पत्रुसले येशूलाई कसरी चिने
पत्रुसले येशूसँग बिताएको समयदौरान उनले येशूमा धेरै प्रेमीला गुणहरू देखे, धेरै पक्षहरू अनुकरण गर्न लायकका थिए, र धेरै पक्षहरू जुनले उनलाई आपूर्ति गरे। पत्रुसले येशूमा धेरै तरिकाबाट परमेश्वरको अस्तित्व देखेका भए तापनि, र धेरै प्रेमिला गुणहरू देखेका भए तापनि, उनले सुरुमा येशूलाई चिनेनन्। पत्रुस २० वर्षको हुँदा उनले येशूलाई पछ्याउन थालेका थिए, र उनले ६ वर्षसम्म निरन्तर रूपमा उहाँलाई पछ्याए। त्यो समय अवधिमा, उनले येशूलाई कहिल्यै पनि चिनेका थिएनन्; पत्रुसले उहाँप्रतिको आदरभावको कारणले गर्दा येशूलाई पछ्याउन तयार भएका थिए। जब येशूले उनलाई पहिलो पल्ट गालील समुद्रको किनारमा हुँदा बोलाउनुभयो, तब उहाँले तिनलाई सोध्नुभयोः सिमोन बारजोना, “के तँ मेरो पछि लाग्छस्?” तब पत्रुसले भने, “स्वर्गीय पिताले पठाउनुभएको व्यक्तिलाई मैले पछ्याउनु पर्छ। पवित्र आत्माले चुन्नुभएको व्यक्तिलाई मैले चिन्नैपर्छ। म तपाईको पछि लाग्नेछु।” त्यस बेलासम्म पत्रुसले येशू नाउँ गरेको मानिस—अगमवक्ताहरूमध्येको सबैभन्दा महान् व्यक्ति र परमेश्वरका पुत्रको बारेमा सुनिसकेका थिए—र पत्रुसले उहाँलाई निरन्तर रूपमा खोजिरहेका थिए र उहाँलाई भेट्ने मौकाको आशा गरिरहेका थिए (किनकि यसरी नै उनलाई पवित्र आत्माले डोर्याइरहनुभएको थियो)। पत्रुसले उहाँलाई कहिल्यै नदेखेको र उहाँबारे अफवाहहरू मात्र सुनेको भएता पनि, उनको हृदयमा बिस्तारै येशूप्रति तृष्णा र श्रद्धा जाग्यो, र उनी प्रायः एक दिन येशूलाई आदरभावले हेर्ने तिर्सना गर्थे। अनि येशूले पत्रुसलाई कसरी बोलाउनुभयो त? उहाँले पनि यो पत्रुस नाउँ गरेको मानिसको बारेमा सुन्नुभएको थियो, तैपनि उहाँलाई यसरी निर्देशन दिनुहुने पवित्र आत्मा हुनुहुन्नथियो: “गालील समुद्रमा गएर, सिमोन बारजोना नाउँ गरेको एउटा मानिसलाई भेट्नु।” येशूले पनि त्यहाँ एउटा बारजोना नाउँ गरेको मानिस छ, र उनले पनि येशूले स्वर्गको राज्यको सुसमाचार प्रचार गरिरहनुभएको छ, र मानिसहरूले उहाँका कुराहरू सुनेका छन्, र उहाँको प्रचारलाई सुनेर धेरै मानिसहरू रोएका छन् भन्ने कुरा सुनेका थिए भनेर कसैले भनेको सुन्नुभएको थियो। यो कुरा सुनेर येशूले यो मानिसलाई गालील समुद्रसम्म पछ्याउनुभएको थियो; जब पत्रुसले येशूको बोलावटलाई ग्रहण गरे, तब उनले उहाँलाई पछ्याए।
पत्रुसले येशूलाई पछ्याउँदै गरेको समयमा, उनले उहाँको बारेमा धेरै किसिमका विचारहरू गर्ने र सधैं उनको आफ्नै दृष्टिकोणबाट उहाँको बारेमा न्याय गर्ने गर्दथे। आत्माको बारेमा पत्रुसको छुट्टै खालको बुझाई रहेको भए तापनि, केही हदसम्म उनको बुझाई स्पष्ट भने थिएन, त्यसैले गर्दा उनले यसो भनेः “स्वर्गीय पिताले पठाउनुभएको व्यक्तिलाई मैले पछ्याउनुपर्छ। पवित्र आत्माले चुन्नुभएको व्यक्तिलाई मैले चिन्नैपर्छ।” येशूले गर्नुभएका कामहरूलाई उनले बुझेका थिएनन् र ती कुराहरूको बारेमा उनलाई स्पष्ट भएको थिएन। उनले उहाँलाई पछ्याएको केही समयपछि, उहाँले गर्नुभएका कामहरू र भन्नुभएका कुराहरूप्रति साथै येशूमा समेत उनको चाख बढ्यो। येशूले माया र आदर दुवै गरेर प्रेरित गर्नुहुन्छ भन्ने कुरा उनले महशुस गरे; उनी उहाँसँग संगत गर्न र उहाँको छेउमा बस्न रुचाउँथे, र येशूका वचनहरू सुन्दा उनलाई आफ्नो खाँचो पूरा भएको र धेरै सहायता भएको महशुस हुन्थ्यो। उनले येशूलाई पछ्याएको समय अवधिमा, पत्रुसले उहाँको जीवनको बारेमा हरेक कुराहरू अवलोकन गर्थे र ती कुराहरूलाई आफ्नो हृदयमा लिन्थेः उहाँका व्यवहार, वचन, चालहरू, र अभिव्यक्तिहरू। येशू साधारण मानिसजस्तो हुनुहुन्नथ्यो भन्ने कुराहरूलाई उनले गहन रूपमा बुझेका थिए। उहाँको मानव स्वरूप एकदम सामान्य किसिमको भए तापनि, उहाँ मानिसका लागि प्रेम, कृपा, र सहिष्णुताले पूर्ण हुनुहुन्थ्यो। उहाँले गर्नुभएको वा भन्नुभएको हरेक कुरा अरू मानिसहरूका लागि ठूलो सहायता हुन्थ्यो, अनि पत्रुसले यो भन्दा अगाडि कहिल्यै नदेखेका कुराहरू येशूबाट देखे, कहिल्यै नपाएका कुराहरू येशूबाट पाए। उनले येशूसँग