सत्य बुझ्नेहरूले मात्र आत्मिक कुराहरू बुझ्छन्
हामी आत्मिक कुराहरू नबुझ्ने मानिसहरूले आफूलाई चिनाउने तरिकाहरूबारे सङ्गति गरेर सुरू गर्नेछौँ। तिनीहरूको के कुरा पृथक् हुन्छ? तिनीहरूले जति नै वर्ष परमेश्वरमा विश्वास गरे पनि, वा तिनीहरूले जसरी सत्यता पछ्याएजस्तो देखिए पनि, तिनीहरूको जीवन कहिल्यै वृद्धि हुँदैन अनि तिनीहरूसँग जीवन प्रवेशका लागि अभ्यासको मार्ग बिलकुलै हुँदैन। आत्मिक कुराहरू नबुझ्ने मानिसहरू आफूले जुनसुकै भ्रष्ट स्वभाव देखाए पनि, आत्मचिन्तन गर्ने र आफूलाई चिन्ने प्रयास गर्दैनन्। वास्तवमा, तिनीहरूलाई भ्रष्ट स्वभाव भनेको के हो भन्ने पनि थाहा हुँदैन। तिनीहरू आफूले प्रकट र प्रदर्शन गर्ने स्वभाव जति नै अहङ्कारी भए पनि, त्यसबारे सचेत हुँदैनन्। तिनीहरूले जति नै झुट बोले वा चालहरू चले पनि, तिनीहरूलाई त्यसको अलिकति पनि बोध हुँदैन। तिनीहरूले जति नै परमेश्वरको विरोध र प्रतिरोध गरे पनि, त्यो गल्ती हो भन्ने जान्दैनन्। तिनीहरू अविश्वासीहरू जस्तै हुन्छन्, मनपरी कार्य गर्छन् र विना हिच्किचाहट दुष्कर्म गर्छन्, आफू सही छु ठान्छन्, अनि कसैबाट पनि आलोचना वा सुझाव स्विकार्दैनन्। तिनीहरू प्राय: प्रवचन सुन्ने र भेलाहरूमा सहभागी हुने भए पनि, तिनीहरूलाई आज्ञापालन के हो, वा विद्रोहीपन र विरोध के हुन् भन्ने थाहा हुँदैन, न त तिनीहरूलाई परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तलाई अस्वीकार गर्नु के हो भन्ने नै थाहा हुन्छ। तिनीहरूलाई मानव अभिप्रायबाट उत्पन्न हुने भलाइबारे, वा सत्यताअनुरूप अभ्यास गर्नु र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुनु के हो भन्ने थाहा हुँदैन। तिनीहरूलाई यी सुक्ष्म भिन्नताहरूबारे केही पनि थाहा हुँदैन। तिनीहरूलाई आफू इमानदार भएको छु कि छैन वा आफ्नो कर्तव्य निर्वाह गर्दा लापरवाह र झाराटरूवा भएको छु कि छैन, वा आफूले के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गरेको छु र आफ्ना अभिप्राय के हुन्, वा आफूले हिँडेको मार्ग सही छ वा छैन भन्ने कुरा थाहा हुँदैन। तिनीहरूलाई आफ्नो अभ्यासको दृष्टिकोण सही छ कि छैन, वा परमेश्वरले कस्तो किसिमका व्यवहारलाई प्रेम वा घृणा गर्नुहुन्छ भन्ने थाहा हुँदैन। तिनीहरूलाई यीमध्ये कुनै पनि कुरा थाहा हुँदैन। आत्मिक बुझाइ फिटिक्कै नभएका मानिसहरूले जीवनका आत्मिक कुराहरूलाई बुझ्न सक्दैनन्। तिनीहरू केवल परमेश्वरका वचनहरू पढ्न र सामान्य आत्मिक जीवन बिताउनमै ठिक्क हुन्छन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा समय खेर फाल्ने वा समस्या सृजना गर्ने गर्दैनन्, न त जानीबुझी बाधा र अवरोधहरू पैदा हुने काम नै गर्छन्। तिनीहरू आफूलाई जे अह्राइन्छ त्यही गर्छन् अनि सरल नियमहरूअनुसार चल्छन्। तर जीवन प्रवेशसँग सम्बन्धित स्थितिहरू, विभिन्न दृष्टिकोण र मनोवृत्तिहरू जस्ता सूक्ष्म कुराको सन्दर्भमा भने तिनीहरू पूर्णत: बेपर्वाह हुन्छन्। जब तँ धारणाहरू हटाउनुसँग सम्बन्धित सत्यता सङ्गति गर्छस्, तिनीहरू आफूमा कुनै धारणा नभएको, आफ्ना सबै धारणा हटिसकेका अनि तैँले सङ्गति गरिरहेको कुराको तिनीहरूसँग कुनै सरोकार नभएको ठान्छन्। तिनीहरू तैँले बताउने धारणाले केलाई जनाउँछ, वा तैँले भभन्ने कुरामा कुन सत्यता वास्तविकता छ भनी जान्दैनन्। तैँले आफूलाई चिन्नेबारे कुरा गर्दा, तिनीहरू यसो भन्छन्, “मानिस विद्रोही र अहङ्कारी हुन्छ, होइन र? ल, यदि ऊ विद्रोही मात्र नहुने हो भने, त्यो काफी हुने थिएन र? उसलाई केही समस्या आइपर्दा, यदि उसले देखावटी नगर्ने, अलिक बढी विनम्र हुने र आडम्बरपूर्ण नहुने भएको भए—के त्यो काफी हुने थिएन र?” तैँले आज्ञापालनबारे कुरा गर्दा तिनीहरू यसो भन्छन्, “आज्ञापालनको के महत्त्व छ र? बस् दुष्कर्म नगर्। त्यसो गर्न कति नै गाह्रो छ र?” तैँले देहलाई त्याग्ने, शरीरलाई ताडना दिने, भ्रष्टता हटाउने, अनि सत्यता अभ्यास गर्नेबारे कुरा गर्दा तिनीहरू यसो भन्छन्, “देहलाई त्याग्नु वा सत्यता अभ्यास गर्नु आवश्यक छैन; म केवल असल व्यक्ति बन्नेछु।” तिनीहरूको सोचाइ यतिको सतही हुन्छ। के यस्तो व्यक्तिले अन्तत: सत्यता प्राप्त गर्न सक्छ त? (सक्दैन।) तिनीहरूमा सत्यताप्रति कस्तो मनोवृत्ति हुन्छ? (तिनीहरू परमेश्वरका वचनहरूलाई सत्यता मान्दैनन्, त्यसैले उहाँका वचनहरूले खुलासा गर्ने भ्रष्ट स्वभाव आफूमा छैन भन्ने सोच्दै ती वचनहरूलाई स्विकार्दैनन्।) ठिक हो, तिनीहरू यसो सोच्छन्, “परमेश्वरले खुलासा गर्ने मानिसको भ्रष्ट स्वभाव ममा चाहिँ खासै छैन, अनि ममा कुनै भ्रष्ट स्वभाव भएको भए भने पनि त्यो निकै गौण हुन्थ्यो, केवल केही क्षणिक सोचहरू मात्र, त्यो कुनै ठूलो कुरा हुने थिएन। के यो आज्ञाकारी बन्नका लागि एउटा मापदण्ड मात्र होइन र? म तपाईँले जेसुकै भने पनि सुन्नेछु, जेसुकै अह्राए पनि गर्नेछु। के यो आज्ञापालन होइन र?” के यति सरल हुन्छ त? केही मानिस कति सोझा हुन्छन् भने, कोही नकारात्मक भइरहेको देख्दा, तिनीहरू यसो भन्छन्, “परमेश्वरलाई प्रेम गरे पुगिहाल्छ नि, किन रोइरहन्छस्, किन नकारात्मक भइरहेको छस्?” यी मानिसहरू आत्मिक कुराहरू बुझ्दैनन्। आत्मिक कुराहरूको बुझाइ नहुनु भनेको के हो? यसको अर्थ, परमेश्वरले जेसुकै भने पनि वा जुनसुकै सत्यता बताए पनि, तिनीहरू ती कुरालाई सिद्धान्तका रूपमा मात्र हेर्छन्। तिनीहरू न त ती कुराहरूको सार, न त यी सत्यताहरूबारे परमेश्वरको सङ्गतिले कुन समस्या समाधान गर्नुपर्ने हो भन्ने नै बुझ्छन्। तिनीहरू यी सत्यताहरू कसरी मानिसको जीवन प्रवेश र तिनीहरू हिँडिरहेका मार्गसँग, वा मानिसले खुलासा गर्ने भ्रष्ट स्वभावसँग, वा मानिसले मानव स्वरूपअनुसार जिउने कुरा र तिनीहरूको मुक्ति प्राप्तिसँग सम्बन्धित हुन्छन् भन्ने बुझ्दैनन्। तिनीहरू यीमध्ये कुनै पनि कुरा बुझ्दैनन्। तिनीहरू स्पष्ट हुँदैनन्, र परमेश्वरका यी वचन र यी सत्यताहरू मानिसको भ्रष्टताको प्रकटीकरण र अभिव्यक्तिसँग अनि तिनीहरूको अभ्यास र प्रवेशसँग कसरी सम्बन्धित हुन्छन् भन्ने बुझ्दैनन्। तिनीहरू “आज्ञापालन, भक्ति” अनि “लापरवाह वा झाराटरूवा नहुनू, अनि बाधा र अवरोध खडा नगर्नू” भनेको मात्र सुन्छन्। अन्त्यमा, तिनीहरू सबथोकलाई एकै वाक्यमा यसरी समेट्छन्: “मलाई अरू