पत्रुसको मार्गमा कसरी हिँड्ने

ठ्याक्‍कैसित भन्‍नुपर्दा, आफ्नो विश्‍वासमा पत्रुसको मार्गमा हिँड्नु भनेको सत्यता खोजी गर्ने बाटोमा हिँड्नु हो, जुन आफैलाई साँचो रूपमा चिन्‍ने र आफ्नो स्वभाव बदल्ने बाटो पनि हो। पत्रुसको मार्गमा हिँडेर मात्र व्यक्ति परमेश्‍वरद्वारा सिद्ध तुल्याइने बाटोमा हुनेछ। पत्रुसको मार्गमा वास्तवमा कसरी हिँड्ने, साथसाथै यसलाई कसरी अभ्यास गर्ने भन्‍ने बारेमा व्यक्ति स्पष्ट हुनुपर्छ। पहिला त व्यक्तिले आफ्ना अभिप्रायहरू, अनुचित खोजीहरू, र परिवार तथा आफ्नो देहका सबै कुराहरू समेतलाई पन्छाउनुपर्छ। व्यक्ति सम्पूर्ण हृदयले समर्पित हुनुपर्छ; त्यसको मतलब व्यक्तिले पूर्ण रूपमा आफूलाई परमेश्‍वरका वचनहरूमा समर्पित गर्नुपर्छ, परमेश्‍वरका वचनहरू खान र पिउनमा ध्यान केन्द्रित गर्नुपर्छ, परमेश्‍वरका वचनहरूमा सत्यता र उहाँका चाहनाहरू खोजी गर्न एकाग्र हुनुपर्छ, र हरेक कुरामा परमेश्‍वरको अभिप्राय बुझ्ने प्रयास गर्नुपर्छ। यो कुरा अभ्यासको सबैभन्दा आधारभूत र महत्वपूर्ण विधि हो। पत्रुसले येशूलाई भेटेपछि यही नै गरेका थिए, र यसरी अभ्यास गरेर मात्रै व्यक्तिले सर्वोत्तम नतिजाहरू हासिल गर्न सक्छ। परमेश्‍वरका वचनहरूमा सम्पूर्ण हृदयसहितको समर्पणमा मुख्यतया परमेश्‍वरका वचनहरूमा सत्यता र उहाँका चाहनाहरू खोजी गर्ने, परमेश्‍वरका अभिप्राय बुझ्न ध्यान केन्द्रित गर्ने, र परमेश्‍वरका वचनहरूबाट थप सत्यता बुझ्ने र प्राप्त गर्ने कुराहरू पर्दछन्। परमेश्‍वरका वचनहरू पढ्दा पत्रुसले धार्मिक सिद्धान्तहरू बुझ्नमा ध्यान केन्द्रित गरेका थिएनन्, तिनले धार्मिक ज्ञान प्राप्त गर्नमा ध्यान केन्द्रित गर्ने कुरा त परै जाओस्। बरु, तिनी सत्यता बोध गर्न र परमेश्‍वरको अभिप्राय बुझ्न, साथसाथै परमेश्‍वरको स्वभाव र प्रेमिलोपनको बुझाइ हासिल गर्न एकाग्र भए। पत्रुसले परमेश्‍वरका वचनहरूबाट मानिसका विविध भ्रष्ट अवस्थाहरू, र साथमा मानिसको प्रकृति सार र वास्तविक कमीहरू बुझ्न पनि प्रयास गरे र यसमार्फत तिनले परमेश्‍वरलाई सन्तुष्ट पार्न उहाँका मापदण्डहरूका सबै पक्षहरू सजिलै पूरा गरे। पत्रुससँग परमेश्‍वरका वचनहरू पालना गर्ने धेरै सही अभ्यासहरू थिए। यो कुरा परमेश्‍वरका अभिप्राय अनुरूपको थियो र व्यक्तिले परमेश्‍वरको कामको अनुभव गर्दै सहकार्य गर्नसक्‍ने सर्वोत्तम शैली यही नै थियो। परमेश्‍वरले पठाउनुभएका सयौं परीक्षाहरू सामना गर्दा पत्रुसले आफूलाई मानिसप्रतिको परमेश्‍वरका न्याय र खुलासाका हरेक वचनहरू, अनि मानिसले पूरा गर्नुपर्ने उहाँका मापदण्डहरूका हरेक वचनसँग कठोर रूपले दाँजेर जाँच गरे र सहीसित ती वचनहरूको अर्थ बोध गर्न लागिपरे। येशूले भन्‍नुभएका हरेक वचनहरूलाई तिनले इमान्दारीपूर्वक चिन्तन र याद गर्ने प्रयास गरे, र तिनले राम्रो नतिजा हासिले गरे। यसरी अभ्यास गरेर तिनले परमेश्‍वरका वचनहरूबाट आफ्नै बारेमा बुझाइ हासिल गर्न सके, र तिनले मानिसका विविध भ्रष्ट अवस्था र कमीकमजोरीहरूबारे मात्र होइन, मानिसको सार र प्रकृतिबारे पनि बुझाइ हासिल गरे। आफूलाई साँचो रूपमा बुझ्नु भनेकै यही हो। परमेश्‍वरका वचनहरूबाट, पत्रुसले आफ्नो बारेमा साँचो बुझाइ मात्र हासिल गरेनन्, तिनले त परमेश्‍वरको धर्मी स्वभाव, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, परमेश्‍वरको कामको लागि उहाँको अभिप्राय, र मानवजातिप्रति परमेश्‍वरका मापदण्डहरू पनि बुझे। यी वचनहरूबाट तिनले साँचो रूपमा परमेश्‍वरलाई चिने। तिनले परमेश्‍वरको स्वभाव र