विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग सात)

इ. परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्नु

आज हामी ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूको दसौँ विषयवस्तु—तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् भन्‍नेबारे सङ्गति गर्न जारी राख्नेछौँ। पछिल्लोपटक, हामीले ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्छन् भन्‍ने मूल शीर्षकको तेस्रो खण्डसम्म सङ्गति गर्‍यौँ। यस खण्डबारे हाम्रो सङ्गति र चिरफार तीन उपशीर्षकहरूमा विभाजित थियो। ती तीन उपशीर्षकहरू के-के हुन्? (पहिलो हो, ख्रीष्टविरोधीहरूले स्वेच्छाचारी रूपमा परमेश्‍वरका वचनहरूलाई छेडछाड गर्छन् र अर्थ्याउँछन्; दोस्रो हो, ख्रीष्टविरोधीहरू आफ्ना धारणाहरूसँग मेल नखाँदा परमेश्‍वरका वचनहरूलाई नकार्छन्; र तेस्रो हो, ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरू पूरा हुन्छन् कि हुँदैनन् भनी खोजीनिती गर्छन्।) के ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्छन् भन्‍नुको समग्र अर्थ यी तीनवटा मात्र हुन्? (अरू पनि हुनुपर्छ।) अरू कस्ता अभिव्यक्ति र प्रकटीकरणहरू छन्? (ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई अनादरपूर्वक व्यवहार गर्ने।) के परमेश्‍वरका वचनहरूलाई अनादरपूर्वक व्यवहार गर्नु तिनीहरूले परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्छन् भन्ने एउटा प्रकटीकरण हो? के परमेश्‍वरका वचनहरूलाई अनादरपूर्वक व्यवहार गर्नु परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्नुको एउटा व्याख्या होइन र? यहाँ हामीलाई व्याख्याहरू चाहिँदैन, बरु परमेश्‍वरका वचनहरूलाई ख्रीष्टविरोधीहरूले तिरस्कार गर्नुका विभिन्‍न प्रकटीकरण र अभ्यासहरू चाहिन्छन्, जुन तैँले देख्न र छुन सक्छस्, र जसबारे तैँले सुनेको छस्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्नुका विभिन्‍न प्रकटीकरणहरूबारे तिमीहरूसँग त्यति बुझाइ छैन जस्तो देखिन्छ। तिमीहरूसँग मैले पहिले सङ्गति गरेका तीन विषयवस्तुबारे केही शाब्दिक बुझाइ होला, तर तिमीहरू ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्नुका अन्य कस्ता प्रकटीकरणहरू होलान् भनेर सोच्न सक्दैनौ, होइन त? हामीले यसअघि नै सङ्गति गरेका तीनवटै प्रकटीकरणहरू तिमीहरूले याद गरेको हुनुपर्छ। के परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्दा ख्रीष्टविरोधीहरूका व्यवहार र प्रकटीकरणहरू खुला र निष्कपट हुन्छन्? के यी सोझा मानिसहरूले गर्नुपर्ने कुरा हुन्? (होइनन्।) यी सामान्य मानवतामा हुनुपर्ने प्रकटीकरणहरू होइनन्; यी सकारात्मक छैनन्, बरु नकारात्मक छन्। यी केही व्यवहारहरूको निहित सारले शैतान, पिशाच र परमेश्‍वरका शत्रुहरूतर्फ सङ्केत गर्छ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूप्रति गर्ने व्यवहारमा, कुनै समर्पणता हुँदैन, कुनै स्वीकार हुँदैन, कुनै अनुभव हुँदैन, आफ्ना धारणाहरू पन्छाएर परमेश्‍वरका वचनहरूलाई सरलता र खुलापनसाथ स्विकार्ने काम हुँदैन—त्यसको साटो, तिनीहरूले परमेश्‍वरका वचनहरूप्रति विभिन्‍न शैतानी मनोवृत्तिहरू निर्माण गर्छन्। ख्रीष्टविरोधीहरूका यी प्रकटीकरण र व्यवहारहरूमार्फत प्रकाश हुने स्वभाव ठ्याक्कै शैतानले आत्मिक क्षेत्रमा प्रकाश गर्ने स्वभाव हो। यी व्यवहारहरू, कुनै पनि अवस्था, कुनै पनि युग, कुनै पनि मानिसहरूको समूहमाझ सकारात्मक हुँदैनन्। ती दुष्ट र नकारात्मक हुन्छन्, र ती कुनै पनि सृजित प्राणी वा सामान्य व्यक्तिमा हुनुपर्ने प्रकटीकरण वा व्यवहारहरू होइनन्। तसर्थ, हामी तिनलाई ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूका रूपमा चित्रण गर्छौँ। यी तीन विषयवस्तुहरूबारे सङ्गति गरेपछि, धेरैजसो मानिसहरूलाई यी तीन प्रकटीकरणहरूले सम्भवतः परमेश्‍वरका वचनहरूप्रतिका ख्रीष्टविरोधीहरूका सबै आधारभूत मनोवृत्तिहरू समेट्छन् भन्‍ने लाग्ला। तर, तिमीहरूले एउटा कुरा बेवास्ता गरेका छौ: परमेश्‍वरका वचनहरूप्रतिका ख्रीष्टविरोधीहरूको व्यवहार यी तीन तरिकाहरूमा मात्र सीमित छैन। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्ने कुरालाई चित्रण गर्ने अर्को प्रकटीकरण र व्यवहार पनि छ। यो प्रकटीकरण के हो? यो हो, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिनु। यदि हामीले यसको शाब्दिक अर्थ हेर्‍यौँ भने, कतिपय मानिसहरूको मनमा निश्‍चित व्यक्तिहरू जनाउने केही चित्रहरू आउन सक्छन्, तर यसको निर्दिष्ट र साँचो प्रकटीकरणहरू अझै त्यति प्रस्ट हुँदैनन्; ती अझै निकै अस्पष्ट र सामान्य हुन्छन्। त्यसोभए, आज, हामी ख्रीष्टविरोधीहरूले कसरी परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिन्छन् भन्‍नेबारे सङ्गति गर्नेछौँ।

घ. ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिन्छन्

ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिन्छन्; यो पनि भन्‍न सकिन्छ कि ख्रीष्टविरोधीहरू सत्यतालाई नै उपभोग्य वस्तुका रूपमा लिन्छन्। तिनलाई उपभोग्य वस्तुका रूपमा लिनु भन्‍नुको अर्थ के हो? यसको अर्थ बस केही मौखिक दाबीहरू गर्नु, देखावट गर्नु, र त्यसपछि प्रसिद्धि, लाभ र हैसियत पाउनका लागि जालझेल गरेर मानिसहरूको भरोसा, समर्थन, र अनुमोदन प्राप्त गर्नु हो। यसरी परमेश्‍वरका वचनहरू र सत्यता तिनीहरूका लागि माथि उक्लिने सिँढी बन्छन्। सत्यताप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यही हो। तिनीहरू सत्यतालाई आफूअनुकूल प्रयोग गर्छन्, खेलबाड गर्छन्, र कुल्चन्छन्, जुन ख्रीष्टविरोधीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छ। त्यसोभए, परमेश्‍वरका वचनहरू र सत्यता ठ्याक्कै के हुन्? हामीले कसरी सत्यतालाई सही रूपमा परिभाषित गर्नुपर्छ? ल भन् त, सत्यता के हो? (सत्यता भनेको मानिसहरूको आत्मआचरण, कार्य र परमेश्‍वरको आराधनाका लागि मापदण्ड हो।) यो सत्यताको सही र निर्दिष्ट परिभाषा हो। तिमीहरू सबैले यो वाक्यलाई कसरी बुझ्छौ? तिमीहरूले यो वाक्यलाई आफ्नो दैनिक जीवनमा र जीवनभर कसरी लागु गर्नुपर्छ? तिमीहरूले यो वाक्यलाई कसरी अनुभव गर्नुपर्छ? नछानीकन वा प्रशोधन नगरीकन जे सोच्न र बुझ्न सक्छौ त्यही झट्टै भन त। तिमीहरूको अनुभवका भाषामा, सत्यता के हो? परमेश्‍वरका वचनहरू के हुन्? (सत्यताले व्यक्तिको जीवनप्रतिको दृष्टिकोण र उसका मान्यताहरू परिवर्तन गर्न सक्छ, जसले उसलाई सामान्य मानवको स्वरूपमा जिउन सक्षम तुल्याउँछ।) तैँले भनेको सबै कुरा बृहत् नभए पनि, त्यसले सत्यताको एउटा अनुभवात्मक बुझाइ बताउँछ; तिमीहरूले दैनिक जीवनबाट अनुभव र सारांश गरेका अन्तर्ज्ञान र अनुभूतिहरू तिनै हुन्। अरू कसलाई आफ्नो कुरा भन्‍न मन छ? (सत्यताले हाम्रा भ्रष्ट स्वभावहरू शुद्ध पार्न सक्छ, यसबाट हामी सिद्धान्तहरूअनुसार व्यवहार गर्न र परमेश्‍वरका अभिप्रायहरूअनुरूप काम गर्न सक्षम हुन्छौँ।) यो भनाइ निकै राम्रो र प्रखर छ। भन्दै जाओ त। (सत्यता जीवन हो, अनन्त जीवनमा पुग्ने मार्ग हो। सत्यता पछ्याएर अनि त्यसद्वारा जिएर मात्र जीवन प्राप्त गर्न सकिन्छ।) (सत्यताले मानिसहरूलाई परमेश्‍वरको डर मान्‍न र दुष्टतादेखि अलग बस्न, साँचो मानव बन्‍न सक्षम तुल्याउँछ।) यी दुइटै कुराले मानिसहरूको दैनिक जियाइका अभ्यासका सिद्धान्तहरू समेट्छन्। व्याख्याहरू तुलनात्मक रूपमा गहन र उच्च सुनिने भए पनि, यी निकै व्यावहारिक छन्। (सत्यताले हामीभित्र रहेका भ्रष्ट स्वभावहरूको खुलासा गर्न, मामलाहरूबारे हाम्रा गलत दृष्टिकोणहरू बदल्न, र हामीलाई साँचो मानवका रूपमा जिउन सक्षम तुल्याउन सक्छ।) यी वाक्यहरू व्यावहारिक छन् र यिनले मानिसहरूका लागि सत्यताको मूल्य र महत्त्व, साथै सत्यताले मानिसहरूमाथि पार्न सक्ने प्रभावहरू समेट्छन्। तिमीहरू सबैले जे उल्लेख गरेका छौ, त्यसबारे हामीले यसअघि बारम्बार कुरा गरेका छौँ। हरव्यक्तिको जोड फरक कुरामा भए पनि, यो सबै सत्यताबारे पहिला चर्चा र परिभाषित गरिएको वाक्यसँग सम्बन्धित छ—सत्यता भनेको सबथोक मापन गर्ने मापदण्ड हो। के सत्यतालाई परमेश्‍वरका वचनहरूसँग बराबर मान्‍न सकिन्छ? (सकिन्छ।) परमेश्‍वरका वचनहरू सत्यता हुन्। तिमीहरूले आफ्नो सङ्गतिमा बताएका अनुभवात्मक बुझाइका आधारमा, के हामी सत्यता नै सबै सकारात्मक कुराहरूको वास्तविकता हो भनेर भन्‍न सक्छौ? (सक्छौँ।) सत्यता नै सबै सकारात्मक कुराहरूको वास्तविकता हो। यो एक व्यक्तिको जीवन र ऊ हिँड्ने दिशा हुनसक्छ; यसले व्यक्तिलाई आफ्‍नो भ्रष्ट स्वभाव फाल्ने, परमेश्‍वरको डर मान्ने र दुष्टतादेखि अलग बस्ने, परमेश्‍वरप्रति समर्पित हुने,सृजित प्राणीका रूपमा मानकअनुरूपको हुने, र परमेश्‍वरले प्रेम गर्नुहुने र उहाँलाई स्वीकार्य लाग्ने व्यक्ति हुने तुल्याउन सक्छ। सत्यताको बहुमूल्यता ध्यानमा राखी हेर्दा, परमेश्‍वरका वचनहरू र सत्यताबारे व्यक्तिसँग कस्तो मनोवृत्ति र दृष्टिकोण हुनुपर्छ? यो निकै स्पष्ट छ: परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नेहरू र परमेश्‍वरको डर मान्ने हृदय भएकाहरूका लागि, उहाँका वचनहरू तिनीहरूका जीवनशक्ति हुन्। मानिसहरूले परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नुपर्छ, तिनलाई खानु र पिउनुपर्छ, तिनको आनन्द उठाउनुपर्छ, र तिनलाई आफ्‍नो जीवनका रूपमा, आफू हिँड्ने दिशाका रूपमा, र तयारी सहायता र आपूर्तिका रूपमा स्वीकार गर्नुपर्छ; मानिसहरूले सत्यताका अभिव्यक्ति र मागहरूअनुसार अभ्यास र अनुभव गर्नुपर्छ, अनि तिनीहरू सत्यताले तिनीहरूलाई प्रदान गर्ने विभिन्न माग र सिद्धान्तहरूप्रति समर्पित हुनुपर्छ। यसो गरे मात्र व्यक्तिले जीवन प्राप्त गर्न सक्छ। सत्यताको पछ्याइ मुख्यगरी परमेश्‍वरका वचनहरूको अभ्यास र अनुभव हो, तिनका बारेमा छानबिन, विश्‍लेषण, अनुमान, र शङ्का गर्ने होइन। सत्यता नै मानिसहरूको तयारी सहायता र आपूर्ति भएकोले, र यो तिनीहरूको जीवन हुनसक्‍ने हुनाले, तिनीहरूले सत्यतालाई सबैभन्दा बहुमूल्‍य कुराका रूपमा लिनुपर्छ, किनभने तिनीहरूले जिउन, परमेश्‍वरका मागहरू पूरा गर्न, उहाँको डर मान्न र दुष्टतादेखि अलग बस्न, अनि आफ्नो दैनिक जीवनमा अभ्यासको मार्ग भेट्टाउन र अभ्यासका सिद्धान्तहरू बोध गर्न, यसमार्फत परमेश्‍वरप्रतिको समर्पणता हासिल गर्न सत्यतामाथि नै भर पर्नुपर्छ; मानिसहरूले आफ्‍नो भ्रष्ट स्वभाव फाल्न, अनि मुक्ति दिइने र मानकअनुरूपको सृजित प्राणी बन्‍नका लागि पनि सत्यतामै भर पर्नुपर्छ। यसलाई जुन दृष्टिकोणबाट वा जुन तरिकाले व्यक्त गरिए पनि, सत्यताप्रति मानिसहरूमा सबैभन्दा नहुनुपर्ने मनोवृत्ति भनेको परमेश्‍वरका वचनहरू र सत्यतालाई कुनै उपजका रूपमा वा सजिलै किनबेच गरिने उपभोग्य वस्तुका रूपमा लिनु हो। परमेश्‍वरले सबैभन्दा हेर्न नचाहनुहुने कुरा नै यही हो, र यो साँचो सृजित प्राणीमा सबैभन्दा नहुनुपर्ने व्यवहार र प्रकटीकरण पनि हो।

ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिनुको उद्देश्य र अभिप्राय के हो? तिनीहरू साँच्चिकै के गर्न खोजिरहेका हुन्छन्, र तिनीहरूको मनसाय के हो? जब कुनै व्यापारीले कुनै उपभोग्य वस्तु किन्छ, तब उसको आशा हुन्छ कि त्यो उपभोग्य वस्तुले उसलाई लाभहरू र आफूले चाहेको धेरै पैसा ल्याओस्। त्यसकारण, जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई कुनै उपभोग्य वस्तुका रूपमा लिन्छन्, तिनीहरू निस्सन्देह नै परमेश्‍वरका वचनहरूलाई लाभ र पैसासँग साट्न मिल्ने भौतिक चिजका रूपमा लिइरहेका हुन्छन्। तिनीहरू परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा बहुमूल्य ठान्‍ने, स्विकार्ने, अभ्यास गर्ने, वा अनुभव गर्ने गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरका वचनहरूलाई तिनीहरूले पालना गर्नुपर्ने जीवन मार्ग, वा आफ्ना भ्रष्ट स्वभावहरू फाल्नका लागि तिनीहरूले अभ्यास गर्नैपर्ने सत्यता नै मान्छन्। बरु त्यसको साटो, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिन्छन्। व्यापारीका निम्ति, कुनै पनि उपभोग्य वस्तुको सबैभन्दा ठूलो मूल्य भनेकै त्यसलाई पैसासित, आफूले चाहेको नाफासित साट्नु हो। तसर्थ, जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिन्छन्, तिनीहरूका अभिप्राय र मनसायहरू मूलतः एउटै हुन्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिनुको मतलब तिनीहरू तिनलाई न त खान, पिउन, र आनन्द लिनका लागि न त तिनको अनुभव र अभ्यासका लागि नै प्रयोग गरिरहेका हुन्छन्, बरु तिनलाई जुनसुकै बेला र जहाँसुकै साटफेर र किनबेच गरिने, जोबाट धेरै नाफा पाउन सकिन्छ उसैलाई प्रस्ताव गरिने आफ्नो हातको सामाग्रीका रूपमा लिइरहेका हुन्छन्। जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिन्छन्, शाब्दिक रूपमा बुझ्दा, यसको अर्थ तिनीहरूले परमेश्‍वरका वचनहरूलाई किनबेचको वस्तु, पैसासँग साट्न कारोबारमा प्रयोग गरिने वस्तुका रूपमा लिन्छन्; तिनीहरूले परमेश्‍वरका वचनहरूको किनबेचलाई आफ्नो पेसामा परिणत गर्छन्। शाब्दिक दृष्टिकोणबाट हेर्दा, यो तुरुन्तै प्रस्ट हुन्छ। ख्रीष्टविरोधीहरूका यस्ता कार्य र व्यवहारहरू धिक्कार योग्य हुन्छन्, तिनले मानिसहरूमा विकर्षण र घिन जगाउँछन्। त्यसोभए, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिनुका विशिष्ट प्रकटीकरणहरू के-के हुन्? हामीले सङ्गति गर्ने प्रमुख बुँदा यही हो। ख्रीष्टविरोधीहरूसँग परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिनुका केही निकै स्पष्ट प्रकटीकरणहरू हुन्छन्। त्यो कुरा तिमीहरूलाई अझ प्रस्ट पार्न र अझ बुझ्न सकिने बनाउन, हामी अझै पनि तीबारे पालैपालो छलफल गर्नेछौँ। म किन यो शैली अपनाउँदै छु? काम गर्ने र बोल्ने मेरो धेरै वर्षको अनुभवका आधारमा भन्‍नुपर्दा, धेरैजसो मानिसहरूमा अलमल्ल सोचहरू हुन्छन्, तिनीहरूमा स्वतन्त्र रूपले सोच्ने क्षमता हुँदैन। यसका आधारमा, मैले तिमीहरूलाई त्यसबारे राम्रोसँग सोच्न र मनन गर्न मदत गर्ने, सबैभन्दा सरल र प्रभावकारी विधिबारे सोचेँ, र त्यो के हो भने, जुनसुकै समस्या वा विषयलाई पनि, चाहे त्यो जेसुकै होस्, त्यसलाई पालैपालो व्याख्या गरेर प्रस्ट पार्ने। के यो उचित छ? (छ।) कतिपय मानिसहरू भन्छन्, “यो उत्कृष्ट छ, यो भएपछि हामीले दिमाग खियाउने र धेरै सोच्ने दुःख गर्नुपर्दैन। हामी अत्यन्तै व्यस्त छौँ र हामीसँग त्यसका लागि समय नै छैन! हाम्रा ऊर्जा र सोचहरू ठूला मामलाहरूमा खर्च हुन्छन्, यी मामुली, मसिना कुराहरूमा होइन। तपाईँले हामीलाई यी स-साना मामलाहरूबारे मनन गर्न लगाएर, हामीलाई कम आँकिरहनुभएजस्तो र हाम्रो ठूलो प्रतिभालाई प्रयोग गर्न नसक्नुभएजस्तो देखिन्छ।” कुरा त्यही हो त? (होइन।) त्यसोभए के हो त? (हाम्रो क्षमता यति कम छ कि कहिलेकाहीँ हामीले सत्यता बुझ्नै सक्दैनौँ, अनि हामीलाई परमेश्‍वरले शब्द-शब्द, वाक्य-वाक्य गरेर, विस्तृत रूपमा सङ्गति गरिदिनुपर्छ, ताकि हामीले त्यसलाई अलिकति बुझौँ।) हेर्, मैले अनजानमै तिमीहरूलाई मामलाहरूको वास्तविक स्थिति बुझाएँ, तिमीहरू सबैलाई साँच्चिकै के भइरहेको छ भनेर प्रकाश गरेँ, तर तथ्यहरू तिनै हुन्। मैले खुलासा नगरेको भए नि कुरा त्यही नै हुनेथ्यो। यसो गर्नुबाहेक अरू कुनै उपाय नै छैन। यदि मैले ठूला विषयहरूबारे केवल सरल र सामान्य रूपमा बोलेँ भने, म व्यर्थमा बोलिरहेको र मेहनत खेर फालिरहेको हुनेछु। त्यो त समय खेर फाल्नु मात्र हो, होइन र? अब हामी मूल शीर्षकमा फर्कौँ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा हेर्ने सम्बन्धमा, ख्रीष्टविरोधीहरूले कसरी यसो गर्छन्, र ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू तिरस्कार गर्छन् भन्‍ने कुरालाई पर्याप्त मात्रामा प्रमाणित गर्ने विशिष्ट उदाहरण र प्रकटीकरणहरू के-के हुन् भनेर चरणबद्ध रूपमा व्याख्या गरेर प्रस्ट पार्नका लागि हामी यसलाई धेरै उपशीर्षकहरूमा विभाजन गर्नेछौँ, साथै ख्रीष्टविरोधीहरूसँग वास्तवमै यस्तो सार हुन्छ भनेर पनि पुष्टि गर्नेछौँ। हामी यो विषयवस्तुलाई मुख्य दुई भागमा सङ्गति गर्नेछौँ।

