४२. परमेश्वरका वचनसाथ गरिने खुट्ट्याइ कहिल्यै चुक्दैन
अप्रिल २०२१ मा, म हार्लो र केही अन्य सिस्टरहरूसँगै एउटा घरमा बस्दै थिएँ। सुरुमा, मैले अक्सर उनलाई अरूसँग आफ्नो स्थितिबारे कुरा गरिरहेको देख्थेँ, र उनी कहिलेकाहीँ खाना खाँदा पनि यसबारे कुराकानी गर्थिन्। मैले सोचेँ, उनले खाना खाने समयको समेत सदुपयोग गर्छिन्—उनले साँच्चै जीवन प्रवेशमा ध्यान केन्द्रित गरेकी थिइन् र सत्यता खोज्ने व्यक्ति थिइन्। पछि एकपटक हामी कुराकानी गर्दै गर्दा, हार्लोले मलाई भनिन् कि उनी अरूको अनुहारको भाव र रायहरूको धेरै वास्ता गर्छिन्, र यदि कसैले उनीसँग नराम्रो लवजमा बोल्यो भने, उनी प्रायः तिनीहरूले आफूलाई हेपेको ठान्थिन्, र उनले मलाई आफू छली भएको पनि बताइन्। उनले यो पनि भनिन् कि उनी सधैँ अरूसँग नाम र लाभका लागि प्रतिस्पर्धा गर्थिन्, र आफ्नो प्रतिष्ठा र हैसियतप्रति अति नै चिन्तित थिइन्। मैले सोच्दै थिएँ, हाम्रो चिनजान भएको धेरै समय भएको थिएन, त्यसैले उनले मलाई आफ्ना घातक त्रुटिहरू र कमजोरीहरूबारे बताउन सक्नुको अर्थ उनी सरल र खुला थिइन् भन्ने हो। पछि हाम्रो अन्तरक्रियामा मैले याद गरेँ कि उनको मानसिकता साँच्चै नै जटिल थियो। उनी मानिसहरूको अनुहारको भाव र रायहरूको धेरै वास्ता गर्थिन्, र अरूप्रति शङ्कालु थिइन्। कहिलेकाहीँ जब ब्रदर-सिस्टरहरूले उनका समस्याहरू औँल्याइदिन्थे, उनी आफूलाई हेपिएको हो कि भनी गम खान्थिन्, अनि त्यसपछि उनी फेरि आफ्नो बारेमा खुल्थिन्, आफू सधैँ अरूप्रति शङ्कालु हुने, धेरै छली भएको, इत्यादि कुराहरू भन्थिन्। सुरुमा, मैले सोचेँ कि उनी अलि संवेदनशील र कमजोर मात्रै हुन्। मलाई लाग्यो कि हरेक व्यक्तिमा त्रुटि र समस्याहरू हुन्छन्, र ब्रदर-सिस्टरको नाताले, हामीले एकअर्काप्रति धेरै सहनशीलता र क्षमा राख्नुपर्छ। साथै, भ्रष्टता प्रकट गरेपछि उनी खुल्न र आफूलाई बुझ्न सक्थिन्, त्यसैले उनी सत्यता स्वीकार गर्न सक्ने व्यक्ति हुनुपर्छ। त्यसैले मैले यसबारे धेरै सोचिनँ। सामान्यतया, जब उनले मलाई आफ्नो स्थितिबारे बताउँथिन्, म धैर्यसाथ उनले पोख्ने मनको बह सुन्थेँ। कुराकानीमा म उनको मनोभावप्रति पनि सावधानीपूर्वक सचेत रहन्थेँ, कतै मैले होसियारी नअपनाउँदा उनको चित्त दुख्ने कुरा भन्छु कि भन्ने डर हुन्थ्यो। त्यसैकारण, उनी मसँग कुरा गर्न मन पराउँथिन्। उनका शब्दहरू र तिनले सङ्केत गर्ने कुराबाट यो देखिन्थ्यो कि उनलाई मेरो मिजास र व्यक्तित्व राम्रो छ र म उदार छु भन्ने लागेको थियो, र उनलाई म जस्ता मानिसहरू मन पर्थ्यो। तर, हरेक पटक हामी कुराकानी गर्दा, त्यो उनको शङ्कालु हुने वा आफ्नो इज्जतको वास्ता गर्ने स्थितिबारे हुन्थ्यो। कहिलेकाहीँ सानो कुराकानी पनि एक घण्टासम्म चल्थ्यो, र यसले मेरो कर्तव्यहरूमा साँच्चै बाधा पुऱ्याउँथ्यो। तर उनले मलाई यति धेरै भरोसा गरेको देखेर, मैले उनको कुरा सुनिनँ भने उनको मनमा चोट पुग्छ कि भन्ने डर लाग्थ्यो, त्यसैले म उनलाई बीचमै रोक्न अप्ठ्यारो मान्थेँ। पछि केही यस्ता घटनाहरू भए जसले गर्दा उनीप्रतिको मेरो दृष्टिकोण बिस्तारै परिवर्तन भयो।
एक पटक, सिरक राम्ररी नपट्याएकोमा हार्लोले सिस्टर केको आलोचना गर्दा उनले त्यसलाई त्यति गम्भीर रूपमा लिइनन्। हार्लो रिसाइन् र कुरा छोड्न मानिनन्, र केले आफूले चाहेजस्तै गर्नुपर्छ भनेर जिद्दी गरिन्। केले देखिन् कि हार्लो प्रायः आफूलाई खुसी पार्नका खातिर मानिसहरूलाई आफूलाई फकाउन र आफ्नो कुरा स्विकार्न लगाउँथिन्। केले उनलाई भनिन् कि उनी हिसियतप्रति धेरै केन्द्रित थिइन् र सधैँ मानिसहरू आफ्नो वरिपरि होउन् भन्ने चाहन्थिन्, जसको सारमा अर्थ थियो कि उनी तिनीहरूलाई नियन्त्रण गर्न चाहन्थिन्। पछि, हार्लो केलाई आफ्नो कुरा खुलाउन गइन्, आफू केले भनेजस्तो नभएको, र केले आफूलाई गलत बुझेको भन्दै रोइन् र सफाइ दिइन्। केले माफी मागिन्, तर हार्लोले अझै पनि त्यो कुरा छोड्न सकिनन्, र उनीसँग बोल्न छोडिन्। त्यसपछि, उनी अक्सर आफूलाई एक्ल्याउँथिन् र हामीसँग धेरै कुरा गर्दिनथिन्। एकपटक मसँग आफ्नो स्थितिबारे कुरा गर्दा, उनले भनिन् कि अन्य सिस्टरहरू केसँग धेरै कुरा गरिरहेको देखेपछि, उनलाई सबैले केलाई मन पराउँछन्, र