परमेश्‍वरको सेवा गर्नेसम्बन्धी वचनहरू

अंश ७२

अगुवाको रूपमा काम गर्नेहरूले काममा अति धेरै ध्यान दिनु वा सधैँ आफ्नो हैसियतमा मात्र केन्द्रित हुनु हुदैन, न त तिनीहरूले आफ्नो लागि उच्च मानकहरू तय गर्नु नै हुन्छ, र तिनीहरूले "म अगुवा हुँ, मसँग यो पद र हैसियत छ, अनि मसँग यो गुण र दक्षता पनि छ। मैले तँलाई अगुवाइ गर्न सक्ने भएकोले म तँलाई भरणपोषण गर्न पनि सक्छु" भनेर सबैले थाहा पाऊन् भन्दै हरेक व्यक्तिका समस्याहरू समाधान गर्न हरतरहको उपायहरू सोच्‍नु पनि हुँदैन। तिनीहरूले यस्ता वचनहरू बोल्न सक्नु भनेको समस्याजनक कुरा हो। कुन अर्थमा यो समस्याजनक कुरा हो? यदि तेरो उत्प्रेरणा गलत छ र तँसँग आफ्ना मामिलाहरू सम्हाल्ने कुनै सिद्धान्तहरू छैनन् भने तैँले गर्ने हरेक कामहरू गलत हुनेछन् र तिनले विचलन ल्याउनेछन्। यदि तँ गलत रूपले उत्प्रेरित छस् भने, तैँले गर्ने हरेक कामहरू गलत नै हुनेछन्। सत्यता खोजी गर्न, सत्यता बुझ्न, दर्शनहरूसम्बन्धी सत्यताको सार बुझ्‍न र सिद्धान्तहरूको यो पक्षमा पोख्त हुनमा केन्द्रित हू—त्यो सही हुन्छ। तँलाई केही आइपर्दा वा तैँले समस्याहरू सम्हालिरहँदा, जबसम्म तँ यी दायराहरूभन्दा बाहिर जाँदैनस्, तबसम्म तैँले अरूलाई मद्दत गर्न र तिनीहरूका कठिनाइहरू समाधान गर्न सक्नेछस् र तँ योग्य अगुवा हुनेछस्। तर यदि तैँले केही धर्मसिद्धान्तहरू मात्र बुझ्छस् र यदि तँ आफूलाई ती कुराहरूले मात्र सुसज्जित पार्छस्, अझ बढी प्रवचनहरू मात्र सुन्छस् र अगुवाइ गर्न केही थप अक्षर तथा शब्दहरूमा पोख्त मात्र बन्छस् भने र यदि तैँले कसैको समस्या समाधान गर्न खोज्दा केही धर्मसिद्धान्त, र केही अक्षर तथा शब्दहरू मात्र बताउँछस् र फलस्वरूप तिनीहरूको कुनै पनि समस्या समाधान गर्दैनस् भने, तँमा अगुवा हुने कुनै वास्तविकता छैन् र तँ एउटा खोक्रो खोल मात्र होस्। यो कस्तो अगुवा हो? (झूटो अगुवा।) यो झूटो अगुवा हो। तँ वास्तविक काम गर्न असक्षम छस्। कसैले झूटो अगुवाको खुलासा र रिपोर्ट नगरे पनि, मण्डलीमा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रगति हुनेछैन, समस्याहरू बढ्दै जानेछन्, अनि झूटो अगुवाले दोष वहन गर्दै पद त्याग गर्न बाध्य हुनुपर्नेछ। यदि तँ झुटो अगुवा होस् भने, तेरो पद जतिसुकै उच्च भए तापनि, तँ झूटो अगुवा नै होस्। अब, तैँले वास्तविक काम गर्न सक्नु वा नसक्‍नु, र तँ झूटो अगुवा हुनु वा नहुनु—यी सबैभन्दा महत्त्वपूर्ण कुराहरू होइनन्। त्यसो भए, सबैभन्दा महत्त्वपूर्ण कुरा के हो त? तैँले अब चाँचाँडो सत्यता खोजी गर्न र जीवन प्रवेश गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ। जब तैँले जीवन प्रवेश गरेको, आफ्नो स्वभाव परिवर्तन गरेको, र परमेश्‍वरको इच्छा बुझेको हुन्छस्, र जब तँ आफ्नै गलत स्थितिहरू समाधान गर्न सक्षम हुन्छस्, तँलाई अरू मानिसहरूका समस्याहरू समाधान गर्न सजिलो हुनेछ। जब तैँले सत्यता बुझ्छस् र सत्यता वास्तविकतामा प्रवेश गर्छस्, के तब पनि तँलाई