सत्यता पछ्याउनु भनेको के हो (६)

हामीले हाम्रो पछिल्लो भेलामा कुन विषयवस्तु सङ्गति गर्‍यौँ तिमीहरूलाई याद छ? (परमेश्‍वरले सबैभन्दा पहिले मानिसहरूले असल ठानेका व्यवहारहरू र परमेश्‍वरले तोक्‍नुभएबमोजिमको सामान्य मानवताको जियाइबीच रहेका भिन्‍नताहरूबारे सङ्गति गर्नुभयो, त्यसपछि परम्‍परागत संस्कृतिमा मान्छेको नैतिक आचरण भन्‍ने विषयमा सङ्गति गर्नुभयो र मान्छेको नैतिक आचरणसम्‍बन्धी एक्‍काइस वटा दाबीहरू सारांशित गर्नुभयो।) हाम्रो पछिल्लो भेलामा, मैले दुई वटा विषयमा सङ्गति गरेको थिएँ। पहिलो, मैले असल व्यवहारको विषयमा केही अतिरिक्त सङ्गति दिएको थिएँ, त्यसपछि विस्तृतमा नगई मैले मान्छेको चरित्र, आचरण, र सद्‌गुणको बारेमा सरल र परिचयात्मक सङ्गति दिएको थिएँ। हामीले पहिले नै सत्यता पछ्याउनु भनेको के हो भन्‍ने विषयमा धेरैपटक सङ्गति गरिसकेका छौँ, र मैले सत्यता पछ्याउने कार्यसँग सम्‍बन्धित रहेका अनि खुलासा र विश्‍लेषण आवश्यक पर्ने सबै असल व्यवहारबारे सङ्गति गरिसकेको छु। पछिल्लो भेलामा, मैले मान्छेको नैतिक आचरणका केही आधारभूत विषयहरू पनि थोरै सङ्गति गरेको थिएँ। नैतिक आचरणसम्‍बन्धी यी भनाइहरूबारे विस्तृत खुलासा वा विश्‍लेषण प्रदान नगरिएको भए पनि, हामीले मान्छेको नैतिक आचरणसम्बन्धी विभिन्‍न दाबीका केही उदाहरणहरू सूचीबद्ध गरेका थियौँ—ठ्याक्‍कै भन्दा, एक्‍काइस वटा थिए। यी एक्काइस वटा उदाहरणहरू परम्‍परागत चिनियाँ संस्कृतिले मानिसहरूमा हालिदिने विभिन्‍न अभिव्यक्तिहरू हुन्, जसमा परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि, र विश्‍वसनीयताका विचारहरू प्रमुख छन्। उदाहरणको लागि, हामीले बफादारिता, धार्मिकता, सद्‌व्यवहार, र भरोसासँग सम्बन्धित, साथै पुरुष, महिला, अधिकारीहरू, र बालबालिकाले कस्तो व्यवहार गर्नुपर्छ, आदि इत्यादि कुरासँग सम्‍बन्धित मान्छेको नैतिक आचरणसम्बन्धी विभिन्‍न भनाइहरू उल्‍लेख गर्‍यौँ। यी एक्काइस वटा भनाइहरू व्यापक वा विस्तृत भए पनि नभए पनि, यी भनाइहरूले वैचारिक र सारगत दुवै दृष्टिकोणबाट मान्छेको नैतिक आचरणको विषयमा परम्‍परागत चिनियाँ संस्कृतिले तोक्‍ने विभिन्‍न मापदण्डहरूको सारलाई नै आधारभूत रूपमा प्रतिनिधित्व गर्न सक्छन्। हामीले ती उदाहरणहरू सूचीबद्ध गरेपछि, के तिमीहरूले तिनको बारेमा मनन र सङ्गति गर्‍यौ? (हामीले तिनको बारेमा हाम्रो भेलामा थोरै सङ्गति गर्‍यौँ र तीमध्ये केही अभिव्यक्तिहरूलाई सहजै झुक्‍किएर सत्यताजस्तो ठान्दा रहेछौँ भन्‍ने पत्ता लगायौँ। उदाहरणको लागि, “जेलमा कोचेर के गर्नु, खाने मुख मात्र बढ्छ; बरु कोमल व्यवहार गर्नु नै राम्रो,” “साथीको लागि गोली खान तयार छु,” साथै “अरूले तिमीलाई सुम्पेको कुरा पूरा गर्न सक्दो प्रयास गर,” आदि इत्यादि।) यसमा अरू भनाइहरू पनि छन्: “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ,” “मर्दको बोली र बन्दुकको गोली उस्तै हो,” “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू,” “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू,” “अरूले गरेको भलाइ नबिर्सी,” आदि इत्यादि। नजिकबाट नियाल्दा, तिमीहरूले के देख्छौ भने, धेरैजसो मानिसहरूले आफ्‍नो व्यवहारलाई अनि आफ्‍नो र अरूको नैतिक आचरणसम्बन्धी आफ्नो मूल्याङ्कनलाई मूलतः यिनै नैतिक आचरणसम्‍बन्धी अभिव्यक्तिहरूमा आधारित गर्छन्। यी कुराहरू हरेक व्यक्तिको हृदयमा केही हदसम्‍म रहेका हुन्छन्। यसो हुनुको एउटा मुख्य कारण मानिसहरू जिउने सामाजिक वातावरण र तिनीहरूले सरकारबाट पाउने शिक्षा हो, र अर्कोचाहिँ तिनीहरूलाई हुर्काउँदा तिनीहरूको परिवारले लिएको शैली र तिनीहरूका पितापुर्खाले हस्तान्तरण गरेका परम्‍पराहरू हुन्। कतिपय परिवारले आफ्‍ना छोराछोरीलाई टिपेको पैसा कहिल्यै खल्तीमा हाल्‍न दिँदैनन्, अनि अरू परिवारले आफ्‍ना छोराछोरीलाई देशभक्त हुनुपर्छ र “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भनेर सिकाउँछन्, किनभने हरेक परिवारले आफ्‍नो देशमै निर्भर रहनुपर्छ। कतिपय मानिसहरूले आफ्‍ना छोराछोरीलाई “धनले गर्दा भ्रष्ट हनु, गरिबीले गर्दा बदलिनु, र शक्तिले गर्दा झुक्‍नु हुँदैन” र आफ्‍नो मूल कहिल्यै बिर्सनु हुँदैन भनेर सिकाउँछन्। कतिपय आमाबुबाले छोराछोरीलाई नैतिक आचरणको बारेमा सिकाउँदा स्पष्ट अभिव्यक्तिहरू प्रयोग गर्छन्, तर अरूले चाहिँ नैतिक आचरणसम्‍बन्धी आफ्‍ना विचारहरू स्पष्ट रूपमा व्यक्त गर्दैनन्, बरु आफ्‍ना छोराछोरीको लागि नमुना बनेर उदाहरणद्वारा सिकाउँछन्, र आफ्‍ना बोलीवचन र व्यवहारद्वारा अर्को पुस्तालाई प्रभाव पार्छन् र शिक्षा दिन्छन्। यी बोलीवचन र व्यवहारहरूमा यी कुराहरू पर्न सक्छन्, “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ,” “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ,” “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ”, “हिलोमा रहेर पनि शुद्ध भई हुर्किने कमलजस्तो हुनुपर्छ,” आदि इत्यादि। आमाबुबाले आफ्‍ना छोराछोरीलाई सिकाउने कुराको मूलभाव र सार सामान्यतः परम्‍परागत चिनियाँ संस्कृतिले तोकेको नैतिक आचरणको क्षेत्रभित्र नै पर्छन्। विद्यार्थीहरू स्कूलमा आएपछि तिनीहरूलाई सबैभन्दा पहिले शिक्षकहरूले सिकाउने कुरा भनेको तिनीहरू अरूप्रति दयालु हुनुपर्छ र अरूलाई सहयोग गरेर खुसी लिनुपर्छ, टिपेको पैसा खल्तीमा हाल्‍नु हुँदैन, र आफ्‍ना शिक्षकहरूलाई आदर अनि तिनीहरूले दिएको शिक्षालाई सम्‍मान गर्नुपर्छ भन्‍ने हुन्छ। जब विद्यार्थीहरूले प्राचीन चिनियाँ गद्य वा प्राचीनकालका नायकहरूको जीवनी पढ्छन्, तब तिनीहरूलाई “साथीको लागि गोली खान तयार छु,” “एउटा बफादार प्रजाले दुइटा राजाको सेवा गर्न सक्दैन, र एउटी असल स्‍त्रीले दुई जना पुरुषसँग विवाह गर्न सक्दिन,” “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ,” “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ,” “बाटोमा भेटेको कुरा कसैले पनि लिनु हुँदैन,” आदि इत्यादि कुराहरू सिकाइन्छ। यी सबै कुराहरू परम्‍परागत संस्कृतिबाट आएका हुन्। राष्ट्रहरूले पनि यी विचारहरूकै वकालत र प्रचार गर्छन्। वास्तवमा, राष्ट्रिय शिक्षाले पनि पारिवारिक शिक्षाले प्रवर्धन गर्ने कुराहरूलाई नै प्रवर्धन गर्छ—ती सबै नै परम्‍परागत संस्कृतिका यी विचारहरूमा केन्द्रित हुन्छन्। परम्‍परागत संस्कृतिबाट आएका विचारहरूले मानव चरित्र, सद्‍गुण, व्यवहार, आदि इत्यादिसम्‍बन्धी सबै मापदण्डहरूलाई भरेका हुन्छन्। एक हिसाबमा, यी विचारहरूले मानिसहरूलाई बाहिरी शिष्टता र मर्यादा देखाउन, अरूले अनुमोदन गर्ने किसिमले व्यवहार गर्न र चल्‍न, र अरूलाई देखाउनको लागि असल व्यवहार र कार्य प्रस्तुत गर्न, अनि यस क्रममा आफ्‍नो हृदयको गहिराइका कालो पक्षहरू लुकाउन लगाउँछन। अर्को हिसाबमा, यी विचारहरूले व्यक्तिले व्यवहार कसरी गर्छ, अरू मानिसहरूलाई कसरी लिन्छ, र परिस्थितिहरू कसरी सम्‍हाल्छ; आफ्‍ना साथीभाइ र परिवारसँग कस्तो व्यवहार गर्छ; र विभिन्‍न प्रकारका मानिसहरू र परिस्थितिहरूलाई कसरी लिन्छ, उसको नैतिक आचरणको स्तर कस्तो छ भन्‍नेजस्ता कुराहरूसँग सम्‍बन्धित मनोवृत्ति, व्यवहार, र कार्यहरूको गुणस्तर उकास्छन्, र यसरी यसमार्फत उसले अरूबाट प्रशंसा र आदर कमाउँछ। परम्‍परागत संस्कृतिले मानिसहरूलाई तोकेका मापदण्डहरू आधारभूत रूपमा यिनै कुराहरूमा केन्द्रित छन्। चाहे यो मानिसहरूले बृहत् सामाजिक तहमा वकालत गर्ने विचार होस् वा सानो तहमा वकालत गर्ने विचार होस्, मानिसहरूले परिवारभित्र बढावा दिने र लागू गर्ने नैतिक आचरणसम्‍बन्धी विचारहरू, र मानिसहरूलाई तिनीहरूका व्यवहारहरूबारे दिइने मापदण्डहरू—यी सबै कुरा आधारभूत रूपमा यही क्षेत्रभित्र पर्छन्। त्यसकारण, मानिसहरूमाझ, चाहे यो परम्‍परागत चिनियाँ संस्कृति होस् वा पश्‍चिमी संस्कृतिलगायत अरू देशको परम्‍परागत संस्कृति होस्, नैतिक आचरणसम्‍बन्धी यी विचारहरूमा मानिसहरूले हासिल गर्न र सोच्‍न सक्‍ने कुराहरू नै हुन्छन्; यी कुराहरू मानिसहरूले आफ्‍नो विवेक र समझको आधारमा अघि बढाउने कुराहरू हुन्। कम्तीमा पनि, कतिपय मानिसहरूले तिनीहरूबाट अपेक्षा गरिएका केही नैतिक आचरणका कुराहरू पूरा गर्न सक्छन्। यी मापदण्डहरू मानिसहरूको नैतिक चरित्र, व्यवहार, र चासोहरूको क्षेत्रमा मात्रै सीमित छन्। यदि तँलाई मेरो विश्‍वास लाग्दैन भने, म तँलाई प्रोत्साहन गर्छु, यसलाई नियालेर हेर् र मानिसहरूको नैतिक आचरणसम्‍बन्धी यी मापदण्डहरूमध्ये कुनले तिनीहरूको भ्रष्ट स्वभावलाई सम्‍बोधन गर्छ हेर्। यीमध्ये कुनचाहिँले मानिसहरू सत्यताप्रति दिक्‍क छन्, र तिनीहरूले सारदेखि नै सत्यतालाई घृणा, र परमेश्‍वरलाई विरोध गर्छन् भन्‍ने तथ्यलाई सम्‍बोधन गर्छ? यीमध्ये कुन मापदण्ड सत्यतासँग सम्‍बन्धित छ? यीमध्ये कुन मापदण्ड सत्यताको स्तरसम्‍म पुग्‍न सक्छ? (कुनै पनि सक्दैन।) यी मापदण्डहरूलाई जसरी हेरिए पनि, यीमध्ये कुनै पनि मापदण्ड सत्यताको स्तरमा पुग्‍न सक्दैन। सत्यतासँग यीमध्ये कुनैको पनि कुनै सरोकार छैन, यससँग यी कुनैको पनि अलिकति पनि सम्‍बन्ध छैन। परमेश्‍वरलाई लामो समयदेखि विश्‍वास गरेका, केही अनुभव भएका, र केही मात्रामा सत्यता बुझ्‍ने मानिसहरूले अहिलेसम्‍म यस मामिलाबारे थोरै मात्र साँचो बुझाइ प्राप्त गरेका छन्; तर धेरैजसो मानिसहरूले अझै पनि धर्मसिद्धान्तहरू मात्रै बुझ्छन्, र यो विचारप्रति सिद्धान्तको हिसाबले सहमति जनाउँछन्, तर सत्यतालाई साँचो रूपमा बुझ्‍ने स्तरमा पुग्दैनन्। यस्तो किन हुन्छ? यस्तो किन हुन्छ भने धेरैजसो मानिसहरूले यी परम्‍परागत संस्कृतिका नियमहरूलाई परमेश्‍वरका वचनहरू र मापदण्डहरूसँग तुलना गरेर मात्रै परम्‍परागत संस्कृतिका यी पक्षहरू सत्यतासँग मेल खाँदैनन् र सत्यतासँग सम्‍बन्धित छैनन् भनेर बुझ्छन्। सत्यतासँग यी कुराहरूको कुनै सम्‍बन्ध छैन भनेर सायद तिनीहरूले मौखिक हिसाबले पूर्ण रूपमा स्विकार्न सक्छन्, तर तिनीहरूको हृदयको गहिराइमा, तिनीहरूले चाहना गर्ने, अनुमोदन गर्ने, रुचाउने, र सहजै स्विकार्ने कुराहरू मानवजातिको परम्‍परागत संस्कृतिबाट आएका यिनै कुराहरू हुन्छन्, जसमध्ये कतिपय कुराहरू तिनीहरूको देशले वकालत र प्रवर्धन गर्ने कुराहरू हुन्छन्। मानिसहरूले यी कुराहरूलाई सकारात्मक कुराहरूको रूपमा लिने वा सत्यताजस्तै ठान्‍ने गर्छन्। के कुरा यही होइन र? (हो।) तिमीहरूले देखिहाल्यौ, परम्‍परागत संस्कृतिका यी पक्षहरूले मानिसको हृदयको गहिराइमा जरा गाडेका हुन्छन्, र यी कुरालाई छोटो अवधिमा निर्मूल पार्न र उखेलेर फाल्‍न सकिँदैन।

मान्छेको नैतिक आचरणसम्‍बन्धी हामीले सूचीबद्ध गरेका एक्काइस वटा मापदण्डहरू परम्‍परागत चिनियाँ संस्कृतिको एउटा भाग मात्रै भए पनि, केही निश्‍चित हदसम्‍म, तिनलाई मान्छेको नैतिक आचरणबारे परम्‍परागत चिनियाँ संस्कृतिले अघि सारेका सबै मापदण्डहरूको प्रतिनिधि मापदण्डको रूपमा लिन सकिन्छ। मान्छेले यी एक्काइस वटा दाबीहरूमध्ये प्रत्येकलाई सकारात्मक, आदर्श र सही कुराको रूपमा लिन्छन्, र तिनीहरू यी दाबीहरूले आफूलाई इज्‍जतसाथ जिउन सहयोग गर्छन्, र यी आदर र सम्‍मान गर्न लायक नैतिक आचरणहरू हुन् भन्‍ने विश्‍वास गर्छन्। हामी अहिलेको लागि टिपेको पैसा खल्तीमा नहाल्‍नू वा अरूलाई सहयोग गरेर खुसी लिनु भन्‍नेजस्ता अलिक सतही भनाइहरूलाई पन्छाउनेछौँ, र मान्छेले विशेष रूपमा उच्‍च र आदर्शवान्‌ ठानेको नैतिक आचरणबारे कुरा गर्नेछौँ। उदाहरणको लागि, यो भनाइलाई लिऊँ: “धनले गर्दा भ्रष्ट हनु, गरिबीले गर्दा बदलिनु, र शक्तिले गर्दा झुक्‍नु हुँदैन”—यो भनाइलाई अर्थ्याउने सबैभन्दा सरल तरिका के हो भने व्यक्तिले आफ्‍नो मूल बिर्सनु हुँदैन। यदि कुनै व्यक्तिमा यो नैतिक आचरण छ भने, सबैले उसलाई आदर्शवान्‌ व्यक्तित्व भएको व्यक्ति ठान्छन्, र ऊ साँच्‍चै “हिलोमा रहेर पनि शुद्ध भई हुर्केको कमलजस्तै” छ भनेर भन्छन्। मानिसहरूले यस कुरालाई निक्‍कै उच्‍च ठान्छन्। मानिसहरूले यसलाई उच्‍च ठान्‍नुको अर्थ तिनीहरूले यस्तो अभिव्यक्तिलाई साँच्‍चै नै अनुमोदन र सहमति प्रदान गर्छन् भन्‍ने हुन्छ। अवश्य नै, तिनीहरूले यस्तो नैतिक आचरण पालना गर्ने व्यक्तिलाई निकै कदर गर्छन्। यस्ता धेरै मानिसहरू छन् जो परमेश्‍वरमा विश्‍वास गरे पनि परम्‍परागत संस्कृतिले प्रवर्धन गरेका यी कुराहरूलाई नै वास्तवमा अनुमोदन गर्छन् र यी असल व्यवहारहरूलाई नै अभ्यास गर्न इच्छुक हुन्छन्। यी मानिसहरूले सत्यता बुझ्दैनन्: तिनीहरूले के सोच्छन् भने परमेश्‍वरमा विश्‍वास गर्नु भनेकै असल व्यक्ति बन्‍नु, अरूलाई सहयोग गर्नु, अरूलाई सहयोग गरेर आनन्द लिनु, अरूलाई कहिल्यै छल वा हानि नगर्नु, सांसारिक कुराहरूको पछि नलाग्‍नु, वा सम्पत्ति वा सुखको लोभ नगर्नु हो। तिनीहरूले आफ्‍नो हृदयमा “धनले गर्दा भ्रष्ट हनु, गरिबीले गर्दा बदलिनु, र शक्तिले गर्दा झुक्‍नु हुँदैन” भन्‍ने भनाइ सही हो भन्‍नेमा सहमत हुन्छन्। कतिपयले भन्छन्: “यदि परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले नै कसैले ‘धनले गर्दा भ्रष्ट हनु, गरिबीले गर्दा बदलिनु, र शक्तिले गर्दा झुक्‍नु हुँदैन’ जस्तो नैतिक आचरण पालना गर्ने गरेको छ भने, यदि ऊ आफ्‍नो मूल नबिर्सने महान् र दयालु व्यक्ति हो भने, विश्‍वासमा आएपछि, उसले तुरुन्तै परमेश्‍वरको आनन्द प्राप्त गर्न सक्छ। त्यस्ता मानिसहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न सहज हुन्छ—तिनीहरूले उहाँका आशिष्‌हरू प्राप्त गर्न सक्छन्।” धेरै मानिसहरूले अरूलाई मूल्याङ्कन गर्दा र हेर्दा, परमेश्‍वरका वचनहरू र सत्यताको आधारमा तिनीहरूको सार हेर्दैनन्; बरु मानिसहरूको नैतिक आचरणबारे परम्‍परागत संस्कृतिले तोकेका मापदण्डहरूअनुसार तिनीहरूलाई मूल्याङ्कन गर्ने र हेर्ने गर्छन्। यो दृष्टिकोणबाट, के सत्यता नबुझ्‍ने मानिसहरू मान्छेले असल र सही ठानेका कुराहरूलाई सत्यता भनी झुक्‍किने सम्‍भावना हुँदैन र? के तिनीहरू मान्छेले असल ठानेका मानिसहरूलाई पनि परमेश्‍वरले असल ठान्‍नुहुने मानिसहरू भनी झुक्‍किने सम्‍भावना हुँदैन र? मानिसहरू सधैँ परमेश्‍वरमा आफ्‍नै विचारहरू लाद्‍न चाहन्छन्—त्यसो गर्ने क्रममा, के तिनीहरूले सिद्धान्तको गल्ती गरिरहेका हुँदैनन् र? के यसले परमेश्‍वरको स्वभाव चिढ्याउँदैन र? (चिढ्याउँछ।) यो अत्यन्तै गम्‍भीर समस्या हो। यदि मानिसहरूमा साँच्‍चै समझशक्ति छ भने, तिनीहरूले आफूले बुझ्‍न नसक्‍ने कुराहरूमा सत्यता खोजी गर्नुपर्छ, परमेश्‍वरको इच्‍छा बुझ्‍नुपर्छ, र व्यर्थका धेरै कुराहरू लापरवाही रूपमा बोल्‍नु हुँदैन। के मानिसहरूलाई मूल्याङ्कन गर्ने परमेश्‍वरका मापदण्ड र सिद्धान्तहरूमा, “आफ्‍नो मूल नबिर्सने मानिसहरू असल मानिसहरू हुन् र तिनीहरूमा असल व्यक्तिको चरित्र हुन्छ” भन्‍ने कुनै हरफ छ? के परमेश्‍वरले कहिल्यै यस्तो कुरा भन्‍नुभएको छ? (छैन।) मानिसको लागि परमेश्‍वरले गर्नुभएका निश्‍चित मापदण्डहरूमा, के उहाँले कहिल्यै यसो भन्‍नुभएको छ, “तँ गरिब छस् भने, चोर्नु हुँदैन। धनी छस् भने, यौनिक छाडा हुनु हुँदैन। डरधम्की वा चुनौती सामना गर्दा, तँ कहिल्यै झुक्‍नु हुँदैन”? के परमेश्‍वरका वचनहरूमा यस्ता मापदण्डहरू छन्? (छैनन्।) वास्तवमै छैनन्। “धनले गर्दा भ्रष्ट हनु, गरिबीले गर्दा बदलिनु, र शक्तिले गर्दा झुक्‍नु हुँदैन” भन्‍ने अभिव्यक्ति मान्छेले बोलेको हो—यो परमेश्‍वरले मान्छेलाई दिनुभएका मापदण्डहरूअनुरूप छैन, यो सत्यतासँग मिल्दैन, र आधारभूत रूपमा यो सत्यताजस्तो कुरो पनि होइन। सृष्टि गरिएको प्राणीले आफ्‍नो मूल बिर्सनु हुँदैन भनेर परमेश्‍वरले कहिल्यै तोक्‍नुभएको छैन। आफ्‍नो मूल नबिर्सनु भनेको के हो? म तिमीहरूलाई एउटा उदाहरण दिन्छु: यदि तेरा पुर्खाहरू किसान थिए भने, तैँले तिनीहरूलाई सम्झनामा राख्‍नुपर्छ। यदि तेरा पुर्खाहरूले हस्तकला गर्थे भने, तैँले त्यो हस्तकला अभ्यास कायम राख्दै एकपछि अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि पनि, यी कुराहरू बिर्सनु हुँदैन—तैँले यी शिक्षाहरू वा हस्तकला वा तेरा पुर्खाहरूले छोडेर गएका कुनै पनि कुरा बिर्सनु हुँदैन। यदि तेरा पुर्खाहरू भिखारी थिए भने, तैँले तिनीहरूले छोडेका लट्ठीहरू कुकुर कुट्नको लागि भए पनि राख्‍नुपर्छ। यदि पुर्खाहरू कुनै बेला भुस र कन्दमूल खाएर बाँच्‍नुपरेको थियो भने, तिनीहरूका सन्तानले पनि भुस र कन्दमूल खाने प्रयास गर्नुपर्छ—त्यो वर्तमानको आनन्द अनुभूत गर्न विगतका दुःखहरू सम्झनु हो, त्यो आफ्‍नो मूल बिर्सनु होइन। तेरा पुर्खाहरूले जे गरे, तैँले त्यो गर्नैपर्छ। तँ शिक्षित भइस् र तेरो हैसियत भयो भन्दैमा तैँले आफ्‍ना पुर्खाहरू बिर्सनु हुँदैन। यस्ता कुराहरूमा चिनियाँहरू निकै अगाडि छन्। तिनीहरूले हृदयमा के ठान्छन् भने, आफ्‍नो मूल नबिर्सने मानिसहरूमा मात्रै विवेक र समझ हुन्छ, र त्यस्ता मानिसहरूले मात्रै सही व्यवहार गर्न, र इज्‍जतसाथ जिउन सक्छन्। के यो दृष्टिकोण सही छ? के परमेश्‍वरका वचनहरूमा यस्तो कुनै कुरा भनिएको छ? (छैन।) परमेश्‍वरले कहिल्यै यस्तो कुरा भन्‍नुभएको छैन। यो उदाहरणबाट, हामी के देख्छौँ भने, मान्छेले सद्‌गणको क्षेत्रलाई उच्‍च ठाने पनि र यसको आकाङ्क्षा राखे पनि, र यो सकारात्मक कुरा लागे पनि, मान्छेको नैतिक आचरण नियन्त्रण गर्ने, र मानिसहरूलाई दुष्ट मार्ग हिँड्न र भ्रष्ट हुनबाट रोक्‍ने कुराजस्तो देखिए पनि, र यो मानिसहरूमाझ सकारात्मक कुराको रूपमा चलनचल्तीमा रहेको र तिनीहरू सबैद्वारा स्विकारिएको भए पनि, यदि तैँले यसलाई परमेश्‍वरका वचनहरू र सत्यतासँग तुलना गरिस् भने, परम्‍परागत संस्कृतिका यी दाबी र विचारहरू अत्यन्तै हास्यास्पद रहेको देख्‍नेछस्। तैँले देख्‍नेछस् कि यी कुराहरू उल्‍लेख गर्नसमेत लायक छैनन्, सत्यतासँग यिनको कुनै सम्‍बन्ध छैन, यी परमेश्‍वरका मापदण्डहरू र परमेश्‍वरको इच्‍छा हुनु त परको कुरा हो। यी विचार र दृष्टिकोणहरूको वकालत गर्ने क्रममा, र मान्छेको नैतिक आचरणसम्‍बन्धी विभिन्‍न अभिव्यक्तिहरू अघि सार्ने क्रममा, मानिसहरूले आफू मौलिक र आदर्शवान्‌ भएको धाक लगाउन, आफ्‍नै महानता र सहीपनको तडकभडक देखाउन, र अरूलाई तिनीहरूको पूजा गर्न लगाउन मान्छेको सोचको दायरा नाघ्‍ने यी कुराहरू प्रयोग गर्नेबाहेक अरू केही पनि गरिरहेका हुँदैनन्। चाहे पूर्वमा होस् वा पश्‍चिममा, मानिसहरूले आधारभूत रूपमा उस्तै सोच्छन्। मान्छेको नैतिक आचरणबारे मानिसहरूले वकालत गर्ने र अघि सार्ने मापदण्डहरूको विचार र सुरुवात बिन्दु र ती कुराहरूद्वारा तिनीहरूले हासिल गर्न चाहने लक्ष्यहरू लगभग उस्तै हुन्छन्। पूर्वका मानिसहरूले जोड दिने “खराबीलाई भलाइले जित” र “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ” भन्‍नेजस्ता विचारहरू पश्‍चिमका मानिसहरूसँग नभए पनि, र तिनीहरूसँग परम्‍परागत चिनियाँ संस्कृतिले अघि सार्ने स्पष्ट भनाइहरू नभए पनि, तिनीहरूको आफ्‍नै परम्‍परागत संस्कृति पनि यस्तै विचारहरूले नै भरिएका छन्। हामीले सङ्गति गर्दै र बोल्दै आएका यी कुराहरू परम्‍परागत चिनियाँ संस्कृतिसँग सम्‍बन्धित रहेका भए पनि, निश्‍चित हदसम्‍म, र सारगत रूपमा, नैतिक आचरण सम्‍बन्धी यी दाबी र मापदण्डहरूले सारा भ्रष्ट मानवजातिका मुख्य विचारहरू प्रतिनिधित्व गर्छन्।

