहरू अन्धकारले फर्किन्छन्। केही मानिसहरू हुन्छन् जो एक साथ भेला हुन समेत चाहँदैनन्। यसैले, मानिसहरूले कुन कर्तव्य पूरा गर्नुपर्छ त्यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्छ। परमेश्‍वरको इच्छा वास्तवमा के हो भन्‍ने तँलाई थाहा नहुन सक्छ, तर तैँले आफ्नो कर्तव्य पूरा गर्न सक्छस्, प्रार्थना गर्नु पर्दा तैँले त्यसो गर्न सक्छस्, सत्यलाई अभ्यास गर्नु पर्दा तैँले त्यसो गर्न सक्छस्, र मानिसहरूले जे गर्नुपर्छ तैँले त्यो गर्न सक्छस्। तैँले आफ्नो सुरुको दर्शनलाई पक्रिराख्‍न सक्छस्। यसरी, तैँले परमेश्‍वरको कामको अर्को चरणलाई अझ बढी स्वीकार गर्न सक्नेछस्। जब परमेश्‍वरले गुप्त तरिकाले काम गर्नुहुन्छ, तब तैँले खोजी गरिनस् भने त्यो समस्या हुन्छ। जब उहाँले भेलाहरूमा बोल्नुहुन्छ र प्रचार गर्नुहुन्छ, तैँले उत्साहको साथ सुन्छस्, तर जब उहाँ तँसँग बोल्नुहुन्न तँमा ऊर्जाको अभाव हुन्छ र तँ पछि हट्छस्। कस्तो प्रकारको व्यक्तिले यसरी कार्य गर्दछ? यो त्यस्तो व्यक्ति हो जो बथान जता जान्छ, त्यतैतिर लाग्छ। उनीहरूको कुनै अडान हुँदैन, कुनै गवाही हुँदैन, र कुनै दर्शन हुँदैन! धेरैजसो मानिसहरू यस्तै प्रकारका हुन्छन्। यदि तँ त्यस मार्गमा लागिरहिस् भने, एक दिन जब तैँले ठूलो परीक्षाको सामना गर्नुपर्छ, तब तँ दण्डमा पर्नेछस्। मानिसहरूलाई सिद्ध पार्ने परमेश्‍वरको प्रक्रियाको लागि अडान हुनु धेरै महत्त्वपूर्ण कुरा हो। यदि तैँले परमेश्‍वरको कामको एउटै चरणलाई पनि शङ्का गर्दैनस् भने, यदि तैँले मानिसको कर्तव्य पूरा गर्छस् भने, यदि तैँले परमेश्‍वरले तँलाई अभ्यास गर्न लगाउनुभएको कुरालाई इमानदारीपूर्वक थामेर राख्छस् भने, अर्थात्, तैँले परमेश्‍वरका अर्थीहरूलाई स्मरण गर्छस् भने र उहाँले वर्तमान समयमा जे गर्नुभए पनि तैँले उहाँको सल्लाहलाई बिर्सँदैनस् भने, यदि तँमा उहाँको कामको बारेमा कुनै शङ्का छैन, दह्रिलो भई खडा भइस्, तेरो गवाहीलाई पक्री