च. धार्मिक संसारका फरिसी र ख्रीष्टविरोधीहरूका बहकाउ र नियन्त्रणमा परेकाहरूले परमेश्‍वरबाट मुक्ति पाउन सक्छन् कि सक्दैनन्

बाइबलमा परमेश्‍वरका वचनहरू

“तिनीहरू अन्धाहरूका अन्धा अगुवाहरू हुन्। र यदि अन्धोले अन्धोलाई डोर्‍यायो भने दुवै खाडलमा खस्‍नेछन्” (मत्ती १५:१४)

“किनकि यी मानिसहरूका अगुवाहरूले तिनीहरूलाई गल्ती गर्ने तुल्याउँछन्; र तिनीहरूद्वारा अगुवाइ गरिएकाहरू नष्ट हुनेछन्” (यशैया ९:१६)

“ज्ञानको कमीका कारण मेरा मानिसहरू नष्ट पारिन्छन्” (होशे ४:६)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन् तर उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्‍वरका अभिप्रायअनुसारको हुने बारेमा त कुरै नगरौँ। उनीहरू सबैजना “परमेश्‍वर”लाई भाषण दिन उचाइमा उभिएका व्यर्थका नीच मानिसहरू हुन्। उनीहरू परमेश्‍वरको ध्वजा बोके तापनि जानाजान परमेश्‍वरको विरोध गर्ने मानिस हुन्। जो परमेश्‍वरमा विश्‍वास गरेको पर्चा बोक्छन् जबकि मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिस मान्छेको आत्मा निल्ने दियाबलसहरू हुन्, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई बाधा दिने पिशाचका प्रमुख हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधा-अड्चनहरू हुन्। उनीहरू “स्वस्थ विधान” भएका जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्‍वरविरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्‍ने कुरा उनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्? उनीहरू मानव आत्मा निल्न समर्पित जीवित शैतान हुन् भन्‍ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? परमेश्‍वरको उपस्थितिमा आफूलाई उच्च सम्मान गर्ने व्यक्तिहरू नै सबैभन्दा नीच मान्छे हुन् भने आफूलाई सानो ठान्‍नेहरू सबैभन्दा सम्मानित व्यक्ति हुन्। अनि परमेश्‍वरको कामबारे जान्दछु भनी ठान्नेहरू र अझ भन्‍ने हो भने उहाँलाई सोझै हेर्दै अन्य मानिसहरूमाझ ठूलै तामझामको साथमा परमेश्‍वरको कामबारे घोषणा गर्न सक्षम छु भनी ठान्नेहरू सबैभन्दा अज्ञानी मान्छे हुन्। त्यस्ता मान्छेहरूसँग परमेश्‍वरको गवाही हुँदैन, उनीहरू घमण्डी र अहङ्कारले भरिएका हुन्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्

व्यवस्थाको युगका ती यहूदी फरिसी, प्रधान पुजारी, र शास्त्रीहरू परमेश्‍वरमा नाउँ मात्रको विश्‍वास गर्थे, तर तिनीहरूले उहाँको मार्गलाई पिठ्यूँ फर्काए, र देहधारी परमेश्‍वरलाई क्रूसमा समेत टाँगे। त्यसोभए, के तिनीहरूको विश्‍वासले परमेश्‍वरको अनुमोदन प्राप्त गरेको हुन सक्थ्यो र? (अहँ।) परमेश्‍वरले तिनीहरूलाई यहूदी विश्‍वासका मानिस, एक धार्मिक समूहका सदस्य भनेर तोकिसक्नुभएको थियो। त्यसै गरी, परमेश्‍वर अहिले येशूमा विश्‍वास गर्नेहरूलाई कुनै धार्मिक समूहका सदस्यका रूपमा हेर्नुहुन्छ, किनकि उहाँ तिनीहरूलाई उहाँको मण्डलीका सदस्य वा उहाँका विश्‍वासीका रूपमा स्वीकार गर्नुहुन्‍न। किन परमेश्‍वर धार्मिक संसारलाई यस्तो निन्दा गर्नुहुन्छ? किनकि धार्मिक समूहहरूका सबै सदस्य, विशेष गरी विभिन्‍न सम्प्रदायका उच्च तहका अगुवाहरूको हृदयमा परमेश्‍वरको भय हुँदैन, न त तिनीहरू परमेश्‍वरको इच्छा पालन नै गर्छन्। तिनीहरू सबै अविश्‍वासी हुन्। तिनीहरू देहधारणमा विश्‍वास गर्दैनन्, झन् सत्यता स्विकार्नु त परको कुरा हो। तिनीहरू परमेश्‍वरका आखिरी दिनहरूको काम वा उहाँले व्यक्त गर्ने सत्यताहरू कहिल्यै खोज्दैनन्, त्यसको सोधीखोजी, जाँच गर्दैनन्, वा त्यो स्विकार्दैनन्, बरु सोझै परमेश्‍वरका आखिरी दिनहरूको देहधारणको कामलाई निन्दा र तिरस्कार गर्छन्। यसमा प्रस्टसित के देखिन्छ भने, तिनीहरू परमेश्‍वरमा नाउँ मात्रको विश्‍वास गर्लान्, तर परमेश्‍वर तिनीहरूलाई आफ्ना विश्‍वासीका रूपमा स्विकार्नुहुन्‍न; उहाँ तिनीहरूलाई दुष्कर्मी, तिनीहरूले गर्ने कुनै कुरा उहाँको मुक्तिको कामसँग अलिकति पनि सम्बन्धित छैन, तिनीहरू गैरविश्‍वासीहरू हुन् जो उहाँका वचनहरूभन्दा बाहिर छन् भनेर भन्‍नुहुन्छ। यदि तिमीहरू परमेश्‍वरलाई अहिले जसरी विश्‍वास गर्छौ, त्यसरी नै विश्‍वास गर्छौ भने, तिमीहरूलाई पनि धार्मिक अनुयायीमा झार्ने दिन आउनेछैन र? धर्मभित्र परमेश्‍वरमा विश्‍वास गरेर मुक्ति प्राप्त हुँदैन—खासमा यस्तो किन हुन्छ? यदि तिमीहरू यस्तो हुनुको कारण भन्‍न सक्दैनौ भने, यसले तिमीहरू अलिकति पनि सत्यता बुझ्दैनौ, न त परमेश्‍वरका अभिप्रायहरू नै बुझ्छौ भनेर देखाउँछ। परमेश्‍वरमा विश्‍वास गर्दा हुन सक्ने सबैभन्दा दुखद कुरा के हो भने, त्यो विश्‍वास झरेर धर्म बन्छ र त्यसलाई परमेश्‍वरले हटाउनुहुन्छ। यो मान्छेले कल्पना गर्नै नसक्ने कुरा हो, र सत्यता नबुझ्नेहरूले यस मामिलालाई स्पष्ट रूपमा कहिल्यै देख्न सक्दैनन्। ल भन् त, जब परमेश्‍वरका नजरमा कुनै मण्डली बिस्तारै धर्ममा परिणत भएको हुन्छ र यसको सुरुवातदेखि धेरै वर्षको दौरान कुनै सम्प्रदाय बनेको हुन्छ, तब के त्यसका मानिसहरू परमेश्‍वरको मुक्तिका पात्र हुन्छन्? के तिनीहरू उहाँको परिवारका सदस्य हुन्छन्? (अहँ।) तिनीहरू हुँदैनन्। साँचो परमेश्‍वरमा नाउँको मात्र विश्‍वास गर्ने, तर परमेश्‍वरले धार्मिक मानिस ठान्‍ने यी मानिसहरू हिँड्ने बाटो कुन हो? तिनीहरू हिँड्ने बाटो त्यो हो जसमा तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेको खोल ओढ्छन् तर उहाँको मार्ग कहिल्यै पछ्याउँदैनन्; त्यो बाटो हो जसमा तिनीहरू उहाँमा विश्‍वास गर्छन् तर उहाँको आराधना गर्दैनन्, बरु उहाँलाई त्याग्छन् समेत; त्यो बाटो हो जसमा तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेको दाबी गर्छन् तर उहाँको प्रतिरोध गर्छन्, परमेश्‍वरका नाममा, साँचो परमेश्‍वरमा नाउँको मात्र विश्‍वास गर्छन्, तर शैतान र दियाबलसहरूको आराधना गर्छन्, अनि मानव कार्यहरूमा संलग्न हुन्छन्, र स्वतन्त्र मानव राज्य खडा गर्छन्। तिनीहरू हिँड्ने बाटो त्यही हो। तिनीहरू हिँड्ने बाटो हेर्दा के प्रस्ट हुन्छ भने, तिनीहरू अविश्‍वासीहरूको झुन्ड, ख्रीष्टविरोधीहरूको गिरोह, खुलेआम परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँको काम भङ्ग गर्ने शैतान र दियाबलसहरूको समूह हुन्। धर्मको संसारको सार यही हो। के मानिसहरूको यस्तो कुनै समूहको मान्छेको मुक्तिका लागि परमेश्‍वरको व्यवस्थापन योजनासँग कुनै सम्बन्ध छ? (छैन।) परमेश्‍वरका विश्‍वासीहरूलाई पनि, चाहे तिनीहरूको सङ्ख्या धेरै किन नहोस्, तिनीहरूको विश्‍वासको शैलीलाई परमेश्‍वरले सम्प्रदाय वा समूहका रूपमा परिभाषित गर्नुभएपछि, मुक्ति दिन नसकिने मानिसका रूपमा परिभाषित गर्नुहुन्छ। किन म यसो भनिरहेको छु? परमेश्‍वरको काम वा मार्गदर्शनविनाको कुनै समूह, जो उहाँप्रति समर्पित हुँदैन वा उहाँको आराधना बिलकुलै गर्दैन, त्यसले परमेश्‍वरमा नाउँको मात्र विश्‍वास गर्ला, तर तिनीहरू धर्मका पुजारी र एल्डरहरूलाई पछ्याउँछन् र तिनीहरूको आज्ञापालन गर्छन्, तर धर्मका पुजारी र एल्डरहरू आफ्नो सारले नै शैतानी र पाखण्डी हुन्छन्। त्यसकारण, ती मानिसहरू शैतान र दियाबलसहरूलाई पछ्याउँछन्। तिनीहरू आफ्ना हृदयमा परमेश्‍वरप्रतिको विश्‍वास अभ्यास गरिरहेका छन्, तर खासमा, तिनीहरू मान्छेको चलाक प्रभावमा पर्दै छन्, मानवका योजनाबद्द कार्य र प्रभुत्वका पकडमा पर्छन्। त्यसैले, मूलभूत रूपमा भन्‍नुपर्दा, तिनीहरू शैतान र दियाबलसहरू, अनि परमेश्‍वरको प्रतिरोध गर्ने दुष्ट शक्तिहरू, अनि परमेश्‍वरका शत्रुहरूलाई पछ्याउँछन्। के परमेश्‍वरले यस्ता मानिसहरूको गिरोहलाई मुक्ति दिनुहुनेछ? (अहँ।) किन दिनुहुनेछैन? के यस्ता मानिसहरू पश्चात्ताप गर्न सक्छन्? सक्दैनन्; तिनीहरूले पश्चात्ताप गर्नेछैनन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेको नाममा मानव कार्य र व्यवसायहरूमा संलग्न हुन्छन्, मान्छेको मुक्तिका लागि परमेश्‍वरको व्यवस्थापन योजनाविपरीत जान्छन्, फलस्वरूप परमेश्‍वरले तिनीहरूलाई अन्तिम परिणामस्वरूप तिरस्कार गर्नुहुनेछ। परमेश्‍वरले यी मानिसहरूलाई मुक्ति दिनु असम्भव छ; तिनीहरू पश्चात्ताप गर्न सक्दैनन्, र तिनीहरूलाई शैतानले जितेको कारण परमेश्‍वरले तिनीहरू शैतानलाई नै जिम्मा लगाउनुहुन्छ। … तैँले जति नै प्रवचनहरू सुनेको भए पनि वा जति नै सत्यताहरू बुझेको भए पनि,—यदि तँ अझै पनि मान्छेलाई पछ्याउँछस्, शैतानलाई पछ्याउँछस्, र अन्त्यमा परमेश्‍वरको मार्ग पछ्याउन सक्दैनस्, न त उहाँको भय मान्‍न र दुष्टताबाट अलग रहन नै सक्छस् भने, परमेश्‍वर यस्तै मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ। धर्मका मानिसहरू बाइबलको धेरै ज्ञान प्रचार गर्न सक्लान्, र तिनीहरूले केही आत्मिक धर्मसिद्धान्त बुझ्लान्, तर तिनीहरू परमेश्‍वरको काममा समर्पित हुन, वा उहाँका वचनहरू अभ्यास र अनुभव गर्न, वा उहाँलाई साँचो रूपमा आराधना गर्न सक्दैनन्, न त उहाँको भय मान्‍न र दुष्टताबाट अलग रहन नै सक्छन्। तिनीहरू सबै पाखण्डी हुन्, परमेश्‍वरप्रति साँच्चै समर्पित हुने मानिस होइनन्। परमेश्‍वरका नजरमा, यस्ता मानिसहरूलाई कुनै सम्प्रदाय, मानव समूह, मानव गिरोह, शैतानको आवासको सम्पत्तिका रूपमा परिभाषित गरिन्छ। समग्रमा, तिनीहरू शैतानको गिरोह, ख्रीष्टविरोधीहरूको राज्य हुन्, र परमेश्‍वर तिनीहरूलाई पूर्ण रूपले तिरस्कार गर्नुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ

परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार नगर्नेहरू परमेश्‍वरको उपस्थितिविहीन छन्, यसको साथै परमेश्‍वरका आशिषहरू र सुरक्षारहित छन्। तिनीहरूको धेरैजसो वचन र कार्यहरूले पवित्र आत्माको कामको विगतका मागहरूलाई पक्रिराख्छ; ती धर्मसिद्धान्त हुन्, सत्यता होइनन्। यी मानिसहरूको एकसाथको भेला धर्मबाहेक केही पनि होइन भन्‍ने कुरालाई प्रमाणित गर्न त्यस्ता धर्मसिद्धान्त र नियम नै पर्याप्त छन्; तिनीहरू चुनिएकाहरू वा परमेश्‍वरका कार्यको पात्रहरू होइनन्। तिनीहरूका बीचको सबैका भेलालाई धर्मको भव्य समाज मात्रै भन्‍न सकिन्छ र मण्डली भन्‍न सकिँदैन। यो अपरिवर्तनीय तथ्य हो। तिनीहरूसँग पवित्र आत्माको नयाँ कार्य छैन; तिनीहरूले जे गर्छन् त्यो धर्मको सूचकजस्तो देखिन्छ, तिनीहरूले जे जिउँछन् त्यो धर्मले भरिपूर्ण देखिन्छ; तिनीहरूमा पवित्र आत्‍माको उपस्थिति र काम छैन, पवित्र आत्‍माको अनुशासन वा अन्तर्दृष्टि प्राप्त गर्नको लागि योग्य हुनु त परै जाओस्। यी मानिसहरू सबै निर्जीव लासहरू र कीराहरू हुन् जसमा आत्मिकता छैन। तिनीहरूसँग मानिसको विद्रोहीपन र विरोधबारे कुनै ज्ञान छैन, मानिसको सबै दुष्कर्मबारे कुनै ज्ञान छैन, परमेश्‍वरको सारा काम र परमेश्‍वरका वर्तमान अभिप्रायबारे तिनीहरूले जान्‍नु त परै जाओस्। तिनीहरू सबै अज्ञानी, नीच मानिसहरू हुन् र तिनीहरू मैल हुन् जो विश्‍वासी भन्‍न योग्य छैनन्! तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्‍वरको व्यवस्थापनमा कुनै योगदान दिँदैन, यसले परमेश्‍वरको योजनाहरूलाई बिगार्ने कुरा त परै जाओस्। तिनीहरूका वचन र कार्यहरू अत्यन्तै घृणित, अत्यन्तै दयनीय, र उल्‍लेख गर्न समेत अयोग्य छन्। पवित्र आत्‍माको प्रवाहभित्र नहुनेहरूले गर्ने कुनै पनि कामले पवित्र आत्‍माको नयाँ कामसँग कुनै सम्‍बन्ध राख्दैन। यसले गर्दा, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरू पवित्र आत्माको अनुशासनरहित, साथै, पवित्र आत्माको अन्तर्दृष्टिरहित छन्। तिनीहरू सबै त्यस्ता मानिस हुन् जोसँग सत्यताका लागि कुनै प्रेम छैन र जसलाई पवित्र आत्माले तिरस्कार गर्नुभएको छ। तिनीहरूलाई दुष्ट काम गर्नेहरू भनिन्छ किनभने तिनीहरू देहमा हिँड्छन् र परमेश्‍वरको नाम लिएर आफूलाई जे मन लाग्छ त्यही गर्छन्। जब परमेश्‍वर काम गर्नुहुन्छ, तिनीहरू जानी-जानी उहाँप्रति शत्रु बन्छन् र उहाँको विपरीत दिशातर्फ दौडन्छन्। मानिसले परमेश्‍वरसँग सहकार्य गर्न नसक्‍नु आफैमा अत्यन्तै विद्रोहीपूर्ण छ, त्यसकारण के जानी-जानी परमेश्‍वरको विपरीत दौडने मानिसहरूले निश्‍चित रूपमा नै आफ्‍ना उचित दण्ड पाउनेछैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

