३. म स्वीकार गर्दछु, कि सर्वशक्तिमान् परमेश्वरको मण्डलीद्वारा प्रचार गरिएको कुरा साँचो बाटो हो, तर पाष्टरहरू र एल्डरहरूले फैलाएका झूट र गलत कुराहरूद्वारा धोखामा परेकाले हाम्रो मण्डलीका मानिसहरू सबै सर्वशक्तिमान् परमेश्वरको मण्डलीप्रति शत्रुवत् छन्। आखिरी दिनहरूको सर्वशक्तिमान् परमेश्वरको काम स्वीकार गरेपछि, मेरो पुरानो मण्डलीका मेरा दाजुभाइ-दिदीबहिनीहरू सबैले मलाई अस्वीकार र बदनाम गर्नेछन् भन्ने मलाई चिन्ता लागेको छ। मेरो कद धेरै सानो छ, र म यो सबको सामना गर्न सक्ने गरी साहसी छैन—म के गरूँ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“तैपनि, मुख्य शासकहरूमध्ये पनि धेरैले उहाँलाई विश्वास गरेका थिए; तर फरिसीहरूको डरले गर्दा, तिनीहरूलाई सभाघरहरूबाट निकालिन्छ भन्ने डरले गर्दा, तिनीहरूले उहाँलाई स्वीकार गरेनन्: किनकि तिनीहरूले परमेश्वरको स्याबासीलाई भन्दा मानिसहरूको प्रशंसालाई बढी मन पराउँथे” (यूहन्ना १२:४२-४३)।
“धार्मिकताको खातिर सताइनेहरू आशिषित् हुन्: किनकि स्वर्गको राज्य तिनीहरूकै हो। जब मेरो खातिर मानिसहरूले तिमीहरूलाई गाली-गलौज गर्नेछन्, र सताउनेछन्, अनि तिमीहरूको विरुद्धमा सबै किसिमका झूटा दुष्ट कुराहरू भन्नेछन्, तब तिमीहरू आशिषित् हौ। आनन्द मनाओ, र अत्यन्तै खुशी होओ: किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुन्छ: किनभने तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई पनि तिनीहरूले त्यसरी नै सताएका थिए” (मत्ती ५:१०-१२)।
“साँघुरो प्रवेश-द्वारबाट भित्र पस: किनकि प्रवेश द्वार जति चौडा हुन्छ र बाटो जति फराकिलो हुन्छ, त्यसले विनाशमा पुर्याउँछ र त्यहाँ जाने धेरै हुन्छन्: किनकि साँघुरो प्रवेश द्वार र साँघुरो बाटोले जीवनमा डोर्याउँछ र कमैले मात्रै त्यो पत्ता लगाउँछन्” (मत्ती ७:१३-१४)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
तँ यो र त्यो कुराप्रति डराउनु हुँदैन; तैँले जतिसुकै अप्ठ्यारा र खतराको सामना गर्नुपरे पनि, तँ कुनै पनि बाधाबाट अवरोधमा नपरी, मेरो अगाडि स्थिर रहनुपर्छ, ताकि मेरो इच्छा विनारोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो; अन्यथा, मेरो क्रोध तँमाथि खनिनेछ, र मेरो हातले म…। त्यसपछि तैँले अन्त्यहीन मानसिक दुःख भोग्नेछस्। तैँले सबै भोग्नैपर्छ; तँ सबै कुरा त्याग्न र आफ्नो सारा शक्तिले मलाई पछ्याउन तयार हुनैपर्छ, अनि कुनै पनि मूल्य चुकाउन तयार हुनैपर्छ। मैले तँलाई जाँच गर्नुपर्ने समय यही हो: के तँ तेरो बफादारी मलाई अर्पण गर्छस्? के यो मार्गको अन्त्यसम्म तँ मलाई बफादारीपूर्वक पछ्याउन सक्छस्? नडरा; मेरो साथ तँसँग भएकाले, यस मार्गलाई कसले छेक्न सक्छ र? यो कुरा याद राख्! याद राख्! सबै थोकमा मेरा असल अभिप्रायहरू हुन्छन्, र सबै थोक मेरो छानबिनमुनि हुन्छ। तैँले बोल्ने र गर्ने सबैमा तैँले मेरो वचनलाई पछ्याउन सक्छस्? जब तँमाथि आगोका परीक्षाहरू आउनेछन्, के तैँले घुँडा टेकेर पुकार्नेछस्? कि तँ डरले लुरुक्क पर्छस्, अगाडि बढ्न सक्दैनस्?
