परमेश्‍वरको इच्छा अनुसार कसरी सेवा गर्ने

जब कुनै व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्छ, तब उसले सटीक रूपले उहाँको सेवा कसरी गर्नुपर्छ त? परमेश्‍वरको सेवा गर्नेहरूले के-कस्ता सर्तहरू पूरा गर्नुपर्छ र कुन-कुन सत्यताहरू बुझ्नुपर्छ? अनि तिमीहरूले आफ्नो सेवामा कहाँनेर बाटो बिराइरहेका हुन सक्छौ? तिमीहरूले यी सबै कुराहरूको उत्तर जान्नुपर्छ। यी विषयहरूले तिमीहरू परमेश्‍वरमा कसरी विश्‍वास गर्छौ, अनि पवित्र आत्माले डोऱ्याउनुहुने बाटोमा कसरी हिँड्छौ र सबै कुरामा परमेश्‍वरको योजनाबद्ध कार्यहरूमा कसरी समर्पित हुन्छौ भन्‍ने कुरालाई छुन्छन्, अनि तिनले तिमीहरूलाई तिमीहरूमा हुने परमेश्‍वरको कामको हरेक कदम बुझाउँछन्। जब तिमीहरू त्यस बिन्दुमा पुग्छौ, तब तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो, परमेश्‍वरमा कसरी सही प्रकारले विश्‍वास गर्ने, र परमेश्‍वरको इच्छासित एकतामा काम गर्नका निम्ति तिमीहरूले के गर्नुपर्छ त्यो बुझ्नेछौ। यसले तिमीहरूलाई परमेश्‍वरको कामप्रति पूरा र सम्पूर्ण रूपमा आज्ञाकारी बनाउनेछ; तिमीहरूमा कुनै गुनासो हुनेछैन, तिमीहरूले आलोचना गर्नेछैनौ, वा विश्लेषण गर्नेछैनौ, परमेश्‍वरको कामको खोजको कुरा त परै छाडौं। यसरी, तिमीहरूले आफूलाई डोर्याएर भेडालाई जस्तै मार्ने अनुमति परमेश्‍वरलाई दिँदै मृत्युसम्‍मै परमेश्‍वरको आज्ञापालन गर्नेछौ, यसरी तिमीहरू सबै १९९० को दसकका पत्रुसहरू बन्न सक्नेछौ अनि अलिकति पनि गुनासो नगरी, क्रूसमा चढ्नुपऱ्यो भने पनि परमेश्‍वरलाई प्रेम गर्न सक्नेछौ। तब मात्र तिमीहरू १९९० को दसकका पत्रुसहरू जस्तो भएर जिउन सक्नेछौ।

संकल्प गरेका सबैले परमेश्‍वरको सेवा गर्न सक्दछन्—तर परमेश्‍वरको इच्छालाई पूरा ध्यान दिने र परमेश्‍वरको इच्छा बुझ्ने व्यक्तिहरू मात्र परमेश्‍वरको सेवा गर्ने योग्यका र हकदार हुनेछन्। मैले तिमीहरूको बीचमा यो थाहा पाएको छु: धेरै मानिसहरूले जोसिलो भएर परमेश्‍वरको निम्ति सुसमाचार फैलाउँछन्, परमेश्‍वरको निम्ति अघि बढ्छन्, आफैलाई समर्पित गर्छन् र परमेश्‍वरका निम्ति केही कुरा त्याग्छन्, र त्यस्तै अरू कुराहरू गर्छन् भने, त्यसलाई परमेश्‍वरको सेवा हो भनी विश्‍वास गर्छन्। अझ धेरै धार्मिक मानिसहरू त हातमा बाइबल लिएर यताउति दगुर्नु, स्वर्गको राज्यको सुसमाचार फैलाउनु, र मानिसहरूलाई पश्चात्ताप र पाप-स्वीकार गर्न लगाएर मुक्त गर्नु परमेश्‍वरको सेवा गर्नु हो भनी विश्‍वास गर्छन्। यस्ता धेरै धार्मिक