परमेश्‍वरको काम र स्वभाव चिन्‍नेसम्बन्धी वचनहरू

अंश १९

धेरैजसो मानिसहरूले परमेश्‍वरको कामलाई बुझ्दैनन्, त्यसकारण तिनीहरूको विश्‍वास अत्यन्तै कमजोर हुन्छ। परमेश्‍वरको काम सजिलो छैन भन्‍ने जानेर, सुरुमा व्यक्तिले परमेश्‍वरका सबै कामको एउटा योजना हुन्छ र यो सबै परमेश्‍वरको समयअनुसार गरिन्छ भन्‍ने जान्‍नुपर्छ। परमेश्‍वरले के काम र कहिले गर्नुहुन्छ भनी मानिसले कहिल्यै बुझ्न सक्दैन; परमेश्‍वरले एक निश्चित समयमा एक निश्चित काम गर्नुहुन्छ, र उहाँले ढीला गर्नुहुन्न; उहाँको कामलाई कसैले पनि नष्ट गर्न सक्दैन। उहाँको योजनाअनुसार र उहाँको अभिप्राय अनुसार काम गर्नु उहाँले काम गर्ने सिद्धान्त हो, र कुनै पनि व्यक्तिले यसलाई परिवर्तन गर्न सक्दैन। त्यसमा तैँले परमेश्‍वरको स्वभाव देख्नुपर्छ। परमेश्वरको कामले कसैलाई पर्खँदैन, र कुनै काम गर्नुपर्ने समयमा त्यो गर्नैपर्छ। तिमीहरू सबैले विगत केही वर्षमा परमेश्वरको काम अनुभव गरेका छौ। कसले उहाँलाई मानिसहरूको भरणपोषण गर्ने उहाँको तरिका नष्ट गर्न, उहाँले आफ्ना वचनहरू भन्नुपर्ने बेला ती भन्नबाट र काम गर्नुपर्ने बेला काम गर्नबाट रोक्न सक्छ? धेरैजसो मानिसले सुरुमा सुसमाचार सुनाउन सुरु गर्दा, मण्डलीका मानिसहरू र धार्मिक मानिसहरूलाई परमेश्वरको वचनका पुस्तकहरू बाँडे। यसको परिणाम के भयो? यीमध्ये अत्यन्तै थोरै मानिसले परमेश्वरका वचनहरू छानबिन गरे; तीमध्ये बढीजसो निन्दा गर्ने, आलोचना गर्ने, र विरोधी थिए। कतिपयले पुस्तकहरू जलाए, कतिपयले ती जफत गरे, कतिपयले सुसमाचार सुनाउनेहरूलाई कुटपिट गरे र तिनीहरूलाई आफ्नो गल्ती स्विकार्न बाध्य पारे, र कतिपयले त प्रहरी बोलाएर तिनीहरूलाई गिरफ्तार गर्न र सताउनसमेत लगाए। त्यो बेला, सबै धार्मिक सम्प्रदायले उन्माद भएर प्रतिरोध गरे, तर अन्ततः राज्यको सुसमाचार मुख्यभूमि चीनभरि फैलाइयो। परमेश्वरको इच्छा पूरा गर्नमा कसले अवरोध पुऱ्याउन सक्छ? कसले परमेश्वरको राज्यको सुसमाचार फैलाउने कामलाई रोक्न सक्छ? परमेश्वरका भेडाहरू परमेश्वरको आवाज सुन्छन्, र परमेश्वरले प्राप्त गर्नुपर्ने मानिसहरू ढिलोचाँडो प्राप्त गरिनेछन्। यो कसैले नष्ट गर्न नसक्ने कुरा हो। यो त हितोपदेशमा भएको वाक्यजस्तै छ, “राजाको हृदय यहोवाको हातमा छ, पानीका नदीहरूजस्तै: उहाँले जता चाहनुहुन्छ यसलाई उतै फर्काउनुहुन्छ” (हितोपदेश २१:१)। त्यसोभए ती महत्त्वहीन मानिसहरूले उहाँको सार्वभौमिकता कसरी पन्छाउन सक्छन् त? परमेश्वरसँग कहिले के काम गर्ने भनेर आफ्नै योजना र बन्दोबस्तहरू हुन्छन्। कतिपय मानिस परमेश्वरले यसो वा उसो गर्नु असम्भव छ भनेर सधैँ आलोचना गर्छन्, तर त्यस्ता विचारहरू मानिसका कल्पना मात्र हुन्। मानिसले जति नै क्षति पुऱ्याए पनि वा शैतानले जति नै समस्या ल्याए पनि, त्यो अर्थहीन हुनेछ, र तिनीहरूले परमेश्वरको काम रोक्न सक्नेछैनन्। पवित्र आत्माको कामले सबथोक निर्धारण गर्दछ, र मानिसहरू पवित्र आत्माको कामविना केही पनि पूरा गर्न सक्दैनन्। यस सम्बन्धमा मानिसहरूमा कस्तो समझ हुनुपर्छ? जब व्यक्तिले पवित्र आत्माले काम गरिरहनुभएको छैन भन्‍ने थाहा पाउँदछ, तब आफ्ना धारणाहरू त्याग्नुपर्छ र ऊ कुनै कुरा अन्धाधुन्ध नगर्न सचेत हुनुपर्छ। बुद्धिमानी निर्णय त परमेश्वरको अभिप्राय खोज्नु र उहाँको समय पर्खनु नै हुन्छ। कतिपय मानिस सधैँ आफ्नो मानव धारणा र कल्पनामा भरोसा राख्छन् र परमेश्वरलाई उछिन्छन्, अनि फलस्वरूप पवित्र आत्माले काम गर्नुहुन्न र तिनीहरूको प्रयत्न व्यर्थ हुन्छ। यद्यपि, मानिसले आफूले गर्नुपर्ने काम गर्नैपर्छ, र आफ्नो कर्तव्य पूरा गर्नैपर्छ। तैँले कुनै गल्ती गर्ने डरले निष्क्रिय भई प्रतीक्षा गर्न मिल्दैन, र “परमेश्वरले अझै त्यो गर्नुभएको छैन, र परमेश्वर मैले के गरेको चाहनुहुन्छ भनेर अहिलेसम्म भन्नुभएको छैन, त्यसैले अहिले म केही गर्दिनँ” भन्नै हुँदैन। के यो तैँले आफ्नो कर्तव्य निर्वाह गर्न नसक्नु होइन र? तैँले त्यसबारे सोचविचार गर्नैपर्छ, किनकि यो सानोतिनो मामला होइन, र एउटा गलत सोचाइले तेरा सम्भावनाहरूमा क्षति पुऱ्याउन वा तँलाई बरबाद गर्न सक्छ।

परमेश्वर आफ्नो व्यवस्थापन योजनामा जे काम गर्नुहुन्छ त्यो समयतालिकाअनुसार, सही समयमा, एकदमै सठिक रूपमा गर्नुहुन्छ, तर “यसो गरेर हुँदैन, त्यसो गरेर हुँदैन, यसले केही हुनेवाला छैन” भन्‍ने मानिसहरूको कल्पनाअनुसार कदापि गर्नुहुन्न! परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, र परमेश्वरका लागि केही पनि कठिन हुँदैन। व्यवस्थाको युगदेखि अनुग्रहको युग हुँदै राज्यको युगसम्म, परमेश्वरको कामको हरेक चरण यो सबै अव्यावहारिक छ भन्ठान्ने मानिसका धारणाविपरीत गरिएको छ। यद्यपि, अन्त्यमा त्यो सबै पूरा हुन्छ, अनि शैतान पूर्णतया अपमानित र असफल हुन्छ, र मानिसहरू लाजले[क] मुख छोप्छन्। मानिसहरू के नै गर्न सक्छन् र? तिनीहरू सत्यता अभ्यास गर्नसमेत सक्दैनन्, तर अझै पनि अहङ्कारी हुन र जे पनि गर्न सक्छु भन्‍ने सोच्न सक्छन्, र तिनीहरूको हृदय अत्यधिक चाहनाहरूले भरिन्छ, र तिनीहरू साँचो गवाही बिलकुलै दिँदैनन्। “परमेश्वरको दिन चाँडै आउँदै छ, त्यसउप्रान्त हामीले कष्ट भोग्नुपर्नेछैन, हाम्रो जीवन राम्रो हुनेछ, र अन्त्य नजिकै छ” भन्‍ने मानिसहरूसमेत हुन्छन्। सुन, त्यस्ता मानिसहरू गम्भीर हुँदैनन् र खेलाँची मात्र गर्छन्, र अन्त्यमा तिनीहरूले दण्ड मात्र पाउनेछन् र केही पनि हासिल गर्नेछैनन्! के परमेश्वरको दिन हेर्न र ठूलो विपत्तिबाट उम्कन परमेश्वरमा विश्वास गर्नाले सत्यता र जीवन प्राप्त गर्न मद्दत पुग्न सक्छ? विपत्तिबाट उम्कन र परमेश्वरको दिन हेर्नका लागि परमेश्वरमा विश्वास गर्ने व्यक्ति नष्ट हुनेछ। तर, सत्यता पछ्याउन र स्वभाव परिवर्तनद्वारा मुक्ति प्राप्त गर्न विश्वास गर्नेहरूचाहिँ बाँच्नेछन्। यिनीहरू परमेश्वरका साँचो विश्वासी हुन्। अलमलमा परेका ती विश्वासीहरूले अन्त्यमा केही पनि हासिल गर्नेछैनन्, व्यर्थमा काम मात्र गर्नेछन् र झन् बढी दण्ड पाउनेछन्। सबै मानिसमा अन्तर्ज्ञानको अत्यन्तै कमी हुन्छ। परमेश्वरमा विश्वास गर्ने तर आफ्ना कार्यलाई वास्ता नगर्ने र सधैँ दुष्ट कुराहरू सोच्नेहरू दुष्कर्मी हुन्, तिनीहरू गैरविश्वासी हुन् र तिनले आफूलाई हानि गर्न मात्र सक्छन्। के विश्वासी र अविश्वासी दुवै परमेश्वरका हातमा हुँदैनन् र? परमेश्वरको हातबाट को उम्कन सक्छ? कोही पनि उम्कन सक्दैन! उम्कनेहरू अन्त्यमा परमेश्वरकहाँ फर्कनैपर्छ र दण्डित हुनैपर्छ। स्पष्टतः मानिसहरूले किन यो प्रस्ट रूपमा देख्न सक्दैनन्?

