बाइबल सम्‍बन्धी रहस्यहरू

परमेश्‍वरका दैनिक वचनहरू  अंश २६५

धेरै वर्षदेखि मानिसहरूका परम्परागत विश्‍वासका माध्यमहरू (ख्रीष्टियन धर्मको, जुन विश्‍वका तीन प्रमुख धर्ममध्ये एक हो) बाइबल पढ्नु नै भएको छ; बाइबलबाट टाढा हुनु भनेको प्रभुमा विश्‍वास गर्नु होइन, बाइबलबाट टाढा हुनु शास्त्रविरुद्ध र झूटो शिक्षा हो, र जब मानिसहरूले अन्य पुस्तकहरू पढ्छन् तब पनि यी पुस्तकहरूको जग बाइबलको व्याख्या नै हुनुपर्दछ। यसको अर्थ के हो भने, यदि तँ प्रभुमा विश्‍वास गर्छस् भने तैँले बाइबल पढ्नै पर्छ, र बाइबल बाहिर तैँले कुनै पुस्तकको पूजा गर्नुहुँदैन जसमा बाइबल समावेश छैन। यदि तैँले त्यसो गरिस् भने तैँले परमेश्‍वरलाई धोका दिइरहेको हुन्छस्। बाइबल भएको समयदेखि नै परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वास नै बाइबलमाथिको विश्‍वासको रूपमा रहिआएको छ। मानिसहरूले प्रभुमा विश्‍वास गर्छन् भन्नुको सट्टा तिनीहरूले बाइबलमा विश्‍वास गर्छन् भन्नु राम्रो हुन्छ; उनीहरूले बाइबल पढ्नु सुरु गरे भन्नुभन्दा उनीहरूले बाइबलमा विश्‍वास गर्न थाले भन्नु राम्रो हुन्छ; उनीहरू प्रभुको सामु फर्किए भन्नुभन्दा उनीहरू बाइबलको अगि फर्किए भन्नु राम्रो हुन्छ। यसरी, मानिसहरूले बाइबललाई परमेश्‍वर जस्तो मानेर त्यसको आराधना गर्छन्, यो उनीहरूको जीवनरक्त जस्तो बन्छ, र यसलाई गुमाउनु आफ्नो जीवन गुमाउनुजस्तै हुन्छ। मानिसहरूले बाइबललाई परमेश्‍वर जत्तिकै उच्च रूपमा हेर्छन्, र यसलाई परमेश्‍वरभन्दा उच्च देख्‍नेहरू पनि छन्। यदि मानिसहरू पवित्र आत्माको कामविहीन छन् भने, यदि उनीहरूले परमेश्‍वरलाई महसुस गर्न सक्दैनन् भने, उनीहरू बाँच्न सक्छन्—तर उनीहरूले बाइबल वा बाइबलका प्रसिद्ध अध्यायहरू र भनाइहरू हराउने बित्तिकै उनीहरूको जीवन नै हराएको जस्तो हुन्छ। यसरी प्रभुमा विश्‍वास गर्नेबित्तिकै मानिसहरू बाइबल पढ्न थाल्छन्, र बाइबल कण्ठ गर्न थाल्छन्, र तिनीहरूले जति धेरै बाइबल कण्ठ गर्न सक्छन्, त्यसले त्यति नै धेरै तिनीहरूले प्रभुलाई प्रेम गर्छन् र तिनीहरूमा ठूलो विश्‍वास छ भनी प्रमाणित गर्दछ। बाइबल पढेकाहरू र त्यसबारे अरूसँग कुरा गर्न सक्नेहरू सबै असल दाजुभाइ तथा दिदी-बहिनीहरू हुन्। यत्तिका वर्षहरूमा प्रभुप्रति मानिसहरूको विश्‍वास र बफादारितालाई उनीहरूको बाइबलको ज्ञानको हदअनुसार मापन गरिएको छ। धेरै मानिसहरू परमेश्‍वरमा किन विश्‍वास गर्ने भन्‍ने कुरा समेत बुझ्दैनन्, न त कसरी विश्‍वास गर्नुपर्छ भनेर नै बुझ्छन्, र बाइबलका अध्यायहरूको अर्थ बुझ्नका लागि अन्धाधुन्ध सुराकहरू खोज्नेबाहके अरू केही गर्दैनन्। मानिसहरूले कहिल्यै पनि पवित्र आत्माको कामको निर्देशन पछ्याएका छैनन्; शुरुदेखि नै, तिनीहरूले बाइबलको कठोर अध्ययन र अनुसन्धान गर्नुबाहेक अरू केही गरेका छैनन्, र कसैले पनि बाइबलबाहिर पवित्र आत्माको नयाँ काम कहिल्यै फेला पारेको छैन। कोही पनि कहिल्यै बाइबल छोडी अर्कोतिर गएको छैन, न त तिनीहरूले कहिल्यै त्यसो गर्ने आँट नै गरेका छन्। मानिसहरूले यति धेरै वर्षसम्म बाइबल अध्ययन गरेका छन्, तिनीहरूले यति धेरै व्याख्याहरू गरेका छन्, अनि तिनीहरूले यति धेरै काम गरेका छन्; तिनीहरूमा बाइबलको बारेमा विभिन्न मतभिन्नताहरू पनि छन् जसको बारेमा तिनीहरू निरन्तर बहस गर्छन्, त्यसैले आज दुई हजारभन्दा बढी सम्प्रदायहरू गठन भएका छन्। तिनीहरू सबै बाइबलमा भएका केही विशेष व्याख्याहरू वा अझ गहिरा रहस्यहरू फेला पार्न चाहन्छन्, तिनीहरू यसलाई अन्वेषण गर्न चाहन्छन् र यसमा इस्राएलमा भएको यहोवाको कामको पृष्ठभूमि, वा यहूदियामा येशूको कामको पृष्ठभूमि, वा अरू कसैले थाहा नपाएका थप रहस्यहरू पत्ता लगाउन चाहन्छन्। मानिसहरूको बाइबलप्रतिको दृष्टिकोण मोह र विश्‍वासको छ, र कोही पनि बाइबलको भित्री कथा वा तत्वबारे पूर्ण रूपमा स्पष्ट छैनन्। त्यसैले, आज बाइबलको कुरा आउँदा मानिसहरूमा अवर्णनीय आश्चर्य-भाव पैदा हुन्छ, र त्यसप्रति तिनीहरू अझ बढी मोहित हुन्छन् र त्यसमा अझ बढी विश्‍वास गर्छन्। आज, सबै जना बाइबलमा आखिरी दिनहरूको कामका अगमवाणीहरू पत्ता लगाउन चाहन्छन्, तिनीहरू परमेश्‍वरले आखिरी दिनहरूमा के काम गर्नुहुन्छ र आखिरी दिनहरूका चिन्हहरू के-के हुन् भनी पत्ता लगाउन चाहन्छन्। यसप्रकार, तिनीहरूले गर्ने बाइबलको आराधना अझ बढी जोशिलो हुँदै जान्छ र आखिरी दिनहरू जति नजिकिंदै जान्छन् तिनीहरूले विशेष गरी आखिरी दिनहरूसम्बन्धी बाइबलका अगमवाणीहरूलाई अझ बढी अन्धाधुन्ध विश्‍वास गर्छन्। बाइबलमाथि त्यस्तो अन्धविश्‍वास भएकोले, बाइबलमा त्यस्तो भरोसा भएकोले, तिनीहरूमा पवित्र आत्माको कामको खोजी गर्ने कुनै इच्छा हुँदैन। मानिसहरूले आफ्ना धारणाहरूमा केवल बाइबलले मात्र पवित्र आत्माको काम ल्याउन सक्छ भन्‍ने सोच्छन्; तिनीहरूले सोच्छन् कि केवल बाइबलमा तिनीहरूले परमेश्‍वरका पाइलाहरू भेट्न सक्छन्; केवल बाइबलमा परमेश्‍वरको कामका रहस्यहरू लुकेका छन्; अन्य पुस्तकहरू वा मानिसहरूले होइन, केवल बाइबलले परमेश्‍वरका सबै कुराहरू र उहाँको कार्यको सम्पूर्णता स्पष्ट पार्न सक्छ; बाइबलले स्वर्गको कामलाई पृथ्वीमा ल्याउन सक्छ; र बाइबलले दुवै युग सुरु र अन्त्य गर्न सक्छ। यस्ता धारणाहरू भएकाले मानिसहरूमा पवित्र आत्माको कामको खोजी गर्ने कुनै झुकाव हुँदैन। त्यसकारण, विगतमा मानिसहरूका निम्ति बाइबल जति नै धेरै सहयोगी भएको भए पनि यो परमेश्‍वरको नवीनतम काममा बाधा बनेको छ। बाइबलबिना, मानिसहरूले परमेश्‍वरका पाइलाहरू अन्यत्र खोजी गर्न सक्छन्, तैपनि आज, उहाँका पाइलाहरू बाइबलद्वारा रोकिएका छन्, र उहाँको नवीनतम काम विस्तार गर्नु दुई गुणा कठिन, र एक कडा संघर्ष बनेको छ। यो सबै बाइबलका प्रसिद्ध अध्यायहरू र भनाइहरूका साथै बाइबलका विभिन्न अगमवाणीहरूको कारण भएको हो। मानिसहरूका मनमा बाइबल एउटा मूर्ति बनेको छ, यो उनीहरूका दिमागमा एउटा पहेली बनेको छ, र बाइबल बाहिर परमेश्‍वरले काम गर्न सक्नुहुन्छ भन्‍ने विश्‍वास गर्न तिनीहरू असमर्थ छन्, मानिसहरूले बाइबल बाहिर पनि परमेश्‍वर पाउन सक्छन् भनी तिनीहरू विश्‍वास गर्न सक्दैनन्, उनीहरूले अन्तिम कामको समयमा परमेश्‍वर बाइबलबाट टाढा हुन र फेरि पहिलेदेखि सुरु गर्न सक्नुहुन्छ भनी विश्‍वास गर्ने कुरा त परै जाओस्। यो मानिसहरूले सोच्नै नसक्ने कुरा हो; उनीहरू यसमा विश्‍वास गर्न सक्दैनन्, न त उनीहरूले यसको कल्पना गर्न नै सक्छन्। परमेश्‍वरको नयाँ कामलाई स्वीकार गर्ने विषयमा बाइबल मानिसहरूका निम्ति ठूलो बाधा र परमेश्‍वरको यो नयाँ काम फैलाउने कार्यको कठिनाइ बनेको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

परमेश्‍वरका दैनिक वचनहरू  अंश २६६

परमेश्‍वरले व्यवस्थाको युगमा काम गर्नुभएपछि, पुरानो करारको पुस्तक प्रकाशित गरियो, त्यही समयदेखि नै मानिसहरूले बाइबल पढ्न सुरु गरे। येशू आउनुभएपछि, उहाँले अनुग्रहको युगको काम गर्नुभयो, र उहाँका प्रेरितहरूले नयाँ करार लेखे। यसरी बाइबलका पुरानो र नयाँ करारहरू प्रकाशित भएका थिए, र आजसम्म पनि, परमेश्‍वरमा विश्‍वास गर्ने सबैले बाइबल पढ्दै आएका छन्। बाइबल इतिहासको एक पुस्तक हो। निःसन्देह, यसमा अगमवक्ताहरूका केही भविष्यवाणीहरू पनि समावेश छन् र त्यस्ता भविष्यवाणीहरू कुनै पनि प्रकारले इतिहास होइनन्। बाइबलमा थुप्रै भागहरू छन्—त्यहाँ अगमवाणी मात्र छैन, वा यहोवाको काम मात्र छैन, न त त्यहाँ केवल पावलका पत्रहरू मात्र छन्। बाइबलमा कति भागहरू छन् तँलाई थाहा हुनुपर्दछ; पुरानो नियममा उत्पत्ति, प्रस्थान…, आदि छन् र त्यहाँ अगमवाणीहरूका पुस्तकहरू पनि छन् जुन अगमवक्ताहरूले लेखेका थिए। अन्त्यमा, पुरानो नियम मलाकीको पुस्तकमा गएर समाप्त हुन्छ। यसले व्यवस्थाको युगको काम अभिलेख गर्छ, जसको नेतृत्व यहोवाले गर्नुभएको थियो; उत्पत्तिदेखि मालाकीको पुस्तकसम्म, यो व्यवस्थाको युगको सबै कामको विस्तृत अभिलेख हो। भन्नुको अर्थ, पुरानो नियमले ती सबै कुराहरू अभिलेख गर्छ जुन व्यवस्थाको युगमा यहोवाद्वारा डोऱ्याइएका मानिसहरूले अनुभव गरेका थिए। पुरानो नियमको व्यवस्थाको युगको अवधिमा, यहोवाले खडा गर्नुभएका धेरै अगमवक्ताहरूले उहाँको निम्ति अगमवाणी व्यक्त गरे, विभिन्न कुल र जातिहरूलाई निर्देशनहरू दिए र यहोवाले गर्नुहुने कामबारे भविष्यवाणी गरे। खडा गरिएका यी मानिसहरू सबैलाई यहोवाले अगमवाणी गर्ने आत्मा दिनुभएको थियोः तिनीहरूले यहोवाका दर्शनहरू देख्न सक्थे र उहाँको आवाज सुन्न सक्थे, र यसरी तिनीहरूले उहाँद्वारा प्रेरणा पाए र अगमवाणी लेखे। तिनीहरूले गरेको काम यहोवाको आवाजको अभिव्यक्ति, यहोवाको अगमवाणीको अभिव्यक्ति थियो, र त्यस समय यहोवाको काम आत्मालाई प्रयोग गरी मानिसहरूलाई डोऱ्याउनु थियो; उहाँ देह बन्नुभएन, र मानिसहरूले उहाँको अनुहार देखेनन्। यसरी, उहाँले आफ्नो काम गर्न धेरै अगमवक्ताहरू खडा गर्नुभयो, उहाँले तिनीहरूलाई वाणीहरू दिनुभयो जसलाई तिनीहरूले इस्राएलको हरेक कुल र वंशमा हस्तान्तरण गरिदिए। तिनीहरूको काम अगमवाणी बोल्नु थियो, र तिनीहरूमध्ये कसै-कसैले अरूलाई देखाउन यहोवाले तिनीहरूलाई दिनुभएका निर्देशनहरू लेखे। यहोवाले तिनीहरूलाई अगमवाणी बोल्न वा भविष्यको कामको अगमवाणी गर्न वा त्यस समयमा गर्नुपर्ने बाँकी कामहरूबारे अगमवाणी गर्न खडा गर्नुभयो ताकि मानिसहरूले यहोवाको अद्भुतता र बुद्धि देख्न सकून्। अगमवाणीका यी पुस्तकहरू बाइबलका अन्य पुस्तकहरू भन्दा बिलकुलै भिन्न थिए; तिनीहरू त अगमवाणीको आत्मा दिइएका व्यक्तिहरूद्वारा—यहोवाबाट दर्शन वा आवाज पाएका व्यक्तिहरूद्वारा—बोलिएका वा लेखिएका वचनहरू थिए। अगमवाणीका पुस्तकहरूबाहेक, पुरानो नियमका अरू सबै कुराहरू यहोवाले आफ्नो काम पूरा गरिसक्नुभएपछि मानिसहरूद्वारा तयार पारेका अभिलेखहरूले भरिएका छन्। उत्पत्ति र प्रस्थानका पुस्तकहरूको तुलना यशैया र दानिएलका पुस्तकहरूसँग गर्न नसकिएझैं, यी पुस्तकहरूले यहोवाले खडा गर्नुभएका अगमवक्ताहरूले बोलेका भविष्यवाणीको स्थान लिन सक्दैनन्। ती अगमवाणीहरू काम पूरा हुनुभन्दा अघि बोलिएका थिए; अन्य पुस्तकहरू भने काम समाप्त भएपछि लेखिएका थिए, जुन कुरा लेख्न मानिसहरू सक्षम थिए। त्यस समयका अगमवक्ताहरूले यहोवाबाट प्रेरणा पाए र केही अगमवाणी बोले, तिनीहरूले धेरै वचनहरू बोले, र तिनीहरूले अनुग्रहको युगका कुराहरूका साथसाथै आखिरी दिनहरूमा संसारको विनाश हुनेबारे पनि अगमवाणी गरे—जुन काम गर्ने यहोवाले योजना गर्नुभएको थियो। बाँकी पुस्तकहरू सबैले यहोवाले इस्राएलमा गर्नुभएको काम लेखे। यसरी, जब तिमी बाइबल पढ्छौ, तिमीहरूले मुख्य रूपमा यहोवाले इस्राएलमा जे गर्नुभयो त्यो पढिरहेका हुन्छौ; बाइबलको पुरानो नियमले मुख्य रूपमा यहोवाले इस्राएललाई डोऱ्याउनुभएको काम, इस्राएलीहरूलाई मिश्रबाट बाहिर निकाल्न मोशालाई प्रयोग गर्नुभएको कुराको अभिलेख गर्दछ, जसले तिनीहरूलाई फारोको बन्धनबाट मुक्त गरे, र तिनीहरूलाई उजाडस्थानमा लगे, अनि त्यहाँबाट तिनीहरू कनानमा प्रवेश गरे, र त्यसपछि आउने सबै कुराहरू कनानमा जिइएको तिनीहरूको जीवन थियो। यसबाहेकका अरू सबै भागहरू इस्राएलभरि यहोवाले गर्नुभएको कामका अभिलेखहरूले भरिएको छ। पुरानो नियममा अभिलेख गरिएका सबै कुराहरू इस्राएलमा यहोवाले गर्नुभएको काम हो, यो यहोवाले त्यही देशमा गर्नुभएको काम हो जहाँ उहाँले आदम र हव्वालाई बनाउनुभएको थियो। नोआपछि परमेश्‍वरले आधिकारिक रूपमा पृथ्वीमा मानिसहरूलाई डोऱ्याउन थाल्नुभएको कुरादेखि नै पुरानो नियममा अभिलेख गरिएका सबै कुराहरू इस्राएलको काम हो। अनि इस्राएलदेखि बाहिरको कुनै पनि काम किन अभिलेख गरिएको छैन त? किनकि इस्राएल देश मानवजातिको उद्गमस्थल हो। सुरुमा, इस्राएलबाहेक अरू कुनै देश थिएन, र यहोवाले अरू कुनै ठाउँमा काम गर्नुभएन। यस प्रकार, बाइबलको पुरानो नियममा जे अभिलेख गरिएको छ त्यो पूर्ण रूपमा त्यसबेला परमेश्‍वरले इस्राएलमा गर्नुभएको काम हो। अगमवक्ताहरू, यशैया, दानिएल, यर्मिया र इजकिएलद्वारा बोलिएका वचनहरू … तिनीहरूका वचनहरूले पृथ्वीमा उहाँको अन्य कामको भविष्यवाणी गर्छन्, तिनीहरूले यहोवा परमेश्‍वर स्वयम्‌को कामको भविष्यवाणी गर्छन्। यी सबै परमेश्‍वरबाट आएका हुन्, यो पवित्र आत्माको काम हो, र अगमवक्ताहरूका यी पुस्तकहरूबाहेक अरू सबै कुराहरू यहोवाको कामको बारेमा मानिसहरूका अनुभवहरूको अभिलेख हुन्।

