७१. ज्ञानको कमीलाई बहाना बनाउन मिल्दैन
सन् २०२१ मे महिनामा, म मण्डली अगुवा चुनिएँ र भिडियो निर्माण कामको प्रभारी बनाइएँ। यो कर्तव्य निर्वाह गर्नेबारे म अलिक चिन्तित भएँ र मनमनै सोचेँ, “मैले विगतमा केही भिडियो निर्माण गरेकी छु, तर यो क्षेत्रमा म अझैपनि पारङ्गत छैन। म यो काम राम्ररी सुपरिवेक्षण गर्न सक्नेछु र? मेरो कार्य राम्रो भएन र मलाई प्रतिस्थापन गरियो भने, ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्नेछन्? साथै, मैले सुपरिवेक्षण गर्न लागेका सबै मानिससँग मभन्दा राम्रो प्राविधिक ज्ञान छ—मैले तिनीहरूको कर्तव्यमा रहेका समस्या पहिचान गरी पर्याप्त सुझाव दिन सकिनँ भने, तिनीहरूले पक्कै पनि मलाई सिकारु ठान्नेछन् र म प्रभावकारी सुपरिवेक्षक होइन, र अगुवा हुन लायक छैन भनेर सोच्नेछन्।” यो सोचेर म अलिक चिन्तित भएँ, तर मलाई आफूले पहिले यो नयाँ कर्तव्य स्विकार्नुपर्छ र मण्डलीका प्रबन्धप्रति समर्पित हुनुपर्छ भन्ने थाहा थियो।
काममा जतिसक्दो छिटो गति ल्याउन, म ब्रदर-सिस्टरले कामका बारेमा गर्ने जुनसुकै छलफलमा बस्थेँ। सुरुमा, म ध्यान दिएर सुन्थेँ, तर, बिस्तारै आफूले त्यहाँ प्रयोग भइरहेका धेरै व्यावसायिक सीप नबुझ्ने र एकदुई शब्द पनि बोल्न नसक्ने कुरा थाहा पाउन थालेँ। चिन्ता लाग्थ्यो, यदि ब्रदर-सिस्टरले मेरो दृष्टिकोण सोधे र मैले कुनै ठोस सुझाव दिइनँ भने तिनीहरूले मलाई आफ्नो क्षमता ज्यादा आँकिरहेकी छु, र आफैले राम्रोसँग नबुझी म तिनीहरूको कामको जाँच गर्न योग्य छैन भन्ने सोच्छन् होलान्। के तिनीहरूले मलाई कम सोच्नेछन्? अगुवाको छवि बनाइराख्न परमेश्वरका वचनबारे आफ्नो बुझाइ बताउने बाहेक, म हाम्रो छलफलमा र भेलाको बेला कामबारे गरिने समीक्षामा एउटा कुरा पनि बोल्दिनँथेँ। म भिडियो निर्माणको व्यावसायिक पक्षसँग सम्बन्धित छलफलमा भाग लिन वा त्यसमा ध्यान दिन चाहन्नथेँ। मैले थोरै बोझ वहन गर्न पनि छोडेँ, र म सधैँ सोच्थेँ, “म त्यसैपनि कामकुराको प्राविधिक पक्ष बुझ्दिनँ, त्यसैले म मुख्य गरी तिनीहरूको जीवन प्रवेशमा देखिएका समस्या मात्र समाधान गर्नेछु। प्राविधिक समस्याको हकमा, तिनीहरूलाई परमेश्वरमा भर पर्न, प्रार्थना गर्न र आफैमाझ छलफल गर्न छोड्दिनेछु।” मलाई याद छ, एक पटक एउटा सिस्टरले सुझाव माग्नका लागि आफूले काम गरिरहेको एउटा भिडियो समूहमा पठाएकी थिइन्, त्यो समय, मैले सोचेँ, म निर्माणको प्राविधिक पक्ष बुझ्दिनँ, त्यसैले म त्यो भिडियोमा कुनै समस्या भेट्न सक्दिनँ र अर्को कुरा, सबैसामु मैले केही गलत बोलिहालेँ भने मेरो पूरै बेइज्जत हुन्छ, त्यसैले मैले कुनै सुझाव दिने योजना बनाइनँ, भिडियो पनि ध्यानपूर्वक हेरिनँ। पछि, एउटा समूह अगुवाले ती सिस्टरको भिडियोमा एउटा समस्या पाए, र मैले त्यो देखे नदेखेको बारेमा सोधे। म लाजले रातोपिरो भएँ, किनभने मैले त्यो भिडियो ध्यानपूर्वक हेरेकी थिइनँ। पोल नाखुलोस् भनेर, म आफ्नो समीक्षा र अरूले भनेका कुराको सारांश बताउन हरेक छलफलको अन्तिमसम्म पर्खन्थेँ, वा त्यो नभए संक्षेपमा झारा टार्ने टिप्पणी मात्रै गर्थेँ जस्तै, “यहाँ भनिएका कुरामा म धेरै हदसम्म सहमत छु, मेरो थप्नुपर्ने कुनै कुरा छैन।” पूरै भेलाको दौरान मैले मुस्किलले केही भनेकी हुन्थेँ, र मलाई निकै अप्ठेरो र कष्ट महसुस हुन्थ्यो—म त्यहाँ हुनु आवश्यक नै छैन भन्नेसम्म लाग्थ्यो। त्यहाँपछि, म कामका प्राविधिक पक्षबाट अझ पर हुन थालेँ, र समूह अगुवाको कामको त्यति जाँच गर्दिनथेँ। भेलाको बेला, म केवल मानिसको वर्तमान स्थिति बुझ्थेँ, तिनीहरूले कर्तव्यमा बोझ उठाइरहेका छन् कि झारा टारिरहेका छन् भनी हेर्थेँ। तिनीहरूको भिडियो निर्माणसँग सम्बन्धित समस्या र