घ. धर्मका पाष्टर र एल्डरहरू वास्तवमै परमेश्वरद्वारा स्थापित गरिएका हुन् कि होइनन्, अनि पाष्टर र एल्डरहरूलाई पालन गर्नु परमेश्वरप्रति समर्पित हुनु र उहाँलाई पछ्याउनु हो कि होइन
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
कुनै व्यक्तिलाई उहाँको सेवा गर्न छनौट गर्दा, परमेश्वरसँग सधैँ आफ्ना सिद्धान्तहरू हुन्छन्। मानिसहरूले कल्पना गरेझैं, परमेश्वरको सेवा गर्नु भनेको कुनै पनि हालतमा केवल उत्साहको कुरा होइन। आज, तिमीहरू देख्छौ कि परमेश्वरको अघि सेवा गर्नेहरू सबैले त्यसो गर्दछन् किनभने उनीहरूसँग परमेश्वरको मार्गदर्शन र पवित्र आत्माको काम छ, र किनभने तिनीहरू सत्यको पछि लाग्ने मानिसहरू हुन्। यी परमेश्वरको सेवा गर्नेहरू सबैका निम्ति न्यूनतम सर्तहरू हुन्।
परमेश्वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले कहिले पनि परमेश्वरको सेवा गर्न सक्दैन। यदि तेरो स्वभावलाई परमेश्वरका वचनहरूद्वारा न्याय गरिएको र सजाय दिइएको छैन भने, तेरो स्वभावले अझै शैतानलाई नै प्रतिनिधित्व गर्दछ जसले के प्रमाणित गर्छ भने तैँले तेरो आफ्नै असल अभिप्रायहरूबाट सेवा गर्छस्, तेरो सेवा तेरो शैतानी स्वभावमा आधारित छ। तैँले आफ्नो स्वभाविक चरित्रद्वारा, र तेरा व्यक्तिगत अभिरुचिहरू अनुसार परमेश्वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सँधै सोच्छस् कि तैँले गर्न चाहेका कुराहरूले परमेश्वरलाई खुशी तुल्याउँछ, र तैँले गर्न नचाहने कुराहरू परमेश्वरको निम्ती घृणित छन्; तँ पूर्ण रूपमा तेरा आफ्नै अभिरुचिहरू अनुसार काम गर्छस्। के यसलाई परमेश्वरको सेवा गरेको भन्न सकिन्छ? अन्ततः तेरो जीवन स्वभावमा हल्का परिवर्तन पनि हुनेछैन; यसको सट्टामा, तेरो सेवाले तँलाई अझै हठी बनाउनेछ, जसद्वारा तेरो भ्रष्ट स्वभावले अझै गहिरो जरा गाड्छ, र त्यस्तै, परमेश्वरको सेवाको बारेमा तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा आधारित नियमहरू, र तेरो आफ्नै स्वभाव अनुसार तेरा सेवाबाट व्युत्पन्न अनुभवहरू बन्नेछन्। यी मानिसका अनुभवहरू र पाठहरू हुन्। यो सांसारिक मामिलाहरूको दर्शन हो। यस्ता मानिसहरूलाई फरिसीहरू र धार्मिक अधिकारीहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ। यदि तिनीहरू कहिल्यै बिउँझिँदैनन् र तिनीहरूले कहिल्यै पश्चात्ताप गर्दैनन् भने, तिनीहरू पक्कै झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरूमा परिवर्तन हुनेछन् जसले आखिरी दिनहरूमा मानिसहरूलाई बहकाउँछन्। पहिले नै भनिएका झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरू यस्ता मानिसहरूका बीचबाट खडा हुनेछन्। यदि परमेश्वरको सेवा गर्नेहरूले आफ्नै चरित्र अनुसरण गर्छन् र आफ्नै इच्छा अनुसार कार्य गर्छन् भने, तिनीहरूले कुनै पनि समयमा हटाइने जोखिम उठाउँछन्। जसले अरूको हृदय जित्न, उनीहरूलाई व्याख्यान गर्न र उनीहरूलाई बन्धनमा राख्न, र उच्चमा खडा हुन परमेश्वरको सेवा गर्ने क्रममा प्राप्त गरेको आफ्नो वर्षौंको अनुभव प्रयोग गर्दछन्—र जसले