सत्यता कसरी पछ्याउने (१८)

केही दिनअगाडि, एउटा गम्भीर घटना घट्यो जसमा ख्रीष्टविरोधीहरूले सुसमाचार फैलाउने काममा बाधा पुर्‍याइरहेका थिए। के तिमीहरू सबैजना यसबारे जानकार छौ? (हजुर।) यो घटनापछि, परमेश्‍वरको घरको सुसमाचार कार्यको पुनर्व्यवस्थापन सुरु भयो, अनि कतिपय मानिसहरू फेरबदल वा सरुवा हुन थाले, र कामसँग सम्बन्धित केही मामलाहरू पनि हेरफेर भए, हैन त? (हो।) यसरी परमेश्‍वरको घरमा यस्तो ठूलो घटना घट्यो र तिमीहरूमाझ ख्रीष्टविरोधीहरू देखा परे—तर के तिमीहरूले यस्तो महत्त्वपूर्ण घटनाको भोगाइबाट केही पाठ सिक्न सक्षम भयौ? के तिमीहरूले सत्यता खोज्यौ? यस्तो ठूलो घटनाबाट, के तिमीहरूले केही समस्याहरूको सार देख्यौ, र केही पाठ सिक्न सक्यौ? जब कुनै कुरा आइपर्छ, तब के धेरैजसो मानिसहरू बाहिरी रूपमा मात्र त्यसबाट केही पाठ सिकेजस्तो र थोरै धर्मसिद्धान्तहरू बुझेजस्तो गर्ने, तर त्यसको सार नखोतल्ने, अनि सत्यताअनुसार मानिसहरू र विभिन्‍न कुराहरूलाई कसरी हेर्ने र सोहीअनुसार आफूलाई कसरी व्यवहारमा ढाल्ने र कार्य गर्ने भनी नसिक्ने हुँदैनन् र? कतिपय मानिसहरू यस्ता हुन्छन् जो आफूलाई जे आइपरे पनि आफ्नो दिमाग र आकलनअनुसार मात्र मनन गर्छन्। तिनीहरू सत्यता सिद्धान्तहरूको मापदण्ड पूरा गर्न पूरै असफल हुन्छन्, र बौद्धिकता र बुद्धिमत्ताको स्तरमा पनि तिनीहरू धेरै तल नै हुन्छन्। तिनीहरूले बस केही पाठहरू सारांशित गर्छन्, र सङ्कल्प लिन्छन्: “जब यी कुराहरू भविष्यमा फेरि आइपर्छन्, मैले होसियार हुनुपर्छ र आफूले के कुराहरू भन्न मिल्दैन, के कुराहरू गर्न मिल्दैन, साथै कस्ता मानिसहरूबाट सावधान रहनुपर्छ, र कस्ता मानिसहरूको नजिक हुनुपर्छ भन्‍ने कुरामा ध्यान दिनुपर्छ।” के यसलाई पाठ सिकेको र अनुभव हासिल गरेको भन्न मिल्छ? (मिल्दैन।) त्यसैले, जब यस्ता घटनाहरू आइपर्छन्, यी ठूला-साना जे-जस्ता भए पनि, यीबारे मानिसहरूले कसरी अनुभव गर्ने, कसरी हेर्ने र कसरी गहिराइमा प्रवेश गर्ने गर्नुपर्छ ताकि यी परिवेशहरू सामना गर्दा तिनीहरूले पाठ सिक्न, केही सत्यताहरू बुझ्न र आफ्नो कद बढाउन सकून्? धेरैजसो मानिसहरूले यी कुराहरूबारे मनन नै गर्दैनन्, होइन र? (हो।) यदि तिनीहरूले यी कुराहरू मनन नै गर्दैनन् भने, के तिनीहरू सत्यता खोज्ने मानिसहरू हुन् र? के तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् र? (होइनन्।) तिमीहरूलाई के लाग्छ, के तिमीहरू सत्यता पछ्याउने व्यक्ति हौ त? कुन-कुन कुराहरूको आधारमा तिमीहरूलाई आफू सत्यता पछ्याउने व्यक्ति होइन भन्‍ने विश्‍वास लाग्छ? अनि कुन-कुन कुराहरूको आधारमा तिमीहरूलाई कहिलेकाहीँ आफू सत्यता पछ्याउने व्यक्ति हुँ भन्‍ने लाग्छ? जब तिमीहरूले आफ्नो कर्तव्यमा केही दुःख सहन्छौ र थोरथोरै मूल्य चुकाउँछौ, र जब कहिलेकाहीँ आफ्नो कामबारे अलि बढी गम्भीर हुने, थोरै आर्थिक योगदान गर्ने, परिवार त्याग्ने, जागिरबाट राजीनामा दिने, पढाइ त्याग्ने, आफूलाई परमेश्‍वरप्रति समर्पित गर्न विवाह परित्याग गर्ने, सांसारिक प्रवृत्तिहरू पछ्याउन छाड्ने, आफूले भेटेका दुष्ट मानिसहरूबाट परै बस्‍ने, आदि इत्यादि कामहरू गर्छौ—जब तिमीहरूले यी कुराहरू गर्न सक्छौ, के तिमीहरूलाई आफू सत्यता पछ्याउने व्यक्ति र साँचो विश्‍वासी हुँ भन्‍ने अनुभूति हुन्छ? के तिमीहरूले यही सोच्दैनौ र? (यही सोच्छौँ।) त्यसोभए, तिमीहरू केको आधारमा यस्तो सोच्छौ? के त्यो परमेश्‍वरका वचनहरू र सत्यतामा आधारित छ? (छैन।) यो त मनोकामना हो; यो तिमीहरूले आफ्नो बारे आफैले निर्णय गरेको अवस्था हो। जब तिमीहरूले कहिलेकाहीँ केही नियमहरू पालना गर्छौ र नियमबमोजिम कामहरू गर्छौ, र असल मानवताका केही प्रकटीकरणहरू धारण गर्छौ, जब तिमीहरू धैर्य र सहनशील हुन सक्षम हुन्छौ, जब तिमीहरू बाहिरी रूपमा नम्र, संयमित, मामुली, र अहङ्काररहित हुन्छौ, र जब तिमीहरू परमेश्‍वरको घरको काममा अलिअलि जिम्मेवार सङ्कल्प वा मानसिकता राख्न सक्छौ, तब तिमीहरूलाई आफूले साँच्चिकै सत्यता पछ्याएको छु र आफू साँच्चिकै सत्यता पछ्याउने व्यक्ति हुँ भन्‍ने लाग्छ। तर के यी प्रकटीकरणहरूले सत्यताको पछ्याइ जनाउँछन् त? (जनाउँदैनन्।) ठ्याक्कै भन्नुपर्दा, यी बाहिरी कार्य, व्यवहार र प्रकटीकरणहरू सत्यताको पछ्याइ होइनन्। त्यसोभए, किन मानिसहरू सधैँ यी प्रकटीकरणहरू सत्यताको पछ्याइ हुन् भन्ठान्छन्? किन तिनीहरू सधैँ तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् भन्ठान्छन्? (मानिसहरूलाई आफ्नो धारणामा यो लाग्छ कि, यदि तिनीहरूले थोरै प्रयत्न र समर्पण गर्छन् भने, ती सत्यता पछ्याइका प्रकटीकरणहरू हुन्छन्। त्यसैले, आफ्नो कर्तव्यमा अलिअलि मूल्य चुकाउँदा वा थोरै दुःख भोग्दा, तिनीहरूले आफूलाई सत्यता पछ्याउने मानिस भन्ठान्छन्, तर तिनीहरूले यस मामलामा परमेश्‍वरको वचनले के भन्छ वा व्यक्तिले सत्यता पछ्याइरहेको छ छैन भनी परमेश्‍वरले कसरी मूल्याङ्कन गर्नुहुन्छ भन्‍नेबारे पहिले कहिल्यै खोजी गरेका हुँदैनन्। फलस्वरूप, तिनीहरू सधैँ आफ्ना धारणा र कल्पनामा जिउँछन्, र आफूलाई महान्‌ भन्ठान्छन्।) मानिसहरूले आफ्ना धारणाहरू कहिल्यै त्याग्दैनन्, र तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् कि होइनन् भनी निर्धारण गर्ने महत्त्वपूर्ण मामलाको सम्बन्धमा, तिनीहरू सधैँ आफ्नै धारणा, कल्पना र कामनामा भर पर्छन्। तिनीहरूले किन यस्तो व्यवहार गर्छन्? के यो तिनीहरूलाई यस्तो सोच्न र व्यवहार गर्न सहज हुने हुनाले, र तिनीहरूले सत्यता पछ्याउन साँच्चिकै मूल्य चुकाउनुपर्दैन र तिनीहरूले अन्त्यमा लाभ र आशिष् पाइहाल्छन् भन्‍ने विश्‍वासले गर्दा होइन र? अर्को कारण पनि छ, र त्यो के हो भने, मानिसहरूका त्याग, तिनीहरूका दुःख, तिनीहरूले चुकाउने मूल्य, आदि इत्यादिजस्ता तथाकथित असल व्यवहारहरू तिनीहरूले हासिल गर्न र पाउन सक्ने कुराहरू भएर हो, होइन र? (हो।) मानिसहरूलाई आफ्नो परिवार र जागिर त्याग्न सजिलो हुन्छ, तर साँचो रूपमा सत्यता पछ्याउन, सत्यता अभ्यास गर्न वा सत्यता सिद्धान्तहरूको आधारमा व्यवहार गर्न सजिलो छैन, र यी कुराहरू हासिल गर्न तिनीहरूलाई सजिलो छैन। तैँले थोरै सत्यता बुझे पनि, तँलाई आफ्ना विचार, धारणा, वा भ्रष्ट स्वभावहरूविरुद्ध विद्रोह गर्न निकै कठिन हुनेछ, र सत्यता सिद्धान्तहरू पालना गर्न धेरै गाह्रो हुनेछ। यदि तँ सत्यता पछ्याउने व्यक्ति होस् भने, परमेश्‍वरमा विश्‍वास गरेका वर्षहरूमा, तैँले किन सत्यताका विविध पक्षबारे कुनै प्रगति गरेजस्तो नदेखिएको हो? तैँले मूल्य चुकाएको भए पनि नभए पनि वा तैँले जे कुरा त्यागेको वा छोडेको भए पनि, के तैँले हासिल गरेका अन्तिम परिणामहरू सत्यताको पछ्याइ र अभ्यासबाट हासिल भएका परिणामहरू हुन् त? तैँले जति नै मूल्य चुकाएको भए पनि, जति नै दुःख भोगेको भए पनि, वा जति नै दैहिक कुराहरू अस्वीकार गरेको भए पनि, तैँले अन्त्यमा केचाहिँ प्राप्त गरेको छस्? के तैँले सत्यता प्राप्त गरेको छस्? के तैँले सत्यतासम्बन्धी केही कुरा हासिल गरेको छस्? के तैँले आफ्नो जीवन प्रवेशमा प्रगति गरेको छस्? के तैँले आफ्ना भ्रष्ट स्वभावहरू परिवर्तन गरेको छस्? के तँमा परमेश्‍वरप्रति साँचो समर्पण छ? तर हामी परमेश्‍वरप्रतिको समर्पणजस्तो गहन पाठ वा अभ्यासबारे छलफल गर्नेछैनौँ, बरु हामी सबैभन्दा सामान्य कुराहरूबारे मात्र कुरा गर्नेछौँ। तैँले सबथोक त्यागेको छस्, र कैयौँ वर्षसम्म दुःख भोगेको र मूल्य चुकाएको छस्—तर के तैँले परमेश्‍वरको घरका हितहरू रक्षा गर्न सक्छस्? विशेषगरी ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले मण्डलीको काममा बाधा पुर्‍याउन दुष्कर्महरू गर्दा, के तैँले नदेखेझैँ गर्ने, ती दुष्ट मानिसहरूको हित जोगाउने, र आफ्नो रक्षा गर्ने गर्छस्, कि परमेश्‍वरको पक्षमा उभिने र उहाँको घरको हित जोगाउने गर्छस्? के तैँले सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गरेको छस्? यदि छैनस् भने, तेरो दुःख र त्यागहरू पावलकाभन्दा फरक छैनन्। ती आशिष् प्राप्त गर्नका निम्ति मात्र गरिएका हुन्, र ती सबै अर्थहीन छन्। ती कुरा त पावलले आफूले लड्नुपर्ने लडाइँहरू लडेको र सकाउनुपर्ने कामहरू सकाएको र अन्त्यमा आशिष् र इनाम प्राप्त गरेको भनेर बताएजस्तै हुन्—यी दुई कुराबीच बिलकुलै कुनै भिन्नता छैन। तँ पावलको मार्ग हिँडिरहेको छस्; तँ सत्यता पछ्याइरहेको छैनस्। तँ आफ्ना त्यागहरू, ऊर्जा खर्चाइ, दुःख-कष्टहरू, र आफूले चुकाएका मूल्यहरू सत्यताका अभ्यास हुन् भन्ठान्छस्, त्यसोभए तैँले यतिका वर्षमा कति वटा सत्यता बुझेको छस्? तँसँग कति वटा सत्यता वास्तविकताहरू छन्? तैँले कति वटा मामलामा परमेश्‍वरको घरको हित जोगाएको छस्? तँ कति वटा मामलामा सत्यता र परमेश्‍वरको पक्षमा उभिएको छस्? तैँले आफूमा परमेश्‍वरको डर मान्ने हृदय भएको कारण, तेरा कति वटा कार्यहरूमा दुष्ट काम गर्न वा तेरो आफ्नै इच्छा पछ्याउनबाट आफूलाई रोकेको छस्? यी सबै कुराहरू मानिसहरूले बुझ्नुपर्ने र जाँच्नुपर्ने कुराहरू हुन्। यदि तिनीहरूले यी कुराहरू जाँच्दैनन् भने, तिनीहरूले जति लामो समय परमेश्‍वरमा विश्‍वास गर्छन्, र विशेषगरी, तिनीहरूले जति लामो समयसम्म कुनै कर्तव्य निभाउँछन्, त्यति नै तिनीहरूलाई आफूले सराहनीय योगदान गरेको छु, आफूले अवश्य नै मुक्ति प्राप्त गर्नेछु, र आफू परमेश्‍वरको हुँ भन्‍ने लाग्नेछ। यदि कुनै दिन तिनीहरूलाई बरखास्त, पर्दाफास गरियो र हटाइयो भने, तिनीहरूले यसो भन्‍नेछन्: “मैले कुनै सराहनीय सेवा नगरेको भए पनि, कम्तीमा मैले मेहनत त गरेको छु, र यदि मैले मेहनत गरेको छैन भने पनि, कम्तीमा मैले आफूलाई थकित त तुल्याएको छु। मैले यतिका वर्षसम्म दुःख भोगेको र मूल्य चुकाएको आधारमा, परमेश्‍वरको घरले मलाई बरखास्त गर्नु वा यस्तो व्यवहार गर्नु हुँदैन। मैले परमेश्‍वरको घरको निम्ति काम गरेपछि यसले मलाई त्यतिकै मिल्काउनु हुँदैन!” यदि तँ साँच्चिकै सत्यता पछ्याउने व्यक्ति होस् भने, तैँले यस्ता कुराहरू भन्नु हुँदैन। यदि तँ सत्यता पछ्याउने व्यक्ति नै होस् भने, तैँले परमेश्‍वरको घरको कामका बन्दोबस्तहरू कति पटक पूर्ण रूपमा र भनेबमोजिम नै कार्यान्वयन गरेको छस्? तैँले तीमध्ये कति वटा कार्यान्वयन गरेको छस्? तैँले कति वटा कामहरू अनुगमन गरेको छस्? तैँले तीमध्ये कति वटा काम जाँचेको छस्? तेरा जिम्मेवारीहरू र कर्तव्यको क्षेत्रभित्र र तेरो योग्यता, बोध क्षमता र सत्यताको बुझाइले हासिल गर्न सक्‍ने उपलब्धिको दायराभित्र, तैँले कतिसम्‍म सक्दो प्रयत्न लगाएको छस्? तैँले कुन कर्तव्यहरू राम्ररी पूरा गरेको छस्? तैँले कति वटा असल कर्महरू तयार पारेको छस्? कुनै व्यक्ति सत्यता पछ्याउने व्यक्ति हो कि होइन भनी जाँच्ने मानकहरू यिनै हुन्। यदि तैँले सबै कुराहरू बरबाद पारेको छस् र कुनै नतिजा हात पारेको छैनस् भने, त्यसले प्रमाणित गर्छ कि, तैँले यतिका वर्षसम्म आशिष् प्राप्त गर्ने आशामा मात्र दुःख भोग्दै आएको र त्यागहरू गर्दै आएको छस्, र तँ सत्यता अभ्यास गरिरहेको र परमेश्‍वरमा समर्पित भइरहेको छैनस्; तैँले जे-जति कामकुराहरू गरेको छस्, त्यो सबै आफ्नै निम्ति, आफ्नै हैसियत र आशिष्‌को निम्ति गरेको छस्, र यो परमेश्‍वरको मार्ग पछ्याउनु होइन। अनि, तैँले केचाहिँ गरेको छस् त? के यस्तो मानिसको अन्तिम परिणाम पावलको जस्तै हुँदैन र? (हुन्छ।) यस्ता सबै मानिसहरू पावलको मार्ग हिँडिरहेका हुन्छन्, र स्वाभाविक रूपमै तिनीहरूको परिणाम पावलको जस्तै हुनेछ। तैँले परमेश्‍वरमा विश्‍वास गरिस् भन्दैमा, र आफ्नो जागिर, परिवार, वा केही अवस्थामा आफ्ना साना छोराछोरीसमेत त्यागिस् भन्दैमा, आफूले सराहनीय योगदान गरेको छु भन्‍ने नसोच्। तैँले कुनै सराहनीय योगदान गरेको छैनस्, तँ बस एक सृष्टि गरिएको प्राणी मात्र होस्, तैँले जे गर्छस् त्यो सबै तेरै लागि र तेरो दायित्व निभाउनको लागि गर्छस्। यदि ती कुराहरू आशिष् प्राप्त गर्नको खातिर नभएका भए, के तँ दुःख भोग्न र त्याग गर्न सक्षम हुन्थिस् र? के तँ आफ्नो परिवार र जागिर त्याग्न सक्षम हुन्थिस् र? आफ्नो परिवार र जागिर त्याग्नु, दुःख भोग्नु र मूल्य चुकाउनुलाई सत्यता पछ्याउनु र आफूलाई परमेश्‍वरको निम्ति समर्पित गर्नु बराबर नठान्। त्यो आफैलाई मूर्ख तुल्याउनु मात्र हो।

हरेक पटक मण्डलीले ठूलो धोइपखाली गर्दा, सत्यता स्विकार्न वा काटछाँट भोग्न नमान्‍नेहरू एकएक गरी पर्दाफास र निष्कासित हुन्छन्। एकदमै गम्भीर समस्या नभएका कतिपय मानिसहरूले चाहिँ निगरानीमा रहने अनुमति पाउँछन्, र खुलासामा परेपछि तिनीहरूलाई पश्‍चात्ताप गर्ने एउटा मौका दिइन्छ। तर कतिपय अरूहरूको हकमा भन्दा, तिनीहरूका समस्याहरू अत्यन्तै गम्भीर हुन्छन्, तिनीहरू बारम्बार आलोचना गर्दा पनि सुध्रिँदैनन्, र बारम्बार उही कुरा गरिरहन्छन् र उही गल्ती दोहोर्‍याइरहन्छन्, र तिनीहरूले मण्डलीको कामलाई बाधा पुर्‍याउने, बिथोल्ने र नष्ट पार्ने गरिरहन्छन्, र त्यसैले अन्त्यमा तिनीहरूलाई सिद्धान्तअनुसार सफाइ र निष्कासित गरिन्छ, र थप कुनै मौका दिइँदैन। कतिपय मानिसहरू भन्छन्: “तिनीहरूलाई थप मौका नदिइएकोमा मलाई नरमाइलो लाग्छ।” के तिनीहरूलाई पर्याप्त मौकाहरू दिइँदैन र? तिनीहरू उहाँका वचनहरू सुन्न, उहाँका वचनहरूको दण्ड र न्याय स्विकार्न वा उहाँको धोइपखाली र मुक्ति स्विकार्नको लागि परमेश्‍वरमा विश्‍वास गर्दैनन्, तिनीहरू आफ्नै व्यवसायको व्यवस्थापन गरिरहेका हुन्छन्। मण्डलीको काम वा कर्तव्यहरू निर्वाह गर्न थालेपछि, तिनीहरू हर प्रकारका गलत काममा संलग्न हुन थाल्छन्, र मण्डलीको कामलाई बिथोल्ने, बाधा पार्ने, र गम्भीर हानि पुर्‍याउने, साथै परमेश्‍वरको घरका हितमा गम्भीर नोक्सानी पुर्‍याउने गर्छन्। तिनीहरूलाई बिस्तारै विविध कर्तव्यपालन समूहबाट हटाएपछि, बारम्बार मौकाहरू प्रदान गर्दै, परमेश्‍वरको घरले तिनीहरूको लागि सुसमाचार समूहमा कर्तव्य निर्वाह गर्ने बन्दोबस्त मिलाउँछ, तर त्यहाँ पुगेपछि पनि ती मानिसहरू आफ्ना कर्तव्यमा मेहनत गर्दैनन् र अझै पनि विविध प्रकारका गलत काममै संलग्न भइरहन्छन्, तर पश्‍चात्ताप गर्ने वा परिवर्तन हुने काम बिलकुलै गर्दैनन्। परमेश्‍वरको घरले सत्यतामाथि जे-जसरी सङ्गति गरे पनि, वा यसले जे-जस्ता कार्य बन्दोबस्तहरू गरे पनि, र यसले यी मानिसहरूलाई मौका र चेतावनी दिने, र काटछाँटसमेत गर्ने गरिरहे पनि, यसको केही अर्थ हुँदैन। तिनीहरू अत्यन्तै भावशून्य मात्र नभई, अत्यन्तै हठीसमेत हुन्छन्। यो हठीपन अवश्य नै तिनीहरूको भ्रष्ट स्वभावको दृष्टिकोणबाट बोल्दाको कुरा हो। अनि, तिनीहरूको सार हेर्ने हो भने, तिनीहरू मानिसहरू होइनन्, दियाबलसहरू हुन्। मण्डली प्रवेश गरेपछि, शैतानको रूपमा काम गर्नेबाहेक, तिनीहरूले परमेश्‍वरको घरलाई र मण्डलीको कामलाई फाइदा पुग्ने कुनै काम गर्दैनन्। तिनीहरू खराब काम मात्र गर्छन्; तिनीहरू मण्डलीको कामलाई बाधा पुर्‍याउन र नष्ट गर्न मात्र आउँछन्। सुसमाचार प्रचार गर्ने क्रममा अलिअलि मानिसहरूलाई प्राप्त गरेपछि नै, तिनीहरू आफूले पुँजी हासिल गरेको र सराहनीय योगदान पुर्‍याएको महसुस गर्छन्, अनि तिनीहरू त्यसैमा मक्ख पर्न थाल्छन्, र आफूले परमेश्‍वरको घरमा राजा भई शासन गर्न, कामको जुनसुकै पक्षमा आदेश दिन र निर्णय गर्न अनि मानिसहरूलाई ती कुराहरू अभ्यास र कार्यान्वयन गर्न बाध्य पार्न सक्‍छु भन्‍ने सोच्छन्। माथिबाट जे-जसरी सत्यता सङ्गति गरिए पनि वा जे-जस्तो कार्य बन्दोबस्त मिलाइए पनि, यी मानिसहरू त्यसलाई गम्भीरतापूर्वक लिँदैनन्। तेरो अगाडि, तिनीहरूले निकै मिठा कुरा भन्छन्: “परमेश्‍वरको घरको कार्य बन्दोबस्तहरू निकै राम्रा छन्, ती ठ्याक्कै हामीलाई चाहिएजस्तै छन्, ती कुराहरूले बेलैमा परिस्थिति सच्याइदिएका छन्, नत्र हामी कति विचलित हुन्थ्यौँ भनेर हामीले पत्तोसमेत पाउनेथेनौँ।” तर टाउको पछाडि फर्काउनेबित्तिकै, तिनीहरू बद्लिहाल्छन् र आफ्नै विचारहरू फैलाउन थाल्छन्। ल भन् त, के यस्ता मानिसहरू साँच्चिकै मानव हुन् त? (होइनन्।) यदि तिनीहरू मानव होइनन् भने, के हुन् त? बाहिरी रूपमा, तिनीहरूले एकपत्रे मानव खोल ओढ्छन्, तर सारमा, तिनीहरू मानवले गर्ने काम गर्दैनन्—तिनीहरू पिशाचहरू हुन्! किटेरै भन्नुपर्दा, तिनीहरूले मण्डलीमा खेल्ने भूमिका परमेश्‍वरको घरको कामका विविध पक्षहरूमा बाधा पुर्‍याउनु मात्र हो। तिनीहरूले जे काम गरिरहेका भए पनि बाधा पुर्‍याउने काम मात्र गर्छन्, र तिनीहरूले कहिल्यै पनि सत्यता वा सिद्धान्तहरू खोजेका हुँदैनन्, कहिल्यै पनि कार्य बन्दोबस्तहरू हेर्ने वा तीअनुसार व्यवहार गर्ने गरेका हुँदैनन्। तिनीहरूले केही शक्ति प्राप्त गर्नेबित्तिकै त्यसको धाक जमाउने र परमेश्‍वरका चुनिएका मानिसहरूसामु प्रभाव देखाउने गरिहाल्छन्। तिनीहरू सबैको स्वरूप भूतप्रेतको जस्तो हुन्छ र तिनीहरूमा मानव झल्को हुँदैन। तिनीहरूले कहिल्यै परमेश्‍वरको घरका हितहरू कायम राखेका हुँदैनन्, तिनीहरूले आफ्नै हित र हैसियत मात्र रक्षा गर्छन्। तिनीहरूले जुनसुकै तहमा रहेर अगुवाइ गरे पनि, वा कामको जस्तोसुकै पक्षमा निगरानी राखे पनि, तिनीहरूलाई काम सुम्पनेबित्तिकै त्यो तिनीहरूकै बन्छ, तिनीहरूले नै निर्णायक अधिकार लिन्छन्, र अरूले ती कामबारे जाँचबुझ, निरीक्षण, वा अनुगमन नगरेकै बेस, र तिनीहरूमाथि हस्तक्षेप गर्ने कुरा त झन् सोच्‍दै नसोचे हुन्छ। के यिनीहरू वास्तविक ख्रीष्टविरोधीहरू होइनन् र? (हुन्।) यी मानिसहरू अझै पनि आशिष् प्राप्त गर्न चाहन्छन्! मसँग यी मानिसहरूको लागि दुई शब्द छन्: अनुचित र असुधार्य। ती सत्यता नपछ्याउनेहरू जुनसुकै बाधामा पनि ठेस खान सक्छन्, र तिनीहरू धेरै अगाडि पुग्नेछैनन्। विगतमा, मैले सधैँ तिमीहरूलाई भन्थेँ: “यदि तिमीहरूले अन्त्यसम्मै श्रम गर्न र बफादार श्रमिक हुन सक्छौ भने, त्यो पनि निकै राम्रो हो।” कतिपय मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्, र तिनीहरू सत्यता पछ्याउन चाहिरहेका हुँदैनन्। अनि, यसबारे के गर्नुपर्छ? तिनीहरू श्रमिक हुनुपर्छ। यदि तँ श्रम गर्ने काममा मेहनत गर्न सक्छस् र कुनै भाँजो हाल्ने वा बाधा पुर्‍याउने काम गर्दैनस् वा तँलाई हटाउनुपर्ने गरी तैँले कुनै दुष्टता गर्दैनस्, तैँले दुष्टता गर्नेछैनस् भनी प्रत्याभूति दिन सक्छस्, र अन्त्यसम्मै श्रम गरिरहन सक्छस् भने, तँ बाँच्न सक्षम हुनेछस्। तैँले धेरै मात्रामा आशिष् प्राप्त गर्न नसके पनि, कम्तीमा तैँले परमेश्‍वरको कामको अवधिमा श्रम गरेको हुनेछस्, र तँ बफादार श्रमिक हुनेछस्, र अन्त्यमा, परमेश्‍वरले तँलाई गलत व्यवहार गर्नुहुनेछैन। तर यतिखेर, कतिपय श्रमिकहरू यस्ता छन् जसले साँच्चिकै अन्त्यसम्मै श्रम गर्न सक्दैनन्। त्यस्तो किन भएको हो? किनभने तिनीहरूमा मानव आत्मा नै छैन। हामी तिनीहरूमा कस्तो प्रकारको आत्मा हुन्छ भनी जाँच्नेछैनौँ, तर कम्तीमा पनि, सुरुदेखि अन्त्यसम्म तिनीहरूको व्यवहार हेर्दा, तिनीहरूको सार दियाबलसको छ, व्यक्तिको छैन। तिनीहरूले बिलकुलै सत्यता स्विकार्दैनन्, र सत्यता पछ्याउनबाट त तिनीहरू अझै टाढा छन्।

