परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ
अब, तिमीहरूले परमेश्वरका मानिसहरू बन्ने प्रयास गर्नुपर्छ, र सम्पूर्ण प्रवेशलाई सही बाटोमा सुरु गर्नुपर्छ। परमेश्वरका मानिसहरू बन्नु भनेको राज्यको युगमा प्रवेश गर्नु हो। आज, तिमीहरू औपचारिक रूपमा राज्यको तालिममा प्रवेश गर्न सुरु गर्छौ, र तिमीहरूको भविष्यको जीवन पहिलेको जस्तो सुस्त र मन्द बन्न छोड्नेछ; त्यसरी बाँचेर, परमेश्वरले अपेक्षा गर्नुभएका मापदण्डहरूलाई पूरा गर्नु असम्भव हुन्छ। यदि तैँले कुनै आतुरी अनुभूति गर्दैनस् भने, तँसँग आफैलाई सुधार गर्ने इच्छा छैन, तेरो प्रयास अन्योल र दोधारमा छ, र तैँले परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्दैनस् भन्ने यसले देखाउँछ। राज्यको तालिममा प्रवेश गर्नु भनेको परमेश्वरका मानिसहरूको जीवन सुरु गर्नु हो—के तँ त्यस्तो तालिम स्वीकार गर्न इच्छुक छस्? के तँ आतुरीको आभास अनुभूत गर्न इच्छुक छस्? के तँ परमेश्वरको अनुशासनमा जिउन इच्छुक छस्? के तँ परमेश्वरको सजायमा जिउन इच्छुक छस्? जब परमेश्वरको वचन तँकहाँ आउँछ र तँलाई जाँच गर्छ, तैँले कसरी व्यवहार गर्नेछस्? अनि तैँले सबै किसिमका तथ्यहरूको सामना गर्दा के गर्नेछस्? विगतमा, तेरो ध्यान जीवनमा केन्द्रित थिएन; आज, तैँले जीवन वास्तविकतामा प्रवेश गर्ने कार्यमा ध्यान केन्द्रित गर्नुपर्छ, र तैँले तेरो जीवन स्वभावमा परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। राज्यका मानिसहरूले हासिल गर्नैपर्ने कुरा यही हो। जो परमेश्वरका मानिसहरू हुन् उनीहरू सबैमा जीवन हुनैपर्छ, उनीहरूले राज्यको तालिम स्वीकार गर्नैपर्छ, र आफ्नो जीवनको स्वभावलाई परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। राज्यका मानिसहरूलाई परमेश्वरले दिनुभएको मापदण्ड यही हो।
राज्यका मानिसहरूका लागि परमेश्वरका मापदण्डहरू निम्नानुसार छन्:
१. तिनीहरूले परमेश्वरका आज्ञाहरूलाई स्वीकार गर्नैपर्छ। भन्नुको अर्थ, तिनीहरूले आखिरी दिनहरूका परमेश्वरको कार्यमा बोलिएका सबै वचनहरूलाई स्वीकार गर्नैपर्छ।
२. तिनीहरू राज्यको तालिममा प्रवेश गर्नैपर्छ।
३. तिनीहरूले आफ्नो हृदयमा परमेश्वरको छुवाइ प्राप्त गर्ने प्रयास गर्नैपर्छ। जब तेरो हृदय पूर्ण रूपमा परमेश्वरमा फर्किएको हुन्छ, र तँसँग सामान्य आत्मिक जीवन हुन्छ, तब तँ स्वतन्त्रताको क्षेत्रमा जिउनेछस्, जसको अर्थ तँ परमेश्वरको प्रेमको वास्ता र सुरक्षामा जिउनेछस् भन्ने हुन्छ। परमेश्वरको वास्ता र सुरक्षामा जिउँदा मात्र तँ परमेश्वरको स्वामित्वमा हुनेछस्।
४. तिनीहरू परमेश्वरद्वारा प्राप्त गरिनैपर्छ।
५. तिनीहरू पृथ्वीमा परमेश्वरको महिमाको प्रकटीकरण बन्नैपर्छ।
यी पाँच बुँदाहरू तिमीहरूको लागि मेरा आज्ञाहरू हुन्। मेरा वचनहरू परमेश्वरका मानिसहरूको लागि बोलिन्छन्, र यदि तँ यी आज्ञाहरूलाई स्वीकार गर्न अनिच्छुक छस् भने, म तँलाई जबरजस्ती गर्नेछैन—तर यदि तैँले तिनलाई साँचो रूपमा स्वीकार गरिस् भने, तँ परमेश्वरको इच्छालाई पछ्याउन सक्नेछस्। आज, तिमीहरूले परमेश्वरका आज्ञाहरू स्वीकार गर्न, र राज्यका मानिसहरू बन्ने प्रयास गर्न र राज्यका मानिसहरू बन्नका लागि पूरा गर्नुपर्ने मापदण्डहरू पूरा गर्न सुरु गर्छौ। प्रवेशको पहिलो चरण यही हो। यदि तँ पूर्ण रूपमा परमेश्वरको इच्छालाई पछ; याउन चाहन्छस् भने, तैँले यी पाँच आज्ञालाई स्वीकार गर्नैपर्छ, र यदि तैँले तिनलाई हासिल गर्न सकिस् भने, तँ परमेश्वरका अभिप्रायहरू अनुसारको हुनेछस् र परमेश्वरले अवश्य नै तँलाई बृहत् रूपमा प्रयोग गर्नुहुनेछ। राज्यको तालिममा प्रवेश गर्नु नै आजको लागि महत्त्वपूर्ण कुरा हो। राज्यको तालिममा प्रवेश गर्ने कार्यमा आत्मिक जीवन संलग्न हुन्छ। यसभन्दा पहिले, आत्मिक जीवनको बारेमा कुनै कुरा उठाइएको थिएन, तर आज, तँ राज्यको तालिममा प्रवेश गर्न सुरु गर्ने क्रममा, तँ औपचारिक रूपमा आत्मिक जीवनमा प्रवेश गर्छस्।
