बाइबल सम्बन्धमा (२)
बाइबललाई पुरानो र नयाँ करार पनि भनिन्छ। “करार” ले केलाई जनाउँछ, के तिमीहरूलाई थाहा छ? पुरानो करारमा रहेको “करार” यहोवाले मिश्रीहरूलाई मारेर इस्राएलीहरूलाई फारोबाट बचाउनुभएपछि इस्राएलका मानिसहरूसँग गर्नुभएको करारबाट आएको हो। अवश्य नै, ढोकाको चौकसमा पोतिएको थुमाको रगत नै यो करारको प्रमाण थियो। त्यसमार्फत परमेश्वरले मानिससँग करार स्थापित गर्नुभएको थियो, त्यसमा के भनिएको थियो भने, ढोकाको चौकसमाथि र दुवै छेउमा थुमाको रगत पोतिएका जति सबै इस्राएलीहरू हुन्। तिनीहरू परमेश्वरका चुनिएका मानिसहरू थिए र तिनीहरू सबैलाई यहोवाले क्षमा दिनुभएको थियो (किनभने त्यति बेला यहोवाले मिश्रका ज्येष्ठ पुत्र र पहिलो वंशका भेडा र गाईवस्तु सबैलाई मार्न लाग्नुभएको थियो)। यो करारको अर्थ दुई तहको छ। मिश्रका कुनै पनि मानिस वा पशुलाई यहोवाले बचाउनुहुनेथिएन; उहाँले तिनीहरूका ज्येष्ठ पुत्र र पहिलो वंशका भेडा र गाईवस्तु सबैलाई मार्नुहुनेथ्यो। तसर्थ, अगमवाणीका थुप्रै पुस्तकहरूमा यहोवाको करारको परिणामस्वरूप मिश्रीहरूलाई कठोर सजाय हुनेछ भनी पहिला नै भनिएको थियो। करारको पहिलो तहको अर्थ यही हो। यहोवाले मिश्रका ज्येष्ठ पुत्र र पहिलो वंशका सबै पशुहरू मार्नुभयो र इस्राएलीलाई जोगाउनुभयो, यसको मतलब इस्राएली भूमिमा रहेका सबैलाई यहोवाले प्रिय ठान्नुभयो र सबैलाई बचाउनुभयो; उहाँले तिनीहरूमा दीर्घकालीन काम गर्न चाहनुभयो, र थुमाको रगत प्रयोग गरेर उनीहरूसँग करार स्थापित गर्नुभयो। त्यसउप्रान्त यहोवाले इस्राएलीहरूलाई मार्नुहुनेथिएन र उहाँले तिनीहरू सधैँका लागि उहाँका चुनिएका जनहरू हुनेछन् भनी भन्नुभयो। उहाँ इस्राएलका बाह्र कुलमाझ सम्पूर्ण व्यवस्थाको युग सुरु गर्ने काममा लाग्नुहुनेथ्यो, उहाँले इस्राएलीहरूमाझ आफ्ना सबै व्यवस्था सार्वजनिक गर्नुहुनेथ्यो, तिनीहरू मध्येबाट अगमवक्ता र न्यायकर्ताहरू छान्नुहुनेथ्यो र तिनीहरू उहाँको कामका केन्द्र हुनेवाला थिए। यहोवाले तिनीहरूसँग एउटा करार गर्नुभयो: युग परिवर्तन नभएसम्म उहाँले उहाँका चुनिएकाहरूमाझ मात्र उहाँ काम गर्नुहुनेथ्यो। यहोवाको करार अपरिवर्तनीय थियो, किनकि यो रगतद्वारा निर्माण भएको, र उहाँका चुनिएका मानिसहरूसँग स्थापित गरिएको थियो। अझ महत्त्वपूर्ण रूपमा, उहाँले सम्पूर्ण युगको लागि आफ्नो काम सुरु गर्न उपयुक्त दायरा र लक्ष्य रोज्नुभयो, त्यसैले यो करारलाई मानिसहरूले विशेष महत्त्वका साथ हेरे। करारको दोस्रो तहको अर्थ यही हो। करारको स्थापना हुनुभन्दा अघिको उत्पत्तिको पुस्तकबाहेक, पुरानो करारका अन्य सबै पुस्तकहरूमा करारको स्थापनापछि इस्राएलीहरूमाझ परमेश्वरले