अध्याय १७

वास्तवमा, परमेश्‍वरको मुखबाट निस्कने सबै वाणीहरू मानिसको लागि अज्ञात छन्; ती वाणी सबै मानिसले नसुनेका भाषा हुन्। त्यसकारण, परमेश्‍वरका वचनहरू आफै रहस्य हुन् भनेर भन्‍न सकिन्छ। धेरैजसो मानिसले गलत रूपमा के विश्‍वास गर्छन् भने, रहस्यहरूमा मानिसहरूले धारणागत हिसाबमा बुझ्‍न नसक्‍ने कुराहरू, परमेश्‍वरले अहिले मानिसहरूलाई जान्‍न दिनुभएका स्वर्गका कुराहरू, वा परमेश्‍वरले आत्मिक संसारमा गर्नुहुने कार्यको सत्यता मात्र पर्छन्। यसबाट के कुरा स्पष्ट हुन्छ भने, मानिसहरूले परमेश्‍वरका सबै वचनलाई समान रूपमा लिँदैनन्, न त तिनीहरूले ती वचनलाई कदर नै गर्छन्; बरु, तिनीहरू आफूले “रहस्यहरू” ठानेका कुराहरूमा ध्यान केन्द्रित गर्छन्। यसले मानिसहरूलाई परमेश्‍वरका वचनहरू भनेका के हुन् वा रहस्यहरू के हुन् भन्‍ने थाहा छैन भन्‍ने प्रमाणित गर्छ; तिनीहरूले आफ्‍नै धारणाहरूको सीमाभित्र रही उहाँका वचनहरूलाई पढ्ने मात्रै गर्छन्। वास्तविकता के हो भने परमेश्‍वरका वचनहरूलाई साँचो रूपमा प्रेम गर्ने एक जना पनि छैन, र उहाँले “मलाई छल गर्ने कार्यमा मानिसहरू विशेषज्ञ बनेका छन्” भनी भन्‍नुको मूल कारण ठीक यही नै हो। मानिसहरू कुनै पनि योग्यताविहीन छन् वा पूर्ण रूपमा भताभुङ्ग स्थितिमा छन् भनी परमेश्‍वरले भन्नुभएको होइन; यसले त मानवजातिको वास्तविक परिस्थितिलाई व्याख्या गर्छ। परमेश्‍वरले मानिसहरूको हृदयमा कति ठाउँ ओगट्नुहुन्छ भन्‍ने कुरा तिनीहरूलाई स्पष्ट रूपमा थाहा छैन; परमेश्‍वर स्‍वयम्‌लाई मात्रै यसबारे पूर्ण रूपमा थाहा छ। त्यसकारण, अहिले मानिसहरू दूधे बालकहरू जस्तै छन्। जहाँसम्‍म तिनीहरूले किन दूध पिउँछन् र किन जिउनुपर्छ भन्‍ने कुरा छ, त्यसबारे तिनीहरू पूर्ण रूपमा अनभिज्ञ छन्। आमालाई मात्रै बच्‍चाको खाँचो थाहा हुन्छ; उनले त्यसलाई भोकै मर्न दिनेछैनन्, न त बच्‍चालाई नखाने कुरा खाएर मर्न नै दिन्छिन्। मानिसहरूका खाँचोहरूबारे परमेश्‍वरलाई राम्ररी थाहा छ, त्यसकारण कहिलेकहीँ उहाँका वचनहरूमा उहाँको प्रेम सम्‍मिलित हुन्छ, कहिलेकहीँ उहाँको न्याय तिनीहरूमा प्रकट हुन्छ, कहिलेकहीँ तिनले मानिसहरूको हृदयको गहिराइमा चोट पुऱ्याउँछन्, र कहिलेकहीँ तिनीहरू इमानदार र तत्पर हुन्छन्। यसले गर्दा मानिसहरूले परमेश्‍वरको दया र पहुँचतालाई, र उहाँ कतिपयले कल्‍पना गरेजस्तो छुन नसकिने स्वरूप हुनुहुन्‍न भन्‍ने कुरालाई अनुभूति गर्न सक्छन्। न त मानिसहरूले कल्‍पना गरेजस्तो उहाँ अनुहारमा सीधै हेर्न नसकिने स्वर्गका पुत्र हुनुहुन्छ, मानिसहरूले कल्‍पना गरेजस्तो उहाँ निर्दोषलाई मृत्युदण्ड दिने व्यक्ति हुनुहुने