अध्याय ४१

परमेश्‍वरले मानिसमा कसरी काम गर्नुहुन्छ? के तैँले यो कुरा पत्ता लगाएको छस्? के तेरो लागि यो कुरा स्पष्ट छ? अनि उहाँले मण्डलीमा कसरी काम गर्नुहुन्छ? यी कुराहरूप्रति तेरा दृष्टिकोणहरू के-कस्ता छन्? के तैँले यी प्रश्‍नहरूको बारेमा कहिल्यै विचार गरेको छस्? उहाँले मण्डलीमा गर्नुहुने कामद्वारा उहाँ के पूरा गर्न चाहनुहुन्छ? के तेरो लागि यी सबै कुराहरू स्पष्ट छन्? छैनन् भने, तैँले गर्ने सबै कुरा बेकम्‍मा र खोक्रा छन्! के यी वचनहरूले तेरो हृदय छोएका छन्? निष्क्रिय रूपमा पछि नहटी सक्रिय प्रगति मात्रै गर्नु—के यसले परमेश्‍वरको इच्‍छा पूरा गर्नेछ? के अन्धाधुन्ध सहकार्य गर्नु पर्याप्त हुन्छ? यदि ईश्‍वरीय दर्शनमा तँ अस्पष्ट छस् भने के गर्नुपर्छ? के यो थप खोजी गर्नु हुनेछैन र? परमेश्‍वर भन्‍नुहुन्छ, “मैले एक पटक मानिसहरूको बीचमा ठूलो प्रयास गरेको छु, तर तिनीहरूले यो कुराको पत्तो पाएनन्, त्यसकारण मैले तिनीहरूको निम्ति यो कुरालाई चरणबद्ध रूपमा प्रकट गर्न मेरो वचन प्रयोग गर्नुपर्‍यो। तैपनि, मानिसले मेरा वचनहरूलाई बुझ्‍न सकेन, अनि मेरो योजनाको उद्देश्यप्रति अनजान रह्‍यो।” यी वचनहरूको अर्थ के हो? के तैँले कहिल्यै यो उद्देश्यको बारेमा विचार गरेको छस्? के मैले साँच्‍चै यसलाई प्रफुल्‍लित भएर अनि जथाभाबी निर्माण गरेको थिएँ? त्यसो हो भने, त्यसको अर्थ के हुनेथियो त? यदि तेरो लागि यो उद्देश्य अस्पष्ट र बुझ्‍न नसकिने छ भने, कसरी सच्‍चा सहकार्य हासिल गर्न सकिन्छ त? परमेश्‍वर भन्‍नुहुन्छ, सबै मानवजातिले असीमित सागरहरूमा, खोक्रा वचन र धर्मसिद्धान्तहरूमा खोजी गर्छन्। जहाँसम्‍म तिमीहरूको खोजीको कुरा छ, ती कुन वर्गमा पर्छन् भन्‍ने कुरालाई तैँले समेत व्याख्या गर्न सक्दैनस्। परमेश्‍वरले मानिसमा के पूरा गर्न चाहनुहुन्छ त? तँ यी सबै कुराहरूप्रति स्पष्ट हुनुपर्छ। के यो ठूलो रातो अजिङ्गरलाई नकारात्मक तरिकाले लज्जित पार्नको लागि मात्रै हो त? ठूलो रातो अजिङ्गरलाई लज्जित पारिसकेपछि, के परमेश्‍वर रित्तो हात पहाडहरूतर्फ गएर त्यहाँ एकान्तमा बस्‍नुहुन्छ? त्यसो भए, परमेश्‍वरले के चाहनुहुन्छ त? के उहाँले साँच्‍चै नै मानिसहरूको हृदय चाहनुहुन्छ? कि उहाँले तिनीहरूको जीवन चाहनुहुन्छ? कि तिनीहरूको धन र सम्पत्ति चाहनुहुन्छ? यी कुराहरूको के काम हुन्छ? परमेश्‍वरको लागि तिनको कुनै काम हुँदैन। के परमेश्‍वरले मानिसलाई शैतानमाथिको उहाँको विजयको प्रमाणको रूपमा प्रयोग गर्नको लागि मात्रै, उहाँले आफ्‍ना “क्षमताहरूलाई” प्रकट