गर्नुभएको कामको अभिलेख राखिएको छ। अवश्य पनि, कहिलेकहीँ अन्यजातिहरूका विवरणहरू पनि आउँछन्, तर समग्रमा, पुरानो करारमा परमेश्वरले इस्राएलमा गर्नुभएको कामको विवरण राखिएको छ। इस्राएलीहरूसँग गरिएको यहोवाको करारको कारण व्यवस्थाको युगमा लेखिएका पुस्तकहरूलाई पुरानो करार भनिन्छ। ती पुस्तकहरू इस्राएलीहरूसँग यहोवाले बाँध्नुभएको करारअनुसार नामाकरण गरिएका छन्।
नयाँ करारको नाम येशूले क्रूसमा बगाउनुभएको रगत र उहाँमा विश्वास गर्ने सबैसँग बाँध्नुभएको उहाँको करारबाट राखिएको हो। येशूको करार यस्तो थियो: उहाँले बगाएको रगतको कारण, मानिसहरूले पापबाट क्षमा पाउन केवल उहाँमाथि विश्वास गर्नुपर्थ्यो, र यसरी उनीहरूले मुक्ति पाउनेथे, र उहाँमार्फत पुनर्जन्म पाउनेथे, र अबउप्रान्त पापी रहँदैनथे; उहाँको अनुग्रह प्राप्त गर्नको लागि र मरेपछि नरकको कष्टमा नजानको लागि केवल उहाँमा विश्वास गर्नुपर्थ्यो। अनुग्रहको युगमा लेखिएका सबै पुस्तक यो करारपछि आएका थिए र ती सबै नै करारमा अन्तर्निहित कार्य र वाणीका दस्तावेज हुन्। ती पुस्तकहरू प्रभु येशूको क्रूसीकरणबाट भएको मुक्ति वा करारभन्दा बाहिर जाँदैनन्; ती सबै नै प्रभुमा रहेका अनुभवी दाजुभाइहरूले लेखेका पुस्तक हुन्। तसर्थ, ती पुस्तकहरूलाई पनि करारअनुसार नामाकरण गरिएको छ: तिनीहरूलाई नयाँ करार भनिन्छ। यी दुई करारहरूले व्यवस्थाको युग र अनुग्रहको युगलाई मात्र समावेश गर्छन्, र अन्तिम युगसँग यिनको कुनै सम्बन्ध छैन। त्यसैले, आजका आखिरी दिनहरूका मानिसहरूका लागि बाइबल त्यति ठूलो रूपमा उपयोगी छैन। अधिकतम रूपमा, यसले एक अस्थायी सन्दर्भको रूपमा मात्र काम गर्छ, तर आधारभूत रूपमा यसको उपयोगिता मान थोरै छ। यद्यपि धार्मिक मानिसहरू अझै यसलाई सबैभन्दा मूल्यवान् ठान्छन्। तिनीहरू बाइबलबारे केही जान्दैनन्; तिनीहरू केवल बाइबलको व्याख्या कसरी गर्ने भन्ने मात्र जान्दछन्, र तिनीहरू आधारभूत रूपमा यसको उत्पत्तिबारे अनजान छन्। बाइबलप्रति तिनीहरूको मनोवृत्ति यस्तो छ: बाइबलका सबै कुरा ठीक छन्, यसमा कुनै अशुद्धता वा त्रुटि छैन। तिनीहरू बाइबल ठीक र त्रुटिरहित छ भन्नेमा पहिले नै दृढ छन्, त्यसैले तिनीहरू यसलाई ठूलो चासोको साथ अध्ययन र जाँच गर्छन्। आजको चरणको कामबारे बाइबलमा भविष्यवाणी गरिएको थिएन। सबैभन्दा अन्धकार स्थानमा विजेता बन्ने कार्यको बारेमा कहिल्यै केही उल्लेख गरिएको थिएन, किनकि यो हालैको काम हो। कामको युग फरक भएकै कारण, येशू आफै पनि यो चरणको काम आखिरी दिनहरूमा हुनेछ भनेर अनजान हुनुहुन्थ्यो—अनि यस्तोमा, आखिरी दिनहरूका मानिसहरूले बाइबल जाँचेर त्यसभित्र यस चरणको कामलाई कसरी भेट्टाउन सक्छन्?
