क. देहधारण के हो, र किन परमेश्वरले मात्र उहाँ देखा पर्ने र उहाँले काम गर्ने सत्यता व्यक्त गर्नुहुन्छ
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
“देहधारण” भनेको देहमा परमेश्वरको देखापराइ हो; परमेश्वरले सृष्टि गरिएका मानवजातिको बीचमा देहका स्वरूपमा काम गर्नुहुन्छ। त्यसकारण परमेश्वर देहधारी हुनुका लागि, उहाँ सुरुमा देह, सामान्य मानवतासहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत सर्त हो। वास्तवमा, परमेश्वरको देहधारणको तात्पर्य भनेको परमेश्वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्वर उहाँको सारमा नै देह बन्नुहुन्छ, मानिस बन्नुहुन्छ भन्ने हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार
देहधारणको अर्थ परमेश्वरका आत्मा देह बन्नुहुन्छ अर्थात् परमेश्वर देह बन्नुहुन्छ भन्ने हो; देहले गर्ने काम आत्माको काम हो, जुन देहमा प्रकट हुन्छ, देहद्वारा व्यक्त हुन्छ। परमेश्वरको देहले बाहेक अरू कसैले पनि देहधारी परमेश्वरको सेवकाइलाई पूरा गर्न सक्दैन; अर्थात्, देहधारी परमेश्वरको शरीर, यस सामान्य मानवताले मात्रै—अरू कसैले होइन—ईश्वरीय कार्यलाई व्यक्त गर्न सक्छ। यदि, उहाँको पहिलो आगमनको अवधिमा, उनन्तीस वर्षको उमेरभन्दा पहिले परमेश्वरसँग सामान्य मानवता नभएको भए—यदि उहाँ जन्मनेबित्तिकै उहाँले आश्चर्यकर्महरू गर्न सक्नुभएको भए, उहाँले बोल्न सिक्नेबित्तिकै उहाँले स्वर्गको भाषा बोल्न सक्नुभएको भए, यदि उहाँले पृथ्वीमा पाइला टेक्नुभएकै क्षणमा सारा सांसारिक कुराहरूलाई बुझ्न, हरेक व्यक्तिका विचार र अभिप्रायहरूलाई जान्न सक्नुभएको भए—त्यस्तो व्यक्तिलाई सामान्य मानिस भनेर भन्न सकिँदैन थियो र त्यस्तो देहलाई मानव देह भनेर भन्न सकिँदैन थियो। यदि ख्रीष्टको अवस्था यस्तो भएको भए, परमेश्वरको देहधारणको अर्थ र सार हराउने थियो। उहाँमा सामान्य मानवता छ भन्ने कुराले उहाँ शरीरमा देहधारी हुनुभएका परमेश्वर हुनुहुन्छ भन्ने प्रमाणित गर्छ; उहाँले सामान्य मानवको वृद्धि हुने प्रक्रिया भएर जानुहुन्छ भन्ने तथ्यले उहाँ सामान्य देह हुनुहुन्छ भन्ने कुरालाई थप प्रदर्शन गर्छ; यसका साथै, उहाँ परमेश्वरको वचन, परमेश्वरका आत्मा नै देह हुनुभएको हो भन्ने प्रमाणित गर्न उहाँको काम नै पर्याप्त छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार
देहधारी परमेश्वरलाई ख्रीष्ट भनिन्छ, र ख्रीष्ट परमेश्वरका आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्नताको कारण के हो भने ख्रीष्ट दैहिक हुनुहुन्न, बरुआत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्वरत्व दुवै छ। उहाँको ईश्वरत्व कुनै पनि मानिसमा छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरूलाई कायम राख्छ, र उहाँको ईश्वरत्वले परमेश्वर स्वयम्को कार्य सम्पादन गर्दछ। चाहे यो उहाँको मानवता होस् वा ईश्वरत्व होस्, यी दुवै नै स्वर्गमा बस्नुहुने पिताको इच्छामा समर्पित हुन्छन्। ख्रीष्टको सार भनेको आत्मा नै हो, जुन ईश्वरत्व हो। त्यसकारण, परमेश्वर स्वयम्को सार नै उहाँको सार हो; यो सारले उहाँको आफ्नै कार्यमा अवरोध गर्दैन, र उहाँको आफ्नै कामलाई नष्ट गर्ने कुनै पनि कार्य उहाँले गर्न सक्नुहुन्न, न त उहाँको आफ्नै इच्छाविरुद्ध जाने कुनै पनि वचन नै उहाँले कहिल्यै बोल्नुहुन्छ। त्यसकारण, देहधारी