विषयवस्तु नौ: तिनीहरूले आफैलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती चासोहरूलाई समेत बेच्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग एक)

पूरक: सत्यता के हो

आज हामी पछिल्लोपटकको विषयवस्तु सङ्गति गर्न जारी राख्नेछौं। हामीले पछिल्लोपटक के विषय सङ्गति गरेका थियौँ? (“आफैलाई पीडा दिएर विगतको तीतोपन पलपल मनमा गुन्‍नु” भन्‍ने कुरा सत्यता होइन।) त्यसोभए के तिमीहरूले यो सत्यता हो भनेर सोच्थ्यौ? मानिसहरूले यो सत्यता हो, वा कम्तीमा पनि यो निकै सकारात्मक र प्रेरणादायी कुरा हो, र यसले मानिसहरूलाई सक्रिय हुन र उपरगामी हुन प्रोत्साहन दिन सक्छ भन्‍ने सोच्थे। यसलाई अर्थको यो स्तरबाट हेर्दा, मानिसहरूले यो सत्यतासँग निकै नजिक छ र सकारात्मक कुरासँग पनि निकै नजिक छ भन्‍ने सोच्थे। त्यसकारण, धेरै मानिसहरूले अवचेतन रूपमै आफैलाई पीडा दिएर विगतको तीतोपन पलपल मनमा गुन्‍नु भन्‍ने यो भनाइ निकै सकारात्मक अभिव्यक्ति हो, वा कम्तीमा पनि, यसमा नकारात्मक होइन, सकारात्मक अर्थहरू छन्, र यसले मानिसहरूको जीवन र व्यवहारमा सहयोगी भूमिका खेल्छ भन्‍ने विश्‍वास गर्थे। तर यसबारे सङ्गति गरिसकेपछि, हामीले यो त्यस्तो कुरा होइन, यसमा त ठूला समस्याहरू रहेछन् भन्‍ने देख्यौँ। के तिमीहरूले यो अभिव्यक्तिसँग मिल्ने वा सम्बन्धित रहेका, वा यस्तै भूमिका भएका, र मानिसहरूले अवचेतन रूपमा निकै सकारात्मक वा निकै असल ठान्‍ने अभिव्यक्तिहरू खोजेर तिनलाई चिरफार गरेका छौ? (छैनौं।) मलाई भन त, के यहाँ “एउटा घटनाबाट धेरै निचोड निकाल्नु” भन्‍ने अभिव्यक्ति उपयुक्त छ? (छ।) सत्यता खोज्‍ने र सत्यता अभ्यास गर्ने कार्यमा यो अभिव्यक्तिका व्यावहारिक प्रयोगहरू छन् भनेर भन्‍नुपर्छ। पछिल्‍लोपटक हामीले “आफैलाई पीडा दिएर विगतको तीतोपन पलपल मनमा गुन्‍नु” भन्‍ने भनाइबारे सङ्गति गरेका थियौँ। यस्तै अरू के-कस्ता अभिव्यक्तिहरू छन्? अरू कुन-कुन अभिव्यक्तिहरूको अर्थ लगभग उस्तै हुन्छ, वा तिनले उस्तै भूमिका खेल्न सक्छन्? मेरो तरिकाअनुसार तिमीहरूले “आफैलाई पीडा दिएर विगतको तीतोपन पलपल मनमा गुन्‍नु” भन्‍नेजस्ता अभिव्यक्तिहरू चिरफार गर्दा, त्यसबारे एकअर्कासँग सङ्गति गर्दा, र केही नयाँ बुझाइहरू प्राप्त गर्दा, तिमीहरूलाई कुनै हानि हुँदैन। जब तिमीहरूले ती कुराहरूको भ्रामकता देख्‍न सक्छौ, तब तिमीहरूले त्यस्ता अभिव्यक्तिहरू त्याग्‍नेछौ, र त्यसपछि तिमीहरूले पूर्णतया परमेश्‍वरका वचनहरूमा आधारित भएर सत्यता अभ्यास गर्ने र सत्यता खोजी गर्ने मार्ग लिनेछौ।

अब हामी अघिल्लो दुईपटक हामीले सङ्गति गरेको विषयलाई नै जारी राखौँ। त्यो विषय के थियो? (सत्यता के हो।) ठीक भन्यौ, सत्यता के हो। त्यसोभए सत्यता वास्तवमा के हो त? (सत्यता भनेको मानिसहरूको व्यवहार, कार्य र परमेश्वरको आराधनाका लागि मापदण्ड हो।) यो वाक्य सिद्धान्त र परिभाषाको हिसाबमा तिमीहरूले कण्ठ गरेका छौ जस्तो देखिन्छ। त्यसकारण, हाम्रो अघिल्ला दुई सङ्गतिपछि, सत्यताबारेको तिमीहरूको परिभाषा, ज्ञान, र बुझाइ सन्दर्भमा, के अहिले पहिलेको तुलनामा तिमीहरूको हृदयको गहिराइमा कुनै भिन्‍नता छ? (हो, छ।) यो भिन्‍नता वास्तवमा के हो त? छोटो अवधिमा तँमा वास्तविक अनुभवको ज्ञान नहुन सक्छ, तर कम्तीमा पनि तँमा केही न केही अवधारणागत ज्ञानचाहिँ हुन्छ। तिमीहरूका आफ्नै अनुभव, ज्ञान र बुझाइको आधारमा मलाई भन त। (मैले समस्याहरू आइपर्दा परमेश्‍वरका वचनहरूको सत्यताअनुसार अभ्यास गर्नुपर्छ भन्‍ने मलाई पहिले थाहा थियो, तर मैले यसलाई कहिल्यै अभ्यास गर्न सकिनँ। जस्तै, ममा प्रायजसो आवेश प्रकट गर्ने प्रवृत्ति भइरहन्छ, र मलाई आवेश प्रकट गर्नु गलत हो भनेर परमेश्‍वरका वचनहरूबाट थाहा भएको भए पनि, र मानिसहरूप्रतिका परमेश्‍वरका मापदण्डहरू मलाई थाहा भएको भए पनि, म अझै पनि त्यसै गर्छु, र मैले कहिल्यै पनि मूल कारण पत्ता लगाउन सकेको छैनँ। पछिल्लोपटक परमेश्‍वरको सङ्गति सुनेपछि मात्रै मलाई महसुस भयो कि, मानिसहरू शैतानी विचारहरूद्वारा नियन्त्रित हुन्छन्, त्यसैले तिनीहरूले प्रायजसो भ्रष्टता प्रकट गर्ने गर्छन्, र मभित्र पनि “आइनलागिञ्‍जेल जाइलागिँदैन; आइलागे छोडिँदैन” भन्‍ने शैतानी तर्क छ, त्यसकारण म आवेश प्रकट गर्छु। मलाई यो भनाइ सही लाग्छ, र म आत्मरक्षाको माध्यमको रूपमा यस्तो व्यवहार गर्छु। यो शैतानी सोचाइ र दृष्टिकोणको प्रभावमा परेकोले, म सत्यता अभ्यास गर्न सक्दिनँ। तर वास्तवमा, यी शैतानी कुराहरू बाहिरी रूपमा सही देखिए पनि, वास्तवमा तिनले व्यक्त गर्ने अर्थहरू परमेश्‍वरका वचनहरूको मापदण्डविपरीत छन्, र ती गलत छन्। परमेश्‍वरका वचनहरू मात्रै सत्यता हुन्, र परमेश्‍वरका वचनहरूअनुसार काम गर्नु मात्रै पूर्ण रूपमा सही हुन्छ।) एकदम राम्रो। कसले अरू कुरा थप्‍न सक्छ? (मलाई केही कुरा थप्‍न मन लाग्यो। मलाई समस्या आइपर्दा सत्यता खोजेर अभ्यास गर्नुपर्छ भन्‍ने मलाई पनि पहिले थाहा थियो, तर अभ्यास कसरी गर्ने भन्‍नेबारे मलाई अलिक अन्योल थियो। परमेश्‍वरको सङ्गति सुनेपछि, मलाई अब सत्यता अत्यन्तै यथार्थपरक छ र जीवनको हरेक पक्षसँग सम्बन्धित छ भन्‍ने लागेको छ। परमेश्‍वरले उल्लेख गर्नुभएका केही उदाहरणहरू नै लिऊँ। चिनियाँ मानिसहरूले पनि पश्‍चिमी देशहरूमा पुगेपछि कफी पिउन सिक्छन्। यो व्यक्तिले गर्ने व्यवहारको समस्या होइन, तर मानिसहरूको सोचाइ र दृष्टिकोणको समस्या हो, र यो सत्यतासँग सम्बन्धित छ। यसको साथै, मानिसहरूले सही ठानेका केही आम भनाइ र टुक्‍काहरूबारे परमेश्‍वरले गर्नुभएको चिरफारपछि, मैले सही देखिने आफ्नै व्यवहार र अभ्यासहरू, र यी व्यवहारहरूपछाडि रहेका अभिप्राय, विचार, र दृष्टिकोणहरू, र यी कुराहरूमा भर पर्दा म के कुरा जिइरहेकी छु भन्‍नेबारे मनन गर्नुपर्छ भन्‍ने कुरा सोचेँ। मलाई समस्या आइपर्दा कसरी सत्यता खोज्‍ने र अभ्यास गर्ने भन्‍नेबारे अहिले मसँग अझै ठोस र अस्पष्टतारहित अनुभव छ।) यस्तो देखिन्छ, यी दुई सङ्गतिहरूमार्फत, धेरैजसो मानिसहरूले सत्यता के हो भन्‍नेबारे र सत्यतासँग सम्बन्धित केही विषयहरूबारे आधारभूत बुझाइ प्राप्त गरेका छन् र तिनीहरूले आफ्नो आनीबानी र व्यवहार सत्यतासँग सम्बन्धित छन् छैनन्, साथै परमेश्‍वरमाथिको विश्‍वासमा तिनीहरूले पालना गर्ने र सुन्‍ने कुराहरूमध्ये कुन-कुन कुराहरू सत्यता हुन् र कुन-कुन कुराहरू सत्यता होइनन्, र तिनीहरूले सही ठानेका कुराहरू वास्तवमा सत्यता हुन् होइनन्, र सत्यतासँग यस्ता कुराहरूको सम्बन्ध के हो भन्‍नेबारे तिनीहरूले आफ्‍नो हृदयको अन्तस्करणबाट मनन गर्न थालेका छन्। अनि यसरी मनन गरिसकेपछि, मानिसहरूले ठ्याक्‍कै रूपमा सत्यता के हो, साथै कुन-कुन कुराहरू सत्यता हुन्, र कुन-कुन कुराहरू सत्यता होइनन् भनेर निर्धारित गर्न सक्छन्। धेरै वर्षदेखि प्रवचन सुनेपछि र धेरै वर्षदेखि परमेश्‍वरका वचनहरू खाँदै-पिउँदै बसेपछि, धेरैजसो मानिसहरूले केही न केही कुराहरू प्राप्त गरेका हुन्छन् र तिनीहरूले स्पष्ट रूपमा एउटा तथ्य देख्‍न सक्छन्, र त्यो तथ्य के हो भने: परमेश्‍वरका वचनहरू वास्तवमै सत्यता हुन्, परमेश्‍वरका मापदण्डहरू सत्यता हुन्, र परमेश्‍वरबाट आउने सबै कुरा सत्यता हुन्। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिसहरूले यो तथ्यलाई पहिले नै हृदयदेखि मानेका र स्विकारेका छन्, तर वास्तविक जीवनमा तिनीहरूले प्रायजसो अचेतन रूपमा सत्यतासँग कुनै सम्बन्ध नभएका वा सत्यताविपरीत रहेका कुराहरू बोल्न सक्छन्। कतिपय मानिसहरूले अझै पनि आफूले सही र असल ठानेका कुराहरूलाई नै सत्यताको रूपमा लिन सक्छन्, र तिनीहरूले खासगरी शैतानबाट आउने, र हृदयमा आफूले स्विकारेका र सकारात्मक कुराहरूको रूपमा ग्रहण गरेका मिथ्या भ्रम र बकवासहरूलाई पहिचान गरेका हुँदैनन्। उदाहरणको लागि, “खुनको बदला खुन, ज्यानको बदला ज्यान”, “जस्तालाई त्यस्तै, ढिँडोलाई निस्तै”, “बुद्धिमान मानिसहरू आत्मरक्षामा सिपालु हुन्छन्, तिनीहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्छन्”, र “आइनलागिञ्‍जेल जाइलागिँदैन” भन्‍नेजस्ता धेरै शैतानी दर्शनहरूलाई मानिसहरूले सत्यता र जीवनका आदर्श वाक्य मान्छन्, र तिनीहरू आफूले यी शैतानी दर्शनहरू पालना गरेकोमा आफूप्रति विशेष रूपमा खुसीसमेत महसुस गर्छन्, र परमेश्‍वरका वचनहरू पढेपछि मात्रै तिनीहरूले शैतानका यी कुराहरू वास्तवमा सत्यता होइनन्, बरु मानिसहरूलाई धोका दिने मिथ्या विधर्म र भ्रमहरू हुन् भन्‍ने महसुस गर्छन्। अनि, यी कुराहरू कहाँबाट आएका हुन्छन्? कतिपय कुराहरू विद्यालयको शिक्षाबाट र पाठ्यपुस्तकहरूबाट आएका हुन्छन्, कतिपय कुराहरू पारिवारिक शिक्षाबाट आएका हुन्छन्, र कतिपय कुराहरू सामाजिक अभ्यस्तीकरणबाट आएका हुन्छन्। छोटकरीमा भन्दा, ती सबै परम्परागत संस्कृतिबाट आएका र शैतानको शिक्षाबाट उत्पन्‍न भएका हुन्छन्। के सत्यतासँग यी कुराहरूको कुनै सम्बन्ध हुन्छ? सत्यतासँग यी कुराको कुनै सम्बन्ध हुँदैन। तर मानिसहरूले यी कुराहरूलाई वास्तविक रूपमा चिन्‍न सक्दैनन्, र अझै पनि यिनैलाई सत्यताको रूपमा लिन्छन्। के यो समस्या साह्रै गम्भीर भइसकेको छैन र? अनि, शैतानका यी कुराहरूलाई सत्यताको रूपमा लिनुका परिणामहरू के-के हुन्? के मानिसहरूले यी कुराहरूमा लागेर आफ्नो भ्रष्ट स्वभाव त्याग्‍न सक्छन्? के मानिसहरू यी कुराहरूमा लागेर सामान्य मानवतामा जिउन सक्छन्? के मानिसहरू यी कुराहरूमा लागेर विवेक र समझअनुसार जिउन सक्छन्? के तिनीहरू यी कुराहरूमा लागेर विवेक र समझको मापदण्डमा उठ्न सक्छन्? के यी कुराहरूमा लागेर मानिसहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन्? तिनीहरूले यीमध्ये कुनै पनि कुरा हासिल गर्न सक्दैनन्। तिनीहरूले यीमध्ये कुनै पनि कुरा हासिल गर्न नसक्ने हुनाले, के मानिसहरूले पालना गर्ने यी कुराहरू सत्यता हुन् त? के यी कुराले व्यक्तिको जीवनको रूपमा काम गर्न सक्छन् त? मानिसहरूले आफूले सही र असल ठानेका दुनियाँसित व्यवहार गर्ने सांसारिक दर्शनहरू, अस्तित्वजीवी मार्गहरू, अस्तित्वजीवी नियमहरू, र परम्परागत संस्कृतिजस्ता नकारात्मक कुराहरूलाई समेत सत्यताको रूपमा लिएर पालना गरेपछि, त्यसका के परिणामहरू आउनेछन्? मानवजाति हजारौँ वर्षदेखि यी कुराहरूमा लागिरहेको छ। के यसमा अलिकति पनि परिवर्तन आएको छ र? के मानवजातिको वर्तमान स्थिति परिवर्तन भएको छ र? के भ्रष्ट मानवजाति परमेश्‍वरप्रति झन्झन् दुष्ट र झन्झन् प्रतिरोधी हुँदै गइरहेको छैन र? परमेश्‍वरले आफ्नो काम गर्नुहुँदा, हरेकपटक नै धेरै सत्यता व्यक्त गर्नुहुन्छ, र मानिसहरूले यी सत्यताहरूमा अख्तियार र शक्ति छ भन्‍ने कुरा देख्‍न सक्छन्, र पनि मानिसहरूले कसरी अझै परमेश्‍वरलाई इन्कार र विरोध गर्न सक्छन्? तिनीहरू किन अझै पनि परमेश्‍वरलाई स्विकार्न र उहाँमा समर्पित हुन सक्दैनन्? यो कुरा मानवजाति शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएको छ, भ्रष्ट मानवजाति शैतानी स्वभावले भरिएको छ, र मानिसहरू सबै सत्यताप्रति विमुख रहन्छन्, यसलाई घृणा गर्छन्, र यसलाई पटक्कै स्विकागर्दैनन् भनेर देखाउनलाई पर्याप्त छ। यो समस्याको जड भनेको मानिसहरूले धेरै शैतानी दर्शन र धेरै शैतानी ज्ञान ग्रहण गरेको हुनु हो। मानिसहरू आफ्नो हृदयको गहिराइमा हरकिसिमका शैतानी विचार र दृष्टिकोणहरूले भरिएका हुन्छन्, त्यसकारण तिनीहरूले सत्यताप्रति विमुख रहने र सत्यतालाई घृणा गर्ने स्वभाव विकास गरेका हुन्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने धेरै मानिसहरूले परमेश्‍वरका वचनहरूमा अख्तियार र शक्ति छ भनेर स्वीकार गरे पनि, तिनीहरूले सत्यता स्वीकार गर्दैनन् भन्‍ने कुरा हामीले परमेश्‍वरमा विश्‍वास गर्ने धेरै जना मानिसहरूको उदाहरणबाट देख्‍न सक्छौँ। अर्थात्, जब मानिसहरूले परमेश्‍वरका वचनहरू खान्छन्-पिउँछन्, तब तिनीहरूले “परमेश्‍वरका वचनहरू सत्यता हुन्, सत्यताभन्दा माथि केही पनि छैन, सत्यता हाम्रो हृदयमा छ, र सत्यता पछ्याउने कार्यलाई हामी जीवनअस्तित्वको उद्देश्यको रूपमा लिन्छौँ” भनेर मुखले स्विकारे पनि, वास्तविक जीवनमा तिनीहरू अझै पनि प्रख्यात शैतानी भनाइहरू र शैतानी दर्शनहरूअनुसार जिउँछन्, र परमेश्‍वरका वचनहरू र सत्यतालाई पन्छाउँछन्, र मानव धर्मशास्‍त्रीय ज्ञान र आत्मिक धर्मसिद्धान्तजस्ता कुराहरूलाई सत्यताजस्तै मानेर अभ्यास गर्छन्। के परमेश्‍वरमा विश्‍वास गर्ने धेरैजसो मानिसहरूको वास्तविक स्थिति यही होइन र? (हो।) यदि तिमीहरू यसरी नै लागिरहन्छौ र शैतानी परम्परागत संस्कृतिको जरा गाडेका यी कुराहरूलाई परमेश्‍वरका वचनहरूअनुसार चिरफार गर्दैनौ र बुझ्दैनौ भने, र यदि तिमीहरूले यी कुरालाई जरैबाट चिन्न सक्दैनौ, वा यीबारेमा राम्ररी बुझ्न सक्दैनौ, वा यिनलाई त्याग्‍न सक्दैनौ भने, यसको परिणाम के हुनेछ? एउटा परिणाम पक्का छ, र त्यो के हो भने, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको कैयौँ वर्ष भएको हुन्छ, तैपनि तिनीहरूले सत्यता के हो वा कुन मार्ग लिने भनेर जान्दैनन्, र अन्त्यमा तिनीहरू सबैको जिब्रोमा आत्मिक धर्मसिद्धान्त र धर्मशास्‍त्रीय सिद्धान्तहरू झुण्डिन्छन्, र तिनीहरूले भन्‍ने सबै कुरा राम्रा र सत्यताअनुरूपका सिद्धान्तहरू हुन् जस्ता सुनिन्छन्। तर अभ्यास गर्ने र जिउने कार्यको हिसाबमा, वास्तवमा यी मानिसहरू धेरै हदसम्म ढोँगी फरिसीहरू हुन्। अनि, यसका परिणामहरू के-के हुन्? निस्सन्देह नै, तिनीहरूलाई परमेश्‍वरले दोषी ठहराउनुहुन्छ र श्राप दिनुहुन्छ। परमेश्‍वरमा विश्‍वास गर्ने तर सत्यता नस्विकार्नेहरू फरिसीहरू हुन् र तिनीहरूले परमेश्‍वरको अनुमोदन कहिल्यै पाउन सक्दैनन्।

उदाहरणको लागि, छोराछोरीको शिक्षासम्बन्धी विषयमा कुरा गर्नुपर्दा, कतिपय बुबाहरूले आफ्ना छोराछोरी अटेरी भएको र तिनीहरूले उचित कर्तव्य ननिभाएको देख्दा यसो भन्छन्: “प्राचीन मानिसहरूले ‘शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो’” भनेर भनेको ठीकै रहेछ। त्यस्ता बुबाहरूले यो कुरालाई परमेश्‍वरका वचनहरूअनुसार लिँदैनन्। तिनीहरूको हृदयमा परमेश्‍वरका वचनहरू होइन, मानिसहरूका वचनहरू मात्रै हुन्छन्। त्यसोभए के तिनीहरूमा सत्यता वास्तविकता हुन्छ त? अहँ, हुँदैन। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि र केही सत्यताहरू बुझे पनि, र बुबाको रूपमा जिम्मेवारी पूरा गर्न सत्यता प्रयोग गरी छोराछोरीलाई कसरी शिक्षा दिने भनेर जानेको हुनुपर्ने भए पनि, तिनीहरूले यसरी अभ्यास गर्दैनन्। जब तिनीहरूले छोराछोरी गलत मार्गमा हिँडिरहेको देख्छन्, तब तिनीहरूले लामो सास फेरेर भन्छन्, “शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो।” यो कस्तो अभिव्यक्ति हो? यो कसको प्रसिद्ध भनाइ हो? (शैतानको प्रसिद्ध भनाइ हो।) के परमेश्‍वरले कहिल्यै यस्तो अभिव्यक्ति दिनुभएको छ? (छैन।) त्यसोभए यो अभिव्यक्ति कहाँबाट आएको हो? (शैतानबाट।) यो शैतानबाट आउँछ, यो संसारबाट आएको हो। मानिसहरूले सत्यतालाई यति धेरै “पछ्याउँछन्”, र सत्यतालाई यति धेरै “प्रेम गर्छन्”, र सत्यतालाई यति धेरै “उचाल्छन्”, र पनि किन तिनीहरूले यस्ता कुराहरू आइपर्दा यस्ता शैतानी अभिव्यक्तिहरू बोल्छन्? तिनीहरूलाई त यो कुरा बोल्नु उचित र इज्जतको कुरा हो भन्‍नेसमेत लाग्छ। तिनीहरू भन्छन्, “हेर त, मसँग सत्यता र परमेश्‍वरप्रति कति धेरै आदर र सम्‍मान छ। म मुख खोल्छु र भन्छु, ‘शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो’—यो कति ठूलो सत्यता हो! यदि मैले परमेश्‍वरमा विश्‍वास नगरेको भए, के मैले यस्तो अभिव्यक्ति बोल्न सक्थेँ र?” के त्यो यसलाई सत्यताको रूपमा प्रस्तुत गर्नु होइन र? (हो।) के यो अभिव्यक्ति सत्यता हो त? (होइन।) “शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो” भन्‍ने यो अभिव्यक्ति कस्तो अभिव्यक्ति हो? यो कुन हिसाबले गलत छ? यो अभिव्यक्तिको अर्थ के हो भने, यदि छोराछोरी अटेरी वा अपरिपक्व छन् भने, यो बुबाको जिम्मेवारी हो, अर्थात् बुबाले तिनीहरूलाई राम्ररी शिक्षा दिएको छैन। तर के साँचो कुरा यही हो त? (होइन।) कतिपय आमाबुबाले उचित आचरणसाथ व्यवहार गर्छन्, तैपनि तिनीहरूका छोराहरू गुण्डा र छोरीहरू वेश्या हुन्छन्। बुबाको भूमिकामा रहेको व्यक्तिलाई साह्रै रिस उठ्छ र भन्छ: “शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो। मैले यिनीहरूलाई पुलपुल्याएर बिगारेँ!” यसो भन्‍नु सही हो, कि होइन? (होइन, यो गलत हो।) यो कुन हिसाबले गलत छ? यदि तैँले यो अभिव्यक्तिमा के गलत छ भनेर बुझ्न सक्छस् भने, यसले तैँले सत्यता बुझेको छस् र यो अभिव्यक्तिमा निहित समस्याबारे के गलत छ भनेर बुझेको छस् भन्‍ने प्रमाणित गर्छ। यदि तैँले यो मामलाको सत्यता बुझ्दैनस् भने, तैँले यो मामला स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनस्। अहिले तिमीहरूले सत्यताको व्याख्या र परिभाषा सुनेका हुनाले, यो अभिव्यक्तिप्रति तिमीहरूमा केही भावनाहरू हुन सक्छन्। तिमीहरूले “यो अभिव्यक्ति गलत छ। यो सांसारिक अभिव्यक्ति हो। परमेश्‍वरमा विश्‍वास गर्ने हामी त्यस्तो कुरा बोल्दैनौँ” भनेर भन्‍न सक्छौ। तर यो त फरक तरिकाले भन्‍नु मात्रै हो। यसको अर्थ तैँले सत्यता बुझेको छस् भन्‍ने हुँदैन—वास्तवमा, “शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो” भन्‍ने अभिव्यक्तिमा के गलत छ भन्‍ने तँलाई थाहै छैन। यस्तो मामला सामना गर्दा, तैँले के भन्‍नुपर्छ, जुन सत्यताअनुरूप हुन सक्छ? तैँले सत्यता सिद्धान्तहरूअनुसार कसरी व्यवहार गर्नुपर्छ? सुरुमा यस्ता कुराहरूलाई कसरी सही रूपमा बुझ्ने र व्याख्या गर्ने भन्‍नेबारेमा कुरा गरौं। यसको बारेमा परमेश्‍वरले के भन्‍नुहुन्छ? के परमेश्‍वरका वचनहरूमा त्यस्ता विषयमा किटेरै केही भनिएको छ? परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, ताकि मानिसहरूले ती सत्यता स्विकार्न र तिनलाई आफ्नो जीवन बनाउन सकून्। त्यसकारण जब मानिसहरूले आफ्ना छोराछोरीलाई शिक्षा दिन्छन्, तब के तिनीहरूले तिनीहरूलाई सिकाउन परमेश्‍वरका वचनहरू प्रयोग गर्नुपर्दैन र? परमेश्‍वरका वचनहरू सारा मानवजातिको निम्ति बोलिन्छ। तिमीहरू वयस्क भए नि बालक भए नि, पुरुष भए नि वा महिला भए नि, वृद्ध भए नि वा जवान भए नि, सबैले परमेश्‍वरका वचनहरू स्वीकार गर्नुपर्छ। परमेश्‍वरका वचनहरू मात्रै सत्यता हुन् र ती मानिसहरूको जीवन बन्न सक्छन्। परमेश्‍वरका वचनहरूले मात्रै मानिसहरूलाई जीवनको सही मार्गमा डोर्‍याउन सक्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले यो मामला राम्ररी बुझ्न सक्नुपर्छ। “शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो” भन्‍ने अभिव्यक्तिलाई तिमीहरू कसरी व्याख्या गर्छौ? (व्यक्तिले लिने मार्ग उसको प्रकृति सारद्वारा निर्धारित हुन्छ। साथै, उसले यो जीवनमा भोग्‍ने दण्ड वा उसले प्राप्त गर्ने आशिष्‌हरू उसको अघिल्लो जीवनसँग सम्बन्धित हुन्छन्। त्यसकारण, “आमाबुबाले राम्ररी शिक्षा नदिएकाले बालबच्‍चाले सही मार्ग पछ्याउँदैनन्” भन्‍ने अभिव्यक्ति जाँच्दा सही साबित हुँदैन, र यसले परमेश्‍वरले मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्‍नुभएको हुन्छ भन्‍ने तथ्यलाई पूरै इन्कार गर्छ।) तैँले भनेको कुराअनुसार, के छोराछोरीले सही मार्ग नलिनुसँग परमेश्‍वरको सार्वभौमिकताको कुनै सम्बन्ध छ त? परमेश्‍वरले मानिसहरूलाई आफ्नै छनौटहरू गर्न र सही मार्ग चुन्‍न दिनुहुन्छ। तैपनि, मानिसहरूमा शैतानी प्रकृति हुन्छ, र सबैले आफ्नै छनौटहरू गर्छन्, र सबैले आफ्नै मनपर्ने मार्ग रोज्छन्, र परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुन इच्छुक हुँदैनन्। यदि तैँले भनेको कुरा सत्यतासँग मिल्छ भने, तैँले यसलाई स्पष्ट रूपमा व्याख्या गर्नुपर्छ ताकि मानिसहरू यसमा विश्‍वस्त हुन सकून्।

यसपछि हामी “शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो” भन्‍ने वाक्यांशबारे सङ्गति गर्नेछौँ। पहिलो कुरा स्पष्ट पार्नुपर्छ, “छोराछोरीले सही मार्ग पछ्याउन नसक्नु भनेको आमाबुबासँग सम्बन्ध भएको कुरा हो” भनेर भन्‍नु गलत हो। व्यक्ति जोसुकै भए पनि, यदि ऊ निश्‍चित प्रकारको व्यक्ति हो भने, ऊ त्यही निश्‍चित मार्गमा हिँड्छ। के यो निश्‍चित कुरा होइन र? (हो।) व्यक्तिले लिने मार्गले नै ऊ वास्तवमा को हो भन्‍ने कुरा निर्धारित गर्छ। उसले हिँड्ने मार्ग र ऊ कस्तो व्यक्ति बन्छ भन्‍ने कुरा उसको आफ्‍नै हातको कुरा हो। यी कुराहरू पूर्वनिर्धारित, अन्तर्निहित, अनि व्यक्तिको प्रकृतिसँग सम्बन्धित हुन्छन्। त्यसोभए आमाबुबाको शिक्षाको उपादेयता के हो त? के यसले व्यक्तिको प्रकृति नियन्त्रण गर्न सक्छ त? (सक्दैन।) आमाबुबाको शिक्षाले मानव प्रकृति नियन्त्रण गर्न र व्यक्तिले कुन मार्ग लिन्छ भन्‍ने समस्या सुल्झाउन सक्दैन। आमाबुबाले प्रदान गर्न सक्‍ने एउटै शिक्षा के हो? छोराछोरीको दैनिक जीवनका केही सरल व्यवहारहरू, केही सतही विचारहरू र व्यवहारका नियमहरू—यी आमाबुबासँग सम्बन्ध भएका कुराहरू हुन्। आमाबुबाले छोराछोरी वयस्कतामा पुग्‍नुपहिले, आफ्नो उचित जिम्मेवारी पूरा गर्नुपर्छ, र त्यो भनेको छोराछोरीलाई सही मार्ग हिँड्न, मेहनतसाथ अध्ययन गर्न, र हुर्किएपछि अरूभन्दा माथि उठ्न सक्षम हुन प्रयास गर्न, खराब काम नगर्न वा खराब मानिसहरू नबन्न सिकाउनु हो। आमाबुबाले छोराछोरीको व्यवहारलाई नियमन पनि गर्नुपर्छ, तिनीहरूलाई शिष्ट व्यवहार गर्न र अग्रजहरूलाई देख्दा अभिवादन गर्न सिकाउनुपर्छ, र व्यवहारसम्बन्धी अन्य कुराहरू सिकाउनुपर्छ—आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारी यही हो। छोराछोरीको जीवनको हेरचाह गर्ने र व्यवहारसम्‍बन्धी केही आधारभूत नियमहरूबारे तिनीहरूलाई शिक्षा दिने—आमाबुबाको प्रभाव यही हो। छोराछोरीको व्यक्तित्वको हकमा भन्दा, आमाबुबाले यो कुरा सिकाउन सक्दैनन्। कतिपय आमाबुबा सहज हुन्छन् र सबै कुरा बिस्तारै गर्छन्, तर तिनीहरूका छोराछोरी अत्यन्तै हतारे हुन्छन् र केही पल पनि त्यतिकै बस्न सक्दैनन्। तिनीहरू १४-१५ वर्षको हुँदा आफै कमाई खान जान्छन्, सबै कुरामा तिनीहरूले आफ्नै निर्णय गर्छन्, तिनीहरूलाई आमाबुबाको आवश्यकता पर्दैन, र तिनीहरू अत्यन्तै आत्मनिर्भर हुन्छन्। के तिनीहरूलाई आमाबुबाले यो कुरा सिकाएका हुन्छन् त? हुँदैनन्। त्यसकारण, व्यक्तिको व्यक्तित्व, स्वभाव, र उसको सारसमेत, साथै उसले भविष्यमा रोज्ने मार्गसँग उसका आमाबुबाको कुनै सम्बन्ध हुँदैन। कतिपयले यसो भन्दै यो कुराको खण्डन गर्छन्, “अनि तिनीहरूसँग यसको कुनै सम्बन्ध कसरी नहुन सक्छ त? कतिपय मानिसहरू विद्वान परिवार वा कुनै निश्‍चित पेसामा पुस्तौंपुस्तादेखि विशेषज्ञता भएको परिवारबाट आएका हुन्छन्। उदाहरणको लागि, एउटा पुस्ताले चित्रकला अध्ययन गर्छ, अर्को पुस्ताले पनि चित्रकला नै अध्ययन गर्छ, र फेरि अर्को पुस्ताले पनि त्यसै गर्छ। यसले ‘शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो’ भन्‍ने वाक्यांशको सत्यता पुष्टि गर्छ।” के यसो भन्‍नु सही हो, कि गलत हो? (गलत हो।) यो समस्या चित्रण गर्न यो उदाहरण प्रयोग गर्नु गलत र त्रुटिपूर्ण छ, किनभने यी दुई फरकफरक कुराहरू हुन्। पुस्तौँपुस्तादेखि विशेषज्ञताको अनुभव पाएको परिवारले एउटा पक्षको सीपमा मात्रै प्रभाव पार्छ, र यस्तो पारिवारिक वातावरणको परिणामस्वरूप सबैले उही कुरा सिक्न सक्छन्। झट्ट हेर्दा, सन्तानले पनि उही कुरा छनौट गरेजस्तो देखिन्छ, तर मूलजड हेर्दा, यो सब परमेश्‍वरको पूर्वनिर्धारित कार्य हो। यो व्यक्तिको पुनर्जन्म कसरी यो परिवारमा भयो? के त्यसमा पनि परमेश्‍वरको सार्वभौमिकता हुँदैन र? छोराछोरीलाई वयस्कतामा पुर्‍याउने जिम्मेवारी मात्रै आमाबुबाको हुन्छ। बाहिरी व्यवहार र जीवनशैलीका बानीबेहोराको हिसाबमा मात्रै छोराछोरीलाई आमाबुबाले प्रभाव पार्छन्। तर तिनीहरू ठूला भइसकेपछि, तिनीहरूले जीवनमा पछ्याउने लक्ष्यहरू र तिनीहरूको जीवनको नियतिसँग तिनीहरूका आमाबुबाको कुनै सम्बन्ध हुँदैन। कतिपय आमाबुबा आफ्नो हैसियतअनुसार जिउने साधारण किसान मात्रै हुन्छन्, तर तिनीहरूका छोराछोरी अधिकारीहरू बन्न र महान् कामहरू गर्न सक्षम हुन्छन्। अनि त्यसपछि यस्ता पनि छोराछोरी हुन्छन्, जसका आमाबुबा वकील र डाक्टर हुन्छन्, र दुवैजना सक्षम हुन्छन्, तैपनि ती छोराछोरीहरूचाहिँ जहाँ गए पनि काम पाउन नसक्‍ने निकम्‍माहरू हुन्छन्। के आमाबुबाले तिनीहरूलाई यही कुरा सिकाएका हुन्छन् र? जब बुबा वकिल हुन्छ, तब के उसले छोराछोरीलाई शिक्षा दिने र प्रभाव पार्ने सम्भावना कम हुन्छ र? अवश्य नै हुँदैन। कुनै पनि बुबाले यसो भन्‍न सक्दैन, “मैले जीवनमा यति धेरै समृद्धि पाएको छु, मलाई आशा छ भविष्यमा मेरा छोराछोरीले मैलेजत्तिको समृद्धि नपाऊन्, त्यो साह्रै थकाइलाग्दो कुरा हो। भविष्यमा तिनीहरू गोठाला मात्र बन्नु नै पर्याप्त हुन्छ।” उसले अवश्य नै उसका छोराछोरीलाई ऊबाट सिक्‍ने र भविष्यमा ऊजस्तै हुने शिक्षा दिनुपर्छ। अनि, उसले छोराछोरीलाई शिक्षा दिइसकेपछि के हुन्छ? ती छोराछोरी जेजस्तो बन्नुपर्ने हो त्यस्तै बन्नेछन्, र तिनीहरूको गन्तव्य जेजस्तो हुनुपर्ने हो त्यही हुनेछ, र कसैले पनि त्यसलाई परिवर्तन गर्न सक्दैन। तैँले यहाँ कुन तथ्य देख्छस्? सन्तानले लिने मार्गसँग उसका आमाबुबाको कुनै सम्बन्ध हुँदैन। कतिपय आमाबुबाले परमेश्‍वरमा विश्‍वास गर्छन् र छोराछोरीलाई परमेश्‍वरमा विश्‍वास गर्ने शिक्षा दिन्छन्, तर तिनीहरूले जे भने पनि, ती छोराछोरीले विश्‍वास गर्दैनन्, र यसबारेमा आमाबुबाले केही गर्न सक्दैनन्। कतिपय आमाबुबाले परमेश्‍वरमा विश्‍वास गर्दैनन्, तर छोराछोरीले परमेश्‍वरमा विश्‍वास गर्छन्। ती छोराछोरीले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, उहाँलाई पछ्याउँछन्, उहाँको लागि आफूलाई अर्पित गर्छन्, र सत्यतालाई स्विकार्न, र परमेश्‍वरको अनुमोदन पाउन सक्षम बन्छन्, र यसरी तिनीहरूको नियति परिवर्तन हुन्छ। के यो आमाबुबाको शिक्षाको परिणाम हो त? होइन, यो त परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको नियति र छनौटसँग सम्‍बन्धित कुरा हो। यहाँ, यो “शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो” भन्‍ने अभिव्यक्तिमा समस्या छ। आमाबुबाले छोराछोरीलाई शिक्षा दिने जिम्मेवारी पाएका भए पनि, सन्तानको नियति आमाबुबाले निर्धारित गर्दैनन्, यो कुरा सन्तानको प्रकृतिले निर्धारित गर्छ। के शिक्षाले सन्तानको प्रकृतिसम्बन्धी समस्या समाधान गर्न सक्छ त? पटक्‍कै सक्दैन। व्यक्तिले जीवनमा लिने मार्ग उसका आमाबुबाले निर्धारित गर्दैनन्, यो त परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। भनाइ नै छ नि, “मानिसको भाग्य स्वर्गले निर्धारित गर्छ,” र यो भनाइलाई मानव अनुभवले सारांशित गरेको छ। व्यक्ति वयस्कतामा पुग्‍नुपहिले, उसले कुन मार्ग लिनेछ भन्‍ने कु भन्‍नै सकिँदैन। तिनीहरू वयस्क बनेपछि, र तिनीहरूसँग विचारहरू भएर समस्याहरूबारे मनन गर्न सक्‍ने भएपछि, तिनीहरूले आफू बस्ने मानिसहरूको यो समुदायमा के गर्ने भन्‍ने निर्णय गर्नेछन्। कतिपय मानिसहरूले वरिष्ठ अधिकारी बन्‍न चाहन्छु भन्छन्, र अरूले वकिल बन्‍न चाहन्छु, र अझै अरूले लेखक बन्‍न चाहन्छु भनेर भन्छन्। हरेकको आआफ्नै छनौट र आआफ्नै विचार हुन्छ। कसैले पनि “म मेरा आमाबुबाले मलाई शिक्षा दिऊन् भनेर पर्खनेछु, र मेरा आमाबुबाले मलाई जे बन्‍न शिक्षा दिनुहुन्छ म त्यही बन्‍नेछु,” भनेर भन्दैन। यति साह्रो मूर्ख त कोही पनि हुँदैन। वयस्कतामा पुगेपछि, मानिसहरूका विचारहरू मडारिँदै क्रमशः परिपक्‍व हुन थाल्छन्, र त्यसैले तिनीहरूको अगाडि रहेका मार्ग र उद्देश्यहरू झन्झन् स्पष्ट हुँदै जान्छन्। यति नै बेला, तिनीहरूको स्वभाव कस्तो छ, र तिनीहरू कुन समूहका सदस्य हुन् भन्‍ने कुरा पनि बिस्तारै स्पष्ट हुँदै जान्छ। यस बिन्दुदेखि, हरेक व्यक्तिको चरित्र क्रमशः स्पष्ट रूपमा परिभाषित हुँदै जान्छ, र सँगसँगै, तिनीहरूको स्वभाव, साथै तिनीहरूले पछ्याइरहेका मार्ग, तिनीहरूको जीवन दिशा, र तिनीहरू कुन समूहमा पर्छन् त्यो कुरा पनि स्पष्ट हुँदै जान्छ। यो सबै केमा आधारित हुन्छ? अन्ततः परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको कुरा नै यही हो—यससँग व्यक्तिका आमाबुबाको कुनै सम्बन्ध हुँदैन। के अब तिमीहरू यसलाई स्पष्ट रूपमा बुझ्छौ? त्यसोभए, आमाबुबासँग के-कस्ता कुराहरूको चाहिँ सम्बन्ध हुन्छ त? व्यक्तिको रूप, उचाइ, वंशाणु, र कतिपय पारिवारिक रोगहरू व्यक्तिका आमाबुबासँग थोरै हदसम्‍म सम्बन्धित हुन्छन्। मैले किन थोरै हदसम्‍म भनेँ? किनभने १००% यस्तो हुन्छ भन्‍ने हुँदैन। कतिपय परिवारहरूमा, हरेक पुस्ता रोगले प्रभावित हुन्छ, तर एउटा सन्तान निरोगी जन्मिन्छ। त्यो कसरी हुन सक्छ? कतिले “यो सन्तानको चरित्र राम्रो भएकोले हो” भनेर भन्छन्। यो मानवजातिको विचार हो, तर यो कुरा कहाँबाट आएको हुन्छ? (परमेश्‍वरको पूर्वनिर्धारणबाट।) कुरो ठ्याक्‍कै त्यही हो। त्यसोभए “शिक्षा नदिई पालनपोषण गर्नु बुबाको गल्ती हो” भन्‍ने अभिव्यक्ति सही हो कि गलत हो? (गलत हो।) अहिले तिमीहरू यसबारे स्पष्ट भयौ, होइन र? वास्तविकता कसरी देख्‍ने, त्यो आउँदैन भने, काम छैन। सत्यताविना, तिमीहरूले कुनै कुरा पनि स्पष्ट देख्‍न सक्दैनौ।

दैनिक जीवनमा, हरेक व्यक्तिको मनमा शैतानका यी धेरै मिथ्याभाषी विचारहरू हुन्छन्। यी कुराहरू भित्री रूपमा सङ्कलित र भण्डारण भई बसेका हुन्छन्, र कुनै पनि घटना घट्दा प्रकट भइदिन्छन्। कतिपय मानिसहरू भन्छन्: “असल पुरुष महिलासँग लड्दैन। हेर म कति आदर्शवान्‌ छु। म पुरुषोत्तम, वीर पुरुष हुँ, तर तिमी त मुर्झाएको फुल हौ, त्यसकारण म तिमीसँग लडाइँ गर्नेछैनँ।” तिनीहरूले यो अभिव्यक्तिलाई केको रूपमा लिन्छन्? (सत्यताको रूपमा।) तिनीहरूले यसलाई सत्यता र सत्यता अभ्यास गर्ने सिद्धान्तको रूपमा लिन्छन्। कतिपय मानिसहरूले साँच्चै सुन्दर स्वरूप भएका र इज्जतदार सज्‍जनजस्ता देखिने, तर छली र सधैँ आफ्‍नो वास्तविक रूप लुकाउने, र अरूसँग अन्तरक्रिया गर्दा विशेष धूर्त र छली हुने, अनि धेरै मानिसहरूले उसको वास्तविकता पत्ता लगाउन नसक्‍ने कुनै व्यक्तिलाई देख्छन्, र त्यसकारण तिनीहरू भन्छन्: “म त बस इमान्दार र दयालु व्यक्ति हुन, र अरूसँग शत्रुवत् होइन, मित्रवत्‌ व्यवहार गर्न परमेश्‍वरमा विश्‍वास गर्छु। यो त ‘नक्‍कली भलाद्मी बन्‍नुभन्दा त साँचो खलनायक बन्‍नु बेस हो’ भनेजस्तै हो। परमेश्‍वरका कतिपय वचनहरूमा पनि यही अर्थ छ।” यो भनाइबारे तँलाई के लाग्छ? “नक्‍कली भलाद्मी बन्‍नुभन्दा त साँचो खलनायक बन्‍नु बेस हो।” हेर् त, मानिसहरूको जीवनमा कुनै घटना घट्नेबित्तिकै, तिनीहरूभित्र रहेका सबै आम भनाइहरू, उखानहरू, र टुक्‍काहरू एकैचोटि बाहिर निस्केर आउँछन्, र तीमध्ये कुनैमा पनि सत्यताको कुनै शब्द हुँदैन। अन्त्यमा, ती मानिसहरूले “मलाई अन्तर्दृष्टि दिनुभएकोमा परमेश्‍वरलाई धन्यवाद होस्” भनेरसमेत भन्छन्। “नक्‍कली भलाद्मी बन्‍नुभन्दा त साँचो खलनायक बन्‍नु बेस हो” भन्‍ने भनाइ सही हो कि गलत हो? (गलत हो।) यो गलत छ भन्‍ने तिमीहरू सबैलाई थाहा छ, तर यसमा के गल्ती छ? नक्कली भलाद्मीहरूको समस्या के हो भने, तिनीहरू नक्कली हुन्छन्। कोही पनि नक्‍कली भलाद्मी बन्‍न चाहँदैन, तर साँचो खलनायक बन्‍न चाहन्छ। साँचो खलनायकहरूमा मानिसहरूले अनुमोदन गर्ने के कुरा हुन्छ? तिनीहरू सच्‍चा हुन्छन्, त्यसैले तिनीहरू खलनायक भए पनि, तिनीहरूले सबैको अनुमोदन पाउँछन्। त्यसोभए तिमीहरू के हुन चाहन्छौ, साँचो खलनायक कि नक्‍कली भलाद्मी? (कुनै पनि होइन।) किन यी दुवै प्रकारका मानिसहरू नबन्‍ने? (यी दुवै सत्यताअनुरूप छैनन्, र परमेश्‍वरका वचनहरूमा यसबारे केही भनिएको छैन।) के परमेश्‍वरले मानिसहरूलाई नक्‍कली भलाद्मी वा साँचो खलनायक दुवैमध्ये कुनै पनि बन्‍न लगाउनुभएको छैन भन्‍ने दाबीको सान्दर्भिक आधार दिन सक्छौ? (परमेश्‍वर मानिसहरू इमानदार मानिसहरू बनून् भन्‍ने चाहनुहुन्छ।) परमेश्‍वर मानिसहरू इमानदार मानिसहरू बनून् भन्‍ने चाहनुहुन्छ। त्यसोभए, इमानदार मानिसहरू र साँचो खलनायकहरूबीच के भिन्‍नता हुन्छ? “खलनायकहरू” भन्‍ने शब्द राम्रो छैन, तर तिनीहरू निकै इमानदार हुन्छन्। तर साँचो खलनायकहरू किन असल होइनन्? के तिमीहरूले स्पष्ट व्याख्या गर्न सक्छौ? साँचो खलनायकहरू र नक्कली भलाद्मीहरू दुवै असल मानिसहरू होइनन् भनेर दाबी गर्ने आधार के हो? खलनायकहरू के हुन्? प्रायजसो कुन शब्दलाई खलनायकहरूसँग जोडिएको हुन्छ? (घृणित।) ठीक भन्यौ। परमेश्‍वरका वचनहरूमा “घृणित” भन्‍ने यो शब्दलाई कसरी व्याख्या र परिभाषित गरिएको छ? परमेश्‍वरका वचनहरूमा, “घृणित” भन्‍ने शब्दलाई असल शब्दको रूपमा परिभाषित गरिएको छ कि खराब शब्दको रूपमा? (खराब शब्दको रूपमा।) खराब शब्दको रूपमा, परमेश्‍वरले निन्दा गर्नुभएको कुराको रूपमा। घृणित आचरण र घृणित दृष्टिकोण भएका मानिसहरू खलनायकहरू हुन्। अरू कसरी खलनायकको स्वभाव र सार परिभाषित गरिन्छ? स्वार्थी, होइन र? (हो।) यस्तो व्यक्ति स्वार्थी र घृणास्पद हुन्छ। तिनीहरूले प्रकट गर्ने कुरा साँचो र तिनीहरूको चित्तप्रकृति साँचो भए पनि, तिनीहरू अझै पनि धेरै हदसम्‍म खलनायक नै हुन्छन्। नक्कली सज्जन छली र दुष्ट हुन्छ, र उसले सधैँ आफ्‍नो वास्तविकता लुकाएर अरूलाई झूटो प्रभाव पार्छ, र अरूलाई उसको प्रभावशाली र मित्रवत् पक्ष देखाउँछ। उसले आफ्नो साँचो स्वभाव, विचार, र दृष्टिकोण लुकाउँछ ताकि कसैले पनि उसलाई बुझ्न वा बोध गर्न नसकून्। त्यस्ता मानिसहरूमा कस्तो स्वभाव हुन्छ? (छली र दुष्ट।) तिनीहरू दुष्ट मानिसहरू हुन्। त्यसकारण, कुनै व्यक्ति झूटो सज्जन भए पनि वा खलनायक भए पनि, यी दुवै जना असल होइनन्। एउटा भित्री रूपमा खराब हुन्छ र अर्को बाहिरी रूपमा खराब हुन्छ। तिनीहरूको स्वभाव वास्तवमा उस्तै हुन्छ—तिनीहरू दुवै अत्यन्तै दुष्ट, स्वार्थी, र छली हुन्छन्। के यी दुई प्रकारका अत्यन्तै दुष्ट र छली मानिसहरू इमानदार मानिसहरू बन्‍न खोज्छन्? (खोज्दैनन्।) त्यसकारण, यी दुई प्रकारका मानिसहरूमध्ये तँ जोसुकै व्यक्ति बने पनि, तँ परमेश्‍वरले चाहनुहुने किसिमको असल वा इमानदार व्यक्ति हुँदैनस्। तँ परमेश्‍वरले घृणा गर्नुहुने व्यक्ति हुन्छस्, र तँ परमेश्‍वरले तँलाई जुन व्यक्ति बनेको चाहनुहुन्छ त्यो व्यक्ति हुँदैनस्। त्यसकारण, मलाई भन् त, के “नक्‍कली भलाद्मी बन्‍नुभन्दा त साँचो खलनायक बन्‍नु बेस हो” भन्‍ने अभिव्यक्ति सत्यता हो? (होइन।) यो दृष्टिकोणबाट हेर्दा, यो अभिव्यक्ति सत्यता होइन। धेरै मानिसहरूले नक्‍कली भलाद्मीलाई आक्रमण गर्ने र दोष दिने उद्देश्यले, र आफूलाई असल मानिसहरूको रूपमा प्रस्तुत गर्न सकूँ भनेर, “नक्‍कली भलाद्मी बन्‍नुभन्दा त साँचो खलनायक बन्‍नु बेस हो” भनेर भन्छन्, मानौँ यी खलनायकहरूको “खलनायकीपन” ले यिनीहरूलाई न्यायको कुनै शक्तिले जस्तै गरी विशेष धर्मी र सच्‍चा बनाउँछ। तैँले खलनायकको रूपमा कसरी आफूलाई न्यायोचित ठान्न सक्छस्? तँ त दोषी ठहराउनुपर्ने व्यक्ति हुन्छस्।