केही याद छैन, तर परमेश्वरले जेसुकै माग गरे पनि मैले गर्नुपर्छ भन्ने थाहा छ। म सेवा प्रदान गर्न पनि इच्छुक छु। अरू के नै भन्न बाँकी छ र?” सेवा गर्नुबाहेक, तिनीहरूलाई महत्त्वाकाङ्क्षा, चाहना, प्राथमिकता, धारणा, कल्पनाका साथै मानिसका गलत विचार अनि संसारसँग व्यवहार गर्ने शैतानको दर्शनजस्ता हटाइनुपर्ने धेरै भ्रष्ट कुराहरू मानिसमा हुन्छन् भन्ने थाहै हुँदैन। परमेश्वरका वचनहरूले यी सबै कुराहरू हटाएर तिनलाई सत्यताले प्रतिस्थापन गर्ने माग गर्छन्। उहाँले यी सत्यता जारी गर्नुको उद्देश्य भनेको तँलाई सत्यता बुझाउनु अनि तेरो हृदयमा सत्यतालाई स्विकार्न, त्यसपछि ती सत्यतालाई वास्तविक जीवनमा तेरा समस्या र कठिनाइहरू समाधान गर्न यसरी प्रयोग गर्न लगाउनु हो कि, तैँले यी सत्यताहरूलाई आफ्नो वास्तविकता बनाउँछस्, अनि ती तँमा जिउँछन् र प्रकटहुन्छन्। त्यसउप्रान्त, तैँले अहङ्कार, महत्त्वाकाङ्क्षा, चाहना, धारणा, कल्पना, सिकाइ, दर्शन वा त्यस्ता अन्य भ्रष्ट कुराहरू नभई सत्यताको वास्तविकता प्रकट गर्नेछस्। आत्मिक बुझाइ नै नभएका मानिसहरूले यो बुझ्दैनन्। वर्षौँ प्रवचनहरू सुनेर तिनीहरू यसो सोच्छन्, “हरेक प्रवचन किन लगभग उस्तै हुन्छन्? आफूलाई चिन्नेबारे वर्षौँ प्रवचन दिनु—के यो आफ्नो मुख्य कमजोरी र भ्रष्टता चिन्नुको कुरा मात्र होइन र?” अरूले आजका प्रवचनहरू पहिलेभन्दा गहन र बढी विस्तृत छन् भनेर भन्छन्, तर आत्मिक बुझाइ नभएकाहरूले यो याद नै गर्दैनन्। यो त्यस्तो व्यक्तिको सङ्केत हो। केही मानिसहरू उच्च क्षमताका नै हुन्छन्, तर तिनीहरू सत्यता पछ्याउँदैनन्, त्यसैले तिनीहरूले कहिल्यै आत्मिक बुझाइ हासिल गर्नेछैनन्। अरू मानिसहरूमा सत्यता बुझ्ने क्षमता नैएकदम कम हुन्छ, त्यसैले तिनीहरूले हरेक सत्यताको विवरण जति धेरै सुन्छन्, त्यति नै अलमलमा पर्छन्, र कहिल्यै अभ्यासको उचित मार्ग पाउँदैनन्। यस्ता कम क्षमता भएका मानिसले जति धेरै वर्ष आस्था कायम राखे पनि, तिनीहरू नियम पालन गर्न वा अलिकति मिहिनेत गर्न मात्र सक्छन्, अनि तीमध्ये अलिकति विवेक र समझ भएकाहरूले कर्तव्य निर्वाह गर्दा तिनीहरूमा केही भक्ति हुन सक्छ। तिनीहरू लापरवाह वा झाराटरूवा हुनबाट जोगिन्छन्, सुस्पष्ट पाप गर्नेछैनन् भन्ने निश्चित गर्छन्, अनि केही असल कार्य पनि तयार गर्छन्। केही कुराहरूमा, तिनीहरू सरल खालको समर्पण गर्न सक्छन्, आफूलाई अह्राइएको कार्य गर्न र नअह्राइएको कार्यलाई त्याग्न, सानातिना अनुशासन स्विकार्न, अनि कम्तीमा पनि, आफ्नो विवेकको मापदण्डअनुसार कार्य गर्न सक्छन्। तिनीहरू परमेश्वरलाई सिधै चिढ्याउँदैनन् अनि स्पष्ट रूपमा परमेश्वरको प्रतिरोध हुने कार्य गर्दैनन्, तर तिनीहरूले गहिरो आज्ञापालन प्राप्त गर्न भने सक्दैनन्। तिनीहरू अय्यूबको परीक्षा र गवाहीजस्ता कुराहरूका लागि त झनै तयार हुँदैनन्। तिनीहरूले अय्यूबका वचन र गवाहीहरू बुझ्दैनन्। तिनीहरू “परमेश्वरले दिनुभयो, अनि परमेश्वरले नै लानुभएको छ”, भन्ने वचनहरूको खास अर्थ के हो भन्ने जान्दैनन्, अनि अय्यूबलाई भएको घटना परमेश्वरले उसलाई अभावमा पार्नुको नतिजा हो भनी देख्न त बिल्कुलै सक्दैनन्। यदि तिनीहरूले यस्तो परीक्षा सामना गर्नुपऱ्यो भने, तिनीहरू पक्कै पनि परमेश्वरसँग बाझ्नेछन् र धेरै गुनासो गर्नेछन्, किनकि यी मानिसले सत्यता फिटिक्कै बुझ्दैनन्। साँच्चै सत्यता बुझ्ने व्यक्तिले परमेश्वरले खुलासा गर्ने मानिसको भ्रष्ट स्थिति स्पष्ट देख्न सक्छ। उसले परमेश्वरले के गर्नुभएको छ भन्ने धेरथोर स्पष्ट रूपमै देख्न, र आफूले जुनसुकै समस्या सामना गर्दा पनि त्यसलाई सही तरिकाले बुझ्न सक्छ, अनि आफूले नबुझेको कुराबारे जथाभावी बोल्ने, त्यसलाई निर्धारण वा परिभाषित गर्ने गर्दैनन्। साँच्चै सत्यता बुझ्ने व्यक्तिले सत्यता र झुटबीचको भिन्नता, अनि कुनै व्यक्तिको स्थिति सामान्य छ कि छैन भन्ने खुट्टयाउन सक्छ। त्यसपछि, उसले वास्तविकतामा अनि वास्तविक जीवनका सन्दर्भमा हुने आफ्नै भ्रष्टताको प्रकटीकरणलाई बुझ्न, अनि आफ्नो भ्रष्ट स्वभाव हटाउन सत्यता स्विकार्न सक्छ। उसले परमेश्वरले तयार गर्नुभएको वातावरणमा उहाँको अभिप्राय बुझ्न, अनि परमेश्वरका वचनअनुरूप वास्तविक समस्याहरू समाधान गर्न सत्यता लागु गर्न सक्छ। आत्मिक कुराहरू बुझ्ने व्यक्तिले हासिल गर्न सक्ने भनेको यही हो।
व्यक्तिको जीवन प्रवेशको हद केसँग सम्बन्धित हुन्छ? यो व्यक्तिले कुन हदसम्म सत्यता बुझ्छ भन्ने कुरासँग सम्बन्धित हुन्छ। व्यक्तिले सत्यता बुझ्ने हदले केलाई इङ्गित गर्छ? सत्यता बुझ्नु भनेको के हो? यो भनेको परमेश्वरका वचनहरू वास्तविकताको कुन पक्षसँग सम्बन्धित छन्, तिनले मानिसमा भएका कुन समस्याहरू समाधान गर्ने लक्ष्य राख्छन्, तिनले मानिसको भ्रष्ट स्वभावको कुन पक्षलाई सम्बोधन गर्छन्, सत्यताको यो पक्षका सिद्धान्तहरू के हुन्, यो र अरू सत्यताबीचको सम्बन्ध के हो, अनि सत्यताको यो पक्षका लागि परमेश्वरका मापदण्ड के हुन् भनी जान्नु हो। यो सब बुझ्नु भनेको सत्यता बुझ्नु हो। उदाहरणका लागि, आज्ञापालनको सत्यता बुझ्न, पहिले तैँले आज्ञापालन भनेको के हो, कसरी साँच्चै आज्ञाकारी हुने, अनि परमेश्वरले मानिसबाट कुन स्तरको आज्ञापालन माग गर्नुहुन्छ भन्ने बुझ्नुपर्छ। आज्ञापालनको वास्तविकता, त्यसको सत्यता यही नै हो। यो आज्ञापालनको अवधारणा, परिभाषा, अनि सिद्धान्त बुझ्नु मात्र नभई, आज्ञाकारीताको अभ्यासका सिद्धान्तहरू बुझ्नु; यी सिद्धान्तहरू कसरी लागु गर्ने भनी जान्नु; तिनलाई लागु गर्दा कुनचाहिँ सत्यता सिद्धान्तअनुरूप हुन्छन् र कुनले तिनको उल्लङ्घन गर्छन् भन्ने जान्नु; अनि सही अभ्यास र कार्य गर्ने गलत तरिकाहरूबीच भिन्नता खुट्ट्याउन सक्नुसँग पनि सम्बन्धित छ। तैँले साँच्चै सत्यता बुझ्छस् भनेर पुष्टि गर्न सक्ने यही हो। यदि तैँले सत्यताको यो पक्षलाई आफूमा लागु गर्न सकिस् भने, तैँले यी सत्यताहरू जिउन र पूरा गर्न सक्नेछस्, अनि त्यसपछि तैँले अरूलाई यी सत्यताहरूद्वारा मापन गर्न सक्नेछस्; यदि तैँले यी नतिजाहरू हासिल गरिस् भने, तैँले सत्यताको यो पक्षभित्र प्रवेश गर्ने वास्तविकता पाएको हुनेछस्, अनि तँ आत्मिक कुराहरू बुझ्ने व्यक्ति बन्नेछस्। मानिसले आत्मिक कुराहरू बुझ्छ वा बुझ्दैन भन्ने