परमेश्‍वर स्वयम् अद्वितीय २

परमेश्‍वरको धर्मी स्वभाव

तिमीहरूले परमेश्‍वरको अख्तियारको बारेमा रहेको अघिल्‍लो सङ्गति सुनिसकेका हुनाले, म आश्‍वस्त छु कि तिमीहरू यस विषयमा एकदमै धेरै वचनहरूले सुसज्‍जित छौ। तिमीहरूले कति स्वीकार गर्न, बोध गर्न र बुझ्‍न सक्छौ भन्‍ने कुरा सबै तिमीहरूले यसमा कति धेरै प्रयास गर्छौ भन्‍ने कुरामा निर्भर हुन्छ। तिमीहरू यस विषयमा गम्भीरतासाथ संलग्‍न हुन सक्छौ भन्‍ने मेरो आशा छ; तिमीहरू यसमा कुनै पनि हालतमा आधा हृदयले संलग्‍न हुनु हुँदैन! अब, के परमेश्‍वरको अख्तियारलाई जान्‍नु परमेश्‍वरको सम्पूर्णतालाई जान्‍नु सरह हो? के भन्‍न सकिन्छ भने परमेश्‍वरको अख्तियारलाई जान्‍नु भनेको परमेश्‍वर स्वयम्‌ अद्वितीयलाई चिन्‍ने कार्यको सुरुवात हो, र यो पनि भन्‍न सकिन्छ, परमेश्‍वरको अख्तियारलाई जान्‍नु भनेको व्यक्ति पहिले नै परमेश्‍वर स्वयम्‌ अद्वितीयको सारलाई जान्‍ने ढोकाभित्र प्रवेश गरिसकेको छ। यो बुझाइ परमेश्‍वरलाई चिन्‍ने कार्यको एउटा भाग हो। त्यसो भए, अर्को भाग के हो त? आज मैले सङ्गति गर्न चाहेको विषय यही हो—परमेश्‍वरको धर्मी स्वभाव।

आजको विषयको बारेमा सङ्गति गर्नको लागि मैले बाइबलबाट दुई वटा खण्डहरू छनौट गरेको छु: पहिलो, परमेश्‍वरले सदोमलाई नष्ट गर्नुभएको घटनासँग सम्‍बन्धित छ, जुन घटनाको विवरण उत्‍पत्ति १९:१-११ र उत्‍पत्ति १९:२४-२५ मा पाइन्छ; दोस्रो, परमेश्‍वरले निनवेलाई छुटकारा दिनुभएको घटनासँग सम्‍बन्धित छ, जुन घटनाको विवरण योना १:१-२ मा पाइन्छ, यसको साथै योनाको पुस्तकको तेस्रो र चौथो अध्यायमा पनि यसको बारेमा उल्‍लेख गरिएको छ। म अनुमान गर्छु कि यी दुई खण्डहरूका बारेमा मैले जे बताउनु छ त्यसलाई सुन्‍न तिमीहरू सबैले प्रतीक्षा गरिरहेका छौ। मैले जे भन्छु त्यो प्राकृतिक रूपमा नै परमेश्‍वर स्वयम्‌लाई चिन्‍नु र उहाँको सारलाई चिन्‍नुको दायराभन्दा बाहिर जान सक्दैन, तर आजको सङ्गतिको मुख्य ध्यान केमा केन्द्रित हुनेछ त? के तिमीहरूमध्ये कसैलाई थाहा छ? परमेश्‍वरको अख्तियार सम्‍बन्धी मेरो सङ्गतिको कुन-कुन भागहरूले तिमीहरूको ध्यान खिचे? त्यस्तो अख्‍तियार र शक्ति भएको एउटै उहाँ परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ भनेर मैले किन भनेँ? त्यसो भनेर मैले के कुरालाई स्पष्ट पार्न चाहेँ? यसबाट तिमीहरूले के सिकेको म चाहन्थेँ? के परमेश्‍वरको अख्तियार र शक्ति उहाँको सारलाई जसरी व्यक्त गरिन्छ त्यसको एउटा पक्ष हुन्? के ती उहाँको सारको भाग, अर्थात् उहाँको पहिचान र हैसियतलाई प्रमाणित गर्ने भाग हुन्? यी प्रश्‍नहरूबाट मूल्याङ्कन गरेर, के तिमीहरूले मैले के भन्‍न लागेको छु सो बताउन सक्छौ? तिमीहरूले के बुझेको म चाहन्छु? यस विषयमा ध्यान दिएर विचार गर।

परमेश्‍वरलाई जिद्दी भई विरोध गर्दा, मानिसलाई परमेश्‍वरको क्रोधले नष्ट गर्छ

सर्वप्रथम, हामी परमेश्‍वरले सदोमलाई नष्ट गर्नुभएको घटनाको बारेमा व्याख्या गर्ने, धर्मशास्‍त्रका विभिन्‍न खण्डहरूलाई हेरौँ।

उत्पत्ति १९:१-११  अनि साँझमा दुई स्वर्गदूतहरू सदोममा आए; र लोत सदोमको प्रवेशद्वारमा बसेका थिए: तिनीहरूलाई देखेर लोत तिनीहरूलाई भेट्न खडा भए; अनि तिनले निहुरेर दण्डवत् गरे; अनि तिनले भने, हेर्नुहोस्, मेरा मालिकहरू, म बिन्ती गर्छु, आफ्ना दासको घरमा आउनुहोस् र सारा रात बिताउनुहोस्, र आफ्ना खुट्टाहरू धुनुहोस्, सबेरै उठ्नुहोस् र आफ्नो बाटो लाग्‍नुहोस्। तब तिनीहरूले भने, हुन्‍न; तर हामी सारा रात सडकमा गुजार्नेछौँ। अनि उनले तिनीहरूलाई धेरै कर लगाए; अनि तिनीहरू तिनीमाथि जाइलागे, र उनको घरमा पसे; र उनले तिनीहरूको निम्ति भोज तयार पारे, खमिर नहालेको रोटी बनाए र तिनीहरूले खाए। तर तिनीहरू सुत्‍नु अगाडि सहरका मानिसहरू, सदोमका वृद्ध र जवान चारैतिरका सबै मानिसहरू समेतले वरिपरिबाट घरलाई घेरे: अनि तिनीहरूले लोतलाई बोलाएर तिनलाई भने, आज राती तिम्रोमा आएका मानिसहरू कता छन्? तिनीहरूलाई हामीकहाँ ल्याऊ ताकि हामीले तिनीहरूलाई चिन्‍न सकौँ। अनि लोत बाहिर ढोकामा तिनीहरूकहाँ गए र आफ्नो पछाडिको ढोका बन्द गरे र भने, दाजुभाइहरू, म तपाईंहरूसँग बिन्ती गर्छु यति धेरै दुष्ट नबन्‍नुहोस्। हेर्नुहोस्, अहिले मसँग दुई छोरीहरू छन् जसले कुनै पनि पुरुषलाई चिनेका छैनन्; म बिन्ती गर्छु कि म तिनीहरूलाई बाहिर तपाईंहरूकहाँ ल्याउँछु र तपाईंहरूले आफ्ना आँखाले राम्रो लाग्‍ने काम तिनीहरूलाई गर्नुहोस्: यी मानिसहरूलाई मात्रै केही नगरिदिनुहोस्; किनकि तिनीहरू मेरो घरको छायामा आएका छन्। अनि तिनीहरूले भने, पछि हट्। र तिनीहरूले फेरि भने, यो मान्छे यहाँ बस्‍न आयो र ऊ हाम्रो न्यायाधीश बन्‍न खोज्छ: अब हामी तिनीहरूसँग भन्दा नराम्रो व्यवहार तँसँग गर्छौं। अनि तिनीहरूले त्यस मानिस, लोतलाई धकेले र ढोका फोर्नलाई नजिक आए। तर ती मानिसहरूले आफ्ना हात अगाडि बढाए र लोतलाई घरभित्र आफू भएका ठाउँमा ल्याए अनि ढोका बन्द गरे। अनि घरका ढोकामा भएका साना र ठूला मानिसहरूलाई अन्धा तुल्याइदिए: फलस्वरूप तिनीहरू ढोका फेला पार्न नसकेर थाके।

उत्पत्ति १९:२४-२५  त्यसपछि यहोवाले सदोम र गमोरामाथि स्वर्गबाट यहोवाबाट गन्धक र आगो बर्साउनुभयो; अनि उहाँले ती सहरहरू, सारा मैदान, ती सहरहरूका बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोकलाई नष्ट गर्नुभयो।

यी खण्डहरूबाट, सदोमको दुष्टता र भ्रष्टता पहिले नै मानिस र परमेश्‍वर दुवैको लागि घृणास्पद हदमा पुगिसकेको थियो, त्यसकारण परमेश्‍वरको नजरमा त्यो सहर नष्ट गरिन योग्य भइसकेको थियो भन्‍ने कुरालाई देख्‍नु त्यति कठिन छैन। तर यो सहरलाई नष्ट गरिनुभन्दा पहिले यो सहरभित्र के भयो? यी घटनाहरूबाट मानिसहरूले कस्तो प्रेरणा पाउन सक्छन्? यी घटनाहरूप्रतिको परमेश्‍वरको मनोवृत्तिले मानिसहरूलाई उहाँको स्वभावको बारेमा के देखाउँछ? सम्पूर्ण कथालाई बुझ्‍नको लागि, हामी धर्मशास्‍त्रमा के अभिलेख गरिएको छ त्यसलाई ध्यान दिएर पढौं …

सदोमको भ्रष्टता: मानिसको लागि रिसउठ्दो, परमेश्‍वरको लागि क्रोधित तुल्याउने

त्यो रात, लोतले परमेश्‍वरका दुई जना सन्देशवाहकहरूलाई स्वागत गरे र तिनीहरूको लागि भोज तयार गरे। खानपान गरिसकेपछि, तिनीहरू सुत्‍न लागेको बेला, सहरभरिका मानिसहरू आएर लोतको वासस्थान घेरे र तिनलाई बोलाए। धर्मशास्‍त्रले अभिलेख गरेअनुसार, तिनीहरू भन्दै थिए, “आज राती तिम्रोमा आएका मानिसहरू कता छन्? तिनीहरूलाई हामीकहाँ ल्याऊ ताकि हामीले तिनीहरूलाई चिन्‍न सकौँ।” कसले यी शब्‍दहरू बोले? कसको लागि यी शब्दहरू बोलिए? यी शब्‍दहरू लोतको वासस्थानबाहिर चिच्याइएका र लोतले सुनून् भनेर बोलिएका सदोमका मानिसहरूका शब्‍दहरू थिए। यी शब्‍दहरू सुन्दा कस्तो लाग्छ? के तँ क्रोधित हुन्छस्? के यी शब्‍दहरूले तँलाई घृणाको महसुस गराउँछ? के तँमा रिस उम्लेर आइरहेको हुन्छ? के यी शब्‍दहरूमा शैतानको दुर्गन्ध आउँदैन र? के यी शब्‍दहरू मार्फत, तैँले यस सहरमा भएको दुष्टता र अन्धकारलाई अनुभूति गर्न सक्छस्? के तैँले यी मानिसहरूले बोलेका शब्‍दहरूबाट तिनीहरूको व्यवहारका क्रूरता र जङ्गलीपनलाई अनुभूति गर्न सक्छस्? के तैँले तिनीहरूको बानीबेहोरामार्फत तिनीहरूको भ्रष्टताको गहिराइलाई अनुभूति गर्न सक्छस्? के तिनीहरूको बोलाइको विषयवस्तुमार्फत, तिनीहरूको दुष्ट प्रकृति र जङ्गली स्वभाव तिनीहरूको नियन्त्रणभन्दा बाहिर गइसकेको थियो भन्‍ने देख्‍नु कठिन छैन। लोतबाहेक, यस सहरको एक-एक व्यक्ति शैतानभन्दा फरक थिएन; अर्को नयाँ व्यक्ति देख्दा मात्रै पनि यी मानिसहरूलाई ती व्यक्तिहरूलाई हानि गर्ने र निल्‍ने चाहना जाग्यो…। यी कुराहरूले सहरको भयानक र भयङ्कर प्रकृतिका साथै यस सहर वरिपरि रहेको मृत्युको रापको अनुभूति मात्रै दिँदैनन्, बरु यिनले त यसको दुष्टता र हत्यारापनको अनुभूति पनि दिन्छन्।

अमानवीय डाँकुहरू, मानव प्राणलाई निल्‍ने उग्र इच्‍छाले भरिएका मानिसहरूको आमने-सामने हुँदा, लोतले कस्तो प्रतिक्रिया दिए? धर्मशास्‍त्रअनुसार: “म तपाईंहरूसँग बिन्ती गर्छु यति धेरै दुष्ट नबन्‍नुहोस्। हेर्नुहोस्, अहिले मसँग दुई छोरीहरू छन् जसले कुनै पनि पुरुषलाई चिनेका छैनन्; म बिन्ती गर्छु कि म तिनीहरूलाई बाहिर तपाईंहरूकहाँ ल्याउँछु र तपाईंहरूले आफ्ना आँखाले राम्रो लाग्‍ने काम तिनीहरूलाई गर्नुहोस्: यी मानिसहरूलाई मात्रै केही नगरिदिनुहोस्; किनकि तिनीहरू मेरो घरको छायामा आएका छन्।” लोतले यी शब्‍दहरूद्वारा यसो भन्न खोजिरहेका थिए: सन्देशवाहकहरूलाई सुरक्षित गर्नको लागि तिनी आफ्‍नी दुई छोरीलाई त्याग्‍न तयार थिए। कुनै पनि तर्कशील हिसाबमा, यी मानिसहरूले लोतका सर्तहरूमा सहमति जनाई दुई सन्देशवाहकलाई केही पनि नगर्नुपर्थ्यो; आखिर, सन्देशवाहकहरू तिनीहरूका लागि पूर्ण रूपमा अपरिचित थिए, तिनीहरूसँग कुनै सम्‍बन्ध नभएका र तिनीहरूका रुचिहरूमा कहिल्यै पनि कुनै हानि नपुर्‍याएका मानिसहरू थिए। तैपनि, तिनीहरूका दुष्ट प्रकृतिद्वारा उत्प्रेरित भएर, तिनीहरूले यस विषयलाई त्यत्तिकै छोडेनन्, बरु तिनीहरूका प्रयासलाई अझै तीव्र बनाए। यहाँ, तिनीहरू बीचको अर्को कुराकानीले मानिसहरूलाई निःसन्देह रूपमा नै यी मानिसहरूका साँचो, क्रूर प्रकृतिको बारेमा थप ज्ञान प्रदान गर्न सक्छ, यसको साथै यसले मानिसहरूलाई परमेश्‍वरले किन यस सहरलाई नष्ट गर्न चाहनुभयो भन्‍ने बारेमा स्पष्ट हुन र बुझ्‍न पनि सहयोग गर्छ।

त्यसो भए, तिनीहरूले यसपछि के भने त? बाइबलमा यस्तो लेखिएको छ: “पछि हट्। र तिनीहरूले फेरि भने, यो मान्छे यहाँ बस्‍न आयो र ऊ हाम्रो न्यायाधीश बन्‍न खोज्छ: अब हामी तिनीहरूसँग भन्दा नराम्रो व्यवहार तँसँग गर्छौं। अनि तिनीहरूले त्यस मानिस, लोतलाई धकेले र ढोका फोर्नलाई नजिक आए।” तिनीहरूले किन लोतको ढोका फोर्न चाहन्थे? कारण के थियो भने तिनीहरू ती दुई सन्देशवाहकहरूलाई हानि गर्न अत्यन्तै आतुर थिए। यी सन्देशवाहकहरू किन सदोम आएका थिए त? तिनीहरू त्यहाँ आउनुको उद्देश्य लोत र तिनको परिवारलाई बचाउनु थियो, तर यो सहरका मानिसहरूले तिनीहरू आधिकारिक पद ग्रहण गर्न आएका हुन् भनेर गलत रूपमा सोचेका थिए। सन्देशवाहकहरूको उद्देश्यको बारेमा नसोधीकन, यो सहरका मानिसहरूले पूर्ण अनुमानकै आधारमा मात्रै यी दुई सन्देशवाहकलाई जङ्गली तवरले हानि गर्ने इच्‍छा गरे; तिनीहरूले तिनीहरूसँग कुनै सम्‍बन्ध नै नभएका दुई जना मानिसहरूलाई हानि गर्न चाहे। यो सहरका मानिसहरूले तिनीहरूका मानवता र तर्कलाई पूर्ण रूपमा गुमाएका थिए भन्‍ने कुरा स्पष्टै छ। तिनीहरूको पागलपन र जङ्गलीपन पहिले नै मानिसहरूलाई हानि गर्ने र निल्‍ने शैतानको दुष्ट प्रकृतिभन्दा फरक थिएन।

यी मानिसहरूलाई हस्तान्तरण गर् भनेर जब तिनीहरूले लोतलाई भने, तब लोतले के गरे त? पाठबाट हामीलाई थाहा हुन्छ कि लोतले तिनीहरूलाई हस्तान्तरण गरेनन्। के लोतले परमेश्‍वरका यी दुई सन्देशवाहकलाई चिनेका थिए? अवश्य थिएनन्! तैपनि, किन तिनले यी दुई मानिसहरूलाई बचाउन सके? के तिनलाई तिनीहरू के गर्न आएका थिए भन्‍ने थाहा थियो? तिनीहरू आउनुको कारणबारे तिनी अनभिज्ञ रहेको भए पनि, तिनलाई तिनीहरू परमेश्‍वरका सेवक हुन् भन्‍ने थाहा थियो, त्यसकारण तिनले तिनीहरूलाई आफ्‍नो घरमा लगे। परमेश्‍वरका यी सेवकहरूलाई तिनले “प्रभु” भन्‍ने पदवीले बोलाउन सके भन्‍ने कुराले लोत सदोमका अरू मानिसहरूजस्ता नभई परमेश्‍वरलाई निरन्तर पछ्याउने व्यक्ति थिए भन्‍ने देखाउँछ। त्यसकारण, जब परमेश्‍वरका सन्देशवाहकहरू तिनीकहाँ आए, तिनले आफ्‍नै ज्यान जोखिममा पारी यी दुई सेवकलाई आफ्‍नो घरमा लगे; यस अलाबा, यी दुई सेवकलाई सुरक्षित राख्नको लागि उनले आफ्‍नी दुई छोरी दिने प्रस्ताव पनि गरे। यो लोतको धर्मी कार्य थियो; यो लोतको प्रकृति सारको ठोस अभिव्यक्ति थियो, र परमेश्‍वरले लोतलाई बचाउन आफ्‍ना सेवकहरू पठाउनुको कारण पनि यही थियो। खतराको सामना गर्दा, लोतले अन्य केही कुराको परवाह नगरिकन यी दुई सेवकको सुरक्षा गरे; यी सेवकहरूको सुरक्षाको सट्टामा उनले आफ्‍ना दुई छोरी दिने प्रयास पनि गरे। लोतबाहेक, के यो सहरमा यस्तै कार्य गर्ने अरू कुनै व्यक्ति थियो? तथ्यहरूले प्रमाणित गर्छ—अहँ, त्यहाँ अरू कोही थिएन! त्यसकारण, लोतबाहेक, सदोमभित्रका हरेक व्यक्ति नै विनाशको निसाना थियो भन्‍नेमा कुनै द्विविधा छैन, र त्यो सही नै थियो—तिनीहरू त्यसैको योग्य थिए।

परमेश्‍वरको क्रोध भड्काएकोले सदोम पूर्णतया भस्‍म हुन्छ

जब सदोमका मानिसहरूले यी दुई सेवकलाई देखे, तिनीहरूले तिनीहरू आउनुको कारण सोधेनन्, न त कसैले तिनीहरू परमेश्‍वरको इच्‍छाको बारेमा प्रचार गर्न आएका हुन् कि भनेर नै सोधे। यसको विपरीत, तिनीहरूले भीड जम्‍मा गरे अनि, स्पष्टीकरणको प्रतीक्षा नगरीकन, यी दुई सेवकलाई पक्रन जङ्गली कुकुर वा घातक ब्‍वाँसाहरूजस्तो गरी आए। के यी घटनाहरू घट्दा परमेश्‍वरले हेर्नुभयो? यस प्रकारको मानव व्यवहार, यस प्रकारको घटनाप्रति परमेश्‍वरले आफ्‍नो हृदयमा के सोचिरहनुभएको थियो? परमेश्‍वरले यस सहरलाई नष्ट गर्ने निर्णय गर्नुभयो; उहाँ हिचकिचाउने वा प्रतीक्षा गर्नेवाला हुनुहुन्नथ्यो, न त उहाँ थप कुनै धैर्यता नै देखाउनेवाला हुनुहुन्थ्यो। उहाँको दिन आइसकेको थियो, त्यसकारण उहाँ आफूले गर्न चाहेको काम गर्न तयार हुनुभयो। तसर्थ, उत्‍पत्ति १९:२४-२५ ले भन्छ, “त्यसपछि यहोवाले सदोम र गमोरामाथि स्वर्गबाट यहोवाबाट गन्धक र आगो बर्साउनुभयो; अनि उहाँले ती सहरहरू, सारा मैदान, ती सहरहरूका बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोकलाई नष्ट गर्नुभयो।” यी दुई पदले यो सहरलाई परमेश्‍वरले के-कसरी नष्ट गर्नुभयो साथै परमेश्‍वरले के-कस्ता कुराहरू नष्ट गर्नुभयो भन्‍नेबारेमा बताउँछन्। सबभन्दा पहिले, परमेश्‍वरले यो सहरलाई आगोले जलाउनुभयो, र यो आगोको मात्रा सारा मानिसहरूलाई नष्ट गर्न र जमिनबाट उम्रने सबै कुरा नष्ट गर्नको निम्ति पर्याप्त थियो भनी बाइबलले वर्णन गरेको छ। भन्‍नुको अर्थ, स्वर्गबाट झरेको उक्त आगोले सहरलाई मात्र होइन, यसभित्र बसोबास गरिरहेका मानिसहरू र सबै जीवित प्राणीहरूलाई पनि कुनै नाम-निशान नै नरहने गरी नष्ट गर्‍यो। यो सहर नष्ट गरिएपछि, उक्त भूमि जीवित प्राणी रहित भयो; त्यहाँ कुनै जीवन बाँकी थिएन, न त जीवनको कुनै लक्षण नै बाँकी थियो। यो सहर एक उजाड स्थान, घातक मौनताले भरिएको एक रित्तो स्थान बनेको थियो। यस ठाउँमा अबउप्रान्त परमेश्‍वरको विरुद्ध कुनै दुष्ट कार्यहरू हुनेवाला थिएनन्, कुनै हत्या वा रगत बगाउने कार्य हुनेवाला थिएनन्।

परमेश्‍वरले किन यो सहरलाई यति सम्पूर्ण तवरले जलाउन चाहनुभयो त? तिमीहरू यहाँ के देख्‍न सक्छौ? के परमेश्‍वरले मानवजाति र प्रकृति, अर्थात् उहाँको आफ्‍नै सृष्टि यसरी नष्ट भएको हेर्न सक्‍नुभयो त? स्वर्गबाट झारिएको आगोबाट तैँले यहोवा परमेश्‍वरको रिस पत्ता लगाउन सक्छस् भने, उहाँले गर्नुभएको विनाशका निसानाहरू र सहरलाई जुन हदसम्‍म नष्ट गरिएको थियो त्यस हदको आधारमा मूल्याङ्कन गर्दा, उहाँको क्रोध कति ठूलो थियो भनी देख्‍नु त्यति कठिन हुँदैन। जब परमेश्‍वरले कुनै सहरलाई घृणा गर्नुहुन्छ, उहाँले यसमाथि आफ्‍नो दण्डको वर्षा गराउनुहुन्छ। जब परमेश्‍वरलाई कुनै सहरदेखि घिन लागेर आउँछ, उहाँले मानिसहरूलाई उहाँको रिसको बारेमा जानकारी दिन बारम्‍बार चेतावनी दिनुहुन्छ। तैपनि, जब परमेश्‍वरले कुनै सहरलाई समाप्त गर्ने र नष्ट गर्ने निर्णय गर्नुहुन्छ—अर्थात्, जब उहाँको क्रोध र प्रतापलाई क्रुद्ध पारिएको हुन्छ—उहाँले थप कुनै दण्ड वा चेतावनी दिनुहुन्‍न। बरु, उहाँले यसलाई सीधै नष्ट गर्नुहुनेछ। उहाँले यसलाई पूर्ण रूपमा मेटाउनुहुनेछ। यो परमेश्‍वरको धर्मी स्वभाव हो।

परमेश्‍वरप्रति सदोमको निरन्तर शत्रुता र विरोधपछि, उहाँले यसलाई पूर्ण रूपमा मेटाउनुहुन्छ

अहिले हामीले परमेश्‍वरको धर्मी स्वभावको बारेमा आम बुझाइ प्राप्त गरिसकेको हुनाले, हामी हाम्रो ध्यान सदोम सहरतर्फ फर्काउन सक्छौँ—एउटा यस्तो स्थानतर्फ जसलाई परमेश्‍वरले पापको सहरको रूपमा देख्‍नुभयो। यो सहरको सारलाई बुझेर, हामी परमेश्‍वरले किन यसलाई नष्ट गर्न चाहनुभयो र उहाँले यसलाई किन यति पूर्ण रूपमा नष्ट गर्नुभयो भन्‍ने कुरा बुझ्‍न सक्छौँ। यसबाट, हामीले परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्‍न सक्छौँ।

मानव दृष्टिकोणबाट हेर्दा, सदोम मानिसको इच्‍छा र मानिसको दुष्टतालाई पूर्ण रूपमा सन्तुष्ट पार्न सक्‍ने सहर थियो। हरेक रात सङ्गीत र नृत्यद्वारा मनोहर र मोहित गराउने यसको सम्‍पन्‍नताले मानिसहरूलाई मोह र पागलपनमा पार्थ्यो। यसको दुष्टताले मानिसहरूको हृदयलाई बिगार्दै जान्थ्यो र तिनीहरूलाई मोहित पारी भ्रष्टतामा लैजान्थ्यो। यो अशुद्ध र दुष्ट आत्‍माहरूले व्याप्त सहर थियो; यो सहर पाप र हत्याले भरिएको थियो र हावा रक्ताम्मे, सडिएर दुर्गन्धित भएको थियो। यो यस्तो सहर थियो जसले मानिसहरूको आङ सिरिङ्ङ पार्थ्यो, यस्तो सहर जहाँ व्यक्ति सन्त्रासले खुम्चन्थ्यो। यो सहरका कसैले पनि—चाहे पुरुष हुन् वा स्त्री, जवान हुन् वा वृद्ध—साँचो मार्गको खोजी गर्दैनथिए; कसैले पनि ज्योतिको चाहना गर्दैनथिए वा पापबाट टाढा जाने इच्‍छा गर्दैनथिए। तिनीहरू शैतानको नियन्त्रण, शैतानको भ्रष्टता र छलको दबाबमा जिउँथे। तिनीहरूले आफ्‍नो मानवता गुमाएका थिए, तिनीहरूले आफ्‍नो समझ गुमाएका थिए, र तिनीहरूले मानिसको अस्तित्वको मूल लक्ष्यलाई गुमाएका थिए। तिनीहरूले परमेश्‍वरको विरोध गर्दै अनगिन्ती दुष्कर्महरू गरेका थिए; तिनीहरूले उहाँको अगुवाइलाई इन्कार गर्थे र उहाँको इच्‍छाको विरोध गर्थे। तिनीहरूका दुष्कर्महरूले नै यी मानिसहरूलाई, यो सहर र यसभित्रका हरेक जीवित प्राणीलाई एक-एक कदम गरी विनाशको मार्गमा लगिरहेको थियो।