आफूलाई हेला गर्छन् र अलग्ग्याउँछन् भन्ने शङ्का लाग्यो। त्यसपछि उनले जानाजानी सबैलाई टारिन्, र केले उनीसँग कुरा गर्दा निष्ठाहीन व्यवहार गरेको ठानिन्। त्यसपछि, उनले आफ्नो मानवता कमजोर भएको र त्यसरी केमाथि शङ्का गर्नु साँच्चै छली काम भएको बताइन्। तर त्यसपछि उनी परिवर्तन भइनन्। त्यसै कारणले उनी हामीसँग आधा महिनासम्म रिसाएर बसिन्, र सबैले साँच्चै बाँधिएको महसुस गरे। म निकै चकित परेँ र केही बुझ्न सकिनँ। समस्याहरूको सामना गर्दा उनले किन सत्यता खोजेर पाठ सिकिनन्? त्यसपछि मैले सोच्न थालेँ कि उनी केवल रिसाउने र मुर्मुरिने गर्थिन्, र हामी सबै ब्रदर-सिस्टर हौँ, र हामीले उनलाई प्रेमले अझ धेरै मद्दत गर्नुपर्छ। अर्को पटक, उनले उत्पादन गरिरहेको एउटा भिडियोमा समस्याहरू देखा परे। भेलामा, टोली अगुवाले भने कि भिडियोहरूमा समस्या आएमा उत्पादनकर्ताहरूले मुख्य जिम्मेवारी लिनुपर्छ। हार्लोले त्यो आफूलाई लक्षित गरेर भनिएको—टोली अगुवाले उनको क्षमता कमजोर लागेको र उनलाई हेला गरेको ठानिन्। उनी धेरै दिनसम्म मुख अँध्यारो बनाएर उदास भइन्। त्यसपछि एक जना अगुवाले उनीसँग सङ्गति गरे, र भने कि उनले सत्यता स्वीकार गर्दिनथिन्, र उनी अति संवेदनशील थिइन्, र त्यसरी रहिरहनु उनका लागि खतरनाक हुनेछ। त्यो सुनेर हार्लो रुन थालिन्। उनले आफू धेरै भ्रष्ट भएको र आफूलाई परमेश्वरद्वारा मुक्ति नदिइने बताइन्। उनलाई त्यति दुःखी देखेर, अगुवाले उनीसँग परमेश्वरको अभिप्रायबारे सङ्गति गरे ताकि उनले परमेश्वरलाई गलत नबुझून् र आफ्नो समस्यामा थप चिन्तन गर्न र प्रवेश गर्न सकून्। त्यतिबेला उनले केही भनिनन्, र अगुवाले उनी परिवर्तन हुन सक्छिन् भन्ने सोचे। तर, आश्चर्यजनक रूपमा, उनले भेलामा अगुवाले उनको बारेमा भनेका कुराहरू स्वीकार गर्न नसकेको र धेरै दिनसम्म नकारात्मक भएको बताइन्। पछि, उनले केही ब्रदर-सिस्टरहरूलाई भनिन् कि टोली अगुवाले उनको कम क्षमताका कारणले उनलाई मन पराएका थिएनन्, जसले गर्दा उनलाई बाँधिएको महसुस भयो। उनलाई यो अवस्था कसरी पार गर्ने थाहा थिएन, र बोल्दाबोल्दै उनी रोइरहेकी थिइन्। ब्रदर-सिस्टरहरूले सहानुभूति देखाए। यस्ता कुराहरू सधैँ भइरहन्थे। कसैले उनीसँग सङ्गति गरेपछि, उनी सधैँ आफूलाई “चिन्थिन्” र आफ्नो समस्या स्वीकार गर्थिन्। तर केही दिनपछि अर्को कुनै अप्रिय घटना हुँदा उनी फेरि रिसले चुर हुन थाल्थिन्।
उनको त्यस्तो व्यवहार देखेर म धेरै अलमल्लमा परेँ। उनी सामान्यतया आफूलाई चिनेजस्तो देखिन्थिन् भने, किन उनी कहिल्यै परिवर्तन भइनन्? यदि अरूले उनको मानमा असर गर्ने कुनै कुरा भने भने, उनी तिनीहरूले आफूलाई हेला गरेको अनुमान गर्थिन् र हरेक कुरालाई खराब तरिकाले लिन्थिन्। के उनको मानवता र बुझाइमा समस्या थियो? मैले यो कुरा पूर्ण रूपमा बुझ्न सकिनँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेर खोजी गरेँ, र सत्यता बुझ्ने अरूहरूसँग पनि खोजी गरेँ र सङ्गति गरेँ। एकजना सिस्टरले मलाई भनिन् कि हार्लोले वर्षौंको आस्थापछि सबै कुरा बुझेकी थिइन्, तर उनले सत्यता अभ्यास गर्दिनथिन् र अक्सर नकारात्मक हुन्थिन्। त्यसको मतलब उनले साँच्चै आफूलाई चिनेकी थिइनन्। ती सिस्टरले मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड पनि पठाइन्: “कतिपय मानिसले आफूलाई जान्नेबारे सङ्गति गर्दा, तिनीहरूको मुखबाट सुरुमा यो कुरा निस्कन्छ, ‘म दियाबलस, जिउँदो शैतान हुँ, परमेश्वरलाई विरोध गर्ने व्यक्ति हुँ। म उहाँविरुद्ध विद्रोह गर्छु र उहाँलाई धोका दिन्छु; म सर्प हुँ, श्रापित हुनुपर्ने दुष्ट व्यक्ति हुँ।’ के यो आफूलाई साँचो रूपमा चिन्न हो? तिनीहरूले समग्रमा मात्रै बोल्छन्। किन तिनीहरू उदाहरणहरू दिँदैनन्? तिनीहरू आफूले गरेका लाजमर्दा कुराहरूलाई किन चिरफार गर्नका लागि बाहिर ल्याउँदैनन्? कतिपय समझ नभएका मानिस तिनीहरूको कुरा सुनेर सोच्छन्, ‘यो त साँचो आत्मज्ञान हो! तिनीहरू आफूलाई दियाबलसका रूपमा चिनेर आफूलाई सराप्न—तिनीहरू कति उचाइमा पुगिसकेका रहेछन्!’ धेरै मानिसहरू, विशेष गरी नयाँ विश्वासीहरू यस्तो कुराद्वारा भ्रमित हुने सम्भावना हुन्छ। तिनीहरूले यस्तो बोल्ने व्यक्ति शुद्ध छ र उसमा आत्मिक बुझाइ छ, ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति हो, त्यसकारण नेतृत्व पदका लागि ऊ योग्य छ भन्ने सोच्छन्। तैपनि, तिनीहरूले त्यस व्यक्तिसँग केही समय कुराकानी गरिसकेपछि, वास्तविकता यो रहेनछ, त्यो व्यक्ति तिनीहरूले कल्पना गरेजस्तो रहेनछ, बरु अत्यन्तै झूटो र छली रहेछ, वास्तविकता लुकाउन र बहाना बनाउनमा सिपालु रहेछ भन्ने थाहा पाउँछन्, र यसले तिनीहरूलाई निकै खिन्न तुल्याउँछ। मानिसहरूले आफूलाई चिन्न सक्छन् भनेर कुन आधारमा भन्न सकिन्छ? हामीले तिनीहरूले बोलेको कुरालाई मात्रै ध्यान दिनु हुँदैन—मुख्य कुरा तिनीहरूले सत्यता अभ्यास र स्वीकार गर्न सक्छन् कि सक्दैनन् भन्ने हो। साँचो रूपमा सत्यता बुझ्ने मानिसहरूका हकमा भन्नुपर्दा, तिनीहरूमा आफूबारे साँचो ज्ञान हुने मात्र होइन, अझै महत्त्वपूर्ण कुरा त तिनीहरूले सत्यता अभ्यास पनि गर्न सक्छन्। तिनीहरूले आफ्नो साँचो बुझाइबारे बोल्ने मात्रै होइन आफूले भनेको कुरालाई साँचो रूपमा गर्न पनि सक्छन्। अर्थात्, तिनीहरूका बोलीवचन र व्यवहार पूर्णतया सुसङ्गत हुन्छन्। यदि तिनीहरूले बोलेको कुरा उचित र सहमतयोग्य सुनिन्छ, तर तिनीहरू बोलेको काम गर्दैनन्, र बोलेअनुसार जिउँदैनन् भने, यस तरिकाले तिनीहरू फरिसी बनेका हुन्छन्; तिनीहरू ढोङ्गी हुन्, आफूलाई साँचो रूपमा चिन्ने मानिसहरू हुँदै होइनन्। सत्यताबारे सङ्गति गर्दा धेरै मानिसहरू अत्यन्तै उचित सुनिन्छन्, तर आफूमा भ्रष्ट स्वभावको प्रकाश भएको तिनीहरूलाई थाहै हुँदैन। के यी मानिसहरू आफूलाई चिन्ने मानिसहरू हुन्? यदि मानिसहरूले आफूलाई चिनेका छैनन् भने, के तिनीहरू सत्यता बुझ्ने मानिसहरू हुन्? आफूलाई नचिन्ने मानिसहरू सत्यता नबुझ्ने मानिसहरू हुन्, र आत्मज्ञानका खोक्रा शब्दहरू बोल्ने मानिसहरूमा झूटो आत्मिकता हुन्छ, तिनीहरू ढँटुवा हुन्। कतिपय मानिसहरूले वचन र धर्मसिद्धान्तहरू बोल्दा निकै तर्कसङ्गत सुनिन्छन्, तर आत्मामा तिनीहरूको स्थिति स्तब्ध र सुस्त हुन्छ, तिनीहरूले केही बुझ्दैनन्, र कुनै समस्याप्रति पनि प्रतिक्रिया दिँदैनन्। तिनीहरू भावशून्य हुन्छन् भनेर भन्न सकिन्छ, तर कहिलेकहीँ, तिनीहरूको कुरा सुन्दा, तिनीहरूको आत्मा निकै प्रखर छ जस्तो देखिन्छ। उदाहरणको लागि, कुनै घटना घटेपछि, तिनीहरूले तुरुन्तै आफूलाई चिन्न सक्छन्: ‘अहिले भर्खरै मभित्र एउटा विचार प्रकट भएको छ। यसबारे विचार गर्दा, मलाई महसुस भयो कि यो त छली कार्य रहेछ, र मैले परमेश्वरलाई धोका दिइरहेको रहेछु।’ तिनीहरूले यसो भनेको सुन्दा कतिपय अविवेकी मानिसहरूले डाहा गर्दै भन्छन्: ‘आफूमा भ्रष्टताको प्रकाश हुँदा यस व्यक्तिले तुरुन्तै महसुस गर्न सक्दो रहेछ र यसबारेमा खुलेर सङ्गति गर्न पनि सक्दो रहेछ। ऊ प्रतिक्रिया दिन छिटो रहेछ, उसको आत्मा प्रखर रहेछ, र ऊ हामीभन्दा राम्रो रहेछ। ऊ पक्कै पनि सत्यता पछ्याउने व्यक्ति हो।’ के यो मानिसहरूलाई मापन गर्ने सही तरिका हो त? (होइन।) त्यसो भए, मानिसहरूले आफूलाई साँच्चै चिनेका छन् कि छैनन् भनेर मूल्याङ्कन गर्ने आधार के हो? तिनीहरूको मुखबाट निस्कने कुराहरू मात्रै हेर्नु हुँदैन। तिनीहरूमा साँच्चै के प्रकट हुन्छ त्यसलाई हेर्नुपर्छ। यसको सबैभन्दा सरल विधि भनेको तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन् कि सक्दैनन् भनेर हेर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सत्यता अभ्यास गर्ने तिनीहरूको क्षमताले तिनीहरू साँचो रूपमा आफूलाई चिन्छन् भन्ने प्रमाणित गर्छ, किनभने आफूलाई साँचो रूपमा चिन्नेहरूले पश्चात्ताप गर्छन्, र पश्चात्ताप नदेखाएसम्म मानिसहरूले आफूलाई साँचो रूपमा चिन्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आत्मज्ञानले मात्रै सत्यता पछ्याउन सहयोग गर्छ)। परमेश्वरका वचनहरूबाट मैले सिकेँ कि कसैले सत्यतालाई प्रेम र स्वीकार गर्छ कि गर्दैन, उसले साँच्चै आफूलाई चिन्छ कि चिन्दैन भनी मापन गर्दा, यो उसले मौखिक रूपमा आफूलाई कति राम्रोसँग चिन्न सक्छ, वा कति राम्रोसँग शब्द र धर्मसिद्धान्तहरू फलाक्छ भनी हेर्नुसँग सम्बन्धित हुँदैन। बरु, घटनाहरूको सामना गर्दा उसले वास्तवमा के कुरा जिउँछ, उसले सत्यता अभ्यास गर्न सक्छ कि