कुरा उसले कति चाँडो सत्यता बुझ्छ भन्ने कुराले होइन, बरू उसले परमेश्वरका वचनहरू बुझ्छ कि बुझ्दैन भन्ने कुराले निर्धारण गर्छ। यदि तँलाई परमेश्वरका वचनहरू सुन्नेबित्तिकै बुझेजस्तो लाग्छ, तर कुनै समस्या सामना गर्दा तिनलाई बुझ्दैनस् भने, तैँले आत्मिक कुराहरू बुझेको छैनस्। तर, यदि तँलाई त्यतिबेला ती वचनहरू पूरै नभए पनि बुझेको जस्तो लाग्छ, अनि त्यसपछि, अनुभव गरेको केही समयपछि, तैँले समस्या सामना गर्दा त्यसलाई छर्लङ्गै देख्न सकिस् अनि सत्यताको यो पक्षलाई बुझ्न सकिस् भने, तँमा आत्मिक कुराहरूको बुझाइ हुन्छ। यो बुझाइ कसैले शाब्दिक अर्थ वा धर्मसिद्धान्तअनुसार कति बुझेको छ भन्ने कुरासँग सम्बन्धित हुँदैन—यो उसको क्षमता, पछ्याइ अनि उसले लिने मार्गसँग चाहिँ सम्बन्धित हुन्छ। एक ख्रीष्टविरोधीमा पनि अलिकति बुद्धि र प्रतिभा भएजस्तो देखिन सक्ला, अनि उसले राम्ररी बोल्न सक्ला, तर उसलाई जीवनका आत्मिक कुराहरूबारे केही थाहा हुँदैन। उसले सुनिसक्नेबित्तिकै प्रवचनकै केही मूल वचनहरूको नक्कल गर्न र मुख्य बुँदाहरू बुझ्न सक्छ, अनि अरू मानिसलाई उसले बुझेजस्तो लाग्न सक्छ। तर, उसले भन्ने कुरा उसले सामना गर्ने परिस्थितिहरूसँग मेल खाँदैन, उसले तिनलाई जोड्न वा आफूले बोल्ने कुरालाई लागु गर्न सक्दैन। वास्तवमा, उसले सङ्गति गर्ने वचनहरू सुन्दा, उसले सत्यताको सान्दर्भिक पक्ष बुझ्छ अनि सिद्धान्तहरू बुझ्न सक्छ, त्यसैले उसले कुराहरूको निराकरण गर्न जान्नुपर्ने हो जस्तो देखिन्छ। तर, कुनै समस्याको सामना गर्दा, उसले सत्यता अभ्यास गर्दैन, बरू अर्को सैद्धान्तिक भनाइ दोहोऱ्याउँछ। यो परस्परविरोधी कुरा हो, र यसले उसले सत्यता बुझ्दैन, अनि उसले प्रचार गर्ने कुराहरू सब धर्मसिद्धान्त र मत मात्र हुन् भनेर पुष्टि गर्छ। तैँले ऊ धर्मसिद्धान्तबारे निकै स्पष्ट भएझैँ गरी प्रचार गरिरहेको सुन्छस्, तर वास्तवमा उसले आत्मिक कुराहरू बुझेकै हुँदैन। उसले सत्यता बुझेको वा त्यसलाई पछ्याएको हुँदैन। उदाहरणका लागि, जब ऊ कठिन अवस्थामा हुन्छ अनि नकारात्मक बन्छ, तब तैँले ऊससँग सत्यताको सङ्गति गर्दा, ऊ यसो भन्छ, “मसँग सङ्गति नगर्। मलाई सबथोक थाहा छ।” वास्तवमा, उसलाई थाहा हुँदैन। यदि उसलाई साँच्चै थाहा भएको भए, ऊ त्यति नकारात्मक र असमझदार हुने थिएन। जब तैँले उसले आफ्नो असमझदार अनि झुटो तर्क प्रचार गरिरहेको सुन्छस्, तब तैँले उसलाई सत्यताबारे केही थाहा छैन अनि उसले आत्मिक कुराहरू बुझ्दैन भन्ने थाहा पाउँछस्। जब आफ्ना धारणाहरूसँग नमिल्ने केही कुरासँग उसको सामना हुन्छ, ऊ परमेश्वरविरुद्ध गुनासो गर्छ, उहाँलाई गलत बुझ्छ, अनि आफ्ना धारणाहरू समेत फैलाउँछ। उसले प्रचार गर्ने र फैलाउने कुरा सुनेर, अनि उसको हृदयमा के छ भनी हेरेर, उसले सत्यता कत्ति पनि बुझ्दैन भन्ने तैँले थाहा पाउँछस्। अहिले, मानिसहरूले आत्मिक कुराहरू बुझ्छन् कि बुझ्दैनन् भनी खुट्ट्याएर, धेरैजसो मानिसले सत्यता बुझ्दैनन् भन्ने खुलासा भएको छ। तिनीहरू प्राय: निकै राम्रोसँग वचन र धर्मसिद्धान्तहरू प्रचार गर्न सक्छन्। विशेषगरी, परमेश्वरमा धेरै वर्ष विश्वास गरेका अनि वचन र धर्मसिद्धान्तहरू प्रचार गर्न रुचाउने मानिसहरू आफूसँग बढी पूँजी भएको महसुस गर्छन्। तर, तिनीहरूले आत्मिक कुराहरू कत्ति पनि बुझ्दैनन् अनि तिनीहरू काम नलाग्ने मान्छे मात्र हुन् भनेर खुलासा भएको छ। तिनीहरू परमेश्वरको घरका लागि अलिकति पनि काम लाग्दैन्। यस्तो खालको व्यक्तिले कसरी मुक्ति पाउन सक्छ र?
आत्मिक बुझाइ नहुनु भनेको ठ्याक्कै के हो त? छोटकरीमा भन्दा, यो भनेको जीवनका आत्मिक कुराहरू, आत्मिक क्षेत्रका कुराहरू बुझ्न नसक्नु हो, तसर्थ स्वत: सत्यता बुझ्न नसक्नु हो। यदि तैँले आत्मिक बुझाइ नभएका मानिसहरूले बोलेको र आफ्नो विचार व्यक्त गरेको नियालिस् भने, तिनीहरूले सत्यता बुझ्दैनन् भन्ने पत्ता लगाउनेछस्। केही मानिसहरू राम्रोसँग बोल्न सक्छन् अनि तिनीहरू परमेश्वरमा ठूलो जोश र आस्थाका साथ विश्वास गर्छन् जस्तो देखिन्छ, तर तिनीहरूमा किन आत्मिक बुझाइ हुँदैन त? तैँले उनीहरूलेआफ्नो कर्तव्य सधैँ नै निकै ऊर्जाका साथ गरिरहेको देख्न सक्छस्। तिनीहरू सधैँ उत्सुक, र विरलै नकारात्मक हुन्छन्, अनि तिनीहरू कठिनाइ भोग्न र मूल्य चुकाउन पनि सक्छन्। तर, तिनीहरू सत्यता बुझ्दैनन् अनि कार्यहरू गर्दा तिनीहरूमा कुनै सिद्धान्त हुँदैन। यी आत्मिक कुराहरू नबुझ्ने मानिसहरू हुन्। आत्मिक कुराहरू बुझ्ने मानिसहरूले सिद्धान्तहरूअनुसार कार्य गर्छन्। चाहे तिनीहरूको आफ्नो विवेकका आधारमा होस् या तिनीहरूले बुझेको सत्यताका आधारमा, तिनीहरूले कुनै समस्या सामना गर्दा त्यसलाई सिद्धान्तहरूअनुसार कसरी व्यवस्थापन गर्ने भन्ने जान्दछन्। तिनीहरू अन्धाधुन्ध कार्य गर्ने वा नियम पालन गर्ने गर्दैनन्। आत्मिक कुराहरू बुझ्ने मानिसहरूको सुस्पष्ट विशेषता यिनै हुन्। तर, आत्मिक बुझाइ नभएका मानिसहरूले गर्ने कार्यहरूमा सत्यता सिद्धान्त हुँदैन। तिनीहरू प्राय: अन्धाधुन्ध नियम लागु मात्र गर्छन्। कहिलेकाहीँ तिनीहरू आफ्नो अनुभवको सहारा लिन्छन्, कहिलेकाहीँ आफ्नो प्रतिभाको, अनि तिनीहरूमध्ये कोहीले चाहिँ आफ्नो विवेक, उत्साह वा प्राकृतिक सदाचारिताको सहारा लिन्छन्। कुनै व्यक्तिमा जुन विषयबारे आत्मिक बुझाइ हुन्छ, ऊ त्यसबारे नै चतुर र बुद्धिमान हुन्छ। ऊ सत्यता खोज्न जान्दछ, अनि उसलाई कसले सिद्धान्तअनुरूप बोल्छ भन्ने थाहा हुन्छ। आत्मिक कुराहरू सबैभन्दा बढी बुझ्ने व्यक्ति यस्तै हुन्छ। यदि उसले सत्यताबारे बुझेपछि त्यसलाई अभ्यास गर्न सक्यो भने, उसले परमेश्वरबाट मुक्ति पाउने आशा हुन्छ। वर्षौँ परमेश्वरमा विश्वास गरेका केही मानिसले अझै पनि सेवा गरिरहेका छन् भनी किन भनिन्छ? किनकि तिनीहरू सत्यता बुझ्दैनन्। सत्यता नबुझ्नुको दुईवटा मुख्य कारण छन्। पहिलो त, मानिसहरूमा आत्मिक कुराहरूको बुझाइ हुँदैन, जसकारण तिनीहरूले सत्यता बुझ्न असम्भव हुन्छ। दोश्रो, तिनीहरू सत्यतादेखि आजित हुन्छन् अनि सत्यतालाई प्रेम गर्दैनन्, त्यसैले सत्यता बुझ्न सक्दैनन्। धेरै मानिसलेउत्साह, सद्भाव वा अनुभवका कारण परमेश्वरमा विश्वास र कार्य गर्छन्। तिनीहरू यी कुरालाई सत्यता मान्दै पक्रेर राख्छन्, धेरै असल कार्य गर्छन्, अनि