परमेश्वरले उहाँको आफ्नै व्यवस्थापनलाई अवरोध गर्ने कुनै पनि काम कहिल्यै गर्नुहुन्न। सबै मानिसहरूले यही कुरालाई बुझ्नुपर्छ। पवित्र आत्माको कार्यको सार भनेको मानिसलाई मुक्ति दिनु हो, र यो परमेश्वरको आफ्नै व्यवस्थापनको लागि हो। त्यसै गरी, ख्रीष्टको कार्य पनि मानिसलाई मुक्ति दिनु नै हो, र यो परमेश्वरको इच्छाकै खातिर हो। परमेश्वर देहधारी हुनुहुने हुँदा, उहाँले आफ्नो काम गर्नको लागि उहाँको देह पर्याप्त हुने गरी उहाँको सारलाई उहाँको देहभित्र साकार पार्नुहुन्छ। त्यसकारण, देहधारणको समय अवधिमा ख्रीष्टको कार्यले परमेश्वरका आत्माका सबै कार्यलाई प्रतिस्थापन गर्छ, र देहधारणको समयभरि गरिने सबै कार्यको केन्द्रबिन्दु ख्रीष्टको कार्य हुन्छ। यो अन्य कुनै पनि युगको कार्यसँग मिसिन सक्दैन। अनि, परमेश्वर देहधारी हुनुहुने हुँदा उहाँले आफ्नो देहको पहिचानमा कार्य गर्नुहुन्छ; उहाँ देहमा आउनुहुने भएकोले, आफूले गर्नुपर्ने कार्यलाई उहाँले देहमा नै पूरा गर्नुहुन्छ। परमेश्वरका आत्मा हुन् वा ख्रीष्ट हुन्, दुवै नै परमेश्वर स्वयम् हुनुहुन्छ, र उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ र आफूले वहन गर्नुपर्ने सेवकाइ वहन गर्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्टको सार हो
परमेश्वरको देहधारणको तात्पर्य भनेको परमेश्वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्वर उहाँको सारमा नै देह बन्नुहुन्छ, मानिस बन्नुहुन्छ भन्ने हो। उहाँको देहधारी जीवन र कामलाई दुई चरणमा विभाजित गर्न सकिन्छ। पहिलो उहाँले आफ्नो सेवकाइ गर्नुभन्दा पहिले जिउने जीवन हो। उहाँ सामान्य मानव आवश्यकताहरू (गाँस, बास, कपास, आराम), सामान्य मानव कमजोरीहरू र सामान्य मानव भावनाहरूसहित, मानव जीवनका सामान्य नैतिकताहरू र नियमहरूको पालन गर्दै, अत्यन्तै सामान्य मानवतामा साधारण मानव परिवारमा जिउनुहुन्छ। अर्को शब्दमा भन्दा, यो पहिलो चरणको अवधिमा उहाँ सबै सामान्य मानव क्रियाकलापहरूमा संलग्न हुँदै, गैर-ईश्वरीय, पूर्ण रूपमा सामान्य मानवतामा जिउनुहुन्छ। दोस्रो चरण भनेको उहाँले आफ्नो सेवकाइ सुरु गर्नुभएपछि उहाँले जिउनुभएको जीवन हो। अलौकिकताको कुनै बाहिरी चिन्ह नदेखाइकन, उहाँ अझै पनि सामान्य मानव भेषसहितको यस सामान्य मानवतामा बास गर्नुहुन्छ। तैपनि उहाँ पूर्ण रूपमा आफ्नो सेवकाइको खातिर जिउनुहुन्छ र यो समय अवधिमा उहाँको ईश्वरीयताको सामान्य कार्यलाई कायम राख्नको लागि नै उहाँको सामान्य मानवता पूर्ण रूपमा अस्तित्वमा रहन्छ, किनभने त्यस बेलासम्म उहाँको सामान्य मानवता उहाँको सेवकाइ गर्न सक्ने बिन्दुसम्म परिपक्व भइसकेको हुन्छ। त्यसैले, उहाँको जीवनको दोस्रो चरण भनेको उहाँको सामान्य मानवतामा उहाँको सेवकाइलाई प्रस्तुत गर्नु हो, जुन बेला यो सामान्य मानवता र पूर्ण ईश्वरीयता दुवैको जीवन हुन्छ। उहाँको जीवनको पहिलो चरणको अवधिमा, उहाँले पूर्ण रूपमा सामान्य मानवताको जीवन जिउनुको कारण के हो भने, उहाँको मानवता ईश्वरीय कार्यको पूर्णतालाई कायम राख्न अझै सक्षम भएको हुँदैन, परिपक्व भएको हुँदैन; उहाँको मानवता वृद्धि भएर परिपक्व भएपछि, आफ्नो सेवकाइको भार उठाउन सक्ने भएपछि मात्रै, उहाँ आफूले गर्नुपर्ने सेवकाइ गर्न तयार बन्न सक्नुहुन्छ। देहको रूपमा, उहाँ वृद्धि हुन र परिपक्व हुन आवश्यक हुने भएकोले, उहाँको