८१. अब म आफ्नो कर्तव्यबारे नाटीकुटी गर्दिनँ
मैले सुरुमा परमेश्वरमा विश्वास गर्न थाल्दा, अगुवा ब्रदर-सिस्टरहरू मानिसहरूका समस्या समाधान गर्न कसरी परमेश्वरका वचनमा प्रायः सङ्गति गर्छन् र ब्रदर-सिस्टरहरूले आफ्ना समस्याबा छलफल गर्नका लागि तिनीहरूलाई खोज्न इच्छुक छन् भनेर याद गरेँ। यसले मलाई तिनीहरूप्रति एकदमै ईर्ष्यालु बनायो र यस्तो कर्तव्य निर्वाह गर्दा तिनीहरू जहाँ गए नि आदरणीय र सम्मानित हुन सक्नेछन् भन्ने मैले सोचेँ। अतिथिसेवा र सामान्य मामिलाका कर्तव्यहरूका सन्दर्भमा भन्नुपर्दा, मलाई यी कर्तव्य निर्वाह गर्ने ब्रदर-सिस्टरहरू पर्दापछाडि परिश्रम मात्र गरिरहेका छन्, आफूलाई पृथक बनाउन सक्दैनन्, उनीहरू अरूको दृष्टिमा आउनेछैनन् र तिनीहरूलाई कसैले सम्मान गर्दैनन् भन्ने लाग्यो। सोचेँ, यदि मैले भविष्यमा आफूलाई पृथक बनाउन र सम्मानित हुन सक्षम बनाउने कर्तव्य निर्वाह गर्न सकेँ भने एकदमै राम्रो हुनेछ। पछि, म मण्डली अगुवाका रूपमा चुनिएँ र मैले अध्यक्षता गरेका भेलाहरूका सबै ब्रदर-सिस्टर मप्रति एकदमै स्नेही थिए। उनीहरूले मलाई कस्तरी ईर्ष्याको नजरले हेरेको देखेर मलाई धेरै राम्रो लाग्यो र मलाई आफू बाँकीभन्दा श्रेष्ठ छु भन्ने महसुस भयो। नेतृत्वको कर्तव्य निर्वाह गर्नु झनै तनावपूर्ण थियो र त्यसमा अझ धेरै काम समावेश थिए, तर मैले जति नै कष्ट भोगे नि वा म जति नै थकित भए नि, कहिल्यै पछि हटिनँ वा गुनासो गरिनँ। त्यसको केही समयपछि, मेरो कमजोर क्षमता र मैले सिद्धान्तअनुसार मामिलाहरू नसम्हालेको—प्रायः आफ्नै रायका आधारमा काम गर्ने र प्रावधनहरूमा टाँसिरहने गरेको—र मण्डलीको काममा नोक्सान पुऱ्याएको तथ्यको कारण, मलाई बर्खास्त गरियो। म बर्खास्त भएपछि, मेरो अगुवाले मकहाँ आएर म सामान्य मामिलाहरूमा कर्तव्य निर्वाह गर्न इच्छुक छु कि भनेर सोधे। मलाई अलि प्रतिरोध महसुस भयो। र सोचेँ, “सामान्य मामिलाहरूको काम त मण्डलीमा विभिन्न विविध कार्य सम्हाल्नु मात्र हो, यो केवल आधारभूत, शारीरिक श्रम हो। यदि अरू ब्रदर-सिस्टरले म यस्तो कर्तव्य निर्वाह गरिरहेको छु भन्ने थाहा पाए भने, मलाई के सोच्नेछन्? के उनीहरूले ममा सत्यता वास्तविकता नभएकाले म त्यस्तो कर्तव्य निर्वाह गरिरहेको छु भनेर भन्नेछन्?” तर, कर्तव्य दिने काम परमेश्वरको आज्ञा हो र त्यसलाई स्विकार्नुपर्छ र त्यसप्रति समर्पित हुनुपर्छ भन्ने जानेर, म मन नलागी-नलागी सहमत भएँ।
पछि, म आफ्नो कर्तव्य निर्वाह गर्न बाहिर जाँदा, पहिलेदेखि चिनेका ब्रदर-सिस्टरहरूलाई प्रायः भेट्थेँ। उनीहरूले मलाई कस्तो कर्तव्य निर्वाह गर्दै हुनुहुन्छ भनेर सोध्दा, म उनीहरूलाई बताउन लाज मान्थेँ, यदि उनीहरूले म सामान्य मामिलाहरूमा कर्तव्य निर्वाह गर्दै छु भन्ने थाहा पाएमा मलाई तुच्छ ठान्नेछन् भनेर चिन्तित हुन्थेँ। तर मलाई सबैभन्दा बढी डर लागेको कुरा वास्तवमै घटित भयो। एकपटक, म एक सिस्टरको स्कुटर माग्न उनको घर गएँ। र कुरैकुरामा, मैले उनलाई म सामान्य मामिलाहरूमा कर्तव्य निर्वाह गर्दै छु भनेर बताएँ। उनी छक्क परिन् र सोधिन्, “तपाईँ अहिले किन सामान्य मामिलाहरूमा हुनुहुन्छ? म त तपाईँ लेखनपठन-आधारित कर्तव्य निर्वाह गर्दै हुनुहुन्छ भन्ने सोच्थेँ।” मलाई असाध्यै अप्ठ्यारो लाग्यो र जानाजानी विषय फेरेँ, त्यहाँबाट सकेसम्म चाँडो निस्कनअघि उनीसँग केही सानातिना कुराकानी गरेँ। घर फर्कँदै गर्दा, म