परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो
पहिला, हामी परमेश्वरका वचनहरूको एउटा भजन सुन्नेछौँ: “परमेश्वरका वचनहरू पालना गर्, अनि तँ हराउन सक्नेछैनस्।”
१ परमेश्वर यो आशा गर्नुहुन्छ कि तिमीहरू आफै खान र पिउन, र सधैँ परमेश्वरको उपस्थितिको ज्योतिमा जिउन सक्नेछौ, अनि आफू जीवनमा परमेश्वरका वचनहरूबाट कहिल्यै टाढा हुनेछैनौ; त्यसपछि मात्र तिमीहरू परमेश्वरका वचनहरूद्वारा सन्तृप्त हुन सक्नेछौ। तेरो हर वचन र कर्ममा, परमेश्वरका वचनहरूले तँलाई अवश्य नै अगाडि मार्गदर्शन गर्नेछन्। यदि तँ सच्चा रूपमा यो हदसम्म परमेश्वरनजिक पुग्छस् र निरन्तर रूपमा परमेश्वरसँग सङ्गति गर्न सक्छस् भने, तैँले गर्ने कुनै कार्य पनि दुविधामा टुङ्गिनेछैन वा त्यसले तँलाई अन्योल तुल्याउनेछैन। तैँले निश्चय नै परमेश्वरलाई आफ्नो छेउमा पाउन सक्नेछस्, तँ सधैँ परमेश्वरको वचनबमोजिम कार्य गर्न सक्षम हुनेछस्।
२ तैँले हरेक व्यक्ति, घटना वा वस्तुको सामना गर्दा, कुनै पनि समय परमेश्वरको वचन तँकहाँ देखा पर्नेछ र तैँले गर्ने सबै कुरामा उहाँका अभिप्रायहरू अनुसार गर्न मार्गदर्शन दिनेछ। परमेश्वरको वचनले तँलाई तेरो प्रत्येक कार्यमा अगाडितर्फ डोऱ्याउनेछ; तँ बहकिनेछैनस्, र नयाँ ज्योतिमा, अझ धेरै र अझ नयाँ अन्तर्दृष्टिको साथमा जिउन सक्षम हुनेछस्। तैँले के गर्ने भनेर सोच्न मानव धारणाहरू प्रयोग गर्न हुँदैन; तँ परमेश्वरको वचनको मार्गदर्शनप्रति समर्पित हुनुपर्छ, तँसित स्वच्छ हृदय हुनुपर्छ, तँ परमेश्वरसामु शान्त बन्नुपर्छ र तैँले अझ धेरै चिन्तन गर्नुपर्छ। आफूले नबुझ्ने कुराको समाधान गर्न चिन्ता नगर्, र यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्, अनि उहाँलाई सच्चा हृदय चढा।
३ परमेश्वर तेरा सर्वशक्तिमान् हुनुहुन्छ भन्ने विश्वास गर्। तँसित परमेश्वरका निम्ति ठूलो आकाङ्क्षा हुनैपर्छ, तैँले शैतानका बहाना, अभिप्राय र चालहरूलाई नकार्दै जोडतोडले खोजी गर्नुपर्छ। निराश नहो। कमजोर नहो। आफ्नो सारा हृदयले खोजी गर्; सारा हृदयले प्रतीक्षा गर्। सक्रिय रूपले परमेश्वरसित सहकार्य गर्, र आफूलाई आफ्ना आन्तरिक विघ्नबाधाहरूबाट मुक्त गर्।
—परमेश्वरको सङ्गति
तिमीहरूले भर्खरै “परमेश्वरका वचनहरू पालना गर्, अनि तँ हराउन सक्नेछैनस्” भन्ने भजन बजायौ। यो भजन सुनेपछि, के तिमीहरूले कुनै ज्योति वा अभ्यासका मार्गहरू प्राप्त गऱ्यौ? तिमीहरूले कुन-कुन वचनहरूबाट प्रेरणा र ज्योति प्राप्त गऱ्यौ? “परमेश्वरका वचनहरू पालना गर्, अनि तँ हराउन सक्नेछैनस्”—के यी वचनहरू सही छन्? के यी सत्यता हुन्? (हुन्।) यस भजनका कुन-कुन हरफहरू तँ आफ्नो वास्तविक जीवन अनुभवको लागि विशेष उपयोगी पाउँछस्? यो हरफबाट पढ्न सुरु गर्: “आफूले नबुझ्ने कुराको समाधान गर्न चिन्ता नगर्।” (“आफूले नबुझ्ने कुराको समाधान गर्न चिन्ता नगर्, र यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्, अनि उहाँलाई सच्चा हृदय चढा। परमेश्वर तेरा सर्वशक्तिमान् हुनुहुन्छ भन्ने विश्वास गर्। तँसित परमेश्वरका निम्ति ठूलो आकाङ्क्षा हुनैपर्छ, तैँले शैतानका बहाना, अभिप्राय र चालहरूलाई नकार्दै जोडतोडले खोजी गर्नुपर्छ। निराश नहो। कमजोर नहो। आफ्नो सारा हृदयले खोजी गर्; सारा हृदयले प्रतीक्षा गर्। सक्रिय रूपले परमेश्वरसित सहकार्य गर्, र आफूलाई आफ्ना आन्तरिक विघ्नबाधाहरूबाट मुक्त गर्।”) यस उद्धरणका कुन-कुन हरफहरूले अभ्यासको मार्ग सुझाउँछन्? तीमध्ये कुन-कुनचाहिँ वास्तविक जीवनका परिस्थितिहरू सम्हाल्ने अभ्यासका सिद्धान्तहरू हुन् जुन परमेश्वरले मान्छेलाई दिनुभएको छ? के तिमीहरू ती भेट्टाउन सक्छौ? मानिसहरूले पढ्ने अखबार, पत्रिका, र विभिन्न पुस्तकहरू सबैमा केही न केही बुँदाहरू हुन्छन् जुन तिनीहरूलाई टिपोट गर्नलायक लाग्छन्। ती कुन बुँदाहरू हुन्? ती मानिसहरूले ख्याल गर्ने बुँदाहरू, मानिसहरूले सबैभन्दा महत्त्वपूर्ण ठान्ने बुँदाहरू, र मानिसहरूले आफ्नो दैनिक जीवनमा थाहा पाउनुपर्ने महत्त्वपूर्ण जानकारी प्रदान गर्ने बुँदाहरू हुन्। त्यसोभए परमेश्वरका वचनहरूको यस खण्डका कुन बुँदाहरू टिपोट गर्नलायक छन्? मानिसहरूप्रतिका परमेश्वरका मापदण्डहरू कुन बुँदाहरूमा छन्? दैनिक जीवनमा कुनै परिस्थितिहरू सामना गर्दा परमेश्वरले मानिसहरूको लागि अभ्यास र पालना गर्न तोक्नुभएका सिद्धान्तहरू कुन बुँदाहरूमा छन्? के तिमीहरू ती कुन हुन् भनी देख्न सक्छौ? (खासै राम्ररी देख्न सक्दैनौँ।) फेरि पढ। (“आफूले नबुझ्ने कुराको समाधान गर्न चिन्ता नगर्, र यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्, अनि उहाँलाई सच्चा हृदय चढा। परमेश्वर तेरा सर्वशक्तिमान् हुनुहुन्छ भन्ने विश्वास गर्। तँसित परमेश्वरका निम्ति ठूलो आकाङ्क्षा हुनैपर्छ, तैँले शैतानका बहाना, अभिप्राय र चालहरूलाई नकार्दै जोडतोडले खोजी गर्नुपर्छ। निराश नहो। कमजोर नहो। आफ्नो सारा हृदयले खोजी गर्; सारा हृदयले प्रतीक्षा गर्। सक्रिय रूपले परमेश्वरसित सहकार्य गर्, र आफूलाई आफ्ना आन्तरिक विघ्नबाधाहरूबाट मुक्त गर्।”) के तिमीहरू यस खण्डको हरेक हरफको अर्थ बुझ्छौ? (बुझ्छौँ।) यो खण्ड सरल शब्दहरू प्रयोग गरेर लेखिएको छ जुन बुझ्न सजिलो छ। यो अमूर्त छैन। यी वचनहरूको शाब्दिक अर्थ बुझ्न सजिलो छ, त्यसोभए यी वचनहरूभित्र भएको सिद्धान्त के हो त? के तिमीहरू यी वचनहरू पढ्दा त्यो सिद्धान्त भेट्टाउन सक्छौ? अनि, सिद्धान्त भनेको के हो? अलि बृहत रूपमा भन्नुपर्दा, परमेश्वरका वचन र सत्यताहरू नै सिद्धान्त हुन्। तर यसरी भन्दा निकै खोक्रो र अलि अमूर्तसमेत लाग्छ। ठ्याक्कै भन्नुपर्दा, सिद्धान्त भनेको व्यक्तिले कामकुराहरू गर्दा ऊसँग हुनुपर्ने अभ्यासको मार्ग र मापदण्ड हो। हामी यसैलाई सिद्धान्त भन्छौँ। अब त्यसोभए, यस खण्डमा भएको सिद्धान्त के हो त? प्रस्ट रूपमा भन्नुपर्दा, यस खण्डमा अभ्यासको मार्ग छ। परिस्थितिहरू आइपर्दा कसरी अभ्यास र कसरी कार्य गर्ने भनेर मानिसहरूलाई परमेश्वरले पहिल्यै भनिसक्नुभएको छ। यो खण्ड फेरि पढ र यी वचनहरू ध्यानपूर्वक सुन। (“आफूले नबुझ्ने कुराको समाधान गर्न चिन्ता नगर्, र यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्, अनि उहाँलाई सच्चा हृदय चढा। परमेश्वर तेरा सर्वशक्तिमान् हुनुहुन्छ भन्ने विश्वास गर्। तँसित परमेश्वरका निम्ति ठूलो आकाङ्क्षा हुनैपर्छ, तैँले शैतानका बहाना, अभिप्राय र चालहरूलाई नकार्दै जोडतोडले खोजी गर्नुपर्छ। निराश नहो। कमजोर नहो। आफ्नो सारा हृदयले खोजी गर्; सारा हृदयले प्रतीक्षा गर्। सक्रिय रूपले परमेश्वरसित सहकार्य गर्, र आफूलाई आफ्ना आन्तरिक विघ्नबाधाहरूबाट मुक्त गर्।”) तिमीहरू सबैले यो खण्ड तीनपटक पढिसकेका छौ। के यसले तिमीहरूमा कुनै छाप पारेको छ? यसलाई तीनपटक पढेपछि के तिमीहरूले पहिला सामान्यतया खासै ध्यान नदिई यो गीत सुन्ने गरेकोभन्दा फरक अनुभूति गर्छौ? (गर्छौँ।) यस खण्डमा, तिमीहरू अभ्यासका कस्ता सिद्धान्तहरू भेट्टाउन र बुझ्न सक्छौ? यहाँ परमेश्वर सत्यताको कुन पक्ष प्रस्तुत गर्नुहुन्छ? सत्यताको यो पक्ष अभ्यासको एउटा सिद्धान्तसँग सम्बन्धित छ, तर यसमा भएको ठ्याक्कै सिद्धान्त के हो? यसले के-कस्ता वास्तविक मामिलाहरू चर्चा गर्छ? पहिलो हरफले एउटा वास्तविक मामिलाको चर्चा गर्छ—त्यसले तैँले नबुझ्ने विषयहरूबारे कुरा गर्छ। तैँले नबुझ्ने यी कुराहरूमा सत्यतासँग सम्बन्धित मामिलाहरू, तेरो अभ्यास, स्वभाव परिवर्तन, तेरो कार्यक्षेत्र र आफ्नो कर्तव्य निभाउँदा तैँले अनुभव गर्ने व्यक्तिगत स्थितिहरूसँग सम्बन्धित समस्याहरू, साथै मानिसहरूको सार कसरी खुट्याउने भन्ने विषय, आदि इत्यादि समावेश छन्। यस्ता कुराहरू वास्तवमा तेरै वरिपरि घट्छन्, र तैँले यी कुरा देखेको र सुनेको छस्। तर तँ यी मामिलाहरूको सार वा यिनले समेट्ने सत्यताहरू बुझ्दैनस्, झन् तँलाई अभ्यासको मार्ग र त्यसमा संलग्न सिद्धान्तहरू थाहा हुनु त परको कुरा हो। स्वाभाविक रूपमै तँलाई यस मामिला र अन्य यस्तै कुराहरूमा परमेश्वरका अभिप्रायहरू थाहा हुँदैन। जब कुनै व्यक्तिले यी कुराहरू बुझ्दैन, जान्दैन, वा छर्लङ्गै देख्दैन, तब यी कुरा उसका सबैभन्दा ठूला कठिनाइहरू बन्छन्, र यिनलाई परमेश्वरका वचनहरूको आधारमा समाधान गरिनुपर्छ—“आफूले नबुझ्ने कुराको समाधान गर्न चिन्ता नगर्, र यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्।” बाहिरी संसार र परमेश्वरको घर दुवैतिरका तैँले नबुझ्ने कुराहरू धेरै छन्। यी कुराहरू तैँले नबुझ्ने भएकाले, तैँले के गर्नुपर्छ? पहिला, तैँले सत्यता खोज्नुपर्छ र परमेश्वरको वचनमा के भनिएको छ र त्यसमा कस्ता सत्यता सिद्धान्तहरू भेट्टाउन सकिन्छ त्यो हेर्नुपर्छ। तैँले बारम्बार परमेश्वरका वचनहरू पढ्दै, ध्यानपूर्वक मनन गर्नुपर्छ। पहिला, सत्यताको वास्तविकता पत्ता लगा, र त्यसपछि परमेश्वर तँलाई कस्तो मापदण्ड दिनुहुन्छ सो बुझ्, र त्यसपछि, सत्यता अभ्यास गर्ने सिद्धान्तहरू निर्धारण गर्—त्यसरी, तँलाई सत्यता बुझ्न सजिलो हुनेछ। सत्यता खोज्न परमेश्वरका वचनहरू पढ्ने प्रक्रिया यही हो। के तँ मैले भनेको कुरा बुझ्न सक्छस्? (सक्छु।) परमेश्वरले तेरो परिवेश, अनि तेरो वरिपरिका मानिस, घटना र वस्तुहरूको बन्दोबस्त मिलाउनुभएको छ। त्यसैले, यसप्रति परमेश्वरको मनोवृति कस्तो छ? त्यो तैँले परमेश्वरको वचनमा देख्न सक्छस्। परमेश्वर तँलाई समाधान गर्न चिन्ता नगर्, परिस्थितिलाई परिभाषित गर्न, फैसला दिन, वा मूल्याङ्कन् गर्न हतार नगर् भन्नुहुन्छ। किन त्यसो भन्नुहुन्छ? किनकि परमेश्वरले तेरो लागि बन्दोबस्त गर्नुभएको यो घटना तँ अझै बुझ्दैनस्। जब परमेश्वर तँलाई हतार नगर् भन्नुहुन्छ, यसको अर्थ के हो? यसको अर्थ यो घटना भइसकेको छ, परमेश्वरले यसलाई तेरो सामु फिँजारिसक्नुभएको छ र तँलाई यो परिवेशभित्र राखिसक्नुभएको छ, अनि परमेश्वरको मनोवृति एकदमै प्रस्ट छ। परमेश्वर तँलाई यसो भन्नुहुन्छ, “यो परिस्थितिमा के भइरहेको छ भनी तँलाई बुझ्न लगाउन मलाई हतार छैन। तँलाई यसबारे तुरुन्तै कुनै फैसला गर्न, निष्कर्ष सुनाउन, वा कुनै प्रकारको समाधान सुझाउन लगाउन मलाई कुनै हतार छैन।” तँलाई यो मामिला थाहा छैन र तँ यो बुझ्दैनस्, यो त तैँले पहिले कहिल्यै सामना नगरेको कुरा हो, र तैँले अहिलेसम्म नसिकेको पाठ हो, त्यसबाहेक यसबारे तँसँग कुनै अनुभवात्मक ज्ञान वा शिक्षा छैन, र तैँले त्यो पहिले बिलकुलै अनुभव गरेको छैनस्, त्यसैले तैँले त्यसको जवाफ पत्ता लगाउने कुरामा परमेश्वर हतार गर्नुहुन्न। कतिपय मानिसहरू सोध्छन्: “परमेश्वरले यो परिवेशको बन्दोबस्त गर्नुभएको हुनाले त्यसका परिणामहरू हेर्न उहाँ किन आतुर हुनुहुन्न?” यसमा पनि परमेश्वरको अभिप्राय छ। परमेश्वरले परिवेशको बन्दोबस्त गर्नुको उद्देश्य तँलाई त्यसबारे तुरुन्तै सैद्धान्तिक फैसला वा निष्कर्ष निकाल्न लगाउनु होइन। परमेश्वर तैँले त्यस्तो परिवेश र घटना अनुभव गर् भन्ने चाहनुहुन्छ, र उहाँ तैँले त्यसमा हुने मानिस, घटना, र परिस्थिति बुझ् भन्ने चाहनुहुन्छ, ताकि तैँले परमेश्वरप्रति समर्पित हुने पाठ सिक्न सकेस्। तैँले यस्तो बुझाइ र व्यक्तिगत अनुभव हासिल गरिसकेपछि, यो घटना तेरो लागि अर्थपूर्ण हुनेछ, र यसले तेरो लागि ठूलो महत्त्व र मूल्य राख्नेछ। अन्त्यमा, यो कुरा अनुभव गरेपछि, तैँले हासिल गर्ने कुरा कुनै सिद्धान्त, वा धारणा, वा कल्पना हुनेछैन, न त यो कुनै फैसला, अनुभवात्मक ज्ञान वा मान्छेले सरसङ्क्षेप गरेको पाठ नै हुनेछ, बरु यो त व्यक्तिगत र प्रत्यक्ष अनुभव, र त्यसको साँचो ज्ञान हुनेछ। यो ज्ञान सत्यता निकट वा सत्यतासँग मेल खाने हुनेछ। तैँले यस्ता कुराहरूको अनुभवमार्फत मान्छेप्रति परमेश्वरको मनोवृति अति स्पष्ट छ र त्यो बुझ्न सजिलो हुने गरी व्यक्त गरिएको छ भनेर देख्न सक्नेछस्। परमेश्वरको दृष्टिमा, उहाँ तैँले चाँडो जवाफ वा प्रतिक्रिया दिनुपर्छ भनेर कुनै हतार गर्नुहुन्न। परमेश्वर तैँले यो परिवेश अनुभव गर् भन्ने चाहनुहुन्छ। यो उहाँको मनोवृति हो। अनि, यो परमेश्वरको मनोवृति भएकोले, मानिसहरूप्रति उहाँसँग मापदण्ड र मानकहरू छन्। यो मानक मान्छेले अभ्यास गर्नुपर्ने सिद्धान्त हो। अनि, अभ्यासको सिद्धान्त भनेको के हो? त्यो तैँले कुनै निश्चित घटना सामना गर्दा प्रयोग गर्ने शैली, विधि, र माध्यम हो। जब तँ कुनै घटनासम्बन्धी परमेश्वरको अभिप्राय र मनोवृति बुझ्छस्, तब तैँले परमेश्वरका मापदण्डहरू अभ्यास गर्नुपर्छ। अनि परमेश्वर तँलाई के मापदण्ड दिनुहुन्छ? परमेश्वरले भन्नुभयो, “समाधान गर्न चिन्ता नगर्।” यो “समाधान गर्न चिन्ता नगर्” भन्ने कुराको एक पृष्ठभूमि छ। त्यसोभए परमेश्वरले मान्छेमाथि किन यस्तो मापदण्ड र मानक लाइदिनुहुन्छ? के तिमीहरू यस विषयबारे प्रस्ट छौ? त्यो तँ सामान्य व्यक्ति भएकोले हो। तँ महामानव हैनस्, तेरो सोचाइ सामान्य व्यक्तिकै छ। तँ सामान्य व्यक्ति होस्। तँ चालिस्, पचास्, वा असी वर्ष नै जिइस् भने पनि, तेरो उमेर सधैँ बढिरहनेछ। तँ जस्तो जन्मिस्, सधैँभरि त्यस्तै रहँदैनस्। तेरा अहिलेका अनुभवहरू, अनुभवात्मक ज्ञान, बुझाइ, तैँले देख्ने र सुन्ने कुराहरू, तेरा जीवन अनुभवहरू आदि—यी सबै—तैँले आफ्नो मनमष्तिष्कले जान्ने र बुझ्ने सबै कुरालगायत यी सबै वर्षौँको निखारका सञ्चित परिणामहरू हुन्। यसलाई सामान्य मानवता भनिन्छ। यो परमेश्वरद्वारा मान्छेका लागि स्थापित सामान्य मानव वृद्धिको प्रक्रिया हो र यो सामान्य मानवताको अभिव्यक्ति हो। त्यसैले, जब तँ आफूले नबुझ्ने, आफूलाई थाहा नभएको कुनै कुराको सामना गर्छस्, तब तैँले चाँडो त्यसको जवाफ दिएको र यन्त्रमानवले जत्तिकै छिटो प्रतिक्रिया जनाएको परमेश्वर माग गर्नुहुन्न। यन्त्रमानवले सम्पूर्ण जानकारी एकैपटक आफ्नो मेमोरीमा हाल्ने भएकोले, जब तँ त्यसलाई जवाफ माग्छस्, तब त्यसले आफ्नो मेमोरीमा जवाफ भेट्टाउन सकेमा एकपटक सर्च गर्दैमा जवाफ दिइहाल्छ। सामान्य मानिसको हकमा भने त्यस्तो हुँदैन। तिनीहरूले विगतमा केही अनुभव गरेका छन् भने पनि, त्यो तिनीहरूको मस्तिष्कमा भण्डारण भएको हुन्छ नै भन्ने छैन। मानिसहरूबारे भन्नुपर्दा, अनुभवात्मक ज्ञान, अनुभव, जीवन अनुभव, र साँचो प्रत्यक्ष ज्ञानजस्ता सामान्य मानवतासँग सम्बन्धित कुराहरूले मात्र तिनीहरूलाई महामानव, यन्त्रमानव, र विशेष शक्ति भएका मानवहरूबाट छुट्याउँछन्।
सामान्य मानवता भएकाहरूसँग के हुनु आवश्यक छ र के हुनुपर्छ भन्ने आधारमा परमेश्वरले मानिसका लागि मापदण्ड र मानकहरू स्थापित गर्नुभएको छ, र उहाँले अभ्यासको मार्ग तोक्नुभएको छ। अभ्यासको यो मार्ग के हो? आफूले नबुझ्ने कुराको समाधान गर्न चिन्ता नगर्। यसले तैँले समाधानहरू खोज्न हतार गर्नु अर्थहीन हो भनेर बताउँछ। किन र? तँ सामान्य व्यक्ति मात्र होस्। तँसँग पहिलेको अनुभवहरूबाट बटुलेका केही अनुभवात्मक ज्ञान र बुझाइ हुन सक्ने भए पनि, यदि भविष्यमा फेरि त्यही कुरा भयो भने, तैँले परमेश्वरका अभिप्रायहरू पूर्ण रूपमा बुझ्न, पूर्णतया सत्यताबमोजिम अभ्यास गर्न, वा शतप्रतिशत राम्रो गर्न सक्छस् नै भन्ने छैन। तैँले नबुझ्ने कुराहरूको सन्दर्भमा त यसको सम्भावना झनै कम हुन्छ, त्यसैले ती परिस्थितिहरूमा तँ समाधान खोज्न झन् कम हतारिनुपर्छ। समाधानका लागि चिन्ता नगर्नू भन्ने निर्देशनले मानिसलाई के बताउँछ? त्यसको उद्देश्य मानिसलाई सामान्य मानवता बुझ्ने तुल्याउनु हो। सामान्य मानवता विलक्षण, असाधारण, वा विशिष्ट हुँदैन। मानिसको बुझाइ, अनुभवात्मक ज्ञान, मान्यता, र विभिन्न कुराको बोध, साथै विभिन्न प्रकारका मानिसहरूको सारबारे तिनीहरूको विचार यी सबै विभिन्न परिवेश, मानिस, घटना, र परिस्थितिहरू अनुभव गरेर प्राप्त हुन्छ। यो सामान्य मानवता हो। त्यसमा सामान्यभन्दा परको कुरा केही छैन, र यो कुनै व्यक्तिले पनि नाघ्न नसक्ने बार हो। यदि तँ परमेश्वरले मान्छेका लागि बनाउनुभएका यी नियमहरूबाहिर जान चाहन्छस् भने, त्यो सामान्य हुनेछैन। एकातिर, त्यसले तँलाई सामान्य मानवता के हो भनेर थाहा नभएको मात्र देखाउनेछ। अर्कोतिर, त्यसले तेरो अत्यधिक अहङ्कार र अव्यावहारिकता खुलासा गर्नेछ। परमेश्वरले मानिसलाई आफूले नबुझ्ने कुराको समाधान गर्न चिन्ता नगर्नू भन्नुभएको छ। तँ एक सामान्य व्यक्ति भएकोले तेरो लागि परमेश्वरले थप परिवेशको बन्दोबस्त मिलाउन आवश्यक छ, ताकि तैँले त्यहाँ देखिएको मानिसको भ्रष्टता अनुभव गर्न, बुझ्न, र चिन्न, साथै यी मानिस, घटना र परिस्थितिमार्फत परमेश्वरका अभिप्रायहरू बुझ्न सकेस्। सामान्य मानवता भएको मानिसले गर्नुपर्ने यही नै हो। त्यसोभए अब, “आफूले नबुझ्ने कुराको समाधान गर्न चिन्ता नगर्” भन्ने भनाइमा अभ्यासको कस्तो मार्ग भेट्टाउ सकिन्छ? (समाधान गर्न चिन्ता नगर्।) जब व्यक्तिले कुनै परिस्थितिको सामना गर्छ अनि त्यसलाई छर्लङ्ग देख्न वा बुझ्न सक्दैन, जब उसले त्यसलाई त्यसअघि कहिल्यै सामना वा कल्पना गरेको हुँदैन, र जब उसले मानव धारणाको भरमा यो मामिला कसरी समाधान गर्ने भनेर कल्पनासमेत गर्न सक्दैन, तब उसले के गर्नुपर्छ? परमेश्वरले माग गर्नुभएको सिद्धान्त के हो? (समाधान गर्न चिन्ता नगर्।) परमेश्वरले तँबाट यो कुरा माग्नुभएकोले, तैँले कसरी अभ्यास गर्नुपर्छ? तैँले कस्तो मनोवृतिले यस्ता कुराहरूलाई सम्हाल्नुपर्छ? जब सामान्य मानवता भएका मानिसहरूले आफूले छर्लङ्ग देख्न नसक्ने, बुझ्न नसक्ने, र अनुभव नगरेका कुराहरू, वा आफू पूर्णतया असहाय बन्ने परिस्थितिहरूसमेत सामना गर्छन्, तब तिनीहरूले पहिला उचित मनोवृति राख्नुपर्छ र यसो भन्नुपर्छ, “म यस प्रकारको कुरालाई बुझ्दिनँ, छर्लङ्ग देख्न सक्दिनँ, र मसँग यस्तो कुराको अनुभव छैन, न त मलाई के गर्ने भन्ने नै थाहा छ। म सामान्य व्यक्ति मात्र भएकोले मैले प्राप्त गर्न सक्ने कुराहरू सीमित छन्। केही कुराहरूलाई छर्लङ्ग देख्न वा बुझ्न नसक्नु कुनै लाज मान्नुपर्ने कुरो होइन, र ती कुराको अनुभव नहुनु पनि पक्कै लाज मान्नुपर्ने कुरो होइन।” जब तैँले यो लज्जास्पद कुरा होइन भन्ने थाहा पाउँछस्, के त्यो मामिलाको अन्त्य त्यही हो? के त्यो समस्या समाधान गरिएको हुनेछ? आफूलाई लज्जित तुल्याउनेबारे चिन्ता नगर्नु एउटा बुझाइ र मनोवृति मात्र हो जुन मानिसले यस्ता परिस्थितिहरूमा अपनाउन सक्छन्। यो र परमेश्वरका मापदण्डहरूअनुसार अभ्यास गर्नु उस्तै होइनन्। त्यसोभए, कुनै व्यक्तिले परमेश्वरको मापदण्डअनुसार कसरी अभ्यास गर्न सक्छ? मानिलिऊँ तँ मनमनै यस्तो सोच्छस्, “मैले यस प्रकारको कुरा पहिले कहिल्यै अनुभव गरेको छैन, र म त्यसलाई छर्लङ्ग देख्न सक्दिनँ। परमेश्वरले यस्तो परिवेशको बन्दोबस्त गर्नुको अर्थ, वा त्यसले प्राप्त गर्नुपर्ने परिणाम के हो मलाई थाहा छैन। मलाई परमेश्वरको मनोवृति पनि थाहा छैन। त्यसकारण, मैले त्यसबारे कष्ट उठाउनुपर्ने आवश्यकता देख्दिनँ। म त्यसलाई यतिकै छोडिदिनेछु र बेवास्ता गर्नेछु”—तँलाई यस्तो मनोवृति कस्तो लाग्छ? के यो सत्यता खोज्ने मनोवृति हो? के यो परमेश्वरका अभिप्रायहरूबमोजिम अभ्यास गर्ने मनोवृति हो? के यो परमेश्वरको वचन पालना गर्ने मनोवृति हो? (होइन।) अरू मानिसहरू यस्तो परिस्थितिको सामना गर्दा मनमनै यस्तो सोच्छन्, “म यो मामिलालाई छर्लङ्ग देख्न वा बुझ्न सक्दिनँ, र मैले यो पहिले कहिल्यै अनुभव गरेको छैन। यसबारे मेरो विश्वविद्यालयका कक्षाहरूमा कहिल्यै पढाइएन। मैले स्नातकोत्तर र विद्यावारिधि गरेको छु, र प्राध्यापकको रूपमा काम पनि गरेको छु—यदि मैले यो बुझ्न सक्दिनँ भने, कसले सक्छ होला त? के म यसलाई छर्लङ्ग देख्न सक्दिनँ र मसँग यसको अनुभव छैन भनेर सबैलाई थाहा दिनु साह्रै लाजमर्दो हुँदैन र? के तिनीहरू सबैले मलाई तुच्छ ठान्दैनन् र? अहँ, यसलाई छर्लङ्ग देख्न सक्दिनँ भनेर मैले भन्नु हुँदैन। मैले यसो भन्नैपर्छ, ‘यस खालका मामिलाहरूको सम्बन्धमा, परमेश्वरको वचनमा हेर, खोजी गर, अनि तिमीले जवाफ पाउनेछौ।’ म आफूले यो मामिलालाई छर्लङ्ग देख्न वा बुझ्न सक्दिनँ भनी स्विकार्नुभन्दा बरु मर्छु।” तँलाई यो मनोवृति कस्तो लाग्छ? (यो राम्रो होइन।) यो व्यक्ति आफूलाई को ठान्छ? ऊ आफूलाई सन्त, सिद्ध व्यक्ति ठान्छ। ऊ सोच्छ, “के मजस्तो विश्वविद्यालयको सम्मानित विद्यार्थी, नामी विद्वान, स्नातकोत्तर डिग्री र विद्यावारिधि प्राप्त, महान् र प्रसिद्ध व्यक्तिले बुझ्न वा छर्लङ्ग देख्न नसक्ने कुरा पनि साँच्चै हुन सक्छ र? असम्भव! अनि त्यो थिएछ नै भने पनि, त्यो त्यस्तो चीज हुनेथ्यो जुन तिमीहरू कसैले बुझ्नै सक्नेथिएनौ, त्यसैले त्यो समस्या होइन। यदि मैले त्यसलाई छर्लङ्ग देख्न नसकेको भए पनि, त्यसबारे तिमीहरूलाई पक्कै थाहा दिनेथिइनँ। ‘म त्यसलाई छर्लङ्ग देख्न सक्दिनँ,’ ‘म बुझ्दिनँ,’ ‘म सक्दिनँ,’ भन्नेजस्ता शब्दहरू मेरो मुखबाट कहिल्यै फुत्किनु हुँदैन!” यो कस्तो खालको व्यक्ति हो? (अहङ्कारी व्यक्ति।) यो अहङ्कारी र आत्म-अभिमानी व्यक्ति हो जसमा समझको कमी छ। यदि यस्तो खालको व्यक्तिले “आफूले नबुझ्ने कुराको समाधान गर्न चिन्ता नगर्” भन्ने वचनहरू पढ्यो भने, के उसले अभ्यासको मार्ग प्राप्त गर्नेछ? के उसले अलिकति प्रेरणा प्राप्त गर्नेछ? यदि प्राप्त गर्दैन भने, उसले यी सारा वचनहरू पढ्नु सबै व्यर्थ हुनेछ। यी वचनहरू स्पष्ट रूपमा लेखिएका छन् र बुझ्न सजिला छन्, त्यसोभए किन उसले ती बुझ्न सक्दैन? तैँले वचनहरू अध्ययन गर्न र सिक्न बिताएका ती सबै वर्षहरू काम लागेनन्। यदि तँ यी सरल र स्पष्ट वचनहरूसमेत बुझ्न सक्दैनस् भने, तँ साँच्चिकै निकम्मा होस्!
