सत्यता कसरी पछ्याउने (५)

यस अवधिमा हामीले सत्यताको खोजी कसरी गर्ने त्यसको पहिलो पक्षको बारेमा सङ्गति गरेका थियौँ, जुन कुरा विभिन्‍न कुराहरूलाई त्याग्‍ने सम्‍बन्धी थियो। हामीले यस विषयको पहिलो भागको बारेमा नै मुख्य रूपमा कुरा गरेका थियौँ—विभिन्‍न नकारात्मक भावनाहरूलाई त्याग्‍ने बारेमा। विभिन्‍न नकारात्मक भावनाहरूलाई त्याग्‍ने विषयमा हामीले कति पटक छलफल गर्‍यौँ? (चार पटक।) के तिमीहरूले नकारात्मक भावनाहरूलाई कसरी त्याग्‍ने त्यस विषयमा कुनै मार्ग भेट्टायौ? हामीले सङ्गति गरेका र विश्‍लेषण गरेका विभिन्‍न नकारात्मक भावनाहरू एक किसिमको भावना वा विचार जस्तो देखिन्छ, तर वास्तवमा, त्यसको जडलाई हेर्दा, त्यो मानिसहरूको जीवन सम्‍बन्धी गलत दृष्टिकोण र मूल्य-मान्यता, अनि मानिसहरूको गलत विचार र हेराइहरूबाट आएका हुन्छन्। अवश्य नै, मानिसहरूको विभिन्‍न भ्रष्ट स्वभावले विभिन्‍न गलत सोचाइ र दृष्टिकोणहरू पैदा गर्छन्, जसले गर्दा नकारात्मक भावनाहरू पैदा हुन्छन्। त्यसकारण, विभिन्‍न नकारात्मक भावनाहरूको मूल र कारणहरू हुन्छन्। हामीले छलफल गरेका नकारात्मक भावनाहरू क्षणिक वा आवेगशील विचारहरू होइनन्, न त ती सामान्य अर्थमा विचार र दृष्टिकोणहरू, वा परिवर्तन हुने मनस्थिति नै हुन्। यी भावनाहरूले मानिसहरूको जीवनशैली, तिनीहरूले गर्ने अभ्यास, अनि तिनीहरूको विचार र दृष्टिकोण, साथै मानिसहरू र परिस्थितिहरूलाई हेर्ने तिनीहरूको हेराइ र मनोवृत्तिहरूलाई प्रभाव पार्न सक्छन्। यी नकारात्मक भावनाहरू मानिसहरूको हृदय र मष्तिष्कको गहिराइमा लुकेर बसेका हुन्छन्, यी भावनाहरूले तिनीहरूलाई तिनीहरूको दैनिक जीवनमा साथ दिइरहेका हुन्छन् अनि मानिसहरू, घटना, र परिस्थितिहरूलाई हेर्ने तिनीहरूको दृष्टिकोण र अडानलाई प्रभाव पार्छन्। यी नकारात्मक भावनाहरूले मानिसहरूको दैनिक जीवन, आनीबानी, र तिनीहरूले जीवनमा लिने मार्गमा निकै नकारात्मक प्रभाव पार्छन्। यी भावनाहरूले मानिसहरूमा विभिन्‍न प्रतिकूल प्रभावहरू पैदा गर्छन्। त्यसकारण, मानिसहरूले यी नकारात्मक भावनाहरूलाई क्रमिक रूपमा बुझ्‍नुपर्छ र सत्यतालाई पछ्याएर त्यसलाई त्यागी समाधान गर्नुपर्छ। यी नकारात्मक भावनाहरूलाई त्याग्‍ने कार्य भौतिक कुरालाई त्याग्‍नु जस्तो होइन, किनभने भौतिक कुरालाई त्यागेपछि त्यसको बारेमा सोचिँदैन, र त्यसले पछि प्रभाव पनि पार्दैन; यो कार्य कुनै कुरालाई उठाएर फ्याँक्‍नु जस्तो होइन। त्यसकारण, यस प्रसंगमा “त्याग्‍नु” भनेको के हो? मुख्य रूपमा, यसको अर्थ के हुन्छ भने तिमीहरूले आफ्‍ना गलत सोचाइ र दृष्टिकोणहरू, अनि मानिसहरू र परिस्थितिहरूलाई हेर्ने तिमीहरूको गलत दृष्टिकोण र मनोवृत्तिलाई तबसम्‍म खुलासा र विश्‍लेषण गर्नुपर्छ, जबसम्‍म तिमीहरूले सत्यता बुझ्दैनौ। त्यसपछि तिमीहरूले आफ्‍ना नकारात्मक भावनाहरूलाई साँचो रूपमा त्याग्‍न सक्‍नेछौ। तिमीहरूमा जे-जस्ता नकारात्मक भावनाहरू पैदा भए पनि, जबसम्‍म तिमीहरूसँग सत्यता अभ्यास गर्ने सिद्धान्त र मार्गहरू हुँदैन तबसम्‍म तिमीहरूले सम्‍बन्धित सत्यताहरू खोजी गरेर त्यसलाई समाधान गर्नुपर्छ। त्यसपछि मात्रै तिमीहरू नकारात्मक भावनाहरूको कष्ट, बन्धन, र प्रभावबाट पूर्ण रूपमा मुक्त हुन सक्छौ, र अन्तिममा तिमीहरूले सत्यतामा अनि परमेश्‍वरले तय गर्नुभएका वातावरणहरूमा समर्पित हुने क्षमता प्राप्त गरेर आफ्‍नो गवाहीमा दह्रिलो भई खडा हुन सक्‍ने क्षमता पाउनेछौ। तिमीहरूले सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा लिएर परमेश्‍वरका वचनहरू अनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्नुपर्छ, र आफ्‍नो आनीबानी र व्यवहार प्रस्तुत गर्नुपर्छ। त्यसो गरेर मात्रै तिमीहरूले आफ्‍ना नकारात्मक भावना र गलत विचार र दृष्टिकोणहरूलाई पूर्ण रूपमा त्याग्‍न सक्छौ। यी कुराहरूलाई पूर्ण रूपमा त्याग्‍नको लागि किन यस्तो जटिल प्रक्रियाको आवश्यकता पर्छ? यसको कारण के हो भने, यी नकारात्मक भावनाहरू मूर्त कुराहरू होइनन्। ती क्षणिक रूपमा आउने वा व्यक्तिको मनलाई सताउने भावनाहरू होइनन्। यी भावनाहरू मानिसहरूभित्र स्थापित भएका, पहिलेदेखि नै रहेका, वा गहिरो रूपमा जरा गाडी बसेका विचार र दृष्टिकोणहरू हुन्, र तिनले मानिसहरूलाई पार्ने प्रभाव निकै गम्भीर हुन्छ। त्यसकारण यी नकारात्मक भावनाहरूलाई त्याग्‍नका लागि विभिन्‍न विधि र चरणहरूको आवश्यकता पर्छ। त्याग्‍ने प्रक्रिया भनेको सत्यतालाई पछ्याउने प्रक्रिया पनि हो, होइन र? (हो।) यी नकारात्मक भावनाहरूलाई त्याग्‍ने प्रक्रिया वास्तवमा सत्यतालाई पछ्याउने प्रक्रिया नै हो। त्यसकारण, नकारात्मक भावनाहरूलाई सामना गर्ने एउटै मात्र उपाय भनेको सत्यताको खोजी गरी परमेश्‍वरका वचनहरू अनुसार त्यसलाई समाधान गर्नु हो। के तिमीहरूले यो अभिव्यक्तिको अर्थ बुझ्यौ? (बुझ्यौँ।)

जब हामीले सुरुमा नकारात्मक भावनाहरूका विषयमा सङ्गति गर्न सुरु गर्‍यौँ, तब यसभन्दा पहिले हामीले छलफल गरेका विभिन्‍न सत्यताहरूका बारेमा कुरा गरिएन, त्यसकारण तिमीहरू सबैको लागि यो अत्यन्तै अपरिचित विषय हो। मानिसहरूलाई नकारात्मक भावनाहरू हुनु सामान्य कुरा हो भन्‍ने लाग्छ, र तिनीहरूले यी कुराहरूलाई भ्रष्ट स्वभावभन्दा अलग कुराहरू हुन् भन्‍ने ठान्छन्; तिनीहरूले नकारात्मक भावनाहरू भ्रष्ट स्वभाव होइनन्, र नकारात्मक भावना र भ्रष्ट स्वभावको बीचमा कुनै सम्‍बन्ध छैन भन्‍ने विश्‍वास गर्छन्। यो गलत कुरा हो। कतिपय मानिसहरूले के सोच्छन् भने, नकारात्मक भावनाहरू मानिसहरूलाई कुनै प्रभाव नपार्ने क्षणिक सोच वा विचारहरू मात्रै हुन्, त्यसकारण ती भावनाहरूलाई त्यागे पनि नत्यागे पनि त्यसले केही फरक पार्दैन। अब, सङ्गति र विश्‍लेषणको विभिन्‍न कक्षाहरूद्वारा, नकारात्मक भावनाहरूले मानिसहरूलाई साँच्‍चै वास्तविक रूपमा प्रभाव पार्छन् भन्‍ने कुरा प्रमाणित भएको छ। विगतमा, हामीले भ्रष्ट स्वभावलाई बुझ्‍ने र विश्‍लेषण गर्ने बारेमा नै सधैँ सङ्गति गर्थ्यौँ, र भ्रष्ट स्वभावको खुलासा गर्ने क्रममा हामीले नकारात्मक भावनाहरूका बारेमा थोरै मात्रै कुरा उठाउथ्यौं, तर हामीले तिनको बारेमा त्यति विस्तृत रूपमा सङ्गति गर्दैनथियौँ। अहिले, धेरै पटक ठोस रूपमा छलफल गरिसकेपछि, मलाई के आशा छ भने तिमीहरूले यस विषयमा ध्यान दिएर आफ्‍नो दैनिक जीवनमा यी नकारात्मक भावनाहरूलाई विश्‍लेषण गर्न र बुझ्‍न थाल्‍नेछौ। जब तिमीहरूले यी भावनाहरूको सारलाई बुझ्छौ, तब तिमीहरू तिनलाई इन्कार गरेर त्यसबाट फर्कन सक्छौ, अनि त्यसलाई क्रमिक रूपमा त्याग्‍न सक्छौ। यी नकारात्मक भावनाहरूलाई त्यागेर मात्रै तिमीहरू सत्यतालाई पछ्याउने सही मार्गमा हिँड्न सक्छौ र सत्यतालाई पछ्याउने बाटोमा हिँड्न सुरु गर्छौ। तिमीहरूले चाल्‍नैपर्ने कदमहरू यिनै हुन्, के तिमीहरूलाई स्पष्ट भयो? (भयो।) मानिसहरूको जीवन, अस्तित्व, र तिनीहरूले लिने मार्गको हकमा नकारात्मक भावनाहरूले मानिसहरूलाई भ्रष्ट स्वभावले जत्तिकै बसमा पारेर नियन्त्रण गर्न नसके पनि, यी नकारात्मक भावनाहरूबाट जोगिन सकिँदैन। निश्‍चित परिस्थितिमा र निश्‍चित हदसम्‍म, मानिसहरूको सोचाइलाई सीमित गर्ने र तिनीहरूले सत्यता स्विकार्ने र तिनीहरू सही मार्गमा हिँड्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा त्यसले पार्ने प्रभावको हिसाबमा यसले पार्ने नकारात्मक असरहरू भ्रष्ट स्वभावले पार्ने असरभन्दा कम हुँदैनन्। तिमीहरूले भविष्यको खोजी, अनुभव, र अभ्यासमा यस कुरालाई क्रमिक रूपमा बुझ्दै जानेछौ। तिमीहरूले यो विषय भर्खरै सुनेका हुनाले, अहिले तिमीहरूमध्ये कतिलाई यसको बारेमा केही थाहा छैन वा कुनै ज्ञान छैन, र यसको बारेमा अझै कम बुझाइ छ। जब तिमीहरूले यस कुरालाई भविष्यमा अनुभव गर्छौ, तब तिमीहरूले नकारात्मक भावनाहरू जति सरल जस्ता देखिन्छन् ती त्यति सरल छैनन् भन्‍ने थाहा पाउनेछौ। यी भावनाहरूले मानिसहरूको विचार, हृदयको गहिराइ, र तिनीहरूको अवचेतन मस्तिष्कमा समेत निकै ठूलो स्थान र ठाउँ लिएका हुन्छन्। के भन्‍न सकिन्छ भने, यी नकारात्मक भावनाहरूले व्यक्तिहरूलाई निकै ठूलो हदसम्‍म आफ्‍नो भ्रष्ट स्वभाव अनुसार व्यवहार गर्न उत्प्रेरित गर्छन् र उक्साउँछन्, र तिनले मानिसहरूमाथि भ्रष्ट स्वभावले गर्ने नियन्त्रण र पार्ने बन्धनलाई अझै बढाउँछन् र उक्साउँछन्। मानिसहरू र परिस्थितिहरूलाई हेर्ने दृष्टिकोण, र आफ्‍नो आनीबानी र व्यवहारको हकमा यी कुराहरूले मानिसहरूलाई जिद्दी भएर आफ्‍नो भ्रष्ट स्वभावमा जिउने तुल्याउँछन्, त्यसकारण तिमीहरूले यी नकारात्मक भावनाहरूलाई कम ठान्‍नु हुँदैन। वास्तवमा, एक हिसाबमा, नकारात्मक भावनाहरूभित्र धेरै नकारात्मक सोचाइ र दृष्टिकोणहरू लुकेका हुन्छन्, र अर्को हिसाबमा, विभिन्‍न हदसम्‍म, मानिसहरूको भ्रष्ट स्वभावभित्र विभिन्‍न नकारात्मक भावनाहरू लुकेका हुन्छन्। छोटकरीमा भन्दा, यी नकारात्मक भावनाहरूले मानिसहरूको हृदयको ठाउँ ओगटेका हुन्छन्, र तिनको सार पनि मानिसहरूको भ्रष्ट स्वभावको जस्तै हुन्छ। ती दुवै नै नकारात्मकताका दुई पक्षहरू हुन्, र ती नकारात्मक कुराहरू हुन्। यहाँ “नकारात्मक कुराहरू” को अर्थ के हुन्छ? यसले केलाई जनाउँछ? एउटा पक्ष के हो भने यी नकारात्मक भावनाहरूले मानिसहरूको जीवनमा सकारात्मक भूमिका खेल्दैनन्। तिनले तँलाई परमेश्‍वरको अघि आउन, सक्रिय रूपमा उहाँको इच्छा खोज्‍न, र उहाँप्रति आज्ञाकारिता हासिल गर्न अगुवाइ गर्ने वा सहयोग गर्ने गर्न सक्दैनन्। जब मानिसहरूभित्र यी नकारात्मक भावनाहरू लुकेका हुन्छन्, तब तिनीहरूको हृदय परमेश्‍वरबाट टाढा भएको हुन्छ, तिनीहरू उहाँप्रति सतर्क हुन्छन् र उहाँबाट जोगिन्छन्, र तिनीहरूले गुप्तमा, थाहा नपाउने गरी, र अनजानमा परमेश्‍वरलाई शङ्का गर्ने, इन्कार गर्ने, र न्याय गर्ने पनि गर्न सक्छन्। यो दृष्टिकोणबाट हेर्दा, के यी नकारात्मक भावनाहरू सकारात्मक कुराहरू हुन् त? (अहँ, होइनन्।) यो एउटा पक्ष हो। अर्को पक्षलाई हेर्दा, यी नकारात्मक भावनाहरूले मानिसहरूलाई सत्यतामा समर्पित हुन परमेश्‍वरको अघि ल्याउँदैनन्। तिनीहरूले मानिसहरूलाई सत्यतासँग बाझिने र विरोधमा रहने मार्ग र उद्देश अनि दिशातर्फ लैजान्छन्। यसमा कुनै शङ्‍का छैन। यी नकारात्मक भावनाहरूले व्यक्तिमा खेल्‍ने भूमिका भनेको आफूलाई रक्षा गर्न लगाउनु, तिनीहरूको देहका हितहरूको रक्षा गराउनु, र आफ्‍नो स्वाभिमान, गौरव, र हैसियतलाई कायम राख्‍न लगाउनु हो। यी भावनाहरूले तँलाई निरन्तर नियन्त्रण गर्छन् र बन्धनमा पार्छन्, अनि तँलाई परमेश्‍वरका वचनहरू सुन्‍न, इमानदार व्यक्ति बन्‍न, र सत्यताको अभ्यास गर्नबाट रोक्छन्। यी भावनाहरूले तँमा तैँले सत्यताको अभ्यास गरिस् भने तँलाई घाटा हुनेछ, तैँले इज्‍जत र हैसियत गुमाउनेछस्, तँलाई अरूले गिल्‍ला गर्नेछन्, र तेरो वास्तविकता संसारको अघि खुलासा हुनेछ भन्‍ने भ्रम हालिदिन्छन्। यी नकारात्मक भावनाहरूले मानिसहरूलाई नियन्त्रण गर्छन्, तिनीहरूको सोचाइहरूलाई बसमा पर्छन्, र यी नकारात्मक भावनाहरूका बारेमा मात्रै सोच्‍ने तुल्याउँछन्। अब, के यी नकारात्मक कुराहरूको सार सत्यता विपरीत छ? (हो।) त्यसकारण, नकारात्मक भावनाहरूले तँलाई यी कुराहरूका बारेमा निरन्तर स्मरण गराइरहेका हुन्छन्, यसको साथै तिनले तँलाई सत्यताको अभ्यास गर्न र खोजी गर्नबाट निरन्तर बाधा दिइरहेका हुन्छन्। सत्यतालाई पछ्याउने तेरो कार्यमा तिनले पर्खालको काम गर्छन् र सत्यताको वास्तविकतामा प्रवेश गर्ने तेरो मार्गमा तिनले ठेस लाग्‍ने ढुङ्गाको काम गर्छन्। जब तँ सत्यताको अभ्यास गर्न, इमान्दारीपूर्वक बोल्‍न, परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन, सिद्धान्तहरू अनुसार व्यवहार गर्न, वा परमेश्‍वरको लागि मेहनत गर्न, मूल्य चुकाउन, र परमेश्‍वरप्रति आफ्‍नो बफादारिता देखाउन चाहन्छस्, तब यी नकारात्मक भावनाहरू तुरुन्तै प्रकट हुन्छन् र तँलाई सत्यताको अभ्यास गर्नबाट रोक्छन्। यी भावनाहरू निरन्तर तेरा विचारहरूमा पैदा हुन्छन् र मनमा प्रकट हुन्छन्, अनि तैँले त्यसरी काम गर्दा तँलाई के घाटा हुनेछ, तेरो अन्त्य कस्तो हुनेछ, परिणामहरू के-कस्ता हुनेछन्, र तैँले के प्राप्त गर्नेछस् त्यसको बारेमा बताउनेछन्। तिनले तँलाई बारम्‍बार सम्झाउनेछन् र चेतावनी दिनेछन्, यसरी तँलाई सत्यता स्विकार्न र अभ्यास गर्नबाट, अनि परमेश्‍वरमा समर्पित हुनबाट रोक्‍नेछन्। बरु, तिनले तँलाई आफ्‍नो बारेमा सोच्‍न, आफ्‍नै हितहरूका बारेमा विचार गर्न लगाउनेछन्, परिणाम स्वरूप, तैँले सत्यताको अभ्यास गर्न सक्दैनस् वा तँ परमेश्‍वरमा समर्पित हुन सक्दैनस्। एकै क्षणमा, तेरा विचारहरूलाई यी नकारात्मक भावनाहरूले बाँधेर नियन्त्रण गर्नेछन्। सुरुमा तँलाई सत्यताको अभ्यास गर्न, र परमेश्‍वरप्रति समर्पित भएर, उहाँलाई सन्तुष्ट पार्न मन लागे पनि, जब तँभित्र नकारात्मक भावनाहरू पैदा हुन्छन्, तब तैँले अनजानमा नै तँ आफ्‍नो इच्छालाई पछ्याउँछस् र तँ ती भावनाहरूद्वारा नियन्त्रित हुन्छस्। तिनले तेरो मुख बन्द गर्नेछन्, तेरा हात-खुट्टा बाँध्‍नेछन्, र तैँले गर्नुपर्ने कुरा गर्नबाट र तैँले बोल्‍नुपर्ने कुरा बोल्‍नबाट तँलाई रोक्‍नेछन्। बरु, तैँले झूटा, छलपूर्ण, र आलोचनात्मक शब्‍दहरू बोल्‍न पुग्‍नेछस्, र सत्यतासँग बाझिने कार्यहरू गर्न पुग्‍नेछस्। तेरो हृदय तुरुन्तै अँध्यारो हुनेछ र कष्टको बन्धनमा पर्नेछ। तेरा मौलिक विचार र योजनाहरू असल हुन्छन्—तँ सत्यताको अभ्यास गर्न, र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न आफूलाई भक्तिमा समर्पित गर्न चाहन्छस्, र तँसँग सत्यताको अभ्यास गर्ने जाँगर, चाहना, र इच्छा हुन्छ। तर महत्त्वपूर्ण क्षणमा, यी नकारात्मक भावनाहरूले तँलाई नियन्त्रण गर्छन्। तँसँग तिनलाई त्याग्‍ने वा इन्कार गर्ने क्षमता हुँदैन, र अन्त्यमा, तँ यी नकारात्मक भावनाहरूको शरण पर्न बाध्य हुन्छस्। जब नकारात्मक भावनाहरूले मानिसहरूलाई सताउँछन् र बाधा दिन्छन्, जब तिनले मानिसहरूको विचारलाई नियन्त्रण गरेर तिनीहरूलाई सत्यताको अभ्यास गर्नबाट रोक्छन्, तब मानिसहरू अत्यन्तै दुर्बल, विवश, र दयनीय हुन्छन्। जब कुनै ठूलो समस्या देखा परेको हुँदैन र कुनै सिद्धान्तहरूसँग सम्‍बन्धित घटना घट्दैन, तब मानिसहरूले आफूमा असीमित शक्ति छ, आफू सङ्कल्प र विश्‍वासमा बलियो छु भन्‍ने सोच्छन्, र जाँगरले भरिएको छु भन्‍ने सोच्छन्। तिनीहरूले परमेश्‍वरलाई पर्याप्त रूपमा प्रेम गर्न सकेको छैनँ भन्‍ने सोच्छन्, तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय छ, र तिनीहरूले कुनै गलत काम गर्न सक्दैनन्, तिनीहरूले वाधा वा व्यवधान ल्याउन सक्दैनन्, र तिनीहरूले जानी-जानी दुष्कर्म गर्न सक्दैनन् भन्‍ने सोच्छन्। तर जब कुनै घटना घट्छ, तब तिनीहरू कस्तो प्रतिक्रिया नदिई बस्‍न सक्दैनन्? तिनीहरूले नचाहँदा नचाहँदै गर्ने यी कार्यहरू तिनीहरूले योजना गरेका वा इच्छा गरेका हुँदैनन्, तर पनि ती भई छाड्छन् र वास्तविकतामा परिणत हुन्छन् नै, र ती कुराहरू मानिसहरूले गर्न चाहेका भन्दा फरक कुरा हुन्छन्। यी कुराहरू पैदा हुनु र निरन्तर यस्ता घटनाहरू देखा पर्नुका कारण नकारात्मक भावनाहरू हुन् भनेर भन्‍न सकिन्छ। नकारात्मक भावनाहरूले मानिसहरूलाई पार्ने प्रभाव, र तिनीहरूमाथि गर्ने नियन्त्रण, मानिसहरूले कल्‍पना गरेजस्तो सरल छैन, न त यसलाई सहजै समाधान गर्न सकिन्छ, अनि यसलाई त्याग्‍न वा इन्कार गर्न पनि अवश्य नै सहज छैन। मानिसहरूले सामान्यतया जति चर्को सोरमा आफ्‍नो नाराहरू फलाके पनि, तिनीहरूको सङ्कल्प सामान्यतया जति नै दह्रिलो भए पनि, वा तिनीहरूको आकांक्षा जति नै उच्‍च भए पनि, वा परमेश्‍वरप्रतिको तिनीहरूको प्रेम र विश्‍वास जति नै ठूलो भए पनि, वास्तविकताको सामना गर्दा, किन त्यो सङ्कल्प र विश्‍वास, अनि ती आकांक्षा र आदर्शहरूले प्रभाव पार्न सक्दैनन्? तिनलाई कसरी क्षणिक नकारात्मक भावनाहरूले प्रभाव पारेर दबाउन सक्छन्? यसबाट के स्पष्ट हुन्छ भने मानिसहरूको जीवनमा नकारात्मक भावनाहरूले जरा गाडेका हुन्छन्; ती भावनाहरू मानिसहरूको भ्रष्ट स्वभावसँगै अस्तित्वमा रहेका हुन्छन् र भ्रष्ट स्वभावले जस्तै तिनले पनि मानिसहरूको विचार र दृष्टिकोणहरूलाई प्रभाव पार्न र नियन्त्रण गर्न सक्छन्। यसको साथै, र अझै गम्‍भीर रूपमा भन्दा, तिनले मानिसहरूको बोलीवचन र व्यवहारलाई नियन्त्रण गर्छन्, र योभन्दा पनि बढी, तिनले तिनीहरूको हरेक सोचाइ र विचारलाई, अनि अनेक किसिमका परिस्थितिमा तिनीहरूले गर्ने हरेक कार्य र व्यवहारलाई नियन्त्रण गर्छन्। त्यसकारण, के यी नकारात्मक भावनाहरूलाई समाधान गर्नु अत्यन्तै महत्त्वपूर्ण कुरा होइन र? (हो।) नकारात्मक भावनाहरू सकारात्मक कुरा होइनन्, र यसलाई दुई तरिकाले चित्रण गर्न सकिन्छ: पहिलो, नकरात्मक भावनाहरूले व्यक्तिलाई सक्रिय रूपमा परमेश्‍वरको अघि आउने तुल्याउन सक्दैन; दोस्रो, तिनले व्यक्तिलाई उसले चाहे जसरी, वास्तविकताको सामना गर्दा सफलतापूर्वक सत्यताको अभ्यास गर्न, र सत्यतामा प्रवेश गर्न सक्‍ने तुल्याउन सक्दैन। सत्यताको खोजी गर्ने मानिसहरूको कार्यमा ती ठेस लाग्‍ने ढुङ्गा हुन्, र तिनले मानिसहरूलाई सत्यताको खोजी गर्न र अभ्यास गर्नबाट रोक्छन्। त्यसकारण, नकारात्मक भावनाहरूलाई समाधान गर्नु नै पर्छ। नकारात्मक भावनाहरूको प्रभाव र सारलाई हेर्दा, ती सकारात्मक कुरा होइनन् भन्‍ने कुरा देख्‍न सकिन्छ। यसको साथै, यी कुराहरूको सारको हिसाबमा हेर्दा केही हदसम्‍म तिनले भ्रष्ट स्वभावले भन्दा पनि बढी मानिसहरूलाई बन्धनमा पार्न र नियन्त्रण गर्न सक्छन्। त्यसोभए, के यी नकारात्मक भावनाहरू अस्तित्वमा हुनु गम्‍भीर समस्या हो भनेर तिमीहरू भन्छौ? (हो।) यदि यी नकारात्मक भावनाहरूलाई समाधान गरिएन भने, के-कस्ता परिणामहरू अपेक्षा गर्न सकिन्छ? यी भावनाहरूले व्यक्तिलाई लामो समयसम्‍म नकारात्मकतामा जिउन बाध्य गर्नेछन्, र यी भावनाहरूमा मानिसहरूलाई बन्धनमा पार्ने र नियन्त्रण गर्ने अझै ठूलो शक्ति हुन्छन्, जसले गर्दा तिनीहरूलाई सत्यताको खोजी गर्नबाट रोक्छन् भन्‍ने कुरामा निश्‍चित हुन सकिन्छ। के त्यस्तो गम्‍भीर समस्यालाई समाधान गरिनु पर्दैन र? यसलाई समाधान गरिनुपर्छ। मानिसहरूले आफ्‍नो भ्रष्ट स्वभावलाई समाधान गर्ने बाहेक, आफ्‍ना नकारात्मक भावनाहरूलाई पनि समाधान गर्नुपर्छ। यदि मानिसहरूले आफ्‍ना नकारात्मक भावनाहरू र भ्रष्ट स्वभावलाई समाधान गरे भने, सत्यता खोजी गर्ने तिनीहरूको कार्य निकै सहज रूपमा अघि बढ्छ, र यसमा कुनै ठूलो बाधा आउँदैन।

