विषयवस्तु दस: तिनीहरूले सत्यतालाई घृणा गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग एक)

आजको भेला सुरु गर्नुअघि, हामी एउटा वार्तालाप सुन्नेछौँ। दुईजना मानिसहरू कुराकानी गरिरहेका छन्। पहिलोले भन्छ: “यदि मलाई काटछाँट गरिएको भए, दाजुभाइ-दिदीबहिनीहरूले त्यसउप्रान्त आफ्नो कर्तव्य गर्न चाहनेथिएनन्।” दोस्रोले भन्छ, “उनीहरूले आफ्नो कर्तव्य गर्न चाहनेथिएनन्? खुबै धेरै। मलाई प्रतिस्थापित गरिएमा त, दाजुभाइ-दिदीबहिनीहरू नकारात्मक र कमजोर नै बन्नेथिए।” आफू हार्न खोजेको देखेर पहिलोले भन्छ: “यदि मैले विश्‍वास गर्न छोडेँ भने, त्यहाँका दाजुभाइ-दिदीबहिनीहरू सबैले मलाई पछ्याउनेथिए।” यो सुनेर, दोस्रोले भन्छ, “त्यसोभए, मभन्दा तिमी प्रभावशाली रहेछौ। तैपनि, यदि मलाई निकालिएमा, हाम्रो मण्डलीका धेरै मानिसहरूले विश्‍वास गर्न छोड्नेथिए। त्यसबारे तिमीलाई के लाग्छ? म तिमीभन्दा प्रभावशाली छु, छुइनँ र?” तिनीहरूले यो कुराकानीमा के भनिरहेका छन्, बुझिस्? ती दुईजना केको लागि प्रतिस्पर्धा गरिरहेका छन्? (तिनीहरू मानिसहरूलाई आफ्नो पक्षमा पार्न को बढी सक्षम छ, स्वतन्त्र राज्य स्थापना गर्न को बढी सक्षम छ भन्ने कुरामा प्रतिस्पर्धा गरिरहेका छन्; तिनीहरू कोचाहिँ अर्कोभन्दा बढी दक्ष छ भनेर हेरिरहेका छन्।) तिनीहरू को बढी दक्ष छ, को बढी सक्षम छ, कोसँग ठूलो क्षमता छ, र कुनचाहिँले बढी मानिसहरूलाई आफ्नो पक्षमा पारेको छ भन्ने कुरामा प्रतिस्पर्धा गरिरहेका छन्। के तिनीहरू कुनचाहिँमा बढी सत्यता वास्तविकता छ, कुनचाहिँमा बढी मानवता छ, कुनचाहिँले बढी सत्यता बुझ्छ भनेर प्रतिस्पर्धा गरिरहेका छन्? (छैनन्। तिनीहरू आफूलाई प्रतिस्थापित गरिएमा वा निकालिएमा कसको रक्षामा धेरै मानिसहरू आउनेथिए भन्ने कुरामा प्रतिस्पर्धा गरिरहेका छन्।) त्यो कस्तो प्रकारको क्षमता हो, जसको लागि तिनीहरू प्रतिस्पर्धा गरिरहेका छन्? तिनीहरू मानिसहरूलाई नियन्त्रण, जाल, र भ्रममा पार्न कोसँग बढी क्षमता छ भनेर प्रतिस्पर्धा गरिरहेका छन्। अनुमान गर् त: ती दुईजना कस्ता मानिसहरू हुन्? (ती दुवै ख्रीष्टविरोधीहरू हुन्।) तिनीहरू के हुन्? के ती दुवै एक जोडा दुष्ट मानिसहरू, अर्थात् तानाशाहहरू होइनन् र? (हुन्।) तिनीहरू एक जोडा दुष्ट मानिसहरू हुन् भन्ने कुरा प्रस्ट छ—तिनीहरू आफूहरूमध्ये कोमा दुष्टता गर्ने ठूलो क्षमता छ, मानिसहरूलाई भ्रम र नियन्त्रणमा पार्न को बढी सक्षम छ, मानिसहरूको मन जित्न को बढी सक्षम छ, उहाँका चुनिएका मानिसहरूको निम्ति परमेश्‍वरसँग प्रतिस्पर्धा गर्न को बढी सक्षम छ भन्ने कुरामा निर्लज्ज रूपमा प्रतिस्पर्धा गरिरहेका छन्। अनि, जसले धेरै मानिसहरूलाई नियन्त्रण गर्न सक्छ, उसैको ठूलो क्षमता हुन्छ। तिनीहरू त्यसैको निम्ति प्रतिस्पर्धा गरिरहेका छन्। ल भन् त, के यस्तो प्रतिस्पर्धा गर्ने ख्रीष्टविरोधीहरू छन्? (छन्।) के तिनीहरू सार्वजनिक रूपमा प्रतिस्पर्धा गर्छन्, कि गोप्य रूपमा? (गोप्य रूपमा।) त्यसोभए, के यो कथाका दुईजनाबीचको कुराकानी साँच्चिकै हुन्छ? के यो वास्तविक हो? (हुन्छ, र यो वास्तविक हो।) तिनीहरू गोप्य रूपमा एकअर्कासित प्रतिस्पर्धा गर्ने भएकाले, के तिनीहरूले निर्लज्ज रूपमा यी कुराहरू भन्नेथिए त? अधिकांश ख्रीष्टविरोधीहरू धूर्त र दुष्ट हुन्छन्; तिनीहरूले मानिसहरूलाई तिनीहरूको विरोध गर्ने कारणहरू नदिनको निम्ति सार्वजनिक रूपमा वा सिधै त्यसो भन्दैनन्। तर तिनीहरूले गोप्य रूपमा त्यसरी नै सोच्छन्, र वास्तवमा, तिनीहरूले गर्ने त्यही हो। तिनीहरूले कुराहरू ढाकछोप गर्न र लुकाउन, साथै आफ्नो भेष बदल्न जतिसुकै प्रयास गरे पनि, तिनीहरूको ख्रीष्टविरोधी प्रकृति र दुर्भावपूर्ण प्रकृति ढाकछोप गर्न सकिँदैन। त्यो सब निश्‍चय नै खुलासा हुन्छ। तिनीहरूले खुलस्त रूपमा केही पनि नभन्लान्, र अरूहरूको लागि प्रस्टसित सुनिने कुरा केही पनि नहोला, तर तिनीहरूले अलिकति पनि नलुकाई वा लापरवाह नगरी, नछिपाई वा गोप्य नराखी व्यवहार गर्छन्। तिनीहरूले मानिसहरूको पिठ्युँपछाडि केही पनि गर्दैनन्, झन् सम्झौता त गर्दै गर्दैनन्। मानिसहरूलाई जालमा पार्न, भ्रममा पार्न, नियन्त्रण गर्न, र स्वतन्त्र राज्य स्थापना गर्न तिनीहरूका व्यवहार र कार्यहरूमा कुनै लापरवाही वा असावधानी हुँदैन। तिनीहरूले खुल्लमखुल्ला परमेश्‍वरको विरोध गर्छन्, र खुल्लमखुल्ला मानिसहरूलाई जाल र भ्रममा पार्ने कोसिस गर्छन्। तिनीहरू आफूलाई काटछाँट गरिए धेरै दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूको रक्षामा आउनेछन्, उनीहरूले परमेश्‍वर र उहाँको घरको विरोध गर्नेछन्, उनीहरू नकारात्मक बनेर सुस्ताउनेछन्, र उनीहरूले कर्तव्य निर्वाह गर्नेछैनन् भनेर आशावादी हुन्छन्। त्यसो भयो भने तिनीहरू खुसी हुनेथिए र तिनीहरूका चाहना पूरा हुनेथिए। यदि तिनीहरू प्रतिस्थापित भए भने, तिनीहरू धेरै मानिसहरू नकारात्मक बनून, र उनीहरू तिनीहरूका पक्षमा बोलून्, तिनीहरूको रक्षामा आऊन्, र पर्दापछाडि तिनीहरूका पक्षमा स्पष्टीकरण र तर्कहरू दिऊन् भन्ने उत्कट चाहना राख्छन्। तिनीहरू मानिसहरूले तिनीहरूका असल गुणहरूको सूची बनाऊन्, तिनीहरू सही छन् भनी बचाउ गरून्, साथै परमेश्‍वरको घरका बन्दोबस्तहरूलाई आलोचना र निन्दा गरून्, हृदयमा गोप्य रूपले परमेश्‍वरविरुद्ध जाऊन्, उहाँको धार्मिकता नकारून्, र उहाँको सबै भनाइ र गराइ सत्यता हुन्, ती सबै सकारात्मक कुराहरू हुन् भन्ने कुरा नकारून् भनेर उत्कट रूपमा चाहन्छन्। अनि तिनीहरू आफूले विश्‍वास गर्न छाडेमा, सबैजनाले विश्‍वास छोडेर तिनीहरूलाई पछ्याऊन्, र सबैजना तिनीहरूसँगै निस्किऊन्, तिनीहरूका अनुयायी बनून् भनेर उत्कट रूपमा चाहन्छन्; तिनीहरू परमेश्‍वर सत्यता हुनुहुन्छ भन्ने कुरा सबैले नकारून्, र तिनीहरूचाहिँ सत्यता हुन्, र तिनीहरूले गर्ने सबै काम सही हुन्, र तिनीहरूले मानिसहरूलाई बदल्न र मुक्ति दिन सक्छन् भनी सबैले विश्‍वास गरून् भन्ने उत्कट चाहना राख्छन्। यदि दुष्टता गरेकोले तिनीहरूलाई मण्डलीले निकाला वा निष्कासन गरेमा, तिनीहरू धेरै मानिसहरू परमेश्‍वरको अस्तित्व नकारेर संसारमा फर्कून्, र त्यहाँ उनीहरू विश्‍वास नगर्ने मानिसहरू बनून् भन्ने उत्कट चाहना राख्छन्। त्यस्तो भएमा, त्यो कुराले तिनीहरूलाई अत्यन्तै खुसी बनाउनेथ्यो। त्यसले तिनीहरूको हृदयमा पुनः सन्तुलन ल्याउनेथ्यो, र त्यो तिनीहरूको लागि छुटकारा हुनेथ्यो। शैतानी स्वभावका यी प्रकटीकरणहरू, यी व्यवहारहरू, यी सारहरू, र यी जटिल, विस्तृत विचार र सोचहरू—तिनीहरूले कसलाई सुनाउँछन्? के यी मानिसहरू साँचो दाजुभाइ-दिदीबहिनी हुन् त? के तिनीहरूले परमेश्‍वरमाथि साँचो आस्था राख्छन् त? के तिनीहरू परमेश्‍वरप्रति साँच्चै समर्पित हुन्छन् त? के तिनीहरूमा अलिकति पनि परमेश्‍वरको डर हुन्छ त? (हुँदैन।) यसबाट देख्न सकिन्छ कि ख्रीष्टविरोधीहरू सारमै परमेश्‍वरविरोधी हुन्छन् र तिनीहरू परमेश्‍वरका शत्रुहरू हुन्। के यो अभिव्यक्ति सही छ? के यो सत्यता हो? (यो सही छ, र यो सत्यता हो।) वास्तविकता शतप्रतिशत यही हो। यो अभिव्यक्ति सत्यता हो, यसमा अलिकति पनि कमी छैन, किनकि यो एउटा तथ्य हो, कहिल्यै परिवर्तन नहुने तथ्य हो। ख्रीष्टविरोधीहरूले सोच्ने यसरी नै हो, र तिनीहरूले गर्ने यही हो। तिनीहरूका सारा व्यवहार र कार्यहरू व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहनाहरूद्वारा सञ्चालित हुन्छन्, र ती ख्रीष्टविरोधी प्रकृतिद्वारा सञ्चालित र उत्प्रेरित हुन्छन्। त्यसोभए, के ख्रीष्टविरोधीहरूजस्ता मानिसहरूले मुक्ति पाउन सक्छन् त? (सक्दैनन्।) तिनीहरू हरेक मोडमा परमेश्‍वरविरोधी र सत्यताविरोधी हुन्छन्। तिनीहरूको नजरमा, जसले तिनीहरूका स्वार्थहरूमा हानि पुर्‍याउँछ, जसले तिनीहरूको ख्यातिमा क्षति पुर्‍याउँछ, जसले तिनीहरूलाई तिनीहरूका चाहना र महत्त्वाकाङ्क्षाहरूबाट र आशिषित् हुने आशाबाट बञ्चित गराउँछ, तिनीहरू उसको प्रतिरोधमा उत्रिनेछन् र उसका शत्रु बन्नेछन्—चाहे उसले गरेको काम सही होस् वा गलत। ख्रीष्टविरोधीहरूको प्रकृति नै त्यस्तै हुन्छ। यसकारण यस्ता ख्रीष्टविरोधी मानिसहरूले जे-जस्ता गलत र दुष्ट काम गरेका भए पनि, वा तिनीहरूले परमेश्‍वरको घरका सिद्धान्त र कार्य बन्दोबस्तहरूविरुद्ध जे-जस्ता काम गरेका भए पनि, तिनीहरूले अरूलाई आफ्नो काटछाँट गर्न, वा आफूलाई खुलासा गर्न र तह लगाउन दिनेछैनन्। तिनीहरूलाई यी कुराहरू आइपर्नेबित्तिकै तिनीहरूले तीप्रति समर्पित हुन र तिनलाई स्विकार्न नसक्ने, वा तिनीहरूले गरेको काम दुष्ट कार्य थियो भनी मान्‍न नसक्ने मात्र होइन—बरु, तिनीहरूले प्रत्याक्रमण गर्नेछन्, र जुनसुकै उपाय लगाएर भए पनि आफ्नो छवि पुनर्थापित गर्ने प्रयास गर्नेछन्। आफूसँग उपलब्ध जुनसुकै उपायहरूद्वारा तिनीहरूले आफ्ना पाप र गल्तीहरू अरू कसैको टाउकोमा थोपर्ने र आफूले कुनै पनि जिम्मेवारी नलिने कोसिस गर्नेछन्। त्यसबाहेक: तिनीहरूको सबैभन्दा ठूलो चाह भनेको मानिसहरू फसून् र भ्रममा परून्, र तिनीहरूका दुष्ट कार्यहरूको पक्षमा बहानाहरू बनाऊन् र तिनीहरूको बचाउ गरून्, साथै अझ धेरै मानिसहरूले तिनीहरूको पक्षमा उभिएर बोलून् भन्ने हो। तिनीहरूले सबैभन्दा हेर्न चाहने कुरा नै यही हो।

हामी हाम्रो कथालाई यहीँ अन्त्य गर्नेछौँ। तिमीहरूले सही अनुमान गर्‍यौ: ती दुईजना वास्तवमै ख्रीष्टविरोधीहरू हुन्। ख्रीष्टविरोधीहरूले मात्र यस्तो कुराकानी गर्न, यस्ता कुराहरू व्यक्त गर्न, र यस्ता कुराहरूको चाह गर्न सक्छन्। सामान्य भ्रष्ट मानिसहरूमा बेलाबेलामा यस्ता विचारहरू आउलान्, तर जब तिनीहरूलाई साँच्चिकै केही आइपर्छ, तिनीहरू खोजी र प्रार्थना गर्न परमेश्‍वरसामु आउनेछन्। अलिअलि गर्दै तिनीहरू समर्पित हुनेछन्। सबै साँचो विश्‍वासीहरू, विवेक र समझ भएका सबै मानिसहरू काटछाँट वा प्रतिस्थापित हुँदा, उनीहरूमा परमेश्‍वरको केही न केही डर मान्ने हृदय हुन्छ। उनीहरूमा केही न केही समर्पणको मनोवृत्ति र समर्पित हुने तत्परता हुन्छ। उनीहरू परमेश्‍वरको विरोधी हुने, उहाँप्रति शत्रुवत हुने चाह राख्दैनन्। भ्रष्ट स्वभाव भएको सामान्य व्यक्तिले गर्नुपर्ने व्यवहार यस्तै हो। तर ख्रीष्टविरोधीमा यस्तो कुनै पनि कुरा हुँदैन। उसले जति धेरै प्रवचनहरू सुने पनि, उसले आफ्ना चाहनाहरू त्याग्नेछैन, र उसले मानिसहरूलाई नियन्त्रण गर्ने, उनीहरूलाई आफ्नो पक्षमा पार्ने, र उनीहरूलाई भ्रममा पार्नेजस्ता उसका महत्त्वाकाङ्क्षाहरू त्याग्नेछैन। यसबाहेक, ती कुराहरू बिलकुलै घट्ने पनि छैनन्; समय बित्ने र परिस्थितिहरू बदलिने क्रममा, उसका महत्त्वाकाङ्क्षा र चाहनाहरू झन्झन् बढ्नेछन्, र झन्झन् ठूला हुनेछन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार र सामान्य भ्रष्ट मानिसहरूको प्रकृति सारबीचको ठूलो भिन्नता यही हो।

अब हामीले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको विषयवस्तु नौमाथिको सङ्गति सकाएका छौँ। यसपटक, हामी विषयवस्तु दसमाथि सङ्गति गर्नेछौँ: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, सार्वजनिक रूपमा सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको बेवास्ता गर्छन्। सत्यतालाई तिरस्कार गर्नु, सार्वजनिक रूपमा सिद्धान्तहरू उल्लङ्घन गर्नु, परमेश्‍वरको घरका प्रबन्धहरूको बेवास्ता गर्नु—यीमध्ये हरेक कुरा आफैमा गम्भीर हुन्छ, र यी कुनै पनि सामान्य भ्रष्ट स्वभावको प्रकटीकरण होइन। अनि यी हरेकलाई हेर्दा, ख्रीष्टविरोधीहरूको सारमा क्रूरता र दुष्टता हुन्छ भन्ने कुरा देख्न सकिन्छ। यी दुई प्रस्ट र गम्भीर पक्षहरू हुन्। यो उदाहरणमा, के ख्रीष्टविरोधीहरूको सारलाई अहङ्कार, हठीपन, र छलीपन भनेर व्याख्या गर्न सकिन्छ? (सकिँदैन।) ती शब्दहरूमार्फत ख्रीष्टविरोधीको सारका विशेषताहरूको मर्म बुझ्न गाह्रो हुन्छ। क्रूरता र दुष्टता भन्‍ने दुई स्वभावहरू प्रयोग गरेर मात्र ख्रीष्टविरोधीहरूको सार व्यक्त गर्न सकिन्छ।

हामी यिनलाई पालैपालो छलफल गर्नेछौँ। तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्—“तिरस्कार गर्नु” भनेको के हो? (केही कुरालाई हेयको दृष्टिले हेर्नु।) (केही कुरालाई होच्याउनु, उपेक्षा गर्नु, र तुच्छ बनाउनु।) (कुनै कुरा अवहेलनाको लायक पनि नभएको ठान्नु।) तिमीहरूले प्रयोग गरिरहेका सबै शब्दहरूले प्रायः एउटै अर्थ दिन्छन्। कुनै कुरालाई “तिरस्कार गर्नु” भनेको त्यसलाई बेवास्ता गर्नु, हेयको दृष्टिले हेर्नु, तुच्छ बनाउनु, होच्याउनु, र उपेक्षा गर्नु हो। सामान्य अर्थमा भन्नुपर्दा, त्यसको अर्थ कुनै कुराको प्रतिरोध गर्नु, त्यसलाई घिनाउनु, र त्यसलाई हृदयको गहिराइदेखि नै घृणा गर्नु, त्यसलाई नस्विकार्नु, साथै त्यसलाई शत्रुवत्‌ रूपमा मूल्याङ्कन र अपमान अनि भर्त्सनासमेत गर्नु हो। यो तिमीहरूको कुरासँग कुन हदसम्म मिल्छ? (यो बढी विस्तृत र विशिष्ट छ।) यो तिमीहरूले भनेको भन्दा विशिष्ट र व्यावहारिक छ। तिमीहरूले दिएका अधिकांश परिभाषाहरू “तिरस्कार गर्नु” का पर्यायवाची शब्दहरू थिए। मैले भनेको कुराचाहिँ “तिरस्कार गर्ने” कार्य र व्यवहारको सार थप परिष्कृत गरिएको हो; यो सत्यतालाई तिरस्कार गर्ने व्यवहार र सारको ठोस र विस्तृत व्याख्या हो। यसको अर्थ, जब कसैले सत्यतालाई तिरस्कार गर्छ, तब उसले गर्ने काममा, उसले दैनिक जीवनमा सत्यतालाई गर्ने व्यवहारमा, र सत्यता र सकारात्मक कुराहरू संलग्न मामलाहरूप्रति उसले हृदयमा अपनाउने मनोवृत्तिमा, मानिसहरूले सत्यताप्रति उसको मनोवृत्ति अस्वीकार गर्ने, प्रतिरोध गर्ने, र प्रतिकूल रहने—र आलोचना, निन्दा, र बदनामसमेत गर्ने रहेको देख्‍न सक्छन्। यी सबै “सत्यतालाई तिरस्कार गर्ने” कार्यव्यवहार प्रकट र खुलासा हुने विशिष्ट तरिकाहरू हुन्—यी सत्यताप्रति यस व्यक्तिका मनोवृत्ति र दृष्टिकोणहरूको हरेक पक्ष समेट्ने विशिष्ट तरिकाहरू हुन्: ऊ सत्यता, परमेश्‍वरका वचनहरू र सकारात्मक कुराहरूप्रति घिनाउँछ। उसले तिनलाई हृदयको गहिराइदेखि नै प्रतिरोध गर्छ र स्विकार्दैन। यदि तैँले उसलाई कुनै कुरा परमेश्‍वरको वचन हो, त्यो सत्यता हो भनिस् भने, उसको मनोवृत्ति कस्तो हुनेछ? “परमेश्‍वरका वचनहरू, सत्यता—के मतलब! तिमी सबै कुरालाई परमेश्‍वरका वचनहरू र सत्यताले प्रतिस्थापन गर्छौ। के हामी मानिसहरूले जिउने जीवनमा परमेश्‍वरका वचनहरूबाहेक अरू कुरा छैन? हामीले यति धेरै पुस्तकहरू पढेका छौँ, हामीले यति धेरै संस्कृति सिकेका छौँ—के त्यो सबै व्यर्थै थियो र? मानिसहरूसँग मस्तिष्क र दिमाग हुन्छ; उनीहरूसँग समस्याहरूबारे स्वतन्त्र रूपमा सोच्ने क्षमता हुन्छ। सबथोकलाई परमेश्‍वरका वचनहरू र सत्यतामा आधारित बनाउनु—के त्यो अति नै कट्टरपन्थी भएन र?” अनि, जब उसलाई केही आइपर्छ, र तैँले उसलाई परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, उहाँलाई खोज्नुपर्छ, र उहाँका वचनहरू पढ्नुपर्छ भन्छस्, तब उसको मनोवृत्ति कस्तो हुनेछ? “‘परमेश्‍वरका वचनहरू पढ्ने’? हामीलाई केही भयो भने, त्यो हाम्रो समस्या हो। परमेश्‍वरसँग मान्छेका समस्याहरूको के सम्बन्ध छ? सत्यतासँग ती कुराको के सम्बन्ध छ? के तिमीलाई साँच्चिकै परमेश्‍वरका वचनहरूमा सबथोक हुन्छ, ती विश्‍वकोश हुन् जस्तो लाग्छ? परमेश्‍वरका वचनहरूमा सबथोक उल्लेखित हुन्छन् भन्ने छैन। मानिसहरूका समस्याहरू मानिसहरूले नै सम्हाल्ने हो, साथै विशेष समस्याहरूका विशेष समाधानहरू हुन्छन्। कुनै कुरा सम्हाल्न सकिएन भने, त्यसबारे इन्टरनेटमा हेर्ने, वा कुनै विज्ञलाई सोध्ने हो। हाम्रो मण्डलीमै कलेजका प्रोफेसरहरू छन्, र धेरै दाजुभाइ-दिदीबहिनीहरू कलेजका विद्यार्थीहरू हुन्। के हामी सबै मिलेर उभिँदा सत्यताबराबर हुन सक्दैनौँ र?” तैँले परमेश्‍वरलाई खोज्‍ने र सत्यताबारे खोजी गर्नेबारे कुरा गर्नेबित्तिकै, र तैँले उसलाई परमेश्‍वरका वचनहरू पढ्न जरुरी छ भन्नेबित्तिकै, उसले दिमागमा तँलाई हेयको दृष्टिले हेर्ने प्रवृत्ति राखिहाल्छ। ऊ त्यस्तो अभ्यास गर्न अनिच्छुक हुन्छ; उसलाई त्यो अति बदनामपूर्ण र अपमानजनक लाग्छ, साथै उसले सोच्छ कि त्यो कुराले उसलाई अयोग्य देखाउँछ। के यो कुनै कुरालाई तिरस्कार गर्दा त्यसले लिने रूप होइन र? यो सत्यतालाई तिरस्कार गर्ने एउटा वास्तविक प्रकटीकरण र वास्तविक व्यवहार हो। यस्ता मानिसहरू अल्पसङ्ख्यामा पर्दैनन्। तिनीहरूले प्रवचनहरू बारम्बार सुन्‍न सक्छन्, परमेश्‍वरका वचनका पुस्तकहरू बोकेर हिँड्‍न सक्छन्, र परमेश्‍वरको घरमा कर्तव्यहरू निभाउन सक्छन्, तर यदि तिनीहरूलाई केही आइपर्‍यो र तिनीहरूलाई सत्यता खोजी गर्न र परमेश्‍वरका वचनहरू पढ्न लगाइयो भने, तिनीहरूलाई त्यो कुरा हास्यास्पद लाग्छ, साथै तिनीहरू त्यसप्रति प्रतिकूल बन्छन्। तिनीहरू त्यसलाई स्विकार्नै सक्दैनन्; तिनीहरूले त्यसप्रति घिनसमेत मान्छन्। त्यसकारण आफूलाई केही आइपर्दा, तिनीहरूले त्यसलाई समाधान गर्न मानव विधिहरू प्रयोग गर्छन्, र यसो भन्छन्: “विशेष मामलाका विशेष समाधानहरू हुन्छन्, र मानिसहरूका समस्याहरू मानिसहरूले नै समाधान गर्ने हो। परमेश्‍वरलाई खोज्‍न आवश्यक छैन। परमेश्‍वरले नै सबथोक सम्हाल्नु पर्दैन। यसबाहेक, परमेश्‍वरले सम्हाल्न नमिल्ने केही कुराहरू पनि छन्। ती हाम्रा निजी मामलाहरू हुन्, जसको परमेश्‍वरसँग र सत्यतासँग कुनै सम्बन्ध हुँदैन। परमेश्‍वरले हाम्रो व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप गर्नु हुँदैन, र उहाँले हाम्रा निजी मामलामा हात हाल्‍नु हुँदैन। निर्णयाधिकार हामीसँग छ—साथै हामीले कसरी जिउने, आफूलाई कस्तो आचरणमा ढाल्‍ने, र कसरी बोल्‍ने भन्नेबारे निर्णय गर्ने अधिकार हामीलाई छ। सत्यता र परमेश्‍वरको वचन भनेको त सबैभन्दा ठूलो आवश्यकताको बेलाको लागि हो, सबैभन्दा महत्त्वपूर्ण समय, सबैभन्दा जरुरी समय, र कसैलाई उसले समाधान गर्नै नसक्ने केही आइपरेको, र त्यसविरुद्ध उसको सहारा नभएको समयको लागि हो—त्यस्तो बेलामा नै उसले परमेश्‍वरका वचनहरू निकालेर अलिकति पढ्ने हो र त्यसबाट राहत र आत्मिक आराम लिने हो। त्यो नै काफी छ।” यसमा के देख्न सकिन्छ भने, त्यस्ता ख्रीष्टविरोधी मानिसहरूले सत्यताप्रति राख्ने मनोवृत्ति भनेको सत्यता मानिसको जीवन हुन सक्छ, वा परमेश्‍वरका वचनहरू मानिसहरूलाई वास्तविक जीवनमा आइपर्ने सबथोकसित सम्बन्धित छन् भनी नस्विकार्ने हो। तिनीहरूले मान्छेको सबथोक परमेश्‍वरको हातमा हुन्छ भन्ने तथ्यलाई त झनै विश्‍वास गर्दैनन्।

ख्रीष्टविरोधीहरू सत्यतालाई तिरस्कार गर्छन्; यसले धेरै कुरा समेट्छ। अनि, ख्रीष्टविरोधीहरू सत्यतालाई तिरस्कार गर्छन् भन्नुको अर्थ के हो? त्यसको दायरा के हो? हामी त्यसलाई तीन विषयवस्तुमा विभाजन गरेर चिरफार गर्नेछौँ। त्यसो गरियो भने तिमीहरूलाई अझ प्रस्ट हुनेछ। पहिलो, तिनीहरू परमेश्‍वरको पहिचान र सारलाई तिरस्कार गर्छन्। के परमेश्‍वरका पहिचान र सारले सत्यता जनाउँदैन र? (जनाउँछ।) त्यसपछि, तिनीहरू परमेश्‍वरले देहधारी भई धारण गर्नुभएको देहलाई तिरस्कार गर्छन्। के परमेश्‍वरले धारण गर्नु भएको देह र उहाँले गर्नुहुने काम सत्यता होइनन् र? (हुन्।) अनि, बाँकी रहेको कुराचाहिँ के हो भने, तिनीहरू परमेश्‍वरको वचनलाई तिरस्कार गर्छन्। पहिलो हो, तिनीहरू परमेश्‍वरको पहिचान र सारलाई तिरस्कार गर्छन्; दोस्रोलाई छोट्याएर भन्‍न सकिन्छ, तिनीहरू ख्रीष्टलाई तिरस्कार गर्छन्; र तेस्रो हो, तिनीहरू परमेश्‍वरको वचनलाई तिरस्कार गर्छन्। हामी यी प्रत्येकलाई छुट्टाछुट्टै रूपमा चिरफार गर्नेछौँ।

