परमेश्‍वर स्वयम् अद्वितीय ४

परमेश्‍वरको पवित्रता (१)

हाम्रो पछिल्लो भेलामा हामीले परमेश्‍वरको अख्तियारको बारेमा थप सङ्‍गति गरेका थियौँ। अहिलेलाई हामी परमेश्‍वरको धार्मिकताको विषयमा छलफल गर्नेछैनौँ। आज हामी पूर्ण रूपमा नयाँ विषय—परमेश्‍वरको पवित्रताको बारेमा कुराकानी गर्नेछौँ। परमेश्‍वरको पवित्रता परमेश्‍वरको अद्वितीय सारको अर्को एउटा पक्ष हो, त्यसैले हामीले यो विषयको बारेमा सङ्‍गति गर्नु अत्यन्त महत्वपूर्ण छ। मैले यसभन्दा अघि परमेश्‍वरको सारको अर्का दुई पक्षहरू—परमेश्‍वरको धर्मी स्वभाव र परमेश्‍वरको अख्तियारको विषयमा सङ्‍गति गरेको थिएँ; के यी दुई पक्षहरू, र आज मैले सङ्‍गतिमा बताउने पक्ष सबै अद्वितीय हुन् त? (हुन्।) परमेश्‍वरको पवित्रता पनि अद्वितीय छ, त्यसैले आजको हाम्रो सङ्‍गतिको निम्ति हाम्रो मुख्य विषयवस्तुमा यसको अद्वितीयताको आधार र मूल समावेश हुनेछ। आज हामी परमेश्‍वरको अद्वितीय सार अर्थात् उहाँको पवित्रताको बारेमा छलफल गर्न जाँदै छौँ। सायद तिमीहरूमध्ये कति जनामा शङ्का छ, र सोध्छौ, “किन हामीले परमेश्‍वरको पवित्रताको बारेमा सङ्‍गति गर्नुपर्छ?” चिन्ता नगर, म तिमीहरूलाई यसको बारेमा बिस्तारै बताउनेछु। मैले भन्‍नुपर्ने कुरा तिमीहरूले सुनिसकेपछि मैले यो विषयमा किन सङ्‍गति गर्नु अत्यावश्यक छ भनी तिमीहरूले थाहा पाउनेछौ।

सर्वप्रथम, हामी “पवित्र” शब्दलाई परिभाषित गरौँ। तिमीहरूको अनुभूति र तिमीहरूले हासिल गरेका सबै ज्ञानबाट “पवित्र” शब्दको परिभाषा कस्तो हुनुपर्छ भनी तिमीहरू बुझ्छौ? (“पवित्र” को अर्थ दाग नलागेको, पूर्णतया मानवीय भ्रष्‍टता वा त्रुटिरहित हुन्छ। पवित्रताले सबै सकारात्मक कुराहरू प्रसारित गर्छ, चाहे त्यो विचारमा होस्, वा चाहे बोलीवचनमा वा कार्यमा होस्।) साह्रै राम्रो। (“पवित्र” ईश्‍वरीय, मानिसद्वारा दाग नलगाइएको, उल्‍लङ्घन गर्न नसकिने हुन्छ। यो अद्वितीय छ, यो परमेश्‍वरको मात्र हो र यो उहाँको प्रतीक हो।) यो तिमीहरूको परिभाषा हो। प्रत्येक व्यक्तिको हृदयमा यो “पवित्र” शब्दको एउटा क्षेत्र, एउटा परिभाषा र एउटा व्याख्या छ। कम्तीमा पनि, जब तिमीहरूले “पवित्र” शब्द देख्छौ, तिमीहरूको मन खाली हुँदैन। तिमीहरूसँग यो शब्दको निम्ति एक निश्‍चित परिभाषाको क्षेत्र छ, र कतिपय मानिसहरूको भनाइ परमेश्‍वरको स्वभावको सार परिभाषित गर्ने भनाइसँग लगभग मिल्छ। यो साह्रै राम्रो हो। “पवित्र” एक सकारात्मक शब्द हो भनी अधिकांश मानिसहरू विश्‍वास गर्छन्, र यो निश्‍चय नै सत्य हो। तर आज, हामीले परमेश्‍वरको पवित्रताको विषयमा सङ्‍गति गर्दा म केवल परिभाषा र व्याख्याहरूको विषयमा मात्र कुरा गर्नेछैन। बरु, परमेश्‍वर पवित्र हुनुहुन्छ भनी मैले किन भन्छु, र परमेश्‍वरको सार वर्णन गर्न मैले किन “पवित्र” शब्द प्रयोग गर्छु भनी तँलाई देखाउन प्रमाणको रूपमा तथ्यहरू प्रस्तुत गर्नेछु। हाम्रो सङ्‍गति सकिएपछि, परमेश्‍वरको सार परिभाषित गर्नु र परमेश्‍वरको सन्दर्भमा “पवित्र” शब्द प्रयोग गर्नु न्यायोचित र सबैभन्दा उपयुक्त भएको तैँले महसुस गर्नेछस्। कम्तीमा पनि, वर्तमान मानव भाषाको परिप्रेक्ष्यमा परमेश्‍वरको विषयमा उल्लेख गर्न यो शब्द प्रयोग गर्नु विशेष रूपमा उपयुक्त छ—मानव भाषाका सबै शब्दहरूमध्ये यो एउटै शब्द मात्र परमेश्‍वरको विषयमा उल्लेख गर्न पूर्णतया सुहाउँदो छ। जब परमेश्‍वरलाई जनाउनको निम्ति यो शब्द प्रयोग गरिन्छ तब यो रित्तो शब्द रहँदैन, न त यो आधारहीन प्रशंसा वा खोक्रो चापलुसीको शब्द नै हुन्छ। हाम्रो सङ्‍गतिको उद्देश्य प्रत्येक व्यक्तिलाई परमेश्‍वरको सारको यो पक्षको सत्यता पहिचान गर्न दिनु हो। परमेश्‍वर मानिसको बुझाइदेखि डराउनुहुन्‍न, तर उहाँ उसको गलत बुझाइदेखि डराउनुहुन्छ। परमेश्‍वरले प्रत्येक व्यक्तिले उहाँको सार, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सो सबै थाहा पाओस् भन्‍ने चाहना गर्नुहुन्छ। त्यसैले हरेकपटक जब हामी परमेश्‍वरको सारको कुनै एक पक्ष उल्लेख गर्छौं, तब परमेश्‍वरको सारको यो पक्ष पनि वास्तवमा अस्तित्वमा छ भनी मानिसहरूले देख्‍न सकून् भनी हामी थुप्रै तथ्यहरू प्रस्तुत गर्न सक्छौँ।

अब हामीसँग “पवित्र” शब्दको परिभाषा भएकोले हामी केही उदाहरणहरू छलफल गरौँ। मानिसहरूको धारणामा, तिनीहरूले थुप्रै कुराहरूका साथै मानिसहरू “पवित्र” छन् भनी कल्‍पना गर्छन्। उदाहरणको लागि, कुमार केटाहरू र कन्या केटीहरूलाई मानवजातिका शब्दकोशहरूमा पवित्र भनी परिभाषित गरिन्छ। तर के तिनीहरू वास्तवमै पवित्र हुन्छन् त? यो तथाकथित “पवित्र” र आज हामीले गर्ने सङ्‍गतिमा कुरा गर्न लागेको “पवित्र” के एउटै र उही हो त? असल नैतिकता भएका मानिसहरू जोसँग परिष्‍कृत र सभ्य बोलीवचन छ, जसले कसैलाई कहिल्यै चोट पुर्‍याउँदैन, बरु आफ्नो बोलीवचनद्वारा अरूलाई सहज र सहमत तुल्याउँछ—के तिनीहरू पवित्र हुन्? असल काम गरी अरू मानिसहरूको भलाइ गर्ने, परोपकारी प्रकृतिका र ठूलो सहायता पुर्‍याउने व्यक्तिहरू, अरू मानिसहरूको जीवनमा ठूलो आनन्द ल्याइदिने व्यक्तिहरू—के तिनीहरू पवित्र हुन्? स्वार्थी विचार नराख्‍ने व्यक्तिहरू, कसैमाथि कठोर अपेक्षा नथोपर्ने व्यक्तिहरू, प्रत्येक व्यक्तिप्रति सहिष्‍णुताको भाव राख्‍ने व्यक्ति—के तिनीहरू पवित्र हुन्? कहिल्यै पनि झगडा नगरेका वा अरूबाट कहिल्यै फाइदा नउठाएका व्यक्तिहरू—के तिनीहरू पवित्र हुन्? अनि अरूको भलाइको निम्ति काम गर्ने, अरूलाई फाइदा पुर्‍याउने व्यक्तिहरू र हरेक किसिमले अरूलाई सुदृढ गराउने व्यक्तिहरू—के तिनीहरू पवित्र हुन्? आफ्नो जीवनको सम्पूर्ण बचत अरूलाई दान दिने र सरल जीवन यापन गर्ने, आफूलाई कठोर व्यवहार गर्ने तर अरूलाई उदार व्यवहार गर्ने व्यक्तिहरू—के तिनीहरू पवित्र हुन्? (होइनन्।) तिमीहरूका आमाहरूले कसरी तिमीहरूको हेरचाह गरेका थिए र हरेक किसिमले तिमीहरूको रेखदेख गरेका थिए त्यो कुरा तिमीहरू सबै जनालाई याद छ—के तिनीहरू पवित्र हुन्? तिमीहरूले प्रिय मानेका आदर्श व्यक्तिहरू, चाहे तिनीहरू प्रसिद्ध मानिसहरू, सेलिब्रेटीहरू हुन् वा ठूला मानिसहरू हुन्—के तिनीहरू पवित्र हुन्? (होइनन्।) अब हामी बाइबलमा उल्लेख गरिएका अगमवक्ताहरूलाई हेरौँ जसले धेरै मानिसहरूलाई थाहा नभएका भविष्यसँग सम्बन्धित कुराहरू बताउन सक्थे—के यी मानिसहरू पवित्र थिए? परमेश्‍वरको वचन र उहाँको कामका तथ्यहरूलाई बाइबलमा अभिलेख गर्न सक्‍ने व्यक्तिहरू—के तिनीहरू पवित्र थिए? के मोशा पवित्र थिए? के अब्राहाम पवित्र थिए? (थिएनन्।) अनि अय्यूब नि? के उनी पवित्र थिए? (थिएनन्।) अय्यूबलाई परमेश्‍वरले धर्मी मान्छे भन्‍नुभएको थियो, तैपनि किन उनलाई समेत अपवित्र भनियो? के परमेश्‍वरको भय मान्‍ने र दुष्‍टताबाट अलग बस्‍ने मानिसहरू साँच्‍चिकै पवित्र होइनन् र? तिनीहरू पवित्र हुन् कि होइनन्? (होइनन्।) तिमीहरू अलिक अनिश्‍चित छौ, तिमीहरू जवाफको बारेमा ढुक्‍क छैनौ, र तिमीहरू “होइन” भनी भन्‍न साहस गर्दैनौ, न त “हो” भन्‍न नै साहस गर्छौ, त्यसैले अन्त्यमा तिमीहरू आधा हृदयले “होइन” भन्छौ। म अर्को प्रश्‍न सोध्छु। परमेश्‍वरका सन्देशवाहकहरू—परमेश्‍वरले पृथ्‍वीमा पठाउनुभएका सन्देशवाहकहरू—के तिनीहरू पवित्र हुन्? के स्वर्गदूतहरू पवित्र हुन्? (होइनन्।) शैतानद्वारा भ्रष्‍ट नतुल्याइएका मानिसहरू—के तिनीहरू पवित्र हुन्? (होइनन्।) तिमीहरू हरेक प्रश्‍नको जवाफ “होइन” भनी दिइरहेका छौ। केको आधारमा? तिमीहरू द्विविधामा परेका छौ, होइन त? किन स्वर्गदूतहरूलाई पनि पवित्र छैनन् भनिन्छ त? तिमीहरू अहिले अनिश्‍चित भएको महसुस गर्छौ, होइन त? यसभन्दा अघि उल्लेख गरिएका मानिसहरू, वस्तुहरू वा सृष्‍टि नगरिएका कुराहरू के कुराको आधारमा पवित्र होइनन्, त्यसलाई तिमीहरू पत्ता लगाउन सक्छौ? म निश्‍चित छु कि तिमीहरूले पत्ता लगाउन सक्दैनौ। त्यसैले, के तिमीहरूले “होइन” भनी भन्‍नु अलिकति गैरजिम्मेवारी होइन र? के तिमीहरूले अन्धाधुन्ध जवाफ दिइरहेका छैनौ र? कतिपय मानिसहरूले यस्तो विचार गरिरहेका छन्: “तपाईंले यस किसिमले प्रश्‍न गर्नुभएको कारण जवाफ निश्‍चय नै ‘होइन’ भन्‍ने हुन्छ।” मलाई सरल जवाफ नदेओ। जवाफ “हो” हुन्छ कि “होइन” हुन्छ होसियारीसाथ विचार गर। तलको विषयमा हामीले सङ्‍गति गरिसकेपछि जबाफ किन “होइन” रहेछ भनी तिमीहरूले थाहा पाउनेछौ। म तिमीहरूलाई केही समयपछि जवाफ दिनेछु। सुरुमा, हामी पवित्रशास्‍त्रको केही अंश पाठ गरौँ।

१. मानिसलाई यहोवा परमेश्‍वरको आज्ञा

उत्पत्ति २:१५-१७  अनि यहोवा परमेश्‍वरले मानिसलाई लिनुभयो र अदनको बगैँचामा त्यसको हेरचाह गर्न र काटछाँट गर्न राख्‍नुभयो। अनि यहोवा परमेश्‍वरले मानिसलाई आज्ञा गर्दै भन्‍नुभयो, तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।