मानवजाति अस्तित्वमा आउनुभन्दा पहिले सृष्टिको काम भयो, तर उत्पत्ति पुस्तक मानवजाति सृष्टि गरिएपछि मात्र आयो; यो व्यवस्थाको युगको अवधिमा मोशाद्वारा लेखिएको पुस्तक थियो। यो आज तिमीहरूमाझ भइरहने कुराहरू जस्तै छः घटनाहरू घटेपछि तिमीहरूले भविष्यका मानिसहरूलाई देखाउनका निम्ति ती कुराहरू लेख्छौ, अनि तिमीहरूले जे अभिलेख गरेका हुन्छौ ती कुराहरू भविष्यका मानिसहरूको लागि विगतमा घटेका घटनाहरू हुन्—ती इतिहासभन्दा बढी अरू केही होइनन्। पुरानो नियममा अभिलेख गरिएका कुराहरू इस्राएलमा यहोवाले गर्नुभएको काम हो, र नयाँ नियममा लेखिएका कुराहरूचाहिँ अनुग्रहको युगको अवधिमा येशूले गर्नुभएको काम हो; तिनीहरूले दुई फरक-फरक युगहरूमा परमेश्‍वरले गर्नुभएको कामको दस्तावेजीकरण गर्छन्। पुरानो नियमले व्यवस्थाको युगको अवधिमा परमेश्‍वरले गर्नुभएको कामको दस्तावेजीकरण गर्छ, र यसरी पुरानो नियम एक ऐतिहासिक पुस्तक हो भने नयाँ नियमचाहिँ अनुग्रहको युगको कामको उपज हो। जब नयाँ काम सुरु भयो, तब नयाँ नियम पनि पुरानो भयो—र यसरी नयाँ नियम पनि एउटा ऐतिहासिक पुस्तक हो। निश्चय नै, नयाँ नियम पुरानो नियम जत्तिकै व्यवस्थित छैन, न त यसले त्यति नै धेरै कुराहरूको अभिलेख नै गर्दछ। यहोवाले बोल्नुभएका अनेकौं वचनहरू सबै बाइबलको पुरानो नियममा अभिलेख गरिएका छन् भने चारवटा सुसमाचारका पुस्तकहरूमा येशूका केही वचनहरू मात्र अभिलेख गरिएका छन्। निश्चय नै, येशूले पनि धेरै काम गर्नुभयो, तर त्यसलाई विस्तृत रूपमा अभिलेख गरिएको छैन। येशूले जति काम गर्नुभयो त्यसैको कारण नयाँ नियममा थोरै मात्र अभिलेख गरिएका छन्; उहाँले पृथ्वीमा साढे तीन वर्षमा गर्नुभएको काम र प्रेरितहरूले गरेका कामहरू जति छन् ती यहोवाले गर्नुभएको कामभन्दा धेरै नै कम थिए। अनि यसैकारण, नयाँ नियममा पुरानो नियममा भन्दा थोरै पुस्तकहरू छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

परमेश्‍वरका दैनिक वचनहरू  अंश २६७

बाइबल कस्तो किसिमको पुस्तक हो? पुरानो नियम व्यवस्थाको युगको अवधिमा परमेश्‍वरले गर्नुभएको काम हो। बाइबलको पुरानो नियममा व्यवस्थाको युगको अवधिमा यहोवाले गर्नुभएका सबै कामहरू अनि उहाँले गर्नुभएको सृष्टिको काम अभिलेख गरिएको छ। यसका सबै भागहरूले यहोवाद्वारा गरिएको काम अभिलेख गर्दछन्, र यसले अन्ततः मलाकीको पुस्तकमा यहोवाको कामका विवरणहरू समापन गर्दछ। पुरानो नियममा परमेश्‍वरले गर्नुभएका दुईवटा कामहरू अभिलेख गरिएका छन्: एउटा सृष्टिको काम हो, र अर्को व्यवस्थाको घोषणा हो। दुवै काम यहोवाले गर्नुभएको थियो। व्यवस्थाको युगले यहोवा परमेश्‍वरको नाउँमा गरिएको कामको प्रतिनिधित्व गर्दछ; यो आधारभूत रूपमा यहोवाको नाउँमा गरिएका कामहरूको सम्पूर्णता हो। त्यसैले, पुरानो नियमले यहोवाको कामको अभिलेख गर्दछ, र नयाँ नियमले येशूको कामको अभिलेख गर्दछ, त्यो काम जुन विशेष रूपले येशूको नाउँमा गरिएको थियो। येशूको नाउँको महत्त्व र उहाँले गर्नुभएको काम प्रायः नयाँ नियममा लेखिएको छ। पुरानो नियमको व्यवस्थाको युगको अवधिमा, यहोवाले इस्राएलमा मन्दिर र वेदी निर्माण गर्नुभयो, उहाँले पृथ्वीमा इस्राएलीहरूको जीवनलाई डोऱ्याउनुभयो, त्यसले तिनीहरू उहाँका चुनिएका मानिसहरू थिए, उहाँले पृथ्वीमा चुन्नुभएका र उहाँको जस्तै हृदय भएका मानिसहरूको पहिलो समूह र उहाँले व्यक्तिगत रूपमा डोऱ्याउनुभएको पहिलो समूह थिए भनी प्रमाणित गर्छ। इस्राएलका बाह्र कुल यहोवाले चुन्नुभएका पहिलो मानिसहरू थिए, र त्यसैले उहाँले सधैं व्यवस्थाको युगमा यहोवाको काम समाप्त नहुञ्जेल तिनीहरूमा काम गर्नुभयो। दोस्रो चरणको काम नयाँ नियमको अनुग्रहको युगको काम थियो, र त्यो यहूदीहरूको बीचमा, इस्राएलका बाह्र कुलमध्ये एकमा गरिएको थियो। यस कामको दायरा सानो थियो किनकि येशू देहधारी परमेश्‍वर हुनुहुन्थ्यो। येशूले यहूदियाको देशमा मात्र काम गर्नुभयो, र साढे तीन वर्ष मात्र काम गर्नुभयो; त्यसैले, नयाँ नियममा अभिलेख गरिएका कुराहरूले पुरानो नियममा अभिलेख गरिएको कामको मात्रालाई उछिन्न नसकेको हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

परमेश्‍वरका दैनिक वचनहरू  अंश २६८

यदि तैँले व्यवस्थाको युगको काम अनि इस्राएलीहरूले कसरी यहोवाको मार्ग पछ्याए भनी हेर्न चाहन्छस् भने तैँले पुरानो करार पढ्नुपर्छ; यदि तैँले अनुग्रहको युगको काम बुझ्न चाहन्छस् भने, तैँले नयाँ करार पढ्नुपर्छ। तर तैँले आखिरी दिनहरूको कामलाई कसरी हेर्न सक्छस् त? तैँले आजको परमेश्‍वरको नेतृत्वलाई स्वीकार्नुपर्दछ, र आजको काममा प्रवेश गर्नुपर्दछ, किनकि यो नयाँ काम हो, र यसलाई पहिले नै बाइबलमा कसैले पनि अभिलेख गरेको छैन। आज, परमेश्‍वर देह बन्नुभएको छ र चीनका अरू चुनिएका मानिसहरूलाई छान्नुभएको छ। परमेश्‍वरले यी मानिसहरूमा काम गर्नुहुन्छ, उहाँ पृथ्वीमा गरिएको उहाँको कामबाट अघि बढ्नुहुन्छ, र अनुग्रहको युगमा भएको कामबाट अघि बढ्नुहुन्छ। आजको काम त्यो बाटो हो जहाँ मानिस कहिल्यै हिंडेको छैन, र यो त्यस्तो मार्ग हो जुन कसैले कहिल्यै देखेको छैन। यो यस्तो काम हो जुन पहिला कहिल्यै गरिएको छैन—यो परमेश्‍वरले पृथ्वीमा भर्खरै गर्नुभएको काम हो। यसैले, पहिले कहिल्यै नगरिएको काम इतिहास होइन, किनकि अहिले भनेको अहिले हो, र यो विगत बन्न बाँकी नै छ। परमेश्‍वरले पृथ्वी र इस्राएलदेखि बाहिर अझ ठुलो, अझ नयाँ काम गर्नुभएको छ भनी मानिसहरूलाई थाहा छैन, जुन इस्राएलको दायराभन्दा धेरै पर, अगमवक्ताहरूको अगमवाणीहरू भन्दा बाहिर गइसकेको छ, जुन अगमवाणीहरूभन्दा बाहिरको नयाँ र अचम्मको काम हो, र इस्राएलभन्दा परको अझ नयाँ काम हो, जुन यस्तो काम हो जसलाई मानिसहरूले न त बुझ्न सक्छन् न कल्पना गर्न नै। बाइबलमा त्यस्तो कामको स्पष्ट अभिलेख कसरी हुन सक्छ र? आजको कामको बारेमा एउटै कुरा पनि नछोडी अग्रिम रूपमा कसले लेख्न सक्थ्यो र? त्यो जीर्ण पुरानो पुस्तकको परम्परालाई चुनौती दिने यो अझ शक्तिशाली, अझ बुद्धिमानी काम कसले अभिलेख गर्न सक्थ्यो र? आजको काम इतिहास होइन, र यस्तो भएकोले यदि तैँले आजको नयाँ मार्गमा हिंड्न चाहन्छस् भने तैँले बाइबललाई छोड्नुपर्छ, तैँले बाइबलका अगमवाणी वा इतिहासका पुस्तकहरूभन्दा पर जानुपर्छ। तब मात्र तैँले नयाँ मार्गमा ठिकसँग हिंड्न सक्नेछस्, अनि मात्र तैँले नयाँ क्षेत्र र नयाँ काममा प्रवेश गर्न सक्नेछस्। तैँले तँलाई आज किन बाइबल नपढ्नु भनिएको छ, किन बाइबलदेखि अलग अर्को काम छ, किन परमेश्‍वरले बाइबलमा अझ नयाँ र विस्तृत अभ्यास खोज्नुहुन्न, र किन त्यसको सट्टामा बाइबलबाहिर शक्तिशाली काम छ भनेर बुझ्नुपर्दछ। तिमीहरूले बुझ्नुपर्ने सबै कुरा यही हो। तैँले पुरानो र नयाँ कामबीचको भिन्नता बुझ्नुपर्दछ, र तैँले बाइबल नपढे पनि तैँले त्यसलाई चिरफार गर्न सक्नुपर्छ; यदि होइन भने, तैँले अझै बाइबलको आराधना गरिरहनेछस् र तेरो निम्ति नयाँ काममा प्रवेश गर्न र नयाँ परिवर्तनहरू अनुभूत गर्न गाह्रो हुनेछ। त्यहाँ एक उच्च मार्ग छ भने किन त्यो न्यून, पुरानो मार्गको अध्ययन गर्नु? जब त्यहाँ नयाँ वाणीहरू र नयाँ काम छन् भने किन पुरानो ऐतिहासिक विवरणहरूको बीचमा जिउनु? ती नयाँ वाणीहरूले तेरो निम्ति प्रबन्ध गर्न सक्छन्, जसले यो नयाँ काम हो भनी प्रमाणित गर्दछ; पुराना विवरणहरूले तँलाई तृप्त पार्न वा तेरा वर्तमान आवश्यकताहरूलाई पूरा गर्न सक्दैनन्, जसले ती इतिहास हुन् अनि यहाँको र अहिलेको काम होइनन् भनी प्रमाणित गर्दछ। सबैभन्दा उच्च मार्ग भनेको नयाँ काम हो, र नयाँ कामको साथमा, विगतको मार्ग जतिसुकै उच्च भए पनि यो मानिसहरूले फर्केर हेर्ने इतिहास मात्रै हो, र सन्दर्भको रूपमा यसको महत्त्व नै भए पनि, यो अझै पनि पुरानो मार्ग नै हो। यसलाई “पवित्र पुस्तक” मा लेखिएको भए पनि पुरानो मार्ग इतिहास नै हो; “पवित्र पुस्तक” मा यसको कुनै विवरण नभए पनि, नयाँ मार्ग यहाँको र अहिलेको हो। यो मार्गले तँलाई बचाउन सक्छ, र यो मार्गले तँलाई परिवर्तन गर्न सक्छ, किनकि यो पवित्र आत्माको काम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

परमेश्‍वरका दैनिक वचनहरू  अंश २६९

बाइबल एउटा ऐतिहासिक पुस्तक हो, र यदि तैँले अनुग्रहको युगमा पुरानो करार खाएको र पिएको छस् भने—यदि तैँले अनुग्रहको युगको अवधिमा पुरानो करारको समयमा चाहिने कुराको अभ्यास गरेको छस् भने—येशूले तँलाई अस्वीकार गर्नुहुनेथियो, र तँलाई दण्ड दिनुहुनेथियो; यदि तैँले येशूका कामहरूमा पुरानो करार लागू गरेको थिइस् भने, तँ एक फरिसी हुने थिइस्। यदि आज, तैँले खान र पिउन अनि प्रयोग गर्नका लागि पुरानो र नयाँ करारलाई एकसाथ राख्छस् भने, आजका परमेश्‍वरले तँलाई दोषी ठहराउनुहुनेछ; तँ आजको पवित्र आत्माको कामको पछि पतन भएको हुनेछस्! यदि तँ पुरानो करार र नयाँ करार खान्छस् र पिउँछस् भने, तँ पवित्र आत्माको प्रवाहभन्दा बाहिर छस्! येशूको समयमा, येशूले यहूदीहरू र उहाँको पछि लाग्नेहरू सबैलाई त्यस बेला उहाँमा भएको पवित्र आत्माको कामअनुसार डोऱ्याउनुभयो। उहाँले बाइबललाई उहाँको कामको आधारको रूपमा लिनुभएन, तर उहाँको कामअनुसार बोल्नुभयो; उहाँले बाइबलले भनेको कुरामा ध्यान दिनुभएन, न त उहाँले आफ्ना अनुयायीहरूलाई डोऱ्याउने तरिका नै खोज्नुभयो। उहाँले काम गर्न थाल्नुभएदेखि नै पश्चात्तापको मार्ग फैलाउनुभयो—एउटा यस्तो वचन जसको बारेमा पुरानो करारका अगमवाणीहरूमा एउटै पनि उल्लेख गरिएको थिएन। उहाँले केवल बाइबलअनुसार काम गर्नुभएन भन्‍ने मात्र होइन, तर उहाँले एउटा नयाँ बाटोमा पनि हिँडाउनुभयो र नयाँ काम पनि गर्नुभयो। उहाँले प्रचार गर्नुहुँदा कहिल्यै पनि बाइबलको उल्लेख गर्नुभएन। व्यवस्थाको युगको अवधिमा कसैले पनि उहाँले जस्तो बिरामीहरूलाई निको पार्ने र दुष्टात्माहरू निकाल्ने आश्‍चर्यकर्महरू गर्न सकेको थिएनन्। त्यसरी नै उहाँको काम, शिक्षा अनि उहाँका वचनहरूको अधिकार र शक्ति व्यवस्थाको युगको कुनै पनि व्यक्तिको भन्दा उत्तम थियो। येशूले केवल उहाँको नयाँ काम गर्नुभयो, र धेरै मानिसहरूले बाइबल प्रयोग गर्दै उहाँको निन्दा गरे पनि—र उहाँलाई क्रूसमा टाँग्न पुरानो करार प्रयोग गरे पनि उहाँको काम पुरानो करारको भन्दा उत्तम थियो; यदि यस्तो थिएन भने, मानिसहरूले किन उहाँलाई क्रूसमा टाँग्थे? के पुरानो करारमा उहाँको शिक्षा, बिरामीलाई निको पार्ने र दुष्टात्माहरूलाई धपाउने उहाँको क्षमताको बारेमा केही नभनिएकोले गर्दा होइन र? उहाँको काम नयाँ मार्गमा डोर्‍याउनका निम्ति गरिएको थियो, यो जानाजानी बाइबलको विरुद्ध लड्न वा जानी-जानी पुरानो करारबाट छुटकारा दिनका निम्ति थिएन। उहाँ आफ्नो सेवकाइ गर्न, उहाँको चाहना र खोजी गर्नेहरूलाई नयाँ काम दिन मात्रै आउनुभयो। उहाँ पुरानो करारको व्याख्या गर्न वा त्यसको कामलाई समर्थन गर्न आउनुभएन। उहाँको काम व्यवस्थाको युगलाई निरन्तरता दिनका लागि थिएन, किनकि उहाँको कामले बाइबल त्यसको आधार हो कि होइन भन्‍ने कुरामा कुनै ध्यान दिएन; येशू केवल उहाँले गर्नुपर्ने काम गर्न मात्रै आउनुभयो। यसैले, उहाँले पुरानो करारका अगमवाणीहरूको व्याख्या गर्नुभएन, न त उहाँले पुरानो करारको व्यवस्थाको युगका वचनहरू अनुसार काम नै गर्नुभयो। पुरानो करारले भनेका कुरालाई उहाँले बेवास्ता गर्नुभयो, उहाँको काम त्योसँग सहमत छ कि छैन भनी उहाँले वास्ता गर्नुभएन, अनि अरूले उहाँको कामको बारेमा के जान्दछन् वा तिनीहरूले त्यसलाई दोषी ठहराएका छन् भनी वास्ता गर्नुभएन। उहाँले केवल आफूले गर्नुपर्ने काम गर्दैजानुभयो, यद्यपि धेरै मानिसहरूले उहाँलाई दोषी ठहराउन पुरानो करारका अगमवक्ताहरूका अगमवाणीहरू प्रयोग गरे। मानिसहरूको नजरमा उहाँको कामको कुनै आधार नभएको र त्यहाँ धेरै कुरा पुरानो करारको विवरणसँग नमिलेको जस्तो देखिन्थ्यो। के यो मानिसको गल्ती थिएन र? के परमेश्‍वरको कामका निम्ति सिद्धान्त प्रयोग गर्नु आवश्यक हुन्छ? के परमेश्‍वरको काम अगमवक्ताहरूका अगमवाणीअनुसार हुनै पर्छ? त्यसोभए, ठूलो को हो: परमेश्‍वर वा बाइबल? परमेश्‍वरले किन बाइबलअनुसार काम गर्नुपर्छ र? के परमेश्‍वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्‍ने हुनसक्छ? के परमेश्‍वरले बाइबलबाट टाढा भएर अरू कामहरू गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिनलाई ध्यानमा राख्दै र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुपर्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, तर बरु खुट्टा धोइदिनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा समावेश छैनन् र? यदि येशूले पुरानो करारलाई आदर गर्नुहुन्थ्यो भने उहाँले यी सिद्धान्तहरू किन तोड्नुभयो? कुनचाहिँ पहिले आयो, परमेश्‍वर वा बाइबल, त्यो तँलाई थाहा हुनुपर्छ। शबाथका प्रभु हुनुभएकोले के उहाँ बाइबलका परमप्रभु पनि हुन सक्नुहुने थिएन र?

नयाँ करारको समयमा येशूले गर्नुभएको कामले नयाँ काम सुरु गर्‍यो: उहाँले पुरानो करारको काम अनुसार काम गर्नुभएन, न त उहाँले पुरानो करारका यहोवाले बोल्नुभएका वचनहरूलाई नै प्रयोग गर्नुभयो। उहाँले आफ्नै काम गर्नुभयो, र उहाँले नयाँ काम गर्नुभयो, र त्यो काम व्यवस्थाभन्दा अझ उच्च थियो। यसैले, उहाँले भन्नुभयो: “म व्यवस्था वा अगमवक्ताहरू नष्ट गर्न आएको हुँ भन्‍ने नसोच: म नष्ट गर्न होइन, तर पूरा गर्न आएको हुँ।” यसैले, उहाँले जे पूरा गर्नुभयो त्यस अनुसार धेरै वटा सिद्धान्त भङ्ग गरिए। शबाथको दिनमा, उहाँले आफ्ना चेलाहरूलाई अन्नका खेतहरू भएर लग्नुहुँदा ती चेलाहरूले अन्नका बालाहरू टिपे र खाए; उहाँले शबाथ दिन पालन गर्नुभएन र भन्नुभयो, “मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ।” त्यसबेला, इस्राएलीहरूको नियमअनुसार शबाथ दिन पालन नगर्ने कुनै पनि मानिसलाई ढुङ्गाले हानेर मारिन्थ्यो। तापनि, येशू न त मन्दिरमा प्रवेश गर्नुभयो न उहाँले शबाथ दिन पालन गर्नुभयो, र उहाँको काम पुरानो करारको समयका यहोवाले गर्नुभएको थिएन। यसरी, येशूले गर्नुभएको कामले पुरानो करारको व्यवस्थालाई उछिन्यो, यो त्योभन्दा अझ उच्च थियो, र यो त्यो अनुरूप थिएन। अनुग्रहको युगको अवधिमा, येशूले पुरानो करारको व्यवस्थाअनुसार काम गर्नुभएन, र ती सिद्धान्तहरूलाई पहिले नै भङ्ग गरिसक्नुभएको थियो। तर इस्राएलीहरू जोरदार रूपमा बाइबलमा अडे र तिनीहरूले येशूको निन्दा गरे—के त्यसो गर्नु येशूको कामलाई इन्कार गर्नु थिएन र? आज धार्मिक संसार पनि जोरदार रूपमा बाइबलमा अडेको छ र कोही-कोही मानिसहरू भन्छन्‌, “बाइबल एउटा पवित्र पुस्तक हो र यो पढ्नुपर्छ।” केही व्यक्तिहरू भन्छन्, “परमेश्‍वरको काम सदाका लागि कायम राख्नुपर्छ, पुरानो करार परमेश्‍वरले इस्राएलीहरूसँग गर्नुभएको करार हो, र यसलाई उल्लङ्घन गर्न सकिँदैन, र शबाथ-दिन सधैँ पालन गर्नुपर्दछ!” के ती हास्यास्पद छैनन् र? येशूले किन शबाथ दिनको पालन गर्नुभएन? के उहाँले पाप गरिरहनुभएको थियो? यस्ता कुराहरू कसले सम्पूर्ण रूपले बुझ्न सक्दछ? मानिसहरूले बाइबल जसरी पढे पनि, उनीहरूको समझ-शक्ति प्रयोग गरेर परमेश्‍वरको कार्य जान्नु असम्भव हुनेछ। उनीहरूले परमेश्‍वरको शुद्ध ज्ञान प्राप्त नगर्ने मात्र होइन, तर तिनीहरूका धारणा झन्-झन् नराम्रो हुँदैजान्छ, यसरी तिनीहरूले परमेश्‍वरको विरोध गर्न थाल्नेछन्। यदि आजका देहधारी परमेश्‍वर नहुनुभएको भए, मानिसहरू तिनीहरूका आफ्नै धारणाले बरबाद हुनेथिए, र तिनीहरू परमेश्‍वरको सजायमा परेर मर्ने थिए।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

परमेश्‍वरका दैनिक वचनहरू  अंश २७०

बाइबललाई पुरानो र नयाँ करार पनि भनिन्छ। “करार” ले केलाई जनाउँछ, के तिमीहरूलाई थाहा छ? पुरानो करारमा रहेको “करार” यहोवाले मिश्रीहरूलाई मारेर इस्राएलीहरूलाई फारोबाट बचाउनुभएपछि इस्राएलका मानिसहरूसँग गर्नुभएको करारबाट आएको हो। अवश्य नै, ढोकाको चौकसमा पोतिएको थुमाको रगत नै यो करारको प्रमाण थियो। त्यसमार्फत परमेश्‍वरले मानिससँग करार स्थापित गर्नुभएको थियो, त्यसमा के भनिएको थियो भने, ढोकाको चौकसमाथि र दुवै छेउमा थुमाको रगत पोतिएका जति सबै इस्राएलीहरू हुन्। तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरू थिए र तिनीहरू सबैलाई यहोवाले क्षमा दिनुभएको थियो (किनभने त्यति बेला यहोवाले मिश्रका ज्येष्ठ पुत्र र पहिलो वंशका भेडा र गाईवस्तु सबैलाई मार्न लाग्‍नुभएको थियो)। यो करारको अर्थ दुई तहको छ। मिश्रका कुनै पनि मानिस वा पशुलाई यहोवाले बचाउनुहुनेथिएन; उहाँले तिनीहरूका ज्येष्ठ पुत्र र पहिलो वंशका भेडा र गाईवस्तु सबैलाई मार्नुहुनेथ्यो। तसर्थ, अगमवाणीका थुप्रै पुस्तकहरूमा यहोवाको करारको परिणामस्वरूप मिश्रीहरूलाई कठोर सजाय हुनेछ भनी पहिला नै भनिएको थियो। करारको पहिलो तहको अर्थ यही हो। यहोवाले मिश्रका ज्येष्ठ पुत्र र पहिलो वंशका सबै पशुहरू मार्नुभयो र इस्राएलीलाई जोगाउनुभयो, यसको मतलब इस्राएली भूमिमा रहेका सबैलाई यहोवाले प्रिय ठान्‍नुभयो र सबैलाई बचाउनुभयो; उहाँले तिनीहरूमा दीर्घकालीन काम गर्न चाहनुभयो, र थुमाको रगत प्रयोग गरेर उनीहरूसँग करार स्थापित गर्नुभयो। त्यसउप्रान्त यहोवाले इस्राएलीहरूलाई मार्नुहुनेथिएन र उहाँले तिनीहरू सधैँका लागि उहाँका चुनिएका जनहरू हुनेछन् भनी भन्‍नुभयो। उहाँ इस्राएलका बाह्र कुलमाझ सम्पूर्ण व्यवस्थाको युग सुरु गर्ने काममा लाग्‍नुहुनेथ्यो, उहाँले इस्राएलीहरूमाझ आफ्‍ना सबै व्यवस्था सार्वजनिक गर्नुहुनेथ्यो, तिनीहरू मध्येबाट अगमवक्ता र न्यायकर्ताहरू छान्‍नुहुनेथ्यो र तिनीहरू उहाँको कामका केन्द्र हुनेवाला थिए। यहोवाले तिनीहरूसँग एउटा करार गर्नुभयो: युग परिवर्तन नभएसम्म उहाँले उहाँका चुनिएकाहरूमाझ मात्र उहाँ काम गर्नुहुनेथ्यो। यहोवाको करार अपरिवर्तनीय थियो, किनकि यो रगतद्वारा निर्माण भएको, र उहाँका चुनिएका मानिसहरूसँग स्थापित गरिएको थियो। अझ महत्त्वपूर्ण रूपमा, उहाँले सम्पूर्ण युगको लागि आफ्नो काम सुरु गर्न उपयुक्त दायरा र लक्ष्य रोज्नुभयो, त्यसैले यो करारलाई मानिसहरूले विशेष महत्त्वका साथ हेरे। करारको दोस्रो तहको अर्थ यही हो। करारको स्थापना हुनुभन्दा अघिको उत्पत्तिको पुस्तकबाहेक, पुरानो करारका अन्य सबै पुस्तकहरूमा करारको स्थापनापछि इस्राएलीहरूमाझ परमेश्‍वरले गर्नुभएको कामको अभिलेख राखिएको छ। अवश्य पनि, कहिलेकहीँ अन्यजातिहरूका विवरणहरू पनि आउँछन्, तर समग्रमा, पुरानो करारमा परमेश्‍वरले इस्राएलमा गर्नुभएको कामको विवरण राखिएको छ। इस्राएलीहरूसँग गरिएको यहोवाको करारको कारण व्यवस्थाको युगमा लेखिएका पुस्तकहरूलाई पुरानो करार भनिन्छ। ती पुस्तकहरू इस्राएलीहरूसँग यहोवाले बाँध्‍नुभएको करारअनुसार नामाकरण गरिएका छन्।