सामान्य मामिलाहरूमा छु भन्ने सुन्दा सिस्टरको छक्क परेको हाउभाउ मेरो दिमागमा आइरह्यो। मलाई नमजा लाग्यो। अनि सिस्टरले मलाई के सोच्लिन् भनेर सोचेँ। के उनले ममा सत्यता वास्तविकता नभएकाले र कमजोर क्षमता भएकाले त्यो कर्तव्य दिइएको हो भनेर सोच्नेछिन्? के उनले मलाई तुच्छ ठान्नेछिन्? यसले मलाई त्यस कर्तव्यप्रति झनै प्रतिरोधी बनायो। कहिलेकाहीँ म जरुरी चिठीहरू पुऱ्याउन आलटाल गर्थेँ, र आफ्ना ब्रदर-सिस्टरहरूसमक्ष समयमै पुर्याउँदिनथेँ। कहिलेकाहीँ म बिर्सन्थेँ अनि मेरा ब्रदर-सिस्टरहरूले मलाई झाराटारुवा र गैरजिम्मेवार भएकामा काटछाँट गर्थे र मलाई आफ्नो कर्तव्यमा अझ बढी लगनशील हुन र अझ बढी ध्यान दिन सम्झाउँथे। मैले यो परिस्थिति सामना गर्दा, आफूबारे चिन्तन नगरेको मात्र होइन, म कर्तव्यप्रति झनै प्रतिरोधीसमेत बनेँ। मैले म अगुवा छँदा, सामान्य मामिलाका कामदारहरूले कसरी मकहाँ परमेश्वरका वचनका पुस्तक र पत्रहरू पुऱ्याउँथे भनेर सम्झेँ, तर अब परिस्थिति उल्टिसकेको थियो र दैनिक कामकाज गर्ने र मलाई अरू ब्रदर-सिस्टरकहाँ सरसामान पुर्याउने जिम्मेवारी दिइएको थियो। मलाई आफ्नो हैसियत अचानक खस्किएझैँ लाग्यो। अनि म झन्-झन् धेरै बेखुस र उत्पीडित बनेँ।
एक बिहान, मैले आफ्नो इलेक्ट्रिक स्कुटर हाँक्दै गर्दा त्यसको ब्याट्री सकियो र म स्कुटरलाई हातले धकेल्न बाध्य भएँ। स्कुटर धकेल्दै गर्दा, मैले गल्तिले एक्सेलेरेटर दबाएछु अनि त्यो हुत्त अगाडि बढ्यो, जसले गर्दा प्रतिक्रिया जनाउने समय नपाउँदै म त्यसमाथि लडेँ। स्कुटरको अगाडिको भागमा मेरो मुख बजारियो, जसले गर्दा मेरा केही दाँत हल्लिने भए। अनि मेरो अनुहार कोतरियो र खुट्टामा चोट लाग्यो। घर फर्केपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! हाल, म सामान्य मामिलाहरूको आफ्नो कर्तव्यप्रति एकदमै प्रतिरोधी भएकी छु र यो समस्या कसरी हल गर्ने भनेर मलाई थाहा छैन। कृपया मलाई आफूलाई चिन्न मार्गदर्शन गर्नुहोस् ताकि म समर्पित हुन सकूँ।” प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनका दुइटा खण्ड पढेँ जसमा यसो भनिएको छ: “परमेश्वरको घरमा, परमेश्वरको आज्ञा स्विकार्ने र उचित रूपमा कर्तव्य निभाउनेबारेमा बारम्बार कुरा चल्छ। कर्तव्य कसरी अस्तित्वमा हुन आउँछ? वृहत् रूपमा भन्दा, यो मानवजातिलाई मुक्ति दिने परमेश्वरको व्यवस्थापन कार्यको परिणामस्वरूप अस्तित्वमा आउँछ; खास रूपमा भन्दा, मानवजातिको बीचमा परमेश्वरको व्यवस्थापन कार्य अघि बढ्ने क्रममा, विविध कार्यहरू देखा पर्छन्, र त्यसको लागि सहकार्य गर्न र तिनलाई पूरा गर्न मानिसहरूको आवश्यकता पर्छ। यसबाट मानिसहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू र मिसनहरूको उदय हुन्छ, अनि यी जिम्मेवारीहरू र मिसनहरू नै परमेश्वरले मानवजातिलाई सुम्पनुहुने कर्तव्यहरू हुन्। परमेश्वरको घरमा मानिसहरूको सहकार्यको आवश्यकता पर्ने विभिन्न कार्यहरू नै तिनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्यहरू हुन्। त्यसो भए, के कर्तव्यहरूका बीचमा राम्रो र नराम्रो, उच्च र नीच, वा ठूलो र सानो भन्ने सन्दर्भमा भिन्नताहरू हुन्छन्? त्यस्ता कुनै भिन्नताहरू हुँदैनन्; जबसम्म कुनै कुरा परमेश्वरको व्यवस्थापन कार्यसँग सम्बन्धित हुन्छ, जबसम्म त्यो उहाँको घरको कामको मापदण्ड हुन्छ, र जबसम्म त्यो परमेश्वरको सुसमाचार प्रचारमा