अ. परमेश्‍वरको पहिचान र सारलाई तिरस्कार गर्नु

हामी पहिला परमेश्‍वरको पहिचान र सारप्रति ख्रीष्टविरोधीहरूले बोक्ने मनोवृत्तिबारे सङ्गति गर्नेछौँ, र यसले देखाउनेछ कि यस सम्बन्धमा तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्। परमेश्‍वरको पहिचान र उहाँको सारप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरूले ती कुराहरूबारे के सोच्छन्? तिनलाई तिनीहरूले कसरी परिभाषित गर्छन्? तिनलाई तिनीहरूले कसरी हेर्छन्? परमेश्‍वरको सारमा के हुन्छ? परमेश्‍वरको धर्मी स्वभाव, उहाँको सर्वशक्तिमान्‌ता, उहाँको पवित्रता, र उहाँको अद्वितीयता। के ख्रीष्टविरोधीहरूले परमेश्‍वरको पहिचान सृष्टिकर्ता हो र उहाँ सम्पूर्ण मानवजातिको नियतिमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने तथ्यलाई स्विकार्छन्? (स्विकार्दैनन्।) तिनीहरूले त्यो नस्विकार्ने कुरा विशेषगरी कसरी प्रकट हुन्छ? (परमेश्‍वरले हरदिन तिनीहरूको जीवनमा ल्याउनुहुने मानिस, घटना र वस्तुहरूलाई ख्रीष्टविरोधीहरूले स्विकार्नेछैनन्; तिनीहरूले त बस ती कुराहरूलाई विश्‍लेषण मात्र गर्नेछन्, र तिनलाई मानव धारणा र कल्पनाहरूले सम्बोधन गर्नेछन्।) तिनीहरूले तिनलाई मानव धारणा र कल्पनाहरूले सम्बोधन गर्नेछन्? तैँले भनेको कुराको पहिलो आधा भाग सही थियो: जब कुनै ख्रीष्टविरोधीलाई केही आइपर्छ, तब उसले त्यो कुरालाई विश्‍लेषण गर्न मात्र जान्दछ। तर दोस्रो भागमा तैँले भनिस् कि तिनीहरूले ती कुरालाई मानव धारणा र कल्पनाहरूले सम्बोधन गर्नेछन्—ती त साधारण भ्रष्ट मानिसहरूले गर्ने व्यवहारहरू हुन्। हामी यहाँ ख्रीष्टविरोधीहरू सत्यतालाई र मानवजातिको नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकतालाई तिरस्कार गर्छन् भन्ने तथ्यबारे सङ्गति र खुलासा गरिरहेका छौँ। त्यसको प्रमाण भेटाउन, तैँले ख्रीष्टविरोधीहरूका सान्दर्भिक विधि र व्यवहारहरू खोज्‍नुपर्छ। वास्तवमा, ख्रीष्टविरोधीहरू मुखले त “मानिसलाई परमेश्‍वरले बनाउनुभएको हो, र मानिसको भाग्य परमेश्‍वरको हातमा हुन्छ, त्यसैले मानिसहरू परमेश्‍वरको प्रभुत्त्वमा रहनुपर्छ” भनेर स्विकार्छन्—तर आफूलाई केही आइपर्दा के तिनीहरूले त्यसरी नै स्वीकार गर्छन् त? तिनीहरूले बोल्ने शब्दहरू अत्यन्तै राम्रा र सही हुन्छन्, तर आफूलाई केही आइपर्दा तिनीहरूले त्यसरी अभ्यास गर्दैनन्। तिनीहरूलाई केही आइपर्दा विभिन्‍न कुराप्रति तिनीहरूले देखाउने शैली र मनोवृत्तिले नै तिनीहरूले बोल्ने शब्दहरू सुत्रवाक्य मात्र हुन्, साँचो ज्ञान होइनन् भन्ने खुलासा गर्छ। अनि तिनीहरूलाई केही आइपर्दा, तिनीहरूसँग कस्ता दृष्टिकोण, सोचाइ, अभिव्यक्ति, र मनोवृत्तिहरू हुन्छन् जसले तिनीहरूमा ख्रीष्टविरोधी सार छ भनेर प्रमाणित गर्छ? जब कुनै ख्रीष्टविरोधीलाई केही आइपर्छ, तब के उसले सुरुमै त्यसलाई तथ्यको रूपमा स्विकार्न सक्छ? शान्त भएर परमेश्‍वरसामु समर्पित हुनु, अनि राम्रो नराम्रो जे-जस्तो भए पनि, र त्यो आफ्नो लागि फाइदाजनक भए पनि नभए पनि, परमेश्‍वरले मिलाउनुभएको वातावरण स्विकार्नु—के उसमा त्यस्तो मनोवृत्ति हुन्छ त? उसमा पक्कै पनि त्यस्तो कुनै मनोवृत्ति हुँदैन। केही आइपर्दा उसले सोच्ने पहिलो कुरा भनेको त्यसले कसरी उसको स्वार्थ र पदलाई असर गर्छ भन्ने हो; त्यसपछि, उसले त्यसबाट मुक्त हुने, त्यसबाट निस्कने बाटो खोज्ने, र त्यसबाट पन्छिने उपायहरूबारे योजना बनाउँछ। त्यसको जिम्मेवारी लिन नचाहेर, उसले अप्रत्यक्ष रूपमा तर्कहरू गर्न र बहानाहरू बनाउन खोज्छ; उसले त्यसलाई सुल्झाउन मानव विधिहरू प्रयोग गर्छ, र त्यसलाई विश्‍लेषण र समाधान गर्न आफ्नो दिमाग प्रयोग गर्छ। उसले त्यो जिम्मेवारी अरूमा समेत सार्छ, त्यो व्यक्ति गलत छ र त्यो व्यक्तिले अह्राइएको काम गर्दैन भन्दै गुनासो गर्छ, र पहिलो कुरा त आफू नै लापरवाह र अज्ञानी भएको, र सुरुदेखि नै कामकुराहरू हुनुपर्ने जस्तो नभएको भनी पछुताउँछ। निस्सन्देह नै ऊसँग ऊमाथि आइपर्ने परिस्थितिहरू, अर्थात् परमेश्‍वरले उसको लागि प्रबन्ध गर्नुहुने परिस्थितिहरूप्रति प्रतिरोधी, पन्छिने, नकार्ने, र अस्वीकार गर्ने मनोवृत्ति हुन्छ। ती परिस्थितिहरूप्रति उसको पहिलो प्रतिक्रिया भनेको तिनको आगमनविरुद्ध लड्नु हो; उसको दोस्रो प्रतिक्रियाचाहिँ मानव विधिहरू प्रयोग गरेर तिनलाई साम्य पार्नु, मानव उपायहरूद्वारा कठिनाइ सहनु, र मानव उपायहरू नै प्रयोग गरेर तथ्यहरू ढाकछोप गर्नु, र आफूले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा पुर्‍याएका क्षतिहरूसमेत ढाकछोप गर्नु हो। उसले आफ्नो सारा मानसिक ऊर्जा मानव उपायहरू प्रयोग गरेर आफ्ना दुष्ट कार्यहरू ढाकछोप गर्न र लुकाउनमै लगाउँछ। उसले आफूले गरेका खराब कामहरूको प्रकृति, वा आफूले कुनु-कुन सत्यता सिद्धान्तहरू उल्लङ्घन गरेँ भनेर स्विकार्दैन, बरु आफू वरपरकाहरूलाई यसरी निर्देशनसमेत दिन्छ: “यो कुरालाई बाहिर जान नदेऊ। हामी कसैले केही पनि नभनौँ; अरू कसैले थाहा पाउन सक्दैन।” ऊ आफू समर्पित नहुने र यी परिस्थिति स्विकार्न नमान्ने मात्र होइन—उसले त छल गर्दै र कुरा लुकाउँदै, वास्तविक तथ्यहरू ढाकछोप गर्ने प्रयास गर्दै, ठूलो कुरालाई सानो बनाउने आशा लिँदै, र त्यसलाई महत्त्वहीन बनाउन खोज्दै प्रत्याक्रमणसमेत गर्नेछ, ताकि त्यसबारे आफूभन्दा उच्च अगुवाहरूलाई वा परमेश्‍वरलाई थाहा नहोस्। ख्रीष्टविरोधीहरूले आफूलाई आइपर्ने कुराहरू यसरी नै सम्हाल्छन्। अनि, के तिनीहरूको कामकुरा सम्हाल्ने तौरतरिका तिनीहरूले फलाक्ने सुत्रवाक्यहरूसँग मिल्छ त? तिनीहरूले फलाक्ने सुत्रवाक्यहरू र तिनीहरूलाई केही आइपर्दा तिनीहरूले अपनाउने मनोवृत्तिबीच, कुनचाहिँ तिनीहरूको प्रकृति सारको प्रकटीकरण हो त? (तिनीहरूलाई केही आइपर्दा तिनीहरूले अपनाउने मनोवृत्ति।) त्यसोभए, त्यो मनोवृत्ति ठ्याक्कै के हो त? के तिनीहरूमा समर्पणको मनोवृत्ति हुन्छ? के तिनीहरूमा परमेश्‍वरले तिनीहरूलाई अनुशासित र काटछाँट गर्नुभएको विनम्रसाथ स्विकार्ने मनोवृत्ति हुन्छ? के तिनीहरूमा परमेश्‍वरको सार्वभौमिकताप्रति समर्पित हुने इच्छुकता हुन्छ? के तिनीहरूलाई जे आइपरे पनि, तिनीहरूको मनोवृत्ति र साँचो व्यवहार, परमेश्‍वर एउटै हुनुहुन्छ र मान्छेको सबथोकमाथिको सार्वभौमिकता उहाँमै हुन्छ भन्ने साँचो विश्‍वास हुन्छ? (हुँदैन।) बिलकुलै हुँदैन। त्यसोभए, तिनीहरूको मनोवृत्ति के हुन्छ? यो त प्रस्टै छ: तिनीहरू कुराहरू अस्वीकार गर्न, ढाकछोप गर्न, र धोका दिन चाहन्छन्; तिनीहरू अन्त्यसम्मै विरोध गर्न, र परमेश्‍वरलाई काम गर्न वा सार्वभौम हुन नदिन चाहन्छन्। तिनीहरू आफूमा सबथोक ठिक पार्ने क्षमता र सामर्थ्य छ भन्ने सोच्छन्। तिनीहरूको कार्यक्षेत्रमा, कसैले पनि तिनीहरूको काममा हस्तक्षेप गर्न वा तिनको व्यवस्थापन गर्न सक्दैन—तिनीहरू नै सर्वेसर्वा हुनुपर्छ। अनि, के त्यसपछि तिनीहरूले विश्‍वास गर्ने परमेश्‍वर त्यो क्षणमा पनि अस्वित्वमा रहनुहुन्छ त? रहनुहुन्न—उहाँ खोक्रो आवरण भइसक्नुभएको हुन्छ। त्यसोभए, त्यो क्षणमा तिनीहरूको आस्था के हुन्छ? त्यो अस्पष्ट र खोक्रो हुन्छ, र त्यसमा छल हुन्छ। तिनीहरूमा साँचो आस्था हुँदैन।

यदि कुनै ख्रीष्टविरोधीलाई केही पनि भएको छैन भने, उसले प्रवचनहरू सुनेको, परमेश्‍वरका वचनहरू पढेको, र भजनहरू सिकेको बहाना गर्नेछ। ऊ मण्डली जीवनमा सामेल हुन्छ, र मण्डलीका सम्पूर्ण कार्यपरियोजनाहरूमा सक्रियतासाथ सहभागी हुन्छ, र प्रायः यसो भनिरहन्छ: “हामी परमेश्‍वरमा विश्‍वास गर्छौँ, त्यसैले हामीले उहाँको सार्वभौमिकतामा विश्‍वास गर्नुपर्छ, र उहाँको सार्वभौमिकताप्रति समर्पित हुनुपर्छ। सबथोक परमेश्‍वरको हातमा हुन्छ, र उहाँले जे गर्नुहुन्छ त्यो सबै राम्रो हुन्छ।” यति मात्र होइन, उसले अरूलाई प्रायजसो निर्देशन पनि दिइरहन्छ: “मानिसहरूले आफ्नै तरिकाले कदम चाल्न जिद्‌ कस्नु हुँदैन। केही भयो भने, परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, किनकि सबथोक परमेश्‍वरकै हातमा हुन्छ।” उसले यी सुत्रवाक्यहरू ठूलै शैलीमा फलाक्छ, र हेर्दा उसको मनोवृत्ति निकै दृढ र पूर्ण देखिन्छ—तर उसले अपेक्षाहरू पूरा गर्न सक्दैन किनकि उसलाई केही आइपर्दा, तथ्यले अर्थात् उसले साँच्चै प्रकट गर्ने कुराले उसको साँचो कद र उसको सार पूर्णतया खुलासा गरिदिइहाल्छ। यो कुराले ऊ सृष्टिकर्ताको पहिचान र सारको तथ्यमा विश्‍वास गर्दैन, र उहाँ सबैमाथि सार्वभौम हुनुहुन्छ भन्ने तथ्यमा विश्‍वास गर्दैन भनेर खुलासा गर्छ। ऊ यी तथ्यहरू स्विकार्नसमेत अनिच्छुक हुन्छ, उसले यी कुरालाई मान्य मान्‍ने त कुरै नगरौँ। अझ भन्नुपर्दा, उसले यी कुरालाई मान्य मान्न वा स्विकार्न नसक्ने मात्र नभई, ऊ अन्त्यसम्मै विरोधी रहिरहन जिद्दीसमेत गर्छ। उसलाई केही आइपर्दा, ऊ केही न केही कुराले दुःखी हुन्छ, एउटाले नभए अर्को कुराले दुःखी हुन्छ। उसले व्यवस्थित र कर्तव्यनिष्ठ तरिकाले परमेश्‍वरसामु आएर उहाँको आशय र उहाँको इच्छा खोज्दैन; ऊ कर्तव्यनिष्ठ तरिकाले परमेश्‍वरसामु आउँदैन, र उहाँका सार्वभौमिकता र प्रबन्धहरूप्रति समर्पित हुँदैन, र उसले उहाँका योजनाबद्ध कार्य र सार्वभौमिकता स्विकार्दैन; साथै उसले कर्तव्यनिष्ठ तरिकाले उहाँको ताडना स्विकार्दैन। बरु, उसले मानव विधि र योजनाहरूद्वारा, र मानव उपायहरूद्वारा कामकुराहरू सहज बनाउने—कुरा दबाउने, र अरूहरू र परमेश्‍वरको आँखामा छारो हाल्ने चाहना राख्छ। उसले मामला सहज बनाएर त्यसलाई आफूले समाधान गरेको विश्‍वास गर्छ—त्यसलाई सहज बनाएर उसले आफ्ना त्रुटि र भ्रष्ट स्वभावहरू छोपिनेछन्, र तीबारेमा कसैलाई थाहा हुनेछैन, वा कसैले पनि ख्रीष्टविरोधीका कुनै कमी पत्ता लगाउन वा त्यो मामला थप अघि बढाउन सक्नेछैन भन्ने विश्‍वास गर्छ। अनि, उसले कुनै ठूलो कुरा हासिल गरेपछि स्थिरता पाउने विश्‍वास गर्छ। ख्रीष्टविरोधीलाई केही आइपर्दा, उसले प्रकट गर्ने शब्द र व्यवहारहरू, साथै उसका कार्य र व्यवहारहरू हेर्दा, अनि उसको व्यवहार र कार्यप्रदर्शनको सार हेर्दा, ख्रीष्टविरोधी परमेश्‍वरको सार्वभौमिकताप्रति ढिठ रूपमा प्रतिरोधी हुन्छ। उसले हठपूर्वक अन्त्यसम्मै लड्नेछ। आफूले जे गल्ती गरेको भए पनि, उसले परमेश्‍वरलाई उसलाई काटछाँट गर्न, वा उसलाई अनुशासित गराउने वातावरण बनाउन दिनेछैन, उहाँलाई उसको खुलासा र पर्दाफास गर्न दिने त झन् कुरै नगरौँ। उसको खुलासा हुनेबित्तिकै, र रहस्य खुल्नेबित्तिकै, ऊ आत्तिन्छ, हडबडिन्छ र चिढिन्छ; उसले परिस्थिति उल्टाउने र निरोधात्मक दोषारोपण गर्नेसमेत गर्छ र परमेश्‍वरले उसलाई सुरक्षा दिन सक्नुभएन, उहाँले उसलाई आशिष् दिनुभएन, उहाँ पक्षपाती हुनुहुन्छ भनेरसमेत आरोप लगाउँछ—नत्र उसलाई र अरू कसैलाई एउटै कुरा आइपर्दा परमेश्‍वरले किन अर्को व्यक्तिलाई खुलासा नगरेर उसलाई मात्र खुलासा गर्नुभएको? नत्र उसलाई र अर्को व्यक्तिलाई एउटै कुरा आइपर्दा परमेश्‍वरले किन अर्को व्यक्तिलाई अनुशासनमा नराखी उसलाई मात्र राख्नुभएको? उसले यस्तोसमेत भन्नेछ, “परमेश्‍वर धर्मी हुनुहुन्न भन्ने देखिसकेपछि, मैले मानव विधिहरूद्वारा, अर्थात् मेरा आफ्नै विधिद्वारा आफ्नो सुरक्षा गर्नुपर्नेछ।” उसलाई लाग्छ कि उसले केही गल्ती गरेको हुँदा पनि परमेश्‍वरले उसलाई अनुशासनमा राख्न र खुलासा गर्न मिल्दैन, बरु उसको ढाकछोप गर्नुपर्छ, हरेक मोडमा उसलाई अघि बढ्ने अनुमति दिनुपर्छ, उसलाई सहज बाटो बनाइदिनुपर्छ, र उसका गल्तीहरू बेवास्ता गरिदिनुपर्छ। अनि परमेश्‍वरले पनि त्यसै गर्नुहुनेछ भनेर उसले विश्‍वास गर्छ। उसलाई चुनौतीहरू आइपर्दा, यदि परमेश्‍वरले उसलाई खुलासा गर्नुभयो, र विशेष निगाह देखाउनुभएन, र उसलाई विशेष दर्शन वा अगुवाइ दिनुभएन भने, उसलाई यस्तो परमेश्‍वर प्रेमिलो हुनुहुन्‍न, र उहाँ उसको भाग्यमाथि सार्वभौमिकता राख्न योग्य हुनुहुन्न भन्ने महसुस हुन्छ। त्यसैले, उसले आफूलाई केही आइपर्दा सृष्टि गरिएको प्राणीको रूपमा परमेश्‍वरप्रति समर्पित हुन, र उहाँबाट आउने सबै कुरा स्विकार्न चाहँदैन; यसको साटो, ऊ परमेश्‍वरले उसलाई सेवा दिनुहोओस्, उसलाई यावत्‌ थोकमा माथि उकास्‍नुहोओस्, र उसले गरेका कुनै पनि अपराध, वा उसले देखाउने कुनै पनि भ्रष्टता, विद्रोहीपन, वा प्रतिरोधको कारण उसलाई गाली गर्ने वा अनुशासनमा राख्‍ने नगर्नुहोओस् भन्ने चाहन्छ। ख्रीष्टविरोधीको हरेक व्यवहार र प्रकटीकरणमा यो देख्न सकिन्छ कि उसमा परमेश्‍वरप्रति कुनै साँचो आस्था छैन। उसको तथाकथित साँचो आस्थाको उद्देश्य फाइदा त उठाउनु र लाभहरू प्राप्त गर्नु मात्र हो। ऊ परमेश्‍वरको योजनाबद्ध कार्यप्रति समर्पित हुँदैन, बरु उहाँलाई नै योजनाबद्ध गरेर उसको निम्ति उहाँलाई सबथोक गराउने र उसको लागि ढोकाहरू खोलाउने चाहना राख्छ। उसले सृष्टि गरिएको प्राणीको रूपमा परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू, वा उहाँको मुक्ति स्विकार्दैन। बरु यसको साटो, उसले त आफूले परमेश्‍वरमा विश्‍वास गरेर उहाँलाई ठूलो निगाह प्रदान गरेको, र परमेश्‍वरले त्यो कुरा सम्झनुपर्ने, र उसको सुरक्षा गर्नुपर्ने, उसलाई निसर्त आशिष् दिनुपर्ने, साथै माफी गर्नुपर्ने, र उसले जेजस्तो खराब काम गरेको भए पनि उसलाई विशेष माफी दिनुपर्ने महसुस गर्छ। त्यस्ता ख्रीष्टविरोधी मानिसहरू साँच्चिकै दुष्ट हुन्छन्। तिनीहरूमा कुनै लाज हुँदैन। तिनीहरूलाई तिनीहरू कस्ता चिज हुन् वा को हुन् भन्नेसमेत थाहा हुँदैन, त्यसैले आफूलाई केही आइपर्दा तिनीहरू निर्लज्ज रूपमा स्पष्टीकरण दिन्छन् र बहाना बनाउँछन्, आफ्नो दलिल र वकालत गर्छन्, अरूमाथि दोष थोपर्छन्, र तथ्यहरू लुकाउँछन्। यदि तिनीहरूको खुलासा भयो र मानिसहरूले तिनीहरूलाई भित्रैदेखि चिनेमा, त्यसउप्रान्त तिनीहरूसँग हैसियत वा प्रतिष्ठा हुनेछैन भन्ने डरले तिनीहरूले अन्त्यसम्मै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमाथि तिनीहरूको आस्था बोलीमै सीमित हुन्छ; तिनीहरू केही पनि अर्पण गर्दैनन्, र साँचो रूपमा समर्पित हुँदैनन्, झन् तिनीहरू स्वीकार्यताको नजिक पुग्‍ने त कुरै नगरौँ। त्यसकारण, परमेश्‍वरको पहिचान सम्बन्धमा, ख्रीष्टविरोधीको सारमा यो देख्न सकिन्छ कि ऊ हृदयको गहिराइदेखि नै परमेश्‍वरको पहिचानविरुद्ध हुन्छ—ऊ परमेश्‍वरलाई उसको नियतिमाथि सार्वभौमिकता राख्न र उसका सबै कुराहरू योजनाबद्ध गर्न दिन अनिच्छुक हुन्छ। ऊ परमेश्‍वरलाई सार्वभौम हुन दिन चाहँदैन—अनि, ऊ कोचाहिँ सार्वभौम होस् भन्ने चाहन्छ त? ऊ आफैले अन्तिम निर्णय गर्न चाहन्छ, र यसको अन्तर्निहित अर्थ शैतानलाई सबै कुरा योजनाबद्ध गर्न दिनु, र भ्रष्ट स्वभाव र शैतानको भ्रष्ट सारलाई उसको जीवन बन्न दिनु, अनि हृदयमा राजाको रूपमा शासन गर्नु हो। कुरा त्यही हो। जहाँसम्म परमेश्‍वरको सारको कुरा छ—ख्रीष्टविरोधीले त्यसलाई कुन रूपमा लिन्छ? ख्रीष्टविरोधीले परमेश्‍वरको सारमा हुने तत्वहरूबारे शङ्का राख्छ। उसले विश्‍वास गर्दैन; उसले शङ्का गर्छ; उसले ती सबै तत्वहरूबारे निन्दाका साथै धारणाहरू पनि बोक्छ। कहिलेकाहीँ, उसले आफ्ना कल्पना, ज्ञान, र दिमाग प्रयोग गरेर पनि ती तत्वहरूलाई विश्‍लेषण गर्ने र बुझ्ने गर्छ। कतिपय मूर्ख मानिसहरू त तिनीहरूका बुझाइ निकै राम्रा, आत्मिक, मान्य, र व्यावहारिक छन् भनेरसमेत विश्‍वास गर्छन्। यो त अझ घिनलाग्दो कुरा हो।