अब, “आफूले नबुझ्ने कुराको समाधान गर्न चिन्ता नगर्” भन्ने हरफमा अभ्यासको कुन मार्ग छ भनी फेरि हेरौँ। सर्वप्रथम, तैँले समाधान गर्न चिन्ता नगर्ने, बरु पहिला आफ्नो अन्तर्निहित क्षमताले हासिल गर्न सक्ने कुरा चिन्ने, सामान्य मानवता चिन्ने, र परमेश्वरले सामान्य मानवताबारे बताउनुहुँदा के भन्न खोज्नुएको हो भनेर बुझ्ने मनोवृति अपनाउनुपर्छ। परमेश्वरले मानिसहरू महामानव वा सामान्यभन्दा धेरै माथिका, असाधारण व्यक्ति बनेको उहाँ चाहनुहुन्न, तर तिनीहरू केवल सामान्य मानिस बनेको चाहनुहुन्छ भनेर भन्नुहुँदा वास्तवमा के भन्न खोज्नुभएको हो सो तैँले बुझ्नुपर्छ। तैँले पहिला यी कुराहरू बुझ्नैपर्छ। आफूले नबुझ्ने कुराहरू जानेको नाटक गर्नु बेकार हो। अन्यथा तैँले जति नै नाटक गरे पनि, तँलाई ती कुरा थाहा हुनेछैन। तैँले अरू सबैलाई मूर्ख बनाउन सकिस् भने पनि, परमेश्वरलाई छल गर्न सक्नेछैनस्। जब तँलाई त्यस्ता कुराहरू आइपर्छन्, यदि तँ ती बुझ्दैनस् भने, बुझ्दिनँ नै भन्। तँसँग सच्चा मनोवृति र भक्त हृदय हुनैपर्छ, र तैँले आफू वरिपरिका मानिसहरूलाई तँलाई थाहा नभएको र तैँले नबुझ्ने, तैँले पहिले अनुभव नगरेका कुराहरू छन्, र आफू सामान्य व्यक्ति मात्र हो, अरू कोहीभन्दा फरक छैन भनेर बुझ्न दिनैपर्छ। त्यसमा लाज मान्नुपर्ने कुरा केही छैन। यो सामान्य मानवताको प्रकटीकरण हो, र तैँले यो तथ्य स्विकार्नैपर्छ। तैँले यो तथ्य स्विकारेपछि, त्यसपछि के गर्ने? यसो भन्दै सबैलाई बता, “मैले यो पहिले कहिल्यै अनुभव गरेको छैन, म यसलाई छर्लङ्ग देख्न सक्दिनँ, र मलाई के गर्ने थाहा छैन। म तिमीहरूजस्तै हुँ, तैपनि म एउटा क्षेत्रमा चाहिँ तिमीहरूलाई उछिन्न सक्छु: मैले परमेश्वरका वचनहरूमा ज्योति देखेको छु र अभ्यासको मार्ग भेट्टाएको छु, ममा आशा छ, र मलाई अभ्यास गर्ने तरिका थाहा छ।” यो आशा कहाँ छ? त्यो परमेश्वरका वचनहरूमा छ: “आफूले नबुझ्ने कुराको समाधान गर्न चिन्ता नगर्, र यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्, अनि उहाँलाई सच्चा हृदय चढा।” यसको मतलब उक्त मामिलालाई हृदयमा लिनु, र त्यसबारे खोजी गर्न त्यसलाई बारम्बार परमेश्वरसामु ल्याउनु हो। तैँले त्यो मामिलालाई हृदयमा लिनैपर्छ, त्यसभित्रको सत्यता र परमेश्वरको अभिप्राय बुझ्न त्यसलाई आफ्नो एक प्रकारको दायित्वमा रूपान्तरण गर्नैपर्छ, अनि त्यसलाई आफ्नो जिम्मेवारी, निर्देशन र खोजीको लक्ष्यमा परिणत गर्नैपर्छ। यदि तैँले यसरी अभ्यास गरिस् भने, तँ परमेश्वरसामु आउनेछस्, आफ्नो समस्या समाधान गर्न सक्षम हुनेछस्, र यी वचनहरूको वास्तविकताभित्र प्रवेश गरेको हुनेछस्। तैँले यसलाई ठ्याक्कै कसरी अभ्यास गर्नुपर्छ? तँ प्रार्थना र खोजी गर्न परमेश्वरसामु आउनैपर्छ, अनि तैँले भेलाहरूमा सङ्गति गर्दा यो मामिलाबारे बताउने, र सबैसँग यसबारे कुराकानी र मनन गर्ने अवसरहरू पनि खोज्नुपर्छ। “यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्, अनि उहाँलाई सच्चा हृदय चढा।” तेरो हृदय सच्चा र साँचो हुनैपर्छ। तैँले केवल झारा टार्ने वा लापरवाही तरिकाले काम गर्ने पटक्कै गर्नु हुँदैन, र तैँले भन्ने कुराहरू भन्न खोजेकै कुराहरू हुनुपर्छ। तैँले यस मामिलामा बोझ उठाउनैपर्छ, र आफ्नो हृदयलाई धार्मिकताका लागि भोकाउने र तिर्खाउने बनाउनैपर्छ, यस मामिलामा परमेश्वरको अभिप्राय बुझ्ने र यस मामिलाको सारलाई छर्लङ्गै देख्ने चाहना राख्नैपर्छ, र त्यससँगै मानिसहरूले यो मामिला सामना गर्दा भोग्ने समस्या र दुविधा, साथै आफ्नो भ्रष्ट स्वभाव वा विभिन्न असामान्य स्थितिजस्ता समस्याहरू समाधान गर्ने इच्छा गर्नैपर्छ। “यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्, अनि उहाँलाई सच्चा हृदय चढा।” यो अभ्यासको पूर्ण मार्ग हो जुन परमेश्वरले मान्छेलाई बताउनुभएको छ। तँ यो हरफमा के देख्छस्? परमेश्वरले मान्छेका लागि परिवेशहरूको बन्दोबस्त गर्नुको उद्देश्य भनेको एकातिर, मानिसहरूलाई विभिन्न कुराहरू अनेकौँ तरिकाले अनुभव गर्न, तीबाट पाठहरू सिक्न, परमेश्वरको वचनमा भएका विभिन्न सत्यता वास्तविकताहरूमा प्रवेश गर्न दिनु, मानिसका अनुभवहरू समृद्ध बनाउनु, अनि तिनीहरूलाई परमेश्वर, आफू स्वयम्, आफ्ना परिवेश, र मानवजातिबारे अझ विस्तृत र बहुपक्षीय बुझाइ प्राप्त गर्न मद्दत गर्नु हो। अर्कोतिर, परमेश्वर मानिसहरूले उहाँसँग सामान्य सम्बन्ध कायम राखेको चाहनुहुन्छ। त्यसका लागि, उहाँ केही विशेष परिवेशहरू योजनाबद्ध गर्नुहुन्छ र केही विशेष पाठहरू बन्दोबस्त गर्नुहुन्छ। यसरी मानिसहरू उहाँसामु झनै बारम्बार आउँछन्, र परमेश्वरविहीन स्थिति अर्थात् परमेश्वरमा विश्वास गर्छु भन्ने, तर परमेश्वर वा सत्यतासँग सरोकार नै नभएको तरिकाले कार्य गर्दै, समस्या निम्त्याउने खालको स्थितिमा जिउँदैनन्। त्यसकारण, परमेश्वरद्वारा बन्दोबस्त गरिएका परिवेशमा मानिसहरू खासमा मन नलागी-नलागी र निष्क्रिय रूपमा परमेश्वरसामु उहाँद्वारा ल्याइन्छन। यसले परमेश्वरका ध्यानपूर्ण विचारहरू देखाउँछ। तँ कुनै मामिलालाई जति कम बुझ्छस्, तँमा त्यति नै बढी परमेश्वरको डर मान्ने र भक्त हृदय हुनुपर्छ, र तँ बारम्बार परमेश्वरका अभिप्रायहरू र सत्यता खोजी गर्न उहाँअघि आउनुपर्छ। तैँले कुराहरू नबुझ्दा, तँलाई परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन चाहिन्छ। तैँले आफूले नबुझ्ने कुराहरू सामना गर्दा, परमेश्वरलाई तँमाथि अझै बढी काम गर्नुहोस् भनी अनुरोध गर्नुपर्छ। यी परमेश्वरका ध्यानपूर्ण विचारहरू हुन्। तँ परमेश्वरको अघि जति आउँछस्, तेरो हृदय त्यति नै परमेश्वरको नजिक हुनेछ। अनि के तेरो हृदय परमेश्वरको जति नजिक हुन्छ, परमेश्वर त्यसमा त्यति नै धेरै बास गर्नुहुनेछ भन्ने कुरा साँचो होइन र? परमेश्वर व्यक्तिको हृदयमा जति धेरै बस्नुहुन्छ, उसको खोजी, उसले हिँड्ने मार्ग, र उसको हृदयको स्थिति त्यति नै असल बन्नेछ। परमेश्वरसँग तेरो सम्बन्ध जति घनिष्ठ हुन्छ, तँलाई बारम्बार परमेश्वरसामु आएर आफ्नो सच्चा हृदय चढाउन त्यति बढी सजिलो हुनेछ, र परमेश्वरमा तेरो विश्वास त्यति नै बढी सच्चा बन्नेछ। साथै, तेरो जीवन, कार्य, र आचारणहरू संयमित हुनेछन्। त्यस्तो संयम कसरी उत्पन्न हुन्छ? जब मानिसले बारम्बार परमेश्वरलाई प्रार्थना गर्छ, सत्यता खोज्छ, र परमेश्वरको छानबिन स्विकार्छ, तब त्यो उत्पन्न हुन्छ। यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसोभए, व्यक्तिले कुन सन्दर्भमा र कस्ता सर्तहरूमा परमेश्वरको छानबिन स्विकार्न सक्छ? (परमेश्वरसँग उसको सामान्य सम्बन्ध हुँदा।) ठिक हो, परमेश्वरसँग उसको सामान्य सम्बन्ध हुँदा। यदि परमेश्वरसँग तेरो सामान्य सम्बन्ध छ भने, के यसको अर्थ परमेश्वर तेरो हृदयमा हुनुहुन्छ र तँ उहाँसँग निकै घनिष्ठ छस् भन्ने हुनेछैन र? त्यसले तेरो हृदयमा परमेश्वरका लागि सधैँ ठाउँ हुन्छ, र तेरो हृदयमा परमेश्वरले एकदमै विशिष्ट स्थान ओगट्नुहुन्छ भन्ने अर्थ दिनेछ। फलस्वरूप, तँ सधैँ परमेश्वरबारे सोच्नेछस्, उहाँको वचनबारे सोच्नेछस्, उहाँको पहिचान र सारबारे सोच्नेछस्, उहाँको सार्वभौमिकताबारे सोच्नेछस्, र परमेश्वरका सबै कुराबारे सोच्नेछस्। ठेट बोलचालको भाषामा भन्नुपर्दा, तेरो हृदयभरि परमेश्वर हुनुहुनेछ, र उहाँले तेरो हृदयमा अति उच्च स्थान पाउनुहुनेछ। यदि तेरो हृदयभरि परमेश्वर हुनुहुन्छ भने, परमेश्वरसँग तेरो सामान्य सम्बन्ध हुनेछ, तँ परमेश्वरको छानबिन स्विकार्न सक्षम हुनेछस्, र त्यससँगै तँमा परमेश्वरको डर मान्ने हृदय पनि हुनेछ। त्यसपछि मात्र तैँले संयमपूर्वक कार्य गर्न सक्नेछस्। “यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्” भन्ने एउटा सरल वाक्य हो, तर यसको थुप्रै तहको अर्थ छ। यसमा मानवजातिप्रतिका परमेश्वरका अभिप्रायहरू र मानिसहरूले कार्य गर्दा अपनाउनुपर्ने भनी परमेश्वरले तोक्नुभएको मनोवृति पर्छन्, साथै यसले परमेश्वरले मानवजातिमाथि राख्नुभएका मापदण्डहरू पनि बताउँछ। त्यसोभए, मानवजातिप्रतिका परमेश्वरका मापदण्डहरू के-के हुन्? यो कि, तैँले हार मान्नु हुँदैन, भाग्नु हुँदैन, वा आफूलाई आइपर्ने परिस्थितिप्रति उदासीन मनोवृति राख्नु हुँदैन। यदि तैँले नबुझ्ने र छर्लङ्ग देख्न नसक्ने, वा जित्न नसक्ने, वा आफूलाई कमजोरसमेत बनाउने कुराको सामना गर्नुपर्यो भने, तैँले के गर्नुपर्छ? समाधान गर्न चिन्ता नगर्। परमेश्वर मानिसलाई तिनीहरूको क्षमताभन्दा पर धकेल्नुहुन्न। परमेश्वर कहिले पनि मानिसले मानव क्षमताको दायराबाहिरका कामकुरा गरेको चाहनुहुन्न। परमेश्वरले तँलाई गराउनुहुने र तैँले गर्नुपर्ने भनेर तोक्नुहुने सबै कुरा सामान्य मानवता भएका मानिसले हासिल गर्न, प्राप्त गर्न, र पूरा गर्न सक्ने कुराहरू हुन्। त्यसकारण, मान्छेका लागि परमेश्वरका मापदण्ड र मानकहरू अलिकति पनि खोक्रा र अस्पष्ट छैनन्। मान्छेका लागि परमेश्वरका मापदण्डहरू सामान्य मानवता भएका मानिसहरूले हासिल गर्न सक्ने कुराको दायरालाई समेट्ने मानकभन्दा बढी केही होइनन्। यदि तँ सधैँ आफ्ना कल्पनाहरूलाई पछ्याउँछस्, र अरूभन्दा राम्रो, श्रेष्ठ, र बढी सक्षम हुन चाहन्छस्, र सधैँ अरूलाई उछिन्न चाहन्छस् भने, तैँले परमेश्वरको आशयलाई गलत बुझेको छस्। अहङ्कारी र आत्मधर्मी मानिसहरू प्रायः यस्तै हुन्छन्। परमेश्वर समाधान गर्न चिन्ता नगर्नू भन्नुहुन्छ, उहाँ सत्यता खोज्नू र सिद्धान्तअनुसार कार्य गर्नू भन्नुहुन्छ, तर अहङ्कारी र आत्मधर्मी मानिसहरू परमेश्वरका यी मापदण्डहरूलाई ध्यानपूर्वक विचार गर्दैनन्। बरु, तिनीहरू शक्ति र तागतसाथ कामकुरा पूरा गर्न, सफा र सुन्दर तरिकाले कामकुरा गर्न, र आँखा झिमिक्क गर्दा अरू सबैलाई उछिन्न जिद्दी गर्छन्। तिनीहरू महामानव बन्न चाहन्छन् र सामान्य मानिस बन्न इन्कार गर्छन्। के यो परमेश्वरले मानिसका लागि स्थापित गरेका प्रकृतिक नियमहरूविपरीत जानु होइन र? (हो।) पक्कै पनि, तिनीहरू सामान्य मानिस होइनन्। तिनीहरूमा सामान्य मानवताको कमी छ, र तिनीहरू अति अहङ्कारी छन्। तिनीहरू सामान्य मानवताको दायराभित्रका मापदण्डहरूलाई बेवास्ता गर्छन् जुन परमेश्वरले मानवजातिका लागि अघि सार्नुभएको छ। तिनीहरू सामान्य मानवता भएका मानिसहरूले प्राप्त गर्न सक्ने ती मानकहरूलाई बेवास्ता गर्छन् जुन परमेश्वरले मानवजातिका लागि तय गर्नुभएको छ। त्यसकारण, तिनीहरू परमेश्वरका मापदण्डहरूलाई तिरस्कार गर्छन् र यस्तो सोच्छन्, “परमेश्वरका मापदण्डहरू अति तुच्छ छन्। परमेश्वरका विश्वासीहरू कसरी सामान्य मानिस हुन सक्छन्? तिनीहरू पक्कै पनि असाधारण मानिस, सामान्य मानिसलाई पार गर्ने र उछिन्ने व्यक्ति हुनुपर्छ। तिनीहरू महान् र नामी व्यक्तित्वहरू नै हुनुपर्छ।” तिनीहरू परमेश्वरका वचनहरूलाई बेवास्ता गर्छन्, र परमेश्वरका वचनहरू सही र सत्यता भए पनि, ती केवल अति साधारण र सामान्य छन् भन्ठान्छन्, त्यसैले तिनीहरू उहाँका वचनहरूलाई उपेक्षा गर्छन् र तुच्छ ठान्छन्। तर ती तथाकथित महामानव र महान् व्यक्तित्वहरूले त्यसरी इन्कार गर्ने यी सामान्य र साधारण वचनहरूमा नै मानिसहरूले पालना र अभ्यास गर्नुपर्ने सिद्धान्त र मार्गहरू परमेश्वर औँल्याउनुहुन्छ। परमेश्वरका वचनहरू अति सच्चा, निष्पक्ष, र व्यावहारिक छन्। ती वचनहरूले मानिसबाट उच्च माग बिलकुलै गर्दैनन्। ती सबै त मानिसहरूले प्राप्त गर्न सक्ने र प्राप्त गर्नुपर्ने कुरा हुन्। यदि मानिसमा थोरै सामान्य समझ छ भने, उसले ज्यादै खुसीले हावामा उछिल्लिन खोज्नु हुँदैन, बरु अडिग भई पाउ धर्तीमै राखी परमेश्वरका वचनहरू र सत्यतालाई स्विकार्नुपर्छ, आफ्ना कर्तव्यहरू राम्ररी निभाउनुपर्छ, परमेश्वरसामु जिउनुपर्छ, र सत्यतालाई आफ्नो व्यवहार र कार्यहरूको सिद्धान्तको रूपमा लिनुपर्छ। तिनीहरू अति नै महत्वाकाङ्क्षी हुनु हुँदैन। मानिसहरूले “यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्” भन्ने हरफमा परमेश्वरका वचनहरू सत्यता हुन्, र सत्यताहरू मानिसहरूले अभ्यास गर्नुपर्ने सिद्धान्तहरू हुन् भनी झन् बढी बुझ्नुपर्छ। यहाँ “मानिसहरू” ले कसलाई जनाउँछ? त्यसले सामान्य तर्कचेतना र सामान्य निर्णय-विवेक भएका, सकारात्मक कुराहरू रुचाउने, र निष्पक्ष, व्यावहारिक, साधारण, र सामान्य कुरा के हुन् भनी बुझ्ने मानिसहरूलाई जनाउँछ। “यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्” भन्ने वचनहरूको रसपान गर्न समय निकाल्। यी सरल, सामान्य वचनहरू भए पनि, यिनले सामान्य मानवताको समझ भएका मानिसहरूले गर्न सक्नुपर्ने कुराको व्याख्या गर्छ र साथै यी वचनहरू ती सत्यता सिद्धान्त हुन् जुन सामान्य मानवता भएको व्यक्तिले आफ्नो वास्तविक जीवनमा कठिनाइहरू सामना गर्दा सबैभन्दा बढी अभ्यास गर्नुपर्छ। यी सामान्य मानवताको समझ भएका मानिसहरूलाई सबैभन्दा बढी आवश्यक पर्ने सत्यता हुन्। यी बिलकुलै खोक्रा वचन होइनन्। तिमीहरूले यी सामान्य वचनहरू धेरैपटक गाएका र सुनेका छौ, तर तिमीहरूमध्ये कसैले पनि यी वचनहरूलाई सावधानीपूर्वक सोच्नुपर्ने र ध्यानपूर्वक सङ्गति गर्नुपर्ने सत्यताको रूपमा लिएका छैनौ। यसरी, तिमीहरूले यी अनमोल वचनहरूबाट कुनै लाभ उठाएका छैनौ। खासमा, यी वचनहरूमा परमेश्वरका अभिप्रायहरू, मानिसका लागि उहाँका ताकिता र चेतावनी अनि मानिसका लागि उहाँका मापदण्डहरू छन्। यी वचनहरूमा अति धेरै कुरा छन्। मानिसहरू हृदयहीन र अविवेकी छन्, र तिनीहरू यी वचनहरूलाई साधारण वचनको रूपमा लिन्छन्; तिनीहरू यी वचनहरूलाई बहुमूल्य ठान्दैनन्, यीबारे विचार वा अभ्यास गर्दैनन्, अनि यसले गर्दा अन्त्यमा कष्ट भोग्ने र वञ्चित हुनेहरू को हुनेछन्? मानिसहरू नै हुनेछन्। के यो पाठ होइन र?
परमेश्वरले यस खण्डमा तोक्नुभएका मापदण्डहरू अभ्यास गर्न सामान्य मानिसलाई धेरै सजिलो हुन्छ। यो अभ्यासमा कठिन वा थकाइलाग्दो कुरा केही छैन, र यो प्रभावकारी छ। अन्त्यमा, यसले तँलाई बिस्तारै बढ्न र प्रगति गर्न सक्षम तुल्याउन सक्छ। अवश्य पनि, तैँले “समाधान गर्न चिन्ता नगर्; र यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्, अनि उहाँलाई सच्चा हृदय चढा” भन्ने सिद्धान्त अभ्यास गरेपछि सत्यता, स्वभाव परिवर्तन, विभिन्न परिवेशको अनुभवबाट प्राप्त हुने बुझाइ र यस्तै अन्य कुराहरूको सन्दर्भमा प्रगति गर्नेछस्। यी वचनहरू कति अद्भुत छन्! यदि मानिसहरूमा समझ छ र तिनीहरू यी वचन अभ्यास गर्छन् भने, परमेश्वरले थुप्रै परिवेश बन्दोबस्त गर्नुमा उहाँका अभिप्रायहरू के रहेछन् भन्ने कुरा तिनीहरूले उहाँको वचनको मार्गदर्शन र निर्देशनमा थाहा पाउनेछन्। केही समयपछि, अन्त्यमा तिनीहरू प्रतिफल पाउन, अनुभव हासिल गर्न, र ती परिवेशहरूमा सत्यता बुझ्न सक्षम हुनेछन्। जब तँ यस्ता प्रतिफलहरू प्राप्त गर्छस्, तब तैँले परमेश्वरले यी परिवेशहरूको बन्दोबस्त किन गर्नुभएको हो, उहाँका अभिप्रायहरू के हुन, र परमेश्वर तीबाट मानिसले के हासिल गरेको चाहनुहुन्छ भनेर थाहा पाउनेछस्। त्यसबाहेक, मानिसहरू हिँड्ने घुमाउरो बाटो, तिनीहरूले भोग्ने रोकावट, तिनीहरूको विकृत बुझाइ, तिनीहरूको अवास्तविक विचार, तिनीहरूभित्र उत्पन्न हुने परमेश्वरप्रतिको धारणा र प्रतिरोध आदि सबै कुरा तिनीहरूले यी परिवेशहरूको अनुभव गर्दा बिस्तारै खुलासा र प्रकट हुनेछन्। चाहे यी कुराहरू सकारात्मक होऊन् या नकारात्मक, यी परिवेशमार्फत खुलासा र प्रकट गरिने कुरा प्रष्टसित देख्न र बुझ्न केही समयको अनुभव चाहिन्छ। यसरी, “आफूले नबुझ्ने कुराको समाधान गर्न चिन्ता नगर्” भन्ने परमेश्वरका वचनहरूको साँचो अर्थ पूरा हुन्छ। यसको मतलब, जब परमेश्वरले तैँले देख्न वा बुझ्न नसक्ने र पहिले अनुभव नगरेको कुनै कुराको बन्दोबस्त गर्नुहुन्छ, तब परमेश्वरले त्यो परिस्थितिबाट तैँले जे बुझेको, प्राप्त गरेको, र व्यक्तिगत रूपमा अनुभव गरेको चाहनुहुन्छ, त्यो कुरा एकदुई दिनमै हासिल गर्न सकिँदैन। केही समयपश्चात र प्रत्येक चरणमा परमेश्वरको निर्देशन, अन्तर्दृष्टि, र मार्गदर्शनद्वारा मात्र तैँले बिस्तारै बुझाइ र परिणामहरू हासिल गर्नेछस्। यो मानिसले कल्पना गरेजस्तो हुँदैन, तैँले एक्कासी सबै कुरा अन्तर्दृष्टि पाउनेबित्तिकै बुझ्दैनस् वा झुलुक्क प्रेरणा पाउनासाथ तँलाई परमेश्वरको आशय थाहा हुँदैन। परमेश्वर त्यस्ता कुराहरू अलौकिक माध्यमद्वारा गर्नुहुन्न, परमेश्वर यस तरिकाले कार्य गर्नुहुन्न। परमेश्वरले कार्य गर्ने तरिका यही हो। परमेश्वर तँलाई कुनै परिस्थितिको कारण र परिणाम भोग्न दिनुहुन्छ, र तैँले बिस्तारै थाहा पाउँछस्: “यस प्रकारको व्यक्तिको सार यस्तै हुन्छ, र त्यस प्रकारको कुराको वास्तविकता र सार यस्तै हुन्छ, र यसले परमेश्वरको वचनको यो-यो हरफ पूरा गर्छ। अन्ततः म परमेश्वरले त्यसो भन्नुको अर्थ बुझ्छु। अन्ततः म यस्ता मामिला र त्यस्ता मानिसहरूबारे परमेश्वरले किन त्यस्ता कुरा भन्नुभयो भनेर बुझ्छु।” परमेश्वर तँलाई आफ्ना अनुभवहरूमार्फत त्यस्ता कुरा थाहा पाउन दिनुहुन्छ। के यी कुरा थाहा पाउन केही समय लाग्दैन र? (लाग्छ।) तैँले केही अवधिको अनुभवमार्फत हासिल गर्ने ज्ञान र बुझ्ने सत्यताहरू धर्मसिद्धान्त वा सैद्धान्तिक कुरा नभएर तेरो व्यक्तिगत अनुभव र साँचो ज्ञान हुन्। तँ प्रवेश गर्ने सत्यता वास्तविकता यही हो। “समाधान गर्न चिन्ता नगर्” भन्ने परमेश्वरका वचनहरूको कारण र स्रोत यहाँ छ। परमेश्वरले तँलाई आफूले अनुभव गर्ने घट्नाहरूबाट प्रतिफल प्राप्त गर्न दिनुहुँदा, उहाँ तैँले केवल प्रक्रिया पूरा गरेको वा कुनै सिद्धान्त सिकेको चाहनुहुन्न, तर बुझाइ, केही ज्ञान, सकारात्मक दृष्टिकोण, र अभ्यासको सही विधि प्राप्त गरेको चाहनुहुन्छ। यस खण्डमा थोरै मात्र हरफ भए पनि र धेरै कुरा नसमेटिए पनि, परमेश्वरले यस खण्डमा अघि सारेका मापदण्डहरू र त्यसमार्फत उहाँले मानिसलाई दिने अभ्यासका सिद्धान्तहरू एकदमै महत्त्वपूर्ण छन्। मानिसले मानव ज्ञान र धर्मसिद्धान्तहरूप्रति अपनाउने मनोवृत्तिले नै परमेश्वरको वचनलाई पनि लिनु हुँदैन। परमेश्वरको वचन अभ्यास गर्न तँसँग सिद्धान्तहरू हुनैपर्छ। यसको मतलब तैँले कुनै प्रकारको परिस्थिति सामना गर्दा अभ्यास गर्नका लागि तँसँग सिद्धान्त र विधि हुनैपर्छ। सत्यता अभ्यास गर्नु भनेको यही हो। यसैलाई हामी सिद्धान्त भन्छौँ। त्यसकारण, ती केही सरल शब्दहरू मात्र होइनन्। ती व्यक्त र प्रस्तुत गरिने तरिका सरल र बुझिने भए पनि, शब्दहरू एकदमै स्पष्ट देखिए पनि, ती सुन्दर, आलङ्कारिक भाषा वा सानदार पदक्रम वा परिष्कृत अभिव्यक्तिहरूले सुसज्जित नभए पनि र ती पक्कै पनि होच्याउने शैलीमा नभनिएका भए पनि, बरु ती आमनेसामने र खुल्ला मनले भनिएका सच्चा चेतावनी र मापदण्ड मात्र भए पनि, वास्तवमा ती कुराले मानिसलाई अभ्यासका सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त र मार्गहरू बताउँछन्।
थुप्रै मानिस परमेश्वरले बोलेका सबैभन्दा सामान्य वचनहरूलाई कहिल्यै गम्भीरतासाथ लिँदैनन्। तिनीहरू परमेश्वरले बोल्ने गहन र रहस्यमयी वचनहरूलाई मात्र उहाँको वचन मान्छन्। के यो विकृत बुझाइको प्रकटीकरण होइन र? परमेश्वरको वचनको हरेक वाक्य सत्यता हो। ती सामान्य वचनहरू होऊन् वा गहन वचनहरू, परमेश्वरका सबै वचनमा सत्यता र रहस्यहरू हुन्छन्, र ती बुझ्न र जान्न वर्षौँको अनुभव र निश्चित कदको आवश्यकता पर्छ। तिमीहरूले भर्खरै गाएको भजनमा भएका परमेश्वरका राम्रा र महत्त्वपूर्ण वचनहरूलाई जस्तै नै—कसैले पनि ती वचनहरूलाई गम्भीरतापूर्वक लिँदैन। ती वचनहरूलाई सङ्गीतमा ढालिएको र मानिसहरूले वर्षौँदेखि गाउँदै आएका भए पनि, तिनमा भएको अभ्यासको यो सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त कसैले कहिल्यै भेट्टाएको छैन। कतिपय मानिसलाई आफ्नो चेतनाभित्र परमेश्वरका वचनहरूले आफूलाई “आफूले नबुझ्ने कुराको समाधान गर्न चिन्ता नगर्, र यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्, अनि उहाँलाई सच्चा हृदय चढा” भनिरहेका हुन् कि जस्तो महसुस भए पनि, र यी मानिसका लागि परमेश्वरका मापदण्ड हुन् भन्ने लागे पनि, कसले कहिले आफ्नो वास्तविक जीवनमा परमेश्वरका यी वचनहरूको वास्तविकतालाई साँच्चै अभ्यास र लागू गरेको, र त्यसमा प्रवेश गरेको छ र? के कसैले यसो गरेको छ त? (छैन।) कसैले पनि यस्तो गरेको छैन। परमेश्वरका यी वचनहरू अति सरल छन्, तर ती कसैले पालना गर्न सक्दैन। के यसमा मूलभूत समस्या छैन र? (छ, यसले मानिसहरू सत्यताप्रति प्रतिकूल रहन्छन् भन्ने देखाउँछ।) अरू केही छ? (परमेश्वरले हामीसँग बोलेका यी वचनहरू अत्यन्तै व्यावहारिक छन्। ती सबै सिद्धान्तका वचन हुन्। तर हामीले परमेश्वरको वचनलाई गम्भीरतापूर्वक लिएका छैनौँ, हामीले तिनलाई ध्यान दिएका छैनौँ, र हामीले ती अभ्यास गरेका छैनौँ।) त्यसोभए तिमीहरू परमेश्वरको वचन सामान्यतया कसरी पढ्छौ? (हामी परमेश्वरको वचन पढ्दा, प्रायः सरसरती मात्र पढ्छौँ। ती वचनहरूको शाब्दिक अर्थ बुझेपछि अघि बढ्दै जान्छौँ। हामी ती वचनमा परमेश्वरका अभिप्रायहरू के हुन् वा कुन सत्यता सिद्धान्त अभ्यास गर्नुपर्ने हो भनेर बुझ्दैनौँ। हामीले तीबारे त्यसरी ध्यानपूर्वक मनन गरेका छैनौँ।) तिमीहरूले केही सैद्धान्तिक विचारसहित जवाफ दिएका छौ र तिमीहरूले भनेको कुरा सहीजस्तो लाग्छ, तर तिमीहरूले यसको जड बुझेका छैनौ, र त्यो मानिसहरूले परमेश्वरको वचनलाई बहुमूल्य नठान्नु हो। यदि तँ परमेश्वरको वचनलाई बहुमूल्य ठान्छस् भने, तैँले त्यसमा रहेका खजाना, सुन, र हिराहरू पत्ता लगाउन सक्नेछस् र जीवनभरि यी चीजहरूको आनन्द लिनेछस्। यदि तँ परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्दैनस् भने, तैँले यी खजानाहरू प्राप्त गर्न सक्नेछैनस्। परमेश्वरका वचनहरूलाई बहुमूल्य नठान्नु भनेको के हो? त्यसको अर्थ तँ परमेश्वरका वचनहरूको कदर गर्दैनस् भन्ने हो। तँलाई परमेश्वरका कैयौँ वचनहरू छन्, र ती सबै सत्यता हुन् भन्ने अनुभूति हुन्छ, र कुन-कुनलाई बहुमूल्य ठान्ने सो तँलाई थाहा हुँदैन। तँलाई ती सबै साधारण लाग्छ, र यो समस्या हो। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नुको अर्थ के हो? त्यसको अर्थ तँलाई परमेश्वरका वचनहरू सबै सत्यता हुन्, र यी सत्यताहरू मानिसको जीवन र जियाइका लागि सबैभन्दा उपयोगी र अमूल्य खजाना हुन् भन्ने कुरा थाहा हुनु हो। यसको अर्थ तँ परमेश्वरका वचनहरूलाई आफूले त्याग्नै नसक्ने अत्यन्तै प्रिय खजाना ठान्छस् भन्ने हो। परमेश्वरका वचनहरूप्रतिको यो मनोवृतिलाई नै बहुमूल्य ठान्नु भनिन्छ। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नुको अर्थ यो हो कि, तैँले परमेश्वरका सबै वचन सबैभन्दा मूल्यवान् खजाना हुन्, ती कुनै प्रसिद्ध वा महान् व्यक्तित्वको जीवन आदर्शभन्दा सयौँ, हजारौँ गुणा बढी मूल्यवान् छन् भन्ने कुरा पत्ता लगाएको छस्। त्यसको अर्थ तैँले परमेश्वरका वचनहरूको सत्यता प्राप्त गरेको छस् र तैँले जीवनका सबैभन्दा ठूला र सबैभन्दा मूल्यवान् खजानाहरू पत्ता लगाएको छस्। यी खजानाहरूको प्राप्तिले तँलाई आफ्नो महत्त्व बढाउन र परमेश्वरको अनुमोदन प्राप्त गर्न मद्दत गर्न सक्छ। यसकारण तँ विशेष गरी यी सत्यताहरूलाई बहुमूल्य ठान्छस्। म यसको एउटा वास्तविक उदाहरण दिनेछु। मानिलिऊँ एउटी महिलाले सुन्दर पोसाक किन्छे, र घर पुगेर ऊ उक्त पोसाक लगाएर ऐनामा हेर्छे। ऐनामा दायाँबायाँ हेर्दै उसले सोच्छे: “यो पोसाक अत्यन्तै सुन्दर छ, यसको कपडा उत्कृष्ट छ, यसको कारिगरी उम्दा छ, र लगाउन आरामदायी र मुलायम छ। यति राम्रो कपडा किन्न सक्नु मेरो सौभाग्य हो। यो मलाई मन पर्ने कपडा हो, तर म सधैँ यही लगाउन सक्दिनँ। म यो सबैभन्दा भव्य कार्यक्रमहरूमा सहभागी हुँदा र सबैभन्दा विशिष्ट मानिसहरूसँग भेट्दा लगाउनेछु।” ऊ केही फुर्सद मिल्दा प्रायः उक्त पोसाक निकाल्छे र त्यसको प्रशंसा गर्छे र त्यो लगाएर हेर्छे। छ महिनापछि पनि ऊ अझै त्यो पोसाकबारे उतिकै उत्साहित छे र त्यसबाट टाढिनै सक्दिन। कुनै कुरालाई बहुमूल्य ठान्नु भनेको यही हो। के परमेश्वरको वचनप्रति तिमीहरूको मनोवृति यो स्तरमा पुगेको छ? (छैन।) एउटी महिलाले आफूलाई मनपर्ने पोसाकलाई मूल्यवान् ठानेको जति पनि तिमीहरूले परमेश्वरको वचनलाई मूल्यवान् नठान्नु कत्ति दयनीय कुरा हो! कुनै आश्चर्य छैन, तिमीहरूले परमेश्वरका थुप्रै वचन पढेर पनि निकै धेरै सत्यताहरू पत्ता लगाउन असफल भएका छौ, र कहिल्यै वास्तविकताभित्र प्रवेश गर्न सकेका छैनौ। तिमीहरू सधैँ परमेश्वरका सबै वचन सत्यता हुन् भनी भन्छौ, तर यी त सैद्धान्तिक र मौखिक दाबी मात्र हुन्। यदि परमेश्वरका वचनहरूको सबैभन्दा सरल र सबैभन्दा पहिले व्यक्त गरिएका खण्डहरूमध्ये एउटा अघि सारियो, र तिमीहरूलाई ती वचनहरूमा कस्ता सत्यताहरू छन्, परमेश्वरका अभिप्रायहरू के-के हुन्, वा परमेश्वर मान्छेलाई कस्ता मापदण्ड र मानकहरू प्रदान गर्नुहुन्छ भनी सोधियो भने, तिमीहरू अनुत्तरित हुनेथ्यौ र जवाफमा एक शब्द पनि बोल्न सक्थेनौ। तिमीहरूले परमेश्वरका वचनहरू धेरै पढेका र सुनेका छौ, तर तिमीहरूमा त्यसबारे साँचो बुझाइ किन छैन? त्यो समस्याको जड कहाँ छ? वास्तवमा, त्यो जड मानिसले परमेश्वरका वचनहरूलाई पर्याप्त रूपले बहुमूल्य नठान्नु हो। अहिले तिमीहरूले परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्ने हदमा त तिमीहरू परमेश्वरका वचनहरूमा सत्यता पत्ता लगाउन र ती वचनमार्फत परमेश्वरले मान्छेलाई दिने मापदण्ड, सिद्धान्त र अभ्यासको मार्ग पत्ता लगाउनदेखि निकै टाढा हुन्छौ। यही कारण तिमीहरू आफूलाई परिस्थितिहरू आइपर्दा सधैँ दुविधामा पर्छौ र सिद्धान्तहरू कहिल्यै खोज्न सक्दैनौ। त्यसैले तिमीहरू थुप्रै परिस्थिति भोग्छौ, तर परमेश्वरका अभिप्रायहरू कहिल्यै थाहा पाउँदैनौ, वा धेरै बढ्दैनौ वा परिवर्तन हुँदैनौ, वा नगण्य मात्र प्रतिफलहरू पाउँछौ। के यस्ता मानिसहरू दयनीय हुँदैनन् र?