अरूका समस्याहरू समाधान गर्न सक्दिनँ कि भन्ने डर लाग्नेछ? तैँले राम्रोसँग अगुवाइ गर्न सक्छु कि सक्दिनँ भनेर चिन्ता लिनुपर्दैन। यदि तँसँग सत्यता वास्तविकता छ भने, तँ स्वतः आफ्नो कर्तव्य राम्रोसँग पुरा गर्न र वास्तविक समस्याहरू समाधान गर्न सक्षम हुनेछस्। तैँले यो कुरा पूर्ण रूपले बुझ्नुपर्छ। यदि तँ यो कुरा पूर्ण रूपले बुझ्दैनस्, र सधैं एक अगुवाको रूपमा आफ्नो हैसियत रक्षा गर्न, र परमेश्‍वरका चुनिएका मानिसहरूको हृदयमा आफ्नो राम्रो छवि स्थापित गर्न चाहन्छस् भने, तेरो अभिप्राय गलत छ, र तँ स्वतः कलङ्कित र असफल हुनेछस्। यदि तँ सत्यतालाई प्रेम गर्ने र आफ्नै जीवन प्रवेशमा केन्द्रित हुने व्यक्ति होस्, र तैँले आफ्नो मानवीय महत्वाकाङ्क्षा, चाहना र गलत खोजीहरू त्याग्छस्, र तँ यी कुराहरूबाट बाधित हुदैनस् भने, तँ सत्यता पछ्याउन सक्षम हुनेछस्, र तैँले समयक्रममा स्वतः सत्यताको हरेक पक्ष बुझ्नेछस्। यस तरिकाले, तँ अरूलाई अत्यन्तै सहज रूपमा मद्दत गर्ने अवस्थामा पुग्‍नेछस् र तँलाई त्यसो गर्न कुनै कठिनाइ हुनेछैन। त्यसकारण, तैँले आफ्नो हैसियत रक्षा गर्नु हुँदैन। यो एउटा खोक्रो खोल हो। यो बेकार छ। यसले तँलाई कुनै लाभ दिनेछैन, र यसले तँलाई सत्यता बुझ्न पनि मद्दत गर्नेछैन। त्यसैगरी, यसले तँलाई धेरै गल्तीहरू गर्न उक्साउन सक्छ, र यसले तँलाई बहकाउन पनि सक्छ। भ्रष्ट मानवजातिको लागि हैसियत एउटा पासो हो। तर यस बाधालाई कसैले पनि पन्छाउन सक्दैन, सबैले यो पार गर्नैपर्छ, र यो कुरा तैँले यसलाई कसरी लिन्छस् त्यसमा भर पर्छ। यदि तैँले मानवीय विधिहरू प्रयोग गरेर यसलाई सम्हाल्न खोजिस् भने, तैँले आफूलाई संयम राख्न वा त्याग गर्न सक्नेछैनस्। यसलाई सत्यता प्रयोग गरेर मात्र समाधान गर्न सकिन्छ। सत्यताले यो कठिनाइ समाधान गर्न सक्छ। यदि तँ सत्यता खोज्न सक्छस् भने, तैँले यस मामिलालाई जरैदेखि सम्बोधन गर्न सक्छस्। यदि तैँले यो कठिनाइ समाधान गर्न सत्यता प्रयोग गर्न सक्दैनस् भने, यदि तैँले केवल आफूलाई नियन्त्रित गरिरहेको र कामकुराहरूविरुद्ध विद्रोह गरिरहेको छस् भने—यदि तैँले आफ्नो सोच, शैली, विचारजस्ता कुराहरूविरुद्ध मात्र विद्रोह गरिरहेको छस्, र तँ सधैं यसरी नै विद्रोह गर्छस् भने—यो कस्तो विधि हो? यो त नकारात्मक र निष्क्रिय शैली हो। तैँले यसलाई समाधान गर्न सकारात्मक विधिहरू प्रयोग गर्नुपर्छ, अर्थात्, तैँले यसलाई सत्यताद्वारा समाधान गर्नुपर्छ, र यस मामिलालाई पूर्ण रूपमा बुझ्नुपर्छ। सर्वप्रथम ख्रीष्टविरोधी र झूटा अगुवाहरूले प्रतिष्ठा, लाभ र हैसियत खोज्न तथा आफ्नो आडम्बर र घमण्ड रक्षा गर्न प्रयोग गर्ने विभिन्न शैलीहरू हेर्। ती कुराहरू स्पष्टसित देखेपछि तँलाई यस्तो अनुभूति हुनेछ, "ओहो, कति लाजमर्दो, साँच्चिकै कस्तो लाजमर्दो! के मैले पनि तिनै शैली प्रयोग गर्दै छु?" त्यसपछि, तैँले आफूमाथि चिन्तन गर्न थाल्नेछस् र चाँडै तैँले यस्तो महसुस गर्नेछस्, "ओहो, मैले पनि धेरैजसो तिनै शैलीहरू