के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?
परमेश्वरको विश्वासी भएर, तिमीहरूमध्ये प्रत्येकले के बुझ्नुपर्छ भने, आज परमेश्वरको आखिरी दिनहरूको काम र उहाँले तिमीहरूमा गर्ने उहाँको योजनाको सबै कार्य ग्रहण गरेर तैँले साँच्चै उच्च बढाइ र मुक्ति प्राप्त गरेको छस्। परमेश्वरले ब्रह्माण्डमा आफ्नो कामको सम्पूर्ण ध्यान मानिसहरूको यस समूहमा लगाउनुभएको छ। उहाँले तिमीहरूका लागि आफ्नो सारा रगत-पसिनाको बलिदान गर्नुभएको छ; उहाँले ब्रह्माण्डमा रहेको आत्माको सबै काम फिर्ता लिएर तिमीहरूलाई दिनुभएको छ। यसैकारण तिमीहरू सौभाग्यशाली मानिसहरू हौ। यसबाहेक, उहाँले आफ्नो महिमा इस्राएलदेखि, उहाँका चुनिएका मानिसहरूदेखि, तिमीहरूमा सार्नुभएको छ, अनि उहाँले आफ्नो योजनाको उद्देश्य यसै समूहमार्फत पूर्ण रूपमा प्रकट गर्नुहुनेछ। त्यसकारण, परमेश्वरको उत्तराधिकार प्राप्त गर्ने तिमीहरू नै हौ, र त्योभन्दा पनि बढी, तिमीहरू परमेश्वरको महिमाको उत्तराधिकार प्राप्त गर्ने मानिस हौ। सायद, तिमीहरू सबैलाई यी वचनहरू याद छ होला: “किनभने हाम्रो हल्का दुःख, जुन क्षणभरका लागि मात्र हुन्छ, त्यसले हाम्रा निम्ति महिमाको अझै अत्याधिक र अनन्त भारको काम गर्छ।” तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि तिनको सही अर्थ बुझेन। आज, तिमीहरू तिनको वास्तविक महत्त्वका बारेमा गहन रूपमा सचेत छौ। यी वचनहरूलाई परमेश्वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा गुँडुल्किएर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्वरलाई सताउँछ अनि त्यो परमेश्वरको शत्रु हो, यसैले, यस देशमा रहेका मानिसहरू परमेश्वरमा विश्वास गरेका कारण अपमान र सतावटको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्वरले आफ्नो काम परमेश्वरको विरोध गर्ने भूमिमा गर्ने हुनाले, उहाँको सबै कामले भयङ्कर अवरोधहरू सामना गर्छ, र उहाँका धेरै वटा वचन तुरुन्तै पूरा गर्न सकिँदैन; यसर्थ, मानिसहरूलाई परमेश्वरका वचनहरूका कारण शोधन गरिन्छ, र त्यो पनि दुःखकै पाटो हो। ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम गर्न परमेश्वरलाई भयङ्कर गाह्रो हुन्छ, तर यही कठिनाइमार्फत परमेश्वरले एक चरणको आफ्नो काम गर्नुहुन्छ, ताकि उहाँले आफ्नो बुद्धि र उहाँका अचम्मका कार्यहरू प्रकाश गर्न सक्नुहोस्, अनि परमेश्वरले यो अवसरलाई प्रयोग गरेर मानिसहरूको यो समूहलाई पूर्ण पार्नुहुन्छ। मानिसहरूको दुःख भोगाइमार्फत, तिनीहरूको क्षमतामार्फत, अनि यस फोहोरी भूमिका मानिसहरूको सारा शैतानी स्वभावमार्फत नै परमेश्वरले आफ्नो शुद्धीकरण र विजयको काम गर्नुहुन्छ, ताकि यसबाट उहाँले महिमाका साथै उहाँका कार्यहरूको साक्षी दिने सबैलाई प्राप्त गर्न सक्नुभएको होस्। परमेश्वरले मानिसहरूको यस समूहका निम्ति चुकाउनुभएको सारा मूल्यको पूर्ण महत्त्व यस्तो छ। अर्थात्, परमेश्वर उहाँको विरोध