गर्नको लागि मात्रै मानिसमा त्यति धेरै काम गर्नुभएको हो? त्यस्तो हुँदा के परमेश्‍वर अलिक “सानो” देखिनुहुन्‍न र? के परमेश्‍वर त्यस्तो प्रकारको परमेश्‍वर हुनुहुन्छ? ठूला मानिसहरूलाई अरूसँगको झगडामा मोल्‍ने बालकजस्तै? त्यसो गर्नुको अर्थ के हुनेथियो? परमेश्‍वरलाई नाप्‍नको लागि मानिसले निरन्तर आफ्‍नै धारणाहरूको प्रयोग गर्छ। परमेश्‍वरले एक पटक यसो भन्‍नुभएको थियो, “वर्षमा चार ऋतु हुन्छन्, र हरेक महिनामा तीन महिना हुन्छन्।” मानिसले यी वचनहरू सुने, तिनलाई स्मरणमा राख्यो, र उसले एउटा ऋतुमा तीन महिना हुन्छ र वर्षमा चार ऋतु हुन्छन् भनेर सधैँ भन्यो। जब परमेश्‍वरले “वर्षमा कति वटा ऋतु हुन्छन्? अनि एउटा ऋतुमा कति महिना हुन्छन्?” भनी सोध्‍नुभयो, मानिसले एकसाथ उत्तर दियो, “चार ऋतु, तीन महिना।” मानिसले परमेश्‍वरलाई सधैँ नियमहरूले परिभाषित गर्ने प्रयास गर्छ, र अहिले “वर्षको तीन ऋतु, एक ऋतुमा चार महिना” भएको युगमा प्रवेश गरिसकेपछि, मानिस अनभिज्ञ नै रहन्छ, मानौं ऊ अन्धो भएको छ, सबै कुरामा नियमहरूको खोजी गरिरहेको छ। अनि आज, मानवजातिले तिनीहरूका “नियमहरू” परमेश्‍वरमा लागू गर्ने प्रयास गर्छन्! तिनीहरू साँच्‍चै अन्धाहरू हुन्! के तिनीहरूले अहिले “हिउँद” छैन, “वसन्त, ग्रीष्म, र शरद” मात्रै छ भन्‍ने देख्दैनन्? मानिस साँच्‍चै नै मूर्ख छ! यो अवस्थासम्‍म आइपुगेर पनि १९२० को दशकको मानिसजस्तो, यातायात असुविधाको कुरा हो, र मानिसहरू सबै हिँड्नुपर्छ, वा सानो गधामा चढ्नुपर्छ भनी ठान्‍ने, वा मानिसहरूले टुकी बाल्‍नुपर्छ भनी ठान्‍ने, वा आदिम जीवनशैली नै अझै पनि मुख्य छ भनी ठान्‍ने मानिसहरूजस्तो, अझै परमेश्‍वरलाई कसरी चिन्‍ने भन्‍ने थाहा छैन। के यी सबै मानिसको मस्तिष्कमा रहने धारणाहरू होइनन् र? आज किन तिनीहरू अझै पनि कृपा र प्रेमिलो-दयालुपनको कुरा गर्छन्? यसको काम के हुन्छ र? यो त बुढी आमैले आफ्‍नो विगतको बारेमा बकबकाएजस्तो हो—यी शब्‍दहरूको के नै काम हुन्छ र? आखिर, वर्तमान भनेको वर्तमान नै हो; के समयलाई फर्काएर २० वा ३० वर्ष पछाडि जान सकिन्छ? सबै मानिसहरूले प्रवाहलाई नै पछ्याउँछन्; तिनीहरू किन यो कुरालाई स्वीकार गर्न चाहँदैनन्? सजायको वर्तमान युगमा, कृपा र प्रेमिलो-दयालुपनको कुरा गर्नुको के काम हुन्छ र? कृपा र प्रेमिलो-दयालुपन—के परमेश्‍वरमा त्यति मात्रै छ र? “पीठो र चामलको” यो युगमा किन मानिसहरूले अझै पनि “जुनेलोको छोक्रा र जङ्गली कन्दमूल” खाइरहन्छन्? परमेश्‍वरलाई जुन काम गर्न इच्छा छैन, मानिसले जबरजस्ती उहाँलाई