प्रयोग गर्ने रहेछु, म ती ख्रीष्टविरोधी र झूटा अगुवाहरूभन्दा त्यति फरक छैन।" तँलाई हृदयमा केही पछुतो हुनेछ, र तैँले यसो भन्नेछस्, "म मेरो हैसियत जोगाइराख्न र यो लज्जापन प्रकट गरिरहन सक्दिनँ," अनि तैँले पाठ सिक्ने सङ्कल्प गर्नेछस्। अरूले तँलाई सम्‍मान गर्छन् गर्दैनन्, तैँले अरू मानिसहरूका कति समस्याहरू हल गर्न सक्छस्, कसैले तँलाई सुन्छन् सुन्दैनन्, वा कति मानिसहरूको हृदयमा तेरो लागि ठाउँ छ भन्नेतिर ध्यान दिन छोड्। यदि तेरो हृदयमा यस्ता कुराहरू सधैँ रहन्छन् भने, तँ विचलित र प्रभावित हुनेछस्, र तँसँग सत्यता पछ्याउने समय कम हुनेछ। तैँले प्रतिष्ठा, लाभ र हैसियत प्राप्त गर्ने महत्त्वाकाङ्क्षा तथा चाहनाहरू पछ्याउनमा आफ्नो सीमित ऊर्जा र अमूल्य समय खर्चेको छस्। फलस्वरूप, तैँले सत्यता र जीवन प्राप्त गरेको छैनस्। तैँले हैसियत प्राप्त गरेको भए पनि र तेरा महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा भएका भए पनि, तैँले जीवन प्रवेश गरेको हुदैनस्, बरु पवित्र आत्माको काम गुमाएको हुन्छस्। अनि यसको अन्तिम परिणाम के हुनेछ? तँलाई निष्कासित र दण्डित गरिनेछ। यस्तो किन हुन्छ? तैँले गलत मार्ग रोज्छस्। अनि, यदि तँ पावलको स्तरमा पुगेको छस् भने, तँलाई अन्त्यमा दण्डित गरिनेछ। तर यदि तँ पावलको स्तरमा पुगेको छैनस्, र तँ आफ्नो सही मार्गमा समयमै फर्कन्छस् भने, तेरो निम्ति छुटकाराको मौका र मुक्तिको आशा अझै रहन्छ।

परमेश्‍वरका विश्‍वासीहरूका जस्तोसुकै समस्याहरू भए पनि, चाहे ती हैसियत, प्रतिष्ठा, लाभ र सम्पतिको खोजी हुन्, वा चाहे व्यक्तिगत महत्त्वाकाङ्क्षा तथा चाहनाहरूको पुर्ति हुन्, ती जेसुकै नै भए पनि, ती समस्याहरू सत्यताको खोजीमार्फत नै गर्नुपर्छ। कुनै समस्याले पनि सत्यतालाई छलेर अघि जान सक्दैन। कुनै पनि कुरा सत्यताबाट अलग हुँदैन। परमेश्‍वरमाथिको विश्‍वासमा सत्यताबाट टाढिनेबित्तिकै व्यक्तिको विश्‍वास खोक्रो हुन्छ। अरू कुराको पछि लागेर कुनै फाइदा छैन। कतिपय मानिसहरू प्रभावशाली र गौरवशाली कर्तव्यहरू निर्वाह गर्दै अरूलाई आफ्नो आदर र ईर्ष्या गर्ने तुल्याउँन पाउँदा नै सन्तुष्ट हुन्छन्। के यो उपयोगी छ? यो तेरो अन्तिम उदेश्य होइन, न त यो तेरो अन्तिम इनाम नै हो, र यो निश्‍चय नै तेरो गन्तव्य होइन। तसर्थ, तैँले जेसुकै कर्तव्य निभाए पनि, त्यो अस्थायी मात्र हो, त्यो शाश्‍वत होइन। यो तँलाई परमेश्‍वरले प्रदान गर्नुभएको कुनै प्रशंसा होइन, न त यो उहाँले तँलाई दिनुभएको इनाम नै हो। अन्त्यमा, मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन कि सक्दैनन् भन्‍ने कुरा तिनीहरूले पूरा गर्ने कर्तव्यमा होइन, बरु तिनीहरूले सत्यता बुझ्न र प्राप्त गर्न सक्छन् कि सक्दैनन् र तिनीहरू अन्त्यमा परमेश्‍वरमा पूर्ण रूपमा समर्पित हुन, आफैलाई उहाँका योजनाबद्ध कार्यहरूको कृपामा छोड्न, भविष्य र नियतिको बारेमा केही नसोच्न र सृष्टि गरिएको योग्य प्राणी