१. परमेश्‍वरका वचनहरूलाई हैसियत, ख्याति र इज्जत प्राप्त गर्ने साधनका रूपमा लिनु

पहिलो मुख्य पक्ष यो हो कि ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिनुको सबैभन्दा आम प्रकटीकरण तिनलाई तिनीहरूको आफ्नै हैसियत, ख्याति, इज्जत प्राप्त गर्ने, र त्योभन्दा पनि बढी भौतिक आनन्द, र त्यसभन्दा पनि बढी पैसा प्राप्त गर्ने औजारका रूपमा प्रयोग गर्नु हो। जब ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरूको सम्पर्कमा आउँछन्, तब तिनीहरूले महसुस यसो गर्छन्, “परमेश्‍वरका वचनहरू महान् छन्। हर वाक्य तर्कसङ्गत र सही छ; यी वचनहरू मानिसहरूले बोल्न सक्दैनन्, र यी बाइबलमा भेट्टाउन सकिँदैनन्।” विगतका दुई युगमा, परमेश्‍वरले यी वचनहरू बोल्नुभएन। यस्ता खुलस्त र स्पष्ट रूपमा बोलिएका वचनहरू न त पुरानो करारमा न नयाँ करारमा नै छन्। बाइबलमा परमेश्‍वरका वचनहरूको अत्यन्तै सीमित भाग मात्र अभिलिखित छ। अहिले परमेश्‍वरले जे भनिरहनुभएको छ त्यसलाई हेर्दा, त्यसको विषयवस्तु अत्यन्तै समृद्ध छ। अनि त्यसपछि ख्रीष्टविरोधीहरू हृदयमा ईर्ष्या र डाह महसुस गर्छन्, र भित्रभित्रै षड्यन्त्र रच्न थाल्छन्: “यो साधारण व्यक्तिले यति धेरै कुरा भन्‍न सक्छ; मैले पनि कहिले यी वचनहरू बोल्न सक्छु होला? मैले पनि, यस व्यक्तिले झैँ, अनन्त रूपमा परमेश्‍वरका वचनहरू कहिले बोल्न सक्छु होला?” तिनीहरूको हृदयमा यस्तो आवेग र कामना हुन्छ। यो आवेग र कामनालाई मूल्याङ्कन गर्दा, ख्रीष्टविरोधीहरू हृदयमा परमेश्‍वरले बोल्नुभएका यी वचनहरूप्रति ईर्ष्या र श्रद्धा महसुस गर्छन्। म “ईर्ष्या” र “श्रद्धा” शब्दहरू प्रयोग गर्छु; यी दुई शब्दको प्रयोगको दृष्टिले मैले यो भन्न खोजेको हो कि ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यता मान्दैनन्, र तिनलाई स्विकार्ने अभिप्राय राख्दैनन्, बरु ती वचनहरूका प्रचुर विषयवस्तुहरू, बृहत् अंशहरू, अनि मानव पुग्नै नसक्ने गहिराइ प्रतिबिम्बित गर्ने ती वचनहरूको गहनताको समेत ईर्ष्या गर्छन्—र त्यसभन्दा बढी, ती वचनहरू तिनीहरू आफैले बोल्न नसक्ने वचनहरू हुन् भनेर ईर्ष्या गर्छन्। “ईर्ष्या” का यी पक्षहरूबाट, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका यी वचनहरूलाई ईश्‍वरत्वको अभिव्यक्तिका रूपमा, र सत्यताका रूपमा, वा परमेश्‍वरले मानवजातिलाई जेद्वारा मुक्ति दिन र जे आपूर्ति गर्न चाहनुहुन्छ त्यो जीवन र त्यो सत्यताका रूपमा लिँदैनन् भन्‍ने प्रस्ट हुन्छ। यदि ख्रीष्टविरोधीहरूले यी वचनहरूको ईर्ष्या गर्न सक्छन् भने, हृदयमा, तिनीहरू यस्ता वचनहरू व्यक्त गर्ने व्यक्ति बन्‍ने इच्छा पनि राख्छन् भन्‍ने प्रस्ट हुन्छ। यसका आधारमा, धेरै ख्रीष्टविरोधीहरूले दैनिक रूपमा प्रार्थना गरेर, दैनिक रूपमा यी वचनहरू पढेर, टिपोटहरू राखेर, कण्ठ पारेर, सारांश गरेर, अनि व्यवस्थित गरेर पर्दापछाडि एकदमै ठूलो मेहनत लगाएका हुन्छन्। तिनीहरूले अनगिन्ती टिपोटहरू बनाएर, अनि आत्मिक भक्तिका क्रममा अनेकौँ अन्तर्ज्ञानहरू अभिलेख गरेर, साथै यी वचनहरू याद गर्न अनगिन्ती प्रार्थनाहरू गरेर परमेश्‍वरले बोल्नुभएका यी वचनहरूमा एकदमै धेरै नै काम गरेका हुन्छन्। तिनीहरूले यो सब गर्नुको उद्देश्य के हो? यसको उद्देश्य कुनै दिन तिनीहरूलाई एक्कासि ठूलो प्रेरणा मिल्न सकोस् र बाँधको ढोका खुलेझैँ, तिनीहरूले परमेश्‍वरले बोल्नुभएजस्ता वचनहरू अनन्त रूपमा बोल्न सकून् भन्‍ने हो; तिनीहरू परमेश्‍वरका वचनहरूले झैँ, तिनीहरूका वचनहरूले पनि मानिसहरूका खाँचो पूर्ति गर्न, मानिसहरूलाई जीवन प्रदान गर्न, मानिसहरूले हासिल गर्नुपर्ने कुरा प्रदान गर्न, र मानिसहरूबाट मागहरू गर्न सकून् भन्‍ने आशा राख्छन्। त्यसको उद्देश्य, देहधारी परमेश्‍वरले झैँ, तिनीहरूले परमेश्‍वरको दृष्टिकोण र हैसियतमा उभिन, र परमेश्‍वरकै भाव र बोल्ने शैलीमा उहाँले बोल्नुभएसरह कुराहरू चाहेअनुसार बोल्न सकून् भन्‍ने हो। ख्रीष्टविरोधीहरूले यसमा धेरै मेहनत लगाएका हुन्छन्, र तिनीहरूमध्ये कतिपयले त आफूले भन्‍न चाहेका वचनहरू, परमेश्‍वरले तिनीहरूलाई दिनुहोला भनेर तिनीहरूले प्रतीक्षा गरिरहेका वचनहरू अभिलेख गर्न प्राय: गोप्य रूपमा नोटबुकहरूसमेत निकाल्छन् भनेर भन्‍नु अतिशयोक्ति हुँदैन। तर, ख्रीष्टविरोधीहरूले चाहे जे गरे पनि, तिनीहरूका कामनाहरू सधैँ अपूरो नै रहन्छन्, तिनीहरूका चाहनाहरू कहिल्यै साकार हुँदैनन्। तिनीहरूले जतिसुकै मेहनत लगाए पनि, जतिसुकै प्रार्थना गरे पनि, परमेश्‍वरका वचनहरू जतिसुकै अभिलेख गरेर राखे पनि, वा तिनीहरूले तिनलाई जसरी कण्ठस्थ वा व्यवस्थित गरे पनि, त्यो सबै व्यर्थ हुन्छ। परमेश्‍वरले तिनीहरूमार्फत एउटा पनि वाक्य बोल्नुहुन्‍न, न त परमेश्‍वरले तिनीहरूलाई एकपटक पनि उहाँको स्वर सुन्‍न अनुमति नै दिनुभएको छ। तिनीहरूले जतिसुकै तृष्णा गरे पनि वा तिनीहरू जतिसुकै व्यग्र बने पनि, तिनीहरूले परमेश्‍वरका वचनहरूको एउटा पनि वाक्य बोल्न नै सक्दैनन्। तिनीहरू जति धेरै व्यग्र र ईर्ष्यालु बन्छन्, र जति धेरै आफ्नो लक्ष्य हासिल गर्न चुक्छन्, त्यति नै धेरै भित्री रूपमा मुरमुरिन्छन्। तिनीहरू के कुराले मुरमुरिन्छन्, र किन यति व्यग्र हुन्छन्? तिनीहरू परमेश्‍वरका वचनहरूले धेरैभन्दा धेरै मानिसहरूलाई परमेश्‍वरसामु ल्याएर परमेश्‍वरको न्याय र सजाय स्विकार्न, र उहाँको वचनलाई जीवनका रूपमा स्विकार्न लगाइरहेका देख्छन्, तर तिनीहरूको उपस्थितिमा, तिनीहरूको पाउ परेर आराधना वा प्रशंसा गर्ने एउटा पनि व्यक्ति हुँदैन। यही कुराले तिनीहरूलाई व्यग्र र मुरमुरिने बनाउँछ। तिनीहरूको मुरमुराइ र व्यग्रतामा, ख्रीष्टविरोधीहरूले अझै पनि यो मात्र सोच्न र मनन गर्न सक्छन्: “यी मानिसहरू किन परमेश्‍वरको घरमा आफ्नो कर्तव्य पूरा गर्छन्? गैरविश्‍वासी संसारको तुलनामा तिनीहरू परमेश्‍वरको घरमा आउँदा किन फरक हुन्छ? किन धेरैजसो मानिसहरू, परमेश्‍वरको घरमा आएपछि, उचित रूपमा व्यवहार गर्न थाल्छन् र झन्झन् राम्रो बन्छन्? किन धेरैजसो मानिसहरू पारितोषिकबिना नै परमेश्‍वरको घरमा आफूलाई समर्पित गर्छन् र मूल्य तिर्छन्, र काटछाँट गरिँदासमेत तिनीहरू निस्केर जाँदैनन्, र कति त निकाला वा निष्कासन गरिएपछि पनि निस्केर जाँदैनन्? मूलतः, एउटै मात्र कारण परमेश्‍वरका वचनहरू हो, यो ‘वचन देहमा देखा पर्नुहुन्छ’ भन्‍ने पुस्तकको प्रभाव र त्यसले खेलेको भूमिका हो।” जब ख्रीष्टविरोधीहरूले यो कुरा देख्छन्, तब तिनीहरूले परमेश्‍वरका वचनहरूको झनै ईर्ष्या गर्छन्। त्यसकारण, ठूलो मेहनत लगाएपछि पनि परमेश्‍वरका वचनहरू बोल्न वा परमेश्‍वरको मुखपात्र बन्‍न नसकेपछि, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूतिर ध्यान मोड्छन्: “मैले परमेश्‍वरले भनेका वचनहरूबाहेक अरू वचनहरू बोल्न नसके पनि, यदि मैले परमेश्‍वरका वचनहरूसित मिल्ने वचनहरू बोल्न सकेँ भने—ती केवल धर्मसिद्धान्त वा खोक्रा भए पनि—मानिसहरूलाई ती कुराहरू सही लागेसम्म, र ती परमेश्‍वरका यी वचनहरूसित मिल्दो देखिएसम्म, के मैले मानिसहरूमाझ एउटा स्थान सुरक्षित गर्न सक्दिनँ र? के म तिनीहरूमाझ दृढ भएर उभिन सक्दिनँ र? अथवा यदि मैले बारम्बार ‘वचन देहमा देखा पर्नुहुन्छ’ भन्‍ने पुस्तकका वचनहरू प्रचार र व्याख्या गरेँ, मानिसहरूलाई मदत गर्न प्रायः यी वचनहरू प्रयोग गरेँ भने, र मैले भन्‍ने र प्रचार गर्ने सबथोक परमेश्‍वरका वचनहरूबाट आएझैँ र सही सुनियो भने, के मानिसहरूमाझ मेरो हैसियत झन्झन् स्थिर बन्‍नेछैन र? के मैले तिनीहरूमाझ अझ बढी प्रतिष्ठा पाउनेछैनँ र?” यो सोचेर, ख्रीष्टविरोधीहरू हैसियत प्राप्त गर्ने, अझ ठूलो ख्याति र जयजयकार प्राप्त गर्ने आफ्ना चाहनाहरू साकार हुने मार्ग भेटिएको महसुस गर्छन्, र तिनीहरू यो कुरा हासिल गर्ने आशा देख्छन्। यो आशा देखेपछि, ख्रीष्टविरोधीहरू हृदयमा गोप्य रूपमा प्रसन्न महसुस गर्छन्: “म कति चलाख छु? यो कुरा अरू कसैले थाहा पाएको छैन; अरूलाई यो उपाय किन थाहा छैन? म अत्यन्तै अक्कलमन्द छु! तर म जतिसुकै चलाख भए पनि, मैले यसबारे कसैलाई भन्‍न मिल्दैन; मलाई हृदयमा यो कुरा थाहा हुनु नै पर्याप्त छ।” मनमा यस्तो लक्ष्य र योजना राखेर, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूमा गम्भीर मेहनत लगाउन थाल्छन्। तिनीहरू यसो सोच्छन्, “पहिला, म परमेश्‍वरका वचनहरूलाई झलक्क हेर्थेँ, यतिकै सुन्‍ने, र मनमा जे आउँछ त्यही बोल्ने गर्थेँ। अब मैले आफ्नो रणनीति परिवर्तन गर्नुपर्छ; अबदेखि मैले त्यसो गर्न मिल्दैन, त्यो समयको बरबादी हो। पहिला त्यस तरिकाले गर्दा त्यसले कुनै नतिजाहरू दिएन; त्यसरी नै कार्य गर्न जारी राख्नु साँच्चै मूर्खता हुनेछ!” त्यसैले, तिनीहरू आफूलाई सम्हाल्छन्, परमेश्‍वरका वचनहरूमा मेहनत लगाउन र आफ्ना क्षमताहरूको भरपुर प्रदर्शन गर्न दृढ हुन्छन्। अनि, आफ्ना क्षमताहरूको भरपुर प्रदर्शन गर्नका लागि ख्रीष्टविरोधीहरूले कस्ता कार्यहरू गर्छन्? तिनीहरूले परमेश्‍वरको बोल्ने शैली, र उहाँको बोलीको भाव छानबिन गर्छन्, साथै हरेक चरण र अवधिमा परमेश्‍वरका वचनहरूको विशिष्ट विषयवस्तुको पनि छानबिन गर्छन्। त्योसँगसँगै, तिनीहरू परमेश्‍वरका यी वचनहरूलाई कसरी व्याख्या गर्ने, र परमेश्‍वरका वचनहरू प्रचार गर्दा, कसरी तिनलाई मानिसहरूले तिनीहरूलाई प्रशंसा गर्ने र मूर्तिपूजा गर्ने तरिकाले बोल्ने र व्याख्या गर्ने भनी तयारी पनि गर्छन्। तसर्थ, ख्रीष्टविरोधीहरूले थोरैथोरै गर्दै, परमेश्‍वरका वचनहरूमा वास्तवमै धेरै मेहनत लगाएका हुन्छन्। तर, एउटा कुरा निश्‍चित हुन्छ: यो मेहनतपछाडिका तिनीहरूका मनसायहरू गलत र तिनीहरूका अभिप्रायहरू दुष्ट हुने हुनाले, तिनीहरूले बोल्ने शब्दहरू, अरूले जसरी सुने पनि, ती धर्मसिद्धान्त मात्र हुन्छन्, ती परमेश्‍वरको वाणीबाट नक्‍कल गरिएका शब्‍द र वाक्यांशहरू मात्र हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूमा जतिसुकै मेहनत लगाए पनि, तिनीहरू कुनै पनि व्यक्तिगत लाभ हासिल गर्दैनन्। कुनै पनि लाभ हासिल नहुनुको अर्थ के हो? यसको अर्थ तिनीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा लिँदैनन् भन्‍ने हो। तिनीहरूले अभ्यास गर्दैनन्, प्रचार मात्र गर्छन्, त्यसैले कसैले पनि तिनीहरूमा कुनै परिवर्तन देख्दैनन्। तिनीहरूका त्रुटिपूर्ण सोच र दृष्टिकोणहरू परिवर्तन हुँदैनन्, तिनीहरूका जीवनप्रतिका गलत दृष्टिकोणहरू परिवर्तन हुँदैनन्, तिनीहरूसँग आफ्नै भ्रष्ट स्वभावहरूबारे कुनै प्रकारको बुझाइ हुँदैन, र तिनीहरू परमेश्‍वरले वर्णन गर्नुभएका मान्छेका विभिन्‍न स्थितिहरूसित आफूलाई तुलना गर्न पूर्णतः असफल हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई जतिसुकै छानबिन गरे पनि, तिनीहरूमा दुइटा मात्र परिणामहरू देखिन्छन्: पहिलो, तिनीहरूले बोल्ने परमेश्‍वरका वचनहरू सही भए पनि, र यी वचनहरूबारे तिनीहरूका व्याख्या गलत नभए पनि, तैँले तिनीहरूमा कुनै पनि परिवर्तन देख्न सक्दैनस्। दोस्रो, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई जतिसुकै जोरदार रूपमा प्रवर्धन र प्रचार गरे पनि, तिनीहरूमा कुनै पनि प्रकारको आत्मज्ञान हुँदैन। यो प्रस्ट रूपमा अवलोकन गर्न सकिन्छ। ख्रीष्टविरोधीहरूले यस्तो व्यवहार प्रस्तुत गर्नुको कारण के हो भने, तिनीहरूले अरूलाई परमेश्‍वरका वचनहरू बारम्बार प्रवर्धन गर्ने र प्रचार गर्ने भए पनि, तिनीहरू आफैले चाहिँ परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर स्विकार्दैनन्। यी वचनहरूलाई तिनीहरू आफैले स्विकारेका हुँदैनन्; तिनीहरू आफ्ना गोप्य मनसायहरू हासिल गर्न मात्र तिनलाई प्रयोग गर्न चाहन्छन्। तिनीहरू परमेश्‍वरका वचनहरू प्रचार गरेर आफूले चाहेका हैसियत र लाभहरू प्राप्त गर्ने आशा गर्छन्, अनि यदि मानिसहरूले तिनीहरूलाई परमेश्‍वर भए झैँ गरी व्यवहार र आराधना गर्छन् भने, तिनीहरूका लागि त्यो सबैभन्दा उत्तम हुनेथियो। तिनीहरूले अहिले नै यो उद्देश्य वा नतिजा हासिल गर्न नसके पनि, हरेक ख्रीष्टविरोधीको अन्तिम लक्ष्य यही हुन्छ।

ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूमा धेरै मेहनत लगाएका हुन्छन्; यो सुनेर कतिपय मानिसहरूले गलत बुझेर प्रश्‍न सोध्‍न सक्छन्, “के यसको मतलब परमेश्‍वरका वचनहरूमा मेहनत लगाउने सबै ख्रीष्टविरोधीहरू हुन् त?” यदि तैँले यसलाई यसरी अर्थ्याउँछस् भने, तँमा आत्मिक बुझाइ छैन। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूमा लगाउने मेहनत र सत्यता पछ्याउनेहरूको मेहनतबीच के भिन्‍नता हुन्छ? (अभिप्राय र उद्देश्य फरक हुन्छन्। ख्रीष्टविरोधीहरू आफ्नै फाइदा र हैसियतका लागि, आफ्ना व्यक्तिगत महत्त्वाकाङ्क्षाहरू पूरा गर्न परमेश्‍वरका वचनहरूमा मेहनत लगाउँछन्।) ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूमा के-कस्ता मेहनतहरू लगाउँछन्? तिनीहरूले आफ्ना धारणाहरूअनुरूपका परमेश्‍वरका वचनका केही भागहरू कण्ठ पार्छन्, मानव भाषा प्रयोग गरेर परमेश्‍वरका वचनहरू व्याख्या गर्न सिक्छन्, र केही आत्मिक टिपोट र अन्तर्ज्ञानहरू लेख्छन्। तिनीहरूले परमेश्‍वरका विभिन्‍न अभिव्यक्तिहरूको निचोड निकाल्ने, र तिनलाई सारांश र व्यवस्थित गर्ने पनि गर्छन्, जस्तै मानिसहरूलाई तुलनात्मक रूपमा मानव धारणाहरूअनुरूप छन् भन्‍ने लागेका भनाइहरू, परमेश्‍वरको बोल्‍ने भाव भएको भनेर सजिलै बोध गरिने भनाइहरू, रहस्यहरूबारेका केही वचनहरू, केही समय मण्डलीमा प्रचार गरिएका परमेश्‍वरका केही चर्चित वचनहरू। कण्ठ पार्ने, व्यवस्थित गर्ने, सारांश गर्ने र अन्तर्ज्ञानहरू लेख्नेबाहेक, अवश्य नै, केही अनौठा क्रियाकलापहरूलगायतका थप कुराहरू पनि हुन्छन्। ख्रीष्टविरोधीहरूले हैसियत प्राप्त गर्न, आफ्नो महत्त्वाकाङ्क्षा पूरा गर्न, र मण्डलीलाई नियन्त्रणमा लिने र परमेश्‍वर हुने लक्ष्य हासिल गर्न जुनसुकै मूल्य तिर्नेछन्। तिनीहरू उच्‍च सुनिने प्रवचनहरू दिन चाहिने धर्मसिद्धान्तले आफूलाई सुसज्‍जित गर्नका लागि, राति अबेरसम्‍म काम गर्छन् र एकाबिहानै उठ्छन्, मध्यरातसम्‍म पनि सुत्दैनन् र बिहान सबेरै उठेर आफ्‍नो प्रवचन अभ्यास गर्छन्, र तिनीहरू अरूले भनेका विलक्षण कुराहरूसमेत लेखेर राख्छन्। तिनीहरू यी उच्च सुनिने प्रवचनहरू कसरी वाचन गर्ने भनी हरेक दिन मनन गर्छन्, परमेश्‍वरका कुन वचनहरू छान्दा सबैभन्दा उपयोगी हुनेछ, र त्यसले परमेश्‍वरका चुनिएका मानिसहरूमा आदर र प्रशंसा जगाउनेछ भनेर चिन्तन गर्छन्, अनि त्यसपछि ती वचनहरू कण्ठ पार्छन्। त्यसपछि, तिनीहरू ती वचनहरूलाई कसरी तिनीहरूको गहन बुद्धि र तेजस देखाउने तरिकाले अर्थ्याउने भनी विचार गर्छन्। परमेश्‍वरको वचनलाई साँच्चिकै आफ्नो हृदयमा छाप पार्ने बनाउनका निम्ति, तिनीहरू उहाँको वचन अझ थुप्रै पटक सुन्न लागिपर्छन्। तिनीहरू कलेजमा नाम निकाल्‍न प्रतिस्पर्धा गर्ने ती विद्यार्थीहरूले जस्तै मेहनत गरेर यो सबै गर्छन्। जब कसैले राम्रो, वा केही ज्योति प्रदान गर्ने, वा केही सिद्धान्त प्रदान गर्ने प्रवचन दिन्छ, तब ख्रीष्टविरोधीले त्यसलाई लेखेर सङ्कलन गर्नेछ र त्यसलाई आफ्‍नै प्रवचन बनाउनेछ। ख्रीष्टविरोधीले जति मेहनत गर्नु परे पनि त्यो उसका लागि धेरै हुँदैन। त्यसो भए, तिनीहरूको यो मेहनतपछाडिको मनसाय र अभिप्राय के हुन्छ? त्यो हो परमेश्‍वरका वचनहरू प्रचार गर्न, ती स्पष्ट रूपमा र सहजताको साथ बोल्‍न, तिनलाई फरर भन्‍न सक्षम बन्‍नु हो, ताकि अरूले तिनीहरूभन्दा त्यो ख्रीष्टविरोधी धेरै आत्मिक छ, परमेश्‍वरका वचनहरूलाई बढी बहुमूल्य मान्छ, र परमेश्‍वरलाई धेरै प्रेम गर्छ भन्‍ने देख्‍न सकून्। यसरी, ख्रीष्टविरोधीले आफ्‍ना वरिपरिका केही मानिसहरूको प्रशंसा र आराधना प्राप्त गर्न सक्छ। उसले यसो गर्नु सार्थक छ र यसका लागि जुनसुकै प्रयास, मूल्य, वा कठिनाइ उचित हुन्छ भन्‍ने ठान्छ। दुई, तीन, वा पाँच वर्षभन्दा बढी यी मेहनतहरू लगाएपछि, ख्रीष्टविरोधीहरू बिस्तारै परमेश्‍वरको बोल्ने तरिका अनि उहाँका वचनहरूले भन्‍ने विषयवस्तु र भावसँग झन्झन् बढी परिचित बन्दै जान्छन्; कतिपय ख्रीष्टविरोधीहरूले त मुख खोल्दैपिच्छे परमेश्‍वरका वचनहरूको नक्कल गर्न वा तिनका केही वाक्यहरू वाचन गर्नसमेत सक्छन्। पक्कै पनि, यो तिनीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा होइन। सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ के हो त? तिनीहरू आफूले चाहेको बेला परमेश्‍वरका वचनहरूको नक्कल गर्न र तिनलाई वाचन गर्न सक्ने भएकाले, तिनीहरूको बोल्ने शैली, भाव, र स्वरको आरोह-अवरोह समेत झन्झन् परमेश्‍वरको जस्तो, र झन्झन् ख्रीष्टको जस्तो बन्छन्। ख्रीष्टविरोधीहरू यसबारे हृदयमा खुसी मान्छन्। तिनीहरू केको खुसी मानिरहेका हुन्छन्? तिनीहरूलाई झन्झन् परमेश्‍वर बनेर धेरै मानिसहरूले तिनीहरूलाई मूर्तिपूजा गरेर घेरेमा कति गजब हुनेथ्यो—त्यो कति गौरवपूर्ण हुनेथ्यो भन्‍ने अनुभूति गर्छन्! तिनीहरूले यी सारा उपलब्धिहरूको श्रेय परमेश्‍वरका वचनहरूलाई दिन्छन्। तिनीहरू परमेश्‍वरका वचनहरूले नै तिनीहरूलाई अवसर दिएको, प्रेरित गरेको हो, र अझ महत्त्वपूर्ण रूपमा परमेश्‍वरका वचनहरूकै कारण तिनीहरूले परमेश्‍वरको बोल्ने शैली र भाव नक्कल गर्न सिकेका हुन् भन्‍ने विश्‍वास गर्छन्। यसले अन्ततः तिनीहरूलाई झन्झन् परमेश्‍वरजस्तै बनेको, र झन्झन् परमेश्‍वरको पहिचान र हैसियतनजिक पुगेको महसुस गराउँछ। अझ बढी, यसले तिनीहरूलाई परमेश्‍वरको बोल्ने तरिका र भाव नक्कल गर्न, परमेश्‍वरको बोल्ने शैली र आरोह-अवरोहसहित बोल्न र जिउन सक्षम हुनु, अत्यन्तै आनन्दमयी हुने, त्यो तिनीहरूको सबैभन्दा आनन्ददायी क्षणहरू बन्‍ने महसुस गराउँछ। ख्रीष्टविरोधीहरू यो बिन्दुमा पुगिसकेका हुन्छन्—के तिमीहरू यो खतरनाक हो भन्छौ? (भन्छौँ।) के कुरामा खतरा छ? (तिनीहरू परमेश्‍वर हुन चाहन्छन्।) पावल जस्तै, परमेश्‍वर हुन चाहनु खतरनाक हो, जसले आफ्ना लागि त जिउनु नै ख्रीष्ट हो भनेर भनेको थियो। व्यक्तिले यस्ता शब्दहरू बोलेपछि उसले छुटकारा पाउनै सक्दैन। ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरूलाई परमेश्‍वर बन्‍ने मार्गका रूपमा लिन्छन्। यो प्रक्रियामा, ख्रीष्टविरोधीहरूले केके गरेका छन्? तिनीहरूले परमेश्‍वरका वचनहरूमा धेरै मेहनत लगाएका छन्, धेरै ऊर्जा र समय खर्चेका छन्। यो अवधिमा, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई बारम्बार पढेर, कण्ठ पारेर, अनि व्यवस्थित गरेर तिनको छानबिन र विश्‍लेषण गरेका छन्। तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दा उहाँको बोल्ने तरिका र भावको समेत नक्कल गरेका छन्, विशेषगरी परमेश्‍वरको वाणीमा प्राय प्रयोग हुने वाक्यांशहरूको नक्‍कल गरेका छन्। यी कार्यहरूको सार के हो? यहाँ, म यसलाई व्यापारीले थोक मूल्यमा सामान किनेको सारका रूपमा व्याख्या गर्छु; भन्‍नुको मतलब, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो स्वामित्वको वस्तु बनाउन सबैभन्दा सस्तो तरिका प्रयोग गर्छन्। जब तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्छन्, तिनीहरूले तिनलाई सत्यताका रूपमा स्विकार्दैनन्, न त तिनलाई मानिसहरूले प्रवेश गर्नुपर्ने मार्गका रूपमै स्विकार्ने र हेर्ने गर्छन्। त्यसको साटो, तिनीहरूले आफैलाई यी वचनहरू व्यक्त गर्ने व्यक्तिमा परिणत गर्ने प्रयास गर्दै, यी वचनहरू, र उहाँको बोल्ने तरिका र भाव कण्ठ पार्न सारा उपायहरू लगाएर कोसिस गर्छन्। जब ख्रीष्टविरोधीहरू परमेश्‍वरको भाव र बोल्ने तरिका नक्कल गर्न, र यो बोल्ने शैली र भावलाई आफ्ना बोली र कार्यहरूमा पूर्ण रूपमा प्रयोग गर्न सक्षम हुन्छन्, तब मानिसहरूमाझ जिउँदै, तिनीहरू आफ्नो कर्तव्य बफादारीपूर्वक गर्ने, सिद्धान्तहरूअनुसार कामकुरा गर्ने, वा परमेश्‍वरप्रति बफादार हुने उद्देश्य राख्दैनन्। त्यसको साटो, परमेश्‍वरको बोल्ने भाव र शैली नक्कल गरेर, अनि परमेश्‍वरका यी वचनहरू प्रचार गरेर, तिनीहरू मानिसहरूको हृदयका गहिराइमा प्रवेश गर्न र मानिसहरूको आराधनाको पात्र बन्‍न चाहन्छन्। तिनीहरू मानिसहरूको हृदयमा सिंहासन चढ्ने र राजाका रूपमा शासन गर्ने, अनि मानिसहरूका सोच र व्यवहारहरूमाथि चालबाजी गर्ने, र त्यसमार्फत मानिसहरूलाई नियन्त्रणमा राख्ने लक्ष्य हासिल गर्ने आकाङ्क्षा राख्छन्।

यदि हामीले ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूमा मेहनत लगाउनुलाई व्यापारीहरूले सस्तोमा परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुहरूका रूपमा किनेको रूपमा वर्णन गर्‍यौँ भने, के ख्रीष्टविरोधीहरूले परमेश्‍वरको बोलीको अनुकरण गर्नु, परमेश्‍वरका वचनहरू प्रचार गर्नका लागि उहाँको बोल्ने तरिका र भाव प्रयोग गर्नु भनेको परमेश्‍वरको वचनलाई उपभोग्य वस्तुका रूपमा बेच्नुसरह होइन र? (हो।) कुनै पनि व्यापारीले पछि नबेच्नलाई सामानहरू किन्दैन। उसले ती सामानहरू किनेर आफ्नो स्वामित्वमा राख्नुको उद्देश्य ती सामानहरूबाट उच्च नाफा प्राप्त गर्नु, तिनलाई धेरै पैसामा साट्नु हो। तसर्थ, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूमा लगाउने व्यापक मेहनत र तीप्रति तिनीहरूको मनोवृत्ति भनेको ख्रीष्टविरोधीहरूले व्यापारीहरूले जस्तै सबैभन्दा सस्तो, सबैभन्दा कम मूल्यको, र सबैभन्दा उपयुक्त विधि प्रयोग गरेर तिनलाई किन्‍नु, अनि तिनलाई आफ्नै सम्पत्ति बनाउनु, र त्यसपछि आफूले चाहना राखेका फाइदाहरू प्राप्त गर्न तिनलाई उच्च मूल्यमा बेच्नु हो। अनि ती फाइदाहरू के-के हुन्? ती मानिसहरूले गर्ने उच्च सम्मान, अन्धोभक्ति, श्रद्धा, र विशेषतः तिनीहरूको पछ्याइ हो। त्यसकारण, मण्डलीमा मूलभूत रूपमा परमेश्‍वरका वचनहरू अभ्यास नगर्ने र आफैलाई नचिन्‍ने व्यक्तिका धेरै अनुयायीहरू हुने, उसमा भर पर्ने र उसलाई अन्धोश्रद्धा गर्ने धेरै मानिसहरू हुने घटना देखिनु सामान्य हो। यसको कारण के हो? यसको कारण के हो भने यो व्यक्तिको बोली चिप्लो हुन्छ, ऊ वाक्पटु हुन्छ, र उसले मानिसहरूलाई सजिलै बहकाउँछ। उसले परमेश्‍वरका वचनहरू अभ्यास गर्दैन, न त उसले सिद्धान्तहरूअनुसार कामकुरा नै सम्हाल्छ, र ऊ मण्डलीको काम र माथिका प्रबन्धहरू कार्यान्वयन गर्न पनि सक्दैन। तैपनि उसले किन अझै पनि कतिपय मानिसहरूमा राम्रो छाप छोड्न सक्छ त? उसलाई साँच्चिकै केही आइपर्दा, किन धेरै मानिसहरूले उसको ढाकछोप र रक्षा गर्छन्? ऊ अगुवा हुँदा किन कतिपय मानिसहरूले उसको प्रतिरक्षा गर्छन्? कतिपय मानिसहरू किन उसको बर्खासीमा बाधक बनेर विरोध गर्छन्? दोषैदोषले, शैतानको भ्रष्ट स्वभावले भरिएको, र कहिल्यै सत्यता अभ्यास नगर्ने व्यक्तिले मण्डलीमा अझै पनि यस्तो व्यवहार पाउनुको कारण भनेको यो व्यक्ति बोल्नमा अत्यन्तै सिपालु, ढोँग गर्न अत्यन्तै जान्‍ने, र मानिसहरूलाई बहकाउन अति निपुण भएकाले मात्र हो—ख्रीष्टविरोधीहरू ठ्याक्कै यस्तै मानिसहरू हुन्। त्यसोभए, के हामी यस्ता मानिसहरू ख्रीष्टविरोधी हुन् भनेर भन्‍न सक्छौँ? सक्छौँ, यस्ता मानिसहरू एकदम ख्रीष्टविरोधी नै हुन्। तिनीहरू प्रायः परमेश्‍वरका वचनहरू पढ्छन्, बारम्बार तिनलाई कण्ठ पार्छन् र प्रचार गर्छन्, अरूलाई भाषण दिन र काटछाँट गर्न प्राय: परमेश्‍वरका वचनहरू प्रयोग गर्छन्, र परमेश्‍वरको दृष्टिकोण र अडान धारण गरेर मानिसहरूलाई भाषण दिन्छन्, उनीहरूलाई आफूप्रति पूर्ण रूपमा आज्ञाकारी र अनुपालन गर्ने बनाउँछन्, र ठूल्ठूला धर्मसिद्धान्तहरू बोलेर मानिसहरूलाई निःशब्द बनाउँछन्। तैपनि यस्ता मानिसहरू तिनै हुन्, जो आफूलाई कहिल्यै चिन्दैनन् र कामकुराहरू सिद्धान्तअनुसार कहिल्यै सम्हाल्दैनन्। यदि तिनीहरू अगुवा हुन् भने, तिनीहरूभन्दा माथिल्ला अगुवाहरू निष्प्रभावी हुन्छन्। तिनीहरूको अगुवाइमा रहेको मण्डलीको परिस्थिति बुझ्‍न असम्भव हुन्छ। तिनीहरू हुँदा, परमेश्‍वरको घरका कार्य प्रबन्धहरू र परमेश्‍वरको घरले तय गरेका सिद्धान्त र मागहरू लागु गर्न सकिँदैन। के यस्ता मानिसहरू ख्रीष्टविरोधी होइनन् र? के तिनीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा लिन्छन् र? (अहँ, लिँदैनन्।) तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्नमा मेहनत लगाएका हुन्छन् र तीमध्ये केही वाचन गर्न पनि सक्छन्। भेलाहरूमा सङ्गतिका अवधिमा, तिनीहरूले प्राय: परमेश्‍वरका वचनहरू उल्लेख गर्छन्, र फुर्सदको समयमा, तिनीहरूले परमेश्‍वरका वचनहरूको वाचनको रेकर्ड सुन्छन्। अरूसँग कुरा गर्दा, तिनीहरू परमेश्‍वरका वचनहरू अनुकरण मात्र गर्छन् र त्यसबाहेक अरू केही बोल्दैनन्। तिनीहरूले प्रचार गर्ने र भन्‍ने सबथोक त्रुटिरहित हुन्छ। बाहिरबाट हेर्दा अति सिद्ध देखिने यस्तो व्यक्ति, तथाकथित यस्तो “सच्चा व्यक्ति” ले परमेश्‍वरको घरका कामका प्रबन्धहरू, मागहरू, र सिद्धान्तहरू ऊकहाँ आइपुग्दा तिनलाई ठप्प तुल्याउँछ। उसका मुनिका मानिसहरूले ऊबाहेक अरू कसैलाई चिन्दैनन्। उसका मुनिकाहरूले, उसलाई र स्वर्गको अस्पष्ट परमेश्‍वरलाई पूजा गर्नुबाहेक अरू कसैको कुरा सुन्दैनन् र सबैलाई बेवास्ता गर्छन्। के यो ख्रीष्टविरोधी होइन र? यो सबै हासिल गर्न उसले कस्ता विधिहरू प्रयोग गरेको छ? उसले परमेश्‍वरका वचनहरूलाई शोषण गरेको छ। आफ्नो आस्थामा अन्योलमा रहेकाहरू, आत्मिक बुझाइ नभएकाहरू, अज्ञानीहरू, सोचमा अलमल्ल रहेकाहरू, साथै सत्यता नपछ्याउनेहरू, अविश्‍वासीहरू, र हावा जता बहन्छ त्यतै बहनेहरू, ख्रीष्टविरोधीलाई आत्मिक व्यक्ति मान्छन्। तिनीहरू ख्रीष्टविरोधीले प्रचार गरेका शब्द र धर्मसिद्धान्तहरूलाई सत्यता वास्तविकताका रूपमा लिन्छन् र ख्रीष्टविरोधीलाई आफूले पछ्याउनुपर्ने पात्र मान्छन्। ख्रीष्टविरोधीलाई पछ्याउने क्रममा, तिनीहरू आफूले परमेश्‍वरलाई पछ्याइरहेको विश्‍वास गर्छन्। तिनीहरूले परमेश्‍वरलाई पछ्याउने कार्यलाई प्रतिस्थापित गर्न ख्रीष्टविरोधीलाई पछ्याउने कार्य प्रयोग गर्छन्। कतिपय मानिसहरूले यस्तोसमेत भन्छन्, “हाम्रो अगुवाले अहिलेसम्म बोलेका वा सङ्गति गरेको छैन; हामीले परमेश्‍वरका वचनहरू पढे पनि, हामी आफैले त ती बुझ्न सक्दैनौँ।” “हाम्रो अगुवा यहाँ छैन—हामी केही कुराबारे परमेश्‍वरलाई प्रार्थना गर्छौँ, तर हामी ज्योति प्राप्त गर्न सक्दैनौँ; हामी परमेश्‍वरका वचनहरू पढ्छौँ तर मार्ग बुझ्न सक्दैनौँ। हामीले हाम्रो अगुवा फर्कुन्जेल पर्खनुपर्छ।” “आजकल हाम्रो अगुवा व्यस्त छ र हाम्रा समस्याहरू समाधान गर्न ऊसँग समय नै छैन।” आफ्नो मालिकबिना, यी मानिसहरू प्रार्थना गर्न वा परमेश्‍वरका वचनहरू खान-पिउन जान्दैनन्, तिनीहरू आफै खोजी गर्न र परमेश्‍वरमा भर पर्न वा परमेश्‍वरका वचनहरूमा अभ्यासको मार्ग फेला पार्न सिक्दैनन्। आफ्नो मालिकबिना, तिनीहरू अन्धा मानिसहरूझैँ हुन्छन्, मानौँ तिनीहरूको हृदय खोतलेर निकालिएको छ। तिनीहरूको मालिक नै तिनीहरूको आँखा, साथै मुटुकलेजो हो। तिनीहरू आफ्नो मालिक परमेश्‍वरका वचनहरू खान-पिउनमा सर्वोत्कृष्ट रहेको ठान्छन्। यदि तिनीहरूको मालिक उपस्थित छैन भने, तिनीहरूलाई आफै परमेश्‍वरका वचनहरू खान-पिउन रुचि हुँदैन र तिनीहरूले आफ्नो मालिक आई परमेश्‍वरका वचनहरू प्रार्थनार्थ पढ्ने र तिनीहरूलाई अर्थ्याइदिने प्रतीक्षा गर्नैपर्छ ताकि तिनीहरूले ती वचनहरू बुझ्न सकून्। भित्री रूपमा, यी मानिसहरू तिनीहरूको मालिक तिनीहरूलाई परमेश्‍वरसामु आउन मदत गर्न सक्ने तिनीहरूको दूत भएको विश्‍वास गर्छन्। यस्तो “प्रभाव” हासिल गर्नु ख्रीष्टविरोधीहरूलाई हृदयका गहिराइमा सबैभन्दा बढी आनन्द लाग्ने कुरा हो: “मेरो यतिका वर्षको मेहनतले अन्ततः प्रतिफल दिएको छ; अन्ततः मैले खर्च गरेको समय व्यर्थ भएको छैन। अडिग रहेर लागिपर्नेहरूलाई मेहनतले वास्तवमै इनाम दिन्छ—पर्याप्त अडिगताले फलामको डन्डीलाई समेत सियो बनाउन सकिन्छ। यो मेहनत सार्थक भयो!” आफ्ना अनुयायीहरू आफूबिना जिउन सक्दैनन् भन्‍ने सुनेपछि, ख्रीष्टविरोधीहरूलाई भित्री रूपमा कुनै ग्लानि महसुस हुँदैन। बरु, तिनीहरू गोप्य रूपमा रमाउँछन्, र सोच्छन्, “परमेश्‍वरका वचनहरू पक्कै पनि महान् छन्। त्यसबेलाको मेरो निर्णय सही थियो; यतिका वर्ष मैले लगाएको मेहनत सही थियो, यतिका वर्षको मेरो शैली सही साबित भएको छ र त्यसले प्रतिफल दिएको छ।” तिनीहरू गोप्य रूपमा प्रसन्न महसुस गर्छन्। तिनीहरूलाई आफ्ना दुष्ट कार्यहरूका कारण ग्लानि, पछुतो, वा घृणा महसुस नहुने मात्र नभई, तिनीहरू त आफ्नो शैली सही हो भनेर झनै विश्‍वस्त र निश्‍चित बन्छन्। त्यसकारण, तिनीहरूले आउने समयमा, आफ्नो भावी जीवनमा, पहिलेझैँ परमेश्‍वरको बोल्ने तरिका र भाव अध्ययन गर्ने, र विगतमा भन्दा बढी लगनसाथ अध्ययन गर्ने, र अझ बृहत् र गहन रूपमा परमेश्‍वरको बोल्ने तरिका र शब्दचयन अनुकरण गर्ने योजना बनाउँछन्।

ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू पढ्दा, तिनीहरूका ध्यान र अभिप्रायहरू सत्यता पछ्याउनेहरूका भन्दा पूरै उल्टो हुन्छन्। सत्यता पछ्याउनेहरू, परमेश्‍वरको बोल्ने तरिका जस्तोसुकै भए पनि, परमेश्‍वरका अभिप्रायहरू, सत्यता सिद्धान्तहरू, र मानिसहरूले कायम राख्नुपर्ने र अनुसरण गर्नुपर्ने कुराहरू बुझ्नमा मात्र रुचि राख्छन्। तर त्यसको उल्टो, ख्रीष्टविरोधीहरू ती कुराहरूलाई मनमा पछाडि धकेल्छन् र तिनलाई बेवास्ता गर्छन्, यी कुराहरूसँग सम्बन्धित वाक्यांशहरूप्रति वितृष्णसमेत हुन्छन्, र यी कुराहरूसँग सम्बन्धित वाक्यांश र शब्दावलीलाई गोप्य रूपमा प्रतिरोध गर्छन्। केही निश्चित “नतिजाहरू” हासिल गरेपछि, तिनीहरू पहिलेकै शैली प्रयोग गरेर अझ गहन अध्ययन-अनुसन्धान गर्न, परमेश्‍वरका बोल्ने शैली र भाव कस्ता छन्, उहाँका आरोह-अवरोहका सूक्ष्म अर्थान्तरहरू कस्ता छन्, उहाँले कस्ता शब्दहरू रोज्नुहुन्छ भन्‍नेबारे छानबिन गर्न जारी राख्छन्, र यसक्रममा उहाँको व्याकरण अनि उहाँले प्राय: प्रयोग गर्ने वाक्यविन्यासका विवरणहरूलाई समेत छाड्दैनन्। आफ्नो लक्ष्यनजिक पुग्नका लागि, ख्रीष्टविरोधीहरूले हृदयमा परमेश्‍वरका वचनहरूलाई झन् कडा, झन् तीव्र र झन् गहन रूपमा छानबिन गर्ने गोप्य रूपमा सङ्कल्प गर्छन्, परमेश्‍वरको भाषणपछाडिका लक्ष्य र उद्देश्यहरूबारे छानबिन गर्छन्, अनि परमेश्‍वर—मानवजाति र पूरै ब्रह्माण्डलाई सम्बोधन गर्ने वक्ता—ले आफूलाई व्यक्त गर्ने शैलीलाईसमेत छानबिन गर्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरको बोल्‍ने शैलीको हरेक पक्षबारे अथक रूपमा छानबिन गर्छन्, र यसरी परमेश्‍वरको बोली अनुकरण गर्ने अनि आफूमा परमेश्‍वरको सार, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो, र परमेश्‍वरको स्वभाव भएझैँ ढोँग गर्ने प्रयास गर्छन्। यो सबै अत्यन्तै प्राकृतिक र सहज रूपमा भएझैँ लाग्छ; तिनीहरू स्वाभाविक रूपमै आफ्ना लक्ष्यहरू पूरा गर्नतिर लाग्छन्, साथै—स्वाभाविक रूपमा र थाहै नपाई—आफूलाई परमेश्‍वरमा, अरूले प्रशंसा र अनुसरण गर्ने व्यक्तित्वमा रूपान्तरित गर्छन्। तिनीहरू परमेश्‍वरका वचनहरूले कसरी मानिसहरूको हृदय छुन्छन् र तिनीहरूका भ्रष्ट स्वभावहरू खुलासा गर्छन्, परमेश्‍वरका वचनहरूले कसरी मानिसहरूका विभिन्‍न स्थितिहरू खुलासा गर्छन्, र त्योभन्दा बढी परमेश्‍वरका वचनहरूले कसरी मानिसहरूमा प्रभाव हासिल गर्छन् भन्‍नेबारे छानबिन गर्छन्। यो सबै छानबिन गर्नुमा तिनीहरूको उद्देश्य के हो? तिनीहरूको उद्देश्य मानिसहरूको हृदयमा प्रवेश गर्नु, उनीहरूका वास्तविक अवस्थाहरू बोध गर्नु, र उनीहरूका भित्री सोचहरू पूर्ण रूपमा बोध गरेसँगै उनीहरूलाई बहकाउनु र नियन्त्रणमा राख्नु हो। परमेश्‍वरका वचनहरूले मानिसहरूका भ्रष्ट स्वभावहरू खुलासा गरेर उनीहरूका कमजोर पक्षहरूमाथि प्रहार गर्दा, ख्रीष्टविरोधीहरू यस्तो सोच्छन्, “यी वचनहरू, यो शैली, अत्यन्तै महान् र अद्भुत छन्! म पनि यसरी नै बोल्न चाहन्छु, म यस्तो बोल्ने तरिका अपनाउन र यही शैलीमा मानिसहरूलाई व्यवहार गर्न चाहन्छु।” धेरै वर्षसम्‍म परमेश्‍वरका वचनहरू पढेर तीसँग परिचित हुने क्रममा, ख्रीष्टविरोधीहरू झन्झन् परमेश्‍वर बन्‍ने आफ्नो चाहना र कामनालाई नै परमेश्‍वरमा विश्‍वास गर्नुको एउटै मात्र लक्ष्य मान्छन्। त्यसकारण, परमेश्‍वरका वचनहरूले मानिसहरूलाई सत्यता पछ्याउन र सिद्धान्तहरूअनुसार कामकुरा गर्न माग गर्नेबारे, साथै सकारात्मक कुराहरूका अरू सबै वास्तविकताहरूबारे जति बोले पनि, ख्रीष्टविरोधीहरूले यसलाई ग्रहण गर्दैनन् र बेवास्ता गर्छन्। तिनीहरू एकोहोरो रूपमा आफ्नै उद्देश्य पछ्याउँछन्, र अरू कसैले अर्थ राख्दैन जस्तो गरी, कार्यका आफ्नै प्रेरणाहरूअनुसार आफूले गर्न चाहेकै कामकुराहरू गर्छन्। परमेश्‍वरको वचनको एउटा वाक्यले समेत तिनीहरूको हृदय उत्प्रेरित गर्दैन वा जीवनबारे तिनीहरूको दृष्टिकोण र संसारसँग व्यवहार गर्ने तिनीहरूको दर्शन परिवर्तन गर्दैन, झन् परमेश्‍वरको कुनै वाक्य, प्रवचन, वा वाणीले तिनीहरूलाई पश्‍चात्तापी हृदय बोक्न अगुवाइ गर्ने त कुरै नगरौँ। परमेश्‍वरका वचनहरूले जे खुलासा गरे पनि, तिनले मान्छेका जेसुकै भ्रष्ट स्वभावहरू खुलासा गरे पनि, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको बोल्ने तरिका, उहाँको भाव, परमेश्‍वरका वचनहरूले मानिसहरूमा पार्ने अभिप्राय राखेका प्रभावहरू, आदि इत्यादि मात्र छानबिन गर्छन्—यी सबै सत्यतासँग असम्बन्धित मामलाहरू हुन्। त्यसकारण, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू जति सामना गर्छन्, परमेश्‍वर हुने तिनीहरूको भित्री कामना त्यति नै बलियो बन्छ। यो कामना कति तीव्र हुन्छ? यो यति हदसम्‍म पुग्छ कि तिनीहरूले सपनामा समेत परमेश्‍वरका वचनहरू वाचन गर्छन्, प्रायः आफैसित बोल्छन् र परमेश्‍वरको बोल्ने शैली र भाव प्रयोग गरेर उहाँका वचनहरू प्रचार गर्ने अभ्यास गर्छन्। हृदयका गहिराइमा, तिनीहरूले परमेश्‍वरको बोल्ने तरिका र भाव निरन्तर अनुकरण गर्छन्, मानौँ तिनीहरूलाई त्यसको भूत नै लागेको छ। ख्रीष्टविरोधीहरू यस्तै हुन्छन्। परमेश्‍वरका वचनहरू जति विशिष्ट, निष्कपट, वा सच्चा भए पनि, तिनले मानिसहरूलाई जतिसुकै मदत वा प्रेरणा दिने भए पनि, ख्रीष्टविरोधीहरू यी सबैप्रति उदासीन रहन्छन् र यी सबैलाई बेवास्ता गर्छन्। तिनीहरूले परमेश्‍वरका यी वचनहरूलाई महत्त्व दिँदैनन्। तिनीहरूको हृदय कहाँ हुन्छ? तिनीहरू कसरी परमेश्‍वरका वचनहरू अनुकरण गर्ने जसले गर्दा मानिसहरूले तिनीहरूलाई अन्धोभक्ति गरून् भन्ने कुरामा केन्द्रित हुन्छन्। तिनीहरूको कामना जति तीव्र हुन्छ, त्यति नै तिनीहरू परमेश्‍वरको सोर सुन्‍ने र परमेश्‍वरले बोल्नुभएको हरेक वाक्यपछाडिको उद्देश्य, इच्छा र विचार—उहाँको सबैभन्दा भित्री सोचसमेत—बुझ्न सक्षम हुने आशा गर्छन्। ख्रीष्टविरोधीहरूका कामना र चाहनाहरू जति तीव्र बन्छन्, त्यति नै तिनीहरू परमेश्‍वरको बोल्ने तरिका अनुकरण गर्न चाहन्छन् र त्यति नै परमेश्‍वरझैँ बन्नका लागि छोटो समयमा आफूलाई छिटोछिटो रूपान्तरण गर्ने, र आफूसँग परमेश्‍वरको बोल्ने तरिका र भाव हुने आकाङ्क्षा राख्छन्। यसका साथै, कतिपयले त आफ्ना कार्यहरूमा परमेश्‍वरको शैली र चालढालसमेत अपनाउन चाहन्छन्। ख्रीष्टविरोधीहरू यस्तै अवस्थामा हुन्छन्, र हरदिन यी सोच, विचार, अभिप्राय, र मनसाय बोकेर जिइरहन्छन्। तिनीहरू के गरिरहेका छन्? तिनीहरू हरदिन आफूलाई परमेश्‍वर बन्ने, ख्रीष्ट बन्‍ने मार्ग हिँड्न बाध्य पारिरहेका छन्। तिनीहरू यो मार्ग खुलस्त भएको, यो एक उज्ज्वल बाटो भएको विश्‍वास गर्छन्। त्यसकारण, भेलाहरूमा होस् वा भेटघाटहरूमा, परमेश्‍वरका वचनहरूबारे आ-आफ्ना बुझाइ र परमेश्‍वरका वचनहरू अनुभव गर्दाका आ-आफ्ना अनुभूतिहरूबारे अरूले चाहे जसरी सङ्गति गरे पनि, केही कुराले पनि तिनीहरूलाई उत्प्रेरित गर्न वा तिनीहरूका लक्ष्य र चाहनाहरू परिवर्तन गर्न सक्दैन। तिनीहरू ख्रीष्ट बन्ने, परमेश्‍वर बन्‍ने मार्गमै लम्किन्छन्, मानौँ तिनीहरू भूत् लागेको स्थितिमा छन्, मानौँ तिनीहरू कुनै अदृश्य शक्तिद्वारा नियन्त्रित छन्, मानौँ तिनीहरू कुनै अदृश्य जन्जिरमा छन्। यो कस्तो मानसिकता हो? के यो दुष्ट छैन र? (छ।)

ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू पढ्दा, तिनको हरेक पक्षलाई आफ्नै सम्पत्तिका रूपमा सोस्छन्, तिनलाई उच्च लाभ र धेरै पैसा दिलाउने उपभोग्य वस्तुका रूपमा लिन्छन्। यी उपभोग्य वस्तुहरू बेच्दा, यी कुराहरूको धाक लगाउँदा, तिनीहरू आफूले चाहेका लाभहरू प्राप्त गर्छन्। तिनीहरूले जति यसो गर्छन्, त्यति नै तिनीहरूलाई भित्री रूपमा सन्तुष्ट महसुस हुन्छ; तिनीहरूले जति यसो गर्छन्, परमेश्‍वर हुने तिनीहरूको चाहना त्यति नै ठूलो र तीव्र बन्छ। यो कस्तो मनोवृत्ति हो, यो कस्तो परिस्थिति हो? ख्रीष्टविरोधीहरूको परमेश्‍वर हुने चाहना किन यति बलियो हुन्छ? के यो कसैले तिनीहरूलाई सिकाएको कुरा हो? तिनीहरूलाई कसले उक्साएको वा निर्देशन दिएको छ? के परमेश्‍वरका वचनहरूले यो माग गर्छन्? (गर्दैनन्।) यो त ख्रीष्टविरोधीहरू आफैले रोजेको मार्ग हो। तिनीहरूसँग बाहिरी सहयोग नभए पनि, तिनीहरू अत्यन्तै अभिप्रेरित हुन्छन्—यसको कारण के हो? यो तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छ। ख्रीष्टविरोधीहरू कुनै बाहिरी सहयोगविना, अथक रूपमा, बिनाहिचकिचाहट, र बिनापछुतो यही मार्ग हिँड्छन्। तैँले तिनीहरूलाई जसरी निन्दा गरे पनि, काम लाग्दैन; तैँले तिनीहरूलाई जसरी चिरफार गरे पनि, तिनीहरू त्यो ग्रहण गर्ने वा बुझ्ने गर्दैनन्; यस्तो लाग्छ, मानौँ तिनीहरूलाई भूत लागेको छ। यी कुराहरू तिनीहरूको प्रकृतिद्वारा निर्धारित हुन्छन्। परमेश्‍वरका वचनहरूप्रतिको ख्रीष्टविरोधीहरूको व्यवहार बाहिरी रूपमा त प्रतिरोधी वा अपमानजनक नभएझैँ देखिन्छ। तिनीहरू औसत व्यक्तिले भन्दा पनि बढी मेहनत लगाउँछन्। यदि तँलाई तिनीहरूले भित्री रूपमा के सोचिरहेका छन् वा कुन मार्ग पछ्याइरहेका छन् भनेर थाहा छैन भने, बाह्य रूपका आधारमा, परमेश्‍वरका वचनहरूप्रतिको तिनीहरूको व्यवहार तृष्णाको व्यवहार जस्तो देखिन्छ—यसलाई वर्णन गर्न कम्तीमा यो शब्द त प्रयोग गर्न सकिन्छ। तर के व्यक्तिको सार केवल उसको बाह्य रूपबाट देख्न सकिन्छ? (सकिँदैन।) त्यसोभए, त्यो कहाँ देख्न सकिन्छ त? तिनीहरूले परमेश्‍वरका वचनहरूको तृष्णा गर्ने, प्राय: तिनलाई पढ्ने, सुन्ने, र कण्ठसमेत गर्ने गरेको देखिए पनि, अनि यी बाह्य व्यवहारहरूका आधारमा मूल्याङ्कन गरेर तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा वर्गीकरण गर्न नहुने भए पनि, वास्तविक परिस्थितिहरूमा परमेश्‍वरका वचनहरू अभ्यास गर्ने कुरा आउँदा, के तिनीहरू अभ्यास गर्छन् त? (गर्दैनन्।) परमेश्‍वरका वचनहरू पढेर कण्ठ गरेपछि, जब तिनीहरू वास्तविक परिस्थितिहरू सामना गर्छन्, तिनीहरूले कहिलेकाहीँ परमेश्‍वरका वचनहरूको कुनै खण्ड उद्धृत गर्लान् वा केही वाक्य वाचन गर्लान्, कहिलेकाहीँ त सही रूपमा समेत त्यसो गर्लान्। तर तिनीहरूले परमेश्‍वरका वचनहरू उद्धृत गरेपछि, परिस्थितिहरू सामना गर्नुपर्दा तिनीहरू के गर्छन्, कस्तो मार्ग लिन्छन्, र कस्ता छनौटहरू गर्छन् भनेर हेर्। यदि यो तिनीहरूको हैसियतसँग वा तिनीहरूको प्रतिष्ठा र छवि बिगार्ने कुरासँग सम्बन्धित छ भने, तिनीहरूले परमेश्‍वरका वचनहरूअनुसार कदापि कार्य गर्नेछैनन्। तिनीहरू आफ्नै छवि र हैसियतको रक्षा गर्छन्। यदि तिनीहरूले केही गलत गरे भने, त्यो कदापि मान्नेछैनन्। बरु, तिनीहरूले त्यसलाई ढाकछोप गर्न वा पन्छाउन अनेकथरीका उपायहरू खोज्नेछन्, त्यसलाई उल्लेख गर्दैनन् र आफ्नो गल्ती मान्नुको साटो त्यसको दोष अरूमाथि थोपर्नेसमेत गर्छन्। तिनीहरू परमेश्‍वरका वचनहरू पढ्न र आफ्नो हैसियत सुरक्षित गर्न मेहनत लगाउँछन्, तर सत्यता अभ्यास गर्न र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्नका निम्ति, आफ्नै हितहरू पन्छाउनुपर्दा र शारीरिक कठिनाइ सहनुपर्दा, तिनीहरू कस्तो छनौट गर्छन्, त्यो हेर्। यदि तिनीहरूले सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्‍यो, जोसुकैको चित्त दुख्ने वा जोसुकै चिढिने भए पनि परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्नुपर्‍यो भने, के तिनीहरूले त्यो गर्नेछन्? कदापि गर्नेछैनन्। तिनीहरूको पहिलो रोजाइ सधैँ आफ्नै सुरक्षा गर्नु हो। तिनीहरूलाई को दोषी छ वा कसले दुष्टता गरेको छ भनेर थाहा भए पनि, तिनीहरूले त्यस व्यक्तिको खुलासा गर्नेछैनन्। तिनीहरू गोप्य रूपमा हृदयमा रमाउनसमेत सक्छन्। यदि कसैले दुष्ट मानिसहरूको खुलासा गरेमा, तिनीहरूले ती दुष्टजनको बचाउ गर्ने र तिनीहरूको पक्षमा बहाना बनाउनेसमेत गर्नेछन्। प्रस्टै छ, ख्रीष्टविरोधीहरू अरूको दुर्दशामा खुसी मान्‍ने मानिस हुन्। तिनीहरूले जस्तोसुकै परिस्थिति सामना गरे पनि, के रोज्छन् र कुन मार्ग हिँड्छन्, त्यो हेर्। यदि तिनीहरू सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न रोज्छन् भने, तिनीहरूको परमेश्‍वरका वचनहरूको खानपानले प्रतिफल दिएको छ। यदि रोज्दैनन् भने, तिनीहरूले परमेश्‍वरका वचनहरू चाहे जसरी नै खाने-पिउने गरेका भए पनि वा तिनलाई जतिसुकै राम्ररी कण्ठ गरेका भए पनि, त्यसको कुनै काम छैन—तिनीहरूले अझै पनि परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा लिइरहेका छैनन्। त्यसबाहेक, के ख्रीष्टविरोधीहरू आफूलाई चिन्छन्? (चिन्दैनन्।) कतिपय मानिस भन्छन्, “तर ख्रीष्टविरोधीहरूले आफू दियाबलस र शैतान हुँ भन्दै, आफ्नो अहङ्कार र आत्मधार्मिकतालाई समेत मान्छन्।” बस तिनीहरूले यी कुराहरू बोल्छन्, तर कुनै वास्तविक परिस्थिति सामना गर्दा तिनीहरू वास्तवमा के गर्छन्? यदि कसैले कुनै ख्रीष्टविरोधीसँग सहकार्य गरिरहेको छ र कुनै सही कुरा भन्छ, ख्रीष्टविरोधीले भनेको गलत कुरासँग बाझिने सत्यता सिद्धान्तहरूसँग मिल्छ, र यदि त्यो व्यक्ति ख्रीष्टविरोधीको कुरामा राजी हुन अस्वीकार गर्छ भने, ख्रीष्टविरोधीले आफ्नो छवि र हैसियतमा हानि पुगेको महसुस गर्नेछ। त्यसपछि उसले के रोज्छ? के उसले आफैलाई पन्छाएर अर्को व्यक्तिको कुरा सुन्‍न र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न रोज्न सक्छ? कदापि सक्दैन। त्यसोभए, के उसले भन्‍ने ती सही शब्दहरू काम लाग्छन् त? के तिनले उसको वास्तविकता, उसको वास्तविक कद, उसका रोजाइहरू, वा ऊ हिँड्ने मार्ग प्रतिबिम्बित गर्छन्? गर्दैनन्, ती शब्दहरू उसको अनुभवबाट आएका होइनन्; ती त उसले सिकेका शब्द मात्र हुन्। उसको मुखबाट जे निस्‍कन्छन्, ती धर्मसिद्धान्त, छली शब्दहरू मात्र हुन्। तिनीहरूको हैसियत र स्वार्थको कुरा उठ्नेबित्तिकै, ख्रीष्टविरोधीहरूको पहिलो रोजाइ सधैँ आफ्नै संरक्षण र रक्षा गर्ने, अरूलाई लट्ठ्याउने र बहकाउने, अनि कुनै जिम्मेवारी लिन वा कुनै अपराध स्विकार्नबाट पन्छिने हुन्छ। ख्रीष्टविरोधीहरूका यी सारहरू ख्याल गर्दा, के तिनीहरू सत्यता पछ्याइरहेका छन्? के तिनीहरू सत्यता बुझ्न र सत्यता अभ्यास गर्न सक्ने अवस्थामा पुग्न परमेश्‍वरका वचनहरू पढिरहेका छन्? छैनन्। परमेश्‍वरका वचनहरू पढ्नुमा ख्रीष्टविरोधीहरूका अभिप्राय र लक्ष्यहरूबारे विचार गर्दा, तिनीहरूले तीबारे कहिल्यै कुनै बुझाइ हासिल गर्नेछैनन्। किनभने तिनीहरू परमेश्‍वरका वचनहरूलाई बुझ्नुपर्ने सत्यताका रूपमा नभई बरु आफ्नै लक्ष्यहरू हासिल गर्ने साधन ठानेर पढ्छन्। ख्रीष्टविरोधीहरूले स्पष्ट रूपमा “म परमेश्‍वर हुन चाहन्छु, म ख्रीष्ट हुन चाहन्छु” भनेर नभने पनि, तिनीहरूको लक्ष्य ख्रीष्ट बन्‍ने हो भन्‍ने कुरा तिनीहरूका कार्यहरूको सार र परमेश्‍वरका वचनहरूलाई तिनीहरू व्यवहार गर्ने तरिकाको सारबाट प्रस्ट हुन्छ। यसलाई कसरी हेर्न सकिन्छ? तिनीहरू मानिसहरूलाई बहकाउन, र सत्यता नबुझ्ने, अज्ञानी, कम कद भएका, सत्यता नपछ्याउने, अविश्‍वासी, र केही दुष्ट मानिसहरूलाई समेत बहकाउन परमेश्‍वरका वचनहरू र परमेश्‍वरद्वारा प्रकटित तिनीहरूले देखेका कुरा जस्तै उहाँका स्वामित्वका कुराहरू र उहाँको अस्तित्व, इत्यादि प्रयोग गर्छन्। तिनीहरू यी मानिसहरूलाई तिनीहरूसँग सत्यता छ, तिनीहरू सच्चा मानिसहरू हुन्, र तिनीहरू प्रशंसा र भरोसालायक व्यक्तित्वहरू हुन् भनी विश्‍वास दिलाउँछन्। ख्रीष्टविरोधीहरूको उद्देश्य यी मानिसहरूलाई तिनीहरूमाथि आशा राख्ने र तिनीहरूबाट खोजी गर्ने तुल्याउनु हो, र यसो भएपछि, तिनीहरू भित्री रूपमा सन्तुष्ट महसुस गर्छन्।

ख्रीष्टविरोधीहरूले परमेश्‍वर अद्वितीय हुनुहुन्छ भनेर कहिल्यै मान्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर कहिल्यै मान्दैनन्, न त कहिल्यै परमेश्‍वरले मात्र सत्यता व्यक्त गर्न सक्नुहुन्छ भनेर नै मान्छन्। परमेश्‍वरका वचनहरूप्रति तिनीहरूको मनोवृत्ति, तिनीहरूले परमेश्‍वरका वचनहरूमा लगाउने मेहनत, र तिनीहरूको परमेश्‍वर बन्ने, ख्रीष्ट बन्‍ने कामना मूल्याङ्कन गर्दा, ख्रीष्टविरोधीहरू कुनै व्यक्तिलाई परमेश्‍वर बन्‍न सजिलो छ, त्यो मानवले हासिल गर्न सक्ने कुरा हो भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू यसो भन्छन्, “देहधारी परमेश्‍वरले परमेश्‍वरका थोरै वचनहरू बोल्न सक्ने भएकै कारण उहाँलाई ख्रीष्ट भनिएको हो, होइन र? के उहाँ परमेश्‍वरका वचनहरूको मुखपात्र मात्र हुनुहुन्न र? के उहाँलाई धेरै मानिसले पछ्याउने मात्र होइनन् र? त्यसकारण, यदि कुनै व्यक्तिको मानिसहरूमाझ उस्तै हैसियत र प्रतिष्ठा छ भने, यदि उसलाई पनि त्यति नै मानिसहरूले अन्धोभक्ति गर्छन् र उच्च मान्छन् भने, के उसले पनि ख्रीष्टले पाउने व्यवहार, परमेश्‍वर हुँदा पाइने व्यवहार पाउँदैन र? ख्रीष्टलाई गरिने जस्तो व्यवहार पाउन र परमेश्‍वरको पहिचान र सार भएको व्यक्तिले जस्तो व्यवहार पाउन सके, के व्यक्ति परमेश्‍वर हुँदैन र? त्यसमा त्यस्तो गाह्रो के छ र?” तसर्थ, ख्रीष्टविरोधीहरूको परमेश्‍वर हुने कामना जन्मजात कुरा हो; तिनीहरूमा शैतानकैसरह महत्त्वाकाङ्क्षा र सार हुन्छ। ठ्याक्कै भन्‍नुपर्दा, तिनीहरू ख्रीष्टविरोधी भएकाले र तिनीहरूमा ख्रीष्टविरोधीको सार हुने हुनाले, तिनीहरू परमेश्‍वरका वचनहरूप्रति यी प्रतिक्रियाहरू देखाउँछन्। ख्रीष्टविरोधीहरूलाई खुसी तुल्याउने कुरा के हो भने, परमेश्‍वरले देहधारण गर्नुभएको छ; उहाँका वचनहरू मानिसहरूले सुन्‍न सक्छन्, र सँगसँगै, उहाँलाई तिनीहरूले देख्न सक्छन्। उहाँ साधारण व्यक्ति हुनुहुन्छ, जसलाई छुन र देख्न सकिन्छ, र ठ्याक्कै भन्‍नुपर्दा, यो साधारण, नगण्य र मामुली व्यक्तिले अति धेरै बोल्न सक्ने र त्यसैले उहाँ परमेश्‍वर कहलिने भएकै कारण ख्रीष्टविरोधीहरूले अन्ततः परमेश्‍वर बन्‍ने तिनीहरूको अवसर आइपुगेको छ भन्‍ने देख्छन्। यदि यो साधारण व्यक्तिले नबोल्‍नुभएको भए, ख्रीष्टविरोधीहरूले तिनीहरूको परमेश्‍वर वा ख्रीष्ट बन्‍ने आशा एकदमै कम छ भन्ठान्‍नेथिए। तर ठ्याक्कै भन्नुपर्दा यो साधारण व्यक्तिले परमेश्‍वरका वचनहरू बोल्नुभएकाले र परमेश्‍वरको काम गर्नुभएकाले, अनि तिनीहरूमाझ मानिसहरूलाई मुक्ति दिन परमेश्‍वरको प्रतिनिधित्व गर्नुभएकाले गर्दा नै ख्रीष्टविरोधीहरू यसलाई आफ्नो मौका, फाइदा उठाउने अवसर ठान्छन्, यसरी तिनीहरूलाई परमेश्‍वरको बोली, उहाँको भाव र बोल्ने तरिका, र उहाँको स्वभावसमेत अनुकरण गर्ने थप सुराग मिल्छ, र यसले बिस्तारै तिनीहरूलाई झन्-झन् परमेश्‍वरजस्तो, झन्-झन् ख्रीष्टजस्तो बनाउँछ। तसर्थ, ख्रीष्टविरोधीहरूले हृदयका गहिराइमा तिनीहरू झन्-झन् परमेश्‍वरजस्तो बनिरहेको, झन्-झन् परमेश्‍वरनजिक पुगिरहेको महसुस गर्छन्। तिनीहरू श्रद्धा गरिने, पछ्याइने, र सबथोकमा भर परिने परमेश्‍वर, मानिसहरूले खोज्ने र हरकुरामा आदरभावले हेर्ने परमेश्‍वर अत्यन्तै ईर्ष्या गर्छन्। तिनीहरू ख्रीष्टको पहिचान र व्यक्तिगत मूल्यको ईर्ष्या गर्छन्। ख्रीष्टविरोधीहरू हृदयमा के सोचिरहेका हुन्छन्? के तिनीहरूको हृदयको गहिराइ अँध्यारो र दुष्ट छैन र? के तिनीहरूको हृदयको गहिराइ घृणास्पद, घिनलाग्दो, र लज्जास्पद छैन र? (छन्।) त्यो पूर्णतः घिनलाग्दो छ!