अगुवाहरू पनि छन्, जसले परमेश्‍वरको सेवा गर्नु भनेको उच्च अध्ययन गरेर अनि सेमिनरीमा तालिम लिएर च्यापलमा प्रचार गर्नु र बाइबलका शास्त्रहरू पढेर मानिसहरूलाई शिक्षा दिनु हो भनी विचार गर्छन्। यसबाहेक, गरिब क्षेत्रहरूमा यस्ता मानिसहरू हुन्छन् जसले परमेश्‍वरको सेवा गर्नु भनेको बिरामीलाई निको पार्नु र तिनीहरूका दाजुभाइ-दिदीबहिनीहरूको बीचमा भएका भूतात्माहरू निकाल्नु वा उनीहरूका निम्ति प्रार्थना गर्नु, वा उनीहरूको सेवा गर्नु हो भनी विश्‍वास गर्छन्। तिमीहरूको बीचमा धेरै जना यस्ता मानिसहरू छन्, जसले परमेश्‍वरको सेवा गर्नु भनेको परमेश्‍वरको वचनहरू खानु र पिउनु, हरेक दिन परमेश्‍वरसँग प्रार्थना गर्नु साथै सबैतिरका मण्डलीहरूमा भेटघाट गर्न जानु र कामहरू गर्नु हो भनी विश्‍वास गर्छन्। अरू दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरको सेवा गर्नु भनेको कहिल्यै विवाह नगर्नु वा परिवार खडा नगर्नु र आफ्नो सम्पूर्ण अस्तित्व परमेश्‍वरमा समर्पण गर्नु हो भनी विश्‍वास गर्छन्। तापनि परमेश्‍वरको सेवा गर्नु भनेको के हो सो थोरै मानिसहरूले मात्रै साँचो रूपमा जानेका हुन्छन्। परमेश्‍वरको सेवा गर्ने मानिसहरू आकाशका ताराहरू जत्तिकै धेरै भए पनि प्रत्यक्ष रूपमा र परमेश्‍वरको इच्छाअनुसार सेवा गर्नेहरूको सङ्ख्या नगण्य—अत्यन्तै रूपमा कम छ। म किन यो कुरा भन्दछु? यसकारण भन्दछु, कि तिमीहरू “परमेश्‍वरको सेवा” भन्‍ने वाक्यांशको सारलाई बुझ्दैनौ, अनि परमेश्‍वरको इच्छाअनुसार कसरी सेवा गर्ने भन्‍ने कुरा त झनै कम बुझ्छौ। परमेश्‍वरको निम्ति गरिएको कस्तो सेवा वास्तवमा उहाँको इच्छा अनुरूप हुन्छ भन्‍ने कुरा मानिसहरूले झट्टै बुझ्नु आवश्यक हुन्छ।

यदि तिमीहरू परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न चाहन्छौ भने, पहिले तिमीहरूले यो बुझ्नुपर्छ कि, परमेश्‍वरका निम्ति कस्ता मानिसहरू मनपर्दा हुन्छन्, परमेश्‍वरले कस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ, परमेश्‍वरले कस्ता मानिसहरूलाई सिद्ध बनाउनुहुन्छ र कस्ता मानिसहरू परमेश्‍वरको सेवा गर्न योग्यका हुन्छन्। कम्तीमा पनि तिमीहरूमा यो ज्ञान हुनुपर्छ। यसबाहेक, तिमीहरूले परमेश्‍वरको कामको लक्ष्य अनि परमेश्‍वरले यहाँ र अहिले गर्नुहुने कामको बारेमा जान्नुपर्छ। यो कुरा बुझेपछि, अनि परमेश्‍वरको वचनको मार्गदर्शनद्वारा तिमीहरूले पहिले प्रवेश पाउनुपर्छ र परमेश्‍वरको आज्ञा प्राप्त गर्नुपर्छ। तिमीहरूले परमेश्‍वरका वचनहरू वास्तविक