सबैको मनमा, यस्ता अभिव्यक्ति र यस्ता कुराहरू धेरै हुन्छन्, र अनगिन्ती मानिसहरूले यस्तो दृष्टिकोण राख्छन्। चाहे यो परम्परागत संस्कृति होस्, चाहे लोक उखान, चाहे पारिवारिक आदर्श वाक्य, चाहे पारिवारिक नियम, वा चाहे देशको कानुनी प्रणाली होस्, मानिसहरूले प्रायजसो समाजमा लामो समयदेखि र व्यापक रूपमा फैलिएका, र समाज र मानवजातिमा धेरै पहिलेदेखि नै सकारात्मक कुराहरूको रूपमा घोषणा र प्रचारित हुँदै आएका यी कुराहरूलाई आफ्नो पुस्तौँपुस्तासम्‍म शिक्षा दिन प्रयोग गर्छन्। मानिसहरूले आफ्‍नो हृदयको गहिराइमा कतिपय अभिव्यक्तिहरूलाई अभ्यासका सिद्धान्तहरू र मानव अस्तित्वका सिद्धान्तहरूको रूपमा लिन्छन्। कतिपय त यस्ता अभिव्यक्तिहरू छन् जसले केही दृष्टिकोण व्यक्त गर्छन् जसमा मानिसहरू सहमतचाहिँ हुन्छन्, तर लागू गर्नचाहिँ चाहँदैनन्। तर तैँले लागू गर्न चाहे पनि नचाहे पनि, हृदयको गहिराइमा तँ यी अभिव्यक्तिहरूलाई आफ्नो व्यवहारको अभ्यास सिद्धान्तहरूको रूपमा लिन्छस्। छोटकरीमा भन्दा, यी कुराहरू परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वास र सत्यता पछ्याइमा ठूला बाधा हुन्। यी कुराले मानिसहरूलाई फाइदा गर्नुको सट्टा हानि मात्रै गर्छन्। उदाहरणको लागि, आधुनिक मानिसहरूले प्रायजसो कुरा गर्ने विषय “जीवन सबैभन्दा बहुमूल्य छ, तर प्रेम वास्तवमा त्योभन्दा पनि बहुमूल्य छ। यदि स्वतन्त्रताको लागि मूल्य चुकाउनैपर्ने हो भने, म यी दुई कुराहरूद्वारा मूल्य चुकाउनेछु।” यो अभिव्यक्ति उच्च आदर्शहरू भएका र स्वतन्त्रताको लागि लागिपर्ने र परम्परागत सामन्ती प्रणालीबाट मुक्त हुन चाहने पूर्व र पश्‍चिमका मानिसहरूद्वारा पैरवी र आदर गरिएको प्रसिद्ध भनाइ हो। यहाँ मानिसहरूले के कुरामा ध्यान दिइरहेका छन्? जीवनमा हो? कि प्रेममा? (होइन, स्वतन्त्रतामा।) ठीक भन्यौ, स्वतन्त्रतामा हो। त्यसोभए, के यो अभिव्यक्ति सत्यता हो त? यो अभिव्यक्तिको अर्थ के हो भने स्वतन्त्रताको खोजको लागि, जीवन त्याग्‍न सकिन्छ, र प्रेम पनि त्याग्‍न सकिन्छ—अर्थात्, प्रेम गर्ने व्यक्ति पनि त्याग्‍न सकिन्छ—ताकि यो सुन्दर स्वतन्त्रतातर्फ दौड्न सकियोस्। सांसारिक मानिसहरूको लागि यो स्वतन्त्रता कस्तो देखिन्छ? तिनीहरूले स्वतन्त्रता भन्ठानेको यो कुरालाई कसरी व्याख्या गर्ने? परम्परा तोड्नु भनेको एकप्रकारको स्वतन्त्रता हो, पुराना रीतिरिवाजहरू तोड्नु भनेको एकप्रकारको स्वतन्त्रता हो, र सामन्ती शाहीराज तोड्नु पनि एकप्रकारको स्वतन्त्रता हो। अरू के छ? (कुनै पनि राजनीतिक शासनको नियन्त्रणमा नहुनु।) अर्को भनेको कुनै पनि राजनीतिक शक्ति वा शासनको नियन्त्रणमा नहुनु हो। तिनीहरूले यस्तो स्वतन्त्रता खोजी गर्छन्। त्यसोभए के तिनीहरूले बताउने गरेको स्वतन्त्रता साँचो स्वतन्त्रता हो त? (होइन।) के परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले बताउने गरेको स्वतन्त्रतासँग यो कुराको कुनै समानता छ? (छैन।) परमेश्‍वरमा विश्‍वास गर्ने कतिपय मानिसहरूले पनि हृदयमा यस्तो दृष्टिकोण बोकेका हुन सक्छन्: “परमेश्‍वरमा विश्‍वास गर्नु सुन्दर कुरा हो, यसले स्वतन्त्र र मुक्त गराउँछ। कुनै पनि रीतिरिवाज वा परम्परागत औपचारिकताहरू पालना गर्नुपर्दैन, विवाह र अन्त्येष्टिहरू आयोजना गर्ने वा त्यसमा सहभागी हुनेबारे चिन्ता गर्नुपर्दैन, सांसारिक कुराहरू सबै त्यागिन्छ। साँच्‍चै स्वतन्त्र भइन्छ!” के कुरा त्यस्तो हो त? (होइन।) त्यसोभए स्वतन्त्रता वास्तवमा के हो त? के तिमीहरू अहिले स्वतन्त्र छौ? (थोरै मात्रामा।) त्यसोभए यो थोरै स्वतन्त्रता कसरी पायौ त? यो स्वतन्त्रताको अर्थ के हो? (सत्यता बुझ्नु र शैतानको अँध्यारो प्रभाव तोड्नु।) शैतानको अँध्यारो प्रभाव तोडेपछि, तँलाई अलिअलि रिहाइ मिल्छ र केही हदसम्‍म स्वतन्त्रता प्राप्त हुन्छ। तैपनि, यदि मैले यसलाई चिरफार गरिनँ भने, तिमीहरूले साँच्‍चै आफू स्वतन्त्र छु भन्‍ने सोच्नेछौ, तर वास्तवमा तिमीहरू स्वतन्त्र छैनौ। साँचो स्वतन्त्रता भनेको मानिसहरूले सोचेको जस्तो स्थानिक र भौतिक हिसाबले शरीरलाई स्वतन्त्र र मुक्त गराउनु होइन। बरु, कुरो के हो भने, मानिसहरूले सत्यता बुझेपछि, तिनीहरूसँग विभिन्‍न मानिसहरू, घटनाहरू, परिस्थितिहरू, र संसारबारे सही दृष्टिकोण हुन्छ, र तिनीहरूले जीवनमा सही लक्ष्य र दिशा पछ्याउन सक्छन्, र जब मानिसहरू शैतानको प्रभाव र शैतानी विचार र दृष्टिकोणहरूको अधीनमा हुँदैनन्, तब तिनीहरूको हृदय र प्राण मुक्त हुन्छ—र यही नै साँचो स्वतन्त्रता हो।

एउटा जवान अविश्‍वासी व्यक्तिले ऊ स्वतन्त्रता मन पराउने, चराजस्तै उड्ने, र निर्बाध जीवन जिउने व्यक्ति हो भन्‍ने सोच्छ, त्यसकारण उसले आफ्नो परिवारका ती घटिया नियम र भनाइहरूलाई घृणा गर्छ। उसले आफ्‍ना साथीहरूलाई प्रायजसो यसो भन्‍ने गर्छ: “म अत्यन्तै परम्परागत, र धेरै नियम र परम्पराहरू भएको, र अहिले पनि हरेक पुस्ताको लागि भित्री स्मारक पाटीहरू राखिएको पुर्खौली समाधिस्थल भएको, अत्यन्तै ठूलो परिवारमा जन्मेको भए पनि, म आफैले यी परम्पराहरू तोडेको छु र म यी परिवारका नियमहरू, पारिवारिक परम्पराहरू, र प्रचलित रीतिरिवाजहरूबाट प्रभावित छैनँ। के म अत्यन्तै अपरम्परागत व्यक्ति हुँ भन्‍ने कुरा तिमी देख्दैनौ र?” उसका साथीहरूले भन्छन्: “तिमी अत्यन्तै अपरम्परागत छौ भन्‍ने कुरा हामीले याद गरेका छौँ।” तिनीहरूले कसरी त्यो कुरा याद गरे त? उसले जिब्रो छेडेको छ, नाकमा फुली लगाएको छ, दुवै कानमा चारपाँच ठाउँ छेडेको छ, नाइटो छेडेको छ, र हातमा सर्पको टाटु लगाएको छ। चिनियाँ मानिसहरूले सर्पलाई अशुभ ठान्छन्, तर उसले जिद्दी गर्दै आफ्नो शरीरमा एउटा टाटु लगायो, र त्यो देख्दा मानिसहरू डराउँछन्। यो अपरम्परागत कुरा हो, होइन र? (हो।) यो निकै अपरम्परागत कुरा हो, अनि यति मात्र होइन, उसले एक अग्रगामी व्यक्तिको रूपमा पनि कुरा गर्छ। उसलाई देख्‍ने सबैले भन्छन्, “यो मान्छे साह्रै गज्जबको छ! ऊ अपरम्परागत व्यक्ति हो, साँच्‍चै अपरम्परागत!” उसलाई विश्‍वास छ, उसले यसरी अपारम्पारिकता व्यक्त गर्न सक्‍नु मात्रै होइन, यो कुरालाई अलिक ठोससमेत बनाउनुपर्छ र ऊ कति अपारम्पारिक छ भन्‍ने कुराको सङ्केत मानिसहरूलाई देखाउनुपर्छ। उसले अरूका प्राय गहुँगोरी चिनियाँ प्रेमिका हुने गरेको देख्छ र जानीजानी विदेशी र गोरी प्रेमिका खोज्छ ताकि तिनीहरू सबै ऊ अपाराम्परिक हो भनेर अझै विश्‍वस्त होऊन्। त्यसपछि, उसले हरेक परिस्थितिमा आफ्नी प्रेमिकाको अनुकरण गर्छ, र प्रेमिकाले जे भने पनि र जसरी भने पनि त्यो गर्छ। उसको जन्मदिनको बेला, प्रेमिकाले उसलाई ठूलो बक्समा एउटा रहस्यमय उपहार किनेर दिन्छे, र उसले खुशीसाथ उपहार खोल्छ। सबै तहहरू खोलेपछि, उसले भित्र एउटा हरियो छत्रे टोपी देख्छ। सबै चिनियाँ मानिसहरूलाई “हरियो छत्रे टोपीको” उपमा थाहा हुन्छ नि, होइन र? यो अवश्य नै निकै परम्परागत कुरा हो। यो देख्‍नेबित्तिकै ऊ रिसाउँछ र भन्छ, “यो कस्तो उपहार हो? तिमीले यो उपहार कसको लागि किनेको?” उसको प्रेमिकाले ऊ खुसी हुनेछ भन्‍ने सोचेकी थिई—तर त्यो टोपीको कारण उसलाई किन यति रिस उठ्यो? किन भनेर सोच्न र कुरा बुझ्‍न नसकेर, प्रेमिकाले यसो भन्छे: “यो हरियो छत्रे टोपी भेट्टाउन सजिलो थिएन। कसम होला, तिमीलाई यसले सुहाउँछ।” अनि उसले यसो भन्छ, “यो टोपीले के कुरा प्रतिनिधित्व गर्छ तिमीलाई थाहा छ?” प्रेमिकाले भन्छे: “के यो त छत्रे टोपी मात्र होइन र? हरियो छत्रे टोपीले एकदमै सुहाउँछ त।” अनि प्रेमिकाले उसलाई त्यो लगाउन अझै जिद्दी गरिरहन्छे। उसले जेसुकै भए पनि लगाउँदिनँ भनेर भन्छ। के पश्‍चिमी मानिसहरूलाई “हरियो छत्रे टोपीको” उपमा थाहा हुन्छ त? (अहँ, थाहा हुँदैन।) त्यसोभए के यो कुरा स्पष्ट रूपमा व्याख्या गरेर खुलाउनुपर्दैन र? तिमीहरू कसैले पनि यसको उत्तर दिन सक्दैनौ—किन तिमीहरू यसलाई स्पष्ट रूपमा व्याख्या गर्ने आँट गर्दैनौ? यो ठूलो कुरा त होइन त, हो र? तिमीहरू पनि सत्यता र स्वतन्त्रता पछ्याउने क्रममा—परम्पराविरोधी बन्‍ने, र परम्परा त्याग्‍ने र शैतानी परम्परागत संस्कृतिका धारणाहरू त्याग्‍ने झण्डा बोक्‍ने यो मान्छेजस्तै छौ, र अझै पनि तिमीहरू यो हरियो छत्रे टोपीको अवधारणामा गहन रूपमा फसेका छौ। त्यो जवान केटाकी प्रेमिकाले उसलाई यो लगाउन लगाउँछे, र उसले लाउँदै लाउँदैन, र अन्त्यमा यसो भन्छ: “तिमी मलाई यो लाउन जिद्दी गर्दै छ्यौ। मैले यो लगाएँ भने, मैले अरूको अपमान भोग्‍नुपर्छ!” समस्याको जड यही हो र समस्या यहीँनेर छ, अर्थात् यो परम्परा हो। यो परम्परा कुनै कुराको रङ वा यो कस्तो कुरा हो भन्‍नेसँग होइन, बरु यसले प्रतिनिधित्व गर्ने प्रतीक र मानिसहरूमा पैदा गर्ने दृष्टिकोणसँग सम्‍बन्धित हुन्छ। यो कुराले, अर्थात् हरियो छत्रे टोपीले के जनाउँछ? यसले के प्रतिनिधित्व गर्छ? मानिसहरू यो रङको टोपीलाई खराब ठान्छन्, त्यसैले तिनीहरू यो रङको टोपी इन्कार्छन्। मानिसहरू किन त्यसलाई इन्कार्छन्? तिनीहरू किन यस्तो कुरा स्विकार्न सक्दैनन्? किनभने तिनीहरूभित्र एक किसिमको परम्‍परागत सोचाइ हुन्छ। यो परम्परागत सोचाइ आफै सत्यता होइन; यो त भौतिक कुराजस्तै हो, तर यो समाज र मानिसहरूको यो जातिले यसलाई अदृश्य रूपमा नकारात्मक कुरामा परिणत गरेका छन्। उदाहरणको लागि, मानिसहरूले सेतो रंगलाई पवित्रताको प्रतीक, कालो रंगलाई अन्धकार र दुष्टताको प्रतीक, र रातो रंगलाई चाडपर्व, रक्तिमता, र जोसको प्रतीकमा परिणत गरेका छन्। विगतमा, चिनियाँ मानिसहरूले विवाह गर्दा रातो लुगा लगाउँथे, र यो उल्लासमय कुरा हो भन्‍ने विश्‍वास गर्थे। जब पश्‍चिमी मानिसहरूले विवाह गर्छन्, तिनीहरूले पवित्रताको प्रतीकको रूपमा सुन्दर र सफा सेतो वस्‍त्र लगाउँछन्। यी दुई संस्कृतिका मानिसहरूले विवाहसम्बन्धी बुझ्ने दृष्टिकोण फरकफरक छन्। यसलाई एउटामा रातोले र अर्कोमा सेतोले प्रतिनिधित्व गर्छ। यी दुवै रङहरूले विवाहसम्बन्धी मामिलाहरूप्रतिको आशिष्‌को मनोवृत्ति प्रतिनिधित्व गर्छन्। फरकफरक जनजाति र प्रजातिहरूले फरकफरक उद्देश्यको लागि उही कुरा प्रयोग गर्छन्, र तिनीहरूको सांस्कृतिक पृष्ठभूमि यसरी नै अस्तित्वमा आएको हुन्छ। यी सांस्कृतिक पृष्ठभूमिहरू देखा परेपछि, तीसँगै सांस्कृतिक परम्पराहरू पनि पैदा हुन्छन्। यसरी, फरकफरक समाज र फरकफरक जातिले फरकफरक रीतिरिवाजहरू विकास गर्छन्, र त्यस्ता रीतिरिवाजहरूले सम्बन्धित जातिका मानिसहरूलाई प्रभाव पार्छन्। त्यसकारण, चिनियाँ मानिसहरूलाई हरियो छत्रे टोपीको यो उपमाले प्रभाव पार्छ। तिनीहरूको मस्तिष्कमा यो कस्तो परिणाम घुसाइँदै छ? पुरुषहरूले हरियो टोपी लाउन मान्दैनन्, र महिलाहरूले पनि लाउँदैनन्। के कुनै महिलाले यस्तो टोपी लाएको देखेको छस्? वास्तवमा, यो सांस्कृतिक परम्परा पुरुषहरूमा मात्रै लक्षित छ, मतलब पुरुषले हरियो टोपी लाउनु खराब सङ्केत हो, र यो महिलासँग सम्बन्धित कुरा होइन। तैपनि, यो सांस्कृतिक परम्परा अस्तित्वमा आएपछि, प्रसङ्ग जेसुकै भए पनि, यसले यो कुराप्रति यो जातिका हरेक व्यक्तिबाट एकप्रकारको भेदभाव पैदा गराउँछ। यस्तो भेदभाव पैदा भएपछि, यो कुरा अचेतन रूपमै अत्यन्तै निर्दोष र भौतिक कुराबाट एउटा नकारात्मक कुरामा परिणत हुन्छ। वास्तवमा, यो निर्दोष कुरा हो र यसमा कुनै सकारात्मक वा नकारात्मक गुणहरू छैनन्। यो त बस एउटा भौतिक कुरा, रङ, र आकार भएको वस्तु मात्रै हो। तैपनि, यसरी परम्परागत संस्कृतिको अर्थ्याइ र प्रभावमा परेपछि, अन्तिम परिणाम के हुन्छ? (नकरात्मक।) यो नकारात्मक बन्छ। अनि, यो नकारात्मक बनेपछि, मानिसहरूले यो कुरालाई उचित रूपमा लिन वा प्रयोग गर्न सक्दैनन्। यसबारेमा सोच त—चिनियाँ बजारमा रातो, गुलाबी, पहेँलो, आदि इत्यादि किसिमका टोपीहरू पाइन्छ, तर हरियो रङ्गको कुनै टोपी हुँदैन। मानिसहरू यो परम्परागत सोचाइको बन्धन र प्रभावमा परेका छन्। परम्परागत संस्कृतिको कुनै खास कुराले मानिसहरूमा पार्ने प्रभाव नै यही हो।

कतिपय मानिसहरू विदेश आउँछन् र युरोप तथा एसियाका अन्य देशका केही संस्कृति, परम्परा, नियम र जीवनका आधारभूत आवश्यकतालगायतका भौतिक कुराहरूको सम्पर्कमा आउँछन्, र अरू देशका केही कानुन र सामान्य ज्ञानहरूप्रति हुन्छन्, तैपनि तिनीहरूलाई तिनीहरूको आफ्नै देशका ती परम्पराहरू फाल्न गाह्रो हुन्छ। तैँले आफ्नो मातृभूमि छोडेर अर्को देशको जीवनका दैनिक पक्षहरू, र यसका नियम र प्रणालीहरूसमेत स्विकारेको भए पनि, तैँले हरदिन के सोचिरहेको हुन्छस्, वा तँलाई कुनै कुरा आइपर्दा कसरी समस्याहरू सामना गर्छस्, वा तैँले अपनाउने विचार र दृष्टिकोण के हो त्यो तँलाई थाहै हुँदैन। कतिपय मानिसहरू सोच्छन्, “म पश्‍चिममा छु, त्यसकारण म पश्‍चिमी हुँ त?” वा “म जापानमा छु, त्यसकारण म जापानी हुँ त?” तर अवस्था यो यस्तो हो त? (होइन।) जापानी मानिसहरू भन्छन्: “हामीलाई सबैभन्दा बढी सुशी र नूडल्स खान मनपर्छ। के त्यसले हामीलाई कुलीन बनाउँदैन र?” दक्षिण कोरियालीहरू भन्छन्: “हामीलाई भात र किम्ची खान मन पर्छ। के हाम्रो महान् दक्षिण कोरियाली राष्ट्र कुलीन छैन र? तिमी चिनियाँहरू तिमीहरूको संस्कृति प्राचीन र हाम्रोभन्दा हजारौँ वर्ष पुरानो छ भनेर भन्छौ, तर के तिमीहरू पनि हामीजस्तै आफ्ना अग्रजहरूप्रति सन्तानीय भक्ति देखाउँछौ? के तिमीहरू हामीजस्ता परम्परा अनुयायीहरू हौ? के तिमीहरूको पनि हाम्रो जाति नियमहरू छन्? तिमीहरू आजभोलि यी कुराहरूबारे बोल्दैनौ, तिमीहरू पछि परेका छौ; हामी साँच्‍चै नै परम्परा अनुयायी मानिसहरू हौं, र हाम्रो संस्कृति साँचो संस्कृति हो!” तिनीहरू आफ्नो परम्परागत संस्कृति उच्च छ भन्‍ने सोच्छन्, र त्यसपछि धेरै कुरालाई विश्‍व सम्पदाको रूपमा घोषणा गर्न होहल्‍ला गर्छन्। किन यति धेरै होहल्‍ला? हरेक देश, हरेक प्रजाति, र हरेक ससाना जनजातिले पनि आफ्ना पुर्खाले छोडेर गएका कुरा, नियम, परम्परा, रीतिरिवाज, र चलनहरू असल र सकारात्मक छन्, र मानवजातिले प्रचार गर्न मिल्ने खालका छन् भन्‍ने विश्‍वास गर्छन्। के तिनीहरूको यो विचार र दृष्टिकोणले यी सत्यताहरू हुन्, यी असल र सकारात्मक कुराहरू हुन्, र यिनलाई मानवजातिले अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्छ भन्‍ने जनाउँदैन र? अनि, हस्तान्तरण गरिने यी कुराहरू स्वतन्त्रतासँग विरोधाभासपूर्ण हुन्‍न र? मैले भर्खरै एक जवान मान्छेको उदाहरण दिएको थिएँ, जो आफ्नो परिवारको बन्धनबाट मुक्त भएको छ, र जसले आफ्नो शरीरको ठाउँठाउँमा छेडेको र मुन्द्रा लगाएको छ, शरीरभरि टाटु लगाएको छ, र उसको विदेशी प्रेमिकासमेत छ। उसको बाहिरी रूप र देहको हिसाबमा, उसले पारिवारिक नियमहरू पालना गर्दैन र परम्परा त्यागेको छ भन्‍ने देखिन्छ। बाहिरी रूपमा र आफ्‍नो व्यवहारमा, र आफ्नो व्यक्तिपरक इच्छाको हिसाबमा समेत, उसले परिवार, परम्परा, र रीतिरिवाजजस्ता कुराहरू त्यागेको छ। तर जन्मदिनको उपहारले उसको खुलासा गर्छ, र ऊ अत्यन्तै “परम्पराविरोधी” छ भन्‍ने उसको विश्‍वासको खण्डन र निन्दा गर्छ। त्यसोभए के यो व्यक्ति साँच्‍चै परम्‍परागत हो कि होइन? (ऊ परम्‍परागत नै हो।) अनि, परम्परा असल हो कि खराब हो? (खराब।) त्यसकारण, तैँले आफूलाई परम्परागत ठाने पनि वा परम्पराविरोधी ठाने पनि, र तेरो जाति जेसुकै भए पनि—चाहे तँ त्यो तथाकथित कुलीन जातिको भए पनि वा साधारण जातिको भए पनि—तेरा भित्री विचारहरू सीमित नै हुन्छन्। तैँले जति नै धेरै स्वतन्त्रताको खोज र वकालत गरे पनि, परम्परागत शक्तिहरू र परम्परागत पारिवारिक परम्पराहरूबाट मुक्त हुने तेरो दृढ संकल्प, इच्छा, र महत्त्वाकाङ्क्षा जति नै ठूलो भए पनि, वा तेरो वास्तविक कार्य-व्यवहार जति नै प्रेरणादायी र शक्तिशाली भए पनि, यदि तँ सत्यता बुझ्दैनस् भने, शैतानले तँमा हालिदिने शिक्षा र भ्रमहरूमाझ तँ लडखडाउँदै मात्रै बस्न सक्छस्, त्यसबाट बाहिर निस्कन सक्दैनस्। कतिपय मानिसहरू परम्परागत संस्कृतिद्वारा प्रभावित हुन्छन्, कतिपयचाहिँ वैचारिक शिक्षाद्वारा प्रभावित हुन्छन्, र कति अरूचाहिँ पद र हैसियतद्वारा प्रभावित हुन्छन्, अनि अझै कति अरूचाहिँ कुनै न कुनै वैचारिक प्रणालीद्वारा प्रभावित हुन्छन्। उदाहरणको लागि, साम्यवादको पक्षधर मानिसहरूको समूहजस्ता राजनीतिमा संलग्‍न मानिसहरूलाई लिऊँ। तिनीहरू सर्वहाराहरूको एक समूहको रूपमा सुरु भए, तिनीहरूले कम्युनिस्ट घोषणापत्र र सिद्धान्तहरू स्विकारे, परम्परा तोडे, सामन्ती शाहीराज तोडे, केही पुराना रीतिरिवाजहरू तोडे, र त्यसपछि मार्क्सवाद-लेनिनवाद र साम्यवाद स्विकारे। यी कुराहरू स्विकारेपछि, तिनीहरू स्वतन्त्र थिए कि निरन्तर बन्धित नै थिए? (तिनीहरू सुरुदेखि नै बन्धित थिए।) तिनीहरूले पुरानो कुराबाट नयाँ कुरामा लागेर, स्वतन्त्रता प्राप्त गर्नेछौं भन्‍ने सोचे। के यो विचार गलत होइन र? (हो, गलत हो।) यो गलत हो। मानिसहरू पुरानो कुराबाट कुनै पनि नयाँ कुरामा लाग्‍न सक्छन्, तर त्यो सत्यता होइन भने, तिनीहरू सदासर्वदा शैतानको जालमै परिरहनेछन्—त्यो साँचो स्वतन्त्रता हुँदैन। कतिपय मानिसहरू आफूलाई साम्यवाद वा कुनै निश्‍चित अभियानमा समर्पित गर्छन्, कतिपयले आफ्नो जीवन शपथ खाएको कुरामा समर्पित गर्छन्, कति अरूले आफ्नो जीवन कुनै सिद्धान्तमा समर्पित गर्छन् र अझै कति अरूले “साथीको लागि गोली खान तयार छु” वा “एउटा बफादार प्रजाले दुइटा राजाको सेवा गर्न सक्दैन” वा “राष्ट्र समस्यामा हुँदा, हरेकले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी हुन्छ” भन्‍नेजस्ता भनाइहरू पालना गर्छन्। के यी परम्परागत संस्कृतिका कुरा होइनन् र? (हुन्।) झट्ट हेर्दा, यी कुराहरू मानवजातिमाझ रहेका अत्यन्तै सकारात्मक, अत्यन्तै उचित, र विशेष उच्च र आदर्शमयी कुराहरू हुन् जस्तै देखिन्छन्, तर वास्तवमा, अर्को दृष्टिकोणबाट र फरकफरक माध्यमहरू प्रयोग गरी, यी कुराहरूले मानिसहरूको प्राण बन्धनमा पार्छन्, र मानिसहरूलाई सीमित पार्छन्, र साँचो स्वतन्त्रता प्राप्त गर्नबाट रोक्छन्। तर सत्यता बुझ्नुपहिले, मानिसहरूले मानवजातिमाझ तुलनात्मक रूपमा सकारात्मक ठानिने यी कुराहरूलाई आफ्नो अस्तित्व शैलीको रूपमा जथाभाबी स्विकार्न मात्रै सक्छन्। त्यसकारण, मानिसहरूले यी तथाकथित परम्परागत संस्कृति, अर्थात् मान्छेले अत्यन्तै असल ठान्‍ने संसारका यी कुराहरू स्वाभाविक रूपमै स्विकारिदिन्छन्। यी कुराहरू स्विकारेपछि, मानिसहरूले पूँजी, आत्मविश्‍वास, र उत्प्रेरणासाथ जिइरहेको अनुभव गर्छन्। उदाहरणको लागि, कतिपय मानिसहरूले ज्ञान र योग्यता सन्दर्भमा यो समाज र यो मानवजातिको अभिमुखीकरण स्विकारेका छन्। यो अभिमुखीकरण के हो? (ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ।) (किताबको अघि सबै कुरा फिका हुन्छ।) मानिसहरूले हृदयको गहिराइमा, यी कुरा स्विकार्छन्, मान्छन् र अनुमोदन गर्छन्। यिनलाई स्वीकार र अनुमोदन गर्ने क्रममा, मानिसहरूले यो समाजमा जति लामो समय कठिनाइ अनुभव गर्छन्, तिनीहरूलाई यी कुरा त्यति नै मूल्यवान् लाग्छ। किन? सबै मानिसहरू जीवनको यही ज्ञानमा भर पर्छन्। यो ज्ञान र यी योग्यताहरूविना, समाजमा स्थान बनाउन सकिँदैन भन्‍ने लाग्छ। अरूले हेप्नेछन् र भेदभाव गर्नेछन् भन्‍ने लाग्छ, त्यसकारण तँ हतास भई यी कुराहरूको पछि दौडन्छस्। तेरो योग्यता जति बढी छ, समाजमा वा तेरो जाति वा समुदायमा तेरो सामाजिक हैसियत उति नै बढी हुन्छ, र मानिसहरूले तँप्रति गर्ने आदर, व्यवहार र अरू विभिन्‍न कुराहरू त्यति नै ठूलो र राम्रो हुनेछ। एक अर्थमा, व्यक्तिको योग्यताले उसको सामाजिक हैसियत निर्धारित गरेको हुन्छ।

विगतमा, सातआठ जना विश्‍वविद्यालयका प्राध्यापकहरू थप अध्ययन गर्न बेइजिङ गए। ती दिनहरूमा, पिकअप गर्ने वा चालक पठाउने सेवा अझै उपलब्ध थिएन, त्यसैले तिनीहरू बेइजिङ पुगेपछि बस चढ्नुपर्‍यो। वास्तवमा, तिनीहरूजस्ता प्राध्यापकहरू बेइजिङको हरेक ठाउँमा पाइन्थे। तिनीहरूलाई कुनै विशेष व्यक्तिको रूपमा लिइँदैनथ्यो, केवल साधारण मानिसहरूको रूपमा लिइन्थ्यो। तर तिनीहरूलाई त्यो कुरा थाहा थिएन, र समस्याको गम्भीरता नै त्यहीँ थियो—यही समस्याको आधारमा यो मामिला पैदा भयो। भएको के थियो? प्राध्यापकहरूको यो समूह बस स्टपमा बस कुरिरहेका थिए। तिनीहरूले कुरिरहेको बेला, धेरैभन्दा धेरै मानिसहरू भेला भए र भीड बढ्दै जाँदा, सबैजना चिन्तित भए। त्यसपछि जब बस आइपुग्यो, तब ती सबै मानिसहरू भित्रका यात्रुहरू बाहिर आउञ्जेल नपर्खी, एकअर्कालाई धकेल्दै र कुइनाले घोच्दै बसमा पसे, र ठूलो खैलाबैला मच्‍चाए। यो अत्यन्तै अराजक दृश्य थियो। यी प्रोफेसरहरूले यसबारे विचार गरे, अनि यसो भने: “बेइजिङका हाम्रा स्वदेशी नागरिकहरूलाई हरदिन काममा जाँदा र कामबाट आउँदा बसमा यात्रा गर्नु सहज छैन भन्‍ने स्पष्टै भयो। विश्‍वविद्यालयका प्राध्यापकहरूको रूपमा, हामीले मानिसहरूको परिस्थितिलाई ध्यानमा राख्‍नुपर्छ। हामी उच्च स्तरका बुद्धिजीवीहरू भएकाले, हामी साधारण मानिसहरूको स्तरमा झर्नु हुँदैन। हामीले पहिले तिनीहरूलाई यो बसमा चढ्न दिएर ली फेङको निस्वार्थ भावना देखाउनुपर्छ, त्यसैले हामी जबरजस्ती नघुसौँ।” तिनीहरू सबै यो कुरामा चुपचाप सहमत भए र अर्को बस कुर्ने निर्णय गरे। तर के भयो भने, अर्को बस आउँदा पनि त्यति नै मानिसहरू जम्‍मा भए, र फेरि पनि त्यहाँ अनियमित भीड बन्‍यो। प्राध्यापकहरू चकित भए। तिनीहरूले बस भरिएर गएको हेरिरहे, र फेरि पनि तिनीहरू यसमा कोचिएर छिर्न सकेनन्। तिनीहरूले फेरि छलफल गरे र यसो भने, “हामी हतारमा छैनौँ। आखिर हामी उच्च स्तरका बुद्धिजीवीहरू हौं, र हामीले बसमा चढ्न साधारण मानिसहरूसँग लड्‍न मिल्दैन। पर्खौँ न, अर्को बस कुर्ने मानिसहरू त्यति धेरै नहोलान्।” तेस्रो बस कुर्दा, यी प्राध्यापकहरू अलिक चिन्तित भइरहेका थिए। तिनीहरूमध्ये केहीले मुड्की कसेर भने, “यदि यो बसमा पनि त्यति नै धेरै मानिसहरू रहेछन् भने, हामी ठेलमठेल गर्दै चढौँ त? यदि हामी त्यसरी चढेनौँ भने, हामी पाँचौं वा छैटौं बससमेत चढ्न नसक्लौँ, त्यसैले ठेलमठेल गरेरै भए नि बस चढ्दा बेस होला!” अरूले भने: “के उच्च स्तरका बुद्धिजीवीहरूले ठेल्दै-घचेड्दै बस चढ्न मिल्छ? त्यसले त हाम्रो छवि बिगार्छ! यदि कुनै दिन, हामी उच्च बुद्धिजीवीहरूले कोचिएर बस चढेको कुरा मानिसहरूले थाहा पाए भने कति लाजमर्दो होला!” तिनीहरूको विचार विभाजित थियो। तिनीहरूले छलफल गरिरहेकै बेला, बस कुर्ने अर्को भीड भेला भयो। तबसम्ममा, ती प्राध्यापकहरू साह्रै बेचैन भइसकेका थिए र तिनीहरूले छलफल गर्नै छोडे। जब बस आइपुग्यो, तब ढोका खुल्नेबित्तिकै र सबैजना ओर्लनुपहिले नै, प्राध्यापकहरूले आफ्नो सबै शक्ति लगाएर मानिसहरूको त्यो अन्तिम भीडलाई पछ्याएर ठेलमठेल गर्दै अघि बढे। तिनीहरूमध्ये केही भित्र छिर्न सके, तर केही परिष्कृत बुद्धिजीवीहरू—केही परिष्कृत विद्वानहरू—छिर्न सकेनन्, किनभने तिनीहरूमा त्यस्तो दृढ इच्छा र लड्‍ने जोस थिएन। अब यो कुरालाई यहीँ छोडौँ। मलाई भन त, के यो तथ्य होइन र? (हो।) बसमा मानिसहरूको भिड हुनु अत्यन्तै सामान्य कुरा हो, र यी सबै बुद्धिजीवीहरू नाटक गर्न साह्रै सिपालु थिए! भन त, समस्या के थियो? सुरुमा यी बुद्धिजीवीहरूबारे कुरा गरौं, यिनीहरूले उच्च स्तरको शिक्षा पाएर मानिसहरूलाई सिकाउने र शिक्षा दिने प्राध्यापक बने, र यिनीहरू उच्च स्तरका बुद्धिजीवी बने। अर्थात्, तिनीहरूले प्राप्त गरेको शिक्षा र तिनीहरूमा भएको ज्ञान औसत मानिसहरूले हासिल गर्ने स्तरभन्दा माथिको थियो, र तिनीहरूको ज्ञान मानिसहरूको शिक्षक र प्रशिक्षक हुन, मानिसहरूलाई शिक्षा दिन, र मानिसहरूलाई ज्ञान प्रदान गर्न पर्याप्त थियो—त्यसैले त तिनीहरूलाई उच्च स्तरका बुद्धिजीवीहरू भनिएको हो। के यी उच्च स्तरका बुद्धिजीवीहरूका विचार र दृष्टिकोणहरूमा कुनै समस्याहरू थिए? निश्‍चय नै समस्याहरू थिए। त्यसोभए तिनीहरूको समस्या कहाँ थियो? अब यो मामला विश्‍लेषण गरौं। यति धेरै ज्ञान र यति उच्च स्तरको शिक्षा प्राप्त गरिसकेपछि पनि, के तिनीहरूको सोचाइ ठर्रो थियो, कि खुला थियो? (ठर्रो।) यो ठर्रो थियो भन्‍ने तिमीहरूलाई कसरी थाहा भयो? तिनीहरूका समस्याहरू कहाँ थिए? सर्वप्रथम त, तिनीहरूले आफूलाई उच्च स्तरका बुद्धिजीवीहरू भनी घोषणा गरे। के यो दाबीमा केही गलत कुरा थियो? (थियो।) यो दाबीमा समस्या थियो। त्यसपछि, तिनीहरूले भने, “जब हामी उच्च स्तरका बुद्धिजीवीहरू बस चढ्छौँ, हामीले भित्र चढ्न अरूसँग झगडा र तँछाडमछाड गर्नु हुँदैन।” के यो वाक्यमा समस्या थियो? (थियो।) यो दोस्रो समस्या थियो। तेस्रो समस्या के थियो भने, तिनीहरूले यसो भने, “हामी उच्च स्तरका बुद्धिजीवीहरूले अर्को बस कुर्न सक्छौँ”—के यो बुँदामा कुनै समस्या थियो? (थियो।) यी सबै बुँदाहरूमा समस्या थियो। यो मामलालाई यी तीन बुँदाहरूबाट चिरफार गरेर, यसमा अन्तर्निहित समस्याहरू के-के थिए भन्‍ने कुरा पत्ता लगाओ। यदि तिमीहरूले यी अन्तर्निहित समस्याहरूबारे राम्ररी बुझ्यौ भने, पहिलो कुरा त, तिमीहरूले उच्च स्तरका बुद्धिजीवीहरूलाई पूज्न छोड्नेछौ, र दोस्रो कुरा, तिमीहरूले अबउप्रान्त कुनै उच्च स्तरको बुद्धिजीवी बन्‍ने इच्छा गर्नेछैनौ।

पहिलो बुँदा के थियो? तिनीहरूले आफूलाई उच्च स्तरका बुद्धिजीवीहरू भनी घोषणा गरे। के यो दाबीमा कुनै समस्या थियो? (थियो।) यो आत्मघोषणामा, अर्थात् आफूलाई उच्च भनी भन्‍नुमा केही गल्ती छैन। त्यसोभए, के “उच्च स्तरका बुद्धिजीवीहरूको रूपमा” भन्‍ने वाक्यांशमा समस्या छ? तथ्य के हो भने, विश्‍वविद्यालयका प्राध्यापकहरू समाजका उच्च स्तरका बुद्धिजीवीहरू हुन्। यो त तथ्य हो, तर तिनीहरूले यसो भन्‍नुमा किन समस्या भयो त? (तिनीहरूले ज्ञान प्राप्त गरेपछि, आफूहरू अरूभन्दा उच्च छौँ भन्‍ने सोचे।) अरूभन्दा उच्च—यसको पछाडि पक्कै पनि एउटा स्वभाव थियो। (तिनीहरूले धेरै ज्ञान प्राप्त गरेकाले, आफूहरू अरूभन्दा उच्च छौँ भन्‍ने सोचे। तर वास्तवमा, यी कुराहरूले व्यक्तिको स्वभाव परिवर्तन गर्नै सक्दैनन्।) यो आंशिक रूपमा सही हो, तर यसले स्पष्ट रूपमा यो कुरा व्याख्या गर्दैन। यसमा केही कुरा थप्न कसले सक्छ? (परमेश्‍वर, के तिनीहरू ठालु र घमण्डी थिएनन् र?) यो सही हो, तर तैँले सार स्पष्टसित व्याख्या गरेको छैनस्, अलिक विस्तृत रूपमा व्याख्या गर्। (केही ज्ञान प्राप्त गरेपछि, तिनीहरूले आफूलाई अरूभन्दा उच्च र इज्जतदार ठाने, त्यसकारण तिनीहरूले आफूलाई साधारण मानिसहरूजस्तो ठान्न सकेनन्। यो समाजमा जिउने सामान्य मानिसहरूको लागि, बसमा कोचिएर चढ्नु तिनीहरूको वास्तविक जीवन परिवेशले तय गरेको अवस्था हो र यो सामान्य कुरा हो। तैपनि, यी बुद्धिजीवीहरूले आफूलाई अत्यन्तै उच्च र आदर्शमय ठाने, र तिनीहरूले सामान्य मानिसहरूजस्तो व्यवहार गर्न छोडे, र सामान्य मानिसहरूको गतिविधि तिनीहरूको पहिचानको लागि हानिकारक छ भन्‍ने सोचे, त्यसकारण मलाई तिनीहरू असामान्य थिए भन्‍ने लाग्छ।) ती असामान्य थिए। आफूलाई उच्च स्तरका बुद्धिजीवी भनी घोषणा गर्नुपछाडिको तात्पर्य असामान्य थियो। अर्थात्, तिनीहरूको मानवतामा केही कुरा बिग्रिएको थियो। तिनीहरूलाई आफू अरूभन्दा उच्च र योग्य छु भन्‍ने लाग्थ्यो। यसको लागि तिनीहरूको आधार के थियो? यो कि, तिनीहरूले धेरै शिक्षा पाएका थिए, र तिनीहरू ज्ञानले भरिएका थिए, र तिनीहरूले जसलाई भेटे पनि, तिनीहरूको बोल्ने कुरा कहिल्यै सकिँदैनथ्यो, र तिनीहरू अरूलाई विभिन्‍न कुरा सिकाउन सक्थे। तिनीहरू ज्ञानलाई के ठान्थे? तिनीहरू यसलाई व्यक्तिको व्यवहार र कार्यहरूको मापदण्ड, साथै व्यक्तिको नैतिकताको मापदण्डको रूपमा लिन्थे। तिनीहरूले अहिले आफूमा ज्ञान भएकोले, तिनीहरूको इज्जत, चरित्र, र पहिचान आदर्शमय, बहुमूल्य र मूल्यवान् छ भन्‍ने विश्‍वास गर्थे, र यसको अर्थ उच्च स्तरका बुद्धिजीवीहरू हुनु भनेको सन्तहरू हुनु हो भन्‍ने थियो। के यो यस्तै भएको थिएन र? (थियो।) तिनीहरूको लागि उच्च स्तरको व्यक्ति हुनु भनेको यही थियो, त्यसकारण जब तिनीहरूले कोचिँदै बस चढ्नुपर्ने भयो, तब तिनीहरूले त्यसो गरेनन्। अनि, किन तिनीहरू कोचिँदै बस चढेनन्? तिनीहरू केद्वारा सञ्‍चालित थिए? तिनीहरूलाई के-कस्ता बाधा र बन्देज थियो? तिनीहरूलाई कोचिएर बस चढ्दा तिनीहरूको पहिचान र छवि बिग्रन्छ भन्‍ने लाग्थ्यो। तिनीहरूले आफ्नो पहिचान र छवि ज्ञानले दिएको हो भन्‍ने विश्‍वास गर्थे, त्यसकारण तिनीहरूले आफूलाई उच्च स्तरका बुद्धिजीवीहरू भनी घोषणा गरे। यो विश्‍लेषणको आधारमा हेर्दा, के तिनीहरूले भनेको कुरा घिनलाग्दो छैन र? यो निकै घिनलाग्दो छ। तैपनि तिनीहरू “हामी उच्च स्तरका बुद्धिजीवीहरू” भनेर धाक दिँदै हिँड्थे। वास्तवमा, अरूले तिनीहरूलाई मानिसहरूले हेलासमेत गर्ने दरिद्र र ज्ञानगुने शैलीका बुद्धिजीवीहरू मात्रै सोच्थे, तर तिनीहरू आफैले भने आफूलाई अत्यन्तै आदर्शवान् ठान्थे। के यो समस्याजनक कुरा थिएन र? तिनीहरू आफू अत्यन्तै आदर्शवान् र उच्च पहिचानवाला भएको विश्‍वास गर्थे, र आफूलाई सन्तको रूपमा समेत प्रस्तुत गर्थे। के यो दृष्टिकोणले तिनीहरूमा कहीँकतै बन्धन हालिदिएको थिएन र? अनि, ज्ञानसम्बन्धी तिनीहरूको अडान के थियो? मानिसहरूले ज्ञान पाएपछि, तिनीहरूको निष्ठा उच्च हुन्छ, तिनीहरू प्रतिष्ठित र आदर्शवान् हुन्छन्, र तिनीहरूलाई आदर गरिनुपर्छ भन्‍ने थियो। त्यसकारण, तिनीहरू साधारण मानिसहरूले गर्ने केही सामान्य व्यवहारहरूलाई घृणा र निन्दा गर्थे। उदाहरणको लागि, बुद्धिजीवीहरूले हाच्छ्युँ गर्दा, आफ्नो वरिपरिका मानिसहरूलाई हेरेर हतारहतार क्षमा माग्छन्, तर साधारण मानिसहरूले हाच्छ्युँ गर्दा, यसबारे केही विचार गर्दैनन्। वास्तवमा, डकार आउनु र हाच्छयुँ गर्नु जीवनको सामान्य कुरा हो, तर ती बुद्धिजीवीहरूको नजरमा, यी भद्दा र असभ्य व्यवहार हुन्, त्यसकारण तिनीहरू तिनलाई घृणा गर्छन् र हेयको नजरले हेर्छन्, र यसो भन्छन्, “यी अभद्र आम मानिसहरूलाई हेर त, तिनीहरूले हाच्छ्युँ गर्ने, बस्‍ने, र उभिने तरिका हेर्दा, त्यो अत्यन्तै अनुचित देखिन्छ, र जब बसहरू आइपुग्छन् तिनीहरू ठेलमठेल गर्दै पस्छन्, र तिनीहरूलाई शिष्ट तरिकाले पस्‍नै आउँदैन!” ज्ञानको हकमा, तिनीहरूको अडान यस्तो हुन्छ: ज्ञान पहिचानको प्रतीक हो, र ज्ञानले मानिसहरूको नियति, साथै तिनीहरूको पहिचान र मोल परिवर्तन गर्न सक्छ।