कहिल्यै पश्चात्ताप गर्दैनन्, आफ्ना पापहरूलाई कहिल्यै स्वीकार गर्दैनन्, पदको फाइदा कहिल्यै त्याग्दैनन्—यी मानिसहरू परमेश्वरको अघि पतन हुनेछन्। तिनीहरू पावल जत्तिकै हुन्, जसले आफ्नो वरिष्ठतामा घमण्ड गर्दछन् र आफ्ना योग्यताहरूलाई बढवा दिन्छन्। परमेश्वरले यस्ता मानिसहरूलाई सिद्धतामा ल्याउनुहुनेछैन। यस्तो सेवाले परमेश्वरको काममा अवरोध पुऱ्याउँछ। मानिसहरू सँधै विगतसँग टाँसिरहेका हुन्छन्। तिनीहरू विगतका धारणाहरू, बितेका दिनका हरेक कुराहरूमा टाँसिएका हुन्छन्। यो तिनीहरूको सेवाको निम्ति ठूलो बाधा हो। यदि तैँले तिनलाई बाहिर फाल्न सक्दैनस् भने, यी कुराहरूले तेरो पूरै जीवनलाई दबाउनेछ। परमेश्वरले तेरो प्रशंसा गर्नुहुन्न, चाहे तैँले दौडेर आफ्नो खुट्टा वा परिश्रम गरेर आफ्नो ढाड नै भाँच्, चाहे तँ परमेश्वरको सेवामा शहीद नै बन्, उहाँले अलिकति पनि तेरो तारिफ गर्नुहुन्न। ठीक विपरीत: उहाँले तँलाई दुष्ट काम गर्ने भनी भन्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ
मण्डलीहरूमा प्रचार गर्ने र हैसियत, पद, र प्रतिष्ठा भएका मानिसहरू धर्मशास्त्रीय सेमिनारहरूमा धर्मशास्त्रीय ज्ञान र सिद्धान्तवादको तालिम प्राप्त गरेका मानिसहरू हुन्, र तिनीहरू मूल रूपमा इसाई धर्मलाई कायम राख्ने मुख्य निकाय हुन्। इसाई जगतले त्यस्ता मानिसहरूलाई स्टेजमा चढ्न र प्रचार गर्न, सुसमाचार प्रचार गर्न र सबैतिर काम गर्नका लागि तालिम दिन्छ। तिनीहरूले के विश्वास गर्छन् भने यी धर्मशास्त्रका विद्यार्थीहरू, प्रचार गर्ने पाष्टरहरू, र धर्मशास्त्रीहरू जस्ता प्रतिभाहरूका साथ, आजको दिनसम्म इसाई जगतको अस्तित्व सुनिश्चित रहेको छ, र यी मानिसहरू इसाई जगतको अस्तित्वको मूल्य र पूँजी बनेका छन्। यदि कुनै मण्डलीको पाष्टरले धर्मशास्त्रीय सेमिनारीमा स्नातक पाएको छ, उसले बाइबलका बारेमा राम्ररी छलफल गर्छ, केही आत्मिक पुस्तकहरू पढेको छ, र उसमा केही ज्ञान र वाक्पटुता छ भने, त्यो मण्डलीको सहभागितामा वृद्धि हुनेछ र त्यो अरू मण्डलीहरूभन्दा निकै चर्चित हुनेछ। इसाई जगतका यी मानिसहरूले के कुरालाई सम्मान गर्छन्? ज्ञान, धर्मशास्त्रीय ज्ञानलाई। यो ज्ञान कहाँबाट आउँछ? के यसलाई प्राचीन समयदेखि हस्तान्तरण गरिएको छैन र? प्राचीन समयदेखि नै धर्मशास्त्रहरू रहेका छन्, जुन कुरालाई एउटा पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गरिएको छ, र आजसम्म पनि सबैले तिनलाई त्यसरी नै पढ्छन् र सिक्छन्। मानिसहरूले बाइबललाई विभिन्न खण्डहरूमा विभाजन गर्छन्, फरक-फरक संस्करणहरू सङ्कलन गर्छन्, र अध्ययन र सिकाइलाई प्रोत्साहन दिन्छन्, तर तिनीहरूले बाइबलको अध्ययन गर्नुको उद्देश्य भनेको परमेश्वरलाई चिन्नका लागि सत्यता बुझ्नु होइन, न त त्यो परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्नका लागि परमेश्वरका अभिप्रायहरू बुझ्नु नै हो; बरु त्यो बाइबलका ज्ञान र रहस्यहरू अध्ययन गर्नु, कुन-कुन घटनाले कुन-कुन समयमा प्रकाशको कुन अगमवाणी पूरा गरेका छन्, र महा-विपत्ति र सहस्राब्दी