रूपमा अनुभव गरेपछि, र साँच्चै परमेश्‍वरको कामलाई जानेपछि, तिमीहरू परमेश्‍वरको सेवा गर्न योग्यका बन्नेछौ। अनि जब तिमीहरू उहाँको सेवा गर्छौ, त्यस बेला परमेश्‍वरले तिमीहरूका आत्मिक आँखाहरू खोलिदिनुहुनेछ र तिमीहरूलाई उहाँको कामलाई अझ राम्ररी बुझ्ने र त्यसलाई स्पष्ट रूपमा देख्ने बनाउनुहुनेछ। जब तिमीहरू यस वास्तविकतामा प्रवेश गर्छौ, तब तिमीहरूका अनुभवहरू अझ गहन र वास्तविक बन्नेछन्, अनि त्यस्ता अनुभवहरू प्राप्त गर्ने तिमीहरू सबै मण्डलीहरूको माझमा हिँड्न सक्नेछौ अनि आफ्ना दाजुभाइ, दिदी-बहिनीहरूका निम्ति प्रबन्ध गरिदिन सक्नेछौ, यसरी तिमीहरू प्रत्येकले एक-अर्काको सबल पक्षले आफ्नै कमीहरूलाई कम गर्न सक्नेछौ, अनि आफ्‍नो आत्मामा अझ राम्ररी ज्ञान प्राप्त गर्नेछौ। यस्ता वास्तविकता प्राप्त गरिसकेपछि मात्र तिमीहरूले परमेश्‍वरको इच्छाअनुसार सेवा गर्ने बन्नेछौ र तिमीहरूको सेवाको अवधिमा परमेश्‍वरद्वारा सिद्ध बनाइनेछौ।

परमेश्‍वरको सेवा गर्नेहरू परमेश्‍वरका घनिष्ठहरू हुनुपर्छ, तिनीहरू परमेश्‍वरलाई मनपर्दो हुनुपर्छ र परमेश्‍वरप्रति अत्याधिक बफादार हुन सक्ने हुनुपर्छ। चाहे तिमीहरू एकान्तमा व्यवहार गर वा सार्वजनिक स्थानमा, तिमीहरूले परमेश्‍वरको सामु परमेश्‍वरको आनन्द प्राप्त गर्न सक्छौ, तिमीहरू परमेश्‍वरको सामु दह्रिलो भई खडा हुन सक्छौ, अनि अरू मानिसहरूले तिमीहरूसँग जस्तोसुकै व्यवहार गरे पनि तिमीहरूले हिँड्नुपर्ने बाटो हिँड्नेछौ, अनि परमेश्‍वरको बोझलाई पूर्ण ध्यान दिनेछौ। यस्ता मानिसहरू मात्र परमेश्‍वरका घनिष्ठहरू हुन्। परमेश्‍वरसित घनिष्ठ रहेका व्यक्तिहरूले प्रत्यक्ष रूपमा उहाँको सेवा गर्न सक्छन्, किनकि तिनीहरूलाई परमेश्‍वरको महान् आज्ञा र परमेश्‍वरको बोझ दिइएको हुन्छ, तिनीहरू परमेश्‍वरको हृदयलाई आफ्नो हृदय बनाउन सक्षम हुन्छन्, र परमेश्‍वरको बोझलाई आफ्नै बोझ जस्तो गरी लिन्छन्, र तिनीहरूले आफ्नो भविष्यका सम्भावनाहरूमाथि विचार गर्दैनन्: तिनीहरूको कुनै सम्भावना नहुँदा, र तिनीहरूले केही कुरा प्राप्त गर्न नसक्‍ने हुँदा पनि, परमेश्‍वरलाई प्रेम गर्ने हृदयले सधैँ परमेश्‍वरमा विश्‍वास गर्छन्। यसैले यस्तो व्यक्ति परमेश्‍वरसँग घनिष्ठ हुन्छ। परमेश्‍वरसँग घनिष्ठ रहेका मानिसहरू परमेश्‍वरका विश्‍वासपात्रहरू पनि हुन्; परमेश्‍वरसँग घनिष्ठ रहेका व्यक्तिहरू मात्र उहाँको बेचैनी र उहाँका विचारहरूमा सहभागी हुन सक्छन्, अनि तिनीहरूका देह कष्टमय र कमजोर भए पनि, तिनीहरूले कष्ट सहन