५७. अरूलाई सिफारिस गर्न किन यति गाह्रो हुन्छ?
म मण्डलीमा ग्राफिक डिजाइनको इन्चार्ज थिएँ, र मैले आफ्नो ग्राफिक डिजाइन गर्नेबाहेक, हरेक दिन टोलीको काम अनुगमन गर्ने र ब्रदर-सिस्टरहरूको समस्या समाधान गर्ने पनि गर्नुपर्थ्यो। म हरेक दिन व्यस्त भए पनि, जब जब ब्रदर-सिस्टरहरू समस्या आइपर्दा मकहाँ आउँथे, र उनीहरूले मैले दिएका प्रायः सबै सल्लाह स्विकार्थे, तब मलाई खुसी लाग्थ्यो, सबैले आदर गर्दा पाइने यस अनुभूतिमा रमाउँथेँ।
पछि, केही नयाँ ब्रदर-सिस्टरहरू टोलीमा आबद्ध भए। उनीहरू ग्राफिक डिजाइनमा त्यति राम्रो थिएनन्, अनि उनीहरूलाई मेरो सहयोग र मार्गदर्शन चाहिन्थ्यो। अचानक, मलाई धेरै दबाब महसुस भयो। हरेक दिन म आफैले ग्राफिक डिजाइन गर्नुपर्थ्यो, अनि मैले यी ब्रदर-सिस्टरहरूलाई निर्देशन दिने र अरूको काम अनुगमन गर्ने पनि गर्नुपर्थ्यो। मलाई पहिले नै गाह्रो परिरहेको थियो, तर मसँग सहकार्य गर्ने कोही भएको भए राम्रो हुनेथ्यो। मैले सायेनलाई सम्झेँ। उनी प्रविधिमा निपुण थिइन्, आफ्नो कर्तव्य निर्वाहमा जिम्मेवार थिइन्, र मैले उनलाई सुम्पेको प्रायः सबै काम गम्भीरतापूर्वक सम्पन्न गर्न सक्थिन्, त्यसैले म सायेनलाई सुपरिवेक्षकसमक्ष टोली अगुवामा बढुवा गर्न सिफारिस गरी मेरो सहकर्मी बनाउन चाहन्थेँ। हामी दुईबीच कामको बोझ बाँड्दा, हाम्रो काम अझ प्रभावकारी हुनेथ्यो, र समस्या आउँदा हामी तीबारे मिलेर छलफल गर्न सक्थ्यौँ। तर मैले सुपरिवेक्षकलाई बताउनै लाग्दा, अचानक सोचेँ, “यदि सायेन साँच्चै टोली अगुवा बनिन् भने, के कहिले उनले मेरो वाहवाही खोस्ने समय आउनेछ? त्यस्तो भयो भने त ब्रदर-सिस्टरहरूले आफूलाई कठिनाइहरू आइपर्दा मसँग सल्लाह लिनेछैनन्, अनि उनीहरूको हृदयमा मेरो हैसियत पहिलेजस्तो उच्च हुनेछैन। म टोली अगुवा हुनु मेरो निरन्तरको काम र प्रयासको परिणाम थियो: मैले सबैलाई ग्राफिक डिजाइनको तरकिब सिकाएँ र उनीहरूका समस्या र कठिनाइहरू समाधान गरेँ। अब, मैले सायेनलाई सिफारिस गर्दाखेरि, मैले आफ्नो हैसियत र शक्ति उनीसँग आधा-आधा बाँड्नुपर्नेथ्यो—के मलाई घाटा हुनेथिएन र?” यसबारे सोच्दा, मैले सायेनलाई सिफारिस गर्ने कुरा मनमै गुम्साएँ। सोचेँ, “एकछिन पर्खी। अझ सोच्, अलि बढी मूल्य तिर्, सायद यो काम म नै गर्न सक्छु—अन्त्यमा, सबै श्रेय मलाई नै जानेछ।” केही समयपछि, मण्डलीले मलाई अर्को कामको जिम्मेवारी दियो, त्यसैले मसँग ब्रदर-सिस्टरहरूको काम र व्यावसायिक सीपहरूको अध्ययनबारे अनुगमन गर्ने पर्याप्त समय भएन। मलाई परिस्थिति यस्तै रहिरह्यो भने, मानिसहरूलाई संवर्धन गर्ने काम अवश्यै ढिलो हुनेछ भन्ने चिन्ता लाग्यो। मेरो आफ्नै समय र शक्ति एकदमै सीमित थियो। त्यसैले मैले फेरि एकपटक सुपरिवेक्षकसमक्ष सायेनको सिफारिस गर्न चाहेँ, तर मैले भन्नै लाग्दा, फेरि हिचकिचाएँ, “टोलीका सबै कामका लागि अन्तिम निर्णय गर्ने व्यक्ति म नै हुँ, र दुई जना टोली अगुवा भएमा, मैले यो शक्ति गुमाउनेछु। मैले हरेक मामलामा अर्को व्यक्तिसँग कुराकानी र छलफल गर्नुपर्नेछ, र मेरा आफ्नै शब्दहरूको त्यति महत्त्व रहने छैन। अहिलेलाई मैले नै यो किन नसम्हाल्ने र? यदि मैले कुनै काम निरीक्षण गर्न समय निकाल्न सकिनँ भने, म त्यसलाई अलिअलि गर्दै अनुगमन गर्नेछु। त्यसबाहेक, मानिसहरूलाई संवर्धन गर्ने काम एक वा दुई दिनमा हुँदैन, र मैले जानाजानी कामकुरालाई अवरोध वा बाधा पुर्याइरहेको पनि त होइन। मैले केवल अरू कसैलाई सिफारिस नगरिरहेको मात्रै हो—सायद परमेश्वरले मलाई दोषी ठहराउनुहुनेछैन।” पछि, संवर्धन काममा बिस्तारै प्रगति भयो, अनि मैले हरेकपटक यसबारे सोच्दा, मलाई दोषी महसुस हुन्थ्यो। त्यसैले मैले परमेश्वरलाई यसो भन्दै प्रार्थना गरेँ, “हे परमेश्वर, अहिले कर्मचारीको परिस्थिति र कार्यभारका आधारमा, दुई टोली अगुवाले सहकार्य गर्दा कामलाई लाभ पुग्नेछ; म सायेनलाई सिफारिस गर्न चाहन्छु, तर म भन्न सक्दिनँ। अरूलाई सिफारिस गर्न मलाई किन यति गाह्रो हुन्छ? कृपया मलाई आफ्ना समस्याहरू बुझ्न अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्।”