कति मानिसहरू भन्छन्, “तपाईँले ख्रीष्टविरोधीहरूबारे बोल्नुभएको त हामीले सुनिरहेका छौँ, तर हामीले किन यस्तो व्यक्ति कहिल्यै देखेका छैनौँ? के तपाईँ कथा मात्र भनिरहनुभएको छ? काल्पनिक कुराहरूबारे बोलिरहनुभएको छ?” के तिमीहरूलाई यस्ता मानिसहरू हुन्छन् जस्तो लाग्छ? (हुन्छन्।) तिमीहरूले कति जना भेटेका छौ? के तिमीहरू त्यसमा पर्छौ? (हामी पनि यी स्थितिहरू देखाउँछौँ र यस्ता पक्षहरू प्रकाश गर्छौँ। ती ख्रीष्टविरोधीहरूका जति गम्भीर छैनन्, तर प्रकृति सारचाहिँ उस्तै छ।) के तिमीहरूलाई यी स्थितिहरू हुनु खतरनाक हो भन्‍ने लाग्छ? (लाग्छ।) यदि तिमीहरूलाई यो खतरनाक हो भन्‍ने थाहा छ भने, तिमीहरू परिवर्तन हुनुपर्छ। के परिवर्तन हुन सजिलो छ? वास्तवमा, यो सजिलो र गाह्रो दुवै हुन सक्छ। यदि तैँले परमेश्‍वरका वचनहरूलाई, प्रभु येशूले “तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्” भनेर भन्‍नुभएझैँ सरल रूपमा, पालना गर्नुपर्ने सत्यताको रूपमा लिन्छस् भने, तैँले साँच्चिकै पश्‍चात्ताप गर्न सक्छस्। उदाहरणका लागि, परमेश्‍वरले तँलाई यसो भनेर केही कुरा कार्यान्वयन गर्न भन्‍नुहुन्छ, “खाएपछि, थाललाई चाटेर धोएजस्तै सफा बना। यसले खाना पनि बचाउँछ र यो स्वच्छ पनि हुन्छ।” के यी निर्देशनहरू सरल छन्? के यी कार्यान्वयन गर्न सजिला छन्? (छन्।) यदि परमेश्‍वरले यी थोरै वाक्यहरू मात्र बोलेर, यस्तो अनुरोध गर्नुहुन्छ, मानिसहरूका कठिनाइ वा तिनीहरूका स्थितिहरूमा प्रवेश गर्नुहुन्‍न, वा भ्रष्ट स्वभावहरूबारे कुरा गर्नुहुन्‍न, र विभिन्‍न परिस्थितिहरूको फरक छुट्ट्याउनुहुन्‍न भने, तैँले यो एउटा मामलालाई कसरी कार्यान्वयन र अभ्यास गर्नेथिइस्? तेरा लागि, यी वाक्यहरू परमेश्‍वरका वचन हुन्, सत्यता हुन्, र तैँले पालना गर्नुपर्ने कुरा हुन्। तैँले गर्नुपर्ने भनेको हरदिन, हरेकपटक खाएपछि, परमेश्‍वरको माग पालना गर्ने हो—त्यसपछि तैँले परमेश्‍वरको मार्ग पछ्याइरहेको, परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा र आफूले पालन गर्नुपर्ने कुराको रूपमा लिइरहेको हुन्छस्। तँ परमेश्‍वरका वचनहरू अभ्यास गर्ने व्यक्ति बन्छस्, र यो सबैभन्दा सरल मामलामा, तैँले ख्रीष्टविरोधी स्वभाव फालेको हुन्छस्। विकल्पका रूपमा, यी थोरै वचनहरू सुनेपछि, सायद तैँले मौखिक रूपमा सहमति जनाउँछस् र तिनलाई सम्झिन्छस्, तर खाएपछि, थालमा भातको एकदुई सिता देख्दा, तैँले “म अरू कुरामा व्यस्त छु!” भन्‍ने सोच्छस् अनि थाललाई यतिकै छोड्छस्। अनि अर्कोपटक खाना खाँदा पनि तैँले त्यसै गर्छस्। परमेश्‍वरले दिनुभएका यी केही निर्देशनहरू तैँले मनमा त राख्छस्, तर तैँले वास्तवमै तिनलाई अभ्यास गर्ने ठ्याक्कै दिनचाहिँ हुँदैन। समय बित्दै जाँदा, तैँले यी वचनहरू बिर्सिन्छस्। त्यसकारण, तैँले परमेश्‍वरका वचनहरू अभ्यास नगरेको मात्र नभई, तिनलाई त्यागेको पनि हुन्छस्। यसले तँलाई कस्तो व्यक्ति बनाउँछ? यदि तँ यी वचनहरू कार्यान्वयन गर्दैनस् भने, के तँ परमेश्‍वरका वचनहरू सुनेपछि उहाँको मार्ग पछ्याउन सक्ने व्यक्ति होस्? के तँ सत्यता पछ्याउने व्यक्ति होस्? प्रस्ट रूपले होइनस्। यदि कसैले सत्यता पछ्याइरहेको छैन भने, के उसलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न सकिन्छ? के सत्यता अभ्यास गर्न नसक्नु नै ख्रीष्टविरोधी हुनुसरह हो? (होइन।) यस्तो व्यक्तिले परमेश्‍वरका वचनहरूलाई एउटा कानले सुनेर अर्कोले उडाउनुपर्ने कुरा ठान्छ, तिनलाई महत्त्वहीन ठान्छ, अभ्यास गर्दैन, र तीबारे धेरै सोच्दैन—उसले तिनलाई बस बिर्सिदिन्छ। यो कुनै ख्रीष्टविरोधी होइन। अर्कोखाले व्यक्ति पनि छ, जसले परमेश्‍वरका यी निर्देशनहरू सुनेपछि यस्तो सोच्छ: “खाइसकेपछि थाल चाट्ने रे? कस्तो लाजमर्दो कुरा! म कुनै भिखारी होइन, र त्यसबाहेक, खाना नै नभएको पनि होइन। म त पक्कै त्यसो गर्नेछैन! थाल चाटेर सफा गर्न इच्छुकहरूले आफ्नो थाल चाटे हुन्छ।” जब कसैले “यो परमेश्‍वरको माग हो” भन्छ, तब उसले सोच्छ, “यो परमेश्‍वरको माग भए पनि यो अस्वीकार्य छ। परमेश्‍वरले यस्ता मागहरू राख्नु हुँदैन। यी वचनहरू सत्यता होइनन्! परमेश्‍वरले पनि मामुली, तर्कहीन, र फिक्का कुराहरू बोल्छन्। परमेश्‍वरले मानिसहरूबाट गर्ने सबै माग सत्यता नै हुन् भन्‍ने हुँदैन। यो निर्दिष्ट मागचाहिँ मलाई सत्यताजस्तो लाग्दैन। प्रभु येशूले भनेका छन्, ‘जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छालाई पछ्याउँछन्, तिनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।’ यस्ता वचनहरू सत्यता हुन्! खाएपछि थाललाई चाटेर सफा पार्नु स्वच्छ हो रे? त्यसलाई सिधै धोए भैगो नि। हामीलाई किन थालहरू चाट्न लगाउनु? यो माग मेरा धारणा वा कल्पनाहरूसँग मिल्दैन; यो त जहाँ पनि अस्वीकार्य हुनेथियो। मलाई थाल चाट्न लगाउने—यो असम्भव छ! के स्वच्छताको परिभाषा यही हो? म मेरो थाल डिस्इन्फेक्टेन्ट प्रयोग गरेर पानीले धुन्छु—म त्यसैलाई स्वच्छता भन्छु!” ती वचनहरू सुनेपछि, यस्तो व्यक्तिसँग उसका आफ्नै सोच र भित्री प्रतिरोध हुन्छन्; ऊ गिल्ला र बदनामी गर्नमा समेत सामेल हुन्छ। यी वचनहरू परमेश्‍वरबाट आएका हुनाले तिनीहरूले खुलेआम तिनको आलोचना गर्ने आँट गर्दैनन्, तर यसको अर्थ तिनीहरूसँग तिनका बारेमा राय वा धारणाहरू हुँदैनन् भन्‍ने होइन। तिनीहरूका राय र धारणाहरू कहाँ प्रकट हुन्छन्? तिनीहरूले यी वचनहरू स्वीकार वा अभ्यास गर्दैनन्; तिनका बारेमा तिनीहरूका आफ्नै सोचहरू हुन्छन्, र तिनीहरूले तिनलाई आलोचना गर्न र तीबारे धारणाहरू बनाउन सक्छन्। त्यसकारण, जब तिनीहरूले आफ्नो खाना खाइसक्छन् र केही मानिसहरूले थालहरू चाटेर सफा पारिरहेको देख्छन्, तब तिनीहरूले त्यसो गर्दैनन्, र ती परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नेहरूप्रति हृदयमा हेयसमेत पाल्छन्। तिनीहरूको बाहिरी व्यवहारले प्राय: उपहास र गिल्ला, साथै अरूको व्यवहार सच्याउन चाहने मनोवृत्तिसमेत प्रकाश गर्छ। तिनीहरूले परमेश्‍वरको बोलीअनुसार व्यवहार गर्नु त कता हो कता, बरु उल्टो कार्यसमेत गर्छन्, र उहाँको बोलीका विपरीत कार्यहरूमा संलग्न हुन्छन्। तिनीहरूले आफ्ना कार्यहरूमार्फत परमेश्‍वरको माग अस्वीकार गर्छन्, परमेश्‍वरले भन्‍नुभएको कुराको प्रतिरोध गर्छन्, साथै तिनीहरू आफ्ना कार्यहरूमार्फत थप ध्यानाकर्षण गर्न खोज्छन्, परमेश्‍वरले भन्‍नुभएको कुरा गलत हो, र तिनीहरूको मार्ग मात्र सही हो भनेर अझ धेरै मानिसहरूलाई मनाउँछन्, अझ धेरै मानिसहरूलाई परमेश्‍वरका वचनहरूको प्रतिरोध र निन्दा गर्न डोर्‍याउँछन्। तिनीहरू परमेश्‍वरले दिनुभएको निर्देशनअनुसार कार्य गर्दै गर्दैनन्; हरेकपटक खाना खाइसकेपछि, तिनीहरूले आफ्नो थाल पानीले पखाल्ने मात्र नभई, त्यसलाई दोहोर्‍याएर डिस्इन्फेक्टेन्ट र साबुनले धुने पनि गर्छन्, र त्यसपछि त्यसलाई कीटाणु हटाउने ठाउँमा राखेर निर्मलीकरण पनि गर्छन्। यसो गर्दै गर्दा, तिनीहरूले अनजानमा केही अभिव्यक्तिहरू पनि निर्माण गर्छन्, र सबैलाई यसो भन्छन्, “खासमा, चाटेर कीटाणुहरू हट्दैनन्, न त पानीले धोएर नै हट्छन्। डिस्इन्फेक्टेन्ट प्रयोग गर्नुका साथै, उच्च तापक्रममा राखेर मात्र त्यसलाई पूर्णतया निर्मलीकरण गर्न सकिन्छ। त्यो नै स्वच्छ हुनु हो।” तिनीहरूले परमेश्‍वरले भन्नुहुने कुरा स्विकार्न नमान्‍ने वा परमेश्‍वरको निर्देशनअनुसार अभ्यास नगर्ने मात्र नभई, परमेश्‍वरका मागहरूको प्रतिरोध, निन्दा र आलोचना गर्न आफ्नै शब्द र कार्यहरूसमेत प्रयोग गर्छन्। अझ चरम कुरा त, अझ धेरै मानिसहरूलाई उक्साउँदै भ्रममा पारेर परमेश्‍वरका मागहरूको निन्दा, प्रतिरोध आलोचना गर्नमा तिनीहरूसँग जोडिन लगाउनका लागि आफूलाई सही लागेका केही रायहरू प्रयोग समेत गर्छन्। तिनीहरू यहाँ के भूमिका खेलिरहेका छन्? त्यो अझ धेरै मानिसहरूलाई परमेश्‍वरका वचनहरू सुन्‍न र निःसर्त परमेश्‍वरप्रति समर्पित हुन डोर्‍याउने भूमिका होइन, न त मानिसहरूका धारणाहरू उत्पन्‍न हुँदा तिनलाई समाधान गर्ने भूमिका हो, न त मानिसहरू र परमेश्‍वरबीच विरोधाभासहरू उत्पन्‍न हुँदा ती विरोधाभासहरू वा मानिसहरूका भ्रष्ट स्वभावहरू समाधान गर्ने भूमिका नै हो। त्यसको साटो, तिनीहरूले परमेश्‍वरको आलोचना गर्न अझ धेरै मानिसहरूलाई उक्साउँछन् र भ्रममा पार्छन्, परमेश्‍वरका वचनहरू सही हुन् कि होइनन् भन्‍नेबारे विश्‍लेषण र छानबिन गर्न तिनीहरूसित जोडिन लगाउँछन्। बाहिरी रूपमा हेर्दा, तिनीहरू इन्साफका समर्थक भएजस्तो र जे न्यायोचित देखिन्छ त्यसैमा संलग्न भएजस्तो देखिन्छ। तर के यो परमेश्‍वर पछ्याउने व्यक्तिलाई सुहाउने सही आचरण हो? के मानवको इन्साफको बोध यही हो? (होइन।) त्यसोभए, यस व्यवहारपछाडि यस्ता व्यक्तिहरूको सारचाहिँ ठ्याक्कै के हो त? (तिनीहरूमा ख्रीष्टविरोधीहरूको, दियाबलसहरूको सार हुन्छ।) यी व्यक्तिहरूले परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा व्यवहार गर्न नसक्ने मात्र नभई, अझ लाजमर्दो कुरा त, तिनीहरूले आत्मिक मानिसहरूको ढोँग गर्न, प्रायः परमेश्‍वरका वचनहरू प्रयोग गरेर अरूलाई निर्देशन दिन, र त्यसमार्फत आफूलाई सुशोभित पार्न र आदर प्राप्त गर्न सक्छन्। तिनीहरू आफै परमेश्‍वरका वचनहरू अभ्यास गर्दैनन्, न त तिनलाई अनुभव र कार्यान्वयन गर्नुपर्ने सत्यताका रूपमै लिन्छन्। तैपनि, तिनीहरू प्रायः अरूलाई कडाइसाथ र गम्भीर रूपमा यसो भन्छन्: “परमेश्‍वरले भनेका छन्, खाना खाएपछि, थाल चाटेर सफा बनाउनू; यो राम्रो बानी हो र यसो गर्दा खानाको बचत हुन्छ।” हरेक शब्द र वाक्यमा तिनीहरू “परमेश्‍वरले भनेका छन्,” “यो परमेश्‍वरको वचन हो,” वा “यो नै सत्यता हो” भन्‍ने झन्डा फहराउँछन्, तर तिनीहरू आफैचाहिँ त्यसलाई बिलकुलै स्वीकार वा अभ्यास गर्दैनन्। यसका साथै, तिनीहरूले परमेश्‍वरका वचनहरूका विभिन्‍न फैसला र भ्रमपूर्ण व्याख्याहरू पैदा गर्छन्। ख्रीष्टविरोधीहरूले गर्ने नै यही हो।

भर्खरै यी तीन प्रकारका मानिसहरूका प्रकटीकरणहरू विश्‍लेषण गरिसकेपछि, कुनचाहिँ सबैभन्दा गम्भीर देखिन्छ? (अन्तिम प्रकारको।) यस्तो प्रकारको व्यक्ति आफैले परमेश्‍वरका वचनहरू अभ्यास गर्दैन र ऊ परमेश्‍वरका वचनहरूविरुद्ध विभिन्‍न प्रतिरोध र आलोचनाहरूले भरिएको हुन्छ। यसका साथै, उसले अरूलाई भ्रममा पार्न र आफ्ना लक्ष्यहरू हासिल गर्न परमेश्‍वरका वचनहरू प्रयोग गर्छ। यस्ता मानिसहरू ख्रीष्टविरोधी हुन्। तिनीहरूले परमेश्‍वरका वचनहरूको जुनसुकै पक्ष भए पनि, यी वचनहरू तिनीहरूका धारणाहरूअनुरूप भए पनि, परमेश्‍वरका वचनहरूलाई सत्यता मान्दैनन्; यो विशेषगरी मानव धारणाहरू, परम्परागत संस्कृति, र दर्शनसँग पूर्ण रूपमा विरोधाभासी हुने परमेश्‍वरका वचनहरूमा लागु हुन्छ—यी वचनहरूलाई त ख्रीष्टविरोधीहरूले झनै कम महत्त्व दिन्छन्। यदि तिनीहरूले परमेश्‍वरका वचनहरूलाई महत्त्वपूर्ण ठान्दैनन् भने, तिनको किन प्रचार गर्नेथिए र? तिनीहरू आफ्ना उद्देश्यहरू पूरा गर्न परमेश्‍वरका वचनहरू प्रयोग गर्न चाहन्छन्। यी तीन प्रकारका मानिसहरूमध्ये सबैभन्दा खतरनाक यही अन्तिम प्रकारको हुन्छ। पहिलो प्रकारको चाहिँ कस्तो हुन्छ? (उसले परमेश्‍वरका वचनहरू सुन्छ र अभ्यास गर्छ।) के तिमीहरूलाई परमेश्‍वरका वचनहरू सुन्‍ने र अभ्यास गर्नेहरू सबैको दिमाग हुँदैन भन्‍ने लाग्छ? सतहमा, के परमेश्‍वरले जे भन्‍नुहुन्छ र मानिसहरूलाई जे गराउनुहुन्छ त्यसलाई कडाइसाथ पालन गर्नु अलि मूर्खताजस्तो देखिन्छ? (देखिँदैन।) जो परमेश्‍वरका वचनहरू अभ्यास गर्छन् तिनीहरू सबैभन्दा बाठा हुन्छन्। दोस्रो प्रकारको व्यक्तिले कार्यमा ध्यान दिन्छ; उसले सत्यता अभ्यास गर्दैन, बरु आफ्नै इच्छाअनुसार कार्य मात्र गर्छ र केही श्रम गर्छ। उसले परमेश्‍वरका वचनहरूको अर्थ वा माग र मानकहरूप्रति ध्यान दिँदैन। उसले परमेश्‍वरका अभिप्रायहरू वा उहाँको भित्री आवाज बुझ्दैन, र कार्य गर्नमा मात्र ध्यान दिन्छ। ऊ सोच्छ, “मलाई थाहा छ, तपाईँ हाम्रा लागि राम्रै चाहनुहुन्छ। तपाईँले भन्‍नुभएको सबथोक सही हुन्छ। हामीले तपाईँको कुरामा समर्पित हुनुपर्छ र त्यसलाई अभ्यास गर्नुपर्छ; तपाईँ बोल्नमा मात्र ध्यान दिनुहोस्, अनि हामी सबैले सुन्‍नेछौँ।” तर वास्तवमा, उसले परमेश्‍वरको कुरालाई वा मानिसहरूप्रतिका परमेश्‍वरका विस्तृत मागहरूलाई गम्भीर रूपमा लिँदैन। उसले सोचविचार नगरी कार्य गर्छ। सोचविचार नगरी कार्य गर्दा, कहिलेकाहीँ यसले बेकाबु र नीतिभ्रष्ट तरिकाले कार्य गर्ने, अवरोध र बाधाहरू निम्त्याउने हदमा डोर्‍याउन सक्छ; यसले परमेश्‍वरको प्रतिरोधमा डोर्‍याउन सक्छ। परमेश्‍वरको चरम प्रतिरोध गर्दा, यसले कहिलेकाहीँ ठूलो समस्या निम्त्याउँछ, जसले विनाशतर्फ डोर्‍याउन सक्छ। सत्यता नपछ्याउनेहरूका लागि यो सबैभन्दा गम्भीर परिणाम हो, र कतिपय मानिसहरू यो हदसम्‍म पुग्न सक्छन्। तेस्रो प्रकारका व्यक्ति, ती ख्रीष्टविरोधीहरू शैतानका कट्टर अनुयायी हुन्। तिनीहरूले जेसुकै भए पनि, कहिल्यै सत्यता अभ्यास गर्दैनन्। तैँले भनेको कुरा सही भए पनि, तिनीहरूले सुन्‍नेछैनन्, तिनीहरूका आफ्नै धारणाहरू छन् भने त झन् त्यसको कुरै नगरौँ। तिनीहरू परमेश्‍वरका कट्टर शत्रु हुन्, सत्यताका कट्टर शत्रु हुन्। बाहिरबाट हेर्दा, ती मानिसहरू सबैभन्दा धूर्त र चतुर देखिन्छन्। तिनीहरूले सबथोक खुट्ट्याउने र छानबिन गर्ने गर्छन्, र सारा मामलाहरू मनन गर्न र बुझ्न लागिपर्छन्। तर अति धेरै छानबिन गरेपछि, तिनीहरू अन्ततः परमेश्‍वर स्वयम्‌लाई नै छानबिन गरिछाड्छन्, उहाँबारे धारणा र रायहरू बनाइछाड्छन्। परमेश्‍वरले जे गर्नुभए पनि, यदि त्यसले तिनीहरूको आफ्नै फैसला पार गरेन भने, तिनीहरू त्यसलाई निन्दा गर्न बाँकी राख्दैनन्; तिनीहरू त्यसलाई अभ्यास गर्न इन्कार्छन्, त्यो तिनीहरूका लागि हानिकारक होला भनेर डराउँछन्। अर्कोतिर, जो बाहिरी रूपमा मूर्ख देखिन्छन्, तिनीहरू बुद्धि नै नभएझैँ, परमेश्‍वरले जे भन्‍नुभयो ठ्याक्कै त्यही गर्छन्। तिनीहरू अति नै सरल र इमानदार देखिन्छन्, र भन्‍न नमिल्ने कुराहरू पनि खुलेर भन्छन्, रिपोर्ट गर्नु नपर्ने कुरासमेत रिपोर्ट गर्छन्, र कहिलेकाहीँ अलिक भोलाभाला व्यवहार पनि देखाउँछन्। यसले के सङ्केत गर्छ? यसले त्यस्ता मानिसहरूको हृदय परमेश्‍वरप्रति खुला छ, उहाँप्रति बन्द गरिएको वा बारिएको छैन भन्‍ने देखाउँछ। यो सरल उदाहरणबारे छलफल गर्नुको उद्देश्य, ख्रीष्टविरोधी भनेको के हो र परमेश्‍वरका वचनहरूप्रति उसको मनोवृत्ति साँच्चिकै कस्तो हुन्छ भनेर तिमीहरूलाई बुझ्न मदत गर्नु हो। यसको उद्देश्य तिमीहरूलाई कस्ता मानिसहरू ख्रीष्टविरोधी हुन् र कस्ता मानिसहरू सत्यता अभ्यास गर्दैनन् तर ख्रीष्टविरोधी होइनन् भनी खुट्ट्याउन मदत गर्नु हो। यसको उद्देश्य यस्तो सुझबुझ प्राप्त गर्नु हो। आज हामीले सङ्गति गरिरहेको विषय तिमीहरूलाई बुझ्न अझ सजिलो पार्न मैले यतिकै यो उदाहरण ल्याएँ। मैले वास्तवमै तिमीहरूलाई खाना खाएपछि थाल चाटेर सफा पार्न भनिरहेको छैन। न त मैले थाल चाट्नु भनेको स्वच्छता र खाना खेर नफाल्नुको पर्यायवाची हो भनेर परिभाषित नै गरेको छु। तिमीहरूले यसो गर्नु आवश्यक छैन; तिमीहरूले गलत बुझ्‍नु हुँदैन।