क. परमेश्‍वरको धार्मिकतालाई तिरस्कार गर्ने

यस्ता ख्रीष्टविरोधी मानिसहरूले परमेश्‍वरको धार्मिकता र स्वभावलाई सधैँ धारणा, शङ्का, र प्रतिरोधको आधारमा लिन्छन्। तिनीहरूले सोच्छन्, “परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने त सिद्धान्त मात्र हो। यो संसारमा धर्मी भन्‍ने कुनै कुरा छ र? मेरो जीवनको यतिका वर्षमा, मैले एकपटक पनि यस्तो कुरा भेटको वा देखेको छैन। संसार अति अँध्यारो र दुष्ट छ, र दुष्ट मानिसहरू र नरपिशाचहरू सफल भएका र सन्तुष्टिमा जिइरहेका छन्। तिनीहरू जेको लायक छन् त्यो तिनीहरूले पाएको मैले देखेको छैनँ। यसमा परमेश्‍वरको धार्मिकता कहाँ छ म देख्‍न सक्दिनँ; म सोच्छु, के परमेश्‍वरको धार्मिकता साँच्‍चै अस्तित्वमा छ त? यसलाई कसले देखेको छ? कसैले पनि देखेको छैन, र कसैले पनि यसलाई पुष्टि गर्न सक्दैन।” तिनीहरूले मनमनै यस्तै विचार गर्छन्। तिनीहरूले परमेश्‍वरको सबै काम, उहाँका सबै वचनहरू, र उहाँका योजनाबद्ध सबै कार्यहरूलाई उहाँ धर्मी हुनुहुन्छ भन्‍ने जगको आधारमा हेर्दैनन्, बरु सधैँ शङ्का र टीकाटिप्पणी गरिरहेका हुन्छन्, सधैँ धारणाहरूले भरिएर बस्छन् तर ती धारणा हटाउन तिनीहरूले कहिल्यै सत्यता खोजी गर्दैनन्। ख्रीष्टविरोधीहरूले सधैँ यसरी नै परमेश्‍वरमा विश्‍वास गर्छन्। के परमेश्‍वरमाथि तिनीहरूले साँचो विश्‍वास गर्छन्? गर्दैनन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरको धार्मिकताबारे सधैँ शङ्का गर्छन्। अवश्य नै, तिनीहरूमा परमेश्‍वरको स्वभाव, उहाँको पवित्रता, साथै उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसबारे शङ्काहरू हुन्छन्। तिनीहरू ती कुरामा विश्‍वास गर्दैनन्, बरु आँखाले देखेको कुरामा मात्र विश्‍वास गर्छन्—यदि तिनीहरूले आफ्नै आँखाले कुनै कुरा देख्न सकेनन् भने, तिनीहरूले त्यसमा कहिल्यै विश्‍वास गर्नेछैनन्। तिनीहरू ठ्याक्कै थोमाजस्तै हुन्, जसले सधैँ प्रभु येशूलाई शङ्का गर्थ्यो, प्रभु येशू मृत्युबाट बौरी उठ्नुभएको हो भनेर विश्‍वास गर्दैनथ्यो, र परमेश्‍वरको ठूलो शक्तिमा विश्‍वास गर्दैनथ्यो। के आत्मिक बुझाइ नभएका वा सत्यता नपछ्याउने त्यस्ता ख्रीष्टविरोधी फोहोरहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर विश्‍वास गर्न सक्छन् त? के तिनीहरूले उहाँको सर्वशक्तिमान्‌ता र बुद्धिमतामा विश्‍वास गर्न सक्छन् त? तिनीहरूले यी कुनैमा पनि विश्‍वास गर्दैनन्; हृदयमा, तिनीहरू सधैँ शङ्का बोक्छन्। ख्रीष्टविरोधीहरूको सारको आधारमा भन्नुपर्दा, तिनीहरू आँखाले देख्ने कुरामा मात्र विश्‍वास गर्छन्, त्यसैले तिनीहरू भौतिकवादी हुन्। तिनीहरूले परमेश्‍वरको सर्वशक्तिमान्‌ता देख्न सक्दैनन्, र त्यसैले उहाँका वचनहरू सत्यता हुन्, ती उहाँले सम्भव तुल्याइसक्नुभएका तथ्यहरू हुन् भनेर विश्‍वास गर्दैनन्। तिनीहरूमा आत्मिक बुझाइ र साँचो आस्था नभएकोले, तिनीहरूले परमेश्‍वरका कार्यहरू देख्नै सक्दैनन्। तथ्य त के हो भने, परमेश्‍वरमा विश्‍वास गर्नुमा नै तिनीहरूको गोप्य मनसाय हुन्छ। तिनीहरू मनमौजी रूपमा समस्या निम्त्याउने शैतानका नोकरहरू हुन्। के सत्यता नस्विकार्ने वा परमेश्‍वरको अस्तित्वमा विश्‍वास नगर्ने, र सबै कुरा मानव नजरले हेर्ने व्यक्तिले सत्यताको अस्तित्व पत्ता लगाउन सक्छ र? के उसले मानवजातिमाथिको परमेश्‍वरको सार्वभौमिकताबारे पत्ता लगाउन सक्छ र? निश्‍चय नै सक्दैन। उसले विभिन्‍न कुराहरूलाई सूक्ष्म जाँचको नजरले, शङ्कास्पद नजरले, र शङ्कालु मनोवृत्तिले हेर्छ, र उसले परमेश्‍वरले गर्नुहुने सबै कुराको प्रतिरोध गर्छ, र यही कारणले गर्दा ख्रीष्टविरोधीहरू परमेश्‍वरको धर्मी स्वभावबारे विश्‍वास गर्दैनन्। तिनीहरू शङ्का गर्छन् र त्यसलाई स्विकार्दैनन्। अनि, ख्रीष्टविरोधीहरूका कस्ता व्यवहारहरूले अरूलाई तिनीहरूले सत्यता स्विकार्दैनन् वा परमेश्‍वरको सार मान्दैनन् भन्‍ने देखाउँछ? यस्ता विशेष व्यवहारहरू धेरै छन्। उदाहरणको लागि: जब मण्डलीको काममा समस्या पैदा हुन्छ, तब यसको गम्‍भीरता वा परिणामहरू जे-जस्तो भए पनि, ख्रीष्टविरोधीको पहिलो प्रतिक्रिया भनेको आफूलाई दोषमुक्त पार्नु र अरूमाथि दोष थोपर्नु हो। आफूलाई जिम्‍मेवार नठहराइयोस् भनेर, तिनीहरूले साँचो कुरालाई ढाकछोप गर्न एक-दुईवटा सही, र राम्रा सुनिने कुराहरू गरेर अनि केही सतही चिन्ता व्यक्त गरेर आफूबाट अन्यत्र ध्यान मोड्छन्। सामान्य अवस्थामा, मानिसहरूले यस्तो कुरा देख्‍न सक्दैनन्, तर जब तिनीहरूको जीवनमा कुनै कुरा आइपर्छ, तब ख्रीष्टविरोधीको कुरूपताको पर्दाफासहुन्छ। दुम्सीले काँडा ठाडो पारेर आफूलाई रक्षा गरेजस्तै, तिनीहरूले जिम्‍मेवारी नलिनका लागि आफूलाई सारा शक्तिले रक्षा गर्छन्। यो कस्तो प्रकारको मनोवृत्ति हो? के यो परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर नपत्याउने मनोवृत्ति होइन र? तिनीहरू परमेश्‍वरले सबै कुराको सूक्ष्म जाँच गर्नुहुन्छ वा उहाँ धर्मी हुनुहुन्छ भन्‍ने कुरा विश्‍वास गर्दैनन्; तिनीहरूले आफूलाई रक्षा गर्न आफ्‍नै विधिहरू अपनाउन चाहन्छन्। तिनीहरूले यस्तो विश्‍वास गर्छन्, “मैले आफ्‍नो रक्षा गरिनँ भने, कसैले मेरो रक्षा गर्नेछैन। परमेश्‍वरले पनि मेरो रक्षा गर्न सक्‍नुहुन्‍न। तिनीहरू त उहाँ धर्मी हुनुहुन्छ भनी भन्छन्, तर मानिसहरू समस्यामा पर्दा, के उहाँले तिनीहरूसँग साँच्‍चै निष्पक्ष व्यवहार गर्नुहुन्छ त? पक्‍कै गर्नुहुन्‍न—परमेश्‍वरले त्यसो गर्नुहुन्‍न।” समस्या वा सतावटको सामना गर्दा, तिनीहरूले सहयोग नपाएको अनुभव गर्छन्, र सोच्छन्, “अनि, परमेश्‍वर खोइ त? मानिसहरूले उहाँलाई देख्‍न वा छुन सक्दैनन्। कसैले पनि मलाई सहयोग गर्न सक्दैन; कसैले पनि मलाई न्याय दिन र मेरो लागि निष्पक्षता कायम राख्न सक्दैन।” तिनीहरूले आफूलाई रक्षा गर्ने एउटै उपाय भनेको आफ्‍नै विधिहरूको प्रयोग गर्नु मात्र हो, नत्र तिनीहरूले क्षति, हेपाइ र उत्पीडन भोग्नेछन्र परमेश्‍वरको घरमा पनि यसको अपवाद हुँदैन भन्‍ने सोच्छन्। ख्रीष्टविरोधीलाई केही हुनुभन्दा पहिले नै उसले आफ्ना लागि सबथोकको योजना बनाइसकेको हुन्छ। एकातिर, उसले आफूलाई यति शक्तिशाली व्यक्तिको खोल ओडाउँछ कि कसैले पनि उसलाई दुःख दिने, निहुँ खोज्ने, वा धम्काउने आँट नै गर्दैन। अर्कोतिर ऊ हरेक मोडमा शैतानका दर्शनहरू र त्यसको अस्तित्वका नियमहरू पालना गर्छ। मुख्यतः ती के-के हुन्? “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “जुन कुराले आफूलाई असर गर्दैन त्यसको लागि टाउको दुखाउनु हुँदैन,” “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्‍ने हुँदा आत्मरक्षा गर्न खप्पिस हुन्छन्,” परिस्थितिले दिएअनुसार व्यवहार गर्ने, शिष्ट र व्यवस्थित हुने, “आइनलागिञ्जेल जाइलागिँदैन,” “मैत्रीभाव सम्पत्ति हो भने धैर्यता चमक हो,” “अरूको भावना र तर्कसँग मिल्ने कुरा गर्नू, किनभने हकी कुरा गर्दा अरूलाई रिस उठ्छ,” “बुद्धिमानी मानिस परिस्थितिअनुसार चल्छ,” र यस्तै अन्य शैतानी दर्शनहरू। तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, तर शैतानका दर्शनहरूलाई सकारात्मक कुराझैँ स्विकार्छन्, ती कुराले तिनीहरूलाई रक्षा गर्न सक्नेछन् भन्ने ठान्छन्। तिनीहरू यी कुराअनुसार जिउँछन्; तिनीहरू कसैसित सत्यता बोल्दैनन्, तर सधैँ खुसी पार्ने, प्यारो बनाउने, र चिल्लो घस्ने कुरा भन्छन्, कसैलाई चिढ्याउँदैनन्, आफूलाई प्रदर्शन गर्ने तरिकाहरू सोच्छन् ताकि अरूले आफूलाई सम्मान गरून्। तिनीहरू ख्याति, प्राप्ति र हैसियतसम्‍बन्धी तिनीहरूको आफ्नो पछ्याइकोबारे मात्रै वास्ता गर्छन्, र मण्डलीको काममा साथ दिन केही पनि गर्दैनन्। कसैले कुनै खराब काम गरे पनि र परमेश्‍वरको घरका हितहरूमा हानि गरे पनि, तिनीहरूले त्यस्ता मानिसहरूको खुलासा वा रिपोर्ट गर्ने गर्दैनन्, बरु देखे पनि नदेखेको जस्तो गर्छन्। परिस्थिति सम्‍हाल्‍ने तिनीहरूका सिद्धान्तहरू र आफू वरपर घट्ने घटनाहरूलाई हेर्ने तिनीहरूको तरिकाको आधारमा हेर्दा, के तिनीहरूसित परमेश्‍वरको धर्मी स्वभावको ज्ञान छ त? तिनीहरूलाई त्यसमा कुनै विश्‍वास छ? तिनीहरूसित कुनै विश्‍वास छैन। यहाँ “छैन” को अर्थ तिनीहरूलाई यसबारेमा थाहै हुँदैन भन्‍ने होइन, बरु तिनीहरूको हृदयमा परमेश्‍वरको धर्मी स्वभावबारे शङ्काहरू छन् भन्‍ने हुन्छ। तिनीहरूले परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने कुरालाई न स्वीकार गर्छन् न त मान्यता नै दिन्छन्। जब तिनीहरूले सत्यता र धार्मिकताले परमेश्‍वरको घरमा शासन गर्छ भनेर धेरै मानिसहरूले गवाही दिएको देख्छन्, तब तिनीहरूले प्रतिरोध गर्छन्, र हृदयमा त्यसबारे आलोचना गर्छन्, र यसो भन्छन्, “ठूलो रातो अजिङ्गरले परमेश्‍वरका चुनिएका मानिसहरूलाई त्यसरी सताएकोमा किन कुनै प्रतिशोध सामना गरेको छैन? अविश्‍वासीहरूमध्येका दुष्ट मानिसहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हेप्छन्, तर तिनीहरूले पनि कुनै प्रतिशोध सामना गरेका छैनन्। तिनीहरू सबै नै सहजसाथ बसिरहेका छन्—परमेश्‍वरका विश्‍वासीहरू नै किन सधैँ हेपाइमा पर्छन्?” हृदयभित्र, तिनीहरू परमेश्‍वरको धर्मी स्वभावमा विश्‍वास गर्दैनन्। तिनीहरू परमेश्‍वरले हरव्यक्तिलाई धार्मिकतासाथ व्यवहार गर्नुहुन्छ भनेर विश्‍वास गर्दैनन्, न त तिनीहरू परमेश्‍वरले हरव्यक्तिलाई उसका कार्यबमोजिम उसले पाउनुपर्ने कुरा दिनुहुनेछ, र सत्यता पछ्याउनेहरूले मात्र परमेश्‍वरको आशिष् र सुन्दर गन्तव्य प्राप्त गर्नेछन् भन्ने कुरामा नै विश्‍वास गर्छन्। ख्रीष्टविरोधीहरू यी कुराहरूमा विश्‍वास गर्दैनन्। तिनीहरू मनमनै यसो भन्छन्, “यदि तथ्यहरू यिनै हुन् भने मैले किन नदेखेको? तपाईं सत्यता पछ्याउनेहरू परमेश्‍वरद्वारा आशिषित् हुनेछन् भनेर भन्नुहुन्छ। तर हाम्रो मण्डलीको फलानोले सत्यता पछ्याउँछ, र आफूलाई परमेश्‍वरको निम्ति अर्पित गर्छ, साथै ऊ आफ्नो कर्तव्यगराइमा पनि निकै बफादार छ। तर उसलाई अन्त्यमा के भएको छ? ठूलो रातो अजिङ्गरले यसरी उसको खोजी गरिरहेको छ कि उसलाई घर जानै मुस्किल छ; उसको परिवार तहसनहस भएको छ—उसले आफ्ना छोराछोरीसमेत देख्न पाउँदैन। के त्यो परमेश्‍वरको धार्मिकता हो? अनि परमेश्‍वरमा विश्‍वास गरेकोले फलानो व्यक्तिलाई जेलमा कोचियो, र मरणासन्न हुनेगरी यातना दिइयो। त्यसबेला परमेश्‍वरको धर्मी स्वभाव कहाँ थियो? ऊ आफ्नो गवाहीमा खरो उत्रियो; ऊ कुनै यहूदा थिएन। परमेश्‍वरले उसलाई किन आशिष् र सुरक्षा प्रदान गर्नुभएन? अनि परमेश्‍वरले किन ठूलो रातो अजिङ्गरलाई उसलाई मरणासन्न हुनेगरी कुट्न अनुमति दिनुभयो? हाम्रो मण्डलीमा पनि एकजना अगुवा थियो जसले मण्डलीको कामको निम्ति आफ्नो परिवार र पेशा त्यागेको थियो। उसले वर्षौँसम्म आफ्नो कर्तव्य गर्‍यो र धेरै नै कठिनाइहरू सामना गर्‍यो, तर अन्त्यमा, अलिकति दुष्टता गरी मण्डलीको काममा बाधा दिएकोमा उसलाई निन्दा गरियो र निकालियो। त्यसमा परमेश्‍वरको धर्मी स्वभाव कहाँ थियो? कतिपय दाजुभाइ-दिदीबहिनीहरू सानै उमेरमा कठिनाइ सहेर परिश्रम गर्दै परमेश्‍वरको घरमा कर्तव्यहरू गरिरहेका हुन्छन्, तर एउटा गल्ती गरेर सिद्धान्तहरू उल्लङ्घन गर्नेबित्तिकै उनीहरूलाई काटछाँट गरिन्छ। उनीहरूमध्ये कतिपय त निकालिने र हटाइने डरले निकै दुःखी हुन्छन् र रुन्छन्, तर उनीहरूलाई सहानुभूति दिने कोही हुँदैन। म त्यसमा किन परमेश्‍वरको धार्मिकता देख्न सक्दिनँ? यी कुराहरूमा परमेश्‍वरको धर्मी स्वभाव ठ्याक्कै कुन रूपमा प्रकट हुन्छ? म त्यो किन देख्न सक्दिनँ? मेरो आफ्नै घटना पनि छ—म आफ्नो कर्तव्यगराइमा अलि झाराटारुवा हुँला, र मैले कहिलेकाहीँ अलिकति भ्रष्ट स्वभाव देखाउँला, तैपनि ममा प्रतिभा छ। परमेश्‍वरको घरले मलाई किन प्रवर्धन गर्दैन?” यस्ता सबै मामलाहरूमा, के भइरहेका छन् भनेर ख्रीष्टविरोधीहरूले प्रस्ट रूपमा बुझ्न सक्दैनन्। तिनीहरूले बाहिरी कुरा मात्र देख्छन्, तर तीपछाडि रहेको परमेश्‍वरको इच्छा देख्न सक्दैनन्। तिनीहरूको हृदयको गहिराइ भ्रम, शङ्का, विचार र धारणाहरूले भरिएको हुन्छ—र तिनीहरूको हृदयमा अत्यन्तै धेरै गाँठाहरू हुन्छन्, जसलाई तिनीहरूले फुकाउनै सक्दैनन्। जब तिनीहरूले यी कुराहरूबारे सोच्छन्, तिनीहरू द्वेषले, र परमेश्‍वरको धर्मी स्वभावविरुद्धको भर्त्सना र निन्दाले भरिन्छन्। अनि दुखित हुँदै, तिनीहरूले मनमनै भन्छन्: “यदि परमेश्‍वर धर्मी हुनुहुन्छ भने, सोझा मानिसहरूलाई किन काटछाँट गरिन्छ? यदि उहाँ धर्मी हुनुहुन्छ भने, मानिसहरूले थोरै भ्रष्टता देखाउँदा उहाँले किन माफी दिनुहुन्न? यदि उहाँ धर्मी हुनुहुन्छ भने, आफ्नो कर्तव्य निभाउँदै र धेरै कष्ट भोग्दै आएका केही मानिसहरू वास्तविक काम गर्न नसकेकै कारण किन बर्खास्त हुन्छन्? यदि उहाँ धर्मी हुनुहुन्छ भने, उहाँलाई कठोर भक्तिसाथ पछ्याउने हामीलाई किन सताइन्छ र यातना दिइन्छ, र सम्भवत जेल नै पठाइन्छ, र कुनै कुनै घटनामा त कुटेरसमेत मारिन्छ?” ख्रीष्टविरोधीहरूलाई यी कुनै पनि कुराहरूको प्रस्ट व्याख्या थाहा हुँदैन। तिनीहरू आफूलाई के भइरहेको छ केही बुझ्दैनन्; तिनीहरूले त्यो कुरा प्रस्ट रूपमा देख्न सक्दैनन्। प्राय: तिनीहरू आफैलाई यसरी सोधिरहन्छन्: “के मैले विश्‍वास गर्ने परमेश्‍वर धर्मी हुनुहुन्छ, कि हुनुहुन्न? के धर्मी परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ, कि हुनुहुन्न? उहाँ कहाँ हुनुहुन्छ? जब हामीले कठिनाइहरू सामना गर्छौँ, जब हामीले सतावट भोग्छौँ—त्यसबेला उहाँ के गरिरहनुभएको हुन्छ? के उहाँले हामीलाई मुक्ति दिन सक्नुहुन्छ, कि सक्नुहुन्न? यदि परमेश्‍वर धर्मी हुनुहुन्छ भने, उहाँले किन शैतानलाई नष्ट पार्नुहुन्न? उहाँले किन ठूलो रातो अजिङ्गरलाई नष्ट पार्नुहुन्न? उहाँले किन यो दुष्ट मानवजातिलाई दण्डित तुल्याउनुहुन्न? उहाँमा विश्‍वास गर्ने र भयानक दुःख भोगेका हामीलाई उहाँले किन इन्साफ दिनुहुन्न र किन हाम्रो लागि निष्पक्षता कायम गर्नुहुन्न? उहाँ किन हाम्रो पक्षमा उभिनुहुन्न? हामी दियाबलस र शैतानलाई घृणा गर्छौँ, र हामी दुष्ट मानिसहरूलाई घृणा गर्छौँ—हामीले भोगेका अन्यायविरुद्ध परमेश्‍वरले किन बदला लिनुहुन्न?” ख्रीष्टविरोधीको हृदयबाट मेशिन गनजस्तै निरन्तर रूपमा, केही उपायले पनि रोक्न नसकिने गरी एकपछि अर्को “किन” बाहिर आउँछ। यदि तिनीहरूले यी कुराहरू नियन्त्रण गर्न सक्दैनन् भने, तिनीहरू किन परमेश्‍वरसामु आएर प्रार्थना र खोजी गर्दैनन्, वा किन उहाँका वचनहरू पढ्ने र सङ्गतिको लागि दाजुभाइ-दिदीबहिनीहरू खोज्ने गर्दैनन्? के त्यसपछि तिनीहरूले त्यस्ता समस्याहरू एकएक गर्दै समाधान गर्नेछैनन् र? के यी समस्याहरू समाधान गर्नु साँच्चिकै कठिन काम हो त? यदि तैँले परमेश्‍वर र सत्यताप्रति समर्पणको मनोवृत्ति अपनाइस्, र सत्यता स्विकार्ने मनोवृत्ति बनाइस् भने, यी समस्याहरू समस्या नै रहनेछैनन्—ती सबै समाधान हुन सक्छन्। ख्रीष्टविरोधीहरूले किन त्यसो गर्न सक्दैनन्? किनभने तिनीहरू सत्यता स्विकार्दैनन्, र परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर विश्‍वास गर्ने, वा सत्यतालाई मान्य मान्‍ने गर्दैनन्। तिनीहरू परमेश्‍वरका सारा सार्वभौमिकता र प्रबन्धहरूप्रति समर्पित हुन सक्दैनन्, झन् सबै कुरा उहाँबाट आएको भनी स्विकार्न सक्‍ने त कुरै नगरौँ। त्यही कारणले गर्दा ख्रीष्टविरोधीहरूको हृदय परमेश्‍वरको धार्मिकताबारे शङ्काहरूले भरिएको हुन्छ। जब तिनीहरूले परीक्षा सामना गरिरहेका हुन्छन्, तिनीहरूको हृदयका शङ्काहरू बाहिर आउँछन्, र भित्री रूपमा तिनीहरूले परमेश्‍वरलाई प्रश्‍न गर्छन्: “यदि परमेश्‍वर धर्मी हुनुहुन्छ भने, उहाँले हामीलाई किन यति धेरै दुःख भोग्न दिनुहुन्छ? यदि परमेश्‍वर धर्मी हुनुहुन्छ भने, हामीमध्ये ख्रीष्टलाई पछ्याएर पूरै दुःख सहेकाहरूमाथि उहाँले किन कृपा देखाउनुहुन्न? यदि परमेश्‍वर धर्मी हुनुहुन्छ भने, उहाँले किन हामीमध्ये आफूलाई उहाँप्रति अर्पित गर्ने र आफ्ना कर्तव्यहरू गर्नेहरूलाई रक्षा गर्नुहुन्न, वा किन हाम्रा परिवारलाई रक्षा गर्नुहुन्न? यदि परमेश्‍वर धर्मी हुनुहुन्छ भने, इमानदारीसाथ उहाँमा विश्‍वास गर्ने कतिपय मानिसहरूलाई उहाँले किन जेलमा ठूलो रातो अजिङ्गरको हातबाट मर्न दिनुहुन्छ?” त्यसपछि तिनीहरूले परमेश्‍वरविरुद्ध तीव्र कोलाहल मच्‍चाउन थाल्छन्: “यदि परमेश्‍वर धर्मी हुनुहुन्छ भने, उहाँले हामीलाई यति धैरै दुःख भोग्न दिनु हुँदैन; यदि परमेश्‍वर धर्मी हुनुहुन्छ भने, उहाँले हामीलाई कुनै तर्कसङ्गत कारणविना अनुशासनमा राख्न वा खुलासा गर्न हुँदैन; यदि परमेश्‍वर धर्मी हुनुहुन्छ भने, उहाँ हामीले गर्ने सारा दुष्ट कार्यहरूप्रति सहनशील हुनुपर्छ, र उहाँले हाम्रो सबै नकारात्मकता र कमजोरी क्षमा गर्नुपर्छ, साथै हाम्रा सारा अपराधहरू माफी गर्नुपर्छ। यदि तपाईं यी कामहरूसमेत गर्न सक्नुहुन्न भने, तपाईं धर्मी परमेश्‍वर हुनुहुन्न!” यी सबै ख्रीष्टविरोधीहरूका मनमा हुने कुरा हुन्। तिनीहरू परमेश्‍वरबारे धारणाहरूले भरिएका हुन्छन्, र तिनलाई समाधान गर्न तिनीहरूले सत्यता बिलकुलै खोज्दैनन्। जब तिनीहरूको खुलासा हुने दिन आउँछ, ती धारणाहरू प्रकट हुन्छन् नै। ख्रीष्टविरोधीहरूको कुरूप मानसिकता र साँचो मुहार यस्तै हुन्छ।

ख्रीष्टविरोधीहरू सत्यतालाई मान्‍ने वा स्विकार्ने गर्दैनन्, परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ भन्ने तथ्यलाई त झनै मान्दैनन्, त्यसैले तिनीहरूको लागि परमेश्‍वरको धर्मी स्वभाव एउटा ठूलो खुला प्रश्‍नको रूपमा रहेको हुन्छ। समय बित्दै जाँदा, घटनाहरू घट्दै जाँदा, र विभिन्न समस्याहरू उत्पन्न हुँदै जाँदा, तिनीहरूको प्रश्‍न चिह्न झन्झन् ठूलो बन्छ—र बिस्तारै, त्यो मेट्ने धर्का बन्छ। त्यो मेट्ने धर्काले के जनाउँछ? त्यसको अर्थ तिनीहरूले परमेश्‍वर धर्मी हुनुहुन्छ भन्ने तथ्यलाई सिधै नकार्छन् भन्ने हुन्छ। जब त्यो मेट्ने धर्का तानिएको हुन्छ—जब एउटा ख्रीष्टविरोधीले परमेश्‍वर धर्मी हुनुहुन्छ भन्ने कुरालाई सिधै नकार्छ—तब उसका सारा मनोकल्पना र चाहनाहरू चकनाचुर हुन्छन्। यसबारे सोच् त: के कुराले यस्तो परिणाम ल्याउँछ? (ख्रीष्टविरोधीहरू परमेश्‍वरमा विश्‍वास गरेपछि आफू आशिषित हुनुपर्छ, र आफूले उहाँको सुरक्षा प्राप्त गर्नुपर्छ भन्ने सोच्छन्। त्यसैले, जब परमेश्‍वरले तिनीहरूका धारणा र कल्पनाहरूसँग नमिल्ने काम गर्नुहुन्छ, तब तिनीहरूलाई उहाँ धर्मी हुनुहुन्न भन्ने महसुस हुन्छ, र तिनीहरूले उहाँबाट त्यो स्विकार्न सक्दैनन्। साथै, परमेश्‍वरबारे धारणाहरू उत्पन्न भइसकेपछि, तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्दैनन् र सत्यता खोज्दैनन्, र त्यसैले तिनलाई तिनीहरूले तत्काल समाधान गर्न सक्दैनन्। अनि त्यसरी, तिनीहरूका धारणाहरू जम्मा हुन्छन् र थुप्रिन्छन्—र अन्त्यमा त्यही कुराले त्यस्तो परिणाम निम्त्याउँछ।) तिमीहरू सतही कुरा गरिरहेका छौ; तिमीहरू जडमा पुगिरहेका छैनौ। म किन यसो भन्दै छु? किनकि ख्रीष्टविरोधीहरूले यस्तो व्यवहार गर्न र यस्ता विचारहरू बोक्न सक्नु, साथै परमेश्‍वरलाई शङ्का गर्न र नकार्न सक्नुको मूलजडमा एउटा कुरा हुन्छ। यो अवश्‍य नै ख्रीष्टविरोधीको प्रकृति सारद्वारा निर्धारित हुन्छ। जड त्यही हो—अब हामी यो कुरालाई यहीँ छोड्छौँ। मूल कारण यो हो कि ख्रीष्टविरोधीहरू सुरुदेखि नै सत्यतालाई प्रेम र स्वीकार गर्दैनन्। तिनीहरू किन सत्यता स्विकार्दैनन् त? यसको पनि आफ्नै जड छ: तिनीहरू परमेश्‍वर नै सत्यता हुनुहुन्छ, उहाँका वचनहरू सत्यता हुन् भन्ने कुरा मान्दैनन्—तिनीहरू त्यो कुरा नमान्ने भएकाले त्यसलाई स्विकार्न पनि सक्दैनन्। अनि, तिनीहरू सत्यता नस्विकार्ने भएपछि, के तिनीहरूले कुनै समस्यालाई सत्यताको नजरले हेर्न सक्छन् त? (सक्दैनन्।) तिनीहरूले त्यसो गर्नै सक्दैनन्—त्यसोभए, त्यसका परिणामहरू के हुन्छन्? तिनीहरूले आफूलाई आइपर्ने कुराहरूलाई प्रस्टसित बुझ्‍न सक्दैनन्, चाहे त्यो जेसुकै नै किन नहोस्—चाहे ती तिनीहरूका वरिपरि घटित हुने ठूला-साना कुराहरू वा अरूका शब्दहरूसमेत नै किन नहून्। तिनीहरू मानिस वा घटनाहरूलाई प्रस्टसित बुझ्न सक्दैनन्—तिनीहरूले केही पनि प्रस्टसित बुझ्न सक्दैनन्। कतिपय कुराहरू बाहिरी रूपमा तिनीहरूले भनेजस्तै देखिन्छन्, तर सारमा भने ती त्यस्ता हुँदैनन्। यस्तो हुनको सम्बन्ध सत्यतासँग जोडिएको हुन्छ। यदि तैँले सत्यता बुझ्दैनस् वा स्विकार्दैनस् भने, के तैँले यी कुराहरूमा संलग्न सत्यता बुझ्न सक्छस् त? बुझ्दैनस्, त्यसैले तैँले यी कुरालाई मानव नजरले, मानव ज्ञानले, र मानव मस्तिष्कले विश्‍लेषण र अध्ययन गर्न मात्र सक्छस्। अनि, यस्तो अध्ययनले कस्ता नतिजाहरू उत्पन्न गर्नेछ? के ती सत्यताबमोजिम हुनेछन्? के ती परमेश्‍वरका मापदण्ड र अभिप्रायहरूबमोजिम हुनेछन्? अहँ, कहिल्यै हुनेछैनन्। यो त अय्यूबको कथाजस्तै हो, जुन परमेश्‍वरमा विश्‍वास गर्ने सबैलाई थाहा हुन्छ। सत्यतालाई मान्ने र स्विकार्ने साथै परमेश्‍वरमा विश्‍वास गर्न र उहाँप्रति समर्पित हुन सक्ने हरव्यक्तिले हृदयमा अय्यूबलाई सराहना र आदर गर्छ; तिनीहरू सबै अय्यूबजस्तै हुन चाहन्छन्। तिनीहरू अय्यूबका परीक्षाहरूको क्रममा परमेश्‍वरप्रति उसले दिएका प्रशंसाका अभिव्यक्तिहरू र उहाँबारे उसमा भएको ज्ञानप्रति पनि सराहना र आदर गर्छन्। अय्यूबले भोगेका विभिन्न सङ्कष्ट र वेदनाहरू परमेश्‍वरका काम हुन् भनेर मानिसहरूले हृदयमा स्विकार्न सक्छन्। समग्रमा भन्‍नुपर्दा, व्यक्तिको रूपमा अय्यूब सत्यता पछ्याउने सबैको एक प्रेरणाको रूपमा रहेको छ। तिनीहरू सबैजना उसको उदाहरण पछ्याउन र त्यस्तै व्यक्ति हुन चाहन्छन्। त्यसोभए, यस्तो सकारात्मक परिणाम कसरी हासिल हुन्छ? यसको जग के हो? यसको जग यो नै सत्यता हो, यो सबै परमेश्‍वरको काम हो भन्ने मर्मस्पर्शी विश्‍वास र मान्यता हो—यही जगमा व्यक्तिले अलिअलि गर्दै अय्यूबजस्तै व्यक्ति हुने, परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति बन्ने चाह राख्छ। उसले यो सबै कुरामा विश्‍वास गर्छ र हृदयमा यसलाई मान्छ, र अन्त्यमा, उसले यसप्रति आकाङ्क्षा राख्छ, र यही आकाङ्क्षालाई उसले जीवनभर पछ्याइरहन्छ। यस्तो नतिजा हासिल गर्न चाहिने सबैभन्दा आधारभूत कुरा भनेको व्यक्तिले यो सबै कुरा मान्नु र हृदयबाट यसमा विश्‍वास गर्नु हो। त्यसोभए, के ख्रीष्टविरोधीहरूसँग यस्तो मान्यता र विश्‍वास हुन्छ? हुँदैन। ख्रीष्टविरोधीहरू अय्यूबले भोगेको त्यो सबै कुरालाई कसरी हेर्छन्? के तिनीहरू परमेश्‍वरले गर्नुभएको सबै कुराको महत्त्व छ भन्ने सोच्छन्? के तिनीहरूले त्यो सबै कुरा उहाँद्वारा शासित थियो भनेर देख्न सक्छन्? तिनीहरूले त्यो सब देख्न सक्दैनन्, न त परमेश्‍वरले गर्नुभएको सबै कुराको महत्त्व नै देख्‍न सक्छन्। तिनीहरूले यसमा के देख्छन्? अय्यूबको धेरै सम्पत्ति थियो, पहाडै ढाकिनेगरी भेडा र गोरुहरू थिए, साथै ऊसित उसका धर्तीका सबैभन्दा सुन्दर छोराछोरीहरू थिए। तिनीहरूले यो कुरा देख्छन्। अनि त्यसपछि, त्यतिका दुःखहरू भोगिसकेपछि, उसलाई परमेश्‍वरले फेरि एकपटक आशिष् दिनुभयो। तिनीहरूले त्यसमा के देख्छन्? तिनीहरूले भन्छन्, “यो मान्छेले यी आशिष्‌हरूको लागि राम्रो मोलमोलाइ गर्‍यो—उसले यो सब कमाएको हो। परमेश्‍वरले यी आशिषहरू प्रदान गर्नु जायजै हो।” यो मामलाबारेको तिनीहरूको समग्र बुझाइमा, के ख्रीष्टविरोधीहरूले सत्यता स्विकार्ने र परमेश्‍वरप्रति समर्पित हुने दृष्टिकोण राख्छन् त? (राख्दैनन्।) त्यसोभए, तिनीहरूले त्यसमाथि कस्तो दृष्टिकोण राख्छन् त? ख्रीष्टविरोधीहरूले सम्पूर्ण मामलालाई हेर्ने एउटै मात्र दृष्टिकोण छ, र त्यो हो गैरविश्‍वासीहरूको दृष्टिकोण। एउटा गैरविश्‍वासीले नाफा हुन्छ हुँदैन, वा फाइदा प्राप्त हुन्छ हुँदैन, वा घाटाहरू बेहोर्नुपर्छ पर्दैन, अनि कसरी फाइदा लिने, र कसरी नलिने, के गर्दा घाटा लाग्छ र दुःख हुन्छ, साथै के गर्न लायक छैन, र के गर्न लायक छ भन्ने कुराहरू हेर्छ। गैरविश्‍वासीहरूको दृष्टिकोण यही हो। गैरविश्‍वासीहरूले सबथोक यही तरिकाले र यस्तै खाले सारले हेर्ने, सम्हाल्ने र गर्ने गर्छन्। परमेश्‍वरको धर्मी स्वभावप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यही हो।