२. स्‍त्रीलाई सर्पको प्रलोभन

उत्पत्ति ३:१-५  अब सर्प यहोवा परमेश्‍वरले बनाउनुभएको भूमिको कुनै पनि पशुभन्दा धेरै धूर्त थियो। अनि त्यसले स्‍त्रीलाई भन्यो, हो? के परमेश्‍वरले बगैँचाको हरेक रूखबाट तिमीहरूले खानु हुँदैन भनी भन्‍नुभएको छ? अनि स्‍त्रीले सर्पलाई भनी, हामीले बगैँचाका रूखहरूबाट फल खान सक्छौँ: तर बगैँचाको बीचमा भएको रूखबाट तिमीहरूले खानु हुँदैन, न त तिमीहरूले यसलाई छुनु नै हुन्छ, नत्र तिमीहरू मर्छौ भनेर परमेश्‍वरले भन्‍नुभएको छ। अनि सर्पले स्‍त्रीलाई भन्यो, तिमीहरू निश्‍चय नै मर्नेछैनौ: किनभने परमेश्‍वरलाई थाहा छ, तिमीहरूले त्यसबाट खाएको दिन, तिमीहरूको आँखा खुल्नेछ अनि असल र खराबलाई चिनेर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ।

यी दुई खण्डहरू बाइबलमा भएको उत्पत्तिको पुस्तकबाट लिइएका हुन्। के तिमीहरू सबै यी दुई खण्डहरूसँग परिचित छौ? यिनीहरू सुरुमा भएको घटनासँग सम्बन्धित छन्, जुन बेला मानिसलाई पहिलोपटक सृष्‍टि गरिएको थियो; यी घटनाहरू वास्तविक थिए। यहोवा परमेश्‍वरले आदम र हव्वालाई कस्तो किसिमको आज्ञा दिनुभएको थियो भनी पहिला हेरौँ; यो आज्ञामा भएको विषयवस्तु आजको हाम्रो विषयको निम्ति अत्यन्त महत्वपूर्ण छ। “अनि यहोवा परमेश्‍वरले मानिसलाई आज्ञा गर्दै भन्‍नुभयो, तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।” यो खण्डमा मानिसलाई दिइएको परमेश्‍वरको आज्ञाको महत्त्व के हो? सर्वप्रथम, मानिसले के खान सक्छ, अर्थात् विभिन्‍न प्रकारका रूखहरूका फलहरू खान सक्छ भनी परमेश्‍वर भन्‍नुहुन्छ। त्यसमा कुनै खतरा वा विष छैन; सबै खान सकिन्छ र मानिसले चाहेजति चिन्ता र शङ्‍का नगरीकन स्वतन्‍त्रतापूर्वक खान सक्छ। परमेश्‍वरको आज्ञाको एउटा भाग यही हो। अर्को भागचाहिँ चेतावनी हो। यो चेतावनीमा, परमेश्‍वरले मानिसलाई असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ उसले खानु हुँदैन भनी आज्ञा दिनुहुन्छ। यदि उसले यो रूखबाट खायो भने के हुनेछ? परमेश्‍वरले मानिसलाई भन्‍नुभयो: यदि तैँले त्यसबाट खाइस् भने तँ निश्‍चय नै मर्नेछस्। के यी वचनहरू स्पष्‍ट छैनन् र? यदि परमेश्‍वरले तँलाई यो कुरा भन्‍नुभयो तर तैँले किन भनेर बुझिनस् भने, के तैँले उहाँको वचनलाई एउटा नियमको रूपमा लिन्छस् कि पालन गर्नैपर्ने आज्ञाको रूपमा लिन्छस्? यस्ता वचनहरूलाई पालन गर्नैपर्छ। तर मानिस आज्ञापालन गर्न सक्षम होस् कि नहोस्, परमेश्‍वरका वचनहरू स्पष्‍ट छन्। परमेश्‍वरले मानिसलाई उसले के खानु हुन्छ र के खानु हुँदैन, र उसले खान नहुने फल खायो भने के हुनेछ भनी स्पष्‍टसँग बताउनुभयो। परमेश्‍वरले बोल्‍नुभएका यी संक्षिप्‍त वचनहरूमा, के तँ परमेश्‍वरको स्वभावको कुनै कुरा देख्‍न सक्छस्? के परमेश्‍वरका यी वचनहरू सत्य छन्? के यिनमा कुनै छल छ? कुनै झूट छ? कुनै धाकधम्की छ? (छैन।) परमेश्‍वरले इमानदारीसाथ, सत्यतापूर्वक र सच्‍चा रूपले मानिसलाई उसले के खानु हुन्छ र के खानु हुँदैन भनी बताउनुभयो। परमेश्‍वरले स्पष्‍ट र सरल रूपमा बोल्‍नुभयो। के यी वचनहरूमा कुनै गुप्‍त अर्थ छन्? के यी वचनहरू सीधा छैनन्? के अनुमान गर्नुपर्ने कुनै आवश्यकता छ? अनुमान गर्नुपर्ने आवश्यकता छैन। तिनीहरूको अर्थ एक झलकमै स्पष्‍ट हुन्छ। ती पढेपछि तिनीहरूको अर्थ पूर्णतया स्पष्‍ट भएको महसुस गर्न सकिन्छ। त्यसैले, परमेश्‍वरले भन्‍न चाहनुभएको र उहाँले व्यक्त गर्न चाहनुभएको कुरा उहाँको हृदयबाट आउँछ। परमेश्‍वरले व्यक्त गर्नुहुने कुराहरू सफा, सीधा र स्पष्‍ट छन्। तिनमा कुनै गुप्‍त मनसायहरू हुँदैनन्, न त कुनै गुप्त अर्थहरू नै हुन्छन्। उहाँ मानिससँग सीधा रूपमा बोल्‍नुहुन्छ, उसले के खानु हुन्छ र के खानु हुँदैन भनी उसलाई बताउनुहुन्छ। भन्‍नुको अर्थ, परमेश्‍वरका यी वचनहरूमार्फत, परमेश्‍वरको हृदय पारदर्शी र सत्य छ भनी मानिसले देख्‍न सक्छ। यहाँ झूटको कुनै पनि निसान छैन; खानयोग्य खानेकुरा तैँले खानु हुँदैन भनी तँलाई बताउन खोजिएको होइन, वा तैँले खान नहुने खानेकुरा “खा अनि के हुन्छ हेर्” भनी तँलाई बताउन खोजिएको होइन। परमेश्‍वरले यस्तो भन्‍न चाहनुभएको होइन। परमेश्‍वरले आफ्नो हृदयमा जे कुरा सोच्‍नुहुन्छ, उहाँले त्यही कुरा बताउनुहुन्छ। यदि परमेश्‍वर पवित्र हुनुहुन्छ किनकि यी वचनहरूमा उहाँले आफैलाई देखाउनुहुन्छ र प्रकट गर्नुहुन्छ भनी म भन्‍छु भने तँलाई मैले एउटा सानो ढिस्कोलाई पहाड बनाएको वा मैले चाहिनेभन्दा बढी कुरा तन्काएको जस्तो लाग्‍न सक्छ। यदि त्यस्तो लाग्छ भने चिन्‍ता नगर्; हामीले कुराकानीलाई अझै सिध्याइसकेका छैनौं।

अब हामी “सर्पले स्‍त्रीलाई देखाएको प्रलोभन” को विषयमा कुरा गरौँ। सर्प को हो? शैतान। यसले परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनामा प्रतिभारको भूमिका निभाउँछ, र हामीले परमेश्‍वरको पवित्रताको विषयमा सङ्‍गति गर्दा यो भूमिकाको बारेमा उल्लेख गर्नैपर्छ। म किन यसो भन्छु त? यदि तँलाई शैतानको दुष्‍टता र भ्रष्‍टता थाहा छैन भने, यदि तँलाई शैतानको प्रकृतिको बारेमा थाहा छैन भने, तैँले कुनै पनि हालतमा पवित्रतालाई स्वीकार गर्न सक्‍नेछैनस्, न त वास्तवमा पवित्रता के हो भनी जान्‍न नै सक्‍नेछस्। द्विविधामा, मानिसहरू शैतानले गरेको कार्य सही हो भनी विश्‍वास गर्छन्, किनकि तिनीहरू यस किसिमको भ्रष्‍ट स्वभावभित्र जिउँछन्। प्रतिभार नहुँदो हो त, अनि तुलना गर्ने कुनै कुरा नहुँदो हो त, तैँले पवित्रता के हो भनी थाहा पाउन सक्दैनस्। त्यस कारणले गर्दा, यहाँ शैतानको बारेमा उल्लेख गरिनु नै पर्छ। यस किसिमले उल्लेख गर्नु व्यर्थ बातचित होइन। शैतानको बोली र कामहरूद्वारा हामी शैतानले कसरी काम गर्छ, शैतानले कसरी मानवजातिलाई भ्रष्‍ट तुल्याउँछ, र शैतानको प्रकृति र मुहार कस्तो छ भनी हामी देख्‍नेछौँ। त्यसो भए, स्‍त्रीले सर्पलाई के भनिन् त? यहोवा परमेश्‍वरले आफूलाई भन्‍नुभएको कुरा स्‍त्रीले सर्पलाई पुनः सुनाइन्। जब उनले यी वचनहरू भनिन्, तब के परमेश्‍वरले उनलाई भन्‍नुभएको कुरा सत्य थियो भन्‍नेबारेमा उनी निश्‍चित थिइन्? उनी निश्‍चित हुन सकेकी थिइनन्। भर्खरै नयाँ सृष्‍टि गरिएको एक व्यक्तिको रूपमा उनीसँग असल र खराबको भेद छुट्याउने क्षमता थिएन, न त उनलाई आफ्नो वरपर भएका कुनै पनि कुराहरूको बारेमा संज्ञानात्मक अनुभूति नै थियो। उनले सर्पलाई भनेका कुराहरूको आधारमा मूल्याङ्कन गर्दा परमेश्‍वरले भन्‍नुभएको वचन सही थियो भनी उनी आफ्नो हृदयमा निश्‍चित थिइनन् भन्‍ने थाहा हुन्छ; उनको मनोवृत्ति नै यस्तो थियो। परमेश्‍वरका वचनहरूप्रति स्‍त्रीको मनोवृत्ति अनिश्‍चित किसिमको छ भनी जब सर्पलाई थाहा भयो, तब त्यसले भन्यो: “तिमीहरू निश्‍चय नै मर्नेछैनौ: किनभने परमेश्‍वरलाई थाहा छ, तिमीहरूले त्यसबाट खाएको दिन, तिमीहरूको आँखा खुल्नेछ अनि असल र खराबलाई चिनेर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ।” के यी वचनहरूभित्र कुनै समस्याग्रस्त कुरा छ? जब तिमीहरू यो वाक्य पढ्छौ तब के तिमीहरूले सर्पका अभिप्रायहरूलाई पत्ता लगाउन सक्छौ? ती अभिप्रायहरू के-के हुन्? त्यसले यस स्‍त्रीलाई परीक्षा गर्न चाहन्थ्यो, परमेश्‍वरका वचनहरूमा ध्यान दिनबाट उनलाई रोक्‍न चाहन्थ्यो। तर त्यसले यी कुराहरू सीधा रूपमा भनेन। त्यसैले, त्यो अति धूर्त हो भनी हामी भन्‍न सक्छौँ। त्यसले आफ्नो भाव धूर्त र छली किसिमले व्यक्त गर्छ ताकि त्यो आफूले चाहेको उद्देश्यसम्म पुग्‍न सकोस्। त्यसले त्यो उद्देश्यलाई मानिसबाट गोप्‍य राख्दै आफ्नो मनभित्र गुनेर राख्छ—सर्पको धूर्तता यस्तो किसिमको छ। शैतानको बोल्‍ने र काम गर्ने तरिका सधैँ यस्तै रहिआएको छ। कुनै एक वा अर्को तरिकालाई सुनिश्‍चित नगरीकन त्यसले “मर्नेछैनौ” भनेर भन्छ। तर यो कुरा सुनेर अज्ञानी स्‍त्रीको हृदय विचलित भयो। त्यो सर्पचाहिँ प्रसन्‍न भयो, किनकि त्यसको वचनले त्यसले चाहेजस्तै प्रभाव पारेको थियो—सर्पको धूर्त अभिप्राय यस्तो थियो। साथै मानवजातिले चाहना गर्ने किसिमको प्रतिफल दिने प्रतिज्ञा गरेर त्यसले स्‍त्रीलाई प्रलोभनमा पारेर भन्यो, “तिमीहरूले त्यसबाट खाएको दिन, तिमीहरूको आँखा खुल्नेछ।” त्यसैले उनले विचार गरिन्: “मेरो आँखा खोल्‍नु भनेको राम्रो कुरा हो!” अनि त्यसपछि त्यसले अझ बढी लोभ्याउने कुरा भन्यो, जुन वचन मानिसलाई पहिले कहिल्यै पनि थाहा नभएको र सुन्‍नेहरूमाथि परीक्षाको ठूलो शक्ति चलाउने वचन थियो: “असल र खराबलाई चिनेर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ।” के यी शब्दहरू मानिसलाई प्रबल रूपमा लोभ्याउने किसिमका छैनन् र? यो कसैले तँलाई यसो भनेको जस्तो हो: “तपाईंको अनुहारको आकार अद्‌भूत छ, तर तपाईंको नाकको डाँडी अलि छोटो छ। यदि तपाईंले त्यसलाई सच्याउनुभयो भने तपाईं विश्‍व-सुन्दरी बन्‍नुहुनेछ!” के यी शब्दहरूले पहिला कहिल्यै कस्‍मेटिक सर्जरी गर्ने विचार नगरेको व्यक्तिको हृदयलाई विचलित बनाउन सक्छ? के यी शब्दहरू लोभ्याउने किसिमका छैनन् र? के यो प्रलोभन तँलाई परीक्षामा पार्ने किसिमको छैन र? अनि के यो परीक्षा होइन र? (हो।) के परमेश्‍वरले यस्तो कुरा भन्‍नुहुन्छ? हामीले अहिले भर्खरै हेरेका परमेश्‍वरका वचनहरूमा यस किसिमको कुनै सङ्‍केत पाइन्छ? के परमेश्‍वरले आफ्नो हृदयमा विचार गर्नुभएको कुरा भन्‍नुहुन्छ? के मानिसले उहाँका वचनहरूमार्फत परमेश्‍वरको हृदयलाई हेर्न सक्छ? (सक्छ।) तर जब सर्पले यी वचनहरू स्‍त्रीसँग बोल्यो, तब के तैँले त्यसको हृदयलाई देख्‍न सकिस्? सकिनस्। मानिस आफ्नो अज्ञानताको कारण सर्पका वचनहरूद्वारा सजिलैसँग प्रलोभनमा परेको थियो, र उसले सजिलैसँग धोखा खाएको थियो। त्यसो भए, के तँ शैतानका अभिप्रायहरूलाई देख्‍न सक्षम थिइस् त? के तँ शैतानले भनेका कुरापछाडिको उद्देश्यलाई देख्‍न सक्षम थिइस् त? के तँ शैतानको धूर्त योजना र छललाई देख्‍न सक्षम थिइस् त? (थिइनँ।) शैतानको कुरा गर्ने तरिकाले कस्तो किसिमको स्वभावलाई प्रतिनिधित्व गरेको छ? यी शब्दहरूमार्फत तैँले शैतानको कस्तो सारलाई देखेको छस्? के यो कपटी छैन र? सायद तेरो अगाडि बाह्य रूपमा त्यो मुस्कुराउँछ होला, वा सायद त्यसले कुनै पनि भाव प्रकट गर्दैन होला। तर त्यसले आफ्नो हृदयमा आफ्नो उद्देश्य कसरी हासिल गर्ने भनी हिसाबकिताब गरिरहेको हुन्छ, र तैँले त्यसको यो उद्देश्यलाई भने देख्‍न सक्दैनस्। त्यसले तँसँग गर्ने सबै प्रतिज्ञाहरू, त्यसले वर्णन गर्ने सबै फाइदाहरू त्यसको प्रलोभनका बाह्य आवरणहरू हुन्। तँ ती कुराहरूलाई असल देख्छस्, त्यसैले तँ परमेश्‍वरले भन्‍नुभएको भन्दा त्यसले भनेको कुरा अझ बढी उपयोगी, अझ बढी महत्वपूर्ण भएको महसुस गर्छस्। जब यस्तो हुन्छ, तब के मानिस समर्पित कैदी बन्दैन र? के शैतानले प्रयोग गरेको यो रणनीति अत्यन्तै दुष्ट प्रकृतिको छैन र? तैँले आफैलाई पतनमा डुब्‍न दिन्छस्। शैतानले एउटा औँला पनि नहल्लाईकन, केवल यी दुई वाक्यहरू बोलेपछि, तँ खुसीसाथ शैतानको पछि लाग्छस्, शैतानको आज्ञापालन गर्न तयार हुन्छस्। यसरी शैतानको उद्देश्य पूरा भएको हुन्छ। के यो अभिप्राय दुष्‍ट छैन र? के यो शैतानको सबैभन्दा प्राचीन रूप होइन र? शैतानका वचनहरूबाट मानिसले त्यसका दुष्‍ट मनसायहरूलाई देख्‍न सक्छ, त्यसको घृणित रूप र त्यसको सार देख्‍न सक्छ। के यस्तै हुँदैन र? कुनै विश्‍लेषण नै नगरीकन यी वाक्यहरूलाई तुलना गर्दा, सायद तँलाई यहोवा परमेश्‍वरका वचनहरू निरस, साधारण र अल्छीलाग्‍दो लाग्छन् होला, यहाँ ती वचनहरूले परमेश्‍वरको इमानदारिताको प्रशंसामा लयबद्ध कविता प्रवाह गर्नैपर्ने औचित्य प्रदान गर्दैनन् होला। तैपनि, जब हामी शैतानका वचनहरू र शैतानको दुष्‍ट रूपलाई एक प्रतिभारको रूपमा लिन्छौँ, तब के परमेश्‍वरका यी वचनहरूले आजका मानिसहरूका निम्ति महत्वपूर्ण अर्थ बोक्दैनन् र? (बोक्छन्।) यो तुलनाद्वारा मानिसले परमेश्‍वरको विशुद्ध त्रुटिरहितता महसुस गर्न सक्छ। शैतानले भन्‍ने हरेक वचन, साथै शैतानका मनसायहरू, त्यसको उद्देश्य र त्यसले बोल्‍ने तरिका—ती सबै अशुद्ध छन्। शैतानको बोल्ने तरिकाको मुख्य विशेषता के हो? शैतानले तँलाई लोभ्याउनको निम्ति शब्‍द-छलको प्रयोग गर्छ, त्यसले त्यसको कपटीपन तँलाई देखाउँदैन, न त त्यसले तँलाई त्यसको उद्देश्यको भेद थाहा पाउने अवसर नै दिन्छ; शैतानले तँलाई बल्छीमा अल्झाउँछ, तर तैँले भने त्यसको श्रेष्ठताको प्रशंसा र गुणगान गाउनुपर्छ। के यो चाल शैतानको रोजाइको अभ्यस्त तरिका होइन र? (हो।) अब हामी शैतानका अरू कुन-कुन वचन र अभिव्यक्तिहरूले त्यसको दुष्‍ट रूप मानिसलाई देखाउँछन् भनी अवलोकन गर्नेछौँ। हामी पवित्रशास्‍त्रबाट थप केही खण्डहरू पढौं।