आज, ख्रीष्टविरोधीहरूले कसरी परमेश्‍वरका वचनहरू तिरस्कार गर्छन् भन्‍ने सम्बन्धमा “ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिन्छन्” भन्‍ने थप एउटा विषयवस्तुमा सङ्गति गरियो। उपभोग्य वस्तुहरूको कुरा आउँदा, यसमा बिक्री, किनबेच, नाफा र पैसाको कुरा संलग्न हुन्छ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा हेर्नु भनेको कहिल्यै गर्न नहुने काम हो, यो पूर्णतया पापी काम हो। किन? हामीले भर्खरै भेला सुरु गर्दा, सबैले परमेश्‍वरका वचनहरू र सत्यताबारे तिनीहरूका बुझाइ आफ्नै भाषामा सङ्गति गरे, तिनलाई सबैभन्दा सरल भाषामा सारांश गरे। समग्रमा, परमेश्‍वरका वचनहरू नै सत्यता हुन्। मानवजातिका लागि, सत्यता अति नै महत्त्वपूर्ण कुरा हो। सत्यता मान्छेको जीवन हुन सक्छ, यसले मानिसहरूलाई मुक्ति दिन र मृत्युबाट बौर्‍याउन, अनि व्यक्तिलाई मानकअनुरूपको सृजित प्राणी बन्‍न सक्षम तुल्याउन सक्छ। मानवजातिका लागि सत्यताको महत्त्वलाई शब्दहरू, भौतिक वस्तुहरू वा पैसामा मापन गर्न सकिँदैन। यसलाई त प्रिय र बहुमूल्य ठानिनुपर्छ, र यो मानिसहरूले कार्यहरू, आचरण, जीवन र पूरै अस्तित्वका लागि मार्गदर्शन, दिशा, र लक्ष्यका रूपमा लिन योग्य छ। मानिसहरूले सत्यताबाट, अभ्यासको मार्ग प्राप्त गर्नुपर्छ, साथै यसबाट परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने मार्ग प्राप्त गर्नुपर्छ। मानिसहरूका लागि, सत्यता भनेको जीवनसरह हो। कुनै पनि भौतिक वस्तु वा धनलाई सत्यतासँग बराबरी मानेर कुरा गर्न सकिँदैन। यो भौतिक संसारमा, वा पूरै ब्रह्माण्ड जगतमा, सत्यतासँग तुलना गर्नयोग्य कुरा केही पनि छैन, न त सत्यताको बराबर हुन सक्ने कुनै कुरा नै छ। यसबाट प्रस्ट हुन्छ कि मुक्तिको खाँचो भएका मानवजातिका लागि, सत्यता नै सबैभन्दा मूल्यवान् खजाना हो, र यो अमूल्य छ। तैपनि, अचम्मको कुरा, यस्तो अमूल्य चिजलाई समेत उपभोग्य वस्तुका रूपमा लिने र नाफाका लागि बेच्ने र कारोबार गर्ने व्यक्तिहरू पनि छन्। के यस्ता व्यक्तिहरूलाई दियाबलस, शैतानका रूपमा चित्रण गर्न सकिन्छ? अवश्यै सकिन्छ! आत्मिक क्षेत्रमा, यस्ता व्यक्तिहरू दियाबलस र शैतान हुन्; मानिसहरूका माझमा, तिनीहरू ख्रीष्टविरोधीहरू हुन्।

हामीले भर्खरै ख्रीष्टविरोधीहरूले कसरी परमेश्‍वरका वचनहरूलाई व्यक्तिगत फाइदाका लागि बिक्रीमा राखिने उपभोग्य वस्तुका रूपमा लिन्छन् भन्‍ने कुराका केही प्रकटीकरणहरूबारे सङ्गति गर्‍यौँ। यो अवश्य नै कुनै निश्‍चित अर्थमा भनिएको हो र यो पूर्ण रूपले यसको शाब्दिक अर्थसँग मिल्दैन—सीधा रूपले चाहिँ तिनीहरूले परमेश्‍वरका वचनहरूलाई बिक्रीमा राखिने उपभोग्य वस्तुका रूपमा लिन्छन् भन्‍ने कुरा प्रस्ट देखिँदैन। तर, खासमा, तिनीहरूको व्यवहार, शैली, र सारसमेत मूल्याङ्कन गर्दा, तिनीहरूले पहिले नै वा अत्यन्तै निश्‍चिततासाथ परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा, र स्वामित्वमा राखिने भौतिक चिजका रूपमा लिइसकेका हुन्छन्। तिनीहरूको स्वामित्वमा परिसकेपछि, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो सानो पसलको सामानका रूपमा लिन्छन्, र अवसर आएको बखत जसलाई आवश्यक परेको छ उसलाई बेच्छन् र त्यसबाट फाइदा प्राप्त गर्छन्। ख्रीष्टविरोधीहरूले यसबाट के-के फाइदाहरू प्राप्त गर्छन्? यी फाइदाहरूमा तिनीहरूको प्रतिष्ठा, अरूबाट मिल्‍ने उच्च मान र अन्धोभक्ति, आफूतिर चढाइने प्रशंसाका नजरहरू, र अरूले प्रदान गर्ने सुरक्षा, जस्तै तिनीहरूको हैसियत र इज्जतको सुरक्षा पर्छन्। तिनीहरूलाई बर्खास्त गरिँदा र हटाइँदासमेत, मानिसहरूले तिनीहरूको पक्षमा बोल्नेछन् र तिनीहरूको प्रतिरक्षा गर्नेछन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूबाट लिने फाइदाहरू यिनै हुन्। ख्रीष्टविरोधीहरूले चाहने र पछ्याउने, साथै तिनीहरूले लामो समयदेखि हृदयमा नियोजित गरेका फाइदाहरू यिनै हुन्। यो ख्रीष्टविरोधीहरूको सार हो। तिनीहरूका कार्य र व्यवहारहरूमा तिनीहरूको प्रकृतिकै प्रेरणा र दबदबा हुन्छ, र यी प्रकटीकरणहरूबाट, ख्रीष्टविरोधीहरूको प्रकृति सार देख्न सकिन्छ।

२. व्यक्तिगत लाभका लागि परमेश्‍वरको वचनका पुस्तकहरू बेच्नु

अब, हामी दोस्रो पक्षबारे सङ्गति गर्नेछौँ, जुन परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिने ख्रीष्टविरोधीहरूको वास्तविक व्यवहार र शैली हो। यो शैली भनेको यसप्रकारका ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूका विभिन्‍न प्रकारका पुस्तकहरूलाई उपभोग्य वस्तुका रूपमा लिनु हो। जब तिनीहरूले परमेश्‍वरका वचनहरूका यी पुस्तकहरू पाउँछन्, तब तिनीहरू आफूले पैसा कमाउने पुँजी प्राप्त गरेको, पैसा कमाउनलाई चाहिने सम्पत्तिहरू हात पारेको विश्‍वास गर्छन्। परमेश्‍वरका वचनहरू छापिएका यी पुस्तकहरू, तिनीहरूका सम्पत्ति, तिनीहरूले बेच्ने अभिप्राय राखेका उपभोग्य वस्तु, र तिनीहरूले अत्यधिक लाभ कमाउन प्रयोग गर्ने वस्तु बन्छन्। ख्रीष्टविरोधीहरूले यी पुस्तकहरू आफैसँग राख्छन्, तिनलाई परमेश्‍वरको घरले माग गर्ने सिद्धान्तअनुसार वितरण गर्दैनन् बरु तिनीहरूका आफ्नै अभिप्रायहरूका आधारमा अनुचित तरिकाले लाभ प्राप्त गर्न खोज्छन्। परमेश्‍वरको घरमा पुस्तकहरू वितरण गर्ने सिद्धान्त के हो? यो त परमेश्‍वरका वचनहरू पढ्न रुचाउने र सत्यताको तृष्णा गर्ने सबैलाई यी पुस्तकहरू निःशुल्क वितरण गर्नु हो। जतिसुकै मानिसहरूले यी पुस्तक प्राप्त गरे पनि वा जतिसुकै पुस्तकहरू वितरण गरिए पनि, यो सधैँ निःशुल्क नै हुन्छ। इसाई जगतमा परमेश्‍वरमाथि विश्‍वास गर्दा, बाइबल निःशुल्क पाइँदैन; त्यो किन्नैपर्छ। तर अहिले, परमेश्‍वरका यी वचनहरू र यी पुस्तकहरू परमेश्‍वरको घरद्वारा निःशुल्क वितरण गरिन्छन्, जुन एउटा महत्त्वपूर्ण कुरा हो। तर समस्या तब उत्पन्‍न हुन्छ, जब ख्रीष्टविरोधीहरूका हातमा यी पुस्तकहरू पर्छन् र तिनीहरू यी पुस्तक सिद्धान्तअनुसार निःशुल्क वितरण गर्न असफल हुन्छन्। सामान्य परिस्थितिहरूमा, अलिकति परमेश्‍वरको डर मान्‍ने हृदय भएकाहरूले पैसा नलिईकन वा अनुचित तरिकाले अत्यधिक लाभ प्राप्त गर्न नखोजीकन, सिद्धान्तअनुसार यी पुस्तकहरू निःशुल्क वितरण गर्नेथिए। तर, यी पुस्तकहरू प्राप्त गरेपछि, ख्रीष्टविरोधीहरूले मात्र, व्यापारको अवसर आएको छ भन्ने सोच्छन्। तिनीहरूका महत्त्वाकाङ्क्षा र लोभ यसरी उत्पन्‍न हुन्छ: “यस्ता मोटा, राम्रा पुस्तकहरू निःशुल्क दिने—के त्यसले घाटा हुँदैन? के यीबाट केही पैसा नकमाउनु मूर्खता होइन र? त्यसमाथि, यी पुस्तकहरू अन्यत्र किन्‍न सकिँदैन, र मूल्य जतिसुकै भए पनि, परमेश्‍वरमा विश्‍वास गर्ने धेरैजसो मानिसहरूले यी पुस्तक पढ्न चाहनेछन्।” मानिसहरूमा यस्तो मानसिकता हुन्छ भनेर बुझेपछि, ख्रीष्टविरोधीहरूले निश्‍चित सोचहरू विकास गर्न थाल्छन्: “मैले पैसा कमाउने यो अवसर गुमाउन मिल्दैन; यस्ता अवसरहरू विरलै आउँछन्। ती पुस्तकहरू वितरण गर्दा, मैले मानिसहरूलाई वर्ग-वर्गमा विभाजन गर्नुपर्छ, धनीहरूबाट बढी पैसा लिनुपर्छ, औसत वर्गलाई मध्यम मूल्य, गरिबहरूलाई कम मूल्य तोक्नुपर्छ वा तिनीहरूलाई बिलकुलै वितरण गर्नु हुँदैन, मेरो चापलुसी गर्नेहरूलाई छूट दिनुपर्छ, र मसित नमिल्नेहरूबाट बढी पैसा लिनुपर्छ।” के यो पुस्तक वितरण गर्ने परमेश्‍वरको घरका प्रावधानहरूअनुरूप छ? (छैन।) यो त व्यापार गर्नु हो। ख्रीष्टविरोधीहरूले यस्ता विचारहरू विकास गर्छन्: तिनीहरूले परमेश्‍वरको घरका प्रावधान र सिद्धान्तहरूअनुसार पुस्तकहरू वितरण गर्छन् कि गर्दैनन् भन्‍ने कुरालाई थाती राखेर, सुरुमा तिनीहरू परमेश्‍वरका वचनहरूप्रति कस्तो व्यवहार गर्छन् भन्‍नेबारे कुरा गरौँ। परमेश्‍वरका वचनका पुस्तकहरू तिनीहरूको हातमा परेपछि, के तिनीहरूले तिनलाई कदर गर्छन्? (गर्दैनन्।) तिनीहरू परमेश्‍वरका वचनहरूमा चर्चा गरिएको जीवनको मार्ग वा सत्यतामा रुचि राख्दैनन्; तिनीहरू तिनलाई मूल्यवान् ठान्दैनन् र तीबारे अलिकति पनि जिज्ञासु हुँदैनन्। तिनीहरूले सतही रूपमा मात्र चाँ-चाँडो पुस्तक पढ्छन्, यतिकै पानाहरू पल्टाउँदै हेर्छन्: “यसले त परमेश्‍वरले कसरी मानिसहरूलाई न्याय गर्ने काम गर्छन्, उनले कसरी मानिसहरूको एउटा समूहमाथि विजय हासिल गरे, र उनले कसरी मानिसहरूलाई असल गन्तव्य दिन्छन् भन्‍नेबारे मात्र कुरा गर्छ। मानवजातिको भविष्यबारे यसमा विस्तृत विवरणहरू छैनन्, त्यसकारण यो पुस्तक खासै चाखलाग्दो छैन। तर यो पुस्तक खासै चाखलाग्दो नभए पनि, धेरै मानिसहरू यसलाई पढ्न इच्छुक छन्। यो राम्रो कुरा हो; मैले यसबाट लाभ कमाउन सक्छु।” जब परमेश्‍वरका वचनका पुस्तकहरू तिनीहरूका हातमा पर्छन्, तब ती पुस्तकहरू उपभोग्य वस्तु बन्छन्, जसको अर्थ धेरै मानिसहरूले, कम्तीमा एक भाग मानिसहरूले, यी पुस्तकहरू किन्‍न पैसा खर्च गर्नुपर्नेछ। ख्रीष्टविरोधीहरूले, परमेश्‍वरमा विश्‍वास गरिरहेको, अनि परमेश्‍वरको घरको काम गरिरहेको र परमेश्‍वरका वचनका पुस्तकहरू वितरण गर्ने प्रभारी रहेको ढोँग गर्दै, दखल दिन्छन् र परमेश्‍वरको घरले गर्ने यी पुस्तकहरूको निःशुल्क वितरणलाई कारोबारमा, किनबेचमा परिणत गर्छन्। परमेश्‍वरले उहाँका वचनहरू ध्यानपूर्वक सुन्‍नेहरू सबैलाई आफूले बोलेका वचनहरू निःशुल्क आपूर्ति गर्नुहुन्छ; ती निःशुल्क हुन्छन्, त्यसमा कुनै लेनदेन आवश्यक हुँदैन। मानिसहरूबाट गरिने माग त स्विकार्नु, अभ्यास र अनुभव गर्नु, परमेश्‍वरका वचनहरूप्रति समर्पण हासिल गर्नु, र परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने व्यक्ति हुनु मात्र हो। त्यसपछि परमेश्‍वर सन्तुष्ट बन्‍नुहुन्छ, उहाँको लक्ष्य हासिल हुन्छ, र उहाँले वचनहरू व्यर्थमा बोल्नुभएको हुँदैन। उहाँले यसबाट ढाडस पाउनुहुन्छ। यो परमेश्‍वरको चाहना हो र यो उहाँले मानिसमाथि गर्नुभएको छ हजार वर्षे व्यवस्थापनको कार्यको उद्देश्य पनि हो, जुन सृजित प्राणीहरूप्रतिको सृष्टिकर्ताको सबैभन्दा सुन्दर कामना हो। परमेश्‍वरले उहाँका वचनहरू, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो, र उहाँका अभिप्रायहरू उहाँलाई पछ्याउनेहरूलाई निःशुल्क र निरन्तर आपूर्ति गर्नुहुन्छ। यो यति स्वच्छ र पवित्र कार्य हो, यो यति वैभवशाली कार्य हो; यसमा कुनै कारोबार संलग्न हुँदैन। परमेश्‍वरका वचनहरूलाई ध्यानपूर्वक सुन्‍ने र तिनको तृष्णा गर्ने हरेक व्यक्तिका लागि, परमेश्‍वरले बोल्नुहुने हरवाक्य अमूल्य हुन्छ। मानिसहरूले परमेश्‍वरबाट सत्यता र उहाँका वचनहरू निःशुल्क पाउँछन्, र तिनीहरूका हृदयका गहिराइमा, तिनीहरू परमेश्‍वरलाई फिर्ता दिन, उहाँका अभिप्रायहरू पूरा गर्न, र उहाँलाई सान्त्वना महसुस गराउन चाहन्छन् ताकि उहाँको महान् काम चाँडो पूरा गर्न सकियोस्। सृष्टिकर्ता र सृजित मानवजातिबीच हुनुपर्ने मौन समझदारी यही हो। तर, ख्रीष्टविरोधीहरूले यो कुरालाई कारोबारमा परिणत गर्छन्। तिनीहरूले परमेश्‍वरको बोलाइ र काम गराइ, साथै मानिसहरूमाथि परमेश्‍वरका वचनहरूको आपूर्तिको खाँचोलाई व्यक्तिगत लाभ उठाउने अवसरलाई दुरुपयोग गर्छन्, र तिनीहरूले प्राप्त गर्न नहुने पैसा र फाइदाहरू प्राप्त गर्छन्। के यस्तो व्यवहारले व्यक्तिलाई श्रापलायक बनाउँदैन र? परमेश्‍वरले पारितोषिकका लागि मानवजातिसँग बोल्नुहुन्छ भनेर तैँले परमेश्‍वरका कुन अभिव्यक्तिहरूबाट देखेको वा सुनेको छस्? एउटा वाक्यको कति, एउटा अनुच्छेदको कति, एउटा प्रवचनको कति, एउटा पुस्तकको कति, वा एकपटक काटछाँट, वा न्याय र सजाय, वा शोधन, वा जीवन आपूर्ति गरेको कति लिनुहुन्छ? के परमेश्‍वरले कहिल्यै यस्ता वचनहरू बोल्नुभएको छ? (छैन।) परमेश्‍वरले यस्ता कुराहरू कहिल्यै बोल्नुभएको छैन। परमेश्‍वरद्वारा जारी गरिएको हरेक वाक्य, अनुच्छेद, र अंश, मानिसहरू परमेश्‍वरद्वारा काटछाँट, सजाय र न्याय, परीक्षा र शोधन गरिने हरघटना, साथै परमेश्‍वरका वचनहरूको आपूर्ति र पोषण, आदि इत्यादि—यी सबैमा, यीमध्ये कुनचाहिँ पैसाले मापन गर्न सकिन्छ? यीमध्ये कुनचाहिँ मानिसहरूले पैसा, वा भौतिक चिजहरू दिएर, वा देहगत मूल्य तिरेर प्राप्त गर्न सक्छन्? कुनै पनि सक्दैनन्। परमेश्‍वरले गर्नुहुने सबथोक, परमेश्‍वरले व्यक्त गर्नुहुने सबै सत्यताहरू अमूल्य छन्। ती अमूल्य भएकै कारण, कुनै पनि व्यक्तिले पैसा वा कुनै भौतिक वस्तुसँग परमेश्‍वरसँग जे छ र परमेश्‍वर जे हुनुहुन्छ ती साट्न नसक्ने भएकै कारण, परमेश्‍वरले मानिसहरूलाई बिनाशुल्क उहाँका वचनहरू आपूर्ति गर्नुहुन्छ भनेर भन्‍नुहुन्छ। तैपनि, ख्रीष्टविरोधीहरूले उहाँले व्यक्त गर्नुहुने सत्यताहरू र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको मूल्यवान् र अमूल्य प्रकृति देख्न सक्दैनन्; त्यसको साटो, तिनीहरू तीबाट अनुचित रूपमा अत्यधिक लाभ प्राप्त गर्न खोज्छन्, जुन पूर्णतया लाजमर्दो कुरा हो!