कस्तो प्रकारको जीवन आत्मिक जीवन हो? आत्मिक जीवन भनेको त्यो जीवन हो जहाँ तेरो हृदय पूर्ण रूपमा परमेश्वरमा फर्केको र परमेश्वरको प्रेमप्रति सचेत हुन सक्ने हुन्छ। यो त्यो जीवन हो जसमा तँ परमेश्वरका वचनहरूमा जिउँछस्, र तेरो हृदयलाई अरू कुनै कुराले ओगट्दैन, र तैँले आजको परमेश्वरको अभिप्रायहरूलाई बुझ्न सक्छस्, र तँ तेरो कर्तव्य निर्वाह गर्नको लागि पवित्र आत्माको आजको ज्योतिद्वारा मार्गनिर्देशित हुन्छस्। मानिस र परमेश्वरको बीचमा रहेको त्यो जीवन नै आत्मिक जीवन हो। यदि तैँले आजको ज्योतिलाई पछ्याउन सक्दैनस् भने, परमेश्वरसँगको तेरो सम्बन्धमा दरार उत्पन्न भएको छ—यो टुटेको समेत हुन सक्छ—अनि तँ सामान्य आत्मिक जीवनविहीन छस्। परमेश्वरसँगको सामान्य सम्बन्ध आजको परमेश्वरको वचनलाई स्वीकार गर्ने कार्यको जगमा निर्मित हुन्छ। के तँमा सामान्य आत्मिक जीवन छ? के तँमा परमेश्वरसँगको सामान्य सम्बन्ध छ? के तँ पवित्र आत्माको कार्यलाई पछ्याउने व्यक्ति होस्? यदि तँ आज पवित्र आत्माको ज्योतिलाई पछ्याउन सक्छस्, र परमेश्वरका वचनहरूभित्रको उहाँका अभिप्रायहरूलाई बोध गर्न, र यी वचनहरूमा प्रवेश गर्न सक्छस् भने, तँ पवित्र आत्माको प्रवाहलाई पछ्याउने व्यक्ति होस्। यदि तँ पवित्र आत्माको प्रवाहलाई पछ्याउँदैनस् भने, तँ सत्यताको पछि नलाग्ने व्यक्ति होस् भन्नेमा कुनै शङ्का छैन। आफैलाई सुधार गर्न इच्छा नगर्नेहरूभित्र पवित्र आत्माले काम गर्ने कुनै सम्भावना हुँदैन, र परिणामस्वरूप, त्यस्ता मानिसहरूले कहिल्यै पनि आफ्नो सामर्थ्य बटुल्न सक्दैनन्, र तिनीहरू सधैँ नै नकारात्मक हुन्छन्। आज, के तँ पवित्र आत्माको प्रवाहलाई पछ्याउँछस्? के तँ पवित्र आत्माको प्रवाहमा छस्? के तँ नकारात्मक स्थितिबाट निस्किआएको छस्? परमेश्वरको वचनमा विश्वास गर्ने, परमेश्वरको वचनलाई जगको रूपमा लिने, र पवित्र आत्माको आजको ज्योतिलाई पछ्याउनेहरू सबै—तिनीहरू सबै पवित्र आत्माको प्रवाहमा हुन्छन्। यदि तँ परमेश्वरका वचनहरू स्पष्ट रूपमा साँचो र सही छन् भन्ने विश्वास गर्छस् भने, र यदि तँ उहाँले जे भन्नुभए तापनि परमेश्वरका वचनहरूमा विश्वास गर्छस् भने, तँ परमेश्वरको काममा प्रवेश गर्न लागिपर्ने व्यक्ति होस्, र यसरी तैँले परमेश्वरका अभिप्रायहरूलाई पूरा गर्छस्।
पवित्र आत्माको प्रवाहमा प्रवेश गर्नको लागि, तँमा परमेश्वरसँगको सामान्य सम्बन्ध हुनुपर्छ, र तैँले पहिले आफूलाई आफ्नो नकारात्मक स्थितिबाट छुटकारा दिलाउनुपर्छ। कतिपय मानिसहरू सधैँ नै भीडको पछि लाग्छन्, र तिनीहरूको हृदय परमेश्वरबाट निकै टाढा जान्छ; त्यस्ता मानिसहरूसँग आफैलाई सुधार गर्ने कुनै इच्छा हुँदैन, र तिनीहरूले पछ्याउने मापदण्डहरू अत्यन्तै न्यूनस्तरका हुन्छन्। परमेश्वरलाई प्रेम गर्न र परमेश्वरद्वारा प्राप्त गरिनको लागि लागिपर्नु मात्रै परमेश्वरको अभिप्राय हो। परमेश्वरको प्रेमको ऋण तिर्नको लागि आफ्नो विवेक मात्रै प्रयोग गर्ने मानिसहरू पनि छन्, तर यसले परमेश्वरका अभिप्रायहरूलाई पूरा गर्न सक्दैन; तैँले जति उच्च मापदण्डहरूको खोजी गर्छस्, यो त्यति नै परमेश्वरका अभिप्रायअनुरूप हुनेछ। एउटा सामान्य व्यक्ति, र परमेश्वरप्रतिको प्रेम पछ्याउने व्यक्तिका रूपमा, परमेश्वरका मानिसहरूमध्ये एक बन्न राज्यमा प्रवेश गर्नु तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र अर्थपूर्ण जीवन हो; तिमीहरू जत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्वरमा विश्वास नगर्नेहरू देहका लागि जिउँछन्, र तिनीहरू शैतानका लागि जिउँछन्, तर आज तिमीहरू परमेश्वरका लागि जिउँछौ, र परमेश्वरको इच्छा पछ्याउनका लागि जिउँछौ। यही कारणले गर्दा नै म भन्छु कि तिमीहरूको जीवन सबैभन्दा अर्थपूर्ण छ। परमेश्वरद्वारा चुनिएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा अर्थपूर्ण जीवन जिउन सक्छन्: पृथ्वीमा अरू कोही पनि त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैन। तिमीहरू परमेश्वरद्वारा चुनिएका, र परमेश्वरद्वारा नै उत्थान गरिएकाले, र, त्यसमाथि, परमेश्वरको प्रेमका कारण, तिमीहरूले साँचो जीवन बोध गरेका छौ, र सबैभन्दा मूल्यवान् हुने तरिकाले जिउन जान्दछौ। यो तिमीहरूले राम्ररी पछ्याउने भएकाले होइन, बरु परमेश्वरको अनुग्रहका कारण हो; तिमीहरूको आत्मिक आँखा खोलिदिने परमेश्वर नै हुनुहुन्थ्यो, र तिमीहरूलाई उहाँ सामु आउने सौभाग्य प्रदान गर्दै, तिमीहरूका हृदय उत्प्रेरित गर्ने परमेश्वरका आत्मा नै हुनुहुन्थ्यो। यदि