३. शैतान र यहोवा परमेश्‍वरबीचको संवाद

अय्यूब १:६-११  अहिले परमेश्‍वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो, र शैतान पनि तिनीहरूसँगै आयो। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, तँ कहाँबाट आइस्? तब शैतानले यसो भन्दै यहोवालाई जवाफ दियो, पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन। त्यसपछि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र? के तपाईंले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाल्नुभएको छैन र? तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक छोइदिनुहोस्, अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछन्।

अय्यूब २:१-५  फेरि परमेश्‍वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो, र शैतान पनि तिनीहरूसँगै यहोवाको सामु आफूलाई प्रस्तुत गर्न आयो। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, तँ कहाँबाट आइस्? तब शैतानले यसो भन्दै यहोवालाई जवाफ दियो, पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ। अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन। अनि, त्यो अझै आफ्नो निष्ठामा दृढ छ, यद्यपि कुनै कारणविना नै त्यसलाई नष्ट पार्न तैँले मलाई त्यसको विरुद्धमा उक्साइस्। अनि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, छालाको निम्ति छाला, हो, मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सब थोक दिनेछ। तर अहिले तपाईंको हात पसार्नुहोस् र त्यसको हाड र छालामा छोइदिनुहोस्, अनि त्यसले तपाईंलाई सोझै सराप्‍नेछ।

यी दुई खण्डहरूमा परमेश्‍वर र शैतानबीचको संवादको पूर्ण अंश पाइन्छ; यी खण्डहरूमा परमेश्‍वरले के भन्‍नुभयो र शैतानले के भन्यो भन्‍ने विवरण रहेको छ। परमेश्‍वरले धेरै बोल्‍नुभएन, र उहाँले अति सरल रूपमा बोल्‍नुभयो। के हामी परमेश्‍वरको सरल वचनमा उहाँको पवित्रतालाई देख्‍न सक्छौँ? कतिपयले यो सजिलोसँग गर्न सकिँदैन भनेर भन्‍नेछन्। त्यसो भए, के हामी शैतानको जवाफमा त्यसको घिनलाग्दोपन देख्‍न सक्छौँ? पहिले हामी यहोवा परमेश्‍वरले शैतानलाई कस्तो किसिमको प्रश्‍न सोध्‍नुभयो सो हेरौँ। “तँ कहाँबाट आइस्?” के यो सीधा प्रश्‍न होइन र? के यसमा कुनै गुप्‍त अर्थ छ त? छैन; यो त एउटा सीधा प्रश्‍न हो। यदि मैले तिमीहरूलाई “तँ कहाँबाट आइस्?” भनेर सोध्‍नुपर्‍यो भने, तिमीहरूले कसरी जवाफ दिनेथियौ? के यो जवाफ दिन गाह्रो प्रश्‍न हो? के तिमीहरूले “यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” भनेर जवाफ दिनेथियौ? (थिएनौ।) तिमीहरूले यस किसिमले जवाफ दिनेथिएनौ। त्यसो भए, शैतानले यसरी जवाफ दिँदा तिमीहरूलाई कस्तो अनुभूति हुन्छ? (शैतान हास्यास्पद र छली भएको हामी महसुस गर्छौं।) मैले कस्तो महसुस गरिरहेको छु भनी के तिमीहरू बताउन सक्छौ? हरेकपटक जब म शैतानका यी वचनहरूलाई देख्छु, तब मलाई घृणाको महसुस हुन्छ, किनभने शैतान बोल्छ तर यसका वचनहरूमा कुनै सारतत्व हुँदैन। के शैतानले परमेश्‍वरको प्रश्‍नको जवाफ दियो? दिएन, शैतानले बोलेका शब्दहरू जवाफ थिएनन्, ती शब्दहरूको केही अर्थ थिएन। ती परमेश्‍वरको प्रश्‍नको उत्तर थिएनन्। “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ।” तैँले यी शब्‍दहरूबाट के बुझ्छस्? शैतान कहाँबाट आएको हो? के तिमीहरूले यो प्रश्‍नको जवाफ पाएका छौ त? (छैनौँ।) यही नै शैतानको धूर्त योजनाको “विशिष्ट प्रतिभा” हो—त्यसले वास्तवमा आफूले के भन्‍न खोजेको हो भनी कसैलाई पत्ता लगाउन दिँदैन। तैँले यी शब्दहरू सुनिसकेपछि पनि त्यसले के भन्‍न खोजेको हो भनी अझै छुट्याउन सक्दैनस्, यद्यपि त्यसले जवाफ भने दिइसकेको छ। तैपनि आफूले उत्तम रूपमा जवाफ दिएको छु भनी शैतानले विश्‍वास गर्छ। अनि तँचाहिँ कस्तो महसुस गर्छस् त? घिनाउँछस्? (हो।) अब तँ यी शब्दहरूको प्रत्युत्तरमा घिन महसुस गर्न थाल्छस्। शैतानका शब्दहरूमा केही निश्‍चित विशेषताहरू हुन्छन्: शैतानले जे बोल्छ त्यसले तँलाई टाउको कन्याउने बनाउँछ, तँ त्यसका शब्दहरूको स्रोत पत्ता लगाउन असक्षम हुन्छस्। कहिलेकाहीँ शैतानसँग मनसायहरू हुन्छन् र त्यसले जानाजानी बोल्छ, र कहिलेकाहीँ त्यसको आफ्नै प्रकृतिद्वारा सञ्‍चालित भई, यी शब्दहरू स्वतस्फूर्त रूपमा निस्कन्छन् र सीधै शैतानको मुखबाट आउँछन्। शैतानले यी शब्दहरूलाई मनन गर्दै लामो समय बिताउँदैन; यी शब्दहरूलाई विचारै नगरीकन व्यक्त गरिन्छ। जब परमेश्‍वरले शैतानलाई तँ कहाँबाट आएको होस् भनी सोध्‍नुभयो, तब त्यसले केही दोहोरो अर्थ लाग्‍ने शब्दहरूद्वारा जवाफ दियो। तैँले आफू धेरै अलमलिएको महसुस गर्छस्, तँलाई शैतान कहाँबाट आएको हो भनी ठ्याक्‍कै थाहा हुँदैन। तिमीहरूमाझ यस्तै किसिमले बोल्‍ने कोही छन्? यो कस्तो खालको बोल्ने तरिका हो त? (यो अस्पष्ट छ र यसले एक निश्‍चित जवाफ दिँदैन।) यस किसिमको बोल्‍ने तरिकालाई वर्णन गर्न हामी कस्ता शब्दहरूको प्रयोग गर्नुपर्छ? यो बहकाउने किसिमको र भ्रामक छ। मानौँ, कोही आफूले हिजो के गरेका थियौँ भनी अरूलाई थाहा नहोस् भन्‍ने चाहन्छन्। तैँले तिनीहरूलाई सोध्छस्: “मैले तपाईंलाई हिजो देखेको थिएँ। तपाईं कहाँ जाँदै हुनुहुन्थ्यो?” तिनीहरू हिजो कहाँ गएका थिए भनी तिनीहरूले तँलाई सीधा कुरा बताउँदैनन्। बरु, तिनीहरू भन्छन्: “हिजोको दिन कस्तो व्यस्त दिन थियो। कस्तो थकान लगायो!” के तिनीहरूले तेरो प्रश्‍नको जवाफ दिए त? तिनीहरूले जवाफ त दिए, तर तिनीहरूले तैँले चाहेको जवाफ दिएनन्। योचाहिँ मानिसको बोलीभित्रको कुटिलताको “विशिष्ट प्रतिभा” हो। त्यसको अर्थ के हो भनी तैँले कहिल्यै पत्ता लगाउन सक्दैनस्, न त तँलाई तिनीहरूका शब्दहरूको स्रोत र अभिप्राय नै कहिल्यै थाहा हुन्छ। तिनीहरूले के कुरा लुकाउन खोजिरहेका छन् भनी तँलाई थाहा हुँदैन किनकि तिनीहरूको हृदयमा तिनीहरूको आफ्‍नै कथा हुन्छ—यो कपटीपन हो। के तिमीहरूको माझमा पनि प्रायजसो यसरी नै बोल्ने कोही छ? (हो।) त्यसो भए तिमीहरूको उद्देश्य के हो त? के कहिलेकाहीँ तिमीहरूका आफ्नै चाहनाहरूलाई सुरक्षित राख्‍न, कहिलेकाहीँ तिमीहरूको आफ्नै अभिमान, पद र छवि कायम राखिराख्‍न, र तिमीहरूको निजी जीवनका कुराहरू गोप्य राख्‍न हो? उद्देश्य जेसुकै होस्, यो तिमीहरूका रुचिहरूबाट अलग गर्न नसकिने हुन्छ, यो तिमीहरूका रुचिहरूसँग सम्बन्धित हुन्छ। के यो मानिसको प्रकृति होइन र? यस किसिमको प्रकृति भएको व्यक्ति शैतानसँग नजिकको सम्बन्ध भएको व्यक्ति हुन्छ, होइन भने त्यो त्यसको परिवार हुन्छ। हामी यसलाई यसरी भन्‍न सक्छौँ, के हामी त्यस्तै हुँदैनौँ र? सामान्यतया भन्‍नुपर्दा, यस्तो प्रकटीकरण घृणित र तिरस्कारयोग्य हुन्छ। अहिले तिमीहरूले पनि घिन महसुस गर्छौ, गर्दैनौ त? (गर्छौं।)