आज, हामीले मुख्य रूपमा परम्‍परागत संस्कृतिले मान्छेको नैतिक आचरणसम्‍बन्धी यसका दाबी र मापदण्डहरूमार्फत मानिसहरूमा के-कस्ता नकरात्मक प्रभावहरू पार्छ भन्‍नेबारेमा सङ्गति गर्‍यौँ। यो कुरा बुझेपछि, मानिसहरूले बुझ्‍नुपर्ने अर्को महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वर, अर्थात् सृष्टिका प्रभुले मानवजातिको नैतिक व्यवहारको बारेमा के-कस्ता मापदण्डहरू दिनुभएको छ, उहाँले निर्दिष्ट रूपमा के भन्‍नुभएको छ, र उहाँले के-कस्ता सर्तहरू अघि सार्नुभएको छ भन्‍ने कुरा हो। मानवजातिले बुझ्‍नैपर्ने कुरा यही हो। परम्‍परागत संस्कृतिले परमेश्‍वरले मान्छेको लागि तोक्‍नुभएका कुराहरू वा उहाँले बोल्‍नुभएका वचनहरूको अलिकति पनि गवाही दिँदैन, र यस विषयमा मानिसहरूले सत्यता खोजेका छैनन् भन्‍ने कुरा हामीले अहिले स्पष्ट रूपमा देखेका छौँ। त्यसकारण, मानिसहरूले सुरुमा सिकेको कुरा नै परम्‍परागत संस्कृति थियो र यसले तिनीहरूलाई वशमा राखेको छ, यो मानिसहरूको हृदयमा प्रवेश गरेको छ, र यसले हजारौँ वर्षसम्‍म मानवजातिको जिउने शैली अगुवाइ गरेको छ। शैतानले मानवजातिलाई मुख्य रूपमा यसरी नै भ्रष्ट तुल्याएको हो। यो तथ्यलाई स्पष्ट रूपमा पहिचान गरेपछि, मानिसहरूले अब सृष्टिका प्रभुले सृष्टि गरिएका मानवजातिको मानवता र नैतिकताबारे के-कस्ता मापदण्डहरू तोक्‍नुभएको छ त्यो बुझ्‍नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ—वा, अर्को शब्‍दमा भन्दा, सत्यताको यो पक्षबारे के-कस्ता मानकहरू छन् त्यसलाई बुझ्‍नु महत्त्‍वपूर्ण हुन्छ। यससँगै मानिसहरूले यीमध्ये कुनचाहिँ सत्यता हो भनेर पनि बुझ्नुपर्छ: परम्‍परागत संस्कृतिले अघि सारेका मापदण्डहरू कि परमेश्‍वरले मानवजातिलाई दिनुभएका मापदण्डहरू। तिनीहरूले यीमध्ये कुनचाहिँले मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिन सक्छ, र तिनीहरूलाई जीवनको सही मार्गमा डोर्‍याउन सक्छ; अनि यीमध्ये कुनचाहिँ भ्रम हो, जसले मानिसहरूलाई बहकाउन र हानि गर्न सक्छ, र तिनीहरूलाई गलत मार्गमा, पापको जीवनमा लैजान सक्छ भनेर पनि बुझ्नुपर्छ। यस्तो समझ पाइसकेपछि, मानिसहरूले मानवजातिलाई सृष्टिका प्रभुले दिनुभएका मापदण्डहरू स्वर्गले तोकेका र पृथ्वीले स्विकारेका कुरा हुन्, र यी कुरा मानिसहरूले अभ्यास गर्नुपर्ने सत्यताका सिद्धान्तहरू हुन् भनेर पहिचान गर्न सक्छन्। मानिसहरूको सत्यता पछ्याइ, अनि मानिसहरू र विभिन्‍न कुराहरू हेर्ने तिनीहरूको दृष्टिकोण, र तिनीहरूको व्यवहार र कार्यलाई असर गर्ने परम्‍परागत संस्कृतिको नैतिक आचरण र मापनका मानकहरूसम्‍बन्धी दाबीहरूको हकमा भन्दा, यदि मानिसहरूले ती दाबीहरूबारे केही समझ हासिल गर्न सक्छन्, र सारगत रूपमा ती हास्यास्पद छन् भनेर देख्‍न र पहिचान गर्न सक्छन्, र ती दाबीलाई हृदयबाटै त्याग्‍न सक्छन् भने, नैतिक आचरणबारे मानिसहरूमा रहेका केही अन्योल वा समस्याहरू समाधान गर्न सकिन्छ। के यी कुराहरू समाधान गर्दा, मानिसहरूले सत्यता पछ्याउने क्रममा सामना गर्नुपर्ने बाधा र कठिनाइहरू निकै घट्दैनन् र? (घट्छन्।) जब मानिसहरूले सत्यता बुझ्दैनन्, तब तिनीहरूले नैतिक आचरणसम्‍बन्धी आम रूपमा स्विकारिएका विचारहरू सत्यता हुन् कि भनेर झुक्‍किएर ती विचारहरूलाई सत्यताजस्तै गरी पछ्याउने र पालना गर्ने सम्भावना धेरै हुन्छ। यसले सत्यता बुझ्‍ने र अभ्यास गर्ने मानिसहरूको क्षमताको साथै स्वभाव रूपान्तरण हासिल गर्न सत्यता पछ्याउँदा तिनीहरूले पाउने परिणामहरूमा पनि ठूलो प्रभाव पार्छ। यो तिमीहरूमध्ये कसैले पनि देख्‍न चाहने कुरा होइन; अनि अवश्य नै, यो परमेश्‍वरले पनि देख्‍न नचाहनुहुने कुरा हो। त्यसैले, मान्छेले पालना गर्ने नैतिक आचरणसम्‍बन्धी यी तथाकथित सकारात्मक अभिव्यक्ति, विचार, र दृष्टिकोणहरूलाई मानिसहरूले सुरुमा परमेश्‍वरका वचनहरू र सत्यताको आधारमा स्पष्ट रूपमा चिन्‍नु र जान्‍नुपर्छ, र यी कुराहरूको पुरै वास्तविक सार देख्‍नुपर्छ, र यी कुराहरूबारे हृदयको गहिराइमै सही मूल्याङ्कन र राय निर्माण गर्नुपर्छ, र त्यसपछि तिनीहरूले यी कुरालाई अलिअलि गरेर खोतल्न, उखेल्‍न र त्याग्‍न सक्छन्। भविष्यमा, यी तथाकथित सकारात्मक कुराहरू सत्यतासँग बाझिएको देख्दा, प्रत्येकपटक नै मानिसहरूले मान्छेका धारणाहरूअनुसार सकारात्मक ठानिएका अभिव्यक्तिहरू नभई सत्यता छनौट गर्नुपर्छ, किनभने यी तथाकथित सकारात्मक कुराहरू केवल मान्छेका दृष्टिकोण हुन्, र ती वास्तवमा सत्यताअनुरूप छैनन्। हामीले जुन दृष्टिकोणबाट बोलिरहेको भए पनि, यी विषयहरूमा आज हामीले सङ्गति गर्नुको उद्देश्य मानिसहरूले सत्यता पछ्याउने क्रममा देखा पर्ने विभिन्‍न वाधाहरू हटाउनु हो, विशेष गरी परमेश्‍वरका वचनहरू र सत्यताको मापदण्डबारे मानिसहरूको सोचमा आउने अनिश्‍चितताहरू हटाउनु हो। यी अनिश्‍चितताहरू हुनुको अर्थ, जब तँ सत्यता स्विकार्ने र अभ्यास गर्ने क्रममा हुन्छस्, तँलाई कुन कुराचाहिँ मानवजातिले वकालत गर्ने नैतिक आचरणका भनाइहरू हुन्, र कुन कुराचाहिँ मानवजातिको लागि परमेश्‍वरले दिनुभएका मापदण्डहरू हुन्, र तीमध्ये कुनचाहिँ साँचो सिद्धान्त र मापदण्ड हुन् भनेर थाहा हुँदैन भन्‍ने हो। मानिसहरूलाई यी कुराहरूबारे स्पष्ट थाहा हुँदैन। किन त्यसो हुन्छ? (किनभने तिनीहरूले सत्यता बुझेका हुँदैनन्।) एक हिसाबमा, तिनीहरूले सत्यता नबुझेकोले यस्तो हुन्छ। अर्को हिसाबमा, तिनीहरूलाई मानवजातिको परम्‍परागत संस्कृतिले निर्माण गरेका नैतिक आचरणसम्‍बन्धी दाबीहरूबारे कुनै समझ हुँदैन र तिनीहरूले अझै पनि यी दाबीहरूको सार देख्‍न सक्दैनन्। अन्त्यमा, भ्रमित मानसिकतामा रही, तैँले आफूले पहिले सिकेका, र तेरो मनमा गाँजिएर बसेका यी कुराहरू सही हुन् भनेर निर्धारित गर्नेछस्; आम रूपमा सबैले सही भनेर स्विकार्ने यी कुराहरू ठीक छन् भनेर निर्धारित गर्नेछस्। त्यसपछि तैँले आफूलाई मन पर्ने, आफूले हासिल गर्न सक्‍ने, र आफ्नो स्वाद र धारणासँग मिल्‍ने यी कुराहरू नै छनौट गर्नेछस्; अनि तैँले यी कुराहरूलाई यसरी लिने, अङ्गाल्‍ने, र पक्रनेछस् कि मानौँ ती सत्यता नै हुन्। अनि यसको परिणामस्वरूप, मानिसहरूको व्यवहार र आचरण, साथै तिनीहरूले पछ्याउने, छनौट गर्ने, र अङ्गाल्‍ने कुराहरू सत्यतासँग पटक्‍कै सम्‍बन्धित हुनेछैनन्—ती सबै कुरा सत्यताको क्षेत्रभन्दा बाहिर रहेका मानव व्यवहार र नैतिकतासम्बन्धी बाहिरी बानीबेहोरामा पर्नेछन्। मानिसहरूले परम्‍परागत संस्कृतिका यी पक्षहरूलाई सत्यता नै हो जस्तो गरी लिने र अङ्गाल्ने गर्छन्, तर यस क्रममा मान्छेको व्यवहारबारे परमेश्‍वरका मापदण्डहरूसम्‍बन्धी सत्यताहरूलाई पन्छाउँछन् र बेवास्ता गर्छन्। मान्छेले असल ठानेका जति धेरै व्यवहार व्यक्तिमा भए पनि, उसले कहिल्यै परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछैन। यो मानिसहरूले सत्यताको क्षेत्रभन्दा बाहिरका कुराहरूमा धेरै मेहनत खेर फालेको कुरा हो। यसअलावा, मान्छेबाट आएका र सत्यतासँग नमिल्‍ने यी कुराहरूलाई सत्यताको रूपमा लिएर मानिसहरू पहिले नै पथभ्रष्ट भइसकेका छन्। मानिसहरूले पहिले परम्‍परागत संस्कृतिका यिनै पक्षहरू सिकेका छन्, र तिनीहरू यिनैको अधीनमा छन्; यी कुराहरूले तिनीहरूमा अनेक किसिमका भ्रमपूर्ण दृष्टिकोणहरू पैदा गर्छन्, र मानिसहरूले सत्यता बुझ्‍ने र अभ्यास गर्ने प्रयास गर्दा तिनीहरूलाई यी कुराहरूले धेरै समस्या र बाधा दिन्छन्। मानिसहरू सबैलाई लाग्छ कि यदि तिनीहरूमा सद्‌गुणी बानीबेहोरा छ भने, परमेश्‍वरले तिनीहरूलाई अनुमोदन गर्नुहुनेछ, र तिनिहरू उहाँका आशिष्‌हरू र प्रतिज्ञा प्राप्त गर्न लायक हुनेछन्, तर यदि तिनीहरूमा यो दृष्टिकोण र मानसिकता छ भने, के तिनीहरूले परमेश्‍वरको न्याय र सजाय स्विकार्न सक्छन्? त्यस्तो मानसिकताले मानिसहरूको शुद्धीकरण र मुक्तिमा कति ठूलो बाधा दिन्छ? के यी कल्पना र धारणाहरूले मानिसहरूलाई परमेश्‍वरलाई गलत बुझ्‍ने, र उहाँको विरुद्धमा विद्रोह र विरोध गर्ने बनाउँदैन र? के परिणामहरू यस्तै हुँदैनन् र? (यस्तै हुन्छन्।) मैले यस विषयमा सङ्गति गर्नुको महत्त्वबारे केही हदसम्‍म बताइसकेँ, मुख्य विचार यही हो।

यसपछि, हामी नैतिक आचरणसम्‍बन्धी परम्‍परागत चिनियाँ संस्कृतिका विभिन्‍न भनाइहरूलाई एकएक गरी चिरफार र विश्‍लेषण गर्नेछौँ, र यीबारे निष्कर्षमा पुग्नेछौँ। त्यसरी, हरेकसँग यी भनाइबारे आधारभूत पुष्टि र उत्तर हुनेछ, र हरेकसँग कम्तीमा पनि यी भनाइहरूको सही बुझाइ र दृष्टिकोण हुनेछ। हामी पहिलो भनाइबाट सुरु गरौँ: “भेटेको पैसा लिनु हुँदैन।” यो भनाइको सटीक व्याख्या के हुन सक्छ? (यदि कुनै कुरा भेटियो भने, त्यसलाई लिनु र आफ्‍नो भनी दाबी गर्नु हुँदैन। यसले एक प्रकारको असल नैतिकता र सामाजिक प्रचलनलाई जनाउँछ।) के यो हासिल गर्न सजिलो छ? (यो तुलनात्मक रूपमा सजिलै छ।) धेरैजसो मानिसहरूलाई यो हासिल गर्न सजिलो हुन्छ—यदि तैँले केही टिपिस् भने, त्यो जेसुकै होस्, तैँले त्यो आफ्‍नो लागि राख्‍नु हुँदैन किनभने यो अरूकै हुन्छ। तँ यो पाउन लायक हुँदैनस्, र तैँले यो यसको धनीकहाँ फर्काइदिनुपर्छ। तैँले यसको धनी भेट्टाउन सकिनस् भने, प्रशासकहरूको हातमा दिनुपर्छ—जे भए पनि, तैँले यसलाई आफ्‍नो निम्ति लिन मिल्दैन। यो सब कार्यले अरूको सम्पत्तिको लोभ नगर्नू र अरूबाट फाइदा नलिनू भन्‍ने भाव दिन्छ। यो मानिसको नैतिक व्यवहारमा लागू गरिने मापदण्ड हो। मानिसहरूको नैतिक व्यवहारमा यस्तो मापदण्ड लागू गरिनुको उद्देश्‍य के हो? जब मानिसहरूमा यस्तो नैतिक आचरण हुन्छ, तब यसले सामाजिक परिवेशमा असल र सकारात्मक प्रभाव पार्छ। मानिसहरूमा यस्ता विचारहरू घुसाइदिनुको उद्देश्य तिनीहरूलाई अरूको फाइदा लिनबाट रोक्‍नु, अनि तिनीहरूलाई आफ्नो असल नैतिक आचरण कायम राख्‍न लगाउनु हो। यदि हरेक व्यक्तिमा यस्तो असल नैतिक आचरण हुन्छ भने, सामाजिक परिवेशमा सुधार आउनेछ, र यो यस्तो स्तरमा पुग्‍नेछ जसमा मानिसहरू कसैले पनि आफूले बाटोमा भेटेको कुरा लिँदैनन्, र कसैले पनि राती आफ्‍नो घरको ढोका बन्द गर्नु पर्दैन। यस्तो सामाजिक परिवेशमा, सामाजिक सुव्यवस्थामा सुधार आउनेछ, र मानिसहरू अझै शान्तिपूर्ण ढङ्गले जिउन सक्छन्। चोरी र लुटपाट घट्नेछ, लडाइँ र रिसिवीले हुने हत्या घट्नेछ; त्यस्तो समाजमा बस्‍ने मानिसहरूले सुरक्षाको अनुभूति गर्नेछन्, र समग्र हितमा वृद्धि हुनेछ। “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइ सामाजिक र जिउने वातावरणको लागि मानिसहरूको नैतिक आचरणको बारेमा अघि सारिएको एउटा मापदण्ड हो। यो मापदण्डको उद्देश्य सामाजिक परिवेश र मानिसहरूको जिउने वातावरण रक्षा गर्नु हो। के यो हासिल गर्न सजिलो छ? चाहे मानिसहरूले यो हासिल गरून् वा नगरून्, तर जसले मानिसहरूको नैतिक आचरणसम्‍बन्धी यो विचार र मापदण्ड अघि सारिरहेका थिए, तिनीहरूले चाहिँ यसबाट मानिसहरूले तृष्णा गर्ने गरेको आदर्शपूर्ण सामाजिक र जिउने वातावरणलाई वास्तविकतामा परिणत गर्ने उद्देश्य लिएका थिए। “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइ मान्छेको व्यवहार मापदण्डसँग कतै सम्‍बन्धित छैन—यो त मानिसहरूले कुनै कुरा टिप्दा तिनीहरूले देखाउनुपर्ने नैतिक आचरणबारे तिनीहरूबाट गरिने एउटा अपेक्षा मात्रै हो। मानिसको सारसँग यसको कुनै सम्‍बन्ध छैन। मानवजातिले मान्छेको नैतिक आचरणसम्‍बन्धी यो मापदण्ड हजारौँ वर्षदेखि राख्‍दै आएको छ। अवश्य नै, जब मानिसहरूले यो मापदण्ड पालना गर्छन्, तब कुनै देश वा समाजले अपराध घटेको अनुभव गर्न सक्छ, र यो यस्तो अवस्थामा पुग्‍न सक्छ जहाँ मानिसहरूले राती आफ्‍नो घरको ढोका बन्द गर्नु पर्दैन, कसैले पनि बाटोमा भेटेको सामान टिप्दैन, र धेरैजसो मानिसहरूले टिपेको पैसा खल्तीमा हाल्दैनन्। यस्तो बेला, सामाजिक परिवेश, सार्वजनिक सुव्यवस्था, र जिउने वातावरण तुलनात्मक रूपमा निकै स्थिर र सद्भावपूर्ण हुन्छ, तर यस्तो परिवेश र सामाजिक वातावरण अस्थाई रूपमा, वा केही अवधि वा केही समयसम्‍मको लागि मात्रै रहन सक्छ। भन्‍नुको अर्थ, मानिसहरूले यस्तो नैतिक आचरण निश्‍चित सामाजिक वातावरणमा मात्रै हासिल गर्न वा निरन्तर पालना गरिरहन सक्छन्। तिनीहरूको जिउने वातावरणमा परिवर्तन हुनेबित्तिकै, र पुरानो सामाजिक परिवेश तोडिनेबित्तिकै, “टिपेको पैसा खल्तीमा हाल्‍नु हुँदैन” भन्‍नेजस्ता नैतिकताहरू परिवर्तन हुन सक्‍नेछन्, र सँगसगै सामाजिक वातावरण, सामाजिक परिवेश, र सामाजिक प्रचलनहरू रूपान्तरित हुनेछन्। ठूलो रातो अजिङ्गरले शक्ति हातमा लिएपछि कसरी सामाजिक स्थिरता कायम गर्न अनेक किसिमका भनाइहरू प्रवर्धन गर्दै मानिसहरूलाई छलेको छ, त्यो हेर्। ८० को दशकतिर, यस्ता शब्‍दहरू भएको एउटा चर्चित गीतसमेत आएको थियो: “सडकछेउमा, भुइँबाट मैले एक पैसा टिपेँ, अनि प्रहरीलाई दिएँ। प्रहरीले त्यो पैसा लिए, र मलाई शिर निहुँराउँदै स्याबासी दिए। मैले खुसी हुँदै भनेँ, ‘पछि भेटौंला, सर!’” भेटेको एक पैसा दिएको कुरा पनि उल्‍लेख गर्न र गीतमा गाउन लायक हुन्थ्यो—यो यति “आदर्श” सामाजिक नैतिकता र व्यवहार थियो! तर के यो साँच्‍चै त्यस्तै थियो त? मानिसहरूले आफूले भेटेको एक पैसा पुलिसलाई दिन सक्छन्, तर के तिनीहरूले सय युआन वा हजार युआन दिन सक्छन् त? भन्‍न गाह्रो छ। यदि कुनै व्यक्तिले सुन, चाँदी, वा बहुमूल्‍य कुरा, वा त्योभन्दा नि अझै मूल्यवान् वस्तु भेट्टायो भने, उसले आफ्‍नो लोभलाई नियन्त्रण गर्न सक्दैन, ऊभित्रको राक्षस निस्कन्छ, र ऊ मानिसहरूलाई चोट पुर्‍याउन र हानि गर्न, अरूलाई षड्यन्त्रमा र पासोमा पार्न सक्‍ने बन्छ—ऊ सक्रिय रूपमा कसैको पैसा लुट्ने, र कसैलाई मार्न सक्‍नेसमेत बन्छ। त्यो बेला, मान्छेको उत्कृष्ट परम्‍परागत संस्कृति र परम्‍परागत नैतिकताको के कुरा के बाँकी रहन्छ र? त्यसपछि “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने नैतिक मापदण्ड कहाँ रहन्छ? यसले हामीलाई के देखाउँछ? चाहे मानिसहरूमा यो आत्मा र नैतिक आचरण होस् वा नहोस्, तर यो मापदण्ड र भनाइ मानिसहरूले व्यवहारमा उतार्न र हासिल गर्न सकूँ भनेर कल्‍पने, चाहने, र इच्छा गर्ने कुरा मात्रै हो। निश्‍चित सामाजिक प्रसङ्गहरूमा, र उचित वातावरणहरूमा, निश्‍चित विवेक र समझ भएका मानिसहरूले टिपेको पैसा खल्तीमा नहाल्‍नू भन्‍ने भनाइ अभ्यास गर्न सक्छन्, तर यो क्षणिक असल व्यवहार मात्रै हो, यो तिनीहरूको व्यवहारको मापदण्ड वा तिनीहरूको जीवन बन्‍न सक्दैन। ती मानिसहरू जिउने सामाजिक वातावरण र प्रसङ्ग परिवर्तन हुनेबित्तिकै, मान्छेको धारणाअनुसारको यो सिद्धान्त र यो आदर्श नैतिक आचरण मानिसहरूबाट निकै टाढा भइहाल्नेछ। यसले तिनीहरूको इच्‍छा र महत्त्वाकाङ्क्षा पूरा गर्न सक्‍नेछैन, र अवश्य नै, यसले तिनीहरूका दुष्कर्महरू सीमित पार्न त झनै सक्‍नेछैन। यो क्षणिक असल व्यवहार मात्रै हो, र मान्छेको आदर्शअनुसार तुलनात्मक रूपले अलि उच्‍च नैतिक गुणस्तर हो। जब यो वास्तविकता र आफ्नो स्वार्थसँग बाझिन्छ, जब यो मानिसहरूको आदर्श विचारसँग बाझिन्छ, तब यस प्रकारको नैतिकताले मानिसहरूको व्यवहारलाई नियन्त्रण गर्न, वा तिनीहरूको व्यवहार र विचारलाई डोर्‍याउन सक्दैन। अन्त्यमा, मानिसहरूले योविरुद्ध जाने निर्णय गर्नेछन्, तिनीहरूले नैतिकतासम्‍बन्धी यो परम्‍परागत धारणा उल्लङ्घन गर्नेछन्, र आफ्‍नै हितहरू रोज्‍नेछन्। त्यसकारण, जब “टिपेको पैसा खल्तीमा नराख्‍ने” नैतिकताको कुरा आउँछ, मानिसहरूले आफूले टिपेको एकपैसे सिक्‍का पुलिसलाई दिन सक्छन्। तर तिनीहरूले हजारको नोट, दश हजार रुपैयाँको बिटो, वा सुनको सिक्‍का भेटे भने, के तिनीहरूले अझै पनि पुलिसलाई दिनेछन् त? तिनीहरूले त्यसो गर्न सक्‍नेछैनन्। जब त्यो पैसा लिँदा हुने फाइदा मान्छेको नैतिकताले हासिल गर्ने दायराभन्दा बढी हुन्छ, तब तिनीहरूले त्यो पैसा पुलिसलाई दिन सक्दैनन्। तिनीहरूले “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने नैतिकतालाई वास्तविकतामा उतार्न सक्दैनन्। त्यसकारण के “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइले व्यक्तिको मानवताको सार प्रतिनिधित्व गर्छ त? यसले तिनीहरूको मानवताको सार बिलकुलै प्रतिनिधित्व गर्न सक्दैन। मान्छेको नैतिक आचरणसम्‍बन्धी यो मापदण्डलाई कुनै व्यक्तिमा मानवता छ कि छैन भनेर मूल्याङ्कन गर्ने आधारको रूपमा प्रयोग गर्न सकिँदैन, र यसले मान्छेको व्यवहार मापदण्डको रूपमा काम गर्न सक्दैन भन्‍ने कुरा एकदमै स्पष्ट छ।

के व्यक्तिले आफूले टिपेको पैसा खल्तीमा हाल्छ कि हाल्दैन भनेर हेर्नु, तिनीहरूको नैतिकता र चरित्र मूल्याङ्कन गर्ने सही तरिका हुन सक्छ? (हुँदैन।) किन हुँदैन? (मानिसहरूले त्यो मापदण्ड साँचो रूपमा पालना गर्न सक्दैनन्। यदि तिनीहरूले थोरै पैसा वा थोरै मूल्य भएको वस्तु भेट्टाए भने, तिनीहरूले त्यो फर्काउन सक्छन्, तर यदि त्यो कुनै बहुमूल्य कुरा हो भने, तिनीहरूले त्यसो गर्ने सम्‍भावना निकै कम हुन्छ। यदि त्यो अत्यन्तै धेरै बहुमूल्‍य कुरा हो भने, तिनीहरूले त्यो हस्तान्तरण गर्ने सम्‍भावना अझै कम हुन्छ—तिनीहरूले हरहालतमा त्यो पकडमा राखिरहनसमेत सक्छन्।) तिमीहरूको मतलब, “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइले मानिसहरूको मानवता मूल्याङ्कन गर्ने मापदण्डको रूपमा काम गर्न सक्दैन, किनभने मानिसहरूले यो कुरा हासिल गर्न सक्दैनन्। तर यदि मानिसहरूले यो मापदण्ड पालना गर्न सक्छन् भने, के यसलाई तिनीहरूको मानवता मूल्याङ्कन गर्ने मापदण्डको रूपमा लिन सकिन्छ? (अहँ, सकिँदैन।) मानिसहरूले यसलाई पालना गर्न सक्दा पनि, किन यसलाई मानिसहरूको मानवता मूल्याङ्कन गर्ने मापदण्डको रूपमा लिन सकिँदैन? (कसैले “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइलाई लागू गर्न सक्‍नु व नसक्‍नुले उसको मानवताको गुणस्तर प्रतिबिम्‍बित गर्दैन। तिनीहरूको मानवता कति असल वा खराब छ भन्‍ने कुरासँग यसको कुनै सम्‍बन्ध हुँदैन, र यो मानिसहरूको मानवता मूल्याङ्कन गर्ने मापदण्ड होइन।) यो यस समस्यालाई बुझ्‍ने एउटा तरिका हो। व्यक्तिले आफूले टिपेको पैसा खल्तीमा नहाल्‍नु र उसको मानवताबीचमा थोरै सम्‍बन्ध हुन्छ। त्यसकारण, यदि तिमीहरूले टिपेको पैसा खल्तीमा नलगाउने कुनै व्यक्ति भेट्यौ भने, तिनीहरूलाई कसरी हेर्छौ? के तिमीहरू तिनीहरूलाई मानवता भएको, इमानदार, र परमेश्‍वरमा समर्पित हुने व्यक्तिको रूपमा लिन्छौ? के तिमीहरू टिपेको पैसा खल्तीमा नहाल्‍नुलाई मानवता छ भन्‍ने मापदण्डको रूपमा वर्गीकरण गर्न सक्छौ? हामीले यस विषयमा सङ्गति गर्नुपर्छ। यसबारेमा कसले बोल्‍नेछ? (टिपेको पैसा खल्तीमा नहाल्‍ने क्षमता व्यक्तिको मानवताको सार परिभाषित गर्ने कार्यसँग सम्‍बन्धित हुँदैन। तिनीहरूको सारको मूल्याङ्कन त सत्यताअनुसार हुन्छ।) अरू के छ? (कतिपय मानिसहरूले धेरै रकम भए पनि टिपेको पैसा खल्तीमा हाल्दैनन्, वा तिनीहरूले अरू धेरै सुकर्म गर्छन्, तर तिनीहरूका आफ्‍नै लक्ष्य र अभिप्रायहरू हुन्छन्। तिनीहरू आफ्‍नो असल कार्यको लागि इनाम पाउन र राम्रो प्रतिष्ठा पाउन चाहन्छन्, त्यसकारण तिनीहरूको बाहिरी असल व्यवहारले तिनीहरूको मानवताको गुणस्तर निर्धारित गर्न सक्दैन।) अरू केही छ? (मानौँ कुनै व्यक्तिले टिपेको पैसा खल्तीमा हाल्दैन होला, तर उसले सत्यतालाई प्रतिरोधको मनोवृत्ति, सत्यताप्रति दिक्‍क मान्‍ने मनोवृत्तिले लिन्छ। यदि हामीले तिनीहरूलाई परमेश्‍वरका वचनहरूअनुसार मूल्याङ्कन गर्‍यौँ भने, तिनीहरूमा मानवता हुँदैन। त्यसकारण, कुनै व्यक्तिमा मानवता छ कि छैन भनेर मूल्याङ्कन गर्न यसलाई मापदण्डको रूपमा प्रयोग गर्नु गलत हुन्छ।) तिमीहरूमध्ये कतिले कुनै व्यक्तिमा मानवता छ कि छैन भनेर मूल्याङ्कन गर्न “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइ प्रयोग गर्नु गलत छ भनेर महसुस गरिसकेका छौ—यसलाई कसैमा मानवता छ कि छैन भनी मूल्याङ्कन गर्ने मापदण्डको रूपमा प्रयोग गर्ने कुरामा तिमीहरू असहमत छौ। यो दृष्टिकोण सही छ। कुनै व्यक्तिले टिपेको पैसा खल्तीमा हाले पनि नहाले पनि, उसको व्यवहार र उसले रोज्‍ने मार्गको सिद्धान्तहरूसँग यसको कुनै सम्‍बन्ध हुँदैन। म किन यसो भन्दै छु? सर्वप्रथम, जब व्यक्तिले टिपेको पैसा खल्तीमा हाल्दैन, तब यसले क्षणिक व्यवहार मात्रै जनाउँछ। तिनीहरूले टिपेको कुरा मूल्यहीन भएर हो कि, वा अरूले तिनीहरूलाई हेरिरहेको भएर, र तिनीहरू अरूको प्रशंसा र आदर कमाउन चाहेकोले त्यसो गरेका हुन्, त्यो भन्‍न गाह्रो छ। तिनीहरूको त्यो कार्य विशुद्ध नै भए पनि, यो एक प्रकारको असल व्यवहार मात्रै हो, र तिनीहरूको खोज र व्यवहारमा त्यसको सम्बन्ध कमै हुन्छ। बढीमा, यो व्यक्तिमा असल व्यवहार र आदर्श चरित्र रहेछ भनेर मात्रै भन्‍न सकिन्छ। यो व्यवहारलाई नकारात्मक भनेर भन्‍न नसकिने भए पनि, यसलाई सकारात्मक कुराको रूपमा पनि वर्गीकरण गर्न सकिँदैन, र कसैले टिपेको पैसा खल्तीमा हालेन भन्दैमा उसलाई सकारात्मक भनेर पनि परिभाषित गर्न मिल्दैन। किनभने सत्यतासँग यसको कुनै सम्‍बन्ध हुँदैन, र मान्छेको लागि परमेश्‍वरले तोक्‍नुभएका कुराहरूप्रति यसको कुनै सम्‍बन्ध हुँदैन। कतिपय मानिसहरू यसो भन्छन्: “यो कसरी सकारात्मक कुरा हुन सक्दैन? त्यस्तो आदर्श व्यवहारलाई कसरी सकारात्मक कुराको रूपमा लिन सकिँदैन? यदि कुनै व्यक्ति अनैतिक छ र उसमा मानवताको कमी छ भने, के उसले टिपेको पैसा खल्तीमा नहाली बस्‍न सक्छ र?” यो कुरालाई हेर्ने यो सही तरिका हो भन्‍ने छैन। दियाबलसले केही असल कार्यहरू गर्न सक्छ—अनि के तँ त्यसलाई दियाबलस होइन भनेर भन्छस्? कतिपय पैशाचिक राजाहरूले नाम कमाउन र इतिहासमा आफ्‍नो स्थान दह्रिलो राख्‍न एकदुई वटा असल कार्यहरू गर्छन्—त्यसो भए, के तँ तिनीहरूलाई असल मानिसहरू भन्छस्? कसैले गरेको असल वा खराब कुराको आधारमा मात्रै उसमा मानवता छ कि छैन, वा उसको चरित्र राम्रो छ कि खराब छ भनेर निर्धारित गर्न सकिँदैन। मूल्याङ्कन सही हुनको लागि, तैँले यो मूल्याङ्कन उसको समग्र आचरणमा, र तिनीहरूसँग सही विचार र दृष्टिकोणहरू छन् कि छैनन् भन्‍ने कुरामा आधारित गर्नुपर्छ। यदि कसैले आफूले भेटेको अत्यन्तै बहुमूल्य सामान उसको धनीकहाँ फर्काउन सक्छ भने, यसले ऊ लोभी छैन, र उसले अरूको सम्पत्तिको लोभ गर्दैन भन्‍ने मात्रै देखाउँछ। उसमा असल नैतिक आचरणको यो पक्ष भए पनि, के यो कुरा उसको व्यवहार र सकारात्मक कुराहरूप्रतिको उसको मनोवृत्तिसँग सम्बन्धित हुन्छ? (हुँदैन।) कतिपय मानिसहरूले यस कुरामा सहमत नजनाउन सक्छन्, र तिनीहरूले यो दाबीलाई अलि व्यक्तिपरक र त्रुटिपूर्ण छ भनेर भन्‍न सक्छन्। तैपनि, यसलाई फरक दृष्टिकोणबाट हेर्दा, मानौँ यदि कसैले कुनै उपयोगी कुरा गुमायो भने, के ऊ यसबारेमा निकै चिन्तित हुँदैन र? त्यसकारण, सामान जे भए पनि त्यो सामान भेट्ने व्यक्तिको हुँदैन, त्यसकारण उसले त्यो राख्‍नु हुँदैन। चाहे त्यो भौतिक वस्तु वा पैसा होस्, वा यो बहुमूल्य होस् वा मूल्यहीन होस्, त्यो उसको हुँदैन—त्यसकारण के त्यो वस्तु उसको धनीलाई फिर्ता दिनु उसको कर्तव्य हुँदैन र? मानिसहरूले गर्नुपर्ने यही होइन र? यो कुरा प्रवर्धन गर्नुको महत्त्व के छ? के यो सानो कुरालाई ठूलो पार्नु होइन र? के टिपेको पैसा खल्तीमा नहाल्‍नुलाई आदर्श नैतिक गुणको रूपमा लिनु र यसलाई उचाल्दै उच्‍च आत्मिक क्षेत्रसम्‍म पुर्‍याउनु अनुचित होइन र? के यो असल व्यवहार असल मानिसहरूमाझ उल्‍लेख गर्नसमेत लायक छ र? योभन्दा अझै उत्कृष्ट र उच्‍च व्यवहारहरू कैयौँ छन्, त्यसकारण टिपेको पैसा खल्तीमा नहाल्‍नु त उल्‍लेख गर्नसमेत लायक छैन। तैपनि, यदि तैँले भिखारी र चोरहरूमाझ यो असल व्यवहारबारे उत्साहसाथ प्रचारप्रसार र प्रवर्धन गरिस् भने, यो उचित हुनेछ, र यो केही काम लाग्‍नेछ। यदि कुनै देशले “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइलाई जोडतोडसाथ प्रवर्धन गर्छ भने, यसले त्यहाँका मानिसहरू पहिले नै अत्यन्तै दुष्ट छन्, त्यो देश लुटेरा र चोरहरूले भरिएको छ, र त्यो देशले तिनीहरूविरुद्ध सुरक्षा व्यवस्था गर्न नसकिरहेको अवस्था छ भन्‍ने देखाउँछ। त्यसकारण, तिनीहरूको एउटै मात्र उपाय भनेको त्यो समस्या समाधान गर्न यस्तो व्यवहार प्रवर्धन र प्रचार गर्नु हो। वास्तवमा भन्‍ने हो भने, यो व्यवहार सदैव मानिसहरूको कर्तव्यको भागको रूपमा रहँदै आएको कुरा हो। उदाहरणको लागि, यदि कसैले बाटोमा पचास युआन भेट्छ र सहजै त्यसको धनीलाई फर्काउँछ भने, के यो उल्‍लेख गर्नसमेत लायक नहुने अति महत्त्वहीन कुरा हुँदैन र? के यो कुराको साँच्‍चै प्रशंसा गरिरहनुपर्छ त? के त्यो व्यक्तिले पैसा हराउने व्यक्तिलाई पैसा फर्कायो भन्दैमा, सानो कुरालाई यति ठूलो बनाएर, त्यस व्यक्तिको प्रशंसा गर्नु, र उसको आदर्शपूर्ण र सम्‍मानजनक नैतिक आचरणको निम्ति उसलाई सराहना नै गर्नु आवश्यक हुन्छ र? के हराएको पैसा भेट्टाउँदा त्यो उसको धनीलाई फिर्ता दिनु सामान्य र प्राकृतिक कुरा होइन र? के यो सामान्य समझ भएको व्यक्तिले गर्नुपर्ने कुरा होइन र? सामाजिक नैतिकताहरू नबुझ्‍ने सानो बच्‍चाले पनि यसो गर्न सक्छ, त्यसकारण के यस्तो कुरालाई पनि यति ठूलो बनाइरहनु आवश्यक हुन्छ र? के यो व्यवहार उचालेर मान्छेको नैतिकताको स्तरमा पुर्‍याउन लायक छ र? मेरो विचारमा, यसलाई उचालेर यो स्तरमा पुर्‍याउनु हुँदैन, र यो प्रशंसालायक छैन। यो क्षणिक असल व्यवहार मात्रै हो र आधारभूत तहमै साँच्‍चै असल व्यक्ति हुनुसँग यसको कुनै सम्‍बन्ध छैन। टिपेको पैसा खल्तीमा नहाल्‍नु भन्‍ने यो कुरा अत्यन्तै दिग्दारलाग्दो विषय हो। यो कुनै पनि सामान्य व्यक्ति, र मानव स्वरूप भएको वा मानव भाषा बोल्‍ने जोकोहीले गर्न सक्‍नुपर्ने कुरा हो। यो कुरा मानिसहरूले मेहनत गरेमा गर्न सक्‍ने कुरा हो, त्यसकारण तिनीहरूलाई यसो गर्न सिकाउनको लागि शिक्षक वा विचारक चाहिँदैन। यो त तीन वर्षको बच्‍चाले पनि गर्न सक्छ, तैपनि विचारक र शिक्षकहरूले यसलाई मान्छेको नैतिक आचरणको महत्त्वपूर्ण मापदण्डको रूपमा लिएका छन्, र त्यसो गरेर तिनीहरूले तिललाई पहाड बनाएका छन्। “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइ मान्छेको नैतिक आचरण मूल्याङ्कन गर्ने अभिव्यक्ति भए पनि, यो आधारभूत रूपमा कुनै व्यक्तिमा मानवता वा आदर्श नैतिकता छ कि छैन भनेर मापन गर्ने स्तरमा पुग्दैन। त्यसकारण, कुनै व्यक्तिको मानवतालाई मापन गर्नको लागि “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइ प्रयोग गर्नु त्रुटिपूर्ण र अनुचित हुन्छ।

“भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइ नैतिक आचरणबारे परम्‍परागत संस्कृतिले तोकेको सबैभन्दा सतही मापदण्ड हो। सबै मानव समाजले यस्तो विचार प्रवर्धन गरेका र सिकाएका भए पनि, मानिसहरूमा भ्रष्ट स्वभाव हुने हुनाले, र मानवजातिका दुष्ट प्रचलनहरू व्यापक भएका हुनाले, मानिसहरूले “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइ अभ्यास गरे पनि, वा तिनीहरूमा केही समयसम्‍म यस्तो असल नैतिक आचरण भए पनि, यसले गर्दा मानिसहरूको भ्रष्ट स्वभावले तिनीहरूको सोच र व्यवहारलाई अटुट रूपमा नियन्त्रण गरिरहेको हुन्छ, र साथसाथै तिनीहरूको व्यवहार र खोजलाई पनि काबु र नियन्त्रणमा पारिरहेको हुन्छ भन्‍ने तथ्य परिवर्तन हुँदैन। असल नैतिक आचरणको क्षणिक प्रकटीकरणले व्यक्तिको खोजमा कुनै प्रभाव पार्दैन, र त्यसले व्यक्तिबाट हुने दुष्ट प्रचलनहरूको तारिफ, प्रशंसा, र अनुसरण अवश्य नै परिवर्तन गर्न सक्दैन। के कुरा यही होइन र? (हो।) त्यसकारण, विगतमा मानिसहरूले गाउने “सडकछेउमा, भुइँबाट मैले एक पैसा टिपेँ” भन्‍ने गीत अहिले नर्सरी बाल गीतभन्दा अरू केही होइन। यो एउटा याद बनेको छ। टिपेको पैसा खल्तीमा नहाल्‍नु भन्‍ने यो आधारभूत असल व्यवहारसमेत मानिसहरूले पालना गर्न सक्दैनन्। मानिसहरूले असल नैतिक आचरणको प्रवर्धन गरेर मानवजातिको खोज र भ्रष्ट स्वभावहरू परिवर्तन गर्न चाहन्छन्, र मानवजातिको पतन र समाजको दैनिक अधोगति रोक्‍न चाहन्छन्, तर तिनीहरू अन्ततः यी उद्देश्यहरू हासिल गर्न असफल भएका छन्। “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने नैतिकता मान्छेको आदर्श संसारमा मात्रै अस्तित्वमा हुन सक्छ। मानिसहरूले यो नैतिकतालाई एक किसिमको आदर्श, अनि एक उत्तम संसारप्रतिको आकाङ्क्षाको रूपमा लिन्छन्। यो नैतिकता मानवको आत्मिक संसारभित्र अस्तित्वमा रहन्छ। यो मानिसले भविष्यको संसारप्रति गर्ने एक प्रकारको आशा हो, तर मानव जीवनको वास्तविकता र मानिसहरूको वास्तविक मानवतासँग यो मिल्दैन। यो मान्छेको व्यवहारका सिद्धान्तहरू र तिनीहरू हिँड्ने मार्ग, साथै तिनीहरूले पछ्याउने कुरा, र तिनीहरूमा हुनुपर्ने र तिनीहरूले प्राप्त गर्नुपर्ने कुरासँग मिल्दैन। यो सामान्य मानवताको प्रकटीकरण र प्रस्फुटन, साथै अन्तर्वैयक्तिक सम्‍बन्ध र मामिला व्यवस्थापनको सिद्धान्तहरूअनुरूप छैन। त्यसैले, मानवजातिको नैतिक आचरण मूल्याङ्कन गर्ने यो मापदण्ड प्राचीन समयदेखि आजको दिनसम्‍म अमान्य नै रहिआएको छ। मान्छेले प्रवर्धन गर्ने “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने यो विचार र दृष्टिकोण एकदमै अर्थहीन छ, र धेरैजसो मानिसहरूले यसलाई बेवास्ता गर्छन्, किनभने यसले तिनीहरूको व्यवहार वा खोजको दिशा परिवर्तन गर्न सक्दैन, र यसले मानिसहरूको नैतिकहीनता, स्वार्थ, आत्मरुचि, वा दुष्टताप्रति हत्तारिने तिनीहरूको बढ्दो प्रवृत्तिलाई त झन् पटक्‍कै परिवर्तन गर्न सक्दैन। “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने यो अत्यन्तै सतही मापदण्ड अचम्‍मको र व्यङ्ग्यात्मक हस्यौली बनेको छ। अहिले, बालबालिकाहरूले पनि “सडकछेउमा, भुइँबाट मैले एक पैसा टिपेँ” भन्‍ने गीत गाउन चाहँदैनन्—यो अलिकति पनि अर्थपूर्ण छैन। भ्रष्ट राजनीतिज्ञहरूले भरिएको संसारमा, यो गीत अत्यन्तै व्यंग्यात्मक बनेको छ। मानिसहरूलाई वास्तविकता के हो भन्‍ने थाहै छ, र कुनै व्यक्तिले भेटेको एकपैसे सिक्‍का पुलिसलाई बुझाउन सक्छ, तर उसले लाख युआन वा करोड युआन भेट्टायो भने, त्यो सीधै उसको खल्तीमा जान्छ। यो तथ्यबाट, हामी के देख्‍न सक्छौँ भने, मानवजातिमाझ नैतिक आचरणसम्‍बन्धी यो मापदण्ड प्रवर्धन गर्ने मानिसहरूको प्रयास असफल भएको छ। यसको अर्थ मानिसहरू आधारभूत असल व्यवहार पनि अभ्यास गर्न नसक्‍ने भएका छन्। आधारभूत असल व्यवहार पनि अभ्यास गर्न नसक्‍नु भनेको के हो? यसको अर्थ मानिसहरूले आफूले भेटेको कुरा अरू कसैको हो भने त्यो लिनु हुँदैन भन्‍नेजस्तो पालन गर्नैपर्ने आधारभूत कुरा पनि अभ्यास गर्न नसक्‍नु हो। यसको साथै, जब मानिसहरूले कुनै गलत काम गर्छन्, तब तिनीहरूले यसबारेमा इमानदार शब्‍दहरू बोल्दैनन्, अनि तिनीहरू आफ्‍नो गल्ती स्विकार्नुभन्दा बरु मर्न तयार हुन्छन्। तिनीहरूले झूट बोल्‍नु हुँदैन भन्‍ने आधारभूत सिद्धान्तसमेत पालना गर्न सक्दैनन्, त्यसकारण तिनीहरू नैतिकताको कुरा गर्न अवश्य नै लायक हुँदैनन्। तिनीहरूले विवेक र समझसमेत धारण गर्न चाहँदैनन्, अनि तिनीहरूले कसरी नैतिकताको कुरा गर्न सक्छन्? अधिकारीहरू र अख्‍तियारमा रहेकाहरूले अरू मानिसहरूबाट फाइदा लुट्न र थुत्‍न, र आफ्नो हक नै नभएको अर्काको चीज हत्याउन दिमाग खियाउँछन्। कानुनले समेत तिनीहरूलाई रोक्‍न सक्दैन—किन यस्तो हुन्छ? मान्छे कसरी यस्तो अवस्थामा आइपुग्यो? यो सबै मानिसहरूको भ्रष्ट स्वभाव, र तिनीहरूको शैतानी प्रकृतिले तिनीहरूमाथि गरेको नियन्त्रण र अधीनताले गर्दा हो, जसले हरकिसिमका छली र हानिकारक व्यवहारहरू पैदा गर्छ। यी ढोँगीहरूले “मानिसहरूको सेवा गर्ने” नाममा अनेक किसिमका घृणित र लाजमर्दा कुराहरू गर्छन्। के तिनीहरूले लाज पचाएका छैनन् र? आजभोलि, ढोँगी मानिसहरू धेरै छन्। दुष्ट मानिसहरूको बिगबिगी भएको र असल मानिसहरूको दमन हुने संसारमा, “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने सिद्धान्तले मानिसहरूको भ्रष्ट स्वभाव काबुमा राख्‍न सक्दै सक्दैन, र यसले तिनीहरूको प्रकृति र सार, वा तिनीहरूले हिँड्ने मार्ग रूपान्तरित गर्न सक्दैन।

“भेटेको पैसा लिनु हुँदैन” भन्‍ने विषयको यो सङ्गतिमा मैले भनेका कुराहरू के तिमीहरूले बुझ्यौ? भ्रष्ट मानिसहरूको लागि यो भनाइले के अर्थ दिन्छ? यो नैतिक उपदेशलाई कसरी बुझ्‍ने? (मानिसहरूको व्यवहार वा तिनीहरूले हिँड्ने मार्गसँग “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइको कुनै सम्‍बन्ध छैन। मान्छेले हिँड्ने मार्ग यसले परिवर्तन गर्न सक्दैन।) ठीक भन्यौ, मानिसहरूले “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइको आधारमा कसैको मानवताको मूल्याङ्कन गर्नु उचित हुँदैन। यो भनाइ कुनै व्यक्तिको मानवता मापन गर्नको लागि प्रयोग गर्न सकिँदैन, र कसैको नैतिकता मापन गर्नको लागि यसको प्रयोग गर्नु गलत पनि हो। यो मानिसको क्षणिक व्यवहारबाहेक अरू केही पनि होइन। व्यक्तिको सार मापन गर्नको लागि यसको प्रयोग गर्न सकिँदैन। “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने नैतिक आचरण प्रस्तावित गर्ने मानिसहरू—यी तथाकथित विचारक र शिक्षकहरू—आदर्शवादीहरू हुन्। तिनीहरूले मान्छेको मानवता वा सार बुझ्दैनन्, र मान्छे कति हदसम्म पतित र भ्रष्ट भएको छ त्यो तिनीहरूलाई थाहा छैन। त्यसकारण, तिनीहरूले अघि सार्ने नैतिक आचरणसम्‍बन्धी यो भनाइ अत्यन्तै खोक्रो र अव्यावहारिक छ, र यो मान्छेको वास्तविक परिस्‍थितिसँग मिल्दैन। मान्छेको सार वा मानिसहरूले प्रकट गर्ने फरकफरक भ्रष्ट स्वभाव, वा यस्तो भ्रष्ट स्वभावको नियन्त्रणमा परेपछि मानिसहरूमा पैदा हुने धारणा, दृष्टिकोण र व्यवहारहरूसँग समेत नैतिक आचरणको यो भनाइको कहीँकतै कुनै सम्‍बन्ध हुँदैन। यो एउटा कुरा हो। अर्को कुरा के हो भने, भेटेको पैसा खल्तीमा नहाल्‍नु भनेको सामान्य व्यक्तिले गर्नुपर्ने कुरा मात्रै हो। उदाहरणको लागि, तेरा आमाबुबाले तँलाई जन्‍माए र हुर्काए, तर तँ अनजान र अपरिपक्‍व भएको बेला, तैँले आफ्‍ना आमाबुबालाई खान-लाउन मात्रै माग्थिस्। तैपनि, तँ परिपक्‍व भएर कुरा बुझ्‍न थालेपछि, तँलाई प्राकृतिक रूपमै आफ्‍ना आमाबुबालाई धेरै माया गर्नुपर्छ, तिनीहरूलाई चिन्तित पार्ने वा रिस उठाउने गर्नु हुँदैन, तिनीहरूको कामको बोझ वा कष्ट बढाउनु हुँदैन, र आफूले गर्न सक्‍ने सबै कुराहरू आफै गर्नुपर्छ भन्‍ने थाहा भयो। तँलाई यी कुराहरू प्राकृतिक रूपमै थाहा भयो र कसैले तँलाई सिकाउनु परेन। तँ एक व्यक्ति होस्, तँमा विवेक र समझ छ, त्यसकारण तैँले यी कुराहरू गर्न सक्छस् र गर्नुपर्छ—यीमध्ये कुनै पनि कुराहरू उल्‍लेख गर्नसमेत लायक छैनन्। “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइलाई आदर्श नैतिक आचरणको स्तरमा उठाएर, मानिसहरूले सानो कुरालाई ठूलो बनाइरहेका छन् र हदभन्दा बाहिर गइरहेका छन्; यो व्यवहारलाई यसरी परिभाषित गर्नु हुँदैन, के कुरा यही होइन र? (हो।) यसबाट के सिक्‍न सकिन्छ? आफूले गर्नुपर्ने कुरा गर्नु र सामान्य मानवताको दायराभित्र पर्ने कुरा गर्न सक्‍नु व्यक्तिमा सामान्य मानवता छ भन्‍ने कुराको सूचक हो। यसको अर्थ यदि कुनै व्यक्तिमा सामान्य समझ छ भने, सामान्य मानवता भएका मानिसहरूले गर्नुपर्छ भनी सोच्‍ने र महसुस गर्ने कुराहरू उसले गर्न सक्छ—के यो अत्यन्तै सामान्य कुरा होइन र? यदि तैँले सामान्य मानवता भएको जोकोही व्यक्तिले गर्न सक्‍ने कुरा गर्न सक्छस् भने, के यसलाई असल नैतिक आचरण भनेर साँच्‍चै भन्‍न सकिन्छ? के यसो गर्न प्रोत्साहन दिइरहनु आवश्यक हुन्छ? (अहँ, हुँदैन।) के यो साँच्‍चै आदर्श मानवतामा गनिन्छ? के यसलाई आफूमा मानवता हुनु भनेर भन्‍न सकिन्छ? (अहँ, सकिँदैन।) यस्तो व्यवहार देखाउँदैमा त्यसले व्यक्तिलाई आफूमा मानवता भएको स्तरमा उठाउँदैन। यदि तैँले कुनै व्यक्तिमा मानवता छ भनी भन्छस् भने, यसको अर्थ यो हो कि त्यो व्यक्तिले जुन दृष्टिकोण र अडानसाथ समस्याहरूलाई हेर्छ त्यो तुलनात्मक रूपले निकै सकारात्मक र सक्रिय हुन्छ, र समस्याहरू सामना गर्ने उसको तौरतरिका र शैलीहरू पनि त्यस्तै नै हुन्छन्। सकारात्मकता र सक्रियताको सूचक के हो? व्यक्तिमा विवेक र लाजको बोध हुनु। सकारात्मकता र सक्रियताको अर्को सूचक धार्मिकताको बोध हुनु हो। सायद यो व्यक्तिमा केही खराब बानी हुन सक्छ जस्तै ढिलो सुत्‍ने र अबेर उठ्ने, खानेकुरामा किचकिच गर्ने, वा मीठो खान खोज्‍ने, तर यी खराब बानीबाहेक, त्यो व्यक्तिमा निश्‍चित असल गुणहरू हुन्छन्। यस्ता व्यक्तिहरूका व्यवहार र कार्यहरूमा सिद्धान्त र सीमाहरू हुन्छन्; तिनीहरूमा लाज र धार्मिकताको बोध हुन्छ; र तिनीहरूमा सकारात्मक गुण धेरै र नकारात्मक गुण थोरै हुन्छ। यदि तिनीहरूले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छन् भने, त्यो अझै राम्रो हुनेछ र यसरी तिनीहरूलाई सत्यता पछ्याउने मार्ग हिँड्न सजिलो हुनेछ। यसको विपरीत, यदि कुनै व्यक्तिले दुष्टतालाई प्रेम गर्छ; ख्याति, फाइदा, र हैसियत खोज्छ; पैसा भनेपछि हुरुक्कै हुन्छ; विलासिताको जीवन जिउन मन पराउँछ; र मस्ती गर्न खोज्दै आफ्‍नो समय बिताउँछ भने, तिनीहरूले मानिसहरू र परिस्थितिहरूलाई हेर्ने दृष्टिकोण, र जीवन र मूल्यमान्यताप्रतिको तिनीहरूको हेराइ नकारात्मक र अँध्यारो हुन्छ, र तिनीहरूमा लाज र धार्मिकताको बोध हुँदैन। यस्तो खालको व्यक्तिमा मानवता हुँदैन, र यस्ताहरूलाई सत्यता स्वीकार गर्न वा परमेश्‍वरको मुक्ति प्राप्त गर्न अवश्य नै सहज हुनेछैन। मानिसहरूलाई मूल्याङ्कन गर्ने यो सरल सिद्धान्त हो। कुनै व्यक्तिको नैतिक आचरणको मूल्याङ्कन उसमा मानवता छ कि छैन भनेर मापन गर्ने मापदण्ड होइन। कुनै व्यक्ति असल हो कि खराब हो भनेर मूल्याङ्कन गर्नको लागि, तिमीहरूले उसलाई उसको मानवताको आधारमा मूल्याङ्कन गर्नुपर्छ, उसको नैतिक आचरणको आधारमा होइन। नैतिक आचरण त सतही हुने गर्छ, र यसलाई व्यक्तिको सामाजिक परिवेश, पृष्ठभूमि, र वातावरणले प्रभाव पारेको हुन्छ। कतिपय पद्धति र प्रकटीकरणहरू निरन्तर परिवर्तन हुन्छन्, त्यसकारण व्यक्तिको नैतिक आचरणको आधारमा मात्रै उसको मानवताको गुणस्तर निर्धारित गर्नु गाह्रो हुन्छ। उदाहरणको लागि, कुनै व्यक्ति सामाजिक नैतिकताहरूलाई निकै आदर गर्ने व्यक्ति हुन सक्छ र उसले जहाँ गए पनि नियमहरू पालन गर्न सक्छ। यस्ता व्यक्तिहरूले आफूले गर्ने हरेक कुरामा संयमता देखाउन सक्छन्, सरकारका नियम-कानुनहरू पालना गर्न सक्छन्, र सार्वजनिक रूपमा होहल्‍ला गर्न वा अरू मानिसहरूको हितमा हस्तक्षेप गर्नबाट टाढा बस्‍न सक्छन्। तिनीहरूले अरूलाई आदर र सहयोग पनि गर्न सक्छन्, र केटाकेटी र वृद्धवृद्धाको हेरचाह गर्न सक्छन्। के यस्ता व्यक्तिहरूमा यति धेरै असल गुणहरू छन् भन्दैमा तिनीहरूले सामान्य मानवतामा जिइरहेका छन् र तिनीहरू असल व्यक्ति हुन्छन् भन्‍ने हुन्छ? (हुँदैन।) कुनै व्यक्तिले “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइलाई राम्ररी पालना गर्न सक्छ, र मानवजातिले प्रवर्धन र वकालत गरेको यो नैतिकतालाई उसले निरन्तर पालना गर्न सक्छ, तर उसको मानवता कस्तो हुन्छ? उसले टिपेको पैसा खल्तीमा हाल्दैन भन्‍ने तथ्यले उसको मानवताबारे केही पनि बोल्दैन—यो नैतिक आचरणलाई उसको मानवता असल छ कि खराब छ भनेर मूल्याङ्कन गर्नको लागि प्रयोग गर्न सकिँदैन। अब यस्ता व्यक्तिहरूको मानवताको मापन कसरी गर्न सकिन्छ? तिमीहरूले तिनीहरूको यो नैतिक आचरणको देखावटी आवरण उतार्दिनुपर्छ र मान्छेले असल ठानेका व्यवहार र नैतिक आचरणलाई, अनि सामान्य मानवता भएको जोकोहीले हासिल गर्न सक्‍ने न्यूनतम कुराहरूलाई हटाइदिनुपर्छ। त्यसपछि, तिनीहरूको सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरणहरूलाई हेर, जस्तै तिनीहरूको व्यवहारका सिद्धान्तहरू, र तिनीहरूले व्यवहार गर्दा नकाट्ने घेराहरू, साथै सत्यता र परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति। तिनीहरूको मानवताको सार, र तिनीहरूको भित्री प्रकृतिलाई हेर्ने एउटै मात्र तरिका यही हो। मानिसहरूलाई यसरी हेर्नु तुलनात्मक रूपमा वस्तुगत र सही हुन्छ। “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने नैतिकतासम्‍बन्धी हाम्रो छलफल यति नै हुनेछ। के तिमीहरू सबैले यो सङ्गति बुझ्यौ? (बुझ्यौँ।) तिमीहरूले मैले भनेको कुरा साँच्‍चै बुझेनौँ कि, यसबारेमा थोरै धर्मसिद्धान्त मात्रै बुझ्यौ होला, तर यसको सारसँग सम्‍बन्धित भागहरू अझै बुझेनौँ कि भनेर मलाई प्रायजसो चिन्ता लागिरहन्छ। त्यसकारण, म त्यस विषयमा थप व्याख्या गर्न बाध्य हुन्छु। तिमीहरूले बुझेका छौ भन्‍ने अनुभूति भयो भने मात्रै मलाई ढुक्‍क लाग्छ। तिमीहरूले बुझ्यौ होला भनेर मैले कसरी भन्‍न सक्छु? जब म तिमीहरूको अनुहारमा खुसी देख्छु, सम्भवतः तिमीहरूले मैले बोल्दै गरेको कुरा बुझेको हुनुपर्छ। यदि मैले त्यस्तो अवस्था हासिल गर्न सकेँ भने, यस विषयमा थप कुरा बोल्‍नु सार्थक नै हुनेछ।