परमेश्वरका आत्माले तिमीहरूलाई अन्तर्दृष्टि नदिनुभएको भए, परमेश्वरबारे के प्रेमिलो छ भनी तिमीहरूले देख्न सक्नेथिएनौ, न त तिमीहरूले परमेश्वरलाई प्रेम गर्न नै सम्भव हुनेथ्यो। परमेश्वरका आत्माले मानिसहरूको हृदय उत्प्रेरित गर्नुभएकाले नै तिनीहरूको हृदय परमेश्वरतर्फ फर्केको छ। कहिलेकहीँ, जब तैँले परमेश्वरको वचनको आनन्द लिइरहेको हुन्छस्, तब तेरो आत्मा स्पर्शित हुन्छ, अनि तैँले परमेश्वरलाई प्रेम नगरी बस्न सक्दैनस्, तँलाई तँभित्र ठूलो सामर्थ्य छ, र तैँले पन्छाउन नसक्ने केही पनि छैन भन्ने लाग्छ। यदि तँलाई यस्तो अनुभूति हुन्छ भने, तँलाई परमेश्वरका आत्माले छुनुभएको छ, र तेरो हृदय पूर्ण रूपमा परमेश्वरतर्फ फर्केको छ, अनि तैँले परमेश्वरलाई यसो भन्दै प्रार्थना गर्नेछस्: “हे परमेश्वर! हामीलाई तपाईंले पूर्वनिर्धारित गरिसक्नुभएको र चुनिसक्नुभएको छ। तपाईंको महिमाले मलाई गर्व गराउँछ, र तपाईंका प्रजामध्ये एक बन्न पाउँदा मलाई गौरवको आभास हुन्छ। म तपाईंको इच्छालाई पछ्यआउनका निम्ति सबै थोक खर्चनेछु र सबै थोक दिनेछु, र मेरा सबै वर्षहरू, र सम्पूर्ण जीवनभरिको प्रयास तपाईंप्रति नै समर्पित गर्नेछु।” जब तँ यसरी प्रार्थना गर्छस्, तेरो हृदयमा परमेश्वरप्रति कहिल्यै नटुङ्गिने प्रेम र साँचो समर्पणता हुनेछ। के तैँले कहिल्यै यस्तो अनुभव गरेको छस्? यदि मानिसहरू बारम्बार परमेश्वरका आत्माद्वारा छोइएका छन् भने, तिनीहरू आफ्ना प्रार्थनामा आफैलाई विशेष रूपमा परमेश्वरमा समर्पित गर्न इच्छुक हुन्छन्: “हे परमेश्वर! म तपाईंको महिमाको दिनलाई हेर्न चाहन्छु, र म तपाईंकै लागि जिउन चाहन्छु—तपाईंको लागि जिउनुजत्तिको योग्य वा अर्थपूर्ण कुरा केही पनि छैन, र शैतान र देहको लागि जिउने थोरै इच्छासमेत मसँग छैन। आज तपाईंको लागि जिउन सक्षम तुल्याउँदै तपाईंले मलाई उठाउनुभयो।” जब तैँले यसरी प्रार्थना गरेको हुन्छस्, तँ परमेश्वरलाई तेरो हृदय नदिई बस्न सक्दैनस्, तँलाई लाग्नेछ कि तैँले परमेश्वरलाई प्राप्त गर्नैपर्छ, र जीवित छँदै परमेश्वरलाई प्राप्त नगरी तँ मर्न चाहँदैनस्। त्यस्तो प्रार्थना गरिसकेपछि, तँभित्र असीम सामर्थ्य आउनेछ, र यो कहाँबाट आउँछ सो तँलाई थाहा हुनेछैन; तेरो हृदयमा असीमित शक्ति हुनेछ, र परमेश्वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ, र उहाँ प्रेम गर्न योग्य हुनुहुन्छ भन्ने तैँले अनुभूति गर्नेछस्। यही बेला तँ परमेश्वरद्वारा छोइएको हुनेछस्। यस्तो अनुभव प्राप्त गरेका सबैलाई परमेश्वरले छुनुभएको हुन्छ। परमेश्वरद्वारा बारम्बार छोइएकाहरूका हकमा, तिनीहरूको जीवनमा परिवर्तनहरू आउँछन्, तिनीहरू संकल्प गर्न सक्छन् र परमेश्वरलाई पूर्ण रूपमा प्राप्त गर्न इच्छुक हुन्छन्, परमेश्वरलाई प्रेम गर्ने तिनीहरूको हृदय तुलनात्मक रूपोमा अझ दह्रिलो हुन्छ, अनि तिनीहरूको हृदय परमेश्वरमा पूर्ण रूपले फर्केका हुन्छन्। तिनीहरूलाई परिवार, संसार, जाल-झेल, वा तिनीहरूको भविष्यको कुनै ख्याल हुँदैन, र तिनीहरू आफ्नो जीवनभरिको प्रयास परमेश्वरमा समर्पित गर्न इच्छुक हुन्छन्। परमेश्वरका आत्माले छोइएकाहरू सबै सत्यताको पछि लाग्ने, र परमेश्वरद्वारा सिद्ध तुल्याइने आशा भएका मानिसहरू हुन्।
के तैँले तेरो हृदय परमेश्वरतर्फ फर्काएको छस्? के तेरो हृदय परमेश्वरका आत्माद्वारा छोइएको छ? यदि तैँले कहिल्यै त्यस्तो अनुभव गरेको छैनस् भने, र यदि तैँले त्यसरी कहिल्यै प्रार्थना गरेको छैनस् भने, तेरो हृदयमा परमेश्वरको निम्ति कुनै ठाउँ छैन भन्ने यसले देखाउँछ। परमेश्वरका आत्माद्वारा अगुवाइ गरिएकाहरू र परमेश्वरका आत्माद्वारा छोइएकाहरू सबैमा परमेश्वरको काम हुन्छ, जसले परमेश्वरका वचनहरू र परमेश्वरको प्रेमले तिनीहरूमा जरा गाडेको छ भन्ने देखाउँछ। कतिपय मानिसहरू यसो भन्छन्: “मेरा प्रार्थनाहरूमा म तिमीजस्तो एकाग्रचित्त हुँदिन, न त मलाई परमेश्वरले त्यसरी नै छुनुहुन्छ; कहिलेकहीँ—जब म ध्यान गर्छु र प्रार्थना गर्छु—परमेश्वर प्रेमिलो हुनुहुन्छ, र मेरो हृदयलाई परमेश्वरले छुनुभएको छ भन्ने मलाई अनुभव हुन्छ।” मानिसको हृदयभन्दा महत्त्वपूर्ण कुरा अरू केही पनि छैन। जब तेरो हृदय परमेश्वरमा फर्केको हुन्छ, तेरो सम्पूर्ण अस्तित्व