आवश्यक पर्छ, तबसम्म त्यो व्यक्तिको कर्तव्य हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। “तेरो कर्तव्य जेसुकै भए पनि, तिनलाई ठूलो र सानो भनेर नछुट्या। मानौँ तैँले यसो भन्छस्, ‘यो काम परमेश्वरबाट आएको आज्ञा र परमेश्वरको घरको काम भए पनि, यदि मैले यो काम गरेँ भने, मानिसहरूले मलाई तुच्छ नजरले हेर्न सक्छन्। अन्य व्यक्तिहरूले भने आफूलाई अरूभन्दा उच्च देखाउने काम गर्न पाउँछन्। मलाई भने अरूभन्दा माथि देखिन नदिने, बरु पर्दापछाडि मेहनत गर्न लगाउने काम दिइएको छ, यो त अन्याय भो! म यो कर्तव्य निर्वाह गर्दिनँ। मेरो कर्तव्य त्यस्तो हुनुपर्छ जसले मलाई अरूभन्दा माथि देखाउँछ र मलाई मेरो नाम राख्न दिन्छ—र मैले मेरो आफ्नै नाम नराखे पनि वा मलाई माथि नदेखाए पनि, मैले यसबाट लाभ प्राप्त गर्नुपर्छ र शारीरिक रूपमा सहजताको अनुभूति गर्नुपर्छ।’ के यो स्वीकार्य मनोवृत्ति हो त? रोजीछानी गर्नु परमेश्वरबाट आउने कुरालाई स्वीकार गर्नु होइन; यो त तेरा आफ्नै रुचिहरूअनुसार छनौट गर्नु हो। यो तेरो कर्तव्यलाई स्वीकार गर्नु होइन; यो तेरो कर्तव्यलाई इन्कार गर्नु हो, परमेश्वरविरुद्धको तेरो विद्रोहीपनको प्रकटीकरण हो। त्यस्तो छनौट गर्ने कार्यमा तेरा व्यक्तिगत रुचि र चाहनाहरू मिसिएका हुन्छन्। जब तँ तेरा आफ्नै लाभहरू, तेरो प्रतिष्ठा, आदि इत्यादि कुरालाई ध्यान दिइरहेको हुन्छस्, तब कर्तव्यप्रतिको तेरो मनोवृत्ति समर्पित हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। परमेश्वरका वचनहरू मेरो वर्तमान स्थितिको स्पष्ट खुलासा थिए। मैले आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति र दृष्टिकोण गलत छ भन्ने देखेँ। मैले उच्च र निम्न कर्तव्यहरूबीच भेद छुट्याएँ, तिनलाई श्रेणी र दर्जामा विभाजित गरेँ। सोचेँ, अगुवा हुँदा वा लेखनपठन-आधारित कर्तव्य निर्वाह गर्दा व्यक्ति अरूभन्दा श्रेष्ठ बन्छ अनि अरूबाट सम्मान र आदर प्राप्त गर्न सक्षम हुन्छ। यस्तो कर्तव्य निर्वाह गर्दा, मैले जति नै कष्ट भोगे नि वा थकित महसुस गरे नि, म त्यो निर्वाह गर्न एकदमै इच्छुक थिएँ। शारीरिक श्रम चाहिने र मलाई आफूलाई पृथक बनाउन र अरूको दृष्टिमा आउन नदिने कर्तव्यहरूका सन्दर्भमा भन्दा, यस्ता कर्तव्यहरू स्पष्ट रूपमा निकै तुच्छ हुन् र ती कर्तव्य निर्वाह गरेकामा मानिसहरूले मलाई तुच्छ ठान्नेछन् भन्ने सोचेर म ती कर्तव्य गर्न इच्छुक भइनँ। यी भ्रामक दृष्टिकोणहरूको प्रभावमा परेकाले, मेरो अगुवाले मलाई सामान्य मामिलाहरूको कर्तव्य दिँदा, मलाई यो निम्नस्तरको कर्तव्य हो र यसले मेरो प्रतिष्ठामा चोट पुर्याउँछ भन्ने लाग्यो, त्यसैले म प्रतिरोधी बनेँ र समर्पित हुन अनिच्छुक भएँ, अनि मैले कर्तव्यमा झारा टार्ने हिसाबले र गैरजिम्मेवारपूर्ण ढङ्गले कार्य गरेँ। मेरा विचारहरू कति हास्यास्पद थिए! म कति भ्रष्ट थिएँ र मेरो क्षमता कति कमजोर थियो भन्ने कुरालाई विचार गर्दा, परमेश्वरको उठाइ र अनुग्रहले मात्र म परमेश्वरको घरमा कर्तव्य निभाउन सक्षम थिएँ, तर मैले परमेश्वरका अभिप्रायहरूलाई पटक्कै विचार गरिनँ, परमेश्वरको प्रेमको ऋण तिर्न जानिनँ, केवल आफ्ना हित र प्रतिष्ठालाई मात्र विचार गरेँ अनि आफ्नो कर्तव्यमा आफूलाई मन लागेअनुसार कार्य गरेँ, त्यसलाई आफ्नै हितका लागि प्रयोग गरेँ। मेरो मानवता कहाँ थियो? परमेश्वरले अवश्य नै यस्तो आचरणलाई घृणा गर्नुभयो!