नयाँ करारको नाम येशूले क्रूसमा बगाउनुभएको रगत र उहाँमा विश्‍वास गर्ने सबैसँग बाँध्‍नुभएको उहाँको करारबाट राखिएको हो। येशूको करार यस्तो थियो: उहाँले बगाएको रगतको कारण, मानिसहरूले पापबाट क्षमा पाउन केवल उहाँमाथि विश्‍वास गर्नुपर्थ्यो, र यसरी उनीहरूले मुक्ति पाउनेथे, र उहाँमार्फत पुनर्जन्म पाउनेथे, र अबउप्रान्त पापी रहँदैनथे; उहाँको अनुग्रह प्राप्त गर्नको लागि र मरेपछि नरकको कष्टमा नजानको लागि केवल उहाँमा विश्‍वास गर्नुपर्थ्यो। अनुग्रहको युगमा लेखिएका सबै पुस्तक यो करारपछि आएका थिए र ती सबै नै करारमा अन्तर्निहित कार्य र वाणीका दस्तावेज हुन्। ती पुस्तकहरू प्रभु येशूको क्रूसीकरणबाट भएको मुक्ति वा करारभन्दा बाहिर जाँदैनन्; ती सबै नै प्रभुमा रहेका अनुभवी दाजुभाइहरूले लेखेका पुस्तक हुन्। तसर्थ, ती पुस्तकहरूलाई पनि करारअनुसार नामाकरण गरिएको छ: तिनीहरूलाई नयाँ करार भनिन्छ। यी दुई करारहरूले व्यवस्थाको युग र अनुग्रहको युगलाई मात्र समावेश गर्छन्, र अन्तिम युगसँग यिनको कुनै सम्बन्ध छैन। त्यसैले, आजका आखिरी दिनहरूका मानिसहरूका लागि बाइबल त्यति ठूलो रूपमा उपयोगी छैन। अधिकतम रूपमा, यसले एक अस्थायी सन्दर्भको रूपमा मात्र काम गर्छ, तर आधारभूत रूपमा यसको उपयोगिता मान थोरै छ। यद्यपि धार्मिक मानिसहरू अझै यसलाई सबैभन्दा मूल्यवान्‌ ठान्छन्। तिनीहरू बाइबलबारे केही जान्दैनन्; तिनीहरू केवल बाइबलको व्याख्या कसरी गर्ने भन्‍ने मात्र जान्दछन्, र तिनीहरू आधारभूत रूपमा यसको उत्पत्तिबारे अनजान छन्। बाइबलप्रति तिनीहरूको मनोवृत्ति यस्तो छ: बाइबलका सबै कुरा ठीक छन्, यसमा कुनै अशुद्धता वा त्रुटि छैन। तिनीहरू बाइबल ठीक र त्रुटिरहित छ भन्‍नेमा पहिले नै दृढ छन्, त्यसैले तिनीहरू यसलाई ठूलो चासोको साथ अध्ययन र जाँच गर्छन्। आजको चरणको कामबारे बाइबलमा भविष्यवाणी गरिएको थिएन। सबैभन्दा अन्धकार स्थानमा विजेता बन्‍ने कार्यको बारेमा कहिल्यै केही उल्लेख गरिएको थिएन, किनकि यो हालैको काम हो। कामको युग फरक भएकै कारण, येशू आफै पनि यो चरणको काम आखिरी दिनहरूमा हुनेछ भनेर अनजान हुनुहुन्थ्यो—अनि यस्तोमा, आखिरी दिनहरूका मानिसहरूले बाइबल जाँचेर त्यसभित्र यस चरणको कामलाई कसरी भेट्टाउन सक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (२)

परमेश्‍वरका दैनिक वचनहरू  अंश २७१

बाइबलमा भएका सबै कुरा परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणहरूको अभिलेख राखिएको छ, जसमा एउटा अंश अगमवक्ताहरूको अगमवाणीको अभिलेख हो, र अर्को अंश परमेश्‍वरले सबै युगहरूमा प्रयोग गर्नुभएका मानिसहरूद्वारा लेखिएका अनुभव र ज्ञान हुन्। मानवीय अनुभवहरू मानवीय धारणा र ज्ञानद्वारा प्रभावित भएका हुन्छन् र यो टार्न नसकिने कुरा हो। बाइबलका धेरैजसो पुस्तकहरूमा मानवीय धारणा, मानवीय पूर्वाग्रह, र मानवका बेतुकका बोधहरू छन्। अवश्य नै, धेरैजसो वचनहरू पवित्र आत्माको अन्तर्ज्ञान र ज्योतिका परिणाम हुन्, र ती सही बुझाइहरू हुन्—तर पनि ती सत्यताको पूर्णतः सही अभिव्यक्ति हुन् भनेर भन्न सकिँदैन। कुनै चीजको बारेमा तिनीहरूको दृष्टिकोण व्यक्तिगत अनुभवबाट प्राप्त ज्ञान, वा पवित्र आत्माको अन्तर्ज्ञानबाहेक अरू केही हुँदैन। अगमवक्ताहरूका अगमवाणीहरूलाई व्यक्तिगत तवरमा परमेश्‍वरले निर्देशित गर्नुभएको थियो: यशैया, दानियल, एज्रा, यर्मिया र इजकिएललगायतका भविष्यवाणीहरू पवित्र आत्माको प्रत्यक्ष निर्देशनबाट आएका हुन्; यी व्यक्तिहरू द्रष्टा थिए, तिनीहरूले भविष्यवाणी गर्ने आत्मा पाएका थिए, र तिनीहरू सबै पुरानो करारका अगमवक्ताहरू थिए। व्यवस्थाको युगको दौरान, यहोवाको प्रेरणा पाएका यी व्यक्तिहरूले थुप्रै भविष्यवाणी बोले, जसलाई यहोवाले प्रत्यक्ष निर्देशन दिनुभएको थियो। अनि यहोवाले तिनीहरूमा किन काम गर्नुभयो त? किनभने इस्राएलका मानिसहरू परमेश्‍वरका चुनिएका मानिसहरू थिए, र अगमवक्ताहरूका कामहरू तिनीहरूको बीचमा गरिनु थियो; त्यसकारण, अगमवक्ताहरूले त्यस्ता प्रकाशहरू प्राप्त गर्न सके। वास्तवमा, तिनीहरू आफूले भने तिनीहरूलाई दिइएका परमेश्‍वरका प्रकाशहरू बुझ्न सकेनन्। पवित्र आत्माले तिनीहरूका मुखबाट यी शब्दहरू बोल्नुभयो ताकि भविष्यका मानिसहरूले यी कुराहरू बुझ्न सकून् र तिनीहरू वास्तवमा परमेश्‍वरका आत्मा, पवित्र आत्माका काम थिए, मानवबाट आएका थिएनन् र तिनीहरूलाई पवित्र आत्माको कामको पुष्टि गर्नलाई आएका थिए भनी देख्न सकून्। अनुग्रहको युगको दौरान, तिनीहरूको सट्टामा येशू आफैले यो सबै काम गर्नुभयो, र त्यसैले मानिसहरूले त्यसउप्रान्त भविष्यवाणी बोलेनन्। त्यसो भए, के येशू अगमवक्ता हुनुहुन्थ्यो? येशू निस्सन्देह, एक अगमवक्ता हुनुहुन्थ्यो, तर उहाँ प्रेरितहरूको काम गर्न पनि सक्षम हुनुहुन्थ्यो—उहाँ भविष्यवाणी बोल्न र प्रचार गर्न र देशभरिका मानिसहरूलाई सिकाउन पनि सक्नुहुन्थ्यो। यद्यपि, उहाँले गर्नुभएको काम र उहाँले प्रतिनिधित्व गर्नुभएको पहिचान उस्तै थिएन। उहाँ सबै मानवजातिलाई छुटकारा दिलाउन, मानिसलाई पापबाट छुटकारा दिलाउन आउनुभयो। उहाँ एक अगमवक्ता र प्रेरित हुनुहुन्थ्यो, तर त्यो भन्दा पनि बढी उहाँ ख्रीष्ट हुनुहुन्थ्यो। एक अगमवक्ताले भविष्यवाणी बोल्न सक्छ, तर यस्तो अगमवक्ता ख्रीष्ट हो भनेर भन्न सकिदैन। त्यतिखेर, येशूले धेरै अगमवाणी बोल्नुभयो, र त्यसैले यो भन्न सकिन्छ कि उहाँ एक अगमवक्ता हुनुहुन्थ्यो, तर उहाँ अगमवक्ता हुनुभएकाले ख्रीष्ट हुनुहुन्नथ्यो भनी भन्न सकिदैन। यसको कारण के हो भने, उहाँले कामको चरण कार्यान्वयन गर्नमा परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्नुभयो, र उहाँको परिचय यशैयाको भन्दा फरक थियो: उहाँ छुटकाराको काम पूरा गर्न आउनुभयो, र उहाँले मानव जीवनको लागि पनि प्रबन्ध गर्नुभयो, र परमेश्‍वरका आत्मा सोझै उहाँमा आउनुभयो। उहाँले गर्नुभएको काममा, परमेश्‍वरका आत्माबाट कुनै प्रेरणा वा यहोवाबाट निर्देशनहरू आएका थिएनन्। बरु, आत्माले नै प्रत्यक्ष रूपमा काम गर्नुभयो—यो कुरा उहाँ अगमवक्ताजस्तो हुनुहुन्न भनेर प्रमाणित गर्न पर्याप्त छ। उहाँले गर्नुभएको काम छुटकाराको काम थियो, त्यसपछि दोस्रोमा भविष्यवाणी बोल्ने काम थियो। उहाँ एक अगमवक्ता, प्रेरित हुनुहुन्थ्यो, तर त्यो भन्दा बढी उहाँ छुटकाराकर्ता हुनुहुन्थ्यो। भविष्यवाणी गर्नेहरूले भने केवल अगमवाणी बोल्न सक्थे, तर अन्य कुनै काम गर्नमा परमेश्‍वरका आत्माको प्रतिनिधित्व गर्न असमर्थ थिए। किनकि येशूले धेरै काम गर्नुभयो जुन पहिला कहिल्यै मानिसबाट भएको थिएन, र मानवजातिलाई छुटकारा गर्ने काम पनि गर्नुभयो, त्यसैले उहाँ यशैयालगायत भन्दा फरक हुनुहुन्थ्यो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)

परमेश्‍वरका दैनिक वचनहरू  अंश २७२

आज, मानिसहरू बाइबल नै परमेश्‍वर हुन् र परमेश्‍वर नै बाइबल हुनुहुन्छ भनेर विश्‍वास गर्छन्। त्यसैले, तिनीहरू बाइबलका सबै वचनहरू मात्र परमेश्‍वरले बोल्नुभएका वचनहरू थिए र ती सबै परमेश्‍वरले भन्नुभएको थियो भनेर विश्‍वास गर्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले यो समेत सोच्छन् कि, पुरानो र नयाँ करारका सबै छैसठ्ठी पुस्तकहरू मानिसहरूले लेखेका भए पनि, ती सबै परमेश्‍वरका प्रेरणाद्वारा दिइएका थिए, र पवित्र आत्माका वाणीहरूका अभिलेख थिए। यो मानिसको गलत बुझाइ हो, र यो कुरा तथ्यहरूसँग पूर्ण रूपमा मेल खाँदैन। वास्तवमा, अगमवाणीका पुस्तकहरूबाहेक पुरानो करारको अधिकांश भाग एक ऐतिहासिक अभिलेख हो। नयाँ करारका केही पत्रहरू मानिसका अनुभवहरूबाट आएका हुन्, र केही पवित्र आत्माको अन्तर्ज्ञानबाट आएका हुन्; उदाहरणका लागि, पावलका पत्रहरू मानिसकै कामबाट उत्पन्न भएका थिए, ती सबै पवित्र आत्माको अन्तर्ज्ञानका परिणाम हुन्, र ती मण्डलीहरूका लागि लेखिएका थिए, र मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि उपदेश र प्रोत्साहनका शब्दहरू थिए। तिनीहरू पवित्र आत्माले बोलेका वचनहरू थिएनन्—पावल पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे, न त तिनी अगमवक्ता नै थिए, तिनले यूहन्नाले देखेका दर्शनहरू देख्ने कुरा त परै जाओस्। तिनका पत्रहरू एफिसस, कोरिन्थ, गलातिया र अन्य मण्डलीहरूको लागि लेखिएका थिए। त्यसकारण, नयाँ करारका पावलका पत्रहरू पावलले मण्डलीहरूका निम्ति लेखेका पत्रहरू थिए, अनि तिनीहरू न त पवित्र आत्माबाट आएका प्रेरणाहरू हुन्, न त तिनीहरू पवित्र आत्माका प्रत्यक्ष वाणीहरू नै हुन्। ती केवल उपदेश, सान्त्वना र प्रोत्साहनका शब्दहरू हुन् जुन तिनले आफ्नो कामको सिलसिलामा मण्डलीहरूको लागि लेखेका थिए। त्यसैले पनि ती पावलको त्यतिखेरको कामका अभिलेख हुन्। ती प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीहरूका लागि लेखिएका थिए, ताकि त्यस समयका मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूले उनको सल्लाह अनुसरण गरून् र प्रभु येशूको पश्चात्तापको मार्गमा हिँडून्। पावलले चाहे तिनीहरू त्यो समयका मण्डलीहरू हुन् वा भविष्यका, तिनीहरू सबैले तिनले लेखेका कुरा खानु र पिउनुपर्छ भनेर कुनै पनि हिसाबले भनेनन्, न त तिनले आफ्ना सबै शब्दहरू परमेश्‍वरबाट आएका हुन् भनेर नै भने। त्यस बेलाको मण्डलीको परिस्थितिअनुसार, उनले केवल दाजुभाइ तथा दिदीबहिनीहरूसँग कुराकानी गरे र तिनीहरूलाई हौसला दिए र तिनीहरूमा विश्‍वासको प्रेरणा दिए र उनले केवल मानिसहरूलाई प्रचार गरे वा सम्झाए अनि उपदेश दिए। तिनका शब्दहरू आफ्नै बोझमा आधारित थिए र तिनले यी शब्दहरूमार्फत मानिसहरूलाई सहायता गरे। तिनले त्यस समयका मण्डलीहरूको प्रेरितको काम गरे, तिनी प्रभु येशूद्वारा प्रयोग भएका कामदार थिए, र यसैले तिनले मण्डलीहरूको जिम्मेवारी लिनुपर्थ्यो, र मण्डलीहरूको काम गर्नुपर्थ्यो, तिनले दाजुभाइ तथा दिदीबहिनीहरूको स्थितिको बारेमा थाहा पाउनुपर्थ्यो—र यसैकारण, तिनले प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीहरूका लागि पत्रहरू लेखे। तिनले मानिसहरूका लागि भनेका सबै सुधारात्मक र सकारात्मक कुराहरू सही थिए, तर यसले पवित्र आत्माको वाणीहरूलाई प्रतिनिधित्व गर्दैन, र यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैन। एकजना मानिसको अनुभवहरूका अभिलेखहरू र एकजना मानिसको पत्रहरूलाई मानिसहरूले मण्डलीहरूको लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको रूपमा लिनु एक अत्यन्तै गलत बुझाइ, र एक ठूलो ईश्‍वरनिन्दा हो! यो कुरा विशेषगरी पावलले मण्डलीहरूका निम्ति लेखेका पत्रहरूको प्रसङ्गमा सत्य हुन आउँछ, किनकि उनका पत्रहरू त्यस बेलाका प्रत्येक मण्डलीको परिस्थितिहरू र स्थितिहरूको आधारमा दाजुभाइ तथा दिदीबहिनीहरूका लागि लेखिएका थिए र ती प्रभुमा दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रोत्साहन दिनको लागि थिए ताकि तिनीहरूले प्रभु येशूको अनुग्रह प्राप्त गर्न सकून्। तिनका पत्रहरू त्यसबेलाका दाजुभाइ तथा दिदीबहिनीहरूलाई जगाउनको लागि थियो। यो भन्न सकिन्छ कि यो तिनको आफ्नै बोझ थियो र यो पवित्र आत्माले उनलाई दिनुभएको बोझ पनि थियो; जे भए पनि, तिनी त्यस समयका मण्डलीहरूको नेतृत्व गर्ने एक प्रेरित थिए जसले मण्डलीहरूको लागि पत्रहरू लेखे र तिनीहरूलाई प्रोत्साहित गरे—यो तिनको जिम्मेवारी थियो। तिनको पहिचान केवल एक कामदार प्रेरितको मात्र थियो, र तिनी परमेश्‍वरले पठाउनुभएको एक प्रेरित थिए; तिनी अगमवक्ता थिएनन्, न त तिनी भविष्यवक्ता नै थिए। तिनको लागि, तिनको आफ्नो काम र दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण थियो। तसर्थ, तिनी पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे। तिनका शब्दहरू पवित्र आत्माका वचनहरू थिएनन्, तिनलाई परमेश्‍वरको वचन भन्न मिल्ने कुरा त परै जाओस्, किनकि पावल परमेश्‍वरको सृष्टिबाहेक अरू केही थिएनन्, र तिनी अवश्य पनि परमेश्‍वरको देहधारण थिएनन्। तिनको परिचय येशूको जस्तो थिएन। येशूका शब्दहरू पवित्र आत्माका वचनहरू थिए, ति परमेश्‍वरका वचनहरू थिए, किनकि उहाँको परिचय परमेश्‍वरको पुत्र—ख्रीष्टको थियो। कसरी पावल उहाँको बराबर हुन सक्छन् र? यदि मानिसहरूले पावलको जस्तो पत्रहरू र शब्दहरूलाई पवित्र आत्माका वाणीहरूका रूपमा देख्छन् र तिनलाई परमेश्‍वरको रूपमा पुज्छन् भने, तिनीहरू फरक नै छुट्याउन नसक्ने अति नै अविवेकी छन् भनेर मात्र भन्न सकिन्छ। अझै कठोर रूपमा बोल्दा, के यो ईश्‍वरनिन्दा होइन र? कुनै मानिस कसरी परमेश्‍वरको तर्फबाटबोल्न सक्छ र? अनि कसरी मानिसहरू तिनका पत्रहरू र तिनले बोलेका शब्दहरूको अभिलेखहरूसामु ती पवित्र पुस्तक वा स्वर्गीय पुस्तक नै हुन् जस्तो गरी झुक्न सक्छन र? के कुनै मानिसले परमेश्‍वरका वचनहरूलाई यत्तिकै बोल्न सक्छ त? कुनै मानिसले कसरी परमेश्‍वरको तर्फबाट बोल्न सक्छ र? अनि त्यसो भए, तँ के भन्छस्—तिनले मण्डलीहरूको लागि लेखेका पत्रहरूमा तिनको आफ्नै विचारको दाग मिसिएको हुन सक्दैन र? कसरी तिनमा मानव विचारहरूको दाग नलागेको हुन सक्छ र? तिनले आफ्ना व्यक्तिगत अनुभवहरू र आफ्नै ज्ञानको आधारमा मण्डलीहरूको लागि पत्रहरू लेखे। उदाहरणका लागि, पावलले गलातिका मण्डलीहरूलाई एउटा पत्र लेखे जसमा एउटा निश्चित धारणा थियो, र पत्रुसले अर्को पत्र लेखेका थिए, जसमा अर्को दृष्टिकोण थियो। तीमध्ये कुनचाहिँ पवित्र आत्माबाट आयो र? निश्चित रूपमा कसैले पनि भन्न सक्दैन। तसर्थ, यो मात्र भन्न सकिन्छ कि तिनीहरू दुवैले मण्डलीहरूका लागि बोझ बहन गरेका थिए, तैपनि तिनीहरूका पत्रहरूले तिनीहरूको कद प्रतिनिधित्व गर्छन्, तिनले दाजुभाइ तथा दिदीबहिनीहरूको लागि प्रावधन र सहयोग अनि मण्डलीहरूमाथिको तिनीहरूको बोझलाई प्रतिनिधित्व गर्दछन् र तिनले मानव कार्यलाई मात्र प्रतिनिधित्व गर्दछन—ती सम्पुर्ण रूपमा पवित्र आत्माका थिएनन्। यदि तैँले तिनका पत्रहरूलाई पवित्र आत्माका वचनहरू हुन् भनेर भन्छस् भने, तँ हास्यास्पद छस्, र तैँले ईश्‍वरनिन्दा गर्दैछस्! नयाँ करारका पावलका पत्रहरू र अन्य पत्रहरू हालसालैका आत्मिक व्यक्तिहरूका संस्मरण जस्तै हुन्: ती वाचम्यान नीका पुस्तकहरू वा लरेन्सका अनुभवहरूसँग मिल्दाजुल्दा छन्। कुरा यति मात्र हो कि हालसालैका आत्मिक व्यक्तित्वका पुस्तकहरूलाई नयाँ करारमा संकलित गरिएको छैन, तैपनि यी मानिसहरूको सार चाहिँ एउटै थियो: तिनीहरू एक निश्चित अवधिमा पवित्र आत्माले प्रयोग गर्नुभएका व्यक्तिहरू थिए, र तिनीहरूले प्रत्यक्ष रूपमा परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनथे।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)