त्यसपछि, मैले आफ्नो स्थिति अगुवालाई खुलस्त बताएँ, अनि अगुवाले मलाई परमेश्वरका केही वचन पठाए। परमेश्वर भन्नुहुन्छ: “मण्डली अगुवाको रूपमा तैँले समस्याहरू सुल्झाउन केवल सत्यता प्रयोग गर्न सिक्नु मात्रै जरुरी हुँदैन, तैँले प्रतिभाशाली मानिसहरू पत्ता लगाउन र उनीहरूको वृद्धिविकास गर्न सिक्नु पनि जरुरी हुन्छ र तैँले त्यस्ता व्यक्तिहरूलाई डाहा गर्ने र दबाउने कदापि गर्नु हुँदैन। त्यस तरिकाले अभ्यास गर्नु मण्डलीको कामको लागि फाइदाजनक हुन्छ। यदि तैँले सत्यता पछ्याउने केही व्यक्तिहरूको वृद्धिविकास गरी तिनीहरूलाई तँसँग सहकार्य गर्ने र सबै काम राम्रोसित गर्ने बनाउँछस्, र अन्त्यमा तिमीहरू सबैसँग अनुभावात्मक गवाही हुन्छ भने, तँ एक योग्य अगुवा वा सेवक हुनेछस्। यदि तँ सबै कुरा सिद्धान्तहरूअनुसार सम्हाल्न सक्षम छस् भने, तैँले आफ्नो निष्ठा समर्पण गरिरहेको छस्। कतिपय मानिसहरू आफूभन्दा अरूहरू उत्तम र उच्च होलान्, र आफ्नो बेवास्ता हुँदा अरूहरूलाई मानसम्मान मिल्ला भनेर सधैँ डराउँछन्, र यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बनाउँछ। के यो प्रतिभावान् मानिसहरूको ईर्ष्या गर्नु होइन र? के त्यो स्वार्थी र नीच कुरा होइन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशयता हो! आफ्ना हितहरूबारे मात्रै सोच्ने, आफ्ना स्वार्थी चाहनाहरू मात्रै पूरा गर्ने, अन्य व्यक्तिहरूबारे वा परमेश्वरको घरको हितबारे केही नसोच्ने मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न। यदि तँ साँच्चै परमेश्वरका अभिप्रायलाई ख्याल गर्न सक्षम छस् भने, तैँले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्नेछस्। यदि तैँले असल व्यक्ति सिफारिस गर्छस् र उसलाई तालिम लिँदै कर्तव्य निभाउन दिन्छस्, र यसरी परमेश्वरको घरमा एक प्रतिभावान् व्यक्ति थप्छस् भने, के यसले तेरो काम सहज पार्नेछैन र? तब के तैँले आफ्नो कर्तव्यमा निष्ठा देखाइरहेको हुनेछैनस् र? त्यो परमेश्वरअघिको असल कार्य हो; अगुवाको रूपमा सेवा गर्ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। मैले परमेश्वरका वचनहरू पढेपछि के बुझेँ भने अगुवा र कामदारहरूले प्रतिभावान् व्यक्तिहरूलाई कसरी पत्ता लगाउने र संवर्धन गर्ने भनेर सिक्नुपर्छ, यसले मण्डलीको कामलाई फाइदा पुग्छ, र त्यो मानिसहरूमा हुनुपर्ने विवेक र समझ हो। यदि कसैसँग मानिसहरूलाई सिफारिस गर्दा आफ्नो हैसियतलाई असर पुग्छ भन्ने सन्देह छ र उसले ती प्रतिभावान् मानिहरूलाई दबाउँछ भने, यो सक्षम व्यक्तिलाई ईर्ष्या गर्नु अनि स्वार्थी र नीच हुनु हो। त्यसैले मैले आत्मचिन्तन गरेँ। केही ब्रदर-सिस्टरले भर्खरै ग्राफिक डिजाइन अभ्यास गर्न थालेका थिए। उनीहरूलाई संवर्धन गर्न आवश्यक थियो र उनीहरूको व्यावसायिक तरकिब सुधार गर्नुपर्थ्यो। त्यो म एक्लैले गर्नु साँच्चै अति धेरै थियो, म यो काम सहकर्मीका साथमा मात्र सम्हाल्न सक्छु, र सायेन टोली अगुवा हुन उपयुक्त छिन् र उनलाई सिफारिस गर्नु कामलाई लाभदायक हुनेछ भनेर मैले स्पष्ट रूपमा बुझेँ। तर, यदि उनले मभन्दा राम्रो काम गर्न थालिन् भने, ब्रदर-सिस्टरहरूले उनलाई प्रशंसा र मलाई बेवास्ता गर्नेछन्, अनि मैले आफ्नो हैसियत गुमाउनेछु भन्ने मलाई चिन्ता लाग्यो। मलाई आफ्नो घाटा हुनेछ भन्ने लागेकाले, मैले सायेनलाई सिफारिस गरिनँ। मैले यदि यस कामका लागि धेरै कष्ट सहन र ठूलो मूल्य