यो खण्ड फेरि पढ्। (“आफूले नबुझ्ने कुराको समाधान गर्न चिन्ता नगर्, र यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्, अनि उहाँलाई सच्चा हृदय चढा। परमेश्वर तेरा सर्वशक्तिमान् हुनुहुन्छ भन्ने विश्वास गर्। तँसित परमेश्वरका निम्ति ठूलो आकाङ्क्षा हुनैपर्छ, तैँले शैतानका बहाना, अभिप्राय र चालहरूलाई नकार्दै जोडतोडले खोजी गर्नुपर्छ। निराश नहो। कमजोर नहो। आफ्नो सारा हृदयले खोजी गर्; सारा हृदयले प्रतीक्षा गर्। सक्रिय रूपले परमेश्वरसित सहकार्य गर्, र आफूलाई आफ्ना आन्तरिक विघ्नबाधाहरूबाट मुक्त गर्।”) म तिमीहरूको ध्यान महत्त्वपूर्ण बुँदाहरूमा खिच्न र तिमीहरूलाई परमेश्वरका वचनहरू पढ्ने सिद्धान्त र तिनमा कसरी अभ्यासको मार्ग भेट्टाउने भन्नेबारे बताउन चाहन्छु। यो खण्ड फेरि एक-एक हरफ गरेर पढ। (“आफूले नबुझ्ने कुराको समाधान गर्न चिन्ता नगर्।”) यो हरफमा मानिसहरूले बुझ्नैपर्ने एउटा सिद्धान्त छ। त्यो हो: हतार नगर्, आत्तिने नगर्, नतिजा हेर्न हतार नगर्। यो एउटा मनोवृति हो। यो पहिलो हरफमा मानिसहरूले परिस्थितिप्रति अपनाउनुपर्ने सही मनोवृति छ। यो सही मनोवृति सामान्य मानवताको समझको दायराभित्र पर्छ; यो सामान्य मानवता भएका मानिसहरूको समझ र क्षमताको दायराभित्र पर्छ। अब, दोस्रो हरफ पढ्। (“यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्, अनि उहाँलाई सच्चा हृदय चढा।”) यसको अर्थ के हो? (यो परमेश्वरले मान्छेलाई दिने अभ्यासको मार्ग हो।) ठिक भनिस्, यो त्यति सरल छ। अभ्यासको मार्ग यही हो। यहाँ, “बारम्बार” को अर्थ तैँले यो तँलाई जहिले मन लाग्छ तहिले गर्नु हुँदैन, र औँसीपुर्नेमा मात्र पनि पक्कै गर्नु हुँदैन; यसको अर्थ यी मामिलाहरू तेरो मनमा आउनेबित्तिकै प्रार्थना र खोजी गर्न तैँले त्यसलाई परमेश्वरसामु राख्नुपर्छ। यदि तँ यी मामिलाहरूमा बोझ बोक्छस् भने, यदि तँसँग धार्मिकताका लागि भोकाउने र तिर्खाउने हृदय छ भने, यदि तँ यी मामिलाहरूमा परमेश्वरका अभिप्रायहरू र परमेश्वरको मापदण्ड, साथै तैँले बुझ्न चाहने समस्याहरूको सार बुझ्न उत्सुक छस् भने, तँ प्रायः परमेश्वरसामु आउनुपर्छ, मतलब एकदमै बारम्बार आउनुपर्छ। तेरो परिस्थितिअनुसार, जब तँ व्यस्त हुन्छस्, तब तीबारे सोचिरहेको वा परमेश्वरलाई प्रार्थना गरिरहेको र त्यसबारे खोजी गरिरहेको जस्तै गरी यी मामिलाबारे विचार गर्न फुर्सदको क्षण खोज्। के अभ्यासको यो तरिका एकदमै स्पष्ट छैन र? (छ।) उदाहरणका लागि, तैँले खाना खाइसकेर आराम गर्दा, यसो भन्दै मनन र प्रार्थना गर्, “हे परमेश्वर, मैले यस्ता-यस्ता परिस्थिति अनुभव गरेको छु। म तपाईंको अभिप्राय बुझ्दिनँ, र मलाई यो किन भएको हो भनेर बुझ्न सक्दिनँ। यस व्यक्तिको खास अभिप्राय के हो? मैले यस प्रकारको समस्यालाई कसरी समाधान गर्नुपर्छ? तपाईं मैले यस मामिलाबाट के बुझेको चाहनुहुन्छ?” तँ यी थोरै सरल वचनहरूमा, आफूले खोज्न चाहने मामिला र आफूले सार बुझ्न चाहने समस्याबारे परमेश्वरलाई प्रार्थना गर्छस् र उहाँबाट खोजी गर्छस्। यसरी प्रार्थना गर्नुको उद्देश्य के हो? तैँले परमेश्वरसामु समस्या राखिरहेको मात्र छैनस्, परमेश्वरबाट सत्यता खोजिरहेको पनि छस्, परमेश्वरलाई तेरा लागि निकास खोलिमाग्ने र यस मामिलाबारे के गर्ने भनी बताइमाग्ने कोसिस गरिरहेको छस्, र तँ परमेश्वरलाई तेरा लागि अन्तर्दृष्टि र मार्गदर्शन मागिरहेको छस्। तँ यसो गर्न सक्षम हुनका लागि आवश्यक सर्तहरू के-के हुन्? (मैले समाधानको चिन्ता गर्नै हुँदैन।) समाधानको चिन्ता नगर्नु एउटा मनोवृति मात्र हो—यो भनेको तँ समाधानको चिन्ता गरिरहेको छैनस् भन्ने होइन, बरु तँ समाधानको चिन्ता नगर्ने ठूलो पूर्वसर्तअन्तर्गत छस्, तँसँग धार्मिकताका लागि भोकाउने र तिर्खाउने हृदय छ, र तँ यस मामिलामा बोझ बोक्छस्। अर्को शब्दमा भन्नुपर्दा, यो मामिलाले तँमाथि एक प्रकारको दबाबको रूपमा कार्य गर्छ, र त्यस दबाबले तेरो काँधमा बोझ राखिदिन्छ, जसले गर्दा तँसँग एउटा समस्या हुन्छ र तँ त्यसलाई तँ बुझ्न र समाधान गर्न चाहन्छस्। यो तेरो अभ्यासको मार्ग हो। तेरो फुर्सदको समयमा, तेरो नियमित भक्तिको समयमा, वा तँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग कुरा गरिरहेको बेला, तैँले आफ्ना व्यावहारिक कठिनाइ र समस्याहरू अघि राख्न, अनि तेरा दाजुभाइ-दिदीबहिनीहरूसित सङ्गति र खोजी गर्न सक्छस्। यदि तैँले अझै ती समस्याहरू समाधान गर्न सकिनस् भने, तिनलाई परमेश्वरसामु ल्याएर प्रार्थना गर् र सत्यता खोज्। तैँले त्यसो गर्दा, यसो भन्, “हे परमेश्वर, तपाईंले मेरा लागि बन्दोबस्त गरेको परिवेशलाई कसरी अनुभव गर्नुपर्छ भनेर मलाई अझै थाहा छैन। मैले त्यसबारे अझै बुझेको छैनँ, र मलाई कहाँदेखि सुरु गर्ने वा कसरी अभ्यास गर्ने भन्ने थाहा छैन। म कदमा सानो छु र म धेरै सत्यता बुझ्दिनँ। कृपया मलाई अन्तर्दृष्टि र मार्गदर्शन प्रदान गर्नुहोस्। तपाईं मैले यस परिवेशबाट के प्राप्त गरेको वा बुझेको चाहनुहुन्छ, वा तपाईं यस परिवेशमार्फत मेरो बारेमा के खुलासा गर्न चाहनुहुन्छ, त्यो मलाई थाहा छैन। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र तपाईंको अभिप्राय बुझ्न दिनुहोस्।” “यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्” भन्ने हरफमा भेटिएको अभ्यासको मार्ग यही हो। यसरी नै अभ्यास गर्, कहिलेकाहीँ आफ्नो हृदयमा सोच्दै, कहिलेकाहीँ मनमनै र कहिलेकाहीँ स्वर निकालेर परमेश्वरलाई प्रार्थना गर्दै, र कहिलेकाहीँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसित सङ्गति गर्दै, अभ्यास गर्। यदि तँमा यी प्रकटीकरणहरू छन् भने, त्यसले तँ परमेश्वरसामु जिइरहेको छस् भन्ने प्रमाणित गर्छ। यदि तँ आफ्नो हृदयमा प्रायः परमेश्वरसित यसरी नै कुराकानी गर्छस् भने, परमेश्वरसित तेरो सामान्य सम्बन्ध छ। केही वर्षको त्यस्तो अनुभवपछि, तँ स्वाभाविक रूपमा सत्यता वास्तविकताभित्र प्रवेश गर्नेछस्। के यस अभ्याससम्बन्धी कुनै कठिनाइहरू छन्? (छैनन्।) त्यो राम्रो हो। उदाहरणका लागि, कहिलेकाहीँ तैँले परमेश्वरका वचनहरू पढ्दा, जति बढी पढ्छस्, तेरो हृदय उति प्रफुल्ल हुनेछ—यसको मतलब तैँले ती वचनहरू पढेको छस् जसको तँसँग अनुभव छ, र तेरा पहिलेका धारणा र कल्पनाहरू सबै एकैचोटि खुलासा हुनेछन्। यस बेला, तैँले परमेश्वरलाई प्रार्थना गरेर यसो भन्नुपर्छ, “हे परमेश्वर, यो खण्ड पढ्नाले मेरो हृदय प्रफुल्ल भएको छ। मेरा विगतका समस्याहरू अहिले मलाई एकाएक प्रष्ट भएका छन्। यो तपाईंको अन्तर्दृष्टि हो भन्ने मलाई थाहा छ, र मलाई तपाईंका वचनहरूको यो खण्ड बुझ्न दिनुभएकोमा म तपाईंलाई धन्यवाद दिन्छु।” के यो परमेश्वरलाई प्रार्थना गर्नु र उहाँसामु आउनु होइन र? (हो।) के यो गर्नु कठिन छ? के तँ यसका लागि समय मिलाउन सक्छस्? (सक्छु।) के तैँले आफ्नो खोजीको सुरुवातदेखि यो प्रार्थनासम्म “यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्” भन्ने वचनहरूका सिद्धान्तलाई निरन्तर अभ्यास गर्दै आएको हुनेछैनस् र? जब तँ निरन्तर यी वचनहरू अभ्यास गर्दै जिउँछस्, र सधैँ तिनमा भएको अभ्यासको सिद्धान्तमा अडिग रहन्छस्, र सधैँ यस्तो प्रकारको वास्तविकतामा जिउँछस्, तब यसलाई अभ्यासको सिद्धान्त पालना गरेको भनिन्छ। के यो कठिन हुन्छ? (यो कठिन हुँदैन।) त्यसका लागि तैँले केवल आफ्नो हृदय प्रयोग गर्नुपर्छ, मुख चलाउनुपर्छ, केही समय र थोरै विचार खर्चिनुपर्छ, बेलाबेला परमेश्वरसित कुरा गर्ने र आफ्नो हृदयको कुरा बताउने र बाँड्ने क्षण खोज्नुपर्छ। यसो गर्नु भनेको बारम्बार परमेश्वरसामु आउनु हो। यो त्यति सरल, सहज र सजिलो छ। त्यो कुनै कठिन छैन। तँ आफूले एकदमै महत्त्वपूर्ण ठान्ने कुरालाई आफ्नो हृदयमा पाल्छस्, र त्यसलाई बोझको रूपमा लिन्छस्, र त्यसलाई कहिल्यै बिर्सँदैनस् वा त्याग्दैनस्—तेरो हृदयमा यस्तो कुरा हुन्छ, र तँ कहिलेकाहीँ परमेश्वरलाई प्रार्थना गर्छस्, र त्यसबारे उहाँलाई बताउँछस् र उहाँसँग कुराकानी गर्छस्। तँ परमेश्वरसँग बोल्दा तँमा कस्तो प्रकारको हृदय हुनुपर्छ? (सच्चा हृदय।) ठिक हो, तँमा सच्चा हृदय हुनुपर्छ। यदि तँ बोझ बोक्छस् भने, तेरो हृदय साँचो हुनेछ। अरूहरू गफगाफ गर्दा, तँ हृदयबाट प्रार्थना गर्नेछस् र परमेश्वरसित सङ्गति गर्नेछस्। कहिलेकाहीँ, तँ कामले थकित भएर आराम गर्दा त्यो मामिला सम्झन्छस्, र यसो भन्नेछस्, “यो राम्रो होइन, म अझै पनि यो मामिला बुझ्दिनँ। मैले अझै पनि यसबारे परमेश्वरसित कुरा गर्नुपर्छ।” किन तँ आफूलाई समय मिल्नेबित्तिकै यो मामिलालाई सम्झनेछस्? किनकि तँ यो कुरालाई आफ्नो हृदयमा एकदमै गम्भीरतापूर्वक लिन्छस्, तँ यसलाई आफ्नो बोझ र एक प्रकारको जिम्मेवारी ठान्छस्, अनि तँ यसलाई बुझ्न र समाधान गर्न चाहन्छस्। जब तँ परमेश्वरसामु आउँछस् अनि उहाँसित आत्मीय ढङ्गमा बोल्छस् र कुराकानी गर्छस्, तब स्वाभाविक रूपमा तेरो हृदय सच्चा बन्नेछ। जब तँ यस सन्दर्भमा र यो मानसिकताले परमेश्वरसित सङ्गति गर्छस्, तब तँलाई परमेश्वरसँगको तेरो सम्बन्ध पहिलेजस्तो चिसो र टाढा छैन, बरु तँ उहाँप्रति झन् नजिक भइरहेको अनुभूति हुनेछ। परमेश्वरले मान्छेलाई प्रदान गर्ने अभ्यासको मार्ग मानिसहरूमा यसरी प्रभावकारी हुन्छ। तँलाई के लाग्छ, के परमेश्वरसित यस तरिकाले जोडिन कठिन हुन्छ? तँ कुनै मामिलालाई हृदयमा लिन्छस्, यसबारे परमेश्वरसित बेलाबेला कुरा गर्छस्, बेलाबेला परमेश्वरसामु आउँछस् र उहाँलाई अभिवादन गर्छस्, आफ्नो हृदयको कुरा र आफ्ना कठिनाइहरूबारे परमेश्वरसित कुरा गर्छस्, आफूले बुझ्न चाहने कुरा, आफूले सोच्ने कुरा, आफ्ना शङ्का, कठिनाइ, र जिम्मेवारीहरूबारे बोल्छस्—यदि तँ परमेश्वरसित यी सबै कुराबारे कुरा गर्छस् भने, के तँ यस तरिकाले अभ्यास गरेर परमेश्वरसामु जिइरहेको हुँदैनस् र? यो परमेश्वरको मापदण्डअनुसार अभ्यास गर्नु हो। यदि तैँले केही समय यसरी अभ्यास गरिस् भने, के परिणामहरू देख्न र एकदमै चाँडो प्रतिफलहरू प्राप्त गर्न सक्नेछैनस् र? (सक्नेछु।) तर त्यो त्यति सजिलो छैन, त्यो एउटा प्रक्रिया हो। यदि तैँले केही समय यस तरिकाले अभ्यास गरिस् भने, परमेश्वरसँगको तेरो सम्बन्ध झन्-झन् घनिष्ठ बन्नेछ, तेरो मानसिकता सुध्रिनेछ, तेरो स्थिति झन्-झन् सामान्य बन्नेछ, अनि परमेश्वरको वचन र सत्यताप्रतिको तेरो रुचि झन्-झन् बढ्नेछ। यो परमेश्वरसित सामान्य सम्बन्ध हुनु हो। यदि तैँले केही सत्यता बुझ्न र ती अभ्यास् गर्न सक्छस् भने, तँ परमेश्वरका वचनहरूको वास्तविकताभित्र प्रवेश गर्न थालेको हुनेछस्। तर यो छोटो समयमा हासिल गर्न सकिँदैन। तैँले स्पष्ट परिणाम देख्न छ महिना, एक वर्ष, वा दुई-तीन वर्ष पनि लाग्न सक्छ। के यस अवधिमा मानिसहरू भ्रष्टता र विद्रोहीपनबाट मुक्त हुनेछन्? हुनेछैनन्। तैँले परमेश्वरलाई अनगिन्तीपटक प्रार्थना गरेको, र यस तरिकाले अभ्यास गरेको भए पनि, के त्यसको अर्थ तैँले निश्चय नै परिणामहरू प्राप्त गर्नेछस् त? के परमेश्वरले तँलाई परिणाम देखाउनैपर्छ? के उहाँले तँलाई जवाफ दिनैपर्छ? त्यस्तो हुनैपर्छ भन्ने छैन। कतिपय मानिसहरू यसो भन्छन्: “यदि मैले परिणामहरू प्राप्त गर्ने वा नगर्ने अनिश्चित छ र यदि परिणामहरू निश्चित छैनन् भने, किन परमेश्वर अझै यसरी कार्य गर्नुहुन्छ? किन उहाँ मानिसहरूलाई यसरी अभ्यास गराउनुहुन्छ?” चिन्ता नगर्, यसरी अभ्यास गर्नु पक्कै पनि व्यर्थ हुनेछैन। तैँले यसरी एक-दुई वर्ष अभ्यास गरे पनि र तँलाई आफूले तुरुन्तै वा छोटो समयमा कुनै परिणाम प्राप्त गरेको जस्तो नलागे पनि, सायद पाँच-दस वर्षपछि, परमेश्वरले तेरा लागि फेरि उस्तै परिवेश मिलाउनुहुँदा, तैँले तुरुन्तै सत्यताको एउटा पक्षबारे थाहा पाउनेछस् जुन पहिले थाहा पाउन सकेको थिनस्। तर तैँले पाँच-दस वर्षपछि थाहा पाउने र बुझ्ने सत्यताका लागि तेरो वर्तमान अनुभव, ज्ञान, र बुझाइद्वारा निर्मित जग चाहिन्छ। यो पछि थाहा पाउने कुरा यही जगमा आधारित हुनैपर्छ। के तँलाई मानिसलाई सत्यताको एउटा पक्ष बुझ्न सजिलो हुन्छ भन्ने लाग्छ? (त्यो सजिलो हुँदैन।) सत्यता अभ्यास गर्नका लागि मूल्य तिर्नुको अर्थ र महत्त्व यही हो। दोस्रो हरफमा भएको अभ्यासको सिद्धान्त यही हो। “यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्, अनि उहाँलाई सच्चा हृदय चढा”—यो हरफ सरल र सबैले बुझ्ने भाषामा लेखिएको छ, अनि यो बुझ्न अत्यन्तै सजिलो छ। यसको मतलब तैँले अझ धेरै प्रार्थना गर्नैपर्छ र तँमा सच्चा हृदय हुनैपर्छ, किनकि सच्चा हृदयले कामकुरालाई फलदायी बनाउँछ। यो त्यस्तो सामान्य र सरल हुन्छ। तर यी वचनहरू साँच्चि नै प्रत्येक व्यक्तिले प्रवेश गर्नैपर्ने सत्यता वास्तविकता र तिनीहरूले परमेश्वरसामु आएर अन्ततः मुक्ति प्राप्त गर्न सक्ने एकमात्र मार्ग हुन्। यो हरफ सरल र सजिला शब्दहरूमा भनिएको भए पनि, सबै जनाले यसरी नै अनुभव र प्रवेश गर्नुपर्छ। यो भवन निर्माण गर्नुजस्तै हो। त्यसमा चाहे त्यो ३० तला, ५० तला, वा लगभग सय तला नै किन नहोस्, त्यसको जग हुनैपर्छ। यदि भवनको जग बलियो छैन भने, त्यो जति नै अग्लो भए पनि, धेरै लामो समय टिक्नेछैन, केही वर्षभित्रै ढल्नेछ। यसको मतलब यस संसारमा जिउँदा, मानिसहरूसँग आफ्नो जगको रूपमा सत्यता हुनैपर्छ। तिनीहरूका लागि अडिग रहने र परमेश्वरको अनुमोदन पाउने यो एकमात्र तरिका हो। यदि मानिसहरू अझ गहन र उच्च सत्यताहरू बुझ्न चाहन्छन् भने, तिनीहरूसँग सबैभन्दा आधारभूत कुराहरू हुनैपर्छ—ती जग बनाउने कुराहरू हुन्। हल्लिने जग हुनु सबैभन्दा खतरनाक कुरा हो। यी सबैभन्दा आधारभूत सत्यताहरू, अभ्यासका यी सबैभन्दा आधारभूत सिद्धान्त र मार्गहरूलाई तुच्छ नठान्। यदि ती सत्यता हुन् भने, ती मानिसहरूमा हुनुपर्ने र तिनीहरूले अभ्यास गर्नुपर्ने कुरा हुन्। ती ठूला वा साना, उच्च वा नीच जे भए पनि, त्यसले केही फरक पार्दैन। तैँले आधारभूत कुराहरूबाटै सुरु गर्नुपर्छ। बलियो जग स्थापित गर्ने एकमात्र तरिका यही हो।
अब, तेस्रो हरफ पढ्। (“परमेश्वर तेरा सर्वशक्तिमान् हुनुहुन्छ भन्ने विश्वास गर्।”) “परमेश्वर तेरा सर्वशक्तिमान् हुनुहुन्छ भन्ने विश्वास गर्” भन्ने कुराले केलाई जनाउँछ? त्यसले विश्वास र दर्शनलाई जनाउँछ। जब यो दर्शनले तँलाई समर्थन र मार्गदर्शन दिन्छ, तब तँसँग तेरो अघि मार्ग हुनेछ। के यसरी अभ्यास गर्नाले कुनै प्रभाव पार्नेछ? कतिपय मानिसहरू यसो भन्छन्: “मलाई यो सब अभ्यासदेखि पट्टाइ लागेको छ, र परमेश्वरले मलाई अझै अन्तर्दृष्टि दिनुभएको वा केही बताउनुभएको छैन। म परमेश्वरको उपस्थिति अनुभूति गर्न सक्दिनँ। के साँच्चै परमेश्वर हुनुहुन्छ?” तैँले यसरी सोच्न मिल्दैन। परमेश्वर तँसित बोल्नुभए पनि नभए पनि उहाँ सर्वशक्तिमान् हुनुहुन्छ। परमेश्वर तँसित बोल्न चाहनुहुँदा, र तँसित बोल्नुहुँदा पनि उहाँ सर्वशक्तिमान् नै हुनुहुन्छ। परमेश्वर तँसित बोल्न नचाहनुहुँदा, र तँसित नबोल्नुहुँदा पनि उहाँ सर्वशक्तिमान् नै हुनुहुन्छ। परमेश्वरले तँलाई कुरा बुझ्न दिनुभए पनि नदिनु भए पनि उहाँ सर्वशक्तिमान् नै हुनुहुन्छ। परमेश्वरको सार र पहिचान अपरिवर्तनीय छन्। मानिसले बुझ्नैपर्ने दर्शन यही हो। यो तेस्रो हरफ हो, र यो एकदमै सरल छ। यो सरल भए पनि, मानिसहरूले वास्तवमा यसलाई अनुभव गर्नैपर्छ। जब मानिसहरू त्यसो गर्छन्, तब त्यसले तिनीहरूलाई वास्तवमै यी वचनहरू सत्यता हुन् र तिनीहरूले अबउसो कुनै तरिकामा ती वचनलाई शङ्का गर्ने आँट गर्नेछैनन् भनेर पुष्टि दिनेछ।
चौथो हरफसम्म पढ्। (“तँसित परमेश्वरका निम्ति ठूलो आकाङ्क्षा हुनैपर्छ।”) “तँसित परमेश्वरका निम्ति ठूलो आकाङ्क्षा हुनैपर्छ,” परमेश्वरले मान्छेबाट माग गर्ने कुरा यही हो। मानिसहरूले “ठूलो” को अर्थ बुझ्नु आवश्यक छ। के “ठूलो” भनेको गमक्क परिहिँड्नु र आडम्बार देखाउनु, हृदयभरि महत्त्वाकाङ्क्षा पाल्नु, अहङ्कारी र आत्मधर्मी हुनु, रबाफ देखाउनु र तानाशाही बन्नु, अनि कसैको आज्ञापालन नगर्नु हो? “परमेश्वरका निम्ति ठूलो आकाङ्क्षा” भन्ने हरफलाई कसरी बुझ्नुपर्छ? तँ “परमेश्वरका निम्ति आकाङ्क्षा” कसरी प्राप्त गर्छस्? पछिल्लो हरफले भनेझैँ, तैँले “यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्नैपर्छ, र उहाँलाई सच्चा हृदय चढाउनैपर्छ”—तँमा सत्यता बुझाइ र मुक्तिको पछि लाग्ने चाहना र आकाङ्क्षा हुनैपर्छ, अनि तँमा परमेश्वरको सार्वभौमिकता र उहाँका योजनाबद्ध कार्यहरू स्विकार्ने, परमेश्वरका अभिप्रायहरू बुझ्ने र उहाँको सार्वभौमिकताप्रति समर्पित हुने चाहना पनि हुनैपर्छ। यसैलाई परमेश्वरका निम्ति ठूलो आकाङ्क्षा भनिन्छ। परमेश्वरले यस मामिलालाई प्रष्ट रूपमा व्याख्या गर्न मानव भाषा प्रयोग गर्नुहुने भए पनि, मानिसले त्यसलाई विशुद्ध रूपमा बोध गर्नुपर्छ, तर त्यसलाई उग्र तरिकाले अर्थ्याउनु हुँदैन। यहाँ “ठूलो” शब्दले कृत्रिम रूपमा अत्यधिक क्रूर बल प्रयोग गरी मूर्खतापूर्ण तरिकाले कामकुरा गर्नुलाई जनाउँदैन। यसमा हिंसा समावेश हुँदैन, झन् अज्ञानता वा लापर्बाहीपन हुनु त परको कुरा हो। “ठूलो” ले मुख्यतः व्यक्तिको आकाङ्क्षालाई जनाउँछ। यो त व्यक्तिले कुनै चीजलाई यति बहुमूल्य ठान्छ कि उसले त्यो पाउनैपर्ने हुन्छ, र उसले त्यो पाउने सङ्कल्प गरेर नपाएसम्म हार नमान्नुजस्तै हो। यो “परमेश्वरका निम्ति ठूलो आकाङ्क्षा” पूर्णतया सकारात्मक कुरा हो र यसबाट सकारात्मक प्रतिफल मात्र प्राप्त हुन सक्छ। त्यसोभए, “परमेश्वरका निम्ति ठूलो आकाङ्क्षा” को ठ्याक्कै अर्थ के हो त? (यसको अर्थ बारम्बार परमेश्वरसामु आउनु र सत्यता बुझ्ने र आफूले सामना गर्ने कुराहरूमा परमेश्वरका अभिप्रायहरू बुझ्ने चाहना र आकाङ्क्षा हुनु हो।) ठिक भनिस्, यो त्यस्तो सरल छ। यसको मतलब आफ्नो देहगत रुचि र आनन्दहरू त्याग्नु, र आफ्नो निजी फुर्सदको समय पनि त्याग्नु, र त्यस समयलाई परमेश्वरबाट खोजी गर्ने, परमेश्वरलाई प्रार्थना गर्ने, परमेश्वरसामु आउने, र परमेश्वरको सार्वभौमिकता बुझ्न खोज्नेजस्ता सकारात्मक कुराहरूका लागि उपयोग गर्नु मात्र हो। यो विवेकी ढङ्गमा कुनै कुराका लागि प्रार्थना गर्ने, खोजी गर्ने, आफ्नो समय र शक्ति खर्चिने, र सत्यताको कुनै पक्ष बुझ्न निश्चित मूल्य तिर्ने कुरा हो। यसलाई परमेश्वरका निम्ति ठूलो आकाङ्क्षा भनिन्छ। के यो त्यसलाई व्याख्या गर्ने सही तरिका हो? के यो सामान्य मानवताको समझबमोजिम छ? के यी वचनहरू बुझ्न सजिला छन्? (छन्।) त्यसोभए, के यी प्रकटीकरणहरूमा आफ्नो आक्रोश देखाउने र आफूले चाहेको कुरा हिंसात्मक तरिकाले खोसिलिने कार्यहरू पर्छन्? के त्यो बेसोमतता, लापर्बाहीपन, र निर्बुद्धिपनमा प्रकट हुन्छ? (हुँदैन।) त्यसोभए, “ठूलो” को अर्थ के हो? मैले भर्खरै तिमीहरूलाई भनेको कुरा दोहोऱ्याऊ। (त्यसको अर्थ परमेश्वरसामु बारम्बार आउन सक्षम हुनु, सत्यता बुझ्ने आकाङ्क्षा हुनु, केही देहसुखहरू त्याग्न सक्नु, सत्यताको खोजीमा बढी समय र शक्ति खर्चनु, अनि यसका लागि शक्ति खर्चिन र मूल्य चुकाउन सक्नु हो।) त्यसोभए कसरी यसलाई ठोस रूपले अभ्यास गरिन्छ? म एउटा उदाहरण दिनेछु। कहिलेकाहीँ तँ आफूलाई मनपर्ने कलाकार नदेखेको धेरै भइसकेको र त्यो कलाकार कुन चलचित्रमा होला भनी एक्कासी महसुस गर्नेछस्। तँ कम्प्युरमा उसको बारेमा समाचार खोज्न चाहनेछस्, तर विचार गर्दै यस्तो सोच्नेछस्, “यो ठिक होइन, उसले खेल्ने चलचित्रहरूको मसित के सरोकार? जहिले पनि चलचित्रहरू हेर्नु भनेको आफ्ना जिम्मेवारीहरू बेवास्ता गर्नु हो। मैले परमेश्वरसामु आएर प्रार्थना गर्नुपर्छ।” त्यसपछि, तँ शान्त हुनेछस् र आफूले पहिले परमेश्वरको उपस्थितिमा समाधान खोजिरहेको समस्यालाई सम्झनेछस्। तँमा अझै उक्त मामिलाप्रति कुनै बोध हुँदैन र तँ त्यो बिलकुलै बुझ्दैनस्, त्यसैले तँ केवल आफ्नो हृदयलाई परमेश्वरसामु शान्त पार्नेछस्, र उहाँलाई प्रार्थना गर्नेछस्। “हे परमेश्वर, म आफ्नो हृदय तपाईंलाई चढाउन इच्छुक छु। मैले हाल अनुभव गर्दै आएको परिवेशले ममा ठूलो प्रभाव पारेको छ। तैपनि, म अझै समर्पित हुन सक्दिनँ, अनि अझै पनि यो तपाईंको सार्वभौमिकता हो भनेर प्रष्टसँग देख्न सक्दिनँ। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस्, मार्गदर्शन गर्नुहोस्, अनि तपाईंले मेरा लागि बन्दोबस्त गर्ने परिवेशमा मेरो भ्रष्टता र विद्रोहीपनको खुलासा गर्नुहोस्, ताकि म तपाईंको अभिप्राय बुझ्न र समर्पित हुन सकूँ।” तैँले प्रार्थना गरेपछि, विचार गर्दै यस्तो सोच्नेछस्, “अहँ, मेरो समस्या अझै समाधान भएको छैन। मैले समाधान खोज्न अझ धेरै परमेश्वरका वचनहरू पढ्नुपर्छ।” त्यसपछि, तँ तुरुन्तै गएर केहीबेर परमेश्वरका वचनहरू पढ्नेछस्। तैँले समय हेर्दै यसो भन्नेछस्, “अहो, आधा घण्टा त बितिसकेछ! परमेश्वरका वचनहरू साँच्चि नै राम्रा छन्, तर मैले पढेको खण्ड मेरो समस्यासँग पटक्कै सम्बन्धित छैन, त्यसैले मेरो समस्या अझै समाधान भएको छैन। परमेश्वरले मेरा लागि यो परिवेश बन्दोबस्त गरेर मैले के बुझेको चाहनुहुन्छ मलाई थाहा छैन र म उहाँको अभिप्राय जान्दिनँ। मैले चाँडो काममा लागेर आफ्नो कर्तव्य निर्वाह गर्नैपर्छ र मैले महत्त्वपूर्ण मामिलाहरूलाई थाँती राख्नै हुँदैन। सायद एक दिन म परमेश्वरका उचित वचनहरू पढ्नेछु र आफ्नो समस्या समाधान गर्नेछु।” के यो समय र शक्ति खर्चनु हो? (हो।) यो त्यति सरल छ। तैँले आफ्ना रुचिहरूविरुद्ध विद्रोह गर्दा र तेरो मनोरञ्जन र फुर्सदको समय त्याग्दा, अलिकति इमानदारी कमाउनेछस् र परमेश्वरका निम्ति ठूलो आकाङ्क्षा थोरै मात्रामा अभ्यास गर्नेछस्। तँलाई हृदयमा अत्यन्तै ढुक्क र शान्त अनुभूति हुनेछ। तैँले जीवनमा पहिलोपटक व्यक्तिगत रूपमा ठूलो शान्ति अनि देहविरुद्धको विद्रोह र देहसुख त्याग्दा पाइने पोषणको अनुभव गर्नेछस्। तैँले आफूलाई परमेश्वरसामु शान्त पार्दा, उहाँका वचनहरू पढ्दा, परमेश्वरसित आफ्नो हृदय खोल्दा, र आफ्नो मनका शब्दहरू उहाँलाई भन्दा कसरी शान्ति र सन्तुष्टि पाइन्छ भनी व्यक्तिगत रूपमा स्वाद पनि लिनेछस्—जुन प्रचलन र सामाजिक मामिलाहरूमा चासो राख्दा प्राप्त हुँदैन—अनि तैँले त्यसबाट केही कुरा हासिल गर्न, र सत्यता बुझ्न अनि थुप्रै कुराहरूलाई छर्लङ्गै देख्न पनि सक्नेछस्। फलस्वरूप, तैँले परमेश्वरका वचनहरू वास्तवमै राम्रा छन्, परमेश्वर साँच्चि नै असल हुनुहुन्छ, र सत्यता प्राप्त गर्नु वास्तवमै खजाना प्राप्त गर्नु हो भन्ने अनुभूति गर्नेछस्। तँ दुविधाविना धेरै कुरा बुझ्न सक्षम मात्र हुनेछैनस्, तर परमेश्वरसामु र परमेश्वरका वचनहरूअनुसार जिउन पनि सक्षम हुनेछस्। परमेश्वरका निम्ति ठूलो आकाङ्क्षाले प्राप्त गर्न सक्ने परिणामहरू यिनै हुन्। यसरी अभ्यास गर्नु, आफ्नो समय र शक्ति खर्चनु, अनि आफ्नो देहसुख त्याग्नु—यो परमेश्वरका निम्ति ठूलो आकाङ्क्षाका प्रकटीकरणहरूमध्ये एक हो। त्यसोभए, तिमीहरू के भन्छौ? के यो प्रकटीकरण खोक्रो छ? (यो खोक्रो छैन।) के यो प्राप्त गर्न सजिलो छ? (छ।) यो प्राप्त गर्न एकदमै सजिलो छ। यो सामान्य मानवता भएका मानिसहरूले प्राप्त गर्न सक्ने कुरा हो।