न त कुनै ठूलो कद न त कुनै असामान्य मानवता नै भएको देखे तापनि, उहाँमा साँच्चै असाधारण र असामान्य आभास थियो। पत्रुसले यस कुरालाई पूर्ण रूपले वर्णन गर्न नसके तापनि, उनले अरू कुनै मानिसले गरेका कार्यहरू भन्दा भिन्दै किसिमले येशूले गर्नुभएको कार्यहरू देख्न सकेका थिए, किनकि उहाँले गर्नुभएका कार्यहरू सामान्य मानिसहरूले गरेका कार्यहरूभन्दा निकै फरक हुन्थे। येशूसँग सम्पर्कमा आएको यस समयदेखि, पत्रुसले उहाँको व्यक्तित्व अरू सामान्य मानिसको भन्दा भिन्दै खालको भएको पनि देखेका थिए। उहाँ सधैँ स्थिर रूपमा आफ्नो काम गर्नुहुन्थ्यो, उहाँ कहिल्यै पनि हतार गर्ने, कुनै पनि विषयलाई बढाइ-चढाइ गर्ने, र न्यूनकृत गर्नुहुन्नथियो, अनि उहाँले आफ्नो जीवनलाई त्यस्तो ढंगले सञ्चालन गर्नुभयो, जसले एउटा व्यक्तित्वलाई प्रकट गर्दछ, जो सामान्य र प्रशंसनीय पनि थियो। कुराकानीमा, येशूले सिधा र शालीन रूपमा बोल्नुहुन्थ्यो, उहाँ सधैं हँसिलो र शान्त ढंगमा कुराकानी गर्नुहुन्थ्यो—तर उहाँले आफ्नो काम गरिरहँदा कहिले पनि आफ्नो इज्जत गुमाउनुभएन। येशू कहिलेकाँही चुपचाप रहनुहुन्थ्यो, तर अरू बेला उहाँ निरन्तर बोल्नुहुन्थ्यो भन्ने कुरा पत्रुसले देखे। कहिलेकाहीँ उहाँ यति प्रसन्न बन्नुहुन्थ्यो कि उहाँ ढुकुर जस्तै फुर्तिलो र जीवन्त रूपमा उफ्रिरहेको देखिनुहुन्थ्यो, र अरूबेला उहाँ यति धेरै दुःखी बन्नुहुन्थ्यो कि उहाँ बोल्नु नै हुँदैनथ्यो, अनगिन्ती कष्टहरू सहेका आमाझैँ शोकले ग्रसित देखिनुहुन्थ्यो। कहिलेकाहीँ उहाँ शत्रुलाई मार्न धावा बोलिरहेको बहादुर सिपाही जस्तै क्रोधित हुनुहुन्थ्यो वा कुनै अवसरहरूमा गर्जने सिंह समान देखिनुहुन्थ्यो। कहिलेकाहीँ उहाँ हाँस्नुहुन्थ्यो; अरूबेला उहाँ प्रार्थना गर्नुहुन्थ्यो, र रुनुहुन्थ्यो। येशूले जस्तोसुकै व्यवहार गर्नुभएता पनि, पत्रुसमा उहाँप्रति असीमित प्रेम र आदर बढ्न थाल्यो। येशूको हाँसोले उनलाई खुशीले भरिदिएको थियो, उहाँको दुःखले उनलाई शोकमा डुबाएको थियो, उहाँको क्रोधले उनलाई डर लाग्थ्यो, उहाँको दया, क्षमा, र मानिसहरूलाई गरेको कडा मागहरूले उनलाई येशूलाई साँच्चै प्रेम गर्ने तुल्यायो र उनमा उहाँको साँचो डर र तृष्णा उत्पन्न गरायो। वास्तवमा, येशूसँग धेरै वर्ष विताई नसक्दै उनले विस्तारै यी सबै कुरा महशुस गरे।
पत्रुस एक असाधारण समझ भएका मानिस थिए, जो प्राकृतिक बुद्धिको साथ जन्मेका थिए, र पनि उनले येशूको पछि लाग्दा धेरै मूर्ख कामहरू गरे। शुरुमा उनले येशूको बारेमा केही धारणाहरू राखेका थिए। उनले सोधेँ, “मानिसहरूले तपाईलाई भविश्यवक्ता भनेर भन्दछन्, त्यसोभए, जब तपाई आठ वर्षको हुनुहुन्थ्यो, र कुरा बुझ्न थाल्नुभयो, के तपाई परमेश्वर हुनुहुन्छ भनेर तपाईलाई थाहा थियो? के तपाई पवित्र आत्माद्धारा गर्भधारण हुनुभएको थियो भन्ने कुरा तपाईलाई थाहा थियो?” येशूले जवाफ दिनुभयोः “होइन, मलाई थाहा थिएन। के म तेरो लागि सामान्य मानिसजस्तो देखिदिँन त? म अरु मानिसहरू जस्तै हुँ। पिताले पठाउनु्भएको व्यक्ति सामान्य व्यक्ति हो, असामान्य व्यक्ति होइन। अनि मैले गरेका कामले मेरा स्वर्गीय पिताको प्रतिनिधित्व गर्दछ, र मेरो प्रतिरूपले म जो हुँ त्यसको प्रतिनिधित्व गर्दछ, अनि मेरो शारीरिक भौतिक शरीरले मेरा स्वर्गीय पिताको प्रतिनिधित्व पूर्ण रूपले गर्न सक्दैन—केवल उहाँको एउटा भागलाई मात्र प्रतिनिधित्व गर्न सक्छ। म आत्माबाट आएको भएता पनि, म अझै एउटा सामान्य व्यक्ति हुँ र मेरा पिताले मलाई एउटा सामान्य व्यक्तिको रूपमा यस पृथ्वीमा पठाउनुभएको हो, असाधारण व्यक्तिको रूपमा होइन।” पत्रुसले जब यो कुरा सुने, तब मात्र उनले येशूको बारेमा थोरै भए पनि कुरा बुझे। अनि येशूको काममा उहाँसँग विताएका अनगिन्ती घण्टाहरू, उहाँका शिक्षाहरू, उहाँले गोठालाको रूपमा गर्नुभएको कामलाई देखेर र उहाँले गर्नुभएको हेरचाहको कामलाई देखेपछि मात्रै उनले अझ गहिरो रूपमा उहाँको बारेमा बुझे। जब येशू ३० वर्षको हुनुहुन्थ्यो, त्यसबेला उहाँले पत्रुसलाई उहाँको आउँदै गरेको