सत्यता पछ्याउनु भनेको के हो (१)

आजको सङ्गति सबैजना परिचित रहेको विषयमा छ। यो अभिन्‍न रूपले परमेश्‍वरमाथिको मानिसको विश्‍वास र उसको खोजीसँग सम्‍बन्धित छ, र यो मानिसहरूले हरेक दिन अनुभव गर्ने र सुन्‍ने विषय हो। त्यसो भए, यो के हो त? यो सत्यता पछ्याउनु भनेको के हो भन्‍ने विषय हो। तिमीहरूलाई यो विषय कस्तो लाग्छ? के तिमीहरूलाई यो नवीन लाग्यो? के यो बाध्यकारी छ? यो विषय जति नै बाध्यकारी भए पनि, यो तिमीहरू हरेकको लागि सान्दर्भिक छ भन्‍ने मलाई थाहा छ; यो मानिसहरूको मुक्ति, परमेश्‍वरका वचनहरूको वास्तविकतामा तिनीहरूको प्रवेश र तिनीहरूको स्वभाव परिवर्तन, अनि तिनीहरूको परिणाम र गन्तव्यको निम्ति सान्दर्भिक छ। अहिले तिमीहरूमध्ये धेरैजसो सत्यता पछ्याउन इच्छुक छौ र बिउँझन थालेका छौ, तर सत्यता पछ्याउनु भनेको के हो वा सत्यता कसरी पछ्याउने भन्‍नेबारेमा तिमीहरू त्यति निश्‍चित छैनौ। त्यसैले आज हामीले यस विषयमा सङ्गति गर्नु अत्यावश्यक रहेको छ। सत्यता पछ्याउने विषय मानिसहरूले आफ्नो जीवनमा प्राय सामना गरिरहने कुरा हो; यो मानिसहरूको दैनिक जीवनमा केही आइपर्दा, तिनीहरूले आफ्‍नो कर्तव्य निभाउँदा, र यस्तै अन्य अवस्थामा मानिसहरूले सामना गर्ने व्यावहारिक समस्या हो। जब कुनै कुरा आइपर्छ, तब धेरैजसो मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्ने आत्म-प्रेरित प्रयासहरू मात्रै गर्छन्, र आफूलाई नकारात्मकतामा डुब्‍नबाट वा परमेश्‍वरलाई गलत रूपमा बुझ्‍नबाट रोक्‍न, र उहाँको काममा समर्पित हुन सक्षम बन्‍ने आशा गर्दै तिनीहरूले आफ्‍ना विचारहरूलाई नकारात्मक हुन दिँदैनन्। राम्रो क्षमता भएका मानिसहरू परमेश्‍वरका वचनहरूमा सकारात्मक र सक्रिय रूपले सत्यताका सबै पक्षहरू खोजी गर्न सक्‍ने हुन्छन्; तिनीहरूले सिद्धान्तहरू, परमेश्‍वरका मापदण्डहरू, र अभ्यासको मार्गहरू खोज्छन्। या त तिनीहरूले आफ्‍नो जीवनमा आइपर्ने परिस्थितहरूमार्फत आफूलाई जाँच्‍न, मनन गर्न, र ज्ञान पाउन सक्छन्, र यसरी अन्ततः तिनीहरूले सत्यताका सिद्धान्तहरू बुझेर सत्यताको वास्तविकतामा प्रवेश गर्छन्। तैपनि, धेरैजसो मानिसहरूको लागि यो सबैभन्दा ठूलो बाधा बन्छ, र तिनीहरूले यी कुराहरू हासिल गर्न सक्छन्-सक्दैनन् त्यो निश्‍चित हुँदैन। धेरैजसो मानिसहरू वास्तविकताको यो पक्षमा अझै प्रवेश गरेका छैनन्। त्यसकारण, तिमीहरूले यसलाई समय लगाएर विचार गर्‍यौ भने पनि, यो सामान्य, आम, र निर्दिष्ट विषयको व्यावहारिक, वस्तुगत, र साँचो बुझाइ प्राप्त गर्न सहज हुनेछैन। त्यसकारण, हाम्रो मुख्य विषयमा फर्केर, सत्यता पछ्याउनु भनेको के हो भन्‍नेबारेमा सङ्गति गरौँ। तिमीहरू मनन गर्न सिपालु छैनौ, तर आशा छ तिमीहरू सुन्‍नमा सिपालु छौ—कानले मात्रै होइन, मनले पनि सुन्‍न सिपालु छौ। म आशा गर्छु, तिमीहरूले यो कुरा बुझ्‍न र समझमा ल्याउन आफ्‍नो हृदय लगाउनेछौ, र आफूले बुझ्‍न सकेका सबै कुरा, र आफ्‍नो स्थिति, आफ्नो स्वभाव, र आफ्नो परिस्थितिको हरेक पक्षसँग सम्‍बन्धित सबै कुरालाई महत्त्वपूर्ण ठानी मनमा राख्‍नेछौ। त्यसपछि, मलाई यो पनि आशा छ कि तिमीहरू आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्न सुरु गर्नेछौ र अभ्यासका सबै सिद्धान्तहरू हृदयमा राख्‍न लागिपर्नेछौ, ताकि जब सम्‍बन्धित समस्याहरू देखा पर्छन्, तब तँसँग हिँड्ने बाटो होस्, र तैँले परमेश्‍वरका वचनहरूलाई अभ्यासको मार्गको रूपमा लिएर तिनलाई त्यसरी नै लागू र पालन गर्न सक्। त्यो एकदम राम्रो हुनेछ।

सत्यता पछ्याउनु भनेको के हो? यो अवधारणागत प्रश्‍न हुन सक्छ, तर यो परमेश्‍वरमा विश्‍वास गर्ने सम्‍बन्धमा सबैभन्दा व्यावहारिक प्रश्‍न पनि हो। मानिसहरूले सत्यता पछ्याउन सक्छन् कि सक्दैनन् भन्‍ने कुरा तिनीहरूको रुचि, क्षमता, र खोजसँग प्रत्यक्ष रूपमा सम्‍बन्धित हुन्छ। सत्यता पछ्याउने कार्यमा धेरै व्यावहारिक तत्वहरू समावेश हुन्छन्। हामी ती तत्वहरूबारे एकएक गरी सङ्गति गर्नेछौँ, ताकि तिमीहरूले जतिसक्दो चाँडो सत्यता बुझ्‍न सक, र सत्यता पछ्याउनु भनेको के हो र त्यसरी पछि लाग्‍नुको पछाडि के-कस्ता कुराहरू जोडिएका हुन्छन् भनेर सही रूपमा जान्‍न सक। त्यसरी, तिमीहरूले अन्ततः सत्यता पछ्याउनु भनेको के हो, बुझ्‍न सक्‍नेछौ। सबैभन्दा पहिलो, हामी यस विषयमा छलफल गरौँ: के तिमीहरूले यो प्रवचन सुनेर सत्यता पछ्याइरहेका छौ? (वास्तवमा छैनौँ।) प्रवचनहरू सुन्‍नु भनेको सत्यता पछ्याउनुको पूर्वसर्त र तयारी मात्रै हो। सत्यता पछ्याउने कार्यमा के-कस्ता तत्वहरू समावेश हुन्छन्? सत्यता पछ्याउने कुरालाई छुने धेरै विषयहरू छन्, तर स्वाभाविक रूपमै मानिसहरूमा धेरै समस्याहरू पनि छन् जसको बारेमा हामीले यहाँ छलफल गर्नुपर्छ। उदाहरणको लागि, कतिपय मानिसहरूले यसो भन्छन्, “यदि कसैले हरेक दिन परमेश्‍वरका वचनहरू खान्छ-पिउँछ र सत्यता सङ्गति गर्छ भने, यदि उसले आफ्‍नो कर्तव्य सामान्य रूपमा पूरा गर्न सक्छ भने, यदि उसले मण्डलीले मिलाएको जुनसुकै काम गर्छ, र कहिल्यै वाधा वा व्यवधान ल्याउँदैन भने—अनि कहिलेकहीँ तिनीहरूले सत्यताका सिद्धान्तहरू उल्‍लङ्घन गरे पनि, तिनीहरूले जानीजानी वा आशयपूर्वक त्यसो गरेका हुँदैनन् भने—के यसले तिनीहरूले सत्यता पछ्याइरहेका छन् भन्‍ने देखाउँदैन र?” यो राम्रो प्रश्‍न हो। धेरै मानिसहरूमा यस्तो विचार हुन्छ। सर्वप्रथम, यसरी एकनाससित अभ्यास गरेर कसैले सत्यता बुझ्‍न र सत्यता प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने कुरा तिमीहरूले बुझ्‍नुपर्छ। तिमीहरूका विचार बताओ। (यसरी अभ्यास गर्नु सही भए पनि, यो अलिक धार्मिक विधिविधानसँग सम्‍बन्धित छ—यो नियम पालना गर्ने कार्य हो। यसमार्फत सत्यता बुझ्‍न वा प्राप्त गर्न सकिँदैन।) त्यसकारण, वास्तवमा यी कस्ता व्यवहारहरू हुन्? (ती सतही रूपमा असल व्यवहार हुन्।) मलाई त्यो उत्तर मन पर्‍यो। ती केवल असल व्यवहारहरू हुन् जुन् व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेपछि, विभिन्‍न असल र सकारात्मक शिक्षाहरूद्वारा प्रभावित भएपछि, त्यस व्यक्तिको विवेक र समझको जगबाट उत्पन्‍न हुन्छन्। तर ती असल व्यवहार मात्रै हुन्, र सत्यता पछ्याउने कार्यभन्दा ती धेरै टाढा हुन्छन्। त्यसो भए, यी असल व्यवहारहरूको जड के हो? केबाट ती पैदा हुन्छन्? ती व्यवहारहरू व्यक्तिको विवेक र समझ, तिनीहरूको नैतिकता, परमेश्‍वरमा विश्‍वास गर्ने विषयमा तिनीहरूमा रहेका सकारात्मक भावनाहरू, र तिनीहरूको आत्मसंयमबाट आएका हुन्छन्। ती असल व्यवहार मात्र भएका हुनाले, सत्यतासँग तिनको कुनै सम्‍बन्ध हुँदैन, र ती कुराहरू र सत्यता अवश्य नै एउटै कुरा होइनन्। असल व्यवहार गर्नु र सत्यता अभ्यास गर्नु उस्तै होइनन्, र व्यक्तिको व्यवहार राम्रो छ भन्दैमा उसलाई परमेश्‍वरले अनुमोदन मिलेको छ भन्‍ने हुँदैन। असल व्यवहार र सत्यता अभ्यास गर्नु दुई फरक कुरा हुन्—एकअर्कासँग ती दुईको कुनै सम्बन्ध हुँदैन। सत्यता अभ्यास गर्नु परमेश्‍वरको मापदण्ड हो र यो पूर्ण रूपमा उहाँको इच्छाअनुरूप छ; असल व्यवहार मानिसको इच्‍छाबाट आउँछ र यसभित्र मानिसको अभिप्राय र मनसाय लुकेको हुन्छ—यो मानिसले असल ठान्‍ने कुरा हो। असल व्यवहारहरू दुष्ट कार्य नभए पनि, ती सत्यताका सिद्धान्तहरूसँग बाझिन्छन् र सत्यतासँग कहीँकतै सम्‍बन्धित हुँदैनन्। ती व्यवहारहरू जति नै असल भए पनि, वा ती मानवका धारणा र कल्‍पनाहरूसँग जति नै मिले पनि, सत्यतासँग तिनको कुनै सम्‍बन्ध हुँदैन। त्यसकारण, जति नै धेरै भए पनि, असल व्यवहारहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैनन्। असल व्यवहारलाई यसरी परिभाषित गरिने हुनाले, स्पष्टतः असल व्यवहारको सत्यता अभ्याससँग कुनै सम्‍बन्ध हुँदैन। यदि मानिसहरूलाई तिनीहरूको व्यवहारको आधारमा वर्गीकरण गर्ने हो भने, यी असल व्यवहारहरू बढीमा निष्ठावान सेवाकर्ताको कार्य हुनुपर्छ, त्योभन्दा बढी केही होइन। सत्यता अभ्यास वा परमेश्‍वरप्रतिको साँचो समर्पणसँग तिनको कहीँकतै कुनै सम्‍बन्ध हुँदैन। ती एक प्रकारका व्यवहार मात्रै हुन्, र मानिसहरूको स्वभाव परिवर्तन, र सत्यतामा समर्पित हुने र त्यसलाई स्विकार्ने, परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने कार्य, वा सत्यतासँग साँचो रूपमा सम्बन्धित अरू कुनै व्यावहारिक तत्वहरूसँग तिनको कुनै सम्‍बन्ध हुँदैन। त्यसो भए, ती कुराहरूलाई किन असल व्यवहार भनियो? यहाँ एउटा व्याख्या छ, र यो स्वाभाविक रूपमै यो प्रश्‍नको सारको व्याख्या पनि हो। यी व्यवहारहरू मानिसहरूको धारणा, रुचि, इच्छा, र आत्म-प्रेरित प्रयासहरूबाट मात्रै आएका हुन्छन्। ती सत्यता र परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्विकारेर प्राप्त हुने साँचो आत्मज्ञानबाट आउने पश्‍चात्तापका प्रकटीकरणहरू होइनन्, न त ती सत्यता अभ्यास गर्ने व्यवहार वा कार्यहरू नै हुन् जुन मानिसहरूले परमेश्‍वरमा समर्पित हुने प्रयास गर्दा उत्पन्‍न हुन्छन्। तिमीहरूले यो कुरा बुझ्यौ? यसको अर्थ यी असल व्यवहारहरू व्यक्तिको स्वभाव परिवर्तन, वा परमेश्‍वरका वचनहरूको न्याय र सजाय भोगेर आउने कुरा, वा आफ्‍नो भ्रष्ट स्वभावलाई चिनेपछि व्यक्तिमा आउने साँचो पश्‍चात्तापसँग कहीँकतै सम्‍बन्धित छैनन्। परमेश्‍वर र सत्यताप्रतिको मानिसको साँचो समर्पणसँग पनि ती पटक्‍कै सम्‍बन्धित छैनन्; परमेश्‍वरप्रतिको श्रद्धा र प्रेमको हृदय हुनुसँग त झन् ती सम्‍बन्धित हुने कुरै छोडौँ। यी सबै कुराहरूसँग असल व्यवहारको कुनै सम्‍बन्ध हुँदैन; ती त मानिसबाट आउने र मानिसले असल ठान्‍ने कुरा मात्रै हुन्। तैपनि यी असल व्यवहारहरूलाई व्यक्तिले सत्यता अभ्यास गरिरहेको सङ्केत हो भनेर मान्‍ने मानिसहरू धेरै छन्। यो भयानक गल्ती हो, हास्यास्पद र भ्रमित दृष्टिकोण र बुझाइ हो। यी असल व्यवहारहरू त धार्मिक विधिविधान पूरा गर्नु, र झारा टार्नु मात्रै हुन्। ती सत्यता अभ्यास गर्नुसँग पटक्‍कै सम्‍बन्धित छैनन्। परमेश्‍वरले ती व्यवहारलाई सीधै दोष नदिन पनि सक्‍नुहुन्छ, तर उहाँले तिनलाई अनुमोदन पनि कदापि गर्नुहुन्‍न; त्यो कुरा निश्‍चित छ। मानिसका धारणाहरूसँग मिल्‍ने यी बाहिरी कार्यहरू र यी असल व्यवहारहरू सत्यता अभ्यास गर्नु होइनन्, न त ती सत्यता पछ्याउने कार्यको प्रकटीकरण नै हुन् भन्‍ने कुरा तिमीहरूले जान्‍नुपर्छ। यो सङ्गति सुनेपछि, तिमीहरूले सत्यता पछ्याउनु भनेको के हो भन्‍नेबारेमा थोरै अवधारणागत ज्ञान र सत्यता पछ्याउनेसम्‍बन्धी सबभन्दा सरल धारणाको प्रारम्‍भिक बुझाइ मात्रै प्राप्त गर्छौ। यदि तिमीहरू सत्यता पछ्याउनु भनेको के हो भनेर साँच्‍चै बुझ्‍न चाहन्छौ भने, हामीले सङ्गति गर्नुपर्ने विषय धेरै छन्।

सत्यता पछ्याउनको लागि, व्यक्तिले सत्यता बुझ्‍नुपर्छ; सत्यता बुझेर मात्रै व्यक्तिले सत्यता अभ्यास गर्न सक्छ। के मानिसहरूको असल व्यवहार सत्यता अभ्याससँग सम्‍बन्धित हुन्छन्? के असल व्यवहार सत्यता पछ्याउने कार्यबाट आएको हुन्छ? सत्यता अभ्यासमा के-कस्ता प्रकटीकरण र कार्यहरू हुन्छन्? सत्यता पछ्याउने मानिसहरूमा के-कस्ता प्रकटीकरणहरू हुन्छन्? तिमीहरूले यी प्रश्‍नहरू बुझ्‍नुपर्छ। सत्यता पछ्याउने विषयमा सङ्गति गर्नको लागि, हामीले सुरुमा यसप्रति मानिसहरूमा रहेको कठिनाइ र गलत दृष्टिकोणहरूको कुरा गर्नुपर्छ। यी कुराहरू सुरुमै समाधान गर्नु अत्यावश्यक हुन्छ। कतिपय मानिसहरूमा सत्यता भनेको के हो भन्‍नेबारेमा शुद्ध बुझाइ र तुलनात्मक रूपमा अलि स्पष्ट दृष्टिकोण हुन्छ। तिनीहरूसँग सत्यता पछ्याउने मार्ग हुन्छ। अरू मानिसहरूले सत्यता के हो भन्‍ने बुझेका हुँदैनन्, र तिनीहरूलाई यस विषयमा चासो त हुन्छ तर कसरी सत्यता अभ्यास गर्ने थाहै हुँदैन। तिनीहरूलाई यो विश्‍वास हुन्छ कि असल काम गर्नु र राम्रो व्यवहार देखाउनु भनेको सत्यता अभ्यास गर्नुसरह हो—सत्यता अभ्यास गर्नु भनेको असल काम गर्नु हो। परमेश्‍वरका धेरै वचनहरू पढेपछि मात्रै तिनीहरूले असल काम गर्नु र राम्रो व्यवहार देखाउनु सत्यता अभ्यास गर्नुभन्दा पुरै फरक कुरा हो भन्‍ने महसुस गर्छन्। यसरी तिमीहरूले मानिसहरूका धारणा र कल्‍पनाहरू कति हास्यास्पद छन् भनेर देख्‍न सक्छौ—सत्यता नबुझ्‍नेहरूले भने कुनै कुरा पनि स्पष्ट रूपमा देख्‍न सक्दैनन्! धेरै मानिसहरूले कर्तव्य निभाउँदै गरेको वर्षौँ भएको हुन्छ, तिनीहरू हरदिन आफ्‍नो कर्तव्यमा व्यस्त हुन्छन्, र तिनीहरूले निकै नै कठिनाइहरू भोगेका हुन्छन्, त्यसकारण तिनीहरू आफूलाई सत्यता अभ्यास गर्ने, र सत्यताको वास्तविकता भएका मानिसहरूको रूपमा हेर्छन्। यद्यपि, तिनीहरूले कुनै पनि अनुभव गवाही दिन सक्दैनन्। यसमा के समस्या लुकेको हुन्छ? यदि तिनीहरूले सत्यता बुझ्छन् भने, आफ्‍नो वास्तविक अनुभवहरूबारे किन बताउन सक्दैनन्? के यो विरोधाभास होइन र? कतिपय मानिसहरूले भन्छन्, “पहिले म आफ्‍नो कर्तव्य निभाउँदा, सत्यता पछ्याउँदिनथेँ, र परमेश्‍वरका वचनहरूमा पूर्ण रूपमा प्रार्थना-वाचन गर्दिनथेँ। मैले धेरै समय खेर फालेँ। आफ्‍नो कर्तव्यमा व्यस्त हुनु भनेको सत्यता अभ्यास गर्नु र परमेश्‍वरको काममा समर्पित हुनुजस्तै हो भन्‍ने सोच्दै म आफ्‍नो काममा पुरै डुबिरहन्थेँ—तर मैले त आफ्‍नो समय खेर मात्रै फालिरहेको थिएछु।” यसबाट के बुझिन्छ? तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्नमा अत्यन्तै व्यस्त भएर सत्यता पछ्याउने कार्यलाई थाती राखे। के त्यो साँचो कुरा हो त? कतिपय हास्यास्पद मानिसहरूले के विश्‍वास गर्छन् भने, जबसम्म तिनीहरू आफ्‍नो कर्तव्यमा व्यस्त हुन्छन्, तबसम्म तिनीहरूको भ्रष्ट स्वभाव प्रकट हुने समय हुँदैन, तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गर्न वा भ्रष्ट स्थितिमा जिउन छोड्छन्, र त्यसैले तिनीहरूले आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्न परमेश्‍वरका वचनहरू खानु-पिउनु पर्दैन। के यो सही विचार हो? के आफ्‍नो कर्तव्यमा व्यस्त हुँदा मानिसहरूले साँच्‍चै भ्रष्ट स्वभाव प्रकट गर्दैनन्? यो हास्यास्पद विचार हो—यो सफेद झूट हो। तिनीहरूले आफू आफ्‍नो कर्तव्यमा व्यस्त भएकोले सत्यता खोजी गर्ने समय नै भएन भनेर भन्छन्। यो पूर्ण रूपमा भ्रामक कुरा हो; तिनीहरूले व्यस्ततालाई बहानाको रूपमा प्रयोग गरिरहेका छन्। हामीले जीवन प्रवेश र कर्तव्य निभाउनेसम्‍बन्धी सत्यताहरू धेरैपटक सङ्गति गरेका छौँ: कर्तव्य निभाउने क्रममा समस्याहरू समाधान गर्न सत्यता खोजी गरेर मात्रै मानिसहरू जीवनमा वृद्धि हुन सक्छन्। त्यसकारण, यदि व्यक्तिले आफ्‍नो कर्तव्य पूरा निभाउँदा आफूलाई व्यस्त मात्रै राख्छ, तर समस्याहरू समाधान गर्न सत्यता खोजी गर्दैन भने, उसले कहिल्यै पनि सत्यता बुझ्‍नेछैन। सत्यतालाई प्रेम नगर्ने कतिपय मानिसहरू सेवा गर्नमै सन्तुष्ट हुन्छन्, र यसलाई स्वर्गको राज्यका आशिष्‌हरूसँग साट्ने आशा गर्छन्। अन्ततः तिनीहरूले आफ्‍नो कर्तव्यमा व्यस्त भएको कारण सत्यता खोजी गर्ने समय पाइनँ भन्‍दै बहाना बनाउन पुग्छन्; तिनीहरूले आफ्‍नो कर्तव्य निभाउन अत्यन्तै व्यस्त भएको कारण भ्रष्ट स्वभाव प्रकट गर्दैनौँ भनेरसमेत भन्छन्। यसले तिनीहरू आफ्‍नो कर्तव्यमा व्यस्त भएको कारण, तिनीहरूको भ्रष्ट स्वभाव हरायो, र यो अस्तित्वमा छैन भन्‍ने सङ्केत गर्छ। तर यो झूट हो, होइन र? के तिनीहरूको दाबी तथ्यहरूअनुरूप छ त? अवश्य छैन—यसलाई केवल सबैभन्दा ठूलो झूट भनेर भन्‍न सकिन्छ। व्यक्ति आफ्‍नो कर्तव्यमा व्यस्त भएको कारण भ्रष्ट स्वभाव प्रकट हुन छोड्छ भन्‍ने कुरा कसरी हुन सक्छ? के त्यस्ता मानिसहरू अस्तित्वमा छन्? के त्यस्तो अनुभव गवाही विद्यमान छ? अवश्य छैन। मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ; तिनीहरू सबैमा शैतानी प्रकृति छ, र तिनीहरू सबै शैतानी स्वभावमा जिउँछन्। के मानिसमा कुनै सकरात्मक कुरा, अथवा भ्रष्टता बाहेकको कुनै कुरा हुन्छ? के भ्रष्ट स्वभावविना जन्‍मने कोही छ? के कोही बफादारीसाथ आफ्‍नो कर्तव्य पूरा गर्न सक्‍ने गरी जन्मेको हुन्छ? के कोही परमेश्‍वरमा समर्पित हुन र उहाँलाई प्रेम गर्न सक्‍ने गरी जन्‍मेको हुन्छ? अवश्य हुँदैन। सबै मानिसहरूमा शैतानी प्रकृति हुने र तिनीहरू भ्रष्ट स्वभावले भरिएका हुने हुनाले, यदि तिनीहरूले सत्यता बुझ्‍न र अभ्यास गर्न सक्दैनन् भने, तिनीहरू आफ्‍नो भ्रष्ट स्वभावद्वारा मात्रै जिउन सक्छन्। त्यसकारण, व्यक्ति आफ्‍नो कर्तव्यमा व्यस्त रहन्छ भने उसले भ्रष्ट स्वभाव प्रकट गर्नेछैन भनी भन्‍नु पूर्ण रूपमा मूर्खता र भ्रम मात्र हो। यो मानिसहरूलाई बहकाउने सफेद झूट हो। तिनीहरू आफ्‍नो कर्तव्य पूरा गर्न व्यस्त भए पनि नभए पनि, तिनीहरूसँग परमेश्‍वरका वचनहरू पढ्ने समय भए पनि नभए पनि, सत्यतालाई प्रेम नगर्ने मानिसहरूले सत्यता नपछ्याउने कारण र बहानाहरू भेट्टाइहाल्छन्न्। यी मानिसहरू सीधा र सरल हिसाबमा सेवाकर्ताहरू नै हुन्। यदि सेवाकर्ताले परमेश्‍वरका वचनहरू खाँदैन-पिउँदैन र सत्यता स्विकार्दैन भने, के उसले असल सेवा गर्न सक्‍छ त? अवश्य सक्दैन। सत्यता नस्विकार्ने सबैमा विवेक र समझको कमी हुन्छ, र तिनीहरू आफ्‍नो भ्रष्ट स्वभावअनुसार जिउने मानिसहरू हुन् र तिनीहरूले अनगिन्ती दुष्कर्महरू गर्छन्। तिनीहरू कुनै पनि हालतमा निष्ठावान्‌ सेवाकर्ताहरू होइनन्, र तिनीहरूले सेवा गरे पनि, तिनमा त्यस्तो उल्‍लेखनीय केही हुँदैन। यसबारेमा, तिमीहरू ढुक्‍क हुन सक्छौ।

कतिपय मानिसहरू आफ्‍नो परिवारको बन्धनमा औधी धेरै अल्झिएका हुन्छन् र प्रायजसो चिन्तामा डुबिरहन्छन्। जब तिनीहरूले परमेश्‍वरलाई पछ्याउन र आफ्‍नो कर्तव्य निभाउन आफ्‍नो परिवार र जागिर छोडेका जवान विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई देख्छन्, तब तिनीहरूले उनीहरूको डाहा गर्दै भन्छन्, “परमेश्‍वर यी जवान मानिसहरूप्रति दयालु हुनुभएको छ। तिनीहरूले विवाह गर्नु र बच्‍चा जन्‍माउनुभन्दा पहिले नै र जवान छँदै उहाँमा विश्‍वास गर्न थाले; तिनीहरूसँग कुनै पारिवारिक बन्धन छैन र तिनीहरूले कसरी हातमुख जोड्ने भनेर चिन्ता गर्नु पर्दैन। तिनीहरूलाई परमेश्‍वरलाई पछ्याउन र आफ्‍नो कर्तव्य निभाउनबाट रोक्‍ने कुनै चिन्ताका विषयहरू छैनन्। आखिरी दिनहरूमा परमेश्‍वरको काम र उहाँको सुसमाचार विस्तारको लागि तिनीहरू ठीक समयमा आए—परमेश्‍वरले तिनीहरूलाई यति अनुकूल परिस्थिति प्रदान गर्नुभएको छ। तिनीहरूले आफ्‍नो शरीर र प्राणसहित आफैलाई कर्तव्य निभाउनमा समर्पित गर्न सक्छन्। तिनीहरूले सत्यता पछ्याउन सक्छन्, तर मेरो अवस्था त्यस्तो छैन। परमेश्‍वरले मेरो लागि उपयुक्त वातावरण तय गर्नुभएन—मेरा पारिवारिक बन्धनहरू धेरै छन्, र मैले तिनीहरूलाई पालनपोषण गर्न पैसा कमाउनुपर्छ। मेरा वास्तविक समस्याहरू नै त्यही हुन्। त्यसकारण मसँग सत्यता पछ्याउने समय नै हुँदैन। सत्यता पछ्याउने कार्य त पूर्णकालीन रूपमा कर्तव्य निभाउने र यस्ता कुनै पनि बन्धनहरू नभएका मानिसहरूको लागि हो। मलाई त पारिवारिक बन्धनहरूको बोझले बाँधेको छ, र मेरो हृदय हातमुख जोड्नेजस्ता झिनामसिना कुराहरूले नै भरिएको हुन्छ, त्यसकारण परमेश्‍वरका वचनहरू खान-पिउन वा आफ्‍नो कर्तव्य निभाउनको लागि मसँग कुनै समय वा ऊर्जा बाँकी हुँदैन। मेरो परिस्‍थितिको जुनसुकै पक्षलाई हेरे पनि, मैले कुनै पनि हालतमा सत्यता पछ्याउन सक्दिनँ। मलाई त्यसको लागि दोष दिन मिल्दैन। सत्यता पछ्याउनु त मेरो नियतिमै छैन, र मेरो परिस्‍थितिले मलाई कर्तव्य निभाउन दिँदैन। मैले गर्न सक्‍ने एउटै कुरा भनेको मेरो पारिवारिक बन्धनहरू घटुञ्‍जेल, मेरा छोराछोरी आत्मनिर्भर हुञ्जेल, र मैले अवकाश लिएर भौतिक चिन्ताबाट मुक्त हुञ्जेल पर्खेर बस्‍नु मात्रै हो—त्यसपछि म सत्यता पछ्याउनेछु।” यस्ता मानिसहरूले आफ्‍नो दैनिक जीवनमा कठिनाइ अनुभव गर्छन्, र बेलाबेलामा तिनीहरूलाई आफ्‍नो दैनिक जीवनका सानातिना कुराहरूमा तिनीहरूको भ्रष्ट स्वभाव प्रकट भइरहेको महसुस हुन्छ। तिनीहरूले यी कुराहरू थाहा पाउन सक्छन्, तर तिनीहरू बाहिरी संसारका पासोहरूमा अल्झिएका हुनाले, तिनीहरूले यसरी परमेश्‍वरमा विश्‍वास गर्दै, प्रवचन सुन्दै र सहज रूपमा हातमुख जोड्दै बाँचेर आफूले राम्रै गरिरहेजस्तो ठान्छन्। तिनीहरूलाई सत्यता पछ्याउने कार्य पछि गर्दा पनि हुन्छ, र तिनीहरूमा भएका जुनसुकै भ्रष्ट स्वभावलाई आउँदा वर्षहरूमा जहिले सुल्झाए पनि ढिला हुँदैन भन्‍ने विश्‍वास हुन्छ। त्यसरी तिनीहरूले सत्यता पछ्याउनेजस्तो ठूलो विषयलाई पनि थाती राख्‍ने, र बारम्‍बार पन्छाउने गर्छन्। तिनीहरूले सधैँ के भन्छन्? “सत्यता पछ्याउनलाई कहिल्यै ढिला हुँदैन। म केही वर्षपछि यो काम गर्नेछु। जबसम्‍म परमेश्‍वरको काम समाप्त हुँदैन, तबसम्‍म मसँग समय हुन्छ—मसँग अझै मौका हुन्छ।” यस्तो दृष्टिकोण तिमीहरूलाई कस्तो लाग्छ? (यो गलत हो।) के तिनीहरूले सत्यता पछ्याउने बोझ लिएका हुन्छन्? (हुँदैनन्।) त्यसो भए, तिनीहरूले केको बोझ लिएका हुन्छन्? के यो हातमुख जोड्ने, परिवार पाल्‍ने, छोराछोरी हुर्काउने बोझ होइन र? तिनीहरूले आफ्‍नो सारा ऊर्जा आफ्‍ना छोराछोरी, परिवार, आफ्‍नै दैनिकी र जीवनमा सुम्पन्छन्, र यी कुराहरू पूरा गरेपछि मात्रै तिनीहरूले सत्यता पछ्याउन थाल्ने योजना बनाएका हुन्छन्। अनि, तिनीहरूका यी बहानाहरू मान्य छन् त? के ती तिनीहरूको सत्यता पछ्याउने कार्यको निम्ति बाधा होइनन्? (हुन्।) यी मानिसहरूले परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा विश्‍वास त गर्छन्, तर परमेश्‍वरले तिनीहरूका निम्ति तय गर्नुभएको वातावरणको बारेमा गुनासो पनि गर्छन्। तिनीहरूले परमेश्‍वरका मापदण्डहरूको अवहेलना गर्छन् र सक्रिय भएर सहकार्य गर्दै गर्दैनन्। यसको साटो, तिनीहरूले आफ्‍नो देह, परिवार, र आफन्तलाई सन्तुष्ट पार्नेबारेमा मात्रै वास्ता गर्छन्। सत्यता नपछ्याएको विषयमा तिनीहरूले के कारण दिन्छन्? “हामी साह्रै व्यस्त छौँ र बाँच्‍नसमेत हम्‍मेहम्‍मे परेको छ। हामीसित सत्यता पछ्याउने समय नै छैन; सत्यता पछ्याउनको लागि हामीसँग सही वातावरण छैन।” तिनीहरूमा कस्तो दृष्टिकोण हुन्छ? (सत्यता पछ्याउनलाई कहिल्यै ढिला हुँदैन।) “सत्यता पछ्याउनलाई कहिल्यै ढिला हुँदैन। यो काम म केही वर्षपछि गर्नेछु।” के यो मूर्खता होइन र? (हो।) यो मूर्खता हो—तिनीहरूले आफ्‍ना बहानाहरूद्वारा आफैलाई मूर्ख तुल्याइरहेका हुन्छन्। के परमेश्‍वरको कामले तँलाई पर्खन्छ? (पर्खँदैन।) “यो काम म केही वर्षपछि गर्नेछु”—ती “केही वर्ष” को अर्थ के हुन्छ? त्यसको अर्थ तैँले मुक्ति पाउने आशा निकै कम छ र तँसँग परमेश्‍वरको काम अनुभव गर्ने समय थोरै वर्षको मात्र हुनेछ। केही वर्ष यसरी नै बित्छ, त्यसपछि अर्को केही वर्ष बित्छ, अनि तँलाई थाहै नभई, दश वर्ष बितिसकेको हुन्छ, तैपनि तैँले अलिकति पनि सत्यता बुझेको वा वास्तविकतामा प्रवेश गरेको हुँदैनस्, र तेरो एउटै पनि भ्रष्ट स्वभाव समाधान भएको हुँदैन। एउटै इमानदार शब्द बोल्नसमेत तँलाई साह्रै गाह्रो हुन्छ। के यो खतरनाक कुरा होइन र? के यो दयालाग्दो अवस्था होइन र? (हो।) जब मानिसहरूले सत्यता नपछ्याउने औचित्य पुष्टि गर्न यी सब बहाना र कारणहरू दिन्छन्, अन्त्यमा तिनीहरूले कसलाई हानि गर्छन्? (आफैलाई।) सही भन्यौ—अन्त्यमा, तिनीहरूले आफैलाई हानि गर्छन्। अनि जब तिनीहरू आफ्‍नो मृत्युसैय्यामा हुन्छन्, तब तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेका ती वर्षहरूमा सत्यता प्राप्त नगरेकोमा आफैलाई घृणा गर्नेछन्, र तिनीहरूले आफ्‍नो सम्पूर्ण जीवनप्रति नै अफसोस मान्नेछन्!

