के तँलाई मानवजातिप्रतिको परमेश्‍वरको प्रेम थाहा छ?

आखिरी दिनहरूमा, परमेश्‍वरको देखापराइ र काममा, मानवजातिप्रतिको उहाँको प्रेम कहाँ प्रकट हुन्छ? तिमीहरूले यो कामको हरेक चरण अनुभव गरेर त्यो देख्न सक्छौ। परमेश्‍वर आफ्नो कामको हरेक चरणमा निश्‍चित विधिहरूद्वारा बोल्नुहुन्छ, निश्‍चित अगमवाणीहरू गर्नुहुन्छ, र उहाँका निश्‍चित सत्यता र स्वभावहरू व्यक्त गर्नुहुन्छ, र मानिसहरूले ती सबैमा प्रतिक्रिया दिन्छन्। अनि, मानिसहरूको प्रतिक्रिया कस्तो हुन्छ? तिनीहरूमध्ये कोही पनि परमेश्‍वरप्रति आज्ञाकारी हुँदैनन्, र तिनीहरूमध्ये कसैले पनि सक्रिय रूपमा सत्यता पछ्याउने वा उहाँको काम स्वेच्छासाथ स्विकार्ने गर्दैनन्। तिनीहरू सबै नकारात्मक, प्रतिरोधी र शत्रुतापूर्ण, अनि इन्कार र अस्वीकार गर्ने हुन्छन्। तथापि, परमेश्‍वरले सधैँ आफ्नो काम जारी नै राख्नुभएको छ, र मानिसहरूप्रतिको उहाँको प्रेम परिवर्तन हुँदैन। मानिसहरूको मनोवृत्ति जस्तोसुकै भए पनि, चाहे तिनीहरूले इन्कार गरे पनि वा अनिच्छापूर्वक स्विकारे पनि वा तिनीहरू अलिअलि मात्र परिवर्तित भए पनि, परमेश्‍वरको प्रेम परिवर्तन हुँदैन, उहाँको कामका चरणहरू कहिल्यै भङ्ग हुँदैनन्। यो मानिसहरूप्रति उहाँको प्रेमको प्रकटीकरण हो। साथै, परमेश्‍वरले हरेकपटक कामको एक चरण पूरा गर्नुहुँदा, मानिसहरूले जस्तोसुकै व्यवहार गरे पनि, तिनीहरूप्रतिको उहाँको प्रेम परिवर्तन हुँदैन; उहाँ अझै पनि आफ्नो काम गर्न र मानिसहरूलाई मुक्ति दिन जारी राख्नुहुन्छ। भविष्यमा कामको हरेक चरणमा, मानिसहरूलाई न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरू अझ गहन र अझ मर्मस्पर्शी, र तिनीहरूको वर्तमान स्थितिप्रति अझ निर्दिष्ट हुनेछन्। उहाँले विभिन्‍न कुराहरू बोल्नुहुनेछ र ती कुराहरूले मानिसहरूलाई अझ राम्रोसँग उहाँलाई बुझ्ने र बोध गर्ने, र उहाँको इच्छालाई अझ राम्रोसँग ग्रहण गर्ने तुल्याउनेछन्, अनि मानिसहरू उहाँ अझै पनि मानवजातिलाई प्रेम गर्नुहुन्छ भनी देख्न सक्षम हुनेछन्। मानिसहरूले सधैँ नकारात्मक वा प्रतिरोधपूर्ण प्रतिक्रिया दिएका भए पनि, कामको हरेक चरणमा तिनीहरूले सधैँ यस्तो प्रतिक्रिया दिएका भए पनि, परमेश्‍वरले सधैँ बोल्न र काम गर्न जारी राख्नुभएको छ, र आज पनि मानिसहरूप्रतिको उहाँको प्रेम परिवर्तित भएको छैन। त्यसकारण, मानवजातिको लागि परमेश्‍वरले गर्नुभएको हरेक काम प्रेम हो, यसमा कुनै शङ्का छैन। केही मानिसहरू भन्छन्, “यदि यो सबै प्रेम हो भने, किन परमेश्‍वरले मानिसहरूलाई घृणा नै गर्नुहुन्छ झैँ गरी न्याय र सजाय गर्नुहुन्छ? कसरी उहाँले मानिसहरूलाई मृत्युको परीक्षाबाट गुज्रन दिन सक्नुहुन्छ?” त्यो सही हो, परमेश्‍वरसँग मानवजातिको लागि जे छ त्यो सब प्रेम हो! परमेश्‍वरले मानिसहरूलाई सत्यता बुझाउन, र तिनीहरूलाई पश्‍चात्ताप गर्ने र सुध्रने अनि उहाँको स्वभाव जान्ने तुल्याउन तिनीहरूको अवज्ञामाथि न्याय र सजाय गर्नुहुन्छ, ताकि तिनीहरूले उहाँको डर मान्न र आज्ञापालन गर्न सकून्। केही मानिसहरूमा अझै पनि केही प्रतिरोध भए पनि, परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिने आफ्नो प्रयास अलिकति पनि फितलो पार्नुभएको छैन, न त तिनीहरूलाई त्याग्नु नै भएको छ। यही नै परमेश्‍वरको महान् प्रेम हो।