क्रुसको बारेमा बताउनुभयो र सबै मानिसजातिलाई छुट्कारा दिन—उहाँले एउटा चरणको काम अर्थात क्रुसको काम गर्न आउनुभएको थियो भनेर बताउनुभयो। येशूले पत्रुसलाई यो पनि भन्नुभयो कि क्रुसमा टाँगिएको तीन दिन पछि, मानिसको पुत्र फेरि बौरी उठ्नेछ, र उहाँ ४० दिनसम्म मानिसहरूको सामु देखा पर्नुहुनेछ। यी वचनहरू सुनिसकेपछि पत्रुस असाध्यै दुःखित भए र उनले यी वचनहरू आफ्नो हृदयमा लिए; त्यसबेलादेखि उनी अझ येशूको नजिक भए। केही समय अनुभव गरिसकेपछि, येशूले गर्नुभएको सबै कुरा परमेश्वरकै हो, र येशू असाधारण किसिमको प्रेमिलो व्यक्ति हुनुहुन्छ भनेर पत्रुसले बुझे। जब उनले यो कुरा बुझे, तब मात्र पवित्र आत्माले उनलाई भित्रबाट ज्योति दिनुभयो। त्यसपछि येशूले आफ्ना चेलाहरू र अरु अनुयायीहरूतर्फ फर्केर सोध्नुभयोः “यूहन्ना तँ मलाई को हुँ भनेर भन्छस्?” यूहन्नाले जवाफ दिएः “तपाई मोशा हुनुहुन्छ।” त्यसपछि उहाँ लूकातिर फर्कनुभयोः “अनि तँ, लूका, तँचाहिँ मलाई म को हुँ भनेर भन्छस् त?” लूकाले जवाफ दिएः “तपाई अगमवक्ताहरूमध्येको सबैभन्दा महान व्यक्ति हुनुहुन्छ।” त्यसपछि उहाँले एकजना बहिनीलाई सोध्नुभयो, र तिनले जवाफ दिइन्ः “तपाई अनन्तदेखि अनन्तसम्म धेरै वचन बोल्नुहुने अगमवक्ता हुनुहुन्छ। कसैका भविष्यवाणीहरू तपाईका झैं महान छैनन्, न तपाईका ज्ञानहरूभन्दा बढि कसैको ज्ञान नै छ; तपाई भविश्यवक्ता हुनुहुन्छ।” तब येशूले पत्रुसतिर फर्केर सोध्नुभयोः “ए पत्रुस, तँ मलाई म को हुँ भनेर भन्छस्?” पत्रुसले जवाफ दिएः “तपाई जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ। तपाई स्वर्गबाट आउनुभएको हो। तपाई यस पृथ्वीको हुनुहुन्न, तपाई सृष्टि गरिएका प्राणीहरूजस्तो हुनुहुन्न। हामी यस पृथ्वीका हौं, र तपाई यहाँ हामीसँग हुनुहुन्छ, तर तपाई स्वर्गको हुनुहुन्छ, र तपाई यस संसारको हुनुहुन्न, र तपाई यस पृथ्वीको पनि होइन।” उनको अनुभवले गर्दा पवित्र आत्माले उनलाई ज्योति दिनुभयो जसले गर्दा उनलाई यो कुरा बुझ्न सक्षम बनाईदियो। ज्ञानको यो ज्योति पाइसकेपछि, उनले येशूले गर्नुभएका हरेक कुराको अझ धेरै प्रशंसा गरे, उनले उहाँको प्रेमलाई झन बढी प्रेमिलो मान्ने भए, र उनी उहाँसँग सधैं अलग्गिन हिचकिचाउने भए। तसर्थ, क्रुसमा टाँगिएर, पुनरुत्थान भएपछि सबैभन्दा पहिले येशूले आफुलाई पत्रुसको सामु प्रकट गर्नुभयो, त्यसपछि पत्रुसले असाधारण खुशीका साथ कराएर भनेः “प्रभु! तपाई बौरी उठ्नुभयो!” त्यसपछि, पत्रुसले रुँदै-रुँदै एउटा अति ठूलो माछा समातेर पकाए र येशूको सेवा गरे। येशू मुस्कुराउनुभयो, तर बोल्नुभएन। येशूको पुनरुत्थान भएको थियो भनेर पत्रुसलाई थाहा थियो तापनि उनले यसको रहस्यलाई बुझेका थिएनन्। जब उनले येशूलाई माछा खान दिए, तब येशूले त्यसलाई इन्कार गर्नुभएन, तर उहाँ बोल्नुभएन वा खान बस्नुभएन। बरु उहाँ त अचानक हराउनु पो भयो। यस कुराले पत्रुसलाई ठूलो चोट लागेको थियो, र उनले पुनरुत्थान हुनुभन्दा पहिलेको येशू र पुनरुत्थान भइसकेपछिको येशूमा फरक थियो भनेर त्यसपछि मात्र बुझे। एकपल्ट उनले यो महशुस गरिसकेपछि पत्रुस दुःखि भए, तर प्रभुले आफ्नो काम पूरा गरिसक्नुभएको छ भन्ने कुराले उनलाई सान्त्वना दियो। येशूले आफ्नो काम पूरा गरिसक्नुभएको छ, उहाँको मानिसहरूसँग बस्नुपर्ने समय सिद्धिएको छ र अबदेखि उसो मानिस आफ्नो बाटोमा हिँड्नु पर्नेछ भन्ने उनलाई थाहा भयो। येशूले एकपल्ट उनलाई भन्नुभएको थियोः “तैँले पनि मैले पिएको कचौराबाट पिउनैपर्छ (उहाँको पुनरुत्थानपछि उहाँले यही कुरो भन्नुभएको थियो)। तँ पनि मैले हिँडेको मार्गमा हिँड्नैपर्छ। तैँले मेरो लागि जीवन दिनुपर्नेछ।” अहिले जस्तो त्यस समयमा आमनेसामने भएर कुाराकानी हुँदैनथ्यो। अनुग्रहको समय अवधिमा, पवित्र आत्माको काम विशेष गरेर लुकेको अवस्थामा थियो, र पत्रुसले धेरै कष्टहरू भोग्नु परेको थियो। कहिलेकाहीँ यो यस्तो बिन्दुमा पुग्थ्यो कि उनी यसो भन्थे, “हे परमेश्वर! मसँग यो जीवनबाहेक अरू केही छैन। यो तपाईँका लागि त्यति मूल्यवान् नभए पनि, म यो