कतिपय मानिसले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नेभए पनि, तिनीहरूमा परमेश्वरको सर्वशक्तिमानताबारे अलिकति पनि ज्ञान हुँदैन। तिनीहरू निम्न प्रश्नबारे अन्योल भइरहन्छन्: “परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, उहाँसँग अख्तियार छ र उहाँ सबथोकमाथि शासन गर्न सक्नुहुन्छ, तैपनि उहाँले किन शैतान सृष्टि गर्नुभयो, त्यसलाई मानवजातिलाई ६,००० वर्षसम्म भ्रष्ट तुल्याउन र संसारलाई लथालिङ्ग स्थितिमा पुऱ्याउन दिनुभयो? परमेश्वर किन शैतानलाई नष्ट गर्नुहुन्न? शैतानलाई हटाइयो भने मानिसहरूको जीवन राम्रो हुनेथिएन र?” धेरैजसो मानिस यस्तै सोच्छन्। के अब तिमीहरू यो मामला व्याख्या गर्न सक्छौ? यसमा दर्शनसम्बन्धी सत्यता समावेश छ। यस प्रश्नबारे धेरैले विचार गरेका छन्, तर अब तिमीहरूसँग केही जग भएकाले तिमीहरू परमेश्वरलाई शङ्का गर्नेछैनौ। यद्यपि, यससम्बन्धी अन्योल हटाउनैपर्छ। कतिपय मानिस सोध्छन्, “किन परमेश्वरले प्रधानदूतलाई उहाँलाई विश्वासघात गर्न दिनुभयो? के प्रधानदूतले परमेश्वरलाई विश्वासघात गर्न सक्छ भन्‍ने कुरा उहाँलाई थाहा नभएको हुन सक्छ? के परमेश्वरले त्यसलाई नियन्त्रण गर्न सक्नुभएन, के उहाँले त्यसलाई अनुमति दिनुभयो, कि परमेश्वरसित केही उद्देश्य थियो?” मानिसहरूले यो प्रश्न उठाउनु सामान्य कुरा हो, र यस प्रश्नमा परमेश्वरको पूरै व्यवस्थापन योजना समावेश छ भनेर तिनीहरूलाई थाहा हुनुपर्छ। परमेश्वरले प्रधानदूतको बन्दोबस्त गर्नुभयो अनि त्यो प्रधानदूतले परमेश्वरलाई विश्वासघात गर्ने कुरा परमेश्वरले नै अनुमति दिनुभयो र बन्दोबस्त गर्नुभयो—यो निश्चय नै परमेश्वरको व्यवस्थापन योजनाको दायराभित्र पर्छ। प्रधानदूतले परमेश्वरलाई विश्वासघात गरेपछि उहाँले त्यसलाई मानवजातिलाई भ्रष्ट तुल्याउन अनुमति दिनुभयो। परमेश्वरले शैतानलाई नियन्त्रण गर्न नसक्नुभएकाले गर्दा सर्पले मानवजातिलाई प्रलोभनमा पारेको र शैतानले भ्रष्ट तुल्याएको होइन, तर परमेश्वरले शैतानलाई यसो गर्ने अनुमति दिनुभएको हो। उहाँले यो कुरा हुन अनुमति दिनुभएपछि मात्र आफ्नो व्यवस्थापन योजना र मानवजातिलाई मुक्ति दिने आफ्नो काम सुरु गर्नुभयो। के मानिसले यसको रहस्य पत्ता लगाउन सक्छ? शैतानले मानवजातिलाई भ्रष्ट तुल्याइसकेपछि परमेश्वरले मानवजातिलाई व्यवस्थापन गर्ने आफ्नो काम थाल्नुभयो। पहिला, उहाँले इस्राएलमा व्यवस्थाको युगको काम गर्नुभयो। दुई हजार वर्ष बितिसकेपछि, उहाँले अनुग्रहको युगमा क्रूसीकरणको काम गर्नुभयो, र सबै मानवजातिलाई छुट्कारा दिइयो। आखिरी दिनहरूको समयमा, उहाँले आखिरी दिनहरूका मानिसहरूको एक समूहलाई जित्न र मुक्ति दिन उहाँ देहधारण गर्नुभयो। आखिरी दिनहरूमा जन्मिएकाहरू कस्ता खालका मानिस हुन्? तिनीहरू ती मानिसहरू हुन् जसले हजारौँ वर्ष शैतानको भ्रष्टता भोगेका छन्, जो यति गहन रूपमा भ्रष्ट तुल्याइएका छन् कि तिनीहरूमा मानव स्वरूप नै बाँकी छैन। परमेश्वरको वचनको न्याय, सजाय, र खुलासा अनुभव गरेपछि, जितिएपछि, तिनीहरू परमेश्वरका वचनहरूबाट सत्यता हासिल गर्छन् र परमेश्वरद्वारा साँचो रूपमा विश्वस्त पारिन्छन्; तिनीहरूले परमेश्वरबारे बुझाइ प्राप्त गर्छन्, र पूर्णतया परमेश्वरको आज्ञापालन गर्न र उहाँको इच्छा पूरा गर्न सक्छन्। अन्त्यमा, परमेश्वरको व्यवस्थापन योजनामार्फत प्राप्त गरिएका यस समूहका मानिसहरू यस्तै मानिस हुनेछन्। के तिमीहरूलाई शैतानद्वारा भ्रष्ट नतुल्याइएका मानिसहरूले कि शैतानद्वारा भ्रष्ट तुल्याइएर अन्त्यमा मुक्ति प्राप्त गर्नेहरूले परमेश्वरको इच्छा पूरा गर्नेछन् भन्‍ने लाग्छ? पूरै व्यवस्थापन योजना अवधिमा प्राप्त गरिने मानिसहरू नै परमेश्वरको इच्छा बुझ्न सक्ने, परमेश्वरबाट सत्यता हासिल गर्ने, र परमेश्वरले माग गर्ने प्रकारको जीवन र मानव स्वरूप हुने समूह हो। परमेश्वरले सुरुमा मानव सृष्टि गर्नुहुँदा, तिनीहरूमा मानव स्वरूप र मानव जीवन मात्र थियो। तर, तिनीहरूमा परमेश्वरले मानिसहरूबाट माग गर्ने सत्यता थिएन र तिनीहरू परमेश्वरले मानिसहरूमा हुनेछ भनी सधैँ आशा गर्ने स्वरूपअनुसार जिउन सकेनन्। अन्त्यमा प्राप्त गरिने मानिसहरूको समूह नै अन्त्यसम्म रहनेछ, र परमेश्वरले प्राप्त गर्ने तिनीहरू नै हुन्, जोसँग परमेश्वर खुसी हुनुहुन्छ, र जसले उहाँलाई सन्तुष्ट तुल्याउँछन्। व्यवस्थापन कामको केही हजार वर्षको अवधिमा, उहाँले अन्त्यमा मुक्ति दिएका यी मानिसहरूले सबैभन्दा धेरै कुरा हासिल गरेका हुन्छन्; यी मानिसहरूले हासिल गरेको सत्यता खासमा परमेश्वरले शैतानसँग युद्ध गरेर तिनीहरूलाई दिएको मलजल र भरणपोषण हो। यस समूहका मानिसहरू परमेश्वरले सुरुवातमा सृष्टि गरेका मानिसहरूभन्दा राम्रा छन्; तिनीहरू भ्रष्ट तुल्याइए पनि, यो अपरिहार्य थियो, र यो परमेश्वरको व्यवस्थापन योजनाको दायराभित्र पर्ने मामला हो। यसले पूर्णतया उहाँको सर्वशक्तिमानता र बुद्धि, साथै उहाँले बन्दोबस्त, योजना र हासिल गरेका सबथोक सबैभन्दा ठूलो कुरा हो भन्‍ने तथ्य खुलासा गर्दछ। यदि तँलाई पछि फेरि “यदि परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ भने प्रधानदूतले कसरी उहाँलाई विश्वासघात गर्न सक्थ्यो? त्यसपछि परमेश्वरले त्यसलाई पृथ्वीमा झार्नुभयो र मानवजातिलाई भ्रष्ट तुल्याउन दिनुभयो। यसको महत्त्व के छ?” भनी सोधियो भने, तँ यसो भन्न सक्छस्: “यो मामला परमेश्वरको पूर्वनिर्धारणभित्र पर्छ र यो सबैभन्दा महत्त्वपूर्ण छ। मानिसले त्यसलाई पूर्णतया बुझ्न सक्दैन, तर मानिसले बुझ्न र भेट्टाउन सक्ने स्तरबाट भने परमेश्वरले जे गर्नुभयो त्यो निकै अर्थपूर्ण छ भनेर बुझ्न सकिन्छ। यसको मतलब निश्चय नै के होइन भने, परमेश्वर अस्थायी रूपमा चुक्नुहुन्छ, वा उहाँले नियन्त्रण गुमाउनुहुन्छ र उहाँ कामकुरा व्यवस्थापन गर्न सक्नुहुन्न, र त्यसपछि उहाँ शैतानका चालहरूलाई त्यसविरुद्ध लगाउनुहुन्छ, र यसो भन्नुहुन्छ ‘प्रधानदूत विश्वासघातमा संलग्न भएरै छोड्यो, त्यसैले म पनि त्यहीअनुसार चल्न सक्छु, र त्यसले सम्पूर्ण मानवजातिलाई भ्रष्ट तुल्याएपछि म तिनीहरूलाई मुक्ति मात्र दिनेछु।’ वास्तविकता यस्तो हुँदै होइन।” मानिसहरूले कम्तीमा के जान्नुपर्छ भने यो मामला परमेश्वरको व्यवस्थापन योजनाको दायराभित्रै पर्दछ। कस्तो योजना? पहिलो चरणमा, प्रधानदूत थियो; दोस्रो चरणमा, प्रधानदूतले विश्वासघात गऱ्यो; तेस्रो चरणमा, प्रधानदूतले विश्वासघात गरेपछि त्यो मानवजातिलाई भ्रष्ट तुल्याउन तिनीहरूमाझ आयो, र त्यसपछि परमेश्वरले मानवजातिलाई व्यवस्थापन गर्ने आफ्नो काम थाल्नुभयो। मानिसहरूले परमेश्वरमा विश्वास गर्दा, परमेश्वरको व्यवस्थापन योजनाको दर्शन बुझ्नैपर्छ। कतिपयले सत्यताको यो पक्ष कहिल्यै बुझ्दैनन्, र तिनीहरूलाई सधैँ समाधान गर्न नसकिने धेरै विरोधाभास छन् भन्‍ने लाग्छ। नबुझेपछि तिनीहरू आश्वस्त हुँदैनन्, र यदि तिनीहरू आश्वस्त भएनन् भने, तिनीहरूमा अघि बढ्ने ऊर्जा हुँदैन। सत्यताविना कुनै पनि प्रगति गर्न कठिन हुन्छ, त्यसैले सत्यता नखोज्नेहरूलाई कुनै समस्या आइपर्दा निकै कठिन हुन्छ। के यो सङ्गतिले तँलाई बुझ्न मद्दत गऱ्यो? प्रधानदूतको विश्वासघातपछि मात्र परमेश्वरले मानवजातिलाई मुक्ति दिने व्यवस्थापन योजना गर्नुभएको थियो। प्रधानदूतले विश्वासघात गर्न कहिले सुरु गऱ्यो? त्यसको विश्वासघात खुलासा गर्ने केही कुरा अवश्य थिए, प्रधानदूतको विश्वासघातको एउटा प्रक्रिया थियो, त्यो निश्चय नै लेखनमा भनिएजस्तो सरल हुन सक्दैन। यो यहूदाले येशूलाई विश्वासघात गरेजस्तै हो—त्यसमा प्रक्रिया थियो। उसले येशूलाई पछ्याएको केही समयपछि नै उहाँलाई विश्वासघात गरेन। यहूदा सत्यतालाई प्रेम गर्थेन, ऊ पैसाको लोभ गर्थ्यो, र सधैँ चोरी गर्थ्यो। परमेश्वरले उसलाई शैतानको हातमा सुम्पनुभयो, शैतानले उसलाई विचार दियो, र त्यसपछि उसले येशूलाई विश्वासघात गर्न थाल्यो। यहूदा चरणबद्ध रूपमा चरित्रभ्रष्ट भयो र केही विशिष्ट परिस्थितिहरूमा, समय आएपछि उसले येशूलाई विश्वासघात गऱ्यो। मानिसहरू चरित्रभ्रष्ट हुने एउटा नियमित शैली हुन्छ, र त्यो मानिसहरूले कल्पना गरेजस्तो सरल हुँदैन। अहिले, मानिसहरूले परमेश्वरको व्यवस्थापन योजनाका कुराहरू यो हदसम्म मात्र बुझ्न सक्छन्, तर तिनीहरूको कद बढेपछि त्यसको महत्त्व अझ गहन रूपमा बुझ्न सक्नेछन्।

फूटनोटहरू:

क. मूल पाठमा “लाजले” भन्‍ने शब्‍द समावेश छैन।


अंश २०

सबै भ्रष्ट मानिसहरूको प्रकृति शैतानी हुन्छ। तिनीहरू सबैसँग शैतानी स्वभाव हुन्छ र तिनीहरूले परमेश्‍वरलाई जहाँकहीँ जुनसुकै बेला धोका दिन सक्छन्। कतिपय मानिसहरू सोध्छन्, “परमेश्‍वरले मान्छेको सृष्टि गर्नुभयो र तिनीहरू परमेश्‍वरकै हातमा छन्। तिनीहरूलाई परमेश्‍वरलाई धोका दिन दिनुको सट्टा किन परमेश्‍वरले मानिसहरूलाई संरक्षण गर्नुहुन्न? के परमेश्‍वर सर्वशक्तिमान्‌ हुनुहुन्न र?” यो वास्तवमै एउटा सवाल हो। तैँले यसमा के समस्या देख्न सक्छस्? परमेश्‍वरको सर्वशक्तिमान्‌ पक्ष पनि छ र एउटा व्यावहारिक पक्ष पनि छ। शैतानले भ्रष्ट नपारेको भए पनि मानिसहरूले परमेश्‍वरलाई धोका दिन सक्थे। परमेश्‍वरलाई कसरी आराधना गर्ने, शैतानलाई कसरी त्याग्‍ने, कसरी शैतानको सहयोगी नबन्ने बरु परमेश्‍वरको आज्ञापालन गर्ने भन्‍नेबारे मानिसहरूसँग आफ्नो कुनै व्यक्तिपरक इच्छा छैन। परमेश्‍वरसँग सत्यता, जीवन र मार्ग छ, परमेश्‍वर अनुल्लङ्घनीय हुनुहुन्छ…। मानिसहरूसँग आफूभित्र यीमध्ये कुनै पनि कुरा छैन। तिनीहरूले शैतानको प्रकृतिमा भएका ती कुराहरू स्पष्टसँग देख्दैनन् र सत्यता बिलकुलै बुझ्दैनन्, त्यसैले परमेश्‍वरलाई जहाँकहीँ जुनसुकै बेला धोका दिन सक्छन्। यसबाहेक, शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याइसकेपछि, तिनीहरूभित्र शैतानका कुराहरू बस्छन् र परमेश्‍वरलाई धोका दिन तिनीहरूलाई सजिलो हुन्छ। समस्या यही हो। यदि तँ परमेश्‍वरको व्यावहारिक पक्ष मात्र देख्छस् तर सर्वशक्तिमान्‌ पक्ष देख्दैनस् भने, तैँले परमेश्‍वरलाई सजिलै धोका दिन सक्नेछस् र ख्रीष्टलाई साधारण व्यक्ति देख्नेछस्, अनि उहाँले मानवजातिलाई मुक्ति दिन यति धेरै सत्यता प्रदान गर्न सक्नुहुन्छ भन्‍ने तँलाई थाहा हुनेछैन। यदि तैँले परमेश्‍वरको सर्वशक्तिमान्‌ पक्ष मात्र देख्छस् तर व्यावहारिक पक्ष देख्दैनस् भने पनि, परमेश्‍वरको प्रतिरोध गर्न तँलाई सजिलो हुनेछ। यदि तँ कुनै पनि पक्ष देख्दैनस् भने त, तैँले अझ धेरै परमेश्‍वरको प्रतिरोध गर्न सक्नेछस्। तसर्थ, परमेश्‍वरलाई चिन्नु यस संसारकै सबभन्दा कठिन कुरा होइन र? परमेश्‍वरलाई मानिसहरूले जति धेरै चिन्छन्, त्यति नै धेरै तिनीहरूले परमेश्‍वरको अभिप्राय बुझ्छन् र परमेश्‍वरले गर्नुहुने सबै कुराको अर्थ छ भनेर पनि बुझ्छन्। मानिसहरूसँग परमेश्‍वरबारे साँचो ज्ञान भएमा तिनीहरूले त्यस्ता नतिजाहरू हासिल गर्न सक्छन्। परमेश्‍वरको व्यावहारिक पक्ष भए पनि मानिसहरूले परमेश्‍वरलाई पूर्ण रूपमा कहिल्यै चिन्दैनन्। परमेश्‍वर अत्यन्तै महान्‌ र आश्‍चर्यजनक रूपमा अथाह हुनुहुन्छ, तर मानिसहरूको सोच अन्त्यन्तै सीमित हुन्छ। परमेश्‍वरसामु मान्छे सधैँ बच्चा नै हुन्छ भनेर किन भनिएको हो? यसको अर्थ नै यही हो।