भ्रष्ट स्वभावहरू मानिसहरूका केही सतही प्रकटीकरण र शैलीहरूमा, साथै निश्‍चित स्थितिहरूमा लुकेका हुन्छन्, त्यसैले तिनलाई कसरी चिन्‍नुपर्छ? तिमीहरू नकारात्मक भावना र भ्रष्ट स्वभावबीच कसरी भिन्‍नता छुट्याउँछौ? के तिमीहरूले यसबारे यसभन्दा पहिले विचार गरेका छौ? (छैनौँ।) स्वभाव र भावना दुई फरकफरक कुराहरू हुन्। यदि हामीले स्वभाव र भावनाबारे मात्रै कुरा गर्‍यौँ भने, के ती दुईको शाब्दिक अर्थसम्बन्धी भिन्‍नता छुट्याउन सहज हुन्छ? स्वभावले व्यक्तिको प्रकृति र सारबाट प्रकट हुने कुराहरू जनाउँछ, जबकि भावना भनेको मानिसहरूले कुनै काम गर्दा तिनीहरूमा हुने मनोवैज्ञानिक स्थिति हो। यी शब्‍दहरूलाई हामीले शाब्दिक रूपमा जसरी अर्थ्याए पनि, मानिसहरूका भावनाहरूमा—विशेष गरी तिनीहरूका नकारात्मक भावनाहरूमा—धेरै नकारात्मक कुराहरू लुकेका हुन्छन्। जब व्यक्तिमा यी नकारात्मक भावनाहरू हुन्छन्, तब यसले तिनीहरूलाई नकरात्मक स्थिति र विभिन्‍न गलत सोच र दृष्टिकोणहरूको प्रभुत्वमा जिउन लगाउँछ। हो कि होइन? (हो।) यी नकारात्मक भावनाहरू मानिसहरूको हृदयमा लामो समयसम्म लुकेर रहन सक्छन्, र यदि तिनीहरू सत्यता बुझ्दैनन् भने, तिनीहरूलाई कहिल्यै पनि यी भावनाहरूको आभास वा उपस्थिति महसुस हुँदैन; मानिसहरूको भ्रष्ट स्वभावजस्तै यी भावनाहरू सधैँ तिनीहरूको साथमै हुन्छन्। धेरैजसो समय, यी नकारात्मक भावनाहरू मानिसहरूका विभिन्‍न गलत सोच र दृष्टिकोणहरूमा लुकेर रहेका हुन्छन्, र यी गलत सोच र दृष्टिकोणहरूले मानिसहरूलाई परमेश्‍वरबारे शङ्का गर्ने, आफ्‍नो सच्चा विश्‍वास गुमाउने, र परमेश्‍वरसँग अनेक किसिमका अनुचित मागहरू गर्ने, अनि आफ्‍नो सामान्य समझ गुमाउनेसमेत तुल्याउँछन्। यी नकारात्मक भावनाहरू विभिन्‍न तर्क, विचार, र दृष्टिकोणहरूको खोल ओढी व्यक्तिको भ्रष्ट स्वभाव र उसका विभिन्‍न गलत सोच र दृष्टिकोणहरूभित्र लुकेर बसेका हुन्छन्, र यसरी यी भावनाहरूले पूर्णतया व्यक्तिको सार प्रतिनिधित्व गर्छन्। भ्रष्ट स्वभावहरू मानिसहरूका व्यवहार र कार्यहरूबाट खुलासा हुने विभिन्‍न स्थितिहरूमा आफै प्रकट हुन्छन्—मानिसहरूका भ्रष्ट स्वभावहरू यी फरकफरक स्थितिमा लुकेका हुन्छन्। नकारात्मक भावना र भ्रष्ट स्वभाव एकअर्काबाट फरकफरक भए पनि, केही हिसाबमा यी कुराहरूबीच एउटा जरुरी सम्‍बन्ध हुन्छ, र यी एकअर्कासँग जोडिएर अलग हुन नसक्‍नेसमेत बन्छन्। केही अवस्थामा, यी दुईले एकअर्कालाई साथ दिन्छन्, एकअर्कालाई उक्साउँछन्, र यी दुई एकअर्कामा भर परेर सहअस्तित्वमा रहन सक्छन्। उदाहरणको लागि, पछिल्‍लोपटक हामीले सङ्गति गरेका हैरानी, चिन्ता, र तनाव एकप्रकारका नकारात्मक भावनाहरू हुन्। यस्ता नकारात्मक भावनाले मानिसहरूलाई हैरानी, चिन्ता, र तनावमा जिउन बाध्य पार्छन्। जब मानिसहरू यी भावनाहरूको बन्धनमा परेका हुन्छन्, स्वाभाविक रूपमै तिनीहरूमा निश्‍चित सोच र दृष्टिकोणहरू पैदा हुन्छन्, जसले गर्दा तिनीहरूले परमेश्‍वरप्रति शङ्का गर्छन्, अनुमान गर्छन्, सतर्क बन्छन्, गलतबुझाइ राख्छन्, र आलोचना र आक्रमणसमेत गर्छन्, अनि तिनीहरूले परमेश्‍वरसँग अनुचित र सट्टेबाज खालका मागसमेत गर्न सक्छन्। यस बिन्दुमा, यी नकारात्मक भावनाहरू बढेर भ्रष्ट स्वभावमा परिणत भइसकेका हुन्छन्। अनि, यो उदाहरणबाट तिमीहरूले के बुझ्यौ? के तिमीहरू नकारात्मक भावना र भ्रष्ट स्वभावबीच भिन्‍नता छुट्याउन सक्छौ? मलाई भन। (नकारात्मक भावनाले निश्‍चित गलत सोच र दृष्टिकोणहरू पैदा गर्छ, जबकि भ्रष्ट स्वभाव त्योभन्दा गहिरो गरी जरा गाडेर बसेको हुन्छ, र यसले मानिसहरूलाई परमेश्‍वरलाई गलत बुझ्‍ने र उहाँविरुद्ध सतर्क बन्‍ने तुल्याउँछ।) म एउटा उदाहरण दिन्छु। हैरानी, चिन्ता, र तनावजस्ता नकारात्मक भावनाहरूलाई नै लिऊँ। मानौँ कुनै व्यक्ति बिरामी पर्छ, र उसले आफ्‍नो रोगबारे विचार गर्दा, उसलाई हैरानी, चिन्ता, र तनाव हुन्छ। उसको हृदय यी कुराहरूद्वारा नियन्त्रित हुन्छ, जसले गर्दा उसलाई आफ्‍नो रोग गम्‍भीर हुने अनि यसबाट मृत्युसहित विभिन्‍न परिणामहरू आउने डर लाग्छ। त्यसपछि तिनीहरूलाई मृत्युको डर लाग्‍न थाल्छ, अनि तिनीहरू मृत्युलाई इन्कार गर्न, र यसबाट उम्कने इच्छा गर्न थाल्छन्। यस्ता सोच र विचारहरूको श्रृङ्खला तिनीहरूको रोगकै कारण पैदा हुन्छ। यो रोगको प्रसङ्गगमा, यो व्यक्तिले धेरै सक्रिय विचारहरू पैदा गर्छ। यी सक्रिय विचारहरूको स्रोत तिनीहरूको देहका हितहरूमा आधारित हुन्छ, परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ भन्‍ने तथ्यमा, वा सत्यतामा आधारित हुँदैन। त्यसैले हामीले यी विचारहरूलाई नकारात्मक भावनाहरूको रूपमा वर्गीकरण गरेका हौँ। त्यो व्यक्तिलाई उसको रोगको कारण नरमाइलो लाग्छ, तर उसलाई पहिले नै रोगले च्यापिसकेको हुन्छ, र उसले त्यो सामना गर्नुपर्ने हुन्छ—ऊ त्यसबाट उम्कन सक्दैन, त्यसकारण उसले सोच्छ, “अहो, हुँदैन, मैले कसरी यो रोग सामना गर्ने? मैले यसको उपचार गर्ने कि नगर्ने? मैले उपचार गरिनँ भने के हुन्छ? उपचार गरेँ भने के हुन्छ?” यसबारेमा निरन्तर सोच्‍ने क्रममा, तिनीहरू हैरान हुन्छन्। आफ्‍नो रोगबारे तिनीहरूमा पैदा हुने विभिन्‍न विचार र दृष्टिकोणहरूले तिनीहरूलाई हैरानी, चिन्ता, र तनावको बन्धनमा पार्छन्। अनि, के यो नकारात्मक भावनाले पहिल्यै असर पार्न थालिसकेको हुँदैन र? (हुन्छ।) सुरुमा तिनीहरू बिरामी हुन थालेको बेला, तिनीहरूले यसलाई उपचार गरेर हेर्छु भन्‍ने सोचेका हुन्छन्, तर त्यसो गर्नु उचित हुँदैन भन्‍ने ठानेर बरु आफ्‍नो विश्‍वासअनुसार जिउने, सामान्य तवरमै आफ्‍नो कर्तव्य पूरा गर्ने निर्णय गर्छन्, तर यस क्रममा तिनीहरू रोग अझै गम्‍भीर हुन्छ भनेर पनि चिन्ता गरिरहेका हुन्छन्। यसलाई सम्‍हाल्‍ने उपयुक्त तरिका के हो? तिनीहरूमा मार्गको कमी हुन्छ। आफ्‍नो नकारात्मक भावनाहरूको अधीनमा परेर, तिनीहरूलाई यस विषयमा सधैँ हैरानी, चिन्ता, र तनाव हुन्छ, र तिनीहरूमा हैरानी, चिन्ता, र तनाव पैदा भइसकेपछि, ती कुरा तिनीहरूले त्याग्‍न सक्दैनन्। तिनीहरूलाई रोगले ग्रस्त भएको अनुभव हुन्छ—तिनीहरूलाई थाहै हुन्‍न, यसबारेमा के गर्नुपर्छ? तिनीहरूले सोच्न थाल्छन्, “ठीकै छ, म परमेश्‍वरमा विश्‍वास गर्छु। परमेश्‍वरले मेरो चङ्गाइ गराउनुहुनेछ। मलाई विश्‍वास छ।” तर केही समयपछि पनि त्यो बिमार कम हुँदैन, र परमेश्‍वरले तिनीहरूलाई निको पार्नुहुन्‍न। त्यस्ता व्यक्तिहरू यस विषयमा निरन्तर हैरानी, चिन्ता, र तनाव भइरहन्छन्, र तिनीहरू भन्छन्, “परमेश्‍वरले मलाई चङ्गाइ गराउनुहोला कि नहोला? मैले बस प्रतीक्षा मात्रै गर्नुपर्छ, अनि उहाँले मेरो चङ्गाइ गराउनुहुनेछ। मलाई विश्‍वास छ।” तिनीहरू आफूसँग विश्‍वास छ भन्छन्, तर भित्री रूपमा, तिनीहरू वास्तवमा आफ्‍ना नकारात्मक भावनाहरूमा जिइरहेका हुन्छन्, र सोच्छन्, “परमेश्‍वरले मेरो चङ्गाइ गराउनुभएन, र मलाई साह्रो पर्‍यो भने के गर्ने? मैले आफ्‍नो कर्तव्य निभाएको व्यर्थ हुने पो हो कि? मैले कुनै आशिष्‌ नपाउने पो हो कि? परमेश्‍वरलाई मैले मलाई निको पार्नुहोस् भनेर अनुरोध गर्नैपर्ने भो।” त्यसकारण तिनीहरूले यसो भन्दै प्रार्थना गर्छन्, “हे परमेश्‍वर, मैले धेरै वर्ष आफ्‍नो कर्तव्य पूरा गरेको आधारमा, के तपाईं मेरो रोग हटाउन सक्‍नुहुन्छ कि?” थप सोचविचार गरेपछि, तिनीहरूले यस्तो महसुस गर्छन्, “मैले परमेश्‍वरलाई त्यस्तो अनुरोध गर्नु सही होइन। मैले परमेश्‍वरलाई त्यस्ता लालची मागहरू गर्नु हुँदैन। ममा विश्‍वास हुनुपर्छ।” जब तिनीहरूमा विश्‍वास हुन्छ, तिनीहरूलाई तिनीहरूको बिमार अलिक निको भएजस्तो लाग्छ, तर केही समयपछि, तिनीहरूले सोच्छन्, “मलाई साँच्‍चिकै मेरो बिमार अलिक निको भएजस्तो लाग्दैन। वास्तवमा, यो त झन् खराब भएजस्तो छ। मैले के गर्ने? म आफ्‍नो कर्तव्यमा अझै धेरै प्रयास र अझै धेरै मेहनत गर्नेछु, अझै धेरै कष्ट भोग्‍नेछु, अझै ठूलो मूल्य चुकाउनेछु, र मलाई चङ्गाइ गराउन परमेश्‍वरलाई बाध्य पार्नेछु। म परमेश्‍वरलाई मेरो बफादारी र विश्‍वास देखाउनेछु, र उहाँलाई म यो परीक्षा स्विकार्न सक्छु भनेर देखाउनेछु।” केही समयपछि, तिनीहरूको बिमारमा अलिअलि पनि सुधार नआउने मात्र होइन, बरु त्यो झन् खराब हुँदै जान्छ, र तिनीहरूलाई झन्झन् दुःख लाग्दै जान्छ, र तिनीहरू सोच्छन्: “परमेश्‍वरले मलाई चङ्गाइ गराउनुभएको छैन। मैले के गर्ने? परमेश्‍वरले मलाई चङ्गाइ गराउनुहोला कि नहोला?” तिनीहरूको हैरानी, चिन्ता, र तनाव झन् तीव्र हुँदै जान्छ। यस परिप्रेक्ष्यमा, तिनीहरू आफ्‍नो बिमारको कारण निरन्तर हैरानी, चिन्ता, र तनावजस्ता नकारात्मक भावनाहरूमा जिइरहन्छन्। समयसमयमा, तिनीहरूमा परमेश्‍वरप्रति केही “विश्‍वास” जाग्छ र बेलाबेलामा तिनीहरूले अलिअलि बफादारी र सङ्कल्प अर्पित गर्छन्। तिनीहरूले जे गरे पनि वा जुन शैली अपनाए पनि, ती सबै अवस्थामा, तिनीहरू निरन्तर हैरानी, चिन्ता, र तनावका भावनाहरूको बन्धनमा परिरहन्छन्। तिनीहरू आफ्‍नो बिमारद्वारा गहिरो गरी बाँधिन्छन्, र तिनीहरूले गर्ने सबै कुरा आफ्‍नो बिमारलाई कम गर्न र निको पार्न, अनि यसबाट मुक्त हुनको लागि हुन्छ। जब व्यक्ति त्यस्तो नकारात्मक भावनामा जिउँछ, तब उसले आफ्‍नो बिमारबारे एकछिन मात्रै विचार गर्ने हुँदैन; बरु, यी नकारात्मक भावनाहरूको अधीनमा परेर, तिनीहरूको सोच नै प्राय निकै सक्रिय भइदिन्छ। जब यी सक्रिय विचारहरूलाई पूरा गराउन सकिँदैन वा जब वास्तविकता तिनीहरूले चाहेजस्तो हुँदैन, तब समयसमयमा तिनीहरूले नचाहेर पनि तिनीहरूको मनमा अनगिन्ती विचार वा शैलीहरूसमेत पैदा हुन्छन्। तिनीहरू भन्छन्, “परमेश्‍वरले मलाई चङ्गाइ गराउनुभएन भने पनि, म अझै आफ्‍नो कर्तव्य पूरा गर्नेछु, तर परमेश्‍वरले मलाई साँच्‍चै चङ्गाइ गराउनुहुन्‍न भने, उहाँमाथिको मेरो विश्‍वास व्यर्थ छ, र मैले आफ्‍नो बिमारको उपचार आफै गर्नुपर्छ।” तँलाई थाहा भो नि, तिनीहरू मनमनै विचार गर्छन्, “परमेश्‍वरले मलाई चङ्गाइ गराउनुभएन भने पनि, म अझै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नेछु—यो परमेश्‍वरले मलाई जाँच गर्नुभएको हो,” तर तिनीहरू यस्तो पनि सोचिरहेका हुन्छन्, “परमेश्‍वरले मलाई साँच्‍चै चङ्गाइ गराउनुभएन भने, मैले आफ्‍नो बिमारको उपचार आफै गर्नुपर्छ। मैले आफ्‍नो उपचार आफै गर्नुपर्‍यो भने, म आफ्‍नो कर्तव्य पूरा गर्नेछैन। परमेश्‍वरमाथिको मेरो विश्‍वासले मेरो रोगसमेत निको पार्न सक्दैन भने, मैले परमेश्‍वरमा किन विश्‍वास गर्ने? किन परमेश्‍वरले अरूलाई चङ्गाइ गराउनुहुन्छ, तर मलाई गराउनुहुन्‍न?” तिनीहरू निरन्तर आफ्‍ना नकारात्मक भावनाहरूको बन्धनमा पर्छन्, र तिनीहरूले आफ्‍ना गलत विचार र दृष्टिकोणहरू सुल्ट्याउन वा परिवर्तन गर्न नसक्‍ने मात्रै होइन, यी नकारात्मक भावनाहरूले गर्दा तिनीहरूले क्रमिक रूपमा परमेश्‍वरलाई गलत बुझ्‍न, परमेश्‍वरबारे गुनासो गर्न, र बिमार अवस्था सामना गर्दा परमेश्‍वरमाथि शङ्का गर्न थाल्छन्। यो प्रक्रिया तिनीहरूको नकारात्मक भावनाहरूको क्रमिक रूपान्तरण, र तिनीहरू आफ्‍नो भ्रष्ट स्वभावअनुसार काम गर्ने अवस्थामा पुग्‍ने प्रक्रिया हो। भ्रष्ट स्वभावले व्यक्तिको व्यवहार नियन्त्रण गरेपछि, उसमा नकारात्मक भावनाहरू मात्रै हुँदैनन्—ऊभित्र निश्‍चित सोच र दृष्टिकोणहरू, वा मूल्याङ्कन र सङ्कल्‍पहरू पनि पैदा हुन्छन्, र यी कुराहरूले उसमा निश्‍चित व्यवहारहरू पैदा गर्छन्। जब कुनै भावना व्यक्तिको स्थितिमै रूपान्तरित हुन्छ, तब त्यो कुरा नकरात्मक भावनाको मामला मात्रै रहँदैन, र त्यो कुनै कुराबारे सोच्‍ने वा निश्‍चित अवस्थामा रही जिउने कार्यको मामलामा मात्रै सीमित हुँदैन, त्यो त त्यस्तो अवस्थाले विचार, दृष्टिकोण र सङ्कल्‍प, अनि चाल र व्यवहार पैदा गर्ने मामला भइदिन्छ। अनि, यी विचार, दृष्टिकोण, चाल, र व्यवहार के कुराले नियन्त्रण गर्छ? यी कुराहरू भ्रष्ट स्वभावले नियन्त्रण गर्छ। के यो रूपान्तरणको प्रक्रियाबारे अहिले पूर्ण रूपमा स्पष्ट भयो? (भयो।) सुरुमा, मानिसहरूमा निश्‍चित प्रसङ्गमा नकारात्मक भावनाहरू पैदा हुन्छन्, र यी नकारात्मक भावनाहरू केही सरल विचार, दृष्टिकोण, र सोचहरू हुन्छन्, तर यी विचारहरू पूरै नकारात्मक हुन्छन्। यी नकारात्मक विचारहरू मानिसहरूका भावनाहरूमै अल्झेर बस्छन् र तिनीहरूमा अनेक किसिमका गलत स्थितिहरू सिर्जना गर्छन्। जब मानिसहरू गलत स्थितिमा जिइरहेका हुन्छन्, तब तिनीहरू के गर्ने, कसरी गर्ने, र कस्तो शैली अपनाउने भनेर निर्णय गर्दा, तिनीहरूमा गलत दृष्टिकोण र सिद्धान्तहरू पैदा हुन्छ, र त्यसपछि तिनीहरूको भ्रष्ट स्वभाव यसमा संलग्‍न हुन आउँछ। यो कुरा त्यति सरल छ। के यो कुरा अब स्पष्ट भयो? (हो, स्पष्ट भयो।) त्यसोभए, यसबारेमा मलाई भन। (निश्‍चित प्रसङ्गहरूमा, मानिसहरूमा केही नकारात्मक भावनाहरू पैदा हुन्छन्। सुरुमा यी नकारात्मक भावनाहरू केही नकारात्मक विचारहरूभन्दा अगाडि जाँदैनन्। जब यी नकारात्मक विचारहरूले विभिन्‍न गलत स्थितिहरू सिर्जना गर्छन्, तब मानिसहरूले के गर्ने भनेर निर्णय गर्न र निश्‍चित शैलीहरू अपनाउन थाल्दा, तिनीहरू निश्‍चित विचार र सिद्धान्तहरूको नियन्त्रणमा पर्छन्। त्यसपछि तिनीहरूको भ्रष्ट स्वभाव यसमा संलग्‍न हुन आउँछ।) यसबारेमा सोचविचार गर अनि यसलाई बुझ्छौ कि हेर। के यो सरल छैन र? (छ।) यो सरल सुनिन्छ, तर के तिमीहरूले नकारात्मक भावना र भ्रष्ट स्वभावबीच भिन्‍नता छुट्याउन सक्छौ? सिद्धान्तको हिसाबमा तिनलाई छुट्याउन सहज भए पनि नभए पनि, के तिमीहरूले नकारात्मक भावना र भ्रष्ट स्वभावबीच रहेको भिन्‍नता बुझ्यौ? (बुझ्यौँ।)