कहिले आउनेछ भनेर पत्ता लगाउनु हो—तिनीहरूले यी कुराहरू अध्ययन गर्छन्। के तिनीहरूको अध्ययन सत्यतासँग सम्बन्धित हुन्छ? (अहँ, हुँदैन।) तिनीहरूले किन सत्यतासँग कुनै सरोकार नै नभएका कुराहरू अध्ययन गर्छन्? किनभने तिनीहरूले जति धेरै अध्ययन गर्छन्, तिनीहरूले जति धेरै बुझेका छन् भन्ने अनुभव गर्छन्, र तिनीहरू जति धेरै शब्द र धर्मसिद्धान्तहरूद्वारा सुसज्जित हुन्छन्, तिनीहरूको योग्यता त्यति नै उच्च हुन्छ। तिनीहरूको योग्यता जति उच्च हुन्छ, तिनीहरूलाई तिनीहरूको क्षमता त्यति नै ठूलो लाग्छ, र तिनीहरूले अन्तमा आफ्नो आस्थामा आशिष् पाउनेछन्, तिनीहरू मृत्युपछि स्वर्ग जानेछन्, वा प्रभुलाई भेट्नका लागि जीवित मानिसहरू आकाशमा उठाइलगिनेछन् भन्ने कुरामा त्यति नै विश्वास गर्छन्। तिनीहरूका धार्मिक धारणाहरू यिनै हुन्, जुन परमेश्वरका वचनहरूसँग पटक्कै मिल्दैनन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन)
मानिसको विचारमा काम भनेको मानिसले अत्यन्तै सहजै हासिल गर्ने कुरा हो। उदाहरणको लागि, धार्मिक संसारका पाष्टर र अगुवाहरू आफ्नो काम गर्नका लागि आफ्ना वरदान र पदहरूमा भर पर्छन्। तिनीहरूलाई लामो समयसम्म पछ्याउने मानिसहरू तिनीहरूका वरदानहरूद्वारा सङ्क्रमित हुनेछन् र तिनीहरूको केही सारत्वद्वारा प्रभावित हुनेछन्। तिनीहरूले मानिसहरूका वरदान, क्षमता र ज्ञानमा ध्यान केन्द्रित गर्छन्, र तिनीहरूले अलौकिक कुराहरू अनि धेरै गहन, अवास्तविक सिद्धान्तहरूमा ध्यान दिन्छन् (अवश्य नै, यी गहन सिद्धान्तहरू अप्राप्य छन्)। तिनीहरूले मानिसहरूका स्वभावमा हुने परिवर्तनमा होइन, तर प्रचार गर्न र काम गर्नको लागि मानिसहरूलाई तालिम दिन, मानिसहरूको ज्ञान र तिनीहरूको प्रशस्त धार्मिक सिद्धान्तहरूलाई सुधार गर्नमा ध्यान केन्द्रित गर्छन्। तिनीहरूले मानिसहरूको स्वभाव कति परिवर्तन हुन्छ भन्नेमा ध्यान केन्द्रित गर्दैनन्, न त मानिसहरूले कति धेरै सत्यतालाई बुझ्छन् भन्नेमा नै ध्यान केन्द्रित गर्छन्। तिनीहरूले मानिसहरूको सारमा चासो दिँदैनन्, तिनीहरूले मानिसहरूको सामान्य र असामान्य स्थितिहरूलाई जान्ने प्रयास गर्नु त परै जाओस्। तिनीहरूले मानिसहरूका धारणाहरूलाई खण्डन गर्दैनन्, न त तिनीहरूले आफ्ना धारणाहरूलाई प्रकट नै गर्छन्, तिनीहरूले मानिसहरूका त्रुटिहरू वा भ्रष्टताहरूका लागि तिनीहरूलाई काट-छाँट गर्नु त परै जाओस्। तिनीहरूलाई पछ्याउने धेरैजसोले तिनीहरूका वरदानहरूद्वारा सेवा गर्छन्, अनि तिनीहरूले व्यक्त गर्ने भनेका त्यही धार्मिक धारणाहरू र धर्मशास्त्रीय सिद्धान्तहरू मात्र हुन्, जुन वास्तविकताको छुवाइभन्दा बाहिर छन् र मानिसहरूलाई जीवन दिन पूर्ण रूपमा असमर्थ छन्। वास्तवमा, तिनीहरूको कामको सार भनेको प्रतिभाको वृद्धि-विकास गर्नु, केही पनि नभएको व्यक्तिलाई प्रतिभावान् तुल्याई सेमिनारी दीक्षान्तसम्म शिक्षा-दीक्षा दिनु हो जसले पछि गएर काम गर्छ र अगुवाइ गर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको काम र मानिसको काम
