अध्याय २७

आज परमेश्‍वरका वचनहरू चरम बिन्दुमा पुगेका छन्, भन्‍नुको अर्थ, न्यायको युगको दोस्रो भाग शिखरमा पुगेको छ। तर यो सबैभन्दा उच्‍च शिखर होइन। यस पटक, परमेश्‍वरको लबज परिवर्तन भएको छ—यो न त गिल्‍ला गर्ने किसिमको छ, न त हास्यास्पद नै छ, र न त यसमा ताडना छ न त यसमा हप्की छ; परमेश्‍वरले उहाँका वचनहरूको लबज हल्‍का बनाउनुभएको छ। अब, परमेश्‍वरले मानिससँग “भावनाको आदनप्रदान गर्न” सुरु गर्नुहुन्छ। परमेश्‍वरले न्यायको युगको कार्यलाई जारी पनि राखिरहनुभएको छ साथै कामको अर्को खण्डको मार्ग पनि खोल्दै हुनुहुन्छ, ताकि उहाँको कामका सबै भागहरू एक-अर्कासँग जोडिएका होऊन्। एकतर्फ, उहाँले मानिसको “जिद्दीपन र अपराध दोहोर्‍याउने प्रवृत्ति” को बारेमा बताउनुहुन्छ, र अर्कोतर्फ उहाँले “मानिसबाट अलग गरिनु र फेरि मिल्‍नुको आनन्द र शोक” को कुरा गर्नुहुन्छ—यी सबै कुराले मानिसहरूको हृदयमा प्रतिक्रिया पैदा गराउँछन्, र तिनले सबैभन्दा कठोर मानव हृदयलाई समेत छुन्छन्। परमेश्‍वरले यी वचनहरू बताउनुको मुख्य उद्देश्य सबै मानिसहरूलाई अन्त्यमा परमेश्‍वरको सामु बिना कुनै आवाज घुँडा टेकाउनु हो, त्यसपछि मात्रै “हरेकलाई तिनीहरूका आफ्नै असफलताद्वारा मलाई चिन्‍ने तुल्याउँदै म मेरा कार्यहरूलाई प्रकट गर्छु।” यस अवधिमा, परमेश्‍वरसम्‍बन्धी मानिसहरूको ज्ञान पूर्ण रूपमा सतही रहन्छन्; यो साँचो ज्ञान हुँदैन। तिनीहरूले आफूले सकेजति कठिन प्रयास गर्न सक्‍ने भए पनि, तिनीहरूले परमेश्‍वरको इच्‍छा हासिल गर्न सक्दैनन्। आज, परमेश्‍वरका वचनहरू शीर्ष बिन्दुमा पुगेका छन्, तर मानिसहरू अझै पनि प्रारम्‍भिक चरणहरूमा नै छन्, तसर्थ तिनीहरू अहिलेका वाणीहरूमा प्रवेश गर्न सक्दैनन्—यसले के देखाउँछ भने परमेश्‍वर र मानिसहरू सम्‍भव भएजतिको हदसम्मै फरक छन्। यो तुलनाको आधारमा, जब परमेश्‍वरका वचनहरूको अन्त्य हुन्छ, मानिसहरूले परमेश्‍वरको सबैभन्दा न्यून मापदण्ड मात्रै हासिल गर्न सक्छन्। ठूलो रातो अजिङ्गरले पूर्ण रूपमा भ्रष्ट तुल्याएका यी मानिसहरूमा परमेश्‍वरले यही माध्यमद्वारा काम गर्नुहुन्छ, र परमेश्‍वरले अधिकतम प्रभाव हासिल गर्नको लागि यसरी नै काम गर्नुपर्छ। मण्डलीका मानिसहरूले परमेश्‍वरका वचनहरूलाई अलिक बढी ध्यान दिन्छन्, तर परमेश्‍वरको अभिप्राय भनेको तिनीहरूले उहाँका