सेवा-कर्ताहरूको परीक्षाको दौरान, धेरै मानिसहरू यति नकारात्मक र चिन्तित भए कि तिनीहरूले स्वर्ग र पृथ्वीलाई पुकारे र यस्तो सोच्दै, विरोधमा समेत चिच्याए, “परमेश्‍वरमा यत्तिका वर्ष विश्‍वास गरेपछि र यत्तिका कष्ट भोगेपछि पनि म कसरी सेवाकर्ता भएको हुन सक्छु? मैले चाहेको यस्तो होइन!” मानिसहरू असन्तुष्ट थिए र तिनीहरूले कुरा बुझेनन्, तर परमेश्‍वरले तिनीहरूलाई बुझ्नुभयो, र के त्यो प्रेम थिएन र? परमेश्‍वरको प्रेममा मानिसहरूप्रतिको बुझाइ, तिनीहरूको सारप्रतिको सूक्ष्म अन्तर्दृष्टि, र तिनीहरूप्रतिको पूर्ण बुझाइ समावेश हुन्छ। उहाँ कुनै पनि अन्योल, ढोंग, वा झूटोपन बिना नै प्रेम गर्नुहुन्छ। उहाँको प्रेम वास्तविक र साँचो छ। तँसँग जहाँ कमीकमजोरी र ज्ञान वा बुझाइको कमी हुन्छ, त्यहाँ उहाँले तँलाई कृपा गर्नुहुन्छ, प्रेम गर्नुहुन्छ, र सधैँ उत्प्रेरित गर्नुहुन्छ। सेवा-कर्ताको रूपमा मानिसहरूले जतिसुकै अनिच्छुक वा असन्तुष्ट महसुस गरे पनि, तिनीहरूको भ्रष्टता र अनाज्ञाकारिताको कारण परमेश्‍वरले मानिसहरूलाई कहिल्यै त्याग्नुभएन। उहाँले सधैँ बोल्नुभयो, मानिसहरूलाई भरणपोषण र सहयोग गर्नुभयो, र केही महिनाको शोधनद्वारा, तिनीहरूको भ्रष्टता खुलासा गर्नुभयो र तिनीहरूको कुरूप अवस्थाबारे सचेत गराउनुभयो। के यी तीन महिनाको दौरान परमेश्‍वरमा मानिसहरूप्रति प्रेम थियो? यदि नभएको भए, उहाँले तेरो तर्फ कहिल्यै ध्यान दिनुहुन्थेन। सेवा-कर्ताको परीक्षाको दौरान, केही मानिसहरूलाई निष्कासित गरियो, र ती मानिसहरू साँच्चै नै गैरविश्‍वासी थिए। आफू सेवा-कर्ता भएको सुन्नेबित्तिकै तिनीहरू नकारात्मक भए र केही महिनापछि त तिनीहरूले सहनै सकेनन्। तँ परमेश्‍वरलाई पछ्याउँदा सेवाकर्ता बन्न र कष्ट भोग्न अनिच्छुक थिइस्, तर जब तँलाई त्यहाँ आशिष्‌हरू पाइन्छ भनेर भनियो, तँ खुसी र अझ उन्माद भइस्। यदि परमेश्‍वरसँग प्रेम नभएर घृणा मात्रै भएको भए, र उहाँले मानिसहरूमा यस्तो भ्रष्टता खुलासा भएको देख्नुभएको भए, उहाँले तिनीहरूलाई हटाइनुपर्थ्यो। तीन महिने शोधन बिलकुलै पनि धेरै लामो हुँदैन। म किन त्यो बिलकुलै पनि धेरै लामो हुँदैन भन्छु त? किनभने त्यो त मानिसहरूले सहन सक्नेजतिको मात्र समयावधि हो। यदि यो अलिकति पनि लामो भएको भए, मानिसहरूले सहन सक्ने थिएनन्। मानिसहरूले सधैँ भजन गाउने, भेलामा उपस्थित हुने र सङ्गति गर्ने गरेका भए पनि, तिनीहरू ती कुराहरूको आनन्द लिएर मात्र निश्‍चय नै दृढतापूर्वक खडा हुन सक्ने थिएनन्। त्यसैकारण, परमेश्‍वरले मानिसहरूलाई प्रारम्भमै आफ्ना मानिसहरू बनाउनुभयो, र यसमा उहाँको प्रेम पनि समावेश छ। परमेश्‍वरले मानिसहरूलाई प्रभावित गर्न र थामेर राख्न आफ्नो हृदय र प्रेम प्रयोग गर्नुहुन्छ, र यो प्रेमको प्रकटीकरण पनि हो। हामीले यो समय छनौटमा पनि परमेश्‍वरको प्रेम देख्न सक्छौँ। उहाँ एक दिन पनि ढिलाइ गर्नुहुन्न, बोल्ने समय हुनेबित्तिकै बोलिहाल्नुहुन्छ। यदि उहाँले केही महिना ढिलाइ गर्नुभएको भए, केही मानिसहरू बिस्तारै पछि हट्नेथिए। कुनै ढिलाइ वा झुलाइबिना मानिसहरूको वास्तविक अवस्थाअनुसार काम गर्नुहुने उहाँ नै हुनुहुन्छ। परमेश्‍वर सबैलाई विशेष ध्यान दिनुहुन्छ, र उहाँले मानिसहरूलाई मुक्ति दिनुहुँदै गर्दा, अन्त्यसम्म तिनीहरूप्रति जिम्मेवार रहनुहुन्छ। तर केही मानिसहरूमा सङ्कल्प वा दृढताको कमी थियो र तिनीहरू आफै पछि हटे। ती मानिसहरूले छोडिजानुअघि, पवित्र आत्माले केहीलाई विशेष रूपमा उत्प्रेरित गर्नुभयो र तिनीहरूलाई बस्न आग्रह गर्नुभयो, तिनीहरूलाई राख्नै नसक्ने अवस्था आएपछि मात्र माया मार्नुभयो। परमेश्‍वरले मानिसहरूलाई धेरै प्रेम गर्नुभयो, तर मानिसहरू उहाँको प्रेमको योग्य थिएनन्। परमेश्‍वरले पछि हटिसकेका र उहाँले अब प्रेम गर्न नसक्नुहुने केही मानिसहरूप्रतिको उहाँको प्रेम घृणामा परिणत भयो र तिनीहरूजस्ता मानिसहरूसँग त्यसउप्रान्त उहाँको कुनै सरोकार रहेन। परमेश्‍वरको कामको चरण र समयको कुरा गर्नुपर्दा, हरेक चरणको लागि कति समय लाग्छ, हरेक चरणमा कति वचनहरू बोलिन्छन्, कुन भाव र विधि प्रयोग गरिन्छ, र मानिसहरूलाई कुरा बुझाउन कुन सत्यताहरू प्रयोग