यी दुई खण्डले परमेश्‍वरका दुई जना सेवक सहरमा आइपुगेपछि यिनीहरूप्रति सदोमका मानिसहरूको व्यवहारको विवरण दिएको तर ती मानिसहरूको भ्रष्टताको हदको बारेमा सारा विवरणहरू अभिलेख नगरेको भए तापनि, सदोमका मानिसहरू कति हदसम्‍म भ्रष्ट, दुष्ट र परमेश्‍वरका विरोधी थिए भनी प्रकट गर्ने एउटा सरल तथ्य छ। यसले यो सहरका मानिसहरूको साँचो रूप र सारलाई पनि खुलासा गर्छ। यी मानिसहरूले परमेश्‍वरका चेतावनीहरूलाई स्वीकार गर्न नमानेका मात्र होइन, तिनीहरूले त उहाँको दण्डको डर पनि मानेनन्। यसको विपरीत, तिनीहरूले परमेश्‍वरको रिसको गिल्‍ला गरे। तिनीहरूले अन्धाधुन्ध परमेश्‍वरको विरोध गरे। उहाँले जे गर्नुभए पनि वा जसरी गर्नुभए पनि, तिनीहरूको भ्रष्ट प्रकृति झन्-झन् तीव्र मात्रै हुँदै गयो, र तिनीहरूले बारम्‍बार परमेश्‍वरको विरोध गरे। सदोमका मानिसहरू परमेश्‍वरको अस्तित्व, उहाँको आगमन, उहाँको दण्ड, र त्योभन्दा पनि बढी उहाँका चेतावनीहरूप्रति शत्रुवत् थिए। तिनीहरू अत्यन्तै अहङ्कारी थिए। तिनीहरूले निल्‍न सकिने र हानि गर्न सकिने सबै मानिसहरूलाई निल्थे र हानि गर्थे, र तिनीहरूले परमेश्‍वरका सेवकहरूलाई पनि त्यस्तै व्यवहार गर्थे। सदोमका मानिसहरूले गरेका सारा दुष्कर्महरूको विषयमा कुरा गर्दा, परमेश्‍वरका सेवकहरूलाई हानि गर्ने कार्य त एउटा सानो झलक मात्रै थियो, र त्यसरी प्रकट भएको तिनीहरूको दुष्ट प्रकृति विशाल समुद्रको सानो थोपाजस्तो मात्रै थियो। त्यसकारण, परमेश्‍वरले तिनीहरूलाई आगोद्वारा नष्ट गर्ने निर्णय गर्नुभयो। परमेश्‍वरले बाढीको प्रयोग गर्नुभएन, न त उहाँले यस सहरलाई नष्ट गर्न आँधीबेहरी, भूकम्प, सुनामी, वा अरू कुनै तरिकाको नै प्रयोग गर्नुभयो। यस सहरलाई नष्ट गर्नको लागि परमेश्‍वरले आगोको प्रयोग गर्नुभएको तथ्यले के सङ्केत गर्‍यो? यसको अर्थ सहरको पूर्ण विनाश भयो भन्‍ने हो; यसको अर्थ सहर पृथ्वीबाट र अस्तित्वबाट पूर्ण रूपमा विलय भयो भन्‍ने हो। यहाँ, “विनाश” ले सहरको स्वरूप र संरचना वा बाहिरी स्वरूप विलय हुनुलाई मात्रै जनाउँदैन; यसको अर्थ पूर्ण रूपमा नष्ट गरिइसकेपछि, सहरभित्रका मानिसहरूको आत्मा पनि अस्तित्वमा रहेन भन्‍ने हुन्छ। सरल रूपमा भन्दा, त्यस सहरसँग सम्‍बन्धित सबै मानिसहरू, घटना र थोकहरू सबै नष्ट भए। त्यस सहरका मानिसहरूको निम्ति अर्को कुनै जीवन वा पुनर्जन्‍म हुनेवाला थिएन; परमेश्‍वरले तिनीहरूलाई उहाँको सृष्टिको मानवताबाट सारा अनन्तसम्‍मको लागि विलय गर्नुभएको थियो। आगोको प्रयोगले यस स्थानमा पापको अन्त्य भयो, र त्यहाँ पाप नियन्त्रित भयो भन्‍ने अर्थ दिन्छ; यो पाप अस्तित्वमा नरहने र नफैलनेवाला थियो। यसको अर्थ, शैतानको दुष्टताले यसको भरणपोषणको भूमि साथै बस्‍न र जिउन स्थान दिने समाधि स्थल गुमाएको थियो। परमेश्‍वर र शैतानको युद्धमा, परमेश्‍वरले आगोको प्रयोग गर्नु उहाँको विजयको छाप हो, जसद्वारा शैतानलाई चिन्हांकित गरिन्छ। सदोमको विनाश मानिसलाई भ्रष्ट तुल्याउँदै र निल्दै परमेश्‍वरको विरोध गर्ने शैतानको महत्वाकांक्षाको एउटा ठूलो भूल हो, त्यसैगरी यो मानवजातिको विकास क्रममा मानिसले परमेश्‍वरको अगुवाइ इन्कार गरेको र आफैलाई पापकर्ममा डुबाएको त्यो समयको लाजको प्रतीक पनि हो। यसको साथै, यो परमेश्‍वरको धर्मी स्वभावको साँचो प्रकाशको विवरण हो।

जब परमेश्‍वरले स्वर्गबाट पठाउनुभएको आगोले सदोमलाई खरानीमा बदल्यो, तब यसको अर्थ “सदोम” नामको सहर, साथै सहरभित्रको सबै कुरा अस्तित्वबाट हट्यो भन्‍ने हुन्छ। यसलाई परमेश्‍वरको रिसले नष्ट गर्‍यो, यो परमेश्‍वरको क्रोध र प्रतापभित्र विलय भयो। परमेश्‍वरको धर्मी स्वभावको कारण, सदोमले यसको धर्मी दण्ड र यसको उचित अन्त्य प्राप्त गर्‍यो। सदोमको अस्तित्वको अन्त्य हुनुको कारण यसको दुष्टता थियो, र यस सहर वा यसमा बसोबास गरेका मानिसहरूमध्ये कसैलाई पनि वा यस सहरभित्र हुर्केको कुनै पनि प्राणीलाई फेरि कहिल्यै नहेर्ने परमेश्‍वरको इच्‍छाको कारणले पनि यसो भएको थियो। “यस सहरलाई फेरि कहिल्यै नहेर्ने” परमेश्‍वरको इच्‍छा उहाँको क्रोध, साथै उहाँको प्रताप पनि हो। परमेश्‍वरले यस सहरलाई जलाउनुभयो किनभने यसको दुष्टता र पापले उहाँमा यसप्रति रिस, घृणा र तिरस्कारको अनुभूति गरायो र यसलाई वा यसभित्रका कुनै पनि मानिसहरू वा जीवित प्राणीहरूलाई फेरि कहिल्यै नहेर्ने इच्‍छा जगायो। यो सहर डढेर खरानी मात्र बाँकी रहेपछि, यो परमेश्‍वरको नजरमा साँच्‍चै नै अस्तित्व विहीन बन्यो; यसको बारेमा रहेको उहाँको याद पनि गयो, हट्यो। यसको अर्थ के हो भने, स्वर्गबाट पठाइएको आगोले सारा सदोमलाई मात्रै नष्ट गरेन, न त यसले पापले भरिएका सहरका मानिसहरूलाई मात्रै नष्ट गर्‍यो, न त सहरभित्रका पापले कलङ्कित सबै कुराहरूलाई मात्रै नष्ट गर्‍यो; यी कुराहरूबाहेक, आगोले मानवजातिको दुष्टता र परमेश्‍वरको विरुद्धमा रहेको विरोधको यादलाई पनि नष्ट गर्‍यो। यो सहरलाई जलाउनु पछाडि परमेश्‍वरको उद्देश्य यही थियो।

यो मानवजाति अत्यन्तै भ्रष्ट बनेको थियो। यी मानिसहरूलाई परमेश्‍वर को हुनुहुन्छ वा तिनीहरू स्वयम्‌ कहाँबाट आएका थिए भन्‍ने थाहा थिएन। यदि तैँले तिनीहरूलाई परमेश्‍वरको बारेमा उल्‍लेख गर्थिस् भने, तिनीहरूले आक्रमण, मानहानि, र ईश्‍वर-निन्दा गर्नेथिए। परमेश्‍वरका सेवकहरू उहाँको चेतावनी फैलाउन आउनुहुँदा समेत, यी भ्रष्ट मानिसहरूले कुनै पश्‍चात्तापको सङ्केत नदेखाएको र तिनीहरूको दुष्ट व्यवहारलाई नत्यागेको मात्र होइन, बरु यसको विपरीत, तिनीहरूले त निर्धक्‍क भई परमेश्‍वरका सेवकहरूलाई हानि गरे। तिनीहरूले जे व्यक्त गरे र प्रकट गरे त्यो परमेश्‍वरप्रतिको तिनीहरूको चरम शत्रुवत् प्रकृति सार थियो। हामी देख्न सक्छौँ कि परमेश्‍वरको विरुद्धमा यी भ्रष्ट मानिसहरूको विरोध जसरी सत्यताको बुझाइको कमीबाट आउने निन्दा वा गिल्‍ला मात्रै थिएन, त्यसरी नै यो तिनीहरूको भ्रष्ट स्वभावको प्रकाश मात्रै पनि थिएन। तिनीहरूको दुष्ट व्यवहारको कारण न त मूर्खता थियो न त अज्ञानता नै; तिनीहरू धोकामा परेकाले तिनीहरूले यस्तो कार्य गरेका थिएनन्, र अवश्य पनि तिनीहरूलाई बहकाइएकाले तिनीहरूले यसो गरेका थिएनन्। तिनीहरूको व्यवहार कुख्यात रूपमा परमेश्‍वरको विरुद्धमा गरिने निडर शत्रुताको कार्य, विरोध, र झगडाको स्तरमा पुगेको थियो। यसमा कुनै शङ्का छैन, यस प्रकारको मानव आचरणले परमेश्‍वरलाई क्रोधित तुल्याउनेवाला नै थियो, र यसले उहाँको स्वभावलाई क्रोधित तुल्याउनेछ—क्रोधित तुल्याउनै नहुने स्वभावलाई। त्यसकारण, परमेश्‍वरले प्रत्यक्ष र खुलेआम रूपमा उहाँको क्रोध र उहाँको प्रताप व्यक्त गर्नुभयो; यो उहाँको धर्मी स्वभावको साँचो प्रकाश थियो। पापले भरिपूर्ण यस्तो सहरको सामना गर्दा, परमेश्‍वरले यसलाई जतिसक्दो चाँडो नष्ट गर्ने, यसभित्रका मानिसहरू र तिनीहरूको सम्पूर्ण पापलाई सबैभन्दा पूर्ण तवरले नष्ट गर्ने, यस सहरका मानिसहरूलाई अस्तित्व विहीन तुल्याउने र यस ठाउँको पापलाई वृद्धि हुनबाट रोक्‍ने इच्‍छा गर्नुभयो। यस कार्यलाई सबैभन्दा छिटो र सबैभन्दा पूर्ण तवरले गर्ने तरिका भनेको यसलाई आगोले जलाउनु थियो। सदोमका मानिसहरूप्रतिको परमेश्‍वरको मनोवृत्ति परित्याग वा अवहेलना थिएन। बरु, उहाँले त यी मानिसहरूलाई दण्ड दिन, प्रहार गर्न, र पूर्ण रूपमा नष्ट गर्न आफ्‍नो क्रोध, प्रताप र अख्‍तियारको प्रयोग गर्नुभयो। तिनीहरूप्रतिको उहाँको मनोवृत्ति भौतिक विनाश गर्नु मात्रै थिएन बरु आत्माको विनाश, अनन्त विनाश गर्नु पनि थियो। परमेश्‍वरले “अस्तित्वबाट मेटिनु” भन्‍ने शब्‍दहरूद्वारा जे भन्‍न चाहनुहुन्छ त्यसको साँचो अर्थ यही हो।

परमेश्‍वरको क्रोध लुकेको अनि मानिसको लागि अज्ञात भए पनि यसले कुनै उल्‍लङ्घन सहँदैन

मानवजाति जति नै मूर्ख र अज्ञानी भए पनि, परमेश्‍वरले सम्पूर्ण मानवजातिलाई गर्नुहुने व्यवहार मुख्यतया कृपा र सहनशीलतामा आधारित छ। अर्कोतर्फ, धेरैजसो समय र धेरैजसो घटनाहरूमा उहाँको क्रोध लुकाइएको हुन्छ, यो मानिसको लागि अज्ञात हुन्छ। परिणामस्वरूप, परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुभएको मानिसले देख्न कठिन हुन्छ, र उहाँको क्रोधलाई बुझ्‍न पनि कठिन नै हुन्छ। त्यसो भएको हुँदा, मानिसले परमेश्‍वरको क्रोधलाई हल्‍कासित लिन्छ। जब मानिसले परमेश्‍वरको अन्तिम कार्य र मानिसको लागि उहाँको सहनशीलता र पापक्षमाको सामना गर्छ—अर्थात्, जब परमेश्‍वरको अन्तिम पटकको कृपा र उहाँको अन्तिम चेतावनी मानवजातिमा आइपर्छ—यदि मानिसहरूले अझै पनि परमेश्‍वरको विरोध गर्नको लागि उही विधिहरूको प्रयोग गर्छन् भने र पश्‍चात्ताप गर्न, तिनीहरूका मार्गहरूलाई सुधार्न र उहाँको कृपालाई स्वीकार गर्न कुनै पनि प्रयास गर्दैनन् भने, परमेश्‍वरले तिनीहरूलाई अबउप्रान्त उहाँको सहनशीलता र धैर्यता प्रदान गर्नुहुनेछैन। यसको विपरीत, यस पटक परमेश्‍वरले आफ्‍नो कृपा फिर्ता लिनुहुनेछ। यसपछि, उहाँले आफ्‍नो क्रोध मात्रै बर्साउनुहुनेछ। जसरी उहाँले मानिसहरूलाई दण्ड दिन र नष्ट गर्नको लागि फरक-फरक विधिहरूको प्रयोग गर्नुहुन्छ त्यसरी नै उहाँले फरक-फरक तरिकाले आफ्‍नो क्रोध प्रकट गर्न सक्‍नुहुन्छ।

सदोम सहरलाई नष्ट गर्नको लागि परमेश्‍वरले गर्नुभएको आगोको प्रयोग मानवजाति वा अरू कुनै पनि कुरालाई पूर्ण रूपमा नष्ट गर्ने उहाँको सबैभन्दा शीघ्र तरिका हो। सदोमका मानिसहरूलाई जलाउँदा यसले तिनीहरूका भौतिक शरीरलाई मात्र नष्ट गरेन; यसले तिनीहरूका आत्मा, तिनीहरूका प्राण र तिनीहरूका शरीरको सम्पूर्णता नष्ट गर्‍यो र त्यस सहरका मानिसहरूलाई भौतिक संसार र मानिसको निम्ति अदृश्य रहेको संसार दुवैमा अस्तित्व विहीन हुने कुरा सुनिश्‍चित गर्‍यो। परमेश्‍वरले आफ्‍नो क्रोधलाई प्रकाश पार्ने र व्यक्त गर्ने एउटा तरिका यही हो। जसरी यो प्राकृतिक रूपमा परमेश्‍वरको धर्मी स्वभावको सारको प्रकाश हो त्यसरी नै प्रकाश र अभिव्यक्तिको यो शैली परमेश्‍वरको क्रोधको सारको एउटा पक्ष हो। जब परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुहुन्छ, उहाँले न त कुनै कृपा वा प्रेमिलो दयालुपन नै प्रकट गर्नुहुन्छ, न त त्यसपछि उहाँले उहाँको सहनशीलता वा धैर्यतालाई नै देखाउनुहुन्छ; उहाँलाई निरन्तर धैर्य रहिरहन, फेरि उहाँको कृपा प्रदान गर्न, फेरि एक पटक उहाँको सहनशीलता प्रदान गर्नको लागि उहाँलाई मनाउन सक्‍ने कुनै व्यक्ति, वस्तु वा कारण नै छैन। यी कुराहरूको स्थानमा, क्षणिक हिचकिचाहटविना नै परमेश्‍वरले आफ्‍नो इच्‍छाअनुसार आफ्‍नो क्रोध र प्रताप प्रकट गर्नुहुन्छ। उहाँले आफ्‍नै चाहनाहरू अनुसार यी कुराहरू शीघ्र र शुद्ध रूपमा गर्नुहुन्छ। परमेश्‍वरले आफ्‍नो क्रोध र प्रताप निकाल्ने तरिका यही हो, जसलाई मानिसले चिढ्याउनु हुँदैन, र यो उहाँको धर्मी स्वभावको एउटा पक्षको अभिव्यक्ति पनि हो। जब परमेश्‍वरले मानिसप्रति चिन्ता र प्रेम देखाइरहेको मानिसहरूले देख्छन्, तिनीहरूले उहाँको क्रोधलाई पत्ता लगाउन, उहाँको प्रतापलाई देख्‍न वा उल्‍लङ्घनप्रति उहाँको असहनशीलतालाई महसुस गर्न सक्दैनन्। यी कुराहरूले मानिसहरूलाई सधैँ परमेश्‍वरको धर्मी स्वभाव भनेको कृपा, सहनशीलता र प्रेम मात्रै हो भनेर विश्‍वास गर्ने तुल्याउँछ। तैपनि, जब कसैले परमेश्‍वरले कुनै सहरलाई नष्ट गर्नुभएको वा मानवजातिलाई तिरस्कार गर्नुभएको देख्छ, तब मानिसको विनाशमा उहाँको प्रचुर रिस अनि उहाँको प्रतापले मानिसहरूलाई उहाँको धर्मी स्वभावको अर्को पक्षको झलक देखाउँछ। उल्‍लङ्घनप्रतिको परमेश्‍वरको असहनशीलता यही हो। कुनै पनि उल्‍लङ्घन नसहने परमेश्‍वरको स्वभावले सृष्टि गरिएको कुनै पनि प्राणीको कल्‍पनालाई नाघ्छ, अनि सृष्टि नगरिएका प्राणीहरूमाझ, यसलाई हस्तक्षेप गर्न वा यसलाई प्रभाव पार्न सक्‍ने कोही छैन; यसको नक्कल गर्न वा अनुकरण गर्न सक्‍ने कुरा त परै जाओस्। तसर्थ, परमेश्‍वरको स्वभावको यो पक्ष नै मानवजातिले सबैभन्दा बढी जान्‍नुपर्ने कुरा हो। परमेश्‍वर स्वयम्‌मा मात्रै यस प्रकारको स्वभाव छ, र परमेश्‍वर स्वयम्‌ले मात्रै यस प्रकारको स्वभाव धारण गर्नुभएको छ। उहाँले दुष्ट्याइँ, अन्धकार, विद्रोहीपन र शैतानको दुष्ट कार्यहरूलाई, अर्थात् मानवजातिलाई भ्रष्ट बनाउने र भस्‍म गर्ने कार्यहरूलाई तिरस्कार गर्नुहुने भएकोले, उहाँको विरुद्धमा रहेका सबै पापकर्महरूलाई उहाँले तिरस्कार गर्नुहुने भएकोले अनि उहाँको पवित्र र निष्कलङ्क सारको कारण परमेश्‍वरमा यस प्रकारको धर्मी स्वभाव हुन्छ। यही कारणले गर्दा उहाँले सृष्टि गरिएको वा नगरिएको कुनै पनि प्राणीले खुलेआम उहाँको विरोध गरेको वा उहाँसँग होडबाजी गरेको पीडा सहनुहुनेछैन। उहाँले कुनै बेला कृपा देखाउनुभएको वा उहाँले चुन्‍नुभएको व्यक्तिले समेत उहाँको स्वभावलाई एक पटक चिढ्याउनु र उहाँका धैर्यता र सहनशीलताका सिद्धान्तहरूलाई भङ्ग मात्रै गर्नुपर्छ, अनि अलिकति कृपा वा हिचकिचाहटविना नै उहाँले कुनै पनि उल्‍लङ्घन सहन नगर्ने आफ्‍नो धर्मी स्वभावलाई खुला छाडी प्रकट गर्नुहुनेछ।

परमेश्‍वरको क्रोध न्यायका सबै शक्ति र सबै सकारात्मक कुराहरूको निम्ति सुरक्षा हो

परमेश्‍वरका बोली-वचन, विचार र कार्यहरूका यी उदाहरणहरूलाई बुझेर, के तैँले परमेश्‍वरको धर्मी स्वभाव, अर्थात् मानिसको चिढ्याइ नसहने स्वभावलाई बुझ्‍न सक्छस्? छोटकरीमा भन्दा, तैँले यसलाई जति धेरै बुझ्‍न सके पनि, यो परमेश्‍वर स्वयम्‌को स्वभावको एउटा पक्ष हो, र यो उहाँमा मात्र पाइने अद्वितीय कुरा हो। उल्‍लङ्घनप्रतिको परमेश्‍वरको असहनशीलता नै उहाँको अद्वितीय सार हो; परमेश्‍वरको क्रोध उहाँको अद्वितीय स्वभाव हो; परमेश्‍वरको प्रताप उहाँको अद्वितीय सार हो। परमेश्‍वरको रिसपछाडिको सिद्धान्त भनेको उहाँको पहिचान र हैसियतको प्रदर्शन हो, जुन उहाँमा मात्रै छ। यो सिद्धान्त अद्वितीय परमेश्‍वर स्वयम्‌को सारको प्रतीक पनि हो भनेर भनिरहनु पर्दैन। परमेश्‍वरको स्वभाव उहाँको आफ्‍नै अन्तर्निहित सार हो, जुन समयको बहावद्वारा परिवर्तन हुँदै-हुँदैन, न त भौगोलिक अवस्थितिद्वारा नै बदलिन्छ। उहाँको अन्तर्निहित स्वभाव नै उहाँको अन्तर्निहित सार हो। उहाँले जसमाथि आफ्‍नो काम गर्नुभए तापनि, उहाँको सार परिवर्तन हुँदैन, न त उहाँको धर्मी स्वभाव नै परिवर्तन हुन्छ। जब कसैले परमेश्‍वरलाई रिस उठाउँछ, तब परमेश्‍वरले जे प्रकट गर्नुहुन्छ त्यो उहाँको अन्तर्निहित स्वभाव हो; त्यस बेला उहाँको रिसको पछाडिको सिद्धान्त परिवर्तन हुँदैन, न त उहाँको अद्वितीय पहिचान र हैसियत नै परिवर्तन हुन्छ। उहाँको सारको परिवर्तनको कारण वा उहाँको स्वभावबाट फरक-फरक तत्वहरू उत्पन्‍न हुने कारणले उहाँ रिसाउनुहुन्‍न, बरु उहाँ विरुद्ध मानिसले गरेको विरोधले उहाँको स्वभावलाई चिढ्याउने हुनाले उहाँ रिसाउनुहुन्‍छ। मानिसद्वारा परमेश्‍वरलाई हुने खुल्ला उक्साहट परमेश्‍वरको आफ्‍नै पहिचान र हैसियतप्रतिको गम्भीर चुनौती हो। परमेश्‍वरको दृष्टिकोणमा, जब मानिसले उहाँलाई चुनौती दिन्छ, तब मानिसले उहाँसँग होडबाजी गरिरहेको हुन्छ र उहाँको रिसको परीक्षा लिइरहेको हुन्छ। जब मानिसले परमेश्‍वरको विरोध गर्छ, जब मानिसले परमेश्‍वरसँग होडबाजी गर्छ, जब मानिसले निरन्तर रूपमा परमेश्‍वरको रिसको परीक्षा लिन्छ—र पापको बिगबिगी बढ्ने समयमा यस्तो हुन्छ—तब परमेश्‍वरको क्रोध प्राकृतिक रूपमै प्रकट हुनेछ र आफै प्रस्तुत हुनेछ। त्यसकारण, परमेश्‍वरले आफ्‍नो क्रोध प्रकट गर्नु भनेको सारा दुष्ट शक्तिहरू अस्तित्वमा रहन छोड्नेछन् भन्‍ने कुराको प्रतीक हो, र यो सारा शत्रुवत् शक्तिहरूलाई नष्ट गरिनेछ भन्‍ने कुराको पनि प्रतीक हो। यो परमेश्‍वरको धर्मी स्वभाव, र परमेश्‍वरको क्रोधको अद्वितीयपन हो। जब परमेश्‍वरको गरिमा र पवित्रतालाई चुनौती दिइन्छ, जब न्यायका शक्तिहरूमा मानिसले बाधा पुर्‍याउँछ र उसले तिनलाई देख्दैन, तब परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुहुनेछ। परमेश्‍वरको सारको कारणले गर्दा, परमेश्‍वरसँग लड्ने, र उहाँसँग संघर्ष गर्ने र होडबाजी गर्ने पृथ्वीका ती सबै शक्तिहरू दुष्ट, भ्रष्ट र अन्यायी हुन्; तिनीहरू शैतानबाट आउँछन् र शैतानकै स्वामित्वमा हुन्छन्। परमेश्‍वर न्यायी हुनुहुन्छ र ज्योतिमय एवं कुनै त्रुटि नभएको पवित्र हुनुहुन्छ, त्यसकारण परमेश्‍वरको क्रोध वर्षिएपछि दुष्ट, भ्रष्ट र शैतानको स्वामित्वमा रहेका सबै कुराहरू लोप हुनेछन्।