कतिपय मानिसहरू अलिक शिक्षित हुन्छन्, तर तिनीहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूले आत्मिक कुराहरू बुझ्दैनन्। तिनीहरूले जति प्रवचन सुने पनि, सत्यता बुझ्‍न सक्दैनन्। तिनीहरूसँग सधैँ आफ्‍नै महत्त्वाकङ्क्षा र इच्छाहरू हुन्छन्, र तिनीहरूले सधैँ हैसियतको लागि होड गरिरहेका हुन्छन्। तिनीहरूले हैसियत प्राप्त गरेनन् भने, सत्यता पछ्याउँदैनन्। तिनीहरू भन्छन्, “परमेश्‍वरको घरले मलाई कहिल्यै मेरो महत्त्वअनुसारको कर्तव्य दिँदैन, जस्तै लेख-रचनाको काम, अडियो-भिडियोको काम, मण्डली अगुवाको काम, वा समूह सुपरभाइजरको काम। तिनीहरूले मलाई त्यस्तो कुनै महत्त्वपूर्ण काम गर्न दिँदैनन्। परमेश्‍वरको घरले मलाई बढुवा वा वृद्धि-विकास गर्ने गर्दैन, र मण्डलीले जबजब निर्वाचन गर्छ, कसैले पनि मलाई भोट दिँदैन, र कसैले मलाई मन पराउँदैन। के मसँग साँच्‍चै वाञ्‍छनीय गुणहरू छँदै छैनन् त? म बुद्धिजीवी, शिक्षित छु, तर परमेश्‍वरको घरले मलाई कहिल्यै बढुवा वा वृद्धि-विकास गर्दैन, त्यसकारण मसँग सत्यता खोजी गर्ने कुनै अभिप्रेरणा छैन। मसँगै परमेश्‍वरमा विश्‍वास गर्न थालेका सबै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले महत्त्वपूर्ण कर्तव्य निभाइरहेका छन् र अगुवा र सेवकहरूको रूपमा सेवा गरिरहेका छन्—मलाईचाहिँ किन फोकटमा बस्‍न लगाइन्छ? मलाई बेलाबखत सुसमाचार सुनाउने काममा सहयोगी भूमिका मात्रै दिइन्छ, तर तिनीहरूले मलाई गवाही दिन पनि दिँदैनन्। जब परमेश्‍वरको घरले मानिसहरूलाई महत्त्वपूर्ण कर्तव्यहरूमा पदोन्‍नति गर्छ, तब मेरो लागि चाहिँ केही पनि गरिँदैन; मलाई भेलाहरू अगुवाइ गर्नसमेत दिइँदैन, र तिनीहरूले मलाई कुनै जिम्‍मेवारी दिँदैनन्। मलाई अति अन्यायमा परेझैँ लाग्छ। परमेश्‍वरले मेरो लागि तय गर्नुभएको वातावरण नै यही हो। म किन आफ्‍नो अस्तित्वलाई बहुमूल्य महसुस गर्न सक्दिनँ? किन परमेश्‍वरले अरूलाई प्रेम गर्नुहुन्छ तर मलाई गर्नुहुन्‍न? किन उहाँले अरूलाई वृद्धि-विकास गर्नुहुन्छ तर मलाई गर्नुहुन्‍न? परमेश्‍वरको घरले मलाई अझै धेरै बोझ दिनुपर्छ, र सुपरभाइजर वा कुनै पद दिनुपर्छ। त्यस्तो भएमा, मसँग सत्यता पछ्याउने अलिक उत्प्रेरणा हुन्छ। उत्प्रेरणाविना मैले कसरी सत्यता पछ्याउन सक्छु र? सत्यता पछ्याउनको लागि मानिसहरूलाई सधैँ केही न केही उत्प्रेरणा चाहिन्छ; हामीले सत्यता पछ्याउनुका फाइदाहरू देख्‍न सक्‍नुपर्छ। मानिसहरूमा परिवर्तन गरिनुपर्ने भ्रष्ट स्वभाव हुन्छ भन्‍ने मलाई थाहा छ, र सत्यता पछ्याउनु राम्रो कुरा हो, र यसले हामीलाई मुक्ति पाउने र सिद्ध हुने तुल्याउँछ भन्‍ने पनि थाहा छ—तर मलाई कहिल्यै कुनै महत्त्वपूर्ण कुराको लागि प्रयोग गरिएकै छैन, र मलाई सत्यता पछ्याउनुको कुनै उत्प्रेरणा महसुस नै हुँदैन! जब विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले मलाई आदर र साथ दिन थाल्छन्, तब सत्यता पछ्याउँला—त्यो बेला पनि ढिलो हुनेछैन।” के यस्ता मानिसहरू छैनन् र? (छन्।) तिनीहरूको समस्या के हो? समस्या के हो भने तिनीहरू हैसियत र स्तर चाहन्छन्। स्पष्ट रूपमै, तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू होइनन्, तैपनि तिनीहरूलाई परमेश्‍वरको घरमा उच्च स्तर र कुर्सी चाहिन्छ। के यो लाजमर्दो कुरा होइन र? तेरो लागि त सेवाकर्ता हुनु नै एकदम काफी कुरा हो; तँ निष्ठावान्‌ सेवाकर्ता हुन सक्छस् कि सक्दैनस्, त्यो त देख्‍न बाँकी नै छ। किन तँलाई यो कुरा स्पष्ट भएन? के तैँले हैसियत र स्तर पाइस् भने, तँलाई मुक्ति मिल्नेछ भन्‍ने लाग्छ? तँ सत्यता पछ्याउने व्यक्ति बन्‍नेछस् भन्‍ने लाग्छ? के तेरा यी भावनाहरू मान्य छन्? (छैनन्।) यी मानिसहरू अरूभन्दा माथि उठ्न र अरूमाझ आफ्‍नो उपस्थिति महसुस गराउन चाहन्छन्, र तिनीहरूको इच्‍छा पूरा भएन भने, तिनीहरूले परमेश्‍वर अन्यायी हुनुहुन्छ, उहाँले मानिसहरूलाई पक्षपातपूर्ण ढङ्गले व्यवहार गर्नुहुन्छ, उहाँको घरले तिनीहरूलाई बढुवा गर्दैन, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई निर्वाचित गर्दैनन् भनेर गुनासो गर्छन्—अवश्य नै यी कुराहरू सत्यता पछ्याउनको लागि व्यक्तिलाई चाहिने जग होइनन्, हुन् त? सत्यता पछ्याउने व्यक्तिलाई सबैले अङ्गाल्‍नुपर्छ र उसका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले आदर गर्नुपर्छ भनेर परमेश्‍वरको वचनमा कहीँ भनिएको छ? के त्यस्तो व्यक्तिले महत्त्वपूर्ण कर्तव्य र काम गर्न पाउनुपर्छ, र परमेश्‍वरको घरमा ठूलो योगदान दिन पाउनुपर्छ भनेर भनिएको छ? के त्यस्ता मानिसहरूले मात्र सत्यता पछ्याउन सक्छन्, र तिनीहरू मात्रै सत्यता पछ्याउन लायक हुन्छन् भनेर परमेश्‍वरका वचनहरूले भन्छन्? के उहाँका वचनहरूले त्यस्ता मानिसहरूले मात्रै सत्यता पछ्याउने मापदण्ड पूरा गर्छन्, तिनीहरू मात्रै सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छन्, वा अन्त्यमा तिनीहरूले मात्रै मुक्ति पाउन सक्छन् भनेर भनेका छन्? के परमेश्‍वरका वचनहरूमा कहीँ यो कुरा लेखिएको छ? (छैन।) यस्तो व्यक्तिले गरेका ती दाबीहरू अमान्य छन् भन्‍ने कुरा स्पष्ट छ। तर पनि किन तिनीहरूले यी कुराहरू भन्छन् त? के तिनीहरूले सत्यता नपछ्याउन बहाना बनाइरहेका छैनन् र? (छन्।) तिनीहरूले हैसियत र प्रतिष्ठा मन पराउँछन्। तिनीहरूले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा प्रतिष्ठा र व्यक्तिगत लाभको पछि दौडने र हैसियत खोज्‍ने कार्यलाई मात्रै वास्ता गर्छन्। तिनीहरूलाई यस्तो कुरा खुलेआम भन्‍न लाजमर्दो हुन्छ भन्‍ने लाग्छ, त्यसकारण तिनीहरूले सत्यता नपछ्याएकोमा आफ्‍नो प्रतिरक्षा गर्दै र मण्डली, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू, र परमेश्‍वरलाई दोष लगाउँदै, औचित्य पुष्टि गर्ने अनेक बहानाहरू बनाउँछन्। के यो कुटिलता होइन र? के तिनीहरू निर्दोष मानिसहरूलाई दोष लगाउने दुष्ट मानिसहरू होइनन् र? (हुन्।) तिनीहरूले अनुचित समस्याहरू पैदा गरिरहेका हुन्छन् र अनुचित मागहरूद्वारा अरूलाई हैरान गरिरहेका हुन्छन्; तिनीहरू पूर्ण रूपमा विवेक वा समझविहीन हुन्छन्! सत्यता नपछ्याउनु आफैमा गम्‍भीर समस्या हो, त्यसमाथि तिनीहरूले तर्क गर्ने प्रयास गर्दै अड्बाङ्गे बन्छन्—यो साँच्‍चै नै अनुचित कुरा हो, होइन र? सत्यता पछ्याउनु स्वेच्छिक कार्य हो। यदि तँ सत्यतालाई प्रेम गर्छस् भने, पवित्र आत्‍माले तँभित्र काम गर्नुहुन्छ। जब तैँले सत्यतालाई प्रेम गर्छस्; तँमाथि जस्तोसुकै परीक्षा वा संकष्ट आइपरे पनि, जब तैँले परमेश्‍वरलाई प्रार्थना गर्छस् र परमेश्‍वरमा भरोसा गर्छस्; जब तैँले आफूभित्र पत्ता लागेका समस्या समाधान गर्नको लागि सक्रिय भएर सत्यता खोजी गर्छस्, तब तैँले आफ्नो कर्तव्य सन्तोषजनक रूपमा पूरा गर्न सक्छस्। यस तरिकाले, तँ आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुन सक्‍नेछस्। जब मानिसहरूले सत्यतालाई प्रेम गर्छन्, तब तिनीहरूमा प्राकृतिक तवरमै यी सबै प्रकटीकरणहरू देखिनेछन्। ती कुराहरू सबै स्वेच्छिक ढङ्गले, खुशीसाथ, कुनै जबरजस्तीविना र कुनै अतिरिक्त सर्तरहित रूपमा आउँछन्। यदि मानिसहरूले यसरी परमेश्‍वरलाई पछ्याउन सक्छन् भने, तिनीहरूले अन्त्यमा सत्यता र जीवन प्राप्त गर्छन्, तिनीहरू सत्यताको वास्तविकतामा प्रवेश गर्छन्, र तिनीहरूले मानिसको छविमा जिउँछन्। के सत्यता पछ्याउनलाई तिमीहरूले थप कुनै सर्त पूरा गर्नुपर्छ? पर्दैन। परमेश्‍वरमा विश्‍वास गर्नु स्वेच्छिक काम हो, यो व्यक्ति आफैले आफ्नो लागि गर्ने निर्णय हो, र सत्यता पछ्याउने कार्य स्वर्गले तोकेको र पृथ्वीले स्विकारेको कुरा हो; यसलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ। सत्यता नपछ्याउनेहरू देहका सुख त्याग्‍न अनिच्‍छुक हुन्छन्, तैपनि परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्ने इच्‍छा गर्छन्, तर जब तिनीहरूले संकष्ट र सतावट, वा केही निन्दा र अपमान सहन्छन्, तब तिनीहरू नकारात्मक र कमजोर बन्छन्, र परमेश्‍वरमा विश्‍वास गर्ने वा उहाँलाई पछ्याउने इच्छा गर्न छोड्छन्। तिनीहरूले उहाँलाई दोष दिन र इन्कार गर्नसमेत सक्छन्। के यो अनुचित कुरा होइन र? तिनीहरूले आशिष्‌ पाउन चाहन्छन्, तैपनि देहका सुख-चैनलाई पछ्याउँछन्, र संकष्ट वा सतावट सामना गर्दा, परमेश्‍वरलाई दोष लगाउँछन्। सत्यतालाई प्रेम नगर्ने यी मानिसहरू यति अनुचित हुन्छन्। परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउन तिनीहरूलाई गाह्रो हुन्छ; तिनीहरूलाई कुनै संकष्ट वा सतावट आइपर्नेबित्तिकै, तिनीहरू खुलासा भएर निष्कासित हुन्छन्। यस्ता मानिसहरू धेरै छन्। परमेश्‍वरमा विश्‍वास गर्ने तेरा कारणहरू जेसुकै भए पनि, परमेश्‍वरले अन्ततः तैँले सत्यता प्राप्त गरेको छस् कि छैनस् भन्‍ने आधारमा तेरो परिणाम निर्धारित गर्नुहुनेछ। यदि तैँले सत्यता प्राप्त गरेको छैनस् भने, तैँले गर्ने जस्तोसुकै औचित्य पुस्ट्याँइ वा बहाना पनि काम लाग्‍नेछैन। चाहे जस्तोसुकै तर्कवितर्क गर्ने प्रयास गर्, चाहे आफैलाई गाँठो पारेर बस्—के परमेश्‍वरले वास्ता गर्नुहुनेछ? के परमेश्‍वरले तँसँग कुराकानी गर्नुहुनेछ? के उहाँले तँसँग विवाद र तर्क गर्नुहुनेछ? के उहाँले तँसँग सल्‍लाह लिनुहुनेछ? उत्तर के हो? अहँ। उहाँले अवश्य नै त्यसो गर्नुहुनेछैन। तैँले दिएको कारण जति नै दह्रिलो भए पनि, त्यो टिक्‍नेवाला छैन। तैँले परमेश्‍वरलाई गलत रूपमा बुझ्‍नु हुँदैन, र कारण र बहानाहरू प्रदान गर्न सके सत्यता पछ्याउनु पर्दैन भन्‍ने सोच्‍ने हुँदैन्। परमेश्‍वर तैँले सबै परिस्थितिमा र तँलाई आइपर्ने हरेक मामलामा सत्यता खोजी गर्न सक्षम बन्, र यसरी अन्त्यमा सत्यता वास्तविकतामा प्रवेश हासिल गर् र सत्यता प्राप्त गर् भन्‍ने चाहनुहुन्छ। परमेश्‍वरले तेरो लागि मिलाउनुभएका परिस्‍थितिहरू, अनि तैँले भेट्ने मानिसहरू र घटनाहरू, र तँमाथि आइपर्ने वातावरण जे-जस्ता भए पनि, तिनलाई तैँले परमेश्‍वरसित प्रार्थना गर्दै र सत्यता खोजी गर्दै सामना गर्नुपर्छ। ती कुराहरू तैँले सत्यता पछ्याउने क्रममा सिक्‍नुपर्ने पाठहरू हुन्। यदि तैँले सधैँ यी परिस्थितिहरूबाट बाहिर निसक्‍ने वा यी परिस्थिति टार्ने, इन्कार्ने, र विरोध गर्ने बहाना बनाउन खोज्छस् भने, परमेश्‍वरले तँलाई त्याग्‍नुहुनेछ। तर्कवितर्क गर्नु वा हठी वा कठिन बन्‍नुको कुनै अर्थ छैन—यदि परमेश्‍वरले तँप्रति कुनै सरोकार राख्‍नुहुन्‍न भने, तैँले मुक्ति पाउने मौका गुमाउनेछस्। परमेश्‍वरको लागि, समाधान गर्न नसकिने कुनै समस्या हुँदैन; उहाँले हरेक व्यक्तिको लागि बन्दोबस्तहरू गर्नुभएको हुन्छ, र उहाँसँग तिनीहरूलाई सम्‍हाल्‍ने तरिका हुन्छ। तेरा तर्क र बहानाहरू औचित्यपूर्ण छन् कि छैनन् भनेर परमेश्‍वरले तँसँग छलफल गर्नुहुन्‍न। तैँले तेरो प्रतिरक्षामा गरेका तर्कहरू विवेकसङ्गत छन् कि छैनन् भनेर परमेश्‍वरले ध्यान दिनुहुन्न। उहाँले तँलाई यो मात्रै सोध्‍नुहुनेछ, “के परमेश्‍वरका वचनहरू सत्यता हुन्? के तँसँग भ्रष्ट स्वभाव छ? के तैँले सत्यता पछ्याउनुपर्छ?” तँ केवल एउटा कुराको बारेमा स्पष्ट हुनुपर्छ: परमेश्‍वर सत्यता हुनुहुन्छ, तँ एक भ्रष्ट मानव होस्, त्यसकारण तैँले जिम्मेवार भई आफै सत्यता खोजी गर्नुपर्छ। कुनै पनि समस्या वा कठिनाइ छ भनेर, वा तर्क वा बहाना गरेर धर पाइनेछैन; यदि तैँले सत्यता स्विकार्दैनस् भने, तँ नष्ट हुनेछस्। सत्यता पछ्याउन र सत्यताको वास्तविकतामा प्रवेश गर्न व्यक्तिले चुकाउने कुनै पनि मूल्य सार्थक हुन्छ। मानिसहरूले सत्यता स्विकार्न र जीवन पाउन आफ्‍ना सबै बहानाहरू, स्पष्टीकरणहरू, र कष्टहरू त्याग्‍नुपर्छ, किनभने परमेश्‍वरका वचनहरू र सत्यता नै तिनीहरूले प्राप्त गर्नुपर्ने जीवन हो, र यो यस्तो जीवन हो जसलाई कुनै पनि कुरासँग साट्न सकिँदैन। यदि तैँले यो अवसर गुमाइस् भने, तँलाई यसको लागि बाँकी जीवनभरि पछुतो गर्नुपर्ने मात्र होइन—यो पछुतोको कुरा मात्र होइन—तैँले आफूलाई पूर्ण रूपमा बरबाद गरिसकेको समेत हुनेछस्। तेरो लागि कुनै पनि परिणाम वा गन्तव्य हुनेछैन, र सृष्टि गरिएको प्राणी तँ अन्त्यमा पुगिसकेको हुनेछस्। तैँले मुक्ति पाउने मौका फेरि कहिल्यै पाउनेछैनस्। तिमीहरूले कुरा बुझ्यौ? (बुझ्यौँ।) सत्यता नपछ्याउनलाई बहाना बनाउने वा कारणहरू खोज्‍ने नगर्। त्यस्ता कुराहरूको कुनै काम हुँदैन; तिमीहरूले आफैलाई मूर्ख मात्रै बनाइरहेका हुन्छौ।

कतिपय अगुवाहरूले कहिल्यै पनि सिद्धान्तअनुसार काम गर्दैनन्, तिनीहरू नियम-व्यवस्था आफ्‍नै हातमा लिएर स्‍वेच्‍छाचारी र बेढङ्गी व्यवहार गर्छन्। अनि, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले यो कुरा औँल्याउँदै भन्‍न सक्छन्, “तपाईंले काम गर्नुभन्दा पहिले अरूसँग बिरलै छलफल गर्नुहुन्छ। तपाईंले निर्णय गरिसकेपछि मात्रै हामीलाई तपाईंको मूल्याङ्कन र निर्णयको बारेमा थाहा हुन्छ। किन तपाईं अरूसँग छलफल गर्नुहुन्‍न? तपाईंले निर्णय गर्दा किन हामीलाई पहिले नै त्यसबारे थाहा दिनुहुन्‍न? तपाईंले सही काम नै गरिरहनुभएको भए पनि, र तपाईंको क्षमता हाम्रोभन्दा राम्रो भए पनि, तपाईंले हामीलाई यसबारेमा सुरुमै जानकारी दिनुपर्ने हो। कम्तीमा पनि, के भइरहेको छ भन्‍ने कुरा जान्‍ने अधिकार हामीसँग छ। नियम-व्यवस्था सधैँ आफ्नै हातमा लिँदै काम गरेर—तपाईं ख्रीष्टविरोधी मार्गमा हिँडिरहनुभएको छ!” अनि तैँले यस विषयमा त्यो अगुवाले के भनेको सुन्छस्? “मेरो घरमा म नै मालिक हुँ। ठूलोसानो सबै कुराको निर्णय मैले नै गर्छु। म यही कुरामा अभ्यस्त छु। मेरो बृहत् परिवारमा कसैलाई समस्या भयो भने, ऊ मकहाँ आउँछ र के गर्ने हो मलाई निर्णय गर्न लगाउँछ। म समस्याहरू समाधान गर्न सिपालु छु भन्‍ने तिनीहरूलाई थाहा छ। त्यसैले मेरो घरका मामलाहरूको कार्यभार म नै सम्हाल्छु। जब म मण्डलीमा आबद्ध भएँ, अबदेखि मैले यस्ता कुराहरूको चिन्ता गर्नुपर्दैन होला भन्‍ने लागेको थियो, तर त्यसपछि म अगुवाको रूपमा चुनिन पुगेँ। मैले गर्दिनँ भनेर हुँदैन—म यसैको लागि जन्मेको रहेछु। परमेश्‍वरले मलाई यही सीप दिनुभयो। निर्णय गर्न र मानिसहरूलाई अह्राउखटाउ गर्नको लागि नै म जन्‍मेको हुँ।” यसको तात्पर्य यो हुन्छ कि तिनीहरू अधिकारी बन्‍ने कुरा त नियतिले नै निर्धारित गरेको हो, र अरू सबैचाहिँ तल्लो तहको काम गर्न र नोकरचाकर बन्‍न जन्मेका हुन्। तिनीहरूलाई आफैले अन्तिम निर्णय गर्न पाउनुपर्छ, र अरूले तिनीहरूको कुरा सुन्‍नुपर्छ भन्‍ने लाग्छ। विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले यो अगुवाको समस्या देख्दा र उसलाई त्यो औँल्याइदिँदा पनि, उसले यसलाई स्वीकार गर्नेछैन, न त उसले निराकरण र काटछाँट नै स्वीकार गर्नेछ। उसले बस लडाइँ र प्रतिरोध गरिरहन्छ, र अन्त्यमा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले उसलाई हटाउने आवाज उठाउँछन्। तर यो पुरै अवधिभर यो अगुवाले यस्तो सोचिरहेको हुन्छ, “मेरो जस्तो क्षमता भएको व्यक्ति त, जहाँ गए पनि ठूलो पदमै हुन्छ। अनि तिमीहरूको जस्तो क्षमताले त, तिमीहरू जहाँ गए पनि सधैँ दास र नोकरचाकर बन्‍नेछौ। तिमीहरूको भाग्यमै अरू मान्छेको हुकुम मान्‍न लेखेको छ।” प्राय सधैँ यस्तो कुरा बोलेर तिनीहरूले कस्तो स्वभाव प्रकट गरिरहेका हुन्छन्? स्पष्‍ट रूपमै, यो एउटा भ्रष्ट स्वभाव हो, यो अहङ्कार, अभिमान र चरम अहम्‌वाद हो, तैपनि तिनीहरूले यो सबलता र सम्पत्ति नै हो जसरी कुनै लाज नमानी धाक लगाउँछन् र तडकभडक देखाउँछन्। जब व्यक्तिले भ्रष्ट स्वभाव प्रकट गर्छ, तब उसले आफ्‍नो बारेमा मनन गर्नुपर्छ, आफ्नो भ्रष्ट स्वभाव चिन्‍नुपर्छ, पश्‍चात्ताप गर्नुपर्छ र यसलाई त्याग्‍नुपर्छ, अनि उसले सिद्धान्तअनुसार काम गर्न सक्‍ने हुन्जेलसम्म सत्यता खोजी गर्नुपर्छ। तर यो अगुवाले त्यसरी अभ्यास गर्दैन। बरु, ऊ आफ्‍नै दृष्टिकोण र शैलीहरूमा अल्झँदै असुधारीय बनिरहन्छ। यी बानीबेहोराबाट त्यस्ताहरूले पटक्‍कै सत्यता खोजी गर्दैनन् र त्यस्ताहरू सत्यता पछ्याउनेहरू हुँदै होइनन् भन्‍ने देख्‍न सकिन्छ। तिनीहरूको खुलासा र निराकरण गर्ने कसैको कुरा तिनीहरू सुन्दैनन्, बरु आफूलाई निर्दोष साबित गर्ने सोचले भरिन्छन्: “हो—म यस्तै छु! यसलाई योग्यता र प्रतिभा भनिन्छ—के तिमीहरूसँग यस्तो क्षमता छ? म इन्चार्ज बन्‍ने भाग्य लिएर जन्‍मेको छु। म जहाँ गए पनि, म अगुवा हुन्छु। म अरूसँग सल्‍लाह नगरी सबै कुराको बारेमा अन्तिम निष्कर्ष दिन र निर्णय गर्नमा अभ्यस्त छु। म त्यस्तै व्यक्ति हुँ र त्यो मेरो व्यक्तिगत शोभा हो।” के यो छाडा निर्लज्जता होइन र? तिनीहरूले आफूमा भ्रष्ट स्वभाव छ भनेर स्वीकारै गर्दैनन्, र देखि रूपमै तिनीहरूले मानिसको न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरूलाई मान्दै मान्दैनन्। यसको विपरीत, तिनीहरूले आफ्नै विधर्मी र भ्रामक कुराहरूलाई सत्यताका रूपमा लिन्छन्, र अरू सबैलाई ती कुराहरूलाई स्विकार्ने र आदर गर्ने बनाउने प्रयास गर्छन्। हृदयको गहिराइमा, तिनीहरूले परमेश्‍वरको घरमा सत्यताले होइन, तिनीहरूले शासन गर्नुपर्छ, र त्यहाँ तिनीहरूकै हुकुम चल्‍नुपर्छ भन्‍ने विश्‍वास गर्छन्। के यो भद्दा लाजपचाइ होइन र? तिनीहरूले सत्यता पछ्याउन चाहन्छौँ भन्छन्, तर तिनीहरूको व्यवहार ठीक उल्‍टो हुन्छ। तिनीहरूले परमेश्‍वर र सत्यताको पालना गर्छौँ भन्छन्, तर तिनीहरू सधैँ शक्ति चलाउन, अन्तिम निर्णय आफै गर्न, र सबै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूमा समर्पित होऊन् र तिनीहरूकै आज्ञापालन गरून् भन्‍ने चाहन्छन्। तिनीहरूले गरिरहेको काम उचित वा सिद्धान्तअनुरूप भए पनि नभए पनि, तिनीहरूले अरूलाई तिनीहरूको रेखदेख गर्न वा तिनीहरूलाई सल्‍लाह दिन दिँदैनन्। बरु, तिनीहरूले अरू सबैले तिनीहरूका कुरा र निर्णयहरू सुन्‍नु र पालना गर्नुपर्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले आफ्‍नो व्यवहारको बारेमा पटक्‍कै मनन गर्दैनन्। विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई जसरी सल्‍लाह र सहयोग दिए पनि, र परमेश्‍वरको घरले तिनीहरूलाई जसरी काटछाँट र निराकरण गरे पनि, वा तिनीहरूलाई धेरैपटक बर्खास्त गरिए पनि, तिनीहरूले आफ्‍ना समस्याहरूबारे मनन गर्दैनन्। हरेकपटक नै तिनीहरू आफ्‍नै भनाइमा अडिग रहन्छन्: “मेरो घरमा, म नै मालिक हुँ। म सबै निर्णय गर्छु। सबै मामलामा, मेरो मात्रै हुकुम चल्छ। म त्यसै गर्नमा अभ्यस्त छु, र योभन्दा अरू कुनै कुरा हुँदैन।” तिनीहरू साँच्‍चै नै निर्लज्ज र असुधारीय हुन्छन्! तिनीहरूले यी नकारात्मक अभ्यासहरूलाई सकारात्मक कुराहरू नै हुन् जसरी प्रचार गर्छन्, र यस क्रममा आफूलाई निकै बडेमानको ठान्छन्। तिनीहरू अत्यन्तै लाज पचेकाहरू हुन्! यी मानिसहरू सत्यता पटक्‍कै स्विकार्दैनन् र यिनीहरू सुध्रँदैनन्—त्यसैले तिनीहरू सत्यतालाई प्रेम गर्ने वा सत्यता खोजी गर्ने गर्दैनन् भन्‍नेमा निश्‍चित हुन सकिन्छ। हृदयमा, तिनीहरू सत्यताप्रति दिक्‍क र शत्रुवत्‌ हुन्छन्। तिनीहरूले आफ्‍ना इच्‍छाहरू पूरा गर्न र हैसियत प्राप्त गर्नको लागि चुकाउने मूल्य र कठिनाइहरू सबै व्यर्थ छन्। परमेश्‍वरले यस्तो कुनै पनि कार्यलाई अनुमोदन गर्नुहुन्‍न, बरु घृणा गर्नुहुन्छ। यो तिनीहरूको सत्यताप्रतिको विरोध र परमेश्‍वरप्रतिको प्रतिरोधको प्रकटीकरण हो। यो कुरामा जोकोही निश्‍चित हुन सक्छ, र सत्यता बुझ्‍ने सबैले यसलाई चिन्‍न सक्छन्।

परमेश्‍वरमा वर्षौँदेखि विश्‍वास गर्दै आएका मानिसहरू पनि छन्, तर तिनीहरूमा सत्यताको कुनै वास्तविकता हुँदैन; तिनीहरूले वर्षौँदेखि प्रवचन सुन्दै आएका हुन्छन्, तर सत्यता बुझ्दैनन्। तिनीहरूको क्षमता कमजोर हुन्छ, तर तिनीहरूसँग अरूले उछिन्‍न नसक्‍ने “प्रतिभाहरू” अर्थात् झूट बोल्‍ने र त्यसलाई ढाकछोप गर्ने, अनि अरूलाई घुमाउरो शब्‍दहरूले ठग्‍ने र बहकाउने कला हुन्छन्। यदि तिनीहरूले एक दर्जन वाक्यहरू बोले भने, तिनमा दर्जनौँ कुविचार लुकेका हुन्छन्—हरेकमा केही न केही अशुद्धता लुकेको हुन्छ। यसलाई ठ्याक्‍कै भन्दा, तिनीहरूले भन्‍ने केही कुरा पनि साँचो हुँदैन। तर तिनीहरूको क्षमता कमजोर भएकोले र तिनीहरू निकै शिष्ट देखिने हुनाले, तिनीहरू सोच्छन्, “म डरपोक र निष्कपट प्रकृतिको मान्छे हुँ, र मेरो क्षमता कमजोर छ। म जहाँ गए पनि मलाई हेपिन्छ, र मानिसहरूले मलाई हेप्दा, मैले बस त्यो सहनु र भोग्‍नुपर्छ। म तिनीहरूसँग जबाफ फर्काउन वा लडाइँ गर्न आँट गर्दिनँ—म लुक्‍न, झुक्‍न, र सहन मात्रै सक्छु। म त परमेश्‍वरका वचनहरूले बताउने ‘इमानदार तर अज्ञानी मानिस’ हुँ, म उहाँका मानिसहरूमध्येको एक हुँ।” यदि कसैले तिनीहरूलाई “त्यसो भए, तिमी किन झूट बोल्छौ?” भनी सोध्यो भने, तिनीहरूले भन्छन्, “मैले कहिले झूट बोलेँ? मैले कसलाई छल गरेँ? मैले झूट बोलेको छैनँ! मजस्तो निष्कपट मानिसले कसरी झूट बोल्‍न सक्छ? मेरो मस्तिष्क सुस्त छ, र म त्यति शिक्षित छैनँ—मलाई झूट बोल्‍न आउँदैन! ती छली मानिसहरूले आँखा झिमिक्‍क गर्दा केही दुष्ट विचार र षड्यन्त्रहरू रच्‍न सक्छन्। म त्यस्तो धूर्त छैनँ, र मैले सधैँ हेपाइ सहनुपर्छ। त्यसकारण, म परमेश्‍वरले भन्‍नुभएको इमानदार व्यक्ति हुँ, र तिमीहरूले मलाई ढँटुवा वा ठग भन्‍नुको कुनै आधार छैन। यसमा कुनै सत्यता छैन—तिमीहरूले मलाई बदनाम गर्ने प्रयास मात्रै गरिरहेका छौ। मलाई थाहा छ, तिमीहरू सबैले मलाई नीच ठान्छौ: तिमीहरूले म मूर्ख छु र मेरो क्षमता कमजोर छ भन्‍ने सोच्छौ, त्यसकारण तिमीहरू सबैले मलाई हेप्‍न चाहन्छौ। मलाई नहेप्‍ने परमेश्‍वर मात्रै हुनुहुन्छ, र उहाँले मलाई अनुग्रहसाथ व्यवहार गर्नुहुन्छ।” यस्तो व्यक्तिले झूट बोलेको समेत स्विकार्दैन, र यस्ताहरूले परमेश्‍वरले इमानदार भनी भन्‍नुभएको व्यक्ति म आफै हुँ भन्‍नेसमेत आँट गर्छन्, र त्यस्तो अभिव्यक्तिद्वारा आफूलाई उचालेर सीधै सिंहासनमा राख्छन्। तिनीहरू आफूलाई इमानदार र अज्ञानी प्रकृतिका मानिसहरू ठान्छन् र परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू आफूले सत्यता स्विकार्ने वा आफ्‍नो बारेमा मनन गर्ने गर्नुपर्दैन भन्‍ने सोच्छन्। तिनीहरू जन्‍मेको क्षणदेखि नै आफ्नो मुखबाट कुनै झूट निस्केन भन्‍ने सोच्छन्। जोकोहीले जेसुकै भने पनि, तिनीहरूले झूट बोलेको कहिल्यै स्विकार्दैनन्, बरु तर्क गरेर आफ्‍नो प्रतिरक्षा गर्न उही पुराना बहानाहरू बकबकाउँछन्। के तिनीहरूले आफ्‍नो बारेमा मनन गरेका हुन्छन् त? एक हिसाबमा त गरेका हुन्छन्। अनि, त्यो “आत्म-चिन्तन” बाट तिनीहरूमा के आएको हुन्छ? “परमेश्‍वरले बताउनुभएको इमानदार तर अज्ञानी मानिस म नै हुँ। म अलिक अहङ्कारी छु होला, तर म इमानदार व्यक्ति हुँ।” के तिनीहरूले आफैलाई पगरी बाँधिरहेका हुँदैनन् र? तिनीहरू आफू अज्ञानी व्यक्ति हुँ कि इमानदार व्यक्ति हुँ भन्‍नेबारे स्पष्ट हुँदैनन्, तर आफूलाई इमानदार व्यक्ति ठान्छन्। के तिनीहरूमा आत्मसचेतना हुन्छ? यदि कुनै व्यक्ति हेपाइमा परिरहने र डरपोकको जीवन जिइरहने मूर्ख मान्छे हो भने, के यसको अर्थ ऊ असल व्यक्ति हो भन्‍ने हुन्छ? अनि यदि कुनै व्यक्तिलाई अरूले असल व्यक्ति ठान्छन् भने, के उसले सत्यता पछ्याउनुपर्दैन भन्‍ने हुन्छ? के प्राकृतिक रूपमै त्यस्ता मानिसहरूमा सत्यता हुन्छ त? कतिपय मानिसहरू भन्छन्, “म त एकदमै निश्छल व्यक्ति हुँ, म सधैँ साँचो बोल्‍ने प्रयास गर्छु, यति मात्र हो कि म अलिक अज्ञानी छु। मैले सत्यता पछ्याउनु पर्दैन, किनभने म असल र इमानदार छँदै छु।” यसो भनेर, के तिनीहरूले आफूमा सत्यता छ तर भ्रष्ट स्वभाव छैन भनेर सङ्केत गरिरहेका हुँदैनन् र? सारा मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ। सबै मानिसहरूमा भ्रष्ट स्वभाव छ, र जब व्यक्तिमा भ्रष्ट स्वभाव हुन्छ, तब उसले जुन बेला मन लाग्यो त्यही बेला झूट बोल्‍न, धोका दिन, र छल गर्न सक्छ। तिनीहरूले अहङ्कारी स्वभाव प्रकट गर्दै आफ्‍नो सानोतिनो उपलब्धि वा योगदानको बारेमा समेत धाक लगाउन सक्छन्। तर यस क्रममा तिनीहरू परमेश्‍वरको बारेमा धारणाहरूले र उहाँप्रतिका लालची मागहरूले भरिएका हुन्छन्, अनि उहाँसँग तर्क गर्ने प्रयास गरिरहेका हुन्छन्। के यी समस्याहरू होइनन् र? के यो भ्रष्ट स्वभाव होइन र? के यसलाई जाँच गर्नु पर्दैन र? पर्छ। तैपनि यी मानिसहरूले आफूलाई कहिल्यै झूट नबोल्‍ने वा अरूलाई नछल्‍ने इमानदार मानिसहरूको रूपमा पहिल्यै अभिषेक गरिसकेका हुन्छन्; तिनीहरूले आफूमा कुनै छली स्वभाव छैन, त्यसैले तिनीहरूले सत्यता पछ्याउनु पर्दैन भनेर घोषणा गर्छन्। यही कारणले गर्दा, यस्तो व्यवहार गर्ने कसैले पनि सत्यता पछ्याइरहेको हुँदैन, र तिनीहरूमध्ये कोही पनि सत्यताको वास्तविकतामा प्रवेश गरेको हुँदैन। अनि जब तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्छन्, तब तिनीहरू आफ्‍नो मूर्खताको बारेमा, सधैँ हेपिएको बारेमा, र तिनीहरूको विशेष कमजोर क्षमताको बारेमा कुरा गर्दै प्रायजसो साह्रै नराम्ररी रुन्छन्: “परमेश्‍वर, तपाईंले मात्रै मलाई प्रेम गर्नुहुन्छ; तपाईंले मात्रै मलाई दया गरेर अनुग्रहसाथ व्यवहार गर्नुहुन्छ। मानिसहरूले मलाई हेप्छन्, र ढँट्वा भन्छन्—तर म त्यस्तो होइनँ!” त्यसपछि तिनीहरू आफ्‍नो आँसु पुछेर उठ्छन्, र अरूलाई देख्दा यस्तो सोच्छन्, “तिमीहरू कसैलाई पनि परमेश्‍वरले प्रेम गर्नुहुन्‍न। मलाई मात्रै गर्नुहुन्छ।” यी मानिसहरू आफूलाई साह्रै ठूलो ठान्छन्, र परमेश्‍वरले बताउनुभएका विभिन्‍न व्यवहार र भ्रष्ट स्वभावमध्ये कुनै पनि कुरा आफूमा प्रकट हुन्छ भनेर स्विकार्दैनन्। तिनीहरूमा निश्‍चित समस्याहरू आइपर्दा र कुनै भ्रष्ट स्थिति वा प्रकटीकरण पैदा हुँदा पनि, तिनीहरूले एकछिन सोचेर यसलाई मौखिक रूपमा स्वीकार मात्रै गर्छन्, त्यसपछि त्यस कुरालाई बिर्सिदिन्छन्। तिनीहरूले पटक्‍कै सत्यता खोजी गर्दैनन्, र तिनीहरूले आफूमा भ्रष्टता छ र आफू भ्रष्ट मानव हुँ भन्‍ने तथ्य स्विकार्दैनन्। अनि, तिनीहरूले कुनै पनि खास घटनामा आफूले भ्रष्ट स्वभाव प्रकट गरेको छु भनेर स्विकार्नु त अवश्य नै झन् परको कुरा हो। तिनीहरूले जति धेरै समस्याहरू पैदा गरे पनि, र तिनीहरूमा जति धेरै भ्रष्ट स्वभाव प्रकट भए पनि, तिनीहरूले सधैँ एउटै कुरा भन्छन्: “परमेश्‍वरले बताउनुभएको इमानदार तर अज्ञानी मानिस म नै हुँ। म उहाँको दयाको पात्र हुँ, र उहाँले मलाई धेरै आशिष्‌ दिनुहुनेछ।” त्यसकारण, यी शब्दहरू बोलेपछि, तिनीहरूलाई आफूले सत्यता पछ्याउनुपर्दैन भन्‍ने लाग्छ; यी शब्‍दहरू सत्यता नपछ्याउन त्यस्ता मानिसहरूले प्रयोग गर्ने बहाना हुन्। के त्यस्ता मानिसहरू हास्यास्पद होइनन् र? (हुन्।) तिनीहरू हास्यास्पद र अज्ञानी हुन्। तिनीहरू कति हास्यास्पद हुन्छन्? यति धेरै कि तिनीहरूले आफूलाई फाइदा हुने परमेश्‍वरको एउटा वाक्यांश लिन्छन् र यसलाई परमेश्‍वरलाई बाध्य गर्ने र सत्यता नपछ्याएकोमा आफूलाई दोषमुक्त गर्ने मोहरको रूपमा प्रयोग गर्छन्, जबकि मानिसलाई खुलासा र न्याय गर्ने परमेश्‍वरका वचनहरूलाई तिनीहरूले आफूसँग पटक्‍कै सम्बन्धित नरहेको कुराको रूपमा हेर्छन्। तिनीहरूलाई के लाग्छ भने तिनीहरूले ती वचनहरू सुन्‍नुपर्दैन किनभने तिनीहरू पहिलेदेखि नै इमानदार व्यक्ति हुन्। यसलाई ठ्याक्‍कै भन्दा, त्यस्ता मानिसहरू दयनीय नीचहरू हुन्। तिनीहरूको क्षमता कमजोर हुन्छ, तिनीहरूमा कुनै समझशक्ति हुँदैन, र तिनीहरूलाई पटक्‍कै लाज हुँदैन, तैपनि तिनीहरू आशिष्‌ पाउन चाहन्छन्। अनि तिनीहरूको क्षमता कमजोर भए पनि, र तिनीहरूमा समझ अनि लाज नभए पनि, तिनीहरू साह्रै घमण्‍डी हुन्छन्, र साधारण मानिसहरूलाई हेलाको नजरले हेर्छन्। सत्यता पछ्याउन सक्‍ने, र सत्यताको वास्तविकताबारे सङ्गति गर्न सक्‍ने मानिसहरूप्रति तिनीहरूमा कुनै आदर हुँदैन। तिनीहरू सोच्छन्, “आखिर, तिमीहरूका यी सामर्थ्यहरूको के काम छ र? तिमीहरूले सत्यता पछ्याइरेको र आफूलाई चिनिरहेको कुरा गर्दा—मैले त्यस्तो गर्नु पर्दैन। म इमानदार व्यक्ति हुँ; म अलिक अहङ्कारी हुन सक्छु, तर त्यो समस्या होइन। अनि मैले आफूमा प्रकट हुने भ्रष्ट स्वभावहरूको बारेमा पनि चिन्ता गर्नु पर्दैन। जबसम्म मैले आफूलाई केही असल व्यवहारले सुसज्‍जित तुल्याएको हुन्छु, तबसम्म मलाई केही हुँदैन।” तिनीहरूले आफूलाई कस्तो मापदण्ड दिन्छन्? “जेसुकै भए पनि परमेश्‍वरले मेरो हृदय चिन्‍नुहुन्छ, र उहाँमाथिको मेरो विश्‍वास सच्‍चा छ। त्यो नै पर्याप्त छ। दिनप्रतिदिन अनुभव गवाही र परमेश्‍वरका वचनहरूको ज्ञानबारे कुरा गर्नु—यो सब कुराको के फाइदा? सबै कुरा विचार गर्दा, परमेश्‍वरमा इमानदारीसाथ विश्‍वास गर्नु नै पर्याप्त छ।” के त्यो चरम मूर्खता होइन र? पहिलो, त्यस्ता मानिसहरू सत्यताप्रति पटक्‍कै चासो राख्दैनन्; दोस्रो, तिनीहरूसँग सत्यता वा परमेश्‍वरका वचनहरू बुझ्‍ने कुनै क्षमता हुँदैन भन्दा अत्योक्ति हुँदैन। तैपनि, तिनीहरू आफूलाई अति उच्‍च ठान्छन् र अति ठूलो र शक्तिशाली भएझैँ व्यवहार गर्छन्। तिनीहरूले या त सत्यता नपछ्याउने कुरालाई सही साबित गर्ने तरिका खोज्छन्, या त सत्यता पछ्याउने कार्यको साटो आफूले सामर्थ्यको रूपमा लिएको कुरा र खोजविधि प्रयोग गर्न खोज्छन्। के यो मूर्खता होइन र? (हो।)