गरिन्छ, यी सबै कुराहरूमा परमेश्‍वरको असल अभिप्राय र कडा परिश्रम समावेश छन्, र ती सबै उहाँका सटीक प्रबन्ध र योजनाहरू हुन्। परमेश्‍वरले आफ्नो बुद्धि प्रयोग गरेर मानवजातिलाई डोऱ्याउन र अगुवाइ गर्न, मानिसहरूको भरणपोषण र सेवा गर्न, मानिसहरूलाई अलिअलि गर्दै खुवाउन र तिनीहरूलाई हातमा हात मिलाउँदै आजको दिनसम्म डोऱ्याइल्याउन, सँधै सत्यता व्यक्त गरिरहनुभएको छ। यो अनुभव भएको जोकोहीलाई अहिलेसम्म यसको केही ज्ञान भइसकेको हुन्छ र उसले आफ्नो अनुभवको केही गवाही दिन सक्छ। यो चरणबद्ध प्रक्रिया अझै पनि तिनीहरूको सम्झनामा ताजै छ, र यसमा रहेको प्रेमलाई शब्दमा व्यक्त गर्न सकिँदैन। मानिसहरूप्रतिको परमेश्‍वरको प्रेम यति गहिरो छ कि मानिसहरू यसलाई पूर्ण रूपमा बुझ्न वा स्पष्ट रूपमा शब्दहरूमा व्यक्त गर्न कहिल्यै सक्षम हुनेछैनन्। परमेश्‍वरको काम गर्ने समय-छनौटबाट हामी मानिसहरूप्रति उहाँको प्रेम कति गहिरो छ भन्ने कुरा देख्न सक्छौँ। उहाँ हरेक सानोसानो कुरामा होसियार हुनुहुन्छ, शोधनले धेरै समय लिएमा मानिसहरू पछि हट्नेछन् र उहाँलाई छोडेर जानेछन् भन्ने डरले उहाँ शोधनलाई लामो समय लिन दिनुहुन्न। उहाँको प्रेमले मानिसहरूलाई बलियोसँग बाँध्छ र अलिकति पनि फितलो छोड्दैन। यसको साथै, सजाय र न्यायको कामका चरणहरूमा परमेश्‍वरले सटीक नियन्त्रण पनि गर्नुभएको थियो। यदि उहाँले अर्को तरिका थप्नुभएको भए, मानिसहरूलाई उहाँले तिनीहरूलाई धोका दिइरहनुभएको र छलिरहनुभएको छ भन्ने महसुस हुनेथियो, र कद पर्याप्त नै नभएको बेला तिनीहरू सम्भवतः पछि हट्ने थिए। त्यसैले तीन महिनाको शोधनपछि, परमेश्‍वरले सेवा-कर्ताहरूलाई आफ्ना मानिसहरूमा परिणत गर्न फेरि बोल्नुभयो, र सबै मानिसहरू खुसी भए। तिनीहरू यति उत्साहित थिए कि परमेश्‍वर कति बुद्धिमान्‌ र असल हुनुहुन्छ भन्ने देखेर तिनीहरूको आँखाबाट आँसु बग्यो। धेरै महिनाको शोधनपछि, मानिसहरूले वास्तवमै तिनीहरू सेवा-कर्ता भएको विश्‍वास गरे। तिनीहरूले सोचे, “हामीसँग कुनै असल गन्तव्य छैन। अब परमेश्‍वरले हामीलाई चाहनुहुन्न। हामी पूर्णतया आशारहित छौँ।” यदि त्यसबेलाको त्यो वातावरणमा, मैले मानिसहरूलाई मर्न दिन्‍नँ भनेको भए, मलाई कसैले पनि पत्याउने थिएन। तिनीहरूले यदि परमेश्‍वरले त्यसो भनिसक्नुभएको भए, त्यो तथ्य हुनैपर्छ भन्ने विश्‍वास गरे। यद्यपि, तीन महिनापछि मैले वचनहरूको अर्को अध्याय व्यक्त गरेँ र सेवा-कर्ताहरूको रूपमा तिनीहरूको परीक्षा समाप्त पारेँ। मानव स्वभावलाई शैतानले भ्रष्ट तुल्याएको भए पनि मानिसहरू कहिलेकाहीँ बालकहरूजस्तै एकदमै निर्दोष हुन्छन्। मानिसहरू परमेश्‍वरको अगाडि सधैँ बालकजस्तै हुन्छन् भनेर किन भनिन्छ? मानिसहरूको दृष्टिकोणबाट, सबै मानिसहरू भ्रष्ट र पतित भएजस्तो देखिन्छ, तर परमेश्‍वरको दृष्टिकोणबाट, मानिसहरू सधैँ बालक रहिआएका छन्, र तिनीहरू सबै नै विशेष गरी सोझा र निर्दोष छन्। त्यसकारण, परमेश्‍वरले मानिसहरूलाई शत्रुहरूजस्तै व्यवहार गर्नुहुन्न, बरु उहाँको मुक्ति र उहाँको प्रेमको लक्षित पात्रको रूपमा व्यवहार गर्नुहुन्छ।

मानिसहरूप्रतिको परमेश्‍वरको प्रेम तिनीहरूलाई अनुग्रह प्रदान गरिरहनु वा मानिसहरूले कल्पेझैँ आशिष्‌का वचनहरू वा तिनीहरूले सुन्न चाहने कुराहरू बोल्‍नु होइन। यो त सत्यता व्यक्त गर्नु र मानिसहरूलाई तिनीहरूको भ्रष्टताबाट शुद्ध पार्नु, शैतानको प्रभावबाट मुक्ति दिनु र उहाँको आशिष्‌ र प्रतिज्ञा प्राप्त गर्न योग्य बनाउनु हो। परमेश्‍वरको साँचो प्रेम त्यही हो। परमेश्‍वरले मानिसहरूको भ्रष्टता खुलासा गर्नुहुन्छ र तिनीहरूलाई वास्तवमै मननपर्ने वचनहरूद्वारा न्याय र निन्दा गर्नुहुन्छ। यी वचनहरूले तिनीहरूको हृदयलाई छेड्ने र तिनीहरूलाई पीडा दिने