यदि हामीले सङ्गति गरेका विभिन्‍न नकारात्मक भावनाहरू तिमीहरूको हृदयमा छन् भने, के तिमीहरू तिनलाई चिन्‍न र विश्‍लेषण गर्न सक्छौ? (हामीले केही हदसम्‍ममा तिनलाई चिन्‍न सक्छौँ।) यदि तिमीहरूमा ती कुराहरू छन् भने, तिमीहरूले तिनलाई चिन्‍न सक्‍नुपर्छ। नकारात्मक भावनाहरू चिन्‍नुको उद्देश्य तिनलाई साधारण तरिकाले सैद्धान्तिक रूपमा बुझ्‍नु वा तिनको अर्थ बोध गर्नु, अनि कुरा त्यही सकियो भन्‍ने होइन। यसको उद्देश्य त नकारात्मक भावनाहरूलाई व्यावहारिक रूपमा चिनेपछि तीबाट मुक्त हुनु, र योभन्दा पहिले हामीले सङ्गति गरेका नकारात्मक भावनाहरूजस्ता मानिसहरूमा आउन नहुने यी विभिन्‍न नकारात्मक भावनाहरूलाई त्याग्‍नु हो। अब, हामीले भर्खरै सङ्गति गरेका नकारात्मक भावना र भ्रष्ट स्वभावबीचको भिन्‍नताको आधारमा, के हामीले नकारात्मक भावनाहरू मानिसहरूलाई भ्रष्ट स्वभाव प्रकट गर्न लगाउने मूल कारण वा प्रसङ्ग हो भनेर भन्‍न सक्छौँ? उदाहरणको लागि, बिरामी हुँदा, यदि बिमारको कारण तँमा हैरानी, चिन्ता, र तनावजस्ता नकारात्मक भावनाहरू पैदा हुँदैनन् भने, यसले तँमा यस विषयमा ज्ञान र अनुभव छ, तँमा सही विचार र दृष्टिकोणहरू, र सच्‍चा आज्ञाकारिता छ भन्‍ने प्रमाणित गर्छ। परिणामस्वरूप, यस विषयमा तेरा विचार र व्यवहारहरू सत्यताअनुरूप हुन्छन्। यसविपरीत, यदि तँ कुनै निश्‍चित मामलाबारे निरन्तर नकारात्मक भावनाहरू अनुभव गर्छस्, र यसले गर्दा तँ नकारात्मक भावनाहरूको बन्धनमा पर्छस् भने, यी नकारात्मक भावनाहरूको कारण तँमा स्वाभाविक रूपमै विभिन्‍न नकारात्मक स्थितिहरू पैदा हुन्छन्। तँ यी नकरात्मक स्थितिहरूमा हुँदा, यी गलत स्थितिहरूले स्वाभाविक रूपमै तँलाई तेरो भ्रष्ट स्वभाव प्रकट गर्न लगाउनेछन्। त्यसपछि, तैँले शैतानी दर्शनहरूअनुसार व्यवहार गर्नेछस्, हरकिसिमले सत्यता उल्‍लङ्घन गर्नेछस्, र तँ आफ्‍नो भ्रष्ट स्वभावअनुसार जिउनेछस्। त्यसकारण, नकारात्मक भावना र भ्रष्ट स्वभावबीच हामीले जसरी भिन्‍नता छुट्याए पनि, समग्रमा, यी दुई कुराहरू आपसमा जोडिएका हुन्छन्, र यी दुईलाई एकअर्काबाट अलग गर्न सकिँदैन। खास गरी, नकारात्मक भावना र भ्रष्ट स्वभाव दुवै नकारात्मक कुराहरू हुन् भन्‍ने अर्थमा ती दुवैको सार एउटै हुन्छ—ती दुवैका सार र अन्तर्निहित विचार र दृष्टिकोण एउटै हुन्छन्। नकारात्मक भावनाहरू पैदा गर्ने विचार र दृष्टिकोणहरू सबै नकरात्मक हुन्छन्, ती सबै शैतानी दर्शनहरू हुन्, र यी नकरात्मक कुराहरूले मानिसहरूलाई आफ्‍नो भ्रष्ट स्वभाव प्रकट गर्न र आफ्‍नो भ्रष्ट स्वभावअनुसार नै आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न लगाउँछन्। के कुरा यही होइन र? (हो।)

पछिल्लोपटक, हामीले हैरानी, चिन्ता, र तनावजस्ता नकारात्मक भावनाहरूबारे सङ्गति गर्‍यौँ। अब, हामी नकारात्मक भावनाहरूको अर्को पक्षबारे सङ्गति गर्न लागेका छौँ, जसको सार हैरानी, चिन्ता, र तनावको जस्तै छ, तर प्रकृतिको हिसाबले यो अझै नकारात्मक छ। यो भावना के हो? यो मानिसहरूले आफ्‍नो दैनिक जीवनमा प्राय सामना गरिरहने मनस्थिति हो—दबाब। के तिमीहरू सबैले “दबाब” भन्‍ने शब्‍द सुनेका छौ? (हो, सुनेका छौँ।) त्यसोभए “दबाब” भन्‍ने शब्‍द प्रयोग गरी एउटा वाक्य बनाओ वा एउटा उदाहरण देओ। म आफै सुरु गर्छु। कतिपय मानिसहरू भन्छन्, “अहो, आफ्‍नो कर्तव्य पूरा गर्दा म प्रायजसो दबाब महसुस गर्छु, र म आफूलाई यसबाट मुक्त गर्न सक्दिनँ।” के यो वाक्य राम्ररी बनाइएको छ? (छ।) अब, तिमीहरूको पालो। (परिस्थिति आइपर्दा म सधैँ भ्रष्टता प्रकट गर्छु, र मैले निरन्तर मनन गरेर आफूलाई चिन्‍ने प्रयास गर्नुपर्छ, त्यसकारण मलाई दबाब महसुस हुन्छ।) तिमीहरूले आफूलाई चिन्‍ने अत्यन्तै धेरै प्रयास गर्ने हुनाले तिमीहरूलाई दबाब महसुस हुन्छ। यो दबाबको परिवेश के हो? केले यसलाई पैदा गरिरहेको हुन्छ? त्यो के हो भने, तँलाई तँ केही पनि होइनस् भन्‍ने थाहा हुन्छ, र तँलाई कुनै पनि सम्‍भावना वा गन्तव्यले आफूलाई पर्खिरहेको छैन, र तँसँग मुक्ति पाउने आशा छैन भन्‍ने लाग्छ, त्यसकारण तँलाई दबाब महसुस हुन्छ। अरू को बताउन चाहन्छ? (ठूलो रातो अजिङ्गरको देशमा, परमेश्‍वरमा विश्‍वास गर्दा मानिसहरूलाई दबाब महसुस हुन्छ।) यो परिस्थितिको कारण दबाब महसुस गरिएको कुरा हो। (आफूले कर्तव्य पूरा गरिरहेको बेला मेरो अगुवाले निरन्तर निरीक्षण गर्दा मलाई दबाब महसुस हुन्छ।) ठीक भन्यौ, त्यसले दबाबको भावना ठोस रूपमा व्यक्त गर्छ। (आफ्‍नो कर्तव्य पूरा गर्दा म सधैँ असफलता र वाधा-व्यवधान सामना गर्छु, जसले मलाई दबाब महसुस गराउँछ।) वाधा-व्यवधान र असफलताले तिमीहरूलाई दबाब महसुस गराउँछ, र अघि बढ्ने बाटै छैनजस्तो गराउँछ। जब तिमीहरूको कामको गति ढिलो हुन्छ, के तिमीहरूलाई दबाब महसुस हुन्छ? (हुन्छ।) त्यो अलिक सकारात्मक अर्थ हो। मलाई अरू पनि भन। (आफ्‍नो कर्तव्य पूरा गरिरहेको बेला सधैँ निराकरण र काटछाँट गरिँदा मलाई दबाब महसुस हुन्छ।) यो वास्तविकता हो, होइन र? (आफ्‍नो कर्तव्यमा असल परिणामहरू प्राप्त नगर्दा मलाई दबाब महसुस हुन्छ।) यो दबाबको कारण के हो? के तिमीहरूले असल परिणामहरू प्राप्त नगरेकोले नै साँच्‍चै यस्तो हुने हो त? के तिमीहरूलाई तिमीहरूको कर्तव्य हेरफेर गरिन्छ वा तिमीहरूलाई हटाइन्छ भन्‍ने डर लागेको हुँदैन र? (हो।) यी कुराहरू तिमीहरूलाई दबाब महसुस हुनुका ठोस कारणहरू हुन्। दबाबका अरू कुनै अनुभूतिहरू छन्? मलाई भन। (मेरा सबै सहकर्मीहरू मभन्दा जान्‍ने छन्, त्यसकारण मलाई दबाब महसुस हुन्छ।) यो डाहाले पैदा हुने समस्या हो—जुन दबाब हो। अरू कुनै दबाबको समस्या छ? (मेरो कामको क्षेत्रमा लामो समयदेखि प्रगति नहुँदा मलाई दबाब महसुस हुन्छ।) यो तनाव हो कि दबाब हो? यो अलिक बढी तनाव नै हो। त्यसोभए यो तनाव राम्रो कुरा हो। के तिमीहरूले यो तनावलाई उत्प्रेरणामा परिवर्तन गर्नु पर्दैन र? जब हरेक समूहका सदस्यहरूको कर्तव्यमा सधैँ हेरफेर गरिन्छ, तब के तिमीहरूलाई दबाब महसुस हुँदैन र? (हुन्छ।) त्यस बेला पनि तिमीहरूलाई दबाब महसुस हुन्छ। तिमीहरूले उल्लेख गरेका वाक्यहरूबाट के देखिन्छ भने, तिमीहरू सबैले दबाबको भावना अनुभव गरेका छौ। मानिसहरूको अन्तर्मन अत्यन्तै चञ्चल, निरन्तर रूपमा बेचैन, र एक किसिमको अदृश्य तनावमा हुन्छ जस्तो देखिन्छ, त्यसैले तिनीहरूमा दबाबको भावना पैदा हुन्छ, र तिनीहरू यो दबाबको नकारात्मक भावनामा जिउँछन्। के यो असल कुरा हो? (अहँ, होइन।) यो असल कुरा होइन। त्यसोभए के यसलाई समाधान गरिनुपर्दैन र? यो असल कुरा होइन, त्यसकारण यसलाई समाधान गरिनुपर्छ। जब मानिसहरू निरन्तर रूपमा नकारात्मक भावनामा जिउँछन्, तब यो जुनसुकै भावना भए पनि, सानो स्तरमा यसले तिनीहरूको शरीर र मनमा प्रतिकूल असर पार्छ, र तिनीहरूलाई स्वस्थ रूपमा जिउन र दह्रिलो भई वृद्धि हुनबाट रोक्छ। बृहत स्तरमा, नकारात्मक भावनाहरूले मानिसहरूमा पार्ने असर तिनीहरूको गाँस, बास, कपास, र यातायातजस्ता दैनिक जीवनसम्‍बन्धी आधारभूत आवश्यकताहरूमा मात्रै सीमित हुँदैन। यसले त अझै महत्त्वपूर्ण रूपमा तिनीहरूले मानिसहरू र परिस्थितिलाई कसरी हेर्छन्, अनि आफूलाई कसरी व्यवहारमा ढाल्छन् र कार्य गर्छन् भन्‍ने कुरामा पनि असर पार्छ। अझै विशिष्ट रूपमा किटेरै भन्दा, यसले कर्तव्यप्रतिको तिनीहरूको कार्यकुशलता, प्रगति, र प्रभावकारितामा असर पार्छ। अझै महत्त्वपूर्ण कुरा, यसले अवश्य नै तिनीहरूले आफ्‍नो कर्तव्यबाट के प्राप्त गर्छन् र मानिसहरूले परमेश्‍वरमाथिको विश्‍वासबाट के हासिल गर्नुपर्छ भन्‍ने कुरामा असर पार्छ। मानिसहरूको मन निरन्तर यी नकरात्मक भावनाहरूद्वारा ग्रसित भएका र बन्धनमा परेका हुन्छन्, तिनीहरूको हृदय प्राय विचलित भइरहन्छ, र तिनीहरू प्रायजसो बेचैनी, असहजता, र आवेगजस्ता भावनाहरूमा जिउँछन्। जब मानिसहरू यी भावनाहरूको बन्धनमा हुन्छन्, तब तिनीहरूको सामान्य विवेक र समझ, साथै तिनीहरूको सामान्य जीवन र तिनीहरूले सामान्य रूपमा पूरा गर्ने कर्तव्यमा बाधा, असर, र विनाश हुन्छ। त्यसकारण, तिमीहरूले यी नकारात्मक भावनाहरूलाई तुरुन्तै समाधान गर्नुपर्छ, र तिमीहरूको सामान्य जीवन र काममा थप असर पर्न दिनु हुँदैन। आज हामीले छलफल गरेको दबाबको अवधारणा सारगत रूपमा हामीले यसभन्दा पहिले कुरा गरेका विभिन्‍न नकारात्मक भावनाहरूको जस्तै छ। मानिसहरूले प्रायजसो धेरै कुराहरूबारे चिन्ता र आशङ्का गर्ने, वा आफ्‍नो हृदयको गहिराइमा धेरै असहजताको कुरा राख्‍ने गर्छन्, त्यसकारण तिनीहरूलाई दबाब महसुस हुन्छ। यदि दबाबको भावना लामो समयसम्‍म समाधान नगरी राखियो भने, मानिसहरूले हृदयको गहिराइमा झन्झन् असहज र अशान्त महसुस गर्दै जानेछन्। निश्‍चित वातावरण र प्रसङ्गहरूमा, मानिसहरू मानवताको विवेक र समझको नियन्त्रणबाट बाहिर जानसमेत सक्छन्, जसले गर्दा तिनीहरूले आफ्‍ना परिस्थितिहरू पार गर्नको लागि कतिपय चरम शैलीहरू अपनाउँछन्। यस्तो किन हुन्छ भने निश्‍चित नकारात्मक भावनाहरू सहनको लागि मानव शरीरको अन्तर्निहित क्षमतामा सीमा हुन्छ। जब मानिसहरू त्यो सीमा र चरम अवस्थामा पुग्छन्, तब तिनीहरू मानवताको समझका बन्धनहरू तोडेर बाहिर आउँछन्, र आफ्‍ना भावनात्मक आवेगहरू देखाउन, र आफ्‍नो हृदयभित्र रहेका अनेक तर्कहीन विचारहरू पोखाउन केही चरम शैलीहरू अपनाउँछन्।