चुकाउन सकेँ भने, अन्त्यमा श्रेय जति मेरो हुनेछ भन्ने पनि सोचेँ। त्यसैले कम्मर कसेर आफै काम गरेँ, फलस्वरूप अरूलाई संवर्धन गर्ने काम बिस्तारै अगाडि बढ्यो। वास्तवमा, परमेश्वरले मलाई टोली अगुवाको कर्तव्य गर्न दिएर उत्थान र उदार व्यवहार गरिरहनुभएको थियो, तर म परमेश्वरका अभिप्रायहरूप्रति विचारशील भइनँ। मैले प्रतिभावान् मानिसहरूलाई संवर्धन नगरेको मात्र होइन, मलाई सायेनले आफ्नो कर्तव्य राम्ररी गर्लिन् र मलाई उछिन्लिन् भन्ने चिन्तासमेत भयो। मैले काम ढिलो भएको देखेँ, र पनि उनलाई सिफारिस गर्न इच्छुक भइनँ। मैले आफ्नो कर्तव्य गर्दा, केवल आफ्नै ख्याति, प्राप्ति र हैसियतलाई जोगाएँ, अनि कामको प्रगति वा नतिजालाई विचार गरिनँ। म साँच्चै एकदमै स्वार्थी थिएँ, र मैले आफ्नो कर्तव्यप्रति अलिकति पनि बफादारी देखाइनँ!
पछि, मैले परमेश्वरका अझ धेरै वचन पढेँ: “तिमीहरू के भन्छौ, के अरूसँग सहकार्य गर्नु गाह्रो हुन्छ? वास्तवमा, गाह्रो हुँदैन। तिमीहरूले यो सजिलो छ भनेर समेत भन्न सक्छौ। तर पनि किन मानिसहरूलाई यो काम कठिन लाग्छ? किनभने तिनीहरूसँग भ्रष्ट स्वभाव हुन्छ। मानवता, विवेक, र समझ भएका मानिसहरूका लागि, अरूसँग सहकार्य गर्नु तुलनात्मक रूपमा सहज हुन्छ, र सम्भवतः तिनीहरूले यसबाट आनन्द पनि लिन सक्छन्। किनभने कुनै व्यक्तिको क्षेत्र जे भए पनि, र उसले जे गरिरहेको भए पनि, उसले एक्लै काम पूरा गर्न सहज हुँदैन, त्यसैले गल्ती औँल्याउने र मदत गर्ने व्यक्ति हुनु सधैँ राम्रो हुन्छ—यसरी काम गर्नु आफू एक्लैले गर्नुभन्दा धेरै सहज हुन्छ। यसको साथै, मानिसहरूको क्षमताले के गर्न सक्छ वा तिनीहरू आफैले के अनुभव गर्न सक्छन् भन्ने कुराको पनि सीमा हुन्छ। सबै विषयमा कोही पनि पोख्त हुन सक्दैन; एउटै व्यक्तिले सबै कुरा जान्नु, सबै कुरामा सक्षम हुनु, र सबै कुरा हासिल गर्नु असम्भव हुन्छ—त्यो असम्भव कुरा हो, र सबैमा यो कुराको समझ हुनुपर्छ। त्यसकारण, तैँले महत्त्वपूर्ण वा महत्त्वहीन कार्य जे गरे पनि तँलाई सधैँ सहायता गर्ने, मार्गदर्शन र सल्लाह दिने, वा तँसँग सहकार्य गर्ने कोही चाहिनेछ। यो तैँले अझै सही रूपमा काम गर्ने, थोरै गल्तीहरू गर्ने र तँ बरालिने सम्भावना कम हुने कुरा सुनिश्चित गर्ने एउटै तरिका हो—र यो राम्रो कुरा हो। परमेश्वरको सेवा गर्नु वास्तवमै ठूलो कुरा हो, र तैँले आफ्नो भ्रष्ट स्वभावको समाधान नगर्दा त्यसले तँलाई खतरामा पार्न सक्छ! जब मानिसहरूमा शैतानी स्वभाव हुन्छ, तब तिनीहरूले कुनै पनि बेला र कुनै पनि स्थानमा परमेश्वरको विरुद्ध विद्रोह र विरोध गर्न सक्छन्। शैतानी स्वभावअनुसार जिउने मानिसहरूले परमेश्वरलाई कुनै पनि बेला इन्कार गर्न, विरोध गर्न, र विश्वासघात गर्न सक्छन्। ख्रीष्टविरोधीहरू अत्यन्तै मूर्ख हुन्छन्, तिनीहरूले यो बुझ्दैनन्, तिनीहरू सोच्छन्, ‘मलाई शक्ति प्राप्त गर्नका निम्ति धेरै समस्या भएको थियो, म किन यो अरूसँग बाँडूँ? यो अरूलाई दिनुको अर्थ म आफैसँग केही नहुनु हो, होइन र? मैले शक्तिविना कसरी मेरा प्रतिभा र क्षमताहरू प्रदर्शन गर्न सक्छु?’ परमेश्वरले मानिसहरूलाई जिम्मा दिनुभएको कुरा शक्ति वा हैसियत होइन, कर्तव्य हो भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन। ख्रीष्टविरोधीहरू शक्ति र हैसियतलाई मात्र स्विकार्छन्, आफ्नो कर्तव्यलाई पन्छ्याउँछन्, अनि तिनीहरूले वास्तविक काम गर्दैनन्। यसको साटो, तिनीहरू प्रसिद्धि, लाभ र हैसियत मात्र पछ्याउँछन्, अनि शक्ति खोस्न, परमेश्वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न, र हैसियतका लाभहरू लिन मात्र चाहन्छन्। यसरी काम गर्नु धेरै खतरनाक हुन्छ—यो परमेश्वरको विरोध गर्नु हो!” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वर भन्नुहुन्छ, कोही पनि सबै कुराको जानकार हुँदैन, हामी सबैलाई अरूको सहकार्य र सहयोग चाहिन्छ, हामीले एकअर्काबाट सिकेर आफ्ना कमजोरीहरूलाई परिपूर्ति गर्नुपर्छ। यसरी, हामी आफ्नो काममा हुने गल्ती र विचलनहरू कम गर्न सक्छौँ र आफ्ना कर्तव्यहरू सँगै पूरा गरेर परमेश्वरलाई सन्तुष्ट पार्न सक्छौँ। तर ख्रीष्टविरोधीहरूमा यो समझ हुँदैन, र तिनीहरू निरन्तर शक्तिमा एकाधिकार जमाउन र हैकम चलाउन चाहन्छन्, र कहिल्यै अरूसँग सहकार्य गर्न वा अरूलाई आफ्नो काममा सहभागी बन्न दिन चाहँदैनन्। मैले चिन्तन गरेर आफू पनि त्यस्तै रहेछु भन्ने बुझेँ। म एक्लैले टोली अगुवाको कर्तव्य गर्नै नसक्नेगरी व्यस्त थिएँ, र मैले तुरुन्तै बन्दोबस्त र कार्यान्वयन गर्न नसक्ने धेरै काम थिए, तर जब मैले सायेनलाई सिफारिस गर्न चाहेँ, तब ममा आफ्नो शक्ति घट्नेछ भन्ने सन्देह थियो। सायेनलाई सहकर्मीका रूपमा सिफारिस गर्नु भनेको टोली अगुवाका रूपमा मेरो शक्ति त्याग्नु बराबर हुनेछ भन्ने मलाई लाग्यो। मैले हैकम जमाउन, सबै निर्णय गर्न, वा ब्रदर-सिस्टरहरूको अगाडि आफूलाई प्रदर्शित गर्न सक्नेथिइनँ। त्यसैले मैले सायेनलाई सिफारिस गर्न चाहिनँ। मैले अरूलाई सिफारिस गर्न वा उनीहरूसँग सहकार्य गर्न नसक्नुको कारण पत्ता लगाएँ। मैले आफ्नो हातमा भएको शक्ति र हैसियत त्याग्न नसक्नु नै त्यो कारण थियो। मैले शक्तिमा एकदमै धेरै जोड दिएको थिएँ।
पछि, मैले शक्ति र हैसियतमा किन यति धेरै जोड दिएँ भनेर जवाफ खोजेँ। मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ र आफूबारे केही मात्रामा जानेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरूका लागि, प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि, यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले अझै पनि हैसियत र प्रतिष्ठाको खोजीलाई पन्छाउन सक्दैनन्। तिनीहरूलाई तैँले जुनसुकै समूहका मानिसहरूमाझ राख्न सक्छस् तर तिनीहरूले सोच्न सक्ने भनेकै प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। ख्रीष्टविरोधीहरूले पनि परमेश्वरमा विश्वास गर्ने भए पनि, तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियतको पछ्याइलाई परमेश्वरमाथिको विश्वास बराबर मान्छन् र यी दुई कुरालाई समान स्तरमा राख्छन्। भन्नुको मतलब, परमेश्वरमा विश्वास गर्ने मार्गमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियत पनि पछ्याउँछन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्वरमाथिको तिनीहरूको विश्वासमा सत्यताको पछ्याइ भनेको प्रतिष्ठा र हैसियतको पछ्याइ हो, अनि प्रतिष्ठा र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो; प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। यदि तिनीहरूलाई आफ्नो कुनै ख्याति, लाभ वा हैसियत छैन, कसैले पनि तिनीहरूलाई आदरभावले हेर्दैन, सम्मान गर्दैन, वा पछ्याउँदैन भन्ने लाग्यो भने, तिनीहरू अत्यन्तै निराश हुन्छन्, परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, ‘के परमेश्वरमाथिको त्यस्तो विश्वास असफलता हो? के म आशाहीन छैनँ र?’ तिनीहरू प्रायः आफ्ना हृदयमा त्यस्ता कुराहरूको हिसाबकिताब गर्छन्। तिनीहरू आफ्ना लागि परमेश्वरका घरमा कसरी स्थान बनाउन सकिन्छ, मण्डलीमा कसरी उच्च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ, कसरी मानिसहरूलाई तिनीहरूको कुरा सुन्न लगाउन सकिन्छ, र तिनीहरूले काम गर्दा समर्थन गराउन सकिन्छआफू जहाँ भए पनि मानिसहरूलाई कसरी तिनीहरूलाई पछ्याउन लगाउन सकिन्छ, र कसरी मण्डलीमा प्रभाव जमाउन सकिन्छ, अनि ख्याति, लाभ, र हैसियत पाउन सकिन्छ भनेर हिसाबकिताब गर्छन्—तिनीहरूले हृदयमा साँच्चै यस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले पछ्याउने कुरा यिनै हुन्। किन तिनीहरूले सधैँ त्यस्ता कुराहरूको बारेमा सोचिरहन्छन् त? परमेश्वरका वचनहरू पढेपछि, उपदेशहरू सुनेपछि, के तिनीहरूले वास्तवमै यी सबै कुराहरू बुझ्दैनन् त? के तिनीहरू वास्तवमै यी सबै कुरा देख्न सक्षम छैनन् त? के परमेश्वरका वचनहरू र सत्यताले तिनीहरूका धारणा, विचार र रायहरूलाई बदल्न सक्दैनन् त? अवस्था बिलकुलै त्यस्तो होइन। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने हुनाले, र हृदयमा तिनीहरूले सत्यताप्रति वितृष्ण मान्ने हुनाले, समस्या तिनीहरूमै हुन्छ, र फलस्वरूप, तिनीहरू सत्यता ग्रहण गर्न सक्दै नसक्ने हुन्छन्—र यो कुरा तिनीहरूको प्रकृति सारले निर्धारित गरेको हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वर ख्रीष्टविरोधीहरू जहाँ भए पनि वा तिनीहरूले जे काम गरे पनि, तिनीहरूले आफ्नो हैसियत पछ्याइ कहिल्यै त्याग्नेछैनन् भनेर खुलासा गर्नुहुन्छ। तिनीहरूलाई हैसियत र शक्ति प्राप्त गर्न सकियो भने, मानिसहरूको प्रशंसा र आदर जित्न सकिन्छ, र आफूमा प्रतिष्ठा, बोल्ने अधिकार र निर्णय गर्ने अधिकार हुन सक्छ भन्ने लाग्छ। तिनीहरू यस प्रकारको जीवनको मूल्य र अर्थ हुन्छ, र यदि आफूमा हैसियत नभएको भए, आफ्नो जीवन खोसिनेथ्यो भन्ने ठान्छन्। म ठ्याक्कै यस्तै थिएँ। म यस्ता शैतानी विषहरूद्वारा एकदमै प्रभावित भएको थिएँ, “अरूभन्दा असल बन र पुर्खाको नाम राख” र “महापुरुष एक जना मात्रै हुन सक्छ” त्यसैले, म सानै उमेरदेखि ठूलो भएपछि आफ्नो नाम कमाऊँ, सबैले मलाई मान गरून् र म जहाँ गए पनि सबै मेरो वरिपरि घुमून् भन्ने आशा गर्थेँ। मलाई मेरो कलेजका सुरुका दिन याद छ, मैले अर्को विद्यार्थीसँग कक्षा मनिटरको जिम्मेवारी बाँडेको थिएँ। केही समयपछि, मलाई दुई जना कक्षा मनिटर हुँदा आफू उत्कृष्ट हुन नपाउने रहेछु भन्ने मलाई लाग्यो, त्यसैले मैले हामी दुईमध्ये एक जना कक्षा मनिटर चुनिनुपर्छ भन्ने सुझाव राखेँ। मलाई आफू नै चयन हुन्छु, र त्यहाँबाट म सबैको केन्द्रबिन्दु, सम्पूर्ण कक्षामा सबैभन्दा उच्च बन्नेछु भन्ने आशा थियो—तर म चयन भइनँ। म कक्षा मनिटर नबनेको हुनाले, मैले कक्षा क्याडरका अन्य पदहरूमा बस्न पनि अस्वीकार गरिदिएँ। म मण्डलीमा आँउदा अझै पनि हैसियत प्राप्तिलाई आफ्नो पछ्याइको लक्ष्यका रूपमा लिन्थेँ, र मलाई म मात्रै टोली अगुवा भएँ भने हैकम जमाउन सक्छु र सबैले मलाई मान गर्नेछन् भन्ने लाग्थ्यो। सायेनलाई सिफारिस गर्ने सन्दर्भमा, मलाई त्यसो गर्दा मेरो हैसियत र शक्ति उनीसँग बाँडिन्छ, अनि एक दिन उनले मभन्दा राम्रो काम गर्दा, मैले आफ्नो प्रभाव गुमाउनेछु, अनि सबैले मलाई उच्च मान्दा र मैले भनेको कुरा सुन्दा प्राप्त हुने श्रेष्ठताको अनुभूति फेरि कहिल्यै गर्न पाउनेछैनँ भन्ने लाग्यो। यसकारण, मैले उनलाई सिफारिस गर्नुभन्दा काममा ढिलाइ गर्न रुचाएँ। म हैसियतको दास बनेँ। मैले विगतमा कसरी हैसियतको फाइदाको लोभ गरेर वास्तविक काम नगरेकाले गर्दा, अपराध गरेँ र मलाई बर्खास्त भएँ भनेर सम्झेँ। त्यतिबेला मैले शैतानको दर्शन र नियमअनुसार जीवन जिउँदा म गलत मार्गमा हिँड्न र आफूलाई प्रतिरोध गर्नुको सट्टा रमेश्वरको प्रतिरोध गर्न मात्र सक्छु भन्ने देखेँ।
