सत्यता कसरी पछ्याउने (१४)

पछिल्लोपटक, हामीले मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्‍ने भन्‍ने फराकिलो विषयभित्र पर्ने र परिवारसँग सम्बन्धित कुराहरूबारे सङ्गति गर्‍यौँ—अनि हाम्रो सङ्गति परिवार भन्‍ने विषयको कुन भागमा थियो? (पछिल्लोपटक, परमेश्‍वरले पारिवारिक शिक्षणबाट आउने केही भनाइहरूबारे सङ्गति गर्नुभयो, जस्तै “सँगै हिँड्ने तीन जनामध्ये, कम्तीमा एक जना मेरो शिक्षक हुन सक्छ,” “यदि तँ मानिसहरूको नजरमा मर्यादित देखिन चाहन्छस् भने, तैँले तिनीहरूले नदेखेको बेला कष्ट भोग्‍नुपर्छ,” “जसरी एउटा बारलाई तीन घोचाको आड चाहिन्छ, त्यसरी नै एक सक्षम मानिसलाई पनि तीन व्यक्तिको साथ चाहिन्छ,” “महिलाले आफ्‍नो सराहना गर्नेहरूको लागि आफूलाई सुन्दर बनाउँछे, जबकि पुरुषले उसलाई बुझ्नेहरूको लागि आफ्नो ज्यान बलिदान दिन्छ,” “छोरीहरूलाई धनी सन्तानजस्तो हुर्काउनुपर्छ, र छोराहरूलाई गरिब सन्तानजस्तो हुर्काउनुपर्छ,” “मानिसहरूलाई धेरै आइक्यू चाहिँदैन, तर धेरै इक्यू भने हुनुपर्छ,” “कसैले घण्टी बजाए, त्यसको आवाज सुन्‍नुपर्छ; कसैले केही बोले, उसको आवाज सुन्‍नुपर्छ,” र “आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ।” जम्‍मा गरी, यी आठ भनाइहरूबारे छलफल गरिएको थियो।) हामीले पारिवारिक शिक्षण त्याग्‍नेबारे सङ्गति गर्‍यौँ, र यो विषयवस्तुले व्यक्तिका विचारहरू सम्बन्धमा पारिवारिक शिक्षण र शिक्षा समेटेको थियो। केही भनाइहरूबारे विस्तृत रूपमा सङ्गति गरिएको थियो, जबकि अन्य भनाइहरूबारे भने संक्षिप्त रूपमा मात्रै उल्लेख गरियो र विशिष्टीकृत रूपमा सङ्गति गरिएन। हरेक व्यक्तिको जीवनमा परिवारको ठूलो महत्त्व रहेको हुन्छ। यो मानिसहरूका यादहरू सिर्जित हुने, तिनीहरू हुर्कने-बढ्ने, र तिनीहरूका विविध विचारहरू सुरु हुने थलो हो। मानिसहरूले कसरी व्यवहार गर्छन्, कस्तो बानीबेहोरा देखाउँछन्, कसरी विभिन्‍न कुराहरू सम्हाल्छन्, कसरी अरूसँग अन्तरक्रिया गर्छन्, कसरी विभिन्‍न परिस्थितिहरू सामना गर्छन्, र ती परिस्थितिहरू सामना गर्दा, तिनीहरूले कसरी निर्णय लिनुपर्छ र कुन दृष्टिकोण र विचारद्वारा यी मामिलाहरू सम्हाल्नुपर्छ, भन्‍नेजस्ता कुराहरू, चाहे तिनीहरूको विचार र दृष्टिकोण प्रारम्भिक रूपको होस् वा अझै बढी ठोस होस्, यी सबै कुरा धेरै हदसम्म पारिवारिक शिक्षणमा आधारित हुन्छन्। अर्थात्, मानिसहरू औपचारिक रूपमा समाज प्रवेश गर्दै सामाजिक समूहहरूमा सामेल हुनुपहिले, तिनीहरूको विचार र दृष्टिकोणका भ्रूण चरणहरू सबै तिनीहरूको परिवारबाटै आउँछन्। तसर्थ, हरेक व्यक्तिको लागि परिवार अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यसको महत्त्व शारीरिक वृद्धिभन्दा पनि धेरै माथिसम्‍मको हुन्छ; अझै महत्त्वपूर्ण कुरा त, मानिसहरू समाज प्रवेश गर्नुपहिले नै तिनीहरूले घरैमा समाज, सामाजिक समूहहरू र आफ्नो भावी जीवनलाई कसरी लिने भन्‍नेसम्बन्धमा लागू गरिने धेरै विचार र दृष्टिकोणहरू सिक्छन्। व्यक्ति परिपक्‍व हुँदै जाँदा यी विचार र दृष्टिकोणहरू विशिष्टीकृत वा सटीक रूपमा परिभाषित नहुने भए पनि, मानिसहरू समाज प्रवेश गर्नुपहिले नै तिनीहरूका आमाबुबा, अग्रजहरू, वा परिवारका अरू सदस्यहरूले तिनीहरूमा यी विभिन्‍न विचार र दृष्टिकोणहरू, र संसारलाई झेल्‍ने यी विभिन्‍न विधि, नियम, र माध्यमहरू आधारभूत र मुख्य रूपमा हाल्दिइसकेका, प्रभावित पारिसकेका र सिकाइसकेका गराइसकेका हुन्छन्। विचार हालिदिने, प्रभावित पार्ने, र सिकाउने यस्तो अभ्यास मानिसहरू परिवारमा हुर्किँदै गर्दाको अवधिमा हुन्छ; त्यसकारण परिवार हरेक व्यक्तिको लागि अत्यन्तै महत्त्वपूर्ण छ। तर यो महत्त्व अवश्य नै व्यक्ति समाज प्रवेश गर्ने र सामाजिक समूहहरूमा सामेल हुने, अनि वयस्क जीवन र अस्तित्वमा प्रवेश गर्ने स्तरमा मात्रै यो लक्षित हुन्छ—यो शारीरिक अस्तित्वको स्तरमा मात्रै सीमित हुन्छ। यसले समाज र वयस्क जीवनमा प्रवेश गर्ने व्यक्तिको लागि पारिवारिक शिक्षण कति महत्त्वपूर्ण छ भनेर देखाउँछ। भन्‍नुको अर्थ, जब मानिसहरू वयस्क हुन्छन् र समाज प्रवेश गर्छन्, तब संसारसँग व्यवहार गर्ने तिनीहरूका अधिकांश दर्शनहरू आमाबुबाको परम्‍परा र परिवारको प्रभावबाट आएका हुन्छन्। यस दृष्टिकोणबाट हेर्दा, के पनि भन्‍न सकिन्छ भने, समाजको सबैभन्दा सानो एकाइको रूपमा परिवारले व्यक्तिका विचारहरूका साथै दुनियाँसित व्यवहार गर्ने उसका विभिन्‍न तौरतरिका र सिद्धान्तहरू, र जीवनप्रतिको उसको दृष्टिकोणलाई समेत आकार दिनको लागि पहिलो र मुख्य भूमिका खेलेको हुन्छ। यी विभिन्‍न विचारहरू, दृष्टिकोणहरू, दुनियाँसित व्यवहार गर्ने तौरतरिकाहरू, र अस्तित्वसम्‍बन्धी दृष्टिकोणहरू नकारात्मक, सत्यतासँग नमिल्‍ने, सत्यतासँग असम्‍बन्धित, वा सत्यताविपरीत समेत रहने, र ती परमेश्‍वरबाट नआउने हुनाले, मानिसहरूले आफूमाथिको परिवारको शिक्षण त्याग्‍नु जरुरी हुन्छ। पारिवारिक शिक्षणको परिणामबारे विचार गर्दा, हामी यो सत्यतासँग विरोधाभासपूर्ण र त्यससँग मेल नखाने रहेको, र यसले परमेश्‍वरको विरोध गर्ने गरेको देख्‍न सक्छौँ, र मूल रूपमा के भन्‍न सकिन्छ भने, परिवार त्यस्तो थलो हो जहाँ शैतानले मानवजातिलाई भ्रष्ट पार्छ, र मानिसहरूलाई परमेश्‍वरको इन्कार गर्ने, उहाँको विरोध गर्ने र जीवनको गलत मार्ग पछ्याउने बाटोतर्फ लैजान्छ। यस दृष्टिकोणबाट हेर्दा, समाजको सबैभन्दा सानो एकाइको रूपमा परिवार, के मानिसहरूलाई सर्वप्रथम भ्रष्ट पारिने थलो हो भनेर भन्‍न सकिन्छ? शैतान र सामाजिक प्रवृत्तिले मानिसहरूलाई भ्रष्ट पार्छ भनेर भन्‍नु फराकिलो दृष्टिकोणको कुरा हो, र अझै तोकेर भन्दा, परिवारलाई मानिसहरूले सबैभन्दा पहिले भ्रष्टता र नकारात्मक विचारहरू, दुष्ट प्रचलनहरू, र शैतानका दृष्टिकोणहरू स्विकार्ने थलोको रूपमा लिइनुपर्छ। विशिष्टीकृत रूपमा अझ तोकेरै भन्दा, व्यक्तिले स्विकार्ने भ्रष्टता उसका आमाबुबा, अग्रजहरू, परिवारका अन्य सदस्यहरू, र उसको सम्पूर्ण परिवारको रीतिरिवाज, मूल्यमान्यता, परम्परा, आदि इत्यादिबाट उत्पन्‍न भएका हुन्छन्। जे होस्, मानिसहरूले भ्रष्टता सामना गर्ने, र शैतानको दुष्ट विचार र प्रवृत्तिहरू स्विकार्ने उद्‌गम थलो परिवार नै हो, र मानिसहरूले आफ्नो प्रारम्भिक वर्षहरूमा विभिन्‍न भ्रष्ट र दुष्ट विचारहरू स्विकार्न थाल्‍ने थलो यही हो। मानिसहरूलाई भ्रष्ट तुल्याउन परिवारले यस्तो भूमिका खेल्छ जुन समग्र समाज, सामाजिक प्रचलनहरू, वा शैतानले पनि खेल्‍न सक्दैन, र यो भनेको व्यक्ति समाज प्रवेश गर्नुअघि र सामाजिक समूहहरूमा सामेल हुनुअघि उसलाई शैतानको दुष्ट प्रवृत्तिहरूका विभिन्न विचार र दृष्टिकोणहरूबारे परिचित गराउनु हो। तेरा विचार र दृष्टिकोणहरूलाई जे-जसरी आकार दिइए पनि, शैतानसँग सम्बन्धित यी कुराहरूको प्राथमिक स्रोत परिवार नै हो। तसर्थ, मानिसहरूलाई विभिन्‍न गलत विचार र दृष्टिकोणहरू त्याग्‍न मद्दत गर्नको लागि, समाजमा व्यापक रहेका गलत विचार र दृष्टिकोणहरू मात्र होइन, पारिवारिक शिक्षणबाट आउने विभिन्‍न विचार र दृष्टिकोणहरूका साथै दुनियाँसित व्यवहार गर्ने सिद्धान्तहरू पनि चिन्‍नु र चिरफार गर्नु आवश्यक हुन्छ। परिवार आफै पनि सम्पूर्ण मानव समाजको भाग हो, र यो मण्डली वा परमेश्‍वरको घर होइन, र यो पक्‍कै पनि स्वर्गको राज्य होइन। यो त समाजभित्रको भ्रष्ट मानवजातिमाझ सिर्जित सबैभन्दा सानो एकाइ मात्र हो, र यो सानो एकाइ पनि भ्रष्ट मानवजातिद्वारा नै निर्मित भएको हो। तसर्थ, यदि कुनै व्यक्तिले आफूलाई विभिन्‍न गलत विचार र दृष्टिकोणहरूको बाधा, बन्धन, र समस्याहरूबाट मुक्त गर्न चाहन्छ भने, उसले सबभन्दा पहिले पारिवारिक शिक्षणबाट प्राप्त विभिन्‍न विचार र दृष्टिकोणहरू मनन गर्नु, बुझ्नु र चिरफार गर्नुपर्छ, र तिनलाई त्याग्‍न सक्‍ने अवस्थामा पुग्‍नुपर्छ। मानिसहरूमाथिको पारिवारिक शिक्षण त्याग्‍ने अभ्यासको ठ्याक्‍कै सही सिद्धान्त यही हो।

योभन्दा पहिले, हामीले मानिसहरूमाथिको पारिवारिक शिक्षणबारे सङ्गति गर्‍यौँ, जसमा जीवनप्रतिको तिनीहरूको दृष्टिकोण, अस्तित्वजीवी नियमहरू, आनीबानी प्रस्तुत गर्ने र दुनियाँसित व्यवहार गर्ने सिद्धान्त र तौरतरिकाहरू, र समाज प्रवेश गर्दा पालना गर्नुपर्ने केही अलिखित नियमहरूजस्ता मामिलाहरू पर्छन्। यो विषयवस्तुमा संलग्‍न जीवनसम्‍बन्धी केही दृष्टिकोणहरू के-के हुन्? उदाहरणको लागि, “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ,” अनि “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ।” परिवारले मानिसहरूमा हालिदिने दुनियाँसित व्यवहार गर्ने केही सिद्धान्तहरू के-के हुन्? यसका उदाहरणहरूमा यी कुराहरू पर्छन्: “सद्भाव खजाना हो; धैर्यता सान हो,” अनि “सम्झौता गरे द्वन्द्व समाधान गर्न सजिलो हुन्छ।” अरू के छन्? (“जसरी एउटा बारलाई तीन घोचाको आड चाहिन्छ, त्यसरी नै एक सक्षम मानिसलाई पनि तीन व्यक्तिको साथ चाहिन्छ,” र “कसैले घण्टी बजाए, त्यसको आवाज सुन्‍नुपर्छ; कसैले केही बोले, उसको आवाज सुन्‍नुपर्छ।” यी दुनियाँसित व्यवहार गर्ने तौरतरिका र सिद्धान्तहरू पनि हुन्।) के यस सम्बन्धमा कुनै सामाजिक नियमहरू पनि छन्? जस्तै, “थुतुनो निकाल्‍नेलाई नै पहिले प्रहार गरिन्छ”? (हो।) “धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ।” अरू के छन्? (जस्तालाई त्यस्तै, ढिँडोलाई निस्तै।) त्यो पनि हो, तर हामीले पछिल्लोपटक यसबारे सङ्गति गरेनौँ। यसबाहेक, तेरा आमाबुबाले तँलाई बारम्‍बार भनेका होलान्, “बाहिर संसारमा तेरो मूल्याङ्कन क्षमता प्रखर हुनुपर्छ, तँ मीठो बोल्‍नुपर्छ, र आँखा चनाखो हुनुपर्छ। त्यसैले, तैँले ‘हरेक बाटो नियाल, र हरेक दिशामा कान थाप।’ एकोहोरो नबन्।” त्यसै गरी, यी भनाइहरू पनि छन्, “कसैको प्रशंसा गर्दा कहिल्यै चोट लाग्दैन,” अनि “जस्तो पर्‍यो त्यस्तै टर्छ। सबै हाकिम भए कानुन केको लागि। शङ्का लागे भीड पछ्याउनु।” यी सबै नै यससम्बन्धी विविध नियमहरू हुन्। अनि त्यसपछि, यस्ता भनाइहरू पनि छन्, “महिलाले आफ्‍नो सराहना गर्नेहरूको लागि आफूलाई सुन्दर बनाउँछे, जबकि पुरुषले उसलाई बुझ्नेहरूको लागि आफ्नो ज्यान बलिदान दिन्छ,” र “कुरूप महिलाहरू हुँदैनन्, र हुन्छन् नै भने अल्छी मात्र हुन्छन्।” यी भनाइहरू कुन वर्गमा पर्छन्? यी भनाइहरू दैनिक जीवनको वर्गमा पर्छन्; यिनले तँलाई कसरी बाँच्ने र आफ्‍नो भौतिक शरीरलाई कसरी लिने भनेर बताउँछन्। त्यसपछि यस्ता भनाइहरू पनि छन्, “आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ,” “आमा संसारकै सर्वश्रेष्ठ हुन्,” “बाठो हाँसले खराब अण्डा कहिल्यै पार्दैन,” र “शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो।” यी भनाइहरू पारिवारिक स्‍नेह र भावनाका विचार र दृष्टिकोणहरूसित सम्बन्धित छन्। त्यसै गरी, मानिसहरूले प्रायजसो भनिरहन्छन्, “जिउँदाहरूको नजरमा मृतहरू महान् हुन्छन्”—अर्थात्, व्यक्ति मरेपछि, ऊ महान् बन्छ। यदि तँ उच्‍च हैसियत पाउन चाहन्छस् भने, यदि तँ मानिसहरूले तेरो बारे राम्रो बोलेको र तँलाई आदर गरेको चाहन्छस् भने, तैँले मर्नैपर्छ। अनि मरेपछि, तँ महान् बन्‍नेछस्। “जिउँदाहरूको नजरमा मृतहरू महान् हुन्छन्”—यो तर्क हास्यास्पद छ होइन र, कि कस्तो छ? तिनीहरू भन्छन्, “मान्छे मरेपछि उसको बारेमा नराम्रो केही नभन्‍नू। जिउँदाहरूको नजरमा मृतहरू महान् हुन्छन्। तिनीहरूलाई केही सम्‍मान देऊ!” यस व्यक्तिले जतिसुकै नराम्रा कामहरू गरेको भए पनि, ऊ मरेपछि महान् बन्छ। के यसले मानिसहरूले गर्ने व्यवहारमा असल र खराबबीचको भिन्‍नतासम्‍बन्धी पूर्ण समझहीनता र सिद्धान्तहरूको कमी देखाउँदैन र? (देखाउँछ।) “आमाबुबाले भनेको कुरा सधैँ सही हुन्छ।” हामीले पछिल्लोपटक यसबारे विस्तृतमा सङ्गति गरेका थियौँ। “शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो,” र “बाठो हाँसले खराब अण्डा कहिल्यै पार्दैन,” जस्ता भनाइहरू त्यो सङ्गतिमा सामेल गरिएका थिएनन्, तर के ती खुट्याउन सजिला छैनन् र? के “शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो” भन्‍ने भनाइ सही छ त? यसले बुबाको शिक्षा धेरै महत्त्वपूर्ण हुन्छ जस्तो देखाउँछ। अनि, त्यो बुबाले मानिसहरूलाई कस्तो बाटोमा डोर्‍याउन सक्छ? के उसले तँलाई सही बाटोमा डोर्‍याउन सक्छ? के उसले तँलाई परमेश्‍वरको आराधना गर्न र साँच्‍चै असल व्यक्ति बन्‍न अगुवाइ गर्न सक्छ? (सक्दैन।) तेरो बुबाले तँलाई भन्छ, “पुरुषले सजिलै आँसु झार्दैन,” तर तँ सानै हुन्छस्, र अन्यायमा परेको महसुस हुँदा रुन्छस्। तेरो बुबाले तँलाई यसो भन्दै हप्काउँछ, “नरू! छोरा मान्छेजस्तो बन्। तँ सानोतिनो कुरामा पनि रुन्छस्, तेरो काम छैन!” यो घटनापछि तैँले सोच्छस्, “मैले अब आँसु झार्नु हुँदैन; म रोएँ भने म व्यर्थ बन्छु।” अनि, तैँले आफ्‍नो आँसु रोक्छस्, रुने आँट गर्दैनस्, र राती एकान्तमा लुकेर रुन्छस्। पुरुषको रूपमा, तँसँग आफ्ना भावनाहरू प्राकृतिक रूपमा पोख्‍ने वा देखाउने अधिकार पनि हुँदैन; तँसँग रुने अधिकार पनि हुँदैन, अन्यायमा परेको महसुस हुँदा पनि तैँले त्यो कुरा लुकाएरै राख्‍नुपर्छ। त्यो तैँले तेरो बुबाबाट प्राप्त गरेको शिक्षा हो, र “शिक्षा नदिई पालनपोषण गर्न बुबाको गल्ती हो” भन्‍ने भनाइको साँचो अर्थ यही हो। तेरा बुबा, आमा, र पुरानो पुस्ताका सबैजना यही शिक्षामा अडिग रहन्छन् र भन्छन्, “तँ फुच्‍चे, सानो कुरामा पनि रुन्छस्, अन्यायमा परेको महसुस हुँदा पनि रुन्छस्, र बाहिर कुटाइ खाँदा पनि रुन्छस्। तँ केही न कामको छस्! तिनीहरूले तँलाई कुट्दा, तैँले पनि किन कुटिनस्? तिनीहरूले कुट्छन् भने, अबदेखि तिनीहरूसँग नखेल्। तिनीहरूलाई फेरि भेट्दा, कुट्न सक्छु जस्तो लाग्यो भने कुट्; कुट्न सक्दैनस् भने भाग्। हान सिनले[क] कसरी अर्काको खुट्टामुनि छिर्न बाध्य हुँदै अपमान सह्यो। तर ऊ रोएन; छोरा मान्छे त त्यस्तो पो हुनुपर्छ त!” यसरी नै बुबाले आफ्ना छोराहरूलाई शिक्षा दिन्छ र तिनीहरूमा साँचो पुरुष बन्‍ने विचार हालिदिन्छ। पुरुषहरूले आफ्ना समस्याहरूबारे कुरा गर्नु र आँसु झार्नु हुँदैन; तिनीहरूले त्यो रोकेर राख्‍नुपर्छ। मलाई भन् त, पुरुषहरूले कति अन्याय सहनुपर्छ? यो समाजमा, पुरुषहरूले आफ्नो परिवार पाल्‍नुपर्छ, आफ्‍ना अग्रजहरूप्रतिको जिम्‍मेवारी पूरा गर्नुपर्छ, र जतिसुकै थकित भए पनि तिनीहरूलाई गुनासो गर्ने हिम्मत हुँदैन। तर जतिसुकै अन्याय सहे पनि तिनीहरूले आक्रोश पोख्‍न सक्दैनन्। के यो पुरुषहरूको लागि अन्यायपूर्ण कुरो होइन र? (हजुर, हो।) तिमीहरूका बुबाले तिमीहरूलाई यसरी शिक्षा दिँदा, तिमीहरूलाई कस्तो लाग्थ्यो? तिमीहरूलाई कहिलेकहीँ रुन मन लाग्दा, तिमीहरूका बुबाले तिमीहरूलाई के भन्थे? “म, फलानो व्यक्ति, सारा जीवनभर बुद्धिमान्‌ रहेँ र उत्कृष्ट बन्‍नमै लागिरहेँ। तैपनि कसरी तँजस्तो कमजोर व्यक्तिलाई हुर्काउन सकेँ? तेरो उमेरको हुँदा त, मैले परिवार पाल्‍न थालिसकेको थिएँ। आफूलाई हेर् त, प्याउलिएर बिग्रेको, तेरो केही काम छैन!” तिमीहरूलाई कस्तो लाग्थ्यो? तेरा आमाबुबा र हजुरबा-हजुरमाले तँलाई यसो भन्दै शिक्षा दिन्थे: “छोरा मान्छे त परिवारको खाँबो हो। हामी किन तँलाई पालनपोषण गर्छौँ? किन तँलाई कलेज पठाउछौँ? तैँले परिवार पाल्‍न सक् भनेर मदत गर्नको लागि पो हो त, कुनै कुरा आइपर्दा तँ रोएको वा अन्याय महसुस गरेको हेर्नको लागि होइन।” तेरा बुबा र अग्रजहरूले यी कुराहरू भन्दा तँलाई कस्तो लाग्थ्यो? तँलाई अन्याय महसुस हुन्थ्यो कि यसलाई स्विकार्थिस्? (मलाई उदास लाग्थ्यो, अन्यायमा परेको महसुस हुन्थ्यो।) तँसँग यो कुरा स्विकार्नेबाहेक अरू कुनै विकल्प हुन्थेन, कि मनमा आक्रोश हुन्थ्यो? (मनमा आक्रोश हुन्थ्यो, तैपनि मैले यो कुरा स्विकार्नुपर्थ्यो।) अनि, किन यसो गर्नुपर्थ्यो? (किनकि मलाई यस्तो परिस्थिति वा सामाजिक प्रणालीमा, मसँग अरू कुनै विकल्प छैन भन्‍ने लाग्थ्यो।) पुरुषहरूलाई समाजले यस्तै स्थानमा राख्छ। तिनीहरू यस्तै सामाजिक परिस्थितिमा जन्मन्छन्, र तिनीहरू कसैसँग पनि विकल्प हुँदैन। तैँले बुबा र अग्रजहरूबाट प्राप्त गरेको शिक्षा समाजबाटै आउँछ; तिनीहरूले यस्तो वैचारिक शिक्षा प्राप्त गरे, अनि समाजका यी सोचहरू तँभित्र हालिदिए। वास्तवमा, जब तिनीहरूले आफ्ना प्रारम्भिक वर्षहरूमा यी विचार र दृष्टिकोणहरू स्विकारे, तिनीहरूले अनिच्छापूर्वक यसो गरेका थिए। तर उमेर बढ्दै जाँदा, तिनीहरूले यी विचारहरू अर्को पुस्तालाई हस्तान्तरण गरे। अर्को पुस्ताले यी विचार र दृष्टिकोणहरू स्विकार्नुपर्छ कि पर्दैन वा ती सही छन् कि छैनन् भनेर तिनीहरूले विचार गरेनन्, किनभने तिनीहरू यसरी नै हुर्केका थिए। तिनीहरूले मानिसहरू यसरी नै बाँच्नुपर्छ भन्‍ने सोचे; तँलाई अन्याय भयो भने के फरक पर्छ र, महत्त्वपूर्ण कुरा के हो भने, यी विचारहरू स्विकारेपछि यिनले तँलाई समाजमा आफ्‍नो स्थान बनाउन मद्दत गर्नेछन् र तैँले अरूको हेपाइ सहनुपर्नेछैन। तिनीहरूले किन तैँले जस्तै यी गुनासाहरू सहेर, उदास र आक्रोशित महसुस गर्दै, यी विचार र दृष्टिकोणहरू तँलाई हस्तान्तरण गरे? यसको एउटा कारण के हो भने, तिनीहरूले सामाजिक प्रचलनमा घुलमिल हुन, र समाजमा आफ्‍नो स्थान बनाउन मद्दत गर्ने समाजका विभिन्‍न विचार र दृष्टिकोणहरू स्वतः स्विकारेका हुन्। हरेक व्यक्तिले जीवनको दिशानिर्देश र मापदण्डहरूको रूपमा यी विचार र दृष्टिकोणहरू पछ्याउँछ, र कसैले पनि यी कुराहरूबारे प्रश्‍न गर्ने वा यिनलाई तोड्ने वा यीविरुद्ध विद्रोह गर्ने इच्छा गर्दैन। यो एउटा पक्ष हो, अर्थात् बाँच्‍नको लागि यसो गर्नुपर्छ। अर्को, र मुख्य पक्ष के हो भने, मानिसहरूमा सकारात्मक र नकारात्मक कुराहरूबीच भिन्‍नता छुट्याउने क्षमताको कमी हुन्छ। किन यस्तो हुन्छ? किनभने मानिसहरू सत्यता बुझ्दैनन्, र तिनीहरूसँग जीवन अस्तित्वबारे, दुनियाँसित के-कसरी व्यवहार गर्ने भन्‍नेबारे, वा तिनीहरूले पछ्याउनुपर्ने मार्गबारे सही विचार र दृष्टिकोणको कमी हुन्छ। यो समाजमा र सामाजिक समूहहरूमा घुलमिल हुन, मिल्‍न, र बाँच्‍नको लागि, सक्रिय वा निष्क्रिय रूपमा मानिसहरूले दुनियाँसित व्यवहार गर्नेबारे समाजले तय गरेकै सिद्धान्त र नियमहरू स्विकार्नुपर्छ। यसरी घुलमिल हुनुको उद्देश्‍य मानिसहरूले आफूलाई समाजमा स्थापित गर्नु र जीवित रहिरहनु हो। तैपनि, मानिसहरूले सत्यता नबुझ्‍ने हुनाले, तिनीहरूसँग समाजले बनाएका यी दुनियाँसित व्यवहार गर्ने सिद्धान्त र नियमहरू चुन्‍नेबाहेक अरू कुनै विकल्‍प हुँदैन। त्यसकारण, पुरुष भएको नाताले तँलाई तेरो बुबाले, “पुरुषले सजिलै आँसु झार्दैन” भनेर सिकाउँदा, तँलाई अन्यायमा परेको महसुस भए पनि र आक्रोश पोख्‍न मन लागे पनि, तँसँग उसको कुरा खण्डन गर्ने कुनै उपाय थिएन, न त तैँले उसको कुराको भित्री वास्तविकता नै खुट्याउन सकिस्। अन्त्यमा, तैँले आफ्‍नो हृदयमा यो कुरा स्विकार्नुको कारण यस्तो थियो, “मेरो बुबाका शब्दहरू अलिक कठोर र सुन्‍न गाह्रो भए पनि, र यी शब्दहरू स्विकार्ने कार्य मेरो इच्छाविपरीत भए पनि, उहाँले मेरै भलाइको लागि यसो भनिरहनुभएको छ, त्यसैले मैले यी शब्‍दहरू स्विकार्नुपर्छ।” सन्तानको रूपमा रहेको विवेक र जिम्‍मेवारीबोधको कारण, मानिसहरूले सम्झौता गरेर यी विचार र दृष्टिकोणहरू स्विकार्नुपर्छ। यो पारिवारिक शिक्षणको जुनसुकै पक्ष भए पनि, मानिसहरू निरन्तर यस्तै स्थितिमा हुन्छन्, र नचाहेर पनि तिनीहरूले यी कुरा नस्विकारेसम्‍म तिनीहरूमा यी कुराहरू निरन्तर हालिरहिन्छ। निरन्तर स्वीकारको यस प्रक्रियामा, यी गलत र नकारात्मक विचार र दृष्टिकोणहरू बिस्तारै व्यक्तिको अन्‍तस्‍करणमा प्रवेश गर्छन्, वा बिस्तारै र निरन्तर ती कुराहरू तिनीहरूका विचार दृष्टिकोणहरूमा छिर्छन्, र तिनीहरूको आनीबानी देखाउने र दुनियाँसित व्यवहार गर्ने तौरतरिकाका विभिन्‍न आधारहरू बन्छन्। यो प्रक्रियालाई उचित रूपमा व्यक्ति भ्रष्टताबाट गुज्रिनु भनेर व्याख्या गर्न सकिन्छ, किनभने त्रुटिपूर्ण विचार र दृष्टिकोणहरू स्विकार्ने प्रक्रिया पनि भ्रष्टताकै प्रक्रिया हो। त्यसोभए, मानिसहरूलाई कसले भ्रष्ट तुल्यायो? भावात्मक रूपमा भन्दा, तिनीहरूलाई शैतानले, दुष्ट प्रवृत्तिले भ्रष्ट बनाएका हुन्; तर विशिष्टीकृत रूपमा तोकेरै भन्दा, तिनीहरूलाई तिनीहरूको परिवारले भ्रष्ट बनाएको हो, र अझै तोकेर भन्दा, तिनीहरूलाई तिनीहरूका आमाबुबाले भ्रष्ट बनाएका हुन्। यदि मैले यो कुरा दश वर्षअघि भनेको भए, तिमीहरू कसैले पनि यो कुरा स्विकार्न सक्दैनथ्यौ, र तिमीहरू सबैलाई मप्रति आक्रोश हुनेथ्यो। तर अहिले तिमीहरूमध्ये अधिकांशले तर्कसङ्गत रूपमा यो भनाइ सही छ भनेर स्विकार्न सक्छौ, र “आमेन” भन्‍न सक्छौ, होइन त? (हो।) यो भनाइ किन सही छ? त्यो कुरा बुझ्नको लागि, मानिसहरूले आफ्नो सारा अनुभवभर यसलाई बिस्तारै बुझ्दै जानुपर्छ। तेरो बुझाइ जति विशिष्टीकृत र गहन हुन्छ, र तेरा अनुभवहरूले यो कुरा जति प्रतिबिम्‍बित गर्छन्, त्यति नै तँ यो भनाइप्रति सहमत हुन सक्छस्।