वचनहरूमा परमेश्‍वरलाई चिन्‍न सकून् भन्‍ने हो—के यसमा फरक छैन र? तैपनि, परिस्थितिलाई हेर्दा, परमेश्‍वरले अबउप्रान्त मानिसको कमजोरीको बारेमा ध्यान दिन छोड्नुभएको छ, र मानिसहरूले उहाँका वचनहरूलाई स्वीकार गर्न सके पनि नसके पनि उहाँले बोल्‍ने कार्यलाई जारी राख्‍नुभएको छ। उहाँको इच्‍छाअनुरूप, जब उहाँका वचनहरूको अन्त्य हुन्छ, पृथ्वीमा उहाँको काम पूरा हुने समय पनि त्यही हुनेछ। तर यस पटकको कार्य विगतको जस्तो छैन। जब परमेश्‍वरका वाणीहरूको अन्त्य हुन्छ, तब त्यसलाई कसैले पनि थाहा पाउनेछैन; जब परमेश्‍वरको कामको अन्त्य हुन्छ, तब त्यो कसैलाई पनि थाहा हुनेछैन; र जब परमेश्‍वरको स्वरूप परिवर्तन हुन्छ, तब त्यो कसैलाई पनि थाहा हुनेछैन। परमेश्‍वरको बुद्धि यही हो। शैतानका कुनै पनि आरोपहरू र शत्रुवत शक्तिहरूको कुनै पनि हस्तक्षेप रोक्‍नको लागि, परमेश्‍वरले कसैले थाहा नपाउने गरी काम गर्नुहुन्छ, र यस पटक पृथ्वीका मानिसहरूमाझ कुनै पनि प्रतिक्रिया हुँदैन। परमेश्‍वरको रूप परिवर्तनका चिन्‍हहरूका बारेमा एक पटक बताइएको भए पनि, कसैले पनि यसलाई बुझ्‍न सक्दैन, किनभने मानिसले यो कुरालाई बिर्सेको छ र यसप्रति उसले कुनै ध्यान नै दिँदैन। भित्र र बाहिर दुवैतर्फको आक्रमणको कारण—बाहिरी संसारका विपत्तिहरू र परमेश्‍वरका वचनहरूको जलन र धुलाइको कारण—मानिसहरूले परमेश्‍वरको लागि कडा परिश्रम गर्न इच्छुक हुन छोडेका छन्, किनभने तिनीहरू आफ्‍नै कामकाजमा अत्यन्तै व्यस्त छन्। जब सबै मानिसहरू ज्ञान र विगतको खोजीलाई इन्कार गर्ने बिन्दुमा पुग्छन्, जब सबै मानिसहरूले आफैलाई स्पष्ट रूपमा देखेका हुन्छन्, तब तिनीहरू असफल हुनेछन् र तिनीहरूको हृदयमा तिनीहरूको आफ्‍नै लागि ठाउँ हुनेछैन। तब मात्रै मानिसहरूले साँचो रूपमा परमेश्‍वरका वचनहरूको तृष्णा गर्छन्, त्यसपछि मात्रै तिनीहरूको हृदयमा परमेश्‍वरका वचनहरूको निम्ति ठाउँ हुन्छ, र त्यसपछि मात्रै परमेश्‍वरका वचनहरू तिनीहरूको अस्तित्वको स्रोत बनेका हुन्छन्—यस क्षणमा, परमेश्‍वरको इच्‍छा पूरा हुनेछ। तर आजका मानिसहरू यो बिन्दुमा पुग्‍नको लागि तिनीहरूले धेरै बाटो हिँड्न बाँकी नै छ। तिनीहरूमध्ये कतिपय त केवल एक इन्च मात्रै अघि बढेका छन्, त्यसकारण परमेश्‍वरले यो त “अपराध दोहोर्‍याउने प्रवृत्ति” हो भनी भन्‍नुहुन्छ।