त्यही काम गर्न लगाउँछ। यदि उहाँले इन्कार गर्नुभयो भने, उहाँलाई “परिवर्तन-विरोधी” भनेर बोलाइन्छ, अनि परमेश्‍वर अन्तर्निहित रूपमा नै कृपालु वा प्रेमिलो परमेश्‍वर हुनुहुन्‍न भनेर बारम्बार बताइए पनि, कसले सुन्छ र? मानिस साँच्‍चै नै व्यर्थको छ। मानौं परमेश्‍वरको वचनले कुनै प्रभाव पारेको छैन। मानिसहरूले मेरा वचनहरूलाई सधैँ फरक दृष्टिकोणले हेर्छन्। परमेश्‍वरलाई सुरुदेखि नै मानवजातिले हेपेको छ, मानौं अपराधहरू आधारहीन रूपमा निर्दोष मानिसहरूमा लगाइएको छ—त्यसो भए परमेश्‍वरसँग को एउटै मनको हुन सक्छ? तिमीहरू सधैँ परमेश्‍वरको कृपा र प्रेमिलो-दयालुपनमा जिउन इच्‍छुक हुन्छौ, त्यसकारण परमेश्‍वरसँग गर्नको लागि मानिसको अपमान सहने बाहेक अरू के नै छ र? तैपनि, परमेश्‍वरसँग विवाद गर्नुभन्दा पहिले तिमीहरूले पवित्र आत्‍माले कसरी काम गर्नुहुन्छ भन्‍ने कुरालाई पूर्ण रूपमा पत्ता लगाउनेछौ भन्‍ने मेरो आशा छ। म अझै तँलाई परमेश्‍वरको वचनको मूल अर्थलाई ध्यान दिएर हेर्न आग्रह गर्छु—परमेश्‍वरका वचनहरू “पातलिएका” छन् भनेर विश्‍वास गरेकोमा आफूलाई चलाख नठान्। त्यसको कुनै आवश्यकता छैन! परमेश्‍वरको वचन कति “पातलिएको” छ भनेर कसले भन्‍न सक्छ र? परमेश्‍वरले सीधै भन्‍नुभएन भने वा त्यो कुरा स्पष्ट रूपमा सङ्केत गर्नुभएन भने, कसैले बताउन सक्दैन। आफूलाई त्यति उच्‍च नठान्। यदि तैँले उहाँका वचनहरूबाट अभ्यासको मार्ग देख्‍न सक्छस् भने, तैँले उहाँका मापदण्डहरूलाई पूरा गरेको हुनेछस्। तँ अरू के कुरा देख्‍न चाहन्छस्? परमेश्‍वरले भन्‍नुभयो, “म मानिसको दुर्बलताको निम्ति कुनै कृपा देखाउन छोड्नेछु।” यदि तैँले यो निश्‍चित र सरल अभिव्यक्तिको अर्थलाई बुझ्‍न सक्दैनस् भने, थप अध्ययन र अनुसन्धानको अर्थ के हुन्छ र? यन्त्रविज्ञानको आधारभूत ज्ञानसमेत नभईकन, के तँ रकेट बनाउन योग्य हुनेछस्? के त्यस्तो व्यक्ति फोकट धाक लगाउने व्यक्ति होइन र? मानिससँग परमेश्‍वरको काम गर्ने स्रोत-साधन छैन; उसलाई उठाउने त परमेश्‍वर नै हुनुहुन्छ। उहाँले के मन पराउनुहुन्छ वा उहाँले केलाई घृणा गर्नुहुन्छ भनेर नजानीकन उहाँको सेवा मात्रै गर्नु—के यो बरबादी निम्त्याउने विधि होइन र? मानिसले आफैलाई चिन्दैन, तर आफूलाई असाधारण ठान्छ। तिनीहरूले आफैलाई के ठान्छन्? असल के हो वा खराब के हो भन्‍ने बारेमा तिनीहरूलाई केही पनि थाहा छैन। विगतलाई फर्केर हेर, र भविष्यलाई अगाडि हेर—यो कुरा कस्तो लाग्छ? त्यसपछि, आफैलाई चिन।