उहाँको सारलाई चिने; तिनले परमेश्‍वरसँग के छ र उहाँ को हुनुहुन्छ, र साथसाथै परमेश्‍वरको प्रेमिलोपन र मानिसले पूरा गर्नुपर्ने उहाँका मागहरूलाई जाने र बुझे। त्यतिखेर परमेश्‍वर आजभोली बोल्नुभए जति बोल्नुहुन्‍नथियो, तापनि पत्रुसमा यी पक्षहरूको नतिजा हासिल भयो। यो एकदमै विरलै हुने र अमूल्य कुरा थियो। पत्रुसले सयौं परीक्षाहरू भोगे, तर तिनले व्यर्थमा कष्ट सहेनन्। तिनले परमेश्‍वरका वचनहरू र कामबाट आफूले आफैलाई मात्र चिनेनन्, बरु तिनले त परमेश्‍वरलाई समेत चिने। यसको साथै, तिनले परमेश्‍वरका वचनहरूभित्र रहेका मानवजातिले पूरा गर्नुपर्ने परमेश्‍वरका मापदण्डहरूबारे विशेष ध्यान केन्द्रित गरे। मानिसले परमेश्‍वरको अभिप्रायअनुरूप परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्ने जुनसुकै पक्षहरू नै किन नहोस्, यी सबै पक्षहरूमा ठूलो प्रयत्न गर्न र पूर्ण स्पष्टता हासिल गर्न पत्रुस सक्षम भए। यो कुरा तिनको जीवन प्रवेशको सवालमा पनि अत्यन्तै फाइदाजनक थियो। परमेश्‍वरले जेसुकैको बारेमा बोल्नुभएको भए तापनि, ती वचनहरू जीवन बन्‍न सकुञ्‍जेल र ती सत्यता हुञ्‍जेल, पत्रुस तिनलाई कुँदेर आफ्नो हृदयमा राख्‍न तथा तिनलाई बारम्बार चिन्तन र बोध गर्न सक्षम भए। येशूका वचनहरू सुनेपछि, तिनले ती वचनहरूलाई हृदयमा राख्‍न सके, जसले तिनले विशेष रूपमा परमेश्‍वरका वचनहरूमा ध्यान केन्द्रित गरेका थिए भन्‍ने देखाउँछ र तिनले अन्त्यमा सच्‍चा रूपमै नतिजा हासिल गरे। यसको मतलब, तिनले परमेश्‍वरका वचनहरूलाई स्वतन्त्र पूर्वक व्यवहारमा उतार्न, सत्यतालाई दुरुस्त रूपमा अभ्यास गर्न अनि परमेश्‍वरको अभिप्रायअनुरूप हुन, सम्पूर्ण रूपले परमेश्‍वरको चाहनाअनुरूप कार्य गर्न, र आफ्ना दृष्टिकोणहरू र कल्पनाहरू त्याग्‍न सके। यसरी, पत्रुस परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरे। यी कुराहरू गरेको हुनाले नै मुख्य रूपमा पत्रुसको सेवा परमेश्‍वरको अभिप्रायअनुरूप हुन गयो।

यदि व्यक्तिले आफ्नो कर्तव्य निभाउँदै परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छ भने, ऊ आफ्ना बोली र कार्यहरूमा सिद्धान्तकेन्द्रित छ भने, र ऊ सत्यताको वास्तविकताका सबै पक्षहरूमा प्रवेश गर्न सक्छ भने, ऊ परमेश्‍वरले सिद्ध तुल्याउनुहुने व्यक्ति हो। यो भन्‍न सकिन्छ कि परमेश्‍वरका काम र वचनहरू त्यस्ता व्यक्तिहरूका लागि पूर्ण रूपले प्रभावकारी भएका छन्, र परमेश्‍वरका वचनहरू तिनीहरूका जीवन बनेका छन्, तिनीहरूले सत्यता हासिल गरेका छन्, र तिनीहरू परमेश्‍वरका वचनहरू अनुरूप जिउन सक्षम छन्। यसपछि, तिनीहरूको देहको प्रकृति—अर्थात, तिनीहरूको मौलिक अस्तित्वको आधार—थर्किँदै भत्कनेछ र एकाएक ढल्नेछ। मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा धारण गरेपछि मात्रै, तिनीहरू नयाँ मानिसहरू बन्‍नेछन्। यदि परमेश्‍वरका वचनहरू तिनीहरूको जीवन बन्छ भने, यदि परमेश्‍वरको कामको दर्शन, मानवजातिको लागि उहाँका खुलासा र मापदण्डहरू, परमेश्‍वरले मानिसले पूरा गर्नैपर्ने भनी तोक्‍नुभएको मानव जीवनका स्तरहरू तिनीहरूको जीवन बन्छ भने, यदि मानिसहरू यी वचन र सत्यताअनुरूप जिउँछन् भने तिनीहरू परमेश्‍वरका वचनहरूद्वारा सिद्ध तुल्याइन्छन्। त्यस्ता मानिसहरूले पुनर्जन्म पाउँछन् र तिनीहरू परमेश्‍वरका वचनहरूमार्फत नयाँ मानिसहरू बनेका हुन्छन्। पत्रुसले जुन मार्गद्वारा सत्यता खोजी गरे त्यो मार्ग यही हो। यो सिद्ध तुल्याइने मार्ग हो। परमेश्‍वरका वचनहरूद्वारा पत्रुस सिद्ध