आफ्नो जीवनभर यही गरिरहन सक्छन्। तर के तिनीहरूले यसरी कार्य गरेर सत्यता बुझ्न सक्छन् त? बिल्कुलै सक्दैनन्। तिनीहरूले आजीवन असल कार्यहरू गरे भने पनि सत्यता बुझ्न सक्नेछैनन्। त्यसोभए, सत्यता नबुझ्ने तर धेरै असल कार्यहरू गर्न सक्ने व्यक्ति पक्कै पनि असल व्यक्ति हो, होइन र? यो निश्चित हुँदैन, किनकि सत्यता नबुझ्नुको सबैभन्दा सुस्पष्ट परिणाम मानिसहरूले दुष्कर्म र परमेश्वरको प्रतिरोध गर्न सक्नु, अनि तिनीहरूले शैतान र दुष्टात्माहरूलाई पछ्याउँदै परमेश्वरको आलोचना र निन्दा गर्नका साथै उहाँको कामको प्रतिरोध गर्न सक्नु हो। सत्यता नबुझ्ने मानिसहरू शैतानद्वारा सजिलै झुक्क्याइने र प्रयोग गरिने भएकाले यो हुन्छ। सत्यता नबुझ्ने मानिसले धेरै असल कार्यहरू गरिरहँदा उसले दुष्कर्म र परमेश्वरलाई प्रतिरोध गर्न पनि सक्छ। तसर्थ, आफ्नो जीवनभर असल कार्यहरू गर्दैमा तँ साँच्चै असल व्यक्ति होस्स् वा तैँले सत्यता अभ्यास गरिरहेको छस् भन्ने हुँदैन। तैँले ती असल कार्यहरूको प्रकृतिलाई हेर्नुपर्छ अनि ती सत्यताअनुरूप छन् कि छैनन् अनि सत्यता वास्तविकतासँग सम्बन्धित छन् कि छैनन् भन्ने निर्धारण गर्नुपर्छ। यदि तैँले यी मूलभूत समस्याहरूलाई स्पष्ट रूप देख्न सक्दैनस्, अनि तँ अझै पनि उत्साह, सद्भाव अनि अनुभवका आधारमा कार्यहरू गरिरहेको छस् भने, के यो परमेश्वरको मार्गमा हिँड्नु हो त? बिल्कुलै होइन, यो त कार्य गर्ने मानकका रूपमा आफ्नो विवेकका साथै आफ्नो असल अभिप्रायमाथि पूर्ण रूपमा भर पर्नु हो। यो भनेको आफ्नै धारणा र कल्पनाहरूअनुसार कार्यहरू गर्नु हो। यस्ता मानिसहरूमा आत्मिक बुझाइ हुँदैन। तिनीहरू सत्यता बुझ्ने मानिस होइनन्। यी समस्याहरू स्पष्ट रूपमा देख्न नसक्ने मानिसहरू आत्मिक कुराहरू नबुझ्ने मानिस पनि हुन्।
वरपर हेर, के तिमीहरू मण्डलीमा आत्मिक बुझाइ भएका अनि सत्यता बुझ्न सक्ने मानिसहरू धेरै छन् वा छैनन् भन्न सक्छौ? (म सोच्ने गर्थेँ, आत्मिक बुझाइ नभएका मानिसहरूको बुझाइ निरर्थक हुन्छ, तिनीहरू भावशून्य र मन्द-बुद्धिका हुन्छन्, जबकि आफ्नो कर्तव्य पारा गर्ने धेरैजसो मानिसमा आत्मिक बुझाइ हुन्छ। अहिले, मैले परमेश्वरको सङ्गति सुनेपछि, सत्यता बुझ्न सक्नेहरूमा मात्र साँच्चै आत्मिक बुझाइ हुन्छ भन्ने थाहा पाएँ। तिनीहरू कम संख्यामा हुन्छन्, जबकि अधिकांश मानिसमा आत्मिक बुझाइ हुँदैन।) हाल, आत्मिक बुझाइ हुने र सत्यता बुझ्ने मानिसहरू कम संख्यामा हुन्छन्, अनि अधिकांश मानिसमा आत्मिक बुझाइ हुँदैन वा तिनीहरू सत्यता बुझ्दैनन्। उदाहरणका लागि, मानिसहरूले समर्पणको सत्यता कसरी बुझ्नु र जान्नुपर्छ? धेरैजसो मानिस समर्पण भनेको अह्राइएको कुरा गर्नु अनि समस्या आइपर्दा प्रतिरोध वा विद्रोह नगर्नु हो भन्ने ठान्छन्। तिनीहरूका लागि, यो समर्पण हो। मानिसहरू किन परमेश्वर मानिसलाई उहाँप्रति समर्पित हुन लगाउनुहुन्छ, समर्पणको अर्थ के हो, समर्पणको सिद्धान्त के हो, मानिसले कसरी समर्पण गर्नुपर्छ अनि समर्पण गर्दा मानिसमा भएका कुन भ्रष्टताहरू हटाउनुपर्छ भनेर केही पनि बुझ्दैनन्; तिनीहरू नियमहरू मात्र पालन गर्छन्। तिनीहरू यस्तो सोच्छन्, “समर्पण भनेको खाना पकाउन अह्राइँदा, भुइँ नबढार्, अनि यदि तँलाई भुइँ बढार्न अह्राइयो भने सिसा सफा नगर्। तँलाई जे गर् भनिएको छने, बस त्यही गर्। त्यति सरल छ। आफ्नो हृदयको कुरालाई चासो नदे, किनकि परमेश्वर यी कुराहरू हेर्नुहुन्न।” वास्तवमा, परमेश्वर मानिसहरूलाई तिनीहरू उहाँप्रति समर्पित भएकै बेला आफ्नो विद्रोहीपन र भ्रष्टता हटाउन लगाउनुहुन्छ ताकि तिनीहरूले साँचो समर्पण गर्न सकून्। समर्पणको सत्यता यही हो। अन्तत: मानिसहरूले कति बुझ्छन् र जान्दछन्? तिनीहरू परमेश्वरले गर्न अह्राउने सबथोक आफूले गर्नुपर्ने कुरा हुन् भन्ने बुझ्छन्। यसमा परमेश्वरको इच्छा हुन्छ, अनि मानिसहरू विनासर्त उहाँमा समर्पित हुनुपर्छ। यदि कुनै व्यक्तिले यति बुझ्न सक्छ भने, समर्पणको सत्यता बुझ्न अनि परमेश्वरप्रति समर्पित हुन र उहाँलाई सन्तुष्ट पार्न सक्छ। तर, धेरैजसो मानिसलाई परमेश्वरप्रति समर्पित हुनु भनेको के हो भनेर थाहा छैन; तिनीहरू कसरी नियम पालन गर्ने भनेर मात्र जान्दछन्। परिणामस्वरूप, तिनीहरू परमेश्वरप्रति समर्पित हुन सक्दैनन्, किनकि तिनीहरू परमेश्वरका अभिप्राय वा समर्पणको सत्यता बुझ्दैनन्। यिनीहरू आत्मिक बुझाइ नभएका मानिस हुन्। आत्मिक बुझाइ नभएका मानिसहरू समर्पणको सत्यता बुझ्न सक्दैनन्, त्यसैले तिनीहरूलाई त्यो अभ्यास गर्न गाह्रो हुन्छ। तिनीहरू अभ्यासका मार्ग वा सिद्धान्तहरू भेट्टाउन सक्दैनन्। आत्मिक बुझाइ नभएका मानिसहरूले आत्मिक अन्तर्दृष्टि पाएका हुँदैनन्। तिनीहरूलाई सत्यतामा जसरी सङ्गति गरे पनि, तिनीहरू त्यो बुझ्दैनन्। तिनीहरूलाई समर्पणको सत्यता अभ्यास गर्नु भनेको जीवन प्रवेशको प्रक्रिया हो भन्ने थाहा हुँदैन। जीवन प्रवेश भनेको त्यो हो जब कुनै व्यक्तिले सत्यता स्विकार्ने र अभ्यास गर्ने क्रममा आफूले प्रकट गर्ने अभिप्राय, धारणा, रुचि र छनौटहरूलाई चिरफार गर्छ र चिन्छ, ताकि उसले आफ्नो विद्रोही स्थिति बुझ्न, आफू परमेश्वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गरिरहेको व्यक्ति हो, अनि आफू उहाँसँग बिलकुलै मिल्न सक्दैन भनेर बुझ्न सकेस्। जब मानिसहरूले यो बुझेका हुन्छन्, तब तिनीहरूलाई सत्यता अभ्यास गर्न सजिलो हुन्छ। यो त समर्पणको सत्यता अभ्यासको प्रारम्भ मात्र हो। तैँले सुरुमा आफ्नो भ्रष्ट स्वभावबारे मनन गर्ने र बुझ्नेदेखि लिएर आफ्नो विद्रोहीपन, परमेश्वरप्रति आफ्नो अत्यधिक चाहना, आफ्नो रुचि, विचार, र महत्त्वाकाङ्क्षा हटाउनेसम्मका प्रक्रियामा बारम्बार आफ्नो भ्रष्ट स्वभाव फेला पार्नेछस्, आफू परमेश्वरसँग नमिल्ने क्षेत्रहरू चिन्नेछस् अनि आफ्नो प्रकृति सार बुझ्नेछस्। तैँले के पनि थाहा पाउनेछस् भने मानिसहरू परमेश्वरप्रति समर्पित हुन सजिलो छैन, परमेश्वरप्रति समर्पित हुने धर्मसिद्धान्त बुझ्न अनि आफू परमेश्वरप्रति समर्पित छु भन्न सजिलो होला, तर त्यो गर्नचाहिँ त्यति सजिलो हुँदैन। अनि परमेश्वरले समर्पण माग गर्नुको उद्देश्य के हो त? के यो केवल मानिसको खुलासा गर्नलाई हो? परमेश्वरले समर्पण माग गर्नुमा के सत्यता छ त? मानिसहरू