पनि गर्छन्। न्यायका केही वचनहरूले परमेश्‍वर मानिसहरूलाई वास्तवमै घृणा गर्नुहुन्छ झैँ गरी दोष वा श्राप दिएजस्तो देखिन्छ, तर यो सबै कुराको वास्तविक सन्दर्भ हुन्छ। यो पूर्णतया तथ्यसँग मेल खान्छ, र यो अतिरञ्‍जित छैन। परमेश्‍वरले मानिसहरूको भ्रष्ट सारअनुसार बोल्‍नुहुन्छ, र यसलाई जान्‍नको लागि मानिसहरूले केही समय यसलाई अनुभव गर्नुपर्छ। यी कुराहरू भन्‍नुको पछाडि परमेश्‍वरको उद्देश्य मानिसहरूलाई परिवर्तन गर्नु र तिनीहरूलाई मुक्ति दिनु हो। परमेश्‍वरले त्यसरी बोल्‍नुभयो भने मात्रै उहाँले सर्वोत्तम परिणामहरू हासिल गर्न सक्‍नुहुन्छ। तैँले बुझ्नुपर्छ कि परमेश्‍वरका सावधानीपूर्ण प्रयत्‍नहरू पूर्णतया मानिसहरूलाई मुक्ति दिनका लागि हुन् र ती सबै उहाँको प्रेमको मूर्तरूप हुन्। तैँले परमेश्‍वरको कामको बुद्धि वा कामका चरण र विधिहरू हेरे पनि, वा यसको समयअवधि वा उहाँको सटीक बन्दोबस्त र योजनाहरू हेरे पनि, यो सबैमा प्रेम समावेश छ। यहाँ, एउटा उदाहरण छ। सबै आमाबुबाहरूसँग तिनीहरूका छोराछोरीको लागि प्रेम हुन्छ, र छोराछोरीलाई सही मार्गमा हिँडून् भनेर तिनीहरू सबैले धेरै काम गर्छन्। जब तिनीहरूले आफ्ना छोराछोरीहरूमा त्रुटिहरू फेला पार्छन्, तिनीहरू धेरै नम्र भएर बोलेमा छोराछोरीहरूले नसुन्लान् र परिवर्तन नहोलान् भन्ने चिन्ता गर्छन्, तर तिनीहरू धेरै कठोर भएर बोलेमा छोराछोरीहरूको आत्मसम्मानमा चोट पुग्ला र तिनीहरूले सहन नसक्लान् भन्ने पनि चिन्ता गर्छन्। तिनीहरूले आफ्ना छोराछोरीको दृष्टिकोणबाट यसरी विचार गर्न सक्‍नु भनेको पूर्णतया प्रेमद्वारा नियन्त्रित कुरा हो, र यसरी तिनीहरू यसमा धेरै परिश्रम लगाउँछन्। छोराछोरीहरू सबैले आफ्ना आमाबाबुको प्रेम अनुभव गरेकै होलान्। प्रेम केवल कोमलता र विचारशीलता मात्र होइन, कडा सजाय पनि हो। परमेश्‍वरद्वारा मानवजातिलाई मुक्ति दिइने कुरा त झनै प्रेमद्वारा नियन्त्रित र प्रेममा आधारित हुन्छ, त्यसैले उहाँले भ्रष्ट मानवजातिलाई मुक्ति दिन आफूले सकेजति गर्नुहुन्छ। उहाँले केवल काम सक्काउनको लागि काम गर्नुहुन्न, बरु सटीक योजनाहरू बनाउनुहुन्छ, र चरणबद्ध रूपमा बोल्दै र काम गर्दै जानुहुन्छ। उहाँको कामको समय र स्थान, उहाँले बोल्नुहुने भाव र तरिका, र उहाँले गर्नुहुने काम…, यी प्रत्येकले उहाँको प्रेम प्रकट गर्छन् र यी प्रत्येकले नै मानवजातिको लागि उहाँको प्रेम असीम र अमाप्य छ भनेर प्रचुर रूपमा देखाउँछन् भनेर भन्न सकिन्छ। सेवा-कर्ताहरूको परीक्षामा धेरै मानिसहरूले विद्रोही शब्दहरू बोले वा केही गुनासोहरू गरे, तर यसैको कारण परमेश्‍वरले मानिसहरूलाई नराम्रो सोच्‍नुभएन, न त तिनीहरूमध्ये कसैलाई यसको लागि सजाय नै दिनुभयो। उहाँ मानिसहरूलाई प्रेम गर्नुहुन्छ, त्यसैले उहाँ सबै कुरामा सहनशील हुनुहुन्छ। यदि परमेश्‍वरसँग कुनै प्रेम नभएको भए, र घृणा मात्रै भएको भए, उहाँले धेरै पहिले नै सबैलाई दोषी ठहराइसक्‍नुहुन्थ्यो। तर परमेश्‍वरसँग प्रेम भएको हुनाले, उहाँले यी कुराहरूबारे धेरै सोच्‍नुहुन्‍न, उहाँ मानिसहरूप्रति सहनशील रहनुहुन्छ, र उहाँले तिनीहरूका कठिनाइहरू बुझ्‍न सक्‍नुहुन्छ, र उहाँले गर्नुहुने सबै कुरा प्रेमद्वारा नियन्त्रित हुन्छ। परमेश्‍वरले मात्रै मानिसहरूलाई बुझ्‍नुहुन्छ, र तँ आफैले समेत आफूलाई बुझ्दैनस्। ध्यान दिएर फेरि विचार गर्, के यो साँचो होइन र? कतिपय मानिसहरू परीक्षा सामना गर्दा, यो र त्यो कुराबारे गुनासो गर्छन्। मानिसहरू नचाहिँदो कुरामा चिन्तित हुन्छन्, र तिनीहरू आशिष्‌हरूमा बाँचे पनि तिनीहरूलाई यसको पत्तो हुँदैन। स्वर्गबाट पृथ्वीमा झरेर परमेश्‍वरले कति धेरै कष्ट भोग्‍नुभएको छ त्यो कसैले थाहा पाउन सक्‍दैन। परमेश्‍वर यति महान् हुनुहुन्छ; उहाँले