मानिसका अभिप्राय र उद्देश्यहरूका बारेमा परमेश्‍वरले धेरै कुरा प्रकट गर्नुभएको छ। उहाँले भन्‍नुभयो, “त्यसपछि मात्रै मैले मानिसका अभिप्राय र उद्देश्यहरूलाई राम्ररी देखेँ। मैले बादलहरूका बीचबाट सुस्केरा लिएँ: किन मानिसहरू सधैँ आफ्‍नै लागि काम गर्छन्? के मेरा सजाय तिनीहरूलाई सिद्ध तुल्याउनको लागि होइनन् र? के मैले जानी-जानी तिनीहरूको सकारात्मक मनोवृत्तिमा प्रहार गरिरहेको छु?” यी वचनहरूबाट तिमीहरूले आफ्‍नो बारेमा कति सिक्यौ? के मानिसका धारणा र उद्देश्यहरू साँच्‍चै नै समाप्त भएका छन्? के तिमीहरूले यो कुरालाई आफैभित्र नियालेका छौ? तिमीहरू परमेश्‍वरको सामु आएर यसलाई बुझ्‍ने प्रयास गर्नु नै राम्रो हुन्छ: परमेश्‍वरले तिमीहरूमा गर्नुभएको सजायको कामद्वारा के परिणाम हासिल गरिएको छ? के तिमीहरूले यसको निचोड निकालेका छौ? सायद परिणाम सानो होला; नत्र, तिमीहरूले यसको बारेमा पहिले नै ठूला-ठूला शब्‍दले बताइसकेका हुनेथियौ। परमेश्‍वरले तिमीहरूलाई के हासिल गर्न लगाउनुहुन्छ? मैले तिमीहरूलाई बताएका धेरै वचनहरूमध्ये, कति फलवान् बनेका छन्, र कति व्यर्थ बनेका छन्? परमेश्‍वरको नजरमा, उहाँका वचनहरूमध्ये थोरै मात्रै फलवान् बनेका छन्; यसको कारण के हो भने मानिसले उहाँका वचनहरूको मूल अर्थलाई कहिल्यै पनि पत्ता लगाउन सक्दैन, र उसले स्वीकार गर्ने भनेका वचनहरूका गुञ्जन, पर्खालमा थर्किएका आवाज मात्र हुन्। के परमेश्‍वरको इच्‍छालाई चिन्‍ने तरिका यही हो त? भविष्यमा चाँडै नै, परमेश्‍वरसँग मानिसले गर्नुपर्ने अझै बढी काम हुनेछ; के मानिसले उसँग भएको सानो कदले त्यो काम पूरा गर्न सक्छ त? यदि पथभ्रष्ट भइरहेका छैनन् भने, तिनीहरूले गल्ती गरिरहेका हुन्छन्, नत्र अहङ्कारी भइरहेका हुन्छन्—मानवको प्रकृति यस्तै छ भन्‍ने देखिन्छ। मलाई यो बुझ्‍न कठिन लाग्छ: परमेश्‍वरले धेरै कुरा बताउनुभएको भए पनि, किन मानिसले तीमध्ये कुनैलाई पनि हृदयमा राख्दैन? के परमेश्‍वरले मानिससँग ख्यालठट्टामा बोलिरहनुभएको र कुनै परिणाम नखोज्‍नुभएको हुन सक्छ? कि मानिसलाई “आनन्द, रिस, शोक, र खुशी” को नाटक खेलाइरहनुभएको हो? मानिसलाई एक क्षणको लागि खुशी तुल्याएर, अर्को क्षणमा उसलाई रुन लगाउने—अनि त्यसपछि, मानिस मञ्चभन्दा बाहिर जाँदा, उसलाई उसका आफ्‍नै उपकरणहरूसँग छोडिएको हो? यसको परिणाम के हुनेथियो? “किन मैले मानिसलाई दिएका मापदण्डहरूको सधैँ कुनै परिणाम आउँदैन? के यो मैले कुकुरलाई रूख चढ्न सिकाएको जस्तै भएको हुन सक्छ? के मैले व्यर्थमा धेरै कष्ट गरिरहेको छु?” परमेश्‍वरका सबै वचनहरू मानिसको वास्तविक स्थितिप्रति लक्षित