१. मानवजातिलाई मुक्ति दिनको निम्ति परमेश्वरका तीन चरणहरूका काम सम्बन्धी वचनहरू
१. मेरो सम्पूर्ण व्यवस्थापन योजना, छ-हजार-वर्षे व्यवस्थापन योजनामा तीन चरणहरू वा तीन युगहरू समावेश छन्: सुरुवातको व्यवस्थाको युग; अनुग्रहको युग (जुन छुटकाराको युग पनि हो); र आखिरी दिनहरूको राज्यको युग। यी तीन युगहरूमा मेरो काम हरेक युगअनुसार विषयवस्तुमा भिन्न छ, तर प्रत्येक चरणमा यो काम मानिसका आवश्यकताहरूअनुसार गरिन्छ—वा अझै सटिक रूपमा भन्दा, मैले शैतानविरुद्ध छेडेको युद्धमा शैतानले चाल्ने युक्तिहरूअनुसार यो गरिन्छ। उद्देश्य भनेको शैतानलाई पराजित गर्नु, मेरो बुद्धि र सर्वशक्तिमान्ता प्रकट गर्नु, शैतानका सबै युक्तिहरू खुलासा गर्नु, र त्यसमार्फत शैतानको सत्ताअन्तर्गत जिउने सम्पूर्ण मानवजातिलाई मुक्ति दिनु हो। यो मेरो बुद्धि र सर्वशक्तिमान्ता देखाउन र शैतानको असहनीय कुरूपता प्रकाश गर्नका लागि हो; अनि त्यो भन्दा पनि अझै बढी, यो सृजित प्राणीहरूलाई असल र दुष्टबीचको भेद छुट्ट्याउने, म नै सबै थोकको सार्वभौम हुँ भनी जान्ने, शैतान मानवजातिको शत्रु हो, पतित, दुष्ट हो भनी स्पष्टसित देख्ने तुल्याउनका लागि हो, र तिनीहरूलाई असल र दुष्ट, सत्यता र झूट, पवित्रता र फोहोर, र महान् र नीचबीचको भिन्नतालाई पूर्ण निश्चितताका साथ चिन्ने तुल्याउनका लागि हो। यसरी, मानवजातिलाई भ्रष्ट तुल्याउने मैले होइन, र केवल मैले—सृष्टिकर्ताले—मानवजातिलाई मुक्ति दिन सक्छु, मानिसहरूलाई उनीहरूले आनन्द उठाउने कुराहरू दिन सक्छु भनेर अज्ञानी मानवजाति मेरो गवाही दिन सक्षम हुनेछ; अनि तिनीहरूले जान्न पुग्नेछन् कि म नै यावत् थोकको सार्वभौम हुँ र शैतान केवल ती प्राणीहरूमध्येको एक हो जसलाई मैले सृजना गरेँ र जसले पछि मलाई धोका दियो। मेरो छ-हजार-वर्षे व्यवस्थापन योजना तीन चरणहरूमा विभाजित छ, र सृजित प्राणीहरूलाई मेरो गवाही दिन, मेरा अभिप्राय बुझ्न, र म नै सत्य हुँ भनी जान्न सक्षम तुल्याउने प्रभाव हासिल गर्नका निम्ति म यसरी काम गर्छु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। छुटकाराको युगको कामको वास्तविक कथा
२. मानवजातिलाई व्यवस्थापन गर्ने कामलाई तीन चरणमा विभाजन गरिएको छ, अर्थात् मानवजातिलाई मुक्ति दिइने कामलाई तीन चरणहरूमा विभाजन गरिएको छ। यी तीन चरणहरूमा संसारलाई सृष्टि गर्ने काम पर्दैन, तर व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग कामका तीन चरणहरू हुन्। संसारलाई सृष्टि गर्ने काम सारा मानवजातिलाई पैदा गर्ने काम थियो। यो मानिसलाई मुक्ति दिने काम थिएन, मानवजातिलाई मुक्ति दिने कामसँग यसको कुनै सरोकार छैन, किनभने संसार सृष्टि गर्दा मानवजाति शैतानद्वारा भ्रष्ट पारिएका थिएनन्, त्यसैले मानवजातिको मुक्तिको काम गर्नु आवश्यक थिएन। जब मानवजाति शैतानद्वारा भ्रष्ट भयो तब मात्र मानवजातिलाई मुक्ति दिने कार्य सुरु भयो, त्यसैले मानवजाति भ्रष्ट भएपछि मात्र मानवजातिको व्यवस्थापनको कार्य सुरुवात भयो। अर्को शब्दमा, परमेश्वरको मानव व्यवस्थापन मानवजातिलाई मुक्ति दिने कामको परिणामस्वरूप प्रारम्भ भयो र यो संसारलाई सृष्टि गर्ने कामबाट उदय भएन। मानवजातिमा भ्रष्ट स्वभाव उत्पन्न भएपछि मात्र व्यवस्थापनको काम अस्तित्वमा आयो, त्यसैले मानवजातिलाई व्यवस्थापन गर्ने कार्यमा चार चरणहरू वा चार युगहरूभन्दा पनि तीन भागहरू पर्छन्। परमेश्वरले मानवजातिको व्यवस्थापन गर्ने कार्यलाई जनाउने उपयुक्त तरिका यही मात्र हो। जब अन्तिम युगको अन्त आउँछ, तब मानवजातिको व्यवस्थापन कार्यको पूर्ण अन्त आएको हुनेछ। व्यवस्थापन कामको समाप्तिको अर्थ सबै मानवजातिलाई मुक्ति दिने काम पूर्ण रूपमा सक्किनु, र मानवजातिको निम्ति यो अवधि त्यसबेला देखि पूरा भइसकेको हुनेछ भन्ने हो। सारा मानवजातिलाई मुक्ति दिने कार्यविना मानवजातिको व्यवस्थापनको कार्य अस्तित्वमा रहने थिएन, न त कार्यका तीन चरणहरू नै हुनेथिए। यो त मानवजातिको भ्रष्टताकै कारणले थियो र मानवजाति मुक्तिको तत्काल आवश्यकतामा थियो त्यसकारण परमप्रभुले सृष्टिको काम टुङ्ग्याउनुभयो र व्यवस्थाको युगको काम सुरुवात गर्नुभयो। त्यसपछि मात्र मानवजातिको व्यवस्थापन गर्ने कार्य सुरुवात भयो, जसको अर्थ त्यसपछि मात्र मानवजातिलाई मुक्ति दिने कार्य सुरु भयो भन्ने हुन्छ। “मानवजातिको व्यवस्थापन” को अर्थ पृथ्वीमा भर्खरै सिर्जित मानवजातिको जीवनको अगुवाइ गर्नु होइन (जसको तात्पर्य, मानवजाति अझै भ्रष्ट भएको थिएन)। बरु, यो त शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिको मुक्ति हो, जसको तात्पर्य, यो भ्रष्ट मानवजातिलाई रूपान्तरण गर्नु हो। “मानवजातिको व्यवस्थापन” को अर्थ यही हो। मानवजातिलाई मुक्ति दिने कार्यमा संसार सृष्टि गर्ने कुरा पर्दैन, त्यसरी नै मानवजातिलाई व्यवस्थापन गर्ने कार्यमा संसारलाई सृष्टि गर्ने काम पर्दैन, तर यसमा संसारको सृष्टिभन्दा अलग कार्यका तीन चरणहरू मात्र पर्छन्। मानवजातिको व्यवस्थापनको कार्यलाई बुझ्न कार्यका तीन चरणहरूका इतिहासप्रति सजग हुनु आवश्यक हुन्छ—मुक्ति पाउनको निम्ति हरेक व्यक्ति यही कुरामा सजग हुनुपर्छ। सृजित प्राणीका रूपमा, मानिसलाई परमेश्वरले सृष्टि गर्नुभएको हो भनी तिमीहरूले जान्नुपर्छ र मानवजातिको भ्रष्टताको स्रोत र त्यसमाथि मानिसको मुक्तिको प्रक्रियालाई तिमीहरूले पहिचान गर्नुपर्छ। यदि तिमीहरूलाई परमेश्वरको कृपा पाउने प्रयासमा सिद्धान्तअनुसार काम गर्न मात्र आउँछ, तर परमेश्वरले मानिसलाई कसरी मुक्ति दिनुहुन्छ वा मानवजातिको भ्रष्टताको स्रोतको बारेमा थाहा छैन भने, सिर्जित प्राणीको नाताले तिमीहरूमा यही कुराको कमी छ। परमेश्वरको व्यवस्थापन कार्यको व्यापक क्षेत्रप्रति अनभिज्ञ रहँदा पनि व्यवहारमा उतार्न सकिने ती सत्यताहरूको बुझाइसित मात्र तँ सन्तुष्ट हुनु हुँदैन—यदि यस्तै अवस्था हो भने तँ अत्यन्त कट्टर छस्। कामका तीन चरणहरू मानिसलाई व्यवस्थापन गर्ने परमेश्वरको कामको भित्री कथा, सम्पूर्ण संसारमा सुसमाचारको आगमन, सबै मानवजातिमाझ सबैभन्दा ठूलो रहस्य हुन्, र तिनीहरू सुसमाचार फैलाउने क्रियाको जग पनि हुन्। यदि तँ आफ्नो जीवनसँग सम्बन्धित साधारण सत्यताहरू बुझ्नमा मात्र ध्यान दिन्छस् र सारा रहस्यहरू र दर्शनहरूभन्दा महान् यो कुराबारे केही जान्दैनस् भने त, के तेरो जीवन हेर्नको लागि बाहेक केही कामको नहुने बिग्रेको सामग्रीजस्तो छैन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो
३. परमेश्वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू सबै मानवजातिको मुक्तिको लागि हो, भन्नुको तात्पर्य, ती शैतानले गम्भीर रूपमा भ्रष्ट पारेका मानवजातिको मुक्तिको लागि हो। तर परमेश्वरले शैतानविरुद्ध लडाइँ गर्न सक्नुभएको होस् भनेर ती अस्तित्वमा छन्। तसर्थ, जसरी मुक्तिको काम तीन चरणमा विभाजित हुन्छ, त्यसरी नै शैतानसँगको लडाइँ पनि तीन चरणमा विभाजित हुन्छ र परमेश्वरको कामका यी दुई पक्षहरू एकैसाथ सञ्चालन हुन्छन्। शैतानसँगको लडाइँ वास्तवमा मानवजातिको मुक्तिको लागि हो र मानवजातिको मुक्तिको काम सफलतापूर्वक एकै चरणमा पूरा गर्नसकिने कुरा होइन। शैतानसँगको लडाइँ पनि चरणहरू र कालहरूमा विभाजित गरिएको छ र शैतान विरुद्धको लडाइँ मानिसको आवश्यकता र शैतानले उसलाई कति हदसम्म भ्रष्ट बनाएको छ भन्ने कुराअनुसार छेडिन्छ। सायद, जसरी दुई सेनाले एकअर्कोसँग लड्छ त्यसरी यो लडाइँमा परमेश्वरले शैतानविरुद्ध हतियार उठाउनुहुनेछ भनी मानिसले आफ्नो कल्पनामा विश्वास गर्छ। मानिसको बुद्धिले कल्पना गर्न सक्ने यही मात्रै हो; यो एक अत्यन्त अस्पष्ट र अवास्तविक विचार हो, तापनि मानिसले यसैमा विश्वास गर्दछ। अनि मैले यहाँ मानिसको मुक्ति शैतानसँगको लडाइँको माध्यमद्वारा हुन्छ भनेकोले मानिसले लडाइँ यसरी नै सञ्चालन हुन्छ भनी कल्पना गर्छ। मानिसको मुक्तिको कार्यका तीन चरण छन्, भन्नुको अर्थ शैतानलाई एकै पटकमा सधैँका निम्ति पराजित गर्न त्योसितको लडाइँ तीनवटा चरणमा बाँडिएको छ। तापनि शैतानसँगको लडाइँको सम्पूर्ण कार्यको भित्री सत्यता के हो भने, यसका प्रभावहरू कामका धेरै चरणहरूद्वारा हासिल गरिन्छ: मानिसलाई अनुग्रह प्रदान गर्नु, मानिसको पापबलि हुनु, मानिसका पापहरू क्षमा गर्नु, मानिसलाई जित्नु र मानिसलाई सिद्ध बनाउनु। वास्तवमा, शैतानसँग लडाइँ गर्नु भनेको शैतानविरुद्ध हतियार उठाउनु होइन बरु मानिसलाई मुक्ति दिएर, मानिसको जीवनमा काम गरेर, मानिसको स्वभावलाई परिवर्तन गरेर, अनि शैतानलाई परास्त गरेर परमेश्वरलाई गवाही दिनु हो। शैतानको पराजय यसरी नै हुन्छ। मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गरेर शैतानलाई हराइन्छ। जब शैतान पराजित भएको हुन्छ, अर्थात् जब मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुन्छ, तब अपमानित भएको शैतान पूर्ण रूपमा बन्धनमा हुनेछ र यसप्रकार, मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुनेछ। यसैले, मानिसको मुक्तिको सार भनेको शैतानविरुद्धको लडाइँ हो र त्यो लडाइँ मुख्य रूपले मानिसको मुक्तिमा झल्किन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु
४. कार्यको तीन चरणहरूको लक्ष्य सारा मानवजातिको मुक्ति हो—यसको अर्थ शैतानको सत्ताबाट मानिसको पूर्ण मुक्ति हो। कार्यका हरेक तीन चरणहरूको फरक-फरक उद्देश्य र महत्त्व रहेको भए तापनि, ती प्रत्येक नै मानवजातिको मुक्तिको कार्यको हिस्सा हो र ती प्रत्येक मानवजातिको आवश्यकता अनुसार गरिने मुक्तिका विभिन्न काम हुन्। तँलाई कार्यका यी तीन चरणहरूबारे स्पष्ट भएपछि, ती कार्यका हरेक चरणको सराहना कसरी गर्ने भन्ने कुराप्रति तँ सचेत हुनेछस् र कसरी परमेश्वरका अभिप्राय पूरा गर्नका निम्ति कसरी कार्य गर्ने भनी जान्नेछस्। यदि तँ यस चरणमा पुग्न सक्छस् भने, यी सबैभन्दा महान् दर्शनहरू नै परमेश्वरप्रतिको तेरो विश्वासको जग बन्नेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो
५. यी तीनवटा चरणहरूको कार्यको केन्द्र भनेको मानिसको मुक्ति हो—अर्थात्, सारासिर्जित प्राणीलाई सृष्टिकर्ताको आराधना गर्ने बनाउनु हो। तसर्थ, कामको हरेक चरणको ठूलो अर्थ हुन्छ; परमेश्वरले अर्थ वा मूल्य विनाको केही पनि गर्नुहुन्न। एकतर्फ, कामको यो चरणले नयाँ युगलाई प्रारम्भ गर्छ र अघिल्ला दुई वटा युगहरूलाई समाप्त गर्छ; अर्कोतर्फ, यसले सारा मानव धारणाहरू र मानव विश्वास र ज्ञानको सबै पुराना शैलीहरूलाई तोड्छ। अघिल्ला दुई युगहरूको काम फरक मानव धारणाहरू अनुसार गरियो; तैपनि, यो चरणले मानव धारणाहरूलाई पूर्ण रूपमा हटाउँछ, जसद्वारा यसले मानवजातिलाई पूर्ण रूपमा विजय गर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर सारा सिर्जित प्राणीका प्रभु हुनुहुन्छ
६. यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणको कामसम्म, यी तीन चरणले परमेश्वरको सम्पूर्ण व्यवस्थापनलाई एउटै निरन्तर धागोमा समावेश गर्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्वर सधैँ मानवजातिको व्यवस्थापन गर्दै काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगमा र विभिन्न स्थानमा हुने कामका तीन चरणहरू निस्सन्देह रूपमा एकै आत्माले गर्नुहुने काम नै हुन्। ती तीन चरणहरूलाई अलग गर्ने सबै मानिसहरू परमेश्वरकै विरोधमा खडा हुन्छन्। अब, तैँले बुझ्नैपर्छ कि पहिलो चरणदेखि आजसम्मका सबै कामहरू एउटै परमेश्वरको, एउटै आत्माको काम हो। यस कुरामा कुनै शङ्का छैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