एक दिन, मैले परमेश्वरका वचनहरूको यो खण्ड भेट्टाएँ: “तँसँग कर्तव्यप्रतिको कस्तो मनोवृत्ति हुनुपर्छ? पहिलो, तैँले यसलाई विश्लेषण गर्नु हुँदैन, र कसले तँलाई यो कर्तव्य कसले दिएको हो भनी पत्ता लगाउने प्रयास गर्नु हुँदैन; बरु, तैँले यसलाई परमेश्वरबाट आएको, परमेश्वरले तँलाई दिनुभएको कर्तव्यको रूपमा स्वीकार गर्नुपर्छ, र तैँले परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई पालना गर्नुपर्छ, र परमेश्वरबाट आएको कर्तव्यलाई स्वीकार गर्नुपर्छ। दोस्रो, ठूलो र सानो भनेर छुट्याउनु हुँदैन, र यसले तँलाई अरूभन्दा राम्रो देखाए पनि नदेखाए पनि, यसलाई सबैले देख्ने गरी गरिए पनि वा पर्दापछाडि गरिए पनि, तैँले यसको प्रकृतिको बारेमा चिन्ता गर्नु हुँदैन। यी कुराहरूको बारेमा विचार नगर्। अर्को मनोवृत्ति पनि छ: र त्यो समर्पण र सक्रिय सहकार्य हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। मैले परमेश्वरका वचनहरू पढेर के सिकेँ भने हाम्रा कर्तव्यहरू परमेश्वरका आज्ञा अनि पूरा गर्नुपर्ने हाम्रो दायित्व र जिम्मेवारी हुन्। कर्तव्यले हामी आफूलाई फरक बनाउन र अरूको दृष्टिमा आउन सक्षम बनाओस्-नबनाओस्, अनि अरूको आदर र सम्मान जिताओस्-नजिताओस्, सृजित प्राणीका रूपमा हामीले यस्ता कर्तव्यहरू स्विकार्नुपर्छ र समर्पण गर्नुपर्छ, अनि आफ्नो चरम बफादारी देखाउनुपर्छ। हाम्रा कर्तव्यमा हुनुपर्ने मनोवृत्ति यस्तै किसिमको हो र यही समझ हामी सबैमा हुनुपर्छ। मैले सोचेँ, सामान्य मामिलाहरू प्रतिष्ठित कर्तव्य नहोलान्, तर यो परमेश्वरको घरको कामको नभई नहुने पक्ष हो। यदि हामीसँग किताब र चिठीहरू पुर्याउने मानिसहरू नभएका भए, हाम्रा ब्रदर-सिस्टरहरूले परमेश्वरका वचनहरू समयमै पढ्न सक्ने थिएनन् र निश्चित परियोजनाहरू समयमै सकाइने थिएनन्, जसले मण्डलीको काममा असर गर्नेथ्यो। मलाई सामान्य मामिलाहरूको कर्तव्य दिइएको हुनाले, यसलाई मैले आफूलाई दिइएका कार्यहरू पूरा गर्ने जिम्मेवारीका रूपमा लिनुपर्थ्यो। यो थाहा पाएपछि, म अन्ततः स्वीकार र समर्पण गर्न इच्छुक भएँ। अरूले मलाई आदर गरे नि नगरे नि, म अझै आफ्नो कर्तव्य पूरा गर्न सक्दो प्रयास गर्नेछु। त्यसपछि, मैले आफ्नो सम्पूर्ण ऊर्जा र सोच आफ्नो कर्तव्यमा लगाएँ। हरेक दिन पत्र पठाउने र प्राप्त गर्ने समय आउँदा, म कर्तव्यनिष्ठ भई ती जाँच्थेँ। अनि आफ्नो काममा मन लगाउँथेँ। मेरी सहकर्मी सिस्टर अर्को काम सम्हाल्न बाहिर जानुपर्दा, म उनका लागि कामकुरा अगाडि बढाउन सक्रिय रूपमा मद्दत गर्थेँ र आफ्नो काममा राम्ररी प्रयास लगाउँथेँ। मलाई यस्तो लगनशील र विस्तृत तरिकाले काम गर्दा एकदमै सहज लाग्यो। अरू ब्रदर-सिस्टरले मलाई के कर्तव्य निर्वाह गर्दै हुनुहुन्छ भनेर सोध्दा, म सामान्य मामिलाहरूमा काम गरिरहेकी छु भनेर सिधै बताउँथेँ र मलाई अप्ठेरो लाग्न छाड्यो।
२०१९ को जूनमा, मेरो अगुवाले मलाई केही सिस्टरलाई घरमा राख्न इच्छुक हुनुहुन्छ कि भनेर सोधे। मैले मनमनै सोचेँ, “म त्यो कर्तव्य स्विकार्न इच्छुक छु, तर यदि मेरा घनिष्ठ ब्रदर-सिस्टरहरूले म भाँडा माझ्दै र पाहुनाका लागि खाना पकाउँदै दिन बिताइरहेकी छु भन्ने थाहा पाए भने, उनीहरूले मलाई के सोच्नेछन्? के उनीहरूले मलाई तुच्छ ठान्नेछन्?” मैले हतारपतार सिस्टर वाङ युन यस कर्तव्यमा बढी उपयुक्त हुनेछिन् भन्ने मलाई लाग्छ भन्दै उनलाई