पारिवारिक शिक्षणमा आफ्नो आनीबानी देखाउने र दुनियाँसित व्यवहार गर्नेसम्‍बन्धी अरू धेरै नियमहरू समावेश हुन्छन्। उदाहरणको लागि, आमाबुबाले प्रायजसो यसो भन्छन्, “अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्‍नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू; याद राख्, तँ एकदमै मूर्ख र जे पनि पत्याउने खालको छस्।” आमाबुबाले प्रायजसो यस्ता शब्दहरू दोहोर्‍याइरहन्छन्, र अग्रजहरूले पनि तँलाई प्रायजसो यसो भनेर झिज्याइरहेका हुन्छन्, “असल व्यक्ति बन्‍नू, अरूलाई हानि नगर्नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू। मानिसहरू सबै खराब छन्। कसैले तँलाई मुखले त राम्रो भनेको देख्लास्, तर तिनीहरूले के सोचिरहेका छन् भन्‍ने थाहै हुँदैन। मानिसहरूको हृदय छालामुनि लुकेको हुन्छ, र बाघको चित्र कोर्दा, छाला देखाउन सकिन्छ, हड्डी सकिन्‍न; र व्यक्तिलाई चिन्दा, उसको मुहार चिन्‍न सकिन्छ, उसको हृदय सकिन्‍न।” के यी वाक्यांशहरूमा कुनै सही पक्ष छ? ती प्रत्येकलाई शाब्दिक रूपमा हेर्दा, त्यस्ता वाक्यांशहरूमा केही पनि गलत देखिन्‍न। व्यक्तिले वास्तवमा मनभित्र के सोचिरहेको हुन्छ, र उसको हृदय दुष्ट छ कि दयालु छ भनेर थाहा पाउन सकिँदैन। व्यक्तिको प्राणभित्र के छ भनेर देख्‍नु असम्भव हुन्छ। यी वाक्यांशहरूपछाडिको अर्थ बाहिरी रूपमा सही छन्, तर ती सिद्धान्त मात्र हुन्। मानिसहरूले अन्त्यमा यी दुई वाक्यांशहरूबाट प्राप्त गर्ने दुनियाँसित व्यवहार गर्ने सिद्धान्त के हो? त्यो हो, “अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्‍नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू।” पुरानो पुस्ताले यही भन्छ। आमाबुबा र अग्रजहरूले प्रायजसो यसो भन्छन्, र तिनीहरूले प्राय तँलाई यसो भन्दै सल्लाह दिन्छन्, “होसियार गर्, मूर्ख बनेर आफ्नो मनको सबै कुरा प्रकट नगर्। आफूलाई जोगाउन र सतर्क रहन सिक्। असल साथीहरूसँग पनि, आफ्नो साँचो रूप प्रकट गर्ने वा हृदय उदाङ्गो पार्ने नगर्। तिनीहरूको लागि ज्यान जोखिममा नपार्।” के तेरा अग्रजहरूबाट आउने यो सल्लाह सही छ? (छैन, यसले मानिसहरूलाई छली तरिकाहरू सिकाउँछ।) सैद्धान्तिक रूपमा, यसको प्राथमिक उद्देश्य राम्रो छ, र त्यो उद्देश्य हो: तेरो रक्षा गर्नु, तँलाई खतरनाक परिस्थितिहरूमा पर्नबाट रोक्‍नु, तँलाई अरूको हानि वा धोकामा पर्नबाट बचाउनु, अनि तेरा भौतिक चासोहरू, तेरो व्यक्तिगत सुरक्षा, र तेरो जीवन सुरक्षा गर्नु। यो तँलाई समस्या, मुद्दा-मामिला र परीक्षाहरूबाट जोगाउन, र हरदिन शान्ति, सहज र खुसीसाथ बाँच्न मदत गर्नको लागि हो। आमाबुबा र अग्रजहरूको प्राथमिक उद्देश्य तँलाई रक्षा गर्नु मात्रै हो। तैपनि, तँलाई रक्षा गर्ने तिनीहरूको तरिका, तिनीहरूले तँलाई अनुसरण गर्न लगाउने सिद्धान्तहरू, र तिनीहरूले तँमा हालिदिने विचारहरू बिलकुलै सही छैनन्। तिनीहरूको प्राथमिक उद्देश्य सही भए पनि, तिनीहरूले तँमा हालिदिने विचारहरूले तँलाई अचेतन रूपमा चरमतातर्फ लैजान्छन्। तिनीहरूले तँमा हालिदिने विचारहरू नै दुनियाँसित व्यवहार गर्ने तेरो तौरतरिकाका सिद्धान्त र आधारहरू बन्छन्। जब तँ आफ्‍ना सहपाठीहरू, सहकर्मीहरू, कामका साझेदारहरू, आफूभन्दा ठूला मानिसहरू, र समाजका हरप्रकारका व्यक्तिहरू, र जीवनको हरक्षेत्रका मानिसहरूसँग अन्तरक्रिया गर्छस्, तब तैँले पारस्परिक सम्बन्धहरूसँग सम्‍बन्धित मामिलाहरू सामना गर्दा, तेरा आमाबुबाले तँमा हालिदिएका यी सुरक्षात्मक विचारहरू थाहै नपाई तेरा सबैभन्दा आधारभूत सुरक्षा मन्त्र र सिद्धान्त बन्छन्। अनि, यो सिद्धान्त के हो त? यो कि: म तिमीलाई हानि गर्नेछैनँ, तर तिम्रो छल वा धोकामा पर्नबाट जोगिन, समस्या वा मुद्दा-मामिलामा पर्नबाट जोगिन, मेरो परिवारको सम्पत्तिमा हानि हुन र मेरो परिवारका मानिसहरूलाई दुःखमा पर्नबाट जोगाउन, र आफू जेल पर्नबाट जोगिनको लागि म सधैँ तिमीबाट सावधान हुनुपर्छ। अनि, त्यस्ता विचार र दृष्टिकोणहरूको नियन्त्रणमा रहँदै, दुनियाँसित व्यवहार गर्ने यस्तो मनोवृत्ति लिएर यो सामाजिक समूहमा जिउँदा, तँ मन र शरीर दुवैमा झन् उदास, झन् थकित र झन् लखतरान मात्रै हुन सक्छस्। अनि त्यसपछि, तँ यो संसार र मानवजातिप्रति झन् प्रतिरोधी र झन् विमुख बन्छस्, र तैँले तिनीहरूलाई झन् बढी घृणा गर्छस्। अनि, अरूलाई घृणा गर्ने क्रममा, तैँले आफूलाई तुच्छ ठान्‍न थाल्छस्, र तँलाई आफूले कुनै व्यक्तिजस्तो भएर जिइरहेको छैन, बरु थकित र उदास जीवन जिइरहेको छु भन्‍ने महसुस हुन्छ। अरूको हानिबाट जोगिनको लागि, तँ आफ्नो इच्छाविपरीत कुराहरू गर्दै र बोल्दै आफ्‍नो सुरक्षाको लागि सधैँ सतर्क हुनुपर्छ। आफ्नो हित र व्यक्तिगत सुरक्षा रक्षा गर्न खोज्‍ने क्रममा, तैँले आफ्नो जीवनको हरेक पक्षमा मकुन्डो लगाउँछस् र आफ्‍नो वास्तविक रूप लुकाउँछस्, र कहिल्यै सत्य वचन बोल्ने साहस गर्दैनस्। यस्तो अवस्थामा, जीवन अस्तित्वका यी अवस्थाहरूमा, तेरो अन्तरात्माले रिहाइ वा स्वतन्त्रता पाउन सक्दैन। तँलाई प्राय त्यस्तो व्यक्ति जरुरी हुन्छ जसले तँलाई कुनै हानि गर्दैन र तेरा चासोहरूमा कहिल्यै कुनै चुनौती दिँदैन, र जोसँग तैँले आफ्‍ना शब्‍दहरूको कुनै जिम्‍मेवारी नलिई, कुनै अपमान, आलोचना, गिल्‍ला नसही, वा कुनै परिणामहरू नसही आफ्‍ना भित्री विचारहरू बाँड्न र आक्रोशहरू पोख्‍न सक्छस्। “अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्‍नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू” भन्‍ने विचार र दृष्टिकोण नै दुनियाँसित व्यवहार गर्ने तेरो सिद्धान्त बनेको अवस्थामा, तेरो अन्तरात्मा डर र असुरक्षाले भरिएको हुन्छ। अनि स्वतः तँ उदास रहनेछस्, र छुटकारा पाउन असमर्थ हुनेछस्, र तँलाई सान्त्वना दिने र तेरो कुरा सुनिदिने व्यक्तिको खाँचो हुन्छ। त्यसकारण, यी पक्षहरूलाई हेर्दा, “अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्‍नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू,” भनी तेरा आमाबुबाले सिकाएको दुनियाँसित व्यवहार गर्ने सिद्धान्तले तँलाई रक्षा गर्न त सक्छ, तर यो दुईधारे तरबार पनि हो। यसले केही हदसम्म तेरा भौतिक चासोहरू र तँलाई रक्षा गर्ने भए पनि, यसले तँलाई उदास र हैरान महसुस गराउँछ, र तँ छुटकारा पाउन असमर्थ हुन्छस्, र तँलाई यो संसार र मानवजातिप्रति अझै बढी उदासीन बनाउँछ। यसको साथै, तँलाई भित्री मनमा आफू यस्तो दुष्ट युग र यस्तो दुष्ट मानिसहरूको समूहमा जन्मिएँ भनेर दिक्‍क पनि लाग्‍न थाल्‍छ। आखिर मानिसहरू किन बाँच्नुपर्ने हो, जीवन किन यति थकाइलाग्दो छ, किन तिनीहरूले जहाँ गए पनि मकुन्डो लगाएर आफ्‍नो वास्तविक रूप लुकाउनुपर्छ, वा किन आफ्‍ना हितहरू रक्षा गर्न तँ अरूप्रति सधैँ सतर्क हुनुपर्छ भन्‍ने जस्ता कुरा तैँले बुझ्‍न सक्दैनस्। तँलाई सत्य कुरा बोल्न सके पनि हुन्थ्यो भन्‍ने चाहना त हुन्छ, तर त्यसका परिणामहरूको कारण तैँले त्यसो गर्न सक्दैनस्। तँ वास्तविक व्यक्ति बन्‍न चाहन्छस्, खुलस्त रूपमा बोल्न र व्यवहार गर्न चाहन्छस्, र पूर्ण रूपमा अन्धकारमा जिउने नीच व्यक्ति हुन वा गोप्य रूपमा घृणित र लाजमर्दो काम गर्नबाट जोगिन चाहन्छस्, तर तँ यीमध्ये कुनै कुरा पनि गर्न सक्दैनस्। अनि, तँ किन यसरी सोझो भएर जिउन सक्दैनस्? तैँले आफ्नो विगतका कार्यहरूबारे सोच्दा, तँलाई भित्र तिरस्कार महसुस हुन्छ। तँलाई यो दुष्ट प्रवृत्ति र यो दुष्ट संसारप्रति घृणा र तिरस्कार महसुस हुन्छ, र साथमा, तँलाई आफैप्रति साह्रै घिन लाग्छ र तँ अहिले जो व्यक्ति बनेको छस् त्यो व्यक्तिप्रति तँलाई घृणा लाग्छ। तैपनि, तैँले गर्न सक्‍ने कुरा भने केही हुँदैन। तेरा आमाबुबाले तिनीहरूका बोलीवचन र व्यवहारमार्फत तँलाई यो सुरक्षा मन्त्र प्रदान गरेका भए पनि, यसले तँलाई तेरो जीवनमा खुसी वा सुरक्षा अनुभूतिको कमी महसुस गराउँछ। जब तँलाई यो खुसी, सुरक्षा, निष्ठा र मर्यादाको कमी महसुस हुन्छ, तँ तेरा आमाबुबाप्रति तँलाई यो सुरक्षा मन्त्र दिएकोमा आभारी पनि हुन्छस् र तँलाई यस्तो बन्धनमा पारेकोमा आक्रोशित पनि हुन्छस्। तैँले तेरा आमाबुबाले तँलाई किन यस्तो व्यवहार गर्न लगाए, अनि समाजमा स्थान जमाउन, यो सामाजिक समूहमा घुलमिल हुन, र आफ्‍नो रक्षा गर्न तैँले किन यसरी व्यवहार गर्नुपर्छ भन्‍ने कुरा बुझ्दैनस्। यो एउटा सुरक्षा मन्त्र भए पनि, यो एक-प्रकारको बन्धन पनि हो जसले तँलाई आफ्नो हृदयमा प्रेम र घृणा दुवै महसुस गराउँछ। तर तैँले के गर्न सक्छस् र? तँसँग जीवनको सही मार्ग छैन, कसैले पनि तँलाई कसरी बाँच्ने वा तैँले सामना गर्ने कुरा कसरी सम्हाल्ने भनेर बताउँदैन, र तैँले सही गरिरहेको छस् कि गलत, वा तैँले आफ्‍नो अगाडिको बाटोमा कसरी हिँड्नुपर्छ भनेर कसैले बताउँदैन। तँ बस भ्रम, हिचकिचाहट, पीडा र बेचैनीबाट मात्र गुज्रन सक्छस्। यी कुराहरू संसारसँग व्यवहार गर्नेबारेमा तेरा आमाबुबा र परिवारले तँमा हालिदिएको दर्शनका परिणामहरू हुन्, जसले गर्दा सरल व्यक्ति बन्‍ने तेरो सामान्य इच्छा, अर्थात् दुनियाँसित व्यवहार गर्ने यी माध्यमहरूको सहारा नलिईकनै सोझो भई आफ्नो आचरण अँगाल्‍न सक्षम बन्‍ने तेरो इच्छा साकार हुँदैन। तँ पतित तरिकामा मात्रै बाँच्न सक्छस्, जसले गर्दा तैँले सम्झौताहरू गर्छस् र आफ्‍नो प्रतिष्ठाको खातिर बाँच्छस्, आफूलाई अरूबाट जोगाउन आफूलाई विशेष भयङ्कर बनाउँछस्, र हरूको हेपाइबाट जोगिन आफू भयङ्कर, उच्च र पराक्रमी, र शक्तिशाली र असाधारण भएको नाटक गर्छस्। तँ यसरी आफ्नो इच्छाविपरीत गएर मात्र यसरी बाँच्न सक्छस्, जसले गर्दा तँलाई आफैप्रति घृणा लाग्छ, तर तँसँग अरू कुनै विकल्प हुँदैन। तँसँग दुनियाँसित व्यवहार गर्ने यी तरिका र रणनीतिहरूबाट उम्कन सक्ने क्षमता वा मार्ग छैन, त्यसकारण तँ तेरो परिवार र आमाबुबाले तँलाई सिकाएका विचारहरूबाट सञ्‍चालित हुन मात्रै सक्छस्। यो अचेतन प्रक्रियाको क्रममा, मानिसहरूलाई तिनीहरूका परिवार र आमाबुबाले हालिदिने विचारहरूले मूर्ख बनाउँछन् र नियन्त्रणमा पर्छन्, किनभने तिनीहरूले सत्यता बुझ्दैनन् वा तिनीहरू कसरी बाँच्नुपर्छ भनेर बुझ्दैनन्, त्यसैले तिनीहरूले यो कुरालाई भाग्यको हातमा छोड्न मात्रै सक्छन्। यदि तिनीहरूको अन्तस्करणमा अझै अलिअलि भावना छ नै भने पनि, वा तिनीहरूसँग मानवको रूपमा बाँच्ने, अरूसँग मिलेर बस्‍ने र न्यायोचित रूपमा प्रतिस्पर्धा गर्ने सानो इच्छासमेत छ नै भने पनि, र तिनीहरूको इच्छा जेसुकै नै भए पनि, परिवारबाट आउने विभिन्‍न विचार र दृष्टिकोणहरूको शिक्षणर नियन्त्रणबाट तिनीहरू उम्कन सक्दैनन्, र अन्त्यमा, परिवारले तिनीहरूलाई अभ्यस्त गराएको “अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्‍नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू” भन्‍ने विचार र दृष्टिकोणमा फर्कन मात्रै सक्छन्, किनभने तिनीहरूसँग अरू कुनै बाटो नै हुँदैन—तिनीहरूसँग अरू कुनै विकल्प नै हुँदैन। यो सबै मानिसहरूले सत्यता बुझ्न र सत्यता प्राप्त गर्न नसक्‍नुको कारणले हुने कुरा हो। अनि अवश्य नै, आमाबुबाले तँलाई यसो पनि भन्छन्, “बाघको चित्र कोर्दा, छाला देखाउन सकिन्छ, हड्डी सकिन्‍न; र व्यक्तिलाई चिन्दा, उसको मुहार चिन्‍न सकिन्छ, उसको हृदय सकिन्‍न”; तिनीहरूले तँलाई अरूप्रति सतर्क रहने कलाबारे बताउँछन्, र सबैजना धूर्त हुन्छन् भनेर तँलाई यसो गर्न लगाउँछन्; यदि तैँले मानिसहरूको भित्री वास्तविकता देख्‍न सक्दैनस् भने, तँ सजिलैसित छलमा पर्न सक्छस्, किनकि तिनीहरूका भित्री विचारहरू तिनीहरूको बाहिरी रूपजस्तो नहुन सक्छन्, र कुनै व्यक्ति बाहिर हेर्दा धर्मी र दयालु देखिन सक्छ, तर उसको हृदय सर्प वा बिच्छीको जस्तै विषालु हुन सक्छ; वा व्यक्तिले मुखले सबै सही कुरा बोल्दै, धार्मिकता र नैतिकताले भरिएका शब्दहरू बोल्दै, परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि, र विश्‍वसनीयताका कुराहरू गर्न सक्छ, तर उसको हृदय र प्राणको गहिराइमा, ऊ निकै फोहोरी, घिनलाग्‍दो, नीच, र दुष्ट हुन सक्छ। तसर्थ, तँ आफ्ना आमाबुबाले तँभित्र हालिदिएका विचार र दृष्टिकोणहरूको आधारमा मात्र अरूसँग व्यवहार र अन्तरक्रिया गर्न सक्छस्।

“अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्‍नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू,” र “बाघको चित्र कोर्दा, छाला देखाउन सकिन्छ, हड्डी सकिन्‍न; र व्यक्तिलाई चिन्दा, उसको मुहार चिन्‍न सकिन्छ, उसको हृदय सकिन्‍न” भन्‍ने भनाइहरू तेरा आमाबुबाले तँभित्र हालिदिएका दुनियाँसित व्यवहार गर्ने सबैभन्दा आधारभूत सिद्धान्तहरू, साथै मानिसहरूलाई हेर्ने र तिनीहरूप्रति सतर्क रहने सबैभन्दा आधारभूत मापदण्डहरू हुन्। आमाबुबाको प्राथमिक उद्देश्य भनेको तँलाई रक्षा गर्नु र तँलाई आफ्‍नो रक्षा गर्न मद्दत गर्नु हो। तर, अर्को कोणबाट हेर्दा, यी शब्द, विचार र दृष्टिकोणहरूले तँलाई संसार खतरनाक छ र मानिसहरू भरोसालायक छैनन् भन्‍ने महसुस गराउन सक्छन्, जसले गर्दा तँमा अरूप्रति सकारात्मक भावनाहरूको पूर्ण कमी हुन सक्छ। तर तैँले वास्तवमा मानिसहरूलाई कसरी चिन्‍न र अरूलाई हेर्न सक्छस्? तँ कस्ता मानिसहरूसँग मिलेर बस्‍न सक्छस्, र मानिसहरूबीचको उचित सम्बन्ध कस्तो हुनुपर्छ? सिद्धान्तहरूको आधारमा व्यक्तिले अरूसँग कसरी अन्तरक्रिया गर्नुपर्छ, र उसले कसरी अरूसँग निष्पक्ष र सद्‌भावपूर्वक अन्तरक्रिया गर्न सक्छ? आमाबुबालाई यी मामिलाहरूबारे केही थाहा हुँदैन। तिनीहरूलाई त मानिसहरूविरुद्ध सतर्कता अपनाउन कसरी दुनियाँसित व्यवहार गर्ने चलाकी, युक्ति र विभिन्‍न नियम र रणनीतिहरू प्रयोग गर्ने र अरूको हानिबाट आफूलाई जोगाउन कसरी अरूबाट फाइदा लिने र अरूमाथि नियन्त्रण जमाउने भन्‍ने मात्र थाहा हुन्छ, चाहे तिनीहरूले अरूलाई जति नै हानि पुर्याउन्। आफ्ना छोराछोरीलाई यी विचार र दृष्टिकोणहरू सिकाउँदा, आमाबुबाले तिनीहरूमा हालिदिने कुराहरू दुनियाँसित व्यवहार गर्ने निश्‍चित रणनीतिहरू मात्र हुन्छन्। ती रणनीतिहरूबाहेक अरू केही हुँदैनन्। अनि, यी रणनीतिहरूमा के-के समावेश हुन्छन्? हरप्रकारका युक्तिहरू, नियमहरू, र अरूलाई कसरी खुसी पार्ने, आफ्नो स्वार्थ कसरी जोगाउने, र व्यक्तिगत लाभ कसरी बढाउने भन्‍ने कुराहरू। के यी सिद्धान्तहरू सत्यता हुन्? (अहँ, होइनन्।) के यी मानिसहरूले पछ्याउनुपर्ने सही मार्ग हुन्? (होइनन्।) यीमध्ये कुनै पनि सही मार्ग होइन। त्यसोभए, आमाबुबाले तँमा हालिदिने यी विचारहरूको सार के हो त? यी विचारहरू सत्यतासँग मिल्दैनन्, यी सही मार्ग होइनन्, यी सकारात्मक कुराहरू होइनन्। त्यसोभए, यी के हुन् त? (यी सबै हामीलाई भ्रष्ट तुल्याउने शैतानका दर्शनहरू हुन्।) यी परिणामहरू हेर्दा, यी विचारहरूले मानिसहरूलाई भ्रष्ट पार्ने देखिन्छ। त्यसोभए, यी विचारहरूको सार के हो त? जस्तै, “अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्‍नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू”—के यो अरूसँग अन्तरक्रिया गर्ने सही सिद्धान्त हो त? (होइन, यी सबै शैतानबाट आएका नकारात्मक कुराहरू हुन्।) यी शैतानबाट आएका नकारात्मक कुराहरू हुन्—त्यसोभए यी कुराहरूको सार र प्रकृति के हो त? के यी चलाखीहरू होइनन् र? के यी रणनीतिहरू होइनन् त? के यी अरूलाई जित्‍ने दाउपेच होइनन् त? (हुन्।) यी सत्यतामा प्रवेश गर्ने अभ्यासका सिद्धान्तहरू, वा कसरी व्यवहार गर्नुपर्छ भनेर परमेश्‍वरले मानिसहरूलाई सिकाउनुहुने सकारात्मक सिद्धान्त र दिशाहरू होइनन्; यी त दुनियाँसित व्यवहार गर्ने रणनीतिहरू हुन्, यी चलाखीहरू हुन्। यसअलावा, के “बाघको चित्र कोर्दा, छाला देखाउन सकिन्छ, हड्डी सकिन्‍न; र व्यक्तिलाई चिन्दा, उसको मुहार चिन्‍न सकिन्छ, उसको हृदय सकिन्‍न” भन्‍नेजस्ता वाक्यांशहरूको प्रकृति पनि उस्तै हो? (हो।) के यी वाक्यांशहरूले तँलाई धूर्त बन्‍न, सरल, सीधा, वा सोझो नहुन, बुझ्‍न गाह्रो बन्‍न, र तेरो भित्री वास्तविकता देख्‍न अरूलाई गाह्रो पार्न लाउँदैनन् र? के यी विचार र दृष्टिकोणहरूले तँभित्र हालिदिएका दुनियाँसित व्यवहार गर्ने यी खास सिद्धान्तहरूले तँलाई अरूसँग अन्तर्क्रिया गर्दा रणनीतिहरू प्रयोग गर्न, अरूलाई कसरी जित्‍ने भनेर सिक्‍न, र हरेक युगका मानिसहरूमाझ चलेका नियमहरू सिक्‍न लाउँदैनन् र? (लाउँछन्।) कतिपय मानिसहरू भन्छन्, “आमाबुबाले मानिसहरूलाई अरूबाट जोगिन र मानिसहरूलाई कसरी हेर्ने भनेर सिक्‍न निर्देशन दिन यी वाक्यांशहरू सिकाउँछन्।” के तिनीहरूले अरूलाई कसरी हेर्ने भनेर तँलाई बताए त? अरूलाई कसरी हेर्ने भनेर तिनीहरूले तँलाई बताएनन्, तिनीहरूले तँलाई सही सिद्धान्तहरूअनुसार विभिन्‍न मानिसहरूसँग व्यवहार गर्नुपर्छ भनेर बताएनन्, बरु फरक-फरक मानिसहरूका आवश्यकता र रणनीतिहरूअनुरूपका युक्ति र योजनाहरू प्रयोग गर्नुपर्छ भनेर बताए। उदाहरणको लागि, तेरो हाकिम वा तँभन्दा माथिको व्यक्ति खराब र केटीको पछि लाग्‍ने व्यक्ति हो रे। तँ सोच्छस्, “बाहिरबाट हेर्दा यी हाकिम सम्‍मानजनक देखिन्छन्, यिनी सीधा देखिन्छन्, तर यो सबैको पछाडि यिनी केटी पछ्याउने व्यक्ति पो रहेछन्। भित्री रूपमा यिनी त्यस्तै छुद्र व्यक्ति हुन्। तर ठीकै छ, म यिनका रुचिहरू पूरा गर्नेछु, कुन केटी सुन्दर छे हेरेर, यी हाकिम खुसी पार्न यिनलाई त्यो केटीसँग चिनाइदिनेछु।” के यो दुनियाँसित व्यवहार गर्ने एउटा रणनीति होइन र? (हो।) उदाहरणको लागि, जब तैँले आफूलाई फाइदा हुने महत्त्व भएको र तैँले अन्तर्क्रिया गर्न लायक कसैलाई भेटिस् रे, तर ऊसँग बोलचाल गर्न सहज छैन भने, तैँले यस्तो सोच्छस्, “मैले तिनीसँग तिनले सुन्‍न चाहेका मक्ख पार्ने शब्दहरू बोल्‍नुपर्छ।” त्यो व्यक्तिले भन्छ, “आज मौसम राम्रो छ।” अनि तँ भन्छस्, “आज मौसम साँच्चै राम्रो छ, भोलि पनि राम्रै हुनेछ।” त्यो व्यक्तिले भन्छ, “आज मौसम साँच्चै चिसो छ।” अनि तँ भन्छस्, “हो, चिसो छ। तपाईँले किन न्यानो लुगा लगाउनुभएको छैन? मेरो कोट न्यानो छ, लगाउनुस् न।” तिनीहरूले हाइ काड्नेबित्तिकै, तिनीहरूको लागि तँ हतारहतार सिरानी ल्याइदिन्छस्; तिनीहरूले औषधीको बोतल निकाल्‍नेबित्तिकै, तँ तुरुन्तै तिनीहरूको लागि पानी खन्याइदिन्छस्; तिनीहरू खाना खाएर बसेपछि, तँ तिनीहरूको लागि तुरुन्तै चिया बनाइदिन्छस्। के यी कुराहरू दुनियाँसित व्यवहार गर्ने रणनीतिहरू होइनन् र? (हुन्।) यी कुराहरू दुनियाँसित व्यवहार गर्ने रणनीतिहरू नै हुन्। तँ किन यी रणनीतिहरू प्रयोग गर्न सक्षम छस्? तँ किन तिनीहरूसँग मक्ख पार्ने कुरा गर्न चाहन्छस्? यदि तँलाई तिनीहरूको आवश्यकता नहुँदो हो र तिनीहरूले तँलाई कुनै फाइदा गर्दैनथे भने, के तैँले तिनीहरूसँग यस्तो व्यवहार गर्नेथिस् र? (अहँ।) अहँ, यो त मानिसहरूले भन्‍ने गरेको यो भनाइजस्तै हो, “इनामविना औँलो पनि नउठाउनू।” यो कुरा यो भनाइजस्तै हो, तरकारी बारीमा पानी लैजाँदा—काम लाग्‍ने बिरुवालाई मात्रै पानी हालिन्छ। तँ सक्रियतासाथ आफूलाई काम लाग्‍ने मानिसहरूकहाँ जान्छस्, र तिनीहरू मक्ख पर्ने कुरा गर्छस्। तिनीहरू पदबाट निस्केपछि वा तिनीहरूलाई पदबाट हटाइएपछि, तिनीहरूप्रतिको तेरो उत्साह तुरुन्तै सेलाउँछ र तैँले तिनीहरूलाई बेवास्ता गर्छस्। तिनीहरूले तँलाई फोन गर्दा, या त तँ फोन बन्द गर्छस्, या त लाइन व्यस्त भएको बहाना गरी फोन उठाउँदैनस्। तिनीहरूलाई भेट्दा, तिनीहरूले तँलाई अभिवादन गर्दै भन्छन्, “आज मौसम राम्रो छ।” तँ तिनीहरूको कुरा टार्दै भन्छस्, “आहा, हो त। अहिले छुटौँ ल, केही काम परे, पछि कुरा गरौँला, म कुनै बेला तपाईँलाई ट्रिट दिउँला नि।” रित्ता प्रतिज्ञाहरू गर्दै, तैँले तिनीहरूलाई बेवास्ता गर्छस्, तिनीहरूलाई सम्पर्क गर्दैनस्, र तिनीहरूलाई ब्लकसमेत गर्छस्। यसरी आमाबुबाले मानिसहरूमा हालिदिने विभिन्‍न विचार र दृष्टिकोणहरूले तिनीहरूको हृदयमा अदृश्य किसिमको सुरक्षा पर्खाल बनाएको हुन्छ। अनि साथमा, ती आमाबुबाले तिनीहरूमा दुनियाँसित व्यवहार गर्ने वा जीवन अस्तित्वमा रहने केही आधारभूत तौरतरिकाहरू घुसाइदिन्छन्, र तिनीहरूलाई दुवै पक्षतर्फ कसरी ठिक्‍क पार्ने र सामाजिक समूहमा कसरी घुलमिल हुने, समाजमा कसरी आफूलाई स्थापित गर्ने, र मानिसहरूको समूहमा कसरी हेपाइमा नपर्ने भनेर सिकाउँछन्। तँ समाज प्रवेश गर्नुपहिले, तेरा आमाबुबाले तँलाई खास परिस्थितिहरूलाई कसरी लिने भनेर खास किसिमले मार्गनिर्देशित नगरेका भए पनि, दुनियाँसित कसरी व्यवहार गर्ने भनेर आमाबुबा वा परिवारले तँलाई सिकाएका यी तरिका र सिद्धान्तहरूले तँलाई दुनियाँसित व्यवहार गर्ने आधारभूत दृष्टिकोण र सिद्धान्तहरू प्रदान गरेका हुन्छन्। दुनियाँसित व्यवहार गर्ने यी आधारभूत विचार र सिद्धान्तहरू के-के हुन्? तिनीहरूले तँलाई मानिसहरूसँग उठबस गर्दा कसरी देखावटी रूप धारण गर्ने, हरेक सामाजिक समूहमा देखावटी रूप अँगालेर कसरी बस्‍ने, र अन्त्यमा कसरी आफ्नो ख्याति र नाफालाई क्षति हुनबाट रक्षा गर्ने, र साथमा, कसरी आफूले चाहेको ख्याति र नाफा कमाउने वा व्यक्तिगत सुरक्षाको आधारभूत प्रत्याभूति हासिल गर्ने भनेर सिकाउँछन्। तेरा आमाबुबाले तँभित्र हालिदिएका विचार र दृष्टिकोण अनि दुनियाँसित व्यवहार गर्ने विभिन्‍न रणनीतिहरूबाट यो देख्‍न सकिन्छ कि तेरा आमाबुबाले तँलाई इज्‍जतदार व्यक्ति बन्‍न, वास्तविक व्यक्ति बन्‍न, सृष्टि गरिएको असल प्राणी बन्‍न, वा सत्यता भएको व्यक्ति बन्‍न सिकाएका छैनन्। यसविपरीत, तिनीहरूले तँलाई अरूलाई कसरी धोका दिने, अरूबाट कसरी जोगिने, फरक-फरक मानिसहरूसँग अन्तरक्रिया गर्न कसरी रणनीतिहरू प्रयोग गर्ने, साथै मानिसहरूको हृदय र मानवजाति कस्तो छ भनेर मात्र सिकाएका छन्। तेरा आमाबुबाबाट आएका यी विचारहरू र दृष्टिकोणहरूको शिक्षणमा रहेर, तेरो अन्तरात्मा झन्झन् कुटिल बन्छ, र तँमा मानिसहरूप्रति घृणा पैदा हुन्छ। तेरो कलिलो हृदयमा, तँसँग दुनियाँसित व्यवहार गर्ने कुनै रणनीतिहरू हुनुभन्दा पहिले नै, तँसँग मानवजातिको प्राथमिक र आधारभूत परिभाषा हुन्छ, साथै संसारलाई कसरी झेल्‍ने भन्‍ने कुराको प्रारम्‍भिक र आधारभूत सिद्धान्त हुन्छ। त्यसोभए, संसारलाई झेल्‍ने तेरो तरिकामा आमाबुबाले कस्तो भूमिका खेल्छन्? तिनीहरूले अवश्य नै तँलाई गलत मार्गमा डोर्‍याउने भूमिका खेल्छन्; तिनीहरूले तँलाई राम्रो मार्गमा डोर्‍याउँदैनन्, वा तँलाई सकारात्मक र सक्रिय तरिकाले मानव जीवनको सही मार्गमा डोर्‍याउँदैनन्, बरु तँलाई बहकाउँछन्।