दस वर्षपहिले, जतिखेर सत्यताको हरेक पक्षमाथि विस्तारमा सङ्गति गरिएको थिएन, त्यतिखेर मानिसहरूले सत्यता पछ्याउनु वा सत्यता सिद्धान्तहरूको आधारमा कामकुरा सम्हाल्नुको अर्थ बुझ्दैनथे। कतिपय मानिसहरूले तिनीहरूका आफ्नै इच्छा, कल्पना, र धारणा वा पालना गरिएका नियममा आधारित रहेर काम गर्थे। यो क्षमायोग्य थियो, किनभने तिनीहरूले त्यो बुझ्दैनथे। तर आज, १० वर्षपछि, सत्यताका विभिन्न पक्षहरूमाथि हाम्रो सङ्गति सम्पन्न भइनसकेको भए पनि, मानिसहरूले काम गर्ने र कर्तव्य निर्वाह गर्नेसँग सम्बन्धित विविध आधारभूत सत्यताहरूलाई कम्तीमा पनि सिद्धान्तहरूको सन्दर्भमा व्याख्या गरिएको छ। तिनीहरूले जे-जस्तो प्रकारको कर्तव्य निर्वाह गरिरहेको भए पनि, जो मानिसहरूमा हृदय र आत्मा हुन्छ, र जसले सत्यतालाई प्रेम गर्छन् र पछ्याउँछन्, तिनीहरूले आफ्नो विवेक र समझमा भर परेर सत्यता सिद्धान्तहरूको केही अंश अभ्यास गर्न सक्नुपर्छ। मानिसहरू पछि पर्छन् र उच्‍च तथा गहन सत्यतासम्‍म पुग्न असफल हुन्छन्, र तिनीहरूले कतिपय समस्याहरूको सार वा सत्यतासँग सम्बन्धित सारहरू छर्लङ्गै बुझ्न सक्दैनन्, तर तिनीहरूले आफू पुग्न सक्ने र प्रस्ट रूपमा तोकिएका सत्यताहरू अभ्यास गर्न सक्नुपर्छ। कम्तीमा पनि, तिनीहरूले परमेश्‍वरको घरले प्रस्ट रूपमा तोकेका कार्य बन्दोबस्तहरू परिपालन, कार्यान्वयन र वितरण गर्न सक्नुपर्छ। तथापि, जो मानिसहरू पिशाचहरूका हुन्, तिनीहरूले यी कामहरू गर्नसमेत सक्दैनन्। तिनीहरू त्यस्ता मानिसहरू हुन् जसले अन्त्यसम्म श्रम गर्नसमेत सक्दैनन्। जब मानिसहरूले अन्त्यसम्म श्रम गर्नसमेत सक्दैनन्, यसको मतलब तिनीहरू यात्राको आधा बाटोमै डब्बाबाट फालिनेछन्। किन तिनीहरू डब्बाबाट फालिनेछन्? यदि तिनीहरू डब्बामा शान्त भएर बसिरहेका, सुतिरहेका, थपक्क बसिरहेका, वा आफै रमाइरहेका हुन्छन् भने, जबसम्म तिनीहरूले सबैलाई वा पूरै रेललाई नै अघि बढ्नमा बाधा पुर्‍याउँदैनन्, तबसम्म कसलाई चाहिँ तिनीहरूलाई डब्बाबाट फाल्ने इच्छा हुन्छ र? कसैलाई हुँदैन। यदि तिनीहरूले साँच्चिकै श्रम गर्न सक्छन् भने, परमेश्‍वरले पनि तिनीहरूलाई डब्बाबाट फाल्नुहुनेछैन। तर अहिले ती मानिसहरूलाई श्रम गर्न लगाउँदा त्यसबाट फाइदाभन्दा घाटा धेरै हुनेछ। ती मानिसहरूले बाधा पुर्‍याएको कारणले गर्दा, परमेश्‍वरको घरको कामका विविध पक्षहरूले अत्यन्तै ठूला नोक्सानीहरू बेहोरेका छन्। तिनीहरू ठूलो चिन्ताका कारक हुन्! जे-जसरी सङ्गति गरे पनि, तिनीहरूले सत्यता बुझ्दैनन्, र पछि पनि तिनीहरूले खराब कामहरू गरिरहन्छन्। ती मानिसहरूसँग कुराकानी गर्नु भनेको साँच्चिकै कहिल्यै नटुङ्गिने वार्तालापमा संलग्‍न हुनु र कहिल्यै नमर्ने रिस अनुभव गर्नु हो। सबैभन्दा नराम्रो पक्ष त यो हो कि ती मानिसहरूले अत्यन्तै धेरै दुष्टता गरेका र परमेश्‍वरको घरको सुसमाचार फैलाउने काममा अत्यन्तै ठूलो नोक्सानी पुर्‍याएका हुन्छन्। तिनीहरूले निर्वाह गर्ने थोरै कर्तव्यमा पनि, तिनीहरूले बाधा र अवरोध मात्र पुर्‍याउने गर्छन्, अनि तिनीहरूले परमेश्‍वरको घरको काममा पुर्‍याउने नोक्सानी अपूरणीय हुन्छ। ती मानिसहरूले भएभरका खराब कामहरू गर्ने गर्छन्। मण्डलीका साधारण सदस्यहरूमाझ रहँदा, तिनीहरूले आफूखुसी गर्छन्, भेटी दुरुपयोग गर्छन्, आफूले सुसमाचार फैलाउँदा प्राप्त गरेका मानिसहरूको सङ्ख्या बढाइचढाइ गर्छन्, र तिनीहरूले अरू मानिसहरूलाई अनुचित रूपमा प्रयोग गर्छन्। तिनीहरूले विशेष रूपमा केही दुष्ट, भ्रमित र दुष्ट काम गरिहिँड्ने संयमहीन मानिसहरूलाई प्रयोग गर्छन्। तिनीहरूले कसैको सुझाव सुन्दैनन्, र आफ्नो राय व्यक्त गर्ने जोकोहीलाई दमन र दण्डित गर्छन्। तिनीहरूको कार्यक्षेत्रअन्तर्गत, परमेश्‍वरका वचन, मापदण्ड र कार्य बन्दोबस्तहरू कार्यान्वयन गरिँदैनन्, बरु ती कुराहरू पन्छाइन्छन्। ती मानिसहरू स्थानीय स्तरका दुःख दिने र निरङ्कुश मानिसहरू बन्छन्; तिनीहरू तानाशाह बन्छन्। ल भन् त, के यस्ता मानिसहरूलाई राख्न मिल्छ त? (मिल्दैन।) हालको समयमा केही मानिसहरू बरखास्त गरिएका छन्, अनि बरखास्त गरिएपछि तिनीहरू आफू अत्यन्तै आदर्शवान्‌, अत्यन्तै समर्पित र अत्यन्तै सत्यता पछ्याउने मानिस भएको देखाउनको लागि “परमेश्‍वरको घरका बन्दोबस्तहरूप्रति समर्पित हुने” बारे कुरा गर्छन्। यसो भनेर, तिनीहरू परमेश्‍वरको घरले जे गरे पनि त्यसबारे तिनीहरूको भन्नु केही छैन र तिनीहरू त्यसका बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक रहेको इङ्गित गर्छन्। तर यसरी तिनीहरू आफू परमेश्‍वरको घरका बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक रहेको बताइरहे पनि—तिनीहरूले किन त्यति धेरै दुष्टता गरे जसको कारण मण्डलीले तिनीहरूलाई बरखास्त गर्‍यो त? तिनीहरू किन यो कुरा बुझ्दैनन्? तिनीहरूले किन यसबारे स्पष्टीकरण दिएका छैनन्? तिनीहरूले काम गर्ने क्रममा परमेश्‍वरको घरको काममा विविध प्रकारका समस्या र नोक्सानी पुर्‍याएका हुन्छन्—के तिनीहरूले यस सम्बन्धमा खुलेर आफूलाई उदाङ्गो पार्नुपर्दैन र? के तिनीहरू त्यसबारे चुइँक्क नबोल्दा त्यो मामला हल भएको हुन्छ र? तिनीहरू परमेश्‍वरको घरका बन्दोबस्तहरू पालना गर्न आफू इच्छुक रहेको बताउँदै आफूलाई आदर्शवान्‌ र महान् देखाउँछन्—यो पूर्णतया बहानाबाजी र छलकपट हो! यदि तिनीहरू परमेश्‍वरको घरका बन्दोबस्तहरू पालना गर्न सिकिरहेका छन् भने, तिनीहरूले किन परमेश्‍वरको घरका अघिल्ला कार्य बन्दोबस्तहरू पालना गरेनन्? तिनीहरूले किन तिनलाई व्यवहारमा लागु गरेनन्? तिनीहरू उतिबेला के गरिरहेका थिए? तिनीहरूले साँच्चिकै कसको आज्ञापालन गर्छन्? तिनीहरू किन यसबारे स्पष्टीकरण दिँदैनन्? तिनीहरूको नाइके को हो? के तिनीहरूले परमेश्‍वरको घरले बन्दोबस्त गरेको कामको प्रत्येक पक्ष कार्यान्वयन गरे? के तिनीहरूले नतिजा हात पारे? के तिनीहरूको कामले गम्भीर जाँच थेग्न सक्छ? बेकाबु रूपमा दुष्ट काम गरेर आफूले परमेश्‍वरको घरको काममा पुर्‍याएको नोक्सानी तिनीहरूले कसरी पूर्ति गर्नेछन्? के यो मामला टिप्पणी गर्न लायक छैन र? के तिनीहरूले आफू परमेश्‍वरको घरका बन्दोबस्तहरू पालना गर्नेछौँ भनेर मात्र हुन्छ त, अनि त्यति गरेर पुग्छ त? ल भन् त, के यस्ता मानिसहरूमा मानवता हुन्छ त? (हुँदैन।) तिनीहरूमा मानवता, समझ र विवेक केही पनि हुँदैन, र तिनीहरूलाई कुनै सरम हुँदैन! तिनीहरूलाई आफूले त्यति धेरै दुष्टता गरेको र परमेश्‍वरको घरलाई त्यति ठूलो नोक्सानी पुर्‍याएकोसमेत पत्तो हुँदैन। तिनीहरूले अत्यन्तै धेरै भाँजो हाल्ने र बाधा पुर्‍याउने काम गरेका हुन्छन्, तर तिनीहरूलाई न कुनै पछुतो हुन्छ, न ऋणीपन बोध हुन्छ न त कुनै स्वीकारोक्ति प्रकट हुन्छ। यदि तैँले तिनीहरूलाई जबाफदेही बनाउन खोजिस् भने, तिनीहरूले “यसो गर्ने म एक्लै थिइनँ” भनेर भन्‍नेछन्—तिनीहरूसँग बहानै बहाना हुन्छन्। तिनीहरूले भन्न खोजेको यो हो कि, यदि सबैजना अपराधी हुन् भने तिनीहरूलाई मात्रै सजाय दिन मिल्दैन, र सबैजनाले दुष्टता गरेकाले तिनीहरूलाई मात्रै व्यक्तिगत रूपमा जबाफदेही बनाइनु हुँदैन। यो कुरा गलत हो। तिनीहरूले आफूले गरेको दुष्टताबारे स्पष्टीकरण दिनैपर्छ—हरव्यक्तिले आफूले गरेको दुष्टताबारे स्पष्टीकरण दिनैपर्छ। तिनीहरूले परमेश्‍वरको घरका बन्दोबस्तहरू पालना गर्नुपर्छ, र आफ्ना समस्याहरू सही ढङ्गले सामना गर्नुपर्छ। यदि तिनीहरूमा यो मनोवृत्ति छ भने, तिनीहरूले अर्को मौका पाएर त्यहीँ रहन सक्छन्, तर तिनीहरूलाई सधैँ दुष्टता गरिरहने कुनै छूट हुँदैन! यदि तिनीहरूको विवेकमा कुनै चेतना छैन भने, यदि तिनीहरूले आफू कुनै रूपले परमेश्‍वरप्रति आभारी भएको महसुस गर्न सक्दैनन्, र बिलकुलै पश्‍चात्ताप गर्दैनन् भने, मानवको नजरबाट त तिनीहरूलाई एउटा मौका दिन र कर्तव्य जारी राख्‍न लगाउन सकिएला, र तिनीहरूलाई जबाफदेही नबनाउन पनि मिल्ला, तर परमेश्‍वरले यसलाई कसरी हेर्नुहुन्छ? यदि मानिसहरूले तिनीहरूलाई जबाफदेही बनाउँदैनन् भने, के परमेश्‍वरले पनि बनाउनुहुनेछैन त? (होइन।) परमेश्‍वरले सबै मानिसहरू र वस्तुहरूलाई सिद्धान्तअनुसार व्यवहार गर्नुहुन्छ। परमेश्‍वरले तँसित सम्झौता गरेर तेरो लागि सहज परिस्थिति बनाउने काम गर्नुहुनेछैन, उहाँले तैँलेजस्तो मान्छे खुसी पारिहिँड्ने काम गर्नुहुनेछैन। परमेश्‍वरका सिद्धान्तहरू छन्, उहाँमा धर्मी स्वभाव छ। यदि तैँले परमेश्‍वरको घरका सिद्धान्त र प्रशासनिक आदेशहरू उल्लङ्घन गरिस् भने, मण्डली र परमेश्‍वरको घरले प्रशासनिक आदेशका सिद्धान्त र सर्तहरूअनुसार तँलाई निराकरण गर्नैपर्छ। तैँले परमेश्‍वरलाई चिढ्याउनुको परिणामबारे कुरा गर्दा, खासमा परमेश्‍वरले तँलाई कसरी हेर्नुहुन्छ र कस्तो व्यवहार गर्नुहुन्छ भनेर तँलाई हृदयमा थाहा हुन्छ। यदि तैँले साँच्चिकै परमेश्‍वरलाई परमेश्‍वरकै रूपमा मान्छस् भने, तैँले उहाँसामु आएर त्यो बेलिविस्तार गर्ने, आफ्नो पाप स्विकार्ने र पश्‍चात्ताप गर्ने गर्नुपर्छ। यदि तँमा यो मनोवृत्ति छैन भने, तँ अविश्‍वासी होस्, तँ दियाबलस होस्, तँ परमेश्‍वरको शत्रु होस्, र तैँले श्रापित हुनुपर्छ! अनि, तैँले प्रवचनहरू सुन्नुको के अर्थ? तँ बाहिर जानुपर्छ; तँ प्रवचन सुन्न लायक छैनस्! सत्यताहरू सामान्य भ्रष्ट मानवले सुनून् भनेर बोलिन्छन्; तर यस्ता मानिसहरूमा भ्रष्ट स्वभाव भए पनि तिनीहरूमा दृढनिश्‍चयता हुन्छ र तिनीहरू सत्यता स्विकार्न इच्छुक हुन्छन्, र तिनीहरूले आफूलाई केही आइपर्दा, आफ्नै बारेमा मनन गर्न, र आफूबाट केही गल्ती हुँदा, त्यो स्विकार्न, पश्‍चात्ताप गर्न र आफूलाई सुधार्न सक्छन्। यस्ता मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन्, र तिनीहरूकै लागि सत्यताहरू बोलिएका हुन्। जो मानिसहरू आफूलाई जेसुकै आइपरे पनि पश्‍चात्तापी मनोवृत्ति राख्दैनन्, तिनीहरू साधारण भ्रष्ट मानव होइनन्, तिनीहरू पूर्णतया अर्कै चीज हुन्; तिनीहरूको सार दियाबलसको हुन्छ, व्यक्तिको हुँदैन। साधारण भ्रष्ट मानवहरू पनि सत्यता पछ्याउन नसक्ने हुन्छन्, तर तिनीहरूले आफ्नो विवेक, र आफ्नो मानवतामा भएको थोरै सरम र आफूसित भएको थोरै समझको आधारमा प्राय: खराब कामहरू गर्नबाट आफूलाई रोक्न सक्छन्, र तिनीहरूमा जानाजान भाँजो हाल्ने र बाधा पुर्‍याउने कुनै अभिप्राय हुँदैन। सामान्य परिस्थितिमा, यस्ता मानिसहरूले अन्त्यसम्‍मै श्रम गर्न र पछ्याउन, अनि जीवित रहन सक्षम हुन्छन्। तथापि, एक प्रकारका मानिसहरू यस्ता हुन्छन्, जसमा विवेक वा समझ नै हुँदैन, जसमा इज्जत वा सरमको बोध नै हुँदैन, जोसँग जति दुष्टता गरे पनि पश्‍चात्तापी हृदय नै हुँदैन, र जो अझै आशिष् प्राप्त गर्ने आशा गर्दै र पश्‍चात्ताप गर्नसम्‍म पनि नजानी, परमेश्‍वरको घरभित्र निर्लज्‍ज लुकेर बस्छन्। जब कसैले “तिमीले त्यसो गरेर भाँजो हाल्ने र बाधा पुर्‍याउने काम गर्‍यौ” भनेर भन्छ, तब तिनीहरूले यसो भन्छन्, “साँच्चै? त्यसोभए मैले गल्ती गरेछु, म अर्कोपल्ट राम्रो गर्नेछु।” जवाफमा त्यो अर्को व्यक्तिले “त्यसोभए तिमीले तिम्रा भ्रष्ट स्वभावहरू चिन्नुपर्छ” भनेर भन्छ, अनि तिनीहरूले भन्छन्, “कस्ता भ्रष्ट स्वभावहरू चिन्ने हो र? म त अज्ञानी र मूर्ख मात्र बनिरहेको थिएँ। म अर्कोपल्ट राम्रो गर्नेछु।” तिनीहरूमा गहन बुझाइको कमी हुन्छ, र तिनीहरूले बोलेरै मानिसहरूलाई मनाउने गर्छन्। के यस्तो मनोवृत्ति भएका मानिसहरूले पश्‍चात्ताप गर्न सक्छन् र? तिनीहरूमा त लाजसमेत हुँदैन—तिनीहरू मान्छे नै होइनन्! कतिपय मानिसहरू भन्छन्: “के तिनीहरू मान्छे होइनन् भने पशु हुन् त?” तिनीहरू पशु नै हुन्, तर तिनीहरू कुकुरभन्दा पनि तल्लो स्तरका हुन्। यो कुरा सोच् त, एउटा कुकुरले कुनै खराब काम गर्दा वा गलत व्यवहार देखाउँदा, तैँले एक पटक गाली गरिस् भने, त्यसले तुरुन्तै नराम्रो मान्नेछ, र त्यसले तँप्रति राम्रो व्यवहार गरिरहनेछ, र त्यसबाट त्यसले यसो भन्न खोजेको हुन्छ: “कृपया मलाई घृणा नगर्नुहोस्, म फेरि त्यो कहिल्यै गर्नेछैन।” जब फेरि यस्तै केही आइपर्छ, तब त्यो कुकुरले तँलाई हेरेर यसो भन्न खोज्नेछ: “म त्यस्तो गर्नेछैन, चिन्ता नगर्नूस्।” त्यो कुकुर पिटिने कुराले डराएको होस्, वा त्यसले मालिकको निगाह पाउन खोजिरहेको होस्, तैँले यसलाई जुन रूपमा हेरे पनि, जब मालिकले कुनै कुरा रुचाउँदैन वा गर्न दिँदैन भनेर त्यसलाई थाहा हुन्छ, तब त्यो कुकुरले त्यो काम गर्नेछैन। त्यो कुकुरले आफूलाई रोक्न सक्छ; त्यसमा लाजको बोध हुन्छ। जन्तुमा समेत लाजको बोध हुन्छ, तर ती मानिसहरूमा हुँदैन। त्यसोभए, के तिनीहरू अझै मान्छे नै हुन् त? तिनीहरू जन्तुभन्दा पनि कम स्तरका हुन्, त्यसैले तिनीहरू अमानव र निर्जीव वस्तु हुन्, तिनीहरू खाट्टी दियाबलसहरू हुन्। तिनीहरूले जति नै धेरै दुष्टता गरे पनि आफ्नो बारे मनन गर्ने वा त्यो स्विकार्ने काम कहिल्यै गर्दैनन्, र पश्‍चात्ताप गर्न तिनीहरूलाई निश्‍चय नै आउँदैन। कतिपय मानिसहरू यस्ता हुन्छन्, जो आफूले थोरै दुष्टता गरेको कारण, दाजुभाइ-दिदीबहिनीसँग आमनेसामने हुन लाज मान्छन्, र यदि दाजुभाइ-दिदीबहिनीले तिनीहरूलाई कुनै चुनावमा चुने भने, तिनीहरूले यसो भन्‍नेछन्: “म यो कर्तव्य ग्रहण गर्नेछैन, म योग्य छैनँ। विगतमा, मैले केही मूर्ख कामहरू गरेको छु, जसले मण्डलीको काममा केही नोक्सान पुर्‍याएको छ। म यो पदको लायक छैनँ।” यस्ता मानिसहरूमा लाजको बोध हुन्छ, र तिनीहरूमा विवेक र समझ हुन्छ। तर ती दुष्ट मानिसहरूमा लाजको कुनै बोध नै हुँदैन। यदि तैँले तिनीहरूलाई अगुवा बन्न अनुरोध गरिस् भने, तिनीहरूले जुरुक्क उठेर यसो भन्‍नेछन्: “हेर! तिमीहरूलाई के लाग्छ? मबिना परमेश्‍वरको घर चल्न सक्दैन। म प्रभावशाली व्यक्ति हुँ, र म निकै योग्य छु!” ल भन् त, के यी मानिसहरूलाई लाज मान्ने तुल्याउनु कठिन हुँदैन र? अनि, यो कति कठिन हुन्छ? यो चीनको शन्हाइ भञ्ज्याङको पर्खाल चढ्नुभन्दा पनि कठिन हुन्छ—तिनीहरू लाजपचुवाहरू हुन्! तिनीहरूले जति नै दुष्टता गरे पनि, तिनीहरू निर्लज्‍ज मण्डलीमा रमाउँदै दिन कटाउँछन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीसँग कुराकानी गर्दा कहिल्यै नम्र बनेका हुँदैनन्, र तिनीहरू अझै पनि सधैँझैँ गरी जिउँछन्, र कहिलेकाहीँ तिनीहरूले आफ्ना “ठूला उपलब्धिहरू,” विगतका आफ्ना त्यागहरू, ऊर्जा खर्चाइ, दुःख-कष्टहरू, र आफूले चुकाएका मूल्यहरू, र विगतका आफ्ना “महिमा र महान्ता” बारे धाक लगाउँछन्। अवसर पाउनेबित्तिकै, तिनीहरूले तुरुन्तै उभिएर सान र रवाफ देखाउँछन्, आफ्ना पुँजीहरूबारे कुरा गर्छन् र योग्यता प्रदर्शन गर्छन्, तर आफूले कति दुष्टता गरेँ, परमेश्‍वरको कति भेटी दुरुपयोग गरेँ, वा परमेश्‍वरको घरको काममा कति नोक्सानी पुर्‍याएँ भनेर चाहिँ कहिल्यै कुरा गर्दैनन्। तिनीहरूले एक्लै परमेश्‍वरलाई प्रार्थना गर्दासमेत त्यो कुरा स्विकार्दैनन्, र तिनीहरू आफूले गरेको गल्ती वा परमेश्‍वरको घरमा पुर्‍याएको नोक्सानीको लागि कहिल्यै आँसु झार्दैनन्। तिनीहरू यति धेरै हठी र निर्लज्ज हुन्छन्। के तिनीहरू पूर्ण रूपमा अनुचित र असुधार्य छैनन् र? (छन्।) तिनीहरू असुधार्य छन्, र तिनीहरूले मुक्ति पाउन सक्दैनन्। तैँले तिनीहरूलाई जे-जति मौका दिइस् भने पनि, त्यो भित्तासँग बोल्नु, हाँसलाई रूखमा चढाउनु वा दियाबलस र शैतानलाई परमेश्‍वरको आराधना गर्न लगाउनुसरह हुन्छ। त्यसैले, यी मानिसहरूको सम्बन्धमा, अन्त्यमा परमेश्‍वरको घरको मनोवृत्ति भनेको तिनीहरूलाई त्याग्‍ने हुनुपर्छ। यदि तिनीहरू इच्छुक छन् भने, तिनीहरूले कर्तव्य निभाउन सक्नेछन्, परमेश्‍वरको घरले तिनीहरूलाई थोरै मौका दिनेछ। यदि तिनीहरू कर्तव्य निभाउन इच्छुक छैनन् र “म यहाँबाट निस्केर काम गर्नेछु, पैसा कमाउनेछु, र मेरा आफ्नै दिनहरू बिताउनेछु; म आफ्नै व्यवसाय चलाउनेछु” भनेर भन्छन् भने, तिनीहरूले त्यसै गरे हुन्छ, परमेश्‍वरको घरको ढोका खुला छ, तिनीहरू तुरुन्तै निस्केर जाँदा हुन्छ! म तिनीहरूको अनुहार फेरि हेर्न चाहन्नँ, तिनीहरू अत्यन्तै घिनलाग्दा छन्! तिनीहरू केको बहाना गरिरहेका छन्? तिनीहरूले सहेका थोरै दुःख, तिनीहरूले चुकाएका थोरै मूल्य, तिनीहरूका थोरै त्याग र ऊर्जा खर्चाइहरू तिनीहरूले दुष्टता गर्न सकूँ भनेर तयार पारेका पूर्वसर्तहरू मात्र थिए। यदि तिनीहरू परमेश्‍वरको घरमै बसे भने, तिनीहरूले त्यहाँ कस्तो सेवा गर्न सक्छन्? तिनीहरूले परमेश्‍वरको घरको काममा के फाइदा दिन सक्छन्? एउटा दुष्ट व्यक्ति अर्थात् ख्रीष्टविरोधीले छ महिनाको अवधिमा गरेका दुष्कर्म र खराब कामहरूले मण्डलीको काममा कति भाँजो वा बाधा सिर्जना गर्न सक्छ, के तैँले सोच्न सक्छस्? ल भन् त, त्यसको पूर्ति गर्न कति दाजुभाइ-दिदीबहिनीले काम गर्नुपर्नेछ? के थोरै सेवा गराउनको लागि त्यो दुष्ट व्यक्ति अर्थात् त्यो ख्रीष्टविरोधीलाई खटाएर यो समस्या निम्तिनु जायज होइन र? (हो।) खराब काम गर्नको निम्ति बनेको ख्रीष्टविरोधीहरूको एउटा समूहले कति नोक्सानी पुर्‍याउन सक्छ भन्‍नेबारे हामी कुरा गर्नेछैनौँ, तर एउटा ख्रीष्टविरोधीले बोलेको एउटा भ्रम र दियाबलसरूपी अभिव्यक्तिले, वा एउटा ख्रीष्टविरोधीले जारी गरेको एउटा बेतुके आदेशले मण्डलीको काममा कति हानि पुर्‍याउन सक्छ? ल भन् त, त्यसको पूर्ति गर्नको लागि कति मानिसहरूले कति समय काम गर्नुपर्नेछ? यो नोक्सानीको जिम्मेवारी कसले लिनेछ? कसैले सक्दैन! के यो नोक्सान पूर्ति गर्न सकिन्छ त? (सकिँदैन।) कतिपय मानिसहरू भन्छन्: “यदि हामीले थप केही मानिसहरूको मद्दत पायौँ र दाजुभाइ-दिदीबहिनीले अलि बढी दुःख सहे भने, सायद हामीले त्यसलाई पूर्ति गर्न सक्षम सक्‍नेछौँ।” तर त्यसको केही अंश पूर्ति गर्न सकिए पनि, त्यसको लागि परमेश्‍वरको घरले कति जनशक्ति र भौतिक स्रोतसाधन खर्चनुपर्नेछ? विशेषगरी, खेर गएको समय अनि परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्नो जीवन प्रवेशमा बेहोरेको नोक्सानी कसले पूर्ति गर्न सक्छ? कसैले पनि सक्दैन। त्यसकारण, ख्रीष्टविरोधीहरूले गरेका गल्तीलाई माफी दिन मिल्दैन! कतिपय मानिसहरू भन्छन्: “ख्रीष्टविरोधीहरूले ‘गुमेको पैसाको क्षतिपूर्ति हामी दिनेछौँ’ भनेर भनेका छन्।” अवश्य नै तिनीहरूले त्यसको क्षतिपूर्ति दिनैपर्छ! “ख्रीष्टविरोधीहरूले ‘हामीले गुमाएका मानिसहरूको पूर्ति गर्न हामी थप मानिसहरू ल्याउनेछौँ’ भनेर भनेका छन्।” यो तिनीहरूले नगरी नहुने काम हो। तिनीहरूले आफूले गरेको दुष्टताको परिपूर्ति गर्नैपर्छ! तर गुमेको समय कसले पूर्ति गर्नेछ? के तिनीहरूले सक्छन्? त्यो पूर्ति गर्न असम्भव छ। त्यसैले, यी मानिसहरूले गरेका गल्तीहरू सबैभन्दा जघन्य पाप हुन्! तिनीहरूलाई माफी गर्न मिल्दैन। ल भन् त, के वास्तविकता यही होइन र? (हो।)

जब केही मानिसहरूले परमेश्‍वरको घरले ख्रीष्टविरोधीहरूलाई निकै कठोर तरिकाले तह लगाएको—र तिनीहरूलाई कुनै मौका नदिई त्यहाँबाट निकालेको देख्छन्—तब तिनीहरूमा यसबारे केही सोच आउँछ: “के परमेश्‍वरको घरले मानिसहरूलाई मौका दिइन्छ भनेर भनेको होइन र? जब कुनै व्यक्तिले सानो गल्ती गर्छ, के परमेश्‍वरको घरले अबउप्रान्त उसलाई नचाहने हो त? के यसले उसलाई एक मौका पनि नदिने हो त? यसले उसलाई एउटा मौका त दिनुपर्छ, परमेश्‍वरको घर त अत्यन्तै प्रेमरहित रहेछ!” ल भन् त, ती मानिसहरूलाई कति मौकाहरू दिइएका छन्? तिनीहरूले कति प्रवचनहरू सुनेका छन्? के तिनीहरूलाई मौकाहरू अति कम दिइएका थिए र? तिनीहरूले काम गरिरहँदा, के तिनीहरूलाई आफूले कर्तव्य निभाइरहेको छु भन्‍ने थाहा हुँदैन र? के तिनीहरूलाई आफूले सुसमाचार फैलाइरहेको र परमेश्‍वरको घरको काम गरिरहेको छु भन्‍ने थाहा हुँदैन र? के तिनीहरूलाई यी कुराहरू थाहा हुँदैन र? के तिनीहरूले कुनै व्यवसाय, कम्पनी, वा फ्याक्ट्री सञ्चालन गरिरहेका छैनन् र? के तिनीहरूले आफ्नै व्यवसाय चलाइरहेका छैनन् र? परमेश्‍वरको घरले ती मानिसहरूलाई कति मौकाहरू दिएको छ? ती प्रत्येकले कैयौँ मौका पाएका छन्। विभिन्न समूहहरूबाट सुसमाचार समूहमा सारिएकाहरूको कुरा गर्दा, के तीमध्ये कसैलाई सुसमाचार समूहमा परेको एकदुई दिनमै बरखास्त गरियो त? कसैलाई गरिएन, तिनीहरूले गरेको दुष्टता अति नै गम्भीर हुँदा मात्र तिनीहरूलाई बरखास्त गरियो। ती प्रत्येकलाई नै पर्याप्त मौका दिइएको छ, यति मात्र हो कि तिनीहरूले त्यसको कदर गर्न वा पश्‍चात्ताप गर्न जान्दैनन्। तिनीहरू आफ्नै बाटोमा लाग्छन्, र सधैँ पावलको मार्गमा हिँड्छन्। तिनीहरू निकै मिठा र प्रस्ट शब्दहरू बोल्छन्, तर मानवजस्तो व्यवहार गर्दैनन्। के यस्ता मानिसहरूलाई अझै मौका दिइनुपर्छ? (पर्दैन।) तिनीहरूलाई मौका दिइँदा, तिनीहरूलाई मानवझैँ व्यवहार गरिन्थ्यो, तर तिनीहरू मानव होइनन्। तिनीहरू मानवले गर्ने काम गर्दैनन्, र दुःखको साथ भन्नुपर्छ, परमेश्‍वरको घरको ढोका खुला छ—तिनीहरूले चाहेमा निस्केर जाँदा हुन्छ। परमेश्‍वरको घरले अबउप्रान्त तिनीहरूलाई प्रयोग गर्नेछैन। मानिसहरूलाई प्रयोग गर्ने सम्बन्धमा परमेश्‍वरको घरसँग स्वतन्त्रता छ, यसलाई त्यो अधिकार छ। यदि परमेश्‍वरको घरले तिनीहरूलाई प्रयोग गरेन भने के त्यो ठिक हुनेछैन र? यदि तिनीहरूले विश्‍वास गर्न चाहन्छन् भने, परमेश्‍वरको घरभन्दा बाहिर गर्न सक्छन्। चाहे जुनै अवस्था भए पनि, परमेश्‍वरको घरले तिनीहरूलाई प्रयोग गर्नेछैन—तिनीहरूलाई प्रयोग गर्न मिल्दैन, तिनीहरू अत्यन्तै धेरै चिन्ताको कारक हुन्! तिनीहरूले परमेश्‍वरको घरलाई निकै ठूला नोक्सानहरू पुर्‍याएका छन्, र यसको बिल कसैले तिर्न सक्दैन—र तिनीहरूसँग त्यो तिर्न सक्ने हैसियत नै छैन! तिनीहरू अभागी भएका पनि होइनन्, परमेश्‍वरको घरले तिनीहरूलाई मौका नदिएको पनि होइन, र परमेश्‍वरको घर प्रेमरहित भएको र तिनीहरूमाथि कठोर बनेको पनि होइन, र निश्‍चय नै तिनीहरूले आफ्नो काम सकाएपछि परमेश्‍वरको घरले तिनीहरूलाई मिल्काइरहेको पनि होइन। यो कुरा त के हो भने, यी मानिसहरूले अति नै गरे, तिनीहरूलाई सहनै सकिएन, र तिनीहरूले आफूले गरेका कामहरूबारे स्पष्टीकरण नै दिन सकेनन्। कामको हरेक पक्षको लागि परमेश्‍वरको घरले कार्य सिद्धान्तहरू उपलब्ध गराएको छ, अनि माथिबाट व्यक्तिगत रूपमै मार्गदर्शन, जाँच र सुधार प्रदान गरिएको छ। यो परमेश्‍वरको घर र माथिबाट एकदुई वटा भेला राखिने वा थोरै वचनहरू सुनाइने मामला मात्र होइन; तिनीहरूले थुप्रै वचनहरू बोलेका छन् र थुप्रै भेलाहरू राखेका छन्, मानिसहरूलाई मिहिन रूपमा अर्ती दिएका छन्, र अन्त्यमा त्यसबापत तिनीहरूले जे पाए त्यो छलकपट मात्र थियो, र अन्ततः मण्डलीको काममा बाधा र अवरोध पुग्यो र त्यो पूरै अस्तव्यस्त बन्यो। ल भन् त, त्यस्ता मानिसहरूलाई अझै पनि कसले मौका दिन चाहन्छ? तिनीहरूलाई कसले राख्न चाहन्छ? तिनीहरू दुष्ट्याइँ गर्दै बेकाबु हुन सक्छन्, तर सिद्धान्तअनुसार तिनीहरूलाई तह लगाउनबाट परमेश्‍वरको घरलाई निश्‍चय नै रोक्‍न सक्दैनन्, सक्छन् र? तिनीहरूलाई यस तरिकाले तह लगाउनुलाई प्रेमरहित भएको भन्नु हुँदैन, यसलाई त सिद्धान्त धारण गरेको भन्नुपर्छ। प्रेम त तिनै मानिसहरूलाई दिइन्छ जसलाई प्रेम गर्न सकिन्छ र जो अज्ञानी र क्षमालायक छ; प्रेम दुष्ट मानिस, दियाबलस वा जानाजान बाधा र अवरोध गर्नेहरूलाई दिइँदैन, त्यो ख्रीष्टविरोधीहरूलाई दिइँदैन। ख्रीष्टविरोधीहरू श्रापित हुन मात्र लायक हुन्छन्! किन तिनीहरू श्रापित हुन मात्र लायक हुन्छन्? किनभने, तिनीहरूले जति नै दुष्टता गरे पनि, तिनीहरूले पश्‍चात्ताप र पापस्वीकार गर्ने, वा सुध्रिने गर्दैनन्, बरु अन्त्यसम्‍मै तिनीहरू परमेश्‍वरसित प्रतिस्पर्धा गर्छन्। तिनीहरू यसो भन्दै परमेश्‍वरसामु आउँछन्, “म मृत्युपर्यन्त दृढ रहनेछु। म डगमगाउँदिनँ। तपाईँसामु आउँदा, म घुँडा टेक्ने वा निहुरिने गर्नेछैन। म हार स्विकार्नेछैनँ!” यो कस्तो खालको कुरा हो? मर्नै लाग्दा पनि तिनीहरूले यसो भन्‍नेछन्, “म अन्त्यसम्‍मै परमेश्‍वरको घरको प्रतिरोध गरिरहनेछु। म मेरा पापहरू स्विकार्नेछैनँ—मैले केही गलत गरेको छैनँ!” ठिक छ, यदि तिनीहरूले कुनै गलत काम गरेका छैनन् भने, तिनीहरू जान सक्छन्। परमेश्‍वरको घरले तिनीहरूलाई प्रयोग गर्नेछैन। यदि परमेश्‍वरको घरले तिनीहरूलाई प्रयोग गरेन भने के त्यो सही हुनेछैन र? त्यो बिलकुल सही हुनेछ! कतिपय मानिसहरू भन्छन्, “यदि परमेश्‍वरको घरले मलाई प्रयोग गर्नेछैन भने, त्यसले प्रयोग गर्न सक्ने कोही छैन।” यी मानिसहरूले साँच्चिकै कोही छैनन् कि भनेर जाँच्नुपर्छ—के परमेश्‍वरको घरको कुनै पनि काम मानिसहरूमाथि निर्भर हुन्छ र? पवित्र आत्माको कामबिना र परमेश्‍वरको सुरक्षाबिना, कोचाहिँ आजको अवस्थामा आइपुग्न सक्थ्यो र? कामको कुन पक्षलाई अहिलेसम्म कायम राख्न सकिन्थ्यो र? के यी मानिसहरूलाई आफू बाहिरी संसारमा छु भन्‍ने लाग्छ हो? यदि बाहिरी संसारको कुनै समूहले प्रतिभावान् र मेधावी व्यक्तिहरूको टोलीको साथ गुमायो भने, त्यसले आफ्नो कुनै पनि परियोजना पूरा गर्न सक्दैन। तर परमेश्‍वरको घरको काम फरक हुन्छ। परमेश्‍वरको घरमा परमेश्‍वरले नै कामको रक्षा, अगुवाइ र मार्गदर्शन गर्नुहुन्छ। परमेश्‍वरको घरको काम कुनै व्यक्तिको साथमा निर्भर हुन्छ भन्‍ने नसोच्। वास्तविकता यो होइन, र यो अविश्‍वासीको दृष्टिकोण हो। के तिमीहरूलाई परमेश्‍वरको घरले ख्रीष्टविरोधी र अविश्‍वासीहरूजस्ता मानिसहरूलाई त्याग्नु उचित हो भन्‍ने लाग्छ? (हजुर।) यो किन उचित हो? किनभने ती मानिसहरूलाई काममा प्रयोग गर्दा अत्यन्तै ठूलो नोक्सान हुन्छ, यस्ता मानिसहरूले बिनारोकटोक जनशक्ति र आर्थिक स्रोतसाधन दुवै दुरुपयोग गर्छन्, र तिनीहरूमा सिद्धान्तहरू बिलकुलै हुँदैनन्। तिनीहरू परमेश्‍वरको वचन सुन्दैनन्, र तिनीहरूले पूर्णतया आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाको आधारमा कार्य गर्छन्। तिनीहरू परमेश्‍वरका वचनहरू वा परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूलाई बिलकुलै सम्मान गर्दैनन्, तर कुनै ख्रीष्टविरोधीले केही कुरा भनेमा तिनीहरू त्यसलाई सबैभन्दा बढी सम्मान गर्छन् र त्यसैअनुसार अभ्यास गर्छन्। मैले सुनेको थिएँ, एक जना मूर्ख थियो रे, जो युरोपमा बस्थ्यो तर एसियासँग सम्बन्धित कामहरू गर्थ्यो। परमेश्‍वरको घरले उसलाई फरक समयको कारण आइपर्ने समस्या झेल्‍नु नपरोस् भनी युरोपमा सुसमाचार फैलाउने काममा सार्ने भन्यो, तर ऊ सहमत भएन, र ऊ परमेश्‍वरको घरले बन्दोबस्त गर्दासमेत युरोपसँग सम्बन्धित कामहरू गर्न फर्केन, किनभने उसले आराधना गर्ने ख्रीष्टविरोधी एसियामा थियो, र ऊ आफ्नो गुरुबाट छुट्टिन अनिच्छुक थियो। के ऊ मूर्ख होइन र? (हो।) ल भन् त, के ऊ आफ्नो कर्तव्य निभाउन लायक छ त? के हामी उसलाई चाहन्छौँ त? परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरू उचित थिए। यदि तँ युरोपमा छस् भने, तैँले युरोपसँग सम्बन्धित कामहरू गर्नुपर्छ, एसियासँग सम्बन्धित होइन। तँ जुनसुकै महादेशमा भए पनि, तैँले त्यही ठाउँसँग सम्बन्धित कामहरू गर्नुपर्छ, त्यसो गरिस् भने तैँले समय फरक हुँदा आउने समस्या हटाउन सक्छस्—त्यो ठूलो कुरा हो! तैपनि, त्यो व्यक्ति सहमत भएन। परमेश्‍वरको घरका वचनहरूले ऊमाथि काम गरेनन्; परमेश्‍वरको घरले उसलाई सरुवा गराउन सकेन, उसको लागि उसको गुरुले नै निर्णय लिनुपर्थ्यो। यदि उसको गुरुले “युरोपसँग सम्बन्धित काम गर्न जा” भन्थ्यो भने, ऊ त्यही काम गर्न जान्थ्यो। यदि उसको गुरुले “तँ युरोपसँग सम्बन्धित काम गर्न जान मिल्दैन, तैँले मेरो लागि यहीँको काम गर्नुपर्छ” भन्थ्यो भने, उसले “त्यसोभए म जान मिल्दैन” भन्थ्यो। उसले कसको लागि सेवा प्रदान गर्थ्यो त? (आफ्नो गुरुको लागि।) उसले आफ्नो गुरु अर्थात् एक ख्रीष्टविरोधीको लागि सेवा प्रदान गर्थ्यो। त्यसोभए, के उसलाई उसको गुरुसँगसँगै हटाउनुपर्दैन र? के उसलाई बरखास्त गर्नुपर्दैन र? (पर्छ।) म किन यस्ता मानिसहरूसँग यति धेरै रिसाउँछु? किनभने तिनीहरूले एकदमै धेरै दुष्टता गर्छन्; यो सुन्दा हरकोहीमा आक्रोश आउनेछ। यी मानिसहरू जानीबुझी परमेश्‍वरलाई छल्न खोज्छन्—यो अति दुर्भावपूर्ण कुरा हो! ल भन् त, म किन यस्ता मानिसहरूसँग यति धेरै रिसाउँछु? (तिनीहरू आफूले परमेश्‍वरमा विश्‍वास गर्छु भन्छन्, तर वास्तवमा, तिनीहरू आफ्नो गुरुको कुरा सुन्छन्। तिनीहरू साँचो रूपमा परमेश्‍वरलाई पछ्याउने वा उहाँमा समर्पित हुने गर्दैनन्।) तिनीहरूले आफूलाई पूर्णतया दियाबलस र शैतानलाई पछ्याउनमा समर्पित गरेका हुन्छन्। तिनीहरूले परमेश्‍वरलाई पछ्याउँछु भन्नु त बनावटी कुरा मात्र हो। तिनीहरू परमेश्‍वरलाई पछ्याउने र परमेश्‍वरप्रति समर्पित हुने नाउँमा शैतानहरूलाई पछ्याउँछन् र सेवा गर्छन्, र अन्त्यमा, तिनीहरू अझै पनि परमेश्‍वरबाट इनाम र आशिष् प्राप्त गर्न चाहन्छन्। के यो पूर्ण रूपमा निर्लज्ज कुरा होइन र? के यो पूर्णतया अनुचित र असुधार्य कुरा होइन र? (हो।) ल भन् त, के परमेश्‍वरको घरले यस्ता मानिसहरूलाई राख्नेछ त? (राख्नेछैन।) त्यसोभए तिनीहरूलाई सम्हाल्ने उचित तरिका के हो त? (तिनीहरूलाई तिनीहरूका गुरुसँगसँगै हटाउनु हो।) तिनीहरू आफ्नो गुरुलाई पछ्याउन रुचाउँछन्, र तिनीहरू मरुन्जेल आफ्ना गुरुको निम्ति काम गर्न जिद् कस्छन्; तिनीहरूले कर्तव्य निभाउँदा परमेश्‍वरको घरका हितहरू रक्षा गर्दैनन्, तिनीहरू परमेश्‍वरसामु जिउँदा कर्तव्य निभाउँदैनन्, र तिनीहरू ख्रीष्टविरोधीहरूको गिरोहमा रहेर आफ्ना गुरुको सेवा गरिरहेका हुन्छन्—तिनीहरूको कामको सार यही हो। त्यसकारण, तिनीहरूले जे गरे पनि, त्यसको सम्झना गरिनेछैन। यस्ता मानिसहरूलाई हटाइनुपर्छ, तिनीहरू सेवा प्रदान गर्न योग्य पनि छैनन्! त्यसोभए, तिमीहरूलाई के लाग्छ, के तिनीहरू दुष्ट मानिसहरू भेटेको कारण वा तिनीहरूको कामको प्रकृतिको कारण मात्र यस्तो हुन पुग्छन्? के तिनीहरू आफ्नो परिवेशको प्रभावमा परेका, कि दुष्ट मानिसहरूद्वारा बहकाइका हुन्छन्? (ती दुवै होइनन्।) त्यसोभए तिनीहरू किन यस्ता हुन्छन्? (प्रकृति सारमै तिनीहरू यस्तै व्यक्ति हुन्।) यी मानिसहरूको प्रकृति सार तिनीहरूका ख्रीष्टविरोधी गुरुको जस्तै हुन्छ। तिनीहरू एकैखालका मानिसहरू हुन्। तिनीहरूका सोख, सोच, र दृष्टिकोण, साथै काम गर्ने माध्यम र विधि एउटै हुन्छन्; तिनीहरूको भाषा र पछ्याइको मार्ग एउटै हुन्छ, र परमेश्‍वरलाई विश्‍वासघात गर्ने र परमेश्‍वरको घरका काममा बाधा पुर्‍याउनमा तिनीहरूका चाहना, मनसाय, शैली र अभ्यास एउटै हुन्छन्। यसबारे सोच्दा, परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूप्रति तिनीहरूको मनोवृत्ति एउटै हुन्छ, जुन आफूभन्दा माथिकालाई ढाँट्नु र तलकाबाट कुराहरू लुकाउनु हो। तिनीहरूसित आफूभन्दा माथिकाहरूको लागि नीति र मुनिकाहरूको लागि रणनीतिहरू हुन्छन्। तिनीहरू आफूभन्दा माथिकाहरूप्रति बाहिरी रूपमा पूरै आज्ञाकारी व्यवहार गर्छन् र मुनिकाहरूप्रति अनियन्त्रित रूपमा दुष्ट्याइँ गर्छन्। तिनीहरू दुवैका तरिका र शैलीहरू एउटै हुन्छन्। तिनीहरूलाई माथिबाट काटछाँट गरिँदा, तिनीहरू यसो भन्छन्, “मैले एउटा गल्ती गरेँ, म गलत थिएँ, म खराब हुँ, म विद्रोही हुँ, म दियाबलस हुँ!” अनि तिनीहरू फनक्क फर्किन्छन् र भन्छन्: “माथिको कार्य बन्दोबस्त कार्यान्वयन नगरौँ!” त्यसपछि, तिनीहरू आफ्नै तरिकाले काम गर्छन्। सुसमाचार प्रचार गर्दा तिनीहरू पूरै झारा टार्छन्, तिनीहरू सङ्ख्यामा बढाइचढाइ गर्छन्, र परमेश्‍वरको घरमाथि छल गर्छन्। यी ख्रीष्टविरोधीका गिरोहहरूले प्रयोग गर्ने शैलीहरू यिनै हुन्। तिनीहरू सधैँ आफ्नै रणनीति र शैलीद्वारा कार्य बन्दोबस्तहरू सम्हाल्छन्—के तिनीहरूको पैशाचिक मुहार खुलासा भइसकेको छैन र? के तिनीहरू मानिसहरू हुन् त? अहँ, होइनन्, तिनीहरू भूतप्रेत हुन्! हामी भूतप्रेतसँग कुरा गर्दैनौँ, त्यसैले तिनीहरूलाई यहाँबाट चाँडो हटाऔँ। म तिनीहरूको पैशाचिक मुहार हेर्न चाहन्नँ; तिनीहरू बाहिर निस्कनुपर्छ! जो श्रम गर्न इच्छुक छन्, तिनीहरूलाई समूह “ख” मा पठाउनुपर्छ, जो श्रम गर्न इच्छुक छैनन् तिनीहरूलाई हटाउनुपर्छ। के यसो गर्नु ठिक हो? (हो।) यो सबैभन्दा उचित कार्य हो! तिनीहरूको सार एउटै छ, त्यसैले जब तिनीहरू सँगै कुरा र काम गरिरहेका हुन्छन्, तिनीहरूले ज्यादै राम्रोसित गर्छन्, र तिनीहरूले सहकार्य गर्दा तिनीहरूबीच ठूलो ऐक्यबद्धता र मौन समझदारी हुन्छ। ती गुरुहरूले मुख खोल्नेबित्तिकै, चाहे तिनीहरूले जतिसुकै दियाबलसले जस्तो कुरा बोले पनि, तिनीहरूका ती अनुयायीहरूले तुरुन्तै तिनीहरूकै भाषा बोल्नेछन्, र हृदयमा गर्व पनि महसुस गर्नेछन् र यस्तो सोच्नेछन्, “तपाईँले ठिक भन्नुभयो, त्यसै गरौँ न त! माथिका कार्य बन्दोबस्तहरू अत्यन्तै जटिल छन्, हामी त्यस्ता काम गर्न सक्दैनौँ।” माथिका कार्य बन्दोबस्तहरूलाई जति नै राम्ररी वा किटेर व्याख्या गरिए पनि, यी मानिसहरूले ती बन्दोबस्तहरू कार्यान्वयन गर्नेछैनन्, तर दियाबलस र शैतानले बोलेका कुराहरू जति नै विकृत र बेतुके भए पनि, तिनीहरूले ती कुराहरू सुन्नेछन्। त्यसोभए, तिनीहरू कसको लागि सेवा गरिरहेका छन्? के यस्ता मानिसहरूले परमेश्‍वरको घरमा अन्त्यसम्म श्रम गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले अन्त्यसम्मै श्रम गर्न सक्दैनन्। परमेश्‍वरले कुनै व्यक्तिप्रति वा कुनै दियाबलसका कार्यहरूप्रति धैर्यता देखाउनुभए नि नभए नि, त्यो कुराको सधैँ एउटा सीमा हुन्छ। उहाँले मानिसहरूप्रति हदैसम्मको सहनशीलता देखाउनुहुन्छ, तर जब एउटा निश्‍चित बिन्दु आइपुग्छ, उहाँले खुलासा गर्नुपर्नेहरूलाई खुलासा गर्नुहुनेछ, र हटाउनुपर्नेहरूलाई हटाउनुहुनेछ। जब यो बिन्दु आइपुग्छ, ती मानिसहरू बाटोको अन्त्यमा पुगिसकेका हुनेछन्। यो तिनीहरूले सत्यतालाई नपछ्याउने वा प्रेम नगर्ने कुरो मात्रै होइन, यो त तिनीहरूको प्रकृति सार नै सत्यताविरोधी भएको कुरा हो। यसबारे विचार गर्, तैँले सकारात्मक कुराहरू, शुद्ध बुझाइ, वा सत्यताअनुरूपका सिद्धान्तहरूबारे कुरा गर्दा, तिनीहरूले सुन्दै सुन्दैनन्। तेरा शब्दहरू जति शुद्ध हुन्छन्, त्यति नै तिनीहरूले नराम्रो महसुस गर्छन्। तैँले सत्यता सिद्धान्तहरूबारे कुरा गर्न थाल्नेबित्तिकै, तिनीहरूलाई बेचैनी हुन्छ, र तिनीहरू कुराकानी बङ्ग्याउने र ध्यान अन्तै सार्ने बहाना बनाउन खोज्छन्, वा तिनीहरू गएर एक गिलास पानी खान्छन्। तैँले सत्यता सङ्गति गर्न थालेलगत्तै वा आफूलाई चिन्नेबारे बोलेलगत्तै, तिनीहरूले घिन महसुस गर्छन् र सुन्नै चाहँदैनन्। यदि तिनीहरूलाई शौचालय प्रयोग गर्न जरुरी छैन भने, कि त तिनीहरूलाई तिर्खा वा भोक कि त निन्द्रा लाग्छ, कि त तिनीहरूलाई फोन उठाउनुपर्ने वा केही कुरा हेर्नुपर्ने हुन्छ। तिनीहरूसँग सधैँ एउटा बहाना हुन्छ, र तिनीहरू चुपचाप बस्नै सक्दैनन्। यदि तैँले तिनीहरूको विधि प्रयोग गरिस् र बाधा र अवरोध मात्र निम्त्याउने तिनीहरूको अभिव्यक्ति वा शैलीबारे कुरा गरिस् भने, तिनीहरू जोसिला बन्नेछन् र त्यस्तै रहिरहनेछन्। यदि तैँले तिनीहरूकै भाषा बोल्दैनस् भने, तिनीहरूलाई तँप्रति वितृष्णा महसुस हुनेछ र तिनीहरूले तँलाई पन्छाउनेछन्। तिनीहरू खाट्टी दियाबलसहरू हुन्! कतिपय यस्ता मानिसहरू छन्, जो अहिलेसम्म पनि यसप्रकारका दियाबलसहरूको भित्री रूप चिन्‍नै सक्दैनन्, र ती मानिसहरू सत्यता नपछ्याउनेहरू मात्र हुन् भन्ठान्छन्। तिनीहरू कसरी यति सोझा हुन सक्छन्? तिनीहरूले कसरी यस्ता अज्ञानी कुराहरू बोल्न सक्छन्? के ती मानिसहरू सत्यता नपछ्याउनेहरू मात्र हुन र? होइन, तिनीहरू दुष्ट भूतप्रेतहरू हुन्, र तिनीहरू सत्यतादेखि अत्यन्तै वितृष्ण हुन्छन्। ती मानिसहरू भेलाहरूमा निकै राम्रो व्यवहार गर्छन्, तर त्यो सबै झूट हो। तर वास्तवमा, के तिनीहरू सङ्गति गरिएको कुरा वा भेलाहरूमा पढिने परमेश्‍वरका वचनहरू साँच्चिकै सुन्छन् त? तिनीहरूले साँच्चिकै कति वटा वचनहरू सुन्छन्? कति वटा वचनहरू स्विकार्छन्? कति वटामा समर्पित हुन सक्छन्? तिनीहरूले सबैभन्दा सरल र सबैभन्दा धेरै बोलिने धर्मसिद्धान्तहरूबारे समेत कुरा गर्न सक्दैनन्। त्यस्ता मानिसहरूको कुरा गर्नुपर्दा, तिनीहरूले जति लामो समय काम गर्ने भए पनि, वा जुन तहको अगुवा वा सुपरिवेक्षकको रूपमा सेवा गर्ने भए पनि, तिनीहरू प्रवचन दिन वा आफ्ना अनुभवहरूबारे बोल्न सक्दैनन्। यदि कसैले “कुनै कुराबारे तिम्रो थोरै ज्ञानबारे बताऊ न। तिमीले त्यो अनुभव गरेकै हुनुपर्छ भन्‍नेछैन, त्यसबारे तिमीमा भएको ज्ञान र बुझाइबारे मात्र भन न” भनेर भन्यो भने, तिनीहरूले आफ्नो मुख खोल्‍न पनि सक्नेछैनन्, तिनीहरूको मुखमा सिल लगाइएझैँ हुनेछ, र तिनीहरूले केही धर्मसिद्धान्तबारे पनि बोल्न सक्नेछैनन्। यदि तिनीहरूले त्यसबारे जबरजस्ती केही शब्दहरू बोलिहाले पनि, तिनीहरूको बोली अप्ठ्यारो र अनौठो सुनिनेछ। कतिपय दाजुभाइ-दिदीबहिनीहरू सोध्छन्: “कतिपय अगुवाहरूले प्रवचन दिँदा, शिक्षकले बच्चाहरूलाई पाठ पढेर सुनाएजस्तो सुनिनुको कारण के हो? त्यो त्यति अप्ठ्यारो र अनौठो सुनिनुको कारण के हो?” यसलाई प्रवचन दिन नसकेको भनिन्छ। अनि तिनीहरूले प्रवचन दिन नसक्नुको कारण के हो? किनकि तिनीहरूमा सत्यता वास्तविकता छैन। अनि, तिनीहरूमा किन सत्यता वास्तविकता नभएको हो? किनभने तिनीहरू सत्यता स्विकार्दैनन्, तिनीहरू हृदयमा सत्यताप्रति वितृष्ण हुन्छन्, र तिनीहरू सत्यताको जुनसुकै सिद्धान्त वा अभिव्यक्तिप्रति प्रतिरोधी हुन्छन्। यदि तिनीहरू प्रतिरोधी छन् भनेर भनियो भने, तैँले सम्भवतः यो कुरा बाहिरबाट देख्न सक्नेछैनस्, अनि तैँले तिनीहरू प्रतिरोधी छन् भनेर कसरी भन्न सक्छस्? परमेश्‍वरको घरले जे-जसरी सत्यता सङ्गति गरे पनि, तिनीहरूले हृदयमा त्यो कुरा नकार्ने र इन्कार्नेछन्, र त्यसप्रति अत्यन्तै घिन मान्‍नेछन्। अरू मानिसहरूले सत्यताबारे आफ्नो ज्ञान जे-जसरी सङ्गति गरे पनि, तिनीहरूले “तिमी त्यो विश्‍वास गर्छौ होला, तर म गर्दिनँ” भन्‍ने सोच्नेछन्। अनि, तिनीहरूले कुनै कुरा सत्यता हो होइन भनी कसरी मापन गर्छन्? यदि त्यो कुरा तिनीहरूलाई राम्रो र सही हो भन्‍ने लागेमा, तिनीहरूले त्यो सत्यता हो भन्ठान्नेछन्। यदि तिनीहरूलाई कुनै अभिव्यक्ति मन परेन भने, त्यो जति नै सही भए पनि, तिनीहरूले त्यसलाई सत्यता मान्नेछैनन्। त्यसकारण, यो मामलाको मूल जड हेर्दा, हामी देख्‍न सक्छौँ कि तिनीहरू हृदयको गहिराइमा सत्यताप्रति प्रतिरोधी हुन्छन्, सत्यतादेखि वितृष्ण हुन्छन् र सत्यतालाई घृणा गर्छन्। तिनीहरूको हृदयमा सत्यताको लागि कुनै ठाँवै हुँदैन—तिनीहरू सत्यतालाई घृणा गर्छन्। कतिपय मानिसहरूले यो कुरा राम्रोसित नबुझेर यसो भन्‍न सक्छन्, “म प्राय: उनीहरूले परमेश्‍वरको अपमान हुने, सत्यताको निन्दा गर्ने वा सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने कुनै कुरा बोलेको देख्दिनँ।” त्यसोभए, तिनीहरूले देख्न सक्ने एउटा तथ्य छ: परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूले तोकेका हरेक विशिष्ट विवरण जरुरी कुरा हुन्, र ती सबै परमेश्‍वरको कामका हितहरू, परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रगति, मण्डली जीवनको नियमितता, र सुसमाचार कार्यको सामान्य फैलावट रक्षा गर्न अगाडि सारिएका हुन्। हरेक कालखण्डका कार्य बन्दोबस्तहरू, अनि कामको हरेक पक्षको विशिष्टीकृत सञ्‍चालन, व्यवस्थापन, र परिमार्जनको उद्देश्य परमेश्‍वरको घरको कामको सामान्य विकास सुरक्षित गर्नु हो, र त्यो भन्दा बढी, दाजुभाइ-दिदीबहिनीलाई सत्यता सिद्धान्तहरू बुझ्न र तिनमा प्रवेश गर्नमा मद्दत गर्नु हो। अझै प्रस्ट्याउनुपर्दा, यो भन्न सकिन्छ कि यी कुराहरूले दाजुभाइ-दिदीबहिनीलाई परमेश्‍वरसामु ल्याउँछन् र तिनीहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न मद्दत गर्छन्, र यी कुराहरूले हरेक व्यक्तिलाई अगुवाइ गर्छन् र अगाडि तान्छन्, हात समाएर सिकाउँछन्, साथ दिन्छन्, र भरणपोषण गर्छन्। कार्य बन्दोबस्तहरूको कार्यान्वयनको कुरा गर्दा, चाहे त्यो भेलाहरूमा यसबारे विषयविशेष सङ्गति गरेर होस्, वा यसलाई मौखिक जानकारीमार्फत फैलाएर होस्, यसको उद्देश्य परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरको काम अनुभव गर्न र साँचो जीवन प्रवेश प्राप्त गर्न सक्षम तुल्याउनु हो, र यो सधैँ परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशको लागि लाभदायक हुन्छ। त्यस्तो एउटा पनि बन्दोबस्त छैन जुन परमेश्‍वरको घरको कामको लागि वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका लागि हानिकारक होस्, र ती कुनै पनि बन्दोबस्तले बाधा वा विनाश सिर्जना गर्ने काम गर्दैनन्। तर ख्रीष्टविरोधीहरूले यी कार्य बन्दोबस्तहरूलाई कदर वा कार्यान्वयन गर्ने काम कहिल्यै गर्दैनन्। तिनीहरूले यी कुरालाई घृणा गर्छन्, र यी अत्यन्तै सामान्य र अनुल्लेखनीय छन्, यी तिनीहरूका आफ्नै कामजतिका प्रभावशाली छैनन्, र यस्तो काम गर्ने क्रममा तिनीहरूलाई प्रतिष्ठा, हैसियत र ख्यातिमा ठूला लाभ प्राप्त हुनेछैन भन्‍ने सोच्छन्। फलस्वरूप, तिनीहरूले कार्य बन्दोबस्तहरू सुन्‍ने वा स्विकार्ने कहिल्यै गर्दैनन्, झन् यिनलाई कार्यान्वयन गर्ने त कुरै नगरौँ। यसको साटो, तिनीहरू आफ्नै तरिकाले काम गर्छन्। यसको आधारमा, ल भन् त, के ख्रीष्टविरोधीहरू सत्यता नपछ्याउनेहरू मात्र हुन् र? यो बिन्दुबाट तैँले प्रस्ट देख्न सक्छस् कि तिनीहरूले सत्यतालाई घृणा गर्छन्। तिनीहरूले सत्यतालाई घृणा गर्छन् भनेर भन्दा, तैँले राम्ररी बुझ्‍न सक्नेछैनस्, तर ती ख्रीष्टविरोधीहरूले कार्य बन्दोबस्तहरूलाई कसरी लिन्छन् भन्‍ने कुरा हेरेर तैँले यसबारे अन्तर्ज्ञान प्राप्त गर्न सक्नेछस्। यो प्रस्टै छ कि झूटा अगुवा र सेवकहरूले कार्य बन्दोबस्तहरूलाई कसरी लिन्छन् भन्‍ने सवालमा, तिनीहरूले बढीमा झारा टार्ने काम मात्र गर्छन्, अनि एक पटक कार्य बन्दोबस्तहरूबारे कुरा गर्छन्, र त्यसपछि त कुरै सकिन्छ। तिनीहरूले त्यसपछिका पुनर्जाँच वा अनुगमन वा तोकिएको काम राम्रोसित कार्यान्वयन गर्दैनन्। यिनीहरू झूटा अगुवा हुन्। तर झूटा अगुवाहरूले कम्तीमा अझै पनि कार्य बन्दोबस्तहरू कार्यान्वयन गर्न, झारा टार्न र तिनलाई कायम राख्न सक्छन्। ख्रीष्टविरोधीहरूले त कार्य बन्दोबस्तहरू कायम राख्नसमेत सक्दैनन्, तिनीहरू तिनलाई स्विकार्न वा कार्यान्वयन गर्न सिधै अस्वीकार गर्छन्, र यसको साटो तिनीहरू आफ्नै तरिकाले काम गर्छन्। अनि, तिनीहरूले केबारे विचार गर्छन्? तिनीहरूको आफ्नै हैसियत, प्रसिद्धि र प्रतिष्ठा। तिनीहरू माथिबाट तिनीहरूको कदर गरिन्छ गरिँदैन, कति दाजुभाइ-दिदीबहिनीले तिनीहरूलाई साथ दिन्छन्, कति मानिसहरूको हृदयमा तिनीहरूको लागि ठाउँ छ, तिनीहरूले कति मानिसहरूको हृदयमा शासन गर्छन् र कति मानिसहरूलाई नियन्त्रण गर्छन्, र तिनीहरूको पकडमा कति मानिसहरू छन् भन्‍नेबारे विचार गर्छन्। तिनीहरू ती कुराहरूबारे नै चासो राख्छन्। तिनीहरूले साँचो मार्ग हिँड्ने जग बसाल्न दाजुभाइ-दिदीबहिनीलाई कसरी सिञ्चन वा भरणपोषण गर्ने भनी कहिल्यै विचार गर्दैनन्, र तिनीहरूले निश्‍चय नै दाजुभाइ-दिदीबहिनीको जीवन प्रवेश कस्तो भइरहेको छ, दाजुभाइ-दिदीबहिनीले सुसमाचार फैलाउने वा अन्य कर्तव्यहरू कसरी निभाइरहेका छन्, वा तिनीहरूले सिद्धान्तअनुसार कार्य गर्न सक्छन् सक्दैनन् भनी विचार गर्दैनन्, र तिनीहरूले दाजुभाइ-दिदीबहिनीलाई कसरी परमेश्‍वरसामु ल्याउने भनेर कहिल्यै चासो दिएकै हुँदैनन्। तिनीहरू ती कुराहरूबारे चासै राख्दैनन्। के यी सबै तथ्यहरू तिमीहरूकै आँखैअगाडि छैनन् र? के तिमीहरूले अक्सर ख्रीष्टविरोधीहरूमा देख्ने प्रकटीकरणहरू यिनै होइनन् र? के यी तथ्यहरू यी मानिसहरूले सत्यतालाई घृणा गर्छन् भन्‍ने कुराको पर्याप्त प्रमाण होइन र? (हो।) ख्रीष्टविरोधीले सधैँ चासो राख्ने कुरा हैसियत, प्रसिद्धि र प्रतिष्ठा मात्र हुन्। मानौँ, दाजुभाइ-दिदीबहिनीलाई उचित मण्डली जीवन जिउन सक्षम तुल्याउन, र तिनीहरूलाई सत्यता बुझ्न र मण्डली जीवन जिउने क्रममा आफ्नो जग बसाल्न, परमेश्‍वरमा साँचो विश्‍वास राख्न, परमेश्‍वरसामु आउन, र स्वतन्त्र रूपमा जिउने क्षमता र कर्तव्य निभाउने आस्था प्राप्त गर्न मद्दतहेतु तैँले एक ख्रीष्टविरोधीलाई मण्डली जीवनको रेखदेखमा खटाइस् रे। त्यसरी, परमेश्‍वरको घरको सुसमाचार फैलाउने कामले केही सहयोगी बल प्राप्त गर्नेथ्यो, र थप प्रतिभावान् सुसमाचारकर्मीहरूलाई सुसमाचार फैलाउने कर्तव्य निर्वाह गर्नमा निरन्तर भरणपोषण गर्न सकिन्थ्यो। तर के ख्रीष्टविरोधीहरूले यसरी नै सोच्थे र? तिनीहरूले कदापि यसरी सोच्थेनन्। तिनीहरूले त यसो भन्‍नेथिए: “मण्डली जीवनको के महत्त्व छ? यदि सबैले पूर्ण हृदयले मण्डली जीवन जिउने र परमेश्‍वरका वचनहरू पढ्ने हो भने, र यदि तिनीहरू सबैले सत्यता बुझ्ने हो भने, मेरा आदेशहरू कसले सुन्नेछ? मलाई कसले चासो दिनेछ? मप्रति कसले ध्यान दिनेछ? म हरव्यक्तिलाई सधैँ मण्डली जीवनमा केन्द्रित हुन वा त्यसमा आसक्त बन्न दिन सक्दिनँ। यदि हरव्यक्तिले सधैँ परमेश्‍वरका वचनहरू पढिरहने हो भने, र सबै जना परमेश्‍वरसामु आउने हो भने, मेरो वरिपरि को हुनेछ?” के यो ख्रीष्टविरोधीको मनोवृत्ति होइन र? (हो।) तिनीहरू सोच्छन् कि, यदि तिनीहरूले दाजुभाइ-दिदीबहिनीलाई सत्यता र जीवन प्राप्त गर्न भरणपोषण गर्नतिर ध्यान दिए भने, त्यो तिनीहरूको प्रतिष्ठा, नाफा र हैसियतको खोजप्रति हानिकारक हुनेछ। तिनीहरूले मनमनै सोच्छन्: “यदि मैले पूरै समय दाजुभाइ-दिदीबहिनीको लागि काम गरेर बिताएँ भने, के मसित प्रतिष्ठा, नाफा र हैसियत पछ्याउने समय बाँकी रहला र? यदि दाजुभाइ-दिदीबहिनी सबैले परमेश्‍वरको नामको प्रशंसा गर्दै परमेश्‍वरलाई पछ्याए भने त, मेरो आज्ञापालन गर्ने कोही पनि बाँकी रहनेछैन। यसले त मलाई धेरै अप्ठ्यारो हुनेछ!” यो ख्रीष्टविरोधीको रूप हो। ख्रीष्टविरोधीहरू सत्यता नपछ्याउने मात्र होइनन्; तिनीहरू सत्यताप्रति अत्यन्तै वितृष्ण हुने समेत हुन्छन्। व्यक्तिपरक चेतनामा, तिनीहरूले “म सत्यतालाई घृणा गर्छु, म परमेश्‍वरलाई घृणा गर्छु, र म दाजुभाइ-दिदीबहिनीलाई फाइदा पुग्ने सबै कार्य बन्दोबस्त, अभिव्यक्ति, र अभ्यासहरू घृणा गर्छु” भनेर भन्दैनन्। तिनीहरूले यस्तो कुरा बोल्‍नेछैनन्। तिनीहरूले बस केही शैली र व्यवहारहरू प्रयोग गर्छन् र परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूको प्रतिरोध गर्छन्। त्यसैले, तिनीहरूका यी शैली र व्यवहारहरूको सार भनेको आफ्नै तरिकाले काम गर्नु र अरू सबै मानिसहरूलाई तिनीहरूप्रति चासो दिने र आज्ञाकारी हुने तुल्याउनु हो। फलस्वरूप, चाहे परमेश्‍वरको घरले जेसुकै गरे पनि, तिनीहरूले त्यसको कदर गर्नेछैनन्। यथार्थ यही त हो, होइन र? (हो।) हामीले विगतमा ख्रीष्टविरोधीका यी प्रकटीकरणहरूबारे धेरै सङ्गति गरेका छौँ। तिमीहरू सबैको कद सानो छ, र सत्यताबारे तिमीहरूको बुझाइ सतही छ; ख्रीष्टविरोधीहरूले तिमीहरूको आँखैअगाडि अचाक्ली दुष्टता गरेका छन्, तैपनि तिमीहरू त्यो खुट्याउन असफल भएका छौ। तिमीहरू मूर्ख र दयनीय, भावशून्य र बुद्धू, र दरिद्र र अन्धा छौ। तिमीहरूको साँचो प्रकटीकरण र साँचो कद यही हो। ख्रीष्टविरोधीहरूले ज्यादै समस्या निम्त्याउँछन्, र परमेश्‍वरको घरको काममा ठूलो नोक्सान पुर्‍याउँछन्, तर अझै पनि तिनीहरूलाई सेवा गर्ने कार्यमा प्रयोग गरिनुपर्छ भन्‍ने मानिसहरू छन्। तिनीहरूलाई प्रयोग गरेर फाइदाभन्दा हानि धेरै निम्तिएको छ, तैपनि तिमीहरू तिनीहरूलाई बरखास्त गर्न वा तह लगाउन जान्दैनौ—तिमीहरूको यो कद र तिमीहरूका यी विचारहरू बदलिन कति वर्ष लाग्ने हो? कतिपय मानिसहरू “म सत्यता पछ्याउने व्यक्ति हुँ” भन्दै सधैँ धाक देखाउँछन्, तर ख्रीष्टविरोधीलाई भेट्दा उनीहरूको भित्री रूप खुट्ट्याउन सक्दैनन्, र बरु सायद तिनै ख्रीष्टविरोधीहरूलाई पछ्याउनेछन्—खोइ त तिनीहरूको सत्यता पछ्याइका प्रकटीकरणहरू? तिनीहरूले कैयौँ प्रवचनहरू सुनेका छन्, तर तिनीहरू अझै पनि वास्तविकता खुट्ट्याउन सक्दैनन्। जे होस, म यस विषयमाथि हाम्रो सङ्गति यहीँ टुङ्ग्याउँछु, यसपछि हामी हाम्रो मुख्य विषयबारे कुरा गर्नेछौँ।