सिफारिस गरेँ, तर अगुवाले जवाफमा हाल सिस्टर वाङ युन बिरामी परेकी छिन् र उनी उपयुक्त छैनन् भनिन्। मैले यो कर्तव्य परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमार्फत ममा आएको हो भन्ने बुझेँ, त्यसैले मैले यसलाई पन्छाउने प्रयास गर्न छोडेँ। मैले अतिथिसेवा गर्ने क्रममा, सिस्टरहरू प्रायः आफ्ना कर्तव्यसँग सम्बन्धित सीप र ज्ञान अनि आफ्ना अनुभवहरूबाट प्राप्त कुराबारे सङ्गगति गर्ने गरेको याद गरेँ। उनीहरूको सुपरभाइजर आउँदा, उनी पनि सिस्टरहरूसँग उनीहरूको कामबारे सङ्गति गर्थिन्। मलाई आफू चाहिँ आफ्नो घरको वातावरणको सुरक्षा कायम राख्नमा वा भान्सामा खाना बनाउनमा अल्झिरहेको बेला उनीहरू यस्तो कर्तव्य निर्वाह गर्न सक्षम भएकामा ईर्ष्या लाग्थ्यो। त्यो हीनताबोधले गर्दा म एकदमै बेखुस थिएँ। कहिलेकाहीँ खाना बनाउँदा मेरो मन अन्तै हुन्थ्यो र चर्को नुन हाल्थेँ वा नुन हाल्नै बिर्सन्थेँ। कतिपय सिस्टरले मसलादार खाना खान सक्दैनथे, त्यसैले एक जना सिस्टरले मलाई खुर्सानी हाल्नुअघि केही खाना छुट्याउनु न भनेर विनम्रतापूर्वक अनुरोध गरिन्। मैले उनको अनुरोध स्विकारेँ, तर मनमनै सोचेँ, “म अगुवा छँदा, निर्णय लिने व्यक्ति म नै थिएँ। अहिले म यो अतिथिसेवाको कर्तव्य गर्दै छु, यसमा म अरूबाट आदर कमाउन असमर्थ मात्र छैनँ, मैले अरू मानिसको आदेश पनि पालना गर्नुपर्छ।” यसले मलाई उदास र दबाइएको महसुस गरायो। कहिलेकाहीँ सिस्टरहरू आफ्ना कर्तव्यमा व्यस्त हुँदा, मलाई दैनिक आवश्यकताका विभिन्न कुरा किन्न मद्दत माग्थे, जसले गर्दा मलाई आफूलाई आदेश दिइँदै छ र म त्यहाँ दैनिक कामकाजका लागि मात्र छु भन्ने महसुस हुन्थ्यो। पछि, मलाई आफू खराब स्थितिमा छु भन्ने थाहा भयो, तर म आफूले नचाहँदा नचाहँदै पनि प्रायः त्यस स्थितिमा जिउँथेँ। मलाई नराम्रो लाग्थ्यो र मेरो हृदय परमेश्वरबाट तर्किएको छ जस्तो देखिन्थ्यो।
एक दिन, मैले परमेश्वरका वचनका दुइटा खण्ड पढेँ जसमा भनिएको छ: “यस्तो फोहोरी भूमिमा जन्मिएको मानिस समाजद्वारा गम्भीर रूपमा दूषित पारिएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसले ‘उच्च शिक्षालयहरूको’ शिक्षा प्राप्त गरेको छ। पश्चगामी सोच, भ्रष्ट नैतिकता, जीवनबारे नीच दृष्टिकोण, संसारसँग व्यवहार गर्ने घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, साथै नीच चलनहरू र दैनिक जीवन—यी सबै कुराहरू मानिसको हृदयमा गम्भीर रूपमा घुसिँदै आएको छ, र तिनले उसको विवेकलाई गम्भीर रूपमा क्षति पुर्याउँदै र आक्रमण गर्दै आएको छ। फलस्वरूप, मानिस परमेश्वरबाट अझ धेरै टाढिन्छ, र अझ धेरै उहाँको विरोधी बनेको छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्वरसँगको शत्रुतामा हुनु हो)। “शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन र प्रकृति बनेका छन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ भन्ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। दुनियाँसित व्यवहार गर्ने दर्शनहरूका पनि अन्य शब्दहरू छन्, जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षा दिन्छ, बहकाउँछ, र भ्रष्ट तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमाहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्वरले नाश गर्नुहुनेछ, किनकि तिनीहरूले शैतानको सेवा र परमेश्वरको प्रतिरोध