गर्नेहरूमार्फत नै विजयको काम गर्नुहुन्छ, र यसरी मात्रै परमेश्वरको महान् शक्ति प्रकट हुन सक्छ। अर्को शब्दमा, फोहोरी भूमिमा रहेकाहरू मात्र परमेश्वरको महिमाको उत्तराधिकार पाउन लायक छन्, र यसले मात्र परमेश्वरको महान् शक्तिमाथि प्रकाश पार्न सक्छ। यसैकारण त्यही फोहोरी भूमिबाट, र त्यही फोहोरी भूमिमा बस्नेहरूबाट नै परमेश्वरले महिमा प्राप्त गर्नुहुन्छ—परमेश्वरको अभिप्राय त्यस्तो छ। यो ठ्याक्कै येशूको कामको चरण जस्तै छ: उहाँ आफूलाई सताउने फरिसीहरूका माझमा मात्र महिमा प्राप्त गर्न सक्नुहुन्थ्यो; फरिसीहरूको सतावट र यहूदाको विश्वासघात नहुने हो भने, येशूलाई उपहास वा बदनाम गरिएको हुनेथिएन, क्रूसमा टाँगिनु त झनै परको कुरा हो, र उहाँले महिमा प्राप्त गर्न सक्नुभएको हुनेथिएन। जहाँ परमेश्वरले प्रत्येक युगमा काम गर्नुहुन्छ, अनि जहाँ उहाँले देहमा आफ्नो काम गर्नुहुन्छ, त्यहीँ नै उहाँले महिमा प्राप्त गर्नुहुन्छ र त्यहीँ नै उहाँले प्राप्त गर्न चाहनुभएकाहरूलाई पनि प्राप्त गर्नुहुन्छ। यो नै परमेश्वरको कामको योजना हो, र यो नै उहाँको व्यवस्थापन हो।
परमेश्वरका केही हजार वर्षको योजनामा, देहमा कामका दुई भाग गरिन्छन्: पहिलो क्रूसीकरणको काम हो, जसका लागि उहाँ महिमा प्राप्त गर्नुहुन्छ; अर्को आखिरी दिनहरूमा गरिने विजय र सिद्धीकरणको काम हो, जसका लागि उहाँ महिमा प्राप्त गर्नुहुन्छ। परमेश्वरको व्यवस्थापन यही हो। त्यसैले परमेश्वरको काम, वा परमेश्वरले तिमीहरूलाई दिनुभएको कार्यभारलाई सामान्य कुराका रूपमा नलिऊ। तिमीहरू सबै परमेश्वरको महिमाको अत्यन्तै अत्यधिक र अनन्त भारको उत्तराधिकार प्राप्त गर्नेहरू हौ, र यो परमेश्वरद्वारा विशेष रूपमा नियोजित थियो। उहाँको महिमाका दुई भागमध्ये, एउटा तिमीहरूमा प्रकट गरिन्छ; परमेश्वरको महिमाको एउटा भागको सम्पूर्णता तिमीहरूलाई दिइएको छ, ताकि यो तिमीहरूको उत्तराधिकार हुन सकोस्। यो त परमेश्वरले तिमीहरूलाई उचाल्नुभएको हो, र यो उहाँले धेरै अघि पूर्वनिर्धारित गर्नुभएको योजना पनि हो। ठूलो रातो अजिङ्गर बस्ने भूमिमा परमेश्वरले गर्नुभएको कामको महान्तालाई विचार गर्दा, यदि यो काम अन्यत्र सारिएको भए, यसले धेरै अघि नै ठूलो फल फलाउनेथ्यो र मानिसले यसलाई सहजै स्वीकार गर्नेथ्यो। यसबाहेक, परमेश्वरमा विश्वास गर्ने पश्चिमका ती पादरीहरूका लागि यो काम स्वीकार गर्न अत्यन्तै सजिलो हुनेथ्यो, किनभने येशूको कामको चरण एउटा नजिरका रूपमा रहेको छ। यसैकारण परमेश्वर महिमा प्राप्त गर्ने कामको यो चरण अन्यत्र हासिल गर्न सक्नुहुन्न; जब कामलाई मानिसहरूले समर्थन गर्छन् र राज्यले मान्यता दिन्छ, तब परमेश्वरको महिमा स्थापित हुने कुनै ठाउँ हुँदैन। यस भूमिमा कामको यस चरणले बोक्ने असाधारण महत्त्व ठ्याक्कै यही हो। तिमीहरूमध्ये एक जना पनि कानुनद्वारा संरक्षित छैन—बरु, तिमीहरू त कानुनद्वारा दण्डित छौ। अझ ठूलो कठिनाइ त