हाम्रो पछिल्लो भेलामा, हामीले “आफ्नो पारिवारिक बोझ त्याग्ने” शीर्षकभित्र आमाबुबाका अपेक्षाहरूसँग सम्बन्धित विषयमाथि सङ्गति गर्‍यौँ। हामीले यसमा संलग्न सान्दर्भिक सिद्धान्तहरू र मुख्य विषयहरूमाथि सङ्गति गरिसकेका छौँ। यसपछि, हामी आफ्नो पारिवारिक बोझ त्याग्ने विषयको अर्को पक्ष, अर्थात् आफ्ना सन्तानप्रतिका अपेक्षाहरू त्याग्‍नेबारे सङ्गति गर्नेछौँ। यस पटक हामी भूमिका परिवर्तन गर्नेछौँ। आमाबुबाका अपेक्षाहरूलाई कसरी हेर्ने भन्‍ने विषयवस्तुबारे कुरा गर्नुपर्दा, यी केही त्यस्ता कुराहरू हुन् जसलाई मानिसहरूले एउटा बच्चाको नजरबाट हेर्नुपर्छ। आमाबुबाले छोराछोरीप्रति राख्ने विविध अपेक्षाहरू र तिनीहरूले छोराछोरीमाथि प्रयोग गर्ने विविध शैलीहरूलाई छोराछोरीले कसरी हेर्नु र सम्हाल्‍नुपर्छ, र उनीहरूले कस्ता सिद्धान्तहरू अभ्यास गर्नुपर्छ भन्‍ने कुरा आउँदा, यो मामला आमाबुबाले दिने विभिन्न समस्याहरूलाई एउटा बच्चाको नजरबाट सही ढङ्गले कसरी हेर्ने भन्‍ने कुरासँग सम्बन्धित छ। आज, हामी “आफ्ना सन्तानप्रतिका अपेक्षाहरू त्याग्‍ने” विषयमा सङ्गति गर्नेछौँ, जुन आफ्ना छोराछोरीका सम्बन्धमा मानिसहरूमा हुने विविध समस्याहरूलाई आमाबुबाको नजरबाट सम्हाल्ने कुरासँग सम्बन्धित छ। यसमा सिक्नुपर्ने पाठ र पालन गर्नुपर्ने सिद्धान्तहरू छन्। बच्चा भएको नाताले, तैँले तेरा आमाबुबाका अपेक्षाहरूलाई कसरी सामना गर्नुपर्छ, तैँले यी अपेक्षाहरूप्रति कस्तो मनोवृत्ति अपनाउनुपर्छ, साथै तैँले कुन मार्ग पछ्याउनुपर्छ र यो परिस्थितिमा तँसित अभ्यासका कस्ता सिद्धान्तहरू हुनुपर्छ भन्‍ने कुराहरू सबैभन्दा महत्त्वपूर्ण छन्। प्राकृतिक रूपमा, हरव्यक्तिसँग आमाबुबा हुने मौका हुन्छ, वा ऊ पहिल्यै आमाबुबा भइसकेको हुनसक्छ; यसमा आफ्ना सन्तानप्रति मानिसहरूमा हुने अपेक्षा र मनोवृत्तिहरू संलग्‍न हुन्छन्। तँ आमाबुबा वा बच्चा जे भए पनि, अर्को पक्षका अपेक्षाहरू सम्हाल्नलाई तँसित फरक सिद्धान्तहरू हुनुपर्छ। आमाबुबाका अपेक्षाहरूलाई कसरी लिने भन्‍नेबारेमा छोराछोरीले पालन गर्नुपर्ने सिद्धान्तहरू हुन्छन्, र स्वाभाविक रूपमै, आमाबुबाको हकमा पनि, छोराछोरीका अपेक्षाहरूलाई कसरी लिने भन्‍नेबारेमा पालन गर्नुपर्ने सत्यता सिद्धान्तहरू हुन्छन्। त्यसैले पहिला एक पटक सोच त, अहिले तिमीहरूले आमाबुबाले छोराछोरीप्रति व्यवहार गर्दा पालन गर्नुपर्ने के-कस्ता सिद्धान्तहरू देख्‍न वा सोच्न सक्छौ? यदि हामीले सिद्धान्तहरूबारे बोल्ने हो भने, यो तिमीहरूको लागि अलि नौलो हुन सक्छ, र यो विषय ज्यादै फराकिलो र गहन हुन सक्छ, त्यसैले बरु यदि तँ आमाबुबा भएको भए, तँसित आफ्ना सन्तानप्रति कस्ता अपेक्षाहरू हुन्थे भन्‍नेबारे कुरा गरौँ। (परमेश्‍वर, यदि म कुनै दिन आमाबुबा बन्नुपर्‍यो भने, सर्वप्रथम, म मेरा छोराछोरी स्वस्थ होऊन्, र स्वस्थ भएरै हुर्किन सकून् भन्‍ने आशा गर्थेँ। यसअलावा, म उनीहरूसित आफ्नै सपना होस् र उनीहरू जीवनमा आफ्ना सपनाहरू पूरा गर्न महत्त्वाकाङ्क्षी होऊन्, र उनीहरूलाई राम्रो सम्भाव्यता मिलेस् भन्‍ने आशा गर्थेँ। मैले आशा गर्ने मुख्य कुराहरू यी दुइटा नै हुन्।) के तैँले तेरा छोराछोरी उच्च तहका अधिकारी बनून् वा निकै धनी बनून् भन्‍ने पनि आशा गर्थिस्? (म ती कुराहरू पनि आशा गर्थेँ। म उनीहरू कम्तीमा संसारमा अगाडि पुगून्, अरू मानिसहरूभन्दा राम्रा होऊन्, र उनीहरूलाई अरूले उच्‍च नजरले हेरून् भन्‍ने आशा गर्थेँ।) आमाबुबाले आफ्ना छोराछोरीप्रति राख्ने सबैभन्दा आधारभूत अपेक्षा भनेको उनीहरू शारीरिक रूपले स्वस्थ होऊन्, उनीहरू आफ्नो करियरमा सफल होऊन्, संसारमा माथि उक्लिऊन्, र उनीहरूको जीवनमा सबथोक राम्रो चलोस् भन्‍ने हुन्छ। के आफ्ना सन्तानप्रति आमाबुबाका योभन्दा फरक कुनै अपेक्षाहरू हुन्छन्? जसका छोराछोरी छन्, उनीहरूले भन त। (मलाई आशा छ, मेरा छोराछोरी स्वस्थ हुनेछन्, उनीहरूको जीवनमा सबै राम्रो चल्नेछ, र उनीहरूको जीवन शान्तिपूर्ण र सुरक्षित हुनेछ। अनि, मलाई आशा छ, उनीहरू आफ्ना परिवारसँग मिल्नेछन्, र उनीहरूले ठूलालाई आदर र सानालाई प्रेम गर्न सक्नेछन्।) अरू केही छ? (यदि कुनै दिन म आमाबुबा बन्नुपर्‍यो भने, भर्खरै कुरा गरेका अपेक्षाहरूबाहेक, म मेरा छोराछोरी आज्ञाकारी र समझदार होऊन्, उनीहरूले मप्रति सन्तानीय भक्ति देखाऊन्, र मैले बुढेसकालमा मेरो हेरचाहको लागि उनीहरूमाथि भर पर्न सकूँ भन्‍ने आशा पनि राख्थेँ।) यो अपेक्षा निकै महत्त्वपूर्ण छ। आफ्ना छोराछोरीले सन्तानीय भक्ति देखाऊन् भनी आमाबुबाले आशा गर्नु तुलनात्मक रूपले मानिसहरूले आफ्ना धारणा र अवचेतन मनमा राख्ने परम्परागत अपेक्षा हो। यो निकै प्रतिनिधिमूलक कुरा हो।

आफ्ना सन्तानप्रतिका अपेक्षाहरू त्याग्‍ने कुरा आफ्नो पारिवारिक बोझ त्याग्ने विषयको निकै महत्त्वपूर्ण अंश हो। सबै आमाबुबाले आफ्ना छोराछोरीमाथि निश्‍चित अपेक्षाहरू राख्ने गर्छन्। चाहे ती ठूला-साना वा नजिक-टाढा जे भए पनि, यी अपेक्षाहरू छोराछोरीका व्यवहार, कार्य, जीवन, वा छोराछोरीले तिनीहरूलाई कसरी हेर्छन् भन्‍ने कुराप्रति आमाबुबामा हुने मनोवृत्ति हो। ती एक प्रकारका विशिष्ट मापदण्ड पनि हुन्। छोराछोरीको नजरबाट हेर्दा, यी विशिष्ट मापदण्डहरू उनीहरूले गर्नुपर्ने कामकुरा हुन्, किनकि परम्परागत धारणाअनुसार छोराछोरीले आमाबुबाका आदेशविपरीत काम गर्न मिल्दैन—यदि गर्छन् भने, उनीहरू कृतघ्‍न सन्तान हुन्। यस कारणले गर्दा, थुप्रै मानिसहरूले यस मामलामा ठूलो र गह्रौँ बोझ बोक्छन्। त्यसैले, के मानिसहरूले आमाबुबाले आफ्ना सन्तानप्रति राख्ने विशेष अपेक्षाहरू उचित छन् कि छैनन्, र आमाबुबाले यी अपेक्षाहरू राख्नुपर्छ कि पर्दैन, साथै यीमध्ये कुन अपेक्षाहरू उचित छन्, कुन अनुचित छन्, कुन मान्य छन्, र कुन जबरजस्ती लादिएका र अमान्य छन् भनी बुझ्नुपर्दैन र? यसअलावा, मानिसहरूले आमाबुबाका अपेक्षाहरूलाई कसरी हेर्ने, तिनलाई कसरी स्विकार्ने वा नकार्ने, र यी अपेक्षाहरूलाई हेर्ने र सामना गर्ने कस्तो मनोवृत्ति र दृष्टिकोण राख्‍ने भन्‍नेबारेमा तिनीहरूले बुझ्नुपर्ने र पालन गर्नुपर्ने सत्यता सिद्धान्तहरू छन्। यी कुराहरू हल नभएको अवस्थामा, आमाबुबाहरूले अक्सर यस्ता बोझहरू बोक्ने गर्छन्, र तिनीहरूले सोच्छन् कि छोराछोरी र सन्तानप्रति अपेक्षाहरू राख्नु त तिनीहरूको जिम्मेवारी र दायित्व हो, र ती अपेक्षाहरू त स्वाभाविक रूपमै तिनीहरूमा झनै बढी हुनुपर्ने कुराहरू हुन्। तिनीहरूले यो पनि सोच्छन् कि, यदि तिनीहरूसँग आफ्ना सन्तानप्रति कुनै अपेक्षाहरू नहुने हो भने, त्यो सन्तानप्रतिका आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा नगर्नु र आमाबुबाले गर्नुपर्ने कामहरू नगर्नुसरह हुनेछ। यसो गर्दा, तिनीहरूलाई लाग्छ कि, तिनीहरू खराब आमाबुबा अर्थात् गैरजिम्मेवार आमाबुबा हुनेछन्। त्यसकारण, आफ्ना सन्तानप्रति आफूले राख्ने अपेक्षाहरूको सम्बन्धमा, मानिसहरूले अनजानमै आफ्ना छोराछोरीका लागि विविध मापदण्डहरू सिर्जना गर्ने गर्छन्। तिनीहरूमा आफ्ना फरक-फरक छोराछोरीका लागि फरक-फरक समय र फरक-फरक परिस्थितिमा फरक-फरक मापदण्डहरू हुने गर्छन्। आफ्ना छोराछोरीको सम्बन्धमा तिनीहरूमा यस्ता विचार र बोझहरू हुने भएकाले, आमाबुबाहरू आफूले गर्नुपर्ने कामहरू यी अलिखित नियमअनुसार गर्ने गर्छन्, चाहे ती सही होऊन् वा गलत। आमाबुबाहरूले यी तौरतरिकालाई एक प्रकारको दायित्व र एकप्र-कारको जिम्मेवारीको रूपमा लिँदा, तिनीहरूले आफ्ना छोराछोरीप्रति मागहरू राख्ने गर्छन्, र त्यो सँगसँगै, तिनीहरूले ती कुराहरू आफ्ना छोराछोरीमाथि थोपर्ने र उनीहरूलाई ती कुराहरू पूरा गर्न लगाउने पनि गर्छन्। हामी यो मामलालाई हाम्रो सङ्गतिमा थुप्रै चरणहरूमा विभाजन गर्नेछौँ; त्यसो गर्दा, यो कुरा झनै प्रस्ट हुनेछ।

आफ्ना छोराछोरी वयस्कावस्थामा पुग्नुअघि नै आमाबुबाले उनीहरूका लागि विविध मापदण्डहरू अघि सार्छन्। अवश्य नै, यी विविध मापदण्डभित्र, तिनीहरूले उनीहरूमाथि विविध प्रकारका अपेक्षाहरू पनि राख्छन्। त्यसैले, आमाबुबाले आफ्ना छोराछोरीमाथि विभिन्न अपेक्षाहरू राख्दै गर्दा, उनीहरूले यी अपेक्षाहरू पूरा गर्नको निम्ति व्यक्तिगत रूपमा विविध मूल्यहरू चुकाउँछन् र विविध रणनीतिहरू प्रयोग गर्छन्। त्यसकारण, छोराछोरी वयस्कावस्थामा पुग्नुपहिले, आमाबुबाले उनीहरूलाई विविध तरिकाले शिक्षा दिने र उनीहरूमाथि विविध मापदण्डहरू राख्ने गर्छन्। उदाहरणको लागि, तिनीहरूले आफ्ना छोराछोरीलाई सानै उमेरदेखि यसो भन्‍ने गर्छन्: “तिमीले राम्रो तरिकाले धेरै पढ्नुपर्छ। तिमीले पढाइमा राम्रो गरेपछि तिमी अरू सबैभन्दा राम्रो हुनेछौ र अरूले तिमीलाई हेयको दृष्टिले हेर्नेछैनन्।” त्यस्ता आमाबुबाहरू पनि हुन्छन् जसले आफ्ना छोराछोरीलाई ठूलो भएपछि उनीहरूले तिनीहरूप्रति सन्तानीय भक्ति देखाउनुपर्छ भनी सिकाउँछन्, यतिसम्म कि, तिनीहरूले ती छोराछोरी दुई-तीन वर्षका हुँदा नै यस्तो प्रश्‍न सधैँ सोध्ने गर्छन्: “के तिमीले ठूलो भएपछि आफ्नो बुबाको हेरचाह गर्नेछौ?” अनि छोराछोरीले “गर्नेछु” भन्छन्। तिनीहरूले सोध्छन्: “के तिमीले आफ्नी आमाको हेरचाह गर्नेछौ?” “गर्नेछु।” “के तिमी आफ्नो बुबालाई बढी माया गर्छौ कि आमालाई?” “म मेरो बुबालाई माया गर्छु।” “होइन, तिमीले पहिला आमालाई माया गर्छु भन्नुपर्छ, र त्यसपछि बुबालाई माया गर्छु भन्नुपर्छ।” त्यसपछि ती छोराछोरीले आफ्ना आमाबुबाबाट यी कुराहरू सिक्छन्। चाहे भनेर होस् वा उदाहरण दिएर दिइएको होस्, आमाबुबाद्वारा दिइएको शिक्षाले बच्चाहरूको अबोध दिमागमा गहिरो प्रभाव पार्ने गर्छ। अवश्य नै, यसले उनीहरूलाई निश्‍चित मात्रामा आधारभूत ज्ञान पनि दिन्छ, र यसरी उनीहरूका आमाबुबा संसारमा उनीहरूलाई सबैभन्दा बढी प्रेम गर्ने र मन पराउने मानिसहरू हुन् र उनीहरूले सबैभन्दा बढी आज्ञाकारीता र सन्तानीय भक्ति देखाउनुपर्ने मानिसहरू हुन् भन्‍ने कुरा सिकाउँछ। स्वाभाविक रूपमै, “मेरा आमाबुबा संसारमै मेरो सबैभन्दा निकट मानिसहरू भएकाले, मैले सधैँ उहाँहरूको आज्ञापालन गर्नुपर्छ” भन्‍ने विचार उनीहरूको काँचो दिमागमा रोपिन्छ। साथसाथै, उनीहरूको अबोध दिमागमा एउटा विचार पैदा हुन्छ, र त्यो के हो भने, उनीहरूका आमाबुबाहरू उनीहरूको सबैभन्दा निकट मानिसहरू भएकाले, आमाबुबाले गर्ने सबथोकको उद्देश्य छोराछोरीले राम्रो जीवन जिउन सकून् भन्‍ने हो। यसकारणले गर्दा, उनीहरू आफ्ना आमाबुबाका कार्यहरूलाई निसर्त स्विकार्नुपर्छ भन्‍ने सोच्छन्; तिनीहरूले जे-जस्ता विधिहरू प्रयोग गरे पनि, तिनीहरू दयालु वा कठोर जे-जस्ता भए पनि, उनीहरूले तिनीहरूलाई स्विकार्नुपर्छ भन्‍ने विश्‍वास गर्छन्। अझै सही र गलत छुट्ट्याउने क्षमता नभएको उमेरमै, आमाबुबाद्वारा शब्द वा उदाहरणमार्फत दिइने शिक्षाले उनीहरूमा यस्तो विचारको बीजारोपण गरिदिन्छ। यस्तो विचारको प्रभावमा, आमाबुबाहरूले आफ्ना छोराछोरीले विविध कामकुरा गरून् भन्‍ने माग गर्छन्, र उनीहरूको राम्रो होस् भन्‍ने चाहेको बहाना गर्छन्। तीमध्ये कतिपय कुराहरू मानवता, वा छोराछोरीको प्रतिभा, क्षमता, वा रुचिअनुरूप नभए पनि, यी परिस्थितिहरूमा छोराछोरीसँग आफ्नै पहलमा वा आफ्नै स्वायत्ततामा कार्य गर्ने अधिकार नहुने हुँदा, आमाबुबाका तथाकथित अपेक्षा र मागहरूको प्रतिरोध गर्न छोराछोरीसँग विकल्प र क्षमता दुवै हुँदैन। उनीहरूले गर्न सक्ने भनेकै आमाबुबाको प्रत्येक आदेश मान्नु, आमाबुबालाई आफूखुसी गर्न दिनु, आफूलाई आमाबुबाको कृपामा राख्नु, र आमाबुबाले डोर्‍याएको जस्तोसुकै मार्गमा हिँड्नु मात्र हो। त्यसकारण, छोराछोरी वयस्कावस्थामा पुग्नुपहिले, चाहे अनजानमा होस् वा असल अभिप्रायले होस्, आमाबुबाले गर्ने हरेक कुराले छोराछोरीको व्यवहार र कार्यमा केही सकारात्मक वा नकारात्मक असर पार्नेछ। अर्थात्, तिनीहरूले गर्ने हरेक कुराले छोराछोरीमा विविध विचार र दृष्टिकोणहरू बीजारोपण गर्नेछ, र यी विचार र दृष्टिकोणहरू छोराछोरीको अवचेतन गहिराइमा गढेका समेत हुन सक्छन्, र यसरी यी विचार र दृष्टिकोणहरूले उनीहरूलाई वयस्क बनेपछि पनि अझै मानिसहरू र कामकुराहरूलाई कसरी हेर्ने, र कसरी आफूलाई व्यवहारमा ढाल्‍ने र कार्य गर्ने र कस्तो मार्ग हिँड्ने भन्‍नेबारे गहिरो प्रभाव पार्नेछन्।