बन्‍न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा निर्भर रहन्छ। परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ र उहाँले सबै मानवजातिलाई मापन गर्न प्रयोग गर्नुहुने मानकहरू यिनै हुन्। यी मानकहरू अपरिवर्तनीय छन् र तैँले यो सम्झनैपर्छ। यी मानकहरूलाई दिमागमा खोपेर राख्, र कुनै अवास्तविक कुरालाई पछ्याउन अर्को बाटो पत्ता लगाउनेबारेमा जुनसुकै बेलामा नसोच्। मुक्ति प्राप्त गर्न चाहने सबैलाई परमेश्‍वरले दिनुभएका सर्त र मापदण्डहरू कहिले पनि परिवर्तन हुँदैनन्। तिमीहरू जोसुकै भए तापनि ती उस्तै रहन्छन्। तैँले परमेश्‍वरले दिनुभएका सर्त र मापदण्डहरूअनुसार परमेश्‍वरमा विश्‍वास गरेर मात्रै मुक्ति हासिल गर्न सक्छस्। यदि तैँले अस्पष्ट कुराहरूको खोजी गर्ने अर्को मार्ग भेट्टाइस्, र तैँले संयोगले सफलता पाउने कल्‍पना गर्छस् भने, तँ परमेश्‍वरलाई विरोध गर्ने र धोका दिने व्यक्ति होस्, र परमेश्‍वरले तँलाई अवश्य नै श्राप र दण्ड दिनुहुनेछ।

अंश ७६

मण्डलीमा, कस्तो व्यक्ति सबैभन्दा अहङ्कारी हुन्छ? उसको अहङ्कार कसरी आफै प्रकट हुन्छ? कस्तो मामलामा उसको अहङ्कार सबैभन्दा बढी खुलासा हुन्छ? के तिमीहरूलाई यसको समझ छ? मण्डलीभित्रका सबैभन्दा अहङ्कारी मानिसहरू वास्तवमा दुष्टजन र ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूको अहङ्कार सामान्य मानिसहरूको भन्दा धेरै हुन्छ, यहाँसम्म कि तिनीहरू समझहीन हुने विन्दुसम्म पुग्छन्। कुन-कुन मामलाहरूमा यो देख्न सबैभन्दा सजिलो हुन्छ? तिनीहरूलाई काटछाँट र निराकरण गरिंदा तिनीहरूको अहङ्कारी स्वभाव सबैभन्दा स्पष्ट रूपमा खुलासा हुन्छ। यी ख्रीष्टविरोधीहरूका दुष्कर्महरूको परिमाण जतिसुकै भए पनि, यदि कसैले तिनीहरूलाई निराकरण गर्छ भने, तिनीहरूले रिसाएर यसो भन्नेछन्: “मलाई आलोचना र गाली गर्ने तँ को होस्? तँ कति जनालाई अगुवाइ गर्न सक्छस्? के तँ प्रवचन दिन सक्छस्? के तँ सत्यता सङ्गति गर्न सक्छस्? तैँले मेरो भूमिका निभाउनुपरेको भए, तँ मजत्तिको नि राम्रो हुन्थिनस्!” यो कुरा तिमीहरूलाई कस्तो लाग्छ? के तिनीहरूसँग सत्यता स्विकार्ने अलिकति पनि मनोवृत्ति छ त? यदि तिमीहरूले निराकरण र काटछाँटलाई यसरी लिन्छौ भने, त्यसले समस्या निम्त्याउँछ। यसले तिमीहरूसँग कुनै सत्यता वास्तविकता छैन, र तेरो जीवन स्वभाव परिवर्तित भएकै छैन भन्‍ने प्रमाणित गर्छ। के यति गहन रूपमा भ्रष्ट भएको बूढोखाडो अगुवा वा सेवक हुन सक्छ? के उसले परमेश्‍वरलाई सेवा गर्ने कर्तव्य निभाउन सक्छ? पक्कै सक्दैन, किनकि यस्ता मानिसहरू अगुवा वा सेवक बन्न योग्यसमेत हुँदैनन्। अगुवा वा सेवक हुन, कम्तीमा पनि व्यक्तिमा अलिकति वास्तविक अनुभव हुनैपर्छ, उसले केही सत्यताहरू बुझ्नैपर्छ, उसमा केही सत्यताहरू र सबैभन्दा आधारभूत स्तरको आज्ञाकारिता हुनैपर्छ, भन्नुको अर्थ, कम्तीमा पनि व्यक्तिमा काटछाँट र निराकरण स्विकार्न सक्‍ने सक्षमता हुनैपर्छ—यस्तो व्यक्ति मात्र अगुवा वा सेवक हुन योग्य हुन्छ। यदि व्यक्तिसँग