“पुरुषले सजिलै आँसु झार्दैन” भन्‍नेजस्ता भनाइहरू छोराहरूलाई सिकाउनेबाहेक, आमाबुबाले तिनीहरूलाई प्राय यसो भनिरहन्छन्: “‘असल भाले कुकुरसँग लड्दैन; र असल पुरुष महिलासँग लड्दैन’; केटीहरूसँग खेल्‍ने वा झगडा गर्ने नगर्; तिनीहरूको स्तरमा नझर्; तिनीहरू केटीहरू हुन्, र तिनीहरूसित कडा व्यवहार गर्नु हुँदैन।” अनि, तैँले किन तिनीहरूसित कडा व्यवहार गर्नु हुँदैन? यदि तिनीहरूले कुनै गलत काम गरे भने, तैँले तिनीहरूलाई नरम व्यवहार गर्नु वा बिगार्नु हुँदैन। पुरुष र महिला समान हुन्छन्। तिनीहरूलाई पनि तँलाई जस्तै आमा र बुबाले जन्माएर हुर्काएका हुन्, तैपनि तैँले तिनीहरूलाई किन कडा व्यवहार गर्न नहुने? तिनीहरू केटी भएकोले मात्र हो? गल्ती गर्दा तिनीहरूलाई सजाय दिइनुपर्छ र यसबारे पाठ सिकाइनुपर्छ, र तिनीहरूले आफ्नो गल्ती स्विकार्नुपर्छ, माफी माग्‍नुपर्छ, आफूले के गल्ती गरेँ भनेर बुझ्नुपर्छ, र अर्कोपटक त्यस्तो परिस्थिति सामना गर्दा त्यही गल्ती दोहोर्‍याउनु हुँदैन। तेरा आमाबुबाले तँलाई यस्तो परिस्थिति सामना गर्न सिकाएको “असल पुरुष महिलासँग लड्दैन” भन्‍ने सिद्धान्त पालना गर्नुको सट्टा, तैँले तिनीहरूलाई कसरी मद्दत गर्ने भनेर सिक्‍नुपर्छ। पुरुष र महिला सबैले नै कुनै न कुनै बेला गल्ती गर्छन्। अनि, गल्ती गर्दा, तिनीहरूले आफ्ना गल्तीहरू स्विकार्नुपर्छ र प्रायश्‍चित गर्नुपर्छ। आमाबुबाले “असल भाले कुकुरसँग लड्दैन; र असल पुरुष महिलासँग लड्दैन” भनेर भनेको कुरामा अडिग रहनुको सट्टा, पुरुष र महिला दुवैले सही बाटो हिँड्नुपर्छ र मर्यादासाथ बाँच्नुपर्छ। असल पुरुषले स्‍त्रीहरूसँग लडाइँ नगरेर आफ्‍नो प्रदर्शन गर्दैन, न त तिनीहरूको स्तरमा झरेर नै आफ्‍नो प्रदर्शन गर्छ। तँलाई थाहै होला, आमाबुबाले प्रायजसो यसो भन्‍ने गर्छन्: “स्‍त्रीको कपाल लामो, तर बुद्धि छोटो हुन्छ। तिनीहरूको कुनै सम्भाव्यता हुँदैन, तिनीहरूजस्तो नबन्, तिनीहरूसँग गम्भीर बन्‍ने वा तिनीहरूलाई ध्यान दिने नगर्।” यो “तिनीहरूलाई ध्यान दिने नगर्” भन्‍नुको अर्थ के हो? सिद्धान्तहरूको कुरा स्पष्ट पार्नु र व्याख्या गर्नु आवश्यक छ। कसले गल्ती गर्‍यो, कसले सकारात्मक वा नकारात्मक कुरा भन्यो, कसले उल्‍लेख गरेको बाटो सही थियो—सिद्धान्तहरू, बाटोहरू, र स्वव्यवहारसँग सम्‍बन्धित कुराहरू स्पष्ट पारिनुपर्छ। सही र गलतबीचको रेखा मेट्ने नगर्; महिलाको लागि पनि, तैँले कुरा स्पष्ट पार्नुपर्छ। यदि तैँले वास्तवमै ऊप्रति ध्यान दिइरहेको छस् भने पनि, तैँले उसलाई मानिसहरूले बुझ्नुपर्ने सत्यता बताउनुपर्छ, उसलाई सही बाटो हिँड्न मद्दत गर्नुपर्छ, उसलाई मस्तीमा लिप्त हुन दिनु हुँदैन, र ऊ एउटी महिला हो भन्दैमा ऊसित गम्भीर कुरा गर्न वा कुराहरू स्पष्ट पार्नबाट पन्छिने नगर्। महिलाहरूले पनि मर्यादासाथ बाँच्नुपर्छ र पुरुषहरूले केही सम्झौता गरे भन्दैमा आफूलाई मस्तीमा लिप्त पार्ने वा न्यायोचित हुन इन्कार गर्ने गर्नु हुँदैन। पुरुष र महिला केवल शारीरिक हिसाबमा मात्रै फरक छन्, तर परमेश्‍वरको नजरमा, तिनीहरूको पहिचान र हैसियत समान छ। तिनीहरू दुवै सृष्टि गरिएका प्राणीहरू हुन्, र तिनीहरूको लैङ्गिक भिन्‍नताबाहेक, तिनीहरूलाई अलग पार्ने कुरा धेरै छैन। तिनीहरू दुवैले भ्रष्टता अनुभव गर्छन् र तिनीहरूमा आत्मव्यवहारका समान सिद्धान्तहरू लागू हुन्छन्। परमेश्‍वरले तोक्‍नुभएका मापदण्डहरू पुरुष र महिला दुवैको लागि समान छन्, र तिनमा कुनै फरक छैन। त्यसकारण, के “असल पुरुष महिलासँग लड्दैन” भनेर आमाबुबाले दिएको शिक्षा साँचो हो त? (होइन।) त्यसोभए, सही दृष्टिकोण के हो त? यो स्‍त्रीसँग झगडा गर्नु नगर्नुसँग सम्‍बन्धित कुरो होइन, बरु आफ्नो अभ्यासलाई सिद्धान्तहरूअनुरूप बनाउने कार्यसँग सम्‍बन्धित कुरा हो। अनि, आमाबुबाले त्यस्ता टिप्पणीहरू दिनुको अर्थ के हो? के यो छोरीलाई भन्दा छोरालाई मन पराउनु होइन र? तिनीहरूले यसो भनिरहेको देखिन्छ, “स्‍त्रीको कपाल लामो, तर बुद्धि छोटो हुन्छ। तिनीहरू मूर्ख हुन्छन्, तिनीहरूमा बौद्धिकता हुँदैन। तिनीहरूसँग तर्कसमेत किन गर्ने? तिनीहरूले बुझ्दै-बुझ्दैनन्। भनाइ नै छ नि, ‘ठूलो स्तनवालीको दिमाग हुँदैन, तिनीहरूको कपाल लामो, तर बुद्धि छोटो हुन्छ।’ तैँले किन महिलाहरूबारे झन्झट लिने वा तिनीहरूसँग गम्भीर व्यवहार गर्ने?” के महिलाहरू मान्छे होइनन् र? के परमेश्‍वरले स्‍त्रीहरूलाई मुक्ति दिनुहुन्‍न र? के उहाँले तिनीहरूलाई सत्यता, वा जीवन दिनुहुन्‍न र? के त्यस्तो हो त? (होइन, त्यस्तो होइन।) यदि परमेश्‍वरले त्यसो गर्नुहुन्‍न भने, यदि उहाँले स्‍त्रीहरूसँग अनुचित व्यवहार गर्नुहुन्‍न भने, तैँले कसरी व्यवहार गर्नुपर्छ? परमेश्‍वरले तँलाई सिकाउनुभएका सिद्धान्तहरूअनुसार महिलाहरूसँग व्यवहार गर्; आफ्ना आमाबुबाका विचारहरू स्विकार्ने वा हेपाहा प्रवृत्ति हुर्काउने नगर्। तेरो हाड र मांसपेशी महिलाहरूको भन्दा अलि बलियो हुन सक्छ, तेरो ज्यान अलि ठूलो र शारीरिक शक्ति अलिक बढी हुन सक्छ, र तैँले बढी खाना खान सक्छस्, तर तेरो भ्रष्ट स्वभाव, विद्रोहीपन र सत्यता नबुझ्‍ने हद महिलाहरूको भन्दा फरक छैन। तँ महिलाहरूको भन्दा फरक किसिमको जीवन सीपमा अगाडि हुन सक्छस्: तँ विद्युतीय सामग्री र मेसिनहरूमा दक्ष होलास्, तर महिलाहरू पनि त सिलाइ, बुनाइ र टालटुलमा सिपालु छन्। के तैँले ती कामहरू गर्न सक्छस् र? पुरुषहरू कुशल निर्माणकर्ताहरू होलान्, तर महिलाहरू सौन्दर्य प्रशोधनमा उत्कृष्ट हुन्छन्। पुरुषहरूले विभिन्‍न मेसिन र उपकरणहरू चलाउन सक्लान्, तर महिलाहरूमा पनि त्यस्तो क्षमताको कमी हुँदैन। आखिर महिलाहरू कहाँचाहिँ कमजोर छन् त? त्यस्ता सबै तुलनाहरू अर्थहीन छन्। मुख्य कुरा भनेको तैँले आफ्‍नो पुरुषप्रधान सोच त्याग्‍नुपर्छ भन्‍ने हो। “असल पुरुष महिलासँग लड्दैन” भन्‍नेजस्ता विचारहरू स्वीकार नगर्; आमाबुबाले भन्‍ने कुराहरू सत्यता होइनन्, र ती तेरो लागि हानिकारक हुन्छन्। स्‍त्रीहरूको निम्ति अपमानजनक यी कुराहरू कहिल्यै नबोल्—यो पूर्ण रूपमा समझ र शिष्टताको विरुद्ध छ। महिलाको अनादर गर्ने यो कस्तो समस्या हो? के यस्तो काम गर्ने मानिसहरूमा मानवतासमेत हुन्छ त? (हुँदैन।) तिनीहरू मानवतारहित हुन्छन्। यदि तँ महिलालाई अनादर गर्छस् भने, याद गर्, तेरी आमा, तेरी हजुरआमा र तेरा दिदीबहिनी पनि सबै महिला नै हुन्। के तिनीहरू यस्तो अनादर स्विकार्न इच्छुक हुन्छन्? कतिपय आमाहरूले समेत आफ्ना छोराहरूलाई यसो भन्‍ने गर्छन्, “असल पुरुष महिलासँग लड्दैन।” के यी आमाहरू मूर्ख होइनन् र? यस्ता आमाहरू सरल दिमागका हुन्छन्, र तिनीहरू आफै महिला भएर पनि, आफ्‍नै मूल्य घटाउँछन्; स्पष्टतः तिनीहरू मूर्खहरू नै हुन् जसलाई आफूले के भन्दै छु भन्‍नेसमेत थाहा हुँदैन। “असल पुरुष महिलासँग लड्दैन” भन्‍ने भनाइ पूर्ण रूपमा समझ र शिष्टताको विरुद्ध छ। परमेश्‍वरले कहिल्यै पनि स्‍त्रीलाई यसरी परिभाषित गर्नुभएको छैन, न त उहाँले पुरुषहरूलाई कहिल्यै यसो भन्दै अर्ती नै दिनुभएको छ, “महिलाहरू कमजोर हुन्छन्, तिनीहरूको कपाल लामो हुन्छ तर बुद्धि छोटो हुन्छ, र तिनीहरूमा सामान्य सुझबुझ हुँदैन। तिनीहरूसँग झगडा नगर्‌। झगडा नै गरिस् भने पनि, तैँले स्पष्ट रूपमा कुरा मिलाउन सक्‍नेछैनस्। सबै कुरामा, क्षमा गर् र मिलनसार बन्, तिनीहरूसँग गम्भीर नबन्; पुरुष त फराकिलो सोच भएको र सबै कुरा स्विकार्ने हुनुपर्छ।” के परमेश्‍वरले कहिल्यै यस्तो कुरा भन्‍नुभएको छ? (भन्‍नुभएको छैन।) परमेश्‍वरले कहिल्यै पनि यस्तो कुरा भन्‍नुभएको छैन, त्यसैले यस्तो कुरा नगर् वा महिलाहरूलाई यस्तो दृष्टिकोणले नहेर्। यो त महिलाहरूप्रतिको भेदभाव र अनादर हो। महिलाहरूमा आवश्यक सीप नभएको ठाउँमा तैँले सहयोग गर्न सक्छस्, तर तेरो सीपले नभ्याउने ठाउँमा तँलाई पनि तिनीहरूको आवश्यकता हुन्छ। पारस्परिक निर्भरता र एकअर्काको पूरक हुनु नै सही दृष्टिकोण हो। तर किन यो सही दृष्टिकोण हो? किनभने पुरुष र महिला दुवैको सामर्थ्य परमेश्‍वरले नै तय गर्नुभएको हुन्छ। अनि, पुरुष र महिला दुवैको शक्ति परमेश्‍वरले नै तोक्‍नुभएको हुन्छ भन्‍ने तथ्यको नजिक पुग्‍न तैँले के-कस्ता विचार र दृष्टिकोणहरू अपनाउनुपर्छ? एकअर्काको परिपूरक बन्‍ने—अभ्यासको सिद्धान्त यही हो। पुरुषले महिलालाई भेदभाव गर्नु हुँदैन, र महिलाले पुरुषप्रति अत्यधिक अपमानजनक व्यवहार गर्नु हुँदैन, र यस्तो सोच्‍नु हुँदैन, “बल्‍ल, हाम्रो मण्डलीमा एक दाजु आए, जो शक्तिका खम्बा हुन्। अब हाम्रो मण्डली पूरा भएको छ, हामीलाई साथ दिने र हाम्रो तर्फबाट विभिन्‍न कुराहरू सम्हाल्ने, र हाम्रो लागि अगुवाइ गर्ने कोही त छन्।” के तँ कमजोर होस्? के तेरो विश्‍वास पुरुषमाथिको विश्‍वास हो? यदि मण्डलीमा केवल दिदीबहिनीहरू मात्र छन् भने, के यसको मतलब अबउप्रान्त परमेश्‍वरमाथि तिमीहरूको विश्‍वास छैन भन्‍ने हो? के यसको मतलब तैँले मुक्ति पाउन वा सत्यता बुझ्न सक्दैनस् भन्‍ने हो? जब कसैले “तपाईँको मण्डलीमा किन दाजुभाइ छैनन्?” भनेर अनौठो प्रश्‍न सोध्छ, तब तँलाई मुटुमा छुरा हानेजस्तो लाग्छ, र तँ यसो भन्छस्, “यो कुरा नगर्नुस्, यो हाम्रो मण्डलीको एउटा कमजोरी हो। यो कुरा औँल्याएको हामी चाहँदैनौँ; तर तपाईँले हाम्रो एउटै भएको कमजोरी पनि औँल्याइदिनुभयो,” अनि, तैँले यसो भन्दै प्रार्थना गर्छस्, “परमेश्‍वर, तपाईँले हाम्रो मण्डलीको लागि कहिले एक दाजु वा भाइ तयार गर्नुहुनेछ?” के दाजुभाइले मण्डली टिकाउने गर्छन्? के दाजुभाइविना यो टिक्‍न सक्दैन? के परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभएको छ? (अहँ, छैन।) परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभएको छैन, न त उहाँले कहिल्यै पनि मण्डली स्थापना गर्नुअघि स्‍त्री-पुरुष दुवै हुनुपर्छ, नत्र स्‍त्री वा पुरुष एउटै लिङ्गका मात्रै भएमा यो स्थापना हुन सक्दैन भनेर नै भन्‍नुभएको छ। के उहाँले कहिल्यै यसो भन्‍नुभएको छ त? (छैन।) यी सबै कुराहरू परिवारले सिकाउने पुरुषप्रधान सोचका परिणामहरू हुन्। सबै कुराको लागि तँ पुरुषमा भर पर्छस्, र कुनै कुरा आइपर्नेबित्तिकै तँ भन्छस्, “यसबारे छलफल गर्न मैले मेरो श्रीमान्‌ आउञ्‍जेल पर्खनुपर्छ,” वा “हाम्रो मण्डलीका दाजुभाइहरू आजभोलि व्यस्त छन्, त्यसैले कसैले पनि यो मामिला सम्हाल्ने अग्रसरता लिइरहेका छैनन्।” त्यसोभए महिलाहरू केको लागि हुन् त? के तँ यी कामहरू गर्न सक्दैनस्? के तेरो मुख वा खुट्टा छैन? तँमा कुनै कुराको कमी छैन: तँ सत्यता सिद्धान्तहरू बुझ्छस्, र तैँले त्यहीअनुसार काम गर्नुपर्छ। पुरुष तेरो प्रमुख होइन, न त ऊ तेरो मालिक नै हो; पुरुषहरू पनि साधारण मानिसहरू नै हुन्, भ्रष्ट मानवजातिका सदस्यहरू नै हुन्। तँ आफूले गर्ने सबै कुरामा परमेश्‍वर र उहाँका वचनहरूमा भर पर्न सिक्। कुनै व्यक्तिमा निर्भर हुनुको सट्टा, तैँले पछ्याउनुपर्ने सिद्धान्त र तरिका यही हो। म पुरुषवादको वकालत गर्दिनँ, तर यो मैले महिला अधिकार माथि उठाउन वा प्रमाणित गर्नको लागि नभई, मानिसहरूलाई सत्यताको पक्ष बुझ्न मद्दत गर्नको लागि भनिरहेको छु। सत्यताको कुन पक्ष रे? यो कि, तेरा आमाबुबाले तँमा हालिदिएको “असल पुरुष महिलासँग लड्दैन” भन्‍ने भनाइ गलत छ; र यसले तँमा गलत विचार घुसाइरहेको र तँलाई गलततर्फ डोर्‍याइरहेको छ। पुरुषको रूपमा रहेको तेरो भूमिका वा तैँले महिलालाई कसरी व्यवहार गर्ने भन्‍ने कुराको सन्दर्भमा तैँले यो कुरा पछ्याउनु हुँदैन। यो तैँले बुझ्‍नुपर्ने सत्यताको एउटा पक्ष हो। सधैँ यस्तो सोच्‍ने नगर्, “म एक पुरुष हुँ, मैले पुरुषको दृष्टिकोणबाट विभिन्‍न कुराहरूबारे विचार गर्नुपर्छ, मैले यी दिदीबहिनीहरूको ख्याल गर्नुपर्छ, र पुरुषको स्थानमा बसेर, तिनीहरूलाई रक्षा गर्नुपर्छ, सहनुपर्छ र क्षमा गर्नुपर्छ, र तिनीहरूमध्ये कसैसँग गम्भीर व्यवहार गर्नु हुँदैन। यदि कुनै दिदी वा बहिनीले मण्डली अगुवाको लागि चुनाव लड्न चाहिन् भने, म उनीसँग शिष्टाचारपूर्ण व्यवहार गर्नेछु, र उनलाई नेतृत्व गर्न दिनेछु।” यो कुन आधारमा हो? तँ एक पुरुष होस् भन्दैमा, तँलाई आफू सबैलाई अङ्गाल्‍ने व्यक्ति हुँ भन्‍ने लाग्छ? के तँ तिनीहरूप्रति सहनशील हुन सक्छस्? तैँले आफूलाई समेत सहन सक्दैनस्। मण्डलीको नेतृत्व त उक्त भूमिकाको लागि को उपयुक्त छ भन्‍ने कुराको आधारमा निर्धारण गर्नुपर्छ। यदि विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तँलाई छनौट गरे भने, तैँले नै यो बोझ उठाउनुपर्छ। यो तेरो जिम्मेवारी र कर्तव्य दुवै हो। तैँले किन यतिकै, यसै इन्कार गरिरहेको हुन्छस्? तँ कति कुलीन होस् भनेर देखाउन हो? के अभ्यासको सिद्धान्त त्यही हो? के यो सत्यताअनुरूप छ? (अहँ छैन।) यसलाई अस्वीकार गर्नु र यसको लागि लड्नु दुवै गलत हो; त्यसोभए, व्यवहार गर्ने सही तरिकाचाहिँ के हो त? सही तरिका भनेको तेरा कार्यहरूलाई परमेश्‍वरका वचनहरूमा आधारित गर्नु र सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा लिनु हो। तिमीहरूका आमाबुबाले तिमीहरूलाई “असल पुरुष महिलासँग लड्दैन” भनेर सिकाए। यो पुरुषप्रधान विचार र दृष्टिकोण लिएर तैँले कति वर्ष बिताएको छस्? धेरैजसो मानिसहरू यस्तो सोच्छन्, “धुने र टालटुल गर्ने जति सबै महिलाको काम हो। ती काम महिलालाई नै गर्न देऊ। ती कामहरू गर्नुपर्दा मलाई दिक्‍क लाग्छ; मलाई पुरुषको स्तरबाट घटेको महसुस हुन्छ।” त्यसोभए, यदि तैँले यो काम गरिस् भने के हुन्छ? के तँ त्यसउप्रान्त पुरुष रहँदैनस्? कतिपय मानिसहरू यसो भन्छन्, “मेरो लुगा सधैँ मेरी आमा, बहिनी वा हजुरआमाले धुनुहुन्छ। मैले कहिल्यै पनि ‘छोरीमान्छेको काम’ गरेको छैनँ।” तर अहिले तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको छस्, र तँ आत्मनिर्भर हुनुपर्छ। तैँले यही काम गर्नुपर्छ; परमेश्‍वरले मानिसहरूलाई यही गर्न लगाउनुहुन्छ। के तँ यो काम गर्छस् त? (गर्छु।) यदि तेरो हृदय अटेर छ, तँ इच्छुक छैनस् र यही कुराको कारण तैँले सधैँ आफ्नी आमालाई सम्झिरहन्छस् भने, तँ वास्तवमै केही न कामको छस्। पुरुषहरूमा यी पुरुषप्रधान विचारहरू हुन्छन्, र तिनीहरूले बच्‍चाहरू हेरचाह गर्ने, घर चिटिक्‍क पार्ने, धुने-पखाल्ने, र सरसफाइ गर्नेजस्ता कामहरूलाई तुच्छ ठान्छन्। कतिपयमा त दह्रिला पुरुषप्रधान प्रवृत्तिहरू हुन्छन्, र तिनीहरूले यी कामहरूलाई घृणा गर्छन्, यी काम गर्न अनिच्छुक हुन्छन्, अनि यदि तिनीहरूले यी काम गरे नै भने पनि, अरूले तिनीहरूको खिल्‍ली उडाउँछन् भनेर मात्र मन नलागी-नलागी गर्छन्। तिनीहरूले यस्तो सोच्छन्, “यदि मैले सधैँ यी कामहरू गरिरहेँ भने, के म छोरीमान्छे जस्तो हुँदिनँ र?” यो विचार र दृष्टिकोणलाई के कुराले सञ्‍चालित गरेको हुन्छ? के तिनीहरूको विचारमा कुनै समस्या छैन र? (हो, छ।) तिनीहरूको विचार समस्याले भरिएको छ। केही क्षेत्रहरूलाई हेर्, जहाँ पुरुषहरूले सधैँ एप्रोन लाउँछन् र खाना पकाउँछन्। जब महिला कामबाट घर फर्कन्छे, तब पुरुषले उसलाई यसो भन्दै खाना दिन्छ, “यो चाख त। साह्रै मीठो छ; मैले आज तिम्रो मनपर्ने सबै कुरा बनाएको छु।” तयार परिएको खाना महिलाले अप्ठेरो नमानी खान्छे, र पुरुषले पनि आफू गृहिणी भएको महसुस नगरी अप्ठेरो नमानी खाना तयार पारिरहेको हुन्छ। जब बाहिर निस्केर उसले आफ्नो एप्रोन हटाउँछ, के ऊ अझै पनि त्यही पुरुष नै हुँदैन र? पुरुषप्रधान मानसिकता धेरै हाबी भएका केही क्षेत्रहरूमा, मानिसहरूलाई पारिवारिक शिक्षण र प्रभावले नै बिगारेको हुन्छ भन्‍ने कुरा नकार्न सकिँदैन। यस्तो शिक्षणले तिनीहरूलाई बचाएको छ, कि हानि गरेको छ? (यसले तिनीहरूलाई हानि गरेको छ।) यो कुरा तिनीहरूको लागि हानिकारक रहेको छ। कतिपय तीस, चालीस, वा पचास वर्ष पुगेका पुरुषहरूले आफ्नै मोजासमेत धुन सक्दैनन्। तिनीहरूले छ महिनासम्‍म गन्जी लगाउँछन्, र यो फोहोर भइसकेको हुन्छ, तैपनि तिनीहरू धुन चाहँदैनन्; यसलाई कसरी धुने, कति पानी वा डिटर्जेंट प्रयोग गर्ने, र यसलाई कसरी सफा गर्ने भन्‍नेबारे तिनीहरूलाई केही थाहा हुँदैन। अनि, तिनीहरूले त्यस्तै लगाइरहन्छन् र यस्तो सोच्छन्, “पछि, म मेरी आमा वा मेरी श्रीमतीलाई मेरो लागि धेरै गन्जी र मोजा किन्‍न लगाउँछु, ताकि दुई महिनामा एकपटक धुँदा पनि मलाई खाँचो नहोस्। मेरी आमा वा श्रीमतीले आएर धोइदिए त झनै राम्रो हुनेछ!” यी कामप्रतिको तिनीहरूको घृणाको जड तिनीहरूको परिवार र आमाबुबाले दिएको शिक्षासँग सम्बन्धित हुन्छ। आमाबुबाले हालिदिने विचार र दृष्टिकोणहरू जिउनेसम्‍बन्धी सबैभन्दा आधारभूत र सरल नियमहरूका साथै मानिसहरूलाई हेर्ने केही गलत दृष्टिकोणहरूसँग सम्‍बन्धित हुन्छन्। सारांशमा भन्दा, यी सबै मानिसहरूका विचारहरूबारेका पारिवारिक शिक्षण हुन्। परमेश्‍वरमाथिको विश्‍वास र व्यक्तिको अस्तित्वको अवधिमा यी कुराहरूको प्रभाव चाहे जतिसुकै होस्, वा चाहे यी कुराले जति नै समस्या र असहजता ल्याउन्, तर अन्तर्निहित रूपमा यी कुराहरूको निश्‍चित सम्बन्ध आमाबुबाले दिने वैचारिक शिक्षासँग नै हुन्छ। यदि तँ अहिले वयस्क भएको छस् र तैँले धेरै वर्षसम्म यी विचार र दृष्टिकोणहरूअनुसार जीवन बिताएको छस् भने, यी कुराहरू रातारात परिवर्तन हुँदैनन्—यसको लागि समय लाग्छ। यदि यी विचार र दृष्टिकोणहरू आफ्नो कर्तव्य निर्वाह गर्ने वा आफ्नो आचरण अँगाल्ने र दुनियाँसित व्यवहार गर्ने सिद्धान्तहरूसँग सम्बन्धित छन् भने, र यदि तैँले सत्यता पछ्याइरहेको छस् भने, तैँले जतिसक्दो चाँडो यी कुराहरू परिवर्तन गरेर सत्यता वास्तविकतामा प्रवेश गर्ने प्रयास गर्नुपर्छ। यदि यी कुराहरू व्यक्तिगत जीवनका पक्षहरूसँग मात्र सम्बन्धित छन् भने, तँ परिवर्तन हुन इच्छुक हुनु नै राम्रो हुन्छ। यदि तैँले यो हासिल गर्न सक्दैनस् भने, र यदि यो अलि झन्झटिलो वा गाह्रो देखिन्छ, वा तँलाई पहिले नै यो जीवनशैलीमा बानी परिसकेको छ र तँ परिवर्तन हुन सक्दैनस् भने, कसैले पनि तँलाई जबरजस्ती गरिरहेको छैन। मैले त सही के हो र गलत के हो, त्यो तँलाई थाहा होस् भनेर मात्रै यी कुराहरू औँल्याइरहेको छु। यी व्यक्तिगत जीवनशैलीका मामिलाहरूलाई, आफै तौली—हामी यो कुरामा जबरजस्ती गर्दैनौँ। तैँले कति पटक आफ्नो मोजा धुन्छस्, र फाटेपछि तँ त्यसलाई सिलाउँछस् कि फ्याँक्छस्, त्यो तेरो आफ्नै कुरा हो। त्यो तैँले तेरो परिस्थितिअनुसार नै गर्—हामी यसमा कुनै निश्‍चित नियमहरू तय गर्नेछैनौँ।

