सत्यता कसरी पछ्याउने (२०)

हामीले सङ्गति गरिरहेका विविध विषयहरूमा दैनिक जीवनका व्यावहारिक कुराहरू समावेश छन्। के तिमीहरूलाई यो कुरा सुनेपछि सत्यता खोक्रो छैन, यो नारा होइन, एक प्रकारको मत वा विशेष गरी एक प्रकारको ज्ञान होइन भन्‍ने लाग्दैन? सत्यता केसँग सम्बन्धित छ? (यो हाम्रो वास्तविक जीवनसँग सम्बन्धित छ।) सत्यता हाम्रो वास्तविक जीवन, हाम्रो वास्तविक जीवनमा घट्ने विभिन्‍न घटनासँग सम्बन्धित छ। यसले मानव जीवनका सबै पक्ष, मानिसहरूलाई दैनिक जीवनमा आइपर्ने विभिन्‍न मामिलालाई समेट्छ, अनि यो विशेष गरी मानिसहरूले पछ्याउने लक्ष्य र हिँड्ने मार्गसँग सम्बन्धित छ। यी सत्यताहरूमध्ये कुनै पनि सत्यता खोक्रा छैनन्, अनि ती निश्चय नै अनावश्यक छैनन्; ती सबै मानिसहरूमा हुनु अत्यावश्यक छ। दैनिक जीवनमा, निश्चित व्यावहारिक मामिलाहरूको सन्दर्भमा भन्नुपर्दा, यदि तँ यी कुरालाई हामीले सङ्गति गर्ने सत्यता सिद्धान्तहरूको आधारमा लिन, समाधान गर्न र सम्हाल्न सक्छस् भने, तँ सत्यता वास्तविकतामा प्रवेश गरिरहेको हुन्छस्। यदि तँ आफ्नो दैनिक जीवनमा सत्यतासँग सम्बन्धित यी मामिलाहरूप्रति आफ्नो पहिलेकै सोच र दृष्टिकोण राखिराख्छस् र बदलिँदैनस्, यदि तँ यी मामिलालाई आफ्नो मानव दृष्टिकोणले हेर्छस् अनि तैँले यी कुरालाई कसरी हेर्छस् भन्‍ने कुराको सिद्धान्त र आधार सत्यतासँग सम्बन्धित छैनन् भने, तँ स्पष्टतः सत्यता वास्तविकतामा प्रवेश गरिरहेको व्यक्ति होइनस्, न त तँ सत्यता पछ्याउने व्यक्ति नै होस्। हामीले सत्यताको जुनै पक्षबारे सङ्गति गरिरहेका भए पनि, यसमा समाविष्ट विषयहरू विविध मामिलामा मानिसले राख्ने गलत सोच, दृष्टिकोण, धारणा र कल्पनालाई सच्याउन र उल्ट्याउनका लागि हुन्, ताकि तिनीहरूले दैनिक जीवनमा आइपर्ने विभिन्‍न मामिलाबारे सही सोच र दृष्टिकोण राख्न सकून्, अनि दैनिक जीवनमा घट्ने यी कुराहरूलाई सही हेराइ र दृष्टिकोणले हेर्न सकून् र त्यसपछि ती कुरालाई समाधान गर्न र सम्हाल्न सत्यतालाई मापदण्डका रूपमा प्रयोग गर्न सकून्। प्रवचन सुन्‍नु भनेको धर्मसिद्धान्त वा ज्ञानले सुसज्जित हुनु होइन, यो आफ्नो ज्ञानको सीमा विस्तार गर्नु वा अन्तर्ज्ञान प्राप्त गर्नु होइन—यो त सत्यता बुझ्नु हो। सत्यता बुझ्नुको उद्देश्य आफ्नो सोच वा आत्मालाई, वा आफ्नो मानवतालाई समृद्ध पार्नु नभई मानिसहरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको मार्गमा हिँड्दा वास्तविक जीवनबाट नतर्किन सक्षम बनाउनु हो, अनि दैनिक जीवनमा विभिन्‍न परिस्थिति आइपर्दा परमेश्‍वरको वचनलाई आफ्नो आधार र सत्यतालाई मापदण्डका रूपमा लिएर मानिस र कामकुरालाई हेर्नु, आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु हो। यदि तैँले धेरै वर्षदेखि प्रवचनहरू सुन्दै आएको छस् अनि धर्मसिद्धान्त र ज्ञानको क्षेत्रमा प्रगति गरेको छस्, अनि तँलाई आत्मिक रूपमा समृद्ध महसुस हुन्छ र तेरो सोच अझ उच्च भएको छ, तर दैनिक जीवनमा धेरै कुरा आइपर्दा, तँ यी कुरालाई अझै पनि सही दृष्टिकोणले हेर्न सक्दैनस्, न त सत्यता सिद्धान्तअनुसार अभ्यास गर्न, मानिस र कामकुरालाई हेर्न, राम्रो व्यवहार देखाउन र कार्य गर्नमा लागिपर्न नै सक्छस् भने, तँ स्पष्टतः सत्यता पछ्याउने व्यक्ति होइनस्, न त तँ सत्यता वास्तविकतामा प्रवेश गरिरहेको व्यक्ति नै होस्। अझ गम्भीर कुरा के हो भने, तँ अझसम्म सत्यताप्रति समर्पित हुने, परमेश्‍वरप्रति समर्पित हुने वा उहाँको भय मान्‍ने बिन्दुमा पुगेको छैनस्। अवश्य नै, तँ मुक्तिको मार्गमा हिँडेको छैनस् भनेर एकदमै स्पष्टसँग पुष्टि हुन सक्छ। के त्यसै होइन? (हो।)

तिमीहरूलाई अहिलेको आफ्नो वास्तविक कद र परिस्थितिका आधारमा, आफू कुन-कुन पक्षहरूमा सत्यता वास्तविकतामा प्रवेश गरेको छु भन्‍ने लाग्छ? तिमीहरूलाई कस्ता पक्षहरूमा मुक्ति पाउने आशा छ? तिमीहरू अझै कुन पक्षमा सत्यता वास्तविकतामा प्रवेश गर्न बाँकी छ, तर मुक्तिको मानक पूरा गर्दैनौ? के तिमीहरू यो मापन गर्न सक्छौ? (ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले परमेश्‍वरको घरको कामको हितमा हानि गर्दै मण्डलीको काममा बाधा पुऱ्याउने परिस्थितिहरूमा, ममा न्यायको भावना र परमेश्‍वरप्रति साँचो वफादारी हुँदैन। म खडा भएर परमेश्‍वरको घरको हितको रक्षा गर्न सक्दिनँ, अनि यी महत्त्वपूर्ण मामिलामा मसँग गवाही हुँदैन। यस मामिलामा, म स्पष्टतः मुक्तिको मानक पूरा गर्दिनँ।) यो वास्तविक समस्या हो। सबै जनाले यसबारे थप छलफल गरौँ। ख्रीष्टविरोधीहरूलाई ठम्याउने र इन्कार्ने मामिलासँग सम्बन्धित आफ्नो कदलाई चिन्‍नुको अलावा अन्य पक्षमा तैँले आफ्नो दैनिक जीवनमा के-कस्ता कुराहरू सामना गरेको छस्, जसले तँलाई म वास्तविकतामा प्रवेश गरेको छैनँ, सत्यता सिद्धान्तअनुसार अभ्यास गर्न सक्दिनँ र मैले धर्मसिद्धान्त बुझे पनि, अझै पनि सत्यताबारे स्पष्ट छैनँ, मसँग स्पष्ट मार्ग छैन अनि मलाई परमेश्‍वरका अभिप्रायअनुरूप कसरी बन्‍ने वा सिद्धान्तहरू कसरी पालन गर्ने भनेर थाहा छैन भन्‍ने महसुस गराउँछन्? (आफ्नो कर्तव्य धेरै वर्षसम्म पूरा गरेपछि मलाई आफ्नो परिवार छोड्न, आफ्नो करियरलाई माया मार्न अनि आफ्ना आमाबुबा र आफन्तहरूप्रतिका भावनाहरू केही हदसम्म त्याग्‍न सक्छु भन्‍ने लाग्यो। तथापि, बेलाबेला मलाई निश्चित वास्तविक जीवन परिस्थितिहरू आइपरेका छन्, जसले मलाई आफूभित्र अझै पनि भावनाहरू छन् अनि म आफ्ना आमाबुबाको साथमा रहेर उहाँहरूको हेरचाह गर्न र उहाँहरूप्रति भक्तिभाव देखाउन चाहन्छु भन्‍ने महसुस गराए। यदि मैले यसो गर्न सकिनँ भने, मलाई उहाँहरूप्रति ऋणी महसुस हुन्छ। मैले आमाबुबा हाम्रा ऋणदाता हुनुहुन्‍न भन्‍नेबारे परमेश्‍वरको हालैको सङ्गति सुनेपछि, मैले सत्यताको यो पक्षलाई बुझ्दिनँ अनि म सत्यता वा परमेश्‍वरप्रति समर्पित भएको छैनँ भन्‍ने थाहा पाएँ।) अरू कसलाई कुरा जारी राख्न मन छ? के तिमीहरूको दैनिक जीवनमा कठिनाइहरू आउँदैनन्? अथवा के तिमीहरू अरूबाट अलग बस्छौ र कहिल्यै कुनै समस्याको सामना गर्दैनौ? के तिमीहरूलाई आफ्नो कर्तव्य पूरा गर्दा समस्या आइपर्छ? के तिमीहरू कहिल्यै लापरवाह हुन्छौ? (हुन्छौँ।) के तिमीहरू कहिल्यै देहसुख र ऐसआराममा लिप्त हुन्छौ? के तिमीहरू ख्याति र हैसियतका लागि काम गर्छौ? के तिमीहरू प्रायः आफ्ना भविष्यका सम्भावना र मार्गहरूबारे चिन्तित हुन्छौ वा सुर्ता गर्छौ? (गर्छौँ।) त्यसोभए परिस्थितिहरू आइपर्दा तिमीहरू तिनलाई कसरी सम्हाल्छौ? के तिमीहरू ती समाधान गर्नका लागि सत्यता प्रयोग गर्न सक्छौ? तिमीहरू आफ्नो बढुवा हुँदा अतिरिक्त योजनामै टाँसिएर बस्छौ, आफ्नो सम्भावना र गन्तव्यबारे चिन्तित हुन्छौ, परमेश्‍वरलाई गलत बुझ्छौ र दोष दिन्छौ, वा आफ्नो पदबाट हटाइँदा आफ्नो योग्यताको धाक लगाउँछौ—के तिमीहरूमा यी समस्या छन्? (छन्।) तिमीहरू यी परिस्थितिहरू आइपर्दा तिनलाई कसरी सम्हाल्छौ र समाधान गर्छौ? के तिमीहरू आफ्ना स्वार्थी चाहनाहरू पछ्याउँछौ, वा सत्यता सिद्धान्त पालन गर्न, देहविरुद्ध विद्रोह गर्न र सत्यता अभ्यास गर्नका लागि आफ्नो भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्न सक्छौ? (परमेश्‍वर, मलाई यी परिस्थितिहरू आइपर्दा मैले आफ्नो देहको रुचि वा आफ्नो भ्रष्ट स्वभावअनुसार कार्य गर्नु हुँदैन भनेर म धर्मसैद्धान्तिक रूपमा बुझ्छु। कहिलेकाहीँ मलाई विवेकले घचघच्याउँछ र आत्मग्लानि हुन्छ, अनि म आफ्नो व्यवहारमा केही परिवर्तन ल्याउँछु। तर यो यी मामिलाबारे मेरो दृष्टिकोण परिवर्तन भएकाले वा म सत्यता अभ्यास गर्न सक्षम हुनाले भएको होइन। कहिलेकाहीँ यदि मेरा स्वार्थी चाहनाहरू अपेक्षाकृत दह्रो हुन्छन् र मलाई यो कठिनाइ अति ठूलो लाग्छ भने, ममा एकाएक ऊर्जा उत्पन्‍न भए पनि, म यो अभ्यास गर्न सक्दिनँ। त्यस अवस्थामा, म आफ्नो भ्रष्ट स्वभावलाई पछ्याउनेछु, र बाहिरी असल व्यवहारसमेत बाँकी रहँदैन।) यो कस्तो खाले परिस्थिति हो? तँ सत्यता अभ्यास गरेर आफ्नो गवाहीमा दृढ रहन पुग्छस् कि असफल हुन्छस्? (म असफल हुन्छु।) के त्यसपछि तँ मनन गरेर पछुतो महसुस गर्छस्? के तँ फेरि त्यस्तै परिस्थिति आइपर्दा सुधार गर्न सक्छस्? (असफल भएपछि, मेरो विवेक अलि पोल्छ, अनि जब म परमेश्‍वरका वचनहरू खान्छु र पिउँछु, तब म तिनलाई आफूसँग जोड्न सक्छु, तर अर्को चोटि यी परिस्थितिहरू आइपर्दा, फेरि उही भ्रष्ट स्वभाव आफै प्रकट भइहाल्छ। यस पक्षमा अपेक्षाकृत कम प्रगति हुन्छ।) के धेरैजसो मानिस आफूलाई यही स्थितिमा पाउँदैनन् र? तिमीहरू यो मामिलालाई कसरी हेर्छौ? तिनीहरूलाई त्यस्तै परिस्थितिहरू आइपर्दा, तिनीहरूले त्यो परिस्थिति सम्हाल्ने तरिकाहरूका सन्दर्भमा भन्नुपर्दा, आफ्नो विवेकको प्रभावका कारण तिनीहरूको व्यवहार सुध्रिनु वा तिनीहरूको व्यवहार तिनीहरूको तत्कालीन परिस्थिति र अवस्था अनि फरक-फरक मुडअनुसार कहिलेकाहीँ अपेक्षाकृत उच्च र कहिलेकाहीँ अपेक्षाकृत नीच हुनुका अलावा—यी कुराबाहेक, तिनीहरूको अभ्यास र सत्यताबीच कुनै सम्बन्ध हुँदैन। यसमा समस्या के हो? के यसले व्यक्तिको कदलाई दर्साउँछ? यो कस्तो खालको कद हो? के यो सानो कद, वा कमजोरी, वा तिनीहरूको मानवतामा भएको कमी, वा सत्यता अभ्यास नगरेको प्रकटीकरण हो त? यो के हो? (सानो कद।) जब व्यक्तिको कद सानो हुन्छ, तब उसले सत्यता अभ्यास गर्न सक्दैन अनि उसले सत्यता अभ्यास गर्न नसक्ने हुनाले, उसको कद सानो हुन्छ। यो कति सानो हुन्छ? यसको अर्थ, तैँले यस मामिलामा अझै सत्यता प्राप्त गरेको छैनस्। तैँले अझै सत्यता प्राप्त गरेको छैनस् भन्‍नुको अर्थ के हो? यसको अर्थ, परमेश्‍वरको वचन अझै तेरो जीवन बनेको छैन; तेरा लागि परमेश्‍वरका वचनहरू अझै पनि एक प्रकारको पाठ, धर्मसिद्धान्त वा बहस हुन्। ती वचन अझै तँमा गढेका छैनन् वा तेरो जीवन बनेका छैनन्। फलस्वरूप, तैँले बुझ्ने यी तथाकथित सत्यताहरू एक प्रकारको धर्मसिद्धान्त वा नारा मात्र हुन्। म किन यसो भन्छु? किनभने तँ यो धर्मसिद्धान्तलाई आफ्नो वास्तविकतामा परिणत गर्न सक्दैनस्। तँलाई दैनिक जीवनमा परिस्थितिहरू आइपर्दा, तँ तिनलाई सत्यताअनुसार सम्हाल्दैनस्; तँ अझै तिनलाई शैतानको भ्रष्ट स्वभावअनुसार र विवेकको प्रभावमा सम्हाल्छस्। त्यसैले स्पष्ट छ, कम्तीमा पनि यस मामिलामा तँसँग सत्यता छैन अनि तैँले जीवन प्राप्त गरेको छैनस्। जीवन प्राप्त नगर्नु भनेको जीवन नहुनु हो; जीवन नपाउनुको अर्थ, यस मामिलामा तैँले पटक्कै मुक्ति पाएको छैनस्, अनि तँ अझै शैतानको शक्तिको अधीनमा जिइरहेको छस्। विवेकको प्रभावमा अभ्यास गरिने कुरा असल व्यवहार होस् कि एक प्रकारको प्रकटीकरण होस्, यसले जीवनको प्रतिनिधित्व गर्दैन; यो त सामान्य मानवताको प्रकटीकरण मात्र हो। यदि यो प्रकटीकरणमा विवेकको प्रभाव परेको छ भने, धेरैभन्दा धेरै, यो एक प्रकारको असल व्यवहार हो। यदि विवेक मुख्य कारक होइन, तर व्यक्तिको भ्रष्ट स्वभावचाहिँ मुख्य कारक हो भने, यो व्यवहारलाई असल व्यवहार मान्‍न सकिँदैन; यो त भ्रष्ट स्वभाव प्रकट हुनु हो। त्यसोभए, तिमीहरूले कुन-कुन मामिलामा सत्यतालाई वास्तविकता बनाइसकेका छौ र जीवन प्राप्त गरिसकेका छौ? तिमीहरूले कुन-कुन मामिलामा अझै सत्यता प्राप्त गरेका छैनौ र यसलाई आफ्नो जीवन बनाएका छैनौ, अनि अझै सत्यतालाई आफ्नो वास्तविकता बनाएका छैनौ? अर्को शब्दमा भन्‍नुपर्दा, कुन-कुन मामिलामा तँ परमेश्‍वरका वचनहरूअनुसार जिएर तिनलाई आफ्नो मापदण्डका रूपमा लिइरहेको छस्, अनि तैँले कुन-कुन मामिलामा अझै त्यसो गरेको छैनस्? ती कति छन्, हिसाब गर्। यदि तैँले ती सबैको हिसाब गरेको छस्, तर दुर्भाग्यवश तैँले एउटा मामिलामा पनि परमेश्‍वरको वचनका आधारमा कार्य गरेको वा जिएको छैनस्, बरु आफ्नो गरम मिजास, आफ्नो धारणा, रुचि, देहगत चाहना वा आफ्नो भ्रष्ट स्वभावअनुसार कार्य गरेको छस् भने, अन्तिम परिणाम के हुनेछ? परिणाम खराब हुनेछ, हुनेछैन र? (हुनेछ।) तिमीहरूले आजसम्म धेरै वर्षदेखि प्रवचन सुन्दै आएका छौ, आफ्नो परिवार त्यागेका छौ, आफ्नो करियरलाई माया मारेका छौ, कठिनाइ भोगेका छौ र मूल्य चुकाएका छौ। यदि त्यसको परिणाम यही हो भने, यो खुसी हुनुपर्ने र हर्कबढाइँ गर्नुपर्ने कुरा हो कि दुःखी र चिन्तित हुनुपर्ने कुरा हो? (दुःखी र चिन्तित हुनुपर्ने कुरा हो।) सत्यतालाई वास्तविकता नबाउने, परमेश्‍वरको वचनलाई आफ्नो जीवन नबाउने व्यक्ति कस्तो खालको हो? के त्यो शैतानको भ्रष्ट स्वभावको पूर्ण नियन्त्रणमा जिउने, मुक्तिको आशा देख्न नसक्ने व्यक्ति होइन र? (हो।) के तिमीहरूले सामान्यतया परमेश्‍वरको वचन पढ्दा र आफूलाई जाँच्दा यी प्रश्नहरूबारे कहिल्यै विचार गरेका छौ? धेरैजसो मानिसले विचार गरेका छैनन्, होइन त? धेरैजसो मानिस यस्तो मात्र सोच्छन्, “मैले सत्र वर्षको उमेरमा परमेश्‍वरमा विश्‍वास गर्न थालेँ, र अहिले म सतचालिस वर्ष पुगेँ। मैले यत्तिका वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएको छु, म कैयौँ पटक खेदोमा परेको छु, तर परमेश्‍वरले मलाई जोगाउनुभएको छ र उम्कन मद्दत गर्नुभएको छ। म ओडार र घाँसपातको झोपडीमा बसेको छु, केही नखाई दिन-रात काटेको छु, र नसुती घण्टौँ बिताएको छु। मैले अति धेरै कष्ट सहेको छु र कोसौँ दौडधुप गरेको छु, यी सब आफ्नो कर्तव्य निर्वाह गर्न, आफ्नो काम गर्न र आफ्नो कार्यभार पूरा गर्नका लागि थिए। मेरो मुक्तिको आशा एकदमै ठूलो छ, म मुक्तिको मार्गमा हिँड्न थालिसकेको छु। म एकदमै भाग्यशाली छु! परमेश्‍वरलाई साँच्चै धन्यवाद होस्। यो उहाँको अनुग्रह हो! म बाहिरी दुनियाँको नजरमा मूल्यहीन थिएँ, कसैले मेरो मान गर्दैनथे र म आफूलाई कहिल्यै विशेष व्यक्ति मान्दिनथेँ, तर परमेश्‍वरले मेरो उत्थान गर्नुभएकाले, मलाई—खाँचोमा परेको व्यक्तिलाई—फोहोरको डङ्गुरबाट माथि उठाउनुभएकाले, मलाई मुक्तिको मार्गमा हिँडाइयो, जसले गर्दा मैले उहाँको घरमा आफ्नो कर्तव्य पूरा गर्ने गौरव पाउन सकेँ। उहाँले मेरो उत्थान गर्नुभयो र उहाँ मलाई प्रेम गर्नुहुन्छ! अहिले म निकै धेरै सत्यता बुझ्छु र मैले यत्तिका धेरै वर्षदेखि काम गर्दै आएको छु। मैले भविष्यमा इनाम पाउनु निश्चित कुरा हो। त्यो कसले खोस्न सक्छ?” यदि तैँले आफूलाई जाँच्दा यी कुराहरूबारे मात्रै सोच्न सकेको भए, के त्यो कष्टकर हुनेथिएन र? (हुनेथियो।) मलाई बताऊ, तिमीहरूले यत्तिका वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका छौ, यति धेरै कष्ट भोगेका छौ, यति टाढासम्म यात्रा गरेका छौ र यत्तिका धेरै काम गरेका छौ। किन यति धेरै विश्‍वास गरेपछि पनि कतिपय मानिसलाई अहिले समूह “ख” मा सारिएको छ? किन अहिले धेरै अगुवा र सेवकहरूले भेटीहरू पुनः तिर्नुपर्छ र ऋणको बोझ बोक्नुपर्छ? के भइरहेको छ? के तिनीहरूले मुक्ति पाइसकेका छैनन् र? के तिनीहरूसँग पहिलेदेखि नै सत्यता छैन र? अनि के तिनीहरूले जीवन प्राप्त गरिसकेका छैनन् र? कतिपय मानिस आफूलाई परमेश्‍वरको घरको खम्बा र शिरढुङ्गो, यहाँको दुर्लभ प्रतिभा ठान्थे। अहिले परिस्थिति कस्तो छ? यदि यत्तिका वर्षको कष्ट भोगाइ र मूल्य चुकाइको परिणामस्वरूप तिनीहरूले जीवन र सत्यता वास्तविकता प्राप्त गरेका, परमेश्‍वरका वचनहरूमा समर्पित भएका, साँचो रूपमा परमेश्‍वरको डर मानेका र बफादारीपूर्वक कर्तव्य पूरा गरेका भए, के यी मानिसहरूलाई बर्खास्त गरिनेथ्यो वा समूह “ख” मा सारिनेथ्यो? के तिनीहरू ऋणको बोझले दबिनेथिए वा तिनीहरूले ठूल्ठूला सजाय पाउनेथिए? के यी समस्याहरू आएका हुनेथिए? यो निकै लज्जास्पद कुरा हो, होइन र? (हो।) के तिमीहरूले समस्या के हो भनेर कहिल्यै सोचेका छौ? कुनै व्यक्तिले कति कष्ट सहन सक्छ वा परमेश्‍वरप्रतिको विश्‍वासमा कति मूल्य चुकाउन सक्छ भन्‍ने कुरा मुक्ति पाएको वा सत्यता वास्तविकतामा प्रवेश गरेको सङ्केत होइन, न त ऊसँग जीवन छ भन्‍ने सङ्केत नै हो। त्यसोभए, जीवन र सत्यता वास्तविकता हुनुको सङ्केत के हो त? सामान्यता, यसको सङ्केत कुनै व्यक्तिले सत्यता अभ्यास गर्न र सिद्धान्तअनुसार मामिला सम्हाल्न सक्छ कि सक्दैन भन्‍ने हो; निश्चित रूपमा भन्‍नुपर्दा, यो भनेको, कुनै व्यक्तिले सत्यता सिद्धान्तअनुसार मानिस र कामकुरालाई हेर्छ कि हेर्दैन, राम्रो व्यवहार देखाउँछ कि देखाउँदैन र कार्य गर्छ कि गर्दैन भन्‍ने हो। यदि तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा आफूले गर्ने सबै कुरामा स्वयमलाई जित्न, कष्ट सहन, र मूल्य चुकाउन सक्छस्, तर दुर्भाग्यवश तँ सबैभन्दा महत्त्वपूर्ण कुरा हासिल गर्न सक्दैनस्, अर्थात् सत्यता सिद्धान्तहरू पालन गर्न सक्दैनस् भने; यदि तैँले जे गरे पनि, सधैँ आफ्नै हितलाई ख्याल गर्छस्, सधैँ उम्कन खोज्छस्, सधैँ आफूलाई जोगाउन चाहन्छस्; अनि यदि तँ कहिल्यै सत्यता सिद्धान्तहरू पालन गर्दैनस् र तेरा लागि परमेश्‍वरको वचन धर्मसिद्धान्त मात्र हो भने, तँ आफू मूल्यवान् छस् कि छैनस् वा तेरो जीवनको मोल छ कि छैन भनेर कुरासमेत नगर्; सबैभन्दा आधारभूत रूपमा तँसित जीवन छैन। जीवनरहित व्यक्ति सबैभन्दा दयनीय व्यक्ति हो। परमेश्‍वरमा विश्‍वासचाहिँ गर्ने तर अझै सत्यता वास्तविकतामा प्रवेश नगर्ने, जीवन प्राप्त नगर्ने व्यक्ति सबैभन्दा दयनीय प्रकारको व्यक्ति हो र यो सबैभन्दा दुःखलाग्दो कुरा हो। के कुरा त्यसै होइन? (हो।) म तिमीहरूले सबै कुरामा सत्यता सिद्धान्तअनुसार अभ्यास गर्न सक्नुपर्छ भन्‍ने माग गर्दिनँ, तर कम्तीमा पनि, तैँले आफ्नो महत्त्वपूर्ण कर्तव्य निर्वाहमा र सिद्धान्तसँग सम्बन्धित दैनिक जीवनका महत्त्वपूर्ण मामिलाहरूमा सत्यता सिद्धान्तअनुसार कार्य गर्न सक्नुपर्छ। तैँले आफूमा मुक्तिको आशा देख्नका लागि कम्तीमा पनि यो मानक पूरा गर्नैपर्छ। तर अहिलेसम्म, तिमीहरू सबैभन्दा आधारभूत मापदण्डसम्म समेत पुगेका छैनौ, तिमीहरूले यीमध्ये कुनै हासिल गरेका छैनौ। यो एकदमै दुःखलाग्दो र असाध्यै चिन्ताजनक कुरा हो।