सक्दैन, ऊ साँच्चै पश्चात्ताप गरेर परिवर्तन हुन्छ कि हुँदैन, र उसले चर्चा गर्ने बुझाइ र उसको वास्तविक प्रवेश मेल खान्छ कि खाँदैन भन्नेसँग सम्बन्धित हुन्छ। केही मानिसहरू सबै सही शब्द र धर्मसिद्धान्तहरू फलाक्छन्, तर जब उनीहरूले परिस्थितिको सामना गर्छन्, उनीहरूले सत्यतालाई पटक्कै अभ्यास गर्दैनन्, बरु आफ्नो शैतानी स्वभावका आधारमा कार्य गर्छन्। त्यस्तो व्यक्तिले सत्यता स्वीकार गर्दैन। केही मानिसहरूले जस्तोसुकै विचार प्रकट गरे पनि खुल्न सक्छन्, र आफ्नो भ्रष्टतालाई चिन्छन्, जसले गर्दा मानिसहरूलाई उनीहरू सरल छन् भन्ने लाग्छ। तर, यसपछाडिको वास्तविक मनसायबारे उनीहरू केही बोल्दैनन्, र उनीहरूले आफ्नो भ्रष्ट स्वभावको सारलाई पटक्कै केलाउँदैनन्। उनीहरू सरल र खुला देखिन्छन्, तर वास्तवमा उनीहरूले मानिसहरूलाई बहकाइरहेका र झूट बोलिरहेका हुन्छन्, र साँच्चै छली हुन्छन्। केही मानिसहरूको आत्म-ज्ञान केवल एउटा भ्रम हो—उनीहरूले मौखिक रूपमा आफ्ना गल्तीहरू स्वीकार गर्नेछन्, आफूलाई दियाबलस र शैतान भन्नेछन्, आफूलाई सराप्नेछन् र निन्दा गर्नेछन्, र आफू पूर्ण रूपमा गडबड भएको ठान्छन्; तर, उनीहरूले गरेका खास दुष्कर्महरू, तीपछाडि लुकेका मनसाय र उद्देश्यहरू, वा तिनले निम्त्याएका परिणामहरूबारे, उनीहरू एक शब्द पनि बोल्दैनन्। हार्लोलाई हेर्दा, उनी मानिसहरूसँग आफ्नो स्थितिबारे कुरा गर्न मन पराउँथिन्, र साँच्चै सत्यता खोज्ने र पछ्याउने जस्तो देखिन्थिन्। उनी सधैँ “मेरो मानवता कमजोर छ, म छली छु, म दुर्भावपूर्ण छु” जस्ता कुराहरू भनिरहन्थिन्। बाहिरबाट हेर्दा उनी आफूलाई साँच्चै चिन्न सक्छिन् जस्तो देखिन्थ्यो, तर घटनाहरूको सामना गर्दा उनी सत्यता अभ्यास वा प्रवेश बिलकुलै गर्दिनथिन्। उनी आफ्नो भ्रष्ट स्वभाव समाधान गर्दै गर्दैनथिइन्। दुई वर्षअघि, अरूले उनलाई मानिसहरूप्रति शङ्कालु र प्रतिष्ठा तथा हैसियतप्रति केन्द्रित भएको भनेर मूल्याङ्कन गरेका थिए, तर उनी बिलकुलै परिवर्तन भएकी थिइनन्। स्पष्ट रूपमा, उनी सामान्यतया धर्मसिद्धान्तबारे मात्रै कुरा गर्थिन्। यसले मानिसहरूमा गलत छाप छोडिरहेको थियो, र उनी मानिसहरूलाई छल गरिरहेकी थिइन्। उनले चर्चा गर्ने ज्ञान र उनले वास्तवमा जिउने कुरा पटक्कै मेल खाँदैनथ्यो।
पछि मैले कुन मानिसहरू साँचो ब्रदर-सिस्टर हुन् र कुन होइनन् भन्नेबारे परमेश्वरबाट आएको सङ्गति पढेँ, र मैले हार्लोलाई अलिकति खुट्ट्याएँ। परमेश्वरका वचनहरूले भन्छन्: “सत्यतालाई प्रेम गर्नेहरू मात्रै परमेश्वरको घरका हुन्छन्; तिनीहरू मात्रै वास्तविक दाजुभाइ-दिदीबहिनीहरू हुन्। तँलाई के लाग्छ, के परमेश्वरको घरको सभामा प्रायः सहभागी भइरहनेहरू सबैजना दाजुभाइ-दिदीबहिनीहरू हुन्? हुन् नै भन्ने जरुरी छैन। कस्ता मानिसहरू दाजुभाइ-दिदीबहिनीहरू होइनन्? (सत्यताप्रति वितृष्ण रहने, र सत्यता स्वीकार नगर्नेहरू।) सत्यता स्वीकार नगर्ने र सत्यताप्रति वितृष्ण रहने मानिसहरू सबै दुष्ट मानिसहरू हुन्। तिनीहरू सबै विवेक वा समझ नभएका मानिसहरू हुन्। तिनीहरूमध्ये कसैलाई पनि परमेश्वरले मुक्ति दिनुहुन्न। ती मानिसहरू मानवताहीन हुन्छन्, तिनीहरू उचित काममा ध्यान दिँदैनन् र नराम्रो काम गर्दै बेकाबु भई हिँड्छन्। तिनीहरू शैतानी दर्शनअनुसार जिउँछन् र धूर्त युक्तिहरू प्रयोग गर्छन्, अनि अरूलाई प्रयोग गर्छन्, फुस्ल्याउँछन्, र ठग्छन्। तिनीहरूले अलिकति पनि सत्यता स्वीकार गर्दैनन्, र तिनीहरू आशिष् पाउनलाई मात्रै परमेश्वरको घरमा घुसपैठ भएका हुन्छन्। किन हामी तिनीहरूलाई अविश्वासीहरू भन्छौँ? किनभने तिनीहरू सत्यताप्रति वितृष्ण रहन्छन्, र सत्यता स्वीकार गर्दैनन्। सत्यता सङ्गति गर्नेबित्तिकै, तिनीहरूको रुचि हट्छ, तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, सत्यता सुन्नै सक्दैनन्, सत्यता अल्छीलाग्दो भएको महुसुस गर्छन् र सुन्न बसिरहन सक्दैनन्। यस्ता मानिसहरू स्पष्टतः अविश्वासी र गैरविश्वासीहरू हुन्। तैँले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरू मान्नै हुँदैन। … त्यसो भए, तिनीहरू केअनुसार जिउँछन् त? निस्सन्देह नै, तिनीहरू शैतानका दर्शनहरूअनुसार जिउँछन्, र तिनीहरू सधैँ कुटिल र धूर्त