दोस्रो बुँदा के थियो? (उच्च स्तरका बुद्धिजीवीहरूले अरूसँग बस चढ्न तँछाडमछाड गर्न मिल्दैन।) तिनीहरूले अरूसँग बस चढ्न तँछाडमछाड गर्न मिल्दैन। कोचिएर बस चढ्ने कुरा तिनीहरूले जीवनमा अनुभव गर्ने एउटा सानो कुरा मात्रै हो। यो कुराले के प्रतिनिधित्व गर्छ? तोकेरै भन्दा, तिनीहरू निश्‍चित मात्रामा ज्ञान भएका मानिसहरूको बोली र व्यवहार परिष्कृत हुनुपर्छ, र यो तिनीहरूको पहिचानसँग मिल्नुपर्छ भन्‍ने विश्‍वास गर्छन्। उदाहरणको लागि, व्यक्ति हल्कासित हिँड्नुपर्छ, र मानिसहरूको सम्पर्कमा आउँदा, व्यक्तिले तिनीहरूलाई आफू मिलनसार, घुलमिलयोग्य र आदरलायक रहेको अनुभूति दिलाउनुपर्छ, र व्यक्तिको बोली र व्यवहार परिष्कृत हुनुपर्छ। तिनीहरू साधारण मानिसहरूजस्तै हुनु हुँदैन, बरु तिनीहरूले मानिसहरूलाई आफू र साधारण मानिसहरूबीच भिन्‍नता छ भनेर देखाउनुपर्छ—यसरी मात्रै तिनीहरूले आफ्नो पहिचान विशिष्ट र अरूभन्दा फरक छ भनेर देखाउन सक्छन्। तिनीहरूले हृदयको गहिराइमा यो विश्‍वास गर्छ कि, कोचिएर बस चढ्नेजस्ता कामहरू समाजको तल्लो तहका मानिसहरू र उच्च स्तरको शिक्षा नपाएकाहरूले गर्ने कामहरू हुन्, र ती कुराहरू उच्‍च ज्ञान नपाएका वा उच्च स्तरका बुद्धिजीवीको पहिचान नभएकाहरूले गर्ने कामहरू हुन्। त्यसोभए यी उच्च स्तरका बुद्धिजीवीहरूले चाहिँ के-कस्ता काम गर्छन् त? तिनीहरू सिद्धान्तहरू प्रचार गर्दै, ज्ञान बाँड्दै, र मानिसहरूको शङ्का निवारण गर्दै, सभाको मञ्चमा खडा हुन्छन्—तिनीहरूको कर्तव्य यही हो, र यो कुराले तिनीहरूको पहिचान, छवि, र पेसा प्रतिनिधित्व गर्छन्। तिनीहरूले यी कुराहरू मात्रै गर्न सक्छन्। साधारण मानिसहरूको दैनिक आवश्यकताहरूसँग तिनीहरूको कुनै सम्बन्ध हुनु हुँदैन, किनभने तिनीहरू “भद्दा, र घटिया रुचि” बाट अलग रहेका मानिसहरू हुन्। तिनीहरूले साधारण मानिसहरूको दैनिक आवश्यकता, र बसमा कोचाकोच गर्नेजस्ता कार्यहरूलाई कस्तो नाम दिन्छन्? (भद्दा।) ठीक भन्यौ, भद्दा र असभ्य। तिनीहरूको स्तरभन्दा तल रहेका आम, साधारण मानिसहरूको लागि तिनीहरूको हृदयमा रहेको परिभाषा यही हो।

अब तेस्रो बुँदाबारे कुरा गरौं—“हामी उच्च स्तरका बुद्धिजीवीहरूले अर्को बस कुर्न सक्छौँ”—यो कस्तो भावना हो? के यो परम्परागत संस्कृतिको कथामा भनिएजस्तै, कोङ रोङले ठूला नासपाती त्यागेजस्तो भावना होइन र? बौद्धिक वर्गमा परम्परागत संस्कृतिको प्रभाव अत्यन्तै गहन हुन्छ। तिनीहरूले परम्परागत संस्कृति स्विकार्ने मात्र होइन, परम्परागत संस्कृतिका धेरै विचार र दृष्टिकोणहरू हृदयमा ग्रहण गर्ने र तिनलाई सकारात्मक कुराको रूपमा लिनेसमेत गर्छन्, यहाँसम्म कि तिनीहरूले कतिपय चर्चित भनाइहरूलाई आफ्नो आदर्श वाक्य नै बनाउँछन्, र यस क्रममा, तिनीहरू जीवनको गलत मार्गतर्फ लाग्छन्। परम्परागत संस्कृतिलाई कन्फ्यूसियस धर्मसिद्धान्तले प्रतिनिधित्व गर्छ। कन्फुसियस धर्मसिद्धान्तमा वैचारिक सिद्धान्तहरूको एउटा पूरा सेट छ, र यसले मुख्य रूपमा परम्परागत नैतिक संस्कृतिको प्रचार गर्छ, र कन्फुसियस र मेन्सियसलाई सन्तहरूको रूपमा आदर गर्ने इतिहासभरका राजवंशी शासक वर्गहरूले यसलाई आदर गर्थे। कन्फ्यूसियस धर्मसिद्धान्तहरूले वकालत गर्ने कुरा के हो भने, व्यक्तिले परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि, र विश्‍वसनीयताका मूल्यमान्यता पालना गर्नुपर्छ, र परिस्थितिहरू आइपर्दा पहिले शान्त, संयमी र सहनशील हुन सिक्‍नुपर्छ, नरिसाउन र कुरा गरेर विवाद सुल्झाउन अनि विभिन्‍न कुराको लागि झगडा वा खोसाखोस नगर्न सिक्‍नुपर्छ, र शिष्ट व्यवहार गर्न, र सबैबाट आदर प्राप्त गर्न सिक्‍नुपर्छ—यो आफूलाई उचित व्यवहारमा ढाल्नु हो। यी बुद्धिजीवीहरूले आफूलाई सर्वसाधारणहरूभन्दा उच्च स्थानमा राखे, र तिनीहरूको नजरमा, सबै मानिसहरू तिनीहरूको धैर्यता र सहनशीलताका पात्र थिए। ज्ञानका प्रभावहरू साँच्‍चै ठूला हुन्छन्! यी मानिसहरू नक्‍कली भलाद्मीहरूजस्तै छन्, होइन र? हदभन्दा धेरै ज्ञान प्राप्त गर्ने मानिसहरू नक्‍कली भलाद्मी बन्छन्। यदि परिष्कृत विद्वानहरूको यो समूहलाई एउटै वाक्यांशमा व्याख्या गर्ने हो भने, यो परिष्कृत विद्धत शिष्टता हो। यी परिष्कृत विद्वानहरूले एकअर्कासँग अन्तरक्रिया गर्ने सिद्धान्तहरू के-के हुन्? सांसारिक व्यवहारशैलीप्रति तिनीहरूको दृष्टिकोण के हो? उदाहरणको लागि, साधारण मानिसहरूले ली थर भएका मानिसहरूलाई “लाओ ली”[क] वा “जियाओ ली” भनेर भन्छन्। के बुद्धिजीवीहरूले तिनीहरूलाई यसरी बोलाउँछन् त? (बोलाउँदैनन्।) तिनीहरूले उनीहरूलाई कसरी बोलाउँछन्? (लीजी।) यदि तिनीहरूले कुनै महिला देखे भने, तिनीहरूले उसलाई फलानो म्याडम भनेर बोलाउँछन्, र भलाद्मी व्यक्तिले जसरी उसलाई विशेष आदरपूर्वक र शिष्ट व्यवहार गर्छन्। तिनीहरू सज्जनहरूले देखाउने परिष्कृत शिष्टता सिक्न र अनुकरण गर्नमा विशेषज्ञ हुन्छन्। तिनीहरूले कुन भाव र शैलीमा कुराकानी र छलफल गर्छन्? तिनीहरूको अनुहारको हाउभाउ अत्यन्तै भद्र हुन्छ, र तिनीहरू शिष्ट र संयमी रूपमा बोल्छन्। तिनीहरूले आफ्नै दृष्टिकोण मात्रै व्यक्त गर्छन् र अरूको दृष्टिकोण गलत छ भन्‍ने थाहा भए पनि, तिनीहरूले केही भन्दैनन्। तिनीहरूमध्ये कसैले पनि कसैको भावनामा चोट पुर्‍याउँदैन, र तिनीहरूको बोलीवचन अत्यन्तै नरम हुन्छ, मानौँ तिनलाई कसैमाथि चोट वा चिडचिडाहट नहुने गरी नरम कपासमा पोको पारिएको छ, नत्रभने त तिनीहरूको कुरा सुन्दा नै सुन्‍ने व्यक्तिलाई वाकवाक लाग्छ, तनाव हुन्छ वा रिस उठ्छ। तथ्य त यो हो कि, कसैको दृष्टिकोण स्पष्ट हुँदैन, र कसैले कसैलाई स्विकार्दैन। यस्ता मानिसहरू वास्तविक रूप लुकाउन माहिर हुन्छन्। सानोभन्दा सानो कुरा आइपर्दा पनि, तिनीहरू आफूलाई ढाकछोप गर्छन् र लुकाउँछन्, र तिनीहरू कसैले पनि स्पष्ट व्याख्या गर्दैनन्। साधारण मानिसहरूसामु, तिनीहरू कस्तो शारीरिक हाउभाउ र कस्तो छवि प्रस्तुत गर्न चाहन्छन्? तोकेरै भन्दा, साधारण मानिसहरूलाई तिनीहरू नम्र भलाद्मी हुन् भन्‍ने देखाउन चाहन्छन। भलाद्मीहरू अरूभन्दा माथि र मानिसहरूको आदर पाउने हुन्छन्। मानिसहरूले तिनीहरूसँग सामान्य मानिसहरूको तुलनामा बढी अन्तर्ज्ञान हुन्छ, र सामान्य मानिसहरूको तुलनामा तिनीहरूमा विभिन्‍न कुराबारे राम्रो बुझाइ हुन्छ भन्‍ने सोच्छन्, त्यसकारण हरेक व्यक्तिले समस्या हुँदा तिनीहरूको परामर्श लिन्छ। यही नै यी बुद्धिजीवीहरूले चाहेको परिणाम यही हो, तिनीहरू सबैले सन्तको रूपमा आदर पाउने आशा गरेका हुन्छन्।

हामीले भर्खरै चिरफार गरेका तीन बुँदाहरूबाट हेर्दा, यी प्राध्यापकहरूले “उच्च स्तरका बुद्धिजीवीहरू” भन्‍ने उपाधि लिएपछि, के तिनीहरूको सोचाइ अझै स्वतन्त्र भयो कि अझै सीमित भयो? (अझै सीमित।) यो पक्‍कै पनि सीमित भएको हुनुपर्छ। अनि केद्वारा सीमित भयो? (ज्ञानद्वारा।) ज्ञान तिनीहरूको पेसाभित्रको कुरा हो। वास्तवमा, ज्ञानले तिनीहरूलाई साँच्‍चै सीमित पारेको थिएन। त्यसैले, तिनीहरूलाई केले सीमित तुल्यायो त? यो कुरा ज्ञानप्रतिको तिनीहरूको मनोवृत्ति, र तिनीहरूको सोचाइमा ज्ञानले पारेको प्रभाव, साथै यसले हालिदिने दृष्टिकोणहरू थियो—समस्या यही हो। त्यसकारण, तिनीहरूले ज्ञानको जति उच्‍च स्तर प्राप्त गरे, त्यति नै तिनीहरूलाई तिनीहरूको पहिचान र हैसियत अरूको भन्दा फरक छ भन्‍ने लाग्थ्यो, र त्यति नै तिनीहरूलाई आदर्शवान् र महान् छु भन्‍ने लाग्थ्यो, र सँगसँगै त्यति नै तिनीहरूको सोचाइ पनि सीमित भयो। यो दृष्टिकोणबाट हेर्दा, धेरै ज्ञान प्राप्त गरेका मानिसहरूले स्वतन्त्रता प्राप्त गरेका हुन्छन् कि गुमाएका हुन्छन्? (स्वतन्त्रता गुमाएका हुन्छन्।) तिनीहरूले वास्तवमा स्वतन्त्रता गुमाएका हुन्छन्। ज्ञानले मानिसहरूको सोचाइ र समाजमा रहेको तिनीहरूको हैसियतमा प्रभाव पार्छ, र यसले मानिसहरूमा पार्ने प्रभाव सकारात्मक हुँदैन। तैँले जति धेरै ज्ञान प्राप्त गर्छस्, तैँले आफ्नो व्यवहारको हकमा बुझ्‍नुपर्ने सिद्धान्त, दिशा र उद्देश्यहरू त्यति नै राम्ररी बुझ्नेछस् भन्‍ने कुरा कहिल्यै हुँदैन। यसविपरीत, तँ ज्ञानको पछि जति दौडन्छस्, र तैँले ज्ञान जति राम्ररी प्राप्त गर्छस्, त्यति नै तँ सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने विचार र दृष्टिकोणहरूबाट टाढा जान्छस्। यो त यी बुद्धिजीवीहरूको समूहले धेरै ज्ञान र शिक्षा प्राप्त गरेर पनि सामान्य ज्ञानको आधारभूत कुरासमेत नबुझेजस्तै कुरा हो। त्यो सामान्य ज्ञान के हो? धेरै मानिसहरू हुँदा, तैँले कोचिएर बस चढ्नुपर्छ। यदि कोचिँदै छिरिनस् भने, तँ कहिल्यै पनि बसभित्र पुग्‍नेछैनस्—तिनीहरूलाई यो सरल नियमसमेत थाहा थिएन। मलाई भन त, तिनीहरू चलाख कि मूर्ख बनेका थिए? (तिनीहरू मूर्ख बनेका थिए।) वास्तवमा, तिनीहरू एक हुल मूर्खहरू थिए। साधारण मानिसहरूले त्यस्तो उच्‍च ज्ञान वा उच्च स्तरको शिक्षा प्राप्त गरेका हुँदैनन्, र तिनीहरूमा यस्तो हैसियत हुँदैन, तर तिनीहरू यो कुरा बुझ्छन् र यसो भन्छन्, “बस चढ्नु छ र धेरै मानिसहरू छन् भने, कोचिएर छिर्नुपर्छ, र धकेल्दै बल लगाउनुपर्छ, किनभने अलिकति बल लगाउन छोडियो, र मस्तिष्कले अलिक ढिलो प्रतिक्रिया दियो भने, भीडको पछाडि पर्न सकिन्छ र अर्को बस चढ्नुपर्ने हुनसक्छ।” यो जीवनको सामान्य सुझबुझको आधारभूत कुरा हो, र यो कुराप्रति सामान्य मानिसहरू परिचित हुन्छन्, तर यी बुद्धिजीवीहरूले यो कुरा बुझेकै थिएनन्, त्यसकारण तिनीहरूले एकपछि अर्को बस प्रतीक्षा गरे। तिनीहरूलाई के कुराले सीमित गरेको थियो? तिनीहरू “हामी उच्च स्तरका बुद्धिजीवीहरू हौं” भन्‍ने दाबीद्वारा दह्रिलो रूपमा बाँधिएका थिए। वास्तविकता यही थियो। तिनीहरूलाई वास्तविक जीवनको यति सरल समस्या कसरी सामना गर्ने वा सम्हाल्ने भन्‍नेसमेत थाहा थिएन। तिनीहरू मूर्खहरू थिए! तिनीहरूको निम्ति ज्ञानले के निम्त्यायो? यसले तिनीहरूलाई अरू मानिसहरूबाट अलग गरायो, तिनीहरूलाई कसरी जिउने भन्‍ने नै थाहा थिएन, र तिनीहरूलाई वास्तविक जीवनमा आइपर्ने कुराहरू कसरी सम्हाल्ने भन्‍ने पनि थाहा थिएन। तिनीहरूले साधारण मानिसहरूले वास्तविक जीवनमा सामना गर्ने सबैभन्दा आम समस्या सम्हाल्न केही ठूला सिद्धान्त प्रयोग गरे, र यसलाई यसरी सम्हालेपछि यसका परिणामहरू के हुनेछन् भन्‍ने तिनीहरूलाई थाहै थिएन—शायद तिनीहरूले आजसम्म पनि अझै बुझेका छैनन् होला। सायद तिनीहरूले बुढेसकालमा पुगेपछि मात्रै यो कुरालाई राम्ररी सोच्न सक्छन् होला। त्यो बेला, तिनीहरूको त्यति विशेष माहौल हुँदैन, र तिनीहरूलाई जीवनभर उच्च स्तरको बुद्धिजीवीको प्रतिष्ठा लिएर पुगिसकेको हुन्छ। कुनै दिन, तिनीहरूलाई आफू बस चढेको त्यो बेला कति दयनीय बनेको थिएँ भनेर याद आउन सक्छ, र तिनीहरूलाई अचानक आफू यति आदर्शवान् र उच्च स्तरको रहनेछु भनेर महसुस हुनेछ, अनि तिनीहरूलाई अचानक यस्तो पनि महसुस हुनेछ, “के मेरो विद्धत उत्कृष्टताले मलाई खान दिएको छ? के मैले पनि सामान्य मानिसहरूले जस्तै दिनको तीनपटक खानुपर्दैन र? म पनि अरू मानिसहरूभन्दा फरक छैनँ। बुढेसकालमा, के म पनि कुप्रिएर हिँड्दिनँ र? अनि के खतरा सामना गर्दा, म पनि डरले थुरथुर र भयभीत हुँदिनँ र? अनि जब म आफ्नो प्रियजनको मृत्यु वा खुसीको घटना सामना गर्छु, तब के म पनि अरू जस्तै दुःखी वा खुसी हुँदिनँ र? के म साधारण मानिसहरूजस्तै जिइरहेको छैनँ र? म अरू कोहीभन्दा फरक छैनँ!” त्यो बेला यो ज्ञान आउनु तिनीहरूको लागि ढिलो भइसकेको हुनेछ। सत्यता नबुझेपछि केही तथाकथित सकारात्मक भनाइ र दृष्टिकोणहरू स्वीकार गर्ने मानिसहरूले देखाउने विभिन्‍न प्रकारका कुरूपताहरू यिनै हुन्। जब मानिसहरूलाई यी दृष्टिकोणहरू सही छन् छैनन् भन्‍ने कुरै थाहा हुँदैन, तब तिनीहरूले प्रायजसो यी दृष्टिकोण र भनाइहरूलाई आफूले पालना र लागू गर्नुपर्ने सत्यताहरू ठान्छन्, अनि जब तिनीहरूले यी कुराहरू लागू गर्छन्, तब तिनीहरूले हरप्रकारका दुष्परिणामहरू भोग्‍ने, र हरप्रकारका अप्ठ्याराहरू अनुभव गर्ने सम्भावना हुन्छ। मानिसहरूमा यसको के परिणाम हुन्छ? मानिसहरूले निरन्तर स्वतन्त्रताको लागि लागिपरिरहेका बेला, तिनीहरू निरन्तर एउटा भुमरीबाट अर्को भूमरीमा, र एकप्रकारको बन्धनबाट अर्कोप्रकारको बन्धनमा परिरहन्छन्। के यो कुरा साँचो होइन र? त्यसकारण, जब तैँले सत्यता बुझ्दैनस्—र तैँले जुन कुरालाई पक्रिराख्छस्, चाहे त्यो कुनै दृष्टिकोण, परम्परागत संस्कृति, वा कुनै नियम, प्रणाली, वा सिद्धान्त भए पनि, र चाहे यी कुराहरू समाजमा तुलनात्मक रूपमा अलिक पुरानो भइसकेका भए पनि, वा अलिक आधुनिक र फेशनेबल नै भए पनि—यी कुराहरूले सत्यताको स्थान कहिल्यै लिन सक्दैनन्, किनभने यी कुरा सत्यता होइनन्। तैँले यी कुरालाई जति नै राम्ररी पालना गरे पनि, वा जति नै राम्ररी लागू गरे पनि, अन्त्यमा यी कुराहरूले तँलाई सत्यता प्राप्त गराउनुको सट्टा सत्यताबाट टाढा लैजाने मात्रै गर्छन्। तैँले यी कुराहरूलाई जति पालना गर्छस्, तँ त्यति नै सत्यताबाट टाढा जान्छस् र त्यति नै परमेश्‍वरको मार्ग र सत्यताको मार्गबाट टाढा जान्छस्। अर्कोतर्फ, यदि तैँले यी तथाकथित सकारात्मक कुराहरू, सिद्धान्तहरू, र झूटा सत्यताहरू त्याग्‍न सक्रिय रूपमा पहल गर्न सक्छस् भने, तँ अलिक तुरुन्तै सत्यतामा प्रवेश गर्न सक्छस्। यस तरिकाले, मानिसहरूले आफ्नो दैनिक जीवनमा सत्यता र परमेश्‍वरका वचनहरूको सट्टा यी तथाकथित परम्परागत संस्कृतिहरू र यी झूटा सत्यताहरूलाई अभ्यासका सिद्धान्तहरूको रूपमा प्रयोग गर्नेछैनन्, र यो अप्ठ्यारोपन क्रमिक रूपमा कम हुँदै र क्रमिक रूपमा समाधान हुँदै जानेछ।

कतिपय मानिसहरूले आफ्नो परिवार र देशको परम्परागत संस्कृति त्यागेर, र विदेशबाट आएको विदेशी परम्परागत संस्कृति स्विकारेर सत्यता प्राप्त गरेको छु भन्‍ने सोच्छन्; कतिपय मानिसहरूले पुरानो, परम्परागत संस्कृति र पुराना विचार र दृष्टिकोणहरू त्यागेर, र अलिक विकसित र अलिक आधुनिक विचारहरू स्विकारेर सत्यता प्राप्त गरेको छु भन्‍ने सोच्छन्। अहिले हेर्दा, यी मानिसहरू सही छन् कि गलत? (गलत।) तिनीहरू सबै गलत छन्। मानिसहरू पुराना कुराहरू त्यागेपछि नै स्वतन्त्रता प्राप्त हुनेछ भन्‍ने सोच्छन्। खासमा स्वतन्त्रता प्राप्त गर्नुको अर्थ के हुन्छ? यसको अर्थ व्यक्तिले सत्यता प्राप्त गरेको छ र उसले पाउनुपर्ने वास्तविक जीवनशैली प्राप्त गरेको छ भन्‍ने हुन्छ। मानिसहरू साँचो मार्ग यसरी प्राप्त हुन्छ भन्‍ने सोच्छन्। के यो वास्तवमै साँचो हो त? के यो सही हो त? होइन। मानवजातिले जुनसुकै आधुनिक र विकसित संस्कृति स्विकारे पनि, अन्त्यमा यो परम्परागत संस्कृति नै हुन्छ, र यसको सार परिवर्तन हुँदैन। जुनसुकै बेलासम्म पनि परम्परागत संस्कृति परम्परागत संस्कृति नै रहन्छ। यसले समयको परीक्षा वा तथ्यहरूको परीक्षा थेग्‍न सके पनि, वा मानवजातिले यसलाई आदर गरे पनि नगरे पनि, अन्त्यमा यो अझै पनि परम्परागत संस्कृति नै हुन्छ। अनि, यी परम्परागत संस्कृतिहरू किन सत्यता होइनन्? अन्ततः सार के हो भने, यी कुराहरू शैतानले मानवजातिलाई भ्रष्ट तुल्याएपछि आएका विचारहरू हुन्। यी कुरा परमेश्‍वरबाट आएका होइनन्। यी कुराहरू मानिसहरूका कल्पना र धारणाद्वारा दूषित भएका हुन्छन्, र अझ भन्‍ने हो भने, यी कुराहरू शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउनुका दुष्परिणामहरू हुन्। शैतानले मानिसहरूको सोचाइ बाँध्न र मानिसहरूको सोचाइ भ्रष्ट पार्न भ्रष्ट मानवजातिका विचार, दृष्टिकोण, र हरप्रकारका भनाइ र तर्कहरू प्रयोग गर्छ। यदि मानिसहरूलाई छल गर्न शैतानले देख्दै हास्यास्पद, मूर्खतापूर्ण, र गलत लाग्ने कुराहरू प्रयोग गर्‍यो भने, मानिसहरूमा समझशक्ति आउँछ, र तिनीहरूले सत्यतालाई झूटबाट, कालोलाई सेतोबाट, र सहीलाई गलतबाट छुट्याउने आफ्नो क्षमता प्रयोग गरी ती कुराहरूलाई इन्कार्न र निन्दा गर्न सक्छन्। त्यसकारण, यस्ता शिक्षणहरू सूक्षमजाँचको अगाडि टिक्‍न सक्दैनन्। तैपनि, जब शैतानले मानिसहरूलाई अभ्यस्तीकरण गराउन, प्रभावित पार्न, र मस्तिष्क परिवर्तन गराउन, मानिसहरूका धारणा र कल्पनाहरूसँग मिल्ने खालका र ठूलो स्वरमा बोल्दा सूक्षमजाँचको अगाडि पनि टिक्‍ने भनेर मानिसहरूलाई लाग्‍ने खालका केही विचार र सिद्धान्तहरू प्रयोग गर्छ, तब मानवजाति सजिलै छलमा पर्छ, अनि मानिसहरूले यी भनाइहरूलाई सजिलै स्विकार्छन् पनि र फैलाउँछन् पनि, र त्यसकारण यी भनाइहरू आजसम्मै पुस्तौँपुस्तादेखि कायम रहिरहेका छन्। उदाहरणको लागि, चिनियाँ नायकहरूबारेका केही कथाहरूलाई लिऊँ, जस्तै युइ फेइ, याङ परिवारका सेनापतिहरू, र वेन टियाङस्याङका देशभक्त कथाहरू। कसरी यी विचारहरू आजको दिनसम्म हस्तान्तरित भएका छन्? यदि हामीले यसलाई मानिसहरूको दृष्टिकोणबाट हेर्‍यौँ भने, हरेक युगमा यसप्रकारको व्यक्ति वा शासक हुन्छै हुन्छ, जसले यस्ता उदाहरणहरू निरन्तर प्रयोग गर्दै मानिसहरूको एकपछि अर्को पुस्तालाई सिकाउन यी व्यक्तित्वहरूका विचार र भावनाहरू प्रयोग गर्ने गर्छ, ताकि मानिसहरू पुस्तौँपुस्ता आज्ञाकारी र नम्र भएर तिनीहरूको शासन स्विकार्न सकून्, र तिनीहरूले सहजै मानिसहरूको पुस्तौँपुस्तालाई शासन गर्न, र आफ्नो शासनलाई अझै स्थिर बनाउन सकून्। युइ फेइ र याङ परिवारका सेनापतिहरूको बाँदरे भक्ति, साथै वेन टियाङस्याङ र क्‍व युवानको देशभक्ति भावनाबारे कुरा गरेर, तिनीहरूले आफ्ना प्रजालाई शिक्षा दिएर एउटा नियम बताउँछन्, र त्यो नियमले भन्छः व्यक्तिले बफादारीसाथ व्यवहार गर्नुपर्छ—यो उच्च नैतिक चरित्र भएको व्यक्तिमा हुनुपर्ने कुरा हो। यो बफादारी कति हदसम्‍म हो? यति हदसम्‍म कि, “राजाले भारदारलाई मर्ने आदेश दिए, ऊसँग मर्नुको विकल्प हुँदैन,” र “एउटा बफादार प्रजाले दुइटा राजाको सेवा गर्न सक्दैन”—यो पनि तिनीहरूले आदर गर्ने अर्को भनाइ हो। तिनीहरू आफ्नो देशलाई प्रेम गर्ने मानिसहरूलाई पनि आदर गर्छन्। आफ्नो देशलाई प्रेम गर्नु भनेको केलाई, वा कसलाई प्रेम गर्नु हो? भूमिलाई प्रेम गर्नु? यसमा रहेका मानिसहरूलाई प्रेम गर्नु? अनि देश भनेको के हो? (शासकहरू।) शासकहरू देशको मुखपत्र हुन्। यदि तैँले “मेरो देशप्रतिको प्रेम वास्तवमा मेरो घरगाउँ र मेरा आमाबुबाप्रतिको प्रेम हो। म तिमीहरू, अर्थात् शासकहरूलाई प्रेम गर्दिनँ!” भनेर भन्छस् भने, तिनीहरू रिसाउनेछन्। यदि तैँले “मेरो देशप्रतिको प्रेम शासकहरूप्रतिको प्रेम हो, मेरो हृदयको गहिराइबाट गरिने प्रेम हो” भनेर भन्छस् भने, तिनीहरूले यस्तो प्रेमलाई स्विकार्छन् र अनुमोदन गर्छन्; यदि तैँले प्रेम गर्ने व्यक्ति तिनीहरू होइनन् भनेर बुझाइस् र स्पष्ट पारिस् भने, तिनीहरूले अनुमोदन गर्नेछैनन्। युगौँयुगदेखिका शासकहरूले कसलाई प्रतिनिधित्व गर्छन्? (शैतान।) तिनीहरूले शैतानलाई प्रतिनिधित्व गर्छन्, तिनीहरू शैतानको गिरोहका सदस्यहरू हुन्, र तिनीहरू दियाबलसहरू हुन्। तिनीहरूले मानिसहरूलाई परमेश्‍वर, अर्थात् सृष्टिकर्ताको आराधना गर्न सिकाउन किमार्थ सक्दैनन्। तिनीहरूले त्यसो गर्न सक्दै सक्दैनन्। यसको साटो, तिनीहरूले मानिसहरूलाई शासक भनेका स्वर्गका पुत्र हुन् भनेर बताउँछन्। यो “स्वर्गका पुत्र” को अर्थ के हो? यसको अर्थ स्वर्गले कसैलाई शक्ति दिन्छ, र त्यो व्यक्तिलाई “स्वर्गका पुत्र” भनेर भनिन्छ र ऊसँग स्वर्गमुनि रहेका सबै मानिसहरूमाथि शासन गर्ने शक्ति हुन्छ। के यो शासकहरूले मानिसहरूमा हालिदिएको विचार होइन र? (हो।) जब व्यक्ति स्वर्गको पुत्र बन्छ, यो कुरा स्वर्गले निर्धारित गरेको हुन्छ, र स्वर्गको इच्छा ऊसँग हुन्छ, त्यसकारण मानिसहरूले त्यो व्यक्तिको शासन जेजस्तो भए पनि त्यो शासनलाई विनासर्त स्विकार्नुपर्छ। तिनीहरूले मानिसहरूमा हालिदिने विचार यही हो, र यसले तँलाई स्वर्ग छ भन्‍ने कुरा मान्‍न, र सँगसँगै त्यो व्यक्तिलाई स्वर्गको पुत्रको रूपमा स्विकार्नसमेत लगाउँछ। अनि, त्यो व्यक्तिलाई स्वर्गको पुत्रको रूपमा स्विकार्न लगाउनुको उद्देश्य के हो? यो तँलाई स्वर्ग छ, वा परमेश्‍वर, वा सृष्टिकर्ता हुनुहुन्छ भनेर स्विकार्न लगाउनको लागि होइन, बरु त्यो व्यक्ति स्वर्गको पुत्र हो, र ऊ स्वर्गको इच्छाद्वारा अस्तित्वमा ल्याइएको स्वर्गको पुत्र भएकोले, मानिसहरूले उसको शासन स्विकार्नुपर्छ भनेर मान्‍ने तुल्याउनको लागि हो—तिनीहरूले हालिदिने विचारहरू यिनै हुन्। मानवजातिको उत्पत्तिदेखि आजको दिनसम्म विकसित भएका यी सबै विचारहरूपछाडि—चाहे हामीले उपमाहरू भएका हरेक वाक्यांश वा उखानहरू चिरफार गरे पनि, वा उपमा समावेश नभएका हरेक लोक उक्ति वा आम भनाइहरू चिरफार गरे पनि—मानवजातिप्रतिको शैतानको बन्धन र छल, साथै भ्रष्ट मानवजातिले यी विचारहरूबारे दिएको भ्रामक परिभाषा लुकेको हुन्छ। पछिल्ला समयहरूमा मानवजातिमाथि यो भ्रामक परिभाषाको कस्तो प्रभाव रहेको छ? के यो राम्रो र सकारात्मक हो, कि नकारात्मक हो? (नकरात्मक।) यो आधारभूत रूपमा नकारात्मक हो। उदाहरणको लागि, “आफैलाई पीडा दिएर विगतको तीतोपन पलपल मनमा गुन्‍नु,” “अन्धकारमा आफ्नो ज्योति लुकाउनू र शक्ति जुटाउनू,” “अपमान सहनू र भारी बोझ बोक्‍नू,” “मर्छु भनेर कहिल्यै नभन्‍नू,” र साथै “एउटा काम गर्दा अर्को काम गरेको नाटक गर्नू” भन्‍नेजस्ता भनाइहरू—भविष्यका अवधिहरूमा यी भनाइहरूले मानवजातिमा कस्तो प्रभाव पार्छन्? तोकेरै भन्दा, मानिसहरूले परम्परागत संस्कृतिका यी विचारहरू स्विकारेपछि, मानिसहरूको हरेक भावी पुस्ता परमेश्‍वरबाट झन्झन् टाढा जान्छन्, र मानिसहरूलाई सृष्टि गर्ने र मुक्ति दिने परमेश्‍वरको कामबाट, र उहाँको व्यवस्थापन योजनाको कामबाट पनि झन्झन् टाढा जान्छन्। परम्परागत संस्कृतिका यी गलत दृष्टिकोणहरू स्विकारेपछि, मानिसहरूलाई मानव नियति तिनीहरूको हातमा हुनुपर्छ, र खुसी तिनीहरूको आफ्‍नै हातले निर्माण गर्नुपर्छ, र तम्तयार रहेकाहरूको लागि मात्रै अवसरहरू साँचिएको हुन्छ भन्‍ने झन्झन् बढी अनुभव हुन्छ, र यसले गर्दा मानवजातिले झन्झन् परमेश्‍वरलाई इन्कार्ने, परमेश्‍वरको सार्वभौमिकता नकार्ने, र शैतानको सत्तामुनि जिउने गर्छ। यदि आधुनिक युगका मानिसहरूले के कुरा बोल्न मन पराउँछन् र दुई हजार वर्षपहिलेका मानिसहरूले के कुरा बोल्न मन पराउँथे भनेर तुलना गरियो भने, यी कुराहरूपछाडि रहेको सोचाइको अर्थ वास्तवमा उस्तै छ। यति मात्र हो कि आजभोलि मानिसहरूले ती कुराहरूबारे अझै निर्दिष्ट रूपमा तोकेरै र पहिलेभन्दा साफसाफ रूपमा कुरा गर्छन्। तिनीहरूले परमेश्‍वरको अस्तित्व र सार्वभौमिकता इन्कार मात्रै गर्दैनन्, बरु उल्टै झन्झन् गम्भीर हदमा परमेश्‍वरको प्रतिरोध र निन्दासमेत गर्छन्।

उदाहरणको लागि, प्राचीन समयका मानिसहरूले “राष्ट्र समस्यामा हुँदा, हरेकले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी हुन्छ” भनेर भन्‍ने गरेका थिए, र यो भनाइ आजको दिनसम्म पनि प्रचलित छ। मानिसहरूले यो भनाइलाई बहुमूल्य ठान्छन्, र विशेष गरी देशभक्तहरूले यसलाई आफ्नो आदर्श वाक्यको रूपमा लिन्छन्। अहिले तिमीहरू विदेशमा आएका छौ, त्यसैले यदि कुनै अर्को व्यक्तिले चीनमा कुनै घटना घट्यो भनेर भन्छ भने, के तिमीहरूसँग यसको कुनै सम्बन्ध हुन्छ? (हुँदैन।) तिमीहरूसँग यसको कुनै सम्बन्ध हुँदैन भनेर किन भन्छौ? कतिपयले भन्छन्, “म त्यो देशलाई घृणा गर्छु। अहिले कम्युनिस्टहरू सत्तामा छन्, त्यो दुष्ट राजनीतिक पार्टी सत्तामा छ। त्यो कम्युनिस्ट पार्टी दियाबलस शैतान हो, त्यो तानाशाही शासन हो, र मसँग त्यसको कुनै सम्बन्ध छैन। त्यसले हामीलाई सताउँछ र परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्छ। म त्यसलाई घृणा गर्छु।” मानौँ, एक दिन त्यो देश नष्ट हुन लागेको छ रे—तैँले आफ्नो हृदयमा केही महसुस नगर्न सक्छस्, तर जब तैँले आफू जन्मेको प्रान्त विदेशी समूहहरूले आक्रमण गरेर कब्जा गरेका छन् भन्‍ने सुन्छस्, तब तँलाई शरणार्थी भएको र घर नभएको फिरन्ते बनेको जस्तो लाग्‍नेछ, र तँ व्याकुल हुनेछस् र झरेको पात आफ्नो मूलमा पुगेझैँ आफू आफ्नो मूलमा फर्कन नसक्‍ने बनेको अनुभव गर्नेछस्। झरेको पात आफ्नो मूलमा पुगेझैँ आफू आफ्नो मूलमा फर्कनु—यो अर्को परम्परागत विचार हो। अनि मानौँ, त्यसपछि एक दिन, तैँले अचानक तेरो घरगाउँ—तँ जन्मेहुर्केको ठाउँ—विदेशी समूहले आक्रमण गरी कब्जा गरेको छ, तँ हरेक दिन स्कूल जाने बाटो विदेशी समूहले आफ्नो पारेको छ, र तेरो घर र तेरो परिवारको जग्गा विदेशी समूहले हडपेको छ भन्‍ने सुन्छस्। जुन कुरा पहिले तेरो थियो त्यो हराइसकेको हुन्छ—तेरो मनमा गहन रूपमा बसेको त्यो सानो भूमि, तेरो सबैभन्दा नजिकको सम्बन्ध भएको त्यो जग्गा हराइसकेको छ, र तेरो सबै आफन्तहरू हराइसकेका छन्। त्यो बेला, तैँले सोच्नेछस्, “मेरो देश नै छैन भने, मसँग कसरी घर हुन सक्छ? अहिले म साँच्‍चै शरणार्थी बनेको छु, म साँच्‍चै घरविहीन भएको छु, म फिरन्ते बनेको छु। ‘राष्ट्र समस्यामा हुँदा, हरेकले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी हुन्छ’ भन्‍ने भनाइ सही रहेछ!” जब त्यस्तो समय आउँछ, तब तँ परिवर्तन हुनेछस्। त्यसोभए अहिले नै तैँले यो भनाइ सही छ भनेर किन सोच्दैनस्? यसको पृष्ठभूमि र आधार छ, किनभने त्यो देशले तँलाई सताउँछ र धेरै पीडा दिन्छ, र त्यसले तँलाई स्विकार्दैन, र तँ त्यसलाई घृणा गर्छ। तर वास्तवमा तैँले साँच्‍चै घृणा गर्ने कुरा त्यो भूमि होइन। तँ आफूलाई सताउने त्यो शैतानी शासनलाई चाहिँ तँ घृणा गर्छस्। तैँले त्यसलाई तेरो देशको रूपमा पहिचान गर्दैनस्, त्यसकारण यो बेला, जब अरूले “राष्ट्र समस्यामा हुँदा, हरेकले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी हुन्छ” भनेर भन्छन्, तब तैँले भन्छस्, “योसँग मेरो कुनै सम्बन्ध छैन।” तर एक दिन जब तँ जन्मेहुर्केको भूमि तेरो रहँदैन, र तँसँग कुनै घरगाउँ हुँदैन, तब तँलाई तँ फिरन्ते र कुनै राष्ट्रियता नभएको व्यक्ति होस्, र तैँले साँच्‍चै आफ्नो देश गुमाएको छस् भन्‍ने लाग्‍नेछ। त्यो बेला तँलाई हृदयमा पीडा हुनेछ। केको लागि तँलाई हृदयमा किन पीडा भएको हो? अहिले तँलाई अझै गहन रूपमा महसुस भएको छैन होला, तर एकदिन यसले तँलाई गहन रूपमा छुनेछ। अनि, कुन परिस्थितिमा यसले तँलाई गहन रूपमा छुनेछ? यदि तेरो देश मर्छ र तँ जितिएको राष्ट्रको सदस्य बन्छस् भने, त्यो डरलाग्दो कुरा हुँदैन। त्यसोभए, केचाहिँ डरलाग्दो हुन्छ त? जब तँ जितिएको राष्ट्रको सदस्य बन्छस् र जब तँलाई हेपिन्छ, मानमर्दन गरिन्छ, भेदभावमा पारिन्छ, नीच ठानिन्छ, र जब तेरो शान्तिसाथ बस्‍ने ठाउँ हुँदैन, तब तैँले यस्तो सोच्नेछस्, “आफ्नो देश हुनु अत्यन्तै अमूल्य कुरा हो। आफ्नो देशविना मानिसहरूको कुनै वास्तविक घर हुँदैन। आफ्नो देश भएको आधारमै मानिसहरूको परिवार हुन्छ, त्यसकारण ‘राष्ट्र समस्यामा हुँदा, हरेकले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी हुन्छ’” भन्‍ने भनाइले यो कुरालाई राम्ररी व्यक्त गरेको छ। यहाँ, “हरेकले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी हुन्छ” भन्‍ने वाक्यांशमा, यो “जिम्मेवारी” केको लागि हो? यो आफ्नो घरको शान्तिको लागि हो, आफ्नो घर रक्षा गर्न सक्षम हुनको लागि हो। जब तैँले यसबारेमा सोच्छस्, जब तँलाई विदेशी समूहहरूद्वारा वा पराइ देशमा भेदभाव गरिन्छ, जब तँलाई आफ्नो भन्‍ने स्थान चाहिन्छ, र जब तँलाई आफ्नो गरिमा, इज्जत, पहिचान, र हैसियतमा आड दिने देश चाहिन्छ, तब तैँले कस्तो अनुभव गर्नेछस्? तैँले यस्तो सोच्नेछस्, “जब कोही पराइ देशमा हुन्छ, तब उसको पछाडि उसको महान्‌ मातृभूमिको शक्तिशाली आड हुन्छ!” तब के तेरो मानसिक स्थिति अहिलेको भन्दा फरक हुनेछ? (हुनेछ।) अहिले तँ आक्रोशित छस्, त्यसकारण तँ आफ्नो देशमा जे भए पनि त्यसबारे तँलाई कुनै मतलब छैन भनेर भन्छस्। तर जब त्यस्तो समय आउँछ, त्यो बेला पनि तैँले अझै त्यस्ता कुराहरू भन्‍न सक्छस् भने, तँमा कस्तो कद हुनुपर्छ? यो संसारमा सबैलाई थाहा भएको एउटा तथ्य छ, र त्यो के हो भने, शक्तिशाली मातृभूमिको साथविना, तँलाई अवश्य नै पराइ देशहरूमा भेदभाव र हेपाइ हुनेछ। तैँले वास्तवमै त्यो अनुभव गर्ने समय आएपछि, सबभन्दा पहिले तँ के माग्छस्? कतिले भन्‍नेछन्: “म यहूदी वा जापानी भएको भए राम्रो हुनेथियो। कसैले पनि मलाई हेप्ने आँट गर्नेथिएन। म जुनसुकै देशमा गए पनि मानिसहरूले मलाई निकै आदर गर्नेथिए। म कसरी चीनमा जन्मन पुगेछु? यो देश अक्षम छ र चिनियाँ मानिसहरू जहाँ गए पनि हेपाइमा पर्छन्।” जब यस्तो घटना घट्छ, तिमीहरूले सबभन्दा पहिले के सोच्नेछौ? (हामी परमेश्‍वरमा विश्‍वास गर्छौं र परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुन्छौँ।) ठीक भन्यौ। तर त्यस्तो कुरा बोल्न र यसलाई आफ्नो कदमा परिणत गर्न सक्षम हुनको लागि व्यक्तिले कति सत्यता बुझ्नुपर्छ, उसले कस्तो अनुभव पाएको हुनुपर्छ, र कति अनुभवात्मक बुझाइ पाएको हुनुपर्छ? यस्तो घटना घट्दा, कसैले तँलाई थुके पनि र आफूले जितेको राष्ट्रको सदस्य भनेर भने पनि, तँ कमजोर नबन्‍न, र व्याकुल नहुनको लागि तँसँग कस्तो विचार, बुझाइ र वास्तविक अनुभव हुनुपर्छ? व्याकुल नहुन र यी बन्धनहरूको कष्ट महसुस नगर्नको लागि तिमीहरूमा कस्तो कद हुनुपर्छ? के अहिले तिमीहरूसँग यस्तो कद छ? (छैन।) अहिले तँसँग यो कद छैन, तर के कुनै दिन तँसँग यो कद हुनेछ? तँमा केकस्ता सत्यताहरू हुनुपर्छ? तैँले केकस्ता सत्यताहरू बुझ्नुपर्छ? आजभोलि, कतिपय मानिसहरूले मूलभूमि चीनमा परमेश्‍वरमा विश्‍वास गरेको कारण तिनीहरूका परिवारका सदस्यहरूलाई पक्राउ गरिएको छ भन्‍ने सुन्‍नेबित्तिकै, तिनीहरूले हृदयमा जे बुझ्छन्—जुन सबै कुरा परमेश्‍वरको हातमा छ भन्‍ने कुरा हो—र त्यो कुरा तिनीहरूको लागि धर्मसिद्धान्त बन्छ, र तिनीहरूका परिवारका सदस्यहरूलाई पक्राउ गरिएको छ भन्‍ने तथ्यले तिनीहरू बाधित हुन्छन्, र तिनीहरूमा आफ्नो कर्तव्य पूरा गर्ने झुकाव नै आउँदैन। यदि तिनीहरूले आफन्तको मृत्यु भएको सुने भने, तिनीहरू ठाउँको ठाउँ बेहोस हुन सक्छन्। झन् त्यो भूमि नष्ट भयो र सबै मानिसहरू मरे भने, तिमीहरूलाई कस्तो लाग्‍नेथियो? तिमीहरूको हृदयमा परम्परागत कुराहरू, जस्तै देश, परिवार, घरगाउँ र मातृभूमिजस्ता कुराहरू, साथै यी शब्दहरूसँग सम्बन्धित केही परम्परागत विचार र संस्कृतिले कति ठूलो महत्त्व राख्छ? तेरो जीवनमा, के ती अझै पनि तेरा सबै व्यवहार, र तेरा सबै विचार र बानीबेहोरामा हाबी हुन्छन्? यदि तेरो हृदय अझै पनि तँसँग जोडिएका यी सबै परम्परागत कुराहरू, जस्तै देश, जाति, राष्ट्र, परिवार, घरगाउँ, जग्‍गाजमिन, आदि इत्यादि कुराहरूले ओगटेको छ भने—अर्थात्, यी कुराहरूले अझै पनि तेरो हृदयमा परम्परागत संस्कृतिको निश्‍चित रङ पोत्छन् भने—तैँले सुन्‍ने प्रवचनहरू र तैँले बुझ्ने सत्यताहरू सबै तेरो लागि धर्मसिद्धान्तहरू हुन्। यदि तैँले यति धेरै प्रवचन सुनेको छस्, तैपनि मानिसहरूले त्याग्‍नुपर्ने र आफूलाई अलग गर्नुपर्ने आधारभूत कुराहरूसमेत त्याग्‍न सक्दैनस्, र तैँले ती कुराहरूलाई सही रूपमा लिन सक्दैनस् भने, तैँले बुझ्ने ती सत्यताहरूले वास्तवमा के-कस्ता समस्याहरूचाहिँ समाधान गर्छन् त?