मानिसहरू परमेश्‍वरमा विश्‍वास गरेको पहिलो तीन वर्षमा खुसी हुन्छन् र रमाउँछन्। तिनीहरू हरेक दिन आशिष् प्राप्त गर्ने र राम्रो गन्तव्यमा पुग्‍नेबारे सोच्छन्। तिनीहरू परमेश्‍वरका लागि कष्ट भोग्‍ने, दौडधुप गर्ने र अरूलाई अझ धेरै मद्दत गर्ने, अझ धेरै असल कार्य गर्ने र अझ धेरै पैसा चढाउनेजस्ता बाहिरी असल व्यवहारहरू भनेको परमेश्‍वरका विश्‍वासीहरूले गर्नुपर्ने कुरा हुन् भन्‍ने ठान्छन्। मानिसहरूले तीनदेखि पाँच वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि केही धर्मसिद्धान्त बुझे पनि, अझै पनि आफ्नै धारणा र कल्पनाअनुसार परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरू सत्यता सिद्धान्तअनुसार जिउनुभन्दा वा परमेश्‍वरको वचनलाई आफ्नो जीवन र आफूले मानिस र कामकुरालाई हेर्ने, आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने मापदण्ड बनाउनुभन्दा पनि असल व्यवहार, आफ्नो विवेक र असल मानवताअनुसार जिउँछन्। यस्ता मानिसहरूले कस्तो मार्ग पछ्याइरहेका हुन्छन्? के यो पावलले पछ्याएको मार्ग होइन र? (हो।) के तिमीहरू अहिले आफूलाई यही अवस्थामा पाउँदैनौ र? यदि तिमीहरू धेरैजसो समय आफूलाई यसै अवस्थामा पाउँछौ भने, के यत्तिका धेरै प्रवचन सुन्‍नु उपयोगी हुन्छ त? तैँले जुनै प्रकारको प्रवचन सुने पनि, सत्यता बुझ्न, वा आफ्नो दैनिक जीवनमा सत्यता सिद्धान्तको आधारमा मानिस र कामकुरालाई हेर्न, अनि आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्नका लागि प्रवचन सुनिरहेको हुँदैनस्, बरु आफ्नो आत्मिक संसार र आफ्नो मानव अनुभवलाई समृद्ध पार्नका लागि प्रवचन सुनिरहेको हुन्छस्। त्यो अवस्थामा, तैँले ती वचनहरू सुन्‍नु आवश्यक छैन, छ त? कतिपय मानिस भन्छन्, “प्रवचन नसुन्‍नु उचित होइन। यदि मैले प्रवचन सुनिनँ भने, म परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा उत्साह गुमाउँछु, अनि आफ्नो कर्तव्य निर्वाह गर्दा ममा उत्साह वा उत्प्रेरणा हुँदैन। म बेलाबेला प्रवचन सुनेर आफ्नो विश्‍वासमा अलि उत्साह पाउँछु, मलाई अझ अलि सन्तुष्टि मिल्छ र समृद्ध महसुस हुन्छ, अनि त्यसपछि आफ्नो कर्तव्यमा कुनै कठिनाइ वा नकारात्मकता आइपर्दा, ममा केही उत्प्रेरणा हुन्छ र म धेरैजसो नकारात्मक बन्दिनँ।” के यही नतिजा हासिल गर्नका लागि प्रवचन सुनिन्छ त? वर्षौँदेखि प्रवचन सुन्दै आएका धेरैजसो मानिस आफूलाई जसरी काटछाँट गरिए पनि, अनुशासनमा राखिए पनि वा ताडना दिइए पनि, मण्डली छोडेर जाँदैनन्। यो नतिजा हासिल गर्नु र प्रवचन सुन्‍नुबीच निश्चित सम्बन्ध छ, तर मैले देख्न चाहेको कुरा भनेको तिमीहरूको हृदयमा निभ्दै गरेको आगो हरेक प्रवचन सुनेपछि फेरि बल्नु मात्र होइन। यो कुरा त्योसँग मात्रै सम्बन्धित छैन। फगत उत्साह त कुनै कामको हुँदैन। दुष्कर्म गर्न वा सिद्धान्त उल्लङ्घन गर्नका लागि उत्साह प्रयोग गर्नु हुँदैन। उत्साह त तँलाई अझ धेरै उद्देश्य र दिशासहित सत्यता पछ्याउन लगाउनका लागि हो—तैँले सत्यता सिद्धान्ततर्फ मरिमेटेर लाग्नुपर्छ र तिनको अभ्यास गर्नुपर्छ। त्यसोभए, के प्रवचन सुनेर यो नतिजा हासिल गर्न सकिन्छ? हरेक प्रवचन सुनेपछि, तेरो हृदयमा आगो दन्केसरह हुन्छ, तँमा विद्युतीय ऊर्जा दौडिएझैँ लाग्छ वा तँमा हावा भरिएजस्तो हुन्छ। तँलाई फेरि आफूमा उत्साह भरिएको महसुस हुन्छ, तँलाई अब आफू कहिल्यै सुस्त वा नकारात्मक नभई अनि विरलै मात्र कमजोर भई कुन क्षेत्रतर्फ लाग्‍नुपर्छ भनेर थाहा हुन्छ। तर, यी प्रकटीकरणहरू मुक्ति प्राप्त गर्ने सर्त होइनन्। मुक्ति प्राप्त गर्ने कैयौँ सर्त छन्: पहिलो, तँ परमेश्‍वरको वचन पढ्न र प्रवचन सुन्‍न इच्छुक हुनैपर्छ; दोस्रो, र यो सबैभन्दा महत्त्वपूर्ण सर्त पनि हो, तँलाई दैनिक जीवनमा सानो-ठूलो जेजस्तो मामिला, विशेष गरी आफ्नो कर्तव्य निर्वाह र परमेश्‍वरको घरको मुख्य कामसँग सम्बन्धित मामिला आइपरे पनि, तैँले आफ्नै विचारका आधारमा कार्य गर्नुभन्दा, आफूलाई जे मन लाग्यो त्यही गर्नुभन्दा वा मनमानी गर्नु र लापरवाह हुनुभन्दा पनि सत्यता सिद्धान्तहरू खोज्न सक्नैपर्छ। मैले तँसँग सत्यताबारे अथक सङ्गति गर्नु र योजस्ता विभिन्‍न मामिलाका सिद्धान्तहरू व्याख्या गर्नुको उद्देश्य तँलाई असम्भव कुरा गर्न लगाउनु वा तेरो क्षमताबाहिरको कुरा गर्न बाध्य पार्नु होइन, अनि तँलाई उत्साही बनाउनु मात्र होइन। बरु, यो त तँलाई परमेश्‍वरका अभिप्राय अझ सही तरिकाले बुझ्न लगाउनु, विभिन्‍न कामकुरा गर्ने सिद्धान्त र आधार बुझ्न लगाउनु, अनि मानिसहरूले परमेश्‍वरका अभिप्राय पूरा गर्न कसरी कार्य गर्नुपर्छ, मामिलाहरू आइपर्दा आफ्नो भ्रष्ट स्वभाव, सोच, दृष्टिकोण र ज्ञानका आधारमा कार्य नगरी यी कुरालाई सत्यता सिद्धान्तले प्रतिस्थापन गर्नुपर्छ भनेर बुझ्न लगाउनु हो। यो नै परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिने प्रमुख तरिकामध्ये एक हो। यो तैँले आफूलाई आइपर्ने हरेक कुरामा परमेश्‍वरको वचनलाई आधार र सिद्धान्तका रूपमा लिन सक्न र उहाँको वचनले हरेक मामिलामा प्रभाव पार्न सक्नका लागि हो। अर्को शब्दमा भन्‍नुपर्दा, यो तैँले हरेक मामिलालाई मानव बुद्धि र प्राथमिकतामा भर नपरी वा मानव रुचि, महत्त्वाकाङ्क्षा र चाहनाअनुसार नलिई परमेश्‍वरको वचनका आधारमा सम्हाल्न र सुल्झाउन सक्नका लागि हो। सत्यताबारे यस प्रकारको प्रचार र सङ्गतिमार्फत परमेश्‍वरको वचन र सत्यता मानिसहरूमा समाहित हुन्छ, जसले गर्दा तिनीहरूले यस्तो जीवन पाउन सकून्, जहाँ सत्यता तिनीहरूको वास्तविकता होस्। यो नै मुक्तिको चिन्ह हो। तैँले जस्तोसुकै परिस्थितिको सामना गरे पनि, सत्यता सिद्धान्त र परमेश्‍वरको वचनमा अझ धेरै प्रयास लगाउनुपर्छ। यस्तो व्यक्ति नै मुक्तिको पछि लाग्‍ने र ज्ञानी व्यक्ति हो। सधैँ बाहिरी व्यवहार, औपचारिकता, धर्मसिद्धान्त र नाराहरूमा प्रयास लगाउनेहरू मूर्ख मानिस हुन्। तिनीहरू मुक्तिको पछि लाग्‍नेहरू होइनन्। तिमीहरूले यस्ता कुराहरूलाई यसरी पहिले कहिल्यै विचार गरेका छैनौ वा विरलै विचार गरेका छौ, त्यसैले सत्यता सिद्धान्तहरू अभ्यास गर्नेसम्बन्धी यी मामिलाहरूको कुरा आउँदा, तेरो दिमाग मूलतः खाली हुन्छ। तिमीहरूलाई यो मामिला महत्त्वपूर्ण छ जस्तो लाग्दैन, त्यसैले जब तिमीहरू सत्यता सिद्धान्तहरूसँग सम्बन्धित परिस्थितिहरूको सामना गर्छौ, विशेष गरी निश्चित ठूला परिस्थितिको सन्दर्भमा भन्‍नुपर्दा, जब तिमीहरू मण्डलीको काममा विघ्नबाधा ल्याउने ख्रीष्टविरोधी वा दुष्ट मानिसहरूको सामना गर्छौ, तब तिमीहरू सधैँ एकदमै निष्क्रिय हुन्छौ। तिमीहरू यी मामिला सम्हाल्न जान्दैनौ, र तिमीहरू तिनलाई आफ्नै स्वार्थी मनसाय र भावनाका आधारमा लिन्छौ। तिमीहरू मण्डलीको कामको रक्षा गर्न खडा हुन सक्दैनौ, र अन्ततः तिमीहरू सधैँ विफल हुन पुग्छौ, अनि लापरवाहीपूर्वक र हतारपतार मामिलालाई टुङ्ग्याउँछौ। यदि यी मामिलाको छानबिन गरिएन भने, तँ जसोतसो उम्कन सक्नेछस्। यदि जवाफदेही व्यक्ति को हो भनेर पत्ता लगाउन यी मामिलाको छानबिन गरियो भने, तँ आफ्नो पदबाट हटाइन सक्छस् वा तँलाई अर्कै कर्तव्यमा खटाइन सक्छ; वा अझ खराब कुरा त, तँ समूह “ख” मा झर्न सक्छस् वा कतिपय मानिसलाई त हटाइनसमेत सक्छ। के तिमीहरूले देख्न चाहेको नतिजा यी नै हुन् त? (होइनन्।) यदि कुनै दिन तिमीहरूलाई आफ्नो पदबाट साँच्चै हटाइयो वा आफ्नो कर्तव्य गर्नबाट रोकियो वा अझ गम्भीर परिस्थितिमा, यदि तिमीहरूलाई कुनै साधारण मण्डली वा समूह “ख” मा पठाइयो भने, के तिमीहरू आत्मचिन्तन गर्नेछौ? “के मैले यसैका लागि परमेश्‍वरमा विश्‍वास गरेको हो त? के मलाई समूह ‘ख’ मा नराखिएको वा हटाइएको कारण नै मैले आफ्नो जागिर, आफ्नो सम्भावना र परिवार त्यागेको र कामकुरालाई यत्ति लथालिङ्ग छोडेको हो त? के मैले परमेश्‍वरको विरोध गर्नका लागि उहाँमा विश्‍वास गरेको हो त? मैले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य त्यो त पक्कै पनि नहुनुपर्ने होइन र? त्यसोभए, म केका लागि परमेश्‍वरमा विश्‍वास गरिरहेको छु त? के मैले यो मनन गर्नुपर्दैन र? अहिलेका लागि परमेश्‍वरका अभिप्राय पूरा गर्न उहाँमा विश्‍वास गर्नुलाई पर राख्दा, मैले कम्तीमा पनि जीवन प्राप्त गर्नुपर्छ र सत्यता वास्तविकतामा प्रवेश गर्नुपर्छ। मैले कम्तीमा पनि परमेश्‍वरको वचन र सत्यताको कुन पक्ष मेरो जीवन बनेको छ भनेर पत्तो पाउन सक्नुपर्छ। म जिउन, शैतान र आफ्नो भ्रष्ट स्वभावलाई जित्नका लागि सत्यतामा भर पर्न सक्नुपर्छ, अनि मैले आफ्नो देहविरुद्ध विद्रोह गर्न र आफ्ना धारणा त्याग्‍न सक्नुपर्छ। आफूलाई परिस्थितिहरू आइपर्दा, मैले सत्यता सिद्धान्तहरू पूर्णतया पालन गर्नुपर्छ। मैले आफ्नो भ्रष्ट स्वभावअनुसार कार्य गर्नु हुँदैन, मैले कुनै कठिनाइ र बाधाविना परमेश्‍वरको वचनअनुसार सहज रूपमा र स्वाभाविक तवरमा कार्य गर्न सक्नुपर्छ। मलाई आफूमा परमेश्‍वरको वचन र सत्यता गहिरोसँग गढिसकेका छन्, मेरो जीवन बनिसकेका छन् र मेरो मानवताको अङ्ग भइसकेका छन् भन्‍ने महसुस हुनुपर्छ। यो आनन्ददायी र खुसी मनाउन लायक कुरा हो।” के तिमीहरूलाई सामान्यतया यस्तै महसुस हुन्छ? जब तिमीहरू वर्षौँ परमेश्‍वरमा विश्‍वास गर्दा आफूले भोगेको कष्ट र चुकाएको मूल्यको जायजा लिन्छौ, तब तिमीहरूलाई मनमा राम्रो लाग्‍नेछ, र तिमीहरूलाई आफूले मुक्ति पाउने आशा बाँकी रहेको, अनि तिमीहरूले सत्यता बुझ्दा र आफूलाई परमेश्‍वरका लागि समर्पित गर्दाको मिठास चाखेको महसुस हुनेछ। के तिमीहरूले यस्ता कुराहरू महसुस वा अनुभव गरेका छौ? यदि गरेका छैनौ भने, तिमीहरूले के गर्नुपर्छ? (अबदेखि गम्भीरतापूर्वक सत्यता पछ्याउन सुरु गर्।) अबदेखि यसलाई गम्भीरतापूर्वक पछ्याउन सुरु गर्—तर तैँले यसलाई कसरी पछ्याउनुपर्छ? तैँले परमेश्‍वरविरुद्ध आफूले प्रायः विद्रोह गर्ने गरेको मामिलाबारे मनन गर्नुपर्छ। परमेश्‍वरले तँलाई पाठ सिकाउन, यी मामिलाहरूमार्फत तँलाई बदल्न, तँमा आफ्ना वचनहरू घुसाउन, तँलाई सत्यता वास्तविकताको एउटा पक्षमा प्रवेश गराउन अनि तँलाई ती मामिलाहरूमा शैतानको भ्रष्ट स्वभावअनुसार जिउनदेखि रोक्न, अनि त्यसको सट्टा तँलाई परमेश्‍वरको वचनअनुसार जिउन लगाउन अनि उहाँको वचनलाई तँभित्र गढ्न दिन र तेरो जीवन बनाउन बारम्बार परिस्थितिहरू मिलाउनुभएको छ। तर तँ यी मामिलाहरूमा प्रायः परमेश्‍वरविरुद्ध विद्रोह गर्छस्, न त परमेश्‍वरप्रति समर्पित हुन्छस् न त सत्यता नै स्विकार्छस्, उहाँको वचनलाई आफूले पालन गर्नुपर्ने सिद्धान्तका रूपमा लिँदैनस् र उहाँको वचनअनुसार जिउँदैनस्। यसले परमेश्‍वरलाई चोट पुऱ्याउँछ अनि तैँले बारम्बार मुक्तिको मौका गुमाउँछस्। त्यसोभए, तैँले कसरी आफूलाई बदल्नुपर्छ? तैँले आजबाट सुरु गरी चिन्तन गरेर आफूले चिन्‍न सक्ने र स्पष्टसँग अनुभूत गर्ने मामिलाहरूमा परमेश्‍वरको योजनाबद्ध कार्यमा समर्पित हुनुपर्छ, उहाँको वचनलाई सत्यता वास्तविकताका रूपमा स्विकार्नुपर्छ, उहाँको वचनलाई जीवनका रूपमा स्विकार्नुपर्छ अनि आफू जिउने तरिका परिवर्तन गर्नुपर्छ। जब तँलाई यस्ता परिस्थितिहरू आइपर्छन्, तब तैँले आफ्नो देह र रुचिहरूविरुद्ध विद्रोह गर्नुपर्छ अनि सत्यता सिद्धान्तअनुसार कार्य गर्नुपर्छ। के अभ्यासको मार्ग यही होइन र? (हो।) यदि तँ भविष्यमा गम्भीरतापूर्वक पछ्याउने अभिप्राय मात्र राख्छस्, तर तँमा अभ्यासको विशेष मार्ग छैन भने, त्यो राम्रो होइन। यदि तँमा अभ्यासको यो विशेष मार्ग छ र तँ आफ्नो देहविरुद्ध विद्रोह गर्न र यसरी नयाँ सिराबाट सुरु गर्न इच्छुक छस् भने, तेरा लागि आशा अझै पनि बाँकी नै हुन्छ। यदि तँ यसरी अभ्यास गर्न इच्छुक छैनस्, बरु उही पुरानो मार्ग र पुरानो विचारमा अडिग रहन्छस्, अनि आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछस् भने, हामीसँग भन्नका लागि थप केही छैन। यदि तँ श्रमिक बन्‍नमै सन्तुष्ट हुन्छस् भने, भन्नका लागि थप के नै छ र? मुक्तिको कुराको तँसँग कुनै सम्बन्ध छैन, अनि तँ यसमा चासो पनि राख्दैनस्, त्यसैले छलफल गर्न थप केही कुरा छैन। यदि तँ साँच्चै सत्यता र मुक्तिको पछि लाग्‍न इच्छुक छस् भने, प्रथमतः आफ्नो भ्रष्ट स्वभाव, आफ्ना विभिन्‍न मिथ्या सोच, धारणा र कार्यबाट मुक्त हुन थाल्नुपर्छ। परमेश्‍वरले तेरा लागि दैनिक जीवनमा बन्दोबस्त गर्नुभएको परिवेशलाई स्विकार्, उहाँको परीक्षण, जाँच, शोधन र न्यायलाई अँगाल्, परिस्थितिहरू आइपर्दा सत्यता सिद्धान्तअनुसार क्रमिक रूपमा अभ्यास गर्न लागिपर् अनि परमेश्‍वरको वचनलाई दैनिक जीवनमा ले राम्रो व्यवहार देखाउने र कार्य गर्ने तरिकाका सिद्धान्त तथा मापदण्डमा र आफ्नो जीवनमा उत्तरोत्तर परिणत गर्। सत्यता पछ्याउने व्यक्तिमा यही कुरा प्रकट हुनुपर्छ, अनि मुक्ति पछ्याउने व्यक्तिमा प्रकट हुनुपर्ने कुरा पनि यही नै हो। यो सजिलो लाग्छ, चरणहरू सरल हुन्छन्, अनि त्यसमा लम्बेतान व्याख्या हुँदैन, तर यसलाई अभ्यासमा लागु गर्नु त्यति सजिलो हुँदैन। किनभने मानिसहरूमा अति धेरै भ्रष्ट कुरा हुन्छन्: तिनीहरूको क्षुद्रता, तुच्छ षड्यन्त्र, स्वार्थीपन र नीचता, भ्रष्ट स्वभाव अनि सबै प्रकारका चालहरू। त्यसमाथि, कतिपय मानिसमा ज्ञान हुन्छ, तिनीहरूले समाजमा जिउन र चतुऱ्याइँपूर्ण चालहरू जान्नका लागि संसारसँग व्यवहार गर्ने केही दर्शन सिकेका हुन्छन्, अनि तिनीहरूमा मानवतासम्बन्धी केही कमीकमजोरी र त्रुटिहरू हुन्छन्। उदाहरणका लागि, कतिपय मानिस घिचुवा र अल्छे हुन्छन्, अरूचाहिँ वाक्पटु हुन्छन्, कतिपय चाहिँ तुच्छ प्रकृतिका हुन्छन्, अरू भने आफ्नो कार्यमा अहङ्कारी वा अविचारी र आवेशमा आउने हुन्छन्, तीसँगै तिनीहरूमा अन्य थुप्रै त्रुटि हुन्छन्। मानिसहरूले आफ्नो मानवताका सन्दर्भमा हटाउनुपर्ने धेरै कमीकमजोरी र समस्या छन्। तर, यदि तँ मुक्ति पाउने इच्छा गर्छस्, यदि तँ परमेश्‍वरको वचन अभ्यास र अनुभव गर्न अनि सत्यता र जीवन प्राप्त गर्न चाहन्छस् भने, तैँले परमेश्‍वरको वचन अझ धेरै पढ्नैपर्छ, सत्यता बुझ्नैपर्छ, उहाँको वचन अभ्यास गर्न र त्यसमा समर्पित हुन सक्नैपर्छ, अनि सत्यता अभ्यास र सत्यता सिद्धान्तहरू पालन गरेर सुरुवात गर्नैपर्छ। यी केही सरल वाक्यहरू मात्र हुन्, तैपनि मानिसहरू ती अभ्यास वा अनुभव गर्न जान्दैनन्। तेरो क्षमता वा शिक्षाका बाबजुद, अनि तेरो उमेर वा विश्‍वासको अवधिका बाबजुद, जे भए पनि यदि तँ सही उद्देश्यले र सही दिशा पक्रेर सत्यता अभ्यासको सही मार्गमा छस्, अनि यदि तैँले पछ्याउने र प्रयास लगाउने सबै कुरा सत्यता अभ्यासकै लागि हो भने, अन्ततः सत्यता वास्तविकता र परमेश्‍वरको वचन निस्सन्देह तेरो जीवन बन्नेछ। पहिले आफ्नो लक्ष्य निर्धारण गर्, त्यसपछि यो मार्गअनुसार क्रमिक रूपमा अभ्यास गर् अनि अन्त्यमा तैँले पक्कै पनि केही कुरा प्राप्त गर्नेछस्। के तिमीहरूलाई यो विश्‍वास लाग्छ? (लाग्छ।)

हामी यस चरणमा मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्नुबारे सङ्गति गरिरहेका छौँ। हामीले पछिल्लो भेलामा निश्चित पारिवारिक बोझहरूबारे सङ्गति गऱ्यौँ। हामीले आफ्ना पारिवारिक बोझहरूको विषयका सन्दर्भमा, पहिला आमाबुबाले राख्ने अपेक्षाहरूबारे सङ्गति गऱ्यौँ, त्यसपछि आमाबुबाले आफ्नो सन्तानका लागि राख्ने अपेक्षाहरूबारे सङ्गति गऱ्यौँ। यी सब मानिसहरूले सत्यता पछ्याइको प्रक्रियामा त्याग्‍नुपर्ने कुरा हुन्, होइनन् र? (हुन्।) हामीले मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्‍नु भन्‍ने भनाइको सन्दर्भमा, जम्मा चार वटा कुरा सूचीबद्ध गरेका थियौँ। पहिलो कुरा चासो र रुचिहरू, दोस्रो कुरा विवाह र तेस्रो कुरा परिवार हो—हामीले तीन वटा कुराबारे सङ्गति गरिसकेका छौँ। बाँकी रहेको अन्तिम कुराचाहिँ के हो? (करियर।) चौथो कुरा करियर हो; हामीले यसबारे सङ्गति गर्नुपर्छ। के तिमीहरूमध्ये कसैले यसभन्दा पहिले यस विषयबारे मनन गरेका छौ? यदि गरेका छौ भने, पहिला त्यसबारे कुरा गर्न सक्छौ। (म कुनै व्यक्तिले करियरमा पाउने सफलता वा असफलताले व्यक्तिका रूपमा उसको सफलता वा विफलतालाई झल्काउँछ भनेर सोच्ने गर्थेँ। मलाई लाग्थ्यो, यदि कसैको करियरमा समर्पणको कमी छ वा उसले आफ्नो करियरलाई लथालिङ्ग पार्छ भने, यसले ऊ व्यक्तिका रूपमा असफल भएको छ भन्‍ने देखाउँछ।) अब, करियर त्याग्‍ने मामिलाको कुरा गर्नुपर्दा, केचाहिँ त्याग्‍नुपर्छ? (मानिसहरूले आफ्नो करियरसम्बन्धी महत्त्वाकाङ्क्षा र चाहनाहरू त्याग्‍नुपर्छ।) त्यो यसलाई हेर्ने एउटा तरिका हो। मानिसहरूको खोज, आदर्श र इच्छाहरू त्याग्‍ने विषयभित्र “करियर” का सन्दर्भमा भन्‍नुपर्दा, तिमीहरू कुन-कुन कुराहरू त्याग्‍नेबारे सोच्न सक्छौ? के तिमीहरूले सत्यता पछ्याइको प्रक्रियामा करियरले निम्त्याउने विभिन्न समस्यालाई हल गर्नुपर्दैन? (विगतमा म बाहिरी संसारमा छँदा, मलाई आफ्नो करियरमा सफल हुनुपर्छ, आफ्नो पहिचान बनाउनुपर्छ भन्‍ने लाग्थ्यो। फलस्वरूप, म आफ्नो अलग्गै पहिचान बनाउने चाहना राख्दै मरिहत्ते गरेर करियरको पछि लागेँ। परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि पनि म अझै परमेश्‍वरको घरमा विशिष्ट हुन, अरूलाई मेरो मान गर्न लगाउन चाहन्थेँ। यो समस्या मेरो जीवन प्रवेशमा ठूलो तगारो बन्यो।) तिमीहरूले करियर भनेर बुझ्ने कुरा मूलतः व्यक्तिगत पछ्याइ हो; यसमा व्यक्तिले लिने मार्ग पनि समावेश छ। त्यसैले, मानिसहरूको खोज, आदर्श र इच्छाहरू त्याग्‍नु भन्‍ने विषयअन्तर्गत “करियर” सम्बन्धी हाम्रो सङ्गतिमा, म अहिले मानिसहरूको पछ्याइलाई समेट्ने कुनै पनि विषयवस्तु उल्लेख गर्नेछैनँ। हामी मुख्यतः “करियर” को शाब्दिक अर्थबारे कुरा गर्नेछौँ। “करियर” भन्नाले केलाई जनाउँछ? यो मानिसहरू संसारमा जिउँदा आफ्नो परिवारको पालनपोषण गर्नका लागि संलग्‍न हुने काम वा श्रम हो। यो विषय हामीले सङ्गति गर्न चाहेको मानिसहरूको खोज, आदर्श र इच्छाहरू त्याग्‍नु भन्‍ने विषयअन्तर्गत “करियर” को दायराभित्र पर्छ। यो आफ्नो परिवारको पालनपोषण गर्न कुनै काममा संलग्‍न हुने अनि परमेश्‍वरमा विश्‍वास गर्दै र सत्यता पछ्याउँदै पेशा छान्‍नेसम्बन्धी दायरा र सिद्धान्त हो। स्वभावतः यसमा मानिसहरूको पछ्याइबारेसम्बन्धी विषयवस्तुको एक भाग र कुनै विश्‍वासी संलग्‍न हुने कार्यका लागि परमेश्‍वरको मापदण्ड समावेश छन्। यो कुनै विश्‍वासीले संसारका विभिन्न काम र करियरप्रति राख्नुपर्ने सोच र दृष्टिकोणसँग सम्बन्धित छ भनेर पनि भन्न सकिन्छ। करियरलाई समेट्ने विषयहरू निकै विस्तृत छन्; हामी तिनलाई वर्गीकरण गर्नेछौँ, अनि यसो गरेर मानिसहरूलाई विश्‍वासी र सत्यता पछ्याउनेहरू संलग्‍न हुने करियरका लागि परमेश्‍वर कस्ता मानक र मापदण्ड तोक्नुहुन्छ, साथै परमेश्‍वर विश्‍वासी र सत्यता पछ्याउनेहरूले पेशामा संलग्‍न हुँदा वा पेशा चुन्दा कस्तो सोच र दृष्टिकोण राखेको माग गर्नुहुन्छ भनेर बुझ्न मद्दत गर्नेछौँ। यसले गर्दा मानिसहरूले आफ्नो धारणा र चाहनाभित्रको करियरसँग सम्बन्धित पछ्याइ र इच्छाहरू त्याग्‍न सक्नेछन्। त्यससँगै, यसले संसारमा मानिसहरू संलग्‍न हुने पेशा वा पछ्याउने करियारबारे तिनीहरूको गलत दृष्टिकोणलाई पनि सच्याउनेछ। हामी मानिसहरूले त्याग्‍नुपर्ने करियरसम्बन्धी विषयवस्तुलाई चार मुख्य भागमा बाँड्नेछौँ: मानिसहरूले बुझ्नुपर्ने पहिलो भाग परोपकारी कार्यमा संलग्‍न नहुनु हो; दोस्रो भाग खान र लाउन पाउनमा सन्तुष्ट हुनु हो; तेस्रो भाग विभिन्न सामाजिक शक्तिहरूबाट अलग रहनु हो; चौथो भाग राजनीतिबाट अलग रहनु हो। हामी यी चार कुराको विषयवस्तुका आधारमा करियर त्याग्‍नुसँग सम्बन्धित मुद्दाबारे सङ्गति गर्नेछौँ। सोच त, के यी चार कुराको विषयवस्तु र तिमीहरूले सङ्गति गर्दै आएको विषयबीच कुनै सम्बन्ध छ? (छैन।) तिमीहरूले कुन कुराबारे सङ्गति गर्दै आइरहेका छौ? (व्यक्तिगत खोज।) तिमीहरूले सङ्गति गर्दै आइरहेको कुरामा सत्यता सिद्धान्तहरू समावेश छैनन्, यो त अलि सानोतिनो व्यक्तिगत पछ्याइसँग मात्र सम्बन्धित छ। हामीले सङ्गति गरिरहेका यी चार बुँदामा करियरको विषयभित्रका विभिन्न सिद्धान्त समावेश छन्। यदि मानिसहरूले यी विभिन्न सिद्धान्तहरू बुझेमा, तिनीहरूलाई सत्यता पछ्याउने क्रममा करियरसम्बन्धी आफूले त्याग्‍नुपर्ने कुरा त्याग्‍न सजिलो हुनेछ। तिनीहरूले सत्यताका यी पक्षहरू बुझ्ने हुनाले तिनीहरूलाई यी कुराहरू त्याग्‍न सजिलो हुनेछ। तर, यदि तैँले यी सत्यताहरू बुझिनस् भने, तँलाई यी कुराहरू त्याग्‍न एकदमै गाह्रो हुनेछ। करियर त्याग्नुसम्बन्धी यी चार सिद्धान्तलाई एक-एक गरेर सङ्गति गरौँ।

