कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्
आज तँ परमेश्वरलाई साँच्चै कति प्रेम गर्छस्? र परमेश्वरले तँमा गर्नुभएका सबै कामहरूमध्ये तैँले ठ्याक्कै कति जान्दछस्? तैँले सिक्नुपर्ने पाठहरू यिनै हुन्। जब परमेश्वर पृथ्वीमा आइपुग्नुहुन्छ, उहाँले मानिसमा जे गर्नुभएको छ र मानिसलाई जे देख्ने तुल्याउनुभएको छ, त्यो सबै मानिसले उहाँलाई प्रेम गरोस् र साँच्चै उहाँलाई चिनोस् भनेर नै हो। मानिसले परमेश्वरका लागि कष्ट भोग्न सक्नु र यति टाढासम्म आउन सक्नु, एक हिसाबमा, परमेश्वरको प्रेमका कारण हो, र अर्को हिसाबमा, परमेश्वरको मुक्तिका कारण हो। त्यो भन्दा पनि बढी, परमेश्वरले मानिसमा गर्नुभएको न्याय र सजायको कामका कारण हो। यदि तिमीहरू परमेश्वरको न्याय, सजाय, र परीक्षाहरूरहित छौ भने, अनि यदि परमेश्वरले तिमीहरूलाई कष्ट भोग्ने तुल्याउनुभएको छैन भने, इमानदारीसाथ भन्नुपर्दा, तिमीहरू परमेश्वरलाई साँच्चै प्रेम गर्नेछैनौ। मानिसमा परमेश्वरको काम जति ठूलो हुन्छ, र मानिसको कष्ट जति ठूलो हुन्छ, त्यसले परमेश्वरको काम कति अर्थपूर्ण छ भनी त्यत्ति नै बढी देखाउँछ, अनि मानिसको हृदय परमेश्वरलाई साँचो रूपले प्रेम गर्न त्यति नै सक्ने हुन्छ। परमेश्वरलाई प्रेम गर्ने पाठ कसरी सिकिन्छ? यदि कुनै कष्ट र शोधनविना, पीडादायक परीक्षाहरूविना—र यदि, त्यसमाथि, परमेश्वरले मानिसलाई दिनुभएका सबै कुरा अनुग्रह, प्रेमिलो दयालुपन, र कृपा मात्रै थियो भने—के तँ साँच्चै परमेश्वरलाई प्रेम गर्ने बिन्दुमा पुग्न सक्थिस्? एकातिर, परमेश्वरका परीक्षाका अवधिमा, मानिसले आफ्ना कमी-कमजोरीहरू थाहा पाउँछ र ऊ नगण्य, घृणायोग्य र तुच्छ छ, उसँग केही पनि छैन र ऊ केही पनि होइन भनी बुझ्छ; अर्कोतिर, परीक्षाका अवधिमा परमेश्वरले मानिसका लागि केही वातावरणहरू प्रबन्ध गर्नुहुन्छ, ताकि मानिस तीभित्र, परमेश्वरको प्रेमिलो स्वभाव अनुभव गर्न झन् बढी सक्षम होस्। त्यो पीडा ठूलो भए तापनि, र कहिलेकहीँ अपराजेय भए तापनि—चरम दुःखको तहसम्म समेत पुग्ने भए तापनि—त्यो अनुभव गरिसकेपछि, मानिसले उसमा भएको परमेश्वरको काम कति प्रेमिलो छ भनी देख्छ, अनि यसैको जगमाथि मात्र मानिसभित्र परमेश्वरका निम्ति साँचो प्रेमको जन्म हुन्छ। आज मानिसले देख्छ, कि केवल परमेश्वरको अनुग्रह, प्रेम, र कृपाले मात्र उसले आफैलाई वास्तवमा चिन्न सक्दैन, मानिसको सार बुझ्ने बारेमा त कुरै नगरौँ। केवल परमेश्वरको शोधन र न्याय दुवैद्वारा र शोधनको प्रक्रियाको अवधिमा मात्रै मानिसले आफ्ना कमी-कमजोरीहरू जान्न र उसँग केही पनि छैन भनी जान्न सक्छ। यसरी, परमेश्वरप्रतिको मानिसको प्रेम परमेश्वरको शोधन र न्यायको जगमाथि निर्माण भएको हुन्छ। यदि