सत्यता नपछ्याउने कतिपय मानिसहरूको मानवतामा त्यति ठूला समस्याहरू हुँदैनन्। तिनीहरू नियमहरूमा लागिपर्छन् र असल व्यवहार गर्छन्। त्यस प्रकारका महिलाहरू कोमल र चरित्रवान्, इज्‍जतदार र सभ्य हुन्छन्, र उत्ताउलिँदै हिँड्दैनन्। तिनीहरू आमाबुबाको नजरमा असल छोरी हुन्छन्, परिवारको नजरमा तिनीहरू असल श्रीमती र आमा हुन्छन्, र तिनीहरूले आफ्‍नो घरको हेरचाह गर्दै आफ्‍ना दिनहरू कर्तव्यनिष्ठ ढङ्गले बिताउँछन्। अनि त्यस प्रकारका पुरुषहरू निश्छल र कर्तव्यनिष्ठ हुन्छन्, र तिनीहरूले राम्रो व्यवहार गर्छन्; तिनीहरू आमाबुबाका भक्त छोराहरू हुन्छन्, तिनीहरूले मद्यपान वा धुम्रपान गर्दैनन्, र तिनीहरूले चोरी गर्ने, लुट्ने, जुवा-तास खेल्‍ने, वा केटी खेलाउँदै हिँड्ने गर्दैनन्—तिनीहरू आदर्श श्रीमान हुन्छन्, र घरबाहिर तिनीहरूले को सही वा को गलत भनेर बिरलै मात्र झगडा वा विवाद गर्ने गर्छन्। कतिपय मानिसहरूले परमेश्‍वरको विश्‍वासी भएर यी कुराहरू हासिल गर्नु पर्याप्त हुन्छ, र यसो गर्ने मानिसहरू मापदण्ड पूरा गर्ने र स्वीकार्य रूपमा असल मानिसहरू हुन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूलाई यो लाग्छ कि यदि तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेपछि परोपकारी र सहयोगी, नम्र र धैर्य, अनि सहनशील भएका छन् भने, र यदि तिनीहरूले आफूलाई मण्डलीले दिएको जुनसुकै काम लापरवाही वा झाराटारुवा नभई लगनसाथ र राम्ररी गर्छन् भने, तिनीहरूले सत्यताको वास्तविकता प्राप्त गरेका र परमेश्‍वरका मापदण्डहरू पूरा गर्न लागेका हुन्छन्। तिनीहरूले के पनि सोच्छन् भने, यदि तिनीहरूले कम्‍मर कसेर थप केही प्रयास गरे भने, तिनीहरूले अझै धेरै परमेश्‍वरको वचन पढे भने, तिनीहरूले यी वचनका अझै धेरै वाक्यांशहरू स्मरण गरे भने, र अरूलाई अझै धेरै प्रचार गरे भने, तिनीहरूले सत्यता पछ्याइरहेका हुनेछन्। तर तिनीहरूले आफ्‍नो भ्रष्टताको प्रकटीकरण चिन्दैनन्, आफूमा के-कस्ता भ्रष्ट स्वभावहरू छन् भनेर जान्दैनन्, भ्रष्ट स्वभाव कसरी प्रकट हुन्छ, वा यसलाई कसरी चिनेर समाधान गर्नुपर्छ भनेर तिनीहरूले जान्‍नु त परको कुरा हो। तिनीहरूलाई यस्तो कुनै कुरा थाहा हुँदैन। के यस्ता मानिसहरू हुन्छन्? (हुन्छन्।) तिनीहरूले आफ्‍नो प्राकृतिक “असलपनलाई” सत्यता पछ्याउने मानिसहरूले हासिल गर्नुपर्ने मापदण्डको रूपमा लिन्छन्। यदि कसैले तिनीहरूलाई अहङ्कारी, छली, र दुष्ट भन्यो भने, तिनीहरूले यसको खुलेआम खण्डन गर्दैनन्, र तिनीहरूले नम्रता, धैर्यता, र स्वीकारको मनोवृत्ति देखाउँछन्। तर भित्री रूपमा, गम्‍भीरतासाथ लिनुको सट्टा, तिनीहरूले यसलाई विरोध गर्छन्: “के म अहङ्कारी छु त? यदि म अहङ्कारी छु भने, पृथ्वीमा एक जना पनि असल व्यक्ति छैन! यदि म छली छु भने, संसारको कोही पनि इमानदार छैन! यदि म दुष्ट हुँ भने, संसारमा कोही पनि राम्रो छैन! के आजभोलि मजस्तो असल व्यक्ति भेट्टाउन सजिलो छ? छैन—यो असम्‍भव छ!” तिनीहरूलाई छली वा अहङ्कारी भन्‍नु, वा तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन् भन्‍नु हुँदैन, र तिनीहरूलाई गैरविश्‍वासी त झनै भन्‍नु हुँदैन। तिनीहरूले टेबल ठट्टाउँदै तर्क गर्नेछन्: “त्यसो भए, तपाईं मलाई गैरविश्‍वासी भन्‍नुहुन्छ? यदि मैले मुक्ति पाउन सक्दिनँ भने, तपाईंहरू कसैले पनि मुक्ति पाउन सक्‍नुहुन्‍न!” कसैले तिनीहरूलाई यसो भन्दै खुलासा गर्न सक्छ, “तपाईंले सत्यता स्विकार्नुहुन्‍न। मानिसहरूले तपाईंका समस्याहरू औँल्याउँदा, तपाईं निकै नम्र र धैर्य देखिनुहुन्छ, तर भित्री रूपमा तपाईं अत्यन्तै विरोधी बन्‍नुहुन्छ। तपाईंले सत्यता सङ्गति गर्दा प्रचार गर्ने कुरा सही हुन्छ, तर तथ्य के हो भने तपाईं मानिसको भ्रष्ट स्वभावको सारलाई खुलासा र न्याय गर्ने परमेश्‍वरको एउटै वचन पनि स्विकार्नुहुन्‍न। तपाईंले तिनलाई विरोध गर्नुहुन्छ र तीबाट तपाईं विमुख बन्‍नुहुन्छ। तपाईंको स्वभाव द्वेषपूर्ण छ।” तैँले तिनीहरूलाई “द्वेषपूर्ण” भनिस् भने, तिनीहरूले यसलाई पटक्‍कै स्विकार्न सक्दैनन्। “म द्वेषपूर्ण छु? यदि म द्वेषपूर्ण भएको भए, मैले तपाईंहरू सबैलाई धेरै पहिले नै कुल्चेर किचिमिची पारिसकेको हुन्थेँ! यदि म द्वेषपूर्ण भएको भए, मैले तपाईंहरू सबैलाई पहिले नै नष्ट गरिसकेको हुन्थेँ!” तैँले तिनीहरूको बारेमा खुलासा गरेका वा तिनीहरूसँग सही रूपमा सङ्गति गरेका कुनै पनि कुरा तिनीहरूले बुझ्‍न सक्दैनन्। सही रूपमा कुरा बुझ्‍नु भनेको के हो? यसको अर्थ कसैले तँमा भएका जे-जस्ता समस्याहरू औँल्याए पनि, तैँले तेरा अभिप्राय र विचारहरूमा साँच्‍चै कुनै गल्ती छन् कि छैनन् भनेर जाँच्‍नको लागि ती अभिप्राय र विचारहरूलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्छस्, र तँमा जति धेरै समस्याहरू प्रकट भए पनि, तैँले तिनलाई स्वीकार र समर्पणको मनोवृत्तिसाथ लिन्छस्। यसरी व्यक्तिले आफ्‍ना समस्याहरूबारे साँचो ज्ञान प्राप्त गर्न सक्छ। व्यक्तिले आफ्‍ना धारणा र कल्‍पनाहरूको आधारमा आफ्‍नो भ्रष्ट स्वभावको ज्ञान हासिल गर्न सक्दैन, तर यो कार्य परमेश्‍वरका वचनहरूको आधारमा गरिनुपर्छ। त्यसो भए, आत्मज्ञानको पुर्वसर्त के हो त? शैतानले मानवजातिलाई छल गरेर भ्रष्ट तुल्याएको छ, र सबै मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ भन्‍ने तथ्यलाई तैँले स्विकार्नैपर्छ। यो तथ्यलाई स्विकारेपछि मात्रै तैँले परमेश्‍वरका वचनहरूको प्रकाशअनुसार आफ्‍नो बारेमा मनन गर्न सक्छस्, र यो आत्मचिन्तनको प्रक्रियामा, तैँले आफ्‍ना समस्याहरूलाई क्रमिक रूपमा उजागर गर्छस्। तँलाई थाहै नभई, तेरा समस्याहरू अलिअलि गर्दै प्रकट हुन थाल्छन्, त्यसपछि तैँले तेरो भ्रष्ट स्वभाव के हो भन्‍ने कुरा स्पष्ट रूपमा बुझ्‍नेछस्। अनि यसको जगमा रही, तैँले तँ कस्तो व्यक्ति होस् र तेरो सार के हो भन्‍ने कुराको ज्ञान हासिल गर्न सक्छस्। त्यसरी तैँले परमेश्‍वरले भन्‍नुभएका र खुलासा गर्नुभएका सबै कुराप्रतिको स्विकार हासिल गर्छस्, र त्यसपछि तैँले परमेश्‍वरका वचनहरूभित्र उहाँले मानिसको लागि तय गर्नुभएको अभ्यासको मार्ग पत्ता लगाउँछस् र उहाँका वचनहरूअनुसार अभ्यास गर्छस् र जिउँछस्। सत्यता पछ्याउनु भनेको त्यही हो। तर के यस्तो व्यक्तिले परमेश्‍वरका वचनहरूलाई त्यसरी लिन्छ त? लिँदैन—तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् र भ्रष्ट मानवजातिलाई खुलासा गर्ने उहाँका वचनहरू सबै तथ्यहरू हुन् भन्‍ने कुरा स्विकार्छु भनी दाबी गर्न सक्छन्, तर तैँले तिनीहरूलाई आफ्‍नो भ्रष्ट स्वभाव चिन्‍न लगाइस् भने, तिनीहरूले न त मान्छन् न त त्यो कुरा स्वीकार नै गर्छन्। तिनीहरू आफूसँग यसको कुनै सम्‍बन्ध छैन भन्‍ने विश्‍वास गर्छन्। यस्तो किन हुन्छ भने तिनीहरूले आफूलाई प्रतिष्ठित र उचित मानिसहरू—अर्थात्, सज्‍जन र इज्‍जतदार मानिसहरू ठान्छन्। के व्यक्ति सज्‍जन हुँदैमा उसमा सत्यता हुन्छ? व्यक्ति सज्‍जन हुनु भनेको उसको मानवताको सकारात्मक प्रकटीकरण मात्रै हो; यसले सत्यताको प्रतिनिधित्व गर्दैन। त्यसकारण, तँमा सामान्य मानवताको एउटा विशेषता छ भन्दैमा, तैँले सत्यता पछ्याउनुपर्दैन भन्‍ने हुँदैन, न त तैँले पहिल्यै सत्यता प्राप्त गरिसकेको छस् भन्‍ने नै हुन्छ—तँ परमेश्‍वरले प्रेम गर्नुहुने व्यक्ति हुनु त झन् परको कुरा हो। के कुरा यही होइन र? (हो।) यी तथाकथित “इज्‍जतदार मानिसहरू” ले तिनीहरूमा अहङ्कारी, छली स्वभाव वा सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव छैन, र तिनीहरूमा अवश्य नै दुष्ट र आक्रमक स्वभाव पनि छैन भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू इज्‍जतदार अनि प्रकृतिले नै सज्‍जन र दयालु मानिसहरू भएकोले, तिनीहरू सधैँ अरूको हेपाइ खेप्ने मानिसहरू भएकोले, र तिनीहरू कमजोर क्षमताका र अज्ञानी भए पनि, इमानदार भएकोले, तिनीहरू आफूमा यी कुनै पनि भ्रष्ट स्वभाव छैन भन्‍ने सोच्छन्। “इमानदारिता” साँचो इमानदारिता होइन, यो त निष्कपटता, कायरता, र अज्ञानता हो। के त्यस्ता मानिसहरू बडा मूर्खहरू होइनन् र? सबैले तिनीहरूलाई असल मानिसहरू ठान्छन्। के यो दृष्टिकोण सही छ? के मानिसहरूले असल ठानेका व्यक्तिहरूमा भ्रष्ट स्वभाव हुन्छ? यसको उत्तर हो, “हुन्छ”—यो निश्‍चित छ। के निष्कपट मानिसहरूले झूट बोल्दैनन् र? के तिनीहरूले अरूलाई धोका दिने वा आफ्‍नो वास्तविकता लुकाउने गर्दैनन् र? के तिनीहरू स्वार्थी हुँदैनन् र? के तिनीहरू लोभी हुँदैनन् र? के तिनीहरूले उच्‍च पद चाहँदैनन् र? के तिनीहरू सबै लालची इच्‍छाबाट मुक्त हुन्छन् र? अवश्य नै हुँदैनन्। तिनीहरूले कुनै दुष्कर्म नगर्नुको कारण भनेकै तिनीहरूले सही अवसर नपाएर हो। अनि तिनीहरूले यसमा घमण्ड गर्छन्—तिनीहरूले आफूलाई इज्‍जतदार मानिसहरूका रूपमा अभिषेक गर्छन् र तिनीहरूमा भ्रष्ट स्वभाव छैन भन्‍ने विश्‍वास गर्छन्। त्यसकारण, यदि कसैले तिनीहरूमा कुनै भ्रष्ट स्वभाव, प्रकटीकरण, वा स्थिति औँल्याइदियो भने, तिनीहरूले यसो भन्दै खण्डन गर्छन्, “मसँग त्यस्तो स्वभाव छैन! म त्यस्तो छैनँ, र म त्यस्तो व्यवहार गर्ने वा सोच्‍ने गर्दिनँ। तपाईंहरूले मलाई गलत रूपमा बुझ्‍नुभयो। तपाईंहरू सबैले मलाई निष्कपट, सुस्त, डरपोक देख्‍नुहुन्छ, त्यसकारण मलाई हेप्‍नुहुन्छ।” यसरी जवाफ फर्काउने त्यस्ता मानिसहरूलाई कसरी बुझ्नुपर्छ? यदि कसैले यस्ता व्यक्तिहरूलाई चिढ्याउने प्रयास गर्‍यो भने, तिनीहरूले सधैँ उसको खेदो गर्नेछ। तिनीहरूले कहिल्यै यो कुरा बिर्सँदैनन्; तिनीहरूले त्यस व्यक्तिलाई बिर्सन खोजे पनि सक्दैनन्। तैपनि यी अविवेकी र अति निर्दयी मानिसहरूले आफूलाई अझै पनि कुनै भ्रष्ट स्वभाव नभएका तर सत्यता पछ्याउने, निष्कपट, र अज्ञानी मानिसहरू ठान्छन्। प्रायजसो, तिनीहरूले यसोसमेत भन्‍ने गर्छन्, “म अहङ्कारी हुन सक्छु, तर म निष्कपट छु—म इमानदार व्यक्ति हुँ, र परमेश्‍वरले मलाई प्रेम गर्नुहुन्छ!” तिनीहरूको लागि, यी कुराहरू पूँजी हुन्। के यो अलिक लाजमर्दो कुरा भएन र? तँ भन्छस्, परमेश्‍वरले तँलाई प्रेम गर्नुहुन्छ। के त्यो सही हो? तैँले यसो भन्‍नुको आधार छ? के तँमा पवित्र आत्‍माको कार्य छ? के परमेश्‍वरले तँलाई सिद्ध पार्नेछु भनी भन्‍नुभएको छ? के परमेश्‍वरले तँलाई प्रयोग गर्ने योजना गर्नुभएको छ? यदि परमेश्‍वरले तँलाई यी कुराहरू भन्‍नुभएको छैन भने, उहाँले तँलाई प्रेम गर्नुहुन्छ भनेर भन्‍न सक्दैनस्—उहाँले तँलाई दया गर्नुहुन्छ भनेर मात्रै भन्‍न सक्छस्, जुन आफैमा ठूलो कुरा हो। यदि तैँले परमेश्‍वरले तँलाई प्रेम गर्नुहुन्छ भनेर भन्छस् भने, त्यो तेरो व्यक्तिगत बुझाइ हो; यसले परमेश्‍वरले तँलाई साँच्‍चै प्रेम गर्नुहुन्छ भन्‍ने प्रमाणित गर्दैन। के परमेश्‍वरले सत्यता नपछ्याउने व्यक्तिलाई प्रेम गर्नुहुन्छ? के परमेश्‍वरले अज्ञानी र डरपोक व्यक्तिलाई प्रेम गर्नुहुन्छ? परमेश्‍वरले अज्ञानी र डरपोक व्यक्तिलाई दया गर्नुहुन्छ—त्यतिचाहिँ सत्य हो। परमेश्‍वरले साँच्‍चै इमानदार, सत्यता पछ्याउने, सत्यता अभ्यास गर्न र उहाँमा समर्पित हुन सक्‍ने, उहाँलाई उचाल्‍न र उहाँको गवाही दिन सक्‍ने, र उहाँको इच्‍छालाई ध्यान दिन र उहाँलाई इमानदारीसाथ प्रेम गर्न सक्‍ने मानिसहरूलाई प्रेम गर्नुहुन्छ। आफूलाई साँचो रूपमा परमेश्‍वरमा अर्पित गर्ने र निष्ठापूर्वक आफ्‍नो कर्तव्य निभाउने मानिसहरूले मात्रै परमेश्‍वरको प्रेम पाउँछन्; सत्यताका साथै काटछाँट र निराकरण स्विकार्न सक्‍नेहरूले मात्रै परमेश्‍वरको प्रेम पाउँछन्। सत्यतालाई प्रेम नगर्ने र काटछाँट र निराकरण नस्विकार्नेहरू परमेश्‍वरले घृणा र इन्कार गर्ने मानिसहरू हुन्। यदि तँ सत्यताप्रति दिक्‍क मान्छस् र परमेश्‍वरले बोल्‍नुभएका सबै वचनको विरोध गर्छस् भने, परमेश्‍वर तँप्रति दिक्‍क हुनुहुनेछ र उहाँले तँलाई तिरस्कार गर्नुहुनेछ। यदि तैँले आफूलाई सधैँ असल व्यक्ति, दयनीय, सरल र निष्कपट व्यक्तिको रूपमा हेर्छस्, तर सत्यता पछ्याउँदैनस् भने, के परमेश्‍वरले तँलाई प्रेम गर्नुहुन्छ? यो असम्‍भव छ; उहाँका वचनहरूमा यसको कुनै आधार छैन। तँ निष्कपट होस् कि होइनस् भनेर परमेश्‍वरले हेर्नुहुन्‍न, न त तँ कस्तो मानवता वा क्षमता लिएर जन्‍मेको छस् भन्‍ने कुरा नै उहाँले वास्ता गर्नुहुन्छ—उहाँले त उहाँका वचनहरू सुनेपछि, तैँले तिनलाई स्विकार्छस् कि बेवास्ता गर्छस्, तिनमा समर्पित हुन्छस् कि विरोध गर्छस् त्यो हेर्नुहुन्छ। उहाँले उहाँका वचनहरूले तँलाई प्रभाव पार्छन् कि पर्दैनन् र तँमा फल फलाउँछन् कि फलाउँदैनन्, र उहाँले बोल्‍नुभएका धेरै वचनहरूको बारेमा तैँले गवाही दिन सक्छस् कि सक्दैनस् त्यो हेर्नुहुन्छ। यदि अन्त्यमा तेरो अनुभव “म निष्कपट, डरपोक छु, मैले भेट्ने हरेक व्यक्तिले मलाई हेप्छ। सबैले मलाई नीच ठान्छन्,” भन्‍ने हुन्छ भने, परमेश्‍वरले यो गवाही होइन भनी भन्‍नुहुनेछ। यदि तैँले “परमेश्‍वरले भन्‍नुभएको इमानदार तर अज्ञानी मानिस म नै हुँ” भनेर पनि भन्छस् भने, परमेश्‍वरले तँ पुरै झूटले भरिएको छस् र तेरो मुखबाट सत्यताको एउटै शब्‍द पनि निस्कँदैन भनेर भन्‍नुहुनेछ। परमेश्‍वरले तँलाई मापदण्डहरू दिनुभएको बेला, तैँले तिनलाई पालना गर्न सक्‍नु त कता हो कता, बरु उल्टै “मैले कष्ट भोगेको र मूल्य चुकाएको छु, र म परमेश्‍वरलाई प्रेम गर्छु” भन्दै परमेश्‍वरसँग तर्क गर्छस् र आफ्‍नो लागि बहाना बनाउँछस् भने, त्यो मान्य हुनेछैन। के तँ सत्यता पछ्याउँछस्? तेरो साँचो अनुभव गवाही कहाँ छ? परमेश्‍वरप्रतिको तेरो प्रेम कसरी प्रकट हुन्छ? सबुत प्रदान गर्न सक्दैनस् भने कसैले तेरो कुरा पत्याउनेछैन। तँ भन्छस्, “म इज्‍जतदार व्यक्ति हुँ र सभ्य व्यवहार गर्छु। म यौन अनैतिकतामा संलग्‍न हुँदिनँ, र आफ्‍नो व्यवहारमा सबै नियम पालन गर्छु। म शिष्ट व्यक्ति हुँ। म मद्यपान, वेश्यावृत्ति, र जुवातासमा भुल्दिनँ। म परमेश्‍वरको घरमा वाधा वा व्यवधान ल्याउने वा कलह मच्चाउने गर्दिनँ, बरु म कष्ट भोग्छु र कठिन परिश्रम गर्छु। के यी मैले सत्यता पछ्याउँछु भन्‍ने कुराका सङ्केतहरू होइनन् र? मैले पहिल्यैदेखि सत्यता पछ्याइरहेको छु।” अनि परमेश्‍वरले भन्‍नुहुनेछ: के तैँले आफ्‍नो भ्रष्ट स्वभाव समाधान गरेको छस्? तैँले सत्यता पछ्याएको तेरो गवाही कहाँ छ? के तैँले परमेश्‍वरका चुनिएका मानिसहरूको अनुमोदन र आदर पाउन सक्छस्? यदि तैँले कुनै अनुभव गवाही प्रदान गर्न सक्दैनस्, तैपनि परमेश्‍वरलाई प्रेम गर्ने इमानदार व्यक्ति हुँ भनी भन्छस् भने, तँ अरूलाई झूटो शब्‍दले छल्‍ने व्यक्ति होस्—तँ विवेक नभएको दियाबलस शैतान होस्, र तँ श्रापित हुन लायक छस्। तँलाई परमेश्‍वरले दोषी ठहराएर हटाउन मात्रै बाँकी छ।

कतिपय मानिसहरूले आफ्‍नो कर्तव्य निभाउने क्रममा प्रायजसो स्वेच्‍छाचारी र लापरवाही ढङ्गले काम गर्छन्। तिनीहरू अत्यन्तै लहडबाज हुन्छन्: खुसी हुँदा, तिनीहरूले थोरथोरै कर्तव्य निभाउँछन्, र नहुँदा, तिनीहरूले घुर्की लगाउँदै भन्छन्, “म आज खराब मुडमा छु। म केही खान्‍नँ र आफ्‍नो कर्तव्य पनि निभाउदिनँ।” त्यसपछि अरूले तिनीहरूलाई फकाउँदै भन्‍नुपर्छ: “त्यसो गरेर हुँदैन। यसरी मुडअनुसार चल्‍ने गर्नु हुँदैन।” अनि तिनीहरूले यसप्रति के भन्छन्? “यसो गरेर हुँदैन भन्‍ने थाहा छ, तर म धनी र सुविधासम्पन्‍न परिवारमा हुर्केको हुँ। मेरा बाजेबजू र फुपूहरू सबैले मलाई बिगारे, र मेरा आमाबुबाले त झनै खराब गरे। म तिनीहरूको प्यारो, आँखाको नानी थिएँ, र तिनीहरूले मैले जे भन्यो त्यही गर्थे र मलाई बिगारे। त्यस्तो हुर्काइले ममा यस्तो लहडे मनोभाव आयो, त्यसकारण जब म परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य निभाउँछु, तब म अरूसँग छलफल गर्ने, वा सत्यता खोजी गर्ने, वा परमेश्‍वरमा समर्पित हुने गर्दिनँ। यसमा मेरो के दोष छ?” के तिनीहरूको बुझाइ सही छ? के तिनीहरूको मनोवृत्ति सत्यता पछ्याउने खालको छ? (छैन।) खाने टेबलबाट सबभन्दा राम्रो भाग रोज्‍ने, आफ्‍नो मात्रै वास्ता गर्ने, अनि अरूको बेवास्ता गर्नेजस्ता तिनीहरूका ससाना गल्तीहरू कसैले उठाउँदा पनि तिनीहरू भन्छन्, “म सानैदेखि यस्तै हुँ। मलाई यही बानी छ। मैले अरूको बारेमा कहिल्यै सोचेको छैनँ। मप्रति हुरुक्‍कै हुने आमाबुबा र मलाई लाडप्यार दिने बाजेबजूको साथमा मैले सधैँ सुखी जीवन जिएको छु। म मेरो सम्पूर्ण परिवारको आँखाको नानी हुँ।” यो त बकवास र भ्रम हो। के यो अलिक लाजमर्दो र बेसरम कुरा होइन र? तेरा आमाबुबाले तँलाई लाडप्यार दिए—के त्यसको अर्थ अरूले पनि तँलाई लाडप्यार दिनुपर्ने हो? तेरा आफन्तहरू तँ भनेपछि हुरुक्‍कै हुन्छन् र तँलाई लाडप्यार दिन्छन्—के त्यसले तँलाई परमेश्‍वरको घरमा लापरवाही र स्वेच्‍छाचारी व्यवहार गर्ने आधार दिन्छ? के त्यो जायज कारण हो? के त्यो आफ्‍नो भ्रष्ट स्वभावप्रति हुनुपर्ने जायज मनोवृत्ति हो? के त्यो सत्यता पछ्याउने मनोवृत्ति हो? (होइन।) जब यी मानिसहरूको जीवनमा कुनै कुरा आइपर्छ, जब तिनीहरूको भ्रष्ट स्वभाव वा तिनीहरूको जीवनसँग सम्‍बन्धित कुनै समस्या आइपर्छ, तब तिनीहरूले यसको उत्तर दिन, यसलाई व्याख्या गर्न र यसलाई सही साबित गर्न वस्तुगत बहाना बनाउन खोज्छन्। तिनीहरूले सत्यता खोजी गर्ने वा परमेश्‍वरलाई प्रार्थना गर्ने कहिल्यै गर्दैनन्, र तिनीहरू आफ्नो बारेमा मनन गर्न परमेश्‍वरको अघि आउँदैनन्। के आत्मचिन्तनविना व्यक्तिले आफ्‍ना समस्याहरू र भ्रष्टता चिन्‍न सक्छ? (सक्दैन।) अनि तिनीहरूले आफ्‍नो भ्रष्टतालाई नचिनी पश्‍चात्ताप गर्न सक्छन्? (सक्दैनन्।) यदि कसैले पश्‍चात्ताप गर्न सक्दैन भने, तिनीहरू अपरिहार्य रूपमा कुन स्थितिमा जिइरहेका हुन्छन्? के आत्ममाफीको स्थिति होइन र? के यो आत्ममाफी तिनीहरूले भ्रष्टता प्रकट गरे पनि, तिनीहरूले कुनै दुष्कर्म गरेका वा प्रशासनिक आदेशहरू उल्‍लङ्घन गरेका छैनन्—त्यसो गर्नु सत्यताको सिद्धान्तअनुरूप नभए पनि, यो जानीजानी गरिएको थिएन, र यो क्षमा दिन लायक छ भन्‍ने होइन र? (हो।) त्यसो भए, के सत्यता पछ्याउने व्यक्तिमा त्यस्तो अवस्था हुनुपर्छ? (होइन।) यदि कसैले कहिल्यै साँचो पश्‍चात्ताप गर्दैन र सधैँ यस्तो स्थितिमा जिउँछ भने, के उसले आफूलाई परिवर्तन गर्न सक्छ? अहँ, उसले कहिल्यै त्यसो गर्न सक्दैन। यदि व्यक्तिले आफूलाई परिवर्तन गर्न सक्दैन भने, उसले आफ्‍नो दुष्टता साँचो रूपमा त्याग्‍न सक्‍नेछैन। अनि, आफ्‍नो दुष्टता साँचो रूपमा त्याग्‍न नसक्‍नु भनेको के हो? यसको अर्थ व्यक्तिले साँचो रूपमा सत्यता अभ्यास गर्न र यसको वास्तविकतामा प्रवेश गर्न सक्दैन भन्‍ने हो। यो स्पष्ट परिणाम हो। यदि तैँले आफ्‍नो दुष्टता त्याग्‍न वा सत्यता अभ्यास गरेर यसको वास्तविकतामा प्रवेश गर्न सक्दैनस् भने, र यदि तँ परमेश्‍वरले तेरो बारेमा आफ्‍नो सोच परिवर्तन गर्नुहोओस् र आफूले पवित्र आत्‍माको कार्य प्राप्त गर्न, परमेश्‍वरको अन्तर्दृष्टि र ज्योति पाउन सकूँ, र परमेश्‍वरबाट आफ्ना अपराधहरू क्षमा होऊन् र आफ्नो भ्रष्टता सुल्झाइयोस् भन्‍ने चाहन्छस् भने, के त्यो सम्‍भव हुन्छ? (हुँदैन।) यदि यो सम्‍भव हुँदैन भने, के परमेश्‍वरमाथिको तेरो विश्‍वासले तँलाई मुक्ति दिलाउन सक्छ? (सक्दैन।) यदि व्यक्ति आफूलाई माफी दिने र आफ्‍नो तारिफ गर्ने स्थितिमा जिउँछ भने, ऊ सत्यता पछ्याउनबाट कोसौँ टाढा हुन्छ। तिनीहरूले हेर्ने, सुन्‍ने र आफूलाई व्यस्त र दौडधूपमा राख्‍ने कुराहरू केही हदसम्म परमेश्‍वरमा विश्‍वास गर्ने कार्यसँग सम्बन्धित हुन सक्छन्, तर सत्यता पछ्याउने वा अभ्यास गर्ने कार्यसँग तिनको कुनै सम्‍बन्ध हुँदैन। यो परिणाम स्पष्ट छ। अनि यी कुराहरू सत्यता पछ्याउने वा अभ्यास गर्ने कार्यसँग सम्बन्धित नरहेकाले, त्यस व्यक्तिले आफ्‍नो बारेमा मनन गर्नेछैन, न त उसले आफू कस्तो छु भन्‍ने कुरा नै स्विकार गर्नेछ। तिनीहरूले आफू कति हदसम्‍म भ्रष्ट भएको छु भनेर जान्‍नेछैनन्, र पश्‍चात्ताप कसरी अभ्यास गर्ने त्यो तिनीहरूलाई थाहा हुनेछैन, त्यसकारण तिनीहरूले साँचो पश्‍चात्ताप हासिल गर्नु वा तिनीहरूका बारेमा परमेश्‍वरको मन परिवर्तन गराउन सक्‍ने सम्‍भावना झनै कम हुन्छ। यदि तँ त्यस्तो स्थितिमा जिउँछस् र परमेश्‍वरले तँलाई मौका, माफी, वा अनुमोदन प्रदान गर्नुहोओस् भन्‍ने चाहन्छस् भने, त्यो वास्तवमै कठिन हुनेछ। यहाँ “अनुमोदन प्रदान गर्नु” भनेको के हो? यसको अर्थ परमेश्‍वरले तैँले गर्ने कुरा स्विकार्नुहुन्छ, अनुमोदन गर्नुहुन्छ, र याद गर्नुहुन्छ भन्‍ने हुन्छ। यदि तैँले यी कुनै कुरा पनि प्राप्त गर्न सक्दैनस् भने, तैँले गर्ने कुराहरूमा, तेरो परिश्रममा, बाहिरी प्रकटीकरण र व्यवहारहरूमा तैँले सत्यता पछ्याइरहेको छैनस् भन्‍ने प्रमाणित हुन्छ। तैँले जे सोचे पनि त्यसले केही अर्थ राख्दैन, र तैँले केही असल व्यवहार प्रकट गर्न सके पनि, यी व्यवहारहरूले तेरो मानवतामा थोरै विवेक र समझ छ भन्‍ने मात्रै जनाउँछ। तर यी असल व्यवहारहरू सत्यता पछ्याउने कार्यको प्रकटीकरण होइनन्, किनभने तेरो सुरुवाती बिन्दु, अभिप्राय, र मनसायहरू सत्यता पछ्याउने खालका हुँदैनन्। यसो भन्‍नुको आधार के हो? यसका आधारहरू के हुन् भने तेरा कुनै पनि विचार, व्यवहार, वा कार्यहरू सत्यता पछ्याउने कार्यसँग सम्‍बन्धित छैनन्, र सत्यतासँग तिनको कुनै सम्‍बन्ध छैन। यदि मान्छेले गर्ने सबै कुरा परमेश्‍वरको अनुमोदन र मान्यता पाउनको लागि होइन भने, तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्‍वरको अनुमोदन वा मान्यता पाउन सक्दैन, र यी व्यवहार र अभ्यासहरूलाई असल मानव व्यवहार मात्रै भन्‍न सकिन्छ। यी कुराहरू तिनीहरूले सत्यता अभ्यास गरिरहेका छन् भन्‍ने सङ्केत होइनन्, र ती अवश्य नै तिनीहरूले सत्यता पछ्याइरहेका छन् भन्‍ने सङ्केत पनि होइनन्। विशेष रूपमा लहडबाज र प्राय लापरवाही र मनमौजी व्यवहार गर्ने मानिसहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्विकार्दैनन्, न त तिनीहरूले काटछाँट र निराकरण नै स्विकार्छन्। तिनीहरूले सत्यता नपछ्याउनु र काटछाँट र निराकरण स्विकार्न नसक्‍नुको निम्ति प्राय बहानाहरू बनाउँछन्। त्यो कस्तो स्वभाव हो? अवश्य नै, त्यो सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव हो—शैतानको स्वभाव। मानिसमा शैतानको प्रकृति र स्वभाव हुन्छ, त्यसकारण मानिसहरू शैतानका हुन् भन्‍नेमा कुनै शङ्का छैन। तिनीहरू दियाबलसहरू, शैतानका सन्तानहरू, र ठूलो रातो अजिङ्गरका बच्‍चाहरू हुन्। कतिपय मानिसहरूले आफू दियाबलस, शैतान, र ठूलो रातो अजिङ्गरको बच्चा भएको स्विकार्न सक्छन्, र आत्मज्ञानको बारेमा एकदम राम्ररी बोल्‍न सक्छन्। तर जब तिनीहरूले कुनै भ्रष्ट स्वभाव प्रकट गर्छन्, र कसैले तिनीहरूलाई खुलासा, निराकरण, र काटछाँट गर्छ, तब तिनीहरूले आफूलाई सही साबित गर्न सक्दो प्रयास गर्छन् र सत्यता बिलकुलै स्वीकार गर्दैनन्। यहाँ समस्या के छ? यसमा, यी मानिसहरू पूर्ण रूपमा खुलासा भएका हुन्छन्। तिनीहरूले आफूलाई चिन्‍नेबारेमा कुरा गर्दा अत्यन्तै राम्रो कुरा गर्छन्, र पनि किन काटछाँट र निराकरण हुनुपर्दा तिनीहरूले सत्यता स्विकार्न सक्दैनन्? यसमा एउटा समस्या छ। के यस्तो कुरा आम होइन र? के यो देख्‍न सजिलो छ? छ, वास्तवमै। कैयौँ मानिसहरूले आफ्‍नो आत्मज्ञानबारे कुरा गर्दा आफू दियाबलस र शैतान हुँ भनेर स्विकार्छन्, तर पश्‍चात्ताप गर्ने वा आफूलाई बदल्ने गर्दैनन्। त्यसो भए, तिनीहरूले गर्ने आत्मज्ञानको कुरा सही हुन्छ कि गलत? के तिनीहरूमा आफ्नो बारेमा सच्‍चा ज्ञान हुन्छ, कि यो अरूलाई छल्ने चाल मात्र हो? उत्तर आफैमा स्पष्ट छ। त्यसकारण, कुनै व्यक्तिसित साँचो आत्मज्ञान छ, छैन भनेर जान्‍नको लागि, तैँले त्यस्तो ज्ञानबारे उसले बोलेको मात्रै सुन्‍नु हुँदैन—तैँले काटछाँट र निराकरणप्रति उसको मनोवृत्ति कस्तो छ र उसले सत्यता स्विकार्न सक्छ कि सक्दैन भन्‍ने कुरा हेर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त्यही हो। जसले निराकरण र काटछाँट स्विकार्न सक्दैन, ऊसँग सत्यता नस्विकार्ने र स्विकार्न नमान्‍ने सार हुन्छ, र उसको स्वभाव सत्यताप्रति दिक्‍क मान्‍ने खालको हुन्छ। त्यसमा कुनै शङ्का छैन। कतिपय मानिसहरूले जति नै भ्रष्टता प्रकट गरे पनि, अरूलाई आफ्नो निराकरण गर्न दिँदैनन्—कसैले पनि तिनीहरूलाई काटछाँट वा निराकरण गर्न सक्दैन। तिनीहरूले आफूलाई जसरी मन लाग्यो त्यसरी आफ्‍नो आत्मज्ञानबारे कुरा गर्न सक्छन्, तर कसैले तिनीहरूलाई खुलासा, आलोचना वा निराकरण गर्‍यो भने, त्यो जति नै वस्तुगत वा तथ्यमा आधारित भए पनि, तिनीहरूले त्यो स्विकार्दैनन्। तिनीहरूको भ्रष्ट स्वभावको जुनसुकै प्रकटीकरण कुनै अर्को व्यक्तिले खुलासा गर्दा पनि, तिनीहरू अत्यन्तै विरोधी हुन्छन् र थोरै पनि साँचो समर्पण नदेखाई जिद्दीपूर्वक आफूलाई सही साबित गर्न स्पष्टीकरण दिन्छन्। त्यस्ता मानिसहरूले सत्यता नपछ्याए, समस्यामा हुनेछ। मण्डलीमा, तिनीहरू छुन र दोष लगाउन नसकिने हुन्छन्। मानिसहरूले तिनीहरूको बारेमा राम्रो कुरा भन्दा, तिनीहरू खुसी हुन्छन्; मानिसहरूले तिनीहरूको खराब कुरा औँल्याउँदा, तिनीहरू रिसाउँछन्। कसैले तिनीहरूलाई: “तिमी असल व्यक्ति हौ, तर तिमी एकदमै लहडमा चल्छौ। तिमीले सधैँ स्वेच्छाचारी र लापरवाही रूपमा काम गरिरहेको हुन्छौ। तिमीले काटछाँट र निराकरण स्विकार्नुपर्छ। के तिमीले यी कमीहरू र भ्रष्ट स्वभाव हटाउनु राम्रो हुँदैन र?” भन्दै खुलासा गर्‍यो भने, तिनीहरूले यस्तो जबाफ दिन्छन्, “मैले कुनै दुष्ट काम गरेको छैनँ। मैले पाप गरेको छैनँ। किन तपाईं मलाई निराकरण गर्दै हुनुहुन्छ? मेरा आमाबुबा र बाजेबजूले मलाई सानैदेखि घरमा लाडप्यार दिनुभयो। म उहाँहरूको प्यारो, आँखाको नानी थिएँ। अहिले, यहाँ परमेश्‍वरको घरमा, कसैले पनि मलाई लाडप्यार दिँदैन—यहाँ बस्‍नुको कुनै मजा छैन! तपाईंहरूले सधैँ मेरो केही गल्ती औँल्याउँदै मलाई निराकरण गर्न खोजिरहनुहुन्छ। यसरी त मैले कसरी जिउने?” यहाँ समस्या के हो? समझदारले तुरुन्तै बुझिहाल्छ कि यी मानिसहरूलाई तिनीहरूका आमाबुबा र परिवारले बिगारेका हुन्, र अहिले पनि तिनीहरूलाई कस्तो व्यवहार गर्ने वा कसरी आत्मनिर्भर हुने भन्‍ने नै थाहा छैन। तेरो परिवारले तँलाई आदर्श व्यक्तिलाई जस्तो लाडप्यार दियो, र तँलाई ब्रह्माण्डमा तेरो स्थान के हो भन्‍ने थाहा छैन। तैँले अहङ्कार, आत्मधार्मिक, र चरम लहडबाज चरित्र विकास गरेको छस्, र तँलाई यसबारेमा चेतना छैन र कसरी मनन गर्ने त्यो पनि थाहा छैन। तैँले परमेश्‍वरमा विश्‍वास त गर्छस् तर उहाँका वचनहरू सुन्‍ने वा सत्यता अभ्यास गर्ने गर्दैनस्। के परमेश्‍वरमाथिको त्यस्तो विश्‍वासद्वारा तैँले सत्यता प्राप्त गर्न सक्छस्? के तँ यसको वास्तविकतामा प्रवेश गर्न सक्छस्? के तँ मानवजातिको साँचो स्वरूपमा जिउन सक्छस्? अवश्य सक्दैनस्। परमेश्‍वरको विश्‍वासीको रूपमा, तैँले कम्तीमा पनि सत्यता स्विकार्नु र आफूलाई चिन्‍नुपर्छ। त्यसरी मात्रै तँ बदलिन सक्‍नेछस्। यदि तँ विश्‍वासमा सधैँ आफ्नै धारणा र कल्‍पनाहरूमा भर पर्छस् भने, सत्यता पछ्याउनुको सट्टा शान्ति र खुसीको पछि लाग्छस् भने, यदि साँचो पश्‍चात्ताप गर्न सक्दैनस् भने, र यदि तेरो जीवन स्वभावमा कुनै परिवर्तन आएको छैन भने, परमेश्‍वरमाथिको तेरो विश्‍वासको कुनै अर्थ छैन। परमेश्‍वरको विश्‍वासीको रूपमा, तैँले सत्यता बुझ्‍नैपर्छ। तैँले आफूलाई चिन्‍न मेहनत गर्नैपर्छ। तँमाथि जेसुकै आइपरे पनि तैँले सत्यता खोजी गर्नुपर्छ, र तँमा जेजस्ता भ्रष्ट स्वभावहरू प्रकट भए पनि तिनलाई तैँले परमेश्‍वरका वचनहरूअनुसार सत्यता सङ्गति गरेर समाधान गर्नुपर्छ। यदि कसैले तेरो भ्रष्ट स्वभाव औँल्याउँछ, वा त्यो कुरा जाँच्‍न तँ आफै अग्रसर हुन्छस् भने, यदि तैँले सचेत भई यसलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्छस्, र आफूलाई नियाल्छस्, जाँच्छस्, र चिन्छस्, अनि आफ्‍नो समस्या सुल्झाउँछस् र पश्‍चात्ताप अभ्यास गर्छस् भने, तँ मानव स्वरूपमा जिउन सक्‍ने बन्‍नेछस्। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले सत्यता स्विकार्नैपर्छ। यदि तँ सधैँ आफ्‍नो परिवारको लाडप्यारमा रमाउन चाहन्छस्, सधैँ तिनीहरूको आँखाको नानी र प्रिय हुन पाउँदा खुसी हुन्छस् भने, तैँले के नै प्राप्त गर्न सक्‍नेछस् र? तँ जति नै तेरो परिवारको आँखाको नानी र प्रिय भए पनि, तँमा सत्यताको वास्तविकता छैन भने, तँ कसिङ्गर नै हुन्छस्। सत्यता पछ्याए मात्रै परमेश्‍वरमाथिको विश्‍वासको मूल्य हुन्छ। जब तैँले सत्यता बुझ्छस्, तब तँलाई आफूले कस्तो व्यवहार गर्ने, कसरी साँचो खुसी अनुभव गर्ने र कसरी परमेश्‍वरलाई खुसी पार्ने व्यक्ति बन्‍ने भन्‍ने कुरा थाहा हुनेछ। सत्यताको वास्तविकताको स्थान कुनै पनि पारिवारिक वातावरण, र व्यक्तिगत सामर्थ्य, फाइदा वा वरदानले लिन सक्दैन, न त यस्तो कुनै कुराले सत्यता नपछ्याउने बहानाको रूपमा काम गर्न सक्छ। सत्यता प्राप्त गरेर मात्रै मानिसहरूले साँचो खुसी प्राप्त गर्न, महत्त्वको जीवन जिउन, र सुन्दर गन्तव्य पाउन सक्छन्। यो मामलाका तथ्यहरू यिनै हुन्।