पहिलो, परोपकारी कार्यमा संलग्‍न नहोऊ। परोपकारी कार्यमा संलग्‍न नहुनुको अर्थ के हो? यी शब्दहरूको शाब्दिक अर्थ बुझ्न सजिलो छ। तिमीहरू सबैसँग परोपकारको विषयमा धेरथोर अवधारणा छ, छैन र? उदाहरणका लागि, अनाथालय, आश्रयस्थल अनि समाजका यो वा त्यो परोपकारी संस्थाहरू—यी सबै परोपकारी कार्यसँग सम्बन्धित संस्था र नामहरू हुन्। त्यसैले, मानिसहरू संलग्‍न हुने करियरका सन्दर्भमा भन्‍नुपर्दा, परमेश्‍वरको पहिलो मापदण्ड भनेको तिनीहरू परोपकारी कार्यमा संलग्‍न नहुनु हो। यसको अर्थ के हो? यसको अर्थ हो, मानिसहरूले परोपकारसँग सम्बन्धित कुराहरू गर्नु हुँदैन वा तिनीहरू परोपकारसँग सम्बन्धित कुनै पनि उद्योगमा संलग्‍न हुनु हुँदैन। के यो बुझ्न सजिलो छैन र? परमेश्‍वरमा विश्‍वास गर्ने, भौतिक शरीरमा जिउने, परिवार र जीवन भएको अनि आफू र आफ्नो परिवारको पालनपोषण गर्न पैसा चाहिने व्यक्तिका रूपमा तँ कुनै न कुनै पेशामा संलग्‍न हुनैपर्छ। तँ जुनै प्रकारको पेशामा संलग्‍न भए पनि, मानिसहरूका लागि परमेश्‍वरको पहिलो मापदण्ड भनेको परोपकारी कार्यमा संलग्‍न नहुनु हो। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले वा आफ्नो भौतिक जीविकोपार्जनका लागि परोपकारी कार्य गर्नु हुँदैन। त्यो काम तँ संलग्‍न हुनुपर्ने पेशा होइन। यो परमेश्‍वरले तँलाई सुम्पिनुभएको कुनै पेशा होइन, र यो निश्चय नै परमेश्‍वरले तँलाई सुम्पिनुभएको कर्तव्य होइन। परोपकारजस्ता कुराहरू परमेश्‍वरका विश्‍वासी र सत्यता पछ्याउनेहरूसँग सम्बन्धित हुँदैन। त्यसको विपरीत, यदि तँ परोपकारी कार्यमा संलग्‍न भइस् भने, परमेश्‍वरले यसको सम्झना गर्नुहुनेछैन भनेर भन्न सकिन्छ। तैँले यो राम्ररी, सन्तुष्ट हुने गरी गरे पनि, अनि समाज र दाजुभाइ-दिदीबहिनीहरूको समेत स्वीकृति प्राप्त गरे पनि, परमेश्‍वरले यसलाई स्विकार्नुहुनेछैन वा सम्झनुहुनेछैन। परमेश्‍वरले तँ कुनै बेला परोपकारी कार्यमा संलग्‍न भएकाले, महान् परोपकारी भएकाले, धेरै मानिसलाई मद्दत गरेकाले, थुप्रै असल कार्य गरेकाले, धेरै मानिसलाई लाभ पुऱ्याएकाले वा धेरैको ज्यानसमेत जोगाएकाले तँलाई सम्झनुहुनेछैन, वा अन्ततः आशिष् दिनुहुनेछैन, वा तँलाई छुट दिएर मुक्ति प्राप्त गर्न दिनुहुनेछैन, वा तँलाई सुन्दर गन्तव्य प्रदान गर्नुहुनेछैन। अर्थात्, परोपकारी कार्यमा संलग्‍न हुनु मुक्तिका लागि आवश्यक सर्त होइन। त्यसोभए, परोपकारको मामिलामा के-कस्ता कुरा समावेश छन् त? वास्तवमा, धेरै वा कम हदसम्म सबैको मनमा निश्चित रूपले एक प्रकारको दयालु परोपकारी काम मान्न सकिने एक-दुइटा कुरा हुन्छन्। उदाहरणका लागि, बेवारिसे कुकुरहरू पाल्नु। कतिपय देशमा पाल्तु जनावरलाई कडिकडाइसाथ नियमन नगरिने हुनाले वा कमजोर आर्थिक अवस्थाका कारण, तँ प्रायः सडकतिर वा निश्चित क्षेत्रहरूमा बेवारिसे कुकुरहरू देख्छस्। “बेवारिसे कुकुर” भन्‍नुको अर्थ के हो? यसको अर्थ हो, कतिपय मानिसहरू आफ्नो कुकुर पाल्न सक्दैनन् वा पाल्न चाहँदैनन्, त्यसैले तिनीहरू ती कुकुरहरूलाई बेवारिस छोडिदिन्छन् वा कुनै कारणले ती कुकुरहरू हराएका हुन सक्छन्, र अहिले ती सडकउँधो भौँतारिन्छन्। तँ यस्तो सोच्न सक्छस्: “म परमेश्‍वरमा विश्‍वास गर्छु, त्यसैले मैले यी जनावरहरू पाल्नुपर्छ, किनभने असल काम गर्नु भनेको परमेश्‍वरको अभिप्राय हो, यो परमेश्‍वरको नाउँलाई महिमित पार्ने कुरा हो अनि यो परमेश्‍वरका विश्‍वासीहरूले उठाउनुपर्ने जिम्मेवारी हो। यो उपेक्षा गर्न नमिल्ने दायित्व हो।” त्यसैले, तैँले बेवारिसे कुकर वा बिरालो देखेपछि त्यसलाई घरमा ल्याएर पाल्छस्, त्यसका लागि खानेकुरा किन्न कम खर्चमा जिउँछस्। कतिपय मानिस त त्यसमा आफ्नो तलब र जिउने खर्चसमेत लगाउँछन्, अनि अन्ततः झन्-झन् धेरै कुकुर र बिरालाहरू पाल्छन्, जसले गर्दा घर भाडामा लिनुपर्ने हुन्छ। यसो गर्दा, तिनीहरूको आफ्नै जीवन धान्‍ने खर्च झन्-झन् अपुग हुँदै जान्छ, अनि तिनीहरूको तलबले धान्न छोड्छ, त्यसैले तिनीहरूसँग ऋण लिनेबाहेक अर्को विकल्प हुँदैन। तर परिस्थिति जति नै गाह्रो भए पनि, तिनीहरूलाई यो उपेक्षा गर्न नमिल्ने दायित्व, पन्छाउन नहुने जिम्मेवारी अनि आफूले असल ठान्‍नुपर्ने कार्य हो र त्यसैअनुरूप त्यो गर्नुपर्छ भन्‍ने लाग्छ। तिनीहरू आफूले सत्यता अभ्यास गरिरहेको र सिद्धान्तहरू पालन गरिरहेको छु भन्‍ने सोच्छन्। तिनीहरू परोपकारी कार्यमा संलग्‍न हुनका लागि यी बेवारिसे कुकुर र बिरालाहरू पाल्नमा धेरै पैसा, शक्ति र समय खर्चन्छन्, र हृदयमा एकदमै ढुक्क र सन्तुष्टि महसुस गर्छन्, तिनीहरू आफैदेखि दङ्ग पर्छन्, अनि कतिपय मानिस त यस्तोसमेत सोच्छन्, “यो त परमेश्‍वर महिमान्वित हुने कुरा हो, म परमेश्‍वरले बनाउनुभएका प्राणीहरू पाल्दै छु—यो असीम असल कार्य हो, र परमेश्‍वरले निश्चय नै यसको सम्झना गर्नुहुनेछ।” के यी सोचहरू सही छन्? (ती सही छैनन्।) परमेश्‍वरले तँलाई यो काम सुम्पनुभएको छैन। यो न त तेरो दायित्व हो न त जिम्मेवारी नै। यदि तैँले बेवारिसे कुकुर वा बिरालाहरू भेट्टाइस् र ती मन पराइस् भने, एउटा वा दुइटा पाल्नु ठिकै हो। तर, यदि तैँले बेवारिसे जनावर पाल्नुलाई एक प्रकारको परोपकारी कार्य ठान्छस् र परोपकारी कार्य परमेश्‍वरको विश्‍वासीले गर्नुपर्ने कुरा हो भन्‍ने सोच्छस् भने, तँ धेरै गलत छस्। यो विकृत बुझाइ र ठम्याइ हो।

कतिपय मानिसहरू बाँच्नका लागि आफ्नै क्षमतामा विश्‍वास गर्दै आफूसँग भएको अलिकति फाल्तु पैसा आफू वरपरका गरिबहरूलाई मद्दत गर्न खर्च गर्छन्। तिनीहरू उनीहरूलाई लुगाफाटा, खानेकुरा, दैनिक आवश्यकताका कुराहरू अनि पैसासमेत दिन्छन् र यसलाई आफूले पूरा गर्नुपर्ने दायित्व ठान्छन्। तिनीहरूले केही गरिब मानिसहरूलाई आफ्नो घरमा समेत ल्याउलान्, उनीहरूलाई सुसमाचार सुनाउलान् र खर्च गर्न पैसा देलान्। यी गरिब मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्न राजी हुन्छन्, र पछि तिनीहरू उनीहरूलाई खानेकुरा र टाउको लुकाउने ठाउँ दिन्छन् अनि आफूले आफ्नो कर्तव्य र दायित्व पूरा गरिरहेको छु भन्‍ने सोच्छन्। कतिपय मानिसहरू समाजका केही अनाथहरूलाई अझसम्म कसैले गोद नलिएको देख्छन्। तिनीहरूसँग खर्च गर्ने अलिकति फाल्तु पैसा हुन्छ, त्यसैले तिनीहरू यी अनाथहरूलाई सहयोग गर्छन्, आश्रयगृह र अनाथालयहरू बनाउँछन् र अनाथहरूलाई गोद लिन्छन्। त्यसो गरेपछि, तिनीहरू उनीहरूका लागि गाँस, बास र शिक्षाको प्रबन्ध गर्छन् र यहाँसम्म कि उनीहरूलाई वयस्क होउञ्जेल हुर्काउँछन्। तिनीहरूले निरन्तर यसो गर्ने मात्र होइन, यो कार्य अर्को पुस्तालाई हस्तान्तरण पनि गर्छन्। तिनीहरू यसलाई असीम असल कार्य, आशिष् पाउनैपर्ने कुरा र परमेश्‍वरले सम्झन लायक कार्य हो भनी विश्‍वास गर्छन्। कतिपय मानिसहरू सुसमाचार सुनाउने अवधिमा समेत दृढ धार्मिक विश्‍वास भएका गरिब इलाकाका सुसमाचार ग्रहण गर्न सक्ने सम्भाव्य व्यक्तिहरू देख्छन् र उनीहरूलाई सहयोग गर्न र भिख दिन बाध्य महसुस गर्छन्। तर सुसमाचार सुनाउनु भनेको सुसमाचार सुनाउनु नै हो, यो परोपकारी कार्य गर्नु वा सहायता प्रदान गर्नु होइन। सुसमाचार सुनाउनुको उद्देश्य भनेको परमेश्‍वरको वचन बुझ्न र सत्यता स्विकार्न सक्नेहरूलाई, अर्थात् परमेश्‍वरका भेडालाई उहाँको घरमा, उहाँसामु ल्याएर मुक्तिको मौका दिनु हो। यो गरिब मानिसहरूले खाने र लाउने कुरा पाउन सकून्, सामान्य व्यक्तिको जीवन पाउन सकून् र भोका नहोऊन् भनेर उनीहरूलाई सहयोग गर्नका लागि होइन। तसर्थ, कुनै पनि दृष्टिकोणबाट र कुनै पनि सन्दर्भमा, चाहे त्यो पाल्तु पशुपक्षी वा जनावरहरूलाई मद्दत गर्नु होस् वा गरिब व्यक्ति वा आफ्नो आधारभूत आवश्यकता पूरा गर्न नसक्नेहरूलाई सहयोग गर्नु होस्, परोपकारी कार्यमा संलग्‍न हुनु भनेको व्यक्तिले पूरा गर्नुपर्ने कर्तव्य, जिम्मेवारी वा दायित्वको भागका रूपमा परमेश्‍वरले माग गर्ने कुरा होइन। यो कुरा मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नु र सत्यता अभ्यास गर्नुसँग सम्बन्धित छैन। यदि मानिसहरूको हृदय दयालु छ र तिनीहरू यो गर्न इच्छुक छन्, वा कहिलेकाहीँ सहयोग चाहिने निश्चित मानिसहरू भेट्छन् भने, आफू सक्षम भएमा सो गर्न सक्छन्। तर, तैँले यसलाई परमेश्‍वरले तँलाई सुम्पनुभएको कामका रूपमा हेर्नु हुँदैन। यदि तँमा क्षमता छ र तेरो अवस्थाले दिन्छ भने, तैँले बेलाबेला सहयोग गर्न सक्छस्, तर यसले परमेश्‍वरको घरलाई नभई, र निश्चय नै परमेश्‍वरको मापदण्डलाई नभई व्यक्तिगत तवरमा तेरो मात्र प्रतिनिधित्व गर्छ। अवश्य नै, यसो गर्नुको अर्थ तैँले परमेश्‍वरका अभिप्राय पूरा गरेको छस् भन्‍ने होइन, अनि यसको अर्थ तैँले सत्यता अभ्यास गरिरहेको छस् भन्‍ने त निश्चय नै होइन। यसले तेरो व्यक्तिगत आचरणलाई मात्र प्रतिनिधित्व गर्छ। यदि तँ यो बेलाबेला गर्छस् भने, यसका लागि परमेश्‍वरले तँलाई दोषी ठहराउनुहुनेछैन, तर उहाँले यसलाई सम्झनुहुने पनि छैन—त्यति हो। यदि तँ यसलाई करियरमा परिणत गरेर हेरचाह गृह, आश्रयगृह, अनाथालय, पशुगृह खोल्छस्, वा प्रकोपको समयमा अग्रसर भएर प्रकोप प्रभावित क्षेत्र र मानिसहरूलाई दान दिन दाजुभाइ-दिदीबहिनीहरू वा समुदायबाट पैसासमेत उठाउँछस् भने, तँलाई आफूले कति राम्रो गर्दै छु भन्‍ने लाग्छ? त्यसबाहेक, केही मानिसहरू कतिपय ठाउँमा भुईँचालो, बाढी वा अन्य प्राकृतिक वा मानवका कारणले हुने प्रकोपहरू आउँदा मण्डलीमा गएर दाजुभाइ-दिदीबहिनीहरूबाट चन्दा माग्छन्। अझ खराब कुरो के हो भने, कतिपयले त प्रकोप प्रभावित यी ठाउँ र मानिसहरूलाई सहयोग गर्न भेटीसमेत प्रयोग गर्छन्। तिनीहरू यसो गर्नुलाई हरेक विश्‍वासीको दायित्व र मण्डलीले सामाजिक सामुदायिक सङ्गठनका रूपमा पूरा गर्नुपर्ने दायित्व हो भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू यसलाई धर्मी कार्य ठान्छन्, र दाजुभाइ-दिदीबहिनीहरूबाट दान माग गर्ने मात्र होइन, यी प्रकोप प्रभावित क्षेत्रहरूलाई सहायता गर्न मण्डलीलाई भेटीको पैसा चलाउन दिन पनि आग्रह गर्छन्। तँलाई यो कस्तो लाग्छ? (यो खराब कुरा हो।) के यो खराब कुरा मात्र हो? यस मामिलाको प्रकृतिबारे छलफल गर्। (भेटी त सुसमाचार सुनाउन, सुसमाचारको काम विस्तार गर्नका लागि हो। त्यो प्रकोपमा राहत दिन वा गरिबलाई सहयोग गर्नाका लागि होइन।) (प्रकोपमा राहत वितरण गर्नु सत्यतासँग सम्बन्धित कुरा होइन; यसो गर्नुले सत्यता अभ्यास भइरहेको छ भन्‍ने दर्साउँदैन, अनि यसले निश्चित रूपमा स्वभाव परिवर्तनको गवाही दिँदैन।) कतिपय मानिस सबै जना एउटै ग्रहमा जिउने भएकाले, पृथ्वीका बासिन्दाहरू मिलेर एक सिङ्गो ठूलो परिवार बन्छ, अनि एक जनालाई दुःख पर्दा अरूले एकजुट भएर साथ दिनुपर्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू आफूले पूर्णतः यसै गर्नुपर्छ भनी सोच्छन्, ताकि प्रकोप प्रभावित क्षेत्रका मानिसहरूले सँगी मानवहरूको न्यानोपन महसुस गर्न अनि मण्डलीको न्यानोपन र सहयोग अनुभव गर्न सकून्। तिनीहरू यसलाई असीम असल कार्य, परमेश्‍वरको आदर गर्ने काम र परमेश्‍वरको गवाही दिने राम्रो अवसर ठान्छन्। तैँले कतिपय मानिसहरू कर्तव्य निर्वाह गर्नेबखत सिद्धान्तमा अडिग रहुन् र तिनीहरूको अभ्यास परमेश्‍वरको वचन र कार्य प्रबन्धअनुरूप होस् भन्‍ने माग गर्दा, तिनीहरूको उत्साह र जोसजाँगर मर्छ। तिनीहरू आफ्नो हृदयमा यी कुराबारे विचार गर्दैनन्। तर गरिब वा पिछडिएका राष्ट्रहरूको मानिसहरूलाई सहायता गर्न, तिनीहरूका लागि कर्तव्य निर्वाह गर्न उपकरण किन्न अनि मनग्गे खान र लाउन पुग्‍ने जीवन जिउन मद्दत गर्नमा भेटी खर्च गर्ने कुराका सन्दर्भमा भने, तिनीहरू काम गर्न निकै उत्साही र उत्सुक हुन्छन्, झन्-झन् धेरै काम गर्न चाहन्छन्। तिनीहरू किन त्यस्तो उत्साही हुन्छन्? किनभने तिनीहरू महान् परोपकारी बन्न चाहन्छन्। महान् परोपकारीको कुरा गर्नेबित्तिकै तिनीहरू विशेष रूपले भद्र महसुस गर्छन्। तिनीहरू यी गरिब मानिसहरूको जीवनको खातिर प्रयत्न लगाउनुलाई लिएर विशेष गरी गौरवान्वित महसुस गर्छन् अनि आफ्नै ज्योति र न्यानोपन प्रयोगमा ल्याउँछन्। तिनीहरू यसबारे अत्यन्तै उत्साहित हुन्छन्, अनि परिणामस्वरूप कतिपय मानिस यी क्रियाकलापमा संलग्‍न हुन विशेष रूपमा इच्छुक हुन्छन्। तर यी कुराहरू गर्ने यो उल्लेखनीय इच्छापछाडिको उद्देश्य के हो? के यो साँच्चै परमेश्‍वरलाई आदर गर्नका लागि हो? के परमेश्‍वरलाई यस्तो आदर चाहिन्छ? के परमेश्‍वरलाई यस्तो गवाही चाहिन्छ? के तैँले पैसा वा सहयोग नदिएमा परमेश्‍वरको नाउँ बदनाम हुनेछ? के परमेश्‍वरले आफ्नो महिमा गुमाउनुहुनेछ? के तैँले यो गर्दा परमेश्‍वरको महिमा हुने ससम्भावना हुन्छ? के उहाँ सन्तुष्ट हुनुहुनेछ? के कुरा यही हो? (अहँ, होइन।) त्यसोभए, कुरा के हो त? किन यी मानिसहरू यो कुरा गर्न यति इच्छुक हुन्छन्? के तिनीहरूको अभिप्राय आफ्नै अहम्ता तृप्त पार्नु हो? (हो।) तिनीहरूको अभिप्राय आफूले सहयोग गरेका मानिसहरूबाट स्याबासी पाउनु, आफ्नो उदारता, दिलदारिता र समृद्धिका लागि प्रशंसा पाउनु हो। कतिपय मानिसमा सधैँ साहसिक भावना हुन्छ: तिनीहरू मुक्तिदाता बन्न चाहन्छन्। तँ किन आफैलाई मुक्ति दिँदैनस् त? के तँलाई आफू कस्तो खालको मान्छे हो भन्‍ने थाहा छ? यदि तँमा अरूलाई मुक्ति दिने क्षमता छ भने, तँ किन आफूलाई मुक्ति दिन सक्दैनस्? यदि तँ यति उदार छस् भने, आफूलाई बेचेर त्यो पैसा ती मानिसहरूलाई मद्दत गर्नका लागि दिँदा कसो होला? किन भेटी प्रयोग गर्नु? यदि तँमा यो क्षमता छ भने, तैँले खान र पिउन छोड्नुपर्छ, वा दिनको एक छाक मात्र खानुपर्छ अनि आफ्नो जगेडा पैसा ती मानिसहरूलाई मद्दत गर्न, तिनीहरूलाई राम्रो खान र न्यानो लुगा दिन प्रयोग गर्नुपर्छ। तँ किन परमेश्‍वरको भेटी दुरुपयोग गर्छस्? के यो परमेश्‍वरको घरलाई बलि चढाएर उदार बन्‍नु होइन र? (हो।) परमेश्‍वरको घरलाई बलि चढाएर उदार बन्‍नु, अरूबाट “महान् परोपकारी” को उपाधि कमाउनु, अरूलाई चाहिने व्यक्ति बन्न आफ्नो अहङ्कारी चाहना पूरा गर्नु—के यो लाज पचाउनु होइन? (हो।) यो लाज पचाउने कुरा भएकाले, यो गर्नु हुन्छ कि गर्नु हुँदैन? (गर्नु हुँदैन।) परमेश्‍वरको घरले सुसमाचार प्रचार गर्नुको उद्देश्य परोपकारी कार्य गर्नु होइन; यसको उद्देश्य त परमेश्‍वरको वचन बुझ्न सक्ने भेडाहरू खोज्नु, यी मानिसहरूलाई फर्काएर परमेश्‍वरसामु ल्याउनु, परमेश्‍वरको सजाय र न्याय स्विकार्नु, अनि परमेश्‍वरको मुक्ति प्राप्त गर्नु हो। यो भनेको परोपकारी कार्यमा संलग्‍न हुनु, गरिबी भएको ठाउँमा सहायता प्रदान गर्नु वा सुसमाचार प्रचार गर्नु नभई मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन योजनासँग सहकार्य गर्नु हो। त्यो भनेको यी मानिसहरूले पर्याप्त रूपले खान-लाउन पाएको, आधुनिक प्रविधि प्रयोग गरेको र आधुनिक जीवनशैली जिएको सुनिश्चित गर्नका लागि सुसमाचार सुनाउने बहानामा परोपकारी कार्य गर्नु हो—के यी कार्यहरूले मानिसहरूलाई मुक्ति दिन सक्छन्? यस्ता कार्यहरूले सुसमाचार सुनाउने र मानिसहरूलाई मुक्ति दिने उद्देश्य हासिल गर्न सक्दैनन्। सुसमाचार सुनाउनु भनेको परोपकारी कार्यमा संलग्‍न हुनु होइन; यो त मन जित्नु, मानिसहरूलाई परमेश्‍वरसामु ल्याउनु, तिनीहरूलाई सत्यता र परमेश्‍वरको मुक्ति स्विकार्न सक्ने बनाउनु हो—यो भनेको राहत प्रदान गर्नु होइन। मण्डलीमा कामको आवश्यकता पर्ने हुनाले, कतिपय व्यक्ति आफ्नो कर्तव्यमा पूर्ण ध्यान लगाउन जागिर र परिवार त्याग्छन्, र परमेश्‍वरको घरले तिनीहरूलाई जीवन धान्‍ने खर्च दिन्छ। तर यो राहत होइन, न त यो परोपकारी कार्यमा संलग्‍न हुनु नै हो। जब परमेश्‍वरको घरले सुसमाचार सुनाउँछ र मण्डली स्थापित गर्छ, तब यसले परोपकारी संस्था वा आश्रयस्थल बनाउँदैन। यो कुरा मानिसहरू किन्न वा तिनीहरूलाई परमेश्‍वरको घरमा खान र पिउन दिनका लागि यी सुविधा वा पैसा प्रयोग गर्नुसँग सम्बन्धित छैन। परमेश्‍वरको घरले परजीवी वा भिखारीहरूलाई सहयोग गर्दैन, न त घुमन्ते वा अनाथहरूलाई बास दिन्छ, न त खाने केही नभएका मानिसहरूका लागि राहत नै जुटाउँछ। यदि कसैले खानेकुरा जोहो गर्न सक्दैन भने, त्यो ऊ अल्छे वा असक्षम भएकाले गर्दा हो। त्यो उसको आफ्नै गल्ती हो, र हामीले सुसमाचार सुनाउनुसँग त्यसको कुनै सम्बन्ध छैन। हामी को गरिब छ, को दयनीय छ, को उत्पीडित छ वा कसको कोही सहारा छैन भनी हेरेर तिनीहरूलाई आश्रय दिन वा मद्दत गर्नका लागि नभई मानिसहरूको मन जित्न, परमेश्‍वरको वचन बुझ्न र सत्यता स्विकार्न सक्नेहरूको मन जित्न सुसमाचार सुनाउँछौँ। सुसमाचार प्रचारको आफ्नै सिद्धान्त र मानक छन्, अनि सुसमाचार सुन्‍ने सम्भाव्य व्यक्तिहरूका लागि मापदण्ड र मानकहरू हुन्छन्। यो भिखारीहरू खोज्नुसँग सम्बन्धित छैन। तसर्थ, यदि तँ सुसमाचार प्रचारलाई परोपकारी पहल ठान्छस् भने, तँ गलत छस्। अथवा यदि तँ सुसमाचार सुनाउने यो कर्तव्य पूरा गर्दा र यस कार्यमा संलग्‍न हुँदा, आफू परोपकारी कार्यमा संलग्‍न भइरहेको ठान्छस् भने, त्यो त झनै गलत हो। यो दिशा र सुरुवाती बिन्दु दुवै भित्रैदेखि गलत छन्। यदि कसैले यस्तो दृष्टिकोण राख्छ वा आफ्नो कार्यमा यस्तो दिशा अपनाउँछ भने, उसले तुरुन्तै आफ्नो दृष्टिकोण सुधार्नुपर्छ र बदल्नुपर्छ। परमेश्‍वर कहिल्यै गरिब वा समाजको सबैभन्दा तल्लो तहमा पिल्सिएका व्यक्तिहरूलाई टिठ्याउनुहुन्‍न। परमेश्‍वर कसलाई करुणा देखाउनुहुन्छ? त्यो व्यक्ति कम्तीमा पनि परमेश्‍वरमा विश्‍वास गर्ने, सत्यता स्विकार्न सक्ने हुनुपर्छ। यदि तँ परमेश्‍वरलाई पछ्याउँदैनस् अनि परमेश्‍वरको प्रतिरोध र निन्दा गर्छस् भने, के परमेश्‍वरले तँलाई करुणा देखाउनुहुनेछ त? यो असम्भव छ। तसर्थ, मानिसहरूले गल्तीले पनि यस्तो सोच्नु हुँदैन, “परमेश्‍वर करुणामय परमेश्‍वर हुनुहुन्छ। उहाँ थिचोमिचोमा परेका, अलोकप्रिय, होच्याइएका, उपेक्षित र समाजमा कोही सहारा नभएका मानिसहरूलाई टिठ्याउनुहुन्छ। परमेश्‍वर ती सबैलाई टिठ्याउनुहुन्छ र आफ्नो घरमा प्रवेश गर्न दिनुहुन्छ।” यो गलत हो! यो तेरो धारणा र कल्पना हो। परमेश्‍वरले यस्तो कुरा कहिल्यै भन्‍नुभएको वा गर्नुभएको छैन। यो तेरो आफ्नै मनोकामना, मानव दयालुपनबारेको तेरो विचार मात्र हो, जुन सत्यतासँग सम्बन्धित छैन। परमेश्‍वरले चुन्नुभएका र आफ्नो घरमा ल्याउनुभएका मानिसहरूलाई हेर्। तिनीहरू जुनै सामाजिक वर्गका भए पनि, के परमेश्‍वरले तिनीहरूसँग खानलाई केही नभएकाले टिठ्याएर वा दुःख मानेर आफ्नो घरमा ल्याउनुभयो? परमेश्‍वरले एक जनालाई पनि त्यसो गर्नुभएन। त्यसको विपरीत, परमेश्‍वरद्वारा चुनिएका मानिसहरू जुनै सामाजिक वर्गका भए पनि—तिनीहरू किसान नै भए पनि—तिनीहरूले खानेकुरा जोहो गर्न नसकेको वा कोही भिखारी बनेको कुनै घटना छैन। यो त परमेश्‍वरको आशिषको प्रमाण हो। यदि परमेश्‍वरले तँलाई चुन्‍नुभएको छ र तँ उहाँका चुनिएका मानिसहरूमध्येको एक होस् भने, उहाँले तँलाई खानेकुरा जोहो गर्न नसक्ने हदसम्मको असहाय बन्न वा खानेकुराका लागि भीख माग्‍नुपर्ने हालतमा पुग्न दिनुहुनेछैन। बरु, परमेश्‍वरले तँलाई प्रशस्त लुगाफाटा र खानेकुरा जुटाइदिनुहुनेछ। परमेश्‍वरमा विश्‍वास गर्ने कतिपय मानिस सधैँ केही गलत विचार राख्ने गर्छन्। तिनीहरू के सोच्छन्? “परमेश्‍वरका अधिकांश विश्‍वासीहरू समाजको सबैभन्दा निम्न तहबाट आउँछन्, र कतिपय त भिखारीसमेत होलान्।” के वास्तविकता त्यही हो त? (अहँ, होइन।) म पनि भिखारी थिएँ भनेर अफवाह फैलाउने मानिसहरूसमेत छन्। मैले भनेँ, “त्यसोभए, के मैले कहिल्यै झोलीतुम्बा र लौरो बोकेँ त? यदि तँ म भिखारी थिएँ भनेर भन्छस् भने, मलाई यो कसरी थाहा भएन त?” हामीले कुरा गरिरहेको व्यक्ति म नै हुँ, तैपनि मलाई थाहा छैन; यो पूर्णतया वाहियात कुरा हो! परमेश्‍वरले “फ्याउराहरू बस्‍ने दुला छन् र पक्षीहरूका गुँड छन्; तर मानिसको पुत्रको निम्ति आफ्नो टाउको राख्‍ने ठाउँ छैन,” भनेर भन्‍नुको अर्थ के हो? के परमेश्‍वर आफू भिखारी बन्नुभयो भनेर भन्दै हुनुहुन्छ? के उहाँ असहाय हुनुहुन्थ्यो र खानेकुरा जोहो गर्न सक्नुहुन्नथ्यो भनेर भन्दै हुनुहुन्छ? (अहँ, होइन।) उहाँ त्यसो भन्दै हुनुहुन्थेन। त्यसोभए यो भनाइको अर्थ के हो त? यसको अर्थ हो, यो संसार र मानवजातिले परमेश्‍वरलाई त्यागेका थिए; यसले त्यहाँ परमेश्‍वरका लागि कुनै ठाउँ थिएन भनेर देखाउँछ, तर परमेश्‍वर मानवजातिलाई मुक्त दिन आउनुभयो, तैपनि तिनीहरूले उहाँलाई स्वीकार गरेनन्। उहाँलाई स्वागत गर्न कोही पनि इच्छुक थिएन। यो भनाइले भ्रष्ट मानवजातिको कुरूप पक्षलाई औँल्याउँछ अनि देहधारी परमेश्‍वरले मानव संसारमा सहनुभएको कष्टलाई झल्काउँछ। परमेश्‍वरले यसो भन्‍नुहुँदा, कतिपय मानिस सोच्छन्, “परमेश्‍वर भिखारीहरूलाई मन पराउनुहुन्छ, र हामी भिखारीहरूभन्दा कैयौँ गुणा समृद्ध छौँ, त्यसैले परमेश्‍वरको दृष्टिमा हाम्रो हैसियत झन् उच्च छ।” परिणामस्वरूप, तिनीहरू भिखारीहरूलाई मद्दत गर्न इच्छुक हुन्छन्। यो त मानिसहरूको एकदमै गलत बुझाइ हो, यो मानिसहरूको मिथ्या सोच र दृष्टिकोणसँग सम्बन्धित छ। परमेश्‍वरको सार, उहाँको स्वभाव वा उहाँको करुणा र प्रेमसँग यसको सम्बन्ध छँदै छैन।