जब मानिसहरूसँग विचार हुन्छ, तिनीहरूसँग विकल्प हुन्छ। यदि तिनीहरूको जीवनमा केही आइपर्यो र तिनीहरूले गलत विकल्प रोजे भने, तिनीहरूले आफूलाई परिवर्तन गरेर सही विकल्प रोज्नुपर्छ; तिनीहरू आफ्नो गल्तीमै लागिरहनु पटक्कै हुँदैन। यस्ता मानिसहरू अक्कली हुन्छन्। तर यदि तिनीहरूलाई आफूले गलत विकल्प रोजेको कुरा थाहा हुन्छ र पनि आफूलाई परिवर्तन गर्दैनन् भने, तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू होइनन्, र त्यस्ता मानिसहरूले साँचो रूपमा परमेश्वरलाई चाहँदैनन्। उदाहरणका लागि, मानिलिऊँ तँ आफ्नो कर्तव्य निभाउँदा झाराटारुवा र सुस्त बन्न चाहन्छस्। तँ अल्याङटल्याङ गर्ने, र परमेश्वरको सूक्ष्म जाँचबाट पन्छिने प्रयास गर्छस्। त्यस्तो बेला, तुरुन्तै परमेश्वरलाई प्रार्थना गरिहाल्, र यो सही किसिमको व्यवहार हो कि होइन भनेर मनन गर्। त्यसपछि यो कुरा विचार गर्: “म किन परमेश्वरमा विश्वास गर्छु? त्यस्तो झाराटारुवा व्यवहारले मान्छेको आँखा छल्न सक्ला, तर के परमेश्वरको आँखा छल्न सक्छ? अनि, मैले लापरवाही गर्नलाई परमेश्वरमा विश्वास गरेको होइन—यो त मुक्ति पाउनको लागि हो। मैले यसरी व्यवहार गर्नु सामान्य मानवताको अभिव्यक्ति होइन, न त परमेश्वरले यसलाई प्रिय नै ठान्नुहुन्छ। हो, बाहिर संसारमा मैले लापरवाही गर्न सक्थेँ र आफूलाई मन लागेअनुसार गर्न सक्थेँ, तर अहिले त म परमेश्वरको घरमा छु, म परमेश्वरको सार्वभौमिकताको अधीनमा, परमेश्वरको नजरको सूक्ष्म जाँचमा छु। म एक व्यक्ति हुँ, मैले आफ्नो विवेकअनुसार काम गर्नुपर्छ, आफ्नो खुशीअनुसार होइन। मैले परमेश्वरका वचनहरूअनुसार काम गर्नुपर्छ, म झाराटारुवा हुनु हुँदैन, म सुस्त बन्नु हुँदैन। त्यसो भए, म कसरी सुस्त नभई, झाराटारुवा काम नगरी बस्न सक्छु? मैले केही प्रयास गर्नैपर्छ। भर्खरै मलाई यसरी काम गर्न धेरै झमेला हुन्छ जस्तो लाग्यो, म कठिनाइबाट बच्न चाहेँ, तर अब मैले यो कुरा बुझेँ: यसरी काम गर्न धेरै झमेला हुन्छ होला, तर यो प्रभावकारी तरिका हो, त्यसकारण यो काम यसरी नै गरिनुपर्छ।” जब तैँले काम गरिरहेको हुन्छस् र अझै पनि तँलाई कठिनाइको डर लाग्छ, तब त्यस्तो बेला तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ: “हे परमेश्वर! म अल्छी र धूर्त छु, मलाई अनुशासनमा राख्नुहोस् र गाली गर्नुहोस्, ताकि मेरो विवेकले केही अनुभूत गरोस्, अनि मलाई लाजको अनुभूति होस्। म झाराटारुवा बन्न चाहन्नँ। बिन्ती छ मलाई अगुवाइ र अन्तर्दृष्टि प्रदान गर्नुहोस्, र मेरो विद्रोहीपन र कुरूपता देखाइदिनुहोस्।” जब तैँले त्यसरी प्रार्थना गर्छस् र आत्मचिन्तन गर्दै आफूलाई चिन्ने प्रयास गर्छस्, तब यसले पछुतोको भावना पैदा गर्छ, अनि तैँले आफ्नो कुरूपतालाई घृणा गर्न सक्नेछस्, अनि तेरो गलत स्थिति परिवर्तन हुन थाल्छ, र तैँले यस विषयमा मनन गरेर आफूलाई यसो भन्न सक्नेछस्, “म किन झाराटारुवा छु? म किन सधैँ सुस्त हुन खोज्छु? यस्तो व्यवहार गर्नु भनेको विवेक वा समझमा कमी हुनु हो—के म अझै परमेश्वरमा विश्वास गर्ने व्यक्ति हुँ त? मैले किन यस्ता कुराहरूलाई गम्भीर रूपमा लिन सक्दिनँ? के मैले अलिक बढी समय र प्रयास लगाउनु आवश्यक छैन र? यो ठूलो बोझ त होइन। मैले गर्नुपर्ने यही हो; मैले योसमेत गर्न सक्दिनँ भने, के म मानव भनिनसमेत लायक हुन्छु र?” फलस्वरूप, तैँले सङ्कल्प गर्नेछस् र शपथ खानेछस्: “हे परमेश्वर! मैले तपाईंलाई निराश तुल्याएँ, म साँच्चै नै गहन रूपमा भ्रष्ट भएको छु, ममा कुनै विवेक वा समझ छैन, म मानवताहीन छु, अब म पश्चात्ताप गर्न चाहन्छु। बिन्ती छ मलाई क्षमा गर्नुहोस्, म अवश्य परिवर्तन हुनेछु। मैले पश्चात्ताप गरिनँ भने, तपाईं मलाई दण्ड दिनुहोस्।” त्यसपछि, तेरो मानसिकतामा परिवर्तन आउनेछ, र तँ बदलिन थाल्नेस्। तैँले पहिलेजस्तो झाराटारुवा नभई, बरु कर्तव्यनिष्ठ भएर काम गर्न र आफ्नो कर्तव्य निभाउन थाल्नेछस्, र तँ कष्ट भोग्न र मूल्य चुकाउन सक्षम हुनेछस्। तँलाई यसरी कर्तव्य पूरा गर्नु अद्भूत हुन्छ जस्तो लाग्नेछ, र तेरो हृदयमा शान्ति र आनन्द हुनेछ। मानिसहरूले जब परमेश्वरको छानबिन स्वीकार गर्न सक्छन्, जब उहाँलाई प्रार्थना गर्न र भरोसा गर्न सक्छन्, तब तिनीहरूको स्थिति चाँडै परिवर्तित हुनेछ। जब तेरो हृदयको नकारात्मक स्थिति उल्ट्याइएको हुन्छ, र तैँले आफ्ना अभिप्रायहरूविरुद्ध विद्रोह गरेको र आफ्नो देहका स्वार्थी चाहनाहरू त्यागेको हुन्छस्, जब तँ देहगत ऐसआराम र आनन्द त्याग्न, अनि परमेश्वरको मापदण्डअनुसार कार्य गर्न सक्षम हुन्छस्, अनि मनोमानी र लापरवाह हुन छोड्छस्, तब तँलाई हृदयमा शान्ति हुनेछ र तेरो विवेकले तँलाई घोच्नेछैन। के यस तरिकाले देहविरुद्ध विद्रोह गर्नु र परमेश्वरको मापदण्डअनुसार कार्य गर्नु सजिलो छ? यदि मानिसहरूमा परमेश्वरका निम्ति ठूलो आकाङ्क्षा छ भने, तिनीहरू देहविरुद्ध विद्रोह गर्न र सत्यता अभ्यास गर्न सक्छन्। अनि, यदि तैँले यसरी अभ्यास गर्न सकिस् भने, तँ आफूले थाहै नपाई सत्यता वास्तविकताभित्र प्रवेश गरिरहेको हुनेछस्। त्यो बिलकुलै कठिन हुनेछैन। अवश्य पनि, सत्यता अभ्यास गर्दा तँ आफ्नो सोचाइ परिवर्तन गर्ने सङ्घर्ष र प्रक्रियाबाट गुज्रनैपर्छ, र यी कुरा सत्यता खोजेर समाधान गर्नैपर्छ। यदि तँ सत्यतालाई प्रेम नगर्ने व्यक्ति होस् भने, तँलाई आफ्नो नकारात्मक स्थिति हटाउन कठिन हुनेछ, अनि तैँले सत्यता बुझ्न र अभ्यास गर्न सक्नेछैनस्। व्यक्तिले आफ्नो सोचाइ परिवर्तन गर्ने क्रममा सामना गर्ने कठिनाइको मात्रा उसले सत्यता स्विकार्न सक्छ कि सक्दैन भन्ने कुरामा भर पर्छ। यदि उसले सत्यता स्विकार्न सक्दैन भने, उसलाई आफ्नो सोचाइ परिवर्तन गर्नु असाध्यै कठिन हुनेछ। अर्कोतिर, सत्यता स्विकार्न सक्नेहरूलाई यसो गर्नु बिलकुलै कठिन लाग्नेछैन। तिनीहरू स्वाभाविक रूपमा सत्यता अभ्यास गर्न र पालन गर्न सक्षम हुनेछन्। सत्यतालाई साँच्चै प्रेम गर्नेहरू कुनै पनि हदका कठिनाइहरूलाई जित्न परमेश्वरमाथि भर पर्न सक्छन्। यसरी, तिनीहरूसँग अनुभवात्मक गवाही हुनेछ, र यो नै परमेश्वरका निम्ति ठूलो चाहना भएको हृदय हो। तेरो हृदयमा परमेश्वरका निम्ति ठूलो चाहना भएकाले, के यसको मतलब तँ भ्रष्ट र विद्रोही हुन पाउँदैनस् भन्ने हो? होइन। यसको मतलब, तँमा परमेश्वरका निम्ति ठूलो चाहना भएको हृदय भएकाले, तैँले कम्तीमा आफ्नो विवेक र समझअनुसार कार्य गर्न सक्छस्, र सत्यता खोज्न सक्छस् भन्ने हो। यसरी, तँ कुनै पनि परिस्थितिमा सही निर्णय गर्न, सही दिशामा अभ्यास र प्रवेश गर्न सक्छस्। यसलाई परमेश्वरका निम्ति ठूलो चाहना भएको हृदय भनिन्छ। के यी प्रकटीकरणहरू खोक्रा छन्? (ती खोक्रा छैनन्।) ती खोक्रा वा अस्पष्ट छैनन्, ती एकदमै व्यावहारिक र मूर्त छन्, बिलकुलै अमूर्त छैनन्। कतिपय मानिसहरू यसो भन्छन्: “अहो, मैले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भइसकेको छ, तर सत्यता अभ्यास गर्दैपिच्छे म सधैँ कठिनाइहरू सामना गर्छु। म पसिना खलखल आउने गरी चिन्तित हुन्छु, तैपनि मसित मार्ग छैन। जहिले पनि म कुनै शारीरिक कठिनाइ नभोगी वा आफ्नो हितमा हानि नपुऱ्याई सत्यता अभ्यास गर्न चाहन्छु, र परिणामस्वरूप, म मार्ग भेट्टाउन सक्दिनँ। म अहिले मात्र परमेश्वरका निम्ति ठूलो चाहना भएको हृदय बनाउनु अति सरल रहेछ भनी थाहा पाउँदै छु। मैले यो कुरा पहिल्यै थाहा पाएर यी वचनहरू अभ्यास गरेको भए हुनेथ्यो!” तैँले परमेश्वरका वचनहरू अभ्यास नगर्नुमा कसलाई दोष दिनुपर्छ? कसले तँलाई यतिका वर्षसम्म परमेश्वरका वचनहरूलाई बहुमूल्य नठान्न, बरु आँखा चिम्लेर उल्झनहरूमा पर्न बाध्य पाऱ्यो? अब, हामी एउटा वाक्यलाई सारांशीकरण गर्न सक्छौँ: तैँले परमेश्वरमा विश्वास गर्दा, सत्यता बुझ्न परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्नैपर्छ; तैँले मामिलाहरूलाई सत्यता सिद्धान्तबमोजिम सम्हाल्ने हदमा पुगेर मात्र परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छस्। तैँले कामकुरा आफ्नै इच्छाबमोजिम कदापि गर्नु हुँदैन, वा प्रसिद्धि र प्राप्तिको पछि पटक्कै लाग्नु हुँदैन, अनि मण्डलीमा तैँले गुट बनाउने वा समर्थक खोज्ने कार्य गर्नै हुँदैन। यसो गर्नेहरूलाई अन्त्यमा राम्रो हुनेछैन। आफ्नो कर्तव्य राम्ररी निभाउन ध्यान नदिनेहरू, सत्यता नपछ्याउनेहरू, सधैँ अरूको मुख ताक्ने र अरूलाई भरोसा गर्नेहरू, र व्यर्थका होहल्ला गर्नमा झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई पछ्याउन रुचाउनेहरू सबै यताउता उल्झँदै आफूलाई बरबाद पार्छन्, र मुक्ति पाउने मौका गुमाउँछन्। यसले तिनीहरूलाई जिल्ल पार्नेछ। यदि तँ आफूलाई आफ्नै तरिकाले चल्नदेखि रोक्न चाहन्छस् भने, परमेश्वरसामु अझ धेरै आउनैपर्छ, र उहाँलाई प्रार्थना गरेर सबै कुरामा सत्यता खोज्नैपर्छ। यसरी तँ सत्यता बुझाइको परिणाम प्राप्त गर्न, सत्यता अभ्यास गर्ने मार्गमा हिँड्न, र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस्। यहाँ मुख्य कुरा के हो भने, तैँले कहिल्यै अरू मानिसलाई पछ्याउने वा तिनीहरूसँगै लाग्ने कार्य गर्नु हुँदैन, र आफूलाई एकदिन एउटा व्यक्ति महान् लागेकोले उसलाई पछ्याउने र त्यसपछि अर्को दिन अरू कसैलाई सही लागेकोले अर्कोलाई पछ्याउने, र सत्यता प्राप्त नगरी यताउता उल्झँदै समय खर्चने गर्नु हुँदैन। तैँले आफूलाई जे समस्या आइपरे पनि, सत्यता खोज्नुपर्छ र ती समस्यालाई परमेश्वरको वचनबमोजिम समाधान गर्नुपर्छ। यदि तँ आँखा चिम्लेर अरू मानिसलाई पछ्याउँछस्, राम्ररी बोल्ने र सानदार शब्दहरू प्रयोग गर्नेलाई पछ्याउँछस् भने, तँ छलमा पर्ने सम्भावना हुनेछ। परमेश्वरमा विश्वास गर्ने मानिसहरूले परमेश्वरका वचनहरू सत्यता हुन् भनेर मात्र विश्वास गर्नुपर्छ, तिनीहरूले परमेश्वरका वचनहरू मात्र सुन्नुपर्छ, र परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ। त्यसो गर्दा, त्यसले तँलाई अरू मानिसलाई पछ्याउनदेखि र तिनीहरूसँगै गलत मार्गमा लाग्नदेखि रोक्नेछ।
अघि बढेर अर्को हरफ पढ्। (“तैँले शैतानका बहाना, अभिप्राय र चालहरूलाई नकार्दै जोडतोडले खोजी गर्नुपर्छ।”) यो पनि अभ्यासबारेकै कुरा हो। “जोडतोडले खोजी गर्नुपर्छ” भन्ने कुराले सत्यता अभ्यास गर्ने चाहना रहेको तर मार्ग नरहेको, र परमेश्वरलाई सन्तुष्ट तुल्याउने चाहना रहेको तर अभ्यास गर्न नआएको अवस्था जनाउँछ—अनि जब तँलाई यसरी जोडतोड लगाउनुपर्ने हुन्छ, तब तैँले खोजी र प्रार्थना गर्नेछस्। आफूमा अति कमी भएको निरन्तर महसुस गर्नु, विशेष गरी आफूलाई परिस्थिति आइपर्दा आफूसँग मार्ग नभएको पाउनु, परमेश्वरलाई सन्तुष्ट पार्न के गर्ने भनी थाहा नहुनु, सधैँ विद्रोह गर्नु र आफूले चाहेको तरिकाले कामकुराहरू गर्नु, असहज हृदयले सत्यता अभ्यास गर्न चाहनु, तर त्यो कसरी गर्ने भनी थाहा नहुनु—यो जोडतोड लगाउनुपर्ने अवस्था अनुभूत गर्नु हो। यदि तँलाई जोडतोड लगाउनुपर्ने हुन्छ भने, तैँले खोजी गर्नैपर्छ। यदि तँ खोजी गर्दैनस् भने, तँसित मार्ग हुनेछैन। यदि तँ खोजी गर्दैनस् भने, तँ अन्धकारमा खस्नेछस्। यदि तँ कहिल्यै खोजी गर्दैनस् भने, तँ समाप्त हुनेछस्। तँ अविश्वासी बन्नेछस्। “शैतानका बहाना, अभिप्राय र चालहरूलाई नकार्दै” भन्नुको अर्थ के हो? त्यसको अर्थ, जब मानिसहरूलाई परिस्थिति आइपर्छ, तब तिनीहरूसँग जहिले पनि आफ्नै इच्छा हुन्छ, तिनीहरू सधैँ आफ्नै देहगत हितहरूबारे सोच्छन्, र सधैँ आफ्नो देहका लागि उम्किने मार्ग खोज्छन्। यस्तो समयमा, तेरो विवेकले तँलाई घोच्नेछ, र तँलाई सत्यता अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन प्रेरित गर्नेछ। यस्ता परिस्थितिमा, तेरो हृदयमा सङ्घर्ष चल्नेछ, र तैँले शैतानका बहाना र देहका विभिन्न कारणहरूलाई नकार्नुपर्छ। “नकार्दै” भन्नुको अर्थ सत्यता अभ्यास नगर्न मानिसहरूले देखाउने विभिन्न बहाना र कारणहरूलाई—जुन कुराहरू शैतानका अभिप्राय र चालहरू हुन्—ती कुराहरूलाई भित्रैसम्म छर्लङ्गै बुझ्न सक्नु, र त्यसपछि तीविरुद्ध विद्रोह गर्नु हो। नकार्नुको प्रक्रिया यही हो। कहिलेकाहीँ, निश्चित भ्रष्ट विचार, अभिप्राय, र उद्देश्यहरू, साथै केही मानव ज्ञान, दर्शन, सिद्धान्त, अनि अरूसित अन्तरक्रिया गर्ने तरिका, माध्यम, चाल, र युक्ति आदि इत्यादि कुरा मानिसहरूमा उत्पन्न हुन्छन्। जब त्यस्तो हुन्छ, तब मानिसहरूले तुरुन्तै ती आफूबाट प्रकट भइरहेका भ्रष्ट कुरा हुन्, अनि तिनीहरूले ती कुरालाई पकड्नुपर्छ, र सत्यता खोज्नुपर्छ, तिनलाई राम्ररी चिरफार गर्नुपर्छ, र प्रस्टसित तिनको वास्तविकता बुझ्नुपर्छ, र तिनलाई पूर्ण रूपले नकार्नुपर्छ र तीविरुद्ध विद्रोह गर्नुपर्छ, अनि तिनलाई कोपिला छँदै चुँडाएर फाल्नुपर्छ। यो जहिले भए पनि, यदि कुनै व्यक्तिमा भ्रष्ट विचार, सोच, अभिप्राय, वा धारणाहरू उत्पन्न भएका छन् भने, उसले ती कुराहरूलाई तुरुन्तै पकड्नुपर्छ, तिनलाई भित्रैसम्म छर्लङ्गै बुझ्नुपर्छ, तीविरुद्ध विद्रोह गर्नुपर्छ, अनि त्यसपछि आफूलाई परिवर्तन गर्नुपर्छ। प्रक्रिया त्यस्तै हुन्छ। शैतानलाई नकार्ने र देहविरुद्ध विद्रोह गर्ने अभ्यास यसरी नै गरिन्छ। के यो अति सरल छैन र? खासमा, यो प्रक्रियाबारे अहिले भर्खरै दिइएका दुईवटा उदाहरणमा बताइसकिएको छ। यो मानिसहरूलाई परिस्थिति आइपर्दा तिनीहरूमा उत्पन्न हुने अनुचित स्थितिहरूलाई सम्हाल्ने अभ्यासको सिद्धान्त हो।
पढ्न जारी राख्। (“निराश नहो। कमजोर नहो। आफ्नो सारा हृदयले खोजी गर्; सारा हृदयले प्रतीक्षा गर्।”) यसको मतलब आफ्नो सारा हृदय र मनले खोजी र प्रतीक्षा गर्नु हो। यी चारवटा सरल वाक्यांशहरू “निराश नहो। कमजोर नहो। आफ्नो सारा हृदयले खोजी गर्; सारा हृदयले प्रतीक्षा गर्” का दुईवटा अर्थ छन्। यी दुईवटा अर्थ के-के हुन्? (पहिलो हो, निराश नहो र कमजोर नहो। यसको मतलब, तैँले खोजी गर्ने क्रममा कठिनाइहरू सामना गर्दा वा क्षणिक रूपमा केही कुरा बुझ्न नसक्दा हिम्मत नहार्नु वा निरुत्साहित नबन्नु हो। दोस्रो हो, तैँले सारा हृदयले खोजी र प्रतीक्षा गर्नुपर्छ। यसको मतलब, तँमा आफूले खोजी गर्ने क्रममा दृढता हुनैपर्छ, आफूले कुनै कुरा नबुझ्दा तैँले खोजी र प्रार्थना गर्न जारी राख्नैपर्छ र परमेश्वरका अभिप्रायहरू प्रकट हुने प्रतीक्षा गर्नुपर्छ। यो दोस्रो अर्थ हो।) “निराश नहो। कमजोर नहो” भन्नुको मतलब मानिसहरूले परमेश्वरमा साँचो विश्वास कायम राख्नैपर्छ, र परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, उहाँ तिनीहरूलाई अन्तर्दृष्टि दिन र सत्यता बुझ्न सक्षम तुल्याउन सक्नुहुन्छ भनी विश्वास गर्नैपर्छ। त्यसोभए किन तँ अहिले सत्यता बुझ्न सक्दैनस् त? किन परमेश्वर तँलाई अहिले अन्तर्दृष्टि दिनुहुन्न? यसको केही कारण हुनैपर्छ। एउटा मूलभूत कारण के हो? यो परमेश्वरको समय आइनसकेको हुनु हो। परमेश्वर तेरो विश्वास जाँच्दै हुनुहुन्छ, र सँगसँगै, उहाँ यो विधि प्रयोग गरेर तेरो विश्वास बलियो पार्न चाहनुहुन्छ। यो नै मानिसले बुझ्नु र जान्नुपर्ने मूलभूत कुरा हो। मानिलिऊँ तैँले परमेश्वरले तोक्नुभएका सिद्धान्तहरूबमोजिम कार्य गरेको छस्, प्रार्थना गरेको छस्, खोजी गरेको छस्, तँसित परमेश्वरका निम्ति ठूलो चाहना भएको हृदय छ, तैँले परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्न थालेको छस्, तँ परमेश्वरका वचनहरूमा चासो राख्छस्, र तँ आफूलाई परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्न, परमेश्वरसामु आउन, उहाँदेखि नतर्किन, र कामकुरा गर्दा खोजी गर्न बारम्बार सम्झाउँछस्। तर तँ मनमनै यस्तो सोच्छस्, “परमेश्वरले मलाई कुनै विशेष अन्तर्दृष्टि, ज्योति, वा मार्गदर्शन दिनुभएको छ भन्ने मैले प्रष्ट अनुभूति गरेको छु जस्तो लाग्दैन, र मैले निभाउने कर्तव्यका लागि परमेश्वरले मलाई कुनै विशेष खुबी, प्रतिभा, वा विशेष क्षमता दिनुभएको छ भन्ने प्रष्ट अनुभूतिसमेत मलाई हुँदैन। बरु, मलाई त मेरो बराबर नभएका मानिसहरू मभन्दा बढी बुझ्छन्, आफ्नो कर्तव्य निभाउनमा मभन्दा बढी राम्रा छन्, र सुसमाचार सुनाउनमा मभन्दा बढी वाक्पटु छन् भन्ने लाग्छ। किन म अरू मानिस जत्तिको राम्रो छैन? किन म अझै उही स्थानमा छु र कम प्रगति गर्दै छु?” यसका दुईवटा कारण छन्: एउटा हो, मानिसहरूमा धेरै समस्या हुन्छन्, जस्तै खोजीमा तिनीहरूको व्यक्तिगत तौरतरिका, अभिप्राय, र उद्देश्य हुन्छन्, साथै परमेश्वरलाई प्रार्थना र अनुरोध गर्नमा तिनीहरूको अभिप्राय र उद्देश्य हुन्छन्, र यस्तै अन्य कुराहरू हुन्छन्। यी सम्पूर्ण कुरामा, तैँले चिन्तन गर्नुपर्छ, ज्ञान हासिल गर्नुपर्छ, भित्री समस्याहरू पत्ता लगाउनुपर्छ, र आफ्नो मार्ग तुरुन्तै बदल्नुपर्छ। यसबारे विस्तारमा गइरहनु आवश्यक छैन। दोस्रो कारण हो, परमेश्वर फरक-फरक मानिसहरूलाई कति दिनुहुन्छ, र कसरी दिनुहुन्छ भन्ने सन्दर्भमा भन्नुपर्दा, परमेश्वरसँग उहाँको आफ्नै विधि छ। परमेश्वरले यी वचनहरू बोल्नुभएको छ: “मैले अनुग्रह गर्नुपर्ने मानिसलाई म अनुग्रह गर्नेछु, र कृपा देखाउनुपर्ने मानिसलाई कृपा देखाउनेछु” (प्रस्थान ३३:१९)। सायद तँ परमेश्वरको अनुग्रहको पात्र हुन सक्छस्, सायद तँ उहाँको कृपाको पात्र हुन सक्छस्, वा सायद तँ परमेश्वरले भन्नुभएका यी दुई प्रकारका मानिसमध्ये कुनै पनि नहुन सक्छस्। सायद परमेश्वर तँ अरू मानिसहरूभन्दा बलियो छस्, वा जाँच र परिशोधनका लागि अरूलाई भन्दा तँलाई बढी समय चाहिन्छ भन्ने सोच्नुहुन्छ होला। कारणहरू धेरै छन्, तर कारण जे भए पनि, परमेश्वरले गर्नुहुने सबै कुरा कुरा सही हुन्छ। मानिसले परमेश्वरसँग अत्यधिक माग गर्नु हुँदैन। तैँले गर्नुपर्ने कुरा भनेको आफ्नो सारा हृदयले खोजी गर्ने र सारा हृदयले प्रतीक्षा गर्ने मात्र हो। परमेश्वरले तँलाई बुझ्न दिनुअघि र तँलाई जवाफ दिनुअघि, तैँले गर्नुपर्ने एकमात्र कुरा खोजी हो, र सँगसँगै परमेश्वरले तँलाई केही कुरा दिनुहुने, तँप्रति परमेश्वर अनुग्रही हुनुहुने, र परमेश्वरले तँलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुने समयको प्रतीक्षा गर्नुपर्छ। परमेश्वर मानव धारणाविपरीत कार्य गर्नुहुन्छ र मानिसहरूलाई विभिन्न कुराहरू समान रूपमा वितरण गर्नुहुन्न, त्यसैले तैँले परमेश्वरसित मागहरू गर्दा “समान” भन्ने शब्द प्रयोग गर्न मिल्दैन। जब परमेश्वर तँलाई केही कुरा दिनुहुन्छ, तब त्यही बेला तैँले त्यस कुरालाई ग्रहण गर्नुपर्छ। जब परमेश्वर तँलाई केही कुरा दिनुहुन्न, तब स्पष्टतया परमेश्वरको नजरमा त्यो उपयुक्त वा सही समय हुँदैन, त्यसैले तैँले त्यो कुरा त्यस समय ग्रहण गर्नु हुँदैन। जब परमेश्वर तैँले कुनै कुरा ग्रहण गर्नु हुँदैन र उहाँ त्यो कुरा तँलाई दिन चाहनुहुन्न भनेर भन्नुहुन्छ, तब तैँले के गर्नुपर्छ? समझर व्यक्तिले यसो भन्नेथियो, “यदि परमेश्वर त्यो कुरा मलाई दिनुहुन्न भने, म समर्पित हुनेछु र प्रतीक्षा गर्नेछु। अहिले म त्यो प्राप्त गर्न लायक छैन, किनकि मेरो कदले त्यो नथाम्ला, तर मेरो हृदय गुनासो वा सन्देहविना, र निश्चय नै कुनै शङ्काबिना परमेश्वरमा समर्पित हुन सक्छ।” यस बेला, मानिसले आफ्नो समझ गुमाउनु हुँदैन। परमेश्वरले तँलाई जस्तो व्यवहार गर्नुभए पनि, तैँले समझपूर्वक परमेश्वरमा समर्पित हुने निर्णय गर्नुपर्छ। सृष्टि गरिएका प्राणीहरूमा परमेश्वरप्रति हुनुपर्ने मनोवृति एउटा मात्र छ—सुन्ने र समर्पित हुने, अरू विकल्प छैनन्। तर परमेश्वर तँप्रति फरक-फरक मनोवृति राख्न सक्नुहुन्छ। यसका लागि आधार छ। परमेश्वरका आफ्नै अभिप्रायहरू हुन्छन्। उहाँ आफ्ना निर्णयहरू आफै लिनुहुन्छ र कामकुरा गर्ने सन्दर्भमा उहाँका आफ्नै विधिहरू छन् र प्रत्येक व्यक्तिप्रति उहाँले अपनाउने उहाँको आफ्नै मनोवृति हुन्छ। अवश्य पनि, यी निर्णय र विधिहरूको पछाडि परमेश्वरका उद्देश्यहरू लुकेका हुन्छन्। मानिसहरूले यी उद्देश्यहरूको बुझाइ प्राप्त गर्नुअघि, तिनीहरूले गर्नुपर्ने र गर्नसक्ने एउटै मात्र कुरा खोजी र प्रतीक्षा गर्नु, साथै परमेश्वरविरुद्ध विद्रोह गर्ने कुनै पनि कुरा गर्नदेखि अलग रहनु हो। मानिसहरूले यी समयमा अर्थात् तिनीहरूले परमेश्वरको अन्तर्दृष्टि, मार्गदर्शन, अनुग्रह र कृपा महसुस नगर्दा, गर्नै नहुने कुरा भनेको परमेश्वरबाट बहकिनु र उहाँ धर्मी हुनुहुन्न भन्नु, वा परमेश्वरप्रति चिच्याउनु, वा परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन महसुस गर्न नसक्दा उहाँलाई इन्कारसमेत गर्नु हो। परमेश्वरलाई एकदमै हेर्न मन नलाग्ने कुरा यही हो। अवश्य पनि, यदि तँ वास्तवमै परमेश्वरलाई अस्वीकार गर्ने, उहाँको धार्मिकतालाई नस्विकार्ने, उहाँको पहिचान र सारलाई अस्वीकार गर्ने, र परमेश्वरप्रति चिच्याउने हदमा पुगिस् भने, त्यसबाट परमेश्वरले तँलाई सुरुमै चासो नदिने मनोवृति अपनाउनु सही थियो भनेर पुष्टि हुनेछ। यदि तँ यो सानो परीक्षा र जाँचसमेत सहन सक्दैनस् भने, तँमा परमेश्वरप्रति अलिकति पनि विश्वास छैन र तेरो विश्वास अत्यन्तै खोक्रो छ। व्यक्तिलाई परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शनको अनुभूति नहुँदा, उसले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो सारा हृदयले खोजी र प्रतीक्षा गर्नु हो। खोजी र प्रतीक्षा गर्नु मान्छेका जिम्मेवारी हुन्, र ती मानिसहरूले परमेश्वरप्रति राख्नुपर्ने समझ, मनोवृति, र अभ्यासका सिद्धान्त पनि हुन्। खोजी र प्रतीक्षा गर्दा, अवसरवादी मानसिकता नराख्। सधैँ यस्तो नसोच्, “सायद मैले प्रतीक्षा गरेँ भने, परमेश्वरले मलाई प्रष्ट वचनहरू दिनुहुनेछ। मैले अझ अलि धेरै इमानदार मात्र बन्नुपर्छ र परमेश्वर मलाई अन्तर्दृष्टि दिनुहुन्छ कि हुन्न भनी हेर्नुपर्छ। सायद उहाँले मलाई अन्तर्दृष्टि दिनुहुनेछ। यदि दिनुभएन भने, म अरू केही उपाय सोच्नेछु।” त्यस्तो अवसरवादी मानसिकता नराख्। मानिसको यस्तो खाले मनोवृतिलाई परमेश्वर घृणा गर्नुहुन्छ। यो कस्तो प्रकारको मनोवृति हो? यो अवसरवादी मनोवृति हो जसमा जाँच हुन्छ। परमेश्वरले सबैभन्दा बढी घृणा गर्ने कुरा यही हो। यदि तँ प्रतीक्षा गर्न लागिरहेको छस् भने, त्यो इमानदारीपूर्वक गर्। तैँले परमेश्वरलाई प्रार्थना र सत्यता खोजी गर्दा, आफ्ना व्यावहारिक समस्याहरू समाधान गर्दा, परमेश्वरलाई अन्तर्दृष्टि र मार्गदर्शन माग्दा धार्मिकताका लागि भोकाउने र तिर्खाउने मानसिकता राख्। परमेश्वरले तँलाई जे-जस्तो व्यवहार गर्नुहुने भए पनि वा उहाँले अन्ततः तँलाई पूर्ण बुझाइ प्राप्त गर्न दिनुभए पनि वा नभए पनि, तैँले कुनै विचलनविना समर्पणको सिद्धान्त पालना गर्नुपर्छ। यसरी, तँ सृष्टि गरिएको प्राणीमा हुनुपर्ने हैसियत र कर्तव्यप्रति अडिग रहनेछस्। परमेश्वरले अन्त्यमा तँबाट उहाँको मुहार लुकाउनुभए पनि, उहाँले तँलाई आफ्नो पिठ्यूँ मात्र देखाउनुभए पनि, वा उहाँ तेरो लागि देखा पर्नुभए पनि नभए पनि, यदि तँ सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्यमा र मूल स्थानमा अडिग रहन्छस् भने, तैँले साक्षी दिएको हुनेछस् र तँ विजेता बन्नेछस्। “निराश नहो। कमजोर नहो। आफ्नो सारा हृदयले खोजी गर्; सारा हृदयले प्रतीक्षा गर्।” यी चारवटा छोटा कथनहरू अति महत्त्वपूर्ण छन्। तिनमा मान्छेमा हुनुपर्ने समझ, मान्छेले खडा हुनुपर्ने मूल स्थान, र मान्छेले पछ्याउनुपर्ने अभ्यासको मार्ग समावेश छन्। कतिपय मानिसहरू यस्तो भन्छन्, “हामी सबै जना आफ्नो सारा हृदय र मनले खोजी र प्रतीक्षा गर्छौँ, तैपनि किन परमेश्वर हामीलाई अन्तर्दृष्टि दिनुहुन्न? किन उहाँ मलाई कुनै प्रेरणा दिनुहुन्न?” परमेश्वरका आफ्नै अभिप्रायहरू हुन्छन्। परमेश्वरसित मागहरू नराख्। यो नै सामान्य मानवताको समझ हो; यो नै सृष्टि गरिएका प्राणीहरूमा सबैभन्दा हुनुपर्ने समझ हो। मानव मन, सोच, र धारणाअनुसार मानिसले नबुझ्ने निकै धेरै कुरा छन्, र परमेश्वरले मानिसहरूलाई यी कुराहरू बताउनैपर्छ। तर परमेश्वर यसो भन्नुहुन्छ, “तँलाई ती कुराहरू भन्नु मेरो जिम्मेवारी वा दायित्व होइन। यदि म तैँले कुनै कुरा जानेको चाहन्छु भने, तैँले थोरै जान्नेछस्, र त्यो मैले तँलाई निगाह देखाइरहेको कुरा हुनेछ। जब म तैँले कुनै कुरा नजानेस् भन्ने चाहन्छु, तब म त्यसबारे एक शब्द पनि भन्नेछैनँ, र तैँले त्यसपछि त्यो बुझ्न सक्नेछु भनेर कल्पनै नगर्!” कतिपय मानिसहरू प्रश्न गर्छन्: “तपाईं यो कुरामा किन हामीविरुद्ध हुनुहुन्छ?” परमेश्वर तिमीहरूविरुद्ध हुनुहुन्न। सृष्टिकर्ता जहिले पनि सृष्टिकर्ता नै हुनुहुनेछ, र कामकुरा गर्ने उहाँका आफ्नै तौरतरिका र विधिहरू हुन्छन्। उहाँका तौरतरिका र विधिहरू मान्छेको रुचि, वा विचार र धारणा, र निश्चित रूपले मान्छेको परम्परागत संस्कृतिअनुरूप नभए तापनि, मान्छेका जुनै पक्षहरूसँग ती मेल नखाए पनि, सरल रूपमा भन्नुपर्दा, ती कुरा मान्छेका मापदण्ड र मानकहरूसँग मेल नखाने वास्तविकताको बाबजुद पनि—परमेश्वरले जे गर्नुभए पनि, र मानिसहरूले त्यो बुझ्न सके पनि वा नसके पनि, सृष्टिकर्ताको पहिचान र सार कहिल्यै परिवर्तन हुनेछैन। मानिसले कहिल्यै पनि मानव भाषा, मानव धारणा, वा कुनै पनि मानव विधि प्रयोग गरेर सृष्टिकर्ताको मापन गर्नु हुँदैन। मानिसहरूसँग हुनुपर्ने समझ यही हो। यदि तँसँग यति समझ पनि छैन भने, म साँच्चै भन्छु—तँ सृष्टि गरिएका प्राणीले जस्तो कार्य गर्न समर्थ छैनस्। ढिलोचाँडो, एक दिन तँलाई केही नराम्रो हुनेछ। यदि तँमा यति समझ पनि छैन भने, ढिलोचाँडो एक दिन तेरो शैतानी स्वभाव विस्फोट हुनेछ। त्यस बेला, तैँले परमेश्वरलाई शङ्का गर्नेछस्, परमेश्वरलाई मुखले गाली दिनेछस्, परमेश्वरलाई अस्वीकार गर्नेछस्, र परमेश्वरलाई धोका दिनेछस्। त्यसपछि तँ पूर्ण रूपमा समाप्त हुनेछस्, र तँलाई हटाइनुपर्ने हुन्छ। त्यसकारण, सृष्टि गरिएका प्राणीहरूमा हुनुपर्ने समझ एकदमै महत्त्वपूर्ण छ। “निराश नहो। कमजोर नहो। आफ्नो सारा हृदयले खोजी गर्; सारा हृदयले प्रतीक्षा गर्।” यी चारवटा कथनहरू भनेका सृष्टि गरिएका प्राणीहरूले आफ्नो वास्तविक जीवनमा बारम्बार सामना गर्ने विभिन्न परिस्थितिहरू सम्हाल्दा र परमेश्वरसँगको आफ्नो सम्बन्ध सुधार्नहेतु तिनीहरूमा हुनुपर्ने समझ र सिद्धान्तहरू हुन्।
यस खण्डको पहिलो भागले भन्छ, “आफूले नबुझ्ने कुराको समाधान गर्न चिन्ता नगर्,” अनि अन्तिम दोस्रो हरफले भन्छ, “आफ्नो सारा हृदयले खोजी गर्; सारा हृदयले प्रतीक्षा गर्।” कतिपय मानिसहरू यसो भन्छन्: “के ‘समाधान गर्न चिन्ता नगर्’ भन्ने वचनहरूको अव्यक्त अर्थ, अन्तिम परिणाम अवश्यम्भावी छ भन्ने हो? यदि हामी सारा हृदयले खोजी र प्रतीक्षा गर्छौँ, हामीसँग परमेश्वरका निम्ति ठूलो चाहना भएको हृदय छ, र हामी परमेश्वरका वचनहरूका लागि तृष्णा गर्छौँ भने, के परमेश्वरले हामीलाई जवाफ दिनुपर्छ र उक्त मामिलाबारे हामीलाई सत्यता बुझ्न दिनुपर्छ?” तँलाई मेरो जवाफ यही हो: यो अनिश्चित छ र यो अनिवार्य छैन। यो खण्डको प्रत्येक वचन परमेश्वरले मान्छेका लागि अघि सार्नुभएको मापदण्ड, अर्थात् सृष्टि गरिएको प्राणीले पालना गर्नुपर्ने अभ्यासको सिद्धान्त हो। परमेश्वर मान्छेलाई अभ्यासको मार्ग दिनुहुन्छ, मानिसहरूले दैनिक जीवनमा भोग्ने परिस्थितिहरूमा अभ्यास गर्नुपर्ने र पालन गर्नुपर्ने सिद्धान्तहरू दिनुहुन्छ। तर परमेश्वरले मानिसलाई “तिमीहरूले यी वचनहरू जुनै हदसम्म बुझे पनि, यदि यी सिद्धान्तहरू पालना गर्छौ भने, मैले तिमीहरूलाई तथ्यहरू बताउनैपर्छ, मैले तिमीहरूलाई जवाफ दिनैपर्छ, र मैले अन्त्यमा तिमीहरूलाई स्पष्टीकरण दिनैपर्छ” भनेर भन्नुभएन। यसो गर्नु परमेश्वरको जिम्मेवारी होइन। उहाँका लागि “गर्नैपर्छ” भन्ने त्यस्तो केही हुँदैन। मानिसहरूले परमेश्वरलाई यस्ता अनुचित मागहरू गर्नु हुँदैन। यो तिमीहरू प्रत्येकले बुझ्नैपर्ने कुरा हो। यो “अनिवार्य छैन” भन्ने कुराले मानिसहरूलाई एउटा तथ्य बताउँछ: परमेश्वर मानिसहरूले आफ्ना मानव धारणा, मानव दर्शन, अनि मानव अनुभव र पाठअनुसार बनाएका व्यवहार नियमहरू कहिल्यै पालना गर्नुहुनेछैन, न त मानव कानुन नै पालना गर्नुहुनेछ। बरु, मानवजातिले चाहिँ परमेश्वरको मापदण्डका सिद्धान्तहरू पालना गरेर उहाँले अघि सार्नुभएको प्रत्येक सत्यता वास्तविकताभित्र प्रवेश गर्नैपर्छ। के तैँले यो कुरा बुझेको छस्? (बुझेको छु।) मानिसहरूले पालना गर्नुपर्ने सिद्धान्तहरूलाई यस खण्डमा प्रष्ट रूपमा व्याख्या गरिएको छ। पहिलो हरफबाट सुरु गर्। (“आफूले नबुझ्ने कुराको समाधान गर्न चिन्ता नगर्।”) यो अभ्यास गर्न र बुझ्न सजिलो सिद्धान्त हो। यसलाई अभ्यास गर्दा तँलाई कुनै बोझ हुँदैन वा दबाब पर्दैन। यो अत्यन्तै सजिलो छ। अनि दोस्रो हरफ नि? (“यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्, अनि उहाँलाई सच्चा हृदय चढा।”) तँ संसारमा जिउने सामान्य व्यक्ति होस्। तैँले केवल “यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्नुपर्छ, अनि उहाँलाई सच्चा हृदय चढाउनुपर्छ।” जबसम्म तँ हृदयविहीन हुँदैनस्, तबसम्म तैँले यो गर्न सक्छस्। तँसँग दिनमा चौबिस घण्टा हुन्छ। तेरो सामान्य काम, आरामको समय, खाना, र व्यक्तिगत आत्मिक भक्तिको अतिरिक्त, के “यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्नु, अनि उहाँलाई सच्चा हृदय चढाउनु” सजिलो कुरा होइन र? (यसो गर्न सजिलो छ।) यो काम हिँड्दै, बात मार्दै वा आराम गर्दै गर्न सकिन्छ, यसले तेरो सामान्य कामधन्धा, कर्तव्य निर्वाह, वा गरिरहेको कामलाई बाधा दिँदैन। यो साँच्चै सामान्य कुरा हो! व्यक्तिको क्षमता जेजति भए पनि, यदि ऊ सच्चा हृदय चढाउँछ र सत्यताका लागि मरिमेट्छ भने, उसले बिस्तारै सत्यता बुझ्नेछ र सजिलै यो वास्तविकताभित्र प्रवेश गर्नेछ।