मण्डली अगुवा र सेवकहरू बनेपछि कतिपय मानिसहरूले आफूलाई सुनजस्तै ठान्छन् र तिनीहरूले बल्‍ल चम्कने मौका पाइयो भन्‍ने सोच्छन्। तिनीहरूले आफैप्रति राम्रो अनुभव गर्छन् र आफ्‍ना सामर्थ्यहरू प्रयोग गर्न थाल्छन्; तिनीहरूले बेलगाम अभिलाषाहरू देखाउँछन् र आफ्‍नो पूर्ण क्षमता प्रदर्शन गर्छन्। यी मानिसहरूमा स्तर र शिक्षा हुन्छ, संस्थागत सीप, र अगुवा बन्‍ने व्यवहार र शैली हुन्छ। स्कूलमा हुँदा तिनीहरू कक्षाको अग्र स्थानमा र विद्यार्थी संघका प्रमुख थिए, तिनीहरू आफूले काम गरेको कम्पनीमा म्यानेजर वा प्रमुख थिए, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेर उहाँको घरमा आएपछि, तिनीहरू अगुवाको रूपमा निर्वाचित भए, त्यसकारण तिनीहरूले मनमनै सोच्छन्, “स्वर्गले मलाई कहिल्यै निराश तुल्याउँदैन। मजस्तो क्षमतावान् व्यक्ति लुकेर बस्‍न गाह्रो हुन्छ। म कम्पनीप्रमुखको पदबाट हट्नेबित्तिकै परमेश्‍वरको घर आएँ र अगुवाको भूमिका पाएँ। प्रयास नै गरे पनि म साधारण व्यक्ति हुन सक्दिनँ। यो परमेश्‍वरले मलाई उत्थान गर्नुभएको हो, यो कुरा उहाँले मेरो लागि मिलाइदिनुभएको हो, त्यसकारण म यसलाई शिरोपर गर्छु।” अगुवा बनेपछि, तिनीहरूले आफ्‍नो अनुभव, ज्ञान, व्यवस्थापकीय सीप, र नेतृत्व शैली प्रयोगमा ल्याउँछन्। तिनीहरू आफूलाई क्षमतावान् र साहसी, र साँच्‍चै नै निपुण र प्रतिभावान् व्यक्ति ठान्छन्। तर दुःखलाग्दो कुरो, यसमा एउटा समस्या छ। नेतृत्व गर्ने क्षमतासहित जन्‍मेका यी माहिर, प्रतिभावन् अगुवाहरू मण्डलीमा के गर्न सबैभन्दा सक्षम हुन्छन्? स्वतन्त्र राज्य स्थापना गर्न, सबै शक्ति आफूमा लिन, र छलफलहरू नियन्त्रण गर्न। अगुवा बनेपछि, तिनीहरूले आफ्‍नै प्रतिष्ठा र हैसियतको लागि काम गर्ने, दौडधूप गर्ने, कठिनाइ भोग्‍ने, र मूल्य चुकाउनेबाहेक केही गर्दैनन्। तिनीहरूले अरू केही कुराको वास्ता गर्दैनन्। तिनीहरूलाई आफ्नो व्यस्तता र काम परमेश्‍वरको इच्‍छाअनुरूप छ, तिनीहरूमा कुनै भ्रष्ट स्वभाव छैन, मण्डलीलाई सधैँ तिनीहरूको खाँचो छ, र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई पनि तिनीहरूको खाँचो छ भन्‍ने विश्‍वास हुन्छ। तिनीहरूलाई के पनि विश्‍वास हुन्छ भने तिनीहरूविना कुनै काम सम्पन्‍न हुँदैन, र तिनीहरूले सबै काम आफ्‍नो हातमा लिन र एकाधिकार जमाउन सक्छन्। अनि तिनीहरूसँग आफ्‍नै स्वतन्त्र राज्य स्थापना गर्ने तरिका प्रशस्तै हुन्छ। तिनीहरू हरप्रकारका रचनात्मक र नवीन कार्यहरू गर्न सक्‍ने हुन्छन्, तिनीहरू विशेष रूपमा अधिकारीहरूजस्तो व्यवहार गर्दै धाक लगाउन सिपालु अनि उच्‍च स्थानमा बसेर अरूलाई भाषण दिन अभ्यस्त हुन्छन्। तिनीहरूले गर्न नसक्‍ने महत्त्वपूर्ण कुरा एउटै हुन्छ: अगुवा बनेपछि, तिनीहरू अरूसँग मनैदेखि बोल्‍न, आफूलाई चिन्‍न, आफ्‍नो भ्रष्टता देख्‍न, वा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूबाट सुझाव सुन्‍न सक्दैनन्। कामको छलफल गर्दा, कसैले फरक विचार व्यक्त गर्‍यो भने, यी अगुवाहरूले ती विचारहरू इन्कार मात्र गर्दैनन्, तिनीहरूले यसो भन्दै सो इन्कारीलाई सहीसमेत साबित गर्छन्, “तपाईंहरूले त्यो प्रस्तावबारे राम्ररी विचार गर्नुभएको रहेनछ। म मण्डली अगुवा हुँ—यदि मैले तपाईंहरूले भन्‍नुभएझैँ गरेँ र केही बिग्रिएन भने त त्यो ठीकै हुन्छ, तर कुनै नराम्रो भयो भने, जिम्‍मेवारी मेरो टाउकोमा मात्रै पर्छ। त्यसकारण, धेरैजसो समय, तपाईंहरूले आफ्‍नो विचार बताउन सक्‍नुहुन्छ—हामीले त्यो औपचारिकता पूरा गर्न सक्छौँ—तर अन्त्यमा, कसरी काम गर्ने भनेर छनौट र निर्णय मैले नै गर्नुपर्छ।” समय बित्दै जाँदा, धेरैजसो विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू कामको छलफल वा सङ्गतिमा सहभागी हुन छोड्छन्, र यी अगुवाहरूले काममा देखिएका कुनै पनि समस्याहरूबारे तिनीहरूसित सङ्गति गर्ने झमेला लिँदैनन्। कसैसँग एक शब्‍द पनि नबोली तिनीहरूले निर्णय र निर्णयको अनुमोदन गरिरहन्छन्, अनि तिनीहरूसँग अझै पनि आफूलाई सही साबित गर्ने तर्कहरू हुन्छ। तिनीहरूलाई लाग्छ, “मण्डली भनेको अगुवाको मण्डली हो, र अगुवाले नै योजना बनाउँछ। विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले कुन दिशा र बाटो लिने भन्‍नेबारेमा अगुवाले नै अन्तिम निर्णय गर्नुपर्छ।” प्राकृतिक रूपमै, यी अगुवाहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेश, हिँड्ने मार्ग, र खोजको दिशा नियन्त्रण गर्छन्। तिनीहरू “कप्तान” बनेपछि, तिनीहरूले सबै शक्ति आफ्‍नो हातमा लिएर स्वतन्त्र राज्य स्थापित गर्छन्। तिनीहरूको काममा कुनै पारदर्शिता हुँदैन, र थाहै नपाई, तिनीहरूले केही मानिसहरूलाई दमन गर्छन् र सत्यता पछ्याउने र सत्यता बुझ्‍न सक्‍ने विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई एक्ल्याउँछन्। यो पुरै अवधिमा, तिनीहरूले आफूले यसो गरेर मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको हित रक्षा गरिरहेको छु भन्‍ने सोच्छन्। तिनीहरूले यस्ता अनगिन्ती स्पष्टीकरण र बहानाद्वारा स्पष्ट तर्क दिँदै जे पनि गर्छन्—अनि अन्त्यमा के हुन्छ? तिनीहरूले गर्ने सबै कुरा आफ्‍नो हैसियत रक्षा र शक्ति एकाधिकारको लागि हुन्छ। तिनीहरूले बाहिरी समाज र पारिवारिक जीवनका सिद्धान्त, शैली, र माध्यमहरू परमेश्‍वरको घरमा ल्याउँछन्, र त्यसो गरेर आफूले परमेश्‍वरको घरका हितहरू रक्षा गरिरहेको छु भन्‍ने सोच्छन्। तैपनि तिनीहरूले आफूलाई कहिल्यै चिन्‍ने वा आफ्‍नो बारेमा मनन गर्ने गर्दैनन्। तिनीहरूले सत्यताका सिद्धान्तहरू उल्‍लङ्घन गरिरहेका छन् भनेर कसैले औँल्याए पनि, तिनीहरूले परमेश्‍वरको अन्तर्दृष्टि, अनुशासन, र ताडना पाए पनि, तिनीहरूलाई यसको कुनै चेतना हुँदैन। तिनीहरूको समस्या केमा हुन्छ? अगुवाको पद लिएको दिनदेखि नै तिनीहरूले आफ्‍नो कर्तव्यलाई करियरको रूपमा लिन्छन्, र यसले गर्दा तिनीहरू अपरिहार्य रूपमै ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्छन् र यसले गर्दा नै तिनीहरू सत्यता पछ्याउन असक्षम बन्‍ने कुरा निश्‍चित हुन्छ। तैपनि, यो “करियर” बनाउने क्रममा, तिनीहरू आफूले गर्ने सबै कुरा सत्यता पछ्याउने कार्य हो भनी विश्‍वास गर्छन्। तिनीहरूले सत्यता पछ्याउने कार्यलाई कसरी लिन्छन्? तिनीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू र परमेश्‍वरको घरका हितहरूलाई रक्षा गर्ने नाममा आफ्‍नो हैसियत र अख्‍तियार रक्षा गर्छन्, र यो नै तिनीहरूले सत्यता पछ्याएको प्रकटीकरण हो भन्‍ने विश्‍वास गर्छन्। यो पदमा हुँदा तिनीहरूमा प्रकट हुने र देखिने भ्रष्ट स्वभावबारे तिनीहरूलाई केही पनि थाहा हुँदैन। कहिलेकहीँ तिनीहरूले यो भ्रष्ट स्वभाव हो, परमेश्‍वरले यसलाई घिनाउनुहुन्छ, यो क्रूर र हठी स्वभाव हो भन्‍ने अलिअलि थाहा पाए पनि, तुरुन्तै यस्तो सोच्दै सोच बदलिहाल्छन्: “त्यसो गरेर हुँदैन। म त अगुवा हुँ, र ममा अगुवाको इज्‍जत हुनुपर्छ। मैले भ्रष्ट स्वभाव प्रकट गरेको विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई देखाउनु हुँदैन।” त्यसकारण, तिनीहरूलाई आफूले धेरै भ्रष्टता प्रकट गरेको, र आफ्‍नो हैसियत र अख्‍तियार रक्षा गर्न सिद्धान्तहरू उल्‍लङ्घन गर्ने धेरै कार्य गरेको महसुस भए पनि, कसैले तिनीहरूको खुलासा गर्दा, तिनीहरूले तर्कजाल प्रयोग गर्ने वा यसलाई रोक्‍ने प्रयास गर्छन्, ताकि कसैलाई यो कुरा थाहा नहोस्। अख्‍तियार र हैसियत पाउनेबित्तिकै, तिनीहरूले आफूलाई महान्, सही, अनि छुन र शङ्का गर्न नसकिने व्यक्ति ठान्दै उच्‍च र अपमान गर्न नसकिने स्थानमा राख्छन्। अनि त्यस्तो स्थान लिएपछि, तिनीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेश र मण्डलीको काममा फाइदा गर्न सक्‍ने कुनै पनि फरक मतधारी आवाज, सुझाव वा सल्‍लाहलाई निरन्तर प्रतिरोध र इन्कार गर्छन्। सत्यता नपछ्याएकोमा तिनीहरूले के बहाना बनाउँछन्? तिनीहरू भन्छन्, “मसँग हैसियत छ, म स्तर भएको मान्छे हुँ—त्यसको अर्थ मसँग इज्‍जत छ र म कसैले छुन र अपमान गर्न नसक्‍ने व्यक्ति हुँ।” त्यस्तो कारण र बहाना देखाएर के तिनीहरूले सत्यता पछ्याउन सक्छन्? (अहँ।) सक्दैनन्। हैसियतका फाइदाहरूमा रमाउँदै, तिनीहरूले सधैँ उच्‍च स्थानमा रहेर बोल्‍ने र काम गर्ने गर्छन्। यसो गरेर, तिनीहरूले आगोसँग खेलिरहेका हुन्छन्, र तिनीहरूलाई खुलासा गर्नु अपरिहार्य हुन्छ। के त्यस्ता मानिसहरू दयनीय होइनन् र? तिनीहरू दयनीय र तिरस्कारयोग्य, साथै घिनलाग्दा हुन्छन्—तिनीहरूलाई देख्दा त वान्तै आउँछ! अगुवाको रूपमा, तिनीहरूले सन्तजस्तो देखिने वस्‍त्र लगाउँछन्। सन्त, महान्, महिमावान्, र सही व्यक्ति—यी नाम-पदवीहरू के हुन्? यी बन्धनहरू हुन्, र यी धारण गर्नेहरूले त्यसउप्रान्त सत्यता पछ्याउनै सक्दैनन्। यदि कसैले यी बन्धनहरू धारण गर्छ भने, यसको अर्थ सत्यता पछ्याउने कार्यसँग अब तिनीहरूको कुनै सम्‍बन्ध छैन भन्‍ने हुन्छ। यी मानिसहरूले सत्यता नपछ्याउनुको मुख्य कारण के हो? वास्तवमा, त्यो कारण भनेको तिनीहरू हैसियतको बन्धनमा पर्नु हो। तिनीहरूले सधैँ मनमा यस्तो सोचिरहेका हुन्छन्: “म अगुवा हुँ। म यहाँको प्रमुख हुँ। म स्तर र हैसियत भएको व्यक्ति हुँ। म इज्‍जतदार व्यक्ति हुँ। ममा अहङ्कारी वा दुष्ट स्वभाव हुन सक्दैन। मैले आफ्‍नो भ्रष्ट स्वभावबारे खुलेर सङ्गति गर्नु हुँदैन—मैले आफ्‍नो इज्‍जत र प्रतिष्ठा रक्षा गर्नुपर्छ। मैले मानिसहरूलाई मेरो आदर र श्रद्धा गर्ने बनाउनुपर्छ।” तिनीहरू सधैँ यी कुराहरूको बन्धनमा हुन्छन्, त्यसकारण तिनीहरूले आफ्‍नो बारेमा खुलेर कुरा गर्न वा मनन गरेर आफूलाई चिन्‍न सक्दैनन्। तिनीहरू यी कुराहरूद्वारा बरबाद भएका हुन्छन्। के तिनीहरूको दृष्टिकोण र मानसिकता सत्यताअनुरूप हुन्छ? हुँदैन, त्यो स्पष्ट छ। तिनीहरूले सामान्यतया आफ्‍नो कर्तव्यमा देखाउने व्यवहारहरू—अहङ्कार र आत्मधार्मिकता, नियम आफ्‍नै हातमा लिने, बहाना गर्ने, चलाकी गर्ने, आदि इत्यादि कुराहरू—के यी सत्यता पछ्याउने अभ्यास हुन्? (होइनन्।) स्पष्टै छ, तीमध्ये कुनै पनि सत्यता पछ्याउने कार्य होइनन्। अनि सत्यता नपछ्याएकोमा तिनीहरूले के स्पष्टीकरण वा कारण दिन्छन्? (तिनीहरूले अगुवाहरू हैसियत र इज्‍जत भएका मानिसहरू हुन्, र तिनीहरूमा भ्रष्ट स्वभाव भए पनि, त्यो खुलासा गर्नु हुँदैन भन्‍ने विश्‍वास गर्छन्।) के यो हास्यास्पद दृष्टिकोण होइन र? यदि कसैले आफूमा भ्रष्ट स्वभाव छ भनी स्विकार्छ तर खुलासा गर्न मान्दैन भने, के त्यस्ताहरू सत्यता स्विकार्ने मानिसहरू हुन् त? यदि अगुवाको रूपमा तैँले सत्यता स्विकार्न सक्दैनस् भने, तैँले कसरी परमेश्‍वरको काम अनुभव गर्नेछस्? तेरो भ्रष्टता कसरी पखालिनेछ? अनि तेरो भ्रष्टता पखाल्‍न सकिँदैन र तँ निरन्तर भ्रष्ट स्वभावअनुसार जिउँछस् भने, तँ व्यावहारिक काम गर्न नसक्‍ने अगुवा होस्—तँ झूटो अगुवा होस्। अगुवाको रूपमा, तँसँग हैसियत हुन्छ, तर त्यो त फरक काम, फरक कर्तव्य पाउनु मात्रै हो—यसको अर्थ तँ स्तर भएको व्यक्ति भइस् भन्‍ने हुँदैन। तैँले यो हैसियत पाएको र फरक कर्तव्य निभाउन पाएको भन्दैमा तँ अरूभन्दा इज्‍जतदार वा विशिष्ट स्तरको व्यक्ति होस् भन्‍ने हुँदैन। यदि यस्तो सोच्‍ने मानिसहरू साँच्‍चै छन् भने, के तिनीहरू बेसरमहरू होइनन् र? (हुन्।) यसलाई अझै बोलचालको भाषामा कसरी भनिन्छ? तिनीहरू नकचरा थेत्तरहरू हुन्, होइनन् र? तिनीहरू अगुवा नहुँदा, तिनीहरूले मानिसहरूसँग इमानदार व्यवहार गर्छन्; तिनीहरू आफ्‍नो भ्रष्ट स्वभावको प्रकटीकरणबारे खुलस्त कुरा गर्न र आफ्‍नो भ्रष्ट स्वभावको विश्‍लेषण गर्न सक्षम हुन्छन्। तिनीहरू अगुवा बनेपछि, पुरै फरक व्यक्ति बन्छन्। तिनीहरू फरक व्यक्ति बन्छन् भनेर म किन भन्दै छु? किनभने तिनीहरू मकुन्डो लगाउँछन्, र वास्तविक व्यक्ति यसको पछाडि लुकेर बस्छ। मकुन्डोले कुनै भाव देखाउँदैन, त्यो रुँदैन, हाँस्दैन, खुसी वा रिस, शोक वा आनन्द, र भावना वा इच्छा देखाउँदैन—अनि अवश्य नै कुनै भ्रष्ट स्वभाव पनि देखाउँदैन। सधैँभरि यसको भाव र स्थिति उस्तै हुन्छ, यस क्रममा अगुवाको साँचो स्थिति, व्यक्तिगत सोचविचार मकुन्डोभित्र लुकेको हुन्छ, जसलाई कसैले देख्‍न सक्दैन। कतिपय अगुवा र सेवकहरूले आफूलाई सधैँ स्तर र हैसियत भएको व्यक्तिको रूपमा ठान्छन्। कसैले तिनीहरूलाई काटछाँट र निराकरण गरे भने तिनीहरूलाई आफ्‍नो इज्‍जत गुमाउँछु भन्‍ने डर हुन्छ, त्यसैले तिनीहरूले सत्यता स्विकार्दैनन्। तिनीहरू आफ्‍नो हैसियत र अख्‍तियार प्रयोग गर्दै मीठा तर झूटा शब्‍दहरू बोल्छन् र आफ्‍नो भ्रष्ट स्वभाव ढाकछोप गर्छन्। यसको साथै, तिनीहरूले आफ्‍नो हैसियतलाई आधार मानी आफू अरूभन्दा विशिष्ट र पवित्र छु, त्यसैले आफूले सत्यता पछ्याउनुपर्दैन—सत्यता पछ्याउने त अरूको काम हो भन्‍ने गलत विश्‍वास गर्छन्। यो सोचाइ गलत छ, र केही लाजमर्दो र आधारहीन कुरा हो। यस्तो व्यक्तिले यस्तै व्यवहार गर्छ। यी मानिसहरूको व्यवहारको सारबाट, तिनीहरूले सत्यता पछ्याइरहेका छैनन् भन्‍ने स्पष्ट हुन्छ। बरु तिनीहरूले हैसियत र प्रतिष्ठा पछ्याइरहेका हुन्छन्। तिनीहरूले काम गर्दा आफ्नै हैसियत र अख्‍तियार रक्षा गरिरहेका हुन्छन्, र आफूले सत्यता पछ्याइरहेको छु भन्‍ने भ्रामक सोच बोकिरहेका हुन्छन्। पावलले जस्तै तिनीहरूले पनि आफूले गरेका काम र निभाएका कर्तव्यहरू, मण्डलीको काम गर्दा गरेका कार्यहरू, र परमेश्‍वरको घरको काम गर्दा हासिल गरेका उपलब्धिहरूबारे बारम्‍बार बताइरहन्छन्। तिनीहरूले यी कुराहरूको बारम्‍बार हिसाबकिताब गरिरहन्छन्, ठीक पावलले जस्तै, जसले यसो भनेका थिए, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। यसमा तिनको आसय के थियो भने तिनले आफ्‍नो दौड पूरा गरेपछि र असल लडाइँ लडेपछि, तिनले मुक्ति पाउने कति ठूलो मौका पाए, तिनको योगदान कति ठूलो रह्यो, र तिनको इनाम कति ठूलो हुनेछ भनेर हिसाब गर्ने, र तिनका योगदानहरूको निम्ति परमेश्‍वरसित इनाम माग्‍ने समय हुन्थ्यो। अनि, परमेश्‍वरले तिनलाई मुकुट दिनुभएन भने तिनले परमेश्‍वर धर्मी हुनुहुन्‍न भनी सोच्‍ने थिए, र परमेश्‍वरप्रति समर्पित हुन इन्कार गर्दै उहाँको अधार्मिकताप्रति गुनासोसमेत गर्ने थिए। के यस्तो मानसिकता र स्वभाव भएको व्यक्तिले सत्यता पछ्याइरहेको हुन्छ? के त्यस्ताहरू परमेश्‍वरमा साँचो रूपमा समर्पित हुनेहरू हुन्? के तिनीहरूले आफूलाई परमेश्‍वरको बन्दोबस्तमा अर्पेका हुन्छन्? के यो कुरा झट्ट हेर्दै स्पष्ट हुँदैन र? तिनीहरूले दौड पूरा गर्नु र लडाइँ लड्नु नै सत्यता पछ्याउनु हो भनी सोच्छन्, र कदापि सत्यता खोजी गर्दैनन् र तिनीहरूमा साँच्‍चै सत्यता पछ्याउने कार्यको प्रकटीकरण नै हुँदैन—त्यसैले तिनीहरू सत्यता पछ्याउने मानिसहरू होइनन्।

अहिलेको हाम्रो सङ्गतिले मुख्य रूपमा मानिसको कुन समस्या खुलासा गर्‍यो? यसले मुख्य रूपमा मानिसको कुन खास भ्रष्ट स्वभाव खुलासा गर्‍यो? एउटा आधारभूत कुराचाहिँ मानिस सत्यताप्रति दिक्‍क मान्छ र यसलाई स्विकार्न मान्दैन भन्‍ने कुरा हो; यो निकै खास प्रकारको व्यवहार हो। अर्को मुख्य कुराचाहिँ हरेक व्यक्तिको स्वभावको सारमा भेटिने कुरा अर्थात हठीपन हो। यो पनि निकै ठोस र स्पष्ट रूपमा प्रकट हुन्छ, होइन र? (हो।) मानिसको भ्रष्ट स्वभाव प्रकट हुने र देखिने मुख्य दुई तरिका यिनै हुन्। यी खास व्यवहार, दृष्टिकोण, मनोवृत्ति, र यस्तै अन्य कुराहरूले मानिसको भ्रष्ट स्वभावमा सत्यताप्रति दिक्‍क मान्‍ने तत्व हुन्छ भनेर साँचो र सटीक रूपमा चित्रण गर्छन्। अवश्य नै, मानिसको स्वभावमा मुख्य रूपमा देखिने भनेकै हठीपनका प्रकटीकरणहरू हुन्: परमेश्‍वरले जे भन्‍नुभए पनि, र परमेश्‍वरको कामको सिलसिलामा मानिसमा जे-जस्ता भ्रष्ट स्वभावहरू प्रकट भए पनि, मानिसहरूले जिद्दी भएर यसलाई स्विकार्न मान्दैनन् र प्रतिरोध गर्छन्। स्पष्ट प्रतिरोध वा तिरस्कारपूर्ण इन्कारभन्दा पर, अवश्य नै अर्को प्रकारको व्यवहार पनि छ, जसमा मानिसहरूले आफूलाई परमेश्‍वरको काममा सरोकार गराउँदैनन्, मानौँ परमेश्‍वरको कामसँग तिनीहरूको कुनै सम्‍बन्ध नै छैन। आफूलाई परमेश्‍वरसँग सरोकार नगराउनु भनेको के हो? यो भनेको व्यक्तिले यसो भन्दा हुने कुरा हो, “तपाईंले जेसुकै भन्‍नुहोस्—मसँग त्यसको कुनै सम्‍बन्ध छैन। तपाईंको कुनै पनि न्याय वा खुलासा मसँग सम्‍बन्धित छैन। म यसलाई स्विकार्दिनँ वा मान्दिनँ।” के हामी त्यस्तो मनोवृत्तिलाई “हठी” भन्‍न सक्छौँ? (सक्छौँ।) यो हठीपनको प्रकटीकरण हो। यी मानिसहरू भन्छन्, “म आफूलाई जसरी मन लाग्छ, जसरी सहज हुन्छ, र जसरी खुसी मिल्छ त्यसरी जिउँछु। अहङ्कार, छल, सत्यताप्रति दिक्‍क मान्‍ने, दुष्टता, द्वेष, आदि इत्यादिजस्ता तपाईंले बताउनुभएका व्यवहारहरू—ममा ती छन् भने पनि, के भो र? म ती कुरालाई जाँच्‍ने, वा चिन्‍ने, वा स्विकार्नेछैनँ। म परमेश्‍वरमा यसरी नै विश्‍वास गर्नेछु, तपाईंले यसमा के गर्नुहुन्छ?” यो हठी मनोवृत्ति हो। परमेश्‍वरले जे भन्‍नुभए पनि, उहाँले सम्झाउने, चेतावनी दिने, वा उत्साह दिने शैलीमा बोले पनि, अर्थात् उहाँले बोल्नको लागि जुनसुकै शैली अपनाए पनि वा उहाँका वाणीका लक्ष्यहरू जेसुकै भए पनि, जब मानिसहरूले आफूलाई परमेश्‍वरका वचनहरूसँग सरोकार गराउँदैनन् वा ती वचन सुन्दैनन्, बरु सरासर परमेश्‍वरलाई इन्कार गर्छन्, तब तिनीहरूको मनोवृत्ति हठी मनोवृत्ति हो। यसको अर्थ तिनीहरूले परमेश्‍वरको कुनै पनि आतुरी इच्छाप्रति ध्यान दिँदैनन्, मानिसलाई मुक्ति दिने उहाँको सच्चा र उपकारी अभिप्राय बुझ्‍नु त परको कुरा हो। परमेश्‍वरले जे गर्नुभए पनि, मानिसहरूमा सहकार्य गर्ने हृदय हुँदैन र तिनीहरू सत्यतातर्फ लागिपर्न इच्छुक हुँदैनन्। परमेश्‍वरको न्याय र प्रकाश पूर्ण रूपमा वास्तविक छन् भनी तिनीहरूले स्विकारे पनि, तिनीहरूको हृदयमा कुनै पछुतो हुँदैन, र तिनीहरूले पहिलेकै शैलीमा विश्‍वास गरिरहन्छन्। अन्त्यमा, तिनीहरूले धेरै प्रवचन सुनिसकेपछि पनि एउटै कुरा भन्छन्: “म साँचो विश्‍वासी हुँ, त्यसकारण कुनै पनि हालतमा मेरो मानवता कमजोर छैन, म जानीजानी दुष्कर्म गर्दिनँ, म त्यागहरू गर्न सक्छु, कठिनाइ भोग्‍न सक्छु, र आफ्‍नो विश्‍वासको लागि मूल्य चुकाउन इच्छुक छु। परमेश्‍वरले मलाई त्याग्‍नुहुनेछैन।” के यो पावलले भनेको जस्तै भएन र: “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ”? मानिसहरूमा यस्तै मनोवृत्ति हुन्छ। यस्तो मनोवृत्तिको पछाडि कुन स्वभाव लुकेको हुन्छ? हठीपन। के हठी मनोवृत्ति बदल्न कठिन छ? के त्यसो गर्ने मार्ग छ? सबैभन्दा सरल र प्रत्यक्ष तरिका भनेको परमेश्‍वरका वचनहरू र परमेश्‍वर स्‍वयम्‌प्रतिको तेरो मनोवृत्ति बदल्नु हो। तैँले यी कुराहरूलाई कसरी बदल्न सक्छस्? तेरो हठी मनोवृत्तिबाट आउने स्थिति र मानसिकता विश्‍लेषण गरी चिनेर, अनि तेरा कुन-कुन व्यवहार र शब्‍दहरू, तैँले पालेका कुन-कुन दृष्टिकोण र अभिप्रायहरू, र अझै किटेर भन्दा तैँले देखाएका कुन-कुन सोच र विचारहरू तेरो हठी स्वभावबाट आउँछन् भनी हेरेर। यी व्यवहार, प्रकटीकरण, र स्थितिहरूलाई एकएक गरी जाँच् र समाधान गर्, त्यसपछि तिनलाई परिवर्तन गर्—तैँले जाँचेर कुनै कुरा पत्ता लाउनेबित्तिकै, यसलाई तुरुन्तै परिवर्तन गरिहाल्। उदाहरणको लागि, हामीले भर्खरै आफ्‍नो रुचि र मुडअनुसार व्यवहार गर्नेबारेमा कुरा गरेका थियौँ, र त्यो लहडबाजी हो। लहडबाज स्वभावभित्र सत्यताप्रति दिक्‍क मान्‍ने गुण लुकेको हुन्छ। यदि तँलाई आफू त्यस्तो भ्रष्ट स्वभाव भएको त्यस्तो व्यक्ति भएको महसुस हुन्छ, तर तँ यसलाई समाधान गर्न आफ्‍नो बारेमा मनन गर्ने वा सत्यता खोजी गर्ने गर्दैनस्, केवल जिद्दी भएर आफू ठीकै छु भनी सोच्छस् भने, तँ हठी छस्। यो प्रवचनपछि, सायद तैँले अचानक महसुस गर्छस् होला, “मैले यस्तो कुरा भनेको छु, र ममा त्यस्ता सोचहरू आएका छन्। मेरो यो स्वभाव सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव रहेछ। त्यसो हुनाले, म त्यो स्वभाव समाधान गर्न लागिपर्नेछु।” अनि, यसलाई समाधान गर्न कसरी लागिपर्नुपर्छ? यो कुरा आफ्‍नो श्रेष्ठताको सोच अनि लहडबाज र स्वेच्छाचारी व्यवहार त्यागेर सुरु गर्; तँ राम्रो मुडमा भए नि खराब मुडमा भए नि, परमेश्‍वरका मापदण्डहरू के हुन्, त्यसलाई हेर्। यदि तैँले दैहिकता पन्छाउँदै परमेश्‍वरको मापदण्डअनुसार अभ्यास गर्न सक्छस् भने, उहाँले तँलाई कसरी हेर्नुहुनेछ? यदि तैँले साँच्‍चै यी भ्रष्ट व्यवहार समाधान गर्न थाल्न सक्छस् भने, यो तैँले परमेश्‍वरको काममा सकारात्मक र सक्रिय रूपमा सहकार्य गरिरहेको छस् भन्‍ने कुराको सङ्केत हो। तैँले सत्यताप्रति दिक्‍क मान्‍ने त्यस स्वभावलाई सचेत रूपमा त्यागिरहेको र समाधान गरिरहेको हुनेछस्, र यसको साथै, तैँले आफ्‍नो हठी स्वभाव पनि समाधान गरिरहेको हुनेछस्। जब तैँले यी दुवै भ्रष्ट स्वभाव समाधान गरेको हुन्छस्, तब तैँले परमेश्‍वरको आज्ञापालन गर्न र उहाँलाई सन्तुष्ट पार्न सक्‍नेछस्, र यसले उहाँलाई प्रसन्‍न तुल्याउनेछ। यदि तिमीहरूले यो सङ्गतिको विषयवस्तु बुझ्यौ र यसरी दैहिकता त्याग्‍ने अभ्यास गर्‍यौ भने, म अत्यन्तै खुसी हुनेछु। त्यसपछि मैले यी वचनहरू व्यर्थमा बोलेको हुनेछैन।

