३. कतिपय मानिसहरूले सर्वशक्तिमान् परमेश्वर नै फर्केर आउनुभएको प्रभु येशू हुनुहुन्छ भनी स्वीकार गरेका छन्, तर तिनीहरू गिरफ्तार हुने र चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सताइने डरले अनि धार्मिक समुदायका पाष्टरहरू र एल्डरहरूद्वारा डर देखाइएको र धम्की दिइएकोले साँचो बाटोलाई स्वीकार गर्ने साहस गर्दैनन्। त्यस्ता मानिसहरूको अन्त्य कस्तो हुनेछ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“तर डरपोक, र अविश्वासी, अनि घृणितले, र हत्यारा, अनि व्यभिचारी, र जादूगर, अनि मूर्तिपूजक र झूट बोल्नेहरू सबैले आगो र गन्धक बल्ने कुण्डमा आफ्नो भाग पाउनेछन्: जुन दोस्रो मृत्यु हो” (प्रकाश २१:८)।
“किनभने जसले आफ्नो जीवन बचाउनेछ उसले त्यो गुमाउनेछ: र जसले मेरा खातिर आफ्नो जीवन गुमाउनेछ त्यसले त्यो पाउनेछ” (मत्ती १६:२५)।
“यसैले जसले मलाई मानिसहरूको अगाडि स्वीकार गर्छ, म पनि त्यसलाई स्वर्गमा हुनुहुने मेरा पिताको अगाडि स्वीकार गर्नेछु। तर जसले मलाई मानिसहरूका अगाडि इन्कार गर्छ, म पनि त्यसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने इन्कार गर्नेछु” (मत्ती १०:३२-३३)।
“अनि जसले आफ्नो क्रूस बोक्दैन, र मेरो पछि लाग्दैन, ऊ मेरो चेला बन्न सक्दैन” (लूका १४:२७)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
तिमीहरूलाई परमेश्वर के हुनुहुन्छ थाहा छैन, ख्रीष्ट के हुनुहुन्छ थाहा छैन, कसरी यहोवाको डर मान्ने थाहा छैन, पवित्र आत्माको काममा कसरी प्रवेश गर्ने थाहा छैन, र परमेश्वर स्वयम्को काम र मानिसको बहकाउलाई कसरी छुट्ट्याउने थाहा छैन। तँ त परमेश्वरले व्यक्त गर्नुभएको तेरो विचारसित नमिल्ने सत्यको जुनसुकै वचनको निन्दा गर्न मात्र जान्दछस्। तेरो नम्रता कहाँ छ? तेरो समर्पण कहाँ छ? तेरो बफादारिता कहाँ छ? सत्यता खोजी गर्ने तेरो मनोवृत्ति कहाँ छ? परमेश्वरको डर मान्ने तेरो हृदय कहाँ छ? म तिमीहरूलाई बताउँछु, चिन्हहरूका कारणले परमेश्वरमा विश्वास गर्नेहरू निश्चय नै नष्ट पारिने श्रेणीका हुन्। देहमा फर्किआउनुभएका येशूका वचनहरू स्विकार्न नसक्नेहरू निश्चय नै नरकका सन्तान, प्रधान स्वर्गदूतका सन्तती हुन्, र यिनीहरू सदाका लागि नष्ट पारिने श्रेणीमा पर्छन्। धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्न चाहन्छु कि, जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा ओर्लनुभएको आफ्नै आँखाले देख्छौ, त्यो सार्वजनिक रूपमा धार्मिकताको सूर्यको देखापराइको समय हुनेछ। सायद त्यो क्षण तेरा निम्ति ठूलो उत्साहको समय हुनेछ, तैपनि तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्ने समय तँ दण्ड भोग्नलाई नरक जाने समय पनि हो भनी जान्नुपर्छ। त्यो परमेश्वरको व्यवस्थापन योजनाको अन्त्यको घोषणाको समय हुनेछ र त्यो परमेश्वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। किनकि सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्नुअघि नै परमेश्वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू र चिन्हहरू नखोज्नेहरू, अनि यसरी शुद्ध पारिएकाहरू परमेश्वरको सिंहासनसामु ल्याइएका र सृष्टिकर्ताको अङ्गालोमा प्रवेश गराइएका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो” भन्ने विश्वासमा अड्डी कस्नेहरू मात्र अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्नुहने येशूमा मात्र विश्वास गर्छन्, तर कठोर न्याय व्यक्त गर्नुहुने अनि जीवन र साँचो मार्ग जारी गर्नुहुने येशूलाई मान्दैनन्। यसकारण, सेतो बादलमा येशू खुल्लमखुल्ला फर्कनुहुँदा मात्र उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ भनेर भन्न सकिन्छ। तिनीहरू अति जिद्दी, आफैमा अति आत्मविश्वासी, अति अहङ्कारी छन्। यस्ता पतितहरूले येशूबाट कसरी इनाम पाउन सक्छन्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्नुभएको हुनेछ
