८. तपाईं सर्वशक्तिमान् परमेश्वर आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ, देखा पर्नुभएका मुक्तिदाता हुनुहुन्छ, र उहाँले सत्यता व्यक्त गर्दैहुनुहुन्छ र मानिसलाई पूर्ण रूपमा शुद्ध पार्न र मुक्ति दिन अनि मानिसलाई शैतानको अँध्यारो प्रभावबाट छुटकारा दिन परमेश्वरको घरबाट सुरु गर्दै न्यायको काम गर्दैहुनुहुन्छ भनी गवाही दिनुहुन्छ। सर्वशक्तिमान् परमेश्वरले कसरी मानिसलाई पूर्ण रूपमा शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ?
परमेश्वरका सान्दर्भिक वचनहरू:
वर्तमान देहधारणमा परमेश्वरको काम मुख्यतः सजाय र न्यायको माध्यमद्वारा उहाँको स्वभाव व्यक्त गर्नु, र यही जगका आधारमा, मानिसमा अझ धेरै सत्यता ल्याउनु, र उसलाई अभ्यास गर्ने अझ धेरै तरिकाहरू देखाउनु हो, त्यसरी उहाँ मानिसलाई जित्ने र उसको आफ्नै भ्रष्ट स्वभावबाट उसलाई मुक्त गर्ने उहाँको उद्देश्य प्राप्त गर्नुहुन्छ। राज्यका युगमा परमेश्वरको कामको पछाडि यही नै लुकेको हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्वरप्रति बफादार हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्वरको बुद्धि र स्वभाव, र इत्यादि जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्ने सन्दर्भमा बोलिएका हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई एक-दुईवटा शब्दहरूले व्याख्या गर्नुहुन्न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन, तर मानिससँग पूर्णतया नभएको सत्यताले प्रतिस्थापन गर्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णत: विश्वस्त हुन सक्छ, र त्यसमाथि परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्वरका अभिप्राय, परमेश्वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्ने तुल्याउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै मानवका कुरूपता पत्ता लगाउने पनि तुल्याउँछ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, मार्ग, र जीवनलाई खोल्नु हो। यो परमेश्वरद्वारा गरिएको न्यायको काम हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
परमेश्वरले मानिसलाई सिद्ध पार्ने कार्य कुन माध्यमबाट पूरा गरिन्छ? यसलाई उहाँको धर्मी स्वभावको माध्यमबाट पूरा गरिन्छ। परमेश्वरको स्वभावमा मुख्य रूपमा धार्मिकता, क्रोध, प्रताप, न्याय र सराप समावेश हुन्छ र उहाँले मानिसलाई मुख्य रूपले आफ्नो न्यायद्वारा सिद्ध पार्नुहुन्छ। कति मानिसहरूले बुझ्दैनन्, र परमेश्वरले किन मानिसलाई न्याय र सरापद्वारा मात्र सिद्ध पार्न सक्नुहुन्छ भनी प्रश्न