तपाईँलाई समर्पण गर्न चाहन्छु। मानिस तपाईँलाई प्रेम गर्न अयोग्य भए पनि, र उसको प्रेम र हृदय मूल्यहीन भए पनि, म तपाईँलाई मानिसका अभिप्रायहरू थाहा छ भन्ने विश्वास गर्दछु। अनि मानिसको देह तपाईँको स्वीकृतिअनुरूप नभए पनि, म तपाईँ मेरो हृदयलाई स्वीकार गरिदिनुहोस् भन्ने चाहन्छु।” यसरी प्रार्थना गर्दा उसलाई हौसला मिल्थ्यो, विशेष गरी यो प्रार्थना गर्दा, “म मेरो सम्पूर्ण हृदय परमेश्वरलाई समर्पण गर्न इच्छुक छु। म परमेश्वरका लागि कुनै पनि कुरा गर्न असक्षम भएता पनि, म परमेश्वरलाई बफादारीपूर्वक सन्तुष्ट पार्न र उहाँका लागि एउटै हृदय र मन राख्न इच्छुक छु। म परमेश्वरले मेरो हृदयलाई पक्कै छानबिन गर्नुहुन्छ भन्ने विश्वास गर्दछु।” उसले भन्यो “म मेरो जीवनमा केही पनि माग्दिनँ तर परमेश्वरका लागि मेरा प्रेमका सोचहरू र मेरो हृदयको चाहना उहाँबाट स्वीकृत होऊन् भन्ने माग्छु। म निकै लामो समयदेखि प्रभु येशूसँगै थिएँ, तैपनि मैले उहाँलाई कहिल्यै प्रेम गरिनँ; त्यो नै मेरो सबैभन्दा ठूलो ऋण हो। म उहाँसँगै रहे पनि, म उहाँलाई चिन्दिनँथिएँ र मैले उहाँको पिठ्यूँपछाडि केही अनुचित कुराहरू समेत भनेको थिएँ। यी कुराहरू सोच्दा मलाई प्रभु येशूप्रति झन् धेरै ऋणी भएको महसुस हुन्छ।” ऊ सधैँ यसबारे प्रार्थना गर्थ्यो। उसले भन्यो “म धुलोभन्दा पनि कम छु। म यस बफादार हृदयलाई परमेश्वरमा समर्पण गर्नु बाहेक केही गर्न सक्दिनँ।”
पत्रुसका अनुभवहरूमा चरम विन्दु आयो, जुन बेला तिनको शरीर लगभग पूर्ण रूपमा तोडिएको थियो, तर अझै पनि येशूले तिनलाई भित्रैबाट प्रोत्साहन दिनुभयो। अनि एक पटक, येशू पत्रुसकहाँ देखा पर्नुभयो। पत्रुस अत्यन्तै कष्टमा भएको बेलामा र तिनले आफ्नो हृदय तोडिएको अनुभव गरेको बेलामा, येशूले तिनलाई निर्देशन दिनुभयो: “पृथ्वीमा तँ मसँग थिइस्, र म तँसँग यहाँ थिएँ। अनि पहिले हामी स्वर्गमा एकसाथ भएका भए पनि, आखिर त्यो त आत्मिक क्षेत्रमा थियो। अब म आत्मिक क्षेत्रमा फर्केको छु, र तँ पृथ्वीमा छस्, किनभने म पृथ्वीको होइन, र तँ पनि पृथ्वीको नभए तापनि, तैँले पृथ्वीमा आफ्नो काम पूरा गर्नुपर्छ। तँ एक सेवक भएको हुनाले, तैँले आफ्नो कर्तव्यलाई पूरा गर्नैपर्छ।” तिनी परमेश्वरको पक्षमा फर्कन सक्छन् भन्ने सुनेपछि यसले पत्रुसलाई सान्त्वना दियो। आफू यति धेरै वेदनामा थिए कि लगभग तिनी ओछ्यानग्रस्त थिए; तिनलाई यति हदसम्म ग्लानि महसुस भयो कि तिनले भने: “म यति भ्रष्ट छु कि म परमेश्वरलाई सन्तुष्ट तुल्याउन असक्षम छु।” येशू तिनीकहाँ देखा पर्नुभयो र तिनलाई भन्नुभयो: “पत्रुस, के यस्तो हुन सक्छ कि तैँले एक पटक मेरो अगाडि गरेको संकल्पलाई बिर्सेका छस्? के मैले भनेका सबै कुरा तैँले साँच्चै बिर्सेको छस? के तैँले मसँग गरेको संकल्पलाई बिर्सेको छस्?” यो येशू नै हुनुहुन्छ भन्ने देखेपछि, पत्रुस आफ्नो ओछ्यानबाट उठे, र येशूले तिनलाई सान्त्वना दिनुभयो: “म पृथ्वीको होइन, मैले तँलाई पहिले नै भनिसकेँ—तैँले यो कुरालाई बुझ्नैपर्छ, तर के मैले तँलाई बताएको अर्को कुनै कुरा बिर्सेको छस्? ‘तँ पनि पृथ्वीको होइनस्, संसारको होइनस्।’ अहिले, तैँले गर्नुपर्ने काम छ। तँ यसरी दुःखी हुनु हुँदैन। तैँले यसरी कष्ट भोग्नु हुँदैन। मानिसहरू र परमेश्वर एउटै संसारमा सह-अस्तित्वमा रहन नसके तापनि, मेरो आफ्नै काम छ र तेरो पनि आफ्नै काम छ, अनि एक दिन तेरो काम पूरा भएपछि, हामी एउटै संसारमा एकसाथ हुनेछौं, र म तँलाई सदासर्वदा मसँग रहनको लागि अगुवाइ गर्नेछु।” यी वचनहरू सुनिसकेपछि, पत्रुसलाई सान्त्वना मिल्यो र तिनी ढुक्क भए। यो कष्ट तिनले सामना गर्नुपर्ने र अनुभव गर्नुपर्ने कुरा थियो भन्ने कुरा तिनलाई थाहा थियो, र त्यसपछि, तिनी उत्प्रेरित भए। तिनलाई विशेष अन्तर्दृष्टि र मार्गनिर्देशन दिँदै येशू तिनीकहाँ तिनको हरेक महत्त्वपूर्ण क्षणमा देखा पर्नुभयो, र उहाँले तिनीमाथि धेरै काम गर्नुभयो। अनि पत्रुसले सबैभन्दा बढी के कुराको पछुतो गरे? पत्रुसले “तपाईं जीवित परमेश्वरका पुत्र हुनुहुन्छ” भनेर