हुन्छन्, र तिनीहरूमा सामान्य मानवताको जीवन हुँदैन। तिनीहरूले कहिल्यै पनि परमेश्वरलाई प्रार्थना गर्ने वा सत्यता खोजी गर्ने गर्दैनन्, बरु मानव छल, युक्ति र दुनियाँसित व्यवहार गर्ने सांसारिक दर्शनहरू प्रयोग गरेर सबै कुरा सम्हाल्छन्—जसले गर्दा तिनीहरूको अस्तित्व थकाइलाग्दो र पीडादायी हुन्छ। तिनीहरू दाजुभाइ र दिदीबहिनीहरूसँग गैरविश्वासीहरूसँग झैँ अन्तरक्रिया गर्छन्, र तिनीहरू शैतानी दर्शनहरू पछ्याउँछन् अनि झूट बोल्छन् र ठग्छन्। तिनीहरू विवाद गर्न र ससाना कमजोरी केलाउन रुचाउँछन्। तिनीहरू जुनसुकै समूहमा जिइरहेका भए पनि, सधैँ को कोसँग मिल्छ, र कसले कोसँग समन्वय गरेको छ भनेर हेर्न खोज्छन्। तिनीहरू बोल्दा, अरू मानिसहरूका प्रतिक्रियाहरूलाई ध्यानपूर्वक नियाल्न्छन्, सधैँ सचेत रहन्छन्, र कसैलाई पनि नचिढ्याउने प्रयास गरिरहेका हुन्छन्। तिनीहरू आफ्नो वरपरका सबै कुराहरू र अरूसँगको सम्बन्ध सम्हाल्न सधैँ दुनियाँसित व्यवहार गर्ने सांसारिक दर्शनहरू पछ्याइरहेका हुन्छन्। त्यसैले नै तिनीहरूको अस्तित्व निकै थकानपूर्ण हुन्छ। तिनीहरू अन्य मानिसहरूमाझ सक्रिय देखिए पनि, वास्तवमा तिनीहरू आफैलाई मात्र तिनीहरूको अप्ठ्यारो थाहा हुन्छ, र यदि तिमीहरूले नजिकबाट नियाल्यौ भने, तिनीहरूको जीवन थकानपूर्ण भएको महसुस गर्नेछौ। ख्याति, लाभ, वा इज्जतको कुरामा, तिनीहरू को सही को गलत, को उच्च को निम्न हो भनी स्पष्ट पार्न जोड दिन्छन्, र तिनीहरूलाई आफ्नो कुरा प्रमाणित गर्न बहस गर्नैपर्ने हुन्छ। अरूले त्यो सुन्न चाहँदैनन्। मानिसहरू भन्छन्, ‘के तपाईं आफूले भनेको कुरालाई सरल बनाउन सक्नुहुन्छ? के तपाईं सीधासीधा भन्न सक्नुहुन्छ? तँपाईलाई किन यति फोगट्या बन्नुपरेको हो?’ तिनीहरूका विचारहरू अत्यन्त जटिल र कठिन हुन्छन्, र तिनीहरू वास्तविक समस्याहरू महसुस नगरी त्यस्तो थकानपूर्ण जीवन जिउँछन्। तिनीहरू किन सत्यता खोज्न र इमानदार हुन सक्दैनन्? किनभने तिनीहरू सत्यताप्रति वितृष्ण छन् र इमानदार हुन चाहँदैनन्। त्यसोभए, तिनीहरू जीवनमा के कुरामा भर पर्छन् त? (दुनियाँसित व्यवहार गर्ने सांसारिक दर्शनहरू र मानव विधिहरूमा।) काम गर्न मानव विधिहरूमा भर पर्दा त्यस्ता नतिजाहरू निम्तिने सम्भावना हुन्छ जसमा व्यक्ति स्वयम्को खिल्ली उडाइन्छ वा उसको कुरूप पक्ष प्रकट भइदिन्छ। त्यसैले, अझ नजिकबाट जाँच्दा, तिनीहरूका कार्यहरू, तिनीहरूले पूरै दिनभर गरिरहने कामकुराहरू—ती सबै तिनीहरूको आफ्नै इज्जत, ख्याति, लाभ र आडम्बरसँग सम्बन्धित हुन्छन्। तिनीहरू जालोमै जिइरहेका छन् जस्तो गरी, तिनीहरूलाई हरेक कुरामा तर्कसङ्गत हुनुपर्छ, या त हरेक कुराको लागि बहाना बनाउनुपर्छ, र यसरी तिनीहरू सधैँ आफ्नै खातिर बोलिरहेका हुन्छन्। तिनीहरूको सोचाइ जटिल हुन्छ, तिनीहरू अति बकवास गर्छन्, र तिनीहरूका शब्दहरू अत्यन्तै उल्झनपूर्ण हुन्छन्। तिनीहरू जहिले पनि के सही र के गलत भनी बहस गरिरहेका हुन्छन्, त्यसको कुनै अन्त्य हुँदैन। यदि तिनीहरू इज्जत कमाउन खोजिरहेका छैनन् भने पनि, प्रतिष्ठा र हैसियतको लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्, र तिनीहरू यी कुराहरूको लागि नजिएको कुनै समय नै हुँदैन। अनि अन्तिम परिणाम के हुन्छ त? तिनीहरूले इज्जत त कमाएका हुन सक्छन्, तर सबैजना तिनीहरूदेखि दिक्क र थकित हुन्छन्। मानिसहरूले तिनीहरूलाई भित्रैदेखि चिनिसकेका हुन्छन् र तिनीहरूमा सत्यता वास्तविकता छैन र तिनीहरू इमानदारीपूर्वक परमेश्वरमा विश्वास गर्ने व्यक्ति होइनन् भनेर बुझिसकेका हुन्छन्। अगुवाहरू र कामदारहरू वा अन्य दाजुभाइ र दिदीबहिनीहरूले तिनीहरूलाई काटछाँट गर्न केही शब्दहरू प्रयोग गर्दा, तिनीहरू ढीठ भई स्विकार्न अस्वीकार गर्छन्, अनि तर्क गर्न वा बहाना बनाउन जोड दिन्छन्, र जिम्मेवारी अरूमा थोपर्न खोज्छन्। सभाहरू दौरान तिनीहरू आफ्नो प्रतिरक्षा गर्छन्, विवाद सुरु गर्छन्, र परमेश्वरका चुनिएका मानिसहरूमाझ समस्या पैदा गर्छन्। तिनीहरू हृदयमा यस्तो सोचिरहेका हुन्छन्, ‘के मैले आफ्नो कुरा राख्ने ठाउँ कहीँ छैन?’ यो कस्तो व्यक्ति हो? के यो सत्यतालाई प्रेम गर्ने व्यक्ति हो? के यो परमेश्वरमा विश्वास गर्ने व्यक्ति हो? जब तिनीहरूले कसैले तिनीहरूको अभिप्रायसँग नमिल्ने कुरा गरेको सुन्छन्, तिनीहरू सधैँ विवाद गर्न र स्पष्टीकरण माग्न चाहन्छन्; को सही र को गलत भन्ने कुरामा अल्झिन्छन्, र सत्यता खोजी गर्ने र सत्यता सिद्धान्तअनुसार ती कुराप्रति व्यवहार गर्ने गर्दैनन्। तिनीहरूलाई मामला जतिसुकै सरल भए पनि, त्यसलाई अत्यन्तै जटिल बनाउनैपर्छ—तिनीहरू केवल समस्या निम्त्याइरहेका हुन्छन्, तिनीहरू अत्यन्त थकित हुनै योग्य छन्!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले प्रकाश गर्छन् कि केही मानिसहरू सही र गलतबारे बाझ्न मन पराउँछन्। उनीहरूले सत्यता स्वीकार गर्दैनन्; बरु, उनीहरू त्यसप्रति वितृष्णा राख्छन्। उनीहरूले परिस्थितिको सामना गर्दा सत्यता खोज्दैनन्, न त आत्मचिन्तन गर्छन् वा आफूलाई चिन्छन्। उनीहरू सधैँ आफ्नो इज्जत र हैसियतका लागि आफ्नो बचाउ र औचित्य सिद्ध गरिरहेका हुन्छन्। त्यस्ता व्यक्तिको मानसिकता जटिल हुन्छ र प्रकृति छली हुन्छ। यो उनीहरूका लागि मात्र थकाइलाग्दो हुँदैन, उनीहरूले अरूलाई पनि पीडा र विद्वेष लिएर आउँछन्। त्यस्तो व्यक्ति साँचो ब्रदर वा सिस्टर होइन। मैले फेरि हार्लोका बारेमा सोचेँ। कसैको अनजानको टिप्पणीले उनको मानमा असर गर्दा र उनलाई चोट पुऱ्याउँदा, उनले तिनीहरूले आफूलाई मन नपराएको शङ्का गर्थिन् र तिनीहरूप्रति पूर्वाग्रही बन्थिन्। त्यसपछि उनी झूटो रूपमा खुलेर आफ्नो औचित्य सिद्ध र बचाउ गर्थिन्, वा आफूलाई चिन्नेबारे कुरा गरेर त्यो व्यक्तिका समस्या उठाउँथिन्। उनी सधैँ सही र गलतबारे बाझिरहन्थिन्। उदाहरणका लागि, जब टोली अगुवाले उनलाई कामबारे केही सुझाव दिए, उनले टोली अगुवाले आफूलाई मन नपराएको शङ्का गरिन् र रिसाइन्। त्यसपछि एउटा भेलामा “खुलेर कुरा गर्ने” बहानामा उनले टोली अगुवाले आफूलाई तुच्छ ठानेको कुरा फैलाइन्, ताकि सबैले उनीप्रति सहानुभूति देखाऊन् र टोली अगुवाप्रति आलोचनात्मक धारणा बनाऊन्। मानिसहरूले सामान्यतया उनीसँगको अन्तरक्रियामा अत्यन्तै होसियार हुनुपर्थ्यो, उनको अनुहारको भाव हेर्नुपर्थ्यो, उनको मानलाई ध्यानमा राख्नुपर्थ्यो, कतै कुनै नमिलेको शब्दले उनको स्थितिलाई असर गर्छ कि भन्ने डर हुन्थ्यो। उनीसँगको अन्तरक्रिया साँच्चै नै दबावपूर्ण हुन्थ्यो, र उन्मुक्तिदायक हुँदैनथ्यो। यसबाहेक, उनी सधैँ सजिलै नकारात्मक हुने र धेरै सोच्ने भएकाले कामको प्रगतिमा गम्भीर असर परेको थियो। मैले पहिले सोच्थेँ कि उनी केवल संवेदनशील र कमजोर थिइन्, आफ्नो इच्छाविपरीत केही हुँदा अलि रिसाउने र मुर्मुरिने गर्थिन्। मैले सोचेको थिएँ कि यो सामान्य मानवताको त्रुटि मात्र हो, र यसले ब्रदर-सिस्टर वा मण्डलीको काममा कुनै वास्तविक बाधा वा अवरोध पुऱ्याउँदैन। तर तथ्यहरूसँग मिलाएर हेर्दा, मैले देखेँ कि उनले वास्तवमा अनजानमै ब्रदर-सिस्टरहरूको स्थितिलाई साथै मण्डलीको जीवनलाई बाधा पुऱ्याएकी रहिछन्। उनले मण्डलीको कामको सामान्य प्रगतिमा पनि असर पारेकी थिइन्। उनको निरन्तरको व्यवहारलाई हेर्दा, उनले सत्यतालाई पटक्कै स्वीकार गर्दिनथिन्, र साँच्चै छली थिइन्। उनले ब्रदर-सिस्टरहरूलाई बाधा मात्र पुऱ्याएकी थिइन् र कुनै सकारात्मक भूमिका खेलेकै थिइनन्—उनी एक अविश्वासी थिइन्। अन्तमा, अगुवाले उनको सामान्य व्यवहारबारे थाहा पाए, उनको कर्तव्य खोसे, र उनलाई चिन्तनका लागि एक्लै बस्न लगाए।
त्यसपछि, मैले मानिसहरूको भ्रष्ट स्वभावहरू खुलासा गर्ने परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ। यसबाट मैले हार्लोका शब्दहरू पछाडि लुकेको स्वभावलाई अझै खुट्ट्याएँ। परमेश्वरका वचनहरूले भन्छन्: “समान्यतया छलीपन बाहिरी रूपमा देख्न सकिन्छ: कुनै व्यक्तिले टालमटोल गर्छ वा आलङ्कारिक भाषा प्रयोग गर्छ, अनि उसले के सोचिरहेको छ भनेर कसैले पनि बुझ्न सक्दैन। त्यो छलीपन हो। दुष्टताको मूल विशेषता के हो? त्यो के हो भने तिनीहरूका शब्दहरू अत्यन्तै मिठा सुनिन्छन्, साथै बाहिरबाट हेर्दा सबथोक सही देखिन्छन्। कुनै समस्या देखिँदैन, र हरेक कोणबाट कामकुराहरू निकै राम्रा देखिन्छन्। जब तिनीहरू केही गर्छन्, तैँले तिनीहरूले कुनै विशेष माध्यमहरू प्रयोग गरेको देख्दैनस्, अनि बाहिरबाट हेर्दा कमजोरी वा