जब परमेश्‍वरले बोल्नुहुन्छ वा केही गर्नुहुन्छ, तब मानिसहरूले सधैँ गलत बुझ्छन्, “परमेश्‍वरले त्यस्तो कसरी गर्न सक्नुहुन्छ? परमेश्‍वर सर्वशक्तिमान्‌ हुनुहुन्छ!” मानिसहरूमा सधैँ आफ्नै धारणा हुन्छन्। परमेश्‍वरले सांसारिक कष्ट चाख्ने सम्बन्धमा, कतिपय मानिसहरू सोच्छन्, “के परमेश्‍वर सर्वशक्तिमान्‌ हुनुहुन्‍न र? उहाँले सांसारिक कष्ट चाख्नुपर्छ र? सांसारिक कष्ट कस्तो हुन्छ भन्‍ने परमेश्‍वरलाई थाहा छैन र?” यो परमेश्‍वरको कार्यप्रक्रियाको व्यावहारिक पक्ष हो। अनुग्रहको युगमा, येशू मानवजातिको छुटकाराको लागि क्रुसीकरण हुनुभयो। तर मान्छे परमेश्‍वरलाई बुझ्दैन र परमेश्‍वरबारे सधैँ केही धारणा राख्दै यसो भन्छ, “सबै मानवजातिलाई छुटकारा दिन परमेश्‍वरले शैतानलाई ‘म सर्वशक्तिमान्‌ हुँ। तैँले मानवजातिलाई मबाट टाढा राख्ने साहस गर्छस्? तैँले तिनीहरूलाई मलाई दिनुपर्छ।’ यी थोरै वचनहरूले मात्रै पनि सबै कुरा समाधान गर्न सकिन्थ्यो—के परमेश्‍वरसँग अख्तियारी थिएन र? परमेश्‍वरले त मानवजातिलाई छुटकारा दिइयो र मान्छेका पापहरू क्षमा गरियो भनेर मात्र भन्नुपर्थ्यो, त्यसपछि मान्छे पापरहित भइहाल्थ्यो। के यी कुराहरू परमेश्‍वरको वचनबाटै निर्णय गर्न सकिँदैनथ्यो र? यदि स्वर्ग, पृथ्वी र यावत्‌ थोक परमेश्‍वरबाट निस्केका वचनले अस्तित्वमा आएका थिए भने, अनि कसरी परमेश्‍वरले यो समस्या समाधान गर्न सक्नुभएन? किन परमेश्‍वर स्वयम् क्रुसीकरण हुनुपर्‍यो?” परमेश्‍वरको सर्वशक्तिमान्‌ पक्ष र व्यावहारिक पक्ष दुवैले यहाँ काम गरिरहेका छन्। उहाँको व्यावहारिक पक्षको सम्बन्धमा, देहधारी परमेश्‍वरले आफ्नो साढे तेत्तीस वर्ष पृथ्वीमा रहँदा धेरै कष्ट सहनुभयो र अन्त्यमा क्रुसीकरण हुनुभयो। उहाँले सबभन्दा भयानक कष्ट सहनुभयो। त्यसपछि उहाँ मृत्युबाट पुनर्जीवित हुनुभयो र उहाँको पुनर्जीवनमा परमेश्‍वरको सर्वशक्तिमान्‌ताको पक्षले काम गरेको थियो। परमेश्‍वरले कुनै संकेत गर्ने वा कुनै रगत बगाउने वा पानी बर्साउने काम गर्नुभएन र यो पाप बलि हो भनेर भन्नुभएन। उहाँले त्यस्तो केही पनि गर्नुभएन, बरु आफै मानवजातिलाई छुटकारा दिन व्यक्तिगत तवरमै देह बन्नुभयो र क्रुसमा टाँगिनुभयो, ताकि मानवजातिले यस कार्यबारे थाहा पाउन सकून्। वास्तवमा, यस कार्यको माध्यमबाट परमेश्‍वरले मान्छेलाई मुक्ति दिनुभएको थियो र यो प्रमाण हो भनेर मानवजातिले थाहा पाए। जुनसुकै देहधारणले यो काम गरे पनि वा आत्माले प्रत्यक्ष रूपमा यो काम गरे पनि, यो सबै आवश्यक छ। यसको अर्थ, यसरी कार्य गरेर काम सबभन्दा मूल्यवान र महत्वपूर्ण बन्छ, र यसरी कार्य गरेर मात्रै मानवजातिले त्यसबाट लाभ प्राप्त गर्न सक्छ। यसो हुनुको कारण सम्पूर्ण मानवजाति परमेश्‍वरको व्यवस्थापनको लक्षित वस्तु हो। पहिले भनिएझैँ, यो शैतानविरुद्ध युद्ध छेड्‍न र त्यसलाई अपमानित गर्नको लागि थियो। अनि वास्तवमा, के यो अन्त्यमा मान्छेको लागि राम्रो हुँदैन र? मान्छेको लागि यो स्मरण गर्नुपर्ने कुरा हो र सबभन्दा मूल्यावान्‌ र महत्वपूर्ण कुरा हो, किनभने परमेश्‍वरले बनाउन चाहनुभएको भनेकै त्यस्ता मानिसहरू हुन् जो सङ्कष्टबाट बाहिर आउँदा परमेश्‍वरसम्बन्धी बुझाइसहित बाहिर आएका छन्, जो परमेश्‍वरद्वारा सिद्ध पारिएका छन् र जो शैतानको भ्रष्टीकरण पार गरेर आएका छन्। तसर्थ निश्‍चय नै यो काम यसरी नै गरिनुपर्थ्यो। परमेश्‍वरले आफ्नो हरेक चरणको काममा कुन विधि प्रयोग गर्नुहुन्छ भन्‍ने कुरा मानवजातिको आवश्यकतामा आधारित हुन्छ। परमेश्‍वरको काम निश्‍चय नै हचुवा विधिहरू प्रयोग गरेर गरिँदैन। तर मानिसहरूसँग विकल्प र आफ्नै धारणाहरू छन्। जस्तै, येशूको क्रुसीकरणबारे मानिसहरूले सोच्छन्: “परमेश्‍वरको क्रुसीकरणसँग हाम्रो के लिनुदिनु छ र?” यसमा कुनै सम्बन्ध नरहेको तिनीहरू सोच्छन्, तर मानिसहरूलाई मुक्ति दिनको लागि परमेश्‍वरले क्रुसीकरण हुनुपर्थ्यो। क्रुसीकरण हुनु भनेको त्यो बेलाको सबभन्दा कठोर कष्ट थियो, के आत्मालाई क्रुसीकरण गर्न सकिन्थ्यो त? आत्मालाई क्रुसीकरण गर्न सकिँदैनथ्यो र आत्मा परमेश्‍वरको पूर्वसङ्केत हुन सक्दैनथ्यो। रगत बगाएर मर्ने कुरा त झन् गर्दै नगरे भो। देहधारणलाई मात्र क्रुसीकरण गर्न सकिन्थ्यो, यो पापबलिको प्रमाण थियो। उहाँको देहले पापी शरीरको रूप लियो र मानवजातिको लागि कष्ट सहन गर्‍यो। आत्माले मानवजातिको लागि कष्ट उठाउन सक्दैनथ्यो, न त मानिसहरूको पापको लागि प्रायश्‍चित नै गर्न सक्थ्यो। येशू मानवजातिको लागि क्रुसीकरण हुनुभयो। यो परमेश्‍वरको व्यावहारिक पक्ष हो। परमेश्‍वरले यसो गर्न सक्‍नुहुन्थ्यो र यसरी मानिसहरूलाई प्रेम गर्न सक्नुहुन्थ्यो, तर मान्छेले यसो गर्न सक्दैनथ्यो। यो परमेश्‍वरको सर्वशक्तिमान्‌ पक्ष हो।

परमेश्‍वरले गर्नुहुने सबैथोकमा उहाँको सर्वशक्तिमान्‌ पक्ष र व्यावहारिक पक्ष संलग्न हुन्छ। परमेश्‍वरको सर्वशक्तिमान्‌ता उहाँको सार हो र उहाँको व्यावहारिकता पनि उहाँको सार हो; यी दुई पक्ष अविभाज्य छन्। वास्तविक र व्यावहारिक तरिकाले परमेश्‍वरले कार्य गर्नु भनेको उहाँको व्यावहारिक पक्षले काम गर्नु हो, र उहाँले यसरी काम गर्न सक्नुहुन्छ भन्‍ने कुराले उहाँको सर्वशक्तिमान्‌ पक्षलाई देखाउँछ। तैँले यस्तो भन्न सक्दैनस्, “परमेश्‍वरले वास्तविकतामा काम गर्नुहुने भएकोले, उहाँ व्यावहारिक हुनुहुन्छ, उहाँको व्यावहारिक पक्ष मात्र हुन्छ र सर्वशक्तिमान्‌ पक्ष हुँदैन”; यदि तैँले त्यसो भन्छस् भने, यो एउटा नियम बन्नेछ। यो व्यावहारिक पक्ष हो, तर यसमा सर्वशक्तिमान्‌ पक्ष पनि छ। परमेश्‍वरले गर्नुहुने जुनसुकै कुरामा यी दुवै पक्ष—उहाँको सर्वशक्तिमान्‌ता र उहाँको व्यावहारिकता—रहन्छन् र यो सब उहाँको सारको आधारमा गरिन्छ; यो उहाँको स्वभावको अभिव्यक्ति हुनुका साथै उहाँको सार र उहाँ जे हुनुहुन्छ, त्यसको प्रकटीकरण पनि हो। मानिसहरू सोच्छन्, अनुग्रहको युगमा परमेश्‍वर कृपा र प्रेम हुनुहुन्थ्यो; तर उहाँसँग उहाँको क्रोध र उहाँको न्याय पनि थियो। परमेश्‍वरले फरिसीहरू र सबै यहुदीहरूलाई श्राप दिनु—के यो उहाँको क्रोध र धार्मिकता थिएन र? तैँले अनुग्रहको युगमा परमेश्‍वर कृपा र प्रेम मात्र हुनुहुन्थ्यो, उहाँसँग मूल रूपमा कुनै क्रोध थिएन, कुनै न्याय वा श्राप थिएन भनी भन्न सक्दैनस्—यसो भन्नुले परमेश्‍वरको कामबारे मानिसहरूको बुझाइको कमीलाई देखाउँछ। अनुग्रहको युगको परमेश्‍वरको काम उहाँको स्वभावको अभिव्यक्ति थियो। परमेश्‍वरले गर्नुभएका मान्छेले देख्न सक्‍ने हरेक काम उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ र उहाँ सर्वशक्तिमान्‌ हुनुहुन्छ अनि उहाँ स्वयम् परमेश्‍वरको सार हुनुहुन्छ भनी प्रमाणित गर्नलाई थियो। के परमेश्‍वरको अहिलेको यो चरणको न्याय र सजायको कामको अर्थ उहाँमा कृपा र प्रेम छैन भन्‍ने हो? होइन। यदि तैँले परमेश्‍वरको सारलाई एक वाक्य वा एक भनाइमा सारांश गर्छस् भने, तँ अति अहङ्कारी र आत्मधर्मी, मूर्ख र अज्ञानी छस्, र यसले तँ परमेश्‍वरलाई चिन्दैनस् भन्‍ने देखाउँछ। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरलाई चिन्नेबारे सत्यता हामीलाई बताउनुहोस्, यसलाई स्पष्ट व्याख्या गरिदिनुहोस्।” परमेश्‍वरलाई चिन्ने व्यक्तिले के भन्नुपर्छ? उसले यसो भन्‍नेछ, “परमेश्‍वरलाई चिन्ने विषय निकै गहन छ र म यसलाई केही वाक्यमा स्पष्ट बुझाउन सक्दिनँ। मैले जसरी प्रस्तुत गरे पनि यसलाई बुझ्न सकिने बनाउन सक्दिनँ। तपाईंले सारांशसम्म मात्र बुझ्नुभयो भने पनि त्यो पर्याप्त हुन्छ। कसैले पनि परमेश्‍वरलाई पूर्ण रूपमा चिन्न सक्दैन।” परमेश्‍वरलाई नचिन्ने अहङ्कारी व्यक्तिले यसो भन्‍नेछ, “उहाँ कस्तो प्रकारको परमेश्‍वर हो मलाई थाहा छ, मैले वास्तवमै उहाँलाई बुझेको छु।” यो गफ दिएको होइन र? कसैले यस्तो भन्छ भने ऊ अत्यन्तै अहङ्कारी हो। कतिपय कुराहरू यस्ता पनि हुन्छन्—यदि मानिसहरूले अनुभव गर्दैनन् र केही तथ्यहरू देखेका हुँदैनन् भने—ती कुरालाई तिनीहरूले साँच्चै जान्न वा अनुभव गर्न सक्दैनन्, त्यसैले तिनीहरूलाई परमेश्‍वरको ज्ञान एकदमै अमूर्त छ भन्‍ने लाग्छ। जान्‍न नसक्‍ने मानिसहरूले एकप्रकारको अभिव्यक्ति मात्र सुन्छन्, यसको तर्क बुझ्छन्, तर यसलाई जान्दैनन्। तैँले यसलाई जानेको छैनस् भन्दैमा यो सत्यता होइन भन्‍ने हुँदैन। अनुभव नभएकाहरूलाई यो अमूर्त लाग्छ, तर वास्तवमा यो अमूर्त छैन। यदि कुनै व्यक्तिसँग साँच्चै अनुभव छ भने उसले उचित प्रसङ्गहरूसँग परमेश्‍वरका वचनहरू मिलाउन र तिनलाई प्रयोग गरी अभ्यासमा ल्याउन सक्नेछ। सत्यता बुझ्नु भनेको यही हो। यदि तँ परमेश्‍वरको वचनका वाक्य मात्र सुन्छस्, तर वास्तविक रूपमा तिनलाई बुझेको छैनस् भने, के तँ सत्यता बुझ्न सक्छस्? तैँले ती वचनहरूलाई व्यवहारमा लागू गरेर अनुभव गर्नुपर्छ। सत्यता बुझ्नु त्यति सजिलो कुरा होइन।