७. कार्यका तीन चरणलाई एउटै परमेश्वरले गर्नुभएको थियो; सबैभन्दा ठूलो दर्शन यही नै हो, र परमेश्वरलाई चिन्ने एउटै मार्ग यही नै हो। कार्यका तीन चरणलाई परमेश्वर स्वयम्ले मात्र गर्न सक्नुहुन्थ्यो, र उहाँको तर्फबाट कुनै पनि मानिसले त्यसो गर्न सक्दैनथियो—भन्नुको अर्थ सुरुदेखि आजको दिनसम्म परमेश्वरले मात्रै उहाँको आफ्नो काम गर्न सक्नुहुन्थ्यो। परमेश्वरको कार्यका तीन चरणहरूलाई फरक-फरक युग र स्थानहरूमा गरिएको भए तापनि, र हरेक चरणको काम फरक भए तापनि, यो सबै एउटै परमेश्वरले गर्नुभएको कार्य हो। सबै दर्शनहरूमध्ये, मानिसले जान्नुपर्ने सबैभन्दा ठूलो दर्शन यही नै हो, र यदि यसलाई मानिसले पूर्ण रूपमा बुझ्न सक्यो भने, ऊ दृढ रूपमा खडा हुन सक्नेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो
८. कार्यका तीन चरणहरू परमेश्वरको समग्र व्यवस्थापनको मर्म हुन् र तिनीहरूमा नै परमेश्वरको स्वभाव र उहाँ जे हुनुहुन्छ सो व्यक्त गरिन्छ। परमेश्वरका कार्यका तीन चरणहरू नजान्नेहरूले परमेश्वरले उहाँको स्वभाव कसरी व्यक्त गर्नुहुन्छ भन्ने जान्दैनन्, न त तिनीहरूले परमेश्वरको कार्यको बुद्धिलाई नै जान्दछन्। उहाँले मानवजातिलाई मुक्ति दिने धेरै तरिकाहरू र समग्र मानवजातिको निम्ति उहाँका अभिप्रायबारे पनि तिनीहरू अनभिज्ञ नै हुन्छन्। कार्यका तीन चरणहरू मानवजातिलाई बचाउने कार्यको पूर्ण अभिव्यक्ति हुन्। कार्यका तीन चरणहरू नजान्नेहरू पवित्र आत्माको कामको विभिन्न विधिहरू र सिद्धान्तहरूबारे अनभिज्ञ हुन्छन् र कार्यको कुनै चरणबाट बाँकी रहेको सिद्धान्तमा नै कठोरतापूर्वक टाँसिरहनेहरू परमेश्वरलाई सिद्धान्तमा सीमित पार्ने मानिसहरू हुन् र परमेश्वरप्रति तिनीहरूको विश्वास अस्पष्ट र अनिश्चित हुन्छ। यस्ता मानिसहरूले कहिल्यै पनि परमेश्वरको मुक्ति प्राप्त गर्नेछैनन्। परमेश्वरका कार्यका तीन चरणहरूले मात्र परमेश्वरको समग्र स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ र सारा मानवजातिलाई मुक्ति दिने परमेश्वरको अभिप्राय साथै मानवजातिको मुक्तिको समग्र प्रक्रियालाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ। उहाँले शैतानलाई पराजित गर्नुभएको छ र मानवजातिलाई प्राप्त गर्नुभएको छ भन्ने कुराको प्रमाण यही हो; यो परमेश्वरको विजयको सबुत हो र परमेश्वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो। परमेश्वरका कार्यका तीन चरणहरूमध्ये एक चरणलाई मात्र बुझ्नेहरूले परमेश्वरको आंशिक स्वभावलाई मात्र जान्दछन्। मानिसको धारणामा, यो कार्यको एक चरण सजिलै सिद्धान्त बन्न सक्छ, र मानिसले परमेश्वरबारे निर्दिष्ट नियमहरू स्थापित गर्ने र परमेश्वरको स्वभावको यही एउटा हिस्सालाई परमेश्वरको सम्पूर्ण स्वभावको प्रतिनिधित्वको रूपमा प्रयोग गर्ने सम्भावना हुन्छ। यसको अलाबा, यसभित्र मानिसको धेरै कल्पना मिसिन्छ, यहाँसम्म कि कुनै समय परमेश्वर यस्तो हुनुहुन्थ्यो, अनि उहाँ हरसमय यस्तै रहनुहुनेछ र कहिल्यै परिवर्तन हुनुहुनेछैन भन्ने विश्वास गरेर यस्ता मानिसले परमेश्वरको स्वभाव, अस्तित्व र बुद्धिलाई साथै परमेश्वरको कार्यको सिद्धान्तहरूलाई सीमित मापदण्डहरूभित्र कठोरतापूर्वक कैद गर्छन्। कार्यका तीन चरणहरू जान्नेहरूले मात्र परमेश्वरलाई पुर्ण रूपमा र सही रूपमा चिन्न सक्छन्। कम्तीमा पनि, तिनीहरूले परमेश्वरलाई इस्राएलीहरू वा यहूदीहरूका परमेश्वरको रूपमा परिभाषित गर्दैनन् र उहाँलाई मानिसको खातिर सदासर्वदा क्रूसमा टाँगिएको परमेश्वरको रूपमा हेर्नेछैनन्। यदि कसैले परमेश्वरलाई उहाँको कार्यको एक चरणबाट मात्र चिन्छ भने तिनीहरूको ज्ञान अत्यन्तै सानो र महासागरको एक थोपाभन्दा बढी हुँदैन। होइन भने, धेरै पुरानो धार्मिक रक्षकहरूले परमेश्वरलाई किन जीवितै क्रूसमा टाँग्थे? के मानिसले परमेश्वरलाई कुनै मापदण्डहरूभित्र सीमित गर्ने गरेकोले होइन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो
९. कामका तीन चरणहरू परमेश्वरको सम्पूर्ण कामको अभिलेख हो; ती मानवजातिको निम्ति परमेश्वरको मुक्तिको अभिलेख हुन् र तिनीहरू काल्पनिक कुरा होइनन्। यदि तँ परमेश्वरको सम्पूर्ण स्वभावको ज्ञानलाई खोजी गर्ने इच्छा साँच्चै गर्छस् भने, परमेश्वरले गर्नुभएको कार्यको तीन चरणहरूलाई तिमीहरूले जान्नुपर्छ, र, त्यसका साथै, तिमीहरूले कुनै पनि चरणलाई छुटाउनुहुँदैन। परमेश्वरलाई चिन्न खोज्नेहरूले हासिल गर्नुपर्ने न्यूनतम कुरा यही हो। मानिस स्वयम्ले परमेश्वरको साँचो ज्ञान रचना गर्न सक्दैन। यो मानिस आफैले कल्पना गर्न सक्ने कुरा होइन, र यो निश्चय नै कुनै एक व्यक्तिप्रति पवित्र आत्माको विशेष कृपाको परिणाम होइन्। बरु, यो त परमेश्वरको कामलाई अनुभव गरेपछि मानिसमा आउने ज्ञान हो र यो परमेश्वरको कामका तथ्यहरूलाई अनुभव गरेपछि मात्र आउने परमेश्वरको ज्ञान हो। यस्तो ज्ञान सहजै प्राप्त गर्न सकिँदैन, न त यो सिकाउन सकिने कुरा नै हो। यो पूर्ण रूपमा व्यक्तिगत अनुभवसँग सम्बन्धित कुरा हो। मानवजातिका निम्ति परमेश्वरको मुक्ति कामका यी तीन चरणहरूको केन्द्रमा हुन्छ, तैपनि मुक्तिको कामभित्र कामका कैयौँ विधिहरू र परमेश्वरको स्वभाव व्यक्त गर्ने कैयौँ माध्यमहरू समावेश हुन्छन्। मानिसले पहिचान गर्नको लागि सबैभन्दा कठिन यही हो र मानिसले बुझ्नको लागि जटिल कुरा यही हो। युगहरूको विभाजन, परमेश्वरको कामका परिवर्तनहरू, कामको अवस्थितिमा हुने परिवर्तनहरू, यो कामका प्रापकहरूमा आउने परिवर्तन र अरू यस्तै कुराहरू सबैलाई कामको तीन चरणहरूमा समावेश गरिएका छन्। विशेष गरी, पवित्र आत्माको काम गर्ने तरिकामा भिन्नता, साथै परमेश्वरको स्वभाव, स्वरूप, नाउँ, पहिचान वा अन्य परिवर्तनहरूमा हुने बदलावहरू सबै कामका तीन चरणहरूका हिस्सा हुन्। कामको एउटा चरणले एक भागको मात्र प्रतिनिधित्व गर्न सक्छ, र यो निश्चित क्षेत्रभित्र सीमित हुन्छ। अन्य पक्षहरूको त कुरै छोडौं, यसले युगहरूको विभाजन वा परमेश्वरको काममा परिवर्तनलाई पनि समेट्दैन। यो स्पष्ट तथ्य हो। कामका तीन चरणहरू परमेश्वरले मानवजातिलाई मुक्ति दिने कामको सम्पूर्णता हो। मुक्तिको काममा परमेश्वरले गर्नुहुने काम र परमेश्वरको स्वभावलाई मानिसले जान्नुपर्छ; यो तथ्य विना, परमेश्वर सम्बन्धी तेरो ज्ञान खोक्रा शब्दहरू बाहेक अरू केही पनि होइन, यो अव्यवहारिक रूपमा जान्ने हुनुभन्दा केही पनि होइन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो
१०. परमेश्वरको सम्पूर्ण स्वभाव छ हजार वर्षको व्यवस्थापन योजनाको क्रममा प्रकाश भएको छ। यो अनुग्रहको युगमा मात्र प्रकाश भएको छैन, न त व्यवस्थाको युगमा मात्र प्रकाश गरिएको छ, आखिरी दिनहरूको यस अवधिमा मात्रै यसलाई प्रकट गरिएको छ भन्ने कुरा त परै जाओस्। आखिरी दिनहरूमा गरिएको कामले न्याय, क्रोध र सजायलाई प्रतिनिधित्व गर्दछ। आखिरी दिनहरूमा गरिएको कामले व्यवस्थाको युगको वा अनुग्रहको युगको कामको स्थान लिन सक्दैन। यद्यपि, यी तीन चरणहरू एकसाथ जोडिएका छन्, एउटै अस्तित्वमा छन्, र सबै एउटै परमेश्वरका काम हुन्। स्वाभाविक रूपमा, यस कामको कार्यान्वयनलाई अलग-अलग युगहरूमा विभाजित गरिएको छ। आखिरी दिनहरूमा गरिने काम सबै कामको समापन हो; व्यवस्थाको युगमा गरिएको काम सुरुवातको काम थियो; अनि अनुग्रहको युगमा गरिएको काम छुटकाराको काम थियो। छ हजार वर्षको व्यवस्थापन योजनाको कामका दर्शनहरूको कुरा गर्ने हो भने कसैले पनि त्यसको अन्तर्दृष्टि वा समझ प्राप्त गर्न सक्दैन, र यी दर्शनहरू पहेलीहरू नै रहन्छन्। आखिरी दिनहरूमा, राज्यको युगलाई प्रारम्भ गर्नका लागि वचनको काम मात्र गरिन्छ, तर यसले सबै युगको प्रतिनिधित्व गर्दैन। आखिरी दिनहरू आखिरी दिनहरूभन्दा बढी केही होइनन्, र परमेश्वरको राज्यको युगभन्दा बढी होइन, र तिनले अनुग्रहको युग वा व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्दैन। यति मात्र हो कि आखिरी दिनहरूमा, छ हजार वर्षे व्यवस्थापनको योजनाका सबै काम तिमीहरूलाई प्रकाश गरिएको छ। यो रहस्य प्रकट गर्नु हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
११. छ हजार वर्षको व्यवस्थापन योजनाको कामलाई तीन चरणमा विभाजन गरिएको छ। कुनै पनि एउटा चरणले मात्र तीनवटा युगको कामको प्रतिनिधित्व गर्न सक्दैन, तर सम्पूर्णको केवल एक भागलाई मात्र प्रतिनिधित्व गर्दछ। यहोवाको नाउँले परमेश्वरको सम्पूर्ण स्वभावलाई प्रतिनिधित्व गर्न सक्दैन। उहाँले व्यवस्थाको युगमा आफ्नो काम गर्नुभयो भन्ने तथ्यले परमेश्वर व्यवस्थाको अधीनमा मात्र परमेश्वर हुन सक्नुहुन्छ भनी प्रमाणित गर्दैन। यहोवाले मानिसका लागि व्यवस्था दिनुभयो र मानिसलाई आज्ञाहरू सुम्पनुभयो र मानिसलाई मन्दिर र वेदीहरू बनाउन लगाउनुभयो; उहाँले गर्नुभएको कामले व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्दछ। उहाँले गर्नुभएको कामले परमेश्वर मानिसलाई व्यवस्था पालन गर्न लगाउने परमेश्वर मात्र हुनुहुन्छ, वा उहाँ मन्दिरमा आउनुहुने परमेश्वर हुनुहुन्छ वा उहाँ वेदीको सामने आउनुहुने परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर्दैन। त्यसो हो भनी भन्नु असत्य हुनेथियो। व्यवस्था अन्तर्गत गरिएको कामले केवल एउटा युगलाई मात्र प्रतिनिधित्व गर्न सक्छ। त्यसकारण, यदि परमेश्वरले व्यवस्थाको युगमा मात्र काम गर्नुभएको थियो भने, मानिसले परमेश्वरलाई यसो भन्दै सीमित पार्नेथियो, “परमेश्वर मन्दिरमा बस्नुहुने परमेश्वर हुनुहुन्छ, र परमेश्वरको सेवा गर्न हामीले पूजाहारीको पोसाक लगाउनुपर्छ र मन्दिरभित्र प्रवेश गर्नुपर्दछ।” यदि अनुग्रहको युगमा यो काम कहिल्यै नभएको भए र व्यवस्थाको युग अहिलेसम्म जारी नै रहेको भए मानिसले परमेश्वर दयालु र प्रेमिलो पनि हुनुहुन्छ भनी जान्ने थिएन। यदि व्यवस्थाको युगमा काम नगरिएको भए, त्यसको साटो अनुग्रहको युगमा मात्र काम भएको भए, परमेश्वरले मानिसलाई छुटकारा दिन र मानिसका पापहरू क्षमा गर्न मात्र सक्नुहुन्छ भनेर मात्रै मानिसले जान्नेथिए। मानिसले उहाँ पवित्र र निर्दोष हुनुहुन्छ, र मानिसको खातिर उहाँले आफैलाई बलिदान गर्न र क्रूसमा टाँगिन सक्नुहुन्छ भनेर मात्र जान्नेथियो। मानिसले यी सबै कुराहरू मात्र जान्नेथियो, तर अरू केही पनि बुझेको हुनेथिएन। त्यसकारण हरेक परमेश्वरको स्वभावको एउटा भागलाई प्रतिनिधित्व गर्छ। व्यवस्थाको युगमा, अनि अनुग्रहको युगमा, र यस वर्तमान चरणमा परमेश्वरको स्वभावका कुन-कुन पक्षहरूको प्रतिनिधित्व गरियो भन्ने सम्बन्धमा चाहिँ: जब ती सबै तीन चरणहरूलाई एकट्ठा गरिन्छ, तब मात्र परमेश्वरको स्वभावको सम्पूर्णता प्रकट हुन सक्दछ। मानिसले तीन वटै चरणहरूलाई जानिसकेपछि मात्रै उसले यसलाई पूर्ण रूपमा बुझ्न सक्छ। यी तीन चरणमध्ये कुनैलाई पनि हटाउन सकिँदैन। तैँले यी तीन चरणको कार्यलाई बुझिस् भने मात्र परमेश्वरको स्वभावलाई पूर्ण रूपमा बुझ्नेछस्। परमेश्वरले व्यवस्थाको युगमा उहाँको आफ्नो काम पूरा गर्नुभयो भन्ने तथ्यले उहाँ व्यवस्थाको अधीनमा हुनुहुने परमेश्वर मात्र हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्दैन, र उहाँले आफ्नो छुटकाराको काम पूरा गर्नुभयो भन्ने तथ्यको अर्थ परमेश्वरले मानवजातिलाई सधैँ छुटकारा दिइरहनुहुन्छ भन्ने हुँदैन। यी सबै मानिसले गरेका सीमितताहरू हुन्। अनुग्रहको युग समाप्त भइसकेपछि, तैँले परमेश्वर केवल क्रूसको स्वामित्वमा हुनुहुन्छ र क्रूसले मात्र परमेश्वरको मुक्तिलाई प्रतिनिधित्व गर्दछ भन्न सक्दैनस्। त्यसो गर्नु भनेको परमेश्वरलाई सीमित पार्नु हुनेथ्यो। वर्तमान चरणमा, परमेश्वरले मुख्य रूपमा वचनको काम गरिरहनुभएको छ, तर तँ परमेश्वर मानिसप्रति कहिल्यै कृपालु हुनुभएको छैन र उहाँले सजाय र न्याय मात्र ल्याउनुभएको छ भन्न सक्दैनस्। आखिरी दिनहरूका कामले यहोवाको र येशूका कामलाई साथै मानिसले नबुझेका सबै रहस्यहरूलाई प्रकट गर्दछ, यसरी मानवजातिको गन्तव्य र अन्त्य, र मानवजातिमाझको मुक्तिका सबै काम अन्त्य भएको कुरालाई प्रकट गर्दछ। आखिरी दिनहरूमा गरिने कामको यो चरणले सबै कुरालाई समाप्त गर्दछ। मानिसले नबुझेका सबै रहस्यहरू प्रकट गर्नु, मानिसहरूलाई ती कुराहरू गहिरो रूपले बुझ्न दिनु र तिनीहरूका हृदयमा पूर्ण रूपमा स्पष्ट बुझाइ हुन दिनु आवश्यक छ। त्यसपछि मात्र मानवजातिलाई तिनीहरूका प्रकार अनुसार वर्गमा छुट्ट्याउन सकिन्छ। छ हजार वर्षको व्यवस्थापन योजना पूरा भएपछि मात्र मानिसले पूर्ण रूपमा परमेश्वरको स्वभावलाई बुझ्न सक्नेछ, किनकि त्यस बेला उहाँको व्यवस्थापन योजना अन्त्य भएको हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