गर्छन्। तिनीहरू भन्छन्, “यदि परमेश्वरले मानिसलाई सराप्नुभयो भने, के मानिस मर्नेथिएन र? यदि परमेश्वरले मानिसलाई न्याय गर्नुभयो भने, के मानिस निन्दित हुनेथिएन? त्यसो भए ऊ कसरी अझै पनि सिद्ध पारिन सक्छ?” यी ती मानिसहरूका कुरा हुन्, जसले परमेश्वरको कामलाई जान्दैनन्। परमेश्वरले जुन कुरालाई सराप्नुहुन्छ त्यो मानिसको विद्रोहीपन हो, र उहाँले जे कुराको न्याय गर्नुहुन्छ त्यो मानिसको पाप हो। उहाँ कठोर रूपमा र मानिसका भावनालाई बिलकुलै ख्याल नगरी बोल्ने भए पनि, उहाँले मानिसभित्रका सबै कुरा खुलासा गर्नुहुन्छ, उहाँले केही कठोर वचनद्वारा मानिसभित्र हुने सारगत कुराहरू खुलासा गर्नुहुन्छ, तैपनि त्यस्तो न्यायद्वारा, उहाँले मानिसलाई देहको सारको गहिरो ज्ञान दिनुहुन्छ, र यसैले मानिस परमेश्वरको सामु समर्पित हुन्छ। मानिसको देह पापको र शैतानको हो, यो विद्रोही छ, र यो परमेश्वरको सजायको पात्र हो। यसैले, मानिसलाई आफैलाई चिन्न लगाउनका लागि परमेश्वरका वचनहरूको न्याय ऊमाथि आउनुपर्छ र हरप्रकारको शोधन प्रयोग गर्नुपर्दछ; तब मात्र परमेश्वरको काम प्रभावकारी हुन सक्दछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्
परमेश्वरले मानिसलाई न्याय गर्नुभए पनि वा सराप दिनुभए पनि, ती दुवैले मानिसलाई सिद्ध बनाउँछ: ती दुवै मानिसभित्रको अशुद्धतालाई सिद्ध बनाउनका लागि गरिन्छ। यस माध्यमद्वारा मानिस शुद्ध पारिन्छ, मानिसभित्र जुन कुराको कमी हुन्छ त्यसलाई उहाँका वचन र कामहरूद्वारा सिद्ध पारिन्छ। परमेश्वरको कामको हरेक चरण—चाहे ती कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले मानिसलाई सिद्ध बनाउँछ, र ती बिलकुल उपयुक्त छन्। परमेश्वरले युगौंयुगसम्म कहिल्यै पनि यस्तो काम गर्नुभएन; आज, तिमीहरूले उहाँको बुद्धिको कदर गर्न सक भनेर उहाँले तिमीहरूभित्र काम गर्नुहुन्छ। तिमीहरूले आफैभित्र केही पीडा भोगेको भए तापनि, तिमीहरूको हृदयले स्थिरता र शान्तिको महसुस गर्दछ; परमेश्वरको कामको यस चरणको आनन्द लिन सक्नु तेरो निम्ति आशिष् हो। तिमीहरूले भविष्यमा चाहे जे नै प्राप्त गर्न सके पनि आज तिमीहरूले आफूमा देखेको परमेश्वरको काम प्रेम नै हो भनी बुझ्नेछौ। यदि मानिसले परमेश्वरको न्याय र शोधनको अनुभव गर्दैन भने, उसका कामहरू र जोश सधैँ सतह स्तरमा रहन्छ, र उसको स्वभाव सधैँ अपरिवर्तित रहन्छ। के यसलाई परमेश्वरद्वारा प्राप्त गरिएको मान्न सकिन्छ? आज, मानिसभित्र अझै पनि अहङ्कारी र घमण्डी धेरै कुराहरू भए तापनि, मानिसको स्वभाव पहिलेको भन्दा धेरै स्थिर छ। परमेश्वरले तँलाई मुक्ति दिनको लागि तँलाई काटछाँट गर्नुहुन्छ, अनि तैँले कहिलेकहीँ पीडा महसुस गरे पनि त्यो दिन आउनेछ जब तेरो स्वभावमा परिवर्तन आउनेछ। त्यस बेला, तैँले पछि फर्केर हेर्नेछस्, र परमेश्वरको काम कति बुद्धिमानी रहेछ भनी बुझ्नेछस्, अनि त्यस बेला तैँले परमेश्वरका अभिप्रायहरूलाई साँच्चै बुझ्न सक्नेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्