नै परमेश्वरमा फर्केको हुन्छ, र त्यो बेला तेरो हृदयलाई परमेश्वरका आत्माले छुनुभएको हुनेछ। तिमीहरूमध्ये धेरैजसोले यस्तो अनुभव गरेका छौ—यति मात्रै हो कि, तिमीहरूका अनुभवहरूको गहिराइ उस्तै छैन। कतिपय मानिसहरू यसो भन्छन्: “म प्रार्थनाका धेरै शब्दहरू बोल्दिनँ, म अरूले बोलेको सुन्छु अनि मभित्र सामर्थ्य पैदा हुन्छ।” तँलाई परमेश्वरले भित्री रूपमा छुनुभएको छ भन्ने यसले देखाउँछ। भित्री रूपमा परमेश्वरद्वारा छोइएका मानिसहरू अरूका प्रार्थनाका शब्दहरू सुन्दा उत्प्रेरित हुन्छन्; यदि उत्प्रेरणात्मक शब्दहरू सुन्दा कुनै व्यक्तिको हृदय पूर्ण रूपमा अप्रभावित हुन्छ भने, तिनीहरूमा पवित्र आत्माको काम छैन भन्ने प्रमाणित हुन्छ। तिनीहरूभित्र कुनै तृष्णा हुँदैन, जसले तिनीहरूमा कुनै संकल्प छैन, र तसर्थ तिनीहरू पवित्र आत्माको कार्यविहीन छन् भन्ने देखाउँछ। यदि कुनै व्यक्तिलाई परमेश्वरले छुनुभएको छ भने, परमेश्वरको वचन सुन्दा तिनीहरूले प्रतिक्रिया दिनेछन्; यदि तिनीहरू परमेश्वरद्वारा छोइएका छैनन् भने, तिनीहरू परमेश्वरको वचनमा संलग्न भएका हुँदैनन्, ती कुराहरूसँग तिनीहरूले कुनै सम्बन्ध कायम गर्दैनन्, र तिनीहरूले अन्तर्दृष्टि प्राप्त गर्न सक्दैनन्। जसले परमेश्वरको वचन सुनेर पनि प्रतिक्रिया दिँदैनन्, तिनीहरू त्यस्ता मानिसहरू हुन् जो परमेश्वरद्वारा छोइएका छैनन्—तिनीहरू पवित्र आत्माको कार्य नभएका मानिसहरू हुन्। नयाँ ज्योति स्वीकार गर्न सक्नेहरू सबैलाई पवित्र आत्माको कामले छोएको हुन्छ, र तिनीहरू सबैमा पवित्र आत्माको काम हुन्छ।
आफैलाई मापन गर्:
१. के तँ पवित्र आत्माको वर्तमान कामको बीचमा छस्?
२. के तेरो हृदय परमेश्वरमा फर्केको छ? के तँ परमेश्वरद्वारा छोइएको छस्?
३. के परमेश्वरका वचनहरूले तँभित्र जरा गाडेको छ?
४. के तेरो अभ्यास परमेश्वरका मापदण्डहरूको जगमा निर्मित छ?
५. के तँ पवित्र आत्माको वर्तमान ज्योतिको अगुवाइमा जिउँछस्?
६. तेरो हृदयलाई पुराना धारणाहरूले शासन गरेको छ, कि यसलाई परमेश्वरको आजको वचनले शासन गरेको छ?
यी वचनहरूलाई सुनिसकेपछि, तिमीहरूभित्रको प्रतिक्रिया के हुन्छ? यत्तिका वर्षहरू विश्वास गरिसकेपछि, के तँसँग तेरो जीवनको रूपमा परमेश्वरको वचन रहेको छ? के तेरो पहिलेको भ्रष्ट स्वभावमा परिवर्तन आएको छ? परमेश्वरको आजको वचनअनुसार, के तँलाई जीवन पाउनु भनेको के हो, र जीवनविहीन हुनु भनेको के हो थाहा छ? के यो कुरा तिमीहरूको लागि स्पष्ट छ? परमेश्वरलाई पछ्याउने कार्यमा प्रमुख महत्त्वको कुरा भनेको सबै कुरा परमेश्वरको आजको वचनअनुसार नै हुनुपर्छ भन्ने हो: तैँले जीवन प्रवेश वा परमेश्वरका अभिप्रायहरूलाई पूरा गर्न खोजिरहेको भए तापनि, सबै कुरा परमेश्वरको आजको वचन वरिपरि नै केन्द्रित हुनुपर्छ। यदि तैँले जेबारे सङ्गति गर्छस् र जे कुरामा प्रवेश गर्न खोज्छस् ती परमेश्वरको आजको वचनवरिपरि केन्द्रित छैनन् भने, तँ परमेश्वरका वचनहरूप्रति अपरिचित छस्, र तँमा पवित्र आत्माको कार्यको पूर्ण अभाव छ। परमेश्वरले चाहनुहुने भनेका उहाँका पाइलाहरूलाई पछ्याउने मानिसहरू नै हुन्। तैँले पहिले बुझेको कुरा जति सुन्दर र शुद्ध भए तापनि, परमेश्वरले त्यो चाहनुहुन्न, र तैँले यस्ता कुराहरूलाई पन्छाउन सक्दैनस् भने, यी कुराहरू भविष्यमा तेरो प्रवेशमा निकै ठूलो वाधा हुनेछन्। पवित्र आत्माको वर्तमान ज्योतिलाई पछ्याउन सक्नेहरू सबै आशिषित हुन्छन्। विगतका युगका मानिसहरूले पनि परमेश्वरका पाइलाहरूलाई पछ्याए, तैपनि तिनीहरूले आजको दिनसम्म पछ्याउन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष् नै यही हो। पवित्र आत्माको वर्तमान कार्यलाई पछ्याउन सक्ने, र उहाँले तिनीहरूलाई जता डोर्याउनुभए पनि परमेश्वरलाई नै पछ्याउने गरी परमेश्वरका पाइलाहरूलाई पछ्याउन सक्नेहरू—यिनीहरू परमेश्वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कार्यलाई नपछ्याउनेहरू परमेश्वरका वचनहरूको कार्यमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जति नै धेरै काम गरे तापनि, वा तिनीहरूको कष्ट भोगाइ जति नै ठूलो भए तापनि, वा तिनीहरूले जति नै धेरै दौडधूप गरे पनि, यीमध्ये कुनै पनि कुरा परमेश्वरको लागि कुनै अर्थको हुँदैन, र