राखिस् भने, र मार्गको प्रत्येक कदममा तँ विजयी भइस् भने अन्त्यमा तँलाई परमेश्‍वरले सिद्ध पार्नुहुनेछ र विजेता बनाउनुहुनेछ। यदि तँ परमेश्‍वरको जाँचहरूको प्रत्येक चरणमा दह्रिलो भई खडा हुन सकिस् भने, र तँ अझै पनि अन्त्यसम्‍मै दृढ रहन सक्छस् भने, तँ एक विजेता होस्, तँ परमेश्‍वरले सिद्ध बनाउनुभएको व्यक्ति होस्। यदि तँ तेरा वर्तमान जाँचहरूमा दृढ रहन सक्दैनस् भने, भविष्यमा यो अझ बढी कठिन हुनेछ। यदि तँ नगण्य दुःखबाट भएर गइस् र तँ सत्यको पछि लाग्दैनस् भने, तैँले आखिरमा केही पनि प्राप्त गर्नेछैनस्। तँ खाली हात हुनेछस्। परमेश्‍वर बोल्‍नुभएको छैन भन्‍ने देखेर आफ्‍नो खोजीलाई त्याग्‍ने मानिसहरू पनि छन्, र तिनीहरूका हृदय छताछुल्ल हुन्छ। के त्यस्तो व्यक्ति मूर्ख होइन र? यस प्रकारका मानिसहरूमा कुनै वास्तविकता हुँदैन। जब परमेश्‍वर बोलिरहनुभएको हुन्छ, तिनीहरू सधैँ यता-उता दगुरिरहेका हुन्छन्, बाहिरबाट हेर्दा व्यस्त र उत्साहित देखिन्छन्, तर अब जब उहाँ बोल्नुभएको हुँदैन, तब तिनीहरू खोज्न छोड्छन्। यस प्रकारको व्यक्तिको कुनै भविष्य हुँदैन। शुद्धीकरणको क्रममा, तँ सकारात्मक दृष्टिकोणबाट प्रवेश गर्नुपर्छ र तैँले सिक्नु पर्ने पाठहरू सिक्नुपर्छ; जब तैँले परमेश्‍वरसँग प्रार्थना गर्छस् र उहाँको वचन पढ्छस्, तैँले आफ्‍नो अवस्थालाई यसैको आधारमा मापन गर्नुपर्दछ, आफ्ना कमजोरीहरू पत्ता लगाउनुपर्छ, र तैँले सिक्नुपर्ने पाठहरू अझै धेरै छन् भन्‍ने थाहा पाउनुपर्छ। शुद्धीकरणबाट भएर जाने क्रममा, तैँले जति धेरै इमानदारीसाथ खोजी गर्छस्, तैँले आफूलाई त्यत्ति नै बढी अपर्याप्त रहेको पाउनेछस्। जब तैँले शुद्धीकरणको अनुभव गरिरहेको हुन्छस्, त्यस बेला तैँले धेरै वटा समस्याहरूको सामना गर्छस्; तैँले तिनलाई स्पष्ट रूपमा देख्न सक्दैनस्, तैँले गुनासो गर्छस्, तैँले आफ्नै देहलाई प्रकट गर्छस्—केवल यसरी मात्रै तँभित्र धेरै भ्रष्ट स्वभावहरू छन् भनी तैँले थाहा पाउन सक्छस्।