छन्। को परमेश्‍वरको वचनमा जिइरहेको छ भनेर हेर्न सबै मानिसहरूको भित्री भागमा हेर्दा केही फरक पर्नेथिएन। “अहिले समेत, भूमिको धेरैजसो भाग परिवर्तन भइरहन्छ। यदि कुनै दिन, भूमि पूर्ण रूपमा अर्को प्रकारमा परिवर्तन भयो भने, म मेरो हातको एकै झट्काद्वारा त्यसलाई पन्छाउनेछु—के अहिलेको चरणमा मैले गर्ने काम ठीक यही होइन र?” वास्तवमा, अहिले समेत परमेश्‍वर यो काममा लागिरहनुभएको छ; तैपनि, उहाँले “मेरो हातको एकै झट्काद्वारा त्यसलाई पन्छाउँछु” भनी बताउनुभएको कुराले भविष्यलाई जनाउँछ, किनभने सबै कुराको एउटा प्रक्रिया हुनुपर्छ। परमेश्‍वरको वर्तमान काम यसतर्फ अघि बढ्छ—के तिमीहरूलाई यो कुरा स्पष्ट भयो? मानिसका अभिप्रायहरूमा त्रुटिहरू छन्, र अशुद्ध आत्‍माहरूले प्रवेश गर्नको निम्ति यो मौकाको फाइदा लिएका छन्। यस पटक, “भूमि अर्को प्रकारमा परिवर्तन हुन्छ।” त्यसपछि मानिसहरूमा गुणात्‍मक परिवर्तन आएको हुनेछ, तर तिनीहरूको सारमा भने परिवर्तन आएको हुनेछैन, किनभने सुदृढ़ पारिएको पृथ्वीमा अरू कुनै कुराहरू हुनेछैनन्। अर्को शब्‍दमा भन्दा, मूल पृथ्वी कम स्तरको थियो, तर यसको सुधारपछि, यसलाई प्रयोग गर्न सकिन्छ। तैपनि, यसलाई केही समयसम्‍म प्रयोग गरिसकेपछि, र त्यसउप्रान्त प्रयोग गर्न छोडिएपछि, यो क्रमिक रूपमा यसको पुरानो स्वरूपमा फर्कनेछ। परमेश्‍वरको कामको अर्को चरणको सारांश यही हो। भविष्यको काम थप जटिल हुनेछ, किनभने यो सबै थोकलाई तिनीहरूको प्रकारअनुसार अलग गरिने समय हुनेछ। भेला हुने स्थानमा, जब कामकुराहरू सकिन्छन्, तब त्यहाँ अवश्य नै लथालिङ्ग अवस्था हुनेछ, र मानिसमा दह्रिलो निश्‍चयता हुनेछैन। यो त परमेश्‍वरले भन्‍नुभएको जस्तै हो: “मानिसहरू सबै जुन धुन बज्यो त्यही धुनमा गाउने प्रस्तोताहरू हुन्।” मानिससँग बजाइएको धुनसँगै गाउने क्षमता छ, त्यसकारण परमेश्‍वरले तिनीहरूमा भएको यही कमजोरीलाई उहाँको कामको अर्को चरणलाई अघि बढाउन प्रयोग गर्नुहुन्छ, र सबै मानिसहरूलाई यो कमजोरीलाई हटाउन सक्षम पार्नुहुन्छ। मानिसहरूसँग वास्तविक कद नभएको हुनाले नै मानिसहरू पर्खालको माथि बढिरहेका घाँसहरू बन्छन्। यदि तिनीहरूले कद प्राप्त गरे पनि, तिनीहरू आकाश छुने अग्ला रूखहरू बन्‍नेथिए। परमेश्‍वरले मानवजातिको एउटा भागलाई सिद्ध पार्नको लागि दुष्ट आत्‍माहरूको कामको एउटा भाग प्रयोग गर्न चाहनुहुन्छ, र यसरी यी मानिसहरूलाई सबै मानवजातिले तिनीहरूको साँचो “पुर्खाहरूलाई” चिन्‍न सक्छन् भन्‍ने कुरा दियाबलसका अधर्महरूमार्फत देखाउनुहुन्छ। यसरी मात्र मानवले