जीवनको पहिलो चरण सामान्य मानवताको जीवन हो—जबकि दोस्रो चरणमा, उहाँको मानवता उहाँको काम गर्न र उहाँको सेवकाइलाई प्रदर्शन गर्न सक्षम भइसकेको हुनाले, उहाँको सेवकाइको अवधिमा देहधारी परमेश्वरले जिउनुहुने जीवन मानवता र पूर्ण ईश्वरीयता दुवैको जीवन हो। उहाँको जन्म भएको क्षणदेखि नै देहधारी परमेश्वरले अलौकिक चिन्ह र आश्चर्यकर्महरू गर्दै आफ्नो सेवकाइलाई तत्परताको साथ सुरु गर्नुभएको भए, उहाँमा कुनै भौतिक सार हुने थिएन। त्यसकारण, उहाँको मानवता उहाँको भौतिक सारको खातिर अस्तित्वमा छ; मानवताविना कुनै देह हुन सक्दैन र मानवताविनाको व्यक्ति मानव होइन। यसरी, परमेश्वरको देहको मानवता परमेश्वरको देहधारी शरीरको अन्तर्निहित गुण हो। “जब परमेश्वर देह बन्नुहुन्छ उहाँ पूर्ण रूपमा ईश्वरीय हुनुहुन्छ र उहाँमा मानवता पटक्कै छैन” भनी भन्नु भनेको ईश्वरनिन्दा हो, किनभने यो अभिव्यक्ति यथार्थ हुँदै होइन र यसले देहधारणको सिद्धान्तलाई उल्लङ्घन गर्छ। उहाँले आफ्नो सेवकाइ गर्न सुरु गर्नुभएपछि पनि, आफ्नो काम गर्ने क्रममा उहाँ बाहिरी मानवताको भेषसहित आफ्नो ईश्वरीयतामा जिउनुहुन्छ; यस समयमा मात्रै, उहाँको मानवताले उहाँको ईश्वरीयतालाई सामान्य देहमा काम गर्न दिने एउटै उद्देश्यलाई पूरा गर्छ। त्यसैले कामको कर्ता उहाँको मानवतामा बास गर्ने ईश्वरीयता हो। उहाँको मानवता होइन, उहाँको ईश्वरीयता काममा छ, तैपनि यो ईश्वरीयता उहाँको मानवताभित्र लुकेको हुन्छ; सारमा, उहाँको मानवताद्वारा होइन, उहाँको पूर्ण ईश्वरीयताद्वारा नै उहाँको कार्य गरिन्छ। तर काम गर्ने उहाँकै देह हो। उहाँ मानिस हुनुहुन्छ र परमेश्वर पनि हुनुहुन्छ भनेर भन्न सकिन्छ, किनभने परमेश्वर मानव भेष र मानव सार तर परमेश्वरको सारसहितको देहमा जिउनुहुने परमेश्वर बन्नुहुन्छ। उहाँ परमेश्वरको सारसहितको मानिस हुनुभएकोले, उहाँ सृष्टि गरिएका सारा मानिसहरूभन्दा माथि, परमेश्वरको काम गर्न सक्ने कुनै पनि मानिसभन्दा माथि हुनुहुन्छ। अनि त्यसैले, उहाँको जस्तो मानव भेषसहितका सबैमध्ये, मानवतासहितका सबैमध्ये, उहाँ मात्रै देहधारी परमेश्वर स्वयम् हुनुहुन्छ—अरू सबै सृष्टि गरिएका मानव हुन्। तिनीहरू सबैमा मानवता भए तापनि, सृष्टि गरिएका मानवमा मानवताबाहेक केही पनि हुँदैन, जबकि देहधारी परमेश्वर फरक हुनुहुन्छ: उहाँको देहमा उहाँमा मानवता मात्रै होइन तर अझै महत्त्वपूर्ण कुरा, उहाँमा ईश्वरीयता छ। उहाँको देहको बाहिरी रूपमा र उहाँको दैनिक जीवनमा उहाँको मानवतालाई देख्न सकिन्छ तर उहाँको ईश्वरीयतालाई देख्न गाह्रो छ। उहाँमा मानवता भएको बेला मात्रै उहाँको ईश्वरीयतालाई व्यक्त गरिने हुँदा र मानिसहरूले यसलाई कल्पना गरे जत्तिको यो अलौकिक नभएको हुँदा, मानिसहरूले यसलाई देख्न निकै कठिन हुन्छ। आज पनि, देहधारी परमेश्वरको साँचो सारलाई बुझ्न मानिसहरूलाई अत्यन्तै कठिन भएको छ। यसबारे यति लामो मैले बोलिसकेपछि पनि, तिमीहरूमध्ये धेरैको लागि यो अझै पनि रहस्य नै छ भन्ने म अपेक्षा गर्छु। वास्तवमा, यो विषय अत्यन्तै सरल छ: परमेश्वर देह बन्नुहुने भएकोले, उहाँको सार मानवता र ईश्वरीयताको संयोजन हो। यस संयोजनलाई परमेश्वर स्वयम्, पृथ्वीमा परमेश्वर स्वयम् हो भनी भनिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार
येशूले काम गर्नुभन्दा पहिले, उहाँ केवल आफ्नो सामान्य मानवतामा जिउनुभयो। उहाँ परमेश्वर हुनुहुन्थ्यो भनेर कसैले भन्न सकेन, उहाँ देहधारी परमेश्वर हुनुहुन्छ भनेर कसैले पत्ता लगाएन; उहाँ पूर्ण रूपमा साधारण मानिस हुनुहुन्छ भन्ने मात्रै मानिसहरूलाई थाहा थियो। उहाँको पूर्ण सामान्य, साधारण मानवता नै परमेश्वर शरीरमा देहधारी हुनुभएको थियो र अनुग्रहको युग देहधारी परमेश्वरको कामको युग थियो, आत्माको कामको युग थिएन भन्ने कुराको प्रमाण थियो। यो परमेश्वरका आत्मा पूर्ण रूपमा देहमा प्रकट हुनुभयो, परमेश्वरको देहधारणको युगमा उहाँको देहले आत्माका सबै कार्य गर्नेथियो भन्ने कुराको प्रमाण थियो। सामान्य मानवतासहितका ख्रीष्ट त्यो देह हो जसमा आत्मा साकार हुनुभयो, र जसमा सामान्य मानवता, सामान्य समझ र मानव विचार छ। “साकार हुनु” भनेको परमेश्वर मानिस बन्नु, आत्मा देह बन्नु हो; यसलाई अझै सरल रूपमा भन्दा, यो सामान्य मानवतासहितको देहमा परमेश्वर स्वयम् वास गर्नु हो र यसद्वारा उहाँले आफ्नो ईश्वरीय कामलाई व्यक्त गर्नुहुन्छ—साकार हुनु वा देहधारी हुनुको अर्थ यही नै हो। उहाँको पहिलो देहधारणको अवधिमा, परमेश्वरले बिरामीलाई चङ्गाइ गर्नु र भूतात्माहरूलाई धपाउनु अत्यावश्यक थियो, किनभने उहाँको काम उद्धार गर्नु थियो। सारा मानवजातिलाई उद्धार गर्नको लागि, उहाँ करुणामय र क्षमाशील बन्नु आवश्यक थियो। उहाँलाई क्रूसमा मारिनुभन्दा पहिले उहाँले गर्नुभएको काम बिरामीलाई चङ्गाइ गर्नु र भूतात्माहरूलाई निकाल्नु थियो, जुन मानिसलाई पाप र भ्रष्टताबाट गरिने मुक्तिको पूर्वाभास थियो। यो अनुग्रहको युग भएकोले उहाँले बिरामीलाई निको पार्नु आवश्यक थियो, त्यसद्वारा चिन्हहरू र आश्चर्यका कामहरू देखाउनुभयो, जुन त्यस युगको अनुग्रहको प्रतिनिधि थिए—किनभने अनुग्रहको युग अनुग्रह दिनुसँग सम्बन्धित थियो, जुन शान्ति, आनन्द र भौतिक आशिषहरू अर्थात् येशूमाथि मानिसहरूको विश्वासका निशानीहरूको प्रतीक थियो। भन्नुको अर्थ, बिरामीलाई चङ्गाइ गर्ने, भूतात्माहरूलाई निकाल्ने र अनुग्रह प्रदान गर्ने काम अनुग्रहको युगमा येशूको देहमा जन्मजातै पाउनुभएका क्षमताहरू थिए, ती देहमा प्रकट भएका आत्माको काम थिए। तर जबकि उहाँले त्यस्तो काम गरिरहनुभएको बेलामा, उहाँ देहमा जिइरहनुभएको थियो, र त्यसले देहलाई नाघेन। उहाँले जस्तोसुकै प्रकारको चङ्गाइ गर्नुभए तापनि, उहाँमा सामान्य मानवता नै थियो, उहाँले सामान्य मानव जीवन नै जिउनुभयो। परमेश्वरको देहधारणको युगको अवधिमा देहले आत्माको सबै काम गऱ्यो भनेर मैले भन्नुको कारण के हो भने, उहाँले जे काम गर्नुभए तापनि, उहाँले यो देहमा नै गर्नुभयो। तर उहाँको कामको कारणले गर्दा, मानिसहरूले उहाँको देहलाई पूर्ण रूपमा भौतिक सार भएको देहको रूपमा ठानेनन्, किनभने यो देहले अचम्मका कामहरू गर्न सक्थ्यो र विशेष क्षणहरूमा देहको क्षमताबाहिरका कुराहरू गर्न सक्थ्यो। अवश्य नै, यी सबै घटनाहरू उहाँले आफ्नो सेवकाइलाई सुरु गर्नुभन्दा पहिले नै घटे, जस्तै उहाँलाई चालीस दिनसम्म प्रलोभनमा पारिनु वा पर्वतमा उहाँको रूप परिवर्तन हुनु। त्यसकारण येशूमा, परमेश्वरको देहधारणको अर्थ पूर्ण भएन तर यो आंशिक रूपमा मात्रै पूरा भयो। आफ्नो काम सुरु गर्नुभन्दा पहिले उहाँले देहमा जिउनुभएको जीवन सबै पक्षहरूमा अत्यन्तै सामान्य थियो। उहाँले काम सुरु गर्नुभएपछि आफ्नो देहको बाहिरी भेष मात्रै कायम