उहाँले तिनीहरूलाई अनुमोदन गर्नुहुनेछैन। आज, परमेश्वरको वर्तमान वचनहरूलाई पछ्याउनेहरू सबैजना पवित्र आत्माको प्रवाहमा हुन्छन्; परमेश्वरको आजको वचनप्रति अपरिचित रहनेहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर हुन्छन्, र त्यस्ता मानिसहरूलाई परमेश्वरले अनुमोदन गर्नुहुन्न। पवित्र आत्माको वर्तमान वाणीहरूबाट अलग रहेको सेवा देहको, र धारणाहरूको सेवा हो, र यो परमेश्वरका अभिप्रायअनुसार हुनु असम्भव छ। यदि मानिसहरू धार्मिक धारणाहरूमाझ जिउँछन् भने, तिनीहरूले परमेश्वरका अभिप्राय अनुसार केही पनि गर्न सक्दैनन्, र तिनीहरूले परमेश्वरको सेवा गरे तापनि, तिनीहरूले तिनीहरूका कल्पना र धारणाहरूमाझ सेवा गर्छन्, अनि परमेश्वरको अभिप्रायहरूअनुसार सेवा गर्न तिनीहरू पूर्ण रूपमा असमर्थ हुन्छन्। पवित्र आत्माको कामलाई पछ्याउन नसक्नेहरूले परमेश्वरका अभिप्रायलाई बुझ्दैनन्, र परमेश्वरका अभिप्रायहरूलाई नबुझ्नेहरूले परमेश्वरको सेवा गर्न सक्दैनन्। परमेश्वर उहाँका आफ्नै अभिप्राय अनुसारको सेवा चाहनुहुन्छ; उहाँ धारणाहरू र देहको सेवा चाहनुहुन्न। यदि मानिसहरूले पवित्र आत्माको कार्यका चरणहरूलाई पछ्याउन सक्दैनन् भने, तिनीहरू धारणाहरूमाझ जिउँछन्। त्यस्ता मानिसहरूको सेवाले अवरोध पुऱ्याउँछ र बाधा दिन्छ, अनि त्यस्तो सेवा परमेश्वरको विपरीत हुन्छ। त्यसकारण, परमेश्वरका पाइलाहरू पछ्याउन नसक्नेहरूले परमेश्वरको सेवा गर्न सक्दैनन्; परमेश्वरका पाइलाहरूलाई पछ्याउन नसक्नेहरूले अवश्य नै परमेश्वरको विरोध गर्छन्, र तिनीहरू परमेश्वरको अनुरूप हुन सक्दैनन्। “पवित्र आत्माको कार्यलाई पछ्याउनु” को अर्थ परमेश्वरको आजका अभिप्रायहरूलाई बुझ्नु, परमेश्वरका वर्तमान मापदण्डहरूअनुसार काम गर्न सक्नु, आजको परमेश्वरमा समर्पित हुन र उहाँलाई पछ्याउन, र परमेश्वरका सबैभन्दा नयाँ वाणीहरूअनुसार प्रवेश गर्न सक्नु भन्ने हुन्छ। पवित्र आत्माको कार्यलाई पछ्याउने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति यही मात्रै हो। त्यस्ता मानिसहरूले परमेश्वरको प्रशंसा प्राप्त गर्न र परमेश्वरलाई देख्न सक्ने मात्रै होइनन्, तिनीहरूले त परमेश्वरको हालैको कामबाट परमेश्वरको स्वभावलाई पनि जान्न सक्छन्, र उहाँको हालैको कामबाट मानिसका धारणाहरू र विद्रोहीपनलाई, अनि मानिसको स्वभाव र सारलाई पनि जान्न सक्छन्; यसको साथै, तिनीहरूको सेवाको अवधिमा तिनीहरूले आफ्नो स्वभावमा क्रमिक रूपमा परिवर्तन हासिल गर्न पनि सक्छन्। यस्ता मानिसहरू मात्रै परमेश्वरलाई प्राप्त गर्न सक्ने, र यथार्थ रूपमा साँचो मार्ग भेट्टाउन सफल भएका मानिसहरू हुन्। पवित्र आत्माको कामद्वारा हटाइएकाहरू परमेश्वरको हालैको कामलाई पछ्याउन नसक्ने, र परमेश्वरको हालैको कामको विरुद्ध विद्रोह गर्ने मानिसहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्वरलाई खुल्लमखुल्ला विरोध गर्नुको कारण, परमेश्वरले नयाँ काम गर्नुभएकोले, र परमेश्वरको स्वरूप तिनीहरूको धारणामा भएको जस्तो नभएकोले गर्दा हो—यसको परिणामस्वरूप, तिनीहरूले खुल्लमखुल्ला परमेश्वरको विरोध गर्छन्, र परमेश्वरको आलोचना गर्छन्, जसले गर्दा परमेश्वरले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ। परमेश्वरको हालैको कामको ज्ञान प्राप्त गर्नु त्यति सजिलो विषय होइन, तर यदि मानिसहरूमा परमेश्वरको काममा समर्पित हुने र परमेश्वरको कामको खोजी गर्ने मनमस्तिष्क छ भने, तिनीहरूले परमेश्वरलाई देख्ने मौका पाउनेछन्, र तिनीहरूले पवित्र आत्माको सबैभन्दा नयाँ अगुवाइ प्राप्त गर्ने मौका पाउनेछन्। परमेश्वरको कामलाई जानीजानी विरोध गर्नेहरूले पवित्र आत्माको अन्तर्दृष्टि वा परमेश्वरको अगुवाइ प्राप्त गर्न सक्दैनन्। त्यसकारण, मानिसहरूले परमेश्वरको हालैको काम प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा परमेश्वरको अनुग्रहमा निर्भर हुन्छ, यो तिनीहरूको खोजीमा निर्भर हुन्छ, र यो तिनीहरूका अभिप्रायहरूमा निर्भर हुन्छ।