तैँले परमेश्वरको अनुग्रहको मात्र आनन्द लिन्छस्, शान्तिमय पारिवारिक जीवन वा भौतिक आशिषहरू मात्र प्राप्त गर्छस् भने तैँले परमेश्वरलाई प्राप्त गरेको छैनस्, र परमेश्वरमाथिको तेरो विश्वासलाई सफल मान्न सकिँदैन। परमेश्वरले पहिले नै अनुग्रहको कामको एक चरणलाई देहमा पूरा गरिसक्नुभएको छ, र मानिसलाई भौतिक आशिष्हरू प्रदान गरिसक्नुभएको छ, तर मानिस अनुग्रह, प्रेम र कृपाले मात्र सिद्ध हुन सक्दैन। मानिसको अनुभवमा उसले परमेश्वरका केही प्रेम अनुभव गर्छ र उसले परमेश्वरको प्रेम र दया देख्छ, तापनि केही समयसम्म उसले अनुभव गरेपछि परमेश्वरको अनुग्रह, र उहाँको प्रेम र कृपाले मानिसलाई सिद्ध बनाउन सक्दैन, मानिसभित्रको भ्रष्टता प्रकट गर्न सक्दैन र मानिसलाई उसको भ्रष्ट स्वभावबाट छुटकारा दिन वा उसको प्रेम र विश्वासलाई सिद्ध बनाउन सक्दैन भनी बुझ्छ। परमेश्वरको अनुग्रहको काम एउटा अवधिको काम थियो, र परमेश्वरलाई जान्नका लागि मानिस परमेश्वरको अनुग्रहको आनन्द लिने कुरामा भर पर्न सक्दैन।
परमेश्वरले मानिसलाई सिद्ध पार्ने कार्य कुन माध्यमबाट पूरा गरिन्छ? यसलाई उहाँको धर्मी स्वभावको माध्यमबाट पूरा गरिन्छ। परमेश्वरको स्वभावमा मुख्य रूपमा धार्मिकता, क्रोध, प्रताप, न्याय र सराप समावेश हुन्छ र उहाँले मानिसलाई मुख्य रूपले आफ्नो न्यायद्वारा सिद्ध पार्नुहुन्छ। कति मानिसहरूले बुझ्दैनन्, र परमेश्वरले किन मानिसलाई न्याय र सरापद्वारा मात्र सिद्ध पार्न सक्नुहुन्छ भनी प्रश्न गर्छन्। तिनीहरू भन्छन्, “यदि परमेश्वरले मानिसलाई सराप्नुभयो भने, के मानिस मर्नेथिएन र? यदि परमेश्वरले मानिसलाई न्याय गर्नुभयो भने, के मानिस निन्दित हुनेथिएन? त्यसो भए ऊ कसरी अझै पनि सिद्ध पारिन सक्छ?” यी ती मानिसहरूका कुरा हुन्, जसले परमेश्वरको कामलाई जान्दैनन्। परमेश्वरले जुन कुरालाई सराप्नुहुन्छ त्यो मानिसको विद्रोहीपन हो, र उहाँले जे कुराको न्याय गर्नुहुन्छ त्यो मानिसको पाप हो। उहाँ कठोर रूपमा र मानिसका भावनालाई बिलकुलै ख्याल नगरी बोल्ने भए पनि, उहाँले मानिसभित्रका सबै कुरा खुलासा गर्नुहुन्छ, उहाँले केही कठोर वचनद्वारा मानिसभित्र हुने सारगत कुराहरू खुलासा गर्नुहुन्छ, तैपनि त्यस्तो न्यायद्वारा, उहाँले मानिसलाई देहको सारको गहिरो ज्ञान दिनुहुन्छ, र यसैले मानिस परमेश्वरको सामु समर्पित हुन्छ। मानिसको देह पापको र शैतानको हो, यो विद्रोही छ, र यो परमेश्वरको सजायको पात्र हो। यसैले, मानिसलाई आफैलाई चिन्न लगाउनका लागि परमेश्वरका वचनहरूको न्याय ऊमाथि आउनुपर्छ र हरप्रकारको शोधन प्रयोग गर्नुपर्दछ; तब मात्र परमेश्वरको काम प्रभावकारी हुन सक्दछ।