गर्छन्। … मानिसहरूका जीवन, आचरण र व्यवहारमा अझै थुप्रै शैतानी विषहरू छन्। उदाहरणको लागि, दुनियाँसित व्यवहार गर्ने तिनीहरूका दर्शनहरू, तिनीहरूका काम गर्ने शैलीहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र यी सबै नै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा बगिरहेका सबै कुराहरू शैतानका हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। मैले परमेश्वरका वचनहरू पढेर आफूले उच्च र निम्न कर्तव्यहरूबीचको भेद छुट्याउनु अनि तिनलाई श्रेणी र दर्जामा विभाजित गर्नुको मूल कारण के थियो भनेर थाहा पाएँ—मलाई “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” “दिमाग खियाउनेहरू अरूमाथि शासन गर्छन्, हात खियाउनेहरू अरूद्वारा शासित हुन्छन्” र “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” जस्ता शैतानी विषहरूले गहन रूपमा प्रभावित र भ्रष्ट पारेका थिए। म यी शैतानी विषअनुसार जिएँ, मैले ख्याति, प्राप्ति, हैसियत र आदर खोजेँ। मैले त्यसरी जिउनु मात्र मर्यादित र सम्मानजनक हो भनी सोचेँ। मैले परमेश्वरको घरका कर्तव्यलाई शैतानी दर्शन र दृष्टिकोणको हिसाबले पनि विचार गरेँ अगुवा हुनु, लेखनपठनमा काम गर्नु र भिडियोहरू बनाउनुजस्ता सीप र प्रतिभा चाहिने कर्तव्यहरूलाई मानिसहरू आदर गर्छन्, जबकि अतिथिसेवा र सामान्य मामिलाहरू गर्नेजस्ता शारीरिक श्रमका कर्तव्यहरू निम्नस्तरका हुन् भन्ने ठानेँ। गलत दृष्टिकोणहरूद्वारा प्रभावित भएर, म आफ्नो कर्तव्यमा झाराटारुवा बनेँ, ध्यान केन्द्रित गर्न सकिनँ, त्यस कर्तव्यलाई सम्मान गरिँदैन भन्ने ठानेकैले गर्दा प्रायः म पत्रहरू पठाउन बिर्सन्थेँ र काममा ढिलाइ गर्थेँ। मैले बनाएको खाना या त एकदमै खल्लो या त एकदमै नुनिलो हुन्थ्यो। अनि म मेरा सिस्टरहरूले त्यो खान सक्छन् कि सक्दैनन् भनेर विचार गर्दिनथेँ, आफूले चाहेको खाना बनाउन मात्र रुचाउँथेँ। सिस्टरहरूले मलाई उनीहरूका लागि सामान किन्न आग्रह गर्दा, उनीहरूले मलाई सानातिना काम गर्नेलाई जस्तो व्यवहार गरिरहेका छन् भनेर म सोच्थेँ र जानाजानी आलटाल गर्थेँ। शैतानी विषहरूले मेरो हृदयमा गहिरो जरा गाडिसकेका छन् र त्यो मेरो प्रकृति नै बनिसकेको छ भन्ने मैले देखेँ, जसले गर्दा म स्वार्थी, घृणित र मानवताहीन बनेँ। मैले आफ्नो कर्तव्यलाई हैसियत र प्रतिष्ठा पाउने माध्यमका रूपमा लिएँ अनि आफ्नो कर्तव्यलाई मेरा ब्रदर-सिस्टरहरूबाट आदर र स्याबासी कमाउने अवसरका रूपमा प्रयोग गर्न चाहेँ। मैले परमेश्वरलाई छल र प्रतिरोध गरिरहेकी थिएँ! मलाई म एकदमै खतरनाक स्थितिमा छु भन्ने थाहा भयो, त्यसैले मैले पश्चाताप गर्दै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, अबदेखि म ख्याति, प्राप्ति र हैसियत पछ्याउन चाहन्नँ। म तपाईँसामु पश्चात्ताप गर्न तयार छु। कृपया, मलाई अभ्यासको मार्ग खोज्न मार्गदर्शन गर्नुहोस्।”