परमेश्‍वरको क्रोध खन्याउने कार्य उहाँको धर्मी स्वभावको अभिव्यक्तिको एउटा पक्ष भए तापनि, परमेश्‍वरको रिसले कुनै पनि हालतमा अन्धाधुन्ध यसको निशाना तोक्दैन, न त यो सिद्धान्त विहीन नै छ। यसको विपरीत, परमेश्‍वर रिस गर्नमा छिटो हुनुहुन्‍न, न त उहाँले आफ्‍नो क्रोध र प्रताप हल्का रूपमा नै प्रकाश गर्नुहुन्छ। अझ भन्‍ने हो भने, परमेश्‍वरको क्रोध निकै नियन्त्रित र संयमित हुन्छ; यसलाई रिसले उफ्रने वा आवेग देखाउने मानिसको बानीसँग बिलकुलै तुलना गर्न सकिँदैन। मानिस र परमेश्‍वरको बीचमा भएका धेरै कुराकानीलाई बाइबलमा लेखिएका छन्। कुराकानीहरूमा संलग्‍न कतिपय व्यक्तिगत मानिसहरूका शब्‍दहरू सतही, अज्ञानी र अपरिपक्‍व थिए, तर परमेश्‍वरले तिनीहरूलाई प्रहार गरेर लडाउनुभएन, न त उहाँले तिनीहरूलाई दोषी नै ठहराउनुभयो। विशेष रूपमा, अय्यूबको परीक्षाको बेलामा, अय्यूबका तीन जना साथीहरू र अरूले अय्यूबसँग बोलेका शब्‍दहरू सुनिसक्‍नुभएपछि यहोवा परमेश्‍वरले तिनीहरूलाई कस्तो व्यवहार गर्नुभयो? के उहाँले तिनीहरूलाई दोषी ठहराउनुभयो? के उहाँ तिनीहरूप्रति क्रोधित हुनुभयो? उहाँले त्यस्तो केही पनि गर्नुभएन! बरु उहाँले अय्यूबलाई तिनीहरूका लागि बिन्ती गरिदिन र तिनीहरूका लागि प्रार्थना गरिदिन लगाउनुभयो, अनि परमेश्‍वर स्वयम्‌ले तिनीहरूको गल्तीलाई मनमा राख्‍नुभएन। यी सबै घटनाहरूले भ्रष्ट र अज्ञानी मानवजातिलाई परमेश्‍वरले व्यवहार गर्ने प्राथमिक मनोवृत्तिलाई प्रतिनिधित्व गर्छ। त्यसकारण, परमेश्‍वरको क्रोध पोखाइनु भनेको कुनै पनि हालतमा उहाँको मनस्थितिको अभिव्यक्ति होइन, न त यो उहाँले आफ्‍ना भावनाहरू पोख्ने तरिका नै हो। मानिसको गलत बुझाइको विपरीत, परमेश्‍वरको क्रोध रिसको पूर्ण प्रस्फुटन होइन। उहाँले आफ्‍नो मनस्थितिलाई नियन्त्रण गर्न नसक्‍ने हुनाले वा उहाँको रिस चरम विन्दुमा पुगेको र यसलाई पोखाइनै पर्ने भएकोले परमेश्‍वरले आफ्‍नो क्रोध पोखाउनुहुन्‍न। यसको विपरीत, उहाँको क्रोध उहाँको धर्मी स्वभावको प्रदर्शन र सच्‍चा अभिव्यक्ति हो, र यो उहाँको पवित्र सारको रूपक प्रकाश हो। परमेश्‍वर क्रोध हुनुहुन्छ, र उहाँले कुनै पनि उल्‍लङ्घन सहनुहुन्‍न—यसो भन्‍नुको अर्थ, परमेश्‍वरको रिसले कारणहरूका बीचमा भिन्‍नता छुट्याउन सक्दैन वा यो सिद्धान्तहीन छ भन्‍ने होइन; कारणहरूका बीचमा भिन्‍नता नछुट्याउने प्रकारको प्रचुर रिसको असैद्धान्तिक, अनियमित आवेगलाई पूर्ण रूपमा दाबी गर्ने भनेको भ्रष्ट मानवजाति नै हो। मानवजातिसँग हैसियत भइसकेपछि, उसले प्रायजसो आफ्‍नो मनस्थितिलाई नियन्त्रण गर्न कठिन हुनेछ, त्यसकारण आफ्‍नो असन्तुष्टिलाई व्यक्त गर्ने र आफ्‍ना भावनाहरूलाई पोखाउने अवसरहरूको फाइदा लिनमा उसले आनन्द लिन्छ; आफ्‍नो क्षमतालाई प्रकट गर्न र उसको हैसियत र पहिचान सर्वसाधारण मानिसहरूको भन्दा फरक छ भनी अरूलाई देखाउन, उसले कुनै पनि स्पष्ट कारणविना नै प्रायजसो प्रचुर रिस पोखाउनेछ। अवश्य नै, कुनै पनि हैसियत नभएका भ्रष्ट मानिसहरूले पनि प्रायजसो नियन्त्रण गुमाउँछन्। तिनीहरूको निजी चासोहरूमा पर्ने क्षतिद्वारा नै प्रायजसो तिनीहरूको रिस पैदा भएको हुन्छ। तिनीहरूको आफ्‍नै हैसियत र गरिमालाई सुरक्षित गर्नको लागि, तिनीहरूले प्रायजसो आफ्‍ना भावनाहरू पोखाउँछन् र आफ्नो अहङ्कारी स्वभावलाई प्रकट गर्छन्। पापको अस्तित्वको प्रतिरक्षा गर्न र त्यसलाई सदर गर्नको लागि मानिस रिसको आवेगमा आउनेछ र आफ्‍ना भावनाहरू पोखाउनेछ, र यी कार्यहरू मानिसले आफ्‍नो असन्तुष्टि व्यक्त गर्ने तरिकाहरू हुन्; तिनीहरू अशुद्धताहरू, युक्ति र षड्यन्त्रहरू, र मानिसको भ्रष्टता र दुष्टताले भरिएका हुन्छन्, अनि सबै कुराभन्दा बढी, तिनीहरू मानिसका उग्र महत्वाकांक्षा र इच्‍छाहरूले भरिएका हुन्छन्। जब दुष्टतासँग न्यायको टक्‍कर हुन्छ, तब मानिसको रिस न्यायको अस्तित्वको प्रतिरक्षा गर्न वा यसलाई सदर गर्नको लागि निस्किँदैन; यसको विपरीत, जब न्यायका शक्तिहरूलाई चुनौती दिइन्छ, सताइन्छ र आक्रमण गरिन्छ, तब मानिसको मनोवृत्ति भनेको यसलाई बेवास्ता गर्ने, उम्केर जाने वा लुरुक्‍क भएर जाने किसिमको हुन्छ। तैपनि, दुष्टका शक्तिहरूको सामना गर्दा, मानिसले मिलनसार हुने, झुक्ने र सुमसुमाउने मनोवृत्ति देखाउँछ। त्यसकारण, मानिसको अभिव्यक्ति दुष्ट शक्तिहरू उम्कने बाटो, देहीय मानिसको उच्छृंखल र रोक्‍नै नसकिने दुष्ट बानीबेहोराको अभिव्यक्ति हो। तैपनि, जब परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुहुन्छ, दुष्ट शक्तिहरू रोकिनेछन्, मानिसलाई हानि गर्ने सारा पाप नियन्त्रित हुनेछन्, परमेश्‍वरको कार्यमा वाधा पुर्‍याउने सबै शत्रुवत् शक्तिहरूलाई स्पष्ट, अलग र श्रापित तुल्याइनेछ, जबकि परमेश्‍वरको विरोध गर्ने शैतानका सबै मतियारहरूलाई दण्ड दिइनेछ र उखालेर फ्याँकिनेछ। तिनीहरूको स्थानमा, परमेश्‍वरको कार्य कुनै पनि बाधाहरूविना अघि बढ्नेछ, समय-तालिकाअनुसार नै परमेश्‍वरको व्यवस्थापन चरणबद्ध रूपमा निरन्तर विकसित हुनेछ, अनि परमेश्‍वरका चुनिएका मानिसहरू शैतानको बाधा र छलबाट मुक्त हुनेछन्, जबकी परमेश्‍वरलाई पछ्याउनेहरूले शान्त र शान्तिपूर्ण अवस्थितिहरूमा परमेश्‍वरको नेतृत्व र भरणपोषण प्राप्त गर्नेछन्। परमेश्‍वरको क्रोध सारा दुष्ट शक्तिहरूलाई वृद्धि र व्याप्त हुनबाट रोक्‍ने सुरक्षा हो, र यो न्यायसंगत र सकारात्मक सारा कुराहरूको अस्तित्व र वृद्धिलाई रक्षा गर्ने, अनि तिनीहरूलाई थिचोमिचो र विनाशबाट अनन्त रूपमा संरक्षण गर्ने सुरक्षा पनि हो।

परमेश्‍वरले सदोम नष्ट गर्नुभएको घटनामा के तिमीहरूले उहाँको क्रोधको सारलाई देख्‍न सक्छौ? के उहाँको क्रोधमा अन्य कुनै कुरा समावेश छ? के परमेश्‍वरको क्रोध शुद्ध छ? मानिसका शब्‍दहरू प्रयोग गरेर भन्दा, के परमेश्‍वरको क्रोधमा अन्य तत्वहरूको मिश्रण छ? उहाँको क्रोधको पछाडि कुनै धोका हुन्छ? के कुनै षड्यन्त्र हुन्छ? के कुनै अकथनीय रहस्यहरू हुन्छन्? म तिमीहरूलाई कडाइका साथ र सत्यनिष्ठा पूर्वक बताउन सक्छु: परमेश्‍वरको क्रोधमा त्यस्तो कुनै भाग छैन जसले शङ्का पैदा गर्न सक्छ। उहाँको रिस शुद्ध, अन्य तत्वहरूको मिश्रण नभएको विशुद्ध रिस हो जसमा अरू कुनै अभिप्राय वा उद्देश्य हुँदैन। उहाँको रिसपछाडिका कारणहरू शुद्ध, निष्खोट र आलोचना गर्न नसकिने हुन्छ। यो उहाँको पवित्र सारको प्राकृतिक प्रकाश र प्रकटीकरण हो; यो सारा सृष्टिको कुनै पनि थोकमा नभएको कुरा हो। यो परमेश्‍वरको अद्वितीय धर्मी स्वभावको भाग हो, र यो सृष्टिकर्ताको सार र उहाँको सृष्टिको सारबीचमा रहेको स्पष्टै देखिने भिन्‍नता पनि हो।

कुनै व्यक्ति अरूलाई देख्दा रिसाए पनि वा तिनीहरूको पछाडि रिसाए पनि, हरेक व्यक्तिको रिसको फरक अभिप्राय र उद्देश्य हुन्छ। सायद तिनीहरूले आफ्‍नो प्रतिष्ठा निर्माण गरिरहेका हुन्छन्, वा सायद तिनीहरूले तिनीहरूका आफ्‍नै रुचिहरूको प्रतिरक्षा गरिरहेका हुन्छन्, तिनीहरूको इज्‍जत वा मान-सम्‍मान कायम राखिरहेका हुन्छन्। कतिले आफ्‍नो रिसलाई काबुमा राख्‍ने प्रयास गर्छन् भने, अरूचाहिँ बढी हतार गर्छन् र कुनै पनि नियन्त्रण नगरी आफ्नो रिस जता मन लाग्यो त्यतै पोखाउँछन्। छोटकरीमा भन्दा, मानिसको रिस उसको भ्रष्ट स्वभावबाट आउँछ। यसको उद्देश्य जे भए पनि, यो उसको देह र प्रकृतिबाट आएको हुन्छ; न्याय वा अन्यायसँग यसको कुनै सम्‍बन्ध हुँदैन किनभने मानिसको प्रकृति सारको कुनै पनि कुरा सत्यतासँग मिल्दैन। त्यसकारण, भ्रष्ट मानवजातिको रिस र परमेश्‍वरको क्रोधलाई उही रूपले उल्‍लेख गर्नु हुँदैन। शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिसको बानीबेहोरा भ्रष्टतालाई रक्षा गर्ने इच्‍छाबाट सुरु हुन्छ, र यो वास्तवमा नै भ्रष्टतामा आधारित हुन्छ, यसमा कुनै अपवाद छैन; त्यसकारण, सिद्धान्तको हिसाबले मानिसको रिस जति नै उचित देखिए पनि मानिसको रिसलाई परमेश्‍वरको क्रोधसँग उही रूपमा उल्‍लेख गर्न सकिँदैन। जब परमेश्‍वरले आफ्‍नो क्रोध वर्षाउनुहुन्छ, तब दुष्ट शक्तिहरू नियन्त्रित हुन्छन् र दुष्ट कुराहरू नष्ट हुन्छन्, जबकि न्यायसंगत र सकारात्मक कुराहरूले परमेश्‍वरको हेरचाह र सुरक्षा प्राप्त गर्न पुग्छन् र तिनीहरूलाई निरन्तर रहन दिइन्छ। परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुहुन्छ किनभने अन्यायी, नकारात्मक र दुष्ट कुराहरूले न्यायसंगत र सकारात्मक कुराहरूको सामान्य क्रियाकलाप र विकासलाई रोक्‍ने, बिथोल्ने वा नष्ट गर्ने गर्छन्। परमेश्‍वरको रिसको उद्देश्य भनेको उहाँको आफ्‍नै हैसियत र पहिचानलाई सुरक्षा गर्नु होइन, बरु न्यायसंगत, सकारात्मक, सुन्दर र असल कुराहरूलाई रक्षा गर्नु हो, मानवजातिको सामान्य अस्तित्वको नियम र सुव्यवस्थालाई सुरक्षा गर्नु हो। परमेश्‍वरको क्रोधको मूल कारण यही हो। परमेश्‍वरको क्रोध उहाँको स्वभावको अत्यन्तै उचित, प्राकृतिक र साँचो प्रकाश हो। उहाँको क्रोधमा कुनै गोप्‍य अभिप्रायहरू हुँदैनन्, न त कुनै छल वा षड्यन्त्र नै हुन्छन्, इच्‍छाहरू, धूर्तता, शत्रुभाव, हिंसा, दुष्टता वा भ्रष्ट मानवजातिको अरू कुनै पनि साझा गुणहरू हुने कुरा त परै जाओस्। परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुभन्दा पहिले, उहाँले हरेक मामलाको सारलाई निकै स्पष्ट र पूर्ण रूपमा बुझिसक्‍नुभएको हुन्छ, र उहाँले पहिले नै यथार्थ, स्पष्ट परिभाषा र निष्कर्षहरू तयार गरिसक्‍नुभएको हुन्छ। यसैले, उहाँले गर्ने सबै कुरामा परमेश्‍वरको उद्देश्य उहाँको मनोवृत्ति जस्तै स्पष्ट हुन्छ। उहाँ बेवकुफ, अन्धो, आवेगशील, वा लापरवाह हुनुहुन्‍न, र उहाँ अवश्य नै सिद्धान्तहीन हुनुहुन्‍न। परमेश्‍वरको क्रोधको व्यावहारिक पक्ष यही हो, र परमेश्‍वरको क्रोधको यही व्यवहारिक पक्षकै कारण मानवजातिले आफ्नो सामान्य अस्तित्व प्राप्त गरेको छ। परमेश्‍वरको क्रोधविना, मानवजाति अस्वाभाविक जीवन परिस्थितिहरूमा ओर्लनेथिए र न्यायसंगत, सुन्दर र असल सबै कुराहरू नष्ट हुनेथिए र अस्तित्वमा हुनेथिएनन्। परमेश्‍वरको क्रोधविना, सृष्टि गरिएका प्राणीहरूका कानूनहरू र नियमहरू तोडिनेथिए वा पूर्ण रूपमा उल्ट्याइने थिए। मानिसको सृष्टि भएदेखि नै, परमेश्‍वरले मानवजातिको सामान्य अस्तित्वलाई रक्षा गर्न र दिगो राख्‍नको लागि निरन्तर रूपमा आफ्‍नो धर्मी स्वभावको प्रयोग गर्नुभएको छ। उहाँको धर्मी स्वभावमा क्रोध र प्रताप हुने भएकोले, सारा दुष्ट मानिसहरू, वस्तु र चीजबीजहरू, अनि मानवजातिको सामान्य अस्तित्वलाई बाधा र हानी गर्ने सबै कुराहरूलाई उहाँको क्रोधको परिणामस्वरूप दण्डित, नियन्त्रित र नष्ट गरिन्छ। विगतका कैयौँ सहस्राब्दीको अवधिमा, परमेश्‍वरको विरोध गर्ने र मानवजातिको व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यमा शैतानका मतियार अनि नोकरहरूका रूपमा काम गर्ने सबै प्रकारका अशुद्ध र दुष्ट आत्‍माहरूलाई प्रहार गरी ढाल्‍न र नष्ट गर्नको लागि परमेश्‍वरले निरन्तर रूपमा आफ्‍नो धर्मी स्वभावको प्रयोग गर्नुभएको छ। यसरी, मानिसको मुक्ति सम्‍बन्धी परमेश्‍वरको कार्य सधैँ नै उहाँकै योजना अनुसार अघि बढेको छ। भन्‍नुको अर्थ, परमेश्‍वरको क्रोधको अस्तित्वको कारणले गर्दा, मानवजातिमाझका सबैभन्दा धर्मी अभियानहरू कहिल्यै नष्ट भएका छैनन्।

अब परमेश्‍वरको क्रोधको सारको बारेमा तिमीहरूले बुझिसकेको हुनाले, तिमीहरूसँग शैतानको दुष्टतालाई कसरी छुट्याउने सो बारेमा निश्‍चय नै अझै राम्रो बुझाइ हुनुपर्छ!

शैतान मानवीय, न्यायसंगत र चरित्रवान् देखिए पनि, शैतानको सार निर्दयी र दुष्ट छ

शैतानले मानिसहरूलाई छल गरेर आफ्‍नो प्रतिष्ठा निर्माण गर्छ, र यसले बारम्बार आफैलाई धार्मिकताको अग्रगामी र आदर्शको रूपमा स्थापित गर्छ। धार्मिकताको रक्षा गर्ने झूटो बहाना गर्दै, यसले मानिसहरूलाई हानि गर्छ, तिनीहरूको प्राण निल्छ, अनि मानिसलाई अचेत बनाउन, धोका दिन र उक्साउन हरेक किसिमका माध्यमहरूको प्रयोग गर्छ। यसको उद्देश्य भनेको मानिसलाई यसका दुष्ट चाल स्वीकार गर्न र त्यसमा साथ दिन लगाउनु, परमेश्‍वरको अख्तियार र सार्वभौमिकताको विरोध गर्ने कार्यमा आफूसँगै मानिसलाई संलग्‍न गराउनु हो। तैपनि, जब कसैले यसका युक्तिहरू र षड्यन्त्रहरूलाई देख्छ र यसका खराब विशेषताहरूलाई देख्छ, अनि जब कसैले यसद्वारा निरन्तर कुल्चिइन र यसद्वारा मूर्ख तुल्याइन वा यसको वशमा निरन्तर पर्न, वा यसैसँग दण्डित र नष्ट हुन चाहँदैन, तब त्यसको वास्तविक अनुहार प्रकट गर्नको लागि, अर्थात् दुष्ट, आक्रामक, कुरूप र जङ्गली अनुहार प्रकट गर्नको लागि पहिले सन्तका जस्तै लाग्ने त्यसका विशेषताहरू परिवर्तन गर्छ र त्यसको झूटो मकुन्डोलाई च्यात्छ। त्यसलाई पछ्याउन इन्कार गर्ने र त्यसका दुष्ट शक्तिहरूको विरोध गर्नेहरू सबैलाई नाश गर्ने बाहेक यसले अरू केही चाहँदैन। यस विन्दुमा, शैतानले त्यसपछि फेरि विश्‍वासयोग्य, भद्र स्वरूप धारण गरिरहन सक्दैन; बरु, भेडाको भेषमा लुकेको यसको वास्तविक कुरूप र दुष्ट विशेषताहरू प्रकट हुन्छन्। शैतानका युक्तिहरूको वास्तविकता बाहिर आइसकेपछि र यसका साँचो विशेषताहरूको खुलासा भइसकेपछि, यो रिसले चूर हुनेछ र आफ्नो जङ्गलीपनलाई प्रकट गर्नेछ। यसपछि, मानिसहरूलाई हानि गर्ने र निल्‍ने यसको इच्‍छा झन्-झन् तीव्र मात्रै हुँदै जानेछ। किनभने जब मानिस सत्यतामा बिउँझिन्छ तब यो रिसले चूर हुन्छ, अनि स्वतन्त्रता र ज्योतिको तृष्णा गर्ने अनि त्यसको कैदबाट मुक्त हुने मानिसको आकाङ्क्षाप्रति त्यसले शक्तिशाली प्रतिकारको भावना विकसित गर्छ। त्यसको रिसको अभिप्राय भनेको त्यसको दुष्टताको प्रतिरक्षा गर्न र त्यसलाई कायम गराउनको लागि हो, र यो त्यसको जङ्गली प्रकृतिको साँचो प्रकटीकरण पनि हो।

हरेक मामलामा, शैतानको बानीबेहोराले यसको दुष्ट प्रकृतिलाई उदाङ्गो पार्छ। शैतानले मानिसमा गर्ने सबै दुष्ट कार्यहरूमध्ये—मानिसलाई बहकाएर त्यसको पछि लाग्‍ने तुल्याउने त्यसको प्रारम्भिक प्रयासदेखि, यसले मानिसलाई त्यसका दुष्कर्महरूमा घिस्याउँदै लगेर गरेको शोषणसम्म, अनि यसका साँचो विशेषताहरूलाई उदाङ्गो पारिसकिएपछि र मानिसले यसलाई पहिचान गरेर त्यागिसकेपछि मानिस विरुद्धको यसको प्रतिकारसम्‍म—यीमध्ये एउटै पनि कार्यले शैतानको दुष्ट सारलाई उदाङ्गो पार्न चुक्दैन, न त सकारात्मक कुराहरूसँग शैतानको कुनै सम्‍बन्ध छैन र सारा दुष्ट कुराहरूको स्रोत शैतान नै हो भन्‍ने तथ्य प्रमाणित गर्न नै चुक्छ। त्यसका हरेक कार्यहरूले त्यसको दुष्टतालाई रक्षा गर्छ, त्यसका दुष्ट कार्यहरूको निरन्तरता कायम राख्छ, न्यायसंगत र सकारात्मक कुराहरूको विरुद्धमा जान्छ, र मानवजातिको सामान्य अस्तित्वका कानूनहरू र व्यवस्थालाई नष्ट गर्छ। शैतानका यी कार्यहरू परमेश्‍वरको विरुद्ध छन्, र तिनीहरूलाई परमेश्‍वरको क्रोधले नष्ट गर्नेछ। शैतानको आफ्‍नै रिस भए तापनि, यसको रिस भनेको यसको दुष्ट प्रकृतिलाई पोखाउने माध्यम मात्रै हो। शैतान किन भड्किन्छ र क्रोधित हुन्छ त्यसको कारण यही हो: त्यसका अकथनीय युक्तिहरूलाई खुलासा गरिएको छ; त्यसका षड्यन्त्रहरूलाई सहजै जान दिइएको छैन; परमेश्‍वरको प्रतिस्थापन गर्ने र परमेश्‍वरको रूपमा काम गर्ने यसको उग्र महत्वाकांक्षा र इच्‍छालाई प्रहार र अवरुद्ध गरिएको छ; अनि सारा मानवजातिलाई नियन्त्रण गर्ने यसको लक्ष्य अहिले व्यर्थ र कहिल्यै हासिल गर्न नसकिने भएको छ। शैतानका षड्यन्त्रहरूलाई पूरा हुन नदिने र शैतानको दुष्टताको फैलावट र उच्छृङ्खलतालाई विफल तुल्याउने भनेको परमेश्‍वरले समय-समयमा धेरै पटक आह्‍वान गर्नुभएको उहाँको क्रोध नै हो। यही कारणले गर्दा, शैतानलाई परमेश्‍वरको क्रोधप्रति घृणा र डर दुवै छ। जब-जब परमेश्‍वरको क्रोध बाहिर निस्कन्छ, यसले शैतानको साँचो खराब स्वरूपलाई पर्दाफास गर्ने मात्र होइन, शैतानका दुष्ट इच्‍छाहरूलाई ज्योतिमा प्रकट पनि गर्छ, र त्यस प्रक्रियामा, मानवजाति विरुद्धका शैतानका रिसहरू उदाङ्गो पारिन्छन्। शैतानको रिसको प्रस्फुटन यसको दुष्ट प्रकृतिको साँचो प्रकाश र यसका युक्तिहरूको प्रकटीकरण हो। अवश्य नै, शैतानलाई रिस उठ्दा हरेक पटक यसले दुष्ट कुराहरूको विनाश र सकारात्मक कुराहरूको सुरक्षा र निरन्तरतालाई उद्घोष गर्छ; यसले परमेश्‍वरको क्रोधलाई उल्‍लङ्घन गर्न सकिँदैन भन्‍ने सत्यता उद्घोष गर्छ!

