अध्याय ६

परमेश्‍वरका वाणीहरू पढ्दा मानिसहरू तीन छक्‍क पर्छन्, र तिनीहरूले आत्मिक क्षेत्रमा परमेश्‍वरले महान् काम गर्नुभएको छ, जुन काम गर्न मानिस असमर्थ छ, र त्यसलाई परमेश्‍वर स्‍वयम्‌ले व्यक्तिगत रूपमा पूरा गर्नुपर्छ भन्‍ने सोच्छन्। त्यसकारण, परमेश्‍वरले फेरि पनि मानवजातिप्रति सहनशीलताका वचनहरू बोल्‍नुहुन्छ। तिनीहरूको हृदयमा अन्तर्सङ्घर्ष चलिरहेको हुन्छ: “परमेश्‍वर कृपा र प्रेमिलो-दयालुपनको परमेश्‍वर हुनुहुन्‍न, उहाँ मानिसलाई प्रहार मात्रै गर्ने परमेश्‍वर हुनुहुन्छ। उहाँ किन हामीप्रति सहनशील भइरहनुभएको छ? के परमेश्‍वर फेरि पनि त्यही विधिमा सर्नुभएको हुन सक्छ?” जब यी धारणाहरू, यी विचारहरू तिनीहरूको हृदयमा प्रवेश गर्छन्, तिनीहरूले तिनको विरुद्धमा संघर्ष गर्नको लागि कठिन प्रयास गर्छन्। तर परमेश्‍वरको काम केही समयसम्‍म अघि बढिसकेपछि, पवित्र आत्‍माले मण्डलीमा ठूलो काम गर्नुहुन्छ, अनि हरेकले आ-आफ्‍नो कर्तव्य निर्वाह गर्न थाल्छन्, सबै मानिसहरू परमेश्‍वरको विधिमा प्रवेश गर्छन्, किनभने परमेश्‍वरले जे भन्‍नुहुन्छ र जे गर्नुहुन्छ त्यसमा कसैले पनि कुनै असिद्धता देख्दैनन्। परमेश्‍वरको अर्को कदम के हुनेछ भन्‍ने विषयमा भन्दा, यसको बारेमा कसैलाई केही पनि थाहा छैन: परमेश्‍वरले भन्‍नुभएकै छ: “स्वर्गमुनिका सबैमध्ये को मेरो हातमा छैन र? कसले मेरो मार्गनिर्देशनमा काम गर्दैन र?” तैपनि म तिमीहरूलाई केही सल्‍लाह प्रदान गर्छु: तिमीहरूलाई स्पष्ट नभएका विषयहरूमा, तिमीहरूमध्ये कसैले पनि केही भन्‍नु वा गर्नु पर्दैन। मैले तँलाई निरुत्साहित पार्नको लागि होइन बरु तँलाई आफ्ना कार्यहरूमा परमेश्‍वरको मार्गनिर्देशन पछ्याउने अवसर दिनको लागि यसो भनेको हुँ। मैले “असिद्धताहरू” को बारेमा उल्‍लेख गरेको कारण तैँले कुनै पनि हालतमा साहस गुमाउनु वा शङ्का गर्नु हुँदैन; मेरो उद्देश्य भनेको मुख्य रूपमा तँलाई परमेश्‍वरका वचनहरूमा ध्यान दिनू भनी स्मरण गराउनु हो। मानिसहरू फेरि पनि चकित हुन्छन् जब तिनीहरूले परमेश्‍वरका यस्ता वचनहरू पढ्छन्, “आत्माका कुराहरूप्रति सचेत बन्‌, मेरो वचनमा ध्यान दे, र मेरो आत्मा र मेरो अस्तित्वलाई, मेरो वचन र मेरो अस्तित्वलाई एउटा अविभाज्य सम्पूर्णताको रूपमा मान्न साँच्चै सक्षम बन्‌, ताकि सबै मानिसहरूले मेरो उपस्थितिमा मलाई सन्तुष्ट पार्न सकून्।” हिजो, तिनीहरूले चेतावनीका वचनहरू, परमेश्‍वरको सहनशीलतासम्‍बन्धी वचनहरू पढिरहेका थिए—तर आज, परमेश्‍वरले अचानक आत्मिक विषयहरूको बारेमा कुरा गरिरहनुभएको छ। के भइरहेको छ? परमेश्‍वरले किन आफू बोल्‍ने तरिकालाई परिवर्तन गरिरहनुहुन्छ? किन यी सबैलाई अलग गर्न नसकिने सम्पूर्णताको रूपमा लिइन्छ? के परमेश्‍वरका वचनहरू व्यवहारिक नभएका हुन सक्छन्? परमेश्‍वरका वचनहरूलाई ध्यान दिएर पढ्दा, के पत्ता लाग्छ भने जब परमेश्‍वरको देह र उहाँको आत्मा अलग हुन्छन्, देह देहगत गुणहरूसहितको भौतिक शरीर बन्छ—जसलाई मानिसहरूले जिउँदो लास भन्छन्। देहधारी शरीर आत्माबाट आउँछ: उहाँ पवित्र आत्माको मूर्तरूप, देह बन्‍नुभएको वचन हुनुहुन्छ। अर्को शब्‍दमा भन्दा, परमेश्‍वर स्‍वयम्‌ नै देहमा जिउनुहुन्छ। परमेश्‍वरका आत्मा उहाँको अस्तित्वबाट अलग हुनुको गम्भीरता त्यस्तो हुन्छ। परिणामस्वरूप, उहाँलाई मानव भनिए पनि, उहाँ मानवजाति हुनुहुन्‍न। उहाँ मानव गुणहरू विहीन हुनुहुन्छ, उहाँ परमेश्‍वरले धारण गर्नुभएको प्राणित्व, परमेश्‍वरले स्वीकार गर्नुहुने प्राणित्व हुनुहुन्छ। परमेश्‍वरका वचनहरूमा परमेश्‍वरका आत्माको मूर्तरूप हुन्छ, र परमेश्‍वरको वचन प्रत्यक्ष रूपमा देहमा प्रकट हुन्छ—अझ भन्ने हो भने, यसले परमेश्‍वर देहमा जिउनुहुन्छ र उहाँ अझै व्यावहारिक परमेश्‍वर हुनुहुन्छ भन्ने देखाउँछ, र यसरी यसले परमेश्‍वरको अस्तित्वलाई प्रमाणित गर्छ र परमेश्‍वरप्रतिको मानिसको विद्रोहीपनको युगलाई समाप्त गर्छ। परमेश्‍वरलाई चिन्‍ने मार्गको बारेमा मानिसहरूलाई बताइसकेपछि, विषयको अर्को पक्षलाई सम्‍बोधन गर्दै परमेश्‍वरले फेरि पनि विषय परिवर्तन गर्नुहुन्छ।