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ: “आफ्नो कर्तव्य उपयुक्त तरिकाले पूरा गर्नुको सट्टा, ख्याति, लाभ र हैसियतको पछि लाग्ने कुनै पनि व्यक्तिले आगोसँग खेलिरहेको र आफ्नो जीवनसँग खेलिरहेको हुन्छ। अनि, आगोसँग र आफ्नै जीवनसँग खेलिरहेका व्यक्तिहरूले कुनै पनि बेला आफ्नो जीवन आफै बरबाद गर्न सक्छन्। आज, अगुवा वा कामदारको रूपमा, तैँले परमेश्वरको सेवा गरिरहेको छस्, जुन साधारण कुरा होइन। तैँले कुनै व्यक्तिको लागि काम गरिरहेको छैनस्, बिल तिर्न र हातमुख जोड्नको लागि पनि काम गरिरहेको छैनस्; बरु, तैँले मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। अनि, विशेष गरी परमेश्वरको आदेशमा नै यो कर्तव्य आएकाले, यसलाई निर्वाह गर्नुको तात्पर्य के हो? यो हो कि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरे पनि नगरे पनि, तँ त्यसको लागि परमेश्वरप्रति जवाफदेही हुन्छस्; अन्त्यमा, परमेश्वरलाई एउटा लेखा दिनुपर्छ, र यसमा एउटा परिणाम हुनैपर्छ। तैँले जे स्वीकार गरेको भए पनि त्यो परमेश्वरको आज्ञा हुन्छ, त्यो पवित्र जिम्मेवारी हुन्छ, त्यसकारण यो जिम्मेवारी जति महत्त्वपूर्ण वा सानोतिनो भए पनि, यो गम्भीर विषय हुन्छ। यो कति गम्भीर हुन्छ? यसले सानो परिमाणमा तैँले यो जीवनकालमा सत्यता प्राप्त गर्न सक्छस् कि सक्दैनस् र परमेश्वर तँलाई कुन दृष्टिले हेर्नुहुन्छ भन्ने कुरा समेट्छ। ठूलो परिमाणमा, यो प्रत्यक्ष रूपमा तेरा सम्भावनाहरू र भवितव्यसँग, र तेरो परिणामसँग सम्बन्धित हुन्छ; यदि तैँले दुष्टता गरिस् र परमेश्वरलाई विरोध गरिस् भने, तँलाई दोषी ठहराएर दण्डित गरिनेछ। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा गर्ने सबै कुराको बारेमा परमेश्वरले लेखा राख्नुभएको हुन्छ, र यसलाई कसरी अङ्क दिने र मूल्याङ्कन गर्ने भन्नेबारेमा उहाँका आफ्नै सिद्धान्त र मापदण्डहरू हुन्छन्; आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा तैँले प्रकट गर्ने सबै कुराको आधारमा तेरो परिणामलाई परमेश्वरले निर्धारित गर्नुहुन्छ। के यो गम्भीर कुरा हो? वास्तवमै हो! त्यसोभए, यदि तँलाई कुनै काम अह्राइयो भने, के यो तँ आफैले सम्हाल्नुपर्ने कुरा हो? (होइन।) त्यो काम तँ आफैले पूरा गर्न सक्ने कुरा होइन, तर यसका लागि तैँले जिम्मेवारी भने लिनुपर्छ। जिम्मेवारी तेरै हो; तैँले त्यो आज्ञा पूरा गर्नैपर्छ। यसले के कुरालाई छुन्छ? यसले सहकार्य, सेवामा कसरी सहकार्य गर्ने, आफ्नो कर्तव्य पूरा गर्न कसरी सहकार्य गर्ने, आफूले पाएको आज्ञा पूरा गर्न कसरी सहकार्य गर्ने, परमेश्वरको इच्छा पालना हुने गरी कसरी सहकार्य गर्ने भन्ने कुरालाई छुन्छ। यसले यी कुराहरूलाई छुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरका वचनहरू पढिसकेपछि, मलाई अलि डर लाग्यो, विशेष गरी परमेश्वरका यी वचनहरू पढ्दा: “आफ्नो कर्तव्य उपयुक्त तरिकाले पूरा गर्नुको सट्टा, ख्याति, लाभ र हैसियतको पछि लाग्ने कुनै पनि व्यक्तिले आगोसँग खेलिरहेको र आफ्नो जीवनसँग खेलिरहेको हुन्छ। अनि, आगोसँग र आफ्नै जीवनसँग खेलिरहेका व्यक्तिहरूले कुनै पनि बेला आफ्नो जीवन आफै बरबाद गर्न सक्छन्।” मैले ख्याति, प्राप्ति र हैसियत पछ्याउनु भनेको आफ्नो जीवनलाई महत्त्वपूर्ण नठानी आगोसँग खेल्नु र आफ्नो जीवनसँग खेल्नु बराबर हो भन्ने बुझेँ। व्यक्तिको कर्तव्य भनेको परमेश्वरबाट आएको आज्ञा, एकदमै गम्भीर कुरा हो। तर मैले आफ्नो कर्तव्यलाई शक्ति र हैसियत प्राप्त गर्ने साधनका रूपमा लिएँ; मलाई म यो काम एक्लै सम्हाल्न सक्दिनँ भन्ने थाहा भए पनि, मैले अघि सरेर सायेनलाई आफ्नो सहकर्मी हुन सिफारिस गरिनँ, मण्डलीको काम प्रभावित होला कि भनेर अलिकति पनि विचार गरिनँ। यो त परमेश्वरलाई प्रतिरोध गर्ने र चिढ्याउने कुरा थियो; के म आगोसँग खेलिरहेको थिइनँ र? टोली अगुवा भएर म आफ्नो कर्तव्य पूरा गर्न त सकिनँ-सकिनँ, मेरो जिम्माको काममा ढिलाइ पनि भयो। परमेश्वरलाई यसको सफाइ दिन सकिँदैन! म केवल ख्याति, प्राप्ति, हैसियत, र मानिसहरूलाई मेरो मान गर्न लगाउनुको पछि लागेँ, अनि म हिँडेको मार्ग ख्रीष्टविरोधीहरूको मार्ग थियो। मैले पश्चात्ताप नगरेको भए, मसँग असल नतिजा र गन्तव्य भएको हुनेथिएन। मैले