परमेश्‍वरका सबै वचनहरूमा धेरै प्रश्‍नहरू समावेश छन्। किन परमेश्‍वरले निरन्तर त्यस्ता प्रश्‍नहरू गरिरहनुहुन्छ त? “किन मानिसहरू पश्‍चात्ताप गरेर नयाँ गरी जन्‍मन सक्दैनन्? किन तिनीहरू हिलो नभएको ठाउँमा बस्‍नुको सट्टा दलदलमा नै सदासर्वदा बसिरहन इच्‍छुक हुन्छन्? …” विगतमा, परमेश्‍वरले कामकुराहरू सीधै औंल्याउने वा सीधै खुलासा गर्ने तरिकाले काम गर्नुभयो। तर मानिसहरूले अथाह पीडा भोगेपछि, परमेश्‍वरले त्यसउप्रान्त यसरी सीधै बोल्‍न छोड्नुभयो। यी प्रश्‍नहरूभित्र, मानिसहरूले तिनीहरूका आफ्‍नै कमीकमजोरीहरूलाई देख्‍न सक्छन् र तिनीहरूले अभ्यास गर्ने मार्ग पनि पत्ता लगाउँछन्। सबै मानिसहरूलाई जुन कुरा सहज रूपमा उपलब्‍ध हुन्छ त्यही खान मन पर्ने हुनाले, तिनीहरूले मनन गरून् भनेर तिनीहरूलाई मन गर्ने विषयहरू प्रदान गर्दै तिनीहरूका मागहरूअनुरूप नै परमेश्‍वर बोल्‍नुहुन्छ। परमेश्‍वरका प्रश्‍नहरूको महत्त्वको एउटा पक्ष यही हो। प्राकृतिक रूपमा नै, उहाँका अरू कतिपय प्रश्‍नहरूको महत्त्व यस्तो हुँदैन, उदाहरणको लागि: के मैले तिनीहरूलाई दुर्व्यवहार गरेकोले हो? के मैले तिनीहरूलाई गलत दिशातर्फ इसारा गरेकोले हो? के मैले तिनीहरूलाई नरकतिर डोर्‍याएकोले हो? यी प्रश्‍नहरूले मानिसहरूको हृदयको गहिराइमा बसिरहेका धारणाहरूलाई देखाउँछन्। तिनीहरूले मुखैले यी धारणाहरू नबोले पनि, तिनीहरूमध्ये धेरैजसोको हृदयमा शङ्का हुन्छ, र तिनीहरू परमेश्‍वरका वचनहरूले आफूलाई असल गुणविनाका मानिसहरूको रूपमा चित्रण गर्छन् भन्‍ने विश्‍वास गर्छन्। प्राकृतिक रूपमा नै, त्यस्ता मानिसहरूले आफूलाई चिन्दैनन्, तर अन्त्यमा तिनीहरूले परमेश्‍वरका वचनहरूप्रति हारेको स्वीकार गर्छन्—यो कुरा अपरिहार्य छ। यी प्रश्‍नहरूपछि, परमेश्‍वरले यसो पनि भन्‍नुहुन्छ, “सारा राष्ट्रहरूलाई धूलोपिठो हुने गरी चकनाचूर गर्ने मेरो अभिप्राय छ, मानिसको परिवारको बारेमा त कुरै नगरौं।” जब मानिसहरूले परमेश्‍वरको नाम स्वीकार गर्छन् तब परिणामस्वरूप, सबै राष्ट्रहरू काँप्‍नेछन्, मानिसहरूले क्रमिक रूपमा आफ्‍नो मानसिकतालाई परिवर्तन गर्नेछन्, र परिवारमा बाबु र छोरा, आमा र छोरी, अनि पति र पत्‍नीबीचका सम्‍बन्धहरू अस्तित्वमा हुन छोड्नेछन्। यसको साथै, परिवारका मानिसहरूको बीचको सम्‍बन्धहरूमा अझै बढी मनमुटाव आउनेछन्; तिनीहरू ठूलो परिवारमा जोडिनेछन्, र लगभग सबै परिवारका परम्परागत जीवन तहसनहस हुनेछ। यही कारणले गर्दा, मानिसहरूको हृदयमा रहने “परिवार” सम्‍बन्धी धारणा झन्-झन् अस्पष्ट हुँदै जानेछ।