यदि तँलाई परमेश्वरको स्वभाव थाहा छैन भने, तँ परीक्षाहरूको दौरान अपरिहार्य रूपमा ढल्नेछस्, किनभने परमेश्वरले मानिसहरूलाई कसरी सिद्ध पार्नुहुन्छ, उहाँले उनीहरूलाई कुन माध्यमबाट सिद्ध पार्नुहुन्छ भन्ने बारे तँ अनभिज्ञ छस्, र जब परमेश्वरका परीक्षाहरू तँमाथि आइपर्छन् र ती तेरा धारणासँग मिल्दैनन्, तँ दृढ हुन असक्षम हुनेछस्। परमेश्वरको साँचो प्रेम नै उहाँको सम्पूर्ण स्वभाव हो, र जब परमेश्वरको सम्पूर्ण स्वभाव मानिसहरूलाई प्रकट गरिन्छ, यसले तेरो देहका लागि के लिएर आउँछ? जब परमेश्वरको धर्मी स्वभाव मानिसहरूलाई प्रकट गरिन्छ, उनीहरूको देहले अपरिहार्य रूपमा धेरै पीडा सहनेछ। यदि तैँले यो पीडा सहिनस् भने, तँलाई परमेश्वरले सिद्ध पार्न सक्नुहुन्न, न तँ परमेश्वरलाई साँचो प्रेम अर्पण गर्न नै सक्षम हुनेछस्। यदि परमेश्वरले तँलाई सिद्ध पार्नुभयो भने, उहाँले तँलाई पक्कै पनि उहाँको सम्पूर्ण स्वभाव प्रकट गर्नुहुनेछ। सृष्टिको समयदेखि आजसम्म, परमेश्वरले उहाँको सम्पूर्ण स्वभाव मानिसलाई कहिल्यै प्रकट गर्नुभएको छैन—तर आखिरी दिनहरूको दौरान, उहाँले पूर्वनिर्धारण गर्नुभएको र चुन्नुभएको मानिसहरूको यो समूहका सामु प्रकट गर्नुहुन्छ, र मानिसहरूलाई सिद्ध पारेर, उहाँले उहाँका स्वभाव प्रकट गर्नुहुन्छ, जसमार्फत उहाँले मानिसहरूको एउटा समूहलाई पूर्ण पार्नुहुन्छ। मानिसहरूका लागि परमेश्वरको साँचो प्रेम यस्तो छ। परमेश्वरको साँचो प्रेम अनुभव गर्न मानिसहरूले चरम पीडा सहनुपर्छ, र उच्च मूल्य चुकाउनुपर्छ। तब मात्रै मानिसहरू अन्ततः परमेश्वरद्वारा प्राप्त गरिन सक्छन्, र बल्ल उनीहरू परमेश्वरलाई आफ्नो साँचो प्रेम फर्काउन सक्षम हुन्छन्, अनि तब मात्रै परमेश्वरको हृदय सन्तुष्ट हुनेछ। यदि मानिसहरू परमेश्वरद्वारा सिद्ध पारिने चाहना गर्छन् भने र यदि उनीहरू उहाँको इच्छा पछ्याउने, र उनीहरूको साँचो प्रेम सम्पूर्ण रूपमा परमेश्वरलाई दिने चाहना राख्छन् भने, उनीहरूले धेरै कष्ट र उनीहरूको परिस्थितिबाट धेरै सास्ती भोग्नैपर्छ, मृत्युभन्दा पनि कठोर पीडा भोग्नैपर्छ। अन्ततः उनीहरू आफ्नो साँचो हृदय परमेश्वरलाई फिर्ता दिन बाध्य हुनेछन्। कसैले परमेश्वरलाई साँचो प्रेम गर्छ कि गर्दैन भन्ने कुरा कष्ट र शोधनको दौरान प्रकट हुन्छ। परमेश्वरले गर्नुहुने मानिसहरूको प्रेमको शुद्धिकरण पनि कष्ट र शोधनमार्फत मात्रै हासिल हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो
परमेश्वरसित मानिसलाई सिद्ध तुल्याउने तरिकाहरू धेरै छन्। मानिसको भ्रष्ट स्वभावको काटछाँट गर्न उहाँले हरप्रकारका वातावरणहरू प्रयोग गर्नुहुन्छ र मानिसलाई उदाङ्गो पार्न विभिन्न कुराहरू प्रयोग गर्नुहुन्छ; एउटा सन्दर्भमा, उहाँले मानिसलाई काटछाँट गर्नुहुन्छ, अर्कोमा उहाँले मानिसलाई उदाङ्गो पार्नुहुन्छ, अनि अर्कोमा उहाँले मानिसको हृदयको गहिराइमा भएका “रहस्य” खोतलेर देखाउँदै मानिसलाई प्रकट गर्नुहुन्छ, र मानिसलाई उसका धेरै वटा अवस्थाहरू प्रकट गर्दै उसको प्रकृति देखाउनुहुन्छ। परमेश्वर व्यावहारिक हुनुहुन्छ भनी मानिसले जानोस् भनी परमेश्वरले धेरै तरिकाहरूद्वारा—प्रकाशद्वारा, मानिसलाई काटछाँट गरेर मानिसको शोधन गरेर अनि सजाय दिएर—मानिसलाई सिद्ध तुल्याउनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ
अहिले भइरहेको काम मानिसहरूलाई उनीहरूको पुरानो पुर्खा, शैतानविरुद्ध विद्रोह गर्न लगाउनका लागि हो। वचनद्वारा गरिने सबै न्यायको उद्देश्य मानवताको भ्रष्ट स्वभाव खुलासा गर्नु र मानिसहरूलाई जीवनको सार बुझ्न सक्षम तुल्याउनु हो। बारम्बार दोहोर्याइने यी न्यायहरूले मानिसको हृदय छेड्छन्। प्रत्येक न्याय प्रत्यक्ष रूपमा तिनीहरूको नियतिसँग सम्बन्धित हुन्छ र यसको काम तिनीहरूको हृदयमा चोट पुर्याउनु हो ताकि तिनीहरूले ती सबै थोक छोड्न र जीवनलाई जान्न सकून्, यो फोहोरी संसारलाई चिन्न सकून्, परमेश्वरको बुद्धि र सर्वशक्तिमान्तालाई चिन्न सकून्, र यसको साथै मानवजातिलाई पनि चिन्न सकून् जसलाई शैतानले भ्रष्ट बनाएको छ। सजाय र न्याय जति यस्तो हुन्छ, त्यति नै धेरै मानिसको हृदयमा चोट पुग्न सक्छ र त्यति नै धेरै उसको आत्मा जागृत हुन सक्छ। यस प्रकारको न्यायको लक्ष्य यस्ता अत्यन्त भ्रष्ट भएका र सबैभन्दा गहन रूपमा धोकामा परेका व्यक्तिहरूको आत्मालाई जागृत गराउनु हो। मानिससँग आत्मा छैन, अर्थात् उसको आत्मा धेरै अघि मरिसकेको छ र उसलाई स्वर्ग छ भन्ने कुरा थाहै छैन, परमेश्वर हुनुहुन्छ भन्ने पनि थाहै छैन र ऊ मृत्युको पातालमा संघर्ष गरिरहेको छ भन्ने पनि उसलाई झनै थाहै छैन; कसरी पो उसले आफू पृथ्वीको यस दुष्ट नरकमा बाँचिरहेको छु भनेर थाहा पाउन सक्थ्यो र? ऊसँग भएको यो दुर्गन्धित लास शैतानको भ्रष्टताको कारण मृत्युको पातालमा खसेको कुरा उसले कसरी थाहा पाउन सक्थ्यो? धेरै पहिले नै पृथ्वीमा भएका सबै कुरालाई