धार्मिक संसारका पाष्टर र एल्डरहरू सबै बाइबलको ज्ञान र धर्मशास्त्र अध्ययन गर्ने मानिसहरू हुन्; तिनीहरू परमेश्वरको प्रतिरोध गर्ने ढोङ्गी फरिसीहरू हुन्। … के बाइबल, धर्मशास्त्र, र परमेश्वरको कामको इतिहास समेत अध्ययन गर्ने इसाई र क्याथोलिक धर्मका मानिसहरू साँच्चै विश्वासीहरू हुन्? के तिनीहरू परमेश्वरले बताउनुभएका परमेश्वरका विश्वासी र अनुयायीहरूभन्दा फरक छन्? परमेश्वरको नजरमा, के तिनीहरू विश्वासी हुन्? अहँ, तिनीहरूले धर्मशास्त्र अध्ययन गर्छन्, परमेश्वरबारे अध्ययन गर्छन्, तर परमेश्वरलाई पछ्याउँदैनन् वा उहाँको गवाही दिँदैनन्। परमेश्वरका बारेमा तिनीहरूको अध्ययन इतिहास, दर्शन, कानुन, जीवविज्ञान, वा खगोलशास्त्रको अध्ययन गर्नेहरूको जस्तै हुन्छ। यति मात्र हो कि तिनीहरूलाई विज्ञान वा अरू विषयहरू मन पर्दैन—तिनीहरूलाई निश्चित रूपमा धर्मशास्त्रको अध्ययन गर्न मन पर्छ। परमेश्वरको अध्ययन गर्न तिनीहरूले परमेश्वरको कामका टुक्रा-टाक्रीहरू खोज्नुको परिणाम के हुन्छ? के तिनीहरूले परमेश्वरको अस्तित्व पत्ता लगाउन सक्छन्? अहँ, कहिल्यै पनि सक्दैनन्। के तिनीहरूले परमेश्वरका अभिप्रायहरू बुझ्न सक्छन्? (सक्दैनन्।) किन? किनभने तिनीहरू शब्दहरूमा, ज्ञानमा, दर्शनमा, मानव मन र मानव सोचहरूमा जिउँछन्; तिनीहरूले कहिल्यै पनि परमेश्वरलाई देख्नेछैनन् वा पवित्र आत्माद्वारा अन्तर्दृष्टि प्राप्त गर्नेछैनन्। परमेश्वरले तिनीहरूलाई कसरी वर्गीकरण गर्नुहुन्छ? अविश्वासी, गैरविश्वासीहरूका रूपमा। यी गैरविश्वासी र अविश्वासीहरू तथाकथित इसाई समुदायमा घुलमेल हुन्छन्, परमेश्वरका विश्वासीहरू, इसाईहरू भएको नाटक गर्छन्, तर के तिनीहरूसँग वास्तवमा परमेश्वरका लागि साँचो आराधना हुन्छ? के तिनीहरूमा साँचो समर्पणता हुन्छ? (हुँदैन।) किन? एउटा कुरा निश्चित छ: तिनीहरूमध्ये धेरैले आफ्नो हृदयमा परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्; तिनीहरूले परमेश्वरले संसार सृष्टि गर्नुभएको हो र यावत् थोकमाथि उहाँ सार्वभौम हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्दैनन्, र परमेश्वर देह बन्न सक्नुहुन्छ भन्ने कुरामा त तिनीहरूले झनै विश्वास गर्दैनन्। यो अविश्वासको अर्थ के हो? यसको अर्थ शङ्का गर्नु र इन्कार गर्नु हो। तिनीहरूले परमेश्वरले बोल्नुभएका अगमवाणीहरू, विशेष गरी विपत्तिहरूसँग सम्बन्धित अगमवाणीहरू पूरा नहुने वा नघट्ने आशा गर्ने मनोवृत्ति समेत अपनाउँछन्। परमेश्वरमाथिको विश्वासप्रतिको तिनीहरूको मनोवृत्ति यही हो, र यो तिनीहरूको तथाकथित आस्थाको सार र साँचो रूप हो। यी मानिसहरूले धर्मशास्त्रको विषय र ज्ञान, र परमेश्वरको कामका ऐतिहासिक तथ्यहरूमा विशेष रुचि राख्ने हुनाले परमेश्वरका बारेमा अध्ययन गर्छन्; तिनीहरू विशुद्ध रूपमा धर्मशास्त्रको अध्ययन गरिरहेका बुद्धिजीवीहरूको समूह मात्रै हुन्। यी बुद्धिजीवीहरूले परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्, त्यसोभए परमेश्वर काम गर्न आउनुहुँदा, परमेश्वरका वचनहरू पूरा हुँदा तिनीहरूले कस्तो प्रतिक्रिया