मैले “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने विषयमा मेरो सङ्गति लगभग पूरा गरेको छु। यो नैतिक उपदेश कसरी सत्यतासँग बाझिन्छ वा किन यसलाई उचालेर सत्यताको स्तरमा पुर्‍याउन सकिँदैन, वा मानिसहरूको व्यवहार र नैतिक आचरणबारे परमेश्‍वरले के-कस्ता मापदण्डहरू तोक्‍नुभएको छ भन्‍नेबारेमा मैले तिमीहरूलाई सीधै नभने पनि, के यी कुराहरूबारे मैले बताइसकेको छुइनँ र? (बताइसक्‍नुभएको छ।) के परमेश्‍वरको घरले “भेटेको पैसा लिनु हुँदैन” जस्ता नैतिकताहरूको प्रवर्धन गर्छ? (गर्दैन।) त्यसो भए, परमेश्‍वरको घरले यो भनाइलाई कसरी हेर्छ? तिमीहरूले आफ्‍नो बुझाइ बताउन सक्छौ। (“भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइ सामान्य मानवता भएको जोकोहीले पालना गर्नुपर्ने र लागू गर्नुपर्ने कुरा हो, यसको प्रवर्धन गरिरहनु पर्दैन। यसको साथै, “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने कुरा त मान्छेको नैतिकताको प्रकटीकरण मात्रै हो, यो मानिसहरूको व्यवहारको सिद्धान्त, तिनीहरूको खोजीप्रतिको तिनीहरूको दृष्टिकोण, तिनीहरूले हिँड्ने मार्ग, वा तिनीहरूको मानवताको गुणस्तरसँग यसको कुनै सम्‍बन्ध हुँदैन।) के नैतिक आचरण मानवताको लक्षण हो? (यो मानवताको लक्षण होइन। नैतिक आचरणका कतिपय पक्षहरू सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने कुराहरू मात्रै हुन्।) जब परमेश्‍वरको घरले मानवताबारे र मानिसहरू चिन्‍नेबारे कुरा गर्छ, तब यसले सत्यता पछ्याउने मुख्य परिप्रेक्ष्यमै रहेर यसो गर्छ। आधारभूत रूपमा भन्दा, परमेश्‍वरको घरले व्यक्तिको नैतिक आचरण कस्तो छ भनेर मूल्याङ्कन गर्दैन—कम्तीमा पनि, परमेश्‍वरको घरले व्यक्ति “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइ पालना गर्न सक्षम छ कि छैन भनेर मूल्याङ्कन गर्दैन। परमेश्‍वरको घरले यस्तो जाँच गर्दैन। परमेश्‍वरको घरले त यसको सट्टा व्यक्तिको मानवताको गुणस्तर, उसले सकारात्मक कुराहरू र सत्यतालाई प्रेम गर्छ कि गर्दैन, र सत्यता र परमेश्‍वरप्रति उसको मनोवृत्ति कस्तो छ भन्‍ने कुरा मात्रै जाँच्छ। बाहिरी संसारमा हुँदा कुनै व्यक्तिले टिपेको पैसा खल्तीमा हाल्‍ने गर्दैन होला, तर विश्‍वासी बनेपछि, यदि उसले परमेश्‍वरको घरका हितहरू रक्षा गर्दै गर्दैन भने—यदि उसलाई भेटीको व्यवस्थापन गर्ने काम दिँदा उसले चोर्ने, हिनामिना गर्ने, वा बेच्‍नेसमेत गर्न सक्छ भने—यदि ऊ हरकिसिमका खराब कामहरू गर्न सक्‍ने छ भने, त्यस्तो व्यक्ति को हो? (दुष्ट व्यक्ति हो।) तिनीहरू समस्याहरू आइपर्दा परमेश्‍वरको घरका हितहरू रक्षा गर्न कहिल्यै खडा हुँदैनन्। के यस्ता मानिसहरू छैनन् र? (छन्।) त्यसो भए, के तिनीहरूको मानवताको मूल्याङ्कन गर्न “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइ प्रयोग गर्नु उचित हुन्छ त? त्यस्तो गर्नु उचित हुँदैन। कतिपय मानिसहरू भन्छन्: “तिनीहरू त पहिले असल थिए। तिनीहरूमा आदर्श नैतिक चरित्र थियो र सबैले तिनीहरूको अनुमोदन गर्थे। तर परमेश्‍वरको घरमा आएपछि चाहिँ किन तिनीहरू परिवर्तन भए?” के तिनीहरू साँच्‍चै परिवर्तन भएका हुन् त? वास्तवमा, तिनीहरू परिवर्तन भएका होइनन्। तिनीहरूमा अलिअलि नैतिक आचरण र असल व्यवहार थियो, तर त्यसबाहेक तिनीहरूमा सदैव तिनीहरूको मानवताको यही सार थियो—यो पटक्‍कै परिवर्तन भएको छैन। जहाँ गए पनि, तिनीहरूले सधैँ यस्तै व्यवहार प्रस्तुत गर्थे। यति मात्र हो कि, पहिले मानिसहरूले तिनीहरूको मानवताको मूल्याङ्कन गर्न सत्यता प्रयोग गर्नुको सट्टा नैतिक आचरणको मापदण्ड प्रयोग गर्थे। मानिसहरू तिनीहरूमा केही परिवर्तन आयो भन्‍ने सोच्छन्, तर वास्तवमा, तिनीहरूमा परिवर्तन आएकै छैन। कतिले भन्छन्, “तिनीहरू पहिले त्यस्ता थिएनन्।” तिनीहरू पहिले त्यस्ता थिएनन् किनभने तिनीहरूले यी परिस्थितिहरू सामना गरेका थिएनन् र तिनीहरू पहिले यस्तो वातावरणमा परेका थिएनन्। यसको साथै, मानिसहरूले सत्यता बुझेका थिएनन्, र तिनीहरूको वास्तविकता पनि चिन्‍न सकेका थिएनन्। मानिसहरूले अरूलाई तिनीहरूको मानवताको सारको आधारमा नभई, केवल एउटा असल व्यवहारको आधारमा हेर्नु र मूल्याङ्कन गर्नुको अन्तिम परिणाम के हुन्छ? मानिसहरू अरूको वास्तविकता स्पष्ट रूपमा देख्‍न असक्षम हुने मात्र नभई, तिनीहरू अरूको बाहिरी असल नैतिक आचरणद्वारा अन्धो पारिन र बहकिनसमेत सक्छन्। जब मानिसहरू अरूको वास्तविकता देख्‍न सक्दैनन्, तब तिनीहरूले गलत मानिसहरूलाई भरोसा गर्छन्, बढुवा दिन्छन्, र काममा लगाउँछन्, र तिनीहरू अरूको बहकाउ र धोकामा पर्छन्। कतिपय अगुवा र सेवकहरूले मानिसहरूलाई चुन्‍ने र काम दिने क्रममा प्रायजसो यस्तो गल्ती गरिरहन्छन्। तिनीहरू बाहिरी असल व्यवहार र असल नैतिक आचरण भएका मानिसहरूद्वारा भ्रमित हुन्छन्, र त्यस्ता मानिसहरूलाई महत्त्वपूर्ण काम गर्ने वा महत्त्वपूर्ण वस्तुहरू सम्हालेर राख्‍ने जिम्‍मा दिन्छन्। परिणामस्वरूप, कुनै नराम्रो घटना घट्छ, र परमेश्‍वरको घरमा केही क्षति हुन्छ। किन नराम्रो घटना घटछ? नराम्रो घटना घट्छ किनभने अगुवा र सेवकहरूले ती मानिसहरूको प्रकृति र सार स्पष्टसित देख्‍न सकेका हुँदैनन्। किन तिनीहरूले ती मानिसहरूको प्रकृति र सार स्पष्टसित देख्‍न सकेका हुँदैनन्? किनभने ती अगुवा र सेवकहरूले सत्यता बुझेका हुँदैनन्, र तिनीहरू मानिसहरूलाई मूल्याङ्कन गर्न र चिन्‍न असक्षम हुन्छन्। तिनीहरूले मानिसहरूको प्रकृति र सार स्पष्टसित देख्‍न सक्दैनन्, र तिनीहरूलाई सत्यता र परमेश्‍वरको घरका हितहरूप्रति मानिसहरूको मनोवृत्ति कस्तो हुन्छ भनेर थाहा हुँदैन। यस्तो किन हुन्छ? किनभने ती अगुवा र सेवकहरूले मानिसहरू र परिस्थितिहरूलाई गलत दृष्टिकोणबाट हेर्छन्। तिनीहरू मानिसहरूलाई मानव धारणा र कल्‍पनाहरूको आधारमा मात्रै हेर्छन्, परमेश्‍वरका वचनहरू र सत्यताका सिद्धान्तहरूअनुसार तिनीहरूको सार हेर्दैनन्—यसको सट्टा, तिनीहरू मानिसहरूलाई उनीहरूको नैतिक आचरण र बाहिरी व्यवहार र प्रकटीकरणहरूको आधारमा मात्रै हेर्छन्। मानिसहरूलाई हेर्ने तिनीहरूको दृष्टिकोणमा सिद्धान्तको कमी भएको कारण तिनीहरूले गलत मानिसहरूलाई भरोसा गर्छन्, गलत मानिसहरूलाई काम दिन्छन्, र परिणामस्वरूप, ती मानिसहरूले तिनीहरूलाई अन्धो पार्छन्, धोका दिन्छन्, र प्रयोग गर्छन्, र अन्तिममा परमेश्‍वरको घरका हितहरूमा क्षति हुन्छ। यी कुराहरू मानिसहरूलाई चिन्‍न वा तिनीहरूको वास्तविकता स्पष्टसित देख्‍न नसक्‍नुका परिणामहरू हुन्। त्यसकारण, जब कसैले सत्यता पछ्याउन चाहन्छ, तब उसले सिक्‍नुपर्ने पहिलो पाठ भनेको मानिसहरूलाई कसरी चिन्‍ने र कुन दृष्टिकोणले हेर्ने भन्‍ने हो—यो पाठ सिक्‍न लामो समय लाग्छ, र मानिसहरूले सिक्‍नुपर्ने सबैभन्दा आधारभूत पाठहरूमध्ये यो पनि एक हो। यदि तँ कुनै व्यक्तिलाई स्पष्ट रूपमा बुझ्‍न र पहिचान गर्न सिक्‍न चाहन्छस् भने, तैँले सबभन्दा पहिले परमेश्‍वरले मानिसहरूलाई मूल्याङ्कन गर्न के-कस्ता मापदण्डहरू प्रयोग गर्नुहुन्छ, अरूलाई हेर्ने र मूल्याङ्कन गर्ने मानिसहरूको तौरतरिका के-कस्ता विकृत विचार र दृष्टिकोणहरूको नियन्त्रण र काबुमा रहेको हुन्छ, र ती कुराहरू परमेश्‍वरले मानिसहरूलाई मूल्याङ्कन गर्न प्रयोग गर्नुहुने मापदण्डहरूसँग बाझिन्छन् कि बाझिँदैनन्, र ती कसरी बाझिन्छन् भनेर बुझ्‍नुपर्छ। के मानिसहरूलाई मूल्याङ्कन गर्ने तेरा विधि र मापदण्डहरू परमेश्‍वरका मापदण्डहरूमा आधारित छन्? के ती परमेश्‍वरका वचनहरूमा आधारित छन्? के ती कुराहरूको आधार सत्यतामा छ? यदि छैन भने, र यदि तँ अरूलाई मूल्याङ्कन गर्न पूर्ण रूपमा आफ्‍नै अनुभव र कल्‍पनामा भर पर्छस्, वा तँ समाजमा प्रवर्धन गरिने सामाजिक नैतिक आचरणहरू वा आफ्नै आँखाले देखेका कुराहरूको आधारमा मूल्याङ्कन गर्ने हदसम्‍मसमेत जान्छस् भने, तैँले चिन्‍न प्रयास गरिरहेको व्यक्ति तेरो लागि अस्पष्ट नै रहनेछ। तैँले तिनीहरूको वास्तविकता स्पष्टसित देख्‍न सक्‍नेछैनस्। यदि तैँले तिनीहरूलाई भरोसा गरेर कर्तव्य पूरा गर्न दिइस् भने, तैँले निश्‍चित जोखिम मोलिरहेको हुन्छस्, र अन्तिममा, यसले परमेश्‍वरको भेटी, मण्डलीको काम, र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा क्षति गर्ने सम्‍भावना हुन्छ। यदि तँ सत्यता पछ्याउन चाहन्छस् भने तैँले सिक्‍नुपर्ने पहिलो पाठ भनेकै मानिसहरूलाई चिन्‍नु हो। अवश्य नै, यो मानिसहरूले प्राप्त गर्नैपर्ने सत्यताका सबैभन्दा आधारभूत पक्षहरूमध्येको एक पनि हो। मानिसहरूलाई चिन्‍न सिक्‍ने कुरालाई आजको सङ्गतिको विषयबाट अलग गर्न सकिँदैन। तैँले मान्छेका असल नैतिक आचरण र गुणहरू, अनि सामान्य मानवता भएको व्यक्तिमा हुनुपर्ने कुराहरूबीचको भिन्‍नता छुट्याउन सक्‍नुपर्छ। यी दुई कुराहरूबीचमा भिन्‍नता छुट्याउन सक्‍नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। त्यसपछि मात्रै तैँले व्यक्तिको सार पहिचान गर्न र सही तरिकाले बुझ्‍न, र अन्त्यमा कोसँग मानवता छ र कोसँग छैन भनेर निर्धारित गर्न सक्‍नेछस्। यी कुराहरू चिन्‍न सक्‍ने हुनको लागि व्यक्ति पहिले के-कुराले सुसज्‍जित हुनुपर्छ? व्यक्तिले परमेश्‍वरका वचनहरू, साथै सत्यताको यो पक्षलाई बुझ्‍नुपर्छ, र तिनीहरू सत्यतालाई आफ्‍नो मापदण्ड बनाएर परमेश्‍वरका वचनहरूअनुसार मानिसहरूलाई हेर्न सक्‍ने अवस्थामा पुग्‍नुपर्छ। के सत्यता पछ्याउने क्रममा व्यक्तिले अभ्यास गर्नुपर्ने र धारण गर्नुपर्ने सत्यताको सिद्धान्त यही होइन र? (हो।) त्यसकारण, यी विषयहरूमा हामीले सङ्गति गर्नु अनिवार्य छ।

मैले भर्खरै “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने पहिलो भनाइमा सङ्गति गरेँ, जुन स्पष्ट रूपमा नै एक प्रकारको मानव नैतिक आचरण हो। यो मानिसहरूलाई असल प्रभाव छोड्ने एक प्रकारको नैतिक आचरण र क्षणिक व्यवहार हो, तर दुःखको कुरा, यसलाई कुनै व्यक्तिमा मानवता छ कि छैन भनेर मूल्याङ्कन गर्ने मापदण्डको रूपमा प्रयोग गर्न सकिँदैन। “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ” भन्‍ने दोस्रो भनाइ पनि उस्तै छ। अभिव्यक्तिका शब्‍दहरूलाई हेर्दा, यो पनि मानिसहरूले मन पर्ने र असल व्यवहार ठान्‍ने कुरा नै हो भन्‍ने स्पष्ट छ। जसले यो असल व्यवहार देखाउँछन्, तिनीहरूलाई असल नैतिक आचरण र आदर्श चरित्र भएका मानिसहरूको रूपमा आदर गरिन्छ—समग्रमा, तिनीहरूलाई अरूलाई सहयोग गरेर आनन्द लिने र उत्कृष्ट नैतिक आचरण भएका मानिसहरूको रूपमा लिइन्छ। “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ” भन्‍ने भनाइ “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइसँग केही हदसम्‍म मिल्छ। यो पनि निश्‍चित सामाजिक वातावरणका मानिसहरूमा पैदा हुने असल व्यवहार हो। “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ” भन्‍ने भनाइको ठेड अर्थ अरूलाई सहयोग गरेर आनन्द लिनु भन्‍ने हुन्छ। यसको अर्थ अरूलाई सहयोग गर्नु व्यक्तिको कर्तव्य हो भन्‍ने हुँदैन—यो भनाइले “अरूलाई सहयोग गर्नु तिम्रो जिम्‍मेवारी हो” भनेर भन्दैन—तर यसले “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ” भनेर भन्छ। यसबाट, हामी अरूलाई सहयोग गर्न मानिसहरूलाई के कुराले उत्प्रेरित गर्छ भन्‍ने देख्छौँ। तिनीहरूले अरूको खातिर यसो गर्दैनन्, तर आफ्‍नै खातिर गर्छन्। मानिसहरू चिन्ता र पीडाले भरिएका हुन्छन्, त्यसकारण तिनीहरूले सहयोग चाहिएका अरूलाई खोज्छन् र तिनीहरूलाई परोपकार र सहयोग प्रदान गर्छन्; आफूलाई खुसी पार्न, सन्तुष्ट पार्न, शान्ति दिन, र आनन्द दिन, र आफ्‍ना दिनहरू अर्थपूर्ण बनाउन तिनीहरूले सहयोगको हात बढाउँछन्, र आफूले सक्‍ने जुनसुकै असल काम गर्छन्, ताकि तिनीहरूले खोक्रोपन र वेदनाको अनुभव गर्न नपरोस्—आफ्‍नो हृदय र मनको क्षेत्रलाई शुद्ध पार्ने र उचाल्‍ने आफ्‍नो उद्देश्य हासिल गर्न तिनीहरूले आफ्‍नो नैतिक आचरणलाई सुधार गर्छन्। यो कस्तो व्यवहार हो? यदि तैँले अरूलाई सहयोग गरेर आनन्द लिने मानिसहरूलाई यो स्पष्टीकरणको आधारमा हेरिस् भने, तिनीहरू असल मानिसहरू होइनन्। कम्तीमा पनि, तिनीहरू आफ्‍नो नैतिकता, विवेक, वा मानवताद्वारा आफूले गर्नुपर्ने कुरा गर्न, वा आफ्‍नो सामाजिक र पारिवारिक जिम्‍मेवारी पूरा गर्न उत्प्रेरित भएका हुँदैनन्; बरु तिनीहरूले खुसी, आत्मिक प्रेरणा, भावनात्मक सान्त्वना पाउन, र खुसीसाथ जिउनको लागि मानिसहरूलाई सहयोग गर्छन्। यस्तो नैतिक आचरणलाई के भन्‍ने? यदि तिमीहरूले यसको प्रकृतिलाई हेर्‍यौ भने, यो “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइभन्दा पनि खराब छ। कम्तीमा पनि “भेटेको पैसा लिनु हुँदैन” भन्‍ने भनाइमा स्वार्थी पक्ष छैन। अनि यो भनाइमा के छ त: “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ”? “आनन्द” भन्‍ने शब्‍दले यो व्यवहारमा स्वार्थ र नीच अभिप्राय छ भन्‍ने देखाउँछ। यो अरूलाई तिनीहरूकै खातिर सहयोग गर्ने वा निस्स्वार्थ रूपमा सहयोग दिने कार्यसँग सम्बन्धित छैन, तर यो त आफ्‍नै आनन्दको लागि गरिन्छ। यो कार्य त प्रोत्साहित गर्न लायक समेत छैन। उदाहरणको लागि, मानौँ तैँले कुनै वृद्ध व्यक्ति मुख्य सडकमा लडेको देखिस् र तैँले मनमनै सोच्छस्: “आजभोलि मलाई निराश लागिरहेको छ। यो वृद्ध व्यक्ति लड्नु राम्रो अवसर हो—म अरूलाई सहयोग गरेर आनन्द लिनेछु!” तँ गएर त्यस वृद्ध व्यक्तिलाई सहयोग गर्छस्, र त्यो व्यक्ति उठेपछि, यसो भन्दै तँलाई तारिफ गर्छ: “तिमी साह्रै राम्रो मान्छे रहेछौ, बाबु। तिम्रो रक्षा होस् र खुसीले बाँच्‍न सक अनि वृद्ध अवस्थासम्‍म तिम्रो आयु होस्!” तिनीहरूले तँलाई यी सुखद शब्‍दहरूले तारिफ गर्छन्, र ती शब्‍दहरू सुनेपछि, तेरा सबै चिन्ताहरू हराउँछन् र तँलाई निकै आनन्द लाग्छ। मानिसहरूलाई सहयोग गर्नु राम्रो हो भन्‍ने तँलाई लाग्छ, र खाली समयमा सडकतिर गएर लड्ने जोकोहीलाई उठाउने अठोट गर्छस्। यस्तो सोचाइको प्रभावमा परेर मानिसहरूले केही असल व्यवहार देखाउँछन्, र मानव समाजले यसलाई अरूलाई सहयोग गरेर आनन्द लिने उत्कृष्ट परम्‍परा, र यो महान् परम्‍परामा समावेश गरिएको एक प्रकारको आदर्शमय नैतिक चरित्रको रूपमा वर्गीकरण गरेको छ। अरूलाई सहयोग गरेर आनन्द लिने कार्यभित्र अर्को के प्रसंग लुकेको हुन्छ भने सहयोग गर्ने व्यक्तिले सामान्यतया आफूलाई नैतिकताको चरम शिखरमा पुगेको ठान्छन्। तिनीहरूले आफूलाई महान् परोपकारी व्यक्तिहरूका रूपमा लिन्छन्, र मानिसहरूले तिनीहरूको तारिफ जति धेरै गर्छन्, तिनीहरू सहयोग गर्न, परोपकार गर्न, र अरूको लागि अझै धेरै कार्य गर्न त्यति नै इच्छुक हुन्छन्। यसले मानवताको नायक र मुक्तिदाता बन्‍ने तिनीहरूको इच्‍छालाई साथै अरूले उसलाई चाहे बापत पाउने सन्तुष्टि सम्‍बन्धी तिनीहरूको इच्‍छालाई पूरा गर्छ। के सबै मानिसहरूले अरूद्वारा चाहना गरिएको चाहँदैनन् र? जब मानिसहरूले अरूद्वारा चाहना गरिएको महसुस गर्छन्, तब तिनीहरूले आफू विशेष रूपमा उपयोगी छु र तिनीहरूको जीवनको अर्थ छ भन्‍ने सोच्छन्। के यो अरूको ध्यान खिच्‍ने तरिका मात्रै होइन र? अरूको ध्यान खिच्‍ने कार्यले मात्रै मानिसहरूलाई आनन्द दिन्छ—यो तिनीहरूको जीवनको शैली हो। वास्तवमा, अरूलाई सहयोग गरेर आनन्द लिने कुरालाई हामीले जुन दृष्टिकोणले हेरे पनि, यो मानिसको नैतिकतालाई मूल्याङ्कन गर्ने मापदण्ड होइन। प्रायजसो, अरूलाई सहयोग गरेर आनन्द लिने कार्यको लागि थोरै मात्रै प्रयास लगाउनुपर्छ। यदि तँ यसो गर्न इच्छुक छस् भने, तैँले आफ्‍नो सामाजिक जिम्‍मेवारी पूरा गरेको हुन्छस्; यदि तँ यसो गर्न इच्छुक छैनस् भने, कसैले तँलाई जिम्‍मेवार तुल्याउनछैन, र तँ सामाजिक दोषारोपणको पात्र हुनेछैनस्। मानिसले तारिफ गर्ने असल व्यवहारको हकमा भन्दा, व्यक्तिले त्यसलाई अभ्यास गर्न सक्छ वा त्यसो नगर्न पनि सक्छ, तर जे गरे पनि फरक पर्दैन। यो भनाइद्वारा मानिसहरूलाई बन्धनमा पार्नु, वा तिनीहरूलाई अरूलाई सहयोग गरेर आनन्द लिन सिकाउनुको कुनै आवश्यकता हुँदैन, किनभने आफैमा, यो क्षणिक असल व्यवहार मात्रै हो। कुनै व्यक्ति आफ्‍नो सामाजिक जिम्‍मेवारी पूरा गर्ने इच्‍छाले उत्प्रेरित भए पनि वा यदि उसले नागरिक सद्गुणको अनुभूति गरेर यो असल व्यवहारको अभ्यास गरेको भए पनि, अन्तिम परिणाम के हुनेछ? यसो गरेर तिनीहरूले असल व्यक्ति बन्‍ने आफ्‍नो इच्‍छालाई पूरा गरिरहेका र लेइ फेङ नामक व्यक्तिको उदाहरण प्रस्तुत मात्रै गरिरहेका हुन्छन्; त्यसो गर्ने क्रममा तिनीहरूले केही आनन्द र सान्त्वना प्राप्त गर्छन्, यसरी तिनीहरूले आफ्‍नो सोचाइलाई उच्‍च स्तरमा उचाल्छन्। कुरा यति हो। तिनीहरूले गर्ने यो कामको सार यही हो। त्यसोभए, यो सङ्गतिभन्दा पहिले तिमीहरूले “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ” भन्‍ने यस भनाइलाई कसरी बुझेका थियौ? (मैले यसभन्दा पहिले यसको पछाडि लुकेको स्वार्थी र घृणित अभिप्रायहरूलाई पहिचान गरेको थिइनँ।) कुनै परिस्थितिलाई लिऊँ, जहाँ तैँले केही गर्नुपर्ने कर्तव्य हुन्छ, तैँले पन्छाउनै नहुने जिम्‍मेवारी पाएको हुन्छस्, जुन अलिक कठिन हुन्छ, र तैँले केही कठिनाइ भोग्‍नुपर्छ, केही कुरा त्याग्‍नुपर्छ, र यो पूरा गर्न मूल्य चुकाउनुपर्छ, तर जे भए पनि तैँले यो जिम्‍मेवारी पूरा गर्न सक्छस्। यसो गर्दा तँलाई त्यति आनन्द आउँदैन, अनि मूल्य चुकाएपछि र यो जिम्‍मेवारी पूरा गरेपछि, तेरो मेहनतका परिणामहरूले तँलाई कुनै आनन्द वा सान्त्वना दिँदैन, तर यो तेरो जिम्‍मेवारी र कर्तव्य भएकोले, तैँले यो पूरा गरेर नै छाडिस्। यदि यसलाई अरूलाई सहयोग गरेर आनन्द लिने कार्यसँग तुलना गर्ने हो भने, कुन कार्यले मानवतालाई बढी देखाउँछ? (आफ्‍नो जिम्‍मेवारी र कर्तव्य पूरा गर्ने मानिसहरूमा अलिक बढी मानवता हुन्छ।) अरूलाई सहयोग गरेर आनन्द लिने कार्य जिम्‍मेवारी पूरा गर्नु होइन—यो त मानिसहरूको नैतिक आचरणको मापदण्ड र निश्‍चित सामाजिक प्रसंगभित्र रहने सामाजिक जिम्‍मेवारी मात्रै हो; यो प्रचलित विचार, सामाजिक नैतिकता, वा देशको कानुनबाट समेत आएको हुन्छ, र व्यक्तिमा नैतिकता छ कि छैन र उसको मानवताको गुणस्तर कस्तो छ भनेर मूल्याङ्कन गर्न यसको प्रयोग गरिन्छ। अर्को शब्‍दमा भन्दा, “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ” भन्‍ने भनाइ एउटा भनाइ मात्रै हो जसले मानिसहरूको व्यवहारलाई सीमित गर्छ, र यो मानिसको सोचाइको क्षेत्रलाई उत्थान गर्नको लागि मानव समाजले अघि सारेको कुरा हो। मानिसहरूलाई केही असल व्यवहार अभ्यास गर्न लगाउनको लागि मात्रै यस्तो भनाइको प्रयोग गरिन्छ, र त्यस्ता असल व्यवहारको मूल्याङ्कन गर्ने मापदण्डहरू सामाजिक नैतिकता, सामाजिक विचार, वा कानुन समेत हुन्। उदाहरणको लागि, यदि तैँले कसैलाई सार्वजनिक स्थलमा सहयोग चाहिएको देखिस् र तिनीहरूलाई सहयोग गर्नुपर्ने पहिलो व्यक्ति तँ नै हुन्छस्, तर तैँले सहयोग गरिनस् भने, अरूले तँलाई के सोच्छन्? तिनीहरूले तँलाई बानीबेहोरा राम्रो नभएको भन्दै हप्काउनेछन्—के सार्वजनिक विचार भनेर हामीले यही कुरालाई भन्‍न खोजेका होइनौँ र? (हो।) त्यसोभए सामाजिक नैतिकताहरू भनेका के हुन्? ती समाजले पदोन्‍नति गर्ने र प्रोत्साहित गर्ने सकारात्मक र उत्थानमूलक कुरा र बानी-व्यहोराहरू हुन्। प्राकृतिक रूपमा नै, तिनमा धेरै निश्‍चित मापदण्डहरू समावेश हुन्छन्, जस्तै: बेसहारा मानिसहरूलाई सहयोग गर्नु, अरू कठिनाइमा पर्दा तिनीहरूलाई सहयोगको हात बढाउनु, र हात बाँधेर नबस्‍नु। मानिसहरूले यस्तो नैतिक आचरणको अभ्यास गर्नुपर्छ, र सामाजिक नैतिकताहरू हुनु भनेको यही हो। यदि तैँले कसैलाई कष्ट भोगिरहेको देखिस् र देखे पनि नदेखेको जस्तो गरिस्, त्यसलाई बेवास्ता गरिस्, र हात बाँधेर बसिस् भने, तँमा सामाजिक नैतिकताहरूको कमी छ। त्यसकारण, मानिसको नैतिक आचरणको बारेमा कानुनले के-कस्ता मागहरू गरेको छ? यस विषयमा चीनको मामला विशेष छ: सामाजिक जिम्‍मेवारी र सामाजिक नैतिकताहरूको बारेमा चिनियाँ कानुनले कुनै पनि स्पष्ट सर्तहरू प्रस्तुत गरेको छैन। मानिसहरूले यी कुराहरूका बारेमा परिवारमा हुर्किँदा, स्कूलको शिक्षाबाट, र तिनीहरूले समाजबाट सुनेका र अवलोकन गरेका कुराहरूबाट केही मात्रामा सिक्छन्। यसको विपरीत, पश्चिमी देशहरूमा यी कुराहरूलाई कानुनमा नै स्थापित गरिएको हुन्छ। उदाहरणको लागि, यदि तैँले कसैलाई सडकमा लडेको देखिस् भने, कम्तीमा पनि तैँले तिनीहरूकहाँ गएर सोध्‍नुपर्छ, “तपाईंलाई ठीकै छ? सहयोग गर्नुपर्छ कि?” यदि त्यो व्यक्तिले, “मलाई ठीकै छ, धन्यवाद” भन्यो भने, तैँले उसलाई सहयोग गर्नु पर्दैन, र तैँले त्यो जिम्‍मेवारी पूरा गर्नु पर्दैन। यदि त्यस व्यक्तिले “सहयोग गर्नुहोस् न” भन्यो भने, तैँले उसलाई सहयोग गर्नुपर्छ। तैँले उसलाई सहयोग गरिनस् भने, तँलाई कानुनी रूपमा जिम्‍मेवार तुल्याइन्छ। यो कतिपय देशहरूले मानिसहरूको नैतिक आचरणको बारेमा अघि सार्ने विशेष मापदण्ड हो; तिनीहरूले आफ्‍नो कानुनको स्थापित सर्तद्वारा मानिसहरूबाट यो माग गर्छन्। सामाजिक विचार, सामाजिक नैतिकता, र कानुनले समेत मानिसहरूमा हालिदिएको मानिसहरूको नैतिक आचरण सम्बन्धी यी मागहरू मानिसहरूको व्यवहारमा मात्रै सीमित हुन्छन्, र यी आधारभूत व्यावहारिक मापदण्डद्वारा नै व्यक्तिको नैतिक आचरणको मूल्याङ्कन गरिन्छ। झट्ट हेर्दा, यी नैतिक मापदण्डहरूले मानिसहरूको व्यवहारलाई मूल्याङ्कन गर्छन् जस्तो देखिन्छ—अर्को शब्‍दमा भन्दा, मानिसहरूले आफ्‍नो सामाजिक जिम्‍मेवारी पूरा गरेका छन् कि छैनन् भन्‍ने कुराको मूल्याङ्कन—तर सारगत रूपमा, तिनीहरूले मानिसहरूको भित्री गुणलाई मूल्याङ्कन गरिरहेका हुन्छन्। चाहे सार्वजनिक विचार, नैतिक आचरण होस्, वा कानुन होस्, यी कुराहरूले मानिसहरूले गर्ने कुराहरू मात्रै मापन गर्न वा त्यसको बारेमा मात्रै माग गर्न सक्छन्, र यी मापन र मागहरू मानिसहरूको व्यवहारमा मात्रै सीमित हुन्छन्। तिनीहरूले व्यक्तिको गुणस्तर र नैतिक आचरणलाई व्यक्तिको व्यवहारको आधारमा मूल्याङ्कन गर्छन्—तिनीहरूको मूल्याङ्कनको क्षेत्र यही हुन्छ। यो अभिव्यक्तिको प्रकृति त्यही हो: “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ।” अरूलाई सहयोग गरेर आनन्द लिने मामलामा पश्चिमी देशहरूले कानुनको प्रावधानद्वारा मानिसहरूलाई माग गरेका छन्, जब कि चीनमा मानिसहरूलाई यी विचारहरूमा शिक्षा दिन र तिनीहरूको सोच बदल्‍नका लागि परम्‍परागत संस्कृतिको प्रयोग गरिन्छ। पूर्व र पश्चिममा यो भिन्‍नता रहेको भए पनि, प्रकृतिको हिसाबमा ती उस्तै छन्—दुवैले मानिसहरूको व्यवहार र नैतिकतालाई सीमित गर्न र विधिवत् गर्नका लागि भनाइहरूको प्रयोग गर्छन्। तैपनि, पश्चिमी देशहरूको कानुन होस् वा पूर्वमा परम्‍परागत संस्कृति होस्, यी सबै मानिसको व्यवहार र नैतिक आचरणमा लादिएका मागहरू र नियमहरू मात्रै हुन्, र यी मापदण्डहरूले मानिसहरूको व्यवहार र नैतिक आचरणलाई मात्रै नियन्त्रण गर्छन्—तर के तीमध्ये कुनैले मानिसको मानवतालाई लक्षित गर्छ? के व्यक्तिले कस्तो व्यवहारको अभ्यास गर्छ भनेर आदेश दिने नियमहरूलाई तिनीहरूको मानवताको मूल्याङ्कन गर्ने मापदण्डको रूपमा प्रयोग गर्न सकिन्छ? (सकिँदैन।) “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ” भन्‍ने भनाइलाई हेर्यौँ भने, कतिपय दुष्ट मानिसहरूले पनि अरूलाई सहयोग गरेर आनन्द लिन सक्छन्, तर तिनीहरू आफ्‍नै अभिप्राय र उद्देश्यहरूद्वारा उत्प्रेरित भएका हुन्छन्। जब दियाबलसहरूले स-साना असल कार्यहरू गरेका हुन्छन्, तब तिनीहरूले त्यसो गर्नुको पछाडि तिनीहरूका आफ्‍नै अभिप्राय र उद्देश्यहरू हुने सम्‍भावना अझै बढी हुन्छ। के अरूलाई सहयोग गरेर आनन्द लिने सबै जना सत्यतालाई प्रेम गर्ने धर्मी मानिसहरू हुन् भन्‍ने तिमीहरूलाई लाग्छ? अरूलाई सहयोग गरेर आनन्द लिने चीनका मानिसहरू, शिष्ट व्यक्तित्वहरू, धनीबाट लुटेर गरिबलाई दिने मानिसहरू, वा बेसहारा र असहाय मानिसहरूको सहयोगमा बारम्‍बार आउने, र इत्यादि प्रकारका मानिसहरूलाई लिऊँ—के तिनीहरू सबैमा मानवता हुन्छ? के तिनीहरू सबैले सकारात्मक कुराहरूलाई प्रेम गर्छन् र तिनीहरूमा धार्मिकताको बोध हुन्छ? (हुँदैन।) बढीमा, तिनीहरू तुलनात्मक रूपमा अलिक राम्रो चरित्र भएका मानिसहरू मात्रै हुन्। तिनीहरू अरूलाई सहयोग गरेर आनन्द लिने यो भावले उत्प्रेरित भएका हुने हुनाले, तिनीहरूले आफूलाई आनन्द, सान्त्वना, र सुखको पूर्ण आनन्द दिने धेरै सुकर्महरू गर्छन्, तर यस्ता कार्यहरू गर्दैमा तिनीहरूमा मानवता छ भन्‍ने हुँदैन, किनभने तिनीहरूको विश्‍वास र तिनीहरूले आत्मिक स्तरमा पछ्याउने कुरा अस्पष्ट हुन्छन्, र ती अज्ञात हुन्छन्। त्यसकारण, के यो असल नैतिक आचरणको आधारमा तिनीहरूलाई मानवता र विवेक भएका मानिसहरूका रूपमा लिन सकिन्छ? (सकिँदैन।) अरूलाई सहयोग गरेर आनन्द लिने, बेसहारा र असहाय मानिसहरूलाई सहयोग गर्ने कतिपय संघ-संस्था र कल्याणकारी एजेन्सीहरूले बढीमा आफ्‍नो सामाजिक जिम्‍मेवारीलाई केही मात्रामा पूरा मात्रै गरिरहेका हुन्छन्। तिनीहरूले समाजको नजरमा आफ्‍नो छवि सुधार्न, तिनीहरूलाई सबैले देख्‍न सकून् भनेर, अनि अरूलाई सहयोग गरेर आनन्द लिने मानसिकतालाई सन्तुष्ट पार्नको लागि यी कुराहरू गरिरहेका हुन्छन्—यो पक्‍कै पनि तिनीहरूमा “मानवता छ” भन्‍ने स्तरमा पुग्‍न सक्दैन। यसको साथै, के तिनीहरूले सहयोग गरेर आनन्द लिएका मानिसहरूलाई साँच्‍चै सहयोगको खाँचो परेको हुन्छ? के अरूलाई सहयोग गरेर आनन्द लिने कार्य आफैमा धर्मी कार्य हो? हो नै भन्‍ने हुँदैन। यदि तैँले समाजमा हुने विभिन्‍न ठूला-साना घटनाहरूलाई पर्याप्त समय जाँचिस् भने, तीमध्ये कति कार्य मानिसहरूले अरूलाई सहयोग गरेर आनन्द लिने कार्य मात्रै रहेका हुन्छन् भने, अरू विभिन्‍न मामलाहरूमा, मानिसहरूले अरूलाई सहयोग गरेर आनन्द लिने क्रममा त्यसको पछाडि विभिन्‍न गुप्त कुराहरू र समाजका कालो पक्षहरू लुकेका हुन्छन्। जे भए पनि, अरूलाई सहयोग गरेर आनन्द लिने कार्यको पछाडि अभिप्राय र उद्देश्यहरू लुकेका हुन्छन्, चाहे त्यो प्रसिद्ध बन्‍नको लागि र अरूभन्दा माथि उठ्नको लागि होस्, वा सामाजिक नैतिकताको पालना गरेर कानुन नतोड्नको लागि होस्, वा समग्रमा समाजबाट सकारात्मक मूल्याङ्कन पाउनको लागि होस्। यसलाई जसरी हेरे पनि, अरूलाई सहयोग गरेर आनन्द लिने कार्य मानिसको बाहिरी व्यवहारमध्ये एउटा मात्रै हो, र बढीमा, यो एक प्रकारको असल नैतिक आचरण हुन सक्छ। परमेश्‍वरले माग गर्नुहुने सामान्य मानवतासँग यसको कुनै सम्‍बन्ध हुँदैन। अरूलाई सहयोग गरेर आनन्द लिन सक्‍ने मानिसहरू कुनै वास्तविक महत्वाकांक्षा नभएका सर्वसाधारण मानिसहरू हुन सक्छन्, वा तिनीहरू समाजका मुख्य व्यक्तित्वहरू हुन सक्छन्; तिनीहरू निकै दयालु मानिसहरू हुन सक्छन्, तर तिनीहरू द्वेषपूर्ण हृदय भएका मानिसहरू पनि हुन सक्छन्। तिनीहरू जुनसुकै प्रकारको व्यक्ति हुन सक्छन्, र हरेक व्यक्तिले क्षणिक रूपमा यो व्यवहारको अभ्यास गर्न सक्छ। त्यसकारण, नैतिक आचरण सम्‍बन्धी “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ” भन्‍ने अभिव्यक्ति मानिसहरूको मानवता मूल्याङ्कन गर्ने मापदण्डको रूपमा मान्य हुन सक्दैन।