भनेको केही समयपछि नै, येशूले पत्रुसलाई अर्को प्रश्न गर्नुभयो (यद्यपि यसको बारेमा बाइबलमा यसरी विवरण दिइएको छैन)। येशूले तिनलाई सोध्नुभयो: “पत्रुस! के तैँले मलाई कहिल्यै प्रेम गरेको छस्?” उहाँले के भन्न खोज्नुभएको हो सो पत्रुसले बुझे, र भने: “प्रभु! मैले स्वर्गमा हुनुहुने पितालाई एक पटक प्रेम गरेको थिएँ, तर मैले तपाईंलाई कहिल्यै प्रेम गरेको छैन भन्ने कुरालाई म स्वीकार गर्छु।” त्यसपछि येशूले भन्नुभयो: “यदि मानिसहरूले स्वर्गमा हुनुहुने पितालाई प्रेम गर्दैनन् भने, तिनीहरूले पृथ्वीमा हुने पुत्रलाई कसरी प्रेम गर्न सक्छन्? र यदि परमेश्वर पिताले पठाउनुभएका पुत्रलाई मानिसहरूले प्रेम गर्दैनन् भने, तिनीहरूले स्वर्गमा हुनुहुने पितालाई कसरी प्रेम गर्न सक्छन्? यदि मानिसहरूले पृथ्वीमा हुने पुत्रलाई साँच्चै प्रेम गर्छन् भने, तिनीहरूले स्वर्गमा हुनुहुने पितालाई साँचो रूपमा प्रेम गर्छन्।” जब पत्रुसले यी वचनहरू सुने, तब तिनले आफूमा के कमी छ भन्ने कुरालाई महसुस गरे। “मैले स्वर्गमा हुनुहुने पितालाई एक पटक प्रेम गरेको थिएँ, तर मैले तपाईंलाई कहिल्यै प्रेम गरेको छैन” भन्ने आफ्नो वचनहरूप्रति तिनी सँधै यति हदसम्म पछुताउँथे कि तिनले आँसु नै झार्थे। येशूको पुनर्जागरण र स्वर्ग आरोहणपछि, तिनले यी वचनहरूप्रति अझै ग्लानि र शोक महसुस गरे। आफ्नो विगतको कार्य र आफ्नो वर्तमानको कदको बारेमा स्मरण गर्दै, तिनी धेरै पटक प्रार्थनामा येशूको सामने जान्थे, परमेश्वरका अभिप्रायहरूलाई पूरा गर्न नसकेको र परमेश्वरको मापदण्डहरू अनुसार हुन नसकेको कारण सँधै अफसोस र ऋणी महसुस गरिरहन्थे। यी समस्याहरू तिनको लागि सबैभन्दा ठूलो भारी बन्यो। तिनले भने: “एक दिन मसँग भएको सबै कुरा र म जे छु सबै कुरा तपाईंमा समर्पित गर्नेछु, र जे बहुमूल्य छ म तपाईंलाई त्यही दिनेछु।” तिनले भने: “परमेश्वर! मेरो एउटै मात्र विश्वास छ र एउटै मात्र प्रेम छ। मेरो जीवनको केही मूल्य छैन, र मेरो शरीरको केही मूल्य छैन। मेरो एउटै मात्र विश्वास छ र एउटै मात्र प्रेम छ। मेरो मनमा तपाईंप्रति विश्वास छ र मेरो हृदयमा तपाईंप्रति प्रेम छ; तपाईंलाई दिनका लागि मसँग यी दुई कुराहरू मात्रै छन्, अरू केही पनि छैन।” येशूको वचनद्वारा पत्रुस अत्यन्तै बढी प्रोत्साहित भए, किनभने येशू क्रूसमा टाँगिनुभन्दा पहिले, उहाँले पत्रुसलाई भन्नुभएको थियो: “म यस संसारको होइन, र तँ पनि यस संसारको होइनस्।” पछि, जब पत्रुस ठूलो पीडाको बिन्दुमा पुगे, तब येशूले तिनलाई स्मरण गराउनुभयो: “पत्रुस, के तैँले बिर्सिस्? म यो संसारको होइन, र मैले मेरो कामको लागि मात्रै पहिले प्रस्थान गरेँ। तँ पनि यो संसारको होइनस्, तैँले साँच्चै बिर्सिस्? मैले तँलाई दुई पटक भनेको छु, के तँलाई याद छैन?” यो सुनेर, पत्रुसले भने: “मैले बिर्सेको छैन!” त्यसपछि येशूले भन्नुभयो: “एक पटक तैँले स्वर्गमा मसँग एकसाथ खुशीको समय बिताइस् र मसँगै केही समय बसिस्। तँ मेरो सम्झना गर्छस्, र म तेरो सम्झना गर्छु। मेरो नजरमा सृष्टि गरिएका प्राणीहरू उल्लेख गर्न योग्य नभए तापनि, निर्दोष र प्रेमिलोलाई म प्रेम नगरी कसरी बस्न सक्छु र? के तैँले मेरो प्रतिज्ञालाई बिर्सेको छस्? तैँले पृथ्वीमा मेरो आज्ञालाई स्वीकार गर्नैपर्छ; मैले तँलाई सुम्पेको कार्यलाई तैँले पूरा गर्नैपर्छ। एक दिन म तँलाई अवश्य नै मेरो नजिक बस्नको लागि डोर्याउनेछु।” यो सुनेपछि, पत्रुस अझै बढी उत्साही बने र तिनले अझै ठूलो उत्प्रेरणा प्राप्त गरे, यतिसम्म कि क्रूसमा हुँदा तिनले भन्न सके: “परमेश्वर! म तपाईंलाई पर्याप्त प्रेम गर्न सक्दिनँ! तपाईंले मलाई मर्न लगाउनुभयो भने पनि, म तपाईंलाई अझै पर्याप्त प्रेम गर्न सक्दिन। तपाईंले मेरो प्राणलाई जहाँ पठाउनुभए तापनि, तपाईंले तपाईंका विगतका प्रतिज्ञाहरूलाई पूरा गर्नुभए पनि वा नगर्नुभए पनि, त्यसपछि तपाईंले जे गर्नुभए पनि, म तपाईंलाई प्रेम गर्छु र तपाईंमा विश्वास गर्छु।” तिनी जे कुरामा अटल रहे त्यो तिनको विश्वास, र साँचो प्रेम थियो।