परमेश्वरले बोल्नुभएका वचनहरूबाट यो बुझ्न सकिन्छ, कि उहाँले मानव देहलाई अघिबाटै दोषी ठहराइसक्नुभएको छ। त्यसो भए, के यी वचनहरू सरापका वचनहरू होइनन् र? परमेश्वरले बोल्नुभएका वचनहरूले मानिसको वास्तविक रङ्ग प्रकट गर्दछ, र त्यस्तै प्रकाशद्वारा उसको न्याय हुन्छ, र जब उसले आफू परमेश्वरका अभिप्रायहरू पूरा गर्न असमर्थ छु भन्ने देख्छ, तब भित्र उसले शोक र पछुतोको महसुस गर्दछ, उसले आफू परमेश्वरप्रति ऋणी भएको महसुस गर्छ, र परमेश्वरका अभिप्रायहरू प्राप्त गर्न सक्दैन। कहिलेकहीँ यस्ता समयहरू हुन्छन् जब पवित्र आत्माले तँलाई भित्रबाट अनुशासित गर्नुहुन्छ, र यो अनुशासन परमेश्वरको न्यायबाट आउँदछ; कहिलेकहीँ यस्तो समय हुन्छ, जब परमेश्वरले तँलाई हप्काउनुहुन्छ, र आफ्नो अनुहार तँबाट लुकाउनुहुन्छ, जब उहाँले तँलाई कुनै ध्यान दिनुहुन्न र तँभित्र कुनै काम गर्नुहुन्न, तँलाई शोधन गर्नका निम्ति विनाआवाज तँलाई दण्ड दिनुहुन्छ। मानिसमा परमेश्वरले गर्नुहुने काम मुख्य रूपले उहाँको आफ्नो धर्मी स्वभाव स्पष्ट पार्नको लागि हो। मानिसले अन्त्यमा परमेश्वरको लागि कस्तो गवाही दिन्छ? मानिसले परमेश्वर धर्मी परमेश्वर हुनुहुन्छ, उहाँको स्वभाव धार्मिकता, क्रोध, सजाय र न्याय हो भनी गवाही दिन्छ; मानिसले परमेश्वरको धर्मी स्वभावको गवाही दिन्छ। मानिसलाई सिद्ध बनाउन परमेश्वरले उहाँको न्यायको प्रयोग गर्नुहुन्छ, उहाँले मानिसलाई प्रेम गर्नुभएको छ, र मानिसलाई मुक्ति दिनुभएको छ—तर उहाँको प्रेममा कति धेरै कुरा छ? त्यहाँ न्याय, प्रताप, क्रोध र सराप छ। विगतमा परमेश्वरले मानिसलाई सराप दिनुभएको भए पनि उहाँले मानिसलाई पूर्ण रूपमा अतल कुण्डमा हालिदिनुभएन, तर त्यो साधनलाई मानिसको विश्वासलाई शोधन गर्न प्रयोग गर्नुभयो; उहाँले मानिसलाई मृत्युदण्ड दिनुभएन, तर मानिसलाई सिद्ध बनाउनका निम्ति कार्य गर्नुभयो। शरीरको सार त्यो हो जुन शैतानको हो—परमेश्वरले यसलाई ठीकै भन्नुभएको थियो—तर परमेश्वरले गर्नुभएका तथ्यहरूलाई उहाँका वचनहरू अनुसार पूरा गरिँदैनन्। तैँले उहाँलाई प्रेम गर्न सक् र तैँले देहको सारलाई बुझ्न सक् भनी उहाँले तँलाई सराप्नुहुन्छ; तँ बिउँझन सक्, तैँले आफू भित्रका कमी-कमजोरीहरूलाई जान्न सक् अनि मानिस पूर्ण रूपमा अयोग्य छ भनी जान् भनी उहाँले तँलाई सजाय दिनुहुन्छ। यसैले, परमेश्वरका सरापहरू, उहाँको न्याय र उहाँको प्रताप र क्रोध—ती सबै मानिसलाई सिद्ध बनाउनका निम्ति हुन्। आज परमेश्वरले गर्नुहुने सबै कुरा, र उहाँले तिमीहरूभित्र स्पष्ट पार्नुहुने धर्मी स्वभाव—यी सबै मानिसलाई सिद्ध बनाउनका लागि हुन्। परमेश्वरको प्रेम यस्तो प्रकारको छ।