वयस्क हुनुभन्दा पहिले, बच्चाहरूसँग आफूमाथि आमाबुबाले हस्तान्तरण गर्ने जियाइ परिवेश, विरासत, वा शिक्षाविरुद्ध प्रतिरोध गर्ने तागत हुँदैन, किनभने उनीहरू अझै वयस्क बनेका हुँदैनन् र उनीहरूले अझै पनि खासै राम्ररी कुराहरू बुझ्दैनन्। जब म कुनै बच्चा वयस्क हुनुभन्दा अगाडिको अवधिबारे कुरा गर्छु, म कुनै बच्चाले आफै के सही र के गलत भनी सोच्न वा मूल्याङ्कन गर्न नसक्ने समयबारे कुरा गरिरहेको हुन्छु। यी परिस्थितिहरूमा, छोराछोरीले आफूलाई आमाबुबाको कृपामा छोड्न मात्र सक्छन्। यसको ठ्याक्कै कारण के हो भने, छोराछोरी वयस्क हुनभन्दा पहिले आमाबुबाले नै सबथोकबारे निर्णय लिन्छन्, र यो दुष्ट युगमा आमाबुबाले सोहीअनुरूप सामाजिक प्रवृत्तिहरूमा आधारित शैक्षिक विधिहरू, विचार र दृष्टिकोणहरू अपनाएर छोराछोरीलाई निश्‍चित कुराहरू गर्न उक्साउँछन्। उदाहरणको लागि, अहिलेको समाजको प्रतिस्पर्धा निकै कडा छ। आमाबुबाहरू विविध सामाजिक प्रवृत्ति र सर्वसम्मतिको परिवेशको प्रभावमा परेका हुन्छन्, त्यसैले तिनीहरूले प्रतिस्पर्धा कडा भएको सन्देश स्विकार्छन् र तुरुन्तै छोराछोरीलाई त्यो सुनाउँछन्। खासमा तिनीहरूले स्विकारेको कुरा समाजको प्रतिस्पर्धा निकै कडा भएको घटना-प्रक्रिया र प्रवृत्ति हो, तर तिनीहरूलाई एक प्रकारको दबाब महसुस भइरहेको हुन्छ। यो दबाब महसुस हुँदा, तिनीहरूले तुरुन्तै आफ्ना छोराछोरीबारे सोच्छन्, र यसो भन्छन्: “अहिलेको समाजमा प्रतिस्पर्धा निकै कडा छ, हामी सानो छँदा यस्तो थिएन। यदि हाम्रा छोराछोरीले हाम्रै तरिका अपनाउँदै पढ्ने, काम गर्ने, र समाज, विविध मानिसहरू र वस्तुहरूलाई हेर्ने गर्छन् भने, उनीहरू चाँडै समाजद्वारा हटाइनेछन्। त्यसैले, हामीले उनीहरू अझै सानै हुँदा नै मौका छोप्नुपर्छ, र हामीले अहिले नै उनीहरूमाथि काम गर्न थाल्नुपर्छ—हामी हाम्रा छोराछोरीलाई पछि पर्न दिन सक्दैनौँ।” यतिखेर, समाजमा कडा प्रतिस्पर्धा छ, र सबै मानिसहरूले आफ्ना छोराछोरीमाथि ठूला आशाहरू राख्ने गर्छन्, त्यसैले आफूले समाजबाट पाएको यस्तो दबाबलाई तिनीहरूले तुरुन्तै आफ्ना छोराछोरीमाथि थोपर्छन्। अहिले, के तिनीहरूका छोराछोरी यसबारे सचेत छन् त? अझै वयस्क भइनसकेकाले, उनीहरू यसबारे बिलकुलै सचेत छैनन्। आमाबुबाबाट आउने यो दबाब सही हो वा गलत, वा यसलाई नकार्नु कि स्विकार्नुपर्छ, त्यो उनीहरूलाई थाहै छैन। आमाबुबाहरू आफ्ना छोराछोरीले यस्तो व्यवहार गरेको देख्दा गाली गर्छन्: “तँ कसरी यति मूर्ख हुन सकेको? अहिले समाजमा निकै कडा प्रतिस्पर्धा छ, तर तँ अझै केही बुझ्दैनस्। चाँडो किन्डरगार्टन जा!” बच्चाहरू कति वर्षमा किन्डरगार्टन जान्छन्? कतिपय तीन-चार वर्षमा जान थाल्छन्। यस्तो किन हो? अहिले समाजमा एउटा वाक्यांश चल्तीमा छ: आफ्ना छोराछोरीलाई पछि पर्न दिन मिल्दैन, शिक्षा भनेको सानै उमेरदेखि सुरु हुनुपर्छ। देखिएकै कुरा हो, धेरै साना बच्चाहरूले कष्ट भोग्दै तीन-चार वर्षमै किन्डरगार्टन सुरु गर्छन्। अनि, मानिसहरूले कस्तो खाले किन्डरगार्टन रोज्छन्? साधारण किन्डरगार्टनहरूमा, शिक्षकहरूले केटाकेटीसँग प्राय: “चील र चल्ला” जस्ता खेलहरू खेल्छन्, त्यसैले आमाबुबाहरू आफूले त्यस्तो किन्डरगार्टन रोज्न मिल्दैन भन्ठान्छन्। तिनीहरू आफूले गतिलो बहुभाषी किन्डरगार्टन रोज्नुपर्ने ठान्छन्। तिनीहरूको विचारमा एउटै मात्र भाषा सिकेर पर्याप्त हुँदैन। बच्चाहरूले आफ्नो मातृभाषा राम्ररी नबोल्दाखेरी नै दोस्रो भाषा सिक्नुपर्छ। के यसले बच्चाहरूलाई अप्ठ्यारो तुल्याइरहेको छैन र? तर आमाबुबाहरू के भन्छन्? “हामीले हाम्रो बच्चालाई पछि पर्न दिन मिल्दैन। यतिखेर, आयाहरूले घरमै एक वर्षका बच्चाहरूलाई पढाइरहेका हुन्छन्। बच्चाका आमाबुबाले तिनीहरूको मातृभाषा बोल्छन्, र आयाहरूले कुनै दोस्रो भाषा बोल्छन्, र बच्चाहरूलाई अङ्ग्रेजी, स्पेनी, वा पोर्तुगाली भाषा सिकाउँछन्। हाम्रो बच्चा चार वर्षको भइसक्यो, ऊ धेरै ठूलो भइसक्यो। यदि हामीले उसलाई अहिले नै पढाउन थालेनौँ भने, धेरै ढिला हुनेछ। हामीले उसलाई सकेसम्म चाँडो पढाउन थाल्नुपर्छ, र दुई भाषामा पढाउने किन्डरगार्टन खोज्नुपर्छ, जहाँ शिक्षकहरूले ब्याचलर र मास्टर डिग्री गरेका होऊन्।” मानिसहरूले भन्छन्: “त्यस्तो स्कुल अति महँगो हुन्छ।” तिनीहरूले जवाफ दिन्छन्: “ठिकै छ। हामीसँग ठूलो घर छ; हामी त्योभन्दा सानोमा सर्न सक्छौँ। हामी हाम्रो तीन बेडरूमवाला घर बेचेर दुई बेडरूमवाला घर लिनेछौँ। हामी त्यो पैसा बचत गरेर हाम्रो बच्चालाई एउटा गतिलो किन्डरगार्टनमा पढाउन खर्च गर्नेछौँ।” तर राम्रो किन्डरगार्टन रोजेर मात्र पुग्दैन, तिनीहरू आफ्ना छोराछोरीलाई फुर्सदको समयमा गणितीय ओलम्पियाडको अध्ययन गराउन शिक्षकहरू खोज्नुपर्छ भन्‍ने सोच्छन्। तिनीहरूका छोराछोरीलाई त्यसको लागि अध्ययन गर्न भित्रैदेखि मन नलागे पनि, उनीहरूले त्यो अध्ययन गर्नैपर्छ, र यदि उनीहरूले त्यो अध्ययन गर्न सकेनन् भने, त्यसपछि नृत्य अध्ययन गर्नेछन्। यदि उनीहरू नृत्यमा राम्रा छैनन् भने, उनीहरूले गाउन सिक्नेछन्। यदि उनीहरू गाउनमा राम्रा छैनन्, र उनीहरूका आमाबुबाले उनीहरूको सुगठित शरीर अनि लामा हातखुट्टा भएको देखे भने, तिनीहरूले सायद उनीहरू मोडल बन्न सक्छन् भन्‍ने सोच्‍नेछन्। त्यसपछि तिनीहरूले उनीहरूलाई मोडलिङ पढ्न कला स्कुलमा पठाउनेछन्। यसरी, बालबालिकालाई चार-पाँच वर्षको उमेरमै बोर्डिङ स्कुल पठाउन सुरु गरिन्छ, अनि उनीहरूको परिवारको घर तीन बेडरूमदेखि दुई बेडरूममा, दुई बेडरूमदेखि एक बेडरूममा र एक बेडरूमबाट भाडाको घरमा पुग्छ। छोराछोरीले स्कुलभन्दा बाहिर लिने शिक्षण सत्रको सङ्ख्या बढ्दै जान्छ, अनि तिनीहरूको घर झन्झन् सानो बन्दै जान्छ। कतिपय त्यस्ता आमाबुबा पनि हुन्छन्, जो आफ्ना सम्पूर्ण परिवार लिएर कहिले दक्षिणतिर त कहिले उत्तरतिर आउने र जाने गर्छन्, ताकि तिनीहरूका छोराछोरी राम्रा स्कुलमा जान सकून्, र अन्त्यमा, तिनीहरूलाई कहाँ जाने भन्‍ने नै थाहा हुँदैन, र तिनीहरूका छोराछोरीलाई आफ्नो गृहनगर कहाँ हो भन्‍ने नै थाहा हुँदैन, र ठूलो अस्तव्यस्तता हुन्छ। आमाबुबाले छोराछोरीहरू वयस्क नहुँदै उनीहरूको भविष्यको लागि विविध मूल्यहरू चुकाउँछन्, ताकि छोराछोरीहरू पछि नपरून्, बढ्दो प्रतिस्पर्धात्मक समाजअनुकूल बन्न सकून्, र पछि गएर उनीहरूले राम्रो जागिर र नियमित आय प्राप्त गरून्। कतिपय आमाबुबाहरू अत्यन्तै सक्षम हुन्छन्, तिनीहरूले ठूला व्यवसाय चलाउने वा उच्च अधिकारीको रूपमा सेवा गर्ने गर्छन्, र छोराछोरीहरूमा उच्च र अति ठूलो लगानी गर्छन्। कतिपय आमाबुबाहरू सक्षम हुँदैनन्, तर अरूले जस्तै, तिनीहरूले पनि छोराछोरीलाई गतिलो स्कुलमा र छुट्टीपछिका कक्षाहरू, नृत्य कक्षाहरू, र कला कक्षाहरूमा विभिन्न भाषाहरू र सङ्गीत सिक्न पठाउन चाहन्छन्, र छोराछोरीमाथि अत्यन्तै धेरै दबाब र पीडा थोपर्छन्। तिनीहरूका छोराछोरीले त्यसपछि सोच्छन्: “मलाई कहिले अलिअलि खेल्न दिने होलान्‌? म कहिले बढेर ठूला मानिसहरूले जस्तै आफ्नो निर्णय आफै गर्न सक्ने हुँला? म कहिलेदेखि ठूला मानिसहरूझैँ स्कुल जानैनपर्ने हुन्छु होला? म कहिले अलिकति टिभी हेर्न, दिमागबाट सबथोक हटाउन, र आमाबुबाले नडोर्‍याईकनै एक्लै कतै हिँड्न सक्ने हुन्छु होला?” तर उनीहरूका आमाबुबाले प्राय: यसो भनिरहन्छन्: “यदि तैँले राम्ररी पढिनस् भने, भविष्यमा तैँले मागेर खानुपर्नेछ। हेर्, तँमा कति थोरै भावी सम्भावना छ! तैँले अझै खेल्ने बेला भएको छैन, तैँले ठूलो भएपछि खेल्न सक्छस्! अहिले खेलेर बसिस् भने, भविष्यमा तँ सफल हुनेछैनस्; पछि खेलिस् भने, तैँले धेरै र राम्रो तरिकाले रमाउन सक्छस्, तैँले संसार घुम्न सक्छस्। के तैँले संसारका ती सबै सम्पन्न मानिसहरू देखेको छैनस्—के तिनीहरू सानोमा खेलेर बसेका थिए र? तिनीहरू बस पढिरहन्थे।” आमाबुबाले उनीहरूलाई ढाँट्ने काम मात्र गर्छन्। के ती सम्पन्न मानिसहरू पढेको पढ्यै मात्र गरेर कहिल्यै नखेलेको ती आमाबुबाले आफ्नै आँखाले देखे र? के तिनीहरूले यो मामला बुझ्छन् त? संसारका कतिपय धनी र सबैभन्दा सम्पन्न मानिसहरू विश्‍वविद्यालय नै गएनन्—यो तथ्य हो। कहिलेकाहीँ आमाबुबाहरू बोल्दा, तिनीहरूले छोराछोरीमाथि चालबाजी मात्र गरिरहेका हुन्छन्। छोराछोरी वयस्कतामा नपुग्दै, आमाबुबाले छोराछोरीको भविष्य राम्रो बनाउन, र छोराछोरीलाई नियन्त्रणमा राखेर आज्ञापालन गराउनको निम्ति हरप्रकारका झूट बोल्छन्। अवश्य नै, तिनीहरूले भएभरका दुःख पनि सहन्छन्, र यसको लागि हरप्रकारका मूल्य चुकाउँछन्। “आमाबुबाको तथाकथित प्रशंसनीय प्रेम” भनेको यही हो।

सन्तानप्रतिका आफ्ना अपेक्षाहरू पूरा होऊन् भनेर आमाबुबाले आफ्ना छोराछोरीमाथि धेरै आशाहरू राख्ने गर्छन्। यसकारणले गर्दा, तिनीहरूले आफ्ना शब्दहरूमार्फत छोराछोरीलाई शिक्षा र मार्गदर्शन दिने र उनीहरूमाथि प्रभाव जमाउने मात्र गर्दैनन्, त्यो सँगसँगै, ठोस कदमहरू चालेर छोराछोरीलाई नियमनसमेत गर्छन्, र छोराछोरीलाई तिनीहरूको आज्ञापालन गर्ने, तिनीहरूले तोकेको मार्ग र स्थापित गरेको निर्देशनअनुसार व्यवहार गर्ने र जिउनेसमेत तुल्याउँछन्। छोराछोरी यसो गर्न इच्छुक होऊन् वा नहोऊन्, तर मूलभूत रूपमा आमाबुबाले एउटै कुरा भनिरहन्छन्: “यदि तैँले मेरो कुरा सुनिनस् भने, तैँले पछुताउनेछस्! यदि तँ मेरो कुरा मान्दैनस् वा आफ्नो पढाइलाई गम्भीरतापूर्वक लिँदैनस् र कुनै दिन पछुतो भयो भने, मेरो छेउ नआउनू, मैले तँलाई त्यसो भनिन नभन्‍नू!” एक पटक, हामी केही मामलाको लागि एउटा भवनमा गयौँ, र केही कामदारहरूले धेरै मेहनत लगाएर केही फर्निचरहरू सिँढीबाट माथि उकालिरहेको देख्यौँ। तिनीहरूको जम्काभेट आफ्नो छोरालाई लिएर सिँढीबाट तल झरिरहेकी एउटी आमासँग भयो। यदि कुनै सामान्य व्यक्तिले यो दृश्य देखेको भए, उसले भन्थ्यो होला: “फर्निचर सार्ने मानिसहरू आइरहेका छन्, बाटो छोडिदिऊँ।” अनि, तल गइरहेका मानिसहरूले कुनै कुरासँग नठोक्किई वा कामदारहरूलाई दुःख नदिई चाँडो-चाँडो तिनीहरूको बाटोबाट पन्छिनुपर्थ्यो होला। तर जब ती आमाले यो दृश्य देखी, उसले त्यही मौका पारेर केही परिस्थितिगत ज्ञान सिकाउन थालिहाली। म अझै पनि उसले भनेको कुरा प्रस्टसित सम्झिन सक्छु। उसले के भनेकी थिई त? उसले यसो भनेकी थिई: “हेर त, तिनीहरूले सारिरहेका सामानहरू कति गह्रौँ छन्, र यो काम कति थकाइलाग्दो छ। तिनीहरूले सानो हुँदा आफ्नो पढाइलाई गम्भीरतासाथ लिएनन्, र तिनीहरूले अहिले राम्रो जागिर पाउन सक्दैनन्, र त्यसैले फर्निचर सार्नु र कडा परिश्रम गर्नुपरेको छ। के तिमी यो कुरा बुझ्छौ?” लाग्थ्यो, त्यो छोराले आधाउधी कुरा बुझ्यो, र उसले आमाको कुरा सही हो भन्‍ने विश्‍वास गर्‍यो। उसको आँखामा डर, त्रास, र विश्‍वासको साँचो भाव देखियो, उसले शिर हल्लायो, अनि फेरि ती कामदारहरूलाई हेर्‍यो। अनि, त्यो आमाले हतारिँदै मौका छोपेर छोरालाई पाठ पढाउँदै यसो भनी: “कुरा बुझ्यौ नि? तिमीले सानो छँदा आफ्नो पढाइलाई गम्भीरतापूर्वक लिएनौ भने, ठूलो भएपछि जीवन गुजारा गर्न तिमीले यसरी नै फर्निचर सार्नु र कडा परिश्रम गर्नुपर्नेछ।” के यी अभिव्यक्तिहरू सही थिए त? (थिएनन्।) अनि, ती कुन रूपमा गलत थिए? त्यो आमाले मौका मिल्नेबित्तिकै आफ्नो छोरालाई पाठ सिकाई—यो कुरा सुनेपछि तँलाई त्यो छोराको मानसिकता कस्तो भयो जस्तो लाग्छ? के ऊ यी अभिव्यक्तिहरू सही हुन् कि गलत भनेर छुट्ट्याउन सक्षम थियो त? (थिएन।) त्यसोभए, उसले के सोच्यो होला? (“यदि मैले आफ्नो पढाइलाई गम्भीरतापूर्वक लिइनँ भने, मैले भविष्यमा यसरी नै कडा परिश्रम गर्नुपर्नेछ।”) उसले यस्तो सोच्यो होला: “ओहो हुँदैन, कडा परिश्रम गर्ने सबै मानिसहरूले आफ्नो पढाइलाई गम्भीरतापूर्वक लिएका रहेनछन्। मैले आमाको कुरा सुन्नैपर्छ, र आफ्नो पढाइमा राम्रो गर्नैपर्छ। मेरी आमा सही हुन्, अध्ययन नगर्नेहरू सबैले कडा परिश्रम गर्नुपर्छ।” उसले यसरी आमाबाट पाउने विचारहरू जीवनभर उसको हृदयमा सत्यता बनेर बस्छन्। ल भन् त, के यो आमा मूर्ख होइन र? (हजुर, हो।) अनि, ऊ कुन रूपमा मूर्ख हो? यदि उसले यो मामलामार्फत आफ्नो छोरालाई पढ्न बाध्य तुल्याउँछे भने, के त्यो छोराले पक्कै केही नतिजा हात पार्नेछ त? के त्यसले भविष्यमा उसले कडा परिश्रम गर्न वा पसिना चुहाउन नपर्ने प्रत्याभूति गर्छ त? के त्यो आमाले यो मामला अर्थात् यो दृश्यमार्फत आफ्नो छोरालाई डर देखाउनु राम्रो कुरा हो त? (यो खराब कुरा हो।) यसले छोरालाई जीवनभर असर गर्नेछ। यो राम्रो कुरा होइन। यो बच्चाले ठूलो भएपछि यी वचनहरूलाई अलिअलि खुट्ट्याउन सके पनि, उसकी आमाले व्यक्त गरेको यो सिद्धान्तलाई उसको हृदय र अवचेतन मनबाट हटाउन अझै गाह्रै हुनेछ। केही हदसम्म, यसले उसलाई विचलित गर्नेछ र उसका सोचहरूलाई बाँध्नेछ, र विभिन्‍न कुराहरूबारेका उसका विचारहरू निर्देशित गर्नेछ। बच्चाहरू वयस्क हुनुपहिले, आमाबुबाले उनीहरूप्रति राख्ने धेरैजसो अपेक्षाहरूमा उनीहरूले धेरै पढ्न सकून्, धेरै कोसिस गर्न र लगनशील हुन सकून्, र तिनीहरूका अपेक्षाहरू पूरा गर्न असफल नहोऊन् भन्‍ने कुराहरू पर्छन्। त्यसकारण, छोराछोरी वयस्क बन्नुपहिले, जति नै मूल्य चुकाउनुपरे पनि, आमाबुबाले छोराछोरीको लागि सबथोक गर्छन्, तिनीहरूले आफ्नो जवानी, आफ्नो वर्ष र समय, साथै आफ्नो स्वास्थ्य र सामान्य जीवनयापन नै त्यागिदिन्छन्, र कतिपय आमाबुबाले त छोराछोरीलाई तालिम दिन र स्कुल जाँदा उनीहरूलाई पढाइमा मद्दत गर्न आफ्नो जागिर, आकाङ्क्षा वा आस्थासमेत त्याग्छन्। मण्डलीमा, केही त्यस्ता धेरै मानिसहरू छन्, जो छोराछोरीलाई तालिम दिँदै आफ्नो सारा समय खर्चन्छन्, ताकि ती छोराछोरीहरू वयस्क बनेपछि तिनीहरूको बाहुली बन्‍न सकून्, ती छोराछोरीले आफ्नो करियरमा सफलता पाउन र भविष्यमा सुरक्षित जागिर पाउन सकून्, र ती छोराछोरीको काममा परिस्थितिहरू राम्रा भइदिऊन्। यी आमाबुबाहरू भेलामा जाने वा कर्तव्य निभाउने काम गर्दैनन्। तिनीहरूको हृदयमा तिनीहरूको आफ्नै आस्थाको सम्बन्धमा केही मागहरू हुन्छन्, र तिनीहरूसँग थोरथोरै सङ्कल्प र आकाङ्क्षा हुन्छ, तर छोराछोरीप्रतिका अपेक्षाहरू त्याग्न नसक्ने हुनाले, तिनीहरू यो अवधिमा छोराछोरीहरू वयस्कतामा नपुगुन्जेल, उनीहरूकै साथमा रहन रोज्छन्, र यसरी तिनीहरूले सृष्टि गरिएका प्राणीको रूपमा रहेका आफ्ना कर्तव्यहरू, र आस्थाको सम्बन्धमा तिनीहरूका आफ्नै पछ्याइहरू त्यागिदिन्छन्। यो सबैभन्दा दुखद कुरा हो। कतिपय आमाबुबाहरूले आफ्ना छोराछोरीलाई अभिनेता-अभिनेत्री, कलाकार, लेखक वा वैज्ञानिक बनाउन र छोराछोरीलाई तिनीहरूका अपेक्षाहरू पूरा गर्न सक्षम तुल्याउन तालिम दिनहेतु धेरै मूल्य चुकाउँछन्। तिनीहरूले छोराछोरीको साथमा रहनको निम्ति आफ्नो जागिर छोड्छन्, करियर त्याग्छन्, र त्योभन्दा बढी, तिनीहरूले आफ्नै सपना र आनन्द त्याग्छन्। अनि, छोराछोरीको लागि आफ्नो वैवाहिक जीवन त्याग्ने आमाबुबाहरूसमेत हुन्छन्। सम्बन्धविच्छेद भएपछि, छोराछोरी हुर्काउने र तालिम दिने गह्रुङ्गो बोझ तिनीहरू एक्लैले बोक्छन्, छोराछोरीको लागि आफ्नो ज्यान दाउमा राख्छन्, र आफूलाई छोराछोरीको भविष्यप्रति समर्पित गर्छन्, ताकि तिनीहरूले छोराछोरीप्रतिका आफ्ना अपेक्षाहरू साकार पार्न सकून्। कतिपय त्यस्ता आमाबुबाहरू पनि हुन्छन्, जो आफ्ना छोराछोरी वयस्क नहुन्जेल आफूले गर्नुनपर्ने धेरै कामहरू गर्छन्, धेरै अनावश्यक मूल्यहरू तिर्छन्, आफ्नो समय, शारीरिक स्वास्थ्य, र पछ्याइहरू त्याग्छन्, ताकि भविष्यमा तिनीहरूका छोराछोरी अगाडि बढ्न र समाजमा स्थापित हुन सकून्। एकातिर, आमाबुबाको हकमा, यी कुराहरू अनावश्यक त्यागहरू हुन्। अर्कोतिर, छोराछोरीको हकमा, वयस्क हुनुपहिले, उनीहरूमाथि यी रणनीतिले ठूलो दबाब र बोझ थपिदिन्छन्। यस्तो किन हुन्छ भने, उनीहरूका आमाबुबाले धेरै मूल्य चुकाएका हुन्छन्, र चाहे त्यो पैसा र समयको रूपमा होस् वा शक्तिको रूपमा होस्, उनीहरूका आमाबुबाले ज्यादै धेरै खर्च गरेका हुन्छन्। तथापि, यी बच्चाहरूमा वयस्कता आउनु पहिले, र उनीहरूसँग सही र गलत छुट्ट्याउने क्षमता नहुन्जेल, उनीहरूसँग अर्को कुनै विकल्प हुँदैन; उनीहरू आमाबुबाले गर्ने व्यवहारहरू स्विकार्न बाध्य हुन्छन्। उनीहरूको मनको गहिराइमा केही सोचहरू हुने भए पनि, उनीहरूले अझै पनि आमाबुबाका कार्यहरू स्विकारी नै रहन्छन्। यी परिस्थितिहरूमा, बालबालिकाले अबोध रूपमै के सोच्न थाल्छन् भने, उनीहरूका आमाबुबाले उनीहरूलाई तालिम दिन अत्यन्तै ठूलो मूल्य चुकाएका छन् र उनीहरूले यो जुनीमा आमाबुबालाई पूरै ऋण वा हर्जाना तिर्न सक्नेछैनन्। फलस्वरूप, आमाबुबाले उनीहरूलाई तालिम र साथ दिइरहेको बखत, उनीहरू सोच्छन् कि आमाबुबाको ऋण तिर्नको निम्ति उनीहरूले गर्न सक्ने भनेको आमाबुबालाई खुसी पार्नु, ठूला उपलब्धिहरू हासिल गरेर तिनीहरूलाई सन्तुष्ट पार्नु, र तिनीहरूलाई निराश नबनाउनु मात्र हो। आमाबुबाको सम्बन्धमा भन्नुपर्दा, छोराछोरीमा वयस्कता आउनु पहिलेको समयमा, तिनीहरूले यी मूल्यहरू चुकाएपछि, र छोराछोरीप्रति तिनीहरूका अपेक्षाहरू झन्झन् बढ्दै जाँदा, तिनीहरूको मानसिकता बिस्तारै छोराछोरीप्रतिका मापदण्डहरूले भरिन्छ। यसको मतलब, आमाबुबाले यी तथाकथित मूल्यहरू तिरेपछि र यी तथाकथित खर्चहरू गरेपछि, तिनीहरू आफ्ना छोराछोरीले सफलता प्राप्त गर्नैपर्छ र तिनीहरूको ऋण तिर्न ठूला उपलब्धिहरू हासिल गर्नैपर्छ भन्‍ने माग गर्छन्। त्यसकारण, यो कुरालाई हामीले चाहे आमाबुबाको नजरले हेरे पनि वा बच्चाको नजरले हेरे पनि, यो “अर्पित गर्ने” र “अर्पित गरिने” बीचको सम्बन्धभित्र, छोराछोरीप्रति आमाबुबाले राख्ने अपेक्षाहरू झन्झन् बढ्दै जान्छन्। “तिनीहरूका अपेक्षाहरू झन्झन् बढ्दै जान्छन्” भनेर भन्नु यो कुरालाई व्यक्त गर्ने राम्रो तरिका हो। वास्तवमा, आमाबुबाहरूले जति बढी अर्पण र त्याग गर्छन्, हृदयको गहिराइमा त्यति नै तिनीहरूले आफ्ना छोराछोरीले सफलता प्राप्त गरेर तिनीहरूको ऋण तिर्नुपर्छ भन्‍ने सोच्छन्, र सँगसँगै, त्यति नै ती छोराछोरी तिनीहरूप्रति ऋणी छन् भन्‍ने पनि ठान्छन्। आमाबुबाले जति बढी अर्पण गर्छन्, र जति बढी आशा राख्छन्, तिनीहरूका अपेक्षा त्यति नै उच्च बन्छन्, र छोराछोरीले तिनीहरूको ऋण तिर्ने अपेक्षा त्यति नै बढ्दै जान्छन्। “उनीहरूले धेरै कुराहरू सिक्नु आवश्यक छ, उनीहरू पछि पर्नु हुँदैन” भन्‍नेदेखि “उनीहरू ठूला भएपछि, उनीहरू संसारमा धेरै अगाडि पुग्नुपर्छ, र समाजमा स्थापित हुनुपर्छ” भन्‍नेसम्मका सन्तानप्रतिका आमाबुबाका अपेक्षाहरू बिस्तारै तिनीहरूले छोराछोरीलाई दिने मापदण्ड बन्छन्। त्यो मापदण्ड यस्तो हुन्छ: तँ ठूलो भएर समाजमा स्थापित भएपछि, आफू कहाँबाट आएको हुँ भन्‍ने कुरा नबिर्सनू, आफ्ना आमाबुबालाई नबिर्सनू, तैँले सुरुमा तेरा आमाबुबाको ऋण तिर्नुपर्छ, तैँले तिनीहरूप्रति सन्तानीय भक्ति धर्म देखाउनुपर्छ, र तिनीहरूलाई राम्रो जीवन जिउन मद्दत गर्नुपर्छ, किनकि यो संसारमा तिनीहरू नै तेरा हितकारी मानिसहरू हुन्, तिनीहरूले नै तँलाई तालिम दिएका हुन्; तँ अहिले समाजमा स्थापित हुनु, साथै तैँले पाएको सबथोक, र तँसित भएको सबथोक तेरा आमाबुबाको अथक प्रयासद्वारा आर्जित भएका हुन्, त्यसैले तैँले बाँकी जीवनभर तिनीहरूको ऋण तिर्न, हर्जाना भर्न, र तिनीहरूलाई असल व्यवहार गर्नमा खर्चनुपर्छ। छोराछोरी वयस्क हुनुपहिले उनीहरूप्रति आमाबुबाले राख्ने अपेक्षाहरू—अर्थात् छोराछोरी समाजमा स्थापित होऊन् र संसारमा अगाडि पुगून् भन्‍ने अपेक्षाहरू—यसरी विकसित हुँदै, बिस्तारै आमाबुबाका निकै सामान्य अपेक्षाबाट छोराछोरीप्रतिका आमाबुबाका एक प्रकारका मापदण्ड र उक्साहटमा परिणत हुन्छन्। मानौँ, छोराछोरी वयस्कावस्थामा नपुग्दैको समयमा, उनीहरूले राम्रो ग्रेड प्राप्त गर्दैनन् रे; मानौँ, उनीहरूले विद्रोह गर्छन् रे, पढ्न वा आमाबुबाको आज्ञापालन गर्न चाहन्नन् रे, अनि तिनीहरूको अवज्ञा नै गर्छन् रे। अनि, उनीहरूका आमाबुबाले यसो भन्‍नेछन्: “के तैँले यो मेरो लागि सजिलो छ भन्ठान्छस्? तँलाई मैले यो सबै कसको निम्ति गरिरहेको छु भन्‍ने लाग्छ? म यो काम तेरै राम्रोको लागि गरिरहेको छु, हैन र? मैले जे गर्छु त्यो तेरै निम्ति गर्छु, तर तँ त्यसको कदरसमेत गर्दैनस्। के तँ मूर्ख होस्?” तिनीहरूले यी शब्दद्वारा छोराछोरीलाई तर्साउनेछन् र बन्धक बनाउनेछन्। के यस्तो शैली ठिक हो त? (होइन।) यो ठिक होइन। आमाबुबाको यो “आदर्शमयी” पाटो तिनीहरूको घृणित पाटो पनि हो। अनि, यी शब्दहरूमा ठ्याक्कै के गलत छ? (आमाबुबाले आफ्ना छोराछोरीप्रति अपेक्षाहरू राख्नु र उनीहरूलाई तालिम दिनु एकतर्फी प्रयासहरू हुन्। तिनीहरूले छोराछोरीमाथि निश्‍चित दबाबहरू थोपर्छन्, उनीहरूलाई विविध विषयहरू अध्ययन गर्न लगाउँछन्, ताकि छोराछोरीले राम्रा सम्भाव्यता प्राप्त गरून्, आमाबुबालाई गौरवान्वित तुल्याऊन्, र भविष्यमा आमाबुबाप्रति सन्तानीय भक्ति देखाऊन्। वास्तवमा, आमाबुबाले जे गर्छन्, त्यो आफ्नै लागि गरेका हुन्छन्।) यदि हामीले आमाबुबाहरू आफ्नै हितको काम गर्ने र स्वार्थी हुन्छन् भन्‍ने तथ्यलाई एकातिर राखेर, तिनीहरूले छोराछोरीहरू वयस्क नहुँदै उनीहरूलाई सिकाउने विचार, र उनीहरूमाथि थोपर्ने दबाब, र छोराछोरीले यो वा त्यो विषय पढून्, उनीहरू ठूला भएपछि यो वा त्यो करियरमा संलग्न होऊन्, र यस्तो वा त्यस्तो सफलता प्राप्त गरून् भनेर तिनीहरूले लाद्‍ने मापदण्डहरूबारे मात्र कुरा गर्‍यौँ भने—यस्ता विधिहरूको प्रकृति कस्तो हुन्छ? अहिलेको लागि, हामी आमाबुबाले किन यी काम गरिरहेका हुन्छन्, वा यी विधिहरू उचित हुन् होइनन् भनेर मूल्याङ्कन गर्नेछैनौँ। हामी पहिला यी विधिहरूको प्रकृतिबारे सङ्गति र चिरफार गर्नेछौँ, अनि यी विधिहरूको सारसम्बन्धी हाम्रो चिरफारको आधारमा अभ्यासको अझ सही मार्ग खोज्नेछौँ। यदि हामीले त्यो दृष्टिकोणबाट सत्यताको यो पक्ष सङ्गति गर्‍यौँ र बुझ्यौँ भने, त्यो सही हुनेछ।

सर्वप्रथम, छोराछोरीको सन्दर्भमा आमाबुबाले अपनाउने यी मापदण्ड र विधिहरू सही हुन् कि गलत? (ती गलत हुन्।) त्यसोभए, मूल रूपमा आमाबुबाले आफ्ना छोराछोरीमाथि प्रयोग गर्ने यी विधिहरूको मुख्य कारण के हो? के यो छोराछोरीप्रतिका आमाबुबाका अपेक्षाहरू होइनन् र? (हुन्।) आफ्नो व्यक्तिपरक चेतनाभित्र, आमाबुबाहरूले छोराछोरीको भविष्यबारे विविध कुराहरू परिकल्पना, योजना र निर्धारण गर्ने गर्छन्, र फलस्वरूप, ती कुराहरूले यी अपेक्षाहरू पैदा गराउँछन्। यी अपेक्षाहरूको उक्साहटमा, आमाबुबाहरूले आफ्ना छोराछोरीले विविध सीपहरू सिकून्, नाटक र नृत्य, वा कला, आदि इत्यादि अध्ययन गरून् भन्‍ने मापदण्ड तय गर्छन्। तिनीहरूले छोराछोरी प्रतिभाशाली मानिसहरू बनून, र त्यसपछि कनिष्ठ होइन, वरिष्ठ मानिसहरू बनून् भन्‍ने मापदण्ड तय गर्छन्। तिनीहरूले छोराछोरी उच्च अधिकारीहरू बनून्, मैदानका सिपाहीहरू नबनून् भन्‍ने मापदण्ड तय गर्छन्; तिनीहरूले छोराछोरी व्यवस्थापक, प्रमुख कार्यकारी अधिकृत, र कार्यकारी भूमिकाका मानिसहरू बनून्, र उनीहरूले विश्‍वका शीर्ष ५०० कम्पनीहरूमा काम गरून्, र यस्तै-यस्तै अन्य मापदण्डहरू तय गर्छन्। यी सबै नै आमाबुबाका व्यक्तिपरक विचारहरू हुन्। तर के बालबालिकाहरू वयस्कावस्थामा पुग्नुपहिले, उनीहरूमा आमाबुबाका अपेक्षाहरूको सारबारे कुनै बुझाइ हुन्छ त? (हुँदैन।) उनीहरूमा यी कुराहरूबारे बिलकुलै कुनै बुझाइ हुँदैन, उनीहरूले ती कुराहरू बुझ्दैनन्। अनि, साना बालबालिकाले केचाहिँ बुझ्छन् त? उनीहरूले विद्यालय गएर पढ्न सिक्ने, मेहनत गरेर पढ्ने, र असल र सुशील बालबालिका हुने कुरा मात्र बुझ्छन्। यो आफैमा धेरै राम्रो कुरा हो। विद्यालय गई तोकिएको समयतालिकाअनुसार कक्षामा बस्नु, र घर गएर आफ्नो गृहकार्य सकाउनु—बालबालिकाले बुझ्ने कुराहरू यिनै हुन्, बाँकी कुराहरू त खेल्ने, खाने, मनोकल्पना गर्ने, सपना देख्‍ने, आदि इत्यादि मात्र हुन्। वयस्क हुनुभन्दा पहिले, बालबालिकामा आफ्नो जीवन मार्गका अपरिचित कुराहरूबारे बिलकुलै बुझाइ हुँदैन, र उनीहरूले ती कुराहरूबारे कुनै परिकल्पना पनि गर्दैनन्। यी बच्चाहरू वयस्क भएपछिको समयबारे गरिएका सबै परिकल्पना वा निर्णयहरू उनीहरूका आमाबुबाबाट आउँछन्। त्यसकारण, आमाबुबाले आफ्ना छोराछोरीप्रति राख्ने यस्ता त्रुटिपूर्ण अपेक्षाहरूको तिनीहरूका छोराछोरीसँग कुनै सम्बन्ध हुँदैन। बालबालिकाले आफ्ना आमाबुबाका अपेक्षाहरूको सार खुट्ट्याउनु मात्र जरुरी छ। आमाबुबाका यी अपेक्षाहरू के कुरामा आधारित हुन्छन्? ती कहाँबाट आउँछन्? ती समाज र संसारबाट आउँछन्। आमाबुबाका यी सबै अपेक्षाहरूको उद्देश्य बालबालिकालाई यो संसार र यो समाजमा समायोजित हुन, संसार वा समाजद्वारा हटाइनबाट जोगिन, र समाजमा स्थापित हुन, र सुरक्षित जागिर, स्थिर परिवार, र सुरक्षित भविष्य पाउन सक्षम तुल्याउनु हो, त्यसैले आमाबुबाले आफ्ना सन्तानप्रति विविध व्यक्तिपरक अपेक्षाहरू राख्ने गर्छन्। उदाहरणको लागि, यतिखेर कम्प्युटर इन्जिनियर हुनु फेसन नै भएको छ। कतिपय मानिसहरू भन्छन्: “मेरो बच्चा भविष्यमा कम्प्युटर इन्जिनियर हुनेछ। उसले दिनभर कम्प्युटर बोकेर, कम्प्युटर इन्जिनियरको काम गरेर, यो क्षेत्रमा धेरै पैसा कमाउन सक्छ। यसले मेरो छवि राम्रो बनाउनेछ!” बालबालिकामा कुनै कुराको अवधारणै विकसित नभएका यी परिस्थितिहरूमा, आमाबुबाले नै उनीहरूको भविष्य कोर्ने गर्छन्। के यो गलत होइन र? (हो।) आमाबुबाहरूले पूर्णतया विभिन्‍न कुराहरू हेर्ने वयस्क व्यक्तिका शैलीहरू, साथै सांसारिक मामलाहरूबारे वयस्क व्यक्तिका विचार, दृष्टिकोण, र रुचिका आधारमा छोराछोरीमाथि आशा राखिरहेका हुन्छन्। के यो व्यक्तिपरक कुरा होइन र? (हो।) यदि तैँले त्यसलाई राम्रो शब्दमा भन्‍ने हो भने, तैँले त्यो व्यक्तिपरक हो भन्न मिल्छ, तर वास्तवमा त्यो के हो? यो व्यक्तिपरकताको अर्को व्याख्या के हुन्छ? के यो स्वार्थीपन होइन र? के यो जबरजस्ती होइन र? (हो।) तँलाई अनेकथरीका जागिर र फलानो करियर मनपर्छ, र तँ समाजमा स्थापित हुन, आकर्षक जीवन जिउन, कर्मचारीको रूपमा सेवा गर्न, वा सम्पन्न व्यक्ति बन्नमा रमाउँछस्, त्यसैले तैँले तेरा छोराछोरीलाई पनि तिनै काम गर्न, त्यस्तै व्यक्ति बन्न, र त्यस्तै मार्ग हिँड्न लगाउँछस्—तर के उनीहरूले भविष्यमा त्यो परिवेशमा जिउन र त्यो काममा संलग्न हुन रुचाउँछन् त? के उनीहरूले त्यसो गर्न सुहाउँछ? उनीहरूको नियतिमा के लेखिएको छ? उनीहरूप्रतिका परमेश्‍वरका बन्दोबस्त र आदेशहरू के हुन्? के तँलाई यी कुराहरू थाहा छ? कतिपय मानिसहरू भन्छन्: “मलाई ती कुराहरूबारे चासो छैन, मलाई त उनीहरूको आमाबुबाको रूपमा आफूलाई मनपर्ने कुराहरूबारे मात्र चासो छ। म मेरा आफ्नै रुचिको आधारमा उनीहरूमाथि आशा राख्नेछु।” के यो अति स्वार्थी कुरा होइन र? (हो।) यो अत्यन्तै स्वार्थी कुरा हो! राम्रो शब्दमा भन्नुपर्दा त, यो अत्यन्तै व्यक्तिपरक कुरा होला, यो आफैले सबै निर्णय लिने कुरा होला, तर वास्तवमा यो के हो त? यो अत्यन्तै स्वार्थी हुनु हो! यी आमाबुबाहरू छोराछोरीका क्षमता वा प्रतिभाबारे सोच्दैनन्, तिनीहरू हरेक व्यक्तिको नियति र जीवनको लागि परमेश्‍वरले गर्नुभएका बन्दोबस्तहरूबारे चासो राख्दैनन्। तिनीहरू यी कुराहरूबारे सोच्दै सोच्दैनन्, तिनीहरू त बस मनोकामना सँगाल्दै, छोराछोरीमाथि तिनीहरूका आफ्नै रुचि, अभिप्राय र योजनाहरू थोपर्ने काम गर्छन्। कतिपय मानिसहरू भन्छन्: “मैले यी कुराहरू मेरो बच्चामाथि घुसाउनैपर्छ। यी कुराहरू बुझ्नको लागि उनीहरू अहिले निकै साना छन्, तर उनीहरू बुझ्ने भएको बेलामा निकै ढिला भइसक्‍नेछ।” के त्यस्तै हुनेछ त? (हुनेछैन।) यदि साँच्चिकै ढिला भएछ भने, त्यो उनीहरूको भाग्यको कुरा हो, त्यो उनीहरूको आमाबुबाको जिम्मेवारी होइन। यदि तँ आफूले बुझ्ने कुराहरू आफ्ना छोराछोरीमाथि थोपर्छस् भने, के तैँले ती कुराहरू बुझ्छस् भन्दैमा उनीहरूले पनि चाँडो बुझ्नेछन् भन्‍ने हुन्छ र? (हुँदैन।) आमाबुबाले छोराछोरीलाई कसरी शिक्षादीक्षा दिन्छन् र ती छोराछोरीले कस्तो जीवन मार्ग रोज्ने, कस्तो करियर रोज्ने, र उनीहरूको जीवन कस्तो हुनेछ भनेर कहिले बुझ्छन् भन्‍ने कुराबीच कुनै सम्बन्ध हुँदैन। उनीहरूका आफ्नै जीवन मार्ग, आफ्नै गति, र आफ्नै नियमहरू हुन्छन्। यो कुरा विचार गर्, बालबालिका सानै हुँदा, आमाबुबाले जुन तरिकाले शिक्षा दिए पनि, समाजबारे उनीहरूको ज्ञान पूरै शून्य हुन्छ। उनीहरूले आफ्नो मानवता परिपक्व भएपछि समाजको प्रतिस्पर्धा, जटिलता, र अन्धकार, र समाजमा हुने विविध अनुचित कुराहरू अनुभूति गर्नेछन्। यो आमाबुबाले छोराछोरीलाई सानै उमेरदेखि सिकाउन मिल्ने कुरा होइन। आमाबुबाले छोराछोरीलाई सानै उमेरदेखि नै “मानिसहरूसँग कुरा गर्दा तैँले केही कुरा गोप्य राख्नैपर्छ” भनेर सिकाए पनि, उनीहरूले त्यसलाई एउटा धर्मसिद्धान्तको रूपमा मात्र लिनेछन्। उनीहरू आमाबुबाको सल्लाहअनुसार कार्य गर्न साँच्चिकै सक्षम भएपछि, उनीहरूले त्यो कुरा साँच्चिकै बुझ्नेछन्। जब उनीहरू आमाबुबाको सल्लाह बुझ्दैनन्, आमाबुबाले जति नै सिकाउने प्रयास गरे पनि, उनीहरूको लागि त्यो एउटा धर्मसिद्धान्तजस्तो मात्र हुनेछ। त्यसकारण, के “संसार अति प्रतिस्पर्धी छ, र मानिसहरू ठूलो दबाबमा जिउँछन्; यदि मैले मेरा छोराछोरीलाई सानै उमेरदेखि पढाउन सुरु गरिनँ भने, उनीहरूले भविष्यमा दुःख र पीडा भोग्नेछन्” भन्‍ने आमाबुबाको विचार तर्कसङ्गत छ त? (छैन।) तँ छोराछोरीले भविष्यमा कम दुःख पाऊन् भनेर उनीहरूलाई सानै उमेरमा त्यो दबाब थेग्न लगाइरहेको छस्, र उनीहरूले सानै उमेरमा त्यो दबाब सहनुपर्छ जुन उमेरमा उनीहरूले केही पनि बुझ्दैनन्—यसो गरेर के तैँले आफ्ना छोराछोरीलाई हानि पुर्‍याइरहेको हुँदैनस् र? के तैँले यो काम साँच्चिकै उनीहरूको राम्रो होस् भनेर गरिरहेको छस् र? उनीहरूले यी कुराहरू नबुझेकै राम्रो हो, ताकि उनीहरूले केही वर्ष सहज, खुसी, शुद्ध र सरल तरिकाले जिउन सकून्। यदि उनीहरूले ती कुराहरू चाँडै बुझ्ने हो भने, के त्यो सौभाग्य हुन्थ्यो कि दुर्भाग्य? (त्यो दुर्भाग्य हुन्थ्यो।) हो, त्यो दुर्भाग्य हुन्थ्यो।