अनुग्रहको युगमा परमेश्‍वरले समस्त मानवजातिलाई छुटकारा दिनुभयो। यो परमेश्‍वरको सर्वशक्तिमान्‌ पक्ष हो, र उहाँको सर्वशक्तिमान्‌तामा उहाँका सबै व्यवहारिक काम सामेल हुन्छन्। मानिसहरूलाई जित्ने उहाँको कार्य गरिँदा, सबै मानिसहरू परमेश्‍वरसामु झुक्छन् र सबैले उहाँलाई स्विकार्न सक्छन्। यदि मानिसहरूले परमेश्‍वरको सर्वशक्तिमान्‌ता र व्यावहारिकतालाई छुट्टाछुट्टै मानेर कुरा गर्छन् भने, तिनीहरूले यी दुई पक्षलाई पूर्ण रूपमा बुझ्न सक्दैनन्। परमेश्‍वरलाई चिन्नको लागि तैँले उहाँका सर्वशक्तिमान्‌ता र व्यावहारिकतासम्बन्धी आफ्ना यी दुवै पक्षका ज्ञानलाई जोड्‍नुपर्छ; तब मात्र तैँले नतिजाहरू हासिल गर्न सक्छस्। वास्तविक र व्यवहारिक रूपमा आफ्नो काम गर्नसक्ने र सत्यता व्यक्त गरेर मानवजातिलाई धुन र मानवजातिको भ्रष्टता समाधान गर्नसक्ने परमेश्‍वरको क्षमता, साथै मानिसहरूलाई प्रत्यक्ष अगुवाइ गर्नसक्ने उहाँको क्षमता—यी कुराहरूले परमेश्‍वरको व्यावहारिक पक्षलाई देखाउँछ। परमेश्‍वरले आफ्नै स्वाभाव र उहाँ जे हुनुहुन्छ, त्यो व्यक्त गर्नुहुन्छ, र मानवले गर्न नसक्ने काम उहाँले गर्न सक्नुहुन्छ; यसमा परमेश्‍वरको सर्वशक्तिमान्‌ पक्ष देख्न सकिन्छ। परमेश्‍वरसँग उहाँले जे भन्नुहुन्छ त्यसलाई अस्तित्वमा ल्याउन, उहाँको आज्ञालाई दृढ बनाउन र उहाँले जे भन्नुहुन्छ त्यसलाई पूरा गराउने अख्तियारी हुन्छ। परमेश्‍वरले बोल्दा उहाँको सर्वशक्तिमान्‌ता प्रकट हुन्छ। परमेश्‍वरले सबथोकमाथि शासन गर्नुहुन्छ, बुद्धिमानीपूर्वक शैतानलाई उहाँको सेवामा लगाउनुहुन्छ, अनि मानिसहरूको जाँच र शोधन गर्न र तिनीहरूको स्वभाव शुद्ध बनाउन र रूपान्तरित गर्न वातावरणहरू मिलाउनुहुन्छ—यी सबै परमेश्‍वरको सर्वशक्तिमान्‌ पक्षको प्रकटीकरण हुन्। परमेश्‍वरको सार सर्वशक्तिमान्‌ र व्यावहारिक दुवै हुन् र यी दुई पक्ष एकअर्काका पूरक हुन्। परमेश्‍वरले गर्नुहुने हरेक कार्य उहाँको स्वभावको अभिव्यक्ति हो र उहाँ जे हुनुहुन्छ, त्यसको प्रकटीकरण हो। उहाँ जे हुनुहुन्छ, त्यसभित्र उहाँको सर्वशक्तिमान्‌ता, उहाँको धार्मिकता र उहाँको प्रताप पर्छ। सुरुदेखि अन्त्यसम्मको परमेश्‍वरको काम उहाँको सारको प्रकटीकरण हो र उहाँ जे हुनुहुन्छ, त्यसको अभिव्यक्ति हो। उहाँको सारका दुई पक्ष छन्: एउटा उहाँको सर्वशक्तिमान्‌ पक्ष हो, र अर्को उहाँको व्यावहारिकताको पक्ष हो। तैँले परमेश्‍वरको जुनै चरण हेरे पनि त्यहाँ दुईवटा पक्ष हुन्छन् र परमेश्‍वरले गर्नुहुने सबै कुरामा यी दुई पक्ष रहेका हुन्छन्। यो परमेश्‍वरलाई बुझ्‍ने एउटा मार्ग हो।

अंश २१

चाहे परमेश्वरले आफ्नो काम आफ्नो देहधारणमार्फत गर्नुहुने होस् वा आफ्नो आत्मामार्फत, यो सबै उहाँको व्यवस्थापन योजनाअनुसार गरिन्छ। यो काम कुनै प्रत्यक्ष वा परोक्ष विधिअनुसार, वा मानव आवश्यकताअनुसार गरिँदैन, यो त पूर्णतया उहाँको व्यवस्थापन योजनाअनुसार गरिन्छ। आखिरी दिनहरूको काम परमेश्वरले चाहेअनुसारका कुनै पनि तरिकाले गर्न सकिन्छ भन्‍ने होइन। यस चरणका कामहरू उहाँको कामका अघिल्ला दुई चरणहरूमा आधारित भएर गरिन्छ। अनुग्रहको युगको काम, अर्थात् उहाँको कामको दोस्रो चरणले मानवजातिलाई छुटकारा पाउन सक्षम तुल्यायो, र यो काम देहधारणद्वारा गरिएको थियो। परमेश्वरको कामको वर्तमान चरण निर्वाह गर्नु आत्माको लागि असम्भव कुरा होइन, उहाँ यो काम गर्न सक्षम हुनुहुन्छ, तर यो काम देहधारणद्वारा गरिनु बढी उचित हुन्छ, यसले मानिसहरूलाई अझ प्रभावकारी रूपमा मुक्ति दिन सक्छ। आखिरमा, मानिसहरूलाई विजय गर्ने सवालमा पवित्र आत्माका प्रत्यक्ष वाणीहरूभन्दा पनि देहधारणका वाणीहरू उपयुक्त हुन्छन्, र मानिसहरूले परमेश्वरको ज्ञान हासिल गर्ने कार्यमा तिनले अझ राम्रो सहजीकरण गर्छन्। जब आत्मा काम गर्नुहुन्छ, उहाँ सधैँ मानिसहरूका साथ रहन सक्नुहुन्न, देहधारणले अहिले गर्नुभएझैँ प्रत्यक्ष रूपले मानिसहरूका साथ रहने र उनीहरूसँग आमने-सामने कुरा गर्ने काम आत्माले गर्न सम्भव छैन, र त्यस्ता समयहरू पनि आउँछन् जब आत्माका लागि मानिसहरूभित्र रहेका कुराहरू खुलासा गर्न सम्भव हुँदैन, जुन देहधारणले गर्न सक्नुहुन्छ। यस चरणमा देहधारणको मुख्य काम भनेको मानिसहरूलाई विजय गर्नु, र विजय गरिसकेपछि तिनीहरूलाई सिद्ध तुल्याउनु हो, ताकि तिनीहरूले परमेश्वरलाई चिनून् र उहाँको आराधना गर्न सकून्। यो युगको अन्त्य गर्ने काम हो। यदि यो चरण मानिसहरूलाई विजय गर्ने कामसँग सम्बन्धित नभई तिनीहरूलाई परमेश्वर साँच्चै नै हुनुहुन्छ भनेर जानकारी दिने कामसँग मात्रै सम्बन्धित हुन्थ्यो भने, आत्माले त्यो काम गर्न सक्नुहुन्थ्यो। तिमीहरू सोच्न सक्छौ कि यदि यस चरणको काम आत्माले गर्नुभएको भए उहाँले देहधारणलाई प्रतिस्थापन गर्न र देहधारणले गर्नुभएकै काम गर्न सक्नुहुन्थ्यो, र परमेश्वर सर्वशक्तिमान् हुनुभएकोले देहधारण वा आत्मा, जसले काम गरेको भएपनि उही नजिता हासिल गर्न सकिनेथ्यो। तर, तिमीहरू गलत हुनेथ्यौ। परमेश्वर उहाँको व्यवस्थापन, र मान्छेलाई मुक्ति दिने उहाँको योजना र उपायअनुसार काम गर्नुहुन्छ। यो तैँले आत्मा सर्वशक्तिमान् हुनुहुन्छ, देहधारण सर्वशक्तिमान् हुनहुन्छ, र स्वयम् परमेश्वर पनि सर्वशक्तिमान् हुनुहुन्छ, त्यसैले उहाँ आफूले जे चाहनुहुन्छ त्यही गर्न सक्नुहुन्छ भनेर सोचेजस्तो होइन। परमेश्वर उहाँको व्यवस्थापन योजनाअनुसार काम गर्नुहुन्छ, र उहाँको कामका प्रत्येक चरणभित्रै निश्चित कदमहरू हुन्छन्। यो चरण कसरी पूरा गरिनुपर्छ, र यसमा कस्ता कुराहरू समावेश गरिनुपर्छ भन्‍ने कुराको पनि योजना बनाइएको हुन्छ। परमेश्वरको कामको पहिलो चरण इस्राएलमा गरिएको थियो, र यो अन्तिम चरण ठूलो रातो अजिङ्गरको देश चीनमा गरिँदै छ। केही मानिसहरू भन्‍ने गर्छन्, “के परमेश्वर अरू कुनै देशमा यो काम गर्न सक्नुहुन्न?” यस चरणको व्यवस्थापन योजनाअनुसार यो काम चीनमै गरिनुपर्छ। चीनका मानिसहरू पिछडिएका छन्, तिनीहरूको जीवन पतित छ, र त्यहाँ कुनै मानव अधिकार वा स्वतन्त्रता छैन। यो त्यस्तो देश हो, जहाँ शैतान र दुष्ट राक्षसहरू सत्तासीन छन्। चीनमा देखापर्नु र काम गर्नुको उद्देश्य संसारको सबैभन्दा अँध्यारो भागमा जिइरहेका र शैतानद्वारा गहिरो रूपमा भ्रष्ट पारिएका मानिसहरूलाई मुक्ति दिनु हो। शैतानलाई साँच्चिकै हराउने र पूर्ण महिमा प्राप्त गर्ने एकमात्र उपाय यही हो। यदि परमेश्वरले अन्य कुनै देशमा देखा परेर काम गर्नुहुने हो भने, त्यो त्यति नै महत्त्वपूर्ण हुनेथिएन। परमेश्वरको कामको हरेक चरण जरूरी छ, र परमेश्वरले ती काम जसरी गरिनुपर्ने हो, त्यसरी नै गर्नुहुन्छ। केही कुराहरू देहधारणको कामद्वारा प्राप्त गर्न सकिन्छ र केही कुराहरू आत्माको कामद्वारा प्राप्त गर्न सकिन्छ। देहधारण वा आत्मामध्ये सबैभन्दा उत्तम नतिजा जुन तरिकाबाट प्राप्त गर्न सकिन्छ, त्यसैमार्फत परमेश्वरले काम गर्न रोज्नुहुन्छ। यो जुनसुकै तरिकाले काम गर्दा पनि फरक पर्दैन, परमेश्वर यत्तिकै मानव स्वरूप धारण गरेर काम गर्न सक्नुहुन्छ, र आत्माले पनि कुनै मानिसको आमने-सामने नभई त्यो काम गर्न सक्नुहुन्छ, र यी दुवै तरिकाले निश्चित नतिजाहरू दिलाउन सक्छन् भनी तिमीहरूले सुझाएजस्तो हुँदैन। तिमीहरूले यसलाई गलत रूपमा अर्थ्याउनु हुँदैन। परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, तर उहाँको व्यावहारिक पक्ष पनि छ, र मानिसहरू यसलाई देख्न सक्दैनन्। मानिसहरू परमेश्वरलाई निकै अलौकिक मान्छन्, र तिनीहरू उहाँलाई बुझ्न सक्दैनन्, त्यसैले तिनीहरू उहाँबारे धारणा र विभिन्न प्रकारका अवास्तविक विचारहरू बनाउँछन्। परमेश्वरका वचन र कार्य सत्यता हुन्, ती व्यावहारिक छन्, ती सबैभन्दा वास्तविक कुराहरू हुन्, र मानिसले तिनलाई छुन र देख्न सक्छन् भनेर थोरै मानिसहरूले मात्र बुझ्छन्। यदि मानिसहरूसँग वास्तवमै सामर्थ्य र बुझ्ने क्षमता छ भने, परमेश्वरका वर्षौँका काम अनुभव गरिसकेपछि तिनीहरूले परमेश्वरले व्यक्त गर्नुहुने सबै वचनहरू सत्यता वास्तविकताहरू हुन्, उहाँले गर्नुहुने सबै काम र कुराहरूमा सत्यता र सिद्धान्तहरू छन्, र उहाँले गर्नुहुने सबै कामको ठूलो महत्त्व छ भनी जान्न सक्नुपर्ने हो। परमेश्वरले गर्नुहुने जुनसुकै कामको पनि अर्थ छ, आवश्यकता छ, र त्यसले सबैभन्दा उत्तम नतिजाहरू हासिल गर्न सक्छ। यो सबैको निश्चित उद्देश्य, योजना र महत्त्व छ। के तँलाई परमेश्वरको काम अनाहकमा बोलिएका वचनहरूमा आधारित भएर गरिन्छ जस्तो लाग्छ? उहाँको सर्वशक्तिमान् पाटो छ, तर उहाँको व्यावहारिक पाटो पनि छ। तिमीहरूको ज्ञान एकपक्षीय छ। परमेश्वरको सर्वशक्तिमान् पाटोबारे तिमीहरूको बुझाइमा त्रुटिहरू छन्, र भनिरहनै पर्दैन कि उहाँको व्यावहारिक पाटोबारे तिमीहरूको बुझाइमा अझ ठूला त्रुटिहरू छन्।