परमेश्‍वरका दैनिक वचनहरू  अंश २७३

नयाँ करारको मत्तीको सुसमाचारले येशुको वंशावलीको दस्तावेजीकरण गर्छ। सुरुमा, यसले भन्छ कि येशू अब्राहाम र दाऊदका सन्तान र योसेफका छोरा थिए; त्यसपछि यसले भन्छ कि येशू पवित्र आत्माबाट गर्भधारण हुनुभयो अनि कन्याबाट जन्मनुभयो—यसको मतलब उहाँ योसेफको छोरा वा अब्राहम र दाऊदका सन्तान हुनुहुन्नथ्यो। यद्यपि, वंशावलीले येशू योसेफसित सम्बन्धित हुनुहुन्छ भनेर जोड दिन्छ। त्यसपछि, वंशावलीले येशू जन्मनुभएको प्रक्रियाको अभिलेख राख्न सुरू गर्दछ। यसले भन्छ कि येशू पवित्र आत्माबाट गर्भधारण हुनुभएको थियो, उहाँ कन्याबाट जन्मनुभयो, र उहाँ योसेफको छोरा हुनुहुन्नथ्यो। यद्यपि वंशावलीमा यो स्पष्ट रूपमा लेखिएको छ कि येशू योसेफका पुत्र हुनुहुन्थ्यो र वंशावली येशूका निम्ति लेखिएकोले यसमा बयालिस पुस्ताका अभिलेखहरू राखिएका छन्। जब यो योसेफको पुस्तामा जान्छ, तब यसले तुरुन्तै भन्छ कि योसेफ मरियमको पति थिए, र यी शब्दहरू येशू अब्राहामका सन्तान हुनुहुन्छ भनेर प्रमाणित गर्नका निम्ति दिइएका थिए। के यो विरोधाभास होईन र? वंशावलीले स्पष्ट रूपमा योसेफको पुर्खाको अभिलेख राख्छ, यो स्पष्ट रूपमा योसेफको वंशावली हो, तर मत्तीले यो येशूको वंशावली हो भनेर जोड दिन्छन्। के यसले पवित्र आत्माद्वारा येशूको गर्भधारणको तथ्यलाई इन्कार गर्दैन र? त्यसो भए, मत्तीले लेखेको वंशावली मानव विचार होइन र? यो हास्यास्पद छ! यसरी यो पुस्तक पूर्ण रूपमा पवित्र आत्माबाट आएको थिएन भनेर तैँले थाहा पाउन सक्छस्। हुन सक्छ, केही मानिसहरूले यस्तो सोच्न सक्छन कि पृथ्वीमा परमेश्‍वरको वंशावली हुनुपर्छ, जसको फलस्वरूप तिनीहरूले येशूलाई अब्राहमको बयालीसौँ पुस्ताको रूपमा तोक्छन्। त्यो साँच्चै हास्यास्पद छ! पृथ्वीमा आइसकेपछि परमेश्‍वरको कसरी एउटा वंशावली हुन सक्छ? यदि तैँले परमेश्‍वरको वंशावली छ भनेर भन्छस् भने, के तैँले उहाँलाई परमेश्‍वरका प्राणीहरूको दर्जा दिएको हुँदैनस् र? परमेश्‍वर पृथ्वीको नहुनुभएकोले उहाँ सृष्टिको प्रभु हुनुहुन्छ, र उहाँ देहीय हुनुभए तापनि उहाँ मानिस जस्तो उही सारको हुनुहुन्न। कसरी तैँले परमेश्‍वरलाई परमेश्‍वरद्वारा सृष्टि गरिएका प्राणीहरूसँग समान दर्जामा राख्न सक्छस्? अब्राहमले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैनन्। तिनी त्यस समयमा यहोवाको कामको पात्र थिए, तिनी त केवल यहोवाले स्वीकार्नुभएको एक विश्‍वासी सेवक थिए र तिनी इस्राएलका मानिसहरूमध्ये एक थिए। तिनी कसरी येशूको पुर्खा हुन सक्छन् र?

येशूको वंशावली कसले लेख्यो? के येशू आफैले यो लेख्नुभएको थियो? के येशू आफैले तिनीहरूलाई, “मेरो वंशावली लेख्” भन्नुभएको थियो? येशूलाई क्रूसमा टाँगिएपछि मत्तीले अभिलेख राखेका थिए। त्यस बेला, येशूले धेरै कामहरू गर्नुभयो जुन उहाँका चेलाहरूले बुझ्न नसक्ने प्रकृतिका थिए, र उहाँले कुनै व्याख्या उपलब्ध गराउनुभएको थिएन। उहाँ जानुभइसकेपछि, चेलाहरूले जताततै प्रचार र काम गर्न थाले, र त्यो चरणको कामको खातिर, तिनीहरूले पत्र र सुसमाचारका पुस्तकहरू लेख्न थाले। नयाँ करारको सुसमाचारका पुस्तकहरू येशू क्रूसमा टाँगिनुभएको बीसदेखि तीस वर्षपछि अभिलेखीकरण गरिएका थिए। पहिले, इस्राएलका मानिसहरूले केवल पुरानो करार पढ्थे। यसको मतलब, अनुग्रहको युगको शुरूमा मानिसहरूले पुरानो करार पढ्थे। नयाँ करार केवल अनुग्रहको युगमा देखा पर्‍यो। जब येशूले काम गर्नुभयो त्यो बेला नयाँ करार अस्तित्वमा थिएन; उहाँ पुनरुत्थान हुनुभएपछि र स्वर्गमा उक्लनुभएपछि मानिसहरूले उहाँको कामको अभिलेखीकरण गरे। त्यसपछि मात्र चारओटा सुसमाचारका पुस्तकहरू आए र यसका अतिरिक्त पावल र पत्रुसका पत्रहरू, साथै प्रकाशको पुस्तक पनि आए। येशू स्वर्गमा उक्लनुभएको तीन सयभन्दा बढी बर्षपछि, त्यसपछिका पुस्ताहरूले यी कागजातहरूलाई छनौट गर्दै एकत्रीकरण गरे, र त्यसपछि मात्र बाइबलको नयाँ करार अस्तित्वमा आयो। यो काम पूरा भएपछि मात्र त्यहाँ नयाँ करार अस्तित्वमा आयो; यो पहिले अस्तित्वमा थिएन। परमेश्‍वरले ती सबै कामहरू गरिसक्नुभएको थियो, र पावल र अन्य प्रेरितहरूले विभिन्न स्थानहरूमा भएका मण्डलीहरूलाई धेरै पत्रहरू लेखिसकेका थिए। त्यसपछिका मानिसहरूले तिनीहरूका पत्रहरूलाई एकत्रित गरे, र यसमा तिनीहरूले पत्मोस टापुमा युहन्नाले अभिलेख राखेका सबैभन्दा ठूलो दर्शनलाई परिशिष्टको रूपमा संलग्न गरे, जसमा परमेश्‍वरको आखिरी दिनहरूको कार्यको बारेमा अगमवाणी गरिएको थियो। मानिसहरूले यो अनुक्रम बनाए, जुन आजका वाणीहरू भन्दा फरक छ। आज जे अभिलेख गरिएको छ त्यो परमेश्‍वरको कार्यको चरणहरूअनुसार छ; आज मानिसहरू जे कुरामा संलग्न हुन्छन् त्यो नै व्यक्तिगत तवरमा परमेश्‍वरले गर्नुभएको काम हो, र व्यक्तिगत तवरमा उहाँले बोल्नुभएका वचनहरू हुन्। तैँले—मानवजातिले—हस्तक्षेप गर्न आवश्यक छैन; आत्माबाट सीधै आएका वचनहरूलाई चरणबद्ध रूपमा क्रमबद्ध गरिएको छ, र तिनीहरू मानिसका अभिलेखहरूको बन्दोबस्त भन्दा फरक छन्। तिनीहरूले जे अभिलेख राखे, यो भन्न सकिन्छ कि त्यो तिनीहरूको शिक्षा र मानव क्षमताको स्तरअनुसारको थियो। तिनीहरूले जे अभिलेख राखे त्यो मानिसहरूको अनुभवहरू थियो, र प्रत्येकको अभिलेख राख्ने र जान्ने आफ्नै तरिका थियो, र प्रत्येक अभिलेख फरक थियो। तसर्थ, यदि तैँले बाइबललाई परमेश्‍वरको रूपमा पुज्छस् भने, तँ अत्यन्तै अनभिज्ञ र मूर्ख छस्! किन तँ आजका परमेश्‍वरको कामको खोजी गर्दैनस्? केवल परमेश्‍वरको कामले मानिसलाई मुक्त गर्न सक्छ। बाइबलले मानिसलाई मुक्त गर्न सक्दैन, मानिसहरूले यसलाई हजारौं बर्षसम्म पढ्न सक्छन् र अझै पनि तिनीहरूमा थोरै पनि परिवर्तन नहुन सक्छ, र यदि तैँले बाइबललाई पुज्छस् भने, तैँले पवित्र आत्माको काम कहिल्यै पनि प्राप्त गर्न सक्नेछैनस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)