कतिपय परिवारमा, तिनीहरूको सुविधाजनक पृष्ठभूमिको कारण, आमाबुबाले प्रायजसो आफ्ना छोराछोरीहरूलाई यसो भन्छन्, “बाहिर जाँदा, तँ कसको सन्तान होस् र तेरा पुर्खाहरू को हुन् भन्‍ने याद गर्नू। तैँले हाम्रो परिवारको नाममा सम्मान र वैभव ल्याउने तरिकाले सामाजिक समूहहरूमा व्यवहार गर्नुपर्छ। हाम्रो पुर्खाको प्रतिष्ठालाई कहिल्यै कलङ्कित नपार्नू। सधैँ हाम्रा पुर्खाहरूको शिक्षा सम्झनू र हाम्रो वंशको नाक नकाट्नू। यदि कुनै दिन तैँले गल्ती गरिस् भने, मानिसहरूले, ‘के तिमी प्रख्यात र सम्मानित परिवारको होइनौ र? तिमीले कसरी यस्तो काम गर्न सक्यौ?’ भनेर भन्‍नेछन्। तिनीहरूले तँलाई हाँसोमा उडाउनेछन्, तर तिनीहरूले तँलाई मात्रै होइन, हाम्रो सम्पूर्ण परिवारलाई नै हाँसोमा उडाइरहेका हुनेछन्। त्यस्तो अवस्थामा, तैँले हाम्रो परिवारको नाममा कालो पोतिरहेको र हाम्रा पुर्खाहरूलाई लज्‍जित पारिरहेको हुन्छस्, र त्यो कार्य अस्वीकार्य छ।” कतिपय आमाबुबाले आफ्ना छोराछोरीहरूलाई यसो पनि भन्छन्, “हाम्रो देश एउटा महान्‌ राष्ट्र र प्राचीन सभ्यता हो। हाम्रो वर्तमान जीवन सजिलैसँग आएको होइन, त्यसैले यसलाई कदर गर्। विशेष गरी तँ विदेशमा हुँदा, तैँले चिनियाँ मानिसहरूको लागि वैभव र सम्मान जित्‍नुपर्छ। हाम्रो राष्ट्रलाई अपमानित तुल्याउने वा चिनियाँ जनताको प्रतिष्ठामा चोट पुर्‍याउने कुनै पनि काम नगर्।” एक हिसाबले, तेरा आमाबुबाले तँलाई तेरा परिवार र पुर्खाहरूको लागि, र अर्को हिसाबले, तेरो राष्ट्र र जातिको लागि वैभव र सम्मान जित्‍न लगाइरहेका हुन्छन्, र तँलाई आफ्नो देशलाई लज्‍जित नपार्न आग्रह गरिरहेका हुन्छन्। सानै उमेरदेखि नै, बालबालिकालाई तिनीहरूका आमाबुबाले यसरी नै शिक्षा दिन्छन्, र जब तिनीहरू स्कुल जान्छन्, तिनीहरूका शिक्षकहरूले पनि तिनीहरूलाई उस्तै तरिकाले नै शिक्षा दिँदै यसो भन्छन्, “हाम्रो कक्षा, हाम्रो विद्यालय, हाम्रो सहर र हाम्रो देशको लागि वैभव जित। हामीमा क्षमताको कमी छ वा हाम्रो चरित्र खराब छ भनेर विदेशीहरूले हामीलाई गिल्‍ला नगरून्।” मण्डलीका कतिपय मानिसहरूले यसो पनि भन्छन्, “हामी चिनियाँहरूले पहिले विश्‍वास गर्‍यौँ। विदेशी विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग कुराकानी गर्दा, हामीले चिनियाँ मानिसहरूको लागि वैभव जित्‍नुपर्छ र तिनीहरूको प्रतिष्ठा कायम राख्‍नुपर्छ।” यी सबै भनाइहरू परिवारले मानिसहरूमा हालिदिने कुरासँग नै सीधै सम्बन्धित छन्। के यस्तो मानसिकता हालिदिने कार्य सही छ? (अहँ, छैन।) किन छैन? तिनीहरूले के वैभव खोजिरहेका हुन्छन्? के यस्तो वैभव खोज्नुको कुनै फाइदा छ? (अहँ, छैन।) एक पटक उत्तर-पूर्वी चीनको एक पुरुष विभिन्‍न मण्डलीहरूमा भ्रमण गरिरहेको थियो; उसले मण्डली भेटीबाट १०,००० युआन पैसा लिएको थियो, र आफ्नो बाँकी दिन बिताउन घर भागेर गयो। उत्तर-पूर्वका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले थाहा पाएपछि, कतिपयले यसो भने, “यो मान्छे घृणास्पद छ! उसले मण्डलीको भेटी पैसासमेत लैजाने साहस गर्‍यो। उसले उत्तर-पूर्वका मानिसहरूको प्रतिष्ठालाई पूर्ण रूपमा कलङ्कित पारेको छ! यदि हामीले उसलाई भेट्यौँ भने, पाठ सिकाउनुपर्छ!” यो घटनापछि, उत्तर-पूर्वका मानिसहरूले आफ्नो सम्मान गुमेजस्तो महसुस गरे। जब तिनीहरू अरू प्रान्तका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग कुरा गरिरहेका हुन्थे, तिनीहरू यो कुरा उठाउने हिम्मत नै गर्दैनथे। तिनीहरूलाई लज्जित महसुस हुन्थ्यो, र अरूले “तपाईँहरूको उत्तर-पूर्वी क्षेत्रको फलानोले भेटी पैसा लिएर भागेछ नि” भनेर भन्‍ने हुन् कि भनेर डराउँथे। अरूले यसबारे कुरा गर्लान् कि भनेर तिनीहरूलाई डर लाग्थ्यो, र तिनीहरूले यो कुरा उठाउने आँटै गर्दैनथे। के यो व्यवहार सही छ त? (अहँ, छैन।) अनि, यो किन गलत छ? (जसले भेटी पैसा लिन्छ उसको अरूसँग कुनै सरोकार हुँदैन; सबैले आफ्नो प्रतिनिधित्व आफै गर्छ।) ठीक भन्यौ। त्यो व्यक्तिले भेटी पैसा लिनु उसको आफ्नै निर्णय हो। यदि तैँले पत्ता लगाएर उसलाई रोकेर, परमेश्‍वरको घरमा नोक्सानी हुनबाट बचाउँथिस् र यसको हित रक्षा गर्थिस् भने, तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुन्थिस्। यदि तैँले यसलाई रोक्‍ने कुनै अवसर नपाएर हानि हुन नदिन सकेको थिइनस् भने, तैँले त्यो कस्तो खराब व्यक्ति हो भनेर पहिचान गर्नुपर्छ, आफैलाई अर्ती दिनुपर्छ, र तैँले आफूलाई यस्तो घटनाबाट बचाउन र यस्तै परीक्षामा पर्नबाट जोगिनको लागि परमेश्‍वरसँग प्रार्थना गर्नुपर्छ। तैँले सही तरिकाले यो समस्या सम्बोधन गर्नुपर्छ। त्यो व्यक्ति तेरो क्षेत्रका भए पनि, त्यसको कामले त्यही व्यक्ति मात्रै प्रतिनिधित्व गर्छ। त्यस क्षेत्रका मानिसहरूले त्यसलाई यसरी व्यवहार गर्न सिकाएका वा प्रोत्साहित गरेका हुँदैनन्। अरू कसैसँग यसको कुनै सम्बन्ध हुँदैन। अरूले त बढीमा पर्याप्त रेखदेख नगरेको वा निर्देशन नदिएको मात्र हुन सक्छ, त्यसको गल्तीको परिणाम भोग्‍ने जिम्‍मेवारी कसैको हुँदैन। त्यसले परमेश्‍वरविरुद्ध काम गर्‍यो र प्रशासनिक आदेशहरू उल्लङ्घन गर्‍यो, तर त्यसको परिणाम भोग्‍ने जिम्‍मेवारी कसैको हुँदैन। त्यसको बदनामी त्यसको आफ्नै कुरा हो। अझ भन्‍ने हो भने, यो कुरा इज्‍जत गुमाउने कि वैभव प्राप्त गर्ने भन्‍ने कुरासँग सम्‍बन्धित छैन; यो त व्यक्तिको प्रकृति सार र उसले लिएको बाटोसँग सम्‍बन्धित कुरा हो। यति मात्र भन्‍न सकिन्छ कि मानिसहरूले सुरुमा त्यो व्यक्तिको साँचो चरित्र पत्ता लगाउन सकेनन्, र यो घटनापछि त्यसको साँचो रङ्ग प्रकट भयो। त्यस क्षेत्रका अरू विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको प्रतिष्ठा वा मर्यादासँग त्यसको कुनै सम्बन्ध हुँदैन। यदि तँलाई त्यो व्यक्ति तेरै क्षेत्रको भएकोले, त्यसले तँलाई बेइज्जत गरेको छ भन्‍ने लाग्छ भने, त्यस्तो दृष्टिकोण र बुझाई पूर्ण रूपमा भ्रामक छ। परमेश्‍वरको घरले कहिल्यै पनि एक व्यक्तिको पापको लागि सम्पूर्ण परिवारलाई सजाय दिँदैन; परमेश्‍वरले प्रत्येक व्यक्तिलाई अलग व्यक्तित्वको रूपमा हेर्नुहुन्छ। तँ जुनसुकै ठाउँबाट आएको भए पनि, तँ र त्यो व्यक्ति एउटै परिवार वा आमाबुबाबाट आएको भए पनि, परमेश्‍वरले प्रत्येक व्यक्तिलाई एक पृथक व्यक्तिको रूपमा हेर्नुहुन्छ। परमेश्‍वरले एक जनाको गल्तीको कारण त्योसँग सम्बन्धित अर्को व्यक्तिलाई सजाय दिनुहुन्‍न। सिद्धान्त यही हो, र यो सत्यताअनुरूप छ। तैपनि, यदि तँलाई तेरो क्षेत्रको कुनै व्यक्तिले गलत गर्दा त्यसले तेरो प्रतिष्ठामा हानि पुर्‍याउँछ र तँलाई पनि फसाउँछ भन्‍ने लाग्छ भने, यो तेरो गलत बुझाइले गर्दा हो, र सत्यतासँग यसको कुनै सम्‍बन्ध हुँदैन। तसर्थ, जब आमाबुबाले तँलाई, “हाम्रो देश, परिवार, वा थरको लागि वैभव जित्” भनेर भन्छन्, तब के यो सही हुन्छ त? (हुँदैन।) किन हुँदैन? यसको प्रकृति कुन वाक्यांशसँग मिल्छ? के यसको प्रकृति पनि हामीले पहिले छलफल गरेको विचार, अर्थात् “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्‍ने भनाइको प्रकृतिसँग मिल्दोजुल्दो छैन र? व्यक्तिको जीवनमा, सकारात्मक कार्यहरू गर्नु, सही मार्ग हिँड्नु, सकारात्मक कुराहरू र सत्यता अँगाल्नु—यीमध्ये कुनै पनि कार्य आफैलाई श्रेय दिनको लागि गरिँदैन। बरु, मानिसहरूले यस्तो व्यवहार अँगाल्नुपर्छ: यो तिनीहरूको जिम्मेवारी हो, यो तिनीहरूले हिँड्नुपर्ने बाटो, र तिनीहरूको कर्तव्य हो। सही मार्ग हिँड्नु, सकारात्मक कुराहरू र सत्यता अँगाल्नु, र परमेश्‍वरमा समर्पित हुनु मानिसहरूको दायित्व र कर्तव्य हो। यी कार्यहरू मुक्ति प्राप्त गर्नको लागि पनि हुन्, तेरो आफ्नै लागि वा परमेश्‍वरको लागि इज्‍जत कमाउनलाई होइनन्, र पक्कै पनि यी तेरो देशका मानिसहरूको इज्‍जत कमाउलाई होइनन्, र निश्‍चय नै यी कुनै खास थर, जाति वा कुलको इज्‍जत कमाउनलाई पनि होइनन्। तैँले तेरो देशका मानिसहरूको लागि वैभव जित्‍नको लागि मुक्ति पाएको हुँदैनस्, र अवश्य नै तेरो परिवारको लागि वैभव जित्‍नको लागि पनि मुक्ति पाएको हुँदैनस्। “वैभव जित्‍नु” भन्‍ने विचार केवल सिद्धान्त मात्रै हो। तेरो मुक्तिको ती मानिसहरूसँग कुनै सम्बन्ध हुँदैन। तिनीहरूले तेरो मुक्तिबाट के फाइदा लिन सक्छन्? यदि तैँले मुक्ति पाइस् भने, तिनीहरूले यसबाट के पाउन सक्छन्? तिनीहरूले सही मार्ग पछ्याउँदैनन्, र सोहीअनुसार परमेश्‍वरले आफ्‍नो धर्मी स्वभावमार्फत तिनीहरूसित व्यवहार गर्नुहुनेछ। तिनीहरूलाई उहाँले जे-जसरी व्यवहार गर्नुपर्ने हो त्यसरी नै व्यवहार गर्नुहुनेछ। यो तथाकथित “वैभव जितेर” तिनीहरूले के नै पाउँछन् र? तिनीहरूसँग यसको कुनै सम्‍बन्ध हुँदैन। तैँले आफूले लिएको मार्गको परिणाम स्वीकार गर्छस्, र तिनीहरूले तिनीहरूकै मार्गको परिणाम स्वीकार गर्छन्। परमेश्‍वरले प्रत्येक व्यक्तिसँग उहाँको धर्मी स्वभावअनुसार व्यवहार गर्नुहुन्छ। आफ्नो राष्ट्र, परिवार, वा थरको लागि वैभव जित्‍नु कुनै एक व्यक्तिको जिम्मेवारी होइन। स्वाभाविक रूपमै, तैँले एक्लै यो जिम्मेवारी वहन गर्नु हुँदैन, र वास्तवमा तैँले त्यो एक्लै वहन गर्न पनि सक्दैनस्। परिवार वा कुलको उदय वा पतन, यसको दिशा, र यसको नियति तैँले तिनीहरूको लागि वैभव जित्छस् कि जित्दैनस् भन्‍ने कुरासँग सम्‍बन्धित हुँदैन। अनि अवश्य नै, तैँले लिने मार्गसँग यसको कुनै सम्‍बन्ध हुँदैन। यदि तैँले राम्रो व्यवहार अँगाल्छस् र तँ परमेश्‍वरमा समर्पित हुन सक्छस् भने, यो तिनीहरूको लागि वैभव जित्‍न वा तिनीहरूलाई श्रेय दिनको लागि गरिएको हुँदैन, न त यो तिनीहरूको तर्फबाट परमेश्‍वरबाट कुनै इनाम दाबी गर्न वा तिनीहरूको लागि सजायबाट कुनै छुट पाउनको लागि नै गरिएको हुन्छ। तिनीहरूको उदय, पतन, र तिनीहरूको नियतिसँग तेरो कुनै सम्बन्ध हुँदैन। विशेष गरी तिनीहरूले सम्मानित महसुस गर्छन् कि गर्दैनन्, र तैँले तिनीहरूको लागि वैभव जित्छस् कि जित्दैनस् भन्‍ने विषयमा भन्दा—तँसँग यी कुराहरूको कुनै सान्दर्भिकता नै हुँदैन। तैँले यी कुराहरूलाई आफ्नो काँधमा बोक्‍न मिल्दैन, र तँसँग त्यसो गर्नुपर्ने कुनै जिम्मेवारी वा दायित्व हुँदैन। त्यसकारण, जब तेरा आमाबुबाले तँलाई “तैँले आफ्नो राष्ट्र, परिवार वा थरको लागि वैभव जित्‍नुपर्छ, र तैँले हाम्रा पुर्खाहरूको प्रतिष्ठा कलङ्कित पार्नु हुँदैन वा अरूलाई हाम्रो पिठ्यूँपछाडि हाम्रो निन्दा गर्न दिनु हुँदैन” भनेर भन्छन्, यी शब्दहरूले तँमा नकारात्मक मनोवैज्ञानिक दबाब मात्रै हालिदिन्छन्। तँ यी कुराहरूको मापदण्डअनुसार जिउनु हुँदैन, न त तँसँग त्यसो गर्नुपर्ने कुनै दायित्वै हुन्छ। यस्तो किन हो? किनभने परमेश्‍वरले तँलाई उहाँसामु सृष्टि गरिएको प्राणीको रूपमा रहेको तेरो कर्तव्य पूरा गर्न मात्र लगाउनुहुन्छ। उहाँले तँलाई तेरो देश, परिवार, वा थरको लागि केही गर्न वा कुनै दायित्व वहन गर्न लगाउनुहुन्‍न। त्यसकारण, तेरो देश वा परिवारको लागि वैभव जित्‍नु, वा तेरो थरको लागि वैभव र सम्मान जित्‍नु वा केही गर्नु तेरो दायित्व होइन। तँसँग यसको कुनै सम्बन्ध हुँदैन। तिनीहरूको नियति पूर्ण रूपमा परमेश्‍वरको हातमा हुन्छ, र तैँले कुनै पनि बोझ बोक्‍नु आवश्यक छैन। यदि तैँले कुनै गल्ती गरिस् भने, तैँले तिनीहरूप्रति कुनै ग्‍लानि महसुस गर्नु हुँदैन। यदि तैँले कुनै राम्रो काम गरिस् भने, आफू भाग्यमानी रहेछु भन्‍ने मानसिकता राख्‍ने वा आफूले आफ्नो देश, परिवार, वा थरको लागि गौरव प्राप्त गरेको छु भनेर सोच्‍ने गर्नु हुँदैन। यी कुराहरूमा रमाउने नगर्नू। अनि यदि तँ असफल भइस् भने, तर्सिने वा शोकले निराश हुने पनि नगर्नू। आफैलाई दोष नदिनू। किनभने तँसँग यसको कुनै सम्बन्ध हुँदैन। यसबारे सोच्‍नेसमेत नगर्नू—यो त्यति सरल कुरा हो। त्यसकारण, विभिन्‍न राष्ट्रका मानिसहरूबारे कुरा गर्दा, चिनियाँ मानिसहरू परमेश्‍वरद्वारा चुनिएका मानिसहरू हुन्; तिनीहरू परमेश्‍वरको अगाडि आएका छन् र तिनीहरू सृष्टि गरिएका प्राणीहरू हुन्। पश्‍चिमीहरू परमेश्‍वरको अगाडि आउँछन् भने, तिनीहरू पनि सृष्टि गरिएका प्राणीहरू हुन्। अनि, एसियालीहरू, युरोपेलीहरू, उत्तर र दक्षिण अमेरिकीहरू, ओसिनियालीहरू, र अफ्रिकीहरू परमेश्‍वरको अगाडि आउँछन् र उहाँको काम स्विकार्छन् भने, तिनीहरू पनि उहाँका सृष्टि गरिएका प्राणीहरू हुन्। कुनै व्यक्ति जुनसुकै देशको भए पनि, उसले गर्नुपर्ने एउटै मात्र कुरा भनेको सृष्टि गरिएको प्राणीको रूपमा आफूले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्नु, परमेश्‍वरका वचनहरू स्वीकार गर्नु, परमेश्‍वरका वचनहरूमा समर्पित हुनु, र मुक्ति प्राप्त गर्नु हो। तिनीहरूले आफूहरूलाई समूह वा जातिमा विभाजन गर्दै आफ्‍नो राष्ट्रियताको आधारमा विभिन्‍न समूहहरू गठन गर्नु हुँदैन। जातीय वैभवलाई आफ्‍नो सङ्घर्षको उद्देश्य वा यसको आधारभूत सिद्धान्तको रूपमा लिने सबै कुरा गलत हुन्छ। यो मानिसहरूले हिँड्नुपर्ने मार्ग होइन, र यो कुरा मण्डलीभित्र देखा पर्नु हुँदैन। एक दिन त्यस्तो समय आउनेछ, जुन बेला विभिन्‍न देशका मानिसहरूले अझ व्यापक रूपमा अन्तरक्रिया गर्नेछन् र विश्‍वको अझ व्यापक क्षेत्रमा पहुँच प्राप्त गर्नेछन्, अनि एसियाली व्यक्तिले युरोपेलीसँग भेट गर्न सक्छ, युरोपेली व्यक्तिले अमेरिकीसँग भेट्न सक्छ, र अमेरिकी व्यक्ति एसियाली वा अफ्रिकी, आदि इत्यादिजस्ता ठाउँका मानिसहरूको सम्पर्कमा आउन सक्छ। जब विभिन्‍न जातिहरू भेला हुन्छन्, यदि जातको आधारमा समूहहरू निर्माण भएका छन् भने, र सबै आफ्नो जातीय वैभवको लागि लागिपर्छन् र आफ्नो जातिकै लागि काम गर्छन् भने, मण्डलीले के कुरा सामना गर्न थाल्नेछ? यसले विभाजन सामना गर्न थाल्नेछ। यो परमेश्‍वरले घृणा र निन्दा गर्नुहुने कुरा हो। जसले यस्तो गर्छ त्यो श्रापित हुन्छ, जसले यस्तो व्यवहार गर्छ त्यो शैतानको सेवक हुन्छ, र जसले यस्तो व्यवहार गर्छ त्यो सजायको भागीदार हुनेछ। अनि, तिनीहरूलाई किन सजाय दिइनेछ? किनभने यो प्रशासनिक आदेशहरूको उल्लङ्घन हो। यस्तो कहिल्यै नगर्। यदि तैँले यस्तो व्यवहार गर्न सक्छस् भने, तैँले तेरा आमाबुबाले तँलाई सिकाएको यो पक्ष त्यागेको छैनस् भन्‍ने प्रमाणित हुन्छ। तैँले सृष्टि गरिएको प्राणीको रूपमा परमेश्‍वरले दिनुभएको पहिचान तैँले स्वीकार गरेको छैनस्, र तँ अझै पनि आफूलाई चिनियाँ, वा गोरा, काला, वा खैरो व्यक्तिको रूपमा—फरक जाति, थर वा राष्ट्रियता भएको व्यक्तिको रूपमा हेर्छस्। यदि तँ आफ्नो राष्ट्र, जाति वा परिवारमा वैभव ल्याउन चाहन्छस्, र आफ्नो दिमागमा यही विचार राखेर व्यवहार गर्छस् भने, परिणामहरू भयावह हुनेछन्। आज, हामी यहाँ गम्भीरतापूर्वक यो मामिला घोषणा गरी स्पष्ट पार्दछौँ। यदि कुनै दिन कुनै व्यक्ति प्रशासनिक आदेशहरूको यो पक्षविरुद्ध जान्छ भने, उसले यसका परिणामहरू भोग्‍नेछ। त्यो बेला “तपाईँले मलाई भन्‍नुभएन, मलाई थाहा थिएन, मैले बुझिनँ” यसो भन्दै गुनासो नगर्नू। तैँले सृष्टि गरिएको प्राणीको रूपमा रहेको आफ्नो पहिचान थाहा पाएको धेरै भएको छ, तैपनि तैँले अझै यस्तो कार्य गर्न सक्छस्: यसको मतलब तँ अनभिज्ञ थिइनस्, तर तैँले जानीजानी र थाहा पाईपाई अपराध गरेको थिइस्। तैँले सजाय भोग्‍नुपर्छ। प्रशासनिक आदेशहरूविरुद्ध जानुको परिणाम अकल्पनीय छ। कुरो बुझ्यौ? (हो, बुझ्यौँ।)

कतिपय आमाबुबाले आफ्ना छोराछोरीलाई यसो भन्छन्, “हामी जहाँ गए पनि, हामीले हाम्रो मूल जड बिर्सनु हुँदैन। हामी जन्‍मे-हुर्केको ठाउँ कहाँ हो, वा हामी को हौँ भन्‍ने बिर्सिनु हुँदैन। त्यसैले, तँ जहाँ गए पनि, जब तैँले आफ्‍नो गाउँलेहरूलाई भेट्छस्, तब तिनीहरूको हेरचाह गर्नू। मण्डली अगुवा वा सुपरभाइजर छनौट गर्दा, आफ्‍नो गाउँका मानिसहरूलाई प्राथमिकता दिनू। जब मण्डलीले कुनै भौतिक लाभ दिन्छ, आफ्‍नो गाउँका मानिसहरूलाई नै पहिले लिन दिनू। यदि तैँले समूह सदस्यहरू छनौट गर्दै छस् भने, पहिले आफ्नो गाउँका मानिसहरूलाई छनौट गर्नू। एउटै गाउँका मानिसहरूसँग काम गर्दा, तिमीहरूको भाषा मिल्छ र तिमीहरू परिचित भइसकेका हुन्छौ।” यसलाई के भनिन्छ? “गाउँठाउँका साथीभाइ भेट्दा, आँखामा आँसु आउँछ।” यस्तो भनाइ पनि छ, “काका र काकीहरू पुस्तौँ-पुस्ता आफ्ना जन नै हुन्छन्: हड्डीहरू भाँचिएला, तर नसाहरू अझै जोडिइरहन्छन्।” कतिपय मानिसहरूले तिनीहरूका आमाबुबा र अग्रजहरूको निर्देशनको कारण, आफ्नै प्रान्त वा सहरबाट कुनै व्यक्ति आएको छ भन्‍ने सुन्‍नेबित्तिकै, वा तिनीहरूले आफ्नो गाउँठाउँको शैलीमा बोलेको सुन्‍नेबित्तिकै, तिनीहरूलाई त्यो व्यक्ति धेरै प्रिय लाग्छ। अनि, तिनीहरू सँगै खान्छन्, जमघटहरूमा सँगै बस्छन्, र सबै कुरा सँगै गर्छन्। तिनीहरू साह्रै नजिक बन्छन्। कतिपय मानिसहरूले आफ्‍नो गाउँठाउँकालाई भेट्दा यसो भन्‍न सक्छन्, “भनाइ नै छ, ‘गाउँठाउँका साथीभाइ भेट्दा, आँखामा आँसु आउँछ।’ मलाई आफ्‍नो गाउँठाउँका मानिसहरू भेट्दा, आत्मीयता महसुस हुन्छ: तपाईँलाई भेट्दा त मलाई परिवार नै भेटेजस्तो लाग्यो।” तिनीहरूले आफ्ना गाउँठाउँका मानिसहरूलाई विशेष वास्ता गर्छन्। यदि तिनीहरूका गाउँठाउँका मानिसहरूले जीवनमा वा काममा कठिनाइहरू सामना गरे भने, वा यदि तिनीहरू बिरामी परे भने, तिनीहरूले उनीहरूको विशेष हेरचाह गर्छन्। के यो राम्रो कुरा हो? (होइन, यो राम्रो कुरा होइन।) किन यो राम्रो होइन? (मानिसहरूसँग यस्तो व्यवहार गर्दा त्यसमा सिद्धान्तहरूको कमी हुन्छ।) यसमा सिद्धान्तहरूको कमी हुन्छ, र यस्ता व्यक्तिहरू मूर्ख हुन्छन्। तिनीहरूले गाउँठाउँका जोसुकैप्रति स्नेह प्रकट गर्छन्, तर गाउँठाउँका मानिसहरू कस्ता हुन्छन्? के तिनीहरू असल मानिसहरू हुन्? के तिनीहरू साँचो विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू हुन्? के तैँले तिनीहरूलाई बढुवा दिनु सिद्धान्तहरूअनुसार हुन्छ? के तिनीहरूलाई तैँले गरेको सिफारिस सिद्धान्तहरूसँग मिल्छ? के तिनीहरू कामको लागि उपयुक्त हुन्छन्? के तिनीहरूप्रतिको तेरो वास्ता र तिनीहरूसँगको तेरो घनिष्ठता उचित हुन्छ? के यो सत्यता र सिद्धान्तहरूअनुरूप हुन्छ? यदि हुँदैन भने, तैँले तिनीहरूको लागि जे गरिरहेको छस् त्यो अनुचित हुन्छ, र त्यो परमेश्‍वरको लागि घृणित हुन्छ। कुरो बुझिस्? (बुझेँ।) त्यसकारण, जब तेरा आमाबुबाले तँलाई “गाउँठाउँका मानिसहरूलाई भेट्दा देखभाल गर्नू” भनेर भन्छन्, तब त्यो एउटा भ्रम हो, र तैँले त्यसलाई मनबाट निकाल्नुपर्छ र बेवास्ता गर्नुपर्छ। भविष्यमा, यदि तेरा आमाबुबाले तँलाई “हाम्रो गाउँको फलानो पनि तँ जाने मण्डलीमै जान्छ। के तैँले उसको देखभाल गरिस्?” भनेर सोध्छन् भने, तैँले कस्तो जबाफ दिनुपर्छ? (परमेश्‍वरको घरमा, हामी सबैलाई समान व्यवहार गर्छौँ।) तैँले यसो भन्‍नुपर्छ, “त्यो मेरो दायित्व होइन। गाउँठाउँका मानिसहरूको त कुरै छोडौँ, परमेश्‍वरको विरोधमा तपाईँ नै उभिनुभयो भने पनि, म तपाईँको देखभाल गर्नेछैनँ।” कतिपय मानिसहरू यस्ता परम्परागत पारिवारिक धारणाहरूबाट अत्यन्तै प्रभावित भएका हुन्छन्। आफूसँग अलिअलि सम्बन्धित कुनै पनि व्यक्तिलाई भेट्नेबित्तिकै, वा उही थरको व्यक्ति, वा उही कुलको व्यक्ति भेट्नेबित्तिकै, तिनीहरूले त्यस्ता मानिसहरूलाई छोड्नै सक्दैनन्। कसैसँग थर मिल्छ भन्‍ने सुन्‍नेबित्तिकै, तिनीहरू भन्छन्, “अहो, हामी त एकै परिवार रहेछौँ। अब परिवारभित्रको यो नाताअनुसार, मैले उहाँलाई बजू भन्‍नुपर्छ। म त उहाँको नातिजस्तै हुँ।” तिनीहरूले स्वेच्छाले आफूलाई नातिनातिना भनेर भन्छन्, र उसलाई भेट्दा तिनीहरूले सिस्टर वा अरू केही भनेर बोलाउने हिम्मत गर्दैनन्; तिनीहरूले सधैँ उसलाई “बजू” भनेरै बोलाउँछन्। जब कसैले एउटै थर भएको कसैलाई भेट्छ, उसलाई त्यो व्यक्तिसँग विशेष नजिक भएको महसुस हुन्छ, चाहे त्यो व्यक्ति जस्तोसुकै प्रकारको व्यक्ति नै किन नहोस्। के यो सही हो त? (होइन।) खास गरी, कतिपय परिवारमा एउटै कुलका व्यक्तिहरूलाई विशेष वास्ता गर्ने परम्परा हुन्छ, र तिनीहरूले उनीहरूलाई शिष्टाचारसाथ व्यवहार गर्छन् र यी मानिसहरूसँग घनिष्ठ रूपले अन्तरक्रिया गर्छन्। तसर्थ, तिनीहरूको घरमा सधैँ जमघट र गतिविधिहरू भइरहेको हुन्छ, र परिवार निकै जीवन्त र समृद्ध देखिन्छ। जब कुनै घटना घट्छ, तब टाढाका आफन्तहरू सबै सल्लाह र सुझावहरू दिँदै साथ र सहयोग दिन आउँछन्। यस्तो पारिवारिक संस्कृतिबाट प्रभावित भएर, कतिपयले यसरी व्यवहार गर्नु राम्रो कुरा हो भन्‍ने सोच्छन्; कम्तीमा पनि, तिनीहरू अलग वा एक्ला हुँदैनन्, र केही पर्दा मानिसहरूले तिनीहरूलाई मद्दत गर्न सक्छन्। अनि, अरू मानिसहरूसँग के-के धारणाहरू हुन्छन्? “मानिसहरूमाझ बस्‍नको लागि, व्यक्तिले व्यक्तिजस्तो व्यवहार गर्नुपर्छ।” यो भनाइलाई व्याख्या गर्न गाह्रो भए पनि, हरेक व्यक्तिले यसको अर्थ बुझ्न सक्छ। “व्यक्ति मानव भावनामा रहेर बाँच्नुपर्छ। यदि कसैमा मानव भावना छैन भने, के उसलाई अझै पनि मानव भन्‍न सकिन्छ र? यदि तिमीहरू सधैँ गम्भीर र दृढ हुन्छौ, र सधैँ सिद्धान्त र अडानहरूबारे चिन्तित हुन्छौ भने, अन्त्यमा, तिमीहरूसँग कुनै आफन्त वा साथीभाइ हुनेछैन। सामाजिक समूहहरूमा बस्दा तिमीहरूमा मानव भावनाहरू हुनु आवश्यक हुन्छ। थर नमिल्‍ने मानिसहरूको कुरा त अर्कै विषय होला, तर के एउटै थर वा एउटै कुल भएकाहरू सबै नातेदार होइनन् र? कसैलाई पनि त्याग्‍न मिल्दैन। जब तिमीहरूले रोग, विवाह, अन्त्येष्टि, वा अन्य ठूला-साना घटनाहरू सामना गर्छौ, तब के तिमीहरूलाई यसबारे छलफल गर्न कसैको आवश्यकता पर्दैन र? जब तिमीहरूले घर, कार, वा जग्गा किन्छौ, उनीहरू कसैले तिमीहरूलाई सहयोग गर्न सक्छन्। यी मानिसहरूलाई त्याग्‍नु हुँदैन; जीवनमा तिमीहरूले उनीहरूकै भर पर्नुपर्छ।” तँलाई यो पारिवारिक संस्कृतिले गहन प्रभाव पारेको हुनाले, जब तँ घरबाहिर हुन्छस्, र विशेष गरी जब तँ मण्डलीमा हुन्छस्, र जब तैँले आफ्‍नै कुलको कसैलाई देख्छस्, तँ अवचेतन रूपमै ऊप्रति तानिन्छस्, उसलाई विशेष प्यारो ठान्छस्, उसलाई प्राय विशेष वास्ता र व्यवहार गर्छस्, र ऊसँग विशेष रूपले मिलेर बस्छस्। उसले गल्ती गर्दा पनि, तँ ऊसँग नरम व्यवहार नै गर्छस्। रगतको नाता नभएकाहरूलाई त तैँले पक्षमा नलागी व्यवहार गर्छस्। तर तँ तेरो कुलका मानिसहरूलाई रक्षा गर्ने र तिनीहरूको पक्षमा बोलिदिने गर्छस्, र यसलाई सरल शब्दमा “नातावाद” भनिन्छ। कतिपय मानिसहरू प्राय यिनै विचारहरूद्वारा निर्देशित हुन्छन्, र परमेश्‍वरले सिकाउनुभएका सिद्धान्तहरूको आधारमा नभई पारिवारिक संस्कृतिको प्रभावको आधारमा मानिसहरूसित व्यवहार गर्ने वा जीवनका मामिलाहरू सम्हाल्ने गर्छन्। के यो गलत होइन र? (हो।) उदाहरणको लागि, झाङ थर भएकी कुनै महिलाले उही थर भएकी केही वर्ष जेठी अर्की महिलालाई “दिदी” भनेर बोलाउन सक्छे। अरूलाई तिनीहरू साँच्‍चै दिदीबहिनी हुन् भन्‍ने लाग्‍न सक्छ, तर वास्तवमा, तिनीहरू एउटै थर भएका सम्बन्धरहित व्यक्तिहरू हुन्, र तिनीहरूसँग रगतको कुनै नाता हुँदैन। उसले किन त्यो अर्कीलाई यसरी सम्बोधन गर्छे? यो पारिवारिक संस्कृतिको प्रभाव हो। जहाँ गए पनि ती दुई छुट्टिँदैनन्, उसले त्यो उसकी “दिदी” सँग सबै कुरा आदानप्रदान गर्छे तर बाहिरी व्यक्तिहरूसँग गर्दिन। किन? किनकि उसलाई लाग्छ, “उनी पनि मजस्तै झाङ नै हुन्। हामी एकै परिवार हौँ। मैले उनलाई सबै कुरा बताउनुपर्छ। उनलाई नबताउने हो भने, कसलाई बताउने त? यदि मैले मेरो परिवारलाई विश्‍वास गरिनँ, र कुनै अपरिचित व्यक्तिलाई विश्‍वास गरेँ भने, के त्यो मूर्खता हुनेछैन र? यसलाई जे-जसरी लिए पनि, बाहिरका मानिसहरू विश्‍वासयोग्य हुँदैनन्; परिवारलाई मात्रै विश्‍वास गर्न सकिन्छ।” मण्डली अगुवाहरू छान्दा, उसले त्यही दिदीलाई छान्छे, र मानिसहरूले “तपाईँले किन उनलाई छान्‍नुभयो?” भनेर सोध्दा, उसले भन्छे, “किनभने उनी मेरै थरकी हुन्। यदि मैले उनलाई चुनिन भने, के यो सबै समझ र मान्यताविपरीत हुँदैन र? यदि मैले उनलाई छानिन भने, के म मानवसमेत रहन्छु र?” जब मण्डलीले भौतिक फाइदा वा राम्रा कुराहरू उपलब्ध गराउँछ, उसले त्यही दिदीकै बारेमा पहिले सोच्छे। “किन उनको बारेमा पहिले सोचेको?” “किनभने मेरो र उनको थर मिल्छ, उनी मेरो परिवारकै हिस्सा हुन्। यदि मैले उनको देखभाल गरिनँ भने, कसले गर्छ? यदि मसँग यस्तो आधारभूत मानव भावना पनि नभए, के म मानवसमेत हुन्छु र?” यी कुराहरू स्नेहबाट पैदा भए पनि वा स्वार्थी अभिप्रायबाट पैदा भए पनि, छोटकरीमा भन्दा, यदि तँ तेरो परिवारबाट आएका यी विचारहरूबाट प्रभावित पारिएको र शिक्षित गरिएको छस् भने, तैँले तुरुन्तै पछाडि फर्कनुपर्छ र यी विधिहरू प्रयोग गरेर व्यवहार गर्न, परिस्थिति सम्हाल्न र मानिसहरूसँग व्यवहार गर्न छोड्नुपर्छ। यी विधिहरू जतिसुकै साँघुरा वा फराकिला भए पनि, ती परमेश्‍वरले तँलाई सिकाउनुभएका सिद्धान्त र विधिहरू होइनन्। कम्तीमा, ती तैँले त्याग्‍नुपर्ने विचार र दृष्टिकोणहरू हुन्। छोटोमा भन्दा, परमेश्‍वरले तँलाई सिकाउनुहुने सिद्धान्तहरूसँग नमिल्ने हर कुनै पारिवारिक शिक्षण तैँले त्याग्‍नुपर्छ। तैँले यी विधिहरू प्रयोग गरेर अरूसँग व्यवहार वा अन्तरक्रिया गर्नु हुँदैन, न त तैँले यसरी मामिलाहरू सम्हाल्‍नु नै हुन्छ। कतिले यसो भन्दै तर्क गर्न सक्छन्, “यदि मैले यी कुरा यसरी नसम्हाल्ने हो भने, कसरी सम्‍हाल्‍ने त्यो थाहै हुनेछैन।” त्यो त सजिलै समाधान गर्न सकिन्छ। परमेश्‍वरका वचनहरूले विभिन्‍न कुराहरू सम्हाल्ने सिद्धान्तहरू उपलब्ध गराउँछन्। यदि तैँले परमेश्‍वरका वचनहरूमा अभ्यासको मार्ग भेट्टाउन सकिनस् भने, सत्यता बुझ्ने विश्‍वासी दाजुभाइ वा दिदीबहिनीलाई खोजेर सोध्। तिनीहरूले यी कुराहरू स्पष्ट पार्नेछन् र तैँले बुझ्‍नेछस्। कुल, थर, र संसारको तौरतरिकासँग सम्बन्धित मामिलाहरूको हकमा मानिसहरूले त्याग्‍नुपर्ने कुराहरू यिनै हुन्।