तुल्याइए, र तिनले परमेश्‍वरका वचनहरूबाट जीवन प्राप्त गरे, परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरू तिनको जीवन बन्यो, अनि तिनी सत्यताप्राप्त व्यक्ति बने। येशुको उदय भएको बेलातिर, पत्रुससँग थुप्रै धारणा, विद्रोह, र कमजोरीहरू रहेको हामी सबैलाई थाहै छ। यी कुराहरू पछि किन पूर्ण रूपमा बदलिए? यसको प्रत्यक्ष सम्बन्ध तिनको सत्यता पछ्याउने कार्यसँग छ। जीवन पछ्याउने क्रममा, व्यक्तिले सत्यता अभ्यास गर्नमा जोड दिनुपर्छ। धर्मसिद्धान्त मात्र बुझ्नुको कुनै अर्थ छैन, र धर्मसिद्धान्तबारे जतिसुकै बोल्न सके पनि त्यसको अर्थ हुँदैन। यी कुराहरूले व्यक्तिको जीवन स्वभावमा परिवर्तन ल्याउन सक्दैनन्। परमेश्‍वरका वचनहरूको सोझो अर्थ मात्र बुझ्नु सत्यता बुझेबराबर होइन। परमेश्‍वरका वचनहरूमा चित्रण गरिएका सार र सिद्धान्तका कुराहरूचाहिँ सत्यता हुन्। उहाँको वाणीका प्रत्येक हरफमा सत्यता हुन्छ, तर मानिसहरूले नबुझ्न सक्छन्। जस्तै, परमेश्‍वरले “तिमीहरू इमानदार मानिस बन्‍नुपर्छ” भन्‍नुहुँदा, यस भनाइमा सत्यता छ। “तिमीहरू परमेश्‍वरको अघि समर्पित हुने, उहाँलाई प्रेम गर्ने, र उहाँलाई पुज्ने मानिस बन्‍नुपर्छ। तिमीहरूले मानवको रूपमा आफ्नो कर्तव्य पुरा गर्नुपर्छ।” भन्‍नेजस्ता उहाँका भनाइहरूमा अझ बढी सत्यता छ। परमेश्‍वरको वचनका प्रत्येक हरफले सत्यताको एउटा पक्षबारे व्याख्या गर्छ, र यी प्रत्येक सत्यतासित अन्य सत्यताहरूको घनिष्ट सम्बन्ध छ। त्यसैले, परमेश्‍वरले बोल्नुहुने हरेक कुरामा सत्यता व्यक्त गर्नुहुन्छ, र उहाँले हरेक सत्यताबारे व्यापक रूपमा बोल्नुहुन्छ। यसो गर्नुको उद्देश्य मानिसलाई सत्यताको सार बुझाउनु हो। परमेश्‍वरका वचनलाई यस हदसम्म बुझ्नेलाई मात्र परमेश्‍वरको वचन बुझेको भन्‍न सकिन्छ। यदि तैँले परमेश्‍वरका वचनलाई सोझो अर्थमा मात्र बुझेर व्याख्या गर्छस् र धर्मसिद्धान्तहरू मात्र बोल्छस् भने, तैँले सत्यता बुझेको छैनस्। तैँले फूर्ति मात्र लाउँदै छस्, बोल्ने मात्र केही नगर्ने, र धर्मसिद्धान्तसँग खेल खेल्ने मात्र गर्दै छस्।

मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता बुझुञ्‍जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुशी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै मानिसभित्र शैतानको विष हुनु हो। त्यसो भए, शैतानको विष के हो? यो कसरी अभिव्यक्त हुन सक्छ? उदाहरणको लागि, यदि तैँले “मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?” भनेर सोधिस् भने, मानिसहरूले जवाफ दिनेछन्, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।” यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र त्यसो गर्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ”—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पहिले नै भ्रष्ट मानवजातिको अस्तित्वको आधार भइसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ। शैतानले गर्ने सबै कुरा यसका आफ्नै चाहना, महत्त्वाकाङ्क्षा, र उद्देश्यहरूको लागि हो। यसले परमेश्‍वरलाई उछिन्‍न, उहाँबाट स्वतन्त्र हुन, र परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराहरूलाई नियन्त्रणमा लिन चाहन्छ। आज, शैतानले मानिसहरूलाई यस हदसम्म भ्रष्ट पारेको छ: तिनीहरू सबैसँग शैतानी प्रकृति छन्, तिनीहरू सबैले परमेश्‍वरलाई नकार्ने र विरोध गर्ने प्रयास गर्छन्, र तिनीहरू आफ्नो नियतिलाई आफ्नै वशमा राख्‍न चाहन्छन् र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूको विरोध गर्ने प्रयास गर्छन्। तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू ठ्याक्‍कै शैतानका जस्ता छन्। त्यसकारण, मानिसको प्रकृति शैतानको प्रकृति हो। वास्तवमा, धेरै मानिसहरूका आदर्श-वाणीहरू र लोक-उक्तिहरूले मानव प्रकृतिलाई प्रतिनिधित्व गर्छन् र मानव भ्रष्टताको सारलाई प्रतिबिम्बित गर्छन्। मानिसहरूले छनौट गर्ने कुराहरू तिनीहरूका आफ्‍नै प्राथमिकता हुन्छन्, र ती सबैले मानिसहरूका स्वभाव र खोजीहरूलाई प्रतिनिधित्व गर्छन्। व्यक्तिले आफूले बोल्‍ने हरेक शब्‍द, र गर्ने हरेक काममा जति नै छद्‌म भेष धारण गरे पनि यसले उसको प्रकृतिलाई ढाकछोप गर्न सक्दैन। उदाहरणको लागि, फरिसीहरूले प्रायजसो निकै राम्रो प्रचार गर्थे, तर जब तिनीहरूले येशूले व्यक्त गर्नुभएका उपदेश र सत्यताहरू सुने, तब तिनीहरूले तिनलाई स्विकार्नुको सट्टा निन्दा गरे। यसले सत्यताको विरुद्ध खडा हुने र त्यसलाई घृणा गर्ने फरिसीहरूको प्रकृति सारको खुलासा गर्‍यो। कतिपय मानिसहरू निकै राम्ररी बोल्छन् र आफ्‍नो वास्तविकता लुकाउन निकै सिपालु हुन्छन्, तर तिनीहरूसँग केही समयसम्‍म सङ्गत गरिसकेपछि, अरूले तिनीहरूको प्रकृति अत्यन्तै छली र कपटी छ भन्‍ने कुरा पत्ता लगाउँछन्। तिनीहरूसँग लामो समयसम्‍म उठबस गरिसकेपछि, जोकोहीले तिनीहरूको प्रकृति सार पत्ता लगाउँछन्। अन्त्यमा, अरूले निम्न निष्कर्षहरू निकाल्छन्: तिनीहरूले कहिल्यै सत्य बोल्दैनन् र तिनीहरू छली हुन्। यो भनाइले त्यस्ता मानिसहरूको प्रकृतिलाई प्रतिनिधित्व गर्छ, र यो तिनीहरूको प्रकृति सारको सर्वश्रेष्ठ चित्रण र प्रमाण हो। तिनीहरूको सांसारिक व्यवहारसम्बन्धी दर्शन भनेकै कसैलाई सत्य नभन्‍नु हो, साथसाथै कसैलाई पनि भरोसा नगर्नु हो। मानिसको शैतानी प्रकृतिमा एकदमै धेरै शैतानी दर्शन र विषहरू हुन्छन्। कहिलेकाहीँ तँ आफैलाई पनि तीबारे थाहा नहुन सक्छ, र तैँले तिनलाई बुझ्दैनस्; तैपनि तेरो जीवनको हरेक क्षण तिनै कुराहरूमा आधारित हुन्छ। अझ भन्‍ने हो भने, तैँले ती कुराहरू निकै सही र मनासिब छन् र ती गलत छँदै छैनन् भन्‍ने ठान्छस्। शैतानका दर्शनहरू मानिसहरूको प्रकृति बनेका छन्, र तिनीहरू यसप्रकारको जीवनशैली राम्रो छ भन्‍ने सोच्दै र कुनै पश्‍चात्तापको बोध नगरी यिनै दर्शनहरूअनुरूप बाँचिरहेका छन् भन्‍ने देखाउन यही काफी छ। त्यसकारण, तिनीहरूले निरन्तर रूपमा आफ्‍नो शैतानी प्रकृति प्रकट गरिरहेका छन्, र तिनीहरू निरन्तर रूपमा शैतानका दर्शनहरूअनुरूप बाँचिरहेका छन्। शैतानको प्रकृति मानवजातिको जीवन हो, अनि यो मानवजातिको प्रकृति सार हो। कस्तो प्रकृति भनेर शाब्दिक सारांशमार्फत पूर्ण रूपले व्यक्त गर्न सकिन्छ। मानिसको प्रकृति अहङ्कार, घमण्ड, र असाधारण बन्‍ने इच्छाले भरिएको हुन्छ। त्यसमा लाभलाई सबैभन्दा महत्त्व दिने र जीवनको कुनै प्रवाह नगर्ने धनको लोभ पनि हुन्छ। त्यसभित्र छलीपन, कुटिलता, र हरमोडमा मान्छे ठग्‍ने प्रवृति, साथसाथै असह्य दुष्टता र फोहोरीपन पनि मिसिएको हुन्छ। यो मानिसको प्रकृतिको सारांश हो। तँ आफ्नो प्रकृतिमा प्रकट हुन आउने थुप्रै पक्षहरू चिन्‍न सक्षम छस् भने, तैँले त्यसबारे बुझेको छस्। तर तँसँग आफ्नो प्रकृतिमा प्रकट भएका कुराहरूबारे कुनै बुझाइ छैन भने, तैँले आफ्नो प्रकृतिबारे केही पनि बुझेको छैनस्। पत्रुसले परमेश्‍वरका वचनको शोधनमार्फत र परमेश्‍वरले तिनलाई प्रदान गर्नुभएका विभिन्‍न परीक्षाहरूभित्रबाट आफैलाई चिन्‍न अनि आफूमा प्रकट भएको कुरा जाँच्न