एक साँझ, पत्रुस लगायत धेरै जना चेलाहरू येशूसँगै माछा मार्ने डुङ्गामा थिए, र पत्रुसले येशूलाई अत्यन्तै मूर्ख प्रश्न सोधे: “प्रभु! म तपाईंलाई एउटा प्रश्न सोध्न चाहन्छु जुन प्रश्न मसँग धेरै समयदेखि रहेको छ।” येशूले भन्नुभयो: “त्यसो भए प्रश्न के हो भन्!” त्यसपछि पत्रुसले भने: “के व्यवस्थाको युगमा गरिएको काम तपाईंले गर्नुभएको काम हो?” येशू मुस्कुराउनुभयो, मानौं उहाँले भन्दै हुनुहुन्थ्यो: “यो बच्चा, ऊ कति मूर्ख छ!” त्यसपछि उहाँले दृढताका साथ भन्नुभयो: “यो काम मेरो थिएन। यो यहोवा र मोशाले गर्नुभएको काम थियो।” पत्रुसले यो कुरा सुने र अचम्म मान्दै भने: “अहो! त्यसो भए यो तपाईंको काम थिएन।” पत्रुसले यसो भनिसकेपछि, येशूले फेरि बोल्नुभएन। पत्रुसले मनमनै विचार गरे: “यो काम गर्ने तपाईं हुनुहुन्नथियो, त्यसैले अचम्म के लाग्नु तपाईं व्यवस्थालाई नष्ट गर्न आउनुभएको त हो, किनभने यो तपाईंको काम होइन।” तिनको हृदय पनि सहज भयो। त्यसपछि, येशूले पत्रुस अलिक अनुभवहीन छन् भन्ने कुरा महसुस गर्नुभयो, तर त्यो बेला तिनमा त्यति बुझाइ नभएको हुनाले, येशूले अरू केही भन्ने वा तिनलाई प्रत्यक्ष रूपमा खण्डन गर्ने गर्नुभएन। एक पटक येशूले सभाघरमा प्रवचन दिनुभयो जहाँ पत्रुस लगायत धेरै मानिसहरू थिए। आफ्नो प्रवचनमा, येशूले भन्नुभयो: “अनन्तदेखि अनन्तसम्म आउनुहुने एकमात्र उहाँ नै पापबाट सारा मानवजातिलाई छुटकारा दिनको लागि अनुग्रहको युगमा उद्धारको कार्य गर्न आउनुहुनेछ, तर मानिसलाई पापबाट निकाल्ने क्रममा उहाँ कुनै पनि नियमद्वारा बाँधिनुहुनेछैन। उहाँ व्यवस्थाबाट बाहिर निस्केर अनुग्रहको युगमा प्रवेश गर्नुहुनेछ। उहाँले सारा मानवजातिलाई छुटकारा दिनुहुनेछ। उहाँ व्यवस्थाको युगबाट अनुग्रहको युगमा जानुहुनेछ, तैपनि उहाँलाई कसैले पनि चिन्दैनन्, उहाँलाई जो यहोवाबाट आउनुभएको थियो। मोशाले गरेको काम यहोवाले दिनुभएको काम थियो; यहोवाले गर्नुभएको कामको कारण मोशाले व्यवस्थाको खाका तयार गरे।” यसो भन्नुभएपछि, उहाँले आफ्नो कुरालाई जारी राख्नुभयो: “अनुग्रहको युगमा अनुग्रहको युगका आज्ञाहरूलाई हटाउनेहरूले संकटको सामना गर्नेछन्। तिनीहरूले मन्दिरमा खडा भएर परमेश्वरको विनाश प्राप्त गर्नुपर्नेछ, र तिनीहरूमाथि आगो आइपर्नेछ।” यी वचनहरू सुनेपछि यसले पत्रुसमा केही प्रभाव पार्यो, र आफ्नो अनुभवको अवधिभरि, येशूले पत्रुससँग हृदय खोलेर कुरा गर्दै तिनको गोठाला र रखवारी गर्नुभयो, जसले पत्रुसलाई येशूको बारेमा अलिक राम्रो बुझाइ प्रदान गर्यो। त्यो दिन येशूले जे प्रचार गर्नुभएको थियो सो कुरा अनि माछा मार्ने डुङ्गामा हुँदा तिनले येशूलाई गरेको प्रश्न, येशूले दिनुभएको जबाफ र साथसाथै उहाँ जसरी मुस्कुराउनुभएको थियो त्यसको बारेमा विचार गर्ने क्रममा, पत्रुसले आखिरमा यी सबै कुराको बारेमा बुझे। त्यसपछि, पवित्र आत्माले पत्रुसलाई अन्तर्दृष्टि दिनुभयो, त्यसपछि मात्रै तिनले येशू जीवित परमेश्वरका पुत्र हुनुहुन्छ भनेर बुझे। पत्रुसको बुझाइ पवित्र आत्माको अन्तर्दृष्टिद्वारा आयो, तर तिनको बुझाइमा एउटा प्रक्रिया थियो। प्रश्नहरू गरेर, येशूको प्रचारलाई सुनेर, त्यसपछि येशूको विशेष सङ्गति र उहाँको विशेष गोठालोपनलाई प्राप्त गरेर, येशू जीवित परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने कुरालाई पत्रुसले महसुस गर्न पुगे। यो एकै रातमा प्राप्त गरिएको थिएन; यो एउटा प्रक्रिया थियो, र तिनको पछिका अनुभवहरूमा यो तिनको लागि सहयोग बनेको थियो। किन येशूले अरू मानिसहरूमा सिद्धताको काम गर्नुभएन, तर पत्रुसमा मात्रै गर्नुभयो? किनभने येशू जीवित परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने कुरालाई पत्रुसले मात्रै बुझेका थिए; अरू कसैले पनि यो कुरा जानेका थिएनन्। उहाँलाई पछ्याउँदाको समयमा धेरै कुरा जान्ने धेरै चेलाहरू थिए, तैपनि तिनीहरूको ज्ञान सतही थियो। यही कारणले गर्दा सिद्ध तुल्याइएको नमुनाको रूपमा येशूले पत्रुसलाई चुन्नुभयो। येशूले पत्रुसलाई त्यतिबेला जे भन्नुभयो