कतिपय आमाबुबाले आफ्ना छोरीहरूलाई प्राय यसो भन्दै झिज्याउँछन्, “महिला भएर, तैँले आफूले बिहे गरेको लाग्‍नेलाई पछ्याउनू, चाहे ऊ भाले होस् वा कुकुर। यदि तैँले भालेको परिवारमा विवाह गरेको होस् भने, तैँले पनि भालेले जस्तै व्यवहार गर्नुपर्छ; यदि तैँले कुकुर परिवारमा विवाह गरेको होस् भने, तैँले पनि कुकुरले जस्तै व्यवहार गर्नुपर्छ।” यसको आशय के हो भने, तैँले असल व्यक्ति बन्‍ने प्रयास गर्नु हुँदैन, बरु आफैलाई भाले वा कुकुरजस्तै बनाउनुपर्छ। के यो राम्रो मार्ग हो? स्पष्टै छ, यो सुनेपछि हर-कोहीले यो राम्रो होइन भनेर बुझ्नेछ, होइन र? “बिहे गरेको लाग्‍नेलाई पछ्याउनू” भन्‍ने वाक्यांश निश्‍चय नै महिलाहरूप्रति लक्षित छ—तिनीहरूको नियति यस्तो दुःखलाग्दो छ। परिवारको प्रभाव र शिक्षणमा परेर, महिलाहरूले आफूलाई भ्रष्टताको अधीनमा सुम्पिदिन्छन्: यदि भालेसँग बिहे गरेका छन् भने, तिनीहरूले राम्रो बाटो हिँड्ने प्रयास नगरी, आमाबुबाले भनेजस्तै भालेलाई नै पछ्याउँछन्, र यदि कुकुरसँग बिहे गरेका छन् भने, तिनीहरूले कुकुरलाई नै पछ्याउँछन्। तेरा आमाबुबाले यो विचार तँमा हालिदिने भए पनि, तैँले यस्तो विचार तेरो व्यवहारको लागि सही छ कि गलत र लाभदायक छ कि हानिकारक भनेर खुट्ट्याउनुपर्छ। वैवाहिक बन्धन त्याग्‍ने विषयमा कुरा गर्दा, हामीले अवश्य नै यस पक्षबारे पहिल्यै सङ्गति गरिसकेका छौँ, त्यसैले हामी यहाँ यसबारे विशिष्टीकृत रूपमा चिरफार र विश्‍लेषण गर्नेछैनौँ। छोटकरीमा भन्दा, आमाबुबाबाट आएका यी सबै गलत, विकृत, सतही, मूर्ख, अनि दुष्ट र पतित यी सबै विचार र दृष्टिकोणहरू तैँले त्याग्‍नुपर्छ। विशेष गरी, हामीले भर्खरै छलफल गरेका “बिहे गरेको लाग्‍नेलाई पछ्याउनू, चाहे ऊ भाले होस् वा कुकुर” भन्‍नेजस्ता भनाइहरू, र “खान-लाउन लोग्‍ने बिहे गर्नू” भन्‍नेजस्ता भनाइहरू—तैँले यी भनाइहरूको भित्री वास्तविकता बुझ्नुपर्छ, र आमाबुबाले हालिदिएका यस्ता विचारहरूको भ्रममा पर्नु हुँदैन, र तैँले यस्तो सोच्‍नु हुँदैन, “म त मैले विवाह गरेको पुरुषसँगै बेचिएकी हुँ: उनी नै मेरा मालिक हुन्, उनले मलाई जे बनाउन चाहन्छन् म त्यही बन्‍नुपर्छ, र उनले जे भन्छन् मैले त्यही गर्नुपर्छ, र मेरो भाग्य उनीसँगै जोडिएको छ। एकपटक बिहे गरिसकेपछि, हामी दुवै एउटा डोरीमा बाँधिएका दुई फट्याङ्ग्राजस्तै सँगै बाँधिन्छौँ। यदि ऊ सम्‍पन्‍न भयो भने, म पनि सम्पन्‍न हुन्छु; यदि ऊ सम्‍पन्‍न भएन भने, म पनि हुँदिन। त्यसैले, ‘बिहे गरेको लाग्‍नेलाई पछ्याउनू, चाहे ऊ भाले होस् वा कुकुर’ भनेर आमाबुबाले भनेको यो भनाइ सधैँ सही हुनेछ। महिलाहरू आत्मनिर्भर हुनु वा कुनै कुराको खोजमा लाग्‍नु हुँदैन, र जीवनमा सही दृष्टिकोण राख्‍ने र जीवनमा सही मार्ग हिँड्नेबारे तिनीहरूसँग कुनै विचार वा इच्छा हुनु हुँदैन। तिनीहरूले ‘बिहे गरेको लाग्‍नेलाई पछ्याउनू, चाहे ऊ भाले होस् वा कुकुर’ भनेर आमाबुबाले भनेका यी शब्दहरू आज्ञाकारितापूर्वक पालन गर्नुपर्छ।” के यो सही विचार हो त (होइन।) अनि, यो किन गलत छ? “बिहे गरेको लाग्‍नेलाई पछ्याउनू, चाहे ऊ भाले होस् वा कुकुर”—र उस्तै अर्थ भएको अर्को वाक्यांश, “एउटा डोरीमा बाँधिएका दुई फट्याङ्ग्राहरू,” र यी भनाइहरूको अर्थ के हुन्छ भने, तैँले त्यससँग विवाह गरेपछि, तेरो भाग्य त्यसको भाग्यसँगै जोडिएको हुन्छ। यदि ऊ सफल भयो भने, तँ पनि सफल हुन्छस्; यदि ऊ सफल भएन भने, तँ पनि सफल हुँदैनस्। तर के त्यस्तो हुन्छ त? (हुँदैन।) पहिले “यदि ऊ सफल भयो भने, तँ पनि सफल हुन्छस्” भन्‍ने भनाइबारे छलफल गरौँ। के यो तथ्य हो त? (होइन।) के कसैले यो कुरा खण्डन गर्न विपरीत उदाहरण दिन सक्छ? के एउटा पनि सोच्न सक्दैनौ? म एउटा उदाहरण दिन्छु। उदाहरणको लागि, जब कुनै महिलाले एउटा पुरुषसँग विवाह गर्छे, ऊ त्यो पुरुषलाई पछ्याउन लागिपर्छे। यो त महिलाहरूले “आजदेखि, म तिम्रै हुँ” भन्‍ने गरेजस्तै कुरा हो, जसको आशय “म तिम्रै हातमा बेचिएकी छु, र मेरो भाग्य तिम्रो भाग्यसँगै जोडिएको छ” भन्‍ने हुन्छ। माहिलाले आफूलाई भ्रष्टताको अधीनमा सुम्पिदिन्छे भन्‍ने कुरालाई यहीँ छोडेर, हामी अहिलेको लागि, “यदि ऊ सफल भयो भने, तँ पनि सफल हुन्छस्” भन्‍ने वाक्यांश सही छ कि छैन भन्‍ने कुरामा ध्यान केन्द्रित गरौँ। के ऊ सम्पन्‍न भयो भने, तँ पनि स्वतः सम्‍पन्‍न हुनेछस् भन्‍ने कुरा साँच हो? मानौँ, उसले एउटा व्यवसाय सुरु गर्छ र दुर्दशामा पर्छ, उसले असङ्ख्य चुनौतीहरू सामना गर्छ, उसलाई जताततै कठिनाइहरू आइपर्छ, र ऊसित पसल खोल्‍नको लागि पैसा, सम्बन्धहरू, उपयुक्त स्थान, व्यवसाय गर्ने बजार, र सहयोग गर्ने मानिसहरूको कमी हुन्छ। अनि, तँ उसकी पत्‍नी भएकोले उसलाई सहयोग गर्न तत्पर हुन्छस्; उसले जे गरे पनि, तँ उसलाई कहिल्यै घृणा गर्दैनस्, बरु विनासर्त साथ दिइरहन्छस्। समय बित्दै जाँदा, उसको व्यवसाय फस्टाउँछ, एकपछि अर्को पसल खोल्छ, र राम्रो आर्थिक लाभ र धेरै आय प्राप्त गर्छ। तेरो श्रीमान् मालिक बन्छ, र मालिकबाट ऊ महाजनमा परिणत हुन्छ। ऊ समृद्ध भइरहेको छ, होइन र? तर भनाइ नै छ, “कुनै पनि पुरुष पैसा भएपछि खराब भइहाल्छ” जुन अवश्य नै यो समाज र यो दुष्ट संसारको वास्तविकता हो। अनि, तेरो श्रीमान्‌ मालिक बन्दै अन्त्यमा महाजन बनेपछि, उसलाई भ्रष्ट हुन कति सजिलो हुन्छ? त्यो त एकै सेकेन्डमा हुने कुरा हो। ऊ हाकिम बनेर सम्‍पन्‍न हुन थालेपछि, तेरा खुसीका दिनहरू समाप्त हुनेछन्। किन? तँलाई चिन्ता लाग्‍न थाल्नेछ, “के बाहिर उसको अर्को केटी त छैन? के उसले मलाई धोका त दिनेछैन? कतै कसैले उसलाई फसाइरहेको पो छ कि? के ऊ मदेखि दिक्‍क हुने त होइन? के उसले प्रेम गर्न छोड्ने त होइन?” अनि, के तेरा खुसीका दिनहरू समाप्त भएका हुन्छन्? यतिका दिनसम्‍म ऊसँग दुःख गरेपछि, तँलाई हैरान र थकित महसुस हुन्छ। तेरो जीवन जियाइको परिस्थिति खराब भएको हुन्छ, तेरो स्वास्थ्य बिग्रिएको हुन्छ, र तैँले आफ्नो सुन्दरता गुमाएको हुन्छस्। तँ अनुहार बिग्रेकी बूढी आइमाई बनेकी हुन्छस्। उसको नजरमा, तँसँग अब त्यो युवतीको आकर्षण नहुन सक्छ जसको मायामा ऊ फसेका थियो। उसले यस्तो सोच्न सक्छ, “अब म धनी र प्रभावशाली बनेको छु, त्यसकारण म अझ सुन्दर केटी पाउन सक्छु।” ऊ टाढिँदै जाँदा, उसले सक्रिय रूपमा विभिन्‍न कुराहरू सोच्‍न थाल्छ, र ऊ परिवर्तन हुन थाल्छ। त्यसपछि त के तँ खतरामा हुँदैनस् र? ऊ ठूलो मालिक बन्छ, तर तँ भने अनुहार बिग्रेकी बुढी आइमाई बन्छस्—के तिमीहरूबीच एक-प्रकारको अन्तर र असमानता हुँदैन र? यो अवधिमा, के तँ उसको लागि अयोग्य हुँदैनस् र? के उसलाई ऊ तेरो स्तरभन्दा माथि छु भन्‍ने लाग्दैन र? के उसले तँलाई झन्झन् बढी घृणा गर्दैन र? यदि त्यस्तो हो त, तेरा दुःखका दिनहरू भर्खरै सुरु हुँदै छन्। अन्ततः, उसले आफ्नो इच्छाअनुसार गर्दै अर्की केटी खोज्‍न सक्छ, र घरमा झन्झन् कम समय बिताउन थाल्छ। जब ऊ घर फर्कन्छ, तब प्राय तँसँग वादविवाद गर्न मात्र आएको हुन्छ, र ऊ ढोका बजारेर तुरुन्तै गइहाल्छ, र कहिलेकहीँ त कैयौँ दिनसम्‍म सम्पर्कविहीन भएर बस्छ। तेरो विगतको सम्बन्ध विचार गर्दा, उसले तँलाई केही पैसा दिने र तेरा दैनिक आवश्यकता पूरा गरिदिने मात्रै तैँले आशा गर्न सक्छस्। यदि तैँले कोलाहल मच्‍चाइस् भने, उसले तँलाई खाने-लाउने खर्च दिन पनि छोड्न सक्छ। अनि, यो कुरा कस्तो लाग्यो? ऊ सम्‍पन्‍न हुन थालेपछि, के तेरो नियतिमा कुनै सुधार आयो त? तँ बढी खुसी हुन्छस् कि बढी दुःखी हुन्छस्? (बडी दुःखी।) तँ बढी दुःखी हुन्छस्। तेरो दुर्भाग्यका दिनहरू आएका हुन्छन्। त्यस्ता अवस्थाहरू सामना गर्दा, प्रायजसो महिलाहरू डाँको छोडी-छोडी रुन्छन्, र तिनीहरूका आमाबुबाले “आफ्नो व्यक्तिगत समस्या अरूलाई नसुनाउनू,” भनेर भन्‍ने गरेको भनाइको कारण तिनीहरूले यस्तो सोच्दै सहन्छन्, “मेरो छोरा हुर्किएर मेरो सहारा हुञ्‍जेलसम्‍म म यो सहन्छु। त्यसपछि म मेरो पतिबाट अलग हुनेछु!” केही महिलाहरूले त छोरा आफ्‍नो सहारा बनेको दिन देख्‍ने सौभाग्य पाउँछन्, जबकि अरूहरू भने त्यहाँसम्‍म पुग्‍नै सक्दैनन्। तिनीहरूको छोरा सानै हुँदा, श्रीमानले बच्‍चा आफूसँगै राख्‍ने निर्णय गर्छ र पत्‍नीलाई भन्छ, “तँ गइहाल, बुढी आइमाई!” अनि यसरी उसलाई भिखारीजस्तै मानेर घरबाट बाहिर निकालिन्छ। त्यसकारण, जब ऊ सफल भइरहेको हुन्छ, के तँ पनि सफल हुन्छस् नै भन्‍ने छ त? के तिमीहरूको भाग्य साँच्‍चै जोडिएको हुन्छ त? (हुँदैन।) यदि उसको व्यवसायमा निरन्तर समस्या हुन्छ वा उसले सोचेजस्तो हुँदैन भने, उसलाई तेरो सहयोग, प्रोत्साहन, साथ र वास्ता चाहिँदा, र ऊसँग भ्रष्ट बन्‍ने योग्यता र अवसर नहुँदा, उसले अझै पनि तँलाई प्रिय ठान्‍न सक्छ। ऊ सफल नभइरहेको बेला, तँलाई आफू सुरक्षित छु र आफूलाई साथ दिने कोही छ भन्‍ने लाग्‍न सक्छ, र तैँले विवाहको स्नेह र खुसी अनुभव गर्न सक्छस्। ऊ सफल नभइरहेको बेला, बाहिरको कसैले पनि उसलाई ध्यान वा महत्त्व दिँदैन, र उसले भरोसा गर्न सक्‍ने एउटै मात्र व्यक्ति तँ मात्र हुन्छस्, त्यसकारण उसले तँलाई बहुमूल्य ठान्छ। त्यस्तो अवस्थामा, तैँले सुरक्षित र अलि राम्रो र खुसी महसुस गर्नेछस्। तर यदि ऊ सफल भयो र उसका पखेटाहरू पलाए भने, ऊ उड्नेछ, तर के उसले तँलाई पनि आफूसँगै लैजानेछ त? के आमाबुबाले भन्‍ने गरेको “बिहे गरेको लाग्‍नेलाई पछ्याउनू, चाहे ऊ भाले होस् वा कुकुर” भन्‍ने यो भनाइ सही छ त? (अहँ, छैन।) यसले महिलाहरूलाई स्पष्ट रूपमै पीडाको पातालमा धकेल्छ। “यदि ऊ सही बाटो हिँड्छ भने म उसलाई पछ्याउनेछु, र सही बाटो हिँड्दैन भने, म उसलाई छोडिदिन्छु” भन्‍ने सिद्धान्तचाहिँ कस्तो छ? यो सिद्धान्त पनि गलत छ। ऊसँग विवाह गर्नुको अर्थ तैँले आफूलाई उसको हातमा बेचेको होस् भन्‍ने हुँदैन, न त तैँले उसलाई बाहिरी व्यक्तिजस्तो व्यवहार गर्नुपर्छ भन्‍ने नै हुन्छ। तैँले वैवाहिक सम्‍बन्धमा आफ्‍ना जिम्मेवारीहरू पूरा गर्नु नै पर्याप्त हुन्छ। यदि सम्‍बन्ध राम्रै हुन्छ भने, एकदम राम्रो हो; तर राम्रो हुँदैन भने, छुटेर बस्। तैँले सफा विवेकले आफ्‍ना दायित्वहरू पूरा गरेको छस्। यदि उसलाई साथ दिन तैँले आफ्‍ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ भने, त्यो पूरा गर्; तर पर्दैन भने, छुटेर बस्। सिद्धान्त यही हो। “बिहे गरेको लाग्‍नेलाई पछ्याउनू, चाहे ऊ भाले होस् वा कुकुर” भन्‍ने वाक्यांश बकवास हो—यो हानिकारक छ। अनि, यो किन बकवास हो? यसमा सिद्धान्तहरूको कमी छ: पुरुष जस्तोसुकै प्रकारको भए पनि, तैँले उसलाई अन्धाधुन्ध पछ्याउँछस्। यदि तैँले असल मानिसलाई पछ्याइस् भने, जीवन सार्थक हुन सक्छ। तर यदि तैँले खराब मानिसलाई पछ्याइस् भने, के तैँले आफैलाई बरबाद गरिरहेको हुँदैनस् र? तसर्थ, ऊ जस्तोसुकै व्यक्ति भए पनि, तँमा विवाहबारे सही अडान हुनुपर्छ। तैँले के बुझ्नुपर्छ भने, सत्यताले मात्र साँचो सुरक्षा प्रदान गर्छ, र यसले मात्र सम्मानजनक जीवन जिउने मार्ग र सिद्धान्तहरू उपलब्ध गराउँछ। आमाबुबाले त तिनीहरूको स्नेह वा स्वार्थमा आधारित अनुभव वा रणनीतिहरूका ससाना टुक्राहरू मात्र प्रदान गर्न सक्छन्। त्यस्तो सल्लाहले तँलाई पटक्‍कै रक्षा गर्न सक्दैन, न त त्यसले तँलाई अभ्यासको सही सिद्धान्त नै प्रदान गर्न सक्छ। उदाहरणको लागि, “बिहे गरेको लाग्‍नेलाई पछ्याउनू, चाहे ऊ भाले होस् वा कुकुर” भन्‍ने भनाइलाई लिऊँ। यसले तँलाई विवाहबारे अनभिज्ञ मात्र बनाउँछ, र यसले गर्दा तैँले आफ्नो मर्यादा र सही जीवनमार्ग छनौट गर्ने अवसर गुमाउन सक्छस्। अझ महत्त्वपूर्ण कुरा त, यसले गर्दा तैँले मुक्ति पाउने मौकासमेत गुमाउन सक्छस्। तसर्थ, आमाबुबाले भनेका यी शब्‍दहरूपछाडिको अभिप्राय जे भए पनि, त्यो चिन्ता, सुरक्षा, स्नेह, स्वार्थ, वा अन्य कुनै आशयले भनिएको भए पनि, तँसित तिनीहरूका विभिन्‍न भनाइहरू चिन्‍ने समझ हुनुपर्छ। तिनीहरूको प्रारम्भिक अभिप्राय तेरो कल्याण र सुरक्षा नै भए पनि, तैँले यी कुराहरू लापरवाही र मूर्खतापूर्वक स्विकार्नु हुँदैन। बरु, तैँले यी कुराहरू खुट्ट्याउनुपर्छ, र त्यसपछि परमेश्‍वरका वचनहरूमा आधारित अभ्यासका सही सिद्धान्तहरू पत्ता लगाउनुपर्छ, र तैँले तिनीहरूका कुराअनुसार अभ्यास गर्ने वा आफूलाई व्यवहारमा ढाल्‍ने गर्नु हुँदैन। विशेष गरी, अघिल्‍ला पुस्ताका मानिसहरूले भन्‍ने गरेको “खान-लाउन लोग्‍ने बिहे गर्नू” भन्‍ने भनाइ त झन् गलत छ। के महिलासँग हातखुट्टा हुँदैन र? के तिनीहरूले आफ्नो लागि आफै कमाउन सक्दैनन् र, कि के हो? किन खान-लाउन तिनीहरूले पुरुषहरूमा भर पर्नुपर्‍यो? के महिलाहरू सरल सोचका हुन्छन्? पुरुषहरूको तुलनामा, महिलामा के कुराको कमी हुन्छ? (केही कुराको पनि कमी हुँदैन।) ठीक भन्यौ, तिनीहरूमा केही कुराको पनि कमी हुँदैन। महिलाहरूसँग आत्मनिर्भर रूपमा बाँच्‍ने क्षमता हुन्छ, र त्यो क्षमता परमेश्‍वरले नै तिनीहरूलाई दिनुभएको हुन्छ। महिलाहरूसँग आत्मनिर्भर रूपमा बाँच्ने क्षमता हुने हुनाले, किन बाँच्‍नको लागि तिनीहरू पुरुषहरूमा भर पर्नुपर्‍यो? के यो गलत विचार होइन र? (हो।) यो गलत विचार घुसाइएको अवस्था हो। यो भनाइको कारण, महिलाहरूले आफ्नो आधारभूत आवश्यकताहरूको लागि पुरुषहरूमा निर्भर हुँदै, आफूलाई अवमूल्यन वा अपमान गर्नु हुँदैन। अवश्य नै, पत्‍नीलाई खान लाउन पर्याप्त हुने कुरा सुनिश्‍चित गर्दै, आफ्नी पत्‍नी र परिवारको खाने-लाउने सबै खर्च प्रदान गर्नु पुरुषको दायित्व हो। तर महिलाहरूले खाना र लाउनकै लागि मात्र विवाह गर्ने वा त्यस्ता विचार र दृष्टिकोणहरू मनमा राख्‍ने गर्नु हुँदैन। तँसँग आत्मनिर्भर रूपमा बाँच्ने क्षमता छँदै छ, त्यसैले तँ किन आधारभूत आवश्यकताहरूको लागि पुरुषमा भर पर्नुपर्‍यो? के यो केही हदसम्म तिनीहरूका आमाबुबाको प्रभाव र परिवारका विचारहरूको शिक्षणको कारणले भएको हुँदैन र? यदि कुनै महिला यस्तो पारिवारिक शिक्षाको शिक्षणमा पर्छे भने, कि त ऊ केही काम गर्न नचाहने र बस खाना र लाउनको लागि कसैमा भर पर्ने खालकी हुन्छे, कि त उसले महिलाहरू बेकारका हुन्छन् र तिनीहरूले खाने-लाउनेसम्‍बन्धी यी समस्याहरू आफै समाधान गर्न पनि सक्दैनन् र आफै समाधान गर्नु पनि हुँदैन, बरु बस पुरुषहरूमा भर पर्नुपर्छ भन्‍ने सोच्दै आफ्ना आमाबुबाका विचारहरू स्विकारेकी हुन्छे। के यो आफैलाई भ्रष्टताको अधीनमा सुम्पिदिनु होइन र? (हो।) अनि त्यस्ता विचार र दृष्टिकोणहरू अपनाउनु किन गलत छ? तिनले के असर पार्छन्? त्यस्ता नीच विचारहरू किन त्याग्‍नुपर्छ? यदि कुनै पुरुषले खाने-लाउने व्यवस्था गर्छ, र तैँले उसलाई आफ्नो मालिक, तँभन्दा माथिको व्यक्ति, र सबै कुराको जिम्‍मेवारी लिने मुलीको रूपमा देख्छस् भने, के तैँले ऊसँग ठूला-साना हरेक कुराको लागि सल्लाह लिँदैनस् र? (लिन्छु।) उदाहरणको लागि, यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तैँले यस्तो सोच्न सक्छस्, “मलाई परमेश्‍वरमा विश्‍वास गर्न अनुमति छ छैन, म मुलीलाई सोध्छु; यदि उहाँले हुन्छ भन्‍नुभयो भने, म विश्‍वास गर्नेछु, यदि हुँदैन भन्‍नुभयो भने, गर्नेछुइनँ।” परमेश्‍वरको घरले मानिसहरूलाई कर्तव्य पूरा गर्न लगाउँदा पनि, तँलाई उसको स्वीकृति लिनुपर्छ; यदि उसले खुसी भएर सहमति जनायो भने, तैँले कर्तव्य पूरा गर्न सक्छस्, तर त्यस्तो भएन भने, तैँले कर्तव्य पूरा गर्न सक्दैनस्। परमेश्‍वरको विश्‍वासीको रूपमा, तैँले उहाँलाई पछ्याउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो श्रीमान्‌को मनोवृत्ति र तँलाई उसले गर्ने व्यवहारमा निर्भर हुन्छ। के तेरो श्रीमान्‌ले यो तरिका साँचो हो कि होइन भनेर खुट्याउन सक्छ? के उसको कुरा सुन्दा, तैँले मुक्ति पाउने र स्वर्ग-राज्य प्रवेश गर्ने कुरा सुनिश्‍चित हुन्छ? यदि तेरो श्रीमान् बुद्धिमान् छ र परमेश्‍वरको आवाज सुन्छ भने, यदि ऊ परमेश्‍वरका भेडाहरूमध्येको एक हो भने, तैँले ऊसँगै लाभ पाउन सक्छस्, तर तैँले बस ऊसँग मात्रै लाभ पाइरहेको हुन्छस्। तैपनि, यदि ऊ फटाहा र ख्रीष्टविरोधी हो र उसले सत्यता बोध गर्न सक्दैन भने, तैँले के गर्नेछस्? के तैँले अझै पनि विश्‍वास गर्नेछस्? के तँसँग कान वा दिमाग छैन? के तैँले परमेश्‍वरका वचनहरू सुन्‍न सक्दैनस्? ती वचनहरू सुनेपछि, के तैँले आफै खुट्याउन सक्दैनस्? के तेरो श्रीमानले तेरो भाग्य निर्धारित गर्न सक्छ? के उसले तेरो नियति नियन्त्रण र योजनाबद्ध गर्छ? के तैँले आफूलाई उसको हातमा बेचेको होस्? यी धर्मशिक्षाहरूबारे त सबैजना स्पष्ट हुन्छन्, तर सिद्धान्तहरूसँग सम्‍बन्धित केही निश्‍चित समस्याहरूको हकमा, मानिसहरू अचेतन रूपमै आफ्नो परिवारले सिकाउने यी विचार र दृष्टिकोणहरूबाट प्रभावित हुन्छन्। अनि, जब यी विचार र दृष्टिकोणहरूले तँलाई प्रभाव पार्छन्, तब तैँले प्राय गलत मूल्याङ्कन गर्छस्, र यी गलत मूल्याङ्कनहरूपछाडि रहेका विचारहरूद्वारा निर्देशित भएर, तैँले गलत छनौट गर्छस्, र त्यसले तँलाई गलत बाटोमा लैजान्छ, र अन्त्यमा विनाशमा पुर्‍याउँछ। तब तैँले कर्तव्य पूरा गर्ने अवसर, सत्यता प्राप्त गर्ने मौका, र मुक्ति पाउने अवसर गुमाएको हुन्छस्। अनि, के कुराले तेरो विनाश ल्याएको हुन्छ? झट्ट हेर्दा, तँलाई मानिसले बहकाएको र प्रभावित पारेको, र उसैले तँलाई बरबाद पारेको हो जस्तो देखिन्छ। तर वास्तवमा, तँलाई विनाशमा पुर्‍याएको त तेरो अन्तस्करणमा गाडिएर बसेको विचारले हो। अर्थात्, यो परिणामको मूल-जड “बिहे गरेको लाग्‍नेलाई पछ्याउनू, चाहे ऊ भाले होस् वा कुकुर” भन्‍ने सोच हो। तसर्थ, यो सोच त्याग्‍नु महत्त्वपूर्ण छ।