परमेश्‍वरको धर्मी स्वभावलाई जान्‍नको लागि अनुभव र कल्‍पनामा भर पर्नु हुँदैन

जब तैँले परमेश्‍वरको न्याय र सजायको सामना गरिरहेको हुन्छस्, के तैँले परमेश्‍वरको वचन अशुद्ध छ भनेर भन्‍नेछस्? के तैँले परमेश्‍वरको रिसको पछाडि कथा लुकेको छ, र यो अशुद्ध छ भनेर भन्‍नेछस्? के तैँले उहाँको स्वभाव पूर्ण रूपमा धर्मी नै छ भन्‍ने छैन भन्दै परमेश्‍वरको निन्दा गर्नेछस्? परमेश्‍वरका हरेक कार्यहरूको सामना गर्ने क्रममा, तँ पहिले परमेश्‍वरको धर्मी स्वभाव अरू कुनै तत्वहरूबाट मुक्त छ, यो पवित्र र त्रुटि विहीन छ भन्‍ने कुरामा निश्‍चित हुनैपर्छ। यी कार्यहरूमा परमेश्‍वरले मानवजातिलाई प्रहार गर्ने, दण्ड दिने र विनाश गर्ने कार्यहरू पर्दछन्। परमेश्‍वरको हरेक कार्यहरू विना कुनै अपवाद पूर्ण रूपमा उहाँको अन्तर्निहित स्वभाव र उहाँको योजनाअनुसार नै हुन्छन्, र तिनमा मानवजातिको ज्ञान, परम्परा र दर्शनको कुनै पनि भाग समावेश हुँदैन। परमेश्‍वरको हरेक कार्य उहाँको स्वभाव र सारको अभिव्यक्ति हो, जुन भ्रष्ट मानवजातिको स्वामित्वमा रहेको कुनै पनि कुरासँग सम्‍बन्धित हुँदैन। मानवजातिप्रतिको परमेश्‍वरको प्रेम, कृपा र सहनशीलता मात्रै त्रुटि विहीन, विशुद्ध र पवित्र छन् भन्‍ने धारणा मानवजातिमा छ, तर परमेश्‍वरको रिस र उहाँको क्रोध पनि त्यस्तै विशुद्ध छन् भनेर कसैलाई पनि थाहा छैन; यसको साथै, परमेश्‍वरले किन कुनै पनि उल्‍लङ्घन सहनुहुन्‍न, वा उहाँको रिस किन यति ठूलो छ भन्‍ने जस्ता प्रश्‍नहरूमा कसैले पनि चिन्तन गरेका छैनन्। यसको विपरीत, कतिपयले परमेश्‍वरको क्रोधलाई भ्रष्ट मानवजातिको रिसाहा स्वभाव जस्तै हो भनी ठान्छन्, अनि परमेश्‍वरको रिस भनेको भ्रष्ट मानवजातिको रिस त हो नि भनेर गलत बुझ्छन्। तिनीहरूले परमेश्‍वरको रिस मानवजातिको भ्रष्ट स्वभावको प्राकृतिक प्रकाश जस्तै हो र परमेश्‍वरको क्रोध प्रकट हुनु भनेको कुनै चित्त नबुझ्‍ने परिस्थिति आइपर्दा भ्रष्ट मानिसहरूमा आउने रिस जस्तै हो भनेर गलत अनुमान गर्छन्, र परमेश्‍वरको क्रोध बाहिर आउनु भनेको उहाँको मनस्थितिको अभिव्यक्ति हो भन्‍ने विश्‍वास गर्छन्। म आशा गर्छु, यो सङ्गतिपछि तिमीहरू प्रत्येकमा परमेश्‍वरको धर्मी स्वभावको बारेमा अबउप्रान्त कुनै पनि भ्रमहरू, कल्‍पनाहरू वा अनुमानहरू हुनेछैनन्। मलाई आशा छ, मेरा वचनहरू सुनिसकेपछि तिमीहरूको हृदयमा परमेश्‍वरको धर्मी स्वभावको क्रोधको साँचो पहिचान हुनसक्छ, परमेश्‍वरको क्रोध सम्‍बन्धी पहिलेका कुनै पनि गलत बुझाइहरूलाई तिमीहरूले पन्छाउन सक्छौ, अनि तिमीहरूले परमेश्‍वरको क्रोधको सार सम्‍बन्धी तिमीहरूका आफ्ना गलत विश्‍वासहरू र दृष्टिकोणहरू परिवर्तन गर्न सक्छौ। यसको साथै, मलाई आशा छ, तिमीहरूको हृदयमा परमेश्‍वरको स्वभाव सम्‍बन्धी यथार्थ परिभाषा हुनसक्छ, परमेश्‍वरको धर्मी स्वभावको बारेमा तिमीहरूसँग अब उप्रान्त कुनै शङ्का हुनेछैन, र परमेश्‍वरको साँचो स्वभावमा तिमीहरूले कुनै पनि मानवीय तर्क वा कल्‍पनाहरूलाई लाद्‍ने छैनौँ। परमेश्‍वरको धर्मी स्वभाव परमेश्‍वरको आफ्‍नै साँचो सार हो। यो मानिसले लेखेको वा आकार दिएको कुरा होइन। उहाँको धर्मी स्वभाव भनेको उहाँको धर्मी स्वभाव नै हो र सृष्टिको कुनै पनि कुरासँग यसको सम्‍बन्ध वा सरोकार छैन। परमेश्‍वर स्वयम्‌ भनेको परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ। उहाँ कहिल्यै पनि सृष्टिको हिस्सा बन्‍नुहुनेछैन, र उहाँ सृष्टि गरिएको प्राणीको सदस्य बन्‍नुभयो भने पनि, उहाँको अन्तर्निहित स्वभाव र सार परिवर्तन हुनेछैन। त्यसकारण, परमेश्‍वरलाई चिन्‍नु भनेको कुनै वस्तुलाई चिन्‍नुजस्तो होइन; परमेश्‍वरलाई चिन्‍नु भनेको कुनै पनि कुरालाई चिरफार गर्नु होइन, न त यो व्यक्तिलाई बुझ्‍नु जस्तो नै हो। यदि मानिसले परमेश्‍वरलाई चिन्‍नको लागि वस्तुलाई चिन्‍ने वा व्यक्तिलाई बुझ्‍ने आफ्‍नो अवधारणा वा विधिको प्रयोग गर्छ भने, तैँले कहिल्यै पनि परमेश्‍वरसम्‍बन्धी ज्ञान हासिल गर्न सक्‍नेछैनस्। परमेश्‍वरलाई चिन्‍ने कार्य अनुभव वा कल्‍पनामा निर्भर हुँदैन, त्यसकारण तैँले परमेश्‍वरमा कहिल्यै पनि आफ्‍नो अनुभव वा कल्‍पना लाद्‍नु हुँदैन; तेरो अनुभव र कल्‍पना जति नै अमूल्य भए तापनि, ती अझै पनि सीमित नै हुन्छन्। यति मात्र कहाँ हो र, तेरो कल्‍पना तथ्यहरूसँग मेल खाँदैन, सत्यतासँग मेल खाने त कुरै नगरौँ, अनि यो परमेश्‍वरको साँचो स्वभाव र सारसँग पनि मिल्दैन। यदि तँ परमेश्‍वरको सारलाई बुझ्‍नको लागि आफ्‍नो कल्‍पनामा भर पर्छस् भने तँ कहिल्यै पनि सफल हुनेछैनस्। एउटै मार्ग यही हो: परमेश्‍वरबाट आउने सबै कुरालाई स्वीकार गर्, त्यसपछि यसलाई क्रमिक रूपमा अनुभव गर् र बुझ्। तेरो सहकार्यको कारण अनि सत्यताप्रतिको तेरो भोक र तिर्खाको कारण उहाँलाई साँचो रूपमा बुझ्‍न र चिन्‍नको लागि परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिने दिन पनि आउनेछ। अनि यससँगै, हाम्रो कुराकानीको यो खण्डलाई हामी यहीँ समाप्त गरौँ।

मानवजातिले इमानदार पश्‍चात्ताप मार्फत परमेश्‍वरको कृपा र सहनशीलता जित्छ

यसपछि “परमेश्‍वरले निनवेलाई मुक्ति दिनुभएको” बाइबलीय कथा आउँछ।

योना १:१-२  अब यहोवाको यसो भन्‍ने वचन अमित्तैका छोरा योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र त्यसको विरुद्ध चिच्या; किनभने तिनीहरूको दुष्टता मेरो सामने आएको छ।

योना ३  अनि यहोवाको यसो भन्‍ने वचन दोस्रो पटक योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र मैले तँलाई आज्ञा गरेको कुरा त्यसलाई प्रचार गर्। त्यसैले योना उठे, र यहोवाको वचनअनुसार निनवे गए। अब निनवे तीन दिनको यात्रा लाग्‍ने एउटा अत्यन्त ठूलो सहर थियो। अनि योना एक दिनको यात्रा गरी सहरभित्र प्रवेश गर्न लाग्दा, तिनले उच्च स्वरमा भने, अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ। त्यसैले निनवेका मानिसहरूले परमेश्‍वरको वचनमा विश्‍वास गरे र उपवासको घोषणा गरे र ठूलादेखि सानासम्मले भाङ्ग्रा लगाए। किनभने निनवेका राजाकहाँ समाचार आयो, र उनी आफ्नो सिंहासनबाट उठे, उनले आफ्नो पोसाक फुकाले र भाङ्ग्रा लगाए अनि खरानीमा बसे। अनि उनले निनवेभरि राजा र उनका भारदारहरूको आदेशद्वारा यसो भनी घोषणा गर्न र जारी गर्न लगाए, न त मानिस न पशु, न गाईवस्तु न भेडाबाख्राले नै कुनै कुरा चाखोस्: तिनीहरूले नखाऊन्, पानी नपिऊन्: तर मानिस र पशुले भाङ्ग्रा लगाऊन् र परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्: हो, तिनीहरू हरेक आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्। कतै परमेश्‍वर मोडिनुहुन्छ र उहाँले मन फर्काउनुहुन्छ र उहाँ आफ्नो भयानक क्रोधबाट फर्कन सक्नुहुन्छ र हामी नष्ट नहौँला भनी कसले भन्‍नसक्छ? अनि परमेश्‍वरले तिनीहरू आफ्‍ना दुष्ट मार्गहरूबाट फर्केको तिनीहरूका कामहरू देख्नुभयो; र परमेश्‍वरले खराबी गर्नबाट मन बदल्नुभयो र उहाँले तिनीहरूलाई जे गर्छु भनी भन्नुभएको थियो त्यो गर्नुभएन।

योना ४  तर यसले योनालाई अत्यन्त अप्रसन्न तुल्यायो र तिनी निकै रिसाए। अनि तिनले यहोवासँग प्रार्थना गरे र भने, हे यहोवा, म तपाईंलाई बिन्ती गर्छु, के म मेरो देशमा हुँदा नै मेरो भनाई यही थिएन र? यसकारण, म पहिले तर्शीशतिर भागेर गएँ: किनभने मलाई थाहा थियो कि तपाईं अनुग्रही, दयालु, रिसाउनमा धिमा, अति कृपालु र खराबी गर्नबाट मन बदल्ने परमेश्‍वर हुनुहुन्छ। यसकारण अब, हे यहोवा, म तपाईंलाई बिन्ती गर्छु, मेरो जीवन लिनुहोस्; किनभने म जिउनुभन्दा त मर्नु नै बेस हुन्छ। त्यसपछि यहोवाले भन्नुभयो, के तैँले रिस गर्न मिल्छ? त्यसैले सहर के हुन्छ भनी नदेखेसम्म योना सहर बाहिर गए र सहरको पूर्वतिर एउटा छाप्रो बनाएर यसको छहारीमा बसे। अनि यहोवा परमेश्‍वरले एउटा लौका उमार्नुभयो र तिनलाई तिनको क्लेशबाट छुटकारा दिन यसलाई योनाभन्दा माथितिर आउन लगाउनुभयो, ताकि यो तिनको टाउकोमाथि छहारी हुन सकोस्। त्यसैले योना त्यो लौकासँग निकै प्रसन्न भए। तर भोलिपल्ट एकाबिहानै परमेश्‍वरले एउटा कीरा ल्याउनुभयो र यसले लौकालाई खाइदियो र यो ओइलायो। अनि सूर्य उदाएपछि, परमेश्‍वरले भयानक पूर्वीय बतास पठाउनुभयो; र घाम योनाको शिरमाथि पर्‍यो, ऊ मूर्छा पर्‍यो र मर्ने इच्छा गर्दै यसो भन्यो, म त जिउनुभन्दा मर्नु नै उत्तम हुन्छ। अनि परमेश्‍वरले योनालाई भन्नुभयो, के तँ लौकाको निम्ति रिसाउन उचित छ? तिनले भने, म मृत्युसम्म नै रिसाउँछु। त्यसपछि यहोवाले भन्नुभयो, तैँले जुन लौकाको निम्ति न त परिश्रम गरिस् न त त्यसलाई हुर्काइस् तँ त्यसलाई माया गर्छस्; जुन एकै रातमा आयो र एकै रातमा नष्ट भयो: अनि आफ्‍नो दाहिने हातबाट देब्रे हात छुट्टाउन नसक्ने एक लाख बीस हजारभन्दा बढी मानिसहरू र धेरै गाईवस्तुहरू भएको त्यो ठूलो सहर निनवेप्रति मैले दया देखाउनु पर्दैन र?

निनवेको कथाको सार-संक्षेप

“परमेश्‍वरले निनवेलाई मुक्ति दिनुभएको” कथा छोटो भए पनि, यसले परमेश्‍वरको धर्मी स्वभावको अर्को पक्षको झलक देखाउँछ। त्यो पक्ष के हो, सो बुझ्‍नको लागि हामीले धर्मशास्‍त्रमा फर्केर गई परमेश्‍वरले आफ्‍नो कामको सिलसिलामा गर्नुभएको एउटा कार्यलाई पुनरावलोकन गर्नुपर्छ।

सुरुमा हामी यस कथाको सुरुवातलाई हेरौँ: “अब यहोवाको यसो भन्‍ने वचन अमित्तैका छोरा योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र त्यसको विरुद्ध चिच्या; किनभने तिनीहरूको दुष्टता मेरो सामने आएको छ” (योना १:१-२)। धर्मशास्‍त्रको यस खण्डमा हामी थाहा पाउँछौँ कि यहोवा परमेश्‍वरले योनालाई निनवे सहर जाने आदेश दिनुभयो। उहाँले योनालाई किन यो सहरमा जान आदेश दिनुभयो त? यस विषयमा बाइबलले स्पष्ट रूपमा बताएको छ: यो सहरका मानिसहरूको दुष्टता यहोवा परमेश्‍वरको सामुन्ने आएको थियो, त्यसकारण उहाँले के गर्ने अभिप्राय राख्‍नुभएको छ भन्‍नेबारे तिनीहरूसामु घोषणा गर्नको निम्ति उहाँले योनालाई पठाउनुभयो। योना को थिए भनी बताउने कुनै अभिलेख नभए तापनि, अवश्य नै यो कुरा परमेश्‍वरलाई चिन्‍ने कार्यसँग सम्‍बन्धित छैन, त्यसकारण तिमीहरूले उक्त मानिस योनालाई चिन्‍नु आवश्यक छैन। परमेश्‍वरले योनालाई के गर्न आदेश दिनुभयो र परमेश्‍वरले त्यसो गर्नुका कारण के थिए सो मात्रै तिमीहरूले बुझ्‍नु आवश्यक छ।

यहोवा परमेश्‍वरको चेतावनी निनवेवासीकहाँ पुग्छ

हामी योनाको पुस्तकको तेस्रो अध्यायको दोस्रो खण्डमा जाऔँ: “अनि योना एक दिनको यात्रा गरी सहरभित्र प्रवेश गर्न लाग्दा, तिनले उच्च स्वरमा भने, अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ।” यी वचन निनवेवासीलाई भन्‍नू भनी यहोवा परमेश्‍वरले योनालाई प्रत्यक्ष रूपमा दिनुभएका वचनहरू हुन्, त्यसकारण अवश्य नै, यहोवाले निनवेवासीलाई भन्‍न चाहनुभएका वचन यिनै हुन्। यी वचनले मानिसहरूलाई के बताउँछ भने, परमेश्‍वरले त्यस सहरका मानिसहरूलाई तिरस्कार गर्न र घृणा गर्न थाल्‍नुभएको थियो किनभने तिनीहरूको दुष्टता उहाँको नजरमा आएको थियो, त्यसकारण उहाँले त्यस सहरलाई नष्ट गर्न चाहनुहुन्थ्यो। तैपनि, परमेश्‍वरले त्यस सहरलाई नष्ट गर्नुभन्दा पहिले, निनवेवासीकहाँ एउटा घोषणा गर्दै हुनुहुन्थ्यो, साथै तिनीहरूलाई तिनीहरूको दुष्टताको निम्ति पश्‍चात्ताप गर्ने र नयाँ सुरुवात गर्ने मौका दिन चाहँदै हुनुहुन्थ्यो। यो अवसर चालीस दिनसम्‍म रहनेवाला थियो, त्योभन्दा बढी होइन। अर्को शब्‍दमा भन्दा, यदि चालीस दिनभित्र त्यस सहरका मानिसहरूले पश्‍चात्ताप गरेनन्, आफ्ना पापहरू स्वीकार गरेनन्, र तिनीहरू परमेश्‍वरको सामुन्ने भक्तिभावले लम्पसार परेनन् भने, परमेश्‍वरले त्यस सहरलाई सदोमलाई जस्तै नष्ट गर्नेवाला हुनुहुन्थ्यो। यहोवा परमेश्‍वरले निनवेका मानिसहरूलाई यही कुरा बताउन चाहनुभयो। स्पष्टै छ, यो त्यति सरल घोषणा थिएन। यसले यहोवा परमेश्‍वरको रिसलाई मात्रै व्यक्त गरेन, बरु यस सहरभित्र बसोबास गर्ने मानिसहरूको लागि एउटा गम्भीर चेतावनीको रूपमा काम गर्दै यसले निनवेवासीप्रतिको उहाँको मनोवृत्ति पनि व्यक्त गर्‍यो। यो चेतावनीले तिनीहरूलाई आफ्ना दुष्कर्महरूको कारण तिनीहरूले यहोवा परमेश्‍वरको घृणा बटुलेका छन् र यसले तुरुन्तै तिनीहरूमाथि विनाश ल्याउनेछ भन्‍ने कुरा बतायो। त्यसकारण, निनवे सहरको हरेक निवासीको जीवन निकट खतरामा परेको थियो।

यहोवा परमेश्‍वरको चेतावनीप्रति निनवेको र सदोमको प्रतिक्रियाबीच आकाश-पातालको भिन्नता

परास्त हुनु भनेको के हो? बोलीचालीको शब्‍दमा, यसको अर्थ अबउप्रान्त अस्तित्वमा नरहनु भन्‍ने हुन्छ। तर कस्तो तरिकाले? कसले सम्पूर्ण सहरलाई परास्त गर्न सक्छ? अवश्‍य नै मानिसले त्यस्तो काम गर्नु असम्‍भव हुन्छ। निनवेका मानिसहरू त्यति मूर्ख थिएनन्; तिनीहरूले यो घोषणा सुन्‍नेबित्तिकै तिनीहरूको दिमागमा योजना फुरिहाल्यो। तिनीहरूले यो घोषणा परमेश्‍वरबाट आएको हो भनी थाहा पाइहाले, परमेश्‍वरले आफ्‍नो काम गर्दैहुनुहुन्छ भन्‍ने जानिहाले, र तिनीहरूको दुष्टताले यहोवा परमेश्‍वरलाई क्रोधित तुल्याएको छ र उहाँको रिस तिनीहरूमाथि पोखिएको छ, त्यसकारण तिनीहरू चाँडै नै सहरसँगै नष्ट हुनेवाला छन् भन्‍ने थाहा पाइहाले। यहोवा परमेश्‍वरको चेतावनी सुनेपछि त्यस सहरका मानिसहरूले कस्तो प्रतिक्रिया दिए त? राजादेखि सर्वसाधारणसम्‍मले कस्तो प्रतिक्रिया देखाए सोबारे बाइबलले विशेष विवरण दिएको छ। धर्मशास्‍त्रमा निम्‍न वचनहरू लेखिएका छन्: “त्यसैले निनवेका मानिसहरूले परमेश्‍वरको वचनमा विश्‍वास गरे र उपवासको घोषणा गरे र ठूलादेखि सानासम्मले भाङ्ग्रा लगाए। किनभने निनवेका राजाकहाँ समाचार आयो, र उनी आफ्नो सिंहासनबाट उठे, उनले आफ्नो पोसाक फुकाले र भाङ्ग्रा लगाए अनि खरानीमा बसे। अनि उनले निनवेभरि राजा र उनका भारदारहरूको आदेशद्वारा यसो भनी घोषणा गर्न र जारी गर्न लगाए, न त मानिस न पशु, न गाईवस्तु न भेडाबाख्राले नै कुनै कुरा चाखोस्: तिनीहरूले नखाऊन्, पानी नपिऊन्: तर मानिस र पशुले भाङ्ग्रा लगाऊन् र परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्: हो, तिनीहरू हरेक आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्…” (यूहन्‍ना ३:५-९)

यहोवा परमेश्‍वरको घोषणा सुनिसकेपछि, निनवेका मानिसहरूले सदोमका मानिसहरूको भन्दा ठीक विपरीत मनोवृत्ति देखाए—सदोमका मानिसहरूले एकपछि अर्को दुष्ट कार्य गर्दै खुलेआम परमेश्‍वरको विरोध गरेका थिए भने, यी वचनहरू सुनिसकेपछि निनवेवासीले यस विषयलाई बेवास्ता गरेनन्, न त विरोध नै गरे। बरु, तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गरे र उपवासको घोषणा गरे। यहाँ “विश्‍वास गरे” भन्‍ने शब्‍दको अर्थ के हो? यो शब्‍दले विश्‍वास र समर्पणतालाई जनाउँछ। यदि यस शब्‍दलाई व्याख्या गर्नको लागि हामीले निनवेवासीको वास्तविक व्यवहारलाई नै प्रयोग गर्‍यौं भने, यसको अर्थ परमेश्‍वरले आफूले जे भन्‍नुभएको छ त्यो गर्न सक्‍नुहुन्छ र गर्नुहुन्छ भनी तिनीहरू विश्‍वास गर्थे, र तिनीहरू पश्‍चात्ताप गर्न तत्पर थिए भन्‍ने हुन्छ। के निनवेका मानिसहरू आउन लागेको विपत्तिप्रति डराए? तिनीहरूको हृदयमा डर पैदा गर्ने कुरा तिनीहरूको विश्‍वास नै थियो। त्यसो भए, निनवेवासीको विश्‍वास र डरलाई प्रमाणित गर्नको लागि हामी के कुराको प्रयोग गर्न सक्छौँ त? यो, बाइबलले भनेजस्तै छ: “… उपवासको घोषणा गरे र ठूलादेखि सानासम्मले भाङ्ग्रा लगाए।” भन्‍नुको अर्थ निनवेवासीले साँचो रूपमा विश्‍वास गर्थे, र यही विश्‍वासद्वारा डर आएको थियो, जसले तिनीहरूलाई पश्‍चात्ताप गर्ने र भाङ्ग्रा लगाउने तुल्यायो। तिनीहरूले पश्‍चात्ताप गर्न सुरु गरेका छन् भन्‍ने कुरालाई तिनीहरूले यसरी नै प्रस्तुत गरे। सदोमका मानिसहरूको ठीक विपरीत रूपमा, निनवेवासीले परमेश्‍वरको विरोध त गरेनन् नै, बरु तिनीहरूले त आफ्‍नो व्यवहार र कार्यद्वारा आफ्‍नो पश्‍चात्तापलाई स्पष्ट रूपमा पनि देखाए। अवश्य नै, यो कार्य सर्वसाधारणले मात्रै होइन, सारा निनवेका मानिसले गरे—राजा पनि यसको अपवाद थिएनन्।

निनवेका राजाको पश्‍चात्तापले यहोवा परमेश्‍वरको स्याबासी जित्छ

जब निनवेका राजाले यो खबर सुने, तिनी आफ्‍नो सिंहासनबाट उठे, आफ्‍नो वस्‍त्र फुकाए, भाङ्ग्रा लगाए र खरानीमा बसे। त्यसपछि उनले सहरको कसैलाई पनि केही कुरा चाख्‍ने अनुमति छैन, र कुनै पनि भेडा, गोरु वा अरू कुनै पनि चौपायालाई चर्ने वा पानी पिउने अनुमति छैन भनेर घोषणा गरे। मानिस र चौपाया सबैले भाङ्ग्रा लगाउनुपर्नेथियो, र मानिसहरूले परमेश्‍वरसँग हृदयदेखि बिन्ती गर्नुपर्नेथियो। तिनीहरू प्रत्येकले आफ्ना दुष्ट मार्गहरूलाई छाड्नुपर्छ र आफ्ना हातका हिंसालाई त्याग्‍नुपर्छ भनेर पनि राजाले घोषणा गरे। यी श्रृंखलाबद्ध कार्यहरूबाट मूल्याङ्कन गर्दा, निनवेका राजाको हृदयमा साँचो पश्‍चात्ताप थियो भन्‍ने स्पष्ट हुन्छ। उनले गरेका श्रृंखलाबद्ध कार्यहरूले—आफ्‍नो सिंहासनबाट उठ्नु, लुगा फुकाल्नु, भाङ्ग्रा लगाउनु र खरानीमा बस्‍नुजस्ता कार्यहरूले—मानिसहरूलाई निनवेका राजाले आफ्‍नो राजकीय हैसियतलाई त्यागेर सर्वसाधारण मानिसहरूसँगै भाङ्ग्रा लगाइरहेका थिए भन्‍ने बताउँछ। भन्‍नुको अर्थ, यहोवा परमेश्‍वरको घोषणा सुनिसकेपछि, निनवेका राजाले आफ्‍नो दुष्ट मार्गलाई जारी राख्‍न आफ्‍नो राजकीय पदलाई ओगटिरहेनन् वा आफ्ना हातका हिंसालाई जारी राख्‍ने कार्य गरेनन्; बरु, तिनले आफ्‍नो अख्‍तियारलाई पन्छाए र यहोवा परमेश्‍वरको अघि पश्‍चात्ताप गरे। यस क्षणमा निनवेका राजाले राजाको रूपमा पश्‍चात्ताप गरिरहेका थिएनन्; तिनी परमेश्‍वरको सामान्य प्रजाको रूपमा पश्‍चात्ताप गर्न र आफ्‍ना पापहरू स्वीकार गर्न परमेश्‍वरको सामुन्ने आएका थिए। यसको अलावा, उनले सारा सहरलाई आफूले जस्तै यहोवा परमेश्‍वरको सामुन्ने पश्‍चात्ताप गर्न र तिनीहरूका पापहरू स्वीकार गर्न लगाए; यसको साथै, तिनीसँग कसरी यसो गर्ने भन्‍नेबारे खास योजना थियो, जुन कुरालाई धर्मशास्‍त्रका खण्डहरूमा देखिन्छ: “न त मानिस न पशु, न गाईवस्तु न भेडाबाख्राले नै कुनै कुरा चाखोस्: तिनीहरूले नखाऊन्, पानी नपिऊन्: … र परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्: हो, तिनीहरू हरेक आ-आफ्ना दुष्ट मार्गबाट र तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्।” त्यस सहरका शासकका रूपमा, निनवेका राजासँग सर्वोच्‍च प्रतिष्ठा र शक्ति थियो, र उनले आफूले चाहेको जे पनि गर्न सक्थे। यहोवा परमेश्‍वरको घोषणा सुनिसकेपछि, उनले त्यस विषयलाई बेवास्ता गर्न वा एकलै पश्‍चात्ताप गर्न र आफ्‍ना पापहरू स्वीकार गर्न सक्थे; त्यस सहरका मानिसहरूले पश्‍चात्ताप गर्ने निर्णय गर्छन् कि गर्दैनन् भन्‍ने विषयलाई उनले पूर्ण रूपमा बेवास्ता गर्न सक्थे। तैपनि, निनवेको राजाले त्यसो गरेनन्। उनले आफ्‍नो सिंहासनबाट उठेर, भाङ्ग्रा लगाई खरानीमा बसेर पश्‍चात्ताप गरी यहोवा परमेश्‍वरको सामुन्ने आफ्‍ना पापहरू स्वीकार मात्रै गरेनन्, बरु उनले त त्यस सहरका सबै मानिस र चौपायालाई पनि त्यसै गर्ने आदेश दिए। तिनले मानिसहरूलाई “परमेश्‍वरलाई उच्‍च स्वरमा पुकारा गरून्” भन्‍ने आज्ञा पनि दिए। यो श्रृंखलाबद्ध कार्यहरूमार्फत, निनवेका राजाले शासकले पूरा गर्नुपर्ने कार्यलाई साँचो रूपमा पूरा गरे। तिनले गरेको श्रृंखलाबद्ध कार्य मानव इतिहासको कुनै पनि राजाले हासिल गर्नु कठिन थियो, र वास्तवमै, अरू कुनै पनि राजाले यी कुरा हासिल गरेनन्। यी कार्यलाई मानव इतिहासका अभूतपूर्व कार्यहरू भन्‍न सकिन्छ, र यी कार्य मानवजातिले स्मरण र अनुकरण गर्न योग्य छन्। मानवको उदय भएदेखि नै, हरेक राजाले आफ्‍ना प्रजालाई परमेश्‍वरको प्रतिरोध र विरोध गर्न नेतृत्व गरेका थिए। कसैले कहिल्यै पनि आफ्‍ना प्रजालाई आफ्नो दुष्टताको निम्ति छुटकाराको खोजी गर्न, यहोवा परमेश्‍वरबाट माफी प्राप्त गर्न र आउन लागेको दण्डबाट जोगिन परमेश्‍वरलाई बिन्ती गर्ने कार्यमा नेतृत्व गरेका थिएनन्। तैपनि, निनवेका राजाले आफ्‍ना प्रजालाई परमेश्‍वरकहाँ फर्कन, तिनीहरूका आ-आफ्‍ना दुष्ट मार्गलाई त्यागेर तिनीहरूका हातका हिंसालाई त्याग्‍न अगुवाइ गर्न सके। यसको साथै, उनले आफ्‍नो सिंहासन समेत पन्छाउन सके, परिणामस्वरूप, यहोवा परमेश्‍वरले आफ्‍नो मन परिवर्तन गर्नुभई खेद अनुभूति गर्नुभयो, आफ्नो क्रोधलाई त्याग्‍नुभयो, अनि त्यस सहरका मानिसहरूलाई विनाशबाट जोगाउँदै बाँच्‍न दिनुभयो। राजाका यी कार्यहरूलाई मानव इतिहासमा बिरलै हुने आश्‍चर्यकर्म नै भन्न सकिन्छ, र भ्रष्ट मानवजातिले पश्‍चात्ताप गरेको र परमेश्‍वरको अघि आफ्‍ना पापहरू स्वीकार गरेको नमुना उदाहरण समेत भन्‍न सकिन्छ।