उहाँले आज मानिसहरूलाई त्यही भन्नुहुन्छ, तिनीहरूको ज्ञान र जीवन प्रवेश पत्रुसकै स्तरमा पुग्नुपर्छ। यही मापदण्ड र यो मार्गअनुसार परमेश्वरले सबैलाई सिद्ध तुल्याउनुहुनेछ। किन आजका मानिसहरूमा वास्तविक विश्वास र साँचो प्रेम हुनुपर्छ? पत्रुसले जे अनुभव गरे त्यो तिमीहरूले पनि अनुभव गर्नुपर्छ; पत्रुसले आफ्नो अनुभवहरूद्वारा प्राप्त गरेका फलहरू तिमीहरूमा पनि प्रकट हुनुपर्छ; र पत्रुसले अनुभव गरेको पीडालाई तिमीहरूले पनि अनुभव गर्नुपर्छ। तिमीहरू हिँड्ने बाटो पत्रुसले हिँडेकै बाटो हो। तिमीहरूले सहने पीडा पत्रुसले सहेकै पीडा हो। जब तिमीहरूले महिमा प्राप्त गर्छौ र जब तिमीहरूले वास्तविक जीवन जिउँछौ, तब तिमीहरू पत्रुसको स्वरूपमा जिउनेछौ। मार्ग एउटै हो, र यसलाई पछ्याएर व्यक्ति सिद्ध हुन्छ। तैपनि, पत्रुसको तुलनामा तिमीहरूको क्षमतामा कमी छ, किनभने समय परिवर्तन भएको छ, र त्यसरी नै मानिसको भ्रष्टताको हद पनि परिवर्तन भएको छ, किनभने यहूदिया लामो समयदेखि रहेको र प्राचीन संस्कृति भएको राज्य थियो। त्यसकारण, आफ्नो क्षमता बढाउनको लागि तिमीहरूले आफूले सक्नेजति सबै गर्नुपर्छ।
पत्रुस निकै समझदार व्यक्ति थिए, उनी आफूले गर्ने हरेक कुरामा चतुर थिए र उनी अत्यन्तै इमानदार पनि थिए। उनले धेरै ठक्कर खाए। समाजसँगको उनको पहिलो सम्पर्क १४ वर्षको उमेरमा भयो, जब उनी विद्यालय जान्थे र सभाघरमा पनि जान्थे। उनमा धेरै उत्साह थियो र उनी सधैँ भेलाहरूमा उपस्थित हुन इच्छुक हुन्थे। त्यति बेला, येशूले आधिकारिक रूपमा आफ्नो काम सुरु गर्नुभएको थिएन; यो अनुग्रहको युगको सुरुवात मात्र थियो। पत्रुस १४ वर्षको हुँदा धार्मिक व्यक्तित्वहरूको सम्पर्कमा आउन थाले; १८ वर्षको हुँदासम्ममा, उनी धार्मिक ठूलाबडाहरूको सम्पर्कमा थिए, तर धर्मको पर्दापछाडिको अराजकता देखेपछि, उनी त्यसबाट पछि हटे। मानिसहरूले गरिरहेका धूर्त, छली, र षड्यन्त्रकारी कुराहरू देखेपछि, उनमा तिनीहरूप्रति चरम घृणा उत्पन्न भयो (त्यति बेला उनलाई सिद्ध पार्न पवित्र आत्माले यसरी नै काम गर्नुभयो—उहाँले विशेष गरी उनलाई प्रेरित गर्नुभयो र उनीमाथि केही विशेष काम गर्नुभयो), त्यसैले उनले १८ वर्षको उमेरमा सभाघर छोडे। उनका आमाबुबाले उनलाई सताए र उनलाई विश्वास गर्न दिएनन् (तिनीहरू दियाबलस र अविश्वासी थिए)। अन्ततः पत्रुसले घर छोडे र चारैतिर यात्रा गरे, दुई वर्षसम्म माछा मारे र प्रचार गरे, जस दौरान उनले धेरै मानिसलाई अगुवाइ पनि गरे। पत्रुसले ठ्याक्कै कुन मार्ग लिएका थिए भन्ने कुरा अब तैँले स्पष्ट रूपमा देख्नुपर्छ। यदि तँ पत्रुसको मार्ग स्पष्ट रूपमा देख्न सक्छस् भने, आज भइरहेको कामबारे निश्चित हुनेछस्, त्यसैले तैँले गुनासो गर्नेछैनस् वा तँ नकारात्मक हुनेछैनस्, वा कुनै कुराको लालसा गर्नेछैनस्। तैँले त्यतिबेलाको पत्रुसको मनस्थिति अनुभव गर्नुपर्छ: उनी शोकले आक्रान्त थिए, उनले उप्रान्त निश्चित भविष्य वा कुनै आशिष् मागेनन्, र उनले सांसारिक ख्याति, प्राप्ति, सुख, सम्पत्ति, वा हैसियत पछ्याएनन्; उनी केवल सबैभन्दा अर्थपूर्ण जीवन जिउनुको पछि लागेका थिए, जसमा परमेश्वरको प्रेमको प्रतिदान गर्नु र आफूले सबैभन्दा बहुमूल्य मानेको कुरा परमेश्वरलाई अर्पण गर्नु समावेश थियो। त्यसपछि उनी आफ्नो हृदयमा सन्तुष्ट हुन्थे। उनी प्रायः येशूलाई यी शब्दहरूमा प्रार्थना गर्थे: “प्रभु येशू ख्रीष्ट, म कुनै समय तपाईँलाई प्रेम गर्थेँ, तर मैले तपाईँलाई कहिल्यै साँचो रूपमा प्रेम गरिनँ। मैले तपाईँमा आस्था छ भनेर भने पनि, तपाईँलाई कहिल्यै साँचो हृदयले प्रेम गरिनँ। मैले केवल तपाईँलाई मान गरेँ, तपाईँलाई श्रद्धा गरेँ, र तपाईँलाई सम्झिएँ, तर मैले तपाईँलाई कहिल्यै प्रेम गरिनँ, न त तपाईँमा साँचो आस्था नै राखेँ।” उनी आफ्नो सङ्कल्प गर्न निरन्तर प्रार्थना गर्थे, र उनी सधैँ येशूका वचनहरूबाट प्रोत्साहित हुन्थे र तीबाट प्रेरणा लिन्थे। पछि, केही समयको अनुभवपछि, येशूले उनको परीक्षा लिनुभयो, उनलाई उहाँको अझ बढी तृष्णा गर्न प्रेरित