हठीपन भ्रष्ट स्वभावको समस्या हो; यो व्यक्तिको प्रकृतिमा हुने कुरा हो, र यो समाधान गर्न सजिलो छैन। जब कुनै व्यक्तिमा हठी स्वभाव हुन्छ, यो मुख्य रूपमा आफूलाई सही साबित गर्ने र मिथ्या तर्क गर्ने, आफ्‍नै विचारहरूमा लागिरहने, र सहजै नयाँ कुरा नस्विकार्ने प्रवृत्तिको रूपमा प्रकट हुन्छ। कहिलेकाहीँ मान्छेलाई आफ्ना विचारहरू गलत छन् भन्‍ने थाहा हुन्छ, तैपनि आफ्‍नै अभिमान र घमण्डले गर्दा तिनीहरू त्यसैमा लागिरहन्छन् र अन्त्यसम्‍मै ढिपी गर्छन्। व्यक्तिलाई थाहा भएर पनि त्यस्तो हठी स्वभाव परिवर्तन गर्न गाह्रो हुन्छ। हठीपनको समस्या समाधान गर्न, व्यक्तिलाई मानिसको अहङ्कार, छल, द्वेष, सत्यताप्रतिको दिक्‍कपन, र त्यस्ता अन्य स्वभावहरूबारे थाहा हुनुपर्छ। जब मान्छेले आफ्‍नो अहङ्कार, छल, र द्वेष चिन्छन्, अनि तिनीहरू सत्यताप्रति दिक्‍क मान्‍ने, सत्यता अभ्यास गर्न चाहे पनि दैहिकता त्याग्‍न अनिच्‍छुक हुने, परमेश्‍वरको आज्ञापालन गर्न चाहे पनि बहाना बनाउँदै आफ्‍नो कठिनाइहरू बताइरहने खालका छन् भनी जान्दछन्, तब तिनीहरूलाई आफूमा हठीपनको समस्या छ भनेर थाहा पाउन सहज हुन्छ। यो समस्या समाधान गर्न, सर्वप्रथम व्यक्तिमा सामान्य मानव समझ हुनुपर्छ अनि उसले परमेश्‍वरका वचनहरू सुन्‍न सिक्दै काम सुरु गर्नुपर्छ। यदि तँ परमेश्‍वरको भेडा बन्‍न चाहन्छस् भने, उहाँका वचनहरू सुन्‍न सिक्‍नुपर्छ। अनि तैँले ती कसरी सुन्‍नुपर्छ? परमेश्‍वरले आफ्‍ना वचनहरूमा खुलासा गर्नुभएका र तेरो लागि सान्दर्भिक रहेका कुनै पनि समस्याहरूबारे सुनेर। कुनै समस्या भेटिस् भने, तैँले त्यो स्विकार्नुपर्छ; तैँले यो अरू मानिसहरूमा भएको समस्या हो, यो सबैको समस्या हो, वा मानवताको समस्या हो, र तँसँग यसको कुनै सम्‍बन्ध छैन भनेर विश्‍वास गर्नु हुँदैन। तैँले त्यस्तो विश्‍वास गर्नु गलत हुन्छ। परमेश्‍वरका वचनहरूको प्रकाशद्वारा तैँले तँमा परमेश्‍वरले खुलासा गरिरहनुभएको भ्रष्ट स्वभाव वा गलत दृष्टिकोण पो छ कि भनेर मनन गर्नुपर्छ। उदाहरणको लागि, जब तैँले परमेश्‍वरका वचनहरूले कसैको अहङ्कारी स्वभावको प्रकटीकरणबारे खुलासा गरेको सुन्छस्, तब तैँले यस्तो सोच्‍नुपर्छ: “के ममा अहङ्कारको प्रकटीकरण देखिन्छ? म भ्रष्ट मानव हुँ, त्यसकारण ममा यीमध्ये केही प्रकटीकरणहरू पक्‍कै देखिन्छन् होला; ममा कहाँ त्यस्तो कुरा देखिन्छ मैले त्यो मनन गर्नुपर्छ। मानिसहरूले मलाई अहङ्कारी, ठूलो र ठालु व्यवहार गर्ने, बोल्दा अरूलाई बन्धनमा पार्ने भनेर भन्छन्। के त्यो साँच्‍चै मेरो स्वभाव हो?” मनन गरेर अन्ततः तैँले परमेश्‍वरका वचनहरूको प्रकाश पूर्ण रूपमा सही छ—तँ अहङ्कारी व्यक्ति होस् भन्‍ने कुरा महसुस गर्नेछस्। अनि परमेश्‍वरका वचनहरूको प्रकाश पूर्ण रूपमा सही भएकोले, यो अलिकति पनि तलमाथि नभई तेरो परिस्थितिसँग पूर्ण रूपमा मिल्‍ने, र थप मनन गर्दा अझै सटीक देखिने हुनाले, तैँले उहाँका वचनहरूको न्याय र सजाय स्विकार्नुपर्छ, र त्यही आधारमा तेरो भ्रष्ट स्वभावको सार पत्ता लगाउनु र चिन्‍नुपर्छ। त्यसपछि तैँले साँचो पछुतो अनुभव गर्न सक्‍नेछस्। परमेश्‍वरमा विश्‍वास गर्दा, यसरी उहाँका वचनहरू खाएर-पिएर मात्रै तैँले आफूलाई चिन्‍न सक्छस्। आफ्‍ना भ्रष्ट स्वभावहरू समाधान गर्नको लागि, तैँले परमेश्‍वरका वचनहरूको न्याय र खुलासा स्विकार्नैपर्छ। त्यसो गर्न सक्दैनस् भने, तैँले तेरो भ्रष्ट स्वभाव त्याग्‍ने कुनै उपाय हुँदैन। यदि तँ परमेश्‍वरका वचनहरूको प्रकाश प्राय सटीक हुन्छ भनी बुझेको बाठो व्यक्ति होस् भने, वा यो आधा सही हो भनेर स्विकार्न सक्छस् भने, तैँले तुरुन्तै यसलाई स्विकारेर परमेश्‍वरमा समर्पित हुनुपर्छ। तैँले उहाँलाई प्रार्थना गरेर आफ्‍नो बारेमा मनन पनि गर्नुपर्छ। त्यसपछि मात्रै तैँले परमेश्‍वरका वचनहरूको सबै प्रकाश सटीक छन्, ती सबै तथ्य हुन्, र तथ्यबाहेक केही होइनन् भन्‍ने कुरा बुझ्‍नेछस्। परमेश्‍वरप्रति श्रद्धाको हृदयले उहाँमा समर्पित भएर मात्रै मानिसहरूले आफ्‍नो बारेमा साँचो रूपमा मनन गर्न सक्छन्। त्यसपछि मात्रै तिनीहरूले आफूमा भएका विभिन्‍न भ्रष्ट स्वभावहरू देख्‍न, र तिनीहरू साँच्‍चै नै अहङ्कारी र आत्मधर्मी छन् र तिनीहरूमा अलिकति पनि चेतना छैन भन्‍ने कुरा देख्‍न सक्‍नेछन्। यदि कोही सत्यतालाई प्रेम गर्ने व्यक्ति हो भने, ऊ परमेश्‍वरको अघि लम्पसार पर्न, उहाँसामु ऊ गहन रूपमा भ्रष्ट भएको छ भन्‍ने कुरा स्विकार्न, र उहाँको न्याय र सजाय स्विकार्ने इच्छा जाहेर गर्न सक्‍नेछ। यसरी, तिनीहरूले प्रायश्‍चित गर्ने हृदय विकास गर्न, आफूलाई इन्कार्न र घृणा गर्न थाल्‍न, र पहिले सत्यता नपछ्याकोमा पछुतो गर्दै यस्तो सोच्‍न सक्छन्, “मैले परमेश्‍वरका वचनहरू पढ्न सुरु गर्दा, किन ती वचनहरूको न्याय र सजाय स्विकार्न सकिनँ? उहाँका वचनहरूप्रति मैले राखेको यो मनोवृत्ति अहङ्कारी रहेछ, होइन र? म कसरी यति अहङ्कारी हुन सकेँ?” केही समयसम्‍म यसरी बारम्‍बार आत्मचिन्तन गरिसकेपछि, तिनीहरूले आफू साँच्‍चै अहङ्कारी रहेको, परमेश्‍वरका वचनहरू सत्यता र तथ्यहरू हुन् भन्‍ने कुरा स्विकार्न पूर्णं सक्षम नरहेको, र आफूमा साँच्‍चै अलिकति पनि समझशक्ति नभएको कुरा पहिचान गर्नेछन्। तर आफूलाई चिन्‍नु गाह्रो कुरा हो। व्यक्तिले जब मनन गर्छ, तब हरेकपटक नै उसले आफ्‍नो बारेमा अलिक बढी र अलिक गहन ज्ञान मात्रै पाउन सक्छ। भ्रष्ट स्वभावको स्पष्ट ज्ञान प्राप्त गर्ने काम छोटो समयमा हासिल गर्न सकिने कुरा होइन; यसको लागि अझै बढी परमेश्‍वरका वचनहरू पढ्नुपर्छ, अझै बढी प्रार्थना गर्नुपर्छ, र आफ्‍नो बारेमा अझै बढी मनन गर्नुपर्छ। त्यसरी मात्रै तिनीहरूले क्रमिक रूपमा आफूलाई चिन्‍न सक्छन्। आफूलाई साँचो रूपमा चिन्‍नेहरू सबै नै विगतमा केही पटक असफल भएका र लडेका हुन्, र त्यो अनुभवपछि तिनीहरूले परमेश्‍वरका वचनहरू पढेर, उहाँलाई प्रार्थना गरेर, अनि आफ्‍नो बारेमा मनन गरेर आफ्नो भ्रष्टताको सत्यता स्पष्ट रूपमा देखेका, र आफू साँच्‍चै गहन रूपमा भ्रष्ट, र सत्यताको वास्तविकतारहित रहेको अनुभव गरेका हुन्छन्। यदि तैँले यसरी परमेश्‍वरको काम अनुभव गरेको छस्, र तेरो जीवनमा केही कुरा आइपर्दा उहाँलाई प्रार्थना गर्न र सत्यता खोजी गर्न सक्छस् भने, तैँले क्रमिक रूपमा आफूलाई चिन्‍न सक्‍नेछस्। त्यसपछि एक दिन, अन्ततः तेरो हृदयमा स्पष्टता आउनेछ: “सायद ममा अरूको भन्दा राम्रो क्षमता हुन सक्छ, तर यो परमेश्‍वरले नै मलाई दिनुभएको हो। म सधैँ धाक लडाइरहेको हुन्छु, बोल्दा अरूलाई जित्‍ने प्रयास गरिरहेको, र मानिसहरूलाई मेरै तरिकामा काम गर्न लगाउन खोजिरहेको हुन्छु। ममा साँच्‍चै समझको कमी छ—यो अहङ्कार र आत्मधार्मिकता हो! मनन गरेर, मैले आफ्नो अहङ्कारी स्वभावबारे थाहा पाएको छु। यो परमेश्‍वरको अन्तर्दृष्टि र अनुग्रहले गर्दा हो, र म यसको लागि उहाँलाई धन्यवाद टक्र्याउँछु!” आफ्नो भ्रष्ट स्वभावबारे थाहा पाउन सक्‍नु राम्रो कुरा हो कि खराब कुरा हो? (राम्रो कुरा।) त्यहाँबाट, तैँले कसरी समझ र आज्ञापालनको साथ बोल्‍ने र व्यवहार गर्ने, अरूसँग एउटै स्तरमा खडा हुने, अरूलाई बन्धनमा नपारी कसरी उचित रूपमा व्यवहार गर्ने, आफ्‍नो क्षमता, वरदान, सबलता, आदि इत्यादि कुरालाई कसरी सही रूपमा लिने भन्‍ने कुरा खोजी गर्नुपर्छ। यो तरिकाले घनको एकपछि अर्को प्रहारद्वारा पहाड धूलोमा परिणत भएझैँ तेरो अहङ्कारी स्वभाव समाधान हुनेछ। त्यसपछि, जब तैँले अरूसँग सहकार्य गर्छस् वा आफ्‍नो कर्तव्य पूरा गर्न तिनीहरूसँग काम गर्छस्, तब तिनीहरूको दृष्टिकोणलाई सही रूपमा लिएर तैँले तिनीहरूको कुरा सुन्दा ध्यान दिएर नजिकबाट सुन्‍न सक्‍नेछस्। अनि जब तैँले तिनीहरूले सही दृष्टिकोण व्यक्त गरेको सुन्छस्, तब यो कुरा पत्ता लगाउनेछस्, “मेरो क्षमता सर्वोत्कृष्ट रहेनछ। वास्तवमा हरेकको आ-आफ्‍नै सबल पक्ष हुन्छ; तिनीहरू मभन्दा कम योग्य छैनन्। पहिले त म सधैँ मेरो क्षमता अरूको भन्दा राम्रो छ भन्‍ने सोच्थेँ। त्यो त आत्म-प्रशंसा र सङ्कीर्ण सोचको अज्ञानता रहेछ। म कुवाको फेदमा रुमल्लिने भ्यागुतोजस्तै सानो सोच भएको व्यक्ति रहेछु। त्यस्तो सोच्‍नु साँच्‍चै समझहीन कार्य थियो—त्यो लाजमर्दो कुरा थियो! अहङ्कारी स्वभावले मलाई अन्धो र बहिरो तुल्याएको रहेछ। अरूका शब्‍दहरू म स्विकार्दिनथेँ, र म अरूभन्दा उत्तम छु, म सही छु भन्‍ने सोच्थेँ, तर वास्तवमा म तिनीहरू कोहीभन्दा पनि असल रहेनछु!” त्यहाँदेखि, तँलाई तेरा कमीहरू र तेरो सानो कदको बारेमा साँचो अन्तर्ज्ञान प्राप्त हुनेछ। अनि त्यसपछि, जब तैँले अरूसँग सङ्गति गर्छस्, तब तैँले ध्यान दिएर तिनीहरूका दृष्टिकोण सुन्छस्, र तँलाई यस्तो महसुस हुनेछ, “मभन्दा उत्तम मानिसहरू कैयौँ छन्। मेरो बुझ्‍ने सामर्थ्य र क्षमता दुवै बढीमा औषत मात्रै रहेछन्।” यो महसुस गरेपछि, के तैँले थोरै आत्मसचेतना प्राप्त गरेको हुँदैनस् र? यस्तो अनुभव गरेर, अनि परमेश्‍वरका वचनहरूअनुसार आफ्‍नो बारेमा बारम्‍बार मनन गरेर, तैँले सदा गहन हुँदै जाने साँचो आत्मज्ञान प्राप्त गर्न सक्‍नेछस्। तैँले आफ्‍नो भ्रष्टताको सत्यता, तेरो विपन्‍नता र नीचता, र तेरो खेदलाग्दो कुरूपता देख्‍न सक्‍नेछस्, र त्यस बेला, तँलाई आफैप्रति दिक्‍क लाग्‍नेछ र आफ्‍नो भ्रष्ट स्वभावप्रति घृणा लाग्‍नेछ। त्यसपछि आफूलाई त्याग्‍न तँलाई सहज हुनेछ। परमेश्‍वरको काम यसरी अनुभव गरिन्छ। तैँले परमेश्‍वरका वचनहरूअनुसार आफ्‍नो भ्रष्टताका प्रकटीकरणहरूबारे मनन गर्नुपर्छ। खास गरी, कुनै पनि प्रकारको परिस्थितिमा भ्रष्ट स्वभाव प्रकट गरेपछि, तैँले बारम्‍बार आफ्‍नो बारेमा मनन गरेर आफूलाई चिन्‍नुपर्छ। त्यसपछि तँलाई तेरो भ्रष्ट सार स्पष्ट देख्‍न सहज हुनेछ, र तैँले आफ्‍नो भ्रष्टता, देह र शैतानलाई हृदयबाटै घृणा गर्न सक्‍नेछस्। अनि हृदयदेखि नै तैँले सत्यतालाई प्रेम गर्न र यसमा लागिपर्न सक्‍नेछस्। यसरी, तेरो अहङ्कारी स्वभाव घट्दै जानेछ, र क्रमिक रूपमा, तँ यसबाट मुक्त हुँदै जानेछस्। तैँले झन्झन् बढी समझ प्राप्त गर्नेछस्, र परमेश्‍वरमा समर्पित हुन तँलाई अझ सहज हुनेछ। अरूको नजरमा, तँ पहिलेभन्दा अझै स्थिर र दह्रिलो लाग्‍नेछस्, र तँ अझ बढी वस्तुगत रूपमा बोल्नेजस्तो देखिनेछस्। तँ अरूले भनेको कुरा सुन्‍न सक्‍ने हुनेछस्, र तैँले तिनीहरूलाई बोल्‍ने समय दिनेछस्। अरूले सही कुरा बोल्दा, तिनीहरूको कुरा स्विकार्न तँलाई सहज हुनेछ, र मानिसहरूसँगका तेरा अन्तरक्रियाहरू त्यति थकाइलाग्दा हुनेछैनन्। तैँले जोसुकैसँग पनि मिलेर सहकार्य गर्न सक्‍नेछस्। यदि तैँले यसरी आफ्‍नो कर्तव्य निभाउँछस् भने, के तँमा समझ र मानवता हुनेछैन र? यस प्रकारको भ्रष्ट स्वभाव समाधान गर्ने तरिका यही हो।

अब हामी मैले भर्खरै उल्‍लेख गरेको हठी स्वभावको समस्यामार्फत भ्रष्ट स्वभाव समाधान गर्ने तरिकाबारे थोरै सङ्गति गरौँ। भ्रष्ट स्वभाव समाधान गर्नको लागि, सुरुमा सत्यता स्विकार्न सक्‍ने हुनुपर्छ। सत्यता स्विकार्नु भनेको परमेश्‍वरको न्याय र सजाय स्विकार्नु हो; यो मानिसको भ्रष्टताको सार खुलासा गर्ने उहाँका वचनहरू स्विकार्नु हो। यदि तैँले आफ्‍नो भ्रष्टताको प्रकटीकरण, आफ्ना भ्रष्ट स्थितिहरू, र आफ्‍ना भ्रष्ट अभिप्राय र व्यवहारहरूलाई परमेश्‍वरका वचनहरूको आधारमा चिन्‍न र विश्‍लेषण गर्न, र आफ्‍ना समस्याहरूको सार उजागर गर्न सक्छस् भने, तैँले आफ्‍नो भ्रष्ट स्वभावबारे ज्ञान प्राप्त गरिसकेको, र यसलाई समाधान गर्नेतर्फ पाइला चालिसकेको हुनेछस्। अर्कोतर्फ, यदि तैँले यसरी अभ्यास गर्दैनस् भने, तैँले तेरो हठी स्वभाव समाधान गर्न नसक्‍ने मात्रै होइन, तँसग तेरा भ्रष्ट स्वभावहरू हटाउने कुनै उपायसमेत हुनेछैन। हरेक व्यक्तिमा विभिन्‍न भ्रष्ट स्वभाव हुन्छन्। ती स्वभाव कहाँबाट समाधान गर्न थाल्नुपर्छ? सबैभन्दा पहिले, व्यक्तिले आफ्‍नो हठी स्वभाव समाधान गर्नुपर्छ, किनभने हठी स्वभावले मानिसहरूलाई परमेश्‍वरको नजिक जान, सत्यता खोजी गर्न, र परमेश्‍वरमा समर्पित हुनबाट रोक्छ। हठीपन भनेको परमेश्‍वरसँगको मानिसको प्रार्थना र सङ्गतिको सबैभन्दा ठूलो बाधा हो; परमेश्‍वरसँगको मानिसको सामान्य सम्‍बन्धमा सबैभन्दा बढी हस्तक्षेप गर्ने कुरा यही हो। तैँले तेरो हठी स्वभाव समाधान गरेपछि, अरू स्वभाव समाधान गर्न सहज हुनेछ। भ्रष्ट स्वभाव समाधान गर्ने काम आत्मचिन्तन र आत्मज्ञानबाट सुरु हुन्छ। तँलाई जुन स्वभावको बारेमा थाहा छ त्यसलाई समाधान गरिहाल्—तँलाई जति धेरैको बारेमा ज्ञान हुन्छ, तैँले त्यति नै बढी समाधान गर्न सक्छस्; तँलाई तीबारे जति गहन ज्ञान हुन्छ, तैँले त्यति नै पूर्ण रूपमा ती समाधान गर्न सक्छस्। भ्रष्ट स्वभाव समाधान गर्ने प्रक्रिया यही हो; यो कार्य परमेश्‍वरलाई प्रार्थना गरेर, अनि दैहिकता त्याग्‍न र सत्यता अभ्यास गर्न सक्‍ने अवस्थामा नपुगुञ्‍जेलसम्‍म परमेश्‍वरका वचनहरूमार्फत मनन गर्दै आफूलाई चिनेर अनि आफ्‍नो भ्रष्ट स्वभावको सार विश्‍लेषण गरेर गरिन्छ। आफ्नो भ्रष्ट स्वभावको सार चिन्‍नु साधारण काम होइन। आफूलाई चिन्‍नु भनेको “म भ्रष्ट व्यक्ति हुँ; म दियाबलस हुँ; म शैतानको सन्तान हुँ, ठूलो रातो अजिङ्गरको बच्‍चा हुँ; म परमेश्‍वरप्रति प्रतिरोधी र शत्रुवत् छु; म उहाँको शत्रु हुँ” भनेर समग्रमा भन्‍नु मात्र होइन। त्यस्तो कुरा गर्दैमा तैँले आफ्‍नो भ्रष्टताको बारेमा साँचो ज्ञान पाएको छस् भन्‍ने हुँदैन। तैँले अरू कसैबाट यी शब्‍दहरू सिकेको हुन सक्छस् र तँलाई आफ्‍नो बारेमा त्यति धेरै थाहा नहुन सक्छ। साँचो आत्मज्ञान मानिसको सिकाइ वा मूल्याङ्कनमा आधारित हुँदैन, यो त परमेश्‍वरका वचनहरूमा आधारित हुन्छ—यो त भ्रष्ट स्वभावको कारण सिर्जित परिणामहरू र त्यसैको कारण आफूले भोगेका कष्टहरू देख्‍नु, र भ्रष्ट स्वभावले कसरी आफूलाई मात्रै होइन, अरूलाई पनि हानि गर्छ भन्‍ने अनुभव गर्नु हो। यो त भ्रष्ट स्वभावहरू शैतानबाट आउँछन्, ती शैतानको विष र दर्शनहरू हुन्, र ती सत्यता र परमेश्‍वरप्रति पूर्ण विरोधी हुन्छन् भन्‍ने तथ्य देख्‍नु हो। जब तैँले यो समस्या देखिसकेको हुन्छस्, तब आफ्‍नो भ्रष्ट स्वभावलाई पनि जानिसकेको हुन्छस्। कतिपय मानिसहरूले आफू दियाबलस शैतान भएको कुरा स्वीकार गरेपछि पनि, काटछाँट र निराकरण स्वीकार गर्दैनन्। तिनीहरूले कुनै गलत काम गरेको वा सत्यता उल्‍लङ्घन गरेको कुरा स्वीकार गर्दैनन्। तिनीहरूको कुराचाहिँ के हो त? तिनीहरूले अझै पनि आफूलाई चिनेका हुँदैनन्। कतिपय मानिसहरूले आफू दियाबलस शैतान हुँ भन्छन्, तर तिनीहरूलाई “किन आफूलाई दियाबलस शैतान भन्‍नुभएको?” भनेर सोधियो भने तिनीहरूले जवाफ दिन सक्दैनन्। यसले के देखाउँछ भने, तिनीहरूले आफ्‍नो भ्रष्ट स्वभाव, वा आफ्‍नो प्रकृति र सार चिनेका हुँदैनन्। यदि तिनीहरूले तिनीहरूको प्रकृति दियाबलसको प्रकृति हो, तिनीहरूको भ्रष्ट स्वभाव शैतानको स्वभाव हो भनेर देख्थे, र त्यसैले तिनीहरू दियाबलस शैतान हुन् भनेर स्विकार्न सक्थे भने, तिनीहरूले अन्त्यमा आफ्‍नै प्रकृति र सार चिन्‍न सक्थे। साँचो आत्मज्ञान परमेश्‍वरका वचनहरूको खुलासा, न्याय, अभ्यास र अनुभवबाट हासिल हुन्छ। यो कुरा सत्यता बुझेर हासिल हुन्छ। यदि व्यक्तिले सत्यता बुझ्दैन भने, उसले आफ्‍नो आत्मज्ञानको बारेमा जे भने पनि, यो खोक्रो र अव्यवहारिक हुन्छ, किनभने उसले मूलभूत र तात्त्विक कुराहरू पत्ता लगाउन वा बुझ्‍न सक्दैन। व्यक्तिले आफूलाई चिन्‍नको लागि, उसले खास परिस्थितिहरूमा के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गर्‍यो, उसको अभिप्राय के थियो, उसले कसरी व्यवहार गर्‍यो, कुन कुराले ऊ अशुद्ध बन्यो, र उसले किन सत्यता स्विकार्न सकेन भन्‍ने कुरा मान्‍नुपर्छ। उसले यी कुराहरूलाई स्पष्ट रूपमा उल्‍लेख गर्न सक्‍नुपर्छ, अनि मात्रै उसले आफूलाई चिन्‍न सक्छ। जब कतिपय मानिसहरूलाई काटछाँट र निराकरण आइपर्छ, तब तिनीहरूले सत्यताप्रति दिक्‍क मान्‍ने गरेको, तिनीहरूमा परमेश्‍वरबारे शङ्का र गलतफहमीहरू रहेको, र तिनीहरू उहाँप्रति रक्षात्मक अवस्थामा रहने गरेको कुरा स्विकार्छन्। तिनीहरूले मानिसलाई न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरू सबै वास्तविकता हुन् भन्‍ने कुरा पनि स्वीकार गर्छन्। यसले तिनीहरूमा केही न केही आत्मज्ञान छ भन्‍ने कुरा देखाउँछ। तर तिनीहरूसँग परमेश्‍वर वा उहाँको कामको ज्ञान नहुने हुनाले र तिनीहरूले उहाँको इच्‍छा नबुझ्‍ने भएकोले, तिनीहरूको यो आत्मज्ञान निकै सतही हुन्छ। यदि कसैले आफ्‍नो भ्रष्टता मात्रै स्वीकार गर्छ तर उसले समस्याको जड पत्ता लगाएको छैन भने, के परमेश्‍वरसम्‍बन्धी उसको शङ्का, गलतफहमी, र सतर्कता समाधान गर्न सकिन्छ? अहँ, सकिँदैन। त्यसकारण आत्मज्ञान भनेको आफ्‍नो भ्रष्टता र समस्या स्वीकार गर्नु मात्रै होइन—उसले सत्यता बुझेर आफ्नो भ्रष्ट स्वभावको समस्या जराबाटै समाधान गर्नुपर्छ। व्यक्तिले आफ्‍नो भ्रष्टताको सत्यता देख्‍ने र साँचो पश्‍चात्ताप हासिल गर्ने एउटै मात्र उपाय यही हो। जब सत्यतालाई प्रेम गर्नेहरूले अन्ततः आफूलाई चिन्‍न पुग्छन्, तब तिनीहरू आफ्‍ना समस्याहरू समाधान गर्नहेतु सत्यता खोज्‍न र बुझ्‍न पनि सक्षम बन्छन्। यस्तो आत्मज्ञानले मात्रै परिणामहरू प्राप्त हुन्छ। सत्यतालाई प्रेम गर्ने व्यक्तिले जब मानिसलाई खुलासा र न्याय गर्ने परमेश्‍वरका वचनहरूको कुनै वाक्यांश पढ्छ, तब अरू कुनै कुराभन्दा पहिले, उसले मानिसलाई खुलासा गर्ने उहाँका वचनहरू वास्तविक र तथ्यगत छन्, र मानिसलाई न्याय गर्ने परमेश्‍वरका वचनहरू सत्यता हुन्, र ती वचनले उहाँको धार्मिकता प्रतिनिधित्व गर्छन् भन्‍ने विश्‍वास गर्छ। सत्यतालाई प्रेम गर्नेले कम्तीमा पनि यो कुरा पहिचान गर्न सक्‍नुपर्छ। यदि कसैले परमेश्‍वरको वचनमा विश्‍वाससमेत गर्दैन, र मानिसहरूलाई खुलासा र न्याय गर्ने परमेश्‍वरका वचनहरू तथ्य र सत्यता हुन् भन्‍ने कुरामा विश्‍वास गर्दैन भने, के उसले उहाँका वचनहरूमार्फत आफूलाई चिन्‍न सक्छ? अवश्य सक्दैन—तिनीहरूले चाहे पनि, त्यसो गर्न सक्दैनन्। यदि तँ परमेश्‍वरका सबै वचनहरू सत्यता हुन् भन्‍ने विश्‍वासमा दृढ रहन, र परमेश्‍वरले जे भन्‍नुभए पनि वा जसरी भन्‍नुभए पनि ती सबैमा विश्‍वास गर्न सक्छस् भने, यदि तैँले परमेश्‍वरका वचनहरू नबुझे पनि ती वचनहरूलाई विश्‍वास गर्न र स्विकार्न सक्छस् भने, तैँले ती वचनहरूमार्फत आफ्‍नो बारेमा मनन गर्न र आफूलाई चिन्‍न सहज हुनेछ। आत्मचिन्तन सत्यतामै आधारित हुनुपर्छ। यसमा कुनै शङ्का छैन। परमेश्‍वरका वचनहरू मात्रै सत्यता हुन्—मानिसका र शैतानका कुनै पनि वचनहरू सत्यता होइनन्। शैतानले मानवजातिलाई हरप्रकारका सिकाइ, शिक्षा, र सिद्धान्तहरूद्वारा हजारौँ वर्षदेखि भ्रष्ट तुल्याउँदै आएको छ, र मानिसहरू यति भावशून्य र सुस्त बनेका छन् कि तिनीहरूमा आफ्‍नो बारेमा कति पनि ज्ञान हुँदैन, र तिनीहरूले विधर्म र भ्रमहरूसमेत अङ्गाल्छन् र सत्यता स्विकार्न मान्दैनन्। त्यस्ता मानिसहरूलाई छुटकारा दिन सकिँदैन। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिसहरूले मात्रै उहाँका वचनहरू सत्यता हुन् भनेर विश्‍वास गर्छन्, परमेश्‍वरका वचनहरू र सत्यताका आधारमा आफूलाई चिन्‍न सक्छन्, अनि यसरी साँचो पश्‍चात्ताप हासिल गर्न सक्छन्। कतिपय मानिसहरूले सत्यता पछ्याउँदैनन्; तिनीहरूले आफ्नो आत्मचिन्तन मानिसको सिकाइमा मात्रै आधारित गर्छन्, र तिनीहरूले पापी व्यवहार स्विकार्नेबाहेक अरू केही गर्दैनन्, र यस क्रममा तिनीहरूले आफ्‍नै भ्रष्ट सार पहिचान गर्न सक्दैनन्। त्यस्तो आत्मज्ञान व्यर्थको प्रयास हो र यसले कुनै परिणाम ल्याउँदैन। व्यक्तिले आफ्‍नो आत्मचिन्तन परमेश्‍वरका वचनहरूमा आधारित गर्नुपर्छ, अनि चिन्तन गरेपछि आफूले प्रकट गरेका भ्रष्ट स्वभावहरू क्रमिक रूपमा पहिचान गर्नुपर्छ। व्यक्तिले आफ्‍ना कमीहरू, आफ्‍नो मानवताको सार, आफ्नो दृष्टिकोण, जीवनसम्‍बन्धी आफ्ना विचार र मूल्य-मान्यताहरूलाई सत्यताको आधारमा मापन गरेर चिन्‍न सक्‍नुपर्छ, त्यसपछि यी सबै कुराहरूबारे सही मूल्याङ्कन र निर्णय गर्नुपर्छ। यसरी, तिनीहरूले आफ्‍नो बारेमा क्रमिक रूपमा ज्ञान हासिल गर्न सक्छन्। तर व्यक्तिले जीवनमा अझै धेरै अनुभव बटुल्दै जाँदा उसको आत्मज्ञान अझै गहन हुँदै जान्छ, र व्यक्तिले सत्यता प्राप्त गर्नुभन्दा पहिले, आफ्‍नो प्रकृति र सारलाई पूर्ण रूपमा देख्‍नु असम्‍भव नै हुन्छ। यदि कुनै व्यक्तिले आफूलाई साँचो रूपमा चिनेको छ भने, उसले भ्रष्ट मानवहरू साँच्‍चै नै शैतानका सन्तान र मूर्तरूप हुन् भनेर देख्‍न सक्छन्। तिनीहरूले आफू परमेश्‍वरको अघि जिउन, र उहाँको प्रेम र मुक्ति पाउन लायक नरहेको महसुस गर्नेछन्, र तिनीहरू उहाँको अघि पूर्ण रूपमा लम्पसार पर्न सक्षम हुनेछन्। त्यस्तो हदको ज्ञान हुने मानिसहरूले मात्रै आफूलाई साँचो रूपमा चिन्‍न सक्छन्। आत्मज्ञान नै सत्यताको वास्तविकतामा प्रवेश गर्ने पूर्वसर्त हो। यदि कसैले सत्यताको अभ्यास गर्न र वास्तविकतामा प्रवेश गर्न चाहन्छ भने, उसले आफूलाई चिन्‍नुपर्छ। सबै मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, र नचाहँदा नचाहँदै पनि तिनीहरू सधैँ यी भ्रष्ट स्वभावको बन्धन र नियन्त्रणमा हुन्छन्। तिनीहरू सत्यताको अभ्यास गर्न वा परमेश्‍वरको आज्ञापालन गर्न नसक्‍ने हुन्छन्। त्यसकारण यदि तिनीहरूले यी कुराहरू गर्न चाहन्छन् भने, सुरुमा तिनीहरूले आफूलाई चिन्‍नुपर्छ र आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नुपर्छ। भ्रष्ट स्वभाव समाधान गर्ने प्रक्रियाद्वारा मात्रै व्यक्तिले सत्यता बुझ्‍न र परमेश्‍वरको ज्ञान पाउन सक्छ; त्यसपछि मात्रै व्यक्ति परमेश्‍वरमा समर्पित हुन र उहाँको निम्ति गवाही दिन सक्‍ने हुन्छ। व्यक्तिले यसरी नै सत्यता प्राप्त गर्छ। सत्यताको वास्तविकतामा प्रवेश गर्ने प्रक्रिया भनेको आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्ने प्रक्रिया हो। त्यसो भए, व्यक्तिले आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नचाहिँ के गर्नुपर्छ? पहिलो, उसले आफ्‍नो भ्रष्ट सार चिन्‍नुपर्छ। तोकेरै भन्दा, यसको अर्थ व्यक्तिको भ्रष्ट स्वभाव कसरी प्रकट भयो, र उसले स्विकारेको शैतानको कुन झूट र भ्रमले यो पैदा गर्‍यो भनी जान्‍नु हो। व्यक्तिले परमेश्‍वरका वचनहरूका आधारमा यी मूल कारणहरूलाई राम्ररी बुझ्‍न र चिन्‍न सक्‍ने भएपछि, उसले आफ्‍नो भ्रष्ट स्वभावअनुसार जिउने चाहना गर्न छोड्छ, र परमेश्‍वरमा समर्पित भएर उहाँका वचनहरूअनुसार जिउन मात्रै चाहन्छ। जबजब तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गर्छन्, तबतब तिनीहरूले यसलाई चिन्‍न, इन्कार गर्न, अनि आफ्‍नो दैहिकता त्याग्‍न सक्छन्। यसरी अभ्यास र अनुभव गरेर, तिनीहरूले बिस्तारै आफ्‍ना सबै भ्रष्ट स्वभावहरू त्याग्‍न सक्‍नेछन्।