कठिनाइका कुरामा म तिनीहरूसँग विवरण लिने कष्ट गर्दिनँथेँ, सोच्थेँ, समूह अगुवाले यो सम्हाल्न सक्छन् र मैले पनि उचित प्राविधिक सीप भएका मानिसलाई नै यी समस्या हल गर्न दिनुपर्छ। यसरी मैले तिनीहरूको समस्या हल गर्न नसकेमा म बेकारको रहेछु भनी खुलासा पनि हुन्नथेँ। म अझैपनि केही वास्तविक काम गर्नसक्छु भन्ने छाप छोड्नका लागि, जब म कोही खराब स्थितिमा रहेको वा नकारात्मक भएको देख्थेँ वा सुन्थेँ, तब म तुरुन्त परमेश्वरका वचन खोजेर तिनीहरूसँग सङ्गति गरेर सहयोग गर्थेँ। तर, तिनीहरूले आफूले काममा झेलिरहेको समस्या लिएर आउनेबित्तिकै म उदासीन तरिकाले भन्थेँ, “जब हामी आफ्नो स्थिति सुधार्छौँ र परमेश्वरमा भर पर्छौँ, तब परमेश्वरले यी समस्या हल गर्न हामीलाई अगुवाइ गर्नुहुनेछ।” मैले यसो भन्दा तिनीहरूको स्थितिमा अस्थायी सुधार हुन्थ्यो। तर तिनीहरूको कर्तव्यमा अर्को समस्या आउनेबित्तिकै र ती समस्या नसुल्झिँदा, तिनीहरू फेरि नकारात्मक भइहाल्थे। म वास्तविक समस्या हल गर्न असफल भएकी, र मैले कामको जाँच तथा सुपरिवेक्षण नगरेकीले भिडियो निर्माणका काममा धेरै समस्या आए, ब्रदर-सिस्टरहरूको प्राविधिक सीपमा पनि उल्लेखनीय सुधार भइरहेको थिएन, तिनीहरूले कर्तव्यमा सान्दर्भिक सिद्धान्त बुझेका थिएनन्, एउटै गल्ती बारम्बार गर्थे, परिणामस्वरूप, कामको गुणस्तर खस्कियो। माथिल्लो अगुवाले यो समस्या देखाएर मलाई सहयोग गर्न खोजेका भएपनि मसँग आफूबारे वास्तविक ज्ञान थिएन। त्यसको केही समयपछि नै, कर्तव्यमा वास्तविक काम गर्न नसकेकी भनेर मलाई प्रतिस्थापन गरियो।
अचानक प्रतिस्थापित भएपछि मलाई निकै नराम्रो लाग्यो, र मैले सोचिरहेँ, “हरेक दिन कर्तव्यमा व्यस्त भएरपनि म किन वास्तविक काम नगर्ने झुटो अगुवा हुन पुगेँ? मेरो असफलताको कारण के थियो?” त्यो बेला, मैले झुटा अगुवालाई चिन्नेबारे धेरै सत्यता पढेँ, र परमेश्वरले विश्लेषण गर्नुभएजस्तै वास्तविक काम गर्न असफल हुने झुटा अगुवाको लगभग सबै व्यवहार म आफैले गरेका कुराहरूसँग मिल्थे। मानौँ, परमेश्वरले मेरो व्यक्तिगत रूपमै खुलासा गरिरहनुभएको छ। तलको खण्डले यसबारे साँचो खुलासा गरेको थियोः “झूटा अगुवाहरूको एउटा विशेषता भनेको सत्यता सिद्धान्तहरूसँग सम्बन्धित कुनै पनि समस्याहरू राम्रोसँग व्याख्या गर्न वा प्रस्ट पार्न नसक्नु हो। यदि कसैले तिनीहरूलाई सोधेमा, तिनीहरूले उसलाई केही खोक्रा शब्द र धर्मसिद्धान्तहरू मात्र बताउन सक्छन्। समाधान गर्न आवश्यक समस्याहरू सामना गर्नुपर्दा, तिनीहरूले बारम्बार जवाफमा यस्तो वाक्य फर्काउँछन्, ‘तिमीहरू सबै जना यो कर्तव्य निभाउनमा निपुण छौ। यदि तिमीहरूलाई समस्याहरू छ भने, तिमीहरू आफैले तिनको समाधान गर्नुपर्छ। मलाई नसोध; म कुनै विज्ञ होइन, र म बुझ्दिनँ। त्यसलाई तिमीहरू आफैले सम्बोधन गर।’ … झूटा अगुवाहरू मानिसहरूलाई टार्न र प्रश्नहरू छल्न प्रायः ‘म बुझ्दिनँ, मैले यो कुरा कहिल्यै सिकिनँ, म कुनै विज्ञ होइन’ भन्ने कारण र बहानाहरू प्रयोग गर्छन्। तिनीहरू अत्यन्तै विनम्र देखिएलान्; तर, यसले झूटा अगुवाहरूको एउटा गम्भीर समस्या खुलासा गर्छ—तिनीहरूसँग निश्चित कार्यहरूमा पेशागत ज्ञानसम्बन्धी समस्याहरूबारे कुनै बुझाइ हुँदैन, तिनीहरू शक्तिहीन महसुस गर्छन् र अत्यन्तै अफ्ठ्यारो र लज्जित महसुस गरिरहेको देखिन्छन्। त्यसपछि तिनीहरूले के गर्छन्? तिनीहरूले सबैसँग सङ्गति गर्न परमेश्वरका वचनका कैयौँ खण्डहरू जम्मा गर्न, र मानिसहरूलाई अर्ती दिन केही धर्मसिद्धान्तहरूबारे कुरा गर्न मात्र सक्छन्। अलिकति दया भएका अगुवाहरूले मानिसहरूप्रति चासो देखाउन र बेलाबेलामा उनीहरूलाई यस्तो सोध्न सक्छन्, ‘के तिमीहरूले आफ्नो जीवनमा हालसालै कुनै कठिनाइहरू सामना गरेका छौ? के तिमीहरूसँग लगाउनका लागि कपडाहरू पर्याप्त छन्? के तिमीहरूमध्ये कसैले गलत व्यवहार गर्दै आएका छौ?’ यदि सबैले उनीहरूलाई ती समस्याहरू छैनन् भनेमा, तिनीहरूले “त्यसोभए कुनै समस्या छैन। आ-आफ्नो काम जारी राख; मैले अरू मामलाहरूमा सम्हाल्नु छ” भनेर जवाफ दिन्छन्, र कसैले प्रश्नहरू सोध्ला र तिनलाई समाधान गर्न भन्ला, तिनीहरूलाई लाजमर्दो परिस्थितिमा पार्ला भन्ने डरले हतारहतार निस्कन्छन्। झूटा अगुवाहरूले यसरी नै काम गर्छन्—तिनीहरूले कुनै पनि वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्। तिनीहरूले कसरी मण्डलीको काम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्छन् त? फलस्वरूप, समाधान नभएका समस्याहरूको थुप्रोले अन्तत: मण्डलीको कामलाई असर गर्छ। यो झूटा अगुवाहरूले काम गर्ने तरिकाको प्रमुख विशेषता र प्रकटीकरण हो” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवा र सेवकहरूका जिम्मेवारीहरू (२))। “अवश्य नै, एउटा अगुवा हुनु भनेको, व्यक्तिले हरप्रकारको पेशा बुझ्नैपर्छ भन्ने होइन, तर उसले समस्याहरू समाधान गर्न आवश्यक सत्यता सिद्धान्तहरू प्रस्ट रूपमा सङ्गति गर्नुपर्छ, चाहे ती समस्याहरू जस्तोसुकै पेशासँग सम्बन्धित होऊन्। जबसम्म मानिसहरूले सत्यता सिद्धान्तहरू बुझ्छन्, समस्याहरूलाई त्यही अनुसार समाधान गर्न सकिन्छ। झूटा अगुवाहरूले ‘म यो कुरामा अनाडी छु ; म यो पेशा बुझ्दिनँ’ भन्ने कारण प्रयोग गरेर समस्याहरू समाधान गर्नका लागि सत्यता सिद्धान्तहरू सङ्गति गर्नबाट पन्छिन्छन्। यो वास्तविक काम गर्नु होइन। यदि झूटा अगुवाहरूले निरन्तर रूपमा ‘म यो कुरामा अनाडी छु; म यो पेशा बुझ्दिनँ’ भन्ने भनाइलाई समस्याहरू समाधान गर्नबाट पन्छिने कारणका रूपमा प्रयोग गर्छन् भने, तिनीहरू अगुवाइको कामका लागि उपयुक्त छैनन्। तिनीहरूले गर्नुपर्ने सर्वोत्तम काम राजीनामा दिनु र अरू कसैलाई आफ्नो ठाउँ लिन दिनु हो। तर के झूटा अगुवाहरूमा यस्तो समझ हुन्छ? के तिनीहरूले राजीनामा दिन सक्नेछन्? सक्नेछैनन्। तिनीहरूले यस्तो समेत सोच्छन्, ‘उनीहरू किन मैले कुनै काम गरिरहेको छैन भन्छन्? म हरदिन भेलाहरू राख्छु, र म यति व्यस्त हुन्छु कि समयमा खाना समेत खान पाउँदिनँ, र मेरो निद्रा पुगिरहेको छैन। समस्याहरू समाधान भइरहेका छैनन् भनेर कसले भन्छ? म भेलाहरू राख्छु र उनीहरूसँगै सङ्गति गर्छु, र म उनीहरूका लागि परमेश्वरका वचनका खण्डहरू खोज्छु।’ … देखिस् नि, झूटा अगुवाहरू वास्तविक काम गर्न सक्दैनन् र तैपनि तिनीहरूले धेरै बहानाहरू बनाउँछन्। तिनीहरू साँच्चिकै निर्लज्ज र घिनलाग्दा हुन्छन्! तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ, तिनीहरूले कुनै पेशाहरू बुझ्दैनन्, र तिनीहरूमा कुनै पनि पेशागत कामको हरेक विषयवस्तुमा संलग्न हुने सत्यता सिद्धान्तहरूको बोध हुँदैन—तिनीहरूलाई अगुवाका रूपमा पाएर के काम? तिनीहरू पूर्णतया मूर्ख र बेकामीहरू हुन्! तिनीहरूले कुनै वास्तविक काम गर्न नसक्ने हुनाले, तिनीहरूले किन अझै पनि मण्डली अगुवाका रूपमा सेवा गरिरहेका छन् त? तिनीहरूमा समझ हुँदै-हुँदैन। तिनीहरूमा आत्म-चेतना नहुने हुनाले तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूको प्रतिक्रिया सुन्नुपर्छ र आफुले अगुवा हुने मानक पूरा गर्ने-नगर्ने कुरा मूल्याङ्कन गर्नुपर्छ। र तैपनि, झूटा अगुवाहरूले यी कुराहरूबारे कहिल्यै ख्याल गर्दैनन्। मण्डलीको काममा जतिसुकै ढिलाइ भएको भए पनि, र तिनीहरूले कैयौँ वर्ष अगुवाका रूपमा सेवा गर्दा परमेश्वरका चुनिएका मानिसहरूले जतिसुकै क्षति भोगेका भए पनि, तिनीहरूले त्यसबारे वास्ता गर्दैनन्। यो खाँटी झूटा अगुवाहरूको