परमेश्‍वरले निनवेवासीका हृदयभित्र इमानदार पश्‍चात्ताप देख्‍नुहुन्छ

परमेश्‍वरको घोषणा सुनिसकेपछि, निनवेका राजा र उनका प्रजाले श्रृंखलाबद्ध कार्यहरू गरे। यी कार्य र तिनीहरूका व्यवहारको प्रकृति कस्तो थियो? अर्को शब्‍दमा भन्दा, तिनीहरूको आचरणको सम्पूर्णताको सार कस्तो थियो? तिनीहरूले जे गरे सो किन गरे त? परमेश्‍वरको नजरमा तिनीहरूले इमानदारीसाथ पश्‍चात्ताप गरेका थिए किनभने तिनीहरूले परमेश्‍वरलाई सच्‍चा बिन्ती गरेर उहाँसामु आफ्ना पाप स्वीकार गरेका मात्र होइनन्, बरु आफ्‍ना दुष्ट आचरणलाई पनि त्यागेका थिए। तिनीहरूले यस्तो कार्य गरे किनभने परमेश्‍वरका वचन सुनिसकेपछि, तिनीहरू अत्यन्तै भयभीत भए र उहाँले जे भन्‍नुभएको छ सो गर्नुहुनेछ भनेर तिनीहरूले विश्‍वास गरे। उपवास बसेर, भाङ्ग्रा लगाएर अनि खरानीमा बसेर, तिनीहरूले आफ्‍ना मार्गलाई सुधार गर्ने र दुष्टताबाट अलग बस्‍ने आफ्नो इच्‍छा व्यक्त गरे, अनि यहोवा परमेश्‍वरलाई उहाँको निर्णय र तिनीहरूमाथि विपत्ति बर्साउने कार्यलाई फिर्ता लिन बिन्ती गर्दै, उहाँलाई उहाँको रिस रोक्‍न प्रार्थना गरे। यदि हामीले तिनीहरूका सबै व्यवहारलाई जाँच्यौँ भने, तिनीहरूले आफ्ना पहिलेका दुष्कर्महरू यहोवा परमेश्‍वरका निम्ति घृणास्पद थिए र आफूहरूलाई उहाँले किन चाँडै नाश पार्न लाग्‍नुभएको हो भनेर बुझिसकेका थिए भन्‍ने हामी देख्न सक्छौँ। यही कारणले गर्दा, तिनीहरू सबैले पूर्ण पश्‍चात्ताप गर्ने, दुष्ट मार्गहरू छाड्ने र आफ्‍ना हातका हिंसालाई त्याग्‍ने इच्‍छा गरे। अर्को शब्‍दमा भन्दा, यहोवा परमेश्‍वरको घोषणाबारे थाहा पाएपछि तिनीहरू प्रत्येकले हृदयभित्र डर अनुभूति गरे; तिनीहरूले आफ्‍ना दुष्ट व्यवहारलाई रोके र त्यसपछि फेरि कहिल्यै पनि यहोवा परमेश्‍वरलाई अत्यन्तै घृणास्पद लाग्ने ती कार्य गरेनन्। यसको साथै, तिनीहरूले यहोवा परमेश्‍वरलाई तिनीहरूका विगतका पाप क्षमा गर्न र तिनीहरूलाई तिनीहरूका विगतका कार्यहरूअनुसार व्यवहार नगर्न बिन्ती गरे। यदि यहोवा परमेश्‍वरलाई फेरि कहिल्यै क्रोधित नतुल्याउनु सम्‍भव छ भने, तिनीहरू फेरि कहिल्यै पनि दुष्टतामा संलग्‍न नहुन र यहोवा परमेश्‍वरका निर्देशनहरू अनुसार कार्य गर्न तत्पर थिए। तिनीहरूको पश्‍चात्ताप सच्‍चा र पूर्ण थियो। यो तिनीहरूको हृदयभित्रबाट आएको थियो अनि यो सच्‍चा र स्थायी थियो।

राजादेखि सर्वसाधारणसम्‍मका, निनवेका सारा मानिसहरूले यहोवा परमेश्‍वर तिनीहरूप्रति रिसाउनुभएको छ भन्‍ने थाहा पाएपछि, तिनीहरू प्रत्येकले त्यसपछि गरेका हरेक कार्य र तिनीहरूको आचरणलाई, साथै तिनीहरूले गरेका हरेक निर्णय र छनौटलाई परमेश्‍वरले स्पष्ट र सरल रूपमा देख्‍न सक्‍नुभयो। तिनीहरूका व्यवहारअनुसार परमेश्‍वरको हृदय परिवर्तन भयो। त्यस क्षणमा परमेश्‍वरको मनस्थिति कस्तो थियो? बाइबलले तेरो लागि त्यो प्रश्‍नको उत्तर दिन सक्छ। धर्मशास्‍त्रमा यी वचनहरू लेखिएका छन्: “अनि परमेश्‍वरले तिनीहरू आफ्‍ना दुष्ट मार्गहरूबाट फर्केको तिनीहरूका कामहरू देख्नुभयो; र परमेश्‍वरले खराबी गर्नबाट मन बदल्नुभयो र उहाँले तिनीहरूलाई जे गर्छु भनी भन्नुभएको थियो त्यो गर्नुभएन” (योना ३:१०)। परमेश्‍वरले आफ्‍नो मन परिवर्तन गर्नुभएको भए पनि, उहाँको मनस्थितिमा केही पनि जटिलता थिएन। उहाँ केवल आफ्‍नो रिसलाई व्यक्त गर्ने अवस्थाबाट आफ्‍नो रिसलाई शान्त पार्ने अवस्थामा जानुभयो, र त्यसपछि निनवे सहरमाथि विपत्ति नल्याउने निर्णय गर्नुभयो। निनवेवासीलाई विपत्तिबाट बचाउने परमेश्‍वरको निर्णय त्यति छिटो आउनुको कारण परमेश्‍वरले हरेक निनवेवासीको हृदय अवलोकन गर्नु हो। उहाँले तिनीहरूले आफ्‍नो हृदयको अन्तस्करणमा के कुरालाई राखेका छन् भन्‍ने देख्‍नुभयो: तिनीहरूका इमानदार पश्‍चात्ताप र तिनीहरूका पाप स्वीकार, उहाँमाथिको तिनीहरूका इमानदार विश्‍वास, तिनीहरूका दुष्ट कार्यले उहाँको स्वभावलाई कसरी क्रोधित तुल्याएको छ भन्‍नेबारेमा तिनीहरूको गहन अनुभूति, र यहोवा परमेश्‍वरबाट आउन लागेको दण्डको डर। यसको साथै, यहोवा परमेश्‍वरले तिनीहरूको प्रार्थना पनि सुन्‍नुभयो, जुन तिनीहरूले आफूहरू यो विपत्तिबाट बच्‍न सकौँ भनेर, उहाँलाई अबउप्रान्त आफूहरूसँग नरिसाउन बिन्ती गर्दै आफ्‍नो हृदयको अन्तस्करणबाट गरेका थिए। जब परमेश्‍वरले यी सबै तथ्यलाई अवलोकन गर्नुभयो, अलि-अलि गर्दै उहाँको रिस हराएर गयो। उहाँको रिस पहिले जति नै धेरै भए पनि, उहाँले यी मानिसहरूले हृदयको गहिराइमा गरेको इमानदार पश्‍चात्तापलाई देख्नुभएपछि यसले उहाँको हृदय छोयो, त्यसकारण उहाँले तिनीहरूमाथि विपत्ति ल्याउन सक्‍नुभएन, र उहाँ तिनीहरूसित रिसाउन छोड्नुभयो। बरु, उहाँले तिनीहरूलाई आफ्‍नो कृपा र सहनशीलता दिने कार्यलाई जारी राख्‍नुभयो र तिनीहरूलाई मार्गनिर्देशित गर्ने र तिनीहरूलाई भरणपोषण गर्ने कार्यलाई जारी राख्‍नुभयो।

यदि परमेश्‍वरमाथिको तेरो विश्‍वास साँचो छ भने, तैँले अक्सर उहाँको हेरचाह प्राप्त गर्नेछस्

निनवेका मानिसहरूप्रति परमेश्‍वरले आफ्‍ना अभिप्राय परिवर्तन गर्नुहुँदा यसमा कुनै हिचकिचाहट वा कुनै अस्पष्ट वा धमिलो कुरा समावेश थिएन। बरु, यो त विशुद्ध रिसबाट विशुद्ध सहनशीलतामा भएको रूपान्तरण थियो। यो, परमेश्‍वरको सारको साँचो प्रकाश हो। आफ्‍ना कार्यहरूमा परमेश्‍वर कहिल्यै पनि ढलपल हुने वा हिचकिचाउने गर्नुहुन्‍न; उहाँका कार्य पछाडिका सिद्धान्त र उद्देश्य सबै स्पष्ट र पारदर्शी, विशुद्ध र त्रुटिविहीन हुन्छन्, तिनमा कुनै पनि चालबाजी वा युक्तिहरू मिश्रित भएका हुँदैनन्। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरको सारमा कुनै पनि अन्धकार वा दुष्टता हुँदैन। निनवेवासीका दुष्ट कार्यहरू उहाँको नजरमा परेको हुनाले परमेश्‍वर तिनीहरूप्रति रिसाउनुभयो; त्यसबेला उहाँको रिस उहाँको सारबाट आएको थियो। तथापि, परमेश्‍वरले आफ्‍नो रिस नियन्त्रण गरेर निनवेका मानिसहरूलाई फेरि एक पटक सहनशीलता प्रदान गर्नुभएको बेला, उहाँले प्रकट गर्नुभएका सबै कुरा पनि उहाँको आफ्‍नै सार नै थिए। सम्पूर्ण रूपमा यो परिवर्तन परमेश्‍वरप्रतिको मानिसको मनोवृत्तिमा आएको परिवर्तनको कारणले गर्दा थियो। यो पूरै समयावधिमा, परमेश्‍वरको चिढ्याउन नसकिने स्वभाव परिवर्तन भएन, परमेश्‍वरको सहनशील सार परिवर्तन भएन, अनि परमेश्‍वरको प्रेमिलो र कृपालु सार परिवर्तन भएन। जब मानिसहरूले दुष्ट कार्यहरू गर्छन् र परमेश्‍वरलाई रिस उठाउँछन्, उहाँले तिनीहरूमाथि आफ्‍नो रिस वर्साउनुहुन्छ। जब मानिसहरूले साँचो रूपमा पश्‍चात्ताप गर्छन्, परमेश्‍वरको हृदय परिवर्तन हुनेछ, अनि उहाँको रिस हट्नेछ। जब मानिसहरूले जिद्दी भई परमेश्‍वरको निरन्तर विरोध गर्छन्, उहाँको रिस रोकिनेछैन, र तिनीहरू नष्ट भइञ्‍जेलसम्म तिनीहरूमाथि उहाँको क्रोध एक-एक गरी आइरहनेछ। परमेश्‍वरको स्वभावको सार यही हो। परमेश्‍वरले क्रोध वा कृपा र प्रेमिलो दयालुपन जे व्यक्त गरिरहनुभएको भए तापनि, परमेश्‍वरको स्वभावको प्रकाशमार्फत कुनचाहिँलाई व्यक्त गरिन्छ भन्‍ने कुरा मानिसको चालचलन, बानीबेहोरा, र मानिसले आफ्‍नो हृदयभित्र परमेश्‍वरप्रति राख्ने मनोवृत्तिले तय गर्छ। यदि परमेश्‍वरले कुनै व्यक्तिमा निरन्तर आफ्‍नो रिस पोखाउनुहुन्छ भने, त्यस व्यक्तिको हृदयले परमेश्‍वरको विरोध गर्छ भन्‍ने कुरामा कुनै शङ्का हुँदैन। यो व्यक्तिले साँचो रूपमा कहिल्यै पनि पश्‍चात्ताप गरेको, परमेश्‍वरको अघि आफ्‍नो शिर निहुराएको वा परमेश्‍वरमाथि साँचो विश्‍वास गरेको हुँदैन, त्यसकारण त्यस्ता व्यक्तिहरूले परमेश्‍वरको कृपा र सहनशीलतालाई कहिल्यै प्राप्त गरेका हुँदैनन्। यदि कसैले बारम्बार परमेश्‍वरको हेरचाह, कृपा, र सहनशीलता प्राप्त गर्छ भने, निःसन्देह यो व्यक्तिको हृदयमा परमेश्‍वरमाथिको साँचो विश्‍वास हुन्छ, र तिनीहरूको हृदयले परमेश्‍वरको विरोध गर्दैन। यो व्यक्तिले बारम्बार परमेश्‍वरसामु साँचो रूपमा पश्‍चात्ताप गर्छ; त्यसकारण, यो व्यक्तिमा बारम्बार परमेश्‍वरको अनुशासन आइपर्ने भए तापनि, उहाँको क्रोध कहिल्यै आइपर्नेछैन।

यो छोटो विवरणले मानिसहरूलाई परमेश्‍वरको हृदय, उहाँको सारको यथार्थपन, उहाँको रिस र उहाँको हृदय परिवर्तन कारणविहीन हुँदैन भन्‍ने कुरा देख्‍न सहयोग गर्छ। उहाँ क्रोधित हुनुहुँदा र उहाँको हृदय परिवर्तन भएको बेला परमेश्‍वरले प्रदर्शन गर्नुभएका फरक-फरक आचरणले मानिसहरूलाई परमेश्‍वरको सारका यी दुई पक्ष, अर्थात् उहाँको रिस र उहाँको सहनशीलताबीचमा ठूलो भिन्‍नता छ भन्‍ने विश्‍वास दिलाउँछन्—तर यस ठूलो भिन्‍नताको बाबजुद, निनवेवासीको पश्‍चात्तापप्रति परमेश्‍वरको मनोवृत्तिले मानिसहरूलाई फेरि उहाँको साँचो स्वभावको अर्को पक्षलाई देखाउँछ। परमेश्‍वरको परिवर्तन भएको हृदयले साँच्‍चै नै मानवजातिलाई फेरि पनि उहाँको कृपा र प्रेमिलो दयालुपनको सत्यता, र परमेश्‍वरको सारको साँचो प्रकाशलाई देख्‍ने तुल्याउँछ। परमेश्‍वरको कृपा र प्रेमिलो दयालुपन मिथ्या होइनन्, न त ती कुनै झूटो हल्‍ला नै हुन् भन्‍ने कुरालाई स्वीकार गर्नेबाहेक मानवजातिसँग कुनै विकल्‍प छैन। किनभने त्यतिबेला परमेश्‍वरको अनुभूति साँचो थियो, र उहाँको हृदय परिवर्तन पनि साँचो थियो—परमेश्‍वरले वास्तवमा मानवजातिमाथि फेरि पनि आफ्‍नो कृपा र सहनशीलता प्रदान गर्नुभयो।

निनवेवासीले हृदयमा गरेको साँचो पश्‍चात्तापले परमेश्‍वरको कृपा जित्छ र आफ्नो परिणामलाई परिवर्तन गर्छ

परमेश्‍वरको हृदय परिवर्तन र उहाँको क्रोधबीच कुनै विरोधाभास थियो? अवश्य थिएन! किनभने परमेश्‍वरले त्यस खास समयमा प्रस्तुत गर्नुभएको सहिष्णुताको आफ्नै कारण थियो। त्यो कारण के हुन सक्छ? त्यो, बाइबलमा दिइएकै कारण हो: “हरेक व्यक्तिले आफ्ना दुष्ट मार्ग छाडे” र “तिनीहरूका हातमा भएका हिंसाबाट फर्कून्।”

यो “दुष्ट मार्ग” ले एक-दुईवटा दुष्ट कार्यलाई जनाउँदैन, यसले त मानिसहरूको व्यवहार पैदा हुने दुष्ट स्रोतलाई जनाउँछ। “आफ्‍नो दुष्ट मार्गबाट फर्कून्” भनेको यस्ता कार्य गर्ने मानिसहरूले फेरि कहिल्यै यस्ता कार्य गर्नेछैनन् भन्‍ने हो। अर्को शब्‍दमा भन्दा, तिनीहरूले फेरि कहिल्यै यस्तो दुष्ट व्यवहार गर्नेछैनन्; तिनीहरूको कार्यको विधि, स्रोत, उद्देश्य, अभिप्राय र सिद्धान्त सबै परिवर्तन भएका छन्; तिनीहरूले आफ्‍नो हृदयमा आनन्द र खुसी ल्याउनको लागि ती विधि र सिद्धान्तहरूलाई फेरि कहिल्यै प्रयोग गर्नेछैनन्। “आफ्‍नो हातमा भएका हिंसाबाट फर्कून्” भन्‍ने पदावलीको “फर्कून्” भन्‍ने शब्‍दले विगतलाई छोड्नु, वा पन्छाउनु, विगतसँग पूर्ण रूपमा सम्‍बन्ध तोड्नु र फेरि कहिल्यै पछि नफर्कनु भन्‍ने अर्थ दिन्छ। जब निनवेका मानिसहरूले आफ्‍ना हातका हिंसालाई त्यागे, यसले तिनीहरूको साँचो पश्‍चात्तापलाई प्रमाणित र प्रतिनिधित्व गर्‍यो। परमेश्‍वरले मानिसहरूको बाहिरी रूपका साथै तिनीहरूको हृदयलाई अवलोकन गर्नुहुन्छ। जब परमेश्‍वरले निनवेवासीको हृदयको साँचो पश्‍चात्तापलाई कुनै प्रश्‍न नउठाई अवलोकन गर्नुभयो र तिनीहरूले आफ्‍ना दुष्ट मार्गलाई र आफ्नो हातका हिंसालाई त्यागिसकेको अवलोकन गर्नुभयो, तब उहाँले आफ्‍नो हृदय परिवर्तन गर्नुभयो। भन्‍नुको अर्थ, यी मानिसहरूको आचरण र बानीबेहोरा अनि काम गर्ने विभिन्‍न तौरतरिका, साथै तिनीहरूले आफ्ना हृदयमा गरेको साँचो पश्‍चात्ताप र पाप स्वीकारको कारणले गर्दा परमेश्‍वरले आफ्‍नो हृदय परिवर्तन गर्नुभयो, आफ्‍ना अभिप्रायलाई परिवर्तन गर्नुभयो, आफ्‍नो निर्णयलाई फिर्ता लिएर तिनीहरूलाई दण्ड नदिने वा नष्ट नगर्ने निर्णय गर्नुभयो। तसर्थ, निनवेका मानिसहरूले आफ्‍नो निम्ति फरक परिणाम हासिल गरे। तिनीहरूले आफ्‍नै जीवनलाई छुटकारा दिनका साथै परमेश्‍वरको कृपा र सहनशीलता जिते, त्यसैबेला परमेश्‍वरले आफ्‍नो क्रोधलाई पनि त्याग्‍नुभयो।

परमेश्‍वरको कृपा र सहनशीलता दुर्लभ छैनन्—मानिसको साँचो पश्चात्तापचाँहि दुर्लभ छ

परमेश्‍वर निनवेवासीसँग जति नै धेरै रिसाउनुभएको भए पनि, तिनीहरूले उपवासको घोषणा गरी भाङ्ग्रा लगाई खरानी घसेर बस्‍नेबित्तिकै, उहाँको हृदय कोमल हुन थाल्यो अनि उहाँले आफ्‍नो मन परिवर्तन गर्न थाल्‍नुभयो। उहाँले तिनीहरूको सहर नष्ट गर्ने घोषणा गर्नुहुँदा—तिनीहरूले आफ्‍नो पापको स्वीकार र पश्‍चात्ताप गर्नुभन्दा पहिले—परमेश्‍वर तिनीहरूसँग अझै रिसाउनुभएको थियो। तिनीहरूले पश्‍चात्तापका श्रृंखलाबद्ध कार्यहरू गरिसकेपछि, निनवेका मानिसहरूप्रतिको परमेश्‍वरको रिस, कृपा र सहनशीलतामा परिवर्तन भयो। एउटै घटनामा परमेश्‍वरको स्वभावका यी दुई पक्ष एकैसाथ प्रकाश भएको भए पनि ती विरोधाभासपूर्ण भने छैनन्। त्यसैले, यस्तो विरोधाभास नहुनुलाई कसरी बुझ्‍नु र जान्‍नुपर्छ? निनवेका मानिसहरूले पश्‍चात्ताप गरेपछि परमेश्‍वरले यी दुई विपरीत ध्रुवीय सारलाई व्यक्त र प्रकट गर्नुभयो, अनि मानिसहरूलाई परमेश्‍वरको सारको यथार्थता र चिढ्याउन नसकिने गुण देख्‍न दिनुभयो। मानिसहरूलाई निम्‍न कुराहरू बताउन परमेश्‍वरले आफ्‍नो मनोवृत्ति प्रयोग गर्नुभयो: परमेश्‍वरले मानिसहरूलाई सहनुहुन्‍न वा तिनीहरूलाई कृपा प्रदान गर्न चाहनुहुन्‍न भन्‍ने होइन; बरु, तिनीहरूले बिरलै परमेश्‍वरसामु साँचो रूपले पश्‍चात्ताप गर्छन्, र बिरलै आफ्‍ना दुष्ट मार्गहरू छाड्छन् र आफ्ना हातका हिंसालाई त्याग्छन् भन्‍ने हो। अर्को शब्‍दमा भन्दा, जब परमेश्‍वर मानिससित रिसाउनुहुन्छ, तब उहाँ मानिसले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्‍नेछ भन्‍ने आशा गर्नुहुन्छ, अनि वास्तवमै उहाँ मानिसको साँचो पश्‍चात्ताप हेर्न चाहनुहुन्छ, र त्यस्तो अवस्थामा उहाँले मानिसलाई उदारताको साथ आफ्‍नो कृपा र सहनशीलता प्रदान गर्न जारी राख्‍नुहुनेछ। भन्‍नुको अर्थ, मानिसको दुष्ट चालले परमेश्‍वरको क्रोध प्राप्त गर्छ, जबकि परमेश्‍वरको कुरा सुन्‍ने र उहाँको अघि साँचो रूपमा पश्‍चात्ताप गर्नेहरूलाई, आफ्‍ना दुष्ट मार्गहरू छाड्न सक्ने र आफ्‍नो हातका हिंसा त्याग्‍न सक्‍नेहरूलाई परमेश्‍वरको कृपा र सहनशीलता प्रदान गरिन्छ। निनवेवासीलाई उहाँले जस्तो व्यवहार गर्नुभएको थियो, त्यसमा परमेश्‍वरको मनोवृत्ति अत्यन्तै स्पष्ट रूपमा प्रकट भएको थियो: परमेश्‍वरको कृपा र सहनशीलता प्राप्त गर्न कठिन छँदैछैन, र उहाँले चाहनुहुने भनेको व्यक्तिको साँचो पश्‍चात्ताप नै हो। जबसम्‍म मानिसहरू आफ्‍ना दुष्ट मार्ग छाड्छन् र आफ्‍ना हातको हिंसालाई त्याग्छन्, तबसम्‍म तिनीहरूप्रति परमेश्‍वरले आफ्‍नो हृदय र मनोवृत्ति परिवर्तन गर्नुहुनेछ।

सृष्टिकर्ताको धर्मी स्वभाव यथार्थ र स्पष्ट छ

जब निनवेका मानिसहरूप्रति परमेश्‍वरको हृदय परिवर्तन भयो, तब के उहाँको कृपा र सहनशीलता देखावटी थियो? अवश्य थिएन! त्यसोभए परमेश्‍वरले यो एउटा परिस्थितिको सामना गर्ने क्रममा उहाँको स्वभावका यी दुई पक्षमा एकदेखि अर्कोमा भएको परिवर्तनले के देखाएको छ? परमेश्‍वरको स्वभाव पूर्ण रूपमा सिङ्गो छ—यो विभाजित छैन। उहाँले मानिसहरूप्रति रिस वा कृपा र सहनशीलता जे व्यक्त गरिरहनुभएको भए तापनि, यी सबै उहाँको धर्मी स्वभावका अभिव्यक्ति हुन्। परमेश्‍वरको स्वभाव जीवन्त र स्पष्ट छ, र अवस्था जे-जसरी विकसित हुन्छन्, त्यसरी नै उहाँले आफ्‍ना विचार र मनोवृत्तिलाई परिवर्तन गर्नुहुन्छ। निनवेवासीप्रति उहाँको मनोवृत्तिको रूपान्तरणले मानवजातिलाई उहाँसँग उहाँका आफ्‍नै सोचाइ र विचार छन् भनेर बताउँछ; उहाँ रोबट वा माटोको मूर्ति हुनुहुन्‍न, जीवित परमेश्‍वर हुनुहुन्छ। उहाँ निनवेका मानिसहरूप्रति त्यसरी नै रिसाउन सक्‍नुहुन्थ्यो जसरी उहाँले तिनीहरूको मनोवृत्तिको कारण तिनीहरूको विगतलाई क्षमा गरिदिन सक्‍नुभयो। उहाँले निनवेवासीमाथि दुर्दशा ल्याउने निर्णय गर्न सक्‍नुहुन्थ्यो, र तिनीहरूको पश्‍चात्तापको कारण उहाँले आफ्‍नो निर्णय परिवर्तन पनि गर्न सक्‍नुहुन्थ्यो। मानिसहरू त्यसरी नै कठोर रूपमा नियमहरू लागू गर्न अनि त्यस्ता नियमहरू परमेश्‍वरलाई सीमांकित र परिभाषित गर्न प्रयोग गर्न चाहन्छन्, जसरी तिनीहरू परमेश्‍वरको स्वभाव बुझ्‍ने प्रयास गर्न सूत्रहरू प्रयोग गर्न चाहन्छन्। त्यसकारण, जहाँसम्म मानव सोचको कुरो छ, तिनीहरूलाई लाग्छ कि परमेश्‍वरले सोच्नुहुन्न, न त उहाँसँग कुनै अत्यावश्यक विचारहरू नै हुन्छन्। तर वास्तवमा, वस्तु र वातावरणमा आउने परिवर्तनअनुसार परमेश्‍वरका विचारहरू अटुट रूपान्तरणको अवस्थामा हुन्छन्। यी विचार रूपान्तरण हुँदै गर्दा, परमेश्‍वरको सारका फरक-फरक पक्षहरू प्रकट हुन्छन्। रूपान्तरणको यो प्रक्रियाको अवधिमा, परमेश्‍वरमा परिवर्तित हृदय भएकै क्षणमा, उहाँले मानवजातिलाई जे देखाउनुहुन्छ त्यो उहाँको जीवनको यथार्थ अस्तित्व हो, र उहाँको धर्मी स्वभाव गतिशील जीवनशक्तिले भरिपूर्ण छ। यसको साथै, परमेश्‍वरले आफ्नो क्रोध, कृपा, प्रेमिलो दयालुपन, र सहनशीलताको अस्तित्वको सत्यता मानवजातिसामु प्रमाणित गर्नको लागि आफ्‍नै साँचो प्रकाशहरू प्रयोग गर्नुहुन्छ। अवस्था जे-जसरी विकसित हुन्छन्, त्यसैअनुसार कुनै पनि समय र कुनै पनि स्थानमा उहाँको सारलाई प्रकट गरिनेछ। उहाँमा सिंहको क्रोध अनि आमाको कृपा र सहनशीलता छ। उहाँको धर्मी स्वभावले कुनै पनि व्यक्तिलाई कुनै पनि सवाल उठाउन, उल्लंघन गर्न, परिवर्तन गर्न, वा बिगार्न दिँदैन। सबै मामिला र सबै थोकमध्ये परमेश्‍वरको धर्मी स्वभावलाई—अर्थात्, उहाँको क्रोध र कृपालाई—कुनै पनि समय र कुनै पनि स्थानमा प्रकट गर्न सकिन्छ। उहाँले सारा सृष्टिको हरेक कुनामा यी पक्षको अत्यावश्यक प्रकटीकरण गर्नुहुन्छ, र बितेर जाने हरेक क्षणमा उहाँले तिनलाई जीवन्त शक्तिको साथ कार्यान्वयन गर्नुहुन्छ। परमेश्‍वरको धर्मी स्वभाव समय वा स्थानद्वारा सीमित छैन; अर्को शब्‍दमा भन्दा, उहाँको धर्मी स्वभाव समय वा स्थानका पाबन्दीअनुसार यान्त्रिक रूपमा होइन, बरु पूर्ण सहजताको साथ र सबै समय र स्थानमा व्यक्त वा प्रकट गरिन्छ। जब तैँले परमेश्‍वरको हृदय परिवर्तन भएको र उहाँले आफ्‍नो क्रोध व्यक्त गर्न छोड्नुभई निनवे सहरलाई नष्ट गर्नबाट पछि हट्नुभएको देख्छस्, के तँ परमेश्‍वर कृपालु र प्रेमिलो मात्र हुनुहुन्छ भनेर भन्‍न सक्छस्? के परमेश्‍वरको क्रोध खोक्रो शब्‍दहरूले बनेको छ भनेर भन्‍न सक्छस्? जब परमेश्‍वर भीषण क्रोधले चूर बन्‍नुहुन्छ र उहाँले आफ्‍नो कृपा फिर्ता लिनुहुन्छ, तब के तँ उहाँले मानवजातिप्रति कुनै साँचो प्रेमको अनुभूति गर्नुहुन्‍न भनेर भन्‍न सक्छस्? यो भीषण क्रोध मानिसहरूका दुष्ट कार्यहरूको प्रतिक्रिया स्वरूप परमेश्‍वरले व्यक्त गर्नुहुन्छ; उहाँको क्रोध त्रुटिपूर्ण छैन। मानिसहरूले गरेको पश्‍चात्तापको प्रतिक्रिया स्वरूप परमेश्‍वरको हृदय उत्प्रेरित हुन्छ, र यही पश्‍चात्तापले नै उहाँको हृदयमा परिवर्तन ल्याउँछ। जब उहाँ उत्प्रेरित हुनुहुन्छ, जब उहाँको हृदय परिवर्तन हुन्छ, र जब उहाँले मानिसप्रति आफ्‍नो कृपा र सहनशीलता देखाउनुहुन्छ, यी सबै पूर्ण रूपमा त्रुटिविहीन हुन्छन्; ती चोखो, विशुद्ध, निष्खोट र मिश्रणरहित हुन्छन्। जसरी उहाँको कृपा, कृपाभन्दा अरू केही पनि होइन, त्यसरी नै परमेश्‍वरको सहनशीलता ठ्याक्‍कै त्यही हो: सहनशीलता। उहाँको स्वभावले मानिसको पश्‍चात्ताप र उसको चालचलनमा आउने अन्तरहरूअनुसार क्रोध वा कृपा र सहनशीलतालाई प्रकट गर्छ। उहाँले जे प्रकट गर्नुभए पनि र जे व्यक्त गर्नुभए पनि, यी सबै विशुद्ध र प्रत्यक्ष हुन्छन्; यसको सार सृष्टिको जुनसुकै कुराको सारभन्दा पृथक हुन्छ। जब परमेश्‍वरले आफ्ना कार्यहरूका अन्तर्निहित सिद्धान्तहरू व्यक्त गर्नुहुन्छ, ती कुनै पनि त्रुटि वा दागमुक्त हुन्छन्, अनि उहाँका सोच, विचार र उहाँले गर्नुहुने हरेक निर्णय र हरेक कार्य पनि त्यस्तै हुन्छन्। परमेश्‍वरले त्यसरी निर्णय गर्नुभएको हुनाले र त्यसरी कार्य गर्नुभएको हुनाले, आफ्‍ना काम-कार्यवाहीहरूलाई पनि त्यसरी नै पूरा गर्नुहुन्छ। उहाँका काम-कार्यवाहीहरूको स्रोत त्रुटिविहीन र निष्खोट भएकै कारणले ती सही र त्रुटिविहीन छन्। परमेश्‍वरको क्रोध त्रुटिविहीन छ। त्यसरी नै, परमेश्‍वरको कृपा र सहनशीलता—जुन सारा सृष्टिको बीचमा कसैसँग पनि छैन—पवित्र र त्रुटिविहीन छन्, र तिनले ध्यानपूर्वक गरिने सोचविचार र अनुभवलाई सामना गर्न सक्छन्।