धेरैजसो चिनियाँ मानिसहरू पश्‍चिममा आएपछि, तिनीहरूले आफ्नो परम्परागत संस्कृति र आफूले सही र असल ठानेका कुराहरू पश्‍चिमी मानिसहरूमा हालिदिन्छन्। अनि, यो कुरामा पश्‍चिमीहरू पनि कमका छैनन् र तिनीहरू पनि आफ्ना परम्परागत संस्कृतिहरू धेरै पहिलेदेखिका हुन् भन्‍ने विश्‍वास गर्छन्। उदाहरणको लागि, प्राचीन रोम, प्राचीन इजिप्ट, र प्राचीन ग्रीस सबैमा “प्राचीन” भन्‍ने शब्द छ, र तिनीहरूको संस्कृति तीन हजार वर्षभन्दा पुरानो छ। यो सङ्ख्याको आधारमा हेर्दा, यसमा साँच्‍चै नै निश्‍चित सांस्कृतिक सम्पदा रहेको छ, र यो सांस्कृतिक सम्पदाले उत्पन्‍न गरेका कुराहरूलाई मानवजातिमाझ मानव जीवनको सर्वोत्तम सार, र मानवजातिको जीवन, अस्तित्व, र व्यवहारबाट आउने सर्वोत्तम कुराहरूको रूपमा लिइन्छ। मानवजातिले हस्तान्तरण गरेका यी सर्वोत्तम कुराहरूलाई के भनिन्छ? परम्परागत संस्कृति। मानिसहरूको एकपछि अर्को पिँढीले यो परम्परागत संस्कृति हस्तान्तरण गरेका छन्, र सबैले आफ्नो हृदयमा यही नै सबैभन्दा राम्रो कुरा हो भनेर सोच्छन्। मानिसहरूले यसलाई पालना गर्न सके पनि नसके, सामान्य रूपमा भन्‍नुपर्दा, सबै जातिका मानिसहरूले यसलाई सर्वोच्च कुराको रूपमा र सत्यताको रूपमा लिन्छन्। त्यसकारण, हरेक जातिका मानिसहरूमा परम्परागत कुराहरू हुन्छन्, तर ती कुराहरू सूक्ष्म जाँच गर्दा सत्य साबित हुँदैनन्, तैपनि ती कुराहरूले तिनीहरूमा विशेष गहन प्रभाव पार्छन्, र तिनीहरू एकअर्कासँग प्रतिस्पर्धा र तुलना गर्न, र एकअर्कालाई उछिन्‍नसमेत तिनै कुराहरू प्रयोग गर्छन्। उदाहरणको लागि, चिनियाँ मानिसहरू भन्छन्: “हाम्रो चिनियाँ बइजीउ रक्सी राम्रो छ, र यसमा अल्कोहलको मात्रा निकै धेरै छ!” पश्‍चिमी मानिसहरू भन्छन्: “तिमीहरूको रक्सीमा केचाहिँ यति राम्रो छ र? त्यसमा अल्कोहलको मात्रा यति धेरै छ कि यसलाई पिइसकेपछि मातिहालिन्छ, र साथै, यो कलेजोको लागि निकै हानिकारक हुन्छ। हामी पश्‍चिमी मानिसहरूले पिउने रेड वाइनमा अल्कोहलको मात्रा कम हुन्छ, यसले कलेजोमा थोरै हानि गर्छ र यसले रक्तसञ्चारलाई पनि बढावा दिन्छ।” चिनियाँ मानिसहरू भन्छन्: “हाम्रो बइजीउले पनि रक्तसञ्‍चारलाई बढावा दिन्छ, र यसले राम्ररी काम गर्छ। यसलाई पिउनेबित्तिकै, यो टाउकोमा पुग्छ र अनुहार चम्कन्छ। तिमीहरूको रेड वाइन त्यति कडा छैन, र जति पिए पनि लाग्दै लाग्दैन। थाहा छ, हाम्रोमा त मद्यपानको लागि मदिरा संस्कृति छ, र चियापानको लागि चिया संस्कृति छ।” पश्‍चिमी मानिसहरू भन्छन्: “हामीसँग पनि चियापानको लागि चिया संस्कृति छ, र कफीको लागि कफी संस्कृति छ, र मद्यपानको लागि आल्कोहल संस्कृति पनि छ, र आजभोलि हामीसँग फास्ट फूड संस्कृति पनि छ।” एकअर्कालाई तुलना गर्दा, कसैले कसैसँग हार मान्दैन, र कसैले कसैको कुनै कुरा स्विकार्दैन। तिनीहरू सबैले आफ्नै कुराहरू सत्यता हुन् भन्‍ने सोच्छन्, तर वास्तवमा तीमध्ये कुनै पनि सत्यता होइनन्। अविश्‍वासीहरूलाई पन्छाएर हेर्दा पनि, सबैभन्दा दुःखको कुरा के हो भने, परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले पनि—अझै खराब कुरा त, २०-३० वर्षसम्म कामको यो चरण ग्रहण गरेका मानिसहरूले पनि—यी कुराहरू सत्यता होइनन् भन्‍ने महसुस गर्दैनन्। अनि कतिपयले सोध्छन्, “के यो सत्यतासँग सम्बन्धित छ भनेर भन्‍नु ठीक हुन्छ?” यो सम्बन्धित छ भनेर भन्‍नुसमेत ठीक हुँदैन। यो सत्यता होइन, सत्यतासँग यसको कुनै सम्बन्ध वा साइनो हुँदैन, यी दुई कुरा उस्तै छैनन्, र यी एउटै होइनन्। जसरी काँसलाई जति नै राम्रो रूपमा सुनले ढाके पनि वा चमकदार बनाए पनि, काँस अझै पनि काँस नै हुन्छ, तर सुन नटल्काइएको, नचम्काइएको, वा चिल्‍लो नपारिएको भए पनि सुन नै हुन्छ—यी कुराहरू एउटै होइनन्।

कतिपयले सोध्छन्: “के तुलनात्मक रूपमा राम्रो परम्परागत साँस्कृतिक शिक्षा र अभ्यस्तीकरण प्राप्त गरेका मानिसहरूलाई सत्यता स्विकार्न सजिलो हुन्छ?” हुँदैन, यी दुई फरकफरक कुरा हुन्। मानिसहरूको जीवनशैली मात्रै अलिअलि फरक हुन्छ, तर सत्यता स्विकार्ने तिनीहरूको मनोवृत्ति, तिनीहरूको विभिन्‍न विचार र दृष्टिकोण, र सम्पूर्ण मानवजातिको भ्रष्टताको हद उस्तै हुन्छ। परमेश्‍वरले आफ्नो कामको यो चरणमा, अर्थात् आखिरी दिनहरूको चरणमा बोल्न थाल्‍नुभएपछि, उहाँले चिनियाँ मानिसहरूको प्रसङ्गमा बोल्नुभएको थियो, र तिनीहरूलाई आफ्ना वचनहरू प्रदान गरिरहनुभएको थियो। तीस वर्ष बित्यो, र यी वचनहरू एसियाका अरू भागका सबै जातिहरूमा, र युरोप र अमेरिका आदि इत्यादिजस्ता स्थानहरूमा फैलिएपछि, चाहे मानिसहरू काला, गोरा, खैरा वा पहेँला जेजस्ता भए पनि, तिनीहरू सबैले यी वचनहरू पढेपछि यसो भन्छन्, “यी वचनहरूले हाम्रो बारे कुरा गरिरहेका छन्।” परमेश्‍वरका वचनहरूले सबै मानवजातिका भ्रष्ट स्वभावहरू खुलासा गर्छन्। केही थोरै मानिसहरू भन्छन्, “यी सबै वचनहरू तिमी चिनियाँहरूको लागि बोलिएको हो। यी वचनहरूले तिमी चिनियाँहरूको भ्रष्ट स्वभावबारे कुरा गरिरहेका छन्, जुन हामीमा छैन।” आत्मिक बुझाइ नभएका थोरै मानिसहरूले मात्रै यस्ता कुराहरू बोल्छन्। विगतमा, दक्षिण कोरियाली मानिसहरूमा यस्तो गलतबुझाइ थियो। तिनीहरूले दक्षिण कोरियाली मानिसहरू लोकतान्त्रिक र स्वतन्त्र सामाजिक प्रणालीमा जिउँछन् र तिनीहरू इसाई संस्कृति, साथै हजारौँ वर्षदेखिको कोरियाली संस्कृतिद्वारा प्रभावित छन्, त्यसकारण तिनीहरूको जाति चिनियाँ मानिसहरूको भन्दा बढी विशिष्ट र आदर्शमय छ भन्‍ने विश्‍वास गर्थे। तिनीहरूले किन यस्तो सोच्थे? किनभने दक्षिण कोरिया पुगेपछि, धेरै चिनियाँ मानिसहरूले आफू गएका ठाउँहरू फोहोरी र होहल्लापूर्ण बनाउँथे, त्यहाँ चोरी र अपराध बढ्थ्यो, र यसले सामाजिक वातावरणमा केही प्रतिकूल असर पारेको थियो। त्यसकारण, दक्षिण कोरियाका विश्‍वासी दाजुभाइदिदीबहिनीहरूलाई विश्‍वास भयो, “चिनियाँहरू ठूलो रातो अजिङ्गरका सन्तान र मोआबका वंशज हुन्। तर दक्षिण कोरियालीहरूलाई ठूलो रातो अजिङ्गरले भ्रष्ट तुल्याएको छैन।” तिनीहरूले यसो भनेर के भन्‍न खोजिरहेका थिए? यसको अर्थ के थियो भने “हामीलाई ठूलो रातो अजिङ्गरले भ्रष्ट तुल्याएको छैन, त्यसकारण हामी चिनियाँहरूजत्तिको भ्रष्ट छैनौं। चिनियाँहरू हामीभन्दा बढी भ्रष्ट छन्। हामीहरू चिनियाँहरूभन्दा असल छौं।” यहाँ तिनीहरूले “असल” भन्‍नुको अर्थ के हो? (असल व्यवहार भएका।) एक हिसाबमा, यो व्यवहारसँग नै सम्बन्धित छ। अर्को हिसाबमा, तिनीहरूले हृदयबाट के विश्‍वास गर्छन् भने, दक्षिण कोरियाली राष्ट्रले इतिहासको सुरुदेखि नै सिर्जना गरेको र स्विकारेको परम्परागत संस्कृति, चिनियाँ राष्ट्रको संस्कृति र परम्पराभन्दा धेरै आदर्शवान्‌ छ, र यस्तो परम्परागत संस्कृतिको प्रभावमा परेका मानिस र जातिहरू चिनियाँ परम्परागत संस्कृतिको प्रभावमा परेका मानिसहरूभन्दा बढी आदर्शवान्‌ हुन्छन्। त्यसकारण, जब तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्छन् र परमेश्‍वरले “तिमीहरू सस्ता फोहोर ह” भनेर भन्‍नुभएको देख्छन्, तब तिनीहरूले उहाँले चिनियाँ मानिसहरूबारे कुरा गरिरहनुभएको छ भन्‍ने सोच्छन्। चिनियाँ विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू भन्छन्: “परमेश्‍वरले भन्‍नुभएको ‘तिमीहरू’ ले मानवजातिलाई जनाउँछ।” दक्षिण कोरियालीहरू भन्छन्, “त्यो सही होइन, परमेश्‍वरले ‘तिमीहरू’ बारे कुरा गरिरहनुभएको छ, हाम्रो बारे होइन। परमेश्‍वरले जे भन्‍नुभएको छ त्यसमा दक्षिण कोरियालीहरू पर्दैनन्।” तिनीहरूले त्यही सोच्छन्। अर्थात्, तिनीहरूले परिस्थितिलाई जुनसुकै पक्षबाट हेरे पनि, तिनीहरूको दृष्टिकोण र हेराइ सत्यताको दृष्टिकोणबाट आएको हुँदैन, झन् वस्तुगत र निष्पक्ष दृष्टिकोणबाट आउने त कुरै नगरौँ। यसको साटो, तिनीहरूले एउटा जात र परम्परागत संस्कृतिको प्रसङ्गबाट यी कुराहरू हेर्छन्। त्यसकारण, तिनीहरूले परिस्थितिलाई जेजसरी हेरे पनि, त्यसपछि आउने परिणामहरू सत्यताभन्दा विपरीत नै हुन्छन्। किनभने तिनीहरूले परिस्थितिलाई जस्तोसुकै तरिकाले हेरे पनि, तिनीहरूको सुरुवाती बिन्दु सधैँ यही हुन्छ, “हाम्रो महान् दक्षिण कोरियाली राष्ट्रको सबै कुरा सही छ, यसको सबै कुरा स्तरीय छ, र यसको सबै कुरा सही छ।” तिनीहरू सबै कुरालाई गलत दृष्टिकोण र गलत प्रारम्भिक बिन्दुबाट हेर्ने र मापन गर्ने गर्छन्, त्यसैले तिनीहरूले देख्‍ने परिणामहरू सही छन् कि गलत? (गलत।) ती अवश्य नै गलत छन्। त्यसोभए सबै कुरा मापन गर्ने मापदण्ड के हुनुपर्छ? (सत्यता।) यो सत्यता हुनुपर्छ—मानक यही हो। तिनीहरूको मानक आफैमा गलत छ। तिनीहरूले सबै कुरा र सबै घटनाहरूलाई गलत हेराइ र दृष्टिकोणबाट मापन गर्छन्, त्यसकारण मापन गरिएका परिणामहरू पनि पक्कै गलत नै हुन्छन्, निष्पक्ष र सही हुँदैनन्, र ती वस्तुगत पनि हुँदैनन्। त्यसकारण, तिनीहरूलाई केही विदेशी कुराहरू स्विकार्न गाह्रो हुन्छ, र साथै, तिनीहरूको सोचाइ अत्यन्तै चरम, कुण्ठित, संकुचित, र आवेशपूर्ण हुन्छ। तिनीहरूको यो आवेशीपन कहाँबाट आउँछ? तिनीहरूले जे भने पनि, “हाम्रो महान् दक्षिण कोरियाली राष्ट्र” बारे उल्लेख गर्नुपर्छ, र तिनीहरूले “महान्” भन्‍ने शब्द थप्न जिद्दी गर्छन्। “महान्” को अर्थ के हो? के यो “महान्” भन्‍ने शब्दले अहङ्कार प्रतिनिधित्व गर्दैन र? यदि तँ संसारभर यात्रा गर्छस् वा विश्‍वचित्र हेर्छस् भने, दक्षिण कोरिया कति ठूलो छ? यदि यो साँच्‍चै नै अरू देशहरूभन्दा ठूलो भएको भए र यसलाई साँच्‍चै नै महान् भन्‍न सकिन्थ्यो भने, ठीकै छ, यसलाई “महान्” भन। तर पृथ्वीका अरू देशहरूको तुलनामा, दक्षिण कोरिया ठूलो ठाउँ होइन, त्यसकारण किन तिनीहरू यसलाई “महान्” भनेर जोड दिन्छन्? साथै, कुनै पनि देश ठूलो भए पनि सानो भए पनि, यसले निर्माण गर्ने नियम र परम्परागत संस्कृति परमेश्‍वरबाट आएका हुँदैनन्, र ती बिलकुलै सत्यताबाट पनि आएका हुँदैनन्। यस्तो किन हुन्छ भने व्यक्तिले सत्यता स्विकार्नुभन्दा पहिले र परमेश्‍वरको मुक्ति स्विकार्नुभन्दा पहिले, उसले स्विकार्ने सबै विचारहरू शैतानबाट आएका हुन्छन्। शैतानले पैदा गर्ने यी सबै विचार, दृष्टिकोण, र परम्परागत संस्कृतिले मानिसहरूलाई के ल्याउँछन्? यी कुराहरूले धोका, भ्रष्टता, बन्धन, र पावन्दीहरू ल्याउँछन्, जसले गर्दा भ्रष्ट मानवजातिमा सङ्कीर्ण र चरम विचारहरू, र एकतर्फी र पूर्वाग्रहपूर्ण दृष्टिकोणहरू आउँछन्, र यो मूर्खता र हास्यास्पद हदसम्‍म समेत पुग्छ—यी कुराहरू शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउनुका परिणामहरू हुन्। त्यसकारण, कैयौँ देशका र कतिपय जातका मानिसहरूले समेत “चीनमा परमेश्‍वर देह बन्‍नुभयो” भन्‍ने वचन सुन्दा, तिनीहरूको पहिलो प्रतिक्रिया के हुन्छ? एउटै शब्द आउँछ, त्यो हो—असम्भव! तिनीहरू त्यो ठाउँ कहाँ हुनुपर्थ्यो भन्‍ने सोच्छन्? (इस्राएल।) ठीक भन्यौ, इस्राएल। मानिसहरूलाई नियमहरू पालना गर्न र धारणाहरूमा अल्झिरहन मन पर्छ। तिनीहरू सोच्छन्, परमेश्‍वरले काम गर्नुभएको स्थान त इस्राएल हो, र परमेश्‍वर इस्राएलमै देखा पर्नुपर्छ, वा तिनीहरूले आदर गर्ने कुनै शक्तिशाली साम्राज्यमा देखा पर्नुपर्छ, वा तिनीहरूका धारणा र कल्पनाहरूअनुसार, परमेश्‍वर प्राचीन सभ्यता भएको देशमा देखा पर्नुपर्छ। चीन ठ्याक्‍कै त्यस्तो देश होइन, त्यसैले परमेश्‍वर चीनमा देहधारी हुनुभएको गवाही स्विकार्न तिनीहरूलाई गाह्रो हुन्छ, र तिनीहरूले मुक्ति पाउने यो अवसर गुमाउनलाई यति नै पर्याप्त हुन्छ। यो कसले गराएको हो? (तिनीहरू आफैले।) तिनीहरू आफैले यस्तो धारणा राखेका छन्, र विद्रोही बनेका छन्, र समस्या सुल्झाउन तिनीहरू सत्यता खोज्‍ने गर्दै गर्दैनन्, त्यसैले तिनीहरूले आफूलाई भयानक रूपमा हानि गरेका छन् र मुक्ति पाउने यो एक मात्र अवसर नाश पारेका छन्।

सत्यता नबुझ्दा मानिसहरूमा हुने कैयौँ कल्पना र धारणाहरू, र मानिसहरूले आराधना गर्ने कतिपय कुराहरूसमेत अत्यन्तै मूर्खतापूर्ण र हास्यास्पद हुन्छन्। संयुक्त राज्यमा बस्‍ने र त्यो देश मन पराउने एक दक्षिण कोरियाली महिला अमेरिकीहरूको सम्पर्कमा आउँछे र तिनीहरूमध्ये एकले उसलाई सोध्छ: “वसन्त चाड नजिकै छ। वसन्त चाडको बेला चिनियाँ मानिसहरूले के खान्छन्?” उसले भन्छे: “म चिनियाँ होइन, म दक्षिण कोरियाली हुँ।” त्यो अमेरिकीले जवाफ दिन्छ, “त्यसोभए दक्षिण कोरियालीहरूले पनि वसन्त चाड मनाउँदैनन् र?” उसले भन्छे, “हामी दक्षिण कोरियालीहरू वसन्त चाड मनाउँदैनौँ।” त्यो अमेरिकीले भन्छ: “मलाई त लाग्थ्यो, दक्षिण कोरियालीहरूले पनि चिनियाँहरूले जस्तै वसन्त चाड मनाउँछन्।” उसले अत्यन्तै रूखो जवाफ दिन्छे: “हामी र चिनियाँहरू उस्तै होइनौं! के हामीले वसन्त चाड मनाउँछौँ भनेर तपाईंले सोच्नु सही हो? यो कुराले हामी, दक्षिण कोरियालीहरूलाई गम्भीर अपमान गर्छ!” के दक्षिण कोरियालीहरूले साँच्‍चै वसन्त चाड मनाउँदैनन् त? (तिनीहरूले मनाउँछन्।) वास्तवमा, दक्षिण कोरियालीहरूले पनि वसन्त चाड मनाउँछन्। त्यसोभए, किन उसले दक्षिण कोरियालीहरूले यो चाड मनाउँदैनन् भनेर भनी त? अब हामी यो मामला छलफल गरौं। वसन्त चाड मनाउनु उचित हो कि होइन? के तिमीहरू यो मामला स्पष्टसित व्याख्या गर्न सक्छौ? विदेशीहरूको लागि, वसन्त चाड मनाउनु आफैमा लाजमर्दो कुरा होइन। यो मानिसहरूको जीवनको महत्त्वपूर्ण दिन स्मरण गर्ने विशेष रिवाज हो। परम्परागत संस्कृति हुने यो संसारमा जिउने मानिसहरूको लागि, वसन्त चाड मनाउनु गलत वा लाजमर्दो कुरा होइन, तब किन त्यो महिलाले वसन्त चाड मनाउँछौं भनेर स्विकार्ने साहस गरिन त? किनभने उसले वसन्त चाड मनाउने गरेको स्विकारेपछि ऊ पश्‍चिमीकरण भएकी व्यक्ति हुँदिन, र उसलाई अत्यन्तै परम्‍पराबादी पूर्वी एसियाली व्यक्तिको नाम दिइनेछ, तर ऊ मानिसहरूले आफूलाई परम्‍परावादी पूर्वी एसियाली महिला सोचून् भन्‍ने चाहँदिन। ऊ मानिसहरूले ऊसँग कुनै पूर्व एसियाली परम्परा छैन, र ऊ पूर्वी एसियाली परम्पराहरू बुझ्दिनँ, वा उसलाई तीबारे केही पनि थाहा छैन भन्‍ने सोचून् भन्‍ने चाहन्छे। ऊ तिनीहरूले ऊ अङ्ग्रेजी राम्ररी बोल्छे, कपाल खैरो बनाउँछे, नीलो कन्ट्याक्ट लेन्स लगाउँछे, पश्‍चिमीहरूले जस्तै कपडा लगाउँछे, र पश्‍चिमी महिलाहरूजस्तै साहसी र निर्बाध, स्वतन्त्र, आत्मनिर्भर, र अन्तर्दृष्टिवान् छे भनेर थाहा पाऊन् भन्‍ने चाहन्छे—ऊ मानिसहरूले उसलाई यसरी नै हेरून् भन्‍ने चाहन्छे। त्यसकारण, यो सोचाइको प्रभावमा परेकोले, जबजब उसलाई कुनै कुरा आइपर्छ, तबतब उसको व्यवहार पनि यो सोचाइअनुरूप नै हुन्छ। जबजब कसैले उसलाई दक्षिण कोरियालीहरूले वसन्त चाड मनाउँछन् मनाउँदैनन् भनेर सोध्छन्, तबतब उसले “हामी दक्षिण कोरियालीहरूले वसन्त चाड मनाउँदैनौँ” भनेर भन्छे। यदि उसको नजिकका मानिसहरूले उसलाई “हामीले वसन्त चाड अवश्यै मनाउँछौँ, तर तिमी किन मनाउँदैनौँ भनेर भन्छौ?” भनेर भने भने, उसले के जवाफ दिन्छे? “तपाईं मूर्ख हो। यदि मैले हामी वसन्त चाड मनाउँछौँ भनेर भनेँ भने, के तिनीहरूले म दक्षिण कोरियाली परम्परागत व्यक्ति हुँ भन्‍ने थाहा पाउँदैनन् र?” ऊ आफू संयुक्त राज्यमा जन्मेहुर्केकी हुँ भनेर मानिसहरूले सोचून् भन्‍ने चाहन्छे। यदि तैँले उसलाई “तपाईं यहाँ जन्मिनुभएको हो, तर तपाईंको परिवार यहाँ बसेको कति पुस्ता भयो?” भनेर सोध्थिस् भने पनि उसले “हाम्रा पुर्खाहरू यहीँ हुर्केका थिए” भनेर भन्‍नेथिई। उसलाई यो पहिचान र हैसियतको प्रतीक हो भन्‍ने लाग्छ, त्यसकारण ऊ यो झूट बोल्ने हदसम्म जान्छे, र अरूले त्यो पत्ता लगाउलान् भन्‍ने कुराको कुनै डर मान्दिन। यो कस्तो सोचाइ हो? के यो मामला झूट बोल्नलायक मामला हो त? के यो जोखिम लिनलायक छ त? अहँ, छैन। त्यस्तो सानो कुराले पनि व्यक्तिको सोच र दृष्टिकोण पर्दाफास गरिदिन सक्छ। अनि, कस्ता खाले विचार र दृष्टिकोणहरू पर्दाफास हुन्छन्? कतिपय चिनियाँ केटीहरू साँच्‍चै सुन्दर हुन्छन्, तर तिनीहरूलाई आफ्नो कपाल खैरो बनाउनुपर्छ, कपाल घुङ्ग्रिङ पार्नुपर्छ, आँखाको रङ बदल्न विभिन्‍न रङका लेन्स लगाउनुपर्छ, र आफूलाई विदेशीको रूपमा प्रस्तुत गर्नुपर्छ—यो कुरा देख्दा पनि एकदमै अप्ठ्यारो लाग्छ। तिनीहरूले किन यस्तो व्यवहार गर्नुपर्ने हो? तिनीहरूले यसरी कपडा लगाउन थालेपछि के तिनीहरूको वंश परिवर्तन भयो त? तिनीहरूको वंश परिवर्तन भएको नै भए पनि, र अर्को जुनीमा तिनीहरू गोरी भएर जन्‍मिए भने पनि, वा तिनीहरू आफूले उच्‍च ठान्‍ने जातिको व्यक्ति बने पनि—के भो र? के तिमीहरूले यो प्रस्टैसित बुझ्‍न सक्छौ? यदि कसैले निश्‍चित शैली र निश्‍चित मिजाससाथ व्यवहार गर्न, र आफूले आदर गर्ने राष्ट्र वा जातिको सदस्यको रूपमा आफूलाई प्रस्तुत गर्न जिद्दी गर्छ भने, किन त्यसो गरेको हो? के यसलाई सञ्चालन गर्ने कुनै अन्तर्निहित सोचाइ छ? यसलाई सञ्चालन गर्ने त्यो सोचाइ के हो त? यो कुरा त्यो दक्षिण कोरियाली महिलाको जस्तै हो; जब अमेरिकीहरूले उसलाई टेबल टेनिस खेल्न आउँछ भनेर सोध्छन्, उसले भन्छे, “टेबल टेनिस के हो? त्यो त चिनियाँ मानिसहरूले मात्रै खेल्छन्। हामी त टेनिस र गोल्फ खेल्छौँ।” यस्तो व्यवहार र बोलीवचन प्रस्तुत गर्न सक्‍ने व्यक्ति कस्तो खालको व्यक्ति हो? के यो अलिक फर्जी भएन र? जब सबै कुरा फर्जी हुन्छन्, तब यसले जीवनलाई अत्यन्तै थकाइलाग्दो तुल्याउँछ! के तिमीहरू यसरी व्यवहार गर्छौ? दशकौँदेखि पश्‍चिममा बसोबास गरेका कतिपय चिनियाँ मानिसहरू आफ्नो गाउँ जाँदा चिनियाँ बोल्नसमेत सक्दैनन्। के यो खराब कुरा होइन र? (हो।) कतिपय मानिसहरू भन्छन्: “हामीले आफ्नो मूल बिर्सनु हुँदैन। मानिसहरूले आफ्नो मूल बिर्सनु हुँदैन भनेर परमेश्‍वरले पनि भन्‍नुहुन्छ। परमेश्‍वर नै मानिसहरूको मूल हुनुहुन्छ। मानिसहरूलाई परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो, र मानिसहरूका सबै कुरा परमेश्‍वरबाटै आउँछन्, त्यसैले सृष्टि गरिएका प्राणीहरूको रूपमा, मानिसहरूले परमेश्‍वरको आराधना गर्नुपर्छ—आफ्नो मूल नबिर्सनु भनेको यही हो।” के यस्तै हुन्छ नि होइन र? हरेक परिस्थितिमा खोज्नुपर्ने सत्यता हुन्छ, तर मानिसहरूले सत्यता खोजी गर्दैनन्, बरु पूर्ण रूपमा परम्परागत संस्कृति पालना गर्छन्। किन होला? कतिपय मानिसहरू भन्छन्: “हामी आफ्नो मूल कहिल्यै बिर्सिदैनौँ। जहाँ गए पनि, हामी चिनियाँ हौं भन्‍ने स्विकार्छौँ, र हाम्रो देश गरिब र पछि परेको छ भन्‍ने पनि स्विकार्छौँ। हामी हाम्रो मूल कहिल्यै बिर्सिनेछैनौँ।” के यो सही हो? यी सबै समस्याहरू, एक हिसाबले हेर्दा, यी तथाकथित परम्परागत संस्कृतिले मानवजातिमा पार्ने अत्यन्तै गहन प्रभाव र शिक्षाको कारण आएका हुन्। अर्को पक्ष के हो भने, मानिसहरूले धेरै वर्षदेखि प्रवचन सुनेपछि पनि, सत्यता के हो भनेर ध्यान दिएर मनन र खोजी गर्दैनन्। बरु, तिनीहरूले प्रायजसो आफूसँग पहिलेदेखि नै रहेका, र आफूले पहिले नै सिकेका परम्परागत संस्कृति र पतनशील कुराहरू प्रयोग गर्छन् र त्यसैले ती कुराहरू दह्रिलो गरी गाडिन्छन्, र तिनीहरूले तिनलाई सत्यताको रूपमा प्रस्तुत गर्छन्। यो दोस्रो पक्ष हो। तेस्रो, प्रवचन सुनेपछि, मानिसहरूले परमेश्‍वरका वचनहरूमा सत्यता खोजी गर्दैनन्। बरु, तिनीहरूले परमेश्‍वरका वचनहरू मापन गर्न पहिले नै थाहा भएका मानव धारणाहरूका परम्परागत दृष्टिकोण र ज्ञान एवं सिकाइहरू प्रयोग गर्छन्। त्यसैले अहिलेसम्म, मानिसहरूले धेरै प्रवचन सुनेका भए पनि, कर्तव्य निभाउने र परमेश्‍वरको सेवा गर्नेबारे मानिसहरूले मौखिक रूपमा सुनाउँदै आएका आचरणका तथाकथित सिद्धान्तहरू पनि प्रायजसो तिनीहरूले सही ठानेका केही ज्ञान, उखान, र प्रचलित भनाइहरूमै आधारित हुन्छन्। उदाहरणको लागि, यदि केही मानिसहरूले गलत काम गरे, अनि मण्डली अगुवा वा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई काटछाँट गरे भने, तिनीहरूले सोच्छन्: “हैट, ‘जेलमा कोचेर के गर्नु, खाने मुख मात्र बढ्छ,’ ‘मुस्कुराउने मान्छेमाथि हात नउठाउनू।’ काटछाँटमा परेको मेरो यो कमजोरीबारे, मैले धैर्यसाथ मुस्कुराउँदै स्विकारेको छु—तिमी मलाई किन खुलासा गरिरहन्छौ?” बाहिरी रूपमा तिनीहरूले आज्ञाकारी रूपमा सुन्छन् र समर्पित हुन्छन्, तर वास्तवमा, तिनीहरूले हृदयको गहिराइमा मण्डली अगुवा वा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई विरोध गर्न र चुनौती दिन परम्परागत धारणाहरू प्रयोग गरिरहेका हुन्छन्। तिनीहरूको त्यो विरोधको कारण के हो? त्यो के हो भने, तिनीहरूले “जेलमा कोचेर के गर्नु, खाने मुख मात्र बढ्छ” र “मुस्कुराउने मान्छेमाथि हात नउठाउनू” भन्‍ने भनाइहरू पक्‍का सत्यता हुन् र ती सही छन्, र कसैले तिनीहरूलाई कुनै पनि किसिमको भावना नदेखाई काटछाँट र खुलासा गरिरहनु गलत हो, र त्यो सत्यता होइन भन्‍ने सोच्छन्।

हामीले भर्खरै सङ्गति गरेको विषयवस्तुबाट, के तिमीहरूले सत्यताबारे अझै गहन बुझाइ प्राप्त गरेका छौ? (छौं।) कतिपयले यसो भन्‍न सक्छन्: “अहिले तपाईंले यो कुरा बताइसक्‍नुभएको छ, हामीले अभ्यास गर्दा कुन-कुन सिद्धान्तहरू पालना गर्नुपर्छ त्यो हामीलाई थाहा छैन। यी परम्परागत संस्कृतिहरू र यी धारणा र ज्ञानहरूविना, हामी कसरी जिउनुपर्ने हो? हामीले कसरी व्यवहार गर्नुपर्ने हो? हामीलाई नियन्त्रित गर्ने यी कुराहरू नहुँदा, हामीले कसरी मुख खोलेर परमेश्‍वरका वचनहरू प्रचार गर्न सक्‍ने हो? यी कुराहरूविना, के हामीले परमेश्‍वरका वचनहरू प्रचार गर्ने आधार गुमाएका हुँदैनौं र? तब हामीसँग अरू के नै बाँकी हुन्छ र?” ठीक छ, म तिनीहरूलाई के भन्छु भने, यदि तँमा साँच्‍चै यी कुराहरू छैनन् भने, सत्यता खोजी गर्न सजिलो हुनेछ, र सत्यता स्विकार्न र परमेश्‍वरकहाँ फर्किन सजिलो हुनेछ। पहिले जब तैँले मुख खोल्थिस्, तब “बुद्धिमानी मानिस परिस्‍थितिअनुसार चल्छ”, “मुस्कुराउने मान्छेमाथि हात नउठाउनू,” “जेलमा कोचेर के गर्नु, खाने मुख मात्र बढ्छ,” भन्‍नेजस्ता आदि इत्यादि शैतानी दर्शनहरू र सांस्कृतिक ज्ञान मात्रै बाहिर निस्‍कन्थ्यो। तर अहिले तैँले मनन गर्छस् र सोच्छस्, “मैले त्यसो भन्‍नु हुँदैन, यी भनाइहरू सबै गलत छन्, यी भनाइहरूलाई इन्कार गरिएको र दोषी ठहराइएको छ, त्यसैले मैले के भन्‍नुपर्ने हो? नम्र र उचित रूपमा परमेश्‍वरका वचनहरू पढ्‍न जारी राख्‍ने हो, र परमेश्‍वरका वचनहरूबाट आधार खोज्‍ने हो।” मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्छन् र परमेश्‍वरलाई पछ्याउँछन्, तर जबजब तिनीहरूले मुख खोल्छन्, तबतब यिनै उखानहरू, भनाइहरू, र परम्परागत संस्कृतिबाट प्राप्त हुने केही कुरा र दृष्टिकोणहरू मात्रै बाहिर आउँछन्। कसैले पनि, आफ्‍नो जीवनमा केही आइपर्दा, परमेश्‍वरलाई पूर्ण रूपमा माथि उठाउन वा उहाँको गवाही दिन, र “परमेश्‍वरले यो भन्‍नुभएको छ” वा “परमेश्‍वरले त्यो भन्‍नुभएको छ” भनेर भन्‍न सक्दैन। कोही पनि त्यसरी बोल्दैन, कसैले पनि मुख खोलेर परमेश्‍वरका वचनहरू सरसरी भन्दैन। तँ परमेश्‍वरका वचनहरू भट्याउन सक्दैनस्, तर ती आम भनाइहरू तुरन्तै भट्याइदिन सक्छस्, त्यसकारण तेरो हृदयम ठ्याक्‍कै केले भरिएको हुन्छ? शैतानबाट आउने ती सबै कुराहरूले। कतिपय मानिसहरूले, तिनीहरूको टोली अगुवाले तिनीहरूको काम जाँच्दा, यसो भन्छन्: “तपाईंले के कुरा जाँचिरहनुभएको छ? कसैलाई काममा लाउनु छ भने, त्यसमाथि शङ्का नगर्नू; शङ्का लाग्छ भने, त्यसलाई काममा नलाउनू। यदि तपाईं मलाई सधैँ शङ्का गर्नुहुन्छ भने, किन मलाई प्रयोग गर्नुहुन्छ? अरू कसैलाई नै यो काम गर्न लगाउनुस् न।” तिनीहरूलाई यसरी व्यवहार गर्नु सही हो भन्‍ने लाग्छ, र तिनीहरू आफूले गलत काम गर्दा अरूलाई सत्यता लागू गर्न दिँदैनन्। कतिपय मानिसहरूले कर्तव्य निर्वाह गर्दा धेरै कष्ट भोगेका हुन्छन्, तर तिनीहरूले सिद्धान्तहरू खोजी गर्दैनन् र मण्डलीको काममा बाधा र व्यवधान ल्याउँछन्, त्यसैले अन्ततः तिनीहरूलाई प्रतिस्थापन गरिन्छ, र साथमा काटछाँट पनि गरिन्छ। केही निन्दाजनक टिप्पणीहरू सुनेपछि, तिनीहरू विद्रोही हुन्छन् र यस्तो सोच्छन्, “एउटा भनाइ छ, ‘मैले कुनै श्रेय कमाएको छैन होला, तर पनि मैले प्रयास र मेहनत त गरेको छु।’ मैले बस यो सानो गल्ती गरेको छु, यसले के नै फरक पार्छ र?” तिनीहरूले सुरुमा यो आम भनाइ सिकेका हुनाले र त्यसैले यो तिनीहरूमा दह्रिलो गरी गढेको हुनाले, यसले तिनीहरूको सोचाइ नियन्त्रित र प्रभावित पार्ने हुनाले, यसले तिनीहरूलाई—यो वातावरणमा र यो परिस्थिति आएपछि—तिनीहरूप्रतिको परमेश्‍वरको घरको व्यवहार इन्कार्ने र त्यसमा समर्पित नहुने आधारको रूपमा यो भनाइ प्रयोग गर्न लगाउँछ। त्यस्तो अवस्थामा, के तिनीहरू अझै पनि समर्पित हुन सक्छन् त? के तिनीहरूलाई सत्यता स्विकार्न अझै पनि सजिलो हुन्छ त? बाहिरी रूपमा तिनीहरू समर्पित भए पनि, तिनीहरूको कुनै विकल्प नभएकोले र यो अन्तिम उपाय भएकोले मात्र यसो गरेका हुन्छन्। तिनीहरूले बाहिरी रूपमा विरोध नगरे पनि, तिनीहरूको हृदयमा अझै पनि प्रतिरोध नै हुन्छ। के यो साँचो समर्पण हो त? (होइन।) यो त झारा टार्नु हो, साँचो समर्पण होइन। यहाँ कुनै समर्पण छैन, तार्किकीकरण, नकारात्मकता, र विरोध मात्रै छ। यो तार्किकीकरण, नकारात्मकता, र विरोध कसरी पैदा भयो? यी कुराहरू “मैले कुनै श्रेय कमाएको छैन होला, तर पनि मैले प्रयास र मेहनत त गरेको छु” भन्‍ने भनाइबाट पैदा भएका हुन्। यो भनाइले यी मानिसहरूमा कस्तो स्वभाव पैदा गरेको हुन्छ? अटेरीपन, कठोरता, विरोध र तार्किकीकरण। के तिमीहरूले यो सङ्गतिबाट सत्यताबारे थप बुझाइ प्राप्त गरेका छौ? यी नकारात्मक कुराहरूलाई चिरफार र पहिचान गरी हृदयबाट उखेलेर फालेपछि, तैंले कुनै कुरा आइपर्दा सत्यता खोजी गर्न र सत्यता अभ्यास गर्न सक्‍नेछस्, किनभने पुराना कुराहरू त्यागिसकिएका हुन्छन्, र तिनले तँलाई कर्तव्य निर्वाह गर्न, परमेश्‍वरको सेवा गर्न, र परमेश्‍वरलाई पछ्याउन तिनमा भर पराउन सक्दैनन्। अबदेखि ती कुराहरू तेरो व्यवहारका सिद्धान्तहरू हुँदैनन्, कर्तव्य निर्वाह गर्दा तैँले पालना गर्नुपर्ने सिद्धान्तहरू हुँदैनन्, र ती कुराहरू पहिले नै आलोचना र निन्दामा परिसकेका छन्। यदि तैँले ती कुराहरूलाई फेरि लिइस् र प्रयोग गरिस् भने, तेरो हृदयको गहिराइमा के हुनेछ? के तँ अझै पनि खुसी हुनेछस्? के तँ अझै पनि सही छु भन्‍ने कुरामा विश्‍वस्त हुनेछस्? स्पष्टतः त्यस्तो सम्भावनै हुँदैन। यदि तँभित्रका यी कुराहरू साँच्‍चै हटेका छन् भने, तैँले परमेश्‍वरका वचनहरूमा साँचो सिद्धान्तहरू ठ्याक्‍कै के-के हुन् र परमेश्‍वरका मापदण्डहरू ठ्याक्‍कै के-के हुन् भनेर खोजी गर्नुपर्छ। कतिपय मानिसहरू प्राय यसो भन्छन्, “मालिकले भनेजस्तो गर्नू, नत्र हड्डी घोटे पनि केही पाइन्‍न।” यो भनाइ सही हो कि गलत हो? यो अवश्य नै गलत हो। यो कसरी गलत हो? “मालिकले भनेजस्तो गर्नू” भन्‍ने वाक्यांशमा “मालिक” ले कसलाई जनाउँछ? तेरो रोजगारदाता, तेरो हाकिम र तेरो माथिको वरिष्ठ व्यक्ति। यो “मालिक” भन्‍ने शब्द आफैमा गलत छ। परमेश्‍वर तेरो रोजगारदाता हुनुहुन्‍न, न त तेरो हाकिम हुनुहुन्छ, न त तेरो प्रबन्धक नै हुनुहुन्छ। परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्छ। प्रबन्धक, हाकिम, र वरिष्ठ सबै उही प्रकार र उही स्तरका मानिसहरू हुन्। आधारभूत रूपमा तिनीहरू सबै उस्तै हुन्छन्; तिनीहरू सबै भ्रष्ट मानवहरू हुन्। तैँले तिनीहरूको कुरा सुन्छस्, तिनीहरूबाट तलब लिन्छस्, र तिनीहरूले तँलाई जे गर्न लगाउँछन् त्यही गर्छस्। तैँले जति धेरै काम गरे पनि तिनीहरूले तँलाई त्यति नै दिन्छन्, र त्योभन्दा बढी केही दिँदैनन्। “नत्र हड्डी घोटे पनि केही पाइन्‍न” भन्‍ने वाक्यांशमा “पाउनु” शब्दको अर्थ के हो? (श्रेय।) श्रेय र पारिश्रमिक। तेरो कार्यको उत्प्रेरणा पैसा पाउनु हो। यसले बफादारी वा आज्ञापालनको माग गर्दैन, र यसको लागि सत्यता खोज्‍नु र आराधना गर्नुपर्दैन—यसमा त्यो कुनै कुरा हुँदैन, यो त लेनदेन मात्रै हो। परमेश्‍वरमा विश्‍वास गर्ने, कर्तव्य निर्वाह गर्ने, र सत्यता पछ्याउने क्रममा आलोचना र निन्दा गरिने कुरा ठ्याक्‍कै यही हो। यदि तैँले “मालिकले भनेजस्तो गर्नू, नत्र हड्डी घोटे पनि केही पाइन्‍न” भन्‍ने भनाइलाई सत्यताको रूपमा लिन्छस् भने, यो एउटा ठूलो गल्ती हो। जब तैँले कतिपय मानिसहरूलाई सत्यता बुझ्न मदत गर्ने प्रयास गर्छस्, तब तिनीहरूको प्रतिक्रिया ढिलो र सुस्त हुनेछ, र तिनीहरूले परमेश्‍वरका जति धेरै वचनहरू खाए-पिए पनि, तिनीहरूले एकदुई वटा सत्यतासमेत बुझ्न सक्दैनन्, न त तिनीहरूले परमेश्‍वरका वचनहरूको एकदुई वटा वाक्यांशसमेत याद गर्न नै सक्छन्। तर मानिसहरूमा प्रायजसो फैलिने यी थेगो, उखान, र आम भनाइहरू, र साधारण मानिसहरूले प्राय बोलिरहने यी कुराहरूको हकमा भन्दा, तिनीहरूले अति चाँडै यी कुराहरू स्विकार्छन्। कुनै व्यक्ति जति नै मूर्ख भए पनि, उसले यी कुराहरू अति चाँडै स्विकार्छ। यो कसरी हुन सक्छ? तिमीहरूको जाति वा रङ्ग जे भए पनि, अन्तिम विश्‍लेषणमा तिमीहरू सबै मानवहरू नै हौ र तिमीहरू सबै एउटै प्रकारकाहरू हौ। परमेश्‍वर र मानव मात्र दुई फरक कुरा हुन्। मानवजाति सधैँ अरू मानवजातिजस्तै नै हुनेछन्। त्यसकारण, जब परमेश्‍वरले कुनै कामकुरा गर्नुहुन्छ, तब त्यो कुरा स्विकार्न सारा मानवजातिलाई नै सजिलो हुँदैन, जबकि मानवजातिको कुनै व्यक्तिले कुनै कामकुरा गरे पनि, त्यो काम गर्ने व्यक्ति जो भए पनि वा जति नै नीच भए पनि, यदि त्यो कुरा सबैको धारणाअनुरूप छ भने, सबैले त्यसलाई तुरुन्तै स्विकार्छन्, किनभने मानिसहरूका विचार, दृष्टिकोण, सोच्‍ने तरिका, बुझाइको स्तर, र मार्गहरू आधारभूत रूपमा उस्तै हुन्छन्, ती थोरै हदसम्म मात्रै फरक हुन्छन्। त्यसकारण, कसैले धारणात्मक प्रकृतिको कुरा भन्‍नेबित्तिकै, र त्यो सत्यतासँग नमिल्ने हुँदा पनि, कतिपय मानिसहरूले यसलाई तुरुन्तै स्विकार्छन्, र यो कुरा सधैँ यस्तै नै रहिआएको छ।

के तिमीहरूले सत्यता भनेको के हो, र सत्यता नरहेका तर सत्यताको मिथ्याभास गराउने कुराहरू के-के हुन् भनेर केही हदसम्‍म बुझेका छौ? तिमीहरूको दिमागमा त्यस्ता अरू के-कस्ता कुराहरू छन्? तिमीहरू अहिले नै यी कुराहरू दिमागबाट झट्ट निकालेर बोल्न सक्दैनौ, किनभने यी कुराहरू ज्ञानको रूपमा गनिँदैनन्, र यी कुराहरू पुस्तकका पाना पल्टाएर हेर्न सकिने कुराहरू होइनन्। बरु, यी कुराहरू त तँलाई कुनै कुरा आइपर्दा, तैँले नियन्त्रण गर्नै नसक्‍ने तरिकाले अत्यन्तै प्राकृतिक रूपमा चर्कोसित बोल्नबाट आफूलाई रोक्न नसक्‍ने कुराहरू हुन्। यसले के प्रमाणित गर्छ भने, यी कुराहरू तिमीहरूको जीवन बनिसकेका छन् र यी कुराहरूले तिमीहरूको हड्डीमै जरा गाडिसकेका छन्। तिमीहरूलाई यी कुराहरू याद गर्न लगाउँदा, तिमीहरू यी कुराहरू याद गर्न सक्दैनौ, तर यी कुराहरू नबोल भन्दा तिमीहरू यी कुराहरू बोल्न इन्कार्न पनि सक्दैनौ। जबजब कुनै घटना घट्छ, तब यी विकृत दृष्टिकोणहरू प्रकट भइरहन्छन्—तथ्य यही हो। समय निकालेर अनुभव गर्‌। अबदेखि तिमीहरूले मानिसहरूले प्राय बोल्ने र सही ठान्‍ने कुराहरूप्रति ध्यान दिनुपर्छ। हामीले यसअघि ठूलो रातो अजिङ्गरका केही विषहरू र दुनियाँसित गर्ने सांसारिक व्यवहारहरूसँग सम्‍बन्धित शैतानका दर्शनहरूबारे उल्लेख गरेका थियौँ। ती कुराहरूलाई तिनका शाब्दिक अर्थको दृष्टिकोणबाट खुट्याउन सहज हुन सक्छ, अर्थात्, मानिसहरूले ती कुराहरू अवश्य नै सत्यता होइनन् भनेर तुरुन्तै पत्ता लगाउन सक्छन्, र ती कुराहरू ठूलो रातो अजिङ्गरका विष हुन्, र ती कुराहरूपछाडि धूर्त युक्तिहरू छन् भनेर स्पष्ट रूपमा बताउन सक्छन्। ती कुराहरू खुट्याउन सजिलो छ, र तिनलाई चिरफार गर्न लगाउँदा, मलाई लाग्छ तिमीहरू तिनलाई लगभग केस्राकेस्रा केलाउन सक्नेछौ। तिमीहरूले प्रस्ट रूपमै शैतानी रहेका कुराहरू त्यागेका छौ, तर तिमीहरूको हृदयमा अझै पनि यस्ता धेरै भनाइहरू छन्, जस्तै “अपमान सहनू र भारी बोझ बोक्‍नू,” र “आफैलाई पीडा दिएर विगतको तीतोपन पलपल मनमा गुन्‍नु,” र “मुस्कुराउने मान्छेमाथि हात नउठाउनू,” र “न्यायी अभियानले हजारौंको साथ पाउँछ, तर अन्यायी अभियानले माथ खान्छ,” र “भद्र व्यक्तिले अपमानजनक उपहार लिँदैन।” तिमीहरूले अझै पनि हृदयको गहिराइमा यी भनाइहरूको छेउमा ठिक चिन्ह लगाउन सक्छौ, र “यी अमूल्य कुरा हुन्। मैले यो जीवनमा कस्तो व्यवहार अँगाल्नुपर्छ भन्‍नेसम्बन्धी सबै सभ्य कुराहरू यी भनाइहरूमै छन्” भनेर सोच्‍न सक्छौ र यी कुराहरूलाई अझै पनि उत्खनन गरिएको छैन। यी कुराहरूको पूर्ण उत्खनन गरिसकेपछि र तैँले राम्रोसित यी कुराहरू चिनिसकेपछि, भविष्यमा यी परम्परागत सांस्कृतिक कुराहरू प्रकट हुँदा, चाहे त्यो प्राकृतिक प्रतिक्रिया होस्, वा वस्तुगत अवस्थाको प्रतिबिम्ब होस्, तैँले यी कुराहरू गलत छन् र अवश्य नै सत्यता होइनन् भनेर तुरुन्तै महसुस गर्नेछस्। त्यो बेला, ज्ञान र सत्यता पहिचान गर्ने तेरो स्तर अहिलेको भन्दा माथि हुनेछ। मैले “अहिलेको भन्दा माथि” भन्‍नुको अर्थ के हो? मेरो तात्पर्य के हो भने, तँ निश्‍चित कदमा पुगेको हुनेछस्, तेरो पहिचान गर्ने क्षमतामा सुधार आएको हुनेछ, सत्यतासम्बन्धी तेरो अनुभव र बुझाइ अहिलेको भन्दा अझै गहन हुनेछ, र तैँले वास्तवमा सत्यता के हो भन्‍ने कुरा महसुस गर्नेछस्। अहिले तैँले यस्तो सोच्न सक्छस्, “शैतानबाट आएका र यो संसारका सबै जातीय समूहहरूको सांस्कृतिक पृष्ठभूमिबाट विकास भएका सबै परम्परागत संस्कृतिहरू गलत छन्।” यो त यसलाई उल्‍लेख गर्ने सामान्य तरिका हो, तर कुन कुरा गलत छन् र ती कसरी गलत छन् भन्‍ने तँलाई अझै थाहा नहुन सक्छ। त्यसकारण, तैँले त्यो हरेकलाई क्रमशः चिरफार गर्नु र बुझ्नुपर्छ, त्यसपछि तैँले त्यसलाई त्याग्‍न, त्यसलाई निन्दा गर्न, त्यसबाट आफैलाई पूर्ण रूपमा अलग गर्न, र त्यसअनुसार नभई परमेश्‍वरका वचनहरूअनुसार जिउन सक्‍ने अवस्थामा पुग्‍नुपर्छ। अहिले, तँलाई उखान, प्रचलित भनाइहरू, चर्चित सिद्धान्तहरू र दुनियाँ झुम्‍मिने ती शब्दहरूले परमेश्‍वरका वचनहरूसँग कुनै सम्बन्ध राख्दैनन् र ती सत्यता होइनन् भनेर तेरो व्यक्तिपरक इच्छाको आधारमा मात्रै थाहा हुन सक्छ, तर कुनै घटना घट्दा, तैँले अझै पनि अचेतन रूपमै अरूलाई दोष दिने, आफैलाई बन्धनमा पार्ने र आफ्नो व्यवहार मार्गनिर्देशित गर्ने आधारको रूपमा यिनै कुराहरू प्रयोग गर्छस्। यी कुराहरूले तेरा विचार र दृष्टिकोणहरू नियन्त्रित र तोडमोड गर्छन्, जसले गर्दा समस्या पैदा हुन्छ, र सत्यतामा हुने तेरो प्रवेशमा असर पर्छ। शैतानका यी कुराहरू तेरो हृदयमा अझै देखा पर्न सक्छन्, तैपनि यदि तैँले एकदिन तिनलाई चिन्‍न, तिनमा भर नपरी जिउन, र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न सकिस् भने, तँसँग साँच्‍चै कद हुनेछ। के यस्तो कद तँमा अहिले छ त? अहिलेसम्म त छैन। यदि तिमीहरू सबैले सही ठानेको कुनै भनाइ छ, र परमेश्‍वरका वचनहरूमा पनि यस्तै तर पूर्ण रूपमा उस्तै तरिकाले व्यक्त नगरिएका अभिव्यक्तिहरू भेट्टाउन सकिन्छ भने, तिमीहरूले यो भनाइ पनि सत्यता हो, र यो पनि परमेश्‍वरको वचनजस्तै हो भनेर गलत विश्‍वास गर्न सक्छौ। यदि तैँले अझै पनि यी मामिलाहरू स्पष्ट रूपमा बुझ्न सक्दैनस्, र तँ अझै पनि मान्छेका वचनहरूमा अल्झिरहन्छस् र तिनलाई त्याग्‍न चाहँदैनस् भने, यो भनाइले सत्यतामा हुने तेरो प्रवेशमा असर पार्नेछ, किनभने यो परमेश्‍वरको वचन होइन। यसले सत्यताको स्थान लिन सक्दैन।