अर्को हरफ के हो? (“परमेश्वर तेरा सर्वशक्तिमान् हुनुहुन्छ भन्ने विश्वास गर्।”) अब, म यसलाई उल्ट्याएर तिमीहरू सबैलाई सोध्छु, के तिमीहरू “परमेश्वर तेरा सर्वशक्तिमान् हुनुहुन्छ” भन्ने कुरामा विश्वास गर्छौ? तैँले यो कुरा विश्वास गर्न थालेको कहिलेदेखि हो? तैँले कुन मामिलामा यसबारे विश्वास गर्न आइपुगिस्? के तैँले यसको गवाही दिएको छस्? के तैँले यो अनुभव गरेको छस्? यदि कसैले तँलाई “के तँ परमेश्वर तेरा सर्वशक्तिमान् हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्छस्?” भनेर सोध्यो भने के होला? सायद, सैद्धान्तिक रूपमा तैँले विना हिचिकिचाहट यसो भन्नेछस्, “परमेश्वर मेरा सर्वशक्तिमान् हुनुहुन्छ! परमेश्वर कसरी मेरा सर्वशक्तिमान् हुन सक्नुहुन्न र?” यदि उसले तँलाई फेरि “के परमेश्वर तेरा सर्वशक्तिमान् हुनुहुन्छ? तैँले कुन मामिलामा परमेश्वरमा भर परेको छस् र परमेश्वरका कामहरू देखेको छस्? परमेश्वरको सर्वशक्तिमान्ता तँमा व्यक्तिगत रूपमा कुन हदसम्म प्रकट भएको छ? तैँले परमेश्वर तेरा सर्वशक्तिमान् हुनुहुन्छ भनेर कहिले थाहा पाइस्? तँलाई कुन मामिलामा परमेश्वर तेरा सर्वशक्तिमान् हुनुहुन्छ भन्ने लाग्छ? यदि तँ परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ र उहाँका लागि असम्भव केही छैन भनी स्विकार्छस् भने, बेलाबेलामा तँ किन यति कमजोर हुन्छस्? किन तँ अझै नकारात्मक छस्? तँ आफूलाई केही आइपर्दा किन देहविरुद्ध विद्रोह गर्न र सत्यता अभ्यास गर्न सक्दैनस्? किन तँ अरूसँगको व्यवहारमा सधैँ शैतानी दर्शनहरूअनुसार जिउँछस्? किन तँ अझै पनि परमेश्वरको हप्काइ अनुभूति नगरी प्रायः झूट बोल्छस्? के परमेश्वर वास्तवमै तेरा सर्वशक्तिमान् हुनुहुन्छ? तँलाई परमेश्वरको सर्वशक्तिमान्ताले ठ्याक्कै केलाई जनाउँछ भन्ने लाग्छ? के त्यो परमेश्वरको सारअनुरूप छ?” भनी सोध्यो भने के गर्छस्? यदि तँलाई यी प्रश्नहरू सोधिएको भए, के तँ अझै यस्तै निश्चितताका साथ जवाफ दिने आँट गर्नेथिस्? मैले यसरी सोध्दा मानिसहरू निःशब्द हुन्छन्। तँसँग त्यस्तो अनुभव छैन, तैँले परमेश्वरसित यो स्तरमा सम्बन्ध स्थापित गरेको छैनस्। तैँले परमेश्वरमा विश्वास गरेको यतिका वर्षमा, कहिल्यै परमेश्वरको सार्वभौमिकता अनुभव गरेको छैनस्, उहाँको बाहुली देखेको छैनस्, र उहाँको सर्वशक्तिमान् हातद्वारा चलाइने मानिस, घटना, र वस्तुहरूमाथिको उहाँको सार्वभौमिकता देखेको छैनस्। यो तैँले कहिल्यै देखेको वा सुनेको छैनस्, झन् अनुभव वा व्यक्तिगत तवरमा अनुभूति गर्नु त परको कुरा हो। त्यसकारण, “के परमेश्वर मेरा सर्वशक्तिमान् हुनुहुन्छ?” भन्ने प्रश्नबारे तँलाई थाहा छैन र बोल्ने आँट गर्दैनस्। यसले तँमा त्यस्तो विश्वासको कमी भएको प्रमाणित गर्छ। तेरा लागि यो हरफ तेरो दर्शन बन्नुपर्छ। तँ परमेश्वरमा विश्वास गर्छस् र उहाँलाई पछ्याउँछस् भन्ने सबैभन्दा सशक्त प्रमाण यो नै हुनुपर्छ। यो पनि तैँले निरन्तर अगाडि बढ्दा तँलाई टेवा दिने दर्शनको एउटा पक्ष हो। तर पनि तँ निश्चितताका साथ जवाफ दिने आँट गर्दैनस्। किन? किनकि परमेश्वरमाथिको तेरो विश्वास परमेश्वर हुनुहुन्छ भन्ने विश्वास मात्र हो। अहिलेसम्म तैँले साँचो रूपमा परमेश्वरलाई पछ्याएको छैनस्, परमेश्वरसँग साँच्चिकै सम्बन्ध स्थापित गरेको छैनस्, तँ अझसम्म परमेश्वरको वचनको वास्तविकताभित्र प्रवेश गरेको छैनस्, तैँले अझसम्म परमेश्वरको सार्वभौमिकताप्रति समर्पित हुने अनुभव गरेको छैनस्, अनि तैँले अझसम्म सबै थोकमाथि परमेश्वरको सार्वभौमिकता छ भन्ने तथ्यलाई प्रत्यक्ष महसुस गरेको छैनस्। तैँले यी कुराहरू देखेको वा अनुभव गरेको छैनस्, झन् तैँले ती बुझ्नु त परको कुरा हो। यदि तँलाई “के परमेश्वर तेरा सर्वशक्तिमान् हुनुहुन्छ?” भनेर मात्र सोधियो भने, तैँले निश्चित रूपमा “हो” भनी जवाफ दिनेथिस्। त्यसपछि यदि तँलाई तैँले यो कसरी अनुभव गरिस् र बुझिस् भनी सोधियो भने, निःशब्द भएर लज्जित हुनेथिस्, र जवाफ दिने आँट गर्थिनस्। यस तथ्यको कारण के हो? (यस सम्बन्धमा हामीसँग अनुभव छैन।) तँ सैद्धान्तिक दृष्टिकोणबाट बोल्दै छस्। खासमा, तँ आफू परमेश्वरको अनुयायी र सृष्टि गरिएको प्राणी भएको मौखिक घोषणा गर्छस्। तर तैँले परमेश्वरलाई पछ्याउन थालेको दिनदेखि सृष्टि गरिएको प्राणीका जिम्मेवारीहरू कहिल्यै पूरा गरेको छैनस्। परमेश्वरको वचनलाई आफ्नो अस्तित्वको जगको रूपमा स्विकार्नु, उहाँको वचनलाई आफ्नो कर्तव्य निर्वाह गर्ने अभ्यासको सिद्धान्त र मार्गको रूपमा लिनु, र परमेश्वरको वचनको वास्तविकतामा प्रवेश गर्नु यो तेरो जिम्मेवारी हो। यदि तँ यी सत्यता वास्तविकताहरूमा अझै प्रवेश गरेको छैनस् भने, यसले के जनाउँछ? यो कि, तैँले परमेश्वरलाई पछ्याए पनि, परिवार, काम र करियर त्यागेको र आजसम्म परमेश्वरलाई पछ्याउन सकेको भए पनि, तेरो हृदयले परमेश्वरद्वारा मानवजातिलाई दिइने सत्यता र जीवनलाई स्वीकार गरेको छैन, बरु तँ आफूलाई मन पर्ने कुराहरूको पछि लाग्छस् र तैँले ती कुरा कहिल्यै त्यागेको छैनस्। के यसलाई परमेश्वरलाई पछ्याएको र उहाँको कामप्रति समर्पित भएको भन्न मिल्छ? यदि तँ आफ्नो हृदयमा परमेश्वरले मान्छेका लागि राख्नुभएका जीवनको लक्ष्य र दिशाहरू, अनि जीवन र जियाइको मापदण्ड स्वीकार गर्दैनस्, तर आफूले सुन्ने वचनहरू रट्ने र केही धर्मसिद्धान्त भट्याउने मात्र गर्छस् भने, के यसलाई सत्यता स्वीकार गरेको मानिन्छ? तैँले परमेश्वरलाई पछ्याए पनि, र बाहिरी रूपमा आफ्नो कर्तव्य निभाउन सके पनि, तेरो हृदयले सत्यता स्वीकार गरेको हुँदैन। तैँले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको भए पनि, तैँले जिउने सिद्धान्त र विधिहरू र तेरो जीवनले पछ्याउने मार्गहरू शैतानकै छन्। तँ अझै त्यही पुरानै व्यक्ति हुन्छस्, जुन तँ सधैँ थिइस्, र तँ अझै आफ्नो शैतानी स्वभाव र भ्रष्ट मान्छेको तरिकाअनुसार जिउँछस्, अनि तैँले परमेश्वरबाट आउने मापदण्ड र सिद्धान्तहरूलाई स्वीकार गरेको छैनस्। यो महत्त्वपूर्ण दृष्टिकोणबाट हेर्दा, तैँले गरिरहेको कुरा परमेश्वरलाई पछ्याएको होइन। तँ आफू सृष्टि गरिएका प्राणी हुँ र सृष्टिकर्ता तेरा परमेश्वर हुनुहुन्छ भनेर मात्र स्विकारिरहेको छस्। यस सैद्धान्तिक आधारमा, तँ परमेश्वरका लागि थोरै कुरा गर्छस् र उहाँलाई अलिकति भेटी चढाउँछस्। यो आधारलाई विचार गर्दा, तँ परमेश्वर तेरा परमेश्वर हुनुहुन्छ र तँ उहाँको अनुयायी होस् भनी मन नलागी-नलागी स्विकार्छस्, तर तेरो हृदयले परमेश्वरलाई तेरो जीवन, तेरा प्रभु, र तेरा परमेश्वरको रूपमा साँच्चै कहिल्यै स्विकारेको छैन। यसले हामीलाई मैले भर्खरै सोधेको प्रश्नमै फेरि पुऱ्याउँछ, “के परमेश्वर तेरा सर्वशक्तिमान् हुनुहुन्छ?” माथिका कारणहरूले गर्दा, तँ निश्चितताका साथ जवाफ दिने आँट गर्दैनस्। सबै कुरा र पूरै ब्रह्माण्डका लागि परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, तर तेरो हकमा, तँ परमेश्वरलाई सैद्धान्तिक कुराको रूपमा सर्वशक्तिमान् हुनुहुन्छ भनी स्विकार्न सक्छस्, तर खासमा तैँले यो अनुभव गरेको वा देखेको छैनस्। परमेश्वरको सर्वशक्तिमान्ताको सवालमा, तेरो हृदयमा प्रश्न चिह्न खडा भएको छ। “परमेश्वर तेरा सर्वशक्तिमान् हुनुहुन्छ” भन्ने वचनहरूलाई कहिले मानिसहरू साँच्चै पुष्टि गर्न र यो दर्शनलाई उहाँप्रति आफ्नो विश्वासको जग बनाउन सक्षम हुने हो? जब मानिसहरू परमेश्वरको पहिचान, सार, र हैसियतलाई आफ्नो हृदयमा स्वीकार गर्छन्, र परमेश्वरको वचनको वास्तविकतामा प्रवेश गर्छन् र परमेश्वरको वचनलाई आफ्नो अस्तित्वको जगमा परिणत गर्छन्, तब मात्र “परमेश्वर तेरा सर्वशक्तिमान् हुनुहुन्छ” भन्दा तिनीहरूले साँचो रूपमा स्विकार्न सक्छन्। वास्तवमा यी वचनहरूको कुरा हासिल गर्न सबैभन्दा कठिन छ, तर परमेश्वरले यी अघि सार्नुभएको छ। यसले यी वचनहरू मान्छेका लागि अत्यन्तै महत्त्वपूर्ण छन्, र मानिसहरूले यी वचनहरू अनुभव र महसुस गर्न पूरा जीवन व्यक्तित गर्नुपर्छ भन्ने देखाउँछ। यी वचनहरू अनुभव र महसुस गर्न चाहने व्यक्तिले पूरै जीवनकाल त्यसो गर्नमा बिताउनैपर्छ। यी वचनहरूद्वारा उठाइएको प्रश्नको साँचो र निश्चित जवाफ आफ्नो हृदयबाट दिनका लागि तिनीहरूले आफ्नो पूरै जीवनकाल आफू र परमेश्वरबीच सामान्य सम्बन्ध स्थापित गर्न अर्थात् आफ्नो सृष्टिकर्तासँग सृष्टि गरिएको प्राणीको सम्बन्ध स्थापित गर्न काम गर्दै बिताउनुपर्छ। यो सब “यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्, अनि उहाँलाई सच्चा हृदय चढा” भन्ने सिद्धान्त अभ्यास गर्ने आधारमा प्राप्त गर्न सकिन्छ। वास्तवमा यसलाई अभ्यास गर्नु धेरै सजिलो छ, तर परमेश्वरले तोक्नुहुने लक्ष्य साँचो अर्थमा प्राप्त गर्नु सजिलो छैन। त्यसका लागि व्यक्तिले समय र प्रयास खर्चनैपर्छ र मूल्य चुकाउनैपर्छ।
अर्को हरफ के हो? (“तँसित परमेश्वरका निम्ति ठूलो आकाङ्क्षा हुनैपर्छ, … जोडतोडले खोजी गर्नुपर्छ।”) यी सबै मान्छेका लागि परमेश्वरका मापदण्डहरू हुन्। यदि मानिसहरू सत्यता बुझ्न र मुक्ति प्राप्त गर्न चाहन्छन् भने, तिनीहरूको हृदयले यसको तृष्णा गर्नैपर्छ, तिनीहरूमा त्यसलाई पछ्याउने इच्छा हुनैपर्छ, र तिनीहरूमा वास्तविक चाहना हुनैपर्छ। त्यसपछि, तिनीहरूले परमेश्वरद्वारा निर्मित अभ्यासको मार्गबमोजिम अभ्यास र प्रवेश गर्नैपर्छ। बिस्तारै, परमेश्वर यी मानिसहरूलाई सत्यता वास्तविकता अनि सही र सामान्य स्थितिमा ल्याउनुहुन्छ। यस्ता मानिसहरूले परमेश्वरको वचनको सत्यता झन्-झन् धेरै व्यावहारिक तरिकामा बुझ्दै जानेछन्। अन्त्यमा, यी मानिसहरूमा भएका थुप्रै असामान्य स्थिति, तिनीहरूमा प्रकट हुने भ्रष्टता, र तिनीहरूको विद्रोहलाई परमेश्वरको कामका विभिन्न विधिद्वारा उहाँद्वारा बन्दोबस्त हुने विभिन्न परिवेशमा बिस्तारै समाधान गरिनेछ। त्यसोभए, तिमीहरूले बुझ्नुपर्ने कुरा के हो? त्यो हो: मानिसले गर्नुपर्ने कामकुरा, अभ्यास गर्नुपर्ने कुरा परमेश्वरको मापदण्डअनुसार पूरा गरिनैपर्छ। जब मानिसहरू परमेश्वरको मापदण्डअनुसार अभ्यास र कार्य गर्छन्, तब तिनीहरू परमेश्वरले आफूलाई औँल्याइदिएको सही मार्गमा हिँड्नेछन्। जब मानिसहरू यो सही मार्गमा हिँड्छन्, तब परमेश्वरले आफ्नो तरिकाले अनि आफ्नो मापदण्ड र सिद्धान्तहरूअनुसार तिनीहरूलाई ठिक समयमा उचित हिस्सा प्रदान गर्नुहुनेछ। यहाँ मानिसहरूले के बुझ्नुपर्छ? मानिसहरूको सहकार्य, तिनीहरूले चुकाउने मूल्य, र तिनीहरूको खर्चाइ अपरिहार्य छन् भनेर बुझ्नुपर्छ। मानिसहरूले परमेश्वरको मापदण्डअनुसार कार्य र अभ्यास गर्नैपर्छ। तिनीहरूले मानव चाहनाबमोजिम वा मानव कल्पना र धारणाको आधारमा कार्य पटक्कै गर्नुहुँदैन। अन्तिम परिणाम के हुन्छ, व्यक्ति कति परिवर्तन हुन सक्छ, व्यक्तिले कति प्राप्त गर्न सक्छ: के यी कुराहरू व्यक्ति स्वयम्को इच्छाले निर्धारित गर्छ? अहँ गर्दैन, त्यो परमेश्वरको कुरा हो, र त्यसको तँसँग कुनै लेनादेना छैन। अन्त्यमा, परमेश्वर तँलाई के र कति दिनुहुन्छ, त्यो कहिले दिनुहुन्छ, तँलाई दिइएको कुरा तैँले कुन उमेरमा प्राप्त गर्छस्: त्यो परमेश्वरको कुरा हो, र तँसँग त्यसको कुनै लेनादेना छैन। यसमा मैले भन्न खोजेको के हो? त्यो हो, तैँले केवल सत्यता अभ्यास गर्न, परमेश्वरले तँलाई दिने मार्गअनुसार प्रवेश गर्न, सृष्टि गरिएको प्राणीले गर्न उचित हुने कार्य गर्न, र तैँले गर्नुपर्ने सहकार्य गर्नमा ध्यान दिनुपर्छ। तैँले के र कति प्राप्त गर्नेछस्, त्यो कहिले प्राप्त गर्नेछस्, र परमेश्वरले यी मामिलाहरू कहिले निप्ट्याउनुहुनेछ भन्ने सन्दर्भमा भन्नुपर्दा, त्यो परमेश्वरको कुरा हो र त्यो परमेश्वरकै समयमा हुनेछ। कतिपय मानिसहरू भन्छन्, “यदि मैले यो अभ्यास गरेँ भने, के अन्त्यमा मुक्ति पाउनेछु?” लौ भन त, के तिमीहरूलाई तिनीहरूले मुक्ति पाउन सक्छन् भन्ने लाग्छ? परमेश्वरले मान्छेलाई दिनुभएका र उपलब्ध गराउनुभएका यी वचन र सत्यताहरू मान्छेको मुक्तिका मार्ग हुन्। यदि तँ परमेश्वरका यी वचन र सत्यताबमोजिम अभ्यास गर्छस् र परमेश्वरको वचनको वास्तविकताभित्र प्रवेश गर्छस् भने, के त्यसपछि पनि तैँले मुक्ति नपाइएला कि भन्ने चिन्ता लिनु आवश्यक छ? के तँ अझै पनि परमेश्वरले तँलाई त्याग्नुहुनेछ भन्ने डरले हरेक दिन चिन्ता र फिक्रीमा बिताउँछस्? के यो अति कम विश्वास भएकोले र परमेश्वरका अभिप्रायहरू बुझ्न नसकेकोले भएको होइन र? यदि तँ सत्यता वास्तविकताभित्र साँच्चै प्रवेश गरेको छस् भने, यदि तेरो हृदयमा शान्ति र आनन्द छ भने, यदि तँ वास्तविक अनुभवात्मक गवाही दिन सक्छस् र हृदयमा परमेश्वरसित तेरो सामान्य सम्बन्ध छ भने, के तँ अझै पनि मुक्ति पाउनेछैन भनी चिन्ता लिनेछस्? चिन्ता नगर्, त्यो तेरो काम होइन। तैँले परमेश्वरको वचन अभ्यास गर्ने र त्यसमा प्रवेश गर्ने मात्र गर्नुपर्छ। परमेश्वरको वचनमा, एउटा हरफ पनि महत्त्वहीन छैन। परमेश्वरको सम्पूर्ण वचन सत्यता हो, र सत्यता मानिससँग हुनुपर्ने जीवन हो। परमेश्वरको सम्पूर्ण वचन मुक्ति प्राप्त गर्नका लागि मानिसलाई चाहिने र तिनीहरूसँग हुनुपर्ने कुरा हो। यदि अभ्यासमा तँ परमेश्वरका यी वचनहरू पालना गर्छस् तर मुक्ति नपाइएला भनी चिन्तित हुन्छस् भने, के तँ मूर्ख र अज्ञानी होइनस् र? के तँ अति संवेदनशील छैनस् र? यदि तैँले त्यस्ता बेकारका सोचहरू राख्नुभन्दा परमेश्वरका अभिप्रायहरूप्रति विचार गरिस् भने, बढी आनन्द पाउनेछस्। यदि तँ सही मार्गमा हिँडिरहेको छस् भने, तँ पुग्ने अन्तिम गन्तव्य निश्चय नै सही हुनेछ—त्यो परमेश्वरले तेरो लागि तोक्नुभएको गन्तव्य हो। तँ गलत हुनेछैनस्। त्यसकारण, यदि तँ परमेश्वरको मापदण्ड अभ्यास गर्छस् र त्यसमा प्रवेश गर्छस् भने, तैँले आफूले मुक्ति प्राप्त गर्न सक्छु कि सक्दिनँ भनेर चिन्तित हुनु पर्दैन। परमेश्वरले देखाएको मुक्तिको मार्ग अभ्यास गर् र त्यसको पछि लाग्, त्यो नै सही तरिका हो। कतिपय मानिसहरू यसो भन्छन्: “मुक्ति प्राप्त गर्दा कस्तो अनुभूति हुनेछ? के हामीलाई आफू हावामा तैरिरहेको जस्तो अनुभूति हुनेछ? के हामीलाई अहिले अनुभूति भइरहेको भन्दा फरक अनुभूति हुनेछ?” यो प्रश्न सोध्न अलि समय भएको छैन। यो तैँले अहिले नै जान्नुपर्ने कुरा होइन। तैँले साँच्चै मुक्ति प्राप्त गरेपछि थाहा पाउनेछस्। कतिपय मानिसहरू यसो भन्छन्: “जब म मुक्ति प्राप्त गर्छु, के अय्यूबकहाँ जस्तै मकहाँ पनि परमेश्वर देखा पर्नुहुनेछ?” के यो उचित माग हो? यस्तो कुरा नमाग्। तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् त्यो अझै तँलाई थाहा छैन भने यो माग गर्नुको के काम? कुनै काम छैन। उदाहरणका लागि, मानिलिऊँ अहिले तँ प्राथमिक विद्यालयमा पढ्छस्। तैँले आफ्ना सबै कक्षामा राम्रो गर्न र आफ्नो शिक्षकका मापदण्डहरू पूरा गर्न ध्यान दिनुपर्छ। जहिले पनि “भविष्यमा म कुन विश्वविद्यालयमा जानेछु? पछि जीवनमा कस्तो जागिर खानेछु?” भनेर नसोच्। ती कुराहरूबारे सोच्नु बेकार हो। त्यो निकै टाढाको र अवास्तविक कुरा हो। यदि तैँले अभ्यास गरिस्, र सही विधि र मार्गहरूमा प्रवेश गरिस् भने, अन्तिम लक्ष्य निश्चित रूपमा हासिल गर्न सक्नेछस्। त्योबाहेक, परमेश्वरको मार्गदर्शन हुँदाहुँदै, तिमीहरूलाई अझै के को डर लाग्छ? के तँ परमेश्वर तेरा सर्वशक्तिमान् हुनुहुन्छ भनी विश्वास गर्छस्? (गर्छु।) परमेश्वर सर्वशक्तिमान् हुनुभएकाले, के तँजस्तो सानो व्यक्तिलाई मुक्ति दिन उहाँलाई गाह्रो हुन्छ? परमेश्वरका लागि, पूरै संसार लिएर तँलाई दिनु त गाह्रो काम हुनेछैन भने एक सानो भ्रष्ट मानवजातिलाई मुक्ति दिन किन गाह्रो हुन सक्थ्यो र? त्यसोभए के तँ अझै चिन्तिन हुन आवश्यक छ? परमेश्वरले तँलाई मुक्ति दिन सक्नुहुन्छ कि हुन्न भनेर चिन्ता नगर्, परमेश्वरका वचनहरूले तँलाई मुक्ति दिन सक्छन् कि सक्दैनन् भनेर चिन्ता नगर्। बरु, तैँले परमेश्वरका वचनहरू बुझ्न सकिन्छ कि सकिँदैन र परमेश्वरका वचनहरूमा अभ्यासको मार्ग भेट्टाउन सकिन्छ कि सकिँदैन भनेर चिन्ता गर्नुपर्छ। तैँले आफू परमेश्वरका वचनहरूको वास्तविकताभित्र प्रवेश गरेको छ कि छैनँ, र आफ्ना कार्यहरूमा आफू परमेश्वरले देखाएको मार्गमा हिँडिरहेको छ कि छैनँ भनेर चिन्ता गर्नुपर्छ। त्यो धेरै राम्रो हो। यी कुराहरूबारे सोच्नु व्यावहारिक र वास्तविक हुन्छ। अरू कुनै कुराबारे सोच्नु बेकार हो।
अर्को हरफ के हो? (“शैतानका बहाना, अभिप्राय र चालहरूलाई नकार्दै।”) यो हरफबारे हामीले भर्खरै सङ्गति गऱ्यौँ, त्यसैले यो समस्या समाधान गर्न सजिलो हुनुपर्ने हो। मान्छेले के मात्र बुझ्नु आवश्यक छ भने, बढीजसो समय, “शैतानका बहाना, अभिप्राय र चालहरू” मान्छेको भ्रष्ट स्वभावले उत्पन्न गर्ने विभिन्न कारण, बहाना, अभिप्राय, र चालहरू साथै तैँले भेट्ने विभिन्न दुष्ट मानिस र अविश्वासीहरूले प्रयोग गर्ने विधिहरूबाट आउँछन्। तैँले यस्ता कुराहरू र आफूले रोज्नुपर्ने विकल्पहरूलाई कसरी छुट्याउन र अस्वीकार गर्न सक्छस् भन्ने सन्दर्भमा भन्नुपर्दा, त्यो तेरो व्यक्तिगत पछ्याइ हो। अर्को हरफ पढ्। (“निराश नहो। कमजोर नहो। आफ्नो सारा हृदयले खोजी गर्; सारा हृदयले प्रतीक्षा गर्।”) हामीले यो हरफ पनि भर्खरै विस्तारमा सङ्गति गऱ्यौँ। मान्छेका लागि, प्रत्येक हरफ चेतावनी र सम्झौटो हो, र सँगसँगै एक प्रकारको समर्थन, सहयोग, र प्रबन्ध हो। अवश्य नै, यी वचनमा मानवजातिका लागि परमेश्वरको अभिप्राय समावेश हुन्छ र तिनले मानवजातिका लागि उहाँको प्रचुर आशा बोक्छन्। मानिसहरूले कमजोरी र कठिनाइको सामना गर्दा, परमेश्वर तिनीहरू निरुत्साहित भएको, तिनीहरूले आशा गुमाएको, आस्था गुमाएको, सत्यता र मुक्ति पछ्याउने सङ्कल्प गुमाएको, अनि सत्यता प्राप्त गर्ने र परमेश्वरद्वारा सिद्ध पारिने अवसर गुमाएको हेर्न चाहनुहुन्न। परमेश्वर मानिसहरू कायर बनेको चाहनुहुन्न। बरु, तिनीहरूले चाहे जति कठिनाइ सामना गरे पनि, तिनीहरू जति नै कमजोर भए पनि, अनि तिनीहरूको भ्रष्टता चाहे जति प्रकट भए पनि, मानिसहरूले कहिल्यै हार मान्नेछैनन्, सबथोक भोग्दा दृढ रहनेछन्, सत्यता पछ्याउन जारी राख्नेछन्, तिनीहरूका लागि परमेश्वरले औँल्याइदिनुभएको अभ्यासका मार्गहरू पछ्याउनेछन्, र अझै पनि परमेश्वरको ठूलो चाहना गर्ने हृदय राख्नेछन् भनी परमेश्वर आशा गर्नुहुन्छ। मानिसहरूको परमेश्वरप्रतिको आस्था, अनुभवसँगसँगै र परमेश्वरको वचनको बुझाइसँगसँगै बढ्दै जानुपर्छ, र कमजोरी सामना गर्दा तिनीहरू पछि हट्नु हुँदैन, कठिनाइहरू सामना गर्दा नकारात्मक बन्नु हुँदैन, अलिकति भ्रष्टता प्रकट हुँदा रुनु हुँदैन, र अगाडि बढ्नुको साटो पछि हट्नु हुँदैन। परमेश्वर यस्ता व्यवहारहरू हेर्न चाहनुहुन्न। मानिसहरू उहाँप्रति सारा हृदयले अर्पित हुनेछन्, र तिनीहरूले समय, वातावरण, भौतिक स्थान, वा घट्न सक्ने कुनै पनि परिस्थितिका कारण यसलाई कहिल्यै परिवर्तन गर्नेछैनन् भनी परमेश्वर आशा गर्नुहुन्छ। यदि परमेश्वरको खोजी गर्ने तेरो चाहना परिवर्तन हुँदैन र परमेश्वरको खोजी गर्ने तेरो अटलता कमजोर हुँदैन भने, परमेश्वरले तेरो निष्कपट हृदय देख्नुहुनेछ र जान्नुहुनेछ। अन्त्यमा, परमेश्वर तँलाई जे प्रदान गर्नुहुन्छ त्यो निश्चित रूपमा तैँले चाहन सक्नेभन्दा अधिक हुनेछ। अय्यूबले परमेश्वरको सार्वभौमिकता अनुभव गरेको दशकौँको दौडान, परमेश्वर ऊसित बोल्नुहुनेछ वा ऊकहाँ स्वयम् देखापर्नुहुनेछ भनेर कहिल्यै कल्पना गर्ने आँट गरेन। उसले त्यो कल्पना गर्ने आँट कहिल्यै गरेन, तर उसको अन्तिम परीक्षापछि परमेश्वर ऊकहाँ देखापर्नुभयो, र ऊसँग व्यक्तिगत रूपमा आँधीबेरीबाट कुरा गर्नुभयो। के यो मान्छेले माग्न सक्नेभन्दा परको कुरा होइन र? (हो।) यो कसैले माग्न सक्ने कुनै कुराभन्दा परको कुरा हो, र कसैले पनि यस्तो विचार गर्नसमेत आँट गर्दैन। परमेश्वरले जे गर्नुभए पनि, मान्छे आफ्नो उचित ठाउँमा उभिनैपर्छ, र उसले आफूले गर्नुपर्ने काम गर्नैपर्छ, आफू हिँड्नुपर्ने मार्गमा हिँड्नैपर्छ, आफूलाई दिइएको कर्तव्य निभाउनैपर्छ र भनिएको भन्दा बढी गर्नु हुँदैन, र परमेश्वरलाई घिनलाग्ने कुराहरू गर्नदेखि टाढा रहनैपर्छ। तँलाई आफूले परमेश्वरबाट अति धेरै माग गरिरहेको, र आफ्ना मागहरू आकाङ्क्षा र चाहनाहरूको उपज र समझहीनताको परिणाम भएको अनुभूति हुँदा, तँ तुरुन्तै परमेश्वरसामु आउनैपर्छ, उहाँसामु लम्पसार पर्नैपर्छ, र आफ्ना पापहरू स्विकार्नैपर्छ। तैँले साँचो रूपमा पश्चाताप गर्नैपर्छ र आफूलाई हृदयदेखि नै परिवर्तन गर्नैपर्छ। परमेश्वरले मानवजातिबाट माग गर्ने अनि उहाँलाई पछ्याउने र सत्यतालाई प्रेम गर्ने हरेकबाट आशा राख्ने कुरा यही हो।
यस अनुच्छेद बारेको सङ्गति हामी यहीँ समाप्त गर्छौँ। अत्यन्तै धेरै सङ्गतिपछि, मैले निर्देशन दिनुपर्ने कुरा निर्देशन दिएको छु र मान्छेले बुझ्न उचित कुरा तँलाई बुझाएको छु। यस्तो सङ्गतिको उद्देश्य तँलाई परमेश्वरका वचन कसरी पढ्ने भनी बताउनु, उहाँका वचन पढ्ने तरिका सिकाउनु, र परमेश्वरको वचनको कुनै पनि खण्ड व्यर्थमा बोलिएको छैन भनी सबैलाई थाहा दिनु हो। ती सबैमा परमेश्वरका अभिप्रायहरू भरिएका हुन्छन् र तिनले परमेश्वरको आशा बोकेका हुन्छन्। यस तरिकाले हेर्दा, परमेश्वरका वचनहरू, चाहे ती गहन होऊन् या सरल, ती सबै नै मान्छेमा हुनुपर्ने र तिनीहरूले पालना गर्नुपर्ने कुराहरू हुन्। केही सरल वचनहरूमै मान्छेले सबैभन्दा धेरै पालना गर्नुपर्ने अभ्यासका सिद्धान्तहरू हुन्छन्, तर कसैले पनि यो कुरा पूरा गर्दैन। परमेश्वरका यी केही वचनहरूलाई कसैले कुनै महत्त्व दिँदैन र यीप्रति कसैले चासो लिँदैन। ल भन् त, मान्छे कति भावशून्य छ? वास्तवमा, त्यसलाई भावशून्य भन्नु त राम्रो भन्नु हो। खासमा, मान्छेको असीमित अहङ्कारले गर्दा नै तिनीहरू सबैले यी वचनलाई तिरस्कार गर्छन् र यिनलाई हेर्ने वा पढ्ने इच्छा गर्दैनन्। तिनीहरू केचाहिँ पढ्न चाहन्छन् त? तिनीहरू गहन, उच्च स्तरीय, दार्शनिक, र व्यवस्थित वचनहरू पढ्न चाहन्छन्। ती उच्च र गहन वचनहरूबारे कुरा नगर्, मानिसहरूले यी केही सरल वचनहरू बुझ्न सकेमा पर्याप्त हुन्छ। यी वचनहरू सरल देखिएलान् र पढ्ने जोकोहीले यी वचनहरू बुझ्न सक्छन्, तर यिनलाई कसले साँच्चै अभ्यास गर्न सक्छ? आफूलाई आइपर्ने कुराहरूलाई कसले वास्तवमै परमेश्वरसामु राख्न र प्रार्थना गर्न सक्छ? कसले समाधानका लागि चिन्ता नगरी परमेश्वरको समयको प्रतीक्षा गर्छ? कति जना मानिस यो अभ्यास गर्न सक्छन्? अहिलेसम्म मैले परमेश्वरका यी वचनहरू नियालेका र अभ्यास गरेका मानिसहरू भेट्टाएको छैनँ, न त परमेश्वरका वचनहरू कति हृदयस्पर्शी, सच्चा, र मूल्यावान छन् भनी बुझेपछि ती वचनहरूलाई बहुमूल्य मानेका कुनै व्यक्तिहरू नै भेट्टाएको छु। भर्खरै तिमीहरूले यो भजन बजाएको सुन्दा, मैले तिमीहरूलाई परमेश्वरको वचनको यो खण्ड कसरी खायौ र पियौ भनी सोधेँ। के कसैले यी केही सरल, स्पष्ट र सीधा वचनहरूलाई प्रार्थना गर्दै पढेर त्यसबाट परमेश्वरको अभिप्राय पत्ता लगाएको छ? के कसैले मान्छेले बुझ्नुपर्ने र प्रवेश गर्नुपर्ने अभ्यासको मार्ग भेट्टाउन यी वचनहरू प्रार्थना गर्दै पढेको छ? के कसैले यी वचनहरूबाट कुनै सत्यता बुझेको छ? म के सोधिरहेको छु भने, के तिनीहरूमा भएका सत्यताहरूले अलगअलग व्यक्तिमा फल फलाएका छन्? के तिनले कुनै प्रभाव पारेका छन्? तिनले कुनै प्रभाव पारेका छैनन् भनेर हाम्रो सङ्गतिले देखाएको छ। तिमीहरूको कद अति नै सानो छ। परमेश्वरले यतिका वर्षहरूमा बोलेका अधिकांश वचनले अझै तिमीहरूको हृदयमा जरा गाडेका छैनन् जस्तो देखिन्छ। तिमीहरू तिनलाई सत्यताको रूपमा बहुमूल्य ठान्ने स्तरमा पुगेका छैनौ। यो राम्रो सगुन होइन। यो राम्रो सङ्केत होइन। कतिपय मानिस भन्छन्: “हामी हरेक दिन आफ्नो कर्तव्य निभाउन अत्यन्तै व्यस्त हुन्छौँ। हामीसँग परमेश्वरका वचनहरू मनन गर्ने समय नै छैन।” खासमा, तिनीहरूसँग समय नहुने होइन, तिनीहरूले त प्रयास लाउने वा ध्यान दिने काम नै नगरेका हुन्। कुनै व्यक्तिले जे कर्तव्य निभाउने भए पनि, के त्यसले उसले आफ्नो हृदयमा परमेश्वरका वचनहरू मनन गर्ने तरिकालाई प्रभाव पार्न सक्छ? के उसले खाँदा र आराम गर्दा परमेश्वरका वचनहरू मनन गर्न सक्दैन र? त्यो सबै उसमा इच्छा छ कि छैन भन्ने कुरामा भर पर्छ। मानिसहरू आफू अति व्यस्त हुनु नै सन्तुष्ट हुनु हो भन्ने सोच्छन्। वास्तवमा, जब तँसँग सोच्ने समय हुन्छ, तब तँलाई यो महसुस हुन्छ कि तैँले कहिल्यै परमेश्वरका वचनहरू हृदयमा साँच्चै मनन गरेको छैनस्। तैँले परमेश्वरका वचनको केही पनि आफूभित्र लिएको छैनस् र ती तेरो जीवनको मार्गदर्शन् र तेरो अभ्यासको मापदण्ड बनेका छैनन्। जब तँ यो कुरा विचार गर्छस्, तब तँ लज्जित हुनेछस्। तेरो व्यस्तता त भ्रम मात्र हो जसले तँलाई छल गर्छ। त्यसले तँलाई यो अनुभूति गराउँछ कि परमेश्वरमाथिको तेरो विश्वासको कारण, तेरो जीवन खोक्रो नभएर भरिपूर्ण छ, तँ संसारका मानिसभन्दा फरक छस्, र तँ संसारका प्रवृतिहरूको पछि लाग्दैनस्। यसको साटो, तँ सबैभन्दा उचित मानिसहरूमध्येको एक होस्, र तँ परमेश्वरको काममा सहकार्य गर्दै छस्, उचित कार्यहरू गर्दै छस्। तँलाई आफूले पहिल्यै मुक्ति पाइसकेको, वा पहिल्यै मुक्तिको बाटोमा हिँड्न थालिसकेको अनुभूति हुन्छ। कतिपय मानिसले त आफू विजेता भइसकेको सम्म सोच्छन्। यी सबै कुरालाई विचार गर्दा, तिमीहरू त्यस्तो सरल भजन र परमेश्वरले सबैभन्दा पहिला व्यक्त गर्नुभएका केही सरल वचनहरूप्रतिसमेत यस्तो मनोवृति अपनाउँछौ। कसैले पनि यी वचनहरूबाट केही प्राप्त गरेको वा कुनै अन्तर्दृष्टि भेट्टाएको, वा ती वचनहरूलाई कुनै रूपमा अभ्यास गरेको छैन। म त्यस्तो कोही देख्दिनँ जसले आफ्ना लागि कुनै प्राप्ति वा परिणाम हासिल गरेको छ। यो राम्रो कुरा हो कि नराम्रो? (नराम्रो।) यी वर्षहरूमा, तिमीहरू व्यस्ततापूर्वक आफ्ना कर्तव्य निभाइरहेका छौ, र विशेष गरी आफूलाई सुसमाचारको काममा व्यस्त राखिरहेका छौ। तिमीहरूले केही सफलता पाएका छौ र तिमीहरूलाई हृदयमा एकदमै राम्रो अनुभूति हुन्छ। जसरी पनि, परमेश्वरको वचन र सुसमाचारको काम फैलिएका छन्। परमेश्वरको वचन प्रत्येक देश र क्षेत्रका मानिसहरूकहाँ पुऱ्याइएको छ, अनि अझ बढी मानिसहरू परमेश्वरको वचन खाइरहेका र पिइरहेका छन्। यसो हेर्दा, तिमीहरूले सफलता हासिल गरेका छौ जस्तो देखिन्छ, तर के तिमीहरूलाई जीवनको त्यो ठूलो मामिला, अर्थात् आफ्नो मुक्तिबारे कुनै ज्ञान छ? मानिसले परमेश्वरको वचनको यो खण्डप्रति राख्ने मनोवृतिलाई नियाल्दा, तिनीहरूमा कुनै ज्ञान नै छैन। चल्ती बोलीमा भन्नुपर्दा, बामे सर्ने काम पनि भएको छैन। ल भन त, तिमीहरू सबैलाई यस्तो अवस्थामा देख्दा मलाई कस्तो अनुभूति हुन्छ? ती केही सरल वचन मात्र हुन्, तर मैले अझै पनि तिनलाई विस्तृत रूपमा व्याख्या र छलफल गर्नुपरेको छ। मेरा वचनहरू एकदमै पूर्ण र अति विस्तृत छन्। के तिमीहरू सुन्न इच्छुक छौ? के तिमीहरू म धेरै कचकच गर्छु भन्नेछौ? म यसरी कचकच गर्न पनि चाहन्नँ। तिमीहरू सबै सोझा देखिन्छौ। तिमीहरू सबैमा अलि दिमाग र ज्ञान छ, र तिमीहरूमध्ये अधिकांशसँग सीप छ। तैपनि, तिमीहरू यो भजनका स-साना वचनहरूलाई कुनै चासो दिँदैनौ र तिनलाई आफ्नो हृदयमा राखेका छैनौ। अहिलेसम्म, एक जना पनि यी वचनहरूको वास्तविकतामा प्रवेश गरेको छैन। त्यो वास्तवमै टाउको दुखाइ र झर्को लाग्ने कुरा हो! त्यसोभए, तिमीहरूले मण्डलीमा गर्ने सबै कामको के अर्थ? के त्यो पावलले भनेको लक्ष्यका लागि हो जसले भनेको थियो, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ”? यदि वास्तवमै लक्ष्य यही हो भने, तिमीहरू सबै पावल हौ र यसको परिणाम राम्रो हुनै सक्दैन! के त्यही हो त? (हो।) यदि तँ परमेश्वरका वचनहरू खान र पिउन मेहनत गर्दैनस् भने, ढिलोचाँडो तँलाई हटाइनेछ, र त्यसबाट तँलाई केही प्राप्ति हुनेछैन। तँलाई हटाइने दिन, तैँले भन्नेछस्, “मैले के प्राप्त गरेको छु?” तैँले एउटा कुरा पनि प्राप्त गरेको हुँदैनस्, त्यसैले तँ पूरै लज्जित हुन्छस्, र तैँले आफू बरु मरेको भए हुन्थ्यो समेत भन्छस्। यो अति दयनीय कुरा हो। परमेश्वरका वचनहरू प्रचुर र प्रशस्त छन्, तिनले सबै मामिलाबारे बताउँछन्। तैँले ती वचनहरू पछ्याउन आफ्नो हृदय नलगाउनु, तैँले साँचो रूपमा परमेश्वरका वचनहरू कहिल्यै नपढ्नु साह्रै दुःखलाग्दो कुरा हो। परमेश्वरका थुप्रै वचनमध्ये, एउटा हरफका लागि पनि तेरो हृदयमा स्थान छैन। अनि तँलाई नहटाएर, कसलाई चाहिँ हटाइन्छ होला त? के कुरा यही होइन र? (हो।) परमेश्वरका वचनहरू खानु र पिउनु, परमेश्वरका वचनहरूलाई आफ्नो वास्तविकता बनाउनु: यो ठूलो मामिला हो। यो अरू कुनै पनि कुराभन्दा बढी महत्त्वपूर्ण छ, यो अर्को पुस्तालाई जन्माउनु, आफ्नो कर्तव्य निभाउनु, कुनै व्यावसायिक सीप सिक्नु, सुसमाचार सुनाउने काम गर्नु, र अन्य सबै कुराभन्दा बढी महत्त्वपूर्ण छ। यदि तँ परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेको छैनस् भने, तैँले जे कर्तव्य निभाए पनि, तैँले जति नै दौडधुप गरे पनि, त्यो सबै मूल्यहीन हुनेछ। अन्त्यमा, तैँले फल पाउनेछैनस् र तैँले गर्ने सबै काम व्यर्थ हुनेछन्। तँ अहिले जति पसिना बगाएर दौडधुप गरिरहेको भए पनि, तेरो वर्तमान पद, तैँले गरिरहेको जागिर, वा तैँले प्राप्त गरेका ठूला उपलब्धिहरूको बाबजुद, त्यो धुवाँको मुस्लो मात्र हो जुन अन्त्यमा हराएर जानेछ। जब व्यक्ति परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्छ, र ती वचनमा भएको सत्यता प्राप्त गर्छ, र परमेश्वरका वचनमा अभ्यासका सिद्धान्त, मार्ग, र दिशा भेट्टाउँछ, तबमात्र ऊबाट यी कुराहरू कसैले पनि लान सक्दैन। जब ऊ सत्यता वास्तविकताहरूमा प्रवेश गरेको हुन्छ, तबमात्र उसको कर्तव्य निर्वाह र उसले तिरेको सारा मूल्यको अर्थ र मूल्य हुनेछ। त्यसपछि मात्र त्यसलाई परमेश्वरले स्विकार्नुहुनेछ। तँ परमेश्वरको वचनको वास्तविकतामा प्रवेश गरिसकेपछि अनि तैँले आफूले गर्ने हरेक कुरामा परमेश्वरको वचनले माग गरेका सिद्धान्त र मानकहरू अभ्यास गरिसकेपछि, तेरो कर्तव्य व्यर्थै निर्वाह गरिएको हुँदैन र त्यसको एक भागलाई परमेश्वरले स्विकार्नुहुनेछ। बुझिस्? (बुझेँ।) यदि तँ कष्ट सहन र मूल्य चुकाउनका लगि आफ्नो आत्मसंयम, मानव दृढता, मानव दिमाग र प्रतिभा, अनि मानव तरिका र विधिहरूमा मात्र भर पर्छस् भने, तैँले गर्ने कुनै पनि कुराको परमेश्वरका वचनहरूसँग कुनै सम्बन्ध हुँदैन। अन्तिम परिणाम के हुनेछ भनेर तँलाई प्रष्ट हुनुपर्छ। आफ्नो आर्थिक खाता र लागत-लाभ खाताको हिसाबकिताब गर्न सक्ने धेरै मानिस छन्, तर यो खाताको हिसाब गर्ने कोही छैन। तिमीहरू बाह्य मामिलाहरू सम्हाल्न निकै बुद्धिमान् देखिन्छौ, तिमीहरूसँग आफ्नै स्रोतसाधन र विधिहरू छन्, अनि तिमीहरू निकै चतुर छौ, तर तिमीहरूले परमेश्वरप्रतिको आफ्नो विश्वास र मुक्तिको मामिला अनि परमेश्वरका वचनहरूलाई कसरी लिने भन्ने मामिलालाई उपेक्षा गरेका छौ, र यी कुरालाई कहिल्यै कुनै चासो दिएका छैनौ। के तैँले ध्यान नदिए पनि परमेश्वरले अनिवार्य गर्नुभएको व्यवस्थाबाट भाग्न सक्छु भन्ठानेको थिइस्? के तैँले अलिकति प्रयास गरेर परमेश्वरको धर्मी न्यायबाट भाग्यले उम्कन सक्छु भन्ने सोचेको थिइस्? आफैलाई छल नगर्! मान्छेले बनाएका सबै व्यवस्था मानव ज्ञान र अन्तर्दृष्टिका उपज हुन्। ती सबै मानव चलाखीपन हुन्। ती परमेश्वरको धर्मी स्वभावले बनाएका व्यवस्था होइनन्। आफ्नो मुक्तिको सम्बन्धमा अवसरवादी हुने मानसिकता नअपना। तैँले आफैलाई मात्र छल्न सक्छस्, परमेश्वरलाई छल्न सक्दैनस्।