परमेश्वरको कामका तीन चरणहरूमध्ये पहिलो चरणको काम आत्माले गर्नहुन्छ भने अन्तिम दुई चरणका काम देहधारणले गर्नुहुन्छ, र उहाँको कामका हरेक चरण महत्त्वपूर्ण छन्। उदाहरणको लागि, क्रुसीकरणलाई लिऔँ, यदि आत्मालाई क्रुसमा टाँगिएको भए त्यसको कुनै अर्थ हुनेथिएन, किनभने मानिसहरूले आत्मालाई देख्न वा छुन सक्दैनन्, र आत्माले केही पनि महसुस गर्न वा कष्ट भोग्न सक्नुहुन्न। फलस्वरूप, यो क्रुसीकरणको कुनै अर्थ हुनेथिएन। आखिरी दिनहरूमा हुने चरण भनेको मानिसलाई विजय गर्ने चरण हो, जुन देहधारणले गर्नसक्नुहुने काम हो—यस काममा आत्माले देहधारणको ठाउँ लिन सक्नुहुन्न, र आत्माले गर्नुहुने काम देहधारणले गर्न सक्नुहुन्न। जब परमेश्वरले आफ्नो कार्यको कुनै पनि चरण पूरा गर्नका लागि देहधारण वा आत्मालाई चुन्नुहुन्छ, त्यो एकदमै जरूरी चयन हुन्छ, र त्यो सबै सबैभन्दा उत्तम नतिजा प्राप्त गर्न र उहाँको व्यवस्थापन योजनाका उद्देश्यहरू हासिल गर्नको लागि गरिन्छ। परमेश्वरको एउटा सर्वशक्तिमान् पाटो र एउटा व्यावहारिक पाटो छ। आफ्नो कामको हरेक चरणमा उहाँ व्यावहारिक तरिकाले काम गर्नुहुन्छ। मानिसहरू परमेश्वर बोल्नुहुन्न वा सोच्नुहुन्न, र उहाँ आफूले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ भन्‍ने कल्पना गर्छन्, तर त्यस्तो हुँदैन। उहाँसँग बुद्धि छ, उहाँसँग उहाँ जेजति हो त्यो सबै छ, र उहाँको सार यही हो। जब उहाँ काम गर्नुहुन्छ, उहाँले आफ्नो स्वभाव, आफ्नो सार, आफ्नो बुद्धि, र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, ती सबै कुरा खुलासा र व्यक्त गर्नुपर्छ, ताकि मानिसले यी सब कुरा बुझ्न, जान्न र प्राप्त गर्न सकून्। उहाँ शून्यतामा आधारित भएर काम गर्नुहुन्न, र मानिसहरूका कल्पनामा आधारित भएर त झनै गर्नुहुन्न, उहाँ कामको आवश्यकता र प्राप्त गरिनुपर्ने नतिजाहरूअनुसार कार्य गर्नुहुन्छ। उहाँ व्यावहारिक रूपमा बोल्नुहुन्छ, उहाँ दिनानुदिन काम गर्नुहुन्छ र सास्ती बेहोर्नुहुन्छ, र जब उहाँ सास्ती बेह्रोर्नुहुन्छ, उहाँ पीडा महसुस गर्नुहुन्छ। देहधारण काम गरिरहनुभएको र बोलिरहनुभएको बेला आत्मा त्यहीँ उपस्थित हुनुहुन्छ, र देहधारणले काम नगर्नुभएको वा नबोल्नुभएको बेला आत्मा त्यहाँबाट जानुहुन्छ भन्‍ने होइन। यसो हुनेभए उहाँले सास्ती बेहोर्नुहुने थिएन, र त्यो देहधारण पनि हुनेथिएन। मानिसहरू परमेश्वरको व्यावहारिक पाटो देख्न सक्दैनन्, त्यसैले तिनीहरू परमेश्वरलाई राम्रोसँग जान्दैनन्, र उहाँबारे तिनीहरूको बुझाइ सतही हुन्छ। मानिसहरू भन्‍ने गर्छन् कि परमेश्वर व्यावहारिक र सामान्य हुनुहुन्छ, वा परमेश्वर सर्वशक्तिमान् र सर्वशक्तिशाली हुनुहुन्छ—यी सबै वचनहरू तिनीहरूले अरूबाट सिकेका हुन्, किनभने तिनीहरूसँग साँचो ज्ञान वा वास्तविक अनुभव छैन। जब देहधारणको कुरा आउँछ, देहधारणको सारमा किन त्यति धेरै जोड दिइन्छ? आत्मामा किन दिइँदैन? ध्यान देहधारणको काममा केन्द्रित छ, र आत्माको काम भनेको सहायता र मद्दत गर्नु हो, र यसले देहधारणको कामका नतिजाहरू हासिल गर्छ। हरेक चरणमा मानिसहरूले परमेश्वरबारे थोरै जान्न सक्छन्, तर जब तिनीहरू उहाँबारे अझ धेरै जान्न चाहन्छन्, तिनीहरू छलाङ मार्न वा त्यसलाई प्राप्त गर्न सक्दैनन्; जब परमेश्वर थोरै बोल्नुहुन्छ, मानिसहरूले पनि थोरै बुझ्छन्, तर उहाँबारे तिनीहरूको बुझाइ अझै पनि खासै स्पष्ट हुँदैन, र तिनीहरू त्यसको मूलभूत कुरालाई सजिलैसँग बुझ्न सक्दैनन्। यदि तिमीहरू देहधारणले गर्न सक्नुहुने जे कुरा पनि आत्माले गर्न सक्नुहुन्छ, र आत्माले देहधारी परमेश्वरको ठाउँ लिन सक्नुहुन्छ भन्ठान्छौ भने, तिमीहरूले देहधारणको महत्त्व, देहधारणको काम र देहधारण के हो भनी कहिल्यै बुझ्नेछैनौ।

अंश २२

वचन देहमा देखा पर्नुहुन्छ भन्ने पुस्तकका विषयवस्तु निकै बृहत् छन्, त्यसमा सत्यताका विविध पक्ष, साथै केही अगमवाणी समावेश छन् जसले आउने युगको अवस्थाबारे भविष्यवाणी गर्छन्। वास्तवमा, ती अगमवाणीहरू अत्यन्तै साधारण छन्, किनभने यो पुस्तकमा समावेश अधिकांश वचनले जीवन प्रवेशबारे बताउँछन्, मानव प्रकृति खुलासा गर्छन्, अनि परमेश्वर र उहाँको स्वभाव कसरी चिन्ने भनेर कुरा गर्छन्। अनि कुन युग आउनेछ, कतिवटा युग आउछन्, मानवजाति कस्ता परिस्थितिमा प्रवेश गर्नेछन् भन्ने सन्दर्भमा चाहिँ, के यो पुस्तककमा कुनै विशिष्ट खाका, विशिष्ट सन्दर्भ वा विशिष्ट कालसमेत छैन? यसो भन्नुको अर्थ मानिसहरू आउने युगहरूबारे चिन्तित हुनुपर्दैन, त्यो समय अझै आइसकेको छैन र अझै धेरै टाढा छ भन्ने हो। मैले तिमीहरूलाई यी कुराहरूबारे भन्नुपऱ्यो भने पनि, तिमीहरूले बुझ्नेछैनौ, र साथै मानिसहरूले अहिले नै यी कुराहरू बुझ्न आवश्यक छैन। ती कुराहरू मानिसहरूको जीवन स्वभाव परिवर्तनसँग त्यति सम्बन्धित छैनन्। तिमीहरूले बुझ्नुपर्ने कुरा त मानव प्रकृति खुलासा गर्ने वचनहरू मात्र हुन्। त्यो पर्याप्त हुन्छ। विगतमा, सहस्राब्दी राज्य, परमेश्वर र मानिसको सँगै विश्राममा प्रवेशजस्ता केही अगमवाणी, र साथै वचनको युगबारे पनि अगमवाणी गरिएको थियो। अगमवाणीका वचनहरू सबै चाँडै आउने समयबारे हुन्; उल्लेख नगरिएका कुराहरू एकदमै टाढाका हुन्। तिमीहरूले टाढाका कुराहरू अध्ययन गर्नु पर्दैन; तिमीहरूले जान्नु नपर्ने कुराहरू तिमीहरूलाई बताइनेछैन; तिमीहरूले जान्नुपर्ने कुरा भनेको परमेश्वरबाट आउने सम्पूर्ण सत्यता हो—उदाहरणका लागि, परमेश्वरले मानिसप्रति व्यक्त गर्ने स्वभाव, परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ जुन परमेश्वरका वचनद्वारा प्रकट हुन्छ, अनि न्याय र सजायद्वारा मानिसको प्रकृतिको खुलासा, साथै परमेश्वरले मानिसहरूलाई जीवनमा दिने मार्गनिर्देशन—किनभने परमेश्वरले मानिसहरूलाई मुक्ति दिने काम यी नै कुराहरूमा निहित हुन्छ।