निम्‍न पदहरूलाई हेरौँ। यसो भन्दै शैतानले यहोवाको प्रश्‍नको जवाफ दिन्छ: “के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र?” यहोवाले अय्यूबमाथि गर्नुभएको मूल्याङ्कनलाई शैतानले आक्रमण गर्न सुरु गरिरहेको छ, यो आक्रमण शत्रुताले भरिएको छ। “के तपाईंले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाल्नुभएको छैन र?” यो अय्यूबमाथि यहोवाले गर्नुभएको कामको बारेमा शैतानको बुझाइ र मूल्याङ्कन हो। शैतानले यसलाई यसरी मूल्याङ्कन गर्छ, र भन्छ: “तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक छोइदिनुहोस्, अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछ।” शैतानले सधैँ अस्पष्ट रूपमा बोल्छ, तर त्यसले यहाँ भने निश्‍चित शब्दहरू प्रयोग गरेको छ। तैपनि, यी शब्दहरू निश्‍चित अर्थमा बोलिएको भए तापनि त्यो यहोवा परमेश्‍वरमाथिको, अर्थात् परमेश्‍वर स्वयम्‌को विरुद्धमा गरिएको आक्रमण, ईश्‍वर निन्दा र अवज्ञा हो। तिमीहरूले यी शब्दहरू सुन्दा कस्तो महसुस गर्छौ? के तिमीहरूले घृणा महसुस गर्छौ? के तिमीहरूले शैतानका अभिप्रायहरूलाई देख्‍न सक्छौ? सबैभन्दा पहिले, यहोवाले अय्यूबलाई परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मान्छे भनी गर्नुभएको मूल्याङ्कनलाई शैतानले खण्डन गर्छ। त्यसपछि शैतानले अय्यूबले भनेका र गरेका सबै कुराहरूको खण्डन गर्छ, अर्थात्, त्यसले यहोवाप्रतिको अय्यूबको भयलाई खण्डन गर्छ। के यो दोष लगाउने किसिमको छैन र? शैतानले यहोवाले गर्नुहुने र भन्‍नुहुने सबै कुरालाई दोष लगाउँदै छ, खण्डन गर्दै छ र शङ्‍का गर्दै छ। त्यसले विश्‍वास गर्दैन, र भन्छ, “यदि तपाईंले स्थिति यस्तो छ भनेर भन्‍नुहुन्छ भने, मैलेचाहिँ कसरी देखिनछु? तपाईंले उसलाई त्यति धेरै आशिष् दिनुभएको छ, त्यसैले उसले कसरी तपाईंको भय नमान्‍न सक्छ र?” के यो परमेश्‍वरले गर्नुभएको सबै कामको खण्डन होइन र? दोषारोपण, खण्डन र ईश्‍वर निन्दा—के शैतानका शब्दहरू हमला होइनन् र? के यी कुराहरू शैतानले आफ्नो हृदयमा जे विचार गर्छ त्यसैको साँचो अभिव्यक्ति होइनन् र? यी शब्दहरू अहिले भर्खरै हामीले पढेका शब्दहरू “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” भन्‍नेजस्ता निश्‍चय नै छैनन्। यी पूर्णतया फरक छन्। यी शब्दहरूद्वारा शैतानले आफ्नो हृदयमा भएका कुराहरूलाई पूर्णतया उदाङ्गो पार्छ—परमेश्‍वरप्रति त्यसको मनोवृत्ति र परमेश्‍वरप्रतिको अय्यूबको भयप्रति त्यसको घृणा। जब यस्तो हुन्छ, त्यसको द्वेष र दुष्‍ट प्रकृति पूर्णतया प्रकट हुन्छ। त्यसले परमेश्‍वरको भय मान्‍ने मानिसहरूलाई घृणा गर्छ, दुष्‍टताबाट अलग बस्‍ने मानिसहरूलाई घृणा गर्छ, र मानिसलाई आशिष् दिनुभएको कारण यहोवालाई झन् धेरै घृणा गर्छ। अय्यूबलाई परमेश्‍वरले आफ्नै हातले माथि उठाउनुभएको थियो, र शैतान अय्यूबलाई विनाश गर्न, उसलाई बरबाद पार्न यो अवसर उपयोग गर्न चाहन्छ, र त्यसले भन्छ: “तपाईं भन्‍नुहुन्छ अय्यूब तपाईंको भय मान्छ र दुष्‍टताबाट अलग बस्‍छ। म यसलाई फरक ढङ्गले हेर्छु।” त्यसले यहोवालाई उक्साउन र परीक्षा गर्न थुप्रै माध्यमहरू प्रयोग गर्छ र थुप्रै चाल चल्छ ताकि यहोवाले अय्यूबलाई शैतानले चाहेजस्तै गरी चालबाजी गर्न, हानि पुर्‍याउन र दुर्व्यवहार गर्न शैतानको हातमा सुम्पिदिऊन्। त्यसले परमेश्‍वरको दृष्‍टिमा धर्मी र सिद्ध ठहरिएको यस मानिसलाई नाश गर्न यो मौकाको फाइदा उठाउन चाहन्छ। के शैतानमा यस्तो किसिमको हृदय हुनुको कारण केवल क्षणिक आवेग मात्रै हो त? होइन, यो त्यस्तो होइन। यो लामो समयदेखिको योजना हो। जब परमेश्‍वरले काम गर्नुहुन्छ, कुनै व्यक्तिलाई वास्ता गर्नुहुन्छ, र उसलाई हेरचाह गर्नुहन्छ, र जब उहाँले त्यो व्यक्तिलाई कृपा र अनुमोदन प्रदान गर्नुहुन्छ, तब शैतान पनि त्यसको पछिपछि लाग्छ, र त्यसलाई फुस्ल्याउने, र हानि गर्ने प्रयास गर्छ। परमेश्‍वरले त्यो व्यक्तिलाई प्राप्त गर्न चाहनुभयो भने, शैतानले परमेश्‍वरलाई अवरोध गर्न आफ्नो भएभरको शक्ति लगाउँछ, र प्रलोभनमा पार्न, बाधा दिन र परमेश्‍वरको कामलाई बिगार्न विभिन्‍न दुष्‍ट चालहरू प्रयोग गर्छ, र त्यसले आफ्नो गुप्‍त उद्देश्य हासिल गर्न यी सबै कार्य गर्छ। यो उद्देश्य के हो त? परमेश्‍वरले कुनै पनि व्यक्तिलाई प्राप्‍त गर्नुभएको त्यसले चाहँदैन; परमेश्‍वरले चाहनुभएका सबैलाई त्यसले आफ्नो कब्जामा लिन चाहन्छ, तिनीहरूलाई नियन्त्रण गर्न चाहन्छ, तिनीहरूलाई वशमा पार्न चाहन्छ, ताकि तिनीहरूले त्यसको आराधना गरून्, ताकि दुष्कर्म गर्नमा तिनीहरू त्यससँग हात मिलाऊन्, र परमेश्‍वरको विरोध गरून्। के यो शैतानको दुष्‍ट आशय होइन र? तिमीहरू प्रायजसो भन्छौ, शैतान अत्यन्त दुष्‍ट छ, अत्यन्त खराब छ, तर के तिमीहरूले त्यसलाई देखेका छौ? तिमीहरूले मानवजाति कति खराब छ भनेर देख्‍न सक्छौ; तर वास्तविक शैतान कति खराब छ भनी तिमीहरूले देखेका छैनौ। तर अय्यूबसँग सम्बन्धित मामलामा, तिमीहरूले शैतान कति दुष्‍ट छ भनेर देखेका छौ। यो मामलाले शैतानको घृणित मुहार र यसको सारलाई एकदमै स्पष्‍ट पारेको छ। परमेश्‍वरसँग युद्ध गर्ने क्रममा, र उहाँको पिछा गर्ने क्रममा, शैतानको उद्देश्य भनेको परमेश्‍वरले गर्न चाहनुभएको सबै कामलाई विनाश गर्नु, परमेश्‍वरले आफ्नो बनाउन चाहनुभएका मानिसहरूलाई कब्‍जा र नियन्त्रण गर्नु, र परमेश्‍वरले प्राप्त गर्न चाहनुभएकाहरूलाई पूर्ण रूपमा नष्ट गर्नु हो। यदि तिनीहरूलाई नष्ट गरिएन भने तिनीहरू शैतानको अधीनमा आउँछन्, शैतानद्वारा प्रयोग गरिन्छन्—त्यसको उद्देश्य यही हो। अनि परमेश्‍वरले के गर्नुहुन्छ? परमेश्‍वरले यो खण्डमा एउटा सरल वाक्य मात्र भन्‍नुहुन्छ; परमेश्‍वरले गर्नुहुने कार्यको बारेमा थप कुनै कुराको विवरण उल्लेख गरिएको छैन, तर शैतानले गर्ने र भन्‍ने कुराहरूको विवरण प्रशस्त छन्। पवित्रशास्‍त्रको निम्‍न खण्डमा यहोवाले शैतानलाई सोध्‍नुहुन्छ, “तँ कहाँबाट आइस्?” शैतानको जवाफ के हो? (अझै पनि “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ।”) अझै पनि उही वाक्य छ। यो शैतानको नारा, शैतानको परिचय बनेको छ। यो कसरी हुन सक्छ? के शैतान घृणायोग्य छैन र? निश्‍चय नै यो घृणित वाक्य एकपटक उच्‍चारण गर्नु नै पर्याप्‍त छ। किन शैतानले यो बारम्बार दोहोर्‍याइरहन्छ? यसले एउटा कुरालाई प्रमाणित गर्छ: शैतानको प्रकृति अपरिवर्तनीय छ। शैतानले आफ्नो कुरूप अनुहार लुकाउन ढोंगीपनको प्रयोग गर्न सक्दैन। परमेश्‍वरले त्यसलाई प्रश्‍न सोध्‍नुहुन्छ र त्यसले यसरी उत्तर दिन्छ। त्यसैले, कल्पना गर, त्यसले मानिसहरूसँग कसरी व्यवहार गर्छ! शैतान परमेश्‍वरसँग डराउँदैन, परमेश्‍वरको भय मान्दैन, र परमेश्‍वरको आज्ञापालन गर्दैन। त्यसले परमेश्‍वरको सामुन्‍ने अस्वाभाविक रूपमा अहङ्कारी बन्‍ने, परमेश्‍वरको प्रश्‍नलाई पन्साउन उही शब्दहरू प्रयोग गर्ने, परमेश्‍वरको प्रश्‍नको बारम्बार उही जवाफ दिने, यो जवाफ प्रयोग गरी परमेश्‍वरलाई गोलमालमा पार्ने दुष्प्रयास गर्छ—यो शैतानको कुरूप अनुहार हो। त्यसले परमेश्‍वरको सर्वशक्तिमान्‌ता र परमेश्‍वरको अख्तियारमा विश्‍वास गर्दैन, र निश्‍चय नै त्यो परमेश्‍वरको प्रभुत्वमा समर्पित हुन इच्छुक छैन। त्यो निरन्तर रूपमा परमेश्‍वरको विरुद्धमा रहन्छ, परमेश्‍वरले गर्नुहुने सबै कामलाई निरन्तर आक्रमण गर्छ, परमेश्‍वरले गर्नुभएको सबै कामलाई विनाश गर्ने प्रयत्‍न गर्छ—यो नै त्यसको दुष्ट उद्देश्य हो।