मानिसका परम्परागत धारणाहरूमा, उसले यो विश्वास गर्छ, कि परमेश्वरको प्रेम उहाँको अनुग्रह, दया, र मानिसको कमजोरीप्रतिको सहानुभूति हो। यी थोकहरू पनि परमेश्वरको प्रेम नै भए तापनि, ती अत्यन्तै एकतर्फी छन्, र ती परमेश्वरले मानिसलाई सिद्ध बनाउनुहुने मुख्य माध्यम होइनन्। कोही मानिसहरू बिमारीको कारण परमेश्वरमा विश्वास गर्न थाल्छन्। यो बिमारी तेरो लागि परमेश्वरको अनुग्रह हो; योविना तैँले परमेश्वरमा विश्वास गर्ने थिइनस्—र यदि तैँले परमेश्वरमा विश्वास नगरेको भए तँ यति टाढासम्म आउने थिइनस्—यसैले यो अनुग्रह पनि परमेश्वरको प्रेम नै हो। येशूमा विश्वास गर्ने समयमा मानिसहरूले परमेश्वरलाई अप्रिय लाग्ने धेरै कुराहरू गरे, किनकि तिनीहरूले सत्यतालाई बुझेका थिएनन्, तैपनि परमेश्वरसँग प्रेम र कृपा छ, र उहाँले मानिसलाई यहाँसम्म ल्याउनुभएको छ, र मानिसहरूले केही नबुझे पनि अझै पनि परमेश्वरले मानिसलाई उहाँको पछि लाग्न दिनुहुन्छ, यसबाहेक, उहाँले मानिसलाई आजको दिनसम्म ल्याउनुभएको छ। के यो परमेश्वरको प्रेम होइन र? जुन कुरा परमेश्वरको स्वभावमा प्रकट हुन्छ, त्यो परमेश्वरको प्रेम हो—यो एकदम सही छ! जब मण्डली निर्माणको कार्य चरम सीमामा पुगेको थियो, तब परमेश्वरले सेवाकर्ताहरूको कामको चरण पूरा गर्नुभयो र मानिसलाई अतल कुण्डमा हालिदिनुभयो। सेवाकर्ताहरूका समयका वचनहरू सबै सरापहरू थिए: तेरो शरीरको सराप, तेरो भ्रष्ट शैतानिक स्वभावको सराप, र परमेश्वरका अभिप्रायहरू पूरा नगर्ने तेरा कुराहरूका सरापहरू। त्यस चरणमा परमेश्वरले गर्नुभएको काम प्रतापको रूपमा प्रकट भयो, त्यसको लगत्तै परमेश्वरले सजायको कामको चरण पूरा गर्नुभयो, र त्यहाँ मृत्युको जाँच आयो। त्यस्तो काममा, मानिसले परमेश्वरको क्रोध, प्रताप, न्याय, र सजाय देख्यो, तैपनि उसले परमेश्वरको अनुग्रह, उहाँको प्रेम र कृपा पनि देख्यो। परमेश्वरले गर्नुभएका सबै कुरा, र उहाँको स्वभावको रूपमा प्रकट भएका सबै कुरा, मानिसका लागि परमेश्वरको प्रेम थियो, र परमेश्वरले गर्नुभएका सबै कुराले मानिसका आवश्यकताहरू पूरा गर्न सके। उहाँले मानिसलाई सिद्ध बनाउनका लागि यो गर्नुभयो, र उहाँले मानिसका निम्ति उसको कदअनुसार प्रबन्ध गर्नुभयो। यदि परमेश्वरले यो नगर्नुभएको भए, मानिस परमेश्वरको सामु आउन सक्दैनथियो र उसँग परमेश्वरको वास्तविक अनुहार चिन्ने कुनै उपाय हुँदैनथ्यो। मानिसले सबैभन्दा पहिले परमेश्वरमा विश्वास गर्न थालेकोदेखि आजसम्म परमेश्वरले मानिसका निम्ति उसको कदअनुसार बिस्तारै प्रबन्ध गरिदिनुभएको छ, यसैले भित्रबाट मानिसले बिस्तारै उहाँलाई चिन्न सक्यो। आजको दिनमा आइपुगेपछि मात्र मानिसले परमेश्वरको न्याय कति अचम्मको छ भनी थाहा पाउँछ। सेवाकर्ताहरूको कामको चरण भनेको सृष्टिको समयदेखि आजसम्म भएको सरापको कामको पहिलो घटना थियो। मानिसलाई