कुरा त परै जाओस्। परमेश्‍वरका सम्पूर्ण स्वभाव उहाँको कार्यमा प्रकट हुन्छन्; आज देहमा हुनुभएका परमेश्‍वरको स्वभाव अझै पनि उहाँको कार्यमा सम्‍मिलित हुन्छ। तसर्थ, उहाँको सेवकाइ वचनहरूको सेवकाइ हो, उहाँले के गर्नुहुन्छ वा उहाँ बाहिरी रूपमा जस्तो देखा पर्नुहुन्छ त्यो होइन। अन्तिममा, हरेक व्यक्तिले परमेश्‍वरका वचनहरूबाट सुधार प्राप्त गर्नेछन् र तिनको कारण तिनीहरू पूर्ण हुनेछन्। परमेश्‍वरका वचनहरूको अगुवाइ पाएर मानिसहरूले आफ्‍नो अनुभवमा अभ्यासको मार्ग प्राप्त गर्नेछन्, र परमेश्‍वरको मुखबाट निस्केका वचनहरूद्वारा तिनीहरूले उहाँको सम्पूर्ण स्वभावलाई चिन्‍नेछन्। परमेश्‍वरका वचनहरूका कारण उहाँका सबै कार्य पूरा हुनेछन्, मानिसहरू जीवित हुनेछन्, र सबै शत्रु पराजित हुनेछन्। प्राथमिक कार्य यही नै हो, जसलाई कसैले पनि बेवास्ता गर्न सक्दैन। हामी उहाँका वचनहरूलाई हेरौँ: “मेरा वाणीहरू चारै दिशामा र सम्पूर्ण पृथ्वीमा प्रकाश छर्दै मेघगर्जनजस्तै गुञ्‍जन्छन्, मेघगर्जन र बिजुलीको चमकको बीचमा, मानवजातिलाई प्रहार गरी ढालिन्छ। कुनै पनि मानिस मेघगर्जन र बिजुलीको चमकको बीचमा कहिल्यै पनि दृढ रहन सकेको छैन; मेरो ज्योति आउँदा धेरै मानिसको सातोपुत्लो उड्छ र तिनीहरूलाई के गर्ने भन्ने नै थाहा हुँदैन।” परमेश्‍वरले आफ्‍नो मुख खोल्‍नेबित्तिकै वचनहरू निस्कन्छन्। उहाँले सबै कुरा वचनहरूद्वारा नै पूरा गर्नुहुन्छ, उहाँले सबै कुरा वचनहरूद्वारा रूपान्तरण गर्नुहुन्छ, र वचनहरूद्वारा नै सबै कुरा नवीकरण हुन्छन्। “गर्जन र बिजुलीको चमक” ले केलाई जनाउँछ? “ज्योति” ले केलाई जनाउँछ? परमेश्‍वरका वचनहरूबाट एउटै कुरा पनि उम्कन सक्दैन। उहाँले मानिसहरूको मन-मस्तिष्कलाई उदाङ्गो पार्न र तिनीहरूको कुरूपतालाई चित्रण गर्न तिनको प्रयोग गर्नुहुन्छ; उहाँले तिनीहरूको पुरानो प्रकृतिको निराकरण गर्न र उहाँका सबै मानिसलाई पूर्ण तुल्याउन वचनहरूको प्रयोग गर्नुहुन्छ। के परमेश्‍वरका वचनहरूको महत्त्व ठीक यही नै होइन र? सम्पूर्ण ब्रह्माण्डमा, परमेश्‍वरका वचनहरूको साथ र सुरक्षाविना, सारा मानवजाति धेरै पहिले नै नष्ट भएर अस्तित्वविहीनताको अवस्थामा पुग्‍नेथिए। परमेश्‍वरले गर्नुहुने कामको सिद्धान्त, र छ हजार वर्षे व्यवस्थापन योजनामा उहाँले गर्ने कामको विधि यही हो। यसले परमेश्‍वरका वचनहरूको महत्त्वलाई देखाउँछ। ती वचनले मानिसहरूको प्राणको गहिराइलाई छेड्छन्। मानिसहरूले उहाँका वचनहरूलाई देख्‍नेबित्तिकै तिनीहरू आश्‍चर्यचकित र आतङ्कित बन्छन्, र हतार-हतार भाग्छन्। तिनीहरू उहाँका वचनहरूको वास्तविकताबाट उम्कन चाहन्छन्, यही कारणले गर्दा