आजभोलि मैले निरन्तर सत्यता के हो भनेर सङ्गति गरिरहेको छु। यसको अर्थ हो, म तिमीहरूप्रति गम्भीर भइरहेको छु। तिमीहरूले सत्यता बुझ्नको लागि, हामीले मानिसहरूका विभिन्‍न विचार र दृष्टिकोणहरू, तिनीहरूका असल कार्य र असल अभिप्रायहरू, र मानिसहरूले जिउनको लागि भर पर्ने केही सही भनाइ र सामान्य ज्ञानका अभ्यासहरू, साथै परम्परागत संस्कृतिका केही विचार र दृष्टिकोणहरूलाई लिएर, ती सबै कुरा साँच्‍चै सत्यताअनुरूप छन् छैनन्, र सत्यतासँग तिनको कुनै सम्बन्ध छ छैन भनेर हेर्न तिनलाई चिरफार गर्नु र खुट्याउनुपर्छ। यदि तँलाई ती सत्यता हुन् भन्‍ने लाग्छ भने, यो दाबीको तेरो आधार के हो? यदि तैँले ती कुराहरूलाई शैतानी सिद्धान्त र शिक्षाहरूको आधारमा सत्यता हुन् भनी निर्धारित गर्छस् भने, तँ शैतानको स्वामित्वमा छस्। यदि ती कुराहरू सत्यताअनुरूप छैनन् भने, ती कुराहरू शैतानबाट आएका हुन्छन्, त्यसकारण तैँले तिनको सार के हो भनेर चिरफार गर्नुपर्छ। खासगरी, एउटा पुस्तादेखि अर्को पुस्तासम्म मौखिक रूपमा हस्तान्तरण गरिएका परम्परागत संस्कृतिका धेरै भनाइ र दृष्टिकोणहरूप्रति व्यक्तिमा सही बुझाइ र सही मनोवृत्ति हुनुपर्छ। यसरी मात्रै मानिसहरूले साँच्‍चै सत्यता के हो भनेर बुझ्न र पहिचान गर्न सक्छन्, र परमेश्‍वरले मानिसहरूलाई ठ्याक्‍कै के मापदण्ड दिनुहुन्छ त्यो बुझ्न सक्छन्, र “परमेश्‍वरले भन्‍नुभएका सबै कुरा सत्यता हुन्” भन्‍ने वाक्यांशको वास्तविक अर्थ के हो भनेर बुझ्न सक्छन्। यसको साथै, मानिसहरूमा नैतिकता, मानवता, र सांसारिक बुद्धिसँग मिल्ने यस्ता दृष्टिकोण र भनाइहरू हुँदाहुँदै पनि, र तिनीहरूमा तिनीहरूले जिउन भर पर्ने यी विचार, दृष्टिकोण र मान्यताहरू हुँदाहुँदै पनि, किन अझै परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ, र अझ भन्‍ने हो भने, किन परमेश्‍वरले सत्यताले मात्रै मानिसहरूलाई मुक्ति दिन सक्छ र सत्यताले मात्रै मानिसहरूलाई परिवर्तन गर्न सक्छ भनेर भन्‍नुहुन्छ भनेर बुझ्‍न मानिसहरूलाई सक्षम तुल्याउँछ। यसमा स्पष्ट रूपमै सत्यताहरू छन्। कम्तीमा पनि, यसको एउटा बुँदा के हो भने, मानिसहरूले जीवनमा भरोसा गर्ने विचार, दृष्टिकोण, र भनाइहरू भ्रष्ट मानवजातिबाट आएका हुन्छन्, ती भ्रष्ट मानवजातिद्वारा सारांशित गरिएका हुन्छन्, र ती मानिसहरूका धारणा र कल्पनाहरू हुन्, र तिनको सत्यतासँग कुनै सम्बन्ध हुँदैन। यसअलावा, ती कुराहरू सारगत रूपमा सत्यतासँग बाझिन्छन् र शत्रुवत्‌ हुन्छन्। ती कुराले सत्यताको स्थान लिन सक्दैनन्, ती अवश्य नै सत्यता होइनन्, न त ती कहिल्यै सत्यता नै हुनेछन्। परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, यी कुराहरूलाई गलत भनेर परिभाषित गरिन्छ र दोषी ठहराइन्छ। ती कुराहरू बिलकुलै सत्यता होइनन्, र ती कुराहरूसँग परमेश्‍वरका कार्यहरू र परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यतासँग कुनै सम्बन्ध हुँदैन। भन्‍नुको अर्थ, परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यता भ्रष्ट मानवजातिको सांसारिक बुद्धि, वा मानिसहरूको परम्परागत संस्कृति, तिनीहरूका विचार, दृष्टिकोण र असल कार्यहरू, वा नैतिकता, मर्यादा, र सकारात्मक कुराहरूबारेको तिनीहरूको परिभाषासँग कति पनि सम्बन्धित हुँदैन। सत्यतासम्बन्धी उहाँको अभिव्यक्तिमा, परमेश्‍वरले उहाँको स्वभाव र सार व्यक्त गर्नुहुन्छ; सत्यतासम्बन्धी उहाँको अभिव्यक्ति मानवजातिले पहिचान गरेका विभिन्न सकारात्मक कुराहरू र बयानहरूको सारसङ्क्षेपमा आधारित हुँदैन। परमेश्‍वरका वचनहरू परमेश्‍वरका वचनहरू नै हुन्; परमेश्‍वरका वचनहरू सत्यता हुन्। ती एकमात्र त्यस्ता जग र व्यवस्था हुन् जसमार्फत मानवजाति अस्तित्वमा रहन्छ, र मानवजातिबाट उत्पन्न हुने तथाकथित सिद्धान्तहरू गलत र हास्यास्पद छन्, र परमेश्‍वरले तिनको निन्दा गर्नुहुन्छ। तिनले उहाँको स्वीकृति प्राप्त गर्दैनन्, र ती उहाँका वाणीहरूको मूल वा आधार त झनै होइनन्। परमेश्‍वरले आफ्नो स्वभाव र आफ्नो सार आफ्ना वचनहरूद्वारा प्रकट गर्नुहुन्छ। परमेश्‍वरको अभिव्यक्तिद्वारा ल्याइएका सबै वचनहरू सत्य हुन्, किनकि उहाँसँग परमेश्‍वरको सार छ, र उहाँ सबै सकारात्मक थोकहरूको वास्तविकता हुनुहुन्छ। यो भ्रष्ट मानवजातिले परमेश्‍वरका वचनहरूलाई जुन स्थानमा राखे पनि वा जसरी परिभाषित गरे पनि, वा तिनलाई जसरी हेरे वा बुझे पनि, परमेश्‍वरका वचनहरू अनन्त रूपमा सत्यता हुन्, र यो कहिल्यै परिवर्तन नहुने तथ्य हो। परमेश्‍वरका वचनहरू जति धेरै बोलिए पनि, र यस भ्रष्ट र दुष्ट मानवजातिले तिनलाई जति नै निन्दा र इन्कार गरे पनि, यसमा अनन्त रूपमा परिवर्तन नहुने तथ्य रहेको छ: परमेश्‍वरका वचनहरू सदा सत्यता रहनेछन्, र मानिसले यसलाई कहिल्यै परिवर्तन गर्न सक्‍छैन। अन्त्यमा, मानिसले परमेश्‍वरका वचनहरू सत्यता हुन्, र मानवजातिले सम्‍मान गरेका परम्‍परागत संस्कृति र वैज्ञानिक ज्ञान कहिल्यै सकारात्मक कुराहरू बन्‍न सक्दैनन्, र ती कहिल्यै सत्यता हुन सक्दैनन् भनेर स्वीकार गर्नैपर्छ। यो अटल कुरा हो। परिवर्तनहरू र बित्दै जाने समयको कारण मानवजातिको परम्परागत संस्कृति र जिउने शैली सत्य बन्नेछैन, न त मानवजातिको निन्दा वा भुलक्कडपनको कारण परमेश्‍वरका वचनहरू मानिसका वचनहरू नै बन्नेछन्। सत्य सधैँ सत्य नै हुन्छ; यो सार कहिल्यै पनि परिवर्तन हुनेछैन। यहाँ कुन तथ्य छ? मानवजातिले सारसङ्क्षेप गरेका सबै आम भनाइहरूको स्रोत शैतान नै हो, ती मानव कल्पना र धारणाहरूबाट आएका वा मान्छेको आवेग, र मानिसहरूको भ्रष्ट स्वभावहरूबाट उत्पन्न भएका हुन्छन्, र सकारात्मक कुराहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन। अर्कोतर्फ, परमेश्‍वरका वचनहरू परमेश्‍वरको सार र पहिचानका अभिव्यक्ति हुन्। कुन कारणले गर्दा उहाँले यी वचनहरू व्यक्त गर्नुहुन्छ? म किन ती सत्यता हुन् भनी भन्छु? कारण के हो भने परमेश्‍वरले सबै थोकका सबै व्यवस्थाहरू, नियमहरू, जडहरू, सारहरू, वास्तविकताहरू, र रहस्यहरूमाथि शासन गर्नुहुन्छ। ती सबै उहाँकै हातको पकडमा छन्। त्यसकारण, परमेश्‍वरले मात्रै सबै कुराका नियम, वास्तविकता, तथ्य, र रहस्यहरू जान्‍नुहुन्छ। परमेश्‍वरले सबै थोकको उत्पत्तिबारे जान्‍नुहुन्छ, र सबै थोकको जड के हो भन्‍ने परमेश्‍वरलाई थाहा छ। परमेश्‍वरका वचनहरूमा प्रस्तुत गरिएका सबै कुराहरूको परिभाषा मात्रै सबैभन्दा सही छन्, र परमेश्‍वरका वचनहरू मात्रै मानव जीवनका मापदण्ड र सिद्धान्तहरू हुन् र ती मात्रै मानवहरूले जीवन जिउनको लागि भरोसा गर्न सक्‍ने सत्यता र मापदण्डहरू हुन्, जबकि शैतानले भ्रष्ट तुल्याएपछि मान्छेले जिउनको लागि भरोसा गरेका शैतानी नियम र सिद्धान्तहरू परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ, र उहाँ सबै थोकका व्यवस्था र नियमहरूमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने तथ्यविपरीत छन्। मान्छेका सबै शैतानी सिद्धान्तहरू मान्छेका धारणा र कल्पनाहरूबाट उत्पन्‍न भएका हुन्छन्, र यी शैतानबाट आएका हुन्छन्। अनि, शैतानले कस्तो भूमिका खेल्छ? पहिलो कुरा, यसले आफूलाई सत्यताको रूपमा प्रस्तुत गर्छ; अर्को कुरा, यसले परमेश्‍वरले यावत्‌ थोक सृष्टि गर्दा प्रयोग गर्नुभएका सबै व्यवस्था र नियमहरू बिथोल्छ, नष्ट गर्छ, र कुल्चन्छ। त्यसकारण, शैतानबाट आउने कुरा शैतानको सारसँग दुरुस्तै मिल्छ, र यो शैतानको दुष्ट उद्देश्य, त्यसको नक्कलीपन र झूटोपन, र त्यसको सदा अपरिवर्तनीय महत्त्वाकाङ्क्षाले भरिएको हुन्छ। भ्रष्ट मानिसहरूले शैतानबा आएका यी दर्शन र सिद्धान्तहरू चिन्‍न सके पनि नसके पनि, र मानिसहरूले यी कुराहरू जति धेरै प्रस्तुत, प्रवर्धन र अनुसरण गरे पनि, र भ्रष्ट मानवजातिले यी कुराहरूलाई जति धेरै वर्ष र युगसम्म आदर, आराधना र प्रचार गरेको भए पनि, यी कुरा सत्यता बन्‍नेछैनन्। यी कुराहरूको सार, उत्पत्ति, र स्रोत शैतान हो, र यी कुराहरू परमेश्‍वरप्रति र सत्यताप्रति शत्रुवत्‌ छन्, त्यसकारण यी कुराहरू कहिल्यै सत्यता बन्‍नेछैनन्—यी सधैँ नकारात्मक कुराहरू नै रहनेछन्। जब तुलना गर्नको लागि कुनै सत्यता हुँदैन, तब यी कुराहरू असल र सकारात्मक कुराहरू मानिन सन्छन्, तर जब यी कुरालाई खुलासा र चिरफार गर्न सत्यता प्रयोग गरिन्छ, तब यी त्रुटिरहित रहँदैनन्, सूक्ष्म जाँचमा यी टिक्‍न सक्दैनन्, र यी तुरुन्तै दोषी ठहराइने र इन्कारिने कुराहरू हुन्। परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यता परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिको सामान्य मानवताका आवश्यकताहरूसँग ठ्याक्‍कै मिल्ने हुन्छ, जबकि शैतानले मानिसहरूमा हालिदिने कुराहरू मानवजातिको सामान्य मानवताका आवश्यकताहरूसँग ठ्याक्‍कै विपरीत हुन्छन्। यी कुराहरूले सामान्य व्यक्तिलाई असामान्य बनाउँछन्, अनि चरम, संकुचित, अहङ्कारी, मूर्ख, दुष्ट, हठी, आक्रमक, र असहनीय रूपमा अहङ्कारीसमेत बनाउँछन्। कुनै बेला यो कुरा यति गम्भीर हुन्छ कि मानिसहरू विक्षिप्‍त हुन्छन् र आफू को हुँ भन्‍नेसमेत तिनीहरूलाई थाहा हुँदैन। तिनीहरू सामान्य वा साधारण मानिसहरू हुन चाहँदैनन्, बरु महामानवहरू, विशेष शक्ति भएका मानिसहरू, वा उच्च स्तरका मानिसहरू बन्‍नमा जोड दिन्छन्—यी कुराहरूले मानिसहरूको मानवता र तिनीहरूको अन्तर्निहित क्षमता विकृत पारेका हुन्छन्। सत्यताले मानिसहरूलाई सामान्य मानवताको नियम र व्यवस्थाहरू र परमेश्‍वरले स्थापित गर्नुभएका यी सबै नियमहरूअनुसार थप अन्तर्निहित रूपमा अस्तित्वमा रहने तुल्याउँछ, जबकि यी तथाकथित आम भनाइ र छलपूर्ण भनाइहरूले मानिसहरूलाई मानव अन्तर्निहित क्षमताविरुद्ध जान र परमेश्‍वरले तोक्‍नुभएका र तय गर्नुभएका नियमहरूबाट तर्किन लगाउँछन्, यहाँसम्म कि मानिसहरूलाई सामान्य मानवताको मार्गबाट टाढा जान र सामान्य मानिसहरूले गर्न वा सोच्‍न नहुने चरम कुराहरू गर्नसमेत लगाउँछन्। यी शैतानी नियमहरूले मानिसहरूको मानवता विकृत मात्रै पार्ने नभई, मानिसहरूलाई आफ्नो सामान्य मानवता र सामान्य मानवताको अन्तर्निहित क्षमता गुमाउनसमेत लगाउँछन्। उदाहरणको लागि, शैतानी नियमहरूले भन्छन्, “आफ्नो नियति आफ्नै हातमा हुन्छ,” र “सुखको निर्माण आफ्‍नै दुई हातले गरिन्छ।” यो परमेश्‍वरको सार्वभौमिकताविपरीत छ र मानव अन्तर्निहित क्षमताविपरीत छ। जब मानिसहरूको शरीर र अन्तर्निहित क्षमता अन्तिम हदमा पुग्छ, वा जब तिनीहरूको नियति नाजुक अवस्थामा पुग्छ, तब शैतानका यी नियमहरूमा भर पर्ने मानिसहरूले सहन सक्दैनन्। धेरैजसोलाई तनावले सीमा नाघेको छ र यो तिनीहरूको मनमस्तिष्कले सहन नसक्‍नेभन्दा बढी भएको छ भन्‍ने लाग्छ, र अन्त्यमा तिनीहरू विक्षिप्‍त हुन्छन्। कलेज प्रवेश परीक्षा दिने मानिसहरूले अहिले ती परीक्षाहरूले ल्याउने ठूलो तनाव सामना गरिरहेका छन्। मानिसहरूको शारीरिक स्थिति र मानसिक गुणहरू फरकफरक हुन्छन्; कति जनाले त्यस्तो प्रणाली अवलम्बन गर्न सक्छन्, तर कति अरूले गर्न सक्दैनन्। अन्त्यमा, कति मानिसहरू त डिप्रेसनमा पर्छन्, जबकि कति अरू तनावले विक्षिप्‍त हुन्छन्, र भवनबाट हाम फालेर आत्महत्यासमेत गर्छन्—यस्ता अनेकथरी घटनाहरू घट्छन्। यी दुष्परिणामहरू कसरी पैदा हुन्छन्? यसको कारण के हो भने, शैतानले मानिसहरूलाई छल गरेर ख्याति र लाभ पछ्याउन लगाउँछ, जसले गर्दा मानिसहरूलाई हानि हुन्छ। यदि मानिसहरू परमेश्‍वरले तय गर्नुभएका नियमहरूअनुसार प्राकृतिक रूपमा जिउन, र परमेश्‍वरले मानिसहरूको लागि पूर्वनिर्धारण गर्नुभएको तरिकाअनुसार जिउन, र परमेश्‍वरका वचनहरू पढ्न, र परमेश्‍वरअघि जिउन सक्छन् भने, के तिनीहरू विक्षिप्‍त हुनेछन् त? के तिनीहरूले यति धेरै दबाब भोग्‍नेछन् त? अवश्यै भोग्‍नेछैनन्। मानिसहरूले सत्यता बुझून्, र तिनीहरू आफ्नो भ्रष्ट स्वभाव त्याग्‍न, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन सकून् भनेर परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ। यो तरिकाले, मानिसहरू कुनै दवावविना परमेश्‍वरअघि जिउन सक्छन्, र बस केवल स्वतन्त्रता र मुक्तता प्राप्त गर्छन्। मानवजातिलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, र परमेश्‍वरले मात्रै मानव अन्तर्निहित क्षमता र मानिसहरूबारे सबै कुरा जान्नुहुन्छ। मानिसहरूलाई अगुवाइ गर्न र तिनीहरूको खाँचो पूरा गर्न परमेश्‍वरले उहाँले तय गर्नुभएका नियमहरू प्रयोग गर्नुहुन्छ, जबकि शैतानले ठ्याक्‍कै त्यसो गर्दैन। यसले त मानिसहरूलाई यी सबविरुद्ध लैजान्छ, र मानिसहरूलाई महामानव र लब्धप्रतिष्ठित बन्‍न बाध्य गर्छ। के यो मानिसहरूलाई चलाकीमा पार्नु होइन र? मानिसहरू वास्तवमा सामान्य र साधारण मानिसहरू हुन्—तिनीहरू कसरी महामानव वा विशेष शक्तिवाल मानिसहरू हुन सक्छन्? के यो मानिसहरूलाई बरबाद गर्नु होइन र? तैँले जति नै संघर्ष गरे पनि, तेरो महत्त्वाकाङ्क्षा र इच्छा जति नै ठूलो भए पनि, तँ महामानव वा विशेष शक्तिवाल व्यक्ति बन्‍न सक्दैनस्। तैँले आफूलाई हदैसम्म बरबाद गरेर मानवताको सबै रूप गुमाइस् भने पनि, तँ महामानव वा विशेष शक्तिवाल व्यक्ति बन्‍न सक्दैनस्। व्यक्तिले जीवनमा जुन किसिमको करियर पाउनुपर्छ त्यो परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। यदि तँ परमेश्‍वरले तय गर्नुभएका व्यवस्था र नियमहरूअनुसार जिउँदैनस्, बरु शैतानको छली बकवास रोजेर महामानव वा विशेष शक्तिवाल व्यक्ति बन्‍ने प्रयास गर्छस् भने, तैँले कष्ट भोग्‍नु र मर्नुपर्छ। भन्‍नुको अर्थ, यदि तँ शैतानद्वारा बरबाद पारिन, कुल्चिमिल्ची गरिन, र भ्रष्ट पारिन स्विकार्छस् भने, तैँले भोग्‍ने सबै कुरा तेरा आफ्नै कार्यहरूको दुष्परिणाम हो, तँ त्यसैको लायक छस्, र यो तेरो आफ्नै इच्छाको फल हो। कतिपय मानिसहरूले कलेज प्रवेश परीक्षा दिन्छन्, दुई-तीनपटक फेल हुन्छन्, र पछि कहिल्यै पास हुन नसकेर पागल हुन्छन्। के यो तिनीहरूले आफैमा ल्याएको कुरा होइन र? तँ किन कलेज प्रवेश परीक्षा दिन चाहन्छस्? के यो अरूभन्दा माथि उठेर आफ्नो परिवारमा इज्जत ल्याउन होइन र? यदि तैँले अरूभन्दा माथि उठ्ने र आफ्नो परिवारमा इज्जत ल्याउने यी दुई लक्ष्यहरू त्याग्छस्, र यी कुराहरू पछ्याउँदैनस्, बरु सही लक्ष्य छनौट गर्छस् भने, के तनाव हराउनेछैन र? यदि तँ शैतानबाट आएको भ्रष्टता स्विकार्छस्, र यसबाट आएका यी सबै विचार र दृष्टिकोणहरू स्विकार्छस् भने, तेरो शरीरले हरकिसिमका पीडा भोग्‍नुपर्छ, र यो तँ जेको लायक छस् त्योभन्दा कमको हुनेछैन! यो दुष्परिणाम तेरो आफ्नै रोजाइ हो र यो तँ आफैले निर्माण गरेको कुरा हो। यो परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको होइन। परमेश्‍वरले तँलाई त्यसरी जिउन लगाउनुहुन्न। परमेश्‍वरका वचनहरूले पहिले नै कुराहरू स्पष्ट पारिसकेका छन्, र परमेश्‍वरका वचनहरूअनुसार अभ्यास नगर्ने तँ नै होस्। व्यक्तिको शरीर, इच्छाशक्ति, र मानसिक क्षमताले सहन सक्‍ने कुराको सीमा हुन्छ, तर मानिसहरू आफैले भने त्यो कुरा महसुस गर्दैनन् र यसविपरीत सोच्छन्, र तिनीहरूको नियति तिनीहरूकै हातमा छ भनेरसमेत भन्छन्, तर अन्त्यमा तिनीहरूले आफ्नो नियति आफ्नै हातमा लिन सक्दैनन्, र यसको साटो पीडादायी र दुःखद मृत्यु भोग्छन्। यो कसरी आफ्नो नियति आफ्नै हातमा लिने कार्य भयो र? यसरी शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन हरकिसिमका भ्रमपूर्ण विचार र हरकिसिमका विधर्म र भ्रमहरू प्रयोग गर्छ। मानिसहरू आफैलाई भने यो कुरा थाहा हुँदैन, र तिनीहरूले यसो भन्दै यी कुराहरूबारे राम्रो महसुससमेत गर्छन्, “समाज निरन्तर अघि बढिरहेको छ, त्यसकारण हामीले समयको गतिसँगै हिँड्नुपर्छ र सबै सकारात्मक ऊर्जाहरू स्विकार्नुपर्छ।” यो पूर्ण रूपमा बकवास हो। अविश्‍वासीहरूको पैशाचिक संसारमा कसरी कुनै सकारात्मक ऊर्जा हुन सक्छ र? यो सब नकारात्मक ऊर्जा हो, यो सब क्यान्सर हो, र यो सब टाइमबम हो। यदि तैँले यी कुराहरू स्विकार्छस् भने, तैँले यसका दुष्परिणामहरू भोग्‍नुपर्नेछ, र तैँले शैतानबाट यातना खेप्‍नु र बरबाद पारिनुपर्नेछ। सत्यता नपछ्याउनुको परिणाम यही हुन्छ। यदि तैँले शैतान पछ्याउँछस् भने, के नै राम्रो अन्त्य हुन सक्छ र? शैतानले तँलाई विष दिन र तँमाथि विष भर्न सकेजति सबै गर्नेछ। परमेश्‍वरले तँलाई मुक्ति दिनुहुन्छ; शैतानले तँलाई हानि गर्छ। परमेश्‍वरले तेरो रोग निको पार्नुहुन्छ; शैतानले तँलाई बिरामी पार्न विष हालिदिन्छ। तैँले शैतानबाट जति धेरै विष स्विकार्छस्, त्यति नै तँलाई सत्यता स्विकार्न गाह्रो हुन्छ। कुरा यही हो। सत्यता के हो भन्‍ने विषयमा हाम्रो सङ्गति अब यहीँ समाप्त हुन्छ। यसपछि, हामी अर्को विषय सङ्गति गर्नेछौँ।

ख्रीष्टविरोधीहरूले आफूलाई विशिष्ट तुल्याउन र आफ्ना हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नको लागि मात्रै आफ्नो कर्तव्य निभाउने, परमेश्‍वरको घरका हितहरूबारे कहिल्यै विचार नगर्ने, र व्यक्तिगत वैभव साट्न ती हितहरूसमेत बेचिदिने कार्यको चिरफार

१. परमेश्‍वरका हितहरू के-के हुन् र मानिसहरूका हितहरू के-के हुन्

यसपटक हामी ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूबारे सङ्गति गर्नेछौं—तिनीहरूले आफूलाई विशिष्ट तुल्याउन र आफ्ना हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नको लागि मात्रै आफ्नो कर्तव्य निभाउँछन्; तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको घरका हितहरूबारे विचार गर्दैनन्, र व्यक्तिगत वैभव साट्न ती हितहरूसमेत बेचिदिन्छन्। हाम्रो दैनिक जीवनमा, हामी प्रायजसो परमेश्‍वर र परमेश्‍वरको घरका हितहरूमा जोड दिन्छौँ। तर कतिपय मानिसहरूमा परमेश्‍वरको घरका हितहरू विचार नगर्ने प्रवृत्ति हुन्छ, र तिनीहरूले आफ्‍नै हितहरूलाई पहिलो प्राथमिकता र सबै कुराको केन्द्रविन्दुमा राख्छन्। यी मानिसहरू विशेष स्वार्थी हुन्छन्। यसको साथै, मामलाहरू सम्‍हाल्‍ने क्रममा, तिनीहरूले प्रायजसो परमेश्‍वरको घरका हितहरूमा हानि गर्ने गरी आफ्‍नै हितहरू रक्षा गर्ने गर्छन्, यहाँसम्‍म कि तिनीहरूले आफ्‍नै इच्‍छाहरू पूरा गर्न परमेश्‍वरको घरमा अप्रत्यक्ष मागहरूसमेत राख्छन्। यहाँ मुख्य शब्‍द कुन हो? मुख्य रूपमा केको बारेमा कुरा गरिएको छ? (हितहरू।) “हितहरू” भनेको के हो? यो शब्‍दमा के कुरा समावेश हुन्छ? कसैले के कुरालाई मानिसहरूका हितहरू मान्छ? मानिसहरूका हितहरूमा के-के कुरा पर्छन्? हैसियत, प्रतिष्ठा, र भौतिक हितहरूसँग सम्‍बन्धित कुराहरू। उदाहरणको लागि, जब कुनै व्यक्तिले अरूलाई भ्रममा पारेर उसको आदर र उपासना गर्ने तुल्याउँछ, तब उसले आफ्‍नै मनोवैज्ञानिक हितहरू खोजी गरिरहेको हुन्छ; यसमा भौतिक हितहरू पनि छन्, जसमा मानिसहरूले अरूबाट लाभ लिएर, आफ्‍नो लागि फाइदा लुटेर, वा परमेश्‍वरको घरको सम्पत्ति चोरेर यस्तो हित खोजी गर्छन्, र यी केही उदाहरण मात्र हुन्। ख्रीष्टविरोधीहरूले सधैँ आफ्‍नै फाइदाबाहेक अरू केही खोज्दैनन्। ख्रीष्टविरोधीहरूले मानसिक हितहरू खोजिरहेका भए पनि भौतिक हितहरू खोजिरहेका भए पनि तिनीहरू अत्यन्तै लालची र कहिल्यै चित्त नबुझाउने हुन्छन्, र तिनीहरूले यी सबै कुराहरू आफै लिने प्रयास गर्छन्। व्यक्तिका हितहरूसँग सम्‍बन्धित कुराहरूले नै तिनीहरूलाई सबैभन्दा बढी पर्दाफास गर्छन्। हितहरू व्यक्तिको जीवनसँग घनिष्ट रूपमा जोडिएका हुन्छन्, र हरेक दिन व्यक्तिको सम्पर्कमा आउने हरेक कुरा उसका हितहरूसँग सम्‍बन्धित हुन्छन्। उदाहरणको लागि, जब तैँले कुनै कुरा भन्छस् वा कुनै विषयमा कुरा गर्छस्, तब के-कस्ता हितहरू संलग्‍न हुन्छन्? जब दुई मानिसहरूले कुनै विषयमा छलफल गर्छन्, तब यो बोल्‍न को सिपालु छ र को सिपालु छैन, र अरूले कसलाई उच्‍च आदर गर्छन् र कसलाई हेयको दृष्टिले हेर्छन् भन्‍नेसँग सम्बन्धित कुरा हो, र यो तिनीहरूको फरकफरक बोल्‍ने शैलीका फरकफरक परिणामहरूसँग सम्बन्धित कुरा पनि हो। के यो हितहरूसँग सम्‍बन्धित कुरा होइन र? त्यसोभए, यस्ता कुराहरू आइपर्दा मानिसहरूले के गर्छन्? मानिसहरूले धाक लगाउन सक्दो प्रयास गर्छन्, र त्यो विषयलाई स्पष्ट रूपमा व्याख्या गर्न, र शब्दहरू अझै सुन्दर ढङ्गले व्यक्त गर्न, र अझै राम्रो सुनिने बनाउन, र संरचनाको अनुभूति दिलाउन, र मानिसहरूमा चिरस्थायी प्रभाव पार्न आफ्ना शब्दहरू व्यवस्थित गर्न दिमाग खियाउँछन्। मानिसहरूको कृपादृष्टि प्राप्त गर्न र तिनीहरूमा गहन प्रभाव पार्न यस्तो शैली, अनि बोल्ने कला, मस्तिष्क र ज्ञान प्रयोग गर्नु—यो एकप्रकारको हित हो। मानिसहरूले पछ्याउने यी हितहरू अरू कुन-कुन पक्षहरूसँग पनि सम्बन्धित हुन्छन्? आफ्नो कामकाज गर्ने क्रममा, मानिसहरूले निरन्तर कुराहरू तौलने, हिसाबकिताब गर्ने, र मनमस्तिष्कमा मनन गर्ने गर्छन्, र यसरी कुन-कुन कार्यहरू तिनीहरूको हितमा छन्, कुन-कुन कार्यहरू तिनीहरूको हितमा छैनन्, कुन-कुन कार्यहरूले तिनीहरूको हित अघि बढाउन सक्छन्, कुन-कुन कार्यले कम्तीमा पनि तिनीहरूको हितमा हानि गर्दैनन्, र कुन-कुन कार्यले तिनीहरूलाई सबैभन्दा बढी वैभव र सबैभन्दा बढी भौतिक लाभहरू दिलाउन, र तिनीहरूलाई सबैभन्दा ठूलो हितग्राही बनाउन सक्छन् भनेर सोच्न दिमाग खियाउँछन्। मानिसहरूले कुनै मामिलाहरू आइपर्दा यी दुई वटा हितहरूको लागि नै लडाइँ गर्छन्। मानिसहरूले पछ्याउने हितहरू यी दुई पक्षमै केन्द्रित हुन्छन् र अरू केहीमा केन्द्रित हुँदैनन्: एक हिसाबमा, भौतिक फाइदाहरू प्राप्त गर्ने, वा कम्तीमा पनि घाटा नलाग्‍ने, र अरूबाट फाइदा लिने कुरामा; साथै, मनोवैज्ञानिक स्तरमा, मानिसहरूलाई तिनीहरूको आदर र सम्मान गर्ने बनाउनु, र मानिसहरूको हृदय जित्ने कुरामा केन्द्रित हुन्छन्। कहिलेकहीँ, शक्ति र हैसियत प्राप्त गर्नको लागि, मानिसहरूले भौतिक हितहरूसमेत त्याग्‍न सक्छन्—अर्थात्, थोरै घाटा भोग्‍न सक्छन्—र पछि गएर अरूबाट धेरै ठूलो फाइदा लिन सक्छन्। छोटकरीमा भन्दा, मानिसहरूको प्रतिष्ठा, हैसियत, वैभव र भौतिक कुराहरूसँग सम्बन्धित यी कुराहरू सबै मानिसहरूका हितहरूको श्रेणीमा पर्छन्, र ती सबै मानिसहरूले पछ्याउने हितहरू हुन्।

मानिसहरूले यी हितहरू पछ्याउनुको प्रकृति के हुन्छ? मानिसहरूले किन यी कुराहरू पछ्याउँछन्? के यी कुराहरू पछ्याउनु वैध कुरा हो? के यो उचित छ? के यो मानिसहरूप्रतिका परमेश्‍वरका मापदण्डहरूअनुरूप छ? के सृष्टि गरिएको प्राणीको लागि परमेश्‍वरले तोक्‍नुभएको मानक यही हो? परमेश्‍वरका वचनहरूमा, के उहाँले यसो भन्‍नुभएको छ: “तिमीहरूले आफ्नै हितहरू पछ्याउनुपर्छ र आफ्नै हितहरूलाई अधिकतम बनाउनुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्दैमा र कर्तव्य निभाउँदैमा, आफ्ना हितहरू त्याग्‍नु हुँदैन। तिमीहरूले आफ्नो हैसियत, प्रतिष्ठा, र शक्तिलाई बहुमूल्य ठान्नुपर्छ, र यी कुराहरू जुनसुकै मूल्य चुकाएर भए पनि रक्षा गर्नुपर्छ। यदि परमेश्‍वरले तँलाई हैसियत दिनुभयो भने, तैँले यसलाई आफ्नो लज्‍जा होइन आफ्नो महिमामा परिणत गर्नुपर्छ। यो तँलाई परमेश्‍वरले दिनुभएको आज्ञा हो?”—के परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभएको छ? (छैन।) परमेश्‍वरका वचनहरूमा त्यस्तो केही नभएको हुनाले, परमेश्‍वरले आफ्नो हृदयमा सृष्टि गरिएका प्राणीहरूलाई के मापदण्ड दिनुहुन्छ? परमेश्‍वरले मानिसहरूलाई हितहरूलाई के-कस्तो रूपमा लिन लगाउनुहुन्छ? एक हिसाबमा, परमेश्‍वरले मानिसहरूले आफ्ना हितहरू त्यागून् भन्‍ने चाहनुहुन्छ—यो समग्र रूपमा भनिएको कुरा हो; यसको साथै, परमेश्‍वरले मानिसहरूलाई अझै धेरै पक्षहरूमा अभ्यासका उचित मार्गहरू दिनुहुन्छ, र मानिसहरूलाई आफूले लिनुपर्ने मार्ग पछ्याउन के-कस्तो व्यवहार अँगाल्नुपर्छ, सृष्टि गरिएको प्राणीले गर्नुपर्ने अभ्यास कसरी गर्नुपर्छ, भौतिक कुराहरूप्रति, र ख्याति र लाभप्रति मानिसहरूमा केकस्तो दृष्टिकोण र मनोवृत्ति हुनुपर्छ, र तिनीहरूले के-कसरी छनौट गर्नुपर्छ भनेर बताउनुहुन्छ। निस्सन्देह नै, परमेश्‍वरका वचनहरूले मानिसहरूलाई के-कसरी हितहरूलाई हेर्ने भनेर सीधै नबताए पनि, ती वचनहरूमाझ उहाँले भ्रष्ट मानवजातिका हितहरूबारे परमेश्‍वरका दृष्टिकोणहरू के हुन् भन्‍ने कुरा पनि व्यक्त गर्नुहुन्छ, र मानिसहरूले आफ्ना दृष्टिकोणहरू पन्छाउनुपर्छ, सत्यता सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ, सृष्टि गरिएको प्राणीको आफ्नो स्थानअनुसार व्यवहार अँगाल्‍नुपर्छ, र आफ्नो स्थानमा बस्नुपर्छ भन्‍ने कुरा स्पष्ट पार्नुहुन्छ। मानिसहरूलाई यसरी व्यवहार गर्न लगाएर, के परमेश्‍वरले आफ्‍नो हृदयमा तिनीहरूलाई जानीजानी आफ्ना हितहरूबाट वञ्चित गरिरहनुभएको हुन्छ? अवश्य नै हुँदैन। कतिपय मानिसहरू भन्छन्, “मण्डलीमा, सधैँ परमेश्‍वरको घरका हितहरू र मण्डलीका हितहरूबारे कुरा गरिन्छ, तर कसरी कसैले पनि हामी मानिसहरूका हितहरूबारे कुरा नगरेको हो? हाम्रो हितचाहिँ कसले हेरिरहेको छ? के हामीमा पनि केही मानव अधिकार हुनुपर्ने होइन र? हामीलाई पनि केही साना फाइदाहरू त दिइनुपर्ने हो। किन हामीलाई केही थोरै कुरा पनि दिइँदैन? सबै हित कसरी परमेश्‍वरको हुन्छ र? के परमेश्‍वर पनि स्वार्थी हुनुहुन्न र?” यस्तो कुरा भन्‍नु अत्यन्तै विद्रोही र विश्‍वासघाती कार्य हो। यो त प्रष्ट रूपमै गलत बोल्नु हो। मानवता भएको व्यक्तिले अवश्यै यस्तो बोल्न सक्दैन, र दियाबलसहरूले मात्रै नानाथरीका विद्रोही कुराहरू बोल्ने आँट गर्छन्। कति अरू भन्छन्: “परमेश्‍वर मानिसहरूलाई सधैँ आफ्ना व्यक्तिगत हितहरूबारे विचार नगर्नू भन्‍नुहुन्छ। उहाँ सधैँ आफ्‍नो खातिर षड्यन्त्र नगर्नू भन्‍नुहुन्छ। मानिसहरू कुनै काम गरेर वा कुनै कुरा हासिल गरेर सबैलाई तिनीहरूको आराधना गर्ने तुल्याउँदै आफूलाई भीडभन्दा माथि उठाउन चाहन्छन्। परमेश्‍वर यो महत्त्वाकाङ्क्षा हो भनेर भन्‍नुहुन्छ। मानिसहरू आफ्नै हितहरूको लागि लड्न, राम्रो खाना खान, जीवनको आनन्द लिन, देहका सुखहरू लालच गर्न, र मानवजातिमाझ आदरणीय रूपमा जिउन चाहन्छन्। यसरी त मानिसहरूले आफ्नै हितहरू मात्रै पोषण गरिरहेका हुन्छन्, र त्यसैले तिनलाई पन्छाउनैपर्छ भनेर परमेश्‍वर भन्‍नुहुन्छ। यदि हामीले यी सबै हितहरू पन्छाउने हो भने, हामी कसरी अझै राम्ररी जिउन सक्छौँ र?” यदि मानिसहरू परमेश्‍वरको इच्छा बुझ्दैनन् भने, तिनीहरू सधैँ परमेश्‍वरका मापदण्डहरूविपरीत हुन्छन्, र यी मामिलाहरूमा सधैँ परमेश्‍वरसँग विवादमा हुन्छन्। यो त छोराछोरी हुर्काउन आफ्नो आधा जीवन मेहनत गरेका र अति थकित भएर नानाथरी रोगहरू लागेका कतिपय आमाबुबाको कुराजस्तै हो। आमाबुबालाई आफ्नो शरीरले आफूलाई साथ दिनेछैन र आफ्ना छोराछोरी पालनपोषण गर्ने कोही हुनेछैन भन्‍ने चिन्ता हुन्छ, त्यसैले तिनीहरू केही स्वास्थ्य सामग्रीहरू किन्छन्। छोराछोरीलाई राम्रो कुरा केही थाहा हुँदैन र यी सामग्रीहरू देख्दा तिनीहरू यसो भन्छन्: “मैले केही वर्षदेखि नयाँ लुगासमेत किनेको छैनँ, र पनि तपाईं कसरी स्वास्थ्य सामग्रीहरू किन्न सक्‍नुहुन्छ? तपाईंले त मलाई कलेज पठाउन त्यो पैसा बचत गर्नुपर्ने हो।” के यो टिप्पणीले आमाबुबाको भावनामा चोट पुर्‍याउँदैन र? आमाबुबाले आफ्नै हितहरूको लागि यो सब गर्दैनन्, र तिनीहरूले देहसुखमा रमाउन चाहेर वा अलि लामो समय र अलि बढी सहजतामा जिउन र भविष्यमा आफ्ना छोराछोरीको सुखमा सहभागी हुन चाहेर यसो गर्दैनन्। यी कारणहरूले गर्दा यसो गरिएको हुँदैन। अनि, तिनीहरूले केको लागि यसो गरिरहेका हुन्छन् त? तिनीहरूले छोराछोरीको लागि यसो गरिरहेका हुन्छन्। छोराछोरीले यो कुरा बुझ्दैनन् र आमाबुबालाई दोषसमेत दिन्छन्—के यो विश्‍वासघाती कार्य होइन र? (हो।) यदि छोराछोरीले आमाबुबाका अभिप्रायहरू बुझ्दैनन् भने, तिनीहरू आमाबुबासँग विमत हुन सक्छन्, यहाँसम्म कि तिनीहरूले विवाद पैदा गर्न र आमाबुबाको भावनामा चोट पुर्‍याउनसमेत सक्छन्। त्यसोभए, के तिमीहरू परमेश्‍वरको हृदय बुझ्छौ त? यो सत्यता बुझ्नुसँग सम्‍बन्धित कुरा हो। किन परमेश्‍वर मानिसहरूका आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पोषण गर्ने अभ्यासलाई निन्दा गर्नुहुन्छ? के परमेश्‍वर स्वार्थी हुनुभएर हो? के परमेश्‍वर मानिसहरूलाई दरिद्र र दयनीय पार्न मात्र व्यक्तिगत हितहरू खोजी नगर्नू भनेर भन्‍नुहुन्छ? (होइन।) त्यस्तो अवश्यै होइन। परमेश्‍वर मानिसहरू असल बनेको चाहनुहुन्छ, र परमेश्‍वर मानवजातिलाई आशिष्‌ दिन र मानिसहरूलाई सुन्दर गन्तव्यमा लैजान मान्छेलाई मुक्ति दिने आफ्नो काम गर्न आउनुहुन्छ। परमेश्‍वरले गर्नुहुने सबै कुरा मानिसहरूले सत्यता र जीवन प्राप्त गरून् भनेर हो, ताकि तिनीहरू परमेश्‍वरको प्रतिज्ञा र आशिष्‌हरू प्राप्त गर्न योग्य हुन सकून्। तैपनि, मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ र तिनीहरूसँग भ्रष्ट स्वभाव छ, र तिनीहरूले सत्यता र जीवन प्राप्त गर्न धेरै कष्ट भोग्‍नुपर्छ। यदि सबैजना देहका लालची इच्छाहरू सन्तुष्ट पार्न व्यक्तिगत हितहरू पछ्याउँछन् र सुखी जीवन बिताउन चाहन्छन्, तर सत्यता पछ्याउने प्रयास गर्दैनन् भने, परिणामहरू के हुनेछन्? तिनीहरूले सत्यता प्राप्त गर्न, र शुद्धीकरण र मुक्ति पाउन सक्दैनन्। तिनीहरूले मुक्ति नपाउनुका परिणामहरू के हुन्छन्? तिनीहरू सबै विपत्तिहरूमा मर्नुपर्छ। के यो देहसुखमा डुब्ने समय हो? होइन। जसले सत्यता प्राप्त गर्दैन उसले मर्नैपर्छ। त्यसैले, परमेश्‍वरले मानिसहरूलाई आफ्ना देहगत हितहरू त्याग्‍न र सत्यता पछ्याउन लगाउनुहुन्छ। यो मानिसहरूको खातिर, तिनीहरूको जीवनको खातिर, र तिनीहरूको मुक्तिको खातिर हो। मानिसहरूले सत्यता प्राप्त गरी मुक्ति पाएपछि, परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरू कुनै पनि बेला आउनेछन्। परमेश्‍वरले मान्छेलाई दिनुहुने आशिष्‌हरू मानिसहरूले कल्पना गर्ने देहसुखभन्दा कति सय वा कति हजार गुणा बढी हुनेछन्, कसलाई के थाहा र। अनि, किन मानिसहरूले तिनलाई देख्‍न नसकेका हुन्? के सबै मानिसहरू यी कुराहरूप्रति अन्धा भएका हुन्? त्यसोभए, किन परमेश्‍वरले मानिसहरूलाई सधैँ आफ्ना हितहरू पन्छाएर परमेश्‍वरका हितहरू र परमेश्‍वरको घरका हितहरू रक्षा गर्न लगाउनुहुन्छ? यो कुरा कसले व्याख्या गर्न सक्छ? (मानिसहरूलाई शैतानले भ्रष्ट तुल्याएको हुनाले, र तिनीहरूको हित सत्यताअनुरूप नहुने हुनाले, परमेश्‍वर तिनीहरूलाई व्यक्तिगत हितहरू त्याग्‍न लगाउनुहुन्छ। मानिसहरूलाई परमेश्‍वरको घरका हितहरू रक्षा गर्न लगाउँदा, परमेश्‍वरले मानिसहरूलाई कस्तो व्यवहार अँगाल्ने भनेर सिकाइरहनुभएको हुन्छ। किनभने परमेश्‍वरले गर्नुहुने सबै काम मानिसहरूलाई मुक्ति दिनलाई हो, र यदि कसैलाई परमेश्‍वरको घरका हितहरू रक्षा गर्न आउँदैन भने, ऊ मानव कहलिन लायक हुँदैन।) तैँले भनेको कुरामा केही व्यावहारिक बुँदाहरू छन्। (म एउटा कुरा थप्न चाहन्छु। म ख्याति, लाभ, र हैसियतप्रति तल्लीन थिएँ। मलाई लाग्थ्यो, मसँग केही वरदान छ र त्यसैले मलाई बढुवा गरी सुपरभाइजर बनाइनुपर्छ। तैपनि, हरेकपटक निर्वाचन हुँदा, म हार्थेँ, र हृदयमा परमेश्‍वरलाई दोष दिन्थेँ—किन परमेश्‍वरले मेरो यो सानो इच्छा पनि पूरा नगरिदिनुभएको? पछि गएर, केही असफलताहरू अनुभव गरेपछि, मैले परमेश्‍वरका वचनहरू पढेँ र आफ्नो बारे मनन गरेँ, र ख्याति, लाभ, र हैसियत पाउने मेरो खोजको कारण नै म प्रायजसो डाहा र झगडामा संलग्‍न हुने, अनि विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर सहकार्य नगर्ने गर्दो रहेछु भन्‍ने कुरा पहिचान गरेँ। मैले जीवनमा कुनै प्रगति नगरेको मात्रै होइन, परमेश्‍वरको घरको काममा केही घाटा पनि गराएको थिएँ। अनि मैले महसुस गरेँ, ख्याति, लाभ, र व्यक्तिगत हितहरू पछ्याउनु सही जीवन दृष्टिकोण वा पछ्याउनुपर्ने सही उद्देश्य होइन रहेछ, यो त मानिसहरूलाई बहकाउन शैतानले मानिसहरूमा हालिदिएको गलत दृष्टिकोण रहेछ, र यस्तो खोज अत्यन्तै खतरनाक हुने रहेछ। मानिसहरूमा समस्या ल्याउन चाहेर वा तिनीहरूविरुद्ध कठोर हुन चाहेर नभई, यो अत्यन्तै खतरनाक मार्ग भएकोले, र यस्ता खोजहरूले व्यक्ति अन्ततः खाली हात मात्रै हुन सक्‍ने भएर परमेश्‍वरले तिनीहरूलाई ख्याति, लाभ र हैसियत पछ्याउनु हुँदैन भनेर भन्‍नुहुन्छ।) यहाँ “खाली हात” र “अत्यन्तै खतरनाक” भन्‍ने शब्दहरूद्वारा, उहाँले उल्लेख गर्नुभएको खतरा के हो, तिमीहरूलाई के लाग्छ? के यो साँच्‍चै खाली हात हुने मात्रै कुरा हो, र योभन्दा बढी अरू केही होइन? यो कस्तो मार्ग हो? (विनाशको मार्ग।) यो खोज परमेश्‍वरलाई विरोध गर्ने मार्ग हो। यो सत्यता पछ्याउनु होइन, बरु हैसियत र प्रतिष्ठा पछ्याउनु हो। यो ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नु हो। तैँले आफ्ना इच्छा र आकाङ्क्षाहरूलाई जति नै वैध ठाने पनि, परमेश्‍वरले चाहनुहुने कुरा यो र यसप्रकारको खोज होइन। तैँले यसरी खोजी गरेको परमेश्‍वर चाहनुहुन्न। यदि तँ आफ्नै मार्गमा लागिरहन जिद्दी गर्छस् भने, तेरो अन्तिम परिणाम भनेको तँ खाली हात हुने मात्रै हुँदैन, बरु तँ त परमेश्‍वरको प्रतिरोध गर्ने मार्ग हिँड्‍नेछस्। यसमा के खतरा छ? तैँले परमेश्‍वरको प्रतिरोध गर्नेछस्, परमेश्‍वरलाई आक्रमण गर्नेछस् र उहाँको विरोध गर्नेछस्, र उहाँविरुद्ध खडा हुनेछस्, र यसको परिणाम विनाश हुनेछ। थप्नुपर्ने अरू केही छ? (परमेश्‍वर, म एउटा कुरा थप्न चाहन्छु। भर्खरै परमेश्‍वरले सोध्नुभयो, किन परमेश्‍वर मानिसहरूले आफ्नै हितहरू रक्षा गरेको नभई, परमेश्‍वरको घरका हितहरू रक्षा गरेको चाहनुहुन्छ? मैले बुझेअनुसार, परमेश्‍वरले सबथोक सृष्टि गर्नुभयो, र सबथोक परमेश्‍वरबाट आउँछन्। परमेश्‍वरले सृष्टि गर्नुभएको सबथोक मानिसहरूकै लागि हुन्। परमेश्‍वरले जे गर्नुभए पनि—यो सब काम गर्न उहाँ दुईपटक देह बन्‍नु, र अहिले मण्डली स्थापना गर्ने यो सारा काम गर्नुलगायत—यो सब मानिसहरूलाई मुक्ति दिनलाई हो। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेपछि, मण्डली जीवन जिउन थालेपछि, र कर्तव्य निभाउन सक्‍ने भएपछि, तिनीहरूले मुक्तिको मार्ग प्राप्त गर्छन्। त्यसैले, परमेश्‍वरले हामीलाई आफ्ना व्यक्तिगत हितहरू पन्छाउन लगाउनु भनेको बञ्चिति होइन, किनभने परमेश्‍वरका हित र परमेश्‍वरको घरका हितहरू रक्षा गर्दा अन्ततः हामीलाई नै फाइदा हुन्छ।) एकदम राम्रो। तिमीहरूले सङ्गति गरेको कुराको सामान्य अर्थ आधारभूत रूपमै सही छ। कति मानिसहरूले आफ्नै व्यक्तिगत अनुभवहरूबारे कुरा गर्छन्, र अरूले यसबारे सैद्धान्तिक दृष्टिकोणबाट कुरा गर्छन्। तर आधारभूत रूपमा तैँले बुझेको के हो भने, परमेश्‍वरका हितहरू उचित छन् र मानिसहरूका हितहरू उचित छैनन्। परमेश्‍वरका हितहरूलाई मात्रै हितहरू भनेर भन्‍न सकिन्छ, जबकि मानिसहरूका हितहरू अस्तित्वमा रहनु हुँदैन। खासगरी, “मानिसहरूका हितहरू”—यो वाक्यांश, यो अभिव्यक्ति, यो तथ्य—मानिसहरूले आनन्द लिनुपर्ने कुरा होइन। परमेश्‍वरका हितहरू सबै कुराभन्दा पहिले आउँछन् र तिनको प्रतिरक्षा गरिनुपर्छ। आधारभूत रूपमा तैँले बुझेको कुरा यही हो। भन्‍नुको अर्थ, मानिसहरूमा परमेश्‍वरका हितहरू रक्षा गर्ने जिम्मेवारी हुनुपर्छ र तिनीहरूले परमेश्‍वरका हितहरूलाई सही रूपमा हेर्नुपर्छ, जबकि मानिसहरूका हितहरूलाई तिरस्कारसाथ लिनु र त्याग्‍नुपर्छ, किनभने मानिसहरूका हितहरू त्यति वैभवपूर्ण हुँदैनन्। मानव दृष्टिकोणबाट हेर्दा—मूल रूपमा मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, र भित्री रूपमा तिनीहरू भ्रष्ट स्वभावले दूषित भएका हुन्छन्—त्यसैले मानिसहरूका सबै हितहरू, तैँले तिनलाई जसरी हेरे पनि, र ती देखिने भए नि वा नदेखिने भए नि, ती सबै अवैध श्रेणीमा पर्छन्। तसर्थ, मानिसहरूले ती कुराहरू पन्छाउन सके नि नसके नि, आत्मपरक रूपमा चाहिँ तिनीहरूले मानिसहरूका हितहरू पन्छाउनुपर्छ, र परमेश्‍वरका हितहरूको लागि लड्‍नु र प्रतिरक्षा गर्नुपर्छ भनेर महसुस गरिसकेका छन्। यो कुरामा सबैको सहमति छ। अब अहिले हामी सहमतिमा पुगिसकेका हुनाले, परमेश्‍वरका हितहरू वास्तवमा के-के हुन् भन्‍नेबारे सङ्गति गरौँ।