“अरूलाई सहयोग गर्दा आनन्द मिल्छ”—भन्‍ने नैतिक आचरण सम्‍बन्धी यो भनाइले वास्तवमा मानिसहरूको मानवताको सारलाई प्रतिनिधित्व गर्दैन, र मानिसहरूको प्रकृति र सारसँग यसको कुनै सम्‍बन्ध हुँदैन। त्यसकारण, कसैको मानवताको गुणस्तर मापन गर्न यसको प्रयोग गर्नु अनुचित हुन्छ। त्यसकारण, कसैको मानवता मापन गर्ने उचित तरिका के हो? कम्तीमा पनि, मानवता भएको व्यक्तिले अरूलाई सहयोग गर्दा खुसी मिल्छ कि मिल्दैन भन्‍ने आधारमा कसैलाई सहयोग गर्ने वा आफ्‍नो जिम्‍मेवारी पूरा गर्ने निर्णय गर्नु हुँदैन; बरु उसको निर्णय उसको विवेक र समझको आधारमा हुनुपर्छ, र उसले त्यस व्यक्तिलाई सहयोग गरेर के प्राप्त गर्छ, वा के-कस्ता परिणामहरू आउँछन्, वा भविष्यमा यसले तिनीहरूमा कस्तो प्रभाव पार्छ भन्‍ने कुराको आधारमा हुनु हुँदैन। तिनीहरूले यस्ता कुनै कुराहरू विचार गर्नु हुँदैन, र तिनीहरूले आफ्‍नो जिम्‍मेवारी पूरा गर्नुपर्छ, अरूलाई सहयोग गर्नुपर्छ, र अरूलाई कष्ट भोग्‍नबाट रोक्‍नुपर्छ। तिनीहरूले कुनै स्वार्थी उद्देश्य नलिई निस्वार्थ रूपमा मानिसहरूलाई सहयोग गर्नुपर्छ—साँचो रूपमा मानवता भएको व्यक्तिले त्यसै गर्छ। यदि अरूलाई सहयोग गर्दा व्यक्तिको उद्देश्य आफूलाई आनन्द दिनु हो वा आफ्‍नो इज्‍जत बढाउनु हो भने, यसमा स्वार्थ र नीचता लुकेको हुन्छ—साँच्‍चै विवेक र समझ भएको व्यक्तिले यस्तो व्यवहार गर्दैन। अरूलाई साँचो प्रेम गर्ने मानिसहरूले निश्‍चित अनुभव गर्ने आफ्‍नो इच्‍छा पूरा गर्नको लागि मात्रै काम गर्दैनन्, बरु तिनीहरूले आफ्‍नो जिम्‍मेवारी पूरा गर्नको लागि, र अरूलाई सहयोग गर्न आफ्‍नो शक्तिमा भएको सबै कुरा गर्न यसो गर्छन्। तिनीहरूले इनाम पाउनको लागि अरूलाई सहयोग गर्दैनन्, र तिनीहरूमा अरू कुनै अभिप्राय वा मनसाय हुँदैन। यसरी व्यवहार गर्नु गाह्रो हुने भए पनि, र तिनीहरूलाई अरूले आलोचना गर्न सक्‍ने भए पनि वा तिनीहरू खतरामा पर्न सक्‍ने भए पनि, तिनीहरूले यसलाई मानिसहरूले पूरा गर्नुपर्ने कर्तव्यको रूपमा चिन्छन्, यो मानिसहरूले पूरा गर्नुपर्ने जिम्‍मेवारी हो, र तिनीहरूले यसरी व्यवहार गरेनन् भने, तिनीहरू अरू र परमेश्‍वरप्रतिको ऋण तिर्न चुकेका छन् भन्‍ने तिनीहरूलाई अनुभव हुनेछ, र तिनीहरूलाई जीवनभरि पछुतो हुनेछ। त्यसकारण, तिनीहरू नहिचकिचाइ अघि बढ्छन्, सक्दो गर्छन्, स्वर्गको इच्‍छा पालना गर्छन्, र आफ्‍नो जिम्‍मेवारी पूरा गर्छन्। तिनीहरूलाई अरूले जसरी आलोचना गरे पनि, वा अरूले तिनीहरूलाई कृतज्ञता र सम्‍मान देखाए पनि नदेखाए पनि, तिनीहरूले त्यो व्यक्तिलाई उसले गर्नुपर्ने काम गर्न सहयोग गर्न सके, र आफ्‍नो पूर्ण हृदयले त्यसो गर्छन् सके भने, तिनीहरू सन्तुष्ट हुन्छन्। यस्तो व्यवहार गर्न सक्‍ने मानिसहरूमा विवेक र समझ हुन्छ, तिनीहरूमा मानवताको प्रकटीकरणहरू हुन्छन्, र तिनीहरूमा नैतिक चरित्र र नैतिक आचरणको क्षेत्रमा सीमित हुने व्यवहार मात्रै हुँदैन। अरूलाई सहयोग गरेर आनन्द लिने कार्य एक प्रकारको व्यवहार मात्रै हो, र यो निश्‍चित प्रसंगमा देखा पर्ने व्यवहार मात्रै हो; यस्तो क्षणिक व्यवहार गर्न निर्णय गर्ने व्यक्तिले आफ्‍नो मुड, भावना, सामाजिक वातावरण, साथै तत्‍कालीन प्रसंग, र यसरी व्यवहार गर्दा के-कस्ता फाइदा वा बेफाइदा हुन्छ भन्‍ने आधारमा निर्णय गरेको हुन्छ। मानवता भएका मानिसहरूले अरूलाई सहयोग गर्दा यी कुराहरूका बारेमा विचार गर्दैनन्—तिनीहरूले मूल्याङ्कनको मापदण्ड, जुन अझै बढी सकारात्मक हुन्छ त्यसको आधारमा, र सामान्य मानवताको विवेक र समझको आधारमा निर्णय गरेका हुन्छन्। कहिलेकहीँ, तिनीहरू अरूलाई सहयोग गर्दा नैतिकताका मापदण्डहरूसँग बाझिने र विपरीत हुने अवस्थामा पनि मानिसहरूलाई सहयोग गर्ने काममा स्थिर हुन्छन्। नैतिकताको मापदण्ड, विचार, र दृष्टिकोणहरूले मानिसहरूको क्षणिक व्यवहारलाई नियन्त्रण मात्रै गर्न सक्छन्। अनि यी व्यवहारहरू असल हुन्छन् कि खराब हुन्छन् त्यो कुरा व्यक्तिको मनस्थिति, भावना, उभित्र भएको असल र खराब, र उसको क्षणिक असल वा खराब अभिप्रायको आधारमा परिवर्तन हुन्छ; प्राकृतिक रूपमा नै, सामाजिक स्थिति र वातावरणले पनि यसलाई प्रभाव पार्नेछ। यी व्यवहारहरूमा धेरै अशुद्धताहरू हुन्छन्; ती सबै सतही व्यवहारहरू हुन्, र कुनै व्यक्तिमा मानवता छ कि छैन भनेर मूल्याङ्कन गर्नको लागि तिनको प्रयोग गर्न मिल्दैन। यसको विपरीत, कुनै व्यक्तिमा मानवता छ कि छैन त्यस कुरालाई उसको मानवताको सार, उसले पछ्याउने कुरा, जीवनप्रति उसको दृष्टिकोण र उसको मूल्य-मान्यता, उसले हिँड्ने मार्ग, र उसको आनीबानी र व्यवहारको आधारको आधारमा मूल्याङ्कन गर्नु अझै सटीक र व्यावहारिक हुन्छ। मलाई भन, कुन चाहिँ सत्यता अनुरूप हुन्छ: मानवताको मापन गर्ने आधार कि नैतिक आचरणको मूल्याङ्कन गर्ने आधार? यो सत्यता अनुरूप नैतिक आचरणको मूल्याङ्कन गर्ने मापदण्ड हो कि कुनै व्यक्तिमा मानवता छ कि छैन भनेर मापन गर्ने मापदण्ड हो? यीमध्ये कुन मापदण्ड सत्यता अनुरूप हुन्छ? वास्तवमा, यो सत्यता अनुरूप कुनै व्यक्तिमा मानवता छ कि छैन भनेर मूल्याङ्कन गर्ने मापदण्ड हो। यो कुरा पक्‍का हो, र यसमा कुनै प्रश्‍न छैन। मानिसहरूको नैतिक आचरणको मूल्याङ्कन गर्न प्रयोग गरिने कुराहरूलाई मापदण्डको रूपमा लिन नसकिनुको कारण के हो भने ती अनियमित किसिमका हुन्छन्। ती धेरै अशुद्धताहरूले भरिएका हुन्छन्, जस्तै मानिसहरूको लेनदेनको सोच, हितहरू, रुचि, खोजी, भावना, दुष्ट विचार, भ्रष्ट स्वभाव, र इत्यादि। ती कुराहरूभित्र धेरै गल्ती र अशुद्धताहरू हुन्छन्—ती सीधा हुँदैनन्। त्यसकारण, तिनलाई मानिसहरूलाई मूल्याङ्कन गर्ने मापदण्डको रूपमा लिन सकिँदैन। ती सबै शैतानले मानिसमा हालिदिने कुराहरूले भरिएका हुन्छन् र मानिसको शैतानी स्वभावको कारण पैदा हुने थप अवस्थाहरूले भरिएका हुन्छन्, त्यसकारण ती सत्यता होइनन्। सारांशमा, मानिसहरूले नैतिक आचरण सम्‍बन्धी यी मापदण्डहरूलाई पूरा गर्न सहज माने पनि कठिन माने पनि, वा मानिसहरूले तिनलाई उच्‍च, नीच, वा औसत मूल्यको ठाने पनि, ती सबै मानिसहरूको व्यवहारलाई सीमित गर्ने र नियन्त्रण गर्ने भनाइहरू मात्रै हुन्। ती मानिसको नैतिक गुणस्तरको स्तरसम्‍म मात्रै उठ्छन्; व्यक्तिको मानवताको मूल्याङ्कन गर्न सत्यताको प्रयोग गर्नुपर्छ भन्‍ने परमेश्‍वरको मापदण्डसँग तिनको कुनै सम्‍बन्ध हुँदैन। मानवता भएका मानिसहरूमा हुनुपर्ने र तिनीहरूले पूरा गर्नुपर्ने सबैभन्दा आधारभूत मापदण्डहरू पनि तिनमा समावेश हुँदैनन्; तिनमा यी सबै कुराहरूको कमी हुन्छ। अरूलाई हेर्ने क्रममा, मानिसहरूले तिनीहरूको नैतिक आचरणको प्रकटीकरणलाई मूल्याङ्कन गर्ने कार्यमा मात्रै ध्यान दिन्छन्; तिनीहरूले परम्‍परागत संस्कृतिका मागहरू अनुसार मात्रै अरू मानिसहरूलाई हेर्छन् र मूल्याङ्कन गर्छन्। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको नैतिक आचरणको प्रकटीकरणको आधारमा मात्रै हेर्नुहुन्‍न—उहाँले तिनीहरूको मानवताको सारलाई जोड दिनुहुन्छ। व्यक्तिको मानवताको सारमा के कुरा समावेश हुन्छ? तिनीहरूको रुचि, दृष्टिकोण, जीवन सम्‍बन्धी तिनीहरूको हेराइ र मूल्यमान्यता, तिनीहरूको खोजी, तिनीहरूमा धार्मिकताको बोध छ कि छैन, तिनीहरूले सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छन् कि गर्दैनन्, सत्यतालाई स्विकार्ने र त्यसमा समर्पित हुने तिनीहरूको क्षमता, तिनीहरूले छनौट गर्ने मार्ग, र इत्यादि कुरा। व्यक्तिको मानवताको सारलाई यी कुराहरूका आधारमा मूल्याङ्कन गर्नु सही हुन्छ। अरूलाई सहयोग गरेर आनन्द लिने विषयमा मेरो सङ्गति यतिमा नै समाप्त हुन्छ। नैतिक आचरण सम्‍बन्धी यी दुई मागहरूका विषयमा गरिएको यो सङ्गतिबाट, के तिमीहरूले नैतिक आचरणको मूल्याङ्कन कसरी गर्ने, साथै मानिसहरूलाई मूल्याङ्कन गर्ने परमेश्‍वरका मापदण्डहरू र मानिसले उल्‍लेख गर्ने नैतिक आचरणको बीचमा रहेको भिन्‍नता सम्‍बन्धी समझशक्तिका आधारभूत सिद्धान्तहरू बुझ्यौ? (बुझ्यौँ।)

परम्‍परागत संस्कृतिले मानिसको नैतिक आचरण सम्‍बन्धी दिएका दुई वटा मागहरूका बारेमा मैले भर्खरै सङ्गति गरिसकेँ, “भेटेको पैसा लिनु हुँदैन” र “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ” भन्‍ने भनाइहरूको बारेमा। यी दुई वटा भनाइहरूका बारेमा मैले दिएको सङ्गतिबाट तिमीहरूले के सिक्यौ? (मैले मानिसहरूको नैतिक आचरण तिनीहरूको मानवताको सारसँग सम्‍बन्धित हुँदैन भन्‍ने कुरा सिकेँ। बढीमा, यस्ता नैतिक आचरण देखाउने मानिसहरूमा केही असल व्यवहार र तिनीहरूको नैतिकताको गुणस्तरका प्रकटीकरणहरू हुन्छन्। तैपनि, यसको अर्थ तिनीहरूमा मानवता छ वा तिनीहरू मानव रूपमा जिउँछन् भन्‍ने हुँदैन। मैले यो विषयमा केही स्पष्ट ज्ञान प्राप्त गरेको छु।) असल नैतिक आचरण देखाउने मानिसहरूमा मानवता हुन्छ नै भन्‍ने हुँदैन—सबैले यो कुरा पहिचान गर्न सक्छन्, र वास्तविकता साँच्‍चै यही हो। सबै मानिसहरूले समाजका दुष्ट प्रचलनहरूलाई पछ्याउँछन् र तिनीहरू सबैले क्रमिक रूपमा आफ्‍नो विवेक र समझ गुमाएका छन्—थोरै मात्रै मानव रूपमा जिउन सक्छन्। के सडकको छेउमा भेट्टाएको पैसा पुलिसलाई दिने हरेक व्यक्ति असल व्यक्ति हुन पुगेको छ? तिनीहरू असल व्यक्ति हुन्छन् नै भन्‍ने छैन। कुनै बेला नायकको रूपमा तारिफ गरिएका मानिसहरूले पछि कस्तो परिणाम भोगे? सबै मानिसहरूलाई यी प्रश्‍नहरूको उत्तर हृदयमा थाहा छ। प्रायजसो अरूलाई सहयोग गरेर आनन्द लिने, रातो फूलले सुसज्‍जित हुने र मानिसले तारिफ गर्ने ती सामाजिक नैतिकताका हस्तीहरू र महान् परोपकारीहरू के बनेका छन्? तिनीहरूमध्ये धेरैजसो मानिसहरू असल मानिसहरू रहेनन्। तिनीहरूले चर्चित बन्‍नको लागि मात्रै जानी-जानी केही असल कार्यहरू गरेका हरेछन्। वास्तवमा, तिनीहरूमध्ये धेरैको व्यवहार, जीवन, र चरित्र असल थिएनन्। तिनीहरू चापलुसी गर्न र मुखले ठिक्‍क पार्नमा मात्रै सिपालु थिए। जब तिनीहरूले रातो फुलको माला र सामाजिक नैतिकताको हस्ती भएको देखावटी रूप हटाउँछन्, तब कस्तो व्यवहार गर्ने वा आफ्‍नो जीवनमा कसरी अघि बढ्ने त्यो समेत तिनीहरूलाई थाहा हुँदैन। समस्या के हो? के तिनीहरू समाजले तिनीहरूलाई लगाइदिएको “नैतिकताको हस्तीको” मुकुटको फन्दामा परेका हुँदैनन्। तिनीहरू वास्तवमा को हुन् भन्‍ने नै तिनीहरूलाई थाहा हुँदैन—तिनीहरूलाई यति झूटो तारिफ गरिएको हुन्छ कि तिनीहरूले आफूलाई महान् सोच्‍न थालेका हुन्छन्, र तिनीहरू सामान्य व्यक्ति बन्‍न छोडेका हुन्छन्। अन्तिममा, तिनीहरूलाई कसरी जिउने भन्‍ने समेत थाहा हुँदैन, तिनीहरूको दैनिक जीवन पूर्ण रूपमा भताभुङ्ग हुन्छ, र कति त जाँडरक्सी पिउने, डिप्रेसनमा पर्ने, र आत्महत्या गर्ने अवस्थामा समेत पुग्छन्। तिनीहरू अवश्य नै यो वर्गमा पर्ने मानिसहरू हुन्। तिनीहरूले सधैँ भावनाहरूलाई पछ्याइरहेका हुन्छन्, नायक र उदाहरण बन्‍न, प्रसिद्ध, वा नैतिक रूपमा उत्कृष्ट बन्‍न चाहन्छन्। तिनीहरू कहिल्यै पनि वास्तविक संसारमा फर्केर आउन सक्दैनन्; वास्तविक जीवनका साधारण आवश्यकताहरू समेत तिनीहरूको लागि निरन्तर हैरानी र कष्टको स्रोत भएको हुन्छ। यो पीडाबाट कसरी मुक्त हुने वा जीवनमा सही मार्ग कसरी अपनाउने त्यो तिनीहरूलाई थाहा हुँदैन। उत्तेजनाको खोजीमा, कतिपय मानिसहरू लागूऔषधको सहारा लिन्छन्, र कतिले खोक्रोपनको भावनाबाट मुक्त हुन आफ्‍नो जीवनको अन्त्य गर्ने निर्णय गर्छन्। आत्महत्या नगरे पनि यीमध्ये कति जना डिप्रेसनमा परेर मर्छन्। के यसको धेरै उदाहरणहरू छैनन् र? (छन्।) परम्‍परागत संस्कृतिले मानिसहरूलाई गर्ने हानी यस्तो छ। यसले मानिसहरूलाई मानवताको बारेमा सही बुझाइ नदिने वा तिनीहरूलाई तिनीहरूले पछ्याउने मार्गमा नडोर्‍याउने मात्रै होइन—यसले तिनीहरूलाई वास्तवमा पथभ्रष्ट पनि गराउँछ, भ्रम र कल्‍पनाको संसारतिर लैजान्छ। यसले मानिसहरूलाई क्षति गर्छ, र त्यो क्षति गहन हुन्छ। कतिपयले यसो भन्‍न सक्छन्: “सबै हकमा यो कुरा लागू हुन्छ भन्‍ने छैन! हामीलाई केही भएको छैन, होइन र?” तिमीहरूलाई अहिले केही भएको छैन भन्‍ने तथ्य के परमेश्‍वरको सुरक्षाको परिणाम होइन र? परमेश्‍वरले तिमीहरूलाई चुन्‍नुभएकोले र तिमीहरूले उहाँको सुरक्षा पाएकोले मात्रै तिमीहरूले उहाँको कामलाई स्विकार्ने, र उहाँका वचनहरू पढ्ने, भेलाहरूमा सहभागी हुने, सङ्गति आदनप्रदान गर्ने, र यहाँ आफ्‍नो कर्तव्य पूरा गर्ने मौका पाएका हौ; उहाँको सुरक्षाले गर्दा मात्रै तिमीहरूले सामान्य मानवतामा जिउन सकेका छौ, र तिमीहरूको दैनिक जीवनका सबै पक्षहरूलाई सम्‍हाल्‍ने सामान्य समझशक्ति पाएका छौ। तैपनि, तिमीहरूको मनको गहिराइमा अझै पनि यस्ता विचार र दृष्टिकोणहरू छन्: “भेटेको पैसा लिनु हुँदैन” र “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ।” यसको साथै, तिमीहरू अझै पनि मानवजातिबाट आएका यी विचार र नैतिक मापदण्डहरूको बन्धनमा छौ। तिमीहरू यी कुराहरूको बन्धनमा छौ भनेर म किन भन्छु? किनभने तिमीहरूले जीवनमा चुन्‍ने मार्ग, तिमीहरूको आनीबानी र व्यवहारको सिद्धान्त र दिशा, अनि मानिसहरू र परिस्थितिहरूलाई हेर्ने तिमीहरूका सिद्धान्त, विधि, र मापदण्डहरू, र यस्तै इत्यादि कुराहरूलाई अझै पनि यी वैचारिक र नैतिक मापदण्डहरूले प्रभाव पारेका छन् वा बन्धन र नियन्त्रणमा पारेका छन्। तैपनि, परमेश्‍वरका वचनहरू र सत्यता तिमीहरूले मानिसहरू र परिस्थितिहरूलाई हेर्ने दृष्टिकोण, र तिमीहरूका आनीबानी र व्यवहारको आधार र मापदण्ड बन्‍न बाँकी नै छन्। अहिलेसम्‍म, तिमीहरूले जीवनको सही मार्ग मात्रै चुनेका छौ र तिमीहरूसँग सत्यतालाई पछ्याउने मार्ग हिँड्ने इच्‍छा, आकाङ्क्षा, र आशा छ। तैपनि, तिमीहरूमध्ये धेरैजसो मानिसहरू यो मार्गमा हिँड्न सुरु गरेका छैनौ—अर्को शब्‍दमा भन्दा, तिमीहरूले मानिसको लागि परमेश्‍वरले तय गर्नुभएको सही मार्गमा पाइला चालेकै छैनौ। कतिपयले भन्छन्: “यदि हामीले सही मार्गमा पाइला चालेका छैनौँ भने, किन हामीले अझै पनि आफ्‍नो कर्तव्य पूरा गर्न सकिरहेका छौँ?” यो मानिसको छनौट, सहकार्य, विवेक, र इच्‍छाको परिणाम हो। अहिले, तैँले परमेश्‍वरका मागहरूमा सहकार्य गरिरहेको छस् र सुधार हुनको लागि सक्दो प्रयास गरिरहेको छस्, तर तैँले सुधार हुने प्रयास गरिरहेको छस् भन्दैमा, तैँले सही मार्ग पछ्याउन पाइला चालिसकेको छस् भन्‍ने हुँदैन। यसको एउटा कारण के हो भने तिमीहरूलाई अझै पनि परम्‍परागत संस्कृतिले तिमीहरूमा हालिदिएका विचारहरूले प्रभाव पार्छन्। उदाहरणको लागि, तिमीहरूले “भेटेको पैसा लिनु हुँदैन” र “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ,” भन्‍ने भनाइको बारेमा मैले गरेको सङ्गति र खुलासा सुनेपछि यी भनाइको सारलाई राम्ररी बुझेका हुन्छौ, तर केही दिनमा नै, तिमीहरूले मन परिवर्तन गर्न सक्छौ। तिमीहरूले यस्तो सोच्‍न सक्छौ: “‘भेटेको पैसा लिनु हुँदैन’ भन्‍ने भनाइमा त्यस्तो नराम्रो के छ? मलाई त भेटेको पैसा नटिप्‍ने मानिसहरू मन पर्छ। कम्तीमा पनि तिनीहरू लोभी हुँदैनन्। ‘अरूलाई सहयोग गर्दा आनन्द मिल्छ’ भन्‍ने भनाइमा नराम्रो के छ? कम्तीमा पनि, खाँचोमा हुँदा, कसैले सहयोग गर्छ भनेर ढुक्‍क हुन त सकिन्छ। यो असल कुरा हो र सबैलाई चाहिने कुरा हो। यस बाहेक, यो कुरालाई जसरी हेरिए पनि, मानिसहरूले अरूलाई सहयोग गरेर आनन्द लिनु असल र सकारात्मक कुरा हो। यो हाम्रो अनिवार्य कर्तव्य हो र यसको आलोचना गरिनु हुँदैन!” हेर् त, होस आएको केही दिनपछि नै, एक रात सुतेपछि तँ परिवर्तन भइहाल्छस्; तँ पहिलेको स्थितिमा नै फर्किन्छस्, र तँ फेरि पनि परम्‍परागत संस्कृतिको बन्धनमा नै फर्किन्छस्। अर्को शब्‍दमा भन्दा, तेरो मनको गहिराइमा अल्झेर बसेका यी कुराहरूले समय-समयमा तेरा विचार र दृष्टिकोणहरूलाई, साथै तैँले चुन्‍ने मार्गलाई प्रभाव पार्छन्। अनि अपरिहार्य रूपमा नै, ती कुराहरूले तँलाई प्रभाव पारिरहेका बेला, तँलाई निरन्तर पछाडि तानिहरेका, जीवनको सही मार्गमा पाइला चाल्‍ने, सत्यतालाई पछ्याउने मार्ग हिँड्ने, र परमेश्‍वरका वचनहरूलाई आफ्‍नो आधार र सत्यतालाई आफ्‍नो मापदण्ड बनाएर हिँड्ने जीवनको मार्ग लिने तेरो इच्‍छालाई रोकिरहेका हुन्छन्। तँ यो मार्गमा हिँड्न अत्यन्तै इच्छुक भए पनि, तैँले त्यसो गर्ने उत्कट इच्‍छा गरे पनि, र तँ यसप्रति उत्तेजित भए पनि, अनि तैँले सोच्दै र योजना बनाउँदै, सङ्कल्‍प गर्दै, र यसको लागि प्रार्थना गर्दै आफ्‍ना दिनहरू बिताए पनि, तैँले चाहेको जस्तो हुँदैन। यसको कारण के हो भने परम्‍परागत संस्कृतिका यी पक्षहरूले तेरो हृदयको गहिराइमा गहिरो जरा गाडेका हुन्छन्। कतिपयले यसो भन्‍न सक्छन्: “त्यो सही होइन! तपाईंले परम्‍परागत संस्कृतिले मानिसहरूको हृदयमा अत्यन्तै गहिरो जरा गाडेको छ भनेर भन्‍नुहुन्छ, तर मलाई त्यो साँचो हो जस्तो लाग्दैन। म मेरो बीसको दशकमा छु, म सत्तरी-असी वर्ष पुगेको छैनँ, त्यसकारण यी कुराहरूले कसरी मेरो हृदयभित्र जरा गाडेका हुन सक्छन्?” मैले किन यी विचारहरूले तिमीहरूको हृदयमा पहिले नै गहिरो जरा गाडिसकेका छन् भनेर भनेँ? यसको बारेमा विचार गर: के तेरा आमाबुबाले तँमा यो विचार नहालेको भए पनि, तैँले थाहा पाएको बेलादेखि नै तैँले सधैँ आदर्श व्यक्ति बन्छु भनेर इच्‍छा गरेको थिइनस् र? उदाहरणको लागि, धेरैजसो मानिसहरूलाई महान् व्यक्तिहरूको चलचित्र हेर्न र उपन्यास पढ्न मन पर्छ, र तिनीहरूले यी कथाका पीडित व्यक्तिहरूलाई अत्यन्तै सहानुभूति गर्छन्, तर गुन्डाहरू, र अरूलाई चोट पुर्‍याउने निर्दयी पात्रहरूलाई घृणा गर्छन्। यस्तो पृष्ठभूमिमा हुर्केपछि, तैँले समग्रमा समाजले स्विकारेका कुराहरूलाई थाहै नपाई स्विकार्छस्। त्यसकारण, तैँले किन यी कुराहरूलाई स्विकारिस्? किनभने मानिसहरू सत्यता लिएर जन्‍मेका हुँदैनन् र तिनीहरूसँग कुराहरू चिन्‍ने जन्‍मजात क्षमता हुँदैन। तँमा यस्तो जन्‍मजात क्षमता हुँदैन—मानवमा हुने जन्‍मजात क्षमता भनेका केही असल, सकारात्मक, र सक्रिय कुराहरूलाई मन पर्ने प्रवृत्ति हो। यी सक्रिय र सकारात्मक कुराहरूले तँलाई अझै राम्रो गर्न, असल, नायकी, र महान् व्यक्ति बन्‍न उत्प्रेरित गर्छन्। सार्वजनिक विचार र सामाजिक नैतिकताहरूबाट आएका भनाइहरू सुन्‍न थालेपछि यी कुराहरूले तेरो हृदयमा क्रमिक रूपमा आकार लिन थाल्छन्। परम्‍परागत संस्कृतिको नैतिकताबाट आएका भनाइहरू तँभित्र प्रवेश गरेपछि, र तेरो भित्री संसारमा प्रवेश गरेपछि, तिनले तेरो हृदयमा जरा गाड्छन्, र तेरो जीवनलाई नियन्त्रण गर्न थाल्छन्। जब यस्तो हुन्छ, तब तैँले यी कुराहरूलाई चिन्दैनस्, विरोध, वा इन्कार गर्दैनस्, तर तँलाई यी कुराको धेरै खाँचो छ भन्‍ने गहन अनुभूति हुन्छ। तैँले गर्नुपर्ने पहिलो कुरा भनेको यी भनाइहरूका बारेमा मनन गर्नु हो। किन? किनभने यी भनाइहरू मानिसहरूको स्वाद र धारणाहरूसँग राम्ररी मिल्छन्, र मानिसहरूको आत्मिक संसारका खाँचोहरू अनुरूप हुन्छन्। परिणाम स्वरूप, तैँले यी अभिव्यक्तिहरूलाई जस्ताको त्यस्तै स्विकार्छस् र तिनको बारेमा पटक्‍कै सतर्क हुँदैनस्। क्रमिक रूपमा, तेरो परिवारले तँलाई हुर्काउने-बढाउने शैली, तेरो स्कूलको शिक्षा, र समाजले तेरो सोचाइलाई गर्ने परिवर्तन र तँमा हालिदिने सिद्धान्त, साथै तेरा आफ्‍नै कल्‍पनाहरूद्वारा, तँ यी भनाइहरू सकारात्मक कुराहरू हुन् भन्‍नेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छस्। समयले तँलाई खार्दै गएपछि, र तैँले उमेर खाँदै गएपछि, तँ सबै किसिमका प्रसंग र परिस्थितिहरूमा यी भनाइहरूलाई पालना गर्न, र मानिसहरूले अन्तर्निहित रूपमा रुचाएका र असल ठानेका यी कुराहरूलाई पछ्याउन लागिपर्छस्। ती कुराहरूले तँभित्र झन्-झन् आकार लिइरहेका हुन्छन्, र तिनले तँलाई भित्री रूपमा झन्-झन् गाँज्‍दै जान्छन्। यसको साथै, यी कुराहरूले जीवन सम्‍बन्धी तेरो दृष्टिकोण र तैँले पछ्याउने उद्देश्यहरूलाई नियन्त्रण गर्छन्, र यी कुराहरू तैँले मानिसहरू र परिस्थितिहरूलाई मूल्याङ्कन गर्ने मापदण्डहरू बन्छन्। परम्‍परागत संस्कृतिका यी भनाइहरूले मानिसहरूभित्र आकार लिएपछि, तिनीहरूलाई परमेश्‍वर र सत्यताको विरोध गर्न लगाउने सबै सर्तहरू तयार भइसकेका हुन्छन्; यस्तो हुन्छ मानौँ मानिसहरूले त्यसो गर्ने आफ्‍नै कारण र आधार पाएका छन्। त्यसकारण, जब परमेश्‍वरले मानिसहरूको भ्रष्ट स्वभाव र सारको खुलासा गर्नुहुन्छ, र तिनीहरूमाथि सजाय र न्याय बर्साउनुहुन्छ, तब मानिसहरूले उहाँको बारेमा अनेक किसिमका धारणाहरू पैदा गर्छन्। तिनीहरूले सोच्छन्: “मानिसहरूले प्रायजसो यसो भन्‍ने गर्छन्, ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू,’ र ‘जेलमा कोचेर के गर्नु, खाने मुख मात्र बढ्छ; बरु कोमल व्यवहार गर्नु नै राम्रो,’ त्यसकारण परमेश्‍वरले कसरी त्यसो भन्‍न सक्‍नुहुन्छ? के यो साँच्‍चै परमेश्‍वरले नै भन्‍नुभएको हो र? परमेश्‍वरले त्यस्तो भन्‍नुहुन्‍न—उहाँले आफ्‍नो सही स्थान लिएर मानिसहरूसँग कोमल शैलीमा बोल्‍नुपर्छ, मानिसहरू सबैलाई कष्टबाट मुक्त गर्ने बुद्धको शैलीमा, बोधिसत्त्वको शैलीमा बोल्‍नुपर्छ। परमेश्‍वर त त्यस्तो पो हुनुपर्छ—अत्यन्तै भद्र र महान् हस्ती।” विचार, दृष्टिकोण, र धारणाको यो श्रृंखला, बढ्दो रूपमा तेरो हृदयबाट निस्किरहन्छन्, र अन्तिममा, तैँले यो सहन सक्दैनस् र नचाहेर पनि तैँले परमेश्‍वरको विरुद्धमा विद्रोह गर्न र उहाँको विरोध गर्नको लागि केही गर्छस्। यसरी, तँ आफ्‍नै धारणा र कल्‍पनाहरूद्वारा बरबाद हुन्छस्। यसबाट हामी के देख्‍न सक्छौँ भने तेरो उमेर जति भए पनि, तैँले परम्‍परागत संस्कृतिको शिक्षा प्राप्त गरेको छस् र तँमा वयस्कको मानसिक क्षमता छ भने, तेरो हृदय परम्‍परागत संस्कृतिको नैतिकताका यी पक्षहरूले भरिएको हुन्छ, र ती कुराहरू क्रमिक रूपमा तँमा गाँजिन्छन्। तिनले तँलाई पहिले नै नियन्त्रण गरिरसकेका हुन्छन्, र तँ धेरै वर्षदेखि यी कुराहरू अनुसार जिइरहेको हुन्छस्। तेरो जीवन र तेरो प्रकृतिलाई समेत परम्‍परागत संस्कृतिको नैतिकताका यी पक्षहरूले ओगटेको धेरै भइसकेको हुन्छ। उदाहरणको लागि, पाँच-छ वर्षको उमेरदेखि नै, तैँले टिपेको पैसा खल्तीमा नराख्‍नू भन्‍ने कुरा सिकेको हुन्छस्, र भेटेको पैसा टिप्दैनस्। यी कुराहरूले तँलाई प्रभाव पारेका हुन्छन् र तेरो व्यवहार कस्तो छ तिनले नै निर्धारित गरेको हुन्छ। अहिले, अधबैँसे व्यक्तिको रूपमा, तैँले यी कुराहरू अनुसार जिएको धेरै वर्ष भइसकेको हुन्छ; यसको अर्थ तँ परमेश्‍वरले मानिसलाई गर्नुभएका मागहरूबाट धेरै टाढा छस् भन्‍ने हुन्छ। परम्‍परागत संस्कृतिले पदोन्‍नति गर्ने नैतिक आचरण सम्‍बन्धी यी भनाइहरूलाई तैँले स्विकारेदेखि नै, तँ परमेश्‍वरका मागहरूबाट झन्-झन् टाढा गएको छस्। मानवता सम्‍बन्धी तेरो आफ्‍नै मापदण्डहरू र परमेश्‍वरले माग गर्नुहुने मानवताका मापदण्डहरूका बीचमा रहेको अन्तराल झन्-झन् ठूलो हुँदै गएको छ। परिणाम स्वरूप, तँ परमेश्‍वरबाट झन्-झन् टाढा बरालिएर गएको छस्। के कुरा यही होइन र? समय लिएर यी वचनहरूमा मनन गर्।