परमेश्वरमा समर्पित हुने प्रक्रिया उहाँले मानिसलाई शुद्ध पार्ने प्रक्रिया हो। त्यसको अर्थ, परमेश्वर समर्पणको सत्यता मानिसहरूलाई शुद्ध पार्न र नियन्त्रण गर्न अनि तिनीहरूलाई उहाँसामु ल्याउन र आफूलाई चिन्न, आफ्नो विद्रोहीपन, आफ्नो भ्रष्ट स्वभाव, अनि परमेश्वरको प्रतिरोध गर्ने आफ्नो प्रकृति बुझ्न लगाउनका लागि प्रयोग गर्नुहुन्छ। आफ्नो सार बुझ्नु भनेको यही हो। अन्त्यमा कस्तो नतिजा हासिल हुन्छ त? मानिसहरू आफ्नो भ्रष्टताको गहिराइको कुरूपता बुझ्न, आफू साँच्चै के हो भनी जान्न, आफूले के गर्नुपर्छ र सृजित प्राणीको रूपमा कहाँ खडा हुनुपर्छ भनी थाहा पाउन सक्छन्, अनि तिनीहरूमा परमेश्वरप्रति साँचो समर्पण हुन्छ, र तिनीहरूले अनुचित मागहरू गर्न छोड्छन्। हासिल गर्न खोजिएको नतिजा यही हो। सत्यता वास्तविकतामा प्रवेश गर्नु भनेको यही हो। के यी नै आफूलाई चिन्नुको वृत्तान्त होइनन् त? के यी नै परमेश्वरप्रति समर्पित हुनुमा समावेश विस्तृत कुरा होइनन् र? के मानिसहरू समर्पणको सत्यताबारे सुन्दा यी वृत्तान्तबारे सोच्छन्? अहँ, तिनीहरू सोच्नै सक्दैनन्। के तिनीहरूले यी वृत्तान्त पूर्णत: बुझेनन् भने परमेश्वरप्रति साँचो समर्पण गर्न सक्छन्? यदि मानिसहरू परमेश्वरप्रति समर्पित हुन सक्दैनन् भने, के तिनीहरू सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्? यो असम्भव छ। आफूबारे यी वृत्तान्त जान्नु अति नै महत्त्वपूर्ण छ; यो मुक्ति हासिल गर्ने सबैभन्दा आधारभूत पाठ हो। तैँले आफू अन्तिमसम्म समर्पित हुँदा, परमेश्वरले भन्ने कुरालाई अनुसन्धान गर्दैनस्, तँमा आफ्नो व्यक्तिगत विचारहरू हुँदैनन्, र तँ “मलाई लाग्छ,” “म सोच्छु,” “मेरो यो वा त्यो गर्ने योजना छ,” वा “मैले यो वा त्यो गर्नुपर्छ” भन्दैनस्। तँमा “म” बाट सुरु हुने यी विचार, चाहना र महत्त्वाकाङ्क्षा हुँदैन। तैँले परमेश्वर जे भन्नुहुन्छ त्यो हुबहु स्विकार्न अनि उहाँका वचनअनुरूप अभ्यास गर्न सक्छस्। परमेश्वरको आदेश पालन गर्नु अनि उहाँको मार्ग पछ्याउनु भनेको यही हो। यसरी, परमेश्ववरले तँलाई शुद्ध पार्ने प्रक्रियाको अन्त्य भएको छ। तेरो भ्रष्टता शुद्ध पारिएको छ, अनि तेरो सृजित प्राणीको साँचो पहिचान पुन:स्थापित भएको छ। आफ्नो स्थान भेट्टाउनु अनि त्यसमा दृढ हुनु भनेको यही हो। तँलाई बाधा पुऱ्याउने “म” बाट सुरु हुने यी विचार, निर्णय, चाहनाहरू नहुँदा, तँलाई समर्पण गर्न सजिलो हुन्छ। कतिपय मानिस भन्छन्, “परमेश्वर सधैँ समर्पणको माग गरिरहनुहुन्छ, तर त्यसको अर्थ नै छैन! के म आफ्ना लागि चाहिँ उभिन पर्दैन? के मेरो गुनासो तर्कशील र समझदार छैन?” के यो समर्पण हो? के यस्तो व्यक्तिले समर्पणको सत्यता बुझ्छ त? उसले समर्पणको सत्यता बुझ्दैन, त्यसको अर्थ, आफ्नो दायित्व र जिम्मेवारी के हुन् भनी बुझ्दैन, न त आफ्नो कर्तव्य वा आफू कहाँ उभिनुपर्छ भनेर नै बुझ्छ। कहिलेकाहीँ मानिसको खुलासा गर्ने परमेश्वरका वचनहरू निकै कठोर हुन्छन्। मानिसले ती वचन सुन्दा, तिनीहरू दुःखित र असहज महसुस गर्छन्। तिनीहरूलाई मनमा पीडा हुन्छ, तिनीहरूको मर्यादा र निष्ठामा समेत चोट पुग्छ। तिनीहरू यस्तो सोच्छन्, “परमेश्वरमा मानिसप्रति कुनै प्रेम, कृपा, कोमलता, करूणा, सहनशीलता, वा क्षमा छैन। उहाँ अति कठोर हुनुहुन्छ!” सबै मानिस आफ्नो मर्यादा र निष्ठालाई मूल्यवान् ठान्छन्, अनि यी कुरामा चोट पुग्यो भने स्विकार्न एकदमै गाह्रो मान्छन्। परिणामस्वरूप, तिनीहरू चाहेर पनि समर्पित हुन सक्दैनन्। तिनीहरू मनमा सोच्छन्, “परमेश्वर मानिसहरूबाट अति धेरै माग गर्नुहुन्छ। उहाँ मलाई उल्लु बनाइरहनुभएको छ अनि सताइरहनुभएको छ, होइन र?” तर, यो सही होइन। परमेश्वरले मानिसहरूलाई उहाँप्रति समर्पित हुन अनुरोध गर्नुको अभिप्राय कसैलाई उहाँप्रति समर्पित हुन बाध्य पार्नु होइन, झन् कसैलाई उहाँमा समर्पित हुन जबरजस्ती गर्नु त परको कुरा हो। परमेश्वरका अनुरोधमा सर्तहरू हुन्छन्। यो अनुरोध विवेक र समझ भएका अनि सत्यता स्विकार्न सक्ने र सत्यता बुझ्नेहरूलाई गरिन्छ। यदि तँ सत्यता बुझ्दैनस् अनि तँमा विवेक र समझ छैन भने तँ परमेश्वरका मागहरू पूरा गर्न सक्दैनस्। वास्तवमा, परमेश्वरले व्यक्त गर्ने सबै सत्यता त सत्यतालाई प्रेम गर्ने र स्विकार्न सक्नेहरूका लागि जारी गरिन्छ। परमेश्वर सत्यतालाई प्रेम र स्वीकार नगर्नेहरूबाट केही पनि माग गर्नुहुन्न। के तैँले सत्यता अभ्यास नगर्ने जोकोहीले तुरुन्तै अनुशासन वा सजाय पाएको देखेको छस्? यस्तो एक जनालाई पनि हुँदैन। परमेश्वरको इच्छा सबै मानिसले सत्यता स्विकार्न, बुझ्न, अनि पाउन खोज्न सकून् भन्ने हो। उहाँको इच्छा यही हो। यदि कुनै व्यक्तिले परमेश्वरका वचनहरू देखेर उहाँ उसले केही गरोस् भन्ने माग गर्दै हुनुहुन्छ भन्ने ठान्छ भने, उसले गलत बुझेको हुन्छ। तसर्थ, तैँले परमेश्वरका वचनहरू पढ्दा, उहाँको इच्छा, लक्षित श्रोता, र अर्थ बुझ्नुपर्छ। उहाँका वचनहरूमाथि जथाभावी टिप्पणी नगर्। यदि तँ सधैँ बहाना बनाउँछस् र समर्पित हुँदैनस् भने, परमेश्वरले तँलाई के सोच्नुहुनेछ? परमेश्वरले तँ शुद्ध पारिएको छैनस्, उहाँप्रति समर्पण गर्ने व्यक्ति होइनस्, अनि तँ परमेश्वरप्रति समर्पणको वास्तविकतामा जिएको छैनस् भन्नुहुनेछ। तसर्थ, तैँले कुरा गर्ने समर्पण धर्मसिद्धान्त मात्र हो अनि सदैव सिद्धान्त नै रहनेछ। यदि मानिसहरूका हृदयमा प्राय: परमेश्वरद्वारा बन्दोबस्त गरिएका विभिन्न मानिस, घटना, परिस्थिति, अनि वातावरणबारे धारणाहरू हुन्छन् भने, तिनीहरूले परमेश्वरसँग तर्कवितर्क गर्ने अनि लड्ने सम्भावना हुन्छ। यस्तो खालका व्यक्तिमा समर्पणको सत्यता वास्तविकता हुँदैन, अनि यस्ता मानिसहरूका लागि समर्पण भनेको केवल धर्मसिद्धान्त र खोक्रो शब्द हुन्छ। यस्ता मानिसहरू कुन सन्दर्भमा कम हदसम्म समर्पित हुन सक्छन् त? तिनीहरू आफ्नो धारणाअनुरूपको अनुकूल वातावरणमा हुनुपर्छ। तिनीहरू राम्रो मुडमा पनि हुनुपर्छ। त्यसपछि मात्र तिनीहरू समर्पणको सत्यता अभ्यास गर्न सक्छन्। त्यसोभए के यसको अर्थ तिनीहरूसँग परमेश्वरप्रति समर्पणको वास्तविकता हुन्छ त? हुँदैन, किनकि तिनीहरूको समर्पण अति सीमित हुन्छ। त्यो तिनीहरू समर्पित हुन तिनीहरूका धारणाहरूअनुरूप हुनुपर्छ अनि त्यसले तिनीहरूका