तैँले मुक्ति पछ्याइमा गर्नुपर्ने पहिलो प्रमुख कुरा के हो? परमेश्वरका वचनहरू खानु र पिउनु ताकि तैँले सत्यता बुझेस् र तँ त्यसको वास्तविकतामा प्रवेश गरेस्। यो पहिलो प्रमुख कुरा हो। तँ आफ्नो कर्तव्य निभाउनमा जति नै व्यस्त भए पनि, तेरो जतिसुकै काम थुप्रिएको भए पनि, तैँले परमेश्वरका वचनहरू खान र पिउन, सबै कुरामा सत्यता अभ्यासका सिद्धान्त र मार्गहरू भेट्टाउन, अनि सत्यता वास्तविकतामा प्रवेश गर्न समय निकाल्नैपर्छ। परमेश्वरमा विश्वास गर्नुको एकमात्र उद्देश्य यही हो। तैँले सत्यता वास्तविकतामा प्रवेश गरेर अभ्यासका सिद्धान्तहरू प्राप्त गरिसकेपछि, तैँले गर्ने हरेक काम तेरो सन्तोषजनक कर्तव्य निर्वाह हुनेछ, र त्यो मूल्यवान् र अर्थपूर्ण बन्नेछ। अन्यथा, तँ मेहनत मात्र गरिरहेको हुन्छस् र आफ्नो कर्तव्य निभाइरहेको हुँदैनस्। न त यो मेहनतले तँलाई मुक्ति दिन नै सहयोग गर्नेछ। यदि तँ परमेश्वरका वचनहरू खाँदैनस् र पिउँदैनस्, परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्दैनस्, सत्यता वास्तविकतामा प्रवेश गर्नुलाई गम्भीर कुराको रूपमा लिँदैनस्, अनि सत्यता अभ्यासलाई चासो नदिई मेहनत गर्न र काम गर्नमै सन्तुष्ट हुन्छस् भने, के तँ मूर्ख हुनेछैनस् र? हरेकले आफूलाई आफ्नो काममा अक्कली र भरपर्दो रहेको ठान्छन्। “अब म आएको छु, यो काम राम्ररी गरिने निश्चित छ। म निगरानी गर्न यहाँ भइञ्जेल मण्डलीको कामलाई कुनै कुराले बाधा दिनेछैन। यदि म निष्क्रिय भइनँ भने, यदि म परमेश्वरको घरमा आफ्नो कर्तव्य निभाइरहन्छु भने, मैले मुक्ति प्राप्त गर्नेछु।” आफूलाई मूर्ख नबना। परमेश्वरले कहिल्यै पनि यदि कसैले निरन्तर आफ्नो कर्तव्य निभाउँछ भने उसले मुक्ति प्राप्त गर्नेछ भनेर भन्नुभएको छैन। यस्तो कुरा मान्छेको आफ्नै कल्पना र मनोरथबाट आउँछ। यसो भन्नेहरू आफूलाई बिलकुलै चिन्दैनन्, अनि तिनीहरू शैतानले मान्छेलाई गहन रूपमा भ्रष्ट तुल्याएको तथ्यको सार र सत्यता बुझ्दैनन्। यसकारण तिनीहरू यस्ता बेवकुफ शब्दहरू बोल्न सक्छन्। के यतिका युगभरि, परमेश्वरका अनुयायीहरू सबैले आफ्ना कर्तव्य निभाइरहेका थिएनन् र? के तिनीहरूले मुक्ति प्राप्त गरे? गरेनन्। के तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्न योग्य छन्? छैनन्। परमेश्वरका आखिरी दिनहरूको न्यायको कामले मान्छेको भ्रष्टता प्रष्ट रूपमा खुलासा गरेको छ। यसले सबैलाई बुझ्न, मार्ग परिवर्तन गर्न, अनि सत्यता प्राप्त गर्न र वास्तविक परिवर्तनहरू हासिल गर्दै वास्तविकतामा प्रवेश गर्न मद्दत गर्छ। परमेश्वरले मान्छेबाट माग गर्ने कुरा यही हो। यदि तँ आफ्नो कर्तव्य निभाउनमा मात्र ध्यान दिइरहन्छस् भने, के तैँले वास्तविक परिवर्तन हासिल गर्न सक्छस्? के तैँले सत्यता प्राप्त गर्न सक्छस्? के तँ परमेश्वरप्रति समर्पित हुन सक्छस्? सम्भव छैन। महत्त्वपूर्ण कुरा के हो भने व्यक्तिले सत्यता पछ्याउनैपर्छ, ऊ परमेश्वरको न्याय र दण्डप्रति समर्पित हुनैपर्छ, अनि उसले परमेश्वरका अभिप्रायहरूअनुरूप हुन सत्यता प्राप्त गर्नैपर्छ। परमेश्वरले यी वचनहरू, आफ्नो हृदयको रगतको मूल्य तिरेर र मान्छेका लागि आफ्नो जीवन चढाएर भन्नुभयो। यदि तँ ती वचनहरूको कदर गर्दैनस्, बरु तिनलाई हृदयमा सधैँ बेवास्ता र घृणा गर्छस्, परमेश्वरका वचनहरूलाई कहिल्यै गम्भीरतापूर्वक लिँदैनस् भने, के तैँले मुक्ति प्राप्त गर्न सक्छस्? के अन्तिम परिणाम राम्रो हुन सक्ला? तैँले त्यसबारे सोच्नु समेत पर्दैन। तैँले परमेश्वरमा विश्वास गर्दाको पहिलो प्रमुख कुरा के हो? सत्यता बुझ्नका लागि परमेश्वरका वचनहरू खानु र पिउनु, अनि यसमार्फत ढिलाइ नगरी सत्यता वास्तविकतामा प्रवेश गर्नु हो। आफू वरिपरि भइरहेका, आफूले देख्न र अनुभूति गर्न सक्ने कुराहरूबाट सुरु गर्। परमेश्वरको वचन प्रयोग गरी आत्मचिन्तन गर्, सत्यता खोज् र सबै समस्या समाधान गर्, अनि वास्तविक परिवर्तन हासिल गर्। यदि तँ परमेश्वरका वचनहरू खाँदैनस् र पिउँदैनस् अनि परमेश्वरको वचनको वास्तविकतामा प्रवेश गर्दैनस् भने, तैँले मुक्ति पाउने मौका शून्य हुन्छ। तैँले मुक्तिको अवसर पूर्ण रूपमा गुमाएको हुन्छस्। जब परमेश्वरको काम सकिएको हुन्छ, तब तैँले यसो भन्नेछस्: “पहिले, परमेश्वरको सुसमाचार सुनाउने कामको बेला, मैले आफ्नो भूमिका निभाएँ। सुसमाचार सुनाउने कामको बेला, मैले मूल्य चुकाएँ अनि आफ्नो समय र प्रयास यस्तो महत्त्वपूर्ण चरणमा समर्पित गरेँ।” तर तैँले त्यस दिनसम्म पनि, सत्यता प्राप्त गरेको हुँदैनस्, तँ परमेश्वरका वचनहरू सामान्य रूपमा खान र पिउन सक्दैनस्, अनि आफ्नो कर्तव्य सामान्य रूपमा निभाउन सक्दैनस्। मूलतः तँ परमेश्वरप्रति समर्पित हुने व्यक्ति हैनस्। तैँले त्यसपछि मात्र आफूले मुक्ति प्राप्त गर्ने आफ्नो अवसर गुमाइसकेको थाहा पाउनेछस्। के यो अति ढिलो भइसकेको हुँदैन र? तेरो कुनै मौका छैन, तँ विपद्मा फसिसकेको छस्, त्यसैले तेरो मृत्यु आउनै लागेको छ। त्यसकारण, मुक्तिको यो मौका बिरलै हुन्छ, अनि तैँले हरेक दिन र हरेक मिनेटको कदर गर्नुपर्छ। पहिला आफ्नो वरिपरिका स-साना कुराहरूबाट सुरु गर्, त्यसपछि बिस्तारै अझ बढी र ठूला कुराहरूतिर लाग्। परमेश्वरका वचनहरू र सत्यता खोज्, अनि परमेश्वरका वचन र सत्यता वास्तविकतामा प्रवेश गर्। तैँले आफ्नो हृदयमा बारम्बार परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र तँ उहाँको नजिक आउनुपर्छ। आफ्नो हृदयलाई देहका चाहना, संसारका प्रवृति, र त्यस्तै अन्य शैतानी कुराहरूको कब्जामा पर्न नदे। बरु, आफ्नो हृदयमा परमेश्वरका वचन र सत्यतालाई शक्ति चलाउन दे, अनि तेरो हृदयले परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्न थाल्नेछ। यदि परमेश्वरका वचनहरू र सत्यताले तेरो हृदयमा स्थान पाउँछन् र तेरो जीवनलाई डोऱ्याउँछन् भने, तेरो जीवनमा लक्ष्य हुनेछ र त्यसलाई मार्गदर्शन गर्ने ज्योति हुनेछ, अनि तेरो हृदयले आनन्द थाहा पाउनेछ। यदि तँ तीनवटा र त्यसपछि पाँचवटा परमेश्वरका वचनहरू, त्यसपछि दसवटा हुँदै त्यसपछि सयवटा वचन बुझ्छस् भने, यी वचनहरू एकत्र हुनेछन् र, बिस्तारै परमेश्वरका वचनहरूले झन्-झन् धेरै तेरो हृदय ओगट्ने, तेरो सोच, कार्य र जीवनलाई डोऱ्याउने गर्नेछन्। तँ झन्-झन् धेरै परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नेछस्, र तैँले सत्यता सिद्धान्तहरू झन्-झन् बढी बुझ्नेछस्। तेरा कार्यहरू त्यसउप्रान्त आफ्नो इच्छा र व्यक्तिगत चाहनाहरूमा आधारित हुनेछैनन्। तेरो कर्तव्य निर्वाहमा झन्-झन् कम अशुद्धताहरू मिसिनेछन्, र तैँले परमेश्वरसँग झन्-झन धेरै सच्चा हृदयले व्यवहार गर्नेछस्। बिस्तारै, तैँले बुझ्ने धर्मसिद्धान्तहरू सत्यता वास्तविकतामा परिणत हुनेछन्। यसरी, तेरो जीवन स्वभावमा वास्तविक परिवर्तन हुनेछ। त्यसउप्रान्त तेरो मुक्तिको आशा झिनो वा अदृश्य हुनेछैन, बरु झन्-झन् धेरै प्रस्ट र ठूलो बन्दै जानेछ। जब तँ यो ज्योति देख्न सक्छस्, तब त्यो नै तैँले परमेश्वरका वचनहरूमा रुचि राख्न थाल्ने र मुक्तिको मामिलामा ठूलो आशा राख्न थाल्ने वास्तविक समय हो। यस्तो समयमा, परमेश्वरले तँलाई झन्-झन् बढी उहाँका वचनहरू बुझ्न, उहाँका वचनहरूमा प्रवेश गर्न दिनुहुनेछ, तँलाई प्रलोभनमा फस्नबाट, शैतानका जाल र दुष्ट प्रभावमा पर्नबाट, अनि उल्झन्, द्वन्द्व, ईर्ष्या, र विवाद र अन्य कुराहरूबाट जोगाउनुहुनेछ। यसरी, परमेश्वरले तँलाई ज्योतिमा र उहाँका वचनहरूको मार्गदर्शनमा जिउन लगाउनुहुनेछ। यो खुसी, आनन्द, र शान्ति हो। यी सबै कुरा परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्न अनि सत्यता बुझ्न परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्न थालेपछि हासिल हुन्छ। खासमा, यसो गर्नु गाह्रो छैन। यदि तँ बारम्बार प्रवचन सुन्छस् अनि परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्न सक्छस् भने, तैँले बिस्तारै सत्यता बुझ्दै जानेछस्। यसरी, तँलाई बिस्तारै अलिअलि गर्दै परिवर्तन भएर अनि थोरैथोरै अगाडि बढ्दा, यो कठिन लाग्नेछैन। मुख्य कुरा भनेको व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्ने हो। यदि तँ सत्यतालाई प्रेम गर्छस् भने, तैँले परमेश्वरमा विश्वास गरेर उचित मामिलाहरूमा सहभागी हुन, सत्यताका लागि कोसिस गर्न, अनि परमेश्वरका वचनहरू पढ्न र मनन गर्न सक्नेछस्। परमेश्वरका वचनहरू मनन गर्न सिक् अनि परमेश्वरका वचनहरू प्रार्थना गर्दै पढ्न सिक्। त्यसपछि तैँले परमेश्वरका वचनहरूको अर्थ बुझ्न सक्नेछस्, परमेश्वरका वचनहरूमा अभ्यासका मार्गहरू भेट्टाउन सक्नेछस्, परमेश्वरका अभिप्रायहरू बुझ्न सक्नेछस्, र सत्यता बुझ्न थाल्नेछस्। त्यसपछि, सत्यताबारे आफ्नो बुझाइको आधारमा आफ्नो भ्रष्ट स्वभावबारे चिन्तन गर् र त्यसलाई चिन्, आफ्नो भ्रष्ट स्वभावको सारलाई चिरफार गर्, अनि त्यसपछि सत्यता प्रयोग गरी त्यसलाई समाधान गर्। यदि तैँले यस तरिकाले अभ्यास र प्रवेश गरिस् भने, आफूलाई साँच्चै चिन्न सक्नेछस्, र आफ्नो भ्रष्ट स्वभाव हटाउन सजिलो हुनेछ। मानिसहरू अलिअलि गर्दै ज्ञान प्राप्त गरेर, अलिअलि गर्दै अनुभव प्राप्त गरेर, अलिअलि गर्दै परमेश्वरका अभिप्रायहरू बुझेर, र अलिअलि गर्दै आफ्नो भ्रष्ट स्वभाव हटाएर, थाहै नपाई नै परिवर्तन हुन थाल्नेछन्। यो जीवन अनुभवको प्रक्रिया हो। सत्यता बुझ्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। व्यक्तिले सत्यता बुझेपछि, मान्छेले पालना गरोस् भनी परमेश्वरले तोक्नुभएका मापदण्डहरू थाहा पाउनेछ। उसले परमेश्वरले यसो भन्नुको कारण र उहाँले हासिल गर्न खोज्नुभएको परिणाम पनि थाहा पाउनेछ। उसले परमेश्वरले मान्छेलाई दिनुभएका सबै मापदण्डहरू वास्तवमा मानवजातिले प्राप्त गर्न सक्ने हुन्छन् भन्ने कुरा पनि थाहा पाउनेछ। ती सबै मानव विवेक र समझले हासिल गर्न सक्ने कुरा हुन्। यी सबै प्रक्रिया जीवन प्रवेशका मामिला हुन्। जीवन प्रवेश गर्न, तैँले आफ्नो कर्तव्य लगनशील भई निभाउने, लगनशील भई सत्यता खोज्ने र अभ्यास गर्ने गर्नुपर्छ, अनि परमेश्वरलाई प्रार्थना गर्ने र आफ्नो कर्तव्य राम्ररी निभाउन परमेश्वरमा भर पर्ने गर्नुपर्छ। तैँले यस्तो अनुभव र अभ्यासमार्फत, झन्-झन् राम्रो नतिजा प्राप्त गर्नेछस्। सत्यतालाई प्रेम नगर्ने मानिसहरूले त्यस्ता कुराहरूमा रुचि देखाउनेछैनन्। तिनीहरू जीवन प्रवेशबारे जिम्मेवारी महसुस गर्दैनन् र त्यसो गर्न रुचि राख्दैनन्। त्यसकारण, तिनीहरूले परमेश्वरमा धेरै वर्षदेखि विश्वास गर्दै आएका भए पनि, तिनीहरू आफ्नो अनुभवात्मक गवाहीबारे कुरा गर्न सक्दैनन्। सत्यतालाई प्रेम गर्ने मानिसहरू यस्ता हुँदैनन्। तिनीहरू आफूले अनुभव गरेका सबथोक र आफ्नो अनुभवको हरेक अवधिको गवाही लेख्न सक्छन्। तिनीहरूले आफ्ना अनुभवहरूबाट साँच्चै लाभ प्राप्त गर्छन्, र समय बित्दै जाँदा यी लाभहरू सङ्कलित हुँदै जान्छन्। दस-बीस वर्षपछि, तिनीहरूमा ठूला परिवर्तनहरू आएका हुनेछन्। त्यसबेला, तिनीहरूले आफ्ना अनुभवात्मक गवाही सजिलै लेख्न सक्छन्, र तिनीहरूलाई सत्यता सङ्गति गर्नु गाह्रो हुन छोड्छ। तिनीहरूले आफ्नो कर्तव्य निभाउँदा सबथोक उचित ढङ्गले गर्छन्।
के तिमीहरू सत्यतालाई प्रेम गर्ने मानिस हौ? के तिमीहरूमा परमेश्वरका निम्ति ठूलो चाहना राख्ने हृदय छ? के तिमीहरूसँग सच्चा हृदय छ? यसको जवाफ दिन गाह्रो छ, हैन र? खासमा, तिमीहरू आफ्नो हृदयमा, यसबारे प्रष्ट छौ। जब तँ झारा टार्ने तरिकाले आफ्नो कर्तव्य निभाउन चाहन्छस्, जब तँ धूर्त वा सुस्त चाहन्छस्, जब तँ हठी र लापर्बाह हुन चाहन्छस्, तब के तँ यो चिन्न सक्छस्? के तँ देहविरुद्ध विद्रोह गर्न सक्छस्? तँ के रोज्छस्? तँ सत्यता अभ्यास रोज्छस् कि देहका चाहनाहरू? तँ सकारात्मक कुरा रोज्छस् कि नकारात्मक? तँ सत्यता प्राप्त गर्नका निम्ति कष्ट भोग्न र मूल्य चुकाउन रोज्छस् कि देहगत ऐसआराम पछ्याउन रोज्छस्? यिनै प्रश्नहरू प्रयोग गरेर तँमा परमेश्वरलाई साँच्चै प्रेम गर्ने र उहाँप्रति समर्पित हुने हृदय छ कि छैन, र तँ सच्चा रूपमा परमेश्वरप्रति समर्पित हुन्छस् कि हुँदैनस् भनी मापन गरिन्छ। यदि तँमा परमेश्वरका लागि सच्चा हृदय छैन, तँ हठी हुँदै र लापर्बाही तरिकाले कामकुरा गर्न रुचाउँछस्, आफू सन्तुष्ट भइञ्जेल खुसी हुन्छस् तर सन्तुष्ट नहुँदा रिसाउँछस् र झनक्क झोँकिन्छस्, अनि आफूले चाहेजस्तो नभएमा आफ्नो कर्तव्य त्याग्न चाहन्छस् भने, के यो उचित मनस्थिति हो? के परमेश्वरप्रति समर्पित हृदय हुनु भनेको यही हो? के यो बफादीरपूर्वक आफ्नो कर्तव्य निभाउनु हो? किन तँ सत्यता अभ्यास गर्दैनस्? के तँ परमेश्वरका वचनहरू बुझ्दैनस्? कि तँ सत्यतालाई प्रेम गर्दैनस्? कतिपय मानिस सोच्छन्, “परमेश्वरका वचनहरू सरल छन्, तर ती अभ्यास गर्नु गाह्रो छ। परमेश्वरको घर मानिसहरूलाई सधैँ सत्यता अभ्यास गर्न लगाउँछ, तर तिनीहरूलाई यसो गर्नु गाह्रो छ र यसले गर्दा तिनीहरूलाई धेरै समस्या आइपर्छ। यदि मलाई हृदयमा असहज लाग्छ भने, म सत्यता अभ्यास गर्दिनँ। मण्डलीले मलाई ननिकालेसम्म वा नहटाएसम्मम, म स्वतन्त्र र ढुक्क हुन अनि आफूलाई जे मन लाग्छ त्यही गर्न रोज्नेछु।” के यो परमेश्वरमा साँच्चै विश्वास गर्ने व्यक्ति हो? के यो अविश्वासी होइन र? यो त अविश्वासीहरूले आफ्नो कर्तव्य निभाउँदा अपनाउने मनोवृति हो। तिनीहरूले सत्यता स्वीकार नगर्ने हुनाले, तिनीहरू स्वतन्त्रता मन पराउँछन् र दुराचारी हुन्छन्, अनि लापर्बाह हुन रुचाउँछन्। तिनीहरूलाई जसरी काटछाँट गरिए पनि, त्यसको कामै छैन। तिनीहरूका कानले सत्यताको सङ्गतिबाट केही सुन्नेछैन। तिनीहरूलाई गर्ने नै निकाल्ने र हटाउने मात्र हो। तिनीहरू सत्यता नस्विकार्ने बरु सत्यताप्रति अरुचि हुने मानिस भएकाले, तिनीहरू गैरअविश्वासी हुन्, र परमेश्वरले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन। सत्यतालाई प्रेम गर्ने मानिसहरू, आफ्ना भ्रष्ट स्वभाव प्रकट हुँदासमेत, काटछाँट स्विकार्न सक्छन्, सत्यता खोज्न, आत्मचिन्तन गर्न, र आफूलाई चिन्न सक्छन्, अनि तिनीहरू पश्चाताप गर्न जान्दछन्। परमेश्वर यिनै मानिसहरूलाई मुक्ति दिन चाहनुहुन्छ। जब व्यक्तिले सत्यतालाई प्रेम गर्दैन, तब उसलाई सत्यता स्विकार्न गाह्रो हुन्छ। सत्यता स्विकार्न नसक्नुको सबैभन्दा ठूलो खतरा के हो? त्यो परमेश्वरलाई विश्वासघात गर्नु हो। सत्यता स्वीकार नगर्नेहरूले परमेश्वरलाई विश्वासघात गर्ने सबैभन्दा बढी सम्भावना हुन्छ, र तिनीहरूले परमेश्वरलाई जुनसुकै बेला वा जुनसुकै ठाउँमा विश्वासघात गर्न सक्छन्। तिनीहरू कुनै सानो कुरा आफूले भनेअनुसार नहुँदा परमेश्वरलाई विश्वासघात गर्न सक्छन्। तिनीहरूले समयमै काटछाँट स्विकार्न नसक्ने हुनाले परमेश्वरलाई विश्वासघात गर्न सक्छन्। कुनै विपत्ति आइपर्दा, तिनीहरूले परमेश्वरलाई गुनासो र विश्वासघात गर्ने झनै बढी सम्भावना हुन्छ। जे भए पनि, सत्यतालाई प्रेम वा स्वीकार नगर्नेहरू सबैभन्दा बढी खतरामा हुन्छन्। व्यक्तिले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा उसले कुन हदसम्म सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छ साथै उसले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ कि सक्दैन त्यसमा भर पर्छ। आफ्नो साँचो कद मापन गर्न, आफूलाई चिन्न, र आफ्नो भ्रष्टताको सत्यता जान्न र आफ्नो खास प्रकृति चिन्न सत्यताका मापदण्डहरू प्रयोग गर्। एकातिर, त्यस्तो समझले तँलाई आफूलाई चिन्न र साँचो पश्चाताप प्राप्त गर्न सक्न मदत गर्छ। अर्कोतिर, त्यसले तँलाई परमेश्वरलाई चिन्न र उहाँका अभिप्रायहरू बुझ्न मदत गर्छ। सत्यता स्विकार्न नसक्नु भनेको परमेश्वरको विरोध र प्रतिरोध गर्नुको प्रकटीकरण हो। यो समस्याको प्रष्ट बुझाइले तँलाई मुक्तिको मार्गमा हिँड्न मदत गर्नेछ। जब व्यक्तिले सत्यतालाई साँचो रूपमा प्रेम गर्छ, तब ऊसँग परमेश्वरका निम्ति ठूलो चाहना, सच्चा हृदय, अनि सत्यता अभ्यास गर्ने र परमेश्वरमा समर्पित हुने प्रेरणा हुन सक्छ। तिनीहरू वास्तविक शक्ति पाएर मूल्य चुकाउन, आफ्नो शक्ति र समय समर्पित गर्न, आफ्ना व्यक्तिगत लाभहरू त्याग्न, र देहका सारा उल्झनहरू त्याग्न सक्षम हुन्छन्, यसले गर्दा परमेश्वरका वचनहरूको अभ्यास, सत्यता अभ्यास, र परमेश्वरको वचनको वास्तविकतामा गर्ने प्रवेशका लागि मार्ग खोलिन्छ। यदि तँ परमेश्वरको वचनको वास्तविकतामा प्रवेश गर्नका लागि आफ्ना धारणा, आफ्नो देहका स्वार्थहरू, यश, हैसियत, ख्याति, र दैहिक आनन्दहरू त्याग्न सक्छस् भने—यदि तँ यस्ता सबै कुरा त्याग्न सक्छस् भने, तँ सत्यता वास्तविकतामा झन्-झन् बढी प्रवेश गर्नेछस्। तँसित जेजस्तो कठिनाइ र समस्या भए पनि त्यसउप्रान्त ती समस्या रहनेछैनन्—ती सजिलै समाधान हुनेछन्—अनि तँ परमेश्वरका वचनहरूको वास्तविकतामा सजिलै प्रवेश गर्नेछस्। सत्यता वास्तविकतामा प्रवेश गर्नका लागि, सच्चा हृदय र परमेश्वरप्रति ठूलो चाहना भएको हृदय हुनु दुई अति आवश्यक शर्त हुन्। यदि तँमा सच्चा हृदय मात्र छ, तर सधैँ काँतर हुन्छस्, तँमा परमेश्वरका निम्ति ठूलो चाहना छैन, र कठिनाइहरू आइपर्दा पछि हट्छस् भने, त्यसले पुग्दैन। यदि तेरो हृदयमा परमेश्वरका निम्ति ठूलो चाहना मात्र छ, तर तँ अलि आवेगी छस्, र तँमा यो आकाङ्क्षा मात्र छ, तर आफूलाई परिस्थितिहरू आइपर्दा तँमा सच्चा हृदय हुँदैन, र तँ पछि हट्छस्, अनि आफ्नै स्वार्थहरू रोज्छस् भने, त्यसले पनि पुग्दैन। तँलाई सच्चा हृदय र परमेश्वरका निम्ति ठूलो चाहना भएको हृदय दुवै चाहिन्छ। तेरो हृदयको सच्चापनको स्तर र परमेश्वरका निम्ति तेरो ठूलो चाहनाको ताकतले सत्यता अभ्यास गर्ने तेरो प्रेरणाको शक्ति निर्धारण गर्छन्। यदि तँमा सच्चा हृदय छैन र तेरो हृदयमा परमेश्वरका निम्ति ठूलो चाहना छैन भने, तैँले परमेश्वरका वचनहरू बुझ्न सक्नेछैनस् र तँमा सत्यता अभ्यास गर्ने प्रेरणा हुनेछैन। यसरी तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनस् र तँलाई मुक्ति प्राप्त गर्न कठिन हुनेछ।
धेरै मानिसहरूलाई मुक्ति पाउनु भनेको के हो भन्नेबारे स्पष्ट रूपमा थाहा हुँदैन। कतिपय मानिसहरू यदि तिनीहरूले परमेश्वरमा लामो समयसम्म विश्वास गरेका छन् भने, तिनीहरूले मुक्ति पाउने सम्भावना हुन्छ भन्ने विश्वास गर्छन्। कतिपयचाहिँ यदि तिनीहरूले धेरै आत्मिक सिद्धान्त बुझ्छन् भने, तिनीहरूले मुक्ति पाउने सम्भावना हुन्छ भन्ने सोच्छन्, वा कतिले चाहिँ अगुवा र सेवकहरूले अवश्यै मुक्ति पाउनेछन् भन्ने ठान्छन्। यी सबै मानव धारणा र कल्पनाहरू हुन्। मुख्य कुरा त मानिसहरूले मुक्तिको अर्थ बुझ्नुपर्छ। मुक्ति पाउनु भनेको मुख्य रूपमा पापबाट मुक्त हुनु, शैतानको प्रभावबाट मुक्त हुनु, र साँचो रूपमा परमेश्वरतर्फ फर्कनु र उहाँमा समर्पित हुनु हो। पाप र शैतानको प्रभावबाट मुक्त हुन तिमीहरूमा के हुनुपर्छ? सत्यता। यदि मानिसहरूले सत्यता प्राप्त गर्ने आशा गर्छन् भने, तिनीहरू परमेश्वरका धेरै वचनहरूले सुसज्जित हुनैपर्छ, तिनीहरूले ती वचन अनुभव र अभ्यास गर्न सक्नैपर्छ, ताकि तिनीहरूले सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न सकून्। त्यसपछि मात्रै तिनीहरूले मुक्ति पाउन सक्छन्। कुनै व्यक्तिले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा उसले परमेश्वरमा कहिलेदेखि विश्वास गरेको छ, ऊसँग कति ज्ञान छ, ऊसँग वरदान वा सबल पक्षहरू छन् कि छैनन्, वा उसले कति कष्ट भोग्छ भन्ने कुरासँग सम्बन्धित हुँदैन। मुक्तिसँग प्रत्यक्ष सम्बन्ध भएको एकमात्र कुरा भनेको व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने हो। त्यसो भए, आज तैँले कति वटा सत्यता साँचो रूपमा बुझेको छस्? अनि परमेश्वरका कति वटा वचनहरू तेरो जीवन बनेका छन्? परमेश्वरका सबै मापदण्डहरूमध्ये, तैँले कुन-कुनमा प्रवेश हासिल गरेको छस्? परमेश्वरमाथि विश्वास गरेका वर्षहरूमा, तैँले परमेश्वरको वचनको सत्यतामा कति प्रवेश गरेको छस्? यदि तँलाई थाहा छैन भने, वा तैँले परमेश्वरको कुनै पनि वचनको वास्तविकतामा प्रवेश हासिल गरेको छैनस् भने, खुलस्त रूपमा भन्दा, तँसँग मुक्ति पाउने कुनै आशा छैन। तैँले सम्भवतः मुक्ति पाउनेछैनस्। तँसँग उच्चस्तरीय ज्ञान भए पनि, वा तैँले परमेश्वरमा लामो समय विश्वास गरेको भए पनि, तेरो स्वरूप राम्रो भए पनि, तैँले राम्रो बोल्न सके पनि, र तैँले धेरै वर्षदेखि अगुवा वा सेवकको काम गरेको भए पनि, त्यसले केही फरक पार्दैन। यदि तैँले सत्यता पछ्याउँदैनस् भने, र परमेश्वरका वचनहरू राम्रोसँग अभ्यास र अनुभव गर्ने गर्दैनस् भने, र तँमा वास्तविक अनुभवात्मक गवाहीको कमी छ भने, तैँले मुक्ति पाउने कुनै आशा हुँदैन। तँ कस्तो देखिन्छस्, तँसित कति वैज्ञानिक ज्ञान छ, तैँले कति कष्ट भोगेको छस्, वा तैँले कति ठूलो मूल्य चुकाएको छस् भन्ने कुरासँग मलाई मतलब छैन। म तँलाई भन्छु: यदि तँ सत्यता स्विकार्दैनस् र परमेश्वरका वचनहरूको वास्तविकतामा कहिल्यै प्रवेश गर्दैनस् भने, तैँले मुक्ति प्राप्त गर्न सक्दैनस्। यो निश्चित छ। यदि तैँले परमेश्वरका वचनहरूको वास्तविकतामा कति प्रवेश गरेको छस् भनी बताउँछस् भने, म तँलाई तँसित मुक्तिको आशा कति छ भनी बताउनेछु। मैले यसलाई मापन गर्ने मापदण्डबारे तिमीहरूलाई बताइसकेकोले, तिमीहरू आफै यो मापन गर्न सक्षम हुनुपर्छ। यी वचनहरूले तिमीहरूलाई के तथ्य बताउँछन्? परमेश्वरले वचनहरू प्रयोग गरेर संसारको सृष्टि गर्नुभयो, परमेश्वरले हरेक प्रकारको तथ्य हासिल गर्न, उहाँले चाहनुभएका सबै तथ्यहरू हासिल गर्न वचनहरू प्रयोग गर्नुभयो, र परमेश्वरले उहाँका कामका दुई चरणहरू पूरा गर्न वचनहरू प्रयोग गर्नुभयो। आज, परेमश्वर आफ्नो तेस्रो चरणको काम गर्दै हुनुहुन्छ, र कामको यस चरणमा, परमेश्वरले अन्य कुनै पनि चरणमा भन्दा बढी वचनहरू बोल्नुभएको छ। मानवजातिको सम्पूर्ण इतिहासभरिमै उहाँले आफ्नो काममा सबैभन्दा बढी बोल्नुभएको यसै समयमा हो। परमेश्वरले वचनहरू प्रयोग गरेर संसारको सृष्टि गर्न, सम्पूर्ण तथ्यहरू हासिल गर्न, सम्पूर्ण तथ्यहरूलाई शून्यताबाट अस्तित्वमा ल्याउन र अस्तित्वलाई शून्यतामा ल्याउन सक्नुभयो—परमेश्वरका वचनहरूको अख्तियार यही हो, र अन्त्यमा, परमेश्वरले मानवजातिको मुक्तिको तथ्यलाई हासिल गर्न पनि वचनहरू नै प्रयोग गर्नुहुनेछ। आज, तिमीहरू सबैले यो तथ्य देख्न सक्छौ, आखिरी दिनहरूको दौरान परमेश्वरले उहाँका वचनहरूसँग सम्बन्धित नभएको कुनै काम गर्नुभएको छैन, उहाँले लगातार बोल्नुभएको छ, आजसम्म मान्छेलाई मार्गदर्शन गर्न लगातार वचनहरू प्रयोग गर्नुभएको छ। अवश्य पनि, बोल्दाखेरि, परमेश्वरले उहाँलाई पछ्याउनेहरूसँगको आफ्नो सम्बन्ध जोगाउन पनि वचनहरू प्रयोग गर्नुभएको छ, उहाँले तिनीहरूलाई मार्गदर्शन गर्न वचनहरू प्रयोग गर्नुभएको छ, र मुक्ति प्राप्त गर्न चाहनेहरू वा परमेश्वरले मुक्ति दिन चाहनुभएकाहरूको निम्ति यी वचनहरू अत्यन्तै महत्वपूर्ण छन्, परमेश्वरले मानवजातिको मुक्तिको तथ्यलाई हासिल गर्न यी वचनहरू प्रयोग गर्नुहुनेछ। स्पष्टतः, चाहे तिनको विषयवस्तुको सन्दर्भमा हेर्दा होस् वा सङ्ख्याको सन्दर्भमा, ती जेजस्तो प्रकारका वचनहरू भए पनि, र ती परमेश्वरका वचनहरूका जुन भाग भए पनि, मुक्ति चाहने हरेकको निम्ति ती अत्यन्तै महत्वपूर्ण छन्। परमेश्वर आफ्नो छ हजार वर्षे व्यवस्थापनको योजनाको अन्तिम परिणाम प्राप्त गर्न यी वचनहरू प्रयोग गर्दै हुनुहुन्छ। मानवजातिको लागि—आजको मानवजातिको लागि होस् या भविष्यको—ती