मानिसहरूमा योग्यताको अभाव छ र तिनीहरू परमेश्‍वरका मापदण्डहरूबाट चुकेका छन्, भविष्यमा यो बाटोमा हिँड्न तिनीहरूलाई अझ धेरै आत्मविश्‍वासको आवश्यकता पर्न सक्छ। आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुभएको कामको निम्ति धेरै ठूलो आत्मविश्‍वासको आवश्यकता पर्छ, यस्तो आत्मविश्‍वास जुन अय्यूबको भन्दा ठूलो छ। आत्मविश्‍वासविना, मानिसहरूले अनुभव प्राप्त गरिरहन सक्नेछैनन् नत तिनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिन नै सक्छन्। जब ठूलो परीक्षाको दिन आउँछ, तब केही यहाँ, केही त्यहाँ मण्डलीहरू छोडेर जाने मानिसहरू हुनेछन्। पहिलेका दिनहरूमा तिनीहरूका खोजीमा धेरै राम्रो काम गर्नेहरू पनि केही हुनेछन् र तिनीहरूले किन विश्‍वास गर्न छोड्छन् त्यो स्पष्ट हुनेछैन। तैंले बुझ्न नसक्ने धेरै कुराहरू हुनेछन्, र परमेश्‍वरले कुनै चिह्न वा आश्‍चर्यकर्म प्रकट गर्नुहुनेछैन, न त कुनै अलौकिक कार्य नै गर्नुहुनेछ। योचाहिँ तँ दह्रिलो गरी खडा हुन सक्छस् कि सक्दैनस् भनी हेर्नलाई हो—मानिसहरूलाई शोधन गर्न परमेश्‍वरले तथ्यहरूको प्रयोग गर्नुहुन्छ। तैंले अझै त्यति धेरै कष्ट भोगेको छैनस्। भविष्यमा जब ठूला परीक्षाहरू आउँछन्, कतिपय ठाउँहरूका मण्डलीका प्रत्येक व्यक्ति छोडेर जानेछन्, र तँसँग राम्रो सम्बन्ध हुने मानिसहरू जानेछन् र आफ्नो विश्‍वास त्याग्नेछन्। के त्यसबेला तँ दृढ भएर खडा हुन सक्‍नेछस्? अहिलेसम्म, तैंले सामना गरेका परीक्षाहरू सानातिना थिए, र तैंले सायद मुस्किलले तिनको सामना गर्न सकेको छस्। यस चरणमा वचनहरूद्वारा मात्र शोधन गर्ने र सिद्ध पार्ने कार्य समावेश छ। अर्को चरणमा, तँलाई शोधन गर्न तथ्यहरू तँकहाँ आउनेछन्, अनि त्यसबेला तँ जोखिमको बीचमा हुनेछस्। यो गम्भीर भएपछि, परमेश्‍वरले तँलाई चाँडो गर्ने र जाने सल्लाह दिनुहुनेछ, र धार्मिक मानिसहरूले तँलाई उनीहरूको साथमा जानका लागि लोभ्याउने कोसिस गर्नेछन्। योचाहिँ तँ त्यस मार्गमा अघि बढिरहन सक्छस् कि सक्दैनस् भनी हेर्नलाई हो, र यी सबै कुरा परीक्षा हुन्। वर्तमानका परीक्षाहरू सानातिना हुन्, तर त्यस्तो दिन आउनेछ जब केही घरहरूका आमाबाबुले विश्‍वास गर्न छोड्नेछन्, र कुनैमा छोराछोरीले विश्‍वास गर्न छोड्नेछन्। के तँ अगि बढिरहन सक्‍नेछस्? तँ जति अगाडि जान्छस्, परीक्षाहरू उति नै ठूला बन्‍नेछन्। परमेश्‍वरले मानिसहरूलाई शुद्ध पार्ने काम तिनीहरूका खाँचोहरू र कदअनुसार गर्नुहुन्छ। परमेश्‍वरले मानवजातिलाई सिद्ध बनाउनुहुने चरणमा, मानिसहरूको सङ्ख्या बढिरहनु असम्भव हुन्छ—त्यो कम मात्रै हुँदै जानेछ। यी शोधनहरूद्वारा मात्र मानिसहरूलाई सिद्ध पार्न सकिन्छ। निराकरण गरिनु, अनुशासन, जाँच, सजाय, सराप—के तँ यी सबैको सामना गर्न सक्छस्? जब तँ कुनै मण्डलीलाई निश्‍चित रूपमा राम्रो स्थितिमा देख्छस्, जहाँ दाजुभाइ-दिदीबहिनीहरू सबैले ठूलो ऊर्जाको साथमा खोजी गरिरहेका हुन्छन्, त्यसबेला तँ उत्साहित हुन्छस्। जब एक दिन तिनीहरू सबैले छोडेर जान्छन्, तिनीहरूमध्ये कतिले विश्‍वास गर्न छोडेका हुन्छन्, कोहीले व्यापार गर्न वा विवाह गर्न छोडेर गएका हुन्छन् र कोही-कोही धर्ममा सामेल हुन्छन्; के त्यसबेला तँ दृढ भएर खडा हुन सक्‍नेछस्? के तँ भित्री रूपमा अप्रभावित रहन सक्‍नेछस्? परमेश्‍वरले मानवजातिलाई सिद्ध बनाउने काम साधारण कुरा होइन! मानिसहरूलाई शोधन गर्न उहाँले धेरै