मर्मत नै गर्न नसकिने गरी मानवजातिले नाश गरिसकेका छन् भनेर उसलाई कसरी थाहा हुन सक्थ्यो? अनि, सृष्टिकर्ता आज पृथ्वीमा आउनुभएको छ र उहाँ आफूले मुक्ति दिन सक्ने भ्रष्ट मानिसहरूको समूह खोज्दै हुनुहुन्छ भनेर उसलाई कसरी थाहा हुन सक्थ्यो? मानिसले हरसम्भव शोधन र न्यायको अनुभव गरेपछि पनि उसको लाटिएको चेतना सायदै चलायमान हुन्छ र वास्तवमा यो लगभग उदासीन नै रहन्छ। मानवता कत्ति पतित छ! यस किसिमको न्याय आकाशबाट खसेको क्रूर असिनाजस्तो हुने भए तापनि, यो मानिसको लागि सबैभन्दा लाभदायक कुरा हो। यदि मानिसहरूलाई यसरी न्याय नगरिने हो भने, नतिजा केही पनि हुनेथिएन र मानिसहरूलाई पीडाको पातालबाट मुक्ति दिन पक्कै पनि असम्भव हुनेथियो। यदि यो काम नगरिएको भए, मानिसहरूलाई पाताल लोकबाट बाहिर निस्कन धेरै गाह्रो हुनेथियो किनभने उनीहरूको हृदय धेरै नै अघि मरिसकेको छ र तिनीहरूका आत्मालाई शैतानले पहिले नै कुल्चिसकेको छ। पतनको सबैभन्दा ठूलो गहिराइमा डुबेका तिमीहरूलाई मुक्ति दिनलाई तिमीहरूलाई जोडजोडले बोलाउनुपर्छ, तिमीहरूलाई धेरै मेहनत साथ न्याय गरिनुपर्छ; अनि मात्र तिमीहरूको जमेको हृदयलाई जगाउन सम्भव हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्
तँलाई थाहा हुनुपर्छ कि परमेश्वरद्वारा मानिसहरूलाई सिद्ध र पूर्ण बनाउने र मानिसहरूलाई प्राप्त गर्ने कार्यले तिनीहरूका देहमा तरवार र चोटहरू, अन्त्यहीन दुःख, जलन, क्रूर न्याय, सजाय, र श्रापहरू अनि असिम परीक्षाहरूबाहेक अरू केही ल्याउँदैन। मानिसको व्यवस्थापन कार्यको भित्री कथा र सत्यता यही हो। तैपनि, यी सबै कुराहरू मानिसको देहतर्फ लक्षित हुन्छन्, र शत्रुताका सबै वाणहरू निर्दयतापूर्वक मानिसको देहप्रति नै लक्षित गरिन्छन् (किनकि मानिस निर्दोष छ)। यो सबै नै उहाँको महिमा र गवाही अनि उहाँको व्यवस्थापनका लागि हो। यस्तो किन हुन्छ भने उहाँको काम मानवजातिका लागि मात्र होइन, यो त सम्पूर्ण योजनाका लागि पनि हो, साथै उहाँले मानवजातिलाई सृष्टि गर्नुभएको समयको उहाँको सुरुको अभिप्राय पूरा गर्नलाई पनि हो। त्यसकारण, सायद मानिसको नब्बे प्रतिशत अनुभवमा दुःख र अग्निपरीक्षा सामेल हुन्छ, र त्यहाँ मानिसको देहले चाहना गरेका मीठा र खुसीयालीका दिनहरू या त थोरै हुन्छन् या त हुँदै हुँदैनन्। मानिसले देहमा परमेश्वरसित सुन्दर समय बिताउँदै खुसीका क्षणहरू अनुभव गर्न सक्ने त झन् कुरै आउँदैन। देह फोहोरी छ, त्यसैले मानिसको देहले जे देख्छ वा जे उपभोग गर्छ त्यो परमेश्वरको सजायबाहेक अरू केही हुँदैन, जसलाई मानिसले असंवेदनशील पाउँछ, यस्तो लाग्छ त्यसमा