मानव बन्‍नको लागि, त्यति महत्त्वहीन र तुच्छ मानव, त्यति अपमानित व्यक्ति बन्‍नको लागि, उहाँले कति ठूलो कष्ट सहनुपर्‍यो होला! एउटा सांसारिक उदाहरण यसप्रकार छ। एउटा असल सम्राटले आफ्नो प्रजालाई आफ्नो सन्तानलाई झैँ प्रेम गर्छ। सर्वसाधारणको पीडा कम गर्नको लागि ऊ सादा पोसाकमा साधारण व्यक्तिको रूपमा तिनीहरूमाझ तिनीहरूका कठिनाइहरू जाँच्‍न र बुझ्‍न जान्छ। उसको हैसियतको आधारमा, सर्वसाधारणको हैसियतमा झर्नु आफैमा अपमानजनक कुरा हो। उसले साधारण मानिसझैँ जिउनुपर्छ, र ऊ सम्राट हो भनेर नचिन्ने मानिसहरूले उसलाई साधारण व्यक्तिझैँ व्यवहार गर्नेछन्। मानिसहरूमाझ धेरै खतराहरू हुन्छन्, कतिले सम्राटलाई मार्न वा सत्ता कब्जा गर्न खोजिरहेका हुन्छन् भन्ने कसैलाई थाहा हुँदैन, त्यसैले ऊ मानिसहरूको अवस्था बुझ्न तिनीहरूमाझ जाँदा थप सतर्क हुनु आवश्यक हुन्छ। उसको हैसियत र ओहोदाअनुसार उसले यस्तो पीडा वास्तवमा भोग्नैनपर्ने भएकोले, ऊ यसो गर्न कसरी सक्षम हुन्छ? ऊ त बस् एक असल सम्राट बन्न र आम मानिसहरूको लागि साँच्चै केही गर्न चाहन्छ। अनि, परमेश्‍वरले आखिरी दिनहरूमा मानवजातिलाई पूर्णतया मुक्ति दिन चाहनुहुन्छ, र उहाँले आज यसरी मानवजातिलाई खुलासा र न्याय गर्ने हदसम्म उहाँको व्यवस्थापन योजना पुगेको छ। परमेश्‍वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ, त्यसैले मानवजातिलाई मुक्ति दिनुहुन्छ। उहाँले मानवजातिलाई प्रेम गर्नुहुने भएकोले नै र उहाँ प्रेमद्वारा प्रेरित र उत्प्रेरित हुनुभएकोले नै मानवजातिलाई मुक्ति दिन उहाँ देह बन्नुहुन्छ र व्यक्तिगत रूपमा सिंहको ओडारमा जानुहुन्छ। परमेश्‍वरले मानवजातिलाई प्रेम गर्नुहुने भएकोले नै उहाँ यसो गर्न सक्षम हुनुहुन्छ। यो भ्रष्ट मानवजातिलाई मुक्ति दिनको निम्ति देह बन्न परमेश्‍वरले अपार अपमान सहनु उहाँको प्रेम एकदमै महान्‌ छ भन्ने कुराको पूर्ण प्रमाण हो। परमेश्‍वरको वचनका हरफहरूमा अर्ती, सान्त्वना, प्रोत्साहन, सहनशीलता, धैर्यता, अनि अझै धेरै न्याय, सजाय, श्राप, सार्वजनिक खुलासा, आश्‍चर्ययुक्त प्रतिज्ञाहरू छन्। विधि जुनसुकै भए पनि, त्यो प्रेमद्वारा नियन्त्रित हुन्छ, र यो उहाँको कामको सार हो। आज तिमीहरू सबैसँग उहाँको प्रेमबारे केही ज्ञान छ, तर यो त्यति गहिरो छैन। यस ज्ञानमा मानव कल्पना मिसिएको छ, र तिमीहरूले उहाँको प्रेमबारे जे-जति अनुभव गर्न सक्छौ, त्यो सीमित छ। पछि तिमीहरूले अझै केही वर्ष बिताएपछि, यो प्रेम कति गहिरो र महान्‌ छ, कसरी यो मानव भाषामा वर्णन गर्न नसकिने छ भनेर महसुस गर्नेछौ। जब मानिसहरूले परमेश्‍वरको प्रेमबारे थाहा पाउँछन्, तिनीहरूसँग उहाँप्रति प्रेमको हृदय हुन थाल्छ। यदि मानिसहरूसँग परमेश्‍वरको निम्ति कुनै प्रेम छैन भने, तिनीहरूले कसरी उहाँको प्रेमको ऋण तिर्न सक्छन्? यदि तैँले आफ्‍नो जीवन नै अर्पन्थिस् भने पनि, तैँले अझै पनि परमेश्‍वरको प्रेमको ऋण तिर्न सक्‍ने थिइनस्। अझै केही वर्षहरू बिताउँदै जाँदा, तिमीहरूले परमेश्‍वरको प्रेम के हो भनेर थाहा पाउनेछौ। तब तिमीहरूले आफ्नो अहिलेको अवस्था र प्रकटीकरणहरूलाई फर्केर हेर्दा, अत्यन्तै पछुतो महसुस गर्नेछौ, र तिमीहरू परमेश्‍वरको सामु ढल्नेछौ। आज धेरैजसो मानिसहरू किन परमेश्‍वरलाई यति नजिकबाट र यति उत्सुकतासाथ पछ्याउँछन्? किनभने तिनीहरूलाई परमेश्‍वरको प्रेमबारे थाहा छ र तिनीहरू परमेश्‍वरको काम मानवजातिलाई मुक्ति दिनु हो भनेर बुझ्छन्। यसबारे सोच, समय-छनौटको कुरामा परमेश्‍वरको काम अविश्‍वसनीय रूपमा सटीक छ, बिनाकुनै ढिलाइ यो एक चरणबाट अर्कोमा अघि बढ्छ। उहाँ किन ढिलाइ गर्नुहुन्न? मानवजातिलाई मुक्ति दिन। उहाँ सकेसम्म धेरै मानिसहरूलाई मुक्ति दिन चाहनुहुन्छ, र