खोजे। जब पत्रुसले आफैलाई साँचो रूपमा बुझे, तब तिनले मानिसहरू कति गहन रूपमा भ्रष्ट भएका छन्, उनीहरू परमेश्‍वरको सेवा गर्नका निम्ति कति धेरै बेकम्मा र अयोग्य छन्, र उनीहरू परमेश्‍वरको सामु जिउन योग्य छैनन् भन्‍ने बुझे। त्यसपछि पत्रुस परमेश्‍वरको सामु लम्‍पसार परे। धेरै अनुभव प्राप्त गरेपछि, पत्रुसले यस्तो अनुभूति गरे, “परमेश्‍वरलाई चिन्‍नु नै सबैभन्दा अनमोल कुरा हो! यदि म उहाँलाई चिन्‍नुभन्दा पहिले नै मरेँ भने, त्यो दुःखको कुरा हुनेछ; परमेश्‍वरलाई चिन्‍नु नै सबैभन्दा महत्त्वपूर्ण, अर्थपूर्ण कुरा हो। यदि मानिसले परमेश्‍वरलाई चिन्दैन भने, ऊ जिउन योग्य हुँदैन, ऊ पशुसरह हुन्छ, र ऊसित जीवन हुँदैन।” पत्रुसको अनुभव यो अवस्थामा पुगिसक्दा, तिनले आफ्नो स्वभाव चिनिसकेका थिए र तिनले यसबारेमा तुलनात्मक रूपमा राम्रो बुझाइ प्राप्त गरिसकेका थिए। सायद पत्रुसले आजका मानिसहरूले जस्तो यसको स्पष्ट वर्णन गर्न सकेनन्, तापनि उनी साँच्‍चै यो अवस्थामा पुगेका थिए। त्यसकारण, सत्यता पछ्याउने बाटोमा हिँड्नु र परमेश्‍वरद्वारा सिद्धता प्राप्त गर्नका लागि मानिसले परमेश्‍वरका वाणीहरूबाट आफ्नो स्वभावलाई चिन्‍नु आवश्यक हुन्छ, साथै आफ्‍नो स्वभावका विभिन्‍न पक्षहरू बुझ्नु र शब्दहरूमा त्यसको सही वर्णन गर्नु, स्पष्ट र सरल रूपमा बोल्नु आवश्यक हुन्‍छ। यो मात्रै आफूलाई साँचो रूपमा चिन्‍नु हो, र यसरी मात्रै परमेश्‍वरले चाहनुभएको परिणाम तैँले प्राप्त गरेको हुन्छस्। यदि तेरो ज्ञान अहिलेसम्म यस बिन्दुमा पुगेको छैन, तर तैँले आफैलाई चिनेको दाबी गर्छस् र तैंले जीवन प्राप्त गरेको छस् भनी भन्छस् भने, के तैंले सेखी गरिरहेको हुँदैनस् र? तैँले आफैलाई चिन्दैनस्, न त परमेश्‍वरको अगाडि तँ के होस्, तैंले मानव हुनुका मापदण्डहरू साँच्‍चै पूरा गरेको छस् कि छैनस् वा तँभित्र अझै पनि कसरी धेरै शैतानिक तत्वहरू छन् भन्‍ने कुरा नै जान्दछस्। तँ कसको होस् भन्‍ने विषयमा तँ अझै पनि अस्पष्ट छस्, र तँसँग अझै पनि आफ्नै बारेमा कुनै ज्ञान छैन—त्यसैले परमेश्‍वरको सामु तँसँग कसरी तर्कशक्ति हुनसक्छ? जब पत्रुसले जीवनको खोजी गरिरहेका थिए, तिनले परीक्षाहरूको अवधिमा आफूलाई जाँच्न र आफ्नो स्वभाव बदल्‍नमा आफ्‍नो ध्यान केन्द्रित गरे, र तिनले परमेश्‍वरलाई चिन्‍ने प्रयास गरे। अनि अन्त्यमा तिनले सोचे, “मानिसहरूले जीवनमा परमेश्‍वरको ज्ञान खोज्नुपर्छ; उहाँलाई चिन्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि म परमेश्‍वरलाई चिन्दिनँ भने, म मरेपछि शान्तिमा विश्राम गर्न सक्दिनँ। मैले उहाँलाई चिनेपछि, यदि परमेश्‍वरले मलाई मर्नुपर्छ भनी भन्‍नुभयो भने, मलाई सबैभन्दा ठूलो सन्तुष्टि मिलेको अनुभूति हुनेछ। म अलिकति पनि गुनासो गर्नेछैनँ, र मेरो सम्पूर्ण जीवन पूर्ण हुनेछ।” पत्रुसले परमेश्‍वरमा विश्‍वास गर्न थाल्नासाथ उनी यस स्तरको बुझाइ प्राप्त गर्न वा तुरुन्तै यस बिन्दुमा पुग्‍न सक्षम भएनन्; बरु उनले धेरैपटक परीक्षाहरूमार्फत गुज्रनुपर्‍यो। तिनले परमेश्‍वरलाई चिन्‍नुको महत्त्वलाई अनुभूति गर्नुभन्दा पहिले, तिनको अनुभव एक निश्‍चित विन्दुसम्‍म पुग्‍नुपर्थ्यो, र तिनले आफूलाई पूर्ण रूपमा बुझ्नुपर्थ्यो। त्यसकारण, पत्रुसले लिएको मार्ग सत्यता पछ्याउने र जीवन प्राप्त गर्ने अनि सिद्ध तुल्याइने मार्ग थियो। तिनको निश्‍चित अभ्यास मुख्य रूपमा यही पक्षमा केन्द्रित थियो।

परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा, तिमीहरू अहिले कुन मार्गमा हिँडिरहेका छौ? यदि तँ पत्रुसले जसरी जीवन, आफैबारेको बुझाइ र परमेश्‍वरसम्बन्धी ज्ञानको खोजी गर्दैनस् भने, तँ पत्रुसको मार्गमा हिँडिरहेको छैनस्। आजभोलि, धेरैजसो मानिसहरू यस्तै प्रकारको अवस्थामा छन्: आशिषहरू प्राप्त गर्नको लागि, मैले आफूलाई परमेश्‍वरमा समर्पित गर्नुपर्दछ र उहाँको निम्ति मूल्य चुकाउनुपर्छ। आशिषहरू प्राप्त गर्नका लागि, मैले सबै कुरा परमेश्‍वरको लागि त्याग्‍नुपर्छ; मैले उहाँले मलाई सुम्पनुभएको काम पूरा गर्नुपर्छ र मैले मेरो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ। यस्तो स्थिति आशिषहरू पाउने अभिप्रायको प्रभुत्वमा हुन्छ, जुन परमेश्‍वरबाट इनाम र मुकुट प्राप्त गर्ने उद्देश्यले आफूलाई पूर्णतया उहाँमा अर्पण गर्नुको एउटा उदाहरण हो। त्यस्ता मानिसहरूको हृदयमा सत्यता हुँदैन, र यो निश्‍चित छ कि उनीहरूको बुझाइमा केही वचन र धर्मसिद्धान्त मात्र हुन्छ, जसलाई उनीहरूले जहाँ गए पनि देखाउँदै हिँड्छन्। उनीहरूको मार्ग पावलको मार्ग हो। त्यस्ता मानिसहरूको विश्‍वास भनेको निरन्तर परिश्रम गर्ने कार्य हो, र तिनीहरूले आफ्‍नो हृदयको गहिराइमा के सोचेका हुन्छन् भने, उनीहरूले जति धेरै परिश्रम गर्छन् त्यसले परमेश्‍वरप्रतिको उनीहरूको बफादारीतालाई त्यतिकै प्रमाणित गर्छ; उनीहरूले जति धेरै परिश्रम गर्छन्, उहाँ त्यति नै धेरै निश्‍चित रूपमा सन्तुष्ट हुनुहुनेछ; र उनीहरूले जति धेरै परिश्रम गर्छन्, उनीहरू त्यति नै बढी परमेश्‍वरद्वारा मुकुट प्राप्त गर्ने योग्यका हुनेछन्, र उनीहरूले पाउने आशिषहरू त्यति नै ठूला हुनेछन्। उनीहरूलाई के लाग्छ भने, यदि उनीहरूले कष्ट भोग्‍न, प्रचार गर्न र ख्रीष्टको लागि ज्यान दिन सके भने, यदि उनीहरूले आफ्नै जीवन बलिदान दिन सके भने, र यदि परमेश्‍वरले आफूलाई सुम्पनुभएका सबै जिम्मेवारीहरू उनीहरूले पूरा गर्न सके भने, उनीहरू परमेश्‍वरद्वारा सबैभन्दा बढी आशिषित हुने मानिसहरूमध्येमा पर्नेछन्, र उनीहरूले मुकुटहरू पाउने निश्‍चित हुनेछ। पावलले यही कल्पना गरेका थिए र तिनले यही कुरा खोजेका थिए। तिनले हिँडेको मार्ग ठीक यही थियो, र यस्तै विचारहरूको मार्गदर्शनमा तिनले परमेश्‍वरको सेवा गर्ने काम गरे। के त्यस्ता विचार र उद्देश्यहरू शैतानी स्वभावबाट उत्पन्‍न हुँदैनन् र? यो त पृथ्वीमा हुँदा आफू ज्ञानको पछि लाग्‍नुपर्छ, र त्यो प्राप्त गरेपछि भीडबाट माथि उठ्न, अधिकृतहरू बन्‍न र प्रतिष्ठा पाउन सकिन्छ भन्‍ने कुरामा विश्‍वास गर्ने सांसारिक मानिसहरू जस्तै हो। उनीहरूलाई के लाग्छ भने, प्रतिष्ठा प्राप्त गरेपछि उनीहरूले आफ्नो महत्वाकांक्षालाई पूरा गर्न र आफ्‍ना व्यवसायहरू र पारिवारिक अभ्यासलाई समृद्धिको एक निश्‍चित तहसम्म ल्याउन सक्छन्। के सबै गैर-विश्‍वासीहरू यही मार्गमा हिँड्दैनन् र? यो शैतानी स्वभावको प्रभुत्वमा परेका मानिसहरू आफ्नो विश्‍वासमा पावलजस्तो मात्र हुन सक्छन्। उनीहरू सोच्छन्: “आफैलाई परमेश्‍वरको निम्ति अर्पण गर्न मैले सबै कुरा त्याग्‍नुपर्छ। म परमेश्‍वरको सामु वफादार हुनैपर्छ र आखिरमा, मैले अवश्य नै ठूला इनाम र ठूला मुकुट पाउनेछु।” सांसारिक थोकहरूको पछि लाग्‍ने सांसारिक मानिसहरूको मनोवृत्ति पनि यस्तै हुन्छ। उनीहरू कुनै पनि हालतमा फरक हुँदैनन्, र उनीहरू उस्तै प्रकृतिको अधीनमा हुन्छन्। जब संसारमा मानिसहरूसित यस प्रकारको शैतानी स्वभाव हुन्छ, तब उनीहरूले ज्ञान, शिक्षा प्राप्त गर्न खोज्छन्, प्रतिष्ठा, र भीडभन्दा अलग हुन खोज्छन्। उनीहरूले परमेश्‍वरमा विश्‍वास