सर्तहरू पूरा गर्नुपर्छ। यस्ता परिस्थितिहरू एकदमै कम हुन्छन्। त्यसोभए साँचो समर्पण कस्तो देखिन्छ त? कुनै व्यक्तिले समर्पण नै सत्यता हो भनेर स्विकारेसम्म, ऊ बहाना बनाउँदैनन् वा सर्तहरू राख्दैनन् र मानिसको स्वाद वा धारणाअनुकूल भए पनि वा नभए पनि समर्पित हुन सक्छ। उसलाई मर्नै लगाइयो भने पनि उसले विवाद नगरी समर्पण गर्नेछ। मृत्युसम्म समर्पित हुनु भनेको यही हो। यो पत्रुसको समर्पण हो। कति मानिसमा यस्तो समर्पण हुन सक्छ त? झन्डै शून्य। परमेश्वरका विश्वासीहरूले सत्यता के हो भनेर बुझ्नैपर्छ। सत्यता भनेको सबै मानिसले सबै ठाउँमा अनि सबै युगमा पछ्याउनुपर्ने मार्ग हो। यो सबैले पछ्याउनुपर्ने मार्ग हो। मानिसहरू सक्षम वा इच्छुक भए पनि वा नभए पनि, सत्यता सबै मानवजतिले—भ्रष्ट मानवजाति अनि शैतानद्वारा भ्रष्ट नपारिएको मानवजाति दुवै, आजको मानवजाति अनि भोलिको मानवजाति पनि—पछ्याउनुपर्छ। अनि किन यसो गर्नुपर्छ? किनकि सत्यता नै सही मार्ग, सबै सकारात्मक कुराको वास्तविकता हो जुन सबै सृजित प्राणीले पालन गर्नुपर्छ। सत्यता तेरा सोच, विचार वा स्वभावसँग बाझिँदा तैँले के गर्नुपर्छ? तैँले समर्पण गर्ने छनौट गर्नुपर्छ। यो समर्पणको सत्यता हो। समर्पणको सत्यता के हो? अनि यो परमेश्वरप्रति समर्पणको सत्यताको व्यावहारिक पक्ष के हो त? तैँले सत्यता अभ्यास गर्न चाहे पनि नचाहे पनि, तँलाई यो सही वा गलत जे लागे पनि, तेरो दृष्टिकोण जेसुकै भए पनि, अनि तैँले परमेश्वरका वचन र मागहरूलाई जसरी हेरे पनि, तैँले ती स्विकार्नुपर्छ, तिनमा समर्पित हुनुपर्छ, अनि ती अभ्यास गर्नुपर्छ। यो नै समर्पण, साथै समर्पणको सत्यता हो। मानिसहरू सत्यता अभ्यास गर्न सक्दैनन् किनकि तिनीहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्। कसैले सत्यता अभ्यास गर्न नसक्दैमा, त्यो सत्यता नहुने वा खोक्रो शब्द बन्ने होइन। यो विश्वास गलत र निरर्थक छ। कोही सोच्छन्, “के यदि कुनै व्यक्तिले सत्यता अभ्यास गर्न सकेमा, सायद त्यो सत्यता हुन सक्ने, तर यदि कसैले पनि त्यो अभ्यास गर्न सकेन भने, त्यसपछि त्यो सत्यता नै नहुने हो र?” के यो प्रश्न सही हो? (होइन।) यो तार्किक तर्क हो। खासमा सत्यताको सार कहिल्यै परिवर्तन हुँदैन। तैँले त्यो अभ्यास गर्न सकिनस् भने पनि, सत्यता मानिसहरूले पछ्याउनुपर्ने र सही मार्ग नै रहन्छ। एक व्यक्तिले जति नै प्रयास गरे पनि, सत्यता अभ्यास गर्न सकेन भने तैँले सत्यतालाई गलत भन्न मिल्दैन। दस हजार जनाले सत्यता अभ्यास गर्न सकेनन् भने पनि सत्यता सही नै हुन्छ। यदि कसैले पनि त्यो अभ्यास गर्न सकेन भने पनि, सत्यता सही नै हुन्छ। सत्यता कहिल्यै परिवर्तन हुँदैन। सत्यताले मात्र मानवजातिलाई सामान्य रूपमा जिउन, परमेश्वरसामु जिउन, अनि उहाँको अनुमोदन र आशिष् पाउन सक्षम बनाउन सक्छ। यही नै सत्यता अनि सत्यता स्विकारेर पाउन सकिने नतिजा हो। सत्यता कहाँबाट आउँछ? सत्यता परमेश्वरबाट आउँछ। यो उहाँद्वारा व्यक्त हुन्छ। उहाँका वचनहरू सत्यता हुन्। सत्यता परमेश्वरको वचन हो अनि परमेश्वरको वचन सत्यता हो। यदि मानिसहरू सत्यता चिनेर त्यसलाई स्विकार्न इच्छुक भएमा, तिनीहरूले समर्पित हुन कस्ता समस्याहरू समाधान गर्नैपर्छ? तिनीहरूले आफ्ना सबै भ्रष्ट स्वभाव, साथै आफ्ना व्यक्तिगत रोजाइ, विचार, योजना, आदि इत्यादि हटाउनैपर्छ। के तैँले यी कुरालाई चिन्नेबित्तिकै हटाउन सकिन्छ त? (सकिँदैन।) यो, समर्पणको सत्यता खोज्ने वा अभ्यास गर्ने प्रक्रियामा, मानिसले परमेश्वरलाई प्रार्थनाद्वारा वातावरणको बन्दोबस्त गरिमागेर अनि मानिस, घटना, र परिस्थितिको उत्थान गरिमागेर, उहाँको ताडना र अनुशासन, उहाँको सजाय र न्याय, उहाँको परीक्षा र शोधनका लागि प्रार्थना गरेर बिस्तारै यी समस्याहरू समाधान गर्छन् अनि तिनीहरू शुद्ध पारिन्छन्—अनि व्यक्ति शुद्ध पारिएपछि मात्र उसले पूर्णत: समर्पण गर्न सक्छ। यदि तँ यी समस्याहरू समाधान गर्ने प्रक्रियामा समर्पित भइस् भने, ती समाधान गर्न सकिन्छ। यदि तँ समर्पित भइनस् भने, ती कहिल्यै समाधान हुनेछैनन्। अन्तत: यी सबै समस्या समाधान भएर तँलाई शुद्ध पारिएपछि मात्र तँ परमेश्वरप्रति समर्पित व्यक्ति बन्नेछस्। किन म यसो भन्छु? के तिमीहरूले यहाँ सम्बन्ध बुझ्यौ? जब तँमा समर्पण हुन्छ, तब सत्यताको यो पक्षले तँमा काम गर्छ अनि यो तेरो वास्तविकता बन्न सक्छ। जब तँ वास्तविकताको यस पक्षमा जिउँछस्, तब यस पक्षका तेरा समस्याहरू समाधान हुनेछन्। यस्तै हुन्छ।
कुनै व्यक्तिमा आत्मिक बुझाइ छ कि छैन भनी मापन गर्ने सही तरिका के हो? के तिनीहरू परमेश्वरका वचनहरूको शाब्दिक अर्थ बुझ्न सक्छन् कि सक्दैनन् भनी हेरे मात्र पुग्छ त? (पुग्दैन।) आत्मिक बुझाइ हुनु भनेको ठ्याक्कै के हो? यो भनेको व्यक्तिले परमेश्वरका वचनहरू बुझ्न सक्नु, अनि भित्री रूपमा प्रवचन र सङ्गति बुझ्न सक्नु, अनि प्रवचन र सङ्गतिका वचनहरू स्पष्ट रूपमा सम्बन्धित नभए पनि, थप व्याख्याविना नै बुझ्न सक्नु हो। प्रवचन र सङ्गतिको अर्थ व्याख्या नगरिँदा पनि, यस व्यक्तिले त्यो बुझ्न अनि त्यसको अर्थ जान्न सक्छ। यस्तो प्रकारको व्यक्ति नै आत्मिक बुझाइ भएको व्यक्ति हो। परमेश्वरका वचन वा प्रवचन र सङ्गति बुझ्न नसक्नेहरू, सधैँ यी कुराहरूलाई गलत बुझ्ने अनि यी कुराहरूमा असङ्गति छ भनी महसुस गर्नेहरू—यस्ता खालका मानिसहरूमा आत्मिक बुझाइ हुँदैन। आत्मिक बुझाइ नभएका मानिसहरूलाई तैँले स्पष्ट रूपमा सङ्गति गरे पनि तिनीहरूले पूर्णत: सत्यता बुझ्न सक्नेछैनन्। तिनीहरूका लागि, धर्मसिद्धान्त बुझ्नु अनि नियम पालन गर्नु नै काफी हुन्छ। तसर्थ, आत्मिक बुझाइ नहुने व्यक्तिलाई सत्यता बुझ्न सजिलो हुँदैन। तर, यदि आत्मिक बुझाइ हुने व्यक्तिले सत्यता पछ्याउँदैन वा बुझ्दैन भने, ऊ आत्मिक बुझाइ नभएको व्यक्तिभन्दा केही फरक हुँदैन। तसर्थ, सत्यता बुझ्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। कुनै व्यक्तिमा आत्मिक बुझाइ भए पनि वा नभए पनि, उसले सत्यता पाउन खोज्नुपर्छ। उसले जति राम्ररी सत्यता बुझ्छ, त्यति नै धेरै लाभ उठाउनेछ। उसले मामिलाहरू स्पष्ट रूपमा देख्न सक्ने मात्र होइन, तर सही मार्ग रोज्न पनि सक्नेछ। तसर्थ, यदि कुनै व्यक्ति सत्यता पछ्याउन चाहन्छ भने, एक