कुनै पनि सत्यता वास्तविकता छैन, र उसलाई काटछाँट र निराकरण गर्दा, ऊ अझै पनि बहस र प्रतिरोध गर्छ, अनि उसले सत्यता पटक्कै स्विकार्दैन भने, र यदि यस्तो व्यक्तिले परमेश्‍वरको सेवा गर्छ भने, तिमीहरूलाई परिणाम के हुन्छ जस्तो लाग्छ? यसमा शङ्कै छैन, उसले परमेश्‍वरको प्रतिरोध गर्नेछ; उसले जस्तोसुकै काम गरिरहेको भए पनि, उसले सत्यता अभ्याससमेत गर्नेछैन, सिद्धान्तहरूअनुसार कामकुरा सम्हाल्नु त परै जाओस्। त्यसैले सत्यता वास्तविकता नभएका मानिसहरूले अगुवा वा सेवकको भूमिका निभाए भने, तिनीहरूले निश्‍चय नै ख्रीष्टविरोधी मार्ग हिँड्नेछन् र परमेश्‍वरको प्रतिरोध गर्नेछन्। किन कैयौँ अगुवा र सेवकहरू अलिकति कर्तव्य निभाउनेबित्तिकै खुलासा हुन्छन्? किनभने तिनीहरू सत्यता पछ्याउँदैनन्, बरु इज्जत, नाफा र हैसियत खोज्छन्, र परिणामस्वरूप, तिनीहरू स्वतः ख्रीष्टविरोधीहरूको मार्गमा लाग्छन्। तिमीहरू सबैजनाको कुरा गर्नुपर्दा, यदि तिमीहरूलाई एउटा मण्डलीको जिम्मा दिइयो, र ६ महिनासम्म कसैले तिमीहरूलाई सोधखोज गरेन भने, तिमीहरू अन्त्यमा गलत मार्ग हिँड्नेछौ र मनपरी गर्नेछौ। यदि तिमीहरूलाई एक वर्षको लागि आफ्नै खुसीमा छाडियो भने, तिमीहरूले अरूलाई बहकाउनेछौ, अनि तिनीहरू सबैजना धर्मसिद्धान्तका शब्द र वाक्यांश बोल्न र कोभन्दा को राम्रो छ भनेर तुलना गर्नमै केन्द्रित हुनेछन्। यदि तिमीहरूलाई दुई वर्ष आफ्नै खुसीमा छाडियो भने, तिमीहरूले मानिसहरूलाई आफूअघि डोर्‍याइल्याउनेछौ, अनि मानिसहरूले परमेश्‍वरको होइन, तिमीहरूको आज्ञापालन गर्नेछन्, र यसरी मण्डली पतित भएर धर्ममा लाग्‍नेछ। यसको कारण के हो? के तिमीहरूले कहिल्यै यो प्रश्‍नबारे सोचेका छौ? व्यक्तिले मण्डलीलाई यसरी अगुवाई गर्दा ऊ कुन मार्ग हिँडिरहेको हुन्छ? ख्रीष्टविरोधी मार्ग। के तिमीहरू यस्तो हुनेछौ? अहिले बुझेका थोरै सत्यताहरूद्वारा तिमीहरूले मानिसहरूलाई कहिलेसम्म आपूर्ति दिन सक्छौ? के तिमीहरूले मानिसहरूलाई परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा अगुवाइ गर्न सक्छौ? यदि परमेश्‍वरका चुनिएकाहरूले धेरै प्रश्‍न सोधे भने, के तिमीहरूले परमेश्‍वरका वचनहरूअनुरूप सत्यता सङ्गति गरेर उत्तर दिन सक्छौ? यदि तँ सत्यता बुझ्दैनस् र धर्मसिद्धान्तका केही शब्द र वाक्यांश मात्र प्रचार गर्छस् भने, तँलाई एक-दुईपटक सुनिसकेपछि मानिसहरूलाई पर्याप्त भइसकेको हुनेछ, र तैँले धर्मसिद्धान्तका शब्द र वाक्यांश प्रचार गर्न जारी राख्दा, तिनीहरू दिक्क हुनेछन्, र भित्री कुरा खुट्टयाउन सक्नेछन्—यो अवस्थामा, तिनीहरूलाई किन प्रचार गरिरहने? यदि तँ समझ भएको व्यक्ति होस् भने, तैँले अरूलाई घर्मसिद्धान्तका वाक्यांश प्रचार गर्न छोड्नुपर्छ, माथि उभिएर अरूलाई भाषण दिन छोड्नुपर्छ, अरूहरू जहाँ उभिएका छन्, त्यहीँ उभिनुपर्छ र तिनीहरूसँगै परमेश्‍वरका वचन खाने, पिउने र अनुभव गर्ने गर्नुपर्छ। यी सबै समझ भएका मानिसहरूका प्रकटीकरणहरू हुन्। अति अहङ्कारी र आत्मधर्मी