“जे-जति छन्‌ ती सबैमाथि मैले मेरो पाउ राखेको छु, मैले ब्रह्माण्डको अथाह क्षेत्रको वारपार हेरेको छु, र म सबै मानिसहरूको बीचमा, तिनीहरू माझको मिठास र तीतोपना चाख्दै, हिँडेको छु।” यी वचनहरू सरल भए पनि, मानवजातिले यी वचनहरूलाई सहजै बुझ्दैनन्। विषय परिवर्तन भएको छ, तर सारगत हिसाबमा, यो उस्तै छ: यसले अझै पनि मानिसहरूलाई देहधारी परमेश्‍वर चिन्‍ने तुल्याउँछ। परमेश्‍वरले किन मैले तिनीहरू माझको मिठास र तीतोपना चाखेको छु भनी भन्‍नुहुन्छ? उहाँले किन म सबै मानिसहरूको बीचमा हिँडेको छु भनी भन्‍नुहुन्छ? परमेश्‍वर आत्मा हुनुहुन्छ, र उहाँ देहधारी प्राणी पनि हुनुहुन्छ। देहधारी प्राणीका सीमितताहरूमा नबाँधिने हुनाले आत्माले जे-जति छन्‌ ती सबैमाथि पाउ राख्‍न सक्‍नुहुन्छ, आत्माले ब्रह्माण्डको अथाह क्षेत्रको वारपार हेर्न सक्‍नुहुन्छ, र यसरी उहाँले परमेश्‍वरका आत्माले सारा ब्रह्माण्डलाई भर्नुहुन्छ, उहाँले पृथ्वीको एक ध्रुवदेखि अर्को ध्रुवसम्‍म ढाक्नुहुन्छ, परमेश्‍वरको हातले व्यवस्थित नपारेको केही पनि छैन र परमेश्‍वरका पाइलाहरू भेट्टाउन नसकिने कुनै ठाउँ पनि छैन भन्‍ने देखाउनुहुन्छ। आत्मा देह बन्‍नुभएको र मानवको रूपमा जन्‍मनुभएको भए पनि, आत्माको अस्तित्वले सबै मानव आवश्यकताहरूलाई शून्य पार्दैन; परमेश्‍वरको प्राणित्वले सामान्य रूपमा नै खानपान गर्नुहुन्छ, वस्‍त्र लगाउनुहुन्छ, सुत्‍नुहुन्छ, र बसोबास गर्नुहुन्छ, र सामान्य रूपमा मानिसहरूले जे गर्नुपर्छ उहाँले त्यही गर्नुहुन्छ। तैपनि उहाँको भित्री सार फरक भएको हुनाले, उहाँ कुनै व्यक्तिले बताउनेजस्तो “मानिस” हुनुहुन्‍न। उहाँले मानवजातिको बीचमा कष्ट भोग्‍नुहुने भए पनि, उहाँले यो कष्टको कारण आत्मालाई त्याग्‍नुहुन्‍न। उहाँ आशिषित हुनुभए पनि, यी आशिष्‌हरूको कारण उहाँले आत्मालाई बिर्सनुहुन्न। आत्मा र उहाँको प्राणित्वले मौन सम्‍बन्धमा रही काम गर्नुहुन्छ। पवित्र आत्मा र उहाँको प्राणित्वलाई अलग गर्न सकिँदैन, न त उहाँहरूलाई कहिल्यै अलग नै गरिएको छ, किनभने प्राणित्व आत्माको मूर्तरूप हो, उहाँ आत्माबाट आउनुभएको हो, त्यस्तो आत्माबाट जसको स्वरूप छ। त्यसकारण, देहमा हुनुभएको आत्माको लागि अलौकिक असीमितता असम्‍भव हुन्छ; अर्थात्, आत्माले अलौकिक कुराहरू गर्न सक्‍नुहुन्‍न, भन्‍नुको अर्थ, आत्मा भौतिक शरीरबाट बाहिर जान सक्‍नुहुन्‍न। यदि उहाँ देहको शरीरबाट बाहिर जान सक्नुहुन्थ्यो भने, परमेश्‍वरको देहधारणको सबै अर्थ गुम्नेथियो। आत्मा भौतिक शरीरमा पूर्ण रूपमा प्रकट हुनुभएपछि मात्रै मानिसले व्यावहारिक परमेश्‍वर स्वयम्‌लाई चिन्‍न सक्छ, र त्यसपछि मात्रै परमेश्‍वरको इच्‍छा हासिल हुनेछ। देहको शरीर र आत्मालाई अलग-अलग रूपमा परिचित गरिसकेपछि मात्रै परमेश्‍वरले मानिसको अन्धोपन र अवज्ञा औंल्याउनुहुन्छ: “तापनि मानिसले मलाई कहिल्यै पनि साँचो रूपले चिनेको छैन, मैले यात्राहरू गरेको बेला त्यसले ममा कहिल्यै पनि ध्यान दिएको छैन।” एकतर्फ, परमेश्‍वरले मानिसहरूले देख्‍ने गरी कुनै अलौकिक काम नगरीकन आफूलाई देहको शरीरमा गोप्य