दियाबलसका भविष्यका पुस्तालाई मात्रै होइन, दियाबलसका पुर्खाहरूलाई समेत त्यागेर पूर्ण रूपमा स्वतन्त्र हुन सक्छन्। ठूलो रातो अजिङ्गरलाई पूर्ण रूपमा पराजित गर्ने परमेश्‍वरको साँचो उद्देश्य यही हो कि सबै मानवजातिले ठूलो रातो अजिङ्गरको साँचो रूपलाई चिनून्, यसको मकुन्डोलाई पूर्ण रूपमा च्यातेर यसको साँचो स्वरूपलाई देखून्। परमेश्‍वरले हासिल गर्न चाहनुहुने कुरा यही हो, पृथ्वीमा उहाँले गर्नुभएका सबै कामको अन्तिम उद्देश्य यही हो, र सारा मानवजातिमा उहाँले पूरा गर्न चाहनुभएको कुरा पनि यही हो। परमेश्‍वरको उद्देश्यलाई पूरा गर्नको लागि सबै कुरा परिचालन गर्नु भनेको यही हो।

भविष्यको कामको हकमा, के तिमीहरू यो काम कसरी गरिनेछ भन्‍ने बारेमा स्पष्ट छौ? यी कुराहरूलाई बुझ्नैपर्छ। उदाहरणको लागि: परमेश्‍वरले किन मानिसहरू कहिल्यै पनि आफूले गर्नुपर्ने काममा ध्यान दिँदैनन् भनी भन्‍नुहुन्छ? उहाँ किन उहाँले दिनुभएको गृहकार्य गर्न असफल हुने मानिसहरू धेरै छन् भनेर भन्‍नुहुन्छ? यी कुराहरूलाई कसरी हासिल गर्न सकिन्छ? के तिमीहरूले यी प्रश्‍नहरूको बारेमा कहिल्यै विचार गरेका छौ? के यी कुराहरू तेरो सङ्गतिका विषयहरू बनेका छन्? कामको यो चरणमा, मानिसलाई परमेश्‍वरको वर्तमान अभिप्रायहरू बुझ्‍ने तुल्याउनैपर्छ। यो कुरा हासिल गरिएपछि, अरू कुराहरूको बारेमा छलफल गर्न सकिन्छ—के यो कामकुरालाई अघि बढाउने राम्रो तरिका होइन र? परमेश्‍वरले मानिसमा के हासिल गर्न चाहनुहुन्छ भन्‍ने कुरालाई स्पष्ट रूपमा व्याख्या गरिनुपर्छ, अन्यथा सबै कुरा व्यर्थ हुनेछ, र मानिस यसमा प्रवेश गर्न असमर्थ हुनेछ, यसलाई हासिल गर्ने कुरा त परै जाओस्, अनि सबै कुरा बकम्फुसे गफ मात्र हुनेछ। आज परमेश्‍वरले जे भन्‍नुभएको छ त्यसको बारेमा भन्दा—के तिमीहरूले यसलाई अभ्यास गर्ने मार्ग भेट्टाएका छौ? सबै मानिसहरू परमेश्‍वरका वचनहरूका बारेमा डर मान्छन्। तिनीहरूले ती वचनहरूलाई पूर्ण रूपमा बुझ्‍न सक्दैनन्, तैपनि तिनीहरूले परमेश्‍वरलाई चिढ्याउँछु कि भन्‍ने डर पनि मान्छन्। अहिलेसम्‍म, परमेश्‍वरका वचनहरू खाने र पिउने कति वटा तरिकाहरू पत्ता लगाइएको छ? धेरैजसो मानिसहरूलाई परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने भन्‍ने थाहा छैन; यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ? के तैँले आजका वचनहरूमा खाने र पिउने तरिका भेट्टाइस्? तैँले अहिले कसरी त्यस कार्यमा सहकार्य गर्ने प्रयास गरिरहेको छस्? अनि तिमीहरू सबैले वचनहरू खाएछि र पिएपछि, तिमीहरूले तिनको