अर्थमा ऊ परमेश्वरको वचनका लागि भोकाउनैपर्छ, उसले उहाँका वचनमा प्रयास गर्नैपर्छ, अनि तीबारे मनन गर्न, तिनलाई प्रार्थना गर्दै पढ्न, तिनमा सङ्गति गर्न अनि तिनमा खोज्न सिक्नैपर्छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? उसले परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्नैपर्छ। तैँले यी वचनहरू अभ्यास र अनुभव गरेपछि, अनि परमेश्वरका वचन तेरो वास्तविकता बनेपछि मात्र उहाँका वचन केसँग सम्बन्धित छन् अनि तिनमा ठ्याक्कै कस्ता सत्यताहरू छन् भनी साँच्चै बुझ्न सक्छस्। जब तैँले सत्यता बुझेको हुन्छस्, तब तँमा स्वत: आत्मिक बुझाइ हुनेछ। तर लक्ष्य आत्मिक बुझाइ पाउनु होइन। लक्ष्य के हो त? लक्ष्य सत्यता अभ्यास गर्नु र त्यसलाई बुझ्नु हो। यदि कुनै व्यक्तिसँग परमेश्वरका वचनहरू अभ्यास गर्दा अघि बढ्ने बाटो हुन्छ, र उसलाई अघि बढ्न आउँछ, अनि उसले उहाँका वचनहरू अभ्यास गरिसकेपछि त्यसका सत्यता बुझ्न सक्छ, र त्यसका सम्बन्ध अनि अभ्यासका सिद्धान्त जान्दछ भने त्यो व्यक्ति सत्यता बुझाइको परिणाम प्राप्त गरेको आत्मिक बुझाइ हुने व्यक्ति हो। कसैमा आत्मिक बुझाइ छ कि छैन भन्ने कुरा उसले सत्यता बुझ्न र पाउन सक्छ कि सक्दैन भन्ने कुरासँग सम्बन्धित हुन्छ, त्यसैले परमेश्वरका विश्वासीहरूका लागि, कुनै व्यक्तिमा आत्मिक बुझाइ छ कि छैन भन्ने कुराको ठूलो महत्त्व छ, त्यसले उसको सत्यता बुझ्न सक्ने क्षमतामा सिधै असर गर्छ। उदाहरणका लागि, परमेश्वर मानिसबाट समर्पण माग गर्नुहुन्छ, तर मानिस ठ्याक्कै केमा समर्पित हुने हो त? समर्पण हुनुपर्ने कुरा के हो? (सत्यता र परमेश्वरको वचन।) सत्यता र परमेश्वरको वचनप्रति समर्पित बन्। अझ स्पष्ट भाषामा भन्नुपर्दा, यो भनेको मानिसका लागि परमेश्वरको मापदण्डप्रति समर्पित हुनु; परमेश्वरले मानिसहरूका लागि बन्दोबस्त गरेको वास्तविक जीवनका वातावरण, घटना, अनि परिस्थितिप्रति समर्पित हुनु; अनि मानिसहरूका विभिन्न कर्तव्यमा उहाँका मापदण्डप्रति समर्पित हुनु हो। अझ अघि जाऔँ: समर्पणका वास्तविकतामा अरू के हुन्छ? (माथिद्वारा बन्दोबस्त गरिएको कामप्रति समर्पित हुनु।) त्यो यसको एउटा पाटो हो। अरू के हुन्छ? (परमेश्वरको घरले हाम्रा लागि तयार बन्दोबस्त गरेको हरेक कर्तव्यप्रति समर्पण।) परमेश्वरका विश्वासीहरूका लागि कर्तव्यहरू एकदमै महत्त्वपूर्ण मामिला हुन्, अनि कसैले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्छ कि सक्दैन भन्ने कुरा उसमा सत्यता वास्तविकता छ कि छैन भन्ने त्योसँग सम्बन्धित हुन्छ। त्यसको अर्को पाटो पनि छ: परमेश्वरले मानिसबाट माग गर्ने व्यवहारको स्तर। यो पनि एकदमै महत्त्वपूर्ण छ। व्यक्तिको व्यवहारभित्र के पर्छ? यसमा उसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरू, धन, अनि आफ्नो अपेक्षा, विवाह, स्नेह, र दैहिक सुखलाई कस्तो व्यवहार गर्छ, ती कुरा पर्छन्। यी सबै विभिन्न मामिलामा सत्यता खोज्नु, परमेश्वरका मापदण्डअनुसार कार्य गर्नु, सत्यताका सिद्धान्तअनुसार कामकुरा गर्नु, अनि आफूले कसरी अभ्यास गर्ने र जिउने भन्ने सन्दर्भमा सत्यताका सिद्धान्त पालन गर्नु—यो सबै समर्पण हो। यो सबै समर्पणको वास्तविकता हो। उदाहरणका लागि, कतिपय मानिस आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी व्यवहार गरिन्छ भन्ने कुरा समर्पणको सत्यतासँग सम्बन्धित छैन भन्ने ठान्छन्। के यो विचार सही हो त? यो कसैले कस्तो व्यवहार गर्छ भन्ने कुरासँग सम्बन्धित छ। के यो तँलाई मन नपर्ने दाजुभाइ वा दिदीबहिनीलाई सधैँ धम्काउने, ऊसँग सधैँ रुखो बोल्ने मानव व्यवहारको सिद्धान्त हो? (होइन।) परमेश्वर मानिसहरूले अरूलाई कसरी व्यवहार गरेको माग गर्नुहुन्छ? (उहाँ हामीले मानिसहरूलाई निष्पक्ष व्यवहार गरेको माग गर्नुहुन्छ।) निष्पक्षता भनेको के हो? यो भनेको मानिसहरूलाई तिनीहरूको रूपरङ, पहिचान, हैसियत, तिनीहरूमा कतिको ज्ञान छ, वा उनीहरूप्रति तिनीहरूको रुचि वा भावनाअनुसार नभई, सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्नु हो। त्यसोभए मानिसहरूलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्नु किन निष्पक्षता हो? यो नबुझ्ने धेरै हुन्छन्, अनि तिनीहरूले यो बुझ्नका लागि सत्यता बुझ्नुपर्छ। के अविश्वासीहरूले बुझेको निष्पक्षता साँचो निष्पक्षता हो त? बिलकुलै होइन। परमेश्वरसँग मात्र धार्मिकता अनि निष्पक्षता हुन सक्छ। सृष्टिकर्ताले आफ्ना सृजित प्राणीहरूबाट राख्ने मापदण्डहरूमा मात्र निष्पक्षता हुन्छ, परमेश्वरको धार्मिकता प्रकट हुन सक्छ। तसर्थ, मानिसहरूलाई सत्यता सिद्धान्तअनुसार व्यवहार गरेर मात्र निष्पक्षता आउन सक्छ। तैँले मण्डलीमा मानिसहरूबाट के माग गर्नुपर्छ अनि तिनीहरूलाई कसरी व्यवहार गर्नुपर्छ? तिनीहरू जे कर्तव्य निर्वाह गर्न सक्छन् तिनीहरूका लागि त्यही बन्दोबस्त गर्नुपर्छ—अनि तिनीहरू कर्तव्य निर्वाह गर्न सक्दैनन्, र बाधासमेत सिर्जना गर्छन् भने, तँसँग तिनीहरूको सम्बन्ध राम्रै छ भने पनि यदि तिनीहरू हटाइन लायक छन् भने, तिनीहरूलाई हटाउनुपर्छ। यो निष्पक्षता हो, अरूलाई निष्पक्ष व्यवहार गर्ने सिद्धान्तहरूमा समाविष्ट कुरा यही हो। यो व्यवहारका सिद्धान्तहरूसँग सम्बन्धित हुन्छ। समर्पणको सत्यताको एउटा पक्षमा आफ्नो कर्तव्य निर्वाह गर्नु समावेश छ। अर्को पक्षमा मानिसहरू विपत्ति आइपर्दा र रोगबिमार हुँदा कसरी आज्ञापालन गर्ने र समस्या सुल्झाउने, अनि आफ्नो गवाहीमा कसरी दृढ रहने भन्ने कुरा समावेश छ। त्यसबाहेक, मानिसको व्यवहारको पक्ष पनि हुन्छ। सबैभन्दा महत्त्वपूर्ण, तिनीहरूले इमानदार व्यक्ति बन्ने प्रयास गर्नैपर्छ अनि तिनीहरूमा विवेक र समझ हुनैपर्छ। तिनीहरूको जियाइ, खानपिन, पहिरन, बसोबास, र आवतजावत पनि सामान्य व्यक्तिको जस्तै हुनैपर्छ। जीवनस्तरका विषयमा, मानिसका लागि परमेश्वरको मापदण्ड के हो? (हामी खान र लाउनमै सन्तुष्ट हुनुपर्छ।) यो त अनुग्रहका युगमा मानिसका लागि परमेश्वरको मापदण्ड थियो। अहिलेका युगमा मानिसका लागि परमेश्वरको मापदण्ड के हो? मानिसहरूको खानेकुरा, पहिरन, बसोबास, अनि यातायातको साधन; तिनीहरूको बोली र चालढाल; अनि तिनीहरूको लुगाफाटाका लागि परमेश्वरका मापदण्डहरू छन्। उहाँ तँ सन्यासी