श्राप दिई अतल कुण्डमा पुर्याइएको थियो। यदि परमेश्वरले त्यो नगर्नुभएको भए, आज मानिसमा परमेश्वरबारे सही ज्ञान हुने थिएन; परमेश्वरको सरापद्वारा मात्र मानिसले उहाँको आधिकारिक स्वभावलाई अनुभव गऱ्यो। सेवाकर्ताहरूको जाँचद्वारा मानिसलाई प्रकट गरियो। उसले उसको बफादारी अस्वीकार्य छ, उसको कद धेरै सानो छ, उसले परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्दैन, र परमेश्वरलाई सन्तुष्ट पार्छु भन्ने उसका दाबीहरू सधैँ शब्दहरूमा मात्र सीमित छन् भन्ने देख्यो। परमेश्वरले मानिसलाई सेवाकर्ताहरूको कामको चरणमा सराप दिनुभएको भए तापनि, अहिले पछाडि फर्केर हेर्दा, परमेश्वरको कामको त्यो चरण अद्भुत थियो: यसले मानिसका लागि ठूलो मोड् ल्यायो र उसको जीवनको स्वभावमा ठूलो परिवर्तन ल्यायो। सेवाकर्ताहरूको समयभन्दा पहिले मानिसले जीवनको खोजी गर्नु, परमेश्वरमा विश्वास गर्नु, वा परमेश्वरको कामको बुद्धि के हो भनी केही पनि बुझेको थिएन, न त उसले परमेश्वरको कामले मानिसलाई जाँच्न सक्छ भनी बुझेको नै थियो। सेवा गर्नेहरूको समयदेखि आजसम्म मानिसले परमेश्वरको काम कति अचम्मलाग्दो रहेछ भनी देख्दछ—यो मानिसका निम्ति बुझ्नै नसकिने छ। परमेश्वरले आफ्नो दिमाग प्रयोग गरेर कसरी काम गर्नुहुन्छ भनी मानिसले कल्पना गर्न सक्दैन, र उसले आफ्नो कद कति सानो रहेछ र ऊ कति धेरै विद्रोही छ भनेर पनि देख्दछ। जब परमेश्वरले मानिसलाई सराप्नुभयो, त्यो एउटा परिणाम प्राप्त गर्नका निम्ति थियो, र उहाँले मानिसलाई मृत्युदण्ड दिनुभएन। उहाँले मानिसलाई सराप्नुभएको भए तापनि, उहाँले त्यो वचनहरूद्वारा गर्नुभयो, र उहाँको सरापहरू वास्तवमा मानिसमाथि आइलागेनन्, किनकि परमेश्वरका सरापहरू मानिसको विद्रोहीपनका निम्ति थिए, त्यसैले उहाँका सरापका शब्दहरू मानिसलाई सिद्ध बनाउनका निम्ति पनि बोलिएका थिए। परमेश्वरले मानिसलाई न्याय गर्नुभए पनि वा सराप दिनुभए पनि, ती दुवैले मानिसलाई सिद्ध बनाउँछ: ती दुवै मानिसभित्रको अशुद्धतालाई सिद्ध बनाउनका लागि गरिन्छ। यस माध्यमद्वारा मानिस शुद्ध पारिन्छ, मानिसभित्र जुन कुराको कमी हुन्छ त्यसलाई उहाँका वचन र कामहरूद्वारा सिद्ध पारिन्छ। परमेश्वरको कामको हरेक चरण—चाहे ती कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले मानिसलाई सिद्ध बनाउँछ, र ती बिलकुल उपयुक्त छन्। परमेश्वरले युगौंयुगसम्म कहिल्यै पनि यस्तो काम गर्नुभएन; आज, उहाँले तिमीहरूभित्र काम गर्नुहुन्छ, र तिमीहरूलाई उहाँको बुद्धिको कदर गराउनुहुन्छ। तिमीहरूले भित्री रूपमा केही पीडा भोगेको भए पनि, तिमीहरूको हृदयले सधैँ स्थिरता र शान्ति महसुस गर्छ; परमेश्वरको कामको यस चरणको आनन्द लिन सक्नु तेरो निम्ति