कतिपय मानिसहरू सत्यमा आनन्दित हुँदैनन्, न्यायको बारेमा त कुरै छोडौं। त्यसको साटो, तिनीहरूले शक्ति र धनसम्पत्तिमा आनन्द लिन्छन्; यस्ता मानिसहरूलाई शक्ति खोज्नेहरू भनिन्छ। तिनीहरूले संसारमा प्रभाव भएका सम्प्रदायहरूको मात्र खोजतलास गर्दछन्, र तिनीहरूले सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरूलाई मात्र खोजतलास गर्दछन्। तिनीहरूले सत्यको मार्गलाई स्वीकारेका भए पनि, तिनीहरू अर्ध-विश्‍वास गर्नेहरू मात्र हुन्; तिनीहरूले आफ्नो सम्पूर्ण मन र मस्तिष्क दिन सक्दैनन्, तिनीहरू मुखले परमेश्‍वरका निम्ति आफू स्‍वयम्‌लाई समर्पण गर्ने बारेमा वचनहरू बोल्छन्, तर तिनीहरूका नजर महान् पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरूले ख्रीष्टलाई दोस्रो नजर पनि लगाउँदैनन्। तिनीहरूका हृदय ख्याति, भाग्य र वैभवमाथि केन्द्रित हुन्छन्। तिनीहरूले त्यस्तो कमजोर व्यक्तिले त्यति धेरै मानिसहरूलाई जित्‍न सक्छ, त्यति मामूली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्‍ने कुरामा प्रश्‍न उठाउँछन्। तिनीहरूले धूलो र गोबरको थुप्रोमध्येका नगन्य मानिसहरू परमेश्‍वरद्वारा चुनिएका मानिसहरू हुन् भन्‍ने कुरामा शङ्का गर्छन्। यदि यस्ता मानिसहरू परमेश्‍वरका मुक्तिका पात्रहरू हुन्थे भने, स्वर्ग र पृथ्वी उलटपुलट हुन्थ्यो र सम्पूर्ण मानिसहरू हाँस्नेथिए भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। यदि परमेश्‍वरले यस्ता नगन्य व्यक्तिहरूलाई सिद्ध पार्न चुन्नुहुन्थ्यो भने, ती महान् मानिसहरू परमेश्‍वर स्वयम बन्नेथिए भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्‍वासले दूषित भएका हुन्छन्; विश्‍वास नगर्ने भन्दा बढी, तिनीहरू बेवकुफ पशुहरू हुन्। किनकि तिनीहरूले दर्जा, मर्यादा र शक्तिलाई मात्र मूल्यवान् ठान्दछन् र तिनीहरूले ठूला समूह र सम्प्रदायहरूलाई मात्र मान्यता दिन्छन्। ख्रीष्टले डोर्‍याउनुभएका मानिसहरूप्रति तिनीहरूसँग अलिकति पनि सम्‍मान हुँदैन; तिनीहरू त ख्रीष्टतर्फ, सत्यतातर्फ र जीवनतर्फ आफ्नो पिठ्यूँ फर्काएका विश्‍वासघाती मात्र हुन्।

तैँले सराहना गर्ने कुरा ख्रीष्टको विनम्रता होइन, बरु विख्यात दर्जा भएका झूटा गोठालाहरू हुन्। तैँले ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई होइन बरु संसारका फोहोरमा लडीबडी गर्ने स्वेच्छाचारीहरूलाई श्रद्धा गर्छस्। तँ आफ्‍नो शिर राख्ने ठाउँ नभएका ख्रीष्टको पीडामा हाँस्छस्, तर तँ भेटीहरू खोजी गर्ने र व्यभिचारमा जिउने लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तैँले लापरवाह, ख्रीष्ट विरोधीहरूका हातमा आफूलाई खुशीसाथ सुम्पन्छस्, जबकि तिनीहरूले तँलाई केवल देह, वचनहरू र नियन्त्रण प्रदान गर्छन्। अहिले पनि तेरो हृदय अझै तिनीहरूका ख्यातितर्फ, तिनीहरूका दर्जातर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। अनि तँ अझै पनि ख्रीष्टको कामलाई पचाउन गाह्रो मान्‍ने र यसलाई स्विकार्न अनिच्छुक बन्‍ने मनोवृत्ति राखिरहन्छस्। यसकारण म भन्छु, ख्रीष्टलाई स्वीकार गर्नको लागि तँमा विश्‍वासको कमी छ। तैँले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकोले गर्दा हो। गौरवपूर्ण तस्वीरहरूले सधैँ तेरो हृदयमा अग्लो स्तम्भ बनाइरहेको हुन्छ; तैँले तिनीहरूका कुनै पनि शब्द र कामलाई बिर्सन सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई नै बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टको हकमा लागू हुँदैन। तेरो हृदयमा उहाँ सदा नै कम महत्त्वको हुनुहुन्छ, र सदा नै डरको अयोग्य हुनुहुन्छ। किनकि उहाँ अत्यन्तै सामान्य हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ भव्यताबाट टाढा हुनुहुन्छ।

जे भए पनि, म त भन्छु, सत्यलाई मूल्यवान् नठान्नेहरू सबै अविश्‍वासी र सत्यताका विश्‍वासघातीहरू हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको स्वीकृति प्राप्त गर्नेछैनन्। के अब तैँले तँभित्र कति धेरै अविश्‍वास छ र तँसँग ख्रीष्टप्रति कति धेरै धोका छ भनी पहिचान गरेको छस्? तसर्थ म तँलाई उत्साह प्रदान गर्छु: तैँले सत्यको मार्गलाई चुनेको हुनाले, तैँले आफूलाई सम्पूर्ण हृदयले समर्पण गर्नुपर्दछ; अस्पष्ट वा हतोत्साहित नबन्। तैँले यो बुझ्नुपर्छ कि परमेश्‍वर संसारको स्वामित्वमा हुनुहुन्न न त उहाँ कुनै व्यक्तिको स्वामित्वमा नै हुनुहुन्छ, बरु उहाँ त साँचो रूपले उहाँमा विश्‍वास गर्नेहरू सबै, उहाँको आराधना गर्नेहरू सबै, र उहाँतर्फ समर्पित र विश्‍वासयोग्य हुनेहरू सबैका हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?