निनवेको कथासम्‍बन्धी तेरो बुझाइबाट, के अब तिमीहरू परमेश्‍वरको धर्मी स्वभावको सारको अर्को पक्षलाई देख्छौ? के तिमीहरू परमेश्‍वरको अद्वितीय धर्मी स्वभावको अर्को पक्षलाई देख्छौ? के मानवजातिमाझ कसैसँग यस प्रकारको स्वभाव छ? के कसैमा यस प्रकारको क्रोध अर्थात् परमेश्‍वरको क्रोध छ? के कसैसँग परमेश्‍वरसँग भएको जस्तो कृपा र सहनशीलता छ? सृष्टिमध्ये कसले त्यति भयङ्कर क्रोध आह्‍वान गरी मानवजातिलाई नष्ट गर्ने वा त्यसमाथि विपत्ति ल्याउने निर्णय गर्न सक्छ? मानिसलाई कृपा प्रदान गर्न, सहन र क्षमा गर्न, र यसरी मानिसलाई नष्ट गर्ने आफ्‍नो पहिलेको निर्णयलाई परिवर्तन गर्न को योग्य छ? सृष्टिकर्ताले आफ्‍नै अद्वितीय विधि र सिद्धान्तमार्फत आफ्‍नो धर्मी स्वभाव व्यक्त गर्नुहुन्छ, र उहाँ कुनै पनि मानिस, घटना, वा कुराले लादेको नियन्त्रण वा प्रतिबन्धको अधीनमा हुनुहुन्‍न। उहाँको अद्वितीय स्वभाव भएकोले, कसैले पनि उहाँका सोचाइ र विचारलाई परिवर्तन गर्न सक्दैन, न त कसैले उहाँलाई मनाउन र उहाँका कुनै पनि निर्णयलाई परिवर्तन गर्न नै सक्छ। सारा सृष्टिमा अस्तित्वमा रहेका बानीबेहोरा र विचारहरूको सम्पूर्णता उहाँको धर्मी स्वभावको न्यायअन्तर्गत अस्तित्वमा हुन्छन्। कसैले पनि उहाँले क्रोध वा कृपामध्ये के अभ्यास गर्नुहुन्छ सो नियन्त्रण गर्न सक्दैन; सृष्टिकर्ताको सारले मात्रै—वा अर्को शब्‍दमा भन्दा, सृष्टिकर्ताको धर्मी स्वभावले मात्रै—यसको निर्णय गर्न सक्छ। सृष्टिकर्ताको धर्मी स्वभावको अद्वितीय प्रकृति यही हो!

निनवेका मानिसहरूप्रति भएको परमेश्‍वरको मनोवृत्ति रूपान्तरणलाई विश्‍लेषण गरेर अनि बुझेर, के तिमीहरूले उहाँको धर्मी स्वभावभित्र पाइने कृपालाई व्याख्या गर्न “अद्वितीय” शब्‍दको प्रयोग गर्न सक्छौ? परमेश्‍वरको क्रोध उहाँको अद्वितीय धर्मी स्वभावको सारको एउटा पक्ष हो भनेर हामीले यसअघि नै भनेका थियौँ। अब म यी दुईवटा पक्षलाई—परमेश्‍वरको क्रोध र कृपालाई—उहाँको धर्मी स्वभावको रूपमा परिभाषित गर्नेछु। परमेश्‍वरको धर्मी स्वभाव पवित्र छ; यसले चिढ्याएको वा सवाल उठाएको सहँदैन; यो सृष्टि गरिएका वा सृष्टि नगरिएका प्राणी कसैमा पनि नहुने कुरा हो। यो, परमेश्‍वरमा मात्र लागू हुने अद्वितीय र एकमात्र कुरा हो। भन्‍नुको अर्थ परमेश्‍वरको क्रोध पवित्र र चिढ्याउन नसकिने छ। त्यसरी नै, परमेश्‍वरको धर्मी स्वभावको अर्को पक्ष—परमेश्‍वरको कृपा—पवित्र छ र यसलाई चिढ्याउन सकिँदैन। सृष्टि गरिएका वा सृष्टि नगरिएका कुनै पनि प्राणीले उहाँका काममा परमेश्‍वरलाई प्रतिस्थापन वा प्रतिनिधित्व गर्न सक्दैन, न त कसैले सदोमको विनाश वा निनवेको मुक्तिमा उहाँलाई प्रतिस्थापन वा प्रतिनिधित्व गर्न नै सक्थ्यो। परमेश्‍वरको अद्वितीय धर्मी स्वभावको साँचो अभिव्यक्ति यही हो।

मानवजातिप्रति सृष्टिकर्ताका सच्‍चा भावनाहरू

मानिसहरू प्रायजसो परमेश्‍वरलाई चिन्‍नु त्यति सजिलो कुरा होइन भन्छन्। तैपनि, म भन्छु परमेश्‍वरलाई चिन्‍नु त्यति कठिन कुरा होइन, किनभने मानिसले देखोस् भनेर परमेश्‍वरले बारम्‍बार आफ्‍ना कार्यहरू देखाउनुहुन्छ। मानवजातिसँगको आफ्‍नो कुराकानीलाई उहाँले कहिल्यै पनि रोक्‍नुभएको छैन, अनि उहाँले आफूलाई मानिसबाट कहिल्यै पनि ढाकछोप गर्नुभएको छैन, न त उहाँले आफूलाई लुकाउनु नै भएको छ। उहाँका सोचाइ, विचार, वचन अनि कार्य सबै नै मानवजातिका निम्ति प्रकट गरिन्छन्। त्यसकारण, जबसम्‍म मानिसले परमेश्‍वरलाई चिन्‍ने चाहना गर्छ, उसले उहाँलाई सबै किसिमका माध्यम र तरिकाबाट बुझ्‍न र चिन्‍न सक्छ। मानिसले परमेश्‍वर जानी-जानी ऊबाट टाढा हुनुभएको छ, उहाँले जानी-जानी आफूलाई मानवजातिबाट लुकाउनुभएको छ, उहाँलाई बुझ्‍न र चिन्‍न मानिसलाई दिने कुनै अभिप्राय उहाँसँग छैन भनेर अन्धाधुन्ध विचार गर्नुको कारण के हो भने, परमेश्‍वर को हुनुहुन्छ भन्‍ने कुरा उसलाई थाहा छैन, न त उसले परमेश्‍वरलाई बुझ्‍ने इच्‍छा नै गर्छ। त्योभन्दा पनि बढी, मानिसले सृष्टिकर्ताका विचार, वचन वा कार्यप्रति चासो नै दिँदैन…। साँचो रूपमा भन्दा, सृष्टिकर्ताका वचन वा कार्यहरूलाई ध्यान दिन र बुझ्‍नको लागि यदि व्यक्तिले आफ्‍नो फुर्सतको समय मात्रै प्रयोग गर्छ भने पनि, र सृष्टिकर्ताका विचार र उहाँको हृदयको आवाजलाई तिनीहरूले थोरै मात्रै ध्यान दिन्छन् भने पनि, सृष्टिकर्ताका विचार, वचन र कार्य स्पष्ट र पारदर्शी छन् भन्‍ने कुराको महसुस गर्न त्यो व्यक्तिलाई कठिनाइ हुनेछैन। त्यसरी नै, सृष्टिकर्ता सधैँ मानिसको बीचमा हुनुहुन्छ, उहाँ सधैँ मानिस र सम्पूर्ण सृष्टिसँग कुराकानी गर्नुहुन्छ, र उहाँले हरेक दिन नयाँ-नयाँ कार्यहरू गरिरहनुभएको छ भन्‍ने महसुस गर्न त्यति धेरै प्रयासको आवश्यकता पर्नेछैन। उहाँको सार र स्वभाव मानिससँगको उहाँको कुराकानीमा व्यक्त हुन्छन्; उहाँका सोचाइ र विचारलाई पूर्ण रूपमा उहाँका कार्यहरूमा प्रकट गरिन्छन्; उहाँले मानवजातिलाई सँधैभरि साथ दिनुहुन्छ र अवलोकन गर्नुहुन्छ। उहाँले आफ्‍ना शान्त वचनहरूद्वारा मानवजाति र सारा सृष्टिसँग बोल्‍नुहुन्छ: “म स्वर्गहरूमा छु, अनि म मेरा सृष्टिको बीचमा छु। म नियालिरहेको छु; म पर्खिरहेको छु; म तेरो छेउमा छु…।” उहाँका हात न्यानो र दह्रिला छन्; उहाँका पाइलाहरू हल्‍का छन्; उहाँको आवाज कोमल र शिष्ट छ; सारा मानवजातिलाई अङ्गाल्दै, उहाँको रूप बितेर जान्छ र परिवर्तन हुन्छ; उहाँको मुहार सुन्दर र कोमल छ। उहाँ कहिल्यै छोडेर जानुभएको छैन, कहिल्यै हराउनुभएको छैन। दिन-रात उहाँ मानवजातिको साथ कहिल्यै नछोड्ने अटुट मित्र हुनुहुन्छ। उहाँले निनवे सहरलाई बचाउनुहुँदा, मानवजातिको निम्ति उहाँको समर्पित हेरचाह र विशेष स्‍नेह, साथै मानिसको निम्ति उहाँको सच्‍चा चिन्ता र प्रेम एक-एक गरी प्रकट गरिए। विशेष गरी, यहोवा परमेश्‍वर र योनाबीचको कुराकानीले उहाँ स्वयमले सृष्टि गर्नुभएको मानवजातिप्रति सृष्टिकर्ताको स्‍नेहशीलतालाई पूर्ण रूपमा प्रकट गर्‍यो। तैँले वचनहरूद्वारा मानवजातिको निम्ति परमेश्‍वरका सच्‍चा भावनाहरूबारे गहन बुझाइ प्राप्त गर्न सक्छस् …

निम्‍न खण्डलाई योनाको पुस्तक ४:१०-११ मा समावेश गरिएको छ: “त्यसपछि यहोवाले भन्नुभयो, तैँले जुन लौकाको निम्ति न त परिश्रम गरिस् न त त्यसलाई हुर्काइस् तँ त्यसलाई माया गर्छस्; जुन एकै रातमा आयो र एकै रातमा नष्ट भयो: अनि आफ्‍नो दाहिने हातबाट देब्रे हात छुट्टाउन नसक्ने एक लाख बीस हजारभन्दा बढी मानिसहरू र धेरै गाईवस्तुहरू भएको त्यो ठूलो सहर निनवेप्रति मैले दया देखाउनु पर्दैन र?” यी, परमेश्‍वर र योनाबीचको कुराकानीबाट अभिलेख गरिएका यहोवा परमेश्‍वरका वास्तविक वचन हुन्। यो कुराकानी छोटो भए तापनि, मानवजातिको निम्ति सृष्टिकर्ताको वास्ता अनि मानवजातिलाई त्याग्‍ने उहाँको अनिच्‍छाले भरिएको छ। यी वचन आफ्‍नो सृष्टिको लागि परमेश्‍वरले आफ्‍नो हृदयमा राख्‍नुहुने साँचो मनोवृत्ति र भावनाका अभिव्यक्ति हुन्। मानिसले बिरलै सुनेका स्पष्ट र सटीक यी वचनद्वारा, परमेश्‍वरले मानवजातिको निम्ति आफ्‍ना साँचो अभिप्रायहरूलाई उल्‍लेख गर्नुहुन्छ। यो कुराकानीले निनवेका मानिसहरूप्रति परमेश्‍वरले राख्‍नुभएको मनोवृत्तिलाई प्रतिनिधित्व गर्छ—तर यो कस्तो प्रकारको मनोवृत्ति हो? तिनीहरूले पश्‍चात्ताप गर्नुभन्दा पहिले र पछि निनवेका मानिसहरूप्रति उहाँले राख्‍नुभएको मनोवृत्ति, र उहाँले मानवजातिलाई व्यवहार गर्ने मनोवृत्ति यही नै हो। यी वचनभित्र उहाँका विचार र उहाँको स्वभाव छन्।

यी वचनहरूमा परमेश्‍वरका के-कस्ता विचार प्रकट गरिएका छन्? पढ्ने क्रममा तैँले विवरणहरूलाई ध्यान दिइस् भने, उहाँले “दया” शब्‍दको प्रयोग गर्नुहुन्छ भन्‍ने कुरालाई पहिचान गर्न तँलाई कठिनाइ हुनेछैन; यो शब्‍दको प्रयोगले मानवजातिप्रति परमेश्‍वरको साँचो मनोवृत्तिलाई देखाउँछ।

शाब्दिक अर्थको हिसाबमा हेर्दा, मानिसहरूले “दया” शब्‍दलाई फरक-फरक तरिकाले अर्थ लगाउन सकिन्छ: पहिलो, यसको अर्थ “प्रेम गर्नु र रक्षा गर्नु, कुनै कुराप्रति कोमलताको अनुभव गर्नु” भन्‍ने हुन्छ; दोस्रो, यसको अर्थ “घनिष्ठताको साथ प्रेम गर्नु” भन्‍ने हुन्छ; र अन्तिम, यसको अर्थ “कुनै कुरालाई चोट पुऱ्याउन अनिच्छुक हुनु र त्यसो गरेको सहन नसक्‍नु” भन्‍ने हुन्छ। छोटकरीमा, यो शब्‍दले कोमल स्‍नेह र प्रेम, साथै कसैलाई वा कुनै कुरालाई छोड्न अनिच्‍छुक हुनु भन्‍ने आशय दिन्छ; यसले मानिसप्रति परमेश्‍वरको कृपा र सहनशीलतालाई जनाउँछ। परमेश्‍वरले यो शब्‍दको प्रयोग गर्नुभयो, जुन मानिसले आम रूपमा बोल्‍ने शब्‍द नै हो, तैपनि यसले मानवजातिप्रति परमेश्‍वरको हृदयको आवाज अनि उहाँको मनोवृत्तिलाई खुलासा गर्न सक्छ।

निनवे सहर सदोमका मानिसहरू जत्तिकै भ्रष्ट, दुष्ट, र हिंसात्मक मानिसहरूले भरिएको भए तापनि, तिनीहरूको पश्‍चात्तापले गर्दा परमेश्‍वरले हृदय परिवर्तन गर्नुभयो र तिनीहरूलाई नष्ट नगर्ने निर्णय गर्नुभयो। परमेश्‍वरका वचन र निर्देशनलाई तिनीहरूले जसरी लिए त्यो सदोमका नागरिकहरूको भन्दा ठीक विपरीत मनोवृत्तिको प्रदर्शन थियो, त्यसो हुनाले र परमेश्‍वरप्रतिको तिनीहरूको निष्कपट समर्पणता अनि आफ्‍ना पापप्रति तिनीहरूको निष्कपट पश्‍चात्तापलगायत सबै कुराप्रति तिनीहरूको साँचो र हृदयबाट निस्केको आचरणले गर्दा परमेश्‍वरले फेरि एक पटक आफ्‍नो हृदयको दया व्यक्त गर्नुभयो र सो तिनीहरूलाई दिनुभयो। परमेश्‍वरले मानवजातिलाई जे दिनुहुन्छ त्यसलाई र मानवजातिको निम्ति उहाँको दयालाई कसैले नक्‍कल गर्नु असम्‍भव छ, र मानवजातिप्रति परमेश्‍वरको कृपा, सहनशीलता, वा निष्कपट भावना कुनै व्यक्तिमा हुनु असम्‍भव छ। के तैँले महान् पुरुष वा स्‍त्री, वा महामानव ठानेको कुनै व्यक्ति छ, जसले उच्‍च स्थानबाट महान् पुरुष वा स्त्रीले जस्तो बोल्छ, वा उच्‍च स्थानबाट मानवजाति वा सृष्टिलाई यस्तो प्रकारको अभिव्यक्ति दिन्छ? मानवजातिमा त्यस्तो को छ जसले मानवजातिको अवस्थालाई आफ्‍नो हत्केलालाई जत्तिकै जान्‍न सक्छ? मानवजातिको अस्तित्वको भार र जिम्‍मेवारीलाई कसले बहन गर्न सक्छ? सहरको विनाशको घोषणा गर्न को योग्य छ? अनि सहरलाई क्षमा दिन को योग्य छ? कसले आफ्‍नो सृष्टिप्रति दया देखाउँछु भनी भन्‍न सक्छ? सृष्टिकर्ताले मात्रै सक्‍नुहुन्छ! यस मानवजातिप्रति सृष्टिकर्तासँग मात्रै स्‍नेह छ! यस मानवजातिलाई सृष्टिकर्ताले मात्रै करुणा र स्‍नेह देखाउनुहुन्छ। सृष्टिकर्तासँग मात्रै यस मानवजातिप्रति साँचो, नतोडिने स्‍नेह छ। त्यसरी नै, सृष्टिकर्ताले मात्रै यस मानवजातिलाई कृपा दिन र आफ्‍ना सम्पूर्ण सृष्टिप्रति दया देखाउन सक्‍नुहुन्छ। मानिसको हरेक कार्यमा उहाँको ढुकढुकी चल्छ र उहाँलाई पीडा हुन्छ: मानिसको दुष्टता र भ्रष्टताप्रति उहाँ रिसाउनुहुन्छ, व्याकुल र दुःखित बन्‍नुहुन्छ; मानिसको पश्‍चात्ताप र विश्‍वासप्रति उहाँ प्रसन्‍न, आनन्दित, क्षमाशील र उल्लसित बन्‍नुहुन्छ; उहाँका हरेक सोचाइ र विचार मानिसकै निम्ति अस्तित्वमा हुन्छन् र सेरोफेरोमा घुम्छ; उहाँ जे हुनुहुन्छ र उहाँसँग जे छ सो सम्पूर्ण रूपले मानवजातिको खातिर व्यक्त गरिन्छ; उहाँका भावनाहरूको सम्पूर्णता मानवजातिको अस्तित्वसँग गुँथिएको छ। मानवजातिको खातिर, उहाँ यताउता यात्रा गर्नुहुन्छ र दौडधूप गर्नुहुन्छ; उहाँले चुपचाप आफ्‍नो जीवनको एक-एक टुक्रा दिनुहुन्छ; उहाँले आफ्‍नो जीवनको हरेक मिनेट र सेकेन्ड दिनुहुन्छ…। उहाँको आफ्‍नै जीवनको मोल गर्न उहाँले कहिल्यै जान्‍नुभएको छैन, तैपनि आफैले सृष्टि गर्नुभएको मानवजातिलाई उहाँले सधैँ दया देखाउनुभएको छ…। आफूसँग भएको सबै कुरा उहाँले यी मानवजातिलाई दिनुहुन्छ…। उहाँले सर्तरहित र प्रतिफल पाउने आशा नै नगरिकन आफ्‍नो कृपा र सहनशीलता दिनुहुन्छ। जीवनसम्‍बन्धी उहाँको बन्दोबस्‍तलाई प्राप्त गर्दै मानवजाति उहाँको आँखा अगाडि नै बाँचिरहन सकून् भनेर मात्रै उहाँले यसो गर्नुहुन्छ। मानवजाति एक दिन उहाँको सामने समर्पित हुन सकून् र मानिसको अस्तित्वलाई पालनपोषण गर्ने अनि सारा सृष्टिलाई जुटाउने उहाँ नै हुनुहुन्छ भन्‍ने कुरा पहिचान गरून् भनेर मात्रै उहाँले यसो गर्नुहुन्छ।

सृष्टिकर्ताले मानवजातिप्रतिको आफ्ना साँचो भावनाहरू व्यक्त गर्नुहुन्छ

यहोवा परमेश्‍वर र योनाबीचको यो कुराकानी मानवजातिप्रति सृष्टिकर्ताको साँचो भावनाको अभिव्यक्ति हो भन्‍ने कुरामा कुनै शङ्‍का छैन। एकतर्फ, यसले मानिसहरूलाई सृष्टिकर्ताले उहाँको सार्वभौमिकताको अधीनमा रहेका सारा सृष्टिलाई बुझ्नुहुन्‍छ भन्‍नेबारे जानकारी दिन्छ; किनभने यहोवा परमेश्‍वरले यसो भन्‍नुभएको छ, “अनि आफ्‍नो दाहिने हातबाट देब्रे हात छुट्टाउन नसक्ने एक लाख बीस हजारभन्दा बढी मानिसहरू र धेरै गाईवस्तुहरू भएको त्यो ठूलो सहर निनवेप्रति मैले दया देखाउनु पर्दैन र?” अर्को शब्‍दमा भन्दा, निनवेसम्‍बन्धी परमेश्‍वरको बुझाइ कुनै पनि हालतमा सतही थिएन। उहाँलाई उक्त सहरमा बस्‍ने जीवित प्राणीहरूको सङ्ख्या मात्रै थाहा थिएन (जसमा मानिसहरू र चौपाया पनि पर्छन्), उहाँलाई त कति जनाले देब्रे र दाहिने हात छुट्याउन सक्दैनन्—अर्थात्, कति जना बालबालिका र जवान छन् भन्‍ने पनि थाहा थियो। यो मानवजातिसम्‍बन्धी परमेश्‍वरको पूर्ण बुझाइको ठोस प्रमाण हो। अर्कोतर्फ, यस कुराकानीले मानिसहरूलाई मानवजातिप्रति सृष्टिकर्ताको मनोवृत्तिबारे अर्थात् सृष्टिकर्ताको हृदयमा मानवजातिको बोझ कति छ भन्‍नेबारे जानकारी दिन्छ। यो कुरा यहोवा परमेश्‍वरले भन्‍नुभएको जस्तै हो: “तैँले जुन लौकाको निम्ति न त परिश्रम गरिस् न त त्यसलाई हुर्काइस् तँ त्यसलाई माया गर्छस्; जुन एकै रातमा आयो र एकै रातमा नष्ट भयो: अनि … त्यो ठूलो सहर निनवेप्रति मैले दया देखाउनु पर्दैन र?” यी यहोवा परमेश्‍वरले योनाप्रति लक्षित गरी बोल्‍नुभएका धिक्‍कारका वचनहरू हुन्, तर ती सबै सत्य छन्।