सबैभन्दा महत्त्वपूर्ण छन्। परमेश्वरको मनोवृत्ति त्यस्तो छ, उहाँका वचनहरूको उद्देश्य र महत्त्व त्यस्तो छ। त्यसोभए मानवजातिले के गर्नुपर्छ? मानवजातिले परमेश्वरका वचन र काममा सहकार्य गर्नुपर्छ, तिनलाई बेवास्ता गर्नु हुँदैन। तर परमेश्वरप्रति केही मानिसहरूको विश्वास त्यस्तो हुँदैन: तिनीहरू परमेश्वरले जे भन्नुभए पनि, उहाँका वचनहरूले तिनीहरूसँग केही सरोकार राख्दैनन् जस्तो गर्छन्। तिनीहरू अझै पनि आफूले चाहेकै कुरा पछ्याउँन्, आफूले चाहेकै काम गर्छन्, र परमेश्वरका वचनहरूको आधारमा सत्यता खोज्दैनन्। यो परमेश्वरको काम अनुभव गर्नु होइन। परमेश्वरले जे भन्नुभए पनि ध्यानै नदिनेहरू पनि छन्, जसको हृदयमा एउटा मात्र दृढ विश्वास हुन्छ: “परमेश्वरले जे गर्नू भन्नुहुन्छ, म त्यही गर्नेछु, यदि परमेश्वरले मलाई पश्चिमतिर जा भन्नुहुन्छ भने, म पश्चिमतिरै जानेछु, यदि उहाँले मलाई पूर्वतिर जा भन्नुहुन्छ भने, म पूर्वतिरै जानेछु, यदि उहाँले मलाई मर् भन्नुहुन्छ भने, म उहाँलाई मरेरै देखाउनेछु।” तर त्यसमा बस एउटा कुरा मात्र छ: तिनीहरू परमेश्वरका वचन ग्रहण गर्दैनन्। तिनीहरू मनमनै सोच्छन्, “परमेश्वरका अत्यन्तै धेरै वचनहरू छन्, ती अलि बढी स्पष्ट हुनुपर्छ, र मैले ठ्याक्कै के गर्नुपर्छ भनी तिनले भन्नुपर्छ। म हृदयमा परमेश्वरप्रति समर्पित हुन सक्षम छु।” परमेश्वरले जति धेरै वचनहरू बोल्नुभए पनि, त्यस्ता मानिसहरू अन्त्यमा सत्यता बुझ्न असक्षम रहन्छन्, न त तिनीहरू आफ्ना अनुभव र ज्ञानबारे बोल्न नै सक्छन्। तिनीहरू आत्मिक बुझाइ नभएका मानिसहरूजस्तै हुन्। के तिमीहरूलाई त्यस्ता मानिसहरू परमेश्वरका प्रिय हुन् जस्तो लाग्छ? के परमेश्वर त्यस्ता मानिसहरूप्रति कृपालु हुने इच्छा गर्नुहुन्छ? (गर्नुहुन्न।) उहाँ कदापि त्यसो गर्नुहुन्न। परमेश्वरले त्यस्ता मानिसहरू रुचाउनुहुन्न। परमेश्वर यसो भन्नुहुन्छ, “मैले कति हो कति हजार वचनहरू बोलेको छु। तैँले कसरी अन्धो वा बहिरो व्यक्तिले जस्तो ती देखेको र सुनेको छैनस्? तँ तेरो हृदयमा ठ्याक्कै के सोच्दैछस्? म तँलाई आशिष्हरू र सुन्दर गन्तव्यप्रति आसक्त व्यक्तिको रूपमा मात्र हेर्छु—तँ पावल पछि लागेकै लक्ष्यहरूको पछि लाग्दैछस्। यदि तँ मेरा वचनहरू सुन्न चाहन्नस् भने, यदि तँ मेरो मार्ग पछ्याउने इच्छा गर्दैनस् भने, तँ किन परमेश्वरमा विश्वास गर्छस्? तँ मुक्तिको पछि लागिरहेको छैनस्, तँ सुन्दर गन्तव्य र आशिष्हरूको चाहनाको पछि लाग्दै छस्। अनि तैँले रचिरहेको षड्यन्त्र यही भएकोले, तेरो लागि सबैभन्दा सुहाउँदो कुरा श्रमिक हुनु हो।” खासमा, इमानदार श्रमिक हुनु पनि परमेश्वरप्रति समर्पणको एउटा प्रकटीकरण हो, तर यो न्यूनतम मानक हो। इमानदार श्रमिकको रूपमा रहनु भनेको गैरविश्वासी अनन्त विनाश र विध्वंसमा डुबेजस्तो भन्दा धेरै राम्रो हो। विशेषगरी, परमेश्वरको घरलाई श्रमिकहरूको आवश्यकता छ, र परमेश्वरको लागि श्रम गर्न सक्षम हुनुलाई पनि आशिष् नै मानिन्छ। यो दियाबलस राजाको नोकर हुनुभन्दा धेरै राम्रो—अतुलनीय रूपमा राम्रो—हो। तर परमेश्वरको लागि श्रम मात्र गर्नु परमेश्वरको निम्ति पूर्ण सन्तोषजनक हुँदैन, किनकि परमेश्वरको न्यायको कामको उद्देश्य मानिसलाई मुक्ति दिनु, धुनु, र सिद्ध पार्नु हो। यदि मानिसहरू परमेश्वरको निम्ति श्रम गर्नमै सन्तुष्ट हुन्छन् भने, यो परमेश्वरले मानिसहरूमा काम गरेर प्राप्त गर्न चाहनुहुने उद्देश्य होइन, न त यो परमेश्वरले देख्न चाहनुहुने परिणाम नै हो। तर मानिसहरूमा अति धेरै चाहना छ, तिनीहरू मूर्ख र अन्धा छन्: तिनीहरूलाई सानोतिनो लाभले मोहित र आसक्त बनाउँछ, र तिनीहरू परमेश्वरले बोल्नुभएका जीवनका अमूल्य वचनहरूलाई बेवास्ता गर्छन्। तिनीहरू ती वचनहरूलाई गम्भीरतापूर्वक लिनसमेत सक्दैनन्, तिनलाई प्रिय ठान्ने त कुरै नगरौँ। परमेश्वरका वचनहरू नपढ्नु वा सत्यतालाई कदर नगर्नु: के यो अक्कलपूर्ण कुरा हो कि मूर्खतापूर्ण? के मानिसहरूले यसरी मुक्ति प्राप्त गर्न सक्छन्? मानिसहरूले यी सबै कुरा बुझ्नुपर्छ। तिनीहरूले आफ्ना धारणा र कल्पनाहरू पन्छाएर सत्यता पछ्याउनमा ध्यान केन्द्रित गरेमा मात्र तिनीहरूमा मुक्तिको आशा हुन्छ।
कतिपय मानिसहरू सोध्छन्: “परमेश्वरका वचनहरूले मान्छेलाई सृष्टि गरिएको प्राणीको भूमिका सम्हाल्ने र सोहीअनुसार कर्तव्य पूरा गर्ने मापदण्ड दिन्छन्। हामीलाई महामानव वा महापुरुष हुन लगाइन्न, तर मलाई भने सधैँ त्यस्तै महत्त्वाकाङ्क्षा र चाहनाहरूको अनुभूति हुन्छ। मलाई सामान्य व्यक्ति हुनुमा सन्तुष्टि मिल्दैन। त्यसैले मैले के गर्नुपर्छ?” यो समस्या अत्यन्तै सरल छ। तँ सामान्य व्यक्ति हुन किन अनिच्छुक छस्? यदि तैँले पहिला यस प्रश्नको जड खोतलिस् भने, तेरो समस्या सजिलै समाधान हुनेछ। परमेश्वरले मान्छे इमानदार व्यक्ति होओस् भन्ने मापदण्ड दिनुहुन्छ। यो सबैभन्दा बढी अर्थपूर्ण कुरा हो। यदि तैँले इमानदार व्यक्ति हुनुको सत्यता बुझ्छस् भने, तैँले थाहा पाउनेछस् कि इमानदार व्यक्ति हुनु भनेको सामान्य मानवता भएको व्यक्ति, अर्थात् साँचो व्यक्ति हुनु हो। अनि, इमानदार व्यक्तिका बाह्य सङ्केतहरू के-के हुन्? इमानदार व्यक्ति हुनु भनेको सामान्य व्यक्ति हुनु हो। सामान्य मानिसहरूका स्वाभाविक प्रवृत्ति, सोच, र समझ के-के हुन्? सामान्य मानिसहरूका वचन र कर्महरू कसरी देखा पर्छन्? सामान्य व्यक्तिले आफ्नो हृदयबाट बोल्न सक्छ। उसले कुनै झूठ वा छलबिना आफ्नो मनमा जे छ त्यही भन्छ। यदि उसले आफूले सामना गर्ने कुनै मामिला बुझ्न सक्छ भने, उसले आफ्नो विवेक र समझअनुसार कार्य गर्छ। यदि ऊ त्यसलाई प्रष्ट रूपमा बुझ्न सक्दैन भने, उसले गल्ती गर्छ र ऊ असफल हुन्छ, उसले गलत विचार, धारणा, र व्यक्तिगत कल्पनाहरू पाल्छ, अनि ऊ आफ्नै आँखाअगाडिका भ्रमहरूद्वारा अन्धो बन्छ। सामान्य मानवताका बाह्य सङ्केतहरू यिनै हुन्। के सामान्य मानवताका यी बाह्य सङ्केतहरूले परमेश्वरका मापदण्डहरू पूरा गर्छन् त? गर्दैनन्। यदि मानिसहरूमा सत्यता छैन भने, तिनीहरूले परमेश्वरका मापदण्डहरू पूरा गर्न सक्दैनन्। सामान्य मानवताका यी बाह्य सङ्केतहरू साधारण, भ्रष्ट मान्छेमा हुने कुराहरू हुन्। मान्छे यी कुराहरू लिएरै जन्मिन्छ, यी उसका मौलिक कुराहरू हुन्। तैँले आफूलाई यी बाह्य सङ्केत र प्रकटीकरणहरू देखाउन दिनुपर्छ। आफूलाई यी बाह्य सङ्केत र प्रकटीकरणहरू देखाउन दिँदा, तैँले मान्छेका स्वाभाविक प्रवृत्ति, क्षमता, र जन्मसिद्ध प्रकृति त्यस्तै हुन्छन् भनी बुझ्नैपर्छ। अनि यो बुझेपछि तैँले के गर्नुपर्छ? तैँले त्यसलाई सही रूपमा लिनुपर्छ। तर तैँले यो सही रूपमा लिने कार्यलाई कसरी व्यवहारमा लागु गर्छस्? त्यो काम आफ्ना सबै समस्याहरू समाधान गर्नको निम्ति परमेश्वरका अझ बढी वचनहरू पढेर, आफूलाई सत्यताले थप सुसज्जित पारेर, अनि आफूले नबुझ्ने कुराहरूलाई, आफूले जुन कुराहरूबारे धारणा बनाइन्छ ती कुराहरूलाई, र आफूले गलत मूल्याङ्कन गर्न सक्ने कुराहरूलाई मनन गर्न र सत्यता खोज्न बारम्बार परमेश्वरसामु राखेर गरिन्छ। यदि तैँले केही समय यसरी नै अनुभव गरिस् भने, तँ असफल हुँदा र दुई-चारपटक ठेस खाँदा पनि फरक पर्दैन। सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, तैँले यी मामिलाहरूलाई परमेश्वरका वचनहरूमा प्रष्ट देख्न अनि सिद्धान्त र परमेश्वरका अभिप्रायहरूबमोजिम कसरी अभ्यास गर्ने भनी थाहा पाउन सक्छस्। यसले देखाउँछ कि तैँले एउटा पाठ सिकेको छस्। कैयौँ वर्षसम्म असफलता र ठक्करहरू भोगेपछि, यदि तैँले भ्रष्ट मान्छेको सार प्रष्ट रूपमा बुझ्छस्, संसारको अन्धकार र दुष्टताको जड देख्छस्, र विविध प्रकारका मानिस, घटना र वस्तुहरू खुट्ट्याउँछस् भने, तँ सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्षम हुन्छस्। तँ कुनै महामानव वा महापुरुष होइनस्, त्यसैले तँ सबै कुराहरूमा घुस्न र सबै कुरा बुझ्न सक्दैनस्। तैँले संसारलाई, मानवजातिलाई, र आफ्ना आसपास भइरहेका कुराहरूलाई एकै झलकमा बुझ्न असम्भव छ। तँ साधारण व्यक्ति होस्। तैँले कैयौँ असफलता, कैयौँ अन्योलपूर्ण अवधि, कैयौँ निर्णय त्रुटि, र कैयौँ विचलनहरूबाट गुज्रनुपर्छ। यसले तेरो भ्रष्ट स्वभाव, तेरो कमीकमजोरी र दुर्बलता, तेरो अज्ञानता र मूर्खता पूर्ण रूपमा खुलासा गर्न सक्छ, र यसले तँलाई आफूलाई पुनः जाँच्न र जान्न, अनि परमेश्वरको सर्वशक्तिमान्ता, उहाँको पूर्ण बुद्धिमत्ता र उहाँको स्वभावबारे ज्ञान प्राप्त गर्न सक्षम पार्नेछ। तैँले उहाँबाट सकारात्मक कुरा प्राप्त गर्नेछस्, र सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न सक्नेछस्। तेरो अनुभवमा धेरै कुरा तैँले चाहेजस्तो हुँदैन र यो सामना गर्दा तँलाई शक्तिहीन भएको महसुस हुन्छ। यी कुराहरूको सन्दर्भमा, तैँले खोजी र प्रतीक्षा गर्नैपर्छ; तैँले परमेश्वरबाट हरेक मामलाको उत्तर प्राप्त गर्नैपर्छ, र उहाँका वचनहरूबाट हरेक मामलाको अन्तर्निहित सार र हरप्रकारको व्यक्तिको सार बुझ्नैपर्छ। साधारण र सामान्य व्यक्तिले व्यवहार गर्ने यसरी नै हो। तैँले यी कुराहरू भन्न सिक्नैपर्छ, जस्तै “म सक्दिनँ,” “यो मेरो क्षमताभन्दा बाहिर छ,” “म त्यसमा घुस्न सक्दिनँ,” “मैले त्यो अनुभव गरेको छैनँ,” “मलाई बिलकुलै केही थाहा छैन,” “म किन यति कमजोर छु? म किन केही न कामको छु?” “ममा यति कम क्षमता छ,” “म अति बोधो र मन्द बुद्धिको छु,” “म यति अज्ञानी छु कि मलाई यो कुरा बुझ्न र त्यसलाई सम्हाल्न कैयौँ दिन लाग्नेछ,” र “मैले यो कुरा कसैसित छलफल गर्नुपर्छ।” तैँले यसरी अभ्यास गर्न सिक्नैपर्छ। यो तेरो आफू सामान्य व्यक्ति भएको स्वीकारोक्ति र सामान्य व्यक्ति हुने चाहनाको बाह्य सङ्केत हो। आफूलाई महान् र शक्तिशाली ठान्ने, आफूलाई सामान्य नभएर उच्च र महामानव भन्ठान्नेहरू कहिल्यै “म सक्दिनँ,” “यो मेरो क्षमताभन्दा बाहिर छ,” “म त्यसमा घुस्न सक्दिनँ,” “मलाई थाहा छैन, मैले सिक्नुपर्छ, मैले त्यो हेर्नुपर्छ, मैले सँगै सङ्गति गर्न मनिसहरू खोज्नुपर्छ, मैले माथिबाट खोजी गर्नुपर्छ” भनेर भन्दैनन्। तिनीहरू यस्ता वचनहरू कहिल्यै बोल्दैनन्। विशेषगरी हैसियत प्राप्त गरिसकेपछि, यस्ता व्यक्तिहरूले मानिसहरूले तिनीहरूलाई सामान्य व्यक्ति सोचून् र अरूले जस्तै तिनीहरूले पनि गर्न नसक्ने कुराहरू छन्, तिनीहरूले पनि भित्रैसम्म देख्न वा बुझ्न नसक्ने कुराहरू छन् भनी सोचून् भन्ने चाहँदैनन्। बरु, तिनीहरू सधैँ मानिसहरूले आफूलाई महामानव ठानून् भन्ने चाहन्छन्। त्यसकारण, केही आइपर्दा, तिनीहरूलाई त्यस्ता मामिलाहरू परमेश्वरसामु बारम्बार राख्न र उहाँलाई सच्चा हृदय चढाउन जरुरी हुँदैन। तिनीहरूलाई खोजी गर्नु पर्दैन। तिनीहरूले त आफूलाई आइपर्ने हरेक कुरा केही मिनेटमै बुझिहाल्छन्, सिकिहाल्छन्, र प्रष्ट देखिहाल्छन्। तिनीहरूमा कुनै भ्रष्टता वा कमीकमजोरी हुँदैन। तिनीहरूले प्रष्ट देख्न नसक्ने केही हुँदैन, तिनीहरूले अनुभव नगरेको केही हुँदैन। तिनीहरूले अनुभव गरिनसकेको केही भए पनि, तिनीहरूले त्यसलाई एकै झलकमा प्रष्ट देखिहाल्नेछन्। तिनीहरू सिद्ध महामानव हुन्। के यो सामान्य मानवताको प्रकटीकरण हो त? (होइन।) त्यसो भए, के तिनीहरू सामान्य व्यक्ति हुन् त? कदापि होइनन्। यस प्रकारका व्यक्तिले आफू सामान्य व्यक्ति भएको, आफूमा कमीकमजोरी, खोट र भ्रष्ट स्वभाव भएको स्विकार्दैनन्। त्यसो भए के तिनीहरू खोजी र प्रार्थना गर्न सच्चा हृदय लिएर बारम्बार परमेश्वरसामु आउन सक्छन्? कदापि सक्दैनन्। यसले तिनीहरूमा अझै पनि सामान्य मानवताको विवेक र समझ छैन, र तिनीहरू सामान्य मानवता जिउँदैनन् भन्ने देखाउँछ।
ल भन त, तिमीहरू कसरी साधारण र सामान्य मानिसहरू बन्न सक्छौ? परमेश्वरले भन्नुभएजस्तै गरी, तिमीहरूले कसरी सृष्टि गरिएको प्राणीको उचित स्थान लिन सक्छौ—तिमीहरूले कसरी महामानव वा कुनै महान् व्यक्ति बन्ने प्रयास नगर्न सक्छौ? तिमीहरूले साधारण र सामान्य व्यक्ति बन्नलाई कसरी अभ्यास गर्नुपर्छ? यो काम कसरी गर्न सकिन्छ? कसले जवाफ दिनेछ? (सर्वप्रथम, हामीले आफू साधारण मानिस, अर्थात् अति सामान्य मानिस भएको स्विकार्नुपर्छ। हामीले नबुझ्ने, बोध नगर्ने, र सार बुझ्न नसक्ने थुप्रै कुराहरू छन्। हामीले आफू भ्रष्ट र त्रुटिपूर्ण भएको स्विकार्नैपर्छ। त्यसपछि, हामीसँग सच्चा हृदय हुनुपर्छ र खोजी गर्न हामी बारम्बार परमेश्वरसामु आउनुपर्छ।) सबभन्दा पहिले त, तैँले आफूलाई कुनै मानपदवी नदे, र “म अगुवा हुँ, म टोली प्रमुख हुँ, म सुपरभाइजर हुँ, मैले जत्ति यो काम अरू कसैले पनि जानेको छैन, यी सीपहरू मलाई जत्ति अरू कसैलाई थाहा छैन” भन्दै त्यसमा नबाँधिई। आफैले बनाएको पदवीमा लिप्त नबन्। तैँले यसो गर्नेबित्तिकै, यसले तेरो हातखुट्टा बाँध्नेछ, र तैँले भन्ने र गर्ने कुरालाई प्रभावित पार्नेछ। तेरो सामान्य सोचाइ र मूल्याङ्कन पनि प्रभावित हुनेछ। तैँले आफूलाई यो हैसियतको बन्धनबाट मुक्त गर्नुपर्छ। पहिले, तैँले यो तेरो आधिकारिक मानपदवी र स्थानबाट आफैलाई तल झार् र साधारण व्यक्तिको स्थानमा खडा हू। त्यसो गरे, तेरो मानसिकता अलि सामान्य बन्नेछ। तैँले यो कुरा स्वीकार गरेर यसो पनि भन्नैपर्छ, “यो कसरी गर्ने मलाई थाहा छैन, र मैले त्यो पनि बुझेको छैन—मैले केही अनुसन्धान र अध्ययन गर्नुपर्छ,” वा “मैले यस्तो कुरा कहिल्यै अनुभव गरेको छैनँ, त्यसकारण के गर्ने मलाई थाहा छैन।” जब तँ आफूले साँच्चै सोचेको कुरा भन्न सक्ने र इमान्दारीपूर्वक बोल्न सक्ने हुन्छस्, तब तँसँग सामान्य समझ हुनेछ। अरूले वास्तविक तँलाई जान्नेछन्, तसर्थ तिनीहरूमा तँप्रतिको दृष्टिकोण सामान्य हुनेछ, र तैँले देखावटी व्यवहार गर्नुपर्नेछैन, न त तँमाथि कुनै ठूलो दबाब नै हुनेछ, त्यसकारण तैँले मानिसहरूसँग सामान्य रूपमा संवाद गर्न सक्नेछस्। यसरी जिउनु स्वतन्त्र र सहज हुन्छ; यदि कसैलाई जिउने काम थकाइलाग्दो लाग्छ भने, ऊ आफैले गर्दा त्यस्तो भएको हुन्छ। बहाना बनाउने वा देखावटी व्यवहार गर्ने नगर्। पहिले, तैँले आफ्नो हृदयमा के सोचिरहेको छस् त्यसबारेमा, र तेरा वास्तविक विचारहरूबारेमा खुलस्त बता, ताकि सबैले ती कुराहरू थाहा पाऊन् र बुझून्। यसको फलस्वरूप, तेरा चिन्ताहरू अनि तँ र अरूबीचका पर्खाल र शङ्काहरू हट्नेछन्। अनि, तँ अर्को कुनै कुराले पनि ढलपल हुन्छस्। तैँले सधैँ आफूलाई टोली प्रमुख, अगुवा, सेवक, वा पदवी, हैसियत र प्रभाव भएको व्यक्ति ठान्छस्: यदि तैँले कुनै कुरा बुझ्दिनँ, वा गर्न सक्दिनँ भनेर भनिस् भने, के तैँले आफ्नै बदनाम गरिरहेको त हुँदैनस्? जब तैँले तेरो हृदयका यी बन्धनहरू पन्छाउँछस्, जब तैँले आफूलाई अगुवा वा सेवक सोच्न छोड्छस्, र जब तैँले आफूलाई अरूभन्दा असल ठान्न छोड्छस् र बरु तँ पनि अरूजस्तै साधारण व्यक्ति होस्, र कतिपय क्षेत्रमा तँ अरूभन्दा तल छस् भन्ने अनुभव गर्छस्—जब तैँले सत्यताबारे र कामसम्बन्धी विषयहरूबारे यस्तो मनोवृत्तिले सङ्गति गर्छस्, तब प्रभाव फरक हुन्छ, र माहौल पनि फरक हुन्छ। यदि तैँले आफ्नो हृदयमा सधैँ आशङ्का पाल्छस् भने, यदि सधैँ तनाव र ढलपल भएको अनुभव गर्छस् भने, र यदि तैँले यी कुराहरूबाट आफूलाई मुक्त बनाउन चाहन्छस् तर सक्दैनस् भने, तैँले परमेश्वरलाई गम्भीर रूपमा प्रार्थना गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ, आफ्ना कमीकमजोरीहरू हेर्नुपर्छ, अनि सत्यताप्रति लागिपर्नुपर्छ। यदि तैँले सत्यता अभ्यास गर्न सकिस् भने, तैँले फल प्राप्त गर्नेछस्। तैँले जे गरे पनि, निश्चित पदबाट वा निश्चित मानपदवी प्रयोग गरेर बोल्ने र व्यवहार गर्ने नगर्। पहिले, यो सबैलाई पन्छा, र आफूलाई साधारण व्यक्तिको स्थानमा राख्। जब कसैले “तिमी अगुवा हैनौ र? के तिमी टोलीको रेखदेखकर्ता हैनौ र? तिमीले यो बुझ्नैपर्छ” भनेर भन्छ, र जवाफमा, तँ यसो भन्छस्: “यदि तिमी एउटा अगुवा वा टोली अगुवा हौ भने, तिमीले सबथोक बुझ्न सक्छौ भनेर परमेश्वरको वचनमा कहाँनेर भनिएको छ? म यो बुझ्दिनँ। तिम्रो नजरबाट मेरो मूल्याङ्कन नगर। तिम्रा मागहरू अत्यन्तै धेरै छन्। यो कुरा साँचो हो कि म एक अगुवा हुँ, तर सत्यताबारे मेरो बुझाइ अझै पनि अति सतही छ र मैले यो कुरा अनुभव नगरेकोले मलाई के निर्णय गर्ने भन्ने थाहा छैन र म अझै पनि यसलाई प्रष्ट देख्न सक्दिनँ। मैले प्रार्थना र खोजी गर्नु आवश्यक छ। परमेश्वरले भन्नुभएको छ, आफूले नबुझ्ने कुराको समाधान गर्न चिन्ता नगर। तिमी सधैँ मैले अहिले नै बुझूँ र अहिले नै निर्णय गरूँ भन्ने चाहन्छौ। यदि मैले गलत निर्णय गरेँ भने के हुन्छ? यसको लागि को जिम्मेवार हुनेछ? के तिमी जिम्मेवारी लिन सक्छौ? के तिमी मैले गल्ती गरूँ भन्ने चाहन्छौ? के यसो गर्नमा तिमी मेरो लागि जिम्मेवार हुन्छौ? हामीले सँगसँगै काम गर्नुपर्छ, सँगसँगै प्रार्थना र खोजी गर्नुपर्छ, र यो मामिलालाई राम्ररी सम्हाल्नुपर्छ।” के तैँले यसो गर्न सक्छस्? के यसो गर्न सजिलो छ? यदि तँ अरूसँग हार्दिक तरिकाले कुराकानी गर्न सक्छस् भने, तैँले यसो भन्न सक्छस्, “वास्तवमा, मेरो कद पनि निकै सानो छ। यदि खोजी र प्रार्थना गरिनँ भने, मैले जुनसुकै बेला गल्ती गर्न सक्छु। कहिलेकाहीँ म गल्ती नगरी बस्नै सक्दिनँ। तिमीलाई मेरो कद कति ठूलो छ जस्तो लाग्यो? तिमीले मलाई अति ठूलो सोचेका छौ।” जब तेरो कुरा अर्को व्यक्तिले सुन्छ, उसलाई आफ्नो मनमा तँ आफ्नो हृदयबाट बोल्न सक्ने अत्यन्तै इमानदार व्यक्ति होस् भन्ने लाग्नेछ। त्यसपछि, उसले तँबाट अति धेरै माग गर्नेछैन, बरु तँसितै काम गर्नेछ। यदि तैँले यसलाई व्यवहारमा लागु गरिस् भने, तँ आफूले गर्ने कामकुरामा अझ विवेकी बन्नेछस्, तँ ख्याति, लाभ, र हैसियतको बाधा र बन्धनमा पर्नेछैनस्, अनि तेरो हृदय स्वतन्त्र हुनेछ। तँ खुला हृदयले बोल्न र काम गर्न सक्षम हुनेछस्, अनि तँ अरूसँग सामञ्जस्यपूर्ण सहकार्य गर्न र ब्रदर-सिस्टरहरूसित सही तरिकाले व्यवहार गर्न सक्षम हुनेछस्। यो समयमा, तेरो स्थिति झन्झन् सामान्य बन्नेछ, अनि तेरा कार्यहरू झन्झन् विवेकसङ्गत बन्नेछन्। यो कुरा सबैले देख्न सक्नेछन् र तिनीहरूले यसो भन्नेछन्, “यो अगुवा साँच्चिकै परिवर्तन भएको छ। उसमा साँच्चिकै विवेक र समझ छ, र उसले सामान्य मानवता जिएको छ। यस्तो व्यक्ति हाम्रो अगुवा हुँदा, हामीले पनि धेरै लाभहरू प्राप्त गर्छौँ!” यो समयमा, जब तँ फेरि काममा लाग्छस्, चाहे त्यो खोजी र प्रार्थना गर्ने होस् वा सङ्गति गर्न अरूकहाँ जाने, तैँले जे गर्छस् त्यो सही र उचित हुन्छ, अनि तँमा कुनै सन्देह हुनेछैन। तैँले गर्ने सबै काममा, तँ दृढतापूर्वक र स्थिर भएर अघि बढ्छस्। तँ समाधान पाउने चिन्ता गर्दैनस्, बरु कामकुराहरूलाई आफ्नै हिसाबमा चल्न दिन्छस्। तैँले जेसुकै सामना गरे भने पनि, त्यसलाई परमेश्वरसामु राख्न र उहाँलाई आफ्नो सच्चा हृदय चढाउन सक्छस्। यो तैँले सबै कुराहरूमा अभ्यास गर्न सक्ने एउटा सिद्धान्त हो। चाहे ती अगुवा र सेवकहरू होऊन् वा ब्रदर-सिस्टरहरू, हरेक मानिस एक सामान्य व्यक्ति हो। तिनीहरू सबैले यो सिद्धान्त अभ्यास गर्नुपर्छ। परमेश्वरको वचनको अभ्यासमा हरेकको एउटा न एउटा भागीदारी र एउटा न एउटा जिम्मेवारी हुन्छ। तँ कुनै अगुवा, सेवक, टोलीप्रमुख, रेखदेखकर्ता, वा समूहभित्रबाटै निकै सम्मानित व्यक्ति हुन सक्छस्। तँ जोसुकै भए पनि, तैँले यस तरिकाले अभ्यास गर्न सिक्नुपर्छ। तैँले आफ्नो शिरमा पहिरिने प्रभामण्डल र मानपदवी फुकाल्, र अरूले तँलाई अर्पण गरेको मुकुट फुकाल्। त्यसपछि, तँलाई सामान्य व्यक्ति बन्न सजिलो लाग्नेछ, अनि तैँले सजिलै विवेक र समझको आधारमा कार्य गर्नेछस्। पक्कै पनि, त्यसपछि, तैँले बुझ्दिनँ र थाहा छैन भनी स्विकारेर मात्र पुग्दैन। यो समस्या समाधान गर्ने अन्तिम हल होइन। त्यसोभए अन्तिम हल के हो त? मामिला र कठिनाइहरूलाई परमेश्वरसामु राखेर प्रार्थना र खोजी गर्। एउटा व्यक्ति एक्लैले प्रार्थना गरेर मात्र पुग्दैन। बरु, तैँले सबैसँग सँगसँगै यस मामिला सम्बन्धमा प्रार्थनाहरू चढाउनुपर्छ र यो जिम्मेवारी र दायित्व उठाउनुपर्छ। त्यो कामकुरा गर्ने अत्यन्तै राम्रो तरिका हो! तँ महान् व्यक्तित्व र महामानव हुने मार्ग समात्नबाट जोगिनेछस्। यदि तैँले यसो गर्न सकिस् भने, तैँले अचेतन रूपमै सृष्टि गरिएको प्राणीको उचित स्थान सम्हाल्नेछस् र आफूलाई महामानव र महान् व्यक्तित्व हुने महत्वाकाङ्क्षा र चाहनाको बन्धनबाट मुक्त पार्नेछस्।
सृष्टि गरिएको प्राणीको सही स्थानमा उभिनु र सामान्य व्यक्ति हुनु: के यसो गर्न सजिलो छ? (यो सजिलो छैन।) कठिनाइ केमा छ? कठिनाइ यस्तो छः मानिसहरू सधैँ आफ्नो शिर धेरै महिमा र मानपदवीहरू भरिएको अनुभूति गर्छन्। तिनीहरू आफूलाई महान् व्यक्ति र महामानवको पहिचान र हैसियत पनि दिन्छन्, अनि ती सबै ढोँगी र झूटा अभ्यासहरू र देखावटीपनमा संलग्न हुन्छन्। यदि तँ यी कुराहरू त्याग्दैनस् भने, यदि तेरो बोली र काम सधैँ यी कुराहरूको बन्धन र नियन्त्रणमा हुन्छ भने, तँलाई परमेश्वरको वचनको वास्तविकतामा प्रवेश गर्न कठिन लाग्नेछ। तँलाई आफूले नबुझ्ने कुराहरूको समाधानमा चिन्ता गर्न छोड्न र त्यस्ता मामिलाहरूलाई बारम्बार परमेश्वरसामु राख्न, अनि उहाँलाई सच्चा हृदय चढाउन गाह्रो हुनेछ। तैँले यसो गर्न सक्नेछैनस्। तेरो हैसियत, तेरा मानपदवीहरू, तेरो पहिचान, र त्यस्ता सबै कुरा झूटा र गलत भएकाले, ती परमेश्वरका वचनविरुद्ध जाने र उहाँका वचनहरूसँग बाझिने हुनाले गर्दा नै यी कुराहरूले तँलाई बाँधेर राख्छन्, जसले गर्दा तँ परमेश्वरसामु आउन सक्दैनस्। अनि, यी कुराहरूले तँलाई के दिन्छन्? यी कुराहरूले तँलाई आफ्नो भेष बदल्न, कुरा बुझेको ढोँग गर्न, आफू अक्कलमन्द, महान्, सेलेब्रिटी, सक्षम, र बुद्धिमान् भएको नाटक गर्न, र आफूले सबै कुरा जानेको, आफू सबै कुरामा सक्षम भएको र आफू सबथोक गर्न सक्ने भएको भनेरसमेत नाटक गर्न होनहार बनाउँछन्। यसले गर्दा तँलाई अरूले आराधना र प्रशंसा गर्नेछन्। तिनीहरू आफ्ना सारा समस्या लिएर तँकहाँ आउनेछन्, तँमा भर पर्नेछन् र तँलाई आदर गर्नेछन्। तसर्थ, यो त तैँले आफ्नो हात आगोमा हाल्नुजस्तै हो। ल भन् त, के आगोमा हात हाल्दा मज्जा आउँछ? (आउँदैन।) तँ बुझ्दैनस्, तर बुझ्दिनँ भन्न आँट गर्दैनस्। तँ भित्रैसम्म छर्लङ्ग देख्न सक्दैनस्, तर भित्रैसम्म छर्लङ्ग देख्न सक्दिनँ भन्ने आँट गर्दैनस्। तैँले प्रष्ट रूपमा गल्ती गरेको हुन्छस्, तर तँ त्यो स्वीकार्न आँट गर्दैनस्। तेरो हृदय वेदनामा हुन्छ, तर तँ यसो भन्ने आँट गर्दैनस्, “यसपटक त्यो साँच्चै मेरै गल्ती हो, म परमेश्वर र मेरा दाजुभाइ-दिदीबहिनीहरूप्रति ऋणी छु। मैले परमेश्वरको घरलाई त्यस्तो ठूलो क्षति पुऱ्याएको छु, तर ममा सबैसामु उभिएर त्यो कुरा स्विकार्ने साहस छैन।” किन तँ बोल्ने आँट गर्दैनस्? तँलाई लाग्छ, “म मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई दिएको यश र महिमाअनुरूप जिउनुपर्छ, मैले तिनीहरूले मलाई दिएको उच्च सम्मान र भरोसालाई धोका दिन मिल्दैन, झन् तिनीहरूले मबाट कैयौँ वर्षदेखि राखेको उत्सुक अपेक्षाहरूलाई धोका दिने त कुरै आउँदैन। त्यसकारण, मैले देखावा गरिराख्नुपर्छ।” त्यस्तो छद्म भेष कस्तो हुन्छ? तैँले सफलतापूर्वक आफूलाई महान् व्यक्ति र महामानव बनाएको हुन्छस्। दाजुभाइ-दिदीबहिनीहरू जस्तोसुकै समस्याहरू सामना गर्नुपर्दा पनि तँकहाँ सोधपुछ गर्न, परामर्श लिन, र तेरो सल्लाह-सुझाव माग्नसमेत आउन चाहन्छन्। तिनीहरू तँविना जिउनसमेत नसक्नेजस्तो देखिन्छ। तर के तेरो हृदय वेदनामा हुँदैन र? अवश्य नै, कतिपय मानिसहरूले यो वेदना अनुभूति गर्दैनन्। ख्रीष्टविरोधीले यो वेदना अनुभूति गर्दैन। ऊ त यसैसमा रमाउँछ, र आफ्नो हैसियत अरू सबै कुराभन्दा माथि छ भन्ठान्छ। तर एक औसत, सामान्य व्यक्तिलाई आगोमा हात हाल्दा वेदना हुन्छ। ऊ आफूलाई कुनै सामान्य व्यक्तिसिवाय अरू केही ठान्दैन। उसले आफूलाई अरूभन्दा बलियो मान्दैन। ऊ आफूले कुनै व्यावहारिक काम पूरा गर्न सक्दिनँ भनेर मात्र होइन, तर मण्डलीको काममा ढिलाइ गराउँछु र परमेश्वरका चुनिएका मानिसहरूलाई विलम्ब पुर्याउँछु भनेरसमेत सोच्छ, त्यसैले उसले दोष स्विकार्नेछ र राजीनामा दिनेछ। यो समझ भएको व्यक्ति हो। के यो समस्या समाधान गर्न सजिलो छ? समझ भएका मानिसहरूको लागि त यो समस्या समाधान गर्न सजिलो हुन्छ, तर समझ नभएकाहरूको लागि चाहिँ कठिन हुन्छ। तैँले हैसियत प्राप्त गरेपछि, यदि तँ लाज पचाएर हैसियतका लाभहरू उठाउँछस् जसको परिणामस्वरूप तँ वास्तविक काम गर्न नसकेर खुलासा हुन्छस् र हटाइन्छस् भने, त्यो तँ आफैले निम्त्याएको होस् र तँ त्यसको लायक छस्! तँ अलिकति पनि दया वा करुणा पाउन योग्य छैनस्। किन म यसो भन्छु? किनकि तँ उच्च स्थानमा रहन जोड गर्छस्। तँ आफ्नो हात आफै आगोमा हाल्छस्। तेरो घाउ तँ आफैले लगाएको हो। यदि तँ आगोमा हात हाल्न चाहँदैनस् भने, तैँले यी सबै मानपदवी र महिमा त्याग्नुपर्छ अनि आफ्नो हृदयभित्रको साँचो अवस्था र सोच आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई बताउनुपर्छ। यसरी, दाजुभाइ-दिदीबहिनीहरूले तँलाई सही तरिकामा व्यवहार गर्न सक्छन् र तैँले भेष बदल्नु पर्दैन। अब तैँले आफ्नो साँचो स्थिति खुलाएर त्यसबारे प्रष्ट पारेको हुन्छस्, त्यसैले के तँलाई हृदयमा अझ बढी ढुक्क, र आराम हुँदैन र? किन आफ्नो पिठ्यूँमा त्यस्तो गह्रौँ बोझ बोकेर हिँड्नु? यदि तैँले आफ्नो साँचो स्थिति बताइस् भने, के तेरा दाजुभाइ-दिदीबहिनीहरूले तँलाई साँच्चै तुच्छ ठान्नेछन् र? के तिनीहरूले तँलाई साँच्चै त्याग्नेछन् र? कदापि त्याग्नेछैनन्। त्यसको विपरीत, तेरा दाजुभाइ-दिदीबहिनीहरूले तँलाई अनुमोदन गर्नेछन् र आफ्नो हृदयबाट बोल्ने आँट गरेकोमा तारिफ गर्नेछन्। तिनीहरूले तँलाई इमानदार व्यक्ति भन्नेछन्। यसले मण्डलीको तेरो काममा रोकावट ल्याउनेछैन, न त अलिकति पनि नकारात्मक प्रभाव नै पार्नेछ। यदि दाजुभाइ-दिदीबहिनीहरूले तँमा कठिनाइहरू छन् भनेर साँच्चै देखेमा, स्वेच्छाले तँलाई मदत गर्नेछन् र तँसित काम गर्नेछन्। तिमीहरू के भन्छौ? के त्यस्तै हुनेथिएन र? (हुनेथ्यो।) तैँले आफूलाई अरूले आदर गरून् भनेर सधैँ भेष बदल्नु सबैभन्दा मूर्ख कुरा हो। सबैभन्दा उत्तम तरिका भनेको सामान्य हृदय भएको सामान्य व्यक्ति बन्नु हो, र परमेश्वरका चुनिएका मानिसहरूसित शुद्ध र सरल तरिकाले खुलस्त हुन सक्नु, अनि बारम्बार हृदयस्पर्शी कुराकानीमा संलग्न हुनु हो। मानिसहरूले तँलाई आदर, तारिफ, अत्यधिक प्रशंसा, वा चाप्लुसी गर्दा, त्यो कहिल्यै स्वीकार नगर्। यी सबै कुरालाई अस्वीकार गर्नुपर्छ। उदाहरणको लागि, कतिपय मानिसहरूले यसो भन्न सक्छन्: “के तिमी विश्वविद्यालयका प्राध्यापक हैनौ र? तिमीसँग एकदमै धेरै ज्ञान भएकोले तिमीमा सत्यताबारे पनि पक्कै पनि राम्रो बुझाइ हुनुपर्छ।” तिनीहरूलाई यसो भन्: “म कस्तो प्रकारको विश्वविद्यालय प्राध्यापक हुँ? कुनै पनि ज्ञानको भण्डारले सत्यताको स्थान ओगट्न सक्दैन। यो