रूपमा लुकाउनुहुन्छ भनेर भनिरहनुभएको छ; अर्कोतर्फ, मानिसले उहाँलाई चिन्दैन भनी उहाँले गुनासो गर्नुहुन्छ। यसमा कुनै विरोधाभास छैन। वास्तवमा, विस्तृत दृष्टिकोणबाट हेर्दा, परमेश्‍वरले यी दुई पक्षबाट आफ्‍ना उद्देश्यहरू पूरा गर्नुहुन्छ भनेर देख्‍नु कठिन छैन। यदि परमेश्‍वरले अलौकिक चिन्‍ह र अचम्‍मका कामहरू देखाउनुभयो भने, उहाँले ठूलो काम गर्नु आवश्यक हुनेथिएन। उहाँको आफ्‍नै मुखले, उहाँले मानिसहरूलाई सरापेर मार्नुहुनेथियो र तिनीहरू तुरुन्तै मर्नेथिए, यसरी सबै मानिसहरू विश्‍वस्त हुनेथिए—तर यसले देह बन्‍नुको पछाडि रहेको परमेश्‍वरको उद्देश्य हासिल गर्दैन। यदि परमेश्‍वरले साँच्‍चै त्यसरी काम गर्नुभयो भने, मानिसहरूले उहाँको अस्तित्वमा कहिल्यै पनि सचेत रूपमा विश्‍वास गर्न सक्‍नेथिएनन्। तिनीहरूले साँचो रूपमा विश्‍वास गर्न सक्‍नेथिएनन्, यसको साथै दियाबलसलाई परमेश्‍वर हो भनी झुक्‍किनेथिए। अझै महत्त्वपूर्ण कुरा, मानिसहरूले परमेश्‍वरको स्वभावलाई कहिल्यै जान्‍न सक्‍नेथिएनन्—अनि के परमेश्‍वर देहमा हुनुको महत्त्वको एउटा पक्ष यही होइन र? यदि मानिसहरू परमेश्‍वरलाई चिन्‍न असमर्थ थिए भने, त्यो अस्पष्ट परमेश्‍वर, त्यो अलौकिक परमेश्‍वरले मानिसहरूको बीचमा सधैँ अधिकार जमाउनेथियो। अनि यसमा, के मानिसहरू आफ्‍नै धारणाहरूको नियन्त्रणमा हुनेथिएनन् र? यसलाई अझै सरल रूपमा भन्दा, के तिनीहरूमाथि अधिकार जमाउने शैतान, दियाबलस हुनेथिएन र? “मैले शक्ति फिर्ता लिएको छु भनेर म किन भन्छु त? म किन देहधारणको महत्त्व धेरै छ भनेर भन्छु त?” परमेश्‍वर देह बन्‍नुभएकै क्षण उहाँले आफ्‍नो शक्ति फिर्ता लिनुहुने क्षण हो, र काम गर्नको लागि उहाँको ईश्‍वरीयता प्रत्यक्ष रूपमा प्रकट हुने समय पनि यही हो। सबै मानिसहरूले क्रमिक रूपमा व्यावहारिक परमेश्‍वरलाई चिन्‍न पुग्छन्, त्यसरी तिनीहरूको हृदयमा भएको शैतानको स्थानलाई पूर्ण रूपमा हटाएर, तिनीहरूको हृदयमा परमेश्‍वरलाई अझै गहन स्थान दिन्छन्। विगतमा, मानिसहरूले तिनीहरूको मनको शैतानको स्वरूपमा रहेको परमेश्‍वरलाई अदृश्य र अस्पृश्य परमेश्‍वरको रूपमा हेर्थे; यो परमेश्‍वर अस्तित्वमा भएको मात्र होइन, बर यसले त सबै किसिमका चिन्‍ह र अचम्‍मका कामहरू गर्न, र भूतहरू लागेका मानिसहरूको कुरूप अनुहार प्रकट गर्नेजस्ता विभिन्‍न रहस्यहरू प्रकट गर्न सक्छ भन्‍ने पनि तिनीहरूले विश्‍वास गर्थे। यसले मानिसहरूको मनको परमेश्‍वर परमेश्‍वरको स्वरूप होइन, बरु परमेश्‍वरबाहेक अरू कुनै कुराको स्वरूप हो भन्‍ने कुरालाई पर्याप्त रूपमा प्रमाणित गर्छ। मानिसहरूको हृदयको ०.१ प्रतिशत भाग ओगट्न चाहन्छु भनेर परमेश्‍वरले भन्‍नुभएको छ। उहाँले मानिसलाई दिनुभएको सबैभन्दा उच्‍च मापदण्ड यही हो। सतही अर्थबाहेक, यी वचनहरूको व्यवहारिक पक्ष पनि छ। यसलाई यसरी व्याख्या नगरिएको भए, मानिसहरूले परमेश्‍वरले तिनीहरूलाई दिनुभएको मापदण्ड अत्यन्तै न्यून छ भनेर विचार गर्नेथिए, मानौं परमेश्‍वरले मानिसलाई अत्यन्तै थोरै मात्रामा मात्रै बुझ्‍नुहुन्छ। के मानिसको मानसिकता यही होइन र?