खोटको कुनै सङ्केत हुँदैन, तैपनि तिनीहरू आफ्नो लक्ष्य हासिल गर्छन्। तिनीहरू अत्यन्तै गोप्य तरिकाले कामकुरा गर्छन्। ख्रीष्टविरोधीहरूले यसरी नै मानिसहरूलाई भ्रममा पार्छन्। यस्ता मानिस र मामलाहरू खुट्ट्याउन सबैभन्दा गाह्रो हुन्छ। कतिपय मानिस प्रायः सही कुराहरू भन्छन्, कर्णप्रिय बहानाहरू बनाउँछन्, अनि मानिसहरूको आँखामा छारो हाल्न मानव स्नेहअनुरूपका निश्चित धर्मसिद्धान्त, भनाइ, वा कार्यहरू प्रयोग गर्छन्। तिनीहरू आफ्ना अव्यक्त उद्देश्यहरू पूरा गर्नका निम्ति एउटा काम गरेको बहाना बनाएर अर्कै काम गर्छन्। यो दुष्टता हो, तर धेरैजसो मानिस यी व्यवहारहरूलाई छलीपन ठान्छन्। मानिसहरूले दुष्टतालाई सीमित मात्रामा बुझेका र विश्लेषण गरेका हुन्छन्। वास्तवमा, छलीपनलाई भन्दा दुष्टतालाई खुट्ट्याउन धेरै गाह्रो हुन्छ किनकि त्यो बढी गोप्य हुन्छ, अनि त्यसका विधि र कार्यहरू बढी जटिल हुन्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्)। परमेश्वरका वचनहरूले खुलासा गर्छन् कि दुष्ट स्वभाव भएकाहरूले केही राम्रा, सही, र स्वीकार्य सुनिने कुराहरू भन्छन्, तर ती कुराहरूको पछाडि लुकेका उद्देश्यहरू हुन्छन् जुन सजिलै खुट्ट्याउन सकिँदैन। म हार्लोको व्यवहारबारे नसोची रहन सकिनँ। उनी सामान्यतया मानिसहरूसँग आफ्नो स्थितिबारे कुरा गर्न मन पराउँथिन् ताकि उनीहरूले उनी जीवन प्रवेशमा धेरै केन्द्रित छिन्, र उनी सत्यता खोज्ने र पछ्याउने व्यक्ति हुन् भनी देखून्। तर वास्तवमा, उनी अरूलाई छल गरेर उनलाई राम्रो मान्न र सम्मान गर्न लगाउनका लागि जानाजानी यो झूठो आत्मिक रूप सिर्जना गरिरहेकी थिइन्। उनी आफ्नो स्थितिबारे कुरा गरेजस्तो गर्थिन्, तर वास्तवमा उनी गुनासो गर्दै, सान्त्वना खोज्दै, आफ्नो असन्तुष्टि पोख्दै, र सहानुभूति पाउन खोज्दै थिइन्। उनले मानिसहरूको कर्तव्य गर्ने समयसमेत लिन्थिन्। तर त्यतिबेला मैले उनको मनसाय बुझ्न सकिनँ वा उनी वास्तवमा कस्तो प्रकारको व्यक्ति हुन् भनी खुट्ट्याउन सकिनँ। म केवल सधैँ दयालुतासाथ उनीसँग सङ्गति गर्थेँ, उनलाई मद्दत र समर्थन गर्थेँ। जीवनमा सङ्घर्ष गरिरहेको देख्दा म उनलाई उत्साहपूर्वक मद्दत गर्थेँ, र कुनै पनि फाइदाजनक कुरामा उनलाई पहिलो प्राथमिकता दिन्थेँ। अब अन्ततः परमेश्वरका वचनहरूको खुलासाबाट मैले देखेँ कि उनको प्रकृति दुष्ट थियो, उनी वचन र काम दुवैमा बहकाउने खालकी थिइन्, र उनले सबैलाई आँखामा छारो हालिरहेकी र धोका दिइरहेकी थिइन्।
त्यसपछि मैले आत्मचिन्तन गरेँ। मैले किन हार्लोलाई खुट्ट्याएकै थिइनँ? चिन्तन गर्दा, मैले आफ्नो एउटा गलत दृष्टिकोण देखेँ। मैले उनको स्थितिबारे कुरा गर्न सक्ने क्षमतालाई सरल र खुला हुनु, सत्यता अभ्यास गर्नु ठानेकी थिएँ, र उनका शब्दहरूलाई खुट्ट्याउन ध्यान दिएकी थिइनँ। परमेश्वरका वचनहरूद्वारा मात्र मैले साँच्चै सरल र खुला हुनु के हो भन्ने कुरा बुझेँ। परमेश्वरका वचनहरूले भन्छन्: “इमानदारिता भनेको तेरो हृदय परमेश्वरलाई दिनु, सबै कुरामा परमेश्वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्वर वा मानिस कसैलाई पनि धोका नदिनु हो। … यदि तिमीहरूका शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने, म भन्छु कि तिमीहरू सत्यता अभ्यास गर्न अनिच्छुक व्यक्तिहरू हौ। यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू—आफ्ना कठिनाइहरू अरूसामु ल्याउन अत्यन्तै वितृष्ण छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तीन अर्तीहरू)। परमेश्वरका वचनहरूबाट मैले देखेँ कि सरल र खुला हुनु भनेको मुख्यतया समस्या वा कठिनाइहरूको सामना गर्दा, वा भ्रष्टताहरू प्रकट गर्दा सङ्गतिमा खुल्नु हो, आफूलाई ढाकछोप गर्नु वा तथ्यहरू लुकाउनु होइन। खुल्नुको मुख्य उद्देश्य सत्यता खोज्नु हो ताकि समस्या र कठिनाइहरूलाई तुरुन्तै समाधान गर्न सकियोस्। खुलेर अरूलाई आफ्नो भ्रष्टताको सार देखाएर, ब्रदर-सिस्टरहरूले एकअर्कासँग आफ्नो हृदय खोल्न सक्छन्। यसरी खुल्नु शिक्षाप्रद र लाभदायक हुन्छ। सरल र खुला हुनु मुख्यतया व्यक्तिका अभिप्राय र उद्देश्यहरू, र प्राप्त परिणामहरूमा निर्भर गर्दछ। यदि उनीहरूले पूर्वाग्रहहरू, सानातिना घरायसी कुराहरू