दिन्छन्? परमेश्वरले देहधारी भएर नयाँ काम सुरु गर्नुभएको छ भन्ने सुन्दा तिनीहरूको पहिलो प्रतिक्रिया के हुन्छ? “असम्भव!” तिनीहरूले परमेश्वरको नयाँ नाम र परमेश्वरको नयाँ कामको प्रचार गर्ने व्यक्तिलाई निन्दा गर्छन्, र उसलाई मार्न वा हटाउन समेत चाहन्छन्। यो कस्तो प्रकटीकरण हो? के यो उदाहरणीय ख्रीष्ट-विरोधीको प्रकटीकरण होइन र? तिनीहरू र फरिसी, मुख्य पूजाहारी र प्राचीन शास्त्रीहरू बीचमा के भिन्नता छ? तिनीहरू परमेश्वरको कामप्रति, परमेश्वरको आखिरी दिनहरूको न्यायप्रति, परमेश्वर देह बन्नुभएको तथ्यप्रति शत्रुवत् हुन्छन्, र अझै बढी, तिनीहरू परमेश्वरका अगमवाणीहरू पूरा हुने तथ्यप्रति शत्रुवत् हुन्छन्। तिनीहरूले यसो विश्वास गर्छन्, “यदि तपाईँ देह बन्नुभएन भने, यदि तपाईँ आत्मिक शरीरमा हुनुहुन्छ भने, तपाईँ परमेश्वर हुनुहुन्छ; यदि तपाईँ देहधारी भएर व्यक्ति बन्नुभएको छ भने, तपाईँ परमेश्वर हुनुहुन्न, र हामी तपाईंलाई चिन्दैनौँ।” यसको अर्थ के हो? यसको अर्थ तिनीहरू यहाँ रहेसम्म, तिनीहरूले परमेश्वरलाई देह बन्न दिनेछैनन् भन्ने हुन्छ। के यो एउटा उदाहरणीय ख्रीष्ट विरोधी होइन र? यो साँचो ख्रीष्ट विरोधी हो।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन)
व्यवस्थाको युगका ती यहूदी फरिसी, प्रधान पुजारी, र शास्त्रीहरू परमेश्वरमा नाउँ मात्रको विश्वास गर्थे, तर तिनीहरूले उहाँको मार्गलाई पिठ्यूँ फर्काए, र देहधारी परमेश्वरलाई क्रूसमा समेत टाँगे। त्यसोभए, के तिनीहरूको विश्वासले परमेश्वरको अनुमोदन प्राप्त गरेको हुन सक्थ्यो र? (अहँ।) परमेश्वरले तिनीहरूलाई यहूदी विश्वासका मानिस, एक धार्मिक समूहका सदस्य भनेर तोकिसक्नुभएको थियो। त्यसै गरी, परमेश्वर अहिले येशूमा विश्वास गर्नेहरूलाई कुनै धार्मिक समूहका सदस्यका रूपमा हेर्नुहुन्छ, किनकि उहाँ तिनीहरूलाई उहाँको मण्डलीका सदस्य वा उहाँका विश्वासीका रूपमा स्वीकार गर्नुहुन्न। किन परमेश्वर धार्मिक संसारलाई यस्तो निन्दा गर्नुहुन्छ? किनकि धार्मिक समूहहरूका सबै सदस्य, विशेष गरी विभिन्न सम्प्रदायका उच्च तहका अगुवाहरूको हृदयमा परमेश्वरको भय हुँदैन, न त तिनीहरू परमेश्वरको इच्छा पालन नै गर्छन्। तिनीहरू सबै अविश्वासी हुन्। तिनीहरू देहधारणमा विश्वास गर्दैनन्, झन् सत्यता स्विकार्नु त परको कुरा हो। तिनीहरू परमेश्वरका आखिरी दिनहरूको काम वा उहाँले व्यक्त गर्ने सत्यताहरू कहिल्यै खोज्दैनन्, त्यसको सोधीखोजी, जाँच गर्दैनन्, वा त्यो स्विकार्दैनन्, बरु सोझै परमेश्वरका आखिरी दिनहरूको देहधारणको कामलाई निन्दा र तिरस्कार गर्छन्। यसमा प्रस्टसित के देखिन्छ भने, तिनीहरू परमेश्वरमा नाउँ मात्रको विश्वास गर्लान्, तर परमेश्वर तिनीहरूलाई आफ्ना विश्वासीका रूपमा स्विकार्नुहुन्न; उहाँ तिनीहरूलाई दुष्कर्मी, तिनीहरूले गर्ने कुनै कुरा उहाँको मुक्तिको कामसँग अलिकति पनि सम्बन्धित छैन, तिनीहरू गैरविश्वासीहरू हुन् जो उहाँका वचनहरूभन्दा बाहिर छन् भनेर भन्नुहुन्छ। यदि तिमीहरू परमेश्वरलाई अहिले जसरी विश्वास