कुरूप मुहार हो” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवा र सेवकहरूका जिम्मेवारीहरू (२))। परमेश्वरका वचनले मेरो मनलाई घोच्यो। परमेश्वरले खुलासा गरेका झुटा अगुवाहरूको व्यवहार र विशेषता पूर्ण रूपमा मेरो वास्तविक स्थितिसँग मिल्थ्यो। परमेश्वर भन्नुहुन्छ, झुटा अगुवाले आफ्नो प्राविधिक ज्ञानको कमीलाई कामको सबै पक्ष सुपरिवेक्षण र जाँच गर्ने काममा वास्तविक रूपमा संलग्न नहुनुको बहानाको रूपमा प्रयोग गर्छन्, र ब्रदर-सिस्टरको कर्तव्यका वास्तविक समस्या र कठिनाइहरूको हल नगर्नुको बहानाका रूपमा प्रयोग गर्छन्। तिनीहरू शब्द र धर्मसिद्धान्त बोलेर सन्तुष्ट हुन्छन्, र खास, वास्तविक समस्या हल गर्ने कुराबाट पछि हट्छन् वा भाग्छन्। मैले पनि ठ्याक्कै यही गरेकी थिएँ। अगुवा चुनिएदेखि नै आफूसँग भिडियो निर्माणको प्राविधिक ज्ञान नभएकाले यो कार्यको जाँच गर्दा मेरा कमीहरू देखिनेछन् भनेर चिन्ता गरेँ। ब्रदर-सिस्टरले मेरो वास्तविकता देख्नेछन् र सबैसामु म लज्जित हुनेछु भनेर डराएँ। मेरो आफ्नै हैसियत र प्रतिष्ठा जोगाइराख्न म आफ्नो प्राविधिक ज्ञानको कमीलाई कामका छलफलमा सहभागी नहुने बहानाको रूपमा प्रयोग गर्थेँ। म ब्रदर-सिस्टरलाई तिनीहरूको समस्या र कठिनाइबारे विरलै सोध्थेँ, मलाई तिनीहरूको समस्या हल गर्न नसकेर मेरो इज्जत गुम्नेछ भन्ने डर थियो। कहिलेकाहीँ तिनीहरूले मलाई प्रश्न सोध्दा म केवल केही शब्द र धर्मसिद्धान्त बोलेर टार्ने गर्थेँ। के मैले तिनीहरूलाई धोका दिइरहेकी थिइनँ र? बाहिरबाट म निकै व्यस्त देखिन्थेँ—भेला, सङ्गति गर्नमा व्यस्त हुने र मानिसको समस्या हल गरेजस्तो र वास्तविक काम गरिरहेको जस्तो देखिन्थेँ—तर वास्तवमा मैले केवल आफ्नो प्रतिष्ठा बढाउन काम गरिरहेकी थिएँ र मात्र केही शब्द र धर्मसिद्धान्त बोल्थेँ। मैले मानिससामु देखावटी रूप प्रस्तुत गरिरहेकी थिएँ, वास्तवमा, म सकेसम्म ब्रदर-सिस्टरको सबभन्दा वास्तविक समस्याहरूको हल गर्नबाट भाग्ने गर्दथेँ। मैले ब्रदर-सिस्टरहरू समस्यामा जुझिरहेको र त्यसले उनीहरूको स्थितिलाई प्रभावित पारिरहेको र तिनीहरूको कर्तव्यको नतिजामा असर गरिरहेको देखेर पनि मसँग तिनीहरूको समस्या हल गर्ने जिम्मेवारीबोध थिएन। यसको साटो, मैले आफ्नो प्राविधिक ज्ञानको कमीलाई समस्या टाल्ने र पन्छाउने बहाना बनाएँ, वा त्यो सम्हाल्ने जिम्मेवारी अगुवालाई समेत सुम्पिदिन्थेँ। आफ्नो व्यवहारबारे चिन्तन गर्दा मैले आफूले बिलकुलै वास्तविक काम नगरिरहेको देखेँ। म केवल लापरवाह तरिकाले काम गरिरहेकी थिएँ, झारा टारिरहेकी र छल गरिरहेकी थिएँ। अगुवा भएर पनि म परमेश्वरले भनेजस्तै “स्वाँठ” र “बेकार” थिइनँ र? मैले अगुवाको पदवी धारण त गरेकी थिएँ, तर ममा अलिकति पनि जिम्मेवारीबोध थिएन, मैले केवल आफ्नै प्रतिष्ठा र हैसियत जोगाउन काम गरेँ, अगुवा भएर गर्नुपर्ने कुनै पनि वास्तविक काम गरिनँ, मैले पूरा गर्नुपर्ने कुनै पनि जिम्मेवारी पूरा गरिनँ, यी सबैले भिडियो निर्माण कामलाई नराम्ररी प्रभावित गर्यो। म बिलकुलै झुटो अगुवा थिएँ र म कुनै पनि तरिकाले भरोसा योग्य थिइनँ। यो सबै महसुसु गरेपछि, मलाई निकै पछुतो भयो र पश्चात्तापमा मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मलाई थाहा छ मेरो कार्यले तपाईँलाई चोट दिएको छ, र तपाईँलाई घृणा लागेको छ। म पश्चात्ताप गर्न तयार छु र बिन्ती मेरा भ्रष्ट स्वभाव र विद्रोहबारे ज्ञान पाउन मलाई मार्गदर्शन र अन्तर्दृष्टि प्रदान गर्नुहोस्।”