कुराहरूको प्रयोग गर्नुहुन्छ। मानिसहरूले यी कुराहरूलाई विधिको रूपमा हेर्छन्, तर परमेश्‍वरको मूल अभिप्रायमा यी विधिहरू पटक्कै होइनन्, तर तथ्यहरू हुन्। अन्त्यमा, जब उहाँले मानिसहरूलाई एक निश्चित हदसम्म शोधन गरिसक्‍नुभएको हुन्छ र तिनीहरूमा कुनै गुनासो हुँदैन, तब उहाँको कामको यो चरण पूरा हुनेछ। पवित्र आत्माको महान् काम भनेको तँलाई सिद्ध पार्नु हो, र जब उहाँले कुनै काम गर्नुहुन्न र आफूलाई लुकाउनुहुन्छ, तब त्यो तँलाई सिद्ध पार्ने उद्देश्यले गरिएको हुन्छ, र निश्‍चित रूपमा, यसरी मानिसहरूमा परमेश्‍वरको निम्ति प्रेम छ कि छैन, उहाँमाथि तिनीहरूको वास्तविक भरोसा छ कि छैन सो देख्न सकिन्छ। जब परमेश्‍वर स्पष्टसँग बोल्नुहुन्छ, तब तैंले खोजी गर्नु आवश्यक हुँदैन; उहाँले आफूलाई लुकाउनुभएको बेला मात्र तैंले खोजी गर्नु र तेरो आफ्नो बाटोमा अनिश्‍चितताको साथ अघि बढ्नु आवश्यक हुन्छ। तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्‍नुपर्छ, र तेरो भविष्यको परिणाम र तेरो गन्तव्य जे भए पनि, तँ जीवित रहने वर्षहरूमा तैँले परमेश्‍वरप्रतिको ज्ञान र प्रेमको खोजी गर्न सक्‍नुपर्छ, अनि परमेश्‍वरले तँलाई जसरी व्यवहार गर्नुभए पनि, तँ गुनासो गर्ने कार्यबाट जोगिन सक्नुपर्छ। पवित्र आत्माले मानिसहरूमा काम गर्ने एउटा सर्त छ। तिनीहरूले परमेश्‍वरका कामहरूको तृष्णा गर्नुपर्छ र खोजी गर्नुपर्छ, र त्यसप्रति आधा मनको हुने वा शङ्कालु हुने गर्नु हुँदैन, र तिनीहरूले हर समय आफ्नो कर्तव्यलाई सम्हाल्न सक्नुपर्छ; यस प्रकारले मात्र तिनीहरूले पवित्र आत्माको काम प्राप्त गर्न सक्छन्। परमेश्‍वरको कामको हरेक चरणमा मानवजातिबाट माग गरिएको कुरा भनेको ठूलो आत्मविश्‍वास र खोजी गर्नको लागि परमेश्‍वरको सामु आउने कार्य नै हो—अनुभवको आधारमा मात्रै मानिसहरूले परमेश्‍वर कति प्रेमयोग्य हुनुहुन्छ र पवित्र आत्माले मानिसहरूमा कसरी काम गर्नुहुन्छ भन्‍ने कुरा थाहा पाउन सक्छन्। यदि तँ अनुभव गर्दैनस् भने, यदि तँ त्यसमा अघि बढ्दैनस् भने, यदि तँ खोजी गर्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। तँ आफ्ना अनुभवहरूमा अघि बढ्नुपर्छ, र तेरा अनुभवहरूद्वारा मात्र तैँले परमेश्‍वरका कार्यहरूलाई देख्न सक्छस् र उहाँ आश्‍चर्यजनक र अथाह हुनुहुन्छ भन्‍ने कुरा बुझ्न सक्छस्।

अघिल्लो: अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

अर्को: मार्ग … (३)

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

हाम्रो पछिल्लो सेवाको अवधिमा हामीले एउटा अत्यन्तै महत्त्वपूर्ण विषयको बारेमा सङ्गति गऱ्यौं। के तिमीहरूलाई त्यो के थियो भन्‍ने सम्झना छ?...

बाइबल सम्बन्धमा (१)

परमेश्‍वरमाथिको विश्‍वासमा बाइबललाई कसरी हेर्नुपर्छ? यो सिद्धान्तको प्रश्‍न हो। हामी किन यो प्रश्‍नबारे कुरा गर्दैछौं? किनकि भविष्यमा...

जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्

मैले तिमीहरूका बीचमा गरेका कामहरू तिमीहरूले आफ्नै आँखाले देखेका छौ, मैले बोलेका वचनहरू तिमीहरू आफैले सुनेका छौ, र तिमीहरूप्रतिको मेरो आचरण...

तीन अर्तीहरू

परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको रूपमा तैँले सबै कुरामा उहाँ बाहेक अरू कसैप्रति बफादार रहनु हुँदैन र हरेक कुरामा उहाँको इच्छाअनुसार...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्