परमेश्‍वरका चुनिएका जनहरूले ख्रीष्टविरोधीहरूसित कसरी व्यवहार गर्नुपर्छ? तिनीहरूले उनीहरूलाई खुट्ट्याउनुपर्छ, तिनीहरूलाई खुलासा गर्नुपर्छ, तिनीहरूलाई रिपोर्ट गर्नुपर्छ, र तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। तब मात्र परमेश्‍वरलाई अन्तसम्म पछ्याउनु र परमेश्‍वरमा विश्‍वासको सही मार्गमा प्रवेश गर्नु सुनिश्चित हुन सक्छ। ख्रीष्टविरोधीहरूले आफूलाई अगुवाका रूपमा छान्‍नका लागि अरूलाई जसरी बहकाए पनि तिनीहरू तेरा अगुवा होइनन्। तिनीहरूलाई स्वीकार नगर् र तिनीहरूको नेतृत्व स्वीकार नगर्—तैँले तिनीहरूलाई खुट्ट्याउनैपर्छ र तिनीहरूलाई तिरस्कार गर्नैपर्छ, किनभने तिनीहरूले तँलाई सत्यता बुझ्न मद्दत गर्न सक्दैनन्, न त तिनीहरूले तँलाई मद्दत गर्न सक्छन् वा तेरो लागि प्रबन्ध नै गर्न सक्छन्। यी तथ्यहरू हुन्। यदि तिनीहरूले तँलाई सत्यता वास्तविकतामा डोर्‍याउन सक्दैनन् भने, तिनीहरू अगुवा वा कामदार हुन योग्य छैनन्। यदि तिनीहरूले तँलाई सत्यता बुझ्न र परमेश्‍वरको कामको अनुभव गर्नतिर डोर्‍याउन सक्दैनन् भने, तिनीहरू परमेश्‍वरको विरोध गर्नेहरू हुन्, र तैँले तिनीहरूलाई खुट्ट्याउनुपर्छ, तिनीहरूलाई खुलासा गर्नुपर्छ र तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। तिनीहरूले गर्ने जुनै काम पनि तँलाई बहकाएर तिनीहरूको पछि लगाउन, र तिनीहरूको समूहमा सामेल गराएर मण्डलीको कामलाई कमजोर पार्न र बाधा पुर्‍याउन, तँलाई फकाएर तिनीहरू जस्तै ख्रीष्ट विरोधीहरूको मार्ग लिन लगाउनका लागि हो। तिनीहरू तँलाई तानेर नरकमा पुर्‍याउन चाहन्छन्! यदि तँ तिनीहरूलाई तिनीहरू के हुन् भनेर बताउन सक्दैनस् र तिनीहरू तेरा अगुवा भएकाले तैँले तिनीहरूको आज्ञापालन गर्नुपर्छ र तिनीहरूलाई छुट दिनुपर्छ भनेर विश्‍वास गर्छस् भने, तँ सत्यता र परमेश्‍वर दुवैलाई धोका दिने व्यक्ति होस्—र यस्ता मानिसहरूलाई मुक्ति दिन सकिँदैन। यदि तँ मुक्ति पाउन चाहन्छस् भने, तैँले ठूलो रातो अजिङ्गरको अवरोधलाई मात्र पार गर्नुपर्ने होइन, र तैँले ठूलो रातो अजिङ्गरको वास्तविकतालाई देख्‍न, यसको घिनलाग्दो अनुहारलाई देखेर यसविरुद्ध पूर्ण रूपमा विद्रोह गर्न सक्षम मात्र हुनुपर्ने होइन—तैँले ख्रीष्टविरोधीहरूको अवरोधलाई पनि पार गर्नुपर्ने हुन्छ। मण्डलीमा, ख्रीष्टविरोधी परमेश्‍वरको मात्रै शत्रु हुँदैन, परमेश्‍वरका चुनिएका मानिसहरूको पनि शत्रु हुन्छ। यदि तिमीहरूले ख्रीष्टविरोधीलाई खुट्ट्याउन सक्दैनौ भने, तिमीहरू बहकाउमा पर्ने र जितिने, ख्रीष्टविरोधीको मार्गमा हिँड्ने, र परमेश्‍वरद्वारा श्रापित र दण्डित हुने सम्‍भावना हुन्छ। यदि त्यस्तो भयो भने, परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वास पूर्ण रूपमा असफल हुनेछ। मुक्ति पाउनको लागि मानिसहरूमा के हुनुपर्छ? पहिलो, तिनीहरूले सत्यता बुझेको हुनुपर्छ, र ख्रीष्टविरोधीको सार, स्वभाव, र मार्गलाई खुट्ट्याउन सक्‍नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्दा मानिसहरूलाई पुज्ने वा पछ्याउने अवस्थाबाट निश्‍चित रूपमा बच्‍ने, र परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउने एक मात्र उपाय यही हो। ख्रीष्टविरोधीलाई खुट्ट्याउन सक्ने मानिसहरूले मात्रै साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्न, उहाँलाई पछ्याउन, र उहाँको लागि गवाही दिन सक्छन्। त्यसपछि कसै-कसैले भन्लान्, “यदि अहिले मसँग यसका लागि सत्यता छैन भने, म के गरूँ?” तैँले अविलम्ब आफूलाई सत्यताले सुसज्जित गर्नैपर्छ; तैँले मानिसहरू र चीजहरूलाई सूक्ष्म रूपमा चिन्‍न सिक्नैपर्छ। ख्रीष्टविरोधीलाई खुट्ट्याउनु चानचुने कुरा होइन, र यसका लागि तिनीहरूको सारलाई स्पष्ट रूपमा देख्‍ने, र तिनीहरूको हरेक कार्यपछाडि लुकेका षड्यन्त्र, चलाकी, र मनसाय र उद्देश्यहरूलाई बुझ्ने क्षमता चाहिन्छ। त्यसरी तँ तिनीहरूको बहकाउ वा नियन्त्रणमा पर्दैनस्, र तँ दह्रिलो गरी खडा हुन, सत्यतालाई सुरक्षित र बलियो रूपमा पछ्याउन, र सत्यता पछ्याउने र मुक्ति पाउने मार्गमा दृढ भएर लागिपर्न सक्छस्। यदि तैँले ख्रीष्टविरोधीका तगारोहरू पार गर्न सक्दैनस् भने तँ ठूलो खतरामा छस् भनेर भन्‍न सकिन्छ, र तैँले ख्रीष्टविरोधीको बहकाउन र पकडमा परी शैतानको प्रभावमा जिउने सम्भावना हुन्छ। यो सम्भव छ कि तिमीहरूको बीचमा केही यस्ता मानिसहरू छन् जसले सत्यताको पछि लाग्ने मानिसहरूलाई बाधा दिन्छन् र ठेस लगाउँछन्, अनि तिनीहरू मानिसहरूका शत्रुहरू हुन्। के तँ यो कुरा स्वीकार गर्छस्? केही मानिस छन्, जसले यस तथ्यको सामना गर्ने हिम्मत गर्दैनन्, न त तिनीहरू यसलाई तथ्यका रूपमा स्वीकार गर्ने हिम्मत नै गर्छन्। तर ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउने काम साँच्चै नै मण्डलीमा हुने गर्छ, त्यो पनि प्राय: जसो; यति मात्र हो कि, मानिसहरूले त्यसलाई खुट्ट्याउन सक्दैनन्। यदि तँ यो जाँचमा, अर्थात् ख्रीष्टविरोधीहरू सम्‍बन्धी जाँचमा सफल भइनस् भने—तँ कि त ख्रीष्ट विरोधीको बहकाउमा र नियन्त्रणमा पर्छस्, कि त तिनीहरूले तँलाई दुःख, यातना, धक्का दिन्छन्, तँलाई थिचोमिचो र दुर्व्यवहार गर्छन्। आखिरमा, तेरो तुच्छ सानो जीवन लामो समयसम्म टिक्दैन, र सुकेर जान्छ; तँमा उप्रान्त परमेश्‍वरमाथिको विश्‍वास हुँदैन, र तैँले यसो भन्नेछस्, “परमेश्‍वर त धर्मी समेत हुनुहुन्‍न! परमेश्‍वर कहाँ हुनुहुन्छ? यो संसारमा कुनै इन्साफ वा ज्योति छैन, र परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनुहुन्छ भन्‍ने कुनै कुरा छैन। हामीले पनि आफ्ना दिनहरू काम गर्नु र पैसा कमाउनुमा नै बिताउनु राम्रो हुन्छ!” तैँले परमेश्‍वरलाई इन्कार गर्छस् र परमेश्‍वरबाट तर्किन्छस्, उहाँ हुनुहुन्छ भनेर विश्‍वास गर्न छोड्छस्; तैँले मुक्ति पाउने कुनै पनि आशा पूर्ण रूपमा समाप्त हुन्छ। यसकारण, यदि तँ मुक्ति पाउने स्थानमा पुग्न चाहन्छस् भने तैँले पार गर्नुपर्ने पहिलो जाँच भनेको शैतानलाई बुझ्नु र छर्लङ्ग देख्न सक्ने हुनु हो, साथै तँमा खडा भएर शैतानलाई पर्दाफास गर्ने र त्याग्ने साहस पनि हुनैपर्छ। त्यसो भए शैतान कहाँ छ? शैतान तेरो छेउमा छ र तेरो वरिपरि छ; त्यसले तेरो हृदयभित्र पनि बास गरिरहेको हुन सक्छ। यदि तँ शैतानको स्वभावभित्र जिइरहेको छस् भने, तँ शैतानको होस् भनेर भन्‍न सकिन्छ। तैँले आत्मिक क्षेत्रको शैतान वा दुष्टात्माहरूलाई देख्न वा छुन सक्दैनस्, तर वास्तविक जीवनमा अस्तित्वमा रहने शैतानहरू र जीवित दियाबलसहरू सबैतिर छन्। सत्यताप्रति वितृष्ण हुने कुनै पनि व्यक्ति दुष्ट हो, र सत्यतालाई स्वीकार नगर्ने कुनै पनि अगुवा वा कामदार ख्रीष्टविरोधी वा झूटो अगुवा हो। के त्यस्ता व्यक्तिहरू शैतान र जिउँदा दियाबलसहरू होइनन् र? तैँले पूजा गर्ने र भर पर्ने मानिसहरू तिनै हुन सक्छन्; तिनीहरू तँलाई डोऱ्याउने मानिसहरू वा तैँले लामो समयदेखि आफ्नो हृदयमा आदर गरेका, विश्‍वास गरेका वा आशा लिएका मानिसहरू हुन सक्छन्। तापनि, वास्तवमा, तिनीहरू तेरो बाटो छेक्ने र तँलाई सत्यता खोजी गर्न र मुक्ति प्राप्त गर्नबाट रोक्ने बाधाहरू हुन्; तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूले तेरो जीवनलाई र तँ हिँड्ने मार्गलाई नियन्त्रण गर्न सक्छन्, र तिनीहरूले मुक्ति पाउने तेरो मौकालाई नाश पार्न सक्छन्। यदि तँ तिनीहरूलाई खुट्ट्याउन र तिनीहरूलाई छर्लङ्ग देख्न असफल भइस् भने, कुनै पनि क्षण अचानक तँ तिनीहरूको बहकाउमा पर्न र पकडमा आउन सक्छस्। यसैले, तँ ठूलो खतरामा छस्। यदि तैँले आफूलाई यो खतराबाट मुक्त गर्न सक्दैनस् भने, तँ शैतानले बलि दिने शिकार हुन्छस्। जे होस्, ख्रीष्टविरोधीको बहकाउ र नियन्त्रणमा परेका, र ख्रीष्टविरोधीको अनुयायी बनेका मानिसहरूले कहिल्यै पनि मुक्ति पाउन सक्दैनन्। तिनीहरूले सत्यतालाई प्रेम वा खोजी नगर्ने हुनाले, परिणामस्वरूप, तिनीहरू ख्रीष्टविरोधीको बहकाउमा पर्नु र तिनीहरूले तिनलाई पछ्याउनु अवश्यम्भावी हुन्छ।