अब, हामीले सङ्गति गरेका संसारलाई झेल्‍ने सिद्धान्त र रणनीतिहरू, चलनचल्तीहरू, सांसारिक तौरतरिकाहरू, जातजाति, पुरुष र महिला, विवाह, र यस्तै अन्य कुराहरूसँग सम्‍बन्धित आमाबुबा र परिवारबाट आएका विचार र दृष्टिकोणहरूलाई फर्केर हेर्दा—के यीमध्ये कुनै कुरा सकारात्मक छ? के कुनै यस्तो कुरा छ जसले तँलाई केही हदसम्म सत्यताको बाटोमा डोऱ्याउन सक्छ? (छैन।) यीमध्ये एउटैले पनि तँलाई सृष्टि गरिएको साँचो वा योग्य प्राणी बन्‍न मद्दत गर्दैन। बरु यसविपरीत, यी प्रत्येकले तँलाई गहिरो रूपमा हानि पुर्‍याउँछन्, त्यस्ता विचार र दृष्टिकोणहरूको शिक्षणमार्फत तँलाई भ्रष्ट बनाउँछन्, जसले गर्दा मानिसहरू आज आफ्नो भित्री अन्तरात्मामा विभिन्‍न भ्रामक विचार र दृष्टिकोणहरूद्वारा बाँधिएका, नियन्त्रित भएका, प्रभावित बनेका र समस्यामा परेका छन्। मानिसहरूको हृदयको अन्तस्करणमा, परिवार न्यानोपन प्राप्त हुने ठाउँ, बाल्यकालका सम्झनाहरूले भरिएको ठाउँ र प्राणले सुरक्षित आश्रय पाउने ठाउँ भए पनि, परिवारले मानिसहरूलाई पार्ने विभिन्‍न नकारात्मक प्रभावहरूलाई कम ठान्‍नु हुँदैन। परिवारको न्यानोपनले यी गलत विचारहरू हटाउन सक्दैनन्। परिवारको न्यानोपन र यसले प्रदान गर्ने मिठा सम्झनाहरूले शारीरिक स्‍नेहको हिसाबमा मात्र केही सान्त्वना र सन्तुष्टि प्रदान गर्छ। तैपनि, आफूलाई के-कस्तो व्यवहारमा ढाल्ने र दुनियाँलाई कसरी झेल्‍ने, आफूले कस्तो बाटो लिने, वा जीवनबारे के-कस्ता दृष्टिकोण र मूल्यमान्यताहरू स्थापित गर्नेजस्ता कुराहरूको हकमा, पारिवारिक शिक्षण पूर्ण रूपमा हानिकारक हुन्छ। यस दृष्टिकोणबाट हेर्दा, समाज प्रवेश गर्नुभन्दा पहिले नै, परिवारका विभिन्‍न विचार र दृष्टिकोणहरूद्वारा व्यक्ति भ्रष्ट पारिइसकेको हुन्छ—तिनीहरू पहिले नै विभिन्‍न गलत विचार र दृष्टिकोणहरूको शिक्षण, नियन्त्रण र प्रभावबाट गुज्रिसकेका हुन्छन्। यो भन्‍न सकिन्छ कि परिवार नै सबै गलत विचार र दृष्टिकोणहरू पहिलो पटक प्राप्त गरिने ठाउँ हो र परिवार नै ती कुराहरूलाई स्वतन्त्र रूपमा प्रयोग र लागू गर्न सुरु गरिने ठाउँ हो। परिवारले सबैको जीवनमा र तिनीहरूको दैनिक जीवनमा यस्तै नै भूमिका खेल्छ। तर यो विषयको हाम्रो सङ्गति मानिसहरूलाई परिवारप्रति स्‍नेह राख्‍न छोड्‍न, वा परिवारसँग बाहिरी रूपमा सम्बन्ध तोड्न वा विच्छेद गर्न लगाउनुसँग सम्‍बन्धित छैन। यो त मानिसहरूलाई परिवारले हालिदिएका विभिन्‍न गलत विचार र दृष्टिकोणहरूलाई खास रूपमा पहिचान गर्नु, र चिन्‍नुसँग, अनि अवश्यै, ती कुराहरूलाई अझै सटीक र व्यावहारिक रूपमा त्याग्‍न लगाउने कार्यसँग मात्रै सम्‍बन्धित छ। यो त सत्यता पछ्याउने व्यक्तिले परिवारसँग सम्‍बन्धित कुराहरूलाई सम्‍बोधन गर्दा लागू गर्नुपर्ने विशिष्ट अभ्यास हो।

परिवारसँग सम्बन्धित अरू धेरै विषयहरू छन्। के मानिसहरूलाई परिवारले सिकाउने, अर्थात् हामीले सङ्गति गरेका यी भनाइहरू निकै आम किसिमका छन् भन्‍ने साँचो होइन र? (हजुर, हो।) हामी प्रायजसो परिवारहरूमा यी कुराहरू बोलिएको सुन्छौँ—एउटा परिवारमा बोलिँदैन भने पनि, अर्कोमा त बोलिन्छ नै। के यी भनाइहरू व्यापक र प्रतिनिधिमूलक छैनन् र? धेरैभन्दा धेरै परिवारले यी विचार र दृष्टिकोणहरू विभिन्‍न हदसम्‍म मानिसहरूमा हालिदिएका हुन्छन्। हामीले सङ्गति गरेका हरेक भनाइहरू अधिकांश परिवारमा फरक-फरक तरिकाले देखा पर्छन् र तिनलाई व्यक्तिको विकासको विभिन्‍न चरणमा ऊभित्र हालिन्छ। यी विचारहरू हालिएको दिनदेखि नै तिनीहरूले तिनलाई स्विकार्न थाल्छन्, तीप्रति निश्‍चित जागरूकता र स्वीकार्यता विकास गर्छन्, र त्यसपछि प्रतिरक्षा क्षमता नभएको कारण, तिनीहरूले यी विचार र दृष्टिकोणहरूलाई भविष्यमा जिउन र जीवित रहिरहनको लागि संसारलाई झेल्‍ने आफ्नो रणनीति र तौरतरिकाको रूपमा अँगाल्छन्। अनि अवश्य नै, धेरैले तिनलाई समाजमा स्थान जमाउनको लागि आफ्नो आधारको रूपमा पनि लिन्छन्। तसर्थ, यी विचार र दृष्टिकोणहरूले मानिसहरूको दैनिक जीवनमा मात्र होइन, तिनीहरूको भित्री संसार र तिनीहरूको जीवन अस्तित्वको बाटोमा सामना हुने विभिन्‍न समस्याहरूमा पनि व्याप्त रहेका हुन्छन्। जब फरक-फरक समस्याहरू आउँछन्, तब मानिसहरूको हृदयमा रहेका विभिन्‍न विचार र दृष्टिकोणहरूले मानिसहरूलाई यी मामिलाहरू कसरी सम्हाल्‍ने भनेर मार्गदर्शन गर्छन्; जब यी विभिन्‍न मामिलाहरू पैदा हुन्छन्, तब तिनीहरू विभिन्‍न विचार र दृष्टिकोणहरू, साथै संसारलाई झेल्‍ने सिद्धान्त र रणनीतिहरूद्वारा नियन्त्रित र शासित हुन्छन्। मानिसहरूले वास्तविक जीवनमा यी गलत विचार र दृष्टिकोणहरू चतुरतासाथ लागू गर्न सक्छन्। यी विभिन्‍न गलत विचार र दृष्टिकोणहरूको मार्गदर्शनमा रहेर, तिनीहरू स्वतः नै गलत मार्ग हिँड्छन्। तिनीहरूका कार्य, व्यवहार, जीवन र अस्तित्वलाई गलत विचारहरूले निर्देशित गर्ने भएकोले, तिनीहरूले जीवनमा लिने मार्गहरू पनि भ्रामक हुनु अपरिहार्य नै हुन्छ। तिनीहरूलाई डोर्‍याउने विचारहरूको जड नै गलत भएकोले, तिनीहरूको मार्ग पनि स्वतः नै गलत हुन्छ। तिनीहरूको बाटोको दिशा बाङ्गो हुन्छ, र त्यसबाट अन्तिम परिणाम कस्तो हुन्छ भन्‍ने स्पष्ट हुन्छ। परिवारका विभिन्‍न विचारहरूको शिक्षणमा परेर मानिसहरूले गलत बाटो अपनाउँछन्, र त्यसपछि तिनीहरू यो गलत बाटोको कारण पथभ्रष्ट हुन्छन्। परिणामस्वरूप, तिनीहरू नरक र विनाशतिर मोडिन्छन्। अन्त्यमा, तिनीहरूको विनाशको मूल कारण तिनीहरूको परिवारले तिनीहरूलाई सिकाएका विभिन्‍न गलत विचारहरूमै निहित हुन्छ। यी गम्भीर परिणामहरूलाई ध्यानमा राख्दै, मानिसहरूले आफूमाथि परिवारले सिकाएका विभिन्‍न विचारहरू त्याग्‍नुपर्छ। अहिले, मानिसहरूलाई सिकाएका विभिन्‍न गलत विचारहरूको प्रभाव भनेको तिनीहरूलाई सत्यता स्विकार्नबाट रोक्‍नु हो। यी गलत विचारहरूद्वारा निर्देशित भएर अनि यी कुराहरूको अस्तित्वको कारण, मानिसहरूले प्राय सत्यता बोध गर्न सक्दैनन् र यसलाई हृदयमा अस्वीकार र प्रतिरोधसमेत गर्छन्। अझ खराब कुरा त, कतिपय मानिसहरूले अवश्यै परमेश्‍वरलाई धोका दिने निर्णय गर्न सक्छन्। अहिले अवस्था यस्तै छ, तर मानिसहरूले सत्यता स्विकार्न नसक्‍ने वा सत्यतालाई धोका दिने परिस्थिति हेर्दा, दीर्घकालीन रूपमा यी गलत विचारहरूले तिनीहरूलाई सत्यताको विरोध गर्ने, र परमेश्‍वरलाई धोका दिने र अस्वीकार गर्ने भ्रामक बाटोमा हिँड्न प्रेरित गर्छन्। यस्तो गलत बाटोको मार्गदर्शनमा रहेर, तिनीहरूले परमेश्‍वरले बोल्नुभएको सुनेर उहाँको काम स्विकारेजस्तो देखिए पनि, तिनीहरू गलत बाटोमा हुने भएकोले, अन्त्यमा तिनीहरूले साँचो रूपमा मुक्ति पाउन सक्दैनन्। यो साँच्‍चै नै खेदजनक कुरा हो। तसर्थ, तेरो परिवारको प्रभावले यस्ता गम्भीर परिणामहरू निम्त्याउन सक्‍ने भएकोले यी विचारहरूलाई मामुली ठान्‍नु हुँदैन। यदि विभिन्‍न कुराहरूबारे तेरो परिवारका गलत विचारहरू तँलाई सिकाइएको छ भने, तैँले ती विचारहरू जाँच्‍नु र त्याग्‍नुपर्छ—तैँले ती विचारहरूमै अल्झिराख्‍नु हुँदैन। चाहे कुनै विचार जे-जस्तो नै होस्, यदि यो गलत छ र सत्यताविरुद्ध जान्छ भने, तैँले छनौट गर्नुपर्ने एकमात्र सही मार्ग भनेको त्यसलाई त्याग्‍नु हो। त्याग्‍ने सही अभ्यास त्यही हो: यो कुरा हेर्ने, गर्ने वा सम्हाल्ने मापदण्ड वा आधार अबउप्रान्त तेरो परिवारले तँभित्र हालिदिएका गलत विचारहरू हुनु हुँदैन, बरु यो सब परमेश्‍वरका वचनहरूमा आधारित हुनुपर्छ। यो प्रक्रियाको लागि तैँले केही मूल्य चुकाउनुपर्ने भए पनि, तँलाई आफ्नो इच्छाविपरीत काम गरिरहेको, इज्‍जत गुमिरहेको र तेरा दैहिक हितहरूमा घाटा भइरहेको महसुस भए पनि, र तैँले जे कुरा सामना गरे पनि, तैँले तेरो अभ्यासलाई निरन्तर परमेश्‍वरका वचनहरू र उहाँले तँलाई बताउनुभएका सिद्धान्तहरूअनुरूप बनाउनुपर्छ, र तैँले लत्तो छोड्‍नु हुँदैन। यो रूपान्तरण प्रक्रिया निश्‍चय नै चुनौतीपूर्ण हुनेछ, सहज हुनेछैन। तर यो किन सहज हुनेछैन? यो नकारात्मक र सकारात्मक कुराहरूबीचको प्रतिस्पर्धा हो, यो शैतानका दुष्ट विचारहरू र सत्यताबीचको प्रतिस्पर्धा हो, र यो हृदयमा सत्यता र सकारात्मक कुराहरू छनौट गर्ने कि गलत विचार र दृष्टिकोणहरू छनौट गर्ने भन्‍ने तेरो इच्छा र चाहनाबीचको प्रतिस्पर्धा पनि हो। यस्तो प्रतिस्पर्धा हुने भएकोले, व्यक्तिले कष्ट भोग्‍नुपर्ने र मूल्य चुकाउनुपर्ने हुन सक्छ—र तैँले गर्नुपर्ने कुरा पनि यही हो। यदि कुनै व्यक्ति सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने बाटो हिँड्न चाहन्छ भने, उसले यी तथ्यहरू स्विकार्नुपर्छ र यी प्रतिस्पर्धाहरू अनुभव गर्नुपर्छ। अनि अवश्‍य नै, यी प्रतिस्पर्धाहरूको क्रममा, तैँले निश्‍चित रूपमा केही मूल्य चुकाउनेछस्, केही पीडा भोग्‍नेछस्, र केही कुराहरू त्याग्‍नेछस्। तर यो प्रक्रिया जे-जस्तो भए पनि, अन्ततः परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने, सत्यता प्राप्त गर्ने, र मुक्ति हासिल गर्ने अवस्था प्राप्त गर्न सक्‍नु नै अन्तिम लक्ष्य हो। तसर्थ, यो लक्ष्यको लागि चुकाइने कुनै पनि मूल्य सार्थक हुन्छ किनभने यो सबैभन्दा सही लक्ष्य हो र यो सृष्टि गरिएको योग्य प्राणी बन्‍नको लागि तैँले पछ्याउनैपर्ने लक्ष्य हो। यो लक्ष्य हासिल गर्नको लागि, तैँले जति प्रयास गर्नुपरे पनि वा जति मूल्य चुकाउनुपरे पनि, तैँले सम्झौता गर्ने, यसबाट भाग्‍ने, वा डराउने गर्नु हुँदैन, किनभने जबसम्‍म तैँले सत्यता पछ्याउँछस् र परमेश्‍वरको डर मान्छस्, दुष्टताबाट अलग बस्छस्, र मुक्ति प्राप्त गर्छस्, तबसम्‍म तैँले जुनसुकै प्रतिस्पर्धा वा युद्ध सामना गरे पनि, तँ एकलो हुँदैनस्। परमेश्‍वरका वचनहरूले तँलाई साथ दिनेछन्; तेरो आडको रूपमा तँसँग परमेश्‍वर र उहाँका वचनहरू हुनेछन्, त्यसैले तँ डराउनु हुँदैन, होइन र? (हो।) त्यसैले, यी केही बुँदाहरूबाट हेर्दा के देखिन्छ भने, चाहे यो वैचारिक शिक्षण परिवारबाट आउने होस् वा अरू कुनै स्रोतबाट आउने होस्, व्यक्तिले त्यसलाई त्याग्‍नुपर्छ। उदाहरणको लागि, हामीले भर्खरै सङ्गति गरेका थियौँ, तेरो परिवारले तँलाई प्राय यसो भनिरहन्छ, “अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्‍नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू।” वास्तवमा, यो विचार त्याग्‍ने अभ्यास सरल छ: बस तँ परमेश्‍वरले मानिसहरूलाई बताउनुहुने सिद्धान्तहरूअनुसार काम गर्। “परमेश्‍वरले मानिसहरूलाई बताउनुहुने सिद्धान्तहरू”—यो वाक्यांश निकै फराकिलो छ। यसलाई विशिष्ट रूपमा कसरी अभ्यास गरिन्छ? तैँले तँसँग अरूलाई हानि गर्ने अभिप्राय छ छैन भनेर चिरफार गर्नु जरुरी छैन, न त तैँले आफूलाई अरूबाट जोगाउनुपर्ने नै जरुरी छ। त्यसोभए, तैँले के गर्नुपर्छ त? एक हिसाबले, तैँले अरूसँग सद्‌भावपूर्ण सम्बन्ध कायम राख्‍ने प्रयास गर्नुपर्छ; अर्को हिसाबले, विभिन्‍न प्रकारका मानिसहरूसँग व्यवहार गर्दा, तैँले तिनीहरू कस्ता मानिसहरू हुन् भनेर छुट्याउन परमेश्‍वरका वचनहरूलाई आधारको रूपमा र सत्यतालाई मापदण्डको रूपमा प्रयोग गर्नुपर्छ, र त्यसपछि सम्बन्धित सिद्धान्तहरूको आधारमा तिनीहरूसँग व्यवहार गर्नुपर्छ। यो त्यति सरल छ। यदि तिनीहरू विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू हुन् भने, तिनीहरूसँग त्यस्तै व्यवहार गर्; यदि तिनीहरू आफ्नो पछ्याइमा गम्भीर छन् र त्याग गर्छन् र समर्पित हुन्छन् भने, तिनीहरूलाई इमानदारीपूर्वक कर्तव्य पूरा गर्ने विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई जस्तो व्यवहार गर्। यदि तिनीहरू अविश्‍वासी हुन्, कर्तव्य पूरा गर्न इच्छुक छैनन्, र जीवन जिउन मात्र चाहन्छन् भने, तैँले तिनीहरूलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको रूपमा नभई, गैरविश्‍वासीहरूको रूपमा व्यवहार गर्नुपर्छ। जब तँ मानिसहरूलाई हेर्छस्, तब तैँले तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्, तिनीहरूको स्वभाव, मानवता, र परमेश्‍वर र सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति कस्तो छ भनेर हेर्नुपर्छ। यदि तिनीहरू सत्यता स्विकार्न सक्छन् र सत्यता अभ्यास गर्न इच्छुक छन् भने, तिनीहरूलाई साँचो विश्‍वासी दाजुभाइ-दिदीबहिनीलाई जस्तो, र परिवारलाई जस्तो व्यवहार गर्। यदि तिनीहरूको मानवता खराब छ, र तिनीहरूले स्वेच्छाले सत्यता अभ्यास गर्छु भनी मुखले मात्र भन्छन्, र तिनीहरू धर्मसिद्धान्तबारे छलफल गर्न सक्षम छन् तर सत्यता अभ्यास कहिल्यै गर्दैनन् भने, तिनीहरूसँग परिवारको रूपमा होइन, श्रमिकको रूपमा मात्र व्यवहार गर्। यी सिद्धान्तहरूले तँलाई के बताउँछन्? तिनीहरूले तँलाई विभिन्‍न प्रकारका मानिसहरूलाई के-कसरी व्यवहार गर्ने भन्‍ने सिद्धान्तहरू बताउँछन्—यो सिद्धान्तबारे, अर्थात् मानिसहरूसँग बुद्धि प्रयोग गरेर व्यवहार गर्नुपर्छ भन्‍ने सिद्धान्तबारे हामीले बारम्बार छलफल गरेका छौँ। बुद्धि एउटा सामान्य शब्द हो, तर विशिष्ट रूपमा हेर्दा, यसको अर्थ विभिन्‍न प्रकारका मानिसहरूसँग व्यवहार गर्दा फरक-फरक तौरतरिका र सिद्धान्तहरू अपनाउनुपर्छ भन्‍ने हो—र यो सबै सत्यतामा आधारित हुनुपर्छ, व्यक्तिगत भावनाहरू, व्यक्तिगत रुचिहरू, व्यक्तिगत दृष्टिकोणहरू, तिनीहरूबाट हुने फाइदा र बेफाइदाहरू, वा तिनीहरूको उमेरमा होइन, केवल परमेश्‍वरका वचनहरूमा आधारित हुनुपर्छ। त्यसकारण, मानिसहरूसँग व्यवहार गर्दा, तैँले तँसँग अरूलाई हानि गर्ने अभिप्राय छ छैन भनेर जाँच्नु वा अरूबाट सतर्क हुनु जरुरी छैन। यदि तँ परमेश्‍वरले दिनुभएका सिद्धान्त र तौरतरिकाअनुसार मानिसहरूलाई व्यवहार गर्छस् भने, सबै परीक्षाहरूबाट जोगिन सक्छस्, र तँ कुनै पनि परीक्षा वा द्वन्द्वमा पर्नेछैनस्। यो त्यति सरल छ। गैरविश्‍वासीहरूको संसारसित व्यवहार गर्दा पनि यो सिद्धान्त उपयुक्त हुन्छ। जब तैँले कसैलाई देख्छस्, तब यस्तो सोच्‍नेछस्, “ऊ दुष्ट, दियाबलस, भूतपिशाच, ठग, वा बदमास हो। म ऊप्रति सतर्क हुनु पर्दैन; म उसलाई ध्यान दिने वा रिस उठाउनेछैनँ। यदि काम गर्दा अन्तरक्रिया गर्नुपर्‍यो भने, म औपचारिक र निष्पक्ष रूपमा परिस्थिति सम्हाल्नेछु। यदि त्यसो गर्नुपरेन भने, म सम्पर्क वा सङ्गत गर्नबाट परै बस्‍नेछु, र म उसको रक्षा पनि गर्नेछैन वा चापलुसी पनि गर्नेछैन। उसले मेरो गल्ती भेट्टाउन सक्‍नेछैन। यदि उसले मलाई हेप्‍न चाह्यो भने, मसँग परमेश्‍वर हुनुहुन्छ। म परमेश्‍वरमा भर पर्नेछु। यदि परमेश्‍वरले उसलाई मलाई हेप्‍न अनुमति दिनुभयो भने, म त्यो स्विकार्नेछु र त्यसमा समर्पित हुनेछु। यदि परमेश्‍वरले अनुमति दिनुभएन भने, उसले मेरो रौँसमेत हल्लाउन सक्‍नेछैन।” के यो साँचो विश्‍वास होइन र? (हो।) तँसँग यस्तो साँचो विश्‍वास हुनुपर्छ र तँ त्योसित डराउनु हुँदैन। त्यो स्थानीय ठग वा मामुली व्यक्ति मात्र हो भनेर नभन्: ठूलो रातो अजिङ्गर सामना गर्दासमेत, हामी यही सिद्धान्त पालना गर्छौँ। यदि ठूलो रातो अजिङ्गरले तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्छ भने, के तँ त्योसित तर्क गर्छस् र? के तँ त्यसलाई प्रवचन दिन्छस् र? (दिँदिनँ।) किन दिँदैनस्? (त्यसलाई प्रवचन दिनु व्यर्थ छ।) त्यो दियाबलस हो, र त्यो प्रवचनहरू सुन्‍न योग्य छैन। सुँगुरको अगाडि मोती फ्याँक्‍नु हुँदैन। जन्तु वा दियाबलसहरूलाई सत्यता सुनाउनु हुँदैन; यो त मानिसहरूको लागि हो। दियाबलस वा जन्तुहरूले बुझे पनि, यो तिनीहरूलाई सुनाइँदैन। तिनीहरू यसको योग्य छैनन्! यो सिद्धान्त कस्तो छ? (राम्रो।) मण्डलीका खराब मानवता भएका, दुष्ट, मूर्ख र तर्कहीन हेपाहाहरू, वा समाजमा केही शक्ति भएका, ठूला परिवारबाट आएका, वा केही प्रभुत्व भएका मानिसहरूलाई तैँले कसरी व्यवहार गर्छस्? तिनीहरूलाई जसरी व्यवहार गर्नुपर्ने हो त्यसरी नै व्यवहार गर्नुपर्छ। यदि तिनीहरू विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू हुन् भने, तिनीहरूसँग उठबस गर्। होइन भने, तिनीहरूलाई बेवास्ता गर् र अविश्‍वासीहरूको रूपमा व्यवहार गर्। यदि तिनीहरू सुसमाचार सुनाउने सिद्धान्तहरूअनुरूप छन् भने, तिनीहरूलाई सुसमाचार सुना। यदि तिनीहरू सुसमाचारका लक्षित पात्र होइनन् भने, तिनीहरूसँग भेट्ने वा उठबस गर्ने काम यो जीवनभर नगर्। यो त्यति सरल छ। दियाबलसहरू र शैतानहरूसँग, तैँले आफूलाई जोगाउनुपर्ने, तिनीहरूविरुद्ध मुद्दा बनाउनुपर्ने वा बदला लिनुपर्ने जरुरी छैन। बस तिनीहरूलाई बेवास्ता गर्। तिनीहरूलाई रिस नउठा, र तिनीहरूसँग सङ्गत नगर्। यदि, कुनै कारणवश, तिनीहरूसँग अन्तरक्रिया वा व्यवहार गर्नु नै पर्छ भने, औपचारिक र निष्पक्ष तरिकाले र सिद्धान्तहरूमा आधारित भएर व्यवहार गर्। यो त्यति सरल छ। परमेश्‍वरले मानिसहरूलाई कार्य र व्यवहार गर्नको लागि सिकाउनुहुने सिद्धान्त र तौरतरिकाले तँलाई मर्यादासाथ व्यवहार गर्न मद्दत गर्छ, जसले गर्दा तँ झन्झन् बढी मानव स्वरूपमा बाँच्न सक्छस्। जबकि तेरा आमाबुबाले तँलाई सिकाउने तौरतरिका तँलाई बचाउने र तेरो हेरचाह गर्ने कुराजस्तो देखिए पनि, वास्तवमा यसले तँलाई बहकाउँछ र पीडाको खाडलमा धकेल्छ। तिनीहरूले जे सिकाउँछन् त्यो आफूलाई उचित व्यवहारमा ढाल्‍ने सही तरिका वा बुद्धिमानी शैली होइन, त्यो त सत्यताविरुद्ध जाने र सत्यतासँग सम्‍बन्धित नहुने एक धूर्त र घृणित तरिका हो। तसर्थ, यदि तैँले तेरा आमाबुबाले सिकाएका विचारहरू मात्र स्विकार्छस् भने, तँलाई सत्यता स्विकार्न गाह्रो र कठिन हुन्छ, र सत्यता अभ्यास गर्न चुनौतीपूर्ण हुन्छ। तर यदि तँसँग परिवारबाट आएको आफ्‍नो व्यवहार शैली र दुनियाँसित व्यवहार गर्ने सिद्धान्तहरूसम्बन्धी विचारहरू त्याग्‍ने हृदय छ भने, सत्यता स्विकार्न अलि सजिलो हुन्छ, र त्यो अभ्यास गर्न पनि अलि सजिलै हुन्छ।

पारिवारिक शिक्षणको सम्बन्धमा, हामीले उल्लेख गरेका विचार र दृष्टिकोणहरूबाहेक, के अरू केही कुरा छ? संक्षेपमा भन त। परिवारबाट आउने धेरै कुराहरू छन्, र चीनमा, मानिसहरूले यसलाई “खाने टेबल संस्कृति” भनेर भन्छन्। उदाहरणको लागि, खाना खाँदा, कुनै बच्‍चाले यसो भन्‍न सक्छ, “हाम्रो कक्षाको मनिटर, बाहुलामा तीन धर्का भएकी केटीले, सधैँ मेरो होमवर्क चेक गर्छे र मैले गरेको भए नि गरेको छैन भनेर भन्छे। उसले जहिले नि मलाई निसाना बनाउँछे।” आमाबुबाले यसो भन्दै जवाफ दिन सक्छन्, “तँ केटा होस्, र त्यो केटी हो। तँ किन उसको बारेमा यति झमेला मान्छस्? आफ्‍नो पढाइमा ध्यान दे र तेरी आमालाई गौरवान्वित बना। जब तँ कक्षाको मनिटर बन्छस्, तब तैँले नि उसको होमवर्क चेक गर्न सक्छस्, अनि त हिसाब बराबर भइहाल्यो, होइन र?” यो सुनेपछि, बच्‍चाले यस्तो सोच्न सक्छ, “साँच्‍चै हो। म केटा हुँ, र ऊ कक्षाको मनिटर नै भए पनि, ऊ केटी हो। मैले ऊसँग झिजो मान्‍नु हुँदैन। यदि उसले मलाई फेरि सताउन थाली भने, म उसलाई बेवास्ता गर्नेछु र त्यो कुरा त्यही सकिनेछ। उसले मलाई जति धेरै सताउँछे, म त्यति नै पढाइमा मेहनत गर्नेछु। म उसलाई पछि पार्नेछु, र अर्को सत्रमा, म कक्षाको मनिटर बन्छु र उसको रेखदेख गर्ने बन्‍नेछु। अनि हिसाब बराबर हुन्छ।” यो खाने टेबल संस्कृतिको एक उदाहरण हो। खाना खाँदा, यदि बालक रुन थाल्यो भने, आमाबुबाले यसो भन्‍न सक्छन्, “नरू! किन रोइरहेको? कस्तो बेकारको होला!” के रुँदैमा तँ बेकारको हुन्छस्? के नरुने मानिसहरू होनहार हुन्छन् र? के नरुने हरेक बालक होनहार व्यक्ति हो र? अघि बढेर सफल भएका मानिसहरूलाई हेर् त—के तिनीहरू सानो हुँदा रोएनन् र, आँसु बगाएनन् र? के तिनीहरूसँग संवेग थिएन र? के तिनीहरूले आनन्द, क्रोध, शोक र खुसी अनुभव गर्थेनन् र? तिनीहरूले यी सबै कुरा अनुभव गर्थे। चाहे कुनै प्रख्यात व्यक्ति होस् वा चाहे कुनै साधारण व्यक्ति होस्, सबैमा मानवीय नाजुकता वा मानवीय गुण हुन्छ। अभिभावकीय शिक्षा र सामाजिक पृष्ठभूमिको कारण, मानिसहरूले प्रायजसो यो पक्षलाई कमजोर, कायर, अक्षम, वा सजिलै हेपिने कुराको रूपमा लिन्छन्। तिनीहरूले यसलाई खुलेर प्रकट गर्ने कहिल्यै आँट गर्दैनन्; बरु तिनीहरूले गोप्य रूपमा लुकेर यस्तो कुरा व्यक्त गर्ने गर्छन्। कतिपय प्रख्यात व्यक्तिहरूले, आफ्नो करियरको सबैभन्दा चुनौतीपूर्ण समयहरू सामना गर्दा, र तिनीहरूलाई सहयोग वा साथ दिने कोही नहुँदा, तिनीहरूले वरपरका सबै सिपाहीहरू, अधीनस्थहरू र सेवकहरू नगएसम्‍म पर्खिन सक्छन्। तर त्यसपछि, तिनीहरूले बाथटबमा बसेर ब्वाँसोजस्तै कराउँदै आफ्ना संवेगहरू पोख्‍ने गर्छन्। यसरी चिच्याएपछि, तिनीहरूले यस्तो सोच्छन्, “कसैले सुन्यो कि? के म अलिक बढी नै अनियन्त्रित भएँ कि? मैले यसलाई अलिकति कम गर्दा राम्रो होला!” तर यसलाई कम गर्दा अपर्याप्त हुन्छ, र त्यसैले तिनीहरू आफ्नो मुख तौलियाले छोपेर ब्वाँसोजस्तै निरन्तर कराइरहन्छन्। सामान्य मानवताले विभिन्‍न संवेगहरू पोखाइरहनु र व्यक्त गरिरहनुपर्छ। तैपनि, यो समाजको ठूलो दबाब र विभिन्‍न जनमतहरूको दमनको कारण, कसैले पनि आफ्‍ना संवेगहरू सामान्य रूपमा व्यक्त गर्ने आँट गर्दैन। किनभने, पारिवारिक शिक्षा र शिक्षणबाट सुरु हुँदै, प्रत्येक व्यक्तिमा निश्‍चित गलत विश्‍वासहरू हालिएको हुन्छ, जस्तै “पुरुष भएपछि आत्मनिर्भर हुनुपर्छ,” “फलाम ढलाइ गर्न बलियो हुनुपर्छ,” “नबिराउनु, नडराउनु,” र “विवेक सफा भए, भूतले ढोका ढकढक्याउने डर मान्‍नुपर्दैन।” त्यसैगरी, “जसरी असल घोडालाई चढिन्छ, त्यसरी नै असल व्यक्तिलाई हेपिन्छ” भन्‍ने भनाइ पनि छ जसले सजिलै अरूको निसाना हुनबाट जोगिनुपर्छ, बरु अरूलाई हेप्‍न पछि पर्नु हुँदैन भन्‍ने सन्देश दिन्छ। “जसरी असल घोडालाई चढिन्छ, त्यसरी नै असल व्यक्तिलाई हेपिन्छ” भन्‍ने भनाइमा “असल” को अर्थ के हुन्छ? यसको अर्थ निर्दोष, सरल, बफादार, दयालु र सोझो भन्‍ने हुन्छ। अर्थात्, यसको अर्थ तँ यस्तो व्यक्ति बन्‍नु हुँदैन, किनकि त्यस्ता मानिसहरू सजिलै निसाना बन्‍न सक्छन्। अनि, यसको सट्टा तँ कस्तो बन्‍नुपर्छ? तँ बदमास, दुष्ट, खराब, खलनायक, दुष्ट व्यक्ति, र गुन्डा बन्‍नुपर्छ—त्यसपछि त कसैले पनि तँलाई हेप्‍ने आँट गर्नेछैन। तँ जहाँ गए पनि, यदि तार्किक व्यवहारले काम गरेन भने, तैँले बदमासले जस्तो व्यवहार गर्नुपर्छ, र तैँले घटना घटाउन, रिस देखाउन, अनुचित व्यवहार गर्न, र अराजकता सिर्जना गर्न सक्‍नुपर्छ। यस्तो व्यवहार गर्ने मानिसहरू फल्छन् फुल्छन्। यस्ता व्यक्तिहरूसँग जुनसुकै कार्यस्थल वा सामाजिक समूहका अधिकांश मानिसहरू डराउँछन्, र कसैले पनि तिनीहरूलाई रिस उठाउने साहस गर्दैन। तिनीहरू गन्हाउने कुकुरको विसर्जन वा झिजो लगाउने कीराहरू जस्तै हुन्छन्, र एकचोटि ती तँमा लागेपछि, तिनलाई फ्याँक्‍न गाह्रो हुन्छ। तैँले यस्तो व्यक्ति बन्‍नुपर्छ। तँ सजिलो निसाना होस् वा तँलाई सजिलै दुःख दिन सकिन्छ भनेर मानिसहरूले नसोचून्। तेरो शरीरभरि काँडैकाँडा हुनुपर्छ। यदि तँसँग कुनै काँडा छैन भने, तैँले यो समाजमा आफूलाई स्थापित गर्न सक्‍नेछैनस्। तँलाई हेप्‍ने कोही न कोही सधैँ नै हुनेछ। पारिवारिक शिक्षाले तेरो जीवन मार्गको लागि मार्गदर्शकको रूपमा, साथै आफूलाई व्यवहारमा ढाल्ने तेरा सिद्धान्तहरूको विशिष्ट शिक्षा र प्रेरणाको रूपमा काम गर्छ। अर्थात्, आमाबुबाले तँलाई आफूलाई के-कस्तो व्यवहारमा ढाल्‍ने, के-कस्तो बानीबेहोरा देखाउने, र विभिन्‍न कुराहरू कसरी सम्‍हाल्‍ने भनेर शिक्षा दिन यी विचार र भनाइहरू प्रयोग गर्छन्। अनि, तिनीहरूले तँलाई कस्तो व्यक्ति बन्‍न लगाउँछन्? झट्ट हेर्दा, कतिपय आमाबुबाले राम्रा सुनिने कुराहरू भन्‍न सक्छन्, जस्तै, “मेरो सन्तान प्रमुख स्थानमा पुग्‍नु वा सेलिब्रेटी बन्‍नु पर्दैन; असल व्यक्ति बन्‍नु नै पर्याप्त हुन्छ।” तर तिनीहरूले आफ्ना छोराछोरीहरूलाई यस्ता वाक्यांशहरू पनि भन्छन्, “अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्‍नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू,” “जसरी असल घोडालाई चढिन्छ, त्यसरी नै असल व्यक्तिलाई हेपिन्छ,” र “पुरुष भएपछि आत्मनिर्भर हुनुपर्छ।” त्यसोभए, यति धेरै कुरा भनिसकेपछि, के तिनीहरूले आफ्ना छोराछोरीहरूलाई असल मानिस बन्‍न लगाइरहेका हुन्छन् कि अरू कोही? (तिनीहरूलाई भयङ्कर बन्‍न, वा कम्तीमा आफूलाई रक्षा गर्न सक्‍ने बन्‍न प्रोत्साहित गरिरहेका हुन्छन्।) मलाई भन त, के धेरैजसो आमाबुबाले आफ्ना छोराछोरीहरूले अरूलाई हेपेको हेर्न चाहन्छन्, कि तिनीहरू विशेष सोझो भएको र सही बाटो हिँडेको र बारम्बार हेपाइ र बहिष्कार सहेको हेर्न चाहन्छन्? आमाबुबालाई सबैभन्दा खुसी, र सबैभन्दा गौरवान्वित बनाउन, र तिनीहरूको अनुहारमा चमक ल्याउन सन्तान कस्तो व्यक्ति बन्‍नुपर्छ? (आफ्ना छोराछोरीले अरूलाई हेप्‍न सके, आमाबुबाले गर्व गर्छन्, तर यदि तिनीहरूका छोराछोरी सही बाटो हिँड्दा तिनीहरूलाई बारम्‍बार दुर्व्यवहार गरिन्छ भने तिनीहरूले यसलाई लाजमर्दो कुरा ठान्छन्।) यदि तँ सही बाटो हिँड्छस् तर तँलाई बारम्बार दुर्व्यवहार गरिन्छ भने, तेरा आमाबुबा दुःखी र उदास हुन्छन्, तिनीहरूको मन दुख्छ, र तिनीहरूले यस्तो हुन दिने इच्छा गर्दैनन्। यसको जडमा के हुन्छ? यसका कारणहरू जेसुकै भए पनि, आमाबुबाले आफ्ना छोराछोरीलाई के-कस्तो व्यवहार अँगाल्ने र कसरी कार्य गर्ने भनेर सिकाउने हरेक विचार र दृष्टिकोण गलत र सत्यताविपरीत हुन्छ। छोटकरीमा भन्दा, आमाबुबाले तँमा हालिदिने यी विचार र दृष्टिकोणहरूले तँलाई परमेश्‍वरको उपस्थितितर्फ डोर्‍याउँदैनन्, न त तिनले तँलाई सत्यताको मार्गतर्फ नै डोर्‍याउँछन्। त्यस्ता विचार र दृष्टिकोणहरूको मार्गदर्शनमा रहेर मानिसहरूले अवश्य नै कहिल्यै मुक्ति प्राप्त गर्नेछैनन्। यो एक अकाट्य तथ्य हो। तसर्थ, तेरा आमाबुबाको अभिप्राय वा उत्प्रेरणा जे भए पनि, तिनीहरूले तँलाई पार्ने प्रभाव जस्तोसुकै भए पनि, यदि तँ जुन कुरामा बाँचिरहेको छस् त्यो सत्यतासँग बाझिन्छ, र त्यसले सत्यताको विरोध गर्छ, र तँलाई परमेश्‍वर र सत्यतामा समर्पित हुनबाट रोक्छ भने, तैँले त्यसलाई त्याग्‍नुपर्छ।