तिमीहरूले उल्लेख गरेका वाक्यहरूद्वारा तिमीहरूले मानिसहरूले दबाब महसुस गर्ने केही फरकफरक कारणहरू व्यक्त गर्‍यौ। आज हामी मानिसहरूमा किन दबाबको यो नकारात्मक भावना पैदा हुन्छ त्यसका तीन वटा कारणहरूबारे मुख्य रूपमा सङ्गति गर्नेछौँ। पहिलो के हो भने, धेरै मानिसहरूले आफ्नो दैनिक जीवनमा होस् वा आफ्‍नो कर्तव्य पूरा गर्दा होस्, आफूले चाहेजस्तो गर्न पाउँदिनँ भन्‍ने महसुस गर्छन्। पहिलो कारण यही हो: आफूले चाहेअनुसार गर्न नसक्‍नु। आफूले चाहेअनुसार गर्न नसक्‍नु भनेको के हो? यसको अर्थ आफ्‍नो मनमा आउने हरेक इच्छा पूरा गर्न नसक्‍नु हो। यी मानिसहरूले आफ्‍नो काम र जीवनमा अघि सार्ने मापदण्ड भनेको आफूले चाहेको कुरा, चाहेको बेला, र चाहेअनुसार गर्न पाऊँ भन्‍ने हो। तर कानुन, जिउने वातावरण, वा कुनै समूहको नियम, प्रणाली, सर्त, र अनुशासन, आदि इत्यादिजस्ता विभिन्‍न कुराहरूको कारण, मानिसहरूले आफ्‍नो इच्छा र कल्‍पनाअनुसार काम गर्न सक्दैनन्। परिणामस्वरूप, तिनीहरूले हृदयको गहिराइमा दबाब महसुस गर्छन्। यसलाई सीधा हिसाबले भन्दा, मानिसहरूले पीडित महसुस गर्ने हुनाले—अनि कतिपय मानिसहरूले अन्यायमा परेकोसमेत महसुस गर्ने हुनाले यो दबाब पैदा हुन्छ। स्पष्ट रूपमा भन्दा, आफूले चाहेअनुसार गर्न नपाउनु भनेको आफ्‍नो इच्छा पूरा गर्न नपाउनु हो—यसको अर्थ विभिन्‍न कारण र व्यक्तिका विभिन्‍न वातावरण र अवस्थाहरूको निषेधको कारण व्यक्तिले स्वेच्‍छाचारी ढङ्गले वा स्वतन्त्र रूपमा काम गर्न नपाउनु भन्‍ने हुन्छ। उदाहरणको लागि, कतिपय मानिसहरूले आफ्‍नो कर्तव्य निभाउँदा सधैँ झारा टार्छन् र अल्याङटल्याङ गर्ने उपाय खोज्छन्। कहिलेकहीँ, मण्डलीको काम छिटो गर्नुपर्ने जरुरी हुन्छ, तर तिनीहरू आफूलाई मन लागेअनुसार गर्न चाहन्छन्। शारीरिक रूपमा तिनीहरूलाई सहज महसुस भएन, वा तिनीहरू केही दिनसम्‍म खराब मनस्थिति र निराश अवस्थामा भए भने, तिनीहरूलाई मण्डलीको काम गर्न कठिनाइ भोग्‍ने र मूल्य चुकाउने इच्छा हुँदैन। तिनीहरू विशेष रूपमा अल्छी हुन्छन् र आरामको लोभ गर्छन्। जब तिनीहरूमा उत्प्रेरणाको कमी हुन्छ, तब तिनीहरूको शरीर बोधो बन्छ, र तिनीहरू हलचल गर्न इच्छा गर्दैनन्, तर अगुवाले निराकरण गर्ला र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले अल्छी भन्लान् भन्‍ने डरले, तिनीहरू मन नलागीनलागी भए पनि अरू सबैसँग काम गर्न बाध्य हुन्छन्। तैपनि, यसप्रति तिनीहरूलाई साह्रै नै अनिच्छा, नरमाइलो, र अरुचि भएको हुन्छ। तिनीहरूले अन्याय, पीडा, झर्को, र थकित महसुस गर्छन्। तिनीहरू आफ्‍नै इच्छाअनुसार काम गर्न चाहन्छन्, तर परमेश्‍वरको घरका मापदण्ड र सर्तहरू तोड्ने वा तीविरुद्ध जाने आँट गर्दैनन्। परिणामस्वरूप, समय बित्दै जाँदा तिनीहरूमा एउटा भावना पैदा हुन थाल्छ, जुन दबाबको भावना हो। यो दबाबको भावनाले तिनीहरूमा जरा गाडेपछि, तिनीहरू क्रमिक रूपमा जोसजाँगररहित र कमजोर हुन थाल्छन्। मेसिनजस्तै, तिनीहरूलाई पनि के गर्दै छु भन्‍ने कुरा स्पष्ट रूपमा थाहा हुन छोड्छ, र तिनीहरू हरेक दिन जे गर्नु भनिएको छ, र जसरी गर्नु भनिएको छ त्यही नै र त्यसरी नै गरिरहन्छन्। हेर्दाखेरि तिनीहरूले नअडिई, नरोकिई, र कर्तव्य पूरा गर्ने वातावरणबाट पछाडि नहटी आफ्‍नो काम निरन्तर गरेजस्तो देखिए पनि, तिनीहरूले हृदयमा दबाब महसुस गर्छन्, र तिनीहरूलाई आफ्नो जीवन थकाइलाग्दो र गुनासैगुनासोले भरिएको जस्तो लाग्छ। तिनीहरूको सबैभन्दा ठूलो इच्छा भनेको अरूको नियन्त्रणमा बस्‍नु नपरोस्, परमेश्‍वरको घरका सर्तहरूमा बाँधिनु नपरोस्, र परमेश्‍वरको घरका बन्दोबस्तहरूबाट मुक्त भइयोस् भन्‍ने हो। तिनीहरू जे मन लाग्यो र जहिले मन लाग्यो त्यही कुरा र त्यही बेला गर्न चाहन्छन्, र राम्रो लागिरहेको बेला अलिअलि काम गर्न, र नराम्रो लागिरहेको बेला केही पनि नगर्न चाहन्‍नन्। तिनीहरू हरकुनै दोषबाट, हरकुनै काटछाँट वा निराकरणबाट, र हरकसैको निगरानी र अनुगमनबाट वा हरकसैको रेखदेखकर्ता बन्‍नबाट मुक्त हुन चाहन्छन्। तिनीहरूलाई लाग्छ कि त्यो दिन आएपछि, त्यो महान् दिन हुनेछ, र तिनीहरूलाई अत्यन्तै स्वतन्त्र र मुक्त भएको अनुभव हुनेछ। तर तिनीहरू अझै पनि छोडेर जान वा यो काम त्याग्‍न चाहँदैनन्; तिनीहरूलाई आफूले कर्तव्य पूरा गरिनँ भने, र साँच्‍चै आफूलाई जे मन लाग्यो त्यही गरेँ र एकदिन स्वतन्त्र र मुक्त भइहालेँ भने, स्वाभाविक रूपमै परमेश्‍वरबाट टाढा हुनेछु भन्‍ने डर लाग्छ, र आफूलाई परमेश्‍वरले चाहन छोड्नुभयो भने, कुनै आशिष्‌ प्राप्त गर्न सक्दिनँ भन्‍ने पनि तिनीहरूलाई डर लाग्छ। कतिपय मानिसहरू द्विविधामा पर्छन्: यदि तिनीहरूले आफ्‍ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग गुनासो गर्ने प्रयास गरे भने, तिनीहरूलाई बोल्‍न गाह्रो हुन्छ। यदि तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गरे भने, तिनीहरूले आफ्‍नो मुख खोल्‍न सक्दैनन्। यदि तिनीहरूले गुनासो गरे भने, तिनीहरूको आफ्‍नै गल्ती छ भन्‍ने तिनीहरूलाई लाग्छ। यदि गुनासो गरेनन् भने, तिनीहरूलाई भित्रभित्रै अशान्ति हुन्छ। तिनीहरू आफ्‍नो जीवन किन यति धेरै गुनासोले भरिएको छ, किन आफ्‍नै इच्छाको यति विपरीत, र यति थकाइलाग्दो छ भनेर अचम्ममा पर्छन्। तिनीहरूलाई त्यसरी जिउन मन लाग्दैन, तिनीहरू अरूको तालमा हिँड्न चाहँदैनन्, आफूलाई जे मन लाग्यो र जहिले मन लाग्यो त्यही र तहिले गर्न चाहन्छन्, र तिनीहरूले किन यो कुरा हासिल गर्न सक्दैनन् त्यसबारे तिनीहरूलाई प्रश्‍न उठ्छ। तिनीहरूले पहिले शारीरिक रूपमा मात्रै थकित भएको महसुस गर्थे, तर अहिले तिनीहरूको हृदयले पनि थकित महसुस गर्छ। तिनीहरू आफूलाई के भइरहेको छ त्यो बुझ्दैनन्। मलाई भन, के यो दबाबको भावनाले पैदा गरेको कुरा होइन र? (हो।)

कतिपय मानिसहरू भन्छन्, “सबैले विश्‍वासीहरू स्वतन्त्र र मुक्त हुन्छन्, विश्‍वासीहरू विशेष रूपमा सुखद, शान्तिपूर्ण, र आनन्दमय जीवन जिउँछन् भनेर भन्छन्। म किन अरूजस्तो सुखद र शान्तिपूर्ण रूपमा जिउन सक्दिनँ? मलाई किन कुनै आनन्द महसुस हुँदैन? मलाई किन यति दबाब र थकित महसुस हुन्छ? कसरी अरू यति सुखी जीवन जिउँछन्? मेरो जीवन किन यति दुःखद छ?” मलाई भन, यसको कारण के हो? केले तिनीहरूमा दबाब पैदा गरेको हुन्छ? (तिनीहरूको भौतिक शरीर सन्तुष्ट हुँदैन र तिनीहरूको देहले कष्ट भोगिरहेको हुन्छ।) व्यक्तिको भौतिक शरीरमा कष्ट हुँदा र यसमा केही गलत भएको अनुभव हुँदा, यदि यसलाई आफ्‍नो हृदय र मनमा स्विकार्न सके, के तिनीहरूले आफ्नो शारीरिक कष्ट ठूलो होइन रहेछ भन्‍ने अनुभव गर्दैनन् र? तिनीहरूले आफ्‍नो हृदय र मनमा सहजता, शान्ति, र आनन्द पाए भने, के तिनीहरूलाई अझै पनि दबाब महसुस हुन्छ र? (हुँदैन।) त्यसकारण, भौतिक कष्टले गर्दा दबाब पैदा हुन्छ भन्‍ने कुरा अमान्य छ। यदि चरम शारीरिक कष्टको कारण दबाब पैदा हुने हो भने, के तिमीहरूले कष्ट भोगिरहेका छैनौ र? के तिमीहरू आफ्‍नो मनखुसी गर्न नपाउँदा दबाब महसुस गर्छौ? के तिमीहरू आफूलाई जसरी मन लाग्यो त्यसरी गर्न नपाउँदा दबाबपूर्ण भावनाहरूको बन्धनमा पर्छौ? (पर्दैनौँ।) के तिमीहरू आफ्‍नो दैनिक कार्यमा व्यस्त छौ? (केही हदसम्‍म व्यस्त छौँ।) तिमीहरू बिहानदेखि साँझसम्‍म काम गर्नमै व्यस्त हुन्छौ? सुत्‍ने र खानेबाहेक, तिमीहरूले आफ्‍नो सारा दिन कम्प्युटरअगाडि बसेर, आँखा र मस्तिष्क थकाएर, अनि तन गलाएर बस्छौ, र पनि के तिमीहरूलाई दबाब महसुस हुन्छ र? के यो थकानले तँमा दबाब पैदा गर्छ त? (गर्दैन।) के कुराले मानिसहरूमा दबाब पैदा गर्छ? यो शारीरिक थकानले त पक्‍कै आउँदैन, त्यसोभए के कुराले यो पैदा गर्छ त? यदि मानिसहरूले निरन्तर शारीरिक सहजता र खुसी खोज्छन् भने, यदि तिनीहरू निरन्तर शारीरिक सुख र सहजताको पछि लाग्छन्, र कष्ट भोग्‍न चाहँदैनन् भने, थोरै शारीरिक कष्ट, अरूको भन्दा अलिक बढी कष्ट, वा सामान्यभन्दा अलिक बढी काम गर्नुपर्ने अवस्थाले पनि तिनीहरूलाई दबाब महसुस गराउँछ। यो दबाबको एउटा कारण हो। यदि मानिसहरू सानोतिनो शारीरिक कष्टलाई ठूलो मान्दैनन्, र शारीरिक सहजताको पछि लाग्दैनन्, बरु त्यसको साटो सत्यता पछ्याउँछन् र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्‍नो कर्तव्य पूरा गर्ने प्रयास गर्छन् भने, तिनीहरूले प्राय शारीरिक कष्ट अनुभव गर्नेछैनन्। बेलाबेला तिनीहरूलाई व्यस्त, थकित, वा लखतरान भएको महसुस हुने भए पनि, सुतेपछि तिनीहरूलाई ठीक भइहाल्छ, र त्यसपछि तिनीहरू आफ्‍नो कार्य जारी राख्छन्। तिनीहरू आफ्‍नो कर्तव्य र काममा ध्यान केन्द्रित गर्छन्; तिनीहरू अलिअलि शारीरिक थकानलाई ठूलो कुरा ठान्दैनन्। तर जब मानिसहरूको सोचमै समस्या पैदा हुन्छ र जब तिनीहरू निरन्तर शारीरिक सहजताको पछि लाग्छन्, तब तिनीहरूको शरीरमा अलिकति समस्या हुँदा पनि वा सन्तुष्टि प्राप्त गर्न नसक्‍नेबित्तिकै, तिनीहरूमा निश्‍चित नकारात्मक भावनाहरू प्रकट हुन्छन्। अनि, यसरी सधैँ आफ्‍नो इच्छाअनुसार गर्न चाहने र आफ्‍नो देहमा लिप्त हुन र जीवनको आनन्द लिन चाहने यस्तो व्यक्ति असन्तुष्ट हुनेबित्तिकै, किन दबाबको यो नकारात्मक भावनामा प्राय फसिरहन्छ? (किनभने ऊ सहजता र शारीरिक आनन्दको पछि लाग्छ।) कतिपय मानिसहरूको हकमा यो साँचो हुन्छ। मानिसहरूको अर्को समूह पनि छ जो शारीरिक सहजताको पछि लाग्दैनन्। तिनीहरू आफ्‍नै लहडअनुसार काम गर्न र आफ्‍नै मनस्थितिअनुसार चल्न खोज्छन्। खुसी हुँदा, तिनीहरूले अझै बढी कष्ट भोग्‍न सक्छन्, दिनभरि निरन्तर काम गर्न सक्छन्, र तिमीहरूले तिनीहरूलाई थाक्यौ कि भनेर सोध्यौ भने, तिनीहरूले यसो भन्‍नेछन्, “म थाकेको छैनँ, आफ्‍नो कर्तव्य पूरा गर्ने कुराले पनि कसरी मलाई थकित पार्न सक्छ र!” तर यदि कुनै दिन तिनीहरू बेखुसी छन् भने, तैँले तिनीहरूलाई कुनै कुरामा थप एक मिनेट बिताउन लगाइस् भने पनि, तिनीहरू असन्तुष्ट हुनेछन्, र तैँले तिनीहरूलाई अलिकति सम्झाइस् भने पनि, तिनीहरूले यसो भन्‍नेछन्, “कराउन छोड्नुहोस्! मलाई दबाब महसुस भइरहेको छ। तपाईं कराइरहनुभयो भने, म आफ्‍नो कर्तव्य पूरा गर्नेछैनँ, र त्यो तपाईंको गल्ती हुनेछ। भविष्यमा मैले आशिष्‌हरू प्राप्त गरिनँ भने त्यो तपाईंको दोष हुनेछ र तपाईंले यसको लागि सबै जिम्‍मेवारी लिनुपर्नेछ!” मानिसहरू अस्वाभाविक स्थितिमा हुँदा अस्थिर हुन्छन्। कहिलेकहीँ तिनीहरूले कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छन्, तर अरू बेला तिनीहरूले थोरै कष्ट भोग्दा पनि गुनासो गर्नेछन् र सानो कुराले पनि तिनीहरूलाई रिस उठाउनेछ। तिनीहरू खराब मनस्थितिमा हुँदा, तिनीहरूलाई आफ्‍नो कर्तव्य पूरा गर्न, परमेश्‍वरका वचनहरू पढ्न, भजन गाउन, वा भेलामा सहभागी हुन र प्रवचन सुन्‍न मन लाग्‍न छोड्छ। तिनीहरू बस केही समयसम्‍म एकलै बस्‍न चाहन्छन्, र जोकसैले पनि तिनीहरूलाई सहयोग गर्नु वा साथ दिनु असम्‍भव हुन्छ। केही दिनपछि, तिनीहरूले यो कुराबाट पार पाएर सामान्य महसुस गर्न सक्छन्। तिनीहरूलाई सन्तुष्ट नपार्ने कुनै पनि कुराले तिनीहरूलाई दबाबमा पर्छ। के यस्तो प्रकारको व्यक्ति अत्यन्तै स्वेच्‍छाचारी हुँदैन र? (हुन्छ।) तिनीहरू अत्यन्तै स्वेच्‍छाचारी हुन्छन्। उदाहरणको लागि, यदि तिनीहरूलाई तुरुन्तै सुत्‍न मन लाग्यो भने, तिनीहरू सुत्‍न जिद्दी गर्छन्। तिनीहरूले यसो भन्‍नेछन्, “मलाई थकाइ लाग्यो, र म अहिले नै सुत्‍न चाहन्छु। ममा कुनै ऊर्जा छैन भने मलाई त सुत्‍नैपर्छ!” यदि कसैले, “थप दश मिनेट बस्‍न सक्‍नुहुन्‍न र? यो काम चाँडै सकिनेछ, त्यसपछि हामी सबै जना आराम गर्न सकिहाल्छौँ नि, त्यसो गरे कसो होला?” भनेर भन्यो भने, तिनीहरूले जबाफ दिनेछन्, “हुँदैन, मलाई त अहिल्यै सुत्‍नुपर्छ!” यदि कसैले तिनीहरूलाई जसोतसो मनायो भने, तिनीहरू मन नलागीनलागी केही समयसम्‍म काम गर्छन्, तर तिनीहरूमा दबाब पर्छ र तिनीहरूलाई झर्को लाग्छ। यी कुराहरूबारे प्राय तिनीहरूलाई दबाब महसुस भइरहन्छ र तिनीहरू आफ्‍ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूबाट सहयोग स्विकार्न वा अगुवाहरूको सुपरिवेक्षण स्विकार्न अनिच्‍छुक हुन्छन्। तिनीहरूले गल्ती गरे भने पनि, तिनीहरूको निराकरण वा काटछाँट गर्न अरूलाई अनुमति दिँदैनन्। कुनै पनि हिसाबमा तिनीहरू नियन्त्रणमा पर्न चाहँदैनन्। तिनीहरू सोच्छन्, “खुसी मिल्छ भनेर मैले परमेश्‍वरमा विश्‍वास गरेको हुँ, त्यसकारण मैले किन आफै आफ्‍नो लागि कठिनाइ ल्याउने? किन मेरो जीवन त्यति थकाइलाग्दो हुनुपर्ने? मानिसहरू खुसीसाथ जिउनुपर्छ। तिनीहरूले यी नियम र ती प्रणालीहरूलाई त्यति धेरै ध्यान दिनु हुँदैन। सधैँ ती कुराहरू पालन गर्नुको के काम? अहिले, यो क्षण, म जे मन लाग्छ त्यही गर्छु। तपाईंहरू कसैले त्यसबारेमा केही भन्‍न पाउनुहुन्‍न।” यस्तो व्यक्ति एकदमै स्वेच्‍छाचारी र भोगविलासी हुन्छ: तिनीहरू कुनै पनि बन्धन भोग्‍न चाहँदैनन्, न त तिनीहरूले कुनै पनि काम गर्ने वातावरणमा बाँधिएको महसुस गर्न नै चाहन्छन्। तिनीहरू परमेश्‍वरको घरका नियम र सिद्धान्तहरू पालना गर्न चाहँदैनन्, आफ्‍नो व्यवहारमा मानिसहरूले लागू गर्नुपर्ने सिद्धान्तहरू लागू गर्न चाहँदैनन्, अनि विवेक र समझले तिनीहरूलाई गर्न लगाउने कुरासमेत तिनीहरू पालना गर्न चाहँदैनन्। तिनीहरू आफूलाई जे मन लाग्यो त्यही गर्न, जुन कुराले आफूलाई खुसी मिल्छ त्यही गर्न, र जुन कुराबाट आफूलाई फाइदा र सहज हुन्छ त्यही कुरा गर्न चाहन्छन्। तिनीहरूलाई लाग्छ कि यी बन्धनहरूमा जिउँदा यसले तिनीहरूको इच्छा उल्‍लङ्घन गर्छ, यो आफैलाई दुर्व्यवहार गर्नु हो, आफैप्रति कठोर हुनु हो, र मानिसहरूले त्यसरी जिउनु हुँदैन। तिनीहरू सोच्छन्, मानिसहरू देहमा लिप्त हुँदै र आफ्ना इच्छाहरू पूरा गर्दै, अनि आफ्‍ना आदर्श सोच र कामनाहरू पूरा गर्दै स्वतन्त्र र मुक्त भएर जिउनुपर्छ। तिनीहरूलाई लाग्छ, तिनीहरूले आफ्‍ना सबै विचारहरू पूरा गर्नुपर्छ, मन लागेको कुरा बोल्‍नुपर्छ, चाहेको कामकुरा गर्नुपर्छ, र मन लागेको ठाउँमा जानुपर्छ, परिणामहरूबारे वा अरूको भावनाबारे विचार गरिरहनु पर्दैन, र विशेष गरी आफ्‍ना जिम्‍मेवारी र दायित्वहरूबारे, वा विश्‍वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य, वा तिनीहरूले पालना गर्नुपर्ने र जिउनुपर्ने सत्यताका वास्तविकताहरू, वा तिनीहरूले पछ्याउनुपर्ने जीवन मार्गबारे विचार गरिरहनु पर्दैन। यो समूहका मानिसहरूले समाजमा र अरू मानिसहरूमाझ सधैँ आफूलाई जे मन लाग्यो त्यही गर्न चाहन्छन्, तर तिनीहरू जहाँ गए पनि, तिनीहरूले त्यो उद्देश्य पूरा गर्न सक्दैनन्। तिनीहरूलाई यो विश्‍वास हुन्छ कि परमेश्‍वरको घरले मानव अधिकारप्रति जोड दिन्छ, मानिसहरूलाई पूर्ण स्वतन्त्रता दिन्छ, र यसले मानवजातिको वास्ता गर्छ, र मानिसहरूप्रति सहिष्णु र धैर्य हुन ध्यान दिन्छ। परमेश्‍वरको घरमा आएपछि तिनीहरूले स्वतन्त्र रूपमा आफ्‍नो देह र इच्छाहरूमा लिप्त हुन पाउनुपर्छ भन्‍ने तिनीहरूले विचार गरेका हुन्छन्, तर परमेश्‍वरको घरका प्रशासनिक आदेशहरू र नियमहरूको कारण, तिनीहरूले जे मन लाग्यो त्यही गर्न सक्दैनन्। त्यसकारण, तिनीहरू परमेश्‍वरको घरमा आइसकेपछि तिनीहरूको यो दबाबपूर्ण नकारात्मक भावना समाधान हुन सक्दैन। तिनीहरू कुनै पनि प्रकारको जिम्‍मेवारी निभाउन वा कुनै मिसन पूरा गर्न, वा साँचो व्यक्ति बन्‍नको लागि जिउँदैनन्। तिनीहरूले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नको लागि, आफ्‍नो मिसन पूरा गर्न, र मुक्ति पाउनको लागि परमेश्‍वरमा विश्‍वास गरेका हुँदैनन्। तिनीहरू जोसुकै मानिसहरूमाझ भए पनि, जुनसुकै वातावरणमा भए पनि, वा जुन पेसामा संलग्‍न भए पनि, तिनीहरूको अन्तिम उद्देश्य भनेको आफूलाई सन्तुष्ट तुल्याउनु नै हुन्छ। तिनीहरूले गर्ने सबै कुराको उद्देश्य यसैमा केन्द्रित हुन्छ, र आत्मसन्तुष्टि नै तिनीहरूको आजीवन इच्छा र खोजको उद्देश्य हुन्छ।