पवित्र आत्माका वर्तमान वाणीहरूमा समर्पित हुन सक्नेहरू सबै आशिषितहरू हुन्। तिनीहरू पहिले जस्तो हुने गरेको भए तापनि, वा पवित्र आत्माले तिनीहरूमा जसरी काम गर्ने गर्नुभएको भए तापनि—परमेश्वरको हालैको कामलाई प्राप्त गर्नेहरू नै सबैभन्दा बढी आशिषित हुनेहरू हुन्, र आज हालैको कामलाई पछ्याउन नसक्नेहरूलाई हटाइन्छ। परमेश्वर नयाँ ज्योति स्वीकार गर्न सक्नेहरूलाई नै चाहनुहुन्छ, र उहाँले उहाँको हालैको कामलाई स्वीकार गर्ने र चिन्नेहरूलाई चाहनुहुन्छ। तँ विशुद्ध कन्या हुनुपर्छ भनेर किन भनिन्छ? विशुद्ध कन्याले पवित्र आत्माको कामलाई खोज्न र नयाँ कुराहरूलाई बुझ्न सक्छ, यति मात्र होइन, उसले पुराना धारणाहरूलाई पन्छाएर, परमेश्वरको आजको काममा समर्पित हुन सक्छ। आजको सबैभन्दा नयाँ कामलाई स्वीकार गर्ने मानिसहरूको यो समूहलाई युगौंयुग पहिले नै परमेश्वरले पूर्वनिर्धारित गरिसक्नुभएको थियो, र तिनीहरू सबैभन्दा आशिषित मानिसहरू हुन्। तिमीहरूले परमेश्वरको आवाज प्रत्यक्ष रूपमै सुन्छौ, र परमेश्वर देखा पर्नुभएको घटनालाई देख्छौ, र त्यसकारण, स्वर्ग र पृथ्वीभरि, र युगौँयुगभरि नै, तिमीहरू अर्थात् मानिसहरूको यो समूहभन्दा बढी कोही पनि आशिषित भएको छैन। यो सबै नै परमेश्वरको कार्यले गर्दा, परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको र चुन्नुभएकोले गर्दा, अनि परमेश्वरको अनुग्रहले गर्दा नै भएको हो; यदि परमेश्वरले आफ्ना वचनहरू नबोल्नुभएको र उच्चारित नगर्नुभएको भए, के तिमीहरूको अवस्था आजको जस्तो हुन सक्थ्यो र? तसर्थ, सारा महिमा र प्रशंसा परमेश्वरलाई होस्, किनभने परमेश्वरले तिमीहरूलाई उठाउनुहुने भएकोले गर्दा नै यो सबै भएको हो। यी कुराहरूलाई ध्यानमा राख्दै, के तँ अझै पनि नकारात्मक हुन सक्छस्? के तेरो सामर्थ्य अझै पनि माथि उठ्न सक्दैन?
तैँले परमेश्वरका वचनहरूको न्याय, सजाय, प्रहार, र शोधनलाई स्वीकार गर्न सक्छस्, यसको साथै तँ परमेश्वरका आज्ञाहरूलाई स्वीकार गर्न सक्छस् भन्ने कुरा युगौंयुग पहिले नै परमेश्वरले पूर्वनिर्धारित गरिसक्नुभएको थियो, तसर्थ तँलाई सजाय दिइँदा तँ हैरान हुनु हुँदैन। तिमीहरूमा गरिएको काम, र तिमीहरूलाई दिइएका आशिष्हरू कसैले पनि खोस्न सक्दैन, अनि तिमीहरूलाई दिइएका सबै कुराहरू कसैले पनि खोसेर लैजान सक्दैन। धर्मका मानिसहरूलाई तिमीहरूसँग तुलना गर्न सकिँदैन। तिमीहरूमा बाइबलसम्बन्धी विशेषज्ञता छैन, र तिमीहरू धार्मिक धर्मसिद्धान्तहरूद्वारा सुसज्जित छैनौ, तर परमेश्वरले तिमीहरूभित्र काम गर्नुभएको हुनाले, तिमीहरूले युगौंयुगको अवधिमा अरू कसैले भन्दा बढी प्राप्त गरेका छौ—त्यसकारण, यो तिमीहरूको सबैभन्दा ठूलो आशिष् हो। यही कारणले गर्दा, तिमीहरू परमेश्वरप्रति अझै समर्पित हुनुपर्छ, र परमेश्वरप्रति अझै निष्ठावान हुनुपर्छ। परमेश्वरले तँलाई माथि उठाउनुहुने भएकोले, तैँले आफ्नो प्रयासहरूलाई सुदृढ पार्नुपर्छ, र परमेश्वरको आज्ञालाई स्वीकार गर्नको लागि तेरो कदलाई तयार गर्नुपर्छ। परमेश्वरले तँलाई दिनुभएको स्थानमा तँ दह्रिलो गरी खडा हुनैपर्छ, परमेश्वरका मानिसहरूमध्ये एक बन्न तँ लागिपर्नुपर्छ, राज्यको तालिमलाई स्वीकार गर्नुपर्छ, परमेश्वरद्वारा प्राप्त गरिनुपर्छ र आखिरमा परमेश्वरको महिमावान् गवाही बन्नुपर्छ। के तँमा यी संकल्पहरू छन्? यदि तँमा यस्ता संकल्पहरू छन् भने, आखिरमा तँलाई अवश्य नै परमेश्वरले प्राप्त गर्नुहुनेछ, र तँ परमेश्वरको महिमावान् गवाही बन्नेछस्। मुख्य आज्ञा भनेको नै परमेश्वरद्वारा प्राप्त गरिनु र परमेश्वरको महिमावान् गवाही बन्नु हो भन्ने कुरालाई तैँले बुझ्नुपर्छ। परमेश्वरको अभिप्राय नै यही हो।
पवित्र आत्माको आजका वचनहरू पवित्र आत्माका कार्यका गतिशीलताहरू हुन्, र यो अवधिमा पवित्र आत्माले मानिसलाई निरन्तर अन्तर्दृष्टि दिनु नै पवित्र आत्माको कामको प्रवृत्ति हो। अनि आजको पवित्र आत्माको कामको प्रवृत्ति के हो त? यो परमेश्वरको आजको काममा, र सामान्य आत्मिक जीवनमा मानिसहरूको नेतृत्व गर्नु हो। सामान्य आत्मिक जीवनमा गरिने प्रवेशका धेरै चरणहरू छन्:
१. पहिलो, तैँले आफ्नो हृदयलाई परमेश्वरको वचनमा खन्याउनैपर्छ। तैँले विगतको परमेश्वरको वचनलाई पछ्याउनु हुँदैन, र तिनलाई अध्ययन गर्नु हुँदैन, न त तिनलाई आजको वचनहरूसँग नै तुलना गर्नु हुन्छ। बरु, तैँले आफ्नो हृदयलाई पूर्ण रूपमा परमेश्वरको वर्तमान वचनमा लगाउनुपर्छ। यदि अझै पनि विगतका परमेश्वरको वचन, आत्मिक पुस्तकहरू, वा अरू प्रचारका विवरणहरूलाई पढ्न चाहने, तर आजको पवित्र आत्माको वचनलाई नपछ्याउने मानिसहरू छन् भने, तिनीहरू सबैभन्दा मूर्ख मानिसहरू हुन्; परमेश्वरले त्यस्ता मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ। यदि तँ आजको पवित्र आत्माको ज्योतिलाई स्वीकार गर्न इच्छुक छस् भने, परमेश्वरको आजका वाणीहरूमा आफ्नो हृदयलाई पूर्ण रूपमा खन्या। तैँले हासिल गर्नुपर्ने पहिलो कुरा नै यही हो।
२. तैँले आजको परमेश्वरले बोल्नुभएका वचनहरूको जगमा प्रार्थना गर्नैपर्छ, तँ परमेश्वरका वचनहरूमा प्रवेश गरेर परमेश्वरसँग कुराकानी गर्नैपर्छ, र तैँले आफूले हासिल गर्न चाहेका मापदण्डहरू स्थापित गर्दै परमेश्वरको अघि आफ्ना संकल्पहरू गर्नैपर्छ।
३. तैँले पवित्र आत्माको आजको कामको जगमा सत्यताभित्र गहन प्रवेशको खोजी गर्नुपर्छ। विगतका पुराना भइसकेका वाणी र सिद्धान्तहरूलाई पक्री नराख्।
४. तैँले पवित्र आत्माको छुवाइ प्राप्त गर्ने र परमेश्वरका वचनहरूमा प्रवेश गर्ने प्रयास गर्नुपर्छ।
५. तँ आज पवित्र आत्माले हिँड्नुभएको मार्गमा प्रवेश गर्न लागिपर्नुपर्छ।
अनि तैँले कसरी पवित्र आत्माको छुवाइको खोजी गर्छस्? महत्त्वपूर्ण कुरा भनेको परमेश्वरका वर्तमान वचनहरूमा जिउनु, र परमेश्वरका मापदण्डहरूको जगमा रही प्रार्थना गर्नु हो। यसरी प्रार्थना गरिसकेपछि, पवित्र आत्माले तँलाई अवश्य नै छुनुहुन्छ। यदि तँ आज परमेश्वरले बोल्नुभएका वचनहरूको जगमा रही खोजी गर्दैनस् भने, यो व्यर्थ हुन्छ। तैँले यसो भन्दै प्रार्थना गर्नुपर्छ: “हे परमेश्वर! म तपाईंको विरोध गर्छु, र म तपाईंको धेरै ऋणी छु; म धेरै विद्रोही छु, र म कहिल्यै पनि तपाईंलाई सन्तुष्ट तुल्याउन सक्दिनँ। हे परमेश्वर, तपाईंले मलाई मुक्ति दिनुहोस् भन्ने मेरो कामना छ, म तपाईंका लागि अन्त्यसम्मै श्रम गर्न चाहन्छु, म तपाईंको निम्ति मर्न चाहन्छु। तपाईं मेरो न्याय गर्नुहोस् र मलाई सजाय दिनुहोस्, तर म कुनै गुनासो गर्दिनँ; म तपाईंको विरोध गर्छु र म मर्न योग्य छु, ताकि मेरो मृत्युमा सबै मानिसहरूले तपाईंको धर्मी स्वभावलाई देख्न सकून्।” जब तँ हृदयबाटै यसरी प्रार्थना गर्छस्, परमेश्वरले तँलाई सुन्नुहुनेछ र तँलाई अगुवाइ गर्नुहुनेछ; यदि तँ पवित्र आत्माको आजका वचनहरूको जगमा रही प्रार्थना गर्दैनस् भने, पवित्र आत्माले तँलाई छुनुहुने कुनै सम्भावना हुँदैन। यदि तँ परमेश्वरका अभिप्रायअनुसार, र आज परमेश्वरले जे गर्न चाहनुहुन्छ त्योअनुसार प्रार्थना गर्छस् भने, तैँले यसो भन्नेछस्: “हे परमेश्वर! म तपाईंका आज्ञाहरूलाई स्वीकार गर्न र तपाईंका आज्ञाहरूप्रति विश्वासयोग्य हुन चाहन्छु, अनि म मेरो सम्पूर्ण जीवन नै तपाईंकै महिमामा अर्पण गर्न इच्छुक छु, ताकि मैले गर्ने सबै कुरा परमेश्वरका मानिसहरूका मापदण्डहरूको स्तरसम्म पुग्न सकून्। मेरो हृदय तपाईंद्वारा छोइयोस्। तपाईंको आत्माद्वारा मलाई सधैँ अन्तर्दृष्टि मिलोस्, मैले गर्ने सबै कुराले शैतानलाई शर्ममा पारोस्, आखिरमा मलाई तपाईंले प्राप्त गर्नुहोस् भन्ने मेरो कामना छ।” यदि तँ यसरी, परमेश्वरका अभिप्रायवरिपरि केन्द्रित भई प्रार्थना गर्छस् भने, पवित्र आत्माले अपरिहार्य रूपमै तँमा काम गर्नुहुनेछ। तेरो प्रार्थनाका शब्दहरू कति धेरै छन् त्यसले केही फरक पार्दैन—तैँले परमेश्वरका अभिप्रायहरू बुझ्छस् कि बुझ्दैनस्, मुख्य कुरा त्यही हो। तिमीहरू सबैले सायद यस्तो अनुभव प्राप्त गरेका छौ होला: भेलामा प्रार्थना गरिरहेको बेला कहिलेकहीँ पवित्र आत्माको कार्यका गतिशीलताहरू तिनको चरम अवस्थामा पुग्छन् र त्यसले सबैको सामर्थ्यलाई माथि उठाउँछ। कतिपय मानिसहरू प्रार्थना गर्दागर्दै परमेश्वरको अघि पछुतोले भरिएर नराम्ररी रुन्छन् र रुँदै बरर आँसु झार्छन्, र कतिपय मानिसहरूले आफ्नो सङ्कल्प देखाउँछन् र भाकल गर्छन्। पवित्र आत्माको कामले हासिल गर्नुपर्ने प्रभाव त्यस्तै नै हो। आज, सबै मानिसहरूले परमेश्वरको वचनमा आफ्नो हृदय पूर्ण रूपमा खन्याउनु महत्त्वपूर्ण छ। पहिले बोलिएका वचनहरूमा ध्यान नदे; पहिले जे आएको थियो त्यसलाई नै तँ अझै पक्रिरहन्छस् भने, पवित्र आत्माले तँभित्र काम गर्नुहुनेछैन। के तँ यो कति महत्त्वपूर्ण छ भन्ने देख्छस्?