मानिसहरूले हरेक उमेर समूहमा जे गर्नुपर्ने हो, त्यो कुरा आमाबुबाबाट पाउने शिक्षामा नभई, तिनीहरूको उमेर र तिनीहरूको मानवताको परिपक्वतामा आधारित हुन्छ। वयस्क हुनुपहिले, बालबालिकाले खेल्ने, सरल ज्ञान सिक्ने र आधारभूत शिक्षा प्राप्त गर्ने, विभिन्न कुराहरू सिक्ने, अरू बालबालिकासँग अन्तरक्रिया गर्न र ठूला मानिसहरूसँग घुलमिल हुन सिक्ने, र आफूवरपरका आफूले नबुझ्ने केही कुराहरू सामना गर्न सिक्ने काम मात्र गर्नुपर्छ। मानिसहरू वयस्कावस्थामा पुग्नुपहिले, तिनीहरूले वयस्क नभएका मानिसहरूले गर्ने कुराहरू गर्नुपर्छ। तिनीहरूले वयस्क मानिसहरूले झेल्नुपर्ने कुनै पनि दबाब, व्यवहार नियमहरू, वा जटिल कुराहरू झेल्नु हुँदैन। यस्ता कुराहरूले वयस्कावस्थामा नपुगेका मानिसहरूलाई मनोवैज्ञानिक असर पुर्‍याउँछन्, र ती कुराहरू आशिष् होइनन्। मानिसहरूले जति चाँडो यी वयस्क मानिसहरूका मामलाहरूबारे थाहा पाउँछन्, त्यसले तिनीहरूको कलिलो दिमागमा त्यति नै ठूलो झट्का दिन्छ। मानिसहरू वयस्कावस्थामा पुगेपछि, यी कुराहरूले तिनीहरूको जीवन वा अस्तित्वमा बिलकुलै कुनै मद्दत नगर्ने मात्र होइन; बरु उल्टै, तिनीहरूले अति कलिलो उमेरमा यी कुराहरू थाहा पाउने वा सामना गर्ने हुनाले, यी कुराहरू तिनीहरूमाथि एक प्रकारको बोझसमेत बन्छन् र यी कुराले तिनीहरूको अबोध दिमागमा यतिसम्‍म अदृश्य छायाँ पार्छन् कि यी कुराहरूले तिनीहरूलाई जीवनभर सताउनसमेत सक्छन्। यसबारे विचार गर्, मानिसहरू निकै सानो छँदै, यदि तिनीहरूले कुनै डरलाग्दो, तिनीहरूले स्विकार्नै नसक्ने, तिनीहरूले कहिल्यै कल्पना गर्न वा बुझ्‍नै नसक्ने वयस्क मानिसहरूसँग सम्बन्धित कुराबारे सुनेमा, त्यो दृश्य वा मामला, वा त्यसमा संलग्न मानिस, वस्तु र शब्दहरू समेतले तिनीहरूलाई जीवनभर पछ्याइरहनेछन्। यसले तिनीहरूमा एक प्रकारको छायाँ उब्जाउनेछ, र तिनीहरूको व्यक्तित्व र तिनीहरूले जीवनमा अँगाल्ने आचरण शैलीमा असर पुर्‍याउनेछ। उदाहरणको लागि, सबै बालबालिकाहरू छ-सात वर्षको उमेरमा अलि बदमास हुन्छन्। मानौँ, पढाइ चलिरहेको बेलामा एउटा बच्चाले सहपाठीसँग कानेखुसी गर्‍यो रे, अनि उसको शिक्षकले उसलाई गाली गर्छ, तर त्यो शिक्षकले उसलाई भएको कुराकै आधारमा मात्रै गाली गर्दैन, बरु व्यक्तिगत रूपमै आक्रमण गर्छ, र छुचुन्द्रोजस्तो अनुहार, र मुसे आँखा भएको भन्दै गाली गर्छ, र यस्तोसमेत भन्दै गाली गर्छ: “आफूलाई हेर्, तँ कति आस न बासको छस्। तँ जिन्दगीभर फेल हुनेछस्! यदि तैँले मेहनत गरेर पढिनस् भने, तँ मजदुर मात्र हुनेछस्। भविष्यमा तैँले मागेर खानुपर्नेछ! तँ ठ्याक्कै चोरजस्तो देखिन्छस्; तँसित चोरकै गुण छ!” त्यो बच्चाले यी शब्दहरू नबुझ्ने भए पनि, र उसको शिक्षकले यी कुराहरू भन्नुको कारण के हो वा यी कुराहरू साँचो हुन होइनन् भनेर थाहा नपाउने भए पनि, व्यक्तिगत आक्रमण गर्न प्रयोग गरियो यो वचन उसको हृदयमा एक प्रकारको अदृश्य र दुष्ट शक्ति बन्नेछ, र यसले उसको आत्मसम्मानमा घोच्नेछ, र उसलाई चोट दिनेछ। “छुचुन्द्रोजस्तो अनुहार, मुसे आँखा र गुच्‍चे टाउको भएको!”—व्यक्तिगत आक्रमण गर्न उसको शिक्षकले बोलेका यी शब्दहरूले उसलाई जीवनभर पछ्याइरहनेछन्। उसले कुनै करियर रोज्दा, आफूभन्दा उच्चपदस्थ र सहकर्मीहरूलाई भेट्दा, र दाजुभाइ-दिदीबहिनीलाई भेट्दा, उसको शिक्षकले व्यक्तिगत आक्रमण गर्न बोलेका यी शब्दहरू बारम्बार प्रकट भइरहनेछन्, र यी शब्दहरूले उसको संवेग र जीवनलाई प्रभावित पारिरहनेछन्। अनि अवश्य नै, तेरा आमाबुबाले तँप्रति राख्ने केही अनुचित अपेक्षाहरू, र तिनीहरूले तँमा सारेका केही संवेग, सन्देश, शब्द, सोच, विचार, आदि इत्यादि कुराले पनि तेरो अबोध दिमागमा कालो छायाँ नै उब्जाएका हुन्छन्। आमाबुबाको व्यक्तिपरक चेतनाको दृष्टिकोणबाट हेर्दा, तिनीहरूसँग कुनै खराब अभिप्रायहरू हुँदैनन्, तर तिनीहरूको अज्ञानताको कारण, तिनीहरू भ्रष्ट तुल्याइएका मानव भएको कारण, र तिनीहरूसित तँलाई व्यवहार गर्ने सिद्धान्तअनुरूपमा उचित विधिहरू नभएको कारण, तिनीहरूले तँलाई व्यवहार गर्दा सांसारिक प्रवृत्तिहरू मात्र पछ्याउन सक्छन्, र यसको अन्तिम नतिजास्वरूप तिनीहरूले तँमाथि विविध नकारात्मक सन्देश र संवेगहरू सार्छन्। तैँले केही खुट्ट्याउनै नसक्ने परिस्थितिहरूमा, तेरा आमाबुबाले भन्‍ने सबथोक, र तेरा आमाबुबाले तँलाई सिकाउने र तँभित्र फैलाउने सबै गलत विचारहरू तँभित्र हाबी हुन्छन् किनकि सबभन्दा पहिला तँ तिनै कुराहरूको प्रभावमा परेको हुन्छस्। ती तेरो जीवनभरको पछ्याइ र सङ्घर्षको लक्ष्य बन्नेछन्। तँ वयस्क हुनुपहिले नै तेरा आमाबुबाले तेरो लागि तोकिदिएका विविध अपेक्षाहरू तेरो अबोध दिमागको लागि ठूलो झट्का र कहर हुने भए पनि, तँ अझै पनि तेरा आमाबुबाकै अपेक्षाहरूमा, साथै तिनीहरूले तेरो लागि तिर्ने विविध मूल्यहरूमै जिउनेछस्, तिनीहरूको इच्छा बुझिदिनेछस्, तिनीहरूको विभिन्न मायालु व्यवहारहरू स्विकार्नेछस् र त्यसको लागि तिनीहरूलाई धन्यवाद दिनेछस्। तेरो लागि तिनीहरूले तिर्ने विभिन्न मूल्य र तिनीहरूले गर्ने विभिन्‍न त्यागहरू तैँले स्विकारेपछि, तँलाई तेरा आमाबुबाप्रति ऋणी महसुस हुनेछ र तँलाई तिनीहरूको सामना गर्न हृदयको गहिराइमा लज्‍जा महसुस हुनेछ, अनि तँलाई लाग्‍नेछ कि तैँले आफू ठूलो भएपछि तिनीहरूको ऋण तिर्नैपर्छ। केको ऋण तिर्ने? तँप्रति तिनीहरूका अनुचित अपेक्षाहरूको ऋण तिर्ने? तँ वयस्यकतामा नपुग्दै तिनीहरूले तँलाई दिने कहरको ऋण तिर्ने? के यो कालो र सेतोबीच दुबिधामा पर्नु होइन र? वास्तवमा, यसबारे यो मामलाको जड र सारबाट भन्नुपर्दा, तँप्रतिका तेरा आमाबुबाका अपेक्षाहरू व्यक्तिपरक कुरा मात्र हुन्, ती कामना मात्र हुन्। ती कदापि बच्चाले धारण गर्नुपर्ने, अभ्यास गर्नुपर्ने वा जिउनुपर्ने कुरा होइनन्, र ती बच्चालाई आवश्यक पर्ने कुरा पनि होइनन्। सांसारिक प्रवृत्तिहरू पछ्याउनको निम्ति, संसारअनुकूल बन्नको लागि, र संसारको प्रगति सँगसँगै अगाडि बढ्नको लागि, तेरा आमाबुबाले तँलाई ती कुराहरू पछ्याउन लगाउँछन्, तिनीहरूले तँलाई आफूले जस्तै गरी यो दबाब सहन लगाउँछन्, र यी दुष्ट प्रवृत्तिहरू स्विकार्न र पछ्याउन लगाउँछन्। त्यसकारण, आमाबुबाको उत्कट अपेक्षाको प्रभावमा, धेरै बालबालिकाहरूले मेहनतसाथ विविध सीपहरू, विभिन्न कोर्सहरू, र विविध प्रकारका ज्ञानहरू सिक्छन्। उनीहरूले सुरुमा आमाबुबाका अपेक्षाहरू पूरा गर्ने कोसिस गर्छन् र पछि गएर सक्रिय रूपमा आमाबुबाका अपेक्षाहरूको लक्ष्य पछ्याउँछन्। अर्को शब्दमा भन्नुपर्दा, वयस्कतामा पुग्नुअघि मानिसहरूले आमाबुबाका अपेक्षाहरूलाई निष्क्रिय रूपले स्विकार्छन्, तर बिस्तारै वयस्क बनेपछि तिनीहरूले आमाबुबाका व्यक्तिपरक चेतनाबाट आउने यी अपेक्षाहरूलाई सक्रिय रूपमै स्विकार्छन्, र समाजबाट आउने यसप्रकारको दबाब र यो बहकाउ, नियन्त्रण, र बन्धनलाई स्वेच्छाले नै स्विकार्छन्। निष्कर्षमा भन्नुपर्दा, उनीहरू यसमा बिस्तारै निष्क्रियदेखि सक्रिय सहभागी बन्न पुग्छन्। त्यस्तो हुँदा, आमाबुबाहरूले सन्तुष्ट महसुस गर्छन्। छोराछोरीले पनि एक प्रकारको भित्री शान्ति महसुस गर्छन्, र आफूले आमाबुबालाई निराश तुल्याएको छैन, र अन्त्यमा आमाबुबालाई वहाँहरूले चाहेकै कुरा दिएको छु, र आफू हुर्किबढिसकेको छु—अनि हुर्केर वयस्क बनेको मात्र होइन, बरु आमाबुबाको नजरमा प्रतिभाशाली व्यक्ति पनि बनेको छु, र आमाबुबाका अपेक्षाहरू पनि पूरा गरेको छु भन्‍नेसमेत महसुस गर्छन्। तर यी मानिसहरू वयस्क बनेपछि आमाबुबाको नजरमा प्रतिभाशाली व्यक्ति बन्न सफल भए पनि, र बाहिरबाट हेर्दा, आमाबुबाले चुकाएका मूल्यको ऋण तिरिएको र आमाबुबाले उनीहरूप्रति राखेका अपेक्षाहरू खेर नगएको भए पनि, वास्तविकता के हुन्छ? यी छोराछोरीहरू आमाबुबाका गोटी बन्न सफल भएका हुन्छन्, उनीहरू आमाबुबाप्रतिको ठूलो दायित्व बोक्न सफल भएका हुन्छन्, उनीहरू आफ्नो बाँकी जीवन आमाबुबाका अपेक्षाहरू पूरा गर्नमा, आमाबुबालाई राम्रो गरेर देखाउनमा, आमाबुबालाई श्रेय र प्रतिष्ठा दिलाउनमा खर्चन सफल भएका हुन्छन्, र उनीहरू आमाबुबालाई सन्तुष्ट पार्न र आमाबुबाको गौरव र खुसी बन्न सफल भएका हुन्छन्। अनि जता गए पनि, आमाबुबाले छोराछोरीकै नाम लिनेछन्: “मेरी छोरी फलानो कम्पनीकी व्यवस्थापक हुन्।” “मेरी छोरी फलानो चर्चित ब्राण्डकी डिजाइनर हुन्।” “मेरी छोरी यो विदेशी भाषाको फलानो लेभलमा छे, उसले त्यो फरर बोल्न सक्छे, ऊ फलानो भाषाकी अनुवादक हो।” “मेरी छोरी कम्प्युटर इन्जिनियर हो।” यी छोराछोरीहरू आमाबुबाको गौरव र खुसी बन्न र तिनीहरूको छायाँ बन्न सफल भएका हुन्छन्, किनभने उनीहरूले पनि आफ्ना छोराछोरीलाई शिक्षा र तालिम दिन तिनै विधिहरू प्रयोग गर्नेछन्। उनीहरूले आफूलाई तालिम दिन आमाबुबाहरू सफल भएका छन् भन्‍ने सोच्छन्, त्यसैले उनीहरूले आफ्ना छोराछोरीलाई तालिम दिन ती आमाबुबाकै शैक्षिक विधिहरू नक्कल गर्नेछन्। यसरी, उनीहरूका छोराछोरीले पनि उनीहरूले आफ्ना आमाबुबाबाट भोगेका जस्तै दुःख, दुखद पीडा, र कहर भोग्नुपर्नेछ।

छोराछोरीप्रतिका आफ्ना अपेक्षाहरू पूरा गर्न, छोराछोरी वयस्क नहुँदै, आमाबुबाले गर्ने सबथोक विवेक, समझ र प्राकृतिक नियमविपरीत हुन्छ। अनि त्योभन्दा पनि बढी, त्यो परमेश्‍वरको पूर्वनिर्धारण र सार्वभौमिकताविपरीत हुन्छ। बालबालिकामा सही र गलत छुट्ट्याउने वा स्वतन्त्र रूपले सोच्ने क्षमता नहुने भए पनि, उनीहरूको भाग्य अझै पनि परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत नै हुन्छ, त्यो आमाबुबाको शासनमा हुँदैन। त्यसकारण, आफ्नो चेतनाभित्रबाट छोराछोरीप्रति अपेक्षाहरू राख्नुबाहेक, मूर्ख आमाबुबाहरूले व्यवहारगत रूपमा थप कार्यहरू गर्ने, त्यागहरू गर्ने, र मूल्यहरू तिर्ने गर्छन्, छोराछोरीको लागि गर्न आफूले चाहेका र आफू इच्छुक रहेका सबथोक गर्छन्, चाहे त्यो पैसा, समय र ऊर्जा वा अन्य कुराहरू खर्चने मामला नै किन नहोस्। आमाबुबाले ती कुराहरू स्वेच्छापूर्वक नै गर्ने भए पनि, ती अमानवीय हुन्छन्, र ती आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारीहरू होइनन्; ती कुराहरूले पहिल्यै तिनीहरूका क्षमता र तिनीहरूका सही जिम्मेवारीहरूको दायरा नाघिसकेका हुन्छन्। म किन यसो भन्‍ने गर्छु? किनकि आमाबुबाले छोराछोरी वयस्क हुनुअगावै उनीहरूको भविष्यप्रति योजना र नियन्त्रण गर्ने प्रयास गर्न थाल्छन्, र उनीहरूको भविष्य निर्धारण गर्नसमेत खोज्छन्। के यो मूर्खता होइन र? (हो।) उदाहरणका लागि, मानौँ परमेश्‍वरले कुनै मान्छे साधारण कामदार हुनेछ, र ऊ यो जुनीमा खान र लाउन केही आधारभूत ज्याला मात्र कमाउन सक्षम हुनेछ भनी तोक्नुभएको हुन्छ, तर उसका आमाबुबाहरू भने, ऊ एक सेलिब्रिटी, सम्पन्न व्यक्ति, र उच्च अधिकारी बन्‍नुपर्छ भनेर जिद्दी गर्छन्, र ऊ वयस्क हुनुअगावै उसको भविष्यको योजना र बन्दोबस्त गर्छन्, विविध तथाकथित मूल्यहरू तिर्छन्, र उसको जीवन र भविष्य पकडमा राख्ने प्रयास गर्छन्। के त्यो मूर्खता होइन र? (हो।) तिनीहरूको बच्चाले निकै राम्रो ग्रेड पाए पनि, ऊ विश्‍वविद्यालय गए पनि, वयस्क भएपछि विभिन्न सीपहरू सिके पनि, र उसमा साँच्‍चै नै केही सीपहरू भए पनि, जब अन्त्यमा ऊ काम खोज्‍न हिँड्छ, उसले जे-जसरी खोजे पनि, ऊ अन्ततः साधारण कामदार नै भइछोड्नेछ। बढीमा, ऊ भाग्यमानी भई फोरम्यानसम्म बन्छ, जुन राम्रै कुरा हो। अन्त्यमा, उसले आधारभूत तलब मात्र कमाउँछ, र ऊ कहिल्यै आमाबुबाले माग गरेजस्तो उच्च अधिकारी वा सम्पन्न व्यक्तिको जति तलब कमाउन सक्षम हुँदैन। उसका आमाबुबाले सधैँ ऊ संसारको उचाइमा पुगोस्, धेरै पैसा कमाओस्, उच्च अधिकारी बनोस्, र उसको सफलतासँगै तिनीहरूले आनन्द मनाउन सकून् भन्‍ने चाहन्छन्। यसरी उसले विद्यालयमा अत्यन्तै राम्रो नतिजा ल्याए पनि र ऊ निकै आज्ञाकारी भए पनि, तिनीहरूले उसको निम्ति धेरै मूल्य तिरे पनि, र ठूलो भएपछि ऊ विश्‍वविद्यालय पढ्न गए पनि, उसको नियति यो जुनीमा ऊ साधारण कामदार हुने नै हुनेछ भनेर तिनीहरूले कहिल्यै अपेक्षा गरेका हुँदैनन्। यदि तिनीहरू यस्तो पूर्वानुमान गर्न सक्षम भएका भए, त्यतिखेर तिनीहरूले आफैलाई त्यति धेरै सताउँदैनेथे। तर के आमाबुबाले आफैलाई सताउन छोड्न सक्छन् र? (सक्दैनन्।) आमाबुबाले आफ्ना घर, जग्गा, पारिवारिक सम्पत्ति बेच्छन्, र कतिपयले त मिर्गौलासमेत बेच्छन् ताकि छोराछोरी चर्चित विश्‍वविद्यालयमा पढ्न सकून्। बच्चा यो कुरामा सहमत नहुँदा, आमाचाहिँले भन्छे: “मसँग दुइटा मिर्गौला छन्। मैले एउटा गुमाए पनि, मसित अर्को हुनेछ। म बुढी भइसकेँ, मलाई एउटा मिर्गौला भए हुन्छ।” यो सुनेपछि त्यो बच्चालाई के महसुस हुन्छ? “बरु मैले विश्‍वविद्यालय जान नपाए नै पनि, म तपाईँलाई मिर्गौला बेच्न दिन सक्दिनँ।” अनि आमाले भन्छे: “तँ जानेछैनस् रे? तँ कस्तो अटेरी, कस्तो कृतघ्‍न बच्चा होस्! म किन मेरो मिर्गौला बेचिरहेकी छु? के त्यो तँ भविष्यमा सफल हुन सक्‌ भनेर होइन?” यो कुरा सुनेपछि बच्चा भावुक हुन्छ, र सोच्छ, “त्यसोभए आमा तपाईँले आफ्नो मिर्गौला बेच्न सक्नुहुन्छ। म तपाईँलाई निराश पार्नेछैन।” अन्त्यमा आमाले त्यो काम गरेरै छोड्छे—उसले आफ्नो बच्चाको भविष्यको लागि आफ्नो मिर्गौला बेच्छे—तर अन्त्यमा, उसको बच्चा एक कामदार मात्र बन्छ, र उसले कुनै सफलता पाउँदैन। यसरी, त्यो आमाले एउटा मिर्गौला बेची, र त्यसबापत एक कामदार मात्र पाई—के त्यो उचित हो त? (होइन।) अन्त्यमा, आमाले यो कुरा बुझ्छे र भन्छे: “तेरो नियति नै सेवक बन्ने रहेछ। मलाई पहिल्यै थाहा भएको भए, मैले मिर्गौला बेचेर तँलाई विश्‍वविद्यालय पठाउने कामै गर्दिनथेँ। तँ सिधै कामदार बनेको भए हुन्थ्यो, हैन र? विश्‍वविद्यालय जानुको के अर्थ रह्यो र?” तर अब त अबेर भइसक्यो! उसलाई त्यो बेला कसले त्यस्तो मूर्ख काम गर्न लगायो? कसले उसलाई आफ्नो बच्चा उच्च अधिकारी बनेर धेरै पैसा कमाउनेछ भनेर सोच्ने तुल्यायो? घ लोभले अन्धी भई, ऊ यसकै भागी थिई! उसले आफ्नो बच्चाको लागि धेरै मूल्य तिरी, तर के उसको बच्चामा ऊप्रति कुनै दायित्व छ त? छैन। उसले स्वेच्छाले ती मूल्यहरू तिरी, र ऊ जेको भागी थिई त्यही पाई! उसले दुइटै मिर्गौला बेचेकी भए नि स्वेच्छाले नै बेचेकी हुन्थी। छोराछोरीलाई प्रतिष्ठित विश्‍वविद्यालयमा पढाउन, कतिपय मानिसहरूले आँखाको नानी बेच्छन्, कतिपयले रगत बेच्छन्, कतिपयले आफ्नो सबथोक त्याग्छन् र आफ्नो पारिवारिक सम्पत्ति बेच्छन्, तर के त्यो मनासिब हो त? तिनीहरू थोरै रगत वा एउटा अङ्ग बेचेर व्यक्तिको भविष्य तय गर्न र उसको भाग्य परिवर्तन गर्न सकिन्छ भन्‍ने सोच्छन्। के त्यसो गर्न सकिन्छ र? (सकिँदैन।) मानिसहरू अति मूर्ख हुन्छन्! तिनीहरू चाँडो प्रतिफल पाउन खोज्छन्, र प्रतिष्ठा र नाफाले अन्धो हुन्छन्। तिनीहरू सधैँ “मेरो जीवन यस्तै नै हो” भन्‍ने सोच्छन्, त्यसैले तिनीहरू छोराछोरीमाथि आफ्नो आशा राख्छन्। के त्यसको मतलब तिनीहरूका छोराछोरीको भाग्य तिनीहरूको भन्दा पक्कै राम्रो हुनेछ, संसारमा तिनीहरूका छोराछोरीको उचाइ बढ्नेछ, र उनीहरू फरक हुनेछन् भन्‍ने हुन्छ र? मानिसहरू कसरी त्यति मूर्ख हुन सक्छन्? के तिनीहरू छोराछोरीप्रति आफूमा उच्च अपेक्षाहरू भएकै कारण आफ्ना छोराछोरी पक्कै अरूभन्दा उच्च हुनेछन् र आफ्ना अपेक्षाहरू उनीहरूले पूरा गर्नेछन् भन्‍ने सोच्छन्? मानिसहरूको भाग्य तिनीहरूको आमाबुबाले निर्धारण गर्दैनन्, त्यो परमेश्‍वरले निर्धारण गर्नुहुन्छ। अवश्य नै, कुनै पनि आमाबुबाले आफ्ना छोराछोरी मगन्ते बनून् भन्‍ने चाहँदैनन्। तर त्यसो हुँदाहुँदै पनि, तिनीहरूले छोराछोरी उचाइमा पुग्‍नैपर्छ र उच्च अधिकारी वा समाजको माथिल्लो वर्गको नामी मानिस बन्‍नैपर्छ भनेर जिद्दी गर्नुपर्दैन। समाजको माथिल्लो वर्गमा पुगेर के फाइदा छ? संसारको उचाइमा पुगेर के हुन्छ? ती दलदल हुन्, राम्रा कुरा होइनन्। के सेलिब्रिटी, महान् व्यक्तित्व, महामानव, वा पद र हैसियतवाला व्यक्ति बन्नु राम्रो कुरा हो र? साधारण व्यक्तिको रूपमै जीवन सबैभन्दा सहज हुन्छ। अलि गरिब, अलि कठिन, र थकानयुक्त जीवन जिउँदैमा र अलि नराम्रो खाने-लाउने गर्दैमा के बिग्रिन्छ र? कम्तीमा पनि, त्यसमा एउटा कुराको प्रत्याभूति हुन्छ, तँ समाजको माथिल्लो वर्गको सामाजिक प्रवृत्तिमाझ नजिउने हुनाले, तैँले कम्तीमा कम पाप गर्नेछस् र परमेश्‍वरको प्रतिरोध गर्ने थोरै काम गर्नेछस्। साधारण व्यक्तिको रूपमा तैँले त्यति ठूलो वा त्यति बारम्बार प्रलोभन सामना गर्नेछैनस्। तेरो जीवन अलि कठिन हुने भए पनि, कम्तीमा तँ तेरो आत्मामा थकित हुनेछैनस्। यसबारे सोच् त, कामदारको रूपमा, तैँले दिनमा तीन-छाक खाने सुनिश्‍चित गर्नेबारे मात्र चिन्ता लिनुपर्छ। तर तँ कर्मचारी हुँदा यो कुरा फरक हुन्छ। तैँले लड्नुपर्छ, र तँलाई कुन दिन तेरो पद जाने हो त्यो थाहै हुनेछैन। तर त्यतिमै कुरा सकिनेवाला छैन, तैँले जसलाई चिढ्याएको हुन्छस्, तिनीहरू प्रतिशोध लिन तँलाई खोज्दै आउनेछन्, र तँ तिनीहरूबाट दण्डित हुनेछस्। सेलिब्रिटीहरू, महान् व्यक्तिहरू र सम्पन्न मानिसहरूको जीवन निकै थकानयुक्त हुन्छ। सम्पन्न मानिसहरू आफू भविष्यमा उतिकै सम्पन्न नरहौँला र त्यसो भएमा टिक्न नसकिएला भनेर सधैँ डराइरहेका हुन्छन्। सेलिब्रिटीहरू आफ्नो महिमा हराउला भनेर सधैँ चिन्ता लिन्छन्, र तिनीहरू सधैँ आफ्नो महिमा जोगाउन चाहन्छन्, र आफूलाई युग र प्रवृत्तिहरूले हटाउलान् भन्‍ने डर मान्छन्। तिनीहरूको जीवन अति थकानयुक्त हुन्छ! आमाबुबाले यी कुराहरू कहिल्यै बुझ्दैनन्, र छोराछोरीलाई सधैँ यो सङ्घर्षको गहिराइमा धकेल्न चाहन्छन्, र यसरी उनीहरूलाई यी प्रतिकूलता र दलदलमा डुबाउँछन्। के आमाबुबासँग साँच्चिकै असल अभिप्रायहरू हुन्छन् त? यदि मैले तिनीहरूसँग असल अभिप्रायहरू हुँदैनन् भनेर भनेँ भने, तिमीहरू त्यो कुरा सुन्न इच्छुक हुनेछैनौ। यदि मैले तिमीहरूका आमाबुबाका अपेक्षाहरूले तिमीहरूलाई विभिन्न तवरमा नकारात्मक असर पार्छन् भनेर भनेँ भने, के तिमीहरू यो कुरा स्विकार्न तयार छौ? (छौँ।) तिनीहरूले तिमीहरूमाथि गहिरो चोट पुर्‍याउँछन्, पुर्‍याउँदैनन् र? तिमीहरूमध्ये कतिपय यो कुरा स्विकार्न इच्छुक छैनौ, र यसो भन्छौ: “मेरा आमाबुबाले मेरो लागि राम्रै कुरा चाहनुहुन्छ।” तँ तेरा आमाबुबाले तेरो लागि राम्रै कुरा चाहन्छन् भन्छस्—त्यसोभए, ती राम्रा कुराहरू कहाँ छन्? तेरा आमाबुबाले तेरो लागि राम्रै कुरा चाहन्छन् भने, तिनीहरूले तँलाई कति वटा सकारात्मक कुराहरू बुझ्न सक्षम तुल्याए? तेरा आमाबुबाले तेरो लागि राम्रै कुराहरू चाहन्छन् भने, तिनीहरूले तेरा कति वटा गलत र अनुचित सोच र विचारहरू सच्याए? (कुनै पनि सच्याएनन्।) त्यसोभए, के तैँले अब यी कुराहरू बुझ्न सक्छस्? तैँले आमाबुबाका अपेक्षाहरू अयथार्थपरक हुन्छन् भन्‍ने महसुस गर्न सक्छस्, हैन त?