तिमीहरूमध्ये कतिजनाले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई बास दिने र खाना पकाइदिने कार्यको जिम्‍मेवारी सम्हाल्छौ, र त्यस्तो अवस्थामा, तिमीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई के खान मन पर्छ सोध्‍नुपर्छ, र आफूले आफैलाई परमेश्‍वरको घरका सिद्धान्त र मापदण्डहरू के-के हुन् भनेर सोध्‍नुपर्छ, र त्यसपछि यी दुई प्रकारका सिद्धान्तहरूअनुसार तिनीहरूलाई बास दिनुपर्छ। यदि तिमीहरूले उत्तरी चीनका मानिसहरूलाई बास दिइरहेका छौ भने, बफ्याएको रोटी, मेन्डारीन रोल, र बीचमा विभिन्‍न वस्तु हालिएको रोटीजस्ता गहुँका परिकारहरू बढी बनाउनुपर्छ। कहिलेकहीँ, दक्षिण चीनका मानिसहरूले खाने भात वा चामलको पीठोको नुडल पनि बनाउन सक्छौ। यो सबै स्वीकार्य छ। मानौँ, तिमीहरूले बास दिइरहेका धेरैजसो मानिसहरू दक्षिण चीनका छन्। तिनीहरूलाई गहुँको परिकार मन पर्दैन, तर भात मन पर्छ, र तिनीहरूले भात खान पाएनन् भने, तिनीहरूलाई खाएजस्तै लाग्दैन। त्यसकारण, यदि तैँले तिनीहरूलाई बास दिइरहेको छस् भने, तैँले प्राय भात नै बनाउनुपर्छ र दक्षिण चीनका मानिसहरूलाई मनपर्ने खानेकुरा पाक्‍ने कुरा सुनिश्‍चित गर्नुपर्छ। यदि तैँले दक्षिण र उत्तर चीन दुवै ठाउँका मानिसहरूलाई बास दिइरहेको छस् भने, तैँले दुई प्रकारका खाना बनाएर मानिसहरूलाई आफूलाई मनपर्ने खानेकुरा छनौट गर्ने स्वतन्त्रता दिन सक्छस्। विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई यसरी बास दिनु सिद्धान्तहरूअनुरूप हुन्छ—यो एकदमै सीधा कुरा हो। जबसम्म अधिकांश मानिसहरू सन्तुष्ट हुन्छन्, त्यो पर्याप्त हुनेछ। सन्तुष्ट नहुने केही अनौठा मानिसहरूबारे तिमीहरूले चिन्ता गर्नु पर्दैन। तैपनि, यदि बास दिने मानिसहरूले सत्यता बुझेका छैनन् र सिद्धान्तहरूअनुसार कसरी परिस्थिति सामना गर्ने तिनीहरूलाई थाहा छैन भने, र तिनीहरू सधैँ आफ्‍नै रुचिअनुसार काम गर्छन्, मानिसहरूले खान मन पराउँछन् कि मन पराउँदैनन् त्यसबारेमा विचारै नगरी आफूलाई जुन खानेकुरा बनाउन मन लाग्यो त्यही बनाउँछन् भने, त्यो कस्तो किसिमको समस्या हो? यो चरम स्वेच्‍छाचारी र स्वार्थी व्यवहार हो। कतिपय मानिसहरू दक्षिण चीनबाट आएका हुन्छन्, र तिनीहरूले बास दिएका धेरैजसो मानिसहरू उत्तर चीनबाट आएका हुन्छन्। तिनीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई भात खाने बानी छ कि छैन भनेर विचारै नगरी दिनहुँ भात पकाउँछन्, र जब तैँले तिनीहरूलाई निराकरण गर्ने र केही सल्‍लाह दिने प्रयास गर्छस्, तब तिनीहरूमा केही निश्‍चित प्रकारको भावना पैदा हुन्छ, र तिनीहरूको हृदय अटेर, अनाज्ञाकारी, र द्वेषपूर्ण बन्छ, र तिनीहरूले भन्छन्, “परमेश्‍वरको घरमा पकाउने काम सहज छैन। यी मानिसहरूको सेवा गर्नु साह्रै गाह्रो छ। म तपाईंहरूको लागि खाना पकाउन बिहानदेखि रातीसम्‍मै खट्छु, तर तपाईंहरू अझै पनि यो भएन त्यो भएन भन्‍नुहुन्छ। भात खाँदा के हुन्छ र? के हामी दक्षिणका मानिसहरूले दिनमा तीनपटक भात नै खाँदैनौँ र? के त्यो जिउने निकै राम्रो तरिका होइन र? हामी तपाईंहरूभन्दा दह्रिला छौँ र हामीसँग अझै बढी ऊर्जा हुन्छ। सधैँ चाउचाउ र बफ्याएको रोटी खाँदा के फाइदा हुन्छ? के त्यो खाँदा तपाईंहरू अघाउनुहुन्छ? मलाई चाउचाउ किन मिठो नलागेको? किन त्यो खाएर म अघाएको? यसमा त म केही पनि गर्न सक्दिनँ। परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्नको लागि सायद मैले यस्तो कुरा सहेर आफूलाई काबुमा राख्‍नुपर्छ। मैले आफूलाई काबुमा राखिनँ भने, मलाई बर्खास्त गरिन वा हटाइन सक्छ। भैगो, म बस चाउचाउ र बफ्याएको रोटी नै बनाउनेछु!” अनि, तिनीहरूले मन नलागीनलागी हरेक दिन यसै गर्छन्, र सोच्छन्, “मैले त भातसमेत खान पाएको छैनँ। हरेक छाक म भात नै खान चाहन्छु। भातविना, म बाँच्‍न सक्दिनँ। म भात नै खान चाहन्छु!” तिनीहरूले हरेक दिन मन नलागीनलागी चाउचाउ र बफ्याएको रोटी बनाए पनि, तिनीहरूको मुड अत्यन्तै खराब हुन्छ। अनि, किन तिनीहरूको मुड खराब हुन्छ? किनभने तिनीहरूलाई दबाब महसुस हुन्छ। तिनीहरू सोच्छन्, “मैले तिमीहरूको सेवा गर्नुपर्छ र मलाई खान मन लागेको होइन, तिमीहरूलाई मनपर्ने कुरा पकाउनुपर्छ। मैले किन आफूलाई नभई सधैँ तिमीहरूलाई सन्तुष्ट पार्नुपर्ने?” तिनीहरूलाई पीडा र दबाबमा परेको महसुस हुन्छ, र तिनीहरूलाई आफ्नो जीवन थकाइलाग्दो लाग्छ। तिनीहरूले कुनै थप काम गर्न मान्दैनन्, र थोरथोरै काम गर्दा पनि, तिनीहरूले झारा मात्र टार्छन्; र तिनीहरूलाई कुनै काम गरिएन भने बर्खास्त भइन्छ वा हटाइन्छ भन्‍ने डर लाग्छ। परिणामस्वरूप, तिनीहरू यसरी कुनै क्षण पनि खुसी, स्वतन्त्रता, वा उन्मुक्ति अनुभव नगरी, मन नलागीनलागी र इच्छा नभईनभई काम गर्न र आफ्‍नो कर्तव्य पूरा गर्न बाध्य हुन्छन्। मानिसहरूले तिनीहरूलाई सोध्छन्, “विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई बास दिएर खाना खुवाउँदा तपाईंलाई कस्तो लाग्छ?” तिनीहरूले प्रतिक्रिया दिन्छन्, “त्यति थकाइलाग्दो त छैन, तर मलाई अलिक दबाब महसुस हुन्छ।” मानिसहरूले भन्छन्, “किन तपाईंलाई दबाब महसुस हुन्छ? तपाईंसँग चामल, पीठो, र सागसब्‍जी छन्—तपाईंसँग सबै कुरा छन्। यी कुराहरू किन्‍न तपाईंले आफ्‍नै पैसासमेत खर्च गर्नुपर्दैन। तपाईंले कहिलेकहीँ अरूले भन्दा अलि बढी मेहनत र अलि बढी काम मात्रै गर्नुपर्छ। के त्यो त तपाईंले गर्नुपर्ने काम नै होइन र? परमेश्‍वरमा विश्‍वास गर्नु र आफ्‍नो कर्तव्य पूरा गर्नु आनन्दको कुरा हो। त्यो स्वेच्छिक कार्य हो। त्यसकारण तपाईं किन दबाब महसुस गर्नुहुन्छ?” तिनीहरूले जबाफ दिन्छन्, “मैले यी कुराहरू स्वेच्छाले गरेको भए पनि, म नियमित रूपमा भात खान पाउँदिनँ र आफ्‍नो इच्छाअनुसार काम गर्न अनि आफूलाई मनपर्ने र मीठो लाग्‍ने कुरा खान पाउँदिनँ। यदि मैले आफ्‍नो लागि कुनै मीठो कुरा पकाइरहेको कसैले देख्यो भने मेरो आलोचना होला भन्‍ने डर लाग्छ, त्यसकारण मलाई दबाब महसुस हुन्छ, र मलाई कहिल्यै खुसी मिल्दैन।” यस्ता मानिसहरू खानेकुरासम्‍बन्धी आफ्‍नो इच्छा सन्तुष्ट पार्न नसकेर सधैँ दबाबपूर्ण भावनामाझ जिउँछन्।

कतिपय मानिसहरूले मण्डलीको जग्‍गामा सागसब्‍जी रोप्छन्। तिनीहरूले यो काम कसरी गर्नुपर्छ? तिनीहरूले ऋतु, मौसम, तापक्रम, र तिनीहरूलाई चाहिने मानिसहरूको सङ्ख्याको आधारमा उचित प्रकारका सागसब्‍जी रोप्‍नुपर्छ। परमेश्‍वरको घरमा सागसब्‍जी खेती गर्ने सम्‍बन्धी नियमहरू छन्, जुन धेरै मानिसहरूका लागि चुनौतीपूर्ण हुन सक्छ। मानिसहरूलाई कतिपय सागसब्‍जी दैनिक रूपमा खान मन पर्छ, र अरूलाई ती खान मन पर्दैन। कतिपय सागसब्‍जीको मापन सीमित गरिएको हुन्छ, र अरू सागसब्जीलाई मौसम अनुसार उपभोग गरिन्छ। यसरी, मानिसहरूले खान सक्‍ने मात्रा सीमित हुन्छ। कतिपय मानिसहरूले सोच्थे, “अहो, हामीलाई यी सागसब्‍जी खाएर कहिल्यै पुग्दैन। थोरै खाएका हुन्छौँ, अनि ती सकिन्छन्। त्यति धेरै भेट्टाउन सकिँदैन! जस्तै सानो गोलभेँडा हरेक पटक नै थोरै मात्र उत्पादन हुन्छ, र हामीले त्यसको स्वाद लिन पाउनुभन्दा पहिले नै त्यो सकिन्छ। कटौराभरि खान पाए राम्रो हुनेथियो!” त्यसकारण, दश जना जति मानिसहरू बस्‍ने ठाउँमा, तिनीहरूले दुई सय वटा सानो गोलभेँडाको बोट रोपेका हुन्छन्। तिनीहरूले बिहान उठ्ने बित्तिकै एक कटौरा खान थाल्छन् र राती नसकुञ्जेल खाइरहन्छन्। सानो गोलभेँडा र सामान्य गोलभेँडा कटौराभरि खान पाउँदा र डालाभरि काँक्रो खान पाउँदा तिनीहरू साह्रै उत्साहित भएका हुन्छन्। तिनीहरूलाई यी स्वर्गीय दिनहरू हुन्, र यी परम आनन्दका दिनहरू हुन् भन्‍ने लाग्छ। यस्ता मानिसहरूले आफ्‍नो व्यवहारमा परमेश्‍वरको घरका सर्तहरूलाई पालना गर्न सक्दैनन्, र तिनीहरूले विज्ञानका सिद्धान्तहरूलाई पालना गर्न सक्दैनन्। तिनीहरूले कसैको कुरा सुन्‍न मान्दैनन्, आफ्‍नै हितहरूलाई प्राथमिकता दिन्छन्, सबै कुरामा आफ्‍नो बारेमा मात्रै सोच्छन्, र आफूलाई जे मन लाग्यो त्यही मात्रै गर्छन्। परिणाम स्वरूप, परमेश्‍वरको घरको नियन्त्रण, सुपरिवेक्षण, र व्यवस्थापनको अधीनमा बस्दा, मनग्‍गे खान खोज्‍ने यी मानिसहरूलाई कडा बन्धनमा राखिन्छ, र कतिलाई निराकरण र काट-छाँट गरिन्छ। मलाई भन, तिनीहरूलाई अहिले कस्तो महसुस हुन्छ भन्‍ने तिमीहरूलाई लाग्छ? के तिनीहरू अत्यन्तै खिन्‍न हुँदैनन् र? के तिनीहरूलाई संसार निराशाजनक छ, र परमेश्‍वरको घरमा कुनै प्रेम वा माया छैन भन्‍ने लाग्दैन र? के तिनीहरूलाई अत्यन्तै दबाबको महसुस हुँदैन र? (हुन्छ।) तिनीहरूले निरन्तर सोच्छन्, “आफ्‍नो खुसीले काम गर्नुमा के गलत छ र? के मैले केही सागसब्‍जी खाएर आनन्द लिन पनि नपाउने? तिनीहरूले मलाई एक कटौरा सानो गोलभेँडा पनि खान दिँदैनन्। कति कन्जुस! परमेश्‍वरको घरले मानिसहरूलाई स्वतन्त्रता दिँदैन। यदि हामी सानो गोलभेँडा खान चाहन्छौँ भने, तिनीहरूले खाने मानिसहरूको सङ्ख्याको आधारमा रोप्‍न लगाउँछन्। मैले दुई-तीन सय बिरुवा रोप्दा के समस्या भयो र? यदि हामीले ती सबै खान सकेनौँ भने, पशुलाई पनि त दिन सक्छौँ।” के तैँले कटौराभरि खानु उचित हुन्छ? के तैँले खाने थोक ठिक्क र सीमित हुनु पर्दैन र? मानिसहरूले परमेश्‍वरले सृष्टि गर्नुभएका विभिन्‍न खानेकुराहरू खाने मात्रा ती कुराको फल र त्यस अवधिमा प्राप्त हुने उपलब्धताको आधारमा हुनुपर्छ। मुख्य खाद्य वस्तुहरू धेरै उत्पादन हुने वस्तुहरू हुनुपर्छ, जब कि कम उत्पादन हुने, छोटो ऋतु भएका, छोटो समय अवधि भएका, वा उत्पादन सीमित गरिएका वस्तुहरूलाई कम मात्रामा उपभोग गरिनुपर्छ—कतिपय स्थानमा, मानिसहरूले ती खाँदैनन्, र पनि तिनीहरूले केही गुमाएका हुँदैनन्। यो उचित कुरा हो। मानिसहरूले सधैँ इच्छाहरू बोकेर हिँड्छन्, र निरन्तर आफ्‍नो भोक मेटाउन चाहन्छन्। के यो उचित छ? सधैँ इच्छा र रुचि बोकेर हिँड्नु उचित हुँदैन। परमेश्‍वरको घरका आफ्‍नै नियमहरू छन्। परमेश्‍वरको घरको कामका सबै पक्षहरूमा नीति, व्यवस्थापन, र उचित प्रणालीहरू छन्। यदि तँ परमेश्‍वरको घरको सदस्य बन्‍न चाहन्छस् भने, तैँले कडाइका साथ यसका नियमहरू पालना गर्नुपर्छ। तँ घमण्डी बन्‍नु हुँदैन, तर तैँले समर्पित भएर सबैलाई चित्त बुझ्‍ने तरिकाले व्यवहार गर्नुपर्छ। यो विवेक र समझका मापदण्डहरू अनुरूप हुन्छ। परमेश्‍वरको घरका कुनै पनि नियमहरू एक जना व्यक्तिको फाइदाको लागि स्थापित हुँदैनन्, तर परमेश्‍वरको घरका सबैको खातिर स्थापित गरिएका हुन्छन्। त्यसको उद्देश्य परमेश्‍वरको घरका काम र हितहरूको रक्षा गर्ने हुन्छ। यी नियम र प्रणालीहरू उचित छन् अनि यदि मानिसहरूमा विवेक र समझ छ भने तिनीहरूले यी कुराहरूलाई पालना गर्नुपर्छ। त्यसकारण, तैँले जे गरिरहेको भए पनि, एक हिसाबमा, तैँले परमेश्‍वरको घरका नियम र प्रणालीहरू अनुसार यो काम गर्नुपर्छ, र अर्को हिसाबमा, निरन्तर आफ्‍ना व्यक्तिगत हितहरू र दृष्टिकोणको आधारमा काम गर्नुको सट्टा, यो सब नियमलाई समर्थन गर्ने पनि तेरो जिम्‍मेवारी र दायित्व हुन्छ। के त्यो कुरा साँचो होइन र? (हो।) परमेश्‍वरको घरमा बस्दा र काम गर्दा तँलाई निकै दबाबको महसुस हुन्छ भने, यो परमेश्‍वरको घरका नियम, प्रणाली, वा व्यवस्थापन शैलीहरूको समस्या होइन, तर तेरो व्यक्तिगत समस्या हो। मानौँ परमेश्‍वरको घरमा तँ सधैँ आफूलाई सन्तुष्ट पार्न र आफ्‍नै इच्छाहरू पूरा गर्न चाहन्छस्, र सधैँ दबाबमा परेको, बन्धनमा परेको, र स्वतन्त्र नभएको महसुस गर्छस्, र तँमा कुनै शान्ति वा आनन्द हुँदैन। मानौँ तँलाई सधैँ अप्ठ्यारो र अन्यायमा परेको महसुस हुन्छ, कुनै पनि मामलामा तैँले आफ्‍नो खुसीले काम गर्न सक्दैनस्, तैँले चाहे अनुसार खान वा लुगा लगाउन पाउँदैनस्, तँलाई फेसनको लुगा लगाउन वा कामुक लुगा लगाउन अनुमति छैन, र यी कुराहरूले गर्दा तँ हरेक दिन हैरान र व्याकुल हुन्छस्। मानौँ तँलाई सधैँ आफ्‍ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग कुराकानी गर्न अप्ठ्यारो लाग्छ, र सोच्छस्, “यी मानिसहरूले सधैँ मसँग सत्यतामा सङ्गति गर्छन्, मलाई साह्रै तनावपूर्ण लाग्छ! म यसरी आफ्‍नो आनीबानी प्रस्तुत गर्न चाहन्‍नँ। म खुसीसाथ, सन्तुष्ट, र स्वतन्त्र रूपमा जिउन मात्रै चाहन्छु। परमेश्‍वरमा विश्‍वास गरेर मैले जति खुसी र स्वतन्त्र हुन्छ भन्‍ने सोचेको थिएँ त्यति खुसी र स्वतन्त्र छु जस्तो मलाई लाग्दैन। म कसैको बन्धनमा बस्‍न चाहन्‍नँ। सधैँ मानिसहरूले मलाई व्यवस्थित गरिरहेका र बन्धनमा परिरहेका हुन्छन्, र मलाई दबाबको महसुस हुन्छ।” यस्ता मानिसहरूलाई यस्तो जिउने वातावरण मन पर्दैन र यसप्रति अनिच्छा हुन्छ। तैपनि, आशिषहरू पाउनका लागि, तिनीहरूसँग यसमा समर्पित हुने बाहेक कुनै विकल्‍प हुँदैन। तिनीहरूसँग आफ्‍नो निराशा पोखाउने कुनै ठाउँ हुँदैन, तिनीहरूले चिच्याउने आँट गर्दैनन्, र तिनीहरूलाई प्रायजसो दबाब महसुस हुन्छ। यसको एउटै समाधान, र यस्ता मानिसहरूलाई तह लगाउने एउटै मात्र तरिका भनेको, तिनीहरूलाई यसो भन्‍नु हो: “तँ जान सक्छस्। गएर आफूलाई खान मन लाग्‍ने खानेकुरा खा, आफूलाई मन लागेको लुगा लगा, आफ्‍नो इच्छा अनुसारको जीवन बिता, आफूलाई मन लागेका कुराहरू गर्, आफूले चाहेको करियर रोज्, र आफूले चाहेको उद्देश्य र दिशालाई पछ्या। परमेश्‍वरको घरले तँलाई पक्रिराखेको छैन। तेरा हात-खुट्टा स्वतन्त्र र मुक्त छन्, र तेरो हृदय पनि स्वतन्त्र छ। तँलाई कसैले पनि बन्धनमा पारेको छैन। तँ निश्‍चित उद्देश्य पूरा गर्नको लागि आफै परमेश्‍वरको घरमा समर्पित भएको होस्, कसैले पनि तँलाई यी नियमहरू लागू गर्न बाध्य गरेको छैन, तँ परमेश्‍वरको घरमा बस्‍नुपर्छ, बस्‍नु आवश्यक छ, र बस्‍नु अनिवार्य छ, नत्र परमेश्‍वरको घरले तँलाई केही गर्नेछ भनेर भनेको छैन।” म तँलाई साँचो कुरा भन्दैछु, परमेश्‍वरको घरले तँलाई केही पनि गर्नेछैन। तँ जान चाहन्छस् भने, कुनै पनि बेला जान सक्छस्। परमेश्‍वरका वचनहरूका पुस्तकहरू मण्डलीमा फिर्ता दे र आफूले हातमा लिएको काम हस्तान्तरण गर्, त्यति भए हुन्छ। तँलाई जहिले जान मन लाग्छ, जान सक्छस्। परमेश्‍वरको घरले तँलाई बन्धनमा पार्दैन, यो तेरो कारागार वा जेल होइन। परमेश्‍वरको घर स्वतन्त्र स्थान हो, र यसका ढोकाहरू खुला हुन्छन्। यदि तँलाई दबाब महसुस हुन्छ भने, तैँले आफूले चाहे अनुसार गर्न नपाएर हो, र त्यसको अर्थ यो ठाउँ तेरो लागि उपयुक्त छैन। यो तैँले खोजेको जस्तो खुसीको घर होइन, न त तँ बस्‍नुपर्ने ठाउँ नै हो। यदि तँ तेरो इच्छा विपरीत हुने शैलीमा जिइरहेको छस् भने, तँ जानुपर्छ। बुझिस्? परमेश्‍वरको घरले गैर-विश्‍वासी वा सत्यतालाई नपछ्याउने मानिसहरूलाई कहिल्यै जबरजस्ती गर्दैन। यदि तँ व्यापार गर्न, धनी बन्‍न, करियर पछ्याउन, वा संसारमा जोखिम लिएर नाम कमाउन चाहन्छस् भने, त्यो तेरो व्यक्तिगत लक्ष्य हो, र तँ बाहिरी संसारमा फर्किनुपर्छ। परमेश्‍वरको घरले कहिल्यै पनि मानिसहरूको स्वतन्त्रतालाई सीमित गर्दैन। परमेश्‍वरको घरका ढोकाहरू सधैँ खुला छन्। गैर-विश्‍वासी र सत्यता नपछ्याउनेहरू परमेश्‍वरको घरबाट कुनै पनि बेला निस्केर जान सक्छन्।