यो बुझेपछि, आफूले पहिले मान्ने गरेको “मैले अरूलाई सिफारिस नगरिरहेको भए पनि, मैले प्रस्टै रूपमा अवरोध र बाधा पुर्याइनँ भने, परमेश्वरले मलाई दोषी ठहराउनुहुनेछैन,” भन्ने दृष्टिकोण सत्यतासँग मेल खाँदैन रहेछ भन्ने देखेँ। बाहिरबाट हेर्दा म आफ्नो कर्तव्य निर्वाहमा व्यस्त रहेको, कष्ट भोगिरहेको र मूल्य चुकाइरहेको, स्पष्ट रूपमा कुनै दुष्टता नगरिरहेको देखिए पनि, आफ्नै शक्ति र हैसियत जोगाउन, मैले सायेनलाई सिफारिस गर्नुभन्दा काममा ढिलाइ गर्न रुचाएँ। म आफ्नो ख्याति, प्राप्ति र हैसियतको रक्षा कसरी गर्ने भनेर मात्र सोच्थेँ—मैले सोचेको सबै कुरा दुष्ट र परमेश्वरले भर्त्सना गर्ने खालका थिए। परमेश्वर मानिसहरूको हृदय र मन छानबिन गर्नुहुन्छ। यदि मैले दुष्ट मार्ग नत्यागेर अझै पनि प्रतिष्ठा र हैसियत पछ्याएको भए, अन्त्यमा मलाई परमेश्वरले केवल दोषी ठहराउन र दण्ड दिन सक्नुहुन्थ्यो।
पछि, मैले परमेश्वरका वचनका अर्का दुई खण्ड पढेँ र अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “आफ्नो कर्तव्य निभाउनेहरू सबैको हकमा भन्दा, सत्यतासम्बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्वरको घरको हितबारे विचार गर्नु, र आफ्ना स्वार्थी इच्छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, गर्व, र हैसियत त्याग्नु हो। परमेश्वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। यदि कर्तव्य निभाउने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निभाइरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निभाएको कुरै भएन। तैँले सर्वप्रथम परमेश्वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्वरका अभिप्रायको ख्याल राख्नुपर्छ, अनि मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। जब यसलाई तिमीहरूले यी दुई चरणहरूमा विभाजन गर्छौ र केही सम्झौता गर्छौ, तब के तिमीहरूले यो अलि सहज भएको महसुस गर्दैनौ र? यदि तैँले केही समयसम्म यसरी अभ्यास गरिस् भने, तैँले परमेश्वरलाई सन्तुष्ट पार्न त्यति गाह्रो छैन रहेछ भन्ने महसुस गर्नेछस्। तर त्योभन्दा पनि बढी, तँ आफ्ना जिम्मेवारीहरू पूरा गर्न, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउन, अनि आफ्ना स्वार्थी चाहना, आशय र अभिप्रायहरू पन्छाउन सक्षम हुनुपर्नेछ; तैँले परमेश्वरका अभिप्रायको ख्याल गर्नुपर्नेछ, र तैँले परमेश्वरको घरको हित, मण्डलीको काम र तैँले निभाउनुपर्ने कर्तव्यलाई सबैभन्दा अगाडि राख्नुपर्नेछ। तैँले केही समय यस्तो अनुभव गरिसकेपछि, यो नै आफूलाई व्यवहारमा ढाल्ने राम्रो शैली हो भन्ने कुरा महसुस गर्नेछस्। यो सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र तुच्छ र निकृष्ठ व्यक्ति बन्नु होइन; यो त घृणित, तुच्छ, र बेकामे बन्नुको साटो न्यायसंगत रूपले र सम्मानपूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा व्यवहार गर्नुपर्छ र उसले जिउनुपर्ने स्वरूप यही हो भन्ने तैँले महसुस गर्नेछस्। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। “यदि अगुवा वा कामदारको रूपमा, तैँले सधैँ आफूलाई अरूभन्दा माथि ठान्छस्, र त्यो सरकारी पद भएझैँ आफ्नो कर्तव्यमा रमाउँछस्, सधैँ तेरो हैसियतका लाभहरू लिन्छस्, आफ्नै योजनाहरू बनाउँदै, सधैँ आफ्नै ख्याति, प्राप्ति र हैसियतको सोचविचार र उपभोग गर्दै, सधैँ आफ्नै उद्यम चलाउँदै, र सधैँ उच्च हैसियत प्राप्त गर्ने, अझ धेरै मानिसहरूलाई व्यवस्थापन र नियन्त्रण गर्ने, र आफ्नो शक्तिको दायरा विस्तार गर्ने प्रयास गर्दै, कुनै सरकारी अधिकारीजस्तै गरी, यदि तँ आफ्नो कर्तव्यमा मस्त हुन्छस् भने, त्यो समस्या हो। आफू सरकारी अधिकारी भएजस्तै गरी कुनै महत्त्वपूर्ण कर्तव्यलाई आफ्नो