कतिपय मानिसहरूले आफू सत्यताको पछि लाग्ने व्यक्ति हो र ख्रीष्ट विरोधीहरूलाई खुट्ट्याउन सक्षम छन् भनी सोच्छन्। तिनीहरूले आफूलाई बढी मूल्याङ्कन गरिरहेका छन्, होइन र? यदि तैँले आफ्नो दाह्रा देखाउने, खराब मानवता भएको र केही खराब काम गरेको कुनै स्पष्ट ख्रीष्टविरोधीलाई भेट्छस् भने, त्यस्तालाई तँ स्वभाविकतः पहिचान गर्न सक्षम हुन्छस्। तर यदि तैँले धर्मनिष्ठ देखिने, धेरै नरम बोली बोल्ने, र असल व्यक्ति जस्तो देखिने कुनै ख्रीष्टविरोधीलाई भेट्छस् भने—एक ख्रीष्टविरोधी जो मानिसहरूको धारणाअनुरूप छ—के तँ अझै पनि तिनीहरू वास्तवमा को हुन् भनेर दाबी गर्न पर्याप्त साहसी छस्? के तँ तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चिन्हित गर्ने हिम्मत गर्छस्? यदि तँ तिनीहरूलाई खुट्ट्याउन असक्षम हुन्छस् भने, तँ तिनीहरूको प्रशंसा गर्न र तिनीहरूप्रति राम्रो व्यवहार गर्न बाध्य हुन्छस्, यस्तो अवस्थामा तिनीहरूको व्यवहार, तिनीहरूको विचार र दृष्टिकोण, तिनीहरूका कार्यहरू—तिनीहरूको सत्यताको बुझाइले पनि—तँलाई पक्का प्रभाव पार्नेछ। यी कुराहरूले तँमा कुन हदसम्म प्रभाव पार्नेछ? तैँले ख्रीष्टविरोधीको ईर्ष्या गर्नेछस्, तिनीहरूको नक्कल गर्नेछस्, तिनीहरूको अनुकरण गर्नेछस्, तिनीहरूलाई पछ्याउनेछस्, जसले तेरो जीवन प्रवेशलाई असर गर्नेछ; यसले तेरो सत्यताको खोजी र वास्तविकतामा प्रवेशलाई असर गर्नेछ, यसले परमेश्‍वरप्रतिको तेरो मनोवृत्तिलाई असर गर्नेछ, र यसले तँ वास्तवमा परमेश्‍वरप्रति समर्पित छस् कि छैनस् र तैँले परमेश्‍वरलाई अन्तसम्म पछ्याउँछस् कि पछ्याउँदैनस् भन्‍ने कुरालाई असर गर्छ। अन्ततः ख्रीष्टविरोधी तेरो आदर्श बन्‍नेछ, तिनीहरूले तेरो हृदयमा स्थान पाउनेछन्, र तँ तिनीहरूबाट उम्कन सक्नेछैनस्। जब तँ यस हदसम्म बहकिएको हुन्छस्, त्यतिबेला तेरो मुक्ति पाउने आशा निकै झिनो हुन्छ, किनभने परमेश्‍वरसँगको तेरो सम्बन्ध चकनाचूर भएको छ, तैँले परमेश्‍वरसँगको सामान्य सम्बन्ध गुमाएको छस्, र खतराको सँघारमा छस्। अनि यो तेरा लागि विपत्ति हो कि आशिष्? निस्सन्देह यो एक विपत्ति हो; यो आशिष् त बिलकुलै होइन। सानातिना कुराहरूमा केही ख्रीष्टविरोधीहरू तँलाई मद्दत गर्न सक्षम हुन्छन्, र तेरा लागि लाभकारी हुन सक्छन्, वा तँलाई अन्तर्दृष्टि दिन शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न सक्षम हुन्छन्, तर एकपल्ट तँ तिनीहरूको बहकाउमा परेपछि, तँ तिनीहरूको आराधना गर्छस्, र तिनीहरूलाई पछ्याउँछस् भने तँ समस्यामा फस्छस्। तैँले आफ्नो लागि विनाश निम्त्याइस्, र आफ्नो मुक्तिको मौका गुमाइस्। केही मानिसहरू भन्छन्, “तिनीहरू शैतान वा दुष्ट व्यक्ति होइनन्, तिनीहरू आत्मिक, सत्यताको पछि लाग्ने व्यक्ति जस्तो देखिन्छन्।” के यी शब्दहरू सत्य हुन्? (होइनन्।) किन होइनन्? सच्‍चा रूपमा सत्यताको पछि लाग्‍ने कुनै पनि व्यक्तिले तँलाई दिने मार्गनिर्देशन, सहायता, र प्रबन्धको प्रभाव वा फाइदाले तँलाई परमेश्‍वरको सामु ल्याउने काम गर्छ, यसरी तैँले उहाँको वचन र सत्यको खोजी गर्न सक्छस्, अनि तँ परमेश्‍वरको सामु आउँछस् र उहाँमाथि भर पर्न र उहाँलाई खोज्न सिक्छस्, र उहाँसितको तेरो सम्बन्ध झन्-झन् घनिष्ठ हुँदैजान्छ। त्यसको विपरीत, ख्रीष्टविरोधीसित तेरो सम्बन्ध झनझनै घनिष्ठ हुँदै जान्छ र तँ तिनीहरूको औँलामा नाच्न थाल्छस् भने, के हुन्छ? तँ गलत बाटोमा तर्किनेछस् र आफैमाथि विनाश ल्याउनेछस्। जब तँ एक ख्रीष्टविरोधीसँग घनिष्ठ सम्बन्ध राख्छस्, परमेश्‍वरसँगको तेरो सम्बन्ध टाढिन्छ। अनि यसको परिणाम के हुन्छ? तिनीहरूले तँलाई डोऱ्याउनेछन्, र तँ परमेश्‍वरबाट टाढिँदै जानेछस्। यदि तेरो हृदयमा कोही आदर्श छ भने, एकपल्ट परमेश्‍वरका वचनहरू र कामका बारेमा तैँले आफ्नै धारणा बनाइस् भने, परमेश्‍वरका वचनहरूले तेरो आदर्शलाई खुलासा गर्दा तँ तुरुन्तै परमेश्‍वरविरुद्ध विद्रोह गर्नेछस्, र तैँले परमेश्‍वरको विरोध गर्न र उहाँलाई धोका दिन समेत सक्नेछस्; तैँले आफ्नै आदर्शको पक्ष लिनेछस् र परमेश्‍वरको विरोध गर्नेछस्। अक्सर यस्तै हुने गर्छ। जब कोही झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूलाई प्रतिस्थापन वा निष्कासन गरिन्छ, तिनीहरूका सहयोगीहरू र चम्चेहरू तिनीहरूको पक्षमा खडा हुन र गुनासो गर्न थाल्छन्; कतिपय त नकारात्मक बन्छन् र परमेश्‍वरमा विश्‍वास गर्नै छोड्छन्। यो आम कुरा हो, हैन र? अनि किन तिनीहरूले विश्‍वास गर्न छोड्छन्? तिनीहरू भन्छन्, “हाम्रो नेतालाई प्रतिस्थापन गरियो र निष्कासन गरियो, त्यसैले म एक साधारण विश्‍वासीको के नै आशा छ र?” यो बकवास होइन र? तिनीहरूका शब्दहरूले तिनीहरू ख्रीष्टविरोधीलाई पछ्याउँछन् र तिनीहरू ख्रीष्टविरोधीद्वारा पूर्ण रूपमा बहकाइएका छन् भनी सङ्केत गर्दछ। अनि उनीहरू बहकाइनुको परिणाम के हुन्छ? ख्रीष्टविरोधी तिनीहरूले आराधना गर्ने आदर्श बनेको छ; ख्रीष्टविरोधी तिनीहरूको पुर्खाजस्तै भएको छ: तिनीहरूका पुर्खालाई निष्कासित गरिएपछि तिनीहरू कसरी छोडेर जान सक्दैनन् र? तिनीहरू केवल ख्रीष्टविरोधीको कुरा सुन्छन्, र तिनीहरू पूर्णतः ख्रीष्टविरोधीको नियन्त्रणमा छन्। तिनीहरू ख्रीष्टविरोधीले भन्‍ने र गर्ने सबै कुरा सही छ र त्यसलाई सत्यताका रूपमा स्वीकार गर्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ भनी सोच्छन्, र त्यसैले तिनीहरूले परमेश्‍वरको घरमा कसैले पनि ख्रीष्टविरोधीको खुलासा र निन्दा गरेको सहँदैनन्। एक पटक ख्रीष्टविरोधीलाई