कतिपय मानिसहरूलाई आफ्‍नो कर्तव्य पूरा गर्न र सत्यतामा सङ्गति गर्न पटक्‍कै मन लाग्दैन। तिनीहरूले मण्डली जीवन अपनाएका हुँदैनन्, तिनीहरूले यसलाई अपनाउन सक्दैनन्, र तिनीहरूलाई सधैँ निकै हैरान र विवश महसुस हुन्छ। म यस्ता मानिसहरूलाई यसो भन्छु: तिमीहरू तुरुन्तै गइहाल। आफ्‍नै उद्देश्य र दिशा खोज्‍न बाहिरी संसारमा जाओ, र आफूले जिउनुपर्ने जीवन जिओ। परमेश्‍वरको घरले कहिल्यै पनि कसैलाई जबरजस्ती गर्दैन। मण्डलीको कुनै पनि नियम, प्रणाली, वा प्रशासनिक आदेशहरू व्यक्तिगत रूपमा तँप्रति लक्षित गरिएका छैनन्। तँलाई ती गाह्रो लाग्छ, तिनलाई पालना गर्न सक्दैनस्, र निकै हैरानी र दबाबको महसुस गर्छस् भने, तैँले जाने निर्णय गर्न सक्छस्। सत्यतालाई स्विकार्न र सिद्धान्तहरू पालना गर्न सक्‍नेहरू नै मण्डलीमा बस्‍न उपयुक्त मानिसहरू हुन्। अवश्‍य नै, यदि तँलाई परमेश्‍वरको घरमा बस्‍न उपयुक्त छैनँ जस्तो लाग्छ भने, के तेरो लागि अर्को उपयुक्त ठाउँ हुनेछ? हुनेछ, किनभने संसार ठूलो छ, र तेरो लागि एउटा उपयुक्त ठाउँ हुनेछ। छोटकरीमा भन्दा, यदि तँलाई यहाँ दबाबको महसुस हुन्छ, तैँले मुक्त अनुभव गर्न सक्दैनस्, तँलाई सधैँ आवेग पोखाउन मन लाग्छ र तेरो प्रकृति प्रकट हुने सम्‍भावना हुन्छ भने, तँ खतरामा छस् र परमेश्‍वरको घरमा बस्‍न उपयुक्त छैनस्। संसार ठूलो छ, र तेरो लागि सधैँ उपयुक्त ठाउँ हुनेछ। समय लिएर यस कुरालाई आफै पत्ता लगा। के यो यस मामलालाई सम्‍हाल्‍ने उपयुक्त तरिका होइन र? के यो तर्कसंगत कुरा होइन र? (हो।) यदि यी मानिसहरूलाई अत्यन्तै असहज महसुस हुन्छ, र तँ अझै पनि तिनीहरूलाई यहाँ राख्‍न चाहन्छस् भने, के तँ मूर्ख होइनस् र? तिनीहरूलाई जान दिऊँ र तिनीहरूले आफ्‍ना सपनाहरू पूरा गरून् भनेर कामना गरौँ, हुँदैन? तिनीहरूका सपनाहरू के हुन्छन्? (कटौराभरि सानो गोलभेँडा खानु।) तिनीहरूले हरेक खानामा वर्षभरि भात र माछा खान पनि चाहन्छन्। तिनीहरूमा अरू के-कस्ता सपनाहरू हुन्छन्? हरेक दिन सामान्य रूपमा उठेर, जहिले मन लाग्यो त्यही बेला काममा जाने, र तिनीहरूलाई काम गर्न मन नलाग्दा कसैको व्यवस्थापन वा निरीक्षणमा नपर्नु। के तिनीहरूको सपना यही हुँदैन र? (हो।) कस्तो ठूलो सपना! यो कति उत्कृष्ट छ! मलाई भन, के यस्ता मानिसहरूको सम्‍भावनाहरू राम्रा हुन्छन्? के तिनीहरूले आफूले गर्नुपर्ने उचित काम गर्छन्? (गर्दैनन्।) समग्र रूपमा भन्दा, यस्ता मानिसहरूले सधैँ दबाबको महसुस गर्छन्। सरल भाषामा भन्दा, तिनीहरू आफ्‍नो देहमा लिप्त हुन र आफ्‍ना इच्छाहरू पूरा गर्न चाहन्छन्। तिनीहरू अत्यन्तै स्वार्थी हुन्छन्, तिनीहरू आफ्‍नै आवेग र आफूले चाहे अनुसार सबै कुरा गर्न चाहन्छन्, नियमहरू र सिद्धान्तहरू अनुसार काम गर्ने कार्यलाई बेवास्ता गर्छन्, आफ्‍नै भावना, रुचि र इच्छाहरू अनुसार काम गर्छन्, र आफ्‍नै हितहरू अनुसार व्यवहार गर्छन्। तिनीहरूमा सामान्य मानवताको कमी हुन्छ र यस्ता मानिसहरूले आफूले गर्नुपर्ने उचित काम गर्दैनन्। आफूले गर्नुपर्ने उचित काम नगर्ने मानिसहरूले आफूले गर्ने सबै कुरामा, र जहाँ गए पनि दबाबको महसुस गर्छन्। तिनीहरू एकलै बसे पनि, तिनीहरूलाई दबाबको महसुस हुन्छ। यसलाई राम्ररी भन्दा, यी मानिसहरू आशाजनक व्यक्तिहरू होइनन् र तिनीहरूले आफूले गर्नुपर्ने उचित काम गर्दैनन्। सटीक रूपमा भन्दा, तिनीहरूको मानवता अस्वाभाविक हुन्छ, र तिनीहरू अलिक सरल सोचका हुन्छन्। के तिनीहरू आफूले गर्नुपर्ने उचित काम गर्ने मानिसहरू हुन्? तिनीहरू गाँस, बास, कपास, र यातायात जस्ता आधारभूत आवश्यकताहरूलाई सरल ठान्‍ने मानिसहरू हुन्। यी कुराहरू सामान्य मापदण्ड अनुरूप छन् भने, तिनीहरूलाई त्यति नै पर्याप्त हुन्छ। तिनीहरूले आफ्‍नो जीवनको मार्ग, मानवको रूपमा आफ्‍नो मिसन, आफ्‍नो जीवनको दृष्टिकोण र मूल्य-मान्यताहरूलाई नै बढी ध्यान दिन्छन्। आशाजनक नरहेका मानिसहरूले सारा दिन केको बारेमा सोचविचार गर्छन्? तिनीहरूले सधैँ कसरी काममा ठग्‍ने, जिम्‍मेवारीबाट जोगिन, कसरी चलाकी गर्ने, कसरी मीठो खाएर रमाइलो गर्ने, उचित मामलाहरूका बारेमा विचार नगरी शारीरिक सहजता र आराममा कसरी जिउने। त्यसकारण, परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्ने परिस्थिति र वातावरणमा तिनीहरूलाई दबाबको महसुस हुन्छ। परमेश्‍वरको घरले मानिसहरूलाई आफ्‍नो कर्तव्यसँग सम्‍बन्धित आम किसिमका र व्यावसायिक ज्ञान सिक्‍न अनिवार्य गर्छ, ताकि तिनीहरूले आफ्‍नो काम राम्ररी गर्न सकून्। परमेश्‍वरको घरले मानिसहरूलाई निरन्तर परमेश्‍वरका वचनहरू खान-पिउन लगाउँछ, ताकि तिनीहरूले सत्यतालाई अझै राम्ररी बुझ्‍न, यसको वास्तविकतामा प्रवेश गर्न, र हरेक कार्यका सिद्धान्तहरू जान्‍न सकून्। परमेश्‍वरको घरले सङ्गति गर्ने र उल्‍लेख गर्ने यी सबै कुराहरू मानिसहरूको जीवन र तिनीहरूले पूरा गर्ने कर्तव्यभित्रका विषय, व्यावहारिक कुराहरू, र इत्यादि कुरासँग सम्‍बन्धित हुन्छन्, र त्यसको उद्देश्य मानिसहरूलाई आफूले गर्नुपर्ने उचित काम गर्न र सही मार्गमा हिँड्न सहयोग गर्नु हो। आफूले गर्नुपर्ने उचित काम नगर्ने र आफ्‍नो इच्छा अनुसार हिँड्ने यी मानिसहरूले यी उचित कुराहरू गर्न चाहँदैनन्। आफूलाई जे मन लाग्यो त्यही गरेर तिनीहरूले हासिल गर्न चाहने अन्तिम उद्देश्य भनेको भौतिक आराम, सुख, र सहजता प्राप्त गर्नु, र कुनै पनि हालतमा बन्धनमा नपर्नु वा दोषी नठहरिनु हो। तिनीहरूले जे चाह्यो त्यो पर्याप्त रूपमा खान पाउनु, र आफूले चाहेको कुरा गर्न पाउनु हो। तिनीहरूको मानवताको गुणस्तर र तिनीहरूको भित्री खोजीको कारण तिनीहरूले प्रायजसो दबाबको महसुस गर्छन्। तिनीहरूसँग तैँले सत्यतामा जसरी सङ्गति गरे पनि, तिनीहरू परिवर्तन हुनेछैनन्, र तिनीहरूले महसुस गर्ने दबाब समाधान हुनेछैन। तिनीहरू त्यस्तै प्रकारका मानिसहरू हुन्; तिनीहरू आफूले गर्नुपर्ने उचित काम नगर्ने मानिसहरू हुन्। झट्ट हेर्दा तिनीहरूले त्यति ठूलो दुष्कर्म गरेका छन् वा तिनीहरू खराब मानिसहरू हुन् भन्‍ने नदेखिए पनि, र तिनीहरूले सिद्धान्त र नियमहरू मात्रै पालना गर्न असफल भएका हुन् जस्तो देखिए पनि, वास्तवमा, तिनीहरूको सार के हुन्छ भने तिनीहरूले आफूले गर्नुपर्ने उचित कार्य गर्दैनन् वा सही मार्ग पछ्याउँदैनन्। यस्ता मानिसहरूमा, सामान्य मानवताको विवेक र समझको कमी हुन्छ, र तिनीहरूले सामान्य मानवताको बौद्धिकता हासिल गर्न सक्दैनन्। तिनीहरूले सामान्य मानवता भएका मानिसहरूले पछ्याउनुपर्ने उद्देश्यका बारेमा, वा सामान्य मानवता भएका मानिसहरूले अपनाउनुपर्ने जीवन मनोवृत्ति र विधिहरूका बारेमा सोच्‍ने, विचार गर्ने, वा पछ्याउने गर्दैनन्। हरेक दिन तिनीहरूको मन कसरी भौतिक सहजता र सुख पाउने भन्‍ने विचारहरूले नै भरिएको हुन्छ। तैपनि, मण्डलीको जिउने वातावरणमा, तिनीहरूले आफ्‍ना शारीरिक रुचिहरूलाई सन्तुष्ट पार्न सक्दैनन् त्यसकारण तिनीहरूलाई असहज र दबाब महसुस हुन्छ। यसरी तिनीहरूका यी भावनाहरू पैदा हुन्छन्। मलाई भन, के यस्ता मानिसहरूको जीवन थकाइलाग्दो हुँदैन र? (हुन्छ।) के तिनीहरूको जीवन दयनीय हुन्छ? (अहँ, तिनीहरू दयनीय छैनन्।) ठीक भन्यौ, तिनीहरूको जीवन दयनीय छैन। यसलाई हल्‍का रूपमा बताउँदा, यिनीहरू आफूले गर्नुपर्ने उचित काम नगर्ने मानिसहरू हुन्। समाजमा, आफूले गर्नुपर्ने उचित काम नगर्ने मानिसहरू को हुन्? तिनीहरू अल्‍लारे, मूर्ख, अल्छी, बदमास, फटाहा, र लफङ्गोहरू हुन्—त्यस्ता मानिसहरू। तिनीहरूले कुनै नयाँ सीप वा क्षमता सिक्‍न चाहँदैनन्, र तिनीहरूले कुनै गम्‍भीर करियर निर्माण गर्ने वा हातमुख जोड्न काम खोज्‍ने चाहना गर्दैनन्। तिनीहरू समाजका अल्‍लारे र लफङ्गोहरू हुन्। तिनीहरू मण्डलीमा घुसपैठ हुन्छन्, त्यसपछि केही नगरी केही पाउन, र आफ्‍नो भागको आशिष पाउन चाहन्छन्। तिनीहरू अवसरवादीहरू हुन्। यी अवसरवादीहरूले कहिल्यै पनि आफ्‍नो कर्तव्य पूरा गर्ने इच्छा गर्दैनन्। यदि तिनीहरूले भनेजस्तो अलिकति पनि भएन भने, तिनीहरूलाई दबाबको महसुस हुन्छ। तिनीहरू सधैँ स्वतन्त्र भएर जिउन चाहन्छन्, तिनीहरूले कुनै काम गर्न चाहँदैनन्, तैपनि तिनीहरू मीठो खान र राम्रो लाउन, अनि जे मन लाग्यो त्यही खान र जहिले मन लाग्यो त्यही बेला सुत्‍न मन पराउँछन्। यस्तो दिन आयो भने एकदम राम्रो हुनेछ भन्‍ने तिनीहरू सोच्छन्। तिनीहरूले थोरै पनि कठिनाइ भोग्‍न चाहँदैनन् र तिनीहरू लिप्त जीवन जिउन चाहन्छन्। यस्ता मानिसहरूलाई जिउन समेत गाह्रो हुन्छ; तिनीहरू नकारात्मक भावनाहरूको बन्धनमा हुन्छन्। तिनीहरूले आफूले चाहे अनुसार गर्न नपाउने हुनाले प्रायजसो थकाइ लागेको र अन्योलमा परेको महसुस गर्छन्। तिनीहरूले आफूले गर्नुपर्ने उचित कार्य गर्न वा आफूले सम्‍हाल्‍नुपर्ने उचित मामलाहरू सम्‍हाल्‍न चाहँदैनन्। तिनीहरू काममा एकोहोरो लागेर सुरुदेखि अन्तिमसम्‍म गरिरहन, यसलाई आफ्‍नै पेसा र कर्तव्यको रूपमा लिन, आफ्‍नो दायित्व र जिम्‍मेवारीको रूपमा लिन चाहँदैनन्; तिनीहरू काम पूरा गरेर परिणामहरू हासिल गर्न, वा सम्‍भव भएको उत्कृष्ट मापदण्ड अनुसार पूरा गर्न चाहँदैनन्। तिनीहरूले कहिल्यै यसरी सोचेका हुँदैनन्। तिनीहरूले झाराटारुवा शैलीमा काम गर्न र आफ्‍नो कर्तव्यलाई हातमुख जोड्ने माध्यमको रूपमा लिन मात्रै चाहन्छन्। जब तिनीहरूले थोरै तनाव वा कुनै नियन्त्रणको सामना गर्छन्, वा जब तिनीहरूलाई अलिक उच्च मापदण्ड दिइन्छ, वा अलिक बढी जिम्‍मेवारी बोक्‍न दिइन्छ, तब तिनीहरूलाई असहज र दबाब महसुस हुन्छ। तिनीहरूमा यी नकारात्मक भावनाहरू पैदा हुन्छन्, तिनीहरूलाई जिउन गाह्रो लाग्छ, र तिनीहरू हैरान हुन्छन्। तिनीहरूलाई जिउन गाह्रो लाग्‍नुको एउटा कारण के हो भने यस्ता मानिसहरूमा समझको कमी हुन्छ। तिनीहरूको समझ खराब हुन्छ, तिनीहरू सारा दिन कल्‍पनामा रमाउँदै, सपनामा जिउँदै, अवास्तविक कुरा सम्झँदै सधैँ अनेक कल्‍पना गरेर बिताउँछन्। त्यसकारण तिनीहरूको दबाबलाई समाधान गर्न निकै गाह्रो हुन्छ। तिनीहरूलाई सत्यताप्रति चासो लाग्दैन, तिनीहरू गैर-विश्‍वासीहरू हुन्। हामीले गर्न सक्‍ने एउटै कुरा भनेको तिनीहरूलाई परमेश्‍वरको घर छोड्न, संसारमा फर्केर जान र सहजता र आरामको आफ्‍नो स्थान खोज्‍न लगाउनु हो।

परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिसहरू सबै आफूले गर्नुपर्ने उचित काम पूरा गर्ने, आफ्‍नो कर्तव्य पूरा गर्न इच्छुक हुने, कुनै कामको बोझ लिने र आफ्‍नो क्षमता र परमेश्‍वरको घरका नियमहरू अनुसार त्यो काम राम्ररी गर्ने मानिसहरू हुन्। अवश्य नै, सुरुमा यस्तो जीवन अपनाउन गाह्रो हुन सक्छ। तँलाई शारीरिक र मानसिक रूपमा थकान महसुस हुनसक्छ। तैपनि, यदि तँसँग साँच्‍चै सहकार्य गर्ने सङ्कल्प र सामान्य र असल व्यक्ति बन्‍ने, र मुक्ति हासिल गर्ने इच्छा छ भने, तैँले थोरै भए पनि मूल्य चुकाएर परमेश्‍वरको अनुशासन स्विकार्नुपर्ने हुन्छ। यदि तँसँग स्वेच्‍छाचारी हुने इच्छा छ भने, तैँले यसलाई त्याग्‍नुपर्छ, आफ्‍नो स्वेच्‍छाचारी सोच र स्वार्थी इच्छाहरूलाई क्रमिक रूपमा घटाउँदै जानुपर्छ। महत्त्वपूर्ण मामला, महत्त्वपूर्ण समय, र महत्त्वपूर्ण काममा तैँले परमेश्‍वरको सहयोग लिनुपर्छ। यदि तँमा सङ्कल्प छ भने, परमेश्‍वरबाट तैँले ताडना र अनुशासन, र अन्तर्दृष्टि माग्‍नुपर्छ ताकि तैँले सत्यता बुझ्‍न सक्, त्यसरी तैँले अझै राम्रा परिणामहरू प्राप्त गर्नेछस्। यदि तँमा साँच्‍चै सङ्कल्प छ, र तैँले परमेश्‍वरको उपस्थितिमा प्रार्थना गरेर उहाँलाई अन्तरबिन्ती गर्छस् भने, परमेश्‍वरले काम गर्नुहुनेछ। उहाँले तेरो स्थिति र तेरा विचारहरू परिवर्तन गर्नुहुनेछ। यदि पवित्र आत्माले थोरै भए पनि काम गरेर तँलाई थोरै भए पनि छुनुभयो, र अन्तर्दृष्टि दिनुभयो भने, तेरो हृदय परिवर्तन हुनेछ, र तेरो स्थिति रूपान्तरण हुनेछ। यो रूपान्तरण आएपछि, यसरी जिउनु दबाबपूर्ण छैन भन्‍ने कुरा तँलाई महसुस हुनेछ। तेरो दबाबपूर्ण स्थिति र भावनाहरू रूपान्तरण भएर कम हुनेछन्, र त्यो पहिलेको भन्दा फरक हुनेछ। यसरी जिउनु थकाइलाग्दो छैन भन्‍ने तँलाई महसुस हुनेछ। परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्दा तँलाई आनन्द हुनेछ। यसरी आफ्‍नो आनीबानी प्रस्तुत गर्नु, कर्तव्य पूरा गर्नु, कठिनाइ भोग्‍नु र मूल्य चुकाउनु, नियमहरू पालना गर्नु, र सिद्धान्तहरू अनुसार काम गर्नु भनेको जिउने असल तरिका हो भन्‍ने तँलाई महसुस हुनेछ। सामान्य मानिसहरूको जीवन यस्तै हुनुपर्छ भन्‍ने तँलाई महसुस हुनेछ। जब तँ सत्यता अनुसार जिउँछस् र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्छस्, तब तेरो हृदय स्थिर र शान्तिमा छ, र तेरो जीवन अर्थपूर्ण छ भन्‍ने तँलाई महसुस हुनेछ। तैँले सोच्‍नेछस्: “मलाई किन पहिले यसको बारेमा थाहा भएन? म किन यति स्वेच्‍छाचारी थिएँ? पहिले, म शैतानको दर्शन र स्वभाव अनुसार जिउँथेँ, यस क्रममा न त मानवको रूपमा न त भूतको रूपमा जिउन सकेँ, अनि म जति जिउँथेँ, मलाई त्यति पीडा हुन्थ्यो। अहिले मैले सत्यता बुझेको छु, मैले आफ्‍नो भ्रष्ट स्वभावलाई केही मात्रामा त्यागेको छु, र आफ्‍नो कर्तव्य पूरा गर्दै र सत्यताको अभ्यास गर्दै बिताएको मेरो जीवनप्रति मलाई साँचो शान्ति र आनन्द हुन्छ!” के त्यसोभए तेरो मुड परिवर्तन हुँदैन? (हुन्छ।) पहिले तेरो जीवन दबाबपूर्ण र हैरानीले भरिएको थियो भन्‍ने महसुस गरेपछि, अनि तैँले तेरो कष्टको मूल कारण पत्ता लगाएर समस्या समाधान गरेपछि, तँसँग परिवर्तनको आशा हुन्छ। तँ सत्यतातर्फ लागिपर्छस्, परमेश्‍वरका वचनहरूमा अझै धेरै मेहनत लगाउँछस्, सत्यतामा अझै बढी सङ्गति गर्छस्, र तेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको अनुभवका गवाहीहरू सुन्छस् भने, तँसँग अझै स्पष्ट बाटो हुनेछ, त्यसपछि के तेरो स्थितिमा सुधार आउँदैन र? यदि तेरो स्थितिमा सुधार आयो भने, तेरो दबाबका भावनाहरू क्रमिक रूपमा सहज हुँदै जानेछन्, र तँलाई बन्धनमा पार्न छाड्नेछन्। अवश्य नै, विशेष परिस्‍थिति वा प्रसंगहरूमा, कहिलेकहीँ दबाब र पीडाको अनुभव हुन सक्छ, तर तैँले त्यसलाई समाधान गर्न सत्यताको खोजी गरिस् भने, यी दबाबका भावनाहरू हराएर जानेछन्। तैँले आफ्‍नो कर्तव्य पूरा गर्दा आफ्‍नो पूर्ण इमानदारीता, पूरा शक्ति, र भक्ति प्रदान गर्न सक्‍नेछस्, र तँसँग मुक्तिको आशा हुन्छ। यदि तैँले त्यस्तो रूपान्तरण पाउन सकिस् भने, तँ परमेश्‍वरको घर छोडेर जानु पर्दैन। तैँले यो रूपान्तरण पाउन सक्‍नु नै तँसँग अझै आशा छ भन्‍ने कुराको प्रमाण हो—परिवर्तन हुने आशा, मुक्ति पाउने आशा। यसले तँ अझै पनि परमेश्‍वरको घरको सदस्य होस्, तर तँलाई विभिन्‍न स्वार्थी मनसाय र व्यक्तिगत सोचाइहरूले, वा विभिन्‍न खराब बानी र विचारले लामो समयसम्‍म र गहन रूपमा प्रभाव पारेको थियो, जसले गर्दा तेरो विवेक स्तब्ध भयो र यसले संवेदनशीलता गुमायो, तेरो समझलाई अचेत तुल्यायो, र तेरो लाजको अनुभूतिलाई नष्ट गर्‍यो। यदि तँ यस्तो रूपान्तरण अनुभव गर्न सक्दैनस् भने, परमेश्‍वरको घरले तँलाई बस्‍न, आफ्‍नो कर्तव्य पूरा गर्न, आफ्‍नो मिसन पूरा गर्न, र आफूले पाएको काम पूरा गर्न दिनेछैन। अवश्‍य नै, यस्ता नकारात्मक भावनाहरू भएका मानिसहरूलाई प्रेमको हृदयले मात्रै सहयोग गर्न सकिन्छ। यदि व्यक्तिले सत्यतालाई स्विकार्न निरन्तर इन्कार गर्छ र बारम्‍बार सल्‍लाह दिँदा पनि पश्‍चाताप विहीन रहन्छ भने, हामीले त्यस्तो व्यक्तिलाई बिदा दिनुपर्छ। तर यदि कुनै व्यक्ति साँच्‍चै परिवर्तन हुन, आफूलाई फर्काउन, आफ्‍नो दिशा बदल्‍न चाहन्छ भने, हामीले उसलाई बस्‍न दिन मायाले स्वागत गर्नुपर्छ। तिनीहरू साँच्‍चै बस्‍न इच्छुक छन् र आफ्‍ना पहिलेका जिउने शैली र तरिकाहरूलाई परिवर्तन गर्न इच्छुक छन्, र तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्दा क्रमिक रूपमा रूपान्तरण हुन सक्छन्, र तिनीहरूले जति धेरै समय कर्तव्य पूरा गर्छन् तिनीहरू त्यति नै सुधार हुँदै जान्छन् भने, हामी त्यस्ता मानिसहरूलाई बस्‍न दिन सक्छौँ र तिनीहरू निरन्तर सुधार हुँदै जानेछन् भन्‍ने आशा गर्न सक्छौँ। हामीले तिनीहरूका लागि शुभकामना पनि दिन्छौँ: तिनीहरू आफ्‍ना नकारात्मक भावनाहरूबाट मुक्त हुन सकून्, तिनको बन्धनमा पर्न वा त्यसको छायामा पर्न छोडून्, र तिनीहरूले आफ्‍नो उचित काम गर्न र सही मार्गमा हिँड्न सकून्, उहाँका मापदण्डहरू अनुसार सामान्य मानिसहरूले गर्ने व्यवहार र जियाइ अपनाउन सकून्, अनि जीवनमा यताउता बरालिन छोडेर उहाँका मापदण्डहरू अनुसार परमेश्‍वरको घरका कर्तव्यहरू स्थिर रूपमा पूरा गर्न सकून्। हामी तिनीहरूका निम्ति आशाजनक भविष्यको, र तिनीहरूले अबदेखि आफूलाई जे मन लाग्यो त्यही नगरून्, वा सुख-चैन र भौतिक आनन्दको मात्रै चिन्ता गर्न छोडून्, अनि आफ्‍नो कर्तव्य पूरा गर्ने विषयमा, जीवनमा आफूले हिँड्ने मार्गको बारेमा, र सामान्य मानवतामा जिउने बारेमा विचार गरून् भनेर कामना गर्छौँ। हामी तिनीहरू परमेश्‍वरको घरमा खुसी साथ, स्वतन्त्र र मुक्त भएर जिउन सकून्, यहाँ आफ्‍नो जीवनमा दैनिक शान्ति र आनन्द अनुभव गर्दै, र माया र सुखको अनुभव गर्दै बस्‍न सकून् भनेर हार्दिक कामना गर्छौँ। के यो सबैभन्दा ठूलो कामना होइन र? (हो।) मैले आफ्‍नो कामनाको कुरा सकेँ, र म तिमीहरू सबैलाई पनि तिनीहरूप्रति आफ्‍नो हार्दिक शुभकामना व्यक्त गर भनेर अनुरोध गर्छु। (हामी तिनीहरू परमेश्‍वरको घरमा खुसी साथ, स्वतन्त्र र मुक्त भएर जिउन सकून्, यहाँ आफ्‍नो जीवनमा दैनिक शान्ति र आनन्द अनुभव गर्दै, र माया र सुखको अनुभव गर्दै बस्‍न सकून् भनेर हार्दिक कामना गर्छौँ।) अरू के छ? तिनीहरू अबदेखि दबाबको भावनाको पकडमा जिउन नपरोस् भनेर हार्दिक शुभकामना गर्ने कि? (हो।) त्यो मेरो कामना हो। के तिनीहरूका लागि तिमीहरूसँग अरू कुनै कामना छन्? (तिनीहरूले आफ्‍नो उचित काम गर्न सकून्, आफ्‍नो कर्तव्य पूरा गर्ने कार्यमा तिनीहरू निरन्तर सुधार हुन सकून् भन्‍ने मेरो हार्दिक शुभकामना छ।) के त्यो राम्रो कामना हो? (हो।) अरू कुनै कामना छ कि? (तिनीहरूले चाँडै नै सामान्य मानवतामा जिउन सकून् भन्‍ने मेरो हार्दिक शुभकामना छ।) यो कामना त्यति उत्कृष्ट नहुन सक्छ, तर मलाई लाग्छ यो व्यावहारिक छ। मानिसहरू सामान्य मानवतामा जिउनुपर्छ र दबाबमा जिउनु हुँदैन। किन अरूले भोग्‍न सक्‍ने कठिनाइहरू हामी भोग्‍न सक्दैनौँ? यदि व्यक्तिमा सामान्य मानवतामा हुनुपर्ने विवेक, समझ, र लाज, साथै सामान्य मानवतामा हुनुपर्ने, खोजी, अस्तित्वको विधि, र उचित उद्देश्यहरू छन् भने, उसले दबाबको महसुस गर्दैन। के यो एकदम राम्रो कामना होइन र? (हो।) अरू केही छ? (तिनीहरूलाई मेरो हार्दिक कामना के छ भने, तिनीहरूले आफ्‍ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग राम्ररी सहकार्य गरून्, परमेश्‍वरको घरमा उहाँको प्रेम अनुभव गर्न सकून्, र परमेश्‍वरको घरका सिद्धान्तहरू अनुसार काम गर्न सकून्।) के यो मापदण्ड उत्कृष्ट छ? (छैन।) यो उत्कृष्ट छैन भने, के यो हासिल गर्न सजिलो छ? परमेश्‍वरको घरको प्रेम अनुभव गर्नु वास्तविकता अनुरूप छ—यी मानिसहरूलाई चाहिने कुरा यही हो, होइन र? (हो।) यस्ता मानिसहरूका लागि दिइएका मापदण्डहरू उच्‍च छैनन्। सर्वप्रथम, तिनीहरूमा सामान्य मानवतामा हुनुपर्ने विवेक र समझ हुनुपर्छ। तिनीहरू जीवनमा तटस्थ बस्‍ने वा यताउता बरालिने गर्नु हुँदैन; तिनीहरूले जिउन, आफूले गर्नुपर्ने उचित काम गर्न, आफ्‍ना जिम्‍मेवारी र कर्तव्यको बोझ लिन सिक्‍नुपर्छ। त्यसपछि तिनीहरूले कसरी जिउने, कसरी सामान्य मानवतामा जिउने, र कसरी आफ्‍नो जिम्‍मेवारी र कर्तव्य राम्ररी पूरा गर्ने भनेर सिक्‍नुपर्छ। त्यसो गरेर, तिनीहरूले परमेश्‍वरको घरमा आराम, शान्ति, र आनन्द पाउन सक्‍नेछन्, र तिनीहरू यहाँ बासेर जिउन र आफ्‍नो कर्तव्य पूरा गर्न इच्छुक हुनेछन्। तिनीहरू दबाबपूर्ण र नकारात्मक भावनाहरूबाट मुक्त भएपछि, अलि-अलि गर्दै तिनीहरूले सत्यतालाई पछ्याउन र अरूसँग मिलेर सहकार्य गर्न सक्छन्। यस्ता मानिसहरूका लागि दिइएका मापदण्डहरू यिनै हुन्। तिनीहरूको उमेर जेसुकै भए पनि, हामी तिनीहरूका लागि ठूला-ठूला कामना गर्ने वा ठूला-ठूला मापदण्डहरू अघि सार्ने गर्दैनौँ, तर हामीले भर्खरै बताएका यी कुराहरू मात्रै दिन्छौँ। सर्वप्रथम, तिनीहरूले आफूले गर्नुपर्ने उचित काम गर्न, वयस्क र सामान्य व्यक्तिका जिम्‍मेवारी र दायित्वहरूको बोझ लिन सिक्‍नुपर्छ, त्यसपछि नियमहरू पालना गर्न, र परमेश्‍वरको घरका व्यवस्थापन, रेखदेख, र काट-छाँट अनि निराकरणलाई स्विकार्न, र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सिक्‍नुपर्छ। विवेक र समझ भएको व्यक्तिले अपनाउनुपर्ने सही आचरण यही हो। दोस्रो, तिनीहरूसँग सामान्य मानवतामा हुनुपर्ने विवेक र समझसँग सम्‍बन्धित जिम्‍मेवारी, दायित्व, र विचार र दृष्टिकोणहरूको बारेमा सही बुझाइ र ज्ञान हुनुपर्छ। तँ आफ्‍नो नकारात्मक भावना र दबाबबाट मुक्त हुनुपर्छ र आफ्‍नो जीवनमा हाल पैदा हुने विभिन्‍न कठिनाइहरूलाई सामना गर्नुपर्छ। तेरो लागि, यी कुराहरू वैकल्पिक कुराहरू, वा बोझ, वा बन्धनहरू होइनन्, तर सामान्य वयस्कको रूपमा तैँले अबलम्‍बन गर्नुपर्ने कुरा हो। यसको अर्थ के हो भने तँ पुरुष भए पनि महिला भए पनि, तेरो क्षमता जस्तो भए पनि, तँ जति सक्षम भए पनि, वा तँसँग जति सीप भए पनि, एक वयस्कले लिनुपर्ने सबै कुराहरूको बोझ तैँले लिनुपर्छ, जस्तै: वयस्कहरूले अबलम्‍बन गर्नुपर्ने जिउने वातावरण, तैँले लिनुपर्ने जिम्‍मेवारी, दायित्व, र मिसन, र तैँले सम्‍हाल्‍नुपर्ने काम। पहिलो, अरूले तँलाई लाउन र खान दिन्छन् भनेर अपेक्षा गर्नुको सट्टा, वा जसोतसो अघि बढ्नका लागि अरूको मेहनतको फलमा भर पर्नुको सट्टा, यी कुराहरूलाई सकारात्मक रूपमा स्विकार्नुपर्छ। यसको साथै, तैँले विभिन्‍न प्रकारका नियम, नीति, र व्यवस्थापनलाई अपनाउन र स्विकार्न सिक्‍नुपर्छ, तैँले परमेश्‍वरको घरका प्रशासनिक आदेशहरूलाई स्विकार्नुपर्छ, र अरू मानिसहरूका बीचमा एउटा अस्तित्व र जीवन अपनाउन सिक्‍नुपर्छ। तँमा सामान्य मानवताको विवेक र समझ हुनुपर्छ, आफ्‍नो वरिपरिका मानिसहरू, घटना, र परिस्थितिहरूलाई सही रूपमा लिनुपर्छ, र तैँले सामना गर्ने विभिन्‍न समस्याहरूलाई सही तरिकाले सम्‍हाल्‍नुपर्छ र समाधान गर्नुपर्छ। यी सबै कुराहरू सामान्य मानवता भएको व्यक्तिले सम्‍हाल्‍नुपर्ने कुराहरू हुन्, र यो वयस्कले सामना गर्नुपर्ने जीवन र जिउने वातावरण हो भनेर पनि भन्‍न सकिन्छ। उदाहरणको लागि, वयस्कको रूपमा, तेरो जीवन जति कठिन भए पनि आफ्‍नो परिवारको हेरचाह र पालनपोषण गर्नको लागि तैँले आफ्‍नै क्षमतामा भरोसा गर्नुपर्छ। यो तैँले भोग्‍नुपर्ने कठिनाइ, पूरा गर्नुपर्ने जिम्‍मेवारी, र पूरा गर्नुपर्ने दायित्व हो। तैँले एउटा वयस्कले काँधमा लिनुपर्ने जिम्‍मेवारीहरूको बोझ लिनुपर्छ’ तैँले जति धेरै कष्ट भोगे पनि वा जति धेरै मूल्य चुकाए पनि, तँलाई जति दुःख लागे पनि, तैँले आफ्‍ना गुनासाहरूलाई निल्‍नुपर्छ र कसैको बारेमा कुनै नकारात्मक भावना वा गुनासो पैदा गर्नु हुँदैन, किनभने वयस्क भएर लिनुपर्ने बोझ यही हो। वयस्कको रूपमा तैँले यी कुराहरूको बोझ लिनैपर्छ—गुनासो नगरी वा विरोध नगरी, अनि विशेष गरी तिनीहरूबाट टाढा नबसी वा तिनीहरूलाई इन्कार नगरी त्यसो गर्नुपर्छ। जीवनमा यताउता भौँतारिनु, तटस्थ बस्‍नु, आफूलाई जे मन लाग्यो त्यही गर्नु, स्वेच्‍छाचारी वा मनोमानी गर्नु, आफूले चाहेको काम गर्ने र नचाहेको काम नगर्ने गर्नु—यो वयस्कले जीवनमा अपनाउनुपर्ने मनोवृत्ति होइन। हरेक व्यक्तिले कठिनाइ, रोग, र विभिन्‍न अप्ठ्याराहरू जस्ता तनावहरूको सामना जति धेरै गरे पनि वयस्कका जिम्‍मेवारीहरू पूरा गर्नैपर्छ—यी कुराहरू हरेक व्यक्तिले अनुभव गर्नुपर्ने र भोग्‍नुपर्ने कुराहरू हुन्। यी कुराहरू सामान्य व्यक्तिको जीवनका भाग हुन्। यदि तैँले तनाव सहन वा कष्ट भोग्‍न सक्दैनस् भने, यसको अर्थ तँ अत्यन्तै नाजुक र काम नलाग्‍ने छस् भन्‍ने हुन्छ। जो जिउँछ उसले यो कष्ट भोग्‍नैपर्छ, र कोही पनि यसबाट उम्कन सक्दैन। चाहे समाजमा होस् वा परमेश्‍वरको घरमा होस्, यो कुरा सबैमा लागू हुन्छ। यो तैँले लिनुपर्ने जिम्‍मेवारी, वयस्कले लिनुपर्ने गह्रौँ बोझ, तिनीहरूले बोक्‍नुपर्ने कुरा हो, र तँ यसबाट पन्छिनु हुँदैन। यदि तँ सधैँ यो सब कुराबाट उम्कने वा पन्छिने प्रयास गर्छस् भने, तेरा दबाबपूर्ण भावनाहरू पैदा हुनेछन्, र तँ सधैँ तिनको बन्धनमा पर्नेछस्। तैपनि, तैँले उचित रूपमा यी सब कुरालाई बुझ्‍न र स्विकार्न सक्छस्, र आफ्‍नो जीवन र अस्तित्वको अत्यावश्यक भागको रूपमा यसलाई लिन सक्छस् भने, यी समस्याहरू तँमा नकारात्मक भावनाहरू पैदा हुने कारण हुनु हुँदैन। एक हिसाबमा, तैँले वयस्कले बोक्‍नुपर्ने र लिनुपर्ने जिम्‍मेवारी र दायित्वहरूलाई स्विकार्न सिक्‍नुपर्छ। अर्को हिसाबमा, तैँले जिउने र काम गर्ने क्रममा सामान्य मानवतामा रही अरूसँग मिलेर सहकार्य गर्न सिक्‍नुपर्छ। जे मन लाग्छ त्यही मात्रै गर्ने नगर्। मिलेर सहअस्तित्वमा रहनुको उद्देश्‍य के हो? तैँले आफ्‍नो काममा सामना गर्ने समस्याहरूबाट आउने घाटाहरूलाई कम गर्न, र तेरो कामको परिणाम र प्रभावकारितालाई बढाउनका लागि तैँले काम पूरा गर्नु र एउटा वयस्कले पूरा गर्नुपर्ने र लागू गर्नुपर्ने दायित्व र जिम्‍मेवारीहरूलाई पूरा गर्नु राम्रो हुन्छ। तैँले हासिल गर्नुपर्ने कुरा यही हो। यदि तँमा सामान्य मानवता छ भने, मानिसहरूका बीचमा काम गर्दा तैँले यो कुरा हासिल गर्नुपर्छ। जहाँसम्‍म कामको दबाबको कुरा छ, चाहे यो माथिबाट आएको होस् वा परमेश्‍वरको घरबाट आएको होस्, वा यो तेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तँलाई दिएको दबाब होस्, त्यसलाई तैँले सहनुपर्छ। तैँले यसो भन्‍न मिल्दैन, “यो त अति धेरै दबाब भयो, त्यसकारण म यो काम गर्नेछैनँ। आफ्‍नो कर्तव्य पूरा गर्दा र परमेश्‍वरको घरमा काम गर्दा म फुर्सतको समय, सहजता, खुसी र आराम मात्रै खोजिरहेको छु।” यसरी हुँदैन; यो सामान्य वयस्कमा हुनुपर्ने सोचाइ होइन, र परमेश्‍वरको घर तँ आराममा लिप्त हुने ठाउँ होइन। हरेक व्यक्तिले आफ्‍नो जीवन र काममा निश्‍चित मात्रामा तनाव र खतरा लिन्छ। कुनै पनि काममा, विशेष गरी परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्दा, तैँले अधिकतम परिणामहरू प्राप्त गर्ने प्रयास गर्नुपर्छ। मुख्य रूपमा भन्दा, यो परमेश्‍वरको शिक्षा र माग हो। सामान्य रूपमा भन्दा, यो हरेक व्यक्तिले आफ्‍नो आनीबानी र व्यवहारमा अपनाउनुपर्ने मनोवृत्ति, दृष्टिकोण, मापदण्ड, र सिद्धान्त हो। जब तँ परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्छस्, तब तैँले परमेश्‍वरको घरका नियमहरू र प्रणालीहरूलाई पालना गर्न सिक्‍नुपर्छ, तैँले त्यसलाई मान्‍न सिक्‍नुपर्छ, नियमहरू सिक्‍नुपर्छ, र सही तरिकाले व्यवहार गर्न सिक्‍नुपर्छ। यो व्यक्तिको आनीबानीको महत्त्वपूर्ण भाग हो। अविश्‍वासीहरू जस्तै तैँले काम गर्नुको सट्टा आफूमा लिप्त हुँदै, कुनै कुराको बारेमा गम्भीर विचार नगरी, अनि दिनहरू फोकटमा बिताउँदै, वा गलत कार्यमा संलग्‍न हुँदै, र आफ्‍नै शैलीमा जिउँदै आफ्‍नो समय बिताउनु हुँदैन। अरूमा तँप्रति घृणा पैदा नगर्, तिनीहरूको आँखाको तारो वा बिझाउने काँडो नबन्, सबैलाई तँबाट टाढा हुने वा तँलाई इन्कार गर्ने नतुल्या, र कुनै पनि कामको निम्ति बाधा वा ठेस लाग्‍ने ढुङ्गा नबन्। यो सामान्य वयस्कमा हुनुपर्ने विवेक र समझ हो, र यो सामान्य वयस्कले लिनुपर्ने जिम्‍मेवारी पनि हो। यी कुराहरू, जिम्‍मेवारी पूरा गर्नको लागि तैँले गर्नुपर्ने कुराहरूको भाग हुन्। बुझिस्? (बुझेँ।)