यी “शरणार्थीहरू” लाई जताततै देख्‍न सकिन्छ। परमेश्‍वरका वचनहरू जारी हुनेबित्तिकै मानिसहरू दगुर्न थाल्छन्। परमेश्‍वरले चित्रण गर्नुहुने मानवजातिको कुरूपताको स्वरूपको एउटा पक्ष यही हो। अहिले, सबै मानिस आफ्नो अचेत अवस्थाबाट क्रमिक रूपमा बिउँझिरहेका छन्; यो यस्तो कुरा हो कि मानौँ तिनीहरूलाई पहिले पागलपनको रोग लागेको थियो—अनि अहिले तिनीहरूले परमेश्‍वरका वचनहरू देखेर त्यस रोगको बाँकी प्रभावहरूको कष्ट भोगिरहेका छन्, र आफ्नो पहिलेका स्थितिहरूलाई प्राप्त गर्न सकिरहेका छैनन्। सबै मानिस वास्तवमा यस्तै छन्, र यो यी वचनहरूको साँचो चित्रण पनि हो: “धेरै जना मानिस, त्यो मधुरो ज्योतिद्वारा उत्प्रेरित भएर आफ्ना भ्रमबाट तुरुन्तै जाग्छन्। तर पृथ्वीमा मेरो ज्योति ओर्लने दिन आएको छ भनी कसैले पनि कहिल्यै बुझेको छैन।” यही कारणले गर्दा, परमेश्‍वरले भन्‍नुभयो, “धेरैजसो मानिसहरू अचानक प्रकाश आउँदा आश्चर्यचकित बन्छन्” यस कुरालाई यसरी उल्‍लेख गर्नु पूर्ण रूपमा उचित छ। मानवजातिसम्‍बन्धी परमेश्‍वरको व्याख्यामा सियोको टुप्‍पो अट्ने पनि कुनै दरार छैन, अनि उहाँले साँच्‍चै यसलाई सटीक रूपमा र कुनै गल्तीविना बताउनुभएको छ, यही कारणले गर्दा मानिसहरू पूर्ण रूपमा विश्‍वस्त छन्। यसको साथै, थाहै नपाई, परमेश्‍वरप्रतिको तिनीहरूको प्रेम तिनीहरूको हृदयको गहिराइबाट निर्माण हुन सुरु भएको छ। त्यसरी मात्रै त्यहाँ परमेश्‍वरको स्थान अझै सच्‍चा बन्छ, र यो परमेश्‍वरले काम गर्नुहुने एउटा तरिका पनि हो।

“धेरैजसो मानिस केवल अचम्मित मात्र हुन्छन्; तिनीहरूका आँखामा चोट लागेको छ र तिनीहरू ज्योतिद्वारा हिलोमा फालिन्छन्।” त्यस्ता मानिसहरू परमेश्‍वरको इच्‍छाविपरीत जाने हुनाले (अर्थात्, तिनीहरूले परमेश्‍वरको विरोध गर्ने हुनाले), जब उहाँका वचनहरू आउँछन्, तिनीहरूको विद्रोहीपनको कारण तिनीहरूले सजाय भोग्छन्; यही कारणले गर्दा तिनीहरूको आँखामा ज्योतिले चोट लागेको हुन्छ भनेर भनिएको हो। यस्ता मानिसहरू पहिले नै शैतानको शरण परिसकेका हुन्छन्; त्यसकारण, नयाँ काममा प्रवेश गर्दा, तिनीहरूसँग न त अन्तर्दृष्टि हुन्छ न त प्रकाश नै। पवित्र आत्‍माको कार्य नभएकाहरू सबैलाई शैतानले ओगटेको हुन्छ, र तिनीहरूको हृदयको गहिराइमा परमेश्‍वरको लागि कुनै ठाउँ हुँदैन। यसर्थ, यी मानिसहरू “हिलोमा फालिन्छन्” भनेर भनिएको हो। यो अवस्थामा हुनेहरू सबै भताभुङ्ग स्थितिमा हुन्छन्। तिनीहरू सही मार्गमा प्रवेश गर्न सक्दैनन्, न त तिनीहरू सामान्य अवस्थालाई नै पुनर्स्थापित गर्न सक्छन्; तिनीहरूका सबै विचार विपरीत हुन्छन्। पृथ्वीका हरेकलाई शैतानले चरम