आखिरी दिनहरूका ख्रीष्टले जीवन ल्याउनुहुन्छ, अनि चिरस्थायी र अनन्त सत्यताको मार्ग ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्वरलाई चिन्नेछ र ऊ परमेश्वरद्वारा अनुमोदित हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्टले प्रदान गर्नुभएको जीवनको मार्गको खोजी गर्दैनस् भने, तैँले कहिल्यै येशूको अनुमोदन प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। प्रावधानहरू, शब्दहरू, र इतिहासको जन्जिरद्वारा नियन्त्रित हुनेहरूले कहिल्यै जीवन प्राप्त गर्न सक्नेछैनन् न त तिनीहरूले चिरस्थायी जीवनको मार्ग नै पाउन सक्नेछन्। यस्तो किन हुन्छ भने, तिनीहरूसँग सिंहासनबाट बग्ने जीवनको पानी नभई धमिलो पानी मात्रै छ, जसलाई तिनीहरूले हजारौँ वर्षदेखि पक्रेर बसेका छन्। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, र नरकका पुत्रहरू भएर रहनेछन्। त्यसोभए, कसरी तिनीहरूले परमेश्वरलाई देख्न सक्छन्? तँ विगतलाई मात्रै पक्रिराख्न खोज्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्न मात्रै खोज्छस्, र यथास्थितिलाई परिवर्तन गर्न र इतिहासलाई फाल्न खोज्दैनस्, त्यसकारण के तँ सधैँ परमेश्वरप्रति शत्रुवत् हुनेछैनस् र? परमेश्वरको कामका कदमहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै विशाल र शक्तिशाली छन्—तैपनि तँ आफ्नो मूर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पदचापहरू पछ्याउने व्यक्ति कसरी मान्न सकिन्छ? तैँले पक्रेर बसेको परमेश्वर सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस् र? अनि तेरा पहेँलो भइसकेका पुस्तकका अक्षरहरूले तँलाई कसरी नयाँ युगमा पुर्याउन सक्छन् र? तिनले कसरी तँलाई परमेश्वरको कामका कदमहरूको खोजी गर्नका निम्ति अगुवाइ गर्न सक्छन् र? अनि, तिनले कसरी तँलाई स्वर्गमा लैजान सक्छन् र? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने शब्दहरू मात्र हुन्, तँलाई जीवन दिन सक्ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्त्रका शब्दहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन् तर ती मानव जीवनको बारेमा जान्न तँलाई सहयोग गर्न सक्ने दर्शनशास्त्रका शब्दहरू होइनन्, ती तँलाई सिद्ध पार्ने मार्ग त झनै होइनन्। के यो विसङ्गतिले तँलाई सचिन्तन गर्ने कारण दिँदैन र? के यसले तँलाई त्यसभित्र रहेका रहस्यहरूलाई बोध गर्ने तुल्याउँदैन र? के तँ परमेश्वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा पठाउन सक्छस्? परमेश्वरको आगमनविना, के तँ परमेश्वरसँग पारिवारिक खुसीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्न छोड्, अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ, हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ
ख्रीष्टले बोल्नुभएको सत्यतामा भर नपरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्टले ल्याउनुभएको जीवनको मार्गलाई स्वीकार नगर्नेहरू स्वैरकल्पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्टलाई स्वीकार नगर्नेहरूलाई परमेश्वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर भित्र जान सक्ने कोही पनि छैन। ख्रीष्टमार्फत बाहेक परमेश्वरद्वारा कोही पनि सिद्ध पारिँदैनन्। तँ परमेश्वरमा विश्वास गर्छस्, त्यसकारण उहाँका वचनहरू स्विकारेर उहाँको वचनप्रति समर्पित हुनैपर्छ। सत्यता र जीवनको आपूर्ति स्वीकार गर्न असमर्थ हुने, अनि आशिष्हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्ने नगर्। ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ, ताकि उहाँले उहाँमा इमानदारीसाथ विश्वास गर्नेहरू सबैलाई जीवन प्रदान गर्न सक्नुहोस्। यो काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नका खातिर अस्तित्वमा हुन्छ, र यो काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तँ ख्रीष्टलाई स्विकार्दैनस्, त्यसमाथि उहाँलाई दोषी ठहराउँछस्, ईश्वरनिन्दा गर्छस्, वा उहाँलाई सताउँछस् भने, तँ अवश्यम्भावी रूपमा अनन्तकालसम्म जल्नेछस् र परमेश्वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यस्तो किन हुन्छ भने, यी ख्रीष्ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्वरको अभिव्यक्ति, पृथ्वीमा आफ्नो काम गर्नका लागि परमेश्वरले कार्यभार दिनुभएको जन हुनुहुन्छ, त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्टले गर्नुभएका सबै कुरालाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउनुपर्ने दण्ड सबैका लागि प्रष्टै छ। म तँलाई यो पनि भन्छु: यदि तैँले आखिरी दिनहरूका ख्रीष्टको प्रतिरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्टलाई इन्कार गरिस् भने, यसका लागि तेरो तर्फबाट कसैले पनि परिणामहरू भोग्न सक्नेछैन। यसको साथै, यस बिन्दुदेखि तैँले परमेश्वरको अनुमोदन प्राप्त गर्ने अर्को मौका पाउनेछैनस्; यदि तैँले आफ्ना गल्ती सच्याउने इच्छा गरिस् भने पनि, तैँले फेरि परमेश्वरको मुहार देख्न सक्नेछैनस्। यस्तो किन हुन्छ भने, तैँले जसको प्रतिरोध गरिरहेको छस्, त्यो कुनै मानव होइन, तैँले जसलाई इन्कार गरिरहेको छस्, त्यो कुनै नगण्य व्यक्ति नभई ख्रीष्ट हुनुहुन्छ। के तँलाई यसका परिणामहरू के हुन्छन् भन्ने थाहा छ? तैँले सानो गल्ती गरिरहेको छैनस्, बरु जघन्य पाप गरिरहेको छस्। त्यसैले म हरेक व्यक्तिलाई सत्यताको अघि आफ्नो दारा नदेखाउन र आफ्ना नङ्ग्रा प्रदर्शन नगर्न वा स्वेच्छाचारी आलोचना नगर्न सल्लाह दिन्छु, किनकि सत्यताले मात्रै तँलाई जीवन दिन सक्छ, र सत्यताबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्म पाउन र फेरि परमेश्वरको मुहार देख्न सक्षम तुल्याउन सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ
के तँ अब न्याय के हो र सत्यता के हो भनी बुझ्छस्? यदि बुझ्छस् भने, न्याय गरिनुप्रति आज्ञाकारितासाथ समर्पित हुन म तँलाई सुझाव दिन्छु, नत्र भने तैँले परमेश्वरको अनुमोदन पाउने वा उहाँद्वारा उहाँको राज्यभित्र ल्याइने अवसर कहिल्यै पाउनेछैनस्। न्याय स्वीकार मात्र गर्ने तर कहिल्यै शुद्ध गर्न नसकिने, अर्थात्, न्यायको कामका बीचमा भाग्नेहरूलाई परमेश्वरले सदाका लागि तिरस्कार गर्नुहुनेछ। तिनीहरूका पाप फरिसीहरूका भन्दा झनै जघन्य र झनै धेरै हुन्छन्, किनकि तिनीहरूले परमेश्वरलाई धोका दिएका छन् र तिनीहरू