कतिपय मानिसहरू भन्छन्, “तपाईं मानिसहरूको खोज, आदर्श र इच्छाहरू त्याग्‍नु भन्‍ने विषयअन्तर्गत ‘करियर’ त्याग्‍नेबारे कुरा गर्नुहुन्छ र मानिसहरूलाई परोपकारी कार्य नगर्नू भन्‍नुहुन्छ। तर तपाईं किन सधैँ जनावरहरूलाई राम्रो व्यवहार गर्ने र तिनलाई हानि नगर्ने कुरालाई जोड दिनुहुन्छ? यसको अर्थ के हो? कुकुर र बिरालोलाई परमेश्‍वरको घरमा समेत राखिन्छ, र मानिसहरूलाई तिनलाई हानि पुऱ्याउन दिइँदैन।” मलाई बता त, के यसो गर्नु र परोपकारी कार्य गर्नुबीच कुनै भिन्नता छ? के ती एउटै कुरा हुन्? (अहँ, ती एउटै कुरा होइनन्।) यहाँ के भइरहेको छ? (विभिन्न प्रकारका जनावरलाई हानि नगर्नु सामान्य मानवताको अभिव्यक्ति हो।) यो सामान्य मानवताको अभिव्यक्ति हो। त्यसोभए, सामान्य मानवताको अभ्यास र प्रकटीकरण कस्तो हुनुपर्छ? (कुनै व्यक्तिले जनावरहरू पाल्न रोज्ने हुनाले, उसले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।) आफ्नो जिम्मेवारी पूरा गर्नु—त्यसमा थप कुनै विशिष्ट कुरा छ? (तिनीहरूले ती जनावरहरूको ख्याल राख्नुपर्छ।) त्यो विशिष्ट कार्य हो। कुन सिद्धान्तहरू पालन गर्नुपर्छ त? यसमा सत्यता समावेश छ। मलाई बताउन देऊ, अनि तिमीहरूचाहिँ सुन र यसमा सत्यता समावेश छ कि छैन भनेर हेर। परमेश्‍वरले सृष्टि गर्नुभएका प्राणीहरूको हेरचाह गर्नु सामान्य मानवताको अभिव्यक्ति हो। अझ ठोस रूपमा भन्‍नुपर्दा, यसको अर्थ ती प्राणीहरूप्रति आफ्नो जिम्मेवारी पूरा गर्नु र तिनको राम्रो हेरचाह गर्नु हो। तैँले तिनलाई पाल्ने निर्णय गरेकाले आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ। पाल्तु जनावरहरू मानिसहरूले पाल्न र हेरचाह गर्नकै लागि हुन्। तिनीहरू हेरचाह नचाहिने जङ्गली जनावरजस्ता होइनन्। जङ्गली जनावरलाई देखाइने सबैभन्दा ठूलो कदर र हेरचाह भनेको जानाजानी तिनीहरूको वासस्थान नष्ट नगर्नु र तिनीहरूलाई सिकार नगर्नु वा नमार्नु नै हो। मानिसहरूले आफ्नो घरमा पाल्न सक्ने घरपालुवा पशुपक्षी, गाईवस्तु वा पाल्तु जनावरहरूका सन्दर्भमा भन्‍नुपर्दा, तैँले तिनलाई पाल्न रोज्ने हुनाले, आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। अर्थात्, यदि तँसँग अलि समय छ भने आफ्नो परिस्थितिअनुसार तिनीहरूलाई साथ दे अनि यदि तँ व्यस्त छस् भने, तिनको पर्याप्त खानपिन र सन्चसुबिस्ता सुनिश्चित गर्। मूलतः तैँले तिनलाई माया गर्नुपर्छ। तिनीहरूलाई माया गर्नुको अर्थ के हो? यसको अर्थ परमेश्‍वरले सृष्टि गर्नुभएको जीवनको आदर गर्नु र उहाँले सृष्टि गर्नुभएका प्राणीहरूको हेरचाह गर्नु हो। तिनलाई माया गर, तिनको हेरचाह गर: यो भनेको परोपकारी कार्य गर्नु होइन, यो त तिनीहरूलाई उचित व्यवहार गर्नु हो। के यो सिद्धान्त हो? (हो।) यो परोपकारी कार्यमा संलग्‍न हुनु होइन। परोपकारी कार्यले केलाई जनाउँछ? यो जिम्मेवारी पूरा गर्नु वा जीवनको कदर गर्नुसँग सम्बन्धित छैन। यो तेरो क्षमता र सामर्थ्यबाहिर जानु अनि यसलाई करियर बनाउनु हो। यसको पाल्तु जनावर पाल्नुसँग कुनै सम्बन्ध छैन। यदि कसैले आफूले पाल्ने जनावरहरूप्रति आधारभूत प्रेम देखाउन वा जिम्मेवारी उठाउन सक्दैन भने, ऊ कस्तो व्यक्ति हो? के उसमा मानवता हुन्छ? (उसमा मानवता हुँदैन।) कम्तीमा पनि, यस व्यक्तिमा मानवताको कमी हुन्छ। वास्तवमा, कुकुर र बिरालोले मानिसहरूबाट अति धेरै माग गर्दैनन्। तैँले तिनलाई जति गहिरो प्रेम गरे पनि वा जति मन पराए पनि वा मन नपराए पनि, कम्तीमा तँ तिनको देखभालप्रति जिम्मेवार हुनुपर्छ, तैँले तिनलाई समयमा खुवाउनुपर्छ र दुर्व्यवहार गर्नु हुँदैन—त्यति भए पुग्छ। तैँले आफ्नो आर्थिक अवस्थाअनुसार जेजस्तो खानेकुरा वा बस्ने ठाउँको प्रबन्ध गर्न सक्छस्, त्यो गर्नुपर्छ। त्यति हो। तिनलाई बाँच्नका लागि धेरै कुरा चाहिँदैन। तैँले आफूलाई केवल तिनलाई दुर्व्यवहार गर्नबाट रोक्नुपर्छ। यदि मानिसहरू यति सानो प्रेमसमेत देखाउन सक्दैनन् भने, यसले तिनीहरूमा मानवताको कमी रहेको देखाउँछ। दुर्व्यवहारमा के समावेश छ? विना कारण तिनलाई हिर्काउनु र गाली गर्नु, खुवाउनुपर्ने बेला नखुवाउनु, डुलाउन लैजाने बेलामा नलैजानु, बिरामी पर्दा तिनको हेरचाह नगर्नु। यदि तँ बेखुस छस् वा खराब मुडमा छस् भने, तिनलाई कुटेर वा गाली गरेर आफ्नो रिस पोखाउँछस्। तँ तिनलाई अमानवीय व्यवहार गर्छस्। त्यो दुर्व्यवहार हो। यदि तँ दुर्व्यवहार गर्नदेखि जोगिन्छस् र आफ्नो जिम्मेवारी मात्र पूरा गर्छस् भने, त्यो पर्याप्त हुन्छ। यदि तँसँग आफ्नो जिम्मेवारी पूरा गर्न यति करुणासमेत छैन भने, तैँले कुनै जनावर पाल्नु हुँदैन। तैँले त्यसलाई मुक्त गर्नुपर्छ, त्यसलाई मन पराउने व्यक्ति खोजेर उसैलाई त्यसको हेरचाह गर्न दिनुपर्छ, त्यसलाई जिउने मौका दिनुपर्छ। कुकुर पाल्ने कतिपय मानिसहरू त्यसलाई दुर्व्यवहार गर्नबाट आफूलाई रोक्नसमेत सक्दैनन्। तिनीहरू आफ्नो कुण्ठा पोखाउने उद्देश्यले नै कुकुर पाल्छन्, आफू खराब मुडमा हुँदा वा आफ्नो मन खिन्न भएको बेला र आफ्नो भडास निकाल्नुपर्दा त्यही कुकुरलाई त्यसको माध्यमका रूपमा प्रयोग गर्छन्। तिनीहरू अरू कुनै व्यक्तिलाई हिर्काउने वा गाली गर्ने आँट गर्दैनन्, आफूले बेहोर्नुपर्ने परिणाम र दायित्वदेखि डराउँछन्। तिनीहरूको घरमा कुनै पाल्तु जनावर, मानौँ एउटा कुकुर हुन्छ, त्यसैले तिनीहरू त्यही कुकुरमाथि आफ्नो कुण्ठा पोखाउँछन्, किनभने आखिर त्यसले केही बुझ्दैन र प्रतिरोध गर्ने आँट गर्दैन। यस्ता मानिसहरूमा मानवता हुँदैन। कतिपय मानिसहरू कुकुर र बिरालो पाल्छन्, तर आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैनन्। यदि तँलाई पाल्तु जनावर मन पर्दैन भने, नपाल्। तर यदि तँ पाल्ने निर्णय गर्छस् भने, तैँले आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ। यसको आफ्नै जीवन र भावनात्मक आवश्यकताहरू हुन्छन्। यसलाई तिर्खा लाग्दा पानी र भोक लाग्दा खानेकुरा चाहिन्छ। यसलाई मानिसको निकटता र सान्त्वना पनि चाहिन्छ। यदि तँ खराब मुडमा छस् र “तँलाई ध्यान दिइरहन मेलाई फुर्सद छैन, उता जा!” भनेर भन्छस् भने—त्यो पाल्तु जनावरप्रति राम्रो व्यवहार होइन। के यसमा विवेक वा समझ हुन्छ? (हुँदैन।) कतिपय मानिस भन्छन्, “तिमीले आफ्नो कुकुर र बिरालोलाई ननुहाइदिएको कति भयो? ती डुङ्ग-डुङ्ग गनाउन थालेछन्!” “हँ, तिनलाई नुहाइदिनु? मलाई कसले नुहाइदिने हो, त्यो त थाहा छैन। मैले ननुहाएको कति दिन भइसक्यो, कसैले मतलब गरेको हैन!” के यो दयालुपन हो, कि वा यसले कुनै मानव संवेदनालाई झल्काउँछ? (होइन।) तिनीहरू असल मुडमा भए पनि वा नभए पनि, कुकुर वा बिरालो तिनीहरूसँग टाँसिँदै आएर तिनीहरूप्रति स्नेह देखाउँदा, तिनीहरू त्यसलाई लात्तीले हान्दै यसो भन्छन्, “पर जा! ऋण उठाउने मान्छे जस्तै, तँ पनि वरपर भइस् कि जहिले पनि समस्या हुन्छ। तँ खाली खान वा पिउन मात्र खोज्छस्। म तँसँग खेल्ने मुडमा छैन!” यदि तँमा अलिकति पनि करुणा छैन भने, तैँले कुनै जनावर पाल्नु हुँदैन। तैँले त्यसलाई तुरुन्तै मुक्त गर्नुपर्छ। त्यो बिरालो वा कुकुरलाई तेरो कारण कष्ट भइरहेको हुन्छ! तँ साह्रै स्वार्थी छस् र जनावर पाल्न योग्य छैनस्। तैँले बिरालो वा कुकुर पालेपछि त्यसको खानपिनको ख्याल तैँले नै गर्नुपर्छ। तैँले यो सिद्धान्त बुझ्नुपर्छ। तँ किन जनावरसँग प्रतिस्पर्धा गर्दै छस्? तँ भन्छस्, “मलाई नुहाइदिने कोही छैन, मलाई कसले नुहाइदिन्छ?” तँलाई कसले नुहाइदिन्छ? तँ मान्छे होस्। तँ आफै नुहाउनुपर्छ। तँ आफ्नो ख्याल आफै राख्न सक्छस्, तर कुकुर र बिरालोलाई तेरो हेरचाह चाहिन्छ, किनभने तैँले तिनलाई हुर्काउँदै छस्, अनि तैँले तिनलाई हुर्काइरहेको हुनाले तिनको हेरचाह गर्नु तेरो दायित्व हो। यदि तँ यो दायित्वसमेत पूरा गर्न सक्दैनस् भने, तँ ती पाल्न योग्य छैनस्। के जनावरसँग प्रतिस्पर्धा गर्नु आवश्यक छ? तँ यसोसमेत भन्छस्, “म तेरो हेरचाह गर्छु, तर मेरो हेरचाहचाहिँ कसले गर्छ? तँ दुःखी हुँदा सान्त्वनाका लागि मकहाँ आउँछस्। तर म उदास हुँदा चाहिँ कसले मलाई सान्त्वना दिन्छ?” के तँ मान्छे होइनस् र? मान्छेले आफूलाई आफैले नियन्त्रण र समायोजन गर्नुपर्छ। कुकुर र बिरालो निकै सरल हुन्छन्: तिनले स्वयमलाई नियन्त्रण गर्न सक्दैनन्, त्यसकारण तिनलाई मान्छेको सान्त्वना चाहिन्छ। तैँले जनावरलाई गर्ने व्यवहार र परोपकारी कार्य गर्नुबीचको भिन्नता यही हो। तैँले जनावरहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्‍नेबारे सिद्धान्त के हो? जीवनको कदर गर, जीवनलाई आदर गर र जनावरलाई दुर्व्यवहार नगर। परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुरालाई सम्हाल्दा, तिनका प्राकृतिक नियमहरू पालन गर्, परमेश्‍वरद्वारा सृजित विभिन्न प्राणीहरूलाई उहाँले तय गर्नुभएको नियमअनुसार सही तरिकाले व्यवहार गर्, सबै प्रकारका प्राणीसँग उचित सम्बन्ध कायम राख् अनि तिनीहरूको बासस्थान नष्ट नगर् वा नबिगार्। जीवनलाई आदर र कदर गर्ने सिद्धान्तहरू यी नै हुन्। तर, जीवनलाई आदर र कदर गर्ने सिद्धान्तहरू परोपकारी कार्य गर्नुसँग सम्बन्धित छैनन्। यो त परमेश्‍वरले तय गर्नुभएको सर्वव्यापी नियमहरूमध्येको एउटा सिद्धान्त हो, जुन सृष्टि गरिएको हरेक प्राणीले पालन गर्नुपर्छ। तर यो सिद्धान्त पालन गर्नु र परोपकारी कार्य गर्नु एउटै कुरा होइनन्।

तर कतिपय मानिस सोध्छन्, “परमेश्‍वर हामीलाई करियरको रूपमामा परोपकारी कार्य गर्न किन दिनुहुन्‍न? यदि उहाँ हामीलाई परोपकारी कार्य गर्न दिनुहुन्‍न भने, समाजमा रहेका असहाय मानिस वा जीवित प्राणीबारे के गर्नुपर्छ त? तिनीहरूलाई सहयोग गर्नेछ?” तिनीहरूलाई सहयोग गर्न अघि सर्ने तँसँग यस कुराको कुनै सम्बन्ध छ? (यसको हामीसँग कुनै सम्बन्ध छैन।) के तँ मानवजातिको सदस्य होइनस् र? के यसको तँसँग कुनै सम्बन्ध छ? (छैन, यो मानवजातिको मिसन होइन।) ठीक भनिस्, यो तेरो मिसन होइन, न त यो परमेश्‍वरले तँलाई सुम्पनुभएको कुरा नै हो। तेरो मिसन के हो? सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु, परमेश्‍वरका वचन सुन्‍नु, परमेश्‍वरका वचनमा समर्पित हुनु, मुक्ति पाउन सत्यता स्विकार्नु, परमेश्‍वरले तँलाई गर्नू भनेको कुरा गर्नु, र परमेश्‍वरले नगर्नू भनेको कुराबाट टाढा रहनु। परोपकारसँग सम्बन्धित कुराहरू कसले सम्हाल्नेछ? ती कसले सम्हाल्नेछ भन्‍ने कुरा तेरो सरोकारको विषय होइन। जे भए पनि, तैँले ती कुराको ख्याल गर्नु वा चिन्ता लिनु पर्दैन। परोपकारको मामिलालाई सरकारले सम्हाले पनि वा विभिन्‍न सामुदायिक सङ्घ-संस्थाहरूले सम्हाले पनि, यो हाम्रो सरोकारको विषय होइन। सङ्क्षेपमा भन्‍नुपर्दा, परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता पछ्याउनेहरूले परमेश्‍वरको मार्ग र इच्छा पछ्याउनुलाई आफ्नो मापदण्ड, अभ्यासको उद्देश्य र दिशाका रूपमा लिनुपर्छ। यो मानिसहरूले बुझ्नुपर्ने कुरा र कहिल्यै परिवर्तन नहुने शाश्‍वत सत्यता हो। अवश्य नै, बेलाबेलामा अरूको सहायता गर्न केही गर्नु करियर होइन; यो कहिलेकाहीँ गरिने कार्य हो, अनि त्यसो गरेकोमा परमेश्‍वर तँसँग रिसाउनुहुन्‍न। कतिपय मानिस सोध्छन्, “के परमेश्‍वर यस्ता कुराको सम्झना गर्नुहुन्‍न?” परमेश्‍वर ती कुराको सम्झना गर्नुहुन्‍न। यदि तैँले कुनै बेला कुनै भिखारी वा घर जाने गाडीभाडा नभएको कुनै व्यक्तिलाई पैसा दिएको थिइस् वा बेघर व्यक्तिलाई सहयोग गरेको थिइस् भने; यदि तैँले यस्तो कुरा कहिलेकाहीँ वा जीवनभरि दुई-चार पटक मात्रै भए पनि गरेको थिइस् भने, के परमेश्‍वर आफ्नो नजरमा यस्ता कुराहरूको सम्झना गर्नुहुन्छ? अहँ, उहाँ ती कुराको सम्झना गर्नुहुन्‍न। त्यसोभए, परमेश्‍वर यी कार्यहरूको लेखाजोखा कसरी गर्नुहुन्छ? परमेश्‍वर ती कुरालाई सम्झनुहुन्‍न वा निन्दा गर्नुहुन्‍न—उहाँ ती कुराको लेखाजोखा गर्नुहुन्‍न। किन? किनभने सत्यता पछ्याइसँग ती कुराको कुनै सम्बन्ध छैन। यी त परमेश्‍वरको मार्ग पछ्याउनु वा उहाँको इच्छा पूरा गर्नुसँग सरोकार नराख्ने व्यक्तिगत कार्यहरू हुन्। यदि तँ ती कुरा गर्न व्यक्तिगत तवरमा इच्छुक हुन्छस्, यदि तँमा क्षणिक रूपमा सद्भावको प्रस्फुटन भएर वा आफ्नो विवेकको उक्साहटमा परेर, वा उत्साह जागेर वा उत्तेजित भएर केही असल कुरा गर्छस् भने, पछि गएर तैँले पछुतो गरे पनि वा नगरे पनि, इनाम पाए पनि वा नपाए पनि, यो परमेश्‍वरको मार्ग पछ्याउनु वा उहाँको इच्छा पूरा गर्नुसँग सम्बन्धित हुँदैन। परमेश्‍वर यसको सम्झना गर्नुहुन्‍न, न त यसका लागि तेरो निन्दा नै गर्नुहुन्छ। परमेश्‍वर यसको सम्झना गर्नुहुन्‍न भन्‍नुको अर्थ के हो? यसको अर्थ हो, तैँले पहिले यो कुरा गरेको हुनाले परमेश्‍वरले तँलाई तेरो मुक्तिको क्रममा उहाँको सजाय र न्यायबाट छूट दिनुहुनेछैन, न त तैँले केही असल कुरा वा परोपकारी कार्य गरेको कारण तँलाई छूट दिएर मुक्ति पाउन नै दिनुहुनेछ। परमेश्‍वर यसका लागि तेरो निन्दा गर्नुहुन्‍न भन्‍नुको अर्थ के हो? यसको अर्थ हो, तैँले गरेका यी असल कार्यहरूको सत्यतासँग कुनै साइनो छैन, तिनले तेरो आफ्नै असल व्यवहारको मात्र प्रतिनिधित्व गर्छन्, ती परमेश्‍वरका प्रशासनिक आदेशविरुद्ध जाँदैनन्, न त कसैको हितलाई हनन नै गर्छन्। तिनले अवश्य नै परमेश्‍वरको नाउँको अपमान गर्दैनन्, झन् परमेश्‍वरको नाउँको महिमा गर्नु त परको कुरा हो। तिनले परमेश्‍वरको मापदण्ड उल्लङ्घन गर्दैनन्, न त ती परमेश्‍वरका अभिप्रायविरुद्ध नै जान्छन्, अनि तिनले निश्चय नै परमेश्‍वरविरुद्ध विद्रोह गर्दैनन्। परिणामस्वरूप, त्यसका लागि परमेश्‍वरले तेरो निन्दा गर्नुहुनेछैन, तिनले एक प्रकारको व्यक्तिगत असल कार्यको मात्र प्रतिनिधित्व गर्छन्। यस्ता असल कार्यहरूले संसारबाट प्रशंसा र समाजबाट मान्यता पाउलान्, तैपनि परमेश्‍वरको नजरमा सत्यतासँग तिनको कुनै सम्बन्ध हुँदैन। परमेश्‍वर तिनको सम्झना गर्नुहुन्‍न, न त त्यसका लागि कसैको निन्दा नै गर्नुहुन्छ, जसको अर्थ हो, परमेश्‍वरको अघि यी कार्यहरूको त्यति महत्त्व छैन। तर, एउटा सम्भावना चाहिँ छ, त्यो हो, यदि तैँले कसैलाई बचाइस् र उसलाई आर्थिक वा कुनै प्रकारको भौतिक सहयोग दिइस् वा भावनात्मक सहयोगसमेत दिन खोजिस्, अनि त्यो दुष्ट व्यक्तिलाई उसको प्रयासमा सफल हुन सक्षम बनाएर उसलाई अझ धेरै अपराध गर्ने अनि समाज र मानवतालाई जोखिममा, पार्ने तुल्याइस्, जसको परिणामस्वरूप केही नोक्सानी भयो भने, त्यो बिलकुलै फरक कुरा हुनेछ। साधारण परोपकारी कार्यको मामिलामा, परमेश्‍वरको दृष्टिकोण के हो भने उहाँ न त यसलाई सम्झनुहुन्छ न त निन्दा नै गर्नुहुन्छ। तर उहाँले यसलाई न त सम्झनुहुन्छ न त निन्दा नै गर्नुहुन्छ भन्‍नुको अर्थ परमेश्‍वर तँलाई परोपकारी कार्यमा संलग्‍न हुन साथ वा प्रोत्साहन दिनुहुन्छ भन्‍ने होइन। जे भए पनि, तैँले आफ्नो शक्ति, समय र पैसा मुक्ति वा सत्यता अभ्यास र आफ्नो कर्तव्य गराइसँग पटक्कै सम्बन्धित नभएका कुराहरूमा लगाउनेछैनस् भन्‍ने आशा अझै गरिन्छ, किनभने तैँले गर्नुपर्ने अझ धेरै महत्त्वपूर्ण कुराहरू छन्। तेरो समय, शक्ति र जीवन परोपकारी कार्यका लागि होइनन्, अनि ती कुरा परोपकारी करियरमार्फत आफ्नो व्यक्तिगत चरित्र र करामत देखाउनका लागि होइनन्। विशेष गरी, धेरै गरिब मानिसहरूका लागि आधारभूत आवश्यकता जुटाउने वा तिनीहरूलाई आफ्नो आदर्श साकार पार्न मद्दत गर्ने उद्देश्यले कलकारखाना खोल्ने, स्कुल चलाउने वा व्यापार गर्नेहरूको सन्दर्भमा भन्‍नुपर्दा, तिनीहरू यी कुरा गरिबहरूलाई सहयोग गर्नका लागि गर्छन्। यदि तँ यी तरिकाद्वारा गरिबहरूलाई सहयोग गर्छस् भने, यसले निस्सन्देह तेरो धेरै समय र शक्ति खाइदिनेछ। तैँले यस कामका लागि जीवनको धेरै समय र शक्ति खर्च र प्रयोग गर्नेछस्, र परिणामस्वरूप तँसँग सत्यता पछ्याउन धेरै समय हुनेछैन; तँसँग सत्यता पछ्याउने समयसमेत नहोला, र तँलाई निश्चय नै आफ्नो कर्तव्य पूरा गर्ने अवसर मिल्नेछैन। बरु, तैँले आफ्नो शक्ति सत्यता वा मण्डलीको कामसँग सम्बन्ध नभएका मानिस, घटना र कामकुरामा उडाउनेछस्। यो मूर्ख व्यवहार हो। यो मूर्ख व्यवहार कतिपय मानिसहरू सधैँ आफ्नो असल अभिप्राय र केही सीमित क्षमताद्वारा मानव नियति र संसारलाई बदल्न चाहनुका कारण उत्पन्न हुन्छ। तिनीहरू आफ्नै प्रयास र सद्भावमार्फत मानव नियति बदल्न चाहन्छन्। यो मूर्ख प्रयास हो। यो मूर्ख प्रयास भएकाले, त्यसो नगर्। अवश्य नै, यो प्रयास नगर्नाको आधार के हो भने तँ सत्यता पछ्याउने, सत्यता र मुक्तिको पछि लाग्‍न चाहने व्यक्ति होस्। यदि तँ “मलाई मुक्तिमा चासो छैन, र सत्यता पछ्याउनु मेरा लागि त्यति महत्त्वपूर्ण छैन,” भनेर भन्छस् भने तैँले आफूखुसी गरे हुन्छ। परोपकारी कार्यका सम्बन्धमा भन्‍नुपर्दा, यदि यो तेरो आदर्श र पछ्याइ हो, यदि तँ यसरी नै आफ्नो महत्त्व झल्किन्छ, परोपकारी कार्यले मात्र आफ्नो जीवनको मूल्य व्यक्त गर्छ भनेर विश्‍वास गर्छस् भने, मज्जाले त्यसै गर्। तैँले आफूमा भएका जुनसुकै सीप र क्षमता प्रयोग गर्न सक्छस्, तँलाई कसैले रोकेको छैन। हामीले यहाँ परोपकारी कार्यमा संलग्‍न नहुने विषयमा सङ्गति गरिरहेको आधार के हो भने, तैँले सत्यता र मुक्ति पछ्याउने इच्छा गरेकाले, परोपकारी कार्य गर्ने आफ्नो आदर्श र चाहना त्याग्‍नुपर्छ। यसलाई आफ्नो जीवनको आदर्श र चाहनाका रूपमा नपछ्या। यस मामिलामा व्यक्तिगत तहमा संलग्‍न नहो, र परमेश्‍वरको घर पनि यसमा संलग्‍न हुनेछैन। अवश्य नै, परमेश्‍वरको घरमा एउटा परिस्थिति चाहिँ छ, त्यो हो, निश्चित गरिब दाजुभाइ-दिदीबहिनीहरूको घरेलु जीवनको ख्याल गर्नु। यसको पनि आधार छ। मलाई लाग्छ, तिमीहरू सबैलाई यो आधार थाहा छ: यो परोपकारी कार्य होइन, यो परमेश्‍वरको घरभित्र दाजुभाइ-दिदीबहिनीहरूको जीवनसँग सम्बन्धित कार्य प्रबन्ध हो। यो परोपकारी कार्यमा संलग्‍न हुनुसँग सम्बन्धित छैन। परमेश्‍वरको घर परोपकारी कार्यमा संलग्‍न नहुनुबाहेक, समाजको कुनै परोपकारी क्रियाकलापमा पनि संलग्न हुँदैन; उदाहरणका लागि, परमेश्‍वरको घरले स्कुल बनाउँदैन, कलकारखाना खोल्दैन, वा व्यवसाय चलाउँदैन। यदि कसैले मण्डली कामको सामान्य सञ्चालनका लागि आर्थिक स्रोतसाधन जुटाउने नाउँमा कलकारखाना खोल्छ, स्कुल बनाउँछ, व्यवसाय चलाउँछ वा कुनै पनि व्यापारिक क्रियाकलापमा सहभागी हुन्छ भने, यो सब परमेश्‍वरको घरका प्रशासनिक आदेशविरुद्ध हुन्छन्, र यी कार्य रोक्नुपर्छ। त्यसोभए, परमेश्‍वरको घरको कार्य सञ्चालनको आर्थिक स्रोत के हो त? के तिमीहरूलाई थाहा छ? यसको स्रोत दाजुभाइ-दिदीबहिनीहरूले अर्पण गर्ने कुरा, सामान्य कार्य सञ्चालन धान्ने भेटीहरू हुन्। यसको तात्पर्य के हो? दाजुभाइ-दिदीबहिनीहरूले दिएको पैसा, तिनीहरूले परमेश्‍वरलाई दिएका सबै कुरा नै भेटी हुन्, अनि भेटीको काम के हो? मण्डलीको कामको सामान्य सञ्चालनलाई सुनिश्चित गर्नु हो। अवश्य नै, यो सामान्य सञ्चालनसँग सम्बन्धित विभिन्‍न खर्चहरू छन्, र यी खर्चको व्यवस्था सिद्धान्तअनुसार गर्नुपर्छ अनि त्यसले यी सिद्धान्तहरूको उल्लङ्घन हुनु हुँदैन। परिणामस्वरूप, मण्डलीको काममा आर्थिक कुरा आउँदा अनि कतिपय अगुवा र सेवकहरूले भेटीहरू उडाएर यसमा ठूलो नोक्सानी पुऱ्याउँदा, परमेश्‍वरको घरले तिनीहरूलाई कडा दण्ड दिनेछ। किन कडा दण्ड दिनेछ? भेटी उडाउनेहरू यो दण्डबाट किन उम्कन सक्दैनन्? (किनभने परमेश्‍वरको भेटी त दाजुभाइ-दिदीबहिनीहरूले उहाँलाई चढाएका हुन्छन्, र त्यो परमेश्‍वरले मात्र उपभोग गर्न सक्नुहुन्छ। अर्को नजरबाट हेर्दा, यी भेटीहरू परमेश्‍वरको घरको उचित कार्य सञ्चालन कायम राख्नका लागि हुन्। यदि अगुवा वा सेवकहरूले भेटीहरू उडाउँछन् भने, परमेश्‍वरको घरको काममा सिधै असर पर्छ र नोक्सानी हुन्छ। यसले परमेश्‍वरको घरको काममा बाधा र अवरोध पुऱ्याउँछ, त्यसैले परमेश्‍वरको घरले कडा दण्ड दिनैपर्छ।) मलाई बता त, के परमेश्‍वरको घरले कडा दण्ड दिनुपर्छ? (पर्छ।) किन यसले त्यसो गर्नुपर्छ? किन यसले कडा दण्ड दिनैपर्छ? (भेटी उडाउनु भनेको ख्रीष्टविरोधीमा हुने आचरण हो। कुनै व्यक्तिको भेटीप्रतिको मनोवृत्तिले परमेश्‍वरप्रतिको उसको मनोवृत्तिलाई झल्काउँछ। यदि यस व्यक्तिले भेटीहरू उडाउन सक्छ भने, यसले उसको हृदयमा परमेश्‍वरप्रति रत्तिभर पनि डर छैन भन्‍ने देखाउँछ।) तिमीहरूले यसको एउटा पाटोलाई मात्र समेटेका छौ; यसभित्र अझै पनि यस्ता सिद्धान्तहरू रहेका छन्, जसबारे हामीले सङ्गति गर्नुपर्छ।