उपर्युक्त तथ्य र तल दिइएको पत्रुसको उदाहरणलाई जोडेर हेर्दा, के पत्ता लाग्नेछ भने, पत्रुसले साँच्‍चै नै परमेश्‍वरलाई अरूले भन्दा राम्ररी चिनेका थिए किनभने तिनले अस्पष्ट परमेश्‍वरलाई त्यागेर व्यावहारिक परमेश्‍वरको ज्ञानको खोजी गरेका थिए। किन उनका बुबाआमा परमेश्‍वरलाई विरोध गर्ने भूतहरू थिए भनेर विशेष रूपमा उल्‍लेख गरिएको छ? पत्रुसले आफ्‍नो हृदयमा परमेश्‍वरको खोजी गरिरहेका थिएनन् भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ। तिनका आमाबाबु अस्पष्ट परमेश्‍वरको प्रतिनिधित्व गर्नेहरू थिए; परमेश्‍वरले तिनीहरूलाई उल्‍लेख गर्नुको आशय यही हो। धेरैजसो मानिसहरूले यस तथ्यलाई त्यति ध्यान दिँदैनन्। बरु, तिनीहरूले पत्रुसका प्रार्थनाहरूमा ध्यान केन्द्रित गर्छन्। कतिपय मानिसहरूमा त पत्रुसका प्रार्थनाहरू सधैँ तिनीहरूकै ओठमा, अटुट रूपमा तिनीहरूकै मनमस्तिष्कमा हुन्छन्, तैपनि तिनीहरूले अस्पष्ट परमेश्‍वरलाई पत्रुसको ज्ञानसँग कहिल्यै तुलना गर्दैनन्। किन पत्रुसले आफ्‍ना आमाबाबुको विरुद्धमा गएर परमेश्‍वरको ज्ञानको खोजी गरे त? किन पत्रुसले असफल भएकाहरूको पाठहरूबाट आफूलाई उत्साहित गरे त? उनले किन युगौं-युगदेखि परमेश्‍वरलाई प्रेम गर्ने सबैको विश्‍वास र प्रेमलाई स्वीकार गरे त? सबै सकारात्मक कुराहरू परमेश्‍वरबाट आउँछन् र शैतानको प्रक्रियाबाट भएर जानुभन्दा पहिले सीधै उहाँबाट जारी हुन्छन्‌ भन्‍ने कुरा पत्रुसले जान्‍न पुगे। यसले के देखाउँछ भने उनले चिनेका परमेश्‍वर व्यावहारिक परमेश्‍वर हुनुहुन्थ्यो, अलौकिक परमेश्‍वर होइन। युगौं-युगदेखि परमेश्‍वरलाई प्रेम गर्ने सबैको विश्‍वास र प्रेमलाई आत्मसात् गर्ने कार्यमा पत्रुसले ध्यान केन्द्रित गरेका थिए भनेर किन भनिन्छ त? यसबाट के देख्‍न सकिन्छ भने, युगौं-युगका मानिसहरूको असफलताको मुख्य कारण भनेको तिनीहरूसँग विश्‍वास र प्रेम मात्रै हुनु, तर तिनीहरूले व्यावहारिक परमेश्‍वरलाई चिन्‍न नसक्नु थियो। परिणामस्वरूप, तिनीहरूको विश्‍वास अस्पष्ट नै रहिरह्यो। अय्यूबले परमेश्‍वरलाई चिनेका थिए भनेर उल्‍लेख नगरीकन किन परमेश्‍वरले तिनको विश्‍वासको बारेमा धेरैपटक उल्‍लेख गर्नुहुन्छ, र अय्यूब पत्रुस बराबर थिएनन् भनेर परमेश्‍वरले किन भन्‍नुहुन्छ? “मेरो कानको सुनाइद्वारा मैले तपाईंको बारेमा सुनेको छु: तर अब मेरा आँखाले तपाईंलाई देख्छ” भन्‍ने अय्यूबका वचनहरूले तिनीसँग विश्‍वास मात्रै थियो, तर कुनै ज्ञान थिएन भन्‍ने कुरालाई देखाउँछन्। “पत्रुसका बाबुआमाको विरोधाभासले उसलाई मेरो दया र कृपाको अझ ठूलो ज्ञान दियो” भन्‍ने वचनहरूले धेरैजसो मानिसहरूमा धेरै प्रश्‍नहरू उब्जाउँछ: किन परमेश्‍वरलाई चिन्‍नको लागि पत्रुसलाई विरोधाभासको आवश्यकता पर्‍यो त? किन तिनी परमेश्‍वरलाई प्रत्यक्ष रूपमा चिन्‍न असमर्थ थिए त? किन उनले परमेश्‍वरको कृपा र प्रेमिलो-दयालुपनलाई मात्रै चिनेका थिए र परमेश्‍वरले अरू कुनै कुराको बारेमा बताउनुभएन? अस्पष्ट परमेश्‍वरको अवास्तविकतालाई पहिचान गरेपछि मात्रै व्यवहारिक परमेश्‍वरको ज्ञानको खोजी गर्नु सम्‍भव हुन्छ; यी वचनहरूको उद्देश्य भनेको मानिसहरूलाई आफ्‍नो हृदयको अस्पष्ट परमेश्‍वरलाई हटाउन लगाउनु हो। यदि सृष्टिको समयदेखि आजसम्‍म मानिसहरूले सधैँ परमेश्‍वरको साँचो अनुहारलाई चिनेका भए, तिनीहरूले शैतानका कार्यहरूलाई पत्ता लगाउन सक्‍नेथिएनन्, किनभने “पहाड पार नगरुञ्‍जेलसम्‍म भुइँको तह पत्ता लगाउन सकिँदैन” भन्‍ने मानिसको आम भनाइले परमेश्‍वरले यी वचनहरू बोल्‍नुको उद्देश्य दर्साउँछ। उहाँले मानिसहरूलाई आफूले दिएको उदाहरणको सत्यताको बारेमा गहन बुझाइ प्रदान गर्न चाहनुभएको हुनाले, परमेश्‍वरले पत्रुस जिएको युग अनुग्रहको युग थियो भनेर प्रमाणित गर्दै जानी-जानी कृपा र प्रेमिलो-दयालुपनमा जोड दिनुभएको छ। अर्को दृष्टिकोणबाट हेर्दा, यसले दियाबलसको घृणित अनुहारलाई अझै बढी प्रकट गर्छ जसले मानिसलाई हानि गर्ने र भ्रष्ट तुल्याउनेबाहेक केही पनि गर्दैन र यसरी परमेश्‍वरको कृपा र प्रेमिलो-दयालुपन अझै स्पष्ट देखिन्छन्।