सक्छन्, अनि परमेश्‍वरलाई प्रसन्न तुल्याउनका निम्ति आफूलाई मन परेको थोक त्याग्छन्। त्यस्ता मानिसहरूलाई परमेश्‍वरले अझ बढी बोझहरू दिनुहुन्छ, अनि परमेश्‍वरले गर्न चाहनुभएको कुरा त्यस्ता मानिसहरूको गवाहीमा उत्पन्न हुँदछ। यसैले, यस्ता मानिसहरू परमेश्‍वरका निम्ति मनपर्दो हुन्छन्, तिनीहरू परमेश्‍वरको आफ्नै हृदय अनुसारका परमेश्‍वरका सेवकहरू हुन्, त्यस्ता मानिसहरूले मात्र परमेश्‍वरसँग मिलेर शासन गर्न सक्छन्। जब तँ साँच्चै परमेश्‍वरप्रति घनिष्ठ व्यक्ति बनेको हुन्छस्, तैँले परमेश्‍वरसित शासन गर्ने बेला ठीक त्यही हो।

येशूले परमेश्‍वरको आज्ञा पूरा गर्न—अर्थात् सारा मानवजातिको छुटकाराको काम गर्न सक्षम हुनुहुन्थ्यो—किनकि उहाँले आफ्नै निम्ति कुनै योजनाहरू वा बन्दोबस्तहरू नगरी परमेश्‍वरको इच्छामा पूरा ध्यान दिनुभयो। त्यसै पनि, उहाँ परमेश्‍वर, अर्थात् परमेश्‍वर स्वयम्‌सँग अति घनिष्ठ हुनुहुन्थ्यो, जुन कुरा तिमीहरू सबैले राम्ररी बुझ्दछौ। (वास्तवमा, उहाँ परमेश्‍वर स्वयम्‌ हुनुहुन्थ्यो, जुन कुराको साक्षी परमेश्‍वरले दिनुभयो। मैले यस विषयमा उदाहरण दिनका निम्ति येशूका तथ्यहरू प्रयोग गर्न यहाँ यो कुरा भन्दैछु।) उहाँले परमेश्‍वरको व्यवस्थापन योजनालाई केन्द्रमा राख्न सक्‍नुहुन्थ्यो, अनि सधैँ स्वर्गमा हुनुहुने पितासँग प्रार्थना गर्नुभयो र उहाँको इच्छा खोज्नुभयो। उहाँले प्रार्थना गर्दै भन्नुभयो: “हे परमेश्‍वर पिता! तपाईंको इच्छा जे छ त्यो पूरा गर्नुहोस्, अनि मेरा इच्छाहरू अनुसार होइन, तर तपाईंको योजनाअनुसार काम गर्नुहोस्। मानिस कमजोर हुन सक्छ, तर तपाईं त्यसको किन वास्ता गर्नुहुन्छ? मानिस तपाईंको वास्ता पाउने योग्यको कसरी बन्न सक्छ? अर्थात् मानिस, जो तपाईंको हातमा एउटा कमिला जस्तो छ? मेरो हृदयमा, म तपाईंको इच्छा मात्र पूरा गर्न चाहन्छु, अनि तपाईंले आफ्नो इच्छाअनुसार ममा जे गर्न चाहनुहुन्छ त्यो गर्नुहोस् भन्‍ने म चाहन्छु।” यरूशलेमतर्फ जाने बाटोमा येशू ठूलो वेदनामा हुनुहुन्थ्यो, मानौं उहाँको मुटुमा छुरी रोपेको थियो, तापनि उहाँमा आफ्नो वचनबाट पछि फर्कने अलिकति पनि इच्छा थिएन; सधैँ एउटा प्रबल शक्तिले काम गरिरहेको थियो, र त्यो शक्तिले उहाँलाई क्रूसमा टाँगिने स्थानतर्फ बढ्न बाध्य बनायो। अन्त्यमा, उहाँलाई क्रूसमा टाँगियो र मानवजातिको छुटकाराको काम पूरा गर्दै उहाँ पापी मानिस सरह हुनुभयो। उहाँ मृत्यु र पातलका बन्धनहरू तोडेर स्वतन्त्र हुनुभयो। उहाँको सामुन्ने मृत्यु, नरक र पातालले