राख्नुभयो। उहाँको काम ईश्वरीयताको अभिव्यक्ति थियो, त्यसकारण यसले देहका सामान्य कार्यहरूलाई नाघ्यो। आखिर, परमेश्वरको देहधारी शरीर मासु र रगतको मानवभन्दा फरक थियो। अवश्य नै, उहाँको दैनिक जीवनमा, उहाँलाई खाना, वस्त्र, निद्रा र बासको आवश्यकता पऱ्यो, उहाँलाई सबै सामान्य आवश्यकताहरूको खाँचो भयो र उहाँमा सामान्य मानवको जस्तै चेतना थियो र उहाँले सामान्य मानवले जस्तै सोच्नुभयो। मानिसहरूले उहाँलाई सामान्य मानिसको रूपमा नै लिन्थे, उहाँले गर्ने काम मात्र अलौकिक थियो। वास्तवमा, उहाँले जे गर्नुभए तापनि, उहाँ सामान्य र साधारण मानवतामा जिउनुभयो, र काम गर्ने क्रममा, उहाँको चेतना निश्चित रूपमा सामान्य हुन्थ्यो, उहाँका विचारहरू निश्चित रूपमा अरू कुनै पनि सामान्य मानिसको भन्दा स्पष्ट हुन्थे। देहधारी परमेश्वरमा त्यस्तो सोचाइ र चेतना हुनु अत्यावश्यक थियो, किनभने ईश्वरीय कार्यलाई त्यस देहद्वारा व्यक्त गरिनु आवश्यक थियो जसको चेतना अत्यन्तै सामान्य हुन्थे र जसका विचारहरू अत्यन्तै स्पष्ट हुन्थे—यसरी मात्रै उहाँको देहले ईश्वरीय कामलाई व्यक्त गर्न सक्थ्यो। येशूले पृथ्वीमा बिताउनुभएको साढे तेत्तीस वर्षको अवधिभरि आफ्नो सामान्य मानवतालाई कायम राख्नुभयो तर साढे तीन वर्षको उहाँको सेवकाइको अवधिमा उहाँले गर्नुभएको कामको कारण, उहाँ अत्यन्तै सर्वोच्च हुनुहुन्छ, उहाँ पहिलेभन्दा अत्यन्तै अलौकिक हुनुहुन्छ भन्ने मानिसहरूले ठाने। वास्तवमा, येशूको सामान्य मानवता उहाँले आफ्नो सेवकाइ सुरु गर्नुभन्दा पहिले र पछि अपरिवर्तित नै रह्यो; यो अवधिमा उहाँको मानवता उस्तै रह्यो तर उहाँको सेवकाइभन्दा पहिले र पछिको भिन्नताको कारणले गर्दा, उहाँको देहको विषयमा दुईवटा फरक विचारहरू प्रकट भए। मानिसहरूले जे विचार गरे तापनि, देहधारी परमेश्वरले आफ्नो मूल, सामान्य मानवतालाई सम्पूर्ण समय नै कायम राख्नुभयो, किनभने परमेश्वर देहधारी हुनुभएको हुनाले, उहाँ देह, सामान्य मानवता भएको देहमा जिउनुभयो। चाहे उहाँले आफ्नो सेवकाइ गरिरहेका होऊन् वा नहोऊन्, उहाँको देहको सामान्य मानवतालाई हटाउन सकिएन, किनभने देहको आधारभूत सार मानवता नै हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार
देहधारी हुनुभएका परमेश्वरलाई ख्रीष्ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्नुहुने ख्रीष्टलाई परमेश्वर भनिन्छ। यसमा केही पनि अत्योक्ति छैन, किनभने उहाँमा परमेश्वरको सार र परमेश्वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्ट भन्ने, तर परमेश्वरको काम गर्न नसक्नेहरू ठगहरू हुन्। ख्रीष्ट पृथ्वीमा परमेश्वरको प्रकटीकरण मात्रै हुनुहुन्न, उहाँ त मानिसको माझमा आफ्नो काम गर्ने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्ने देह होइन, बरु यो त पृथ्वीमा परमेश्वरको कामलाई पर्याप्त रूपमा वहन गर्न सक्ने, र परमेश्वरको स्वभावलाई व्यक्त गर्न सक्ने, अनि परमेश्वरलाई राम्ररी प्रतिनिधित्व गर्न सक्ने, र मानिसलाई जीवन दिन सक्ने देह हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्नुहुन्छ