अब हामी नैतिक आचरण सम्‍बन्धी अर्को भनाइको बारेमा सङ्गति गरौँ—“आफूलाई कडाइ गर्नू र अरूलाई सहनू”—यो भनाइको अर्थ के हो? यसको अर्थ हो, तैँले आफूलाई कडा मागहरू गर्नुपर्छ र अरू मानिसप्रति नरम हुनुपर्छ, ताकि तँ कति उदार र दिलदार छस् भन्‍ने कुरा तिनीहरूले देख्‍न सकून्। त्यसोभए मानिसहरूले किन यसो गर्नुपर्छ? यसलाई किन हासिल गर्ने? के यसो गर्नु सम्‍भव छ? के यो मानिसहरूको साँच्चै प्राकृतिक अभिव्यक्ति हो? यसो गर्न तैँले धेरै सम्झौता गर्नुपर्छ! तँ इच्‍छा र मागहरूबाट मुक्त हुनैपर्छ, यसो गर्दा तँलाई कम आनन्द हुनेछ, अझै बढी कष्ट हुनेछ, अझै धेरै मूल्य चुकाउनु र काम गर्नुपर्छ, ताकि अरू मानिसहरू लखतरान हुन नपरून्। अनि अरूले दुखेसो पोखाए, गुनासो गरे, वा राम्ररी काम गरेनन् भने—केही हदसम्म राम्रै हुन्छ। मानिसहरूले यो आदर्श नैतिकताहरू सङ्केत हो भन्ने ठान्छन्—तर मलाई किन यो झूटो लाग्छ? के यो झूटो होइन र? (हो नि।) सामान्य परिस्‍थितिहरूमा, सामान्य व्यक्तिको मानवताको प्राकृतिक अभिव्यक्ति आफूप्रति सहनशील हुने र अरूलाई कडाइ गर्ने हुन्छ। यही तथ्य हो। मानिसहरूले जोकसैका समस्याहरू देख्‍न सक्छन्—“यो व्यक्ति अहङ्कारी छ! त्यो व्यक्ति खराब छ! यो मान्छे स्वार्थी छ! त्यो मान्छे आफ्‍नो कर्तव्य निर्वाहमा लापरवाह र झाराटारुवा छ! यो व्यक्ति अति अल्छी छ!” जब कि तिनीहरू आफूबारे भने यस्तो सोच्छन्: “म अलि अल्छी भएँ भने पनि ठिकै छ। मेरो क्षमता राम्रो छ। म अल्छी भए पनि, अरूले भन्दा राम्रो काम गर्छु!” तिनीहरू अरूको गल्ती खोतल्छन् र दोष कोट्याउन मन पराउँछन्, तर तिनीहरू आफूप्रति भने सम्‍भव भएसम्‍म सहनशील र उदार हुन्छन्। के यो तिनीहरूको मानवताको प्राकृतिक अभिव्यक्ति होइन र? (हो नि।) यदि मानिसहरू “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्‍ने सोचअनुसार जिउँछन् भन्‍ने अपेक्षा गरियो भने, तिनीहरू कस्तो कस्तो वेदनाबाट गुज्रनैपर्छ? के तिनीहरू साँच्‍चै यो सहन सक्छन्? कति जनाले यसो गर्न सक्नेछन्? (कसैले पनि सक्दैनन्।) अनि किन त्यस्तो हुन्छ? (मानिसहरू प्राकृतिक रूपमा नै स्वार्थी हुन्छन्। तिनीहरू “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्‍ने सिद्धान्तअनुसार काम गर्छन्।) वास्तवमा, मानिस जन्मँदै स्वार्थी हुन्छ, मानिस स्वार्थी प्राणी हो, र यो शैतानी दर्शनप्रति गहिरोसित प्रतिबद्ध हुन्छ: “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।” परिस्थिति आइपर्दा स्वार्थी नहुनु र आफ्‍नो वास्ता नगर्नु घातक, र अस्वाभाविक हो भन्‍ने मानिसहरू सोच्छन्। मानिसहरूले यही विश्‍वास गर्छन् र यस्तै व्यवहार गर्छन्। यदि मानिसहरू स्वार्थी नहून्, र आफूबाट कठोर माग नगरून्, र अरूबाट फाइदा लिनुको सट्टा घाटा बेहोर्न इच्छुक होऊन् भन्‍ने अपेक्षा गरियो भने, के त्यो वास्तविक अपेक्षा हुन्छ? यदि कसैले मानिसहरूको फाइदा उठाउँदा तिनीहरूले खुसीसाथ “तिमीले फाइदा लिइरहेको छौ तर म यसलाई ठूलो कुरा बनाउँदिनँ। म सहनशील व्यक्ति हुँ, म तिम्रो बारेमा नराम्रो कुरा भन्दिनँ वा तिमीबाट फाइदा लिने प्रयास गर्दिनँ, र यदि तिमीले अझै पर्याप्त फाइदा लिएका छैनौ भने, नहिचकिचाई फाइदा लेऊ” भनेर भनून् भन्ने अपेक्षा गरियो भने—के त्यो वास्तविक अपेक्षा हुन्छ? कति जनाले यसो गर्न सक्छन्? के भ्रष्ट मानवजातिले सामान्यतया यस्तै व्यवहार गर्छ? स्पष्टतः, यस्तो हुनु असामान्य कुरा हो। किन? किनभने भ्रष्ट स्वभावका मानिसहरू, विशेष गरी स्वार्थी र छुद्रहरू आफ्‍नै हितको निम्ति सङ्घर्ष गर्छन्, र अरूको हितको बारेमा सोच्दा यसले तिनीहरूलाई कदापि सन्तुष्ट अनुभव गराउँदैन। त्यसकारण, यस्तो घटना हुनु असामान्य हो। “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू”—भन्‍ने नैतिक आचरण सम्‍बन्धी यो दाबी, जुन न तथ्यसँग मिल्छ न मानवतासँग मिल्छ, यो त मानवता नबुझ्‍ने सामाजिक नैतिकतावादीहरूले मानवमा लादेको कुरा मात्रै होयो त मुसोलाई दुलो नपार्नू वा बिरालोलाई मुसो नपक्रिनू भनेजस्तै हो। के त्यस्तो माग गर्नु ठिक हो? (होइन। यसले मानवताका नियमहरू उल्‍लङ्घन गर्छ।) यो माग वास्तविकतासँग पटक्‍कै मिल्दैन, र यो खोक्रो छ। के यसो गर्न माग गर्ने मानिसहरूले आफै यसको पालना गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले आफै पूरा गर्न नसक्‍ने माग अरूले पूरा गरून् भन्‍ने अपेक्षा गर्छन्—समस्या के हो? के यो अलिक गैरजिम्‍मेवार कार्य होइन र? कम्तीमा पनि, तिनीहरू गैरजिम्‍मेवार छन् र तिनीहरूले व्यर्थका कुराहरू बोलिरहेका छन् भनेर भन्‍न सकिन्छ। अब, यसको बारेमा थप कुरा गर्दा, यो समस्याको प्रकृति के हो? (ढोङ्गीपन।) ठीक भन्यौ, यो ढोङ्गीपनको एउटा उदाहरण हो। तिनीहरूले आफै यो माग पूरा गर्न सक्दैनन्, तैपनि तिनीहरूले आफूलाई सहनशील, ठूलो हृदय भएको, र उच्‍च नैतिकता भएको भनी दाबी गर्छन्—के यो ढोङ्गीपन होइन र? तैँले यस कुरालाई जसरी हेरे पनि, यो निश्‍चित झूट बोक्‍ने खोक्रो भनाइ मात्रै हो, त्यसकारण हामी यसलाई ढोङ्गी भनाइको रूपमा वर्गीकरण गर्नेछौँ। यो त फरिसीहरूले पदोन्‍नति गरेका भनाइहरू जस्तै छ; यसको पछाडि गोप्य मनसाय लुकेको हुन्छ, जुन मनसाय भनेको आफ्‍नो धाक लगाउनु, आफूलाई आदर्श नैतिक आचरण भएको व्यक्तिको रूपमा चित्रण गर्नु, र आदर्श नैतिक आचरणको उदाहरण र नमुनाको रूपमा अरूद्वारा प्रशंसा गरिनु हो। त्यसकारण, कस्ता मानिसहरूले आफूलाई कडाइ गर्नू र अरूलाई सहनू भन्‍ने भनाइको पालना गर्न सक्छन्? के शिक्षक र डाक्टरहरूले यो भनाइलाई पालना गर्न सक्छन्? के तथाकथित चर्चित मानिसहरू, महान् व्यक्तिहरू, र कन्फ्युसियस, मेन्सियस र लाओझी जस्ता बुद्धिजीवीहरूले यो भनाइलाई पालना गर्न सक्थे? (सक्दैनथिए।) सारांशमा, मानिसले अघि सारेको यो भनाइ जति हास्यास्पद भए पनि, वा यो माग न्यायसंगत भए पनि नभए पनि, यो त मानिसहरूको नैतिक आचरण र व्यवहारप्रति लगाइएको माग मात्रै हो। कम्तीमा पनि, मानिसहरू यो माग पालना गर्न इच्छुक हुँदैनन्, र यो अभ्यास गर्न तिनीहरूलाई सहज हुँदैन, किनभने यो मानिसको सामान्य मानवताले हासिल गर्न सक्‍ने मापदण्डहरूभन्दा विपरीत छ। तर, जेसुकै भए पनि, यो अझै पनि परम्‍परागत संस्कृतिले पदोन्‍नति गरेको मानिसको नैतिक आचरण सम्‍बन्धी मापदण्ड र माग नै हो। “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्‍ने भनाइ थोरैले मात्रै पालना गर्न सक्‍ने खोक्रो वाक्यांश भए पनि, र यो “भेटेको पैसा लिनु हुँदैन” र “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ” भन्‍ने भनाइ जस्तै भए पनि—यसको अभ्यास गर्ने मानिसहरूको मनसाय वा अभिप्राय जेसुकै भए पनि, वा कसैले यसको अभ्यास गर्न सके पनि नसके पनि—यो मापदण्डको पदोन्‍नति गर्ने मानिसहरूले आफूलाई नैतिकताको चरम स्थानमा राखेको तथ्यको आधारमा मात्रै पनि, के यसले तिनीहरूलाई अहङ्कारी र आत्म-धर्मी, र अलिक अस्वाभाविक समझ भएका मानिसहरू तुल्याउँदैन र? यदि तैँले तिनीहरूलाई तिनीहरूले “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्‍ने भनाइको पालना गर्न सक्छन् कि सक्दैनन् भनेर सोधिस् भने, तिनीहरूले “अवश्य सक्छौँ” भनी भन्‍नेछन्। तैपनि, जब तिनीहरूलाई साँच्‍चै यसको पालना गर्न बाध्य गरिन्छ, तब तिनीहरूले पालना गर्न सक्दैनन्। किन तिनीहरूले यसको पालना गर्न सक्दैनन्? किनभने तिनीहरूमा अहङ्कारी र शैतानी स्वभाव हुन्छ। अरूले तिनीहरूसँग हैसियत, शक्ति, प्रतिष्ठा, र नाफाको लागि होड गरिरहेको बेला तिनीहरूलाई यो नैतिकताको पालना गर्न लगा, र तिनीहरूले यसो गर्न सक्छन् कि सक्दैनन् हेर्। तिनीहरूले यसो गर्न सक्दै सक्दैनन्, र तिनीहरूले तँलाई शत्रु समेत ठान्‍नेछन्। यदि तैँले तिनीहरूलाई “तपाईं आफैले पालना गर्न नसक्‍ने भनाइलाई किन तपाईं अझै पनि पदोन्‍नति गरिरहनुभएको छ? किन तपाईंले अझै पनि अरूलाई यसको पालना गर्न माग गर्नुहुन्छ? के यो तपाईंको ढोङ्गी व्यवहार होइन र?” भनेर सोधिस् भने, के तिनीहरूले यो कुरा स्विकार्नेछन्? यदि तैँले तिनीहरूको खुलासा गरिस् भने, तिनीहरूले यसलाई स्विकार्नेछैनन्—तैँले तिनीहरूलाई जसरी खुलासा गरे पनि, तिनीहरूले स्विकार्नेछैनन् वा गल्ती स्विकार्नेछैनन्—यसले तिनीहरू असल मानिसहरू होइनन् भन्‍ने देखाउँछ। तिनीहरूले आफूले गरेका मागहरू नै पूरा गर्न नसके पनि उच्‍च नैतिक शैली प्रस्तुत गर्छन् भन्‍ने तथ्यले नै तिनीहरूलाई महाठगहरू र ढोङ्गीहरू भनेर भन्दा उचित हुन्छ भन्‍ने देखाउँछ।

“आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्‍ने भनाइ “टिपेको पैसा खल्तीमा नहाल्‍नु” र “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ” भन्‍ने भनाइ जस्तै परम्‍परागत संस्कृतिले मानिसहरूको नैतिक आचरणको विषयमा गरेकामागहरूमध्ये एउटा हो। त्यसरी नै, कसैले यो नैतिक आचरण प्राप्त गर्न वा अभ्यास गर्न सके पनि नसके पनि, यो उसको मानवता नाप्‍ने मापदण्ड वा मानक होइन। सायद तँ आफूप्रति साँच्‍चै कडा हुन सक्छस् र अरूलाई सहन सक्छस्, अनि आफूप्रति निकै उच्‍च मापदण्ड राख्छस्। सायद तँ नैतिक रूपमा पूर्णतया स्वच्छ छस् अनि स्वार्थी नबनी र आफ्‍ना हितहरू नखोजी सधैँ अरूको बारेमा सोच्छस् र तिनीहरूको कुरा बुझिदिन्छस् होला। तँ विशेष गरी दिलदार र निस्स्वार्थ देखिन्छस् होला, र तँमा सामाजिक जिम्‍मेवारी र सामाजिक नैतिकताहरूको ठूलो बोध होला। तेरो नजिकका मानिसहरू, र तैँले भेटेका र तँसँग कुराकानी गर्ने मानिसहरूले तेरो आदर्श व्यक्तित्व र गुणहरू देखेका होलान्। तेरो व्यवहारले गर्दा अरूले कहिल्यै तँलाई दोष दिने वा आलोचना गर्ने कारण भेट्टाउँदैनन् होला, बरु तँलाई प्रशंसा र आदरसमेत गर्छन् होला। मानिसहरूले तँलाई आफूलाई कडाइ गर्ने र अरूलाई सहने व्यक्तिको रूपमा हेर्छन् होला। तैपनि, यी बाहिरी व्यवहारबाहेक केही होइनन्। के तेरो हृदयभित्रका विचार र इच्‍छाहरू यी बाहिरी व्यवहारसँग, तैँले बाहिरी रूपमा जिउने यी क्रियाकलापसँग मेल खान्छन्? यसको उत्तर हो, खाँदैनन्। तैँले यसरी व्यवहार गर्न सक्नुको पछाडि एउटा मनसाय छ। त्यो मनसाय वास्तवमा के हो? के त्यस्तो मनसाय पूरा भएको तैँले सहन सक्छस्? अवश्य नै सक्दैनस्। यो मनसाय उल्‍लेख गर्न नसकिने, कालो र दुष्ट कुरा हो भन्‍ने कुरा यसले प्रमाणित गर्छ। अब, किन यो मनसाय बताउन नमिल्‍ने र दुष्ट किसिमको छ? किनभने मानिसहरूको मानवतालाई उसको भ्रष्ट स्वभावले नियन्त्रण र उत्प्रेरित गरेको हुन्छ। मानवजातिले आफ्‍ना विचारहरूलाई शब्‍दहरूमा प्रस्तुत गरे पनि नगरे पनि वा प्रकट गरे पनि नगरे पनि, ती सबैलाई तिनीहरूको भ्रष्ट स्वभावले काबुमा राखेको, नियन्त्रण गरेको, र प्रभावित गरेको हुन्छ। परिणाम स्वरूप, मानिसहरूको मनसाय र अभिप्राय सबै कुटिल र दुष्ट हुन्छन्। मानिसहरूले आफूलाई कडा गर्न र अरूलाई सहन सके पनि नसके पनि, वा तिनीहरूले बाहिरी रूपमा यो नैतिकतालाई राम्ररी व्यक्त गर्न सके पनि नसके पनि, यो नैतिकताले तिनीहरूको मानवतामा कुनै नियन्त्रण गर्न वा प्रभाव पार्न सक्दैन। त्यसोभए, मानिसहरूको मानवतालाई केले नियन्त्रण गर्छ? तिनीहरूको भ्रष्ट स्वभावले, “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्‍ने नैतिकताको पछाडि लुकेको तिनीहरूको मानवताको सारले—तिनीहरूको साँचो प्रकृति त्यही हो। व्यक्तिको साँचो प्रकृति उसको मानवताको सार हो। अनि तिनीहरूको मानवताको सारमा के हुन्छ? यसमा मुख्य रूपमा तिनीहरूको अभिरुचि, तिनीहरूले खोजी गर्ने कुरा, जीवन सम्‍बन्धी तिनीहरूको दृष्टिकोण र तिनीहरूको मूल्यमान्यता, साथै सत्यता र परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्ति, र यस्तै इत्यादि कुरा हुन्छ। यी कुराहरूले मात्रै मानिसहरूको मानवताको सारलाई साँचो रूपमा प्रतिनिधित्व गर्न सक्छन्। निश्चित गरेर के भन्न सकिन्छ भने, “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्‍ने नैतिकता पूरा गर्न आफूलाई बाध्य गर्ने धेरैजसो मानिसहरू हैसियतप्रति मरिहत्ते गर्छन्। आफ्ना भ्रष्ट स्वभावद्वारा उत्प्रेरित भएर, तिनीहरू मानिसहरूका बीचमा प्रतिष्ठा, सामाजिक प्रसिद्धि, र अरूको नजरमा हैसियत पाउने कुराको पछि नलागी सक्दै सक्दैनन्। यी सबै कुरा हैसियतप्रतिको तिनीहरूको इच्‍छासँग सम्‍बन्धित हुन्छन्, अनि तिनीहरूको असल नैतिक आचरण व्यवहारको नाममा तिनीहरू यसको पछि लाग्ने गर्छन्। अनि तिनीहरूको यी खोजीहरू कसरी आउँछन्? ती पूर्णतया तिनीहरूको भ्रष्ट स्वभावहरूबाट आउँछन् र तिनैद्वारा प्रेरित हुन्छन्। त्यसकारण, जेसुकै भए पनि, कुनै व्यक्तिले “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्‍ने नैतिकतालाई पुरा गरे पनि नगरे पनि र उसले सिद्ध रूपमा त्यसो गरे पनि नगरे पनि, यसले पटक्‍कै उसको मानवताको सार परिवर्तन गर्न सक्दैन। यथार्थमा, यसको अर्थ यसले कुनै पनि हालतमा जीवन सम्‍बन्धी तिनीहरूको दृष्टिकोण वा मूल्य-मान्यताहरू परिवर्तन गर्न, वा सबै किसिमका मानिस, घटना, र परिस्थितिप्रति तिनीहरूको मनोवृत्ति र दृष्टिकोणलाई डोऱ्याउन सक्दैन। के कुरा त्यही होइन र? (हो।) कुनै व्यक्ति आफूलाई कडाइ गर्न र अरूलाई सहन जति सक्षम हुन्छ, नाटक गर्न, आफ्‍नो वास्तविक रूप लुकाउन, र अरूलाई असल व्यवहार र मीठो बोलीवचनद्वारा मक्ख पार्न उति नै सिपालु हुन्छन्, र तिनीहरू प्रकृतिले उती नै छली र दुष्ट बन्छन्। तिनीहरू जति हदसम्‍म यस्तो व्यक्ति बन्छन्, हैसियत र शक्तिप्रति तिनीहरूको प्रेम र खोजी त्यति नै गहिरो बन्छ। तिनीहरूको बाहिरी नैतिक आचरण जति महान्, महिमित र सही देखिए पनि, र मानिसहरूको लागि यो जति नै मनमोहक देखिए पनि, तिनीहरूको हृदयभित्र बसेको अकथित खोजी, साथै तिनीहरूको प्रकृति र सार, अनि तिनीहरूका महत्त्वाकाङ्क्षाहरूसमेत कुनै पनि बेला तिनीहरूबाट विस्फोट भएर निस्कन सक्छन्। त्यसकारण, तिनीहरूको नैतिक आचरण जति नै असल भए पनि, यसले तिनीहरूको मानवताको अन्तर्निहित सारलाई, वा तिनीहरूका महत्त्वाकाङ्क्षा र इच्‍छाहरूलाई लुकाउन सक्दैन। यसले सकारात्मक कुराहरूलाई प्रेम नगर्ने र सत्यतादेखि दिक्‍क मान्‍ने र यसलाई घृणा गर्ने तिनीहरूको घृणित प्रकृति र सारलाई लुकाउन सक्दैन। यी तथ्यहरूले देखाए जस्तै, “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्‍ने भनाइ निरर्थक मात्रै छैन—यसले त्यस्ता महत्त्वाकाङ्क्षीहरूलाई खुलासा गर्छ, जसले आफ्‍ना गोप्य महत्त्वाकाङ्क्षा र इच्‍छाहरू ढाकछोप गर्न प्रयास गर्न यस्ता भनाइ र व्यवहारहरू प्रयोग गर्छन्। तिमीहरूले यसलाई मण्डलीका केही ख्रीष्ट-विरोधी र दुष्ट मानिसहरूसँग तुलना गर्न सक्छौ। मण्डलीमा आफ्‍नो हैसियत र शक्तिलाई दह्रिलो बनाउन, र अरू सदस्यहरूको बीचमा राम्रो मर्यादा कमाउनको लागि, तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्दा केही कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छन्, र तिनीहरूले परमेश्‍वरको लागि मेहनत गर्न आफ्‍नो जागिर र परिवार छोड्न र सबै कुरा बेच्‍न समेत सक्छन्। कतिपय अवस्थामा त, तिनीहरूले परमेश्‍वरको खातिर मेहनत गर्नको लागि चुकाउने मूल्य र तिनीहरूले भोग्‍ने दुःखकष्ट सामान्य व्यक्तिले सहन सक्‍नेभन्दा पनि बढी हुन्छ; तिनीहरूले आफ्‍नो हैसियत कायम गर्नको लागि चरम आत्म-त्याग गर्न सक्छन्। तैपनि, तिनीहरूले जति धेरै कष्ट भोगे पनि वा तिनीहरूले जति धेरै मूल्य चुकाए पनि, तिनीहरू कसैले पनि परमेश्‍वरको गवाही वा परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न सक्दैनन्, न त तिनीहरूले परमेश्‍वरका वचनहरू अनुसार नै अभ्यास गर्न सक्छन्। तिनीहरूले पछ्याउने उद्देश्य भनेको हैसियत, शक्ति पाउनु, र परमेश्‍वरबाट इनाम पाउनु मात्रै हो। तिनीहरूले गर्ने केही कुरा पनि सत्यतासँग अलिकति पनि सम्‍बन्धित हुँदैन। तिनीहरू आफैप्रति जति नै कडा भए पनि र अरूप्रति जति नै सहनशील भए पनि, तिनीहरूको अन्तिम परिणाम के हुन्छ? परमेश्‍वरले तिनीहरूको बारेमा के सोच्‍नुहुनेछ? के तिनीहरूले जिउने बाहिरी असल व्यवहारको आधारमा परमेश्‍वरले तिनीहरूको परिणाम निर्धारित गर्नुहुन्छ? अवश्य नै गर्नुहुन्‍न। मानिसहरूले यी व्यवहार र प्रकटीकरणहरू अनुसार अरूलाई हेर्छन् र मूल्याङ्कन गर्छन्, र तिनीहरूले यस्ता मानिसहरूको सारलाई देख्‍न नसक्‍ने हुनाले, तिनीहरू यी मानिसहरूको छलमा पर्छन्। तैपनि परमेश्‍वर कहिल्यै पनि मानिसको छलमा पर्नुहुन्‍न। मानिसहरू आफूप्रति कडा र अरूप्रति सहनशील हुन सक्यो भन्दैमा उहाँले तिनीहरूको नैतिक आचरणको निम्ति तारिफ गर्नुहुनेछैन र त्यसलाई स्मरण गर्नुहुनेछैन। बरु, उहाँले तिनीहरूलाई तिनीहरूका महत्वाकांक्षाहरूका निम्ति र हैसियतको खोजी गर्न तिनीहरूले लिएको मार्गको लागि दोषी ठहराउनुहुनेछ। त्यसकारण, सत्यता पछ्याउने मानिसहरूमा मानिसहरूलाई मूल्याङ्कन गर्ने यो मापदण्डको समझशक्ति हुन्छ। तिनीहरूले यो हास्यास्पद मापदण्डलाई पूर्ण रूपमा इन्कार गर्नुपर्छ र त्याग्‍नुपर्छ, र मानिसहरूलाई परमेश्‍वरका वचनहरू र सत्यताका सिद्धान्तहरू अनुसार चिन्‍नुपर्छ। तिनीहरूले मुख्य रूपमा कुनै व्यक्तिले सकारात्मक कुरालाई प्रेम गर्छ कि गर्दैन, उसले सत्यतालाई स्विकार्छ कि स्विकार्दैन, र उसले परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूलाई पालना गर्छ कि गर्दैन, त्यसलाई साथै उसले चुन्‍ने र हिँड्ने मार्ग कस्तो छ त्यसलाई हेर्नुपर्छ, त्यसपछि यी कुराहरूका आधारमा ऊ कस्तो प्रकारको व्यक्ति हो, र उसमा कस्तो मानवता छ भनेर वर्गीकरण गर्नुपर्छ। जब मानिसहरूले “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्‍ने मापदण्डको आधारमा अरूलाई मूल्याङ्कन गर्छन् तब भ्रम र गल्तीहरू सहजै हुन सक्छन्। यदि तैँले मानिसबाट आउने सिद्धान्तहरू र भनाइहरूका आधारमा गलत रूपमा कुनै व्यक्तिलाई चिनिस् र हेरिस् भने, तैँले यस विषयमा सत्यतालाई उल्‍लङ्घन गरिरहेको र परमेश्‍वरको विरोध गरिरहेको हुन्छस्। किन? किनभने मानिसहरूलाई हेर्ने तेरो दृष्टिकोणको आधार गलत हुन्छ, र परमेश्‍वरका वचनहरू र सत्यता अनुरूप हुँदैन—यो त त्यसको विरोधमा र विपरीत पनि हुनसक्छ। परमेश्‍वरले “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्‍ने नैतिक आचरण सम्‍बन्धी अभिव्यक्तिको आधारमा मानिसहरूको मानवताको मूल्याङ्कन गर्नुहुन्‍न, त्यसकारण यदि तैँले यो मापदण्ड अनुसार मानिसहरूको नैतिकता मूल्याङ्कन गर्ने र तिनीहरू कस्ता व्यक्तिहरू हुन् भनेर निर्धारित गर्ने जिद्दी गरिस् भने, तैँले सत्यताका सिद्धान्तहरूलाई पूर्ण रूपमा उल्‍लङ्घन गरेको हुन्छस्, र तैँले गल्तीहरू गर्ने, र केही त्रुटि र गडबडी गर्ने सम्‍भावना हुन्छ। के कुरा यही होइन र? (हो।) मानिसहरूले यी कुराहरूलाई बुझेपछि, तिनीहरूमा कम्तीमा पनि परमेश्‍वरले मानिसहरू र परिस्थितिहरूलाई हेर्ने दृष्टिकोणको आधार, सिद्धान्त, र मापदण्डको बारेमा निश्‍चित स्तरको बुझाइ प्राप्त गरेका हुनेछन्—तैँले कम्तीमा पनि यी कुराहरूलाई हेर्ने परमेश्‍वरको तरिकाको बारेमा बुझेको र जानेको हुन्छस्। त्यसोभए, तेरो दृष्टिकोणको बारेमा के छ? कम्तीमा पनि व्यक्तिलाई हेर्ने सही आधार के हो, र मानिसहरूलाई हेर्ने दृष्टिकोणको कुन मापदण्ड सत्यता र वास्तविक तथ्यहरू अनुरूप हुन्छ, र कुनै गल्ती वा गडबडी हुन दिँदैन भन्‍ने कुरा जान्‍नुपर्छ। यदि तँ यी कुराहरूमा साँच्‍चै स्पष्ट भइस् भने, तँलाई परम्‍परागत संस्कृतिका यी पक्षहरू, साथै मानिसका विभिन्‍न अभिव्यक्ति, सिद्धान्त, र अरूलाई हेर्ने दृष्टिकोणहरूको बारेमा समझशक्ति प्राप्त हुनेछ, र तैँले परम्‍परागत संस्कृतिका यी पक्षहरू, र मानिसबाट आउने सबै प्रकारका फरक-फरक भनाइहरू र दृष्टिकोणहरूलाई पूर्ण रूपमा त्याग्‍न सक्‍नेछस्। यसरी, तैँले मानिसहरूलाई सत्यताका सिद्धान्तहरू अनुसार हेर्न र चिन्‍न सक्‍नेछस्, र निश्‍चित हदसम्‍म, तँ परमेश्‍वर अनुरूप हुनेछस्, र तैँले उहाँको विरुद्धमा विद्रोह गर्ने, उहाँको विरोध गर्ने, वा उहाँबाट भाग्‍ने गर्नेछैनस्। तँ परमेश्‍वरप्रति क्रमिक रूपमा अनुकूल हुँदै गएपछि, तैँले मानिसहरू र परिस्थितिहरूको सारको बारेमा झन्-झन् स्पष्ट अन्तर्ज्ञान प्राप्त गर्दै जानेछस्, र तैँले यसको पुष्टि परमेश्‍वरका वचनहरूमा भेट्टाउनेछस्। मानवजातिलाई खुलासा गर्ने परमेश्‍वरका विभिन्‍न अभिव्यक्तिहरू र मानवजातिप्रतिको उहाँको चरित्र चित्रण र परिभाषाहरू सबै सही छन्, र ती सबै सत्यता हुन् भन्‍ने तँलाई थाहा हुनेछ। अवश्य नै, तैँले यसको पुष्टि पाएपछि, परमेश्‍वर र उहाँका वचनहरूमा अझै बढी विश्‍वास र ज्ञान पाउनेछस्, र परमेश्‍वरका वचनहरू मानिसले जिउनुपर्ने सत्यता र वास्तविकता हुन् भन्‍ने कुरामा तँ झन्-झन् पक्‍का हुँदै जानेछस्। के सत्यतालाई स्विकार्ने र प्राप्त गर्ने प्रक्रियामा यही हुँदैन र? (हो।) सत्यता स्विकार्ने र प्राप्त गर्ने प्रक्रिया यही हो।