परमेश्वरविरुद्धका विद्रोहीहरू हुन्। श्रम गर्नका लागि पनि लायक नभएका यी मानिसहरूले झनै कडा दण्ड पाउनेछन्, जुन दण्डचाहिँ, झन्, अनन्तकालसम्म जारी रहनेछ। परमेश्वरले कुनै बेला शब्दले बफादारी देखाएको तर त्यसपछि उहाँलाई धोका दिएको कुनै पनि विश्वासघातीलाई बाँकी राख्नुहुनेछैन। यस्ता मानिसहरूले आत्मा, प्राण, र शरीरका दण्डमार्फत प्रतिशोध पाउनेछन्। के परमेश्वरको धर्मी स्वभावको प्रकटीकरण ठ्याक्कै यही नै होइन र? के मानिसलाई न्याय र प्रकाश गर्ने परमेश्वरको उद्देश्य ठ्याक्कै यही होइन र? न्यायको समयावधिमा हरप्रकारका दुष्ट कार्य गर्नेहरूलाई परमेश्वरले दुष्ट आत्माहरू भरिएको स्थानमा पठाउनुहुनेछ, र ती दुष्टात्माहरूलाई आफ्नो इच्छाअनुसार तिनीहरूका देहगत शरीरहरू नष्ट गर्न दिनुहुनेछ, र ती मानिसहरूका शरीरले लासहरूको दुर्गन्ध फैलाउँछन्। तिनीहरूले पाउनुपर्ने प्रतिशोध यस्तो हुन्छ। परमेश्वरले ती अबफादार झूटा विश्वासीहरू, झूटा प्रेरितहरू, र झूटा कामदारहरूका प्रत्येक पापलाई तिनीहरूका अभिलेख-पुस्तकहरूमा लेख्नुहुन्छ, अनि ठीक समय आएपछि, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूका बीचमा फालिदिनुहुन्छ, ती अशुद्ध आत्माहरूलाई इच्छाअनुसार तिनीहरूका पूरै शरीरहरू फोहोर पार्न दिनुहुनेछ, र तिनीहरूलाई कहिल्यै पुनर्जन्म नपाउने र तिनीहरूले फेरि कहिल्यै उज्यालो नदेख्ने तुल्याउनुहुनेछ। केही समयका निम्ति सेवा गर्ने तर अन्तसम्म बफादार नरहने ढोँगीहरूलाई परमेश्वरले दुष्टहरूमाझ सूचीकृत गर्नुहुन्छ, तिनीहरूलाई दुष्ट मानिसहरूसँग हिलोमा लडबडिन र विभिन्न किसिमका कुकर्मीसँग गिरोह निर्माण गर्न दिनुहुन्छ, र अन्त्यमा, परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ। ख्रीष्टप्रति कहिल्यै बफादार नभएका वा आफ्नो कुनै सामर्थ्य योगदान नगरेकाहरूलाई परमेश्वरले पाखा लगाइदिनुहुन्छ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुन्न, र युगको परिवर्तनसँगै उहाँले तिनीहरू सबैलाई नष्ट गर्नुहुनेछ। तिनीहरू उप्रान्त पृथ्वीमा अस्तित्वमा रहनेछैनन्, र तिनीहरूले परमेश्वरको राज्यभित्र प्रवेश गर्ने बाटो त झनै प्राप्त गर्नेछैनन्। परमेश्वरले उहाँप्रति कहिल्यै निष्कपट नरहेका, तर उहाँसँग झाराटारुवा रूपमा व्यवहार गर्नुबाहेक अरू कुनै विकल्प नभएका जोकोहीलाई उहाँका मानिसहरूका लागि सेवा प्रदान गर्नेहरूमा सूचीकृत गर्नुहुन्छ। यस्ता मानिसहरूका सानो सङ्ख्या मात्र बाँच्नेछ, जबकि बहुसङ्ख्यकहरू मानकअनुरूप श्रम गर्न समेत नसक्नेहरूसँगै नष्ट हुनेछन्। अन्त्यमा, परमेश्वरसँग एउटै हृदय र मन भएकाहरू, परमेश्वरका मानिसहरू र पुत्रहरू, र धर्मगुरु हुनका लागि परमेश्वरद्वारा पूर्वनिर्धारित सबैलाई परमेश्वरले उहाँको राज्यमा ल्याउनुहुनेछ। तिनीहरू परमेश्वरको कामको परिष्कृत उपज हुन्। परमेश्वरले तोक्नुभएको कुनै पनि वर्गमा वर्गीकृत गर्न नसकिनेहरूलाई गैरविश्वासीहरूको श्रेणीका सूचीमा राखिनेछ, र तिनीहरूको परिणाम के हुनेछ भनेर तिमीहरूले निश्चय नै कल्पना गर्न सक्छौ। मैले तिमीहरूलाई भन्नुपर्ने सबै कुराहरू भनिसकेको छु; तिमीहरूले छान्ने मार्ग केवल तिमीहरूकै छनोट हो। तिमीहरूले बुझ्नुपर्ने कुरा यो हो: परमेश्वरसँग गति मिलाउन नसक्ने कुनै पनि व्यक्तिलाई परमेश्वरको कामले पर्खँदैन, र परमेश्वरको धर्मी स्वभावले कुनै पनि मानिसलाई कृपा देखाउँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