ज्ञानले मलाई ठूलो कष्ट दिएको छ। यो एकदमै बेकार छ। मलाई धेरै सम्मान नगर, म सामान्य व्यक्ति मात्र हुँ।” अवश्य नै, कतिपय मानिसहरूलाई आफ्नो हैसियत त्याग्न एकदमै गाह्रो लाग्छ। तिनीहरू पक्कै पनि साधारण, मामुली मानिस बन्न र सृष्टि गरिएको प्राणीको उचित स्थानमा खडा हुन चाहन्छन्। तिनीहरू त्यस्तो कष्ट भोग्न चाहँदैनन्, तर तिनीहरूले यसमा केही गर्नै सक्दैनन्। तिनीहरू सधैँ आफूलाई श्रेष्ठ मानिस ठान्छन् र आफ्नो उच्च स्थानबाट तल झर्नै सक्दैनन्। यो समस्याजनक कुरा हो। तिनीहरू आफूवरिपरि मानिसहरू झुम्मिएको, र आफूलाई तारिफको नजरले हेरिएको मन पराउँछन्। तिनीहरूलाई मानिसहरू आफ्ना सबै समस्या लिएर तिनीहरूकहाँ आएको, तिनीहरूमा भर परेको, तिनीहरूको कुरा सुनेको, र तिनीहरूलाई आदर गरेको मन पर्छ। तिनीहरू आफूलाई मानिसहरूले सबै कुरामा दक्ष श्रेष्ठ मानिस, सबै कुरा बुझ्ने सर्वज्ञानी ठानेको मन पराउँछन्, अनि तिनीहरूलाई मानिसहरूले विजेता ठानेमा अति राम्रो र गजब हुनेथियो भनेरसमेत सोच्छन्। यसको कुनै समाधान छैन। कतिपय मानिसहरू अरूले प्रदान गरेका तारिफ र मुकुटहरू स्विकार्छन् र केही समय महामानव र महान् व्यक्तिको भूमिका खेल्छन्। तर तिनीहरूले असहज महसुस गर्छन् र तिनीहरूलाई वेदना हुन्छ। त्यस्तो अवस्थामा तिनीहरूले के गर्नुपर्छ? तेरो चाप्लुसी गर्न चाहनेहरूले वास्तवमा तँलाई आगोमा हालिरहेका हुन्छन्, र तँ तिनीहरूबाट टाढै रहनुपर्छ। नत्र, मौका छोपेर तिनीहरूलाई तेरो भ्रष्टताको सत्यता खुलासा गर्, आफ्नो साँचो स्थितिबारे बता, अनि आफ्ना खोट र कमजोरीहरू प्रकट गर्। यसो गर्दा, तिनीहरूले तँलाई आराधना वा आदर गर्नेछैनन्। के त्यसो गर्न सजिलो छैन र? खासमा, त्यसो गर्न सजिलो छ। यदि तँ साँच्चै त्यसो गर्न सक्दैनस् भने, त्यसले तँ अति अहङ्कारी र घमण्डी छस् भन्ने प्रमाणित गर्छ। तँ वास्तवमै आफूलाई महामानव, एक महान् व्यक्ति ठान्छस्, अनि तैँले आफ्नो हृदयमा यस्तो स्वभावलाई बिलकुलै घृणा र तिरस्कार गर्दैनस्। यस्तो हुँदा, तँ ठक्कर खान मात्र कुर्न सक्छस् जसले गर्दा तँ अरूको नजरमा बदनाम हुन्छस्। यदि तँ साँच्चै समझ भएको व्यक्ति होस् भने, सधैँ आफूलाई महामानव र महान् व्यक्तिको भूमिका खेल्न मन लाग्ने भ्रष्ट स्वभावदेखिट तँलाई तिरस्कार र घृणा लाग्नेछ। कम्तीमा पनि, तँमा यो अनुभूति हुनैपर्छ। त्यसपछि मात्र तैँले आफूलाई घृणा गर्न र देहविरुद्ध विद्रोह गर्न सक्छस्। अनि, तैँले कसरी मामुली व्यक्ति, साधारण व्यक्ति, सामान्य व्यक्ति हुने अभ्यास गर्नुपर्छ? पहिला, तैँले राम्रो र मूल्यवान् ठानिरहने कुराहरू, साथै अरूले तेरो तारिफ र प्रशंसा गर्न प्रयोग गर्ने देखावटी, मिठा शब्दहरूलाई नकार्नु र त्याग्नुपर्छ। यदि तँलाई आफ्नो हृदयमा तँ कस्तो व्यक्ति होस्, तेरो सार के हो, तेरा कमजोरीहरू के-के हुन् र तैँले कस्तो भ्रष्टता प्रकट गर्छस् भन्नेबारेमा स्पष्ट छ भने, तैँले यसबारेमा खुलस्त रूपमा अरूसँग सङ्गति गर्नुपर्छ, ताकि अरूले तेरो साँचो स्थिति के हो, तेरा विचार र दृष्टिकोणहरू के-के हुन् भनेर देख्न सकून्, ताकि त्यस्ता कुराहरूका बारेमा तेरो ज्ञान के छ भन्ने तिनीहरूले जान्न सकून्। तैँले जे गरे पनि, बहाना बनाउने वा देखावटी गर्ने नगर्, कसैले पनि नदेखून् भनेर अरूबाट आफ्नो भ्रष्टता र कमजोरीहरू नलुका; यस्तो झूटो व्यवहार तेरो हृदयभित्रको अवरोध हो, र यो भ्रष्ट स्वभाव पनि हो, र यसले मानिसहरूलाई पश्चात्ताप गर्न र परिवर्तन हुनबाट रोक्न सक्छ। तैँले परमेश्वरसँग प्रार्थना गर्नुपर्छ, र झूटो कुराहरूलाई मनन र चिरफार गर्नुपर्छ, जस्तै अरूले तँलाई दिने प्रशंसा, तँमाथि बर्साउने महिमा, र तँलाई प्रदान गर्ने मुकुटहरू। तैँले यी कुराहरूले तँमाथि गर्ने हानिलाई देख्नैपर्छ। त्यसो गर्दा, तँलाई आफ्नो नाप थाहा हुन्छ, तैँले आत्मज्ञान प्राप्त गर्नेछस्, र तैँले अबउप्रान्त आफूलाई एक महामानव, वा महान् व्यक्तिको रूपमा हेर्न छोड्नेछस्। तँमा त्यस्तो आत्मसचेतना आएपछि, तँलाई सत्यता स्वीकार गर्न, परमेश्वरका वचनहरू र परमेश्वरले मान्छेबाट माग्नुहुने कुराहरूलाई हृदयमा स्वीकार गर्न, सृष्टिकर्ताले तँलाई दिनुहुने मुक्तिलाई स्वीकार गर्न, र दृढ रूपमा साधारण व्यक्ति, इमानदार र भरपर्दो व्यक्ति बन्न, अनि सृष्टि गरिएको प्राणी तँ आफै र सृष्टिकर्ता परमेश्वरबीचमा सामान्य सम्बन्ध स्थापित गर्न सहज हुनेछ। परमेश्वरले मानिसहरूलाई गर्न लगाउनुहुने कुरा ठ्याक्कै यही हो, अनि यो तिनीहरूले पूर्ण रूपमा हासिल गर्न सक्ने कुरा हो। परमेश्वर साधारण, र सामान्य मानिसहरूलाई मात्र उहाँसामु आउन दिनुहुन्छ। उहाँ स्वाँग पार्ने वा झूटा सेलेब्रिटी, महान् व्यक्ति, र महामानवहरूको आराधना स्वीकार गर्नुहुन्न। जब तँ यी झूटा महिमाहरू त्याग्छस्, आफू साधारण, र सामान्य व्यक्ति हो भनी स्विकार्छस्, अनि परमेश्वरसामु आएर खोजी र प्रार्थना गर्छस्, तब उहाँप्रतिको तेरो हृदय अझ बढी सच्चा हुनेछ, र तँलाई अझ बढी ढुक्क हुनेछ। यस्तो बेला, तैँले आफूलाई परमेश्वरको साथ र सहयोग चाहिएको महसुस गर्नेछस्, अनि तँ अझ बारम्बार परमेश्वरसामु आएर खोजी र प्रार्थना गर्न सक्षम हुनेछस्। ल भन त, के तिमीहरूलाई महान् व्यक्ति र महामानव हुन सजिलो लाग्छ कि सामान्य व्यक्ति? (सामान्य व्यक्ति।) सैद्धान्तिक रूपमा, सामान्य व्यक्ति हुन सजिलो हुन्छ, तर महान् व्यक्ति वा महामानव हुन गाह्रो हुन्छ, किनकि त्यसले सधैँ वेदना ल्याउँछ। तर जब मानिसहरूले आफ्नै विकल्प छनौट गर्छन् र त्यसैलाई अभ्यास गर्छन्, तब तिनीहरू महामानव वा महान् व्यक्ति नभई बस्नै सक्दैनन्। तिनीहरूलाई त्यसो नगरी हुँदै हुँदैन। तिनीहरूको प्रकृति सारले गर्दा यस्तो हुन्छ। तसर्थ, मान्छेलाई परमेश्वरको मुक्ति चाहिन्छ। भविष्यमा, जब कसैले तिमीहरूलाई “व्यक्तिले महामानव र महान् व्यक्ति हुने प्रयास गर्न कसरी छोड्न सक्छ?” भनेर सोध्दा, के तिमीहरू यस प्रश्नको जवाफ दिन सक्षम हुनेछौ? तिमीहरूले गर्नुपर्ने भनेकै मैले प्रबन्ध गरेको विधि अभ्यास गर्ने मात्र हो। सामान्य व्यक्ति बन्, आफ्नो भेष नबदल्, बरु परमेश्वरलाई प्रार्थना गर्, र सरल तरिकामा खुलस्त हुन र अरूसँग हृदयबाट बोल्न सिक्। यस्तो अभ्यासले स्वाभाविक रूपमा फल फलाउनेछ। तैँले बिस्तारै सामान्य व्यक्ति हुन सिक्नेछस्, तँ जीवनदेखि थकित हुन छोड्नेछस्, र बिलकुलै वेदनामा पर्नेछैनस्, र बिलकुलै पीडामा हुनेछैनस्। सबै मानिसहरू सामान्य मानिस हुन्। तिनीहरूका व्यक्तिगत प्रतिभाहरू फरक हुन्छन् र तिनीहरू क्षमतामा अलि फरक हुन सक्छन्, तर त्यसबाहेक तिनीहरूबीच कुनै भिन्नता हुँदैन। यदि परमेश्वरको मुक्ति र सुरक्षा नहुने हो भने, तिनीहरू सबैले नै दुष्ट काम गर्नेथिए र दण्ड भोग्नेथिए। यदि तँ आफू सामान्य व्यक्ति हो भनेर स्विकार्न सक्छस् भने, यदि तँ मान्छेका कल्पना र खोक्रा भ्रमहरूबाट बाहिर निस्किन र इमानदार व्यक्ति हुने खोजी गर्न र इमानदार कार्यहरू गर्न सक्छस् भने, यदि तँ सद्विवेकसाथ परमेश्वरप्रति समर्पित हुन सक्छस् भने, तँलाई केही समस्या हुनेछैन र तँ पूर्णतया मानव स्वरूपमा जिउनेछस्। यो त्यति सरल हुँदाहुँदै पनि किन कुनै मार्ग छैन त? अहिले मैले भनेको कुरा अति सरल छ। खासमा, ठ्याक्कै तरिका त्यही हो। सत्यतालाई प्रेम गर्नेहरूले त्यसलाई पूर्ण रूपमा स्विकार्न सक्छन्, र तिनीहरूले यसो पनि भन्नेछन्, “वास्तवमा परमेश्वर मान्छेलाई अति धेरै मापदण्ड दिनुहुन्न। उहाँका सबै मापदण्ड मानव विवेक र समझले पूरा गर्न सकिन्छ। व्यक्तिलाई आफ्नो कर्तव्य राम्ररी निभाउन कठिन छैन। यदि कुनै व्यक्तिले हृदयबाटै काम गर्छ र ऊसँग त्यो अभ्यास गर्ने इच्छा र चाहना छ भने, त्यो हासिल गर्न सजिलो हुन्छ।” तर कतिपय मानिसहरू त्यो कुरा हासिल गर्न सक्दैनन्। सधैँ महत्त्वाकाङ्क्षा र चाहना पाल्नेहरू, र सधैँ महामानव र महान् व्यक्ति बन्न मन गर्नेहरूको हकमा, तिनीहरूले सामान्य मानिस हुन चाहे पनि, तिनीहरूको लागि त्यो सजिलो हुँदैन। तिनीहरू सधैँ आफूलाई अरूभन्दा श्रेष्ठ र राम्रो ठान्छन्, त्यसैले तिनीहरूको पूरै मन-मस्तिष्क महामानव वा महान् व्यक्ति हुने चाहनाले ग्रसित हुन्छ। तिनीहरू सामान्य व्यक्ति हुन र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो हैसियत कायम राख्न अनिच्छुक हुने मात्र होइन, तिनीहरू त महामानव र महान् व्यक्ति बन्ने खोजको पछि लाग्न कहिल्यै नछोड्ने प्रतिज्ञासमेत गर्छन्। यसलाई समाधान गर्नै सकिँदैन।
कतिपय मानिसहरू आफूलाई जे आइपरे पनि सत्यता खोज्दैनन् र परमेश्वरलाई प्रार्थना गर्दैनन्। तिनीहरू आफ्ना इच्छा, प्रतिभा, र क्षमताको आधारमा मात्र कार्य गर्छन्। तिनीहरू परमेश्वरलाई प्रार्थना गर्दा पनि, झारा मात्र टारिरहेका हुन्छन्, र तिनीहरू हृदयमा यस्तो सोच्छन्, “परमेश्वरले मलाई अन्तर्दृष्टि दिनु वा नदिनु उहाँको कुरा हो। म आफूलाई सबैभन्दा उत्तम लाग्ने तरिकामै कार्य गर्नेछु।” तिनीहरूलाई यी मामिलाहरू आफै सम्हाल्न पूर्ण रूपमा सक्षम छु र आफूले गर्ने कामको लागि आफू नै योग्य छु भन्ने लाग्छ। तिनीहरूको लागि, परमेश्वरलाई प्रार्थना गर्नु त झारा टार्ने कुरा मात्र हो। त्यस्ता मानिसहरू कस्ता हुन्छन्? के तिनीहरू आफू साधारण र सामान्य मानिस हुँ भनी स्विकार्न सक्छन्? के तिनीहरू परमेश्वरको वचनको वास्तविकतामा प्रवेश गर्न सक्छन्? (बिलकुलै सक्दैनन्।) के यस्ता मानिसहरू आफूले जे पनि गर्न सक्छु भन्ठान्छन्? (हो।) तिनीहरू आफूले परमेश्वरका वचनअनुसार कार्य नगरे पनि, कुनै पनि कुरा सम्हाल्न सक्छु, र परमेश्वरका वचनहरू नखोजी पनि कुनै झन्झट वा कठिनाइविनै कामकुरा सम्पन्न गर्न सक्छु भन्ने विश्वास गर्छन्। यस्ता मानिसहरू कुन मार्ग हिँडिरहेका हुन्छन्? के त्यो महामानव र महान् व्यक्ति बन्ने खोजीको मार्ग होइन र? (हो।) तिनीहरूले जतिसुकै ठूलो गडबड गरे पनि वा जति नै अपराध गरे पनि, तिनीहरूलाई त्यो केही लाग्दैन। यदि तिनीहरूले धेरै काम गरेका छन्, निश्चित उपलब्धिहरू बटुलेका छन्, र श्रेष्ठताको निश्चित अनुभूति गरेका छन् भने, तिनीहरूलाई आफूमा स्रोतसाधन र क्षमता छ नै भन्ने लाग्छ। तिनीहरू सोच्छन्: तिनीहरू परमेश्वरको घरको लागि कडा मेहनत गरिसकेका र धेरै कुरा हासिल गरिसकेका व्यक्ति हुन्। तिनीहरूलाई परमेश्वरका वचनहरूको आवश्यकता पर्दैन। तिनीहरूलाई परमेश्वरको काम चाहिँदैन। तिनीहरू आफैले कुनै पनि कुरा गर्न सक्छन्। त्यस्ता मानिसहरू परमेश्वरसामु कहिल्यै आउनेछैनन्। तिनीहरू आफूले गर्न नसक्ने केही छैन भनी घमण्ड गर्छन्। तिनीहरू आफूलाई केही आइपर्दा कहिल्यै परमेश्वरलाई प्रार्थना गर्दैनन्, न त सत्यता सिद्धान्तहरू नै खोज्छन्, झन् आफ्ना दाजुभाइ र दिदीबहिनीहरूसँग सङ्गति गर्नु त परै जाओस्। तिनीहरू कहिल्यै माथिबाट खोजी गर्दैनन्, झन् परमेश्वरका वचनहरूमा सत्यता खोजी गर्नु त परको कुरा हो। तिनीहरू परमेश्वरका वचनहरूमा थुप्रै कुरा समेटिएका छैनन् र ठोस व्याख्या छैन, त्यसैले आफैले यस्ता कामकुरा समाधान गर्नु ठिक हुन्छ भन्ने सोच्छन्। थाहै नपाई, तिनीहरूले परमेश्वरलाई एकापट्टि पन्छाएका हुन्छन्। थाहै नपाई, तिनीहरू अरूलाई तिरस्कार गर्ने र सबैलाई पैतालामुनि कुल्चने बनेका हुन्छन्। तिनीहरू हिँड्ने मार्ग सेलेब्रिटी, महान् व्यक्ति, र महामानव बन्ने मार्ग हो। अन्त्यमा, यस प्रकारको व्यक्ति खरो उत्रन सक्दैन। यदि तैँले तिनीहरूलाई तिनीहरू सामान्य मानिस हुन्, तिनीहरूले गल्ती, र अपराध गर्न सक्छन्, तिनीहरू असफल हुन सक्छन्, र तिनीहरूमा थुप्रै दोष र त्रुटि छन् भन्ने कुरा स्विकार्न सिक भनेर भनेको भए, के तिनीहरूले यसो गर्न सक्थे त? (सक्दैनथे।) यदि तैँले तिनीहरूलाई आफ्ना महिमा र मुकुटहरू त्याग्नू, आफ्ना दाजुभाइ र दिदीबहिनीहरूले दिएको सम्मान त्याग्नू, र मण्डलीमा आफूले पाएको प्रतिष्ठा र हैसियत त्याग्नू भनेर भनेको भए, के तिनीहरू सहमत हुन्थे त? (हुन्थेनन्।) तिनीहरूले त यसो भन्नेथिए, “म आफ्नो कडा मेहनतले कमाएको ख्याति र मुकुट यसरी सन्तुष्ट भएर कसरी त्याग्न सक्छु? म त्यति मूर्ख छैनँ!” तिनीहरू उत्सुक भएर आफूलाई अझ धेरै मानिसहरूले महामानव र महान् व्यक्ति ठानून् भन्ने चाहन्छन्। तिनीहरूलाई अरू मानिसले तिनीहरूका दोष र त्रुटिहरू देखेको र तिनीहरूलाई सामान्य मानिसको रूपमा व्यवहार गरेको मन पर्दैन। तिनीहरूलाई मानिसहरूले तिनीहरूका गल्ती, असफलता, र आचरण खुलासा गरेको झनै मन पर्दैन। के त्यस्ता मानिसहरू बारम्बार परमेश्वरसामु आएर प्रार्थना गर्न र सत्यता खोज्न सक्छन्? (सक्दैनन्।) तिनीहरू प्रार्थना गर्न परमेश्वरसामू आए पनि, के तिनीहरूमा सच्चा हृदय हुनेछ त? हुनेछैन। तिनीहरू जे भन्छन् र गर्छन् त्यो आफ्नो शिरको मुकुट र आफ्नो प्रतिष्ठाको लागि हुन्छ। तिनीहरू कामकुरा अरूले देखून् भनी गर्छन्, तर तिनीहरूले परमेश्वरको सूक्ष्म जाँच स्विकार्दैनन् र परमेश्वरलाई सच्चा हृदय चढाउन पनि सक्दैनन्, जुन तिनीहरूसँग हुँदै हुँदैन। तिनीहरू कुनै हालतमा पनि परमेश्वरको वचनहरूमा उहाँका अभिप्रायहरू बुझ्न र उहाँको मापदण्डबमोजिम कार्य गर्न सक्दैनन्। त्यसकारण, यस प्रकारका व्यक्तिले सत्यता खोज्न चाहे पनि, अनि सेलेब्रिटी वा महान् व्यक्ति बन्ने चाहनाबाट मुक्त हुन चाहे पनि, तिनीहरू इमानदार हुँदैनन्। तिनीहरू देहविरुद्ध विद्रोह गर्न सक्दैनन्, न त सत्यता अभ्यास गर्न नै सक्छन्। तिनीहरू कस्ता प्रकारका व्यक्ति हुन् त? तिनीहरू अविश्वासीहरू हुन्। तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। ख्रीष्टविरोधीहरू मानिसहरूमाझ हैसियत, प्रभाव, र थोरै प्रतिष्ठा प्राप्त गरेपछि, स्वतन्त्र राज्य खडा गर्न लागिपर्छन्, र फर्केर आउनै नसक्ने मार्गमा होमिन्छन्। तैँले तिनीहरूलाई जति नै पटक सत्यता सङ्गति गर्नमा संलग्न गराइस् वा काटछाँट गरिस् भने पनि, त्यो बेकार हुनेछ। परमेश्वरको घरमा, सत्यता सङ्गति गर्ने, अनुभवात्मक गवाहीहरूबारे कुराकानी गर्ने, परमेश्वरलाई प्रेम गर्न र उहाँको गवाही दिन खोज्ने, अनि सत्यताको शुद्ध बुझाइ र सिद्धान्तहरूसम्बन्धी सङ्गतिमा संलग्न हुने—यी सकारात्मक कुराहरू सत्यतालाई प्रेम गर्ने र परमेश्वरको निम्ति ठूलो आकाङ्क्षा हुनेहरूको लागि मात्र प्रभावकारी हुन्छन्। सत्यतालाई प्रेम नगर्ने, आशिष्हरूको पछि मात्र लाग्ने, अनि महामानव र महान् व्यक्तिको भूमिका खेल्न रुचाउनेहरूलाई ती कुराहरूको केही काम छैन। कुनै पनि सत्यता, सही वचन, र सकारात्मक कुराहरू सबै नै सत्यतालाई प्रेम गर्ने, परमेश्वरको वचनलाई प्रेम गर्ने, र परमेश्वरको निम्ति ठूलो आकाङ्क्षा हुनेहरूको लागि हुन्। सत्यता सुनेपछि, यी योग्यता नहुनेहरूले पनि सत्यता सही हो र सत्यता राम्रो हो भनेर भन्नेछन्, तर तिनीहरूले त्यसलाई मनन गरेर यस्तो सोच्नेछन्, “म केको लागि जिउँछु? म प्रतिष्ठा, हैसियता, मुकुट, महिमा, र परमेश्वरका इनामहरूको लागि जिउँछु। यीविना पनि, के मेरो मर्यादा रहन्छ र? मेरो जीवनको अर्थ के हो? के परमेश्वरप्रतिको विश्वास इनाम र मुकुटको पछि लाग्ने माध्यम मात्र होइन र? अब त मैले रगत-पसिना एक गरेर मूल्य चुकाएको छु, र निकै लामो प्रतीक्षा गरेपछि, परमेश्वरको लागि असललाई इनाम र खराबलाई दण्ड दिने समय आएको छ। यसै बेला मलाई मुकुट पहिराइनुपर्छ र मैले इनाम पाउनुपर्छ। म यो कसरी अरू कसैलाई सुम्पन सक्छु र? अन्य सरल मानिसहरूजस्तै सामान्य, र साधारण व्यक्ति बन्नु, त्यसरी त जिउनुको के अर्थ छ र? म त्यति मूर्ख छैनँ!” के त्यस्तो व्यक्ति सुधार्नै नसकिने हुँदैन र? (हुन्छ।) त्यस्ता मानिसहरूलाई मनाउन नखोज्। सत्यता तिनीहरूको लागि होइन, र तिनीहरूले चाहने कुरा सत्यता होइन। त्यस्ता व्यक्तिहरूले आशिष् र मुकुट मात्र खोज्छन्। तिनीहरूका चाहना र महत्त्वाकाङ्क्षाहरूले सामान्य मानिसहरूको खाँचोको दायरा नाघ्छन्। कतिपय मानिसहरू त्यस्ता व्यक्तिहरू किन हैसियत र शक्तिमा टाँसिन्छन् र किन ती कुराहरू त्याग्दैनन् भनेर कल्पनै गर्न सक्दैनन्। यस प्रकारका व्यक्तिहरूको सार र जन्मजात प्रकृति यही हो। तैँले त्यो बुझ्न सक्दैनस् किनकि तेरो सार तिनीहरूको भन्दा फरक हुन्छ, न त तिनीहरूले नै तँलाई बुझ्न सक्छन्। अनि तिनीहरूलाई तँ त्यति मूर्ख हुनुको कारण पनि थाहा हुँदैन। तँ पूर्वतैयार मुकुट, महिमा, र प्रतिष्ठा चाहँदैनस्, बरु सामान्य व्यक्ति हुन चाहन्छस्। तिनीहरूलाई तँ बुझ्नै नसकिने भएझैँ लाग्छ। यस प्रकारको व्यक्तिले यस्तो सोच्छ, “तँ सावधानीपूर्वक सत्यता पछ्याउँछस्, परमेश्वर जे भन्नुहुन्छ तँ त्यही अभ्यास गर्छस्, परमेश्वर जे गर् भन्नुहुन्छ तँ त्यही गर्छस्, अनि परमेश्वर तँलाई जे समर्पण गर् भन्नुहुन्छ तँ त्यही समर्पण गर्छस्। तँ कसरी यति मूर्ख हुन सक्छस्?” तिनीहरू सोच्छन्, इमानदार व्यक्ति हुनु र सत्यता अभ्यास गर्नु मूर्खता, अज्ञानता, र मन्द बुद्धिपन हो। तिनीहरूलाई आफू ज्ञान पछ्याउन र श्रेष्ठ व्यक्तिको भूमिका निभाउन चलाख छु भन्ने लाग्छ। तिनीहरू आफूले सबथोक बुझ्छु भन्ठानेर यस्तो निष्कर्षमा पुग्छन्, “हैसियत र प्रतिष्ठा नहुने, आफ्नो शिरमा मुकुट नपहिरिने, र मानिसहरूमाझ मूल्य नहुने र बोल्ने अख्तियार नहुने व्यक्ति बेकार हो। यदि कुनै व्यक्ति ख्यातिको लागि जिउँदैन भने, लाभको लागि जिउनैपर्छ। यदि ऊ लाभको लागि जिउँदैन भने, ख्यातिको लागि जिउनैपर्छ।” के यो शैतानको तर्क होइन र? शैतानको तर्कअनुसार जिउनेहरूलाई सुधार्न सकिँदैन। तिनीहरू परमेश्वरको कुनै वचन, सकारात्मक कुरा, वा सही सल्लाह कहिल्यै स्विकार्न सक्दैनन्। यदि तिनीहरू यसलाई स्विकार्न सक्दैनन् भने, गर्नलाई के छ र? हामीले बोल्ने यी वचनहरू तिनीहरूको लागि होइनन्। यी वचनहरू सामान्य मानवता हुने मानिसहरूलाई मात्र, परमेश्वरको निम्ति ठूलो आकाङ्क्षा हुने मानिसहरूलाई मात्र भनिएका हुन्। यी वचनहरू यी मानिसहरूको लागि मात्र हुन्। यी मानिसहरूले मात्र परमेश्वरका वचनहरू गम्भीरतापूर्वक सुन्न र मनन गर्न, सत्यता बुझ्न, सत्यता सिद्धान्तअनुसार कार्य गर्न, परमेश्वरले तोक्नुभएअनुसार कर्तव्य निभाउन, परमेश्वरले बन्दोबस्त गर्नुभएको परिवेशमा उहाँका वचनहरू अभ्यास र अनुभव गर्न, अनि बिस्तारै सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्। जहाँसम्म सकारात्मक कुरा र परमेश्वरको वचनप्रति हृदयमा अवहेलना र शत्रुता पाल्नेहरूको कुरा छ, तिनीहरूलाई साधारण र अप्रतिष्ठित जीवन जिउन, सामान्य व्यक्ति हुन, सावधानीपूर्वक परमेश्वरसामु आउन, अनि आफूले नबुझ्ने मामिलाहरूबारे सम्पूर्ण हृदयले खोजी र प्रतीक्षा गर्न भनी मनाउन सकिँदैन। तिनीहरू त्यस्तो व्यक्ति हुनुमा सन्तुष्ट हुँदैनन्। तसर्थ, त्यस्ता व्यक्तिहरूले मुक्ति पाउन असम्भव छ। स्वर्गको राज्य यी मानिसहरूको लागि तयार गरिएको थिएन। कुरा बुझ्यौ? (बुझ्यौँ।) परमेश्वरले भन्नुभएको सृष्टि गरिएको साधारण र सामान्य प्राणी हुन सक्ने, र सृष्टि गरिएको प्राणीको सही स्थानमा उभिन सक्ने व्यक्ति, र अरूले तुच्छ ठान्ने मूर्ख व्यक्ति हुन इच्छुक, र परमेश्वरले जे भन्नुभए पनि उहाँका वचनहरू स्विकार्न र तीप्रति समर्पित हुन सक्ने व्यक्ति प्रायः परमेश्वरसामु आउँछ, र उसले प्रायः खोजी गर्छ, अनि सच्चा हृदय राख्छ, र ऊ परमेश्वरले भन्नुहुने विजेताहरूमध्येको एक बन्छ। परमेश्वरले भन्नुहुने विजेताहरूमध्येको एक बन्ने व्यक्तिले अन्त्यमा परमेश्वरले मानवजातिको लागि प्रतिज्ञा गर्नुभएको कुरा प्राप्त गर्नेछ। यो कुरा निश्चित छ।
जब परमेश्वर कुनै व्यक्ति असल हो कि खराब, उसले सत्यता पछ्याउँछ पछ्याउँदैन, र उसले परमेश्वरको मुक्ति पाउन सक्छ सक्दैन भनी लेखाजोखा गर्नुहुन्छ, तब उहाँ आफ्ना वचनहरूबारे उसको बुझाइ र तीप्रति उसको मनोवृतिलाई विचार गर्नुहुन्छ। उहाँ उसले आफूले बुझेका सत्यता अभ्यास गर्न सक्छ सक्दैन भनी विचार गर्नुहुन्छ। उहाँ उसलाई काटछाँट गरिँदा र परीक्षा आउँदा उसले सत्यता स्विकार्न सक्छ सक्दैन भनी विचार गर्नुहुन्छ। उसले परमेश्वरलाई सच्चा हृदयले चाहन्छ चाहँदैन र स्विकार्छ स्विकार्दैन भनी उहाँ विचार गर्नुहुन्छ। परमेश्वर उसको शिक्षाको तह, क्षमता, ऊसँग कति प्रतिभाहरू छन्, उसले कति टाढा यात्रा गरेको छ, वा उसले कति काम गरेको छ भन्ने कुरा मूल्याङ्कन् गर्नुहुन्न। परमेश्वर यी कुराहरू विचार गर्नुहुन्न, न त यी कुराहरूको चाहना नै राख्नुहुन्छ। मानिलिऊँ तँ सधैँ आफ्ना चाहना र महत्त्वाकाङ्क्षाहरू परमेश्वरसामु लैजान अनि तिनलाई इनाम र मुकुटहरूसित साट्न चाहन्छस्, तर सधैँ परमेश्वरका वचनहरूलाई अवहेलना र बेवास्ता गर्छस्। परमेश्वरले हजारौँ हजार वचनहरू बोल्नुभएको छ, तैपनि तेरो हृदयमा परमेश्वरको एउटा वचन पनि रहँदैन। परमेश्वरका अर्तीहरूको, चेतावनीहरूको, वा सम्झौटोहरूको एउटा वचनसमेत, वा न्याय, दण्ड, वा शिक्षणको एउटा वचनसमेत—यी वचनहरूमध्ये एउटा वचनसमेत तेरो हृदयमा हुँदैन। तँ परमेश्वरले बोल्नुभएको एउटा वचनलाई पनि आदर्श वाक्यको रूपमा आफ्नो हृदयमा लिँदैनस्। तेरो हृदयलाई परमेश्वरको एउटै वचन पनि याद हुँदैन र त्यो सँगसँगै, तँ परमेश्वरका वचनहरू अभ्यास गर्न र तिनमा प्रवेश गर्न कुनै मूल्य चुकाउँदैनस्। यदि यो सबै साँचो हो भने, परमेश्वरको दृष्टिमा, तेरो परिणाम र गन्तव्य पहिल्यै तय भइसकेको छ। यदि परमेश्वरको उपस्थितिमा, सृष्टिकर्ताको उपस्थितिमा, तँ साधारण वा सामान्य व्यक्ति हुन मान्दैनस् भने; यदि सृष्टिकर्ताको उपस्थितिमा, तँ धृष्टतापूर्वक कार्य गर्ने आँट गर्छस् भने; यदि तँ सधैँ महान् व्यक्ति, महामानव, असाधारण व्यक्तिको भूमिका निभाउन चाहन्छस्, र तँ परमेश्वरले तँलाई दिनुभएको स्थानमा रहँदैनस् भने, तँ अझै पनि परमेश्वरबाट के प्राप्त गर्न चाहन्छस्? के परमेश्वरले तँलाई त्यो दिनुहुनेछ त? यदि मानिसहरू परमेश्वरले मान्छेको लागि प्रतिज्ञा गर्नुभएको कुरा प्राप्त गर्न चाहन्छन् भने, तिनीहरूले पहिला उहाँको मार्ग पछ्याउनैपर्छ। यो सामान्य अभिमुखीकरण हो। यस्तो निर्दिष्ट अभिमुखीकरणको लागि, तिनीहरूले परमेश्वरका वचनहरू सुन्ने र अभ्यास गर्ने गर्नैपर्छ। यस मार्गले तिनीहरूलाई गलत दिशामा कहिल्यै लानेछैन। परमेश्वरका वचनहरू सुन् र अभ्यास गर्, अनि परमेश्वरका वचनहरूलाई तेरो जीवनको वास्तविकता बना, र तैँले भन्ने कुराको, तेरो आचरण शैलीको, कामकुराप्रति तेरो दृष्टिकोणको, र कामकुरा गर्ने तेरो तरिकाको आधार, सिद्धान्त, दिशा र लक्ष्य बना। त्यसो भन्नुको मतलब तैँले भन्ने कुरा र तैँले गर्ने मूल्याङ्कनहरू परमेश्वरका वचनहरूमा आधारित हुनैपर्छ। तैँले एकखाले व्यक्तिसँग घूलमिल हुँदा र अर्कोखाले व्यक्तिलाई पन्छाउँदा वा इन्कार गर्दा, तँसँग परमेश्वरका वचनहरूको आधार हुनैपर्छ। तँ रिसाउँदा र तैँले अरूलाई धिक्कार्दा पनि, तेरा कार्यहरूको सिद्धान्त र सन्दर्भ हुनैपर्छ, अनि मूलतः ती सत्यताअनुरूप हुनैपर्छ। यसरी, तँ परमेश्वरको वचनको वास्तविकतामा जिउनेछस् र तैँले परमेश्वरको अनुमोदन प्राप्त गर्नेछस्। सत्यता वास्तविकतामा प्रवेश गर्न खोज्नु नै सृष्टि गरिएको योग्य प्राणी बन्नको लागि सत्यता पछ्याउने र सामान्य मानवतामा जिउने प्रक्रिया हो। यो आफूलाई महामानव, असाधारण व्यक्ति, र सेलेब्रिटी वा महान् व्यक्ति हुन खोज्नबाट मुक्त गर्ने प्रक्रिया पनि हो। यदि तँ महामानव, सेलेब्रिटी, र महान् व्यक्ति बन्न खोज्ने मार्ग, वा पछ्याइको यस्तो विधिबाट उम्किन चाहन्छस् भने, तैँले पहिला आफ्नो भावभङ्गी घटाउनुपर्छ, आफूलाई नम्र बनाउपर्छ, र आफू एक व्यक्ति हुँ, एक महत्त्वहीन, र परमेश्वरको मार्गदर्शनविना केही गर्न नसक्ने—एक सामान्य व्यक्ति मात्र हुँ भनेर स्वीकार गर्नैपर्छ। अनि, तैँले यो स्वीकार गर्नैपर्छ कि तँ परमेश्वर र उहाँका वचनहरूविना केही पनि होइनस्। तँ सृष्टिकर्ताको सार्वभौमिकता र योजनाबद्ध कार्य स्विकार्न इच्छुक व्यक्ति होस्। परमेश्वरले तँलाई दिनुभएको सासविना—उहाँले तँलाई दिनुभएको सबथोकविना—तँ एक लास र एक निकम्मा होस्। अनि अवश्य नै, यी कुराहरू स्वीकार गर्दा, तैँले परमेश्वरसामु आएर उहाँले बोल्नुभएका जीवनका सम्पूर्ण वचनहरू स्वीकार गर्नैपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त, तँ परमेश्वरले बोल्नुभएका यी वचनहरूको वास्तविकतामा प्रवेश गर्नैपर्छ, परमेश्वरका वचनहरूलाई आफ्नो जीवन बनाउनैपर्छ, यी वचनहरूलाई आफ्नो जीवन र अस्तित्वको जग र आधार बनाउनैपर्छ, र यी वचनहरूलाई जीवनभर आफ्नो अस्तित्वको स्रोत र सहारा बनाउनैपर्छ। यो परमेश्वरको अभिप्राय र मान्छेप्रतिको उहाँको सबैभन्दा उच्च मापदण्ड हो।
आज, हाम्रो सङ्गतिको मुख्य विषय परमेश्वरका वचनहरूलाई कसरी लिने, परमेश्वरका वचनहरू कसरी खाने र पिउने, मानिसहरूले परमेश्वरका वचनहरूलाई कसरी बहुमूल्य ठान्नुपर्छ, र तिनीहरूले सत्यता वास्तविकतामा प्रवेश गरी मुक्ति प्राप्त गर्न परमेश्वरका वचनहरू कसरी अभ्यास गर्नुपर्छ भन्ने रहेको छ। मुख्यतः हामीले परमेश्वरको वचनको महत्त्वसम्बन्धी सङ्गति गरेका छौँ। तिमीहरूमा नभएका, र मान्छेमा हुनुपर्ने कुराहरू यिनै हुन्। यदि मैले यसरी सङ्गति नगरेको भए, तिमीहरूले यस्ता कुराहरू प्रष्ट रूपमा देख्न सक्नेथिएनौ। तिमीहरूमा केही अवचेतन ज्ञान छ भन्ने देखिन्छ, तर तिमीहरू आफूलाई थाहा भएको कुरा प्रष्ट रूपमा भन्न सक्दैनौ। यो त कुनै लेख लेखेजस्तो हो, जहाँ रूपरेखा त कोरिएको छ तर तिमीहरू विषयवस्तुमा जानकारी जुटाउन सक्दैनौ। तिमीहरूको वास्तविक अवस्था यही हो। यी कुराहरूबारेको आजको सङ्गति तिमीहरूको लागि एउटा सम्झौटो र चेतावनी हो। प्रत्येक व्यक्तिको लागि, परमेश्वरका वचनहरू सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्, र सत्यताको कुनै विकल्प छैन। तिमीहरूले यो कुरा बुझेपछि, तिमीहरूसँग कसरी अभ्यास गर्ने भन्ने मार्ग हुनुपर्छ। तैँले परमेश्वरका वचनहरू खान र पिउन अनि ती अभ्यास गर्न बढी काम गर्नैपर्छ ताकि तँ परमेश्वरका वचनहरूको वास्तविकता प्रवेश गरेस्। यदि तँलाई आफ्नो कद अति सानो छ, आफूमा बुझ्ने क्षमताको कमी छ, अनि आफूले परमेश्वरका गहन वचनहरू छिचोल्न वा तिनको गहिराइमा पुग्न सक्दिनँ र ती आफूमा लागू गर्न सक्दिनँ भन्ने लाग्छ भने, तैँले के गर्नुपर्छ? सतही रूपमै खाँदै र पिउँदै सुरु गर्। तेरो हृदयमा, सरल र बुझ्न सजिला वचनहरू कण्ठ गर् जुन तँ आफै अभ्यास गर्न सक्छस्, तिनलाई आफूले अभ्यासमा पालना गर्ने सिद्धान्त बना, अनि परमेश्वरका वचनहरूअनुसार कार्य गर्। यदि परमेश्वर दायाँ जा भन्नुहुन्छ भने, दायाँ नै जा। यदि परमेश्वर बायाँ जा भन्नुहुन्छ भने, बायाँ नै जा। यदि परमेश्वर अझ धेरै प्रार्थना गर् भन्नुहुन्छ भने, अझ धेरै प्रार्थना गर्। परमेश्वर जे भन्नुहुन्छ त्यही गर्। शैतानले अक्कली र चलाख ठान्ने व्यक्ति बन्नुभन्दा अरू मानिसहरूले मूर्ख सोच्ने व्यक्ति बन्नु नै राम्रो हो। परमेश्वरको अनुमोदन प्राप्त गर्ने उद्देश्यले अभ्यास गर्न रोज्नेहरू नै साँच्चै मेधावी र बुद्धिमान् व्यक्तिहरू हुन्।
सेप्टेम्बर २५, २०२१