उहाँ मुक्ति दिन सकिने एक जनालाई पनि गुमाउन चाहनुहुन्न, जबकि मानिसहरू आफैले आफ्नो नियतिको वास्ता गर्दैनन्। त्यसकारण, संसारमा तिनीहरूलाई सबैभन्दा बढी प्रेम कसले गर्छ भनेर पनि थाहा छैन। तँ आफैलाई प्रेम गर्दैनस् र आफ्नो जीवनको मोल वा कदर गर्न जान्दैनस्, र परमेश्‍वरले मात्र मानिसहरूलाई सबैभन्दा बढी प्रेम गर्नुहुन्छ। थोरै मानिसहरू मात्र परमेश्‍वरको प्रेम अनुभव गर्न सक्षम हुन्छन्, तर धेरै मानिस अझै पनि त्यो अनुभव गर्न बाँकी छन्। तिनीहरू आफूलाई प्रेम गर्नु अझ भरपर्दो हुन्छ भन्ने विश्‍वास गर्छन्, तर आफैलाई गर्ने प्रेम कस्तो हुन्छ भन्ने कुराको स्पष्ट बुझाइ तिनीहरूसँग हुनुपर्छ। के मानिसहरूले आफूलाई प्रेम गरेर आफैलाई मुक्ति दिन सक्छन्? परमेश्‍वरको प्रेमले मात्र मानिसहरूलाई मुक्ति दिन सक्छ, त्यो मात्र साँचो प्रेम हो, र पछि तैँले बिस्तारै साँचो प्रेम के हो भन्ने अनुभव गर्नेछस्। यदि परमेश्‍वर काम गर्न र मानिसहरूलाई आमनेसामने रूपमा डोऱ्याउन, तिनीहरूसँग दिनरात अन्तरक्रिया गर्न र जिउनको लागि देह नबन्नुभएको भए, तिनीहरूले सजिलै परमेश्‍वरको प्रेम चिन्न सक्ने थिएनन्। यदि परमेश्‍वर देहधारी नबन्नुभएको भए र उहाँले यति धेरै सत्यताहरू व्यक्त नगर्नुभएको भए, मानिसहरूले उहाँलाई कहिल्यै चिन्न सक्ने थिएनन्, र उहाँको प्रेमबारे कसैले थाहा पाउने थिएन।

परमेश्‍वर र मान्छेको प्रकार एउटै होइन, र दुवै दुई फरक संसारमा जिउँछन्। मान्छेले परमेश्‍वरको भाषा बुझ्‍न सक्दैन, उहाँका विचारहरू बुझ्न सक्‍नु त झन् परै जाओस्। परमेश्‍वरले मात्रै मानिसहरूलाई बुझ्‍नुहुन्छ, तर तिनीहरू उहाँलाई बुझ्‍न असक्षम हुन्छन्। परमेश्‍वरले देह बनेर र प्रकारमा मानवजस्तै (बाहिरी रूपमा उस्तै देखिने) बनेर अनि मानिसहरूलाई मुक्ति दिन धेरै अपमान र पीडा सहेर मात्र तिनीहरूलाई उहाँको काम बुझ्‍न र जान्‍न सक्‍ने तुल्याउन सक्‍नुहुन्छ। परमेश्‍वर मानिसहरूलाई मुक्ति प्रदान गर्न किन कहिल्यै छोड्नुहुन्‍न? के यो मानिसहरूप्रतिको उहाँको प्रेमको कारणले गर्दा नै होइन र? उहाँले मानवजातिलाई शैतानले भ्रष्ट तुल्याएको देख्‍नुहुन्छ, र उहाँले तिनीहरूलाई त्यसै जान दिन वा छाड्न सक्‍नुहुन्‍न। यही कारणले गर्दा उहाँसँग व्यवस्थापन योजना भएको हो। यदि मानिसहरूले कल्पेजस्तै परमेश्‍वरले रिस उठ्नेबित्तिकै मानवजातिलाई नष्ट गर्नुहुन्थ्यो भने, तिनीहरूलाई मुक्ति दिनको लागि उहाँले आज जे-जस्तो पीडा सहनुहुन्छ त्यस्तो पीडा सहनुपर्ने जरुरी नै हुन्थेन। अनि, ठ्याक्‍कै भन्दा, देह बनेर परमेश्‍वरले सहनुभएको यही पीडाले नै उहाँको प्रेम पनि प्रकट गरेको छ। त्यसपछि मात्रै अलिअलि गर्दै उहाँको प्रेम मानवजातिले पत्ता लगाउँदै गरेको र सबै मानिसहरूलाई थाहा हुँदै गएको छ। यदि यसप्रकारको काम आज अस्तित्वमा नभएको भए, मानिसहरूले स्वर्गमा एउटा परमेश्‍वर हुनुहुन्छ र उहाँसँग मानवजातिको निम्ति प्रेम छ भनेर मात्रै जान्‍ने थिए। त्यो धर्मसिद्धान्त मात्रै हुन्थ्यो, र मानिसहरूले परमेश्‍वरको साँचो प्रेमलाई कहिल्यै अवलोकन र अनुभव गर्न सक्दैनथे। परमेश्‍वरले देहमा गर्नुहुने काममार्फत मात्रै मानिसहरूसँग उहाँको बारेमा साँचो बुझाइ हुन सक्छ। यो बुझाइ अस्पष्ट वा खोक्रो वा केवल धर्मसिद्धान्तका शब्दहरू हुँदैन, बरु ठोस र वास्तविक हुन्छ, किनभने परमेश्‍वरले मानवजातिलाई दिनुहुने प्रेम अत्यन्तै फाइदाजनक हुन्छ। यो काम उहाँले देहमा रहेर मात्रै गर्न सक्‍नुहुन्छ, तर पवित्र आत्माले गर्न सक्‍नुहुन्‍न। प्रभु येशूले मानिसहरूलाई दिनुभएको प्रेम कति महान् थियो? उहाँ भ्रष्ट मानवजातिलाई मुक्ति दिन क्रूसमा टाँगिनुभयो, र तिनीहरूको लागि अनन्त पापबलि बन्‍नुभयो। क्रूसमा नटाँगिउन्जेलसम्म