आशिष् हो। तिमीहरूले भविष्यमा चाहे जे नै प्राप्त गर्न सके पनि तिमीहरूले आज परमेश्वरले तिमीहरूमा गर्नुहुने सबै काम प्रेम नै हो भनी देख्छौ। यदि मानिसले परमेश्वरको न्याय र शोधनको अनुभव गर्दैन भने, उसका कामहरू र जोश सधैँ सतह स्तरमा रहन्छ, र उसको स्वभाव सधैँ अपरिवर्तित रहन्छ। के यसलाई परमेश्वरद्वारा प्राप्त गरिएको मान्न सकिन्छ? आज, मानिसभित्र अझै पनि अहङ्कारी र घमण्डी धेरै कुराहरू भए तापनि, मानिसको स्वभाव पहिलेको भन्दा धेरै स्थिर छ। परमेश्वरले तँलाई मुक्ति दिनको लागि तँलाई काटछाँट गर्नुहुन्छ, अनि तैँले कहिलेकहीँ पीडा महसुस गरे पनि त्यो दिन आउनेछ जब तेरो स्वभावमा परिवर्तन आउनेछ। त्यस बेला, तैँले पछि फर्केर हेर्नेछस्, र परमेश्वरको काम कति बुद्धिमानी रहेछ भनी बुझ्नेछस्, अनि त्यस बेला तैँले परमेश्वरका अभिप्रायहरूलाई साँच्चै बुझ्न सक्नेछस्। आज, केही मानिसहरू छन् जसले भन्छन् कि उनीहरू परमेश्वरका अभिप्रायहरू बुझ्दछन्, तर त्यो साँचो होइन। वास्तवमा उनीहरू झूटो बोलिरहेका हुन्छन्, किनकि अहिले उनीहरूले परमेश्वरका अभिप्रायहरू मानिसलाई बचाउने हो कि सराप दिने हो भनी बुझ्न बाँकी नै छ। सायद अहिले तँ यसलाई स्पष्ट रूपमा देख्न सक्दैनस्, तर त्यो दिन आउनेछ जब तैँले परमेश्वरले महिमा प्राप्त गर्नुहुने दिन आएको देख्नेछस्, र परमेश्वरलाई प्रेम गर्नु कति अर्थपूर्ण रहेछ भनी बुझ्नेछस्, यसरी तैँले मानिसको जीवनलाई बुझ्नेछस् र तेरो शरीर परमेश्वरलाई प्रेम गर्ने संसारमा जिउनेछ। यसरी तेरो आत्मा स्वतन्त्र बनाइनेछ, तेरो जीवन आनन्दले भरिनेछ, र तँ सधैँ परमेश्वरको नजिक हुनेछस् र उहाँलाई हेर्नेछस्। त्यस बेला, तैँले साँच्चै परमेश्वरको आजको काम कति मूल्यवान् रहेछ भनी बुझ्नेछस्।
आज, धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू कष्टको कुनै मूल्य हुँदैन, र संसारले तिनीहरूलाई इन्कार गर्छ, तिनीहरूको घरेलु जीवन समस्याग्रस्त छ, परमेश्वरलाई तिनीहरू मनोहर लाग्दैनन्, र तिनीहरूको भविष्य धूमिल छ भन्ने विश्वास गर्छन्। कतिपय मानिसहरू केही हदसम्म कष्ट भोग्नुपर्दा, तिनीहरू मर्नसमेत चाहन्छन्। यो परमेश्वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायर हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र अयोग्य छन्! परमेश्वर मानिसले उहाँलाई प्रेम गरोस् भनी उत्कण्ठित हुनुहुन्छ, तर मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ, मानिसको कष्ट उति नै बढी हुन्छ, र मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ, मानिसका परीक्षाहरू उति नै ठुला हुन्छन्। यदि तँ उहाँलाई प्रेम गर्छस् भने, सबै प्रकारका कष्टहरू तँमाथि आइलाग्नेछन्—र यदि तँ उहाँलाई प्रेम गर्दैनस् भने, सायद तेरा निम्ति सबै कुरा सहज हुनेछ र तेरो वरिपरि सबथोक शान्तिपूर्ण हुनेछ। जब तँ परमेश्वरलाई प्रेम गर्छस्, तब तैँले आफ्नो वरिपरि विजय गर्न नसकिने धेरै कुराहरू छन् भन्ने सधैँ महसुस गर्नेछस्। अनि तेरो कद धेरै सानो भएकोले तँलाई शोधन गरिनेछ, र तँ परमेश्वरलाई सन्तुष्ट पार्न असक्षम हुनेछस्—तैँले सधैँ परमेश्वरका अभिप्रायहरू अति उच्च र मानिसको पहुँचभन्दा बाहिर छन् भन्ने महसुस गर्नेछस्। यी सबैका कारण तँलाई शोधन गरिनेछ—तँभित्र धेरै कमजोरीहरू भएकाले, र धेरै हिसाबले तँ परमेश्वरका अभिप्रायहरू पूरा गर्न असक्षम भएकाले, तँलाई आन्तरिक रूपमा शोधन गरिनेछ। तैपनि शोधनद्वारा मात्र शुद्धीकरण हासिल गरिन्छ भन्ने कुरालाई तिमीहरूले स्पष्ट रूपमा देख्नैपर्छ। यसैले, यी आखिरी दिनहरूको दौरान तिमीहरूले परमेश्वरका निम्ति गवाही दिनैपर्छ। तिमीहरूका कष्टहरू जतिसुकै ठूला भए पनि, तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि, तिमीहरू परमेश्वरप्रति बफादार रहनैपर्छ र तिमीहरूले आफूलाई परमेश्वरको योजनाबद्ध कार्यको कृपामा राख्नुपर्छ; यो मात्रै परमेश्वरलाई साँच्चै प्रेम गर्नु हो, र यो मात्र बलियो र गुन्जायमान गवाही हो। जब तँ शैतानको परीक्षामा पर्छस्, तब तैँले भन्नुपर्छ: “मेरो हृदय परमेश्वरको हो, र परमेश्वरले मलाई प्राप्त गरिसक्नुभएको छ। म तँलाई सन्तुष्ट पार्न सक्दिनँ—मैले परमेश्वरलाई उचित रूपमा सन्तुष्ट पार्नैपर्छ।” तँ परमेश्वरलाई जति धेरै सन्तुष्ट पार्छस्, परमेश्वरले तँलाई त्यति नै धेरै आशिष् दिनुहुनेछ, र परमेश्वरलाई प्रेम गर्ने तेरो जाँगर त्यति नै धेरै हुनेछ; तँसँग आस्था र सङ्कल्प पनि हुनेछ, र तैँले परमेश्वरलाई प्रेम गरेर बिताएको जीवन नै सबैभन्दा मूल्यवान् र अर्थपूर्ण जीवन हो भन्ने महसुस गर्नेछस्। के भन्न सकिन्छ भने, परमेश्वरलाई प्रेम गर्नेबित्तिकै, तँ दुःखविहीन हुनेछस्। कहिलेकाहीँ तेरो देह कमजोर भए पनि र तेरा धेरै वास्तविक कठिनाइ भए पनि, यदि तँ यस्तो समयमा साँच्चै परमेश्वरमा भर पर्छस् भने, तैँले सान्त्वना पाउनेछस् र आफ्नो आत्माभित्र सहज र सहारा पाएको महसुस गर्नेछस्। यसरी, तैँले धेरै परिस्थितिलाई जित्न सक्नेछस्, र तँ आफूले भोगेको कष्टका कारण परमेश्वरबारे गुनासो गर्नेछैनस्। बरु, तैँले भजन गाउन, नाच्न, र प्रार्थना गर्न, भेला हुन र सङ्गति गर्न, र परमेश्वरबारे सोच्न चाहनेछस्, र परमेश्वरले प्रबन्ध गर्नुभएका तेरो वरिपरिका सबै मानिस, घटना र कामकुराहरू उचित छन् भन्ने महसुस गर्नेछस्। यदि तँ परमेश्वरलाई प्रेम गर्दैनस् भने, तँलाई आफूले हेर्ने कुनै पनि कुरा मनपर्ने छैन र तँलाई कुनै पनि कुरा ठिक लाग्नेछैन; तँलाई अलिकति