१२. आजको कार्यले अनुग्रहको युगको कार्यलाई अगाडि बढाएको छ; अर्थात्, सम्पूर्ण छ हजार वर्षे व्यवस्थापन योजनाको कार्य अघि बढेको छ। अनुग्रहको युग समाप्त भइसकेको भए पनि, परमेश्वरको काममा प्रगति भएको छ। कामको यो चरण अनुग्रहको युग र व्यवस्थाको युगको जगमा स्थापित छ भनेर म बारम्बार किन भन्छु? किनभने आजको दिनको काम अनुग्रहको युगमा गरिएको कामको निरन्तरता र व्यवस्थाको युगमा गरिएको कार्यको वृद्धि हो। तीन चरणहरू निकटतम रूपमा एकअर्कासँग सम्बन्धित छन्, र यो साङ्लाको हरेक जोडन अर्कोसँग कसिलो गरी जोडिएको छ। कामको यो चरण येशूले गर्नुभएको कामको जगमा निर्माण हुन्छ भनेर म किन भन्छु? यो चरण येशूले गर्नुभएको कामको जगमा निर्माण भएन भन्ने मान्यता राख्दा, यो चरणमा क्रूसीकरणको अर्को घटना घट्नेथ्यो, र अघिल्लो चरणको छुटकाराको काम फेरि गरिनुपर्थ्यो। यो अर्थहीन हुनेथ्यो। त्यसकारण, काम पूर्ण रूपमा पूरा भएको छैन, तर युग अघि बढेको छ र कामको स्तर पहिलेको भन्दा माथि उठेको छ। कामको यो चरण व्यवस्थाको युगको जगमा र येशूको कार्यको आधारशिलामाथि निर्माण गरिएको छ भनेर भन्न सकिन्छ। परमेश्वरको कार्य एकपछि अर्को चरण गर्दै निर्माण हुन्छ, र यो चरण नयाँ सुरुवात होइन। कामका तीन वटा चरणहरूको संयोजनलाई मात्रै छ हजार वर्षे व्यवस्थापन योजनाको रूपमा लिन सकिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्
१३. तीन चरणहरूमध्ये कुनै पनि एउटा चरणलाई सबै मानवजातिले जान्नैपर्ने एक मात्र दर्शनको रूपमा लिन सकिँदैन, किनभने मुक्तिको कामको सम्पूर्णता कार्यका तीन चरण हुन्, तीमध्ये एउटा चरण मात्रै होइन। जबसम्म मुक्तिको काम पूरा हुँदैन, तबसम्म परमेश्वरको व्यवस्थापन पूर्ण समाप्तिमा पुग्न सक्नेछैन। परमेश्वरको अस्तित्व, उहाँको स्वभाव, र उहाँको बुद्धिलाई मुक्तिको कामको सम्पूर्णतामा व्यक्त गरिन्छ; मानिसलाई ती सुरुमा नै प्रकट गरिँदैन, तर मुक्तिको काममा क्रमिक रूपमा व्यक्त गरिएको छ। मुक्तिको कामको हरेक चरणले परमेश्वरको स्वभावको भाग, र उहाँको अस्तित्वको भागलाई व्यक्त गर्छ; कामको कुनै पनि चरणले प्रत्यक्ष रूपमा र पूर्ण रूपमा परमेश्वरको अस्तित्वको सम्पूर्णतालाई व्यक्त गर्न सक्दैन। त्यसैले, कार्यका तीन चरण पूरा गरिसकिएपछि मात्रै मुक्तिको कामलाई पूर्ण रूपमा समाप्त गर्न सकिन्छ, त्यसकारण परमेश्वरको सम्पूर्णता सम्बन्धी मानिसको ज्ञानलाई परमेश्वरको कार्यका तीन चरणहरूबाट अलग गर्न सकिँदैन। कामको एउटा चरणबाट मानिसले प्राप्त गर्ने कुरा भनेको उहाँको कामको एउटा भागमा व्यक्त गरिने परमेश्वरको स्वभाव मात्रै हो। पहिलेको वा पछिको चरणहरूमा व्यक्त गरिने स्वभाव र अस्तित्वलाई यसले प्रतिनिधित्व गर्न सक्दैन। किनभने मानवजातिलाई मुक्ति दिने कामलाई एउटै समयको अवधिमा, वा एउटै स्थानमा सीधै समाप्त गर्न सकिँदैन, तर यो फरक-फरक समय र फरक-फरक स्थानमा मानिसको विकासको स्तर अनुसार क्रमिक रूपमा गहिरो-गहिरो बन्दै जान्छ। यो चरण-चरणमा अघि बढाइने कार्य हो, र यसलाई एउटै चरणमा पूरा गरिँदैन। त्यसकारण, परमेश्वरको सम्पूर्ण बुद्धिलाई एउटै व्यक्तिगत चरणमा होइन, तर तीन चरणहरूमा स्पष्ट गरिन्छ। उहाँको सम्पूर्ण अस्तित्व र उहाँको सम्पूर्ण बुद्धिलाई यी तीन चरणमा प्रस्तुत गरिन्छ, र हरेक चरणमा उहाँको अस्तित्व समावेश हुन्छ, अनि हरेक चरण नै उहाँको कामको बुद्धिको विवरण हो। यी तीन चरणमा व्यक्त गरिने परमेश्वरको सम्पूर्ण स्वभावलाई मानिसले जान्नुपर्छ। परमेश्वरको अस्तित्वको यो सबै कुरा सारा मानवजातिको लागि सबैभन्दा महत्त्वपूर्ण छ, र यदि परमेश्वरलाई आराधना गर्दा मानिसहरूमा यो ज्ञान हुँदैन भने, तिनीहरू बुद्धलाई आराधना गर्नेहरूभन्दा फरक हुँदैनन्। मानिसको बीचमा परमेश्वरले गर्नुहुने कार्य मानिसबाट लुकेको छैन, र परमेश्वरको आराधना गर्ने सबैले यसलाई जान्नुपर्छ। परमेश्वरले मानिसको बीचमा मुक्तिको कामका तीन चरणलाई अघि बढाइसक्नुभएको हुनाले, कार्यका तीन चरणमा मानिसले उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अभिव्यक्तिलाई जान्नुपर्छ। मानिसले गर्नैपर्ने कुरा यही नै हो। मानिसबाट परमेश्वरले लुकाउनुहुने कुरा मानिसले हासिल गर्न नसक्ने र मानिसले जान्नु नपर्ने कुरा हो, जबकी परमेश्वरले मानिसलाई देखाउनुहुने कुरा मानिसले जान्नुपर्ने, र मानिसमा हुनुपर्ने कुरा हो। कार्यका तीन चरणमध्ये हरेकलाई अघिल्लो चरणको जगमा नै अघि बढाइन्छ; यसलाई स्वतन्त्र रूपमा, मुक्तिको कामभन्दा अलग रूपमा अघि बढाइँदैन। गरिने कार्य र काममा ठूला भिन्नताहरू भए तापनि, मूल रूपमा यो मानवजातिको मुक्ति नै हो, र मुक्तिको कामको हरेक चरण अघिल्लोभन्दा अझ गहन हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो
१४. परमेश्वरको सम्पूर्ण व्यवस्थापन तीन चरणमा विभाजित छन् र हरेक चरणमा, मानिसलाई उचित मागहरू गरिन्छ। यसको साथै, युगहरू बितेर जाने र अघि बढ्ने क्रममा, सारा मानवजातिको निम्ति परमेश्वरको मागहरू झन्-झन् उच्च हुँदै जान्छन्। यसरी, मानिसले “वचन देहमा देखा पर्नुहुन्छ” भन्ने तथ्य नदेखुञ्जेल, पाइला दर पाइला, यो परमेश्वरको व्यवस्थापनको काम यसको शिखरमा पुग्छ, र यस तरिकाले मानिसबाट गरिने मागहरू झन् उच्च बन्छन्, र यसैगरी मानिसले दिनुपर्ने गवाही पनि अझै उच्च बन्छ। परमेश्वरसँग साँचो रूपमा सहकार्य गर्न मानिस जति सक्षम हुन्छ, परमेश्वरले त्यति नै महिमा प्राप्त गर्नुहुन्छ। मानिसको सहकार्य भनेको उसले दिनुपर्छ भनी माग गरिएको गवाही हो र उसले दिने गवाही मानिसको अभ्यास हो। त्यसकारण, परमेश्वरको कार्यले पर्याप्त प्रभाव पार्छ कि पार्दैन र यो साँचो गवाही हुन सक्छ कि सक्दैन भन्ने कुरा अपरिहार्य रूपमा नै मानिसको सहकार्य र गवाहीसँग जोडिएका हुन्छन्। जब काम समाप्त हुन्छ, भन्नुको अर्थ जब परमेश्वरको सबै व्यवस्थापन यसको समाप्तिमा पुग्छ, मानिसले उच्च गवाही दिनु आवश्यक हुनेछ र जब परमेश्वरको कार्य यसको समाप्तिमा पुग्छ, मानिसको अभ्यास र प्रवेश यसको शीर्ष विन्दुमा पुग्नेछ। विगतमा, मानिसबाट व्यवस्था र आज्ञाहरूको पालन माग गरिन्थ्यो, र ऊबाट धैर्यता र नम्रता माग गरिन्थ्यो। आज, मानिसबाट परमेश्वरका सारा प्रबन्धहरूमा समर्पित हुनुपर्ने र ऊसँग परमेश्वरप्रतिको सर्वोच्च प्रेम हुनुपर्ने माग गरिन्छ, र अन्ततः सङ्कष्टबीचमा पनि उसले परमेश्वरलाई अझै पनि प्रेम गर्नुपर्ने माग गरिन्छ। यी तीन चरणहरू परमेश्वरले आफ्नो सम्पूर्ण व्यवस्थापनमा चरणबद्ध रूपले मानिसबाट गर्ने माग हुन्। परमेश्वरको कार्यको हरेक चरण पछिल्लोभन्दा अझै गहन हुन्छ र हरेक चरणमा मानिसलाई दिइने मागहरू पछिल्लोभन्दा अझै उच्च हुन्छन् र यसरी, परमेश्वरको सम्पूर्ण व्यवस्थापनले बिस्तारै आकार लिँदै जान्छ। मानिसलाई दिइएका मागहरू अझै उच्च छन् भन्ने ठीक त्यही कारणले मानिसको स्वभाव परमेश्वरले माग गर्नुभएका मापदण्डहरूको झन्-झन् नजिक आउँछ, र त्यसपछि मात्रै सारा मानवजाति शैतानको प्रभावबाट बिस्तारै निस्किँदै आउन थाल्छ, तबसम्ममा, परमेश्वरको काम पूर्ण रूपमा समाप्त हुँदा, सारा मानवजाति शैतानको प्रभावबाट बचाइएको हुनेछ। जब त्यो समय आउँछ, तब परमेश्वरको काम यसको अन्त्यमा पुगेको हुनेछ र आफ्नो स्वभावमा परिवर्तन हासिल गर्नको लागि त्यसउप्रान्त परमेश्वरसँगको मानिसको सहकार्य हुनेछैन र सारा मानवजाति परमेश्वरको ज्योतिमा जिउनेछ र त्यसपछि, परमेश्वरविरुद्ध कुनै विद्रोह वा विरोध हुनेछैन। परमेश्वरले मानिसबाट मागहरू पनि गर्नुहुनेछैन र मानिस र परमेश्वरको बीचमा अझै मैत्रीपूर्ण सहकार्य हुनेछ, जुन एकसाथ मानिस र परमेश्वरको जीवन अर्थात् परमेश्वरको व्यवस्थापन पूर्ण रूपमा समाप्त भएपछि र शैतानका पकडहरूबाट परमेश्वरद्वारा मानिसलाई पूर्ण रूपमा बचाइएपछिको जीवन हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास
१५. परमेश्वरको व्यवस्थापन यस्तै छ: मानवजातिलाई शैतानको हातमा सुम्पिने—परमेश्वर के हुनुहुन्छ, सृष्टिकर्ता के हुनुहुन्छ, परमेश्वरलाई कसरी आराधना गर्ने, वा परमेश्वरमा समर्पित हुनु किन अत्यावश्यक छ सो नजान्ने मानवजातिलाई—अनि उसलाई भ्रष्ट तुल्याउन शैतानलाई अनुमति दिने। त्यसपछि चरणबद्ध रूपमा, मानिसले परमेश्वरलाई पूर्ण रूपमा आराधना गरेर शैतानलाई इन्कार नगरुञ्जेल, परमेश्वरले मानिसलाई शैतानको हातबाट पुन: फिर्ता लिनुहुन्छ। परमेश्वरको व्यवस्थापन यही हो। यो काल्पनिक कथाजस्तो सुनिन सक्छ, र यो अचम्मको सुनिन सक्छ। मानिसहरूलाई यो काल्पनिक जस्तो लाग्छ किनभने विगतका हजारौं वर्षको अवधिमा मानिसलाई के भएको छ, तिनीहरूलाई त्यसको आभास नै छैन, ब्रम्हाण्ड र आकाश-मण्डलमा कति वटा कथाहरू घटे, तिनीहरूले त्यो थाहा पाउने कुरा त परै जाओस्। यसको साथै, यसको कारण के हो भने, भौतिक संसारभन्दा बाहिर अझै अचम्मको, अझै डरलाग्दो संसार अस्तित्वमा छ, तर जसलाई देख्नबाट तिनीहरूलाई आफ्ना मरणशील आँखाले रोक्छन् भन्ने कुरा तिनीहरूले बुझ्न सक्दैनन्। मानिसलाई यो बुझने नसकिने जस्तो लाग्छ किनभने मानवजातिलाई परमेश्वरले दिनुहुने मुक्तिको महत्त्व वा उहाँको व्यवस्थापनको कार्यको महत्त्वलाई मानिसले बुझ्दैन, र परमेश्वरले आखिरमा मानिस कस्तो भएको चाहनुहुन्छ, सो बुझ्दैन। के यो आदम र हव्वाजस्तै शैतानद्वारा पटक्कै भ्रष्ट नगरिएको झैँ हुन हो? होइन! परमेश्वरको व्यवस्थापनको उद्देश्य भनेको परमेश्वरलाई आराधना गर्ने र उहाँमा समर्पित हुने मानिसहरूको एउटा समूह प्राप्त गर्नु हो। यी मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका भए पनि, तिनीहरूले अब शैतानलाई आफ्ना पिता मान्दैनन्; तिनीहरूले शैतानको घिनलाग्दो मुहारलाई चिन्छन् र यसलाई इन्कार गर्छन्, अनि परमेश्वरको न्याय र सजायलाई स्वीकार गर्नका लागि तिनीहरू परमेश्वरको सामु आउँछन्। तिनीहरू कुरूप र पवित्रबीचको अन्तर थाहा पाउन पुग्छन्, र परमेश्वरको महान्ता र शैतानको दुष्टतालाई पहिचान गर्न पुग्छन्। यस्तो मानवजातिले अब शैतानको सेवा गर्ने, वा शैतानको आराधना गर्ने, वा शैतानलाई प्रतिष्ठापित गर्नेछैन। किनभने तिनीहरू परमेश्वरले साँच्चै प्राप्त गर्नुभएका मानिसहरूका एउटा समूह हुन्। मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्वरको कामको महत्त्व यही नै हो। यस पटकको परमेश्वरको व्यवस्थापनको कामको अवधिमा, मानवजाति शैतानको भ्रष्टता र परमेश्वरको मुक्ति दुवैको पात्र हो, र मानिस त्यो उपज हो जसका लागि परमेश्वर र शैतानले लडाइ गरिरहेका छन्। परमेश्वरले आफ्नो काम गर्ने क्रममा, उहाँले मानिसलाई बिस्तारै शैतानको हातबाट पुन: प्राप्ति गर्दै हुनुहुन्छ, र त्यसकारण मानिस परमेश्वरको झन्-झन् नजिक आउँछ …
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ
१६. जब परमेश्वरको सम्पूर्ण व्यवस्थापन समाप्तितिर आइरहेको हुन्छ, परमेश्वरले सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्नुहुनेछ। मानिसलाई सृष्टिकर्ताको हातले बनाएको थियो, र अन्त्यमा उहाँले मानिसलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा फर्काउनुपर्छ; कार्यका तीन चरणको निष्कर्ष यही हो। आखिरी दिनहरूको कामको चरण, र इस्राएल र यहूदियामा भएका अघिल्ला दुई चरणहरू सम्पूर्ण ब्रह्माण्डमा परमेश्वरको व्यवस्थापन योजना हुन्। कसैले पनि यसलाई इन्कार गर्न सक्दैन, र परमेश्वरको कार्यको तथ्य यही हो। मानिसहरूले यो कामको धेरै भाग अनुभव गरेका वा देखेका छैनन्, तैपनि तथ्यहरू भनेका तथ्यहरू नै हुन्, र यसलाई कुनै पनि मानिसले खण्डन गर्न सक्दैन। ब्रह्माण्डको हरेक देशमा परमेश्वरलाई विश्वास गर्ने मानिसहरू सबैले कार्यका तीन चरणलाई स्वीकार गर्नेछन्। यदि तँलाई कामको निश्चित चरण मात्रै थाहा छ, तर कामको अरू दुई चरणको बारेमा थाहा छैन भने, विगतमा परमेश्वरले गर्नुभएको कामलाई तैँले बुझ्दैनस् भने, तैँले परमेश्वरको सम्पूर्ण व्यवस्थापन योजनाको बारेमा बोल्न सक्दैनस्, र परमेश्वर सम्बन्धी तेरो ज्ञान एकतर्फी हुन्छ, किनभने परमेश्वरमाथिको तेरो विश्वासमा तैँले उहाँलाई जान्दैनस् वा बुझ्दैनस्, त्यसकारण तँ परमेश्वरको साक्षी दिन योग्य छैनस्। यी कुराहरू सम्बन्धी तेरो हालको ज्ञान गहन भए पनि वा सतही भए पनि, आखिरमा, तिमीहरूमा ज्ञान हुनैपर्छ, र पूर्ण रूपमा विश्वस्त हुनैपर्छ, अनि सबै मानिसहरूले परमेश्वरको कार्यको सम्पूर्णतालाई देख्नेछन् र तिनीहरू परमेश्वरको प्रभुत्वमा समर्पित हुनेछन्। यो कामको अन्त्यमा, सबै धर्महरू एउटै हुनेछ, सबै सिर्जित प्राणीहरू सृष्टिकर्ताको प्रभुत्वमा फर्किनेछन्, सबै सिर्जित प्राणीहरूले एउटै साँचो परमेश्वरलाई आराधना गर्नेछन्, र सबै दुष्ट धर्महरू कहिल्यै देखा नपर्ने गरी सुन्यतामा पुग्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो
१७. किन कार्यका तीन चरणको बारेमा यसरी निरन्तर उल्लेख गर्ने? युगहरू बितेर जाने कार्य, सामाजिक विकास, र प्रकृतिको परिवर्तनशील मुहार यी सबैले कार्यका तीन चरणका परिवर्तनहरूलाई पछ्याउँछन्। मानवजाति परमेश्वरको काम अनुसार समयसँगै परिवर्तन हुन्छ, र यो आफै विकास हुँदैन। सबै सिर्जित प्राणीहरू र हरेक धर्म र सम्प्रदायका सबै मानिसहरूलाई एउटै परमेश्वरको प्रभुत्वमा ल्याउनको लागि परमेश्वरको कार्यका तीन चरणहरूको बारेमा उल्लेख गरिएको हो। तिमीहरू जुनसुकै धर्मको भए तापनि, आखिरमा तिमीहरू सबैले परमेश्वरको प्रभुत्वमा आफूलाई समर्पित गर्नेछौ। परमेश्वर स्वयम्ले मात्रै यो काम गर्न सक्नुहुन्छ; यो कुनै पनि धार्मिक प्रमुखले गर्न सक्दैन। संसारमा धेरै मुख्य धर्महरू छन्, र हरेकको आ-आफ्नै प्रमुख वा अगुवा छन्, र अनुयायीहरू संसारका विभिन्न देश र क्षेत्रहरूमा छरिएका छन्; ठूलो होस् कि सानो होस्, लगभग हरेक देशभित्र फरक-फरक धर्महरू हुन्छन्। तैपनि, संसारभरि जति धेरै धर्महरू भए तापनि, ब्रह्माण्डभित्रका सारा मानिसहरू आखिरमा एउटै परमेश्वरको अगुवाइमा अस्तित्वमा रहन्छन्, धर्मका प्रमुखहरू वा अगुवाहरूको अगुवाइमा अस्तित्वमा रहँदैनन्। यसो भन्नुको अर्थ के हो भने मानवजाति निश्चित धर्मको प्रमुख वा अगुवाद्वारा अगुवाइ गरिएको हुँदैन; बरु, सारा मानवजातिलाई सृष्टिकर्ताले नै अगुवाइ गर्नुहुन्छ, जसले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो, र जसले मानवजातिलाई पनि सृष्टि गर्नुभयो—तथ्य यही नै हो। संसारमा धेरै मुख्य धर्महरू भए तापनि, तिनीहरू जति नै ठूलो भए तापनि, तिनीहरू सबै सृष्टिकर्ताको प्रभुत्वमुनि अस्तित्वमा रहन्छन्, र तिनीहरू कसैले पनि यो प्रभुत्वको क्षेत्रलाई नाघ्न सक्दैनन्। मानवजातिको विकास, समाजमा पुरानो कुरालाई नयाँ कुराले प्रतिस्थापन गर्ने काम, प्राकृतिक विज्ञानको विकास—प्रत्येकलाई नै सृष्टिकर्ताको बन्दोबस्तबाट अलग गर्न सकिँदैन, र यो कार्य कुनै पनि निश्चित धर्मको प्रमुखले गर्न सक्ने कुरा होइन। कुनै धार्मिक प्रमुख निश्चित धर्मको अगुवा मात्रै हो, र तिनीहरूले परमेश्वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्, न त तिनीहरूले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुनेलाई नै प्रतिनिधित्व गर्न सक्छन्। कुनै धार्मिक प्रमुखले त्यस धर्मका सबैलाई नेतृत्व गर्न सक्छन्, तर तिनीहरूले स्वर्गहरू मुनिका सबै सिर्जित प्राणीहरूमाथि हुकुम चलाउन सक्दैनन्—यो विश्वव्यापी रूपमा स्वीकार्य तथ्य हो। धार्मिक प्रमुख भनेको अगुवा मात्रै हो, र परमेश्वर (सृष्टिकर्ता) कै दर्जामा खडा हुन सक्दैन। सबै थोक सृष्टिकर्ताकै हातमा छ, र आखिरमा तिनीहरू सृष्टिकर्ताकै हातमा फर्कनेछन्। मानवजातिलाई परमेश्वरले नै बनाउनुभयो, र धर्म जुनसुकै भए तापनि, हरेक व्यक्ति परमेश्वरको प्रभुत्वमा फर्कनेछन्—यो अपरिहार्य छ। सबै थोकका बीचमा परमेश्वर मात्रै सर्वोच्च हुनुहुन्छ, र सबै सृजित प्राणीहरूका बीचमा रहेका उच्च शासक पनि उहाँकै प्रभुत्वमा फर्कनैपर्छ। मानिसको हैसियत जति नै उच्च भए तापनि, त्यस मानिसले मानवजातिलाई उचित गन्तव्यमा पुर्याउन सक्दैन, र कसैले पनि सब थोकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न सक्दैन। यहोवा स्वयम्ले मानवजाति सृष्टि गर्नुभयो र हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नुभयो, अनि जब अन्त्यको समय आउँछ, तब उहाँले यावत् थोकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्दै आफ्नो काम अझै आफै गर्नुहुनेछ—परमेश्वरबाहेक कसैले पनि यो काम गर्न सक्दैन। सुरुदेखि अहिलेसम्म गरिएका कार्यका तीन चरणलाई परमेश्वर स्वयम्ले अघि बढाउनुभएको थियो, र एउटै परमेश्वरले अघि बढाउनुभएको थियो। कार्यका तीन चरणको तथ्य सारा मानवजातिमाथि रहेको परमेश्वरको नेतृत्वको तथ्य, अर्थात् कसैले पनि इन्कार गर्न नसक्ने तथ्य हो। कार्यका तीन चरणको अन्त्यमा, सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गरिनेछ र सबै परमेश्वरको प्रभुत्वमा फर्कनेछन्, किनभने सम्पूर्ण ब्रह्माण्डभरि यही एक मात्र परमेश्वर मात्रै अस्तित्वमा हुनुहुन्छ, र अरू कुनै धर्महरू छैनन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो
१८. सायद, मानवजातिलाई कार्यको तीन चरणहरूको अड्को प्रकट गरिँदा परमेश्वरलाई चिन्ने प्रतिभाशाली मानिसहरूको एउटा समूह अनुक्रममा देखा पर्नेछ। अवश्य नै, त्यही होस् भन्ने म आशा गर्छु, यसको साथै, म यो काम कार्यान्वयन गर्ने क्रममा छु र निकट भविष्यमा यस्ता धेरै प्रतिभाशाली मानिसहरू देखा परेको देख्ने आशा गर्छु। तिनीहरू कार्यका यी तीन चरणहरूको तथ्यको गवाही दिनेहरू बन्नेछन् र अवश्य नै, तिनीहरू कामको यी तीन चरणहरूको गवाही दिनमा पहिलो पनि हुनेछन्। तर परमेश्वरको काम अन्त हुने दिनमा यस्ता प्रतिभाशाली मानिसहरू देखा परेनन् भने वा देहधारी परमेश्वरले सिद्ध तुल्याएर व्यक्तिगत रूपमा स्वीकार गर्नुहुने व्यक्ति एक वा त्यस्ता मानिसहरू दुई जना मात्र भए भने त्योभन्दा अरू कष्टदायी र खेदपूर्ण कुरा केही पनि हुँदैन। तथापि, यो एक खराब घटनाको परिदृश्य मात्रै हो। मामला जेसुकै होस्, उहाँलाई साँचो रूपमा अनुसरण गर्नेले यो आशिष् पाउन सक्छ भन्ने म अझै आशा गर्छु। समयको सुरुवातदेखि नै यस्तो काम कहिल्यै भएको छैन; मानव विकासको इतिहासमा यस्तो कार्य कहिल्यै पनि भएको छैन। यदि तँ परमेश्वरलाई चिन्नेहरूमध्ये पहिलो हुन सक्छस् भने, के यो सारा सिर्जित प्राणीहरू माझ सबैभन्दा उच्च आदर हुँदैनथ्यो र? के मानिसहरूमाझ परमेश्वरले बढी सराहना गर्ने अरू कुनै सिर्जित प्राणी हुन्थ्यो? यस्तो काम हासिल गर्न सहज छैन, तर त्यसले अझै अन्तमा परिणामहरू ल्याउनेछ। तिनीहरूको लिङ्ग वा राष्ट्रियता जे भए तापनि परमेश्वरको ज्ञान हासिल गर्न सक्षम हुनेहरू सबैले अन्तमा परमेश्वरको ठूलो सम्मान प्राप्त गर्नेछन् र परमेश्वरको अधिकार हासिल गर्ने तिनीहरू मात्र हुनेछन्। आजको काम यही हो र भविष्यको काम पनि यही नै हो; ६,००० वर्षको काममा पूरा गरिने अन्तिम र सबैभन्दा उच्च काम यही हो अनि मानिसको हरेक वर्गलाई प्रकट गर्ने कामको तरीका यही हो। मानिसलाई परमेश्वर चिन्ने तुल्याउँदा विभिन्न वर्गका मानिसहरूलाई प्रकट गरिन्छ: परमेश्वरलाई चिन्नेहरू परमेश्वरको आशिष् पाउन र उहाँका प्रतिज्ञाहरू स्वीकार गर्न योग्यका हुन्छन्, जबकी परमेश्वरलाई नचिन्नेहरू उहाँको आशिष् प्राप्त गर्न र उहाँका प्रतिज्ञाहरू स्वीकार गर्न अयोग्य हुन्छन्। परमेश्वरलाई चिन्नेहरू परमेश्वरका घनिष्ठ व्यक्तिहरू हुन् र परमेश्वरलाई नचिन्नेहरूलाई परमेश्वरका घनिष्ठ व्यक्तिहरू भनी भन्न सकिँदैन; परमेश्वरका घनिष्ठ मानिसहरूले उहाँका कुनै पनि आशिष्हरू प्राप्त गर्न सक्छन्, तर उहाँसँग घनिष्ठ नभएकाहरू उहाँको कामको योग्यका हुँदैनन्। संकष्टहरू, शुद्धीकरण वा न्यायहरू यी सबै अन्तमा परमेश्वरको ज्ञान हासिल गर्नको निम्ति नै हुन्, ताकि मानिस परमेश्वरको अधीनमा रहन सकोस्। अन्तमा हासिल गरिने एक मात्र प्रभाव यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो
१९. जब कार्यका तीन चरण अन्त्यमा पुग्छ, परमेश्वरको गवाही दिनेहरूको समूह, परमेश्वरलाई चिन्नेहरूको समूहलाई निर्माण गरिनेछ। यी मानिसहरू सबैले परमेश्वरलाई चिन्नेछन्। तिनीहरूले सत्यता अभ्यास गर्न सक्नेछन्, तिनीहरूमा मानवता र चेतना हुनेछ। तिनीहरू सबैले परमेश्वरको मुक्तिको कार्यका तीन चरणहरू जान्नेछन्। यो अन्त्यमा पूरा गरिने काम हो, र यी मानिसहरू ६,००० वर्षको व्यवस्थापन कार्यका उत्कृष्टता हुन्, र शैतानको अन्तिम हारको सबैभन्दा शक्तिशाली गवाही हुन्। परमेश्वरको गवाही दिन सक्नेहरूले परमेश्वरको प्रतिज्ञा र आशिषलाई प्राप्त गर्न सक्नेछन्, र तिनीहरू अन्त्यसम्मै रहिरहने समूह, परमेश्वरको अख्तियार भएको र परमेश्वरको गवाही दिने समूह बन्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो
२०. परमेश्वरले वर्तमान दिनसम्म आफ्नो छ हजार वर्षे काम गर्नुभएको छ, र मुख्यतः शैतानलाई हराउन र सारा मानवजातिलाई मुक्ति दिनका लागि उहाँका धेरै कार्यहरू प्रकाश गर्नुभएको छ। यस अवसरको माध्यमबाट, परमेश्वरले स्वर्गका यावत् थोक, पृथ्वीका यावत् थोक, समुद्रभित्रका यावत् थोक र पृथ्वीमा भएका प्रत्येक प्राणीलाई समेत, उहाँको सर्वशक्तिमान्ता र उहाँका सबै कार्यहरू देख्ने तुल्याउनुहुन्छ। उहाँले शैतानलाई हराउने यस अवसरको माध्यममार्फत मानिसहरूलाई उहाँका सबै कार्य प्रकाश गर्नुहुन्छ, ताकि तिनीहरू सबैले उहाँको प्रशंसा गरून् र शैतानलाई हराउने कार्यमा उहाँको बुद्धिको गुणगान गाऊन्। पृथ्वीमा, स्वर्गमा, अनि समुद्रभित्र भएका यावत् थोकले परमेश्वरलाई महिमा दिन्छन्, उहाँको सर्वशक्तिमान्ताको प्रशंसा गर्छन्, उहाँका हरेक कार्यको प्रशंसा गर्छन्, र उहाँको पवित्र नाउँ पुकार्छन्। उहाँले शैतानलाई हराउनुभएको कुराको प्रमाण यही हो; उहाँले शैतानलाई विजय गर्नुभएको छ भन्ने कुराको प्रमाण यही हो। अझै बढी, यो मानवजातिलाई उहाँले दिनुभएको मुक्तिको प्रमाण हो। परमेश्वरको सम्पूर्ण सृष्टिले उहाँलाई महिमा दिन्छ, उहाँले आफ्नो शत्रुलाई हराउनुभएकोमा र विजय भई फर्कनुभएकोमा उहाँको प्रशंसा गर्छ, र महान् विजयी राजाका रूपमा उहाँको गुणगान गाउँछ। उहाँको उद्देश्य भनेको शैतानलाई हराउनु मात्रै होइन, त्यही कारणले उहाँले छ हजार वर्षसम्म निरन्तर रूपमा काम गर्नुभएको छ। उहाँले मानवजातिलाई मुक्त गर्नको लागि शैतानको हारलाई प्रयोग गर्नुहुन्छ; उहाँका सबै कार्य र उहाँका सारा महिमा प्रकट गर्नको लागि उहाँले शैतानको हारलाई प्रयोग गर्नुहुन्छ। उहाँले महिमा प्राप्त गर्नुहुनेछ, अनि स्वर्गदूतहरूका सारा भीडले उहाँका सारा महिमा देख्नेछन्। स्वर्गका दूतहरू, पृथ्वीका मानिसहरू, अनि पृथ्वीमा भएका सारा सृष्टिले सृष्टिकर्ताको महिमा देख्नेछन्। उहाँले गर्नुहुने काम यही नै हो। स्वर्ग र पृथ्वीमा भएको उहाँको सृष्टिमा सबैले उहाँको महिमा देख्नेछ, अनि शैतानलाई पूर्ण रूपमा हराएपछि उहाँ विजयको साथ फर्कनुहुनेछ, अनि मानवजातिलाई उहाँको प्रशंसा गर्न दिनुहुनेछ, जसद्वारा आफ्नो काममा उहाँले दोबर विजय हासिल गर्नुहुनेछ। अन्त्यमा, सारा मानवजाति उहाँद्वारा विजय गरिनेछ, र विरोध गर्ने वा विद्रोह गर्ने जोकोहीलाई उहाँले मेटाउनुहुनेछ; अर्को शब्दमा भन्दा, शैतानको स्वामित्वमा हुने सबैलाई उहाँले मेटाउनुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्ने जान्नुपर्छ