ख. परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई तिरस्कार गर्नु

ख्रीष्टविरोधीहरू परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई कसरी हेर्छन्? एउटा ख्रीष्टविरोधीको लागि, “सर्वशक्तिमान्‌ता” अत्यन्तै भावनात्मक शब्द हो, जसले उसका महत्त्वाकाङ्क्षा र चाहनाहरू उत्तेजित पार्न सक्छ भन्दा जायजै हुन्छ, किनभने ऊ त्यस्तै व्यक्ति हुन अत्यन्तै मन पराउँछ। सर्वशक्तिमान् र सर्वव्यापक हुनु, हरकुराको लागि सक्षम हुनु, हरकुरा गर्न जान्‍नु, हरकुरा गर्न सक्‍नु—यदि कसैले यस्तो क्षमता प्राप्त गर्थ्यो भने, यदि ऊसँग यस्तो क्षमता हुन्थ्यो भने, उसको लागि सबथोक एकदमै सजिलो हुनेथ्यो। उसले कसैको डर मान्नु पर्दैनथ्यो; उसमा सर्वोच्च अख्तियार र सर्वोच्च हैसियत हुनेथ्यो, र उसले अरूमाथि शासन गर्न सक्नेथ्यो। ऊसँग अरू मानिसहरूलाई नियन्त्रण र योजनाबद्ध गर्ने पूर्ण शक्ति हुनेथ्यो। तर यो एउटा ख्रीष्टविरोधीको पहुँचभन्दा धेरै परको कुरा हो, र यसले उसको महत्त्वाकाङ्क्षा, चाहना, र साँचो रङ्ग पर्दाफास गर्छ। एकातिर, “परमेश्‍वरको सर्वशक्तिमान्‌ता” भन्ने वाक्यांशले उसमा अनेकथरीका कल्पना, उत्सुकता र धारणाहरू भरिदिन्छ। अर्कोतिर, उसले उहाँमाथिको आस्थामार्फत परमेश्‍वरको सर्वशक्तिमान्‌ताबारे अन्तर्ज्ञान प्राप्त गर्न चाहन्छ, ताकि उसले आफ्ना क्षितिजहरू फराकिलो पार्न, आफ्नो अन्तर्ज्ञान बढाउन, र आफ्नो उत्सुकता पूरा गर्न सकोस्। अझै अर्को कुरा त उसले सर्वशक्तिमान् बनूँ, हजारौँद्वारा आराधना गरिऊँ, र अझ धेरै मानिसहरू आफ्नो अगाडि लम्पसार परून् र आफ्नो लागि हृदयमा ठाउँ राखून् भनेर प्रयत्‍न गरिरहेको हुन्छ। त्यसोभए, के ख्रीष्टविरोधीहरूमा परमेश्‍वरको सर्वशक्तिमान्‌ताबारे साँचो ज्ञान हुन्छ त? के त्यसप्रति तिनीहरूमा साँचो आस्था हुन्छ त? फेरि पनि, यो कुरा परमेश्‍वरको धर्मी स्वभावमा भएजस्तै नै हुन्छ—ख्रीष्टविरोधीहरू तथ्यहरूसित नमिल्ने धारणाहरू, अस्पष्ट र खोक्रा कल्पनाहरूद्वारा भरिएका मात्र हुँदैनन्—तिनीहरूले त परमेश्‍वरको सर्वशक्तिमान्‌ताबारे गहिरो शङ्काहरू पनि उब्जाउँछन्। तिनीहरू सन्देही हुन्छन्; तिनीहरूले त्यसमा विश्‍वास गर्दैनन्: “सर्वशक्तिमान्‌ता? यो संसारमा त्यस्तो सर्वशक्तिमान् कहाँ छ? त्यस्तो सर्वव्यापी र सर्वशक्तिशाली व्यक्ति कहाँ छ? त्यस्तो व्यक्ति त कोही पनि छैन! संसारमा महान् र प्रसिद्ध मानिसहरू अनेकौँ छन्, र असाधारण शक्ति भएका मानिसहरू प्रशस्त छन्: उदाहरणको लागि, अगमवक्ता, अनि अनेकथरीका ज्योतिषी र भविष्य व्याख्याताहरू छन्, तर ती पनि सर्वशक्तिशाली छैनन्। अझै पनि ‘परमेश्‍वरको सर्वशक्तिमान्‌ता’ पछाडि एउटा प्रश्‍न चिह्न राख्न जरुरी छ, र यो कुरा राम्ररी अनुसन्धान हुनुपर्छ।” त्यसैले, एक ख्रीष्टविरोधीको नजरमा, परमेश्‍वरसित सर्वशक्तिमान्‌ताको सार हुँदैन, किनकि उसले यस्तो विश्‍वास गर्छ, “परमेश्‍वर कसरी सर्वशक्तिमान् हुन सक्नुहुन्छ भनेर म कल्पना गर्न वा बुझ्‍न सक्दिनँ, त्यसैले उहाँको यो ‘सर्वशक्तिमान्‌ता’ भन्‍ने कुरा अस्तित्वमै छैन। म यो कुरा मान्दिनँ। परमेश्‍वरका क्षमता र सामर्थ्यहरू ठ्याक्कै कति ठूला छन्? विगत, वर्तमान् र भविष्यका कसैले पनि ती कुरा देखेका पनि छैनन्, र देख्ने पनि छैनन्।” ख्रीष्टविरोधीहरूले निरन्तर हृदयमा शङ्का र अनिश्‍चितता बोकेका हुन्छन्, त्यसैले मण्डलीमा र दाजुभाइ-दिदीबहिनीहरूलाई हुने सबथोक तिनीहरूको अनुसन्धानको विषय र क्षेत्र बन्छ। अनि, तिनीहरूले के अनुसन्धान गरिरहेका हुन्छन्? तिनीहरूले पैदा हुने हरेक कुरा र कुनै समूहमा वा कुनै व्यक्तिलाई हुने हरेक कुरा अनुसन्धान गरिरहेका हुन्छन्, अनि परमेश्‍वरले के गर्नुभएको छ, उहाँले कसरी काम गर्नुभएको छ, त्यसमा कुनै चिन्ह र अचम्मका कार्यहरू छन् छैनन्, मान्छेले बुझ्न नसक्ने वा मान्छेको क्षमता र पहुँचबाहिरका कुनै ताजा र अद्वितीय घटनाहरू छन् छैनन् भनेर अनुसन्धान गरिरहेका हुन्छन्। त्यसबाहेक, तिनीहरूले कुनै दाजुभाइ वा दिदीबहिनीले उनीहरूमा परमेश्‍वरले मान्छेका अपेक्षाभन्दा बाहिरको काम गर्नुभएको अनुभवबारे बोलेका छन् छैनन् भनेर अनुसन्धान गरिरहेका हुन्छन्। यसको एउटा उदाहरण तिनीहरू सबैभन्दा भोकाएको बेलामा दन्त्यकथामा जस्तै गरी एउटी केटी सङ्खेकिराको खबटाबाट निस्केर तिनीहरूको लागि भोजन तयार गर्नु हो। अर्को उदाहरण तिनीहरूलाई कोषको अभाव भइरहेको बेलामा तिनीहरूको घरमा अचानक सुन देखा पर्नु, वा तिनीहरूको खोजी भइरहेको बेलामा तिनीहरूलाई पिछा गर्नेहरू अचानक अन्धो भएर केही पनि देख्न नसक्ने हुनु, र एउटी स्वर्गदूत आएर तिनीहरूलाई “नडराऊ, बालक—म तिमीलाई मद्दत गर्न आएको छु” भनेर भन्नु हो। एउटा फरक उदाहरण दिनुपर्दा, दाजुभाइ-दिदीबहिनीहरूले गम्भीर कुटाइ र क्रूर यातना भोगिरहेको बेला, परमेश्‍वरको महान् ज्योति चम्किएर अपराधीहरूलाई अन्धा पारिदिनु, र तिनीहरूलाई भुइँमा लडीबुडी गर्दै कृपा माग्ने तुल्याउनु, र परमेश्‍वरको त्यो बदलापश्‍चात दाजुभाइ-दिदीबहिनीहरूलाई फेरि कहिल्यै हिर्काउने आँट नगर्ने बनाउनु हो; अथवा, उनीहरूले परमेश्‍वरका वचनहरू पढिरहेको बेला ती वचनहरू बुझ्न नसकिनेजस्तो लाग्दा, र उनीहरू निदाउनै लागेको बेलामा, तुवाँलोमा एउटा आकृति देखिनु र त्यसले उनीहरूलाई “नसुत; ब्युँझ—मेरा वचनहरूको अर्थ यो हो” भनेर भन्‍नु; अथवा, केही आइपरेर उनीहरूले गल्ती गर्नै लागेको बेलामा, त्यसो गर्दा गलत हुन्छ र यसो गर्दा सही हुन्छ भन्ने एउटा शक्तिशाली, अन्तर्मनको हप्काइ र ताडनाद्वारा सजग बनाइनु। यदि साधारण मानिसहरूले अनुभव गर्न नसक्ने र उनीहरूको क्षमतामा नभएको यीमध्ये कुनै पनि घटना मण्डलीमा, परमेश्‍वरको घरमा, वा परमेश्‍वरलाई पछ्याउने कसैलाई घट्यो भने, त्यो नै परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ भन्ने पर्याप्त प्रमाण हुन्छ। तर यदि यस्तो केही पनि भएन, वा यदि ती अत्यन्तै कम मात्रामा मात्र भए, र ती भइहाले पनि, त्यो हल्ला मात्रै भएर तिनका वास्तविकता र विश्‍वासयोग्यतामा ठूलो सम्झौता गरिएको छ भने, के परमेश्‍वरको सर्वशक्तिमान्‌ता तथ्य हो त, कि होइन? के परमेश्‍वरसँग सर्वशक्तिमान्‌ताको सार छ त, कि छैन? एउटा ख्रीष्टविरोधीले उसको हृदयमा यी कुराहरूपछाडि प्रश्‍नचिह्न खडा गर्छ।

जब परमेश्‍वरले काम गर्नुहुन्छ, बोल्नुहुन्छ र मान्छेलाई मुक्ति दिनुहुन्छ, तब ख्रीष्टविरोधीहरू सधैँ यी चिन्हहरू, अचम्मका कार्यहरू र असाधारण शक्तिहरू पछ्याइरहेका हुन्छन्। तिनीहरूले वास्तविकता वा तथ्यहरूसँग नमिल्ने कुराहरू पछ्याइरहेका हुन्छन्। मान्छेलाई मुक्ति दिने परमेश्‍वरको कामसँग, वा सत्यतासँग, वा मान्छेको स्वभाव परिवर्तनसँग तिनीहरूले पछ्याउने यी कुराहरूको बिलकुलै कुनै सम्बन्ध हुँदैन। तैपनि, तिनीहरू ती कुरालाई नै पछ्याउन दृढ हुन्छन्। तिनीहरू परमेश्‍वरको सर्वशक्तिमान्‌ताबारे उत्सुकताले भरिएका हुन्छन्। प्रायः प्रार्थनामा, तिनीहरूले परमेश्‍वरलाई यस्तो अनुरोध गर्छन्: “हे परमेश्‍वर, के तपाईं मलाई तपाईंको सर्वशक्तिमान्‌ता प्रकट गरिदिनुहुन्छ? हे परमेश्‍वर, के तपाईं सर्वशक्तिमान् हुनुहुन्न र? यदि हुनुहुन्छ भने, म तपाईंलाई मेरो लागि यो मामला सुल्झाइदिनहुन अनुरोध गर्छु। परमेश्‍वर, यदि तपाईं सर्वशक्तिमान् र सर्वव्यापी हुनुहुन्छ भने, मलाई सहयोग गर्नहुन म तपाईंलाई बिन्ती गर्छु, किनकि अहिले म चुनौतीहरू सामना गरिरहेको छु। परमेश्‍वर, यदि तपाईं सर्वशक्तिमान् हुनुहुन्छ भने, म तपाईंलाई मेरा शरीरका रोगहरू हटाउनहुन, मैले भोगिरहेका परिस्थितिहरू बदल्नहुन, र मलाई खतराबाट बचाउनहुन बिन्ती गर्छु। परमेश्‍वर, यदि तपाईं सर्वशक्तिमान् हुनुहुन्छ भने, मलाई आफ्नो कर्तव्य गर्ने क्रममा रातारात अक्कलमन्द र चलाख, प्रतिभाशाली र क्षमतावान् बनाउनहुन म तपाईंलाई बिन्ती गर्छु, ताकि मैले अध्ययन नै नगरी व्यावसायिक सिपहरू हासिल गर्न, दक्ष बन्न, र अरूभन्दा फरक हुन सकूँ। हे परमेश्‍वर, यदि तपाईं सर्वशक्तिमान् हुनुहुन्छ भने, तपाईंमाथिको मेरो आस्थालाई अपमान गर्ने र गिज्याउनेलाई दण्डित गर्नहुन र प्रतिशोध लिनहुन म तपाईंलाई अनुरोध गर्छु। तिनीहरूलाई अन्धो-बहिरो बनाइदिनुहोस, तिनीहरूको टाउकोमा घाउ पारिदिनुहोस्, र खुट्टाका पैतालाबाट पिप बग्‍ने बनाइदिनुहोस्। तिनीहरूलाई कुकुरमराइ मर्ने पारिदिनुहोस्। परमेश्‍वर, यदि तपाईं सर्वशक्तिमान् हुनुहुन्छ भने, म तपाईंलाई बिन्ती गर्छु, मलाई तपाईंको सर्वशक्तिमान्‌ता हेर्न दिइदिनुहोस्।” परमेश्‍वरले यति धेरै वचनहरू बोल्नुभएको छ र यति धेरै काम गर्नुभएको छ, तैपनि ख्रीष्टविरोधीहरू त्यसलाई नदेखेझैँ गर्छन् र पाखा लगाउँछन्; तिनीहरूले परमेश्‍वरका वचनहरूलाई कहिल्यै हृदयमा लिँदैनन्, न त उहाँको काम र मान्छेलाई मुक्ति दिने उहाँको महत्त्वपूर्ण कामको हरेक चरणलाई हृदयमा लिने, वा त्यसलाई गम्भीरतापूर्वक लिने नै गर्छन्। बरु, तिनीहरू परमेश्‍वरलाई चिन्ह र अचम्मका कार्यहरू गर्न, उहाँको काममा आश्‍चर्यकर्महरू देखाउन, तिनीहरूका आँखा खुल्नेगरी र उत्सुकता पूरा हुनेगरी विशेष कुराहरू गर्न, र उहाँको अस्तित्व प्रमाणित गर्न, र उहाँ सर्वशक्तिमान् रहनुभएको कुरा प्रमाणित गर्न अनुरोध गर्न जिद्दी गर्छन्। अझ हाँसउठ्दो कुरा त ख्रीष्टविरोधीहरू प्रार्थनामा यस्तो निवेदनसमेत गर्छन्: “हे परमेश्‍वर, म तपाईंलाई देख्न सक्दिनँ, त्यसैले मेरो आस्था सानो छ। म तपाईंलाई सपनामै भए पनि तपाईंको वास्तविक व्यक्तित्व प्रकट गर्न अनुरोध गर्छु—म तपाईंलाई तपाईंको सर्वशक्तिमान्‌ता प्रकट गरिदिनहुन अनुरोध गर्छु, ताकि मैले तपाईंमा आस्था राख्न र विश्‍वस्त रूपमा तपाईंको अस्तित्वमा विश्‍वास गर्न सकूँ। यदि त्यो प्रकट गर्नुभएन भने, तपाईंमाथिको आस्थामा ममा सधैँ शङ्काहरू भइरहनेछन्।” तिनीहरूले परमेश्‍वरका काम र वचनहरूमा उहाँको अस्तित्व देख्न वा उहाँको सार र स्वभाव चिन्न सक्दैनन्, अनि तिनीहरू आफूलाई दह्रिलो पार्न र तिनीहरूको आस्था स्थापित गर्न उहाँलाई मान्छेले बुझ्न नसक्ने थप काम गराउन चाहन्छन्। परमेश्‍वरले धेरै वचनहरू बोल्नुभएको छ र धेरै काम गर्नुभएको छ, तर उहाँका वचनहरू जति नै व्यावहारिक भए पनि, उहाँले बोल्नुभएका सत्यताहरू मानिसहरूको लागि जतिसुकै ज्ञानवर्धक भए पनि, तिनीहरूले ती कुराहरू जतिसुकै तुरन्त बुझ्न आवश्यक भए पनि, ख्रीष्टविरोधीहरूले चासो दिँदैनन्, र तिनलाई हृदयमा लिँदैनन्। वास्तवमा, परमेश्‍वरले जति धेरै बोल्नुहुन्छ, र जति धेरै विशिष्ट काम गर्नुहुन्छ, त्यति नै तिनीहरू घिन, रिस र प्रतिरोध महसुस गर्छन्। यसअलावा, तिनीहरूमा परमेश्‍वरविरुद्ध भर्त्सना र ईशनिन्दासमेत उत्पन्न हुनेछ; तिनीहरूले उहाँको तीव्र आलोचना गर्नेछन्: “के तपाईंको सर्वशक्तिमान्‌ता यी वचनहरूमा छ? तपाईंले गर्ने त्यति नै हो, वचनहरू व्यक्त गर्ने मात्र हो? यदि तपाईंले नबोल्नुभएको भए, के तपाईं सर्वशक्तिमान् हुनहुन्थेन र? यदि तपाईं सर्वशक्तिमान् हुनुहुन्छ भने, नबोल्नुहोस्। हामीलाई जीवन प्राप्त गर्न र स्वभाव परिवर्तन गर्न सक्षम पार्न भनेर, सत्यताबारे भाषणबाजी वा सङ्गति गर्ने, अनि मान्छेलाई सत्यता प्रदान गर्ने नगर्नुहोस्। यदि तपाईंले हामी सबैलाई रातारात स्वर्गदूत, अर्थात् तपाईंका दूत बन्न दिनुहुन्थ्यो भने—बल्ल, त्यो सर्वशक्तिमान्‌ता हुनेथ्यो!” जब परमेश्‍वरले उहाँका वचनहरू बोल्नुहुन्छ र उहाँको काम गर्नुहुन्छ, तब ख्रीष्टविरोधीहरूको प्रकृति अलिअलि गर्दै, केही पनि नलुकी, खुलासा र पर्दाफास हुनेछ, अनि सत्यताप्रति प्रतिकूल रहने र त्यसविरुद्ध जाने तिनीहरूको सार पनि पूर्ण रूपले उदाङ्गो हुनेछ। जब परमेश्‍वरले निरन्तर उहाँको काम अगाडि बढाउनुहुन्छ, तब परमेश्‍वरको पहिचान र उहाँको सारलाई तिरस्कार गर्ने ख्रीष्टविरोधीहरूको स्वभाव र सार पनि समयक्रमसँगै बिस्तारै पर्दाफास र खुलासा हुँदै जानेछ। ख्रीष्टविरोधीहरूले अस्पष्ट कुराहरू पछ्याउँछन्; तिनीहरूले चिन्ह र अचम्मका कार्यहरू पछ्याउँछन्—अनि वास्तविकतासँग नमिल्ने यो महत्त्वाकाङ्क्षा र चाहनाको अधीनमा रहेर, सत्यताप्रति प्रतिकूल रहने र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति उजागर भइदिन्छ। तर अर्कोतर्फ, साँच्चिकै वास्तविकता र सत्यता पछ्याउने, र सकारात्मक कुराहरूप्रति विश्‍वास र प्रेम गर्नेहरूले उहाँका काम र वचनहरूमा परमेश्‍वरको सर्वशक्तिमान्‌ता देख्छन्—अनि यी मानिसहरूले जे देख्न, जे प्राप्त गर्न, र जे थाहा पाउन सक्छन्, ती कुराहरू ख्रीष्टविरोधीहरूले कहिल्यै थाहा पाउन र प्राप्त गर्न सक्दैनन्। ख्रीष्टविरोधीहरूलाई के विश्‍वास लाग्छ भने, यदि मानिसहरूले परमेश्‍वरबाट जीवन प्राप्त गर्ने हो भने त्यसमा चिन्ह र अचम्मका कार्यहरू हुनुपर्छ; तिनीहरू चिन्ह र अचम्मका कार्यहरूविना, परमेश्‍वरका वचनहरूबाट मात्र जीवन र सत्यता प्राप्त गर्नु, र त्यसमार्फत स्वभाव परिवर्तन गर्नु र मुक्ति पाउनु असम्भव कुरा हो भन्ने विश्‍वास गर्छन्। ख्रीष्टविरोधीको लागि त त्यो कहिल्यै सम्भव नहुने कुरा हो—त्यो व्यावहारिक होइन। त्यसैले, तिनीहरू अथक रूपमा प्रतीक्षा र प्रार्थना गर्छन्, र परमेश्‍वरले तिनीहरूको लागि चिन्ह र अचम्मका कार्यहरू देखाउनुहुने, र आश्‍चर्यकर्महरू गर्नुहुने आशा गर्छन्—यदि उहाँले त्यसो गर्नुभएन भने, उहाँको सर्वशक्तिमान्‌ता अस्तित्वमा छैन। यसको तात्पर्य के हो भने, यदि परमेश्‍वरको सर्वशक्तिमान्‌ता छैन भने, परमेश्‍वर निश्‍चय नै हुनुहुन्न। ख्रीष्टविरोधीहरूको तर्क नै यही हो। तिनीहरू परमेश्‍वरको धार्मिकता र उहाँको सर्वशक्तिमान्‌ताको निन्दा गर्छन्।

जब परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिइरहनुभएको हुन्छ, ख्रीष्टविरोधीहरू उहाँका वचनहरू, उहाँका विभिन्न मापदण्डहरू, र उहाँको इच्छाप्रति पूर्ण उदासीन रहन्छन्। तिनीहरूले हृदयको गहिराइबाटै यी कुराहरूको प्रतिरोध गर्छन् र तीप्रति प्रतिकूल बन्छन्। तिनीहरूले जे कुरामा चासो राख्छन् त्यो सारा सकारात्मक कुराहरूको वास्तविकता होइन, न त त्यो सत्यता पछ्याएर परमेश्‍वरका योजनाबद्ध कार्यहरूप्रति समर्पित हुनुको नतिजास्वरूप मान्छेले प्राप्त गर्न सक्ने मुक्ति र सिद्धता नै हो। त्यसोभए, तिनीहरू के कुरामा चाहिँ चासो राख्छन् त? तिनीहरू आफूले देख्नेगरी परमेश्‍वरले चिन्ह र अचम्मका कार्यहरू प्रकट गरून् र आश्‍चर्यकर्महरू प्रदर्शन गरून्, र त्यसो गरेर उहाँले तिनीहरूलाई अन्तर्ज्ञान प्राप्त गर्न सक्षम पारून्, र तिनीहरूलाई विशिष्ट मानिसहरू, महामानवहरू, विशेष शक्ति भएका मानिसहरू, र असाधारण मानिसहरूमा परिणत हुन सक्षम पारून् भन्‍ने कुरामा चासो राख्छन्। तिनीहरू परमेश्‍वरको सर्वशक्तिमान्‌तामार्फत आफूलाई साधारण मानिसहरू, सामान्य मानिसहरू, र भ्रष्ट मानिसहरू भन्‍नेजस्ता पद, पहिचान र हैसियतहरूबाट मुक्त पार्ने चाह राख्छन्। त्यसैले, परमेश्‍वरको कामको क्रममा तिनीहरूले जस्तासुकै धारणा वा समस्याहरू सामना गरे पनि, तिनीहरू सत्यता खोजेर तिनलाई समाधान गर्दैनन्। तिनीहरू सत्यता बुझ्न वा स्वभाव परिवर्तन गर्न असक्षम हुने मात्र होइनन्—त्यति मात्र नभई, तिनीहरूले त तिनीहरूका धारणाहरूसँग नमिल्ने उहाँका सारा कामको कारण परमेश्‍वरलाई आलोचना गर्ने, र उहाँलाई निन्दा र प्रतिरोध गर्नेसमेत गर्नेछन्। ख्रीष्टविरोधीहरूको नजरमा, परमेश्‍वरले गर्नुहुने सारा व्यावहारिक काम भनेको त तिनीहरूले मान्यता नदिने कुनै कुरा हो—यो तिनीहरूले निन्दा गर्ने कुरा हो। अनि अन्त्यमा, यिनै दृष्टिकोण र परमेश्‍वरबारेका यिनै परिभाषाहरूले गर्दा नै तिनीहरूले हृदयमा परमेश्‍वरको अस्तित्वलाई पूर्ण रूपमा नकार्छन्, र त्योभन्दा नि पूर्ण रूपमा परमेश्‍वरको सारको अस्तित्वविरुद्ध निन्दा गर्ने, हिलो पोत्‍ने, र ईशनिन्दा गर्ने गर्छन्। यस्तो किन हुन्छ भने, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, परमेश्‍वरले तिनीहरूका गुनासाहरू समाधान गर्नुहुनेछ, तिनीहरूले भोगेका अन्यायको बदला लिनुहुनेछ, तिनीहरूले घृणा गर्ने र हेयको दृष्टिले हेर्ने सबैलाई उहाँले परास्त गर्नुहुनेछ, अर्थात् परमेश्‍वरले तिनीहरूका चाहना र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नुहुनेछ भन्ने जगमा स्थापित भएको हुन्छ। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको जग नै यही हो। तर हालसम्म आइपुग्दा, अब ती दुष्ट मानिसहरू यस्तो परमेश्‍वर हुनुहुन्न र परमेश्‍वरले तिनीहरूको लागि केही गर्ने कुनै सम्भावना छैन भन्ने देख्छन्। तिनीहरूको दृष्टिकोणबाट हेर्दा, तिनीहरूको लागि यो परिस्थिति अत्यन्तै प्रतिकूल छ—यो भयानक छ। त्यसैले, तिनीहरूले धेरै कुराहरू अनुभव गरिसकेपछि, परमेश्‍वरबारे तिनीहरूका संशय र शङ्काहरू यति गम्भीर हुँदै जान्छन् कि अन्त्यमा तिनीहरू परमेश्‍वर र उहाँको घर छोड्ने, बाह्य संसार पछ्याउने, दुष्ट प्रवृत्तिहरू पछ्याउने, र आफूलाई शैतानको अँगालोमा पार्ने निर्णयमा पुग्छन्। ती मानिसहरूको स्थिति अन्ततः यस्तै बन्छ। परमेश्‍वरको धर्मी स्वभाव र उहाँको सर्वशक्तिमान्‌ताप्रति ख्रीष्टविरोधीहरूले राख्ने मनोवृत्तिको आधारमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरू वास्तवमै गैरविश्‍वासीहरू हुन्। तिनीहरूमा परमेश्‍वरमाथि अलिकति पनि आस्था हुँदैन, न त परमेश्‍वरको कामप्रति अलिकति समर्पण वा स्वीकार नै हुन्छ। सकारात्मक कुराहरू र सत्यताको कुरा आउँदा, तीप्रति तिनीहरू घिनाउँछन् र प्रतिरोधी हुन्छन्। त्यसकारण, तैँले त्यसलाई जसरी हेरे पनि ख्रीष्टविरोधीहरूमा साँच्चिकै गैरविश्‍वासी सार हुन्छ। यो अरूले तिनीहरूमाथि थोपर्ने कुरा होइन, र यो तिललाई पहाड बनाउनु होइन—तिनीहरूको यो सार त तिनीहरूलाई केही चुनौतीहरू आइपर्दा तिनीहरूले खुलासा गर्ने सारा दृष्टिकोण र शैलीहरूको आधारमा निर्धारित हुन्छ।

ख्रीष्टविरोधीहरू वर्षौँसम्म परमेश्‍वरमा विश्‍वास गर्छन्, तैपनि मान्छेको भाग्यमाथि परमेश्‍वर सार्वभौम हुनुहुन्छ भन्ने तथ्य बुझ्न सक्षम बन्दैनन्। तिनीहरू त्यो तथ्य बुझ्न सक्दैनन्। तिनीहरू आफ्नै आँखाअगाडिको तथ्यसमेत बुझ्न सक्दैनन्—के त्यो अन्धोपन होइन र? परमेश्‍वरको धर्मी स्वभाव र उहाँको सर्वशक्तिमान्‌ता प्रायजसो मण्डलीको काम, उहाँका चुनिएका मानिसहरू, र घटित हुने हरप्रकारका कुराहरूमा प्रकट हुन्छन्। उहाँले मानिसहरूलाई यी कुराहरू सबैतिर हेर्न दिनुहुन्छ—तर ख्रीष्टविरोधीहरू अन्धा हुन्छन् र यी कुराहरू देख्न सक्दैनन्। ख्रीष्टविरोधीहरूले धेरै वर्षसम्म परमेश्‍वरलाई पछ्याएपछि यो त्यो चर्चित वाक्यांश बोल्नेछन्: “मैले यतिका वर्ष परमेश्‍वरमा विश्‍वास गरेर केचाहिँ पाएको छु र?” तिनीहरूले वास्तवमै केही पनि प्राप्त नगरेजस्तै नै देखिन्छ। परमेश्‍वरले मान्छेको लागि जीवन बिछ्याउनुभएको छ, तर ख्रीष्टविरोधीहरूले केही पनि प्राप्त गरेका छैनन्। के त्यो दयनीय होइन र? वास्तवमै हो! ख्रीष्टविरोधीहरूको त्यो वाक्यांशले समस्यालाई अत्यन्तै राम्ररी चित्रण गर्छ। परमेश्‍वरका वचनहरू सुन्ने र उहाँको काम अनुभव गर्ने, उहाँका वचनहरूलाई आफ्नो जीवनको रूपमा स्विकार्ने हरव्यक्तिले चाहिँ यसो भन्नेथियो: “हामीले परमेश्‍वरमा धेरै वर्ष विश्‍वास गरेका छौँ, र हामीले उहाँबाट धेरै पाएका छौँ। अनुग्रह र आशिष्‌हरू मात्र होइन, उहाँको सुरक्षा र उहाँको कृपा पनि पाएका छौँ—अझ महत्त्वपूर्ण कुरा त परमेश्‍वरबाट हामीले धेरै सत्यताहरू बुझेका र प्राप्त गरेका छौँ। हामी इज्जतसाथ मानव स्वरूपमा जिउँछौँ। हामी उचित व्यवहार गर्न जान्दछौँ। हामी परमेश्‍वरप्रति अत्यन्तै धेरै ऋणी छौँ। उहाँले चुकाउनुहुने मूल्यसँग, र उहाँले हाम्रो लागि जे गर्नुहुन्छ त्योसँग तुलना गर्दा, हाम्रा कठिनाइहरू उल्लेख गर्न लायकसमेत छैनन्। मान्छेले परमेश्‍वरको प्रेमको ऋण चुक्ता गर्नुपर्छ।” तर ख्रीष्टविरोधीहरू ठिक उल्टो हुन्छन्। तिनीहरू भन्छन्, “विगत केही वर्षदेखि परमेश्‍वरले काम गरिरहनुभएको छ, तर मैले किन केही पनि प्राप्त नगरेको? तिमीहरू सबैले यो र त्यो प्राप्त गरेको छु, यस्तो र उस्तो अनुभव गरेको छु भनेर भन्छौ—तर के ती अनुभवहरूले तिमीहरूको भरणपोषण गर्छन्? ती अनुभवहरूको के महत्त्व छ? आशिष्‌, अनुग्रह, चिन्ह र अचम्मका कार्यहरू देख्नुको तुलनामा, के ती उल्लेख गर्न पूर्णतया अयोग्य छैनन् र? त्यसैले, मलाई लाग्छ, यतिका वर्ष परमेश्‍वरमा विश्‍वास गर्दा पनि मैले केही पनि प्राप्त गरेको छैन। मैले सहेको दुख र परमेश्‍वरको निम्ति गरेको त्याग र अर्पणको तुलनामा, मैले प्राप्त गरेका कुराहरू बिलकुलै कुनै अर्थका छैनन्! सत्यता भनेको केही अभिव्यक्ति र सिद्धान्तहरूबाहेक के नै हो र? त्यो केही धर्मसिद्धान्तहरूबाहेक के नै हो र? मैले यी वचनहरू र यी सत्यताहरू सुनेको छु, तर मलाई ममा केही अविस्मरणीय परिवर्तन आएको छ जस्तो लाग्दैन! पहिलो कुरा त, यी कुराहरूबारे सोच्न मेरो दिमाग फुर्तिलो छैन। साथै, मेरो उमेर ढल्कँदै छ, र मेरो स्वास्थ्यमा पहिलेजस्तो सुधार आइरहेको छैन। मेरो कपाल फुलेको छ, मेरो अनुहार अझ धेरै चाउरी परेको छ—मेरा केही दाँतहरू पनि फुक्लेका छन्, र नयाँ दाँत पलाएका छैनन्। परमेश्‍वरले मुक्ति पाउनेहरू बालबालिकाजस्तै ऊर्जावान्, र जीवन्त हुन्छन् भन्नुहुन्छ, तर म अत्यन्तै दुब्लो ज्यानको र बुढो अनुहारको छु। म बच्चा बनेको छैन। परमेश्‍वरका वचनहरूअनुसार, कपाल फुलेका बुढा मानिसहरू कालो कपाल भएका युवामा परिणत हुन सक्छन्। मचाहिँ किन परिवर्तन नभएको हो? परमेश्‍वर भन्नुहुन्छ, उहाँले मानिसहरूलाई पूर्ण रूपमा रूपान्तरण गर्नुहुनेछ, तर मलाई त्यस्तो भएको छैन; म नयाँ व्यक्ति बनेको छैन। म अझै म नै छु, र मलाई केही आइपर्दा, मैले अझै पनि त्यसलाई आफैले कसरी सम्हाल्ने भनेर उपाय लगाउनुपर्छ। मेरा दैहिक कठिनाइहरू पनि बढ्दैछन्—म प्रायजसो कमजोर र नकारात्मक हुन्छु। त्यसबाहेक, विगत दुई वर्षदेखि मेरो स्मरणशक्ति घटेको छ। मैले परमेश्‍वरका वचनहरू अत्यन्तै धेरै पढ्छु, तर उहाँले मेरो स्मरणशक्ति बलियो बनाउनुभएको छैन। के परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको शरीर बुढो हुनबाट रोक्ने अलिकति विशेष क्षमता दिन सक्नुहुन्न? मलाई लाग्छ अहिलेको सबैभन्दा ठूलो सवाल भनेको मानिसहरूलाई पूर्ण रूपमा रूपान्तरित गर्ने कुरा हो; सत्यताले त्यो सवाल हल गर्न सकेको देखिँदैन। यदि परमेश्‍वरले मानिसहरूलाई चम्किलो स्वर्गदूतझैँ रूप हुने, निराकार बन्न सक्ने, ठोस पर्खालबाट निस्‍कन सक्ने, उत्पीडन र खतरा सामना गर्नुपर्दा एउटा मन्त्र जपेर हराउन सक्ने, र कहिल्यै पकडमा नआउने कुनै नयाँ व्यक्तिमा साँच्चिकै परिणत गर्ने सक्ने कुरा भन्‍नुहुन्थ्यो हो भने—यदि परमेश्‍वरका वचनहरू बारम्बार पढेर मानिसहरूको कपाल नफुल्ने, अनुहार चाउरी नपर्ने, र फुक्लेको ठाउँमा नयाँ दाँत पलाउने हुन्थ्यो भने—त्यो गजब हुनेथ्यो! पूर्ण रूपमा रूपान्तरित हुनु भनेको त्यही हो! यदि परमेश्‍वरले ती कामहरू गर्नुहुन्थ्यो भने, म कुनै हिचकिचाटविना उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नेथिएँ। तर यदि उहाँले सत्यता बोल्न र प्रचार गर्न जारी राख्नुभयो भने, मेरो आस्था चाँडै बिलाउनेछ; चाँडै, म विश्‍वासलाई निरन्तरता दिन सक्षम रहनेछैन, र सायद मैले त्यसउप्रान्त आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछैन। मैले कर्तव्य निभाउनै चाहनेछैन।” ख्रीष्टविरोधीले परमेश्‍वरलाई पछ्याउने क्रममा, उसको हृदयमा बारम्बार यो वा त्यो मागहरू उत्पन्न भइरहनेछन्, र उसका धारणाहरूमा अनेकथरीका शङ्का र कठोर मागहरू उत्पन्न भइरहनेछन्, साथै उसका वातावरण र व्यक्तिगत चाहनाहरूको कारण उसमा अनेकथरीका अनौठा सोचहरू आइरहनेछन्। तर यसमा एउटै मात्र कुरा हुन्छ: उसले परमेश्‍वरले बोल्नुहुने वचनहरू बुझ्न सक्दैन, र परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिनहेतु काम गर्नुहुन्छ भनेर देख्न सक्दैन, परमेश्‍वरले सारा काम गर्नुको उद्देश्य मानिसलाई मुक्ति दिनु हो, र त्यो उद्देश्य मानिसहरूलाई स्वभाव परिवर्तन गर्न सक्षम पार्नु हो भनेर त झनै बुझ्न सक्दैन। त्यसैले, विश्‍वास गर्दै जाने क्रममा, उसको हुटहुटी हराउँछ; विश्‍वास गर्दै जाने क्रममा, उसको हृदयमा नकारात्मकता र अवसादका भावनाहरू उत्पन्न हुँदै जान्छन्, र उसमा पछि हट्ने, विश्‍वास गर्न छोड्ने भावनाहरू पैदा हुँदै जान्छन्। परमेश्‍वरको सारको सम्बन्धमा त, उसले त्यसलाई विश्‍वास गर्नेछ कि छैन, मान्नेछ कि छैन र स्वीकार गर्नेछ कि छैन भन्ने कुरै बिर्सिदे—विश्‍वास गर्दै जाने क्रममा, उसले त्यो कुराबारे चिन्ता लिने कामसमेत गर्न सक्दैन। त्यसैकारण, जब तैँले सङ्गतिमा कुनै कुरा परमेश्‍वरको धार्मिकता साथै उहाँको सर्वशक्तिमान्‌ता र सार्वभौमिकता हो, र मानिसहरूले त्यसप्रति समर्पित हुनुपर्छ र त्यो कुरा जान्नुपर्छ भनेर भन्छस्, तब ख्रीष्टविरोधीहरूले बाहिरी रूपमा छिसिक्कसमेत बोल्नेछैनन्—तिनीहरूले बिलकुलै कुनै दृष्टिकोण व्यक्त गर्नेछैनन्। तर भित्री रूपमा, तिनीहरूमा घिन उत्पन्न हुनेछ: तिनीहरूले सुन्न चाहनेछैनन्; तिनीहरू सुन्न अनिच्छुक हुनेछन्; तीमध्ये कतिपय त बस उठेर हिँड्नेछन्। जब सबैले प्रवचनहरू सुनिरहेका हुन्छन्, जब अरूले परमेश्‍वरका वचनहरू सङ्गति गरिरहेका हुन्छन्, जब दाजुभाइ-दिदीबहिनीहरू ठूलो जोससाथ आफ्नो अनुभवात्मक गवाही सङ्गति गरिरहेका हुन्छन्—तब ख्रीष्टविरोधीहरू के गरिरहेका हुन्छन्? तिनीहरूले चिया पिइरहेका, पत्रिका पढिरहेका, फोन चलाइरहेका, र बकम्फुसे गफ गरिरहेका हुन्छन्। अनि, यी मौन कार्यहरूद्वारा विरोध र प्रतिरोध गरेर तिनीहरू आफ्ना व्यवहारमार्फत परमेश्‍वरले गर्नुहुने सारा काम बेकार छ भनी पुष्टि गर्न खोजिरहेका हुन्छन्: “तिमीहरू आफैलाई मूर्ख बनाएर सबै कुराको औचित्य पुष्टि गर्न मात्र खोजिरहेका छौ—परमेश्‍वर र सत्यता अस्तित्वमै छैनन्, र मानवजातिले परमेश्‍वरबाट मुक्ति पाउनु पूरै असम्भव छ!” तिनीहरूको नजरमा, सत्यतामा विश्‍वास गर्ने, परमेश्‍वरप्रति समर्पित हुने, र परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ भन्ने तथ्यमा विश्‍वास गर्ने सबै मूर्खहरू हुन्—उनीहरू सबै दिमाग नभएका मानिसहरू हुन्, र उनीहरू सबै फसाइएकाहरू हुन्। तिनीहरूलाई लाग्छ कि व्यक्तिको भाग्य उसकै हातमा हुन्छ, अरूलाई त्यो कुरा योजनाबद्ध गर्न दिन सकिँदैन, मानिसहरू गोटी होइनन्, उनीहरूमा दिमाग हुन्छ र समस्याहरूबारे स्वतन्त्र रूपमा सोच्ने क्षमता हुन्छ—यदि कसैले आफ्नै भाग्यसमेत नियन्त्रण गर्न सक्दैन भने, ऊ काम नलाग्ने तल्लो स्तरको व्यक्ति हो भन्ने तिनीहरू विश्‍वास गर्छन्। त्यसैले, चाहे जेसुकै होस्, तिनीहरू आफ्नो भाग्य परमेश्‍वरलाई सुम्पेर नियन्त्रण गर्न दिन अनिच्छुक हुन्छन्। परमेश्‍वरले गर्नुहुने सबै कुराहरूप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यस्तै हुन्छ। तिनीहरू सुरुदेखि अन्त्यसम्‍मै शैतानका नोकरहरूको भूमिका खेल्ने रमिते र गैरविश्‍वासीहरू भएर बस्छन्। तिनीहरू भातमाराहरू र किचलो गर्नेहरू हुन्—तिनीहरू गोप्य रूपमा घुसपैठ भएका दुष्ट मानिसहरू हुन्।