परमेश्‍वरका हितहरू वास्तवमा के-के हुन् त? के परमेश्‍वरका हितहरू, परमेश्‍वरको घरका हितहरू, र मण्डलीका हितहरू सबै एउटै हुन् त? “परमेश्‍वर” भन्‍ने शब्द एउटा पदवीनाम हो, र परमेश्‍वरको सारको समानार्थी शब्द पनि हो भनेर भन्‍न सकिन्छ। “परमेश्‍वरको घर” र “मण्डली” चाहिँ के हुन् त? दायराको हिसाबमा परमेश्‍वरको घर निकै व्यापक हुन्छ, तर मण्डली निश्‍चित हुन्छ। त्यसोभए, के परमेश्‍वरका हितहरू, परमेश्‍वरको घरका हितहरू, र मण्डलीका हितहरूलाई उस्तै मान्‍न सकिन्छ त? (अहँ, सकिँदैन।) कति मानिसहरू सकिँदैन भनेर भन्छन्, तर के तिनलाई वास्तवमै त्यसो गर्न सकिन्छ त? के परमेश्‍वरको घरका प्रशासनिक आदेशहरू, मण्डलीका प्रशासनिक आदेशहरू, र परमेश्‍वरले जारी गर्नुभएका प्रशासनिक आदेशहरू एउटै कुरा होइनन् र? (हो।) ती सबै एउटै कुरा हुन्। यो दृष्टिकोणबाट हेर्दा, यी तिन्टै हितहरूलाई एकअर्कासँग तुलना गर्न सकिन्छ। परमेश्‍वरको घर परमेश्‍वर र उहाँका चुनिएका मानिसहरूले गर्दा मात्रै अस्तित्वमा आउँछ, र मण्डली परमेश्‍वरको घरका यी चुनिएका मानिसहरूले गर्दा मात्रै अस्तित्वमा आउँछ। मण्डली परमेश्‍वरको घरको अझै निर्दिष्ट “अधीनस्थ इकाइ” हो। परमेश्‍वरको घर बृहत् शब्‍द हो, तर मण्डली योभन्दा अलि निर्दिष्ट शब्द हो। त्यसोभए के परमेश्‍वरका हितहरू, परमेश्‍वरको घरका हितहरू, र मण्डलीका हितहरूलाई उस्तै मान्‍न सकिन्छ त? के तिमीहरू यी कुराहरूलाई समान रूपमा लिनुपर्छ भन्‍ने सोच्छौ? थाहा छैन, हो? त्यसोभए, सुरुमा विश्‍लेषण गर्न तिनलाई तुलना गर्ने प्रयास गरौँ। उदाहरणको लागि, परमेश्‍वरको महिमा परमेश्‍वरको हित हो। तर के यो परमेश्‍वरको घरको महिमा हो भनेर भन्‍नु ठीक हुन्छ? (हुँदैन।) त्यो ठीक हुँदैन। परमेश्‍वरको घर एउटा नाम हो, र यसले परमेश्‍वरको सार प्रतिनिधित्व गर्दैन। अनि, के परमेश्‍वरको महिमा मण्डलीको महिमा हो भनेर भन्‍नु ठीक हुन्छ? (हुँदैन।) अवश्य नै त्यो पनि ठीक हुँदैन। मण्डलीको महिमा सबै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको महिमा हो। यसलाई परमेश्‍वरको महिमासँग तुलना गर्नु अपमानजनक हुनेछ। मानिसहरूले यो महिमा लिन सक्दैनन्, न त परमेश्‍वरको घरले न त मण्डलीले नै यसलाई लिन सक्छ। यो दृष्टिकोणबाट भन्‍नुपर्दा, के परमेश्‍वरका हितहरू, परमेश्‍वरको घरका हितहरू, र मण्डलीका हितहरूलाई उस्तै मान्‍न सकिन्छ? (अहँ, सकिँदैन।) अहँ, सकिँदैन। अर्को दृष्टिकोणबाट हेर्दा, के परमेश्‍वरले गर्नुहुने कामको एउटा भाग, परमेश्‍वरको घरको कामको एउटा भाग, र मण्डलीको कामको एउटा भागलाई उस्तै मान्‍न सकिन्छ त? उदाहरणको लागि, परमेश्‍वरले मानिसहरूलाई सुसमाचार प्रचार गर्न र परमेश्‍वरका वचनहरू फैलाउन लगाउनुहुन्छ। यो परमेश्‍वरको इच्छा हो, र यो परमेश्‍वरले मानिसहरूलाई दिनुहुने आज्ञा पनि हो। जब परमेश्‍वरको घरलाई यो आज्ञा दिइन्छ, तब के यो कामलाई परमेश्‍वरले योजना गर्नुहुने कामसँग उस्तै मान्‍न सकिन्छ? परमेश्‍वरको आज्ञा पनि उहाँको कामको भाग हो, र यो निश्‍चित भागलाई परमेश्‍वरले योजना गर्नुहुने कामसँग उस्तै मान्‍न सकिन्छ। त्यसोभए जब यो आज्ञा मण्डलीलाई दिइन्छ, तब के यसलाई परमेश्‍वरको कामको रूपमा लिन सकिन्छ त? (सकिन्छ।) हो, सकिन्छ। यी दुईमध्ये एउटा उदाहरण परमेश्‍वरको सारसँग सम्बन्धित छ, र त्यो अवस्थामा परमेश्‍वर, परमेश्‍वरको घर, र मण्डलीलाई उस्तै मान्‍न सकिँदैन। अनि, अर्को उदाहरण परमेश्‍वरले गर्नुहुने काम, परमेश्‍वरको आज्ञा, र अझै निर्दिष्ट रूपमा, हरेक व्यक्तिको लागि परमेश्‍वरले दिनुभएका मापदण्डहरूसँग सम्बन्धित छ—यी कुराहरूलाई चाहिँ उस्तै मान्‍न सकिन्छ। जब परमेश्‍वरको महिमा, परमेश्‍वरको पहिचान, परमेश्‍वरको सार, र परमेश्‍वरको गवाहीसँग सम्बन्धित कुराहरूको प्रसङ्ग आउँछ, तब के परमेश्‍वर, परमेश्‍वरको घर, र मण्डलीलाई समान मान्‍न सकिन्छ त? (सकिँदैन।) परमेश्‍वरको घर र मण्डलीमा यो गवाही र महिमा हुन सक्दैन, र यसलाई परमेश्‍वरसँग उस्तै मान्‍न सकिँदैन, तर कुनै निर्दिष्ट काम वा निश्‍चित आज्ञाको कुरा गर्नुपर्दा, तिनलाई उस्तै मान्‍न सकिन्छ। यसभन्दा पहिले हामीले परमेश्‍वरको घर र मण्डलीका हितहरूबारे सङ्गति गरेका थियौँ, र त्यसबारे हामीले धेरै कुरा गरेका थियौँ। आज हामी परमेश्‍वरका हितहरू के हुन्, र मानिसहरूलाई थाहा नभएका र मानिसहरूले कहिल्यै विचार नगरेका, तर परमेश्‍वरसँग नजिक रूपमा सम्बन्धित र परमेश्‍वरका हितहरूका रूपमा गनिने कुराहरू के-के हुन् भन्‍नेबारे सङ्गति गर्न ध्यान दिनेछौँ। चाहे नाम, भनाइ, वा चाहे परमेश्‍वरको सार र पहिचानसँग सम्बन्धित कुनै कुरा होस्, ती कुन-कुन कुराहरूचाहिँ परमेश्‍वरका हितहरू हुन् त? (परमेश्‍वरको महिमा।) परमेश्‍वरको महिमा, अर्थात् मानिसहरूबाट परमेश्‍वरले प्राप्त गर्नुहुने गवाही अवश्य नै परमेश्‍वरको हित हो। अरू के छ? परमेश्‍वरको काम, परमेश्‍वरको व्यवस्थापन योजना, परमेश्‍वरको नाम, परमेश्‍वरको गवाही, परमेश्‍वरको पहिचान, र परमेश्‍वरको हैसियत—यी सबै उहाँका हितहरू हुन्। परमेश्‍वरको हकमा भन्‍नुपर्दा, उहाँले रक्षा गर्न चाहनुहुने सबभन्दा मूल्यवान् कुरा के हो? के यो परमेश्‍वरको नाम, परमेश्‍वरको महिमा, परमेश्‍वरको गवाही, वा परमेश्‍वरको पहिचान र हैसियत हो? ठ्याक्‍कै के हो? परमेश्‍वरले रक्षा गर्न चाहनुहुने सबैभन्दा मूल्यवान् कुरा मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन योजना हो। परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन योजना भनेको परमेश्‍वरले ६,००० वर्षको अवधिमा पूरा गर्ने योजना गर्नुभएको सबै काम हो। परमेश्‍वरको लागि, यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। यो भन्‍न सकिन्छ कि, सृष्टि गरिएको मानवजातिको नजरमा देखिने परमेश्‍वरको हित पनि यही नै हुनुपर्छ। परमेश्‍वरका हितहरूबारे मानिसहरूले धेरथोर रूपमा के बुझ्न सक्छन्, र मानिसहरूले के बुझ्नुपर्छ भन्‍ने कुरालाई मूलतः यतिमै रोक्न सकिन्छ। यसपछि, हामी परमेश्‍वरको घरका हितहरूबारे कुरा गरौँ। परमेश्‍वरको घरका हितहरूबारे कुरा गर्नुपर्दा, परमेश्‍वरको नाम, परमेश्‍वरको महिमा, र परमेश्‍वरको गवाही रक्षा गर्नुबाहेक, परमेश्‍वरले मानवजातिलाई अरू के रक्षा गर्ने आज्ञा दिनुभएको छ? (परमेश्‍वरको व्यवस्थापन योजना।) ठीक भन्यौ, मानवजातिलाई परमेश्‍वरले दिनुभएको सबैभन्दा ठूलो आज्ञा नै परमेश्‍वरको घरको सबैभन्दा ठूलो हित हो। त्यसोभए यो हित के हो त? यो परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन योजना मानवजातिमाझ लागू गर्नु हो, र यसमा अवश्य नै हरकिसिमका पक्षहरू समावेश छन्। त्यसोभए यसमा के-के समावेश छन् त? यसमा मण्डली स्थापना र गठन गर्ने, र मण्डलीका विभिन्‍न काम र सुसमाचार प्रचारको काम बिनाबाधा अघि बढून् भनेर मण्डलीका सबै स्तरका अगुवा र सेवकहरू उत्पादन गर्ने कुरा समावेश छन्—यी सबै कुरा मण्डलीका हितहरूसँग सम्बन्धित छन्। परमेश्‍वर, परमेश्‍वरको घर, र मण्डलीका हितहरूको लागि सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्, र यीबारे हामीले प्रायजसो कुरा गरिरहन्छौँ। परमेश्‍वरको काम फैलियोस्, परमेश्‍वरको व्यवस्थापन योजना बिनाबाधा अघि बढोस्, मानवजातिमाझ परमेश्‍वरको अभिप्राय र परमेश्‍वरको इच्छा बिनाबाधा पूरा होस्, र अझै धेरै मानिसहरू परमेश्‍वरअघि आउन सकून् भनेर परमेश्‍वरका वचनहरू मानिसहरूमाझ अझै व्यापक रूपमा फैलिन, प्रसार हुन, र घोषित हुन सकोस्—परमेश्‍वरको सारा कामका उद्देश्य र केन्द्र यिनै हुन्। त्यसैले, परमेश्‍वरको घर र मण्डलीका हितहरूसँग सम्बन्धित जुनसुकै कुरा परमेश्‍वरको इच्छा र परमेश्‍वरको व्यवस्थापन योजनासँग निश्‍चय नै सम्बन्धित हुनुपर्छ। तोकेरै भन्‍नुपर्दा, यो हरेक युग र हरेक चरणमा, परमेश्‍वरको काम बिनाबाधा अघि बढ्न र फैलिन सक्छ सक्दैन, र यो मानवजातिमाझ सहजसाथ भइरहेको र सहजसाथ अघि बढिरहेको छ छैन भन्‍ने कुरा हो। यदि यो सब सामान्य रूपमा अघि बढिरहेको छ भने, परमेश्‍वरको घर र मण्डलीका हितहरूको रक्षा हुनेछ, र परमेश्‍वरको महिमा र परमेश्‍वरको गवाहीको रक्षा हुनेछ। यदि परमेश्‍वरको घर र मण्डलीमा परमेश्‍वरको काम रोकावटमा पर्छ र बिनाबाधा अघि बढ्न सक्दैन, र परमेश्‍वरको अभिप्राय र परमेश्‍वरले योजना गर्नुहुने काम विघ्‍नबाधामा पर्छ भने, परमेश्‍वरको घर र मण्डलीका हितहरूमा निश्‍चय नै ठूलो हानि हुनेछ—यी कुराहरू जोडिएका हुन्छन्। भन्‍नुको अर्थ, जब परमेश्‍वरको घर र मण्डलीका हितहरूलाई ठूलो हानि वा बाधा पुग्छ, तब परमेश्‍वरको व्यवस्थापन योजनामा निश्‍चय नै गम्भीर विफलता आउनेछ, र परमेश्‍वरका हितहरूमा पनि ठूलो हानि पुग्‍नेछ।

परमेश्‍वरका हितहरू के-के हुन् भन्‍नेबारे सङ्गति गरिसकेपछि, अब हामी मानिसहरूका हितहरू के-के हुन् भन्‍नेबारे कुरा गरौँ। हामीले भर्खरै मानिसहरूका हितहरूबारे थोरै कुरा गर्‍यौँ, अब हामी मानिसहरूका हितहरूको प्रकृतिलाई परिभाषाको हिसाबमा कुरा गरौँ, र तिनको प्रकृति निर्धारित गरौँ। परमेश्‍वर किन मानिसहरूलाई आफ्ना हितहरू पन्छाउन लगाउनुहुन्छ? के मानिसहरूमा यो अधिकार हुँदैन र? के परमेश्‍वर मानिसहरूलाई यो अधिकार दिनुहुन्न र? के मानिसहरू यस्ता अधिकार पाउन लायक हुँदैनन् र? के त्यस्तो हुँदैन र? हामीले भर्खरै कुरा गरेका मानिसहरूका हितहरूका यी विभिन्‍न पक्षहरू हेर्दा, मानिसहरूले केको लागि हितहरू पछ्याउँछन्? (आफ्‍नो लागि।) “आफ्‍नो लागि” भन्‍नु त सामान्यीकरण भयो। “आफ्‍नो लागि” भन्‍नाले को पर्‍यो? (शैतान।) यदि मानिसहरूले सत्यता बुझेर सत्यताअनुसार जिउन सक्छन् भने, र तिनीहरूले स्वभाव परिवर्तन गरेर मुक्ति पाउँछन्, र आफूले चाहेको कुरा पछ्याउँछन् भने, के यो पछ्याइ परमेश्‍वरसँग मिल्दो हुँदैन र? तर परिवर्तन भएर मुक्ति पाउनुपहिले, मानिसहरूले पछ्याउने एउटै कुरा ख्याति र लाभ, अर्थात् देहसँग सम्बन्धित असंख्य पक्षहरू हुन्; यी कुराहरू सत्यताप्रति अत्यन्तै शत्रुवत्‌ र विरोधाभासपूर्ण हुन्छन्, ती सत्यताका उल्लङ्घन हुन्, र ती सत्यताविपरीत छन्। यदि कसैले सत्यलाई प्रेम गर्छु भन्छ र उनीहरू सत्यको पछि लाग्छौँ भनी भन्छन्, तर सारगत रूपमा उनीहरूको पछ्याउने लक्ष्य भनेको प्रतिष्ठा हासिल गर्नु, आफैलाई विशिष्ट बनाउनु, धाकरवाफ देखाउनु, मानिसहरूलाई उनीहरूको बारेमा उच्‍च सोच्ने बनाउनु, उनीहरूका आफ्नै स्वार्थ पूरा गर्नु हो र उनीहरू परमेश्‍वरमा समर्पित हुन वा उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, बरु त्यसको सट्टा ख्याति, प्राप्ति र हैसियत हासिल गर्न कर्तव्य निर्वाह गर्छन् भने, उनीहरूको खोजी अवैध हुन्छ। यस्तो मामिला हुँदा, जब मण्डलीको कामको कुरा आउँछ, के उनीहरूका कार्यहरू बाधा-व्यवधान हुन्छन्, कि उनीहरूले यसलाई अगाडि बढाउन सहयोग गर्छन्? उनीहरू स्पष्ट रूपमा बाधा-व्यवधान हुन्; उनीहरूले यसलाई अगाडि बढाउँदैनन्। केही मानिसहरू मण्डलीको काम गर्ने झन्डा फहराउँदै, आफ्नै व्यक्तिगत ख्याति, प्राप्ति र हैसियतको पछि लाग्‍ने, आफ्नै कार्यप्रणाली चलाउने, आफ्नै सानो समूह, आफ्नै सानो राज्य बनाउने गर्छन्—के यस किसिमका व्यक्तिहरूले आफ्नो कर्तव्य गरिरहेका हुन्छन् र? उनीहरूले गर्ने सबै कामहरूले अनिवार्य रूपमा वाधा, व्यवधान ल्याउँछन् र मण्डलीको कामलाई हानि गर्छन्। तिनीहरूको ख्याति, प्राप्ति र हैसियतको खोजीको परिणाम के हुन्छ? सबैभन्दा पहिले, यसले परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरका वचनहरू सामान्यतया कसरी खान्छन् र पिउँछन्, र कसरी सत्यता बुझ्छन् भन्‍ने कुरामा असर पुर्‍याउँछ, यसले उनीहरूको जीवन प्रवेशमा बाधा उत्पन्‍न गर्छ, उनीहरूलाई परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नबाट रोक्छ, र उनीहरूलाई गलत मार्गमा डोर्‍याउँछ—र यसले चुनिएका जनहरूलाई हानि गर्छ र बरबादीमा पुर्‍याउँछ। अनि, यसले अन्त्यमा मण्डलीको कामलाई के गर्छ? यो बाधा, क्षति, र विघटन हो। मानिसहरूले ख्याति, प्राप्ति र हैसियतको खोजी गर्दाको परिणाम यही हो। उनीहरूले यसरी कर्तव्य निर्वाह गर्दा, के यसलाई ख्रीष्टविरोधीको बाटो हिँड्नु भनेर परिभाषित गर्न सकिँदैन? जब परमेश्‍वरले मानिसहरूलाई ख्याति, प्राप्ति र हैसियत पन्छ्याउन लगाउनुहुन्छ, तब उहाँले तिनीहरूलाई छनौट गर्ने तिनीहरूको अधिकारबाट वञ्‍चित गरिरहनुभएको हुँदैन; बरु, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्‍ने क्रममा, मानिसहरूले मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा र अवरोध पुर्‍याउँछन्, र अझ धेरै मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान-पिउन र सत्यता बुझ्न, अनि परमेश्‍वरको मुक्ति पाउनमा असर पुर्‍याउँछन्, त्यसैले यसो गरिन्छ। यो निर्विवाद तथ्य हो। जब मानिसहरू आफ्‍नै ख्याति, प्राप्ति र हैसियतको पछि लाग्छन्, तिनीहरू सत्यताको पछि लाग्दैनन् र तिनीहरूले आफ्‍नो कर्तव्य विश्‍वासयोग्य तरिकाले पूरा गर्दैनन् भन्‍ने कुरा निश्‍चित हुन्छ। तिनीहरूले ख्याति, प्राप्ति र हैसियतको खातिर मात्र बोल्‍ने र व्यवहार गर्नेछन्, र तिनीहरूले गर्ने सबै काम अपवादरहित रूपमा तिनै कुराको लागि हुन्छ। त्यसरी व्यवहार र काम गर्नु भनेको ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नु हो भन्‍नेमा कुनै सन्देह छैन; यो परमेश्‍वरको काममा बाधा र अवरोध पुर्‍याउनु हो, र यसका विविध र हरेक परिणामहरूले राज्यको सुसमाचार फैलने प्रक्रिया र मण्डलीभित्रको परमेश्‍वरको इच्‍छाको स्वतन्त्र बहावमा रोकावट पैदा गरिरहेको हुन्छ। त्यसकारण, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्‍ने मानिसहरूले हिँड्ने मार्ग परमेश्‍वरको प्रतिरोध गर्ने मार्ग हो भनेर निश्‍चयतापूर्वक भन्‍न सकिन्छ। यो उहाँविरुद्ध जानीजानी प्रतिरोध गर्नु, उहाँलाई इन्कार गर्नु हो—यो परमेश्‍वरलाई विरोध गर्न शैतानसँग सहकार्य गर्नु र उहाँविरुद्ध उभिनु हो। यो मानिसहरूद्वारा गरिने ख्याति, प्राप्ति र प्रतिष्ठाको खोजीको प्रकृति हो। भन्‍नुको मतलब, मानिसहरू आफ्ना हितहरूको पछि लाग्‍नुमा भएको समस्या भनेको उनीहरूले पछ्याउने लक्ष्यहरू शैतानका लक्ष्यहरू हुन्—ती दुष्ट र अनुचित लक्ष्यहरू हुन्। जब मानिसहरू ख्याति, प्राप्ति र हैसियतजस्ता आफ्नै हितहरूको पछि लाग्छन्, उनीहरू अनजानमा शैतानको हतियार बन्छन्, उनीहरू शैतानका लागि निकासद्वार बन्छन्, र यसबाहेक, उनीहरू शैतानकै मूर्तरूप बन्छन्। उनीहरूले मण्डलीमा नकारात्मक भूमिका खेल्छन्; मण्डलीको कामप्रति, र मण्डलीको सामान्य जीवन र परमेश्‍वरका चुनिएका मानिसहरूको सामान्य खोजीप्रति, उनीहरूले पार्ने प्रभाव भनेको बाधा पुर्‍याउने र कमजोर पार्ने मात्र हो; उनीहरूको केवल प्रतिकूल र नकारात्मक प्रभाव हुन्छ। जब कसैले सत्यताको खोजी गर्छ, उसले परमेश्‍वरको इच्‍छा, र परमेश्‍वरको बोझलाई ख्याल गर्न सक्छ। आफ्‍नो कर्तव्य निर्वाह गर्दा, तिनीहरूले हरेक पक्षबाट मण्डलीको कामलाई समर्थन गर्छन्। तिनीहरूले परमेश्‍वरलाई उचाल्‍न र उहाँको गवाही दिन सक्छन्, र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुर्‍याउँछन्, र साथ दिन्छन्, र भरणपोषण गर्छन्, अनि परमेश्‍वरले महिमा र गवाही प्राप्त गर्नुहुन्छ, जसले गर्दा शैतान लाजमा पर्छ। तिनीहरूको खोजीको फलस्वरूप, परमेश्‍वरले साँच्‍चै नै परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने, र परमेश्‍वरको साँचो आराधना गर्न सक्‍ने सृष्टि गरिएको प्राणी प्राप्त गर्नुहुन्छ। तिनीहरूको खोजीको कारण नै परमेश्‍वरको इच्‍छा पूरा हुन्छ, र परमेश्‍वरको काम अघि बढ्न सक्छ। परमेश्‍वरको नजरमा, त्यस्तो खोजी सकारात्मक, र सच्चा हुन्छ। परमेश्‍वरका चुनिएका मानिसहरूका साथै मण्डलीको कामको लागि यस्तो खोजी औधी नै फाइदाजनक हुन्छ, र यसले सबै कुरा अघि बढाउन सहयोग गर्छ, र परमेश्‍वरले यस्तो कुरालाई अनुमोदन गर्नुहुन्छ।

यसपछि हामी परमेश्‍वरका हितहरू, परमेश्‍वरको घरका हितहरू, र मण्डलीका हितहरूबारे सङ्गति गर्नेछौं। यी तिन्टा हितहरूबीच कुनै साझा कुरा छ छैन, अर्थात्, एउटा हितबारे कुरा गर्दा, यसलाई अरू हितसँग उस्तै मान्‍न सकिन्छ सकिँदैन भनेर अहिले नै कुरा नगरौं। सुरुमा हामी परमेश्‍वरका हितहरूबारे कुरा गरौं। मैले भर्खरै परमेश्‍वरका हितहरूमा परमेश्‍वरको महिमा, परमेश्‍वरको गवाही, परमेश्‍वरको नाम, र सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरको व्यवस्थापन योजना र परमेश्‍वरको कामको विस्तार समावेश हुन्छ भनेर उल्लेख गरेको छु, र परमेश्‍वरको लागि यी सबैभन्दा ठूला र महत्त्वपूर्ण कुराहरू हुन्। अहिलेको लागि, हामी परमेश्‍वरको महिमा, परमेश्‍वरको नाम, र परमेश्‍वरको गवाहीबारे उल्लेख नगरौं, ती मानिसहरूको लागि निकै टाढाका कुरा हुन्। सुरुमा हामी परमेश्‍वरको कामबारे कुरा गरौं। परमेश्‍वरले वास्तवमा के काम गरिरहनुभएको छ? परमेश्‍वरको कामको विषयवस्तु के हो? परमेश्‍वरको कामको प्रकृति के हो? परमेश्‍वरको कामले मानवजातिलाई के दिन्छ? मानवजातिमाझ यसको प्रभाव ठ्याक्‍कै के हुन्छ? सुरुमा यी कुराहरूबारे कुरा गरौं। त्यसोभए परमेश्‍वरको काम ठ्याक्‍कै के हो त? (मानवजातिलाई मुक्ति दिनु।) यो विषय, यो कामको उद्देश्य, अर्थात् शैतानको शक्तिमुनि रहेको र शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको मानवजातिलाई मुक्ति दिने कुरा परिवर्तन हुँदैन। यो काम भनेको मानव स्वरूप नै नहुने हदसम्‍म शैतानले भ्रष्ट तुल्याएका मानिसहरूको एउटा समूहलाई, अर्थात् शैतानको भ्रष्ट स्वभावले भरिएका, र परमेश्‍वरको प्रतिरोध गर्ने स्वभावले भरिएका मानिसहरूको एउटा समूहलाई मुक्ति दिनु हो, र तिनीहरूले मानव स्वरूप प्राप्त गरून् भनेर तिनीहरूलाई बदल्नु हो, र तिनीहरू परमेश्‍वरले मानिसहरूको निम्ति पूर्वनिर्धारित गर्नुभएको स्थानमा खडा हुन सकून् भनेर तिनीहरूलाई सत्यता बुझाउनु, र के न्यायसङ्गत छ र के न्यायसङ्गत छैन, र सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन्, र मानिसहरू कसरी सच्‍चा मानिसहरूको स्वरूपमा जिउन सक्छन्, र तिनीहरू कुन स्थानमा खडा हुनुपर्छ भन्‍ने कुराहरू बुझाउनु र बोध गराउनु हो। परमेश्‍वरको कामका आधारभूत विषयवस्तुहरू यिनै हुन्, र तिमीहरूलाई सैद्धान्तिक रूपमा यी सबै थाहा छ। यदि तैँले साँच्‍चै परमेश्‍वरको इच्छा बुझ्छस् भने, तँलाई परमेश्‍वरले मानिसहरूलाई दोषी ठहर्‍याउन र नष्ट गर्न न्याय गर्नुहुन्छ कि तिनीहरूलाई शुद्ध पार्न र सिद्ध पार्न न्याय गर्नुहुन्छ, र मानिसहरूलाई आगोको कुण्डमा हाल्न तिनीहरूलाई न्याय र सजाय गर्नुहुन्छ कि तिनीहरूलाई मुक्ति दिन र ज्योतिमा ल्याउन त्यसो गर्नुहुन्छ भन्‍ने कुरा थाहा हुनुपर्छ। हामी सबैले देख्‍न सक्छौँ कि परमेश्‍वरले यति धेरै सत्यता व्यक्त गर्नुहुन्छ, मानिसहरूको विभिन्‍न भ्रष्ट स्थिति पर्दाफास गर्नुहुन्छ, मानिसहरूको विश्‍वासमा भएका विचलन र विश्‍वाससम्बन्धी तिनीहरूको धारणाहरू सुधार्नुहुन्छ, र मानिसहरूलाई सत्यता बुझ्न र परमेश्‍वरका वचनहरूअनुसार जिउन, र साँचो मानव स्वरूपमा जिउन अगुवाइ गर्नुहुन्छ, र यसरी परमेश्‍वरका चुनिएका मानिसहरूमाझ केही परिणामहरू पनि हासिल भइसकेका छन्। परमेश्‍वरले मानिसहरूको अहङ्कारी स्वभाव पर्दाफास गर्नुहुन्छ र तिनीहरूलाई महामानव वा महान् मानिसहरू बन्‍नबाट रोक्नुहुन्छ, र तिनीहरूलाई सृष्टि गरिएको साँचो प्राणी र विवेक र समझ भएका मानिसहरू बन्‍न मौका दिनुहुन्छ; परमेश्‍वरले फरिसीहरूको ढोँगी सार पर्दाफास गर्नुहुन्छ, र मानिसहरूलाई फरिसीहरूको ढोँगी अनुहार देखाउनुहुन्छ, र मानिसहरूलाई परमेश्‍वरका वचनहरूको सत्यता वास्तविकतामा ल्याउनुहुन्छ; परमेश्‍वरले परम्परागत संस्कृतिको अनर्थकता र यसले मानिसहरूमा हालिदिने बन्धन र यसले तिनीहरूलाई पार्ने हानि पर्दाफास गर्नुहुन्छ, ताकि मानिसहरू परम्परागत संस्कृतिका बन्धनहरूबाट मुक्त भएर सत्यता स्विकार्न र परमेश्‍वरका वचनहरूअनुसार जिउन सकून्...। यो सबलाई निम्नानुसार सारांशित गर्न सकिन्छ: मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको काम भनेको मानिसहरूलाई दुष्ट संसारका प्रचलनहरूबाट परमेश्‍वरको घरमा ल्याउनु, र त्यसपछि तिनीहरूलाई पूरै लगनसाथ सत्यता र जीवन सिकाउनु र प्रदान गर्नु हो, ताकि तिनीहरूले व्यवहार अँगाल्ने साँचो सिद्धान्तहरू के हुन् र मानिसहरूले आफूलाई के-कस्तो व्यवहारमा ढाल्‍नुपर्छ भन्‍ने कुरा बुझ्न र जान्न सकून्, र ताकि तिनीहरू शैतानका दुष्ट प्रचलनहरू र विविध शैतानी दर्शन र शैतानी विषहरूले मानिसहरूलाई गर्ने हानिबाट उम्कन सकून्। सुरुदेखि अहिलेसम्म, परमेश्‍वरले हरकिसिमको काम गर्नुभएको छ, अर्थात् व्यवस्थाको युगको उहाँको कामदेखि अनुग्रहको युगको उहाँको कामसम्म, र अहिले आखिरी दिनहरूमा उहाँले गरिरहनुभएको न्यायको कामसम्म सबै गर्नुभएको छ। अहिले परमेश्‍वरको कामका यी तीन चरणहरूबारे तिमीहरूलाई स्पष्ट भइसकेको हुनाले, परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन योजनाको कामको प्रकृति ठ्याक्‍कै के हो त? यसलाई कसरी परिभाषित गर्नुपर्छ? (यो मानवजातिमाझको सबैभन्दा न्यायोचित अभियान हो।) ठीक भन्यौ। मानवजातिलाई व्यवस्थापन गर्ने र मुक्ति दिने परमेश्‍वरको काम ६,००० वर्षदेखि चलिरहेको छ, र यो ६,००० वर्षको अवधिमा, परमेश्‍वरले मानवजातिलाई अगुवाइ गर्दै अथक रूपमा अहिलेसम्‍म कष्ट भोग्‍नुभएको छ, प्रतीक्षा गर्नुभएको छ, र बोल्नुभएको छ। परमेश्‍वरले काम गर्न छोड्नुभएको छैन, र परमेश्‍वरको यो काम मानवजातिमाझको सबैभन्दा न्यायोचित अभियान हो। परमेश्‍वरको कामको प्रकृतिको दृष्टिकोणबाट, के परमेश्‍वरका हितहरू सबैभन्दा न्यायोचित र सबैभन्दा वैध छन् त? (छन्।) यदि परमेश्‍वरका हितहरू रक्षा गरियो भने, मानवजातिलाई के हुनेछ? मानवजातिले निरन्तर राम्रोसित बाँच्न, मानव स्वरूपमा जिउन, परमेश्‍वरले तय गर्नुभएका यावत्‌ थोकका नियमहरूअनुसार जिउन, र परमेश्‍वरले मानवजातिलाई दिनुभएका यावत् थोकको आनन्द लिन सक्छ, र यसरी मानवजाति यावत् थोकको साँचो मालिक बन्‍नेछ। परमेश्‍वरको व्यवस्थापन कार्य अन्ततः मानिसहरूको सबैभन्दा ठूलो हितमा छ भनेर तिमीहरूले देख्‍नुपर्छ। त्यसैले, के मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम मानवजातिमाझको सबैभन्दा न्यायोचित अभियान होइन र? यो कुरा इन्कार्न सकिँदैन र यसमा कुनै शङ्का छैन—यो सबैभन्दा न्यायोचित अभियान हो। तसर्थ, यदि कुनै व्यक्ति आफ्नै हितहरूको खातिर परमेश्‍वरको घरका हितहरूमा हानि गर्ने र परमेश्‍वरको कामको विस्तारमा बाधा दिने हदसम्म पुगेको छ भने, यो व्यक्ति को हो? यो अवश्य नै दुष्ट बदमाश र दियाबलस हो। परमेश्‍वरले मानवजातिलाई केवल दिनुहुन्छ, सट्टामा केही माग्‍नुहुन्‍न। परमेश्‍वरले मानवजातिलाई सबैभन्दा ठूलो फाइदा दिने काम गरिरहनुभएको छ र सबैभन्दा न्यायोचित कार्य अघि बढाइरहनुभएको छ, तैपनि मानिसहरू परमेश्‍वरलाई सराहना वा धन्यवाद टक्र्याउँदैनन् र परमेश्‍वरको ऋण तिर्नेबारे सोच्दैनन्, बरु उल्टै परमेश्‍वरको काममा बाधा, व्यवधान र बिगार पुर्‍याँछन् र आफ्नै व्यक्तिगत हितहरू पछ्याउँछन्। त्यस्ता मानिसहरूमा कुनै विवेक वा समझ हुँदैन। के तिनीहरू अझै पनि मानिसहरू भनिनलायक हुन्छन् त? तिनीहरू साँच्चिकै दियाबलस र शैतानहरू हुन्! यदि यो सब गरेर पनि परमेश्‍वरले मानिसहरूको मन छुन सक्नुभएन भने, के तिनीहरूमा अझै हृदय हुन्छ र? अहँ, हुँदैन। हृदय नहुनु भनेको विवेक नहुनु हो। त्यस्ता मानिसहरूमा विवेकको कुनै भावना हुँदैन। जब व्यक्तिको मानवतामा विवेक हुँदैन, ऊ मानव नभई पशु, दियाबलस, र शैतान बन्छ। यो कुरा अत्यन्तै स्पष्ट छ। मानिसहरूले मुक्ति पाऊन् भनेर, परमेश्‍वर हरकुनै मूल्य चुकाउन र अथक काम गर्न दृढ हुनुहुन्छ। मानिसहरूले जेजसरी गलत बुझे नि वा शङ्का गरे नि, परमेश्‍वरले सधैँ मानिसहरूलाई धैर्य देखाउँदै आउनुभएको छ र निरन्तर तिनीहरूलाई भरणपोषण गरिरहनुभएको छ, तिनीहरूलाई सत्यताका विभिन्‍न पक्षहरू बारम्बार बताउँदै, र अलिअलि गरी बुझाउँदै, मनन गर्न र जाँच्न लगाउँदै, र तिनीहरूलाई परमेश्‍वरको हृदय बुझ्न र परमेश्‍वरको हृदय बोध गर्न सक्षम तुल्याउँदै आउनुभएको छ। अनि जब मानिसहरूले परमेश्‍वरका यी वचनहरू सुन्छन्, तिनीहरू स्पर्शित हुन्छन् र केही आँसु बगाउँछन्। तर जब तिनीहरू फर्कन्छन्, तिनीहरूले परमेश्‍वरको इच्छाप्रति ध्यान नदिने मात्रै नभई, बरु अझै आफ्नै हितहरू र अझै आशिष्‌हरू पछ्याउँछन्। मलाई भन त, के त्यस्ता मानिसहरूमा विवेक र समझ हुन्छ? त्यस्ता मानिसहरूमा सबैभन्दा बढी के कुराको हुन्छ? तिनीहरूसँग सबैभन्दा बढी विवेक र समझको कमी हुन्छ, र तिनीहरूमा सबैभन्दा बढी मानवताको कमी हुन्छ। परमेश्‍वरले काम गर्न र मानिसहरूलाई मुक्ति दिन अत्यन्तै धैर्यसाथ हरकिसिमका पीडाहरू सहनुहुन्छ, तर मानिसहरू अझै पनि परमेश्‍वरलाई गलत बुझ्छन्, निरन्तर उहाँविरुद्ध खडा हुन्छन्, परमेश्‍वरको घरका हितहरूबारे कुनै वास्ता नगरी निरन्तर आफ्नै हितहरू रक्षा गर्छन्, र सधैँ भव्य जीवन जिउन चाहन्छन्, तर परमेश्‍वरको महिमामा योगदान दिन चाहँदैनन्—यी सबै कुरामा, के कुनै मानवता छ त? मानिसहरूले परमेश्‍वरको गवाही ठूलो स्वरमा घोषणा गरे पनि, तिनीहरूले हृदयमा यसो भन्छन्: “यो मैले गरेको काम हो, यसले परिणामहरू हासिल गरेको छ। मैले नि मेहनत गरेको छु, मैले नि मूल्य चुकाएको छु। मेरो गवाहीचाहिँ किन नदिने नि?” तिनीहरू सधैँ परमेश्‍वरको महिमा र गवाहीमा भागीदार हुन चाहन्छन्। के मानिसहरू यी कुराहरू पाउन योग्य छन् त? “महिमा” भन्‍ने शब्द मानिसहरूको होइन। यो परमेश्‍वर, सृष्टिकर्ताको मात्रै हुन सक्छ, र सृष्टि गरिएको मानवसँग यसको कुनै सम्बन्ध छैन। मानिसहरूले मेहनत र सहकार्य गरे नि, तिनीहरू अझै पनि पवित्र आत्माको अगुवाइमै हुन्छन्। यदि पवित्र आत्माको कुनै काम नहुने हो भने, मानिसहरूले के नै गर्न सक्छन् र? “गवाही” भन्‍ने शब्द पनि मानिसहरूसँग सम्बन्धित छैन। चाहे यो “गवाही” भन्‍ने नाम शब्द होस् वा “गवाही दिनु” भन्‍ने क्रियापद होस्, सृष्टि गरिएको मानवसँग यी दुवै शब्दहरूको कुनै सम्बन्ध छैन। सृष्टिकर्ता मात्रै गवाही दिइन र मानिसहरूको गवाही पाउन लायक हुनुहुन्छ। यो कुरा परमेश्‍वरको पहिचान, हैसियत र सारले निर्धारित गर्छ, र परमेश्‍वरले गर्नुहुने हरेक कुरा परमेश्‍वरको प्रयासबाट आउने, र त्यो प्राप्त गर्न परमेश्‍वर लायक हुनुहुने हुनाले पनि यस्तो हुन्छ। मानिसहरूले गर्न सक्‍ने कुराहरू निश्‍चय नै सीमित छन्, र यो सबै पवित्र आत्माको अन्तर्दृष्टि, नेतृत्व, र अगुवाइको परिणाम हो। मानव प्रकृतिको कुरा गर्दा, मानिसहरू केही सत्यता बुझेपछि र थोरै काम गरेपछि अहङ्कारी बन्छन्। यदि तिनीहरूको साथमा परमेश्‍वरबाट आउने न्याय र सजाय छैन भने, कसैले पनि परमेश्‍वरमा समर्पित भएर उहाँको गवाही दिन सक्दैनन्। परमेश्‍वरको पूर्वनिर्धारणको फलस्वरूप, मानिसहरूमा केही वरदान वा विशेष प्रतिभा हुन सक्छ, तिनीहरूले केही पेसा वा सीप सिकेका हुन सक्छन्, वा तिनीहरूमा अलिअलि चलाकी हुन सक्छ, त्यसैले तिनीहरू अत्यन्तै अहङ्कारी बन्छन्, र निरन्तर परमेश्‍वरले तिनीहरूसँग उहाँको महिमा र उहाँको गवाही बाँड्नुभएको चाहन्छन्। के यो अनुचित छैन र? यो अत्यन्तै अनुचित छ। यसले तिनीहरू गलत स्थानमा उभिएका छन् भन्‍ने देखाउँछ। तिनीहरूले आफूलाई मानवको रूपमा नभई, अरूभन्दा पृथक्, महामानवको रूपमा लिन्छन्। आफ्नो पहिचान र सार के हो, र आफू कुन स्थानमा उभिनुपर्छ भन्‍ने कुरा थाहा नहुने मानिसहरूमा कुनै आत्मसचेतना हुँदैन। मानिसहरूको नीचोपन हैसियत घटाएर आउने कुरा होइन—मानिसहरू सुरुदेखि नै नीचा र तल्लो स्तरका हुन्छन्। परमेश्‍वरको नम्रताचाहिँ हैसियत घटाएर आउने कुरा हो। मानिसहरूलाई नम्र भन्‍नु त तिनीहरूलाई उचाल्नु हो—वास्तवमा तिनीहरू नीचा हुन्छन्। मानिसहरू सधैँ ख्याति, लाभ र हैसियतको लागि लड्न, र परमेश्‍वरका चुनिएका मानिसहरूको लागि उहाँसित प्रतिस्पर्धा गर्न चाहन्छन्। यसरी, तिनीहरू शैतानको भूमिका खेल्छन्, र यही नै शैतानको प्रकृति हो। तिनीहरू साँच्‍चै नै शैतानका सन्तान हुन्, र त्यसमा अलिकति पनि भिन्‍नता छैन। मानौँ परमेश्‍वरले मानिसहरूलाई थोरै अधिकार र शक्ति दिनुहुन्छ रे, र तिनीहरूले चमत्कारी चिन्ह र अचम्मका कुराहरू देखाउन र केही असाधारण कामहरू गर्न सक्छन् रे, र तिनीहरू सबै कुरा परमेश्‍वरका मापदण्डहरूअनुसार र अक्षरशः गर्छन् रे। तर के तिनीहरूले परमेश्‍वरलाई उछिन्‍न सक्छन् र? अहँ, कहिल्यै सक्दैनन्। के शैतान, अर्थात् प्रधान स्वर्गदूतका क्षमताहरू मानिसहरूका भन्दा ठूला हुँदैनन् र? त्यसले सधैँ परमेश्‍वरलाई उछिन्‍न चाहन्छ, तर अन्तिम परिणाम के हुन्छ? अन्त्यमा, त्यसले अतल कुण्‍डमा फालिनुपर्छ। परमेश्‍वर सधैँ न्यायको मूर्तरूप हुनुहुनेछ, जबकि शैतान, दियाबलस र प्रधान स्वर्गदूत सधैँ दुष्टताको मूर्तरूप, र दुष्ट शक्तिहरूको प्रतिनिधि हुनेछ। परमेश्‍वर सधैँ न्यायी हुनुहुनेछ, र यो तथ्य बदल्न सकिँदैन। यो परमेश्‍वरको अपवादपूर्ण र असाधारण पक्ष हो। तर मानवजातिले परमेश्‍वरबाट उहाँका सबै सत्यताहरू प्राप्त गरे पनि, तिनीहरू सृष्टि गरिएका साना प्राणीहरू मात्रै हुन् र तिनीहरूले परमेश्‍वरलाई उछिन्‍न सक्दैनन्। मानवजाति र परमेश्‍वरबीचको भिन्‍नता यही हो। मानिसहरू परमेश्‍वरले बनाउनुभएका सबै नियम र व्यवस्थाहरूभित्र व्यवस्थित रूपमा अस्तित्वमा रहन मात्र सक्छन्, र परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुरालाई यी नियम र व्यवस्थाहरूभित्र व्यवस्थापन गर्न मात्र सक्छन्। मानिसहरूले कुनै जीवित प्राणीहरू सृष्टि गर्न सक्दैनन्, न त मानवजातिको भाग्य बदल्न नै सक्छन्—यो तथ्य हो। यो तथ्यले के जनाउँछ? यो कि, परमेश्‍वरले मानवजातिलाई जति धेरै अख्तियार र क्षमता दिनुभए नि, अन्तिममा कसैले पनि परमेश्‍वरको अख्तियार नाघ्न सक्दैन। जति वर्ष, वा जति पुस्ता, वा जति धेरै मानिसहरू भए नि, मानिसहरू परमेश्‍वरको अख्तियार र सार्वभौमिकताभित्र अस्तित्वमा रहन मात्र सक्छन्। यो सदा अपरिवर्तनीय रहने, र कहिल्यै कदापि नबदलिने तथ्य हो!