सामान्य अनुभूतिकै अभाव छ। यस्तो किन हुन्छ भने परमेश्वरले आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुन्छ, जुन मान्छेप्रति असंवेदनशील हुन्छ, र उहाँको त्यो धर्मी स्वभावले मानिसका उल्लङ्घनहरू सहँदैन र शत्रुहरूलाई घृणा गर्छ। परमेश्वरले कुनै पनि उपायद्वारा उहाँको सम्पूर्ण स्वभाव खुल्लमखुल्ला प्रकट गर्नुहुन्छ, र त्यसमार्फत शैतानसँगको उहाँको छ हजार वर्षे लडाइँ अर्थात् सारा मानवजातिको मुक्तिको काम र प्राचीन कालको शैतानलाई नाश पार्ने काम समाप्त गर्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानवजातिलाई व्यवस्थापन गर्ने उद्देश्य
परमेश्वरका हरेक वचनले हाम्रा घातक बिन्दुहरूमध्ये एउटामा प्रहार गर्छन्, हामीलाई घाइते बनाएर छोडिदिन्छन् र डरले भरिदिन्छन्। उहाँले हाम्रा धारणाहरू, हाम्रा कल्पनाहरू, र हाम्रो भ्रष्ट स्वभावलाई खुलासा गर्नुहुन्छ। हामीले भन्ने र गर्ने सबै कुराहरूदेखि, हाम्रा प्रत्येक सोच र विचारहरूसम्म, हाम्रो प्रकृति सार उहाँका वचनहरूमा प्रकाश हुन्छ, जसले हाम्रो लाजलाई लुकाउने कुनै ठाउँ नराखिकन हामीलाई डर र काँप्ने स्थितिमा ल्याउँछ। एक एक गरेर, उहाँ हामीलाई हाम्रा सबै कार्य, लक्ष्य, र अभिप्रायहरूबारे बताउनुहुन्छ, र हामीले कहिल्यै पत्ता नलगाएका हाम्रा भ्रष्ट स्वभावका बारेमा समेत बताउनुहुन्छ, हामीलाई हाम्रो तुच्छ असिद्धता सबै खुलासा भएको महसुस गराउनुहुन्छ, र अझ बढी, पूर्ण रूपमा विश्वस्त महसुस गराउनुहुन्छ। उहाँको विरोध गरेमा उहाँले हामीलाई न्याय गर्नुहुन्छ, उहाँको निन्दा र भर्त्सना गरेकोमा हामीलाई सजाय दिनुहुन्छ, अनि उहाँका नजरमा हामीसँग एउटा पनि सकारात्मक गुण छैन, हामी जीवित शैतानहरू हौँ भन्ने हामीलाई अनुभूत गराउनुहुन्छ। हाम्रा आशाहरू चकनाचूर हुन्छन्; उप्रान्त उहाँबाट कुनै पनि अनुचित मागहरू गर्ने वा उहाँको बारेमा कुनै परिकल्पना बोकेर हिँड्ने आँट गर्दैनौं, अनि हाम्रा सपनाहरू पनि रातारात हराउँछन्। हामी कसैले पनि कल्पना गर्न नसक्ने र हामी कसैले पनि स्वीकार गर्न नसक्ने तथ्य यही हो। एकै क्षणमा, हामी हाम्रो भित्री सन्तुलनलाई गुमाउँछौं र अगाडि अवस्थित बाटोमा कसरी निरन्तरता दिने भनी वा हाम्रो विश्वासमा कसरी अघि बढ्ने सो जान्दैनौं। हाम्रो विश्वास पहिलेकै क्षेत्रतिर फर्केर गएको जस्तो देखिन्छ, र हामीले कहिल्यै प्रभु येशूलाई नभेटेको वा उहाँलाई नचिनेको जस्तो देखिन्छ। हाम्रा आँखा अगाडिका सबै कुराहरूले हामीलाई अन्योलताले भर्छ र हामीलाई अनिर्णायक किसिमले ढुलमुले बनाउँछ। हामी उदास हुन्छौं, हामी निराश हुन्छौं, र हाम्रा