र हल्लाबारे कुरा गर्छन्, तर कुनै वास्तविक आत्म-चिन्तन गर्दैनन् वा बुझाइ पाउँदैनन् भने, उनीहरू साँच्चै सरल र खुला भइरहेका हुँदैनन्। उनीहरू केवल आफूलाई मन नपर्ने कुराहरूबारे बह पोखिरहेका हुन्छन् र लुकेर अरूलाई उनीहरूका समस्याहरूका लागि आलोचना गरिरहेका हुन्छन्। त्यस्तो प्रकारको खुलापनमा मानिसहरूका लागि कुनै शिक्षा वा मद्दत हुँदैन। केही मानिसहरू त आफू इमानदार र सत्यता स्वीकार गर्ने व्यक्ति भएको नाटक गर्नका लागि खुलेको जस्तो व्यवहार गर्छन्, ताकि अरूले उनीहरूलाई सम्मान गरून्। त्यसरी खुल्दा, उनीहरूले गुप्त रूपमा आफूलाई उच्च पारिरहेका र देखावटी गरिरहेका हुन्छन्—उनीहरूले मानिसहरूलाई बहकाइरहेका हुन्छन्। हार्लो आफ्नो आत्म-ज्ञानबारे खुल्ने कुरा आउँदा, उनी प्रायः अरूप्रतिका आफ्ना आधारहीन शङ्काहरू, साथै उनले प्रकट गरेका विचार र धारणाहरूबारे खुल्थिन्। उनी कहिल्यै आफ्ना भ्रष्ट स्वभावहरू, आफ्ना लुकेका मनसायहरू, वा आफ्ना उद्देश्यहरूबारे कुरा गर्दिनथिइन्। उनी सत्यता खोज्न र आफ्नो भ्रष्टता समाधान गर्न खुल्दिनथिइन्, बरु आफ्नो गुनासो पोख्न खुल्थिन्, ताकि मानिसहरूलेउनीप्रति दया महसुस गरून्, उनलाई सान्त्वना दिऊन्, र सहानुभूति देखाऊन्। उनले आफ्नो औचित्य सिद्ध र बचाउ गर्न पनि यसको प्रयोग गर्थिन्, ताकि उनलाई गलत नबुझियोस्। यसरी उनले अरूको नजरमा आफ्नो छवि जोगाउन सक्थिन्। उनको खुलापनले उनको भ्रष्ट स्वभाव समाधान गरेन, र यसले ब्रदर-सिस्टरहरूलाई कुनै लाभ वा शिक्षा दिएन। त्यसैले उनी सरल र खुला भइरहेकी थिइनन्—उनी खेल खेलिरहेकी र कपटी भइरहेकी थिइन्। यो कुरा बुझेपछि मैले केही आन्तरिक स्पष्टता पाएँ। मैले स्पष्ट रूपमा देखेँ कि हार्लो सत्यता खोज्ने व्यक्ति थिइनन्, र उनी सरल र खुला थिइनन्। उनी वास्तवमा साँच्चै छली र दुष्ट थिइन्।
त्यसपछि मैले आत्मचिन्तन गरेँ। मैले हार्लोसँग लगभग एक वर्षसम्म अन्तरक्रिया गरेकी थिएँ र सामान्यतया उनका सामान्य समस्याहरूबारे केही जानकारी थियो। त्यसोभए अहिलेसम्म मैले उनलाई किन अलिकति पनि खुट्ट्याएकी थिइनँ? यसमा चिन्तन गर्दा, मैले महसुस गरेँ कि मैले मानिसहरू र घटनाहरूलाई परमेश्वरका वचनहरूको दृष्टिकोणबाट हेरिरहेकी थिइनँ। बरु, म मानिसहरूको बाहिरी रूपलाई आफ्नै धारणाहरू र कल्पनाहरूबाट हेरिरहेकी थिएँ। मैले उनको सतही रूपमा खुल्ने र अरूसँग आफ्नो स्थिति बाँड्न चाहने कुरालाई नै उनले सत्यतालाई प्रेम गरेको र खोजेको ठानेकी थिएँ। मैले उनको कामकुरापछाडिको मनसाय, वा वास्तवमा के हासिल भएको थियो भन्ने कुरा हेरेकी थिइनँ। मैले उनका वचन र कार्यमा उनले अपनाएका निरन्तरका विधि र तरिकाहरूलाई पनि हेरेकी थिइनँ, र परमेश्वरका वचनहरूद्वारा कुराहरूलाई खुट्ट्याएकी थिइनँ। त्यसैले मैले उनको सारलाई बुझ्न वा उनलाई खुट्ट्याउन सकिनँ र उनलाई बहिनी ठानेर व्यवहार गरेँ, सधैँ उनलाई छुट दिँदै, प्रेमले मद्दत र समर्थन गरिरहेँ। म कति मूर्ख थिएँ! यो अनुभवबाट, मैले बुझेँ कि कुनै व्यक्तिले सत्यतालाई प्रेम गर्ने र पछ्याउने काम गर्छ कि गर्दैन भनी खुट्ट्याउनु भनेको उनीहरूले सङ्गति गर्नका निम्ति मानिसहरू खोज्न कति मन पराउँछन् वा आत्म-ज्ञानबारे कति राम्रोसँग कुरा गर्छन् भन्नेसँग सम्बन्धित हुँदैन। बरु, यो त उनीहरूले परिस्थितिको सामना गर्दा सत्यता खोज्न र परमेश्वरका वचनहरू अभ्यास गर्न सक्छन् कि सक्दैनन्, र पछि उनीहरूमा वास्तविक प्रवेश र परिवर्तन हुन्छ कि हुँदैन भन्नेसँग सम्बन्धित हुन्छ। मैले परमेश्वरका वचनहरूका आधारमा व्यक्तिको सार खुट्ट्याउनु कति महत्त्वपूर्ण छ भन्ने पनि महसुस गरेँ। यदि तपाईंले सबै प्रकारका मानिसहरूलाई खुट्ट्याउन सक्नुभएन भने तपाईं बहकिनुहुनेछ। तपाईंले अन्धाधुन्ध मानिसहरूलाई प्रेम गर्नुहुनेछ, र गलत मानिसहरूलाई ब्रदर-सिस्टर ठानेर मद्दत र समर्थन गर्नुहुनेछ। यसले अन्ततः मण्डलीको काममा बाधा र अवरोध पुऱ्याउनेछ। परमेश्वरका वचनहरूद्वारा मात्र मानिसहरू र चीजहरूलाई हेर्नु सही हुन्छ—यो नै सबै प्रकारका मानिसहरूलाई खुट्ट्याउने एकमात्र तरिका हो, र मानिसहरूसँग उचित व्यवहार गर्ने र अरूसँग अन्तरक्रिया गर्ने तरिका जान्ने एकमात्र उपाय हो। परमेश्वरलाई धन्यवाद!