तँभित्र मेरो साहस हुनुपर्छ, र गैरविश्वासी आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिसामु झुक्नु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि मेरो बुद्धिमा भर पर्; शैतानका कुनै पनि षड्यन्त्रलाई प्रभाव पार्न नदे। मेरो अगाडि तेरो हृदय राख्नका लागि आफूले सक्दो गर्, र म तँलाई सान्त्वना दिनेछु र तेरा लागि शान्ति र आनन्द ल्याइदिनेछु। अरू मानिसहरूको अगाडि कुनै निश्चित रूपमा खडा हुने प्रयास नगर्; के मलाई सन्तुष्ट बनाउँदा यसले थप महत्त्व र वजन बोक्दैन र? मलाई सन्तुष्ट बनाउँदा, के तँ अनन्त र आजीवन शान्ति र खुशीले थप परिपूर्ण हुनेछैनस् र? तेरो अहिलेको दुःखले तेरो भविष्यको आशीर्वाद कति महान् हुनेछ भन्ने सङ्केत गर्छ; ती अवर्णनीय छन्। तैँले पाउन लागेको आशीर्वादको महान्ता तँलाई थाहा छैन; तैँले यसको बारेमा सपना पनि देख्न सक्दैनस्। आज यो वास्तविक भएको छ; एकदमै धेरै वास्तविक! यो धेरै पर छैन—के तँ यसलाई देख्न सक्छस्? यसको प्रत्येक अंश मभित्र छ; अगाडिको मार्ग कति उज्यालो छ! आफ्नो आँशु पुछ्, र थप पीडा वा संताप महसुस नगर्! सबै कुराहरू मेरा हातबाट मिलाइएका हुन्छन्, र मेरो लक्ष्य भनेको तिमीहरूलाई चाँडै विजेता बनाउनु हो र तिमीहरूलाई म सँगसँगै महिमामा ल्याउनु हो। तँमाथि आइपर्ने सबै कुराहरूका लागि, तँ तदनुरूप आभारी र प्रशंसाले भरिपूर्ण हुनुपर्छ; यसले मेरो लागि गहन सन्तुष्टि ल्याउनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०
परमेश्वरलाई साँचो रूपमा पछ्याउनेहरू आफ्नो कामको जाँचलाई सामना गर्न सक्नेहरू हुन्, जबकि परमेश्वरलाई साँचो रूपमा नपछ्याउनेहरू परमेश्वरको कुनै पनि परीक्षाहरूको सामना गर्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरूलाई निकालिनेछ, तर विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्वरलाई साँचो रूपले खोजी गर्छ कि गर्दैन भन्ने कुरालाई उसको कामको जाँचले अर्थात् परमेश्वरका परीक्षाहरूले निर्धारण गर्छन् र मानिस स्वयमले गर्ने निर्णयसँग यसको कुनै सम्बन्ध हुँदैन। परमेश्वरले कुनै पनि व्यक्तिलाई हल्का रूपमा इन्कार गर्नुहुन्न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्वस्त तुल्याउन सक्छ। मानिसको लागि अदृश्य कुनै पनि कुरा वा मानिसलाई विश्वस्त तुल्याउन नसक्ने कुनै पनि काम उहाँले गर्नुहुन्न। मानिसको आस्था साँचो हो कि होइन भन्ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र मानिसद्वारा यसको निर्णय हुन सक्दैन। “गहुँलाई सामामा परिणत गर्न सकिँदैन र सामालाई गहुँमा परिणत गर्न सकिँदैन” भन्ने कुरामा कुनै शङ्का छैन। परमेश्वरलाई साँचो रूपमा प्रेम गर्नेहरू सबै आखिरमा राज्यमा नै रहनेछन् र उहाँलाई साँचो रूपमा प्रेम गर्ने कसैलाई पनि परमेश्वरले नराम्रो व्यवहार गर्नुहुन्न।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास
आज, धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू कष्टको कुनै मूल्य हुँदैन भन्ने विश्वास गर्छन्, तिनीहरू संसारद्वारा त्यागिएका छन्, तिनीहरूको घरेलु जीवन समस्याग्रस्त छ, परमेश्वरलाई तिनीहरू मनोहर लाग्दैनन्, र तिनीहरूको भविष्य धूमिल छ। कतिपय मानिसहरूले एउटा हदसम्म कष्ट भोग्छन्, तिनीहरू मर्नसमेत चाहन्छन्। यो परमेश्वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायर हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र अयोग्य छन्! परमेश्वर मानिसले उहाँलाई प्रेम गरोस् भनी उत्कण्ठित हुनुहुन्छ, तर मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ, मानिसको कष्ट उति नै बढी हुन्छ, र मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ, मानिसको परीक्षा उति नै ठुला हुन्छन्। यदि तँ उहाँलाई प्रेम गर्छस् भने, सबै प्रकारका कष्टहरू तँमाथि आइलाग्नेछन्—र यदि तँ उहाँलाई प्रेम गर्दैनस् भने, सायद तेरा निम्ति सबै कुरा सहज हुनेछ र तेरो वरिपरि सबथोक शान्तिपूर्ण हुनेछ। जब तँ परमेश्वरलाई प्रेम गर्छस्, तब तैँले आफ्नो वरिपरि विजय गर्न नसकिने धेरै कुराहरू छन् भन्ने सधैँ महसुस गर्नेछस्, र तेरो कद धेरै सानो भएकोले तँलाई शोधन गरिनेछ; त्यसमाथि, तँ परमेश्वरलाई सन्तुष्ट पार्न असक्षम हुनेछस्, र तैँले परमेश्वरका अभिप्रायहरू अति उच्च र मानिसको पहुँचभन्दा बाहिर छन् भन्ने महसुस गर्नेछस्। यी सबैका कारण तँलाई शोधन गरिनेछ—तँभित्र धेरै कमजोरीहरू भएकाले, र परमेश्वरको अभिप्रायहरू पूरा गर्न नसक्ने धेरै कुरा भएकाले, तँलाई आन्तरिक रूपमा शोधन गरिनेछ। तैपनि शोधनद्वारा मात्र शुद्धीकरण हासिल गरिन्छ भन्ने कुरालाई तैँले स्पष्ट रूपमा देख्नैपर्छ। यसैले, यी आखिरी दिनहरूका अवधिमा तिमीहरूले परमेश्वरको गवाही दिनैपर्छ। तिमीहरूका कष्टहरू जतिसुकै ठूला भए पनि, तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि, तिमीहरू परमेश्वरप्रति बफादार र उहाँकै योजनाबद्ध कार्यहरूका कृपामा रहनुपर्छ; यो मात्रै परमेश्वरलाई साँच्चै प्रेम गर्नु हो, र यो मात्र बलियो र गुन्जायमान गवाही हो। जब तँलाई शैतानले परीक्षा गर्छ, तैँले यसो भन्नुपर्छ: “मेरो हृदय परमेश्वरको हो, र परमेश्वरले मलाई अघिबाटै प्राप्त गरिसक्नुभएको छ। म तँलाई सन्तुष्ट पार्न सक्दिनँ—मैले मेरा सबै कुरा परमेश्वरलाई सन्तुष्ट पार्नको निम्ति समर्पण गर्नैपर्छ।” तैँले परमेश्वरलाई जति धेरै सन्तुष्ट पार्छस्, परमेश्वरले त्यत्तिनै धेरै तँलाई आशिष् दिनुहुन्छ र परमेश्वरप्रतिको तेरो प्रेमको शक्ति त्यति नै ठूलो हुन्छ; यसरी पनि तँसित विश्वास र संकल्प हुनेछ, अनि परमेश्वरलाई प्रेम गरेर जिउनुभन्दा उचित वा महत्त्वपूर्ण अरू केही छैन भनी तैँले महसुस गर्नेछस्। यो भन्न सकिन्छ, कि दुःखरहित हुनका निम्ति मानिसले परमेश्वरलाई प्रेम मात्रै गर्नुपर्छ। कहिलेकहीँ तेरो शरीर कमजोर हुनेभए पनि र तँ धेरै वास्तविक समस्याहरूले ग्रस्त हुनेभए पनि, यदि यस बेला तैँले साँच्चै परमेश्वरमा भरोसा राखिस् भने तेरो आत्माभित्र तँलाई सान्त्वना दिइनेछ, तँ ढुक्क हुनेछस्, र तैँले आफू भर पर्न सक्ने कुरा केही छ भन्ने महसुस गर्नेछस्। यसरी, तैँले धेरै वटा वातावरणमाथि विजय प्राप्त गर्न सक्नेछस्, अनि यसरी तैँले भोग्न परेको वेदनाका निम्ति परमेश्वरको बारेमा गुनासो गर्नेछैनस्। त्यसको साटो, तँ गाउन, नाच्न, र प्रार्थना