ग. परमेश्‍वरको पवित्रता र अद्वितीयतालाई तिरस्कार गर्नु

ख्रीष्टविरोधीहरू परमेश्‍वरको स्वभाव र सारमा धार्मिकता र सर्वशक्तिमान्‌ता हुने कुरालाई अलिकति पनि मान्‍ने वा विश्‍वास गर्ने गर्दैनन्, न त तीबारेमा कुनै ज्ञान नै राख्छन्। अनि तिनीहरूलाई परमेश्‍वरको पवित्रता र अद्वितीयतामा विश्‍वास गर्न, तिनलाई मान्न र तिनका बारेमा जान्न अवश्य नै झन् कठिन हुन्छ। त्यसैले, जब परमेश्‍वरले मानिसहरूलाई इमानदार हुन र आफ्नो स्थानमा रहन सक्‍ने सृष्टि गरिएका व्यावहारिक प्राणीहरू हुन लगाउँछु भनेर भन्नुहुन्छ, तब ख्रीष्टविरोधीमा विचारहरू उत्पन्न हुन्छन्, र उसमा एउटा मनोवृत्ति र भावना पलाउँछ। अनि, उसले भन्छ: “के परमेश्‍वर उच्च हुनुहुन्न र? के उहाँ सर्वोच्च हुनुहुन्न र? यदि हुनुहुन्छ भने, उहाँले मानिसहरूलाई दिनुहुने मापदण्डहरू भव्य र उच्च हुनुपर्छ। मैले त परमेश्‍वर अत्यन्तै रहस्यमयी हुनुहुन्छ भन्ने सोच्थेँ; परमेश्‍वरले मानिसहरूलाई यस्ता तुच्छ मापदण्डहरू दिनुहुन्छ भनेर त मैले सोच्‍दा पनि सोच्दिनथेँ। के तिनलाई सत्यताको रूपमा लिन सकिन्छ र? ती अत्यन्तै सामान्य छन्! परमेश्‍वरका मापदण्डहरू उच्च हुनु सही हुनेथ्यो: व्यक्ति भनेको त महामानव, महान् व्यक्ति, सक्षम व्यक्ति हुनुपर्छ—परमेश्‍वरले मानिसहरूलाई दिनुपर्ने मापदण्ड नै त्यही हो। उहाँ मान्छेलाई इमानदार व्यक्ति होस् भन्ने चाहनुहुन्छ—के त्यो साँच्चिकै परमेश्‍वरको काम हो र? के त्यो झूट होइन र?” ख्रीष्टविरोधीहरूले हृदयको गहिराइमा सत्यतालाई प्रतिरोध मात्र गर्दैनन्—त्यस क्रममा ईशनिन्दा पनि गर्छन्। के त्यो तिनीहरूले सत्यता तिरस्कार गरेको होइन र? तिनीहरू परमेश्‍वरका मापदण्डहरूप्रति अवहेलना र उपेक्षाले भरिएका हुन्छन्; तिनीहरू तिनलाई खिसी, बेवास्ता, कटाक्ष, र गिल्लाको मनोवृत्तिले परिभाषित गर्ने र हेर्ने गर्छन्। प्रस्टै छ, ख्रीष्टविरोधीहरूको स्वभाव र सार अत्यन्तै घिनलाग्दा हुन्छन्; तिनीहरू साँचो, सुन्दर, र व्यावहारिक कुरा वा वचनहरू स्विकार्न सक्दैनन्। परमेश्‍वरको सार साँचो र व्यावहारिक हुन्छ, र मानिसहरूप्रतिका उहाँका मापदण्डहरू मानिसहरूका आवश्यकताबमोजिम हुन्छन्। जब ख्रीष्टविरोधीहरूले “भव्य र उच्च” भन्ने कुरा उठाउँछन्—त्यो के हो त? त्यो झूटो, रित्तो र खोक्रो कुरा हो; त्यसले मानिसहरूलाई भ्रष्ट तुल्याउँछ र भ्रममा पार्छ; त्यसले उनीहरूलाई पतन गराउँछ, र परमेश्‍वरदेखि टाढा लैजान्छ। अर्कोतिर, परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यता र उहाँको जीवन विश्‍वासयोग्य, प्रेमिलो, र व्यावहारिक हुन्छन्। व्यक्तिले केही समय परमेश्‍वरका वचनहरूको अनुभव र भोगाइ प्राप्त गरिसकेपछि, उसले थाहा पाउनेछ कि परमेश्‍वरको जीवन मात्र सबैभन्दा प्रेमिलो छ, उहाँका वचनहरू मात्र मानिसहरूलाई बदल्न र उनीहरूका जीवन बन्न सक्षम छन्, र मानिसहरूलाई आवश्यक पर्ने कुरा पनि तिनै हुन्—जबकि शैतान र ख्रीष्टविरोधीहरूले अघि सारेका ती भव्य र उच्च राय र भनाइहरू परमेश्‍वरले मानिसहरूको लागि तोक्‍नुभएको साँचोपन र व्यावहारिताभन्दा पूर्ण उल्टो छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको यस्तो सारको आधारमा, तिनीहरू परमेश्‍वरको पवित्रता र अद्वितीयता स्विकार्न पूर्णतया असक्षम हुन्छन्। तिनीहरूले ती कुराहरू कदापि मान्नेछैनन्। अनि, परमेश्‍वरले खुलासा गर्नुभएका मानिसहरूको भ्रष्ट स्वभाव र भ्रष्ट सारका विभिन्न आयामहरूको कुरा गर्नुपर्दा—उनीहरूको हठीपन र अहङ्कार, उनीहरूका छली र दुष्ट स्वभावहरू, र सत्यताप्रति प्रतिकूल रहने, र क्रूर स्वभावहरूको कुरा गर्नुपर्दा—ख्रीष्टविरोधीहरूले तिनलाई बिलकुलै स्विकार्दैनन्। अनि, परमेश्‍वरले मानिसहरूमाथि गर्नुहुने न्याय र कठोर हप्काइ सम्बन्धमा, ख्रीष्टविरोधीहरू तीभित्र परमेश्‍वरको पवित्रता र प्रेमिलोपन चिन्न नसक्ने मात्र होइन—बरु त्यसको उल्टो, तिनीहरू हृदयमा परमेश्‍वरका वचनहरूप्रति प्रतिकूल बन्छन्, र तिनलाई प्रतिरोध गर्छन्। हरेकपटक तिनीहरूले मान्छेको भ्रष्ट स्वभावलाई सजाय, न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरू पढ्दा, तिनीहरू तिनलाई घृणा गर्छन् र सराप्छन्। यदि कसैले तिनीहरू अहङ्कारी, हठी, र दुष्ट व्यक्ति हुन् जो सत्यताको प्रतिकूल छ भनेर भनेमा, तिनीहरूले त्यो व्यक्तिसँग विवाद गर्नेछन् र उसका पुर्खाहरूलाई सराप्नेछन्; र यदि कसैले तिनीहरूको भ्रष्ट सार खुलासा गरेर तिनीहरूलाई निन्दा गरेमा, त्यो व्यक्तिले तिनीहरूलाई मार्नै खोजेको हो जसरी तिनीहरूले त्यसलाई कदापि स्विकार्नेछैनन्। ख्रीष्टविरोधीहरूमा यस्तो सार हुने र तिनीहरूले यस्ता कुराहरू प्रकट गर्ने भएकाले तिनीहरूलाई थाहै नभई तिनीहरूको पहिचान गरिन्छ, अनि तिनीहरूले थाहै नपाई तिनीहरूलाई परमेश्‍वरको घर र मण्डलीमा एक्ल्याइन्छ र खुलासा गरिन्छ। तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहना प्राय: पूरा हुँदैन, त्यसैले परमेश्‍वरका वचन, उहाँको अस्तित्व, र “सत्यताले परमेश्‍वरको घरमा शासन गर्छ” भन्ने वाक्यांशप्रति तिनीहरूको घृणा बढेर जान्छ। यदि तैँले तिनीहरूसित त्यो वाक्यांश बोलिस् भने, तिनीहरूले तँसित हदैसम्म लड्न, र तँलाई पीडा र दण्ड दिएर मार्न चाहनेछन्। के यसले नै ख्रीष्टविरोधीहरू परमेश्‍वरप्रति शत्रुवत्‌ छन् भन्ने देखाउँदैन र? वास्तवमै देखाउँछ! यदि कसैले “परमेश्‍वर अद्वितीय हुनुहुन्छ; मान्छेले उहाँबाहेक अरू कुनै व्यक्तिलाई, वा कुनै मूर्तिलाई आराधना गर्न मिल्दैन” भनेर भन्यो भने, के कुनै ख्रीष्टविरोधी त्यो कुरा सुन्न इच्छुक हुन्थ्यो होला त? (हुँदैनथ्यो।) किन हुँदैनथ्यो? यी वचनहरूले तिनीहरूको निन्दा गर्छन्, होइन र? के यी वचनहरूले उसलाई परमेश्‍वर हुने अधिकारबाट वञ्चित गर्दैनन् र? के ऊ परमेश्‍वर हुने अधिकार नभएको र त्यस्तो आशा नभएको अवस्थामा खुसी हुनेथ्यो र? (हुँदैनथ्यो।) त्यसकारण, यदि तैँले उसलाई खुलासा गर्ने, उसको हैसियत र छवि नष्ट पार्ने, उसलाई कसैले पनि आराधना नगर्ने तुल्याउने, उसलाई मानिसहरूलाई आफ्नो पक्षमा ल्याउन असक्षम तुल्याउने, र उसलाई हैसियतरहित पार्ने हो भने, उसले आफ्नो दुर्भावपूर्ण र पैशाचिक शक्ति प्रयोग गरेर तँलाई खोजीखोजी दण्ड र यातना दिनेछ। जब मण्डलीमा केही आइपर्छ, र त्यसबारे कसैले माथि रिपोर्ट गर्न चाहन्छ, तब यदि मण्डलीको अगुवा ख्रीष्टविरोधी हो भने, के उसले त्यो रिपोर्ट गर्न दिनेछ त? त्यो रिपोर्ट अघि बढ्नै सक्नेछैन। उसले भन्नेछ, “यदि तिमीले त्यो रिपोर्ट गर्‍यौ भने, त्यसका परिणामहरू तिम्रै थाप्लोमा आउनेछन्! यदि माथिबाट हामीलाई काटछाँट गरियो र हाम्रो मण्डलीका मानिसहरूलाई निकालियो भने, म तिमीलाई पछुतो गराइछाड्नेछु—म तिमीलाई सबैद्वारा त्यागाउनेछु। त्यसपछि तिमीले निकालिनुको स्वाद चाख्‍नेछौ!” के त्यो रिपोर्ट गर्न खोज्ने व्यक्तिलाई यस्तो कुराबाट डर र त्रास हुँदैन र? अनि, त्यो ख्रीष्टविरोधीले भन्छ, “परमेश्‍वर अद्वितीय हुनुहुन्छ, होइन र? ठिक छ; म पनि अद्वितीय हुनेछु। हाम्रो मण्डलीमा म जे भन्छु, त्यही चल्छ। तिमीले जे गर्न चाहे पनि, मलाई सोध्नैपर्छ—र तिमीले मलाई पार गर्न सक्‍नेछैनौ। के तिमी मलाई पार गर्न चाहन्छौ? म त्यो कुनै पनि हालतमा हुन दिनेछैन! हाम्रो मण्डलीमा मेरो शासन चल्छ; यहाँ मैले जे भन्छु त्यही चल्छ; म नै सत्यता हुँ—म नै अद्वितीय व्यक्ति हुँ!” के यो दियाबलस प्रकट भएको होइन र? हो—यो त्यसको दुष्ट मुहार खुलासा भएको, त्यसका दुष्ट शब्दहरू बोलिएको हो।

परमेश्‍वरको सारप्रति ख्रीष्टविरोधीहरूको व्यवहार सुरुमा अविश्‍वास र शङ्काबाट राम्रो अवसरको प्रतीक्षा र जाँच हुँदै अन्त्यमा आलोचना र ईशनिन्दामा पुग्छ। यसले तिनीहरूलाई चरणबद्ध रूपमा दलदलमा, अर्थात् अथाह खाडलमा पुर्‍याउँछ, साथै यसले तिनीहरूलाई परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँको शत्रु हुने, उहाँसित मिल्दै नमिल्ने, र अन्त्यसम्मै उहाँको तीव्र आलोचना गर्ने मार्गमा पुर्‍याउँछ, जहाँबाट पछाडि फर्कन सम्भवै हुँदैन। तिनीहरूले परमेश्‍वरको सारलाई मान्‍न नसक्‍ने मात्र नभई, तिनीहरूमा परमेश्‍वरको सारको हरेक पक्षबारे अनेकथरी धारणा र कल्पनाहरू पैदा हुन्छन्, जसमार्फत तिनीहरूले आफू वरपरका र आफूले भेटेका मानिसहरूलाई भ्रममा पार्छन्। तिनीहरूको लक्ष्य भनेको धेरै मानिसहरूलाई आफूजस्तै परमेश्‍वरको अस्तित्व र उहाँको सारको अस्तित्वबारे शङ्का गर्ने बनाउनु हो। मर्नेबेलामा पनि तिनीहरूले अरूलाई सँगै तानेर लान चाहन्छन्। तिनीहरूलाई आफैले मात्र खराब काम गरेर पुग्दैन—तिनीहरू त अरूले आफूलाई साथ दिऊन्, आफूसँगै खराब काम गरून्, आफूसँगै परमेश्‍वरको प्रतिरोध गरून् र उहाँको घरको काममा बाधा दिऊन्, र आफूसँगै परमेश्‍वरलाई शङ्का र इन्कार गरून् भन्ने चाहन्छन्। ख्रीष्टविरोधीहरू परमेश्‍वरको सारका हरेक पक्षबारे धारणा र कल्पनाहरूले भरिएका हुन्छन्। तिनीहरूले परमेश्‍वरले गर्नुहुने सबथोकबाट उहाँको सार थाहा पाउन नसक्ने मात्र होइन—बरु उल्टै परमेश्‍वरको सारलाई कडाइपूर्वक विश्‍लेषण, अध्ययन, जाँच र आलोचना पनि गर्नेछन्, र गोप्य रूपमा परमेश्‍वरसित जोरीसमेत खोज्नेछन्, र यसो भन्नेछन्: “के तपाईं अद्वितीय हुनुहुन्न र? के तपाईं मानवजातिको भाग्यमाथि सार्वभौमिकता राख्ने परमेश्‍वर हुनुहुन्न र? तपाईंमा विश्‍वास गर्ने मानिसहरूलाई तपाईं कसरी यस्ता कुराहरू आइपर्न दिन सक्नुहुन्छ? यदि तपाईं अद्वितीय परमेश्‍वर नै हुनुहुन्छ भने, तपाईंले आफ्नो कार्यस्थलमा कुनै पनि शत्रु शक्तिलाई अनधिकृत प्रवेश गर्न दिनु हुँदैन।” त्यो कस्तो खालको कुरा हो? मण्डलीमा केही आइपर्दा, त्यहाँ उभिएर होच्याउने कुराहरू, र नकारात्मक र आलोचनात्मक शब्दहरू बोल्ने पहिलो व्यक्ति ख्रीष्टविरोधी नै हुन्छ। त्यहाँ उभिएर परमेश्‍वरसित विवाद गर्ने, उहाँसित आमनेसामने हुने, उहाँले यो र त्यो काम गर्नुपर्ने भनी माग गर्ने पहिलो व्यक्ति ऊ नै हुनेछ। विशेषगरी परमेश्‍वरको घरलाई कठिनाइ वा मुस्किल समस्याहरू आइपरेको बेला नै ख्रीष्टविरोधी अत्यन्तै धेरै खुसी हुन्छ। त्यस्तै समयमा ऊ सबैभन्दा खुसी र हर्षित हुन्छ, र खुसीले गदगद हुँदै उफ्रन्छ। यस्ताहरूले परमेश्‍वरको घरका हितहरू कायम राख्न नसक्ने मात्र होइन—तिनीहरू त दर्शकसमेत बन्छन्, हेरेर हाँस्छन्, र परमेश्‍वरको घरमा विद्रोह उत्पन्न होस्, उहाँका चुनिएका मानिसहरू सबै गिरफ्तार भएर तितरबितर होऊन्, र उहाँको घरको काम अघि बढ्न नसकून् भन्ने व्यग्र प्रतीक्षामा हुन्छन्। त्यसपछि तिनीहरू नयाँ वर्षको अघिल्लो रातमा जतिकै खुसी हुनेछन्। अनि हरेकपटक जब परमेश्‍वरको घरको कुनै परिस्थितिको सम्बोधन र समाधान हुन्छ र जब दाजुभाइ-दिदीबहिनीहरूले त्यसबाट पाठ सिक्छन्, त्यो बेला ख्रीष्टविरोधीको “सजाय” हुनेछ। त्यो समयमा ख्रीष्टविरोधी सबैभन्दा नकारात्मक, दुःखी र निराश हुनेछ। उसले दाजुभाइ-दिदीबहिनीहरूलाई राम्रो भएको, वा परमेश्‍वरका अनुयायीहरूले आस्था राखेको, र उहाँलाई पछ्याउँदा आत्मविश्‍वासले भरिएको देख्दा सहनै सक्दैन; उसले दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरका वचनहरूको मार्गदर्शन पाएर उनीहरूको स्वभाव परिवर्तन भएको, उनीहरूले बफादारीपूर्वक आफ्ना कर्तव्य निर्वाह गरेको, र काम झन्झन् राम्रो हुँदै गएको सहनै सक्दैन। उसले मण्डली फस्टाएको, वा परमेश्‍वरको व्यवस्थापन योजना बिस्तारै राम्रो दिशातर्फ विकास भएको देखीसहँदैन—मानिसहरूले सधैँ परमेश्‍वरका वचनहरू प्रचार गरेको, उहाँको निम्ति साक्षी दिएको, र उहाँको प्रेमिलोपन र धर्मी स्वभावको प्रशंसा गरेको त उसले झनै मन पराउँदैन। अनि त्योभन्दा पनि बढी, उसले मानिसहरूले परमेश्‍वरलाई खोजेको, उहाँलाई प्रार्थना गरेको, र आफूलाई जे हुँदा पनि उहाँका वचनहरू खोजी गरेको, उहाँप्रति समर्पित भएको र उहाँका योजनाबद्ध कार्य पालना गरेको त झनै मन पराउँदैन। ख्रीष्टविरोधीले परमेश्‍वरको घरबाट खाना खाने, परमेश्‍वरका वचनहरू प्राप्त गर्ने, र उहाँको घरका सारा लाभहरू प्राप्त गर्ने भए पनि, ऊ प्राय: परमेश्‍वरको घरलाई हाँसोमा उडाउने मौका खोजिरहेको हुन्छ। ऊ परमेश्‍वरका सारा विश्‍वासीहरू तितरबितर होऊन्, र परमेश्‍वरको काम अघि बढ्न नसकोस् भन्ने व्यग्र प्रतीक्षामा हुन्छ। त्यसकारण, परमेश्‍वरको घरलाई केही आइपर्दा, त्यसको रक्षा गर्ने, वा त्यो समस्या समाधान गर्ने उपायहरू सोच्ने, वा आफ्नो सारा शक्तिले दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्ने, वा उनीहरूसँग मिलेर उक्त समस्या सँगै समाधान गर्ने, एकताबद्ध भएर परमेश्‍वरसामु आउने र उहाँको सार्वभौमिकताप्रति समर्पित हुने काम गर्नुको साटो, ख्रीष्टविरोधी दर्शक बन्नेछ, हाँसेर बस्नेछ, बेकारको सल्‍लाह दिनेछ, अनि विनाश र बाधा पुर्‍याउनेछ। महत्त्वपूर्ण क्षणमा, उसले परमेश्‍वरको घरलाई हानि पुग्नेगरी बाह्य मानिसहरूलाई सहयोगसमेत गर्नेछ, र यसरी उसले जानाजानी बाधा पुर्‍याउनुको साथै सामानहरू फुटाएर शैतानको अनुयायीको कामसमेत गर्नेछ। के त्यस्तो व्यक्ति परमेश्‍वरको शत्रु होइन र? कुनै क्षण जति धेरै महत्त्वपूर्ण हुन्छ, त्यति नै प्रस्ट रूपमा उसको दुष्ट स्वरूप खुलासा हुन्छ; कुनै क्षण जति धेरै महत्त्वपूर्ण र जति धेरै रोचक हुन्छ, त्यति नै धेरै उसको दुष्ट स्वरूप विस्तृत र पूर्ण मात्रामा खुलासा हुन्छ; कुनै क्षण जति महत्त्वपूर्ण हुन्छ, त्यति नै धेरै उसले परमेश्‍वरको घरलाई हानि पुग्नेगरी बाह्य मानिसहरूलाई सहयोग गर्नेछ। ऊ कस्तो चिज हो त? के यस्ता मानिसहरू दाजुभाइ-दिदीबहिनीहरू हुन् त? तिनीहरू विनाशकारी, घृणित काम गर्ने मानिसहरू हुन्; तिनीहरू परमेश्‍वरका शत्रुहरू हुन्; तिनीहरू दियाबलसहरू हुन्, तिनीहरू शैतानहरू हुन्; तिनीहरू दुष्ट मानिसहरू हुन्, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू होइनन्, र तिनीहरू मुक्तिका दावेदारहरू होइनन्। यदि तिनीहरू साँच्चिकै दाजुभाइ-दिदीबहिनीहरू, परमेश्‍वरको घरका मानिसहरू हुन्थे भने, परमेश्‍वरको घरमा आइपर्ने जुनसुकै समस्यामा पनि तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूसित मनमस्तिष्कले एकजुट भएर त्यसलाई सामना गर्ने र सम्हाल्नेथिए। तिनीहरू दर्शक बनेर बस्नेथिएनन्, हेरेर हाँस्ने त कुरै छाडौँ। यस्ता ख्रीष्टविरोधी मानिसहरू मात्र दर्शक बनेर हाँस्छन्, र परमेश्‍वरको घरलाई नराम्रा कुराहरू होऊन् भनी व्यग्र प्रतीक्षा गर्छन्।

ख्रीष्टविरोधीको सार जुनसुकै मामलामा खुलासा हुन सक्छ। यसलाई लुकाउन असम्भव छ। उसले जे गरिरहेको भए पनि, समस्या जे भए पनि, उसले प्रकट गर्ने सबै दृष्टिकोण र स्वभावहरू मान्छे र परमेश्‍वरको लागि घिनलाग्दा हुन्छन्। आइपर्ने हरखाले परिस्थितिहरूमा उसले विनाश, अवरोध, र बाधा निम्त्याउने, र दर्शक बनेर हाँस्ने मात्र होइन—उसले त प्राय: परमेश्‍वरसित पनि आमनेसामने भएर उहाँको जाँचसमेत गर्छ। अनि, परमेश्‍वरलाई जाँच्नुको अर्थ के हो? (हृदयमा, उसले परमेश्‍वरमा विश्‍वास गर्दैन, अनि उसले केही कुराहरू भनेर वा केही छल गरेर उहाँको इच्छा के हो त्यो जाँच्ने र पत्ता लगाउने कोसिस गर्छ।) त्यस्तो त तैँले धेरै नै देख्छस्। अय्यूबको मामलामा, शैतानले परमेश्‍वरलाई कसरी जाँच्थ्यो? (शैतानले पहिलोपटक बोल्दा, त्यसले भन्यो कि यदि परमेश्‍वरले अय्यूबको परिवार र सम्पत्ति लानुभयो भने, उसले परमेश्‍वरलाई आराधना गर्न छोड्नेछ; दोस्रोपटक, त्यसले भन्यो कि यदि परमेश्‍वरले अय्यूबलाई शारीरिक पीडा दिनुभयो भने, उसले उहाँलाई नकार्नेछ। शैतानले अय्यूबलाई विपत्तिहरू ल्याएर परमेश्‍वरको जाँच गर्न चाहन्थ्यो।) के त्यो जाँच हो? के त्यो उक्त शब्दको सही परिभाषा हो त? (होइन।) ठ्याक्‍कैसित भन्नुपर्दा, ती खण्डहरूले एउटा अभियोग जनाउँछन्। शैतानले ती कुराहरूमार्फत के भन्न खोजेको थियो भने, “तपाईंले नै अय्यूब एक सिद्ध व्यक्ति हो भनेर भन्नुभएको होइन र? तपाईंले सारा असल कुराहरू दिँदा उसले तपाईंलाई किन आराधना गर्न सक्दैनथ्यो र? यदि तपाईंले ऊबाट ती असल कुराहरू खोस्नुहुन्थ्यो भने, के तपाईंलाई उसले अझै पनि तपाईंलाई आराधना गर्नेछ जस्तो लाग्छ?” त्यो एउटा अभियोग हो। त्यसोभए जाँचचाहिँ कस्तो कुरा हो त? शैतानले लुटेराहरूलाई अय्यूबका सम्पत्तिहरू लुट्न र खोस्न लगाएको थियो। अय्यूबको लागि त्यो एउटा जाँच थियो। अनि, त्यो कसरी जाँच हो? यसरी: “के तिमी परमेश्‍वरमा विश्‍वास गर्दैनौ र? मैले तिमीबाट यी कुराहरू खोसेपछि तिमीले उहाँलाई अझै विश्‍वास गर्छौ गर्दैनौ हेरूँला!” तर अय्यूबले त्यसलाई कसरी बुझ्यो? त्यो परमेश्‍वरले लिनुभएको परीक्षा भएको विश्‍वास गरेर, उसले सङ्घर्ष वा लडाइँ गरेन, न त उसले केही नै भन्यो—ऊ समर्पित भयो र उसले त्यो परमेश्‍वरबाट आएको हो भनी स्विकार्‍यो। प्रभु येशूलाई पनि चुनौतीहरू आइपरे: शैतानले उहाँलाई ढुङ्गालाई खानामा परिणत गर्न लगायो, र उसले प्रभु येशूलाई संसारका सम्पूर्ण महिमा र सम्पत्ति देखायो, र उहाँलाई झुकेर त्यसको आराधना गर्न लगायो। ती जाँचहरू थिए। अहिले, परमेश्‍वरको जाँचस्वरूप ख्रीष्टविरोधीहरूले के-के गर्छन्? (ख्रीष्टविरोधीहरूसँग परमेश्‍वरको डर मान्ने हृदय हुँदैन। तिनीहरू त्यो दुष्टता हो भन्ने थाहा हुँदाहुँदै पनि त्यही गर्छन्; तिनीहरू परमेश्‍वरको दण्ड आफूमाथि आइपर्छ कि भनी हेर्न परमेश्‍वरलाई जाँच्न चाहन्छन्। तिनीहरू परमेश्‍वरको धर्मी स्वभावमा विश्‍वास नगर्ने हुनाले, तिनीहरूले दुष्टता गर्दा तिनीहरू त्यसबारे सचेत हुँदैनन्।) त्यो एउटा जाँच हो। तिनीहरू गरिहेरौँ भन्ने मानसिकताले त्यसमा लाग्छन्; तिनीहरू परमेश्‍वरले ठ्याक्कै के गर्नुहुनेछ भनेर हेर्न चाहन्छन्: “के परमेश्‍वर प्रतापी र क्रोधी हुनुहुन्न र? तर म मण्डलीमा अनियन्त्रित रूपमा हुलदङ्गा मच्चाइरहेको छु। मैले परमेश्‍वरको र मान्छेको पिठ्यूँपछाडि धेरै खराब कामहरू गरेको छु—के परमेश्‍वरलाई त्यसबारे थाहा छ, कि छैन? यदि मभित्र कुनै उदासी छैन र मैले कुनै दैहिक दण्ड भोग्दिनँ भने, त्यसको मतलब परमेश्‍वरलाई थाहा छैन।” तिनीहरू ससाना क्रियाकलाप गरेर परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ कि हुन्न भनी जाँच्छन्, र उहाँले मानिसहरूका भित्री हृदयहरू नियाल्नुहुन्छ कि हुन्‍न भनी जाँच्छन्। जाँच भनेका तिनै हुन्। तिनीहरू मामलाहरूको सत्यता पुष्टि गर्न चाहन्छन्, परमेश्‍वरले साँच्चै कदम चाल्नुहुनेछ कि छैन र उहाँ साँच्चै हुनुहुन्छ कि हुन्न भनी जाँच्न चाहन्छन्। जाँच भनेका तिनै हुन्।