कतिपय मानिसहरू यसो भन्छन्, “जब मैले खुलासा र न्यायसम्‍बन्धी परमेश्‍वरका वचनहरू पढेँ, तब मैले आफ्‍नो बारेमा मनन गरेर म अहङ्कारी, छली, स्वार्थी, दुष्ट, हठी र मानवतारहित छु भन्‍ने थाहा पाएँ।” कतिपयले त आफू चरम रूपमा अहङ्कारी छु, पशुसरह छु, दियाबलस शैतान हुँ भनेरसमेत भन्छन्। के यो साँचो आत्मज्ञान हो? यदि तिनीहरूले हृदयबाट बोलिरहेका छन्, र कसैबाट नक्‍कल गरिरहेका छैनन् भने, यसले कम्तीमा पनि तिनीहरूमा केही न केही आत्मज्ञान छ भन्‍ने देखाउँछ, तर यो सतही हो कि गहन हो भन्‍ने प्रश्‍नचाहिँ रहन्छ। यदि तिनीहरूले कुनै कुरा नक्‍कल गरिरहेका र कसैले भनेको कुरा दोहोर्‍याइरहेका छन् भने, यो साँचो आत्मज्ञान होइन। आफ्‍नो भ्रष्ट स्वभावसम्बन्धी व्यक्तिको ज्ञान ठोस हुनुपर्छ, र त्यो हर मामला र हर स्थिति अर्थात् भ्रष्ट स्वभावसँग सम्‍बन्धित स्थिति, प्रकटीकरण, व्यवहार, सोचाइ र विचारजस्ता हर कुरासँग सम्बन्धित हुनुपर्छ। त्यसपछि मात्रै व्यक्तिले आफूलाई साँचो रूपमा चिन्‍न सक्छ। अनि जब व्यक्तिले आफूलाई साँचो रूपमा चिन्छ, तब उसको हृदय पछुतोले भरिन्छ, र ऊ साँचो पश्‍चात्ताप गर्न सक्‍ने हुन्छ। पश्‍चात्ताप गर्नको लागि व्यक्तिले अभ्यास गर्नुपर्ने पहिलो कुरा के हो? (व्यक्तिले आफ्‍ना गल्तीहरू स्विकार्नुपर्छ।) “आफ्‍ना गल्तीहरू स्विकार्नु” भन्‍ने वाक्यांश यसलाई व्यक्त गर्ने सही अभिव्यक्ति होइन; बरु, यो त व्यक्तिमा निश्‍चित भ्रष्ट स्वभाव छ भन्‍ने कुरा स्विकार्नु र जान्‍नु हो। यदि कसैले उसको भ्रष्ट स्वभाव एक किसिमको गल्ती हो भनी भन्छ भने, ऊ गलत हुन्छ। भ्रष्ट स्वभाव त व्यक्तिको प्रकृतिमा हुने कुरा हो, जसले व्यक्तिलाई नियन्त्रण गर्छ। यो एकपटक गरिने गल्तीजस्तो होइन। भ्रष्टता प्रकट गरेपछि कतिपय मानिसहरूले यसरी परमेश्‍वरलाई प्रार्थना गर्छन्: “हे परमेश्‍वर, मैले गल्ती गरेँ। मलाई माफ गर्नुहोस्।” यो गलत छ। “पाप स्विकार्नु” चाहिँ योभन्दा उचित वाक्यांश हो। मानिसहरूले पश्‍चात्ताप अभ्यास गर्ने निश्‍चित तरिका भनेको आफूलाई चिन्‍नु र आफ्‍ना समस्याहरू समाधान गर्नु हो। जब व्यक्तिले भ्रष्ट स्वभाव देखाउँछ वा अपराध गर्छ, र उसले परमेश्‍वरलाई प्रतिरोध गरिरहेको र उहाँमा घृणा जगाइरहेको महसुस गर्छ, तब उसले आत्मचिन्तन गरेर परमेश्‍वरका सान्दर्भिक वचनहरूको आधारमा आफूलाई चिन्‍नुपर्छ। यसो गरेपछि, उसले आफ्‍नो भ्रष्ट स्वभावको बारेमा केही ज्ञान प्राप्त गर्नेछ र यो शैतानको विष र भ्रष्टताबाट आउँछ भनेर स्विकार्नेछ। त्यसपछि, जब उसले सत्यता अभ्यास गर्ने सिद्धान्तहरू प्राप्त गरेर सत्यता अभ्यास गर्न सक्‍ने हुन्छ, तब त्यो साँचो पश्‍चात्ताप हुन्छ। व्यक्तिले जुनसुकै भ्रष्टता प्रकट गरे पनि, यदि उसले आफ्‍नो भ्रष्ट स्वभावलाई सुरुमै चिनेर, यसलाई समाधान गर्न सत्यता खोजी गर्न सक्छ, र अन्त्यमा सत्यता अभ्यास गर्न पुग्छ भने, त्यो साँचो पश्‍चात्ताप हो। कतिपय मानिसहरूले आफ्‍नो बारेमा अलिअलि जान्दछन्, तर तिनीहरूमा न त पश्‍चात्तापको कुनै छेकछन्द देखिन्छ, न त सत्यता अभ्यास गरेको कुनै गवाही नै हुन्छ। आत्मज्ञानपछि पनि यदि तिनीहरू अपरिवर्तित नै रहन्छन् भने, त्यो साँचो पश्‍चात्तापभन्दा टाढा हुनु हो। साँचो पश्‍चात्ताप हासिल गर्नको लागि, व्यक्तिले आफ्‍ना भ्रष्ट स्वभावहरू समाधान गर्नैपर्छ। त्यसो भए, व्यक्तिले आफ्‍ना भ्रष्ट स्वभावहरू समाधान गर्नको लागि खासमा के-कसरी अभ्यास र प्रवेश गर्नुपर्छ? एउटा उदाहरण यस्तो छ। मानिसहरूमा छली स्वभाव हुन्छ, तिनीहरूले सधैँ झूट बोलिरहेका र छलिरहेका हुन्छन्। तैँले त्यो महसुस गरिस् भने, तेरो छलीपनलाई समाधान गर्ने अभ्यासको सबैभन्दा सरल र प्रत्यक्ष सिद्धान्त भनेको इमानदार व्यक्ति बन्‍नु, साँचो बोल्नु र इमानदार कार्यहरू गर्नु हो। प्रभु येशूले भन्नुभयो, “तर तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्।” इमानदार व्यक्ति बन्‍नको लागि, व्यक्तिले परमेश्‍वरका वचनहरूका सिद्धान्तहरू पछ्याउनुपर्छ। यो सरल अभ्यास नै सबैभन्दा प्रभावकारी छ, यो बुझ्‍न र अभ्यास गर्न सजिलो छ। तैपनि, मानिसहरू गहन रूपमा भ्रष्ट भएकाले, तिनीहरू सबैमा शैतानी प्रकृति हुने हुनाले र तिनीहरू सबै शैतानी स्वभावअनुसार जिउने हुनाले, सत्यता अभ्यास गर्न तिनीहरूलाई निकै कठिन हुन्छ। तिनीहरू इमानदार हुन चाहन्छन्, तर सक्दैनन्। तिनीहरू झूट नबोली र चलाकी नगरी बस्‍न सक्दैनन्, र तिनीहरूले यो पहिचान गरेपछि पछुतो महसुस गर्ने भए पनि, तिनीहरू अझै आफ्‍नो भ्रष्ट स्वभावका बन्धनहरू त्याग्‍न सक्दैनन्, र तिनीहरू पहिलेजस्तै ढाँट्ने र छल्‍ने गरिरहन्छन्। यो समस्या कसरी समाधान गर्नुपर्छ? यसको एउटा पाटो आफ्‍नो भ्रष्ट स्वभावको सार कुरूप र घृणित छ भनेर जान्‍नु, अनि यसलाई हृदयदेखि घृणा गर्नु हो; अर्को पाटोचाहिँ आफूलाई सत्यताको सिद्धान्तअनुसार अभ्यास गर्न तालिम दिनु हो, “तर तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्।” जब तैँले यो सिद्धान्त अभ्यास गरिरहेको हुन्छस्, तब तँ आफ्‍नो छली स्वभाव समाधान गर्ने प्रक्रियामा हुन्छस्। स्वाभाविक रूपमै, आफ्‍नो छली स्वभाव समाधान गर्ने क्रममा यदि तैँले सत्यताका सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्छस् भने, त्यो तैँले आफूलाई परिवर्तन गरिरहेको छस् भन्‍ने कुराको प्रकटीकरण र तेरो साँचो पश्‍चात्तापको सुरुवात हो, र परमेश्‍वरले यसलाई अनुमोदन गर्नुहुन्छ। यसको अर्थ जब तैँले आफूलाई परिवर्तन गर्छस्, तब परमेश्‍वरले तेरो बारेमा आफ्‍नो सोच बदल्‍नुहुनेछ। वास्तवमा, परमेश्‍वरले यसो गर्नु मानिसको भ्रष्ट स्वभाव र विद्रोहीपनको निम्ति दिइने एउटा माफी हो। उहाँले मानिसहरूलाई क्षमा दिनुहुन्छ र तिनीहरूका पाप वा अपराधहरू सम्झनुहुन्‍न। के त्यो स्पष्ट छैन र? के तिमीहरूले यो कुरा बुझ्यौ? अर्को उदाहरण यस्तो छ। मानौँ, तँमा भ्रष्ट स्वभाव छ, र आफूमाथि जे आइपरे पनि, तँ स्वेच्‍छाचारी बन्छस्—तँ सधैँ अन्तिम निर्णय आफै गर्न, र अरूलाई तेरो आज्ञा मान्‍न, र तैँले चाहेको कामकुरा गर्न लगाउन चाहन्छस्। त्यसपछि एक दिन तँलाई यो कुरा अहङ्कारी स्वभावले गर्दा भएको हो भन्‍ने महसुस हुन्छ। तैँले यो अहङ्कारी स्वभाव हो भनी स्वीकार गर्नु नै आत्मज्ञानतर्फको पहिलो कदम हो। त्यहाँबाट, तैँले अहङ्कारी स्वभावबारे खुलासा गर्ने परमेश्‍वरको वचनका केही खण्डहरू खोजेर आफूलाई ती वचनहरूसँग तुलना गर्नुपर्छ, र चिन्तनमनन गर्दै आफूलाई चिन्‍नुपर्छ। यदि तैँले त्यो तुलना पूर्ण रूपमा सही छ, र परमेश्‍वरले खुलासा गर्नुभएको अहङ्कारी स्वभाव तँमा छ भनेर तैँले स्विकार्छस् अनि तेरो अहङ्कारी स्वभाव कहाँबाट आउँछ, र यो किन देखा पर्छ, अनि कुन शैतानी विष, विधर्म, र भ्रमहरूले गर्दा यो आएको हो भनेर देख्छस् र उजागर गर्छस् भने, तैँले यी सबै प्रश्‍नहरूको मुख्य कुरा पत्ता लगाएर तेरो अहङ्कारको जडसम्म पुगेको हुन्छस्। यही नै साँचो आत्मज्ञान हो। तैँले यो भ्रष्ट स्वभाव कसरी प्रकट गर्छस् भन्‍ने कुरालाई जति सटीक रूपमा परिभाषित गर्छस्, त्यति नै यसले तँलाई अझै गहन र व्यावहारिक ज्ञान दिनेछ। त्यसपछि तैँले के गर्नुपर्छ? तैँले परमेश्‍वरका वचनहरूमा सत्यताका सिद्धान्तहरू खोज्‍नुपर्छ, र के-कस्ता मानव व्यवहार र बोलीवचन सामान्य मानवताका प्रकटीकरणहरू हुन् भनेर बुझ्‍नुपर्छ। तैँले अभ्यासको मार्ग भेट्टाएपछि, तैँले परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ, र जब तेरो हृदय सुध्रिएको हुन्छ, तब तैँले साँच्‍चै नै पश्‍चात्ताप गरेको हुन्छस्। तेरो बोलीवचन र व्यवहारमा मात्रै सिद्धान्तहरू लागू भएका हुनेछैनन्, तैँले मानव स्वरूपमा जिइरहेको र क्रमिक रूपमा आफ्नो भ्रष्ट स्वभाव त्यागिरहेको पनि हुनेछस्। अरूले तँलाई नयाँ व्यक्तिको रूपमा देख्‍नेछन्। तँ पहिलेजस्तो पुरानो र भ्रष्ट व्यक्ति रहनेछैनस्, बरु परमेश्‍वरका वचनहरूद्वारा पुनर्जन्‍म पाएको व्यक्ति हुनेछस्। जीवन स्वभाव परिवर्तन भएको व्यक्ति नै त्यही हो।

आफ्नो बारेमा जान्‍नु सहज काम होइन। सत्यता स्वीकार गरेर, साथै परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गरेर यो हासिल गरिन्छ, अनि परमेश्‍वरको न्याय र सजाय स्विकारेर मात्रै साँचो आत्मज्ञान प्राप्त गर्न सकिन्छ। न्याय र सजाय अनुभव नगरेका मानिसहरूले बढीमा आफूबाट भएका गल्तीहरू र आफूले गरेका खराब कामहरू मात्रै स्विकार्न सक्छन्। तिनीहरूलाई आफ्‍नो प्रकृति र सार स्पष्ट रूपमा देख्‍न एकदमै गाह्रो हुन्छ। अनुग्रहको युगका विश्‍वासीहरूले निश्‍चित पापहरू गर्न छोडेका र आफ्‍नो व्यवहार बदलेर राम्रो बनेका भए पनि, किन तिनीहरूले जीवन स्वभावको रूपान्तरण कहिल्यै हासिल गरेनन्? किन तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, उहाँको विरोध गरे, र उहाँलाई धोकासमेत दिए? भ्रष्ट मानवजातिलाई यो समस्याको स्रोत पहिचान गर्न गाह्रो हुन्छ। किन सबै मानिसहरूमा शैतानी स्वभाव हुन्छ? किनभने शैतानले मानवजातिलाई भ्रष्ट तुल्याएको छ, र मानिसहरूले यसका झूट र दर्शनहरू स्विकारेका छन्। त्यही कुराले नै भ्रष्ट स्वभाव पैदा गरेको हो, र त्यसरी नै शैतानको स्वभाव परमेश्‍वरविरुद्धको मानिसको प्रतिरोधको स्रोत बनेको हो। मानिसहरूको लागि पहिचान गर्न सबैभन्दा गाह्रो हुने कुरा नै यही हो। मानवजातिलाई शैतानको प्रभावबाट बचाउन, र मानवजातिको पाप र परमेश्‍वरविरुद्धको प्रतिरोधको मूल कारण समाधान गर्न परमेश्‍वरले आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको छ। शैतानले मानवजातिलाई हजारौं वर्षदेखि भ्रष्ट पार्दै आएको छ, र यसको प्रकृतिले मानिसको मगजमा जरा गाडेको छ। त्यसकारण, एक-दुईपटक आत्मचिन्तन गरेर अनि आत्मज्ञान पाएर मात्रै कुनै पनि भ्रष्ट स्वभाव समाधान गर्न र हटाउन सकिँदैन। भ्रष्ट स्वभाव निरन्तर र बारम्‍बार प्रकट भइरहन्छ, त्यसकारण मानिसहरूले सत्यता स्विकार्नुपर्छ र शैतानलाई नजितुन्जेलसम्‍म लामो समय आफ्‍नो शैतानी स्वभावसँग लडिरहनुपर्छ। त्यसपछि मात्रै तिनीहरूले आफ्‍नो भ्रष्ट स्वभावलाई पूर्ण रूपमा त्याग्‍न सक्छन्। त्यसकारण, मानिसहरूले जबसम्‍म तिनीहरूमा भ्रष्टता प्रकट हुन छोड्दैन, जबसम्‍म तिनीहरूको जीवन स्वभाव परिवर्तन हुँदैन, र जबसम्म तिनीहरूले परमेश्‍वरप्रतिको समर्पण हासिल गर्दैनन्, तबसम्‍म निरन्तर परमेश्‍वरलाई प्रार्थना गर्ने, सत्यता खोजी गर्ने, आत्मचिन्तन गर्ने, आफूलाई चिन्‍ने, र सत्यता अभ्यास गर्ने गर्नुपर्छ। त्यसपछि मात्रै तिनीहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछन्। हरेक युद्धको नतिजा तुरुन्तै नदेखिन सक्छ, र तैँले अझै पनि भ्रष्ट स्वभाव प्रकट गर्न सक्छस्। तँलाई अलिक नकारात्मक र निराश महसुस हुन सक्छ, तर तैँले हरेस खान चाहँदैनस्, बरु अझै प्रयास गरिरहन्छस्, र परमेश्‍वरको बाटो हेर्दै उहाँमा भरोसा गरिरहन्छस्। यदि तँ यसरी नै दुई-तीन वर्ष लागिरहिस् भने, तँ साँच्‍चै नै सत्यता अभ्यास गर्न सक्‍ने हुनेछस्, र तेरो हृदयमा शान्ति र आनन्द हुनेछ। त्यसपछि तैँले तेरो हरेक असफलता, हरेक प्रयास, र हरेक प्राप्ति तँ तेरो स्वभाव रूपान्तरित गर्ने र तेरो बारेमा परमेश्‍वरको मन बदल्ने दिशामा अघि बढिरहेको कुराको राम्रो सङ्केत रहेछन् भनेर स्पष्टै देख्‍नेछस्। हरेक परिवर्तन मानव चेतनाले अनुभव गर्न नसके पनि, हरेक मोडमा आउने स्वभावगत रूपान्तरण अरू कुनै कार्य वा वस्तुद्वारा हासिल गर्न सकिँदैन। यो मार्ग व्यक्तिले आफ्‍नो स्वभाव परिवर्तन गर्न र जीवन प्रवेश गर्नको लागि लिनैपर्ने मार्ग हो। स्वभाव परिवर्तन खोजी गर्ने अभ्यास यसरी नै गर्नुपर्छ। तर स्वभाव परिवर्तन कसरी हुन्छ भन्‍नेबारेमा मानिसहरूसँग अवश्य नै सही बुझाइ हुनुपर्छ: यो तिनीहरूले कल्‍पना गरेजस्तो, चकित र खुसी तुल्याउने अप्रत्याशित र पृथ्वी हल्‍लाउने परिवर्तन हुँदैन। यो परिवर्तन यसरी हुँदैन। यो त अचेतन रूपमा, बिस्तारै र अलिअलि हुने परिवर्तन हो। जब व्यक्ति सत्यता अभ्यास गर्न सक्‍ने हुन्छ, तब भने उसले आफ्‍नो श्रमको फल देख्‍न सक्‍नेछ। जब तैँले यो मार्गमा तीन, पाँच, वा दश वर्ष हिँडेको हुन्छस्, तब त्यो दश वर्षको अवधिलाई फर्केर हेर्दा तैँले छक्‍कै पर्ने गरी तेरो स्वभावमा अत्यधिक परिवर्तन आएको, र तँ पूर्ण रूपमा फरक व्यक्ति बनेको देख्‍नेछस्। तेरो व्यक्तित्व र मिजास वा तेरो जीवनशैली आदि इत्यादि कुरा परिवर्तन नभएको हुन सक्छ, तर तैँले प्रकट गर्ने स्वभाव, स्थिति, र व्यवहारमा आकाशजमिनको फरक आएको हुन्छ, लाग्छ तँ साँच्‍चिकै फरक व्यक्ति नै भइसकेको छस्। किन त्यस्तो परिवर्तन हुन्छ? किनभने ती दश वर्षको अवधिमा, तँलाई परमेश्‍वरका वचनहरूले धेरैपटक न्याय र सजाय, काटछाँट र निराकरण अनि जाँच र शोधन गरेको हुन्छ, र तैँले धेरै सत्यता बुझेको हुन्छस्। यो तेरो विभिन्‍न कुराप्रतिको दृष्टिकोण, जीवनसम्‍बन्धी सोच र तेरा मूल्य-मान्यताहरू परिवर्तन हुँदै सुरु हुन्छ, त्यसपछि तेरो जीवन स्वभावमा र तैँले बाँच्‍नको लागि भर पर्ने जगमा परिवर्तन हुन्छ—अनि यी परिवर्तनहरू भएपछि, तँ क्रमिक रूपमा अर्को व्यक्ति, एउटा नयाँ व्यक्ति बन्‍नेछस्। तेरो व्यक्तित्व, मिजास, जीवनशैली, र तेरो बोलीवचन र हाउभाउ सबै अपरिवर्तित रहे पनि, तैँले आफ्‍नो जीवन स्वभाव रूपान्तारित गरेको हुन्छस्, र त्यो आफैमा आधारभूत र सारगत परिवर्तन हो। स्वभाव परिवर्तनका सङ्केतहरू के-के हुन्? खासमा यो कसरी प्रकट हुन्छ? यो व्यक्तिको दृष्टिकोणमा हुने परिवर्तनबाट सुरु हुन्छ—यो तब हुन्छ, जब व्यक्तिमा रहेका विभिन्‍न अविश्‍वासी दृष्टिकोणहरू उसले सत्यताको बुझाइ प्राप्त गर्ने क्रममा परिवर्तन हुन्छन्, र ती दृष्टिकोणहरू परमेश्‍वरका वचनहरूको सत्यता नजिक जान्छन्। यो स्वभाव परिवर्तनको पहिलो चरण हो। त्यसभन्दा पर, आत्मचिन्तन र आत्मज्ञानमार्फत, मानिसहरूले सत्यता अभ्यास गर्ने कार्यमा ध्यान दिन सक्छन्। तिनीहरूले आफूभित्र पैदा हुने विभिन्‍न अभिप्राय, मनसाय, विचार र सोचाइहरू, धारणा, दृष्टिकोण, र मनोवृत्तिहरूबारे मनन गरेर आफ्‍ना समस्याहरू पत्ता लगाउन र तिनको बारेमा पछुतो गर्न थाल्न सक्छन्। त्यसपछि, तिनीहरूले दैहिकता त्यागेर सत्यता अभ्यास गर्न सक्छन्। अनि त्यसो गर्ने क्रममा, तिनीहरूले परमेश्‍वरका वचनहरू र सत्यतालाई अझै धेरै कदर गर्छन्, र ख्रीष्ट नै सत्यता, बाटो र जीवन हुनुहुन्छ भन्‍ने स्विकार्नेछन्। तिनीहरू ख्रीष्‍टलाई पछ्याउन र उहाँमा समर्पित हुन अझै बढी इच्छुक हुनेछन्, र तिनीहरूलाई परमेश्‍वरले मानिसलाई खुलासा गर्न, न्याय गर्न, र सजाय दिन, र मानिसहरूको भ्रष्ट स्वभाव परिवर्तन गर्न सत्यताहरू व्यक्त गर्नुहुन्छ, र त्यसरी परमेश्‍वरले मानिसलाई साँच्‍चै व्यावहारिक रूपमा मुक्ति दिनुहुन्छ र सिद्ध पार्नुहुन्छ भन्‍ने कुरा महसुस हुनेछ। तिनीहरूलाई परमेश्‍वरको न्याय र सजाय वा उहाँका वचनहरूको भरणपोषण र अगुवाइविना, मानिसहरूसँग मुक्ति हासिल गर्ने कुनै उपाय हुँदैन, न त तिनीहरूले त्यस्ता इनामहरू नै प्राप्त गर्न सक्छन् भन्‍ने पनि महसुस हुनेछ। तिनीहरूले परमेश्‍वरका वचनहरू मन पराउन थाल्‍नेछन्, र वास्तविक जीवनमा तिनीहरू ती वचनहरूमा भर पर्छन्, उहाँका वचनहरूले तिनीहरूलाई भरणपोषण, र अगुवाइ दिनुपर्छ, र तिनीहरूको लागि बाटो खोलिदिनुपर्छ भन्‍ने अनुभव गर्नेछन्। तिनीहरूको हृदय शान्तिले भरिनेछ, र जब तिनीहरूलाई केही कुरा आइपर्छ, तब तिनीहरूले अचेतन रूपमै आफ्‍नो आधारको रूपमा प्रयोग गर्न परमेश्‍वरका वचनहरू खोजी गर्छन्, र ती वचनहरूभित्र सिद्धान्तहरू र अभ्यासको मार्ग खोज्छन्। आफ्नो बारेमा जानेपछि हासिल गरिने एउटा परिणाम यही हो। अर्को परिणाम पनि छ: मानिसहरूले पहिलेजस्तो गरी आफ्‍नो भ्रष्ट स्वभावका प्रकटीकरणहरूलाई हठी मनोवृत्तिसाथ लिन छोड्छन्। बरु, तिनीहरूले आफ्‍नो हृदय शान्त पारेर इमानदारिताको मनोवृत्तिसाथ परमेश्‍वरका वचनहरूलाई सुन्‍न सक्छन्, र तिनीहरू सत्यता र सकारात्मक कुराहरू स्विकार्न सक्‍ने बन्‍न सक्छन्। यसको अर्थ भ्रष्ट स्वभाव प्रकट गर्दा तिनीहरू पहिलेको जस्तो व्यवहार गर्ने—हठी, सधाउन गाह्रो, उग्र रूपमा आक्रमक, अहङ्कारी, अटेरी, र घातक हुँदैनन्—बरु, तिनीहरूले आफ्‍नो बारेमा सक्रिय रूपमा मनन गर्छन् र आफ्‍ना वास्तविक समस्याहरूबारे ज्ञान प्राप्त गर्छन्। तिनीहरूलाई आफ्‍नो भ्रष्ट स्वभावको सार के हो भन्‍ने कुरा थाहा नहुन सक्छ, तर तिनीहरू आफूलाई शान्त पार्न, परमेश्‍वरलाई प्रार्थना गर्न, र सत्यता खोजी गर्न सक्षम बन्‍नेछन्, र त्यसपछि तिनीहरूले आफ्‍ना समस्याहरू र आफ्‍नो भ्रष्ट स्वभावलाई स्विकारेर परमेश्‍वरसँग पश्‍चात्ताप गर्नेछन्, र भविष्यमा फरक तरिकाले व्यवहार गर्ने सङ्कल्‍प गर्नेछन्। त्यो पूर्ण रूपमा समर्पणको मनोवृत्ति हो। यसरी, तिनीहरूले परमेश्‍वरप्रति समर्पणको हृदय विकास गर्नेछन्। परमेश्‍वरले जे भन्‍नुभए पनि, तिनीहरूलाई जे मापदण्ड दिनुभए पनि, उहाँले जुनसुकै काम गर्नुभए पनि, वा तिनीहरूको लागि जुनसुकै वातावरण मिलाउनुभए पनि, मानिसहरूलाई त्यसमा समर्पित हुन सजिलो हुनेछ। तिनीहरूको भ्रष्ट स्वभावले तिनीहरूलाई त्यति ठूलो बाधा दिनेछैन, र त्यसलाई समाधान गर्न र जित्‍न सहज हुनेछ। त्यो बेला, तिनीहरूलाई सत्यता अभ्यास गर्न सहज हुनेछ, र तिनीहरूले परमेश्‍वरप्रति समर्पण हासिल गर्न सक्‍नेछन्। यी कुराहरू स्वभाव परिवर्तनका लक्षणहरू हुन्। जब कसैले सत्यता अभ्यास गर्न र परमेश्‍वरमा साँचो रूपमा समर्पण हुन सक्छ, तब उसको जीवन स्वभावमा पहिल्यै परिवर्तन आइसकेको छ—अर्थात्, सत्यता खोजी गरेर हासिल गरिने साँचो परिवर्तन आइसकेको छ भन्दा कुनै अत्योक्ति हुँदैन। अनि यो प्रक्रियामा मानिसहरूमा देखा पर्ने व्यवहारहरू, चाहे ती सकारात्मक हुन् वा सामान्य नकारात्मकता र कमजोरीपन होऊन्, ती सबै अपरिहार्य र रोक्‍न नसकिने हुन्छन्। यहाँ सकारात्मक व्यवहारहरू विद्यमान छन्, त्यसैले नकारात्मकता र कमजोरीपनका व्यवहारहरू पनि पक्‍कै छन्—तर नकारात्मकता र कमजोरीपन क्षणिक हुन्छन्। व्यक्तिले निश्‍चित कद प्राप्त गरेपछि, तिनीहरूसँग नकारात्मकता, कमजोर स्थिति झन्झन् कम हुँदै जान्छ, र सकारात्मक व्यवहार र प्रवेश बढ्दै जान्छ, अनि तिनीहरूको व्यवहार झन्झन् सिद्धान्त-केन्द्रित हुँदै जान्छ। त्यस्तो व्यक्ति परमेश्‍वरको आज्ञापालन गर्ने, र भ्रष्ट स्वभाव धोइएपछि जीवन स्वभाव परिवर्तन भएको व्यक्ति हो। यो भन्‍न सकिन्छ कि यी परिणामहरू सत्यता पछ्याउने व्यक्तिहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनुभव गरेपछि, र बारम्‍बार काटछाँट र निराकरण, जाँच र शोधन भोगेपछि प्राप्त गर्ने परिणामहरू हुन्।

अहिले, सबै मानिसहरूले सत्यता पछ्याउने निश्‍चित, सामान्य प्रक्रियाबारे सुनेका र बुझेका हुनाले, तिनीहरूले आफूले सत्यताप्रति दिक्‍क मानेको, वा सत्यताको विरोध गरेको, वा सत्यता नपछ्याएको कुरालाई सही साबित गर्ने तर्क रच्‍ने वा बहाना बनाउने गर्नु हुँदैन। यी सत्यताहरू बुझिसकेकोले र यो कुरालाई स्पष्टै देखिसकेकोले, के अब तिमीहरूले सत्यता नपछ्याउन मानिसहरूले प्रस्तुत गर्ने तर्क र बहाना खुट्ट्याउन सक्छौ? यदि बूढो मानिसले “म बूढो भएँ। म जवान व्यक्तिजस्तो जोसिलो वा उत्साहित छैनँ। उमेरसँगै, मैले जवानीको आक्रामकता र महत्वाकाङ्क्षा गुमाएँ, र म अब अहङ्कारी छैनँ। त्यसकारण, तपाईंले मलाई अहङ्कारी भन्‍नु निरर्थक छ—म त्यस्तो छैनँ” भनी भन्छ भने, के त्यो व्यक्ति सही हुन्छ? (हुँदैन।) अवश्य नै हुँदैन। तिमीहरू सबैले अब यस्ता शब्‍दहरूपछाडिको अर्थ बुझ्छौ। तिमीहरूले त्यो व्यक्तिलाई खुलासा गरेर यसो भन्‍न सक्छौ, “तपाईं वृद्ध भए पनि, तपाईंमा अझै अहङ्कारी स्वभाव छ। तपाईं जीवनभरि अहङ्कारी हुनुभयो र यसलाई कहिल्यै समाधान गर्नुभएन। के तपाईं यसरी नै अहङ्कारी भइरहन चाहनुहुन्छ?” कतिपय जवान मानिसहरूले भन्छन्, “म सानै छु, मैले समाजको अराजक पक्षको अनुभव गरेको, वा फरकफरक समूहमा संघर्ष गरेको र बरालिएको छैनँ। संसारका विभिन्‍न ठाउँमा पुगेर आएका मानिसहरूको जस्तो अनुभव मसँग छैन—अनि अझै महत्त्वपूर्ण कुरा, अवश्य नै, ती बूढा मानिसहरूजस्तो म चिप्ले वा विश्‍वासघाती छैनँ। जवान भएकोले, ममा अलिकति अहङ्कारी स्वभाव हुनु सामान्य कुरा हो; कम्तीमा पनि म बूढा मानिसहरूजस्तो षड्यन्त्रकारी, छली, र दुष्ट छैनँ।” के यसो भन्‍नु उचित छ? (छैन।) हरेक व्यक्तिमा भ्रष्ट स्वभाव हुन्छ। उमेर वा लिङ्गसँग यसको कुनै सम्‍बन्ध हुँदैन। अरूसँग जे छ तँसँग त्यही हुन्छ, र तँसँग जे छ अरूसँग त्यही हुन्छ। कसैले कसैलाई औँल्याइरहनु पर्दैन। तर अवश्‍य नै, सबै जनासँग भ्रष्ट स्वभाव छ भनेर स्विकार्नु मात्रै काफी हुँदैन। तैँले तँसँग भ्रष्ट स्वभाव छ भनेर स्विकारेको हुनाले, तैँले यसलाई समाधान गर्न सत्यको खोजी गर्नैपर्छ—तैँले सत्यता प्राप्त गरेर तेरो स्वभाव परिवर्तन नभएसम्‍म तैँले आफ्‍नो लक्ष्य प्राप्त गरेको हुँदैनस्। भ्रष्ट स्वभाव समाधान गर्ने कार्य अन्ततः सत्यता स्विकार्ने, औचित्य साबित गर्ने तर्क र बहानाहरू त्याग्‍ने, र आफ्‍नो भ्रष्ट स्वभावलाई सही रूपमा सामना गर्न सक्‍ने कार्यमा निर्भर हुन्छ। तँ यसबाट जोगिने वा बहाना बनाएर पन्छिने गर्नु हुँदैन, र तैँले यसलाई अवश्य नै इन्कार्नु हुँदैन। यी कुराहरू हासिल गर्न सजिला छन्। सबैभन्दा गाह्रो कुराचाहिँ के हो त? म एउटा कुरा सोच्‍न सक्छु। यसो भन्‍ने मानिसहरू पनि छन्, “चाहे म सत्यता खोजी गर्छु वा गर्दिनँ भनेर भन, चाहे म सत्यतालाई प्रेम गर्दिनँ वा यसप्रति दिक्‍क मान्छु भनेर भन, चाहे ममा कुनै भ्रष्ट स्वभाव छ भनेर खुलासा गर—म तिम्रो कुरा बेवास्ता गर्नेछु। परमेश्‍वरको घरले मलाई जे लगाउँछ वा जुन काम गर्नुपर्ने हो म त्यही गर्छु। म प्रवचन र भेलाहरूमा कुरा सुन्छु, सबैले परमेश्‍वरका वचनहरू खाँदा-पिउँदा म पनि सँगै पढ्छु, म तिमीहरूसँगै अनुभव गवाहीका भिडियोहरू हेर्छु, र तिमीहरूले खाँदा म पनि खान्छु। म हरेक कदम तिमीहरूसँगै चाल्छु। तिमीहरूमध्ये कसले म सत्यता खोजी गर्दिनँ भनेर भन्‍न सक्छौ? म यसरी नै विश्‍वास गर्छु, त्यसकारण तिमीहरूलाई जे मन लाग्छ त्यही गर्न वा भन्‍न सक्छौ, मलाई मतलब छैन!” यो व्यक्तिले बहाना बनाउन वा औचित्य पुष्टि गर्न नखोजेको नाटक गर्छ, तर उसँग सत्यता पछ्याउने अभिप्राय पनि हुँदैन। यस्तो लाग्छ मानौँ परमेश्‍वरको मुक्तिको काम तिनीहरूसँग सम्‍बन्धित नै छैन, मानौँ तिनीहरूलाई यसको खाँचो नै छैन। यस्ता मानिसहरूले स्पष्ट रूपले यसो भन्दैनन्, “मेरो मानवता असल छ, म परमेश्‍वरमा साँचो विश्‍वास गर्छु, म त्यागहरू गर्न इच्छुक छु, म कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छु। के त्योबाहेक मैले परमेश्‍वरको न्याय र सजाय स्विकार्नु आवश्यक छ?” तिनीहरूले स्पष्ट रूपमा यो कुरा भन्दैनन्, सत्यताप्रति तिनीहरूमा स्पष्ट मनोवृत्ति हुँदैन, र तिनीहरूले बाहिरी रूपमा परमेश्‍वरको कामलाई दोष दिँदैनन्। तैपनि, परमेश्‍वरले त्यस्ता मानिसहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ? यदि तिनीहरूले सत्यता पछ्याउँदैनन्, र परमेश्‍वरका वचनहरूप्रति उदासीन भएर तिनलाई बेवास्ता गर्छन् भने, तिनीहरूप्रतिको परमेश्‍वरको मनोवृत्ति अत्यन्तै स्पष्ट हुन्छ। यो त बाइबलको यो वचनले भनेजस्तै हो, “त्यसैले तिमीहरू, न त चिसो न त तातो, तर मनतातो भएको हुनाले, म तिमीहरूलाई मेरो मुखबाट ओकलिदिनेछु” (प्रकाश ३:१६)। परमेश्‍वरले तिनीहरूलाई चाहनुहुन्‍न, र त्यसको अर्थ समस्या हो। के मण्डलीमा त्यस्ता मानिसहरू हुन्छन्? (हुन्छन्।) त्यसो भए, तिनीहरूलाई कसरी वर्गीकरण गर्नुपर्छ? तिनीहरूलाई कतातिर वर्गीकरण गर्नुपर्छ? तिनीहरूलाई वर्गीकरण गरिरहनु जरुरी छैन। छोटकरीमा भन्दा, त्यस्ता मानिसहरूले सत्यता खोजी गर्दैनन्। तिनीहरूले सत्यता स्विकार्ने वा आफ्‍नो बारेमा मनन गरेर आफूलाई चिन्‍ने गर्दैनन्, अनि तिनीहरूमा पश्‍चात्तापको हृदय हुँदैन—यसको सट्टा, तिनीहरूमा परमेश्‍वरप्रति भ्रमित र अन्योलग्रस्त विश्‍वास हुन्छ। तिनीहरूले कुनै वाधा-व्यवधान नल्याई परमेश्‍वरको घरले जे अह्रायो त्यही गर्छन्। तिनीहरूलाई सोध्, “तिमीमा कुनै धारणाहरू छन्?” भन्छन्, “छैन।” “तिमीमा कुनै भ्रष्ट स्वभाव छ?” “छैन।” “तिमी मुक्ति पाउन चाहन्छौ?” “थाहा छैन।” “के परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर स्विकार्छौ?” “थाहा छैन।” तिनीहरूलाई जे सोधे पनि, तिनीहरूले थाहा छैन भन्छन्। के त्यस्ता मानिसहरूमा कुनै समस्या हुन्छ? (हुन्छ।) हुन्छ, तैपनि तिनीहरूलाई यो समस्या होइन, र यसलाई समाधान गर्नुपर्दैन भन्‍ने लाग्छ। बाइबलले भन्छ, “त्यसैले तिमीहरू, न त चिसो न त तातो, तर मनतातो भएको हुनाले, म तिमीहरूलाई मेरो मुखबाट ओकलिदिनेछु।” त्यो वाक्यांश—“म तिमीहरूलाई मेरो मुखबाट ओकलिदिनेछु”—त्यस्ता मानिसहरूलाई तह लगाउने सिद्धान्त हो; यो तिनीहरूमाथि आउने परिणाम हो। तातो न चिसोको हुनुको अर्थ यी मानिसहरूमा कुनै दृष्टिकोण छैन भन्‍ने हुन्छ; यसको अर्थ स्वभाव परिवर्तन वा मुक्तिसँग सम्‍बन्धित विषयहरूमा तैँले तिनीहरूलाई जसरी सङ्गति गरे पनि, तिनीहरू उदासीन नै रहन्छन्। यहाँ “उदासीन” को अर्थ के हुन्छ? यसको अर्थ तिनीहरूलाई यस्ता विषयहरूप्रति चासो छैन र तिनीहरू ती विषयबारे सुन्‍न इच्छुक छैनन् भन्‍ने हुन्छ। कतिले यसो भन्‍न सक्छन्, “कुनै दृष्टिकोण नहुनु वा भ्रष्टताको प्रकटीकरण हुनुमा के गलत छ?” कस्तो वाहियात कुरा! यिनीहरू त प्राण नै नभएका मरेका मानिसहरू हुन्, यिनीहरू न तातो न चिसो हुन्छन्, र यिनीहरूमा परमेश्‍वरले कुनै पनि हालतमा काम गर्नुहुन्‍न। मुक्ति दिन नसकिने मानिसहरूलाई परमेश्‍वरले ओकलेर फ्याँक्‍नुहुन्छ र तिनीहरूसँग कुनै सम्‍बन्ध राख्‍नुहुन्‍न। उहाँले तिनीहरूमा काम गर्नुहुन्‍न, र हामीले त्यस्ता मानिसहरूको बारेमा मूल्याङ्कन गर्नेछैनौँ, बस तिनीहरूलाई बेवास्ता गरिदिनेछौँ। यदि मण्डलीमा त्यस्ता मानिसहरू छन् भने, तिनीहरूले जबसम्‍म कुनै बाधा ल्याउँदैनन् तबसम्‍म तिनीहरू रहन सक्छन्—यदि तिनीहरूले बाधा ल्याए भने, तिनीहरूलाई तुरुन्तै सफाइ गरिनुपर्छ। यो सजिलै समाधान गर्न सकिने कुरा हो। मेरा वचनहरू सत्यता स्विकार्न सक्‍ने मानिसहरू, सत्यता पछ्याउन चाहने र सत्यताप्रति स्पष्ट मनोवृत्ति राख्‍ने, आफूमा भ्रष्ट स्वभाव छ भनी स्विकार्ने र मुक्ति पाउन सक्‍ने मानिसहरूप्रति लक्षित छन्; ती वचनहरू परमेश्‍वरका वचनहरू बुझ्‍न र उहाँको आवाज सुन्‍न सक्‍ने मानिसहरू, अर्थात् परमेश्‍वरका भेडाहरूप्रति लक्षित छन्—परमेश्‍वरका वचनहरू तिनै मानिसहरूप्रति लक्षित हुन्छन्। परमेश्‍वरका वचनहरू उहाँप्रति न चिसो न तातो रहेका मानिसहरूप्रति लक्षित हुँदैनन्। त्यस्ता मानिसहरूलाई सत्यताप्रति चासो हुँदैन, र परमेश्‍वरका वचनहरू र कामप्रति तिनीहरू न चिसो न तातो हुन्छन्। त्यस्ता मानिसहरूलाई तह लगाउने तरिका भनेकै “जा, तँसँग मेरो कुनै सम्‍बन्ध छैन” भनेर भन्‍नु हो—तिनीहरूलाई बेवास्ता गर्नु र तिनीहरूमा कुनै पनि मेहनत खेर नफाल्‍नु हो।