बारेमा गरेका मननहरूलाई कुन-कुन माध्यमहरूमा छलफल गर्नेछौ? के मानिसले गर्नुपर्ने यही होइन? कुनै निश्‍चित रोगको लागि कसरी ठीक औषधि दिइन्छ? के तेरो लागि अझै पनि परमेश्‍वरले प्रत्यक्ष रूपमा वाणीहरू जारी गर्न आवश्यक पर्छ? के यो अत्यावश्यक छ? उपर्युक्त समस्याहरूलाई कसरी पुर्ण रूपमा समाधान गर्न सकिन्छ? यो कुरा तिमीहरूले आफ्‍ना व्यावहारिक कार्यहरूमा पवित्र आत्‍मासँग सहकार्य गर्न सक्छौ कि सक्दैनौ भन्‍ने कुरामा निर्भर रहन्छ। उचित सहकार्य हुँदा, पवित्र आत्‍माले महान् कार्य गर्नुहुनेछ। उचित सहकार्य नहुँदा, अन्योल मात्रै भयो भने, पवित्र आत्मा उहाँको शक्ति पोखाउने अवस्थामा हुनुहुनेछैन। “यदि तैँले आफैलाई चिनेको छस् र आफ्‍नो शत्रुलाई चिनेको छस् भने, विजय सधैँ तेरै हुनेछ।” जसले पहिलो पटक यी वचनहरू बोलेको भए पनि, ती वचनहरू तिमीहरूमा नै सबैभन्दा उचित रूपमा लागू हुन सक्छन्। छोटकरीमा भन्दा, तिमीहरूले आफ्‍ना शत्रुहरूलाई चिन्‍न सक्‍नुभन्दा पहिले आफैलाई चिन्‍नुपर्छ, अनि तिमीहरूले यी दुवै काम गरिसकेपछि मात्रै तिमीहरूले हरेक युद्ध जित्‍नेछौ। तिमीहरूले गर्न सक्‍नुपर्ने सबै कुराहरू यिनै हुन्। परमेश्‍वरले तँबाट जे माग गर्नुभए पनि, तैँले त्यसको निम्ति आफ्नो सारा शक्तिले काम मात्र गर्नुपर्दछ, र म आशा गर्दछु कि अन्त्यमा तँ परमेश्‍वरको सामु आउन सक्नेछस् र उहाँलाई तेरो पूर्ण भक्ति दिन सक्नेछस्। यदि यो क्षण तिम्रो मृत्यु तोकिएको समय नै भए पनि जबसम्म परमेश्‍वर आफ्नो सिंहासनमा विराजमान भई सन्तोषको मुस्कान मुस्कुराउनुभएको तैँले देख्न सक्छस्, तबसम्‍म तैँले आफ्ना आँखा चिम्लँदै गर्दा तँ हाँस्न र मुस्कुराउन सक्नुपर्छ। पृथ्वीको तेरो जीवनकालमा तैँले परमेश्‍वरप्रतिको आफ्नो अन्तिम कर्तव्य पूरा गर्नैपर्छ। विगतमा, परमेश्‍वरको खातिर पत्रुसलाई क्रूसमा उल्टो झुन्ड्याइ; तर अन्त्यमा तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ, र तेरा सबै शक्ति उहाँका लागि समाप्त गर्नुपर्छ। सृष्टि गरिएको एक प्राणीले परमेश्‍वरको खातिर के गर्नसक्छ र? यसैले परमेश्‍वरले उहाँको इच्छाअनुसार तँलाई प्रयोग गरून् भनी तैँले सक्दो चाँडोभन्दा चाँडो आफैलाई परमेश्‍वरमा सुम्पनुपर्छ। यदि त्यसले परमेश्‍वरलाई खुसी र प्रसन्न तुल्याउँछ भने उहाँले आफ्नो इच्छाअनुसार तँसँग जे गर्न चाहनुहुन्छ उहाँलाई त्यही गर्न दे। मानिसहरूसँग गुनासोका कुराहरू बोल्ने के अधिकार छ र?

अघिल्लो: अध्याय ४०

अर्को: अध्याय ४२

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्