किन आजका परमेश्‍वरका वचनहरूमा मानिसहरूसँग “भावना साटासाट” गर्ने कार्यप्रति धेरै कुरा समर्पित गरिएको छ? प्राकृतिक रूपमै, यो निश्‍चित प्रभाव हासिल गर्नको लागि पनि हो, जसबाट के देख्‍न सकिन्छ भने परमेश्‍वरको हृदय चिन्ताले भरिएको छ। परमेश्‍वर भन्‍नुहुन्छ, “जब म दुःखित हुन्छु, कसले मलाई आफ्‍नो हृदयबाट सान्त्वना दिन सक्छ?” परमेश्‍वरको हृदय शोकग्रष्त भएको कारण, उहाँले यी वचनहरू भन्‍नुभएको हो। परमेश्‍वरको इच्‍छालाई हरप्रकारले वास्ता गर्न मानिसहरू असमर्थ छन्, र तिनीहरू सधैँ छाडा हुन्छन्, तिनीहरूले आफैलाई नियन्त्रणमा राख्‍न सक्दैनन्, र तिनीहरूले जे गर्न मन लाग्छ त्यही गर्छन्; तिनीहरू अत्यन्तै नीच छन्, र तिनीहरूले सधैँ आफूलाई माफी दिन्छन् र परमेश्‍वरको इच्‍छाप्रति कहिल्यै ध्यान दिँदैनन्। तर आजको दिनसम्‍म नै मानिसहरूलाई शैतानले भ्रष्ट तुल्याएको हुनाले, र तिनीहरू आफूलाई मुक्त गर्न असक्षम रहेका हुनाले, परमेश्‍वर भन्‍नुहुन्छ: “तिनीहरू भोको ब्‍वाँसोको मुखबाट कसरी उम्कन सक्छन् र? यसका खतराहरू र यसका परीक्षाहरूबाट तिनीहरूले आफैलाई कसरी मुक्त गर्न सक्छन् र?” मानिसहरू देहमा जिउँछन्, जुन भोको ब्‍वाँसोको मुखमा जिउनु हो। यही कारणले गर्दा, अनि मानिसहरूसँग कुनै आत्म-चेतना नभएको र सधैँ आफैमा लिप्त हुने र आफूलाई व्यभिचारमा डुबाउने हुनाले, परमेश्‍वर चिन्तित नभई रहन सक्‍नुहुन्‍न। परमेश्‍वरले मानिसहरूलाई त्यसरी जति धेरै स्मरण गराउनुहुन्छ, तिनीहरूले आफ्‍नो हृदयमा त्यति नै असल महसुस गर्छन्, र तिनीहरू त्यति नै परमेश्‍वरसँग संलग्‍न हुन इच्‍छुक हुन्छन्। त्यसपछि मात्रै मानिससँग परमेश्‍वर एक-अर्कासँग मैत्रीपूर्ण भई रहन सक्‍नुहुन्छ, उहाँ र मानिसहरूको बीचमा कुनै विच्छेद वा दूरी हुँदैन। आज, सबै मानवजाति परमेश्‍वरको दिनको आगमनको प्रतीक्षा गर्छन्, त्यसकारण मानवजाति कहिल्यै पनि अघि बढेको छैन। तैपनि परमेश्‍वर भन्‍नुहुन्छ: “जब धर्मी सूर्य देखा पर्छ, पूर्व प्रकाशित हुनेछ, र हरेक व्यक्तिलाई ज्योति दिँदै यसले सारा ब्रम्‍हाण्डलाई प्रकाशमान् पार्नेछ।” अर्को शब्‍दमा भन्दा, जब परमेश्‍वरले आफ्‍नो रूप परिवर्तन गर्नुहुन्छ, सुरुमा पूर्वलाई प्रकाशमय पारिनेछ र पूर्वको राष्ट्रलाई नै सुरुमा प्रतिस्थापित गरिनेछ, त्यसपछि बाँकी देशहरूलाई दक्षिणदेखि उत्तरसम्म नवीकरण गरिनेछ। यो सुव्यवस्थाको क्रम हो, र सबै कुरा परमेश्‍वरका वचनहरूअनुरूप नै हुनेछन्। यो चरण समाप्त भएपछि, सबै मानिसहरूले देख्‍नेछन्। परमेश्‍वरले यही क्रमअनुसार काम गर्नुहुनेछ। जब तिनीहरूले यो दिनलाई देख्‍नेछन्, मानिसहरू उल्‍लसित हुनेछन्। परमेश्‍वरको आतुर अभिप्रायबाट यो दिन त्यति टाढा छैन भन्‍ने कुरा देख्‍न सकिन्छ।