अय्यूबको पुस्तकमा उल्लेख गरिएका, शैतानको बोलीका यी दुई खण्डहरू र शैतानले गरेका कार्यहरूले परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनाविरुद्ध त्यो खडा भएको कुरालाई प्रतिनिधित्व गर्छन्—यहाँ शैतानको वास्तविक रङ्गलाई प्रकट गरिएको छ। के तैँले वास्तविक जीवनमा शैतानका वचन र कार्यहरूलाई देखेको छस्? जब तैँले ती कुराहरूलाई देख्छस्, ती तँलाई शैतानले बोलेको जस्तो नलाग्‍न सक्छ, बरु ती कुराहरू मानिसले बोलेको हो भनी तैँले सोच्न सक्छस्। जब मानिसले यस्ता कुराहरू बोल्छन्, त्यसबाट के कुराको प्रतिनिधित्व हुन्छ? शैतानको प्रतिनिधित्व हुन्छ। यदि तैँले त्यसलाई पहिचान गरिस् भने पनि, त्यो कुरा शैतानले नै बोल्दै छ भनी तैँले थाहा पाउन सक्दैनस्। तर अहिले यहाँ शैतान आफैले के भनेको छ भन्‍ने कुरा तैँले स्पष्‍टसँग देखेको छस्। अहिले तँसँग शैतानको घृणित अनुहार र दुष्‍टताको स्पष्‍ट र सफा बुझाइ छ। के शैतानले बोलेका यी दुई खण्डहरू आज मानिसहरूलाई शैतानको प्रकृतिको विषयमा ज्ञान प्राप्‍त गर्नमा मदत गर्नलाई महत्वपूर्ण छन्? के आज मानवजातिले शैतानको घृणित रूप पहिचान गर्न, शैतानको मौलिक, साँचो अनुहार पहिचान गर्न यी दुई खण्डहरू होसियारीसाथ प्रयोगमा राखिराख्‍न लायक छन्? यसो भन्‍नु उपयुक्त नदेखिए तापनि, यसरी व्यक्त गरिएका यी वचनहरूलाई सही ठान्‍न सकिन्छ। वास्तवमा, यो विचारलाई मैले यसरी मात्रै व्यक्त गर्न सक्छु, र यदि तिमीहरूले यसलाई बुझ्‍न सक्छौ भने त्यो पर्याप्‍त छ। यहोवाले गर्नुहुने कुराहरूलाई बारम्बार शैतानले आक्रमण गर्छ, यहोवा परमेश्‍वरप्रतिको अय्यूबको भयको बारेमा त्यसले दोष लगाउँछ। शैतानले यहोवालाई थुप्रै माध्यमहरूबाट उक्साउने प्रयत्‍न गर्छ, त्यसले अय्यूबलाई परीक्षामा पारेको कुरालाई यहोवाले बेवास्ता गरून् भन्‍ने चेष्टा गर्छ। त्यसैले त्यसका वचनहरूमा उच्‍च रूपमा उक्साउने प्रकृति पाइन्छ। त्यसैले मलाई बताओ, शैतानले यी वचनहरू बोलिसकेपछि, शैतानले के गर्न चाहन्छ भनी के परमेश्‍वरले स्पष्‍टसँग देख्‍न सक्‍नुहुन्छ? (सक्‍नुहुन्छ।) परमेश्‍वरको हृदयमा, परमेश्‍वरले हेर्नुभएको यो मानिस अय्यूब—परमेश्‍वरको यस सेवक, जसलाई परमेश्‍वरले धर्मी मानिस, सिद्ध मानिसको रूपमा लिनुहुन्छ—के ऊ यस किसिमको परीक्षामा खडा भइरहन सक्छ? (सक्छ।) किन परमेश्‍वर यस विषयमा त्यति निश्‍चित हुनुहुन्छ? के परमेश्‍वरले सधैँ मानिसको हृदयको जाँच गरिरहनुहुन्छ? (हो।) के शैतानले पनि मानिसको हृदय जाँच गर्न सक्छ? शैतानले सक्दैन। शैतानले तेरो हृदयलाई देख्‍न सके पनि, त्यसको दुष्‍ट प्रकृतिले त्यसलाई पवित्रता, पवित्रता नै हो वा अपवित्रता, अपवित्रता नै हो भनी विश्‍वास गर्न दिँदैन। दुष्‍ट शैतानले पवित्र, धर्मी वा उज्‍ज्‍वल कुरालाई कहिल्यै पनि मूल्यवान् ठान्‍न सक्दैन। शैतानले आफ्नो प्रकृति, आफ्नो दुष्‍टता र आफ्नो आदतबमोजिम काम गर्न कहिल्यै छोड्दैन। परमेश्‍वरद्वारा दण्ड वा विनाश सहनु परे तापनि त्यो जिद्दी बनेर परमेश्‍वरको विरोध गर्न पछि पर्दैन—यो दुष्‍टता हो, यो शैतानको स्वभाव हो। यो खण्डमा शैतान भन्छ: “छालाको निम्ति छाला, हो, मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सब थोक दिनेछ। तर अहिले तपाईंको हात पसार्नुहोस् र त्यसको हाड र छालामा छोइदिनुहोस्, अनि त्यसले तपाईंलाई सोझै सराप्‍नेछ।” शैतानले सोच्छ कि मानिसले परमेश्‍वरबाट थुप्रै फाइदाहरू प्राप्‍त गरेको कारण मानिसले परमेश्‍वरको भय मानेको हो। मानिसले परमेश्‍वरबाट फाइदाहरू प्राप्‍त गर्छ, त्यसैले उसले परमेश्‍वर असल हुनुहुन्छ भनी भन्छ। तर परमेश्‍वर असल हुनुभएको कारणले होइन, बरु मानिसले थुप्रै फाइदाहरू प्राप्‍त गरेको कारणले गर्दा उसले यस किसिमले परमेश्‍वरको भय मान्‍न सक्छ। जब परमेश्‍वरले उसलाई यी सबै फाइदाहरूबाट वञ्‍चित गर्नुहुन्छ, तब उसले परमेश्‍वरलाई त्याग्छ। मानिसको हृदयले साँच्‍चिकै परमेश्‍वरको भय मान्‍न सक्छ भनेर आफ्‍नो दुष्ट प्रकृतिभित्र शैतानले विश्‍वास गर्दैन। त्यसको दुष्‍ट प्रकृतिको कारण त्यसलाई पवित्रता के हो भन्‍ने नै थाहा छैन, त्यसलाई डर के हो भन्‍ने थाहा हुनु त परै जाओस्। परमेश्‍वरको आज्ञापालन गर्नु भनेको के हो वा परमेश्‍वरको भय मान्‍नु भनेको के हो भन्‍ने त्यसलाई थाहा छैन। त्यसलाई यी कुराहरू थाहा नभएको कारण, मानिसले पनि परमेश्‍वरको भय मान्‍न सक्दैन भनी त्यसले सोच्छ। मलाई भन त, के शैतान दुष्‍ट छैन र? हाम्रो मण्डलीबाहेक अन्य थुप्रै धर्म र सम्प्रदायहरू, वा धार्मिक र सामाजिक समूहहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, तिनीहरूले परमेश्‍वर देहधारी हुनुभयो र उहाँले न्यायको काम गरिरहनुभएको छ भनी विश्‍वास गर्ने त कुरै नगरौँ, त्यसैले तैँले जसमा विश्‍वास गरेको छस् उहाँ परमेश्‍वर हुनुहुन्‍न भनी तिनीहरू सोच्छन्। व्यभिचारी मानिसले आफ्नो वरपर हेर्छ र सबैलाई आफूजस्तै व्यभिचारी देख्‍छ। झूटो बोल्‍ने मानिसले आफ्‍नो वरपर हेर्छ र बेइमान र झूट मात्र देख्छ। दुष्‍ट मानिसले हरेक व्यक्तिलाई दुष्‍ट नै देख्‍छ र उसले देखेका हरेक व्यक्तिसँग झगडा गर्न चाहन्छ। इमानदार व्यक्तिले हरेक व्यक्तिलाई इमानदार नै देख्छ, त्यसैले तिनीहरूलाई सधैँ धोका दिइन्छ, सधैँ ठगिन्छ, र त्यस विषयमा तिनीहरूले केही पनि गर्न सक्दैनन्। तिमीहरूलाई आफ्‍नो सत्यसङ्कल्प सुदृढ बनाउनको लागि मैले यी केही उदाहरणहरू दिएको छु: शैतानको दुष्‍ट प्रकृति क्षणिक बाध्यता होइन, यो परिस्थितिहरूद्वारा निर्धारित हुँदैन, र यो कुनै कारण वा प्रासङ्गिक तत्वहरूबाट उत्पन्‍न भएको अस्थायी प्रकटीकरण पनि होइन। बिलकुलै होइन! शैतानले यस्तो बन्‍नेबाहेक केही पनि गर्न सक्दैन! त्यसले कुनै पनि असल कार्य गर्न सक्दैन। यसले सुन्दा रमाइलो लाग्‍ने कुरा भन्दासमेत, केवल तँलाई लोभ्याउनको लागि यो कुरा भन्छ। त्यो कुरा जति धेरै रमाइलो हुन्छ, त्यसमा त्यति नै धेरै धूर्तता हुन्छ, त्यसका वचनहरू जति धेरै सुमधुर हुन्छन्, यी वचनहरूको पछाडि त्यति नै धेरै द्वेषपूर्ण र घृणित अभिप्राय लुकेको हुन्छ। शैतानले यी दुई खण्डहरूमा कस्तो किसिमको अनुहार र कस्तो किसिमको प्रकृति देखाउँछ? (ढोंगी, द्वेषपूर्ण र दुष्ट।) शैतानको प्राथमिक विशेषता दुष्‍टता हो; सबैभन्दा महत्वपूर्ण कुरा, शैतान दुष्‍ट र द्वेषपूर्ण हुन्छ।