मानवजातिको छुटकाराको काम गर्न उहाँ आउनुभयो। यो प्रेम कति अपार छ। परमेश्‍वरको काम कति अनमोल छ। कतिपय मानिसहरूले देहधारी परमेश्‍वरबारे सधैँ केही निश्‍चित धारणाहरू राख्छन्, र त्यो तिनीहरूको गल्ती हो। तँ किन सधैँ यी धारणाहरू राख्छस्? परमेश्‍वर देहधारी नबन्‍नुभएको भए, परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वास खोक्रो र अवास्तविक, रित्तो शब्द मात्रै हुन्थ्यो, र तिनीहरू आफ्नो विश्‍वासको बाबजुद आखिरमा नष्ट भइछाड्थे! मानवजातिप्रतिको परमेश्‍वरको प्रेम मुख्यतः उहाँले देहमा हुँदा गर्नुभएको कार्य, मानिसहरूलाई व्यक्तिगत रूपमा मुक्ति दिने, तिनीहरूसँग आमनेसामने भई कुरा गर्ने र तिनीहरूसँग आमनेसामने भई जिउने कार्यमा प्रकट हुन्छ। यसमा अलिकति पनि दुरी छैन, र यसमा कुनै देखावटीपन छैन; यो वास्तविक छ। मानवजातिलाई मुक्ति दिने उहाँको कार्य त्यस्तो हुनु, र त्यसको लागि उहाँ देह बन्‍न र मानिसहरूसँग पीडामा वर्षौँ बिताउन सक्‍नु भनेको पुराको पुरा मानवजातिप्रतिको उहाँको प्रेम र दयाकै कारण हो। मानवजातिप्रतिको परमेश्‍वरको प्रेम सर्तरहित छ र यसले कुनै माग गर्दैन। यसको सट्टामा, उहाँले तिनीहरूबाट के प्राप्त गर्न सक्‍नुहुन्छ? परमेश्‍वरप्रति मानिसहरू रुखो छन्। कसले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्न सक्छ? मानिसहरूले परमेश्‍वरलाई अलिकति आरामसमेत दिँदैनन्, र उहाँले आजको दिनसम्‍म मानवजातिबाट साँचो प्रेम प्राप्त गर्नुभएकै छैन। परमेश्‍वरले निस्स्वार्थ रूपमा दिइरहनुहुन्छ र निस्स्वार्थ रूपमा भरणपोषण गरिरहनुहुन्छ, तैपनि मानिसहरू अझै सन्तुष्ट छैनन् र उहाँलाई निरन्तर अनुग्रह र आशिष्‌ मागिरहन्छन्। मानिसहरू कति कठिन र दुःखदायी छन्! तैपनि, ढिलोचाँडो परमेश्‍वरको कामले परिणामहरू निकाल्ने दिन आउनेछ अनि परमेश्‍वरका चुनिएका धेरैजसो मानिसहरूले आफ्‍नो हृदयबाट साँचो धन्यवाद ज्ञापन गर्नेछन्। धेरै वर्षसम्‍म यस्तो अनुभव गरेकाहरूले यो महसुस गर्न सक्‍नेछन्। मानिसहरू भावशून्य हुन सक्छन्, तैपनि, तिनीहरू अझै मान्छे नै हुन्, तिनीहरू निर्जीव वस्तु होइनन्। परमेश्‍वरको काम अनुभव नगरेका मानिसहरूले यी कुराहरू बुझ्‍न सक्दैनन्। तिनीहरूले परमेश्‍वरद्वारा व्यक्त गरिएका सत्यताहरू सही छन् भनेर मात्रै स्वीकार गर्छन्, तर तिनीहरूसँग त्यति धेरै गहन बुझाइ हुँदैन, किनभने तिनीहरूसँग कुनै अनुभव नै छैन।

परमेश्‍वरले धेरै वर्षसम्म देहमा काम गर्नुभएको छ र अनगिन्ती कुराहरू बोल्नुभएको छ। परमेश्‍वरले मानिसहरूलाई सेवाकर्ताको परीक्षा दिएर यस्तो गर्न सुरु गर्नुभयो र त्यसपछि अगमवाणीहरू गर्नुभयो अनि न्याय र सजायको काम सुरु गर्नुभयो, र त्यसपछि मानिसहरूको शोधन गर्न मृत्युको परीक्षा प्रयोग गर्नुभयो। त्यसपछि उहाँले मानिसहरूलाई उहाँमाथिको विश्‍वासको सही मार्गमा डोर्‍याउनुभयो। हरप्रकारका मानव धारणाहरूविरुद्ध लड्दै, परमेश्‍वर बोल्नुहुन्छ र मानिसहरूलाई सबै सत्यता प्रदान गर्नुहुन्छ। त्यसपछि उहाँ मानिसहरूलाई अगाडि आशा छ भनी देखाउन थोरथोरै आशा प्रदान गर्नुहुन्छ जुन परमेश्‍वर र मानिस एकसाथ सुन्दर गन्तव्यमा प्रवेश गर्दैछन् भन्ने हो। यो काम पुराको पुरा परमेश्‍वरको योजनाअनुसार हुने भए पनि, मानवजातिको आवश्यकताअनुसार नै गरिन्छ। यो त्यतिकै गरिँदैन; यो सबै काम गर्न परमेश्‍वरले आफ्नो बुद्धि प्रयोग गर्नुहुन्छ। परमेश्‍वरसँग प्रेम भएकोले नै उहाँ यी भ्रष्ट मानिसहरूसँग यसरी गम्भीरतापूर्वक व्यवहार गर्न बुद्धि प्रयोग गर्न सक्नुहुन्छ। उहाँले कुनै पनि हालतमा मानिसहरूलाई खेलौना झैँ खेलाउनुहुन्न। परमेश्‍वर आफ्नो स्वरको भाव र वचनहरूद्वारा, कहिलेकाहीँ मानिसहरूलाई न्याय र सजाय गर्नुहुन्छ वा मानिसहरूको परीक्षा