पछि, मैले परमेश्वरका वचनको यो खण्ड देखेँ, जसमा भनिएको थियो: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य सामान्य मानिसहरूको भन्दा धेरै परको हदसम्म जान्छ, र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब, ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा, तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो, र तिनीहरूको जीवनभरको लक्ष्य हो। तिनीहरूले गर्ने सबै कुराहरूमा, तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले पहिलो पटक सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूमा भएको स्वभाव र सार छ भन्ने कुराको प्रमाण हो; तिनीहरूले यी समस्याहरूलाई अन्यथा सोच्दैनन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, यी कुराहरू तिनीहरूको लागि नहुँदा पनि हुने बाह्य वस्तुहरू हुने कुरा त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन्, र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको आचरण होइन। त्यसो भए, तिनीहरूको आचरण के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक स्थिति, र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। यसकारण ख्रीष्टविरोधीहरूका लागि, प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि, यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरले ख्रीष्टविरोधीहरू प्रतिष्ठा र हैसियतलाई धेरै महत्व दिन्छन् र यसलाई आफ्नो जीवनधाराको रूपमा हेर्छन् भनी प्रकट गर्नुभएको छ। आफूलाई जुनसुकै परिस्थितिमा पाएपनि वा आफूले जे गरिरहेको भएपनि तिनीहरूको मनसाय र सुरुआती बिन्दु सधैँ प्रतिष्ठा र हैसियतको वरिपरि केन्द्रित हुन्छ। आत्मचिन्तन गरेर मैले आफूपनि फरक नरहेकी पाएँ। म अगुवा चुनिएपछि, मैले कामको महत्त्वबारे कुनै विचार गरिनँ, वा मैले परमेश्वरका अभिप्रायलाई कसरी ख्याल गर्ने वा आफ्नो काम कसरी राम्रोसँग गर्ने भनेर सोचिनँ, बरु आफ्नै प्रतिष्ठा र हैसियतबारे ख्याल गरेँ। मलाई अरू ब्रदर सिस्टरले मैले कामको प्राविधिक पक्ष नबुझ्ने र आफ्नो काम राम्रोसँग गर्न नसक्ने देख्लान् भन्ने चिन्ता थियो। मलाई आफू खुलासा भएर प्रतिस्थापित हुनेछु भन्ने समेत डर थियो। अगुवाको कार्यकालभरि, मैले आफ्नो प्रतिष्ठा र हैसियत जोगाउनमै काम गरिरहेँ, र आफ्ना कमीहरू लुकाउन म सधैँ प्राविधिक कामबाट भाग्थेँ, र प्राविधिक कामबारे सोधपुछ गर्दिनथेँ। मानिसले मेरो वास्तविक प्राविधिक क्षमता देख्नेछन् भन्ने मलाई चिन्ता थियो, र म कामको सुपरिवेक्षण गर्न सक्षम छैन र अगुवा हुन लायक छैन भन्ने सोच्नेछन् भन्ने डर थियो। यसबाहेक, मैले वास्तविक काम गरिरहेकी छैन भन्ने तथ्यलाई लुकाउन र अुगवाको हैसियत जोगाइराख्न म भेला गर्न, आफ्नो प्रतिष्ठा बलियो बनाउने खालका काम गर्नमा मात्र तल्लीन भएँ, म धर्मसिद्धान्तबारे मात्र बोल्थेँ, नारा लगाउँथेँ, र लापरवाह भएर काम गर्थेँ। मैले ब्रदर-सिस्टरलाई भ्रमित तुल्याउन, र म वास्तविक काम गर्दैछु भन्ने विश्वास दिलाउन बाहिरबाट, म काम गरेजस्तो र जिम्मेवारीबोध भएजस्तो गर्थें। म यो कपटपूर्ण, छली व्यवहारमा मात्र लागेकी थिएँ, र परिणामस्वरूप, भिडियो निर्माणको काममा ढिलाइ भयो। मलाई आफू शैतानबाट गहिरोसँग भ्रष्ट बनाइएको छु भन्ने महसुस भयो। “रुखलाई बोक्रा चाहिएझैँ मानिसलाई इज्जत चाहिन्छ” र “हाँसले जता-जता उड्छ, त्यता-त्यता आफ्नो क्वाँक क्वाँक आवाज छोडिगएझैँ, मानिस जहाँ-जहाँ बस्छ त्यहाँ-त्यहाँ आफ्नो नाम छोडिजान्छ।” भन्ने जस्ता शैतानी विष मेरा प्रकृति भएका थिए। म यस्ता विषअनुसार जिएकी थिएँ, र परमेश्वरमाथिको विश्वासमा कर्तव्य निर्वाह गर्दा आफ्नै प्रतिष्ठा र हैसियतलाई मात्र ख्याल गर्थेँ। मलाई मण्डलीको काम वा ब्रदर-सिस्टरको जीवन प्रवेशको अलिकति पनि परवाह थिएन। म आफूले गर्नुपर्ने कर्तव्यबाट पनि पछि हट्थेँ—म कत्ति स्वार्थी, घृणित, छली र धूर्त थिएँ!