परमेश्वरले मानवजातिलाई व्यवस्थापन गर्ने काम गर्नहुँदा यी वचन भन्नुको उद्देश्य मुख्यत: मानिसहरूलाई विजय गर्नु र मुक्ति दिनु, अनि मानिसहरूको स्वभाव परिवर्तन गर्नु हो। वर्तमान वचनको युग वास्तविक युग हो, सत्यताले मानिसलाई विजय गर्ने र मुक्ति दिने युग हो; पछि अझै धेरै वचन आउनेछन्—अझसम्म नभनिएका धेरै छन्। कतिपय मानिस हालका यी वचनहरू नै परमेश्वरका सम्पूर्ण अभिव्यक्ति हुन् भन्ठान्छन्—यो अत्यन्तै गलत व्याख्या हो, किनभने वचनको युगको काम चीनमा भर्खरै सुरु भएको छ, तर परमेश्वरले भविष्यमा सार्वजनिक रूपमा देखा परेर काम गर्नुभएपछि, अझ बढी वचनहरू आउनेछन्। वचनको युगको काममा, राज्यको युग कस्तो हुनेछ, मानवजाति कस्तो गन्तव्यमा प्रवेश गर्नेछन्, त्यो गन्तव्यमा प्रवेश गरेपछि के हुनेछ, त्यसपछि मानवजातिको जीवन कस्तो हुनेछ, मानव नैसर्गिक क्षमता कुन स्तरमा पुग्नेछ, कस्तो अगुवाइ र भरणपोषणको आवश्यकता हुनेछ आदि इत्यादि यी सबै समावेश छन्। परमेश्वरको पूर्ण संलग्नता, तैँले कल्पना गरेझैँ, वचन देहमा देखा पर्नुहुन्छ भन्ने पुस्तकमा मात्र छैन। के परमेश्वरको स्वभावको अभिव्यक्ति र उहाँको काम तैँले कल्पना गरेझैँ सामान्य हुन सक्छ? परमेश्वरको पूर्ण संलग्नता, सर्वव्यापकता, सर्वशक्तिमानता, र सर्वोच्चता खोक्रा शब्द होइनन्—यदि तँ वचन देहमा देखा पर्नुहुन्छ भन्ने पुस्तकले परमेश्वरको सम्पूर्ण कुरालाई प्रतिनिधित्व गर्छ, र यी वचनले परमेश्वरका सबै व्यवस्थापनलाई समापन गर्छन् भनेर भन्छस् भने, तैँले परमेश्वरलाई एकदमै सङ्कुचित रूपमा हेरेको हुन्छस्; के यो परमेश्वरलाई फेरि पनि परिभाषित गर्नु होइन र? तैँले यी वचन पूर्ण संलग्न परमेश्वरको अत्यन्तै सानो भाग मात्र हुन् भनेर जान्नैपर्छ। सम्पूर्ण धार्मिक समूहहरूले परमेश्वरलाई बाइबलभित्र परिभाषित गरेका छन्। अनि के आज तिमीहरूले पनि उहाँलाई परिभाषित गरिरहेका छैनौ र? के तिमीहरूलाई परमेश्वरलाई परिभाषित गर्नु भनेको उहाँलाई निचो देखाउनु हो भन्ने थाहा छैन? के यो परमेश्वरलाई दोषी ठहराउनु र निन्दा गर्नु हो भन्ने थाहा छैन? अहिले, धेरै मानिस यस्तो सोच्छन्, “परमेश्वरले आखिरी दिनहरूमा भनेका सबै कुरा वचन देहमा देखा पर्नुहुन्छ भन्ने पुस्तकमा छन्, परमेश्वरका थप वचनहरू छैनन्; परमेश्वरले भनेका कुरा त्यति नै हुन्,” होइन र? यस्तो सोच्नु ठूलो भुल हो! वचन देहमा देखा पर्नुहुन्छ भन्ने पुस्तकका वचनहरू त परमेश्वरका आखिरी दिनहरूको कामका सुरुवाती वचन, यो कामका वचनका एउटा अंश मात्र हुन्, यी वचनहरू मूलत: दर्शनका सत्यताहरूसँग सम्बन्धित छन्। पछि, अभ्यासका थुप्रै वृत्तान्तबारे पनि वचनहरू बोलिनेछ। त्यसैले, वचन देहमा देखा पर्नुहुन्छ भन्ने पुस्तक सार्वजनिक हुनुले परमेश्वरको काम एउटा चरणको अन्त्यमा पुगेको छ भन्ने अर्थ दिँदैन, झन् परमेश्वरका आखिरी दिनहरूको न्यायको काम अन्तिम निष्कर्षमा पुग्नु त परको कुरा हो। परमेश्वरले अझै पनि धेरै वचनहरू व्यक्त गर्नुहुनेछ, र यी वचनहरू व्यक्त गरिसकिएपछि पनि, कुनै व्यक्तिले परमेश्वरका सबै व्यवस्थापन कार्य समाप्त भएको छ भन्न मिल्दैन। जब सम्पूर्ण ब्रह्माण्डको काम समाप्त हुन्छ, तब मात्र व्यक्तिले छ हजार वर्षे व्यवस्थापन योजना सकिएको छ भन्न मिल्छ; तर त्यो बेला, के ब्रह्माण्डमा अझै पनि मानिसहरू अस्तित्वमा हुनेछन् र? जीवन वा मानवजाति रहेसम्म, परमेश्वरको व्यवस्थापन पनि जारी रहनैपर्छ। जब छ हजार वर्षे व्यवस्थापन योजना पूरा हुन्छ, यदि मानवजाति, जीवन र यो ब्रह्माण्ड रहन्छ भने, परमेश्वरले अझै पनि यी सब व्यवस्थापन गरिरहनु हुनेछ, तर त्यसलाई उप्रान्त छ हजार वर्षे व्यवस्थापन योजना भनिनेछैन। अहिले यसलाई परमेश्वरको व्यवस्थापन भनिन्छ। सायद भविष्यमा यसलाई अर्कै नाम दिइनेछ; त्यो मानवजाति र परमेश्वरका लागि अर्कै जीवन हुनेछ; त्यतिबेला पनि परमेश्वरले आजकै वचनहरू प्रयोग गरी मानिसहरूलाई अगुवाइ गर्नुहुनेछ भनेर भन्न मिल्दैन, किनकि यी वचन अहिलेको समयावधिका लागि मात्र उपयुक्त छन्। त्यसैले, परमेश्वरको कामलाई कहिल्यै परिभाषित नगर्। केही मानिस भन्छन्, “परमेश्वर मानिसहरूलाई यी वचनहरू मात्र दिनुहुन्छ, अरू केही दिनुहुन्न; उहाँ यी वचन मात्र भन्न सक्नुहुन्छ।” यो पनि त परमेश्वरलाई एउटा निश्चित दायराभित्र सीमित पार्नु हो। यो, अहिले राज्यको युगमा येशूको युगमा बोलिएका वचनहरू लागू गर्नुजस्तै हो—के त्यो उचित हुन्छ? कतिपय वचन लागु हुनेछन्, कतिपय हटाइनुपर्ने हुन्छ, त्यसैले तैँले परमेश्वरका वचनहरूलाई कहिल्यै हटाउन सकिँदैन भनेर भन्न मिल्दैन। के मानिसहरू कामकुरालाई सजिलै परिभाषित गर्छन्? केही क्षेत्रमा, तिनीहरू परमेश्वरलाई परिभाषित गर्छै गर्छन्। आज मानिसहरूले बाइबल पढेझैँ, सायद कुनै दिन तैँले वचन देहमा देखा पर्नुहुन्छ भन्ने पुस्तक पढ्नेछस्, र परमेश्वरको पाइला पछ्याउनेछैनस्। वचन देहमा देखा पर्नुहुन्छ भन्ने पुस्तक पढ्ने सही समय अहिले नै हो; कति वर्षपछि यो पुस्तक पढ्नु पुरानो भित्तेपात्रो पढ्नुजस्तै हुनेछ भन्ने कुरा निश्चित छैन, किनभने त्यो समयमा पुरानो कुराको ठाउँमा कुनै नयाँ कुरा आउनेछ। मानिसका आवश्यकताहरू परमेश्वरको कामअनुसार पैदा र विकास हुन्छ। त्यो बेला, मानव प्रकृति, र मानिसमा हुनुपर्ने नैसर्गिक क्षमता र गुणहरू अलि परिवर्तित भइसकेका हुनेछन्; यो संसार परिवर्तन भएपछि, मानवजातिका आवश्यकताहरू फरक हुनेछन्। कतिपय सोध्छन्: “के पछि परमेश्वर बोल्नुहुनेछ?” कतिपयले “परमेश्वर बोल्न सक्नुहुनेछैन, किनभने वचनको युगको काम सकिएपछि, अरू केही बोल्नै मिल्दैन, र अरू कुनै पनि वचनहरू झुटो हुनेछन्” भन्ने निष्कर्ष निकाल्नेछन्। के यो पनि गलत होइन? मानवजातिले परमेश्वरलाई परिभाषित गर्ने गल्ती सजिलै गर्छन्; मानिसहरू विगतमा टाँसिरहने र परमेश्वरलाई परिभाषित गर्ने झुकाव राख्छन्। तिनीहरू उहाँलाई प्रस्टसँग चिन्दैनन्, तर अझै पनि मनपरी उहाँको कामलाई परिभाषित गर्छन्। मानिसहरूमा यस्तो अहङ्कारी प्रकृति हुन्छ! तिनीहरू जहिले पनि विगतका पुराना धारणाहरूमा अडिरहने र बितेका दिनका कुराहरू आफ्नो हृदयमा राख्ने चाहना गर्छन्। तिनीहरू त्यसलाई आफ्नो पूँजीको रूपमा प्रयोग गर्छन्, अहङ्कारी र घमण्डी बन्छन्, आफूले सबै कुरा बुझेको सोच्छन्, र परमेश्वरको कामलाई परिभाषित गर्ने दुस्साहस गर्छन्। यसो गर्दा, के तिनीहरूले परमेश्वरको आलोचना गरिरहेका हुँदैनन् र? त्यसबाहेक, मानिसहरू परमेश्वरको नयाँ कामलाई कुनै चासो दिँदैनन्; यसले तिनीहरूलाई नयाँ कुरा स्वीकार गर्न कठिन हुन्छ भन्ने देखाउँछ, तैपनि तिनीहरू अन्धाधुन्ध परमेश्वरको कामलाई परिभाषित गर्छन्। मानिसहरू यति अहङ्कारी छन् कि तिनीहरूमा समझ नै छैन, तिनीहरू कसैको कुरा सुन्दैनन्, र परमेश्वरकोका वचनसमेत स्विकार्दैनन्। मानिसको प्रकृति नै यस्तो छ: पूर्णत: अहङ्कारी, आत्मधर्मी, र अलिकति पनि आज्ञापालन नगर्ने। जब फरिसीहरूले येशूलाई दोषी ठहराए, तिनीहरू यस्तै थिए। तिनीहरू यस्तो सोच्थे “तपाईं सही भए पनि, म तपाईंलाई पछ्याउनेछैनँ—यहोवा मात्र साँचो परमेश्वर हुनुहुन्छ।” आज, कतिपय यसो भन्छन्: “के उहाँ ख्रीष्ट हुनुहुन्छ र? उहाँ साँच्चै ख्रीष्ट हुनुभए पनि म उहाँलाई पछ्याउँदिनँ!” के यस्ता मानिसहरू छन्? धर्मका धेरै मानिस यस्तै छन्। यसले मानिसको स्वभाव अति भ्रष्ट छ, मानिसहरू मुक्ति पाउन योग्य छैनन् भन्ने कुरा देखाउँछ।

युगौँदेखिका सन्तहरूमध्ये मोशा र पत्रुसले मात्रै परमेश्वरलाई साँच्चै चिनेका थिए, र परमेश्वरबाट प्रशंसा पाएका थिए; तर, के तिनीहरूले परमेश्वरलाई बुझ्न सके? तिनीहरूले जे बुझे, त्यो पनि एकदम सीमित छ। तिनीहरू आफैले म परमेश्वरलाई चिन्छु भन्ने आँट गरेनन्। परमेश्वरलाई साँच्चै चिन्नेहरूले उहाँलाई परिभाषित गर्दैनन्, किनभने तिनीहरूलाई परमेश्वर असीमित र अमाप्य हुनुहुन्छ भनेर थाहा छ। परमेश्वरलाई नचिन्नेहरू नै उहाँलाई अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, त्यसलाई परिभाषित गर्ने झुकाव राख्छन्। तिनीहरू परमेश्वरबारे कल्पनामा चुर्लुम्मै डुबेका हुन्छन्, परमेश्वरले गरेका सबथोकबारे सजिलै धारणाहरू बनाउँछन्। त्यसैले, परमेश्वरलाई चिन्छु भनेर विश्वास गर्नेहरू परमेश्वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्, र ती मानिसहरू सबैभन्दा बढी खतरामा हुन्छन्।