परमेश्‍वरको घरबाट निष्कासन गरिसकेपछि, “रुख ढल्छ र बाँदरहरू तितरबितर हुन्छन्,” भनेजस्तै ख्रीष्टविरोधीलाई पछ्याउनेहरू पनि आफै मण्डली छाडेर जान्छन्। यस्ता कुराहरूले ख्रीष्टविरोधी र तिनीहरूका अनुयायीहरू परमेश्‍वरको काममा बाधा र अवरोध पुर्‍याउन आएका शैतानका दासहरू हुन् भन्‍ने देखाउँछन्। एकचोटि परमेश्‍वरका चुनिएका मानिसहरूबाट तिनीहरूको भण्डाफोर, खुलासा र तिरस्कार गरिएपछि, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास समाप्त हुन्छ। ख्रीष्टविरोधीका अनुयायीहरू सबैसँग एउटा छर्लङ्गै खुट्ट्याउन सकिने विशेषता छ: कसैको कुराले तिनीहरूलाई असर गर्दैन; तिनीहरू केवल ख्रीष्टविरोधीहरूको कुरा सुन्छन्। अनि एकचोटि तिनीहरू ख्रीष्टविरोधीहरूद्वारा बहकाइएपछि तिनीहरू परमेश्‍वरका वचनहरू सुन्‍न छोड्छन्, र तिनीहरूले ख्रीष्टविरोधीलाई मात्र आफ्नो मालिकका रूपमा मान्यता दिन्छन्। यसो गर्दा, के तिनीहरूलाई बहकाइएको, अनि तिनीहरूलाई नियन्त्रण गरिएको होइन र? ख्रीष्टविरोधीका अनुयायीहरू मात्र ख्रीष्टविरोधीको पक्षमा उभिने प्रयास गर्छन्। जब ख्रीष्टविरोधीहरूको खुलासा र प्रकाश हुन्छ, तिनीहरूलाई पछ्याउने मानिसहरू तिनीहरूका लागि चिन्तित हुन्छन्, तिनीहरूका लागि आँसु बगाउँछन्, तिनीहरूको तर्फबाट गुनासो गर्छन् र तिनीहरूको बचाव गर्ने प्रयास गर्छन्। यस्तो समयमा तिनीहरूले परमेश्‍वरलाई बिर्सेका हुन्छन्, र परमेश्‍वरलाई प्रार्थना गर्न वा सत्यताको खोजी गर्न छोड्छन्; तिनीहरू केवल ख्रीष्टविरोधीहरूको बचाव गर्छन् र तिनीहरूका निम्ति दिमाग खियाउँछन्; तिनीहरूले अब परमेश्‍वरलाई समेत चिन्दैनन्। के तिनीहरू साँच्चै परमेश्‍वरमा विश्‍वास गर्छन्? तिनीहरू वास्तवमा कसमा विश्‍वास गर्छन्? यो पहिले नै छर्लङ्ग छ। … तँ भन्छस्, तँलाई ख्रीष्टविरोधीले बहकाउला भनेर चिन्ता छैन, ख्रीष्टविरोधीलाई पछ्याउँदा कुनै डर छैन, तर यस्तो दाबी गरेर कुनै फाइदा छैन। यो एक सम्भ्रमित टिप्पणी हो। यो किन हो भने, यदि तँ सत्यताको पछि लाग्दैनस् र सधैं मानिसहरूको आराधना गर्छस् र पछ्याउँछस् भने, तैँले अनजानमै ख्रीष्टविरोधीहरूको बाटो अपनाउनेछस्। धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गर्नु तर अनुभवात्मक गवाही नहुनु, अनि सत्यता र जीवन प्राप्त नगर्नु मात्रै होइन तर परमेश्‍वरको विरोध गर्ने व्यक्ति बन्‍नु: ख्रीष्टविरोधीहरूको पछि लाग्ने व्यक्तिहरूको अन्तिम परिणाम यही हुन्छ, र यसबाट तँ उम्किन सक्दैनस्, यो एक अपरिवर्तनीय तथ्य हो। यो कसैले बिजुलीको करेन्टलाई छुँदा जस्तै हो: त्यसलाई झट्का त पक्कै लाग्छ। कसै-कसैले भन्लान्, “म यो विश्‍वास गर्दिनँ; म डराउँदिनँ”—तर के यो तैँले विश्‍वास गर्नु वा नगर्नु या तँ डराउनु वा नडराउनुसँग सम्बन्धित कुरा हो? एकपल्ट बिजुली छोएपछि, झ्याप्पै! तँलाई करेन्ट लाग्नेछ। तैँले यसलाई विश्‍वास नगरे पनि केही फरक पर्दैन। त्यसलाई विश्‍वास नगर्नु अज्ञानता हो; यो भन्‍नु गैरजिम्मेवार कुरा हो। त्यसकारण, तँ ख्रीष्टविरोधीलाई पछ्याउन इच्छुक भए पनि वा नभए पनि, यदि तँ सत्यताको पछि लाग्दैनस्, र तेरो प्रयासहरू सधैँ नाम, दाम र हैसियतमै केन्द्रित हुन्छन् भने, तँ ख्रीष्टविरोधीको बाटोमा हिँडिसकेको छस्। कबाडी कुराहरू सतहमा तैरिएजस्तै यो नतिजा सुस्तरी सुस्तरी देखिनेछ। यो अवश्यम्भावी छ। ख्रीष्टविरोधीहरूको कामको उद्देश्य भनेको परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरू स्वीकार गर्नु वा परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुनुको सट्टा आफूसामु मानिसहरूलाई डोर्याउनु, मानिसहरूलाई आफ्नो नियन्त्रण र चालबाजी स्विकार्न लगाउनु हो। ख्रीष्टविरोधीहरू मानिसहरूको मन जित्न चाहन्छन्, तिनीहरूलाई प्राप्त गर्न चाहन्छन्, तिनीहरूको उद्देश्य परमेश्‍वरका सबै चुनिएका मानिसहरूलाई नियन्त्रण गर्नु, परमेश्‍वरका चुनिएका मानिसहरूलाई हातमा नियन्त्रण गर्नु हो; तिनीहरू तस्करहरू हुन्। अनि ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्ने आफ्नो उद्देश्य हासिल गर्न के प्रयोग गर्छन्? तिनीहरू मानिसहरूले आराधना गर्ने आत्मिक धर्मसिद्धान्त प्रयोग गर्छन्, देखावटी कुराहरू प्रयोग गर्छन्, मानिसहरूलाई बकवास सुनाउन र सँभार्न, तिनीहरूलाई बहकाउन सिद्धान्तको आराधना गर्ने मानिसहरूको भ्रष्ट मानसिकताको फाइदा उठाउँछन्। सारांशमा भन्‍नुपर्दा, तिनीहरूले भनेका सबै कुरा शब्द र धर्मसिद्धान्तहरू, खोक्रा सिद्धान्तहरू, देखावटी कुराहरू र सत्यताका विपरीत हुने कुराहरू हुन्। यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरू पक्कै पनि बहकिनेछन्; कम्तीमा, तिनीहरू आफ्नो होशमा आउनुअघि केही समयका लागि बहकिनेछन्। ख्रीष्टविरोधीहरूको भण्डाफोर हुँदा तिनीहरू होशमा आउँछन्, त्यतिबेला तिनीहरूले अत्यन्तै पछुतो मान्छन्। ख्रीष्टविरोधीहरूलाई पछ्याउने मानिसहरूले लामो समयदेखि पवित्र आत्माको काम गुमाइसकेका छन्; किनभने तिनीहरूले हृदयमा आफ्नो आदर्शको उपासना गर्छन्, मानिसहरूलाई पछ्याउँछन्, र तिनीहरू परमेश्‍वरद्वारा तिरस्कृत भएका छन्, र उहाँले तिनीहरूलाई प्रकाश गर्न एकातिर छुट्याएर राख्नुभएको छ। त्यसैकारण ख्रीष्टविरोधीहरूलाई पछ्याउनु अत्यन्तै खतरनाक छ; ख्रीष्टविरोधीहरूजस्तै, ख्रीष्टविरोधीहरूलाई पछ्याउने मानिसहरूलाई पनि परमेश्‍वरले सबैभन्दा धेरै घृणा गर्नुहुन्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तीन: तिनीहरू सत्यताको पछि लाग्नेहरूलाई बहिष्कार र आक्रमण गर्छन्