परमेश्‍वरसँग कृपा र करुणा मात्रै छैन, प्रताप र क्रोध पनि छ, र शान्तिमा जिउने मानिसहरू परमेश्‍वरका आशिष्‌हरूमा जिउँछन् नै भन्‍ने छैन भनेर मानिसहरूलाई थप सङ्केत गर्दै परमेश्‍वरले पत्रुसका परीक्षाहरूको तथ्यहरूको रूपरेखा पनि प्रस्तुत गर्नुहुन्छ र तिनीहरूको वास्तविक परिस्‍थितिहरूको बारेमा पनि व्याख्या गर्नुहुन्छ। पत्रुसका परीक्षाहरूपछि तिनले पाएका अनुभवहरूको बारेमा मानिसहरूलाई बताउनु अय्यूबका यी वचनहरूको सत्यताको अझै ठूलो प्रमाण हो “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र खराबीचाहिँ ग्रहण नगर्ने?” यसरी परमेश्‍वरसम्‍बन्धी पत्रुसको ज्ञानले वास्तवमा नै अभूतपूर्व क्षेत्रहरू, अर्थात्, विगत युगका मानिसहरूले कहिल्यै हासिल नगरेका क्षेत्रहरू प्राप्त गरेको थियो, जुन युगहरूभरि परमेश्‍वरलाई प्रेम गर्ने सबै मानिसहरूको विश्‍वास र प्रेमलाई तिनले आत्मसात् गरेको र विगतमा असफल भएका मानिसहरूको पाठहरूलाई प्रयोग गरी आफैलाई प्रोत्साहन गरेको कार्यको परिणाम पनि थियो भन्‍ने कुरालाई प्रदर्शन गरिएको छ। यही कारणले गर्दा, परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्ने सबैलाई “फल” भनेर भनिन्छ, र त्यसमा पत्रुस पनि समावेश छन्। पत्रुसले परमेश्‍वरलाई गरेका प्रार्थनाहरूले परीक्षाको अवधिमा तिनीसँग परमेश्‍वरको बारेमा साँचो ज्ञान थियो भन्‍ने कुरालाई देखाउँछ। तैपनि हलुवामा बालुवा के थियो भने तिनले परमेश्‍वरको इच्‍छालाई पूर्ण रूपमा बुझ्‍न सकेका थिएनन्, त्यही कारणले गर्दा उहाँसम्‍बन्धी पत्रुसको ज्ञानको आधारमा परमेश्‍वरले “मानव हृदयको ०.१ प्रतिशत ओगट्ने” भनी भन्‍नुभयो। परमेश्‍वरलाई उत्कृष्ट रूपमा चिनेका मानिस, अर्थात् पत्रुसले समेत परमेश्‍वरको इच्‍छालाई सही रूपमा बुझ्‍न सकेका थिएनन् भन्‍ने कुराले मानिसमा परमेश्‍वरलाई चिन्‍ने क्षमता छैन, किनभने तिनीहरूलाई शैतानले भ्रष्ट तुल्याएको छ भन्‍ने देखाउँछ; यसले सबै मानिसहरूलाई मानिसको सार जान्‍ने अवसर दिन्छ। यी दुई पूर्वसर्तहरू—मानिसहरूमा रहेको परमेश्‍वरलाई चिन्‍ने क्षमताको कमी र शैतान तिनीहरूमा पूर्ण रूपमा व्याप्त रहेको कुरा—परमेश्‍वरको महान् शक्तिका लागि प्रतिभार हुन्, किनभने परमेश्‍वरले वचनहरूद्वारा मात्रै काम गर्नुहुन्छ, उहाँले कुनै पनि उद्यम अघि बढाउनुहुन्‍न, र यसरी उहाँले मानिसहरूको हृदयमा निश्‍चित स्थान लिनुहुन्छ। तर परमेश्‍वरको इच्‍छालाई पूरा गर्नको लागि किन मानिसहरूले ०.१ प्रतिशत मात्रै हासिल गर्नु आवश्यक हुन्छ त? परमेश्‍वरले मानिसमा यो क्षमताको सृष्टि नगर्नुभएको तथ्यद्वारा यसलाई व्याख्या गर्न सकिन्छ। यदि यो क्षमता नभए पनि मानिसले परमेश्‍वरको १०० प्रतिशत ज्ञान प्राप्त गर्थ्यो भने, तिनीहरूको लागि परमेश्‍वरको हरेक चाल दिनको उज्यालो जस्तै स्पष्ट हुनेथियो—अनि मानिसहरूको अन्तर्निहित प्रकृतिको कारण, मानिसहरूले तुरुन्तै परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेथिए, तिनीहरूले उहाँविरुद्ध खडा भई खुलेआम उहाँको विरोध गर्नेथिए, यही कारणले गर्दा नै शैतान पतन भएको थियो। त्यसकारण, परमेश्‍वरले मानिसहरूलाई कहिल्यै पनि कम ठान्‍नुहुन्‍न, किनभने यही कारणले गर्दा नै उहाँले तिनीहरूको पूर्ण चिरफार गरिसक्‍नुभएको छ, र तिनीहरूको बारेमा सबै कुरा स्पष्ट रूपले जान्‍नुहुन्छ, यहाँसम्‍म कि उहाँले तिनीहरूको शरीरमा कति पानी छ भन्‍ने समेत सही रूपमा जान्‍नुहुन्छ। त्यसो भए, उहाँको लागि मानवजातिको प्रकृति झन् कति स्पष्ट होला त? परमेश्‍वरले कहिल्यै पनि गल्तीहरू गर्नुहुन्‍न, र उहाँले आफ्‍ना वाणीका वचनहरू सबैभन्दा बढी सटीकताको साथ छनौट गर्नुहुन्छ। यसकारण, पत्रुसले परमेश्‍वरको इच्‍छाको बारेमा सही रूपमा नजान्‍नु र तिनीसँग परमेश्‍वरको बारेमा सबैभन्दा धेरै ज्ञान हुनुको बीचमा कुनै विरोधाभास छैन; यसको साथै, यी दुई कुरा पूर्ण रूपमा असम्‍बन्धित छन्। मानिसहरूको ध्यान पत्रुसतिर खिच्‍नको लागि उहाँले तिनलाई उदाहरणको रूपमा प्रस्तुत गर्नुभएको होइन। किन अय्यूबजस्तो व्यक्तिले परमेश्‍वरलाई चिन्‍न सकेनन्, तर पत्रुसले चिन्‍न सके त? परमेश्‍वरले किन मानिसले यो प्राप्त गर्न सक्दैन भनेर भन्‍नुभयो तैपनि यो उहाँको महान् शक्तिले गर्दा नै हो भनेर भन्‍नुहुन्छ त? के मानिसहरू साँच्‍चै नै प्राकृतिक रूपमा नै असल छन् त? यो कुरा जान्‍नु मानिसहरूको लागि सहज छैन; यदि मैले यसको बारेमा नबताएको भए, कसैले पनि यसको भित्री महत्त्वलाई पत्ता लगाउनेथिएन। यी वचनहरूको उद्देश्य मानिसहरूलाई अन्तर्ज्ञान दिनु हो, ताकि तिनीहरूसँग परमेश्‍वरसँग सहकार्य गर्ने विश्‍वास होस्। त्यसपछि मात्रै परमेश्‍वरले मानिसको सहकार्यमा काम गर्न सक्‍नुहुन्छ। आत्मिक क्षेत्रको वास्तविक अवस्था यस्तै छ, र यो कुरा मानिसको लागि पूर्ण रूपमा अथाह छ। मानिसहरूको हृदयमा रहेको शैतानको स्थानलाई हटाएर त्यो स्थान परमेश्‍वरलाई दिनु—शैतानको अतिक्रमणलाई पर धकेल्नुको अर्थ यही हो, त्यसरी मात्रै ख्रीष्ट पृथ्वीमा ओर्लनुभएको छ भनेर भन्‍न सकिन्छ, त्यसरी मात्रै पृथ्वीका राज्यहरू ख्रीष्टको राज्य बनेका छन् भनेर भन्‍न सकिन्छ।