आफ्‍नो शक्ति गुमाए, र उहाँद्वारा पराजित भए। उहाँ तेत्तीस वर्ष जिउनुभयो, ती अवधिभरि उहाँले सधैँ त्यस बेलाको परमेश्‍वरको कामअनुसार परमेश्‍वरकै इच्छा पूरा गर्ने सक्दो कोसिस गर्नुभयो, उहाँले आफ्नो फाइदा वा नोक्‍सानीको बारेमा कहिल्यै पनि विचार गर्नुभएन, अनि सधैँ परमेश्‍वर पिताको इच्छाको बारेमा सोच्नुहुन्थ्यो। यसैकारण उहाँको बप्तिस्मा भएपछि परमेश्‍वरले यसो भन्नुभएको थियो: “यो मेरो प्रिय पुत्र हो, जसप्रति म अति प्रसन्न छु।” परमेश्‍वरको सामुन्ने उहाँले गर्नुभएको सेवा, जुन परमेश्‍वरको इच्छाअनुरूप थियो, त्यसैले गर्दा परमेश्‍वरले सारा मानवजातिलाई छुटकारा दिने गह्रौं काम उहाँको काँधमा राखिदिनुभयो र त्यो पूरा गर्न लगाउनुभयो, अनि त्यो महत्त्वपूर्ण काम पूरा गर्न उहाँ योग्य हुनुहुन्थ्यो र उहाँलाई अधिकार दिइएको थियो। उहाँले आफ्नो जीवनभरि परमेश्‍वरको निम्ति असीमित दुःखहरू भोग्नुभयो, अनि शैतानद्वारा उहाँको अनगिन्ती पटक परीक्षा भयो, तर उहाँ कहिल्यै निराश हुनुभएन। परमेश्‍वरले उहाँलाई भरोसा, र प्रेम गर्नुभएको कारणले गर्दा उहाँलाई यति ठूलो काम दिनुभयो, यसैले परमेश्‍वरले व्यक्तिगत रूपमा यसो भन्नुभयो: “यो मेरो प्रिय पुत्र हो, जसप्रति म अति प्रसन्न छु।” त्यस बेला, येशूले मात्र त्यो आज्ञा पूरा गर्न सक्नुहुन्थ्यो, अनि परमेश्‍वरले अनुग्रहको युगमा सारा मानवजातिलाई छुटकारा दिने काम पूरा गर्ने कार्यको यो एउटा व्यावहारिक पक्ष थियो।

यदि येशूजस्तै तिमीहरूले पनि परमेश्‍वरको बोझलाई पूर्ण रूपमा ध्यान दिन्छौ र तिमीहरूका देहलाई त्याग्छौ भने, परमेश्‍वरले उहाँका महत्त्वपूर्ण कामहरू तिमीहरूलाई सुम्पनुहुनेछ, त्यसरी तिमीहरूले परमेश्‍वरको सेवा गर्नका निम्ति चाहिने सर्तहरू पूरा गर्नेछौ। त्यस्ता परिस्थितिहरूमा पर्दा मात्र तिमीहरूले परमेश्‍वरको इच्छा पूरा गर्दैछौ र उहाँले दिनुभएको आज्ञा पूरा गर्दैछौ भनी भन्‍ने साहस गर्छौ, अनि मात्र तिमीहरूले साँच्चै परमेश्‍वरको सेवा गर्दैछौ भनी भन्‍ने साहस गर्छौ। येशूको उदाहरणसँग तुलना गर्दा, के तैँले तँ परमेश्‍वरसित घनिष्ठ छस् भनी भन्‍ने साहस गर्छस्? के तैँले परमेश्‍वरको इच्छा पूरा गर्दैछु भनी भन्‍ने साहस गर्छस्? के तैँले साँच्चै परमेश्‍वरको सेवा गर्दैछु भनी भन्‍ने साहस गर्छस्? आज तैँले परमेश्‍वरको सेवा कसरी गर्ने सो बुझ्दैनस्, के तैँले परमेश्‍वरसित घनिष्ठ छु भनी भन्‍ने साहस गर्छस्? यदि तैँले परमेश्‍वरको सेवा गर्दैछु भनी भन्छस् भने के तैँले उहाँको