हामीले भर्खरै सत्यता पछ्याउने विषयसँग सम्‍बन्धित केही नकारात्मक उदाहरणहरूबारे सङ्गति गर्‍यौँ। मानिसहरूले आफूमा प्रकट भएको भ्रष्ट स्वभाव इन्कार गर्न अचेतन रूपमा विभिन्‍न बचाउ-तर्कहरू, बहाना, र निहुँहरू सोच्छन्—अवश्य नै, तिनीहरूले प्राय आफूलाई र अरूलाई भ्रममा पार्दै आफ्‍नो भ्रष्ट स्वभावको अस्तित्व पनि लुकाउने गर्छन्। यी कुराहरू मानिसका मूर्ख र निर्बुद्धि तरिकाहरू हुन्। एकतर्फ, मानिसहरू मान्छेको न्याय गर्ने परमेश्‍वरका सबै वचनहरू सत्यता हुन् भनेर स्विकार्छन्; अर्कोतर्फ, तिनीहरू आफ्‍नो भ्रष्ट स्वभाव, साथै सत्यता उल्‍लङ्घन गर्ने तिनीहरूको गलत बानीबेहोराको अस्तित्व इन्कार गर्छन्। यो तिनीहरूले सत्यता स्विकार्दैनन् भन्‍ने कुराको स्पष्ट सङ्केत हो। तैँले तँमा भ्रष्ट स्वभाव छ भनेर इन्कारे पनि वा स्विकारे पनि, वा तेरो भ्रष्ट स्वभावको प्रकटीकरणको लागि तैँले बहाना, स्पष्टीकरण, वा भ्रामक तर्कहरू दिए पनि नदिए पनि—छोटकरीमा भन्दा, तैँले सत्यता स्विकार्दैनस् भने, परमेश्‍वरको मुक्ति पाउन सक्दैनस्। यो निर्विवाद कुरा हो। सत्यता नपछ्याउने कुनै व्यक्तिले विश्‍वास गरेको जति नै वर्ष भए पनि उसलाई अन्तिममा खुलासा गरेर निकालिनेछ। यो परिणाम भयानक हुन्छ। विपत्तिहरू आइपर्न र तेरो खुलासा हुन लामो समय लाग्‍नेछैन, अनि विपत्तिहरू आएपछि, तँलाई डर लाग्‍नेछ। तँसँग कैयौँ स्पष्टीकरण र प्रशस्त बहानाहरू हुन सक्छन्, वा तैँले आफ्‍नो वास्तविकता राम्ररी लुकाएको र ढाकछोप गरेको हुन सक्छस्, तर एउटा तथ्यलाई नकार्न सकिँदैन: तेरो भ्रष्ट स्वभाव जस्ताको त्यस्तै छ, अलिकति पनि परिवर्तन भएको छैन। तैँले आफूलाई साँचो रूपमा चिन्‍न सक्दैनस्, तँ साँचो पश्‍चात्ताप गर्न नसक्‍ने छस्, र अन्त्यमा, तैँले आफूलाई साँचो रूपमा परिवर्तन गर्न वा परमेश्‍वरमा समर्पित गराउन सक्दैनस्, र परमेश्‍वरले तँलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुहुनेछैन। त्यसपछि के तँ ठूलो समस्यामा हुनेछैनस् र? तँ हटाइने खतरामा हुनेछस्। त्यसैले त बाठो व्यक्तिले यी निर्बुद्धि बहाना र मूर्ख स्पष्टीकरणहरू त्याग्छ र आफ्‍नो देखावटी रूप र ढाकछोपका कुराहरू हटाउँछ। उसले आफूले प्रकट गर्ने भ्रष्ट स्वभावलाई उचित रूपले सामना गर्छ र त्यसलाई सम्‍हाल्‍न र समाधान गर्न सही विधिहरू प्रयोग गर्छ, र आफूले गर्ने हरेक काम र लागू गर्ने हरेक कुरालाई सुकर्म बनाउन लागिपर्छ, ताकि परमेश्‍वरले तिनीहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुहोओस्। यदि परमेश्‍वरले तँलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुभयो भने, यसले के प्रमाणित गर्छ भने उहाँले तेरो विगतका विद्रोहीपन र प्रतिरोधबाट तँलाई पूर्ण रूपमा दोषमुक्‍त गर्नुभएको छ। तँलाई शान्ति र आनन्द हुनेछ, र तेरो काँधबाट बोझ हटाइएझैँ तँलाई दबाब महसुस हुन छोड्नेछ। यस्तो भावना तेरो आत्माले गरेको पुष्टि हो; अब तैँले मुक्तिको आशा पाएको छस्। तैँले सत्यता पछ्याउने क्रममा चुकाएको मूल्य र तेरा सुकर्महरूसँग साटेको आशा यही हो। यो तैँले सत्यता पछ्याएर अनि सुकर्महरू तयार गरेर हासिल गरेको परिणाम हो। यसको ठीक उल्टो गरी, तैँले आफूलाई पहिलेदेखि नै बाठो रहेको ठान्दै आफूले भ्रष्टता प्रकट गर्दा हरेकपटक नै आफ्‍नो प्रतिरक्षा र बचाउ गर्न प्रशस्त स्पष्टीकरणहरू प्रदान गर्न पनि सक्छस् होला। तैँले आफ्‍नो भ्रष्ट स्वभाव लुकाएर देखावटी रूप धारण गर्दै, आफूले कुनै भ्रष्ट स्वभाव प्रकट नगरेको जस्तो गरी, यसबारेमा मनन गर्न र यसलाई चिन्‍नबाट चतुरतासाथ तर्कन पनि सक्छस् होला। परमेश्‍वरले तय गर्नुभएका विभिन्‍न वातावरणहरूमा खुलासा हुनबाट बारम्‍बार बच्दै तैँले आफूलाई निकै बाठो पनि ठान्छस् होला। तर यस क्रममा तैँले आफ्‍नो बारेमा मनन गरेको वा आफूलाई चिनेको हुनेछैनस्, सत्यता प्राप्त गरेको हुनेछैनस्, र परमेश्‍वरद्वारा सिद्ध हुने मौकाहरू गुमाएको हुनेछस्। यसको परिणामहरू के हुनेछन्? अहिलेको लागि तँ पश्‍चात्ताप गर्न वा मुक्ति पाउन सक्षम छस् कि छैनस् भन्‍ने कुरालाई एकातिर राखौँ, र यति मात्रै भनौँ कि यदि परमेश्‍वरले तँलाई बारम्‍बार पश्‍चात्ताप गर्ने मौका दिनुभयो, र ती कुनै पनि मौकाले तँमा मन परिवर्तन गर्ने इच्‍छा जगाएन भने, तँ ठूलो समस्यामा हुनेछस्। अनि, तैँले आफ्‍नो प्रतिरक्षा कति राम्ररी गर्छस्, आफूलाई कति राम्ररी प्रस्तुत गर्छस्, आफ्‍नो वास्तविकता कति राम्ररी लुकाउँछस् र कति राम्रो बहाना बनाएर आफूलाई सही साबित गर्छस् भन्‍ने कुराले के अर्थ राख्छ? यदि परमेश्‍वरले तँलाई बारम्‍बार अवसर दिनुभयो, र यसले तँलाई तेरो मन परिवर्तन गर्ने इच्‍छा जगाएन भने, तँ खतरामा हुन्छस्। त्यो खतरा के हो तँलाई थाहा छ? तँ आफ्‍नो भ्रष्ट स्वभावको बचाउमा तर्कहरू गर्दै, सत्यता नपछ्याएकोमा बहाना र स्पष्टीकरण पेश गर्दै, र परमेश्‍वरको न्याय र उहाँको कार्यलाई विरोध र इन्कार गर्दै जिद्दी भएर हिँड्छस्, तैपनि आफूलाई निकै उत्कृष्ट ठान्छस् र आफ्नो विवेक सफा छ भन्‍ने विश्‍वास गर्छस्। तँ परमेश्‍वरको घरको रेखदेख, काटछाँट, र निराकरण स्विकार्न मान्दैनस्, परमेश्‍वरको विरुद्धमा पुरै विद्रोही हृदय लिएर बारम्‍बार उहाँको न्याय, सजाय, र मुक्तिबाट तर्कन्छस्—परमेश्‍वरले तँलाई पहिल्यैदेखि घृणा गर्नुहुन्छ, उहाँले तँलाई त्यागिसक्‍नुभएको छ, तैपनि तँ अझै आफूलाई मुक्ति मिल्छ होला भन्‍ने सोच्छस्। के तँलाई तँ गलत मार्गमा झन्झन् टाढा पुगिसकेको र छुटकाराभन्दा बाहिर गइसकेको छस् भन्‍ने थाहा छैन? परमेश्‍वरको घरमा परमेश्‍वरले नै शासन गर्नुहुन्छ। के तैँले परमेश्‍वरको विरोध र विविध दुष्कर्महरू गर्दा तँ परमेश्‍वरको पहुँचबाट बाहिर हुन्छस् भन्‍ने सोच्छस्? तँ परमेश्‍वरको न्याय र सजाय स्विकार्दैनस्, तैँले सत्यता र जीवन प्राप्त गरेको छैनस्, र तँसँग कुनै अनुभवको गवाही छैन। यसको लागि परमेश्‍वरले तँलाई दोषी ठहर्‍याउनुहुन्छ। तैँले आफैमाथि बरबादी ल्याइरहेको छस्। यसमा कुनै बठ्याइँ छैन—यो त मूर्खता हो, चरम मूर्खता! यो विनाशकारी छ! हामीले यो कुरा यहाँ प्रस्तुत गरेका छौँ—विश्‍वास लाग्दैन भने, पर्खेर हेर्। तर यदि तँसँग सत्यता नपछ्याउनुको बचाउमा केही स्पष्टीकरणहरू, अनि वाक्पटुता र षड्यन्त्र कला छ भन्दैमा, र यदि कसैले तँलाई तर्कमा जित्दैन र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तँलाई खुलासा गर्न सक्दैनन्, र मण्डलीसँग तँलाई सफाइ गरी हटाउने कुनै औचित्य छैन भन्दैमा, परमेश्‍वरको घरले तँलाई केही गर्न सक्दैन भनेर नसोच्। यो विषयमा तँ गलत छस्। तँ परमेश्‍वरसँग संघर्ष गरिरहन्छस्; तर तैँले उहाँसँग कति लामो समय प्रतिस्पर्धा गर्न सक्‍ने रहेछस् म हेर्नेछु! के तैँले परमेश्‍वरसँग उहाँले आफ्‍नो काम पूरा गरेर असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुने दिनसम्मै प्रतिस्पर्धा गर्न सक्‍नेछस्? के तँ विपत्तिहरूमा मर्नेछैनस् भन्‍ने पक्‍का गर्न सक्छस्—ती विपत्तिमा तँ बाँच्‍नेछस्? के तँसँग साँच्‍चै आफ्नै नियतिमाथिको सार्वभौमिकता छ? आफ्नो बचाउका स्पष्टीकरण र बहानाहरूले तँलाई परमेश्‍वरको घरको अनुसन्धानबाट उम्‍कन केही समय दिन्छन् होला; ती कुराले तँलाई केही समयसम्‍म आफ्‍नो नीच अस्तित्व कायम राख्‍न सक्षम पार्छन् होला। केही समयसम्‍म तैँले मानिसहरूको आँखामा छारो हाल्‍न, र मण्डलीमा लुकेर अरूलाई छलिरहन र त्यहाँ ठाउँ ओगटिरहन सक्छस् होला—तर तँ परमेश्‍वरको निरीक्षण वा सूक्षम जाँचबाट उम्‍कन सक्दैनस्। परमेश्‍वरले कुनै व्यक्तिको परिणाम ऊसँग सत्यता छ कि छैन भन्‍ने आधारमा निर्धारण गर्नुहुन्छ; उहाँले आफ्‍नै काम र आफ्नै दाइँ गर्नुहुन्छ। तँ जुन प्रकारको व्यक्ति वा जस्तोसुकै दियाबलस भए पनि, परमेश्‍वरको न्याय र दण्डाज्ञाबाट उम्‍कन सक्दैनस्। परमेश्‍वरका चुनिएका मानिसहरूले सत्यता बुझेर समझशक्ति पाउनेबित्तिकै, कोही पनि उम्‍कन सक्‍नेछैन, र तँलाई त्यही बेला मण्डलीबाट सफाइ गरेर निकालिनेछ। कतिपय मानिसहरूलाई विश्‍वास लाग्दैन र गनगनाउँछन्, “मैले परमेश्‍वरको लागि धेरै दौडधूप गरेको छु, उहाँको लागि धेरै काम गरेको छु, र यतिको मूल्य चुकाएको छु। मैले आफ्‍नो परिवार र वैवाहिक सम्‍बन्ध त्यागेँ; मैले परमेश्‍वर र उहाँको कामको लागि आफ्‍नो जवानी चढाएँ। मैले उहाँद्वारा प्रदान गरिने आशिष्‌हरू पाउने पक्‍का छ भनेर मेरो करियर छोडेँ, र मेरो जीवनको आधा शक्ति खर्च गरेँ। सत्यता पछ्याउने र अभ्यास गर्ने कार्य नगरेकोमा मलाई हटाइनेछ भनेर मैले कहिल्यै कल्‍पना गरेको थिइनँ!” के परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ भन्‍ने तँलाई थाहा छैन? के तँ परमेश्‍वरले कसलाई इनाम दिनुहुन्छ र कसलाई आशिष्‌ दिनुहुन्छ भन्‍ने कुरामा स्पष्ट छैनस्? यदि तेरो त्याग र परिश्रमले साँचो अनुभवको गवाही पैदा गरेको छ, र त्यसले परमेश्‍वरको कामको गवाही पनि दिन्छ भने, परमेश्‍वरले तँलाई इनाम र आशिष्‌ दिनुहुनेछ। यदि तेरो त्याग र परिश्रम साँचो अनुभवको गवाही होइन, र परमेश्‍वरको कामको गवाही त झनै होइन भने, यदि त्यो तेरो आफैप्रतिको गवाही हो, साथै तेरा उपलब्धिहरू पहिचान गर्न परमेश्‍वरलाई गरिएको अनुरोध मात्रै हो भने, तँ पावलकै बाटोमा हिँडिरहेको छस्। तैँले जे गरिरहेको छस्, त्यो दुष्कर्म हो, त्यो परमेश्‍वरको विरोध गर्नु हो, र परमेश्‍वरले तँलाई यसो भन्‍नुहुनेछ, “तँ दुष्कर्मी, मबाट टाढा भई जा!” अनि यसको अर्थ के हुन्छ? यो त त्यस्तो एक सबुत हुनेछ जसले जनाउँछ कि तँलाई नाश परिसकेको छ, र तँ विपत्तिमा परी दण्डित हुने निश्‍चित भइरसकेको छ। तँ महाविपत्तिमा पर्नेवाला छस्। आफ्नो समयमा पावल आफ्नो हैसियत, आफूले गरेको काम, आफ्नो योग्यता, र वरदानहरूको आधारमा अरू साधारण मानिसहरूभन्दा उच्‍च थिए—तर यसबाट के आयो र? परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासको सुरुदेखि अन्त्यसम्‍मै, पावलले परमेश्‍वरसँग कारोबार गर्ने र सर्तहरू राख्‍ने प्रयास गरिरहेका थिए; तिनले परमेश्‍वरबाट इनाम र मुकुट खोजे। अन्तिममा, तिनले साँचो पश्‍चात्ताप गरेनन् वा धेरै सुकर्म बटुलेनन्—र स्वाभाविक रूपमै, तिनी साँचो अनुभवको गवाही हासिल गर्नुभन्दा निकै टाढा थिए। साँचो पश्‍चात्ताप नै नगरी तिनले परमेश्‍वरको माफी पाउन सक्थे त? के तिनले तिनलाई हेर्ने परमेश्‍वरको दृष्टिकोण बदल्‍न सक्थे त? त्यो असम्‍भव थियो। पावलले आफ्‍नो सारा जीवन प्रभुको लागि बिताए, तर तिनी ख्रीष्टविरोधीको मार्गमा हिँडेको र पटक्‍कै पश्‍चात्ताप गर्न नमानेको हुनाले, तिनले इनाम त पाएनन् नै, बरु उल्टै परमेश्‍वरद्वारा दण्डित हुनुपर्‍यो। निश्‍चय नै, तिनले भोगेका परिणामहरू विनाशकारी थिए। त्यसकारण, म तँलाई अहिले स्पष्ट रूपमा के भनिरहेको छु भने, यदि तँ सत्यता पछ्याउने व्यक्ति होइनस् भने, तँसँग कम्तीमा पनि थोरै समझ हुनुपर्छ र तैँले परमेश्‍वरसँग तर्क गर्ने वा जुवातास खेलेजस्तै आफ्‍नो परिणाम र गन्तव्यमा बाजी हाल्‍ने गर्नु हुँदैन। त्यो त परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास हो, र त्यो एक प्रकारले उहाँलाई विरोध गर्नु नै हो। परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँको विरोध गर्ने मानिसहरूको अन्त्य असल हुन्छ र? मृत्युको मुखमा पुग्दा मानिसहरू शिष्ट बन्छन्; समझ नभएका मानिसहरूले मृत्युको मुखमा नपुगुञ्‍जेलसम्‍म आफ्‍नो मार्ग छोड्दैनन्। मुक्ति पाउनको लागि सबैभन्दा उत्कृष्ट, सरल, र बुद्धिमानी तरिका भनेको आफ्‍ना बहाना, स्पष्टीकरण, र सर्तहरूलाई त्याग्‍नु, र एकदमै व्यावहारिक भएर सत्यता स्विकार्नु र पछ्याउनु, र त्यसरी तँप्रतिको परमेश्‍वरको दृष्टिकोण परिवर्तन गराउनु हो। जब परमेश्‍वरले तँलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुहुन्छ, तब तँसित मुक्ति पाउने आशा हुनेछ। मान्छेलाई मुक्ति पाउने आशा परमेश्‍वरले नै दिनुभएको हो, र तैँले परमेश्‍वरबाट यो आशा पाउनको लागि पूरा गर्नुपर्ने पूर्वसर्त भनेकै उहाँलाई र सत्यतालाई पछ्याउन तैँले परमेश्‍वरसँग कुनै लेनदेन गर्ने प्रयास नगरी आफूलाई प्रिय लाग्‍ने सबै कुरा र सबै थोक त्याग्‍नु हो। तँ वृद्ध भए पनि, जवान भए पनि, महिला भए पनि पुरुष भए पनि, शिक्षित भए पनि अनपढ भए पनि, केही फरक पर्दैन, न त तँ कहाँ जन्‍मेको थिइस् भन्‍ने कुराले नै केही फरक पर्छ। परमेश्‍वरले यी कुनै पनि कुरा हेर्नुहुन्‍न। तैँले यसो भन्छस् होला, “मेरो चित्तप्रकृति राम्रो छ। म धैर्य, सहनशील, र कारुणिक छु। म अन्तिमसम्‍मै धैर्य रहन्छु, त्यसले गर्दा परमेश्‍वरले मलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुहुन्छ।” यी कुराहरू व्यर्थ छन्। परमेश्‍वरले तेरो चित्तप्रकृति, वा व्यक्तित्व, शिक्षा, वा उमेर हेर्नुहुन्‍न, न त तैँले कति धेरै कष्ट भोगेको छस् वा कति धेरै काम गरेको छस् भन्‍ने कुराले नै कुनै मतलब राख्छ। परमेश्‍वरले तँलाई सोध्‍नुहुनेछ, “तैँले विश्‍वास गरेका यतिका वर्षहरूमा, के तेरो स्वभाव परिवर्तन भएको छ? तँ कुन कुराको आधारमा जिउँछस्? के तैँले सत्यता पछ्याएको छस्? के तैँले परमेश्‍वरका वचनहरू स्विकारेको छस्?” तैँले यसो भन्‍न सक्छस्, “मैले ती वचनहरू सुनेको र स्विकारेको छु।” त्यसपछि परमेश्‍वरले तँलाई सोध्‍नुहुनेछ, “तैँले ती वचनहरू सुनेको र स्विकारेको छस् भने, के तेरो भ्रष्ट स्वभाव समाधान भएको छ? के तैँले साँचो पश्‍चात्ताप गरेको छस्? के तँ परमेश्‍वरका वचनहरूमा साँच्‍चै समर्पित भएको छस्, के तैँले तिनलाई स्विकारेको छस्?” तँ भन्छस्, “मैले कष्ट भोगेको र मूल्य चुकाएको छु; मैले आफ्नै जीवन खर्चेको र त्याग गरेको छु, र अर्पणहरू गरेको छु—मैले मेरा छोराछोरीलाई पनि परमेश्‍वरमा चढाएको छु।” तेरा सबै अर्पणहरू व्यर्थ छन्। त्यस्ता कुराहरू स्वर्गको राज्यका आशिष्‌हरूसँग साट्न वा तेरो बारेमा परमेश्‍वरको दृष्टिकोण परिवर्तन गराउन प्रयोग गर्न सकिँदैन। तेरो बारेमा परमेश्‍वरको दृष्टिकोण परिवर्तन गराउने एउटै तरिका भनेको सत्यता पछ्याउने मार्गमा हिँड्नु हो। अर्को कुनै विकल्‍प छैन। मुक्तिको कुरा आउँदा, मानिस अवसरवादी वा धूर्त हुनु हुँदैन, र यसमा कुनै चोरबाटो छैन। कुरो बुझिस्? यस विषयमा तँ स्पष्ट हुनैपर्छ। यस विषयमा भ्रमित नबन्—तँ भ्रमित भए पनि, परमेश्‍वर भ्रमित हुनुहुनेछैन। त्यसो भए, अबदेखि तैँले के गर्नुपर्छ? आफ्‍नो मनोवृत्ति उल्ट्या र दृष्टिकोण परिवर्तन गर्, र तैँले जे गरिरहेको भए पनि, परमेश्‍वरका वचनहरूलाई तेरो जग बन्‍न दे। कुनै पनि मानवसिर्जित “असलपन,” कुनै पनि मानव बहाना, वा कुनै मानव दर्शन, ज्ञान, नैतिकता, सद्‌गुण, विवेक, वा कुनै पनि कथित मानव इज्‍जत र प्रतिष्ठाले सत्यताको स्थान लिन सक्दैन। यी कुराहरूलाई पन्छ्या, हृदय शान्त पार्, र तेरो सबै व्यवहार र कार्यहरूको जग परमेश्‍वरका वचनहरूमा खोज्। अनि यस क्रममा, परमेश्‍वरले उहाँका वचनहरूमा मानिसको भ्रष्ट स्वभावका विभिन्‍न पक्षहरूबारे गर्नुभएको प्रकाश खोज्। आफूलाई ती कुराहरूसँग तुलना गर्, र आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्। जतिसक्दो चाँडो आफूलाई चिन्‍न लागिपर्, भ्रष्टता त्याग्, र पश्‍चात्ताप गरेर आफूलाई परिवर्तन गर्न हतार गर्। तेरो व्यवहार र कार्यलाई परमेश्‍वरका वचनहरूमा आधारित गर्दै दुष्टता त्याग् र सत्यताका सिद्धान्तहरू खोजी गर्—तैँले यी कुराहरूलाई मानव धारणा र कल्‍पनाहरूमा आधारित गर्नु कदापि हुँदैन। तैँले कहिल्यै पनि परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गर्नु हुँदैन; तैँले तेरा निरर्थक कष्ट र त्यागहरूलाई परमेश्‍वरका इनाम र आशिष्‌हरूसँग साट्ने प्रयास गर्नु हुँदैन। त्यस्ता मूर्ख कार्यहरू गर्न छोड्, नत्र परमेश्‍वर तँदेखि रिसाउनुहुनेछ, तँलाई श्राप दिनुहुनेछ, र तँलाई नामेट पारिदिनुहुनेछ। कुरा स्पष्ट भयो? तिमीहरूले यो बुझ्यौ त? (बुझ्यौँ।) त्यसो भए, अबदेखि यस विषयमा राम्ररी विचार गर।

हामीले भर्खरै सङ्गति गरेको सबै कुरा सत्यता पछ्याउने कार्यसँग सम्‍बन्धित थियो, र हामीले सत्यता पछ्याउनु भनेको के हो भन्‍ने अवधारणागत प्रश्‍नको निश्‍चित उत्तर नदिएको भए पनि, हामीले सत्यता पछ्याउने सम्‍बन्धमा मान्छेमा रहेका विविध गलतबुझाइ र भ्रामक ज्ञान, साथै व्यक्तिले सत्यता पछ्याउँदा देखा पर्ने विविध कठिनाइ र समस्याहरूलाई लक्षित गरी केही सङ्गति गर्‍यौँ। अब यसलाई समाप्त गर्ने क्रममा, म सत्यता पछ्याउनु भनेको के हो, सत्यताको पछ्याइ के-कसरी प्रकट हुन्छ, र सत्यता पछ्याउने अभ्यासको मार्ग वास्तवमा के हो भन्‍ने कुरा समीक्षा गर्न चाहन्छु। त्यसो भए, सत्यता पछ्याउनु भनेको के हो त? सत्यता पछ्याउनु भनेको परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्न थाल्‍नु, र त्यसपछि परमेश्‍वरका वचनहरू अनुभव गर्ने प्रक्रियामार्फत सत्यताको बुझाइ हासिल गर्नु र यसको वास्तविकतामा प्रवेश गर्नु, अनि साँचो रूपमा परमेश्‍वरलाई चिन्‍ने र उहाँको आज्ञापालन गर्ने व्यक्ति बन्‍नु हो। सत्यता पछ्याएर हासिल गरिने अन्तिम परिणाम त्यही हो। अवश्य नै, सत्यता पछ्याउने कार्य विविध चरणहरू भएको प्रक्रिया हो, र यो धेरै चरणहरूमा विभाजित छ। जब तैँले परमेश्‍वरका वचनहरू पढेर ती सत्यता र वास्तविकता हुन् भन्‍ने पत्ता लगाएको हुन्छस्, तब तैँले परमेश्‍वरका वचनहरूभित्रबाट आफ्‍नो बारेमा मनन गर्न र आफ्‍नो बारेमा ज्ञान प्राप्त गर्न थाल्‍नेछस्। तैँले तँ अत्यन्तै विद्रोही छस् र अत्यन्तै धेरै भ्रष्टता प्रकट गर्छस् भन्‍ने देख्‍नेछस्। तैँले सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पण हासिल गर्न सके हुन्थ्यो भन्‍ने तृष्णा गर्नेछस्, र तँ सत्यताप्रति लागिपर्न थाल्‍नेछस्। आत्मचिन्तन र आत्मज्ञानबाट प्राप्त हुने परिणाम ठीक त्यही हो। त्यहाँदेखि, तेरो जीवन अनुभव सुरु हुन्छ। जब तैँले आफ्‍नो भ्रष्ट स्वभावबाट प्रकट हुने स्थिति र समस्याहरू अनुसन्धान गर्न र जाँच्‍न थाल्‍नेछस्, तब यसले तैँले सत्यता पछ्याउन थालेको छस् भन्‍ने प्रमाणित गर्छ। तैँले आइपर्ने कुनै पनि समस्या वा तँमा प्रकट हुने कुनै पनि भ्रष्टतालाई सक्रिय रूपमा मनन गर्न र जाँच्‍न सक्‍नेछस्। अनि ती साँच्‍चै नै भ्रष्टताको प्रकटीकरण र भ्रष्ट स्वभाव हुन् भन्‍ने तँलाई महसुस भएपछि, तैँले प्राकृतिक तवरमै सत्यता खोजी गर्नेछस् र ती समस्याहरू समाधान गर्न थाल्‍नेछस्। जीवन प्रवेश आत्मचिन्तनबाट सुरु हुन्छ; सत्यता पछ्याउने पहिलो चरण यही हो। त्यसको तुरुन्तैपछि, आत्मचिन्तन र आत्मज्ञानमार्फत तैँले खुलासा गर्ने परमेश्‍वरका सबै वचनहरू तथ्यहरूअनुरूप छन् भन्‍ने देख्‍नेछस्। तँ हृदयबाटै तिनमा समर्पित हुन, र परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्विकार्न सक्‍ने हुनेछस्। त्यो सत्यता पछ्याउने कार्यको दोस्रो चरण हो। धेरैजसो मानिसहरूले मानिसको भ्रष्ट बानीबेहोरा खुलासा गर्ने परमेश्‍वरका वचनहरू स्विकार्न सक्छन्, तर मानिसको भ्रष्ट सार खुलासा गर्ने परमेश्‍वरका वचनहरू सहजै स्विकार्न सक्दैनन्। परमेश्‍वरका वचनहरू पढेपछि, तिनीहरूले आफ्‍नो भ्रष्टताको गहनता स्विकार्दैनन्; तिनीहरूले मानिसहरूको भ्रष्ट बानीबेहोरा खुलासा गर्ने परमेश्‍वरका वचनहरू मात्रै स्विकार्छन्। यसले गर्दा, तिनीहरूले हृदयबाट परमेश्‍वरको न्याय र सजाय स्विकार्न सक्दैनन्। बरु, यसलाई पन्छाइदिन्छन्। कतिले भन्छन्, “ममा केही भ्रष्ट व्यवहार मात्रै छ, र मैले केही असल कामहरू गर्न सक्छु। म असल व्यक्ति हुँ, म शैतान होइन। म परमेश्‍वरमा विश्‍वास गर्छु, त्यसकारण म परमेश्‍वरको हुनुपर्छ।” के यो वाहियात कुरा होइन र? तँ मानव संसारमा जन्‍मेको छस्, तँ शैतानको प्रभावमा जिएको छस्, र तैँले परम्‍परागत संस्कृतिको शिक्षा पाएको छस्। तैँले जन्‍मजातै पाएको कुरा र सिकेको ज्ञान शैतानबाट आएको छ। तैँले आदर गर्ने सबै महान् र प्रसिद्ध मानिसहरू शैतानका हुन्। तैँले तँ शैतानको होइनस् भन्दैमा तँ यसको भ्रष्टताबाट उम्‍कन्छस् र? यो त बालबच्‍चाले बोल्‍न सक्‍ने भएपछि नै झूट बोल्‍न र अरूलाई अपमान गर्न सकेजस्तै कुरा हो। तिनीहरूलाई कसले त्यसो गर्न सिकाउँछ? कसैले सिकाउँदैन। शैतानको भ्रष्टताको परिणामबाहेक त्यो अरू के हुन सक्छ? यी तथ्यहरू हुन्। मानिसहरूले शैतान र आत्मिक संसारका दुष्ट आत्‍माहरू देख्‍न सक्दैनन्, तर जिउँदा पिशाचहरू र दियाबलसका राजाहरू मानव संसारभरि जताततै छन्। तिनीहरू सबै नै शैतानका पुनर्जन्‍महरू हुन्। यो सबै मान्छेले स्विकार्नैपर्ने तथ्य हो। सत्यता बुझ्‍नेहरूले यी कुराहरूको वास्तविकता देख्‍न सक्छन्, र खुलासा गर्ने परमेश्‍वरका सबै वचनहरू तथ्य हुन् भनेर स्विकार्न सक्छन्। कतिपय मानिसहरूले आफूलाई चिनेको बारेमा कुरा गर्न सक्छन्, तर तिनीहरूले परमेश्‍वरका वचनहरूले खुलासा गरेका भ्रष्टाताहरू तथ्यगत छन्, वा उहाँका वचनहरू सत्यता हुन् भनेर कहिल्यै स्विकार्दैनन्। यो सत्यता स्वीकार गर्न नसक्‍नुसरह हो। यदि व्यक्तिले आफूमा भ्रष्ट स्वभाव छ भन्‍ने तथ्य स्विकार्दैन भने, उसले साँचो पश्‍चात्ताप गर्न सक्दैन। अवश्य नै, व्यक्तिले सबै मानिसहरूमा भ्रष्ट स्वभाव छ भन्‍ने तथ्यलाई मान्‍न र स्विकार गर्नको लागि उसले केही समयसम्‍म परमेश्‍वरको काम अनुभव गरेको हुनुपर्छ। धेरै भ्रष्ट स्वभाव प्रकट गरेपछि, तिनीहरूले स्वाभाविक रूपमै तथ्यको अघि समर्पण जनाउँदै शिर झुकाउनेछन्। तिनीहरूसँग मानिसलाई खुलासा गर्ने, न्याय गर्ने, र दोष दिने परमेश्‍वरका सबै वचनहरू तथ्य र सत्यता हुन् भनेर मान्‍ने, र तिनलाई पूर्ण रूपमा स्विकार्नेबाहेक अरू कुनै विकल्‍प हुँदैन। परमेश्‍वरका वचनहरूद्वारा जितिनु भनेको त्यही हो। जब मानिसहरूले परमेश्‍वरका वचनहरूको आधारमा आफ्‍नो भ्रष्ट स्वभाव र भ्रष्ट सार चिन्‍न, र तिनीहरूमा शैतानी स्वभाव छ र तिनीहरूको भ्रष्टता गहन छ भन्‍ने कुरा स्विकार्न सकेपछि, तिनीहरू परमेश्‍वरको न्याय र सजाय पूर्ण रूपमा स्विकार्न र त्यसमा समर्पित हुन सक्षम हुन्छन्। तिनीहरू मानवजातिलाई खुलासा र न्याय गर्ने परमेश्‍वरका वचनहरू जति नै कठोर वा घोच्‍ने भए पनि ती वचनहरूमा समर्पित हुन तयार हुनेछन्। जब तैँले परमेश्‍वरका वचनहरूले कसरी मानवजातिलाई परिभाषित, वर्गीकरण र निन्दा गर्छन, र कसरी भ्रष्ट मानवजातिको न्याय र खुलासा गर्छन् भनेर बुझेको र जानेको हुन्छस्, जब तैँले परमेश्‍वरका वचनहरूको न्याय र सजाय साँच्‍चै स्विकारेर आफ्‍नो भ्रष्ट स्वभाव र भ्रष्ट सार चिन्‍न थालेको हुन्छस्, जब तैँले तेरो भ्रष्ट स्वभाव, शैतान, र तेरो देहलाई घृणा गर्न थालेको हुन्छस्—अनि जब तैँले सत्यता प्राप्त गर्ने, मानव जसरी जिउनुपर्ने हो त्यसरी जिउने, र परमेश्‍वरमा साँचो रूपमा समर्पित हुने व्यक्ति बन्‍ने तृष्णा गर्छस्—तब तैँले आफ्‍नो स्वभाव परिवर्तन हासिल गर्ने कार्यमा ध्यान दिन थाल्नेछस्। यो सत्यता पछ्याउने कार्यको तेस्रो चरण हो।