के तँ आज पवित्र आत्माले हिँड्नुभएको मार्ग चिन्छस्? माथि उल्लेख गरिएका विभिन्न बुँदाहरू पवित्र आत्माले आज र भविष्यमा पूरा गर्नुपर्ने कुराहरू हुन्; ती पवित्र आत्माले लिनुभएको मार्ग हो, र मानिसले हासिल गर्न खोज्नुपर्ने प्रवेश हो। तेरो जीवन प्रवेशमा, तैँले कम्तीमा पनि तेरो हृदयलाई परमेश्वरका वचनहरूमा खन्याउनुपर्छ, र परमेश्वरका वचनहरूको न्याय र सजायलाई स्वीकार गर्न सक्नुपर्छ; तेरो हृदय परमेश्वरको लागि तृषित हुनैपर्छ, तैँले सत्यताभित्रको गहन प्रवेश, र परमेश्वरले तोक्नुभएका उद्देश्यहरू खोजी गर्नुपर्छ। जब तँमा यस्तो सामर्थ्य हुन्छ, यसले तँलाई परमेश्वरले छुनुभएको छ, र तेरो हृदय परमेश्वरतर्फ फर्कन थालेको छ भन्ने देखाउँछ।
जीवन प्रवेश गर्ने कार्यको पहिलो चरण भनेको तेरो हृदयलाई पूर्ण रूपमा परमेश्वरका वचनहरूमा खन्याउनु हो, र दोस्रो चरण भनेको पवित्र आत्माको छुवाइलाई स्वीकार गर्नु हो। पवित्र आत्माको छुवाइलाई स्वीकार गरेर के प्रभाव हासिल गरिन्छ? यो अझै गहन सत्यताको तृष्णा गर्न, त्यसको खोजी गर्न, र अन्वेषण गर्न, र सकारात्मक तरिकाले परमेश्वरसँग सहकार्य गर्न सक्षम हुनलाई हो। आज, तँ परमेश्वरसँग सहकार्य गर्छस्, भन्नुको अर्थ, तेरो खोजी, तेरा प्रार्थनाहरू, र परमेश्वरका वचनहरूसँग तेरो विचार-मन्थनको उद्देश्य छ, र तैँले तेरो कर्तव्य परमेश्वरका मापदण्डहरूअनुसार पूरा गर्छस्—यो मात्रै परमेश्वरसँग सहकार्य गर्नु हो। यदि तँ परमेश्वरलाई काम गर्न दिनेबारेमा मात्रै बोल्छस्, तर प्रार्थना र खोजी गर्नु त कता हो कता तैँले कुनै काम समेत गर्दैनस् भने, के यसलाई सहकार्य भन्न सकिन्छ र? यदि तँमा सहकार्यको कुनै छाप नै छैन, र तँमा उद्देश्यसहितको प्रवेशको तालिमको अभाव छ भने, तैँले सहकार्य गरिरहेको छैनस्। कतिपय मानिसहरूले यसो भन्छन्: “सबै कुरा परमेश्वरले गर्नुभएको पूर्वनिर्धारणमा नै निर्भर हुन्छ, यो सबै परमेश्वर स्वयमले गर्नुहुन्छ; यदि यो परमेश्वरले गर्नुभएको होइन भने, मानिसले कसरी गर्न सक्थ्यो र?” परमेश्वरको कार्य सामान्य छ, र अलिकति पनि अलौकिक छैन, र तेरो सक्रिय खोजीद्वारा मात्रै पवित्र आत्माले काम गर्नुहुन्छ, किनभने परमेश्वरले जबरजस्ती गर्नुहुन्न—तैँले परमेश्वरलाई काम गर्ने अवसर दिनैपर्छ, र यदि तँ खोजी वा प्रवेश गर्दैनस् भने, र तेरो हृदयमा अलिकति पनि तृष्णा छैन भने, परमेश्वरसँग काम गर्ने कुनै मौका हुँदैन। परमेश्वरद्वारा छोइनको लागि तँ कुन मार्गद्वारा खोजी गर्छस्? प्रार्थनाद्वारा, र परमेश्वरको नजिक आएर। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, यो परमेश्वरले बोल्नुभएका वचनहरूको जगमा नै हुनुपर्छ भन्ने कुरा याद गर्। जब तँ बारम्बार परमेश्वरद्वारा स्पर्शित हुन्छस्, तब तँ देहको बन्धनमा पर्दैनस्: पति, पत्नी, छोराछोरी, र रुपियाँपैसा—ती सबैले तँलाई सीमित पार्न सक्दैनन्, र तँ सत्यताको पछि लाग्न र परमेश्वरको अघि जिउन मात्रै चाहन्छस्। यसपटक, तँ स्वतन्त्रताको क्षेत्रमा जिउने व्यक्ति बन्नेछस्।