लिनुहुन्छ, कहिलेकाहीँ एक विशेष वचनले मानिसहरूलाई परीक्षा र यातना भोग्ने तुल्याउँछ, र कहिलेकाहीँ उहाँले मानिसहरूलाई वचनहरूको विशेष विकल्प प्रदान गर्नुहुन्छ जसले तिनीहरूलाई स्वतन्त्र र सहज महसुस गराउँछ। उहाँ वास्तवमै मानिसहरूको लागि एकदमै धेरै सोचविचार र ख्याल गर्नुहुन्छ। मानिसहरू परमेश्‍वरका सृष्टि भए पनि, र सबैले शैतानबाट भ्रष्टता अनुभव गरेका भए पनि, र मानिसहरू बेकार र रद्दीबाहेक केही नभए पनि, र तिनीहरूको प्रकृति त्यस्तै नै भए पनि, उहाँले मानिसहरूलाई तिनीहरूको सार वा तिनीहरूले पाउनुपर्ने प्रतिशोधअनुसार व्यवहार गर्नुहुन्न। उहाँको बोली कडा हुन सक्छ, तर उहाँ मानिसहरूलाई सधैँ धैर्य, सहनशीलता र करुणासाथ व्यवहार गर्नुहुन्छ। मानिसहरूले यो कुरा बिस्तारै र सावधानीसाथ मनन गर्नुपर्छ! यदि परमेश्‍वरले मानिसहरूलाई सहनशीलता, करुणा र अनुग्रहसाथ व्यवहार नगर्नुभएको भए, के उहाँले तिनीहरूलाई मुक्ति दिन यी सबै कुरा भन्न सक्नुहुन्थ्यो र? किन उहाँले सरलै तिनीहरूको निन्दा गर्नुहुन्थेन र? मानिसहरू अझै पनि परमेश्‍वरको प्रेम चिन्दैनन्। तिनीहरू कति मूर्ख र अज्ञानी छन्! मानिसहरूको सारमा कुनै प्रेम छैन। तिनीहरूलाई प्रेम के हो, र परमेश्‍वरले यो किन गर्नुहुन्छ भनेर थाहै छैन। जब मानिसहरूले परमेश्‍वरको प्रेम अनुभव गरेका हुँदैनन्, तिनीहरूले परमेश्‍वरको यो काम राम्रै छ, मानिसहरूको लागि लाभदायक छ, र यसले मानिसहरूलाई परिवर्तन गर्न सक्छ भन्ने मात्र महसुस गर्छन्, तर एउटा पनि व्यक्तिले “परमेश्‍वरको काम कति राम्रो छ, उहाँको काम कति अनमोल छ! मानिसहरूप्रतिको परमेश्‍वरको प्रेम कति गहन छ। उहाँले मानिसहरू रद्दी नै हुन् जसरी व्यवहार गर्नुभएको छैन!” भनेर सोच्दैन। मानिसहरूले परमेश्‍वरलाई परमेश्‍वरझैँ व्यवहार गरेका छैनन्, तर परमेश्‍वरले मानिसहरूलाई मानिसहरूझैँ व्यवहार गर्नुभएको छ। के त्यस्तै भएको छैन र? परमेश्‍वरले तँ पशु हो भन्नुहुन्छ, तर उहाँले तँलाई पशुझैँ व्यवहार गर्नुभएको छैन। यदि परमेश्‍वरले तँलाई पशुझैँ व्यवहार गर्नुभएको भए, के उहाँले अझै पनि तँलाई सत्यता प्रदान गर्न सक्नुहुन्थ्यो र? के उहाँले तँलाई मुक्ति दिन अझै यति कष्ट भोग्नुहुन्थ्यो र? केही मानिसहरूले निकै अन्याय भएको महसुस गर्छन् र भन्छन्, “परमेश्‍वरले म व्यर्थ छु भन्नुहुन्छ। मलाई जिइरहन लज्जास्पद लाग्छ।” मानिसहरू वास्तवमै परमेश्‍वरको इच्छा बुझ्दैनन्। यो भन्न सकिन्छ कि तैँले आफ्नो पूरै जीवनमा पनि परमेश्‍वरको कामको बुद्धि र कडा परिश्रमलाई धेरै गहन रूपमा अनुभव नगर्न सक्छस्। तर तेरो अनुभव जतिसुकै गहन वा सतही भए पनि, तैँले यसलाई अन्त्यमा बुझेर थोरथोरै ज्ञान प्राप्त गरेसम्म, त्यो पर्याप्त नै हुनेछ। परमेश्‍वरले अझै पनि मानिसहरूलाई सत्यता बुझ्नू, आफ्नो स्वभाव परिवर्तन गर्नमा ध्यान लगाउनू, र हृदयमा बफादारी, आज्ञाकारिता र परमेश्‍वरप्रतिको प्रेमको सत्यताबारे आफ्नो बुझाइ विस्तारै गहिर्‍याउनू भनेर भन्नुहुन्छ। यदि मानिसहरूले थोरै मात्र समर्पित हुने वा कष्ट भोग्ने गरे भने, तिनीहरूले धेरै योगदान दिएको अनि परमेश्‍वरसामु उच्च योग्यताहरू भएको महसुस गर्न सक्छन् र यदि तिनीहरूले अलि बढी योगदान गरे भने त आफ्नो योग्यताको प्रदर्शन नै गर्नेछन्, र त्यो उल्लेख नगरेसम्म, भित्र असुरक्षित र आक्रोशित महसुस गर्छन्। मानिसहरूमा कसरी प्रेम हुन्छ? मानिसहरूसँग हुने यो प्रेम कस्तो प्रेम हो? के परमेश्‍वरले मानवजातिबाट साँचो प्रेम प्राप्त गर्नुभएको छ? के उहाँ मानवजातिको प्रेमको योग्य हुनुहुन्न र?

सन् १९९९, हिउँद

अघिल्लो: सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ

अर्को: मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्