यस बिन्दुमा, पत्रुस हजारौं वर्षसम्‍म एक नमुना र उदाहरणीय व्यक्तित्व थिए भनेर उल्‍लेख गर्नुको उद्देश्य तिनी नमुना र उदाहरणीय व्यक्तित्व थिए भनेर भन्‍नु मात्र होइन; यी वचनहरू त आत्मिक क्षेत्रमा लडिने लडाइँको प्रतिबिम्‍ब हुन्। शैतानले यो सबै समय मानिसलाई निल्‍ने, र त्यसरी परमेश्‍वरलाई संसार नष्ट गर्न र उहाँका साक्षीहरू गुमाउन लगाउने व्यर्थको आशा लिएर काम गर्दैआएको छ। तैपनि परमेश्‍वरले भन्‍नुभएको छ, “म सुरुमा नमुना निर्माण गर्नेछु ताकि मैले मानव हृदयमा सबैभन्दा सानो स्थान लिन सकूँ। यो चरणमा, मानवजातिले मलाई न त प्रसन्‍न तुल्याउँछ छ न त मलाई पूर्ण रूपमा चिन्छ; तैपनि, मेरो महान् शक्तिको कारण मानव पूर्ण रूपमा ममा समर्पित हुन र मेरो विरुद्धमा विद्रोह गर्न छोड्नेछ, र म शैतानलाई जित्‍नको लागि यसलाई एउटा उदाहरणको रूपमा प्रयोग गर्नेछु। भन्‍नुको अर्थ, म मानव हृदयमा मैले ओगट्ने ०.१ प्रतिशत भागलाई मानवजातिमाथि शैतानले चलाइरहेको सबै शक्तिहरूलाई दमन गर्नको लागि प्रयोग गर्नेछु।” त्यसकारण, परमेश्‍वरले पत्रुसलाई एउटा उदाहरणको रूपमा उल्‍लेख गर्नुहुन्छ, ताकि तिनले सबै मानवजातिले अनुकरण गर्ने र अभ्यास गर्ने खाकाको रूपमा काम गर्न सकून्। प्रारम्‍भिक अनुच्‍छेदसँग जोड्दा, यसले आत्मिक क्षेत्रको अवस्थाको बारेमा परमेश्‍वरले के भन्‍नुभएको छ त्यसको सत्यतालाई प्रदर्शन गर्छ: “आज विगत जस्तो छैन: सृष्टिको समयदेखि अहिलेसम्म कहिल्यै नदेखिएका कार्यहरू म गर्नेछु, युगौँसम्म कहिल्यै नसुनिएका वचनहरू बोल्‍नेछु, किनकि सबै मानिसहरूले मलाई शरीरमा चिन्नलाई म भन्नेछु।” यसबाट के कुरा स्पष्ट हुन्छ भने परमेश्‍वरले आज आफ्‍ना वचनहरूमा काम गर्न थाल्‍नुभएको छ। मानिसहरूले बाहिरी रूपमा के भइरहेको छ त्यो मात्रै देख्‍न सक्छन्, तिनीहरूले आत्मिक रूपमा वास्तवमा के भइरहेको छ भनेर देख्‍न सक्दैनन्, त्यसकारण परमेश्‍वर भन्‍नुहुन्छ, “यी मेरा व्यवस्थापनका कदमहरू हुन्, तर मानिसलाई किञ्चित्‌ आभास छैन। मैले स्पष्ट रूपमा बोलेको छु, तापनि मानिसहरू अबुझ नै रहन्छन्; तिनीहरूलाई बुझाउनु गाह्रो छ। के यो मानिसको तुच्छता होइन र?” यी वचनहरूभित्र थप वचनहरू छन्: माथि व्याख्या गरिएजस्तै ती वचनहरूले आत्मिक क्षेत्रमा युद्ध भइरहेको छ भनेर बताउँछन्।