विरुद्धमा ईश्‍वर-निन्दा गर्दैनस् र? यस विषयमा विचार गर्: तैँले परमेश्‍वरको सेवा गर्दैछस् कि आफ्नै सेवा गर्दैछस्? तँ शैतानको सेवा गर्छस्, तापनि हठी बन्दै अझ परमेश्‍वरकै सेवा गरिरहेको छु भनी भन्छस्—के यसो गरेर तैँले ईश्‍वर-निन्दा गर्दैनस् र? मेरो पिठिउँ पछाडि धेरै जना मानिसहरू सामाजिक प्रतिष्ठाका लाभहरू पाउने लालसा गर्छन्, तिनीहरू घाँटीसम्म आउने गरी खान्छन्, तिनीहरू सुत्न मन पराउँछन् र देहमा पूरा ध्यान दिन्छन्, देहको लागि कुनै उपाय छैन भनी सधैँ डराउँछन्। तिनीहरू मण्डलीमा आफूले गर्नुपर्ने उचित काम गर्दैनन्, तर मण्डलीको उदारताको फाइदा उठाउँछन्, वा कि त तिनीहरूका दाजुभाइ र दिदी-बहिनीहरूलाई मेरा वचनहरूद्वारा हप्काउँछन्, अधिकारका स्थानहरूमा बसेर अरूमाथि हुकुम चलाउँछन्। यस्ता मानिसहरू आफूले परमेश्‍वरको इच्छा पूरा गरिरहेका छौं भन्छन्—र तिनीहरू परमेश्‍वरका घनिष्ठ मानिसहरू हुन् भनी सधैँ भन्‍ने गर्छन्—के यो हास्यास्पद कुरा होइन त? यदि तेरो उद्देश्यहरू सही छन् तापनि परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न सक्दैनस् भने तँ मूर्ख बन्दैछस्; तर यदि तेरो उद्देश्यहरू सही छैनन् भने र पनि परमेश्‍वरको सेवा गर्दै छस् भन्छस् भने तँ त्यस्तो व्यक्ति हो जसले परमेश्‍वरको विरोध गर्छ, र तैँले परमेश्‍वरबाट दण्ड पाउनुपर्छ। त्यस्ता मानिसहरूप्रति मेरो कुनै सहानुभूति छैन। परमेश्‍वरको भवनमा तिनीहरू सित्तैँमा फाइदा उठाउँछन्, सधैँ देहको आराम-सुविधाको लालसा गर्छन्, अनि परमेश्‍वरको चासोका कुराहरूमा कुनै ध्यान दिँदैनन्। तिनीहरू सधैँ आफ्नो निम्ति जे असल छ त्यसैको मात्र खोजी गर्छन्, अनि तिनीहरूले परमेश्‍वरको इच्छामा कुनै ध्यान दिँदैनन्। तिनीहरूले आफूले गरेको कुनै पनि कार्यमा परमेश्‍वरका आत्माले गर्नुहुने सूक्ष्म जाँचलाई स्वीकार गर्दैनन्। तिनीहरूले सधैँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग चलाखी र छल गर्छन्, अनि दाखबारीमा आउने चतुर स्याल जस्तो भएर तिनीहरू अङ्गुर चोर्छन् र दाखबारी कुल्चीमिल्ची गर्छन्। के त्यस्ता मानिसहरू परमेश्‍वरसित घनिष्ठ हुन सक्छन्? के तँ परमेश्‍वरका आशिषहरू पाउने योग्यको छस्? तैँले आफ्नै जीवन र मण्डलीको निम्ति कुनै बोझ उठाउँदैनस्, के तँ परमेश्‍वरको आज्ञा पाउने योग्यको छस्? तँजस्तो व्यक्तिलाई भरोसा गर्ने आँट कसले गर्ला? जब तैँले यसरी सेवा गर्छस् के परमेश्‍वरले तँलाई अझ ठूला कामहरू सुम्पनुहुन्छ होला? के त्यसले काम अझ ढिलो गराउँदैन र?