बनेको माग गर्नुहुन्न, न त तँलाई देहसुखमा चुर्लुम्म डुब्न नै लगाउनुहुन्छ। अल्छीपन, देहसुखमा डुब्नु, अनि आनन्द खोज्नु परमेश्वरका मापदण्ड होइनन्। परमेश्वरका मापदण्डका मानक केके हुन् त? उहाँ तँबाट पूर्णत: समर्पित, होसियार, आफ्नो कर्तव्यमा जिम्मेवार बनेको, अनि तैँले कष्ट भोगेर मूल्य चुकाएको, अल्छी नगरी लगनशील भई काम गरोस् भन्ने माग गर्नुहुन्छ। परमेश्वरसँग धन, संसार, दुष्ट प्रवृत्तिप्रति तेरो मनोवृत्ति, अनि तैँले आफूसँग सम्बन्धित अविश्वासीहरूलाई व्यवहार गर्ने मनोवृत्तिबारे गर्ने मागहरूका लागि पनि मानक हुन्छन्, अनि यी सबै मापदण्डमा सत्यता पाइन्छ। यी हरेक ठूला वर्गभित्र मानिसहरूले अभ्यास र समर्पण गर्नुपर्ने सत्यता हुन्छ। केही मानिस ऐसआराममा लिप्त हुन्छन्, अनि खान, पिउन र रमाइलो गर्नमा रमाउँछन्। तिनीहरू आफ्ना दैहिक चाहनामा लिप्त हुन र प्रचलनहरू पछ्याउन मन पराउँछन्। समाजका मानिसहरूले रमाइलो गरेको देख्दा तिनीहरू त्यसमा सामेल हुन चाहन्छन्, अनि तिनीहरूको हृदय सधैँ बाहिरी संसारमा हुन्छ। के तिनीहरू आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्छन्? (सक्दैनन्।) केही मानिसले अविश्वासीहरूलाई सुन्दर पहिरनमा देख्दा, तिनीहरूलाई आफूले परमेश्वरको विश्वासीका रूपमा लगाउने लुगा अति सादा लाग्छ, अनि आफू तुच्छ ठानिएला भनी सधैँ चिन्ता गर्छन्, त्यसपछि तिनीहरू उत्तेजित हुन्छन्। अरूचाहिँ अरू युवा जोडीलाई आफ्नै सानो दुनियाँमा जिइरहेको देख्छन्, अनि आफू एक्लो र अलग्गिएको महसुस गर्छन्। तिनीहरू सधैँ यी कुराले दुःखित हुन्छन्, अनि तिनीहरू सत्यता खोज्दैनन् न त परमेश्वरसामु नै आउँछन्। के तिनीहरू आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्छन्? (सक्दैनन्।) यी कुरा मामुली भए पनि, अनि तिनमा स्पष्ट सत्यता समावेश नभएजस्तो देखिए पनि, ती मानिसका लागि परमेश्वरको मापदण्डका सबैभन्दा आधारभूत सत्यताहरूसँग सम्बन्धित छन्। यदि कुनै व्यक्तिले यी समस्यालाई जित्न र दबाउन सकेन, अनि ती कुराहरू सधैँ ऊभित्र बाधा बन्छन् र तिनले परमेश्वरप्रतिको उसको विश्वास र कर्तव्य निर्वाहलाई हानि गर्छ भने, परमेश्वरप्रतिको विश्वासको सही मार्गमा हिँड्न निकै कठिन हुनेछ।
सत्यताको हरेक पक्ष, सबैभन्दा आधारभूतदेखि लिएर अलिक गहन कुराहरू सत्यता नै हुन्। सतही र गहन सत्यताबीच केही फरक हुँदैन; मानिसले कुन परिस्थितिहरूमा कुन सत्यता अभ्यास गर्नुपर्छ भन्ने मात्र फरक हुन्छ। कतिपय सत्यता मानिसको कर्तव्यसँग सम्बन्धित हुन्छन्; कतिपय तिनीहरूको दैनिक जीवनसँग सम्बन्धित हुन्छन्, उदाहरणका लागि, तिनीहरूको दैनिक बानी, नियम अनि प्राथमिकताहरूसँग सम्बन्धित हुन्छन्; अनि कतिपय परमेश्वरले मानिसका लागि बन्दोबस्त गर्ने वातावरण, मानिस, घटना, र कामकुरासँग सम्बन्धित हुन्छन्। समस्या जे भए पनि, त्यो दैनिक जीवन वा कर्तव्यसँग सम्बन्धित भए पनि, अनि समस्या मुछिएको मामिला जति नै ठूलो वा सानो भए पनि, यदि तैँले यसलाई गम्भीर भएर लिन, सत्यता खोज्न, सत्यता सिद्धान्तअनुसार कार्य गर्न, अनि सत्यता सिद्धान्तअनुसार अभ्यास गर्न सक्छस् भने, तैँले सत्यता पछ्याइरहेको हुन्छस्। कतिपय मानिस केही वर्ष प्रवचनहरू सुन्छन् अनि सत्यता अभ्यासमा ध्यान नदिएर आफूले पहिले नसुनेका प्रवचनहरू सुन्नमा मात्र ध्यान दिन्छन्। तिनीहरू सधैँ तेस्रो स्वर्गको केही भाषा र रहस्यहरूबारे सुन्न चाहन्छन्, अनि सधैँ अरूलाई उच्च प्रवचनहरू प्रचार गरिरहेका हुन्छन्। तिनीहरू यी मानिसहरूले यो बुझ्दैनन् भन्ने देख्दा, मनमनै एकदमै प्रसन्न हुन्छन्। यो निरर्थक कुरा हो। यी खोक्रा कुराबारे कुरा गर्नुको के अर्थ छ र? यदि तैँले प्रचार गर्ने कुरा मानिसको कर्तव्य, उसको दैनिक जीवनमा प्रकट हुने स्थिति र भ्रष्ट स्वभावहरूसँग सम्बन्धित छैन; यदि त्यो मानिसको जीवन, तिनीहरूको प्रवेश, अनि तिनीहरूको कर्तव्यबाट अलग्गिएको छ; यदि त्यो मानिसहरूको दैनिक जीवनमा देखिने र प्रकट हुने स्थितिहरूसँग सम्बन्धित छैन भने; तैँले प्रचार गर्ने कुरा सत्यता होइन, केवल धर्मसिद्धान्त अनि खोक्रो शब्द हो। धेरै मानिसलाई आफूले धेरै प्रवचनहरू सुनेपछि सत्यता बुझ्छु भन्ने लाग्छ। तिनीहरू यी प्रवचनहरूबाट केही धर्मसिद्धान्त अनि नियमहरूको सारांश गर्छन्, बारम्बार मानिसहरूलाई प्रचार गर्छन् अनि तिनीहरूसँग सङ्गति गर्छन्, तर तिनीहरूलाई समस्या र कठिनाइहरू पैदा हुँदा ती समाधान गर्नै आउँदैन। त्यसोभए तिनीहरूले बुझ्ने धर्मसिद्धान्तले किन कुनै वास्तविक समस्या समाधान गर्न सक्दैन त? यसले तिनीहरू अझै पनि सत्यता बुझ्दैनन् भन्ने प्रमाण दिन्छ। कतिपय मानिसले वचन र धर्मसिद्धान्तहरू धेरै वर्षदेखि प्रचार गर्दै आएका हुन्छन्, तर तिनीहरूलाई सत्यताबारे सङ्गति गर्न अनि समस्या समाधान गर्न लगाइयो भने, तिनीहरू सो गर्नै सक्दैनन्। तिनीहरूलाई आफ्नो अनुभवात्मक गवाहीबारे लेख्न लगाइएमा, तिनीहरू लेख्न सक्दैनन्, अनि कसैलाई केही आइपरेर उसले तिनीहरूलाई सहायता मागेमा, तिनीहरू सहायता गर्न सक्दैनन्। यी कस्ता खालका व्यक्ति हुन्? यस्ता मानिसहरू सत्यता बुझ्दैनन्, न त तिनीहरूमा आत्मिक बुझाइ नै हुन्छ। कति दयनीय कुरा! ठुलठुला कुरा र चर्का भजनगान; ज्ञान, धर्मसिद्धान्त धर्मविज्ञानमा, अरूसँग नभएको कुराले आफूलाई सुसज्जित पार्नमा, अनि अरूले पहिले नसुनेका कुराहरू सिक्नमा ध्यान दिनु; वा कुराहरू कण्ठ पारेर अरूको भक्ति र प्रशंसा जित्नमा ध्यान दिनु—के यी कुराद्वारा आत्मिक बुझाइ पाउन सकिन्छ त? (सकिँदैन।) अनि आत्मिक बुझाइ हासिल गर्न नसक्नेहरूले सत्यता बुझ्न सक्छन् त? (सक्दैनन्।) तसर्थ, आत्मिक बुझाइ सत्यता बुझ्नुसँग सम्बन्धित छ। कुनै व्यक्तिले जति नै वर्ष परमेश्वरमा विश्वास गरेको भए पनि, उसले सत्यता बुझ्छ कि बुझ्दैन भन्ने कुराले जति त अरू केहीले पनि उसमा आत्मिक बुझाइ छ कि छैन भनेर प्रकट गर्दैन। आत्मिक बुझाइ भएकाहरूले परमेश्वरको वचन सजिलै बुझ्न सक्छन्, अनि तिनीहरूले प्रवचन सुन्दा सजिलै सत्यता बुझ्न सक्छन्। सत्यता बुझ्ने मानिसहरू आत्मिक बुझाइ भएका मानिस हुन्, अनि आत्मिक बुझाइ भएका मानिसहरूले सत्यता पछ्याएमा, तिनीहरू सजिलै सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछन्।
अक्टोबर ५, २०२०