गर्छौ, त्यसरी नै विश्वास गर्छौ भने, तिमीहरूलाई पनि धार्मिक अनुयायीमा झार्ने दिन आउनेछैन र? धर्मभित्र परमेश्वरमा विश्वास गरेर मुक्ति प्राप्त हुँदैन—खासमा यस्तो किन हुन्छ? यदि तिमीहरू यस्तो हुनुको कारण भन्न सक्दैनौ भने, यसले तिमीहरू अलिकति पनि सत्यता बुझ्दैनौ, न त परमेश्वरका अभिप्रायहरू नै बुझ्छौ भनेर देखाउँछ। परमेश्वरमा विश्वास गर्दा हुन सक्ने सबैभन्दा दुखद कुरा के हो भने, त्यो विश्वास झरेर धर्म बन्छ र त्यसलाई परमेश्वरले हटाउनुहुन्छ। यो मान्छेले कल्पना गर्नै नसक्ने कुरा हो, र सत्यता नबुझ्नेहरूले यस मामिलालाई स्पष्ट रूपमा कहिल्यै देख्न सक्दैनन्। ल भन् त, जब परमेश्वरका नजरमा कुनै मण्डली बिस्तारै धर्ममा परिणत भएको हुन्छ र यसको सुरुवातदेखि धेरै वर्षको दौरान कुनै सम्प्रदाय बनेको हुन्छ, तब के त्यसका मानिसहरू परमेश्वरको मुक्तिका पात्र हुन्छन्? के तिनीहरू उहाँको परिवारका सदस्य हुन्छन्? (अहँ।) तिनीहरू हुँदैनन्। साँचो परमेश्वरमा नाउँको मात्र विश्वास गर्ने, तर परमेश्वरले धार्मिक मानिस ठान्ने यी मानिसहरू हिँड्ने बाटो कुन हो? तिनीहरू हिँड्ने बाटो त्यो हो जसमा तिनीहरू परमेश्वरमा विश्वास गरेको खोल ओढ्छन् तर उहाँको मार्ग कहिल्यै पछ्याउँदैनन्; त्यो बाटो हो जसमा तिनीहरू उहाँमा विश्वास गर्छन् तर उहाँको आराधना गर्दैनन्, बरु उहाँलाई त्याग्छन् समेत; त्यो बाटो हो जसमा तिनीहरू परमेश्वरमा विश्वास गरेको दाबी गर्छन् तर उहाँको प्रतिरोध गर्छन्, परमेश्वरका नाममा, साँचो परमेश्वरमा नाउँको मात्र विश्वास गर्छन्, तर शैतान र दियाबलसहरूको आराधना गर्छन्, अनि मानव कार्यहरूमा संलग्न हुन्छन्, र स्वतन्त्र मानव राज्य खडा गर्छन्। तिनीहरू हिँड्ने बाटो त्यही हो। तिनीहरू हिँड्ने बाटो हेर्दा के प्रस्ट हुन्छ भने, तिनीहरू अविश्वासीहरूको झुन्ड, ख्रीष्टविरोधीहरूको गिरोह, खुलेआम परमेश्वरको प्रतिरोध गर्ने र उहाँको काम भङ्ग गर्ने शैतान र दियाबलसहरूको समूह हुन्। धर्मको संसारको सार यही हो। के मानिसहरूको यस्तो कुनै समूहको मान्छेको मुक्तिका लागि परमेश्वरको व्यवस्थापन योजनासँग कुनै सम्बन्ध छ? (छैन।) परमेश्वरका विश्वासीहरूलाई पनि, चाहे तिनीहरूको सङ्ख्या धेरै किन नहोस्, तिनीहरूको विश्वासको शैलीलाई परमेश्वरले सम्प्रदाय वा समूहका रूपमा परिभाषित गर्नुभएपछि, मुक्ति दिन नसकिने मानिसका रूपमा परिभाषित गर्नुहुन्छ। किन म यसो भनिरहेको छु? परमेश्वरको काम वा मार्गदर्शनविनाको कुनै समूह, जो उहाँप्रति समर्पित हुँदैन वा उहाँको आराधना बिलकुलै गर्दैन, त्यसले परमेश्वरमा नाउँको मात्र विश्वास गर्ला, तर तिनीहरू धर्मका पुजारी र एल्डरहरूलाई पछ्याउँछन् र तिनीहरूको आज्ञापालन गर्छन्, तर धर्मका पुजारी र एल्डरहरू आफ्नो सारले नै शैतानी र पाखण्डी हुन्छन्। त्यसकारण, ती मानिसहरू शैतान र दियाबलसहरूलाई पछ्याउँछन्। तिनीहरू आफ्ना हृदयमा परमेश्वरप्रतिको विश्वास अभ्यास गरिरहेका छन्, तर खासमा, तिनीहरू मान्छेको चलाक प्रभावमा पर्दै छन्, मानवका योजनाबद्द कार्य र प्रभुत्वका पकडमा