अब हामीले शैतानको विषयमा रहेको हाम्रो छलफललाई सिध्याएका छौँ, त्यसैले हामी हाम्रो परमेश्‍वरसम्बन्धी कुराकानीमा फर्कौं। परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनाको अवधिमा, परमेश्‍वरले प्रत्यक्ष रूपमा बोल्‍नुभएका वचनहरूमध्ये अत्यन्तै थोरै मात्र बाइबलमा उल्लेख गरिएको थियो, र बाइबलमा उल्लेख गरिएका वचनहरू अत्यन्तै सरल छन्। त्यसैले, हामी सुरुबाट आरम्भ गरौं। परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुभयो र त्यसपछि परमेश्‍वरले मानिसको जीवनलाई निर्देशित गर्दै आउनुभएको छ। चाहे ती मानवजातिलाई आशिष् दिने कार्य हुन्, चाहे मानिसहरूका निम्ति व्यवस्था र आज्ञाहरू सृजना गर्ने काम हुन्, वा चाहे जीवनको निम्ति विभिन्‍न नियमहरू बनाउने कार्य नै हुन्—के तिमीहरूलाई यी कार्यहरू गर्नुमा परमेश्‍वरको अपेक्षित लक्ष्य के हो भन्‍ने थाहा छ? पहिलो, परमेश्‍वरले गर्नुहुने सबै कार्य मानवजातिको भलाइको निम्ति हो भनी के तिमीहरू निश्‍चयताका साथ भन्‍न सक्छौ? यो तिमीहरूका निम्ति भव्य तर खोक्रा वचनहरूजस्तो लाग्‍न सक्छ, तर त्यसभित्रको विस्तृत विवरण जाँच गर्ने हो भने, परमेश्‍वरले गर्नुहुने सबै कार्यको लक्ष्य मानिसलाई एक सामान्य जीवन जिउन अगुवाइ गर्नु वा मार्गदर्शन दिनु होइन र? चाहे मानिसलाई उहाँका नियमहरू अनुसरण गर्न लगाउने होस् वा उहाँको व्यवस्था पालन गर्न लगाउने कुरा होस्, मानिस पतन भएर शैतानको आराधना गर्ने नहोस् र शैतानले उसलाई हानि नगरोस् भन्‍ने नै परमेश्‍वरको लक्ष्य हो; यो अत्यन्तै आधारभूत कुरा हो, र सबैभन्दा सुरुमा यही कुरा नै गरिएको थियो। सबैभन्दा सुरुमा, जब मानिसले परमेश्‍वरको इच्छा बुझेको थिएन, त्यो बेला परमेश्‍वरले केही सरल व्यवस्था र नियमहरू बनाउनुभयो र कल्पना गर्न सकिने सबै कुरा समावेश हुने नीतिनियमहरू बनाउनुभयो। यी नीतिनियमहरू सरल छन्, तैपनि तिनीहरूभित्र परमेश्‍वरको इच्छा समावेश छन्। परमेश्‍वरले मानवजातिलाई मूल्यवान् ठान्‍नुहुन्छ, स्‍नेह गर्नुहुन्छ र अत्यन्त धेरै प्रेम गर्नुहुन्छ। त्यसो भए के हामी परमेश्‍वरको हृदय पवित्र छ भनी भन्‍न सक्छौँ? के हामी उहाँको हृदय सफा छ भनी भन्‍न सक्छौँ? (सक्छौं।) के परमेश्‍वरका कुनै थप अभिप्रायहरू छन्? (छैनन्।) के यो उहाँको लक्ष्य सही र सकारात्मक छ? परमेश्‍वरको कामको सिलसिलामा, उहाँले बनाउनुभएका सबै नीतिनियमहरूले मानिसमा सकारात्मक प्रभाव पारेका छन्, मानिसलाई अगुवाइ गरिरहेका छन्। के परमेश्‍वरको मनमस्तिष्कमा कुनै स्वार्थी विचारहरू छन्? मानिसको सन्दर्भमा के परमेश्‍वरका अन्य कुनै थप लक्ष्यहरू छन्? के परमेश्‍वरले मानिसलाई कुनै किसिमले प्रयोग गर्न चाहनुहुन्छ? अलिकति पनि चाहनुहुन्‍न। परमेश्‍वरले जे भन्‍नुहुन्छ, त्यही गर्नुहुन्छ, र उहाँका वचन र कार्यहरू उहाँको हृदयमा भएका उहाँका विचारहरूसँग मिल्छन्। कुनै कलङ्कित उद्देश्य, कुनै स्वार्थी विचारहरू छैनन्। उहाँले गर्नुहुने कुनै कुरा पनि उहाँको आफ्नै निम्ति होइन; उहाँले गर्नुहुने सबै कुरा मानिसकै निम्ति गर्नुहुन्छ, कुनै पनि निजी उद्देश्यहरू छैनन्। उहाँसँग मानिसमाथिका योजना र अभिप्रायहरू भए तापनि, ती कुनै पनि उहाँको आफ्नै निम्ति होइनन्। उहाँले गर्नुहुने सबै कुरा नितान्त रूपमा मानवजातिको निम्ति, मानवजातिको सुरक्षाको निम्ति, मानवजातिलाई गलत बाटोमा लाग्‍नबाट बचाउनको निम्ति छन्। के उहाँको यो हृदय अनमोल छैन र? के तैँले शैतानमा यस्तो अमूल्य हृदयको सानोभन्दा सानो अंशसमेत देख्‍न सक्छस् र? तैँले शैतानमा यसको सानो अंश पनि देख्‍न सक्दैनस्, तैँले यो विलकुलै देख्‍न सक्दैनस्। परमेश्‍वरले गर्नुहुने सबै कुरा स्वाभाविक रूपमा नै प्रकट हुन्छ। अब हामी परमेश्‍वरले काम गर्नुहुने तरिकालाई हेरौँ; उहाँले आफ्नो काम कसरी गर्नुहुन्छ? के उहाँले यी नीतिनियमहरू र उहाँका वचनहरूलाई पट्टी मन्त्र[क] द्वारा टाउकोको पट्टी कसेझैँ हरेक मानिसको टाउकोमा कसेर हरेक मानवजातिमाथि थोपरिदिनुहुन्छ र? के उहाँले यस किसिमले काम गर्नुहुन्छ? (गर्नुहुन्‍न।) त्यसो भए उहाँले आफ्नो काम कसरी गर्नुहुन्छ त? के उहाँले धम्की दिनुहुन्छ? उहाँ तिमीहरूसँग बोल्‍नुहुँदा के उहाँले घुमाउरो कुरा गर्नुहुन्छ? (गर्नुहुन्‍न।) जब तैँले सत्यतालाई बुझ्दैनस्, परमेश्‍वरले तँलाई कसरी अगुवाइ गर्नुहुन्छ? उहाँले तँमा प्रकाश देखाउनुहुन्छ, यसो गर्नु सत्यतासँग मेल खाँदैन भनी स्पष्ट पारिदिनुहुन्छ, र तैँले के गर्नुपर्छ भनी बताइदिनुहुन्छ। परमेश्‍वरले काम गर्नुहुने यी तरिकाहरूबाट, परमेश्‍वरसँग तेरो कस्तो किसिमको सम्बन्ध छ भन्‍ने तँलाई लाग्छ? के परमेश्‍वर तेरो पहुँचभन्दा बाहिर हुनुहुन्छ भन्‍ने तँलाई लाग्छ? (होइन।) परमेश्‍वरले काम गर्नुहुने तरिका देखिसकेपछि तँलाई कस्तो महसुस हुन्छ? परमेश्‍वरका वचनहरू विशेष रूपमा वास्तविक छन्, र मानिससँगको उहाँको सम्बन्ध विशेष रूपमा सामान्य छ। परमेश्‍वर तेरो अत्यन्तै नजिक हुनुहुन्छ; परमेश्‍वर र तेरो बीचमा कुनै दूरी छैन। जब परमेश्‍वरले तँलाई अगुवाइ गर्नुहुन्छ, जब उहाँले तेरो भरणपोषण गर्नुहुन्छ, तँलाई मद्दत र समर्थन गर्नुहुन्छ, तब तैँले परमेश्‍वर कति प्रिय हुनुहुन्छ भन्‍ने तथ्यका साथै उहाँले उत्प्रेरित गर्नुहुने भक्ति महसुस गर्छस्; तैँले उहाँ कति प्रेमिलो हुनुहुन्छ भनी महसुस गर्छस्, तैँले उहाँको न्यानोपनलाई महसुस गर्छस्। तर जब परमेश्‍वरले तेरो भ्रष्‍टताको निन्दा गर्नुहुन्छ, वा तैँले उहाँको विरोध गरेको कारण उहाँले तेरो न्याय गर्नुहुन्छ र तँलाई अनुशासनमा राख्‍नुहुन्छ, तब उहाँले कुन विधि प्रयोग गर्नुहुन्छ? के उहाँले तँलाई वचनहरूद्वारा निन्दा गर्नुहुन्छ? के उहाँले तँलाई तेरो वातावरणद्वारा र मानिस, मामिला, र वस्तुहरूद्वारा अनुशासनमा राख्‍नुहुन्छ? (हो।) परमेश्‍वरले तँलाई कुन हदसम्म अनुशासनमा राख्‍नुहुन्छ? के परमेश्‍वरले मानिसलाई शैतानले हानि पुर्‍याउने हदसम्म नै अनुशासनमा राख्‍नुहुन्छ? (होइन। परमेश्‍वरले मानिसलाई उसले सहन सक्‍ने हदसम्म मात्र अनुशासनमा राख्‍नुहुन्छ।) परमेश्‍वरले भद्र, कोमल, प्रेमिलो र वास्ता गर्ने तरिकाले काम गर्नुहुन्छ, जुन असाधारण रूपमा होसियार र उचित तरिका हो। उहाँको तरिकाले तँमा तीव्र भावनात्मक प्रतिक्रिया उत्पन्‍न गर्दैन, जस्तै: “परमेश्‍वरले मलाई यसो गर्न दिनुपर्छ” वा “परमेश्‍वरले मलाई त्यसो गर्न दिनुपर्छ।” परमेश्‍वरले तँलाई त्यस्तो मानसिक वा भावनात्मक तीव्रता दिनुहुन्‍न जसले गर्दा परिस्थिति असहनीय होस्। यस्तै हुन्छ, होइन र? जब तैँले परमेश्‍वरको न्याय र सजायका वचनहरूलाई स्वीकार गर्छस् तब तैँले कस्तो महसुस गर्छस्? जब तैँले परमेश्‍वरको अख्तियार र शक्तिको अनुभूति गर्छस्, तब तैँले कस्तो महसुस गर्छस्? के तैँले परमेश्‍वर ईश्‍वरीय र उल्लङ्‍घन गर्न नसकिने हुनुहुन्छ भन्‍ने महसुस गर्छस्? के यस्ता समयहरूमा तँ र परमेश्‍वरबीचमा दूरी भएको महसुस गर्छस्? के तैँले परमेश्‍वर कति डरलाग्दो हुनुहुन्छ भनेर महसुस गर्छस्? होइन—बरु तैँले परमेश्‍वरप्रति डरचाहिँ महसुस गर्छस्। के परमेश्‍वरको कामको कारण मानिसहरूले यी सबै कुराहरू महसुस गर्दैनन् र? यदि काम गर्ने शैतान भएको भए के तिनीहरूले यी सबै कुराहरू महसुस गर्नेथिए? बिलकुलै गर्नेथिएनन्। परमेश्‍वरले मानिसलाई निरन्तर भरणपोषण गर्न, मानिसलाई मद्दत गर्न आफ्ना वचनहरू, आफ्नो सत्यता र आफ्नो जीवन प्रयोग गर्नुहुन्छ। जब मानिस कमजोर हुन्छ, जब मानिसले निराश महसुस गर्छ, तब परमेश्‍वर निश्‍चय नै कठोर भएर बोल्‍नुहुन्‍न: “निराश महसुस नगर्। निराश हुनुपर्ने के कुरा छ र? किन तँ कमजोर छस्? कमजोर हुनुपर्ने कारण के छ र? तँ सधैँ यति कमजोर हुन्छस्, र तँ सधैँ नकारात्मक हुन्‍छस्। जीवित हुनुको अर्थ के छ र? जा गएर मर् र त्यसलाई सिध्याइदे!” के परमेश्‍वरले यस किसिमले काम गर्नुहुन्छ? (गर्नुहुन्‍न।) के परमेश्‍वरसँग यस किसिमले काम गर्ने अख्तियार छ? हो, उहाँसँग छ। तैपनि परमेश्‍वरले यस किसिमले काम गर्नुहुन्‍न। उहाँको सार, उहाँको पवित्रताको सारको कारण परमेश्‍वरले यस किसिमले काम गर्नुहुन्‍न। मानिसको निम्ति उहाँको प्रेम, उहाँले मानिसलाई बहुमूल्य ठान्‍नुहुने, र स्‍नेह गर्नुहुने कुरालाई एक वा दुई वाक्यहरूमा स्पष्‍टसँग व्यक्त गर्न सकिँदैन। यो मानिसको घमण्डले ल्याएको कुरा होइन, यो त परमेश्‍वरले वास्तविक अभ्यासद्वारा ल्याउनुहुने कुरा हो; यो परमेश्‍वरको सारको प्रकाश हो। परमेश्‍वरले काम गर्नुहुने यी सबै तरिकाहरूबाट के मानिसले परमेश्‍वरको पवित्रतालाई देख्‍न सक्छ? परमेश्‍वरका असल अभिप्रायहरूलगायत, परमेश्‍वरले मानिसमाथि ल्याउन चाहनुभएका प्रभावहरूलगायत, मानिसमा काम गर्न परमेश्‍वरले अपनाउनुहुने विभिन्‍न तरिकाहरूलगायत, उहाँले गर्नुहुने प्रकारको कामलगायत, उहाँ मानिसले जे बुझेको चाहनुहुन्छ सोलगायत परमेश्‍वरले काम गर्नुहुने यी सबै तौरतरिकाहरूमा—परमेश्‍वरका यी असल अभिप्रायहरूमा तैँले कुनै दुष्‍टता वा छल देखेको छस्? (छैन।) त्यसो भए, परमेश्‍वरले गर्नुहुने सबै कुरामा, परमेश्‍वरले भन्‍नुहुने सबै कुरामा, उहाँले आफ्नो हृदयमा विचार गर्नुहुने सबै कुरामा, साथै उहाँले प्रकट गर्नुहुने उहाँका सबै सारहरूमा—के हामी परमेश्‍वरलाई पवित्र भन्‍न सक्छौं? (सक्छौं।) के कुनै मानिसले संसारमा वा आफैभित्र यो पवित्रतालाई देखेको छ? के परमेश्‍वरबाहेक तैँले यसलाई कुनै मानवजाति वा शैतानमा देखेको छस्? (छैन।) यहाँसम्मको हाम्रो छलफलको आधारमा के हामी परमेश्‍वरलाई अद्वितीय, पवित्र परमेश्‍वर स्‍वयम्‌ भनी भन्‍न सक्छौं? (सक्छौं।) परमेश्‍वरका वचनहरू, मानिसमा परमेश्‍वरले काम गर्नुहुने तरिका, मानिसलाई परमेश्‍वरले बताउनुहुने कुरा, मानिसलाई परमेश्‍वरले स्मरण गराउनुहुने कुरा, उहाँले दिनुहुने परामर्श र उत्साहलगायत परमेश्‍वरले मानिसलाई दिनुहुने सबै कुरा—यो सबै एउटै सारबाट उत्पन्‍न हुन्छ र त्यो हो परमेश्‍वरको पवित्रता। यदि यस किसिमको पवित्र परमेश्‍वर नहुनुभएको भए, कुनै पनि मानिसले उहाँले गर्नुहुने काम गर्न उहाँको स्थान लिन सक्‍नेथिएन। यदि परमेश्‍वरले यी मानिसहरूलाई पूर्ण रूपमा शैतानको हातमा सुम्पिदिनुभएको भए, आज तिमीहरू सबै जना कस्तो अवस्थामा हुनेथियौ भनी के तिमीहरूले कहिल्यै विचार गरेका छौ? के तिमीहरू सबै जना यहाँ पूर्ण र सुरक्षित भएर बसिरहेका हुन्थ्यौ? के तिमीहरूले पनि यसो भन्थ्यौ: “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ”? के तिमीहरू दुस्‍साहस, निर्धक्‍क र गर्वसाथ परमेश्‍वरको अगाडि विनालाज यस्ता वचनहरू बोल्‍न सक्थ्यौ? कुनै शङ्का छैन, तिमीहरूले अवश्य नै यसो गर्नेथियौ! मानिसप्रतिको शैतानको मनोवृत्तिले मानिसलाई शैतानको प्रकृति सार परमेश्‍वरको भन्दा पूर्ण रूपमा फरक छ भनी देख्‍न मद्दत गर्छ। शैतानको सारमा त्यस्तो के कुरा छ, जुन परमेश्‍वरको पवित्रताभन्दा विपरीत हुन्छ? (शैतानको दुष्‍टता।) शैतानको दुष्‍ट प्रकृति परमेश्‍वरको पवित्रताको विपरीत छ। अधिकांश मानिसहरूले परमेश्‍वरको प्रकाश र परमेश्‍वरको पवित्रताको यो सारलाई पहिचान गर्न नसक्‍नुको कारण के हो भने, तिनीहरू शैतानको सत्तामा, शैतानको भ्रष्‍टता र शैतानको घेराबन्दीमा जिउँछन्। तिनीहरूलाई पवित्रता भनेको के हो वा पवित्रताको परिभाषा कसरी दिने भन्‍ने थाहा छैन। तैँले परमेश्‍वरको पवित्रतालाई बुझे तापनि, तैँले यो परमेश्‍वरको पवित्रता हो भनी निश्‍चित रूपमा परिभाषित गर्न सक्दैनस्। यो परमेश्‍वरको पवित्रता सम्बन्धमा मानिसको ज्ञानमा निहित रहेको असमानता हो।