गरे भने, ठूला मुकुट र ठूला आशिष्‌हरू पाउने कोसिस गर्नेछन्। परमेश्‍वरमा विश्‍वास गरेपछि, यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, निश्‍चय नै उनीहरूले यही मार्ग लिनेछन्। यो अपरिवर्तनीय तथ्य हो, र यो प्राकृतिक नियम हो। सत्यता नपछ्याउने मानिसहरूले हिँड्ने मार्ग पत्रुसको भन्दा बिलकुलै विपरीत मार्ग हो। तिमीहरू सबै अहिले कुन मार्गमा छौ? तैंले पावलको मार्ग अपनाउने योजना गरेको नभए पनि, तेरो प्रकृतिले नै तँ यस बाटोमा हिँड्छस्, र तँ आफै त्यस दिशामा जाँदैछस् भन्‍ने देखाउँछ। तैंले पत्रुसको मार्गमा पाइला टेक्‍न चाहे पनि, यदि कसरी त्यसो गर्ने भन्‍नेबारे तँ स्पष्ट छैनस् भने, तैँले नचाहेर पनि पावलको मार्ग अपनाउनेछस्: परिस्थितिको वास्तविकता यही हो। आजको समयमा व्यक्ति कसरी पत्रुसको मार्गमा हिँड्नुपर्छ? यदि तैँले पत्रुस र पावलका मार्गहरू बीचको भिन्‍नतालाई छुट्याउन सक्दैनस् भने, वा यदि तँ तीप्रति खासै परिचित छैनस् भने, तैंले पत्रुसको बाटोमा हिँड्छु भनेर जति नै दाबी गरे पनि, तेरा शब्दहरू बस खोक्रा हुन्छन्। सबभन्दा पहिले, तैँले पत्रुसको मार्ग के हो र पावलको मार्ग के हो भनेर स्पष्टसित बुझ्नुपर्छ। जब तैँले पत्रुसको मार्ग नै जीवनको पछि लाग्‍ने मार्ग हो, र सिद्धतामा पुग्‍ने एउटै मात्र मार्ग हो भनेर बुझ्छस्, तब मात्र तँ पत्रुसको मार्गमा हिँड्न, तिनले खोजी गरेजसरी नै खोजी गर्न, र तिनले अभ्यास गरेका सिद्धान्तहरू अभ्यास गर्न सक्छस्। यदि तैँले पत्रुसको मार्गलाई बुझ्दैनस् भने, तैंले लिने मार्ग पावलको मार्ग हुने निश्‍चित छ, किनकि तेरो निम्ति अर्को कुनै मार्ग हुनेछैन; तँसँग यस मामिलामा कुनै विकल्प हुनेछैन। सत्यता नबुझ्ने र सत्यता पछ्याउन नसक्‍ने मानिसहरूमा संकल्प छ नै भने पनि उनीहरूलाई पत्रुसको बाटोमा हिँड्न गाह्रो हुनेछ। यो भन्‍न सकिन्छ कि परमेश्‍वरले अहिले तिमीहरूलाई मुक्ति र सिद्धताको मार्ग प्रकट गरिदिनु उहाँले तिमीहरूलाई अनुग्रह र उत्थान गर्नुभएको कुरा हो। तिमीहरूलाई पत्रुसको मार्गमा डोर्‍याउनुहुने उहाँ नै हुनुहुन्छ। परमेश्‍वरको मार्गदर्शन र अन्तर्दृष्टिविना, कसैले पनि पत्रुसको मार्ग लिन सक्‍नेछैन, र एकमात्र विकल्प भनेको पावलको विनाशका पाइलाहरू पछ्याउँदै पावलको मार्गमा झर्नु मात्र हुनेछ। त्यो बेला पावललाई त्यो बाटोमा हिँड्नु गलत हो जस्तो लागेको थिएन; तिनले यो बाटो नै सही हो भनी पूर्ण विश्‍वास गरेका थिए। तिनले सत्यता प्राप्त गरेनन्, र खास गरी तिनको स्वभावमा परिवर्तन आएन। तिनले आफैमा धेरै नै विश्‍वास गर्थे, र त्यसरी विश्‍वास गर्नुमा अलिकति पनि समस्या छैन भन्‍ने तिनलाई लागेको थियो। तिनी पूर्ण हिम्मतसाथ र पूर्ण आत्मविश्‍वाससाथ निरन्तर अगाडि बढिरहे। अन्त्यमा, तिनी कहिल्यै होसमा आएनन्। तिनले अझै पनि तिनी जिउनु भनेको ख्रीष्ट हो भन्‍ने सोचे। त्यसरी, पावल आखिरीसम्म त्यही ओह्रालो बाटोमा हिँडिरहे, अनि त्यस बेला अन्त्यमा तिनलाई दण्ड दिइयो, र तिनका निम्ति सबै कुरा समाप्त भयो। पावलको मार्गमा तिनी आफैलाई चिन्‍ने कुरा समावेश थिएन, स्वभावमा परिवर्तन गर्ने कुरा त निकै परको कुरा थियो। तिनले आफ्नै प्रकृतिको बारेमा कहिल्यै पनि विश्लेषण गरेनन्, न त तिनी के थिए भन्‍ने कुराको बारेमा नै तिनले कुनै ज्ञान प्राप्त गरे। तिनले यति मात्र जान्दथे कि येशूलाई गरिएको सतावटको मुख्य दोषी तिनी नै थिए। तर तिनले आफ्नै स्वभावको बारेमा अलिकति पनि ज्ञान प्राप्त गरेका थिएनन्, र आफ्‍नो काम समाप्त