रूपमा भ्रष्ट तुल्याएको छ। मानिसहरूमा कुनै जीवनशक्ति छैन र तिनीहरूबाट लासको गन्ध आउँछ। पृथ्वीका सबै मानिस कीटाणुहरूको महामारीमाझ बाँच्‍छन्, जसबाट कोही पनि उम्कन सक्दैन। तिनीहरूलाई पृथ्वीमा बाँच्‍ने इच्‍छा छैन, तर सधैँ तिनीहरूलाई मानिसहरूले आफ्‍नै आँखाले देख्‍ने गरी कुनै महान् कुरा हुनेछ भन्‍ने लाग्छ; त्यसकारण, मानिसहरूले आफैलाई निरन्तर बाँचिरहन बाध्य पार्छन्। तिनीहरूसँग आफ्नो हृदयमा त्यति लामो समयसम्मको लागि सामर्थ्य हुँदैन; तिनीहरूले आफ्‍ना अदृश्य आशाहरूलाई आत्मिक खम्बाको रूपमा प्रयोग गर्छन्, तसर्थ तिनीहरूले पुरुषार्थ भएको बहाना गर्दै आफ्‍ना शिर ठाडा पार्छन् अनि पृथ्वीमा आफ्‍ना दिनहरू जसोतसो बिताउँछन्। यो त सबै मानिस देहधारी दियाबलसका पुत्रहरू हुनु जस्तै हो। यही कारणले परमेश्‍वरले भन्‍नुभयो, “यो पृथ्वीलाई अव्यवस्थाले ढाक्छ, जुन एक असह्य दुःखद दृश्य हो, जसलाई राम्ररी जाँच्‍दा, अझ ठूलो दुःखले आक्रमण गर्छ।” यो परिस्थिति पैदा भएको हुनाले, परमेश्‍वरले सम्पूर्ण ब्रह्माण्डभरि “मेरो आत्मा फैलाउन” सुरु गर्नुभएको छ, र उहाँले सम्पूर्ण पृथ्वीमा उहाँको मुक्तिको काम गर्न सुरु गर्नुभएको छ। यो कामलाई अघि बढाउन थालिएको कारण परमेश्‍वरले सबै किसिमका विपत्ति बर्साउन थाल्‍नुभएको छ, र यसरी कठोर हृदय भएको मानवलाई मुक्ति दिन थाल्‍नुभएको छ। परमेश्‍वरको कामका चरणहरूमा मुक्तिले अझै पनि विभिन्न विपत्तिको रूप लिन्छ, र विनाश हुने निश्चित भएकाहरू कोही पनि तीबाट उम्कन सक्दैनन्। केवल अन्त्यमा मात्र पृथ्वीमा यस्तो अवस्था प्राप्त गर्न सकिन्छ जुन “तेस्रो स्वर्ग जस्तै शान्त हुन्छ: यहाँ ठूला-साना जीवित प्राणीहरू एकसाथ मिलेर बस्छन् र कहिल्यै पनि ‘मुख र जिब्रोको झगडा’ मा संलग्न हुँदैनन्।” परमेश्‍वरको कामको एक पक्ष भनेको सम्पूर्ण मानवजातिलाई विजय गर्नु र उहाँका वचनहरूद्वारा चुनिएका मानिसहरूलाई प्राप्त गर्नु हो; अर्कोचाहिँ विभिन्न विपत्तिहरूद्वारा विद्रोहका सबै छोरालाई जित्नु हो। यो परमेश्‍वरको ठूलो परिमाणको कामको एउटा हिस्सा हो। यस तरिकाले मात्र पृथ्वीमा परमेश्‍वरले चाहनुभएको राज्य पूर्ण रूपमा हासिल गर्न सकिन्छ, र यो उहाँको कामको हिस्सा हो, जुन शुद्ध सुन हो।