आफूलाई साँचो रूपमा चिन्‍नु भनेको परमेश्‍वरका वचनहरूको आधारमा मनन गरेर आफ्‍नो भ्रष्ट स्वभाव चिन्‍नु, र त्यसमार्फत आफ्‍नो भ्रष्ट सारको ज्ञान र आफ्नो भ्रष्टताको तथ्य हासिल गर्नु हो। जब मान्छेले यसो गर्छन्, तब तिनीहरूले मानवजातिको भ्रष्टताको गहिराइ स्पष्टै देख्‍नेछन्—तिनीहरूले मानवजाति जसरी जिउनुपर्ने हो त्यसरी जिउँदैन रहेछ, मानवजाति भ्रष्ट स्वभावमा मात्रै जिउँदो रहेछ, र मानवजातिमा अलिकति पनि विवेक वा समझ रहेनछ भनेर देख्‍नेछन्। तिनीहरूले मान्छेको सबै दृष्टिकोण शैतानका हुन्, र ती कुनै पनि दृष्टिकोण सही वा सत्यताअनुरूप छैनन्, र मानिसहरूको रुचि, खोज, र तिनीहरूले चुन्‍ने मार्ग सबै नै शैतानका विषहरूले अपवित्र भएका हुन्छन्, र यी सबैमा आशिष्‌हरू पाउने मानिसहरूको लालची इच्‍छा र अभिप्राय लुकेका हुन्छन् भन्‍ने देख्‍नेछन्। तिनीहरूले मानिसले प्रकट गर्ने स्वभाव ठ्याक्‍कै शैतानको स्वभाव, प्रकृति र सार हो भनेर देख्‍नेछन्। त्यो हदसम्‍म आफूलाई चिन्‍नु सरल कुरा होइन; परमेश्‍वरका वचनहरूको आधारमा मात्रै यो हासिल गर्न सकिन्छ। यदि यो कार्य परम्‍परागत संस्कृतिको नैतिक सिद्धान्त, अभिव्यक्ति, र विचारहरूको आधारमा गरिने हो भने, के व्यक्तिले साँचो आत्मज्ञान हासिल गर्न सक्छ? अवश्य सक्दैन। तेरो भ्रष्ट स्वभाव यी शैतानी दर्शन र सिद्धान्तहरूबाट आएको हुन्छ। के शैतानको स्वामित्वमा रहेका यी कुराहरूमा तेरो आत्मज्ञान आधारित गर्नु मूर्खता हुँदैन र? के यो अन्धो बकवास हुँदैन र? त्यसकारण, आत्मज्ञान परमेश्‍वरका वचनहरूमा आधारित हुनुपर्छ। परमेश्‍वरका वचनहरू मात्रै सत्यता हुन्, र परमेश्‍वरका वचनहरू मात्रै सबै मानिसहरू, मामला र वस्तुहरू मापन गर्ने मापदण्ड हुन्। यदि तैँले साँच्‍चै नै परमेश्‍वरका वचनहरू सत्यता हुन्, र सबै मानिसहरू, मामला, र वस्तुहरू मापन गर्ने सही आधार ती मात्रै हुन् भनेर देख्छस् भने, तैँले अघि जाने बाटो पाएको छस्। त्यसपछि तँ ज्योतिमा जिउन सक्छस्, जुन परमेश्‍वरको अघि जिउनु हो। जब मानिसहरूले परमेश्‍वरका वचनहरूभित्रबाट आफ्‍नो भ्रष्टताको सारको साँचो ज्ञान हासिल गर्छन्, तब त्यसपछि तिनीहरूले कसरी व्यवहार र अभ्यास गर्छन्? (तिनीहरूले पश्‍चात्ताप गर्नेछन्।) त्यो सही हो। जब व्यक्तिले आफ्‍नो प्रकृति र सारको ज्ञान प्राप्त गरेको हुन्छ, तब उसको हृदयमा प्राकृतिक रूपमै पछुतो पैदा हुन्छ, र उसले पश्‍चात्ताप गर्न थाल्‍नेछ। यसको मतलब, तिनीहरूले आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍ने प्रयास गर्नेछन्, र त्यसउप्रान्त शैतानी स्वभावअनुसार जिउनेछैनन्। त्यसको साटो, तिनीहरू परमेश्‍वरका वचनहरूअनुसार जिउनेछन् र व्यवहार गर्नेछन्, र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्षम बन्‍नेछन्। साँचो पश्‍चात्ताप यही हो। यो सत्यता पछ्याउने कार्यको चौथो चरण हो। तिमीहरू सबै अब साँचो पश्‍चात्तापको बारेमा स्पष्ट भयौ, त्यसो भए तिमीहरूले यसको अभ्यास कसरी गर्नुपर्छ? आफूलाई परिवर्तन गर्ने अभ्यास गर। यसको अर्थ तिमीहरूले मानिरहने र सही ठानेका कुराहरू त्याग्‍नु, शैतानी स्वभावअनुसार नजिउनु, र परमेश्‍वरका वचनहरूअनुसार सत्यता अभ्यास गर्न इच्छुक हुनु हो। आफूलाई परिवर्तन गर्नु भनेको यही हो। खास गरेर, तिमीहरूले पहिले आफूलाई इन्कार गर्नुपर्छ र परमेश्‍वरका वचनहरूका आधारमा तेरा विचार, सोचाइ, व्यवहार, र कार्यहरू सत्यताअनुरूप छन् कि छैनन्, र ती कसरी पैदा हुन्छन् भनेर चित्रण गर्नुपर्छ। यदि तिमीहरूले यी कुराहरू भ्रष्ट स्वभावका कुराहरू हुन् र ती शैतानी स्वभावबाट आएका हुन् भन्‍ने निर्धारित गर्‍यौ भने, ती कुराहरूप्रति दोष र श्रापको मनोवृत्ति अवलम्बन गर्नुपर्छ। त्यसो गर्दा देह र शैतानलाई त्याग्‍न मदत मिल्छ। यो कस्तो प्रकारको व्यवहार हो? के यो आफ्‍नो भ्रष्ट स्वभावलाई इन्कार्नु, अलग गर्नु, त्याग्‍नु, र छोड्नु होइन र? तैँले सही ठानेका कुरालाई इन्कार्नु, आफ्‍ना हितहरू परित्याग गर्नु, आफ्‍ना गलत अभिप्रायहरू छोड्नु, र यसरी आफ्‍नो मार्ग परिवर्तन हासिल गर्नु चानचुने कुरा होइन, र यसभित्र योसँग सम्बन्धित धेरै कुराहरू लुकेका हुन्छन्। यदि तँ पश्‍चात्ताप गर्न इच्छुक छस्, तर त्यस्तो इच्छा मात्र जाहेर गर्छस्, आफ्‍नो भ्रष्ट स्वभाव इन्कार्ने, अलग गर्ने, त्याग्‍ने, वा छोड्ने गर्दैनस् भने, यो पश्‍चात्तापको प्रकटीकरण होइन, र तँ अझै पश्‍चात्तापमा व्यावहारिक रूपमा प्रवेश गरेको छैनस्। त्यसो भए, साँचो पश्‍चात्ताप कसरी प्रकट हुन्छ? सबभन्दा पहिले, तैँले आफूले सही ठानेका कुराहरू इन्कार्छस्, जस्तै: परमेश्‍वर सम्‍बन्धी तेरा धारणा र मागहरू, साथै तेरा आफ्नै दृष्टिकोण, समस्याहरू सम्‍हाल्‍ने तेरा शैली र तरिकाहरू, तेरो मानव अनुभव, आदि इत्यादि कुराहरू। यी सबै कुराहरू इन्कार गर्नु भनेकै हृदयमा पश्‍चात्तापी बन्‍ने र परमेश्‍वरतर्फ फर्किने ठोस अभ्यास हो। तैँले गलत कुराहरूको वास्तविकता देखेर त्यसलाई इन्कारेको छस् भने मात्रै त्यस्ता कुराहरू त्याग्‍न सक्छस्। यदि तैँले ती कुराहरू इन्कार गर्दैनस्, बरु अझै पनि तिनलाई असल र सही नै ठान्छस् भने, अरूले तँलाई ती कुराहरू त्याग्‍न आग्रह गरे पनि तैँले त्याग्‍न सक्‍नेछैनस्। तैँले भन्‍नेछस्, “म एकदमै शिक्षित छु, र मसँग प्रशस्‍त अनुभव छन्। म यी कुराहरू सही छन् भन्‍ने विश्‍वास गर्छु, त्यसकारण मैले किन ती कुराहरू त्याग्‍ने?” यदि तँ आफ्नै शैलीहरूमा अल्झिरहन्छस् र त्यस्तै गरिरहन जिद्दी गर्छस् भने, के तैँले सत्यता स्विकार्न सक्छस् त? यो बिलकुलै सहज हुनेछैन। यदि तँ सत्यता प्राप्त गर्न चाहन्छस् भने, सुरुमा तैँले आफूले सही र सकारात्मक ठानेका कुराहरू इन्कार्नुपर्छ, त्यसपछि ती कुराहरू सारगत रूपमा नकारात्मक छन्, ती शैतानबाट आएका हुन्, ती सबै सत्यजस्तो लाग्‍ने भ्रम हुन्, अनि यसरी शैतानी कुराहरूमै लागिरहे तँ दुष्कर्म गर्ने र परमेश्‍वरविरोधी बन्‍नेछस्, र अन्तिममा दण्डित भएर नाश हुनेछस् भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍नुपर्छ। शैतानले मानिसलाई जुन भ्रष्ट विचार र विषहरूले भ्रष्ट पार्छ, ती विचार र विषहरूले मानिसलाई विनाशमा पुर्‍याउन सक्छन् भनेर स्पष्ट रूपमा देख्‍न सक्छस् भने, तैँले ती विचार र विषहरूलाई पूर्ण रूपमा त्याग्‍न सक्‍नेछस्। अवश्य नै, इन्कार, त्याग, परित्याग, उत्सर्ग, आदि इत्यादि कुराहरू सबै नै शैतानको शक्ति र प्रकृतिविरुद्ध, साथै मानिसलाई भ्रममा पार्न शैतानले प्रयोग गर्ने दर्शन, तर्क, विचार, र दृष्टिकोणविरुद्ध प्रयोग गरिने शैली र तरिकाहरू हुन्। उदाहरणको लागि, आफ्‍ना देहका हितहरू माया मार्नु; आफ्‍नो देहका रुचि र खोजहरू त्याग्‍नु; शैतानका दर्शन, विचार, विधर्म, र भ्रमहरू इन्कार्नु; शैतान र यसका दुष्ट शक्तिहरूको प्रभाव त्याग्‍नु। अभ्यासका यी सबै शृङ्खलाहरू मानिसहरूले पश्‍चात्ताप गर्ने विधि र मार्गहरू हुन्। साँचो पश्‍चात्तापमा प्रवेश गर्नको लागि, व्यक्तिले धेरै सत्यताहरू बुझेको हुनुपर्छ, त्यसपछि मात्रै उसले आफूलाई पूर्ण रूपमा इन्कार गर्न र आफ्‍नो देहलाई पन्छाउन सक्छ। उदाहरणको लागि, मानौँ तैँले तँ ज्ञानले भरिपूर्ण र प्रशस्त अनुभव भएको व्यक्ति होस्, र तँ परमेश्‍वरको घरको सम्पत्ति हुनुपर्छ र ठूलो रूपमा तेरो प्रयोग गरिनुपर्छ भन्‍ने विश्‍वास गर्छस्। तर सत्यताको बारेमा धेरै वर्ष प्रवचन सुनेपछि र केही सत्यता बुझेपछि, तैँले तेरो ज्ञान र शिक्षा व्यर्थ छन् र परमेश्‍वरको घरको लागि अलिकति पनि उपयोगी छैनन् भन्‍ने अनुभव गर्छस्। तैँले मानिसहरूलाई मुक्ति दिन सक्‍ने त सत्यता र परमेश्‍वरका वचनहरू नै हुन्, र सत्यता नै व्यक्तिको जीवन हुन सक्छ भन्‍ने महसुस गर्छस्। तैँले व्यक्तिको ज्ञान वा अनुभव जति धेरै भए पनि, उसमा सत्यता छ भन्‍ने हुँदैन, र मानव कुराहरू मानव धारणाहरूसँग जति नै मिले पनि, ती सत्यता होइनन् भन्‍ने अनुभव गर्छस्। तैँले ती सबै शैतानबाट आएका हुन्छन्, र ती सबै सत्यतासँग कुनै सम्‍बन्ध नभएका नकारात्मक कुरा हुन् भन्‍ने महसुस गर्नेछस्। तँ जति नै शिक्षित, ज्ञानी, वा अनुभवी भए पनि, यदि तैँले आत्मिक कुराहरू बुझेको छैनस् र सत्यता बुझ्न सक्दैनस् भने, त्यो काम लाग्दैन। यदि तैँले अगुवाको रूपमा काम गर्नुपर्‍यो भने, तँसँग सत्यताको वास्तविकता हुनेछैन, र तँ समस्याहरू समाधान गर्न नसक्‍ने हुनेछस्। यदि तैँले अनुभव गवाहीसम्‍बन्धी लेख लेख्‍नुपर्‍यो भने, तैँले शब्‍दहरू निकाल्‍नै सक्‍नेछैनस्। तैँले परमेश्‍वरको गवाही दिनुपर्‍यो भने, तँसित उहाँबारे ज्ञान नै हुनेछैन। तैँले सुसमाचार प्रचार गर्नुपर्‍यो भने, तैँले मानिसहरूका धारणाहरू समाधान गर्न सत्यता सङ्गति गर्न सक्‍नेछैनस्। तैँले नयाँ विश्‍वासीहरूलाई मलजल गर्नुपर्‍यो भने, तँ दर्शनहरूको सत्यतामा स्पष्ट हुनेछैनस्, र तैँले धर्मसिद्धान्तका शब्‍द र वाक्यांशहरू मात्रै प्रचार गर्न सक्‍नेछस्। यदि तैँले आफ्‍ना धारणाहरू नै समाधान गर्न सक्दैनस् भने, नयाँ विश्‍वासीहरूका धारणाहरू कसरी समाधान गर्न सक्छस्? तैँले यो कामको केही पनि गर्न सक्दैनस्—त्यसो भए, तैँले केचाहिँ गर्न सक्छस् त? यदि तँलाई श्रम गर्न लगाइयो भने, तैँले यो त तेरो प्रतिभा खेर फालेको भयो भनेर सोच्नेछस्। तँमा प्रतिभा छ भनेर तँ भन्छस्, तर तैँले राम्ररी कुनै पनि काम सम्हालन वा कर्तव्य निभाउन सक्दैनस्—त्यसो भए, तैँले वास्तवमा गर्न सक्‍नेचाहिँ के हो त? परमेश्‍वरको घरले तँलाई प्रयोग गर्न नचाहेको होइन, तर कुरा के हो भने तैँले पूरा गर्नुपर्ने कर्तव्य नै पूरा गरेको छैनस्। त्यसको लागि तैँले मण्डलीलाई दोष दिन मिल्दैन। अझै पनि, तैँले मनमनै सोच्छस् होला, “के परमेश्‍वरले मानिसबाट अति धेरै अपेक्षा गर्नुहुन्‍न र? यी मापदण्डहरू मेरो क्षमताभन्दा बाहिरका छन्। मबाट किन यति धेरै माग गरिन्छ?” यदि कसैमा परमेश्‍वरको बारेमा यति ठूलो गलतबुझाइ छ भने, यसले उसमा उहाँको कुनै ज्ञान छैन र उसले अलिकति पनि सत्यता बुझेको छैन भन्‍ने प्रमाणित गर्छ। यदि तँलाई तेरा दृष्टिकोणहरू सही छन् र तिनलाई परिवर्तन गर्नुपर्दैन भन्‍ने लाग्छ भने, र यदि तैँले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर सिद्धान्तमा मात्रै स्विकार्छस्, तर यदि तैँले आफूले पक्रिराखेको फोहोर त्याग्‍न सक्दैनस् भने, यसले तैँले अझै सत्यता बुझेको छैनस् भन्‍ने देखाउँछ। तँ परमेश्‍वरको अघि आउनुपर्छ र तैँले अझै बढी सत्यता खोजी गर्नुपर्छ, उहाँका अझ धेरै वचनहरू पढ्नुपर्छ र अझै धेरै प्रवचन र सङ्गति सुन्‍नुपर्छ, त्यसपछि तैँले परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने कुरा क्रमिक रूपमा बुझ्दै जानेछस्। व्यक्तिको हैसियतमा, तैँले सत्यता र परमेश्‍वरलाई लिने पहिलो तरिका भनेकै आज्ञाकारितासाथ लिनु हो। यो मानिसले पूरा गर्नैपर्ने कर्तव्य हो। यदि तैँले यी कुराहरू बुझ्‍न सक्छस् भने, यसको अर्थ तैँले आफ्‍नो दिशा परिवर्तन गरिरहेको छस् भन्‍ने हुन्छ। आफ्‍नो मार्ग परिवर्तन गर्नु नै पश्‍चात्ताप अभ्यास गर्ने मार्ग हो; यो तैँले कुनै बेला सही ठानेका र शैतानबाट आएका कुराहरू पूर्ण रूपमा त्याग्‍नु, र नयाँ मार्ग छनौट गर्नु हो। यो परमेश्‍वरका मापदण्डहरूअनुसार र सत्यताका सिद्धान्तहरूअनुसार परमेश्‍वरका वचनहरू अभ्यास गर्नु, र सत्यता पछ्याउने मार्गमा हिँड्नु हो। आफ्‍नो मार्ग परिवर्तन गर्नुको अर्थ यही हो। यो परमेश्‍वरको अघि साँचो रूपमा आइपुग्‍नु, र पश्‍चात्तापको वास्तविकतामा प्रवेश गर्नु हो। जब व्यक्तिले सत्यता अभ्यास गर्न सक्छ, तब ऊ सत्यताको वास्तविकतामा प्रवेश गर्न र साँचो तरिकाले पश्‍चात्ताप गर्न थाल्छ भनेर स्पष्ट हुन्छ। मानिसले साँचो पश्‍चात्ताप गरेपछि मात्रै ऊ मुक्तिको मार्गतर्फ अघि बढेको छ भनेर भन्‍न सकिन्छ। त्यसो गर्नु भनेको सत्यता पछ्याउने कार्यको चौथो चरणमा लाग्‍नु हो।

जब व्यक्तिले साँचो पश्‍चात्ताप गरेको हुन्छ, तब उसले सत्यता पछ्याउने बाटो हिँड्न थालेको हुन्छ, उसँग परमेश्‍वरको कामबारे लगभग कुनै धारणा वा गलतफहमी हुँदैन, ऊ परमेश्‍वरको न्याय र सजायमा समर्पित हुन इच्छुक हुन्छ, र उसले औपचारिक रूपमै परमेश्‍वरको काम अनुभव गर्न सुरु गर्छ। व्यक्तिले पहिलोपटक परमेश्‍वरमा विश्‍वास गर्न सुरु गरेर औपचारिक रूपमै परमेश्‍वरको न्याय र सजाय अनुभव गर्न थाल्नुअघिको परिवर्तन अवधि लामो हुन्छ। यो परिवर्तन अवधि व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयदेखि उसले साँचो पश्‍चात्ताप गरेको समयसम्‍म रहन्छ। यदि कसैले सत्यतालाई प्रेम गर्दैन भने, उसले परमेश्‍वरको न्याय र सजाय कति पनि स्विकार्दैन, न त थोरै सत्यता नै स्विकार्छ, र ऊ कहिल्यै पनि आफूलाई चिन्‍न सक्‍ने बन्दैन। त्यस्ता मानिसहरूलाई हटाइनेछ। यदि कसैले सत्यतालाई प्रेम गर्छ भने, परमेश्‍वरका वचनहरू पढेर अनि प्रवचनहरू सुनेर, उसले साँच्‍चै नै केही न केही सिक्छ, र परमेश्‍वरको काम मानिसलाई मुक्ति दिने काम हो भनेर थाहा पाउँछ, र आफूले बुझेका सत्यताहरूको आधारमा आफ्‍नो बारेमा मनन गरेर आफूलाई चिन्छ; उसले आफ्‍नो भ्रष्ट स्वभावलाई झन्झन् घृणा गर्दै जानेछ, उसमा सत्यताप्रति झन्झन् चासो जाग्‍नेछ, उसलाई अनजानमै साँचो आत्मज्ञान मिल्नेछ, र ऊ साँच्‍चै नै अफसोस र पश्‍चात्ताप गर्ने बन्‍नेछ। जब सत्यतालाई प्रेम गर्ने मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्छन् वा प्रवचनहरू सुन्छन्, तिनीहरूले स्वाभाविक रूपमै त्यस्ता परिणामहरू हासिल गर्नेछन्। क्रमिक रूपमा तिनीहरूले आफूलाई चिन्‍नेछन् र साँचो पश्‍चात्ताप हासिल गर्नेछन्। साँच्‍चै पश्‍चात्ताप गर्ने बनेपछि, व्यक्तिले कसरी अभ्यास गर्नुपर्छ? तिनीहरूले हरेक कुरामा सत्यता खोजी गर्नुपर्छ; तिनीहरूको जीवनमा जेसुकै आइपरे पनि, तिनीहरूले परमेश्‍वरका वचनहरूमा आधारित सिद्धान्त र अभ्यासका मार्गहरू भेट्टाउन सक्‍नुपर्छ, र त्यसपछि सत्यता अभ्यास गर्न थाल्नुपर्छ। यो सत्यता पछ्याउने कार्यको पाँचौँ चरण हो। सत्यता खोजी गर्नुको उद्देश्‍य के हो? सत्यता अभ्यास गर्नु र परमेश्‍वरप्रतिको समर्पण हासिल गर्नु हो। तर सत्यता अभ्यास गर्नको लागि, यसका सिद्धान्तहरूअनुसार नै अभ्यास गर्नुपर्छ। त्यो मात्रै सत्यताको सही अभ्यास हो; त्यसरी मात्रै व्यक्तिले परमेश्‍वरको अनुमोदन पाउँछ। त्यसैले, सत्यता पछ्याउने कार्यले हासिल गर्न खोजेको कुरा भनेकै सत्यताका सिद्धान्तहरूअनुसार काम गर्न सक्षम बन्‍नु हो। यो चरणमा पुग्‍नुको अर्थ व्यक्ति सत्यता अभ्यासको वास्तविकतामा प्रवेश गरेको छ भन्‍ने हो। मानिसको भ्रष्ट स्वभाव समाधान गर्नको लागि सत्यता खोजी गरिन्छ। जब व्यक्ति सत्यता अभ्यास गर्न सक्‍ने हुन्छ, तब उसका भ्रष्ट स्वभावहरू आफै हटेर जान्छन्, र उसको सत्यता अभ्यासले परमेश्‍वरको मापदण्डअनुरूपको परिणाम हासिल गर्छ। साँचो पश्‍चात्तापबाट सत्यता अभ्याससम्म जाने प्रक्रिया यही हो। कुनै बेला भ्रष्ट स्वभावमा जिएको भनेको शैतानको शक्तिमा जिएको अवस्था थियो, सबै कार्य र व्यवहार परमेश्‍वरद्वारा दोषी ठहराइएको र घृणा गरिएको अवस्था थियो; तर अहिले, सत्यता स्विकार्न सक्षम बन्‍नु, साँचो रूपमा पश्‍चात्ताप गरिसकेको हुनु, सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन सक्षम हुनु, र उहाँका वचनहरूअनुसार जिउने गर्नु—यसलाई अवश्य नै परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ। सत्यता खोजी गर्नेहरूले प्राय आफ्‍नो बारेमा बारम्‍बार मनन गरिरहनुपर्छ। तिनीहरूले आफूमा भ्रष्ट स्वभाव छ भन्‍ने कुरा मानेर परमेश्‍वरको न्याय र सजाय स्विकार्नुपर्छ, अनि आफ्‍नो भ्रष्ट सारको साँचो ज्ञान प्राप्त गरेर पछुतो गर्ने हृदय विकास गर्नुपर्छ; पश्‍चात्ताप गरिसकेपछि, तिनीहरूले सबै कुरामा सत्यता खोजी गर्न थाल्‍नुपर्छ, सत्यताका सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ, र परमेश्‍वरप्रति साँचो समर्पण हासिल गर्नुपर्छ। सत्यता पछ्याउँदै आफ्‍नो जीवन प्रवेशलाई क्रमिक रूपमा गहन बनाएर हासिल हुने कुरा यही हो। यदि व्यक्तिले आफूलाई साँचो रूपमा चिन्दैन भने, ऊ परमेश्‍वरको न्याय र सजायमा समर्पित हुन वा उसले साँचो रूपमा पश्‍चात्ताप गर्न असम्‍भव हुन्छ। अनि यदि व्यक्तिले साँचो रूपमा पश्‍चात्ताप गर्दैन भने, त्यो व्यक्ति निरन्तर शैतानी स्वभावअनुसार नै जिइरहनेछ। यस्ता मान्छेले परमेश्‍वरमा जति नै धेरै वर्ष विश्‍वास गरेको भए पनि, तिनीहरूमा साँचो परिवर्तन आउनेछैन। तिनीहरूको बानीबेहोराचाहिँ थोरै परिवर्तन हुनेछ; र त्यति नै हो। सत्यता नपछ्याउने मानिसहरूले सत्यतालाई आफ्‍नो जीवनको रूपमा स्विकार्नु असम्‍भव हुन्छ, त्यसकारण यो निश्‍चित छ कि तिनीहरूको व्यवहार र बानीबेहोरा अझै पनि भ्रष्ट स्वभावको प्रकटीकरण नै हुनेछन्, र यी कुराहरू सत्यताअनुरूप हुनेछैनन्, बरु परमेश्‍वरविरोधी हुनेछन्। सत्यता पछ्याउनेहरू सत्यतालाई आफ्‍नो जीवनको रूपमा स्विकार्न, आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍न, सत्यता अभ्यास गर्न, र परमेश्‍वरप्रति साँचो समर्पण हासिल गर्न सक्छन्। सत्यता पछ्याउनेहरूले आफूलाई स्पष्ट नभएका कुराहरू आइपरेमा सत्यता खोजी गर्नेछन्। तिनीहरू आफ्‍नो फाइदाको लागि षड्यन्त्र गर्न छोड्नेछन् र परमेश्‍वरअनुरूपको हृदयको साथमा सबै दुष्टताबाट अलग बस्‍नेछन्। सत्यता पछ्याउनेहरू झन्झन् परमेश्‍वरमा समर्पित हुँदै जानेछन्, र तिनीहरू परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्‍नेछन्, र यसरी मानिस जसरी जिउनुपर्ने हो त्यसरी नै झन्झन् जिउँदै जानेछन्। सत्यता नपछ्याउनेहरूको हकमा यस्तो परिवर्तन असम्‍भव हुन्छ। सत्यता नपछ्याउनेहरूले केचाहिँ पछ्याउँछन् त? तिनीहरूले प्रतिष्ठा, लाभ र हैसियत पछ्याउँछन्; तिनीहरूले आशिष्‌ र इनामहरू पछ्याउँछन्। तिनीहरूको महत्त्वाकाङ्क्षा र इच्‍छा झन्झन् बढ्दै जान्छ, र तिनीहरूको जीवनमा सही लक्ष्य हुँदैन। तिनीहरू जे कुराको पछि लाग्‍न चाहे पनि, आफ्‍नो उद्देश्य हासिल गर्न नसक्दा तिनीहरूले हरेस खानेछैनन्, तिनीहरूले आफ्‍नो मन परिवर्तन गर्नु त परको कुरा हो। परिस्‍थिले साथ दियो र परिवेश सही छ भने, तिनीहरूले तुरुन्तै दुष्कर्म गर्न र परमेश्‍वरको विरोध गर्न सक्छन्, र तिनीहरूले स्वतन्त्र राज्य स्थापना गर्ने प्रयास गर्न सक्छन्। यस्तो किन हुन्छ भने तिनिहरूसँग परमेश्‍वरलाई आदर गर्ने वा परमेश्‍वरमा समर्पित हुने हृदय हुँदैन, र अन्त्यमा, अनेक किसिमका दुष्कर्महरू गरेकोमा र उहाँलाई धोका दिएकोमा तिनीहरूलाई परमेश्‍वरले मेटाउन मात्रै सक्‍नुहुनेछ। सत्यता नपछ्याउनेहरू सबै नै सत्यताप्रति दिक्‍क मान्‍ने मानिसहरू हुन्, र सत्यताप्रति दिक्‍क मान्‍नेहरू सबै नै दुष्टतालाई प्रेम गर्ने मानिसहरू हुन्। तिनीहरूले आफ्नो आत्मा अनि रगत र हड्डीदेखि नै प्रतिष्ठा, लाभ, हैसियत, र प्रभावलाई मात्रै सम्‍मान गर्छन्; तिनीहरू शैतानी स्वभावअनुसार जिउनमै, अनि आफ्‍ना उद्देश्यहरू हासिल गर्न स्वर्ग, पृथ्वी, र मानिससँग लडाइँ गर्नमै खुसी हुन्छन्। तिनीहरूलाई त्यस्तो जीवन आनन्दपूर्ण हुन्छ भन्‍ने लाग्छ; तिनीहरू विशिष्ट व्यक्तिको रूपमा जिउन र नायक भएर मर्न चाहन्छन्। अवश्य नै, तिनीहरू विनाशमा पुर्‍याउने शैतानी मार्गमा हिँडिरहेका छन्। सत्यता पछ्याउनेहरूले जतिजति यो कुरा बुझ्छन्, त्यतित्यति नै परमेश्‍वरलाई प्रेम गर्छन् र सत्यता कति बहुमूल्‍य छ भन्‍ने अनुभव गर्छन्। तिनीहरू परमेश्‍वरको न्याय र सजाय स्विकार्न इच्छुक हुन्छन्, र तिनीहरूले जति धेरै कठिनाइ भोगे पनि, सत्यता पछ्याउने र सत्यता प्राप्त गरिछोड्ने सङ्कल्प गरेका हुन्छन्। यसको मतलब, तिनीहरूले मुक्ति र सिद्धताको मार्गमा पाइला चलिसकेका छन्, र तिनीहरू परमेश्‍वरसँगको अनुरूपता हासिल गर्न सक्षम छन्। सबभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्छन्, तिनीहरू सृष्टि गरिएको प्राणीको मौलिक स्थानमा फर्केका हुन्छन्, र तिनीहरूमा परमेश्‍वरको श्रद्धा गर्ने हृदय हुन्छ। तिनीहरूले वैध रूपमै परमेश्‍वरको नेतृत्व, अगुवाइ, र आशिष्‌ पाउन सक्छन्, र परमेश्‍वरले तिनीहरूलाई घृणा वा इन्कार गर्न छोड्नुहुन्छ। कस्तो राम्रो कुरा! सत्यताको नपछ्याउनेहरूले आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍न सक्दैनन्, त्यसकारण तिनीहरूको हृदय परमेश्‍वरबाट झन्झन् टाढा जान्छ, र तिनीहरूले सत्यताप्रति दिक्‍क मान्छन् र सत्यता इन्कार गर्छन्। फलस्वरूप, तिनीहरू परमेश्‍वरप्रति झन्झन् प्रतिरोधी हुँदै जान्छन् र उहाँको विरोध गर्ने मार्गमा हिँड्न थाल्छन्। तिनीहरू पावलजस्तै हुन्छन् र परमेश्‍वरसित खुलेआम इनाम माग्छन्। त्यो पाएनन् भने, तिनीहरूले परमेश्‍वरसँग तर्क गर्दै उहाँको विरोध गर्ने प्रयास गर्छन्, र अन्त्यमा तिनीहरू पुरै शैतानको घृणित रूप प्रकट गर्दै ख्रीष्टविरोधी बन्छन्, र त्यसपछि परमेश्‍वरले तिनीहरूलाई श्राप दिएर नष्ट गर्नुहुनेछ। अर्कोतर्फ, सत्यता पछ्याउने मार्गमा हिँड्ने मानिसहरू सत्यता स्विकार्न र सत्यतामा समर्पित हुन सक्छन्। तिनीहरू शैतानको भ्रष्ट स्वभाव त्याग्‍न सक्छन्, आफ्‍नो कर्तव्य राम्ररी निभाउन र परमेश्‍वरको प्रेमको ऋण तिर्न सबै कुरा त्याग्‍न इच्छुक हुन्छन्, र परमेश्‍वरको आज्ञापालन र आराधना गर्ने मानिसहरू बन्‍न सक्छन्। परमेश्‍वरमा समर्पित हुन इच्छुक, र ठोस रूपमा त्यसो गर्ने व्यक्ति सृष्टि गरिएको प्राणीको मौलिक स्थानमा पूर्ण रूपमा फर्केको हुन्छ, र ऊ सबै कुरामा परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्छ। यसको अर्थ तिनीहरूले आधारभूत मानव स्वरूप प्राप्त गरेका हुन्छन्। साँचो मानव स्वरूपले केलाई जनाउँछ? यो अय्यूब र पत्रुसले जस्तै व्यक्तिले सृष्टिकर्ताको आज्ञापालन गर्ने र श्रद्धा गर्ने अवस्था हो। त्यस्ता मानिसहरूलाई परमेश्‍वरले साँच्‍चै आशिष्‌ दिनुहुन्छ।

हामीले आज सङ्गति गरेका सत्यता पछ्याउने मुख्य चरणहरू यति सरल छन्। मलाई यी चरणहरू सुनाओ त। (पहिलो, आफ्‍नो बारेमा परमेश्‍वरका वचनहरूअनुसार मनन गर्नु; दोस्रो, परमेश्‍वरका वचनहरूले खुलासा गर्ने तथ्यहरू मान्‍नु र स्विकार्नु; तेस्रो, आफ्‍नो भ्रष्ट स्वभाव र सार चिन्‍नु, र आफ्‍नो भ्रष्ट स्वभाव र शैतानलाई घृणा गर्न थाल्‍नु; चौथो, पश्‍चात्ताप अभ्यास गर्नु र सबै दुष्ट कार्यहरू पन्छाउनु; पाँचौँ, सत्यताका सिद्धान्तहरू खोजी गर्नु, र सत्यता अभ्यास गर्नु।) ती पाँच चरणहरू यिनै हुन्। भ्रष्ट स्वभावमा जिउने मानिसहरूलाई यी हरेक चरण अभ्यास गर्नु निकै कठिन हुन्छ, यी हरेक चरणमा धेरै अवरोध र कठिनाइहरू हुन्छन्, र ती हरेक चरण अभ्यास र हासिल गर्नको लागि निकै धेरै परिश्रम खर्च गर्नुपर्छ, र अवश्य नै, यस क्रममा केही असफलता र बाधाहरू अनुभव गर्नबाट कोही पनि बच्न सक्दैन—तर म तिमीहरूलाई भन्छु: तिमीहरू हरेस नखाओ। अरूले तँलाई यसो भन्दै दोष दिन सक्छन्, “तँ खत्तम भइस्,” “तँ असल छैनस्,” “तँ यस्तै छस्—तैँले यो कुरा बदल्न सक्दैनस्”—तैपनि तिनीहरूका शब्‍दहरू जति नै नराम्रो सुनिए पनि, तँ आफ्‍नो समझमा स्पष्ट हुनैपर्छ। हरेस नखा, र लत्तो नछोड्, किनभने सत्यता पछ्याउने मार्गले मात्रै, अनि यी चरणहरू प्रवेश र अभ्यास गर्ने मार्गले मात्रै, तँलाई तेरो बरबादीबाट उम्‍कन सक्षम पार्नेछ। समझदार मानिसहरूले आफ्‍ना सबै कठिनाइहरू पन्छाउने निर्णय गर्नेछन्; तिनीहरू असफलता र बाधाहरूबाट भाग्‍नेछैनन्, र जति नै कठिन भए पनि तिनीहरू अघि बढिरहनेछन्। यदि तँ आफूलाई जाँच्‍ने र चिन्‍ने चरणमा तीनदेखि पाँच वर्षसम्‍म नै रहिस् भने पनि, वा आठ वा दश वर्षपछि पनि तँ आफूमा कुन भ्रष्ट स्वभाव छ भनेर मात्र जान्दछस् तर सत्यता बुझ्न वा आफ्नो भ्रष्ट स्वभाव फाल्न असक्षम नै रहिरहन्छस् भने पनि, म अझै तँलाई त्यही कुरा भन्छु: हरेस नखा। तँ अझै साँचो परिवर्तन हासिल गर्न नसक्‍ने भए पनि, तँ प्रारम्‍भिक तीन चरणमा प्रवेश गरिसकेको छस्, त्यसकारण बाँकी दुई चरणमा प्रवेश गर्न नसक्‍नेबारेमा किन चिन्ता गर्छस्? चिन्ता नगर्; अझै परिश्रम गर्, अझै प्रयास गर्, अनि तँ त्यहाँ पुग्‍नेछस्। कतिपय मानिसहरू चौथो चरणमा, अर्थात् पश्‍चात्तापको चरणसम्‍म पुग्‍न सक्छन्, तर तिनीहरू सत्यताका सिद्धान्तहरू खोजी गर्न नसकेर यो चरणमा प्रवेश गर्नै सक्दैनन्। त्यस्तो बेला के गर्ने? तैँले पनि हरेस खानु हुँदैन। जबसम्‍म तँसँग इच्‍छा बाँकी हुन्छ, तबसम्‍म तैँले सबै कुरामा सत्यता खोजी गर्ने कार्यमा लागिपरिरहनुपर्छ, र परमेश्‍वरलाई अझै धेरै प्रार्थना गरिरहनुपर्छ—त्यसो गर्दा प्राय फल प्राप्त भई नै हाल्छ। आफ्‍नो क्षमता र परिस्‍थितिअनुसार जति राम्ररी सकिन्छ त्यति नै खोजी गर्, र आफूले सक्‍ने कुरा हासिल गर्न मेहनत गर्। जबसम्म तैँले आफूले सक्‍ने जति गरिरहेको हुन्छस्, तबसम्म तेरो विवेक सफा हुन्छ, र तैँले अझै ठूला उपलब्धिहरू हासिल गर्न सक्‍नेछस्। थप एक सत्यता बुझ्‍नु पनि राम्रो कुरा हो—यसले गर्दा तेरो जीवन अलिक बढी खुसी र आनन्दमय हुनेछ। सङ्क्षेपमा, सत्यता पछ्याउने कार्य खोक्रो कुरा होइन; यसको हरेक चरणको लागि अभ्यासको निश्‍चित मार्ग हुन्छ, र यसको लागि मानिसहरूले केही पीडा भोग्‍नुपर्छ र केही निश्‍चित मूल्य चुकाउनुपर्छ। सत्यता भनेको शैक्षिक अध्ययन, वा सिद्धान्त, वा नारा, वा तर्क होइन; यो खोक्रो हुँदैन। हरेक सत्यता बुझ्‍न र जान्‍नको लागि मानिसहरूले धेरै वर्षसम्‍म यसको अनुभव र अभ्यास गर्नुपर्छ। तर तैँले जस्तोसुकै मूल्य चुकाए पनि वा जस्तोसुकै प्रयास गरे पनि, तेरो शैली, विधि, मार्ग, र दिशा सही छ भने, ढिलोचाँडो तैँले ठूलो इनाम पाउने, सत्यता प्राप्त गर्ने, र परमेश्‍वरलाई चिनेर उहाँमा समर्पित हुने दिन आउने नै छ—अनि त्यो बेला, तँ पूर्ण रूपमा सन्तुष्ट हुनेछस्।

जनवरी ८, २०२२

अर्को: सत्यता पछ्याउनु भनेको के हो (२)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्