अंश २५

कामको यो चरण सुरु भएको धेरै वर्षपछि, एउटा मान्छे थियो, जसले परमेश्वरमा विश्वास गर्थ्यो तर सत्यता पछ्याउँदैनथ्यो; ऊ पैसा कमाउन र जीवनसाथी खोज्न मात्र चाहन्थ्यो, सम्पन्न जीवन जिउन चाहन्थ्यो, त्यसैले उसले मण्डली छोड्यो। केही वर्ष भौँतारिएपछि, उ अचानक फर्कियो। उसलाई आफ्नो हृदयमा धेरै पछुतो लाग्यो, र ऊ निकै रोयो। यसले उसको हृदयले परमेश्वरलाई पूरै छोडेको थिएन भन्ने पुष्टि गर्‍यो, जुन राम्रो कुरा हो; ऊसँग मुक्ति पाउने मौका र आशा अझै पनि थियो। यदि उसले विश्वास गर्न छोडेको भए र ऊ अविश्‍वासीहरूजस्तै भएको भए, ऊ पूर्ण रूपमा सकिनेथ्यो। यदि उसले साँच्चै पश्चाताप गर्न सक्छ भने, उसको निम्ति अझै आशा बाँकी छ; यो दुर्लभ र अत्यन्तै बहुमूल्‍य कुरा हो। परमेश्‍वरले जसरी काम गर्नुभए पनि, र उहाँले मानिसहरूलाई जसरी व्यवहार गर्नुभए पनि, उहाँले तिनीहरूलाई घृणा गर्नुभए पनि, तिरस्कार गर्नुभए पनि, वा सराप्नुभए पनि, यदि तिनीहरू फनक्कै फर्कन सक्ने दिन आयो भने, मलाई अत्यन्तै ठूलो सान्त्वना मिल्नेछ, किनभने यसको अर्थ तिनीहरूको हृदयमा अझै पनि परमेश्‍वरको निम्ति थोरै ठाउँ छ, तिनीहरूले पूर्ण रूपमा आफ्‍नो मानव तर्क वा मानवतालाई गुमाएका छैनन्, तिनीहरूले अझै पनि परमेश्‍वरमा विश्‍वास गर्न चाहन्छन्, र तिनीहरूसँग अझै पनि उहाँलाई स्वीकार गरेर उहाँकहाँ फर्कने अभिप्राय छ भन्‍ने हुन्छ। आफ्नो हृदयमा साँचो रूपमा परमेश्‍वरलाई राखेका मानिसहरूको हकमा, तिनीहरूले परमेश्‍वरको घरलाई जहिलेसुकै छोडेर गएको भए पनि, यदि तिनीहरू फर्केर आए भने, र तिनीहरूले यो परिवारलाई अझै प्रिय ठान्छन् भने, म केही हदसम्‍म भावुकतामा गाँसिनेछु र यसबाट केही सान्त्वना लिनेछु। तैपनि, यदि तिनीहरू कहिल्यै पनि फर्केर आएनन् भने, म यसलाई दयनीय ठान्‍नेछु। यदि तिनीहरू फर्केर साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन् भने, मेरो हृदय विशेष रूपमा सन्तुष्टि र सान्त्वानाले भरिनेछ। यो मान्छे फर्केर आउन नसक्नुको अर्थ के हो भने, उसले परमेश्वरलाई बिर्सेको थिएन; उसले हृदयमा अझै पनि परमेश्वरको तृष्णा गरेकोले ऊ फर्केर आयो। हामी भेट्दाको क्षण निकै मार्मिक थियो। जब ऊ छोडेर गएको थियो, ऊ अवश्य नै अलिक नकारात्मक भइरहेको थियो, र ऊ खराब स्थितिमा थियो; तैपनि, यदि ऊ अहिले फर्केर आउन सक्छ भने, यसले ऊसँग अझै पनि परमेश्‍वरप्रतिको विश्‍वास छ भन्‍ने प्रमाणित गर्छ। तर, ऊ निरन्तर अघि बढ्न सक्छ कि सक्दैन भन्‍ने कुरा अज्ञात हुन्छ, किनभने मानिसहरू अत्यन्तै छिटो परिवर्तन हुन्छन्। अनुग्रहको युगमा, येशूले मानिसहरूलाई दया र अनुग्रह गर्नुभयो। यदि एक सयमा एउटा भेडा हरायो भने, उहाँले एउटालाई खोज्‍न उनान्सयलाई छोड्नुहुन्थ्यो। यो हरफले यान्त्रिक कार्यलाई प्रतिनिधित्व गर्दैन, न त नियमलाई नै प्रतिनिधित्व गर्छ; बरु, यसले मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको आतुरी अभिप्राय, साथै तिनीहरूप्रतिको उहाँको गहन प्रेमलाई देखाउँछ। यो काम गर्ने तरिका होइन; यो त एक किसिमको स्वभाव, एक प्रकारको मानसिकता हो। तसर्थ, कतिपय मानिसहरू छ महिना वा एक वर्षको लागि मण्डली छोडेर जान्छन् वा जतिसुकै कमजोरी भए पनि वा जति धेरै गलत अवधारणाहरूबाट कष्ट भोगे पनि, पछि वास्तविकतामा बिउँझने, ज्ञान प्राप्त गर्ने र त्यस मार्गबाट फनक्क फर्किने, अनि सही मार्गमा फर्कने तिनीहरूको क्षमताले मलाई विशेष रूपमा सान्त्वना दिन्छ र मलाई थोरै भए पनि आनन्द दिन्छ। आनन्द र वैभवको यो संसारमा, र यो दुष्ट युगमा, परमेश्‍वरलाई स्वीकार गर्न, र सही मार्गमा फर्केर आउन सक्‍नु भनेको निकै आराम र उत्साह ल्याउने कुरा हो। उदाहरणको लागि, छोराछोरी हुर्काउने कामलाई लिऊँ: तिनीहरूले आमाबाबुलाई प्रेम गर्ने भए पनि नगर्ने भए पनि, यदि तिनीहरूले तँलाई स्वीकार गरेनन्, र कहिल्यै फर्केर नआउने गरी घर छोडेर गए भने, तँलाई कस्तो लाग्‍नेछ? भित्री रूपमा, तँलाई जहिल्यै पनि तिनीहरूको चिन्ता लागिरहनेछ, र तैँले सधैँ विचार गर्नेछस्, “मेरो छोरो कहिले फर्किनेछ? मलाई हेर्न मन लाग्यो। जे भए पनि, त्यो मेरो छोरा हो, र मैले त्यसलाई व्यर्थैमा हुर्काएको र प्रेम गरेको होइन।” तैँले सधैँ यस्तो विचार गरेको हुन्छस्; तैँले सधैँ त्यो दिन आओस् भनेर चाहेको हुन्छस्। यस विषयमा सबैले उस्तै अनुभूति गर्छ, परमेश्‍वरको बारेमा त के कुरा गर्ने र—बाटो बिराएपछि मान्छेले फेरि फर्किआउने बाटो भेट्टाउनेछ र बिग्रेको छोरो घर आउनेछ भन्‍ने उहाँको आशा अझै ठूलो छैन र? आजभोलिका मानिसहरू सानो कदका छन्, तर साँचो विश्‍वासप्रति तिनीहरूमा कुनै लगाव नभएको र तिनीहरू अविश्‍वासी भएकाले परमेश्‍वरको सरोकारभन्दा तल्लोस्तरमा रहेको अवस्था छ भने त बेग्‍लै कुरा हो, नत्र तिनीहरूले परमेश्‍वरको इच्‍छा बुझ्‍ने दिन आउने नै छ।

अंश २६

धार्मिकता कुनै पनि हिसाबले निष्पक्षता वा व्यावहारिकता होइन; यो समानतावाद होइन, वा यो तैँले कति काम पूरा गरेको छस् त्यसको आधारमा तैँले पाउनु पर्ने उचित थोक तँलाई दिनु, वा तैँले पूरा गरेको कामको ज्याला तँलाई दिनु, वा तैँले कति कोसिस गरिस् त्यसको आधारमा तँलाई दिनु पर्ने कुरासँग सम्‍बन्धित कार्य होइन। यो धार्मिकता होइन, यो त निष्पक्ष र समझदार हुनु मात्रै हो। अत्यन्तै थोरै मानिसहरू मात्रै परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्न सक्‍ने हुन्छन्। मानिलिऊँ, अय्यूबले परमेश्‍वरको गवाही दिएपछि उहाँले तिनलाई हटाउनुभयो: के यो धर्मी कार्य हुनेथियो? वास्तवमा, हुनेथियो। किन यसलाई धार्मिकता भनिन्छ? मानिसहरूले धार्मिकतालाई कसरी हेर्छन्? यदि कुनै कुरा मानिसहरूका धारणाहरूअनुरूप छ भने, परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर भन्‍न तिनीहरूलाई निकै सहज हुन्छ; तापनि, यदि तिनीहरूले ती कुराहरू आफ्ना धारणाहरूसँग मेल खाएका देख्दैनन् भने—यदि त्यो तिनीहरूले बुझ्न नसक्ने कुरा हो भने—तिनीहरूलाई परमेश्‍वर धर्मी हुनुहुन्छ भन्न गाह्रो पर्छ। यदि परमेश्‍वरले त्यो बेला अय्यूबलाई नष्ट गर्नुभएको भए, मानिसहरूले उहाँ धर्मी हुनुहुन्छ भनेर भन्‍नेथिएनन्। तर, वास्तवमा, मानिसहरू भ्रष्ट भए पनि नभए पनि, र तिनीहरू अत्यन्तै भ्रष्ट भएका भए पनि नभएका भए पनि, के परमेश्वरले तिनीहरूलाई नष्ट गर्दा उहाँले आफ्‍नो स्पष्टीकरण दिनुपर्छ? उहाँले कुन आधारमा त्यसो गर्नुहुन्छ भन्‍ने कुरा उहाँले मानिसहरूलाई व्याख्या गर्नुपर्छ र? के परमेश्‍वरले मानिसहरूलाई आफूले तय गरेका नियमहरू बताउनैपर्छ र? त्यसको आवश्यकता छैन। परमेश्‍वरको नजरमा भ्रष्ट र परमेश्‍वरको विरोध गर्न सक्‍ने व्यक्ति बेकम्मा हो; परमेश्‍वरले तिनीहरूलाई जसरी सम्‍हाल्‍नुभए पनि त्यो उचितै हुनेछ, र सबै कुरा परमेश्‍वरका बन्दोबस्तहरू नै हुन्। यदि तँ परमेश्‍वरको नजरमा मन नपर्दो छस्, र तैँले गवाही दिइसकेपछि तेरो कुनै काम छैन भनी उहाँले भन्‍नुभयो, र यसैको कारणले तँलाई नष्ट गर्नुभयो भने, के यो पनि उहाँको धार्मिकता नै हुनेथियो त? हुनेथियो। तैँले तथ्यहरूबाट अहिले यसलाई पहिचान गर्न सक्दैनस् होला, तर तैँले यसलाई धर्मसिद्धान्तको हिसाबले बुझ्‍नैपर्छ। तिमीहरू के भन्छौ—के परमेश्‍वरले शैतानको विनाश गर्नु उहाँको धार्मिकताको प्रकटीकरण हो? (हो।) उहाँले शैतानलाई रहन दिनुभयो भने के हुन्छ? तिमीहरू भन्‍ने आँट गर्दैनौ, होइन त? परमेश्‍वरको सार धार्मिकता हो। उहाँले जे गर्नुहुन्छ त्यसलाई बुझ्न सजिलो नभए पनि, उहाँले गर्नुहुने सबै कार्य धर्मी हुन्छन्; यति मात्र हो कि मानिसहरूले त्यो बुझ्दैनन्। जब परमेश्‍वरले पत्रुसलाई शैतानको हातमा दिनुभयो, तब पत्रुसले कस्तो प्रतिक्रिया दिए? “मानवजाति तपाईंले गर्नुहुने काम बुझ्न असमर्थ छ, तर तपाईंले गर्नुहुने सबै कार्यमा तपाईंको भलो इच्छा सामेल छ; ती सबैमा धार्मिकता छ। तपाईंको बुद्धि र कार्यहरूका लागि म तपाईंको प्रशंसा नगरी बस्‍न कसरी सक्छु र?” अब त तिमीहरूले देख्‍नुपर्ने हो, परमेश्‍वरले मानिसलाई मुक्ति दिनुहुने समयमा शैतानलाई नष्ट नगर्नुको कारण भनेकै शैतानले मानिसहरूलाई कसरी भ्रष्ट तुल्याएको छ र यसले तिनीहरूलाई कति हदसम्‍म भ्रष्ट तुल्याएको छ भनेर स्पष्ट रूपमा देख्‍न सकून्, अनि परमेश्‍वरले कसरी तिनीहरूलाई शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ भनेर देख्‍न सकून् भन्‍ने हो। अन्तिममा, जब मानिसहरूले सत्यता बुझिसकेका र शैतानको घिनलाग्दो अनुहार स्पष्टसित देखिसकेका हुन्छन्, अनि शैतानले तिनीहरूलाई भ्रष्ट पारेको राक्षसी पाप देखिसकेका हुन्छन्, तब परमेश्‍वरले शैतानलाई नष्ट गर्नुहुनेछ, र तिनीहरूलाई उहाँको धार्मिकता देखाउनुहुनेछ। परमेश्‍वरले जुन बेला शैतानलाई नष्ट गर्नुहुन्छ, त्यो समय निर्धारणमा परमेश्‍वरको स्वभाव र बुद्धि भरिएको हुन्छ। परमेश्‍वरले गर्नुहुने सबै कुरा धर्मी हुन्छन्। मानिसहरूले परमेश्वरको धार्मिकता नबुझ्न सक्छन्, तर तिनीहरूले आफ्नै इच्छाले फैसला गर्नु हुँदैन। यदि उहाँले गर्नुभएको कुनै काम तिनीहरूलाई बेमनासिब लाग्छ भने, वा यदि तिनीहरूसित त्यसको बारेमा कुनै धारणाहरू छन् भने, र त्यसले तिनीहरूलाई उहाँ धर्मी हुनुहुन्‍न भन्ने बनाउँछ भने, तिनीहरू सबैभन्दा अविवेकी भइरहेका हुन्छन्। पत्रुसले कुनै बुझ्न नसकिने थोक भेट्टाए, तर तिनी ईश्‍वरीय बुद्धि उपस्थित छ र ती कुरामा उहाँको भलो इच्छा पनि छ भनी निश्चित थिए भन्‍ने कुरा तैँले देख्छस्। मानिसहरूले सबै कुरा बुझ्न सक्दैनन्; तिनीहरूले बुझ्‍न नसक्‍ने कुरा धेरै छन्। यसैले, परमेश्‍वरको स्वभाव जान्नु कुनै सजिलो कुरा होइन।