मण्डली अगुवा भएको नाताले आफूसँग भिडियो निर्माणको प्राविधिक ज्ञान नभएपनि, ब्रदर-सिस्टरसँग मिलेर काम गरी हामीले हाम्रो काममा सामना गरेका वास्तविक समस्याहरू हल गर्नुपर्ने थियो। त्यो मेरो जिम्मेवारी थियो र मेरो कर्तव्यअन्तर्गत कम्तीमा पनि गर्नुपर्ने काम थियो। तैपनि, मैले परमेश्वरका अभिप्रायलाई अलिकति पनि ख्याल गरिनँ, मैले केवल आफ्नो प्रतिष्ठा र हैसियतलाई ख्याल गरेँ। म सधैँ आफ्नो ज्ञानको कमीलाई वास्तविक काम टाल्ने, छल्ने र निष्पादित नगर्ने बहानाको रूपमा प्रयोग गर्थेँ, जसले ब्रदर-सिस्टरको समस्या समाधानमा ढिलाइ गरायो, तिनीहरूलाई अभ्यासको मार्ग भेट्टाउनबाट रोक्यो र भिडियो निर्माणको कामलाई नकारात्मक असर गऱ्यो। यी सबै मेरा अपराध थिए। मैले परमेश्वरको धर्मी स्वभावलाई रिस उठाउन सकिन्न भन्ने बुझेँ—मलाई प्रतिस्थापन गरिनु पूर्ण रूपमा प्रतिष्ठा र हैसियतप्रतिको मेरो खोजी र ख्रीष्टविरोधीको बाटोमा हिँड्दाको परिणाम थियो। यदि मैले पश्चात्ताप गरेर रूपान्तरित भइनँ भने म पक्कैपनि खुलासा भएर हटाइनेथिएँ।
पछि, मैले परमेश्वरका वचनको यो खण्ड देखेँ: “वास्तवमा, अगुवाको नाताले, कामको बन्दोबस्त गरेपछि, तैँले कामको प्रगतिबारे अनुगमन गर्नुपर्छ। तँ त्यस क्षेत्रको कामसित परिचित नभए पनि—तँसँग यसबारे कुनै ज्ञान नभए पनि—तैँले कुनै उपाय खोजेर आफ्नो काम गर्न सक्छस्। तैँले छानबिन गर्न र सुझावहरू दिनको लागि त्यसलाई साँच्चिकै बोध गरेको, सम्बन्धित पेसा बुझेको व्यक्ति भेटाउन सक्छस्। तिनीहरूका सुझावहरूबाट तैँले उचित सिद्धान्तहरूलाई पहिचान गर्न सक्छस्, त्यसरी तैँले कामको अनुगमन गर्न सक्नेछस्। सम्बन्धित पेसासित तँ परिचित भए पनि वा नभए पनि वा तैँले त्यसलाई बुझे पनि वा नबुझे पनि, तैँले कम्तीमा पनि उक्त कामको जिम्मेवारी लिनुपर्छ, यसको लेखा राख्नुपर्छ, अनि निरन्तर रूपमा यसको प्रगति बारे सोधपुछ र प्रश्नहरू गर्नुपर्छ। त्यस्ता विषयहरूको बारेमा बुझ्ने कार्यलाई तैँले जारी राख्नुपर्छ; यो तेरो जिम्मेवारी हो, यो तेरो कामकै पाटो हो। कामको अनुगमन नगर्नु, काम अह्राइसकेपछि थप केही नगर्नु—यसबाट हात झिक्नु—यो झूटा अगुवाहरूको कामकुरा गर्ने तरिका हो। कामको अनुगमन नगर्नु वा त्यस सम्बन्धमा निर्देशन प्रदान नगर्नु, देखा पर्ने समस्याहरूबारे सोधपुछ नगर्नु वा तिनलाई समाधान नगर्नु, अनि कामको प्रगति वा कौशलता बोध नगर्नु—यी पनि झूटा अगुवाहरूका प्रकटीकरण नै हुन्” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवा र सेवकहरूका जिम्मेवारीहरू (४))। परमेश्वरका वचनले मण्डली अगुवा हुनका लागि कसैले सबै कुरा बुझ्नु र सबथोकमा सक्षम हुनु पर्दैन भन्ने बुझायो। अगुवा र सेवकहरूसँग प्राविधिक ज्ञान भएपनि नभएपनि, तिनीहरूले अझैपनि काममा सक्रिय सहभागिता जनाउनुपर्छ, प्रगतिको लेखाजोखा राख्नुपर्छ र सुपरिवेक्षण गर्नुपर्छ, र समस्यालाई समयमै पत्ता लगाएर हल गर्नुपर्छ। कर्तव्यप्रति उनीहरूको यस्तो मनोवृत्ति हुनुपर्थ्यो, र परमेश्वरले अगुवा र सेवकबाट यही माग गर्नुहुन्छ। मैले मण्डलीमा रहेको केही अगुवा र सेवकको बारेमा सोचेँ, तिनीहरू प्राविधिक सीप चाहिने केही क्षेत्रका प्रभारी थिए—तिनीहरूमा केही कमी कमजोरी भएपनि, आफ्नो काममा बोझ उठाए समयबद्ध तरिकाले कामको प्रगतिको सुपरिवेक्षण गरी त्यसको अनुगमन गर्न सक्षम थिए, तिनीहरूले सिद्धान्तअनुसार ब्रदर-सिस्टरलाई आफ्नो कर्तव्य गर्न मार्गदर्शन गर्थे, र ब्रदर-सिस्टरहरूसँग मिलेर काम गरी तिनीहरूको सबल पक्षबाट सिक्थे र आफ्नो कमजोरीको भरपाइ गर्थे। बिस्तारै, तिनीहरूले केही प्राविधिक सीपका साथै सत्यता सिद्धान्त सिक्न थाल्थे र तिनीहरूको कर्तव्यको नतिजामा क्रमिक सुधार हुन थाल्थ्यो। यसबाट मलाई नोआको कथा याद आयो। जब नोआले जहाज बनाउन थाले, उनले वास्तवमा पहिले कहिल्यै जहाज बनाएका थिएनन्, र जहाज कस्तो हुन्छ भन्ने पनि थाहा थिएन। तैपनि, उनी शुद्ध हृदयका थिए, बोझ उठाए र परमेश्वरका अभिप्रायलाई ख्याल गरे। जब परमेश्वरले उनलाई केही गर्न भन्नुभयो, उनले उहाँको माग अनुसार काम गरे। अन्तमा, थोरै थोरै गरेर जहाजको स्वरूप बन्न थाल्यो र नोआले सफलतापूर्वक परमेश्वरको आज्ञा पूरा गरे। जहाँसम्म मेरो कुरा छ, मैले आफ्नो कर्तव्यलाई कसरी लिएँ? मण्डली अगुवाको रूपमा मैले परमेश्वरका अभिप्राय कसरी ख्याल गर्ने, कसरी मण्डलीको काम राम्ररी गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने भन्ने विचार गरिनँ, बरु अगुवाको पदमा बसिरहेँ, र सधैँ आफूलाई अरूभन्दा राम्रो र सक्षम देखाउने