के हो भने, मानिसहरू तिमीहरूलाई बुझ्दैनन्: चाहे तिमीहरूका आफन्त होऊन्, तिमीहरूका बाबु-आमा होऊन्, तिमीहरूका इष्टमित्र होऊन्, अथवा तिमीहरूका सहकर्मीहरू नै किन नहोऊन्, तिनीहरूमध्ये कोही पनि तिमीहरूलाई बुझ्दैनन्। जब तिमीहरू परमेश्वरद्वारा “त्यागिन्छौ,” तब तिमीहरूका निम्ति यस संसारमा जिइरहन असम्भव हुन्छ, तर त्यसो भए तापनि, मानिसहरू अझै पनि परमेश्वरदेखि टाढा जाने कुरा सहन सक्दैनन्। यही नै मानिसहरूलाई परमेश्वरले विजय गर्नुको महत्त्व, र परमेश्वरको महिमा हो। तिमीहरूले आज जे उत्तराधिकार पाएका छौ त्यो युगौँयुगभरिका प्रेरित र अगमवक्ताहरूको भन्दा बढी छ र त्यो मोशा र पत्रुसको भन्दा पनि ठूलो छ। आशिष्हरू एक-दुई दिनमा प्राप्त गर्न सकिँदैन; ती ठूलो मूल्य चुकाएर कमाइनुपर्छ। भन्नुको अर्थ, तिमीहरूसित शोधन भोगेको प्रेम हुनैपर्छ, तिमीहरूमा ठूलो आस्था हुनैपर्छ, अनि तिमीहरूले हासिल गर्नुपर्छ भनी परमेश्वरले माग गर्ने धेरै सत्यता तिमीहरूमा हुनैपर्छ; अझ भन्नुपर्दा, तिमीहरू नतर्सी वा पछाडि नहटी इन्साफतर्फ फर्कन सक्नुपर्छ, अनि तिमीहरूमा मृत्युसम्मै स्थिर रूपमा परमेश्वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ। तिमीहरूसँग सङ्कल्प हुनैपर्छ, तिमीहरूको जीवन स्वभाव परिवर्तन हुनैपर्छ, तिमीहरूको भ्रष्टता निको हुनैपर्छ, तिमीहरूले कुनै पनि गुनासोविना परमेश्वरका सबै योजनाबद्धता स्वीकार गर्नैपर्छ, अनि तिमीहरू मृत्युसम्मै समर्पित हुन पनि सक्नैपर्छ। तिमीहरूले हासिल गर्नुपर्ने कुरा यही नै हो, परमेश्वरको कामको अन्तिम उद्देश्य यही नै हो, र परमेश्वरले मानिसहरूको यस समूहबाट माग गर्ने कुरा यही नै हो। उहाँले तिमीहरूलाई दिनुहुने भएकाले, उहाँले तिमीहरूबाट अवश्यै फिर्ता माग्नुहुनेछ, र अवश्यै तिमीहरूका लागि उचित मागहरू अगाडि सार्नुहुनेछ। त्यसकारण परमेश्वरले गर्ने सबै कामको पछाडि कारण हुन्छ। यसबाट परमेश्वरले किन बारम्बार उच्च मानक र कठोर मागहरू तोक्ने काम गर्नुहुन्छ भन्ने कुरा देख्न सकिन्छ। यसकारण, तिमीहरू परमेश्वरमाथिको आस्थाले भरिएको हुनुपर्छ। संक्षिप्तमा, परमेश्वरको सबै काम तिमीहरूकै खातिर गरिन्छ, यो तिमीहरू उहाँको उत्तराधिकार प्राप्त गर्न योग्य बन्न सक भनेर गरिन्छ। यो परमेश्वरको आफ्नै महिमाको खातिर हो भन्नुको सट्टा, यो तिमीहरूको मुक्ति अनि फोहोर भूमिमा गहिरो गरी पीडित भएका मानिसहरूको यस समूहलाई सिद्ध पार्नका खातिर हो भन्नु राम्रो हुन्छ। तिमीहरूले परमेश्वरको अभिप्राय बुझ्नुपर्छ। त्यसैले, म अन्तर्ज्ञान वा समझ नभएका त्यस्ता धेरै अज्ञानी मानिसहरूलाई अर्ती दिन्छु: परमेश्वरलाई नजाँच र उप्रान्त प्रतिरोध नगर। मानिसले कहिल्यै नसहेको सबै कष्ट परमेश्वरले भोगिसक्नुभएको छ र उहाँले धेरै अघि मानिसको सट्टा अझ बढी अपमान पनि सहनुभएको छ। त्यसोभए, तिमीहरूले त्याग्न नसक्ने कुरा के छ? परमेश्वरको अभिप्रायभन्दा बढी महत्त्वपूर्ण