सत्यतालाई पछ्याउनुको उद्देश्य सत्यतालाई आफ्‍नो जीवनको रूपमा स्विकार्नु हो। जब मानिसहरूले सत्यतालाई स्विकार्न सक्छन्, तब तिनीहरूको भित्री मानवता र जीवन क्रमिक रूपमा रूपान्तरण हुन थाल्छन्, र अन्त्यमा, यो रूपान्तरण नै तिनीहरूको इनाम हुन्छ। विगतमा, तैँले मानिसहरू र परिस्थितिहरूलाई परम्‍परागत संस्कृतिको आधारमा हेर्थिस्, तर अहिले तँलाई यसो गर्नु गलत थियो भन्‍ने महसुस भएको छ, र तैँले अबदेखि त्यो दृष्टिकोणबाट हेर्न छोड्नेछस्, वा परम्‍परागत संस्कृतिले सिकाउने कुराहरूको आधारमा कुनै पनि व्यक्तिलाई हेर्न छोड्नेछस्। त्यसकारण, अब तैँले कुन आधारमा मानिसहरू र परिस्थितिहरूलाई हेर्नेछस्? तँलाई यो कुरा थाहा छैन भने, तैँले अझै पनि सत्यतालाई स्विकारेको छैनस् भन्‍ने यसले प्रमाणित गर्छ। यदि तँलाई मानिसहरू र परिस्थितिहरूलाई सत्यताका कुन-कुन सिद्धान्तहरूको आधारमा हेर्ने भन्‍ने थाहा भइसकेको छ, यदि तैँले सटीक रूपमा र स्पष्ट तरिकाले आफ्‍नो आधार, मार्ग, मापदण्ड, र सिद्धान्तहरूलाई उल्‍लेख गर्न सक्छस् भने, र यदि तैँले सत्यताका यी सिद्धान्तहरू अनुसार मानिसहरूलाई चिन्‍न र पहुँच गर्न पनि सक्छस् भने, सत्यताले तँलाई प्रभाव पार्न थालिसकेको छ, यसले तेरो विचारलाई अगुवाइ गरिरहेको छ र मानिसहरू र परिस्थितिहरूलाई हेर्ने तेरो दृष्टिकोणलाई नियन्त्रण गरिरहेको छ। यसले तँमा सत्यताले जरा गाडिसकेको छ र त्यो तेरो जीवन बनिसकेको छ भन्‍ने प्रमाणित गर्छ। त्यसोभए, सत्यताले तँलाई पार्ने प्रभावले अन्तिममा तँलाई कसरी सहयोग गर्नेछ? के यसले तेरो आनीबानी, तैँले चुन्‍ने मार्ग, र तेरो जीवनको दिशालाई प्रभाव पार्नेछैन र? (हो।) यदि यसले तेरो आनीबानी र तैँले हिँड्ने मार्गलाई प्रभाव पार्न सक्छ भने, के यसले परमेश्‍वरसँगको तेरो सम्‍बन्धलाई प्रभाव पार्नेछैन र? (पार्नेछ।) सत्यताले परमेश्‍वरसँगको सम्‍बन्धमा प्रभाव पारेपछि के परिणाम आउँछ? तँ अझै नजिक हुन्छस् कि टाढा जान्छस्? (म परमेश्‍वरको अझै नजिक हुनेछु।) तँ अवश्य नै उहाँको नजिक हुनेछस्। जब तँ परमेश्‍वरको नजिक हुन्छस्, तब तँ उहाँलाई पछ्याउन र उहाँको अघि झुक्‍न अझै इच्छुक हुनेछस्, कि शङ्का र गलतफहमीले भरिएर उहाँको अस्तित्वमा विश्‍वास गर्न अनिच्छा गर्नेछस्? (म परमेश्‍वरलाई पछ्याउन र उहाँको अघि झुक्‍न इच्छुक हुनेछु।) यो कुरा निश्‍चित छ। अब, तैँले यो इच्‍छा कसरी हासिल गर्नेछस्? तैँले आफ्‍नो वास्तविक जीवनमा परमेश्‍वरका वचनहरूको निश्‍चयता प्राप्त गर्नेछस्; सत्यताले तँलाई प्रभाव पार्न थाल्‍नेछ, र तैँले यसको सुनिश्‍चतता प्राप्त गर्नेछस्। सबै कुराहरू प्रकट हुने क्रममा, यी सबै कुराहरूको स्रोत तँभित्र पुष्टि हुनेछ र तैँले यो कुरा पूर्ण रूपमा परमेश्‍वरका वचनहरू अनुरूप छ भन्‍ने पाउनेछस्। परमेश्‍वरका वचनहरू सबै सत्यता हुन् भन्‍ने कुरा तैँले पक्‍का गर्नेछस्, र यसले परमेश्‍वरमाथिको तेरो विश्‍वासलाई बढाउनेछ। परमेश्‍वरमाथिको तेरो विश्‍वास जति बढ्छ, उहाँसँगको तेरो सम्‍बन्ध त्यति नै सामान्य बन्‍नेछ, तैँले सृष्टि गरिएको प्राणीको रूपमा काम गर्न, र परमेश्‍वरलाई आफ्‍नो सार्वभौम परमेश्‍वरको रूपमा लिन झन्-झन् इच्छा गर्नेछस्, र परमेश्‍वरमा समर्पित हुने तेरा पक्षहरूको सङ्ख्या बढ्नेछ। आफ्‍नो सम्‍बन्धमा हुने यो सुधारको बारेमा तिमीहरू के सोच्छौ? यो एकदम राम्रो कुरा हो, होइन र? यो विकासको असल र सकारात्मक परिणाम हो। त्यसोभए, विकासको खराब र घातक परिणामहरू के हुनेछ? (परमेश्‍वरको अस्तित्व सम्‍बन्धी तिमीहरूको विश्‍वास झन्-झन् कमजोर हुँदै जानेछ, र परमेश्‍वरको बारेमा तिमीहरूमा गलतफहमी र शङ्‍काहरू हुनेछन्।) कम्तीमा पनि, परिणामहरू यिनै हुनेछन्। तैँले कुनै पनि मामलामा निश्‍चयता प्राप्त गर्नेछैनस्, र तँ आफ्‍नो विश्‍वासमा सत्यता प्राप्त गर्न असफल मात्रै हुनेछैनस्, तर तँमा अनेक किसिमका धारणाहरू पनि पैदा हुनेछ—तँमा परमेश्‍वरको बारेमा गलतबुझाइ, उहाँप्रति तिरस्कार हुनेछ, र उहाँको विरुद्धमा तँ सतर्क हुनेछस्, र तैँले अन्तिममा उहाँलाई इन्कार गर्नेछस्। यदि तैँले हृदयमा परमेश्‍वरलाई इन्कार गरिस् भने, के तैँले अझै पनि परमेश्‍वरलाई पछ्याउन सक्‍नेछस्? (सक्दिनँ।) उहाँलाई पछ्याउन तिमीहरूलाई मन लाग्‍न छोड्नेछ। त्यसपछि, के हुनेछ? परमेश्‍वरले गर्नुहुने र भन्‍नुहुने कुराप्रति तैँले चासो गुमाउनेछस्। “मानवजातिको अन्त्य हुन लागेको छ” भनेर परमेश्‍वरले भन्‍नुभयो भने, तैँले “मैले त केही देखिनँ” भनेर भन्‍नेछस्! तैँले उहाँमा विश्‍वास गर्नेछैनस्। परमेश्‍वरले “सत्यतालाई पछ्याएपछि तैँले असल गन्तव्य प्राप्त गर्नेछस्” भन्‍नुभयो भने, तैँले यसो भन्‍नेछस्, “तपाईंले भन्‍नुभएको असल गन्तव्य कहाँ छ? मैले त देखिनँ!” तँलाई बेवास्ता लाग्‍नेछ। “तैँले सृष्टि गरिएको साँचो प्राणीले जस्तो व्यवहार गर्नुपर्छ” भनेर परमेश्‍वरले भन्‍नुभयो भने, तैँले यसो भन्दै प्रतिक्रिया दिनेछस्, “के सृष्टि गरिएको साँचो प्राणीले जस्तो व्यवहार गर्नुको कुनै फाइदा हुन्छ? यसबाट मैले कति धेरै आशिषहरू प्राप्त गर्न सक्छु? के त्यसो गरेर मैले साँच्‍चै आशिषहरू प्राप्त गर्न सक्छु? के यो कुरा आशिषहरू प्राप्त गर्नुसँग सम्‍बन्धित छ?” “तैँले परमेश्‍वरको सार्वभौमिकतालाई स्विकार्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ!” भनी परमेश्‍वरले भन्‍नुभयो भने, तैँले यसो भन्दै प्रतिक्रिया दिनेछस्, “कस्तो सार्वभौमिकता? म किन परमेश्‍वरको सार्वभौमिकताको अनुभव गर्न सक्दिनँ? यदि परमेश्‍वर साँच्‍चै सार्वभौम हुनुहुन्छ भने, किन उहाँले मलाई गरिबीमा जिउन दिनुभयो? किन उहाँले मलाई बिरामी हुन दिनुभयो? यदि परमेश्‍वर सार्वभौम हुनुहुन्छ भने, किन मलाई सधैँ कठिनाइहरू आइपर्छन्?” तेरो हृदय गुनासोले भरिनेछ, र परमेश्‍वरले भन्‍नुभएको कुनै पनि कुरा तैँले विश्‍वास गर्नेछैनस्। यसले परमेश्‍वरमाथि तैँले साँचो विश्‍वास गरेको छैनस् भन्‍ने देखाउँछ। त्यसकारण, विभिन्‍न समस्याहरूको सामना गर्दा, तैँले अलिकति पनि आज्ञापालन नगरी गुनासो मात्रै गर्नेछस्। यसरी तँ यस्तो घातक नतिजामा पुग्‍नेछस्। कतिपय मानिसहरूले भन्छन्, “परमेश्‍वर सार्वभौम हुनुभएको हुनाले, उहाँले मलाई तुरुन्तै मलाई बिरामीबाट निको हुन सहयोग गर्नुपर्छ। उहाँले मलाई मैले चाहेको सबै कुरा हासिल गर्न सहयोग गर्नुपर्छ। किन अहिले मेरो जीवन हैरानी र कष्टले भरिएको छ?” तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वास गुमाएका हुन्छन्, र तिनीहरूमा कुनै बेला भएको विश्‍वासको नाम-निशाना समेत बाँकी हुँदैन—यो पूर्ण रूपमा हराएको हुन्छ। यो सबैको घातक परिणाम र दुष्ट नतिजा यही हो। के तिमीहरू यस्तो अवस्थामा पुग्‍न चाहन्छौ? (चाहँदैनौँ।) यो स्तरमा पुग्‍नबाट तिमीहरू कसरी बच्‍न सक्छौ? सत्यताको विषयमा तिमीहरूले मेहनत गर्नु अनिवार्य हुन्छ—यो सबै कुराको चाबी र बाटो सत्यता र परमेश्‍वरका वचनहरूमा हुन्छन्। यदि तैँले परमेश्‍वरका वचनहरू र सत्यतामा मेहनत गरिस् भने, थाहै नपाई, तैँले परमेश्‍वरले सिकाउनुभएको र अगुवाइ गर्नुभएको मार्गलाई अझै स्पष्ट रूपमा देख्‍नेछस्, र परमेश्‍वरले मिलाउनुभएका मानिसहरू, घटनाक्रम, र कुराहरूको सारलाई देख्‍नेछस्। यो अनुभवको हरेक कदममा, तैँले परमेश्‍वरका वचनहरूमा मानिसहरू र परिस्थितिहरूलाई हेर्ने र तेरो आनीबानी र व्यवहारको सिद्धान्त र आधार क्रमिक रूपमा पत्ता लगाउँदै जानेछस्। सत्यतालाई स्विकारेर अनि बुझेर, तैँले आफूले सामना गर्ने मानिसहरू, घटना, र कुराहरूको विषयमा अभ्यासका सिद्धान्त र मार्गहरू भेट्टाउनेछस्। यदि तैँले यी मार्गहरू अनुसार अभ्यास गरिस् भने, परमेश्‍वरका वचनहरू तँमा प्रवेश गर्नेछन् र तेरो जीवन बन्‍नेछन्, र थाहै नपाई, तँ परमेश्‍वरका सार्वभौमिकता र योजनाबद्ध कार्यहरूको अधीनमा रही जिउन थाल्‍नेछस्। जब तँ परमेश्‍वरको सार्वभौमिकता र योजनाबद्ध कार्यहरूको अधीनमा जिउँछस्, तब तैँले मानिसहरू र परिस्थितिहरूलाई परमेश्‍वरका वचनहरू अनुसार कसरी हेर्ने त्यो कुरा अवचेतन रूपमा नै सिक्‍नेछस्, र तैँले परिस्थितिलाई उचित अडान, दृष्टिकोण, र नजरले हेर्नेछस्; तेरो दृष्टिकोणका परिणामहरू परमेश्‍वरका वचनहरू र सत्यता अनुरूप हुनेछन्, र तिनले तँलाई परमेश्‍वरको झन्-झन् नजिक तुल्याउँनेछन् र सत्यताप्रति तँलाई झन्-झन् तृषित बनाउनेछन्। तैपनि, तैँले सत्यतालाई पछ्याउँदैनस्, वा सत्यताप्रति मेहनत गर्दैनस् भने, र सत्यताप्रति तँमा कुनै चासो छैन भने, तँ कस्तो अवस्थामा पुग्‍नेछस् त्यो भन्‍न सकिँदैन। अन्तिममा, सबैभन्दा खराब नतिजा के हुनेछ भने मानिसहरूले उहाँमा विश्‍वास गर्ने जति नै प्रयास गरे पनि परमेश्‍वरका कार्यहरू देख्‍न वा उहाँको सार्वभौमिकताको अनुभव गर्न छोड्नेछन्; तिनीहरूले जति धेरै कुरा अनुभव गरेको भए पनि, परमेश्‍वरको सर्वशक्ति र बुद्धिलाई अनुभव गर्न छोड्नेछन्। त्यस्तो अवस्थामा, मानिसहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू सत्यता हुन् भनी स्विकार्नेछन्, तर तिनीहरूले आफ्‍नो मुक्तिको कुनै आशा देख्‍नेछैनन्, तिनीहरूले परमेश्‍वरको स्वभाव धर्मी र पवित्र छ भनेर देख्‍नु त परको कुरा हो, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास अस्पष्ट छ भन्‍ने कुराको तिनीहरूलाई सधैँ अनुभव हुनेछ। यसले के देखाउँछ भने तिनीहरूले सत्यता वा परमेश्‍वरको मुक्ति प्राप्त गरेनन्, र परमेश्‍वरमा वर्षौँदेखि विश्‍वास गरेर पनि तिनीहरूले केही प्राप्त गरेनन्। “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्‍ने तेस्रो भनाइ सम्‍बन्धी मेरो सङ्गति यतिमा नै समाप्त हुन्छ।

नैतिक आचरण सम्‍बन्धी चौथो अभिव्यक्ति के हो? (खराबीलाई भलाइले जित्‍नुपर्छ।) के मानिसहरूले खराबीलाई भलाइले जित्‍नुपर्छ भन्‍ने भनाइको पालना गर्दा निश्‍चित अभिप्रायहरू बोकेका हुन्छन्? के तिनीहरू आफ्‍नो लागि सहजता ल्याउनको लागि एक कदम पछि हटिरहेका हुँदैनन् र? के यो परिस्थितिहरूको सामना गर्ने सहज तरिका होइन र? मानिसहरू कहिल्यै अन्त्य नहुने बदलाको चक्रमा फस्‍न चाहँदैनन्, तिनीहरू परिस्थितिहरूलाई सहज तुल्याउन चाहन्छन् ताकि तिनीहरू अलिकति भए पनि शान्तिले जिउन सकून्। व्यक्तिको जीवन त्यति लामो हुँदैन, र ऊ एक सय वर्ष बाँचोस् वा दुई-तीन सय वर्ष बाँचोस्, उसलाई आफ्‍नो जीवन छोटो लाग्छ। दिनभरि, तिनीहरू बदला र हत्या गर्ने विचारमा हराउँछन्, तिनीहरूको भित्री संसार रडाकोले भरिएको हुन्छ, र तिनीहरूले दुःखी जीवन बिताउँछन्। त्यसकारण, तिनीहरूले अझै खुसी, अझै आनन्दमय जीवन जिउने उपाय खोजेर, आफूलाई राम्रो व्यवहार गर्न चाहन्छन्—जुन दुष्टतालाई भलाइले जित्‍नु हो। मानिसहरूले आफ्‍नो जीवन अवधिमा अपरिहार्य रूपमा नै एक-अर्कालाई रिस उठाउँछन् र एक-अर्काको षड्यन्त्रको पीडित बन्छन्, तिनीहरू सबै बदलामय र तीतो भावनामा डुब्छन्, र तिनीहरूले निकै दुःखलाग्दो जीवन जिउँछन्, त्यसकारण सामाजिक वातावरण र सामाजिक स्थिरता र एकताको लागि, र त्यस कुरालाई आफ्‍नो उत्प्रेरणा मानी नैतिकतावादीहरूले संसारको अघि यो नैतिक मापदण्डको पदोन्‍नति गर्छन्। तिनीहरूले मानिसहरूलाई खराबीलाई भलाइले जित्‍नुपर्छ, र घृणा र हत्याबाट जोगिनुपर्छ भनेर चेतावनी दिन्छन्, र खराबीलाई भलाइले जित्‍न सिक्‍न मानिसहरूलाई सल्‍लाह दिन्छन्। कसैले तँलाई विगतमा हानि गरेको थियो भने पनि, तैँले तिनीहरूसँग बदला लिनु हुँदैन, बरु तिनीहरूलाई सहयोग गर्नुपर्छ, तिनीहरूले विगतमा गरेका गल्तीहरूलाई भुलिदिनुपर्छ, तिनीहरूसँग सामान्य रूपमा नै अन्तरक्रिया गर्नुपर्छ, र बिस्तारै तिनीहरूलाई सुधार गर्दै तिमीहरू बीचको शत्रुतालाई हटाउनुपर्छ, र मैत्रीपूर्ण सम्‍बन्ध निर्माण गर्नुपर्छ भनेर तिनीहरूले भन्छन्। के यसले समाजमा समग्र सद्‌भाव ल्याउँदैन र? तिनीहरू भन्छन्, तँलाई परिवारको सदस्यले, साथीले, छिमेकीले, वा सहकर्मीले, जोसुकैले रिस उठाएको भए पनि, तैँले तिनीहरूको खराबीलाई भलाइले जित्‍नुपर्छ, र ईख बोक्‍नु हुँदैन। यदि सबैले यसो गर्न सके भने, यो मानिसहरूले भन्‍ने गरेको यो भनाइजस्तै हुन्छ भनेर तिनीहरू भन्छन्: “यदि सबैले थोरै-थोरै प्रेम दियो भने, संसार सुन्दर बन्‍नेछ।” के यी दाबीहरू कल्‍पनाहरूमा आधारित छैनन् र? सुन्दर संसार? कस्तो! हेर, यो संसार कसको नियन्त्रणमा छ र मानवजातिलाई कसले भ्रष्ट तुल्याउँछ। नैतिक आचरण सम्‍बन्धी “खराबीलाई भलाइले जित्‍नुपर्छ” भन्‍ने भनाइले वास्तवमा के परिवर्तन हासिल गर्न सक्छ? यसले केही परिवर्तन गर्न सक्दैन। अरू भनाइहरू जस्तै, यो भनाइले पनि मानिसहरूको नैतिक गुणको विषयमा निश्‍चित मागहरू गर्छ, वा तिनको बारेमा निश्‍चित नियमहरू लागू गर्छ। अरू मानिसहरूको घृणा र हत्याको सामना गर्दा तिनीहरू घृणा र हत्या गर्नबाट टाढा बस्‍नुपर्छ, र रिस उठे पनि आफूलाई हानी गर्ने मानिसहरूलाई तिनीहरूले शान्त भएर व्यवहार गर्नुपर्छ, र शत्रुता र हत्यालाई शान्त पार्न, र रगत बगाउने कार्यलाई कम गर्न आफ्‍नो नैतिक आचरणको प्रयोग गर्नुपर्छ। नैतिक आचरण सम्‍बन्धी यो भनाइ अवश्य पनि मानिसहरूमा निश्‍चित हदसम्‍म प्रभावकारी हुन्छ; यसले शत्रुता र द्वेषलाई शान्त पार्न सक्छ, र निश्‍चित हदसम्‍म बदलाद्वारा गरिने हत्यालाई कम गर्छ; अनि यसले सामाजिक वातावरणमा, सार्वजनिक सुव्यवस्थामा, र सामाजिक सद्भावमा निश्‍चित हदसम्‍मको सकारात्मक प्रभाव पनि पार्छ, तर यो भनाइ लागू हुनका लागि के-कस्ता पूर्वसर्तहरू पूरा हुनुपर्छ? सामाजिक वातावरणसँग सम्‍बन्धित धेरै महत्त्वपूर्ण पूर्वसर्तहरू छन्। एउटा हो, मानिसहरूमा हुने सामान्य समझ र मूल्याङ्कनको क्षमता। मानिसहरूले यस्तो सोच्छन्: “मैले बदला लिन चाहेको यो व्यक्ति मभन्दा बढी शक्तिशाली छ कि कम शक्तिशाली छ? मैले यस व्यक्तिसँग बदला लिएँ भने, के मैले आफ्‍नो उद्देश्य हासिल गर्न सक्‍नेछु? मैले बदला लिएर त्यस व्यक्तिलाई मारेँ भने, के मैले आफ्‍नै मृत्युदण्डको घोषणा गरिरहेको हुनेछु?” तिनीहरूले सुरुमा परिणामहरूको बारेमा लेखाजोखा गर्छन्। सोचविचार गरिसकेपछि, धेरैजसो मानिसहरूले यस्तो महसुस गर्छन्: “तिनीहरूले धेरै मान्छे चिनेका छन्, तिनीहरूको सामाजिक प्रभाव धेरै छ, र तिनीहरू घातक र निर्दयी छन्, त्यसकारण तिनीहरूले मलाई हानी गरेका भए पनि, म तिनीहरूसँग बदला लिन सक्दिनँ। मैले चुपचाप अपमान सहनुपर्छ। तर यदि मैले यो जीवनमा तिनीहरूसँग बदला लिने कुनै मौका पाएँ भने, म बदला लिनेछु।” भनाइ नै छ, “इख नभएको पुरुष र विख नभएको सर्प एउटै हो” र “बदला लिन भलाद्‍मीलाई कहिल्यै ढिला हुँदैन।” मानिसहरू अझै पनि यस्ता जीवन-दर्शनहरूलाई अङ्गालेर हिँड्छन्। खराबीलाई भलाइले जित्‍ने सम्‍बन्धी यो जीवन-दर्शन सीधै सामाजिक वातावरण र मानिसको गहन भ्रष्टतासँग जोडिएको हुनाले, एक हिसाबले, मानिसहरूले यसलाई अवलम्बन गर्छन्—मानिसहरूको धारणा र तिनीहरूको समझको मूल्याङ्कनको कारण यो पैदा भएको हो। जब धेरैजसो मानिसहरूले यस्ता परिस्थितिहरूको सामना गर्छन्, तब तिनीहरूले चुपचाप अपमानलाई पचाउन बाध्य हुन्छन्, र बाहिरी रूपमा खराबीलाई भलाइले जित्‍ने, र आफ्‍नो घृणा र क्रोधलाई पन्छाउने अभ्यास गर्छन्। मानिसहरूले यो जीवन-दर्शन पालना गर्नुको अर्को कारण के हो भने, कतिपय अवस्थाहरूमा संलग्‍न पक्षहरूको बीचमा शक्तिको ठूलो अन्तराल हुन्छ, त्यसकारण पीडित पक्षले बदला लिने आँट गर्दैन, र ऊ खराबीलाई भलाइले जित्‍नुपर्छ भन्‍ने भनाइको पालना गर्न बाध्य हुन्छ, किनभने उसले गर्न सक्‍ने केही हुँदैन। यदि तिनीहरूले बदला लिए भने, तिनीहरूको सम्पूर्ण परिवारको ज्यान खतरामा पर्नसक्छ, र त्यसका परिणामहरू अकल्‍पनीय हुन्छन्। कतिपय अवस्थामा, मानिसहरूलाई अपमान सहेर चुपचाप बस्‍नु नै उपयुक्त लाग्छ। तैपनि, त्यसो गरेर, के तिनीहरूले आफ्‍नो द्वेषलाई जितेका हुन्छन्? के कुनै पनि व्यक्ति ईख भुल्‍न सक्‍ने हुन्छ? (हुँदैन।) विशेष गरी अत्यन्तै गम्‍भीर ईख बोकेको अवस्थामा, जस्तै मानौँ कसैले तेरो नजिकको मान्छे मारिदियो र तेरो परिवारलाई बरबाद गरिदियो, र तेरो बदनाम गर्‍यो, जसले गर्दा तँमा तिनीहरूप्रति ठूलो शत्रुताको भाव पैदा भयो—त्यस्तो ईखलाई कसैले पनि त्याग्‍न सक्दैन। यो मानवताको एउटा भाग हो र मानवजातिले जित्‍न नसक्‍ने कुरा हो। त्यस्ता परिस्थितिहरूमा मानिसहरूले अन्तर्निहित रूपमा नै घृणाको विकास गर्छन्—यो निकै सामान्य कुरा हो। चाहे त्यो झोकले गर्दा होस्, प्राकृतिक गुणले गर्दा होस्, वा विवेकबाट आएको होस्, जसरी भए पनि, यो सामान्य प्रतिक्रिया हो। कुकुरहरू समेत तिनीहरूलाई माया गर्ने र नियमित खान दिने वा सहयोग गर्ने मानिसहरूको नजिक बन्छन्, र तिनीहरूले ती मानिसहरूलाई भरोसा गर्न थाल्छन्, तर तिनीहरूलाई हेप्‍ने र दुर्व्यवहार गर्ने मानिसहरूलाई घृणा गर्छन्—त्यति मात्र होइन, तिनीहरूलाई हेप्‍ने मानिसहरू जस्तो गन्ध भएका वा आवाज भएका मानिसहरूलाई पनि तिनीहरूले घृणा गर्छन्। हेर् त, कुकुरहरूमा समेत यो अन्तर्निहित गुण हुन्छ भने, मानिसहरूमा त अवश्य नै हुन्छ! मानिसहरूको मष्तिष्क पशुको भन्दा पनि जटिल हुने हुनाले, तिनीहरूले बदलापूर्ण हत्या वा अन्यायी व्यवहार सहनुपर्दा शत्रुताको अनुभूति गर्नु सामान्य कुरा हो। तैपनि, धेरै कारणहरू र निश्‍चित परिस्‍थितिहरूको कारण, मानिसहरू प्रायजसो यस्तो कुरालाई छूट दिनुपर्ने र अपमान सहन, र त्यस समयको लागि यस्तो कुरालाई त्यतिकै छोडिदिन बाध्य हुन्छन्—तैपनि यसको अर्थ तिनीहरूले भलाइले खराबीलाई जित्‍ने इच्छा गर्छन् वा तिनीहरूमा यसो गर्ने क्षमता हुन्छ भन्‍ने हुँदैन। मैले अहिले भनेको कुरा मानवताको दृष्टिकोण र मानिसको अन्तर्निहित प्रतिक्रियाहरूमा आधारित छ। यदि हामीले अहिले यसलाई समाज सम्‍बन्धी वस्तुगत तथ्यहरूको दृष्टिकोणले हेर्‍यौँ भने—यदि कसैले खराबीलाई भलाइले जितेन तर बदला लिएर हत्या गर्‍यो भने, परिणामहरू के हुनेछन्? तिनीहरूलाई कानुनी रूपमा जिम्‍मेवार तुल्याइन्छ, थुनामा राखिन्छ, कैद सजाय सुनाइन्छ, र मृत्यु दण्ड समेत दिइनसक्छ। यो कुराको आधारमा, हामीले के निष्कर्ष निकाल्‍न सक्छौँ भने, चाहे मानवताको दृष्टिकोणबाट होस् वा समाज र कानुनको बन्धनपूर्ण शक्तिको दृष्टिकोणबाट होस्, जब मानिसहरूले अन्यायी व्यक्ति र बदलापूर्ण हत्याको सामना गर्छन्, तब कुनै पनि व्यक्तिले आफ्‍नो मन वा हृदयको गहिराइको घृणालाई हटाउन सक्दैन। मौखिक आक्रमण, गिल्‍ला, वा निन्दा जस्ता सानातिना हानीको सिकार हुँदा पनि, मानिसहरूले खराबीलाई भलाइले जित्‍न सक्दैनन्। के खराबीलाई भलाइले जित्‍नु मानवताको सामान्य प्रकटीकरण हो? (होइन।) त्यसकारण, जब व्यक्तिलाई हेपिन्छ वा हानी गरिन्छ, कम्तीमा पनि उसको मानवतालाई के चाहिन्छ र त्यसले के माग गर्छ? के कुनै पनि व्यक्तिले हर्षित हुँदै र खुसीसाथ यसो भन्‍छ: “ठीक छ मलाई हेप्‍नुहोस्! तपाईं शक्तिशाली र खराब हुनुहुन्छ, तपाईंलाई जसरी मन लाग्छ त्यसरी मलाई हेप्‍न सक्‍नुहुन्छ, र म तपाईंको खराबीलाई भलाइले जित्‍नेछु। तपाईंले मेरो आदर्श चरित्र र नैतिकताको ठूलो अनुभूति गर्नुहुनेछ, र म अवश्य नै तपाईंलाई बदला लिनेछैन वा तपाईंलाई नराम्रो सोच्‍नेछैनँ। म तपाईंदेखि रिसाउनेछैनँ—म यो सब कुरालाई ठट्यौलीको रूपमा लिनेछु। तपाईंले भनेको कुराले मेरो चरित्रलाई जति अपमानित गरे पनि, मेरो इज्‍जतमा चोट पुर्‍याए पनि, वा मेरा हितहरूमा हानि गरे पनि, यो सब ठीक छ र तपाईंलाई जे मन लाग्छ त्यही भन्‍न सक्‍नुहुन्छ।” के त्यस्ता मानिसहरू अस्तित्वमा छन्? (छैनन्।) अवश्य पनि कुनै पनि व्यक्तिले आफ्‍नो ईख त्याग्‍न सक्दैन—तिनीहरूले बदला लिँदै आफ्‍नो शत्रुलाई नमारी केही समयसम्‍म बस्‍न सके भने पनि त्यो समेत ठूलो कुरा हो। त्यसकारण, कुनै पनि व्यक्ति खराबीलाई भलाइले जित्‍न सक्‍ने हुँदैन, र यदि मानिसहरूले यो नैतिक आचरणको अभ्यास नै गरे पनि, त्यस बेलाको निश्‍चित परिस्‍थितिको बन्धनमा परेको कारण वा पूरै घटना काल्‍पनिक र मनगडन्ते भएको कारणले मात्रै तिनीहरू त्यसरी व्यवहार गर्न बाध्य भएका हुन्छन्। सामान्य परिस्‍थितिहरूमा, जब मानिसहरू गम्‍भीर सतावट वा दुर्व्यवहारमा पर्छन्, तब तिनीहरूले ईख बोक्छन् र बदला लिने सोच राख्छन्। कुनै व्यक्तिलाई आफ्‍नो घृणाको बारेमा थाहा नहुने वा घृणाको प्रतिक्रिया नदिने एउटै मात्र अवस्था भनेको यदि त्यो घृणा अत्यन्तै ठूलो छ, र उसलाई मानसिक रूपमा अत्यन्तै गम्‍भीर झड्‍का लागेको छ, जसले गर्दा उसले आफ्‍नो स्मरण शक्ति वा सोच्‍ने शक्ति गुमाएको छ भने मात्रै हो। तैपनि सामान्य मानवता र समझ भएको कुनै पनि व्यक्तिले आफूलाई अपमान, पक्षपात, हेपाइ, उपहास, गिल्‍ला, निन्दा, हानि, वा इत्यादि कुरा गरिएको वा कसैले आफ्‍नो चरित्र र इज्‍जतमाथि खेलबाट गर्ने र उल्‍लङ्घन गर्ने गरी व्यवहार गरेको चाहँदैन; आफूलाई चिढ्याउने वा हानि गर्ने मानिसलाई देखावटी रूपमा नैतिक आचरणले व्यवहार गर्नुपर्दा कुनै पनि व्यक्ति खुसी हुँदैन—यसो गर्न कसैले पनि सक्दैन। त्यसकारण, खराबीलाई भलाइले जित्‍नुपर्छ भन्‍ने यो नैतिक आचरण सम्‍बन्धी दाबी मानवजातिको लागि अत्यन्तै कमजोर, बिर्सिन लायक, खोक्रो र अर्थ विहीन छ।