पनि राहत मिल्नेछैन र तँ आफ्नो आत्माभित्र दबिएको हुनेछस्, र तैँले सधैँ परमेश्वरबारे गुनासाहरू पाल्नेछस्, र तँलाई आफूले भोगेको कष्ट धेरै ठूलो छ, र आफूमाथि धेरै ठूलो अन्याय भएको छ भन्ने महसुस हुनेछ। यदि तैँले सुखका खातिर नभई परमेश्वरलाई सन्तुष्ट पार्न र शैतानद्वारा दोष नलगाइनका लागि पछ्याउँछस् भने, त्यस्तो पछ्याइले तँलाई परमेश्वरलाई प्रेम गर्ने ठूलो जोश-जाँगर दिनेछ। जब तँ परमेश्वरद्वारा बोलिएका सबै कुरा अभ्यास गर्न सक्षम हुन्छस्, र तैँले गर्ने सबै कुराले परमेश्वरलाई सन्तुष्ट पार्न सक्छ, तब यसलाई वास्तविकता हुनु भनिन्छ। परमेश्वरको सन्तुष्टिलाई पछ्याउनु भनेको उहाँका वचनहरूलाई अभ्यासमा लागू गर्न तेरो परमेश्वरलाई प्रेम गर्ने हृदय प्रयोग गर्नु हो। जस्तोसुकै समयमा पनि, अरूसँग बल नभएको बेलामा समेत, तँभित्र सधैँ परमेश्वरलाई प्रेम गर्ने हृदय हुन्छ, र तँ भित्री गहिराइबाट परमेश्वरको तृष्णा गर्छस् र उहाँबारे सोच्छस्। यो साँचो कद हो। तेरो कद कति ठूलो छ भन्ने कुरा तँसँग परमेश्वरलाई प्रेम गर्ने हृदय कति छ, तँ आफूलाई जाँच गरिँदा दृढ रहन सक्छस् कि सक्दैनस्, तँ आफूमाथि कुनै निश्चित वातावरण आइपर्दा कमजोर हुन्छस् कि हुँदैनस्, र तँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूद्वारा आफूलाई इन्कार गरिँदा अडिग रहन सक्छस् कि सक्दैनस् भन्ने कुरामा निर्भर हुन्छ; तथ्यहरूको आगमनले तेरो परमेश्वरलाई प्रेम गर्ने हृदय कस्तो छ भन्ने कुरा देखाउनेछ। परमेश्वर मानिसलाई साँच्चै नै धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा परमेश्वरका धेरै कामबाट देख्न सकिन्छ। यति मात्र हो कि, मानिसको आत्मिक आँखा अझै पूर्ण रूपमा खुल्न बाँकी छ र ऊ परमेश्वरका धेरै काम र उहाँका अभिप्रायहरू, वा परमेश्वरबारेका धेरै प्रेमिला कुरा स्पष्ट रूपमा देख्न सक्दैन; मानिससँग परमेश्वरप्रतिको साँचो प्रेम धेरै कम छ। तैँले यो सम्पूर्ण समयभरि परमेश्वरमा विश्वास गरेको छस्, र आज परमेश्वरले उम्कने सबै बाटो बन्द गरिदिनुभएको छ। साँचो रूपमा भन्नुपर्दा, तँसँग सही मार्ग लिनुबाहेक अरू कुनै विकल्प छैन, र परमेश्वरको कठोर न्याय र असीम मुक्तिले नै तँलाई यो सही मार्गमा डोर्याउँछ। कष्ट र शोधन अनुभव गरेपछि मात्र मानिसले परमेश्वर प्रेमिलो हुनुहुन्छ भन्ने जान्दछ। आजसम्म अनुभव गरिसकेपछि, मानिस परमेश्वरको प्रेमिलो स्वभावको केही भाग जान्न पुगेको छ भनेर भन्न सकिन्छ, तर यो अझै पनि पर्याप्त छैन, किनभने मानिसमा धेरै कमी छ। मानिसले परमेश्वरको अझ धेरै अद्भुत काम, र परमेश्वरले उसका लागि खडा गर्ने अझ धेरै कष्टकर शोधन अनुभव गर्नैपर्छ। त्यसपछि मात्र मानिसको जीवन स्वभाव परिवर्तन हुन सक्छ।