मानिसमा हुने शैतानको कामलाई के कुराले चित्रण गर्छ? तिमीहरूले यो कुरा तिमीहरूका आफ्नै अनुभवहरूमार्फत सिक्‍न सक्‍नुपर्छ—यो शैतानको ठेट विशेषता हो, त्यसले बारम्बार गर्ने काम र त्यसले प्रत्येक मानिसमा गर्न प्रयास गर्ने काम हो। सायद तिमीहरूले यो विशेषता देख्‍न सक्दैनौ, त्यसैले तिमीहरूले शैतान डरलाग्दो र घृणास्पद छ भनी महसुस गर्दैनौ। यो विशेषता के हो भन्‍ने कसैलाई थाहा छ? (त्यसले मानिसलाई लोभ्याउँछ, प्रलोभन देखाउँछ र परीक्षा गर्छ।) त्यो सही कुरा हो; यो विशेषता प्रकट हुने विभिन्‍न तरिकाहरू यिनै हुन्। शैतानले मानिसलाई भ्रममा पार्ने, आक्रमण गर्ने र दोष लगाउने पनि गर्छ—यी सबै त्यसका प्रकटीकरणहरू हुन्। के अरू पनि छन्? (त्यसले झूट बोल्छ।) शैतानलाई ठग्‍न र झूट बोल्‍न स्वाभाविक रूपमा नै आउँछ। त्यसले यी कुराहरू निरन्तर गरिरहन्छ। त्यसै गरी, हाकिमी पारा देखाउने, उक्साउने, जबरजस्ती काम गराउने, अह्राउखटाउ गर्ने, जबरजस्ती अरूको मालमत्ता खोस्‍नेजस्ता कुराहरू पनि छन्। अब म तिमीहरूलाई केही कुरा वर्णन गर्नेछु, जसले अन्त्यमा तिमीहरूको रौँ ठाडो बनाइदिनेछ तर तिमीहरूलाई तर्साउनलाई मैले यो गरिरहेको छैन। परमेश्‍वरले मानिसमा काम गर्नुहुन्छ र उहाँले मानिसलाई आफ्नो मनोवृत्ति र आफ्नो हृदयमा प्रिय ठान्‍नुहुन्छ। तर अर्कोतर्फ, शैतानले भने मानिसलाई कति पनि प्रिय ठान्दैन, र त्यसले आफ्नो पूरै समय मानिसलाई कसरी हानि पुर्‍याउने भनेर मात्रै सोचिरहन्छ। के त्यसले यस्तै गर्दैन त? जब त्यसले मानिसलाई हानि पुर्‍याउने विषयमा सोचिरहन्छ, के त्यसको मन आतुरीमा हुन्छ? (हुन्छ।) त्यसैले मानिसमा शैतानले गर्ने कामको बारेमा विचार गरिरहँदा, मसँग शैतानको दुष्‍टता र द्वेषतालाई राम्ररी वर्णन गर्ने दुई वटा वाक्यांशहरू छन्, यसले शैतानको घृणितपनलाई बुझ्‍न तिमीहरूलाई साँच्‍चिकै सहयोग गर्न सक्छ: शैतान मानिसको नजिक आउँदा त्यसले सधैँ हरेक मानिसमा जबरजस्ती बास गर्न र उसलाई वशमा राख्‍न चाहन्छ, यति हदसम्‍म कि त्यसले मानिसलाई पूर्ण नियन्त्रण गर्न र ठूलो हानि पुर्‍याउन सकोस्, ताकि त्यसले आफ्नो लक्ष्य हासिल गर्न र आफ्नो दुष्‍ट अभिलाषा पूरा गर्न सकोस्। “जबरजस्ती बास गर्नु” भनेको के हो? के यो तेरो सहमतिमा हुने कुरा हो कि तेरो सहमतिविना हुने कुरा हो? के यो तँलाई थाहा हुने गरी हुन्छ कि तँलाई थाहा नहुने गरी हुन्छ? जबाफचाहिँ के हो भने यो तँलाई पूर्ण रूपमा थाहै नहुने गरी हुन्छ! यो तँलाई थाहा नभएको परिस्थितिमा हुन्छ, सायद त्यसले तँलाई केही नभनीकन वा केही नगरीकन, कुनै आधारविना, कुनै सन्दर्भविना हुन्छ—शैतान तेरो वरिपरि घुमिरहन्छ, तँलाई घेरिरहन्छ। त्यसले शोषण गर्ने अवसर खोजिरहन्छ र त्यसपछि त्यसले तँमा जबरजस्ती बास गर्छ, तँलाई आफ्नो बनाउँछ, तँलाई पूर्ण रूपमा अधीन गर्ने आफ्नो उद्देश्य हासिल गर्छ र तँमाथि पीडापूर्ण हानि पुर्‍याउँछ। मानिसलाई परमेश्‍वरबाट खोसी टाढा लैजान संघर्ष गर्ने क्रममा शैतानको सबैभन्दा ठेट अभिप्राय र आचरण यही हो। जब तिमीहरूले यो कुरा सुन्छौ तब तिमीहरूलाई कस्तो महसुस हुन्छ? (हामी हृदयमा त्रसित र भयभीत हुन्छौँ।) के तिमीहरू घृणाको महसुस गर्छौ? (गर्छौं।) यो घृणाको महसुस गर्ने क्रममा, के तिमीहरूलाई शैतान लाज नभएको हो भन्‍ने लाग्छ? जब शैतान लाज नभएको हो भनी तिमीहरू सोच्छौ, तब तिमीहरूलाई के आफ्‍ना वरपरका त्यस्ता मानिसहरूप्रति घिन लाग्छ जो सधैँ तिमीहरूलाई नियन्त्रण गर्न चाहन्छन्, जो आफ्नो सामाजिक स्थिति र स्वार्थहरूको दुष्‍ट अभिलाषा बोकिहिँड्छन्? (हो।) त्यसो भए, शैतानले मानिसलाई जबरजस्ती आफ्नो बनाउन र जबरजस्ती मानिसमा बास गर्न कस्ता विधिहरू अपनाउँछ त? के तिमीहरू यस विषयमा स्पष्‍ट छौ त? जब तिमीहरूले “जबरजस्ती बास गर्ने” र “आफ्नो बनाउने” यी दुई पदावलीहरू सुन्छौ, तब तिमीहरूले घृणा महसुस गर्छौ र यी पदावलीहरूको दुष्‍टताको भाव अनुभूति गर्न सक्छौ। शैतानले तेरो सहमति वा तेरो जानकारीविना नै तँलाई आफ्नो बनाउँछ, तँमा जबरजस्ती बास गर्छ, र तँलाई भ्रष्‍ट बनाउँछ। तैँले आफ्नो हृदयमा के कुरा अनुभूति गर्न सक्छस्? के तँ घृणा र तिरस्कारको अनुभूति गर्छस्? (हो।) जब शैतानका यस्ता कार्यहरूप्रति तँलाई घृणा र तिरस्कारको महसुस हुन्छ, तब तँमा परमेश्‍वरप्रति कस्तो अनुभूति हुन्छ? (कृतज्ञता।) तँलाई मुक्ति दिनुभएकोमा परमेश्‍वरप्रति कृतज्ञता। त्यसो भए अब, यसै क्षणमा, के तँ आफूसँग भएका सबै थोक र तँ आफू जो होस् त्यो सबैलाई परमेश्‍वरले पूर्ण स्वामित्व र नियन्त्रणमा लिनुभएको चाहन्छस्? (चाहन्छु।) तैँले यस्तो जबाफ कुन सन्दर्भमा दिन्छस्? के शैतानले तँलाई जबरजस्ती अधीनमा पार्छ र आफ्नो बनाउँछ भनी डराएर नै तैँले “हुन्छ” भन्छस्? (हो।) तँसँग यस्तो किसिमको मानसिकता हुनु हुँदैन; यो सही कुरा होइन। तँ नडरा, किनकि परमेश्‍वर यहाँ हुनुहुन्छ। डराउनुपर्ने कुनै कुरा छैन। तैँले शैतानको दुष्‍ट सारलाई बुझिसकेपछि, तँमा परमेश्‍वरको प्रेम, परमेश्‍वरको असल अभिप्राय, परमेश्‍वरको करुणा, मानिसप्रति उहाँको सहिष्णुता, उहाँको धर्मी स्वभावका विषयमा सही बुझाइ वा गहन वास्ता हुनुपर्छ। शैतान अत्यन्त घृणित छ, तैपनि यदि यसले अझै पनि परमेश्‍वरप्रतिको तेरो प्रेमलाई र परमेश्‍वरमाथिको तेरो निर्भरता र भरोसालाई उत्प्रेरित गर्दैन भने तँ कस्तो किसिमको व्यक्ति होस्? के तँ त्यसरी आफूलाई शैतानद्वारा हानि पुर्‍याउन दिन इच्छुक छस्? शैतानको दुष्‍टता र घृणितपनलाई हेरिसकेपछि, हामी फर्केर परमेश्‍वरमा नजर लगाउँछौं। के परमेश्‍वरसम्बन्धी तेरो ज्ञानमा अहिले कुनै परिवर्तन आएको छ? परमेश्‍वर पवित्र हुनुहुन्छ भनी के हामी भन्‍न सक्छौँ? परमेश्‍वरमा कुनै दोष छैन भनी के हामी भन्‍न सक्छौँ? “परमेश्‍वर अद्वितीय पवित्रता हुनुहुन्छ”—के परमेश्‍वर यो पदवीअनुसार जिउन सक्‍नुहुन्छ? (सक्‍नुहुन्छ।) अनि, मानिससँग भएको परमेश्‍वरसम्बन्धी यस बुझाइबमोजिम जिउन सक्‍ने व्यक्ति, के यो संसार र यावत् थोकमाझ केवल परमेश्‍वर मात्र हुनुहुन्‍न र? (हो त।) त्यसो भए, ठ्याक्‍कैसँग भन्दा, परमेश्‍वरले मानिसलाई के कुरा दिनुहुन्छ त? के उहाँले तँलाई थाहा नहुने गरी अलिकति मात्र वास्ता, सरोकार र चासो दिनुहुन्छ? परमेश्‍वरले मानिसलाई के कुरा दिनुभएको छ? परमेश्‍वरले मानिसलाई जीवन दिनुभएको छ, मानिसलाई सबै थोक दिनुभएको छ, र मानिसबाट कुनै कुराको अपेक्षा नगरीकन, कुनै पनि गोप्य मनसाय नराखीकन निसर्त रूपमा यी सबै कुराहरू मानिसलाई दिनुभएको छ। उहाँले मानिसलाई अगुवाइ गर्न र मार्गदर्शन दिन सत्यता, उहाँका वचनहरू र उहाँको जीवन प्रयोग गर्नुहुन्छ, मानिसलाई शैतानको हानिबाट टाढा र शैतानको परीक्षा र बहकाउबाट टाढा लैजानुहुन्छ, र यसरी मानिसलाई शैतानको दुष्‍ट प्रकृति र घृणित मुहार देख्‍ने अवसर दिनुहुन्छ। के मानिसको निम्ति परमेश्‍वरको प्रेम र वास्ता साँचो छ? के यो तिमीहरू प्रत्येकले अनुभव गर्न सक्‍ने कुरा हो? (हो।)