परमेश्‍वरले निरन्तर रूपमा मानिसहरूलाई स्वर्गको गतिशीलता बुझ्‍न लगाउनुहुन्छ। के तिनीहरूले साँच्‍चै यो हासिल गर्न सक्छन्? वास्तविकता के हो भने, मानिसहरूको वर्तमान वास्तविक स्थितिलाई ५,९०० वर्षभन्दा बढी समयदेखि शैतानले भ्रष्ट तुल्याउँदै आइरहेको हुनाले, तिनीहरूलाई पत्रुससँग तुलना गर्न सकिँदैन; त्यसैले, तिनीहरूले यो हासिल नै गर्न सक्दैनन्। यो परमेश्‍वरले काम गर्नुहुने विधिहरूमध्ये एउटा हो। उहाँले मानिसहरूलाई निष्क्रिय रूपमा प्रतीक्षा गर्न लगाउनुहुन्‍न; बरु उहाँले तिनीहरूलाई सक्रिय रूपमा खोजी गर्न लगाउनुहुन्छ। त्यसरी मात्रै परमेश्‍वरले मानिसहरूमा काम गर्ने अवसर पाउनुहुनेछ। तँलाई थप व्याख्या प्रदान गर्नु राम्रो हुनेछ; नत्र, मानिसहरूसँग सतही बुझाइमात्रै हुनेछ। परमेश्‍वरले मानिसलाई सृष्टि गरेर तिनीहरूलाई आत्मा दिनुभएपछि तिनीहरूलाई आज्ञा दिँदै के भन्नुभयो भने, यदि तिनीहरूले उहाँलाई पुकारेनन् भने तिनीहरू उहाँको आत्मासँग जोडिन सक्नेछैनन्, यसैले, पृथ्वीमा स्वर्गको “सेटालाइट टेलिभिजन” तरङ्ग प्राप्त गर्न असम्भव हुनेछ। जब परमेश्‍वर उप्रान्त मानिसहरूका आत्मामा हुनुहुन्न, तब अरू थोकहरूका लागि एउटा रित्तो आसन हुन्छ, र शैतानले भित्र पस्ने मौका प्रयोग गर्दछ। जब मानिसहरूले आफ्नो हृदयद्वारा परमेश्‍वरलाई सम्पर्क गर्दछन्, तब शैतान तुरुन्तै आत्तिन्छ र भाग्नका लागि दौडिन्छ। मानवजातिका पुकारहरूद्वारा परमेश्‍वरले तिनीहरूलाई चाहिने कुरा दिनुहुन्छ, तर सुरुमा उहाँ तिनीहरूमा “बास” गर्नुहुन्न। तिनीहरूले गरेका पुकारको कारण उहाँले निरन्तर तिनीहरूलाई सहायता मात्रै दिनुहुन्छ, र त्यो आन्तरिक शक्तिबाट मानिसहरूले कठोरता प्राप्त गर्दछन्, यसैले शैतानले आफ्नो इच्छामा “खेल्न” भित्र आउने आँट गर्दैन। यसैले यदि मानिसहरू निरन्तर परमेश्‍वरका आत्मासँग जोडिन्छन् भने, शैतानले आएर अवरोधहरू उत्पन्न गर्ने आँट गर्दैन। शैतानका अवरोधहरूविना सबै मानिसहरूको जीवन सामान्य हुन्छ, र परमेश्‍वरले तिनीहरूभित्र विनाअवरोध काम गर्ने मौका पाउनुहुन्छ। यसरी, परमेश्‍वरले जे गर्न चाहनुहुन्छ त्यो मानिसहरूद्वारा हासिल गर्न सकिन्छ। यसबाट परमेश्‍वरले किन मानिसहरूलाई सधैँ आफ्नो विश्‍वास बढाउन लगाउनुभयो, र किन यसो भन्‍नुभयो भन्‍ने कुरा थाहा हुन्छ, “म पृथ्वीमा मानिसको कदको आधारमा उपयुक्त मापदण्ड तय गर्छु। मैले कसैलाई कहिल्यै पनि कठिनाइहरूमा पारेको छैनँ, न त मैले कहिल्यै कसैलाई मेरो खुसीका लागि ‘उसको रगत निचोर्न’ लगाएको छु।” धेरैजसो मानिसहरू परमेश्‍वरका मापदण्डहरूदेखि असमञ्जसमा पर्छन्। मानिसहरूसँग त्यो क्षमता नभएकोले र शैतानले तिनीहरूलाई सुधार्नै नसकिने गरी भ्रष्ट तुल्याएकोले, किन परमेश्‍वरले आफूलाई मापदण्डहरू दिइरहनुहुन्छ भनेर तिनीहरू प्रश्‍न गर्छन्। के यसमा परमेश्‍वरले मानिसहरूलाई कठिन स्थितिमा राखिरहनुभएको छैन र? तिनीहरूको गम्भीर अनुहार र अनौठो नजर देखेर तँ नहाँसी बस्‍न सक्दैनस्। मानिसहरूका विभिन्‍न किसिमका कुरूप स्वरूप सबैभन्दा हाँसउठ्दा