गर्न, भेला हुन र सङ्गति गर्न, परमेश्वरको बारेमा विचार गर्न चाहन्छस्, र परमेश्वरले तेरो वरिपरि राख्नुभएका मानिसहरू, विषयहरू र थोकहरू उचित छन् भन्ने महसुस गर्नेछस्। यदि तँ परमेश्वरलाई प्रेम गर्दैनस् भने, तैँले हेर्ने सबै कुरा तँलाई पट्यारलाग्दो हुनेछ र कुनै पनि कुरा तेरा आँखाहरूलाई मनपर्दो हुनेछैन। तेरो आत्मामा तँ स्वतन्त्र हुनेछैनस्, तर अपहेलित हुन्छस्, तेरो हृदयले सधैँ परमेश्वरको बारेमा गुनासो गर्नेछ, र तैँले सधैँ धेरै पीडा सहनुपर्छ र यो अत्यन्तै अन्याय हो भन्ने महसुस गर्छस्। यदि तँ खुसीका पछि लाग्दैनस्, तर परमेश्वरलाई सन्तुष्ट पार्न र शैतानद्वारा दोषी हुन खोज्छस् भने त्यस्तो खोजीले तँलाई परमेश्वरलाई प्रेम गर्ने ठूलो शक्ति दिनेछ। मानिस परमेश्वरले बोल्नुभएका सबै कुरा पूरा गर्न सक्षम छ र उसले गर्ने सबै कुराद्वारा ऊ परमेश्वरलाई खुसी पार्न सक्षम छ—वास्तविकता हुनु भनेको अर्थ यही नै हो। परमेश्वरको सन्तुष्टि पछ्याउनु भनेको उहाँको वचन अभ्यास गर्नका लागि परमेश्वरलाई प्रेम गर्ने तेरो हृदय प्रयोग गर्नु हो; समय जे-जस्तो भए पनि—अरू शक्तिविहीन हुँदा समेत—तँभित्र अझै पनि परमेश्वरलाई प्रेम गर्ने एउटा हृदय हुन्छ, र तँ भित्री गहिराइदेखि परमेश्वरको तृष्णा गर्छस् र उहाँलाई याद गर्छस्। यो वास्तविक कद हो। तेरो कद कति ठूलो छ भन्ने कुरा तँसँग परमेश्वरलाई प्रेम गर्ने हृदय कत्तिको छ, तँलाई जाँचिदा तँ दृढ रहन सक्छस् कि सक्दैनस्, तँमाथि कुनै विशेष वातावरण आइपर्दा तँ कमजोर हुन्छस् कि हुँदैनस्, तेरा दाजुभाइ, दिदी-बहिनीले तँलाई तिरस्कार गर्दा तँ आफ्नो जमिनमा खडा हुन्छस् कि सक्दैनस् भन्ने कुरामा निर्भर हुन्छ; तथ्यहरूको आगमनले परमेश्वरलाई प्रेम गर्ने तेरो हृदय ठ्याक्कै कस्तो छ भनी देखाउनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्
परमेश्वरले उहाँको देखा पराइको तृष्णा गर्नेहरूलाई खोजिरहनुभएको छ, उहाँका वचनहरू मान्नेहरूलाई खोजिरहनुभएको छ, उहाँका आज्ञा नबिर्सनेहरू र आफ्ना हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई खोजिरहनुभएको छ, र उहाँसामु बालकहरूझैँ समर्पित हुने र प्रतिरोधी नहुनेहरूलाई खोजिरहनुभएको छ। यदि तँ आफैलाई परमेश्वरमा अर्पित गर्छस्, कुनै शक्तिद्वारा रोकिँदैनस् भने, परमेश्वरले तँलाई कृपाका साथ हेर्नुहुनेछ, र तँमाथि आशिष् बर्साउनुहुनेछ। यदि तँसँग उच्च हैसियत, सम्माननीय प्रतिष्ठा, ज्ञानको भण्डार, विविध सम्पत्ति, र धेरै मानिसहरूको समर्थन छ, तैपनि तँ यी कुराहरूको झमेला अनुभूत गर्दैनस् र उहाँको बोलावट र उहाँको आज्ञा स्वीकार गर्न र तँबाट परमेश्वरले माग्नुभएका कार्यहरू गर्नका लागि अझै पनि परमेश्वरका सामु आउँछस् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा सबैभन्दा अर्थपूर्ण अभियान र मानवजातिका निम्ति सबैभन्दा धर्मी प्रयास हुनेछन्। यदि तैँले हैसियत वा तेरा आफ्नै लक्ष्यहरूका खातिर परमेश्वरको बोलावटलाई अस्वीकार गर्छस् भने, तैँले गर्ने सबै कुराहरू श्रापित हुनेछन्, र अझ बढी, परमेश्वरद्वारा घृणित समेत हुनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