परमेश्‍वरका दैनिक वचनहरू  अंश २७४

धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको सही मार्ग पत्ता लगाउनुसरह हो—तर वास्तवमा, कामकुराहरू के यति सरल छन् र? बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो त परमेश्‍वरको कार्यको ऐतिहासिक अभिलेख, र परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणको गवाही भन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्‍वरको कार्यको उद्देश्यको बारेमा कुनै बुझाइ प्रदान गर्दैन। यसले व्यवस्थाको युग र अनुग्रहको युगको परमेश्‍वरको कामका दुई चरणहरू प्रस्तुत गर्छ भन्‍ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारले इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्मको यहोवाको कार्यलाई वर्णन गर्छ। नयाँ करारले पृथ्वीमा येशूले गर्नुभएका कामको अभिलेख गर्छ जुन सुसमाचारका चार पुस्तकहरूका साथै पावलको काममा पनि उल्लिखित छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र? विगतका कुराहरूलाई आज फर्काएर ल्याउँदा ती इतिहास बन्छन्, र ती जति नै सत्य वा वास्तविक भए पनि, ती इतिहास नै हुन्—र इतिहासले वर्तमानलाई सम्बोधन गर्न सक्दैन, किनभने परमेश्‍वरले इतिहासलाई फर्केर हेर्नुहुन्‍न! यसैले, यदि तैँले केवल बाइबललाई मात्रै बुझ्छस्, र आज परमेश्‍वरले गर्न चाहनुभएको कामको बारेमा केही बुझ्दैनस् भने, र यदि तँ परमेश्‍वरमा विश्‍वास त गर्छस् तर पवित्र आत्माको काम खोज्दैनस् भने, परमेश्‍वरको खोजी गर्नुको अर्थ के हो तँलाई थाहा छैन। यदि तँ इस्राएलको इतिहासको अध्ययन गर्न, परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको इतिहासको अनुसन्धान गर्न बाइबल पढ्छस् भने, तैँले परमेश्‍वरमा विश्‍वास गर्दैनस्। तर आज, तँ परमेश्‍वरमा विश्‍वास गर्ने र जीवनको पछि लाग्‍ने तर परमेश्‍वरको ज्ञानको खोजी गर्ने, र मृत अक्षर र धर्मसिद्धान्तहरू वा इतिहास बुझ्‍ने प्रयासको पछि नलाग्‍ने हुनाले, तैँले आजको परमेश्‍वरको इच्छा, र पवित्र आत्माको कामको दिशा खोज्नुपर्छ। यदि तँ पुरातत्वविद्‌ होस् भने तैँले बाइबल पढ्न सक्‍नेथिइस्—तर तँ पुरातत्वविद्‌ होइनस्, तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्, र तैँले आजको परमेश्‍वरको इच्छाको खोजी गर्नु नै उत्तम हुनेछ। बाइबल पढेर बढीमा तैँले इस्राएलको थोरै इतिहास बुझ्न सक्‍नेछस्, अब्राहाम, दाऊद र मोशाको जीवनको बारेमा जान्‍न सक्‍नेछस्, उनीहरूले कसरी यहोवालाई आदर गरे र उहाँको विरोध गर्नेहरूलाई यहोवाले कसरी जलाउनुभयो, र उहाँले त्यो युगका मानिसहरूसँग कसरी बोल्नुभयो भनेर तैँले पत्ता लगाउनेछस्। तैँले केवल विगतमा परमेश्‍वरले गर्नुभएको कामको बारेमा पत्ता लगाउनेछस्। बाइबलका अभिलेखहरू प्रारम्भिक इस्राएलका मानिसहरूले कसरी परमेश्‍वरको आदर गरे र यहोवाको अगुवाइमा जीवन बिताए भन्‍ने कुरासँग सम्बन्धित छन्। इस्राएलीहरू परमेश्‍वरका चुनिएका मानिसहरू थिए, त्यसकारण पुरानो करारमा तैँले इस्राएलका सबै मानिसहरूमा यहोवाप्रतिको बफादारिता के-कस्तो थियो, कसरी यहोवाको आज्ञापालन गर्नेहरू सबैले उहाँबाट हेरचाह पाए र कसरी उहाँले तिनीहरूलाई आशिष् दिनुभयो भनेर देख्‍न सक्छस्; जब परमेश्‍वरले इस्राएलमा काम गर्नुभयो उहाँ कृपा र प्रेमले भरिपूर्ण हुनुहुन्थ्यो, साथसाथै उहाँले भस्म पार्ने आगोको ज्वाला पनि धारण गर्नुभएको थियो, र निम्‍नस्तरका देखि लिएर शक्तिशालीसम्मका सारा इस्राएलीहरूले यहोवाको आदर गर्थे र त्यसैले सम्पूर्ण राष्ट्र नै परमेश्‍वरद्वारा आशिषित थियो भन्‍ने कुरा तैँले जान्‍न सक्छस्। पुरानो करारमा अभिलेख गरिएको इस्राएलको इतिहास यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)

परमेश्‍वरका दैनिक वचनहरू  अंश २७५

बाइबल इस्राएलमा परमेश्‍वरले गर्नुभएको कार्यको ऐतिहासिक अभिलेख हो, र यसले प्राचीन अगमवक्ताहरूका धेरै अगमवाणीका साथै यहोवाले त्यस समय उहाँको कार्यको दौरान बोल्‍नुभएका केही वाणीहरूको अभिलेख गर्छ। यसैले, सबै मानिसहरूले यस पुस्तकलाई पवित्र ठान्छन् (किनकि परमेश्‍वर पवित्र र महान् हुनुहुन्छ)। अवश्य नै, यी सबै यहोवाप्रतिको तिनीहरूको श्रद्धा र परमेश्‍वरप्रतिको तिनीहरूको भक्तिको परिणाम हो। परमेश्‍वरका सृष्टिहरूले आफ्ना सृष्टिकर्तालाई यति आदर गर्ने र प्रिय ठान्‍ने भएकाले मात्रै मानिसहरूले यो पुस्तकलाई यसरी उल्‍लेख गर्छन्, र केही मानिसहरूले त यस पुस्तकलाई स्वर्गीय पुस्तक भनेर पनि भन्‍ने गर्छन्। वास्तवमा, यो मानव अभिलेख मात्र हो। यसलाई व्यक्तिगत तवरमा यहोवाले नामाकरण गर्नुभएको थिएन, न त यसको रचना गर्नको लागि यहोवाले व्यक्तिगत तवरमा अगुवाइ नै गर्नुभयो। अर्को शब्दमा भन्दा, यस पुस्तकको लेखक परमेश्‍वर होइनन्, मानिसहरू हुन्। पवित्र बाइबल केवल मानिसले यसलाई दिएको सम्‍मानजनक नाम मात्र हो। यो नामको बारेमा यहोवा र येशूले एकअर्कासँग छलफल गर्नुभएर निर्णय गर्नुभएको थिएन; यो मानव विचारभन्दा बढी केही पनि होइन। किनकि यो पुस्तक यहोवाले लेख्‍नुभएको थिएन, येशूले लेख्‍नुभएको हुने कुरा त परै जाओस्। यसको सट्टा, यो धेरै प्राचीन अगमवक्ता, प्रेरित र द्रष्टाहरूले मानिसहरूका लागि दिएका विवरणहरू हुन् जसलाई पछिल्ला पुस्ताले प्राचीन लेखहरूको पुस्तकको रूपमा सङ्ग्रहित गरे, र यो पुस्तक मानिसहरूको लागि विशेष रूपमा पवित्र देखिन्छ, अर्थात् तिनीहरू यो पुस्तकमा भविष्यका पुस्ताहरूद्वारा खोलिने धेरै अतुलनीय र गहिरा रहस्यहरू समावेश छन् भन्‍ने विश्‍वास गर्छन्। त्यसैले, मानिसहरू यो पुस्तक स्वर्गीय पुस्तक हो भनेर विश्‍वास गर्न अझ बढी चाहना गर्छन्। चार सुसमाचार र प्रकाशको पुस्तकलाई यसमा जोडेपछि त, यसप्रति मानिसहरूको मनोवृत्ति अरू कुनै पनि पुस्तकप्रतिभन्दा विशेष रूपमा फरक हुन्‍छ, र कसैले पनि यो “स्वर्गीय पुस्तक” को चिरफार गर्ने आँट गर्दैन किनकि यो एकदमै “पवित्र” छ।

किन बाइबल पढ्नेबित्तिकै मानिसहरूले यसमा अभ्यास गर्ने उचित मार्गहरू पाउन सक्छन्? किन तिनीहरू आफूले बुझ्न नसक्‍ने धेरै कुराहरू प्राप्त गर्न सक्छन्? आज, म बाइबललाई यस तरिकाले चिरफार गर्दै छु तर यसको मतलब म यसलाई घृणा गर्छु, वा म सन्दर्भको रूपमा रहेको यसको मूल्यलाई अस्वीकार गर्छु भन्‍ने होइन। म तँलाई अन्धकारमा पारिनबाट रोक्‍नको लागि बाइबलको अन्तर्निहित मूल्य र उत्पत्तिबारे व्याख्या र स्पष्टता प्रदान गर्दै छु। मानिसहरूमा बाइबलको बारेमा अत्यन्तै धेरै दृष्टिकोणहरू छन्, र तीमध्ये धेरै त गलत नै छन्; त्यसैले, यस तरिकाले बाइबल पढ्दा यसले उनीहरूलाई उनीहरूले जे प्राप्त गर्नुपर्ने हो त्यो प्राप्त गर्नबाट रोक्‍ने मात्र होइन, अझ महत्त्वपूर्ण कुरा त के छ भने, यसले मैले गर्न चाहेको काममै बाधा पुर्‍याउँछ। यसले भविष्यको काममा ठूलो हस्तक्षेप गर्छ, र लाभहरू होइन, केवल कमजोरीहरू प्रदान गर्छ। तसर्थ, मैले तँलाई जे सिकाइरहेको छु त्यो केवल बाइबलको सार र भित्री कथा हो। मैले तँलाई तैँले बाइबल पढ्नु हुँदैन, वा तैँले यो मूल्यहीन छ भनेर घोषणा गर्दै हिँड्नुपर्छ भनिरहेको छैनँ, बरु तँसँग बाइबलको सही ज्ञान र दृष्टिकोण हुनुपर्छ भनेर मात्र भनिरहेको छु। अत्यन्तै एकतर्फी नहो! बाइबल मानिसहरूद्वारा लेखिएको एउटा इतिहासको पुस्तक भए पनि, यसमा प्राचीन सन्त र अगमवक्ताहरूले जुन सिद्धान्तहरूद्वारा परमेश्‍वरको सेवा गर्थे त्यस्ता थुप्रै सिद्धान्तहरूका साथै परमेश्‍वरको सेवा गर्ने सम्बन्धमा प्रेरितहरूका भर्खरैका अनुभवहरू पनि राखिएका छन्—यी मानिसहरूले ती सबै कुरा वास्तवमै देखेका र जानेका थिए, र ती कुराले यस युगका मानिसहरूलाई साँचो मार्ग खोजी गर्नमा सन्दर्भको रूपमा काम गर्न सक्छन्। तसर्थ, बाइबल पढ्दा मानिसहरूले जीवनका थुप्रै मार्गहरू पनि प्राप्त गर्न सक्छन् जुन अरू पुस्तकहरूमा पाउन सकिँदैन। यी मार्गहरू विगतका युगहरूमा अगमवक्ता र प्रेरितहरूले अनुभव गरेका पवित्र आत्माको कामका जीवन मार्गहरू हुन्, र तीमध्ये धेरैजसो वचनहरू मूल्यवान् छन्, र तिनले मानिसहरूलाई चाहिने आवश्यक कुराहरू प्रदान गर्न सक्छन्। तसर्थ, सबै मानिसहरू बाइबल पढ्न मन पराउँछन्। बाइबलमा धेरै कुरा लुकेका छन्, तसर्थ महान् आत्मिक व्यक्तित्वहरूका लेखहरूप्रति भन्दा यसप्रति मानिसहरूको धारणा फरक छ। पुरानो र नयाँ युगमा यहोवा र येशूको सेवा गर्ने व्यक्तिहरूको अनुभव र ज्ञानहरूको अभिलेख र सङ्ग्रह नै बाइबल हो, र पछि आउने पुस्ताहरूले अभ्यास गर्नलाई यसबाट धेरै अन्तर्ज्ञान, प्रकाश र मार्गहरू प्राप्त गर्न सक्षम भएका छन्। बाइबल कुनै पनि महान् आत्मिक व्यक्तित्वका लेखहरूभन्दा उच्‍च हुनुको कारण के हो भने, उनीहरूका सबै लेखहरू बाइबलबाट लिइएका हुन्, उनीहरूका सबै अनुभवहरू बाइबलबाट आएका हुन् र ती सबैले बाइबलको व्याख्या गर्छन्। मानिसहरूले कुनै पनि महान् आत्मिक व्यक्तित्वका पुस्तकहरूबाट पोषण प्राप्त गर्न सक्‍ने भए पनि, उनीहरूले अझै पनि बाइबललाई नै पुज्छन्, किनकि यो उनीहरूका लागि अत्यन्तै महान् र गहन देखिन्छ! बाइबलले पावलका पत्रहरू र पत्रुसका पत्रहरूजस्ता जीवनका वचनहरूका केही पुस्तकहरूलाई एकट्ठा गरेको भए पनि, र मानिसहरूलाई यी पुस्तकहरूले पोषण दिन र मद्दत गर्न सक्‍ने भए पनि, यी पुस्तकहरू पुरानो भइसकेका छन्, ती अझै पुरानै युगमा पर्छन्, र ती जतिसुकै राम्रो भए पनि, ती केवल एक अवधिको लागि मात्र उपयुक्त छन्, अनन्त छैनन्। किनकि परमेश्‍वरको काम सँधै विकसित भइरहेको हुन्छ, र यो केवल पावल र पत्रुसको समयमा रोकिएर बस्‍न सक्दैन, वा सँधैभरि येशूलाई क्रूसमा टाँगिएको अनुग्रहको युगमा रहिरहन सक्दैन। त्यसैले, यी पुस्तकहरू अनुग्रहको युगका लागि मात्र उपयुक्त छन्, आखिरी दिनहरूको राज्यको युगको लागि उपयुक्त छैनन्। तिनीहरूले केवल अनुग्रहको युगका विश्‍वासीहरूका लागि पोषण प्रदान गर्न सक्छन्, राज्यको युगका सन्तहरूको लागि सक्दैनन्, र ती जतिसुकै राम्रो भए पनि ती पुराना छन्। यहोवाले गर्नुभएको सृष्टिको काम वा इस्राएलमा उहाँले गर्नुभएको कार्य पनि यस्तै हो: यो काम जतिसुकै महान् भएको भए पनि, यो पुरानो हुनेवाला नै थियो र त्यो बितेर जाने समय आउनेवाला नै थियो। परमेश्‍वरको काम पनि यस्तै हो: यो महान् छ, तर यो समाप्त हुने समय आउने नै छ; यो सँधै सृष्टिको कार्यमाझ रहन सक्दैन, न त क्रूसीकरणको माझमा नै रहन सक्छ। क्रूसीकरणको काम जति नै विश्‍वासलाग्दो भए पनि, शैतानलाई पराजित गर्न यो जतिसुकै प्रभावकारी भए पनि, काम आखिर काम नै हो, र युगहरू आखिर युगहरू नै हुन्। काम सधैँ उही जगमा रहन सक्दैन, न त समय कहिल्यै परिवर्तन नहुने नै हुन्छ, किनकि सृष्टि भएको थियो र आखिरी दिनहरू पनि हुनैपर्छ। यो अपरिहार्य छ! त्यसकारण, आज नयाँ करारमा रहेका जीवनका वचनहरू—प्रेरितहरूका पत्रहरू, र सुसमाचारका चार पुस्तकहरू—ऐतिहासिक पुस्तकहरू भएका छन्, तिनीहरू पुरानो पञ्‍चाङ्ग भएका छन्, र पुरानो पञ्‍चाङ्गले कसरी मानिसहरूलाई नयाँ युगमा प्रवेश गराउन सक्छन्? यी पञ्‍चाङ्गहरू जीवन प्रदान गर्न जति नै सक्षम भए पनि, मानिसहरूलाई क्रूसमा अगुवाई गर्न जति नै सक्षम भए पनि, के ती पुराना भएका छैनन् र? के ती मूल्यहीन भएका छैनन् र? यसैले, म भन्छु तैँले अन्धो भएर यी पञ्‍चाङ्गहरूमा विश्‍वास गर्नु हुँदैन। ती धेरै पुराना भइसकेका छन्, तिनले तँलाई नयाँ काममा ल्याउन सक्दैनन्, र तिनले तँलाई बोझ मात्रै दिन सक्छन्। तिनले तँलाई नयाँ काम र नयाँ प्रवेशमा ल्याउन त के सक्थे र, बरु उल्टै तँलाई पुराना धार्मिक मण्डलीहरूमा चाहिँ लैजान्छन्—र यदि त्यसो भयो भने, के तँ परमेश्‍वरप्रतिको तेरो विश्‍वासमा प्रतिगमन गरिरहेको हुनेथिनस् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)