अंश २७

“परमेश्‍वरविरुद्ध गरिने निन्दा र मानहानि यस्तो पाप हो जुन यस युगमा वा आउने युगमा पनि क्षमा हुनेछैन, अनि जसले यो पाप गर्छ, तिनीहरूको कहिल्यै पुनर्जन्म हुनेछैन।” यसको अर्थ, मानिसले चिढ्याएको परमेश्‍वरको स्वभावले सहँदैन। परमेश्वरविरुद्धको निन्दा र मानहानिलाई यस युगमा वा आउने युगमा पनि माफ गरिनेछैन भन्‍ने कुरा निश्चित छ। परमेश्वरविरुद्ध गरिने निन्दाले परमेश्वरको स्वभावलाई चिढ्याउँछ, चाहे त्यो जानीजानी गरिएको होस् वा अनजानमा, अनि जुनसुकै कारणले परमेश्वरको निन्दा गरे पनि, त्यो दण्डनीय हुनेछ। तर केही मानिस आफूले यो कुरा नबुझ्ने, वा आफू अरूको छल, नियन्त्रण र दमनमा परेको परिस्थितिमा निन्दनीय र निन्दात्मक कुरा बोल्छन्। उनीहरू ती शब्द बोलेपछि असहज, आफूलाई दोष लगाइएको महसुस गर्छन्, र एकदमै पछुताउँछन्। यसपछि, उनीहरू यसबारे ज्ञान लिँदै र यसमा परिवर्तन गर्दै पर्याप्त असल कार्यहरू तयार पार्छन्, तसर्थ परमेश्वर उनीहरूको विगतका अपराधहरू सम्झनुहुन्न। तिमीहरूले परमेश्वरका वचन ठ्याक्कै जान्नैपर्छ र तिनलाई मनपरी आफ्नो धारणा र कल्पनाअनुसार पटक्कै लागू गर्नु हुँदैन। तिमीहरूले उहाँका वचन कोप्रति लक्षित छन् अनि उहाँ कुन सन्दर्भमा बोलिरहनुभएको छ भनेर बुझ्नैपर्छ। तिमीहरूले परमेश्वरका वचनलाई मनपरी लागू गर्ने वा त्यतिकै व्याख्या गर्ने पटक्कै गर्नु हुँदैन। अनुभव गर्न नजान्ने मानिसहरूले कुनै पनि कुराबारे आत्मचिन्तन गर्दैनन्, र आफूलाई परमेश्वरको वचनसँग दाँजेर हेर्दैनन्, जबकि केही अनुभव र अन्तर्दृष्टि पाएकाहरू अति संवेदनशील हुने झुकावका हुन्छन्, परमेश्वरको सराप वा उहाँले मानिसलाई घृणा गर्नुभएको र निकाल्नुभएकोबारे पढ्दा मनपरी आफूलाई उहाँका वचनसँग दाँजेर हेर्छन्। यी मानिसहरू परमेश्वरको वचन बुझ्दैनन् र सधैँ उहाँलाई गलत बुझ्छन्। कतिपय मानिसले परमेश्वरको हालैका वचनहरू पढेनन् वा उहाँको हालैको कामबारे अनुसन्धान गरेनन्, झन् पवित्र आत्माको अन्तर्दृष्टि पाउन त परै जाओस्। तिनीहरूले परमेश्वरको आलोचना गर्दै बोले, अनि कसैले तिनीहरूलाई सुसमाचार सुनाए, जुन तिनीहरूले स्विकारे। यसपछि, तिनीहरू आफूले गरेका कुरामा पछुताउँछन् र पश्चात्ताप गर्न इच्छुक हुन्छन्, र यस्तो बेला हामी तिनीहरूको व्यवहार र प्रकटीकरण अबउप्रान्त कस्तो हुन्छ भनी हेर्नेछौँ। यदि विश्वास गर्न थालेपछि तिनीहरूको व्यवहार अत्यन्तै खराब हुन्छ, र तिनीहरू “खै, मैले त परमेश्वरप्रति निन्दात्मक, मानहानि हुने र आलोचनात्मक शब्द बोलिसकेँ, र यदि परमेश्वर यस्ता खाले मानिसलाई दोषी ठहराउनुहुन्छ भने त मेरा पछ्याइहरू बेकारन हुन्छन्,” भनी सोच्दै घाउमा नुनचुक छर्कन्छन् भने, तिनीहरू पूर्ण रूपमा बरबाद हुन्छन्। तिनीहरूले आफूलाई निराशामा डुबाइसकेका र आफ्नो चिहान आफै खनिसकेका हुन्छन्।

धेरैजसो मानिसले कुनै न कुनै तरिकाले अपराध गरेका र आफूलाई कलङ्कित पारेका छन्। उदाहरणका लागि, कतिपय मानिसले परमेश्वरको प्रतिरोध गरेका र निन्दात्मक कुरा बोलेका छन्; केही मानिसले परमेश्वरको आज्ञा इन्कार गरेका र आफ्नो कर्तव्य निर्वाह गरेका छैनन् अनि परमेश्वरद्वारा तिरस्कृत भएका छन्; कोही मानिसले प्रलोभन आउँदा परमेश्वरलाई धोका दिएका छन्; कोहीले पक्राउ पर्दा “तीन पत्र” मा हस्ताक्षर गरेर परमेश्वरलाई धोका दिएका छन्; कतिपयले भेटी चोरेका छन्; कोहीले भेटीहरू फजुल खर्च गरेका छन्; कोहीले मण्डली जीवनमा बारम्बार बाधा पुऱ्याएका र परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गरेका छन्; कोहीले गुटबन्दी र अरूलाई रुखो व्यवहार गरेर मण्डलीलाई अस्तव्यस्त पारेका छन्; कतिपयले बारम्बार धारणा र मृत्यु फैलाएर दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुऱ्याएका छन्; र कतिपय चाहिँ व्यभिचार र स्वच्छन्द यौन सम्बन्धमा संलग्न भएर अत्यन्तै खराब प्रभाव पारेका छन्। सबैको आ-आफ्नो अपराध र कलङ्क हुन्छ भन्‍ने कुरा स्पष्ट छ। तैपनि कतिपय मानिस सत्यता स्विकार्न र पश्चात्ताप गर्न सक्छन्, अरूले भने सक्दैनन् र तिनीहरू पश्चात्ताप गर्नअघि नै मर्छन्। त्यसैले मानिसहरूलाई तिनीहरूको प्रकृति सार र एकनासको व्यवहारअनुसार व्यवहार गरिनुपर्छ। पश्चात्ताप गर्न सक्नेहरू परमेश्वरमा साँचो विश्वास गर्नेहरू हुन्; तर वास्तवमै पश्चात्ताप नगर्नेहरू, हटाइनुपर्ने र निष्कासित गरिनुपर्नेहरूलाई हटाइनेछ र निष्कासित गरिनेछ। कतिपय मानिस दुष्ट हुन्छन्, कोही अज्ञानी, कोही मूर्ख र कोही पशु हुन्छन्। सबै जना फरक-फरक हुन्छन्। कतिपय दुष्ट मानिस दुष्ट आत्माको अधीनमा हुन्छन्, अनि अरू भने शैतान दियाबलसको पुच्छरे हुन्छन्। कोही स्वभावले नै दुष्ट हुन्छन् भने कतिपय अति छली हुन्छन्, कोही विशेष गरी पैसाको लोभी हुन्छन्, र अरूचाहिँ स्वच्छन्द यौन सम्बन्ध राखिहिँड्न मनपराउँछन्। हेरकको व्यवहार फरक-फरक हुन्छ, त्यसैले हरेकलाई उसको स्वभाव र एकनासको व्यवहारअनुरूप विस्तृत रूपमा हेर्नुपर्छ। मानिसको नश्वर देहको नैसर्गिक क्षमताअनुसार, हरेक व्यक्तिसँग स्वतन्त्र इच्छा हुन्छ, चाहे ऊ जोसुकै होस्। उसले मानिसको धारणाअनुसार कामकुराबारे सोच्न सक्छ, र ऊसँग आत्मिक संसारमा सिधै प्रवेश गर्ने क्षमता वा यसको सत्यता बुझ्ने कुनै तरिका हुँदैन। उदाहरणका लागि, जब तँ साँचो परमेश्वरमा विश्वास गर्छस् र उहाँको नयाँ कामको यस चरणलाई स्विकार्न चाहन्छस् तैपनि तँलाई सुसमाचार सुनाउन कोही आएको छैन र तँलाई पवित्र आत्माको कामले मात्र अन्तर्दृष्टि दिइरहेको र कहीँ डोऱ्याइरहेको छ भने, तँलाई एकदमै सीमित कुरा मात्र थाहा छ। परमेश्वरले अहिले के गरिरहनुभएको छ र भविष्यमा के पूरा गर्नुहुनेछ भनेर तैँले जान्न सक्दैनस्। मानिसहरूले परमेश्वरलाई बुझ्न सक्दैनन्; तिनीहरूमा यसो गर्ने क्षमता हुँदैन, न त आत्मिक संसारलाई सिधै बुझ्ने वा परमेश्वरको काम विस्तृत रूपमा बुझ्ने क्षमता हुन्छ, झन् स्वर्गदूतले जस्तो उहाँलाई अत्यन्तै इच्छुक भएर सेवा गर्नु त परै जाओस्। परमेश्वरले पहिले मानिसहरूलाई आफ्नो वचनद्वारा विजय नगरे, मुक्ति नदिए, नसुधारेसम्म वा आफूले व्यक्त गर्ने सत्यताद्वारा मलजल र भरणपोषण नगरेसम्म तिनीहरूले नयाँ काम स्विकार्न, सत्यता र जीवन पाउन वा परमेश्वरलाई चिन्न सक्दैनन्। यदि परमेश्वरले यो काम गर्नुभएन भने तिनीहरूमा यी कुरा हुँदैनन्; यो तिनीहरूको नैसर्गिक क्षमताद्वारा निर्धारित छ। तसर्थ कतिपय मानिस प्रतिरोध वा विरोध गर्छन्, परमेश्वरको क्रोध र घृणा आफूमाथि निम्त्याउँछन्, तर परमेश्वर हरेक मामिलालाई फरक-फरक तरिकाले सम्हाल्नुहुन्छ र हरेकलाई मानिसको नैसर्गिक क्षमताअनुरूप छुट्टाछुट्टै निराकरण गर्नुहुन्छ। परमेश्वरले गर्ने कुनै पनि काम उचित हुन्छ। उहाँलाई के गर्ने र कसरी गर्ने त्यो थाहा हुन्छ, र उहाँले मानिसहरूलाई तिनीहरूले नैसर्गिक रूपमा गर्न नसक्ने कुनै पनि कुरा निश्चय नै गराउनुहुनेछैन। परमेश्वर हरेक व्यक्तिलाई उसको त्यस बेलाको परिस्थिति र पृष्ठभूमिको वास्तविक अवस्था, साथै त्यस व्यक्तिको कार्य, व्यवहार र प्रकृति सारको आधारमा व्यवहार गर्नुहुन्छ। परमेश्वरले कहिल्यै कसैलाई पनि गलत गर्नुहुनेछैन। यो परमेश्वरको धार्मिकताको एउटा पाटो हो। उदाहरणका लागि, सर्पले हव्वालाई असल र खराबको ज्ञान दिने रुखको फल खान बहकायो, तर यहोवाले उसलाई, “मैँले तँलाई नखानू भनेको थिएँ, तर किन खाइस्? तैँले विवेक चलाउनुपर्थ्यो; सर्पले तँलाई बहकाउन मात्र बोलेको भनेर तैँले बुझ्नुपर्थ्यो” भनी हप्काउनुभएन। यहोवाले हव्वालाई त्यसरी गाली गर्नुभएन। मानव परमेश्वरको सृष्टि भएकाले, उहाँलाई तिनीहरूको नैसर्गिक क्षमता के हो र त्यो क्षमताले के गर्न सक्छ, मानिसले आफूलाई कुन हदसम्म नियन्त्रण गर्न सक्छ, र मानिसहरू कुन हदसम्म जान सक्छन् भन्‍ने थाहा छ। परमेश्वरलाई यो सबै निकै स्पष्ट रूपमा थाहा छ। परमेश्वरले व्यक्तिलाई गर्ने व्यवहार मानिसले सोचेझैँ सरल हुँदैन। उहाँले कुनै व्यक्तिप्रति घृणा वा तिरस्कार गर्ने मनोवृत्ति राख्नुहुँदा, वा यस व्यक्तिले विद्यमान सन्दर्भमा के भन्छ भन्‍ने कुरामा, उहाँ उसको अवस्थालाई राम्ररी बुझ्नुहुन्छ। किनभने परमेश्वर मानिसको हृदय र सार जाँच्नुहुन्छ। मानिसहरूले सधैँ सोचिरहेका हुन्छन्, “परमेश्वरसँग आफ्नो ईश्वरत्व मात्र छ। उहाँ धर्मी हुनुहुन्छ र आफूलाई मानिसले चिढ्याउँदा सहनुहुन्न। उहाँ मानिसको कठिनाइको मतलब गर्नुहुन्न वा आफूलाई मानिसको ठाउँमा राखेर हेर्नुहुन्न। यदि कुनै व्यक्तिले परमेश्वरको प्रतिरोध गर्छ भने उहाँले त्यसलाई सजाय दिनुहुनेछ।” त्यस्तो हुँदै होइन। यदि कसैले उहाँको धार्मिकता, उहाँको काम र मानिसप्रति उहाँको व्यवहारलाई त्यसरी बुझ्छ भने ऊ सरासर गलत हो। परमेश्वर हरेक व्यक्तिको परिणाम मानिसको धारणा र कल्पनामा नभई उहाँको धर्मी स्वभावको आधारमा निर्धारण गर्नुहुन्छ। उहाँले हरेक व्यक्तिलाई उसका कार्यअनुसार प्रतिफल दिनुहुनेछ। परमेश्वर धर्मी हुनुहुन्छ, र ढिलो-चाँडो उहाँले सबै मानिस पूर्ण विश्वस्त बनेको सुनिश्चित गर्नुहुनेछ।

अघिल्लो: सत्यता खोज्‍ने र सत्यता अभ्यास गर्नेसम्बन्धी वचनहरू

अर्को: परमेश्‍वरको देहधारणबारे जान्‍नेसम्बन्धी वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्