एकपटक मूलभूमि चीनमा एउटा ख्रीष्टविरोधी थियो जसले एक समूहका मानिसहरूलाई भ्रममा पारेको थियो। विदेशमा उसले परमेश्‍वरको घरले गायनमण्डलहरू सञ्चालन गरेको र भजनहरू गाएको देख्यो, र सोच्यो, “यदि तिमीहरूले विदेशमा गायनमण्डलहरू सञ्चालन गर्न सक्छौ भने, हामीले यहाँ पनि गर्न सक्छौँ।” त्यसैले, उसले विभिन्न ठाउँका मानिसहरूलाई एकै ठाउँमा भेला पार्‍यो र गायनमण्डलमा गाउन लगायो। उसले उनीहरूको निम्ति ठूलो संख्यामा दर्शक पनि भेला पार्‍यो; अनि, त्यो कार्यक्रम भव्य भयो। उसले किन यसो गर्‍यो त? एकातिर, उसले एउटा स्वतन्त्र राज्य स्थापना गरिरहेको थियो, जसलाई थप व्याख्या गर्नै पर्दैन। अर्कोतिर, उसको उद्देश्य यस्तो थियो, “हामीले विश्‍वास गर्ने परमेश्‍वर नै साँचो परमेश्‍वर हो, र हामीले पवित्र आत्माको काम पाएका छौँ। हामी ठूलो रातो अजिङ्गरले हामीलाई सताइरहेको र कडा निगरानीमा राखिरहेको एउटा शत्रुवत्‌ परिवेशमा छौँ, तर अब हामी परमेश्‍वरले हामीलाई रक्षा गरिरहनुभएको छ छैन भनेर मानिसहरूलाई देखाऔँ। हेरौँ, हामीलाई केही हुनसक्छ कि हेरौँ; हेरौँ, हामी गिरफ्तारमा पर्न सक्छौँ कि।” त्यो कस्तो मानसिकता हो? (जाँच गर्ने मानसिकता।) यो जाँच गर्नु हो—यो परमेश्‍वर सर्वशक्तिमान् र सर्वव्यापी हुनुहुन्छ भनी विश्‍वास गर्छु भन्‍नेजस्ता ब्यानर र सुत्रवाक्यहरू बोक्दै र प्रयोग गर्दै परमेश्‍वरले वास्तवमा के गर्नुहुनेछ भनी जाँच्नु, र उहाँसित बाजी राख्नु र प्रतिस्पर्धा गर्नु हो। त्यसलाई “जाँच्नु” भनिन्छ। कतिपय मानिसहरूलाई अरूले “तिमीले यो खान मिल्दैन; यसले तिम्रो पेट गडबड हुनेछ” भनेर भनेमा, उनीहरूले भन्छन्, “मलाई तिम्रो विश्‍वास लाग्दैन, म यो खानेछु! परमेश्‍वरले मेरो पेट गडबड गराउनुहुन्छ हुँदैन हेरौँ।” त्यसकारण, उनीहरूले त्यो चिज खान्छन्, र वास्तवमै उनीहरूको पेट गडबड हुन्छ। उनीहरूले मनमनै सोच्छन्, “परमेश्‍वरले किन मेरो रक्षा गर्नुभएन? यसले अरू मानिसहरूको पेट गडबड गराउँछ, तर त्यो त उनीहरूले परमेश्‍वरमा विश्‍वास नगरेकोले हो। म त परमेश्‍वरमा विश्‍वास गर्छु; मेरो पेट पनि किन अरूको जस्तै गरी गडबड भयो?” यो कस्तो व्यवहार हो? (जाँच्ने व्यवहार।) यो उनीहरूले परमेश्‍वरलाई नचिन्नुको नतिजा हो। तर ख्रीष्टविरोधीहरूमा चाहिँ अझै अरू कुरा पनि हुन्छ: तिनीहरू परमेश्‍वरको सारको अस्तित्वलाई बिलकुलै मान्दैनन्, त्यसैले तिनीहरू आफ्नै प्रयास र आफ्नै कल्पनाले काम गर्छन्, तर आस्था बोकेर काम गर्दैनन्। बरु त्यसको साटो, तिनीहरू परमेश्‍वरलाई जाँचिरहेका हुन्छन्। तिनीहरू आफ्नो व्यवहार र क्षणिक सोच, साथै आवेगहरूद्वारा परमेश्‍वर हुनुहुन्छ कि हुन्न, उहाँको सर्वशक्तिमान्‌ता साँचो हो कि होइन, र उहाँले तिनीहरूलाई साँच्चै रक्षा गर्न सक्नुहुन्छ कि हुन्न भनी अनुसन्धान गर्छन्। यदि तिनीहरूको परीक्षण सफल भयो भने, तिनीहरूको आस्था त्यसैको आधारमा जारी रहनेछ; यदि असफल भयो भने, अर्थात् यदि परमेश्‍वरले तिनीहरूलाई निराश तुल्याउनुभयो भने, तिनीहरूले के गर्नेछन्? तिनीहरूले यसो भन्नेछन्, “म परमेश्‍वरमा विश्‍वास गर्न छाड्नेछु। उहाँले मानिसहरूको रेखदेख गर्ने पनि होइन। सबैले परमेश्‍वर नै मानिसको शरण हो भन्छन्—मैले देखेअनुसार त, कुरा त्यस्तो होइन। यी वचनहरू सम्बन्धमा भन्नुपर्दा, मानिसहरूले आफ्नो भविष्यको लागि केही अतिरिक्त योजनाहरू बनाउनु आवश्यक छ; तिनीहरू यी कुराहरूबारे त्यति लाटो हुन मिल्दैन। मानिसहरूले आफ्ना मामलाहरू आफैले समाधान गर्नुपर्छ—उनीहरूले हरेक कुराको निम्ति परमेश्‍वरमा भरोसा गर्न मिल्दैन।” तिनीरूले जाँचबाट निकालेको नतिजा त्यही हो। तँलाई यो नतिजाबारे के लाग्छ? यदि मानिसहरूले सत्यता पछ्याउँछन् भने, के उनीहरूको नतिजा यही हुनेछ त? (हुनेछैन।) किन हुनेछैन? यदि मानिसहरूले सत्यता पछ्याउँछन् भने, उनीहरूले अन्त्यमा राम्रो र सकारात्मक उपलब्धि र नतिजा प्राप्त गर्नेछन्। यसको मतलब, मानिसहरूले जे-जस्ता कामहरू गरे पनि, त्यसको जबाफमा कसरी कार्य गर्ने र ती कुराहरूलाई कसरी लिने भन्नेसम्बन्धी परमेश्‍वरका आफ्नै तरिका र सिद्धान्तहरू छन्, अनि मानिसहरूका पनि निभाउनुपर्ने आफ्नै दायित्वहरू र उनीहरूका आफ्नै नैसर्गिक प्रवृत्तिहरू छन्। परमेश्‍वरले उनीहरूलाई उनीहरूको नैसर्गिक प्रवृत्ति प्रदान गर्नुहुन्छ; उहाँले मानिसहरूलाई सिद्धान्तहरू दिइसक्नुभएको छ, त्यसैले मानिसहरूले परमेश्‍वरका वचनहरूको मार्गदर्शनमा रहेर ती सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्छ। कतिपय कुराहरूमा, बाहिरी रूपमा हेर्दा परमेश्‍वरले मानिसहरूलाई रक्षा गर्नुपर्छ जस्तो देखिन्छ, तर के त्यो “पर्छ” भन्ने कुरा मान्छेबाट आउँछ कि परमेश्‍वरबाट? (मान्छेबाट।) यो मान्छेको दिमागमा कल्पना गरिएको हुन्छ। त्यो “पर्छ” भन्ने कुरा सत्यता होइन; त्यो परमेश्‍वरको जिम्मेवारी होइन। त्यसोभए, परमेश्‍वरले ठ्याक्कै के गर्नुहुन्छ? परमेश्‍वरका कार्य गर्ने तरिकाहरू छन्, र उहाँका आफ्नै सिद्धान्तहरू छन्। कहिलेकाहीँ, तँलाई रक्षा नगरेर, उहाँले तेरो खुलासा गरिरहनुभएको हुन्छ, तैँले कुन मार्ग रोज्छस् भनी हेरिरहनुभएको हुन्छ। कहिलेकाहीँ, कुनै प्रतिकूल वातावरणमार्फत, उहाँले कुनै क्षेत्रको तेरो ज्ञानलाई सिद्ध पारिरहनुभएको हुन्छ, तँलाई सत्यताको कुनै पक्ष प्राप्त गरी केही अर्थमा परिवर्तन हुन दिइरहनुभएको हुन्छ। उहाँले तँलाई दह्रिलो पारिरहनुभएको र तेरो वृद्धि गराइरहनुभएको हुन्छ। छोटकरीमा भन्‍नुपर्दा, परमेश्‍वरले जे-जसरी काम गर्नु भए पनि, उहाँसित आफ्नै सिद्धान्त र कारणहरू, साथै आफ्नै लक्ष्य र उद्देश्यहरू हुन्छन्। यदि तैँले “परमेश्‍वरले मेरो रक्षा गर्नुपर्छ, र उहाँले यस्तो-यस्तो तरिकाले कार्य गर्नुपर्छ” भन्ने कुरालाई सत्यताको रूपमा लिन्छस्, त्यसलाई त्यही रूपमा पालना गर्छस्, र त्यसमार्फत परमेश्‍वरलाई मागहरू राख्छस् भने, परमेश्‍वरले त्यसरी काम नगर्नुहुँदा, तँ र परमेश्‍वरबीच द्वन्द्व उत्पन्न हुनेछ। जब यस्तो द्वन्द्व उत्पन्न हुन्छ, परमेश्‍वर दोषी हुनुहुनेछैन। अनि, दोषी को हुनेछ? (मान्छे।) यो मानिसहरूको दृष्टिकोण, र उनीहरूले गलत अडान लिने र गलत स्थान ओगट्ने समस्याबाट सुरु हुन्छ। जब तैँले परमेश्‍वरलाई कुनै निश्‍चित तरिकाले कार्य गर्न अनुरोध गर्छस्, तँलाई त्यो निकै जायज लाग्नेछ। तर यदि तैँले एक कदम पछि सरेर समर्पित हुन र स्विकार्न सक्छस् भने, तँलाई त्यो जायज लाग्नेछैनन्, र त्यो तेरो भ्रष्ट स्वभाव र अव्यावहारिक माग हो भन्ने महसुस हुनेछ। यसरी तैँले स्विकार्न सक्दा, परमेश्‍वरले तँलाई तैँले प्राप्त गर्नुपर्ने मात्रामा सत्यता र ज्ञान प्रदान गर्नुहुनेछ। परमेश्‍वरको दृष्टिकोणमा, तैँले सबैभन्दा बढी प्राप्त गर्नैपर्ने त्यही सत्यताको तत्व हो, कुनै सानोतिनो अनुग्रह वा आशिष् होइन। तेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर परमेश्‍वरलाई मात्र थाहा छ, र त्यो कुरा उहाँले तँलाई सही समयमा सही मात्रामा प्रदान गर्नुहुनेछ। अर्कोतिर, ख्रीष्टविरोधीहरूले सत्यता वा पवित्र आत्माको कामलाई मान्यता दिँदैनन्। सत्यताबारे जोसुकैले सङ्गति गरेर परमेश्‍वरको प्रेम र मुक्तिको गवाही दिए पनि, ख्रीष्टविरोधीले त्यसलाई स्विकार्न नमान्ने मात्र होइन, ऊ त्यसप्रति घिनाउने र प्रतिरोधीसमेत हुनेछ। ख्रीष्टविरोधी र साधारण भ्रष्ट मानिसहरूबीचको भिन्नता यही हो।

हामी परमेश्‍वरको पहिचान र उहाँको अद्वितीय सार नकार्ने ख्रीष्टविरोधीहरूको विशेषताबारे हाम्रो सङ्गति यहीँ टुङ्ग्याउनेछौँ। के तिमीहरूसँग थप प्रश्‍नहरू छन्? (परमेश्‍वर, मसँग एउटा प्रश्‍न छ। मैले सुसमाचार प्रचार गरिरहेको बेलामा प्रभुका विश्‍वासीहरू धेरै भेट्छु, र उनीहरू सबैजना पावलको “मेरो लागि त जिउनु ख्रीष्ट हो” भन्ने दृष्टिकोण पालना गर्न दृढ हुन्छन्। उनीहरूले सोच्छन् कि यदि उनीहरूले पावलका शब्दहरूको मापदण्ड पूरा गर्न सके भने, उनीहरू परमेश्‍वर बन्न सक्छन्। के यो ख्रीष्टविरोधीहरूको अर्को प्रकटीकरण, साथै परमेश्‍वरको अद्वितीय सारको इन्कार पनि होइन र?) धेरथोर रूपमा हो। विशेषगरी ख्रीष्टविरोधीहरू परमेश्‍वर बन्न चाहने भएकाले तिनीहरूले परमेश्‍वरको अद्वितीयता अस्वीकार गर्छन्। पावलका यी वचनहरू तिनीहरूलाई विशेष रूपमा प्रिय लाग्छ: “मेरो लागि त जिउनु नै ख्रीष्ट हो, जिउनु नै परमेश्‍वर हो, परमेश्‍वरको जीवनको साथमा म नै परमेश्‍वर हुँ।” तिनीहरूले के विश्‍वास गर्छन् भने, यदि यो दृष्टिकोण साँचो साबित भयो भने तिनीहरू परमेश्‍वर बन्ने, राजाले झैँ शासन गर्ने र मानिसहरूमाथि नियन्त्रण कायम गर्ने आशा हुन्छ; यदि यो पूरा भएन भने, राजाले जस्तो शासन गर्ने र परमेश्‍वर बन्ने तिनीहरूको आशा चकनाचूर हुन्छ। छोटकरीमा भन्नुपर्दा, शैतान सधैँ परमेश्‍वरको बराबर हुन चाहन्छ—र ख्रीष्टविरोधीहरू पनि त्यही चाहन्छन्: तिनीहरूसँग पनि त्यही सार हुन्छ। उदाहरणको लागि, परमेश्‍वरलाई पछ्याउनेहरूमाझ, केही मानिसहरू यस्ता हुन्छन् जसले निरन्तर परमेश्‍वरको बढाइ गर्छन् र उहाँको साक्षी दिन्छन्, उहाँको कामको बारेमा अनि उहाँका वचनहरूको न्याय र सजायले मानिसमा पार्ने प्रभावको बारेमा साक्षी दिन्छन्। तिनीहरूले मानिसलाई मुक्ति दिने परमेश्‍वरका सबै कामको प्रशंसा गर्छन्, र तिनीहरूले परमेश्‍वरले चुकाउनुभएको मूल्यको पनि प्रशंसा गर्छन्। ख्रीष्टविरोधीहरू पनि यी सबै कुराहरूको आनन्द लिन चाहन्छन् कि चाहँदैनन् त? तिनीहरू मानिसहरूबाट समेत समर्थन, चापलुसी र बढाइचढाइ अर्थात् प्रशंसाको आनन्द उठाउन चाहन्छन्। अनि तिनीहरूले अरू के-कस्ता लाजविहीन विचारहरू सृजना गर्छन् त? तिनीहरू सबै कुराहरूमा मानिसहरूले तिनीहरूमा विश्‍वास गरून्, तिनीहरूमा भर परून् भन्ने चाहन्छन्; मानिसहरू परमेश्‍वरमाथि भर पर्नु पनि ठीकै कुरा हो—तर परमेश्‍वरमाथि भर पर्दाको बखत, यदि तिनीहरूको लागि ख्रीष्टविरोधीहरूमाथि भर पर्नु पनि झनै वास्तविक र साँचो हुन्छ भने, यी ख्रीष्टविरोधीहरू औधी खुसी हुनेछन्। यदि तैँले परमेश्‍वरलाई प्रशंसा गर्दा र परमेश्‍वरले तँलाई प्रदान गर्नुभएको अनुग्रहहरूको गन्ती गर्दा, तैँले यी ख्रीष्टविरोधीहरूका सराहनीय उपलब्धिहरूलाई पनि जोडजाड गर्छस् र दाजुभाइ-दिदीबहिनीहरूमाझ तिनीहरूको लागि प्रशंसा गान गाउँछस्, तिनीहरूले गर्ने हरेक कामलाई टाढा-टाढासम्म प्रचारप्रसार गर्छस् भने, तिनीहरू आफ्नो हृदयमा अद्भुत रूपमै तृप्त हुनेछन्, र तिनीहरू सन्तुष्ट हुनेछन्। यसरी, ख्रीष्टविरोधीहरूको प्रकृति सारको दृष्टिकोणबाट कुरा गर्दा, जब तैँले परमेश्‍वरसँग अख्तियार छ, उहाँ धर्मी हुनुहुन्छ र उहाँले मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ भनेर भन्छस्, जब तैँले परमेश्‍वरसँग मात्र त्यस्तो सार छ, परमेश्‍वरले मात्र यस प्रकारको काम गर्न सक्नुहुन्छ र यी कामकुराहरू गर्नको लागि कसैले पनि उहाँको स्थान लिन वा उहाँको प्रतिनिधित्व गर्न सक्दैन भनेर भन्छस्: जब तैँले यस्तो कुरा भन्छस्, तब ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा ती वचनहरूलाई स्वीकार गर्दैनन्, र ती वचनहरूप्रति मानिलिन इन्कार गर्छन्। किन तिनीहरूले तिनलाई स्वीकार गर्दैनन् त? किनभने तिनीहरूसँग आकांक्षाहरू हुन्छन्—यो समस्याको एउटा पक्ष यही हो। अर्को पक्षचाहिँ के हो भने, तिनीहरूले देहधारी मानिसलाई परमेश्‍वर हुनुहुन्छ भनी न त विश्‍वास न त स्वीकार नै गर्छन्। जब कसैले परमेश्‍वर अद्वितीय हुनुहुन्छ, परमेश्‍वर मात्रै धर्मी हुनुहुन्छ भनेर भन्छ, तब तिनीहरूले आफ्नो हृदयभित्र यस कुराप्रति असहमति जनाउँछन् र भित्रभित्रै विरोध गर्छन्, र भन्छन्, “गलत—म पनि त धर्मी छु!” जब तैँले परमेश्‍वर मात्रै पवित्र हुनुहुन्छ भनेर भन्छस्, तिनीहरूले भन्नेछन्: “गलत—म पनि त पवित्र छु!” यसको एउटा उदाहरण पावल हुन्: जब मानिसहरूले प्रभु येशूले मानवजातिको लागि उहाँको अमूल्य रगत दिनुभयो, उहाँले पापबलिको रूपमा काम गर्नुभयो, र मानवजातिलाई मुक्ति दिनुभयो, र पापबाट सारा मानवजातिको छुटकारा गराउनुभयो भनी प्रभु येशू ख्रीष्टका वचनहरू प्रचार गर्थे—यो कुरा सुन्दा पावलले कस्तो अनुभूति गर्थे त? के तिनले यी सबै कुराहरू परमेश्‍वरको काम हो भनी स्वीकार गर्थे त? के तिनले यी सबै कुराहरू गर्न सक्ने एउटै उहाँ ख्रीष्ट हुनुहुन्छ र यी सबै कुराहरू ख्रीष्टले मात्र गर्न सक्नुहुन्थ्यो भनी स्वीकार गर्थे त? अनि के तिनले यी सबै कुराहरू गर्न सक्ने एउटै उहाँले मात्र परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्नुहुन्छ भनी स्वीकार गर्थे त? तिनले स्वीकार गर्दैनथे। तिनले भन्थे: “यदि येशूलाई क्रूसमा टाँग्न सकिन्थ्यो भने, मानिसहरूलाई पनि क्रूसमा टाँग्न सकिन्थ्यो! यदि उहाँले अमूल्य रगत दिन सक्नुहुन्थ्यो भने, मानिसहरूले पनि दिन सक्थे! यसअलावा, मैले पनि प्रचार गर्न सक्छु र म उहाँभन्दा बढी जानकार छु, र म कष्ट सहन गर्न सक्छु! यदि तैँले उहाँलाई ख्रीष्ट भन्छस् भने, के मलाई पनि ख्रीष्ट भन्नुपर्दैन र? यदि तैँले उहाँको पवित्र नामको प्रचार गर्छस् भने, के तैँले मेरो नामको पनि प्रचार गर्नु पर्दैन र? यदि उहाँ ख्रीष्ट कहलिन योग्य हुनुहुन्छ भने, यदि उहाँले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्नुहुन्छ भने, र यदि उहाँ परमेश्‍वरको छोरा हुनुहुन्छ भने, के हामी पनि त्यस्तै नै होइनौ र? परमेश्‍वरको लागि कष्ट सहन सक्ने र मूल्य चुकाउन सक्ने, र मेहनत र काम गर्न सक्ने हामी—के हामीलाई ख्रीष्ट भन्न मिल्दैन र? परमेश्‍वरद्वारा अनुमोदित हुनु र ख्रीष्ट भनेर बोलाइनु कसरी ख्रीष्टभन्दा फरक छ र?” छोटकरीमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरू परमेश्‍वरको सारको पक्ष अर्थात् उहाँको अद्वितीयता बोध गर्न असफल भएका हुन्छन्, र तिनीहरूले वास्तवमा परमेश्‍वरको अद्वितीयता भनेको के हो भनी बुझ्दैनन्। तिनीहरूले यस्तो विश्‍वास गर्छन्, “ख्रीष्ट हुनु वा परमेश्‍वर हुनु भनेको लडाइँमार्फत शक्ति प्राप्त गरेझैँ व्यक्तिले आफ्नो सिप र क्षमताको बलमा प्राप्त गर्ने कुरा हो। तपाईंमा परमेश्‍वरको सार छ भन्दैमा तपाईं ख्रीष्ट कहलिन पाउनुहुन्न; यो त तपाईंले सिपमार्फत कठिनाइपूर्वक प्राप्त गर्ने नतिजा हो। यो बाह्य संसारमा हुने कुराहरूजस्तै हो—जो बढी दक्ष र क्षमतावान् छ, ऊ नै महत्वपूर्ण अधिकारी बन्न सक्छ र उसले नै निर्णय गर्न सक्छ।” यो तिनीहरूको तर्क हो। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी स्वीकार गर्दैनन्। परमेश्‍वरका वचनहरूमा कुरा गरिएका परमेश्‍वरका सार र स्वभाव तिनीहरूले बुझ्दैनन्; तिनीहरू सिप र अनुभवहीन मानिसहरू हुन्, र तिनीहरू अनभिज्ञ हुन्छन्, त्यसकारण तिनीहरूको कुराकानीमा अनुभवहीनहरूका वचनहरू, र आत्मिक बुझाइविनाका वचनहरू हुन्छन्। यदि तिनीहरूले केही वर्षसम्म काम गरेका छन् भने, र यदि तिनीहरूले आफू कष्ट भोग्न र मूल्य चुकाउन सक्षम छु, धर्मसिद्धान्तहरू प्रचार गर्दा ठूलठूला कुरा गर्न सक्छु, ढोंग गर्न सिकेको छु र अरूलाई भ्रममा पार्न सक्छु, साथै केही मानिसहरूको समर्थन प्राप्त गरेको छु भन्ने सोच्छन् भने, स्वाभाविक रूपमा, तिनीहरूले आफू ख्रीष्ट बन्न र परमेश्‍वर बन्न सक्छु भन्‍ने विश्‍वास गर्छन्।