छन्: कहिलेकहीँ, तिनीहरू खेल्‍न मन पराउने बालबच्‍चाजस्ता हुन्छन्, जबकि कहिलेकहीँ तिनीहरू म “आमा” हुँ भन्दै खेल्ने सानी बालिकाजस्तै हुन्छन्। कहिलेकहीँ तिनीहरू मुसो खाने कुकुरजस्ता हुन्छन्। तिनीहरूका यी सबै कुरूप स्थितिप्रति हाँस्‍ने कि रुने थाहा हुँदैन, र प्रायजसो, मानिसहरूले परमेश्‍वरको इच्‍छालाई जति कम रूपमा बुझ्‍न सक्छन्, तिनीहरू समस्यामा पर्ने त्यति नै बढी सम्‍भावना हुन्छ। त्यसकारण, “के म केवल सृष्टिमा मौनता थप्ने परमेश्‍वर हुँ?” भन्‍ने परमेश्‍वरका वचनहरू नै मानिसहरू कति मूर्ख छन् भनेर देखाउन पर्याप्त छन्, र तिनले कुनै पनि मानिसले परमेश्‍वरको इच्‍छा बुझ्‍न सक्दैन भन्‍ने पनि देखाउँछन्। उहाँको इच्‍छा के हो भनेर उहाँले बताउनुभयो भने पनि तिनीहरूले यसलाई बुझ्‍न सक्दैनन्। तिनीहरूले मानव इच्‍छाअनुसार मात्रै परमेश्‍वरको काम गर्छन्। त्यसकारण, तिनीहरूले कसरी उहाँको इच्‍छालाई बुझ्‍न सक्छन् र? “म आफ्नो सुवासना जताततै फैलाउँदै पृथ्वीमा हिँड्दै जान्छु, र हरेक ठाउँमा म आफ्नो स्वरूप छोड्छु। प्रत्येक स्थानले मेरो आवाजलाई गुञ्‍जाउँछ। मानिसहरू जताततै हिजोको सुन्दर दृश्यमा रहन्छन्, किनकि सबै मानिसले विगतलाई सम्झिरहेका छन् …” राज्यको निर्माण भएपछि स्थिति यस्तै हुनेछ। वास्तवमा, धेरै स्थानमा, परमेश्‍वरले राज्यको परिकल्पना पूरा हुँदाको सुन्दरताबारे पहिले नै भविष्यवाणी गरिसक्‍नुभएको छ, र यी सबैले संयुक्त रूपमा राज्यको पूर्ण चित्र निर्माण गर्छन्। तैपनि, मानिसहरूले यसलाई कुनै ध्यान दिँदैनन्; तिनीहरूले यसलाई कार्टुन चलचित्र जस्तै गरी हेरी मात्रै रहन्छन्।

सहस्राब्दीयौँसम्‍म शैतानले गरेको भ्रष्टताको कारण, मानिसहरू सधैँ अन्धकारमा जिएका छन्, त्यसकारण तिनीहरू यसद्वारा बेचैन हुँदैनन्, न त तिनीहरू ज्योतिको तृष्णा नै गर्छन्। त्यसकारण, यसले आज जब ज्योति आउँछ तब निम्न अवस्था पैदा हुने बनाएको छ, “तिनीहरू सबै मेरो आगमनको विपरीत हुन्छन्, र तिनीहरूले ज्योतिको आगमनलाई निषेध गर्दछन्, मानौं म स्वर्गमा बस्‍ने मानिसको शत्रु हुँ। मानिसले उसको आँखामा प्रतिरक्षाको भाव राखेर मलाई अभिवादन गर्छ।” धेरैजसो मानिसले इमानदारीसाथ परमेश्‍वरलाई प्रेम गर्ने प्रयास गरे पनि, उहाँ अझै पनि सन्तुष्ट हुनुहुन्‍न, र उहाँले अझै पनि मानवजातिलाई दोषी ठहऱ्याउनुहुन्छ। यो मानिसहरूलाई असमञ्जसमा पार्ने कुरा हो। तिनीहरू अन्धकारमा जिउने हुनाले, तिनीहरूले अझै पनि ज्योतिविहीन हुँदाजस्तै गरी परमेश्‍वरको सेवा गर्छन्। अर्थात्, सबै मानिसले तिनीहरूका आफ्‍नै धारणाहरूको प्रयोग गरेर परमेश्‍वरको सेवा गर्छन्, र जब उहाँ आउनुहुन्छ, तिनीहरूको अवस्था त्यस्तै हुन्छ, अनि तिनीहरूले नयाँ ज्योति स्वीकार गरेर उहाँको सेवा गर्न सक्दैनन्; बरु, तिनीहरूले उहाँलाई तिनीहरूसँग भएको सबै अनुभवद्वारा सेवा गर्छन्। परमेश्‍वरले मानवजातिको “भक्ति” प्रति आनन्द प्राप्त गर्नुहुन्‍न, त्यसकारण अन्धकारमा हुने मानवजातिले ज्योतिको प्रशंसा गर्न सक्दैनन्। यही कारणले गर्दा परमेश्‍वरले माथिका वचनहरू बोल्‍नुभएको हो; यो वास्तविकताभन्दा विपरीत छँदै छैन, र यो परमेश्‍वरले मानवजातिलाई दुर्व्यवहार गर्नुभएको होइन, न त उहाँले तिनीहरूसँग गलत कार्य नै गर्नुभएको हो। संसारको सृष्टिदेखि नै, एक जना व्यक्तिले पनि परमेश्‍वरको न्यानोपनलाई साँचो रूपमा चाखेको छैन; परमेश्‍वरले तिनीहरूलाई प्रहार गर्नुहुन्छ र नष्ट गर्नुहुन्छ भन्‍ने गहन डरले सबै मानिस परमेश्‍वरप्रति रक्षात्मक अवस्थामा रहेका छन्। तसर्थ, यस ६,००० वर्षको अवधिमा, परमेश्‍वरले सधैँ मानिसहरूको इमानदारीताको सट्टा न्यानोपन दिनुभएको छ, र तिनीहरूलाई हरेक मोडमा धैर्यताको साथ अगुवाइ गर्नुभएको छ। यसको कारण के हो भने मानिसहरू अत्यन्तै कमजोर छन्, र तिनीहरूले परमेश्‍वरको इच्‍छालाई पूर्ण रूपमा जान्‍न, वा उहाँलाई पूर्ण हृदयले प्रेम गर्न सक्दैनन्, किनभने तिनीहरू शैतानको चालबाजीको अधीनमा नबसी रहन सक्दैनन्। तैपनि, परमेश्‍वर सहनशील रहनुहुन्छ, र त्यति धैर्य रहेपछि एक दिन—अर्थात्, जब उहाँले संसारलाई नवीकरण गर्नुहुन्छ—उहाँले मानिसहरूलाई आमाले जस्तो हेरचाह गर्न छोड्नुहुनेछ। बरु, उहाँले मानवलाई उपयुक्त दण्ड दिनुहुनेछ। यस कारणले गर्दा, यस्तो हुनेछ: “लासहरू समुद्रको सतहमा बग्छन्,” जबकि “पानी नभएका खाली ठाउँहरूमा, अरू मानिसहरू मैले कृपासाथ प्रदान गरेका प्रतिज्ञाहरूमा हाँस्दै र गाउँदै आनन्द मनाउँछन्।” दण्डित हुनेहरू र इनाम पाउनेहरूका गन्तव्यको बीचको तुलना यही हो। “समुद्रको सतह” ले परमेश्‍वरले उल्‍लेख गर्नुभएको मानवजातिको सजायको अतल कुण्‍डलाई जनाउँछ। यो शैतानको गन्तव्य हो, र परमेश्‍वरलाई विरोध गर्नेहरू सबैको लागि उहाँले तयार गर्नुभएको “विश्राम स्थल” यही हो। परमेश्‍वरले सधैँ मानवजातिको सच्‍चा प्रेमको चाहना गर्नुभएको छ, तैपनि मानिसहरूलाई यो कुरा थाहा छैन र यसबारे तिनीहरू असंवेदनशील छन्, र अझै पनि तिनीहरू आफ्‍नै काम गर्छन्। यही कारणले गर्दा, उहाँले आफ्‍ना सबै वचनहरूमा सधैँ मानिसहरूलाई विभिन्न कुरा माग्नुहुन्छ र तिनीहरूका कमीकमजोरीलाई औँल्याउनुहुन्छ, अनि तिनीहरूको लागि अभ्यासको मार्ग देखाइदिनुहुन्छ, ताकि तिनीहरूले यी वचनअनुसार अभ्यास गर्न सकून्। उहाँले मानिसहरूलाई उहाँको आफ्‍नै मनोवृत्ति