योनालाई निनवेका मानिसहरूप्रति यहोवा परमेश्‍वरले दिनुभएका वचन घोषणा गर्ने जिम्‍मेवारी दिइएको भए तापनि, तिनले यहोवा परमेश्‍वरका अभिप्रायलाई बुझेका थिएनन्, न त तिनले त्यस सहरका मानिसहरूप्रति उहाँको चिन्ता र अपेक्षालाई नै बुझेका थिए। यस हप्कीद्वारा परमेश्‍वरले तिनलाई के बताउन चाहनुभएको थियो भने, मानवजाति परमेश्‍वरको आफ्‍नै हातका उपज हुन्, र हरेक व्यक्तिमा उहाँले कठोर प्रयत्न गर्नुभएको छ, हरेक व्यक्तिले आफ्‍नो काँधमा परमेश्‍वरका अपेक्षाहरू बोक्छन्, र हरेक व्यक्तिले परमेश्‍वरको जीवनको आपूर्ति प्राप्त गर्छन्; हरेक व्यक्तिको लागि परमेश्‍वरले कठिन प्रयासको मूल्य चुकाउनुभएको थियो। यो हप्कीले योनालाई उनले जसरी लौकाप्रति दया देखाउँछस्, त्यसरी नै परमेश्‍वरले पनि मानवजातिलाई, जुन उहाँको आफ्‍नै हातको काम हो, त्यसप्रति दया देखाउनुहुन्छ भन्‍ने कुरा पनि बतायो। परमेश्‍वरले कुनै पनि हालतमा, वा सम्‍भव भएको अन्तिम क्षणसम्‍म मानवजातिलाई हल्का रूपमा त्याग्‍नुहुनेथिएन, वा कम्तीमा पनि सहरभित्र धेरै बालबालिका र निर्दोष चौपाया भएको कारण त्यसो गर्नुहुनेथिएन। आफ्ना दाहिने र देब्रे हात चिन्‍न नसक्‍ने परमेश्‍वरको सृष्टिका यी साना र अज्ञानी उपजहरूसँग व्यवहार गर्ने क्रममा, परमेश्‍वरले त्यति हतार गरेर तिनीहरूको जीवन समाप्त गर्नुहुनेथियो र तिनीहरूको परिणामलाई निर्धारण गर्नुहुनेथियो भन्‍ने कुरा त अझै अपत्यारिलो हुनेथियो। परमेश्‍वरले तिनीहरू हुर्के-बढेको हेर्ने आशा गर्नुहुन्थ्यो; तिनीहरू आफ्ना अग्रजहरूकै मार्गमा नहिँडून्, तिनीहरूले फेरि यहोवा परमेश्‍वरको चेतावनी सुन्‍न नपरून्, र निनवेको विगतको गवाही दिऊन् भन्‍ने चाहना उहाँको थियो। त्यसरी नै, पश्‍चात्ताप गरेपछिको निनवेलाई हेर्ने, पश्‍चात्ताप पछिको निनवेको भविष्यलाई हेर्ने, र सबैभन्दा महत्त्वपूर्ण कुरा, निनवे फेरि पनि परमेश्‍वरको कृपामा जिएको हेर्ने इच्‍छा परमेश्‍वरको थियो। त्यसकारण, परमेश्‍वरको नजरमा, दाहिने र देब्रे हात नचिन्‍ने ती सृष्टिका प्रजाहरू नै निनवेको भविष्य थिए। जसरी तिनीहरूले परमेश्‍वरको अगुवाइमा निनवेको विगत र भविष्यको गवाही दिने महत्त्वपूर्ण कर्तव्यलाई काँधमा बोकेर हिँड्नेवाला थिए, तिनीहरूले निनवेको तुच्‍छ विगतको बोझलाई पनि काँधमा बोक्‍नेवाला थिए। आफ्‍नो साँचो भावनाहरूको यस घोषणामा, यहोवा परमेश्‍वरले समग्र मानवताप्रतिको सृष्टिकर्ताको कृपालाई पूर्ण रूपमा प्रस्तुत गर्नुभयो। यसले मानवजातिलाई “सृष्टिकर्ताको कृपा” रित्तो वाक्यांश होइन, न त यो खोक्रो प्रतिज्ञा नै हो; यसमा ठोस सिद्धान्त, विधि र उद्देश्यहरू छन् भन्‍ने कुरा देखायो। परमेश्‍वर साँचो र वास्तविक हुनुहुन्छ, र उहाँले कुनै पनि झूट वा छलकपट प्रयोग गर्नुहुन्‍न, र यसरी नै हरेक समय र युगमा मानवजातिमाथि उहाँको कृपा अटुट रूपमा बर्सिरहन्छ। तैपनि, आजको दिनसम्‍म नै, योनासँगको सृष्टिकर्ताको कुराकानी उहाँले मानवजातिलाई किन कृपा देखाउनुहुन्छ, उहाँले मानवजातिलाई कसरी कृपा देखाउनुहुन्छ, मानवजातिप्रति उहाँ कति सहनशील हुनुहुन्छ र मानवजातिप्रति उहाँका साँचो भावनाहरू कस्ता छन् भन्‍नेबारे एउटै, विशेष मौखिक अभिव्यक्ति हो। यस कुराकानीको क्रममा यहोवा परमेश्‍वरले बोल्‍नुभएको संक्षिप्त वचनले अभिन्‍न समग्रताको रूपमा मानवजातिप्रति उहाँका सोचहरूलाई व्यक्त गर्छ; ती सोच मानवजातिप्रतिको उहाँको हृदयको मनोवृत्तिको साँचो अभिव्यक्ति हुन्, र ती मानवजातिप्रति उहाँले प्रशस्‍त कृपा प्रदान गर्नुभएको छ भन्‍ने कुराको ठोस प्रमाण पनि हुन्। उहाँको कृपा मानवजातिका पुराना पुस्ताहरूमा मात्रै प्रदान गरिएको छैन, बरु सधैँ झैँ एकपछि अर्को पुस्ता गरी मानवजातिका नयाँ सदस्यहरूलाई पनि प्रदान गरिएको छ। मानवजातिको निश्‍चित कुना र निश्‍चित युगमा परमेश्‍वरको क्रोध बारम्‍बार वर्षिने भए पनि, परमेश्‍वरको कृपा कहिल्यै रोकिएको छैन। आफ्‍नो कृपाद्वारा, उहाँले आफ्‍नो सृष्टिको एकपछि अर्को पुस्तालाई अगुवाइ र नेतृत्व गर्नुहुन्छ, र सृष्टिको एकपछि अर्को पुस्तालाई पालनपोषण र भरणपोषण दिनुहुन्छ, किनभने मानवजातिप्रति उहाँको साँचो भावना कहिल्यै परिवर्तन हुनेछैन। यो यहोवा परमेश्‍वरले भन्‍नुभएको जस्तै छ: “… मैले दया देखाउनु पर्दैन र?” उहाँले आफ्‍नो सृष्टिप्रति जहिल्यै पनि दया देखाउनुभएको छ। यो, सृष्टिकर्ताको धर्मी स्वभावको कृपा हो, र यो सृष्टिकर्ताको पूर्ण अद्वितीयपन पनि हो!

पाँच प्रकारका मानिसहरू

अहिलेको लागि, परमेश्‍वरको धर्मी स्वभावसम्‍बन्धी हाम्रो सङ्गतिलाई यहीँ रोक्‍नेछु। अघि बढ्ने क्रममा, म परमेश्‍वरका अनुयायीहरूलाई परमेश्‍वरसम्‍बन्धी तिनीहरूको बुझाइ र उहाँको धर्मी स्वभावसम्‍बन्धी तिनीहरूको बुझाइ र अनुभवको आधारमा विभिन्‍न वर्गमा वर्गीकरण गर्नेछु, ताकि तिमीहरूले तिमीहरू हाल जुन चरणमा छौ त्यो चरणका साथै तिमीहरूको वर्तमान कदलाई जान्‍न सक। परमेश्‍वरसम्‍बन्धी मानिसहरूको ज्ञान र उहाँको धर्मी स्वभावसम्‍बन्धी तिनीहरूको बुझाइको आधारमा, मानिसहरूका विभिन्न चरणहरू र कदलाई सामान्यतया पाँच प्रकारमा विभाजन गर्न सकिन्छ। यो विषयलाई अद्वितीय परमेश्‍वर र उहाँको धर्मी स्वभावलाई जान्‍ने कार्यको आधारमा निर्धारित गरिन्छ। त्यसकारण, तिमीहरूले निम्‍न विषयवस्तु पढ्ने क्रममा, परमेश्‍वरको अद्वितीयपन र उहाँको धर्मी स्वभावको बारेमा तिमीहरूसँग वास्तवमा कति बुझाइ र ज्ञान छ भन्‍ने कुरालाई होसियारीसाथ पत्ता लगाउने प्रयास गर्नुपर्छ, र यसरी प्राप्त गरिएको उक्त नतिजालाई तिमीहरूले तिमीहरू वास्तवमा कुन चरणमा छौ, तिमीहरूको कद वास्तवमा कति ठूलो छ, र तिमीहरू वास्तवमा कस्तो प्रकारको व्यक्ति हौ भनी मूल्याङ्कन गर्न प्रयोग गर्नुपर्छ।

पहिलो प्रकार: थाङ्ग्‍नोमा बेह्रिएको शिशुको चरण

“थाङ्ग्‍नोमा बेह्रिएको शिशुको चरण” भनेको के हो? थाङ्ग्‍नोमा बेह्रिएको शिशु भनेको भर्खरै यस संसारमा आएको, नवजात शिशु हो। यो मानिसहरू आफ्नो सबैभन्दा अपरिपक्‍व स्थितिमा हुँदाको अवस्था हो।

यस चरणमा रहेका मानिसहरूमा परमेश्‍वरप्रतिको विश्‍वासको विषयमा कुनै पनि चेतना वा विवेक हुँदैन। तिनीहरू हरेक कुराको बारेमा अनजान र अज्ञानी हुन्छन्। यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको लामो समय भएको हुन सक्छ वा त्यति लामो समय नभएको हुन सक्छ, तर तिनीहरूको अनजान र अज्ञानी अवस्था र तिनीहरूको साँचो कद अनुसार त तिनीहरू थाङ्ग्‍नोमा बेह्रिएको शिशुको चरणमा नै रहन्छन्। थाङ्ग्‍नोमा बेह्रिएको शिशुको अवस्थाका यथार्थ परिभाषा यसप्रकार छ: यस प्रकारको व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेको जति धेरै समय भए पनि, तिनीहरू सधैँ मंद-विवेक भएका, अन्योलग्रस्त र सीधासाधा हुन्छन्; तिनीहरूलाई आफूले किन परमेश्‍वरमा विश्‍वास गर्छौं भन्‍ने नै थाहा हुँदैन, न त तिनीहरूलाई परमेश्‍वर को हुनुहुन्छ भन्‍ने नै थाहा हुन्छ। तिनीहरूले परमेश्‍वरलाई पछ्याउने भए तापनि, तिनीहरूको हृदयमा परमेश्‍वरको कुनै पनि ठोस परिभाषा हुँदैन, र तिनीहरूले आफूले पछ्याउने परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने कुरा निर्धारण गर्न सक्दैनन्, तिनीहरूले साँच्चै परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ, पर्दैन र उहाँलाई पछ्याउनुपर्छ, पर्दैन भनी निर्धारण गर्न सक्नु त परै जाओस्। यस प्रकारको व्यक्तिको साँचो स्थिति यही हो। यस प्रकारका मानिसहरूको विचार धमिलो हुन्छ र, सरल रूपमा भन्दा, तिनीहरूको विश्‍वास भ्रमित हुन्छ। तिनीहरू सधैँ घबराहट र रित्तोपनको अवस्थामा अस्तित्वमा रहन्छन्; “मन्द-विवेक,” “अन्योल,” र “सीधासाधा” भन्‍ने शब्‍दहरूले तिनीहरूको स्थितिलाई सारांशित गर्छ। तिनीहरूले न त कहिल्यै परमेश्‍वरको अस्तित्वलाई देखेका हुन्छन्, न त अनुभव नै गरेका हुन्छन्, त्यसकारण तिनीहरूलाई परमेश्‍वरलाई चिन्‍नेबारेमा बताउनु भनेको तिनीहरूलाई चित्रलेखमा लेखिएको किताब पढ्न लगाउनु सरह हुन्छ—तिनीहरूले न त यसलाई बुझ्‍नेछन् न त स्वीकार नै गर्नेछन्। तिनीहरूको लागि त, परमेश्‍वरलाई चिन्‍नु भनेको काल्‍पनिक कथा सुन्‍नु सरह हो। तिनीहरूका विचारहरू धमिलो भएको हुनसक्‍ने भए तापनि, परमेश्‍वरलाई चिन्‍नु भनेको समय र प्रयासको ठूलो बरबादी हो भन्‍ने कुरामा चाहिँ तिनीहरूले वास्तवमै दृढ रूपमा विश्‍वास गर्छन्। पहिलो प्रकारको व्यक्ति अर्थात् थाङ्ग्‍नोमा बेह्रिएको शिशु यही हो।

दोस्रो प्रकार: दूधे बालकको चरण

थाङ्ग्‍नोमा बेह्रिएको शिशुको तुलनामा, यस प्रकारको व्यक्तिले केही प्रगति गरेको हुन्छ। दुःखको कुरा, तिनीहरूसँग परमेश्‍वरको बारेमा अझै पनि कुनै बुझाइ हुँदैन। तिनीहरूमा अझै पनि परमेश्‍वरको बारेमा स्पष्ट बुझाइ र परमेश्‍वरको बारेमा अन्तर्ज्ञानको कमी हुन्छ, र तिनीहरू आफूले किन परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ भन्‍नेबारेमा अझै स्पष्ट हुँदैनन्, तैपनि हृदयमा भने तिनीहरूको आफ्‍नै उद्देश्य र स्पष्ट विचार हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्नु सही हो कि होइन भन्‍नेबारेमा तिनीहरूले चासो लिँदैनन्। परमेश्‍वरमाथिको विश्‍वासमार्फत तिनीहरूले खोजी गर्न चाहेको उद्देश्य र लक्ष्य भनेको उहाँको अनुग्रहको आनन्द लिनु, आनन्द र शान्ति प्राप्त गर्नु, सहज जीवन जिउनु, परमेश्‍वरको वास्ता र सुरक्षाको आनन्द लिनु, अनि परमेश्‍वरको आशिष्‌हरूमा जिउनु हो। तिनीहरूले कुन हदसम्‍म परमेश्‍वरलाई चिन्छन् भन्‍नेबारेमा तिनीहरूलाई कुनै चासो हुँदैन; तिनीहरूमा परमेश्‍वरको बुझाइको खोजी गर्ने कुनै चाहना हुँदैन, न त तिनीहरूलाई परमेश्‍वरले के गर्दैहुनुहुन्छ वा उहाँले के गर्न चाहनुहुन्छ भन्‍ने कुराको नै चासो हुन्छ। तिनीहरूले उहाँको अनुग्रहको आनन्द लिन र उहाँको अझै धेरै आशिष्‌ प्राप्त गर्नको लागि मात्रै अन्धाधुन्ध खोजी गर्छन्; तिनीहरूले वर्तमान युगमा सयौँ गुणा, र आउने युगमा अनन्त जीवन प्राप्त गर्न चाहन्छन्। तिनीहरूका विचारहरू, तिनीहरूले आफैलाई कति धेरै समर्पित गर्छन् भन्‍ने विषय, तिनीहरूको भक्ति, साथै तिनीहरूको कष्ट-भोग सबैको एउटै उद्देश्य हुन्छ: परमेश्‍वरको अनुग्रह र आशिष्‌ प्राप्त गर्नु। तिनीहरूलाई अरू कुनै कुराको चिन्ता हुँदैन। यस प्रकारको व्यक्ति परमेश्‍वरले मानिसहरूलाई सुरक्षित राख्‍नुहुन्छ र उहाँले तिनीहरूमाथि आफ्‍नो अनुग्रह प्रदान गर्नुहुन्छ भन्‍ने कुरामा मात्रै निश्‍चित हुन्छ। के भन्‍न सकिन्छ भने, परमेश्‍वरले मानिसलाई किन मुक्ति दिन चाहनुहुन्छ वा परमेश्‍वरले आफ्‍ना वचनहरू र कामद्वारा प्राप्त गर्न चाहनुहुने परिणामको बारेमा तिनीहरूलाई न कुनै चासो हुन्छ न तिनीहरू यसबारेमा स्पष्ट नै हुन्छन्। तिनीहरूले परमेश्‍वरको सार र धर्मी स्वभावको बारेमा जान्‍ने कुनै प्रयास कहिल्यै गरेका हुँदैनन्, न त तिनीहरूले त्यसो गर्ने चासो नै बटुल्न सक्छन्। तिनीहरूमा यी कुराहरूलाई ध्यान दिने इच्‍छा हुँदैन, न त तिनीहरूले यी कुरा जान्‍ने चाहना नै गर्छन्। तिनीहरूले परमेश्‍वरको कार्यको बारेमा, मानिसको लागि परमेश्‍वरले तोक्नुभएका मापदण्डहरू, परमेश्‍वरको इच्‍छा, वा परमेश्‍वरसँग सम्‍बन्धित अन्य कुनै पनि कुराको बारेमा सोध्‍ने इच्‍छा गर्दैनन्, र यी कुराहरूको विषयमा सोध्‍ने इच्‍छा पनि तिनीहरूसँग हुँदैन। किनभने तिनीहरूलाई यी विषयहरू तिनीहरूले परमेश्‍वरको अनुग्रह प्राप्त गर्नुसँग सम्‍बन्धित छैनन् भन्‍ने लाग्छ, र तिनीहरूकै रुचिहरूसँग सम्‍बन्धित भई अस्तित्वमा रहने, र मानिसलाई अनुग्रह दिनसक्‍ने परमेश्‍वरप्रति मात्रै तिनीहरूलाई चासो हुन्छ। अन्य कुनै पनि कुराको बारेमा तिनीहरूसँग कुनै चासो हुँदैन, त्यसकारण तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गरेको जति वर्ष भए पनि, तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनन्। तिनीहरूलाई निरन्तर पानी दिने वा खाना खुवाउने नहुँदा, तिनीहरूलाई परमेश्‍वरमाथि विश्‍वास गर्ने मार्गमा निरन्तर हिँड्न कठिन हुन्छ। यदि तिनीहरूले पहिलेको आनन्द र शान्ति वा परमेश्‍वरको अनुग्रहमा आनन्द लिन सक्दैनन् भने, तिनीहरूले छाडेर जाने निकै सम्‍भावना हुन्छ। यो दोस्रो प्रकारको अर्थात् दूधे बालकको चरणमा रहने व्यक्ति हो।

तेस्रो प्रकार: दूध छुट्दै गरेको बालकको चरण, वा सानो बालकको चरण

मानिसहरूको यस समूहसँग निश्‍चित मात्रामा स्पष्ट चेतना हुन्छ। परमेश्‍वरको अनुग्रह प्राप्त गर्नु भनेको तिनीहरूमा साँचो अनुभव छ भन्‍ने हुँदैन भन्‍नेबारेमा तिनीहरूलाई थाहा हुन्छ, र तिनीहरू शान्ति र आनन्दको खोजी, अनुग्रहको खोजी गर्ने कार्यमा कहिल्यै नथाके पनि, वा तिनीहरूले परमेश्‍वरको अनुग्रह प्राप्त गरेको अनुभव व्यक्त गरेर वा तिनीहरूलाई परमेश्‍वरले दिनुभएको आशिष्‌हरूको लागि परमेश्‍वरको प्रशंसा गरेर साक्षी दिन सके पनि, यी कुराहरूको अर्थ तिनीहरूसँग जीवन छ भन्‍ने हुँदैन, न त तिनीहरूसँग सत्यताको वास्तविकता छ भन्‍ने नै तिनको अर्थ हुन्छ भन्‍नेबारेमा तिनीहरूलाई थाहा हुन्छ। तिनीहरूको चेतनाबाट सुरु गर्दै, तिनीहरूले तिनीहरूको साथमा परमेश्‍वरको अनुग्रह मात्र हुनेछ भन्‍ने ठूला आशाहरू गर्न छोड्छन्; बरु, परमेश्‍वरको अनुग्रहमा आनन्द गर्ने क्रममा, तिनीहरूले परमेश्‍वरको लागि केही गर्ने चाहना गर्छन्। तिनीहरू आफ्‍नो कर्तव्य पूरा गर्न, कठिनाइ र थकाइ सहन, परमेश्‍वरसँगको केही हदसम्‍मको सहकार्यमा सहभागी हुन इच्‍छुक हुन्छन्। तैपनि, परमेश्‍वरमाथिको विश्‍वाससम्‍बन्धी तिनीहरूको खोजीमा अन्य आशयहरू अत्यन्तै धेरै रूपमा मिश्रित हुने भएकोले, तिनीहरूको व्यक्तिगत अभिप्राय र तिनीहरूमा भएको इच्‍छा अत्यन्तै कठोर हुने भएकोले, तिनीहरूको स्वभाव अत्यन्तै अहङ्कारी हुने भएकोले, तिनीहरूलाई परमेश्‍वरको इच्‍छा पूरा गर्न वा परमेश्‍वरप्रति निष्ठावान हुन निकै कठिन हुन्छ। त्यसकारण, तिनीहरूले बारम्‍बार तिनीहरूको व्यक्तिगत कामनाहरूलाई पूरा गर्न वा परमेश्‍वरलाई तिनीहरूले गर्ने प्रतिज्ञाहरू पूरा गर्न सक्दैनन्। तिनीहरू प्रायजसो विरोधाभासपूर्ण अवस्थामा हुन्छन्: तिनीहरूले सम्‍भव भएको सबैभन्दा धेरै हदसम्‍म परमेश्‍वरलाई सन्तुष्ट पार्न चाहन्छन्, तैपनि तिनीहरूले उहाँको विरोध गर्न आफ्‍नो सारा शक्तिको प्रयोग गर्छन्, अनि तिनीहरूले प्रायजसो परमेश्‍वरसँग शपथ खान्छन्, तर तुरुन्तै आफ्‍नो शपथ तोड्छन्। त्योभन्दा पनि बढी तिनीहरू अन्य विरोधाभासपूर्ण अवस्थाहरूमा हुन्छन्: तिनीहरूले इमानदारीपूर्वक परमेश्‍वरमा विश्‍वास गर्छन्, तैपनि तिनीहरूले उहाँलाई र उहाँबाट आउने सबै कुरालाई इन्कार गर्छन्; परमेश्‍वरले तिनीहरूलाई अन्तर्दृष्टि दिनुहुनेछ, तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ, तिनीहरूको निम्ति आपूर्ति जुटाइदिनुहुनेछ र तिनीहरूलाई सहयोग गर्नुहुनेछ भन्‍ने उत्कट आशा तिनीहरू गर्छन्, तैपनि तिनीहरूले आफ्‍नै मार्गको खोजी गर्छन्। तिनीहरूले परमेश्‍वरलाई बुझ्‍ने र चिन्‍ने चाहना गर्छन्, तैपनि तिनीहरू उहाँको नजिक हुन इच्‍छुक हुँदैनन्। बरु, तिनीहरू सधैँ परमेश्‍वरबाट टाढा हुन्छन्, र तिनीहरूका हृदय परमेश्‍वरको निम्ति बन्द हुन्छन्। तिनीहरूसँग परमेश्‍वरका वचनहरू र सत्यताको शाब्दिक अर्थको बारेमा सतही बुझाइ र अनुभव, अनि परमेश्‍वर र सत्यताको बारेमा सतही अवधारणा भए पनि, अर्धचेतन रूपमा परमेश्‍वर सत्यता हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने बारेमा तिनीहरूले पुष्टि वा निर्धारण गर्न सक्दैनन्, न त परमेश्‍वर साँच्‍चै धर्मी हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने कुरालाई नै पुष्टि गर्न सक्छन्। तिनीहरूले परमेश्‍वरको स्वभाव र सारको यथार्थतालाई पनि निर्धारित गर्न सक्दैनन्, उहाँको साँचो अस्तित्वलाई निर्धारण गर्न सक्ने कुरा त परै जाओस्। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा सधैँ शङ्‍का र गलत बुझाइहरू हुन्छन्, र यसमा कल्‍पना र धारणाहरू हुन्छन्। तिनीहरूले परमेश्‍वरको अनुग्रहको आनन्द लिने क्रममा, तिनीहरूले आफ्‍नो विश्‍वासलाई सम्‍पन्‍न तुल्याउन, परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूको अनुभवलाई वृद्धि गर्न, परमेश्‍वरमा विश्‍वास गर्नुको तिनीहरूको बुझाइलाई प्रमाणित गर्न, र तिनीहरू स्वयम्‌ले स्थापित गरेको जीवन मार्गमा हिँडेर अनि मानवजातिको लागि धर्मी कार्य पूरा गरेर तिनीहरूको आफ्‍नै अभिमानलाई सन्तुष्ट गर्न तिनीहरूले सम्‍भव ठानेका केही सत्यतालाई तिनीहरूले जबरजस्ती अनुभव वा अभ्यास गर्छन्। यसको साथै, तिनीहरूले आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको इच्‍छा पूरा गर्नको लागि पनि यी कुराहरू गर्छन्, जुन मानवजातिको लागि अझै ठूला आशिष्‌हरू प्राप्त गर्ने आशामा तिनीहरूले लगाउने बाजीको हिस्सा हो, र तिनीहरूले परमेश्‍वरलाई प्राप्त नगरेसम्‍म विश्राम नगर्ने तिनीहरूको महत्त्वाकांक्षी आकाङ्क्षा र जीवनपर्यन्त इच्‍छालाई पूरा गर्नको लागि पनि यी कुराहरू गर्छन्। यी मानिसहरूले विरलै परमेश्‍वरको अन्तर्दृष्टि प्राप्त गर्न सक्छन्, किनभने आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको इच्‍छा र तिनीहरूको अभिप्राय नै तिनीहरूको लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। तिनीहरूसँग यसलाई त्याग्‍ने कुनै इच्‍छा हुँदैन, र वास्तवमा तिनीहरूले त्यसो गर्न सक्दै सक्दैनन्। आशिष्‌हरू प्राप्त गर्ने इच्‍छाविना, तिनीहरूले परमेश्‍वरलाई प्राप्त नगरुञ्‍जेलसम्‍म विश्राम नगर्ने धेरै पहिलेदेखि तिनीहरूले बहुमूल्य ठानेको महत्वाकांक्षाविना, तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गर्ने उत्प्रेरणा गुमाउनेछन् भन्‍ने डर तिनीहरूलाई हुन्छ। त्यसकारण, तिनीहरूले वास्तविकतालाई सामना गर्न चाहँदैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरू वा परमेश्‍वरको कार्यलाई सामना गर्न चाहँदैनन्। तिनीहरूले परमेश्‍वरको स्वभाव वा सारलाई सामना गर्न चाहँदैनन्, परमेश्‍वरलाई चिन्‍ने विषयको बारेमा बताउनु त परै जाओस्। किनभने परमेश्‍वर, उहाँको सार, र उहाँको धर्मी स्वभावले तिनीहरूको कल्‍पनालाई प्रतिस्थापन गरेपछि, तिनीहरूका सपनाहरू धुवाँ बनेर उड्नेछ, र तिनीहरूको तथाकथित शुद्ध विश्‍वास र वर्षौंको कठिन परिश्रमद्वारा तिनीहरूले बटुलेका “पुण्यहरू” हराएर जानेछन् र व्यर्थ हुनेछन्। त्यसै गरी, तिनीहरूले आफ्‍नो पसिना र रगतले वर्षौंको अवधिमा जितेको “अधिकार-क्षेत्र” ढल्‍नेछ। यो सबैले तिनीहरूको वर्षौंको कठिन परिश्रम र प्रयास बेकाम भएको, र तिनीहरूले फेरि शून्यताबाट सुरु गर्नुपर्ने तथ्यलाई इङ्गित गर्नेछ। यो तिनीहरूले आफ्‍नो हृदयमा सहनुपर्ने सबैभन्दा कठिन पीडा हो, र यो तिनीहरूले हेर्न नचाहने परिणाम हो, यही कारणले गर्दा तिनीहरू पछि फर्कन इन्कार गर्दै यस प्रकारको गतिरोधको स्थितिमा रहेका हुन्छन्। यो तेस्रो प्रकारको व्यक्ति हो: दूध छुट्ने बालकको चरणमा अस्तित्वमा रहने व्यक्ति।