आज यहाँ बोलिएका वचनहरूको दोस्रो र तेस्रो भागले परमेश्‍वरलाई प्रेम गर्ने सबैमा वेदनाको आँसु खसाइदिन्छ। तिनीहरूको हृदयलाई तुरुन्तै कालो छायाले ढाक्छ, त्यसपछि सबै मानिसहरू परमेश्‍वरको हृदयको कारण अथाह शोकले भरिन्छन्। परमेश्‍वरले पृथ्वीमा आफ्‍नो काम पूरा नगरुञ्‍जेलसम्‍म तिनीहरूले कुनै आरामको अनुभूति गर्नेछैनन्। आम प्रवृत्ति यही हो। “मेरो हृदयमा रिस उठ्छ, त्यसको साथमा शोकका भावना उर्लेर आउँछन्। जब मेरा आँखाले मानिसहरूका काम र तिनीहरूका हरेक वचन र कार्य घिनलाग्‍दो देख्छन्, मेरो क्रोध उम्लन्छ, र मेरो हृदयमा मलाई मानव संसारका अन्यायहरूको अझै ठूलो बोध हुन्छ, जसले मलाई अझै बढी शोक दिन्छ; म तुरुन्तै मानिसको देहलाई समाप्त गर्न चाहन्छु। मानिसले किन देहमा आफूलाई शुद्ध पार्न सक्दैन, मानिसले किन देहमा आफैलाई प्रेम गर्न सक्दैन, सो मलाई थाहा छैन। के देहको ‘प्रकार्य’ अत्यन्तै ठूलो भएकोले हुन सक्छ?” परमेश्‍वरका आजका वचनहरूमा, परमेश्‍वरले आफ्‍नो हृदयका सबै चिन्ता मानिसको निम्ति खुलासा गर्नुभयो, कुनै पनि कुरा लुकाउनुभएन। जब तेस्रो स्वर्गका स्वर्गदूतहरूले उहाँको निम्ति सङ्गीत बजाउँछन्, परमेश्‍वर अझै पनि पृथ्वीका मानिसहरूको चाहना गर्नुहुन्छ, अनि यही कारणले गर्दा उहाँ भन्‍नुहुन्छ, “जब मेरो प्रशंसामा स्वर्गदूतहरूले सङ्गीत बजाउँछन्, यसले ममा मानिसप्रतिको सहानुभूतिलाई जगाएरै छाड्छ। मेरो हृदय तुरुन्तै उदास हुन्छ, र यो पीडादायी भावनाबाट आफैलाई मुक्त गर्नु असम्‍भव छ।” यही कारणले गर्दा, परमेश्‍वरले यी वचनहरू बोल्‍नुभएको हो: “म मानव संसारका अन्यायहरूलाई सच्याउनेछु। मेरा मानिसहरूलाई फेरि हानी गर्नबाट शैतानलाई रोक्दै, फेरि आफू खुसी गर्नबाट शत्रुहरूलाई रोक्दै, म संसारभरि मेरै हातद्वारा मेरो काम गर्नेछु। मेरा सबै शत्रुहरूलाई भुइँमा लडेर मेरो अगाडि आफ्‍ना अपराधहरू स्वीकार गर्ने तुल्याउँदै म पृथ्वीमा राजा बन्‍नेछु र मेरो सिंहासनलाई त्यहाँ सार्नेछु।” परमेश्‍वरको दुःखी भावनाले दियाबलसहरूप्रतिको उहाँको घृणालाई बढाइदिन्छ, त्यसकारण उहाँले दियाबलसहरूको अन्त्य कसरी हुनेछ भन्‍ने कुरा अग्रिम रूपमा नै मानिसहरूलाई प्रकट गर्नुहुन्छ। परमेश्‍वरको काम यही हो। परमेश्‍वरले सधैँ सबै मानिसहरूसँग मिलाप हुने र पुरानो युगलाई समाप्त गर्ने इच्‍छा गर्नुभएको छ। समस्त ब्रह्माण्डका सबै मानिसहरू