कतिपय ख्रीष्टविरोधीहरू मानिसहरूलाई सास्ती दिन, आफ्नै ख्याति र प्रतिष्ठा स्थापित गर्न, र अरूलाई तिनीहरूको आतङ्क र शक्ति महसुस गराउन, परमेश्‍वरका वचनहरू आफैसँग थामेर राख्छन्, र आफूमुनिका दाजुभाइ-दिदीबहिनीहरूलाई ती वितरण गर्दैनन्। तसर्थ, यस्ता दुष्ट मानिस र ख्रीष्टविरोधीहरूले शक्ति राख्ने केही मण्डलीहरूमा, दाजुभाइ-दिदीबहिनीहरूले पढ्नका लागि परमेश्‍वरका वचनहरू वा सुन्‍नका लागि परमेश्‍वरका प्रवचनरहित हुन्छन्। के यस्ता मानिसहरू श्रापित हुन योग्य छैनन् र? तिनीहरूले परमेश्‍वरका वचनहरूलाई केका रूपमा लिएका छन्? तिनीहरूको निजी सम्पत्तिका रूपमा। परमेश्‍वरका वचनहरू निष्कपट रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउनेहरूलाई परमेश्‍वरद्वारा प्रदान गरिएका हुन्; ती कुनै व्यक्ति विशेषलाई प्रदान गरिएका होइनन्, र निश्‍चय नै ती कसैको निजी सम्पत्ति पनि होइनन्। परमेश्‍वरका वचनहरू सारा मानवजातिका लागि बोलिएको हो, र परमेश्‍वरको बोलीलाई कसैले पनि कुनै कारण वा बहाना बनाएर रोकेर राख्‍न मिल्दैन। तैपनि, ख्रीष्टविरोधीहरूले ठ्याक्कै त्यस्तै भूमिका खेल्छन्, यसो गर्नलाई परिपाटी तोड्छन्। कतिपय ख्रीष्टविरोधीहरू, सबैभन्दा पछिल्ला प्रवचनका रेकर्डिङ प्राप्त गरेपछि, पहिला आफू सुन्छन्, र त्यसमा केही नयाँ ज्योति र आफूले थाहा नपाएको केही विषयवस्तु रहेको पत्तो पाएपछि, आफ्नो मातहतमा रहेकाहरूलाई उक्त प्रवचन शृङ्खला वितरण नगर्ने निधो गर्छन्। तिनीहरूले अरू कसैलाई थाहा नदिई, प्रवचनका रेकर्डिङहरू आफैसँग रोकेर राख्छन्। आफैसँग रोकेर राख्नुको उद्देश्य के हो? यसको उद्देश्य भेलाहरूमा देखावट गर्नु हो, जुन बेचबिखनमा संलग्न हुनुसरह हो। यो देखावटको कार्यमार्फत, जब तिनीहरूमातहतका मानिसहरूले पहिले कहिल्यै नसुनेका विषयवस्तुहरू सुन्छन्, जब तिनीहरूले सुन्‍ने कुराहरू सबै नयाँ हुन्छन्, तब तिनीहरूले त्यो ख्रीष्टविरोधीहरूलाई उच्च ठान्छन्, र यसरी ख्रीष्टविरोधीहरूको लक्ष्य हासिल हुन्छ। अकाट्य तथ्य के हो भने, सबैतिरका मण्डलीहरूमा, कतिपय यस्ता मानिसहरू पक्कै हुन्छन्, जो सङ्गतिका प्रवचनहरू वा रेकर्डिङहरू समयमा वा पूर्ण रूपमा वितरण गर्दैनन्; यस्ता व्यक्तिहरू बिलकुलै हुन्छन्। यसका साथै, कतिपय ख्रीष्टविरोधीहरूले त तिनीहरूप्रति मानिसहरूको मनोवृत्ति के छ भन्‍ने आधारमा परमेश्‍वरका वचनका पुस्तकहरू वितरण गर्छन्, तिनीहरूसित नजिकिने वा तिनीहरूलाई चिप्लो घस्नेहरूलाई नै ती पुस्तकहरू दिन्छन्। ती पुस्तकहरू निःशुल्क भए पनि, सबैले सजिलै पाउन सक्दैनन्; ख्रीष्टविरोधीहरूका हातमा निःशुल्क र सामयिक वितरणको सिद्धान्त कमजोर पारिन्छ, त्यसमा विभिन्‍न सर्तहरू राखिन्छ। तिनीहरूले ती पुस्तकहरू तिनीहरूको पक्षमा भएकाहरू वा तिनीहरूको कुरा सुन्‍नेहरूलाई आनाकानीपूर्वक देलान्, तर समयमै दिन्छन् भन्‍नेचाहिँ छैन; तिनीहरूका विचारसँग असहमत हुने वा तिनीहरूलाई विरोधसमेत गर्नेहरूका हकमा, ख्रीष्टविरोधीहरूले मान्छे छानेर मात्र पुस्तकहरू दिन सक्छन् वा बिलकुलै नदिन पनि सक्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनका पुस्तकहरूको वितरणबाट अनुचित तरिकाले अत्यधिक लाभहरू लिन खोज्ने मात्र नभई, त्यसलाई मानिसहरू आकर्षित गर्ने, मानिसहरूको मन जित्ने, साथै अरूलाई दबाउने र सास्ती दिने माध्यमका रूपमा समेत प्रयोग गर्छन्—तिनीहरूले हरप्रकारका कुकर्म गर्न सक्षम हुन्छन्। यदि कसैले तिनीहरूबारे नराम्रो बोलेमा, तिनीहरूलाई चयन नगरेमा, वा तिनीहरूविरुद्ध मतदान गरेमा, तिनीहरूले त्यो व्यक्तिलाई सताउने उपायका रूपमा परमेश्‍वरका वचनहरू तिनीहरूसँगै रोकेर राख्न सक्छन् भन्दै मानिसहरूलाई धम्क्याउन पनि सक्छन्। त्यसकारण, कतिपय मानिसहरू त समयमै परमेश्‍वरका वचनका पुस्तकहरू वा प्रवचनका रेकर्डिङहरू प्राप्त गर्न नसकिएला भन्‍ने डरले, यी ख्रीष्टविरोधीहरूदेखि भयभीत हुन्छन्। ती मानिसहरू ख्रीष्टविरोधीहरूले दुष्टता गरे पनि र तिनीहरू आफैले अनुचित व्यवहार भोगे पनि, ख्रीष्टविरोधीहरूको दमन र सास्तीमा परिने, माथिसँगको सम्पर्क टुट्ने, र माथिले दिने मलजल र आपूर्ति गुम्ने डरले, ख्रीष्टविरोधीहरूबारे रिपोर्ट गर्ने आँट गर्दैनन्। के त्यस्ता मानिसहरू हुन्छन्? बिलकुलै, शतप्रतिशत हुन्छन्। ख्रीष्टविरोधीहरू हरप्रकारका खराब कार्यहरूमा संलग्न हुन्छन्; तिनीहरू शक्ति र लाभका लागि लड्ने, गुटहरू निर्माण गर्ने, र आफ्नै स्वतन्त्र राज्य सृजना गर्ने मात्र गर्दैनन्, परमेश्‍वरका वचनहरू वितरण गर्ने कुरा आउँदा, त्यसलाई समेत बाँकी राख्दैनन्। तिनीहरूले आफूलाई अनुचित तरिकाले लाभहरू प्राप्त गर्न, र आफ्नो हैसियत र शक्ति प्राप्त गर्न सक्षम तुल्याउने जुनसुकै कुरा पनि शोषण गरिछाड्छन्; तिनीहरूले परमेश्‍वरका वचनहरूलगायत, कुनै कुरालाई पनि बाँकी राख्दैनन्। के यी घटनाहरू तिमीहरूका मण्डलीमा वा तिमीहरूको वरिपरि घटेका छन्? कतिपय ख्रीष्टविरोधीहरू त आफूभन्दा मुनिकाहरूलाई यसो भन्दै धम्क्याउँछन्, “यदि तिमीले मलाई चयन गरेनौ भने, मबारे माथि रिपोर्ट गर्‍यौ भने, मलाई मन पराएनौ भने, यदि तिमीले मेरो बारेमा कुरा लगायौ र मैले पत्ता लगाएँ भने, त्यसउप्रान्त तिमीले प्रवचनका रेकर्डिङहरू पाउनेछैनौ। म तिम्रो आपूर्ति काटिदिनेछु, तिमीलाई पोषणरहित राख्‍नेछु, तिर्खाएर मर्ने तुल्याउनेछु, भोकै पार्नेछु!” के ख्रीष्टविरोधीहरूको स्वभाव क्रूर हुँदैन र? अत्यन्तै क्रूर हुन्छ! तिनीहरूले हरप्रकारका खराब काम गर्न सक्छन्।

यदि तिमीहरूले यस्ता ख्रीष्टविरोधीहरू सामना गऱ्यौ भने, तिमीहरू तिनीहरूलाई कसरी सम्हाल्नेथियौ? के तिमीहरू तिनीहरूबारे माथि रिपोर्ट गर्ने आँट गर्छौ? के तिमीहरू एकजुट भई तिनीहरूलाई नकार्ने आँट गर्छौ? (गर्छौँ।) अहिले त गर्छु भन्छस्, तर साँच्चै तिनीहरूको सामना गर्दा तँलाई आँट नआउन सक्छ; तँ यस्तो सोचेर पछि हट्नेछस्, “म सानो कदको छु, म युवा नै छु, म कमजोर र एक्लो छु। यदि साँच्चिकै ख्रीष्टविरोधीहरू गुट बनाएर मलाई सताएमा, के म सक्किनेछैनँ र? परमेश्‍वर कहाँ हुनुहुन्छ? मेरा गुनासाहरू कसले सुन्‍नेछन्? कसले मेरा गुनासाहरू निवारण गर्नेछ र मलाई न्याय दिनेछ? मेरा निम्ति को उभिनेछ?” तेरो आस्था किन यति सानो भएको? ख्रीष्टविरोधीलाई सामना गर्नुपर्दा तँ कायर बन्छस्, तर शैतानले भेटेरै तँलाई धम्क्यायो भने तैँले के गर्थिस्—के त्यसपछि तैँले परमेश्‍वरमा विश्‍वास गर्न छोड्थिस्? यदि ख्रीष्टविरोधीले तँलाई परमेश्‍वरका वचनहरू वितरण गरेन भने, तैँले के गर्थिस्? उसले तँलाई परमेश्‍वरका वचनका पुस्तकहरूको पैसा तिरायो भने, तँ के गर्थिस्? ख्रीष्टविरोधीले तँलाई परमेश्‍वरका वचनका पुस्तकहरू वितरण गर्दैपिच्छे, तेरा लागि प्रक्रिया कठिन बनायो र रुखो बोल्यो भने, तैँले के गर्नेथिइस्? के यो परिस्थिति सम्हाल्न सजिलो छ? म तँलाई एउटा चलाख रणनीति भन्छु: जब परमेश्‍वरका वचनका पुस्तकहरू वितरण गर्ने समय आउनै लागेको हुन्छ, तब तैँले ख्रीष्टविरोधीको छेउमै उभिएर जोसजाँगरपूर्वक मिठा शब्दहरू बोल्, र उसको विश्‍वास जित्न उसको जोरदार प्रशंसा र तारिफ गर्। अनि, उसले तँलाई परमेश्‍वरका वचनका पुस्तकहरू र प्रवचनका रेकर्डिङहरू वितरण गरेपछि, उसको बारेमा माथि रिपोर्ट गर्ने अवसर खोज्। यदि उसको बारेमा माथि रिपोर्ट गर्ने कुनै उपाय भेटिएन भने, मौका खोजेर सुझबुझ भएका दाजुभाइ-दिदीबहिनीहरूसँग एकजुट भई उक्त ख्रीष्टविरोधीलाई बाँध् र सीमित पार्। यसले साँच्चिकै मण्डलीको हानि हटाउँछ र यो परमेश्‍वरका अभिप्रायहरूसँग सबैभन्दा धेरै मिल्छ। कतिपयले सोध्लान्, यदि ख्रीष्टविरोधीले यो योजना पत्ता लगायो भने, के गर्ने? यदि तँ योचोटि विश्‍वस्त छैनस् भने, अर्को मौका पर्खी। जब तँसित साहस हुन्छ र अवस्थाहरू ठिक हुन्छन्, त्यहीबेला तैँले कदम चाल्। छोटकरीमा भन्‍नुपर्दा, यदि तँलाई ख्रीष्टविरोधीले तेरो पोषण बन्द गर्ला भन्‍ने डर छ भने, सुरुमा धेरै धाक नदेखा। आफ्नो खुलासा नगर् वा ख्रीष्टविरोधीलाई तँलाई छर्लङ्गै देख्न नदे। जब तैँले पर्याप्त कद पाएको हुन्छस्, जब तँसित ख्रीष्टविरोधीका विरोधमा खडा हुन सक्‍ने, ख्रीष्टविरोधीलाई खुट्ट्याउन र नकार्न सक्‍ने उचित, सच्चा र अझै धेरै मानिसहरू हुन्छन्, त्यहीबेला तैँले ख्रीष्टविरोधीसँग सम्बन्ध तोड्न सक्छस्। यो रणनीति कस्तो सुनिन्छ? (राम्रो।) कतिपयले भन्लान्, “के यो अरूलाई छल गर्नु होइन र? के परमेश्‍वरले हामी इमानदार मानिस भएको चाहनुहुन्‍न र? यो त इमानदार देखिँदैन।” के यो अरूलाई छल गर्नु हो? (होइन।) यो त दियाबलससँग खेलबाड हो। कुनै ख्रीष्टविरोधी, जो दियाबलस हो, त्यससँग व्यवहार गर्न जुनसुकै विधि पनि स्वीकार्य हुन्छ।