के हुन सक्छ? परमेश्वरको प्रेमभन्दा उच्च के हुन सक्छ? यस फोहोर भूमिमा परमेश्वरलाई आफ्नो काम अघि बढाउन पहिल्यै पर्याप्त रूपमा कठिन छ; यदि, यसमाथि, मानिसले थाहा हुँदाहुँदै र जानाजानी गलत कामहरू गर्छ भने, परमेश्वरको काम लम्ब्याउनै पर्नेछ। छोटकरीमा, यो कसैको हितमा हुँदैन, यसले कसैलाई लाभ दिँदैन। परमेश्वर समयद्वारा बाँधिनुहुन्न; सबैभन्दा पहिले उहाँको काम र महिमा आउँछन्। त्यसकारण, यदि कुनै कुरा उहाँको कामको पाटो हो भने, उहाँले त्यसका निम्ति कुनै पनि मूल्य तिर्नुहुनेछ, चाहे त्यसका लागि जति नै समय किन नलागोस्। परमेश्वरको स्वभाव यही हो: आफ्नो काम नसिध्याएसम्म उहाँले विश्राम लिनुहुनेछैन। उहाँले आफ्नो महिमाको दोस्रो भाग प्राप्त गर्नुभएपछि मात्र उहाँको काम समाप्त हुनेछ। यदि, सम्पूर्ण ब्रह्माण्डमा, परमेश्वरले महिमा प्राप्त गर्ने आफ्नो कामको दोस्रो भाग पूरा गर्नुभएन भने, उहाँको दिन कहिल्यै आउनेछैन, उहाँको हातले उहाँका चुनिएका मानिसहरूलाई कहिल्यै छोड्नेछैन, उहाँको महिमा इस्राएलमाथि कहिल्यै ओर्लनेछैन, र उहाँको योजना कहिल्यै टुङ्गिनेछैन। तिमीहरूले परमेश्वरको अभिप्राय देख्न सक्नुपर्छ, र परमेश्वरको काम स्वर्ग र पृथ्वी अनि यावत् थोकको सृष्टिजत्तिको सरल छैन भन्ने देख्नुपर्छ। किनभने आजको काम भनेको भ्रष्ट तुल्याइएका, र चरम रूपमा संवेदनहीन भएकाहरूलाई रूपान्तरण गर्नु हो, यो सृष्टि गरिएका तर शैतानद्वारा प्रशोधन गरिएकाहरूलाई शुद्ध पार्नु हो। यो आदम वा हव्वाको सृष्टि होइन, ज्योतिको सृष्टि, वा हरेक वनस्पति र जनावरको सृष्टि त झनै होइन। परमेश्वर शैतानद्वारा भ्रष्ट पारिएका कुराहरूलाई पखाल्नुहुन्छ र त्यसपछि तिनलाई नयाँ रूपमा प्राप्त गर्नुहुन्छ, र तिनलाई उहाँकै कुराहरू बन्ने, र उहाँको महिमा बन्ने तुल्याउनुहुन्छ। यो मानिसले कल्पना गरेजस्तो स्वर्ग र पृथ्वी अनि यावत् थोकको सृष्टिजत्तिको सरल छैन, र यो मानिसले कल्पना गरेजस्तो शैतानलाई अतल कुण्डमा फालियोस् भनी सराप्ने काम जस्तो पनि होइन; बरु, यो त मानिसलाई रूपान्तरण गर्ने, नकारात्मक, र उहाँका नरहेका कुराहरूलाई सकारात्मक कुरामा, र उहाँका कुराहरूमा बदल्ने काम हो। परमेश्वरको कामको यस चरणपछाडिको यथार्थ यही हो। तिमीहरूले यो कुरा बुझ्नैपर्छ, र मामिलाहरूलाई अति सरलीकरण गर्नबाट जोगिनैपर्छ। परमेश्वरको काम कुनै पनि साधारण कामजस्तो छैन। यसको अद्भुतता र बुद्धि मानिसको दिमागभन्दा बाहिरका कुरा हुन्। परमेश्वर कामको यस चरणमा यावत् थोक सृष्टि गर्नुहुन्न, तर उहाँ तिनलाई नष्ट पनि गर्नुहुन्न। बरु, उहाँ आफूले सृष्टि गर्नुभएका यावत् थोकलाई रूपान्तरण गर्नुहुन्छ, र शैतानद्वारा अशुद्ध पारिएका सबै कुरालाई पखाल्नुहुन्छ। अनि यसरी परमेश्वर एउटा महान् कार्यमा लाग्नुहुन्छ। परमेश्वरको कामको सम्पूर्ण महत्त्व यही हो। के तँ यी वचनहरूमा परमेश्वरको काम साँच्चै त्यति सरल छ भन्ने देख्छस्?