छोराछोरीप्रतिका आमाबुबाका अपेक्षाहरूको सार विश्‍लेषण गरेर, हामीले यी अपेक्षाहरू स्वार्थी खालका हुन्छन्, यी अपेक्षाहरू मानवताविरुद्ध जान्छन्, र अझ भन्‍ने हो भने, यी अपेक्षाहरूको आमाबुबाका जिम्मेवारीहरूसँग कुनै सम्बन्ध हुँदैन भनेर बुझ्न सक्छौँ। जब आमाबुबाले छोराछोरीमाथि विविध अपेक्षा र मापदण्डहरू थोपर्छन्, तिनीहरूले आफ्ना जिम्मेवारी पूरा गरिरहेका हुँदैनन्। त्यसोभए, तिनीहरूका “जिम्मेवारीहरू” चाहिँ के हुन् त? आमाबुबाले पूरा गर्नुपर्ने सबैभन्दा आधारभूत जिम्मेवारी भनेको आफ्ना छोराछोरीलाई बोल्न सिकाउनु, उनीहरूलाई दयालु मनको हुन र खराब मानिस नहुन सिकाउनु, र उनीहरूलाई सकारात्मक दिशामा डोर्‍याउनु हो। तिनीहरूका सबैभन्दा आधारभूत जिम्मेवारीहरू यिनै हुन्। यसअलावा, तिनीहरूले आफ्ना छोराछोरीलाई उनीहरूलाई सुहाउने, उनीहरूको उमेरअनुसार, उनीहरूले कति सम्हाल्न सक्छन् र उनीहरूको क्षमता र रुचि के-कस्तो छ भन्‍ने आधारमा जुनसुकै प्रकारको ज्ञान, प्रतिभा, आदि इत्यादि सिक्नमा मद्दत गर्नुपर्छ। अलि असल आमाबुबाले आफ्ना छोराछोरीलाई मानिसहरू परमेश्‍वरद्वारा सृष्टि गरिएका हुन् र परमेश्‍वर यही ब्रह्माण्डमा हुनुहुन्छ भनी बुझ्न मद्दत गर्नेछन्, र उनीहरूलाई प्रार्थना गर्न र परमेश्‍वरका वचन पढ्न अगुवाइ गर्नेछन्, बाइबलका केही कथाहरू सुनाउनेछन्, र ठूला भएपछि उनीहरूले परमेश्‍वरलाई पछ्याउनेछन् र सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्नेछन्, सांसारिक प्रवृत्तिहरू पछ्याउने, विभिन्न जटिल वैयक्तिक सम्बन्धहरूको जालोमा फस्ने र यो संसार र समाजका विभिन्न प्रवृत्तिहरूको कहरमा पर्ने काम गर्नेछैनन् भन्‍ने आशा गर्नेछन्। आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारीको तिनीहरूका अपेक्षाहरूसँग कुनै सम्बन्ध हुँदैन। तिनीहरूले आफ्नो भूमिकामा पूरा गर्नुपर्ने जिम्मेवारीहरू भनेको छोराछोरी वयस्क हुनुपहिले उनीहरूलाई सकारात्मक मार्गदर्शन र उचित सहयोग प्रदान गर्नु, साथै गाँस, बास, कपासको सन्दर्भमा वा उनीहरू बिरामी परेका बखत तुरुन्तै उनीहरूलाई हेरचाह गर्नु हो। छोराछोरी बिरामी भएमा, आमाबुबाले जुनसुकै रोग लागेको भए पनि त्यसको उपचार गराउनुपर्छ; तिनीहरूले उनीहरूलाई बेवास्ता गर्नु वा यसो भन्‍नु हुँदैन, “स्कुलचाहिँ जा, पढ्न नछोड्—तँ कक्षामा पछि पर्न मिल्दैन। धेरै पछि परिस् भने, तैँले अरूलाई भेट्न सक्नेछैनस्।” छोराछोरीलाई आराम चाहिएको बेलामा, आमाबुबाले उनीहरूलाई आराम गर्न दिनुपर्छ; छोराछोरी बिरामी हुँदा, आमाबुबाले उनीहरूलाई निको हुन मद्दत गर्छ। आमाबुबाका जिम्मेवारीहरू यिनै हुन्। एकातिर, तिनीहरूले छोराछोरीको शारीरिक स्वास्थ्यको हेरचाह गर्नैपर्छ; अर्कोतिर, तिनीहरूले छोराछोरीलाई उनीहरूको मानसिक स्वास्थ्यको सवालमा मद्दत गर्ने, शिक्षा दिने र सहयोग गर्ने काम गर्नैपर्छ। यी कुराहरू नै आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारीहरू हुन्, छोराछोरीमाथि कुनै पनि अवास्तविक अपेक्षा वा मापदण्डहरू थोपर्नु तिनीहरूको जिम्‍मेवारी होइन। छोराछोरीको मानसिक आवश्यकता र उनीहरूलाई भौतिक जीवनमा आवश्यक पर्ने कुराहरू दुवैको सन्दर्भमा आमाबुबाले आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ। आमाबुबाले छोराछोरीलाई जाडोमा कठ्याङ्ग्रिन दिनु हुँदैन, उनीहरूलाई सामान्य जीवनसम्बन्धी ज्ञान दिनुपर्छ, जस्तै उनीहरूलाई कस्तो परिस्थितिमा चिसो लाग्नेछ, र उनीहरूले तातो खाना खानु जरुरी हुन्छ, चिसो खाएमा उनीहरूको पेट दुख्नेछ, र उनीहरू हावा लाग्दा बाहिर निस्कनु हुँदैन वा मौसम चिसो हुँदा हावा आउने ठाउँमा कपडा खोलेर बस्नु हुँदैन, र यसरी उनीहरूलाई आफ्नो स्वास्थ्यको हेरचाह गर्न मद्दत गर्नुपर्छ। साथै, छोराछोरीको अबोध दिमागमा आफ्नो भविष्यबारे केही बचकाना र अपरिपक्व विचारहरू, वा केही चरम सोचहरू उत्पन्न हुँदा, आमाबुबाले त्यो कुरा थाहा पाउनेबित्तिकै उनीहरूलाई सही मार्गदर्शन प्रदान गर्नुपर्छ, ती कुराहरूलाई जबरजस्ती दबाउनु हुँदैन; तिनीहरूले छोराछोरीलाई आफ्ना विचारहरू व्यक्त गर्न र पोखाउन लगाउनुपर्छ, ताकि उक्त समस्या साँच्चिकै समाधान गर्न सकियोस्। तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्नु भनेको यही हो। आमाबुबाका जिम्मेवारीहरू पूरा गर्नुको अर्थ, एकातिर आफ्ना छोराछोरीको हेरचाह गर्नु हो, र अर्कोतिर आफ्ना छोराछोरीलाई निर्देशन दिने र सच्याउने, र सही सोच र विचारहरूबारे उनीहरूलाई मार्गदर्शन दिने हो। वास्तवमा, आमाबुबाले पूरा गर्नुपर्ने यी जिम्मेवारीहरूसँग सन्तानप्रतिका तिनीहरूका अपेक्षाहरूसँग कुनै सम्बन्ध हुँदैन। तैँले छोराछोरी ठूला भएपछि उनीहरू शारीरिक रूपले स्वस्थ हुनेछन् र उनीहरूसँग मानवता, विवेक र समझ हुनेछ, वा छोराछोरीले तँलाई सन्तानीय भक्ति देखाउनेछ भनी आशा गर्न मिल्छ, तर तैँले तेरा छोराछोरी ठूला भएपछि यो वा त्योजस्तो सेलिब्रेटी वा महान् व्यक्ति बन्नेछ भनी आशा राख्नु हुँदैन, र तैँले बारम्बार आफ्ना छोराछोरीलाई “हेर्, पल्लो घरकी साओमिङ् कति आज्ञाकारी छे!” भनेर भनिरहनु हुँदैन। तेरा छोराछोरी भनेका तेरा छोराछोरी नै हुन्—तैँले पूरा गर्नुपर्ने जिम्मेवारी छिमेकी साओमिङ् कति महान् छे भनेर छोराछोरीलाई भन्‍नु वा उनीहरूलाई छिमेकी साओमिङ्बाट सिक्न लगाउनु होइन। यो आमाबुबाले गर्नुपर्ने काम होइन। हरव्यक्ति फरक हुन्छ। मानिसहरू आफ्नो सोच, विचार, रुचि, सोख, क्षमता, र व्यक्तित्वको सन्दर्भमा, र आफ्नो मानवता सार असल छ कि दुष्ट भन्‍ने सन्दर्भमा फरक हुन्छन्। कतिपय मानिसहरू जन्मँदै बकबके हुन्छन्, त कतिपय जन्मजात अन्तर्मुखी हुन्छन् र दिनभरि एक शब्द नबोले पनि उदास महसुस गर्दैनन्। त्यसकारण, यदि आमाबुबाले आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहन्छन् भने, तिनीहरूले आफ्ना छोराछोरीको व्यक्तित्व, स्वभाव, रुचि, क्षमता र उनीहरूको मानवताका आवश्यकताहरू बुझ्ने कोसिस गर्नुपर्छ, तिनीहरूको आफ्नै संसार, प्रतिष्ठा र नाफाप्रतिका वयस्क पछ्याइलाई छोराछोरीप्रतिका अपेक्षाहरू बनाउने, र समाजबाट आउने प्रतिष्ठा, नाफा र संसारसम्बन्धी यी कुराहरू छोराछोरीमाथि थोपर्ने काम गर्नु हुँदैन। आमाबुबाले यी कुराहरूलाई “आफ्ना छोराछोरीप्रतिका अपेक्षाहरू” भन्‍ने मिठो संज्ञा दिन्छन्, तर वास्तवमा, ती त्यस्ता कुरा होइनन्। यो प्रस्ट छ कि तिनीहरू आफ्ना छोराछोरीलाई आगोको खाडलमा धकेल्न र दियाबलसहरूको हातमा पठाउन कोसिस गरिरहेका हुन्छन्। यदि तँ साँच्चिकै पर्याप्त गुणवाला आमाबुबा होस् भने, तैँले आफ्ना छोराछोरीको शारीरिक र मानसिक स्वास्थ्यको सन्दर्भमा तेरा जिम्मेवारीहरू पूरा गर्नुपर्छ, उनीहरू वयस्कावस्था पुग्नुपहिले नै उनीहरूमाथि तेरो इच्छा थोपर्ने, र उनीहरूको अबोध दिमागलाई उनीहरूले झेल्‍नु नपर्ने कुराहरू झेल्न लगाउने काम गर्नु हुँदैन। यदि तँ उनीहरूलाई साँच्चिकै प्रेम गर्छस् र प्रिय ठान्छस् र उनीहरूप्रति तेरा जिम्मेवारी साँच्चिकै पूरा गर्न चाहन्छस् भने, तैँले उनीहरूको भौतिक शरीरको हेरचाह गर्नुपर्छ र उनीहरूको शारीरिक स्वस्थता सुनिश्‍चितता गर्नुपर्छ। अवश्य नै, कतिपय बालबालिका जन्मिँदै दुर्बल र अस्वस्थ हुन्छन्। यदि उनीहरूका आमाबुबा साँच्चिकै सक्षम छन् भने, तिनीहरूले उनीहरूलाई केही थप पूरक पोषण दिनुपर्छ, वा कुनै परम्परागत चिनियाँ चिकित्सक वा पोषणविद्को सल्लाह लिनुपर्छ, र यी बालबालिकालाई थोरै अतिरिक्त स्याहार गर्नुपर्छ। साथै, छोराछोरी वयस्कावस्था पुग्नुपहिलेको प्रत्येक चरणमा, शैशव र बाल्यकालदेखि किशोरावस्थासम्म, आमाबुबाले आफ्ना छोराछोरीका व्यक्तित्व र रुचिहरूमा आउने परिवर्तन, र उनीहरूको मानवताको अन्वेषणको सन्दर्भमा उनीहरूका आवश्यकताहरूप्रति अलि बढी ध्यान दिनुपर्छ, र उनीहरूप्रति अलि बढी चासो देखाउनुपर्छ। तिनीहरूले छोराछोरीलाई उनीहरूको मनोवैज्ञानिक परिवर्तन, गलत धारणा, र उनीहरूको मानवताका आवश्यकतासम्बन्धी केही कुराहरूको सन्दर्भमा केही सकारात्मक र मानवीय मार्गदर्शन, सहयोग र भरणपोषण पनि दिनुपर्छ, र यसमा तिनीहरूले आफूले सोही कुराहरू भोगेर प्राप्त गरेका व्यवहारिक अन्तर्ज्ञान, अनुभव र पाठहरू प्रयोग गर्नुपर्छ। त्यसपछि आमाबुबाले आफ्ना छोराछोरीलाई प्रत्येक उमेरमा राम्रो गरी हुर्कन र घुमाउरो मार्ग वा गलत मोडमा नहिँड्न, वा अति चरम नबन्‍न मद्दत गर्नुपर्छ। उनीहरूको अबोध, दुबिधायुक्त मनमा चोट पुग्दा वा झट्का लाग्दा, उनीहरूले तत्काल उपचार पाउनुपर्छ, साथै आफ्ना आमाबुबाबाट चासो, स्नेह, हेरचाह र मार्गदर्शन पाउनुपर्छ। आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारीहरू यिनै हुन्। जहाँसम्‍म छोराछोरीमा आफ्नो भविष्यबारे के योजना छन् भन्‍ने कुरा छ, चाहे उनीहरूले शिक्षक, कलाकार, अधिकारी, आदि इत्यादि जेसुकै बन्‍ने चाहना राखून्, यदि उनीहरूका योजनाहरू व्यावहारिक छन् भने, आमाबुबाले उनीहरूलाई हौसला दिन र तिनीहरूको आफ्नै परिस्थिति, शिक्षा, क्षमता, मानवता र आफ्नो पारिवारिक परिस्थिति, आदि इत्यादिको आधारमा निश्‍चित मात्रामा मद्दत र सहयोग दिन सक्छन्। तथापि, आमाबुबाहरू आफ्नो क्षमताको दायराभन्दा बाहिर जानु हुँदैन, तिनीहरूले आफ्ना गाडी, घर, मिर्गौला, वा रगत बेच्नु हुँदैन। यसो गर्न आवश्यक छैन, होइन र? (ठिक भन्नुभो।) आफ्ना छोराछोरीलाई तिनीहरूले आमाबुबाको रूपमा आफूले सक्ने निश्‍चित मात्राको मद्दत गर्नुपर्छ। यदि छोराछोरीले “म कलेज जान चाहन्छु” भन्छन् भने, आमाबुबाले यसो भन्दा हुन्छ, “यदि तिमी कलेज जान चाहन्छौ भने, म तिमीलाई साथ दिनेछु, र म तिम्रो विरोध गर्नेछैन, तर हाम्रो परिवार खासै सम्पन्न छैन। अबदेखि, तिम्रो कलेजको ट्युसनको वार्षिक शुल्क तिर्नको निम्ति मैले प्रत्येक दिन केही पैसा बचत गर्नुपर्नेछ। यदि समय आउन्जेल मैले पर्याप्त पैसा बचत गरेको रहेछु भने, तिमी कलेज जान सक्छौ। यदि मैले पर्याप्त बचत गरेको रहेनछु भने, तिम्रो समस्याको समाधान तिमी आफैले खोज्नुपर्छ।” आमाबुबाहरू छोराछोरीसँग यस्तो सहमतिमा पुग्नुपर्छ, दुवै सहमत भएर सर्वसम्मतिमा पुग्नुपर्छ, र त्यसपछि आफ्नो भविष्यको सन्दर्भमा छोराछोरीका चाहनासम्बन्धी समस्याहरू समाधान गर्नुपर्छ। छोराछोरीका भविष्यका योजना र अभिप्रायहरू आमाबुबाले पूरा गर्न सक्दैनन् भने, अवश्य नै तिनीहरूले दोषी महसुस गर्नु पर्दैन, र यस्तो सोच्नु पर्दैन: “मैले मेरा छोराछोरीलाई निराश तुल्याएको छु, म सक्षम छैनँ, र त्यही कारणले गर्दा मेरा छोराछोरीले दुःख भोग्नुपरेको छ। अरूका छोराछोरीले राम्रा कुरा खान्छन्, चर्चित ब्राण्डका कपडा लाउँछन्, र गाडी चलाएर कलेज जान्छन्, र घर जाँदा प्लेनमा जान्छन्। मेरा छोराछोरीले रेलको कडा सिटमा बसेर यात्रा गर्नुपर्छ—मसँग उनीहरूलाई स्लिपर कारमा पठाउने औकात पनि छैन। मैले मेरा छोराछोरीलाई निराश तुल्याएको छु!” तिनीहरूले दोषी महसुस गर्नु पर्दैन, यो त तिनीहरूको परिस्थिति हो, तिनीहरूले मिर्गौला नै बेचेका भए पनि ती कुराहरू प्रदान गर्न सक्दैनथे, त्यसैले तिनीहरूले आफ्नो भाग्य स्विकार्नुपर्छ। परमेश्‍वरले तिनीहरूको लागि यस्तो परिवेश योजनाबद्ध गर्नुभयो, त्यसैले यी आमाबुबाले आफ्ना छोराछोरीप्रति कुनै पनि रूपले दोषी महसुस गर्न र यसो भन्न आवश्यक छैन: “मैले तिमीलाई निराश तुल्याएको छु। यदि भविष्यमा तिमीले हामीलाई सन्तानीय भक्ति देखाएनौ भने पनि हामी गुनासो गर्नेछैनौँ। हामी नालायक छौँ, र हामीले तिमीलाई राम्रो जियाइ परिवेश प्रदान गरेका छैनौँ।” तिनीहरूले यसो भन्नु आवश्यक नै छैन। आमाबुबाले बस प्रस्ट विवेकद्वारा आफ्ना जिम्मेवारी पूरा गर्ने, आफूले सक्ने सबथोक गर्ने, र छोराछोरीको शरीर र मन दुवै स्वस्थ राख्ने काम मात्र गर्नुपर्छ। त्यति गरे पर्याप्त हुन्छ। यहाँ “स्वास्थ्य” को अर्थ आमाबुबाले आफ्ना छोराछोरीमा उनीहरूको दैनिक जीवन र अस्तित्वप्रति सकारात्मक सोच, साथै सक्रिय, उन्नत र आशावादी सोच र मनोवृत्तिहरू आउने सुनिश्‍चित गर्ने मात्र हो। कुनै कुराले उनीहरूलाई निराश बनाउँदा बालबालिकाले पनि झनक्क रिसाउने, आत्महत्याको प्रयास गर्ने, आमाबुबालाई दुःख दिने, वा आमाबुबालाई तिनीहरू असक्षम केही न कामका र पैसा कमाउन नसक्‍ने भएकोमा यसो भन्दै गाली गर्ने काम गर्नु हुँदैन: “अरूको आमाबुबालाई हेर्नू त। तिनीहरू राम्रा गाडी चलाएर हिँड्छन्, महलमा बस्छन्, विलासी पानीजहाज चढ्छन्, र युरोप भ्रमणमा जान्छन्। अब हामीलाई हेर्नू त, हामीले त कहिल्यै आफ्नो घरगाउँसमेत छोडेका वा उच्च गतिको रेल चढेका छैनौँ!” यदि उनीहरू यसरी झनक्क रिसाउने गर्छन् भने, तैँले कस्तो जवाफ दिनुपर्छ? तैँले यसो भन्नुपर्छ: “तिमीले ठिक भन्यौ, हामी त्यति नै नालायक छौँ। तिमी यही परिवारमा जन्मेकोले, तिमीले आफ्नो भाग्य स्विकार्नुपर्छ। यदि तिमी सक्षम छौ भने भविष्यमा तिमी आफैले पैसा कमाउन सक्नेछौ। हामीप्रति अभद्र नहोऊ, र तिम्रो लागि हामीले काम गरौँ भन्‍ने माग नगर। हामीले तिमीप्रतिको जिम्मेवारी पूरा गरिसकेका छौँ, र हामीमा तिमीप्रति कुनै दायित्व छैन। भविष्यमा कुनै दिन, तिमी आमाबुबा बन्नेछौ, र तिमीले पनि यो काम गर्नुपर्नेछ।” जब उनीहरूको आफ्नै छोराछोरी हुन्छ, तब उनीहरूले थाहा पाउनेछन् कि आमाबुबाको लागि पैसा कमाएर आफूलाई र परिवारका साना ठूला सबैलाई पाल्न त्यति सजिलो छैन। निष्कर्षमा भन्नुपर्दा, तैँले तिनीहरूलाई कस्तो व्यवहारमा आफूलाई ढाल्‍ने भन्‍नेबारे केही सिद्धान्तहरू सिकाउनुपर्छ। यदि तेरा छोराछोरीले त्यो स्विकार्न सक्छन् भने, तैँले उनीहरूसँग परमेश्‍वरमा विश्‍वास गर्ने र मुक्ति प्राप्त गर्नको लागि सत्यता पछ्याउने मार्गमा हिँड्नेबारे, साथै तैँले परमेश्‍वरबाट बुझेका केही सही सोच र विचारहरूबारे सङ्गति गर्नुपर्छ। यदि तेरा छोराछोरी परमेश्‍वरको काम स्विकार्न र तँसँगै परमेश्‍वरमा विश्‍वास गर्न इच्छुक छन् भने, त्यो झनै राम्रो हो। यदि तेरा छोराछोरीमा यस्तो चाहना छैन भने, तैँले उनीहरूप्रति तेरा जिम्मेवारीहरू मात्र पूरा गरे पुग्छ; तैँले उनीहरूलाई प्रवचन दिन परमेश्‍वरमाथिको विश्‍वाससम्बन्धी केही शब्द र धर्मसिद्धान्तहरू बकबकाउनु वा उठाइरहनु आवश्यक छैन। यसो गर्न जरुरी नै छैन। तेरा छोराछोरीले विश्‍वास नगर्ने भए पनि, जबसम्म उनीहरूले तेरो समर्थन गर्छन्, तबसम्म तिमीहरू अझै असल साथी बन्न, र जुनसुकै कुराबारे सँगै बसेर बोल्न र छलफल गर्न सक्छौ। तिमीहरू शत्रु बन्नु, वा तैँले उनीहरूप्रति खिन्नता महसुस गर्नुपर्दैन। चाहे जे भए पनि तिमीहरूबीच रगतको नाता छ। यदि तेरा छोराछोरी तँप्रति आफ्ना जिम्मेवारीहरू पूरा गर्न, तँप्रति सन्तानीय भक्ति देखाउन, र तेरो आज्ञापालन गर्न इच्छुक छन् भने, तैँले उनीहरूसित आफ्नो पारिवारिक सम्बन्ध कायम राख्न र सामान्य तरिकाले कुराकानी गर्न सक्छस्। आस्थाको सवालमा तेरोभन्दा फरक राय र विचार भएकै कारण तैँले तेरा छोराछोरीलाई निरन्तर सराप्नु वा गाली गर्नुपर्दैन। त्यसो गर्न जरुरी नै छैन। तैँले आफ्नो जीवन र प्राण नै गुमाएजस्तो गरी, आवेशमा आउनु वा तेरा छोराछोरीले परमेश्‍वरमा विश्‍वास नगर्नु ठूलो मामला हो भनेर सोच्नुपर्दैन। त्यो त्यस्तो गम्भीर कुरा होइन। यदि उनीहरूले विश्‍वास गर्दैनन् भने, स्वाभाविक रूपमै उनीहरूसँग आफ्नै मार्ग छन् र उनीहरूले त्यसैमा हिँड्न रोजेका छन्। तँसित पनि तैँले हिँड्नुपर्ने मार्ग र निभाउनुपर्ने कर्तव्य छ, र तेरा छोराछोरीसँग यी कुराहरूको कुनै सम्बन्ध छैन। यदि तेरा छोराछोरीले विश्‍वास गर्दैनन् भने, तैँले त्यसमा जिद्दी गर्नु आवश्यक छैन। हुनसक्छ सही समय आएको छैन, वा परमेश्‍वरले उनीहरूलाई चुन्नुभएकै छैन। यदि परमेश्‍वरले उनीहरूलाई चुन्नुभएकै छैन र तँ उनीहरूलाई जबरजस्ती विश्‍वास गराउन जिद कस्छस् भने, तँ अज्ञानी र विद्रोही होस्। अनि अवश्य नै, यदि परमेश्‍वरले उनीहरूलाई चुन्नुभएको छ तर सही समय आइसकेको छैन, र तँ उनीहरूले अहिले नै विश्‍वास गर्न दबाब दिन्छस् भने, त्यो पनि अलि चाँडो हुनेछ। यदि परमेश्‍वरले काम गर्ने इच्छा राख्नुहुन्छ भने, कुनै व्यक्ति पनि उहाँको सार्वभौमिकताबाट उम्कन सक्दैन। यदि परमेश्‍वरले तेरा छोराछोरीले विश्‍वास गर्ने बन्दोबस्त गर्नुभएको छ भने, उहाँले यो कुरा एउटा वचन वा एउटा सोचद्वारा नै हासिल गर्न सक्नुहुन्छ। यदि परमेश्‍वरले उनीहरूले विश्‍वास गर्ने बन्दोबस्त गर्नुभएको छैन भने, उनीहरूलाई त्यो कुराले छुनेछैन, र यदि उनीहरूलाई त्यो कुराले छोएन भने, तैँले जति नै बोले पनि, त्यो काम लाग्नेछैन। यदि तेरा छोराछोरीले विश्‍वास गर्दैनन् भने, तँ उनीहरूप्रति ऋणी हुँदैनस्; यदि तेरा छोराछोरीले विश्‍वास गर्छन् भने, यो पनि तँलाई दिइएको ऋण होइन। के यथार्थ यही होइन र? (हो।) आस्थाको सवालमा तँ र तेरा छोराछोरीको साझा लक्ष्य भए पनि नभए पनि वा यस सन्दर्भमा तिमीहरूको मन मिले पनि नमिले पनि, चाहे जुनै अवस्था भए पनि, तैँले खालि उनीहरूप्रति आफ्नो जिम्मेवारी पूरा गर्ने काम मात्र गर्नुपर्छ। यदि तैँले यी जिम्मेवारीहरू पूरा गरेको छस् भने, यसको अर्थ तैँले उनीहरूप्रति माया देखाएको छस् भन्‍ने होइन, र यदि तेरा छोराछोरीले विश्‍वास गर्दैनन् भने, यसको अर्थ तँ उनीहरूप्रति ऋणी छस् भन्‍ने होइन, किनभने तैँले तेरा जिम्मेवारीहरू पूरा गरेको छस्, र निष्कर्ष त्यही हो। तिमीहरूको सम्बन्ध जस्ताको तस्तै रहन्छ, र तैँले आफ्ना छोराछोरीसँग पहिलेजस्तै गरी कुराकानी गर्न सक्छस्। तेरा छोराछोरी कठिनाइमा पर्दा, तैँले उनीहरूलाई सक्दो मद्दत गर्नुपर्छ। यदि तँसँग छोराछोरीलाई मद्दत गर्ने ठोस अवस्था छ भने, तैँले मद्दत गर्नुपर्छ; यदि तैँले तेरा छोराछोरीका सोच र विचारहरूलाई मनोवैज्ञानिक र मानसिक स्तरमा सच्याउन, र उनीहरूलाई निश्‍चित मात्रामा मार्गदर्शन र सहयोग गर्न, र उनीहरूलाई दोधारमुक्त हुन सक्षम तुल्याउन सक्छस् भने, त्यो निकै राम्रो कुरा हो। निष्कर्षमा भन्‍नुपर्दा, छोराछोरी वयस्क हुनुपहिले आमाबुबाले गर्नुपर्ने काम भनेको आमाबुबाका जिम्मेवारीहरू पूरा गर्नु, र छोराछोरीले के गर्न चाहन्छन् र उनीहरूका रुचि र आकाङ्क्षाहरू के छन् भनी जान्नु हो। यदि छोराछोरीले मान्छे मार्न, आगो लगाउन, र अपराध गर्न चाहन्छन् भने, आमाबुबाले उनीहरूलाई गम्भीरतापूर्वक अनुशासनमा राख्ने वा दण्डित गर्नेसमेत गर्नुपर्छ। तर यदि उनीहरू आज्ञाकारी बालबालिका हुन्, अरू साधारण बालबालिकाभन्दा केही फरक छैनन्, स्कुलमा राम्रो व्यवहार गर्छन्, र आमाबुबाले भनेअनुसार नै गर्छन् भने, आमाबुबाले उनीहरूप्रतिका आफ्ना जिम्मेवारीहरू मात्र पूरा गर्नुपर्छ। आफ्ना जिम्मेवारीहरू पूरा गर्नेबाहेक, ती तथाकथित अपेक्षा, मापदण्ड र उनीहरूको भविष्यबारे सोच्ने कुराहरू सबै अनावश्यक कुरा हुन्। मैले ती अनावश्यक कुरा हुन् भन्नुको कारण के हो? हरव्यक्तिको भाग्य परमेश्‍वरले तोक्नुहुन्छ, र त्यो आमाबुबाले तय गर्न मिल्दैन। छोराछोरीप्रति आमाबुबाका जे-जस्ता अपेक्षा भए पनि, भविष्यमा ती सबै पूरा हुनु असम्भव छ। यी अपेक्षाहरूले छोराछोरीको भविष्य वा जीवन निर्धारण गर्न सक्दैनन्। छोराछोरीप्रति आमाबुबाका अपेक्षाहरू जति नै ठूला भए पनि, वा ती अपेक्षाहरूको लागि तिनीहरूले गर्ने त्याग वा चढाउने मूल्य जति नै ठूला भए पनि, त्यो सबै व्यर्थ हो; यी कुराहरूले तिनीहरूका छोराछोरीको भविष्य वा जीवनमा प्रभाव पार्न सक्दैनन्। त्यसकारण, आमाबुबाले यस्ता मूर्ख कामहरू गर्नु हुँदैन। तिनीहरूले छोराछोरी वयस्क हुनुपहिले उनीहरूको लागि अनावश्यक त्याग गर्नु हुँदैन, र स्वाभाविक रूपमै तिनीहरूले यसबारे त्यति धेरै तनाव लिनुपर्दैन। छोराछोरी हुर्काउनु भनेको आमाबुबाले विभिन्न परिवेश भोगेर ज्ञान तथा विविध प्रकारका अनुभव हासिल गर्नु, र त्यसपछि बिस्तारै छोराछोरीलाई ती कुराहरूबाट फाइदा लिन सक्षम तुल्याउनु हो। आमाबुबाले गर्नुपर्ने यति नै हो। छोराछोरीको भविष्य र भावी जीवन मार्गको सन्दर्भमा भन्नुपर्दा, यी कुराहरूसित उनीहरूका आमाबुबाका अपेक्षाहरूको कुनै सम्बन्ध छैन। यसको मतलब, तेरा आमाबुबाका अपेक्षाहरूले तेरो भविष्य तय गर्न सक्दैनन्। तेरा आमाबुबाले तँप्रति उच्च अपेक्षाहरू राख्नु वा तँबाट ठूला कुराहरू आशा गर्नुको अर्थ तँ समृद्ध बन्न र राम्रो गरी जिउन सक्षम हुनेछस् भन्‍ने होइन, र तेरा आमाबुबाले तँप्रति अपेक्षाहरू नराख्नुको अर्थ तँ मगन्ते बन्नेछस् भन्‍ने पनि होइन। यी कुराहरूबीच कुनै आवश्यक सम्बन्ध छैन। ल भन् त, के मैले सङ्गति गरेका यी शीर्षकहरू बुझ्न सजिला छन्? के मानिसहरूले यी कुराहरू हासिल गर्न सजिलो छ? के यी कुराहरू कठिन छन्? आमाबुबाले खालि छोराछोरीप्रति आफ्ना जिम्मेवारीहरू पूरा गर्ने, उनीहरूलाई पालनपोषण गर्ने र वयस्कावस्थासम्म हुर्काउने काम गर्नुपर्छ। तिनीहरूले छोराछोरीलाई हुर्काएर प्रतिभावान् मानिसहरू बनाउनु जरुरी छैन। के यो कुरा हासिल गर्न सजिलो छ? (सजिलो छ।) यो काम गर्न सजिलो छ—तैँले तेरा छोराछोरीको भविष्य वा जीवनको लागि कुनै जिम्मेवारी बहन गर्न, वा उनीहरूको लागि कुनै योजना विकास गर्न, वा उनीहरू कस्ता मानिसहरू बन्नेछन्, भविष्यमा उनीहरूको जीवन कस्तो हुनेछ, पछि उनीहरू कस्तो सामाजिक वृत्तमा भेटिनेछन्, भविष्यमा यो संसारमा उनीहरूको जीवनको गुणस्तर कस्तो हुनेछ, वा मानिसहरूमाझ उनीहरूको हैसियत कस्तो हुनेछ भनी अनुमान गर्न आवश्यक छैन। तैँले यी कुराहरू अनुमान वा नियन्त्रण गर्नुपर्दैन; तैँले आमाबुबाको रूपमा तेरा जिम्मेवारीहरू मात्र पूरा गर्नुपर्छ। यो त्यति सजिलो छ। तेरा छोराछोरी स्कुल जाने उमेर पुग्दा, तैँले एउटा स्कुल खोजेर उनीहरूलाई भर्ना गरिदिनुपर्छ, आवश्यक परेको बखत ट्युसन शुल्क तिरिदिनुपर्छ, र स्कुलमा उनीहरूलाई जे-जे आवश्यक पर्छन् ती कुराहरूको शुल्क तिरिदिनुपर्छ। यी जिम्मेवारीहरू मात्र पूरा गरिदिए पुग्छ। उनीहरूले वर्षभरि के खाने र के लाउने भन्‍नेबारे कुरा गर्नुपर्दा, तैँले परिस्थितिको आधारमा खालि उनीहरूको भौतिक शरीरको हेरचाह गरे पुग्छ। उनीहरू वयस्कतामा पुग्नुपहिले उनीहरूमा उपचार नभएको कुनै रोग रहन नदे, त्यो बेला उनीहरू कसरी आफ्नो शरीरको हेरचाह गर्ने भनी बुझ्दैनन्। उनीहरूका खोट र खराब बानीहरू तत्काल सच्याइदे, उनीहरूलाई जीवनका असल बानीहरू विकास गर्न मद्दत गर्, र त्यसपछि उनीहरूको मनमस्तिष्कलाई परामर्श र मार्गदर्शन दे, र उनीहरू हदैसम्म नभड्किने सुनिश्‍चित गर्। यदि उनीहरू संसारका केही दुष्ट चिजहरू रुचाउँछन्, तर तैँले उनीहरू असल बालबालिका हुन्, उनीहरू संसारका दुष्ट प्रवृत्तिको प्रभावमा परेका मात्र हुन् भनी बुझ्न सक्छस् भने, तैँले उनीहरूलाई तत्काल सच्याउनुपर्छ, र उनीहरूलाई आफ्ना खोट र खराब बानीहरू सुधार्न मद्दत गर्नुपर्छ। आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारी र तिनीहरूले गर्नुपर्ने कार्यहरू यिनै हुन्। आमाबुबाले बालबालिकालाई वयस्क नहुँदै उनीहरूलाई समाजका प्रवृत्तिहरूतर्फ धकेल्नु हुँदैन, र अति चाँडो विविध प्रकारका, वयस्क मानिसहरूले मात्र झेल्नुपर्ने, दबाब झेल्न लगाउनु हुँदैन। आमाबुबाले यी कुराहरू गर्नु हुँदैन। यी कुराहरू हासिल गर्न अत्यन्तै सजिला छन्, तर कतिपय मानिसहरूले यी कुरा हासिल गर्न सक्दैनन्। यी मानिसहरूले सांसारिक प्रतिष्ठा र नाफाप्रतिको आफ्नो पछ्याइ वा संसारका दुष्ट प्रवृत्तिहरू त्याग्‍न नसक्ने हुनाले, र तिनीहरूमा संसारद्वारा हटाइने डर भएकोले, छोराछोरी वयस्क हुनुअगावै, तिनीहरूले उनीहरूलाई चाँडै समाजमा समाहित हुन र मानसिक स्तरमा चाँडो समाजअनुकूल बन्न लगाउँछन्। यदि आमाबुबा यस्ता छन् भने, छोराछोरीहरू अभागी हुन्छन्। उनीहरूका आमाबुबाले उनीहरूलाई प्रेम गर्ने, प्रिय ठान्ने, र उनीहरूको लागि मूल्य चुकाउने जे-जस्ता विधि र बहानाहरू अपनाए पनि, यस्ता परिवारका छोराछोरीको लागि, ती कुराहरू राम्रा नै हुन् भनेर भन्न सकिन्न—बरु ती दुर्भाग्य नै हुन् भनेर भन्न सकिन्छ। यस्तो किन हो भने, तिनीहरूको आमाबुबावाल अपेक्षाको पछाडि, ती आमाबुबाले छोराछोरीको अबोध मनमा जे ल्याउँछन्, त्यो बरबादी मात्र हुन्छ। अथवा, अर्को शब्दमा भन्नुपर्दा, खासमा ती आमाबुबाका अपेक्षाहरू साँच्चिकै छोराछोरीको मनमस्तिष्क र शरीर स्वस्थ होऊन् भन्‍ने हुँदैन, ती त छोराछोरीले आफूलाई समाजमा स्थापित गराउन, र समाजद्वारा हटाइनबाट जोगिन सकून् भन्‍ने अपेक्षाहरू मात्र हुन्। तिनीहरूका अपेक्षाहरूको उद्देश्य भनेको तिनीहरूका छोराछोरीले असल जीवन जिऊन्, वा उनीहरू अरू मानिसहरूभन्दा माथिल्लो स्तरमा पुगून्, मगन्ते नबनून्, अरू मानिसहरूको विभेद वा हेपाइमा नपरून्, र दुष्ट प्रवृत्ति र दुष्ट मानिसहरूको समूहमा समाहित नहोऊन् भन्‍ने हुन्छ। के यी राम्रा कुराहरू हुन् त? (होइनन्।) त्यसकारण, तैँले आमाबुबाका यस्ता अपेक्षाहरू हृदयमा राख्‍नु पर्दैन। यदि तेरा आमाबुबाले तेरो लागि पहिले यस्तै अपेक्षाहरू राखेका थिए, वा यदि तिनीहरूले तँप्रतिका अपेक्षाहरू पूरा गर्न धेरै मूल्य चुकाएका थिए र यसले गर्दा तैँले तिनीहरूप्रति ऋणी महसुस गर्छस्, र तिनीहरूले तेरो लागि तिरेको मूल्यको ऋण चुक्ता गर्न आफ्नो सारा जीवन समर्पित गर्ने चाहन्छस् भने—यदि तँसँग यस्तो विचार र चाहना छ भने, तैँले त्यसलाई आजै त्याग्नुपर्छ। तँमा तिनीहरूप्रति कुनै दायित्व छैन, बरु तेरा आमाबुबाले चाहिँ तँलाई बरबाद पारेका र लङ्गडो बनाएका छन्। तिनीहरूले आमाबुबाका जिम्मेवारीहरू पूरा गर्न नसकेका मात्र होइनन्, बरु उल्टै, तिनीहरूले तँलाई पीडा दिएका छन्, तेरो अबोध दिमागमा विभिन्न चोट पारेका छन् र धेरै थरीका नकारात्मक स्मरण र छापहरू छाडेका छन्। छोटकरीमा भन्नुपर्दा, यस्ता आमाबुबाहरू असल आमाबुबा होइनन्। यदि, तँ वयस्कतामा पुग्नुपहिले, तेरा आमाबुबाले तँलाई शिक्षा दिने, प्रभाव पार्ने र तँसित बोल्ने क्रममा, सधैँ तँ मेहनतसाथ पढ्छस्, सफल हुन्छस्, र मजदुर बन्नेछैनस्, भविष्यमा तँसित पक्कै राम्रा सम्भाव्यताहरू हुनेछन्, तँ तिनीहरूको गौरव र खुसी बन्नेछस्, र तैँले तिनीहरूलाई सम्मान र महिमा दिनेछस् भन्‍ने आशा गर्छन् भने, आजको दिनबाटै, तैँले तिनीहरूको तथाकथित मायाबाट अलग्गिनुपर्छ, र तैँले ती कुराहरू मनमा लिन छोड्नुपर्छ। के यो ठिक होइन र? (हो।) आफ्ना सन्तान वयस्कतामा पुग्नुअगावैका आमाबुबाका अपेक्षाहरू यिनै हुन्।

छोराछोरी वयस्क बनेपछि पनि उनीहरूप्रतिका आमाबुबाका अपेक्षाहरूको प्रकृति उस्तै रहन्छ। वयस्क छोराछोरीले स्वतन्त्रतापूर्वक सोच्न र आमाबुबासँग वयस्क व्यक्तिको हैसियत र दृष्टिकोणबाट कुराकानी गर्न, बोल्न र छलफल गर्न सक्ने भए पनि, आमाबुबाहरूले आफ्ना छोराछोरीप्रति अझै पनि आमाबुबाकै दृष्टिकोणबाट उस्तै अपेक्षाहरू राख्ने गर्छन्। तिनीहरूका अपेक्षाहरू वयस्कावस्था नपुगेको बच्चाप्रतिको अपेक्षाबाट एक वयस्कप्रतिको अपेक्षामा परिणत हुन्छ। वयस्क व्यक्तिप्रतिका आमाबुबाका अपेक्षाहरू वयस्कावस्था नपुगेका बच्‍चाबच्‍चीप्रतिका अपेक्षाहरूभन्दा फरक हुने भए पनि, साधारण र भ्रष्ट मानिसहरू अनि समाज र संसारका सदस्यहरू भएका नाताले, आमाबुबाले अझै पनि आफ्ना छोराछोरीप्रति उस्तै अपेक्षाहरू राख्ने गर्छन्। तिनीहरूले आफ्ना छोराछोरीको काममा परिस्थितिहरू सहज भइदिऊन्, उनीहरूका सुखी वैवाहिक जीवन र सिद्ध परिवार होऊन्, उनीहरूले तलब वृद्धि र बढुवा प्राप्त गरून्, मालिकहरूबाट सम्मान पाऊन्, र उनीहरूको लागि जागिरमा सबथोक अत्यन्तै राम्रो होऊन्, र उनीहरूले कुनै कठिनाइ सामना नगरून् भन्‍ने आशा गर्छन्। यी अपेक्षाहरूको के काम छ? (यी बेकार हुन्।) यी बेकार हुन्, यी अनावश्यक छन्। आमाबुबाहरू सोच्छन् कि तिनीहरूले तँलाई हुर्काएका र साथ दिएकाले, तिनीहरूले तेरो मनको कुरा थाहा पाउन सक्छन्, र अन्त्यमा तिनीहरू यो पनि विश्‍वास गर्छन् कि तँ अहिले वयस्क भइसकेको भए पनि तैँले के सोचिरहेको छस्, तँ के चाहन्छस्, र तेरो व्यक्तित्व कस्तो छ भन्‍ने सबै कुरा तिनीहरूले थाहा पाउन सक्छन्। तँ स्वतन्त्र वयस्क व्यक्ति भए पनि, तैँले आफूलाई पाल्न आफै पैसा कमाउन सक्ने भए पनि, तिनीहरूले अझै पनि तँलाई नियन्त्रण गर्न सक्ने र तेरो बारे जे कुरामा पनि बोल्न पाउने, संलग्न हुने, निर्णय गर्ने, हस्तक्षेप गर्ने वा हाबी हुनेसमेत अधिकार तिनीहरूलाई छ भन्‍ने महसुस गर्छन्। अर्थात्, तिनीहरू अन्तिम निर्णय तिनीहरूकै हुने सोच्छन्। उदाहरणको लागि, विवाहको कुरा आउँदा, यदि तैँले कसैसित डेट गरिरहेको छस् भने, तेरा आमाबुबाले तुरुन्तै यसो भन्‍नेछन्: “यो राम्रो भएन, उसले तैँले जति पढेकी छैन, उसको रूप खासै राम्रो छैन, अनि उसको परिवार गाउँमा बस्छन्। तैँले उसलाई बिहे गरेपछि, गाउँबाट ठूलो समूहमा उसका आफन्तहरू आउनेछन्, तिनीहरूलाई शौचालय प्रयोग गर्न पनि आउनेछैन, र तिनीहरूले सबै फोहोर पार्नेछन्। त्यो पक्कै पनि तेरो लागि राम्रो जीवन हुनेछैन। यो राम्रो भएन, तैँले उसलाई बिहे गर्नुमा मेरो सहमति छैन!” के यो हस्तक्षेप गर्नु होइन र? (हो।) के यो अनावश्यक र घिनलाग्दो व्यवहार होइन र? (यो अनावश्यक हो।) छोराछोरीले जोडी खोज्दा अझै पनि आफ्ना आमाबुबाको सहमति पाउनुपर्छ। यही कारणले गर्दा, अहिले त्यस्ता केही छोराछोरी छन् जो आमाबुबाले हस्तक्षेप नगरून् भनेरै आफूले जोडी भेट्टाएको कुरा तिनीहरूलाई सुनाउँदैनन्। आमाबुबाले “तेरो जोडी छ?” भनेर सोध्दा, उनीहरू “छैन, बेला भएकै छैन, म अझै सानै छु, कुनै हतार छैन” भन्छन्, तर खासमा उनीहरूले दुई-तीन वर्ष पहिल्यै जोडी पाइसकेका हुन्छन्, उनीहरूले यसबारे आमाबुबालाई नभनेका मात्र हुन्। तर किन उनीहरू यसबारे आमाबुबालाई भन्दैनन् त? किनभने उनीहरूका आमाबुबाले हरेक कुरामा हस्तक्षेप गर्न चाहन्छन्; तिनीहरू अत्यन्तै कचकच गर्छन्, त्यसैले उनीहरू तिनीहरूलाई आफ्नो जोडीबारे भन्दैनन्। विवाह गर्न तयार भएपछि, उनीहरू आफ्नो जोडीलाई सिधै घरमा ल्याउँछन् र सोध्छन्, “के तपाईँ अनुमति दिनुहुन्छ? म भोलि बिहे गर्दै छु। म यो मामलालाई यसैगरी सम्हाल्नेछु, चाहे तपाईँहरू सहमत हुनुहोस् वा नहुनुहोस्। तपाईँहरूले सहमति नजनाउनुभए पनि, हामी बिहे गर्नेछौँ, र छोराछोरी जन्माउनेछौँ।” यी आमाबुबाहरू आफ्ना छोराछोरीलाई ज्यादै हस्तक्षेप गर्छन्, उनीहरूको विवाहमा समेत हस्तक्षेप गर्छन्। यदि छोराछोरीले भेट्टाएका जोडी आफूले आशा गरेका जस्ता छैनन् भने, यदि उनीहरू आफूसँग मिल्दैनन्, वा तिनीहरूलाई उनीहरू मन परेनन् भने, तिनीहरूले उनीहरूलाई छुट्टाउने प्रयास गर्नेछन्। यदि छोराछोरी यसमा सहमत भएनन् भने, तिनीहरू रुनेछन्, रडाको मच्‍चाउनेछन्, र आत्महत्या गर्ने धम्की दिनेछन्, यतिसम्म कि छोराछोरीलाई रुने कि हाँस्ने वा के गर्ने केही थाहा हुनेछैन—उनीहरूलाई के गर्ने भन्‍ने नै थाहा हुनेछैन। कतिपय छोराछोरी यस्ता पनि हुन्छन् जो आफ्नो उमेर गयो भन्दै बिहे गर्न चाहँदैनन्, र उनीहरूका आमाबुबाले भन्छन्: “यो राम्रो भएन। मलाई तँ ठूलो भएर विवाह गर्छस् र बच्चाबच्ची जन्माउँछस् भन्‍ने आशा थियो। मैले तँ हुर्केको देखेँ, र अब तैँले बिहे गरेर बच्चाबच्ची जन्माएको हेर्न चाहन्छु। त्यति गरिस् भने म शान्तिसाथ मर्न सक्छु। यदि तैँले बिहे गरिनस् भने, म यो इच्छा कहिल्यै पूरा गर्न सक्दिनँ। म मर्नै सक्दिनँ, र यदि मरेँ भने पनि, शान्तिसाथ मर्नेछैन। तैँले बिहे गर्नैपर्छ, चाँडो जोडी खोज्। तैँले अस्थायी जोडी नै भेट्टाइस् र मलाई देखाइस् भने पनि हुन्छ।” के यो हस्तक्षेप गर्नु होइन र? (हो।) वयस्क छोराछोरीले वैवाहिक जोडी खोज्ने सन्दर्भमा, आमाबुबाले उचित सल्लाह दिन सक्छन्, छोराछोरीलाई सम्झाउन सक्छन्, वा उनीहरूलाई जोडी छान्न मद्दत गर्न सक्छन्, तर तिनीहरूले हस्तक्षेप गर्नु हुँदैन, तिनीहरूले छोराछोरीलाई निर्णय गर्नमा मद्दत गर्नु हुँदैन। छोराछोरीलाई आफ्नो जोडी मन पर्छ पर्दैन, उनीहरू मिल्छन् मिल्दैनन्, उनीहरूको रुचि मिल्छ मिल्दैन, र उनीहरू भविष्यमा सँगै खुसी हुनेछन् कि हुनेछैनन् भन्‍नेबारे उनीहरूसँग आफ्नै भावना हुन्छ। आमाबुबालाई यी कुराहरू थाहा हुन्छ नै भन्‍ने हुँदैन, र तिनीहरूलाई थाहा भए पनि, तिनीहरूले सुझाव मात्र दिन सक्छन्, तिनीहरूले यसमा खुलेआम बाधा पुर्‍याउनु वा गम्भीरतापूर्वक हस्तक्षेप गर्नु हुँदै हुँदैन। कतिपय त्यस्ता आमाबुबा पनि हुन्छन् जो यसो भन्छन्: “मेरो छोरा वा छोरीले जोडी खोज्दा, ऊ मेरो परिवारको बराबर सामाजिक हैसियत भएको हुनुपर्छ। यदि ऊ त्यस्तो छैन, र उसमा मेरो छोराछोरीबारे केही मनसाय लुकेको छ भने, म उसलाई बिहे गर्न दिनेछैन, मैले उसको योजना बिथोल्नुपर्नेछ। यदि ऊ मेरो घर प्रवेश गर्न चाहन्छ भने, म प्रवेश गर्न दिनेछैन!” के यो अपेक्षा उचित हो? के यो विवेकपूर्ण कुरा हो? (यो विवेकपूर्ण कुरा होइन।) यो छोराछोरीको जीवनको महत्त्वपूर्ण मामला हो, आमाबुबाले यसमा हस्तक्षेप गर्नु अविवेकी काम हो। तर यी आमाबुबाका दृष्टिकोणबाट हेर्दा, छोराछोरीको जीवनको महत्त्वपूर्ण मामलामा हस्तक्षेप गर्ने अझै धेरै कारणहरू छन्। यदि छोराछोरीले सामान्य रूपमा कुरा गर्नको लागि विपरीतलिङ्गी साथीहरू भेट्छन् भने, तिनीहरूले हस्तक्षेप गर्नेछैनन्, तर यदि त्यो बिहेसँग सम्बन्धित ठूलो मामला हो भने, तिनीहरूले आफूले हस्तक्षेप गर्नैपर्छ भन्ठान्नेछन्। त्यस्ता आमाबुबाहरू पनि हुन्छन् जो छोराछोरीको चियो गर्नमा धेरै मेहनत लगाउँछन्, उनीहरूको फोन वा कम्प्युटरमा कुन विपरीतलिङ्गी व्यक्तिको सम्पर्क विवरण र जानकारी छ भनी हेर्छन्, र छोराछोरीलाई हस्तक्षेप गर्ने र निगरानीमा राख्ने गर्छन्, यतिसम्म कि छोराछोरीसँग कुनै विकल्पै बाँकी रहँदैन, र उनीहरूले लड्न, विवाद गर्न वा यो अवरोध पन्छाउन सक्दैनन्। के यो आमाबुबाले व्यवहार गर्ने उचित तरिका हो र? (होइन।) यदि आमाबुबाले छोराछोरीलाई दिक्क लगाउँछन् भने, यसलाई कष्ट तुल्याउनु भनिन्छ, हैन र? आमाबुबाले वयस्क छोराछोरीको लागि गर्नुपर्ने भनेको अझै पनि आमाबुबाका जिम्मेवारी र दायित्वहरू पूरा गर्ने, उनीहरूको भविष्यको जीवन मार्गमा मद्दत गर्ने, र उनीहरूलाई केही उचित र मूल्यवान् सल्लाह, हौसला र चेतावनी दिने हो, ताकि उनीहरूले काममा वा विविध प्रकारका मानिस, घटना र परिस्थितिहरू सामना गर्नुपर्दा धोका पाउनबाट बच्न सकून्, र घुमाउरो मार्ग हिँड्ने, अनावश्यक समस्या भोग्ने, वा मुद्दासमेत लाग्ने झन्झटबाट बच्न सकून्। आमाबुबाहरूले एक अनुभवी व्यक्तिको दृष्टिकोणसाथ उभिनुपर्छ, र छोराछोरीलाई केही उपयोगी र मूल्यवान् सल्लाह र सन्दर्भ दिनुपर्छ। जहाँसम्म छोराछोरीले तिनीहरूको कुरा सुन्छन् कि सुन्दैनन् भन्‍ने कुरा छ, त्यो उनीहरूको आफ्नो कुरा हो। आमाबुबाले गर्ने भनेको आफ्ना जिम्मेवारीहरू पूरा गर्नु मात्र हो। छोराछोरीले कति दुःख भोग्नेछन्, कति पीडा सहनेछन्, वा कति आशिष् पाउनेछन् भन्‍ने कुरा आमाबुबाले नियन्त्रण गर्न सक्दैनन्। यदि तिनीहरूका छोराछोरीले यो जुनीमा केही सङ्कष्टहरू सहनैपर्छ, र उनीहरूलाई सिकाउनुपर्ने कुराहरू तिनीहरूले सिकाउन थालिसकेका छन्, तर आफूलाई केही आइपर्दा उनीहरू अझै अत्यन्तै मनोमानी गर्छन् भने, उनीहरूले दुःख भोग्‍नैपर्छ, त्यो उनीहरूको भाग्य हो, यसमा तिनीहरूले आफैलाई दोष दिनु पर्दैन, के यो साँचो होइन र? (हो।) कतिपय अवस्थामा, मानिसहरूको वैवाहिक जीवन राम्रो चल्दैन, तिनीहरू आफ्नो जोडीसँग मिलिरहेका हुँदैनन्, र सम्बन्धविच्छेद गर्ने निर्णय गर्छन्, र सम्बन्धविच्छेद गरेपछि, छोराछोरी कसले पाल्ने भन्‍नेबारे विवाद हुन्छ। ती मानिसहरूका आमाबुबाले उनीहरूको जागिरमा सबै कुरा राम्रै होस्, उनीहरूको वैवाहिक जीवन सुखी र आनन्दमय होस् र कुनै फाटो वा समस्या उत्पन्न नहोस् भन्‍ने आशा गर्थे, तर अन्त्यमा, तिनीहरूले चाहेजस्तो केही पनि भएन। फलस्वरूप, यी आमाबुबाहरू आफ्ना छोराछोरीबारे चिन्ता लिन्छन्, रुन्छन्, त्यसबारे छिमेकीसामु गुनासो पोख्छन्, र छोराछोरीलाई उनीहरूका बच्‍चाबच्‍चीको हेरचाहको लागि लड्न वकिल खोज्न मद्दत गर्छन्। कतिपय त्यस्ता आमाबुबा पनि हुन्छन्, जो आफ्नो छोरीमाथि अन्याय भएको देख्छन्, र उसको पक्षमा लड्न उभिन्छन्, उसको श्रीमानको घर जान्छन् र यसरी चिच्च्याउँछन्, “तैँले किन मेरी छोरीलाई यस्तो अन्याय गरिस्? यो बेइज्जत म यतिकै बिर्सिनेछैन!” तिनीहरू आफ्नो संयुक्त परिवारलाई समेत ल्याएर आफ्नी छोरीको पक्षमा रिस पोख्छन्, र हात हालाहाल हुन्छ। यसरी, तिनीहरूले ठूलो रमिता देखाउँछन्। यदि पूरै परिवार रडाको मच्‍चाउन नआएको भए र श्रीमान र श्रीमतीबीचको तनाव बिस्तारै कम भएको भए, उनीहरू शान्त भएपछि सायद उनीहरूको सम्बन्धविच्छेद हुन्थेन। तर यी आमाबुबाले रडाको मच्‍चाएको कारण, त्यो ठूलो कुरा बन्न पुग्यो; उनीहरूको बिग्रेको वैवाहिक सम्बन्ध सुधार्न सकिएन, र फाटो आयो। तिनीहरूले यति धेरै रडाको मच्‍चाएको कारणले नै अन्त्यमा छोराछोरीको वैवाहिक जीवन राम्रो भएन, र यी आमाबुबाले यसबारे पनि चिन्ता लिनुपर्‍यो। ल भन् त, के त्यति दुःख गर्नु सार्थक थियो? तिनीहरू ती कुराहरूमा संलग्न हुनुको के अर्थ रह्यो? चाहे त्यो छोराछोरीको विवाहसँग सम्बन्धित होस् वा कामसँग, आमाबुबाहरू सबैले आफूमा ठूलो जिम्मेवारी छ भन्‍ने सोच्छन्: “म यसमा संलग्न हुनैपर्छ, मैले यो मामलालाई नजिकबाट पहिल्याउनु र नियाल्नु आवश्यक छ।” तिनीहरू छोराछोरीको वैवाहिक जीवन सुखी छ छैन, उनीहरूको स्नेह सम्बन्धमा कुनै समस्या छ छैन, र छोरा वा ज्वाइँको कुनै अनैतिक सम्बन्ध छ छैन भनी नियालिरहन्छन्। कतिपय आमाबुबाहरू आफ्ना छोराछोरीका विवाह वा अन्य विविध कुराहरूबारेको आफ्नो अपेक्षा पूरा गर्नको निम्ति छोराछोरीको जीवनका विविध पक्षहरूबारे हस्तक्षेप, आलोचना वा षड्यन्त्रसमेत गर्ने गर्छन्, र यसले छोराछोरीको जीवन र कामको नियमिततामा गम्भीर असर पार्छ। के यस्ता आमाबुबाहरू घृणित होइनन् र? (हुन्।) कतिपय आमाबुबा यस्ता पनि हुन्छन्, जो आफ्ना छोराछोरीको जीवनशैली र जीवनका आनीबानीमा संलग्न हुन्छन्, र केही काम नहुँदा, तिनीहरू छोराछोरीको घर गएर बुहारीहरूलाई कस्तो छ भनी हेर्ने, उनीहरूले गोप्य रूपमा उनीहरूका परिवारलाई उपहार वा पैसा पो पठाइरहेका छन् कि, वा उनीहरू परपुरुषसँग पो लागेका छन् कि भनी जाँच्ने गर्छन्। तिनीहरूका छोराछोरीलाई यस्ता कार्यहरू साँच्चिकै घिनलाग्दा र मननपर्दा लाग्छन्। यदि आमाबुबाले यस्तै गर्दै जान्छन् भने, छोराछोरीले त्यो घिनलाग्दो र मननपर्दो हो भन्‍ने अनुभूति गर्नेछन्, त्यसैले यी कार्यहरू अविवेकी हुन् भन्‍ने प्रस्टै छ। अनि अवश्य नै, यदि हामीले यसलाई अर्को दृष्टिकोणबाट हेर्‍यौँ भने, यी कार्यहरू अनैतिक र मानवतारहित पनि छन्। आमाबुबामा आफ्ना सन्तानप्रति जे-जस्ता अपेक्षाहरू भए पनि, उनीहरू वयस्कावस्था पुगेपछि, आमाबुबाहरू उनीहरूको जियाइ वा कार्य वृत्त, वा उनीहरूको परिवारमा संलग्‍न हुनु हुँदैन, र तिनीहरूले उनीहरूको जीवनका विभिन्न पक्षहरूमा हस्तक्षेप गर्ने वा नियन्त्रण जमाउने कोसिस त झनै गर्नु हुँदैन। कतिपय आमाबुबा यस्ता पनि छन् जो साँच्चिकै पैसालाई प्रेम गर्छन्, र छोराछोरीलाई यसो भन्छन्: “छोटो समयमा धेरै पैसा कमाउन तैँले आफ्नो व्यवसाय विस्तार गर्नुपर्छ। फलानोको बच्चालाई हेर् त, उसले आफ्नो व्यवसाय विस्तार गर्‍यो—उसले आफ्नो सानो पसल ठूलो बनायो, र त्यो ठूलो पसलबाट फ्रेन्चाइज बनायो, अहिले उसका आमाबुबाले ऊसँगै राम्रो खान र पिउन पाएका छन्। तैँले अझै धेरै पैसा कमाउनुपर्छ। धेरै पैसा कमा अनि थप पसल खोल्, त्यसपछि हामी सँगै तेरो गौरवमा रमाउन सक्छौँ।” छोराछोरीका कठिनाइ वा चाहना जे भए पनि, तिनीहरू आफ्ना रुचि र स्वार्थी चाहनाहरू मात्र पूरा गर्न चाहन्छन्; तिनीहरू देहसुख प्राप्त गर्ने आफ्नो लक्ष्य हासिल गर्नको निम्ति छोराछोरीलाई प्रयोग गरेर धेरै पैसा कमाउन मात्र चाहन्छन्। यी सबै कुरा आमाबुबाले गर्न नहुने कामहरू हुन्। यी अनैतिक र मानवताहीन कुराहरू हुन्, र यस्ता आमाबुबाले आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेका हुँदैनन्। यो आमाबुबाले वयस्क छोराछोरीप्रति राख्नुपर्ने मनोवृत्ति होइन। यी आमाबुबाहरूले आफ्नो ज्येष्ठताको फाइदा उठाउँछन्, र छोराछोरीप्रति जिम्मेवारी देखाउने नाउँमा आफ्ना वयस्क छोराछोरीको जीवन, काम, विवाह, आदि इत्यादि कुरामा हस्तक्षेप गर्छन्। वयस्क छोराछोरी जति नै सक्षम भए पनि, उनीहरूमा जे-जस्तो क्षमता भए पनि, समाजमा उनीहरूको हैसियत जे-जस्तो भए पनि, वा उनीहरूको आय जति नै भए पनि, यो त परमेश्‍वरले उनीहरूको लागि तोक्नुभएको भाग्य हो—यो कुरा परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत हुन्छ। आमाबुबाले आफ्ना छोराछोरीले कस्ता जीवन जिउँछन् भन्‍ने कुरामा हस्तक्षेप गर्नु हुँदैन, उनीहरूले सही मार्गमा हिँडिरहेका छैनन् वा कानून मिचिरहेका छन् भने मात्र आमाबुबाले कडाइसाथ उनीहरूलाई अनुशासनमा राख्नुपर्छ। तर सामान्य परिस्थितिहरूमा, यी वयस्कहरू सही मानसिक अवस्थामा हुँदा र उनीहरूमा स्वतन्त्र रूपले जिउने र बाँच्ने क्षमता हुँदा, आमाबुबाहरू पछि हट्नुपर्छ, किनभने यी छोराछोरी वयस्क भइसकेका छन्। यदि छोराछोरी भर्खरै वयस्क बनेका छन्, उनीहरू २०-२१ वर्षका छन्, अनि उनीहरूलाई अझै समाजका विविध जटिल परिस्थितिबारे वा जीवनमा कस्तो व्यवहार गर्ने भन्‍नेबारे थाहा छैन, उनीहरू घुलमिल हुने तरिका बुझ्दैनन्, र उनीहरूको अस्तित्वजीवी सीप कमजोर छ भने, आमाबुबाले उनीहरूलाई केही उचित सहयोग गर्नुपर्छ, र बिस्तारै स्वतन्त्र रूपले जिउन सक्ने अवस्थामा पुग्न सक्षम तुल्याउनुपर्छ। यसलाई जिम्मेवारी पूरा गरेको भनिन्छ। तर छोराछोरीलाई सही मार्गमा ल्यापछि, र छोराछोरीमा स्वतन्त्र रूपले जिउने क्षमता हुनेबित्तिकै, यी आमाबुबा पछि हटिहाल्नुपर्छ। तिनीहरूले छोराछोरीलाई उनीहरू अझै वयस्क नभएजस्तो वा उनीहरू मानसिक रूपमा कमजोर भएजस्तो व्यवहार गर्नु हुँदैन। तिनीहरूले छोराछोरीमाथि कुनै अवास्तविक अपेक्षाहरू राख्ने वा उनीहरूप्रति कुनै अपेक्षाहरू राख्ने नाउँमा छोराछोरीको निजी जीवन वा काम, परिवार, विवाह, मानिस, र घटनाप्रतिको उनीहरूको मनोवृत्ति, दृष्टिकोण, र व्यवहारमा हस्तक्षेप गर्नु हुँदैन। यदि तिनीहरूले यीमध्ये कुनै काम गर्छन् भने, तिनीहरू आफ्ना जिम्मेवारी पूरा गरिरहेका छैनन्।