गरेपछि, तिनलाई वास्तवमा आफूले ख्रीष्टको रूपमा जिइरहेको छु र आफूले इनाम पाउनुपर्छ भन्‍ने लागेको थियो। पावलले गरेका काम केवल परमेश्‍वरका निम्ति गरिएको सेवा थियो। किनकि व्यक्तिगत रूपमा, पावलले पवित्र आत्माबाट केही प्रकाश प्राप्त गरेका भए पनि, तिनले एउटै पनि सत्यता वा जीवन हासिल गरेका थिएनन्। त्यसकारण, तिनलाई परमेश्‍वरले मुक्ति दिनुभएको थिएन। बरु, तिनलाई परमेश्‍वरले सजाय दिनुभएको थियो। पत्रुसको मार्गलाई किन सिद्धतामा पुऱ्याउने मार्ग भनेर भनिन्छ? किनकि, पत्रुसको अभ्यासमा तिनले जीवनलाई, परमेश्‍वरलाई चिन्‍न खोज्ने कार्यलाई, र आफैलाई चिन्‍ने कुरालाई विशेष जोड दिए। परमेश्‍वरको काम सम्‍बन्धी तिनको अनुभवबाट तिनले आफैलाई चिन्‍न सके, मानिसका भ्रष्ट अवस्थाहरूको ज्ञान प्राप्त गर्न सके, आफ्नै कमीहरूको बारेमा थाहा पाए, र मानिसहरूले अनुसरण गर्नुपर्ने सबैभन्दा मूल्यवान् कुरा पत्ता लगाए। तिनले परमेश्‍वरलाई साँचो प्रेम गर्न सके, तिनले परमेश्‍वरको ऋण कसरी चुकाउनुपर्छ भन्‍ने कुरा जाने, तिनले केही सत्यता प्राप्त गरे, र परमेश्‍वरले माग गर्नुभएका केही वास्तविकता तिनमा थियो। पत्रुसले आफ्‍ना परीक्षाहरूको अवधिमा बोलेका सबै कुराबाट यो बुझ्न सकिन्छ, कि तिनी वास्तवमा परमेश्‍वरलाई सबैभन्दा धेरै बुझ्ने व्यक्ति थिए। तिनले परमेश्‍वरको वचनबाट धेरै सत्यता बुझ्न सकेका हुनाले, तिनको मार्ग उज्यालो र चहकिलो हुँदै गयो, र झन्-झन् बढी परमेश्‍वरको अभिप्रायसँग मिल्दै गयो। यदि पत्रुसमा यो सत्यता नभएको भए, तिनले लिएको मार्ग त्यत्ति धेरै सही हुनेथिएन।

अझै पनि प्रश्‍न उठ्छः तँलाई पत्रुसको मार्ग के हो भन्‍ने थाहा छ भने, के तैँले त्यो मार्ग हिँड्न सक्छस्? यो एक वास्तविक प्रश्‍न हो। तैँले कस्ता व्यक्ति पत्रुसको मार्गमा हिँड्न सक्छन् र कस्ता व्यक्ति सक्दैनन् भनी प्रस्ट रूपले छुट्याउन सक्‍नुपर्छ। पत्रुसको मार्गमा हिँड्नेहरू सही प्रकारका व्यक्तिहरू हुनुपर्छ। यदि तँ सही खालको व्यक्ति होस् भने मात्र तँलाई सिद्ध पार्न सकिन्छ। यदि मानिसहरू सही खालका व्यक्ति होइनन् भने तिनीहरूलाई सिद्ध पार्न सकिन्‍न। पावलजस्ता मानिसहरू पत्रुसको मार्गमा हिँड्न सक्दैनन्। कुनै निश्‍चित खालका व्यक्तिहरू कुनै निश्‍चित मार्गमा हिँड्छन्। यो पूर्णतया तिनीहरूको प्रकृतिले निर्धारण गर्छ। तैँले शैतानलाई पत्रुसको मार्गबारे जतिसुकै प्रष्ट रूपमा बताए पनि, त्यसले त्यो मार्ग हिँड्न सक्दैन। त्यसले चाह्यो नै भने पनि त्यो मार्ग हिँड्न सक्दैन। त्यसको प्रकृतिले नै त्यसले पत्रुसको मार्ग हिँड्न सक्दैन भन्‍ने निर्धारित गरेको हुन्छ। सत्यतालाई प्रेम गर्नेहरू मात्र पत्रुसको मार्गमा हिँड्न सक्छन्। “नानीदेखि लागेको बानी बदल्न सकिँदैन!” यो सत्य हो। तेरो प्रकृतिमा सत्यताप्रति प्रेमको कुनै तत्त्व छैनन् भने, तँ पत्रुसको मार्गमा हिँड्न सक्दैनस्। यदि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस्, तेरो भ्रष्ट स्वभावका बाबजुद पनि तँ सत्यता स्विकार्न सक्छस्, र तैँले पवित्र आत्माको काम ग्रहण गर्न र परमेश्‍वरको अभिप्राय बुझ्न सक्छस् भने, यसरी तैँले देहविरुद्ध विद्रोह गर्न र परमेश्‍वरको योजनामा समर्पित हुन सक्‍नेछस्। जब केही परीक्षाहरू भोगेपछि तेरो स्वभावमा परिवर्तन आउँछ, यसको मतलब तँ पत्रुसको सिद्ध हुने मार्गतर्फ बिस्तारै लाग्दै छस्।

हिउँद, १९९८

अघिल्लो: प्रार्थनाको महत्त्व र त्यसको अभ्यास

अर्को: कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्