गर्नुभयो। उनले भने, “प्रभु येशू ख्रीष्ट! म तपाईँलाई कति सम्झिन्छु, र तपाईँलाई हेर्ने लालसा गर्छु। ममा धेरै कुराको कमी छ, र म तपाईँको प्रेमको भर्पाइ गर्न सक्दिनँ। म तपाईँलाई मलाई चाँडै लैजान बिन्ती गर्छु। तपाईँलाई मेरो आवश्यकता कहिले हुनेछ? तपाईँ मलाई कहिले लैजानुहुनेछ? मैले तपाईँको मुहार फेरि कहिले हेर्नेछु? म अब उप्रान्त यस देहमा जिउन, भ्रष्ट भइरहन चाहन्नँ, न त म अझै विद्रोह गर्न नै चाहन्छु। म आफूसँग भएका सबै कुरा जतिसक्दो चाँडो तपाईँलाई अर्पण गर्न तयार छु, र म तपाईँलाई थप दुःखी तुल्याउन चाहन्नँ।” उनले यसरी नै प्रार्थना गरे, तर येशूले उनमा के सिद्ध पार्नुहुनेछ भन्ने कुरा उनलाई त्यतिबेला थाहा थिएन। उनको परीक्षाको वेदनाको दौरान, येशू उनीकहाँ फेरि देखा पर्नुभयो र भन्नुभयो, “पत्रुस, म तिमीलाई सिद्ध पार्न चाहन्छु, ताकि तिमी एउटा फल बन, यस्तो फल जुन मैले तिमीलाई गरेको सिद्धीकरणको मूर्त रूप होस्, र जसको म आनन्द लिनेछु। के तिमी साँच्चै मेरा लागि साक्षी दिन सक्छौ? के मैले तिमीलाई गर्न भनेको कुरा तिमीले गरेका छौ? के मैले बोलेका वचनहरू तिमीले जिएका छौ? तिमी कुनै समय मलाई प्रेम गर्थ्यौ, तर तिमीले मलाई प्रेम गरे पनि, के तिमीले मलाई जिएका छौ? तिमीले मेरा लागि के गरेका छौ? तिमी मेरो प्रेमको योग्य नरहेको कुरा पहिचान गर्छौ, तर तिमीले मेरा लागि के गरेका छौ?” पत्रुसले आफूले येशूका लागि केही पनि नगरेको देखे र परमेश्वरका लागि आफ्नो ज्यान दिने आफ्नो अघिल्लो शपथ सम्झिए। अनि त्यसैले, उनले उप्रान्त गुनासो गरेनन्, र त्यसपछिका उनका प्रार्थनाहरू धेरै राम्रा थिए। उनले प्रार्थना गर्दै यसो भने, “प्रभु येशू ख्रीष्ट! मैले कुनै समय तपाईँलाई छोडेँ, र तपाईँले पनि कुनै समय मलाई छोड्नुभयो। हामीले छुट्टिएर समय बिताएका छौँ, र सँगै एकअर्काको साथमा पनि समय बिताएका छौँ। तैपनि तपाईँ मलाई अरू सबै कुराभन्दा बढी प्रेम गर्नुहुन्छ। मैले बारम्बार तपाईँको विरुद्ध विद्रोह गरेको छु र बारम्बार तपाईँलाई दुःखी तुल्याएको छु। म यस्ता कुराहरू कसरी भुल्न सक्छु? तपाईँले ममा गर्नुभएको काम र तपाईँले मलाई सुम्पनुभएको कुरा म सधैँ मनमा राख्छु र कहिल्यै भुल्दिनँ। तपाईँले ममा गर्नुभएको कामका लागि मैले गर्न सक्ने सबै कुरा गरेको छु। म के गर्न सक्छु भन्ने तपाईँलाई थाहा छ, र म कुन भूमिका निर्वाह गर्न सक्छु भन्ने पनि तपाईँलाई थाहा छ। म आफूलाई तपाईँका योजनाबद्ध कार्यहरूको कृपामा राख्न चाहन्छु, र म आफूसँग भएका सबै कुरा तपाईँलाई अर्पण गर्नेछु। म तपाईँका लागि के गर्न सक्छु भन्ने तपाईँलाई मात्र थाहा छ। शैतानले मलाई अति धेरै मूर्ख बनाए पनि र मैले तपाईँको विरुद्ध विद्रोह गरे पनि, यसको कारणले तपाईँ मेरा अपराधहरू सम्झनुहुन्न, र तपाईँ मप्रतिको आफ्नो व्यवहारलाई यसमा आधारित गर्नुहुन्न भन्ने मलाई विश्वास छ। म मेरो सम्पूर्ण जीवन तपाईँलाई अर्पण गर्न चाहन्छु। म केही पनि माग्दिनँ, न त मेरा अन्य आशा वा योजनाहरू नै छन्; म केवल तपाईँका अभिप्रायहरूअनुसार कार्य गर्न र तपाईँको इच्छा पालन गर्न चाहन्छु। म तपाईँको तीतो कचौराबाट पिउनेछु, र आफूलाई तपाईँका योजनाबद्ध कार्यहरूको कृपामा राख्नेछु।”
तिमीहरू आफू हिँड्ने मार्गबारे स्पष्ट हुनैपर्छ; तिमीहरू आफूले भविष्यमा लिने मार्ग, परमेश्वरले केलाई सिद्ध पार्नुहुनेछ, र तिमीहरूलाई के सुम्पिइएको छ भन्ने बारेमा स्पष्ट हुनुपर्छ। सायद, कुनै दिन तिमीहरूको परीक्षा लिइनेछ र, जब त्यो समय आउँछ, तब यदि तिमीहरूले पत्रुसका अनुभवहरूबाट प्रेरणा लिन सक्यौ भने, यसले तिमीहरू साँच्चै पत्रुसको मार्गमा हिँडिरहेका छौ भन्ने देखाउनेछ। पत्रुसलाई उनको साँचो आस्था र प्रेमका लागि र परमेश्वरप्रतिको उनको बफादारीका लागि परमेश्वरले अनुमोदन गर्नुभएको थियो। अनि उनको इमानदारी र उनको हृदयमा भएको परमेश्वरप्रतिको लालसाका लागि नै परमेश्वरले उनलाई सिद्ध पार्नुभयो। यदि तँसँग साँच्चै पत्रुसको जस्तै प्रेम र आस्था छ भने, येशूले तँलाई पक्कै पनि सिद्ध पार्नुहुनेछ।