अहिलेसम्मको तिमीहरूको जीवनलाई फर्केर हेर; तेरो विश्‍वासको सबै वर्षहरूमा परमेश्‍वरले तँमा गर्नुभएका सबै कामहरूलाई नियालेर हेर्। यसले तँमा पैदा गर्ने भावनाहरू गहन भए पनि सतही भए पनि, के यो तेरो निम्ति सबैभन्दा आवश्यक कुरा होइन र? के तैँले प्राप्त गर्नुपर्ने सबैभन्दा आवश्यक कुरा यही थिएन र? (यही थियो।) के यो सत्य होइन र? के यो जीवन होइन र? (हो।) के परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुभएपछि उहाँले तँलाई दिनुभएका सबै कुराहरूको सट्टामा तँबाट कुनै कुरा माग्‍नुभएको छ? (छैन।) त्यसो भए परमेश्‍वरको उद्देश्य के हो त? परमेश्‍वरले किन यसो गर्नुहुन्छ? के परमेश्‍वरले तँमा जबरजस्ती बास गर्ने उद्देश्य राख्‍नुभएको छ? (छैन।) के परमेश्‍वर मानिसको हृदयभित्र सिंहासन आरोहण गर्न चाहनुहुन्छ? (हो।) त्यसो भए, परमेश्‍वरले आफ्नो सिंहासन आरोहण गर्ने र शैतानले बलपूर्वक तँमा बास गर्ने कुराको बीचमा के भिन्‍नता छ? परमेश्‍वर मानिसको हृदय प्राप्‍त गर्न चाहनुहुन्छ, उहाँ मानिसको हृदयमा बास गर्न चाहनुहुन्छ—यसको अर्थ के हो त? के यसको अर्थ परमेश्‍वरले मानिसलाई आफ्नो कठपुतली, आफ्नो यन्त्र बनाउन चाहनुहुन्छ भन्‍ने हो? (होइन।) त्यसो भए परमेश्‍वरको उद्देश्य के हो त? के परमेश्‍वरले मानिसको हृदयमा बास गर्न चाहनुहुने र शैतानले बलपूर्वक मानिसमा बास गर्ने र उसलाई आफ्नो बनाउने कुराको बीचमा कुनै भिन्‍नता छ? (छ।) के भिन्‍नता छ? के तँ मलाई स्पष्‍टसँग बताउन सक्छस्? (शैतानले जबरजस्ती गर्छ भने परमेश्‍वरले मानिसलाई स्वेच्छामा छोड्नुहुन्छ।) के भिन्‍नता यही हो त? परमेश्‍वरले तेरो हृदयलाई के गर्न प्रयोग गर्नुहुन्छ? परमेश्‍वर तँमा बास गर्नुको प्रयोजन के हो? “परमेश्‍वर मानिसको हृदयमा बास गर्नुहुन्छ” भन्‍ने कुरालाई तिमीहरूले आफ्नो हृदयमा कसरी बुझ्छौ? परमेश्‍वरको विषयमा हामीले जसरी कुराकानी गर्छौँ त्यसमा हामी निष्पक्ष हुनैपर्छ, अन्यथा मानिसहरूले सधैँ गलत रूपमा मात्र बुझ्‍नेछन् र यस्तो विचार गर्नेछन्: “परमेश्‍वर सधैँ ममा बास गर्न चाहनुहुन्छ। उहाँ केको लागि ममा बास गर्न चाहनुहुन्छ? म आफूमा कोही बास गरेको चाहँदिनँ, म आफै मेरो मालिक बन्‍न चाहन्छु। तपाईं भन्‍नुहुन्छ, शैतान मानिसहरूमा बास गर्छ तर परमेश्‍वर पनि मानिसहरूमा बास गर्नुहुन्छ। के यो उस्तै कुरा होइन र? कोही पनि ममा बास गरेको म चाहँदिनँ। म, म आफै रहन चाहन्छु!” यहाँ के कुरा फरक छ? यसको बारेमा केही विचार गर। म तिमीहरूलाई सोध्छु, के “परमेश्‍वर मानिसमा बास गर्नुहुन्छ” भन्‍ने वाक्य खोक्रो वाक्यांश हो? के परमेश्‍वर मानिसमा बास गर्नुहुन्छ भन्‍नुको अर्थ उहाँ तेरो हृदयमा बास गर्नुहुन्छ र तेरो हरेक वचन र चाललाई नियन्त्रण गर्नुहुन्छ भन्‍ने हो? यदि उहाँले तँलाई बस् भन्‍नुहुन्छ भने के तँ खडा हुने आँट गर्दैनस् र? यदि उहाँले तँलाई पूर्वतिर जा भन्‍नुहुन्छ भने के तँ पश्‍चिमतिर जाने आँट गर्दैनस् र? के “बास” ले यस्तै भाव बुझाउँछ त? (होइन, यस्तो बुझाउँदैन। परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, त्यसअनुसार मानिस जिएको उहाँ चाहनुहुन्छ।) परमेश्‍वरले मानिसको व्यवस्थापन गर्नुभएका यी सारा वर्षहरूभरि, अहिलेको यो अन्तिम चरणसम्म मानिसमा उहाँले गर्नुभएका सारा काममा, उहाँले बोल्‍नुभएका सबै वचनहरूले मानिसमा कस्तो प्रभाव हासिल गरून् भन्‍ने अभिप्राय राखिएको छ? के यो मानिस परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसअनुसार जियोस् भन्‍ने हो? “परमेश्‍वरले मानिसको हृदयमा बास गर्नुहुन्छ” भन्‍ने वाक्यको शाब्दिक अर्थलाई हेर्दा, परमेश्‍वरले मानिसको हृदय लिनुहुन्छ र त्यसमा बास गर्नुहुन्छ र उहाँ बाहिर निस्कनुहुन्‍न जस्तो देखिन्छ; यस्तो लाग्छ, उहाँ मानिसको मालिक बन्‍नुहुन्छ र उहाँले आफ्‍नो इच्छामा मानिसको हृदयमा प्रभुत्व जमाउन र यसलाई आफू खुशी चलाउन सक्‍नुहुन्छ, ताकि परमेश्‍वरले मानिसलाई जे गर्न भन्‍नुहुन्छ, उसले त्यही गर्नुपर्छ। यस अर्थमा त, प्रत्येक व्यक्ति परमेश्‍वर बन्छ र उहाँको सार र स्वभाव हासिल गर्छ जस्तो देखिन्छ। त्यसैले यस सन्दर्भमा, के मानिसले पनि परमेश्‍वरका कार्यहरू गर्न सक्छ? के “बास गर्नु” लाई यस किसिमले परिभाषित गर्न सकिन्छ? (सकिँदैन।) त्यसो भए यो के हो त? म तिमीहरूलाई सोध्छु: परमेश्‍वरले मानिसलाई प्रदान गर्नुहुने सबै वचनहरू र सत्यता के परमेश्‍वरको सार अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको प्रकाश हो? (हो।) यो निश्‍चय नै साँचो हो। तर के परमेश्‍वरले मानिसलाई प्रदान गर्नुहुने सबै वचनहरू उहाँ स्वयम्‌ले अभ्यास गर्नु र उहाँमा निहित हुनु अत्यावश्‍यक छ त? यस विषयमा केही विचार गर। जब परमेश्‍वरले मानिसको न्याय गर्नुहुन्छ, किन उहाँले न्याय गर्नुहुन्छ? यी वचनहरू कसरी अस्तित्वमा हुन आए? उहाँले मानिसको न्याय गर्नुहुँदा बोल्‍नुहुने यी वचनहरूको विषयवस्तु के हुन्? यी के कुरामा आधारित छन्? के यी वचनहरू मानिसको भ्रष्‍ट स्वभावमा आधारित छन्? (हो।) के परमेश्‍वरले मानिसउपर गर्नुहुने न्यायले परमेश्‍वरको सारमा आधारित प्रभाव हासिल गरेको छ? (छ।) के परमेश्‍वरद्वारा “मानिसमा बास” एउटा खोक्रो वाक्यांश हो? निश्‍चय नै होइन। त्यसो भए, किन परमेश्‍वरले मानिसलाई यी वचनहरू भन्‍नुहुन्छ? यी वचनहरू भन्‍नुमा उहाँको उद्देश्य के हो? के उहाँले यी वचनहरूलाई मानिसको जीवनको रूपमा काम गर्ने गरी प्रयोग गर्न चाहनुहुन्छ? (चाहनुहुन्छ।) परमेश्‍वरले यी वचनहरूमा बोल्‍नुभएको यो सत्यतालाई मानिसको जीवनको रूपमा काम गर्ने गरी प्रयोग गर्न चाहनुहुन्छ। जब मानिसले यो सत्यता र परमेश्‍वरको वचनको सबै कुरा ग्रहण गर्छ र तिनीहरूलाई आफ्नो जीवनको रूपमा रूपान्तरित गर्छ, के त्यसपछि मानिसले परमेश्‍वरको आज्ञापालन गर्न सक्छ? के त्यसपछि मानिसले परमेश्‍वरको भय मान्‍न सक्छ? के त्यसपछि मानिसले दुष्‍टताबाट अलग बस्‍न सक्छ? जब मानिस यो अवस्थामा पुग्‍छ, के त्यसपछि मानिसले परमेश्‍वरको सार्वभौमिकता र व्यवस्थापनलाई पालन गर्न सक्छ? के त्यसपछि मानिस आफूलाई परमेश्‍वरको अख्तियारमा समर्पण गर्ने अवस्थामा हुन्छ? जब मानिसहरू अय्यूब वा पत्रुसजस्तै आफ्नो बाटोको अन्तिम बिन्दुमा पुग्छन्, जब तिनीहरूको जीवन परिपक्‍वतामा पुगेको मान्‍न सकिन्छ, जब तिनीहरूसँग परमेश्‍वरको साँचो बुझाइ हुन्छ—के शैतानले अझै पनि तिनीहरूलाई बहकाउन सक्छ? के शैतानले अझै पनि तिनीहरूमा बास गर्न सक्छ? के अझै पनि शैतानले तिनीहरूलाई जबरजस्ती आफ्नो बनाउन सक्छ? (सक्दैन।) त्यसो भए यो कस्तो किसिमको व्यक्ति हो त? के यो परमेश्‍वरले पूर्ण रूपमा प्राप्त गरिसक्‍नुभएको व्यक्ति हो? (हो।) यो तहको अर्थमा, परमेश्‍वरले पूर्ण रूपमा प्राप्त गरिसक्‍नुभएको व्यक्तिलाई तिमीहरू कसरी हेर्छौ? परमेश्‍वरको दृष्टिकोणबाट, यी परिस्थितिहरूमा, उहाँ यो व्यक्तिको हृदयमा अघिबाटै बास गर्नुभएको हुन्छ। तर यो व्यक्तिले कस्तो महसुस गर्छ? परमेश्‍वरका वचनहरू, परमेश्‍वरको अख्तियार, र परमेश्‍वरको मार्ग के यो मानिसभित्रको जीवन बन्छ? अनि के यो जीवनले मानिसको सम्पूर्ण अस्तित्वमा बास गर्छ? के उसले जिउने कुराहरू र उसको सार परमेश्‍वरलाई सन्‍तुष्‍ट बनाउन पर्याप्‍त बन्छन्? परमेश्‍वरको दृष्टिकोणबाट, के यो क्षणमा उहाँ मानिसको हृदयमा बास गर्नुभएको हुन्छ? (हुन्छ।) तिमीहरूले यो तहको अर्थलाई अहिले कसरी बुझ्छौ? के परमेश्‍वरका आत्मा तँमा बास गर्नुहुन्छ? (होइन। परमेश्‍वरको वचन हामीमा बास गर्नुहुन्छ।) परमेश्‍वरको मार्ग र वचन तेरो जीवन बनेको छ, र सत्यता तेरो जीवन बनेको छ। यो समयमा, मानिसले परमेश्‍वरबाट आएको जीवन प्राप्‍त गरेको हुन्छ, तर हामी यो जीवन परमेश्‍वरको जीवन हो भनी भन्‍न सक्दैनौं। अर्को शब्दमा, मानिसले परमेश्‍वरको वचनबाट प्राप्‍त गर्ने जीवनलाई हामी परमेश्‍वरको जीवन भन्‍न सक्दैनौं। त्यसैले, मानिसले परमेश्‍वरलाई जति लामो समयदेखि पछ्याएको भए तापनि, मानिसले परमेश्‍वरबाट जतिसुकै वचन प्राप्‍त गरेको भए तापनि मानिस कहिल्यै पनि परमेश्‍वर बन्‍न सक्दैन। परमेश्‍वरले एक दिन “म तेरो हृदयमा बास गर्छु, अब तैँले मेरो जीवन प्राप्‍त गर्छस्” भनेर भन्‍नुभए तापनि, के तँ त्यसपछि परमेश्‍वर भएको महसुस गर्छस् त? (गर्दिनँ।) त्यसो भए, तँ के बन्छस् त? के तँमा परमेश्‍वरप्रति पूर्ण आज्ञापालन हुनेछैन र? के तेरो हृदय परमेश्‍वरले तँलाई दिनुभएको जीवनले भरिपूर्ण भएको हुँदैन र? परमेश्‍वरले मानिसको हृदयमा बास गर्नुभएपछि के हुनेछ भन्‍ने कुराको यो सामान्य प्रकटीकरण हुनेछ। यथार्थ यही हो। त्यसलाई यो दृष्टिकोणबाट नियाल्दा, के मानिस परमेश्‍वर बन्‍न सक्छ त? जब मानिस परमेश्‍वरका सबै वचनहरूको वास्तविकताअनुसार जिउन सक्षम हुन्छ, र परमेश्‍वरको भय मान्‍ने र दुष्‍टताबाट अलग बस्‍ने व्यक्ति बन्छ, तब के मानिसमा परमेश्‍वरको जीवन सार र पवित्रता हुन सक्छ? बिलकुलै हुन सक्दैन। जे सुकै भए तापनि, यी सबै कुरा भनिसकेपछि र गरिसकेपछि पनि मानिस, मानिस नै हुन्छ। तँ सृष्‍टि गरिएको प्राणी होस्; जब तैँले परमेश्‍वरबाट परमेश्‍वरको वचन र परमेश्‍वरको मार्ग प्राप्‍त गरिसकेको हुन्छस्, तँमा परमेश्‍वरका वचनहरूबाट आउने जीवन मात्र हुन्छ, तँ परमेश्‍वरद्वारा प्रशंसा गरिने व्यक्ति बन्छस्, तर तँमा कहिल्यै परमेश्‍वरको जीवन सार हुँदैन, र तँमा परमेश्‍वरको पवित्रता हुने कुरा त झन् सोच्दै नसोचे हुन्छ।

अब हामीले भर्खरै छलफल गरेको विषयमा फर्कनेछौ। यो छलफलको अवधिमा, मैले तिमीहरूलाई प्रश्‍न सोधेँ—के अब्राहाम पवित्र हुन्? के अय्यूब पवित्र हुन्? (होइनन्।) यो “पवित्रता” ले परमेश्‍वरको सार र स्वभावको प्रतिनिधित्व गर्छ तर मानिसमा यी कुराको अत्यन्तै धेरै कमी हुन्छ। मानिससँग परमेश्‍वरको सार वा परमेश्‍वरको स्वभाव छैन। मानिसले परमेश्‍वरका वचनहरूको सबै कुरा अनुभव गरिसकेको र तिनीहरूको वास्तविकताद्वारा सुसज्‍जित भइसकेको भए तापनि मानिसले कहिल्यै पनि परमेश्‍वरको पवित्र सारलाई प्राप्‍त गर्न सक्दैन; मानिस, मानिस नै हो। तिमीहरू बुझ्छौ, हो? त्यसो भए, अब यो वाक्यांश: “परमेश्‍वरले मानिसको हृदयमा बास गर्नुहुन्छ” भन्‍नेबारेमा तिमीहरूको बुझाइ के छ? (यो परमेश्‍वरको वचन, परमेश्‍वरको शैली र उहाँको सत्यता मानिसको जीवन बन्छ भन्‍ने हो।) तिमीहरूले यी वचनहरू कण्ठस्थ गरेका छौ। म आशा गर्छु कि तिमीहरूसँग गहन बुझाइ हुनेछ। कतिपय मानिसहरूले सोध्‍न सक्छन्, “परमेश्‍वरका सन्देशबाहक र स्वर्गदूतहरू पवित्र छैनन् भनी किन भन्‍ने?” यो प्रश्‍नको बारेमा तिमीहरू के सोच्छौ? सायद तिमीहरूले यसबारेमा पहिले कहिल्यै विचार गरेका छैनौ होला। म एउटा सरल उदाहरण प्रयोग गर्नेछु: जब तैँले रोबोटलाई चालू गर्छस्, तब त्यसले नाच्‍ने र बोल्‍ने दुवै गर्न सक्छ, अनि त्यसले के भन्‍छ भनी तैँले बुझ्न सक्छस्। तैँले त्यसलाई सुन्दर र जीवन्त छ भन्‍न सक्छस्, तर त्यसले बुझ्‍न सक्‍नेछैन किनकि त्यससँग जीवन छैन। जब तैँले त्यसको ऊर्जाको स्रोतलाई बन्द गर्छस्, के त्यो अझै हलचल गर्न सक्छ? जब यो रोबोटलाई सक्रिय बनाइन्छ, तब तैँले त्यसलाई जीवन्त र सुन्दर देख्‍न सक्छस्। यो सारगत कुरा हो कि देखावटी हो भनेर तैँले त्यसको मूल्याङ्कन गर्छस्, तर चाहे जे सुकै होस्, तैँले त्यो हलचल गरिरहेको देख्छस्। तर जब तैँले त्यसको ऊर्जाको स्रोतलाई बन्द गर्छस्, तब के तैँले त्यसमा कुनै किसिमको व्यक्तित्व देख्छस्? के तैँले त्यसमा कुनै किसिमको सारतत्व देख्छस्? मैले भन्‍न खोजेको कुराको अर्थलाई के तैँले बुझ्छस्? अर्थात्, यो रोबोट हलचल गर्न सक्छ र रोकिन त सक्छ, तर तैँले त्यसमा कुनै किसिमको सारतत्व छ भनी कहिल्यै वर्णन गर्न सक्दैनस्। के यो यथार्थ होइन र? अब, हामी यसको बारेमा थप कुराकानी गर्नेछैनौं। तिमीहरूसँग अर्थको सामान्य बुझाइ यतिसम्म भए पर्याप्‍त हुन्छ। हामी हाम्रो सङ्गतिलाई यहीँ अन्त्य गरौँ। जयमसीह!

डिसेम्‍बर १७, २०१३

फूटनोट:

क. “पट्टी मन्त्र” एउटा मन्त्र हो जुन भिक्षु ताङ सन्जाङले ‘पश्‍चिमतर्फको यात्रा’ नामक चिनियाँ उपन्यासमा प्रयोग गरेका छन्। उनले सन वुकोङलाई नियन्त्रण गर्न यो मन्त्रको प्रयोग गर्छन्। यसको लागि उनले तिनको टाउकोवरिपरि एउटा धातुको पट्टी बाँधिदिन्छन्, तिनलाई त्यो पट्टीले गम्‍भीर रूपमा टाउको दुखाउँछ, अनि मन्त्र प्रयोग गरी तिनलाई नियन्त्रणमा ल्याउँछन्। यो कुनै व्यक्तिलाई बाँध्‍ने वस्तुको व्याख्या गर्ने एउटा उपमा बनेको छ।

अघिल्लो: परमेश्‍वर स्वयम् अद्वितीय ३

अर्को: परमेश्‍वर स्वयम् अद्वितीय ५

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्