के तिमीहरूसित थप प्रश्‍नहरू छन्? (परमेश्‍वर, तपाईंले परमेश्‍वरको जाँच गर्नुको अर्थबारे हामीसँग अझै सङ्गति गर्नुहुन्थ्यो कि? परमेश्‍वरलाई जाँच्ने कार्य मानिसहरूमा कुन-कुन रूपमा प्रकट हुन्छन्?) परमेश्‍वरको जाँच तब हुन्छ जब मानिसहरूलाई परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भन्‍ने थाहा हुँदैन, र तिनीहरूले उहाँलाई नचिनेर वा नबुझेर बारम्बार उहाँप्रति अनुचित मागहरू राख्छन्। उदाहरणको लागि, कोही बिरामी हुँदा, उसले परमेश्‍वरले नै उसलाई निको पार्नुपर्छ भनी प्रार्थना गर्न सक्छ। “म उपचारको खोजीमा लाग्दिनँ—परमेश्‍वरले मलाई निको पार्नुहुनेछ कि छैन हेरौँ।” त्यसैले, निकै समय प्रार्थना गरेपछि पनि परमेश्‍वरले केही नगर्नुहुँदा, उसले भन्छ, “परमेश्‍वरले केही पनि गर्नुभएन, त्यसैले म औषधि लिनेछु र उहाँले मलाई रोक्नुहुन्छ कि हुन्न हेर्नेछु। यदि उक्त औषधि मेरो घाँटीमा अड्कियो, वा यदि मैले पानी पोखाएँ भने, त्यो परमेश्‍वरले मलाई रोक्नुभएको र त्यो सेवन गर्न नदिन खोज्‍नुभएको हुन सक्छ।” जाँच भनेको त्यही हो। अथवा उदाहरणको लागि, तँलाई सुसमाचार प्रचार गर्न लगाइयो रे। सामान्य परिस्थितिहरूमा, तेरो कर्तव्यमा के-के पर्छन् र तैँले के गर्नुपर्छ भन्नेबारे सबैले सङ्गति र विचारविमर्शमार्फत निर्णय गर्छन्, र त्यसपछि सही समय आएपछि तैँले त्यो काम गर्छस्। यदि तैँले काम गरिरहेको बेलामा केही आइपर्‍यो भने, त्यो परमेश्‍वरको सार्वभौमिकता हो—यदि परमेश्‍वरले रोक्नुहुन्थ्यो भने, उहाँले सक्रिय रूपमै रोक्नुहुनेछ। तर मानौँ तैँले प्रार्थनामा यसो भन्छस् रे, “हे परमेश्‍वर, आज म सुसमाचार प्रचार गर्न बाहिर जाँदै छु। के म बाहिर जानु तपाईंको इच्छाबमोजिम हुन्छ? थाहा छैन, आजको सम्भावित सुसमाचार ग्रहणकर्ताले यसलाई स्विकार्न सक्छ सक्दैन, र तपाईंले यसलाई ठ्याक्कै कुन तरिकाले सञ्चालन गर्नुहुन्छ। मेरो अनुरोध छ, तपाईंका प्रबन्धहरू, र तपाईंका मार्गदर्शनहरू गरिपाऊँ, र तपाईंले मलाई यी कुराहरू देखाइदिनुहोस्।” प्रार्थना गरेपछि, तँ चलमल नगरी त्यहीँ बस्छस्, र भन्छस्, “परमेश्‍वरले त्यसबारे किन केही पनि भन्नुहुन्न? सायद मैले उहाँका वचनहरू पर्याप्त मात्रामा नपढ्ने हुनाले उहाँले मलाई ती कुराहरू देखाउन नसक्‍नुभएको हो कि। यदि त्यसो हो भने, म तुरन्तै त्यता बाहिर निस्‍कनेछु। यदि म अघि बढ्ने क्रममा घोप्टो लडेँ भने, सायद त्यो परमेश्‍वरले मलाई रोकिरहनुभएको हुन सक्छ, तर यदि सबथोक सहज रूपमा अघि बढ्यो र परमेश्‍वरले मलाई रोक्नुभएन भने, त्यो परमेश्‍वरले मलाई अघि बढ्न दिनुभएको हुन सक्छ।” त्यो एउटा जाँच हो। हामी किन त्यसलाई जाँच भनिरहेका छौँ? परमेश्‍वरको काम व्यावहारिक हुन्छ; मानिसहरूले आफूले गर्नुपर्ने कर्तव्यहरू गरे, आफ्ना दैनिक जीवन मिलाए, र सिद्धान्तहरूअनुसार हुनेगरी आफ्नो सामान्य मानवताको जीवन जिए पुग्छ। परमेश्‍वरले कसरी कार्य गर्नुहुनेछ वा उहाँले कस्तो मार्गदर्शन दिनुहुनेछ भनी अनुसन्धान गर्नु आवश्यक छैन। आफूले गर्नुपर्ने काम गर्नतिर मात्र ध्यान दे; सधैँ अन्य कुराहरू नसोच्, जस्तो कि, “के परमेश्‍वरले मलाई यसो गर्न दिनुहुन्छ, कि दिनुहुन्न? यदि मैले यसो गरेँ भने, परमेश्‍वरले मलाई कसरी सम्हाल्‍नुहुनेछ? के मैले यसलाई यो तरिकाले गर्नु ठिक हो?” यदि कुनै कुरा ठिक हो भन्ने प्रस्ट छ भने, त्यही काम गर्नतिर मात्र ध्यान दे; अनेकथरीका कुराहरूबारे सोच्नतिर नलाग्। परमेश्‍वरको मार्गदर्शनको लागि प्रार्थना गर्नुचाहिँ अवश्यै ठिकै हो, यस दिन उहाँले तेरो जीवनलाई मार्गदर्शन गरिदिनुहोस्, उहाँले आज तैँले निर्वाह गर्ने कर्तव्यलाई मार्गदर्शन गरिदिनुहोस् भनी प्रार्थना गर्नु ठिकै हो। व्यक्तिमा समर्पणको हृदय र मनोवृत्ति भए पुग्छ। उदाहरणको लागि, तँलाई थाहै छ, यदि तैँले हातले बिजुली छोइस् भने, तँलाई झट्का लाग्नेछ, र तैँले आफ्नो ज्यान गुमाउन पनि सक्छस्। तैपनि तैँले त्यसबारे यस्तो सोच्छस्: “केही छैन, परमेश्‍वरले मेरो रक्षा गरिरहनुभएको छ। परमेश्‍वरले मेरो रक्षा गर्नुहुनेछ कि छैन र परमेश्‍वरको सुरक्षाले कस्तो अनुभूति गराउँछ भनी हेर्न मैले कोसिस मात्र गर्नुपर्छ।” त्यसपछि तैँले हातले त्यसलाई छुन्छस्, र फलस्वरूप, तँलाई झट्का लाग्छ—त्यो एउटा जाँच हो। कतिपय कुराहरू प्रस्ट रूपले गलत हुन्छन् र ती गर्नु हुँदैन। तैपनि, परमेश्‍वरले कस्तो प्रतिक्रिया दिनुहुनेछ भनी हेर्न, यदि तैँले गरिछोड्छस् भने, त्यो एउटा जाँच हो। कतिपय मानिसहरू भन्छन्, “मानिसहरूले राम्रा-राम्रा कपडा लगाएर आफूलाई आकर्षक बनाएको र बाक्लो मेकअप घसेको परमेश्‍वरलाई मन पर्दैन। तर म त्यसै गर्छु र परमेश्‍वरले भित्री रूपमा धिक्कार्नुहुँदा कस्तो महसुस हुन्छ त्यो हेर्नेछु।” मेकअप गरिसकेपछि तिनीहरूले ऐनामा हेर्छन्: “अहो, म त भूतजस्तै देखिन्छु, तर मलाई यो अलि घिनलाग्दो देखिने र आफूलाई ऐनामा हेर्न नसकिने मात्र महसुस भयो। त्यसबाहेक अरू केही पनि महसुस भएन—मलाई परमेश्‍वरले घृणा गर्नुभएको महसुस भएन, र उहाँका वचनहरूले मलाई तत्काल प्रहार गरेको र निन्दा र न्याय गरेको पनि महसुस भएन।” यो कस्तो व्यवहार हो? (जाँच्ने व्यवहार।) यदि तैँले कहिलेकाहीँ आफ्नो कर्तव्यमा झारा टार्छस्, र त्यो कुरा तँलाई प्रस्ट रूपले थाहा छ भने, तैँले पश्‍चात्ताप गरेर आफूलाई परिवर्तन गरे पुग्छ। तर तँ त सधैँ प्रार्थना गरिरहेको हुन्छस्, “हे परमेश्‍वर, म झाराटारुवा भएँ—मेरो अनुरोध छ, तपाईं मलाई अनुशासनमा राख्नुहोस्!” तेरो अन्तस्करणले के उद्देश्यको काम गर्छ? यदि तँसित अन्तस्करण छ भने, तैँले आफ्नो व्यवहारको जिम्मेवारी लिनुपर्छ। तैँले त्यसमा लगाम लाउनुपर्छ। परमेश्‍वरलाई प्रार्थना नगर्—त्यो प्रार्थना एउटा जाँच बन्नेछ। एउटा गम्भीर कुरालाई लिएर त्यसबारे ठट्टा गर्नु एउटा जाँच हो र परमेश्‍वरले त्यसलाई घृणा गर्नुहुन्छ। मानिसहरूले कुनै समस्या सामना गरी परमेश्‍वरलाई प्रार्थना गर्दा र उहाँलाई खोज्दाको समयमा, अनि उनीहरूले देखाउने केही मनोवृत्ति, माग, र परमेश्‍वरप्रतिको व्यवहारमा, प्राय केही जाँचहरू देखा पर्ने गर्छन्। अनि, यी जाँचका मूलभूत पक्षहरू के हुन्? यो कि, तँ परमेश्‍वरले कस्तो व्यवहार गर्नुहुनेछ, वा परमेश्‍वरले कुनै कुरा गर्न सक्नुहुन्छ कि हुन्न भनी हेर्न चाहन्छस्। तँ परमेश्‍वरबारे अनुसन्धान गर्न चाहन्छस्; तँ यो मामलामार्फत परमेश्‍वर कस्तो हुनुहुन्छ, परमेश्‍वरले बोल्नुभएका कुन वचनहरू सही र सटीक छन्, कुन साँचो बन्न सक्छन्, र उहाँले कुन वचनहरू पूरा गर्न सक्नुहुन्छ भनी पुष्टि गर्न चाहन्छस्। यी सबै जाँचहरू हुन्। के यस्ता कार्यशैलीहरू तिमीहरूमा नियमित रूपमा देखा पर्छन्? मानौँ कि तैँले कुनै काम सही गरेको छस् छैनस्, वा त्यो सत्यता सिद्धान्तहरूसँग मिल्छ मिल्दैन भनी तँलाई थाहा छैन रे। यहाँ, तैँले यो मामलामा जे गरेको छस् त्यो जाँच हो होइन, वा त्यो सकारात्मक हो होइन भनी पुष्टि गर्न सक्ने दुइटा विधिहरू छन्। एउटा विधि भनेको विनम्र र सत्यता खोजी गर्ने हृदय धारण गर्नु, र यसो भन्नु हो, “मलाई आइपरेको कुरालाई मैले यसरी सम्हालेको र हेरेको छु, र मैले यसलाई यो तरिकाले सम्हालेकोले अहिले यो यस्तो भएको छ। मैले गर्नुपर्ने यही थियो कि थिएन भनेर मैले कुनै भेउ पाएको छुइनँ।” यस्तो मनोवृत्तिबारे तँलाई के लाग्छ? यो सत्यता खोज्ने मनोवृत्ति हो—यसमा कुनै जाँच छैन। मानौँ तैँले “सङ्गति गरेपछि यो कुराबारे सबैले सँगै निर्णय गर्नुपर्छ” भनेर भन्छस् रे। अनि, कसैले सोध्छ रे, “यसको प्रभारी को हो? मुख्य निर्णयकर्ता को हो?” अनि तैँले भन्छस् रे: “सबैजना।” अनि, यसमा तेरो अभिप्राय यस्तो हुन्छ रे: “यदि तिनीहरूले यो कुरालाई सिद्धान्तहरूबमोजिम सम्हालिएको रहेछ भनेर भनेमा, म यो मैले गरेको हुँ भन्नेछु। यदि तिनीहरूले यसलाई सिद्धान्तहरूबमोजिम सम्हालिएको रहेनछ भनेर भनेमा, म सुरुमा यो कसले गरेको हो र कसले निर्णय गरेको हो भनेर भन्दिनँ। यसो गरेमा, यदि तिनीहरूले दोषारोपण गर्न जिद्‌ नै कसे पनि, मलाई दोष लगाउनेछैनन्, र कोही अपमानित भयो नै भने पनि, म एक्लै अपमानित हुनेछैन।” यदि तैँले त्यस्तो अभिप्रायले बोल्छस् भने, त्यो एउटा जाँच हो। कसैले यसो भन्‍न सक्छ, “मान्छेले सांसारिक कुराहरू पछ्याउँदा परमेश्‍वरले घृणा गर्नुहुन्छ। उहाँले मानवजातिका स्मृति दिवस र चाडपर्वजस्ता कुराहरू घृणा गर्नुहुन्छ।” अब तँलाई यो कुरा थाहा भइसकेपछि, परिस्थितिहरूले साथ दिएसम्म तैँले यस्ता कुराहरू पन्छाउने सक्दो प्रयास गर्न सक्छस्। तर मानौँ कुनै चाडपर्वमा काम गर्ने क्रममा तैँले जानाजान सांसारिक मामलाहरू पछ्याउँछस्, र तैँले त्यसो गर्दा तेरो अभिप्राय यस्तो हुन्छ रे: “म त मैले यसो गर्दा परमेश्‍वरले मलाई अनुशासनमा राख्नुहुनेछ कि छैन, उहाँले मप्रति कुनै चासो राख्नुहुनेछ कि छैन भनेर मात्र हेरिरहेको छु। म त मप्रति उहाँको मनोवृत्ति कस्तो छ, र उहाँको घृणा कति हदसम्‍म जाँदो रहेछ भनेर मात्र हेरिरहेको छु। भन्छन्, परमेश्‍वर यसलाई घृणा गर्नुहुन्छ रे, उहाँ पवित्र र ईर्ष्यालु हुनुहुन्छ रे, त्यसैले म उहाँको ईर्ष्या कस्तो छ र उहाँले मलाई कसरी अनुशासनमा राख्नुहुनेछ त्यो हेर्नेछु। मैले यी काम गर्दा, यदि परमेश्‍वरले मलाई बान्ता गराउनुभयो, चक्कर लगाउनुभयो, र ओछ्यानबाट निस्कन नसक्ने तुल्याउनुभयो भने, परमेश्‍वरले यी कुराहरूलाई साँच्चै घृणा गर्नुहुन्छ भन्ने देखिनेछ। उहाँ बोलिरहनुभएको मात्र हुनेछैन—तथ्यहरू पनि आफै प्रस्ट बन्नेछन्।” यदि तँ सधैँ यस्तो दृश्य देख्ने आशामा हुन्छस् भने, तँसित कस्तो व्यवहार र अभिप्राय छन् त? ती जाँच्ने व्यवहार र अभिप्राय हुन्। मान्छेले परमेश्‍वरलाई कहिल्यै जाँच्नु हुँदैन। जब तैँले परमेश्‍वरलाई जाँच्छस्, तँबाट उहाँ लुक्‍नुहुनेछ र आफ्नो अनुहार छोप्नुहुनेछ, अनि तेरा प्रार्थनाहरू बेकार हुनेछन्। कतिपयले सोध्‍न सक्छन्, “म हृदयमा इमानदार भएर पनि हुँदैन र?” हो, तँ हृदयमा इमानदार भएर पनि हुँदैन। परमेश्‍वरले मानिसहरूलाई उहाँको जाँच गर्न दिनुहुन्न; उहाँ ईर्ष्यालु हुनुहुन्छ। जब तैँले यी दुष्ट विचार र सोचहरू मनमा खेलाउँछस्, परमेश्‍वर तँबाट लुक्नुहुनेछ। उहाँले तँलाई अन्तर्दृष्टि दिन छोड्नुहुनेछ, बरु तँलाई पाखा लगाउनुहुनेछ, अनि तेरो वास्तविकता खुलासा हुञ्जेल तैँले मूर्ख, उपद्रव, र बाधक कामहरू गर्दै जानेछस्। मानिसहरूले परमेश्‍वरलाई जाँज गर्दा आउने परिणाम यही हो।

(परमेश्‍वर, मेरो एउटा प्रश्‍न छ। म मण्डलीमा सरसामान व्यवस्थापन गर्छु। यो कर्तव्यप्रति मेरो मनोवृत्ति सधैँ बेवास्ते र अगम्भीर रहँदै आएको छ। दाजुभाइ-दिदीबहिनीहरूले मेरो गल्ती औँल्याए र काटछाँट गरे, र तिनीहरूले मसँग परमेश्‍वरले एकपटक उदाहरणको रूपमा दिनुभएको एउटा मान्छेले गोप्य रूपमा खोकीको औषधि सेवन गरेकोबारे सङ्गति गरे, जसलाई परमेश्‍वरले अनुशासनमा राख्‍ने वा हप्काउने काम गर्नुभएन, बरु उसले त्यो औषधि सेवन गरेपछि उहाँले उसलाई हटाउइदिनुभयो। परमेश्‍वरको स्वभावले मान्छेका अपराधहरू सहँदैन—मलाई ती वचनहरू थाहा छ, तर मेरो दृष्टिकोणमा परमेश्‍वर कृपालु र प्रेमिलो हुनुहुन्छ, उहाँले मलाई त्यो मान्छेलाई झैँ व्यवहार गर्नु हुँदैन। त्यसैले, म डराएको छैन। परमेश्‍वरको आजको सङ्गतिको आधारमा, मलाई आफूमा परमेश्‍वरको जाँच गर्ने र उहाँसित कहिल्यै नडराउनेजस्ता उहाँको धर्मी स्वभावप्रति शङ्कालु मनोवृत्ति र ख्रीष्टबिरोधी व्यवहार रहेको महसुस हुन्छ।) कुनै व्यक्तिप्रति परमेश्‍वरको मनोवृत्ति त्यो व्यक्ति उहाँसँग डराएको छ कि छैन भन्ने कुरामा आधारित हुँदैन, न त कुनै मामलामा त्यो व्यक्तिले राख्ने क्षणिक मनोवृत्तिमा नै आधारित हुन्छ। व्यक्तिले आफ्नो जीवनका मामूली मामलाहरूमा देखाउने र प्रकट गर्न सक्ने खराब बानी र गैरजिम्मेवार तौरतरिकाहरूलाई परमेश्‍वरले गम्भीर समस्या ठान्नुहुन्न। आफ्नो आवश्यक कर्तव्यमा आफूलाई समर्पित गर्न र जिम्मेवारी बहन गर्न सके मात्र पनि पर्याप्त हुन्छ। यदि तँ आफूलाई सरसामान व्यवस्थापनको जिम्मेवारी लिन सधैँ असक्षम महसुस गर्छस्, र तँ यसलाई राम्रोसँग गर्न आफ्नो सारा शक्ति समर्पित गर्न सक्दैनस् भने, त्यसले के देखाउँछ? एकातिर, यसले तँ व्यवस्थापनमा राम्रो छैनस् भन्ने देखाउँछ; त्यसबाहेक, यसले तँ कामको लागि उपयुक्त छैनस् भन्ने देखाउँछ। यदि तँलाई त्यो जागिरमा रहिरहँदा, कुनै दिन विपत्ति निम्तिन सक्छ जस्तो लाग्छ भने, त्यो स्थानमा अरू कसैलाई सिफारिस गर्नु नै उत्तम हुन्छ; तेरो सट्टामा मण्डलीको उपयुक्त अरू कसैलाई त्यो काम गर्न दे, र त्यसपछि तैँले आफ्नो दक्षता र रूचिअनुसारको काम गर्, र त्यो कर्तव्य निर्वाह गर्दा इमानदार बन्। यसबाहेक, यदि कसैले साँच्चै सत्यतालाई प्रेम गर्छ र साँच्चै परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न, साथै इज्जतसाथ जिउन, र अरूद्वारा नघिनाइन, बरु सम्मानित हुन चाहन्छ भने, ऊ सबै कुरा राम्ररी गर्न दृढ सङ्कल्पित हुनुपर्छ। त्यसो गर्दा, उसले परमेश्‍वरको सामु यसो भन्ने इच्छा राख्नुपर्छ: परमेश्‍वर, यदि मैले राम्रो गर्न सकिनँ भने मलाई अनुशासित गर्नुहोस्—कृपया आफ्नो काम गर्नुहोस्। मानिसहरू अरूका कमजोर व्यवस्थापकहरू हुन्; बढीमा, तिनीहरूले कसैलाई कुनै एउटा क्षेत्रमा प्रतिभावान् बन्न सिकाउन सक्छन्। तर कसैले हिँड्ने मार्ग, जीवनबारे उसको दृष्टिकोण, उसले जीवनमा रोज्ने लक्ष्यहरू, र ऊ कस्तो प्रकारको व्यक्ति बन्न रोज्नेछ भन्ने सम्बन्धमा, उसलाई कसैले मद्दत गर्न सक्दैन। परमेश्‍वरका वचनहरू र परमेश्‍वरले मात्र मानिसहरूलाई परिवर्तन गर्न सक्‍नुहुन्छ। यो कुरा कसरी प्रकट हुन्छ? त्यसमा मानिसहरू आफैँ असहाय हुन्छन्—तिनीहरूले कामकुरा परमेश्‍वरलाई नै सम्हाल्न दिनुपर्छ। त्यसोभए, परमेश्‍वरले काम गर्न इच्छुक हुनुअघि, उहाँलाई काम गर्न दिनको लागि व्यक्तिले कस्तो मापदण्ड पूरा गर्नुपर्छ? तिनीहरूले सर्वप्रथम यस्तो इच्छा र आकाङ्क्षा राख्‍नुपर्छ, र यसो भन्नुपर्छ “मलाई थाहा छ मैले कहिल्यै यो काम राम्रोसँग गर्न सकेको छैन। दाजुभाइ-दिदीबहिनीहरू सन्तुष्ट भएका छैनन्—म आफैँ पनि सन्तुष्ट भएको छैन—तर म यसलाई राम्रोसँग गर्न चाहन्छु। म के गरूँ? म परमेश्‍वरसामु आएर प्रार्थना गर्नेछु र उहाँलाई ममा काम गर्न दिनेछु।” यदि तैँले आफूमा परमेश्‍वरलाई काम गर्न दिन्छस् भने, तैँले सर्वप्रथम कष्ट भोग्न सक्छस्—जब परमेश्‍वरले तँलाई अनुशासित गर्नुहुन्छ, तँलाई हप्काउनुहुन्छ, तैँले यी कुराहरू स्विकार्न सक्‍नुपर्छ। आज्ञाकारी हुनु र हृदयमा स्वीकार गर्नु भनेको कुनै पनि कामको राम्रो सुरुवात हुनु हो। यो भन्‍न सकिन्छ कि, पूर्ण रूपमा मुक्ति पाउनुअघि सबैले परमेश्‍वरको धार्मिकता र सर्वशक्तिमान्‌ताबारे शङ्का गर्छन्। तर फरक के छ भने, साधारण भ्रष्ट मानिसहरू, आफ्नो शङ्काको बाबजुद पनि, सामान्य रूपमा कर्तव्य निभाउन, र सत्यता पछ्याउन, र अलिअलि गर्दै परमेश्‍वरलाई चिन्न सक्छन्; तिनीहरूको व्यक्तिगत आकाङ्क्षा सक्रिय र सकारात्मक हुन्छ। ख्रीष्टविरोधीहरू ठीक उल्टो हुन्छन्: तिनीहरूमा स्वीकार र आज्ञापलन नगर्ने व्यक्तिगत आकाङ्क्षाहरू हुन्छन्, र तिनीहरूले मान्‍ने आकाङ्क्षा राख्दैनन्; बरु, तिनीहरू उल्टो हुन्छन्। तिनीहरूले स्विकार्ने खालका हुँदैनन्। त्यसोभए सामान्य भ्रष्ट मानिसहरूको राम्रो पक्ष के हो त? हृदयको गहिराइमा, तिनीहरू सकारात्मक कुराहरूलाई स्वीकार र प्रेम गर्छन्—कुरा यति हो कि तिनीहरूको भ्रष्ट स्वभावको कारणले गर्दा, कहिलेकाहीँ तिनीहरू आफूलाई सम्हाल्न सक्दैनन्, काम राम्ररी गर्दैनन् र परिस्थितिहरू तिनीहरूको क्षमता र पहुँचबाहिर जान्छन्, र त्यसैले तिनीहरू परमेश्‍वरले आफूहरूलाई चाहनुहुन्‍न, घृणा गर्नुहुन्छ भनेर प्रायजसो हृदयदेखि नै नकारात्मक र कमजोर हुन्छन्। के यो राम्रो भावना हो? यस्तो भावना आउनु राम्रो कुरा हो—यसको मतलब तैँले मुक्ति पाउने अवसर छ, र यो तँलाई मुक्ति दिन सकिन्छ भन्ने सङ्केत हो। यदि तँ त्योसमेत महसुस गर्न सक्दैनस् भने, सत्यता प्राप्त गर्ने र मुक्ति पाउने तेरो आशा न्यून छ। यो ठ्याक्कै यस्तो भावना हो जसले तँमा अझै पनि विवेक, मर्यादा र निष्ठा छ—तँमा अझै पनि चेतना छ भन्ने देखाउँछ। यदि तँसित यी कुराहरूसमेत छैनन् भने, तँ साँच्चिकै ख्रीष्टविरोधी, गैरविश्‍वासी होस्। अहिले, तैँले गैरविश्‍वासीका केही व्यवहारहरू, उसले प्रकट गर्ने केही कुराहरू, र उसको केही स्वभाव मात्र देखाउँछस्, तर तँ गैरविश्‍वासी होइनस्। परमेश्‍वरमाथिको विश्‍वासको तेरो मार्ग, तेरो खोजी, तेरो दृष्टिकोण, र तेरो जीवनको हरेक क्षेत्रमा धेरै समस्या र कमीकमजोरीहरू भए पनि, उहाँको नजरमा तँ उहाँमा विश्‍वास गर्छस्, र तँ उहाँको अनुयायी होस्। त्यसोभए अब यी समस्याहरू कसरी समाधान गर्ने त? त्यो सजिलो छ। यदि तँ विवेक र समझ राख्ने, सत्यता पछ्याउने र सकारात्मक कुराहरूलाई प्रेम गर्ने आधारभूत आवश्यकताहरू पूरा गर्छस् भने, यी सबै समस्याहरू समाधान गर्न सकिन्छ—यो केवल समयको कुरा हो। यदि तँ परमेश्‍वरबाट आएको सत्यता, ताडना र अनुशासन स्वीकार गर्न सक्छस् भने, तैँले पहिलो खुड्किलो पार गरिसकेको छस्। दोस्रो खुड्किलो यो हो कि, तैँले जब परमेश्‍वरका वचनहरू पढ्छस्, अनि जब सङ्गति र दाजुभाइ-दिदीबहिनीहरूका अनुभवात्मक गवाहीहरू सुन्छस्, तब तैँले आफ्नो तवरबाट आफ्नो भ्रष्ट स्वभाव, र विभिन्न परिस्थितिहरू सामना गर्दा तँमा उत्पन्न स्थितिहरू परमेश्‍वरका वचनहरूमार्फत समाधान गर्न सिक्छस्। यसको मतलब यो हो कि, तैँले बारम्बार उहाँसामु आएर आफ्ना परिस्थिति र स्थितिहरूबारे, साथै तैँले सामना गरेका समस्याहरूबारे खुला रूपमा उहाँलाई बताउन सक्छस् र उहाँको काटछाँट, अनुशासन र ताडना, साथै उहाँले गर्नुहुने तेरो खुलासा र तँप्रतिको उहाँको मनोवृत्तिलाई समेत इमानदारीपूर्वक स्विकार्न सक्छस्—उहाँप्रति तेरो हृदय खुला रहन्छ, बन्द हुँदैन। अनि, तेरो हृदय खुला रहुञ्जेल, तेरो विवेक र समझले काम गर्न सक्छ, र सत्यताले तँमा प्रवेश गरेर तँभित्र परिवर्तन ल्याउन सक्नेछ। त्यसपछि यी सबै समस्याहरू हल गर्न सकिनेछन्। ती हल गर्नै नसकिने हुँदैनन्; ती कुनै पनि ठूलो समस्या होइनन्। मानिसहरूले कर्तव्यपालनमा झारा टार्नु सामान्य कुरा हो। भ्रष्ट मानवजातिमा भेटिने सबैभन्दा सामान्य अवस्था यही हो। पहिलो कुरा, यो झूटहरूले भरिएको हुन्छ; दोस्रो भनेको सबै कुरामा अल्छी गर्नु, झारा टार्नु, साथै गैरजिम्मेवार हुनु, अलमलको स्थितिमा हुनु, आलटाल गर्ने अवस्थामा हुनु—सारा भ्रष्ट मानवजातिमा हुने कुरा यही हो। यी कुराहरू मान्छेले परमेश्‍वरको प्रतिरोध गर्नु र सत्यता अस्वीकार गर्नुभन्दा एकदमै कम गम्भीर छन्। ती परमेश्‍वरले मान्छेमा हेर्नुहुने कुरा पनि होइनन्। यदि परमेश्‍वरले मानिसहरूलाई पूर्ण कडाइसाथ मापन गर्नुहुने हो भने, तिनीहरूले एउटा गलत कुरा भनेमा पनि, उहाँले तिनीहरूलाई चाहनुहुनेछैन; एउटा सानो गल्ती गर्नेबित्तिकै, तिनीहरूलाई उहाँले चाहनुहुनेछैन; यदि मानिसहरू जवानीले आवेगपूर्ण हुन्छन् र अधैर्यपूर्वक काम गर्छन् भने, परमेश्‍वरले तिनीहरूलाई मन पराउन छाड्नुहुनेछ, अनि तिनीहरू उहाँद्वारा त्यागिने र हटाइनेहरू बन्‍नेछन्। यदि त्यस्तै हुँदो हो त, एउटै व्यक्तिले पनि मुक्ति पाउनेछैन। अनि, कतिपयले भन्नेछन्, “के तपाईंले परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको व्यवहारमार्फत निन्दा गर्नुहुन्छ र तिनीहरूका परिणामहरू तय गर्नुहुन्छ भनेर भन्नुभएको होइन र?” त्यो अर्कै मामला हो। स्वभाव परिवर्तन र मुक्ति हासिल गर्नको निम्ति मानिसहरूले सत्यता पछ्याउने मार्गमा, मान्छेमा हुने यस्ता स्थितिहरू परमेश्‍वरको दृष्टिकोणमा सबैभन्दा आम, र सबैभन्दा साधारण र सामान्य कुराहरू हुन्। परमेश्‍वरले यी कुराहरूलाई हेर्दा पनि हेर्नुहुन्न। अनि, उहाँले के कुरालाई हेर्नुहुन्छ त? उहाँले तँमा सकारात्मक पछ्याइ छ छैन, साथै सत्यता र सकारात्मक कुराहरूप्रति र स्वभाव परिवर्तनको पछ्याइप्रति तेरो कस्तो मनोवृत्ति छ भनी हेर्नुहुन्छ। उहाँले तँमा त्यस्तो तत्परता छ छैन, तैँले प्रयत्न गरिरहेको छस् छैनस् भन्ने कुरा हेर्नुहुन्छ। जब परमेश्‍वरले तँमा यी कुराहरू छन्, गल्ती गर्दा तँलाई तेरो विवेकले घोच्छ, तैँले त्यसलाई घृणा गर्न जान्दछस्, र तैँले परमेश्‍वरसामु आएर प्रार्थना गर्न, साथै उहाँसामु तेरा पापहरू स्विकार्न र पश्‍चात्ताप गर्न जान्दछस् भनी देख्नुहुन्छ, तब उहाँले तँसित आशा छ, तँलाई हटाइनेछैन भनेर भन्‍नुहुनेछ। के तँलाई परमेश्‍वरको धर्मी स्वभाव, उहाँको कृपा र प्रेम सबै खोक्रो वाक्यांशहरू हुन् जस्तो लाग्छ? ठ्याक्कै भन्नुपर्दा उहाँमा यस्तो सार भएकोले नै परमेश्‍वरले हरप्रकारको व्यक्तिप्रति एउटा मनोवृत्ति राख्नुहुन्छ, र यी मनोवृत्तिहरू अत्यन्तै व्यावहारिक हुन्छन्—यी बिलकुलै खोक्रो हुँदैनन्।

ख्रीष्टविरोधीहरूको सारबारे विगत केही समयदेखि जारी हाम्रो कुराकानी सबैले सुन्नको लागि हो, ताकि एकातिर उनीहरूले ख्रीष्टविरोधीहरूलाई बुझ्न र खुट्ट्याउन, अनि तिनीहरू को हुन् भनी निर्धारण गर्न, र तिनीहरूलाई तिरस्कार गर्न सकून्; यसको उद्देश्य हरव्यक्तिमा ख्रीष्टविरोधीहरूमा भएझैँ ख्रीष्टविरोधी स्वभाव हुन्छ, तर साँचो ख्रीष्टविरोधीहरूलाई मात्र हटाइन्छ र त्यागिन्छ, जबकि ख्रीष्टविरोधी स्वभाव भएका साधारण मानिसहरू परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू हुन्, उनीहरू उहाँले हटाउनुहुने मानिसहरू होइनन् भनी सबैलाई थाहा दिनु पनि हो। ख्रीष्टविरोधीहरूको सार र तिनीहरूको स्वभावको हरपक्षबारे मानिसहरूसँग सङ्गति गर्नुको उद्देश्य मानिसहरूलाई निन्दा गर्नु होइन—यसको उद्देश्य त मानिसहरूलाई मुक्ति दिनु, उनीहरूलाई एउटा मार्ग दिनु, र वास्तवमा उनीहरूमा कस्ता भ्रष्ट स्वभावहरू छन्, परमेश्‍वरले मानवजाति उहाँका शत्रु हुन् भन्नुहुँदा उहाँले भन्न खोज्नुभएको के हो र उहाँले किन त्यसो भन्नुहुन्छ, अर्थात् मान्छेमा हुने ठ्याक्कै कस्ता भ्रष्ट स्वभाव, र परमेश्‍वरप्रति मान्छेले देखाउने प्रतिरोध र विद्रोहीपनका कस्ता प्रकटीकरणहरूले उहाँलाई त्यसो भन्ने, र त्यस्तो निन्दा गराउने तुल्याउँछ भनी प्रस्ट रूपमा बुझाउनु हो। ठ्याक्कै भन्नुपर्दा, परमेश्‍वरले मान्छेलाई मुक्ति दिन चाहनुहुने हुनाले, र उहाँले मानवजातिलाई, उहाँका अनुयायीहरूलाई, वा उहाँले चुन्नुभएकाहरूलाई नत्याग्नुहुने हुनाले, उहाँले यस तरिकाले अथक रूपमा बोल्ने र काम गर्ने गर्नुहुन्छ। परमेश्‍वरले यसरी बोल्नु र काम गर्नुको उद्देश्य उहाँ कति प्रेमिलो हुनुहुन्छ, मानिसहरूसित उहाँ कति गम्भीर र धैर्य हुनुहुन्छ, र उहाँले कति प्रयत्न लगाइरहनुभएको छ भन्नेबारे मानिसहरूलाई बुझाउनु मात्र होइन। अनि, यी कुराहरू बुझ्नुको के अर्थ छ? जब मानिसहरूले यी कुराहरू बुझ्छन्, तब उनीहरूमा परमेश्‍वरप्रति अलिकति कृतज्ञताभन्दा बढी केही पनि हुँदैन—तर उनीहरूको भ्रष्ट स्वभाव बिलकुलै समाधान भएको हुँदैन। मानिसहरूलाई मुक्ति दिन परमेश्‍वरले प्रयत्न र सङ्कल्प गर्नुभएको छ, उहाँले ठट्टा गरिरहनुभएको छैन भनी मानिसहरूलाई बुझाउनको निम्ति परमेश्‍वरले यति धेरै धैर्यपूर्वक बोल्नुहुन्छ; परमेश्‍वर मानवजातिलाई मुक्ति दिन चाहनुहुन्छ, र त्यसमा उहाँ दृढ हुनुहुन्छ। यसलाई कसरी हेर्नुपर्छ? परमेश्‍वरले सत्यताको कुनै पक्षमाथि पनि एकतर्फी रूपमा वा एउटा कोणबाट मात्र बोल्नुहुन्न, न त एउटै तरिकाले मात्र नै बोल्नुहुन्छ—बरु, उहाँले त्यो कुरा मानिसहरूलाई फरकफरक कोणबाट, फरकफरक शैलीमा, र फरकफरक भाषा र मात्रामा बताउनुहुन्छ, ताकि मानिसहरूले आफ्नो भ्रष्ट स्वभाव र आफूलाई चिनून्, र यसमार्फत उनीहरूको पछ्याइले कस्तो दिशा लिनुपर्ने हो, र उनीहरूले कस्तो मार्ग लिनुपर्ने हो त्यो बुझून्। मानिसहरूले आफ्ना शैतानी, भ्रष्ट स्वभाव परिवर्तन गरून्, र मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने संसारसँग व्यवहार गर्ने दर्शनहरू, बाँच्ने उपायहरू, जियाइका तरिका र शैलीहरू त्यागून् भनेर उहाँले यसो गर्नुहुन्छ, र यसको साटो उनीहरूलाई परमेश्‍वरले मानिसहरूलाई देखाउनुभएका र बताउनुभएका उपाय, शैली, निर्देशन, र लक्ष्यअनुसार जिउन लगाउनुहुन्छ। परमेश्‍वरले यो सबै गर्नुको उद्देश्य मानिसहरूलाई त्यो कुरामा विश्‍वास दिलाउनु, उहाँका अत्यन्तै दयालु अभिप्रायहरू, वा उहाँका सारा कार्यहरूको कठिनाइ देखाउनु होइन। तैँले त्यो कुरा थाहा पाउनु आवश्यक छैन। तैँले परमेश्‍वरका वचनहरूमा आफूले अभ्यास गर्नुपर्ने कुरा खोज्‍न, र तिनमा भएका सत्यता र परमेश्‍वरको इच्छा बुझ्नमा मात्र ध्यान दे; सत्यता वास्तविकतामा प्रवेश गर्; सत्यता सिद्धान्तहरूअनुसार जिउने, र सत्यता सिद्धान्तहरूअनुसार आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने गर्, र आफूलाई मुक्ति मिल्ने गरी परमेश्‍वरले दिनुभएको आज्ञा पूरा गर्। यसबाट परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ, र मान्छेको मुक्तिको कुरा पूर्ण रूपमा हासिल हुनेछ, र यसले मान्छेलाई फाइदा पनि गर्नेछ। जब मानिसहरूको कुरामा धेरै धर्मसिद्धान्त मिसिन्छ, जब उनीहरू अत्यन्तै सतही कार्य गर्छन्, सधैँ झारा टार्छन्, अत्यन्तै लापरवाही गर्छन्—खासगरी जवान मानिसहरू जसमा नियमहरू पालना गर्ने प्रवृत्ति हुँदैन, जो कहिलेकाहीँ अबेरसम्म सुत्न रुचाउँछन्, जोसँग अरूको लागि उचित वा उपयोगी नहुने केही बानीहरू हुन्छन्—उनीहरूलाई यी कुराहरूमा जबरजस्ती नगर्। उनीहरूप्रति अलि धैर्य हू। यदि तँ सत्यता पछ्याउन इच्छुक छस्, तैँले परमेश्‍वरका वचनहरू पढ्ने प्रयत्न गर्न सक्छस्, बारम्बार परमेश्‍वरसामु आउन सक्छस्, र उहाँसामु आफ्नो हृदय खोल्न सक्छस् भने, उहाँले काम गर्नुहुनेछ। कसैले पनि कसैलाई मानव शक्ति वा मानव उपायहरूद्वारा परिवर्तन गर्न सक्दैन, तेरा आमाबुबाले समेत तँलाई परिवर्तन गर्न सक्दैनन्।