बाइबल व्याख्या गर्ने धेरैजसो व्यक्तिहरूले तार्किक निचोड प्रयोग गर्छन्, र तिनीहरूसित कुनै वास्तविक पृष्ठभूमि हुँदैन। तिनीहरू धेरै चीजको निचोड निकाल्न केवल तर्क प्रयोग गर्छन्। वर्षौंवर्षसम्म, कसैले पनि बाइबललाई चिरफार गर्न वा बाइबललाई “होइन” भन्न हिम्मत गरेको छैन, किनकि यो पुस्तक “पवित्र पुस्तक” हो र मानिसहरूले यसलाई परमेश्वरको रूपमा पुज्छन्। हजारौंहजार वर्षदेखि यस्तो हुँदै आएको छ। परमेश्वरले यी कुरामा कुनै ध्यान दिनुभएन, र कसैले पनि बाइबलको भित्री कथा पत्ता लगाउन सकेको छैन। हामी बाइबललाई मूल्यवान् ठान्नु भनेको मूर्तिपूजा गर्नु हो भन्छौं, तैपनि ती भक्त विश्वासीहरू यस प्रकारले हेर्ने आँट गर्दैनन्, र तिनीहरूले तँलाई भन्नेछन्: “ब्रदर! त्यसो नभन, त्यो ज्यादै नराम्रो कुरा हो! तिमी कसरी ईश्वरनिन्दा गर्न सक्छौ?” त्यसपछि उनीहरूले दुःखी अभिव्यक्ति दिनेछन्: “हे कृपालु येशू, मुक्तिदाता, म बिन्ती गर्छु, उसको पाप क्षमा गर्नुहोस्, किनकि तपाईं मानिसलाई प्रेम गर्नुहुने प्रभु हुनुहुन्छ, र हामी सबैले पाप गरेका छौं, कृपया हामीलाई महान् करुणा देखाउनुहोस्। आमेन।” तिनीहरू यति “धर्मात्मा” हुन्छन्; सत्य स्विकार्न तिनीहरूलाई कसरी सजिलो हुन सक्थ्यो र? तेरो भनाइले उनीहरूलाई मूर्खताको हदसम्म भयभीत पार्छ। बाइबल मानव विचार र मानव धारणाले दूषित भएको हुन सक्छ भनेर कसैले सोच्ने हिम्मत गर्दैन र यो त्रुटि कसैले देख्न सक्दैन। बाइबलमा भएका केही कुरा व्यक्तिहरूका अनुभव र ज्ञान हुन्, यसमा भएका केही कुरा पवित्र आत्माका अन्तर्ज्ञान हुन्, र त्यसमा मानव बौद्धिकता र विचारको मिलावट पनि छ। यी चीजमा परमेश्वरले कहिले पनि हस्तक्षेप गर्नुभएन, तर यसको पनि सीमा हुन्छ: यी चीजहरूले सामान्य मानिसहरूको सोचाइलाई नाघ्न सक्दैनन्, यदि नाघ्छन् भने, तिनले परमेश्वरको काममा बाधा दिइरहेका र अवरोध खडा गरिरहेका हुन्छन्। सामान्य मानिसहरूको सोचाइ नाघ्ने कुरा शैतानको काम हो, किनकि यसले मानिसहरूलाई उनीहरूको कर्तव्यबाट अलग राख्छ। यो शैतानको काम हो, यो शैतानद्वारा निर्देशित छ र यस्तो क्षणमा पवित्र आत्माले तँलाई यस्तो व्यवहार गर्न दिनुहुन्न। कहिलेकहीँ, केही दाजुभाइ-दिदीबहिनीहरूले सोध्छन्: “के मैले यस्तो तरिकाले काम गर्नु उचित हुन्छ?” म तिनीहरूको कद हेर्छु र भन्छु: “हुन्छ!” कतिपय यसो भन्ने व्यक्तिहरू पनि छन्: “यदि म यस्तो वा त्यस्तो तरिकाले काम गर्छु भने, के मेरो अवस्था सामान्य छ?” र म भन्छु: “हो! सामान्य छ, विशेष रूपमै सामान्य छ!” अरू भन्छन्: “के मैले यस्तो तरिकाले काम गर्नु ठीक छ?” र म भन्छु: “छैन!” तिनीहरू भन्छन्: “किन यो उसको लागि ठीक छ र मेरो लागि छैन?” अनि म भन्छु: “किनकि तैँले जे गरिरहेको छस् त्यसको स्रोत शैतान हो, यो एउटा अवरोध हो र तेरो प्रेरणाको स्रोत गलत छ।” कहिलेकाहीँ यस्तो समय पनि आउँछ जुन बेला काम प्रभावकारी हुँदैन, र दाजुभाइ-दिदीबहिनीहरू