छोराछोरी आफै बाँच्न सक्ने भएपछि, आमाबुबाले उनीहरूलाई उनीहरूको काम, जीवन, र परिवारबारे चासो देखाउने र आवश्यक ध्यान दिने, वा उनीहरूले आफ्नै क्षमताले कुनै कुरा हासिल गर्न वा सम्हाल्न नसक्ने परिस्थितिमा उनीहरूलाई केही उचित सहयोग गर्ने काम मात्र गर्नुपर्छ। उदाहरणको लागि, मानौँ तेरो छोरा वा छोरीको एउटा बच्चा छ, अनि ऊ र उसको जहान दुवै काममा निकै व्यस्त हुन्छन्। बच्चा अझै निकै सानै छ, र कहिलेकाहीँ उसको हेरचाह गर्ने कोही हुँदैन। यस्तो परिस्थितिमा, तैँले तेरा छोराछोरीलाई उनीहरूको बच्चाको हेरचाह गर्न मद्दत गर्न सक्छस्। यो आमाबुबाको जिम्मेवारी हो, किनभने जे भए पनि उनीहरू तेरो देह र रगत हुन्, र उनीहरूको बच्चाको हेरचाह अरू कसैलेभन्दा तैँले गरेको बढी सुरक्षित हुनेछ। यदि तेरो छोराछोरीले आफ्नो बच्चाको हेरचाह गर्नमा तँलाई भरोसा गर्छन् भने, तैँले त्यो बच्चाको हेरचाह गर्नुपर्छ। यदि उनीहरूले आफ्नो बच्चा तेरो जिम्मामा छोड्न सहज मान्दैनन् र तैँले उसको हेरचाह गरेको चाहँदैनन् भने, वा उनीहरू तँलाई प्रिय ठान्ने, र तँप्रति विचारशील भएकाले, र उनीहरूमा तँ त्यो कामको लागि शारीरिक रूपले उपयुक्त छैनस् भन्‍ने डर भएकोले उनीहरूले तँलाई बच्चाको हेरचाह गर्न दिनेछैनन् भने, तैँले यसमा उनीहरूलाई दोष दिनु हुँदैन। कतिपय यस्ता छोराछोरी पनि हुन्छन् जो आफ्ना आमाबुबालाई भरोसा गर्दै गर्दैनन्, उनीहरू आफ्ना आमाबुबामा बच्चाको हेरचाह गर्ने क्षमता छैन, तिनीहरूलाई केटाकेटी पुलपुल्याउन मात्र आउँछ तर शिक्षा दिन आउँदैन, र तिनीहरू आफूले खाने खानाप्रति होसियार हुँदैनन् भन्‍ने सोच्छन्। यदि तेरो छोरा वा छोरीले तँलाई भरोसा गर्दैन र तैँले उसको बच्चाको हेरचाह गरेको चाहँदैन भने, त्यो झनै राम्रो हो, तँलाई थप केही फुर्सद हुन्छ। यसलाई पारस्परिक सहमति भनिन्छ: न त आमाबुबाले न त बच्चाले नै एकअर्कामाथि हस्तक्षेप गर्छ, र तिनीहरू एकअर्काप्रति विचारशील पनि भइरहेका हुन्छन्। छोराछोरीलाई मद्दत, ख्याल र हेरचाह आवश्यक परेको बेला, आमाबुबाले खालि उनीहरूलाई भावनात्मक स्तरबाट वा अन्य हिसाबले उचित र आवश्यक चासो देखाउने, हेरचाह गर्ने र आर्थिक सहयोग प्रदान गर्ने मात्र गर्नुपर्छ। उदाहरणको लागि, मानौँ कुनै आमाबुबाले केही बचत गरेका छन् रे, वा तिनीहरू आफ्नो काममा राम्रो भएर तिनीहरूसँग केही आयस्रोत छ रे। यस्तो भए, छोराछोरीलाई पैसाको आवश्यकता पर्दा, तिनीहरूले सकेमा उनीहरूलाई थोरै सहयोग गर्न सक्छन्। यदि तिनीहरू सक्षम छैनन् भने, तिनीहरूले छोराछोरीलाई मद्दत गर्नको लागि आफ्नो सारा सम्पत्ति त्याग्न वा चर्को ब्याजमा साहुबाट पैसा सापट लिन जरुरी छैन। तिनीहरूले नाता संरचनाभित्र पर्ने आफ्ना जिम्मेवारीहरू पूरा गर्नको लागि आफ्नो क्षमताले भ्याउने काम मात्र गर्नुपर्छ। तिनीहरूले छोराछोरीलाई मद्दत गर्नको लागि आफूसँग भएको सबै कुरा बेच्न, वा आफ्नो मिर्गौला वा रगत बेच्न, वा मरीमरी काम गर्न आवश्यक छैन। तेरो जीवन भनेको तेरै हो, त्यो परमेश्‍वरले तँलाई दिनुभएको हो, र तँसित तेरा आफ्नै मिसनहरू छन्। तैँले ती मिसनहरू पूरा गर्न सक् भनेरै तँसित यो जीवन भएको हो। तेरा छोराछोरीसँग पनि जीवन भएको, उनीहरूले आफ्ना जीवन मार्गहरू पार गर्न र जीवनका मिसनहरू पूरा गर्न सकून् भनेर हो, उनीहरूले तँप्रति सन्तानीय भक्ति देखाउन सकून् भनेर होइन। त्यसकारण, छोराछोरी वयस्क भए पनि नभए पनि, आमाबुबाको जीवन आमाबुबाकै मात्र हो, त्यो तिनीहरूका छोराछोरीको सम्पत्ति होइन। स्वाभाविक रूपमै, आमाबुबाहरू छोराछोरीका सुसारे वा दास होइनन्। छोराछोरीप्रति आमाबुबासँग जे-जस्ता अपेक्षाहरू भए पनि, तिनीहरूले छोराछोरीलाई आमाबुबामाथि स्वेच्छाचारीतापूर्वक पारितोषिकबिना खटनपटन गर्ने अनुमति दिनु हुँदैन, तिनीहरूले छोराछोरीको नोकर, नोकर्नी, वा दास-दासी बन्नु जरूरी छैन। छोराछोरीप्रति तँसँग जे-जस्ता अपेक्षाहरू भए पनि, तँ अझै पनि स्वतन्त्र व्यक्ति नै होस्। उनीहरू तेरा छोराछोरी भएकै कारण, तैँले उनीहरूको वयस्क जीवनको जिम्मेवारी लिनु हुँदैन, र त्यसो गर्नु पूर्णतया ठिक हो नै जस्तो गर्नु हुँदैन। त्यसो गर्नुपर्ने कुनै आवश्यकता छैन। उनीहरू वयस्क भइसकेका छन्; तैँले उनीहरूलाई हुर्काउने जिम्मेवारी पहिल्यै पूरा गरेको छस्। भविष्यमा उनीहरूको जीवन राम्रो होला वा नराम्रो, उनीहरू सम्पन्न बन्लान् वा गरिब, र उनीहरूको जीवन खुसीपूर्ण होला वा खुसीहीन, त्यो उनीहरूको कुरा हो। यी कुराहरूको तँसित कुनै सम्बन्ध छैन। आमाबुबाको नाताले, तँसित ती कुराहरू परिवर्तन गर्ने कुनै दायित्व छैन। यदि उनीहरूको जीवन खुसीहीन भयो भने, तँसित यसो भन्‍ने दायित्व हुँदैन: “तँ बेखुसी छस्—म यसको समाधान गर्ने तरिका सोच्नेछु, म आफूसँग भएको सबथोक बेच्नेछु, म मेरो जीवनको सम्पूर्ण ऊर्जा प्रयोग गरेर भए पनि तँलाई खुसी तुल्याउनेछु।” यसो गर्नु जरूरी छैन। तैँले खालि तेरा जिम्मेवारीहरू मात्र पूरा गर्नुपर्छ, कुरो त्यति हो। यदि तँ उनीहरूलाई मद्दत गर्न चाहन्छस् भने, तैँले उनीहरूलाई बेखुसी हुनुको कारण सोध्न र उक्त समस्यालाई सैद्धान्तिक र मनोवैज्ञानिक तवरबाट बुझ्न मद्दत गर्न सक्छस्। उनीहरूले तेरो मद्दत स्विकार्छन् भने, त्यो झनै राम्रो हो। यदि स्विकार्दैनन् भने, तैँले खालि आमाबुबाका जिम्मेवारीहरू पूरा गरे पुग्छ, कुरो त्यति हो। यदि तेरा छोराछोरीले दुःख भोग्न चाहन्छन् भने, त्यो उनीहरूको कुरा हो। तैँले त्यसबारे चिन्ता लिनुपर्ने वा निराश हुनुपर्ने, वा राम्ररी खान र सुत्न नसक्‍ने हुनुपर्ने आवश्यकता छैन। त्यसो गर्नु अति हुनेछ। त्यो किन अति हुनेछ? किनभने उनीहरू वयस्क हुन्। उनीहरूले आफ्नो जीवनमा सामना गर्ने सबथोक आफैले व्यवस्थापन गर्न सिक्नुपर्छ। यदि तँलाई उनीहरूप्रति चिन्ता लाग्छ भने, त्यो स्नेह मात्र हो; यदि तँलाई उनीहरूप्रति चिन्ता लाग्दैन भने, त्यसको अर्थ यो होइन कि तँ हृदयहीन छस् वा तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छैनस्। उनीहरू वयस्क हुन्, र वयस्कले वयस्कका समस्याहरू सामना गर्नैपर्छ र वयस्कले सम्हाल्‍नुपर्ने सबथोक सम्हाल्नैपर्छ। उनीहरू सबै कुरामा आमाबुबामाथि भर पर्नु हुँदैन। अनि अवश्य नै, छोराछोरी वयस्कतामा पुगेपछि, आमाबुबाले उनीहरूको जागिर, करियर, परिवार वा विवाह राम्रो गरी चल्छ चल्दैन भन्‍ने कुराको जिम्मेवारी आफूमाथि राख्नु हुँदैन। तैँले यी कुराहरूबारे चिन्ता लिन र सोधपुछ गर्न सक्छस्, तर तैँले यी कुराहरूको पूर्ण जिम्मेवारी लिने, छोराछोरीलाई सधैँ आफूसँगै बाँधेर राख्‍ने, आफूसँगसँगै लैजाने, र आफू जहाँ गए पनि उनीहरूको निगरानी गर्ने गर्नु जरुरी छैन, र तैँले उनीहरूबारे यस्तो सोच्नु आवश्यक छैन: “के आज उनीहरूले राम्ररी खाइरहेका छन्? के उनीहरू खुसी छन्? के उनीहरूको काम राम्रै भइरहेको छ? के उनीहरूको मालिकले उनीहरूको प्रशंसा गर्छ? के उनीहरूको जहानले उनीहरूलाई प्रेम गर्छ? के उनीहरूका छोराछोरी आज्ञाकारी छन्? के उनीहरूका छोराछोरीले राम्रो ग्रेड ल्याउँछन्?” यी कुराहरूको तँसित के सम्बन्ध छ? तेरा छोराछोरीले उनीहरूका समस्याहरू आफै समाधान गर्न सक्छन्, तँ संलग्न हुनै पर्दैन। अनि, मैले यी कुराहरूको तँसित के सम्बन्ध छ भनेर सोध्नुको कारण के हो? यसमार्फत मैले भन्न खोजेको यो हो कि यी कुराहरूको तँसित कुनै सम्बन्ध छैन। तैँले आफ्ना छोराछोरीप्रति तेरा जिम्मेवारीहरू पूरा गरेको छस्, तैँले उनीहरूलाई वयस्कतासम्म हुर्काएको छस्, त्यसैले तँ पछि हट्नुपर्छ। तर तँ पछि हटेपछि, त्यसको अर्थ तैँले केही पनि गर्नुपर्नेछैन भन्‍ने होइन। तैँले गर्नुपर्ने कामहरू अझै थुप्रै छन्। तैँले यो जुनीमा पूरा गर्नुपर्ने मिसनहरूको कुरा आउँदा, तैँले छोराछोरीलाई वयस्कतासम्म हुर्काउनुबाहेक, तैँले पूरा गर्नुपर्ने अरू मिसनहरू पनि छन्। आफ्ना छोराछोरीको आमाबुबा हुनुबाहेक, तँ एक सृष्टि गरिएको प्राणी पनि होस्। तँ परमेश्‍वरसामु आउनुपर्छ, र तैँले उहाँले दिनुभएको कर्तव्य स्विकार्नुपर्छ। अनि, तेरो कर्तव्य के हो? के तैँले त्यो पूरा गरेको छस्? के तैँले आफूलाई त्यसप्रति समर्पित गरेको छस्? के तँ मुक्तिको मार्गमा लागेको छस्? तैँले सोच्नुपर्ने कुराहरू यिनै हुन्। जहाँसम्‍म वयस्क बनेपछि तेरा छोराछोरी कहाँ जानेछन्, उनीहरूको जीवन कस्तो हुनेछ, उनीहरूका परिस्थितिहरू कस्ता हुनेछन्, उनीहरू खुसी र प्रसन्न हुनेछन् कि छैनन् भन्‍ने कुरा छ, यी कुराहरूको तँसित कुनै सम्बन्ध छैन। तेरा छोराछोरी बाह्य र मानसिक दुवै रूपले स्वतन्त्र भइसकेका छन्। तैँले उनीहरूलाई स्वतन्त्र हुन दिनुपर्छ, उनीहरूलाई छोडिदिनुपर्छ, र नियन्त्रणमा राख्‍न खोज्‍नु हुँदैन। चाहे त्यो कामकुराको बाहिरी पाटोको सन्दर्भमा होस्, वा स्नेह वा दैहिक नाता सम्बन्धहरूको सन्दर्भमा होस्, तैँले तेरा जिम्मेवारीहरू पूरा गरिसकेको छस्, तँ र तेरा छोराछोरीबीच कुनै सम्बन्ध बाँकी छैन। उनीहरूका मिसन र तेरा मिसनहरूबीच कुनै सम्बन्ध छैन, र उनीहरू हिँड्ने जीवन मार्ग र तेरा अपेक्षाहरूबीच कुनै सम्बन्ध छैन। उनीहरूप्रतिका तेरा अपेक्षाहरू र तेरा जिम्मेवारीहरू समाप्त भएका छन्। स्वाभाविक रूपमै, तैँले उनीहरूप्रति अपेक्षाहरू राख्नु हुँदैन। उनीहरू भनेका उनीहरू नै हुन्, र तँ भनेको तँ नै होस्। यदि तेरा छोराछोरीको बिहे भएन भने, तिमीहरूको भाग्य र मिसनहरूको सन्दर्भमा, तिमीहरू पूर्णतया असम्बन्धित र स्वतन्त्र व्यक्तिहरू हौ। यदि उनीहरूले बिहे गरेर परिवार सुरु गर्छन् भने, तिमीहरूका परिवारहरू पूरै असम्बन्धित परिवार हुन्। तेरा छोराछोरीसँग उनीहरूकै जिउने बानी-व्यवहार र जीवनशैलीहरू हुन्छन्, र जीवनको गुणस्तर सन्दर्भमा उनीहरूमा उनीहरूकै खाँचोहरू हुन्छन्, र तेरो आफ्नै जिउने बानी-व्यवहार छ, र जीवनको गुणस्तर सन्दर्भमा तेरा आफ्नै खाँचोहरू छन्। तेरो आफ्नै जीवन मार्ग छ र उनीहरूका आफ्नै जीवन मार्गहरू छन्। तँसित तेरै मिसनहरू छन् र उनीहरूसित उनीहरूकै मिसनहरू छन्। अनि अवश्य नै, तेरो आफ्नै आस्था छ, र उनीहरूको आफ्नै आस्था छ। यदि उनीहरूको आस्था पैसा, प्रतिष्ठा र नाफामाथि छ भने, तिमीहरू पूर्ण रूपमा भिन्न मानिसहरू हौ। यदि उनीहरूसँग तेरो जस्तै आस्था छ, र उनीहरू सत्यता पछ्याउँछन् र मुक्तिको मार्ग हिँड्छन् भने, स्वाभाविक रूपमै तिमीहरू अझै पनि भिन्न मानिसहरू नै हौ। तँ भनेको तँ नै होस् र उनीहरू भनेका उनीहरू नै हुन्। उनीहरूले हिँड्ने मार्ग सन्दर्भमा, तैँले हस्तक्षेप गर्नु हुँदैन। तैँले उनीहरूलाई साथ दिन, मद्दत गर्न र भरणपोषण गर्न सक्छस्, तैँले उनीहरूलाई सम्झाउन र अर्ती दिन सक्छस्, तर तैँले हस्तक्षेप गर्नु वा संलग्न हुनु आवश्यक छैन। अर्को व्यक्ति कस्तो मार्ग हिँड्नेछ, ऊ कस्तो व्यक्ति हुनेछ, वा ऊसँग कस्ता पछ्याइहरू हुनेछन् भन्‍ने कुरा कसैले तय गर्न सक्दैन। यसबारेमा सोच्, म केको आधारमा यहाँ बसेर तिमीहरूसँग गफ गरिरहेको र यी सबै कुराहरूबारे बोलिरहेको छु? कुरा सुन्ने तिमीहरूको इच्छुकताको आधारमा। म बोलिरहेको छु किनभने तिमीहरू मेरा गम्भीर अर्तीहरू सुन्न इच्छुक छौ। यदि तिमीहरू सुन्न इच्छुक नभएका भए, वा तिमीहरू निस्केर गएका भए, म बोल्नै छोडिदिन्थेँ। मैले कति वचनहरू बोल्छु भन्‍ने कुरा तिमीहरू ती वचनहरू सुन्न र त्यसो गर्नमा आफ्नो समय र शक्ति खर्चन इच्छुक छौ छैनौ भन्‍नेमा भर पर्छ। यदि तैँले, “म तपाईँले बोल्दै गर्नुभएको कुरा बुझ्दिनँ, थप विस्तारमा भन्न सक्नुहुन्छ?” भनेर भन्थिस् भने, म थप विस्तारमा बोल्‍ने, र तँलाई मेरा वचनहरू बुझ्न र तीभित्र प्रवेश गर्न सक्षम तुल्याउन सक्दो कोसिस गर्थेँ। जब मैले तँलाई सही मार्गमा लगाएको हुन्छु, जब तँलाई परमेश्‍वर र सत्यतासामु ल्याएर सत्यता बुझ्न र परमेश्‍वरको मार्ग पछ्याउन सक्षम तुल्याएको हुन्छु, तब मेरो काम पूरा हुनेछ। तर मेरा वचनहरू सुनेपछि तँ तिनलाई अभ्यास गर्न इच्छुक हुन्छस् हुँदैनस्, वा तँ कस्तो मार्ग हिँड्नेछस्, तैँले कस्तो जीवन रोज्नेछस्, वा तैँले के पछ्याउनेछस् भन्‍ने कुराहरू मेरो सरोकारका विषय होइनन्। यदि तैँले “मसँग सत्यताको त्यस पक्षबारे एउटा प्रश्‍न छ, म त्यसबारे खोजी गर्न चाहन्छु” भनेर भन्थिस् भने, म धैर्यतापूर्वक तेरो प्रश्‍नको जवाफ दिन्थेँ। तर यदि तैँले सत्यता खोज्ने इच्छा कहिल्यै गर्दैनथिस् भने, के त्यो कारणले म तँलाई काटछाँट गर्थेँ र? गर्दिनथेँ। म तँलाई सत्यता खोज्न जबरजस्ती गर्ने वा तँलाई जिस्क्याउने र तेरो खिल्ली उडाउने काम गर्दिनथेँ, र निश्‍चय नै म तँलाई कठोर मनोवृत्तिले व्यवहार गर्दिनथेँ। म पहिलेजस्तै व्यवहार गर्थेँ। यदि तैँले आफ्नो कर्तव्यमा कुनै गल्ती गर्छस् वा जानाजान भाँजो हाल्ने वा बाधा पुर्‍याउने काम गर्छस् भने, तँलाई सम्हाल्ने मसँग मेरा आफ्नै सिद्धान्त र विधिहरू छन्। तर तैँले यसो भन्न सक्छस्: “म यी कुराहरूबारे तपाईँको कुरा सुन्न चाहन्नँ, र म तपाईँका ती विचारहरू स्विकार्न इच्छुक छैनँ। म सधैँजसरी नै आफ्नो कर्तव्य निर्वाह गरिरहनेछु।” तब तैँले सिद्धान्त वा प्रशासनिक आदेशहरू उल्लङ्घन गर्नु हुँदैन। यदि तैँले प्रशासनिक आदेशहरू उल्लङ्घन गरिस् भने, म तँलाई तह लगाउनेछु। तर यदि तैँले प्रशासनिक आदेशहरू उल्लङ्घन गरिनस्, र मण्डली जीवन जिउँदा राम्रो आनीबानी देखाउन सकिस् भने, तैँले सत्यता नपछ्याए पनि म तँलाई हस्तक्षेप गर्नेछैन। म तेरो व्यक्तिगत जीवनमा, तेरो खाने र लाउने कुरामा, वा तँ कोसँग उठन्-बस्‍न चाहन्छस् भन्‍ने सन्दर्भमा, हस्तक्षेप गर्नेछैन। म यी मामलाहरूमा तँलाई स्वतन्त्रता दिन्छु। यसको कारण के हो? मैले यी मामलाहरूसम्बन्धी सबै सिद्धान्त र सामग्रीबारे प्रस्टै बोलेको छु। बाँकी कुरा तेरो छनौटको स्वतन्त्रतामा भर पर्छ। तैँले हिँड्न रोज्ने मार्ग तँ कस्तो व्यक्ति होस् भन्‍नेमा भर पर्छ, यो प्रस्टै छ। यदि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस् भने, सत्यतालाई प्रेम गर्न तँलाई कसले जबरजस्ती गर्न सक्छ र? अन्त्यमा, हरव्यक्तिले आफू हिँड्ने मार्ग र आफूले भोग्ने नतिजाको जिम्मेवारी आफै लिनेछ। मैले यसको जिम्मेवारी लिनुपर्दैन। यदि तँ सत्यता पछ्याउँछस् भने, तैँले त्यो स्वेच्छाले पछ्याउँछस्। यदि तँ सत्यता पछ्याउँदैनस् भने पनि तैँले त्यो स्वेच्छाले पछ्याउँदैनस्—तँलाई कसैले रोकिरहेको छैन। यदि तँ सत्यता पछ्याउने गर्छस् भने, तँलाई कसैले हौसला दिइरहेको हुनेछैन र तँलाई विशेष अनुग्रह र भौतिक आशिष् दिइनेछैन। म त खालि मेरा जिम्मेवारीहरू निभाउने र पूरा गर्ने काम गर्दै, तिमीहरू सबैलाई तिमीहरूले बुझ्नुपर्ने र प्रवेश गर्नुपर्ने सत्यताहरू बताइरहेको छु। तिमीहरूले आफ्नो निजी जीवन कसरी जिउँछौ भन्‍ने कुरामा, मैले कहिल्यै यसबारे सोधपुछ वा चियो गरेको छैन। मसँग रहेको मनोवृत्ति यही हो। आमाबुबाले पनि छोराछोरीप्रति यस्तै व्यवहार गर्नुपर्छ। वयस्कहरूमा सही र गलत छुट्याउने क्षमता हुन्छ। सही वा गलत रोज्नु, सेतो वा कालो रोज्नु, सकारात्मक वा नकारात्मक कुरा रोज्नु तिनीहरूको कुरा हो—यो तिनीहरूको भित्री चाहनामा भर पर्छ। यदि व्यक्तिको सार दुष्ट छ भने, उसले सकारात्मक कुराहरू रोज्नेछैन। यदि व्यक्ति असल हुने प्रयास गर्छ, र उसमा मानवता, विवेकको चेतना, र लाजको बोध छ भने, उसले सकारात्मक कुराहरू रोज्नेछ; उसले त्यसो गर्न अलि ढिला गरे पनि, अन्त्यमा ऊ सही मार्गमै लाग्नेछ। यो अपरिहार्य कुरा हो। त्यसैले, आमाबुबाले छोराछोरीप्रति यस्तै मनोवृत्ति राख्नुपर्छ र उनीहरूका रोजाइमा हस्तक्षेप गर्नु हुँदैन। कतिपय आमाबुबाले छोराछोरीमाथि लाद्‌ने मापदण्डहरू यस्ता हुन्छन्: “हाम्रा छोराछोरी सही मार्गमा लाग्नुपर्छ, उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने, बाहिरी संसार त्याग्ने, र जागिर छाड्ने गर्नुपर्छ। अन्यथा, हामी राज्यमा प्रवेश गर्दा उनीहरूले प्रवेश गर्न सक्नेछैनन्, र हामी उनीहरूबाट अलग्गिनेछौँ। हाम्रो पूरै परिवार सँगसँगै राज्यमा प्रवेश गर्न सक्यौँ भने ज्यादै गज्जब हुनेछ! हामी यो संसारमा जस्तै स्वर्गमा पनि सँगै हुन सक्‍नेछौँ। राज्यमा हुँदा हामीले एकअर्कालाई छोड्‍नु हुँदैन, हामी युगौँ युग सँगै रहनैपर्छ!” अनि, त्यसपछि थाहा हुन्छ कि तिनीहरूका छोराछोरीले त परमेश्‍वरमा विश्‍वासै गर्दैनन्, बरु सांसारिक कुराहरू पछ्याउँछन्, र धेरै पैसा कमाउन र धेरै धनी बन्‍न लागिपर्छन्; उनीहरू फेसनमा रहेका लुगा लाउँछन्, र जे चलिरहेको छ त्यही गर्छन् र त्यसैको बारेमा कुरा गर्छन्, तर आमाबुबाका इच्छाहरू पूरा गर्दैनन्। फलस्वरूप, यी आमाबुबाहरू निराश हुन्छन्, यसकारण तिनीहरू प्रार्थना गर्ने र व्रत बस्ने गर्छन्, एक हप्ता, १० दिन वा दुई हप्तासम्म व्रत बस्छन्, र यस मामलामा छोराछोरीको निम्ति निकै मेहनत लगाउँछन्। तिनीहरू प्राय: यति भोकाउँछन् कि तिनीहरूलाई रिँगटा लागिरहन्छ, र तिनीहरू प्राय: परमेश्‍वरसामु प्रार्थना गर्दै रोइरहन्छन्। तर तिनीहरूले जसरी प्रार्थना गरे पनि, वा जति मेहनत लगाए पनि, तिनीहरूका छोराछोरीलाई त्यसले छुँदैन, र तिनीहरू ब्युँझन जान्दैनन्। जति धेरै ती छोराछोरीले विश्‍वास गर्न अस्वीकार गर्छन्, त्यति नै धेरै यी आमाबुबाले यस्तो सोच्छन्: “ओहो, म छोराछोरीको मामलामा असफल भएँ, मैले उनीहरूलाई निराश तुल्याएँ। म उनीहरूलाई सुसमाचार सुनाउन असक्षम रहेँ, र मैले आफूसँगै उनीहरूलाई मुक्तिको मार्गमा ल्याइनँ। ती मूर्खहरू—यो मुक्तिको मार्ग हो!” उनीहरू मूर्ख होइनन्; उनीहरूमा यो आवश्यकता नभएको मात्र हो। मूर्ख त यिनै आमाबुबाहरू हुन्, किनकि तिनीहरू छोराछोरीलाई जबरजस्ती यस मार्गमा हिँडाउन खोज्छन्, होइन र? यदि ती छोराछोरीलाई यो आवश्यक थियो भने, के यी आमाबुबाले यी कुराहरूबारे बोल्न जरुरी हुनेथ्यो र? ती छोराछोरी आफै विश्‍वास गर्न आउनेथिए। यी आमाबुबाहरू सधैँ यस्तो सोच्ने गर्छन्: “मैले मेरा छोराछोरीलाई निराश तुल्याएँ। मैले उनीहरूलाई सानै उमेरदेखि कलेज जान हौस्याएँ, र उनीहरू कलेज गएपछि पछाडि फर्किएनन्। उनीहरूले सांसारिक कुराहरू पछ्याउन छाड्नेछैनन्, र उनीहरू घर आउँदा खालि काम गर्ने, पैसा कमाउने, कसले बढुवा पायो वा गाडी किन्यो, कसले धनीसँग बिहे गर्‍यो, को उच्च अध्ययनको लागि युरोप गयो भन्‍नेबारे मात्र कुरा गर्छन्, र अरू मानिसहरूको जीवन कति राम्रो चलिरहेको छ भनेर मात्र बताइरहन्छन्। घर आउँदा उनीहरू जहिले पनि ती चिजबारे मात्र कुरा गर्छन्, र म ती कुराहरू सुन्न चाहन्नँ, तर त्यसबारे म केही गर्न सक्दिनँ। उनीहरूलाई परमेश्‍वरमा विश्‍वास गराउन मैले जे भनेर कोसिस गरे पनि, उनीहरूले सुन्दैनन्।” यस कारणले गर्दा, तिनीहरू आफ्ना छोराछोरीसँग मिल्दैनन्। छोराछोरीलाई देख्दा तिनीहरूको मुहार निन्याउरो हुन्छ; छोराछोरीसँग बोल्दा तिनीहरूले अप्रसन्न भाव देखाउँछन्। कतिपय छोराछोरीलाई के गर्ने भन्‍ने नै थाहा हुँदैन, र उनीहरू सोच्छन्: “मेरा आमाबुबालाई के भएको छ मलाई थाहा छैन। यदि म परमेश्‍वरमा विश्‍वास गर्दिनँ भने, म बस विश्‍वास गर्दिनँ। तिनीहरू किन मलाई सधैँ यस्तो मनोवृत्तिद्वारा व्यवहार गर्छन्? मैले त कसैले परमेश्‍वरमा जति धेरै विश्‍वास गर्छ, ऊ त्यति राम्रो व्यक्ति बन्नेछ भन्ठान्थेँ। तर परमेश्‍वरका विश्‍वासीहरूमा कसरी आफ्नो परिवारप्रति त्यति थोरै मात्र स्नेह हुन सकेको?” यी आमाबुबाहरू आफ्ना छोराछोरीबारे यति चिन्तित हुन्छन् कि तिनीहरूको रक्तनसा फुट्लै जस्तो हुन्छ, अनि तिनहरूले यसो भन्छन्: “उनीहरू मेरा छोराछोरी होइनन्! म उनीहरूसित सम्बन्ध तोड्दै छु, म उनीहरूलाई त्याग्दै छु!” तिनीहरूले त्यसो त भन्छन्, तर तिनीहरूले साँच्चिकै त्यस्तो महसुसचाहिँ गर्दैनन्। के यस्ता आमाबुबाहरू मूर्ख होइनन् र? (हुन्।) तिनीहरू सधैँ सबथोकमाथि नियन्त्रण जमाउन र हाबी हुन चाहन्छन्, सधैँ छोराछोरीको भविष्य, आस्था, र हिँड्ने मार्गमा हाबी हुने इच्छा गर्छन्। यो अति मूर्खतापूर्ण कुरा हो! यो उचित होइन। विशेषगरी, त्यस्ता कतिपय छोराछोरी छन् जो सांसारिक कुराहरू पछ्याउँछन्, व्यवस्थापकीय पदमा बढुवा हुन्छन् र धेरै पैसा कमाउँछन्। अनि, उनीहरू घर आउँदा आमाबुबालाई उपहारस्वरूप टन्नै जिन्सेङ्, सुनको झुम्का र सुनको हार ल्याउँछन्, तर उनीहरूका आमाबुबाले भन्छन्: “मलाई यी कुराहरूको चाहना छैन, म खालि तिमीहरू स्वस्थ होऊ र मलाई पछ्याएर परमेश्‍वरमा विश्‍वास गर भन्‍ने आशा गर्छु। परमेश्‍वरमा विश्‍वास गर्नु अत्यन्तै सानदार कुरा हो!” अनि ती छोराछोरीले भन्छन्: “त्यो कुरै नगर्नूस्। मेरो बढुवा भएको छ, तपाईँले मलाई बधाई दिन केही पनि गर्नुभएको छैन। अरू मानिसहरूले आफ्ना छोराछोरी बढुवा भएको सुन्दा स्याम्पेन खोल्छन्, भव्य भोजन आयोजना गर्छन्, तर मैले हार र झुम्का किनिदिँदा पनि तपाईँ खुसी हुनुहुन्न। मैले कुन रूपमा तपाईँलाई निराश तुल्याएँ र? तपाईँहरू रिसाइरहनुभएको त मैले परमेश्‍वरमा विश्‍वास नगरेकोले मात्र हो।” के यी आमाबुबाहरू यसरी रिसाउनु ठिक हो? मानिसहरूका फरक-फरक पछ्याइहरू हुन्छन्, तिनीहरू फरक-फरक मार्ग हिँड्छन्, र तिनीहरूले यी मार्गहरू आफै रोज्छन्। आमाबुबाले यी मामलाहरूलाई सही ढङ्गले हेर्नुपर्छ। यदि तेरा छोराछोरीले परमेश्‍वरको अस्तित्व स्विकार्दैनन् भने, तैँले उनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न दबाब दिनु हुँदैन—जबरजस्तीले कहिल्यै काम गर्दैन। यदि उनीहरू परमेश्‍वरमा विश्‍वास गर्न चाहँदैनन् र उनीहरू त्यस्ता व्यक्ति होइनन् भने, तैँले जति बढी त्यसबारे कुरा गर्छस्, त्यति नै उनीहरूले तँलाई चिढ्याउनेछन्, र तैँले पनि उनीहरूलाई चिढ्याउनेछस्—तिमीहरू दुवै एकअर्काप्रति चिढिनेछौ। तर तिमीहरू दुवैजना चिढिनु महत्त्वपूर्ण कुरा होइन—सबैभन्दा महत्त्वपूर्ण कुरा त परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछ, र उहाँले भन्नुहुनेछ कि तेरो स्नेह अचाक्ली प्रगाढ छ। तेरा छोराछोरीले परमेश्‍वरमा विश्‍वास नगरेकै कारण तैँले यति ठूला मूल्यहरू तिर्न सक्ने भएकोले, र उनीहरूले सांसारिक कुराहरू पछ्याउनेबारे तँ निराश भएकोले, यदि कुनै दिन परमेश्‍वरले उनीहरूलाई लिएर जानुहुन्थ्यो भने, तब तैँले के गर्नेथिस्? के परमेश्‍वरबारे गुनासो गर्नेथिस्? यदि तेरो हृदयमा तेरा छोराछोरी नै तेरो लागि सबथोक हुन्, उनीहरू तेरो भविष्य, आशा, र जीवन हुन् भने, के तँ अझै पनि परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होस् त? के तैँले यस्तो व्यवहार गर्दा परमेश्‍वरले घृणा गर्नुहुनेछैन र? तेरो व्यवहार अति मूर्ख छ, त्यो सिद्धान्तहरूसँग मिल्दैन, र परमेश्‍वर त्यसमा सन्तुष्ट हुनुहुनेछैन। त्यसकारण, यदि तँ बुद्धिमान् होस् भने, तैँले यस्ता कुराहरू गर्नेछैनस्। यदि तेरा छोराछोरीले विश्‍वास गर्दैनन् भने, तैँले यो कुरालाई छोडिदिनुपर्छ। तैँले आफूले प्रस्तुत गर्नुपर्ने सबै तर्कहरू प्रस्तुत गरिसकेको छस्, र आफूले भन्नुपर्ने कुराहरू भनिसकेको छस्, त्यसैले उनीहरूलाई आफै निर्णय गर्न दे। छोराछोरीसँग पहिलेकै सम्बन्ध कायम राखिराख्। यदि उनीहरूले तँलाई सन्तानीय भक्ति देखाउने, प्रिय ठान्ने र हेरचाह गर्ने इच्छा राख्छन् भने, तैँले त्यो अस्वीकार गर्नुपर्दैन। यदि उनीहरू तँलाई युरोप भ्रमणमा लान चाहन्छन्, तर त्यसले तेरो कर्तव्यपालनमा ढिलाइ हुन्छ, र तँ जान चाहँदैनस् भने, नजा। तर यदि तँ जान चाहन्छस् र तँसित समय छ भने, जा। आफ्नो क्षितिज फैलाउनु गलत होइन। यसबाट तेरा हातहरू अपवित्र हुनेछैनन्, र परमेश्‍वरले त्यसको निन्दा गर्नुहुनेछैन। यदि तेरा छोराछोरीले तँलाई केही राम्रा कुरा, केही राम्रा खाना वा कपडा किनेर दिन्छन्, र तँलाई कुनै सन्तले ती चिजहरू लगाउनु वा प्रयोग गर्नु उचित हो भन्‍ने लाग्छ भने, ती चिजहरूलाई प्रयोग गर्, र परमेश्‍वरले दिनुभएको अनुग्रह ठान्। यदि तँ ती चिजहरूलाई घृणा गर्छस्, तँलाई ती चिजहरू राम्रा लाग्दैनन्, ती कष्टदायी र घिनलाग्दा लाग्छन्, र तँ तिनलाई प्रयोग गर्न इच्छुक छैनस् भने, तैँले यसो भन्दै ती कुराहरू नकार्न सक्छस्: “म तिमीहरूलाई देखेरै खुसी छु, तिमीहरूले मलाई उपहार ल्याउनु वा ममाथि पैसा खर्च गर्नुपर्दैन, मलाई ती चिजहरू चाहिँदैन। म तिमीहरू सुरक्षित र खुसी भएको मात्र चाहन्छु।” के यो कुरा सानदार छैन र? यदि तैँले यी शब्दहरू बोल्छस् र हृदयमा यी कुराहरू नै विश्‍वास गर्छस् भने, यदि साँच्चिकै तेरा छोराछोरीले तँलाई कुनै भौतिक सुख प्रदान गर्नु, वा उनीहरूको सफलतामा तँलाई रमाउन दिनुपर्दैन भने, तेरा छोराछोरीले तेरो प्रशंसा गर्नेछन्, होइन र? उनीहरूले आफ्नो काम वा जीवनमा सामना गर्ने कुनै पनि कठिनाइहरूमा, तैँले सकेको बेला मद्दत गर्ने सक्दो प्रयास गर्। यदि उनीहरूलाई मद्दत गर्दा तेरो कर्तव्यपालनमा असर पर्छ भने, तैँले अस्वीकार गर्न सक्छस्—त्यो तेरो अधिकार हो। तँसित उनीहरूप्रति कुनै दायित्व बाँकी छैन, उनीहरूप्रति कुनै जिम्मेवारी बाँकी छैन, र उनीहरू स्वतन्त्र वयस्क भइसकेका छन्, त्यसैले उनीहरूले आफ्नो जीवन आफै व्यवस्थापन गर्न सक्छन्। तैँले उनीहरूलाई निसर्त सधैँभरि सेवा गर्नुपर्दैन। यदि उनीहरूले तेरो मद्दत माग्छन्, र तँ उनीहरूलाई मद्दत गर्न इच्छुक छैनस्, वा यदि त्यसो गर्दा तेरो कर्तव्यपालनमा ढिलाइ हुन्छ भने, तैँले सक्दिनँ भन्दा हुन्छ। त्यो तेरो अधिकार हो। उनीहरूसँग तेरो रगतको नाता भए पनि, र तँ उनीहरूको आमाबुबा भए पनि, यो औपचारिकता, रगत र स्नेहको सम्बन्ध मात्र हो—तेरा जिम्मेवारीहरूको सन्दर्भमा, तैँले उनीहरूसँगको सम्बन्धबाट पहिल्यै मुक्ति पाइसकेको छस्। त्यसैले, यदि आमाबुबाहरू बुद्धिमान् छन् भने, तिनीहरूले छोराछोरी वयस्क भएपछि उनीहरूप्रति कुनै अपेक्षा, मापदण्ड, वा मानकहरू थोपर्नेछैनन्, र तिनीहरूले छोराछोरीलाई निश्‍चित तरिकाले व्यवहार गर्न वा आमाबुबाको दृष्टिकोण वा स्थानबाट निश्‍चित कामहरू गर्न लगाउनेछैनन्, किनभने तिनीहरूका छोराछोरी स्वतन्त्र भइसकेका छन्। अनि, जब तेरा छोराछोरी स्वतन्त्र हुन्छन्, त्यसको अर्थ तैँले उनीहरूप्रति तेरा सबै जिम्मेवारीहरू पूरा गरेको छस् भन्‍ने हुन्छ। त्यसैले, परिस्थितिले साथ दिँदा, तैँले छोराछोरीको लागि जे गरे पनि, तैँले उनीहरूप्रति चासो र ध्यान दिए पनि नदिए पनि, त्यो स्नेह मात्र हो, र त्यो अनावश्यक छ। अथवा यदि तेरा छोराछोरीले तँलाई केही गर्न अनुरोध गर्छन् भने, त्यो पनि अनावश्यक कुरा हो, त्यो तैँले गर्नैपर्ने कर्तव्य होइन। तैँले यो कुरा बुझ्नु पर्छ। के यी कुराहरू प्रस्ट भयो? (हजुर।)