मानिसहरूले सजिलै आफ्नो समझ गुमाउँछन्, र अरूलाई धर्मसिद्धान्तका शब्द र वाक्यांश प्रचार गर्नमा जोड दिन्छन्, वा अझ गहन आत्मिक सिद्धान्तहरू खोजेर-सिकेर रवाफ देखाउँछन् र यसरी अरूलाई छल्न खोज्ने मान्छे बन्छन्। यसरी व्यवहार गर्नु परमेश्‍वरको प्रतिरोध गर्नु हो। यसरी प्रचार गरिरहिस् भने परिणामहरू के हुनेछन् भनेर के तँ स्पष्ट छस्? तैँले मानिसहरूलाई कहाँ डोऱ्याउनेछस् भनेर के तँ स्पष्ट छस्? जब तँ ख्रीष्टविरोधी मार्गमा हिँड्छस्, र मानिसहरूलाई डोर्‍याउँदै तेरो अघि ल्याउँछस् र तिनीहरूलाई तेरो आराधना र आज्ञापालन गर्ने तुल्याउँछस्, तब यो कस्तो खालको समस्या हुन्छ? के तँ परमेश्‍वरका चुनिएकाहरू खोस्‍न उहाँसँग प्रतिस्पर्धा गरिरहेको छैनस् र? यो भनेको सुरुमा परमेश्‍वरमा विश्‍वास गर्न चाहेका, उहाँमा फर्किन चाहेका, र उहाँलाई प्राप्त गर्न चाहेका मानिसहरूलाई आफूसामु ल्याएर, आफ्नो आज्ञापालन गर्ने, आफूले भनेको कुरा गर्ने र आफूलाई परमेश्‍वरझैँ व्यवहार गर्ने तुल्याउनु हो। अनि, यसको परिणाम के हुनेछ? यी मानिसहरूले सुरुमा मुक्ति पाउन परमेश्‍वरमा विश्‍वास गरे, तर तिनीहरू अन्त्यमा तँद्वारा छलिए—तिनीहरूले मुक्ति नपाउने मात्र होइन, अनन्त सजाय भोगेर नाससमेत हुनेछन्। यस्तो तरिकाले व्यवहार गरेर, तैँले तिनीहरूलाई भड्काइरहेको छस्, गहन हानि पुऱ्याइरहेको छस्, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई गुमाउने तुल्याइरहेको छस्। अब तँ कुन अपराधको दोषी होस्? तैँले तिनीहरूलाई कसरी क्षतिपूर्ति गर्न सक्छस्? तैँले नयाँ विश्‍वासीहरूलाई छल गरेर आफ्नो हातमा लगिस्, तिनीहरूलाई आफ्ना थुमा बनाइस्, र तिनीहरू सबैले तँलाई सुन्छन्, तँलाई पछ्याउँछन्, अनि हृदयभित्र तँ खासमा यस्तो सोच्छस्: “अब म शक्तिशाली भएँ; कति धेरै मानिसहरूले मेरो कुरा सुन्छन्, र मण्डली मेरो इसारा र हुकुममा चल्छ।” मानिसभित्र रहेको यो धोकाको प्रकृतिले तँलाई अवचेतन रूपमा परमेश्‍वरलाई कल्पित आकृतिमा परिणत गर्ने तुल्याउँछ, र तँ आफैले कुनै प्रकारको धर्म वा सम्प्रदाय निर्माण गर्नेछस्। विभिन्‍न धर्म र सम्प्रदायहरूको उदय कसरी हुन्छन् त? तिनीहरूको उदय यसरी नै हुन्छ। हरेक धर्म र सम्प्रदायका अगुवाहरूलाई हेर्—ती सबै अहङ्कारी र स्वधर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूद्वारा निर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नको निम्ति वरदानहरू र ज्ञानमा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न नसक्‍ने हो भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? जे भए पनि, तिनीहरूसँग केही ज्ञान छ र तिनीहरूले केही धर्मसिद्धान्तहरू प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई छल्न र मानिसहरूलाई आफ्नो अगाडि ल्याउनको निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्‍वरमा नाम मात्रको विश्‍वास गर्छन्, तर वास्तवमा तिनीहरूले यी अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो बाटोको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये कसैले भन्छन्, “विश्‍वास गर्ने मामलामा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।” परमेश्‍वरमाथि विश्‍वास गर्ने र सत्यता स्वीकार गर्ने कुरा आउँदा मानिसहरूलाई कसरी अरूको सहमति र स्वीकृति आवश्यक पर्दो रहेछ, हेर्—के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो बाटो स्वीकार गर्ने कुरामा ठेस लाग्‍ने बाधाहरू बनेका छैनन् र? त्यस्ता मानिसहरू पावलकै प्रकारका हुन्। म किन त्यसो भन्दै छु? पावलका पत्रहरू बाइबलमा अभिलेख गरिएका छन् र २ हजार वर्षदेखि हस्तान्तरण गरिँदै आएका छन्। अनुग्रहको युगको पूरै समय, प्रभुमा विश्‍वास गर्नेहरूले बारम्बार पावलका पत्रहरू पढे र तिनलाई आफ्नो मापदण्ड माने—अर्थात् कष्ट भोग्‍नू, आफ्नो शरीरलाई वशमा राख्‍नू, अनि अन्त्यमा धार्मिकताको ताज प्राप्त हुन्छ भन्‍ने ठाने…। सबै मानिसहरूले पावलका शब्द र धर्मसिद्धान्तअनुसार परमेश्‍वरमा विश्‍वास गरे। यी दुई हजार वर्षहरूमा, कैयौँ मानिसहरूले पावलको अनुकरण गरेका छन्, उसलाई आराधना गरेका र उसलाई पछ्याएका छन्। तिनीहरूले पावलका शब्दहरूलाई धर्मग्रन्थझैँ व्यवहार गरेका छन्, प्रभु येशूका वचनहरूलाई पावलका शब्दहरूले प्रतिस्थापन गरेका छन् र तिनीहरू परमेश्‍वरका वचनहरू अभ्यास गर्न असफल भएका छन्। के यो विचलन होइन र? यो ठूलो विचलन हो। अनुग्रहको युगमा मानिसहरूले परमेश्‍वरको कति इच्‍छा बुझ्‍न सके? त्यो बेला येशूलाई पछ्याउने मानिसहरू, आखिर, अल्‍पसङ्ख्यक नै त थिए, र उहाँलाई चिन्‍नेहरू त झनै कम सङ्ख्यामा थिए—उहाँका चेलाहरूले समेत उहाँलाई साँचो रूपमा चिनेका थिएनन्। यदि मानिसहरूले बाइबलमा अलिकति ज्योति देख्छन् भने, यसले परमेश्‍वरको इच्‍छालाई प्रतिनिधित्व गर्छ भनेर ठान्‍नु हुँदैन, र अलिकति अन्तर्दृष्टिलाई परमेश्‍वरसम्‍बन्धी ज्ञानको रूपमा त झन् लिनु नै हुँदैन। सबै मानिसहरू अहङ्कारी र अभिमानी छन्, र तिनीहरूले आफ्‍नो हृदयमा परमेश्‍वरलाई राख्दैनन्। जब तिनीहरूले केही धर्मसिद्धान्तहरू बुझ्छन्, तिनीहरू आफै अघि बढ्छन्, जसले गर्दा धेरै व्यक्तिगत सम्प्रदायहरूको उदय हुन्छ। अनुग्रहको युगमा परमेश्‍वर मानिसहरूसँग कत्ति पनि कडा हुनुहुन्थेन। येशूको नाममा रहेका सबै धर्म र सम्प्रदायहरूमा पवित्र आत्माको केही न केही काम हुन्थ्यो; तिनीहरूमा दुष्ट आत्माले काम नगरेसम्म, पवित्र आत्माले कुनै पनि मण्डलीमा काम गर्नसक्नुहुन्थ्यो, त्यसैले अधिकांश मानिसहरूले परमेश्‍वरको अनुग्रहको आनन्द उठाउन सक्थे। विगतमा, मानिसहरूले उहाँमाथि गर्ने विश्‍वास साँचो वा झुटो जे-जस्तो भए पनि, तिनीहरूले अरूलाई नै पछ्याए पनि, वा तिनीहरूले सत्यता पछ्याउँदै नपछ्याए पनि, परमेश्‍वर मानिसहरूसँग कडा हुनुहुन्थेन, किनकि उहाँले उहाँद्वारा पूर्वनिर्धारित गरिएका र चुनिएकाहरूले आखिरी चरणमा उहाँसामु आएर उहाँको न्याय स्विकार्नैपर्नेछ भनेर पूर्वनिर्धारित गरिसक्नुभएको