के तिमीहरूलाई ख्रीष्टविरोधीहरूसँग डर लाग्छ? मानौँ तेरो वरपर, तेरो आफ्नै मण्डलीमा, साँच्चिकै कुनै ख्रीष्टविरोधी छ। तैँले उसलाई याद गरेको छस्; ऊसित शक्ति र हैसियत छ, र उसलाई धेरै मानिसहरूले समर्थन गर्छन्। उसको गुट छ, र केही कट्टर अनुयायीहरू छन्। यस्तोमा के तँ ऊदेखि डराउनेथिइस्? कतिपयले डराउनेथिएँ भनेर भन्छन्। के डर मान्‍नु ठिक हो? यो डरको कम्तीमा एउटाचाहिँ राम्रो र सही पक्ष छ। म किन त्यसो भन्दै छु? यदि तँ ऊदेखि डराउँछस् भने, यसले देखाउँछ कि कम्तीमा तँ हृदयमा ऊ दुष्ट हो, उसले तँलाई सास्ती दिन र हानि गर्न सक्छ, ऊ असल व्यक्ति वा सत्यता पछ्याउने व्यक्ति होइन भनी विश्‍वास गर्छस्—तँसित हृदयमा कम्तीमा उसको बारेमा यो बुझाइ र सुझबुझ त छ। तैँले उसलाई ख्रीष्टविरोधीको रूपमा चित्रण गर्न वा ऊ ख्रीष्टविरोधी हो भनेर खुट्ट्याउन नसक्लास्, तर कम्तीमा तँलाई थाहा हुन्छ कि, ऊ असल, सत्यता पछ्याउने, सोझो वा दयालु, वा इमानदार व्यक्ति होइन, र त्यसैले तैँले उसको डर मान्छस्। सामान्य र साधारण वा निष्कपट मानिसहरूले पिशाचहरूबाहेक प्राय: कस्ता प्रकारका मानिसहरूको डर मान्छन्? (दुष्ट मानिसहरूको।) दुष्ट मानिसहरूसँग सबै डराउँछन्। कम्तीमा, तँलाई हृदयमा यो व्यक्ति दुष्ट हो भन्‍ने थाहा हुन्छ। यसका आधारमा, परमेश्‍वरका वचन र सत्यता सिद्धान्तहरूप्रति उसको मनोवृत्ति के छ, अवलोकन गर्; उसले सत्यता अभ्यास गर्छ कि गर्दैन, त्यो हेर्, उसका विभिन्‍न व्यवहारहरू खुट्ट्याउने, र उसका व्यवहारहरूमार्फत उसको सार बुझ्ने र खुट्ट्याउने गर्। अन्ततः, यदि तैँले ऊ ख्रीष्टविरोधी हो भनेर निर्धारण गर्न सकिस् भने, तेरो डरमा अर्को तत्त्व पनि समावेश हुनेछ—र त्यो हो, ऊप्रतिको सुझबुझ। तैँले हृदयमा उसको डर माने पनि, तँ उसको पक्षमा हुनेछैनस्, र तैँले हृदयमा उसलाई इन्कार गर्नेछस्—के यो राम्रो कुरा हो कि नराम्रो हो? (राम्रो कुरा हो।) यदि उसले तँलाई ऊसित मिलेर दुष्टता गर्न भनेमा, के तँ सहमत हुनेछस्? के तेरो हृदयमा यो कुराप्रति सुझबुझ हुनेछ? यदि उसले तँलाई ऊसित मिलेर परमेश्‍वरलाई गाली गर्न वा उहाँको आलोचना गर्न भनेमा, के तँ सहमत हुनेछस्? यदि उसले तँलाई अरूलाई सास्ती दिनका निम्ति ऊसित सहकार्य गर्न भनेमा, र निश्‍चित व्यक्तिहरूलाई परमेश्‍वरका वचनका पुस्तकहरू वितरण नगर्न भनेमा, के तँ सहमत हुनेछस्? तँ यी कुराहरू गर्न सहमत हुँदैनस् भनेर शतप्रतिशत निश्‍चित नभए पनि, कम्तीमा तैँले तेरो हृदयमा उसका कार्यहरू खुट्ट्याएको हुनेछस्। तैँले आनाकानीपूर्वक र करकापमा परेर, ऊसँग केही काम गर्न सक्छस्, तर त्यो तँलाई त्यसो गर्न बाध्य पारिएकोले मात्र हुनेछ, र त्यो स्वेच्छाले गरिएको हुनेछैन; कम्तीमा तँ मुख्य अपराधी हुनेछैनस्, बढीमा, तँ उसका अपराधहरूको सहयोगी मात्र हुनेछस्। तैँले उसलाई सिधै खुलासा गर्ने वा उक्साउने काम नगरे पनि, तैँले उसको अनुयायी वा मतियार बन्‍ने काम पनि गर्नेछैनस्। यो केही हदसम्म, ख्रीष्टविरोधीलाई अस्वीकार गर्नु हो। धेरैजसो मानिसहरूले दुष्ट मानिस र ख्रीष्टविरोधीहरूको डरका कारण, आफ्नो रक्षा गर्नहेतु छुट अपनाउन मात्र सक्छन्, त्यसैले तैँले अस्थायी समाधानका रूपमा यति गर्न सक्नु पनि राम्रै हो। तर के यो स्तरमा पुग्नुलाई आफ्नो गवाहीमा दृढ रहेको मानिन्छ? के यसलाई सत्यता सिद्धान्तहरू कायम राखेको मानिन्छ? के यसलाई शैतानलाई पराजित गरेको मानिन्छ? परमेश्‍वरका नजरमा त मानिँदैन। त्यसोभए तँ कसरी आफ्नो गवाहीमा दृढ रहन सक्छस्? तिमीहरू सबैमा मार्गको कमी छ, र तिमीहरू बस आफ्नो सुरक्षाका लागि यसरी छुट अपनाउँछौ: “तिनीहरूले दुष्टता गर्छन्, तर दुष्टता गर्नलाई तिनीहरूसँग मिल्‍ने ममा आँट छैन; मलाई दण्डित हुन्छु भन्‍ने डर छ। तिनीहरू दुष्ट मानिसहरू हुन्; तिनीहरूले मानिसहरूलाई सास्ती दिनका लागि खराब कामकुरा गर्छन्। तर जे भए पनि, मैले आफैले कसैलाई सास्ती नदिएसम्म, त्यो ठीकै हुन्छ। त्यो दुष्टताको दोष मलाई लाग्नेछैन।” यदि बढीमा, तिमीहरूले यतिसम्‍म गर्न सक्छौ भने, राम्रै भइसक्यो; तिमीहरू केवल मान्छे खुसी पारिहिँड्ने मानिसहरू हौ र मध्यमार्गी शैली अपनाइरहेका छौ, र तिमीहरू गवाही दिन सक्षम छैनौ। त्यसोभए, गवाही दिन के गर्नुपर्छ? धर्मसिद्धान्तको हिसाबले भन्‍नुपर्दा, तिमीहरूले दुष्ट मानिसहरूलाई अस्वीकार गर्नुपर्छ र ख्रीष्टविरोधीहरूलाई अस्वीकार अनि तिनीहरूको खुलासा गर्नुपर्छ, अनि ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरको घरमा खराब कामकुरा गर्दै भाँडभैलो मच्चाउन र परमेश्‍वरको घरलाई क्षति पुर्‍याउनबाट रोक्नुपर्छ। तर यो काम ठ्याक्कै कसरी गर्ने भनेर के तिमीहरूलाई थाहा छ? (माथिलाई रिपोर्ट गर्ने र त्यसबारे बताउने।) के तिमीहरूले पूरा गर्न सक्ने जिम्मेवारी र दायित्वहरू त्यति नै हुन्? के तिमीहरू दृढ रहन सक्ने गवाही र तिमीहरूसँग भएको कद त्यति नै हो? कुनै ख्रीष्टविरोधीको रिपोर्ट गर्नुबाहेक, तिमीहरूले अरू के गर्न सक्छौ? (हामीले पहिला ख्रीष्टविरोधीहरूका नियमित व्यवहार र दुष्कर्मका तथ्यहरू जम्मा गर्न, र त्यसपछि यिनै तथ्यहरूका आधारमा दाजुभाइ-दिदीबहिनीहरूसित ख्रीष्टविरोधीलाई खुट्ट्याउनेबारे सङ्गति गर्न सक्छौँ। दाजुभाइ-दिदीबहिनीहरू ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्ने भइसकेपछि, उनीहरू सबैले ख्रीष्टविरोधीहरूको खुलासा गर्न कदम चाल्न सक्छन्, अनि त्यसपछि, हामीले तिनीहरूलाई मण्डलीबाट निष्कासन गर्न सक्छौँ।) चरण र प्रक्रियाहरू त सही छन्, तर केही विशिष्ट अवस्थाहरू आइपरेमा, के गर्ने? तँ एक अगुवाको हैसियतले बोलिरहेको छस्, तर कुनै साधारण विश्‍वासीले ख्रीष्टविरोधी सामना गरेमा के गर्ने? के त्यो एउटा अण्डाले ढुङ्गा फोड्न खोज्नुजस्तै हुँदैन र? यस्ता परिस्थितिहरूमा तिमीहरूले के गर्नेथ्यौ? म तिमीहरूलाई आयव्ययको दर्ता र रिपोर्ट गर्ने कार्यसँग सम्बन्धित एउटा कथा भन्‍छु। एउटा लेखा हेर्ने प्रभारी व्यक्ति थियो, उसले एउटा बाह्य प्रयोजन र एउटा आन्तरिक प्रयोजनको लेखा हेर्थ्यो। एकदिन, आन्तरिक लेखामा दुई सय डलरको अन्तर देखियो। पछि, लेखा जाँच गर्न सुपरिवेक्षक आयो र उसले त्यो अन्तर देख्यो; उसले भन्यो, “आन्तरिक लेखालाई च्यातिदेऊ। बाह्य लेखा मात्र राख, ताकि कुनै प्रमाण नरहोस्।” त्यहाँको एक व्यक्तिले असहमति जनायो र भन्यो, “यो त भेटी हो। रकम जतिसुकै भए पनि, यो परमेश्‍वरको पैसा हो; तिमीले यसो गर्न मिल्दैन।” त्यो सुपरिवेक्षकले केही पनि भनेन, तर अर्को व्यक्तिले टिप्पणी गर्‍यो: “दुई सय डलर के हो र? ख्रीष्टविरोधीहरूले त एकैपटक दसौँ हजार हिनामिना गर्छन्।” अनि ती मानिसहरूले त्यस मामलालाई त्यसरी नै सल्टाए। तर पछि, एउटा व्यक्तिलाई यो तरिका गलत लाग्यो र उसले यसबारे माथिल्लो तहको निर्णयकर्ताको समूहलाई रिपोर्ट गर्‍यो। त्यो टोलीले दुई सय डलर ठूलो रकम नभएको, र अत्यन्तै व्यस्त भएको कारण, तिनीहरूले त्यसलाई सम्हाल्न नसक्ने भने। जब त्यसबारे मण्डली अगुवाहरूलाई रिपोर्ट गरियो, तिनीहरूले पनि त्यसलाई सम्बोधन गरेनन् र तिनीहरू सबैले त्यो मामलालाई बेवास्ता गरे। त्यो समस्या रिपोर्ट गर्ने व्यक्ति निराश बन्यो, र उसले भन्यो, “यी सबै मानिसहरू कसरी यस्तो हुन मिल्छ? तिनीहरू कसरी परमेश्‍वरका भेटीहरूप्रति यति गैरजिम्मेवार हुन मिल्छ? तिनीहरू खुलेआम छलमा संलग्न हुनेसमेत आँट गर्छन्!” ऊ यसबारे निराश थियो। एकदिन, जब म ती मानिसहरूलाई भेट्न गएँ, त्यस व्यक्तिले लेखापाल लापरवाह छ, उसले लेखामा गडबड गरेको छ, र अन्त्यमा केही अन्तर आएको छ भन्दै मलाई त्यो समस्या रिपोर्ट गर्‍यो। त्यो समस्या ज्यादै ठूलो नभए पनि, त्यसमा संलग्न हरव्यक्तिका मनोवृत्तिहरू अलग-अलग थिए। यी तथाकथित सुपरिवेक्षक र अगुवाहरूले त्यो समस्या सम्बोधन गरेनन्। तिनीहरूले लेखा राख्ने व्यक्तिलाई निकालेर नपठाएको मात्र नभई, उसको रक्षा गर्ने बहानासमेत भेटाए। त्यो समस्या रिपोर्ट गर्ने व्यक्तिले त्यसको रिपोर्ट गरिरह्यो; तर, उसलाई धेरै मानिसहरूद्वारा बहिष्कृत गरियो। ल भन् त, यो व्यक्तिले त्यो समस्या रिपोर्ट गर्दा उसमा कस्तो मानसिकता थियो? यदि उसमा पनि “दुई सय डलर मात्र त हो, तिमी किन यसबारे यति किचकिच गरिरहेका छौ? ख्रीष्टविरोधीहरूले त एकैपटक दसौँ हजार हिनामिना गर्छन्” भन्‍ने व्यक्तिकै जस्तो मनोवृत्ति भएको भए, के उसले अझै पनि त्यसको रिपोर्ट गर्नेथियो र? उसले त्यो रिपोर्ट गर्नेथिएन। यदि उसले “त्यो मेरो पैसा नै होइन; जसले त्यसलाई हिनामिना गर्न चाहन्छ, गरोस्—तिनीहरू नै त्यसको जिम्मेवार हुनेछन्। जे भए पनि, मैले केही पनि हिनामिना गरेको छैनँ, त्यसकारण मैले यो जिम्मेवारी वहन गर्नुपर्दैन”; वा “मैले निर्णयकर्ताको समूह र मण्डली अगुवाहरूलाई रिपोर्ट गरिसकेको छु, र उनीहरू सबैले मलाई बेवास्ता गरे, त्यसकारण मैले त आफ्नो तर्फबाट गर्नुपर्ने काम गरेको छु र थप चिन्ता लिनु आवश्यक छैन” भनेर भनेको भए—यदि उसमा यो मनोवृत्ति भएको भए, के ऊ अझै निरन्तर त्यसको रिपोर्ट गरिरहन अडिग रहन सक्थ्यो र? पक्कै सक्दैनथ्यो; धेरैजसो मानिसहरूले, बढीमा, निर्णयकर्ताको समूहलाई रिपोर्ट गरेपछि केही पनि गर्नेथिएनन्। तर जतिबेला यो व्यक्तिले निर्णयकर्ताको समूहलाई रिपोर्ट गर्‍यो, त्यति नै बेला उसले नोआ र अब्राहामका कथाहरूबारे मेरो सङ्गति सुन्यो। त्यो सुनेपछि, ऊ उत्प्रेरित भयो र उसले यसो सोच्यो, “परमेश्‍वरका वचनहरू सुनेपछि, नोआले पछि नहटी धेरै वर्षसम्म तिनको पालना गरे। तर मैले यो सानो कठिनाइ सामना गर्दा पनि, म अडिग रहन सक्दिनँ—मान्छेले यसो गर्नु हुँदैन!” त्यसकारण, ऊ रिपोर्ट गर्नमा अडिग रह्यो र अन्त्यमा त्यो कुरा माथिकहाँ पुग्यो, अनि माथिबाट उक्त समस्या सम्बोधन भयो। के तिमीहरूलाई तिमीहरूमाझ यस्ता धेरै मानिसहरू छन् जस्तो लाग्छ? यदि तिमीहरूले यस्तो परिस्थिति सामना गऱ्यौ भने, तिमीहरूमध्ये कति जना यो व्यक्तिझैँ अडिग रहनेथियौ? के तिमीहरूले पनि दुई सय डलर धेरै होइन, त्यो कुनै ठूलो कुरा होइन भन्‍ने विश्‍वास गर्नेथ्यौ, र फलस्वरूप सिद्धान्तहरूलाई यति दृढ रूपमा पालना गर्न वा यति गम्भीर हुन आवश्यक छैन, र कुनै ठूलो अन्तर नहुन्जेल रिपोर्ट नगरे हुन्छ भन्ठान्‍नेथ्यौ? के तिमीहरूले “आखिर जे होस्, मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु। त्यसलाई सम्बोधन गर्नु वा नगर्नु अगुवाहरूको सरोकारको कुरा हो। म त एक साधारण विश्‍वासी मात्र हुँ, मसँग यति मात्र शक्ति छ, म यति मात्र गर्न सक्छु। मैले रिपोर्ट गरेको छु, मैले आफ्नो दायित्व पूरा गरेको छु; बाँकी मेरो सरोकारको कुरा होइन” भनेर सोच्नेथ्यौ? के तिमीहरूले यस्तै सोच्नेथिएनौ र? अनि यदि कसैले तँलाई दमन गर्थ्यो भने, तैँले त्यसको रिपोर्ट गर्ने आँट गर्दैनथिस्, होइन र? यो व्यक्तिले त्यो समस्या रिपोर्ट गर्ने क्रममा दमन भोग्यो, कतिपय मानिसहरूले उसलाई औँला ठड्याए र निन्दा गरे, साथै उसलाई सधैँ सास्ती दिन खोजे। यी मानिसहरू कति दुर्भावपूर्ण होलान्! मलाई यी केही व्यक्तिहरूको सम्झना छ—म किन तिनीहरूलाई सम्झिन्छु? तिनीहरूले परमेश्‍वरको घरको खाना खाए र परमेश्‍वरद्वारा आपूर्ति गरिएका सारा सत्यताहरूको आनन्द उठाए, तैपनि परमेश्‍वरका भेटीहरूप्रति तिनीहरूमा त्यस्तो मनोवृत्ति थियो। के तिनीहरूलाई परमेश्‍वरको घरका मानिसहरू मान्‍न सकिन्छ? तिनीहरू त्यसलायक छैनन्! तिनीहरूलाई आफ्नो गवाहीमा दृढ रहन माग गरिएन, किनकि तिनीहरूसँग यो चरित्र नै थिएन। तर तिनीहरूले जे गर्नुपर्थ्यो त्यो नै नगरेकाले, के तिनीहरू अझै पनि परमेश्‍वरको घरमा रहन लायक थिए त? के यस्ता मानिसहरूलाई सम्झिइनुपर्छ? के तिमीहरूलाई यस्ता मानिसहरू मन पर्छ? (पर्दैन।) त्यसोभए तिमीहरूलाई कस्ता खाले मानिसहरू मन पर्छ? (ती मानिसहरू जसले सिद्धान्तहरू पालन गर्छन्, जो अन्त्यसम्म परमेश्‍वरको घरका हितहरू रक्षा गर्नमा अडिग रहन्छन्।) मलाई शक्तिशाली मानिसहरू देख्दा तर्सिने तर निष्कपट मानिसहरूको अगाडि साहस देखाउने केही न कामका मानिसहरूसँग घिन लाग्छ। मलाई जुन थालमा खायो त्यही थालमा चुठ्ने, सत्यतामा कुनै चासो नराख्ने, र विशेषगरी धेरै वर्ष प्रवचनहरू सुनेर पनि सत्यता बिलकुलै नबुझेका, वा अलिकति पनि परिवर्तन नभएका, र अझै पनि हृदयको गहिराइमा परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँदेखि सावधान रहनेहरूप्रति पनि घिन लाग्छ। यदि यस्ता मानिसहरूले दुष्टता गरेका प्रस्ट घटनाहरू छैनन् भने, तिनीहरू ख्रीष्टविरोधीका रूपमा चित्रण नहोलान्, तर मलाई तिनीहरूप्रति घिन लाग्छ। कति घिन लाग्छ? ख्रीष्टविरोधीहरूप्रति जति नै घिन लाग्छ। किन? ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई बिक्री, व्यापार र लेनदेन गर्ने उपभोग्य वस्तुका रूपमा लिन्छन्, र त्यसबाट नाफा प्राप्त गर्छन्। जबकि यसप्रकारको व्यक्तिले परमेश्‍वरका वचनहरूबाट नाफाचाहिँ नलिन सक्छ, तर उसले परमेश्‍वरका वचनहरूलाई जुन मनोवृत्तिले हेर्छ त्यसबाट हामीले निर्क्योल गर्न सक्छौँ कि ऊ ठ्याक्कै ख्रीष्टविरोधीहरूजस्तै छ, उसले परमेश्‍वरको मार्ग पछ्याउँदैन, वा उसमा परमेश्‍वरका भेटीहरूप्रति हुनुपर्ने सरल र सबैभन्दा आधारभूत मनोवृत्तिसमेत छैन, र ऊ जुन थालमा खायो त्यही थालमा चुठ्छ। तिनीहरू कस्ता चिजहरू हुन्? तिनीहरू यहूदाहरू हुन्, जो प्रभु र आफ्ना साथीहरूलाई घात गर्छन्। यो कथा सुनेपछि, तिमीहरूमा कस्ता सोचहरू आए? के तिमीहरू यस्ता परिस्थितिहरूमा सिद्धान्तहरू पालना गर्न र आफ्नो अडानमा अडिग रहन सक्छौ? यदि तँ केही न कामको छस्, र सधैँ पछि हट्छस्, सधैँ ख्रीष्टविरोधीहरूको शक्तिको डर मान्छस्, र तिनीहरूद्वारा सास्ती दिइने कुराले डराउँछस्, तिनीहरूको शक्तिले तँलाई हानि गर्ला भनेर डराउँछस्, र तँ सधैँ हृदयमा डराएको हुन्छस्, र तँसँग यसबारे प्रतिक्रिया जनाउने बुद्धि छैन, र तैँले सधैँ ख्रीष्टविरोधीहरूलाई छुट दिन्छस्, तिनीहरूको रिपोर्ट वा खुलासा गर्न वा तिनीहरूलाई नकार्न हातेमालो गर्ने अरू व्यक्तिहरू खोज्ने आँट गर्दैनस् भने, तँ परमेश्‍वरप्रतिको गवाहीमा दृढ रहन सक्ने व्यक्ति होइनस्—तँ केही न कामको व्यक्ति होस्, जुन थालमा खायो त्यही थालमा चुठ्ने चिज होस्। जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिन्छन्, आफ्ना लागि अनुचित तरिकाले अत्यधिक लाभ प्राप्त गर्न, तँलाई धम्क्याउन, र तेरो पोषण बन्द गर्न तिनलाई प्रयोग गर्छन्, तब यदि तैँले त्यस्ता परिस्थितिहरूमा पनि तिनीहरूलाई अस्वीकार गर्न सक्दैनस् भने, के तँ विजेता होस् त? के तँ ख्रीष्टको अनुयायी हुन लायक छस् त? यदि तँसित परमेश्‍वरले तँलाई निःशुल्क रूपमा दिनुहुने वचनहरू र आत्मिक पोषण लिने क्षमतासमेत छैन भने, र तैँले ती कुराहरू खान, पिउन, वा तिनको आनन्द उठाउनसमेत सक्दैनस् भने, त्यसले तँलाई कति नालायक बनाउँछ?

मैले भर्खरै सङ्गति गरेका तथ्यहरू ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिनुका केही प्रकटीकरणहरू हुन्। ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरू खाने र पिउने गर्दैनन् र सत्यता स्विकार्दैनन्, तिनीहरू आफूलाई परमेश्‍वरका वचनहरूद्वारा सुसज्जित गर्न तिनलाई चाँ-चाँडो पढ्ने र झलक्क हेर्ने मात्र गर्छन्। तिनीहरू परमेश्‍वरका वचनहरूलाई आफ्नो स्वामित्वको वस्तु र निजी सम्पत्तिका रूपमा लिन्छन्, ताकि तिनीहरूले, कारोबारमा संलग्न भएर आफूले कामना गरेका पैसा र लाभहरू प्राप्त गर्न सकून्, र ताकि परमेश्‍वरका चुनिएका मानिसहरूको परमेश्‍वरका वचनहरू पढ्ने, खाने र पिउने स्वतन्त्रता नियन्त्रण गर्न सकून्। यस्ता ख्रीष्टविरोधीहरू दुष्ट मानिस, दियाबलस, र अविश्‍वासीहरू हुन्; तिनीहरू गैरविश्‍वासी वर्गका हुन्! यस्ताहरू जोकोही परमेश्‍वरको घरमा देखा परे पनि, तिनीहरूलाई निष्कासित गरिनुपर्छ, सदाका लागि निष्कासित गरिनुपर्छ! के यस्ता मानिसहरू सामना गर्दा, तिमीहरू तिनीहरूलाई अस्वीकार गर्ने आँट गर्छौ? के तिमीहरू एकजुट भएर तिनीहरूको खुलासा गर्ने आँट गर्छौ? तिनीहरूको खुलासा गरिनुपर्छ; तिनीहरूलाई अस्वीकार गरिनुपर्छ। परमेश्‍वरको घर सत्यताद्वारा शासित हुन्छ। यदि तँसित यस्तो कद छैन भने, यसले परमेश्‍वरका वचनहरू र सत्यता तँभित्र जीवन बनेका छैनन् भन्‍ने प्रमाणित गर्छ। यदि तँ कायर छस्, शैतानहरूसँग डराउँछस्, दुष्ट मानिसहरूसँग डराउँछस्, र ख्रीष्टविरोधीहरूविरुद्ध लड्नुभन्दा आफैलाई बचाउनका लागि सम्झौता गर्न रोज्छस् भने, र त्यसका लागि तँ परमेश्‍वरका वचनहरू खाने-पिउने वा तिनलाई प्राप्त गर्ने समेत गर्दैनस् भने, तँ भोकले मर्न लायक छस्, र यदि तँ मरिस् नै भने पनि, तँलाई कसैले पनि दया गर्नेछैन। यदि तिमीहरूले यस्ता परिस्थितिहरू सामना गर्‍यौ भने, तिमीहरूले छनौट र अभ्यास कसरी गर्नुपर्छ? तिमीहरूले तत्काल तिनीहरूको खुलासा गर्नुपर्छ। परमेश्‍वरका वचनहरू उपभोग्य वस्तु होइनन्; ती परमेश्‍वरका चुनिएका सबै मानिसहरूलाई प्रदान गरिएका हुन्, ती कुनै व्यक्तिको निजी सम्पत्ति होइनन्। कसैसँग पनि परमेश्‍वरका वचनहरू रोकेर राख्ने वा आफ्नै निम्ति स्वामित्वमा लिने अधिकार हुँदैन। परमेश्‍वरका वचनहरू परमेश्‍वरलाई पछ्याउने सबै चुनिएका मानिसहरूलाई बिना मुआब्जा निःशुल्क वितरण गरिनुपर्छ। जसले तिनलाई रोकेर राख्छ, तीबाट अनुचित तरिकाले अत्यधिक लाभहरू लिन खोज्छ, वा परमेश्‍वरका वचनहरूका सम्बन्धमा व्यक्तिगत योजनाहरू बनाउँछ, ऊ श्रापित हुन योग्य हुन्छ। तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूले खडा भएर खुलासा र अस्वीकार गर्नुपर्ने व्यक्तिहरू हुन्, तिनीहरू निकालिनु र हटाइनुपर्छ।

के आज मैले सङ्गति गरेका दुई विषयवस्तुहरूले ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू कसरी तिरस्कार गर्छन् भन्‍ने कुराको पर्याप्त चित्रण गर्छन्? (गर्छन्।) ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई कहिल्यै सत्यताका रूपमा लिँदैनन्, न त तिनीहरूले तिनलाई कदर गर्ने, बहुमूल्य ठान्‍ने, वा सृष्टिकर्ताका वचनहरूका रूपमा लिने नै गर्छन्। त्यसको साटो, तिनीहरूले हरमोडमा आफ्ना भन्नै नमिल्ने, घृणास्पद, र घिनलाग्दा अभिप्रायहरू देखाउँछन्। तिनीहरू आफ्ना भन्नै नमिल्ने लक्ष्यहरू हासिल गर्न मात्र परमेश्‍वरका वचनहरू प्रयोग गर्न चाहन्छन्, र भौतिक वा अभौतिक जुनै चिजहरूको सम्बन्धमा भए पनि, तिनीहरू अनुचित तरिकाले आफ्नै लागि नाफा प्राप्त गर्न, पैसा र भौतिक वस्तुहरू प्राप्त गर्न, वा मानिसहरूलाई आफ्नो खुसामद गर्न, आफूलाई आदर गर्ने, आफ्नो अन्धोभक्ति गर्न र अनुसरण गर्न लगाउने लक्ष्य हासिल गर्नहेतु परमेश्‍वरका वचनहरू प्रयोग गर्न चाहन्छन्। यी कुराहरू परमेश्‍वरले घिनाउनुहुन्छ र यिनलाई मानिसहरूले अस्वीकार गर्नुपर्छ। जब-जब कसैले यस्ता व्यक्तिहरूबारे वा यस्ता घटनाहरू भइरहेको थाहा पाउँछ, तबतब ऊ यी कुराको खुलासा र अस्वीकार गर्न खडा हुनुपर्छ, र यस्ता मानिसहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूमाझ दृढ रहनबाट रोक्नुपर्छ। कतिपयले त यदि तिनीहरूले यस्ता घटनाहरू सामना गरेमा माथि रिपोर्ट गर्छु भनेर भन्छन्, तर त्यो कुरा अत्यन्तै निष्क्रिय र सुस्त हुन्छ। यदि तैँले बस यी कुराहरू माथि रिपोर्ट गर्ने काम मात्र गर्छस् भने, तँ अत्यन्तै बेकार छस्! तैँले परमेश्‍वरका यति धेरै वचनहरू खानु र पिउनुका साथै यति धेरै प्रवचनहरू सुनेको छस्, तैपनि तँलाई रिपोर्ट गर्न मात्र आउँछ—यसको अर्थ तेरो कद अति नै सानो छ! के तँसँग ख्रीष्टविरोधीहरूलाई निराकरण गर्ने अरू विधिहरू पक्कै छैनन् र? माथि रिपोर्ट गर्नु भनेको अन्तिम उपाय हो, जुन बिलकुलै जरुरी पर्दा मात्र चालिने कदम हो। यदि तेरो सङ्ख्या पुगेन, तेरो स्तर मिलेन, र तँमा सुझबुझ छैन, र साथै कुनै व्यक्ति ख्रीष्टविरोधी हो कि होइन भनेर तँ निश्‍चित छैनस् भने, तैँले उसका विभिन्‍न प्रकटीकरण र कार्यहरू खुलासा गर्ने आँट नगर्न सक्छस्। तर यदि ऊ ख्रीष्टविरोधी हो भनेर तँ निश्‍चित छस्, तैपनि अझै उसको विरुद्ध लड्न, उसलाई अस्वीकार गर्न, र परास्त गर्न खडा हुने आँट गर्दैनस् भने, के तँ अति नालायक होइनस् र? तैँले बुझेको अलिकति सत्यता पनि प्रयोग भइरहेको छैन। के तँ आफूले बुझेको र सुनेको कुरा सत्यता हो भनेर त निश्‍चित छस्? यदि त्यो सत्यता हो भने, तँ किन कठोर र न्यायोचित रूपमा खडा भएर ख्रीष्टविरोधीहरूविरुद्ध लड्ने आँट गर्दैनस्? यो ख्रीष्टविरोधीहरू शासन गर्ने अधिकारी भएको अवस्था पनि त होइन—तँ के कारणले तिनीहरूसँग डराउँछस्? तैँले विचारै नगरी तिनीहरूको खुलासा गरेर तिनीहरूले तँलाई अधिकारीहरूका हातमा सुम्पन सक्ने खण्डमा बाहेक—ती परिस्थितिहरूमा, तैँले होसियारी अपनाउनुपर्छ, तिनीहरूलाई उक्साउनु हुँदैन, बरु बुद्धिमान् विधिहरू प्रयोग गरेर सुटुक्क ख्रीष्टविरोधीहरूको आलोचना गर्ने र साख गिराउने काम गर्नुपर्छ, बिस्तारै तिनीहरूलाई हटाउनुपर्छ। के तिनीहरूलाई चुपचाप हटाउनु झन् प्रभावशाली हुँदैन र? (हो।) ल ठिक छ, अब आजको सङ्गति यहीँ टुङ्ग्याऔँ। बिदा चाहन्छु!

सेप्टेम्बर १२, २०२०

अघिल्लो: विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग छ)

अर्को: विषयवस्तु एघार: तिनीहरू कुनै गलत काम गर्दा, काटछाँट स्विकार्दैनन्, न त तिनीहरूमा पश्‍चात्तापको मनोवृत्ति नै हुन्छ, बरु तिनीहरूले धारणाहरू फैलाउँछन् र सार्वजनिक रूपमा परमेश्‍वरको आलोचना गर्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्