पत्रुसको कथाको छोटकरी व्याख्यापछि पनि परमेश्‍वरको इच्‍छा पूर्ण रूपमा हासिल भएको छैन, त्यसकारण परमेश्‍वरले पत्रुसको विषयमा मानिसको लागि निम्‍न मापदण्ड तोक्नुहुन्छ: “यो ब्रह्माण्ड र आकाश-मण्डलभरि, पृथ्वीमाथि र आकाशमा भएका हरेक थोकको बीचमा, पृथ्वीमाथि र आकाशमा भएका सबै कुराहरूले मेरो कामको अन्तिम चरणको निम्ति भरमग्दुर कोसिस गर्छन्। निश्चय नै तिमीहरू शैतानको सेनाद्वारा दिइएको आदेशलाई पालन गर्ने दर्शक बन्ने इच्छा गर्दैनौ?” पत्रुसको ज्ञानको बारेमा पढिसकेपछि मानिसहरूले गहन अन्तर्दृष्टि पाउँछन्, र अझै प्रभावकारी बन्‍नको लागि, परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको छाडापन, असंयमता, र परमेश्‍वरसम्‍बन्धी ज्ञानको कमीका परिणामहरू देखाउनुहुन्छ; यसको साथै, उहाँले—फेरि पनि र अझै बढी सटीकताको साथ—मानवजातिलाई आत्मिक क्षेत्रको युद्धमा वास्तवमा के भइरहेको छ त्यस बारेमा बताउनुहुन्छ। यसरी मात्रै मानिसहरू शैतानद्वारा लगिनेविरुद्ध अझै बढी सतर्क हुन्छन्। यसको साथै, यदि मानिसहरू यसपटक असफल भए भने, परमेश्‍वरले तिनीहरूलाई यसपटक जस्तै मुक्ति दिनुहुनेछैन भन्‍ने कुरालाई पनि यसले स्पष्ट पार्छ। समग्रमा, यी चेतावनीहरूले परमेश्‍वरका वचनहरूले मानवजातिलाई पार्ने प्रभावलाई अझै गहन बनाउँछन्, तिनले मानिसहरूलाई परमेश्‍वरको कृपालाई अझै बढी मूल्यवान् मान्ने, र परमेश्‍वरका चेतावनी वचनहरूलाई कदर गर्ने तुल्याउँछन्, ताकि मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको उद्देश्य साँचो रूपमा हासिल हुन सकोस्।