परमेश्‍वरका दैनिक वचनहरू  अंश २७६

आज, तिमीहरूका बीचमा कसले पवित्र आत्माले प्रयोग गर्नुभएकाहरूले बोलेका सबै वचनहरू पवित्र आत्माबाट नै आएका थिए भनेर भन्‍ने आँट गर्छ? के कसैले त्यस्ता कुराहरू भन्‍ने आँट गर्छ? यदि तैँले त्यस्ता कुराहरू भन्‍ने आँट गर्छस् भने, एज्राको अगमवाणीको पुस्तकलाई किन खारेज गरियो, र प्राचीन सन्तहरू र अगमवक्ताहरूको पुस्तकलाई पनि किन त्यसै गरियो? यदि ती सबै पवित्र आत्माबाट नै आएका थिए भने, तिमीहरूले किन त्यस्तो स्वेच्‍छाचारी छनौटहरू गर्ने आँट गर्छौ? के तँ पवित्र आत्‍माको कार्यलाई छनौट गर्न योग्य छस्? इस्राएलका धेरै कथाहरूलाई पनि खारेज गरियो। अनि यदि तँ विगतका यी लेखहरू पवित्र आत्‍माबाट आएका हुन् भन्‍ने विश्‍वास गर्छस् भने, किन कतिपय पुस्तकहरूलाई खारेज गरियो? यदि ती सबै पवित्र आत्‍माबाट नै आएका थिए भने, तिनीहरू सबैलाई सुरक्षित राखिनुपर्थ्यो, र पढ्नको लागि मण्डलीहरूका दाजुभाइ-दिदीबहिनीहरूकहाँ पठाइनु पर्नेथियो। तिनीहरूलाई मानिसको इच्‍छाद्वारा चुनिनु वा हटाउनु हुँदैनथियो; त्यसो गर्नु गलत हो। पावल र यूहन्‍नाका अनुभवहरू तिनीहरूका व्यक्तिगत अन्तर्दृष्टिहरूसँग मिसिएका थिए भन्दैमा तिनीहरूका अनुभवहरू र ज्ञान शैतानबाट आएको थियो भन्‍ने हुँदैन, तर तिनीहरूसँग तिनीहरूका व्यक्तिगत अनुभवहरू र अन्तर्दृष्टिहरूबाट आएका कुराहरू थिए भन्‍ने मात्रै यसको अर्थ हुन्छ। तिनीहरूका ज्ञान त्यस बेलाको तिनीहरूको खास अनुभवहरूको पृष्ठभूमि अनुरूप थियो, र यो सबै पवित्र आत्माबाट नै आएको थियो भनेर कसले निर्धक्‍कसाथ भन्‍न सक्छ? सुसमाचारका चार वटै पुस्तकहरू पवित्र आत्‍माबाट आएका थिए भने, किन मत्ती, मर्कूस, लूका र यूहन्‍नाले येशूको कामको बारेमा केही फरक-फरक कुरा भने? यदि तिमीहरू यो कुरामा विश्‍वास गर्दैनौ भने, पत्रुसले प्रभुलाई कसरी तीन पटक इन्कार गरे त्यसको बारेमा बाइबलमा दिइएको विवरणलाई हेर: तिनीहरू सबै फरक छन्, र ती प्रत्येकमा आ-आफ्‍नै विशेषताहरू छन्। अज्ञानी धेरैले यसो भन्छन्, “देहधारी परमेश्‍वर पनि मानिस नै हुनुहुन्छ भने, के उहाँले बोल्‍नुहुने वचनहरू पूर्ण रूपमा पवित्र आत्‍माबाट नै आउन सक्छन्? यदि पावल र यूहन्‍नाका वचनहरू मानव इच्‍छाद्वारा मिश्रित थिए भने, के उहाँले बोल्‍नुहुने वचनहरूमा मानव इच्‍छा वास्तवमै मिश्रित छैनन् र?” यस्ता कुराहरू भन्‍ने मानिसहरू अन्धा र अज्ञानी हुन्! सुसमाचारका चार पुस्तकहरूलाई ध्यान दिएर पढ; येशूले गर्नुभएका कुराहरू र उहाँले बोल्‍नुभएका वचनहरूका बारेमा तिनमा के विवरण दिइएका छन् त्यसलाई पढ। हरेक पुस्तक अलिक फरक छ, र हरेकको आ-आफ्‍नै दृष्टिकोण छ। यदि यी पुस्तकहरूका लेखकहरूले लेखेका कुराहरू सबै पवित्र आत्‍माबाट आएका थिए भने, यो सबै उही र समरूप हुनुपर्ने थियो। त्यसो भए किन तिनमा भिन्‍नताहरू छन् त?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पद र पहिचानको सम्‍बन्धमा

परमेश्‍वरका दैनिक वचनहरू  अंश २७७

त्यस बेलाको येशूका वाणीहरू र कार्यले धर्मसिद्धान्तलाई पछ्याएन, र उहाँले पुरानो करारको व्यवस्थाको कार्य अनुसार आफ्‍नो काम गर्नुभएन। यसलाई अनुग्रहको युगमा गरिनुपर्ने कार्य अनुसार अघि बढाइएको थियो। उहाँले अघि सार्नुभएको काम अनुसार, उहाँको आफ्‍नै योजना अनुसार, र उहाँको आफ्‍नै सेवकाइ अनुसार परिश्रम गर्नुभयो; उहाँले पुरानो करारको व्यवस्था अनुसार काम गर्नुभएन। उहाँले गर्नुभएको कुनै पनि कुरा पुरानो करारको व्यवस्था अनुसार थिएन, र उहाँ अगमवक्ताहरूका वचनहरूलाई पूरा गर्नको लागि काम गर्न आउनुभएन। प्राचीन अगमवक्ताहरूको भविष्यवाणीहरूलाई पूरा गर्नको लागि मात्रै भनेर परमेश्‍वरको कामको हरेक चरण प्रस्तुत गरिएन, र उहाँ धर्मसिद्धान्तको पालन गर्न वा प्राचीन अगमवक्ताहरूको भविष्यवाणीहरूलाई जानी-जानी पूरा गर्नको लागि आउनुभएन। तैपनि उहाँका कार्यहरूले प्राचीन अगमवक्ताहरूका भविष्यवाणीहरूलाई भङ्ग गरेन, न त उहाँले पहिले गर्नुभएको काममा नै तिनीहरूले बाधा दिए। उहाँको कामको प्रमुख बुँदा भनेको उहाँ कुनै पनि धर्मसिद्धान्तद्वारा बाँधिनुको सट्टा, उहाँ स्वयमले गर्नुपर्ने काम गर्नुभयो भन्‍ने थियो। उहाँ अगमवक्ता वा द्रष्टा हुनुहुन्‍न थियो, तर कर्ता हुनुहुन्थ्यो जो वास्तवमा आफूले गर्नु पर्ने काम गर्न आउनुभयो, र उहाँ आफ्‍नो नयाँ युग सुरु गर्न र आफ्‍नो नयाँ कार्यलाई अघि बढाउन आउनुभयो। अवश्य नै, जब येशू आफ्‍नो काम गर्न आउनुभयो, उहाँले पुरानो करारका प्राचीन अगमवक्ताहरूले बोलेका धेरै वचनहरूलाई पनि पूरा गर्नुभयो। त्यसरी नै आजको कार्यले पनि पुरानो करारका प्राचीन अगमवक्ताहरूका भविष्यवाणीहरूलाई पूरा गरेको छ। यति मात्रै हो कि, “पुरानो तिथि-पत्र” लाई म पालन गर्दिन। किनभने मैले गर्नै पर्ने काम धेरै छन्, मैले तिमीहरूसँग बोल्‍नै पर्ने वचनहरू धेरै छन्, र यो काम र यी वचनहरू बाइबलका अनुच्‍छेदहरूबाट व्याख्या गर्नुभन्दा धेरै नै महत्त्वपूर्ण छन्, किनभने तिमीहरूका निम्ति त्यस्ता कामको ठूलो महत्त्व वा मूल्य हुँदैन, र तिनले तिमीहरूलाई सहायता गर्न, वा तिमीहरूलाई परिवर्तन गर्न सक्दैनन्। म बाइबलको कुनै पनि अनुच्‍छेदलाई पूरा गर्नको खातिर नयाँ काम गर्ने अभिप्राय राख्दिनँ। यदि परमेश्‍वर बाइबलका प्राचीन अगमवक्ताहरूका वचनहरूलाई पूरा गर्न मात्रै आउनुभयो भने, को ठूलो हो, देहधारी परमेश्‍वर कि ती प्राचीन अगमवक्ताहरू? आखिर, अगमवक्ताहरू परमेश्‍वरको रेखदेख गर्ने हुन् कि परमेश्‍वर अगमवक्ताहरूका रेखदेख गर्ने हुनुहुन्छ? तँ कसरी यी वचनहरूलाई व्याख्या गर्छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पद र पहिचानको सम्‍बन्धमा

परमेश्‍वरका दैनिक वचनहरू  अंश २७८

सबै यहूदीहरूले पुरानो करार पढे र डुँडमा एउटा पुरुष बालक जन्मनेछ भन्‍ने यशैयाको अगमवाणीलाई बुझे। यो अगमवाणीप्रति पूर्ण रूपमा सचेत भएर पनि, तिनीहरूले येशूलाई किन सताए त? के यो तिनीहरूको विद्रोही स्वभाव र पवित्र आत्माको कामको अनभिज्ञताको कारणले होइन? त्यो समयमा, येशूको काम अगमवाणी गरिएका ती पुरुष बालकको भन्दा फरक छ भन्‍ने फरिसीहरूले विश्‍वास गरे अनि आज मानिसहरूले परमेश्‍वरलाई इन्कार गर्छन् किनभने देहधारी हुनुभएका परमेश्‍वरको काम बाइबलअनुसार छैन। के यो परमेश्‍वरप्रतिको तिनीहरूको विद्रोहीपनको सार उही होइन र? के तँ पवित्र आत्माको सबै कार्यलाई विनाप्रश्‍न स्वीकार गर्छस्? यदि यो पवित्र आत्माको काम हो भने, यो सही प्रवाह हो र तैँले यसलाई कुनै सन्देहविना स्वीकार गर्नुपर्छ; के स्वीकार गर्ने भनी तैँले रोज्नु र छान्नु हुँदैन। यदि तैँले परमेश्‍वरबाट धेरै अन्तर्ज्ञान पाइस् र उहाँप्रति धेरै सतर्कता अपनाइस् भने के यो अनावश्यक कुरा होइन र? तैँले बाइबलबाट अरू सबुतको खोजी गर्नु पर्दैन; यदि यो पवित्र आत्माको काम हो भने, तैँले यसलाई स्वीकार गर्नुपर्छ, किनभने तैँले परमेश्‍वरलाई पछ्याउन परमेश्‍वरमा विश्‍वास गर्छस् र तैँले उहाँको अनुसन्धान गर्नु हुँदैन। म तेरो परमेश्‍वर हुँ भन्‍ने साबित गर्न तैँले मबाट अरू प्रमाण खोज्नु पर्दैन, तर म तेरो निम्ति लाभदायक छु कि छैन सो छुट्याउन तँ सक्षम हुनुपर्छ—सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। यदि तैँले बाइबलभित्र धेरै अकाट्य प्रमाण भेट्टाइस् भने पनि, यसले तँलाई मेरो सामु पूर्ण रूपमा ल्याउन सक्दैन। तँ बाइबलको परिधिभित्र मात्र जिउँछस्, मेरो सामने होइन; मलाई चिन्नको निम्ति बाइबलले तँलाई सहायता गर्न सक्दैन, न त यसले मप्रतिको तेरो प्रेमलाई नै गहिरो बनाउन सक्छ। बाइबलले पुरुष बालक जन्‍मिनेछ भनी भविष्यवाणी गरे तापनि त्यो भविष्यवाणी कसको जीवनमा पूरा हुने हो सो कसैले बुझ्न सकेनन्, किनभने मानिसलाई परमेश्‍वरको काम थाहा थिएन, र यही कुराले फरिसीहरूलाई येशूको विरुद्ध खडा हुन लगायो। मेरो काम मानिसको हितमा हुन्छ भन्‍ने केहीले जान्दछन्, तैपनि येशू र म पूर्ण रूपमा फरक अर्थात् पारस्परिक रूपमा नमिल्‍ने अस्तित्व हौँ भन्‍ने विश्‍वास गरिरहन्छन्। त्यो समयमा, येशूले आफ्ना चेलाहरूलाई अनुग्रहको युगमा अभ्यास कसरी गर्ने, सँगसँगै कसरी भेला हुने, प्रार्थनामा अन्तर्बिन्ती कसरी गर्ने, अरूहरूलाई कस्तो व्यवहार गर्ने र यस्तै अरूहरू विषयहरूमा शृङ्खलाबद्ध प्रवचनहरू मात्रै दिनुभयो। उहाँले कार्यान्वयन गर्नुभएको काम अनुग्रहको युग थियो र चेलाहरू र उहाँलाई पछ्याउनेहरूले कसरी अभ्यास गर्ने भनेर मात्र व्याख्या गर्नुभयो। उहाँले अनुग्रहको युगको काम मात्र गर्नुभयो र उहाँले अन्तको दिनका कुनै पनि कामहरू गर्नुभएन। जब यहोवाले व्यवस्थाको युगमा पुरानो करारको व्यवस्था ल्याउनुभयो, तब उहाँले अनुग्रहको युगको कार्य किन गर्नुभएन त? उहाँले अनुग्रहको युगको कामलाई पहिले नै किन स्पष्ट पार्नुभएन? के यसले मानिसहरूलाई यसलाई स्वीकार गर्न सहायता गर्दैनथ्यो र? एउटा बालक जन्मनेछ र शक्तिशाली हुन्छ भनेर मात्र उहाँले अगमवाणी गर्नुभयो, तर उहाँले अनुग्रहको युगलाई पहिले नै कार्यान्वयन गर्नुभएन। हरेक युगको परमेश्‍वरको कामका सीमाहरू स्पष्ट हुन्छन्; उहाँले हालको युगको काम मात्र गर्नुहुन्छ, र उहाँ अर्को युगको कामलाई कहिल्यै पनि अग्रिम रूपमा गर्नुहुन्न। यसरी मात्र हरेक युगको उहाँको प्रतिनिधि कामलाई अगाडी ल्याउन सकिन्छ। येशूले अन्तको दिनका चिन्हहरू, कसरी धैर्यवान् हुने, कसरी मुक्ति पाउने, कसरी पश्‍चात्ताप गर्ने र स्वीकार गर्ने, क्रूस कसरी बोक्ने र कष्टहरू कसरी सहने भन्‍ने बारेमा मात्र बताउनुभयो; अन्तको दिनमा मानिसले कसरी प्रवेश पाउने भनेर उहाँले कहिल्यै पनि बताउनुभएन, न त उसले परमेश्‍वरको इच्छा कसरी पूरा गर्न खोज्ने भन्‍नेबारे नै उहाँले बताउनुभयो। यसरी नै, अन्तको दिनमा परमेश्‍वरले गर्नुहुने कामको बारे बाइबलमा खोजी गर्नु हास्यास्पद कुरो होइन र? बाइबल मात्र पक्रेर तैँले के देख्न सक्छस्? बाइबलको व्याख्या गर्ने होस् वा प्रचारक होस्, आजको कामलाई कसले पहिले नै देख्न सक्थ्यो र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?