त्यसपछि, मैले परमेश्वरका वचनका दुइटा खण्ड भेट्टाएँ: “सत्यतासामु सबै समान हुन्छन्, र परमेश्वरको घरमा कर्तव्य पूरा गर्नेहरूको हकमा उमेर वा नीचता र महान्ताको कुनै भिन्नता हुँदैन। कर्तव्यसामु सबै समान हुन्छन्, यति हो तिनीहरूले फरक-फरक काम गर्छन्। कोसँग वरिष्ठता छ भन्ने आधारमा तिनीहरूबीच कुनै भिन्नता हुँदैन। सत्यतासामु सबैले नम्र, समर्पित, र स्वीकार गर्ने हृदय राख्नुपर्छ। मानिसहरूमा यो समझ र यो मनोवृत्ति हुनुपर्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। “जब परमेश्वर मानिसहरूले आफ्नो कर्तव्य राम्रोसित निर्वाह गरून् भन्ने माग गर्नुहुन्छ, तब उहाँले तिनीहरूलाई निश्चित सङ्ख्यामा कार्यहरू सम्पन्न गर्नू वा कुनै ठूलो काम पूरा गर्नू भनेर भन्नुहुन्न, न त उहाँले तिनीहरूलाई कुनै ठूला कामकुरा पूरा गर्नु भनेर नै भन्नुहुन्छ। परमेश्वरको चाहना यही हो, मानिसहरूले सक्ने सबै कुरा व्यावहारिक तवरमा गर्न र उहाँका वचनअनुसार जिउन सकून्। परमेश्वर तँ महान् वा आदर्श बनेको वा तैँले कुनै चमत्कार गरेको माग गर्नुहुन्न, न त उहाँले तँमा कुनै सुखद आश्चर्यहरू नै हेर्न चाहनुहुन्छ। उहाँलाई यस्ता कुराहरूको आवश्यकता छैन। परमेश्वरको आवश्यकता के हो भने, तैँले उहाँका वचनअनुसार दृढ भई अभ्यास गर्नुपर्छ। जब तैँले परमेश्वरका वचनहरू सुन्छस्, तब आफूले बुझेको कुरा गर्, आफूले बुझेको कुरा अघि बढा, आफूले सुनेको कुरा राम्ररी याद गर्, त्यसपछि, अभ्यास गर्ने समय आएपछि, परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्। तिनलाई तेरो जीवन, तेरो वास्तविकता, र आफू जिउने कुरा बना। यसरी, परमेश्वर सन्तुष्ट हुनुहुनेछ। … तँलाई आफ्नो कर्तव्य पालन गर्नु वास्तवमा कठिन हुँदैन, न त बफादारीपूर्वक, अनि स्वीकारयोग्य स्तरमा त्यसलाई पूरा गर्नु नै कठिन हुन्छ। तैँले आफ्नो जीवन बलिदान गर्नु वा कुनै विशिष्ट वा कठिन कुरा गर्नु पर्दैन, तैँले आफ्ना विचारहरू नथपी वा आफ्नै कार्यविधि सञ्चालन नगरी, तर सत्यता पछ्याउने मार्गमा हिँडेर परमेश्वरका वचनहरू र निर्देशनहरू इमानदारीसाथ र दृढतापूर्वक पालन मात्र गर्नुपर्छ। यदि मानिसहरूले यसो गर्न सक्छन् भने तिनीहरूमा आधारभूत रूपले मानव स्वरूप हुनेछ। जब तिनीहरूसित परमेश्वरप्रति साँचो समर्पण हुन्छ अनि तिनीहरू इमानदार व्यक्ति बनेका हुन्छन्, तब तिनीहरूमा साँचो मानव स्वरूप हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। वास्तवमा, हामीले परमेश्वरको घरमा जुनै कर्तव्य निर्वाह गरे नि, चाहे त्यो नेतृत्वको कर्तव्य होस्, या लेखनपठन-आधारित कर्तव्य होस् वा अतिथिसेवा गर्ने सेवकका रूपमा सेवा होस् वा सामान्य मामिलाहरूका काम होस्, यी सबै फरक-फरक काम मात्र हुन् र तीमध्ये कुनै पनि अर्कोभन्दा उच्च वा निम्न हुँदैन। हामीले जुनै कर्तव्य निर्वाह गरे नि, हामी सबैले परमेश्वरको आज्ञा स्विकारिरहेका हुन्छौँ र सृजित प्राणीका रूपमा आफ्ना कार्य गरिरहेका हुन्छौँ। कसैसँग प्रतिभा, सीप छ वा उसले कुनै विशेष कर्तव्य निर्वाह गर्छ भन्दैमा परमेश्वरले उसलाई विशेष रूपमा प्रशंसा गर्नुहुनेछैन। त्यसैगरी, उहाँले कसैले कम प्रतिष्ठित कर्तव्य निर्वाह गर्छ भन्दैमा उसलाई तुच्छ ठान्नुहुनेछैन। परमेश्वरले वास्ता गर्ने कुरा त मानिसहरू आफ्नो कर्तव्य निर्वाहका क्रममा सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन् र आफ्ना कर्तव्यमा समर्पित हुन्छन् कि हुँदैनन् र बफादार छन् कि छैनन् भन्ने हो। मण्डलीले मलाई अतिथिसेवा गर्न सेवकका रूपमा सेवा गर्न खटाएको थियो, त्यसैले यो मैले पूरा गर्नुपर्ने जिम्मेवारी र कर्तव्य थियो। मानिसहरूले मलाई आदर गरुन्-नगरून्, मैले त्यो स्विकार्नुपर्छ र समर्पण गर्नुपर्छ—ममा हुनुपर्ने समझ यही हो। मैले परमेश्वरद्वारा सृजित असङ्ख्य कुराहरू, चाहे ती ठूला हुन् वा साना, ती