देखाउनुभएको छ: “तापनि मैले एउटै पनि मानव जीवनलाई सामान्य रूपमा लिएर त्यसलाई खेलौना सम्झी त्योसँग खेलेको छैनँ। मानिसले लिने पीडा मैले देखेको छु र म उसले तिरेको मूल्य बुझ्छु। ऊ मेरो सामु खडा हुँदा, म उसलाई दण्ड दिनका निम्ति उसलाई अचानक पक्रन चाहन्नँ, न त म उसलाई अप्रिय थोकहरू नै दिन चाहन्छु। यसको सट्टामा, मैले हरसमय मानिसका लागि प्रबन्ध गरेको छु र उसलाई दिएको छु।” मानिसहरूले परमेश्‍वरका यी वचनहरू पढ्दा, तिनीहरूले तुरुन्तै उहाँको न्यानोपन अनुभव गर्छन्, अनि यस्तो विचार गर्छन्: वास्तवमा नै, मैले विगतमा परमेश्‍वरको लागि मूल्य चुकाएको छु, तर मैले उहाँसँग झारा टार्ने शैलीमा व्यवहार पनि गरेको छु, र कहिलेकहीँ मैले उहाँसँग गुनासो पनि गरेको छु। परमेश्‍वरले सधैँ आफ्‍ना वचनहरूले मलाई डोऱ्याउनुभएको छ, र उहाँले मेरो जीवनलाई धेरै नै वास्ता गर्नुहुन्छ, तैपनि म कहिलेकहीँ यसलाई खेलौना झैँ गरी खेलाउँछु। मैले साँच्‍चै नै यसो गर्नु हुँदैन। परमेश्‍वरले मलाई धेरै प्रेम गर्नुहुन्छ, तब किन म कठिन प्रयास गर्न सक्दिनँ? जब मानिसहरूमा यस्ता विचारहरू आउँछन्, तिनीहरू साँच्‍चै नै आफैलाई थप्पड हान्‍न चाहन्छन्, र कतिपय मानिसको त नाक समेत फरफराउँछ र तिनीहरू उच्‍च सोरमा रुन्छन्। तिनीहरूले के विचार गर्छन् भन्‍ने परमेश्‍वरले बुझ्‍नुहुन्छ र त्यहीअनुसार बोल्‍नुहुन्छ, अनि यी वचनहरूले—जुन न त कडा न त नरम छन्—मानिसहरूलाई उहाँप्रति प्रेम गर्न उत्प्रेरित गर्छन्। अन्तिममा, परमेश्‍वरले जब पृथ्वीमा राज्यको स्थापना हुन्छ तब उहाँको काम परिवर्तन हुन्छ भनी भविष्यवाणी गर्नुभयो: जब परमेश्‍वर पृथ्वीमा आउनुभएको हुन्छ, मानिसहरू विपत्ति र महामारीहरूबाट मुक्त हुन सक्‍नेछन्, र अनुग्रहमा रमाउन सक्‍नेछन्; तैपनि, जब उहाँले महान् दिनको न्याय सुरु गर्नुहुन्छ, त्यो बेला उहाँ सबै मानिसका बीचमा देखा पर्नुहुनेछ, र पृथ्वीको उहाँका सबै काम पूरा भएका हुनेछन्। त्यो बेला, त्यो दिन आइसकेको हुने हुनाले, यो बाइबलमा लेखिएका यी वचनहरूले भनेजस्तै हुनेछ: “अन्यायी, अझै अन्यायी नै रहिरहोस्: अनि पवित्र, अझै पवित्र नै रहिरहोस्।” अधर्मीहरू सजायमा आउनेछन्, र पवित्रहरू सिंहासनको अघि आउनेछन्। एक जना व्यक्तिले पनि परमेश्‍वरको सहनशीलता पाउन सक्‍नेछैन; चाहे तिनीहरू राज्यका पुत्रहरू र प्रजा नै किन नहोऊन्। यी सबै परमेश्‍वरका धार्मिकता हुन्, र यी सबै उहाँको स्वभावका प्रकाश हुन्। उहाँले मानवजातिको कमजोरीको लागि दोस्रो पटक चिन्ता देखाउनुहुनेछैन।

अघिल्लो: अध्याय १६

अर्को: अध्याय १८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्