हलचल गर्न थालेका छन्—भन्‍नुको अर्थ, ब्रह्माण्डका सबै मानिसहरू परमेश्‍वरको अगुवाइमा प्रवेश गर्दैछन्। परिणामस्वरूप, तिनीहरूका विचारहरू तिनीहरूका सम्राटहरूको विरुद्धमा विद्रोह गर्नेतिर लागेका छन्। चाँडै नै, संसारका मानिसहरू अस्तव्यस्ततामा जाकिनेछन् र सबै देशका प्रमुखहरू हरदिशामा भाग्‍नेछन्, र अन्तिममा तिनीहरूका जनताले तिनीहरूलाई शिर काट्ने यन्त्रमा घिस्याउँदै ल्याउनेछन्। दियाबलसहरूका राजाहरूको आखिरी अन्त्य यही हुनेछ; आखिरमा, तिनीहरूमध्ये कोही पनि उम्कन सक्‍नेछैनन्, र तिनीहरू सबैले यही कुरा भोग्नुपर्छ। आज, जो “चलाख” छन् तिनीहरू पछि हट्न थालेका छन्। परिस्थिति आशाजनक नदेखेपछि, तिनीहरूले यसलाई पछि हट्ने र महाविपत्तिको कष्टहरूबाट उम्कने मौकाको रूपमा लिन्छन्। तर म स्पष्टै भन्छु, आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने काम मुख्य रूपमा मानिसलाई सजाय दिने काम हो, त्यसकारण यी मानिसहरू कसरी उम्कन सक्लान् र? पहिलो कदम आज नै हो। एक दिन, ब्रह्माण्डका सबै थोक युद्धको कोलाहलमा फस्‍नेछन्; पृथ्वीका मानिसहरूसँग फेरि कहिल्यै पनि अगुवाहरू हुनेछैनन्, कसैले पनि शासन नगर्ने हुनाले सम्पूर्ण संसार बालुवाको थुप्रोजस्तो हुनेछ, र मानिसहरूले कसैको वास्ता नगरी आफ्‍नै ज्यानको मात्र वास्ता गर्नेछन्, किनभने सबै कुरा परमेश्‍वरकै हातको नियन्त्रणमा छ—यही कारणले गर्दा, परमेश्‍वर भन्‍नुहुन्छ, “सारा मानवजातिले मेरो इच्‍छाअनुसार फुटकर राष्ट्रहरूलाई तोडिरहेका छन्।” परमेश्‍वरले अहिले बताउनुभएको स्वर्गदूतहरूले तुरही बजाउने घटना एउटा चिन्‍ह हो—ती मानिसहरूका लागि चेतावनीका घण्टी हुन्, र जब फेरि तुरही बजाइन्छ, संसारको अन्तिम दिनको आगमन भइसकेको हुनेछ। त्यो बेला, परमेश्‍वरको सम्पूर्ण सजाय पूर्ण रूपमा पृथ्वीमाथि आइपर्नेछ; यो निर्दयी दण्ड हुनेछ, र सजायको युगको औपचारिक प्रारम्‍भ हुनेछ। इस्राएलीहरूलाई विभिन्‍न वातावरणहरूमा डोर्‍याउनको लागि तिनीहरूमाझ प्रायजसो समय परमेश्‍वरको आवाज हुनेछ, र तिनीहरूका बीचमा स्वर्गदूतहरू पनि देखा पर्नेछन्। केही महिनामा नै इस्राएलीहरूलाई पूर्ण तुल्याइनेछ, र तिनीहरूले आफूलाई ठूलो रातो अजिङ्गरको विषबाट अलग गर्ने चरणबाट गुज्रनु नपर्ने हुनाले, विभिन्‍न प्रकारका मार्गनिर्देशनअनुसार सही मार्गमा प्रवेश गर्ने कार्य तिनीहरूको लागि सहज नै