तिमीहरूले ख्रीष्टविरोधीहरूलाई चिन्‍न सिक्‍नुपर्छ। यदि तैँले ख्रीष्टविरोधीहरू चिन्नुलाई कहिल्यै गम्भीर रूपमा लिइनस् भने, तँ खतरामा पर्नेछस्, र तँलाई कहिले वा कुन अवसरमा तिनीहरूले बहकाउमा पार्छन् कसलाई के थाहा। तैँले के भइरहेको छ भन्‍ने थाहै नपाई भ्रमित भएर ख्रीष्टविरोधीलाई पछ्याइरहेको समेत हुन सक्छस्। त्यो बेला तँलाई यसमा केही गलत छैन भन्‍ने लाग्नेछ, र तँलाई यस ख्रीष्टविरोधीले भनेको कुरा सही छ भन्‍नेसमेत लाग्‍नेछ—यसरी तँ थाहै नपाई बहकाउमा परेको हुनेछस्। तँ बहकाइएको छस् भन्‍ने तथ्यले तैँले परमेश्‍वरलाई धोका दिएको छस् भन्‍ने देखाउँछ, त्यसपछि परमेश्‍वरले तँलाई कुनै पनि हालतमा मुक्ति दिनुहुनेछैन। कतिपय मानिसले सामान्यतया राम्ररी काम गर्छन्, तर केही समयका लागि तिनीहरू ख्रीष्टविरोधीहरूका छलमा पर्छन्, र मण्डलीले तिनीहरूलाई अन्तमा सम्झाई-बुझाई र सङ्गतिद्वारा फर्काउँछ। तैपनि, कति मानिसहरूलाई सत्यतामा जसरी सङ्गति दिए पनि तिनीहरू फर्केर आउँदैनन्, र तिनीहरू ख्रीष्टविरोधीहरूसँगै लाग्न एकदमै सङ्कल्पित हुन्छन्—के तिनीहरू पूर्ण रूपमा बरबाद हुँदैनन् र? तिनीहरू दृढतासाथ फर्कन इन्कार गर्छन्, र त्यहाँदेखि परमेश्‍वर तिनीहरूमा काम गर्नुहुन्न। कतिपय मानिसहरूमा समझको कमी हुन्छ, र यस्तो व्यक्तिप्रति तिनीहरूलाई दया लाग्छ, र तिनीहरू भन्छन्, “त्यो व्यक्ति निकै शिष्ट व्यक्ति हो: उनले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भयो, र सबै कुरा त्यागे र आफूलाई समर्पित गरे; उनी आफ्नो कर्तव्य निकै बफादारीसाथ निर्वाह गर्थे, परमेश्‍वरमाथिको उनको विश्‍वास ठूलो थियो, र उनी साँचो विश्‍वासी थिए—के हामीले उनलाई अर्को मौका दिनु पर्दैन र?” के यो दृष्टिकोण सही छ? के यो सत्यताअनुरूप छ? मानिसहरूले अर्को व्यक्तिको बाहिरी रूप मात्रै देख्‍न सक्छन्, तर उनीहरूको हृदय देख्‍न सक्दैनन्; तिनीहरूले वास्तवमा उनीहरू कस्ता व्यक्ति हुन्, वा उनीहरूमा कस्तो सार छ भनेर स्पष्ट रूपमा देख्‍न सक्दैनन्। उनीहरूको वास्तविकता देख्‍नका लागि केही समय उनीहरूका सम्पर्कमा रहनैपर्छ वा उनीहरूलाई अवलोकन गर्नैपर्छ, र त्यस व्यक्तिले तिनीहरूलाई प्रकट गर्ने घटनाहरूको सामना गर्नैपर्छ। त्यसबाहेक, यदि तैँले आफ्‍नो हृदयको भलापनका कारण यी मानिसहरूलाई सहयोग गर्ने प्रयास गरिस्, तर उनीहरूसँग जति नै सङ्गति गरे पनि उनीहरू फर्केर आउँदैनन् भने, यसको पछाडि के कारण छ भन्‍ने तँलाई थाहा हुनेछैन। वास्तवमा, परमेश्‍वरले यी मानिसहरूलाई पहिले नै देखिसक्‍नुभएको र हटाउनुभएको हुन्छ। किन परमेश्‍वरले उनीहरूलाई हटाउनुभएको हुन्छ? सबैभन्दा सिधा कारण के हो भने कतिपय ख्रीष्टविरोधीहरू स्पष्ट रूपमा नै दुष्ट आत्मा हुन्छन्, र तिनीहरूलाई दुष्ट आत्माहरूले काम गर्ने ख्रीष्टविरोधीहरू भनेर वर्गीकरण गर्न सकिन्छ। यदि मानिसहरूले तिनीहरूलाई केही समयसम्म पछ्याए भने, उनीहरूको हृदय अन्धकारमा पर्नेछ, र उनीहरू यति कमजोर हुनेछन् कि ढल्नेछन्, जुन कुराले परमेश्‍वरले तिनीहरूलाई धेरै पहिले नै त्याग्नुभएको छ भन्‍ने कुरा प्रमाणित गर्छ। परमेश्‍वरमा धर्मी स्वभाव छ, र उहाँ शैतानलाई घृणा गर्नुहुन्छ। यी मानिसहरूले शैतान र दुष्ट आत्माहरूलाई पछ्याउने हुनाले, के परमेश्‍वरले अझै पनि तिनीहरूलाई आफ्ना अनुयायीका रूपमा चिन्न सक्नुहुन्छ? परमेश्‍वर पवित्र हुनुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ। उहाँ दुष्ट आत्माहरू पछ्याउनेहरूलाई चाहनुहुन्न; अरूले तिनीहरूलाई असल मानिस ठाने पनि, उहाँ तिनीहरूलाई चाहनुहुन्न। परमेश्‍वर दुष्टतालाई घृणा गर्नुहुन्छ भन्‍नुको अर्थ के हो? “दुष्टतालाई घृणा गर्नु” ले केलाई जनाउँछ? अहिले मैले भन्ने कुरा सुन, र तिमीहरूले बुझ्नेछौ। परमेश्‍वरले कुनै व्यक्तिलाई छनौट गर्नुभएदेखि, त्यस व्यक्तिले परमेश्‍वर सत्यता, धार्मिकता, बुद्धि, र सर्वशक्तिमानता हुनुहुन्छ, उहाँ एक मात्र हुनुहुन्छ भनेर स्वीकार गरिन्जेलसम्म—तिनीहरूले यी कुराहरू बुझेपछि, र केही अनुभव प्राप्त गरेपछि, परमेश्‍वरको स्वभाव, सार, अनि उहाँसँग के छ र उहाँ के हुनुहुन्छ भन्नेबारे हृदयमा आधारभूत बुझाइ प्राप्त गर्नेछन्, र यो आधारभूत बुझाइ तिनीहरूको विश्‍वास बन्‍नेछ। यसले तिनीहरूलाई परमेश्‍वरलाई पछ्याउन, परमेश्‍वरका लागि आफूलाई समर्पित गर्न, र आफ्नो कर्तव्य निर्वाह गर्न पनि उत्प्रेरित गर्नेछ। तिनीहरूले अनुभव प्राप्त गरेपछि, सत्यता बुझेपछि, अनि