यी कुराहरू सुनेपछि तिमीहरूलाई कस्तो महसुस हुन्छ? कतिपय मानिसहरू भन्छन्: “मैले आफ्नो चेतनामा यी कुराहरूबारे विचार गर्ने गर्थेँ, तर थाहै नभई मलाई मेरो क्षमता बढिरहेको छ भन्‍ने महसुस भयो। मेरो उमेर बढ्दै गएपछि, मेरा विचारहरू पनि परिपक्‍व भए, र मैले धेरै समस्याहरूबारे अझै व्यापक रूपमा विचार गर्न थालेँ, र परमेश्‍वरका अझै धेरै वचनहरू सुनेपछि, मैले उहाँका केही अभिप्रायहरू बुझेँ, अनि मलाई म बलियो छु र मलाई परमेश्‍वरले ममाथि सार्वभौमिकता राख्‍नुपर्दैन भन्‍ने लाग्यो। अचेतन रूपमै, मलाई म सक्षम छु, र मैले परमेश्‍वरलाई प्राप्त गरेको छु भन्‍ने महसुस भयो।” के यो राम्रो अनुभूति हो? (होइन।) यो कसरी राम्रो होइन? यो राम्रो लक्षण होइन। त्यसोभए राम्रो लक्षण के हो त? यो भनेको मानिसहरू जति लामो समय जिउँछन्, तिनीहरूलाई त्यति नै यस्तो महसुस हुनु हो, “मानिसहरू धूलोजस्तै हुन्, र तिनीहरू कमिलाभन्दा नीच हुन्। मानिसहरू जति नै दह्रिलो वा इज्जतदार भए नि, वा तिनीहरूले जति धेरै धर्मसिद्धान्त बुझे नि, वा तिनीहरूका विचारहरू जति नै परिपक्‍व भए नि, तिनीहरूले परमेश्‍वरको सार्वभौमिकता नाघ्न सक्दैनन्।” मानिसहरू जति लामो समय जिउँछन्, त्यति नै तिनीहरूलाई परमेश्‍वरको अख्तियारको महन्‌ता र परमेश्‍वरको अख्तियारको सर्वशक्तिमान्‌ता महसुस हुन्छ। तिनीहरू जति लामो समय जिउँछन्, त्यति नै तिनीहरूलाई मानिसहरूको महत्त्वहीनता महसुस हुन्छ। तिनीहरू जति लामो समय जिउँछन्, त्यति नै तिनीहरूलाई परमेश्‍वरको अथाहता महसुस हुन्छ। त्यस्तो मानसिक स्थिति सामान्य हुन्छ। के तिमीहरूमा अहिले यस्तो स्थिति छ त? अहिलेसम्म छैन, होइन र? तिमीहरू अझै पनि प्राय संघर्षमै हुन्छौ, हितहरूमाझ ढल्मलिन्छौ, र कहिलेकहीँ सानो सङ्केतसमेत दिँदै, यसो भन्छौ, “परमेश्‍वर किन आफ्ना हितहरू मसँग थोरै पनि बाँड्नुहुन्न? परमेश्‍वर किन मलाई तारिफ गर्नुहुन्न? परमेश्‍वर किन मेरो वरिपरिका मानिसहरूलाई मेरो बारे उच्च विचार गर्न लगाउनुहुन्न? परमेश्‍वर किन मानिसहरूलाई मेरो गवाही दिन लगाउनुहुन्न? मैले मूल्य चुकाएको र योगदान दिएको छु। परमेश्‍वर कसरी मलाई इनाम दिनुहुनेछ?” तँ अझै पनि प्राय आफैप्रति गर्व गर्ने र आत्मसन्तुष्ट हुने मानसिकतामा डुब्छस्। तँलाई प्राय तँ को हो भन्‍ने नै थाहा हुँदैन, र तँलाई प्राय आफू सक्षम छु भन्‍ने लाग्छ। यो अवस्था असामान्य छ। यो जीवनको प्रगति होइन। यसलाई के भनिन्छ? यो फेरि पनि भ्रष्ट स्वभाव बढिरहेको हो। कति मानिसहरू कुनै योगदान नदिँदा, अलि नम्र र मन्द रहन्छन्। तर एकपटक महत्त्वपूर्ण काम गरेपछि र केही योगदान दिएपछि, र आफूमा पूँजी छ भन्‍ने महसुस गरेपछि, तिनीहरूले आफ्नो वरपर मानिसहरू देख्दा, यस्तो सोच्छन्: “किन तिमीहरू मेरो योगदानबारे रिपोर्ट गर्दैनौ? तिमीहरू सबैले परमेश्‍वरको नाम र परमेश्‍वरको सारबारे गवाही दिन्छौ, त्यसैले किन मेरो बारे प्रस्तुति दिँदैनौ? तिमीहरूले मेरो गवाही दिन नसके नि, मेरो बारे प्रस्तुति दिन त सक्छौ। म, फलानी विश्‍वासी दिदीले, परमेश्‍वरमा विश्‍वास गरेको २५ वर्ष भयो। अहिले म ४५ वर्षकी भएँ, म अझै अविवाहित र एकल छु, र आजसम्म पनि मैले भक्तिपूर्ण र उत्साहसाथ खोजी गरिरहेकी छु। म मण्डलीको आधार भएकीले, मलाई धेरैपटक चिनियाँ कम्युनिस्ट सरकारले खोजी सूचीमा राख्यो, खेदो गर्‍यो, र विदेश आउनुपहिले म दशभन्दा बढी प्रान्तहरूमा यताउता गर्दै हरठाउँ लुकेर बसेँ। त्यसपछि पनि, मैले परमेश्‍वरको घरको महत्त्वपूर्ण कामको इन्चार्ज भएर काम गरिरहेँ, र त्यो अवधिमा मैले परमेश्‍वरको घरका निश्‍चित कामहरूको लागि धेरै रचनात्मक सुझाव, विचार र अवधारणाहरू अघि सार्दै, मण्डलीको काम अघि बढाउन र परमेश्‍वरको राज्यको सुसमाचार फैलाउन अमेट योगदान दिएँ। किन मलाई यसरी प्रस्तुत गर्दैनौ? किन परमेश्‍वर मलाई मेरो प्रतिभा प्रदर्शन गर्ने केही वातावरण र अवसर दिनुहुन्न ताकि सबैलाई मेरो बारे थाहा र जानकारी होस्? किन परमेश्‍वर सधैँ हामीलाई दबाउनुहुन्छ? परमेश्‍वरको घरमा हामी त्यति स्वतन्त्र छेनौं, न त हामी त्यति सहज, मुक्त, वा खुसी नै छौँ!” ऊ तनावरहित, स्वतन्त्र र खुसीसमेत हुन चाहन्छे। हामी कसरी तँलाई तनावरहित, स्वतन्त्र र खुसी बनाउन सक्छौं? के तँलाई शीर्ष स्थानमा राखेर, हो? अनि, तँलाई शीर्ष स्थानमा राखिसकेपछि, तेरो बारे यस्तो प्रस्तुति दिएर, हो: बाह्य संसारमा यी व्यक्ति प्रसिद्ध डाक्टर थिइन्, जसले देशको प्रसिद्ध डाक्टरहरूको पहिलो पुरस्कार जितिन्, र तिनको नाम “विश्‍व प्रसिद्ध डाक्टरहरूको ज्ञानकोष” मा समावेश थियो। तिनले धेरै शोध प्रतिवेदनहरू पूरा गरेकी छिन्, र परमेश्‍वरको घरमा आएपछि, तिनी अझै पनि एउटा आधारस्तम्भ र प्रतिभाशाली व्यक्ति रहँदै आएकी छिन्, र अहिले तिनी वरिष्ठ अगुवा बनेकी छिन्। के त्यसपछि त ऊ खुसी हुनेछैन र? उसले यस्तो सोच्नेछे, “म प्रतिभाशाली व्यक्ति हुँ। म पहिले सेलिब्रेटी थिएँ, र परमेश्‍वरको घरमा आएपछि पनि म अझै सेलिब्रेटी नै छु। म त जहाँ राखे नि चम्किने सुनजस्तै हुँ, र यसको चमक कसैले नि रोक्न सक्दैन। मेरा यी क्षमताहरू सबैले देख्‍न सक्छन्! परमेश्‍वरले गवाही नदिनुभए पनि, यी तथ्यहरूले मेरो लागि सानदार गवाही दिन्छन्।” यो विचारबारे तिमीहरूलाई के लाग्छ? यदि तैँले एक दिन पनि ख्याति र लाभको खोज त्याग्न सक्दैनस् भने, तँ अझै पनि ख्याति, लाभ, र हैसियतको बन्धनमा छस्, र तँ साँच्चै नै तनावरहित र खुसी हुन सक्दैनस्। जबसम्‍म तँ ख्याति र लाभको जन्जिरमा बाँधिएको, नियन्त्रित भएको र नारिएको छस् भने, तँ सत्यता पछ्याउन अघि बढ्नेछैनस्, बरु जहाँको तहीँ अल्झिरहन मात्र सक्‍नेछस्। कतिपय मानिसहरूले “के म पछि हट्नेछु त?” भनेर सोध्न सक्छन्। वास्तवमा, जबसम्म तँ अघि बढ्दैनस्, तबसम्‍म तँ या त यथा स्थानमै रहिरहनेछस् या त पछि हट्नेछस्। यसले देखाउँछ कि तेरो प्रकृति सार नै यही हो, र परमेश्‍वरमा विश्‍वास गरेको जति वर्ष भए नि, तैँले कहिल्यै कुनै प्रगति गर्नेछैनस्, र अन्त्यसम्मै अझै तैँले धेरै दुष्कर्म गरिरहन सक्‍नेछस्। अनि निश्‍चयसाथ भन्‍न सकिन्छ कि तेरो खुलासा हुनेछ। यस्तो व्यक्तिलाई एकपटक सही वातावरण मिलेपछि, र हैसियत प्राप्त भएपछि, उसको महत्त्वाकाङ्क्षा पर्दाफास भइहाल्नेछ। तर वास्तवमा, यो वातावरण र हैसियत नभएको भए, के उसमा कुनै महत्त्वाकाङ्क्षा हुन्थेन र? हुन्थ्यो। त्यस्ताहरू त बस यही वस्तु र यही सार हुन्, र तिनीहरूको महत्त्वाकाङ्क्षा नियन्त्रण गर्न सकिँदैन। सही वातावरण आउनेबित्तिकै, तिनीहरू अचानक “विस्फोट” हुनेछन्, र कुनै पनि बन्धनले तिनीहरूलाई रोक्न सक्दैन, र तिनीहरूले दुष्टता गर्न थाल्छन्, र तिनीहरूको दियाबलसको कुरूप अनुहार पूरै पर्दाफास हुनेछ। खुलासा हुनु भनेको यही हो। तैँले “खुलासा” भन्‍ने शब्दलाई यसरी बुझ्नुपर्छ: परमेश्‍वरले तँलाई खुलासा गर्ने अभिप्राय राख्‍नुभएको थिएन, बरु तँलाई अभ्यास गर्ने मौका दिन चाहनुहुन्थ्यो। तर तैँले असल कुरा देख्दा त्यसलाई चिनिनस्, बरु साँच्‍चिकै आफ्‍नो प्रदर्शनसमेत गरिस्। के तेरो खुलासा हुँदा तँ जेको लायक थिइस् त्यहीँ भयो होइन र? यो तेरो आफ्नै रोजाइ हो। परमेश्‍वरले तँलाई जानाजान खुलासा गरेर हटाउने अभिप्राय राख्‍नुभएको होइन। तेरो मनसाय र महत्त्वाकाङ्क्षाहरूले नै तेरो खुलासा गरेका हुन्। तैँले अरू कसलाई दोष दिन सक्छस् र?

मानिसहरूका हित र परमेश्‍वरका हितहरूको हकमा, के हामीले यस विषयसम्बन्धी सत्यताबारे पर्याप्त सङ्गति गर्‍यौँ त? मानिसहरूका व्यक्तिगत हितहरू के-के हुन्? यी कुराहरू मानिसहरूले पछ्याउने कुराहरू हुन्, जसमा ख्याति, लाभ र हैसियत, आशिष्‌हरू प्राप्त गर्ने महत्त्वाकाङ्क्षा र इच्छा, साथै मानिसहरूको अहङ्कार र अभिमान, परिवार, आफन्त, भौतिक हित, आदि इत्यादि पर्छन्। मानिसहरूका हितहरूको सार स्वार्थी र घृणित हुन्छ, यो दुष्ट र शैतानी हुन्छ, यो सत्यताविपरीत हुन्छ, र यसले परमेश्‍वरको घरको काममा बाधा, व्यवधान, र विनाश ल्याउँछ, जबकि परमेश्‍वरका हितहरू मानवजातिलाई मुक्ति दिने सबैभन्दा न्यायोचित अभियान हुन्, र तिनले परमेश्‍वरको प्रेम, परमेश्‍वरको काम, र परमेश्‍वरको पवित्रता र धार्मिकता प्रतिनिधित्व गर्छन्। त्यसकारण, परमेश्‍वरले आफ्ना हितहरू रक्षा गर्नु उचित नै ठहरिन्छ। उहाँले न्यायोचित कार्य रक्षा गरिरहनुभएको हुन्छ। परमेश्‍वर स्वार्थी हुनुभएकोले र आफ्नै इज्जत रक्षा गर्न चाहनुभएकोले यस्तो गरिएको होइन। यो न्यायोचित र वैध छ, र यो परमेश्‍वरले मुक्ति दिनुहुने मानवजातिको लागि अथाह फाइदाको कुरा हो। परमेश्‍वरले आफ्ना हितहरू रक्षा गर्नुभएपछि मात्रै त्यसको फलस्वरूप मानवजातिले मुक्ति प्राप्त गर्न, र अझै ठूलो फाइदा प्राप्त गर्न, अनि सत्यता, बाटो र जीवन प्राप्त गर्न सक्छन्, र त्यसपछि मात्रै मानिसहरू अन्ततः सृष्टि गरिएको साँचो प्राणी बन्‍न सक्छन्, र परमेश्‍वरले तय गर्नुभएका सबै व्यवस्था र नियमहरूअनुसार, र परमेश्‍वरले तिनीहरूको लागि सृष्टि गर्नुभएका सबै कुराहरूमाझ जिउन सक्छन्, र त्यसपछि मात्रै मानवजातिले आनन्द र साँच्‍चै सुन्दर जीवन प्राप्त गर्न सक्छन्। के परमेश्‍वरले गर्नुहुने यो सब न्यायोचित कार्य होइन र? यो औधी नै न्यायोचित छ! परमेश्‍वरको यो काम र यो व्यवस्थापन, साथै परमेश्‍वरद्वारा दिइने मानवजातिको मुक्तिसँग सम्बन्धित मण्डलीका सबै कामहरू—जस्तै सुसमाचार प्रचार गर्ने, चलचित्रहरू छायाङ्कन गर्ने, गवाही लेखहरू लेख्‍ने, भिडियोहरू बनाउने, परमेश्‍वरका वचनहरू अनुवाद गर्ने, र मण्डली जीवनको सामान्य सुव्यवस्था कायम राख्‍ने—यी कामहरू महत्त्वपूर्ण छन् र यिनलाई प्रत्याभूत गरिनुपर्छ। कर्तव्य पूरा गर्ने परमेश्‍वरका चुनिएका सबै मानिसहरूको जीवन प्रत्याभूत गर्ने पक्ष पनि छ। यो सहयोगी सेवाहरूजस्तै अत्यन्तै आधारभूत काम भए पनि, र परमेश्‍वरको घरको मुख्य कामसँग यसको धेरै सम्बन्ध नभए पनि, यो पनि अत्यन्तै महत्त्वपूर्ण नै हुन्छ, र यहाँ यसबारे उल्लेख गर्नु अत्यावश्यक छ। गाँस, बास, कपास र यातायातजस्ता सामान्य कुराहरू—यी कुराहरू परमेश्‍वरले मानिसहरूको लागि प्रदान गर्नुहुने कुराहरू हुन्, र यी सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने सबैभन्दा वैध भौतिक खाँचोहरू पनि हुन्। परमेश्‍वरले मानिसहरूलाई यी खाँचोहरूबाट वञ्चित गर्नुहुनेछैन, बरु उहाँले यी कुराहरू रक्षा गर्नुपर्छ। यदि तैँले सधैँ परमेश्‍वरले रक्षा गर्न चाहनुहुने कुराहरूलाई बाधा र अवरोध गर्छस्, र कमजोर पार्छस् भने, यदि तैँले सधैँ त्यस्ता कुराहरूप्रति अवहेलान प्रदर्शन गर्छस्, र तीप्रति सधैँ धारणा र विचारहरू राख्छस् भने, तैँले परमेश्‍वरलाई नकारिरहेको र उहाँविरुद्ध खडा भइरहेको हुन्छस्। यदि तैँले परमेश्‍वरको घरको काम र परमेश्‍वरको घरका हितहरूलाई महत्त्वपूर्ण ठान्दैनस्, र सधैँ तिनलाई कमजोर पार्न, र सधैँ विनाश गर्न चाहन्छस्, वा सधैँ तीबाट फाइदा लिन, ठग्न, वा हिनामिना गर्न चाहन्छस् भने, के परमेश्‍वर तँसँग रिसाउनुहुनेछैन र? (हुनुहुनेछ।) अनि, परमेश्‍वरको रिसका परिणामहरू के-के हुन्? (हामीलाई दण्ड दिइनेछ।) यो कुरा निश्‍चित छ। परमेश्‍वरले तँलाई अवश्य नै क्षमा गर्नुहुनेछैन! किनभने तैँले गरिरहेको कुरा मण्डलीको काम तोड्नु र नष्ट गर्नु हो, र यो परमेश्‍वरको घरको काम र हितहरूसँग बाझिन्छ। यो ठूलो दुष्टता हो, यो परमेश्‍वरसँगको प्रतिस्पर्धामा प्रवेश गर्नु हो, र यो परमेश्‍वरको स्वभाव प्रत्यक्ष रूपमा चिढ्याउने कुरा हो। यस्तोमा परमेश्‍वर तँसँग नरिसाई कसरी बस्‍न सक्‍नुहुन्छ र? यदि कतिपय मानिसहरूले कमजोर क्षमता भएर अनि कामसम्बन्धी दक्षता नभएर अनजानमा बाधा र व्यवधान पैदा गर्ने कुराहरू गर्छन् भने, त्यो माफ दिन सकिने कुरा हो। तर यदि तँ आफ्नै व्यक्तिगत हितहरूको कारण डाहा र कलहमा संलग्‍न हुन्छस् र जानीजानी परमेश्‍वरको घरको काममा बाधा, व्यवधान, र विनाश ल्याउने कुराहरू गर्छस् भने, यसलाई जानीजानी गरिएको उल्लङ्घन मानिन्छ, र यो परमेश्‍वरको स्वभाव चिढ्याउने कार्य हो। अनि, के तँलाई परमेश्‍वरले क्षमा गर्नुहुनेछ र? परमेश्‍वरले आफ्नो ६,००० वर्षे व्यवस्थापन योजनाको काम गरिरहनुभएको छ, र उहाँको सबै अतिसावधानीपूर्ण परिश्रम यसैमा गएको छ। यदि कसैले परमेश्‍वरको विरोध गर्छ, जानीजानी परमेश्‍वरको घरका हितहरूमा हानि गर्छ, र जानीजानी परमेश्‍वरको घरका हितहरूमा हानि हुने गरी आफ्ना व्यक्तिगत हित र व्यक्तिगत प्रतिष्ठा र हैसियत पछ्याउँछ, र मण्डलीको काम तोड्न कति पनि हिच्किचाउँदैन, र यसरी परमेश्‍वरको घरको काममा बाधा र विनाश ल्याउँछ, र परमेश्‍वरको घरलाई ठूलो भौतिक र आर्थिक हानिसमेत पुर्‍याउँछ भने, तिमीहरूलाई के लाग्छ, के त्यस्ता मानिसहरूलाई क्षमा गरिनुपर्छ? (अहँ, तिनीहरूलाई क्षमा गरिनु हुँदैन।) तिमीहरू सबैजना तिनीहरूलाई क्षमा दिन हुँदैन भन्छौ, त्यसोभए के परमेश्‍वर त्यस्ता मानिसहरूप्रति रिसाउनुहुन्छ त? अवश्य नै, उहाँ रिसाउनुहुन्छ। परमेश्‍वरले सत्यता व्यक्त गर्ने र मानिसहरूलाई मुक्ति दिने यति ठूलो काम गर्नुभएको छ, र यसमा आफ्नो अतिसावधानीपूर्ण सारा परिश्रम लगाउनुभएको छ। परमेश्‍वरले यो सबैभन्दा न्यायोचित अभियानलाई अत्यन्तै गम्भीर रूपमा लिनुहुन्छ; उहाँले मुक्ति दिन चाहनुहुने यी मानिसहरूको लागि नै उहाँको अतिसावधानीपूर्ण सारा परिश्रम लागेको छ, उहाँका सबै अपेक्षाहरू पनि यी मानिसहरूमै छन्, र उहाँले आफ्नो ६,००० वर्षे व्यवस्थापन योजनाबाट प्राप्त गर्न चाहनुहुने अन्तिम परिणाम र महिमा पनि यी मानिसहरूमै पूरा हुनेछन्। यदि कोही परमेश्‍वरविरुद्धको प्रतिस्पर्धामा प्रवेश गर्छ, यो अभियानको विरोध गर्छ, यसमा बाधा दिन्छ, वा यसको परिणाम नष्ट गर्छ भने, के परमेश्‍वरले उसलाई क्षमा गर्नुहुनेछ त? (गर्नुहुनेछैन।) के यसले परमेश्‍वरको स्वभाव चिढ्याउँदैन र? यदि तैँले परमेश्‍वरलाई पछ्याउँछु, मुक्ति हासिल गर्छु, परमेश्‍वरको सूक्ष्म जाँच र अगुवाइ स्विकार्छु, र परमेश्‍वरको न्याय र सजाय स्विकार्छु र तिनमा समर्पित हुन्छु भनेर भनिरहन्छस्, तर तैँले यी कुराहरू बोल्दै गर्दा, मण्डलीको विभिन्‍न कामलाई अवरोध, बाधा र विनाश गरिरहेको हुन्छस्, र तेरो बाधा, अवरोध, र विनाशको कारण, वा तैँले कर्तव्यमा लापरवाही वा बेवास्ता गरेको कारण, वा तेरा स्वार्थी इच्छाहरू र आफ्नै हितहरू पछ्याउने कार्यको कारण, परमेश्‍वरको घरका हितहरू, मण्डलीका हितहरू, र अरू धेरै पक्षहरूमा हानि भएको हुन्छ भने, यहाँसम्म कि परमेश्‍वरको घरको कामसमेत गम्भीर रूपमा बिथोलिएको वा विनाश भएको हुन्छ भने, तेरो जीवन पुस्तकमा परमेश्‍वरले कसरी तेरो परिणाम मापन गर्नुपर्छ? तँलाई कुन वर्गमा राख्‍नुपर्छ? निष्पक्ष रूपमा भन्‍नुपर्दा, तँलाई दण्ड दिइनुपर्छ। यो त तँ जेको लायक छस् त्यही पाउनु हो। अब तिमीहरू के बुझ्छौ? मानिसहरूका हितहरू के हुन्? (ती दुष्ट कुराहरू हुन्।) मानिसहरूका हितहरू वास्तवमा तिनीहरूका सबै लालची इच्छाहरू हुन्। सीधै भन्दा, ती सबै प्रलोभनहरू हुन्, ती सबै झूटहरू हुन्, र ती सबै मानिसहरूलाई परीक्षा गर्न शैतानले प्रयोग गर्ने चारो हुन्। ख्याति, लाभ र हैसियत पछ्याउनु, र आफ्नै हितहरू पछ्याउनु—यो त दुष्टता गर्न शैतानसँग सहकार्य गर्नु, र परमेश्‍वरको विरोध गर्नु हो। परमेश्‍वरको काममा अवरोध गर्ने हेतुले, शैतानले मानिसहरूलाई परीक्षा गर्न, बाधा दिन, बहकाउन, परमेश्‍वरलाई पछ्याउनबाट रोक्न र परमेश्‍वरमा समर्पित हुन सक्षम बन्‍न नदिन विभिन्‍न वातावरणहरू पैदा गर्छ। अनि यसको साटो, तिनीहरू शैतानसँग सहकार्य गर्छन् र त्यसैलाई पछ्याउँछन्, र जानीजानी परमेश्‍वरको काम बिथोल्न र नष्ट गर्न खडा हुन्छन्। परमेश्‍वरले सत्यताबारे जति धेरै सङ्गति गर्नुभए पनि, तिनीहरू अझै पनि सचेत हुँदैनन्। परमेश्‍वरको घरले तिनीहरूलाई जति नै काटछाँट गरे पनि, तिनीहरू सत्यता स्विकार्दैनन्। तिनीहरू परमेश्‍वरमा पटक्‍कै समर्पित हुँदैनन्, बरु आफ्नै तरिकाले काम गर्न र जे मन लाग्यो त्यही गर्न जोड दिन्छन्। फलस्वरूप, तिनीहरूले मण्डलीको काम बिथोल्छन् र नष्ट गर्छन्, मण्डलीको विविध कामको प्रगतिमा गम्भीर असर पार्छन्, र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा ठूलो हानि गर्छन्। यो पाप अत्यन्तै ठूलो हुन्छ, र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले अवश्यै दण्ड दिनुहुनेछ।

अहिले, तिमीहरूको विचारमा, मण्डलीका कुन-कुन कामहरू सबैभन्दा महत्त्वपूर्ण छन् र परमेश्‍वरको व्यवस्थापन योजनाको विस्तारसँग सम्बन्धित छन्? (सुसमाचार प्रचार गर्नु।) सुसमाचारको काम एउटा मुख्य काम हो। परमेश्‍वरको नजरमा परमेश्‍वरको काम भनेको काम नै हो, तर मानिसहरूको लागि यो तिनीहरूको कर्तव्य हो। सुसमाचारको काम बाहेक, भिडियो निर्माणको काम, अनुवादको काम, भजनहरू र विविध लेखरचना-आधारित काम पनि छन्। आजभोलि पूर्णकालीन रूपमा कर्तव्य निर्वाह गर्ने धेरैजसो मानिसहरू यी कामहरूसँग सम्बन्धित क्रियाकलापहरूमा संलग्‍न हुन्छन्। मलाई भन त, यीमध्ये कुन-कुन काम छोड्न सकिन्छ? कतिपय मानिसहरू भन्छन्, “संगीत भनेको केही सुरहरू मात्रै हो, यसलाई म महत्त्वपूर्ण ठान्दिनँ। यस्ता सबै धुनहरूविना पनि परमेश्‍वरका वचनहरू प्रचार गर्न र फैलाउन सकिन्छ, र मानिसहरूलाई परमेश्‍वरअघि ल्याउन सकिन्छ।” के यसो भन्‍नु सही हो? (अहँ, यो गलत कुरा हो।) किन यो गलत छ? के संगीतविना विभिन्‍न प्रकारका भिडियो उत्पादनहरू राम्रो हुन्थे र? (हुन्थेनन्।) मण्डलीभित्र भजन गाउनमा बाहेक, सबै चलचित्रहरू, म्यूजिक भिडियोहरू, कोरस प्रस्तुतिहरू, र स्टेज नाटकहरू, साथै परमेश्‍वरका वचनहरूका भिडियो वाचनहरू, आदि इत्यादिमा पनि सङ्गीत आवश्यक पर्छ। झट्ट हेर्दा, सङ्गीत वास्तवमा सुरहरू मात्रै हो, तर मानिसहरूले एकपटक सङ्गीत सुनेपिछ परमेश्‍वरका वचनहरू घोषणा गर्नमा यो अझै प्रभावकारी हुन्छ, र यसले सुसमाचार प्रचार कार्य अघि बढाउने भूमिका खेल्न सक्छ, र त्यसैले यो अपरिहार्य छ। यदि तैँले सामान्य रूपमा बोलिरहेको छस् र पृष्ठभूमिमा सङ्गीत छ भने, प्रभाव फरक हुनेछ, होइन र? त्यसैले, यो कर्तव्य अत्यन्तै महत्त्वपूर्ण छ। कतिपय मानिसहरू भन्छन्: “त्यसोभए के हाम्रो भिडियो निर्माण कार्य महत्त्वपूर्ण हुन्छ?” मलाई भन त, के भिडियो निर्माण कार्य महत्त्वपूर्ण हुन्छ? (हुन्छ।) जस्तै, स्पेसल इफेक्ट्स्‌ प्रविधि प्रयोग गरेर बनाइने धेरैजसो फोटो वा भिडियोहरूलाई कुनै पनि कच्‍चा भिडियो फुटेजले प्रतिस्थापन गर्न सकिँदैन, न त तिनलाई खिच्न नै सकिन्छ—यो आधुनिक कला हो। कतिपय मानिसहरू भन्छन्: “परमेश्‍वरको घरले समेत आधुनिक कलाको कुरा गर्छ। के यो समयको गतिसँगै हिँड्नु होइन र?” यो कसरी समयको गतिसँगै हिँड्नु भयो? यो त शैतानको फाइदा उठाएर आफ्नो काम पूरा गर्नु हो। तर अवश्य नै, यो आफ्नो काम पूरा गर्न विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको फाइदा लिनु होइन। यसको अर्थ, यदि तैँले केही प्राविधिक र कलात्मक पेसाहरू सिक्न सकिस् र सुसमाचार प्रचार गर्ने र परमेश्‍वरका वचनहरू घोषणा गर्ने काममा यो व्यावसायिक ज्ञान प्रयोग गर्न सकिस् भने, तैँले सिकेको कुरा उपयोगी हुनेछ। यदि तैँले यो कुरा सिक्न सकिस् भने, यो परमेश्‍वरको अनुग्रह हो, र तैँले सम्बन्धित कर्तव्य पूरा गर्न सक्छस्, र तँ आशिषित हुनेछस्। के यो तेरो लागि आशिष्‌ होइन र? (हो।) त्यसैले, तैँले के सिक्छस्, त्यो महत्त्वपूर्ण होइन, तर तैँले यसलाई कर्तव्यमा प्रयोग गर्छस् गर्दैनस्, त्योचाहिँ महत्त्वपूर्ण हो। अरूहरू यसो भन्छन्: “हामी लेखरचनामा आधारित काम गर्छौँ, तर कसैले पनि हाम्रो बारेमा कहिल्यै थाहा पाउँदैन, कसैले पनि हाम्रो बारेमा उल्लेख गर्दैन, र धेरै मानिसहरूले हामीलाई भेट्नसमेत पाउँदैनन्। हामी उपेक्षित बनेका छौँ।” यो त मामलालाई स्पष्ट रूपमा नहेर्नु हो। मानिसहरूले तँलाई देख्‍न सक्दैनन्, तर परमेश्‍वरले तँलाई देख्‍न सक्नुहुन्छ, परमेश्‍वरले तेरो सूक्ष्म जाँच गरिरहनुभएको हुन्छ, परमेश्‍वरले तँलाई अगुवाइ गरिरहनुभएको हुन्छ, परमेश्‍वरले तँलाई आशिष्‌ दिइरहनुभएको हुन्छ, तैँले किन यो अनुभव गर्न सक्दैनस्? के मानिसहरूले तिमीहरूलाई देख्दा वा नदेख्दा, वा तिमीहरूबारे उल्लेख गर्दा वा नगर्दा फरक पर्छ र? कुनचाहिँ सत्यता तिमीहरूलाई प्रदान गरिएको छैन र? कुन-कुन प्रवचन र सङ्गतिबाट तिमीहरूलाई छुटाइयो र? वास्तवमा, लेखरचनामा आधारित कामको प्राविधिक कुरा त्यति उच्च छैन, र त्यसका व्यावसायिक पक्षहरू त्यति धेरै दह्रिलो बनाउनुपर्दैन। तर एउटा कुरा अपरिहार्य छ। तैँले सत्यता बुझ्नैपर्छ। यदि तँ सत्यता बुझ्दैनस् भने, तैँले केही पनि लेख्‍न सक्दैनस्। तँसँग लेख्‍ने ज्ञान छ, तैँले भाषा मापदण्डअनुरूप बनाउन र भाषा व्यवस्थित गर्न सक्छस्, र तैँले लेखमा संरचना र विचारहरू मिलाउन सक्छस्। तर संरचना आफै लेख होइन। यसमा विषयवस्तु भरिनुपर्छ। विषयवस्तुको हिसाबमा ठ्याक्‍कै के लेख्‍ने, र परमेश्‍वरको गवाही दिने परिणाम हासिल गर्न कसरी लेख्‍ने—तिमीहरू प्रवेश गर्नुपर्ने कुरा यही हो। यदि तिमीहरू परमेश्‍वरका वचनहरूको गवाही दिने र परमेश्‍वरको कामको यो चरण घोषणा गर्ने यही जगमा मात्रै अल्झिरहन्छौ भने, तिमीहरूको कद कहिल्यै बढ्नेछैन। यदि परमेश्‍वरको नयाँ कामको गवाही दिने, मानिसहरूका धारणाहरू काट्ने, र दर्शनहरूका केही सत्यताबारे सङ्गति दिनेबाहेक, तिमीहरूले जीवन प्रवेशसम्बन्धी केही सत्यताहरूबारे सङ्गति पनि दिन सक्छौ, र मानिसहरूले आफ्नो भ्रष्टता पहिचान गर्न सकून्, र मानवजातिप्रतिका परमेश्‍वरका मापदण्डहरू के-के हुन् र परमेश्‍वरको इच्छा के हो, र साथै सबैभन्दा महत्त्वपूर्ण समस्याहरू के हुन्—अर्थात् सत्यता के हो, मानिसहरूले कुन मार्ग अपनाउनुपर्छ, अहिले मानिसहरूले लिइरहेका गलत मार्गमा त्रुटि कहाँ छ, र परमेश्‍वर मानिसहरूलाई कस्तो मानिसहरू बन्‍न, र कुन मार्ग हिँड्न आवश्‍यक गराउनुहुन्छ—भन्‍ने कुराहरू पहिचान गर्न सकून् भनेर मानिसहरूको हृदयको गहिराइमा रहेका विविध स्थितिहरू व्यक्त गर्न केही तथ्य र कथाहरू, र केही राम्ररी व्याख्या गरिएका विस्तृत विवरणहरू प्रयोग गर्न सक्छौ भने—यदि यसतर्फ तिमीहरू चरणबद्ध रूपमा अघि बढ्न सक्छौ भने, तिमीहरूले निर्वाह गर्ने कर्तव्य अत्यन्तै बहुमूल्य हुनेछ। तर सबैभन्दा गाह्रो र सबैभन्दा कठिन कुरा नै यही हो। मानिसहरूको जीवन प्रवेश एकदुई दिनभित्र हुँदैन। धेरै कुराहरूको लागि, सुरुवातदेखि व्यक्तिमा चेतना आएको अवस्थासम्‍म पुग्‍न एकदुई वर्ष लाग्‍न सक्छ। अस्पष्ट चेतनाबाट स्पष्ट चेतना प्राप्त गर्न दुईतीन वर्ष, वा तीन देखि पाँच वर्ष पनि लाग्‍न सक्छ, आफ्नो चेतना स्पष्ट भएपछि यो मामलाको प्रकृति महसुस गर्न दुईतीन वर्ष लाग्‍न सक्छ, र त्यसपछि यो समस्याको गम्भीरता जान्न अर्को दुईतीन वर्ष लाग्‍न सक्छ। बोधो र कमजोर क्षमता भएका मानिसहरू यो विन्दुमा मात्रै पुग्‍न सक्छन्। राम्रो क्षमता र तीक्ष्ण स्वभाव भएका मानिसहरूलाई सक्रिय रूपमा सत्यता खोजी गर्न आउँछ, र यसको लागि अझै दुईतीन वर्ष लाग्‍न सक्छ...। थाहै नपाई, तिनीहरूको सारा जीवन बितिसकेको हुन्छ। जीवन प्रवेश यति ढिलो हुन्छ! मानिसहरूको सत्यता बुझ्ने र स्मरण गर्ने गति तिनीहरूको सत्यता अनुभव र बोध गर्ने गतिभन्दा धेरै छिटो हुन्छ। मैले यसो भन्‍नुको तात्पर्य के हो? मेरो तात्पर्य के हो भने, अनुभव र बोध सधैँ ढिलो हुन्छ, किनभने यो जीवन हो, जबकि बुझ्‍न र स्मरण गर्नलाई मष्तिष्क मात्रै चाहिन्छ। राम्रो स्मरण शक्ति, राम्रो बुझ्‍ने शक्ति, केही क्षमता र केही शैक्षिक आधार भएका मानिसहरूले यी कुराहरू तुरुन्तै हासिल गर्न सक्छन्। तर बुझेपछि नै, के व्यक्तिमा ज्ञान हुन्छ र? हुँदैन। बुझेपछि, व्यक्ति यो मामला के हो भनेर जानेकै स्थितिमा रोकिन्छ, र त्योभन्दा बढी केही हुँदैन, तर काम गर्दा त्यसले पार लाग्दैन। किन पार लाग्दैन? प्रायजसो, तैँले बुझेको धर्मसिद्धान्त तँलाई आइपर्ने मामलामा लागू गर्न वा जोड्‍न सकिँदैन। फलस्वरूप, धेरैपटक फेल भएपछि, धेरै घाटा भोगेपछि, धेरै घुमौरो बाटाहरू सामना गरेपछि, र धेरै न्याय, सजाय, र काटछाँट पाएपछि मात्रै तैँले बल्ल सत्यता बुझ्छस्, र आफूमाथि आइपर्ने विभिन्‍न कुराहरूमा तैँले परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्न सक्छस्। त्यो बेलासम्म, धेरै वर्ष बितिसकेको हुनेछ र तेरो अनुहार चाउरी परिसकेको हुन सक्छ—के यो निकै ढिलो होइन र? मानिसहरूको जीवन निकै ढिलो रूपमा अघि बढ्छ, किनभने मानिसहरूले बुझ्ने सत्यतामा मानिसहरूको प्रकृति सार, मानिसहरूको अस्तित्व, र मानिसहरू जुन कुराहरूद्वारा जिउँछन् ती कुराहरू समावेश हुन्छन्, र यसमा व्यक्तिको स्वभाव रूपान्तरण साथै उसको जीवन परिवर्तन समावेश हुन्छ। तेरो जीवन कसरी सहजै अर्को जीवनमा परिवर्तन हुन सक्छ र? एक हिसाबमा, यसको लागि परमेश्‍वरको काम आवश्यक पर्छ, र साथै, मानिसहरूले सक्रिय रूपमा सहकार्य पनि गर्नुपर्छ; यसअलावा, यसमा बाहिरी वातावरणका परीक्षाहरू, साथै तेरा व्यक्तिगत खोजहरू पनि हुन्छन्; साथै, तँमा पर्याप्त क्षमता र बुझ्‍ने शक्ति हुनुपर्छ, र त्यसपछि परमेश्‍वरले तँलाई थप अन्तर्दृष्टि र अगुवाइ दिनुहुनेछ; यति मात्र होइन, परमेश्‍वरले तँलाई केही सजाय, न्याय, र काटछाँट गर्नुहनेछ, र तेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तँलाई आलोचना गर्नेछन्, तैपनि अझै तँ माथितिरै लागिरहनुपर्छ, ताकि शैतानको स्वामित्वमा रहेका ती कुराहरू हटाउन सकियोस्—त्यसपछि मात्रै सत्यताका सकारात्मक कुराहरू अलिअलि गरी छिर्न सक्छन्। कति मानिसहरू भन्छन्, “मानिसहरूले सत्यता बुझेपछि, तिनीहरूको जीवन परिवर्तन हुन्छ।” यसो भन्‍नु सही हो कि गलत हो? (यो गलत हो।) यो कसरी गलत हो? सत्यता बुझ्नु र सत्यता प्राप्त गर्नु एउटै कुरा होइन, र तैँले सत्यता बुझेपछि, सत्यता तेरो जीवन बनेको पनि हुँदैन। तैँले सत्यता सुनेपछि र यसलाई बोध गरेपछि, र कुनै सुनेको कुरा बुझेपछि, यो तेरो हृदयमा कति लामो समयसम्म रहन्छ? एक महिनापछि नै, तैँले त्यो बेला सबैभन्दा महत्त्वपूर्ण ठानेका ती शब्दहरू पूर्ण रूपमा हराइसकेका हुन सक्छन्, र तिनलाई फेरि सुन्दा, तँलाई यस्तो अनुभव हुन सक्छ, मानौँ तैँले तिनलाई पहिले कहिल्यै सुनेकै छैनस्। तैपनि, यदि तँमा त्यस्तो जीवन कद छ भने, तैँले तिनलाई बारम्बार सुन्नुपर्दैन। यदि त्यस्तो होइन भने, तैँले निरन्तर सुन्दै जानुपर्छ, र यदि तैँले सुन्न छोडिस् भने, तैँले बुझेको कुरा क्रमिक रूपमा घटेर हराउँदै जानेछ र तँ अविश्‍वासीहरूजस्तै बन्‍नेछस्। त्यसकारण, परमेश्‍वरका वचनहरू र सत्यता निरन्तर सुन्नु र पढ्नुपर्छ। तिनलाई अलिअलि मात्रै पढेर वा सुनेर हुँदैन। तिमीहरू सबैलाई यसबारे गहन महसुस भइसकेको छ, होइन र? (हो।) कहिलेकहीँ दुईतीन दिनसम्म भजन नगाउँदा वा परमेश्‍वरलाई प्रार्थना नगर्दा, तँलाई हृदयमा खोक्रो महसुस हुन्छ र तैँले परमेश्‍वरलाई बुझ्न सक्दैनस्, त्यसकारण तँ आराम महसुस गर्न कता हिँड्न जाने भनेर अचम्भित हुन्छस्। फलस्वरूप, तँ जति ढुक्क हुन्छस्, तँ त्यति नै अनुशासनहीन बन्छस्, र जब तँ सत्यताबारे तेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्न मण्डली जान्छस्, तब तँलाई यसमा अभ्यस्त नभएको महसुस हुन्छ, र मण्डलीको कामबारे उल्लेख हुनेबित्तिकै तँलाई अलिक अप्ठ्यारो लाग्छ। दुईतीन दिनमै तँ परिवर्तन भएको छस् र तँ फरक व्यक्ति बनेको छस्, त्यसकारण तँलाई आफूलाई चिनेको समेत छैन जस्तो लाग्छ। यो कसरी हुन सक्छ? यो नसोच् कि तैँले धेरै प्रवचन सुनेको हुनाले, सत्यता तेरो जीवन बनेको छ, र तैँले सत्यता प्राप्त गरेको छस्। तँ त्यो कुराभन्दा अझै धेरै टाढा छस्! यो नसोच् कि तैँले गवाही लेख लेखेकोले वा त्यस्तो अनुभव पाएकोले, तैँले पहिले नै मुक्ति पाएको छस्। तँ अझै त्यहाँ पुगेको छैनस्! त्यो तेरो लामो जीवन अनुभवको एउटा सानो खण्ड मात्रै हो। यो खण्ड बस एक क्षणिक मुड, एक क्षणिक अनुभूति, र एक क्षणिक इच्छा वा महत्त्वाकाङ्क्षा हुन सक्छ, र त्योभन्दा बढी अरू केही नहुन सक्छ। जब कुनै दिन तँ कमजोर हुन्छस् र तैँले पछि फर्केर आफूले कुनै बेला दिएका गवाहीहरू, आफूले कुनै बेला गरेका शपथहरू, र आफूले कुनै बेला प्राप्त गरेका बुझाइहरू सुन्छस्, तब ती कुरा तँलाई अपरिचित लाग्‍नेछन्, र तैँले यसो भन्‍नेछस्, “के त्यो म थिएँ? के ममा त्यस्तो ठूलो कद थियो? मलाई कसरी थाहा भएन? अवश्य नै त्यो म थिइनँ, होइन र?” यो विन्दुमा तैँले तेरो जीवन अझै परिवर्तन भएको छैन भन्‍ने महसुस गर्नेछस्। यदि तेरो जीवन नै परिवर्तन भएको छैन भने, यसले के देखाउँछ? यो कि, तेरो स्वभाव अझै पनि परिवर्तन भएको छैन। त्यो बेला गवाही दिइसकेपछि पनि र तँमा पहिले नै ठूलो कद रहेको कुरा सोचिसकेपछि पनि—तँ अहिलेजस्तो नकारात्मक बन्‍न सक्छस् भन्‍ने थाहा पाउँदा तँलाई कस्तो महसुस हुनेछ? के तँलाई आफ्नो स्वभाव रूपान्तरण गर्नु अत्यन्तै कठिन रहेछ भन्‍ने लाग्दैन र? सत्यता रातारात मानिसहरूमा घुसाउन सकिने कुरा होइन। यदि मानिसहरूले साँच्‍चै नै आफ्नो जीवनको रूपमा सत्यता प्राप्त गरे भने, तिनीहरू आशिषित हुनेछन्, र तिनीहरूको जीवन फरक हुनेछ। तिनीहरू अहिलेजस्तो प्राय भ्रष्ट स्वभाव प्रकट गरिरहने मानिसहरू बन्‍नेछैनन्, बरु पूर्ण रूपमा परमेश्‍वरमा समर्पित हुन र निष्ठावान् रूपमा कर्तव्य निभाउन सक्षम हुनेछन्, र तिनीहरू पूर्ण रूपमा रूपान्तरित हुनेछन्।