परमेश्‍वरको इच्छाअनुसारको सेवा गर्न कुन-कुन सर्तहरू पूरा गर्नुपर्छ त्यो तिमीहरूले जान भनेर मैले यो कुरा भनिरहेको छु। यदि तिमीहरू आफ्नो हृदय परमेश्‍वरलाई दिँदैनौ भने, यदि तिमीहरूले येशूले जस्तै परमेश्‍वरको इच्छामा पूरा ध्यान दिँदैनौ भने, परमेश्‍वरले तिमीहरूमाथि भरोसा गर्न सक्नुहुन्न, अनि अन्त्यमा तिमीहरूले परमेश्‍वरबाट दण्ड पाउनेछौ। सायद, आज परमेश्‍वरको निम्ति तैँले गर्ने सेवामा सधैँ परमेश्‍वरलाई धोखा दिने उद्देश्य राख्छस् र लापरवाहीसाथ उहाँसित व्यवहार गर्छस् होला। संक्षेपमा भन्नुपर्दा, चाहे जे नै भए पनि यदि तँ परमेश्‍वरलाई ठग्छस् भने, तँमाथि कठोर न्याय आइलाग्‍नेछ। तैँले दोहोरो मन नबनाई पहिले आफ्नो हृदयलाई परमेश्‍वरमा सुम्पिएर परमेश्‍वरको सेवाको सही बाटोमा प्रवेश गर्ने फाइदा उठाउनुपर्छ। चाहे तँ परमेश्‍वरको सामुन्ने होस् वा मानिसहरूको सामुन्ने, तेरो हृदय सधैँ परमेश्‍वरप्रति केन्द्रित हुनुपर्छ, अनि तैँले पनि येशूले जस्तै परमेश्‍वरलाई प्रेम गर्ने संकल्प गर्नुपर्छ। यसरी, परमेश्‍वरले तँलाई सिद्ध बनाउनुहुनेछ, अनि तँ परमेश्‍वरको हृदय अनुरूपको सेवक बन्नेछस्। यदि तँ साँच्चै परमेश्‍वरद्वारा सिद्ध बनाइन र तेरो सेवा उहाँको इच्छाअनुरूप भएको चाहन्छस् भने, परमेश्‍वरको विश्‍वासको सम्बन्धमा तेरो पहिलेका विचारहरू बदल्नुपर्छ, अनि पहिले जुन तरिकाले परमेश्‍वरको सेवा गर्थिस् त्यो तरिका बदल्नुपर्छ, यसरी तँ परमेश्‍वरद्वारा अझ बढी सिद्ध बनाइनेछस्। त्यसो भएपछि, परमेश्‍वरले तँलाई त्याग्‍नुहुनेछैन, अनि तँ पनि पत्रुसजस्तै परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरूको पहिलो पङ्क्तिमा हुनेछस्। यदि तँ पश्चात्ताप नगरी बस्छस् भने, तैँले पनि यहूदाको जस्तै अन्त्यको सामना गर्नुपर्नेछ। यो कुरा परमेश्‍वरमा विश्‍वास गर्ने सबैले बुझ्नुपर्छ।

अघिल्लो: दुष्‍टहरूलाई निश्‍चय नै दण्ड दिइनेछ

अर्को: परमेश्‍वरले मानिसलाई प्रयोग गर्नुहुने सम्बन्धमा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्