यदि तँ सङ्कल्प भएको व्यक्ति होस्, यदि तैँले मानिसहरूले लिनुपर्ने जिम्‍मेवारी र दायित्व, सामान्य मानवता भएका मानिसहरूले हासिल गर्नुपर्ने कुराहरू, र वयस्क व्यक्तिले हासिल गर्नुपर्ने कुराहरूलाई आफ्‍नो खोजीका उद्देश्य र लक्ष्‍यहरूका रूपमा लिन सक्छस् भने, र तैँले आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्न सक्छस् भने, तैँले जस्तो मूल्य चुकाए पनि र जस्तो पीडा भोगे पनि, गुनासो गर्नेछैनस्, र यो परमेश्‍वरको मापदण्ड र इच्छा हो भनेर पहिचान गरेसम्‍म, तैँले कुनै पनि प्रकारको कष्ट भोग्‍न र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छस्। यसको साथै, तेरो मनस्थिति कस्तो हुन्छ? यो फरक हुन्छ; तैँले हृदयमा शान्ति र स्थिरताको अनुभव गर्छस्, र आनन्द अनुभव गर्छस्। हेर् त, सामान्य मानवतामा जिउने प्रयास गरेर, अनि सामान्य मानवता भएका मानिसहरूले लिने र स्विकार्ने जिम्‍मेवारी, दायित्व, र मिसनहरूलाई खोजी गरेर, मानिसहरूले आफ्‍नो हृदयमा शान्ति र आनन्द महसुस गर्छन्, र तिनीहरूले खुसी अनुभव गर्छन्। तिनीहरू सिद्धान्तहरू अनुसार काम गर्न र सत्यता प्राप्त गर्न सक्‍ने अवस्थामा पुगिसकेका नभए पनि, तिनीहरूमा केही परिवर्तन आउन थालिसकेको हुनसक्छ। त्यस्ता मानिसहरू विवेक र समझ भएका मानिसहरू हुन्; तिनीहरू कुनै पनि कठिनाइ जित्‍न र कुनै पनि काम लिन सक्‍ने सीधा मानिसहरू हुन्। तिनीहरू ख्रीष्‍टका असल सिपाहीहरू हुन्, तिनीहरूले तालिम लिएका हुन्छन्, र कुनै पनि कठिनाइले तिनीहरूलाई जित्‍न सक्दैन। मलाई भन, त्यस्तो आनीबानी तिमीहरूलाई कस्तो लाग्छ? के यी मानिसहरूमा धीरता हुँदैन र? (हुन्छ।) तिनीहरूसँग धीरता हुन्छ, र मानिसहरूले तिनीहरूलाई आदर गर्छन्। के यस्ता मानिसहरू दबाबमा पर्छन्? (पर्दैनन्।) त्यसोभए तिनीहरूले यी दबाबपूर्ण भावनाहरूलाई कसरी परिवर्तन गरेका हुन्छन्? किन यी दबाबका भावनाहरूले तिनीहरूलाई समस्यामा पनि पार्दैनन् र दुःख पनि दिँदैनन्? (किनभने तिनीहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्छन् र आफ्‍नो कर्तव्यमा बोझ लिन्छन्।) ठीक भन्यौ, यो आफ्‍नो उचित कार्य पूरा गर्नुसँग सम्‍बन्धित छ। जब मानिसहरूले उचित मामलाहरूमा मन लगाउँछन्, र जब तिनीहरूमा भएको सामान्य मानवताको विवेक र समझ, अनि जिम्‍मेवारी र मिसनको बोध प्रकट हुन्छ, तब तिनीहरूलाई जहाँ राखिए पनि तिनीहरू सफल हुन्छन्। कुनै पनि दबाब, हैरानी, वा निराशाविना नै तिनीहरू कुनै पनि काममा सफल हुन सक्छन्। के यस्ता मानिसहरूलाई परमेश्‍वरले आशिष दिनुहुन्छ भन्‍ने तिमीहरूलाई लाग्छ? के यस्तो विवेक, समझ, र सामान्य मानवता भएका मानिसहरूले सत्यताको खोजी गर्दा कठिनाइहरूको सामना गर्छन्? (गर्दैनन्।) सामान्य मानवताको खोजी, दृष्टिकोण, र अस्तित्वको विधिहरूको आधारमा हेर्दा, तिनीहरूको लागि सत्यताको खोजी गर्ने कार्य त्यति गाह्रो हुँदैन। जब मानिसहरू यस्तो अवस्थामा पुग्छन्, तब तिनीहरू सत्यतालाई बुझ्‍ने, अभ्यास गर्ने, सत्यताका सिद्धान्तहरू अनुसार काम गर्ने, र सत्यताको वास्तविकतामा प्रवेश गर्ने अवस्थाबाट त्यति टाढा हुँदैनन्। यहाँ “त्यति टाढा हुँदैनन्” भन्‍नुको अर्थ के हो? यसको अर्थ के हुन्छ भने आनीबानी सम्‍बन्धी तिनीहरूको दृष्टिकोण, र तिनीहरूले छनौट गरेको अस्तित्वको विधि पूर्ण रूपमा सकारात्मक र सक्रिय हुन्छन्, र आधारभूत रूपमा त्यो परमेश्‍वरले माग गर्नुभएको सामान्य मानवता अनुरूप हुन्छ। यसको अर्थ तिनीहरू परमेश्‍वरले तय गर्नुभएका मापदण्डहरूको स्तरमा पुगेका छन् भन्‍ने हुन्छ। यस्ता व्यक्तिहरू यी मापदण्डहरूको स्तरमा पुगेपछि, तिनीहरूले सत्यतालाई सुन्दा त्यसलाई बुझ्‍न सक्छन्, र सत्यताको अभ्यास गर्न तिनीहरूलाई त्यति गाह्रो हुँदैन। तिनीहरूलाई सत्यताको वास्तविकतामा प्रवेश गर्न र सत्यताका सिद्धान्तहरू अनुसार काम गर्न सहज हन्छ। समग्रमा, सामान्य मानवता भएका मानिसहरूले गर्नुपर्ने कुराका कति वटा पक्षहरू छन्? समग्रमा जम्‍मा तीन वटा छन्। ती के-के हुन्? मलाई भन। (पहिलो कुरा भनेको वयस्कले लिनुपर्ने र वहन गर्नुपर्ने जिम्‍मेवारी र दायित्वहरूलाई लिन सिक्‍नु हो। दोस्रो भनेको सामान्य मानवतामा रही जिउने र काम गर्ने वातावरणमा अरूसँग मिलेर सहकार्य गर्न सिक्‍नु, र आफूलाई जे मन लाग्यो त्यही नगर्नु हो। अनि तेस्रो भनेको सामान्य मानवताको क्षेत्रभित्र रही परमेश्‍वरका शिक्षाहरूलाई पालना गर्न, र आफ्‍नो आनीबानीमा व्यक्तिमा हुनुपर्ने मनोवृत्ति, दृष्टिकोण, मापदण्ड, र सिद्धान्तहरूलाई पालना गर्न सिक्‍नु हो, जसको अर्थ नियमहरू पालना गर्नु भन्‍ने हुन्छ।) यी तीन वटा पक्षहरू सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने कुराहरू हुन्। मानिसहरूले यी पक्षहरूका बारेमा विचार गर्न र त्यसमा ध्यान दिन, अनि ती कुराहरूमा निकै परिश्रम गर्न थाले भने, तिनीहरूले आफूले गर्नुपर्ने उचित काम गर्न थाल्छन्—त्यसपछि के तिनीहरूले अझै पनि नकारात्मक भावनाहरू अनुभव गर्छन्? के तिनीहरूले अझै पनि दबाबमा परेको महसुस गर्छन्? जब तैँले आफ्‍नो उचित काम गरिरहेको र आफ्‍ना उचित मामलाहरूलाई सम्‍हालिरहेको, अनि वयस्कले पूरा गर्नुपर्ने जिम्‍मेवारी र दायित्वहरूलाई पूरा गरिरहेको हुन्छस्, तब तैँले धेरै काम गर्नुपर्ने र सोच्‍नुपर्ने हुन्छ, जसले गर्दा तँ अत्यन्तै व्यस्त बन्छस्। विशेष गरी अहिले परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गरिरहेका मानिसहरूको हकमा भन्दा, के तिनीहरूले दबाबको महसुस गर्ने समय पाउँछन्? कुनै समय पाउँदैनन्। त्यसोभए, कुनै अप्रिय कुराको सामना गर्ने बित्तिकै, दबाबको महसुस गर्ने, खराब मुडमा जाने, र निराश वा व्याकुल हुने मानिसहरूलाई के हुन्छ? तिनीहरू सही कुरामा व्यस्त नभएकाले र फोकटमा बस्‍ने हुनाले त्यस्तो भएको हो। तिनीहरूले आफूले गर्नुपर्ने उचित काम नगर्ने हुनाले, र आफूले गर्नुपर्ने कुराहरूलाई देख्‍न नसक्‍ने हुनाले, तिनीहरूको मन निष्क्रिय बन्छ र तिनीहरूको विचारहरू अनियन्त्रित हुन्छन्। तिनीहरूले निरन्तर सोच्छन् र पनि कुनै बाटो भेट्दैनन्, त्यसकारण तिनीहरूले दबाबको महसुस गर्छन्। तिनीहरूले जति सोच्छन् तिनीहरूलाई त्यति नै पीडित र विवश महसुस हुन्छ, र तिनीहरूसँग मार्ग पनि त्यति नै कम हुन्छ; तिनीहरूले जति विचार गर्छन् तिनीहरूको जीवन जिउन लायक छैन भन्‍ने त्यति सोच्छन्, तिनीहरू त्यति नै उदास, र दुःखित बन्छन्। तिनीहरूसँग मुक्त हुने शक्ति हुँदैन, र अन्तिममा, तिनीहरू दबाबका यी भावनाहरूको बन्धनमा पर्छन्। के यो कुरा साँचो होइन र? (हो।) वास्तवमा, यो समस्या समाधान गर्न सजिलो छ किनभने तैँले गर्नुपर्ने कुराहरू धेरै हुन्छन्, तैँले सोच्‍नुपर्ने र विचार गर्नुपर्ने कुराहरू धेरै हुन्छन् जसले गर्दा यी व्यर्थका कुराहरूको बारेमा, यी आनन्द खोज्‍ने क्रियाकलापहरूको बारेमा सोच्‍ने समय नै तँसँग हुनेछैन। यस्ता कुराहरूका बारेमा सोच्‍न पाउने खाली मन भएका मानिसहरू काम गर्नुभन्दा आराम गर्न मन पराउँछन्, तिनीहरू लोभी अल्छीहरू हुन्, र तिनीहरूले आफूले गर्नुपर्ने उचित काम गर्दैनन्। आफूले गर्नुपर्ने उचित काम नगर्ने मानिसहरू प्रायजसो दबाबका भावनाहरूको बन्धनमा परेका हुन्छन्। यी मानिसहरूले सम्‍हाल्‍नुपर्ने महत्त्वपूर्ण कुराहरू धेरै भए पनि आफ्‍नो मनमा सही कुराहरू खेलाउँदैनन्, र तिनीहरूले यी कुराहरूका बारेमा सोच्‍ने वा त्यसलाई व्यवहारमा लागू गर्ने गर्दैनन्। बरु, तिनीहरूले आफ्‍नो मन बरालिन दिने, आफ्‍नो जीउको बारेमा गुनासो गर्ने र कराउने, भविष्यको बारेमा चिन्ता गर्ने, र आफूले भोगेको पीडा र चुकाएको मूल्यको बारेमा फिक्री गर्ने समय भेट्टाउँछन्। जब तिनीहरूले यो सब समाधान गर्न, सहन सक्दैनन्, वा यी निराशाहरूलाई पोखाउने ठाउँ पाउँदैनन्, तिनीहरूले दबाबको महसुस गर्छन्। परमेश्‍वरको घर छोडेर जाने बारेमा विचार गर्दा तिनीहरूलाई आशिषहरू गुमाउँछु भन्‍ने डर लाग्छ, तिनीहरूले दुष्कर्म गरे भने तिनहरूलाई नरक जाने डर हुन्छ, र तिनीहरूलाई सत्यता पछ्याउन वा आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न पनि इच्छा हुँदैन। परिणाम स्वरूप, तिनीहरूले दबाबमा परेको महसुस गर्छन्। के कुरा यही होइन र? (हो।) ठीक भन्यौ। यदि व्यक्तिले आफूले पूरा गर्नुपर्ने उचित कार्य पूरा गर्छ र सही मार्ग पछ्याउँछ भने, यी भावनाहरू पैदा हुँदैनन्। क्षणिक रूपमा देखा पर्ने विशेष परिस्थितिहरूको कारण कहिलेकहीँ तिनीहरूले दबाबका भावनाहरू महसुस गर्ने भए पनि, ती क्षणिक मुड मात्रै हुन्छन्, किनभने जीवनको सही शैली र अस्तित्व सम्‍बन्धी सही दृष्टिकोण भएका मानिसहरूले यी नकारात्मक भावनाहरूलाई तुरुन्तै हटाउँछन्। परिणाम स्वरूप, तँ दबाबका भावनाहरूको बन्धनमा बारम्‍बार पर्नेछैनस्। यसको अर्थ दबाबका त्यस्ता भावनाहरूले तँलाई झिज्याउँदैनन्। तैँले क्षणिक रूपमा खराब मुडको महसुस गर्न सक्छस्, तर तँ त्यसको बन्धनमा पर्दैनस्। यसले सत्यतालाई पछ्याउनुको महत्त्वलाई उजागर गर्छ। यदि तँ आफूले गर्नुपर्ने उचित काम पूरा गर्न खोज्छस्, यदि तँ वयस्कले पूरा गर्नुपर्ने जिम्‍मेवारीहरू पूरा गर्छस्, र अस्तित्वको सामान्य, असल, सकारात्मक, र सक्रिय शैली खोज्छस् भने, तँमा यी नकारात्मक भावनाहरू पैदा हुनेछैनन्। यी दबाबपूर्ण भावनाहरूले तँलाई प्रभाव पार्ने वा बसमा पार्ने छैनन्।

त्यसकारण, हामीले दबाबलाई समाधान गर्ने समस्या र कठिनाइको बारेमा सङ्गति गरिसक्यौँ, जसमा यसभन्दा अघि उल्‍लेख गरिएका तीन वटा पक्षहरू समावेश छन्। दबाबका भावनाहरूको बन्धनमा परेका, र दबाबको भावनाको फन्दामा परेर पनि त्यसबाट मुक्त हुन चाहनेहरू यी भावनाहरूको नियन्त्रणमा पर्न छोडून् भनेर हामी हार्दिक कामना गर्छौँ। तिनीहरू दबाबका नकारात्मक भावनाहरूबाट चाँडै मुक्त भएर सामान्य व्यक्ति जस्तो जिउन सकून्, अनि अस्तित्वको सामान्य र उचित तरिकालाई अपनाउन सकून्। के त्यो राम्रो कामना हो? (हो।) त्यसोभए, तिमीहरूले पनि कामना गर्नुपर्छ। (दबाबका भावनाहरूको बन्धनमा परेका, र दबाबको भावनाको फन्दामा परेर पनि त्यसबाट मुक्त हुन चाहनेहरू यी भावनाहरूको नियन्त्रणमा पर्न छोडून् भनेर हामी हार्दिक कामना गर्छौँ। तिनीहरू दबाबका नकारात्मक भावनाहरूबाट चाँडै मुक्त भएर सामान्य व्यक्ति जस्तो जिउन सकून्, अनि अस्तित्वको सामान्य र उचित तरिकालाई अपनाउन सकून्।) यो वास्तविक कामना हो। अब हामीले हाम्रा कामनाहरू व्यक्त गरिसकेका हुनाले, यी मानिसहरू दबाबका भावनाहरूबाट मुक्त हुन सक्छन् कि सक्दैनन् भन्‍ने कुरा अन्तिममा तिनीहरूको व्यक्तिगत निर्णयमा भर पर्छ—यो सरल कुरा हो। वास्तवमा, यो सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने कुरा हो। यदि व्यक्तिमा सत्यता र सकारात्मक कुराहरूलाई पछ्याउने पर्याप्त रूपमा दह्रिलो सङ्कल्प र इच्छा छ भने, उसलाई दबाबको भावनाबाट मुक्त हुन सजिलो हुन्छ। यो गाह्रो हुँदैन। यदि कसैलाई सत्यता र सकारात्मक कुरा पछ्याउन मन पर्दैन, र सकारात्मक कुराहरू मन पर्दैन भने, उसलाई दबाबका भावनाहरूको बन्धमा परिरहन देओ। तिनीहरूलाई त्यस्तै हुन देओ। तिनीहरूको लागि हामीले कामना गरिरहनु पर्दैन, हुन्छ? (हुन्छ।) परिस्थितिलाई सम्‍हाल्‍ने यो अर्को तरिका हो। हरेक समस्याको समाधान हुन्छ, र सत्यताका सिद्धान्तहरू र मानिसहरूको वास्तविक परिस्‍थितिको आधारमा सबै कुरालाई सम्‍बोधन र समाधान गर्न सकिन्छ। आजको लागि हामीले हाम्रो कामना सक्यौँ, र हामीले विभिन्‍न परिस्थितिहरूका बारेमा राम्ररी सङ्गति गरिसक्यौँ। यस्तो व्यक्तिको बारेमा जति भन्‍नुपर्ने हो हामीले भनिसक्यौँ, र हाम्रो छलफललाई यहीँ समाप्त गरौँ।

नोभेम्बर १२, २०२२

अघिल्लो: सत्यता कसरी पछ्याउने (३)

अर्को: सत्यता कसरी पछ्याउने (६)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्