यी पछिल्ला केही सङ्गतिहरूमा उठाइएका पारिवारिक शिक्षणका विभिन्‍न विचारहरूबारे कुरा गर्दा, यी विचारहरू मानिसहरूमाझ व्यापक रूपमा प्रयोग र प्रवर्धन गरिए पनि, र यी विचारहरूलाई जति नै व्यापक रूपमा स्विकारिए पनि वा जति नै धेरै मानिसहरूले अँगाले पनि, र मानिसहरू यी विचारहरूमा जति नै धेरै भर परे पनि, यी विचारहरूले मान्छेमा पार्ने हानिलाई मध्यनजर गर्दा, मानिसहरूले यी विचार र दृष्टिकोणहरू त्याग्‍नु अत्यन्तै जरुरी छ। तिनीहरूले यी विचार र दृष्टिकोणहरूसँग सम्बन्धित विभिन्‍न मामिलाहरूको पुनः जाँच वा मुकाबिला गर्नुपर्छ, परमेश्‍वरका वचनहरूमा अभ्यासका सही मार्गहरू र सत्यता सिद्धान्तहरू खोजी गर्नुपर्छ, र यस्ता वैचारिक शिक्षण त्यागेर सत्यता वास्तविकतामा प्रवेश गर्दै मुक्तिको आशा प्राप्त गर्नुपर्छ। परिवारले तँलाई सिकाएका विचार र दृष्टिकोणहरू अनि विभिन्‍न विशिष्ट भनाइहरूबारेका यी सङ्गति सत्रहरूमार्फत, तिमीहरूले आफ्नो प्राणको गहिराइभित्र गाडिएका विभिन्‍न विचार र दृष्टिकोणहरूलाई कति हदसम्म चिन्यौ भन्‍ने मलाई कौतुहलता भएको छ। छोटकरीमा भन्दा, चाहे जे होस्, यी सङ्गतिहरूले चेतावनीको घण्टीको काम गर्नुपर्छ, र मानिसहरूलाई परिवारको अवधारणाबारे विशुद्ध नयाँ बुझाइ प्रदान गर्नुपर्छ, साथै पारिवारिक नातेदारहरू, पारिवारिक विचारहरू, र पारिवारिक संस्कृतिका शिक्षणबारे पनि विशुद्ध नयाँ समझ र बुझाइ प्रदान गर्नुपर्छ, र तिनीहरूलाई आफ्‍नो परिवारलाई कसरी लिने भन्‍नेबारेमा सही दृष्टिकोण र अडान अपनाउने विशुद्ध नयाँ शैली र क्षमता प्रदान गर्नुपर्छ। आफ्नो परिवारलाई कसरी लिने भन्‍नेबारेमा तेरो बाहिरी शैली जे-जस्तो भए पनि, मानिसहरू र परिस्थितिलाई हेर्ने, आफूलाई कुनै व्यवहारमा ढाल्‍ने र कार्य गर्ने तेरो तौरतरिकाको सन्दर्भमा तेरो परिवारले तँलाई जे-जस्ता गलत विचार र दृष्टिकोणहरूद्वारा प्रभावित पारेका छन्, तैँले ती प्रत्येकको भित्र वास्तविकता चिन्‍नुपर्छ, र विशुद्ध बुझाइसाथ परमेश्‍वरले सिकाउनुहुने दृष्टिकोण र तौरतरिकाहरू अँगाल्‍न तिनलाई एकएक गरी त्याग्‍नुपर्छ, अनि मानिसहरू र परिस्थितिलाई कसरी हेर्ने, र आफूलाई कस्तो व्यवहारमा ढाल्ने र कस्तो कार्य गर्ने भन्‍ने विषयमा परमेश्‍वरले मानिसहरूलाई प्रदान गर्नुभएका विभिन्‍न सही दृष्टिकोण र तौरतरिकाहरू ग्रहण गर्नुपर्छ। साँचो रूपमा सत्यता पछ्याउने मानिसहरूले गर्नुपर्ने कुरा यही हो।

परिवारले मानिसहरूमा हालिदिने एउटा महत्त्वपूर्ण विचार र दृष्टिकोण भनेको तिनीहरू भयानक हुनुपर्छ र आफ्नो रक्षा गर्न विभिन्‍न माध्यमहरू प्रयोग गर्नुपर्छ भन्‍ने हो। विभिन्‍न विचार र दृष्टिकोणहरूको शिक्षणबाट संसारलाई झेल्‍ने माध्यम र तौरतरिका प्राप्त गरी आफ्नो हित, देह, र व्यक्तिगत सुरक्षा कसरी प्रत्याभूत गर्छन् भन्‍ने कुरालाई ध्यानमा राख्दा, परिवारहरूले यी विचारहरू अभ्यस्त गराउनुपछाडिको प्राथमिक उद्देश्य के हो? यो व्यक्तिलाई अरूको हेपाइमा पर्नबाट बचाउनु हो। अब, हामी हेपाइमा पर्नुको सार जाँचौँ। के हेपाइमा पर्नु राम्रो कुरा हो? के यसबाट जोगिन सकिन्छ? के कहिल्यै हेपाइमा नपर्ने कोही छ? हेपाइमा पर्दा त्यसमा केके कुराहरू हुन्छन्? छोराछोरीहरू समाजमा सहजसाथ घुलमिल होऊन् र आफूलाई सामान्य रूपमा स्थापित गर्न सकून् भन्‍ने आशाबाहेक, आमाबुबालाई छोराछोरीहरू हेपाइमा पर्लान् भन्‍ने निरन्तर डर पनि हुन्छ। त्यसकारण, तेरा आमाबुबाले तँलाई रक्षा गर्न र हेपाइमा पर्नबाट बचाउन यी विधिहरू प्रयोग गरी प्राय तँलाई संसारलाई झेल्‍ने निश्‍चित उपाय र माध्यमहरू बताइरहन्छन्। तेरा आमाबुबाले सधैँ तँलाई साथ दिन वा तेरो रक्षा गर्न नसक्‍ने हुनाले, तैँले आफ्ना पखेटाहरू फैलाएर आफै उड्दा, हेपाइ सहनु नपरोस् भनेर तँलाई केही विचार र दृष्टिकोणहरूले भरिदिन्छन्। के यी विचार र दृष्टिकोणहरू सही हुन्छन् त? के तिमीहरूलाई हेपाइमा परिने डर लाग्छ? के तँसँग यस्तो विचार र दृष्टिकोण छ: “जब म समाज र सामाजिक समूहहरूमा जान्छु, र विशेष गरी जब म गैरविश्‍वासीहरूसँग अन्तरक्रिया गर्छु, तब म हेपाइमा पर्छु कि भन्‍ने डर लाग्छ—यही कुराले मलाई सबैभन्दा बढी चिन्तित तुल्याउँछ। यदि मैले मेरो बराबरको कसैलाई भेटें भने, म आफ्नो पक्षमा खडा हुन सक्छु। तर यदि मैले आफूभन्दा भयानक कसैलाई भेटेँ भने, ममा प्रतिरोध गर्ने हिम्मत हुनेछैन। मैले जस्तोसुकै हेपाइ सहनुपरे पनि त्यो म स्विकार्नेछु। म यसबारे केही पनि गर्न सक्दिनँ। तिनीहरूलाई साथ दिने र पर्दापछाडि सहयोग गर्ने मानिसहरू हुन्छन्, र मैले यो सहनु नै पर्ने हुन्छ।” के यो अधिकांश मानिसहरूमा व्याप्त विचार र दृष्टिकोण होइन र? (म पनि त्यस्तै दृष्टिकोण राख्थेँ। परमेश्‍वरमा विश्‍वास गरेपछि, म मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग सद्‌भावपूर्वक बस्‍न थालेँ। गैरविश्‍वासीहरूसँग अन्तरक्रिया गर्दा, मैले हेपाइ र सतावट सामना गरे पनि, यो परमेश्‍वरले अनुमति दिनुभएको कुरा हो, र मैले त्यसबाट पाठ सिक्‍नुपर्छ भन्‍ने मलाई थाहा हुन्छ। त्यसैले, म डराउन छोडेको छु र डराउनुको सट्टा यस्तो अनुभव गर्न परमेश्‍वरमा भरोसा गर्न सिकेको छु।) अनि, कस्ता व्यक्तिहरूले विशेष डर मान्छन्? (परमेश्‍वरमा विश्‍वास नभएका मानिसहरूले।) यी मानिसहरूबाहेक, अरू त्यस्ता मानिसहरू पनि छन्, जो अत्यन्तै डरपोक, अन्तर्मुखी र कम आत्मसम्मान भएका, कमजोर र दुर्बल, शारीरिक रूपमा कम आकर्षक वा सानो कदका, गरिब पृष्ठभूमिबाट आएका हुन्छन्—विशेष गरी ती त्यस्ता मानिसहरू हुन् जसलाई पारिवारिक पृष्ठभूमिको कारण गिल्‍ला वा भेदभाव गरिन्छ—जसको सामाजिक हैसियत कमजोर छ, जोसँग सीप वा विज्ञताको कमी छ, र जसले मजदुरीको काम गर्छन्, र जो शारीरिक रूपमा अशक्त छन्। यी सबै मानिसहरू हेपाइमा पर्ने जोखिममा हुन्छन् र तिनीहरू यसप्रति डराउँछन्। के हेपाइ समाजको एउटा व्याप्त समस्या होइन र? (हो।) जहाँ मानिसहरू हुन्छन्, त्यहाँ यी कुराहरू हुने नै छन्। अनि, हेपाइ कसरी आउँछ? (किनभने, शैतानद्वारा भ्रष्ट पारिएपछि, तिनीहरू अत्यन्तै दुष्ट बन्छन्, र आफू हेपाइमा नपरी, अरूलाई हेप्‍न चाहन्छन्। त्यसकारण, दमनका यी उदाहरणहरू जताततै हुन्छन्।) यो एउटा पक्ष हो। कतिपय मानिसहरू अरूको हेपाइमा पर्न चाहँदैनन्, त्यसैले तिनीहरूले नै अग्रसरता जनाएर पहिले अरूलाई हेप्छन् र तर्साउँछन् ताकि कसैले पनि तिनीहरूलाई हेप्‍ने आँट नगरोस्। वास्तवमा, भित्री रूपमा, तिनीहरूले यस्तो व्यवहार गर्न चाहँदैनन्; तिनीहरूको लागि पनि यो थकाइलाग्दो नै हुन्छ। जब तैँले अरू सबैलाई हानेर लडाउँछस्, तब के तँ आफै पनि थकित हुँदैनस् र? एउटा भनाइ छ, “हजार शत्रु मारेर, आठ सय आफ्‍ना गुमाउनु।” उदाहरणको लागि, दुम्सीलाई लिऊँ: यसले काँडा हानेपछि, के यसको स्‍नायु प्रणाली थकित हुँदैन र? यसले काँडाले हान्दा मानिसहरूलाई दुख्छ, तर यो आफै पनि थकित हुन्छ। त्यसकारण, यति आफू पनि थकित होइन्छ भने, यस्तो काम किन गर्ने? यो आत्मरक्षाको लागि हो—दुम्सीले आफूलाई बचाउन केही प्रयास गर्नुपर्छ। यो दुष्ट संसारमा विभिन्‍न प्रकारका मानिसहरूसँग व्यवहार गर्ने सकारात्मक वा सही सिद्धान्तहरू छैन, र संसारसँग व्यवहार गर्ने शैतानी दर्शन र सामाजिक पदानुक्रमको आधारमा मानिसहरूको वर्गीकरण हुन्छ, त्यसकारण यी सिद्धान्तहरू र असमान विभाजन मापदण्डको आधारमा मानिसहरूमाझ विभेद र पदानुक्रम उत्पन्‍न हुन्छ। जब यस्तो हुन्छ, मानिसहरूले निष्पक्ष र सद्‌भावपूर्वक अन्तरक्रिया गर्न सक्दैनन्। तिनीहरू माथिल्लो स्तरमा पुग्‍नको लागि, र सबैभन्दा राम्रो हुनको लागि प्रतिस्पर्धा गर्छन्। शीर्षमा पुगेकाहरूले अरूमाथि प्रभुत्व जमाउन सक्छन्, र तिनीहरूलाई हेप्‍न र आफ्‍नो इच्छाअनुसार नियन्त्रण गर्न सक्छन्। यो समाज अन्यायपूर्ण छ, त्यसैले मानिसहरूप्रति गरिने व्यवहारका सिद्धान्तहरू पनि अन्यायपूर्ण नै छन्। त्यसकारण, मानिसहरूबीचको अन्तरक्रिया पनि निश्‍चय नै सद्‌भावपूर्ण हुँदैनन्, र मानिसहरूले एकअर्कासँग अन्तरक्रिया गर्ने सिद्धान्त, तौरतरिका र माध्यमहरू सबै अनुचित नै हुन्छन्। खास गरी, यो अनुचित अवस्थाले शक्ति, पारिवारिक पृष्ठभूमि, सीप, क्षमता, शारीरिक रूप, उचाइ, साथै युक्ति, उपाय, र रणनीतिहरूको लागि मानिसहरूले एकअर्कासँग प्रतिस्पर्धा गर्नुलाई जनाउँछ। अनि, यी सबै कुराहरू कहाँबाट आउँछन्? यी कुराहरू सत्यताबाट वा परमेश्‍वरबाट आउँदैनन्—यी त शैतानबाट आएका हुन्छन्। शैतानबाट आएका यी कुराहरू मानिसहरूमा हालिन्छ, र तिनीहरू यी कुराद्वारा जिउँछन्, त्यसकारण तँलाई के लाग्छ: मानिसहरूले एकअर्कासँग कसरी अन्तरक्रिया गर्छन्? के तिनीहरूले सबैसित न्यायसङ्गत व्यवहार गर्छन्? (अहँ, गर्दैनन्।) अवश्य नै गर्दैनन्। के परमेश्‍वरको घरमा हुने चुनावको सरल सिद्धान्तले समेत शैतान हाबी भएको दुष्ट संसारमा काम गर्न सक्छ र? (गर्न सक्दैन।) यसले किन काम गर्न सक्दैन, त्यसको सार के हो? किनभने यो दुष्ट संसारलाई सत्यताले शासन गरेको छैन; यसलाई दुष्ट प्रवृत्तिहरू, साथै शैतानका विभिन्‍न विचार र दर्शनहरूले शासन गरेको छ। त्यसकारण, मानिसहरूले एकअर्कालाई हेप्‍ने र नियन्त्रण गर्ने मात्र हुन सक्छ—यो मात्र सम्भावित अवस्था हो। हेपाइबाट बच्नु असम्भव छ—यो एकदम सामान्य कुरा हो। संसार सत्यताको शासनमा छैन, त्यसकारण यो दुष्ट संसारमा, जब मानिसहरू एकअर्कासँग अन्तरक्रिया गर्छन्, तब यदि तँ अरूलाई हेप्‍ने व्यक्ति होइनस् भने, तँ पक्‍कै अरूबाट हेपिने व्यक्ति होस्। तेरो भूमिका यी दुईमध्ये एउटा मात्र हुन सक्छ। वास्तवमा, प्रत्येक व्यक्तिले अरूलाई पनि हेप्छ र आफू पनि अरूबाट हेपिन्छ। यस्तो किन हुन्छ भने तँभन्दा माथि पनि र मुनि पनि कोही न कोही सधैँ नै हुन्छन्। तेरो हैसियत अरूको भन्दा ठूलो भएकोले तँ अरूलाई हेप्छस्, तर तैँले तिनीहरूलाई हेपिरहेको बेला, त्यसरी नै तेरो भन्दा पनि उच्‍च हैसियत र स्थान भएका मानिसहरू हुन्छन्, र तिनीहरूले तँलाई हेप्‍नेछन्, र तैँले तिनीहरूको हेपाइ सहनुपर्नेछ। एउटा वर्गका मानिसहरूले अर्को वर्गका मानिसहरूलाई हेप्छन्: मानिसहरूबीचको सम्बन्ध यस्तै हुन्छ, हेप्‍ने र हेपिने। एकमात्र सम्बन्ध यही हो। कुनै साँचो पारिवारिक स्‍नेह, कुनै प्रेम, कुनै सहिष्णुता, र कुनै धैर्यता हुँदैन, र सिद्धान्तहरूअनुसार प्रत्येक व्यक्तिलाई न्यायपूर्ण र निष्पक्ष व्यवहार गर्ने कुनै सम्भावना हुँदैन। यो संसारलाई सत्यताले होइन, शैतानले शासन गर्छ, त्यसकारण मानिसहरूबीचको सम्बन्ध हेप्‍ने र हेपिने, र प्रयोग गर्ने र प्रयोग गरिने किसिमको मात्रै हुन सक्छ। यो अपरिहार्य कुरा हो, र यसबाट कोही पनि उम्कन सक्दैन। तैँले आफूलाई अन्डर्वल्ड बोस हुँ भनेर भन्‍न सक्छस्, र तेरो हातमा कैयौँ बफादार लठैत र नोकरहरू हुन सक्छन्, र तैँले सबैलाई हेप्‍न र नियन्त्रण गर्न सक्छस्। तर अन्डर्वल्ड बोसको पनि बोसहरू हुन्छन्, र सरकार पनि हुन्छ। पदाधिकारी र डाँकुहरू एक परिवार हुन् भनेर भनिए पनि, कहिलेकहीँ सरकारले जानीजानी समस्या झिक्छ, लाभ लिन खोज्छ, र तँलाई सजिलै उम्कन दिँदैन। तैँले प्रहरी थानामा रकम तिर्नुपर्छ र तिनीहरूको चापलुसी गर्नुपर्छ। देखिस् त, अन्डर्वल्ड बोस ठूलोजस्तो देखिए पनि, जब तिनीहरू प्रहरी थाना पुग्छन्, तिनीहरूले पनि झुक्‍नुपर्छ र ज्यूज्यू गर्नुपर्छ—तिनीहरूले घमण्डी हुने हिम्मत गर्दैनन्। गैरविश्‍वासीहरूमाझ भनाइ नै छ, “असलले एक कदम चाल्दा, दुष्टले दश कदम चाल्छ,” र “व्यक्ति जति ठूलो भए नि ऊभन्दा ठूलो अरू कोही भइहाल्छ।” यसको मतलब, प्रत्येक व्यक्तिले अरूलाई पनि हेप्छ र अरूबाट आफै पनि हेपिन्छ, हेपाइको सार र घटना स्वरूप यस्तै हुन्छ।