मलाई भन, भेटीहरू उडाउने मानिसहरूलाई किन कडा दण्ड दिनैपर्छ? अब हामी यसबारे सङ्गति गर्नेछौँ। पहिला, भेटीहरू कसरी आउँछन् भन्‍नेबारे कुरा गरौँ। सबै दाजुभाइ-दिदीबहिनीहरूलाई थाहा छ कि परमेश्‍वरका भेटीहरू उहाँलाई उहाँका चुनिएका मानिसले दिन्छन्। बाइबलीय नियमअनुसार, मानिसहरूले आफ्नो कमाइको दशांश अर्पण गर्नुपर्छ, हुन त आजकल धेरै मानिस दशांशभन्दा बढ्तै अर्पण गर्छन्, र निश्चित सम्पन्‍न व्यक्तिहरू दशांशभन्दा ज्यादै अर्पण गर्छन्। त्यसबाहेक, दशांश अर्पण गर्ने निश्चित गरिब दाजुभाइ-दिदीबहिनीहरूको पैसाचाहिँ कहाँबाट आउँछ? कम खर्चमा जिएर पैसा जोगाउने मानिसहरूको कुनै कमी छैन। जस्तै, गाउँघर र ग्रामीण इलाकामा कतिपय मानिस अन्‍न, कुखुराको अण्डा अनि भेडाबाख्रा र कुखुरा बेचेर कमाएको पैसाको दशांश अर्पण गर्छन्। धेरै मानिस दशांश वा त्योभन्दा ज्यादा अर्पण गर्न कम खर्चमा जिउँछन्—यो पैसा त्यहीँबाट आउँछ। धेरैजसो मानिसलाई यो पैसा कमाउन कडा मेहनत गर्नुपर्छ भन्‍ने थाहा छ। त्यसोभए, दाजुभाइ-दिदीबहिनीहरू किन भेटी दिन्छन्? के परमेश्‍वरको घरले यो माग गर्छ? के भेटी नदिई मुक्ति पाउन असम्भव छ? के यो बाइबलको नियम पालन गर्नाका लागि हो? अथवा के यो परमेश्‍वरको घरको काम महत्त्वपूर्ण छ र यो पैसाविना गर्न सकिँदैन, त्यसैले आफूले अझ धेरै अर्पण गर्नुपर्छ भनी सोच्दै परमेश्‍वरको घरको काममा सहयोग गर्नु हो? के तिनीहरूले त्यसो गर्नुको कारण यही मात्र हो? (होइन।) त्यसोभए, दाजुभाइ-दिदीबहिनीहरू किन भेटी दिन्छन् त? के तिनीहरू सिधासाधा हुन् त? अथवा के तिनीहरूसँग फाल्तु पैसा अर्पण गर्छन्? के तिनीहरूले फाल्तु वा आफूले खर्च गरेर नसकेको पैसा दान दिइरहेका हुन्? यी भेटीहरू कसलाई दिइन्छ? (परमेश्‍वरलाई।) किन मानिसहरू भेटी दिन्छन्? बाँकी कुरा छोड, धेरै मानिसले परमेश्‍वरको कार्य स्विकार्नु नै तिनीहरूले भेटी दिनुको सबैभन्दा मूलभूत कारण हो। परमेश्‍वर मानिसहरूलाई स्वतन्त्र रूपले जीवन र सत्यता दिन अनि तिनीहरूको अगुवाइ गर्न बोल्नुहुन्छ र काम गर्नुहुन्छ। त्यसैले, मानिसहरूले आफ्नो कमाइको दशांश अर्पण गर्नुपर्छ। यही नै भेटी हो। इतिहासभरि नै परमेश्‍वरले मानिसहरूलाई खानेकुरा, पानी र जीवनका आवश्यकताहरू प्रदान गर्नुभएको छ, अनि तिनीहरूका लागि सबै कुरा तयार पार्नुभएको छ। मानिसहरूले यी सब कुरा उपभोग गर्न पाएपछि परमेश्‍वरले तिनीहरूलाई दिनुभएको कुराको दशांश वेदीमै लगेर चढाउनुपर्छ, यसले मानिसहरूले परमेश्‍वरलाई फर्काउने अंशलाई प्रतिनिधित्व गर्छ र यसरी परमेश्‍वरले तिनीहरूको फसल उपभोग गर्न सक्नुहुन्छ। मानिसहरूले सृष्टि गरिएको प्राणीका रूपमा चढाउनुपर्ने र तिनीहरूमा हुनुपर्ने स्नेहको चिनो यही हो। यो पक्षबाहेक अर्को पक्ष पनि छ। कतिपय मानिस भन्छन्, “परमेश्‍वरको कार्य अति धेरै छ, म आफै त्यति धेरै गर्न सक्दिनँ, त्यसैले म भेटी, अर्थात् मेरो अंश दिनेछु।” यसरी तिनीहरू परमेश्‍वरको घरको कामका लागि आफ्नो समर्थन जनाउँछन् र समर्थकका रूपमा काम गर्छन्। यी नगद भेटीहरूको स्रोत वा मात्रा जे-जति भए पनि, तिनीहरूमाझ कम खर्चमा जिएर पैसा बचाउने मानिसहरूको कमी भने हुँदैन। सङ्क्षेपमा भन्‍नुपर्दा, यदि यो परमेश्‍वर र उहाँको कार्यका लागि नभएको भए, यदि मण्डली अनि यी मानव सङ्गठन र सङ्घसंस्थाहरू मात्र भएको भए, मानिसहरूको भेटीको कुनै मोल वा महत्त्व हुनेथिएन, किनभने परमेश्‍वरको काम र उहाँको वचनविना तिनीहरूले अर्पण गर्ने पैसाको कुनै काम हुनेथिएन। तर परमेश्‍वर बोल्नाले र उहाँले काम गर्नाले अनि मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम अघि बढ्नाले मानिसहरूले अर्पण गर्ने पैसा, भेटीहरू विशेष रूपमा महत्त्वपूर्ण हुन्छन्। ती कुरा विशेष गरी महत्त्वपूर्ण हुनुको कारण के हो भने यो अर्पण गरेको पैसा मण्डलीको कामका लागि प्रयोग गरिन्छ अनि गलत अभिप्राय राख्नेहरूले यसलाई हिनामिना गर्नु, हडप्नु, यसमा तलमाथि गर्नु वा उडाउनु समेत हुँदैन। के त्यसै होइन र? (हो।) यो एकदमै महत्त्वपूर्ण भएकाले, एक-एक पैसा प्रमुख क्षेत्रमा प्रयोग गर्नुपर्छ; अलिकति पनि उडाउनु वा गैरजिम्मेवार तरिकाले खर्च गर्नु हुँदैन। परिणामस्वरूप, हामीले अर्पित पैसा, भेटीहरू उडाउने, त्यसमा तलमाथि गर्ने, हडप्ने वा हिनामिना गर्नेहरूलाई विशेष तवरले सम्हाल्नैपर्छ र कडा दण्ड दिनैपर्छ। यो अर्पण गरिएको पैसा, भेटीहरू परमेश्‍वरको कामका लागि महत्त्वपूर्ण भएकाले, अनि दाजुभाइ-दिदीबहिनीहरूले यो पैसा, यी भेटीहरू अर्पण गर्नुको उद्देश्यलाई ध्यानमा राख्दा, तिनीहरूले अर्पण गर्ने पैसालाई सबैभन्दा महत्त्वपूर्ण क्षेत्रमा लगाउनुपर्छ। एक-एक पैसा सिद्धान्तअनुसार प्रयोग गरेर परिणाम हासिल गर्नुपर्छ; यसलाई उडाउनु हुँदैन, र दुष्ट व्यक्तिहरूले निश्चय नै हड्प्नु हुँदैन। यो एउटा पक्ष हो। यसबाहेक, नगद भेटी धेरै होस् वा थोरै, त्यो दाजुभाइ-दिदीबहिनीहरूको भेटीबाट आउँछ। मण्डलीले समाजबाट नाफा कमाउन व्यापारिक क्रियाकलापमा संलग्‍न भएर, व्यापार-धन्धा खोलेर अनि कलकारखाना चलाएर यो पैसाको स्रोत जुटाउँदैन। यो पैसा केही कुरा उत्पादन गरेर कमाइने लाभांशबाट आउँदैन, यो पैसा मण्डलीको लाभांश वा कमाइबाट नभई मानिसहरूको भेटीबाट आउँछ। सरल शब्दमा भन्‍नुपर्दा, भेटी भनेको दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरलाई दिने कुरा हो; परमेश्‍वरलाई दिइएको पैसा परमेश्‍वरकै हुनुपर्छ। परमेश्‍वरको पैसा केका लागि प्रयोग गरिन्छ? कतिपय भन्छन्, “परमेश्‍वरको पैसा, भेटीहरू परमेश्‍वरको उपभोगका लागि प्रयोग गरिन्छ।” के यो सब परमेश्‍वरको उपभोगका लागि हो? परमेश्‍वरले यो कति उपभोग गर्न सक्नुहुन्छ? एकदमै सीमित मात्रामा, होइन र? परमेश्‍वर देह बन्‍नुहुने अवधिमा उहाँको गाँस, बास, कपास र आवश्यकता, साथै उहाँको दैनिक तीन छाक भोजन साधारण हुन्छन् र उहाँले उपभोग गर्ने कुरा सीमित हुन्छ। त्यो अवश्य नै निकै सामान्य हो। दाजुभाइ-दिदीबहिनीहरूले अर्पण गरेको पैसा, भेटीको प्रमुख काम भनेको मण्डलीको कार्यको सामान्य सञ्चालनलाई कायम राख्नु हो, निश्चित मानिसहरूको खर्च गर्ने चाहना पूरा गर्नु होइन। भेटी मानिसहरूले खर्च गर्नाका लागि होइन, न त तिनीहरूको प्रयोगका लागि नै हो। पैसाको हिसाबकिताब सम्हाल्ने व्यक्तिले यो पैसा चलाउन प्राथमिकता पाउँछ, वा कुनै अगुवासँग यो पैसा बाँड्ने विशेष अख्तियार हुन्छ भन्‍ने हुँदैन। जुनै व्यक्तिले अर्पित पैसा उपयोग गरे पनि, त्यो परमेश्‍वरको घरले तय गरेको सिद्धान्तअनुसार उपयोग हुनुपर्छ। सिद्धान्त त्यही नै हो। त्यसैले, यो सिद्धान्त उल्लङ्घन गर्ने व्यक्तिको प्रकृति कस्तो हुन्छ? के उसले प्रशासनिक आदेशविरुद्ध अपराध गरेको हुँदैन र? (हुन्छ।) यसलाई उसले प्रशासनिक आदेशविरुद्ध अपराध गरेको हो भनेर किन भनिन्छ? मानिसहरूले परमेश्‍वरलाई दिने भेटी परमेश्‍वरको उपभोगका लागि हो। त्यसोभए, परमेश्‍वर त्यसलाई कसरी प्रयोग गर्नुहुन्छ? परमेश्‍वर त्यसलाई मण्डलीको कामका लागि, मण्डलीको कामको सामान्य सञ्चालन कायम राख्न प्रयोग गर्नुहुन्छ। परमेश्‍वरले भेटी उपयोग गर्ने सिद्धान्त यही हो। तर, ख्रीष्टविरोधी र दुष्ट मानिसहरू यसरी भेटी प्रयोग गर्दैनन्। तिनीहरू यो भेटी उडाउँछन्, खेर फाल्छन् वा लापरवाहीसाथ दान दिन्छन्, र यसरी यी भेटीहरू प्रयोग गर्नेसम्बन्धी यो सिद्धान्त खुल्लमखुल्ला उल्लङ्घन गर्छन्। के यो प्रशासनिक आदेशविरुद्ध अपराध गर्नु होइन र? के परमेश्‍वरले तँलाई त्यो भेटी यसरी उपयोग गर्न दिनुभएको छ? के उहाँले तँलाई त्यो यसरी उपयोग गर्ने अधिकार दिनुभएको छ? के उहाँले तँलाई त्यो यसरी उपयोग गर्न भन्‍नुभएको छ? उहाँले त्यसो भन्‍नुभएको छैन, भन्‍नुभएको छ त? अनि तँ त्यो भेटी किन यति लापरवाहीसाथ र खेर फाल्दै उपयोग गर्छस् त? यो त सिद्धान्तविरुद्ध अपराध गर्नु हो! यो कुनै साधारण सिद्धान्त होइन; यो प्रशासनिक आदेशसँग सम्बन्धित छ। यी नगद भेटीहरू व्यवसाय वा व्यापारिक क्रियाकलापमा संलग्‍न भएर कमाइने पैसा नभई दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरलाई दिएको भेटी भएको हुनाले, हर खर्च एकदमै राम्रोसँग नियन्त्रण र कडिकडाइसाथ व्यवस्थापन गर्नुपर्छ। पैसा उडाउने वा खेर फाल्ने कार्य हुनु हुँदैन। पैसा खेर फाल्दा वा उडाउँदा परमेश्‍वरको घरको काममा ठूलो नोक्सानी हुने मात्र होइन, परमेश्‍वरको घरमा ठूलो आर्थिक नोक्सानी पनि हुन्छ। भेटी उडाउनु भनेको केवल भेटी उडाउनु होइन; यसले त दाजुभाइ-दिदीबहिनीहरूले भेटी दिँदा व्यक्त गरेको प्रेमप्रति जिम्मेवार नहुनुलाई पनि दर्साउँछ। तसर्थ, भेटी उडाउनेहरूलाई कडा दण्ड दिनैपर्छ। हल्का अपराध गर्नेहरूलाई चेतावनी दे, र साथै क्षतिपूर्तिको माग पनि गर्। निकै गम्भीर अपराध गर्नेहरूलाई भने क्षतिपूर्ति गराउनुबाहेक हटाउनु वा निष्कासित गर्नु आवश्यक हुन्छ। भेटी उडाउनेहरूलाई कडा दण्ड दिनुको अर्को मुख्य कारण पनि छ। मण्डली कुनै पनि सामाजिक संस्थाभन्दा फरक हुन्छ। यो कुनै पनि देश र कुनै पनि सामाजिक परिवेशमा अलगथलग हुन्छ, यो संसार र मानवजातिद्वारा त्यागिएको हुन्छ। मण्डलीले कुनै पनि देशबाट समर्थन वा सुरक्षा पाउन नसक्ने मात्र होइन, साथै राज्यबाट कुनै सहयोग वा सहायता पनि प्राप्त गर्न सक्दैन। धेरैभन्दा धेरै, पश्चिमी मुलुकहरूमा मण्डली दर्ता गरेर स्थापित गरेपछि, मण्डलीलाई प्राप्त हुने दानहरूमा व्यक्तिगत करको छुट पाइन्छ, वा दान गरिएका कुराहरू केही कर कटौती गर्न उपयोग गर्न सकिन्छ। यसबाहेक, मण्डलीले कुनै देश वा कुनै सामाजिक प्रणालीअन्तर्गत कुनै सहायता वा सहयोग प्राप्त गर्न सक्दैन। यदि मण्डलीको भेला घट्यो र त्यसउप्रान्त यो सञ्चालन हुन सकेन भने, यसलाई सहयोग गर्न राज्य अघि सर्दैन। बरु, यसलाई आफै विलीन हुन दिन्छ, किनभने मण्डलीले राज्यका लागि कुनै आय आर्जन गर्दैन वा कुनै कर तिर्न सक्दैन। त्यसैले, मण्डली रहनु वा नरहनुले राज्यका लागि कुनै महत्त्व राख्दैन। मण्डली कुनै पनि सामाजिक प्रणालीभित्र यस्तै अस्तित्वको सङ्घर्षको स्थितिमा हुन्छ। मलाई बता त, के यो सजिलो हुन्छ? (हुँदैन।) वास्तवमा, यो साँच्चै सजिलो हुँदैन। मण्डलीलाई समाज र मानवजातिले इन्कार गर्छन्, यसले कुनै पनि सामाजिक प्रणालीबाट कुनै मान्यता वा सहानुभूति पाउँदैन, झन् साथ पाउनु त परको कुरा हो। मण्डली यस्तै अस्तित्वको सङ्घर्षको स्थितिमा हुन्छ। यदि कसैले अझै पनि भेटीहरू उडाउन सक्छ, अझै पनि निर्दयी बन्‍न सक्छ, पैसा खेर फाल्छ, कुनै जिम्मेवारी लिँदैन, क्षणभरमै १,००,००० रुपियाँ उडाउँछ, निसङ्कोच, कुनै ग्लानि महसुस नगरी १०,००,००० रुपियाँ पानीझैँ बगाउँछ भने, के तँलाई यस्तो व्यक्तिमा मानवता हुन्छ भन्‍ने लाग्छ? के यस्तो व्यक्ति श्राप पाउन लायक हुँदैन र? (हुन्छ।) माथि बताइएका विभिन्‍न परिस्थितिलाई छोटकरीमा भन्दा, भेटी उडाउने र खेर फाल्नेहरू वा तीप्रति खराब अभिप्रायसमेत राख्नेहरू, ती हिनामिना गर्न चाहनेहरू वा हिनामिना गर्न आँट नगरेर त्यसको सट्टा उडाउनेहरूको सन्दर्भमा भन्‍नुपर्दा: सबैलाई कडा दण्ड दिनुपर्छ, तिनीहरूलाई नरम व्यवहार गर्नु हुँदैन। मलाई बता त, के यो सही तरिका हो? (हो।) त्यसोभए, यदि तिमीहरूलाई भविष्यमा भेटी उपयोग गर्ने अख्तियार दिइयो भने, तिमीहरू कस्तो व्यवहार गर्नेछौ? यदि तिमीहरू आफूलाई नियन्त्रण गर्न सकेनौ, यदि भेटी उडायौ भने, मण्डलीले तिमीहरूलाई कडा सजाय दिने समय आउँदा, के तिमीहरू कुनै दुखेसो वा गुनासो गर्नेछौ? (गर्नेछैनौँ।) तिमीहरूमा कुनै गुनासो नहुनु राम्रो कुरा हो। तिमीहरू त्यसैको लायक हुनेछौ!

के तिमीहरू भेटी फिजुल खर्च गरी मास्ने मानिसहरूलाई घृणा गर्दैनौ र? के तिमीहरूलाई तिनीहरूदेखि रिस उठ्दैन? के तिमीहरू तिनीहरूलाई रेखदेख गर्न वा रोक्न सक्छौ? यो अलि गम्भीर कुरा हो—यो तेरो जाँचको समय हो। यदि तेरो वरपर भेटी मास्ने कुनै व्यक्ति छ र उसले २,००० रुपियाँमा पाउन सकिने मेसिनका लागि २०,००० रुपियाँ खर्च गर्ने जिद्दी गर्छ—जसले त्यो पैसा आफ्नो खल्तीको नभई परमेश्‍वरको घरको हो भन्दैमा सबैभन्दा राम्रो, उच्चकोटिको, अत्याधुनिक र सबैभन्दा प्रचलित मेसिन किन्‍न चाहन्छ, सबैभन्दा महँगो मेसिनका लागि पैसा खर्च गर्न चाहन्छ भने,—के तँ उसलाई रोक्न सक्छस्? यदि तँ रोक्न सक्दैनस् भने, के तँ उसलाई चेतावनी दिन सक्छस्? के तँ उच्चाधिकारीकहाँ उसको रिपोर्ट गर्न सक्छस्? यदि तैँले भेटीहरू व्यवस्थापन गर्ने जिम्मेवारी सम्हालेको छस् भने, यस स्थितिमा स्वीकृति दिन इन्कार गर्न सक्छस्? यदि तिमीहरू यीमध्ये कुनै पनि काम गर्न सक्दैनौ भने, तिमीहरूले पनि कडा दण्ड पाउनुपर्छ। तिमीहरूले भेटी मासिरहेका हुन्छौ; तिमीहरू त्यो दुष्ट व्यक्तिसँग मिलेका हुन्छौ, तिमीहरू उसको मतियार हुन्छौ, र तिमीहरू दुवैलाई कडा दण्ड दिइनुपर्छ। यदि कसैले भेटी मास्न र त्यसप्रति गैरजिम्मेवार बन्‍न सक्छ भने, ऊसँग परमेश्‍वरप्रति कस्तो प्रकारको मनोवृत्ति हुन्छ? के उसको हृदयमा परमेश्‍वर हुनुहुन्छ? (हुनुहुन्‍न।) मेरो विचारमा, यस्ता मानिसहरूमा परमेश्‍वरप्रति शैतानको जस्तै मनोवृत्ति हुन्छ। कतिपय मानिस भन्छन्, “परमेश्‍वर, उहाँको नाउँ, उहाँको भेटी वा उहाँको गवाहीसँग सम्बन्धित कुनै पनि कुरासँग मलाई चासो छैन। भेटीहरू उडाएर मास्ने ती मानिसहरूसँग मेरो के सरोकार?” ती कस्ता मानिस हुन्? कतिपय अगुवा र सुपरिवेक्षकहरू मण्डलीले जेसुकै कुरा किन्‍ने निवेदन दिए पनि, हरेक कुरामा हस्ताक्षर गर्दै स्वीकृति दिन्छन्। तिनीहरू निवेदनहरूबारे कहिल्यै प्रश्न गर्दैनन् वा तिनलाई राम्ररी जाँच्दैनन् वा समस्या पो छ कि भनेर छानबिन गर्दैनन्; चाहे सरसामान महँगो होस् कि सस्तो, व्यावहारिक होस् कि अव्यावहारिक, आवश्यक होस् कि अनावश्यक—तिनीहरू सरसामान किन्‍नका लागि दिएको हरेक निवेदनलाई स्वीकृत गर्छन्। तेरो स्वीकृति के हो? के यो हस्ताक्षर मात्र हो? मेरो दृष्टिमा, यो तेरो परमेश्‍वरप्रतिको मनोवृत्ति हो। परमेश्‍वरको भेटीप्रतिको तेरो मनोवृत्ति नै परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति हो। तेरो कलमको हरेक धर्सो, हरेकपल्ट तैँले आफ्नो नाम लेख्नु भनेको तैँले परमेश्‍वरलाई निन्दा र अनादर गरेको तेरो पापको प्रमाण हो। यसरी परमेश्‍वरलाई निन्दा र अनादर गर्नेहरूलाई कडा दण्ड दिनु नपर्ने कुनै कारण छ र? तिनीहरूलाई कडा दण्ड दिनैपर्छ! परमेश्‍वर तँलाई सत्यता, जीवन र तँसँग हुने सबै कुरा दिनुहुन्छ, अनि तँचाहिँ उहाँ र उहाँका कुराहरूप्रति यस्तो मनोवृत्तिका साथ व्यवहार गर्छस्—तँ कस्तो व्यक्ति होस्? तैँले हरेक बिलमा गर्ने हस्ताक्षर तैँले परमेश्‍वरको निन्दा गरेको वा परमेश्‍वरप्रति अनादरपूर्ण मनोवृत्ति देखाएको पापको प्रमाण हो; यो सबैभन्दा निर्णायक प्रमाण हो। जेसुकै सामान किन्‍न लागेको भए पनि, जतिसुकै रकम भए पनि, तैँले स्वीकृति फारमसमेत जाँच गर्दैनस्, तँ ख्यास्स हस्ताक्षर गरिहाल्छस्। तँ १,००,००० वा २,००,००० रुपियाँको किनमेलका लागि केही नसोची हस्ताक्षर गर्न तयार हुन्छस्। तैँले एक दिन आफ्नो हस्ताक्षरका लागि मूल्य चुकाउनुपर्नेछ—हस्ताक्षर गर्नेले जिम्मेवारी लिनुपर्छ! तैँले यसरी व्यवहार गर्ने हुनाले, तैँले पहिला दर्खास्तको समीक्षा नगरी जथाभाबी हस्ताक्षर गर्न र मनमानी ढङ्गले भेटी मास्न सक्ने हुनाले, तैँले आफ्नो कार्यका लागि जिम्मेवारी लिनु र मूल्य चुकाउनुपर्छ। यदि तँलाई नतिजाको सामना गर्न डर लाग्दैन भने, जा, आफ्नो नाउँमा हस्ताक्षर गर्। तेरो हस्ताक्षरले परमेश्‍वरप्रतिको तेरो मनोवृत्तिलाई दर्साउँछ। यदि तँ परमेश्‍वरप्रति समेत यस्तो व्यवहार देखाउन, उहाँलाई यसरी खुल्लमखुल्ला र निर्लज्ज ढङ्गले व्यवहार गर्न सक्छस् भने, तँ परमेश्‍वरबाट कस्तो व्यवहारको अपेक्षा गर्छस्? परमेश्‍वरले तँलाई पर्याप्त धैर्य देखाइसक्नुभएको छ, उहाँले तँलाई सास दिनुभएको छ, र तँलाई अहिलेसम्म जिउन दिनुभएको छ। परमेश्‍वरलाई उही तरिकाले र उही मनोवृत्तिका साथ व्यवहार गरिरहनुको सट्टा, तैँले परमेश्‍वरसामु पाप स्विकार्नुपर्छ र पश्चात्ताप गर्नुपर्छ अनि आफ्नो मनोवृत्ति बदल्नुपर्छ। आँखा चिम्लेर परमेश्‍वरसँग नलड्। यदि तँ परमेश्‍वरलाई उही तरिकाले र उही मनोवृत्तिका साथ व्यवहार गरिरहन्छस् भने नतिजा के हुनेछ, त्यो तँलाई थाहा नै छ। यदि तैँले परमेश्‍वरबाट क्षमा पाउन सकिनस् भने, तेरो विश्‍वास व्यर्थ भएको हुनेछ। त्यसपछि तेरो विश्‍वासको के काम? तँ परमेश्‍वरमा विश्‍वास त गर्छस् तर तँप्रतिको उहाँको भरोसा र आज्ञालाई बेवास्ता गर्छस्। मलाई बता, तँ कस्तो व्यक्ति होस्? कतिपय मानिस अगुवा वा सुपरभाइजरको रूपमा परमेश्‍वरको घरमा काम गर्छन्। तिनीहरूले धेरै वर्षदेखि आफ्नो कर्तव्य निर्वाह गर्दै आएका छन्, र मैले तिनीहरूसँग धेरै वर्षदेखि अन्तरक्रिया गर्दै आएको छु भनेर भन्‍न सकिन्छ। अन्ततः म तिनीहरूबारे यस्तो निष्कर्षमा पुगेको छु: यी मानिसहरू कुकुरभन्दा खराब छन्। तिनीहरूको कार्य पीडादायी मात्र नभई घृणित पनि हुन्छ। मलाई कुकुर पाल्न र त्योसँग खेल्न मन पर्छ। मैले वर्षौँदेखि पाल्दै आएका कुकुरहरू सबै निकै राम्रा भएका छन्। मैले मन पराउने कुकुरहरूले सामान्यतया मानिसहरूलाई जानाजानी भुक्ने र टोक्ने गर्दैनन्। यदि तैँले कुकुरलाई अलि माया देखाइस् भने, त्यसले तँलाई त्यसको दस गुना फिर्ता दिनेछ। यदि तैँले त्यसलाई साँच्चै राम्रो गरिस् भने, तैँले आँगनमा पत्रिका वा जुत्ता राखिस् भने पनि त्यसले त्यो सामानको छेउमा बसेर रखवाली गर्नेछ। कहिलेकाहीँ, यदि तैँले आफूलाई काम नलाग्ने कुनै कुरा फ्याँकिस् भने, कुकुरले तैँले त्यो गुमाइस् भन्‍ने सोच्छ, र यताउता नगई तेरा लागि त्यसको रखवाली गर्नेछ। केही समयपछि, मैले आफूले सिकेको कुरा छोटकरीमा यसरी भनेँ, “मानिस कुकुरभन्दा खराब छन्!” कुकुरले घरको रखवाली गर्छ—त्यसले आफ्नो क्षमता र सीप प्रयोग गर्दै आफ्नो ज्यान दिएर तेरो घरको रखवाली गर्छ। मानिसहरूको मन समेत हुँदैन, झन् तिनीहरूले ज्यान दिएर ती कुराको रखवाली गर्नु त परको कुरा हो। तिनीहरूले मण्डलीको कामको सुरक्षा गर्नका लागि एक शब्दसमेत बोल्दैनन्। तिनीहरू रखवाली गर्ने कुकुरभन्दा पनि निम्न हुन्छन्! मैले मानिस र कुकुरबीच छुट्याएको भिन्‍नता यही हो। भेटी मास्ने यी मानिसहरू रखवाली गर्ने कुकुरभन्दा तुच्छ हुन्। के तँ तिनीहरूलाई कडा दण्ड दिनुपर्छ भन्‍ने कुरामा सहमत हुन्छस्? (हुन्छु।) परमेश्‍वर मानिसहरूलाई भरोसा गर्नुहुन्छ, र तिनीहरूलाई काम र कर्तव्यहरू सुम्पनुहुन्छ। यो परमेश्‍वरले तिनीहरूको हैसियत बढाउनुभएको र प्रशंसा गर्नुभएको हो। यो तिनीहरू त्यो काम गर्न योग्य छन्, वा तिनीहरूमा राम्रो क्षमता र मानवता छ वा तिनीहरू त्यो कामका लायक छन् भन्‍ने होइन। तैपनि, मानिसहरू आफूलाई देखाइएको उपकार चिन्‍न सक्दैनन्, तिनीहरू सधैँ आफू मण्डलीको काम गर्न सक्षम छु, आफूले यो कुरा कडा परिश्रम र समर्पणद्वारा कमाएको हो भन्‍ने सोच्छन्। तिनीहरूसँग भएका सबै कुरा परमेश्‍वरले दिनुभएको हो। तिनीहरूले के कमाएका छन् र? के तिनीहरू आफ्नो उपलब्धिमा सन्तुष्ट छन्? परमेश्‍वर मानिसहरूलाई आफ्नो कर्तव्य गर्ने स्थानमा पुर्‍याउनुहुन्छ, तर तिनीहरू आफूलाई देखाइएको उपकार चिन्‍न सक्दैनन् वा आफ्ना लागि राम्रो कुरा के हो भनेर बुझ्न सक्दैनन्। तिनीहरू उहाँको भरोसा र उत्थानअनुरूप जिउँदैनन्। तिनीहरू उहाँको भरोसा र उत्थानलाई खेर फाल्छन्। यस्ता मामिलामा, मलाई यो भन्नमा खेद छ कि तिनीहरूलाई कडा दण्ड दिनैपर्छ। परमेश्‍वर मानिसहरूलाई अवसर दिनुहुन्छ तर तिनीहरूलाई आफ्ना लागि राम्रो के हुन्छ भन्‍ने कुरा थाहा हुँदैन, तिनीहरू परमेश्‍वरले आफूलाई दिने अवसरहरूको कदर गर्न जान्दैनन्। उहाँ तिनीहरूलाई मौका दिनुहुन्छ, तर तिनीहरू त्यो चाहँदैनन्। तिनीहरू परमेश्‍वरलाई नियन्त्रण गर्न सजिलो छ, उहाँ क्षमाशील हुनुहुन्छ, उहाँ के भइरहेको छ त्यो देख्नुहुन्‍न वा थाहा पाउनुहुन्‍न भन्‍ने सोच्छन्। फलस्वरूप, तिनीहरू बेइमानी ढङ्गले भेटी मास्ने आँट गर्छन्, परमेश्‍वरको भरोसा तोड्छन्, तिनीहरूमा सबैभन्दा आधारभूत मानव चरित्र र विवेकसमेत हुँदैन। तिनीहरू अझै केका लागि विश्‍वास गरिरहेका छन्? तिनीहरूले विश्‍वास गर्ने दुःख नगरे हुन्छ, शैतानलाई पुजे मात्र भइहाल्छ। परमेश्‍वरलाई तिनीहरूको उपासना चाहिँदैन। तिनीहरू योग्य छैनन्!

के हामीले करियर त्याग्नु—परोपकारी कार्यमा संलग्न नहुनु भन्‍ने पहिलो विषयमा लगभग मनग्गे सङ्गति गरिसकेका छैनौँ र? के तिमीहरूले यस विषयमा समावेश भएका सत्यता सिद्धान्तहरू बुझेका छौ? यहाँ सिद्धान्तहरू के-के छन्? (यहाँ परोपकारी कार्य गर्नु भनेको परमेश्‍वरले मानवजातिलाई दिएको लक्ष्य होइन भन्‍ने सिद्धान्तहरू छन्। यसको सत्यता अभ्यास वा मुक्ति पछ्याइसँग कुनै सम्बन्ध छैन। जब कुनै व्यक्तिले केही असल कार्य गर्छ, तब त्यसले उसको व्यक्तिगत व्यवहारलाई मात्र झल्काउँछ।) परोपकारी कार्यमा संलग्न हुनु सत्यता पछ्याइसँग सम्बन्धित छैन। परोपकारी कार्य गरेर तैँले सत्यता अभ्यास गरिरहेको हुन्छस् वा तँ मुक्ति पाएको व्यक्ति हुन्छस् भनेर गल्तीले पनि विश्‍वास नगर्। यो ठूलो गलतफहमी हो। सत्यता अभ्यासमा परोपकारी कार्य गर्नु समावेश छैन, न त परोपकारी कार्यमा संलग्न हुनु नै समावेश छ। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य मुक्ति प्राप्त गर्नु हो। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको पुण्य जम्मा गर्नु वा असल काम गर्नु होइन, यो असल कुरा वा लोकोपकारी कार्य गर्नमा रमाउनु होइन, न त यो परोपकारी कार्यमा संलग्न हुनु नै हो। परमेश्‍वरमा विश्‍वास गर्नु र परोपकारी कार्यमा संलग्न हुनुबीच कुनै सम्बन्ध छैन; यो त सत्यता पछ्याउने र परमेश्‍वरको मुक्ति स्विकार्ने कामसँग सम्बन्धित कुरा हो। त्यसैले, परमेश्‍वरप्रतिको विश्‍वास भनेको परोपकारी कार्य गर्नु वा परोपकारी कार्यमा संलग्न हुनु हो, वा परोपकारी कार्य गर्नु भनेको परमेश्‍वरलाई विश्‍वास गर्नु र सन्तुष्ट पार्नु सरह हो भन्‍ने मानिसहरूको विचार असाध्यै भ्रमित छन्। तँ जुनसुकै परोपकारी कार्यमा संलग्न भए पनि, र तैँले परोपकारी कार्यसँग सम्बन्धित जुनसुकै काम गरे पनि, त्यसले तँलाई व्यक्तिगत तवरमा मात्र प्रतिनिधित्व गर्छ। चाहे त्यो तैँले बेलाबेला गर्ने कार्य भए पनि वा तँ करियरको रूपमा संलग्न हुने कुरा भए पनि, त्यसले तेरो आफ्नो असल व्यवहारलाई मात्र झल्काउँछ। यो व्यवहार कुनै धर्म, सामाजिक व्यवहार वा नैतिक मापदण्डसँग सम्बन्धित होला, तर यो परमेश्‍वरमा विश्‍वास गर्नु र सत्यता पछ्याउनु वा परमेश्‍वरको मार्गमा हिँड्नुसँग पटक्कै सम्बन्धित छैन, अनि उहाँको मापदण्डसँग यसको फिटिक्कै सम्बन्ध छैन। तर त्यसोभए किन कुनै व्यक्तिले परोपकारी कार्य गर्नु हुँदैन त? परमेश्‍वर मानिसहरूलाई अनुकम्पा देखाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ, जोसँग अनुकम्पा र प्रेम छ। उहाँ मानवजातिलाई टिठ्याउनुहुन्छ, त्यसोभए परमेश्‍वर किन मानिसहरूको परोपकारी कार्यहरूको सम्झना गर्नुहुन्‍न? परमेश्‍वर किन परोपकारी कार्यलाई सम्झनलायक ठान्नुहुन्न? के यो समस्या होइन र? के मानिसहरूले परोपकारी कार्य गर्नु हुँदैन भनेर माग गर्नु भनेको परमेश्‍वर मानवजातिलाई प्रेम गर्नुहुन्‍न भन्‍ने सङ्केत हो? के यो कुरा परमेश्‍वरले मानवजातिलाई टिठ्याउने कामसँग बाझिँदैन र? (बाझिँदैन।) किन? (किनभने त्यसमा परमेश्‍वरको अनुकम्पा र प्रेमको सिद्धान्त छ अनि उहाँको अनुकम्पा र प्रेम विशेष व्यक्तिहरूप्रति निर्देशित छन्। उहाँ यो अनुकम्पा र प्रेम सत्यता स्विकार्ने, सत्यता अभ्यास गर्ने र साँचो पश्चात्ताप गर्नेहरूलाई दिनुहुन्छ। सत्यता स्विकार्न नसक्ने अविश्‍वासीहरूलाई चाहिँ परमेश्‍वर मुक्ति दिने अभिप्राय राख्नुहुन्‍न।) परमेश्‍वरको अनुकम्पा र प्रेमको सिद्धान्त छ, अनि उहाँको अनुकम्पा र प्रेम विशेष व्यक्तिहरूप्रति निर्देशित छन्। अझ, अरू के छ? के परोपकारी कार्यमा संलग्न हुनु र परमेश्‍वरमा विश्‍वास गर्नुबीच कुनै सम्बन्ध छ? (छैन।) त्यसोभए, के परोपकारी कार्यमा संलग्न हुनु र परमेश्‍वरमा विश्‍वास गर्नु आपसमा बाझिन्छ? के मानिसहरूले कुनै प्रकारको परोपकारी कार्यमा सहभागी हुँदा समय, शक्ति र पैसासमेत खर्च गर्नुपर्दैन र? जब तँ परोपकारी कार्यमा संलग्न हुन्छस्, तब तैँले यस कामलाई मनन वा विचार नगरी ओठे सेवा मात्र चढाउन मिल्दैन। यदि तँ यसलाई साँच्चै पेशाको रूपमा लिन्छस् भने, तैँले निश्चय नै समय, शक्ति र केही पैसासमेत लगाउनुपर्छ। तैँले समय, शक्ति र पैसा लगाइसकेपछि, के तँ आफूले गर्दै गरेको परोपकारी कामको बन्धन र नियन्त्रणमा पर्नेछैनस् र? के तँमा अझै सत्यता पछ्याउने शक्ति हुनेछ? के तँमा अझै आफ्नो कर्तव्य पूरा गर्ने शक्ति हुनेछ? (हुनेछैन।) जब तँ जीवनमा कुनै करियरको पछि लाग्छस्, तब तँ जुनसुकै करियरमा संलग्न भए पनि, यदि तँ पूर्णकालीन रूपमा त्यसमा समय खर्च गर्छस् भने, तैँले अन्ततः आफ्नो जीवनभरिको शक्ति र सम्पूर्ण जीवन लगाउनेछस् र त्याग गर्नेछस्। यसमा तेरो घर, तेरो भावना, तेरो देहसुख र समय बली चढ्नेछ। त्यसै गरी, यदि तँ परोपकारलाई साँच्चै पेशाको रूपमा लिन्छस् र त्यहीमुताबिक काम गर्छस् भने, तेरो सारा समय र शक्ति यसमा लाग्‍नेछ। कुनै पनि व्यक्तिसँग सीमित शक्ति हुन्छ। यदि तँ परोपकारी कार्यद्वारा नियन्त्रित भइस् अनि परोपकारी कार्य र परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास दुवैलाई समान र सन्तुलित ढङ्गमा ध्यान दिन चाहन्छस्, अनि त्यसबाहेक दुवै कुरालाई राम्ररी गर्न चाहन्छस् भने, यो काम सहज हुनेछैन। यदि तँ यी दुई कुरालाई एकै समय सन्तुलनमा राख्न चाहन्छस्, तर सक्दैनस् भने, तैँले छनौट गर्नुपर्नेछ। यदि तैँले कुन राख्ने र कुनचाहिँ छोड्ने भनेर निर्णय गर्नुपऱ्यो भने, कसरी निर्णय गर्नेछस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण र मूल्यवान् प्रयास गर्ने छनौट गर्नुपर्दैन र? त्यसोभए, यदि तेरो जीवनमा परमेश्‍वरमा विश्‍वास गर्नु र परोपकारी कार्यमा संलग्न हुनु, यी दुवै कुरा एकै समय देखा पऱ्यो भने, तैँले कुनचाहिँ छनौट गर्नुपर्छ? (मैले परमेश्‍वरमा विश्‍वास गर्नुलाई छनौट गर्नुपर्छ।) के धेरैजसो मानिस परमेश्‍वरमा विश्‍वास गर्नुलाई छनौट गर्दैनन् र? तिमीहरूले सबैले त्यही छनौट गरेको हेर्दा, के परमेश्‍वरले मानिसहरूलाई परोपकारी कार्यमा संलग्न हुन नदिनु एकदमै सामान्य कुरा होइन र? (हो।) परोपकारी कार्यमा संलग्न हुनुले धेरै जीवित प्राणीलाई मद्दत पुगेको छ र धेरै मानिसहरूको जीविका चलाएको छ, तर अन्त्यमा तैँले यसबाट के प्राप्त गर्नेछस्? तैँले आफ्नो अहमतालाई तृप्त पार्नेछस्। के यो साँच्चै केही प्राप्त गर्नु हो र के यो तैँले प्राप्त गर्नुपर्ने कुरा हो? तेरो लक्ष्य पूरा भएको हुनेछ, तेरो मूल्य देखिएको हुनेछ, त्यति हो—तर के यो तैँले जीवनमा हिँड्नुपर्ने मार्ग हो? (होइन।) तैँले अन्त्यमा यसबाट के प्राप्त गर्नेछस्? (रित्तोपन।) तैँले पटक्कै केही पनि प्राप्त गर्नेछैनस्। तेरो अहमता केही समयका लागि तृप्त हुनेछ, तैँले अरूबाट अलि प्रशंसा पाउनेछस्, वा समाजमा पदक र सम्मान पाउनेछस्, तर त्यति नै हो, अनि तेरो सारा शक्ति र समय प्रयोग भइसकेको हुनेछ। तैँले के पाएको हुनेछस्? सम्मान, राम्रो प्रतिष्ठा र प्रशंसा—यी सब खोक्रा कुरा हुन्। तर, मानिसहरूले बुझ्नुपर्ने सत्यता र यो जीवनमा हिँड्नुपर्ने जीवन मार्गलाई परोपकारी कार्यमा संलग्न भएर मात्र बुझ्न वा प्राप्त गर्न सकिँदैन। परमेश्‍वरमा विश्‍वास गर्नु फरक कुरा हो। यदि तँ सच्चा रूपले आफूलाई परमेश्‍वरमा खर्चिन्छस् र सत्यता पछ्याउँछस् भने, तैँले आफ्नो समय र शक्ति लगानी गर्दा राम्रो र सकारात्मक फल पाउनेछस्। यदि तँलाई मानिसहरूले सबैभन्दा बढी बुझ्नुपर्ने कुराहरू—मानिसहरू कसरी जिउनुपर्छ, तिनीहरूले कसरी परमेश्‍वरलाई उपासना गर्नुपर्छ, विभिन्‍न कुरालाई कसरी हेर्नुपर्छ, कार्य गर्दा तिनीहरूमा कस्ता दृष्टिकोण र अडान हुनुपर्छ, आफूलाई व्यवहारमा ढाल्ने सबैभन्दा सही तरिका के हो अनि सृष्टिकर्ताले सम्झना गर्ने तरिकाअनुसार, उचित मार्गमा हिँडेको अर्थमा कसरी आफूलाई व्यवहारमा ढाल्ने—भनेर थाहा छ र तँ ती कुरा बुझ्छस् भने, सही मार्ग यही हो र यो साँच्चै केही प्राप्त गर्नु हो। तैँले आफ्नो जीवनभित्र गैरविश्‍वासीहरूले सिक्न नसक्ने धेरै कुरा, मानवता हुने व्यक्तिमा हुनुपर्ने कुराहरू पाएको हुनेछस्। यी कुराहरू परमेश्‍वरबाट, सत्यताबाट आउँछन् र ती तेरो जीवन बनेको हुनेछन्। यसबाट तँ सत्यतालाई आफ्नो जीवनको रूपमा लिने व्यक्तिमा परिणत हुनेछस्; तेरो जीवन खोक्रो हुन छोड्नेछ, अनि तँ त्यसउपरान्त जिल्ल पर्ने वा डगमगाउनेछैनस्। के यी अझ उच्च र मूल्यवान् प्राप्ति होइनन् र? के यी क्षणिक रूपमा आफ्नो अमहमतालाई तृप्त पार्ने केही परोपकारी कार्य गर्नुभन्दा मूल्यवान् कुरा होइनन् र? (हुन्।) सत्यता समेटिएको यो प्राप्ति र मानिसहरू हिँड्नुपर्ने मार्गले तँलाई नयाँ जीवन दिनेछ। मानव संसारमा यो नयाँ जीवनसँग तुलना गर्न सकिने कुनै कुरा छैन र यसको ठाउँ कुनै कुराले लिन सक्दैन। अवश्य नै, यो नयाँ जीवन अनमोल र अनन्त छ। यो तैँले आफ्नो समय, शक्ति र युवावस्था समर्पित गरिसकेपछि, निश्चित मूल्य तिरिसकेपछि वा निश्चित त्यागहरू गरिसकेपछि प्राप्त गर्ने कुरा हो। के यो कुरा यति गर्नलायक छैन र? यो निश्चय नै गर्नलायक छ। तर यदि तँ परोपकारी कार्यमा संलग्न भइस् भने तैँले के प्राप्त गर्नेछस्? तैँले केही पनि प्राप्त गर्नेछैनस्। ती सम्मान र पदकहरू प्राप्ति होइनन्। अरूको अनुमोदन र पुष्टि, तँ असल व्यक्ति वा महान् लोकोपकारी होस् भन्‍ने अरूको भनाइ—के यी कुरालाई प्राप्ति मान्‍न सकिन्छ? (सकिँदैन।) यी सबै अस्थायी कुरा हुन्, अनि ती समयसँगै नामेट भएर जानेछन्। जब तँ यी कुराहरूलाई पक्रिराख्न सक्दैनस्, जब तँ ती कुराको अनुभूति गर्न छोड्छस्, तब तँ पछुतोले भरिनेछस् र भन्‍नेछस्, “मैले आफ्नो जीवनमा के गरेको छु र? मैले केही बिराला र कुकुरको देखभाल गरेको छु, केही अनाथलाई पालेको छु, कतिपय गरिब मानिसलाई राम्रोसँग जिउन, राम्रो खान र राम्रो लाउन सहयोग गरेको छु, तर आफूबारे चाहिँ के? म केका लागि जिएको छु? के म तिनीहरूका लागि मात्र जिउन सम्भव छ? के त्यो मेरो लक्ष्य हो? के स्वर्गले मलाई सुम्पेको जिम्मेवारी यही हो? के स्वर्गले मलाई दिएको दायित्व यही हो? निश्चय नै होइन। त्यसोभए, कुनै व्यक्ति यो जीवन केका लागि जिउँछन्? मानिसहरू कहाँबाट आउँछन् र भविष्यमा कहाँ जान्छन्? यी सबैभन्दा आधारभूत मामिलाहरूलाई म बुझ्दिनँ।” त्यसैले, जब तँ यस चरणमा पुग्छस्, तब तँलाई ती सम्मानहरू प्राप्ति होइनन् र ती त बाहिरी कुरा मात्र हुन् भन्‍ने महसुस हुनेछ। यस्तो किन हुन्छ भने, यदि तँ परोपकारी कार्यमा संलग्न नभएको भए पनि, वा आजको दिनसम्म परोपकारी कार्य गर्दै ती सबै प्रशंसा र सम्मान बटुल्दै बसिरहेको भए पनि—दुवै अवस्थामा तेरो आन्तरिक जीवन परिवर्तन भएको हुनेछैन। तैँले नबुझ्ने कुराहरू तेरा लागि अझै पनि अनजान नै हुनेछन्, र तँ अझै पनि जिल्ल पर्नेछस् र अचम्मित हुनेछस्। अनि त्यसबेला, तँ अझ अचम्मित हुने र अन्योलमा पर्ने मात्र होइन, तर झन् असहज महसुस पनि गर्नेछस्। यस बिन्दुमा, पछुतो गर्न अति ढिलो भइसकेको हुनेछ। तेरो जीवन बितिसकेको हुनेछ, तेरो सर्वोत्तम समय गइसकेको हुनेछ र तैँले गलत मार्ग रोजेको हुनेछस्। तसर्थ, तैँले परोपकारी कार्यमा संलग्न हुने निर्णय गर्नुअघि वा जब तैँले परोपकारी कार्य गर्न सुरु गरेको मात्र हुन्छस्, यदि तँ सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने इच्छा गर्छस् भने, तैँले यस्ता विचारहरू त्याग्नुपर्छ। अवश्य नै, तैँले यस कार्यसँग सम्बन्धित सबै क्रियाकलाप पनि त्याग्नुपर्छ अनि आफूलाई परमेश्‍वरमा विश्‍वास गर्ने र मुक्ति पछ्याउने मार्गमा मनैदेखि हिँडाउनुपर्छ। अन्त्यमा, तैँले प्राप्त गर्ने कुरा आफूले सुरुमा कल्पना गरे जत्तिको वा वास्तविक नभए पनि, कम्तीमा पनि तँलाई पछुतोचाहिँ हुनेछैन। तैँले जति नै थोरै प्राप्त गरे पनि, त्यो प्रभुमा विश्‍वास गरेर धर्ममा आफ्नो सारा जीवन बिताउनेहरूले प्राप्त गर्नेभन्दा धेरै हुनेछ। त्यो वास्तविकता हो। तसर्थ, करियर छान्दा, एकातर्फ मानिसहरूले परोपकारी कार्यमा संलग्न हुने आफ्नो विचार र योजना त्याग्नुपर्छ। अर्कोतर्फ, तिनीहरूले आफ्नो सोचसम्बन्धी धारणालाई पनि सच्याउनुपर्छ। तिनीहरूले परोपकारी कार्यमा संलग्न हुने वा “हेर त, तिनीहरू अरू मानिसलाई सहयोग गर्दा कति उच्च र निःस्वार्थ कार्य गर्छन्। हामीचाहिँ किन निःस्वार्थी हुन सक्दैनौँ?” भन्दै समाजमा आफूलाई निकै परोपकारी, महान्, उच्च र निःस्वार्थ ठान्‍ने मानिसहरूको ईर्ष्या गर्नुपर्दैन। पहिलो कुरो, तैँले तिनीहरूको ईर्ष्या गर्नु पर्दैन। दोस्रो, तैँले आफूलाई धिक्कार्नु पर्दैन। यदि परमेश्‍वरले तिनीहरूलाई चुन्‍नुभएको छैन भने, तिनीहरूको आफ्नै लक्ष्य र पछ्याइहरू हुन्छन्। तिनीहरूले जे पछ्याए पनि, चाहे त्यो ख्याति होस् वा फाइदा वा आफ्नो विचार र चाहना साकार पार्नु होस्, तैँले त्यसमा चिन्ता लिनु पर्दैन। तैँले चिन्ता लिनुपर्ने कुरा त आफूले के पछ्याउनुपर्छ र कस्तो मार्ग लिनुपर्छ भन्‍ने हो। सबैभन्दा व्यावहारिक कुरा भनेको के हो भने, परमेश्‍वरले तँलाई चुन्‍नुभएकाले र तँ परमेश्‍वरको घरमा आएकाले अनि तँ मण्डलीको सदस्य भएको हुनाले अनि त्यसबाहेक तँ आफ्नो कर्तव्य निर्वाह गर्नेको दर्जामा पर्ने भएकाले, तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा मुक्तिको मार्गमा कसरी हिँड्ने, कसरी सत्यता अभ्यास गर्ने, सत्यता वास्तविकतामा कसरी प्रवेश गर्ने अनि कसरी आफ्नो पछ्याइ र आफूले चुकाउने विभिन्‍न मूल्यद्वारा परमेश्‍वरको वचन तँभित्र पस्छ र त्यो तेरो जीवन बन्छ भन्‍ने बिन्दुसम्म पुग्‍ने भनेर मनन गर्नुपर्छ। निकट भविष्यमा, जब तँ आफूले सुरुमा परमेश्‍वरमा विश्‍वास गर्दाको अवस्थालाई फर्केर हेर्छस्, तब तैँले आफ्नो आन्तरिक जीवन परिवर्तन भएको पाउनेछस्। तँ आफ्नो जीवन भ्रष्ट स्वभावमा आधारित भएको व्यक्ति बन्‍न छोड्नेछस्। तँ उप्रान्त पहिलेजस्तो आफूलाई कोहीभन्दा कम नठान्‍ने अहङ्कारी, अज्ञानी, आक्रामक र मूर्ख व्यक्ति हुनेछैनस्। बरु, परमेश्‍वरको वचन तेरो नयाँ जीवन बनेको हुनेछ। तँलाई परमेश्‍वरको मार्ग कसरी पछ्याउने र आफूलाई जीवनमा आइपर्ने हर कुरा परमेश्‍वरका अभिप्रायअनुसार र सत्यता सिद्धान्तअनुरूप कसरी सम्हाल्ने भनेर थाहा हुनेछ। तैँले हरेक दिन स्थिरताका साथ बिताउनेछस् अनि आफूले गर्ने हरेक कुरामा ठिक उद्देश्य र दिशा पाउनेछस्। तँलाई आफूले के गर्नुपर्छ र के गर्नु हुँदैन भन्‍ने थाहा हुनेछ। यी सबै कुरा तेरो मनमा ऐनामा हेरे जत्तिकै छर्लङ्ग हुनेछ। तेरो दैनिक जीवन दिग्भ्रमित, थकाइलाग्दो वा निराशाजनक हुनेछैन। त्यसको साटो, त्यो जीवन ज्योतिले भरिनेछ, यसले उद्देश्य र दिशा पाउनेछ। त्यससँगै, तँलाई हृदयदेखि नै जोसजाँगर चल्नेछ। तँलाई आफू परिवर्तन भएको, आफूले नयाँ जीवन पाएको र आफू परमेश्‍वरको वचनलाई आफ्नो जीवन बनाउने व्यक्ति बनेको महसुस हुनेछ। के यो राम्रो होइन र? (हो।) हामी परोपकारी कार्यमा संलग्न नहुनेसम्बन्धी हाम्रो सङ्गति यहीँ टुङ्ग्याउनेछौँ, जुन करियर त्याग्नु भन्‍ने विषयभित्र पहिलो सिद्धान्त हो।