तँ आज परमेश्‍वरको घरमा आएको छस्, त्यो परमेश्‍वरको काम हो, र यहाँ तैँले यो उमेरमा र दुष्ट प्रवृत्तिहरू बाबजुद पनि, सुरक्षित र निरन्तर रूपमा प्रवचनहरू सुन्न सक्छस्, र एक पैसा पनि नकमाई आफ्नो कर्तव्य निभाउन सक्छस्—यो परमेश्‍वरको काम हो। परमेश्‍वरले किन यसो गर्नुहुन्छ? परमेश्‍वरले तेरो के कुरा मन पराउनुहुन्छ? तँमा केही न केही न्यायबोध र विवेक हुनु; तँ दुष्ट प्रवृत्तिहरूप्रति वितृष्ण हुनु, र तैँले सकारात्मक कुराहरू मन पराउनु; साथै तैँले परमेश्‍वरको राज्यको आगमन, साथै ख्रीष्ट र सत्यताको शासनको अपेक्षा गर्नु—तेरा यी कुराहरू उहाँ मन पराउनुहुन्छ। तँसित यी आकाङ्क्षाहरू छन्, र परमेश्‍वरले तेरा यिनै कुराहरू मन पराउनुहुन्छ, यही कारणले गर्दा उहाँले तँलाई उहाँको घरमा ल्याउनुभएको हो। के तँलाई परमेश्‍वरले तेरा नराम्रा गल्ती र बानीहरू देख्नुहुन्न जस्तो लाग्छ? परमेश्‍वरलाई तेरा गल्तीहरू महसुस हुन्छ—उहाँलाई ती सबै थाहा हुन्छ। अनि, उहाँलाई थाहा हुन्छ भने, उहाँले तिनलाई किन सम्बोधन गर्नुहुन्न? यस्ता कुराहरूले मानिसहरूको हृदयमा बारम्बार द्वन्द्व सिर्जना गर्छन्। उनीहरू भन्छन्: “के परमेश्‍वरले मजस्तोलाई मुक्ति दिनुहुन्छ होला त? के मजस्तो व्यक्तिले मुक्ति प्राप्त गर्न सक्छ त? म अत्यन्तै दुष्ट र भ्रष्ट छु, अनुशासनमा बस्न ज्यादै आनाकानी गर्छु, अत्यन्तै विद्रोही छु—साथै म परमेश्‍वरलाई प्रतिरोध र शङ्का गर्छु। परमेश्‍वरले मलाई कसरी रोज्न सक्नुहोला त?” तँलाई के कुराले सताइरहेको छ? परमेश्‍वरले मात्र तँलाई मुक्ति दिन सक्नुहुन्छ; उहाँले सक्नुहुन्छ भनेर तैँले विश्‍वास गर्नुपर्छ। तैँले परमेश्‍वरका वचनहरू सुनेर तिनलाई स्विकार्न र अभ्यास गर्नमा ध्यान दिए पुग्छ। ती अन्य मामलाहरूमा नअल्झी—तिनको कारण सधैँ नकारात्मक नहू। तँलाई कसैले कपाल तान्दै न्याकेको छैन; तँविरुद्ध कसैले कुनै कुरा राखेको छैन। परमेश्‍वरले ती कुराहरू हेर्नुहुन्न। यदि जीवनका यस्ता उल्झनहरूद्वारा सिर्जित खराब बानी, कमजोरी, वा लापरवाहीपनबाट तँलाई उचित मार्ग र सत्यता पछ्याइमा बाधा पुगेको छ भने, के त्यो घाटा होइन र? के त्यो सार्थक नहुनु होइन र? (हो।) अहिले धेरै मानिसहरू यस्तै स्थितिमा अल्झिरहेको हुनुपर्छ। कतिपय मानिसहरू अत्यन्तै हतारिनु उनीहरूको व्यक्तित्व हो, र उनीहरू जुनसुकै काममा अत्यन्तै भद्दा छन्, र उनीहरूलाई अध्ययन गर्न मन पर्दैन भन्छन्। उनीहरू आफूमा खराब बानीहरू भएको पनि बताउँछन्: उनीहरूलाई बिहान उठ्न र साँझ सुत्न मन लाग्दैन, उनीहरू गेम खेल्न रुचाउँछन्; उनीहरूलाई कहिलेकाहीँ त्यतिकै गफगाफ गर्न, र कहिलेकाहीँ ठट्टा गर्न मन लाग्छ। उनीहरू सोध्छन्: के परमेश्‍वरले हामीलाई मुक्ति दिनुहुनेछ? तँसित आफूबारे यति धेरै धारणा र कल्पनाहरू हुनु समस्या होइन र? तँ किन अलि खोजी गर्दैनस्? वास्तवमा परमेश्‍वरको दृष्टकोण के हो, र उहाँका वचनहरूले वास्तवमा के भन्छन्? के यी कुराहरू उहाँका वचनहरूमा समस्याको रूपमा उल्लेख गरिएका छन्? कतिपय मानिसहरू आफूलाई राम्रा लुगा लगाउन मन लाग्दा पनि आफूलाई नियन्त्रण गर्नुपर्छ भन्छन्। अरूले आफूलाई मासु खान मनपर्छ भन्छन्, र अत्यन्तै भोक देखाउँछन्। यी साना समस्याहरू हुन्। यी कमजोरी, यी व्यक्तित्व, वा जीवनका यी बानीहरू बढीमा व्यक्तिको मानवताका कमजोरीहरू हुन्; ती भ्रष्ट स्वभावमा पर्दैनन्। मानिसहरूले साँच्चिकै समाधान गर्नुपर्ने भनेको उनीहरूको भ्रष्ट स्वभाव हो। समग्र परिस्थिति हेर्न नबिर्सी। जब तैँले आफूमा भ्रष्ट स्वभाव भएको थाहा पाउँछस्, र त्यसमाथि चिन्तन गर्न र त्यसलाई खुट्ट्याउन थाल्छस्, त्यसको लागि प्रयत्न गर्छस्, र त्यसलाई घृणा गर्न थाल्छस्, तब तेरा ती साना कमीकमजोरीहरू बिस्तारै परिवर्तन हुनेछन्—ती समस्या रहनेछैनन्। कतिपय जवान मानिसहरू रमाइलो गर्नमा रुचि राख्छन्। उनीहरूले आफूलाई तोकिएको काम सम्पन्न गरेपछि, केहीबेर रमाइलो गर्नु ठिकै हो। कतिपय युवतीहरू राम्री हुन, राम्रा कपडा लगाउन र मेकअप गर्न रुचाउँछन्। उनीहरूले हद पार गर्दैनन् भने, र अनौठा कपडाहरू वा बाक्लो मेकअप लगाउँदैनन् भने, त्यो पनि ठिकै छ। त्यो सब ठिकै छ; उनीहरूलाई कसैले रोक लगाउँदैन। यी कुनै पनि कुराहरू समस्या होइनन्। यी जीवनका बानी, जीवन गुणस्तरको माग, र व्यक्तित्वका ससाना समस्याहरू—यी कुनै पनि कुराले तँलाई परमेश्‍वरको प्रतिरोध गराउन, र सत्यताविरुद्ध लैजान सक्दैन। तँलाई साँच्चै परमेश्‍वरको प्रतिरोध गराउने, उहाँसामु आउनबाट रोक्ने र उहाँविरुद्ध विद्रोह गराउने त तेरो भ्रष्ट स्वभावले हो। जब तैँले आफ्नो भ्रष्ट स्वभाव पत्ता लगाउन, चिन्न, र घृणा गर्न सक्छस्, र जब तैँले सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्ने व्यक्तिपरक चाहना प्राप्त गर्छस्, तब यी सारा ससाना कमजोरीहरू समाधान गरिन सक्छन्। अनि तेरो भ्रष्ट स्वभाव समाधान भएपछि—सबैभन्दा ठूलो समस्या, अर्थात् परमेश्‍वरप्रतिको तेरो प्रतिरोध समाधान भएपछि—के तेरा ती साना कमजोरीहरू अझै समस्या नै रहनेछन् त? त्यो समय आएपछि, तैँले आफूलाई कस्तो व्यवहारमा ढाल्छस्, तँ कसरी जिउँछस्, तैँले के खान्छस्, के पिउँछस्, कसरी आनन्द लिन्छस्, कसरी आफ्नो कर्तव्य गर्छस्, र अरूसित कसरी उठबस गर्छस् भन्नेजस्ता ससाना कुराहरू बिस्तारै सिद्धान्तपरक बन्दै जानेछन्। त्यतिन्जेल, तैँले आफ्नो भ्रष्ट स्वभाव समाधान गर्नु व्यक्तिको जीवनको ठूलो मामला थियो र अब पनि ठूलै मामला रहनेछ, र आफ्नो भ्रष्ट स्वभाव समाधान भइसकेपछि, अरू सारा समस्याहरू पनि समाधान हुन्छन् भनेर थाहा पाउनेछैनस्। जब तैँले परमेश्‍वरविरुद्ध विद्रोहको समस्या समाधान गरेको हुन्छस्, तब तँ मानव स्वरूपमा इज्जतसाथ जिउनेछस्। तैँले केही सानातिना कमजोरीहरू देखाउन छोडेको पनि हुन सक्छ। मानिसहरूले तँलाई तँ असल जवान होस्, परमेश्‍वरप्रतिको आस्थामा तँ इमानदार छस्, तँ परमेश्‍वरको विश्‍वासीझैँ देखिन्छस् भनेर प्रशंसा गर्न पनि सक्छन्। तर यदि परमेश्‍वरले तैँले अझै उहाँविरुद्ध विद्रोह गर्न सक्छस् भनेर भन्नुभयो भने, तेरा बाहिरी असल व्यवहारहरू बेकार छन्, चाहे ती जतिसुकै राम्रा नै किन नहोऊन्। मूल समस्या समाधान भएको छैन—तेरो भ्रष्ट स्वभाव अझै सुल्झिएको छैन, र तैँले अझै परमेश्‍वरविरुद्ध विद्रोह गर्न सक्छस्। तँ मुक्ति पाउनबाट अझै धेरै टाढा छस्! तँसित असल व्यवहारहरू मात्र भएर के अर्थ छ र? के तैँले तीद्वारा आफैलाई झुक्याइरहेको छैनस् र?

तिमीहरूको लागि अहिले समाधान गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण समस्या कुन हो? (भ्रष्ट स्वभावको समस्या।) कतिपयले भन्‍न सक्छन्: “मलाई रङ्गीचङ्गी लुगाहरू लगाउन मन पर्छ, तर परमेश्‍वरको मण्डलीलाई यो मन पर्दैन, त्यसैले म तीविरूद्व विद्रोह गर्नेछु।” तैँले त्यसो गर्नु पर्दैन—मन पर्छ भने लगा। कतिपयले भन्छन्: “मलाई पाउडर र श्रृंगार लगाउन मनपर्छ, र हरदिन मानिसहरूलाई देख्दा राम्री बन्न मन लाग्छ—त्यसो गर्दा कति राम्रो हुन्छ!” यदि तँसित समय छ भने त्यो पनि ठिकै छ। कतिपयले भन्छन्: “मलाई मिठो परिकार खाना मनपर्छ—मलाई मसालेदार र अमिलो खानेकुरा पनि मन पर्छ।” जबसम्म तँसँग साधन, अवसर र खाली समय हुन्छ, तैँले आफू सन्तुष्ट हुनेगरी यी कुराहरू खान सक्छस्। तैँले यी इच्छाहरू पुरा नगरी राख्थिस् भने पनि, तिनलाई काबुमा राख्थिस् भने पनि, र तीविरुद्ध विद्रोह गर्थिस् भने पनि, तेँरो भ्रष्ट स्वभाव समाधान हुदैनथ्यो। तैँले तिनलाई काबुमा राख्दा के परिणाम आउन सक्थ्यो र? तैँले धेरै दैहिक कष्टहरू मात्र सहनेथिस्, र तैँले हृदयमा धेरै अन्याय परेको महसुस गर्नेथिस्—अनि, फलस्वरूप त्यसले तँमा कस्तो प्रकारको नकारात्मक परिणाम ल्याउनेथ्यो? तैँले परमेश्‍वरको लागि धेरै कष्ट भोग्नुपरेको र सत्यता प्राप्त गरेको महसुस गर्नेथिस्, जबकि खासमा, तँसित केही पनि हुँदैनथ्यो वा तँ केही पनि हुदैनथिस्। त्यसैले तैँले सुन्दर, मर्यादित र संयमसाथ लुगा लगाउन सक्छस्—तँ दाजुभाइ वा दिदीबहिनीजस्तो देखिन सक्छस्, र राम्रोसँग नियममा रहने हुन सक्छस्—तर यदि तँ कर्तव्य पालन गर्दा सत्यता सिद्धान्तहरूसमेत खोज्‍न सक्दैनस्, र अवरोध पुर्‍याउनतिर लाग्छस्, र मण्डलीको काममा बाधा दिन्छस् भने, के तेरो आधारभूत समस्या समाधान हुन्छ र? (हुँदैन) त्यसकारण, यसलाई जसरी हेरे पनि, सबैभन्दा मूलभूत कुरा भनेको परमेश्‍वरका वचनहरू र सत्यता बुझ्नु, सत्यता वास्तविकतामा प्रवेश गर्नु, र आफ्नो भ्रष्ट स्वभाव समाधान गर्नु हो। केही सानोतिनो समस्या र बाह्य व्यवहारहरूमा आफ्नो प्रयत्न खेर नफाल्, ती कुराहरूमा घोत्लिने, तिनलाई नत्याग्ने, हृदयमा सधैँ ग्लानि र ऋणी महसुस गर्ने, र ती कुरारू के-के नै हुन् भन्ठान्दै तिनलाई समाधान गर्ने नगर्। त्यसको परिणामस्वरूप, तेरो भ्रष्ट स्वभाव सदाको लागि समाधान नहुने हुन सक्छ। तँलाई आफू कस्तो प्रकारको व्यक्ति हुँ वा आफूमा कस्तो प्रकारको भ्रष्ट स्वभाव छ भन्नेसमेत थाहा छैन भने,—यदि तँसँग यसबारे अलिकति पनि बुझाइ छैन भने, के यसले कामकुरा भद्रगोल पार्दैन र? जब तैँले आफ्नो भ्रष्ट सार थाहा पाउँछस्, तब तेरा ती साना समस्याहरू उप्रान्त समस्या रहँदैनन्। स्वाभाविक रूपमै, जब तैँले सत्यता बुझ्छस्, र सत्यता वास्तविकतामा प्रवेश गर्छस्, र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्षम बन्छस्, तब तँ बिस्तारै ती साना समस्याहरूबाट मुक्त हुनेछस्। यो वेचैन वा सुस्त व्यक्तित्व हुनु, वा धेरैबोल्ने वा शान्त हुनुजस्तै हो—यी कुराहरू समस्या होइनन्। यी त व्यक्तित्वसम्बन्धी समस्याहरू हुन्। कतिपय मानिसहरूको शब्द चयन स्पष्ट हुन्छ, जबकि अरूको हुँदैन; केही व्यक्तिहरू आँटिला हुन्छन् र धेरै मानिसहरूको अगाडि बोल्ने आँट गर्छन्, जबकि अरू कम आँटिला हुन्छन् र धेरै मानिसहरू हुँदा बोल्न आँट गर्दैनन्; कतिपय मानिसहरू बहिर्मुखी हुन्छन् भने कतिपय अन्तर्मुखी हुन्छन्। यीमध्ये कुनै पनि समस्या होइनन्। त्यसोभए, समस्या के हो त? परमेश्‍वरको प्रतिरोध गर्ने ख्रीष्टविरोधीहरूको स्वभाव—त्यो समस्या हो। त्यो सबैभन्दा ठूलो समस्या हो र त्यो सबै मानिसहरूको भ्रष्ट स्वभावको स्रोत हो। यदि तैँले भ्रष्ट स्वभावको समस्या समाधान गर्ने हो भने, अरू कुनै पनि समस्या समस्या रहनेछैन।

थप प्रश्‍नहरू छन्? (परमेश्‍वर, मसँग एउटा प्रश्‍न छ: मेरो सत्यता पछ्याइमा, म सामान्य आत्मिक जीवन जिउँछु, तर सत्यतालाई प्रेम गर्ने र पछ्याउने मेरो हृदय खासै राम्रो छैन। जब मलाई मेरो स्थिति गलत छ भन्ने महसुस हुन्छ, म लगनसाथ एकदुई दिन पछ्याउँछु, तर ती दिन कटेपछि, म फेरि सुस्ताउँछु। यो स्थिति बारम्बार आइरहन्छ, र यो सत्यताप्रति प्रतिकूल रहने स्वभाव हो भनेर पनि मलाई थाहा हुन्छ, तर म अझै पनि त्यसलाई जरैबाट समाधान गर्न सक्दिनँ।) त्यसबाट पन्छिन सकिँदैन—मान्छेको जीवन प्रवेश त्यस्तै हुन्छ। सधैँ यो समस्या समाधान गर्ने चाहना राखेर तैँले गल्ती गरिरहेको हुन्छस्। उदाहरण दिनुपर्दा: कतिपय महिलाहरूले श्रीमान्‌ खोजी गर्दा, उसको रूप औसत भए पनि फरक पर्दैन, तर ऊ रोमान्टिक हुनैपर्छ भन्ने मापदण्ड राख्छन्। उसलाई तिनीहरू पहिलोपटक भेटेको समय र स्थान, जाहानको जन्मदिन, तिनीहरूको वार्षिकोत्सव, आदि इत्यादि कुराहरू याद हुनैपर्छ। उसले हरेक महत्त्वपूर्ण दिन याद राख्नैपर्छ, र उसले बारम्बार “आइ लभ यु, माइ डार्लिङ्!” भन्न, र जाहानलाई बारम्बार उपहारहरू किनिदिन पनि बिर्सनु हुँदैन। उसले यसरी श्रीमान्‌को जाँच गर्छे: “हाम्रो पहिलो डेट कुन दिन थियो? प्रणय दिवस कहिले पर्छ?” यी महिलाहरूले प्रायः यसरी नै रोमान्स र उत्तेजना खोजिरहेका हुन्छन्, अनि तिनीहरूको जीवन अलि खल्लो भएमा, तिनीहरू चिढिन्छन्, र श्रीमान्‌सित गुनासो गर्छन्: “कस्तो बुद्धु मान्छे। तिमीलाई रोमान्स भनेको के हो थाहै छैन। तिमीसँग जीवन बिताउनु अत्यन्तै निरस छ! तिमीसित आएर मेरो जीवन बर्बाद भयो!” के यस्तै कमजोरी देखाउने महिलाहरूले कैयौँ छैनन् र? अनि जब तैँले अरू कसैको श्रीमान् रोमान्टिक छ, ऊ महिलालाई फकाउन जान्दछ, उसले आफ्नी श्रीमतीलाई राजकुमारीझैँ व्यवहार गर्छ भने भन्छस्, तब यी महिलाहरू अत्यन्तै ईर्ष्यालु बन्छन्, र त्यो श्रीमान् खोस्न पाए हुन्थ्यो भन्ने चाहना राख्छन्। तिनीहरू खल्लो र साधारण जीवन जिउन पूर्णतया अनिच्छुक हुन्छन्। के तैँले यस्तो कमजोरी देखाएको छस्? (छु।) परमेश्‍वरले काम गर्नुहुँदा र मानिसहरूलाई मुक्ति दिनुहुँदा, आश्‍चर्यजनक र रोमाञ्चक क्षणहरू खासै धेरै हुँदैनन्, र उहाँले तेरो लागि अनपेक्षित परिस्थितिहरू सिर्जना गर्नुहुनेछैन। त्यो खल्लो र साधारण हुन्छ—व्यावहारिक हुनु भनेको त्यही हो। सत्यता पछ्याउनलाई भावना जरुरी हुँदैन। तेरो हृदयमा त्यो पछ्याइ हुन्जेलसम्‍म त्यो नै पर्याप्त हुनेछ; अनि, तैँले तेरो मार्गमा विचलन आउँछ आउँदैन, र तैँले निर्वाह गर्ने कर्तव्यमा मानव त्रुटिको कारण कुनै गल्ती वा क्षतिहरू भएका छन् छैनन् भनेर बेलाबेलामा जाँच गरुन्जेलसम्‍म, र त्यो अवधिमा दाजुभाइ-दिदीबहिनीहरूले कर्तव्य निभाउने क्रममा कुनै नयाँ अन्तर्ज्ञान वा ज्ञान प्राप्त गरेका छन् छैनन् भन्नेबारे, तँमा नभएका अन्तर्ज्ञान वा ज्ञानबारे, तैँले परमेश्‍वरका वचनहरू पढ्दा तीबारे तेरो बुझाइमा विकृतिहरू आएका छन् छैनन् भन्नेबारे, तिनमा तेरो पहुँचबाहिरका, वा तैँले अनुभव नगरेका, वा बेवास्ता गरेका, आदि इत्यादि कुराहरू थिए थिएनन् भन्‍नेबारे सङ्गति गरुन्जेलसम्‍म—यस्ता सबै मार्ग, लक्ष्य र दिशाहरू सामान्य र सही रहुन्जेलसम्‍म, त्यो नै पर्याप्त हुनेछ। तेरो सामान्य दिशा सही हुनुपर्छ। उत्साह र आश्‍चर्यहरू खोजी नगर्। कसैले पनि तँलाई आश्‍चर्यहरू प्रदान गर्नेछैन। परमेश्‍वरमा विश्‍वास गर्नु र सत्यता पछ्याउनु भनेको सामान्य मानिसहरूले जीवन जिएजस्तै हो। धेरैजसो समय यो निकै सामान्य हुन्छ, किनभने तँ यही संसारमा जिउँछस्, जहाँ केही पनि अलौकिक हुँदैन, र वास्तविक जीवनबाट केही पनि अलग हुँदैन। यो त्यति रोचकहीन हुन्छ। तर यस्तो रोचकहीन जीवन र विश्‍वास नगर्नेहरूको जीवनबीच एउटा भिन्नता हुन्छ: तैँले परमेश्‍वरमा विश्‍वास गर्दा र आफ्नो कर्तव्य गर्दा आफ्नो भ्रष्ट स्वभावबारे निरन्तर रूपमा थाहा पाइरहेको हुन्छस्, परमेश्‍वरसँगको तेरो सम्बन्ध निरन्तर सच्याइरहेको र परिवर्तन गरिरहेको हुन्छस्, र तैँले नबुझ्ने सत्यताहरूबारे निरन्तर थाहा पाइरहेको हुन्छस्, र तैँले थाहा नपाएका वा नबुझेका सत्यताहरू थाहा पाइरहेको र स्विकारिरहेको हुन्छस्। भिन्नता त्यही हो। यो पहिले नै ठूलो भिन्नता हो—तिमीहरूले अरू के माग्न सक्छौ र? के परमेश्‍वरको घरमा, मण्डलीमा र तेरो वरपर पर्याप्त घटनाहरू घट्दैनन् र? मानिसहरूले विचार गर्नको लागि परमेश्‍वरको कामको सुरुवातदेखि अहिलेसम्मका घटनाहरू नै पर्याप्त छन्। दिनहरू बित्‍न बेर लाग्दैन: दसबीस बर्ष एकैछिनमा बित्छन्, अनि अर्को छिनमा तिस, चालिस, पचास बर्ष बितिसकेका हुन्छन्। एउटा व्यक्तिको जीवन लगभग त्यति नै हो। त्यसमा अरू के उत्साह खोज्‍ने हो र? यी कुराहरू नै पर्याप्त रूपमा रोमाञ्चक छन्। तेरो वरपर घट्ने सारा घटनाहरूले तँलाई अद्वितीय कुराहरू पत्ता लगाउन, सत्यता पत्ता लगाउन मद्दत गर्छन्, र तेरो लागि ती आश्‍चर्यजनक पनि हुन्छन्। त्यो सामान्य हुँदैन, हुन्छ र? (हुँदैन।) सत्यता पछ्याउनु भनेको उत्साह खोज्नु होइन। यो भौतिक संसारमा सामान्य मानवतामा जिउनेहरूको वास्तविकता त्यही हो। उत्साह खोज्दै नहिँड्—उत्साह र भावना खोजी गर्नु भनेको पेटभरि खाना पाएका मानिसहरूले अरू केही काम नहुँदा गर्ने कुरा हो। कर्तव्य गर्ने र सत्यता पछ्याउने क्रममा, मानिसहरूले हरदिन नयाँ पाठहरू सिक्छन्। कतिपयले यसो भन्छन्, “त्यसोभए, मैले किन सिकिरहेको छैन त?” सायद तेरो प्रगति ढिला भएको छ; यदि तैँले हरमहिना केही कुराहरू सिक्छस् भने, त्यो नै पर्याप्त हो। तैँले प्रगति गर्छस् र सत्यता पछ्याइरहेको छस् भने, देखाउनको लागि तँसित केही प्रमाण हुनेछ। के यो सङ्गतिले उक्त समस्या समाधान गरेको छ? (गरेको छ।) कसरी? कुन वचनहरूले त्यसलाई समाधान गरे? (परमेश्‍वरमाथिको विश्‍वासमा मेरो पछ्याइबारेका दृष्टिकोणहरू व्यावहारिक छैनन्—मेरो पछ्याइ व्यावहारिक छैन, र यो मलाई थाहा भएको छ, र यही नै यो सङ्गतिले गरेको समाधान हो। म सधैँ उत्तेजना पछ्याउन खोजिरहेको हुन्छु, सधैँ विविध कुराहरू अनुभूत गर्न, र धारणा र कल्पनाहरूले मात्र परमेश्‍वरलाई हेर्न खोजिरहेको हुन्छु, उहाँसित आदरपूर्ण दूरी कायम राखिरहेको हुन्छु, तर जीवन प्रवेशको क्रममा मानिसहरूमा कमजोरीहरू हुनेछन्, र त्यस क्रममा उनीहरू वृद्धि हुनेछन्, र उनीहरूले अनेकथरीका परिस्थितिहरू सामना गर्नेछन् भन्ने कुरा बेवास्ता गरिरहेको हुन्छु। त्यो सामान्य हो।) तैँले त्यसलाई सही रूपमा बुझेको छस्। जब अरू कुनै परिस्थितिहरू आइपरेका हुँदैनन्, तब मानिसहरूले आफ्नो कर्तव्य जसरी गर्नुपर्ने हो त्यसरी नै गर्नुपर्छ, र जसरी पछ्याउनुपर्ने हो त्यसरी नै पछ्याउन जारी राख्नुपर्छ। उत्साह खोज्‍ने, वा विविध कुराहरू अनुभूत गर्ने नगर्; अतिसंवेदनशील भएर यसो नभन्, “आज म किन खराब मुडमा छु? अहो, परमेश्‍वरसँगको मेरो सम्बन्ध टाढिएको छ—म चाँचाँडो गरेर प्रार्थना गर्नेछु!” त्यस्तो अतिसंवेदनशील हुनुपर्ने जरुरी छैन। परमेश्‍वरले मतलब गर्नुहुन्न; उहाँले तेरा ती ससाना मामलाहरूबारे चासो लिनुहुन्न! तैँले भन्‍न सक्छस्, “मैले कैयौँ दिन प्रार्थना गरेको छुइनँ, तर जब म कार्य गर्छु तब म प्राय हृदयमा परमेश्‍वरलाई खोज्छु, र म परमेश्‍वरको डर मान्ने हृदय कायम राख्छु।” त्यसमा कुनै समस्या छैन। कतिपयले भन्नेछन्, “अहो, म आफ्नो कर्तव्यमा यति व्यस्त भएँ कि मैले परमेश्‍वरका वचनहरू नपढेको दिनौँ भयो।” तैँले प्रक्रिया पुर्‍याइनस्—तैँले त्यसलाई बेवास्ता गरिस्—तर कर्तव्य गर्ने क्रममा, तैँले धेरै समस्याहरू पत्ता लगाएको छस्, र तैँले केही भ्रष्ट स्वभाव प्रकट गरेको छस्, साथै तैँले त्यस अवधिमा अरूको सङ्गति सुनेको छस्, र त्यसले तँमा ठूलो सुधार गरेको छ। के त्यो व्यावहारिक लाभ होइन र? के तैँले सत्यता बुझ्न र प्राप्त गर्नको निम्ति परमेश्‍वरका वचनहरू पढ्दैनस् र? कुनै खास तरिका वा शैलीमा तँलाई त्यसो गराउन जिद्‌ कस्नुको के अर्थ छ? ठिक छ। अब हामी आजको सङ्गति यहीँ टुङ्ग्याउनेछौँ। जयमसीह! (धन्यवाद, परमेश्‍वर, जयमसीह!)

मे ३०, २०२०

अघिल्लो: विषयवस्तु नौ: तिनीहरूले आफैलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती चासोहरूलाई समेत बेच्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग तीन)

अर्को: विषयवस्तु दस: तिनीहरूले सत्यतालाई घृणा गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग दुई)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्