हेपाइको विषयमा कुरा गर्दा, यसबाट कोही पनि जोगिन नसक्‍ने हुनाले, यसलाई कसरी सम्हाल्नुपर्छ? मण्डलीमा, तैँले हेपाइमा पर्छु भन्‍ने डर मान्‍नु नपरे पनि, के त्यहाँ यस्तो कुरा हुन्छ? के त्यहाँ यस्तो हुन सक्छ? गैरविश्‍वासीहरूसँग अन्तरक्रिया गर्दा त, तँ तिनीहरूको हेपाइमा पर्न सक्छस्। तर के त्यसोभए मण्डलीभित्र यस्तो हुँदैन त? (हुन्छ।) फरक-फरक हदसम्‍म यस्तो हुन्छ, किनभने सबै मानिसहरू शैतानद्वारा भ्रष्ट पारिएका हुन्छन्। मुक्ति प्राप्त गर्नुअघि, मानिसहरूले प्रायजसो भ्रष्टता प्रकट गर्छन्, र भ्रष्टताको प्रकटीकरणमध्ये एउटा अरूलाई आफ्नै इच्छाअनुसार व्यवहार गर्नु, र तिनीहरूसँग निष्पक्ष व्यवहार नगर्नु हो। जब अरूलाई अन्यायपूर्ण व्यवहार गरिने यो कार्य पैदा हुन्छ, तब हेप्‍ने र हेपाइमा पर्ने अवस्था पनि पैदा हुन्छ। त्यसकारण, यी कुराहरू बेलाबेलामा देखा परी नै रहन्छन्, र मानिसहरू यी कुराबाट उम्कन वा जोगिन सक्दैनन्। अनि, यो मामिलालाई सम्हाल्ने र लिने सही सिद्धान्त के हो? (परमेश्‍वरको वचनअनुसार, र सिद्धान्तअनुसार सम्‍हाल्ने र लिने।) सिद्धान्तको हिसाबमा, भन्‍नुपर्ने कुरा यही हो। तर यसलाई अभ्यास गर्ने खास तरिका के हो त? तैँले हेप्‍ने र हेपिने कुरालाई कसरी बुझ्छस्? उदाहरणको लागि, मानौँ तैँले झूटो अगुवाका समस्याहरू रिपोर्ट गर्न पत्र लेख्छस्, र झूटो अगुवाले तँलाई यसो भन्दै हेप्‍न चाहन्छ, “यदि तिमीले ठीक व्यवहार गरेनौ भने, यदि तिमीले मेरा समस्याहरू माथिल्‍लो स्तरमा रिपोर्ट गरिरह्यौ भने, र मेरो गल्ती कोट्याइरह्यौ, वा मेरो मूल्याङ्कनमा नकारात्मक कुराहरू लेखिरह्यौ भने, म तिमीलाई मारिदिनेछु! मसँग तिमीलाई निष्कासन गर्ने क्षमता छ। के तिमीलाई डर लाग्दैन?” तैँले यस्तो अवस्था कसरी सम्हाल्छस्? तिनीहरूले तँलाई धम्की दिइरहेका हुन्छन्; किटेरै भन्दा, तिनीहरूले तँलाई हेपिरहेका हुन्छन्। तिनीहरूसँग शक्ति हुन्छ, तर तँ एक साधारण विश्‍वासी हुन्छस्, त्यसैले तिनीहरूले कुनै सिद्धान्त वा आधारविनै तँलाई मनमानी रूपमा पीडा दिन्छन्। तिनीहरूले तँलाई शैतानले मानिसहरूलाई व्यवहार गरेजस्तै व्यवहार गर्छन्। ठोस रूपमा भन्दा, के तिनीहरूले तँलाई हेपिरहेका हुँदैनन् र? के तिनीहरूले तँलाई सताउने प्रयास गरिरहेका हुँदैनन् र? (हुन्छन्।) त्यसोभए, तैँले यसलाई कसरी सम्‍हाल्छस्? सम्झौता गर्छस् कि सिद्धान्तहरू पालना गर्छस्? (सिद्धान्तहरू पालना गर्छु।) सैद्धान्तिक रूपमा, मानिसहरूले सिद्धान्तहरू पालना गर्नुपर्छ र यो झूटो अगुवासँग डराउनु हुँदैन। अनि, यसको आधार के हो? तँ तिनीहरूसँग किन डराउनु हुँदैन? यदि तिनीहरूले साँच्‍चै तँलाई निष्कासित गरे भने, के तँ डराउनेछस्? तिनीहरूले तँलाई साँच्‍चै निष्कासित गर्न सक्‍ने हुनाले, तँलाई सिद्धान्तहरू पालना गर्ने हिम्मत नहुन सक्छ, र तँ डराउन सक्छस्। यो कुरा कहाँ अड्किन्छ? तँ कसरी डराउन सक्छस्? (किनभने परमेश्‍वरको घर सत्यताको शासनमा छ भन्‍ने मलाई विश्‍वास हुँदैन।) त्यो यसको एउटा पक्ष हो। तँसँग यो विश्‍वास हुनुपर्छ र तैँले यसो भन्‍नुपर्छ, “तपाईँ एक दुष्ट व्यक्ति हुनुहुन्छ। तपाईँ अहिले अगुवा हुनुहुन्छ भन्दैमा तपाईँसँग मलाई निष्कासन गर्ने शक्ति छ भन्‍ने नसोच्‍नुहोस्। मलाई निष्कासन गर्नु गलत कुरा हो। ढिलोचाँडो यो कुरा खुलासा हुनेछ। परमेश्‍वरको घर तपाईँको एकल अधिकारमा छैन। यदि तपाईँले मलाई आज निष्कासित गर्नुभयो भने, अन्त्यमा तपाईँ दण्डित हुनुहुनेछ। यदि तपाईँलाई विश्‍वास लाग्दैन भने, पर्खेर हेर्नुहोस्। परमेश्‍वरको घरमा सत्यताले, र परमेश्‍वरले शासन गर्नुहुन्छ। मानिसहरूले तपाईँलाई सजाय दिन सक्दैनन्, तर परमेश्‍वरले तपाईँलाई खुलासा गरेर हटाउन सक्‍नुहुन्छ। जब तपाईँका गलत कामहरू खुलासा हुन्छन्, तब तपाईँले सजाय भोग्‍नुहुनेछ।” के तँसँग यस्तो विश्‍वास छ? (छ।) छ? त्यसोभए तिमीहरूले किन यसो भन्‍न सक्दैनौ? लाग्छ, त्यस्ता परिस्थितिहरू सामना गर्दा, तँ खतरामै पर्नेछस्; तँमा साहस र साँचो विश्‍वासको कमी छ। जब तैँले साँच्‍चै यी मामिलाहरू सामना गर्छस्, जब तैँले यस्ता डरलाग्दा किसिमका, र ठूलो रातो अजिङ्गरकै जस्ता तौरतरिका प्रयोग गरी मानिसहरूलाई सताउने दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई भेट्छस्, तब तैँले के गर्छस्? तँ रुन थाल्‍नेछस्, र यसो भन्‍नेछस्, “अहो, मेरो कद सानो छ, म डरपोक छु, म सधैँ समस्यादेखि डराउँछु, टाउकोमा पात खस्दा पनि म तर्सिन्छु। म त सधैँ आशा गर्छु, मैले त्यस्ता मानिसहरू सामना गर्नु नपरोस्। यदि तिनीहरूले मलाई हेपाइमा पारे भने, के गर्ने?” के तिनीहरूले तँलाई हेपिरहेका छन्? तिनीहरूले तँलाई हेपिरहेका छैनन्; त्यो त शैतानले तँलाई सताइरहेको हो। यसलाई मानव दृष्टिकोणबाट हेर्दा, तैँले भन्‍नेछस्, “यो व्यक्ति डरलाग्दो छ, उसको हैसियत छ, र उसले हैसियत नभएका जोकोही निर्दोष मानिसहरूलाई हेप्छ।” के यही भएको हो त? सत्यताको दृष्टिकोणबाट हेर्दा, त्यो हेपाइ होइन; यो त शैतानले मानिसहरूलाई कष्ट दिएको, सताएको, मूर्ख बनाएको, भ्रष्ट तुल्याएको, र कुल्चीमिल्ची पारेको हो। तैँले शैतानका यी कार्यहरूलाई कसरी लिनु र सम्‍हाल्‍नुपर्छ? के तँ डराउनुपर्छ? (म डराउनु हुँदैन; मैले तिनीहरूको रिपोर्ट गरेर खुलासा गर्नुपर्छ।) हृदयमा, तँ तिनीहरूसँग डराउनु हुँदैन। यदि अहिले तिनीहरूको समस्याबारे रिपोर्ट गर्नु र तिनीहरूसँग सङ्घर्ष गर्नु उपयुक्त छैन भने, तैँले अस्थायी रूपमा त्यो सहनुपर्छ र पछि उपयुक्त समय मिलाएर रिपोर्ट गर्नुपर्छ। यदि तेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ तँजस्तै समझदार व्यक्तिहरू छन् भने, तिनीहरूका दुष्कर्महरू रिपोर्ट गरी खुलासा गर्न तिमीहरू एकजुट हुनुपर्छ। यदि अरू कसैसँग समझशक्ति छैन, र तँ तिनीहरूको रिपोर्ट गर्न अगाडि बढ्दा, सबैले तँलाई अस्वीकार गर्छन् भने, केही समयको लागि धैर्य गर्‌। जब उच्‍चस्तरका अगुवाहरू तेरो मण्डलीमा काम जाँच्‍न र अनुगमन गर्न आउँछन्, तब उपयुक्त समय पारेर ती अगुवाहरूलाई समस्याहरू रिपोर्ट गर्, र यी मानिसहरूको दुष्कर्महरूबारे विस्तृत र स्पष्ट तरिकाले बता र ती अगुवाहरूलाई नै यी मानिसहरू हटाउन दे। के यो बुद्धिमानी कुरा हो? (हो।) एक हिसाबले, तँसँग विश्‍वास हुनुपर्छ र दुष्ट मानिसहरू, ख्रीष्टविरोधीहरू, वा शैतानसँग डराउनु हुँदैन। अर्को हिसाबमा, तँप्रतिको तिनीहरूको व्यवहारलाई तैँले एक व्यक्तिले अर्कोलाई हेपेको रूपमा हेर्नु हुँदैन; तैँले यसको सारलाई शैतानले मानिसहरूलाई मूर्ख बनाएको, सताएको र कुल्चिमिल्ची पारेको रूपमा हेर्नुपर्छ। त्यसपछि, परिस्थितिअनुसार, तैँले तिनीहरूको सतावट सामना गर्न बुद्धि प्रयोग गर्नुपर्छ, तिनीहरूलाई खुलासा र रिपोर्ट गर्न सही समय मिलाउनुपर्छ, र परमेश्‍वरको घर र मण्डलीको कामको हित रक्षा गर्नुपर्छ। यो तँ दृढ रहनुपर्ने गवाही हो र यो एक व्यक्तिको रूपमा तैँले पूरा गर्नुपर्ने कर्तव्य र दायित्व हो। तिनीहरूले तँलाई जे-जसरी हेपे पनि वा जे-जस्तो अनुचित व्यवहार गरे पनि, यसलाई हेपाइको रूपमा नहेर्। यो तिनीहरूले तँलाई हेपेको होइन; यो त शैतानले मानिसहरूलाई मूर्ख बनाएको, कुल्चिमिल्ची पारेको, र सताएको हो। के तँ ठूलो रातो अजिङ्गरले परमेश्‍वरका विश्‍वासीहरूलाई सताइरहेको बेला यसले हेपिरहेको हो भनेर भन्छस्? (भन्दिनँ।) यसले तँलाई हेपिरहेको होइन। अनि, यसले किन तँलाई सताउँछ? (किनभने यसको सार नै परमेश्‍वरको विरोध गर्नु हो।) यसको सार नै परमेश्‍वरको विरोध गर्नु हो। यसले परमेश्‍वरलाई शत्रुको रूपमा हेर्छ र परमेश्‍वरको सबै कामलाई यसको आँखाको कसिङ्गर र काँडाको रूपमा हेर्छ। परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूलाई पनि यसले शत्रुको रूपमा हेर्छ। यदि तँ परमेश्‍वरलाई पछ्याउँछस् भने, यसले तँलाई घृणा गर्नेछ, ठीक त्यसरी नै जसरी बाइबलमा भनिएको छ: “यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, तिमीहरूलाई घृणा गर्नु अगाडि त्यसले मलाई घृणा गर्‍यो भन्‍ने तिमीहरूलाई थाहा छ” (यूहन्‍ना १५:१८)। ठूलो रातो अजिङ्गरले मानिसहरूलाई घृणा गर्छ, परमेश्‍वरलाई घृणा गर्छ, र परमेश्‍वरलाई शत्रु ठान्छ, र अझ बढी त यसले परमेश्‍वरलाई पछ्याउनेहरूलाई, विशेष गरी सत्यता अभ्यास गर्नेहरूलाई शत्रुको रूपमा हेर्छ। त्यसैले यसले तँलाई सताउन, मार्न, र परमेश्‍वरलाई पछ्याउनबाट रोक्‍न, अनि त्यसको आराधना गर्न र त्यसलाई पछ्याउन, र परमेश्‍वरलाई सराप्‍न लगाउन चाहन्छ। तैँले “म उहाँलाई सराप्नेछैन” भनेर भन्‍न सक्छस्। अनि त्यसपछि, यसले तँलाई “यदि तैँले परमेश्‍वरलाई सरापिनस् भने, तँ मर्नेछस्” भनेर धम्की दिनेछ। यसले तँलाई “कम्युनिस्ट पार्टी राम्रो छ” भनेर भन्‍न बाध्य पार्न खोज्‍नेछ तर तैँले “म त्यसो भन्दिनँ” भनेर जवाफ दिनेछस्। त्यसपछि यसले भन्‍नेछ, “यदि त्यसो भनिनस् भने, म तँलाई समस्यामा पार्नेछु, म तँलाई त्यहीअनुसारको व्यवहार गरेर क्रूर यातना दिनेछु!” के त्यो कार्य तँलाई हेपेको हो र? होइन, त्यो त शैतानले मानिसहरूलाई दुर्व्यवहार गरेको हो। कुरो बुझिस्? (बुझेँ।) हेपाइको विषय सम्हाल्दा तँसँग सही बुझाइ हुनुपर्छ। समाजमा र मानिसहरूको समूहमा, यदि तैँले यसलाई मानव दृष्टिकोणबाट हेरिस् भने, प्रत्येक व्यक्तिले हेप्‍ने र हेपिने दुवैको भूमिका खेलेको देख्‍नेछस्। तर यदि तैँले यसलाई सत्यताको दृष्टिकोणले हेरिस् भने, तैँले यसलाई त्यस्तो देख्‍नेछैनस्। तँलाई हेप्‍न र नियन्त्रण गर्न चाहने कुनै पनि व्यक्तिको व्यवहारको सारलाई हेपाइ मानिँदैन। यो त शैतानको मूर्ख बनाउने, दुर्व्यवहार गर्ने, चालबाजी गर्ने, कुल्चिमिल्ची पार्ने र भ्रष्ट तुल्याउने कार्य हो। किटेरै भन्दा, तिनीहरूले तँलाई तर्कसङ्गत र मानवीय शैलीले व्यवहार गरिरहेका हुँदैनन्, तिनीहरूले तँलाई निष्पक्ष व्यवहार गरिरहेका हुँदैनन्, बरु तिनीहरूले त शैतानको दृष्टिकोण र अडान अपनाइरहेका हुन्छन् र तँसँग व्यवहार गर्दा, बोल्दा, र अन्तरक्रिया गर्दा शैतानका विचारहरूलाई आफ्‍नो मार्गदर्शनको रूपमा प्रयोग गरिरहेका हुन्छन्। उदाहरणको लागि, मानौँ तँ र एक दुष्ट व्यक्ति सँगै कोठामा बस्छौ रे। पहिले तँ सुरुमा पुग्छस्, त्यसैले तैँले पहिले उपयुक्त स्थान छान्छस्, र तल्तिरको खाट रोज्छस्। अनि, ऊ आइपुगेर यो देख्‍नेबित्तिकै, उसले भन्छ, “के तिमीले तल्तिरको खाट रोज्‍नु सही हो? मैले त अहिलेसम्म रोजेको पनि छैन, र के यो तिम्रो पालो हो? मेरो बाबजुद पनि तिमी तल्तिरको खाटमा सुत्‍ने आँट गर्छौ? तिम्रो त्यत्रो आँट! तिमीले यसबारे मसँग छलफल पनि गरेनौ, चुपचाप तल्तिरको खाटमा सुत्‍ने निर्णय गर्‍यौ। तिमी माथिल्तिरको खाटमा जाऊ!” तैँले जवाफ दिन्छस्, “तिमी किन माथिल्तिरको खाटमा सुत्‍नु हुँदैन? तिमी मभन्दा पछि आएको हौ; त्यो क्रमअनुसार, तिमी माथिल्तिरकै खाटमा सुत्‍नुपर्छ।” अनि उसले भन्छ: “क्रम रे? मैले कहिल्यै कुनै क्रम पछ्याएको छैनँ! म कहीँ पनि लाइन बस्दिनँ; म त राष्ट्रपतिलाई भेट्न पनि लाइन बस्दिनँ! के तिमीले म को हुँ भनेर जान्‍ने समेत कोसिस गरेनौ? मसँग लाइनको कुरा गर्ने आँट गर्छौ—तिम्रो त्यत्रो आँट! मर्न मन लाग्यो? तिमी माथिल्तिरको खाटमा जाऊ!” त्यसकारण, तँ आज्ञाकारी भएर माथिल्तिरको खाटमा सुत्‍नु जानुपर्छ। के यो तँलाई हेपिएको कुरा हो? मानव दृष्टिकोणबाट हेर्दा, यो हेपाइजस्तो देखिन्छ। त्यस्ताहरूले तँलाई सोझो, र चालबाजीमा पार्न सकिने मान्छेको रूपमा हेर्छन्। तिनीहरूले सर्वप्रथम तँलाई डरलाग्दो शक्ति देखाउँछन् र तिनीहरू को हुन् भनेर चिनाउन पाठ सिकाउँछन्। यो त यसलाई मानव दृष्टिकोणबाट वा मानव भावना वा देहको दृष्टिकोणबाट हेर्नु हो। तर यदि तैँले सत्यताको दृष्टिकोणबाट हेरिस् भने, के तैँले यसलाई त्यही तरिकाले हेर्न सक्छस् त? तैँले पहिले नै तल्तिरको खाट रोजिस्, र सबै कुरा क्रमबद्ध थियो, तर उसले तँलाई माथिल्तिरको खाटमा सर्न बाध्य पार्‍यो। के यो अनुचित होइन र? के यो तँलाई सताएको भएन र? के यो उसले तँलाई मानवजस्तो व्यवहार नगरेको होइन र? के यो उसले तँलाई अनादर गरेको होइन र? के यो उसले आफूलाई मालिकजस्तो ठान्दै, र तँलाई नोकर वा दासको रूपमा व्यवहार गरिरहेको होइन र? यस्ताहरूको विचारको तर्क के हो? तिनीहरूजत्तिको भयङ्कर नदेखिने जोकोही व्यक्ति तिनीहरूको सेवक बन्छ, र तिनीहरूले हुकुम गर्न र सताउन सक्‍ने व्यक्ति बन्छ। सत्यताको दृष्टिकोणबाट हेर्दा, यसलाई हेपाइ भन्‍न मिल्दैन; यो त मानिसहरूलाई सताउने कार्य हो। कोहरूले मानिसहरूलाई सताउन सक्छन्? दुष्ट मानिसहरूले, पिशाचहरू, ठगहरू, गुन्डाहरू, बदमासहरू, अनुचित मानिसहरू, मानवता नभएकाहरू, र कसैलाई आदर नगर्नेहरूले। तिनीहरू जहाँ गए पनि नियम पालना गर्दैनन्। तिनीहरू आफू मालिक हुँ जस्तै गर्छन्, त्यसकारण कुनै पनि राम्रो, लाभदायक, वा फाइदाजनक कुरा तिनीहरूको लागि मात्र हो भन्‍ने सोच्छन्। अरूलाई तिनीहरूले त्यस्ता कुराहरू लिन वा त्यो लिनेबारेमा सोच्नसमेत दिँदैनन्। के यस्तो मान्छे बदमास होइन र? (हो।) बदमास र पिशाचहरूले गर्ने नै यही हो। तिनीहरूले तँलाई यसरी सताइरहेका हुन्छन्, त्यसकारण के तँ डराउँदैनस् त? तैँले यस्तो सोच्‍नेछस्, “अहो, कति डरलाग्दा मानिसहरू छन्। मैले तल्तिरको खाटमा सुत्‍नु गलत हो भनेरसमेत तिनीहरूले सोच्छन्। यो के भइरहेको हो?” तँ त्रसित हुन्छस्, र त्यसपछि तिनीहरूसँग कुरा गर्दा, तँ होसियार हुन्छस्। तैँले यस विषयमा मनन गर्छस्, र यस्तो सोच्छस्: “मैले तिनीहरूलाई रिस उठाउनु, र चिढ्याउनु हुँदैन। यदि मैले तिनीहरूलाई चिढ्याएँ भने, तिनीहरूले मलाई समस्यामा पार्नेछन्।” यदि तँसँग यस्तो मानसिकता छ भने, तिनीहरूले आफ्नो लक्ष्य प्राप्त गरिसकेका हुन्छन्। तिनीहरूको त्यो लक्ष्य के हो? तिनीहरूले तँलाई तर्साउन चाहन्छन्, तँलाई तिनीहरूप्रति डराउने बनाउन चाहन्छन्, तँ र तिनीहरूबीच पदीय भिन्‍नता सिर्जना गर्न चाहन्छन्, जहाँ तिनीहरू मालिक हुन्छन्, र तँ नोकर बन्छस्, र तँ जहाँ गए पनि, तैँले तिनीहरूको कुरा सुन्‍नुपर्छ र तिनीहरूको अघि झुक्‍नुपर्छ। के यो शैतानले काम गर्ने सिद्धान्त होइन र? तिनीहरू तेरो मालिक बन्‍नुपर्छ, र तँ तिनीहरूको सेवक बन्‍नुपर्छ। तिनीहरूले तँलाई स्वेच्छाचारी रूपमा अनुशासनमा राख्‍नुपर्छ, तँमाथि हैकम चलाउनुपर्छ, र तँ तिनीहरूको खेलौना बन्‍नुपर्छ; सबै कुरामा तँ तिनीहरूको अघि झुक्‍नुपर्छ। तँ तिनीहरूको बराबरी स्तरमा उभिन सक्दैनस्; यदि तँ तिनीहरूसँग बराबर हुन चाहन्छस् भने, तिनीहरू मरेपछि मात्र तँ त्यो अवस्थामा पुग्‍न सक्‍छस्—तँ मरेको व्यक्तिसँग मात्रै समान हुन योग्य छस्। मलाई भन् त, तँलाई तिनीहरूले कति हदसम्म हेपेका छन्? तेरो हृदयको गहिराइमा, के तिनीहरूको दुष्कर्म र रोबदार शैलीले तँलाई भयभीत तुल्याएको छ? (छ।) तैँले यो तथ्य स्विकारेको छस्, सम्झौता गरेको छस्, त्यसकारण के यसको फलस्वरूप तँलाई तिनीहरूले भ्रष्ट तुल्याएका छन् भनेर भन्‍न सकिन्छ? तिनीहरूले तँलाई आफ्‍नो पकडमा राख्छन्; जब तिनीहरूले दुष्कर्महरू गर्छन् र सिद्धान्तहरू तोड्छन्, तैँले बोल्ने हिम्मत गर्दैनस्, किनभने कुनै बेला तिनीहरूले तँलाई एकै झट्कामा तल्तिरको खाटबाट माथिल्तिरको खाटमा पुर्‍याएका थिए। तँ तिनीहरूलाई रिस उठाउने आँट गर्दैनस्; जब तँ तिनीहरूलाई देख्छस्, तब तिनीहरूबाट जोगिएर हिँड्छस् र तिनीहरूबारे उल्लेख गर्दा मात्रै पनि तेरो सातो जान्छ। के यो तँ तिनीहरूद्वारा त्रसित भएको अवस्था होइन र? तँ तिनीहरूलाई सिद्धान्तहरूअनुसार निष्पक्ष व्यवहार गर्ने साहस गर्दैनस्; तिनीहरूले तँलाई आफ्‍नो पकडमा राखेका हुन्छन्। तिनीहरूले तँलाई आफ्‍नो पकडमा राख्‍नुको सार के हो? यसको मतलब तिनीहरूले तपाईँलाई काबु र नियन्त्रणमा राखेका छन्। के अवस्था यही होइन र? (हो।) त्यसोभए, तिनीहरूको नियन्त्रणमा पर्नबाट जोगिन मानिसहरूले यस्तो परिस्थितिलाई कसरी लिनुपर्छ? तैँले दुष्ट व्यक्तिहरूले मानिसहरूलाई हेप्‍ने मामिलालाई शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याएको र दुर्व्यवहार गरेको घटनाको रूपमा लिनुपर्छ। तैँले यो सार स्पष्टसित बुझिसकेपछि, यसलाई कसरी हेर्नुपर्छ? तैँले हृदय भित्रबाट, दुष्ट व्यक्तिहरूलाई घृणा र इन्कार गर्नुपर्छ, तर तिनीहरूसँग डराउनु हुँदैन। तैँले यस्तो सोच्नुपर्छ, “ए, तिमी मलाई माथिल्तिरको खाटमा सुताउन चाहन्छौ? ठीक छ, म माथिल्तिरकै खाटमा सुत्‍नेछु। तर आज मैले अर्को दुष्ट व्यक्तिको व्यवहार देखेँ, मैले थप अर्को दुष्ट व्यक्तिको सार चिनेँ, र आजदेखि म दुष्ट मानिसहरूले आफ्नो दैनिक जीवनमा र मानिसहरूको पिठ्यूँपछाडि गर्ने थप एक अर्को प्रकारको व्यवहार बुझ्न सक्‍ने भएको छु। आजदेखि, म तिनीहरूले के भन्छन् र गर्छन्, र तिनीहरू छलमा संलग्‍न हुन्छन् हुँदैनन् भनेर नजिकबाट नियाल्‍नेछु। यदि परमेश्‍वरको घरले तिनीहरूलाई प्रयोग गर्‍यो भने, म तिनीहरूले सिद्धान्तहरूअनुसार काम गर्छन् गर्दैनन्, तिनीहरूले परमेश्‍वरको घरको हित परिपालन गर्छन् गर्दैनन्, तिनीहरू भेटीहरू उडाउँछन् उडाउँदैनन्, र तिनीहरूले अझै पनि अरूलाई सताउने गर्छन् गर्दैनन् भनेर हेर्नेछु।” तैँले हृदयभित्रबाट यसरी प्रार्थना गर्नुपर्छ: “परमेश्‍वर, कृपया यो दुष्ट व्यक्तिलाई खुलासा गर्नुहोस्, र मलाई यसका दुष्कर्महरू र यसको सार चिन्‍न सक्षम पार्नुहोस्। मलाई यसका दुष्कर्महरूको प्रमाण जुटाउन मद्दत गर्नुहोस्, र साहस दिनुहोस्, मलाई दुष्ट मानिसहरूसँग नडराउने तुल्याउनुहोस्, र तिनीहरूविरुद्ध लड्ने विश्‍वास र शक्ति दिनुहोस्।” तँ अझै पनि तिनीहरूसँग एउटै कोठामा बसे पनि, र बाहिरी रूपमा केही परिवर्तन नभएको भए पनि, तेरो हृदयको गहिराइमा, तँ तिनीहरूसँग डराउनेछैनस्, किनभने तिनीहरूले तँलाई गर्ने सबै कुरा हेपाइ होइन; यो त तिनीहरूको शैतानी स्वभावको प्रकटीकरण र खुलासा हो। जब तैँले तिनीहरूलाई यसरी हेर्छस्, के तँ अझै पनि तिनीहरूसँग डराउँछस् र? बरु तैँले त तिनीहरूले प्रकट गर्ने हरेक दुष्कर्म र तिनीहरूले बोल्ने हरेक मूर्ख शब्दहरूसँगै, हृदयमा यसो भन्दै तिनीहरूलाई सराप्‍नेछस्, “तँ दियाबलस होस्, तँ शैतान होस्, तँ दुष्कर्म गर्छस् र परमेश्‍वरको विरोध गर्छस्, र ढिलोचाँडो, तँ श्रापित हुनेछस्। परमेश्‍वरले तँलाई उम्कन दिनुहुनेछैन; अन्त्यमा तेरो खुलासा हुने नै छ!” तैँले दुष्ट मानिसहरूसँग यसरी नै व्यवहार गर्नुपर्छ। तँसँग तिनीहरूसँग लड्ने विश्‍वास र शक्ति हुनुपर्छ, र तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, र त्यसपछि तेरो हृदयमा शक्ति आउनेछ, र तँ तिनीहरूसँग डराउनेछैनस्। यो कुरा कस्तो छ? के यी रणनीतिहरू प्रभावकारी छैनन् र? (ती प्रभावकारी छन्।) जब तैँले तिनीहरूलाई सत्यताको दृष्टिकोणबाट यसरी चिन्छस्, तब के यो कुरा तेरा आमाबाबुले तँलाई सिकाएको “अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्‍नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू” भन्‍ने भनाइभन्दा बढी व्यावहारिक हुँदैन र? यसरी सतर्क हुनुको के काम? तँ शैतानविरुद्ध त्यसको दुर्व्यवहार र तँलाई भ्रष्ट पार्ने कार्यविरुद्ध सतर्क रहन सक्दैनस्। तँलाई भ्रष्ट पार्ने र दुर्व्यवहार गर्ने शैतानहरूबाट सतर्क भएर जोगिन सकिँदैन—त्यस्ताहरू जताततै हुन्छन्। शैतानले मानिसहरूलाई भ्रष्ट पार्नु भनेको सतही रूपमा हुने कुरा होइन, र यो केवल बाह्य कुरा मात्र होइन; यसले त तँलाई तेरा विचारहरूमा समेत भ्रष्ट तुल्याउँछ। के तँ त्यसबाट जोगिन सक्छस्? सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तैँले आफूलाई सत्यताले सुसज्जित पार्नु र परमेश्‍वरमा भर पर्नु हो। तैँले दुष्ट मानिसहरूका कार्यहरू मात्र होइन, दुष्ट मानिसहरूको सार पनि खुट्ट्याउनुपर्छ, र साथमा, तैँले दुष्ट मानिसहरूले व्यक्त गर्ने विभिन्‍न विचार र दृष्टिकोणहरू खुट्ट्याउनुपर्छ। त्यसपछि, तैँले तिनीहरूलाई खुलासा र विश्‍लेषण गर्न परमेश्‍वरका वचनहरू र सत्यता प्रयोग गर्दै आफूलाई सत्यताले सुसज्जित पार्नुपर्छ, ताकि तेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले पनि समझशक्ति प्राप्त गर्न सकून्। तब, सबैजना तिनीहरूलाई इन्कार गर्न सँगै खडा हुन सक्छन्। त्यो कति राम्रो कुरा हो? यदि तँ सधैँ रक्षात्मक र सधैँ सतर्क अवस्थामा बस्छस्, र सधैँ इन्कार गर्दै वा जोगिँदै भाग्छस् भने, त्यो कायर हुनु हो, र त्यो विजेताको प्रकटीकरण होइन।

यी सबै कुराबारे सङ्गति गरिसकेपछि, के तिमीहरूले अब मानिसहरू हेपाइमा पर्ने विषयमा नयाँ दृष्टिकोण पाएका छौ? के हेप्‍नु सही हो? (अहँ, होइन।) हेप्‍नुको प्रकृति के हो? (दुष्ट मानिसहरूले अरूलाई सताउनु।) सारगत रूपमा, यो दुष्ट मानिसहरू र शैतानले अरूलाई सताउनु र मूर्ख बनाउनु हो। अब, हेपाइमा पर्नुको प्रकृति के हो? (यो कमजोर हुनु, सत्यता अभ्यास नगर्नु, उठ्ने र प्रतिरोध गर्ने साहस नगर्नु हो।) ठीक भन्यौ, दुष्ट मानिसहरूको डर मान्‍नु, दुष्ट शक्तिहरूको डर मान्‍नु, शैतानसँग लड्ने विश्‍वास नहुनु, शैतानको कुरूप अनुहार चिन्‍न, खुट्याउन र देख्‍न आवश्यक विश्‍वास नहुनु, र शैतानको कुल्चाइ र दुर्व्यवहार प्रतिरोध गर्ने विश्‍वास नहुनु—के यसको प्रकृति यही होइन र? (हो।) विश्‍वास नभएका मानिसहरूको हृदयमा सधैँ एउटा गाँठो हुन्छ; तिनीहरू सधैँ डराउँछन्, र सोच्छन्, “मलाई अरूले हेप्‍नु हुँदैन। म अरूलाई हेप्दिनँ, र मलाई पनि अरूले हेप्‍नु हुँदैन, र यो मेरी आमाले भन्‍नुभएजस्तै कुरा हो, ‘अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्‍नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू।’” तिनीहरूले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गर्छन्, “हे परमेश्‍वर, बिन्ती छ मैले दुष्ट मानिसहरू सामना गर्न नपरोस्; म डरपोक छु, म सधैँ निर्दोष र सरल रहँदै आएको छु। म तपाईँमा विश्‍वास गर्छु र तपाईँलाई पछ्याउँछु; तपाईँले मलाई रक्षा गर्नैपर्छ!” काँतर हुनु भनेकै यही हो। तर तैँले धेरै सत्यता सुनेको छस्, र तँ धेरै सत्यता बुझ्छस्। तँ दियाबलस र शैतानसँग डराउँदैनस्, त्यसैले के तँ दुष्ट व्यक्तिसँग डराउँछस्? के तिमीहरू ठूलो रातो अजिङ्गरसँग डराउँछौ? (समातिएँ भने, डराउँछु, तर म परमेश्‍वरसँग प्रार्थना गर्न र उहाँमा भर पर्न सक्छु।) यसको मतलब तँ यसको दुष्टताबाट भयभीत भएको छैनस्। यो कुरा विश्‍वासको निश्‍चित जगबाट मात्रै आउने प्रकटीकरण पनि हो। कतिपय मानिसहरू यसो भन्छन्, “म ठूलो रातो अजिङ्गरसँग डराउँछु भनेर तपाईँ भन्‍नुहुन्छ। यदि म ठूलो रातो अजिङ्गरसँग डराउने भए, के म यो अवस्थासम्‍म आइपुग्‍न सक्थेँ र? के त्यो तथ्य होइन र? तर यदि तपाईँले मलाई ठूलो रातो अजिङ्गरसँग डराउँदिन भन्‍न लगाउनुभयो भने, मलाई अझै त्यसो गर्न अलिक डर लाग्छ। ठूलो रातो अजिङ्गरले यसबारेमा सुन्यो भने के हुन्छ?” मतलब, अझै पनि केही डर छ। त्यस्ता मानिसहरू ठूलो रातो अजिङ्गर दुष्ट र क्रूर छ भनेर सार्वजनिक रूपमा भन्‍न अलि डराउँछन्; तिनीहरूमा विश्‍वासको कमी हुन्छ र तिनीहरूको कद अझै पनि निकै सानो हुन्छ। मैले तँलाई ठूलो रातो अजिङ्गरसँग खुला रूपमा सङ्घर्ष गर्न वा यसलाई रिस उठाउन लगाइरहेको छैनँ। तर तेरो हृदयको गहिराइमा, कम्तीमा पनि तँलाई यो थाहा हुनुपर्छ कि यो ठूलो रातो अजिङ्गरले, यो पिशाचले मानिसहरूलाई दुर्व्यवहार र भ्रष्टतासाथ व्यवहार गर्छ, तिनीहरूलाई मूर्ख बनाउँछ र कुल्चीमिल्ची पार्छ, र त्यसपछि तिनीहरूलाई निल्छ। तर यो हेपाइ होइन; विश्‍वासीहरू निर्दोष, नियम मान्‍ने, र कानुन मान्‍ने भएकोले यसले तिनीहरूलाई हेला गर्ने र सताउने गरेको होइन। त्यो त बकवास कुरा हो, र त्यो भनाइमा आत्मिक समझको कमी छ। खासमा ठूलो रातो अजिङ्गरले तँलाई दुर्व्यवहार गरिरहेको छ। अनि, यसले तँलाई कसरी दुर्व्यवहार गर्छ? यसले तँलाई धम्की दिन्छ, तर्साउँछ, सताउँछ, र यातना दिन्छ। यसले तँलाई दुर्व्यवहार गर्नुको उद्देश्य के हो? त्यो तँलाई आफ्नो विश्‍वास त्याग्‍न, परमेश्‍वरलाई इन्कार्न, र परमेश्‍वरलाई छोड्न लगाएर त्यससँग सम्झौता गर्न, र अन्त्यमा, तँलाई त्यसको आराधना गर्ने, त्यसलाई पछ्याउने, त्यसको अधीनमा रहने, त्यसका विभिन्‍न विचारहरू स्विकार्ने, र त्यसको अगाडि भक्तिसाथ घुँडा टेक्‍ने बनाउनु हो। त्यसले यस्तो कुरामा आनन्द लिन्छ; त्यसले तँलाई सताउनुको उद्देश्य यही हो। तैँले त्यसलाई होइन परमेश्‍वरलाई पछ्याएको देखेर, त्यसलाई ईर्ष्या हुन्छ, र त्यसले तँलाई छोड्दैन। अनि, यदि तँ परमेश्‍वरलाई पछ्याउँदैनस् भनेचाहिँ, के त्यसले तँलाई छोड्छ र? (छोड्दैन, त्यसले परमेश्‍वरमा विश्‍वास नगर्नेहरूलाई पनि दुर्व्यवहार गर्छ।) त्यो सही हो, बोलचालको भाषामा भन्दा, त्यो त्यस्तै हो; अझ सही रूपमा भन्दा, त्यो त्यसको प्रकृति सार हो। त्यसले त त्यसलाई पछ्याउनेहरूलाई, र त्यसको प्रशंसा गाउनेहरूलाई पनि दुर्व्यवहार गर्छ, मूर्ख बनाउँछ, र कुल्चीमिल्ची पार्छ, र तिनीहरूलाई प्रयोग गरेपछि, त्यसले तिनीहरूलाई फ्याँकिदिन्छ, र तिनीहरूमध्ये कतिलाई त तिनीहरूको मुख बन्द गर्न मारी पनि दिन्छ, र यसरी अन्त्यमा तिनीहरूलाई पूर्ण रूपमा निलिदिन्छ। चाहे जुनसुकै अवस्था भए पनि, तिनीहरूको लागि परिणाम राम्रो हुँदैन। जे होस्, मानिसहरूले स्पष्ट रूपमा के बुझ्नुपर्छ भने, परिवारले मानिसहरूलाई विभिन्‍न विचार र दृष्टिकोणहरू सिकाउनु र दिमागमा घुसाइदिनुको अन्तिम उद्देश्य भनेको वास्तवमा तिनीहरूलाई बचाउनु वा तिनीहरूलाई सही मार्गमा डोर्‍याउनु होइन। बरु, यो त मानिसहरूलाई परमेश्‍वरबाट टाढा लैजानु, तिनीहरूलाई शैतानको दर्शनअनुसार बाँच्‍न लगाउनु, र समाज र शैतानबाट आउने विभिन्‍न विचारहरूको कुल्चाइ र विभिन्‍न दुष्ट प्रचलनहरूको शिक्षणलाई बारम्‍बार र चक्रीय रूपमा स्विकार्न बाध्य गर्नु हो। परिवारले यस्तो गर्नुपछाडि रहेको प्रारम्भिक अभिप्राय वा उद्देश्यहरू जे भए पनि, अन्त्यमा, यसले मानिसहरूलाई सही मार्गमा डोऱ्याउन वा तिनीहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न र अन्त्यमा मुक्ति प्राप्त गर्न मार्गनिर्देशित गर्न सक्दैन। तसर्थ, परिवारबाट आउने विभिन्‍न विचार र दृष्टिकोणहरू मानिसहरूले त्याग्‍नुपर्ने कुराहरू हुन्, ती तिनीहरूले सत्यता पछ्याउने प्रक्रिया र बाटोमा त्याग्‍नुपर्ने कुराहरू हुन्। ठीक छ, आजको लागि यहाँ हाम्रो सङ्गति यहीँ समाप्त गरौँ। जयमसीह!

मार्च ४, २०२३

फूटनोटहरू:

क. हान सिन हानवंशका एक प्रसिद्ध जनरल थिए, जसलाई एकपटक कसाईको खुट्टामुनि छिर्न बाध्य पारिएको थियो, र उनी प्रख्यात हुनुअघि त्यो कसाईले उनको कायरताको मजाक उडाएको थियो।

अघिल्लो: सत्यता कसरी पछ्याउने (१३)

अर्को: सत्यता कसरी पछ्याउने (१५)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्