आफ्नो करियर त्याग्नु भन्‍ने विषयको दोस्रो सिद्धान्त के हो? खान र लाउन पाउनमा सन्तुष्ट हुनु। मानिसहरू समाजमा बाँच्नका लागि विभिन्‍न प्रकारका श्रम वा कामकाजमा संलग्‍न भएर आफ्नो जीविका चलाउँदै आफ्नो दैनिक भोजन र जिउने खर्चको स्रोत र सुरक्षा सुनिश्चित गर्छन्। परिणामस्वरूप, तिनीहरू निम्नवर्गीय भए पनि वा अलि उच्चवर्गीय भए पनि, विभिन्‍न पेशा अपनाएर आफ्नो जीविका चलाउँछन्। तिनीहरूको उद्देश्य जीविका चलाउनु भएको हुनाले, कुरा स्पष्ट छ: बस्ने ठाउँ हुनु, दिनको तीन छाक खानु, मासु खान मन लागेमा बेलाबेला त्यसको जोहो गर्नु, नियमित काममा जानु, आयआर्जन गर्नु, झुत्रेझाम्रे हुन नपर्नु वा यथेष्ट आहार प्राप्त गर्न सक्नु—त्यति भए पुग्छ। ती कुरा मानिसको जीवनका आधारभूत आवश्यकता हुन्। तिनीहरूले यी आधारभूत आवश्यकता हासिल गरेपछि खान र लाउन पुऱ्याउनु तुलनात्मक रूपमा सजिलो हुँदैन र? के यो तिनीहरूको क्षमताको दायराभित्र पर्दैन र? (पर्छ।) त्यसैले, यदि व्यक्तिको करियरको प्रकृति खानेकुरा र लुगाफाटाका लागि, आफ्नो जीविकाका लागि मात्र हो भने, ऊ जुनै करियरमा संलग्‍न भए पनि, यदि त्यो वैध छ भने, सामान्यतया मानवत्वको मानकसँग मेल खानेछ। किन म त्यो मानवत्वको मानकसँग मेल खान्छ भनेर भन्छु? किनभने तँ यस पेशामा संलग्‍न हुनुपछाडिको मनसाय, अभिप्राय र उद्देश्य जीविका चलाउनुबाहेक अरू कुनै मामिला वा विचारसँग सम्बन्धित छैन—यो नितान्त मनग्गे खान, प्रशस्त न्यानो लुगा लगाउन र आफ्नो परिवारको पालनपोषण गर्न सक्नका लागि हो। के त्यसै होइन? (हो।) यी आधारभूत आवश्यकता हुन्। मानिसहरूले यी आधारभूत आवश्यकताहरू जुटाइसकेपछि आधारभूत स्तरको जीवन जिउलान्। जब तिनीहरूले यो प्राप्त गर्न सक्छन्, तब सामान्य जीवन धान्‍न सक्छन्। के व्यक्तिले सामान्य जीवन धान्‍न सक्नका लागि यति भए पुग्दैन र? के मानिसहरूले मानवत्वको दायराभित्र हासिल गर्नुपर्ने कुरा यही होइन? (हो।) तेरो जीवनका लागि तँ नै जिम्मेवार हुन्छस्, तैँले यसको बोझ बोक्छस्—यो सामान्य मानवत्वको आवश्यक प्रकटीकरण हो। यो प्राप्त गर्नु तेरा लागि पर्याप्त र उचित हुन्छ। तर यदि तँ सन्तुष्ट हुँदैनस् भने, सामान्य व्यक्तिले हप्ताको एक वा दुई पटक मासु खाँदा, तँचाहिँ हरेक दिन खाने र अधिक मात्रामा उबार्ने जिद्दी गर्छस्। उदाहरणका लागि, राम्रो शारीरिक स्वास्थ्य कायम राख्न सय ग्राम जति मासु खाए पुग्ने भए पनि, यदि तँ दैनिक आधा पाउ वा एक पाउ मासु खन्छस् भने, यो अतिरिक्त पोषणले तँलाई बिरामी पार्न सक्छ। केले गर्दा कलेजोमा बोसो जम्ने, उच्च रक्तचाप हुने र कोलेस्ट्रोल बढ्ने गर्छ? (अत्यधिक मासु खानाले।) अत्यधिक मासु खानाले कस्तो समस्या हुन्छ? के यो आफ्नो खानामा नियन्त्रण नहुनुले गर्दा हुने होइन र? के यो खन्चुवापनले गर्दा हुने होइन र? (हो।) यो खन्चुवापन कसरी हुन्छ? के यो अत्यधिक भोकले गर्दा हुँदैन र? के अत्यधिक भोक र खन्चुवापन सामान्य मानवताको आवश्यकताअनुरूप छन्? (छैनन्।) तिनले सामान्य मानवताका आवश्यकताहरूलाई पार गर्छन्। यदि तँ निरन्तर सामान्य मानवताका आवश्यकताहरू पार गर्न चाहन्छस् भने, यसको अर्थ तैँले अझ धेरै काम गर्नुपर्नेछ, अझ धेरै पैसा कमाउनुपर्नेछ र सामान्य मानिसहरूले भन्दा कैयौँ गुणा काम गर्नुपर्नेछ। तैँले ओभरटाइम गरेर वा धेरै ठाउँ काम गरेर दिनको तीन पटक र आफूलाई इच्छा लागेको बेला मासु खान अझ धेरै पैसा कमाउनुपर्नेछ। के यसले सामान्य मानवताको दायरा नाघ्दैन र? के सामान्य मानवताको दायरा नाघ्नु राम्रो हो? (होइन।) किन यो राम्रो होइन? (एकातर्फ, मानिसहरूको शरीरलाई रोगव्याध लाग्ने गर्छ; अर्कोतर्फ, मानिसहरूले आफ्नो चाहना पूरा गर्न र भोक मेटाउन काममा अझ धेरै समय, शक्ति र प्रयास लगाउनुपर्छ। यसले सत्यता पछ्याउन र आफ्नो कर्तव्य पूरा गर्न प्रयोग गर्न सकिने तिनीहरूको समय र शक्ति खाइदिन्छ, जसले तिनीहरू परमेश्‍वरप्रतिको विश्‍वासको मार्गमा हिँड्ने र सत्यता पछ्याउने तरिकालाई असर गर्छ।) मानिसहरू आधारभूत आवश्यकताहरू पाएकोमा, भोको वा नाङ्गो नभएकोमा, अनि सामान्य मानवतालाई चाहिने खानेकुरा र लुगाफाटा पाएकोमा सन्तुष्ट हुनुपर्छ। तैँले सामान्य शारीरिक पोषणका लागि चाहिने पर्याप्त पैसा कमाउनुपर्छ। त्यति भए पुग्छ, सामान्य मानवता भएका मानिसहरूको जीवन यस्तै हुनुपर्छ। यदि तँ सधैँ देहसुखको लालसा गर्छस्, आफ्नो शारीरिक स्वास्थ्यलाई विचार नगरी देहगत भोक मेटाउँछस् र सही मार्गलाई बेवास्ता गर्छस् भने; यदि तँ सधैँ राम्रो खानेकुरा खान, असल कुराहरू उपभोग गर्न, राम्रो जिउने परिवेश र गुणस्तरीय जीवन पाउन चाहन्छस्, दुर्लभ स्वादिष्ठ खानेकुरा खान, ब्रान्डेड लुगा र सुनचाँदीको गरगहना लगाउन, महलमा बस्न, विलासी गाडी चढ्न चाहन्छस् भने—यदि तँ निरन्तर यसको पछि लाग्‍न चाहन्छस् भने, तैँले कस्तो पेशा अपनाउनुपर्छ? यदि तँ आफ्नो आधारभूत आवश्यकता पूरा गर्न अनि खानेकुरा र लुगाफाटा जुटाउन साधारण कामकाज मात्र गर्छस् भने, के त्यसले यी सबै चाहना पूरा गर्न सक्छ? (सक्दैन।) निश्चय नै सक्दैन। उदाहरणका लागि, यदि तँ व्यापार गर्न चाहन्छस्, र एउटा सानो पसलको व्यापारले नै तेरो परिवारलाई खान र लाउन पुग्‍न सक्छ भने, तँसँग आफूमाथिकाहरूको भन्दा कम होला, तर आफूमुनिकाहरूको भन्दा निकै बेसी हुन्छ। तँलाई बेलाबेला मासु खान पुग्छ, अनि तेरो पूरै परिवारलाई राम्ररी लाउन पुग्छ। तैँले बाँकी समय परमेश्‍वरमा विश्‍वास गर्न, भेलामा जान र आफ्नो कर्तव्य पूरा गर्न प्रयोग गर्न सक्छस्, र तँसँग अझै पनि सत्यता पछ्याउने शक्ति हुन सक्छ। यति भए पुग्छ। किनभने तैँले आफ्नो जीवनले ग्यारेन्टी पाएको आधारमा यस पेशामा संलग्‍न हुँदै गर्दा परमेश्‍वरप्रतिको विश्‍वास र सत्यता पछ्याउन समय र शक्ति निकाल्न सक्नेछस्। यो परमेश्‍वरका अभिप्रायअनुरूप हुन्छ। तर, यदि तँ कहिल्यै सन्तुष्ट हुँदैनस् भने, सधैँ यसो भन्‍नेछस्, “यो व्यापारले सम्भावना बोकेको छ। म एउटा मात्र पसल चलाएर त यति पैसा कमाउन सक्छु। यसबाट मेरो परिवारलाई खान र लाउन पुग्‍न सक्छ। यदि मैले दुइटा पसल थापेँ भने, मेरो कमाइ दोब्बर हुन सक्छ। मेरो परिवारलाई खान र लाउन पुग्‍न सक्ने मात्र होइन, हामी केही पैसा बचाउन पनि सक्छौँ। हामी आफूलाई जे मन लाग्छ त्यो खान सक्छौँ अनि घुम्न जान र विलासिताको सरसामानसमेत किन्‍न सक्छौँ। हामी धेरैजसो मानिसले प्राप्त गर्न नसक्ने चीजहरू खान र उपभोग गर्न सक्छौँ। त्यो एकदमै राम्रो हुनेछ। म अर्को पसल थप्छु!” अर्को पसल थपेपछि तँ अझ धनी हुन्छस्; तँलाई मुनाफा कमाउने स्वाद पर्छ र सोच्छस्, “यो बजार निकै ठूलो छ जस्तो देखिन्छ। म अर्को पनि पसल थपेर व्यापार अझै बढाउन सक्छु, र विभिन्‍न सरसामान ल्याएर त्यसलाई थप विस्तार गर्न सक्छु। म पैसा बचाउन मात्र होइन, गाडी किन्‍न र अझ ठूलो घर किन्न पनि सक्छु। मेरो पूरै परिवार देश-विदेशको यात्रा गर्न सक्छन्!” तँ यसबारे जति धेरै सोच्छस्, उति नै त्यो आकर्षक लाग्छ। यस मोडमा, तँ अर्को पसल थप्न तम्सिन्छस्। व्यापार झन्-झन् बढ्दै जान्छ, तैँले झन्-झन् धेरै पैसा कमाउँदै जान्छस्, तेरो आनन्द बढ्दै जान्छ, तर तँ झन्-झन् कम भेलाहरूमा जान्छस्, हप्ताको एक चोटिबाट महिनाको दुई चोटि वा महिनाको एक चोटि गर्दै अन्त्यमा छ महिनामा एक चोटि जान्छस्। तँ मनमनै सोच्छस्, “मेरो व्यापार बढेको छ, मैले धेरै पैसा कमाएको छु, म परमेश्‍वरको घरको काममा सघाउँछु र धेरै भेटी चढाउँछु।” तँ मर्सिडिज चढ्छस्, तेरी श्रीमती र छोराछोरी सुन र हिरामोतीको गरगहनाले सिँगारिन्छन्, शिरदेखि पाउसम्म ब्रान्डेड लुगा र जुत्ता लगाउँछन्, र तैँले विदेश भ्रमणसमेत गरेको हुन्छस्। तँ सोच्छस्, “पैसा छ भने ऐसा हुन्छ! यदि मलाई पैसा कमाउनु यति सजिलो हुन्छ भनेर थाहा भएको भए, किन मैले अलि अघि नै पैसा कमाउन थालिनँ? पैसा छ भने ऐसा हुन्छ! धनी व्यक्तिको दिन यस्तो ऐसआराम र सुखचैनमा बित्छ! स्वादिष्ट भोजन खाँदा, मलाई त्यसको स्वाद लाजबाब लाग्छ। ब्रान्डेड लुगा लगाउँदा म प्रफुल्लित हुन्छु अनि जहाँ जान्छु, त्यहाँ मलाई अरूले ईर्ष्यालु नजरले हेर्छन्। मैले मानिसहरूको आदर र प्रशंसा पाएको छु, अनि मलाई आफू असाधारण लाग्छ, मेरो छाती अलि चौडा भएझैँ लाग्छ।” तेरा देहगत चाहनाहरू पूरा भएका हुन्छन्, साथै तेरो अभिमान तृप्त भएको हुन्छ। तर परमेश्‍वरको वचनको पुस्तकमा झन्-झन् धेरै धूलो जम्दै जान्छ, तैँले त्यो नपढेको धेरै भइसकेको हुन्छ, अनि परमेश्‍वरप्रति तेरो प्रार्थना झन् छोटो भएको हुन्छ। भेला अर्कै ठाउँमा सरिसकेको हुन्छ, तर तँलाई अहिले त्यो कहाँ सञ्चालन हुँदैछ भन्‍नेसमेत थाहा हुँदैन। तैँले मण्डलीलाई कहिलेकाहीँ समेत रिपोर्ट गर्दैनस्। ल भन् त, यो मुक्तिको निकट हुँदै गएको हो कि टाढा हुँदै गएको? (टाढा हुँदै गएको हो।) तेरो जीवनको गुणस्तर बढिरहेको हुन्छ, तेरो शरीरले प्रशस्त खान पाउँछ, अनि तँ अझ विशिष्ट बनेको हुन्छस्। विगतमा, तैँले आठ वर्षमा वा दस वर्षमा एकचोटिसमेत स्वास्थ्य जाँच गर्दैनथिइस्, तर अहिले तँ धनी भइसकेपछि भने, कतै आफूलाई उच्च रक्तचाप भयो कि, शरीरमा चिनीको मात्रा बढ्यो कि वा कोलेस्ट्रोल धेरै भयो कि भनेर हेर्न छ-छ महिनामा स्वास्थ्य जाँच गराउँछस्। तँ भन्छस्, “आफ्नो शरीरको ख्याल राख्नैपर्छ। भनाइ नै छ, ‘केही बन्‍नु छ भने, बिरामीचाहिँ नबन्। केही बन्‍नु छैन भने, गरिबचाहिँ नबन्।’” तेरो सोच र दृष्टिकोण बदलेको हुन्छ, होइन र? अब तँ धनी व्यक्ति भएकाले र बिलकुलै साधारण व्यक्ति नरहेकाले, तँलाई आफू मूल्यवान् छु, आफ्नो पहिचान आदरणीय छ भन्‍ने लाग्छ र तँ आफ्नो शरीरलाई झनै अनमोल ठान्छस्। जीवनप्रतिको तेरो मनोवृत्ति पनि बदलेको हुन्छ। पहिले, तँ स्वास्थ्य जाँच गर्ने कष्ट उठाउँदैनथिइस्, र सोच्थिस्, “हामी गरिब मान्छेले त्यसको चिन्ता लिनु पर्दैन। मैले किन जाँच गर्ने र? यदि म सिकिस्त बिरामी परेँ भने, त्यसै पनि उपचार खर्च उठाउन सक्दिनँ। म सहेर नै बस्नेछु, अनि यदि सहन सकिनँ भने, यो देह मरेर जाला। यो ठूलो कुरा होइन।” तर अहिले अवस्था फरक छ। तँ भन्छस्, “मान्छे बिमारी बोकेर जिउनु हुँदैन। यदि ऊ बिरामी भयो भने, उसले कमाएको पैसा कसले खर्च गर्छ? उसले जीवनको मजा लिन सक्नेछैन। जीवन छोटो छ!” यो फरक कुरा हो, होइन र? पैसा, देहगत जीवन र सुखचैनप्रतिको तेरो मनोवृत्ति सबै बदलेको हुन्छ। त्यसै गरी, परमेश्‍वरप्रतिको विश्‍वास, सत्यता पछ्याइ र मुक्ति प्राप्तिप्रतिको तेरो मनोवृत्ति पनि उदासीन बन्दै गएको हुन्छ।

कुनै व्यक्ति खान र लाउन पाउनमा सन्तुष्ट नहुने मार्गमा हिँड्न थालेपछि, उच्च गुणस्तरीय जीवन र अझ राम्रा कुराहरू उपभोग गर्नुको पछि लाग्नेछ। यो खतराको सङ्केत हो, यो प्रलोभनमा पर्नु हो, यसले समस्या निम्त्याउनेछ, र यो अपशकुन हो। कुनै व्यक्तिले धनसम्पत्तिको स्वाद चाखेपछि र अनुभव गरेपछि, एक दिन आफ्नो रुपियाँ-पैसा गुम्ला र गरिब होइएला भनी चिन्ता गर्न थाल्छ। फलस्वरूप, उसले विशेष गरी अहिले पैसा हुँदाको क्षणको कदर गर्छ अनि वैभवशाली हुनुको स्थिति र हैसियतलाई महत्त्व दिन्छ। तैँले प्रायः गैरविश्‍वासीहरूले यसो भन्‍ने गरेको सुन्छस्, “दुःखपछि सुख सजिलो हुन्छ, सुखपछि दुःख सजिलो हुँदैन।” यसको अर्थ हो, तँसँग केही पनि नहुँदा, तँलाई त्यो त्याग्‍न लगाउँदा कुनै आपत्ति हुँदैन; तँ त्यो तुरुन्तै त्याग्‍न सक्छस् किनभने अँठ्याइराख्न लायक कुनै कुरा हुँदैन। यी रुपियाँ-पैसा र भौतिक सर-सम्पत्ति तेरा लागि अड्चन बन्दैनन्, र तँलाई ती त्याग्‍न सजिलो हुन्छ। तर तैँले यी कुरा प्राप्त गरिसकेपछि भने, तँलाई ती त्याग्‍न गाह्रो हुन्छ, स्वर्गमा उक्लनुभन्दा पनि गाह्रो हुन्छ। यदि तँ गरिब छस् भने, आफ्नो घर छोडेर कर्तव्य पूरा गर्ने समय आउँदा, सजिलै घर छोडेर निस्कन सक्छस्। तर, यदि तँ धनी व्यक्ति होस् भने, तेरो दिमाग सोचले भरिन्छ र तँ यसो भन्छस्, “ओहो, मेरो घरको मूल्य करोडौँ छ, मेरो गाडी पाँच करोडको हो। साथै, अचल सम्पत्ति, ब्याङ्क ब्यालेन्स, शेयर, कोष, लगानी र अन्य कुरा थप्दा लगभग दस अरब रुपियाँ हुन आउँछ। यदि मैले घर छोडेर जानुपऱ्यो भने, यो सब कसरी साथमा लिएर जाने?” तँलाई यी भौतिक सर-सम्पत्ति त्याग्न सजिलो हुँदैन। तँ सोच्छस्, “यदि मैले यी सब कुरा त्यागेँ अनि यो घर र आफ्नो वर्तमान परिवारलाई छोडेँ भने, भविष्यमा म बसोबास गर्ने ठाउँको अवस्था यस्तै हुनेछ? के म माटोको झोपडी वा परालको छाप्रोमा बस्न सकूँला? के म गाई गोठको दुर्गन्ध सहन सकूँला? अहिले, म हरेक दिन तातो पानीले नुहाउन सक्छु। के म वर्षको एकचोटि पनि तातो पानीले नुहाउन नपाइने ठाउँमा बस्न सकूँला?” तेरा सोचहरू बढ्दै जान्छन्, र तँलाई असह्य हुन्छ। तँ आफूसँग पैसा हुँदा, चीजबीज किन्‍न मज्जाले खर्च गर्छस्, आफूलाई जे मन पऱ्यो त्यो निःसङ्कोच किन्छस्, तँ विशेष गरी उदार हुन्छस् र पैसामा कहिल्यै पछि पर्दैनस्। तर यदि तैँले यो सब त्याग्नुपरेको भए, तँलाई आफ्नो खल्ती छाम्दैपिच्छे लाज लाग्नेथ्यो, तैँले त्यसमा एक सुको छैन भने के होला भनी सोच्नेथिइस्। यदि तैँले एक कचौरा तातो थुक्पा खान चाहेको भए, कुनचाहिँ रेस्टुरेन्ट सस्तो छ र आफूसँग भएको पैसाले अझ कति छाक खान पुग्छ भनी हिसाब लगाउनुपर्नेथ्यो। तैँले धौधौ गरेर चल्नुपर्नेथ्यो, गरिब व्यक्तिको जीवन जिउनुपर्नेथ्यो। के तँ त्यो सहन सक्थिस्? पहिले, यदि तैँले एउटा कपडा दुई पटक धुँदा त्यो खुम्चियो वा तन्कियो र त्यसलाई लगाउन लाज लाग्यो भने, त्यो मिल्काएर नयाँ कपडा किन्थिस्। अहिले, तँ एउटै टिशर्ट बारम्बार धुन्छस् र लाउँछस्, अनि कलर फाट्यो भने पनि त्यसलाई फाल्न सक्दैनस्। त्यसलाई सिलाएर फेरि लगाइरहन्छस्। के तँ त्यो सहन सक्थिस्? तँ जहाँ गए पनि मानिसहरूले तँलाई गरिब देख्नेथिए, तँसँग कुराकानी गर्न रुचाउनेथिएनन्। तैँले किनमेल गर्न जाँदा र चीजबीजको दाम सोध्दा, तँलाई कसैले ध्यान दिनेथिएनन्। के तँ त्यो सहन सक्थिस्? यो सजिलो लाग्ने कुरा होइन, हो त? तर यदि तँसँग यी रुपियाँ-पैसा र भौतिक सम्पत्ति नभएको भए, तैँले ती त्याग्नुपर्ने थिएन, र यो चुनौती सामना गर्नुपर्ने थिएन। तँलाई हर कुरा त्याग्‍न र सत्यता पछ्याउन निकै सजिलो हुनेथियो। तसर्थ, परमेश्‍वरले मानिसहरूलाई धेरैअघि नै खान र लाउन पाउनमा सन्तुष्ट हुनुपर्छ भन्‍नुभएको छ। तँ जुनै पेशामा संलग्‍न भए पनि, त्यसलाई करियरको रूपमा नले, र त्यसलाई प्रतिष्ठा कमाउने वा सम्पत्ति आर्जन गरेर आरामदायी जीवन बिताउने खुड्किलो वा माध्यमका रूपमा नहेर्। तँ जुनै काम वा पेशामा संलग्‍न भए पनि, त्यसलाई आफ्नो जीवन धान्‍ने माध्यमका रूपमा हेरे पुग्छ। यदि त्यसले तेरो जीविका चल्न सक्छ भने, तैँले कहिले रोकिनुपर्छ र कहिले सम्पत्तिको पछि लाग्न छोड्नुपर्छ भनेर जान्‍नुपर्छ। यदि तैँले २० हजार रुपियाँ कमाएर दिनको तीन छाक खान र जीवनका आधारभूत आवश्यकताहरू पूरा गर्न पुग्छ भने, त्यहीँ नै रोकिनुपर्छ र आफ्नो कामकाजको दायरा बढाउने प्रयास गर्नु हुँदैन। यदि तँलाई कुनै विशेष कुराको आवश्यकता छ भने, तैँले गर्जो टार्न थप पार्टटाइम काम गर्न वा अस्थायी जागिर खान सक्छस्—त्यो स्वीकार्य हुन्छ। मानिसहरूका लागि परमेश्‍वरको मापदण्ड यो हो: तँ जुनै पेशामा संलग्‍न भए पनि, त्यसमा ज्ञान वा कुनै प्राविधिक सीप समावेश भए पनि, वा यसका लागि कुनै शारीरिक श्रम चाहिए पनि, यदि यो उचित र वैध छ, यो तेरो क्षमताभित्र छ, र यो पेशाले तेरो जीविका चल्न सक्छ भने, त्यो पर्याप्त हुन्छ। आफू संलग्‍न भएको पेशालाई आफ्नो आदर्श र चाहना पूरा गर्दै आफ्नो देहगत जीवनलाई सन्तुष्ट पार्ने खुड्किलोमा परिणत नगर्, त्यसो गर्दा तँ प्रलोभन वा दलदलमा फस्छस् वा फर्कन नसक्ने मार्गमा आफूलाई धकेल्छस्। यदि आफ्नो व्यक्तिगत जीवन वा परिवारको जीवन धान्‍न मासिक २० हजार रुपियाँ कमाउनु पर्याप्त हुन्छ भने, तैँले त्यो जागिरलाई निरन्तरता दिनुपर्छ र बाँकी समय परमेश्‍वरप्रतिको विश्‍वास अभ्यास गर्न, सभाहरू धाउन, आफ्नो कर्तव्य पूरा गर्न र सत्यता पछ्याउनमा प्रयोग गर्नुपर्छ। यो तेरो मिसन, विश्‍वासीको जीवनको मूल्य र अर्थ हो। अनि तँ संलग्‍न हुने कुनै पनि पेशा भनेको सामान्य मानव जीवनका आधारभूत शारीरिक आवश्यकताहरू पूरा गर्नका लागि मात्र हो। परमेश्‍वरले तैँले प्रतिष्ठा कमाएको, तँ विशिष्ट बनेको वा तैँले आफ्नो पेशामा नाम कमाएको माग गर्नुहुनेछैन। यदि तेरो पेशा वैज्ञानिक अनुसन्धानसँग सम्बन्धित छ भने, यसका लागि तेरो धेरै शक्ति खर्च हुन्छ, तर अभ्यासको सिद्धान्त परिवर्तन हुँदैन—खान र लाउन पाउनमा सन्तुष्ट हुनु। यदि तैँले आफ्नो पेशामा आफ्नो क्षमताका आधारमा बढुवा हुने वा यथेष्ट कमाइ गर्ने मौका पाउँछस् र यो कमाइले खान र लाउन पाउनमा सन्तुष्ट हुनु भन्‍ने सिद्धान्तको सीमा नाघ्छ भने, तैँले के छनौट गर्नुपर्छ? (त्यो मौका त्याग्ने छनौट गर्नुपर्छ।) परमेश्‍वरले चेतावनी दिनुभएको कुरा नै तैँले पालन गर्नुपर्ने सिद्धान्त हो—खान र लाउन पाउनमा सन्तुष्ट हुनु। तँ जुनै पेशामा संलग्‍न भए पनि, यदि त्यसले खान र लाउन पाउनमा सन्तुष्ट हुनुको दायरा नाघ्छ भने, तैँले अवश्य नै आधारभूत आवश्यकताको सीमा नाघेर त्यो थप कमाइ गर्नमा आफ्नो शक्ति, समय र प्रयास लगाउँछस्। उदाहरणका लागि, तँ अहिले कनिष्ठ कर्मचारी होलास् र आफ्नो आधारभूत आवश्यकता धान्‍न पुग्ने कमाइ गर्लास्, तर तेरो राम्रो कार्यप्रस्तुतिको कारण, तेरा हाकिमहरूले तँलाई प्रबन्धक वा कुनै वरिष्ठ कार्यकारीको पदमा बढुवा गर्न चाहन्छन्, जसको कैयौँ गुणा बढी तलब हुन्छ। के यो कमाइ व्यर्थको हो? तेरो आम्दानी बढ्दा, तैँले गर्ने श्रम पनि समान रूपमा बढ्छ। के परिश्रम गर्दा शक्ति र समय चाहिँदैन र? यो त तैँले कमाउने पैसा आफ्नो धेरै शक्ति र समय खर्चेर प्राप्त हुन्छ भन्‍नु बराबर हो। तैँले अझ धेरै पैसा कमाउन अझ धेरै समय र शक्ति लगाउनुपर्छ। तैँले अझ धेरै पैसा कमाउँदा, तेरो धेरै समय र शक्ति खर्च हुन्छ, अनि त्यससँगै तैँले परमेश्‍वरप्रतिको विश्‍वास, भेलामा सहभागिता, कर्तव्य निर्वाह र सत्यता पछ्याइका लागि छुट्याएको समय र शक्ति त्यहीअनुरूप घटेर जान्छ। यो स्पष्ट तथ्य हो। जब तेरो शक्ति र समय धन कमाउनमा केन्द्रित हुन्छ, तब तैँले परमेश्‍वरमा विश्‍वास गरेर पाइने इनाम गुमाउँछस्। तँ बढुवा भएर अहिले तेरो धेरै समय र शक्ति त्यसमा खर्च हुने भएकाले, तँसँग आफ्नो कर्तव्य पूरा गर्ने वा परमेश्‍वरको घरमा भेला धाउने समय छैन भन्दैमा परमेश्‍वरले तँसँग अनुकूल व्यवहार गर्नुहुनेछैन, न त उहाँको घरले तँलाई तैँले छुटाएको कुराको परिपूर्ति नै गरिदिनेछ। के यस्तै कुरा हुन्छ? (होइन।) परमेश्‍वरको घरले तेरो अनुपस्थितिको रिक्तता पूर्ति गर्नेछैन वा तँलाई विशेष व्यवहार पाउन दिनेछैन, अनि यसको कारण परमेश्‍वरले तँसँग अनुकूल व्यवहार गर्नुहुनेछैन। सङ्क्षेपमा भन्‍नुपर्दा, यदि तँ परमेश्‍वरमा विश्‍वास गरेर इनाम पाउन चाहन्छस्, यदि तँ सत्यता प्राप्त गर्न चाहन्छस् भने, यो कुरा समय र शक्ति बचाउनमा लगाउने तेरो आफ्नै प्रयासमा भर पर्छ। यो रोजाइको कुरा हो। परमेश्‍वर तँलाई सामान्य जीवन धान्‍न निषेध गर्नुहुन्‍न। तेरो आम्दानी खान र लाउन, आफ्नो शरीरलाई जोगाइराख्न अनि जीवनका क्रियाकलापलाई निरन्तरता दिन पर्याप्त हुन्छ। यो तँ जीवित रहिरहन पर्याप्त हुन्छ। तर तँ सन्तुष्ट हुँदैनस्; तँ सधैँ अझ धेरै कमाउन चाहन्छस्। त्यसपछि तेरो शक्ति र समय यो पैसाले खाइदिन्छ। केका लागि खाइदिन्छ? तेरो भौतिक जीवनको गुणस्तर बढाउन। तैँले आफ्नो भौतिक जीवनको गुणस्तर बढाउँदै गर्दा, परमेश्‍वरमा विश्‍वास गरेर कम कुरा प्राप्त गर्छस्, अनि कर्तव्य पूरा गर्ने तेरो समय सखाप हुन्छ, त्यो खर्च हुन्छ। त्यो केमा खर्च हुन्छ? त्यो राम्रो भौतिक जीवनको पछि लाग्‍नमा, भौतिक सुखचैनमा खर्च हुन्छ। के यो सार्थक छ? (छैन।) यदि तँ राम्रो र नराम्रो पक्षलाई तौलन सक्छस् भने, तँलाई यो सार्थक छैन भन्‍ने थाहा हुन्छ। तँ आफ्नो भौतिक जीवनमा रमाउँछस्, तँ अझ राम्रो खानेकुरा खान्छस् र आफ्नो पेट भर्छस्; तँ राम्रो, फेसनदार र आरामदायी लुगा लगाउँछस्। तैँले अझ धेरै ब्रान्डेड चीजबीज र विलासिताको सरसामान किन्छस्, तर तेरो जागिर थकाइलाग्दो, र अझ धेरै माग गर्ने हुन्छ अनि यसले तेरो समय र शक्ति खाइदिन्छ। विश्‍वासी भएर पनि तँसँग भेलाहरू धाउने वा प्रवचन सुन्‍ने समय हुँदैन। तँसँग सत्यता र परमेश्‍वरको वचन मनन गर्ने पनि समय हुँदैन। तैँले अझै नबुझेका र थाहा पाउन नसकेका धेरै सत्यता हुन्छन्, तर तँसँग तिनलाई मनन गर्ने र खोजी गर्ने समय र शक्ति हुँदैन। तेरो भौतिक जीवन सुध्रिन्छ, तर तेरो आत्मिक जीवन वृद्धि हुन सक्दैन र पतनउन्मुख हुन्छ। यो लाभ हो कि हानि? (हानि।) यो निकै ठूलो हानि हो! तैँले राम्रो र नराम्रो पक्ष तौलनुपर्छ! यदि तँ सत्यतालाई प्रेम गर्ने चलाख व्यक्ति होस् भने, तैँले दुवै पक्षलाई तौलनुपर्छ अनि आफूले प्राप्त गर्न सक्ने सबैभन्दा मूल्यवान् र अर्थपूर्ण कुरा के हो भनेर हेर्नुपर्छ। यदि तेरो बढुवा भयो र तैँले अझ धेरै पैसा कमाउने र आफ्नो भौतिक जीवनलाई अझ राम्रो बनाउने मौका पाइस् भने, तैँले के रोज्नुपर्छ? यदि तँ सत्यता पछ्याउन चाहन्छस् र तँसँग सत्यता पछ्याउने सङ्कल्प छ भने, तैँले यस्ता मौकाहरू नकार्नुपर्छ। उदाहरणका लागि, मानिलिऊँ तेरो कम्पनीका कसैले यसो भन्छ, “तिमीले दस वर्षदेखि यो काम गरिरहेका छौ। कम्पनीका धेरैजसो मानिसको तलब बढ्छ र तीनदेखि पाँच वर्षमा बढुवा हुन्छ। तर तिम्रो तलब भने ज्युँका त्युँ छ। तिमी किन काममा अझ राम्रो गर्दैनौ? किन तिमी आफ्नो कार्यप्रस्तुति सुधार्दैनौ? फलानोलाई हेर त, उनले यहाँ काम गरेको तीन वर्ष त भयो, अहिले उनी मर्सिडिज चढ्छिन् र भव्य घरमा बस्छिन्: उनी दुईकोठेबाट पाँच कोठे निवासमा सरेकी छिन्। उनी पहिला आउँदा एक गरिब विद्यार्थी मात्र थिइन्। अहिले, उनी धनाढ्य स्त्री बनेकी छिन्, शिरदेखि पाउसम्म ब्रान्डेड लुगाफाटा र जुत्ता लगाउँछिन्, महँगा होटलहरूमा ठहर्छिन्, महलमा बस्छिन्, र विलासी गाडी चढ्छिन्।” जब तँ उनी कत्ति धनी रहेछिन् भनेर देख्छस्, तब के तँलाई सकसक लाग्‍न थाल्नेछैन र? के तँलाई नराम्रो लाग्नेछैन? के तँ यस्तो प्रलोभन थेग्‍न सक्छस्? के तँ अझै आफ्नो पहिलेकै अभिप्रायमा टाँसिरहनेछस्? के तँ सिद्धान्तमा अडिग रहनेछस्? यदि तँ सत्यतालाई साँचो प्रेम गर्छस्, सत्यता पछ्याउन इच्छुक छस् र सत्यतामा केही पाउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नो जीवनको सबैभन्दा मूल्यवान् कुरा हो अनि आफूले जीवनमा सबैभन्दा महत्त्वपूर्ण र मूल्यवान् कुरा रोजेको छु भन्‍ने विश्‍वास गर्छस् भने, तँलाई पछुतो हुनेछैन, र बढुवाजस्ता कुराहरूले तँ ढलपल हुनेछैनस्। तँ यसो भन्दै दृढ रहनेछस्, “म खान र लाउन पाउनमा सन्तुष्ट छु; म जुनै पेशामा संलग्न भए पनि, यो खान र लाउनका लागि, शरीरलाई जीवित राखिराख्नका लागि हो, शारीरिक आनन्दका लागि होइन अनि निश्चय नै प्रतिष्ठा कमाउनका लागि होइन। म बढुवा वा धेरै तलबको पछि लाग्दिनँ; म आफ्नो सीमित जीवनकाललाई सत्यता पछ्याउन प्रयोग गर्नेछु।” यदि तँमा यो सङ्कल्प छ भने, तँ ढलपल हुनेछैनस् र तेरो हृदयलाई सकसक लाग्नेछैन; जब तँ अरू बढुवा भएको, उनीहरूको तलब बढेको वा उनीहरूले सुनचाँदीका गरगहना लगाएको र ब्रान्डेड कपडा पहिरेको, तेरोभन्दा गुणस्तरीय जीवन जिएको र फेशनमा तँलाई उछिनेको देख्छस्, तब तँलाई डाहा लाग्नेछैन। के त्यसै होइन र? (हो।) तर, यदि तँ सत्यतालाई प्रेम गर्दैनस् र सत्यता पछ्याउँदैनस् भने, आफूलाई काबूमा राख्न सक्दैनस् र धेरै समय दृढ रहनेछैनस्। यस्तो बेला र यस्तो परिवेशमा, यदि मानिसहरूसँग आफ्नो जीवनका रूपमा सत्यता हुँदैन, यदि तिनीहरूमा अलिकति पनि सङ्कल्प हुँदैन, यदि तिनीहरूमा साँचो अन्तर्ज्ञान हुँदैन भने, तिनीहरू बारम्बार ढलपल हुन्छन् र कमजोर बन्छन्। तिनीहरू केही समय दृढ बनेपछि, निराशसमेत हुन्छन् र सोच्छन्, “यी दिनहरू कहिले बित्ने होला? यदि परमेश्‍वरको दिन आएन भने, मैल कतिञ्जेल कम्पनीमा पालेको काम गर्ने? अरूले मैलेभन्दा धेरै कमाइरहेका छन्। किन मचाहिँ साधारण खानपान र लुगाफाटा मात्र जोहो गर्न सकिरहेको छु? परमेश्‍वर मलाई अझ धेरै पैसा कमाउनू भन्‍नुहुन्‍न।” कसले तँलाई अझ धेरै पैसा कमाउनबाट रोकिरहेको छ? यदि तँमा क्षमता छ भने, तँ अझ धेरै कमाइ गर्न सक्छस्। यदि तँ अझ धेरै पैसा कमाउने, सम्पन्‍न जीवनशैली अपनाउने र रवाफी जीवन जिउने छनौट गर्छस् भने, ठिकै छ; तँलाई कसैले रोक्दैन। तर आफ्नो छनौटका लागि तँ आफै जिम्मेवार हुनुपर्छ। अन्त्यमा, यदि तैँले सत्यता प्राप्त गरिनस्, यदि परमेश्‍वरको वचन तँभित्र जीवन बनेको हुँदैन भने, यसमा पछुतो गर्ने तँ नै हुनेछस्। तँ आफ्नो कार्य र छनौटका लागि जिम्मेवार हुनुपर्छ। कसैले पनि तेरा लागि भार उठाइदिन वा जिम्मेवारी लिन सक्दैन। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने, मुक्तिको मार्गमा हिँड्ने र सत्यता पछ्याउने छनौट गरेको हुनाले, यसमा पछुतो नगर्। तैँले यही नै छनौट गरेकाले, यसलाई पालन गर्नुपर्ने नियम वा आज्ञा ठान्‍नु हुँदैन; बरु, तैँले आफ्नो दृढता र छनौटको अर्थ र मूल्य छ भनी बुझ्नुपर्छ। आखिर, तैँले पाउने भनेको नियम मात्र नभई सत्यता र जीवन हो। यदि तँलाई आफ्नो दृढता र छनौटले विशेष गरी लज्जित, असहज वा आफू वरपरका मानिसहरूको सामना गर्न असक्षम महसुस गराउँछ भने, दृढ रहन छोड्दे। किन तँ आफूलाई कठिनाइमा पार्छस्? तैँले मनमा जे इच्छा गरे पनि, जे चाहे पनि, त्यो कुराको पछि लाग्—तँलाई कसैले रोक्दैन। अहिले, हामीले यस्तो सङ्गति गर्नु भनेको तँलाई सिद्धान्त दिनु मात्र हो। यस संसारमा, मानिसहरू संलग्‍न हुने हरेक पेशा ख्याति, फाइदा र भौतिक सुखचैनसँग सम्बन्धित छ। मानिसहरूले पैसा कमाउनुको कारण निश्चित मात्रामा पैसा प्राप्त गर्न नभई पैसा कमाएर आफ्नो भौतिक सुखचैन बढाउनका साथै सबैसामु आफूलाई धनाढ्य व्यक्ति भनी चिनाउन पनि हो। यसरी तिनीहरूले ख्याति, फाइदा र ओहोदा प्राप्त गर्नेछन्, ती सबै कुराले आधारभूत आवश्यकताको सीमा नाघ्छन्। मानिसहरूले चुकाउने कुनै पनि मूल्य भौतिक सुखचैनका लागि हो, त्यसको कुनै अर्थ छैन; त्यो सब सपनाजस्तो खोक्रो हुन्छ। अन्त्यमा तिनीहरूलाई खोक्रोपन मात्र प्राप्त हुन्छ। आज तेरो खाना मोमो होला र तँलाई त्यो स्वादिष्ठ लाग्ला, तर राम्ररी सोचेपछि तैँले आफूले केही प्राप्त नगरेको पाउँछस्। यदि तैँले हरेक दिन यही खाना मात्र खाइस् भने, तँलाई ङ्याक्क लाग्न सक्छ, यो खान छोड्छस् र पिज्जा, भात वा प्यानकेकजस्ता अरू नै कुरा खान थाल्छस्। तँ आफूलाई यसरी समायोजन गर्छस्, र तेरो भौतिक शरीर स्वस्थ बन्दै जान्छ। यदि तैँले हरेक दिन मीठो तैलीय खानेकुरा मात्र खाइस् भने, तेरो शरीर अस्वस्थ बन्दै जान सक्छ, होइन र?