पर्छन्। त्यसैले, मूलभूत रूपमा भन्नुपर्दा, तिनीहरू शैतान र दियाबलसहरू, अनि परमेश्वरको प्रतिरोध गर्ने दुष्ट शक्तिहरू, अनि परमेश्वरका शत्रुहरूलाई पछ्याउँछन्। के परमेश्वरले यस्ता मानिसहरूको गिरोहलाई मुक्ति दिनुहुनेछ? (अहँ।) किन दिनुहुनेछैन? के यस्ता मानिसहरू पश्चात्ताप गर्न सक्छन्? सक्दैनन्; तिनीहरूले पश्चात्ताप गर्नेछैनन्। तिनीहरू परमेश्वरमा विश्वास गरेको नाममा मानव कार्य र व्यवसायहरूमा संलग्न हुन्छन्, मान्छेको मुक्तिका लागि परमेश्वरको व्यवस्थापन योजनाविपरीत जान्छन्, फलस्वरूप परमेश्वरले तिनीहरूलाई अन्तिम परिणामस्वरूप तिरस्कार गर्नुहुनेछ। परमेश्वरले यी मानिसहरूलाई मुक्ति दिनु असम्भव छ; तिनीहरू पश्चात्ताप गर्न सक्दैनन्, र तिनीहरूलाई शैतानले जितेको कारण परमेश्वरले तिनीहरू शैतानलाई नै जिम्मा लगाउनुहुन्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्न सकिन्छ
कतिपय मानिसहरू सत्यमा आनन्दित हुँदैनन्, न्यायको बारेमा त कुरै छोडौं। त्यसको साटो, तिनीहरूले शक्ति र धनसम्पत्तिमा आनन्द लिन्छन्; यस्ता मानिसहरूलाई शक्ति खोज्नेहरू भनिन्छ। तिनीहरूले संसारमा प्रभाव भएका सम्प्रदायहरूको मात्र खोजतलास गर्दछन्, र तिनीहरूले सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरूलाई मात्र खोजतलास गर्दछन्। तिनीहरूले सत्यको मार्गलाई स्वीकारेका भए पनि, तिनीहरू अर्ध-विश्वास गर्नेहरू मात्र हुन्; तिनीहरूले आफ्नो सम्पूर्ण मन र मस्तिष्क दिन सक्दैनन्, तिनीहरू मुखले परमेश्वरका निम्ति आफू स्वयम्लाई समर्पण गर्ने बारेमा वचनहरू बोल्छन्, तर तिनीहरूका नजर महान् पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरूले ख्रीष्टलाई दोस्रो नजर पनि लगाउँदैनन्। तिनीहरूका हृदय ख्याति, भाग्य र वैभवमाथि केन्द्रित हुन्छन्। तिनीहरूले त्यस्तो कमजोर व्यक्तिले त्यति धेरै मानिसहरूलाई जित्न सक्छ, त्यति मामूली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्ने कुरामा प्रश्न उठाउँछन्। तिनीहरूले धूलो र गोबरको थुप्रोमध्येका नगन्य मानिसहरू परमेश्वरद्वारा चुनिएका मानिसहरू हुन् भन्ने कुरामा शङ्का गर्छन्। यदि यस्ता मानिसहरू परमेश्वरका मुक्तिका पात्रहरू हुन्थे भने, स्वर्ग र पृथ्वी उलटपुलट हुन्थ्यो र सम्पूर्ण मानिसहरू हाँस्नेथिए भन्ने तिनीहरू विश्वास गर्छन्। यदि परमेश्वरले यस्ता नगन्य व्यक्तिहरूलाई सिद्ध पार्न चुन्नुहुन्थ्यो भने, ती महान् मानिसहरू परमेश्वर स्वयम बन्नेथिए भन्ने तिनीहरू विश्वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्वासले दूषित भएका हुन्छन्; विश्वास नगर्ने भन्दा बढी, तिनीहरू बेवकुफ पशुहरू हुन्। किनकि तिनीहरूले दर्जा, मर्यादा र शक्तिलाई मात्र मूल्यवान् ठान्दछन् र तिनीहरूले ठूला समूह र सम्प्रदायहरूलाई मात्र मान्यता दिन्छन्। ख्रीष्टले डोर्याउनुभएका मानिसहरूप्रति तिनीहरूसँग अलिकति पनि सम्मान हुँदैन; तिनीहरू त ख्रीष्टतर्फ, सत्यतातर्फ र जीवनतर्फ आफ्नो पिठ्यूँ फर्काएका विश्वासघाती मात्र हुन्।