जो देहधारी परमेश्वर हुनुहुन्छ, उहाँमा परमेश्वरको सार हुनेछ, र जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँमा परमेश्वरको अभिव्यक्ति हुनेछ। परमेश्वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कार्यलाई ल्याउनुहुनेछ, र परमेश्वर देह बन्नुहुने हुनाले, उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन दिन, र उसका लागि बाटो देखाउन सक्नुहुनेछ। परमेश्वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र वचनहरूबाट निर्धारित गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्वरको देहधारी शरीर हो कि होइन, वा यो साँचो बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्वरको शरीर हो कि होइन भनी पहिचान गर्दा, मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा निहित हुन्छ (उहाँको काम, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अज्ञानी छ भन्ने देखाउँछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
हामीहरू परमेश्वरका पाइलाहरूलाई खोजिरहेका भएकाले, हामीले परमेश्वरका अभिप्राय, परमेश्वरको वचन, उहाँको वाणी खोज्नुपर्छ—किनकि जहाँ परमेश्वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्वरको आवाज हुन्छ, र जहाँ परमेश्वरका पाइलाहरू हुन्छन्, त्यहाँ परमेश्वरका कार्यहरू हुन्छन्। जहाँ-जहाँ परमेश्वरको अभिव्यक्ति हुन्छ, त्यहाँ-त्यहाँ परमेश्वर देखा पर्नुहुन्छ, र परमेश्वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छन्। परमेश्वरका पाइलाहरू खोज्दा, तिमीहरूले “परमेश्वर सत्यता, मार्ग र जीवन हुनुहुन्छ” भन्ने वचनहरू लाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्यता ग्रहण गर्दा पनि, तिनीहरूले परमेश्वरका पाइलाहरू भेट्टाएका छन् भनी विश्वास गर्दैनन्, र तिनीहरूले परमेश्वर देखा पर्नुभएको कुरालाई स्वीकार गर्नु त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्वर देखा पर्नुहुने कुरा मानिसको धारणाहरूसँग मेल खान सक्दैन, परमेश्वर मानिसको आग्रहमा देखा पर्नुहुन्छ भन्ने कुरा त परै जाओस्। परमेश्वरले आफ्नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू गर्नुहुन्छ र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँ जुनसुकै काम गर्नुभए पनि, उहाँले यसका बारेमा मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, प्रत्येक र हरेक व्यक्तिलाई उहाँको कामको बारेमा सूचित गर्ने कुरा त परै जाओस्। यो परमेश्वरको स्वभाव हो, जसलाई अझ भन्ने हो भने सबैले पहिचान गर्नुपर्छ। यदि तिमीहरू परमेश्वर देखा पर्नुहुने घटनालाई देख्न, परमेश्वरका पाइलाहरूलाई पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्नो धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्वरलाई यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले तिमीहरूका सीमामा राख्न र तिमीहरूका धारणाहरूमा उहाँलाई सीमित गर्न हुने कुरा त परै जाओस्। त्यसको सट्टा, तिमीहरूले परमेश्वरका पाइलाहरूलाई कसरी खोज्नुपर्छ, कसरी परमेश्वर देखा पर्नुहुने कुरालाई स्वीकार्नुपर्छ, र कसरी परमेश्वरको नयाँ काममा समर्पण गर्नुपर्छ आफूले आफैलाई सोध्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र समर्पित हुनुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ
यही समयतिर, परमेश्वर आत्मिक शरीरमा होइन तर अति साधारण शरीरमा काम गर्नको लागि आउनुहुन्छ। त्यसबाहेक यो, परमेश्वरको दोस्रो देहधारणको शरीर मात्र होइन, यो त्यो शरीर पनि हो जसबाट परमेश्वर देहमा फर्किनुहुन्छ। यो अति साधारण देह हो। तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यताहरू पाउन सक्छस्। यी नगण्य देहले परमेश्वरबाट सत्यताका सबै वचनलाई मूर्तरूप दिनुहुन्छ, आखिरी दिनहरूमा परमेश्वरका कामको जिम्मा लिनुहुन्छ र मानिसको लागि बुझ्नको लागि परमेश्वरको स्वभावको सम्पूर्णता व्यक्त गर्नुहुन्छ। के तँ स्वर्गमा हुनुहुने परमेश्वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्य बताउनुहुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले तँलाई बताउन सकेको छैन, र उहाँले तँलाई सत्यताहरू पनि बताउनुहुनेछ जुन सत्यता तैँले बुझ्दैनस्। उहाँ राज्यमा तेरो प्रवेशद्वार र नयाँ युगमा तेरो पथप्रदर्शक हुनुहुन्छ। यस्तो साधारण देहले बुझ्न नसकिने धेरै रहस्यहरू धारण गर्छ। उहाँका कार्यहरू तँलाई दुर्बोध लाग्न सक्छ, तर उहाँले गर्नुभएका कामको सम्पूर्ण लक्ष्य उहाँ मानिसहरूले विश्वास गरेजस्तो साधारण देह हुनुहुन्न भनेर तँलाई देख्न लगाउनु पर्याप्त छ। किनकि उहाँले परमेश्वरका अभिप्राय र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्वरले देखाउनुहुने हेरविचारको प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरूले स्वर्ग र पृथ्वी हल्लाएको झैँ सुन्न नसके पनि, तैँले उहाँका आँखाहरू बलिरहेका ज्वालाहरू जस्ता देख्न नसके पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन प्राप्त गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट सुन्न सक्छस् कि परमेश्वर क्रोधी हुनुहुन्छ र थाहा पाउन सक्छस् कि परमेश्वरले मानवजातिको लागि करुणा देखाइरहनुभएको छ; तैँले परमेश्वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस् र अझ, सबै मानवजातिको लागि परमेश्वरको व्यग्रता बुझ्न सक्छस्। आखिरी दिनहरूमा परमेश्वरको काम मानिसलाई पृथ्वीका मानिसहरूमाझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्वरलाई हेर्न दिनु र परमेश्वरलाई जान्न, उहाँप्रति समर्पित हुन, उहाँको डर मान्न र उहाँलाई प्रेम गर्न सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। …
…………
आखिरी दिनहरूमा परमेश्वरका सबै काम यही साधारण मानिसद्वारा गरिन्छ। उहाँले सबै कुरा तँलाई प्रदान गर्नुहुनेछ, र त्योभन्दा बढी, तँसँग सम्बन्धित सबै कुराको निर्णय गर्न उहाँ सक्षम हुनुहुनेछ। के यस्ता व्यक्ति तिमीहरूले विश्वास गरे जस्तो उल्लेख गर्न नै अयोग्य हुने गरी साधारण हुन सक्छ? के उहाँको सत्यता तिमीहरूलाई पूर्णरूपमा विश्वस्त तुल्याउन पर्याप्त छैन? के उहाँका कामको साक्षी तिमीहरूलाई पूर्णरूपमा विश्वस्त तुल्याउन पर्याप्त छैन? अथवा के उहाँले तिमीहरूलाई ल्याउनुहुने त्यो बाटो तिमीहरूको लागि हिँड्न योग्य छैन? जब सबै कुरा भनिन्छ र गरिन्छ, तब कुन कुराले तिमीहरूलाई उहाँप्रति घृणा गर्न र उहाँलाई टाढा फाल्न र पर-परै गर्न लगाउँछ? यी नै मानिस हुनुहुन्छ जसले सत्य अभिव्यक्त गर्नुहुन्छ, यी नै मानिस हुनुहुन्छ जसले सत्यता प्रदान गर्नुहुन्छ र यी नै मानिस हुनुहुन्छ जसले तिमीहरूलाई पछ्याउने मार्ग दिनुहुन्छ। के तिमीहरू यी सत्यताभित्र परमेश्वरको कामका चिन्हहरू भेट्न अझसम्म असक्षम भएको हुन सक्छ? येशूको कामविना मानवजाति क्रूसबाट ओर्लन सक्ने थिएनन्, तर आजको देहधारणबिना, क्रूसबाट ओर्लिएकाहरूले कहिल्यै परमेश्वरको अनुमोदन प्राप्त गर्न वा नयाँ युगमा प्रवेश गर्न सक्नेथिएनन्। यी साधारण मानिसको आगमनविना तिमीहरूले परमेश्वरको सही रूप देख्ने अवसर कहिल्यै पाउनेथिएनौ, न त तिमीहरू त्यसको योग्य नै हुनेथियौ, किनकि तिमीहरू सबै धेरै पहिले नष्ट गरिसक्नुपर्ने पात्र हौ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ
आखिरी दिनहरूका ख्रीष्टले जीवन ल्याउनुहुन्छ, अनि सत्यताको चिरस्थायी र अनन्त बाटो ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्वरलाई चिन्नेछ र परमेश्वरद्वारा ऊ अनुमोदित हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्टले प्रदान गर्नुहुने जीवनको बाटो खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृति प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियम र वचनहरूको नियन्त्रण र इतिहासको बन्धनमा हुनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्नेछैनन् न त तिनीहरूले जीवनको अनन्त बाटो नै पाउन सक्नेछन्। यस्तो किन हुन्छ भने तिनीहरूसँग सिंहासनबाट बग्ने जीवनको पानी नभई धमिलो पानी मात्रै छ, जसमा हजारौँ वर्षदेखि टाँसिएका छन्। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लास, शैतानको खेलौना, र नरकको पुत्र भएर रहनेछन्। अनि, कसरी तिनीहरूले परमेश्वरलाई देख्न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्ने प्रयास गर्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्ने मात्रै प्रयास गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्ने प्रयास गर्दैनस् भने, के तँ सधैँ परमेश्वरको विरुद्धमा हुनेछैनस् र? परमेश्वरको कार्यका चरणहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै विशाल र शक्तिशाली छन्—तैपनि तँ आफ्नो मूर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यस तरिकाले, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकका वचनहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छन्? तिनले कसरी तँलाई परमेश्वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि, तिनले कसरी तँलाई स्वर्ग लैजान सक्छन्? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने वचनहरू मात्र हुन्, जीवन दिन सक्ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्त्रका वचनहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन् तर ती मानव जीवनको बारेमा जान्न तँलाई सहयोग गर्न सक्ने दर्शनशास्त्रका शब्दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई समीक्षा गर्ने ध्येय दिँदैन र? के यसले तँलाई आफैभित्र रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा सुम्पन सक्छस्? परमेश्वरको आगमनविना, के तँ परमेश्वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्न छोड्, अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ जाँचेर हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्नुहुन्छ
सम्बन्धित चलचित्र उद्धरणहरू
परमेश्वरको देहधारणको रहस्य
सम्बन्धित अनुभवात्मक गवाहीहरू
मैले परमेश्वरको आवाज सुनेको छु
सम्बन्धित प्रवचनहरू
देहधारण भनेको के हो?
सम्बन्धित भजनहरू
देहधारी परमेश्वर मानवीय र ईश्वरीय दुवै हुनुहुन्छ
ख्रीष्टको सार परमेश्वर हुनुहुन्छ
राज्यमा मानिस प्रवेश गर्ने ढोका आखिरी दिनहरूको ख्रीष्ट हुनुहुन्छ
परमेश्वरका पाइलाहरूको कसरी खोजी गर्ने