खान र लाउन पाउनमा सन्तुष्ट हुनु, के यो सही मार्ग हो? (यो सही मार्ग हो।) किन यो सही मार्ग हो? के व्यक्तिको जीवनको मूल्य खान र लाउनसँग सम्बन्धित हुन्छ? (होइन।) यदि व्यक्तिको जीवनको मूल्य खान र लाउन वा देहगत सुखचैनसँग सम्बन्धित हुँदैन भने, ऊ संलग्न हुने पेशाले खाने र लाउने आवश्यकता मात्र पूरा गर्नुपर्छ; यसले यो दायरा नाघ्नु हुँदैन। खानु र लाउनुको उद्देश्य के हो? शरीर सामान्य रूपले बाँच्न सक्ने कुराको सुनिश्चितता गर्न। बाँच्नुको उद्देश्य के हो? यो देहगत सुखचैनका लागि होइन, न त जीवन प्रक्रियाको आनन्द उठाउनका लागि नै हो, अनि यो निश्चय नै मानवले जीवनमा अनुभव गर्ने सबै थोक उपभोग गर्नका लागि पनि होइन। यी सबै कुरा महत्त्वहीन छन्। त्यसोभए, सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? व्यक्तिले गर्नुपर्ने सबैभन्दा मूल्यवान् कुरा के हो? (ऊ परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता पछ्याउने मार्गमा हिँड्नुपर्छ र त्यसपछि उसले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ।) तँ जस्तोसुकै व्यक्ति भए पनि, सृष्टि गरिएको प्राणी होस्। सृष्टि गरिएको प्राणीले आफूले गर्नुपर्ने कुरा गर्नुपर्छ—यसैको मूल्य हुन्छ। त्यसोभए, सृष्टि गरिएको प्राणीले गर्ने कुन कुराको मूल्य हुन्छ? सृष्टि गरिएको हरेक प्राणीसँग परमेश्‍वरले उसलाई सुम्पेको लक्ष्य, उसले पूरा गर्नुपर्ने लक्ष्य हुन्छ। परमेश्‍वरले हरेक व्यक्तिको जीवनको नियति निर्धारित गर्नुभएको हुन्छ। उसको जीवनको नियति जे भए पनि, उसले गर्नुपर्ने त्यही हो। यदि तैँले यो काम राम्ररी गरिस् भने, तँ परमेश्‍वरसामु लेखाजोखा गर्न खडा हुँदा, उहाँले सन्तोषजनक उत्तर दिनुहुनेछ। उहाँले तैँले आफ्नो जीवन मूल्यवान् र फलदायी रूपमा जिइस्, तैँले परमेश्‍वरको वचनलाई आफ्नो जीवनमा परिणत गरिस् र तँ सृष्टि गरिएको योग्य प्राणी होस् भनेर भन्नुहुनेछ। तर, यदि तेरो जीवन खान, लाउन, आनन्द र खुसीयालीका लागि जिउनु, सङ्घर्ष गर्नु र खर्चनु मात्र हो भने, अन्त्यमा जब तँ परमेश्‍वरसामु खडा हुन्छस्, तब उहाँले “मैले तँलाई दिएको यस जीवनको कार्य र लक्ष्य कति पूरा गरेको छस्?” भनेर सोध्नुहुनेछ। तैँले यो सबको हिसाबकिताब गर्नेछस् र यो जीवनको शक्ति र समय खान, लाउन र मनोरञ्जनमा खर्चिएको पाउनेछस्। तैँले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा त्यति धेरै केही नगरेको, आफ्नो कर्तव्य पूरा नगरेको, आफू अन्त्यसम्म डटि नरहेको र तैँले आफ्नो भक्ति नचढाएको जस्तो देखिन्छ। सत्यता पछ्याइको सन्दर्भमा भन्नुपर्दा, तँ यसलाई पछ्याउन केही मात्रा इच्छुक भए पनि, तैँले त्यति मूल्य चुकाएको हुँदैनस्, र केही पनि प्राप्त गरेको हुँदैनस्। अन्तिम परीक्षामा, परमेश्‍वरको वचन तेरो जीवन बनेको हुँदैन र तँ अझै उही वृद्ध शैतान हुन्छस्। परिस्थितिलाई हेर्ने र कार्य गर्ने तेरा पद्धतिहरू सबै मानव धारणा र कल्पना अनि शैतानको भ्रष्ट स्वभावमा आधारित हुन्छन्। तँ अझै पनि पूर्णतया परमेश्‍वरको विरोधमा हुन्छस्, र तेरो उहाँसँग ठ्याक मिल्दैन। त्यो स्थितिमा, तँ बेकम्मा हुनेछस्, र त्यसपछि परमेश्‍वरले तँलाई पटक्कै रुचाउनुहुनेछैन। त्यसउपरान्त तँ परमेश्‍वरको सृष्टि गरिएको प्राणी हुनेछैनस्। यो दुःखलाग्दो कुरा हो! तसर्थ, तँ जुनसुकै पेशामा संलग्न भए पनि, यदि त्यो वैध छ भने, यो परमेश्‍वरद्वारा व्यवस्थित र पूर्वनिर्धारित हुन्छ। तर त्यसको अर्थ, परमेश्‍वर तँलाई अझ धेरै पैसा कमाउन वा आफूले अपनाएको करियरमा प्रतिष्ठा कमाउन सघाउनुहुन्छ वा प्रोत्साहन गर्नुहुन्छ भन्‍ने होइन। परमेश्‍वर यसलाई अनुमोदन गर्नुहुन्न, र उहाँले तँबाट यो कहिल्यै माग गर्नुभएको छैन। त्यसबाहेक, परमेश्‍वरले कहिल्यै तँ संलग्न हुने पेशालाई तँलाई संसारतर्फ धकेल्न, शैतानकहाँ सुम्पन, वा जानाजानी ख्याति र फाइदा पछ्याउन दिन प्रयोग गर्नुहुनेछैन। बरु, परमेश्‍वरले तँ संलग्न हुने पेशामार्फत, तँलाई आफ्नो खाने र लाउने आवश्यकता पूरा गर्न दिनुहुनेछ—त्यति मात्रै हो। साथै, परमेश्‍वरले आफ्नो वचनमा तँलाई तेरो कर्तव्य के हो, तेरो लक्ष्य के हो, तैँले केलाई पछ्याउनुपर्छ र तँ केमा जिउनुपर्छ भन्‍नेजस्ता कुराहरू बताउनुभएको छ। तैँले आफ्नो जीवनभरि जिउनुपर्ने मूल्य र हिँड्नुपर्ने मार्ग यिनै हुन्। परमेश्‍वरले बोलिसक्नुभएपछि र तैँले उहाँको कुरा बुझेपछि, तैँले के गर्नुपर्छ? यदि हप्ताको तीन दिन काम गर्दा तँलाई खान र लाउन पुग्छ, तर तँ अझै अरू दिन पनि काम गर्न रोज्छस् भने, तैँले आफ्नो कर्तव्य पूरा गर्न सक्दैनस्। कुनै कर्तव्यमा तेरो सहकार्य चाहिँदा, तँ “म काममा छु, म अफिसमा छु” भनेर भन्छस्, र कसैले तँलाई सम्पर्क गर्न खोज्दा, तँ सधैँ आफूसँग समय छैन भन्छस्। तँसँग समय कहिले हुन्छ? रातको ८ बजेपछि मात्र, जतिबेला तँ लखतरान, थकित र हत्तोहैरान भएको हुन्छस्, तँमा इच्छा भए पनि शक्ति हुँदैन। तँ हप्ताको छ दिन काम गर्छस् र कसैले तँलाई फोन गरेर सम्पर्क गर्न खोज्दा सधैँ समय छैन भन्छस्। तँसँग आइतबार मात्र समय हुन्छ, त्यसमा पनि तैँले आफ्नो परिवार र छोराछोरीसँग समय बिताउनुपर्छ, घरको कामधन्धा गर्नुपर्छ, र आफूमा ऊर्जा भर्नुपर्छ र केही समय आराम गर्नुपर्छ। कतिपय मानिस त बिदा मनाउनसमेत जान्छन्, केही समय फुर्सदका क्रियाकलापमा बिताउँछन् अनि किनमेलमा पैसा खर्च गर्छन्। कतिपय मानिसचाहिँ आफ्ना सहकर्मीहरूसँग सम्बन्ध बढाउँछन् अनि नेतृत्ववर्ग र उच्च पदाधिकारीहरूसँग सम्पर्क बनाउँछन्। यो कस्तो प्रकारको विश्‍वास हो? यो पूर्णतया अविश्‍वासीपन हो; औपचारिकता पूरा गर्नुको के अर्थ? तँ परमेश्‍वरमा विश्‍वास गर्छु भनेर नभन्; परमेश्‍वरका विश्‍वासीहरूसँग तेरो कुनै सम्बन्ध छैन। तँ मण्डलीको होइनस्; धेरैमा, तँ मण्डलीको मित्र मात्र होस्। परमेश्‍वरको घरलाई बाहिरी मामिला सम्हाल्ने व्यक्ति चाहिन्छ, र तँ मद्दत गर्न सहमत हुन्छस् होला, तर त्यो तैँले इन्कार नगरिरहेको मात्र हो। तैँले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छस् कि सक्दैनस्, वा तैँले त्यो कहिले पूरा गर्न सक्छस् भन्‍ने कुरा थाहा हुँदैन। अनि तैँले आफ्नो जिम्मेवारी सम्हालिसकेपछि, यसमा आफ्नो सारा समय र सारा हृदय र शक्ति लगाउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा अनिश्चित हुन्छ—यी सब थाहा नहुने कुरा हुन्। तँ कहिले काममा अति व्यस्त हुने हो, वा व्यापारको सिलसिलामा बाहिर जाने हो अनि कुनै सुइँको नदिई दुई हप्ता वा एक महिनासम्म हराउने हो, त्यो कसलाई थाहा हुन्छ र—कसैले तँलाई सम्पर्क गर्न सक्दैन। यो कुनै पनि हालतमा सच्चा विश्‍वास होइन, यो औपचारिकता मात्र हो। यस्ता मानिसहरूको सन्दर्भमा भन्नुपर्दा, तिनीहरूबाट परमेश्‍वरको वचनको पुस्तक खोस्नुपर्छ, र त्यसपछि तिनीहरूलाई हटाएर यसो भन्नुपर्छ, “यदि तँ काम छोड्न सक्दैनस्, तँसँग भेलाका लागि समय छैन, र आफ्नो कर्तव्य पूरा गर्न सक्दैनस् भने, परमेश्‍वरको घरले तँलाई जबरजस्ती गर्नेछैन। हामी यहीँ बाटो छुट्टिऔँ। जब तँ खान र लाउन पाउनमा सन्तुष्ट हुन सक्छस्, उच्च गुणस्तरीय जीवनको माग त्याग्न सक्छस्, र आफ्नो कर्तव्य पूरा गर्न अझ धेरै समय छुट्याउन सक्छस् तब हामी तँलाई औपचारिक रूपमा बगालमा स्विकार्छौँ र मण्डलीको सदस्यको रूपमा गन्नेछौँ। यदि तँ यसो गर्न सक्दैनस्, र केवल रिपोर्ट मात्र गर्छस्, मद्दत गर्छस् अनि आफ्नो फुर्सदको समयमा दाजुभाइ-दिदीबहिनीहरूसँग हल्का सम्बन्ध गाँस्छस् भने, त्यसलाई सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गरेको मानिँदैन, र यसले निश्चय नै औपचारिक रूपमा परमेश्‍वरमा विश्‍वास गर्नुको मापदण्ड पूरा गर्दैन।” यस्ता मानिसहरूलाई हामी के भन्छौँ? (मण्डलीका मित्रहरू।) मण्डली मित्रहरू, मण्डलीका असल मित्रहरू। “किनभने हाम्रो विरुद्धमा नहुने हाम्रो पक्षमा हुन्छ” (मर्कूस ९:४०)। तसर्थ, यस्ता मानिसहरूलाई मण्डलीका मित्र भनिन्छ। कुनै व्यक्तिलाई मण्डलीको मित्र भन्नुले ऊ अझै अवलोकन चरणमा छ, ऊ अझसम्म परमेश्‍वरको औपचारिक विश्‍वासी होइन, ऊ मण्डली सदस्यहरूमाझ गनिँदैन भन्‍ने देखाउँछ, त्यसका साथै उसलाई अझसम्म कर्तव्य पूरा गर्ने मानिस ठानिँदैन भन्‍ने पनि देखाउँछ; धेरैमा, उसलाई अझै अवलोकन गर्नुपर्छ, किनभने उसले आफ्नो कर्तव्य पूरा गर्न सक्छ कि सक्दैन भन्‍ने अझै स्पष्ट हुँदैन। तर कतिपय मानिस पारिवारिक वातावरण वा अवस्थाको कारण बाँधिने हुनाले, तिनीहरूले जीवन धान्न र आफ्ना छोराछोरीको पालनपोषण गर्न हप्ताको केही दिन काम गर्नैपर्छ। हामी तिनीहरूबाट बाध्यकारी माग गर्नेछैनौँ। यदि तिनीहरूले आफ्नो बाँकी समयमा कर्तव्य पूरा गर्न सक्छन् भने, तिनीहरू परमेश्‍वरको औपचारिक विश्‍वासीको रूपमा परमेश्‍वरको घरको सदस्य गनिन्छन्, किनभने तिनीहरूले खान र लाउन पाउनमा सन्तुष्ट हुनु भन्‍ने आधारभूत सर्त पूरा गरिसकेका हुन्छन्। तिनीहरूसँग वस्तुगत कठिनाइहरू हुन्छन्, र यदि तैँले तिनीहरूलाई काम गर्न रोकिस् भने, तिनीहरूको पूरै परिवारसँग जीवन धान्ने माध्यम हुनेछैन, र तिनीहरूलाई खान र लाउन दुःख हुनेछ। यदि तँ तिनीहरूलाई काम गर्न दिँदैनस् भने, तिनीहरूको परिवारलाई कसले पालनपोषण गर्नेछ? के तँ गएर पालनपोषण गर्छस्? त्यसैले, मण्डली अगुवा, सुपरभाइजर र तिनीहरूसँग सम्बन्धित जो कोहीले तिनीहरूले जागिर छोडेको र आफ्नो परिवारको चिन्ता नलिएको माग गर्नु जायज होइन। यसो गर्नु हुँदैन। यो त मानिसहरूबाट असम्भव कुरा माग गर्नु हुनेछ; तिनीहरूलाई जिउने माध्यम दिनुपर्छ। मानिसहरू अरूदेखि अलग रहेर जिउँदैनन्, तिनीहरू मेसिन होइनन्। तिनीहरू बाँच्नुपर्छ, जीविका चलाउनुपर्छ। हामीले पहिले छलफल गरेझैँ, यदि तेरो छोराछोरी र परिवार छ भने, तैँले घरमुली वा परिवारको सदस्यको हैसियतमा आफ्नो परिवारको पालनपोषण गर्ने जिम्मेवारी उठाउनुपर्छ। यो जिम्मेवारी पूरा गर्ने सिद्धान्त भनेकै खान र लाउन जोहो गर्नु हो, सिद्धान्त त्यही हो। कतिपय मानिस यही अवस्थामा हुन्छन् र तिनीहरूसँग यसको कुनै विकल्प हुँदैन। तिनीहरूले आफ्नो परिवारप्रतिको जिम्मेवारी निर्वाह गरेपछि समय मिलाएर आफ्नो कर्तव्य पूरा गर्छन्। यसो गर्न परमेश्‍वरको घरले अनुमति दिन्छ; तैँले मानिसहरूबाट असम्भव कुरा माग गर्न मिल्दैन। के यो सिद्धान्त हो? (हो।) कसैले पनि भर्खरै परमेश्‍वरमा विश्‍वास गरेका र अझै दह्रिला भइनसकेकाहरूले आफ्नो जागिर छोडेको, आफ्नो परिवार त्यागेको, छुटनाम गरेको, छोराछोरीलाई बेवास्ता गरेको वा आफ्ना आमाबुबालाई इन्कार गरेको माग गर्नु जायज होइन। यी कुनै कुरा गर्नु आवश्यक छैन। परमेश्‍वरको वचनले मानिसहरूले सत्यता सिद्धान्तहरू पालन गरेको माग गर्छ, र यी सिद्धान्तहरूमा विभिन्न परिस्थिति र अवस्था समावेश हुन्छन्। यी विभिन्न परिस्थिति र अवस्थाको आधारमा, सत्यता सिद्धान्तअनुसार मापदण्ड र मापनहरू तय गर्नुपर्छ। तसर्थ, करियरको मामिलामा, खान र लाउन पाउनमा सन्तुष्ट हुनु महत्त्वपूर्ण छ। यदि तैँले यो बुँदालाई स्पष्टसँग बुझ्न सकिनस् भने, तैँले आफ्नो कर्तव्य गुमाउन र मुक्ति पाउने मौकालाई जोखिममा पार्न सक्छस्।

आखिरी दिनहरू पनि विशेष समय हुन्। एकातर्फ, मण्डलीका कामकुरा भ्याइ नभ्याइ र जटिल हुन्छन्; अर्कोतर्फ, परमेश्‍वरको राज्यको सुसमाचार विस्तार भइरहेको बेला यस्तो क्षण आइपर्दा अझ धेरै मानिसले परमेश्‍वरको घरमा विभिन्न परियोजनाको खाँचो पूरा गर्न आफ्नो समय र शक्ति खर्चनुपर्छ, आफ्नो प्रयास लगाउनुपर्छ र कर्तव्य पूरा गर्नुपर्छ। त्यसैले, तेरो पेशा जे भए पनि, यदि तँ आफ्नो जीवन धान्ने आधारभूत आवश्यकता पूरा गर्नुबाहेक, विभिन्न परियोजनामा सहकार्य गर्दै परमेश्‍वरको घरको कर्तव्य पूरा गर्न आफ्नो समय र शक्ति खर्चिन सक्छस् भने, परमेश्‍वरको नजरमा यो मनपर्दो मात्र होइन तर विशेष गरी मूल्यवान् पनि हुन्छ। यो परमेश्‍वरले सम्झना गर्नलायक हुन्छ, अनि अवश्य नै यो मानिसहरूले यत्तिका प्रयास र खर्च गर्नलायक हुन्छ। किनभने तैँले देहगत सुखचैन त्यागे पनि, तैँले प्राप्त गर्ने कुरा भनेको परमेश्‍वरको वचनको अनमोल जीवन, अनन्त जीवन, संसारको कुनै पनि कुरा, पैसा वा अन्य कुनै कुरासँग साट्न नसकिने अनमोल खजाना हो। अनि यो अमूल्य खजाना, तैँले समय र शक्ति खर्चेर, आफ्नो प्रयास र पछ्याइमार्फत प्राप्त गर्ने कुरा: यो विशेष उपकार र तैँले सौभाग्यवश प्राप्त गरेको कुरा हो, होइन त? परमेश्‍वरको वचन र सत्यता व्यक्तिको जीवन बन्नु: यो त्यस्तो अनमोल खजाना हो, जसलाई पाउन मानिसहरूले सबै कुरा अर्पण गर्नुपर्छ। त्यसैले, तँलाई खान र लाउन जोहो गर्न मद्दत गर्ने तेरो पेशाको आधारमा, यदि तैँले सत्यता पछ्याउनका लागि मूल्य चुकाउन अनि समय र शक्ति खर्चिन सकिस् भने—यदि तैँले यो मार्ग रोजिस् भने—यो खुसी मनाउनुपर्ने असल कुरा हो। तँ यसमा हतोत्साहित वा अन्योल हुनु हुँदैन; तँ आफूले सही छनौट गरेको छु भनेर निश्चित हुनुपर्छ। तैँले बढुवा हुने, तलब बढ्ने र अझ धेरै कमाइ हुने, देहगत जीवनको सुखचैन पाउने वा सम्पन्न जीवन बनाउने अवसर गुमाएको हुन्छस् होला, तर तैँले मुक्ति पाउने मौका पाएको हुन्छस्। वास्तविकता के हो भने, तैँले ती कुराहरू गुमाएको वा त्यागेको हुन्छस्, भन्नुको अर्थ तेरो छनौटले तँलाई मुक्तिका लागि आशा र उत्साह दिएको हुन्छ। तैँले केही पनि गुमाएको हुँदैनस्। त्यसको विपरीत, तैँले खान र लाउन पाएपछि यदि थप समय र शक्ति लगाउँछस्, अझ धेरै पैसा कमाउँछस्, अझ धेरै भौतिक सुखचैन बटुल्छस् र आफ्नो देहलाई सन्तुष्ट पार्छस्, तर यसो गरेर मुक्ति पाउने आशा बरबाद गरेको हुन्छस् भने, निस्सन्देह यो तेरा लागि राम्रो कुरा होइन। यसमा तँ दुःखी र चिन्तित हुनुपर्छ; तैँले आफ्नो कार्य र जीवनबारे आफ्नो मनोवृत्ति अनि गुणस्तरीय भौतिक जीवनको मागलाई ठिक गर्नुपर्छ; तैँले वास्तविकतासित मेल नखाने देहगत जीवनको निश्चित चाहना, योजना र कार्यसूचीलाई त्याग्नुपर्छ। तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, उहाँसामु आउनुपर्छ र आफ्नो कर्तव्य पूरा गर्ने सङ्कल्प गर्नुपर्छ, परमेश्‍वरको घरका विभिन्न काममा तनमन लगाउनुपर्छ र प्रयास गर्नुपर्छ ताकि भविष्यमा परमेश्‍वरको काम समाप्त हुने, परमेश्‍वरले हरेक प्रकारका विविध व्यक्तिको काम जाँच्ने र यी विभिन्नप्रकारका मानिसहरूको कद नाप्ने दिन आफू तिनीहरूमध्ये एक हुनेछस्। जब परमेश्‍वरको महान् काम पूरा हुन्छ, जब परमेश्‍वरको राज्यको सुसमाचार ब्रह्माण्डभरि फैलिएको हुन्छ, जब यो आनन्दमय दृश्य प्रकट हुन्छ, तब त्यहाँ तेरो मेहनत, प्रयास र त्याग हुनेछ। जब परमेश्‍वरले महिमा पाउनुहुन्छ, जब उहाँको कार्य ब्रह्माण्डभरि फैलिन्छ, जब सबैले परमेश्‍वरको महान् काम सफलतापूर्वक पूरा भएको खुसी मनाइरहेका हुन्छन्, तब त्यो खुसीको क्षण प्रकट भएको बेला यस खुसीमा जोडिएको व्यक्ति तँ नै हुनेछस्। तँ यो खुसीयालीमा सहभागी हुनेछस्, सबै जना खुसीले कराइरहेको र उफ्रिरहेको बेला रुने र दाह्रा किट्ने, छाती पिट्ने र टाउको ठोक्ने व्यक्ति हुनेछैनस्, चरम दण्ड पाउने, परमेश्‍वरले पूर्णतया तिरस्कार गर्ने र हटाउने व्यक्ति हुनेछैनस्। अवश्य नै, अझ राम्रो के हुन्छ भने परमेश्‍वरको महान् काम पूरा हुँदा, तैँले परमेश्‍वरको वचनलाई जीवनको रूपमा प्राप्त गर्नेछस्। तँ मुक्ति पाएको व्यक्ति हुनेछस्, उप्रान्त परमेश्‍वरविरुद्ध विद्रोह गर्नेछैनस्, सिद्धान्तहरू उल्लङ्घन गर्नेछैनस्, बरु परमेश्‍वरसँग ठ्याक मिल्ने व्यक्ति बन्नेछस्। त्यससँगै, तँ आफूले सुरुमा त्यागेका सबै कुरामा पनि रमाउनेछस्: धेरै तलब, देहसुख, राम्रा सर-सामग्रीको प्राप्ति, जिउने राम्रो वातावरण अनि कदर, बढुवा र अगुवाहरूद्वारा गरिने उत्थान आदि। तैँले आफूले बढुवा हुने अवसर नत्यागेको, वा तलब बढ्ने र सम्पत्ति कमाउने ती अवसर वा विलासिताको जीवनशैलीमा लिप्त हुने ती मौकाको पछि नलागेको जस्ता कुराहरूका लागि पछुतो गर्नेछैनस्। सङ्क्षेपमा भन्नुपर्दा, व्यक्ति संलग्न हुने पेशाका लागि मापदण्ड र मानक, जुन उसले पालन गर्नुपर्ने अभ्यासका सिद्धान्त पनि हुन्, ती सबैलाई यो भनाइमा सारसङ्क्षेप गरिएको छ: “खान र लाउन पाउनमा सन्तुष्ट हुनु।” जीवन पाउनका लागि सत्यता पछ्याउनु त मानिसहरूले पक्रिराख्नुपर्ने कुरा हो। तिनीहरूले आफ्नो देहगत चाहना र सुखचैन पूरा गर्नका लागि सत्यता र सही मार्ग त्याग्नु हुँदैन। यसमा मानिसहरूले करियरको सन्दर्भमा पालन गर्नुपर्ने दोस्रो सिद्धान्त पनि छ।

आफ्नो करियर त्याग्नु भन्‍ने विषयसम्बन्धी आज हामीले दुई वटा सिद्धान्तबारे छलफल गऱ्यौँ। के तिमीहरूले यी दुई सिद्धान्त बुझ्यौ? (बुझ्यौँ।) यी सिद्धान्तहरू बुझेपछि, अर्को चरण हो यी सिद्धान्तहरूको आधारमा तिनलाई कसरी अभ्यास गर्ने भनेर मूल्याङ्कन गर्नु। अन्ततः यी सिद्धान्तहरू पालन गर्न सक्नेहरू परमेश्‍वरको मार्ग पछ्याउने व्यक्ति हुन् भने यी सिद्धान्तहरू पालन गर्न नसक्नेहरू परमेश्‍वरको मार्गबाट विचलित हुने व्यक्ति हुन्। यो त्यति सरल छ। यदि तैँले यी सिद्धान्तहरू पालन गर्न सकिस् भने, सत्यता प्राप्त गर्नेछस्; यदि तैँले सत्यता पालन गरिनस् भने, सत्यता गुमाउनेछस्। सत्यता प्राप्त गर्दा मुक्तिको आशा पाइन्छ; सत्यता प्राप्त गर्न नसक्दा मुक्तिको आशा गुम्नेछ—कुरा त्यस्तै हो। ठिकै छ, आजको सङ्गतिलाई यतिमै बिट मारौँ। फेरि भेटौँला!

जुन १०, २०२३

अघिल्लो: सत्यता कसरी पछ्याउने (१९)

अर्को: सत्यता कसरी पछ्याउने (२१)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्