हुनेछ। इस्राएलमा हुने घटनाक्रमहरूबाट सम्पूर्ण ब्रह्माण्डको स्थितिलाई देख्‍न सकिन्छ, र यसले परमेश्‍वरको कामका चरणहरू कति शीघ्र छन् भन्‍ने कुरालाई देखाउँछ। “समय आइपुगेको छ! म मेरो कार्यलाई अघि बढाउनेछु, म मानिसहरूका बीचमा राजाको रूपमा शासन गर्नेछु!” विगतमा, परमेश्‍वरले स्वर्गमा मात्रै शासन गर्नुभयो। आज, उहाँले पृथ्वीमा शासन गर्नुहुन्छ; परमेश्‍वरले आफ्‍ना सबै अख्‍तियार फिर्ता लिनुभएको छ, त्यसैले सबै मानवजातिले फेरि कहिल्यै पनि सामान्य मानव जीवन जिउनेछैनन् भनेर भविष्यवाणी गरिएको छ, किनभने परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई फेरि व्यवस्थित गर्नुहुनेछ, र कुनै पनि मानिसलाई हस्तक्षेप गर्ने अनुमति छैन। तसर्थ, परमेश्‍वरले मानिसलाई बारम्‍बार “समय आइपुगेको छ” भनी स्मरण गराउनुहुन्छ। जब इस्राएलीहरू सबै आफ्‍नो देशमा फर्किएका हुन्छन्—इस्राएल देश पूर्ण रूपमा पुनर्स्थापित भएको दिन—परमेश्‍वरको महान् काम पूरा हुनेछ। कसैले थाहै नपाई, ब्रह्माण्डका मानिसहरूले विद्रोह गर्नेछन्, र ब्रह्माण्डभरिका राष्ट्रहरू आकाशबाट तारा खसेझैँ पतन हुनेछन्; क्षणभरमा, तिनीहरू तहसनहस हुनेछन्। तिनीहरूको काम पूरा गरिसकेपछि, परमेश्‍वरले आफ्‍नो हृदयको प्रिय राज्य निर्माण गर्नुहुनेछ।

अघिल्लो: अध्याय २६

अर्को: अध्याय २८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

देहधारणको रहस्य (२)

त्यो बेला जब येशूले यहूदियामा काम गर्नुभयो, उहाँले खुल्लमखुल्ला काम गर्नुभयो, तर अहिले म तिमीहरूको माझमा गुप्त रूपमा काम गर्छु र बोल्छु।...

भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

परमेश्‍वर देह बन्नुभयो किनभने उहाँको कामको पात्र शैतानको आत्मा वा कुनै पनि अमूर्त कुरा होइन, तर मानिस हो, जो देहको हो र जसलाई शैतानले...

स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो

देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र ख्रीष्ट परमेश्‍वरका आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस...

परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

हाम्रो पछिल्लो भेलामा हामीले एउटा अत्यन्तै महत्त्वपूर्ण विषयको बारेमा सङ्गति गर्‍यौँ। त्यो के थियो के तिमीहरूलाई सम्झना छ? म त्यो कुरा...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्