पदको फाइदा उठाउने मौकाको रूपमा लिनु निकै खतरनाक हुन्छ। यदि तँ सधैँ यस्तरी व्यवहार गर्छस्, अरूसँग सहकार्य गर्न चाहँदैनस्, आफ्नो शक्तिलाई कम गर्न र त्यो अरू कसैसित बाँड्न चाहँदैनस्, अरू आफूप्रतिको ध्यान अरू कसैले तानेको चाहँदैनस्, सबैको आकर्षणको केन्द्रबिन्दु बन्न खोज्छस्, र आफै मात्र शक्तिको उपभोग गर्न चाहन्छस् भने, तँ एक ख्रीष्टविरोधी होस्। तथापि, यदि तैँले सत्यतालाई प्रायजसो खोजी गर्छस्, आफ्नो देह, प्रेरणा र विचारहरू विरुद्ध विद्रोहको अभ्यास गर्छस्, र आफै अग्रसर भएर अरूसँग सहकार्य गर्न, अरूसित परामर्श र खोजी गर्नलाई मन खोलेर कुरा गर्न, अरूका विचार र सुझावहरूलाई ध्यानपूर्वक सुन्न, र जोबाट आएको भए पनि सही र सत्यतासँग मिल्दो सल्लाहलाई स्विकार्न सक्छस् भने, तैँले बुद्धिमानीपूर्ण र सही तरिकाले अभ्यास गरिरहेको हुन्छस्, र तँ गलत मार्गबाट बच्न सक्षम हुन्छस्, र यो तेरो लागि सुरक्षा हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरको विश्वासीका रूपमा, उहाँका यति धेरै वचन खाएर र पिएर, म आफ्नो कर्तव्य निर्वाहमा मण्डलीका हितलाई जोगाउन असमर्थ भएँ, बरु आफ्नै स्वार्थी चाहना, प्रतिष्ठा र हैसियतको खातिर चारैतिर बोलेँ र कार्य गरेँ— ममा साँच्चै विवेक र समझको कमी थियो, र म मण्डलीमा आफ्नो कर्तव्य गर्न अयोग्य थिएँ। परमेश्वरको घरमा, सत्यताले शासन गर्छ, धार्मिकताले शासन गर्छ; जोसँग क्षमता र योग्यता छ, र जसले मण्डलीको कामको बोझ महसुस गर्छ, त्यस्तो व्यक्तिलाई सिफारिस गर्नुपर्छ, र उसलाई मण्डलीमा उपयुक्त काम लिन लगाउनुपर्छ। अरू मानिसहरूलाई सिफारिस गर्दा, मण्डलीको काम गर्न अर्को व्यक्ति थपिन्छ, जुन कामको प्रगति र ब्रदर-सिस्टरहरूका लागि लाभदायक हुन्छ। यदि कोही सधैँ हैसियतका फाइदा लिने लालसा गर्छ र शक्तिमा आफ्नो एकाधिकार जमाउन चाहन्छ, बाँकी अरूभन्दा माथि हुन, अन्तिम निर्णय गर्न चाहन्छ, र अरूसँग साझेदारी गर्न अनिच्छुक हुन्छ भने, त्यो व्यक्ति ख्रीष्टविरोधीको मार्गमा हिँडेको हुनेछ। तर यदि उसको सहकर्मी छ, र काममा उनीहरूले छलफल गर्न, एकअर्काबाट सिक्न, र एकअर्कालाई निगरानी गर्न सक्छन् भने, तिनीहरू शक्तिमा एकाधिकार जमाउनबाट बच्न सक्छन्, र ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नबाट बच्न सक्छन्—यो तिनीहरूमाथि एक प्रकारको अदृश्य ढाल बन्छ। जब मैले यो मनन गरेँ, तब मैले प्रतिभावान् मानिसहरूलाई सिफारिस गर्दा मण्डलीको कामलाई लाभ पुग्ने मात्र होइन, यसले मलाई पनि मदत गर्नेछ भन्ने बुझेँ। त्यसपछि, मैले अगुवालाई मेसेज पठाएर सायेनलाई सिफारिस गरेँ, अनि अगुवाले सायेन र म सहकर्मी बन्ने कुरामा सहमति जनाए। त्यसपछि मेरो हृदयलाई ठूलो राहत मिल्यो र त्यो एकदमै हलुका भयो। त्यस क्षणदेखि, मैले सायेनसँग कामको छलफल गरेँ, र त्यसपछि हामीले जिम्मेवारीहरू बाँड्यौँ, अनि अलिअलि गर्दै, मानिसहरूको संवर्धनका परिणामहरू पनि सुध्रिए। मैले यस अनुभवमार्फत, परमेश्वरका वचनमा भनिएको यो कुरा बिस्तारै बुझ्न थालेँ: “यदि तैँले असल व्यक्ति सिफारिस गर्छस् र उसलाई तालिम लिँदै कर्तव्य निभाउन दिन्छस्, र यसरी परमेश्वरको घरमा एक प्रतिभावान् व्यक्ति थप्छस् भने, के यसले तेरो काम सहज पार्नेछैन र? तब के तैँले आफ्नो कर्तव्यमा निष्ठा देखाइरहेको हुनेछैनस् र? त्यो परमेश्वरअघिको असल कार्य हो; अगुवाको रूपमा सेवा गर्ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। मैले परमेश्वरका वचनबाट के बुझेँ भने अरूलाई सिफारिस गर्दा मेरो हितलाई हानि पुग्दैन, र त्यो सत्यता अभ्यास गर्नु र असल कामहरू तयारी गर्नु हो। त्यो मेरो र मण्डलीको काम दुवैका लागि लाभदायक छ। यसरी अभ्यास गर्दा मलाई मन हल्का हुन्छ। परमेश्वरलाई धन्यवाद!