तैँले सराहना गर्ने कुरा ख्रीष्टको विनम्रता होइन, बरु विख्यात दर्जा भएका झूटा गोठालाहरू हुन्। तैँले ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई होइन बरु संसारका फोहोरमा लडीबडी गर्ने स्वेच्छाचारीहरूलाई श्रद्धा गर्छस्। तँ आफ्नो शिर राख्ने ठाउँ नभएका ख्रीष्टको पीडामा हाँस्छस्, तर तँ भेटीहरू खोजी गर्ने र व्यभिचारमा जिउने लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तैँले लापरवाह, ख्रीष्ट विरोधीहरूका हातमा आफूलाई खुशीसाथ सुम्पन्छस्, जबकि तिनीहरूले तँलाई केवल देह, वचनहरू र नियन्त्रण प्रदान गर्छन्। अहिले पनि तेरो हृदय अझै तिनीहरूका ख्यातितर्फ, तिनीहरूका दर्जातर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। अनि तँ अझै पनि ख्रीष्टको कामलाई पचाउन गाह्रो मान्ने र यसलाई स्विकार्न अनिच्छुक बन्ने मनोवृत्ति राखिरहन्छस्। यसकारण म भन्छु, ख्रीष्टलाई स्वीकार गर्नको लागि तँमा विश्वासको कमी छ। तैँले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकोले गर्दा हो। गौरवपूर्ण तस्वीरहरूले सधैँ तेरो हृदयमा अग्लो स्तम्भ बनाइरहेको हुन्छ; तैँले तिनीहरूका कुनै पनि शब्द र कामलाई बिर्सन सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई नै बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टको हकमा लागू हुँदैन। तेरो हृदयमा उहाँ सदा नै कम महत्त्वको हुनुहुन्छ, र सदा नै डरको अयोग्य हुनुहुन्छ। किनकि उहाँ अत्यन्तै सामान्य हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ भव्यताबाट टाढा हुनुहुन्छ।
जे भए पनि, म त भन्छु, सत्यलाई मूल्यवान् नठान्नेहरू सबै अविश्वासी र सत्यताका विश्वासघातीहरू हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको स्वीकृति प्राप्त गर्नेछैनन्। के अब तैँले तँभित्र कति धेरै अविश्वास छ र तँसँग ख्रीष्टप्रति कति धेरै धोका छ भनी पहिचान गरेको छस्? तसर्थ म तँलाई उत्साह प्रदान गर्छु: तैँले सत्यको मार्गलाई चुनेको हुनाले, तैँले आफूलाई सम्पूर्ण हृदयले समर्पण गर्नुपर्दछ; अस्पष्ट वा हतोत्साहित नबन्। तैँले यो बुझ्नुपर्छ कि परमेश्वर संसारको स्वामित्वमा हुनुहुन्न न त उहाँ कुनै व्यक्तिको स्वामित्वमा नै हुनुहुन्छ, बरु उहाँ त साँचो रूपले उहाँमा विश्वास गर्नेहरू सबै, उहाँको आराधना गर्नेहरू सबै, र उहाँतर्फ समर्पित र विश्वासयोग्य हुनेहरू सबैका हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ परमेश्वरको साँचो विश्वासी होस्?
सम्बन्धित चलचित्र उद्धरणहरू
के पाष्टर र एल्डरहरू साँच्चै प्रभुद्वारा नियुक्त हुन्छन्?
के पाष्टर र एल्डरहरूप्रतिको आज्ञाकारिता परमेश्वरप्रतिको आज्ञाकारिता समान हो?
के पोपले परमेश्वरको प्रतिनिधित्व गर्न सक्छन्? के पोपको कुरा सुन्नु परमेश्वरको आज्ञापालन गर्नु हो?
सम्बन्धित प्रवचनहरू
के धर्मगुरुहरूलाई पछ्याउनु परमेश्वरलाई पछ्याउनु हो?
सम्बन्धित भजनहरू
मानिसमा परमेश्वरमाथिको साँचो आस्था छैन
परमेश्वरमा विश्वास गर्नु तर सत्यता नस्विकार्नु भनेको अविश्वासी हुनु हो