हृदयहरूका गहिराइमा अदम्य रीस र अपमान हुन्छ। हामीले निकाल्ने प्रयास गर्छौं, निकास दिन खोज्छौं र, यसको अलाबा, हामी हाम्रा मुक्तिदाता येशूलाई निरन्तर पर्खिरहन्छौँ ताकि हामीले हाम्रा हृदयका कुराहरू उहाँमा पोखाउन सकौं। हामी बाहिरपट्टि सहज भएको देखिने समयहरू भए पनि, न त घमण्डी, न नम्र, हामीले पहिले कहिल्यै अनुभूति नगरेका हारको भावनाले हाम्रा हृदयमा हामी ग्रसित हुन्छौं। कहिलेकाहीँ हामी बाहिरपट्टि असामान्य रूपमा शान्त देखिए तापनि, हाम्रा मनहरू समुद्री आँधी जस्तै पीडाले मडारिरहेका हुन्छन्। उहाँका न्याय र सजायले हाम्रा फजुल चाहनाहरूलाई अन्त्य गर्दै र उहाँ हाम्रा मुक्तिदाता हुनुहुन्छ र हामीलाई मुक्त गर्न सक्षम हुनुहुन्छ भनी विश्वास गर्न हामीलाई अनिच्छुक छोडिदिँदै, हाम्रा सबै आशाहरू र सपनाहरूबाट हामीलाई वञ्चित गर्छन्। उहाँका न्याय र सजायले हामी र उहाँका बीचमा एक खाल्डो बनाएका छन्, यो यति गहिरो छ कि कोही पनि यसलाई नाघेर जान इच्छुक हुँदैन। उहाँका न्याय र ताडनालाई हामीले हाम्रा जीवनमा पहिलो पल्ट यति ठूलो अवरोध, यति ठूलो अपमानको रूपमा भोगेका छौँ। उहाँका न्याय र सजायले हामीलाई परमेश्वरको सम्मान र मानिसको उल्लङ्घनको असहिष्णुता साँच्चै अनुभूत गर्ने बनाएको छ, यसको तुलनामा हामी अत्यन्त नीच र अशुद्ध छौँ। उहाँका न्याय र सजायले हामीलाई हाम्रो अहङ्कार र अभिमान, र हामी अभिमानी छौ, अनि मानिस कसरी कहिल्यै परमेश्वर बराबर हुन सक्दैन, वा परमेश्वरसँग तुलनीय हुन सक्दैन भन्नेबारे पहिलोपटक थाहा गराएको छ। उहाँका न्याय र सजायले हामीलाई उप्रान्त यस्तो भ्रष्ट स्वभावमा नजिउन, यस प्रकृति सारबाट जतिसक्दो चाँडो आफैलाई स्वतन्त्र पार्न, र उहाँद्वारा घृणित हुन छोड्न र उहाँका लागि घिनलाग्दो हुन छोड्न तृष्णा गर्ने बनाएको छ। उहाँका न्याय र सजायले हामीलाई उप्रान्त उहाँका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूका विरुद्धमा विद्रोह नगरीकन, उहाँका वचनहरूप्रति समर्पित हुन र तिनलाई पालन गर्नमा खुसी बनाएको छ। उहाँका न्याय र सजायले फेरि एक पल्ट हामीलाई बाँच्ने चाहना दिएका छन् र उहाँलाई हाम्रा मुक्तिदाताका रूपमा स्वीकार गर्न हामीलाई खुसी बनाएका छन्…। हामी विजयको कामबाट बाहिर, नरकबाट बाहिर, मृत्युको छायाको घाटीबाट बाहिर निस्केका छौँ…। सर्वशक्तिमान् परमेश्वरले हामीलाई, मानिसहरूका यो समूहलाई पाउनु भएको छ! उहाँले शैतानलाई जित्नुभएको छ र उहाँका शत्रुहरूका भीडलाई हराउनु भएको छ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्वरको न्याय र सजायमा उहाँको देखा पराइ हेर्नु