परमेश्‍वरका दैनिक वचनहरू  अंश २७९

बाइबल हजारौं वर्षदेखि मानव इतिहासको एउटा हिस्साको रूपमा रहीआएको छ। यसबाहेक, मानिसहरूले यसलाई परमेश्‍वर जस्तो व्यवहार गर्छन्, यहाँसम्म कि आखिरी दिनहरूमा यसले परमेश्‍वरको स्थान लिएको छ, जसले परमेश्‍वरमा घृणा उत्पन्न गर्दछ। यसैले, समयले साथ दिँदा परमेश्‍वरले बाइबलको भित्री कथा र उत्पत्तिबारे स्पष्ट पार्न आफू बाध्य भएको महसुस गर्नुभयो; यदि उहाँले त्यसो नगर्नुभएको भए, बाइबलले मानिसहरूका हृदयमा परमेश्‍वरको स्थान ओगटी नै रहने थियो र परमेश्‍वरका कामहरू नाप्न र निन्दा गर्नको लागि मानिसहरूले बाइबलका वचनहरू प्रयोग गर्नेथिए। बाइबलको सार, संरचना र त्रुटिहरूबारे व्याख्या गरेर परमेश्‍वरले कुनै पनि हालतमा बाइबलको अस्तित्वलाई इन्कार गरिरहनुभएको थिएन, न त उहाँले दोषी ठहऱ्याउँदै हुनुहुन्थ्यो; बरु उहाँले बाइबलको मौलिक स्वरूप पुनर्स्थापना गर्ने, बाइबलप्रति भएको मानिसहरूको भ्रमहरूलाई सम्‍बोधन गर्ने, तिनीहरूलाई बाइबलको सही दृष्टिकोण प्रदान गर्ने उचित र सुहाउँदो विवरण दिइरहनुभएको थियो, यसैले कि तिनीहरूले उप्रान्त बाइबलको पूजा नगरून्, र त्यसउप्रान्त तिनीहरू नहराऊन्; भन्नुको तात्पर्य यो हो कि, तिनीहरूले बाइबलप्रतिको आफ्‍नो अन्धो विश्‍वासलाई परमेश्‍वरमाथिको विश्‍वास र परमेश्‍वरको आराधना ठान्ने गल्ती नगरून्, त्यसको वास्तविक पृष्ठभूमि र असफलताहरूको सामना गर्न समेत नडराऊन्। जब मानिसहरूले बाइबलको बारेमा शुद्ध ज्ञान पाउँछन्, तब तिनीहरूले कुनै सङ्कोच नमानी त्यसलाई पन्साउन अनि साहसपूर्वक परमेश्‍वरका नयाँ वचनहरूलाई स्वीकार गर्न सक्छन्। यी केही अध्यायहरूमा परमेश्‍वरको लक्ष्य यही हो। परमेश्‍वरले यहाँ मानिसहरूलाई बताउन चाहनुभएको सत्यता के हो भने, कुनै पनि सिद्धान्त वा तथ्यले परमेश्‍वरको आजका काम र वचनको स्थानलाई लिन सक्दैन र परमेश्‍वरको स्थानमा कुनै पनि थोक खडा हुन सक्दैन। यदि मानिसहरू बाइबलको पासोबाट उम्कन सक्दैनन् भने, तिनीहरू कहिल्यै पनि परमेश्‍वरको सामु आउन सक्नेछैनन्। यदि तिनीहरू परमेश्‍वरको सामु आउन चाहन्छन् भने, तिनीहरूले पहिले आफ्नो हृदयमा उहाँको स्थान लिने कुनै पनि थोकलाई हटाउनुपर्छ; तब तिनीहरू परमेश्‍वरका निम्ति सन्तोषजनक हुनेछन्। परमेश्‍वरले यहाँ बाइबलको बारेमा व्याख्या गर्नुभएको भए पनि, बाइबल बाहेक मानिसहरूले पुज्ने धेरै वटा गलत कुराहरू छन् भन्‍ने नबिर्सनुहोस्; तिनीहरूले आराधना नगर्ने भनेका, साँचो रूपमा परमेश्‍वरबाट आएका कुराहरू मात्र हुन्। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दा र उहाँका वचनहरू स्वीकार गर्दा गलत बाटो नलिऊन् र फेरि अतिवादी कुरातिर लागेर भ्रमको शिकार नहोऊन् भनी स्मरण गराउन मात्र बाइबललाई उदाहरणको रूपमा प्रयोग गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मण्डलीहरूमा हिँड्ने क्रममा ख्रीष्‍टले दिनुभएका वचनहरू, परिचय

परमेश्‍वरका दैनिक वचनहरू  अंश २८०

मैले मानिसमाझ धेरै काम गरेको छु, र त्यो अवधिमा मैले धेरै वचनहरू पनि व्यक्त गरेको छु। ती सबै वचनहरू मानिसको मुक्तिको खातिर हुन् र मानिस मेरो अनुकूल हुने बन्‍न सकोस् भनेर ती व्यक्त गरिएका थिए। तैपनि, मैले पृथ्वीमा केही मानिसहरूलाई मात्रै प्राप्त गरेको छु, जो मेरो अनुकूल छन्, त्यसैले त म भन्छु, मानिसले मेरा वचनहरूलाई बहुमूल्य ठान्दैन—यसको कारण मानिस मेरो अनुकूल नहुनु हो। यसरी, मैले गर्ने काम मानिसले मेरो आराधना गर्न सकोस् भनेर मात्रै गरिएको होइन; अझै महत्त्वपूर्ण रूपमा, मानिस मेरो अनुकूल बन्‍न सकोस् भनेर यसो गरिएको हो। मानिसलाई भ्रष्ट पारिएको छ र ऊ शैतानको फन्दामा जिउँछ। सबै मानिसहरू देहमा जिउँछन्, स्वार्थी इच्‍छाहरूमा जिउँछन्, र तिनीहरूमाझ मेरो अनुकूल रहेको एक जना पनि छैन। मेरो अनुकूल छु भन्‍ने मानिसहरू छन्, तर त्यस्ता मानिसहरूले अज्ञात मूर्तिहरूको पूजा गर्छन्। मेरो नामलाई पवित्र भनी स्वीकार गरे तापनि, तिनीहरूले मेरो विपरीत दिशातर्फ बढ्ने मार्गमा पाइला चाल्छन्, र तिनीहरूका बोलीवचन अहङ्कार र आत्मविश्‍वासले भरिएका छन्। किनभने तिनीहरू जरैदेखि मेरो विरुद्धमा छन् तर म सँग मिल्दो छैनन्। हरदिन, तिनीहरूले बाइबलमा मेरा निसानहरू खोज्छन् र हचुवाको भरमा “उपयुक्त” खण्डहरू भेट्छन् जसलाई तिनीहरूले निरन्तर पढ्छन् र धर्मशास्‍त्रका रूपमा पाठ गर्छन्। कसरी मेरो अनुकूल बन्‍ने भनेर तिनीहरूलाई थाहा छैन, न त मेरो विरुद्धमा खडा हुनु भनेको के हो भन्‍ने नै तिनीहरूलाई थाहा छ। तिनीहरू खालि अन्धाधुन्ध धर्मशास्‍त्रका खण्डहरू पढ्छन्। तिनीहरूले कहिल्यै नदेखेका र देख्‍न नसकेका अस्पष्ट परमेश्‍वरलाई बाइबलभित्र सीमित गर्छन् र फुर्सतमा हेर्न यसलाई निकाल्छन्। तिनीहरूले बाइबलको दायराभित्र मात्रै मेरो अस्तित्वमा विश्‍वास गर्छन्, र तिनीहरूले मलाई बाइबलसँग समान मान्छन्; बाइबलविना म हुँदिनँ, र मविना बाइबल हुँदैन। मेरो अस्तित्व वा मेरा कार्यहरूलाई तिनीहरूले ध्यानै दिँदैनन्, बरु यसको साटो धर्मशास्‍त्रका एक-एक शब्‍दलाई अत्यधिक र विशेष ध्यान दिन्छन्। धर्मशास्‍त्रले भविष्यवाणी नगरेसम्म मैले चाहेअनुसार केही पनि गर्नु हुँदैन भनेरसमेत धेरैले विश्‍वास गर्छन्। तिनीहरूले धर्मशास्‍त्रलाई अत्याधिक महत्त्व दिन्छन्। के भन्‍न सकिन्छ भने तिनीहरूले वचन र अभिव्यक्तिहरूलाई यति हदसम्‍म महत्त्वपूर्ण देख्छन् कि मैले बोल्‍ने हरेक शब्‍दलाई मापन गर्न र मलाई दोष दिन तिनीहरूले बाइबलका पदहरू प्रयोग गर्छन्। तिनीहरूले खोजी गर्ने कुरा भनेको मेरो अनुकूल हुने मार्ग वा सत्यतासँग अनुकूल हुने मार्ग होइन, बरु बाइबलका वचनहरूसँग अनुकूल हुने मार्ग हो, र तिनीहरूले बाइबलसँग नमिल्‍ने जुनसुकै कुरा निस्सन्देह मेरो काम होइन भन्‍ने विश्‍वास गर्छन्। के यस्ता मानिसहरू फरिसीहरूका कर्तव्यनिष्ठ सन्तान होइनन् र? यहूदी फरिसीहरूले येशूलाई दोषी ठहर्‍याउन मोशाको व्यवस्था प्रयोग गरे। तिनीहरूले त्यो समयमा येशूसँग अनुकूल हुने प्रयास गरेनन्, बरु तिनीहरूले यति लगनशीलताको साथ व्यवस्थाको शब्‍द-शब्द पछ्याए कि—पुरानो करारको व्यवस्थालाई पालन नगरेको र मसीह नभएको आरोप उहाँलाई लगाएपछि—तिनीहरूले आखिरमा निर्दोष येशूलाई क्रूसमा टाँगिछोडे। तिनीहरूको सार के थियो? के त्यो तिनीहरूले सत्यतासित अनुकूल हुने मार्ग नखोज्नु नै थिएन र? तिनीहरू धर्मशास्‍त्रको एक-एक शब्‍दप्रति आशक्त भए, तर तिनीहरूले न त मेरो इच्‍छालाई ध्यान दिए न त मेरो कामका चरण र विधिहरूलाई नै ध्यान दिए। तिनीहरू सत्यताको खोजी गर्ने मानिसहरू थिएनन्, बरु शब्दहरूमा कठोरतासाथ लाग्‍ने मानिसहरू थिए; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू थिएनन्, बरु बाइबलमा विश्‍वास गर्ने मानिसहरू थिए। सारगत रूपमा, तिनीहरू बाइबलको रक्षा गर्ने कुकुरहरू थिए। बाइबलका हितहरूको सुरक्षा गर्न, बाइबलको इज्‍जतलाई कायम राख्‍न, र बाइबलको मर्यादाको संरक्षण गर्न, तिनीहरूले कृपालु येशूलाई क्रूसमा टाँग्‍ने हदसम्‍म गए। तिनीहरूले केवल बाइबलको प्रतिरक्षा गर्नको खातिर, र मानिसहरूका हृदयमा बाइबलका एक-एक वचनको प्रतिष्ठालाई कायम गर्नको खातिर तिनीहरूले यसो गरे। त्यसकारण, तिनीहरूले धर्मशास्‍त्रको सिद्धान्तअनुरूप नरहनुभएका येशूलाई मृत्युदण्ड दिन आफ्‍नो भविष्य र पापबलि त्याग्‍न रुचाए। के तिनीहरू सबै नै धर्मशास्‍त्रका एक-एक वचनका दास थिएनन् र?

अनि आजका मानिसहरूको बारेमा के भन्‍ने? ख्रीष्‍ट सत्यता प्रकट गर्न आउनुभएको छ, तैपनि तिनीहरू उहाँलाई यस संसारबाट निकाल्‍न चाहन्छन् ताकि तिनीहरूले स्वर्गमा प्रवेश गर्न र अनुग्रह प्राप्त गर्न सकून्। तिनीहरू बाइबलका हितहरूको संरक्षण गर्नको लागि सत्यताको आगमनलाई पूर्ण रूपमा इन्कार गर्न रचाउँछन्, र बाइबलको अनन्‍त अस्तित्व सुनिश्‍चित गर्नको लागि तिनीहरू देहमा फर्कनुभएका ख्रीष्‍टलाई फेरि क्रूसमा टाँग्‍न रुचाउँछन्। मप्रति मानिसको हृदय यति द्वेषपूर्ण र उसको स्वभाव यति विरोधी छ भने उसले कसरी मेरो मुक्ति पाउन सक्छ? म मानिसको माझमा जिउँछु, तैपनि मानिसलाई मेरो अस्तित्वको बारेमा थाहा छैन। मैले मानिसमाथि मेरो ज्योति चम्‍काउँदा पनि, मेरो अस्तित्वको बारेमा ऊ अझै अनभिज्ञ नै रहन्छ। जब म मानिसमाथि आफ्‍नो क्रोध बर्साउँछु, उसले अझै ठूलो जोसको साथ मेरो अस्तित्वलाई इन्कार गर्छ। मानिसले वचनहरूअनुकूल हुन र बाइबलअनुकूल हुन खोज्छ, तैपनि सत्यताको अनुकूल हुने मार्गलाई खोज्‍न एक जना पनि मेरो सामु आउँदैन। मानिसले माथि फर्केर मलाई स्वर्गमा हेर्छ र स्वर्गमा रहेको मेरो अस्तित्वको लागि खास सरोकार अर्पण गर्छ, तैपनि देहमा रहेको मलाई कसैले वास्ता गर्दैन, किनभने मानिसको माझमा बस्‍ने म अत्यन्तै महत्त्वहीन छु। बाइबलका वचनहरूसँग मात्रै अनुकूल हुन खोज्नेहरू र अस्पष्ट परमेश्‍वरसँग अनुकूल हुने प्रयास गर्नेहरू मेरो लागि दुःखदायी दृश्य हुन्। किनभने तिनीहरूले मृत वचनहरू, र तिनीहरूलाई असीमित सम्पत्ति दिन सक्‍ने परमेश्‍वरको आराधना गर्छन्; तिनीहरूले मानिसको कृपामा आफूलाई छोड्ने परमेश्‍वर अर्थात् अस्तित्वमै नहुनुभएको परमेश्‍वरको आराधना गर्छन्। अनि, त्यस्ता मानिसहरूले मबाट के प्राप्त गर्न सक्छन्? वचनहरूका निम्ति मानिस अत्यन्तै तल्लोस्तरको छ। जो मेरो विरुद्धमा छन्, जसले मबाट असीमित अपेक्षाहरू गर्छन्, जोसँग सत्यताको निम्ति कुनै प्रेम छैन, जो मप्रति विद्रोही छन्—तिनीहरू कसरी मप्रति अनुकूल हुन सक्छन्?

मेरो विरुद्धमा हुनेहरू मेरो अनुकूल छैनन्। सत्यतालाई प्रेम नगर्नेहरूका हकमा पनि यही कुरा लागू हुन्छ। मेरो विरुद्ध विद्रोह गर्नेहरू अझै बढी मेरो विरुद्धमा छन् र मेरो अनुकूल छैनन्। मसँग अनुकूल नरहेका सबैलाई म दुष्टको हातमा सुम्पिन्छु, र म तिनीहरूलाई दुष्टको भ्रष्टतामा छोडिदिन्छु, तिनीहरूलाई आफ्नो दुर्भाव प्रकट गर्न बेलगाम छोडिदिन्छु, र अन्तिममा तिनीहरूलाई दुष्टले निलोस् भनेर दुष्टको हातमा सुम्पिदिन्छु। कति जनाले मेरो आराधना गर्छन् म वास्ता गर्दिनँ, अर्थात् मलाई कति मानिसहरूले विश्‍वास गर्छन् त्यसको पर्वाह गर्दिनँ। मलाई चासो लाग्‍ने एउटै कुरा भनेको कति जना मेरो अनुकूल छन् भन्‍ने हो। यसको कारण के हो भने मप्रति अनुकूल नहुने सबै नै दुष्टहरू हुन् जसले मलाई धोका दिन्छन्; तिनीहरू मेरा शत्रुहरू हुन्, र मैले मेरा शत्रुहरूलाई मेरो घरमा “पवित्रसरह राख्‍नु” हुँदैन। मप्रति अनुकूल हुनेहरूले सदासर्वदा मेरो घरमा मलाई सेवा गर्नेछन् र मेरो विरुद्ध खडा हुनेहरूले सदासर्वदा मेरो दण्ड भोग्‍नेछन्। बाइबलका वचनहरूमा मात्रै चासो राख्‍नेहरू अनि सत्यता र मेरा पाइलाहरूको खोजी गर्नमा सरोकार नराख्‍नेहरू—तिनीहरू मेरो विरुद्धमा छन्, किनभने तिनीहरूले मलाई बाइबलअनुसार सीमित गर्छन्, मलाई बाइबलभित्रै बाँधिराख्‍छन्, त्यसैले तिनीहरू मप्रति चरम ईश्‍वरविरोधी छन्। यस्ता मानिसहरू कसरी मेरो सामु आउन सक्छन्? तिनीहरूले मेरा कार्यहरू, वा मेरो इच्‍छा वा सत्यतालाई कुनै वास्ता गर्दैनन्, बरु तिनीहरू वचनहरूप्रति आसक्त छन्—त्यस्ता वचनहरू जसले मार्छ। यस्ता मानिसहरू कसरी मप्रति अनुकूल हुन सक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ

अघिल्लो: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ

अर्को: धार्मिक धारणाहरू खुलासा गर्नु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्