यदि हामीले यसलाई सामान्य मानवताको विवेक र समझको दृष्टिकोणबाट हेर्यौँ भने, व्यक्ति जति नै भ्रष्ट भए पनि र व्यक्ति दुष्ट भए पनि वा उसमा अलिक बढी असल मानवता भए पनि, तिनीहरू सबैले अरूले तिनीहरूलाई राम्रोसँग र आधारभूत सम्‍मानको साथ व्यवहार गरून् भन्‍ने चाहन्छन्। यदि कसैले तँसँग कुनै कारणविना चापलुसी गर्न र चिप्‍लो कुरा गर्न थाल्यो भने, के तँ खुसी हुन्छस्? के तँलाई त्यसो गरेको मन पर्छ? (मन पर्दैन।) किन मन पर्दैन? के तँलाई मूर्ख बनाइएको जस्तो महसुस हुन्छ? तैँले यस्तो सोच्छस्: “के तिमीले मलाई तीन वर्षको बच्‍चा जस्तो देख्यौ? तिमीले मलाई यी कुराहरू भन्‍नुको कारण के हो भनेर मैले किन बुझिरहेको छैनँ? के म तिमीले भने जस्तै राम्रो छु र? के मैले तीमध्ये कुनै कुरा गरेको छु र? यो सब मूर्ख चापलुसी केको लागि? किन तिमीलाई आफैप्रति घृणा जाग्दैन?” मानिसहरूलाई चापलुसीका शब्‍दहरू सुन्‍न मन लाग्दैन, र तिनीहरूले यस्तो कुरालाई अपमानको रूपमा लिन्छन्। आधारभूत सम्‍मान बाहेक, मानिसहरूले आफूलाई अरूले कसरी व्यवहार गरोस् भन्‍ने चाहन्छन्? (इमानदारिताको साथ।) अरूलाई इमानदारिताको साथ व्यवहार गर्न मानिसहरूलाई अनुरोध गर्नु असम्‍भव कुरा हो—यदि तिनीहरू अरूलाई हेप्‍ने कार्य गर्नबाट टाढा बसे भने, त्यो समेत राम्रो हुन्छ। एक-अर्कालाई नहेप्‍नको लागि मानिसहरूलाई अनुरोध गर्नु अलिक वस्तुगत माग हो। अरूले आफूलाई आदर गरून्, हेला नगरून्, र सबैभन्दा महत्त्वपूर्ण, निष्पक्ष व्यवहार गरून् भन्‍ने मानिसहरू चाहन्छन्। तिनीहरूले के आशा गर्छन् भने तिनीहरू असहाय हुँदा अरूले तिनीहरूसँग दुर्व्यवहार नगरून्, वा तिनीहरूका गल्तीहरू खुलासा हुँदा तिनीहरूलाई बहिस्कार नगरून्, वा निरन्तर तिनीहरूसँग चापलुसी र चिप्‍लो कुरा गर्ने नगरून्। मानिसहरूलाई यस्तो व्यवहार घृणास्पद लाग्छ र तिनीहरू उचित रूपले व्यवहार गरिएको मात्रै चाहन्छन्—के यस्तै होइन र? अरूलाई उचित तरिकाले व्यवहार गर्नु मानिसको संसार र मानिसको विचारको क्षेत्रको लागि निकै सकारात्मक आदर्श हो। म किन यसो भन्छु? यसको बारेमा विचार गर: मानिसहरूलाई किन बाओ झेङ मन पर्छ? बाओ झेङको फैसलाहरू काल्‍पनिक र पूर्ण मनगडन्ते भए पनि मानिसहरूलाई तिनको बारेमा चित्रण गरिएका भिडियोहरू हेर्न मन पर्छ। किन मानिसहरूलाई अझै ती मन पर्छ? किन तिनीहरू ती हेर्न चाहन्छन्? किनभने, तिनीहरूको आदर्श संसारमा, तिनीहरूको सोचाइको क्षेत्रमा, र तिनीहरूको हृदयको गहिराइमा, तिनीहरू सबैले सकारात्मक र अझै असल संसारको कामना गर्छन्। मानिस यस्तो निकै उचित र न्यायसंगत सामाजिक वातावरणमा, सबैलाई यस्तो व्यवहार गरिने कुराको ग्यारेन्टी गरिएको संसारमा जिउन पाए हुन्थ्यो भन्‍ने तिनीहरूले कामना गर्छन्। त्यसरी, कम्तीमा पनि, जब तँलाई दुष्ट शक्तिहरूले दुर्व्यवहार गर्छन्, तब न्याय अवलम्बन गरिने, तैँले आफ्‍ना गुनासाहरू उजुरी गर्न सक्‍ने, तैँले गुनासो गर्ने अधिकार पाएको, र अन्तिममा, तैँले भोगेका अन्यायहरूका बारेमा केही खुलासा गरिने ठाउँ हुनेछ। यो समाज र मानवजातिमा, तैँले आफूलाई निर्दोष साबित गर्ने, र कुनै पनि अपमान वा अन्याय सहनबाट आफूलाई रक्षा गर्न सक्‍ने ठाउँ हुन्छ। के मानिसको आदर्श समाज यस्तै हुँदैन र? के हरेक व्यक्तिले चाहने कुरा यही होइन र? (हो।) यो हरेक व्यक्तिको सपना हो। मानिसहरूले आफूलाई उचित व्यवहार गरियोस् भन्‍ने चाहन्छन्—तिनीहरू कुनै पनि अनुचित व्यवहारमा पर्न वा अनुचित व्यवहार गरिँदा गुनासो गर्ने ठाउँ नभएको स्थानमा पर्न चाहँदैनन्, र त्यस्तो भयो भने तिनीहरू हैरान हुन्छन्। मानिसको नैतिक आचरणको निम्ति दिइएको “खराबीलाई भलाइले जित्‍नुपर्छ” भन्‍ने मापदण्ड र माग मानवजातिको वास्तविक जीवनको भ्रष्टताको वास्तविकताबाट धेरै टाढा छ। त्यसकारण, मानिसको नैतिक आचरणको निम्ति अघि सारिएको यो माग मानिसको इच्‍छामा आउँदैन, र यो वस्तुगत तथ्य र वास्तविक जीवनभन्दा पर छ। यो त अन्यायमा परेका र अपमानित भएका ती दबिएका मानिसहरूको भित्री संसारको बारेमा केही नबुझेका विचारकहरूले अघि सारेको अभिव्यक्ति हो—यी विचारकहरूलाई यी मानिसहरू कति हदसम्‍म अन्यायमा परेका छन्, र तिनीहरूको इज्‍जत र चरित्र कति अपमानित भएको छ, वा तिनीहरूको व्यक्तिगत सुरक्षा कतिसम्‍म खतरामा परेको छ भन्‍ने कुरा थाहा छैन। तिनीहरूले यी वास्तविकताहरू बुझेका हुँदैनन्, तैपनि तिनीहरूले यी पीडितहरूलाई आफूमाथि आक्रमण गर्ने मानिसहरूसँग मिलाप गर्न र तिनीहरूसँग बदला लिनबाट टाढा बस्‍न माग गर्छन्, र यस्ता कुराहरू भन्छन्: “तिमी दुर्व्यवहार सहन नै जन्‍मेको हौ र तिमीले आफ्‍नो भाग्यलाई स्विकार्नैपर्छ। तिमी समाजको सबैभन्दा तल्‍लो तहमा जन्‍मियौ र तिमी दास हुन लायक छौ। तिमी अरूको शासनको अधीनमा जन्‍मेको हौ—तिमीलाई हानी गर्ने मानिसहरूसँग तिमीले बदला लिनु हुँदैन, बरु तिमीले त खराबीलाई भलाइले जित्‍नुपर्छ। सामाजिक वातावरण र सामाजिक सद्भावको भलाइको लागि तिमीले आफ्‍नो भूमिका पूरा गर्नुपर्छ, र आफ्‍नो सकारात्मक ऊर्जा र तिम्रो उत्कृष्ट नैतिक आचरण देखाएर समाजमा योगदान दिनुपर्छ।” समाजको माथिल्‍लो वर्ग र शासक वर्गका मानिसहरूले तल्‍लो स्तरका मानिसहरूलाई शोषण गर्नको लागि, आफूलाई यो सुविधा दिनको लागि, र दबिएका मानिसहरूको हृदय र भावना शान्त गर्नको लागि बहानाको रूपमा यो सब भनिएको हो भन्‍ने कुरा स्पष्ट हुन्छ। के यस्ता कुराहरू भन्‍नुको उद्देश्य यही हुँदैन र? (हो।) हरेक देशको कानुनी र सामाजिक प्रणालीहरू, र हरेक जाति र समुदायका प्रणाली र नियमहरूलाई निष्पक्ष र कडाइका साथ लागू गरियो भने, के मानवजातिको नियम विपरीत हुने यो द्वेषपूर्ण भनाइलाई पदोन्‍नति गरिरहनुपर्थ्यो? पर्दैनथियो। “खराबीलाई भलाइले जित्‍नुपर्छ” भन्‍ने भनाइ त शासक वर्गले अनि दबिएकाहरूलाई दुरुपयोग र कुल्चीमिल्ची गर्ने अख्‍तियार र शक्तिवाला दुष्ट मानिसहरूले उम्कने बाटो र सुविधाको रूपमा पदोन्‍नति गरेको कुरा मात्रै हो भन्‍ने कुरा स्पष्ट छ। यसको साथै, दबिएका वर्गहरूलाई सन्तुष्ट पार्न र धनी, विशिष्ट, र शासक वर्गप्रति बदला लिन वा तिनीहरूप्रति शत्रुवत हुनबाट रोक्‍नका लागि, यी तथाकथित विचारक र शिक्षकहरूले आफूलाई नैतिक आचरणको शिखरमा राखे, र सबैले असल नैतिक आचरणको अभ्यास गर्नुपर्छ भन्‍ने बहानामा यो भनाइको पदोन्‍नति गरे। के यसले समाजमा अझै धेरै विरोधाभासहरूको सिर्जना गर्दैन र? तैँले मानिसहरूलाई जति दमन गर्छस्, समाज त्यति नै अनुचित बन्छ। यदि समाज साँच्‍चै नै निष्पक्ष र न्यायसंगत छ भने, के यो भनाइ प्रयोग गरेर मानिसहरूको नैतिकको मूल्याङ्कन गर्नु र मागहरू गर्नु आवश्यक हुनेथियो? समाजमा वा मानवजातिको बीचमा कुनै न्याय नभएकोले यस्तो गर्नुपर्ने आवश्यकता भएको हो भन्‍ने कुरा स्पष्ट छ। यदि दुष्कर्मीहरूलाई कानुनले दण्ड दिन सक्छ भने वा पैसा र शक्तिवालाहरू पनि कानुनको अघि झुक्‍नुपर्छ भने, “खराबीलाई भलाइले जित्‍नुपर्छ” भन्‍ने यो भनाइ मान्य हुनेथिएन र यो अस्तित्वमा पनि आउनेथिएन। कति जना सर्वसाधारण मानिसहरूले अधिकारीलाई हानि गर्न सक्थे? कति जना गरिब मानिसहरूले धनीलाई हानि गर्न सक्थे? तिनीहरूले यस्तो कार्य गर्न कठिन हुनेथियो। त्यसकारण, “खराबीलाई भलाइले जित्‍नुपर्छ” भन्‍ने भनाइ स्पष्ट रूपमा नै सर्वसाधारण, गरिब, र तल्‍लो स्तरका मानिसहरूप्रति लक्षित छ—यो एउटा अनैतिक अन्यायी भनाइ हो। उदाहरणको लागि, यदि तैँले सरकारी अधिकारीलाई खराबीलाई भलाइले जित्‍नुपर्छ भनेर माग गरिस् भने, तिनीहरूले यसो भन्‍नेथिए: “मैले कस्तो खराबीलाई जित्‍नुपर्छ र? कसले मलाई हात उठाउने आँट गर्छ? कसले मलाई चिढ्याउने आँट गर्छ? मैले भनेको कुरा ‘नमान्‍ने’ आँट कसले गर्छ? मैले भनेको नमान्‍ने जोकोहीलाई म मार्छु—म तिनीहरूको हरेक परिवार र हरेक आफन्तलाई खतम पार्नेछु!” हेर त, अधिकारवालाहरूले जित्‍नुपर्ने कुनै खराबी हुँदैन, त्यसकारण “खराबीलाई भलाइले जित्‍नुपर्छ” भन्‍ने भनाइ तिनीहरूको लागि व्यर्थ हुन्छ। यदि तैँले तिनीहरूलाई: “तपाईंले खराबीलाई भलाइले जित्‍नुपर्छ भन्‍ने यो नैतिक आचरणको अभ्यास गर्नैपर्छ, तपाईंमा यो नैतिक आचरण हुनैपर्छ” भनेर भनिस् भने, तिनीहरूले यसरी प्रतिक्रिया दिनेछन्: “अवश्य, म त्यसो गर्न सक्छु।” यो पूर्ण रूपमा धोकेबाज झूट हो। जेसुकै भए पनि, “खराबीलाई भलाइले जित्‍नुपर्छ” भन्‍ने भनाइ न्यून वर्गका मानिसहरूलाई रिस नउठाउनको लागि सामाजिक नैतिकतावादीहरूले पदोन्‍नति गरेको भनाइ मात्रै हो, र त्योभन्दा पनि बढी, तल्‍लो स्तरका मानिसहरूलाई दासत्वमा पार्नको लागि पदोन्‍नति गरिएको भनाइ हो। शासक वर्गको अख्तियारलाई थप स्थिर पार्न, शासक वर्गको पक्षपोषण गर्न, र तल्‍लो स्तरका मानिसहरूलाई सधैँ दासत्वमा राख्‍नको लागि यसको पदोन्‍नति गरिएको हो, ताकि तिनीहरूलाई पुस्तौँ पुस्तासम्‍म दासत्वमा राखिए पनि तिनीहरूले गुनासो नगरून्। यसबाट हामीले के देख्‍न सक्छौं भने, यस्तो समाजमा, न्याय र प्रणाली स्पष्ट रूपमा नै अन्यायी हुन्छ; यस्तो समाज सत्यताद्वारा शासित हुँदैन, र सत्यता, न्याय, र धार्मिकताद्वारा यो शासित हुँदैन। बरु, यो मानिसको दुष्टता र शक्तिले शासित हुन्छ, चाहे शासकको रूपमा सेवा गर्ने व्यक्ति जोसुकै होस्। यदि सर्वसाधारण मानिसहरूले अधिकारीहरूका रूपमा सेवा गरेका भए पनि, परिस्थिति त्यस्तै हुनेछ। यो सामाजिक प्रणालीको सार यही हो। “खराबीलाई भलाइले जित्‍नुपर्छ” भन्‍ने भनाइले यो तथ्यलाई खुलासा गर्छ। यो वाक्यांशमा स्पष्ट रूपमा नै निश्‍चित राजनीतिक गुण छ—यो शासक वर्गले तल्‍लो स्तरका मानिसहरूमाथि गर्ने अधीनता र दासत्वलाई बलियो बनाउनको लागि तिनीहरूले मानिसको नैतिक आचरणमा हालिदिएको माग हो।

खराबीलाई भलाइले जित्‍नुपर्छ भन्‍ने माग मानवजातिका सामान्य खाँचो वा मागहरू, वा मानवताको चरित्र र इज्‍जत अनुरूप नरहेको मात्रै होइन, तर स्वाभाविक रूपमै, व्यक्तिको मानवताको मूल्याङ्कन गर्नको लागि यो उचित मापदण्ड होइन। यो माग वास्तविक मानवताभन्दा निकै टाढा छ; यो हासिल गर्न नसकिने मात्र होइन, तर यसलाई पहिले नै पदोन्‍नति समेत गर्नु हुँदैनथियो। यो त मानिसहरूमाथिको शासन र नियन्त्रणलाई बलियो बनाउनका लागि शासक वर्गले लागू गरेको भनाइ र युक्ति मात्रै हो। स्वाभाविक रूपमै, परमेश्‍वरले कहिल्यै पनि यस्तो भनाइको पदोन्‍नति गर्नुभएको छैन, चाहे त्यो व्यवस्थाको युगमा होस्, अनुग्रहको युगमा होस्, वा वर्तमान युग अर्थात् राज्यको युगमा होस्, र परमेश्‍वरले मानिसहरूको मानवताको स्तरलाई मूल्याङ्कन गर्ने आधारको रूपमा कहिल्यै पनि यस्तो विधि, भनाइ, वा मागको प्रयोग गर्नुभएको छैन। किनभने, कुनै व्यक्ति नैतिक भए पनि नभए पनि, र उसको नैतिक आचरण जति असल वा खराब भए पनि, परमेश्‍वरले उसको सारलाई मात्रै हेर्नुहुन्छ—नैतिक आचरण सम्‍बन्धी यी भनाइहरू परमेश्‍वरको कार्यक्षेत्रमा हुँदैनन्। तसर्थ, “खराबीलाई भलाइले जित्‍नुपर्छ” भन्‍ने नैतिक आचरण सम्‍बन्धी यो भनाइ परमेश्‍वरको घरमा मान्य हुँदैन, र यो विश्‍लेषण गर्न लायक हुँदैन। तैँले खराबीलाई भलाइले जिते पनि, वा बदलाले जिते पनि, परमेश्‍वरका विश्‍वासीहरूले “खराबीलाई जित्‍ने” मामलालाई कसरी हेर्नुपर्छ? यस विषयलाई तिनीहरूले कुन मनोवृत्ति र कुन दृष्टिकोणले हेर्नुपर्छ र लिनुपर्छ? यदि कसैले मण्डलीमा दुष्कर्म गर्‍यो भने, त्यो व्यक्तिलाई कारबाही गर्नको लागि परमेश्‍वरको घरमा आफ्‍नै प्रशासनिक आदेशहरू र सिद्धान्तहरू हुन्छन्—कसैले पीडित पक्षको लागि बदला लिनुपर्ने वा अन्यायको विरुद्धमा तिनीहरूको प्रतिरक्षा गर्नुपर्ने आवश्यकता हुँदैन। परमेश्‍वरको घरमा त्यसको कुनै आवश्यकता हुँदैन, र मण्डलीले स्वाभाविक रूपमा नै समस्यालाई सिद्धान्तहरू अनुसार तह लगाउनेछ। यो तथ्य मानिसहरूले अवलोकन गर्न पनि सक्छन् र भोग्‍न पनि सक्छन्। यसलाई स्पष्ट र सटीक रूपमा भन्दा: मानिसहरूलाई कारबाही गर्नको लागि मण्डलीका सिद्धान्तहरू छन् र परमेश्‍वरको घरमा प्रशासनिक आदेशहरू छन्। त्यसोभए परमेश्‍वरले के गर्नुहुन्छ त? परमेश्‍वरको हकमा भन्दा, दुष्कर्म गर्ने कुनै पनि व्यक्तिलाई सोही अनुरूप दण्ड दिइनेछ, र तिनीहरूलाई कहिले र कसरी दण्ड दिने त्यसको निर्णय परमेश्‍वरले नै गर्नुहुनेछ। दण्ड दिने सम्‍बन्धी परमेश्‍वरका सिद्धान्तहरूलाई उहाँको स्वभाव र सारबाट अलग गर्न सकिँदैन। परमेश्‍वरसँग धर्मी र चिढ्याउन नसकिने स्वभाव छ, उहाँसँग प्रताप र क्रोध छ, र दुष्टता गर्ने सबैलाई उहाँले सोही अनुसार दण्ड दिनुहुनेछ। यो मानिसको कानुनभन्दा ठूलो छ, र यसले मानवता र सबै सांसारिक कानुनहरूलाई जित्छ। यो निष्पक्ष, उचित, र मानवताको इच्‍छा अनुरूप मात्रै छैन, तर यसको लागि कसैको तारिफ र पुष्टीकरणको आवश्यकता पर्दैन। यसले तँलाई नैतिकताको शिखरमा बसेर मूल्याङ्कन गर्न लगाउँदैन। जब परमेश्‍वरले यी कुराहरू गर्नुहुन्छ, तब उहाँका आफ्‍नै सिद्धान्तहरू र समय हुन्छन्। परमेश्‍वरलाई उहाँको इच्‍छा अनुसार काम गर्न दिनुपर्छ, र मानिसहरू हस्तक्षेप गर्नबाट टाढा बस्‍नुपर्छ, किनभने यससँग तिनीहरूको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले “खराबीलाई जित्‍ने” विषयमा मानिसहरूलाई के आज्ञा गर्नुहुन्छ? तिनीहरूले रिसको झोकमा काम गर्नु वा अरूसँग बदला लिनु हुँदैन। कसैले तँलाई चिढ्यायो, दुर्व्यवहार गर्‍यो, वा तँलाई हानि गर्न चाहयो भने तैँले के गर्नुपर्छ? के त्यस्ता कुराहरूको सामना गर्ने सम्‍बन्धी सिद्धान्तहरू छन्? (छन्।) परमेश्‍वरका वचनहरूमा यी कुराहरूका समाधान र सिद्धान्तहरू छन्, र एउटा आधार छ। अरू कुरा जेसुकै भए पनि, “खराबीलाई भलाइले जित्‍नुपर्छ” भन्‍ने नैतिक आचरण सम्‍बन्धी भनाइ मानिसहरूको मानवताको गुणस्तर मूल्याङ्कन गर्ने मापदण्ड पनि होइन। बढीमा, यदि कुनै व्यक्तिले खराबीलाई भलाइले जित्‍न सक्छ भने, तिनीहरू अलिक सहनशील, सरल, राम्रो प्रकृति भएको, र उदार छन्, तिनीहरू सानो मनका छैनन्, र तिनीहरूमा क्षणिक नैतिक आचरण छ भनेर भन्‍न सकिन्छ। तैपनि, के यो व्यक्तिको मानवताको गुणस्तरलाई यो एउटा भनाइको आधारमा मूल्याङ्कन गर्न र मापन गर्न सकिन्छ? अवश्य नै सकिँदैन! तिनीहरूले के कुराको खोजी गर्छन्, कुन मार्ग हिँड्छन्, सत्यता र सकारात्मक कुराहरूप्रति तिनीहरूको मनोवृत्ति कस्तो छ, र इत्यादि कुरालाई पनि ध्यान दिनुपर्छ। तिनीहरूमा मानवता छ कि छैन भनेर सटीक रूपमा मूल्याङ्कन गर्ने एउटै मात्र उपाय त्यही मात्रै हो।

आजको हाम्रो सङ्गति यतिमा नै समाप्त हुन्छ।

मार्च २६, २०२२

अघिल्लो: सत्यता पछ्याउनु भनेको के हो (५)

अर्को: सत्यता पछ्याउनु भनेको के हो (८)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्