अघिल्लो: अध्याय ५

अर्को: पत्रुसको जीवनको बारेमा

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

तीन अर्तीहरू

परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको रूपमा तैँले सबै कुरामा उहाँ बाहेक अरू कसैप्रति बफादार रहनु हुँदैन र हरेक कुरामा उहाँको इच्छाअनुसार...

अध्याय १५

परमेश्‍वर देखा पर्ने घटना अघिबाटै सबै मण्डलीहरूमा प्रकट भइसकेको छ। बोल्नुहुने आत्मा नै हुनुहुन्छ; उहाँ प्रचण्ड रूपले फैलिएको आगो हुनुहुन्छ,...

वास्तविकतामा अझ बढी ध्यान देऊ

प्रत्येक व्यक्ति परमेश्‍वरद्वारा सिद्ध बनाइने सम्भावना हुन्छ, त्यसकारण परमेश्‍वरका अभिप्रायहरू अनुसार कस्तो किसिमको सेवा उहाँको निम्ति...

कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

आज तँ परमेश्‍वरलाई कति धेरै प्रेम गर्छस्? र परमेश्‍वरले तँमा गर्नुभएका सबै कामहरूमध्ये तैँले कति धेरै जान्दछस्? तैंले सिक्नुपर्ने कुराहरू...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्