मानवजाति यति भ्रष्ट भएकोले, सत्यता स्विकार्नु सजिलो कुरा होइन, र सत्यता यति बहुमूल्य भएकोले, परमेश्‍वरले मानिसहरूमा बडो मेहनतसाथ सत्यता घुसाउनु झनै सजिलो छैन। सत्यताको मूल्य र अर्थ र सत्यताका सबै पक्षहरू मानिसहरूको लागि अत्यन्तै बहुमूल्य र अर्थपूर्ण छन्। तर मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको हुनाले र तिनीहरूमा शैतानका धेरै कुराहरू भएको हुनाले, सत्यता तिनीहरूको जीवन बनोस् भनेर मानिसहरूमा सत्यता घुसाउनु त्यति सजिलो छैन। त्यसोभए के यसको अर्थ, मानिसहरूमा सत्यता हाल्‍न सकिँदैन भन्‍ने हुन्छ? होइन, यस्तो हुँदैन। सत्यता मानिसहरूमा हाल्‍न सकिन्छ, तर तिनीहरूमा सही दृष्टिकोण र विचार हुनुपर्छ, र तिनीहरूले सही मार्ग पछ्याउनुपर्छ। गर्न कठिन हुनुको अर्थ गर्न सकिँदैन भन्‍ने हुँदैन, र यो परमेश्‍वरको कामका पहिलो दुई चरणजस्तै हुन्, जुन बेला परमेश्‍वरले सिद्धताको काम गर्नुभएन, न त उहाँले यी सत्यताहरू व्यक्त गर्ने वा यी वचनहरू बोल्ने नै गर्नुभयो, तर त्यसको बाबजुद पनि कतिपय मानिसहरू सिद्ध पारिए, र कतिले परमेश्‍वरलाई चिन्‍न सके। यो तथ्यबाट हेर्दा, मानिसहरूमा सत्यता हालिदिने कार्य हासिल गर्न सकिने नै कुरा हो, असम्भव कुरा होइन, तर यति हो कि, यो मानिसहरूले सत्यता पछ्याउँछन् पछ्याउँदैनन् भन्‍ने कुरामा निर्भर हुन्छ। त्यसोभए व्यक्तिले कसरी पछ्याउनुपर्छ? सबभन्दा सरल तरिका भनेको हरदिन परमेश्‍वरका वचनहरू पढ्नु, परमेश्‍वरका अत्यावश्यक वचनहरू कण्ठ गर्नु, हरदिन परमेश्‍वरका वचनहरूको एउटा खण्ड मनन गर्नु, र ती वचनहरूबारे बारम्बार प्रार्थना-वाचन र सङ्गति गर्नु हो। तैँले परमेश्‍वरका वचनहरूले तँलाई सिकाउन चाहेका यी दृष्टिकोण र भनाइहरू, साथै विभिन्‍न मानिस, घटना, र परिस्थितिहरूप्रतिको मनोवृत्ति प्रार्थना-वाचन गरेपछि, र यसरी तैँले तिनलाई बुझेपछि र ती तेरो हृदयमा प्रवेश गरेपछि, तेरो जीवनमा विभिन्‍न परिस्थितिहरू आइपर्दा, थाहै नपाई, तँ सकारात्मक सोचविचार र अभ्यास सिद्धान्तहरूमा जिइरहेको हुनेछस्। तिमीहरू अझै पनि यो स्तरमा पुगेका छैनौ। अय्यूबले के गरेको थियो, के तिमीहरूले पढेका छौ? उसका छोराछोरीले मोजमस्ती गर्दा, अय्यूब के गरिरहेको थियो? ऊ छोराछोरीको लागि प्रार्थना गर्न र बलि चढाउन परमेश्‍वरअघि आयो। ऊ कहिल्यै पनि परमेश्‍वरबाट टाढा गएन। भन्‍नुको अर्थ, आफ्नो हृदय परमेश्‍वरबाट टाढा लैजाने कुनै पनि कुराबाट टाढा बस्‍नू; आफ्नो हृदय परमेश्‍वरबाट टाढा लैजाने कुनै पनि कुरा नबोल्नू; आफूलाई परमेश्‍वरबाट टाढा लैजाने वा उहाँबारे धारणा वा शङ्काहरू पैदा गर्ने कुराहरू हेर्नबाट बच्‍नू; आफूलाई नकारात्मक, भ्रष्ट र भोगासक्त बनाउने, वा परमेश्‍वरप्रति शङ्का गर्ने, अवज्ञा गर्ने वा परमेश्‍वरबाट टाढिने तुल्याउने मानिसहरूसँग सम्पर्क नगर्नू, र त्यस्ता मानिसहरूबाट टाढै बस्‍नू; जोबाट सुधार, सहयोग, र भरणपोषण पाउन सकिन्छ, तिनीहरूको नजिक बस्‍नू; अनि आफूलाई सत्यताप्रति धिक्‍कार, तिरस्कार, वा घिन पैदा गराउने कुराहरू नगर्नू। तँसँग यी कुराहरूबारे दिमागमा केही विचारहरू हुनुपर्छ। तैँले “म कति लामो समय जिउँछु, वा मेरो जीवन कस्तो हुन्छ, मतलब छैन, म सबै कुरा प्रकृति र परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा सुम्पन्छु” भन्‍ने सोच्दै जीवनभर झारा टार्ने नगर्। परमेश्‍वरले तेरो लागि वातावरण मिलाउनुभएको छ र तँलाई छनौट गर्ने स्वतन्त्र इच्छा दिनुभएको छ, तर यदि तैँले सहकार्य गर्दैनस्, र सांसारिक कुराहरूप्रति लालायित हुने, र सधैँ देहमा लिप्त हुने, र आफ्नो कर्तव्यमा समर्पित नहुने, बरु गैरजिम्मेवार हुने मानिसहरूको सम्पर्कमा आउने निरन्तर प्रयास गर्छस् भने, र यदि तँ यी मानिसहरूसँग निरन्तर सङ्गत गर्छस् भने, अन्तिम नतिजा र परिणाम के हुन्छ? जब ती मानिसहरूको कुनै काम हुँदैन, तिनीहरूले खाने, पिउने र रमाइलो गर्नेबारे कुरा गर्छन्, र प्राय अर्काको कुरा काट्ने र निन्दचर्चा गर्ने गर्छन्। यदि तैँले यस्ता परीक्षाहरू सामना गर्छस् र यी कुराहरूबाट टाढा बस्दैनस्, बरु तिनैमा अल्झिन्छस् र जानीजानी त्यस्ता मानिसहरूसँग उठबस् गर्छस् भने, तँ खतरामा छस्, किनभने तेरो सर्वत्र प्रलोभन नै प्रलोभन छ! यस्तो प्रलोभन देख्दा, बुद्धिमानीहरू टाढै बस्छन्। तिनीहरू हृदयमा स्पष्ट हुन्छन्, “ममा त्यस्तो कद छैन, म सुन्दिनँ, र म तीप्रति कुनै ध्यान पनि दिन चाहन्नँ। यी मानिसहरू सत्यता पछ्याउने वा सत्यतालाई प्रेम गर्ने गर्दैनन्। भो म त टाढै बस्छु, र शान्त ठाउँ खोजेर, एक्लै परमेश्‍वरका वचनहरू पढ्छु, केही समय हृदय शान्त गरेर चिन्तन गर्छु, र परमेश्‍वरको अघि आउँछु।” यी सबै सिद्धान्त र उद्देश्यहरू हुन्: पहिलो, परमेश्‍वरका वचनहरूबाट नटाढिनू; र दोस्रो, आफ्नो हृदयमा परमेश्‍वरबाट नटाढिनू। यसरी, तँ सत्यता के हो भनेर बुझेको जगमा रही निरन्तर परमेश्‍वरअघि जिउन सक्छस्। एक अर्थमा, परमेश्‍वरले तँलाई परीक्षामा पर्नबाट रक्षा गर्नुहुनेछ। अर्को अर्थमा, परमेश्‍वरले तँसँग अत्यन्तै अनुग्रहसाथ व्यवहार गर्नुहुनेछ, जसले गर्दा तैँले सत्यता अभ्यास गर्न के गर्नुपर्छ भनेर बुझ्‍नेछस्, र त्यसले तँलाई सबै विविध सत्यताहरूबारे ज्योति र अन्तर्दृष्टि प्राप्त गर्न सक्षम तुल्याउनेछ। तेरो कर्तव्यको हकमा, परमेश्‍वरले तँलाई गल्ती नगर्ने प्रयास गर्न, सधैँ सबै कुरा सहीसँग गर्न, र सिद्धान्तहरू जान्न अगुवाइ गर्नुहुनेछ। यसरी, के तँ संरक्षित हुनेछैनस् र? तर अवश्य नै, यो सबैभन्दा ठूलो र अन्तिम उद्देश्य होइन। त्यसोभए अन्तिम उद्देश्य के हो त? यो तैँले विभिन्‍न मानिस, घटना, र परिस्थितिहरूबाट पाठहरू सिक्न सक्, परमेश्‍वरको इच्छा बुझ्न सक्, परमेश्‍वरको काम चिन्न सक्, र परमेश्‍वरले तोक्नुभएका सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक् भन्‍ने हो। यसरी, तेरो जीवन र कद स्थिर रहनुको सट्टा वृद्धि हुन सक्‍नेछ। यदि तँ सधैँ कामकाजमा व्यस्त हुन्छस् र कर्तव्य निभाउने र जीवन प्रवेशका कठिनाइहरू समाधान गर्ने क्रममा, सत्यता अभ्यास गर्न ध्यान दिँदैनस् भने, तैँले तेरो जीवनमा प्रगति गर्नेछैनस्। जीवन प्रवेश कर्तव्य निर्वाह गरेर हासिल गरिन्छ। यदि व्यक्ति कर्तव्य निभाउने कार्यबाट र परमेश्‍वरका वचनहरूबाट टाढा जान्छ भने, जीवनमा कुनै प्रगति हुनेछैन। कति मानिसहरू अरूले अल्छे गफगाफ गरेको देख्छन्, त्यसकारण हस्तक्षेप गर्छन् र अरूको कुरामा बाठो बन्छन्, निरन्तर अरूको काममा हात हाल्छन् र निरन्तर निन्दाचर्चामा रुचि राख्छन्—परमेश्‍वरले त्यस्ता मानिसहरू मन पराउनुहुन्न। परमेश्‍वरले कस्ता मानिसहरू मन पराउनुहुन्छ? हृदय शान्त पार्न सक्‍ने मानिसहरू। आफूलाई शान्त पार्ने तर केको लागि? केही विचार नगर्ने कठपुतली बन्‍नको लागि हो? होइन, परमेश्‍वरअघि शान्त भएर प्रार्थना गर्न, परमेश्‍वरको इच्छा खोजी गर्न, परमेश्‍वरसित आफ्नो रक्षा गरिमाग्‍न, र आफूलाई अन्तर्दृष्टि दिलाइमाग्‍नको लागि। साथै, सत्यताको कुनै पक्षबारे बुझाइ र स्पष्टता प्राप्त गर्न, वा समस्याहरूले ग्रस्त रहेको आफ्नो कामको जुनसुकै पक्ष समाधान गर्न, र परमेश्‍वरको अगुवाइ प्राप्त गर्न आफूले नबुझेको सत्यताको कुनै पक्षबारे अन्तर्दृष्टि र ज्योति प्राप्त गर्नको लागि। परमेश्‍वरको अघि शान्त हुँदा अघि बढाउनुपर्ने कामहरू र गर्नुपर्ने कुराहरू धेरै छन्। यो कुनै पनि क्षण परमेश्‍वरअघि आएर “हे परमेश्‍वर, म यहाँ छु, तपाईं मेरो हृदयमा हुनुहुन्छ, मेरो साथ रहिदिनुहोला, र मलाई परीक्षामा पर्न नदिनुहोला” भनेर भन्‍ने कुरा होइन। यदि तँ यसरी परमेश्‍वरसँग झारा टार्ने काम गर्छस् भने, तँ साँचो विश्‍वासी होइनस्, र परमेश्‍वरले यस्ता मानिसहरूलाई सत्यता प्रदान गर्नुहुन्न। परमेश्‍वरले सत्यता प्रदान गर्नको लागि, सर्वप्रथम मानिसहरूमा के हुनुपर्छ? तिनीहरूमा धार्मिकताको लागि भोकाउने र तिर्खाउने इमानदार हृदय हुनुपर्छ। यदि तेरो हृदय इमानदार छ भने यसले के प्रतिनिधित्व गर्छ? यसले तैँले साँचो रूपमा सत्यतालाई प्रेम गर्छस् भन्‍ने कुरा प्रतिनिधित्व गर्छ। यदि तँ सधैँ परमेश्‍वरप्रति रूखो हुन्छस् र पटक्‍कै इमानदार हुँदैनस्, र सबै कुरामा सधैँ आफ्नै निर्णयहरू गर्न चाहन्छस्, र सधैँ परमेश्‍वरअघि आई हाजिरी जनाउन, नमस्कार गर्न, र त्यसपछि आफै निर्णय गर्न र आफै काम गर्न चाहन्छस् भने, परमेश्‍वरले तँलाई उहाँको कामको कार्यभार सुम्पनुभए पनि, अन्ततः परमेश्‍वर वा सत्यतासँग तेरो कुनै सम्बन्ध हुनेछैन। यसलाई के भनिन्छ? यसलाई परमेश्‍वरको प्रतिविरोध गर्नु र आफ्नै उद्यम चलाउनु भनिन्छ। के यो तरिकाले परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिन सक्नुहुन्छ त? सक्‍नुहुन्‍न। के तिमीहरू सबैले सत्यता पछ्याउने र सत्यता बुझ्ने मार्ग बुझ्यौ त? तैँले बारम्बार परमेश्‍वरअघि आउनुपर्छ, सत्यता खोज्‍न र परमेश्‍वरलाई प्रार्थना गर्न हृदय शान्त पार्नुपर्छ, र तैँले आफैलाई शान्त पार्न सिक्‍नुपर्छ। आफैलाई शान्त पार्नु भनेको दिमाग खाली हुनु होइन, यो त हृदयमा अनुरोध, विचार, र बोझहरू हुनु, इमानदार र तृषित हृदयसाथ परमेश्‍वरअघि आउनु, सत्यता र परमेश्‍वरको इच्छाप्रति तृषित रहनु, र आफूले निर्वाह गर्ने कर्तव्य र कामको बोझ उठाउनु हो—परमेश्‍वरअघि आउँदा र आफैलाई शान्त पार्दा तँमा हुनुपर्ने कुरा यही हो।

मैले भर्खरै मण्डलीको सबै काम परमेश्‍वरको राज्य सुसमाचार प्रचार गर्ने कामसँग सीधै सम्बन्धित छ भनेर सङ्गति गरेँ। खासगरी, प्रचार गर्ने काम र पेसागत व्यवसायसँग सम्बन्धित सबै कामहरू सुसमाचार प्रचार गर्ने कामसँग महत्त्वपूर्ण र अविभाज्य रूपमा जोडिएका हुन्छन्। त्यसकारण, सुसमाचार प्रचार गर्ने कामसँग सम्बन्धित जुनसुकै कुरा पनि परमेश्‍वरका हितहरू र परमेश्‍वरको घरका हितहरूसँग सम्बन्धित हुन्छ। यदि मानिसहरूले सुसमाचार प्रचार गर्ने कामलाई सही रूपमा बुझ्न सक्छन् भने, तिनीहरूले आफूले गर्ने कर्तव्य र अरूले गर्ने कर्तव्यलाई सही रूपमा लिनुपर्छ। अनि, तिनलाई सही रूपमा कसरी लिने? त्यसमा सक्दो प्रयास लगा र परमेश्‍वरका मापदण्डहरूअनुसार ती निर्वाह गर्। कम्तीमा पनि, जानीजानी हानि वा बाधा पुर्‍याउने व्यवहार र अभ्यासहरूमा संलग्‍न नबन्, र जानीजानी आफूलाई गलत छ भन्‍ने थाहा भएका कुराहरू नगर्। यदि कसैले कुनै कामले मण्डलीको काममा बाधा र व्यवधान पुर्‍याउँछ भन्‍ने थाहा पाए पनि उसले त्यो काम गर्न जिद्दी गर्छ, र कसैले पनि उसलाई त्यसो गर्नबाट रोक्न सक्दैन भने, उसले दुष्कर्म गरिरहेको हुन्छ, मृत्युसँग खेलिरहेको हुन्छ, र दियाबलसको रूपमा उसको साँचो चरित्र देखाइरहेको हुन्छ। तिनीहरू वास्तवमा के हुन् भनेर तुरुन्तै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई चिनाओ, र त्यसपछि त्यो दुष्ट व्यक्तिलाई मण्डलीबाट निकाल। यदि दुष्कर्मी मूर्ख क्षणमा परेको छ र उसले जानीजानी दुष्कर्म गरिरहेको छैन भने, त्यस्तो मामला कसरी सम्हाल्नुपर्छ? के त्यो व्यक्तिलाई शिक्षा र सहयोग दिनुपर्छ? यदि ऊ शिक्षित भए पनि उसले अझै पनि कुरा सुन्दैन भने के गर्ने? विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू भेला भएर उसको आलोचना गर्नुपर्छ। यदि त्यो व्यक्ति काममा सिपालु छ र पनि उसले काम गर्न सक्दो प्रयास गर्दैन, र अहिलेको लागि उसको स्थान लिन सक्‍ने कोही छैन, र सबैले अझै पनि त्यो व्यक्तिले नै यो काम गर्नुपर्छ भन्‍ने चाहन्छन् भने के गर्ने? सबैजना भेला भएर त्यो व्यक्तिलाई काटछाँट गर्नुपर्छ र यसो भन्दै चेतावनी दिनुपर्छ, “परमेश्‍वरले तिमीलाई उचाल्नुभएको छ र यो कर्तव्य निभाउन लगाउनुभएको छ। यदि तिमीले यो काम गर्न सक्दो प्रयास गर्दैनौ, र बाधा मात्र दिइरहन्छौ, र लगातार काममा लत्तो छोड्छौ भने, स्पष्टतः तिमीसँग कुनै विवेक छैन र तिमी कर्तव्य निर्वाह गर्न योग्य छैनौ।” यो तरिका असल छ कि छैन? यदि कसैले त्यो व्यक्तिको स्थान लिन सक्छ भने, त्यसलाई जान देओ। के तिमीहरूलाई त्यति गर्ने आँट छ? धेरैजसो मानिसहरूलाई त आँटै आउँदैन। मण्डलीको काम रक्षा गर्ने कुरा आउँदा, धेरै मानिसहरू उठेर न्यायको पक्षमा उभिने आँटै गर्दैनन्। के यो सत्यता पालन गर्न आँट नगर्नु होइन र? कतिपय मानिसहरू मण्डलीको काममा बाधा वा व्यवधान आएको देख्दा, नदेखेजस्तो गर्छन् र हात बाँधेर बस्छन्, मानौँ तिनीहरूसँग यसको कुनै सम्‍बन्ध नै छैन, र तिनीहरूको मनोवृत्ति भनेको यो कुराप्रति आँखा चिम्लनु हो। तर यदि कसैले तिनीहरूलाई यसरी व्यवहार गर्नु हुँदैन भनेर आलोचना गर्‍यो, वा तिनीहरूलाई घृणा गर्‍यो वा नीच ठान्यो भने, तिनीहरू रिसाउँछन् र मनमनै यस्तो सोच्छन्: “तैँले आफूलाई को ठानेको छस्? मलाई आलोचना गर्ने तँ को होस्? मलाई नीचो नजरले हेर्ने तँ को होस्? हामीले यो कुरा विस्तारमा छलफल गर्नुपर्छ।” तिनीहरू यो कुरालाई हृदयमा लिन्छन् र यसलाई गम्भीर मान्छन्, र तिनीहरू केही नबोली र आफ्नो अडान नराखी बस्‍नै सक्दैनन्। मण्डलीको काममा बाधा, व्यवधान, र हानि हुँदा, तिनीहरूले केही पनि महसुस गरेनन्, बरु यसप्रति आँखा चिम्लिए। तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? (स्वार्थी र घृणित मानिसहरू।) के यो स्वार्थीपन र घृणितपन मात्रै हो त? यो समस्या यति गम्भीर छ कि यसलाई एउटै वाक्यमा मात्र सारांशित गर्न सकिँदैन। यो मात्र भन्‍न सकिन्छ कि त्यस्ता मानिसहरूमा कुनै मानवता हुँदैन र तिनीहरू असल मानिसहरू होइनन्। वास्तवमा, ख्रीष्टविरोधीहरूले गर्ने नै यही हो, र अवश्य नै, झूटा अगुवाहरू पनि यसको अपवाद हुँदैनन्। परमेश्‍वरको घरका हितहरू के हुन् भनेर ख्रीष्टविरोधीहरूलाई थाहै हुँदैन। जब मण्डलीको काममा बाधा पुर्‍याइन्छ, तिनीहरू यसलाई देख्‍न सक्दैनन्। कतिपय मानिसहरूले बाधा दिँदै मण्डलीको काम पूरै बरबाद गर्छन्, तर ख्रीष्टविरोधीहरूले यो देख्दा, यसलाई गम्भीर रूपमा लिँदैनन्। तिनीहरूले यसको गम्भीरतालाई केही होइन जस्तो गर्छन् र दोषीलाई केही सामान्य शब्दहरूद्वारा हप्काउँछन्, र तिनीहरूलाई अरू केही नगरी एकैछिन चेतावनी मात्र दिन्छन्, र रिसको सानो झल्कोसमेत देखाउँदैनन्। के त्यस्ता मानिसहरूमा न्यायको बोध हुन्छ त? तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? त्यस्ता मानिसहरू खुवाउने हातलाई नै चिथोर्छन्, तिनीहरू धोकेबाजहरू हुन्! तिनीहरू नीच हुन्!

मैले भर्खरै मानिसहरूका हितहरू के-के हुन्, मानिसहरूका हितहरूको सार के हो, मानिसहरूले किन व्यक्तिगत हितहरू पछयाउँछन्, मानिसहरूले व्यक्तिगत हितहरू पछ्याउनुको प्रकृति के हो, र परमेश्‍वरका हितहरूको प्रकृति के हो, र ती कसरी परिभाषित हुन्छन् भन्‍नेबारे समग्र सिंहावलोकन प्रदान गरेँ। परमेश्‍वरका हितहरू नै सबैभन्दा न्यायोचित अभियान हुन् र तिनलाई त्यसरी नै लिनुपर्छ। परमेश्‍वरले आफ्ना हितहरू रक्षा गर्नु स्वार्थी काम होइन, न त यो उहाँको इज्जत र महिमा रक्षा गर्नको लागि मात्रै नै हो। उहाँ त आफ्नो कामका प्रगति र परिणामहरू रक्षा गर्न, र न्यायोचित अभियान रक्षा गर्न चाहनुहुन्छ। यो सबैभन्दा न्यायोचित र वैध व्यवहार र कार्यपद्धति हो, र यो परमेश्‍वरको कार्य हो। सृष्टि गरिएको मानवजातिले परमेश्‍वरको यो कार्यबारे कुनै धारणा राख्‍नु हुँदैन, कुनै पनि आरोप वा आलोचना राख्‍नु झनै हुँदैन। के हामी परमेश्‍वरका हितहरू सबै कुराभन्दा माथि छन् भनेर भन्‍न सक्छौं? (सक्छौं।) के यसो भन्‍नु स्वार्थी कुरा हो? (होइन।) मानिसहरूले सत्यताको यो पक्ष बुझ्छन्, र यो आधारमा, यो अभिव्यक्ति सही छ। यसमा जानाजानको पूर्वाग्रह समावेश छैन, र यो निष्पक्ष र उचित छ। “तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको घरका हितहरूबारे विचार गर्दैनन्, र व्यक्तिगत वैभव साट्न ती हितहरूसमेत बेचिदिन्छन्”—ख्रीष्टविरोधीहरूको सार यही हो। हितहरूप्रतिको तिनीहरूको मनोवृत्ति र शैली यस्तै हुन्छ, र तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको घरका हितहरूबारे विचार गर्दैनन्। यो “कहिल्यै गर्दैनन्” भन्‍नुको अर्थ के हो? तोकेरै भन्दा, तिनीहरूले परमेश्‍वरका हितहरूबारे पटक्‍कै विचार गर्दैनन्, न त तिनीहरूमा त्यस्तो कुनै अवधारणा नै हुन्छ, तिनीहरूले त आफ्नै हितहरूबारे मात्रै विचार गर्छन्—यसको अर्थ यही हो। यो कति गम्भीर छ? यो व्यक्तिगत वैभव र व्यक्तिगत हितहरू साट्न परमेश्‍वरको घरका हितहरू बेच्‍ने हदसम्‍म गम्भीर छ। तिनीहरूका हितहरू सर्वोच्च हुन्छन् र ती हितहरूले परमेश्‍वरका हितहरू प्रतिस्थापित गर्न सक्छन्। आफ्ना हितहरू जति नै दुष्ट, अवैध वा नकारात्मक भए पनि, तिनीहरू तिनै हितहरूको लागि लड्नेछन्, र ती हितहरू पूरा गर्न र तिनको लागि लड्न तिनीहरूले जस्तोसुकै मूल्य चुकाउँछन्, यहाँसम्‍म कि कसैलाई बलिसमेत चढाउँछन्। यो कस्तो व्यवहार हो? (ख्रीष्टविरोधी व्यवहार।) ख्रीष्टविरोधी व्यवहार—शैतानले गर्ने कुरा नै यही हो। शैतानले यो मानवजातिमाथि प्रभुत्व जमाउँछ, देशमाथि प्रभुत्व जमाउँछ, जातिमाथि प्रभुत्व जमाउँछ, र आफ्‍नो प्रभुत्वको स्थिरताको लागि सक्दो धेरै जीवन बलिसमेत चढाउँछ। यसका हितहरू के-के हुन्? शक्ति र प्रभुत्ववाला स्थान। त्यसोभए यसले कसरी प्रभुत्ववाला स्थान प्राप्त गर्छ र यसले यो प्रभुत्व कसरी स्थिर राख्छ? (जुनसुकै मूल्य चुकाएर।) जुनसुकै मूल्य चुकाएर। अर्थात्, यसले यसका अभ्यास र विधिहरू जनमानसमाथि वैध वा अवैध जेजस्तो देखिए पनि वास्ता गर्दैन, र यसले यसको पद र शक्तिको स्थिरताको लागि नरसंहार र दमनदेखि नरम र कठोर युक्तिहरू, करकाप र प्रलोभनसम्मका हरकुरा प्रयोग गर्छ, र यसको सट्टामा कसैको जीवन वा अनगिन्ती जीवन बलिसमेत चढाउँछ—यो शैतानको व्यवहार हो। ख्रीष्टविरोधीहरूले पनि यस्तै तरिकाले काम गर्छन्।

के आजको सङ्गतिका यी वचनहरू तिमीहरूको रुचिअनुरूप छन्? (आज सुन्दा मैले धेरै कुरा सिकेँ, र खासगरी, ज्ञान र बुद्धिजीवीहरूबारेको चिरफारले मलाई निकै छोयो। विगतमा, बुद्धिजीवीहरूमा आत्मिक बुझाइको कमी हुन्छ भन्‍ने विचारप्रति म त्यति सहमत थिइनँ, तर यो अवधिमा, परमेश्‍वरले ज्ञानबारे चिरफार गर्नुभएकोले, मैले क्रमिक रूपमा तुलना गर्न र त्यो कुरा बझ्न सकेँ, र धेरैपटक त म आफै पनि परमेश्‍वरका वचनहरू बुझ्न सक्दिनँ, तिनलाई सुन्दा म बुझ्न सक्दिनँ, र मानिसहरू र घटनाहरू हेर्दा, मैले तिनलाई बुद्धिजीवीको दृष्टिकोणले हेर्ने र चिरफार गर्ने गर्छु, जसले गर्दा मैले गलत बुझाइ हात पार्छु—यो आत्मिक बुझाइको कमी हो। अब म बुद्धिजीवीहरूको सार अझै स्पष्ट रूपमा देख्‍न सक्छु।) आज बुद्धिजीवीहरूबारे कुरा गर्दा, म कुनै पनि व्यक्तिप्रति लक्षित भइरहेको छैनँ, तर यदि तिमीहरूले आफूलाई मेरा वचनहरूसँग तुलना गर्न सक्छौ भने, त्यो राम्रो कुरा हो, र तिमीहरूले परिस्थिति बदल्न र प्रवेश गर्न सक्‍ने आशा हुन्छ। सत्यता नबुझ्ने वा बोध नगर्ने अवस्थादेखि, बिस्तारै एकपछि अर्को गर्दै केही सरल, अरूसँग नजोडिएको, र अलि कम गहन सत्यताहरू बुझ्न सक्‍ने अवस्थामा पुगुन्जेलसम्म, तिमीहरूले लगनसाथ खोजी गर्नुपर्छ, ताकि तिमीहरूले जे बुझ्छौ त्यो वचन र सिद्धान्तहरू नभई सत्यता होस्। यस तरिकाले, तैँले अलिअलि गर्दै आत्मिक बुझाइ प्राप्त गर्नेछस्। यदि तैँले सत्यता र वास्तविकतामा ध्यान दिएर यी कुराहरू पत्ता लगाइस् भने, तैँले क्रमिक रूपमा सत्यता बुझ्नेछस्; यदि तैँले धर्मसिद्धान्तमा ध्यान दिँदै तर्क र मष्तिष्क प्रयोग गरेर निरन्तर यी कुराहरू विश्‍लेषण गरिस् भने, तैँले बुझ्ने कुरा धर्मसिद्धान्त वा सिद्धान्त मात्रै हुनेछ, जुन कहिल्यै पनि सत्यता बन्‍नेछैन, अनि तँ कहिल्यै पनि धर्मसिद्धान्तको जगभन्दा अगाडि बढ्नेछैनस्। के यो कुरा साँचो होइन र? (हो।) कतिपय मानिसहरू भन्छन्, “म आफूले पढेका परमेश्‍वरका केही वचनहरू किन बुझ्न सक्दिनँ? व्याकरण प्रयोग गरी निबन्ध संरचनाको आधारमा मापन गर्दा, तिनलाई बुझ्न र स्विकार्न मानिसहरूलाई किन त्यति सजिलो नभएको?” तिमीहरूले यो समस्यालाई कसरी व्याख्या गर्छौ? के तिमीहरू अहिले यो कुरा बुझ्न सक्छौ? म तिमीहरूको लागि यो कुरा व्याख्या गरिदिनेछु। मानवजाति अस्तित्वमा आएदेखि नै परमेश्‍वरले मानिसहरूसँग कुरा गरिरहनुभएको छ, र उहाँले बोल्नुहुने हरेक शब्द र अनुच्छेद निबन्ध होइन, केवल भाषा हो। आज यहाँ बोल्ने क्रममा, के मैले निबन्ध वाचन र रिपोर्ट प्रस्तुत गरिरहेको छु, कि कुराकानी मात्रै गरिरहेको छु? (कुराकानी गरिरहनुभएको छ।) म तिमीहरूसँग कुराकानी गरिरहेको छु, सत्यता बताइरहेको छु, र तिमीहरूलाई चाहिने विषयहरूबारे कुरा गरिरहेको छु। म बोलिरहेको छु, निबन्ध प्रस्तुत गरिरहेको छैनँ। त्यसकारण, तिमीहरूले निबन्ध भनेको के हो र बोल्नु भनेको के हो भन्‍ने कुरा बुझ्नुपर्छ—यी दुईबीच भिन्‍नताहरू छन्। निबन्धहरूमा आवश्यक पर्ने विभिन्‍न कुराहरू मानवजातिबाट आएका ज्ञानका पक्षहरू हुन्छन्, र परमेश्‍वरले बोल्नुहुँदा यो ज्ञान पालना गर्नुपर्दैन। उहाँले केवल आफूले बोल्न चाहेको सत्यताहरू प्रष्ट र स्पष्ट रूपमा बोल्नुपर्छ, र मानिसहरूले आफूले सुनेको सत्यता बुझ्न सके भने, त्यो नै पर्याप्त हुन्छ, र विराम चिह्नहरूसमेत प्रयोग गर्नु आवश्यक छैन। विराम चिह्न र निबन्धहरू मानवजातिले सिर्जना गरेका कुराहरू हुन्, र व्याकरण र निबन्धहरूमा आवश्यक पर्ने कुराहरू पनि तिनीहरूले नै सिर्जना गरेका हुन्। यी सबै कुरा ज्ञानको वर्गभित्र पर्छन्, र परमेश्‍वरले तिनलाई पालना गर्नुपर्दैन। यसको साथै, भाषा परमेश्‍वरबाट आएको हो, र यो सकारात्मक कुरा हो। त्यसकारण, परमेश्‍वरले जे भन्‍नुभए पनि, त्यो सही हुन्छ। तैँले यसमा व्याकरणका सवालहरू जाँच गर्नु, वा व्याकरणका सवालहरू तुलना वा विश्‍लेषण गर्नुपर्दैन। तैँले कुनै पनि खण्ड, अनुच्छेद, र वाक्यमा परमेश्‍वरको इच्छा के हो, सत्यता के हो, परमेश्‍वरले मानिसहरूलाई दिनुहुने सत्यता सिद्धान्तहरू के-के हुन्, र परमेश्‍वरले मानिसहरूलाई बताउनुहुने अभ्यासको मार्ग के हो भनेर मात्रै बुझ्नुपर्छ, र त्यो नै पर्याप्त हुन्छ। सृष्टि गरिएका प्राणीहरू, अर्थात् मानिसहरूमा हुनुपर्ने समझ नै यही हो। परमेश्‍वरका वचन र कार्यहरूले मानिसहरूले तय गरेका यी प्रचलन र ढाँचाहरू, साथै ज्ञानमा निहित यी नियम र विशुद्ध बौद्धिक कुराहरू पालना गर्नु पर्दैन, यी कुराहरू पालना गर्नु आवश्यक छैन। परमेश्‍वरले धेरै कुरा बताउनुभएको छ, र उहाँले जेसुकै भन्‍नुभए पनि, त्यो सत्यता हो। आत्मिक बुझाइ भएका र अनुभव भएका मानिसहरूले जति धेरै परमेश्‍वरका वचनहरू पढ्छन्, त्यति नै तिनीहरूलाई परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने लाग्छ। यी वचनहरूमा समावेश सत्यता नै मानिसहरूले पत्ता लगाउनुपर्ने, खोजी गर्नुपर्ने, र अनुभव गर्नुपर्ने कुरा हो। परमेश्‍वरले मानवजातिसँग बोल्नुहुन्छ—र याद गर, परमेश्‍वरले गर्नुहुने काम भनेको बोल्नु हो, र “बोल्नु” लाई चल्तीको भाषामा गफ गर्नु, वा कुराकानी गर्नु भनेर भनिन्छ। परमेश्‍वरले यहाँ भन्‍न चाहनुहुभएको कुराको सार के हो? यो परमेश्‍वरको इच्छा, सत्यता, र मानिसहरूप्रतिको परमेश्‍वरको मापदण्ड हो—विषयवस्तु यही हो। बोल्‍नुको प्रकृति भनेको सरल र स्पष्ट रूपमा, मन छुने गरी र आमनेसामने रही कुरा गर्नु हो, र कहिलेकहीँ बोलीचालीको भाषा र भाषिका प्रयोग गर्नु हो, र कहिलेकहीँ केही साहित्यिक शब्दहरू प्रयोग गर्नु हो। तर निबन्ध लेख्‍नको लागि, तैँले पहिलो अनुच्छेदमा सुरु खण्ड राख्‍नुपर्छ, बीचतिर ममालाको उठान र व्याख्या गर्नुपर्छ, र त्यसपछि विषयवस्तुको निष्कर्षमा पुगेर लेख टुङ्ग्याउनुपर्छ। यसलाई निबन्ध मान्‍नको लागि यही शैलीमा लेखिएको हुनुपर्छ, र तैँले यसलाई पेश गरिसकेपछि मात्रै शिक्षकले यसलाई पढेर औसत, राम्रो, वा उत्कृष्ट भनेर मूल्याङ्कन गर्न सक्छ। के तैँले परमेश्‍वरका वचनहरूलाई यसरी मूल्याङ्कन गर्न सक्छस्? मानौँ तैँले यसो भनिस् रे, “यो खण्ड राम्रो छ, यसको व्याकरण राम्रो छ, यो ईश्‍वरीय भाषामा बोलिएको छ, र यो निबन्धको संरचनाअनुरूप छ; त्यो खण्ड त्यति राम्रो छैन, त्यो अलिक अव्यवस्थित छ, र संरचना पनि त्यति राम्रो छैन। कतिपय शब्दहरू त्यति व्याकरणात्मक छैनन्, र कतिपय शब्दहरू सही ठाउँमा प्रयोग गरिएजस्तो समेत देखिँदैन।” के यसरी परमेश्‍वरका वचनहरू पढ्नु ठीक हुन्छ त? (हुँदैन।) यी वचनहरूलाई यसरी पढ्दा त यो विकृत तरिका हुनेछ, र यसरी तैँले कहिल्यै पनि सत्यता प्राप्त गर्नेछैनस्। तैँले परमेश्‍वरका वचनहरूको हरेक हरफमा लुकेको अर्थ पत्ता लगाउन सिक्‍नुपर्छ र यसरी परमेश्‍वरले तँलाई के मापदण्ड दिनुहुन्छ र यी वचनहरूमा के सत्यता समावेश छ भनेर बुझ्नुपर्छ—त्यसो गर्नु नै सबैभन्दा बुद्धिमानी कुरा हो। यी कुराहरूलाई कसरी हेर्ने भनेरसमेत तँलाई थाहा छैन, र तँ दिनभर यसो भन्दै बस्छस्: “परमेश्‍वरका वचनहरू कसरी निबन्धसमेत होइनन् त? परमेश्‍वरका वचनहरू त भाषणजस्तै हुनुपर्ने हो, र परमेश्‍वरले परिष्कृत भाषा बोल्नुपर्ने हो।” म त्यसो गर्दिनँ। यो त अत्यन्तै थकाइलाग्दो हुनेछ, र तिमीहरू सुन्दा थाक्‍नेछौ, र बोल्ने व्यक्ति पनि थाक्‍नेछ। परमेश्‍वरले स्वर्गबाट बोल्नुभएको, अय्यूबसँग बोल्नुभएको, पत्रुससँग बोल्नुभएको, मोशा र योनासँग बोल्नुभएकोबारे विचार गर त—के परमेश्‍वरका वचनहरू सरल र स्पष्ट थिएनन् र? ती कति असाधारण, अमूर्त, वा महान् हुन्छन्, वा शब्द संयोजन कति अलचक हुन्छ भनेर तैँले देख्‍न सक्दैनस्। शैतानले अय्यूबलाई परीक्षा गर्दा, परमेश्‍वरले शैतानलाई भन्‍नुभयो, “के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन?” (अय्यूब १:८), र “हेर्, त्यो तेरै हातमा छ; तर त्यसको जीवन बचा” (अय्यूब २:६)। परमेश्‍वरका वचनहरू सरल र संक्षिप्त दुवै थिए, र तिनले यो मामला स्पष्ट रूपमा व्याख्या गरे। यो परमेश्‍वरको स्वभाव र परमेश्‍वरको सार हो। परमेश्‍वरले जानीजानी रहस्यमयी दोहोरो अर्थ लाग्‍ने शब्‍दहरू प्रयोग गर्नुहुन्न, र उहाँको महान्‌ता, असाधारणता, आदरणीयता, अख्तियार, र शक्ति झूटा होइनन्। किन म ती झूटा होइनन् भनेर भन्दै छु? जब उहाँले कुनै व्यक्तिसँग कुरा गर्नुहुन्छ, तब उहाँले बहाना बनाउनुहुन्‍न, आफूलाई उच्च छविको खोल ओढाउनुहुन्न, र मानिसहरूले बुझ्न नसक्‍ने कुराहरू बोल्नुहुन्न—त्यो त शैतानले गर्छ, परमेश्‍वरले त्यसो गर्नुहुन्न—अनि त्यो कुरा बोल्नुहुने परमेश्‍वर नै हुनुभएकोले, उहाँले तँलाई यो कुरा बुझाउनुहुनेछ। यदि तँ बालक होस् भने, उहाँले तँसँग बच्‍चाले बुझ्न सक्‍ने शब्दहरूमा बोल्नुहुनेछ। यदि तँ वृद्ध होस् भने, उहाँले तँसँग वृद्ध मानिसहरूको भाषामा बोल्नुहुनेछ। यदि तँ पुरुष होस् भने, उहाँले तँसँग पुरुषहरू बानी परेको भाषामा बोल्नुहुनेछ। यदि तँ भ्रष्ट मानव होस् भने, उहाँले तँसँग भ्रष्ट मानिसहरूले बुझ्न सक्‍ने शैली र संरचनामा बोल्नुहुनेछ। परमेश्‍वरले विविध तरिकाहरूमा बोल्नुहुन्छ। कहिलेकहीँ उहाँले ठट्टा गर्नुहुन्छ, कहिलेकहीँ हास्यास्पद टिप्पणीहरू गर्नुहुन्छ, कहिलेकहीँ उहाँले व्यङ्ग्य गर्नुहुन्छ, कहिलेकहीँ विश्‍लेषण गर्नुहुन्छ, कहिलेकहीँ उहाँले कठोर रूप लिनुहुन्छ, कहिलेकहीँ नरम रूप लिनुहुन्छ, कहिलेकहीँ उहाँले तँलाई स्पर्श महसुस गर्न लगाउनुहुन्छ, र कहिलेकहीँ तँलाई काटछाँट गरेपछि सान्त्वना दिनुहुन्छ...। परमेश्‍वरले गर्नुहुने यो सबै काम र उहाँले व्यक्त गर्नुहुने यी सत्यताहरू अलचक छैनन्, लचकदार छन्। परमेश्‍वर नै जिउँदो पानीको मूल हुनुहुन्छ, र परमेश्‍वर नै सत्यताको स्रोत हुनुहुन्छ। परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यो ठीक हुन्छ, त्यसमा सत्यता हुन्छ, र उहाँले त्यो कस्तो तरिकाले भन्‍नुहुन्छ त्यसले केही फरक पार्दैन। यदि कसैले सधैँ परमेश्‍वरको बोल्‍ने शैली, उहाँको भाषा संरचना, आदि इत्यादिबारे धारणाहरू राख्छ, र तिनलाई निरन्तर जाँच्छ र शङ्का गर्छ, र यी कुराहरूप्रति सधैँ व्याकुल हुन्छ र “मैले विश्‍वास गरेको परमेश्‍वर साँच्‍चै परमेश्‍वरजस्तो देखिनुहुन्‍न, उहाँ किन त्यस्तो हुनुहुन्छ? त्यसैले म उहाँलाई स्विकार्न चाहन्नँ, मैले उहाँलाई स्विकारेँ भने त यो अत्यन्तै लाजमर्दो हुनेछ, मैले यो वा त्यो ईश्‍वरमा विश्‍वास गर्नु नै राम्रो हुनेछ” भनेर भन्छ भने, यो कस्तो व्यक्ति हो? (गैरविश्‍वासी।) यो गैरविश्‍वासी हो। अनि, धेरैजसो गैरविश्‍वासीहरू कस्ता मानिसहरू हुन्? आत्मिक बुझाइ नभएका मानिसहरू। आत्मिक बुझाइ नभएका मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्दा, तिनलाई ध्यान दिएर जाँच्छन्, तर तिनीहरूले अझै पनि ती के हुन् भनेर पूर्ण रूपमा पत्ता लगाउन सक्दैनन्, त्यसकारण तिनीहरूले सोच्छन्, “साँचो मार्ग यही हो भने, के यसरी विश्‍वास गरेर आशिष्‌हरू प्राप्त गर्न सकिन्छ त? यति धेरै मानिसहरूले विश्‍वास गर्छन्। यदि मैले विश्‍वास गरिनँ भने, के म नरक जानेछैनँ र?” तिनीहरूले मनमा तुच्छ युक्तिहरूसमेत बोक्छन्। तिनीहरूले “परमेश्‍वरका वचनहरूमा सत्यता छ भनेर भनिन्छ, तर सत्यता के रैछ? मैले यसलाई कसरी नदेखेको? मैले पढ्नु र सुन्नु जरुरी छ” भनेर सोच्‍ने गर्दैनन्। एकदिन तिनीहरूले बल्ल “सुनेको कुरा बुझ्छन्” र यस्तो सोच्छन्, “यी वचनहरूले जे खुलासा गर्छन् त्यो साँचो परिस्थिति हो, र त्यो सत्यता हो। तर भाषा अत्यन्तै साधारण र सामान्य छ, यो अत्यन्तै आम किसिमको छ, र यसलाई विद्धतवर्गले तिरस्‍कार र भेदभाव गर्न सक्छन्, र यसलाई सबैभन्दा साधारण कुरा, र कतिपय शब्दहरूको हकमा त ठाडो भाषा भनेरसमेत भन्न सक्छन्, र ज्ञान क्षेत्रका उच्च बुद्धिजीवीहरूले प्रयोग गर्न नमान्ने केही शब्दहरू वास्तवमै परमेश्‍वरको मुखबाट आउँदो रहेछ भनेरसमेत भन्न सक्छन्—यो अकल्पनीय कुरा हो र यो त्यस्तो हुनुहुँदैन, होइन र?” यसरी निरन्तर जाँच गर्नुका परिणामहरू के हुन्छन्? तँलाई आफू परमेश्‍वरभन्दा असल छु, र परमेश्‍वरले तँमाथि विश्‍वास गर्नुपर्छ र तँलाई उचाल्नुपर्छ भन्‍ने लाग्‍नेछ। के यो समस्याजनक कुरा होइन र? यी मानिसहरू आत्मिक बुझाइ नभएका मानिसहरू हुन्। परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्ति सधैँ परमेश्‍वरविरुद्ध खडा हुने र उहाँलाई जाँच्‍ने किसिमको हुन्छ। अनि, परमेश्‍वरलाई जाँच गर्ने क्रममा, तिनीहरूले उहाँको अवज्ञा पनि गरिरहेका हुन्छन्, र उहाँको अवज्ञा गर्ने क्रममा, तिनीहरूले यस्तो सोच्छन्, “तपाईं परमेश्‍वर नहुनुभएकै बेस, किनभने तपाईं अत्यन्तै मामुली हुनुहुन्छ, तपाईं परमेश्‍वरजस्तो हुनुहुन्न। यदि तपाईं परमेश्‍वर हुनुहुन्छ भने, मलाई सहज महसुस हुनेछैन। यदि मैले तपाईंलाई घृणा गरेँ भने, पूर्ण रूपमा जाँचेँ भने, र तपाईंलाई परमेश्‍वर नहुने गरी, र कसैले पनि तपाईंमा विश्‍वास नगर्ने गरी विश्‍लेषण गरेँ भने, मलाई खुशी हुनेछ, र मैले विश्‍वास गर्नको लागि महान् परमेश्‍वर खोजेँ भने, मलाई शान्ति मिल्नेछ।” त्यस्ता मानिसहरू गैरविश्‍वासीहरू हुन्। धेरैजसो गैरविश्‍वासीहरूमा आत्मिक बुझाइको कमी हुन्छ। तिनीहरूले परमेश्‍वरका यी साधारण अभिव्यक्तिहरूबाट कहिल्यै पनि सत्यता बुझ्ने वा प्राप्त गर्दैनन्। तिनीहरूले तिनलाई बारम्बार जाँच्‍ने मात्रै गर्छन्, र तिनीहरू सत्यता प्राप्त गर्न नसक्‍ने मात्र नभई, आफ्नै मुक्तिको महत्त्वपूर्ण मामला बरबाद गर्ने, र आफैलाई खुलासा गर्ने र आफैलाई हटाउनेसमेत गर्छन्। अब आजको सङ्गति यहीँ समाप्त गरौं। (परमेश्‍वरलाई धन्यवाद होस्!) जयमसीह!

जनवरी १७, २०२०

फूटनोटहरू:

क. चिनियाँ भाषामा “लाओ” र “जियाओ” भन्‍ने शब्दहरू बोल्ने र सुन्‍ने व्यक्तिहरू दुवैले अनुभव गर्ने परिचितता वा सहजताको भावना व्यक्त गर्न बोलाउने नामको अगाडि थप्ने गरिन्छ।

अघिल्लो: विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई)

अर्को: विषयवस्तु नौ: तिनीहरूले आफैलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती चासोहरूलाई समेत बेच्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग दुई)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्