तरिका खोजिरहेँ। मलाई आफूले प्राविधिक काममा भाग लिएँ भने आफ्ना कमी कमजोरी देखिनेछन्, र ब्रदर-सिस्टरहरूले मलाई नीच मान्नेछन् भन्ने डर थियो। मैले सधैँ, भिडियो निर्माणको प्राविधिक पक्षमा रहेको आफ्नो ज्ञानको कमीलाई सहभागी हुनबाट भाग्ने बहानाको रूपमा प्रयोग गरेँ—म कति अहङ्कारी पाखण्डी रहेछु! तबमात्र मलाई महसुस भयो, अगुवा हुनु भनेको उपाधि वा हैसियत होइन, बरु जिम्मेवारी र बोझ हो। मैले आफ्नो कमी कमजोरीलाई उचित रूपमा सामना गर्नुपर्थ्यो, र अगुवाको उपाधि र हैसियतको मेरो लगावलाई हटाउनुपर्थ्यो। मैले परमेश्वरका अभिप्रायलाई ख्याल गरी मण्डलीको कामको बोझ लिनुपर्थ्यो, अनि ब्रदर-सिस्टरसँग सौहार्दपूर्ण ढङ्गले सहकार्य गरी एकअर्काको सबल पक्षबाट सिक्दै कमजोरीको परिपूर्ति गर्नुपर्थ्यो र मण्डलीको काम राम्ररी गर्नुपर्थ्यो। म कामको केही प्राविधिक पक्षसँग परिचित थिइनँ, तर यसबारे ज्ञान भएका ब्रदर-सिस्टरको सहयोग लिएर खोजी गर्न सक्थेँ, उनीहरूसँग बसेर छलफल गर्न सक्थेँ। उनीहरूबाट धेरै सुझाव र विचार लिन सक्थेँ, र सबै मिलेर काम गर्दै अभ्यासको मार्ग खोजेर हाम्रा समस्याहरू समाधान गर्न सक्थ्यौँ। यसरी काम गर्दा कामका सबै पक्षहरू सामान्य ढङ्गले अघि बढ्न सक्थ्यो। यदि खोजी र छलफल गरेर हामीले अझैपनि समस्या समाधान गर्न नसकेमा माथिल्ला अगुवाबाट मद्दत माग्न सक्थ्यौँ—यसरी हाम्रो कामको कुनै पनि समस्या पहिचान भएर समयमै समाधान भएको सुनिश्चित गर्न सकिन्थ्यो र मण्डलीको काममा ढिलाइ हुने थिएन। मैले यही गर्नुपर्थ्यो र म यही गर्न पूर्ण रूपमा सक्षम थिएँ। ममा मण्डलीको कामबारे जिम्मेवार मनोवृत्ति हुनुपर्थ्यो, र आफू सक्षम रहेको काम हासिल गर्न सक्दो प्रयास गर्नुपर्थ्यो। यसो गरेर मात्रै मैले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्नेथिएँ। मलाई विगतमा आफूले प्रतिष्ठा र हैसियतमा धेरै जोड दिने गरेको महसुस भयो। मैले सधैँ आफ्नो प्राविधिक ज्ञानको कमीलाई एउटा बहानाको रूपमा प्रयोग गरेँ, आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन सक्रिय भई काम गरेँ, र अन्ततः मण्डलीको भिडियो निर्माणको काममा ढिलाइ गराएँ।
पछि, मैले परमेश्वरका वचनको यो खण्ड भेटेँ: “आफ्नो कर्तव्य निभाउनेहरू सबैको हकमा भन्दा, सत्यतासम्बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्वरको घरको हितबारे विचार गर्नु, र आफ्ना स्वार्थी इच्छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, गर्व, र हैसियत त्याग्नु हो। परमेश्वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। यदि कर्तव्य निभाउने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निभाइरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निभाएको कुरै भएन। तैँले सर्वप्रथम परमेश्वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्वरका अभिप्रायको ख्याल राख्नुपर्छ, अनि मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। जब यसलाई तिमीहरूले यी दुई चरणहरूमा विभाजन गर्छौ र केही सम्झौता गर्छौ, तब के तिमीहरूले यो अलि सहज भएको महसुस गर्दैनौ र? यदि तैँले केही समयसम्म यसरी अभ्यास गरिस् भने, तैँले परमेश्वरलाई सन्तुष्ट पार्न त्यति गाह्रो छैन रहेछ भन्ने महसुस गर्नेछस्। तर त्योभन्दा पनि बढी, तँ आफ्ना जिम्मेवारीहरू पूरा गर्न, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउन, अनि आफ्ना स्वार्थी चाहना, आशय र अभिप्रायहरू पन्छाउन सक्षम हुनुपर्नेछ; तैँले परमेश्वरका अभिप्रायको ख्याल गर्नुपर्नेछ, र तैँले परमेश्वरको घरको हित, मण्डलीको काम र तैँले निभाउनुपर्ने कर्तव्यलाई सबैभन्दा अगाडि राख्नुपर्नेछ। तैँले केही समय यस्तो अनुभव गरिसकेपछि, यो नै आफूलाई व्यवहारमा ढाल्ने राम्रो शैली हो भन्ने कुरा महसुस गर्नेछस्। यो सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र तुच्छ र निकृष्ठ व्यक्ति बन्नु होइन; यो त घृणित, तुच्छ, र बेकामे बन्नुको साटो न्यायसंगत रूपले र सम्मानपूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा व्यवहार गर्नुपर्छ र उसले जिउनुपर्ने स्वरूप यही हो भन्ने तैँले महसुस गर्नेछस्। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनलाई मनन गरेर मैले बुझेँ कि हामीले जुन कर्तव्य निर्वाह गरिहेको भएपनि हामीले सधैँ आफ्ना अभिप्राय सही राख्नुपर्छ, व्यक्तिगत चाहना वा प्रतिष्ठा र हैसियतको आकाङ्क्षा पन्छाउनुपर्छ र मण्डलीको काम सम्हाल्ने प्रयास गर्नुपर्छ। अरूले हाम्रोबारे के सोच्छन् भन्ने कुराको चिन्ता गर्नुहुँदैन, बरु परमेश्वरको छानविन स्विकार्न र आफ्ना जिम्मेवारी पूरा गर्न सक्षम हुनुपर्छ—यसो गरेर मात्र हामी सीधा र इमानदारीसँग जिउन सक्छौँ। मैले सोचेँ, अगुवाको रूपमा चुनिनु मेरो लागि अभ्यास गर्ने एउटा अवसर मात्र थियो, र यसको अर्थ म यस पदका लागि पूर्ण योग्य थिएँ भन्ने होइन। मैले अझैपनि कर्तव्य निर्वाह गर्ने क्रममा निरन्तर सत्यताको खोजी गर्नुथियो, र ब्रदर-सिस्टरहरूसँग मिलेर काम गरी कर्तव्य राम्ररी निर्वाह गर्नुथियो। तैपनि, म निकै विद्रोही थिएँ, मैले आफ्नो हैसियत र प्रतिष्ठालाई मात्र ख्याल गरेँ, वास्तविक काम गर्न असफल भएँ, यी सबै कुराले मण्डलीको काममा हानि भयो र मलाई प्रतिस्थापन गर्नुपर्ने अवस्था आयो। परमेश्वरको अभिप्राय बुझेपछि मैले अबदेखि कर्तव्य निर्वाह गर्दा परमेश्वरका वचनअनुसार कार्य गर्ने, आफ्नो प्रतिष्ठा र हैसियतलाई ख्याल गर्न छोड्ने र परमेश्वरलाई सन्तुष्ट बनाउन कर्तव्य पूरा गर्ने सङ्कल्प गरेँ।
त्यसको केही समय लगत्तै, मण्डलीले मलाई नयाँ विश्वासीलाई मलजल गर्ने काम तोक्यो, र केही महिनापछि म समूह अगुवा भएँ। एक पटक फेरि, मलाई चिन्ता हुन थाल्योः “मैले लामो समयदेखि नयाँ विश्वासीलाई मलजल गरेकी छैन, मसँग अनुभवको कमी छ र नयाँ विश्वासीलाई मलजल गर्ने मेरो क्षमता अरू ब्रदर-सिस्टरहरूको भन्दा राम्रो छैन। के म साँच्चिकै प्रभावकारी समूह अगुवाको रूपमा सेवा गर्न सक्छु? मैले कर्तव्य राम्ररी निर्वाह गरिनँ भने र ब्रदर-सिस्टरका लागि अभ्यासको वास्तविक मार्ग सुझाउन सकिनँ भने म समूह अगुवाको रूपमा सेवा गर्न अयोग्य छु भनेर सोच्लान् र? मेरा अगुवाले ममा क्षमता र योग्यताको कमी छ भनेर सोच्नेछन् कि?” मलाई आभास भयो कि म फेरि आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन खोज्दैछु। मैले विगतको असफलताबाट सिकेको पाठ सम्झेँ र हतार गरी प्रार्थनामा परमेश्वरसामु आएँ। प्रार्थना सकेपछि, मैले परमेश्वरका वचनको यो खण्ड देखेँ: “समस्या जे भए पनि, उत्पन्न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्नु हुँदैन। तेरा दोषहरू, तेरा कमीहरू, तेरा गल्तीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैका बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैका विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै जीवन प्रवेश गर्नेतर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुन्छ। यो कदम उठाउनुले के कुराको सङ्केत गर्छ? यसको अर्थ, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दैछस्; परमेश्वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै कुरालाई ढाकेर राखेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्वरले मात्र तँलाई छानबिन गर्नुहुन्न, तर अरू मानिसहरूले तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भन्ने कुरा पनि देख्न सक्नेछन्। तैँले कुनै तरिका प्रयोग गरी आफ्नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, बन्धन र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचन पढेर म प्रष्ट भएँ र यसले मलाई अभ्यासको मार्ग दियो। मैले प्रतिष्ठा र हैसियतका निम्ति आफ्नो कमी कमजोरी छोप्नु र लुकाउनु हुँदैन। बरु आफ्नो कमजोरीप्रति उचित मनोवृत्ति राखी इमानदार व्यक्ति बन्ने अभ्यास गर्नुपर्छ, आफूले बुझेजति कार्यान्वयन गर्नुपर्छ र आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्नुपर्छ। त्यसपछि मैले सक्रियतासाथ आफ्नो प्रगति विवरण राख्न थालेँ, र जब म आफ्नो ज्ञानले नभ्याउने वा आफैले सम्हाल्न नसक्ने समस्याको सामना गर्थेँ, तब म ब्रदर-सिस्टरहरूसँगै खोजी गरेर समस्याको समाधान गर्न लाग्थेँ। प्रत्येक पटक छलफलका लागि ब्रदर-सिस्टरहरूले भेला गर्दा म लगनशील भएर तिनीहरूबाट सिक्थेँ र तिनीहरूले बताएका अभ्यासका उपयोगी मार्गहरू आत्मसात गर्थेँ। मैले आफूलाई अक्सर दर्शनको सत्यताले सुसज्जित पनि गर्थेँ। केही समयसम्म यसरी अभ्यास गरेपछि मैले क्रमिक रूपमा केही सिद्धान्त बुझ्दै गएँ, कर्तव्यमा मेरो कार्यसम्पादन सुधार हुँदै गयो, र मलाई शान्ति र सहज महसुस हुन थाल्यो।
प्रतिस्थापित भएको यस अनुभवमाथिको मेरो चिन्तनमा परमेश्वरका वचनले मलाई अन्तर्दृष्टि र मार्गदर्शन प्रदान गरेका छन्, हैसियत र प्रतिष्ठाका लागि मैले गरेका प्रयास र त्यस्ता कार्यको परिणामबारे सत्यताको ज्ञान मभित्र रोपेका छन्। उहाँका वचनले मेरो गलत दृष्टिकोणलाई सुधार्न पनि मद्दत गरेका छन्। यो सब परमेश्वरको प्रेम र मुक्ति हो!