मानौँ, तिमीहरूमध्ये एकजनाले यसो भन्थ्यो रे: “म मेरा छोराछोरीलाई कहिल्यै त्याग्न सक्दिनँ। उनीहरू कमजोरै जन्मिए, र जन्मजात रूपमै कायर र डरपोक छन्। उनीहरूमा खासै राम्रो क्षमता पनि छैन र उनीहरू समाजमा सधैँ अरू मानिसहरूको हेपाइमा पर्छन्। म उनीहरूलाई त्याग्न सक्दिनँ।” तैँले छोराछोरी त्याग्न नसक्नुको अर्थ तैँले उनीहरूप्रति तेरा जिम्मेवारीहरू पूरा गरेको छैनस् भन्‍ने होइन, त्यो त तेरो भावनाको प्रभाव मात्र हो। तैँले यसो भन्न सक्छस्: “म मेरा छोराछोरीले राम्रा खाइरहेका छन् कि छैनन्, वा उनीहरूमा पेटसम्बन्धी कुनै समस्या पो छ कि भनेर सधैँ चिन्ता र सोचविचार गरिरहन्छु। यदि उनीहरूले उचित समयमा खाना खाएनन् र दीर्घकालीन रूपमा बाहिरबाट खाना मगाइरहे भने, कतै उनीहरूलाई पेटसम्बन्धी समस्या हुने त होइन? के उनीहरूलाई कुनै प्रकारको रोग लाग्ने त होइन? अनि यदि उनीहरू बिरामी परे भने, के उनीहरूलाई हेरचाह गर्ने र प्रेम देखाउने कोही हुनेछ? के उनीहरूका जहानहरूले उनीहरूप्रति सरोकार देखाउँदै उनीहरूको हेरचाह गर्नेछन्?” तेरा चिन्ताहरू तेरा छोराछोरीप्रतिका तेरा भावना र रगतको नाताबाट उत्पन्न हुन्छन्, तर यी तेरा जिम्मेवारीहरू होइनन्। परमेश्‍वरले आमाबुबालाई दिनुभएका जिम्मेवारीहरू त छोराछोरी वयस्कतामा पुग्नुपहिले उनीहरूलाई हुर्काउने र हेरचाह गर्ने जिम्मेवारीहरू मात्र हुन्। छोराछोरी वयस्क बनेपछि, आमाबुबामा आफ्ना छोराछोरीप्रति कुनै जिम्मेवारीहरू बाँकी हुँदैनन्। यो आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारीहरूलाई परमेश्‍वरको पूर्वनिर्धारणको दृष्टिकोणबाट हेरिएको हो। यो कुरो बुझिस्? (बुझेँ।) तेरा भावनाहरू जति गहन भए पनि, वा तेरा आमाबुबावाल प्रवृत्ति जतिखेर देखा परे पनि, यो जिम्मेवारीहरू पूरा गर्नु होइन, यो तेरो भावनाको प्रभाव मात्र हो। तेरा भावनाका प्रभावहरू मानवताको समझ, वा परमेश्‍वरले मान्छेलाई सिकाउनुभएका सिद्धान्तहरू, वा सत्यताप्रतिको मान्छेको समर्पणमा आधारित हुँदैन, र ती निश्‍चय नै मान्छेका जिम्मेवारीहरूमा आधारित हुँदैन, बरु ती त मान्छेका भावनाहरूबाट आउँछन्—तिनलाई भावना भनिन्छ। यसमा थोरै मात्र आमाबुबावाल प्रेम र नाता मिसिएको हुन्छ। उनीहरू तेरा छोराछोरी भएकाले, तँ निरन्तर उनीहरूबारे चिन्ता लिन्छस्, र उनीहरूले दुःख पो पाइरहेका छन् कि, हेपाइ पो भोगिरहेका छन् कि भनी सोच्छस्। तँ उनीहरूको काम राम्रो चलिरहेको छ छैन र उनीहरू उचित समयमा खाना खाइरहेका छन् छैनन् भनी सोच्छस्। तँ उनीहरूलाई कुनै रोग पो लाग्यो कि र बिरामी हुँदा उनीहरूले उपचार खर्च तिर्न सक्छन् सक्दैनन् भनी सोच्छस्। तँ प्राय: यी कुराहरूबारे सोच्छस्, तर आमाबुबाको रूपमा तेरा जिम्मेवारीहरूसँग ती कुराहरूको कहीँकतै कुनै सम्बन्ध छैन। यदि तैँले यी चिन्ताहरू त्याग्न सक्दैनस् भने, यति मात्र भन्न सकिन्छ कि तँ तेरा भावनाहरूमा जिइरहेको छस् र आफूलाई त्यसबाट मुक्त गर्न सकिरहेको छैनस्। तँ बस तेरा भावनाहरूमा मात्र जिउँछस्, भावनाहरूकै आधारमा छोराछोरीसँग कुरा गर्छस्, तर परमेश्‍वरले दिनुभएको आमाबुबावाल जिम्मेवारीहरूको परिभाषा अपनाउँदैनस्। तँ परमेश्‍वरका वचनअनुसार जिइरहेको छैनस्, तँ यी सबै कुराहरूलाई खालि आफ्नो भावनाअनुसार अनुभूति गर्ने, हेर्ने र सम्हाल्ने काम मात्र गरिरहेको छस्। यसको मतलब तैँले परमेश्‍वरको मार्ग पछ्याइरहेको छैनस्। यो प्रस्टै छ। परमेश्‍वरले तँलाई सिकाउनुभएझैँ, तेरा आमाबुबावाल जिम्मेवारीहरू तेरा छोराछोरी वयस्कतामा पुग्नेबित्तिकै समाप्त भए। के परमेश्‍वरले तँलाई सिकाउनुभएको अभ्यासको यो विधि सहज र सरल छैन र? (छ।) यदि तैँले परमेश्‍वरका वचनअनुसार अभ्यास गरिस् भने, तँ अर्थहीन अभ्यासमा लागिरहेको हुनेछैनस्, र तैँले छोराछोरीलाई निश्‍चित मात्रामा स्वतन्त्रता र आफ्नो विकास गर्ने मौका दिइरहेको हुनेछस्, र उनीहरूको लागि कुनै थप कष्ट वा चिन्ता सिर्जना गर्नेछैनस् वा उनीहरूमाथि थप बोझ थोपर्नेछैनस्। अनि, उनीहरू वयस्क भएकाले, त्यसो गर्दा, यसले उनीहरूलाई यो संसारलाई, उनीहरूको जीवनलाई र उनीहरूको दैनिक जीवन र अस्तित्वमा आइपर्ने विविध समस्याहरूलाई वयस्क व्यक्तिको दृष्टिकोणद्वारा, परिस्थितिहरू सम्हाल्ने र हेर्ने वयस्क व्यक्तिका आफ्नै विधिहरूद्वारा, र वयस्क व्यक्तिको स्वतन्त्र विश्‍व दृष्टिकोणद्वारा सामना गर्ने मौका दिनेछ। यी तेरा छोराछोरीका स्वतन्त्रता र अधिकारहरू हुन्, र त्योभन्दा पनि बढी, यी तेरा वयस्क छोराछोरीले गर्नुपर्ने कामहरू हुन्, र यी कुराहरूको तँसित कुनै सम्बन्ध छैन। यदि तँ सधैँ यी कुराहरूमा संलग्न हुन चाहन्छस् भने, त्यो निकै घिनलाग्दो कुरा हो। यदि तँ सधैँ आफैलाई यी कुराहरूमा घुसाउन र उनीहरूलाई हस्तक्षेप गर्न चाहन्छस् भने, तैँले बाधा र अवरोध निम्त्याएको हुनेछस्, र अन्त्यमा, परिस्थितिहरू तेरा चाहनाविपरीत हुन जाने मात्र होइन, त्योभन्दा पनि बढी, तैँले आफूप्रति छोराछोरीमा घृणा महसुस गराउनेछस्, र तेरो जीवन पनि निकै थकाइलाग्दो हुनेछ। अन्त्यमा, तँसित गुनासै गुनासो हुनेछ, र तैँले तेरा छोराछोरी तँप्रति कर्तव्यनिष्ठ, आज्ञाकारी, वा विचारशील छैनन् भनी असन्तुष्टि पोख्नेछस्; तैँले उनीहरू कृतघ्न, बैगुनी, र बेफिक्र कुलाङ्गारहरू हुन् भनी असन्तुष्टि पोख्नेछस्। कतिपय यस्ता अभद्र र अविवेकी आमाबुबाहरू हुन्छन् जो रुन्छन्, दुखेसो पोख्छन्, र आत्महत्या गर्ने धम्कीसमेत दिन्छन्, र आफूले सक्ने जस्तोसुकै चालबाजी प्रयोग गर्छन्। यो त झनै घिनलाग्दो कुरा हो, होइन र? (हो।) यदि तँ बुद्धिमान् होस् भने, तैँले परिस्थितिलाई स्वाभाविक नियमअनुसार चल्न दिनेछस्, ढुक्‍कसाथ आफ्नो जीवन जिउनेछस्, र बस आमाबुबाको रूपमा आफ्ना जिम्मेवारीहरू मात्र पूरा गर्नेछस्। यदि तँ छोराछोरीको रेखदेख गर्न र स्नेहको लागि उनीहरूको केही वास्ता देखाउन चाहन्छु भन्छस् भने, तँलाई उनीहरूप्रति आवश्यक वास्ता देखाउन अनुमति छ। मैले यो भनिरहेको छैन कि छोराछोरी वयस्क बन्नेबित्तिकै र आमाबुबाले आफ्ना जिम्मेवारीहरू पूरा गरिसक्‍नेबित्तिकै, तिनीहरूले छोराछोरीसँग सम्बन्ध तोड्नुपर्छ। आमाबुबाले वयस्क छोराछोरीलाई पूर्ण रूपमा बेवास्ता गर्नु हुँदैन, उनीहरूले जति ठूला समस्याहरू भोगे पनि—ती कठिनाइले उनीहरूलाई मृत्युको मुखमा पुर्‍याउँदा पनि—आमाबुबाले ती सबै उनीहरू आफैलाई सम्हाल्न लगाउने वा उनीहरूलाई बेवास्ता गर्ने—वा छोराछोरीलाई आमाबुबाको खाँचो पर्दा सहयोग गर्न अस्वीकार गर्नु हुँदैन। यो पनि गलत हो—यो अति नै हुनु हो। तेरा छोराछोरीले तँलाई गोप्य कुरा सुनाउनुपर्‍यो भने, तैँले उनीहरूको कुरा सुनिदिनुपर्छ, र सुनेपछि, तैँले उनीहरू के सोचिरहेका छन् र के गर्न चाहन्छन् भनी सोध्नुपर्छ। तैँले तेरा सुझावहरू पनि दिन सक्छस्। यदि उनीहरूका आफ्नै सोच र योजनाहरू छन्, र उनीहरूले तेरा सुझावहरू स्विकार्दैनन् भने, यति मात्र भन्: “ठिक छ। तँ आफैले निर्णय गरिसकेकोले, यसबाट भविष्यमा जेजस्ता परिणामहरू आए पनि त्यो तैँले नै बेहोर्नुपर्नेछ। यो तेरो जीवन हो। तैँले आफ्नो जीवन मार्ग आफैले हिँडेर सकाउनुपर्छ। तेरो जीवनको जिम्मेवारी अरू कसैले लिन सक्दैन। यदि तैँले निर्णय गरिसकेको छस् भने, म तँलाई साथ दिनेछु। यदि तँलाई पैसा चाहिन्छ भने, म अलिअलि दिन सक्छु। यदि तँलाई मेरो मद्दत चाहिन्छ भने, म आफ्नो क्षमताले भ्याएसम्म तँलाई मद्दत गर्न सक्छु। आखिर म तेरो अभिभावक हुँ, त्यसैले थप केही भनिरहन आवश्यक छैन। तर यदि तँ मेरो मद्दत वा पैसा चाहिँदैन भन्छस् र मैले तेरो कुरा सुनिदिऊँ भन्‍ने मात्र चाहन्छस् भने, त्यो त झनै सजिलो भो।” त्यसपछि तैँले जे भन्नुपर्ने थियो त्यो भनिसकेको हुनेछस्, र उनीहरूले जे भन्नुपर्ने थियो त्यो भनिसकेका हुनेछन्; उनीहरूका सबै गुनासो व्यक्त गरिसकिएको हुनेछ, उनीहरूको सबै रिस पोखिसकिएको हुनेछ। अनि, उनीहरूले आफ्नो आँसु पुछ्नेछन्, आफूले गर्नुपर्ने काम गर्नेछन्, र तैँले तेरा अभिभावकीय जिम्मेवारीहरू पूरा गरिसकेको हुनेछस्। यो स्नेहको कारणले गरिन्छ; यसलाई स्नेह नै भनिन्छ। यस्तो किन हुन्छ? किनभने आमाबुबाको नाताले तँसँग आफ्ना छोराछोरीप्रति कुनै दुर्भावपूर्ण अभिप्राय हुँदैन। तैँले उनीहरूलाई हानि गर्नेछैनस्, उनीहरूविरुद्ध युक्ति रच्नेछैनस्, वा उनीहरूलाई गिज्याउनेछैनस्, र उनीहरू कमजोर र अयोग्य भएको भन्दै निश्‍चय नै उनीहरूलाई गिल्ला गर्नेछैनस्। तेरा छोराछोरीले साना बच्चाबच्चीझैँ तँसामु असंयमित भई रुन, भावना पोख्‍न, र गुनासो गर्न सक्छन्; उनीहरू पुलपुले, सन्काहा, वा मनोमानी हुन सक्छन्। तर भावना व्यक्त गर्ने, रिसाउने र मनोमानी गर्ने काम गरिसकेपछि, उनीहरूले आफूले गर्नुपर्ने काम गर्नैपर्छ, र आफुसामुन्ने रहेको कुरा सम्हाल्नैपर्छ। यदि तैँले उनीहरूको निम्ति केही नगरीकनै वा उनीहरूलाई केही मद्दत नदिईकनै, उनीहरूले त्यो कुरा हासिल गर्न सक्छन् भने, त्यो धेरै राम्रो हो, र त्यसपछि तँसित थप फुर्सद हुनेछ, हैन र? अनि, तेरा छोराछोरीले ती कुराहरू भनेकाले, तँमा केही आत्मचेतना पनि हुनुपर्छ। तेरा छोराछोरी हुर्केबढेका छन्, अब उनीहरू स्वतन्त्र छन्। उनीहरूले तँसित त्यस मामलाबारे बोल्न मात्र चाहेका हुन्, तेरो मद्दत मागेका होइनन्। यदि तँसित समझ छैन भने, तैँले यस्तो सोच्‍न सक्छस्: “यो महत्त्वपूर्ण मामला हो। तैँले मलाई त्यसबारे बताउनुले तँ मलाई आदर गर्छस् भन्‍ने देखाउँछ, त्यसैले के मैले तँलाई त्यसबारे केही परामर्श दिनुपर्दैन र? के मैले तँलाई निर्णय गर्न मद्दत गर्नुपर्दैन र?” यो त आफ्नै क्षमताहरूको अधिमूल्यन गर्नु हो। तेरा छोराछोरीले तँसित त्यसबारे कुरा मात्र गरिरहेका थिए, तर तँ आफूलाई महत्त्वपूर्ण व्यक्तिजस्तो ठानिरहेको छस्। यो उचित होइन। तेरा छोराछोरीले तँलाई त्यो मामलाबारे बताए, किनभने तँ उनीहरूको अभिभावक होस्, र उनीहरूले तँलाई आदर र भरोसा गर्छन्। वास्तवमा, त्यसबारे उनीहरूसँग केही समयदेखि नै आफ्नै विचारहरू थिए, तर अहिले तँ त्यसमा हस्तक्षेप गर्न चाहिरहन्छस्। त्यो उचित होइन। तेरा छोराछोरीले तँलाई भरोसा गर्छन्, र तँ त्यो भरोसाको लायक हुनैपर्छ। तैँले उनीहरूको निर्णयको सम्मान गर्नुपर्छ, र उक्त मामलामा संलग्न हुनु वा हस्तक्षेप गर्नु हुँदैन। यदि उनीहरू तँलाई संलग्‍न गराउन चाहन्छन् भने, तँ संलग्‍न हुन सक्छस्। अनि मानौँ, तँ संलग्न हुँदा तैँले यस्तो महसुस गरिस् रे: “ओहो, यो त निकै अप्ठ्यारो कुरा रहेछ! यसले मेरो कर्तव्यपालनमा असर पार्नेछ। म साँच्चिकै यसमा संलग्न हुनै मिल्दैन; परमेश्‍वरको विश्‍वासी भएकोले, मैले यी कामकुरा गर्न मिल्दैन।” त्यसपछि तैँले चाँडोभन्दा चाँडो त्यसबाट आफूलाई अलग्‍याउनुपर्छ। मानौँ, उनीहरू अझै पनि तैँले हस्तक्षेप गरेको चाहन्छन्, र तैँले यस्तो सोचिस् रे: “म हस्तक्षेप गर्नेछैनँ। तैँले यो कुरा आफैले सम्हाल्नुपर्छ। तैँले यो गुनासो गरेको र यो सब बेकामे कुरा बोलेको मैले दयामायाले सुनेकै छु। मैले मेरा अभिभावकीय जिम्मेवारीहरू पूरा गरिसकेको छु। म यस मामलामा कदापि हस्तक्षेप गर्न सक्दिनँ। यो त अग्नि कुण्ड हो, म यसमा हाम फाल्नेछैनँ। यदि चाहन्छस् भने, तँ आफै हाम फाल्।” के यो उचित होइन र? यसलाई अडान लिनु भनिन्छ। तैँले तेरो अडान वा सिद्धान्तहरू कहिल्यै त्याग्नु हुँदैन। आमाबुबाले गर्नुपर्ने कामहरू यिनै हुन्। के तैँले यो कुरा बुझेको छस्? के यी कुराहरू पूरा गर्न सजिला छन्? (सजिला छन्।) वास्तवमा ती पूरा गर्न सजिला छन्, तर यदि तँ सधैँ तेरो भावनाअनुसार व्यवहार गर्छस्, र सधैँ तेरो भावनाको उल्झनमा फस्छस् भने, ती कुराहरू पूरा गर्न तँलाई धेरै कठिन हुनेछ। तँलाई त्यसो गर्नु निकै हृदयविदारक हुन्छ, तैँले यो मामला त्याग्न सक्दैनस्, र तैँले यो बोझ थेग्न, वा त्यसलाई सामना गर्न वा त्यसबाट पछि हट्न पनि सक्दैनस् भन्‍ने महसुस हुनेछ। यसलाई व्याख्या गर्न कुन शब्द प्रयोग गर्न सकिन्छ? “अल्झिएको।” तँ त्यसमा अल्झिएको हुनेछस्। तँ परमेश्‍वरका वचन सुन्‍न र सत्यता अभ्यास गर्न चाहन्छस्, तर आफ्ना भावनाहरू त्याग्न सक्दैनस्; तँ आफ्ना छोराछोरीलाई औधी प्रेम गर्छस्, तर तँलाई त्यसो गर्नु उचित होइन र त्यो परमेश्‍वरका शिक्षा र परमेश्‍वरका वचनहरूविरुद्ध जान्छ भन्‍ने लाग्छ—तँ समस्यामा छस्। तैँले एउटा निर्णय गर्नैपर्छ। कि त तैँले सन्तानप्रतिका तेरा अपेक्षाहरू त्यागेर अबउप्रान्त छोराछोरीलाई व्यवस्थापन गर्ने कोसिस नगरी, उनीहरू स्वतन्त्र वयस्कहरू भएकाले उनीहरूलाई स्वतन्त्र उड्न दिन सक्छस्, कि त तैँले उनीहरूलाई पछ्याएको पछ्यायै गर्न सक्छस्। तैँले यी दुईमध्ये एउटा विकल्प रोज्नैपर्छ। यदि तैँले परमेश्‍वरको मार्ग पछ्याउने र परमेश्‍वरका वचनहरू सुन्न रोजिस्, र तैँले तेरा छोराछोरीप्रतिका चिन्ता र भावनाहरू त्यागिस् भने, तैँले आमाबुबाले गर्नुपर्ने काम गर्नुपर्छ, आफ्ना अडान र सिद्धान्तहरूमा अडिग रहनुपर्छ, र परमेश्‍वरलाई घिन र वाकवाक लाग्ने कामहरू गर्नबाट टाढा रहनुपर्छ। के तैँले यसो गर्न सक्छस्? (सक्छु।) वास्तवमा, यी कुराहरू गर्न सजिलो छ। तैँले आफूमा भएको अलिअलि स्नेह त्याग्नेबित्तिकै, यी कुराहरू पूरा गर्न सक्छस्। यसको सबैभन्दा सरल तरिका भनेको आफ्ना छोराछोरीको जीवनमा संलग्न नहुनु र उनीहरूलाई जे गर्ने चाहना छ त्यो गर्न दिनु हो। यदि उनीहरू आफ्ना कठिनाइहरूबारे तँसित कुरा गर्न चाहन्छन् भने, उनीहरूको कुरा सुन्। तैँले परिस्थिति के-कस्तो छ भनी थाहा पाए पुग्छ। उनीहरूले बोलिसकेपछि, उनीहरूलाई यसो भन्: “मैले तेरो कुरा सुनेँ। के तँ मलाई अरू केही भन्न चाहन्छस्? यदि तँ केही खान चाहन्छस् भने, म पकाइदिन सक्छु। यदि चाहँदैनस् भने, तँ घर जान सक्छस्। यदि तँलाई पैसा चाहिएको छ भने, म अलिअलि दिन सक्छु। यदि तँलाई केही मद्दत चाहिएको भने, म आफूले सकेजति गर्नेछु। तर सकिनँ भने, तैँले आफै समाधान खोज्नुपर्छ।” यदि उनीहरू तैँले उनीहरूलाई मद्दत गर्नैपर्छ भनी जिद्दी गर्छन् भने, तैँले यसो भन्न सक्छस्: “हामीले तँप्रतिका हाम्रा जिम्मेवारीहरू पूरा गरिसकेका छौँ। हामीमा यति मात्र क्षमता छ, तैँले देख्न सक्छस्—हामी तँजति दक्ष छैनौँ। यदि तँ सांसारिक सफलता खोज्न चाहन्छस् भने, त्यो तेरो आफ्नै कुरा हो, हामीलाई त्यसमा मुछ्ने कोसिस नगर्। हामी निकै पाका भइसकेका छौँ, हाम्रो लागि त्यस्तो गर्ने समय गुज्रिसकेको छ। हाम्रो अभिभावकीय जिम्मेवारी तँलाई वयस्कतासम्म हुर्काउनु मात्र थियो। जहाँसम्म तैँले कस्तो मार्ग रोज्छस्, र आफूलाई कसरी सताउँछस् भन्‍ने सवाल छ, हामीलाई यी मामलाबाट अलग्गै राख्। हामी आफूलाई तँसँगसँगै सताउनेछैनौँ। तेरो हकमा, हामीले हाम्रो मिसन पूरा गरिसकेका छौँ। हाम्रा आफ्नै मामला, आफ्नै जिउने शैली, र आफ्नै मिसनहरू छन्। हाम्रो मिसन तेरो निम्ति काम गर्नु होइन, र ती पूरा गर्न हामीलाई तेरो मद्दत पनि चाहिँदैन। हाम्रा मिसनहरू हामी आफै पूरा गर्नेछौँ। हामीलाई तेरो दैनिक जीवन वा अस्तित्वमा सामेल हुन अनुरोध नगर्। ती कुराको हामीसँग कुनै सम्बन्ध छैन।” आफ्नो कुरा प्रस्टसँग राख्, अनि कुरा त्यहीँ सक्किनेछ; त्यसपछि आवश्यकताअनुसार, तैँले उनीहरूसित सम्पर्कमा रहन, कुराकानी गर्न र भेट्न सक्छस्। यो यति सजिलो कुरा हो! यस्तो व्यवहार गर्नुका फाइदाहरू के छन्? (यसले जीवन एकदमै सजिलो बनाउँछ।) कम्तीमा पनि, तैँले दैहिक र पारिवारिक प्रेमको मामला उचित रूपमा र राम्रो तरिकाले सम्हालेको हुनेछस्। तेरा मानसिक र आत्मिक संसार सहज बन्नेछन्, तैँले कुनै अनावश्यक त्याग वा अतिरिक्त मूल्य तिर्ने काम गर्नेछैनस्; तँ परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित रहनेछस्, र यी सबै कुराहरू उहाँलाई सम्हाल्न दिनेछस्। तैँले मानिसहरूले पूरा गर्नुपर्ने हरेक जिम्मेवारीहरू पूरा गरिरहेको हुनेछस्, र मानिसहरूले गर्न नहुने कुनै पनि काम गरिरहेको हुनेछैनस्। तैँले मानिसहरूले गर्न नहुने कामहरूमा संलग्न हुन हात फैलाइरहेको हुनेछैनस्, बरु परमेश्‍वरले भन्‍नुभएअनुसार जिइरहेको हुनेछस्। परमेश्‍वरले मानिसहरूलाई जिउन लगाउनुहुने तरिका नै सर्वोत्तम मार्ग हो, यसले तिनीहरूलाई निकै तनावरहित, खुसी, रमाइलो र शान्तिपूर्ण जीवन जिउन सक्षम तुल्याउन सक्छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, यसरी जिउँदा तँलाई यसले आफ्नो कर्तव्य राम्ररी निभाउन र आफ्नो कर्तव्यप्रति निष्ठा देखाउन थप समय र ऊर्जा दिने मात्र होइन, तँसित सत्यतातर्फ प्रयत्न लगाउन थप ऊर्जा र समय पनि हुनेछ। यसविपरीत, यदि तेरो ऊर्जा र समय तेरो भावना, तेरो देह, तेरा छोराछोरी, र परिवारप्रतिको तेरो प्रेममा अल्झिएका र खर्चिएका छन् भने, सत्यता पछ्याउन तँसित कुनै थप ऊर्जा हुनेछैन। के त्यो साँचो होइन र? (हो।)

जब मानिसहरू सांसारिक करियरमा संलग्न हुन्छन्, तब तिनीहरूले सांसारिक प्रवृत्ति, प्रतिष्ठा र नाफा, र देहसुख पछ्याउनेबारे मात्र सोच्छन्। यसबाट के निष्कर्ष निकाल्‍न सकिन्छ? यो कि तेरो सारा शक्ति, समय र बैँस यी कुराहरूमै केन्द्रित हुन्छन् र यी कुराहरूमै सकिन्छन्। के यी कुराहरू अर्थपूर्ण छन्? तैँले यी कुराहरूबाट अन्त्यमा के प्राप्त गर्नेछस्? तैँले प्रतिष्ठा र नाफा प्राप्त गरे पनि, त्यो रित्तो नै हुनेछ। तर तैँले आफ्नो जियाइ शैलीमा बदलाव ल्याइस् भने के हुन्छ? यदि तैँले आफ्नो समय, शक्ति र मस्तिष्कलाई सत्यता र सिद्धान्तहरूमा मात्र लगाउँछस् भने, र यदि तैँले आफ्नो कर्तव्य कसरी राम्ररी निभाउने, र कसरी परमेश्‍वरसामु आउने भन्‍नेजस्ता सकारात्मक कुराहरूबारे मात्र सोच्छस् भने, र यदि तैँले आफ्नो शक्ति र समयलाई यी सकारात्मक कुराहरूमा अर्पित गर्छस् भने, तैँले प्राप्त गर्ने कुरा फरक हुनेछ। यसरी तैँले प्राप्त गरेको कुरा सबैभन्दा तात्त्विक लाभ हुनेछ। अनि, तैँले कसरी जिउने, कस्तो उचित स्वव्यवहार देखाउने, हर प्रकारको व्यक्ति, घटना र वस्तुलाई कसरी सामना गर्ने भनी जान्नेछस्। जब तैँले हर प्रकारको व्यक्ति, घटना र वस्तुलाई सामना गर्न जानेको हुन्छस्, तब धेरै हदसम्म यसले तँलाई स्वाभाविक रूपमै परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्षम तुल्याउनेछ। जब तँ स्वाभाविक रूपमै परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छस्, तब थाहै नपाई, तँ परमेश्‍वरले स्विकार्नुहुने र प्रेम गर्नुहुने व्यक्ति बन्नेछस्। यसबारे सोच् त, के त्यो राम्रो कुरा होइन र? सायद तँलाई अझै यो कुरा अझै थाहा छैन होला, तर तैँले आफ्नो जीवन जिउने, र परमेश्‍वरका वचन र सत्यता सिद्धान्तहरू स्विकार्ने क्रममा, तैँले अनजानमै परमेश्‍वरका वचनअनुसार जीवन जिउने, मानिसहरू र कामकुराहरूलाई हेर्ने, र आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने गर्नेछस्। यसको मतलब, तँ अचेतन रूपमै परमेश्‍वरका वचनप्रति समर्पित हुनेछस्, उहाँका मापदण्डहरूमा समर्पित हुनेछस्। त्यसपछि तँ थाहै नपाई परमेश्‍वरले स्वीकार, भरोसा र प्रेम गर्नुहुने व्यक्ति बनिसकेको हुनेछस्। के त्यो सानदार कुरो होइन र? (हो।) त्यसकारण, यदि तैँले आफ्नो शक्ति र समयलाई सत्यता पछ्याउन र कर्तव्य राम्ररी निभाउनमा अर्पित गर्छस् भने, तैँले अन्त्यमा सबैभन्दा मूल्यवान् कुराहरू प्राप्त गर्नेछस्। यसको उल्टो, यदि तँ सधैँ तेरो भावना, देह, तेरा छोराछोरी, तेरो काम, र प्रतिष्ठा र नाफाको निम्ति जिइरहेको हुन्छस्, र सधैँ यी कुराहरूमै अल्झिन्छस् भने, तैँले अन्त्यमा के प्राप्त गर्नेछस्? केवल शून्यता। तैँले बिलकुलै केही प्राप्त गर्नेछैनस्, र तँ परमेश्‍वरबाट झन्झन् टाढिनेछस्, र अन्त्यमा परमेश्‍वरद्वारा पूरै तिरस्कृत हुनेछस्। त्यसपछि, तेरो जीवन समाप्त हुनेछ, र तैँले मुक्ति प्राप्त गर्ने मौका गुमाएको हुनेछस्। त्यसकारण, आमाबुबाले वयस्क छोराछोरीको सन्दर्भमा आफ्ना सबै भावनात्मक चिन्ता, लगाव र उल्झनहरू त्याग्नुपर्छ, चाहे तिनीहरूमा उनीहरूप्रति जस्तासुकै अपेक्षाहरू नै किन नहोऊन्। तिनीहरूले आमाबुबाको हैसियत वा स्थानबाट छोराछोरीमाथि कुनै भावनात्मक अपेक्षाहरू राख्नु हुँदैन। यदि तैँले यी कुराहरू पूरा गर्न सकिस् भने, गज्जब हुनेछ! कम्तीमा पनि, तैँले आफ्ना अभिभावकीय जिम्मेवारीहरू पूरा गरेको हुनेछस्, र तँ परमेश्‍वरको नजरमा एक स्वीकार्य व्यक्ति हुनेछस्, जो आफैमा एक अभिभावक पनि हो। तैँले यसलाई जे-जस्तो मानव दृष्टिकोणबाट हेरे पनि, मानिसहरूले के गर्नुपर्छ र कस्तो दृष्टिकोण र अडान लिनुपर्छ भन्‍ने कुराका सिद्धान्तहरू हुन्छन्, र यी कुराहरूको सन्दर्भमा परमेश्‍वरसित मानकहरू छन्, के यो सही होइन र? (हो।) आमाबुबाले आफ्ना सन्तानप्रति राख्ने अपेक्षा र आफ्ना छोराछोरी वयस्कतामा पुगेपछि तिनीहरूले अभ्यास गर्नुपर्ने सिद्धान्तहरूमाथिको हाम्रो सङ्गति अब यहीँ टुङ्ग्याऔँ। जयमसीह!

मे २१, २०२३

अघिल्लो: सत्यता कसरी पछ्याउने (१७)

अर्को: सत्यता कसरी पछ्याउने (१९)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्