माथि व्याख्या गरिएका तीन प्रकारका मानिसहरूमा—अर्थात्, यी तीन चरणमा अस्तित्वमा रहने मानिसहरूमा—परमेश्‍वरको पहिचान र हैसियत, वा उहाँको धर्मी स्वभावप्रति कुनै साँचो विश्‍वास हुँदैन, न त तिनीहरूसँग यी कुराको बारेमा कुनै स्पष्ट, सटीक पहिचान वा निश्‍चयता नै हुन्छ। त्यसकारण, यी तीन प्रकारका मानिसहरूलाई सत्यताको वास्तविकतामा प्रवेश गर्न निकै कठिन हुन्छ, र तिनीहरूले परमेश्‍वरको कृपा, अन्तर्दृष्टि वा ज्योति प्राप्त गर्न पनि कठिन हुन्छ, किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने तरिका र परमेश्‍वरप्रतिको तिनीहरूको गलत मनोवृत्तिले गर्दा उहाँले तिनीहरूको हृदयमा काम गर्न असम्‍भव हुन्छ। परमेश्‍वरप्रतिको तिनीहरूका शङ्‍का, भ्रम र कल्‍पनाहरू परमेश्‍वरसम्‍बन्धी तिनीहरूका विश्‍वास र ज्ञानभन्दा बढी हुन्छन्। यी तीन प्रकारका मानिसहरू अत्यन्तै जोखिममा हुन्छन्, र यी अत्यन्तै खतरनाक तीन चरणहरू हुन्। जब व्यक्तिले परमेश्‍वर, परमेश्‍वरको सार, परमेश्‍वरको पहिचान, परमेश्‍वर सत्यता हुनुहुन्छ कि हुनुहुन्‍न र उहाँको अस्तित्वको वास्तविकताप्रति शङ्काको मनोवृत्ति राख्छ, र जब व्यक्ति यी कुराहरूप्रति निश्‍चित हुन सक्दैन, तब व्यक्तिले कसरी परमेश्‍वरबाट आउने सबै कुरालाई स्वीकार गर्न सक्छ? परमेश्‍वर सत्यता, बाटो, र जीवन हुनुहुन्छ भन्‍ने तथ्यलाई व्यक्तिले कसरी स्वीकार गर्न सक्छ? व्यक्तिले कसरी परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्न सक्छ? व्यक्तिले कसरी परमेश्‍वरको मुक्ति स्वीकार गर्न सक्छ? यस प्रकारको व्यक्तिले कसरी परमेश्‍वरको साँचो अगुवाइ र बन्दोबस्‍तलाई प्राप्त गर्न सक्छ? यी तीन चरणमा हुनेहरूले परमेश्‍वरलाई कुनै पनि समयमा विरोध गर्न, परमेश्‍वरलाई दोषी ठहर्‍याउन, परमेश्‍वरको निन्दा गर्न वा परमेश्‍वरलाई धोका दिन सक्छन्। तिनीहरूले कुनै पनि समयमा साँचो मार्गलाई इन्कार गर्न र परमेश्‍वरलाई त्याग्‍न सक्छन्। के भन्‍न सकिन्छ भने, यी तीन चरणमा हुने मानिसहरू नाजुक अवधिमा जिउँछन्, किनभने तिनीहरू परमेश्‍वरलाई विश्‍वास गर्ने सही मार्गमा प्रवेश गरेका हुँदैनन्।

चौथो प्रकार: परिपक्‍व हुँदै गरेको बच्‍चा, वा बाल्यकालको चरण

व्यक्तिले दूध छोडेपछि—अर्थात्, तिनीहरूले पर्याप्त अनुग्रहको आनन्द लिइसकेपछि—तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो सो बारेमा खोजी गर्न थाल्छन्, फरक-फरक प्रश्‍नहरू बुझ्‍ने चाहना गर्न थाल्छन्, जस्तै मानिस किन जिउनुपर्छ, मानिस कसरी जिउनुपर्छ, र परमेश्‍वरले मानिसमा किन आफ्‍नो काम गर्नुहुन्छ। जब तिनीहरूभित्र यी अस्पष्ट विचारहरू र अन्योल विचार शैलीहरू उत्पन्‍न हुन्छन् र तिनीहरूभित्र अस्तित्वमा रहन्छन्, तब तिनीहरू निरन्तर रूपमा सिञ्चित हुन्छन्, र तिनीहरूले आफ्‍नो कर्तव्य पनि पूरा गर्न सक्छन्। यस अवधिमा, तिनीहरूसँग परमेश्‍वरको अस्तित्वको सत्यताको बारेमा अब फेरि कुनै शङ्का हुँदैन, र परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो तिनीहरूसँग सटीक बुझाइ हुन्छ। यस जगमा तिनीहरूले परमेश्‍वरको बारेमा क्रमिक रूपमा ज्ञान प्राप्त गर्छन्, र तिनीहरूले परमेश्‍वरको स्वभाव र सारसम्बन्धी तिनीहरूका अस्पष्ट विचार र अन्योल विचार-शैलीका उत्तरहरू क्रमिक रूपमा प्राप्त गर्छन्। तिनीहरूको स्वभाव परिवर्तन साथै परमेश्‍वरसम्‍बन्धी तिनीहरूको ज्ञानको हकमा भन्दा, यस चरणका मानिसहरूले सही मार्गमा हिँड्न सुरु गर्छन्, र तिनीहरू अवस्था-परिवर्तनको अवधिमा प्रवेश गर्छन्। यस चरणभित्र रहँदा नै मानिसहरूले जीवन प्राप्त गर्न थाल्छन्। आफ्नो स्वामित्वमा जीवन छ भन्‍ने स्पष्ट सङ्केतहरू नै परमेश्‍वरलाई जान्‍ने सम्‍बन्धी मानिसहरूको हृदयमा रहेका विभिन्‍न प्रश्‍नहरू क्रमिक रूपमा समाधान हुनु हो—जस्तै, परमेश्‍वरसम्‍बन्धी गलत बुझाइ, कल्‍पना, धारणा, र अस्पष्ट परिभाषाहरू—अनि तिनीहरूले परमेश्‍वरको अस्तित्वको वास्तविकतालाई साँचो रूपमा विश्‍वास र पहिचान मात्रै गर्दैनन्, तिनीहरूसँग त परमेश्‍वरको बारेमा सटीक परिभाषा र तिनीहरूको हृदयमा सही स्थान पनि हुन्छ, अनि साँचो रूपमा परमेश्‍वरलाई पछ्याउने कार्यद्वारा तिनीहरूको अस्पष्ट विश्‍वास प्रतिस्थापित हुन्छ। यस चरणको अवधिमा, मानिसहरूले बिस्तारै परमेश्‍वरसम्‍बन्धी तिनीहरूका भ्रमहरूलाई र तिनीहरूका गलत खोजी र विश्‍वासका तौरतरिकाहरूलाई क्रमिक रूपमा जान्‍न थाल्छन्। तिनीहरूले सत्यताको चाहना गर्न, परमेश्‍वरको न्याय, सजाय र अनुशासनको अनुभव गर्ने चाहना गर्न, र तिनीहरूको स्वभाव परिवर्तन गर्ने चाहना गर्न थाल्छन्। तिनीहरूले यस चरणमा परमेश्‍वरसम्बन्धी सबै किसिमका धारणा र कल्‍पनाहरूलाई क्रमिक रूपमा छोड्न थाल्छन्, यसको साथै तिनीहरूले परमेश्‍वरसम्‍बन्धी आफ्ना गलत ज्ञानलाई परिवर्तन र सुधार गर्छन् र परमेश्‍वरको बारेमा केही सही आधारभूत ज्ञान प्राप्त गर्छन्। यस चरणका मानिसहरूमा हुने ज्ञानको केही भाग त्यति विशिष्ट वा सही नहुने भए पनि, कम्तीमा पनि तिनीहरूले परमेश्‍वरसम्‍बन्धी तिनीहरूका धारणा, गलत ज्ञान, र गलत बुझाइहरूलाई क्रमिक रूपमा त्याग्‍न थाल्छन्; तिनीहरूले परमेश्‍वरसम्‍बन्धी तिनीहरूका आफ्‍नै धारणा र कल्‍पनाहरूलाई अब फेरि कायम राख्दैनन्। तिनीहरूले कसरी त्याग्‍ने, अर्थात्, तिनीहरूका आफ्‍नै धारणाभित्र पाइने कुराहरू, तिनीहरूका ज्ञानबाट आएका कुराहरू, र शैतानबाट आएका कुराहरूलाई कसरी त्याग्‍ने सो सिक्‍न थाल्छन्; तिनीहरू सही र सकारात्मक कुराहरू, परमेश्‍वरका वचनहरूबाट आउने र सत्यता अनुरूपका कुराहरूमा समेत समर्पित हुने इच्‍छा गर्न थाल्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरूको अनुभव गर्न, उहाँका वचनहरूलाई व्यक्तिगत रूपमा नै जान्‍न र पालना गर्न, उहाँका वचनहरूलाई आफ्ना कार्यहरूको सिद्धान्त र आफ्नो स्वभाव परिवर्तन गर्ने कार्यको आधारको रूपमा स्वीकार गर्न थाल्छन्। यस अवधिमा, मानिसहरूले अचेत रूपमा परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्छन्, र अचेत रूपमा नै परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा स्वीकार गर्छन्। तिनीहरूले परमेश्‍वरको न्याय, सजाय, र वचनहरूलाई स्वीकार गर्दा, तिनीहरू झन्-झन् बढी सचेत हुँदै जान्छन् र तिनीहरूले आफ्‍नो हृदयमा विश्‍वास गर्ने परमेश्‍वर साँच्‍चै अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरा अनुभूति गर्न सक्छन्। परमेश्‍वरका वचनहरूमा, आफ्ना अनुभवहरू र जीवनमा, झन्-झन् बढी रूपमा तिनीहरूले मानिसको नियतिमाथि परमेश्‍वरकै नियन्त्रण भएको र उहाँले सधैँ मानिसलाई अगुवाइ गर्नुभएको र मानिसलाई भरणपोषण गर्नुभएको महसुस गर्छन्। परमेश्‍वरसँगको तिनीहरूको सङ्गतद्वारा, तिनीहरूले क्रमिक रूपमा परमेश्‍वरको अस्तित्वलाई पुष्टि गर्छन्। त्यसकारण, तिनीहरूले महसुस गर्नुभन्दा पहिले नै, तिनीहरूले अर्धचेतन रूपमा परमेश्‍वरको कार्यलाई स्वीकार गरिसकेका हुन्छन् र त्यसमा दृढ विश्‍वास गर्न थालिसकेका हुन्छन्, र तिनीहरूले परमेश्‍वरका वचनहरूलाई स्वीकार गरिसकेका हुन्छन्। मानिसहरूले परमेश्‍वरका वचनहरू र कार्यलाई स्वीकार गरिसकेपछि, तिनीहरूले निरन्तर रूपमा आफैलाई इन्कार गर्छन्, आफ्‍ना धारणाहरूलाई इन्कार गर्छन्, आफ्‍नो ज्ञानलाई इन्कार गर्छन्, आफ्‍नो कल्‍पनालाई इन्कार गर्छन्, र त्यति नै बेला तिनीहरूले निरन्तर रूपमा सत्यता के हो र परमेश्‍वरको इच्‍छा के हो भन्‍नेबारेमा खोजी गर्छन्। विकासको यो अवधिमा परमेश्‍वरसम्‍बन्धी मानिसहरूको ज्ञान निकै सतही हुन्छ—तिनीहरूले यो ज्ञानलाई शब्‍दहरूमा स्पष्ट रूपमा व्यक्त गर्न समेत सक्दैनन्, न त तिनीहरूले यसलाई निश्‍चित विवरणहरूमा नै व्यक्त गर्न सक्छन्—र तिनीहरूसँग दृष्टिकोणमा आधारित बुझाइ मात्रै हुन्छ; तैपनि, अघिल्‍ला तीन चरणसँग तुलना गर्दा, यस अवधिका मानिसहरूका अपरिपक्‍व जीवनले पहिले नै परमेश्‍वरका वचनहरूको सिञ्चन र आपूर्ति प्राप्त गरिसकेका हुन्छन्, र पालुवा निकाल्‍न थालिसकेका हुन्छन्। तिनीहरूको जीवन जमिनमा गाडिएको बीउजस्तै हो; ओस र पोषण प्राप्त गरेपछि, यो माटोबाट बाहिर निस्किन्छ, र यसको मुनाले नयाँ जीवनको नयाँ जन्‍मलाई प्रतिनिधित्व गर्छ। यो जन्‍मले व्यक्तिलाई जीवनका चिन्‍हहरूको झलक देखाउँछ। जब मानिसहरूमा जीवन हुन्छ, तिनीहरू वृद्धि हुन्छन्। त्यसकारण, यी जगहरूमा—परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गमा क्रमिक रूपमा अघि बढ्दै, आफ्‍ना धारणाहरूलाई त्याग्दै, परमेश्‍वरको अगुवाइ प्राप्त गर्दै—मानिसहरूको जीवन अलि-अलि गर्दै अपरिहार्य रूपमा वृद्धि हुँदै जान्छन्। यो वृद्धिलाई कुन आधारमा मापन गरिन्छ त? यसलाई परमेश्‍वरका वचनहरूसम्‍बन्धी व्यक्तिको अनुभव र परमेश्‍वरको धर्मी स्वभावसम्‍बन्धी तिनीहरूको साँचो बुझाइअनुसार मापन गरिन्छ। वृद्धिको यो अवधिमा तिनीहरूले आफ्‍नै शब्‍दहरूको प्रयोग गरेर परमेश्‍वर र उहाँको सारसम्‍बन्धी आफ्नो ज्ञानको बारेमा सटीक रूपमा व्याख्या गर्न कठिन हुने भए पनि, यस समूहका मानिसहरू अबउप्रान्त परमेश्‍वरको अनुग्रहको आनन्दमार्फत सुख-चैनको खोजी गर्न, वा उहाँको अनुग्रह प्राप्त गर्ने तिनीहरूको आफ्‍नै उद्देश्यको पछि लाग्‍नको लागि परमेश्‍वरमा विश्‍वास गर्न व्यक्तिपरक रूपमा इच्‍छुक हुँदैनन्। बरु, तिनीहरू परमेश्‍वरको वचनद्वारा जिइने जीवनको पछि लाग्‍न र परमेश्‍वरको मुक्तिको लक्षित व्यक्तिहरू बन्‍न इच्‍छुक हुन्छन्। यसको साथै, तिनीहरू परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्नमा आत्मविश्‍वासी र तत्पर बन्छन्। वृद्धिको चरणमा रहेको व्यक्तिको चिन्‍ह यही हो।

यस चरणका मानिसहरूमा परमेश्‍वरको धर्मी स्वभावको बारेमा केही ज्ञान हुने भए पनि, यो ज्ञान अत्यन्तै धमिलो र अस्पष्ट हुन्छ। तिनीहरूले यी कुराहरूलाई स्पष्ट रूपमा व्याख्या गर्न नसके पनि, तिनीहरूले आफूले पहिले नै आन्तरिक रूपमा कुनै कुरा प्राप्त गरिसकेको अनुभूति गर्छन्, किनभने तिनीहरूले परमेश्‍वरको सजाय र न्यायमार्फत परमेश्‍वरको धर्मी स्वभावको ज्ञान र बुझाइ केही हदसम्‍म प्राप्त गरिसकेका हुन्छन्। तैपनि, यो सतही हुन्छ, र यो अझै पनि प्रारम्भिक चरणमा नै हुन्छ। मानिसहरूको यो समूहसँग परमेश्‍वरको अनुग्रहलाई हेर्ने निश्‍चित दृष्टिकोण हुन्छ, जुन तिनीहरूले खोजी गर्ने उद्देश्यहरू र तिनलाई पछ्याउने तिनीहरूको तरिकामा आउने परिवर्तनहरूमा व्यक्त हुन्छन्। तिनीहरूले पहिले नै परमेश्‍वरका वचनहरू र कार्यमा, मानिसका लागि उहाँले तय गर्नुभएका सबै प्रकारका मापदण्डहरूमा र मानिसलाई दिइएका उहाँका प्रकाशहरूमा के देखिसकेका छन् भने यदि तिनीहरूले अझै पनि सत्यतालाई पछ्याउँदैनन् भने, यदि तिनीहरू अझै पनि वास्तविकतामा प्रवेश गर्ने प्रयास गर्दैनन् भने, यदि तिनीहरूले उहाँका वचनहरू अनुभव गर्ने क्रममा परमेश्‍वरलाई सन्तुष्ट पार्ने र उहाँलाई चिन्‍ने प्रयास गर्दैनन् भने, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थलाई गुमाउनेछन्। तिनीहरूले देख्छन् कि तिनीहरूले परमेश्‍वरको अनुग्रह जति नै प्राप्त गरे पनि, तिनीहरूले आफ्‍नो स्वभाव परिवर्तन गर्न, परमेश्‍वरलाई सन्तुष्ट पार्न वा परमेश्‍वरलाई चिन्‍न सक्दैनन्, र यदि मानिसहरू निरन्तर परमेश्‍वरको अनुग्रहमा जिउँछन् भने, तिनीहरूले कहिल्यै पनि वृद्धि हासिल गर्नेछैनन्, जीवन प्राप्त गर्नेछैनन् वा मुक्ति प्राप्त गर्न सक्‍नेछैनन्। सारांशमा, यदि व्यक्तिले साँचो रूपमा परमेश्‍वरका वचनहरूलाई अनुभव गर्न सक्दैन र उहाँका वचनहरूद्वारा उहाँलाई चिन्‍न सक्दैन भने, तिनीहरू अनन्तसम्‍मै बालकको चरणमा रहन्छन् र तिनीहरूले आफ्नो जीवनको वृद्धिमा कहिल्यै पनि एक कदम पाइला चाल्दैनन्। यदि तँ सदासर्वदा नै बालकको चरणमा अस्तित्वमा रहन्छस् भने, तँ कहिल्यै पनि परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गर्दैनस् भने, यदि तँमा तेरो जीवनको रूपमा परमेश्‍वरको वचन कहिल्यै हुँदैन भने, यदि तँमा परमेश्‍वरप्रतिको साँचो विश्‍वास र ज्ञान कहिल्यै हुँदैन भने, के परमेश्‍वरले तँलाई पूर्ण बनाउनुहुने कुनै सम्‍भावना हुन्छ? त्यसकारण, परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गर्ने जोकोही, परमेश्‍वरको वचनलाई आफ्‍नो जीवनको रूपमा स्वीकार गर्ने जोकोही, परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्न थाल्‍ने जोकोही, आफ्‍नो भ्रष्ट स्वभावलाई परिवर्तन गर्न थाल्‍ने जोकोही, र जसको हृदयले सत्यताको चाहना गर्छ, जोसँग परमेश्‍वरलाई चिन्‍ने र परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्ने चाहना हुन्छ त्यस्तो जोकोही, यिनीहरू साँचो रूपमा जीवन प्राप्त गरेका मानिसहरू हुन्। यो साँच्‍चै चौथो प्रकारको व्यक्ति हो, परिपक्‍व हुँदै गरेको, बाल्यकालको चरणमा रहेको व्यक्ति हो।

पाँचौँ प्रकार: जीवनको परिपक्‍वताको चरण, वा वयस्क अवस्था

बाल्यकालको चरण, अर्थात् दोहोरिरहने उतारचढावयुक्त वृद्धिको चरणलाई अनुभव गरिसकेपछि र यसबाट बामे सरिसकेपछि, मानिसहरूको जीवन स्थिर बन्छ, तिनीहरूको अगाडि बढ्ने गति अबउप्रान्त रोकिँदैन, र तिनीहरूलाई कसैले पनि बाधा दिन सक्दैन। अगाडिको मार्ग अझै कठिन र ढुङ्गेनी भए पनि, तिनीहरू अबउप्रान्त कमजोर वा भयभीत हुँदैनन्, र तिनीहरूले अबउप्रान्त अगाडि लडखडाउने वा आफ्‍नो सन्तुलन गुमाउने गर्दैनन्। तिनीहरूका जग परमेश्‍वरको वचनको वास्तविक अनुभवमा गाडिएको हुन्छ, र तिनीहरूको हृदय परमेश्‍वरको गरिमा र महान्‌ताले तानेको हुन्छ। तिनीहरूले परमेश्‍वरका पाइलाहरूलाई पछ्याउने, परमेश्‍वरको सारलाई जान्‍ने, परमेश्‍वरको बारेमा सबै कुरा जान्‍ने चाहना गर्छन्।

यस चरणका मानिसहरूलाई तिनीहरूले कसमा विश्‍वास गर्छन् सो स्पष्ट रूपमा पहिले नै थाहा हुन्छ, र तिनीहरूले परमेश्‍वरमा किन विश्‍वास गर्नुपर्छ र तिनीहरूको आफ्‍नै जीवनको अर्थ के हो तिनीहरूलाई स्पष्ट रूपमा थाहा हुन्छ, अनि परमेश्‍वरले व्यक्त गर्नुहुने सबै कुरा सत्यता हुन् भन्‍ने तिनीहरूलाई स्पष्टै थाहा हुन्छ। धेरै वर्षको अनुभवमा, तिनीहरूले के महसुस गरेका हुन्छन् भने, परमेश्‍वरको न्याय र सजायविना, व्यक्तिले परमेश्‍वरलाई सन्तुष्ट पार्न वा चिन्‍न कहिल्यै सक्‍नेछैन र ऊ परमेश्‍वरको अघि साँचो रूपमा कहिल्यै आउन सक्नेछैन। यी मानिसहरूको हृदयमा, परीक्षा गरिँदा परमेश्‍वरको धर्मी स्वभावलाई देख्‍न सकौं भनी परमेश्‍वरद्वारा परीक्षित हुने, र अझै शुद्ध प्रेम प्राप्त गर्ने, साथै परमेश्‍वरलाई अझै साँचो रूपमा बुझ्‍न र चिन्‍न सक्‍ने ठूलो इच्‍छा हुन्छ। यस चरणका मानिसहरूले बालकको चरणलाई र परमेश्‍वरको अनुग्रहको आनन्द लिने र आफ्नो पेटभरि रोटी खाने चरणलाई पहिले नै पूर्ण रूपमा बिदा गरिसकेका हुन्छन्। तिनीहरूले आफूलाई परमेश्‍वरको सहनशीलता र कृपा मिलोस् भन्‍ने हेतुले अबउप्रान्त कुनै लालची आशा गर्दैनन्; बरु, आफ्‍नो भ्रष्ट स्वभावबाट आफूलाई मुक्त गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि, तिनीहरूसँग परमेश्‍वरको अटुट सजाय र न्याय प्राप्त गर्ने र त्यस्तो आशा गर्ने आत्मविश्‍वास हुन्छ। तिनीहरूको हृदयमा परमेश्‍वरसम्‍बन्धी तिनीहरूको ज्ञान र तिनीहरूको खोजी, वा तिनीहरूको खोजीका अन्तिम उद्देश्यहरू स्पष्ट हुन्छन्। त्यसकारण, वयस्क चरणका मानिसहरूले अस्पष्ट विश्‍वासको चरण, मुक्तिको लागि तिनीहरू अनुग्रहमा भरोसा गर्ने चरण, परीक्षाहरूमा खडा हुन नसक्‍ने अपरिपक्‍व जीवनको चरण, अस्पष्टताको चरण, लडखडाउने चरण, बारम्बार हिँड्ने मार्ग नहुने चरण, अचानक तातो र चीसो हुने अस्थिर अवधि, र व्यक्तिले परमेश्‍वरलाई आँखा बन्द गरेर पछ्याउने चरणलाई पूर्ण रूपमा बिदा गरिसकेका हुन्छन्। यस प्रकारका मानिसहरूले बारम्‍बार परमेश्‍वरको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छन्, र परमेश्‍वरसँग बारम्‍बार साँचो सहकार्य र संचारमा संलग्‍न हुन्छन्। के भन्‍न सकिन्छ भने, यस चरणमा जिउने मानिसहरूले परमेश्‍वरको इच्‍छाको केही भाग पहिले नै बुझिसकेका हुन्छन्, तिनीहरूले आफूले गर्ने सबै कुरामा सत्यताका सिद्धान्तहरूलाई पत्ता लगाउन सक्छन्, र तिनीहरूलाई परमेश्‍वरको इच्‍छालाई कसरी सन्तुष्ट पार्ने हो सो कुरा थाहा हुन्छ। यसको साथै, तिनीहरूले परमेश्‍वरलाई चिन्‍ने मार्गलाई पनि भेट्टाएका हुन्छन् र परमेश्‍वरसम्‍बन्धी आफ्नो ज्ञानको गवाही दिन थालेका हुन्छन्। क्रमिक वृद्धिको क्रममा, तिनीहरूले परमेश्‍वरको इच्‍छाको क्रमिक बुझाइ र ज्ञान प्राप्त गर्छन्: मानवजातिलाई सृष्टि गर्ने कार्यमा परमेश्‍वरको इच्‍छा, र मानवजातिलाई व्यवस्थापन गर्ने कार्यमा परमेश्‍वरको इच्‍छाको बारेमा बुझाइ र ज्ञान प्राप्त गर्छन्। तिनीहरूले सारको हिसाबमा परमेश्‍वरको धर्मी स्वभावको बुझाइ र ज्ञान पनि क्रमिक रूपमा प्राप्त गर्छन्। यस ज्ञानलाई कुनै पनि मानवीय धारणा वा कल्‍पनाले प्रतिस्थापन गर्न सक्दैन। पाँचौँ चरणमा व्यक्तिको जीवन पूर्ण रूपमा परिपक्‍व हुन्छ वा यो व्यक्ति धर्मी वा पूर्ण हुन्छ भनेर भन्‍न नसकिने भए तापनि, यस प्रकारको व्यक्तिले जीवनको परिपक्‍वताको चरणतर्फ पहिले नै कदम चालिसकेको हुन्छ र ऊ पहिले नै परमेश्‍वरको सामुन्ने आउन सक्‍ने, परमेश्‍वरको वचन र परमेश्‍वरसँग आमने-सामने खडा हुन सक्‍ने भइसकेको हुन्छ। यस प्रकारको व्यक्तिले परमेश्‍वरको धेरै वचन अनुभव गरेको, अनगन्ती परीक्षाहरूको अनुभव गरेको र परमेश्‍वरको अनगन्ती अनुशासन, न्याय र सजाय अनुभव गरेको हुनाले, परमेश्‍वरप्रतिको तिनीहरूको समर्पणता सापेक्षित होइन निरपेक्षित हुन्छ। परमेश्‍वरसम्‍बन्धी तिनीहरूको ज्ञान अर्धचेतनबाट स्पष्ट र सटीक ज्ञानमा, सतहीबाट गहनमा, अस्पष्ट र धमिलोबाट स्पष्ट र ठोसमा रूपान्तरित भएको हुन्छ। तिनीहरू कठिन लडखडाइ र निष्क्रिय खोजीबाट सहज ज्ञान र सक्रिय गवाहीको अवस्थामा पुगेका हुन्छन्। के भन्‍न सकिन्छ भने, यस चरणका मानिसहरूमा परमेश्‍वरको वचनको सत्यता वास्तविकता हुन्छ, तिनीहरूले पत्रुसले हिँडेको मार्गजस्तो सिद्धताको मार्गमा पाइला टेकेका हुन्छन्। यो पाँचौँ प्रकारको व्यक्ति हो, जो परिपक्‍वताको चरण अर्थात वयस्क चरणमा जिउँछ।

डिसेम्‍बर १४, २०१३

अघिल्लो: परमेश्‍वर स्वयम् अद्वितीय १

अर्को: परमेश्‍वर स्वयम् अद्वितीय ३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्