सबै कसरी परमेश्वरको सार्वभौमिकता र विधानअनुसार अस्तित्वमा छन् र परमेश्वरले तिनलाई दिएको जुनसुकै कार्य गर्छन् भनेर विचार गरेँ। घाँसको सानो पातले आफ्नो उचाइ अग्लो रूखसँग दाँज्दैन, न त यसले झनै सुन्दर फूलहरूसँग प्रतिस्पर्धा नै गर्छ; यसले आज्ञाकारी भई आफ्नो कार्य गर्छ। यदि म त्यस घाँसको पातजस्तै हुन सकेर परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित भएकी, मैले व्यावहारिक तरिकाले व्यवहार गरेकी, र सृजित प्राणीका रूपमा आफ्नो भूमिका निर्वाह गरेकी भए, आफूले हैसियत नपाएकामा यति धेरै पीडा भोग्नेथिइनँ। त्यसबाहेक, परमेश्वरको घरमा अगुवा हुनु भनेको आफूले सोचेजस्तो वरपरका मानिसहरूलाई आदेश दिनु मात्र होइन, यसमा मानिसहरूको सेवक हुनुपर्छ, ब्रदर-सिस्टरहरूलाई सहयोग गर्न सत्यतामा सङ्गति गर्नुपर्छ, जीवन प्रवेशमा आउने उनीहरूका वास्तविक समस्याहरू समाधान गर्नुपर्छ र उनीहरूलाई परमेश्वरका वचनको वास्तविकतामा डोऱ्याउनुपर्छ। अतिथिसेवा पनि निम्नस्तरको कर्तव्य होइन—यसमा व्यक्तिले अतिथिसेवाको वातावरण कायम राख्ने आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, ताकि ब्रदर-सिस्टरहरूले शान्तिमा आफ्नो कर्तव्य निर्वाह गर्न सकून्। हामी प्रत्येकले राज्य सुसमाचार फैलाउने आफ्नो भूमिकामा रहेको आफ्नो भाग पूरा गर्छौँ। यो सब जानेर, मलाई स्वतन्त्रताको अनुभूति भयो। परमेश्वरको घरले मानिसहरूलाई उनीहरूको सीप, क्षमता र कदका आधारमा कर्तव्यमा खटाउँछ। मैले पहिले नेतृत्व र लेखनपठन-आधारित कर्तव्यहरूमा सेवा गरेकी थिएँ, तर मेरो क्षमता अपर्याप्त थियो, म ती कामको योग्य थिइनँ र ती भूमिकाका लागि अनुपयुक्त थिएँ। तैपनि, मैले आफूलाई वास्तवमा बुझिनँ, सधैँ म आफूलाई एकदमै उच्च ठानेँ र अरूबाट सम्मान खोजेँ। म कति असमझदार हुँदै थेँ! मण्डलीले मलाई मेरो क्षमता र घरको वातावरणका आधारमा अतिथिसेवाको कर्तव्य गर्न खटायो—यो कर्तव्य मेरा लागि एकदमै उपयुक्त थियो। अतिथिसेवा गर्न सेवकको मेरो भूमिकाका लागि मलाई उच्च सम्मान गरिएन, तर त्यस कर्तव्यले पछ्याइबारे मेरा गलत दृष्टिकोणहरू र मेरो भ्रष्ट स्वभावलालाई खुलासा गर्यो। अनि मलाई सत्यता खोज्न र आफूलाई केही बुझ्न प्रेरित गर्यो। मैले यस कर्तव्यबाट प्राप्त गर्न सक्ने सबैभन्दा मूल्यवान् कुरा यही हो। मलाई शुद्ध पार्न र रूपान्तरित गर्न यो वातावरण योजनाबद्ध गर्नुभएकामा मैले परमेश्वरलाई हृदयदेखि नै धन्यवाद दिएँ, र म उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक भएँ, उहाँको प्रेमको ऋण तिर्न आफ्नो अतिथिसेवाको कर्तव्य पूरा गरेँ।
पछि, मैले मेरा सिस्टरहरूको खाना बनाउने तरिकामा सिद्धान्तहरूमा प्रवेश गर्न खोज्न थालेँ, उनीहरूको स्वास्थ्यका लागि कस्तो प्रकारको खाना सबैभन्दा लाभदायक हुन्छ भनेर विचार गरेँ। उनीहरू व्यस्त नहुँदा, मलाई घरको काममा मद्दत गर्थे र मलाई कुनै निम्न व्यक्तिलाई जस्तो आदेश दिँदैनथे। मलाई आफ्नो कर्तव्यमा कठिनाइहरू आउँदा, उनीहरू धैर्यपूर्वक मसँग सङ्गति गर्थे र मलाई साथ दिन्थे र हामी सबैले आ-आफ्नो भूमिकामा आफ्नो भाग पूरा गर्थ्यौँ। यसरी, मैले सिस्टरहरूसँग अझ सुमधुर सम्बन्ध बनाउन थालेँ, र म खुसीसाथ आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक थिएँ। यी प्राप्ति र परिवर्तनहरू सबै परमेश्वरका वचनको न्याय र सजायको परिणाम थिए।