यसबारे अनजान हुन्छन्। केहीले मलाई कुनै निश्चित तरिकाले कार्य गर्नु ठीक हुन्छ कि हुँदैन भनेर सोध्छन्, र जब म उनीहरूको कामले भविष्यको काममा अवरोध खडा गर्दैन भन्ने देख्छु, म यो ठीक हो भनी छ भन्छु। पवित्र आत्माको कामले मानिसलाई दायरा दिन्छ; मानिसहरूले पवित्र आत्माको इच्छालाई अक्षरशः पछ्याउनु पर्दैन, किनकि मानिसहरूमा सामान्य सोच र कमजोरी हुन्छ र उनीहरूका केही दैहिक आवश्यकता हुन्छन्, उनीहरूसँग वास्तविक समस्याहरू हुन्छन् र उनीहरूका दिमागमा केही यस्ता विचार हुन्छन् जसलाई नियन्त्रण गर्ने साधन खासमा उनीहरूसँग हुँदै हुँदैन। मैले मानिसहरूलाई माग्ने हरेक कुराको सीमा हुन्छ। केहीले मेरा वचन अस्पष्ट छन् र मैले तिनीहरूलाई जुनसुकै तरिकाले काम गर्न भनिरहेको छु भन्ने विश्वास गर्छन् किनकि मेरा मापदण्डहरूको उपयुक्त दायरा छ भनेर तँलाई थाहा छैन। यदि यो तैँले कल्पना गरेजस्तो हुन्थ्यो भने—यदि मैले बिनाअपवाद सबै मानिसहरूको लागि उही मापदण्ड तय गरेको थिएँ भने र उनीहरू सबैलाई समान कद हासिल गर्न लगाउँथे भने—यसले काम गर्दैनथ्यो। यो असम्भव कुराको माग गर्नु हो, र यो मानिसको कामको सिद्धान्त हो, परमेश्वरको कामको सिद्धान्त होइन। परमेश्वरको काम मानिसहरूको वास्तविक परिस्थितिअनुसार सम्पन्न गरिन्छ र यो तिनीहरूको जन्मजात क्षमतामा आधारित हुन्छ। यो सुसमाचार फैलाउने सिद्धान्त पनि हो: तिमीहरूले प्रकृतिलाई नै आफ्नो मार्ग तय गर्न दिँदै, बिस्तारै अगाडि बढ्नुपर्छ; जब तिमीहरू कसैसित स्पष्ट रूपमा सत्य बोल्न सक्छौ, तब मात्र उनीहरूले कुरा बुझ्नेछन्, र त्यसपछि मात्र उनीहरू बाइबललाई पन्छ्याउन सक्षम हुनेछन्। यदि परमेश्वरले यो चरणको काम नगर्नुभएको भए, प्रचलन तोड्न को सक्षम हुनेथ्यो र? को नयाँ काम गर्न सक्षम हुनेथ्यो र? बाइबलबाहिर नयाँ मार्ग पत्ता लगाउन को सक्षम हुनेथ्यो र? किनकि मानिसका परम्परागत धारणा र सामन्ती नैतिक सिद्धान्तहरू यत्ति कट्टर छन् कि यी चीजहरूलाई आफै त्याग्ने क्षमता तिनीहरूसँग हुँदैन, न त तिनीहरूसँग यसो गर्ने साहस नै हुन्छ। आजका मानिसहरू बाइबलमा भएका केही मृत वचनद्वारा कसरी नियन्त्रित भएका छन्, र ती वचनहरूले उनीहरूको हृदय कसरी कब्जा गरेका छन् भनेर त कुरै नगरौँ। तिनीहरू कसरी बाइबल त्याग्न इच्छुक हुन सक्थे र? तिनीहरूले कसरी सजिलैसँग बाइबलबाहिरको मार्ग स्विकार्न सक्थे र? त्यो तबसम्म हुन सक्दैन जबसम्म सबै मानिसहरू पूर्ण रूपमा विश्वस्त हुन सकून् भनेर तैँले बाइबलको भित्री कथा र पवित्र आत्माको कामको सिद्धान्तबारे स्पष्ट रूपमा बोल्न सक्दैनस्—यो अत्यन्तै आवश्यक कुरा हो। किनभने धर्ममा सबैले बाइबललाई आदर गर्छन् र यसलाई परमेश्वरको रूपमा पुज्छन्, उनीहरूले परमेश्वरलाई पनि बाइबलभित्रै सीमित पार्ने प्रयास गर्छन् र यो अवस्था यस्तो पनि हो कि उनीहरूले फेरि एकचोटि परमेश्वरलाई क्रूसमा टाँगेपछि मात्र आफ्नो लक्ष्य हासिल गर्न सक्छन्।