परमेश्‍वरको स्वभाव र उहाँबारे तिनीहरूको ज्ञानको बुझाइले तिनीहरूका हृदयमा जरा गाडेपछि—तिनीहरूमा यो कद भएपछि—तिनीहरूले परमेश्‍वरलाई इन्कार गर्नेछैनन्। तर यदि तिनीहरूसँग व्यावहारिक परमेश्‍वर, ख्रीष्टबारे साँचो ज्ञान छैन, र यदि तिनीहरूले ख्रीष्टविरोधीको आराधना गर्ने र त्यसलाई पछ्याउने सम्भावना छ भने, तिनीहरू अझै पनि खतरामा हुन्छन्। तिनीहरूले अझै पनि दुष्ट ख्रीष्टविरोधीलाई पछ्याउन देहधारी ख्रीष्टलाई पिठ्युँ फर्काउन सक्छन्। यो ख्रीष्टलाई खुल्लमखुल्ला इन्कार गर्नु र परमेश्‍वरसँग सम्बन्ध तोड्नु हुनेछ। यसको अव्यक्त अर्थ यस्तो हुन्छ: “म अबदेखि परमेश्‍वरलाई पछ्याउँदिनँ—म शैतानलाई पछ्याउँछु। म शैतानलाई प्रेम गर्छु र त्यसको सेवा गर्न इच्छुक छु; म शैतानलाई पछ्याउन इच्छुक छु। त्यसले मलाई जसरी व्यवहार गरे पनि, बरबाद गरे पनि, कुल्चे पनि, र भ्रष्ट तुल्याए पनि, म एकदमै इच्छुक छु। परमेश्‍वर जति नै धर्मी र पवित्र हुनुभए पनि, उहाँले जति नै सत्यता व्यक्त गर्नुभए पनि, म उहाँलाई पछ्याउन इच्छुक छैनँ। मलाई सत्यता मन पर्दैन। मलाई ख्याति, हैसियत, इनाम, र मुकुट मन पर्छ; मैले ती प्राप्त गर्न नसके पनि, मलाई ती मन पर्छ।” ठिक त्यसरी नै, तिनीहरूले आफूसँग कुनै सम्बन्ध नभएको व्यक्तिलाई पछ्याएका हुन्छन्, र तिनीहरू परमेश्‍वरको विरोधी ख्रीष्टविरोधीको पछि लागेका हुन्छन्। के परमेश्‍वर अझै पनि यस्तो व्यक्तिलाई चाहनुहुन्छ? अवश्य नै चाहनुहुन्‍न। के परमेश्‍वरले तिनीहरूलाई नचाहनु उचित हुन्छ? एकदमै उचित हुन्छ। तँलाई परमेश्‍वर दुष्टतालाई घृणा गर्ने, र पवित्र परमेश्वर हुनुहुन्छ भन्‍ने कुरा धर्मसिद्धान्तबाट थाहा छ। तैँले यो सिद्धान्त बुझेको छस्, तर के तँलाई परमेश्‍वर यस्ता मानिसहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ भन्‍ने थाहा छ? यदि परमेश्‍वरले कसैलाई लत्याउनुभयो भने, कुनै हिचकिचाहट नगरी उसलाई त्याग्‍नुहुनेछ। के मैले भनेको कुरा त्यस्तै छैन र? (छन्।) कुरा त्यस्तै छ। त्यसोभए, के परमेश्‍वरले यस्तो व्यक्तिलाई त्याग्‍नुको अर्थ उहाँको हृदय क्रूर छ भन्‍ने हो? (होइन।) परमेश्‍वर आफ्ना कार्यहरू सिद्धान्तअनुसार गर्नुहुन्छ। यदि तँलाई परमेश्‍वर को हुनुहुन्छ भन्‍ने थाहा छ, तर तँलाई उहाँलाई पछ्याउन मन लाग्दैन भने—यदि तँलाई शैतान को हो भन्‍ने थाहा छ, तैपनि तँ त्यसलाई पछ्याउन जिद्दी गर्छस् भने—परमेश्‍वरले तँलाई जबरजस्ती गर्नुहुनेछैन। जा र शैतानलाई सधैँभरि पछ्या। फर्केर नआइज; परमेश्‍वरले तँलाई त्याग्नुभएको छ। परमेश्‍वरको स्वभावलाई कसरी बुझ्न सकिन्छ? परमेश्‍वरको स्वभाव धर्मी र पवित्र छ, र उहाँको स्वभावमा दुष्टतालाई घृणा गर्ने एउटा तत्व छ। अर्को शब्दमा भन्दा, यदि सृष्टि गरिएको प्राणीका रूपमा, तँ भ्रष्ट हुन इच्छुक छस् भने, परमेश्‍वरले अरू के भन्‍न सक्नुहुन्छ र? परमेश्‍वर मानिसहरूलाई तिनीहरूले गर्न नचाहेका कुराहरू गर्न कहिल्यै जबरजस्ती गर्नुहुन्न। उहाँ कहिल्यै मानिसहरूलाई सत्यता स्वीकार गर्न बाध्य पार्नुहुन्न। यदि तँ भ्रष्ट हुन चाहन्छस् भने, त्यो तेरो व्यक्तिगत निर्णय हो—आखिर, परिणामहरू भोग्‍ने तँ नै हुनेछस्, र त्यसको दोष तँलाई नै जानेछ। मानिसहरूलाई सम्हाल्ने परमेश्‍वरका सिद्धान्तहरू अपरिवर्तनीय छन्, त्यसकारण यदि तँ भ्रष्टतामा खुसी छस् भने, तैँले अन्त्यमा दण्ड पाएरै छोड्छस्। तैँले परमेश्‍वरलाई जति वर्ष पछ्याएको भए पनि त्यसले फरक पार्दैन; यदि तँ भ्रष्ट हुन चाहन्छस् भने, परमेश्‍वरले तँलाई पश्चात्ताप गराउन जबरजस्ती गर्नुहुनेछैन। शैतानलाई पछ्याउन, शैतानका बहकाउमा पर्न र बरबाद हुन इच्छुक हुने व्यक्ति तँ नै होस्, त्यसकारण, अन्तमा, परिणामहरू भोग्‍नुपर्ने तैँले नै हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई)

सम्बन्धित चलचित्र उद्धरणहरू

के व्यक्तिले धर्मभित्र प्रभुलाई विश्‍वास गरेर मुक्ति पाउन सक्छ?

सम्बन्धित भजनहरू

परमेश्‍वरमा विश्‍वास गर्नु तर सत्यता नस्विकार्नु भनेको अविश्‍वासी हुनु हो

आखिरी दिनहरूको ख्रीष्टले अनन्त जीवनको मार्ग ल्याउनुहुन्छ

अघिल्लो: ङ. परमेश्‍वरलाई पछ्याउनु भनेको के हो र मानिसलाई पछ्याउनु भनेको के हो

अर्को: छ. सर्वशक्तिमान्‌ परमेश्‍वरलाई प्रतिरोध गर्न र दोष दिन चिनियाँ कम्युनिस्ट पार्टीसँग हात मिलाउने धार्मिक संसारको सार के हो, र यसको परिणाम के हुनेछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्