थियो। यदि परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारिसकेपछि पनि मानिसहरूले अझै अरूलाई नै आराधना गर्न र पछ्याउन जारी राक्छन् भने, र यदि तिनीहरूले सत्यता पछ्याउनुको सट्टा आशिष् र ताज पछ्याउँछन् भने, त्यो अक्षम्य हुन्छ। त्यस्ता मानिसहरूको अन्त्य पावलको जस्तै हुनेछ। यसरी म किन जहिल्यै पनि पावल र पत्रुसको उदाहरण प्रयोग गरिरहन्छु? यी दुई मार्गहरू हुन्। परमेश्‍वरका विश्‍वासीहरूले कि त पत्रुसको मार्ग पछ्याउँछन् कि त पावलको। यी दुई मार्गहरू मात्र छन्। चाहे तँ अनुयायी या अगुवा जे भए पनि, कुरो एउटै हो। यदि तँ पत्रुसको मार्ग हिँड्न सक्दैनस् भने, तँ पावलको मार्गमा हिँडिरहेको छस्। यो पन्छ्याउन नसकिने कुरा हो; तेस्रो मार्ग छँदै छैन। परमेश्‍वरको इच्छा नबुझ्ने, परमेश्‍वरलाई नचिन्ने, सत्यता बुझ्न नखोज्ने, र पूर्ण रूपमा परमेश्‍वरको आज्ञापालन गर्न नसक्नेहरूले अन्तत: पावलकै जस्तो अन्त्य भोग्नैपर्छ। यदि तँ परमेश्‍वरलाई चिन्न वा परमेश्‍वरको इच्छा बुझ्न खोज्दैनस् भने, र तँ धर्मसिद्धान्तका शब्द र वाक्यांश बोल्न र आत्मिक सिद्धान्तहरू प्रचार गर्न सक्षम हुन मात्रै खोज्छस् भने, तैँले परमेश्‍वरलाई प्रतिरोध गर्न र धोका दिन मात्रै सक्छस्, किनकि परमेश्‍वरलाई प्रतिरोध गर्नु नै मानव प्रकृति हो। सत्यतासँग नमिल्ने कुराहरू पक्कै पनि मानिसको इच्छाबाट उत्पन्न हुन्छन्। मानिसको इच्छाबाट उत्पन्न हुने जुनसुकै कुराले, चाहे त्यो मानिसको नजरमा असल होस् वा खराब, त्यसले परमेश्‍वरको काममा बाधा दिन्छै दिन्छ। कतिपय मानिसहरूलाई लाग्छ कि तिनीहरूले केही मामलाहरूमा सत्यताअनुरूप कार्य नगरे पनि, दुष्कर्म वा परमेश्‍वरको प्रतिरोध गरिरहेका छैनन्। के यो सही हो? यदि तँ सत्यताअनुरूप कार्य गर्दैनस् भने, तैँले पक्कै सत्यता उल्लङ्घन गरिरहेको छस्, र सत्यता उल्लङ्घन गर्नु सारगत रूपमा परमेश्‍वरको प्रतिरोध गर्नु नै हो; यो बस गम्भीरताको फरक स्तर मात्र हो। यदि तँलाई परमेश्‍वरको प्रतिरोध गर्ने व्यक्ति भनेर वर्गीकरण गरिएन भने पनि, परमेश्‍वरले तेरो तारिफ गर्नुहुनेछैन, किनकि तँ सत्यता अभ्यास गर्दैनस्, तँ बस सत्यतासँग असम्बन्धित कार्यहरू मात्र गर्छस्, र आफ्नै इच्छाअनुसार मात्र व्यवहार गर्छस्। सत्यता नपछ्याउनेहरूले केही दुष्कर्म नगरे पनि, के तिनीहरू आफ्ना भ्रष्ट स्वभावहरू हटाउन सक्षम हुन्छन् त? यदि तिनीहरू आफ्ना भ्रष्ट स्वभावहरू हटाउन सक्षम हुँदैनन् भने, तिनीहरू अझै पनि ती भ्रष्ट स्वभावहरूअनुसार नै जिइरहेका हुन्छन्। तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने कुनै कार्य नगरे पनि, उहाँको आज्ञापालन गर्नै सक्दैनन् र परमेश्‍वरले त्यस्ता मानिसहरूलाई स्विकार्नुहुन्न।

अघिल्लो: शब्द र धर्मसिद्धान्तहरू बोल्नु अनि सत्यता वास्तविकताबीचका भिन्‍नताहरू

अर्को: परमेश्‍वरले मानिसहरूका परिणामहरू कसरी निर्धारण गर्नुहुन्छ भन्‍नेसम्बन्धी वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्